पत्रुसको जीवनको बारेमा

पत्रुस मानवजातिको लागि परमेश्‍वरद्वारा खडा गरिएका आदर्श व्यक्ति थिए, सबैको निम्ति परिचित नक्षत्र थिए। परमेश्‍वरले किन त्यस्ता साधारण व्यक्तिलाई उदाहरणको रूपमा खडा गर्नुभयो र पछिका पुस्ताहरूले गुणगान गरे त? स्पष्टै छ, यस कुरालाई परमेश्‍वरप्रति तिनको प्रेमको अभिव्यक्ति र उहाँलाई प्रेम गर्ने सङ्कल्पबाट अलग गर्न सकिँदैन। परमेश्‍वरलाई प्रेम गर्ने पत्रुसको हृदय कसरी प्रकट भयो, र तिनको जीवनका अनुभवहरू वास्तवमा कस्ता थिए भन्‍ने विषयमा भन्नुपर्दा, त्यस समयका प्रथाहरूलाई हेर्न र त्यस युगका पत्रुसलाई अवलोकन गर्न हामी अनुग्रहको युगमा फर्केर जानुपर्छ।

पत्रुसको जन्म साधारण यहूदी किसान परिवारमा भएको थियो। तिनका बाबुआमाले खेतीपाती गरेर नै सम्पूर्ण परिवारको पालनपोषण गर्थे, र तिनी सबैभन्दा जेठो थिए र तिनका चार जना भाइबहिनीहरू थिए। अवश्य पनि, हाम्रो कथाको मुख्य भाग यो होइन; पत्रुस हाम्रा मुख्य पात्र हुन्। पाँच वर्षका छँदा, पत्रुसको बुबाआमाले तिनलाई लेख्न-पढ्न सिकाउन थाले। त्यो बेला, यहूदी मानिसहरू निकै पढालेखा थिए, र विशेष गरी कृषि, उद्योग र व्यापारजस्ता क्षेत्रमा अघि थिए। तिनीहरूको सामाजिक वातावरणले गर्दा, पत्रुसको बुबाआमा दुवैले उच्च शिक्षा प्राप्त गरेका थिए। गाउँमा जन्मेका भए पनि, तिनीहरू शिक्षित नै थिए र आजका औसत विश्‍वविद्यालयका विद्यार्थीहरू जत्तिकै थिए। पत्रुस यस्ता अनुकूल सामाजिक परिस्थितिहरूमा जन्मेका थिए—स्पष्ट रूपमा, यो उनको सौभाग्य थियो। चलाख र तीक्ष्णबुद्धि भएको हुनाले, उनलाई नयाँ विचारहरू बोध गर्न सजिलो लाग्थ्यो। आफ्नो अध्ययन सुरु गरेपछि, उनी आफूले सिकेका कुराहरूबाट निष्कर्ष निकाल्न सक्थे, र उनलाई त्यो पटक्कै गाह्रो लाग्दैनथ्यो। उनका आमाबुबालाई यस्तो चलाख, तीक्ष्णबुद्धि भएको छोरा पाएकोमा गर्व थियो, त्यसैले उनले समाजमा आफूलाई प्रतिष्ठित बनाउन र कुनै प्रकारको आधिकारिक पद सुरक्षित गर्न सक्ने आशामा, तिनीहरूले उनको शिक्षालाई सहारा दिन आफ्नो हड्डी घोटे। थाहै नपाई, पत्रुसलाई परमेश्‍वरमा रुचि लाग्न थालेको थियो। यसरी, चौध वर्षको उमेरमा, हाई स्कुलमा छँदा, उनलाई आफूले अध्ययन गरिरहेको प्राचीन ग्रीक संस्कृतिप्रति गहिरो वितृष्णा महसुस भयो; विशेष गरी, उनी प्राचीन ग्रीक इतिहासका काल्पनिक पात्रहरू र मनगढन्ते घटनाहरूलाई झनै बढी घृणा गर्थे। त्यसबेलादेखि, आफ्नो युवावस्थाको वसन्तमा भर्खरै प्रवेश गरेका पत्रुसले मानव जीवनको अनुसन्धान गर्न र समाजसँग उठबस गर्न थाले। उनले आफ्ना आमाबुबाले गरेको परिश्रम विवेकको भावनाले चुक्ता गरेनन्, किनभने उनले स्पष्ट रूपमा के देखे भने, सबै मानिस आत्म-छलको अवस्थामा जिइरहेका थिए, र अर्थहीन जीवन बिताइरहेका थिए, र तिनीहरू सबै ख्याति र लाभका लागि प्रतिस्पर्धा गर्नका खातिर आफ्नै जीवनलाई बर्बाद गरिरहेका थिए। उनी बसेको सामाजिक वातावरणसँग उनको अन्तर्ज्ञानको गहिरो सम्बन्ध थियो। मानिसहरूसँग जति धेरै ज्ञान हुन्थ्यो, तिनीहरूका अन्तरवैयक्तिक सम्बन्ध र आन्तरिक संसार त्यति नै जटिल हुन्थे, र त्यसैले तिनीहरू बसोबास गर्ने ठाउँ त्यति नै रिक्त महसुस हुन्थ्यो। यी परिस्थितिहरूमा, पत्रुस आफ्नो फुर्सदको समय जताततै भ्रमण गरेर बिताउँथे, र उनले भेट्नेहरूमध्ये अधिकांश धार्मिक व्यक्तित्वहरू हुन्थे। उनको हृदयमा धर्मले सायद मानव संसारका विभिन्‍न रहस्यलाई स्पष्ट पार्न सक्छ भन्‍ने अस्पष्ट भावना महसुस भएजस्तो देखिन्थ्यो, त्यसैले उनी आफ्ना आमाबुबालाई थाहा नदिई, सेवामा उपस्थित हुन अक्सर आफ्नो घर नजिकैको सभाघरमा जान्थे। धेरै समय नबित्दै, सधैँ असल चरित्रका र पढाइमा उत्कृष्ट रहेका पत्रुसलाई स्कुल जान घृणा लाग्न थाल्यो। आफ्ना आमाबुबाको सुपरिवेक्षणमा, उनले अनिच्छापूर्वक हाई स्कुल पूरा गरे, त्यसपछि, ज्ञानको सागरबाट पौडेर किनारमा आएपछि, उनले गहिरो सास फेरे—त्यसबेलादेखि, उनी सबै अर्ती र बन्धनबाट मुक्त भए।

पत्रुसले स्कूल समाप्त गरेपछि सबै किसिमका पुस्तक-पुस्तिका पढ्न थाले, तर सत्र वर्षको उमेरमा पनि, बाहिरी संसारबारे तिनीसँग त्यति धेरै अनुभव थिएन। स्कूलबाट दीक्षान्त प्राप्त गरिसकेपछि तिनी खेतीपाती गरेर आफ्नो पेट पाल्थे, यस क्रममा पुस्तक-पुस्तिका पढ्न र धार्मिक सेवाहरूमा सहभागी हुन सक्दो समय निकाल्थे। तिनीबाट ठूलो आशा गरेका तिनका बाबुआमाले आफ्नो “विद्रोही छोरा” को लागि प्रायजसो स्वर्गलाई सराप्थे, तर त्यो कुरासमेत धार्मिकताको निम्ति तिनको भोक र तिर्खाको मार्गमा खडा हुन सकेन। पत्रुसले आफ्ना अनुभवहरूको क्रममा धेरै प्रतिरोधहरूको सामना गरे, तर तिनको हृदय तृषित थियो, र तिनी झरीपछिको घाँसजस्तै सप्रिए। चाँडै नै तिनले धार्मिक संसारका केही ठूला व्यक्तित्वहरूलाई भेट्ने “सौभाग्य” पाए, अनि तिनको तृष्णा अत्यन्तै बलियो भएको हुनाले, तिनले तिनीहरूसँग झन्-झन् बढी समय बिताउँथे, अन्त्यमा आफ्नो लगभग सबै समय तिनीहरूका बीचमा नै बिताउन थाले। तिनले तृप्त खुसीमा डुबेर अचानक यी मानिसहरूमध्ये धेरैजसोले त ओठले मात्र विश्‍वास गर्दा रहेछन् र आफ्नो विश्‍वासमा हृदय नै दिएका रहेनछन् भन्‍ने पत्ता लगाए। सीधा र शुद्ध मनका पत्रुसले कसरी त्यस्तो धक्का सहन सक्थे र? तिनले आफूले सङ्गत गरेका लगभग सबै मानिस मानव भेषमा रहेका पशु रहेछन्—तिनीहरू मानव अनुहार भएका पशु रहेछन् भन्‍ने पत्ता लगाए। त्यो बेला, पत्रुस अत्यन्तै सोझो थिए, त्यसकारण धेरै पटक तिनीहरूसँग तिनले हृदयबाट नै बिन्ती गरे। तर के ती कुटिल, धूर्त धार्मिक व्यक्तिहरूले ती जोसिलो जवान मानिसको बिन्तीलाई सुन्न सक्थे र? त्यसबेला पत्रुसले मानव जीवनको साँचो रिक्तता अनुभव गरे: जीवन मञ्चको पहिलो कदममा नै तिनी असफल भएका थिए…। एक वर्षपछि, तिनी सभाघरबाट निस्के र स्वतन्त्र भएर बस्न थाले।

त्यो धक्काले १८ वर्षे पत्रुसलाई निकै परिपक्व र परिष्कृत तुल्यायो। तिनमा अब आफ्नो जवानीको मूर्खताको कुनै छाप बाँकी थिएन; तिनले खाएको धक्काले जवानीको निर्दोषता र कौशलहीनतालाई कडा रूपमा दबाएको थियो, र तिनले मछुवाको रूपमा आफ्नो जीवन सुरु गरे। त्यसपछि, तिनले आफ्नो डुङ्गामा प्रचार गरेका मानिसहरूले सुन्दै गरेको देखिन्थ्यो। माछा मारेर जीविकोपार्जन गर्ने क्रममा, तिनी जता-जता जान्थे त्यता-त्यता तिनले सन्देश फैलाउँथे, र प्रचार गरेका सबै मानिस तिनका प्रवचनबाट मन्त्रमुग्ध हुन्थे, किनभने तिनले बोलेका कुराले सर्वसाधारणको हृदय छुन्थे, र तिनको इमानदारीले तिनीहरू सबै गहन रूपमा प्रभावित हुन्थे। तिनले मानिसहरूलाई प्रायजसो अरूसँग हृदयबाट व्यवहार गर्न, स्वर्ग र पृथ्वी अनि यावत् थोकमाथिको सार्वभौम शासकलाई पुकार्न, र आफ्नो विवेकलाई इन्कार नगर्न र लाजमर्दो कुराहरू नगर्न, सबै कुरामा आफ्नो हृदयदेखि प्रेम गरेका परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सिकाउँथे…। तिनका प्रवचन सुनेर मानिसहरू प्रायजसो गहन रूपमा प्रभावित हुन्थे; तिनीहरूले तिनीद्वारा आफूहरू उत्प्रेरित भएको अनुभव गर्थे र प्रायजसो आँसु झार्थे। त्यो बेला, उनका सबै अनुयायीले तिनलाई निकै आदर गर्थे, जो सबै दरिद्र थिए र त्यो बेलाको समाजको स्थितिअनुसार, तिनीहरूको संख्या प्राकृतिक रूपमा नै थोरै थियो। पत्रुसलाई त्यस बेलाका धार्मिक तत्वहरूले पनि सताएका थिए। यी सबै कुराले गर्दा दुई वर्षसम्म तिनी एक ठाउँदेखि अर्को ठाउँमा जाँदै एकान्त जीवन बिताइरहेका थिए। दुई वर्षको त्यो असाधारण अनुभवपछि तिनले धेरै अन्तर्ज्ञान प्राप्त गरे र पहिले नजानेका कुराबारे धेरै कुरा सिके, यहाँसम्म कि तिनी १४ वर्षको हुँदाको तुलनामा पहिचान नै गर्न नसकिने भएका थिए, यसरी अहिले तिनीसँग त्यति बेलाको अवस्थासँग मिल्ने कुरा केही पनि थिएन। यी दुई वर्षको अवधिमा तिनले सबै किसिमका मानिसलाई भेटेका थिए र समाजबारे सबै किसिमका सत्यता देखेका थिए, परिणामस्वरूप, धार्मिक संसारका सबै किसिमका विधिविधानबाट आफूलाई क्रमिक रूपमा मुक्त गर्न थाले। त्यो बेलाको पवित्र आत्माको कार्यमा आएको विकासद्वारा पनि तिनी गहन रूपमा प्रभावित भएका थिए; त्यतिबेलासम्म, येशूले काम गर्दै आउनुभएको धेरै वर्ष भइसकेको थियो, त्यसकारण पत्रुस पवित्र आत्माको त्यसबेलाको कामद्वारा पनि प्रभावित थिए, यद्यपि तिनले येशूलाई भेटेका भने थिएनन्। यही कारणले गर्दा, जब पत्रुसले प्रचार गरिरहेका थिए, त्यतिबेला तिनले अघिल्ला पुस्ताका सन्तहरूले कहिल्यै प्राप्त नगरेका धेरै कुरा प्राप्त गरे। अवश्य नै, त्यसबेला तिनलाई येशूबारे अलिअलि थाहा थियो, तर उहाँलाई आमने-सामने भेट्ने मौका कहिल्यै पाएका थिएनन्। तिनले पवित्र आत्माबाट जन्मनुभएका स्वर्गीय व्यक्तित्वलाई देख्ने आशा र तृष्णा मात्रै गरेका थिए।

एक साँझ, पत्रुसले डुङ्गाबाट माछा मारिरहेका थिए (त्यो बेला गालीलको समुद्र भनिने ठाउँको किनार छेउमा)। तिनको हातमा बल्छीको टाँगो थियो, तर तिनको मनमा अरू नै कुरा खेलिरहेका थिए। डुब्दै गरेको घामले पानीको सतह रगतको ठूलो सागरजस्तो देखिन्थ्यो। पत्रुसको जवान तर शान्त र डटिलो अनुहारमा ज्योति प्रतिबिम्बित भएको थियो; तिनी गहिरो सोचमा परेका जस्तो देखिन्थे। त्यसबेला, मन्द हावा चल्यो, र तिनले तुरुन्तै आफ्नो जीवन एकलोपन महसुस गरे, जसले तिनलाई निराशाको अनुभूति गरायो। समुद्रका छालहरू ज्योतिमा टल्किरहेका बेला, तिनलाई आफू माछा मार्ने मनस्थितिमा नभएको स्पष्ट भयो। तिनी विचारमा डुबिरहेका बेला, तिनले अचानक पछाडिबाट कसैले यसो भनेको सुने, “यहूदी योनाका छोरा सिमोन, तिम्रो जीवनका दिनहरू एकला छन्। के तिमी मलाई पछ्याउँछौ?” तिनले छक्क परेर आफूले पक्रिरहेको बल्छीको टाँगोलाई छोडिपठाए, र त्यो टाँगो तुरुन्तै समुद्रमा डुब्यो। पत्रुस आफ्नो डुङ्गामा उभिरहेको मानिसलाई हेर्न फनक्क पछाडि फर्के। तिनले माथिदेखि तलसम्म हेरे: ती मानिसको कपाल काँधसम्म झरेका र सूर्यको प्रकाशले सुनौलो रङ्गका देखिन्थे, उहाँले खैरो लुगा लगाउनुभएको थियो, उहाँको उचाइ मध्यम थियो, र शिरदेखि पाउसम्म यहूदीले जस्तो वस्त्र लगाउनुभएको थियो। अँध्यारो हुँदै गइरहेको बेला, उहाँको खैरो वस्त्र अलिक कालो र उहाँको अनुहार अलिअलि चम्किएको देखिन्थ्यो। पत्रुसले येशूलाई भेट्न खोजेका थिए, तर कहिले पनि सफल भएका थिएनन्। त्यो क्षण, पत्रुसले आफ्नो प्राणको गहिराइमा, यी मानिस नै आफ्नो हृदयको पवित्र जन हुनुहुन्छ भन्‍ने विश्‍वास गरे, त्यसकारण माछा मार्ने डुङ्गामा लम्पसार पर्दै तिनले भने, “के तपाईं स्वर्गको राज्यको सुसमाचार प्रचार गर्न आउनुभएका प्रभु हुनुहुन्छ? मैले तपाईंका अनुभवहरूबारे सुनेको छु, तर मैले तपाईंलाई कहिल्यै देखेको थिइनँ। म तपाईंलाई पछ्याउन चाहन्थेँ, तर मैले तपाईंलाई कहिल्यै भेट्टाउन सकेको थिइनँ।” त्यो बेलासम्म येशू डुङ्गाको कोठासम्म आइसक्‍नुभएको थियो, जहाँ उहाँ शान्त भई बसिरहनुभएको थियो। “उठेर आऊ अनि मेरो छेउमा बस!” उहाँले भन्‍नुभयो। “म यहाँ मलाई साँचो प्रेम गर्नेहरूलाई खोज्न आएको छु। म विशेष गरी स्वर्गको राज्यको सुसमाचार प्रचार गर्न आएको छु, र मसँग एउटै मनका हुनेहरूको खोजी गर्न म विभिन्‍न ठाउँमा जानेछु। के तिमी तयार छौ?” पत्रुसले जवाफ दिए: “स्वर्गमा हुनुहुने पिताले पठाउनुभएका व्यक्तिलाई मैले पछ्याउनैपर्छ। पवित्र आत्माले चुन्‍नुभएको व्यक्तिलाई मैले स्वीकार गर्नैपर्छ। मैले स्वर्गमा हुनुहुने पितालाई प्रेम गर्ने हुनाले, म कसरी तपाईंलाई पछ्याउन अनिच्छुक हुन सक्छु र?” पत्रुसका वचनहरू धार्मिक धारणाहरूले भरिएका भए पनि, येशू मुस्कुराउनुभयो र सन्तुष्टिको साथ आफ्नो शिर हल्लाउनुभयो। त्यो बेला, उहाँभित्र पत्रुसको निम्ति पिताको प्रेम प्रकट भयो।

पत्रुसले धेरै वर्षसम्म येशूलाई पछ्याए र उहाँमा धेरै कुरा देखे, जुन अन्य मानिसमा थिएनन्। पत्रुसले एक वर्षसम्म येशूलाई पछ्याएपछि, उहाँले तिनलाई बाह्र चेलामध्ये चुन्‍नुभयो। (अवश्य पनि येशूले यो कुरालाई उच्‍च स्वरमा बोल्‍नुभएन र अरूले यसबारे बिलकुलै थाहा पाएनन्।) पत्रुसले जीवनमा आफूलाई येशूले गर्नुभएका हरेक कुराद्वारा मापन गरे। सबैभन्दा महत्वपूर्ण कुरा, येशूले प्रचार गर्नुभएका सन्देशहरू तिनको हृदयमा गढेर बसे। तिनी येशूप्रति अत्यन्तै विचारशील र बफादार थिए, अनि तिनले उहाँविरुद्ध कहिल्यै कुनै गुनासो गरेनन्। परिणामस्वरूप, तिनी येशू जानुहुने हरेक ठाउँमा उहाँको विश्‍वासयोग्य साथी बने। पत्रुसले येशूका शिक्षा, उहाँका भद्र वचन, उहाँले आफ्नो भोजनमा खानुहुने कुरा, उहाँका वस्त्र, उहाँको आश्रय, र उहाँको यात्राको तौरतरिका अवलोकन गरे। तिनले सबै कुरामा येशूको अनुकरण गरे। तिनी कहिले पनि आत्म-धर्मी बनेनन्, बरु तिनले त पुराना भइसकेका सबै कुरालाई फालिदिए, अनि वचन र कर्म दुवैमा येशूको उदाहरण पछ्याए। त्यसै समयमा पत्रुसले स्वर्ग र पृथ्वी अनि सबै थोक सर्वशक्तिमान्‌को हातमा छन् र त्यही कारणले गर्दा तिनले आफूसँग कुनै व्यक्तिगत विकल्प छैन भन्‍ने अनुभूति गरे। पत्रुसले येशू जे हुनुहुन्थ्यो, ती सबै आफूमा समाहित गरे र त्यसलाई एक उदाहरणको रूपमा प्रयोग गरे। येशूको जीवनले उहाँ आफूले गरेका कामकुरामा आत्म-धर्मी हुनुहुन्नथ्यो भन्‍ने देखाउँछ; उहाँले आफूबारे ठूलाठूला कुरा गर्नुको साटो मानिसहरूलाई प्रेमद्वारा प्रेरणा दिनुहुन्थ्यो। विविध कामकुराले येशू जे हुनुहुन्थ्यो त्यो देखायो, र त्यही कारण पत्रुसले उहाँसम्बन्धी हरेक कुरा अनुसरण गरे। पत्रुसलाई आफ्ना अनुभवहरूले येशूको प्रेमिलोपनको झन्-झन् बढी बोध गराए, र तिनले यस्ता कुरा भने, “मैले सारा ब्रह्माण्डभरि सर्वशक्तिमान्‌लाई खोजेको छु, र स्वर्ग र पृथ्वीमा अनि सबै थोकमा अचम्मका कामहरू देखेको छु, यसरी मैले सर्वशक्तिमान्‌को प्रेमिलोपनको गहन बोध हासिल गरेको छु। तर, मेरो आफ्नै हृदयमा यति साँचो प्रेम कहिल्यै थिएन, र मैले सर्वशक्तिमान्‌को प्रेमिलोपनलाई आफ्नै आँखाले कहिल्यै देखेको थिइनँ। आज सर्वशक्तिमान्‌का नजरमा, म उहाँको निगाहको पात्र भएको छु, र मैले बल्‍ल परमेश्‍वरको प्रेमिलोपन अनुभूति गरेको छु। मैले अन्त्यमा के पत्ता लगाएको छु भने, परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभएको तथ्यले मात्र मानवजातिलाई उहाँप्रति प्रेम गर्ने तुल्याउँदैन; मैले त मेरो दैनिक जीवनमा उहाँको असीमित प्रेमिलोपन भेटेको छु। कसरी यो अहिले तत्काल देख्न सकिने कुरामा मात्र सीमित हुन सक्छ र?” समय बित्दै जाँदा, धेरै प्रेमिलो कुराहरू पत्रुसमा देखा पर्दै गए। तिनी येशूप्रति एकदमै समर्पित बने र अवश्य नै, तिनले केही धक्का पनि खाए। जब येशूले पत्रुसलाई विभिन्‍न स्थानमा प्रचार गर्नको लागि लैजानुहुन्थ्यो, तब तिनले आफूलाई सधैँ विनम्र तुल्याएर येशूका उपदेशहरू सुन्थे। वर्षौंसम्म येशूलाई पछ्याएको कारणले तिनी कहिल्यै पनि अहङ्कारी बनेनन्। येशूले उहाँ आउनुको कारण भनेको आफ्नो काम सम्पन्न गर्न क्रूसमा टाँगिनको लागि हो भनी भन्नुभएपछि, पत्रुसले आफ्नो हृदयमा धेरै पटक पीडा अनुभूति गर्थे र एकान्तमा एकलै रुन्थे। तैपनि, अन्तमा त्यो “दुर्भाग्यपूर्ण” दिन आयो। येशू पक्राउ पर्नुभएपछि पत्रुस माछा मार्ने आफ्नो डुङ्गामा गएर एकलै रोए र त्यसको लागि धेरै प्रार्थना गरे। तर तिनलाई आफ्नो हृदयमा त्यो घटना परमेश्‍वर पिताको इच्छा हो र त्यसलाई कसैले पनि बदल्न सक्दैन भन्‍ने थाहा थियो। तिनी आफ्नो प्रेमको कारण पीडामै रहिरहे र तिनले आँखाभरि आँसु बोकिरहे। त्यो, अवश्य पनि मानवीय कमजोरी हो। यसरी, जब तिनले येशूलाई क्रूसमा टाँगिँदैछ भन्‍ने थाहा पाए, तब तिनले येशूलाई सोधे, “तपाईंले संसार छाड्नुभएपछि, के तपाईं हामीमाझ हाम्रो रखवाली गर्न फर्कनुहुनेछ त? के हामी अझै पनि तपाईंलाई देख्न सक्‍नेछौं त?” ती वचनहरू एकदमै अज्ञानतापूर्ण र मानव धारणाहरूले भरिएको भए तापनि, येशूले पत्रुसको पीडाको तिक्तता बुझ्नुभयो, यसकारण उहाँले प्रेम देखाउँदै पत्रुसको कमजोरीलाई विचार गर्नुभयो: “पत्रुस, मैले तँलाई प्रेम गरेको छु। के त्यो तँलाई थाहा छ? तैँले जे भन्छस्, त्यसको पछाडि कुनै कारण नभएको भए तापनि, पिताले के प्रतिज्ञा गर्नुभएको छ भने, म मेरो पुनरुत्थानपछि ४० दिनसम्‍म मानिसहरूसमक्ष देखा पर्नेछु। के तँ मेरो आत्माले तिमीहरू सबैलाई बारम्बार अनुग्रह प्रदान गर्नेछ भनी विश्‍वास गर्दैनस् र?” पत्रुसले त्यस कुराबाट केही सान्त्वना महसुस गरेको भए तापनि, अझै पनि एउटा कुरा छुटेको महसुस गरे, त्यसैले पुनरुत्थान हुनुभएपछि, येशू तिनीकहाँ पहिलोपल्ट खुला रूपमा देखा पर्नुभयो। तथापि, पत्रुसलाई निरन्तर आफ्ना धारणाहरूमा अल्झिनबाट रोक्न येशूले आफ्नो लागि पत्रुसले तयार पारेको खर्चिलो खाना अस्वीकार गर्नुभयो र एकै निमेषमा बिलाउनुभयो। त्यस क्षणपछि, पत्रुसले अन्ततः प्रभु येशूबारे गहन बुझाइ प्राप्त गरे र उहाँलाई अझ बढी प्रेम गरे। उहाँको पुनरुत्थानपश्चात, येशू बारम्बार पत्रुसकहाँ देखा पर्नुभयो। ती चालीस दिन बितेपछि र उहाँले स्वर्गारोहण गर्नुभएपछि, उहाँ फेरि तीन पटक पत्रुसकहाँ देखा पर्नुभयो। हरेक देखा पराइ ठीक त्यो बेला हुन्थ्यो, जुन बेला पवित्र आत्माको एउटा काम पूरा हुन लागेको हुन्थ्यो अनि नयाँ कामको सुरुवात हुन लागेको हुन्थ्यो।

पत्रुसले जीवनभरि नै जीविकाको लागि माछा मार्ने काम गरे, तर त्योभन्दा पनि बढी तिनी प्रचार गर्नलाई जिए। तिनले आफ्ना पछिल्ला दिनहरूमा पत्रुसका पहिलो र दोस्रो पत्रहरूका साथै तत्कालीन फिलाडेल्फिया मण्डलीको लागि धेरै पत्रहरू लेखे। त्यस समयका मानिसहरू तिनीद्वारा गहन रूपमा प्रभावित भएका थिए। तिनले आफ्नै योग्यताको प्रयोग गरी मानिसहरूलाई प्रवचन सुनाउनुको सट्टा, जीवनमा सुहाउँदो भरणपोषण प्रदान गरे। तिनले येशूले संसार छाड्नुअघि येशूले दिनुभएका शिक्षालाई कहिल्यै भुलेनन्, र आफ्नो जीवनभरि नै तिनै शिक्षाद्वारा प्रेरणा प्राप्त गरिरहे। येशूलाई पछ्याउँदाको समयमा, तिनले प्रभुको प्रेमको पैँचो मृत्युले तिर्ने र सबै कामकुरामा उहाँको उदाहरण अनुसरण गर्ने सङ्कल्प लिए। येशूले त्यस कुरामा सहमति जनाउनुभयो, त्यसकारण पत्रुस ५३ वर्षको हुँदा (येशूले स्वर्ग प्रस्थान गर्नुभएको २० वर्षभन्दा पछि), तिनलाई तिनको आकाङ्क्षा पूरा गर्न मद्दत गर्नको लागि येशू तिनीकहाँ देखा पर्नुभयो। त्यसपछिका सात वर्षहरूमा, पत्रुसले आफैलाई चिन्ने प्रयास गर्दै समय बिताए। ती सात वर्षपछि एक दिन, तिनलाई उँधोमुन्टो पारी क्रूसमा टाँगियो, यसरी तिनको असाधारण जीवनको अन्त्य भयो।

अघिल्लो:  अध्याय ६

अर्को:  अध्याय ८

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger