९१. अब म आफ्नो अपराधकै कारण गलत बुझाइमा डुबिरहन्नँ
सन् २०१८ अगस्ट महिनामा, म बाईस वर्षको थिएँ। चिनियाँ कम्युनिस्ट पार्टीले सधैँ इसाईहरूलाई सताउने र पक्रने गरिरहेकोले, मैले परमेश्वरमा विश्वास गर्नका लागि एउटा स्वतन्त्र र लोकतान्त्रिक देशमा जाने योजना बनाएँ। तर अप्रत्याशित रूपमा, मलाई विमानस्थलमै पक्राउ गरियो। मलाई मण्डलीको सूचनामाथि घात गर्न बाध्य पार्नका लागि, प्रहरीले मलाई हरेक दिन बिहान ६ बजेदेखि राति १२ बजेसम्म दुवै खुट्टा जोडेर उभिन लगाउँथे, र यो क्रम छ-सात दिनसम्म चल्थ्यो। म यति लामो समय उभिँदा मलाई रिँगटा लाग्थ्यो; मेरा खुट्टाहरू दुख्थे र लाटा हुन्थे, अनि मेरो सास छिटोछिटो चल्थ्यो। प्रहरीले मलाई धम्की पनि दिन्थे, “तँ बोलिनस् भने, हामी तँलाई झुन्ड्याउनेछौँ र ‘बरफ र आगोको दोहोरो ज्वाला’ को स्वाद चखाउनेछौँ। हामी सुरुमा तँलाई उच्च तापक्रम भएको मेसिनले पोल्नेछौँ, र त्यसपछि जबर्जस्ती पानी कोचाउनेछौँ, अनि यो प्रक्रिया बारम्बार दोहोर्याउनेछौँ। त्यतिबेलासम्म, तैँले बोल्न चाहे पनि बोल्न सक्नेछैनस्।” प्रहरीको यातना भोगेका ब्रदर-सिस्टरहरूलाई सम्झँदा, मैले मुटुमा डरको तरङ्ग महसुस गरेँ, “यदि उनीहरूले मलाई यातना दिए भने के म त्यो सहन सकुँला?” मैले मनमनै मौन प्रार्थना गर्दै परमेश्वरसँग मलाई शक्ति र आस्था दिनुहोस् भन्ने बिन्ति गरेँ। म केही पनि नबोलिरहेको देखेपछि, प्रहरीले मेरो टाउको थिचे र बलिरहेको चुरोटको ठुटा मेरो नाकको प्वालमा राखे। बाक्लो धुवाँ र तातो मेरो नाकभित्र पस्यो, जसले गर्दा म यति नराम्ररी निसास्सिएँ कि मैले सास फेर्न सकिनँ। मलाई निस्सासिएर मर्न लागे झैँ भयो। उनीहरूले मेरो नाकको प्वालमुनिको छाला पनि पोलिदिए, र मैले तीव्र पीडाको झोक्का महसुस गरेँ। त्यसपछि उनीहरूले मेरो पाखुरा माथि ताने, लाइटर बाले र आगोको लप्काले मेरो पाखुरा पोलिदिए। मैले पीडाको कारण स्वाभाविक रूपमै आफ्नो हात पछाडि तान्न खोजेँ, तर प्रहरीले यसलाई बलियो गरी समाते र मलाई हल्लिन पनि दिएनन्। मेरा पाखुराहरू दर्जनौँ सेकेन्डसम्म पोलिए। त्यो पीडा खपिनसक्नु थियो। मेरा पाखुरामुनिको छाला डढेर कालो भयो र छाला खुइलियो; पछि पाक्यो, र त्यसमा अण्डाजत्रा खत बसे। त्यसपछि, ती प्रहरीहरूले दुष्ट किसिमले मुस्कुराउँदै हेरे, अनि म क्रोध, आक्रोश र डरले भरिएँ, र सोचेँ, “यी दियाबलसहरू जे पनि गर्न सक्छन्। कसलाई के थाहा अब उनीहरूले मलाई कसरी यातना दिने हुन्?” म धेरै कमजोर थिएँ र सकेसम्म चाँडो यो नर्कजस्तो ठाउँबाट निस्कन चाहन्थेँ। तर मलाई मैले यहूदा बनेर आफ्नो दयनीय जीवन लम्ब्याउनका लागि आफ्ना ब्रदर-सिस्टरहरूलाई धोका दिन मिल्दैन भन्ने थाहा थियो। त्यसैले मैले आफ्नो हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, र म मरे पनि परमेश्वरको घरको हितलाई धोका दिनेछैनँ भनी कसम खाएँ, अनि कहिल्यै यहूदा नबन्ने शपथ लिएँ। केही दिनपछि, प्रहरीले मलाई तीन बयानको पत्रमा हस्ताक्षर गराउन मेरो परिवारलाई ल्याए, र मैले हस्ताक्षर गरेमा मलाई छोडिदिने भने। ठूलो रातो अजिङ्गरद्वारा बहकिनुभएका मेरा बुबाले, मैले हस्ताक्षर नगरेमा उहाँले मलाई आफ्नो छोराको रूपमा अस्वीकार गर्ने बताउनुभयो। मलाई यो शैतानको चाल हो भन्ने थाहा थियो त्यसैले मैले हस्ताक्षर गर्न अस्वीकार गरेँ। त्यसपछि प्रहरीले मलाई धम्की दिँदै भने, “हामी तँलाई अन्तिम एक रातको समय दिन्छौँ, तर भोलि पनि तैँले हस्ताक्षर गरिनस् भने, हामी तँलाई कतै लैजानेछौँ र राम्ररी तह लगाउनेछौँ!” यो सुन्दा म डराएँ। “उनीहरू जे पनि गर्न सक्छन्, र अझ खास गरी सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नेहरूप्रति त उनीहरू झन् क्रूर छन्। यदि मैले हस्ताक्षर गर्न अस्वीकार गरिरहेँ भने, कसलाई के थाहा उनीहरूले मलाई कसरी यातना दिने हुन्?” मृत्युभन्दा पनि कठोर पीडा भोग्नुपर्ला भन्ने सोचाइ नै भयभीत तुल्याउने थियो। मैले सोचेँ, “यदि मैले यातना सहन सकिनँ र यहूदा बनेँ भने के होला? त्यसो भयो भने त मैले परमेश्वरको स्वभावलाई चिढ्याउनेछु र फेरि कहिल्यै मुक्ति पाउने मौका पाउनेछैनँ। यदि मैले बुद्धिको प्रयोग गरेर तीन बयानको पत्रमा हस्ताक्षर गरेँ, तर मेरो हृदयले परमेश्वरलाई धोका दिएन भने, के परमेश्वरले मलाई अर्को मौका दिनुहुनेछ?” अन्त्यमा, मैले आफ्नो दैहिक कमजोरीलाई जित्न सकिनँ र तीन बयानको पत्रमा हस्ताक्षर गरेँ। तीन बयानको पत्रमा हस्ताक्षर गरिसकेपछि, प्रहरीले मलाई घर जान दिए।
घर फर्किसकेपछि, मलाई बेचैन महसुस भयो। मैले बुद्धिको प्रयोग गर्नेबारे सोचेँ, तर पनि मैले तीन बयानको पत्रमा हस्ताक्षर गरेँ, र परमेश्वरका नजरमा, यो धोकाको निसान थियो। के परमेश्वरले मलाई अझै मुक्ति दिनुहोला? पछि, मेरा बुबाले मलाई काम गर्न बाहिर लैजान चाहनुभयो, र उहाँले मलाई मनाउन नातेदार र साथीभाइहरूलाई पनि ल्याउनुभयो। मैले मनमनै सोचेँ, “म जान मिल्दैन। यदि म गएँ भने, मेरा ब्रदर-सिस्टरहरूले मलाई फेला पार्न सक्नेछैनन्। तब मैले परमेश्वरको घरमा फर्कने मौका कहिल्यै पाउनेछैनँ।” मलाई आफू एक्लै एउटा अज्ञात जवाफको प्रतीक्षा गरिरहेको, हराएको चरीजस्तो महसुस भयो। पन्ध्र दिनपछि, मेरा ब्रदर-सिस्टरहरूले मलाई भेट्टाए र मेरो कर्तव्य निर्वाह गर्नेबारे मसँग सङ्गति गरे। म अझै परमेश्वरको घरमा फर्कन र आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छु भन्ने देखेर, म यति भावविह्वल भएँ कि म झन्डै रोएँ, र हतार-हतार सहमतिमा टाउको हल्लाएँ। त्यसपछि, मण्डलीले मलाई जुनसुकै कर्तव्य खटाए पनि, त्यसलाई पूरा गर्न म सक्दो कोसिस गर्थेँ। तर म कहिलेकाहीँ ब्रदर-सिस्टरहरूले तीन बयानको पत्रमा हस्ताक्षर गर्ने विषयमा छलफल गरेको सुन्थेँ। उनीहरू भन्थे, “हामीले कुनै पनि हालतमा तीन बयानको पत्रमा हस्ताक्षर गर्नु हुँदैन। तीन बयानको पत्रमा हस्ताक्षर गर्नु भनेको परमेश्वरलाई धोका दिनु हो, र यसले हामीमा पशुको छाप लगाइदिन्छ।” हरेक पटक यी शब्दहरू सुन्दा, मेरो हृदय दुख्थ्यो, विशेष गरी जब म परमेश्वरका यी वचनहरू पढ्थेँ: “सङ्कष्टको समयमा मप्रति अलिकति पनि बफादारी नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई कुनै बेला विश्वासघात गरेकाहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई घात गर्नेहरूसँग सङ्गत गर्न झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरूलाई यो भन्नैपर्छ: मेरो हृदय पूर्ण रूपमा तोड्ने जोसुकैले मबाट दोस्रो पटक क्षमा पाउनेछैन, र मप्रति बफादार रहेकाहरू सधैँ मेरो हृदयमा रहनेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। मैले परमेश्वरको स्वभाव धर्मी र प्रतापी छ, र यसले उल्लङ्घन सहँदैन, र उहाँलाई धोका दिने र उहाँको हृदयमा चोट पुर्याउनेलाई पनि परमेश्वरले कृपा देखाउन छोड्नुहुनेछ भन्ने बुझेँ। म मनमनै सोच्थेँ, “मैले तीन बयानको पत्रमा हस्ताक्षर गरेर परमेश्वरलाई धोका दिएको छु। के म परमेश्वरद्वारा हटाइसकिएको छु? के यसको अर्थ मैले अन्तिमसम्म विश्वास गरे पनि, म कहिल्यै परमेश्वरबाट मुक्ति पाउन सक्दिनँ भन्ने हो?” खास गरी, परमेश्वरको घरका अनुभवात्मक गवाही भिडियोहरूमा म, पक्राउ परेपछि हरेक प्रकारका यातनाको बाबजुद आफ्नो गवाहीमा दृढ रहने, र तीन बयानको पत्रमा हस्ताक्षर गर्न दृढतापूर्वक अस्वीकार गर्ने ब्रदर-सिस्टरहरू देख्थेँ। तर मैले यातनाबाट बच्नका लागि तीन बयानको पत्रमा हस्ताक्षर गरेँ। म परमेश्वरको गवाही दिन असफल मात्र भइनँ, मैले त कलङ्कको दाग समेत छोड्दै शैतानलाई मलाई खिसी गर्न दिएँ। मलाई पक्कै पनि परमेश्वर मदेखि साँच्चै निराश हुनुभएको हुनुपर्छ भन्ने लाग्थ्यो। म जति सोच्थेँ, त्यति नै नकारात्मक बन्दै जान्थेँ; मेरो मुटुमा छुरा रोपेजस्तै पीडा हुन्थ्यो, र म मैले तीन बयानको पत्रमा हस्ताक्षर नगर्नुपर्ने रहेछ भन्ने सोच्थेँ। तर जे हुनु भइसक्यो, ठ्याक्कै त्यसरी नै जसरी पोखिएको पानीलाई सोहोर्न सकिँदैन। पछि, परमेश्वरको घरले तीन बयानको पत्रमा हस्ताक्षर गरेकाहरूको छानबिन गर्न थाल्यो; म पनि छानबिनको दायरमा थिएँ। मैले परमेश्वरका वचनहरू सम्झेँ: “के ‘तीन अभिव्यक्ति’ मा हस्ताक्षर गर्नेहरू बम विस्फोट गराएर आफैलाई छिन्नभिन्न पार्नेहरू होइनन् र?” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्वर तीन बयानको पत्रमा हस्ताक्षर गर्ने र उहाँलाई धोका दिनेहरूलाई घृणा गर्नुहुन्छ। मैले तीन बयानको पत्रमा हस्ताक्षर गरेको हुनाले, परमेश्वरले मलाई पक्कै पनि दोषी ठहराएर हटाउनुभएको हुनुपर्छ। के अब मलाई निकालिनेछ? पछि, मण्डलीले मलाई ननिकाले पनि, म नकारात्मकतामा नै जिएँ। धेरैपटक, जब म आफूसँग सहकार्य गर्ने ब्रदर-सिस्टरहरू एक-आपसमा अनुभवात्मक लेखहरू लेख्ने वा जीवन प्रवेशबारे कुरा गरिरहेका देख्थेँ, मलाई म उनीहरूभन्दा फरक छु, उनीहरू सबै ब्रदर-सिस्टरहरू हुन्, र उनीहरू सबैका लागि सत्यता पछ्याउने र मुक्ति पाउने मौका छ भन्ने लाग्थ्यो। तर म फरक थिएँ। मैले परमेश्वरलाई धोका दिएको थिएँ, र पक्कै पनि परमेश्वरले मप्रति एकदमै वितृष्णा मान्नुभएको हुनुपर्छ। मलाई मजस्ता मानिसहरूसँग सत्यता पछ्याउने योग्यता छैन, र मैले अन्तिमसम्म विश्वास गरे पनि, यो सबै व्यर्थ हुनेछ, र म सायद एक श्रमिक मात्र हुन सक्छु, अनि मुक्तिको मसँग कुनै सरोकार हुनेछैन भन्ने लाग्थ्यो। म नकारात्मक स्थितिमा जिउँथेँ, अनि म आफ्नो हृदयमा बताइनसक्नु पीडा बोकेर हरेक दिन यान्त्रिक रूपमा मात्र आफ्ना कर्तव्यहरू पूरा गर्थेँ। त्यस समयमा, म प्राय: “यदि तिमी एक सेवाकर्ता हौ भने” भन्ने परमेश्वरका वचनहरूको एउटा भजन सुन्थेँ। परमेश्वर हामीलाई सोध्नुहुन्छ: “यदि तँ साँच्चै नै सेवाकर्ता होस् भने, के तँ झाराटारुवापन वा नकारात्मकताको कुनै छनकबिना अर्पित भएर मेरा लागि सेवा प्रदान गर्न सक्छस्? यदि तैँले मैले तेरो कहिल्यै सराहना नगरेको कुरा पत्ता लगाइस् भने, के तँ अझ पनि रहिरहेर आजीवन मेरा लागि सेवा प्रदान गर्न सक्नेछस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्वासघात (२))। हरेक पटक यो गीत सुन्दा, म धेरै भावविह्वल हुन्थेँ। म एक सृजित प्राणी हुँ, र परमेश्वरमा विश्वास गर्नु र मेरा कर्तव्यहरू निर्वाह गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित कुरा हो, र यदि परमेश्वरले मलाई चाहनुभएन भने पनि, म अन्त्यसम्मै उहाँमा विश्वास गर्नेछु। मसँग कर्तव्य निर्वाह गर्ने एक दिन मात्रै बढी रहेछ भने पनि, मैले आफ्ना कर्तव्यहरू पूरा गर्न आफूले सकेको गर्नुपर्छ!
एक दिन, मैले मेरो स्थितिलाई पूर्ण रूपले सम्बोधन गर्ने परमेश्वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरू दिक्दारीमा डुब्नुको अर्को जड कारण पनि छ, र त्यो कारण के हो भने मानिसहरू वयस्क नभई वा वयस्क भएपछि केही खास घटनाहरू घट्छन्, अर्थात्, तिनीहरूले केही अपराध गर्छन् वा केही बेबकुफ, मूर्ख, र अज्ञानी कामकुराहरू गर्छन्। तिनीहरू आफूले गरेका यी अपराधहरू, यी बेबकुफ र अज्ञानी कामकुराहरूको कारण दिक्दारीमा डुब्छन्। यसप्रकारको दिक्दारी आफैलाई दोष दिनु हो, र यो तिनीहरू कस्ता व्यक्ति हुन् भन्ने एक प्रकारको चित्रण पनि हो। … कतिपय मानिस कहिलेकाहीँ आफ्नो दिक्दारी त्याग्न सक्छन् र त्यसलाई पछि छोड्छन्। तिनीहरू आफ्नो इमानदारी र आफूले बटुल्न सक्ने सबै ऊर्जा आफ्ना कर्तव्य, दायित्व, र जिम्मेवारीहरू पूरा गर्नमा लागू गर्छन्, अनि सत्यता पछ्याउन र परमेश्वरका वचनहरू मनन गर्नमा, अनि परमेश्वरका वचनहरू बुझ्नका लागि परिश्रम गर्नमा आफ्नो सारा हृदय र मनसमेत लगाउँछन्। तर विशेष अवस्था वा परिस्थिति आइपर्नेबित्तिकै, दिक्दारीले तिनीहरूलाई फेरि एकपटक गाँज्छ र तिनीहरूलाई हृदयभित्र दोषी महसुस गराउँछ। तिनीहरूले मनमनै विचार गर्छन्, ‘तैँले पहिले पनि त्यो काम गरेको छस्, र तँ त्यस्तै व्यक्ति थिइस्। के तैँले मुक्ति पाउन सक्छस्? के सत्यता अभ्यास गर्नुको कुनै अर्थ छ? तैँले गरेको कुराप्रति परमेश्वरले के विचार गर्नुहुन्छ? के तैँले गरेको कामको सवालमा परमेश्वरले तँलाई क्षमा दिनुहुनेछ? के यसरी मूल्य चुकाएर तैँले त्यो अपराधको शोधभर्ना गर्न सक्छस्?’ तिनीहरू प्रायः आफूलाई दोष दिन्छन् र भित्रभित्रै दोषी महसुस गर्छन्, र तिनीहरू अक्सर आफूलाई शङ्का गर्छन् र आफूमाथि प्रश्नहरू बर्साउँछन्। तिनीहरू यस दिक्दारीलाई कहिल्यै फाल्न सक्दैनन्, र तिनीहरू हृदयमा आफूले गरेका लाजमर्दा कुराहरूबारे सधैँ अप्ठ्यारो महसुस गर्छन्। त्यसकारण, तिनीहरूले यतिका धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएका छन्, र तिनीहरूले परमेश्वरले भनेको कुनै कुरा सुनेका छन् भन्ने देखिँदैन, न त तीमध्ये कुनै बुझेका छन् भन्ने नै देखिन्छ। यस्तो लाग्छ मानौँ तिनीहरूलाई मुक्ति पाउने कार्य आफूसँग सम्बन्धित छ कि छैन, आफूलाई दोषमुक्त गर्न र छुटकारा दिन सकिन्छ कि सकिँदैन, वा आफू परमेश्वरको न्याय र सजाय अनि उहाँको मुक्ति पाउन योग्य छु कि छैनँ भन्ने नै थाहा छैन। तिनीहरूलाई यी सब कुराबारे थाहा हुँदा पनि हुँदैन। तिनीहरूले कुनै उत्तर नपाउने हुनाले, र तिनीहरूले कुनै सही फैसला नपाउने हुनाले, तिनीहरूलाई भित्री रूपमा सधैँ दिक्दारी महसुस हुन्छ। तिनीहरू आफ्नो भित्री हृदयमा आफूले गरेका कुराहरू बारम्बार विचार गरिरहन्छन्, त्यसलाई मनमा खेलाइरहन्छन्, यो सब कसरी सुरु भयो र कसरी अन्त्य भयो भनेर याद गरिरहन्छन्, पहिले के आयो र पछि के आयो भनेर याद गरिरहन्छन्। तिनीहरूले यसलाई जसरी याद गरे पनि, तिनीहरूलाई सधैँ पाप महसुस हुन्छ, र त्यसकारण तिनीहरूलाई यो विषयमा वर्षौँसम्म दिक्दारी महसुस भइरहन्छ। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका बेलामा समेत, तिनीहरूले कामको निश्चित पक्षमा सुपरिवेक्षकका रूपमा सेवा गर्दासमेत, तिनीहरूलाई आफूले मुक्ति पाउने कुनै आशा छैन भन्ने महसुस हुन्छ। त्यसकारण, तिनीहरू सत्यता पछ्याउने कुरालाई सबैभन्दा सही र महत्त्वपूर्ण कुराका रूपमा कहिल्यै सोझै सामना गर्दैनन्। तिनीहरू केवल आफूले विगतमा गरेको गल्ती वा गरेको कुरालाई धेरैजसो मानिसले एकदमै खराब ठान्छन्, वा मानिसहरूले दोषी ठहर्याउँछन् र तिरस्कार गर्छन्, वा परमेश्वरले समेत दोषी ठहर्याउनुहुन्छ, अनि तिनीहरूले भविष्यमा सत्यता पछ्याए पनि मुक्ति पाउन सक्दैनन् भनेर विश्वास गर्छन्। परमेश्वरको काम जुनै चरणमा भए पनि वा उहाँले जति धेरै वाणी बोल्नुभएको भए पनि, तिनीहरू सत्यता पछ्याउने कुरालाई कहिल्यै सही रूपमा सामना गर्दैनन्। यो किन हुन्छ? किनभने तिनीहरूले यस प्रकारको कुरा अनुभव गरेर निकाल्ने अन्तिम निष्कर्ष गलत हुन्छ, र त्यसैले तिनीहरू आफ्नो दिक्दारीलाई पछि छोड्न असक्षम हुन्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरले मेरो यथार्थ स्थितिको वर्णन गर्नुभयो। जबदेखि मैले तीन बयानको पत्रमा हस्ताक्षर गरेँ, यो विषय मेरो मुटुको काँडाजस्तै भएको थियो, र म प्राय: मर्माहत र बेचैन महसुस गर्थेँ। कैयौँ पटक, मैले आफैलाई सोधेँ, “मैले तीन बयानको पत्रमा हस्ताक्षर गरेकी र पशुको चिह्न लगाइएकी हुनाले, के परमेश्वरले मजस्तालाई अझै मुक्ति दिनुहोला त? परमेश्वर उहाँको गवाही दिन सक्ने मानिसहरू चाहनुहुन्छ, तर मैले परमेश्वरको गवाही नदिएको मात्र होइन, मैले तीन बयानको पत्रमा हस्ताक्षर समेत गरेर परमेश्वरलाई धोका दिएँ, र कलङ्कको दाग बनेँ। के परमेश्वरले मलाई हटाइसक्नुभएको छ?” मैले यसरी सोच्दा, मेरो मुटु चक्कुले चिरा पार्न लागे झैँ हुन्थ्यो। मलाई आफ्ना प्रार्थनाहरूमा के भन्ने भनेर समेत थाहा हुँदैनथ्यो। मण्डलीले मलाई अझै मेरा कर्तव्यहरू निर्वाह गर्ने मौका दियो, र म धेरै आभारी थिएँ अनि तिनलाई आफूले सकेजति राम्रोसँग पूरा गर्न चाहन्थेँ, तर पनि मेरो बेचैनी हराउँदै हराएन। हरेक पटक ब्रदर-सिस्टरहरूले तीन बयानको पत्रमा हस्ताक्षर गर्नेहरूबारे छलफल गरेको सुन्दा, मेरो मुटु भित्रभित्रै दुख्थ्यो। पक्राउ परेपछि आफ्नो गवाहीमा दृढ रहेका ब्रदर-सिस्टरहरूका अनुभवहरू देख्दा मेरो मुटु अझ बढी दुखेर पीडा हुन्थ्यो। म सोच्थेँ, यी मानिसहरू परमेश्वरद्वारा अनुमोदित छन्, तर मैले तीन बयानको पत्रमा हस्ताक्षर गरेँ र परमेश्वरलाई धोका दिएँ, जसले गर्दा म उहाँको मुक्तिको अयोग्य बनेँ। मैले तीन बयानको पत्रमा हस्ताक्षर गरेको छायाबाट आफूलाई मुक्त गर्न नसकेकोले, म अक्सर नकारात्मक स्थितिमा जिएँ, र मैले सत्यता पछ्याउने वा जीवन प्रवेश गर्ने कुनै उत्साह जुटाउन सकिनँ। म आफूलाई दिनहुँ काम पूरा गर्न मात्र जान्ने, आत्माविनाको मानिसको खोक्रो शरीरजस्तो महसुस गर्थेँ। यस्तो लाग्थ्यो, कामहरू राम्रोसँग गरेर मात्रै म आफ्ना अपराधहरूको प्रायश्चित्त गर्न सक्छु, र तब मात्र मेरो हृदयले केही सान्त्वना महसुस गर्नेछ। परमेश्वरका वचनहरू मनन गर्दै, मैले परमेश्वरले मेरो सत्यता पछ्याउने मौका खोस्नुभएको रहेनछ भन्ने महसुस गरेँ। उहाँले मलाई अगुवाको कर्तव्य निर्वाह गर्ने तालिम लिने अनुमति समेत दिनुभएको थियो। यदि परमेश्वरले मलाई हटाउनुभएको भए, मसँग मेरो कर्तव्य निर्वाह गर्ने मौका कसरी बाँकी रहन्थ्यो र? अझ त्यो अवस्थामा मैले परमेश्वरका वचनहरूको मलजल र आपूर्तिको आनन्द लिन सक्ने त कुरै भएन। तर मैले परमेश्वरलाई गलत बुझिरहेँ र नकारात्मकतामा जिएर धेरै समय बर्बाद गरेँ! यदि म यसरी नै नकारात्मक भइरहेँ भने, यो मलाई परमेश्वरले हटाइरहनुभएको नभई, बरु सत्यता नपछ्याएर मैले आफैलाई बर्बाद गरिरहेको हुनेथिएँ। यो नकारात्मक स्थितिबाट बाहिर निस्कन मैले ध्यानपूर्वक आत्मचिन्तन गर्दै सत्यता खोज्नुपर्ने थियो।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड देखेँ जसले मलाई समस्याको जड फेला पार्न मद्दत गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरू सबैले आशिष्, पुरस्कार, र मुकुटहरू पाउनका लागि परमेश्वरमा विश्वास गर्छन्। के हरेक व्यक्तिको हृदयमा यही अभिप्राय हुँदैन र? वास्तवमा, हरेक व्यक्तिमा हुन्छ। यो तथ्य हो। मानिसहरूले यसबारे प्रायः कुरा नगरे पनि, र आशिष् प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहनालाई ढाकछोप गरे पनि, मानिसहरूको हृदयको गहिराइमा रहेको यो चाहना, यो अभिप्राय र मनसाय कहिल्यै डगमगाएको छैन। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आशिष् प्राप्त गर्ने अभिप्राय कहिल्यै त्याग्दैनन् जुन तिनीहरूको हृदयको गहिराइमा लुकेको हुन्छ, र तिनीहरू सधैँ चुपचाप यसको सेवामा परिश्रम र दौडधुप गर्छन्। के मानिसहरूको हृदयको सबैभन्दा गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष् प्राप्त गर्ने यो अभिप्राय नहुने हो भने, तिमीहरूले कस्तो महसुस गर्नेथियौ? तिमीहरूले कस्तो मनोवृत्तिका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेथियौ र परमेश्वरलाई पछ्याउनेथियौ? यदि मानिसहरूको हृदयमा लुकेको आशिष् प्राप्त गर्ने यो अभिप्रायलाई पूर्ण रूपमा उन्मूलन गरियो भने तिनीहरूको के हालत हुनेथियो? यो सम्भव छ कि धेरै मानिसहरू नकारात्मक बन्नेथिए, र कतिपय आफ्नो कर्तव्यमा अप्रेरित हुनेथिए, र परमेश्वरमाथि विश्वासमा तिनीहरूको रुचि हराउनेथियो। तिनीहरूले आफ्नो आत्मा गुमाएजस्तो देखिनेथियो, र तिनीहरूको हृदय खोसिएजस्तो देखिनेथियो। त्यसैले म भन्छु कि आशिष् प्राप्त गर्ने अभिप्राय मानिसहरूको हृदयको गहिराइमा लुकेर रहने कुरा हो। सायद, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा वा मण्डलीको जीवन जिउँदा, तिनीहरूलाई आफूले केही सत्यताहरू बुझेको छु र आफ्नो परिवार त्याग्न र खुसीसाथ आफूलाई परमेश्वरप्रति समर्पित गर्न सक्षम छु, र अब आफूलाई आशिष् प्राप्त गर्ने आफ्नो अभिप्रायको ज्ञान छ, र यो अभिप्राय त्यागेको छु, र अब यसद्वारा शासित वा बाँधिएको छैन भन्ने महसुस हुन्छ। त्यसपछि, तिनीहरूले अब आफूसँग आशिष् प्राप्त गर्ने अभिप्राय छैन भनी सोच्छन्, तर परमेश्वरले अर्कै सोच्नुहुन्छ। मानिसहरूले विभिन्न कुराहरूलाई सतही रूपमा मात्रै हेर्छन्। परीक्षाहरूविना, तिनीहरूले आफ्नो बारेमा राम्रै अनुभव गर्छन्। जबसम्म तिनीहरूले मण्डली छोडेका वा परमेश्वरको नामलाई इन्कार गरेका हुँदैनन्, र तिनीहरू आफूलाई परमेश्वरप्रति समर्पित गर्न लागिरहन्छन्, तबसम्म तिनीहरूले आफू परिवर्तन भएको छु भन्ने विश्वास गर्छन्। तिनीहरू अब आफ्नो कर्तव्य निर्वाहमा आफ्नो जोस वा क्षणिक आवेगद्वारा उत्प्रेरित भएको महसुस गर्दैनन्। यसको साटो, तिनीहरू आफूले सत्यता पछ्याउन सक्ने, र आफ्नो कर्तव्य निर्वाह गर्दा आफूले निरन्तर सत्यताको खोजी र अभ्यास गर्न सक्ने, जसले गर्दा तिनीहरूका भ्रष्ट स्वभावहरू शुद्ध हुने र तिनीहरूले केही साँचो परिवर्तन हासिल गर्न सक्ने विश्वास गर्छन्। तर, जब तिनीहरूको गन्तव्य र परिणामसँग प्रत्यक्ष रूपमा सम्बन्धित घटनाहरू घट्छन्, तब तिनीहरूका प्रकटीकरणहरू के-के हुन्छन्? तिनीहरूको साँचो अवस्था पूर्ण रूपमा प्रकाश हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्वरले मेरो साँचो स्थितिको खुलासा गर्नुभयो। म यति धेरै नकारात्मक थिएँ किनकि आशिष् पाउने मेरो चाहना चकनाचुर भएको थियो। परमेश्वरलाई पाएपछि, म उहाँको लागि आफूलाई समर्पित गर्न उत्साहित थिएँ र हाईस्कुल सिध्याउनेबित्तिकै मैले पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ, र यदि मैले यसरी नै पछ्याउने कार्य जारी राखेँ भने, म पक्कै पनि राज्यमा प्रवेश गर्नेछु र स्वर्गको राज्यका आशिष्हरूको आनन्द लिनेछु। जब म पक्राउ परेँ र यातनाको डरले तीन बयानको पत्रमा हस्ताक्षर गरेँ, तब मलाई अब आशिष् पाउने कुनै आशा छैन जस्तो लाग्यो, र परमेश्वरप्रतिका मेरा सबै शङ्का र गलतफहमीहरू बाहिर आए। मैले आफैलाई सोधेँ, “तीन बयानको पत्रमा हस्ताक्षर गरेपछि, के परमेश्वरले मलाई अझैपनि क्षमा गर्न सक्नुहोला त? यदि परमेश्वरले मलाई मुक्ति दिनुहुन्न भने, के मसँग अझै आशिष्को आशा छ त? यदि आशिष्को कुनै आशा छैन भने, अन्त्यसम्म विश्वास गर्नुको के अर्थ छ?” म भित्रभित्रै धेरै नकारात्मक भएँ। विशेष गरी पछि, जब अगुवाहरूले तीन बयानको पत्रमा मैले हस्ताक्षर गरेको विषयमा छानबिन गरे, तब मलाई मण्डलीले कुनै पनि बेला निकाल्न सक्छ भन्ने शङ्का लाग्न थाल्यो, र मलाई म परमेश्वरको वचनको आपूर्तिको आनन्द लिन र आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्षम भए पनि, हटाइने नियतिबाट उम्कन सक्दिनँ जस्तो लाग्यो। मलाई आशिष् पाउने कुनै आशा छैन भन्ने लाग्यो, र मेरो मुटुलाई ठूलो ढुङ्गाले किचिरहेको जस्तो महसुस भयो। मलाई आफ्नो आत्मै हराएजस्तो महसुस भयो। म प्रायः नकारात्मकता र पीडामा डुबिरहन्थेँ, र मैले सत्यता पछ्याउने वा जीवन प्रवेश गर्ने कुनै ऊर्जा जुटाउन सकिनँ। मैले आशिष् पाउने मेरो इच्छा अति प्रबल रहेछ भन्ने देखेँ। यी सबै वर्षहरूमा, मैले गरेका समर्पण र त्यागहरू परमेश्वरलाई सन्तुष्ट पार्नका लागि नभई उहाँसँग मोलतोल गर्ने प्रयासका निम्ति थिए। जब केही फाइदा हुन्थ्यो, म कर्तव्यमा धेरै उत्साहित हुन्थेँ, तर जब आशिष् पाउँदिनथेँ, म ज्यादै नकारात्मक बन्थेँ। मेरो र अविश्वासीहरूको पछ्याइमा के फरक थियो? म केवल एक सृजित प्राणी हुँ, म धूलोको कणको योग्य पनि छैन, तर म परमेश्वरको घरमा आउन, आफ्ना कर्तव्यहरू निर्वाह गर्न, र परमेश्वरले व्यक्त गर्नुभएका सबै सत्यताहरूको आनन्द लिन सक्षम छु। मैले परमेश्वरबाट धेरै कुरा पाएको छु। तर परमेश्वरले मलाई दिनुभएको सबै कुराका लागि म अलिकति पनि कृतज्ञ थिइनँ। मैले निर्लज्ज भई परमेश्वरसँग स्वर्गको राज्यका आशिष्हरू मागेँ, र यदि मैले आशिष् पाउन सकिनँ भने, म नकारात्मक बन्थेँ र प्रतिरोध गर्थेँ। ममा साँच्चै कुनै मानवता थिएन! यो महसुस गरेपछि, मलाई गहिरो पछुतो भयो, त्यसैले मैले आशिष्का मेरा अभिप्रायहरू त्याग्न र पश्चात्ताप गर्न तत्पर भई परमेश्वरलाई प्रार्थना गरेँ।
त्यसपछि, मैले परमेश्वरका वचनका थप दुई खण्ड पढेँ र उहाँको अभिप्रायबारे अझ स्पष्ट बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “धेरैजसो मानिसहरूले केही अपराधहरू गरेका र आफूमाथि केही दागहरू ल्याएका छन्। उदाहरणका लागि, कतिपय मानिसहरूले परमेश्वरको प्रतिरोध गरेका छन् र ईशनिन्दात्मक कुराहरू भनेका छन्; कतिपय मानिसहरूले परमेश्वरको आज्ञालाई अस्वीकार गरेका छन् र आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गरेका छन्, र तिनीहरू परमेश्वरद्वारा तिरस्कृत भएका छन्; कतिपय मानिसहरूले परीक्षाहरूको सामना गर्दा परमेश्वरलाई धोका दिएका छन्; कतिपयले आफू पक्राउ पर्दा ‘तीन बयानको पत्र’ मा हस्ताक्षर गरेर परमेश्वरलाई धोका दिएका छन्; कतिपयले भेटीहरू चोरेका छन्; कतिपयले भेटीहरू फजुलमा उडाएका छन्; कतिपयले बारम्बार मण्डली जीवनमा बाधा दिएका छन् र परमेश्वरका चुनिएका मानिसहरूलाई हानि पुऱ्याएका छन्; कतिपयले गुटहरू निर्माण गरेर अरूलाई सास्ती दिएका छन्, र मण्डलीलाई अस्तव्यस्त बनाएका छन्; कतिपयले बारम्बार धारणाहरू र मृत्यु फैलाएका छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याएका छन्; र कतिपय चाहिँ विपरीत लिङ्गीसँग अनुचित सम्बन्ध र व्यभिचारमा संलग्न भएका छन्, र तिनीहरूले भयानक प्रभाव पारेका छन्। यति भन्न सकिन्छ कि सबैका आफ्ना अपराध र दागहरू हुन्छन्। तैपनि कतिपय मानिसहरू सत्यता स्वीकार गर्न र पश्चात्ताप गर्न सक्षम हुन्छन्, जबकि अरूले सत्यता स्वीकार गर्न सक्दैनन् र पश्चात्ताप गर्नुभन्दा बरु मर्न तयार हुन्छन्। त्यसैले तिनीहरूलाई तिनीहरूको प्रकृति सार र तिनीहरूको निरन्तरको प्रकटीकरणअनुसार व्यवहार गरिनुपर्छ। जो पश्चात्ताप गर्न सक्छन् तिनीहरू परमेश्वरमा साँचो रूपमा विश्वास गर्नेहरू हुन्; तर जो साँच्चिकै अपश्चात्तापी छन्, तिनीहरूलाई आवश्यकताअनुसार निकालिनुपर्छ वा निष्कासित गरिनुपर्छ। … परमेश्वरले हरेक व्यक्तिलाई सम्हाल्ने तरिका त्यस समयको खास परिस्थिति र पृष्ठभूमि, साथै त्यस व्यक्तिको कार्य र व्यवहार र उसको प्रकृति सारमा आधारित हुन्छ। परमेश्वरले कहिल्यै कसैलाई अन्याय गर्नुहुन्न। यो परमेश्वरको धार्मिकता हो। उदाहरणका लागि, हव्वालाई सर्पले असल र खराबको ज्ञानको रूखको फल खान लोभ्यायो, तर यहोवाले उनलाई ‘मैले तँलाई त्यो नखानू भनेको थिएँ, तैँले किन खाइस्? तैँले खुट्ट्याउनुपर्थ्यो; सर्पले तँलाई लोभ्याउन मात्रै बोलेको थियो भनेर तैँले थाहा पाउनुपर्थ्यो’ भनेर हप्काउनुभएन। यहोवाले हव्वालाई त्यसरी हप्काउनुभएन। यो किनभने मानिसहरू परमेश्वरद्वारा सृष्टि गरिएका हुन्, र उहाँलाई तिनीहरूका प्राकृतिक सक्षमताहरू कस्ता छन् र तिनले मानिसहरूलाई के गर्न दिन्छन्, मानिसहरूले आफूलाई कुन हदसम्म नियन्त्रण गर्न सक्छन्, र मानिसहरूले कति हासिल गर्न सक्छन् भनी थाहा छ। परमेश्वरलाई यो सबै कुरा अत्यन्तै स्पष्ट रूपमा थाहा छ। परमेश्वरले व्यक्तिलाई सम्हाल्ने तरिका मानिसहरूले कल्पना गरे जस्तो सरल छैन। चाहे परमेश्वरले कुनै व्यक्तिलाई मन पराउनुहोस्, उहाँ ऊप्रति वितृष्ण हुनुहोस्, वा उहाँले उसलाई घृणा गर्नुहोस्, ऊप्रति उहाँको मनोवृत्ति मुख्यतया त्यस व्यक्तिको सत्यताप्रतिको मनोवृत्तिमा आधारित हुन्छ। कसैले कुन सन्दर्भमा के भन्छ भन्ने कुरालाई वास्ता नगरी, परमेश्वरले यसलाई छानबिन गर्नुहुन्छ र बुझ्नुहुन्छ, किनभने परमेश्वरले मानिसको हृदय र सारलाई छानबिन गर्नुहुन्छ। मानिसहरू सधैँ विश्वास गर्छन्: ‘परमेश्वरसँग केवल ईश्वरत्व छ। उहाँ धर्मी हुनुहुन्छ र मानिसबाट कुनै उल्लङ्घन सहनुहुन्न। उहाँले मानिसका कठिनाइहरूलाई ख्याल गर्नुहुन्न वा आफूलाई तिनीहरूका ठाउँमा राख्नुहुन्न। यदि कुनै व्यक्तिले परमेश्वरको प्रतिरोध गर्छ भने, उहाँले उसलाई दण्ड दिनुहुनेछ।’ कुरा त्यस्तो हुँदै होइन। यदि मानिसहरूले परमेश्वरको काम, मानिसहरूलाई व्यवहार गर्ने उहाँका सिद्धान्तहरू, र उहाँको धार्मिकतालाई त्यसरी बुझ्छन् भने, यो एउटा गम्भीर गल्ती हो। परमेश्वरले हरेक व्यक्तिको परिणाम मानिसका धारणा र कल्पनाहरूमा आधारित भएर होइन, परमेश्वरको धर्मी स्वभावमा आधारित भएर निर्धारण गर्नुहुन्छ। उहाँले हरेक व्यक्तिलाई उसले गरेको कामअनुसार प्रतिदान गर्नुहुन्छ। परमेश्वर धर्मी हुनुहुन्छ, र ढिलोचाँडो, उहाँले सबै मानिसहरूलाई पूर्ण रूपमा विश्वस्त पार्नुहुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “बाइबलमा उडन्ते पुत्र घर फर्केको एउटा कथा छ—प्रभु येशूले किन यो दृष्टान्त प्रयोग गर्नुभयो? त्यो मानवजातिलाई मुक्ति दिने परमेश्वरको अभिप्राय सच्चा छ र उहाँले मानिसलाई पश्चात्ताप गर्न र परिवर्तित हुन अवसर दिनुहुन्छ भनी मानिसहरूलाई बुझाउनका लागि थियो। यो प्रक्रियाभरि, परमेश्वरले मानिसहरूलाई बुझ्नुहुन्छ र उनीहरूका कमजोरीहरू र उनीहरूमा कुन हदसम्म भ्रष्टता छ भनेर गहिरो ज्ञान राख्नुहुन्छ। उहाँलाई थाहा छ, मानिसहरू पछारिनेछन् र असफल हुनेछन्। जसरी केटाकेटीले हिँड्न सिक्दा तिनीहरूको शरीर जतिसुकै बलियो भए पनि कहिलेकाहीँ तिनीहरू लड्ने र ठेस लाग्ने, अनि वस्तुहरूसित ठोक्किने र अल्झेर लड्ने त हुन्छ नै। एउटी आमाले आफ्नो सन्तानलाई बुझेजतिकै परमेश्वरले हर व्यक्तिलाई बुझ्नुहुन्छ। उहाँ हरेक व्यक्तिका कठिनाइ, कमजोरी र आवश्यकताहरू बुझ्नुहुन्छ। त्योभन्दा बढी, मानिसहरूले जीवन प्रवेश र स्वभाव परिवर्तनको क्रममा कस्ता कठिनाइ, कमजोरी र असफलताहरू सामना गर्नेछन् भनेर परमेश्वरले बुझ्नुहुन्छ। परमेश्वरले सबैभन्दा राम्ररी बुझ्ने कुरा यिनै हुन्। यसरी परमेश्वरले मानिसको हृदयको गहिराइ छानबिन गर्नुहुन्छ भनेर भन्ने गरिन्छ। तँ जति नै कमजोर भए पनि, यदि तैँले परमेश्वरको नाम त्यागिनस्, वा उहाँ र यो मार्ग छोडिनस् भने, तँसँग स्वभाव परिवर्तन गर्ने मौका सधैँ हुनेछ। यदि तँसँग यो मौका भयो भने, तँसित बाँच्ने आशा हुन्छ, र त्यसैले परमेश्वरद्वारा मुक्ति पाइने आशा हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग)। परमेश्वरका वचनहरू पढेपछि, मैले परमेश्वरको धर्मी स्वभावबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्वरले कुनै व्यक्तिले मुक्ति पाउन सक्छ कि सक्दैन भनेर मूल्याङ्कन गर्नुहुँदा, उहाँले क्षणिक अपराधको आधारमा त्यो व्यक्तिलाई दोषी ठहराउने वा हटाउने गर्नुहुन्न। परमेश्वरलाई हाम्रो कद थाहा छ र उहाँले हाम्रा कमजोरीहरूप्रति समझदारी देखाउनुहुन्छ। परमेश्वर कुनै व्यक्तिलाई मुख्यगरी उसका निरन्तरका व्यवहारहरू र उसले सत्यता स्वीकार गर्न सक्छ कि सक्दैन भन्ने आधारमा जाँच्नुहुन्छ। यदि कर्तव्यमा उनीहरूका व्यवहार निरन्तर राम्रा रहेका छन् भने, र अपराध गरेपछि उनीहरू सत्यता स्वीकार गर्न र साँचो रूपमा पश्चात्ताप गर्न सक्छन् भने, परमेश्वरले त्यस्तो व्यक्तिप्रति कृपा राख्नुहुँदै सहनशीलता देखाउनुहुनेछ। उदाहरणका लागि, उरियाकी पत्नी राखेपछि दाऊद पछुतोले भरिएका थिए र उनले फेरि कहिल्यै व्यभिचार गरेनन्। उनी वृद्ध हुँदा पनि, उनको ओछ्यान तताउन एउटी युवती ल्याइएको भए तापनि, उनी तिनको नजिक गएनन्। दाऊदले अपराध गरे, तर पनि उनले साँचो पश्चात्ताप गरे, र परमेश्वरले उनलाई अनुमोदन गर्नुभयो। केही ब्रदर-सिस्टरहरू ख्रीष्टविरोधीको मार्गमा हिँडेका र मण्डलीको काममा गम्भीर बाधा दिएका कारण निष्कासित भएका थिए, तर पछि, उनीहरूले साँचो पश्चात्ताप गरे र परमेश्वरको घरमा पुनः प्रवेश पाए, र उनीहरूले आफूमाथि भएको परमेश्वरको मुक्तिको कामको गवाही दिँदै अनुभवात्मक लेखहरू पनि लेखे। उनीहरूबाट, मैले के देखेँ भने साँचो रूपमा पश्चात्ताप गर्ने र सत्यता स्वीकार गर्न सक्नेहरूप्रति परमेश्वर कृपा र मुक्तिको दृष्टिकोण राख्नुहुन्छ। यसको विपरीत, निरन्तर खराब प्रदर्शन गरेका, सत्यता स्वीकार नगर्ने, वा साँचो रूपमा पश्चात्ताप नगरेकाहरूप्रति भने, परमेश्वर दोषी ठहराउने र हटाउने दृष्टिकोण राख्नुहुन्छ। उदाहरणका लागि, तीन बयानको पत्रमा हस्ताक्षर गरेका केही मानिसहरूमा परमेश्वरलाई धोका दिएकोमा पछि कुनै बुझाइ वा पश्चात्ताप थिएन, र उनीहरूले मण्डली र आफ्ना ब्रदर-सिस्टरहरूलाई समेत धोका दिए। परमेश्वर त्यस्ता मानिसहरूलाई थप मौका दिनुहुन्न किनकि उनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र उनीहरूमा कुनै विवेक वा समझ हुँदैन। मैले विचार गरेँ, पक्राउ पर्दा मैले कर्तव्य निर्वाह गरेको धेरै समय भएको थिएन, मेरो अनुभव सतही थियो, र मेरो कद सानो थियो। मैले क्षणिक कमजोरीका कारण तीन बयानको पत्रमा हस्ताक्षर गरेको थिएँ, तर पछि, मैले ठूलो आत्मग्लानि र पछुतो महसुस गरेँ, र म पश्चात्ताप गर्न र परिवर्तन हुन चाहन्थेँ। मण्डलीले आफ्नो कर्तव्यमा मेरो निरन्तरको व्यवहारको आधारमा मलाई एउटा मौका दियो। यो परमेश्वरको कृपा थियो र यसले उहाँको धार्मिकता प्रकट गर्यो। तर मैले परमेश्वरको स्वभाव बुझिनँ र उहाँलाई गलत बुझिरहेँ, म केवल श्रम गरिरहेको छु र मेरो श्रम सकिएपछि मलाई हटाइनेछ भन्ने सोचेँ—मानौँ उहाँले मलाई श्रम गर्न प्रयोग गरिरहनुभएको थियो। मैले परमेश्वर भ्रष्ट मानवजातिले जस्तै हरेक मोडमा मानिसहरूविरुद्ध षड्यन्त्र गर्नुहुन्छ भन्ने सोचेँ। के यो परमेश्वरको निन्दा थिएन र? ममा परमेश्वरको डर मान्ने हृदय बिलकुलै थिएन! मैले परमेश्वरको धार्मिकतालाई पूर्ण रूपमा इन्कार गरेँ, र मैले मानवतालाई अधिकतम हदसम्म मुक्ति दिने परमेश्वरका अभिप्रायहरूलाई पनि इन्कार गरेँ। मैले आफ्नो आस्थामा, मैले परमेश्वरलाई पटक्कै चिनेनछु भन्ने महसुस गरेँ। म साँच्चै अन्धो थिएँ! म यसरी नै अघि बढिरहेमा मैले परमेश्वरको क्षमा कहिल्यै पाउनेथिइनँ। मैले दाऊदको उदाहरण पछ्याउनुपर्थ्यो, आफ्ना अपराधहरूको शान्तिपूर्वक सामना गर्नुपर्थ्यो, र साँचो रूपमा पश्चात्ताप गर्नुपर्थ्यो। मेरो अन्तिम परिणाम राम्रो होस् वा नहोस्, मैले स्वीकार गर्दै समर्पित हुनुपर्छ, र आफ्नै भविष्यका सम्भावनाहरू र मार्गहरूबारे चिन्ता गर्नु हुँदैन।
पछि, मैले, “म पक्राउ परेपछि तीन बयानको पत्रमा हस्ताक्षर गर्ने मामिलामा मेरो असफलताको मूल कारण के थियो?” भन्ने जान्न चाहेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “परमेश्वरमाथिको तेरो आस्थामा तँ कुनै पनि कठिनाइ वा सङ्कष्टहरू नहोऊन्, वा थोरै पनि कष्ट नहोओस् भन्ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरू पछ्याउँछस् जुन व्यर्थ छन्, र तँ जीवनलाई कुनै महत्त्व दिँदैनस्, बरु आफ्नै विलासी विचारहरूलाई सत्यताभन्दा अगाडि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्नता छ र? सत्यता नपछ्याउने, बरु देहलाई प्रेम गर्नेहरू सबै नै पशु होइनन् र? ती आत्माविहीन मृत मानिसहरू सबै जिउँदा लासहरू होइनन् र? तिमीहरूका माझमा कतिवटा वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै मात्र काम गरिएको छ? तिमीहरूका माझमा मैले कति प्रदान गरेको छु? त्यसोभए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केका बारेमा गुनासो गर्नु छ? के तँ देहसित ज्यादै मोहित भएकोले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के तेरा विचारहरू अत्यन्तै अत्यधिक भएकाले यस्तो भएको होइन र? के तँ अत्यन्तै मूर्ख भएकोले यस्तो भएको होइन र? यदि तैँले यी आशिष्हरू प्राप्त गर्न सक्दैनस् भने, के तैँले परमेश्वरलाई तँलाई मुक्ति नदिएको भनी दोष दिन मिल्छ? … म तँलाई साँचो मानव जीवन दिन्छु, तैपनि तँ पछ्याउँदैनस्। के तँ सुँगुर र कुकुरसँग एउटै प्रकारको छैनस् र? सुँगुरहरू मानिसको जीवन पछ्याउँदैनन्, तिनीहरू पखालिनुको पछि लाग्दैनन्, र तिनीहरू जीवन के हो भन्ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्न खाएपछि तिनीहरू त्यत्तिकै सुत्छन्। मैले तँलाई साँचो मार्ग प्रदान गरेको छु, तैपनि तैँले त्यो प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई निरन्तरता दिन इच्छुक छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन घृणित र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तँ कुनै पनि लक्ष्य पछ्याउँदैनस्, त्यसकारण, के तेरो जीवन सबैभन्दा नीच छैन र? के तँसँग परमेश्वरको सामना गर्ने दुस्साहस छ? तैँले यसरी नै अनुभव गरिरहिस् भने, के तैँले केही पनि प्राप्त नगर्ने होइन र? तँलाई साँचो मार्ग प्रदान गरिएको छ, तर तैँले अन्त्यमा त्यो प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो आफ्नै पछ्याइमा निर्भर हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। “आज, संसारका सबै जना परीक्षाहरूबाट गुज्रिरहेका छन्, परमेश्वरले समेत कष्ट भोगिरहनुभएको छ, त्यसैले तिमीहरूले कसरी कष्ट भोग्न सक्दैनौ र? … कतिपय मानिसले आफ्नो परिवारबाट सतावट सामना गर्छन्, कतिपयले आफ्ना प्रियजनहरूबाट अस्वीकार सामना गर्छन्, र कतिपय भने सतावटमा परेर आफ्नो घर फर्कन सक्दैनन्, र तिनीहरूसँग आराम गर्ने कुनै सुरक्षित ठाउँ हुँदैन। यसले तिनीहरूको हृदयमा कष्ट उत्पन्न गर्छ। के तिमीहरूले अहिले सामना गरिरहेको कष्ट परमेश्वरले सहनुभएको जस्तै होइन र? तिमीहरू अहिले परमेश्वरसँग कष्ट भोगिरहेका छौ, र परमेश्वर मानिसहरूलाई कष्टमा साथ दिनुहुन्छ। यदि आज ख्रीष्टको सङ्कष्ट, राज्य, र सहनशीलतामा तिमीहरूको हिस्सा छ भने मात्रै तिमीहरूले अन्तमा महिमा प्राप्त गर्नेछौ! यो कष्ट अर्थपूर्ण छ। कुरा त्यसो नै होइन र? तँ सङ्कल्पविहीन हुन मिल्दैन। तैँले आज कष्ट भोग्नुको अर्थ के हो र किन यति धेरै कष्ट भोग्दैछस् त्यो बुझ्नुपर्छ। तैँले सत्यता खोजी गरी परमेश्वरको अभिप्रायको बुझाइमा पुग्नुपर्छ, त्यसपछि तँभित्र कष्ट भोग्ने सङ्कल्प जाग्नेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्वरका वचनहरूबाट, मैले के महसुस गरेँ भने मैले आफ्नो देहलाई अति नै प्रेम गर्नु नै मैले तीन बयानको पत्रमा हस्ताक्षर गर्नु पछाडिको मूल कारण रहेछ। मैले “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ” भन्ने शैतानी अस्तित्वको नियम पछ्याएँ, र मैले मेरो आफ्नै देहका हितहरूलाई सबैभन्दा माथि राखेँ। परमेश्वरमा विश्वास गर्दा, मैले कुनै कठिनाइ वा पीडा नहोस्, र मेरो देहले दुःख नपाओस्, र त्योभन्दा बढी त, कुनै परीक्षा वा सङ्कष्ट अनुभव गर्नु नपरोस् भन्ने इच्छा गरेँ। त्यसैले ठूलो रातो अजिङ्गरद्वारा यातनाको धम्की पाउँदा, मेरो दिमागमा कसरी आफ्नो गवाहीमा दृढ रहने भन्ने कुरा थिएन, बरु यातनाको डर थियो—कम यातना भोग्नका लागि, मैले तीन बयानको पत्रमा हस्ताक्षर गरेँ। आफैलाई बचाउन र शारीरिक कष्टबाट बच्न, म दियाबलससामु झुकेँ र बाँच्नका लागि आफैलाई लज्जित पारेँ, आफ्नो लज्जास्पद अस्तित्वमा टाँसिएँ, परमेश्वरलाई इन्कार गरेँ, र उहाँलाई धोका दिएँ। मेरो आचरण यहूदाको भन्दा कसरी फरक थियो र? परमेश्वरका वचनहरूबाट, मैले आस्थामा मुक्ति पाउनका लागि, हामीले धेरै कष्टहरू सहनुपर्छ भन्ने पनि बुझेँ। पीडादायी परिस्थितिहरूमार्फत् मात्र हामी परमेश्वरमा साँचो आस्था राख्न सक्छौँ। पत्रुसलाई उदाहरणको रूपमा लिनुहोस्। जब उनले प्रभु येशूलाई पछ्याए, उनले आफ्नो जीवनभर सयौँ परीक्षाहरू र शोधनहरू अनुभव गरे। उनले यी शोधनहरूमा परमेश्वरलाई प्रेम गर्न खोजे, र अन्तमा, उनले परमेश्वरप्रतिको ठूलो प्रेम र मृत्युसम्मको समर्पणता प्राप्त गरे, र उनी परमेश्वरका लागि क्रुसमा उल्टो टाँगिए, र युगौँयुगसम्म परमेश्वरद्वारा सिद्ध पारिएका पहिलो व्यक्ति बने। परीक्षाहरू सामना गर्ने अय्युब पनि त थिए। उनले क्षणभरमा आफ्नो विशाल सम्पत्ति र छोराछोरी गुमाए, उनको शरीर खटिराले ढाकियो, तैपनि अय्युब परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन र परमेश्वरका लागि आफ्नो गवाहीमा दृढ रहन सक्षम भए, जसले शैतानलाई तर्साउँदै डराएर भाग्ने बनायो। अय्युब एक साँच्चै स्वतन्त्र मानिस बने। उनीहरूसँग तुलना गर्दा, म लज्जित भएँ। गम्भीर यातनाको सामना नगरीकन नै म एकदमै डराएँ र शैतानसँग सम्झौता गरेँ। म थोरै हावा वा वर्षा पनि सहन नसक्ने कुनै हरितगृहको एउटा फूलजस्तै थिएँ। म साँच्चै कमजोर थिएँ! मैले सत्यता पछ्याउनुपर्थ्यो र देहको ख्याल गर्नु छोड्नुपर्थ्यो, र मैले यदि कुनै दिन म फेरि पक्राउ परेँ भने, शैतानले मलाई यातना दिएर मेरो जीवन मृत्युभन्दा पनि दर्दनाक बनाए पनि म आफ्नो गवाहीमा दृढ रहनेछु भन्ने कसम खाएँ।
सन् २०२४ जुलाईको अन्त्यमा, म दोङयाङ मण्डलीमा आएको लगत्तै पछि नै, छिमेकी मण्डलीले ठुलो मात्रामा पक्राउको सामना गर्नुपऱ्यो, र अगुवाहरूले परमेश्वरका वचनका पुस्तकहरू सार्नका लागि हामीले तत्काल मद्दत गर्नेगरी प्रबन्ध मिलाए। तर हामीले केही पुस्तकका भण्डारहरू सारिसकेपछि, चालकमाथि निगरानी भइरहेको शङ्का भयो। यसका साथै, मसँग सहकार्य गर्ने ब्रदर पनि चालकको सम्पर्कमा आएको हुनाले सम्भावित जोखिममा परे। म धेरै डराएँ। मैले कसरी म भर्खरै लामो समयसम्म प्रहरीद्वारा पिछा गरिएको र झन्डै पक्राउ परेको थिएँ, अनि कसरी एक यहूदाले मलाई धोका दिएको थियो र म प्रहरीको पक्राउ गर्ने मुख्य निशानामा छु भन्ने कुराबारे सोचेँ। यदि मसँग सहकार्य गर्ने ब्रदर प्रहरीको निशानामा परेका भए, म उम्कन सक्दिनथेँ; यदि प्रहरीले मलाई समातेको भए, उनीहरूले मलाई पक्कै छोड्ने थिएनन्। तर जब मैले अघिल्लो पटक पक्राउ पर्दा तीन बयानको पत्रमा हस्ताक्षर गरेको अपराध सम्झेँ, मेरो हृदयमा एउटा प्रबल भावना आयो, “यदि म साँच्चै पक्राउ परेँ भने, म कसम खान्छु, म कहिल्यै परमेश्वरलाई इन्कार गर्नेछैनँ, र म निश्चित रूपमा परमेश्वरको गवाही दिनेछु!” जब मैले यसरी सोचेँ, मेरो हृदय यो वातावरणद्वारा नियन्त्रित हुन छोड्यो। म पक्राउ पर्छु कि पर्दिनँ भन्ने कुरा परमेश्वरको हातमा थियो, र मैले परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्थ्यो। पुस्तकहरू तुरुन्तै सार्नुपर्ने थियो, विभिन्न कार्यहरू तुरुन्तै कार्यान्वयन गर्नुपर्ने थियो, र मैले परमेश्वरको घरका हितहरूको रक्षा गर्नुपर्थ्यो। त्यसैले, मैले मेरो सहकर्मीसँग पुस्तकहरू सार्ने बन्दोबस्तबारे छलफल जारी राखेँ। त्यही समयमै, मैले स्थानान्तरणको प्रगतिबारे जानकारी लिन मण्डलीलाई एउटा पत्र लेखेँ। यसरी अभ्यास गर्दा, मैले आफ्नो हृदयमा धेरै शान्ति महसुस गरेँ। मैले प्राप्त गरेको यो थोरै ज्ञान र रूपान्तरणलाई परमेश्वरका वचनहरूको मार्गदर्शनबाट अलग गर्न सकिँदैन। म इमानदारीपूर्वक परमेश्वरलाई धन्यवाद दिन्छु!