८६. पूर्ण वैवाहिक जीवनको पछि लाग्दा मैले के पाएँ?

झाऊ स्याओउ, चीन

सन् २०१२ मा, मेरी श्रीमती र मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्‍यौँ। हामी प्रायः सँगै भेला हुन्थ्यौँ र परमेश्‍वरका वचनहरू पढ्थ्यौँ, अनि हरेक दिन खुसी र अर्थपूर्ण हुन्थ्यो। दुई वर्षपछि, म मण्डली अगुवा चुनिएँ। म कर्तव्यमा व्यस्त हुने र घरमा कम समय बिताउने भएकाले, मेरी श्रीमती अलि असन्तुष्ट भइन्, र मैले परिवारको ख्याल गरिनँ अनि उनलाई वास्ता गरिनँ भनिन्। सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो भन्ने मलाई थाहा भए तापनि, मलाई श्रीमतीले भनेको कुरा पनि सही हो, अनि हामीले सुखी वैवाहिक जीवन र सुन्दर परिवार पाउनका लागि, मैले श्रीमान्‌का रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र श्रीमती र बच्चाको राम्रो ख्याल राख्नुपर्छ भन्ने मलाई लाग्यो। त्यसैले, घरमा हुँदा म धेरै घरधन्दा गर्थेँ र श्रीमतीका लागि मीठा परिकारहरू बनाउँथेँ, र असल श्रीमान् बन्न सक्दो कोसिस गर्थेँ। कहिलेकाहीँ म कर्तव्यमा असाध्यै व्यस्त हुँदा श्रीमतीको ख्याल राख्न भ्याउँदिनथेँ, र पछि, म त्यसको भरपाई गर्न सक्दो प्रयास गर्थेँ, किनभने उनको असन्तुष्टिले हाम्रो सम्बन्धमा असर पर्ला कि भनेर म डराउँथेँ। पछि, म प्रचारक बनेँ, र घरमा श्रीमतीसँग बिताउने समय झन् कम भयो। कहिलेकाहीँ, कर्तव्यको व्यस्तताले गर्दा म लगातार धेरै दिन बाहिर हुन्थेँ, र मेरी श्रीमतीले मेरो बारेमा गुनासो गर्थिन्। यसका कारण मैले आफ्ना कर्तव्यमा ढिलाइ नगरे पनि, मेरो हृदयमा सधैँ श्रीमतीप्रति दोषी महसुस हुन्थ्यो। त्यसैले बाहिर जानुअघि, म उनका लागि पहिले नै खाना तयार पारिदिन्थेँ, र घर फर्केपछि, उनका कुनै पनि माग पूरा गर्न वा उनलाई बाहिर घुमाउन लैजान म सक्दो प्रयास गर्थेँ। असल श्रीमानले गर्नुपर्ने काम गर्ने र हाम्रो वैवाहिक जीवनलाई सुखी बनाउने यो नै एक मात्र तरिका हो भन्ने मलाई लाग्थ्यो।

पछि, मेरी श्रीमती पैसा र शारीरिक सुख पछ्याउनमा मात्रै केन्द्रित भइन्, र साथीसङ्गीसँग खानपान र रमाइलो गरेर दिन बिताउन थालिन्। उनले परिवारलाई बेवास्ता मात्र गरिनन्, बारम्बार बारहरूमा पनि जान थालिन्। मेरी श्रीमती झन्-झन् पतित हुँदै गएको देख्दा, मलाई के चिन्ता लाग्न थाल्यो भने उनी ती मानिसहरूसँग धेरै समय बिताइरहेकी छिन्, कतै प्रलोभनको प्रतिरोध गर्न नसकेर उनले मलाई धोका दिइन् भने मैले यति मेहनत गरेर बनाएको परिवार भताभुङ्ग हुँदैन र? म प्रायः श्रीमतीसँग मन खोलेर कुरा गर्थेँ र उनलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउँथेँ, र उनी ती नराम्रा ठाउँहरूबाट टाढै रहून् भन्ने आशा गर्थेँ। मेरी श्रीमती मुखले त हुन्छ भन्थिन्, तर पछि अलिकति पनि परिवर्तन हुन्नथिन्। बिस्तारै, मेरी श्रीमती र मबीच कुरा गर्ने विषयहरू कम हुँदै गए, र म बाहिरबाट घर आइपुग्दा, उनी मलाई वास्तै गर्दिनथिन्। मलाई मेरी श्रीमतीले धोका पो दिइसकिन् कि भनेर प्रायः चिन्ता लाग्थ्यो। विशेष गरी, जब म घर आउँदा खाली घर देख्थेँ, तब मेरो हृदयमा सधैँ एक्लोपनको आभास हुन्थ्यो। मेरी श्रीमती र मबीचको यतिका वर्षदेखि बनेको सम्बन्ध टुट्न सक्छ भन्ने सोचेर, मेरो हृदय पीडा र कष्टले भरिन्थ्यो। म पीडामा नराम्ररी फसेको र बाहिर निस्कन नसकेको बेला, २०२० को अगस्त महिनाको एक दिन, मैले अगुवाबाट एउटा पत्र पाएँ, जसमा मेरा सहकर्मी ब्रदर वाङ छ्याङलाई पुलिसले पक्राउ गरेको, उनीहरूले निगरानी फुटेज प्राप्त गरेको र उनीसँग सम्पर्कमा रहेका मानिसहरूको छानबिन गरिरहेको, अनि म तुरुन्तै घर छोडेर लुक्न जानुपर्ने कुरा भनिएको थियो। यो अप्रत्याशित खबर आउँदा, सुरुमा त मलाई के गर्ने थाहा नै भएन। मैले सोचेँ, यदि म गएँ भने, मैले अब श्रीमती र बच्चाको ख्याल राख्न पाउनेछैन, र परिवार भताभुङ्ग हुन सक्छ। यसले मेरो भित्री हृदयमा ठूलो पीडा दियो। तर यदि म गइनँ भने, मैले पक्राउ र यातनाको सामना गर्नुपर्नेथियो। अन्ततः, मैले घर छाड्ने नै निर्णय गरेँ। दुई महिनापछि, मैले परिवारबाट एउटा पत्र पाएँ, जसमा केही दिनअघि सात जना पुलिस मलाई पक्राउ गर्न मेरो घरमा जबरजस्ती पसेका, र मलाई नभेटाएपछि मेरी श्रीमतीकी दिदीलाई पक्राउ गरे भनिएको थियो। आफ्नो सुरक्षालाई ध्यानमा राख्दै, म लुक्नका लागि अन्तै जान बाध्य भएँ।

२०२३ को जुलाई महिनाको एक दिन, मैले घरबाट एउटा पत्र पाएँ, जसमा म घरबाट टाढा भएको तीन वर्ष भइसकेकाले मेरी श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा हाल्ने र अर्को विवाह गर्ने तयारी गरिरहेकी छिन् भनिएको थियो। यद्यपि मेरी श्रीमतीले मलाई अब पर्खनेछैनन् भनेर मैले धेरै पटक सोचेको थिएँ, तर वास्तवमा त्यो परिस्थिति ममाथि आइपर्दा, त्यसको सामना गर्ने साहस ममा अझै थिएन। मैले मनमनै सोचेँ, “हाम्रो वैवाहिक सम्बन्ध टुटेपछि, मैले यतिका वर्ष मेहनत गरेर बनाएको घर गुम्दैन र? मेरी श्रीमतीसँग विवाह भएको एघार वर्ष भयो, र हाम्रो एउटी प्यारी छोरी छ। हामीले सँगै धेरै सुख र आनन्दका पलहरू बिताएका छौँ। यदि सम्बन्धविच्छेद भयो भने, म एक्लै कसरी जिउने?” राति, म ओछ्यानमा पल्टिएँ तर निदाउन सकिनँ, भविष्यमा मेरी छोरीले पनि दुःख पाउनेछिन् भन्ने कुरा सोचेँ। मेरो हृदय पीडा र हैरानीले भरियो, र वैवाहिक सम्बन्ध जोगाउन घर फर्कने विचार मेरो मनमा आयो। तर पुलिसले मेरो खोजी गरिरहेको थियो, र म घरबाट टाढा भएको करिब तीन वर्षको अवधिमा, पुलिस धेरै पटक मेरो घरमा ढुक्न आएका थिए, र मेरी श्रीमतीको फोन पनि पुलिसको निगरानीमा थियो। यदि म हतारिएर घर फर्किएँ भने, म पक्राउ त पर्ने नै थिएँ, साथै मण्डलीलाई पनि समस्यामा पार्नेथिएँ। त्यसमाथि, म आफ्ना कर्तव्य निर्वाह गरिरहेको थिएँ, त्यसैले यदि म हिँडेँ भने, यो मेरा कर्तव्य लत्याउनु र परमेश्‍वरलाई धोका दिनु हुनेथियो। समझको आधारमा, म घर फर्कन सक्दिनँ भन्ने मलाई थाहा थियो, तर घर नफर्कनुको अर्थ मेरो वैवाहिक सम्बन्ध टुट्नु हुन्थ्यो। मेरो पीडामा, मैले श्रीमतीले मेरो बाध्यता बुझ्न सक्नेछिन् भन्ने आशा गर्दै, उनलाई नजान आग्रह गरेर एउटा पत्र लेखेँ। पत्र लेखिसकेपछि पनि, मेरा भित्री मनका कुराहरूले मेरी श्रीमतीलाई सायद छुने छैन भन्ने मलाई थाहा थियो। मेरो हृदयमा धेरै पीडा भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ।

पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ, र विवाह तथा परिवारलाई कसरी हेर्नुपर्छ भन्ने कुरा बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तैँले कहिल्यै यो बिर्सनु हुँदैन कि तँ सृजित प्राणी होस्, र परमेश्‍वरले नै तँलाई जीवनमा यो क्षणसम्म अगुवाइ गर्नुभएको हो, परमेश्‍वरले नै तँलाई वैवाहिक जीवन र परिवार दिनुभएको हो, र परमेश्‍वरले नै तँलाई विवाहको संरचनाभित्र तैँले पूरा गर्नुपर्ने जिम्मेवारीहरू प्रदान गर्नुभएको हो, अनि विवाह तैँले आफै रोजेको होइन, तेरो विवाह यतिकै भएको होइन, वा तैँले तेरो आफ्नै क्षमता वा शक्तिमा भर परेर वैवाहिक सुख कायम राख्न सक्ने होइन। के अब मैले भनेको कुरा प्रस्ट भयो? (भयो।) के अब तँ आफूले के गर्नुपर्ने हो भनेर बुझ्छस्? के अब तँ मार्गबारे प्रस्ट छस्? (प्रस्ट छु।) यदि तैँले वैवाहिक जीवनमा पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू अनि सृजित प्राणीका रूपमा तेरो कर्तव्य र मिसन जुध्दैनन् वा बाझिदैनन् भने, यस्ता परिस्थितिहरूमा, तैँले तेरा जिम्‍मेवारीहरू विवाहको संरचनाभित्र जसरी पूरा गर्नुपर्ने हो त्यसरी नै पूरा गर्नुपर्छ, र तैँले तेरा जिम्मेवारीहरू राम्ररी पूरा गर्नुपर्छ, र आफूले वहन गर्नुपर्ने जिम्मेवारीहरू वहन गर्नुपर्छ, तिनलाई पन्छाउने कोसिस गर्नु हुँदैन। तैँले आफ्नो जोडीको—उसको जीवन, भावना, र उसको सब थोकको जिम्मेवारी लिनैपर्छ। तथापि, जब विवाहको संरचनाभित्र तैँले बोक्ने जिम्मेवारी र दायित्वहरू अनि सृजित प्राणीका रूपमा तेरो मिसन र कर्तव्य जुध्ने वा बाझिने हुन्छ, तब तैँले त्याग्‍नुपर्ने कुरा भनेको तेरो कर्तव्य वा मिसन होइन, बरु विवाहको संरचनाभित्रका तेरा जिम्मेवारीहरू हुन्। परमेश्‍वरले तँबाट यही अपेक्षा गर्नुहुन्छ, यही नै तेरो लागि परमेश्‍वरको आज्ञा हो, र अवश्यै यही नै परमेश्‍वरले कुनै पनि पुरुष वा महिलाबाट माग गर्नुभएको कुरा पनि हो। यसो गर्न सके मात्र, तैँले सत्यता पछ्याइरहेको र परमेश्‍वरलाई अनुसरण गरिरहेको हुनेछस्। यदि तँ यसो गर्न सक्षम छैनस् र तैँले यस तरिकाले अभ्यास गर्न सक्दैनस् भने, तँ नाममात्रको विश्‍वासी होस्, तँ साँचो हृदयले परमेश्‍वरलाई पछ्याउँदैनस्, र तँ सत्यता पछ्याउने व्यक्ति होइनस्। … कतिपय मानिसहरू भन्छन्, ‘यदि म मेरो कर्तव्य निर्वाह गर्न विदेश गएँ भने, मैले मेरो परिवार त्याग्नुपर्नेछ। के मैले मेरा श्रीमान्‌लाई (वा श्रीमतीलाई) फेरि कहिल्यै देख्न पाउनेछैन? के हामी फरक-फरक ठाउँमा छुट्टिएर बस्नुपर्नेछैन र? के हाम्रो विवाह टुट्नेछ? त्यसपछि म मेरा श्रीमान् (वा श्रीमती) विना कसरी जिउने होला?’ के तैँले तेरो भविष्य कस्तो हुनेछ भन्‍नेबारे सोच्नुपर्छ र? तैँले सबैभन्दा बढी सोच्नुपर्ने कुरा के हो? यदि तँ सत्यता पछ्याउने व्यक्ति बन्न चाहन्छस् भने, तैँले सबैभन्दा बढी सोच्नुपर्ने कुरा भनेको परमेश्‍वरले तँलाई त्याग्न भन्नुभएको कुरा कसरी त्याग्ने र परमेश्‍वरले तँलाई पूरा गर्न भन्नुभएको कुरा कसरी पूरा गर्ने भन्‍ने हो। भविष्यमा तँ विवाहविना र तेरो जोडीको साथविना बस्नुपरे पनि, तँ बुढेसकालसम्म बाँच्न र राम्ररी जिउन सक्छस्। तर, यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने यो अवसर त्यागिस् भने, त्यो तैँले निर्वाह गर्नुपर्ने कर्तव्य र परमेश्‍वरले तँलाई सुम्पनुभएको मिसन त्याग्नुसरह हो। परमेश्‍वरका नजरमा, तँ त्यसपछि सत्यता पछ्याउने, परमेश्‍वरलाई साँच्चै चाहने, वा मुक्ति पछ्याउने व्यक्ति हुनेछैनस्। यदि तैँले सक्रिय रूपमा मुक्ति प्राप्त गर्ने आफ्नो अवसर र अधिकार त्याग्छस्, आफ्नो मिसन त्याग्छस्, र यसको सट्टा तैँले विवाह रोज्छस्, आफ्नो जोडीसँगै बस्न रोज्छस्, उसलाई साथ दिन र सन्तुष्ट पार्न रोज्छस्, र आफ्नो विवाहको पूर्णता कायम राख्न रोज्छस् भने, अन्त्यमा तैँले केही कुरा प्राप्त गर्नुका साथै केही कुरा अवश्यै गुमाउनेछस्। तैँले के गुमाउनेछस् भनेर बुझ्छस् नि, होइन?(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१०))। “तैँले राम्रो जीवन जिउन सकेस् र तेरो हेरविचार गर्ने कोही होस्, तेरो साथमा कोही होस् भनेर मात्र परमेश्‍वरले तँलाई स्थिर जीवन र जोडी दिनुभएको छ, तैँले परमेश्‍वर र उहाँका वचन बिर्सन वा श्रीमान् वा श्रीमती पाइसकेपछि आफ्नो कर्तव्य निर्वाह गर्ने दायित्व र मुक्ति पछ्याउने जीवन लक्ष्य त्याग्न र त्यसपछि आफ्नो श्रीमान् वा श्रीमतीका लागि जिउन सकेस् भनेर होइन। यदि तँ साँच्चै यस्तो कार्य गर्छस्, यदि तँ साँच्चै यसरी जिउँछस् भने, मलाई आशा छ, तैँले सक्दो चाँडो आफ्नो मार्ग परिवर्तन गर्नेछस्। कुनै व्यक्ति तेरा लागि जति नै महत्त्वपूर्ण भए पनि, वा ऊ तेरो जीवन, जियाइ, वा जीवन मार्गमा समेत जति नै महत्त्वपूर्ण भए पनि, ऊ तेरो गन्तव्य होइन किनभने ऊ केवल भ्रष्ट पारिएको मानव हो। परमेश्‍वरले तेरा लागि हालको तेरो श्रीमान् वा श्रीमती बन्दोबस्त गर्नुभएको छ, र तँ ऊसँग जिउन सक्छस्। यदि परमेश्‍वरले तेरा लागि अरू कोही बन्दोबस्त गर्नुभयो भने पनि, तँ त्यति नै राम्ररी जिउन सक्छस्, त्यसैले अहिलेको तेरो श्रीमान् वा श्रीमती तेरा लागि एकमात्र व्यक्ति होइन, न त ऊ तेरो गन्तव्य नै हो। तेरो गन्तव्य परमेश्‍वरलाई मात्र सुम्पन सकिन्छ, र मानवजातिको गन्तव्य परमेश्‍वरलाई मात्र सुम्पन सकिन्छ। तैँले आफ्ना आमाबुबा छाडिस् भने पनि तँ बाँच्न र जिउन सक्छस्, अनि तैँले आफ्नो जोडीलाई छाडिस् भने पनि तँ अवश्य त्यसै गरी जिउन सक्छस्। तेरा आमाबुबा तेरो गन्तव्य होइनन्, न त तेरो जोडी नै हो। तैँले विवाह गरेको छस्, तँसँग जोडी छ: तेरो हृदय र देहलाई आराम गराउने ठाउँ छ भन्दैमा, परमेश्‍वरले तँलाई आफ्नो कर्तव्य निर्वाह गर्न आज्ञा दिने जीवनको सबैभन्दा महत्त्वपूर्ण मामला नबिर्सी। यदि तैँले परमेश्‍वरलाई बिर्सिस्, परमेश्‍वरले तँलाई गर्न भनी सुम्पेको कुरा बिर्सिस्, सृजित प्राणीले निर्वाह गर्नुपर्ने कर्तव्य बिर्सिस्, र आफ्नो पहिचान बिर्सिस् भने, तैँले आफ्नो सारा विवेक र समझ गुमाएको हुनेछस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने विवाह, परिवार र छोराछोरी सबै परमेश्‍वरले दिएका उपहार हुन्, र परमेश्‍वरले मानिसहरूलाई एक्लो महसुस नहोस्, अनि श्रीमान् र श्रीमतीले एकअर्काको ख्याल राख्न, साथ दिन र अझ राम्रो जीवन जिउन सकून् भनेर यी कुराहरू दिनुभएको हो, तर मानिसहरूले आफ्नो जीवनसाथीलाई आफ्नो जीवनको गन्तव्य ठानून्, वा परिवार वा विवाह जोगाउनुलाई आफ्नो जीवनको लक्ष्य बनाऊन् भनेर होइन। तर मैले सत्यता बुझेको थिइनँ, र मलाई मेरो जीवनसाथी नै मेरो गन्तव्य हो अनि वैवाहिक सुख नै जीवनमा मैले खोज्नुपर्ने लक्ष्य हो भन्ने लाग्थ्यो। सानो छँदा आमाबुबाको प्रेम र पारिवारिक न्यानोपन नपाएकाले, ठूलो भएपछि, ममा पारिवारिक न्यानोपन र सुखको तीव्र चाहना भयो। श्रीमतीसँग विवाह गरेपछि, मैले मेरी श्रीमतीको प्रेम अनि सन्तानले दिएको सुख र आनन्दको अनुभव गरेँ, र एउटा पूर्ण परिवार हुनु नै अद्भुत कुरा हो भन्नेमा म झन् बढी विश्वस्त भएँ। त्यसैले, जब मैले मेरी श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा हाल्न चाहेको कुरा सुनेँ, तब मेरो हृदय छिया-छिया भयो, र मलाई मेरो वैवाहिक जीवन र परिवारविना म बाँच्नै सक्दिनँ जस्तो लाग्यो। मैले आफ्नो वैवाहिक सम्बन्ध जोगाउन आफ्ना कर्तव्य त्यागेर घर फर्कनेसमेत सोचेँ। तब मात्र मलाई के महसुस भयो भने मेरो हृदयमा परमेश्‍वरभन्दा अनि सृजित प्राणीले गर्ने कर्तव्य निर्वाहभन्दा विवाह सम्बन्धको महत्त्व बढी रहेछ। वास्तविकता के थियो भने, परमेश्‍वरले मलाई वैवाहिक जीवन र परिवार दिनुभएको थियो, अनि पारिवारिक जिम्मेवारी दिनुभएको थियो, तर विवाह गरेपछि मैले आफ्ना कर्तव्य त्यागौँ भन्ने परमेश्‍वरको अभिप्राय थिएन। सधैँभरि, सत्यता पछ्याउनु र एउटा सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्नु नै मैले गर्नुपर्ने काम हुन्, र यी नै सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्। मैले सोचेँ, कसरी धेरै पश्चिमा मिसिनरीहरूले, प्रभुको सुसमाचार प्रसार गर्नका लागि, सक्रिय रूपमा आफ्ना वैवाहिक सम्बन्ध, जागिर र आरामदायी जीवन त्यागे, र सुसमाचार प्रचार गर्न हजारौँ माइल यात्रा गरेर चीन आए, र उनीहरूकै कारण, प्रभु येशूको सुसमाचार चीनभरि फैलियो। मैले परमेश्‍वरका यति धेरै वचनहरूको मलजल र आपूर्तिको आनन्द लिएको थिएँ, तैपनि मैले परमेश्‍वरका लागि के गरेको थिएँ र? जब मेरी श्रीमतीले सम्बन्धविच्छेद चाहेको कुरा गरिन्, मेरो पहिलो सोचाइ के आयो भने सम्बन्धविच्छेदपछि, परिवारविना, मेरो बच्चाले दुःख पाउनेछिन्, र मैले परिवारले दिने त्यो न्यानोपन र खुसीको आनन्द लिन पाउनेछैन। त्यसपछि मेरो हृदय पीडा र दुःखले भरियो, र मैले आफ्नो वैवाहिक सम्बन्ध जोगाउन घर फर्कनका लागि कर्तव्य त्याग्नेबारे सोचेँ। मैले केवल आफ्नै स्वार्थको मात्र विचार गरिरहेको थिएँ, र मलाई परमेश्‍वरको अभिप्रायको कुनै वास्ता थिएन। ती पश्चिमा मिसिनरीहरूको तुलनामा, ममा विवेकको एकदमै कमी थियो र म स्वार्थले भरिएको थिएँ, र म वर्षौँदेखि आफूले पाएको परमेश्‍वरको मार्गदर्शन र आपूर्तिको लायक थिइनँ। यस्तो सोच्दा, मलाई धेरै दोषी महसुस भयो, र मैले भविष्यको आफ्नो जीवनबारे चिन्ता वा पीर गर्नुहुँदैन भन्ने लाग्यो। अहिलेको अवस्थामा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मेरा कर्तव्य कसरी पूरा गर्ने भनी सोच्नु थियो। पछि, मैले आफ्नो ध्यान कर्तव्यमा केन्द्रित गरेँ।

एक महिनापछि, मेरी सासूले के भनेर पत्र पठाउनुभयो भने मेरा भिनाजुले आन्तरिक स्रोतबाट थाहा पाउनुभएअनुसार म सायद खोजी सूचीमा छैनँ, र पुलिसले मलाई त्यत्तिकै पक्राउ गर्न मात्र खोजिरहेको हो। म स्थानीय क्षेत्र छाडेर बाहिर रहेसम्म, मैले लुकिरहनु पर्दैन। मेरी श्रीमती, बच्चा र सासू सबै अर्को प्रान्तमा हुनुहुन्थ्यो, र सासूले मलाई त्यहाँ जाने हो कि भनेर सोध्नुभयो। मैले मनमनै सोचेँ, “यदि म मेरी श्रीमती र बच्चाकहाँ फर्कन सकेँ भने, मेरो परिवार टुक्रिनेछैन, र मेरो बच्चाले पारिवारिक न्यानोपनको आनन्द लिन पाउनेछिन्।” तर मलाई अचानक याद आयो, मैले त आफ्ना कर्तव्य कायम राख्नेछु भनेर परमेश्‍वरसँग प्रार्थना गरेको थिएँ। अहिले आफ्ना कर्तव्य त्यागेर वैवाहिक सम्बन्ध जोगाउन फर्कनु भनेको परमेश्‍वरलाई धोका दिनु हुनेथियो! यसबाहेक, यो कर्तव्य पूरा गर्न मभन्दा उपयुक्त अरू कोही थिएन। यदि म गएँ भने, काममा पक्कै असर पर्नेथियो। यस समयमा, मैले के बुझेँ भने मेरी सासूबाट पत्र पाउनु त्यो दिन मेरा लागि एउटा परीक्षा थियो, म के रोज्छु भनेर हेर्नका लागि। मैले परमेश्‍वरलाई सन्तुष्ट पार्ने र आफ्ना कर्तव्यलाई प्राथमिकता दिने कुरा रोज्नुपर्थ्यो। त्यसैले, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई हृदयमा अलि कमजोरी महसुस भइरहेको छ, र म आफ्नो वैवाहिक सम्बन्ध जोगाउन फर्कन चाहन्छु, तर मलाई थाहा छ, म आफ्ना कर्तव्य त्याग्न सक्दिनँ, तपाईंलाई धोका दिन त झन् सक्दिनँ। हे परमेश्‍वर, कृपया मलाई आफ्नो गवाहीमा दृढ रहन अगुवाइ गर्नुहोस्।”

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र कसरी अभ्यास गर्ने भन्ने कुरा थाहा पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरू भौतिक संसारमा जिउँछन्, र तैँले परमेश्‍वरलाई पछ्याए तापनि, परमेश्‍वरले तँलाई कसरी भरणपोषण गर्नुहुन्छ, तँलाई प्रेम गर्नुहुन्छ, र तेरो वास्ता गर्नुहुन्छ भन्‍ने कुरा तँ कहिल्यै देख्दैनस् वा त्यो कुरा बोध गर्दैनस्। त्यसोभए तँ के देख्छस्? तँ आफूलाई प्रेम गर्ने वा तेरो निकै वास्ता गर्ने तेरा रगतका नातेदारहरूलाई देख्छस्, तँ तेरा देहका लागि फाइदाजनक हुने कुराहरू देख्छस्, र तँ आफूले प्रेम गर्ने मानिस र कामकुराहरूको वास्ता गर्छस्। यो मानिसको तथाकथित निःस्वार्थता हो। तर, त्यस्ता ‘निःस्वार्थ’ मानिसहरू तिनीहरूलाई जीवन प्रदान गर्नुहुने परमेश्‍वरको वास्ता कहिल्यै गर्दैनन्। परमेश्‍वरको निःस्वार्थताको तुलनामा, मानिसको ‘निःस्वार्थता’ स्वार्थी र घृणित साबित हुन्छ। मानिसले विश्‍वास गर्ने ‘निःस्वार्थता’ खोक्रो र अवास्तविक, मिसावटपूर्ण हुन्छ, त्यो परमेश्‍वरको निःस्वार्थतासँग मेल खाँदैन, र परमेश्‍वरसँग असम्बन्धित हुन्छ। मानिसको ‘निःस्वार्थता’ आफ्नै लागि हुन्छ, जबकि परमेश्‍वरको निःस्वार्थता उहाँको सारको साँचो प्रकटीकरण हो। परमेश्‍वरको निःस्वार्थताकै कारणले नै मानिसले उहाँबाट निरन्तर भरणपोषण प्राप्त गर्छ। आज मैले कुरा गरिरहेको यस विषयबाट तिमीहरू त्यति गहन रूपमा प्रभावित नहुन सक्छौ र केवल सहमतिमा टाउको हल्लाइरहेका हुन सक्छौ, तर जब तैँले आफ्नो हृदयमा परमेश्‍वरको हृदय बोध गर्ने प्रयास गर्छस्, तब तैँले अनजानमै यो कुरा पत्ता लगाउनेछस्: तैँले यस संसारमा महसुस गर्न सक्ने सबै मानिस, घटना र कामकुराहरूमध्ये, परमेश्‍वरको निःस्वार्थता मात्र वास्तविक र ठोस छ, किनभने तँप्रतिको परमेश्‍वरको प्रेम मात्र निःसर्त र निष्कलङ्क छ। परमेश्‍वरबाहेक, अरू कसैको तथाकथित निःस्वार्थता झूटो, सतही, अप्रामाणिक हुन्छ; यसका निश्चित उद्देश्यहरू, निश्चित अभिप्रायहरू हुन्छन्, यसले आफूसँगै एउटा लेनदेन बोकेको हुन्छ, र यसले परीक्षा सहन सक्दैन। तैँले यो फोहोरी र घृणित छ भनेर समेत भन्न सक्छस्। के तिमीहरू यी वचनहरूसँग सहमत छौ?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १)। परमेश्‍वरका वचनको हरेक वाक्यले मेरो हृदयमा घोच्यो, विशेष गरी परमेश्‍वरका यी वचनहरूले: “मानिसहरू भौतिक संसारमा जिउँछन्, र तैँले परमेश्‍वरलाई पछ्याए तापनि, परमेश्‍वरले तँलाई कसरी भरणपोषण गर्नुहुन्छ, तँलाई प्रेम गर्नुहुन्छ, र तेरो वास्ता गर्नुहुन्छ भन्‍ने कुरा तँ कहिल्यै देख्दैनस् वा त्यो कुरा बोध गर्दैनस्। त्यसोभए तँ के देख्छस्? तँ आफूलाई प्रेम गर्ने … तेरा रगतका नातेदारहरूलाई देख्छस् … र तँ आफूले प्रेम गर्ने मानिस र कामकुराहरूको वास्ता गर्छस्।” परमेश्‍वरले भन्नुभएको कुरा सत्य हो। जबदेखि सीसीपीको पुलिसले मेरो खोजी गरिरहेको थियो, ब्रदर-सिस्टरहरूले मलाई सधैँ अतिथिसत्कार गरिरहनुभएको थियो, र खतराको बाबजुद पनि, उहाँहरूले मलाई अन्यत्र सार्नुभयो। यो सबै परमेश्‍वरको प्रेम थियो। विशेष गरी जब मैले भर्खरै घर छोडेको थिएँ, तब म प्रायः मेरी श्रीमती र बच्चाका बारेमा सोच्थेँ, र मेरो हृदय पीडा र कमजोरीले भरिन्थ्यो। परमेश्‍वरका वचनहरूले नै मलाई निरन्तर मलजल गरे र अन्तर्दृष्टि दिए, जसबाट मैले सत्यता बुझ्न र अघि बढ्ने विश्वास प्राप्त गर्न सकेँ। विगत केही वर्षदेखि मेरो कर्तव्य निर्वाह गर्ने क्रममा, परमेश्‍वरले मेरा लागि विभिन्न मानिस, घटना र कामकुराहरू खडा गर्नुभयो, जसले मलाई परमेश्‍वरका वचनहरू अनुभव गर्न र केही जीवन प्रगति गर्न सक्षम बनायो। मैले परमेश्‍वरबाट धेरै थोक पाएको थिएँ! तर जब मैले घरबाट म खोजी सूचीमा छैन र उनीहरूसँग पुनर्मिलन हुन अन्यत्र जान सक्छु भन्ने पत्र पाएँ, तब मैले सबैभन्दा पहिले मेरी श्रीमती र छोरीलाई सम्झेँ। मैले सोचेँ, यदि म मेरी श्रीमतीकहाँ फर्किएँ भने, मैले हाम्रो वैवाहिक सम्बन्ध जोगाउन सक्छु। त्यसैले म अत्यन्तै उत्साहित नभई रहन सकिनँ, र म तुरुन्तै मेरो परिवारकहाँ फर्कन लालायित भएँ। यसले मेरो हृदयमा मेरी श्रीमती र छोरी मात्र रहेछन् भन्ने प्रमाणित गर्‍यो: मेरो हृदयमा परमेश्‍वरका लागि कुनै ठाउँ थिएन। मप्रति परमेश्‍वरको प्रेम कति महान् छ, र बदलामा मैले परमेश्‍वरलाई लगभग केही पनि दिएको छैन भन्ने सोच्दा, मेरो हृदयमा गहिरो दोषीपन र पछुतो महसुस भयो। मभित्रको ऋणीपनको भावनाले मलाई थाम्नै नसक्ने गरी रुवायो, र यति धेरै स्वार्थी र मानवताहीन भएकोमा मैले आफैलाई घृणा गरेँ। मानवजातिप्रतिको परमेश्‍वरको प्रेम साँचो, निस्वार्थ र पवित्र छ, जसमा कुनै अशुद्धता वा बदलामा केही पाउने आशा हुँदैन। तर मानवीय प्रेम पूर्ण रूपमा लेनदेनमा आधारित र अशुद्ध हुन्छ, जुन झूटा भावनाहरू र स्वार्थले भरिएको हुन्छ। जस्तै म वैवाहिक सम्बन्ध जोगाउन घर फर्कन चाहनुको पछाडि व्यक्तिगत अभिप्रायहरू थिए। वैवाहिक सम्बन्ध टुटिसकेपछि मैले एक्लो जीवन जिउनुपर्छ, र परिवारले दिने न्यानोपन र आनन्द मैले फेरि कहिल्यै उपभोग गर्न पाउनेछैन भनेर मलाई चिन्ता थियो। मेरी श्रीमतीले सम्बन्धविच्छेद चाहनु पनि उनको भविष्यको चिन्ताको कुराले थियो। म घरमा हुँदा, मेरी श्रीमती प्रायः भन्थिन्, “तपाईंले मेरो ख्याल नराखेको र मलाई राम्रो व्यवहार नगरेको भए, मैले तपाईंलाई उहिले नै छाडिसक्ने थिएँ।” यो यथार्थमा परिणत भएको थियो। म सधैँ उनको साथमा हुन नसक्ने भएकाले, उनले आखिर मलाई छाड्ने नै थिइन्। मप्रति मेरी श्रीमतीको प्रेम कहिल्यै वास्तविक थिएन। यो सर्तहरूसहित आएको थियो। साथसाथै, मैले यो पनि सोचेँ, “मेरी श्रीमतीले सत्यता पछ्याउँदिनन् र यसको सट्टा उनी सांसारिक प्रवृत्तिहरूमा केन्द्रित छिन्। उनी प्रायः मेरो अगाडि नकारात्मक कुरा गर्छिन्, मलाई पछाडि तान्छिन्, र राम्रो भौतिक जीवनको माग गर्छिन्। वास्तवमा, मेरी श्रीमती अविश्‍वासी हुन्। उनी धनसम्पत्ति र सुखको पछि लाग्छिन् र सांसारिक मानिसहरूको बाटोमा हिँड्छिन्। अर्कोतिर, म परमेश्‍वरलाई पछ्याउन र सत्यता पछ्याइको बाटोमा हिँड्न चाहन्छु। हामी एकअर्कासँग नमिल्ने निश्चित छ, र यदि हामीले जबरजस्ती सँगै बस्न खोज्यौँ भने, त्यहाँ खुसी त हुनेछैन नै, उल्टै यसले ममाथि अनन्त पीडा थोपर्नेछ।” घर छोड्नुअघि श्रीमतीसँग भएका झगडा र मनमुटावहरू अझै पनि मेरो सम्झनामा ताजै थिए। यदि मैले अहिले घर फर्कने निधो गरेँ भने, हाम्रो वैवाहिक सम्बन्ध त जोगिएला, तर मेरो हालत तीन वर्षअघिकोजस्तै हुनेथियो, दैहिक भावनाहरूमा फस्ने, अनि सत्यता पछ्याउने वा आफ्नो कर्तव्य निर्वाह गर्ने कुनै मनसाय नहुने, मुक्ति पाउने कुरा त परै जाओस्। यसबाहेक, सम्बन्धविच्छेदले मेरी छोरीलाई कस्तो चोट पुग्ला, वा उनले भविष्यमा अझ कति धेरै दुःखकष्ट भोग्नुपर्ला भनेर म सधैँ चिन्ता गर्थेँ। तर वास्तवमा, यी कुराहरू मैले निर्णय गर्ने होइनन्, किनभने आमाबुबाले आफ्ना छोराछोरीलाई शारीरिक र भौतिक रूपमा मात्र मद्दत र हेरचाह गर्न सक्छन्, तर सन्तानको भाग्य कस्तो हुनेछ, उसले कस्तो कष्ट भोग्नेछ, र कस्तो आशिष्‌ पाउनेछ भन्ने कुरा, परमेश्‍वरले पूर्वनियोजन र प्रबन्ध गरिसक्नुभएको हुन्छ। म सधैँ मेरी छोरीका बारेमा चिन्ता गर्थेँ—यो पनि परमेश्‍वरको सार्वभौमिकतामाथि मेरो आस्थाको कमी थियो। यो सबै कुरा बुझेपछि, म मेरी छोरीलाई परमेश्‍वरको हातमा सुम्पन तयार भएँ। पछि, मेरी सासूले मलाई मेरी छोरीको अवस्था राम्रो छ, र उनले मण्डलीका दर्जनभन्दा बढी भजनहरू सिकिसकेकी छिन् अनि परमेश्‍वरको प्रशंसामा नाच्न पनि सक्छिन् भन्ने व्यहोराको पत्र पठाउनुभयो। मैले चिन्ताहरू अनावश्यक रहेछन् भन्ने मैले महसुस गरेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र आफ्नो वैवाहिक सम्बन्धद्वारा बाँधिनेछैन, म राम्ररी सत्यता पछ्याउनेछु अनि आफ्ना कर्तव्य निर्वाह गर्नेछु भनी कसम खाएँ। २०२३ को अक्टोबरमा, मैले मेरी श्रीमतीलाई अविश्‍वासीका रूपमा चित्रण गरिएको छ र मण्डलीबाट निकालिएको छ भनी थाहा पाएँ, तर मलाई निकै शान्ति महसुस भयो, र उनका कारणले आफ्नो कर्तव्य त्याग्नबाट मलाई जोगाउनुभएकोमा मैले परमेश्‍वरलाई धन्यवाद दिएँ।

त्यसपछि, मैले चिन्तन नगरी रहन सकिनँ, “किन मैले सधैँ सुखी वैवाहिक जीवन र परिवार पाउनुलाई नै आफ्नो जीवनको पछ्याइ मानेँ, र यी कुराहरू जोगाउन आफ्नो सक्दो प्रयास गरेँ? यो समस्याको मूल कारण के हो?” मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “हजारौँ वर्षदेखिको ‘राष्ट्रवादको उच्च भावना’ मार्फत मानव हृदयको गहिराइमा बसेका घातक प्रभावहरू र सामन्ती सोचले मानिसहरूलाई बाँधेका र साङ्लाले जकडेका छन्, तिनीहरूलाई रत्तिभर पनि स्वतन्त्रता दिएका छैनन्, तिनले तिनीहरूमा कुनै महत्त्वाकाङ्क्षा वा दृढता, अनि प्रगति गर्ने चाहना छाडेका छैनन्, बरु तिनीहरूलाई नकारात्मक र प्रतिगामी, दास मानसिकतामा जकडिएको, आदि अवस्थामा राखेको छन्। यी वस्तुगत कारकहरूले मानवताको वैचारिक दृष्टिकोण, आकाङ्क्षाहरू, नैतिकता, र स्वभावमा एक नमेटिने फोहोरी र कुरूप छाप पारेका छन्। मानिसहरू आतङ्कको अन्धकारमय संसारमा बाँचिरहेको, र तिनीहरूमध्ये कसैले पनि त्यसलाई पार गर्नेबारे सोच्ने नगरेको, वा एक आदर्श संसारमा जानेबारे सोच्ने नगरेको जस्तो देखिन्छ; बरु, तिनीहरू सन्तान जन्माउँदै र हुर्काउँदै, लागिपर्दै, पसिना बगाउँदै, आफ्नो श्रम गर्दै, अनि आरामदायी र सुखी परिवार, दाम्पत्य स्नेह, कर्तव्यनिष्ठ सन्तान, बुढेसकालमा आनन्दको, र शान्तिपूर्वक आफ्नो जीवन बिताउने सपनादेख्दै आफ्नो जीवनको नियतिप्रति सन्तुष्टिको भावनाका साथ आफ्ना दिनहरू बिताउँछन्…। दशौँ, हजारौँ, दशौँ हजार वर्षदेखि अहिलेसम्म, मानिसहरूले यसरी आफ्नो समय खेर फाल्दै आइरहेका छन्, कसैले पनि सबैभन्दा शानदार मानव जीवन सिर्जना गरेको छैन, तिनीहरू यस अन्धकार संसारमा आपसी कत्लेआम, ख्याति र प्राप्तिका लागि दौड, र एक-अर्काविरुद्ध षड्यन्त्र रच्नमा मात्रै लागिपरेका छन्। कसले पो कहिल्यै परमेश्‍वरका अभिप्रायहरू खोजेको छ? के कसैले कहिल्यै परमेश्‍वरको काममा ध्यान दिएको छ? मानिसहरूका ती सबै भाग, जसलाई अन्धकारको प्रभावले ओगटेको छ, धेरै पहिले नै मानव प्रकृति बनिसकेका छन्, त्यसैले परमेश्‍वरको काम गर्न निकै गाह्रो छ, र मानिसहरूसँग आज परमेश्‍वरले तिनीहरूलाई सुम्पनुभएको कुरामा ध्यान दिने हृदय त झन् कम छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (३))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, म शैतानले भरेको परम्परागत संस्कृति र विचारहरूबाट प्रभावित र विषाक्त भएको रहेछु, जस्तै “जीवनभर सँगै यात्रा गर्नु” र “दुःख-सुखमा एकअर्कालाई साथ दिने मायालु दम्पती,” र सुखी वैवाहिक जीवन तथा मेलमिलापपूर्ण परिवारलाई मैले पछ्याउने लक्ष्य मानेको रहेछु, मानिसहरू किन बाँच्छन् वा कसरी अर्थपूर्ण र मूल्यवान् तरिकाले जिउने भन्ने मलाई थाहा थिएन। मलाई याद आयो, म सानो छँदा, मेरा आमाबुबाले मलाई न्यानो पारिवारिक वातावरण नदिनुभएकाले, म आफूलाई दयनीय महसुस गर्थेँ, र म परिवारको साथलाई नै खुसीको प्रतीक ठान्थेँ। विवाहपछि, मैले श्रीमतीको हेरचाह र ख्यालको आनन्द लिएँ, साथै मेरो परिवार र छोरीले ल्याएको खुसी पाएँ, त्यसैले म आफ्नो सम्पूर्ण जीवन मेरो वैवाहिक सुख जोगाउन समर्पित गर्न चाहन्थेँ। परमेश्‍वरलाई पाएपछि, मैले मण्डलीमा आफ्नो कर्तव्य त गरेँ, तर मेरो मन भने घरमै हुन्थ्यो, र म श्रीमती र बच्चासँग पुनर्मिलन हुन चाँडै घर फर्कनेबारे सोच्थेँ, र म कर्तव्यमा झारा टार्ने काम मात्र गर्थेँ। कहिलेकाहीँ, म कर्तव्यमा यति व्यस्त हुन्थेँ कि मैले श्रीमतीलाई बेवास्ता गर्थेँ, र त्यसपछि जब म घर पुग्थेँ, म त्यसको भरपाई गर्ने कोसिस गर्थेँ। मेरी श्रीमती जे खान, किन्न, वा जहाँ जान चाहन्थिन्, उनका मागहरू अनुचित भए पनि, म तिनलाई पूरा गर्न सक्दो प्रयास गर्थेँ। म उनलाई खुसी पार्न हरतरिका प्रयोग गर्थें। पछि, पुलिसको धरपकडका कारणले, म तीन वर्षसम्म घर फर्कन सकिनँ, र मेरी श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा हाल्न चाहिन्। मलाई सम्बन्धविच्छेद भयो भने मैले यति मेहनत गरेर बनाएको घर गुम्नेछ भन्ने चिन्ता थियो, त्यसैले म वैवाहिक सम्बन्ध जोगाउन घर फर्कन चाहन्थेँ। मैले दुईचोटि त झण्डै आफ्नो कर्तव्य त्यागेर परमेश्‍वरलाई धोका दिएको थिएँ। फर्केर हेर्दा, म साँच्चै खतरामा थिएँ। मैले अब बल्ल के स्पष्ट देख्न सकेँ भने सुखी वैवाहिक जीवन र मेलमिलापपूर्ण परिवार पछ्याउने विचार र धारणाहरूले मलाई बाँधिरहेका थिए, जसले मलाई सृजित प्राणीको कर्तव्यभन्दा विवाह र परिवारलाई बढी महत्त्व दिने तुल्याएका थिए, जसका कारणले गर्दा मैले परमेश्‍वरमा विश्वास गरेको सात वा आठ वर्षमा धेरै सत्यता वास्तविकतामा प्रवेश गर्न सकिनँ, र धेरै समय खेर फालेँ। विगतमा, मैले सधैँ के विश्वास गरेको थिएँ भने जबसम्म म श्रीमतीसँग राम्रो व्यवहार गर्छु र यो परिवारका लागि प्रयास गर्छु, तबसम्म मेरो वैवाहिक जीवन सुखी हुनेछ। त्यसैले, म श्रीमतीलाई खुसी पार्न हरेक सम्भव उपाय लगाउँथेँ, र त्यसो गरेर मेरो वैवाहिक सम्बन्ध जोगाउने आशा गर्थेँ, तर अन्तमा, मेरी श्रीमतीले मलाई छोडेरै गइन्। मप्रति मेरी श्रीमतीको दयालुपन पूर्णतया मैले उनका लागि गरेको मेहनत र चुकाएको मूल्यका कारणले थियो, र अझ उनलाई खुसी पार्न मैले आफ्नो निष्ठा र मर्यादा समेत गिराएका कारणले थियो। तर अब मेरी श्रीमतीले मैले देखाएको दयालुपनको आनन्द लिन नपाउने भएपछि, उनी सम्बन्धविच्छेद गर्न हतारिइन् ताकि उनले अर्को कोही भेट्टाउन सकून्। हाम्रो वैवाहिक सम्बन्ध पूर्ण रूपमा लेनदेनमा आधारित थियो। जब प्राप्ति हुने केही कुरा थियो, तब हामीबीच माया र मधुरता थियो, तर जब शोषण गर्नका लागि कुनै मूल्यवान् कुरा बाँकी रहेन, मलाई लात हानेर पन्छाइयो। यसमा खुसी कहाँ थियो र? यी कुराहरूलाई फर्केर हेर्दा, मैले के थाहा पाएँ भने वर्षौँदेखिको मेरा सारा मेहनत र त्यागले मलाई साँचो प्रेम वा खुसी दिन सकेन; बरु, बदलामा, मैले केवल हृदय विदारक चोट र पीडा मात्र पाएँ। तब मात्र मलाई श्रीमान् र श्रीमतीबीचको प्रेम र वैवाहिक सुखको विचार त मानिसहरूलाई भ्रममा पार्न शैतानले प्रयोग गर्ने चिनीले लेपन गरिएको गोली मात्र रहेछ, यो झूट र धोकाबाहेक अरू केही रहेनछ भन्ने महसुस भयो। वर्षौँसम्म वैवाहिक सुखको पछि लाग्दा मैले चुकाएको मूल्य धेरै ठूलो थियो र यो कत्ति पनि सार्थक थिएन! मैले परमेश्‍वरमा विश्वास त गरेँ तर सत्यता पछ्याइनँ, र त्यसको सट्टा, मैले केवल वैवाहिक सुख खोजेँ। यसमा, म शैतानका चालहरूमा फसिरहेको थिएँ। मैले आफ्नो सारा समय र ऊर्जा श्रीमतीलाई खुसी पार्न र हाम्रो वैवाहिक सम्बन्ध जोगाउन खर्च गरेँ, जसले गर्दा मैले प्राप्त गर्नुपर्ने सत्यता प्राप्त गर्न वा मैले गर्नुपर्ने कर्तव्यहरू पूरा गर्न सकिनँ। यसले मेरो जीवन वृद्धिमा ढिलाइ मात्र गरेन, परमेश्‍वरका अपेक्षालाई पनि निराश बनायो। म साँच्चै मूर्ख थिएँ!

पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ, र मानिसहरूले जीवनमा के पछ्याउनुपर्छ भन्नेबारे मैले केही बुझाइ प्राप्त गर्न थालेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तँ सृजित प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवन पछ्याउनुपर्छ। यदि तँ परमेश्‍वरको आराधना गर्दैनस् बरु आफ्नै फोहोर देहभित्रै जिउँछस् भने, के तँ मानव वस्त्र धारण गरेको पशु मात्र होइनस् र? तँ मानव भएकाले तैँले आफूलाई परमेश्‍वरप्रति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तैँले आज आफूलाई परेको सानो कष्टलाई खुसीसाथ र निर्धक्क भएर स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२))। “सबै मानिसहरू अर्थपूर्ण जीवन जिउने खोजीमा लाग्नुपर्छ, र आफ्‍ना वर्तमान परिस्‍थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। तिनीहरूले पत्रुसको स्वरूपमा जिउनैपर्छ, र तिनीहरूसँग पत्रुसका ज्ञान र अनुभवहरू हुनैपर्छ। तिनीहरूले अझै उच्‍च र अझै गहन कुराहरूको खोजी गर्नुपर्छ। तिनीहरूले परमेश्‍वरप्रतिको अझ गहिरो र शुद्ध प्रेम, साथै मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्र जीवन हो; तब मात्र तिनीहरू पत्रुसजस्तै हुनेछन्। तैँले सकारात्मक पाटोतर्फ सक्रिय रूपमा प्रवेश गर्न ध्यान दिनुपर्छ, र अस्थायी सहजतामा सन्तुष्ट भएकै कारण नकारात्मक हुने र आफूलाई पछाडि धकेल्ने, र त्यो सँगसँगै अझै प्रगाढ, अझै विस्तृत र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्ने गर्नु हुँदैन। तँमा व्यवहारिक प्रेम हुनैपर्छ, र तैँले कुनै जनावरको भन्दा फरक नभएको यो पतित, निस्फिक्री जीवनबाट आफूलाई मुक्त गर्ने हरसम्भव उपाय पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्यवान् जीवन जिउनैपर्छ, र तैँले आफैलाई मूर्ख बनाउनु वा आफ्‍नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन। सङ्कल्प भएका र परमेश्‍वरलाई प्रेम गर्ने हरेकका लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन्‌ र दह्रिलो गरी खडा हुन नसकिने कुनै इन्साफ छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले कसरी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, र यो प्रेम प्रयोग गरेर उहाँका अभिप्रायहरू पूरा गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमको सङ्कल्प र दृढता हुनैपर्छ, र तँ कायर, दुर्बल व्यक्ति बन्‍नु हुँदैन। तैँले अर्थपूर्ण जीवन र अर्थपूर्ण सत्यताहरूको अनुभव गर्न सिक्‍नैपर्छ, र आफूलाई त्यसरी झाराटारूवा व्यवहार गर्नु हुँदैन। तैँले थाहै नपाई, तेरो जीवन बितेर जानेछ; त्यसपछि के तैँले अझै पनि परमेश्‍वरलाई प्रेम गर्ने यस्तो अवसर पाउनेछस्? के मानिसले आफू मरेपछि परमेश्‍वरलाई प्रेम गर्न सक्छ? तँसँग पनि पत्रुसको जस्तै सङ्कल्प र विवेक हुनुपर्छ; तैँले अर्थपूर्ण जीवन जिउनैपर्छ, र आफैसँग खेलबाड गर्नु हुँदैन। मानवका रूपमा र परमेश्‍वरलाई पछ्याउने व्यक्तिका रूपमा, तैँले आफ्‍नो जीवनलाई होसियारीपूर्वक ख्याल गर्न र सम्हाल्न जरुरी छ—तैँले कसरी आफूलाई परमेश्‍वरप्रति अर्पित गर्नुपर्छ, तैँले कसरी परमेश्‍वरमा अझ अर्थपूर्ण विश्‍वास राख्‍नुपर्छ, र तैँले परमेश्‍वरलाई प्रेम गर्ने हुनाले, तैँले कसरी उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले प्रेम गर्नुपर्छ भन्‍ने कुरालाई ख्याल गर्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनहरू धेरै स्पष्ट छन्। विश्वासीका रूपमा, हामीले परमेश्‍वरलाई प्रेम र आराधना गर्ने प्रयास गर्नुपर्छ। अय्यूब र पत्रुसजस्तै जिउनु मात्र अर्थपूर्ण हुन्छ। मैले पत्रुसको कुरा सम्झेँ, उनले युवावस्था नै पूर्ण हृदयले परमेश्‍वरलाई पछ्याए, तर उनका आमाबुबाको उनी सफल होऊन् र ठूलो मान्छे बनून् भन्ने आशा थियो। तर, उनले आफ्ना आमाबुबाका अपेक्षाहरूलाई आफ्नो लक्ष्य बनाएनन्, न त आफूले गरेका छनौटहरूले आमाबुवासँगको आफ्नो सम्बन्धमा असर पार्छ कि पार्दैन भन्ने कुराको नै वास्ता गरे। बरु, उनले आफूलाई परमेश्‍वरलाई चिन्ने र प्रेम गर्ने प्रयासमा समर्पित गरे, र अन्तमा, उनी परमेश्‍वरका लागि उँधोमुन्टो क्रुसीकरण भए, र परमेश्‍वरलाई प्रेम गर्ने नमुना बने। अब अय्यूबको कुरा। परीक्षाहरूमा, उनले आफ्ना सबै गाईवस्तु, भेडा र छोराछोरी गुमाए, र उनको शरीरभरि खटिराहरू आए, र उनकी श्रीमतीले भनिन्, “परमेश्‍वरलाई परित्याग गर्नुहोस् र मर्नुहोस्” (अय्यूब २:९)। जब अय्यूबले आफ्नी श्रीमतीले यसो भनेको सुने, उनले अझै पनि परमेश्‍वरप्रतिको आफ्नो विश्वास कायम राखे, र उनले आफ्नी श्रीमतीलाई हप्काए, र उनलाई मूर्ख स्त्री भने। उनी परमेश्‍वरका लागि आफ्नो गवाहीमा दृढ रहे र उनले शैतानलाई लज्जित पारे। पत्रुस र अय्यूबका अनुभवहरूबाट मैले के देखेँ भने, परमेश्‍वरलाई चिन्ने र प्रेम गर्ने प्रयास गरेर, अनि आफ्नो कर्तव्य राम्ररी पूरा गरेर र आफ्नो गवाहीमा दृढ रहेर मात्र हामीले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छौँ। यसरी जिउनु नै सबैभन्दा अर्थपूर्ण जीवन हो। त्यसपछि, मैले आफ्नो हृदय शान्त पारेँ र आफूलाई कर्तव्यमा समर्पित गरेँ, र साथसाथै, मैले अनुभवात्मक गवाहीका लेखहरू लेख्ने अभ्यास गरेँ। पछि, मैले मेरो एउटा अनुभवात्मक लेखको भिडियो बनाइएको कुरा थाहा पाएँ। आफ्नै अनुभव प्रयोग गरेर परमेश्‍वरको गवाही दिन सकेकोमा, म धेरै भावुक भएँ, र मलाई झन्-झन् के महसुस भयो भने सत्यता पछ्याउनु र परमेश्‍वरको गवाही दिनु नै सबैभन्दा अर्थपूर्ण हुन्छ, र यसले मात्र साँचो खुसी र आनन्द ल्याउन सक्छ।

सन् २०२४ को फेब्रुअरीमा, मैले मेरा आमाबुबाबाट एउटा पत्र पाएँ, जसमा मेरी श्रीमतीले अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भनी लेखिएको थियो। यो खबर पाउँदा, म धेरै शान्त थिएँ, र मेरी श्रीमतीले मसँग सम्बन्धविच्छेद गर्न लागिरहेको कुरामा मैले कुनै हैरानी वा दुःखित महसुस गरिनँ। बरु, मलाई यो त एक प्रकारको छुटकारा हो जस्तो लाग्यो। अब म यी बोझहरू बिसाएर पूर्ण हृदयले परमेश्‍वरलाई पछ्याउन सक्छु। यो मेरा लागि परमेश्‍वरको मुक्ति हो, र म आफ्नो हृदयको गहिराइदेखि नै सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद दिन्छु!

अघिल्लो:  ८५. कर्तव्यहरूमा कुनै हैसियत वा दर्जा हुँदैन

अर्को:  ८७. मैले आफ्‍नो कर्तव्य पन्छाउँदा के कुराको चिन्ता गरिरहेकी थिएँ

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger