अध्याय १०९
हरेक दिन म वाणीहरू भनिरहेको छु, बोलिरहेको छु र आफ्ना महान् चिह्न र आश्चर्यकर्महरू प्रकट गरिरहेको छु। यी सब कुरा मेरो आत्माका काम हुन्। मानिसहरूको नजरमा, म मानव मात्र हुँ, तर म जो व्यक्ति हुँ ठ्याक्कै उसैमा म आफ्नो सर्वस्व, साथै मेरो महान् शक्ति प्रकट गर्छु।
मानिसहरूले म जो व्यक्ति हुँ उसलाई बेवास्ता गर्ने र मेरा कार्यहरूलाई अनदेखा गर्ने हुनाले, तिनीहरू यी त मानवद्वारा गरिएका कामकुराहरू हुन् भन्ठान्छन्। तर, तँ किन मैले गर्ने कुरा पूरा गर्न मानव सक्षम होला कि नहोला भनी यसो रोकिएर सोच्दैनस्? मानिसहरू यसरी नै मबारे अनजान रहन्छन्; तिनीहरू मेरा वचनहरू बुझ्दैनन्, न त तिनीहरू मेरा कार्यहरू नै बोध गर्छन्। दुष्ट, भ्रष्ट मानवहरू! म तँलाई कहिले निलूँ? म तँलाई कहिले आगो र गन्धकको कुण्डमा दफनाऊँ? मलाई धेरै पटक तिमीहरूको समूहबाट धपाइएको छ, धेरै पटक मानिसहरूले मेरो अपमान गरेका छन्, गिल्ला गरेका छन् र मेरो बदनाम गरेका छन् अनि धेरै पटक मानिसहरूले खुल्लमखुल्ला मलाई गलत ठहराएका छन् र मेरो प्रतिरोध गरेका छन्। अन्धा मानवहरू! के तिमीहरूलाई तिमीहरू मेरो हत्केलाको एक मुठी हिलो मात्र हौ भन्ने थाहा छैन? के तिमीहरूलाई तिमीहरू सृजित प्राणी मात्र हौ भन्ने थाहा छैन? मेरो क्रोध अब पोखिँदै छ र कसैले पनि आफूलाई यसबाट जोगाउन सक्दैन। मानिसहरू बारम्बार कृपाका लागि बिन्ती मात्र गर्न सक्छन्। तर, मेरो काम यस हदसम्म अघि बढिसकेको हुनाले, कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। सृष्टि गरिएकाहरू हिलोमै फर्कनुपर्छ। म अधर्मी भएको होइन, बरु तिमीहरू चाहिँ अत्यधिक भ्रष्ट र अनियन्त्रित भएका हौ र तिमीहरू शैतानद्वारा बन्दी बनाइएका र यसको साधन बनेका हुनाले यसो भएको हो। म पवित्र परमेश्वर स्वयम् हुँ; मलाई कलङ्कित पार्न सकिँदैन, न त मसँग कुनै फोहोर मन्दिर नै हुन सक्छ। अबदेखि, मेरो महाक्रोध (क्रोधभन्दा अझ गम्भीर) हरेक देश र हरेक मानिसमाथि पोखिन र त्यसले मबाटै आउने तर मलाई नचिन्ने सबै घटिया मानिसलाई सजाय दिन थाल्नेछ। म मानवहरूलाई चरम रूपमा घृणा गर्छु र म तिनीहरूलाई थप सहनशीलता देखाउनेछैनँ; बरु, म आफ्ना सबै श्राप बर्साउनेछु। अब कुनै कृपा र प्रेमपूर्ण दया हुनेछैन, सबै कुरा भस्म भएर शून्यतामा परिणत भई मेरो राज्य मात्र बाँकी रहनेछ र मेरा मानिसहरूले मलाई मेरो घरमा प्रशंसा गर्नेछन्, महिमा दिनेछन् र सदासर्वदा मेरो जयजयकार गर्नेछन् (जुन मेरा मानिसहरूको प्रकार्य हो)। मेरो हातले मेरो घरभित्र र बाहिरकाहरू दुवैलाई आधिकारिक रूपमा सजाय दिन सुरु गर्नेछ। कुनै पनि दुष्कर्मीहरू मेरो पकड र न्यायबाट उम्कन सक्नेछैनन्; सबै जनाले यो भोग्नैपर्छ र मेरो आराधना गर्नैपर्छ। यो मेरो प्रताप हो र त्योभन्दा पनि बढी यो मैले दुष्कर्मीहरूलाई घोषणा गर्ने प्रशासनिक आदेश हो। कसैले पनि अरू कसैलाई बचाउन सक्दैन। मानिसहरू आफ्नै मात्र ख्याल राख्न सक्छन् तर तिनीहरूले जेसुकै गरे पनि, तिनीहरू सजाय दिने मेरो हातबाट उम्कन सक्नेछैनन्। मेरा प्रशासनिक आदेशहरू कठोर छन् भनेर भन्नुको कारण यसैमा प्रकट हुन्छ; यो सबै मानिसले आफ्नै आँखाले देख्न सक्ने तथ्य हो।
जब म रिसाउन थाल्छु, तब मेरो हातले ढाल्छ भन्ने अत्यन्तै डरले साना-ठूला पिशाचहरू सबै आत्तिएर भाग्नेछन्—तर मेरो हातबाट कोही पनि उम्कन सक्दैन। म दण्डका सबै साधन आफ्नै हातमा राख्छु; मेरो हातले सबै कुरा नियन्त्रण गर्छ, सबै मेरो पकडमा छ र कोही पनि फुत्कन सक्दैन। यो मेरो बुद्धि हो। जब म मानव संसारमा आएँ, तब मैले सबै प्रकारका तयारीको काम पूरा गरिसकेको थिएँ, मानवहरूमाझ आफ्नो काम सुरु गर्ने जग बसालिसकेको थिएँ। (किनभने म बुद्धिमान् परमेश्वर हुँ र म के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुरालाई उचित रूपमा सम्हाल्छु।) सबै कुरा उचित रूपमा प्रबन्ध गरिएपछि, म देह बनेँ र मानव संसारमा आएँ। तर, मलाई कसैले पनि चिनेन। मैले प्रबोधित गरेकाहरूबाहेक, विद्रोहका सबै पुत्र मेरो प्रतिरोध गर्छन्, मलाई अपमानित गर्ने प्रयास गर्छन् र मलाई बेवास्ता गर्छन्। तर, अन्त्यमा म तिनीहरूलाई सुशील र आज्ञाकारी बन्न लगाउनेछु। मानवहरूलाई मैले धेरै काम गरिरहेको छैनँ जस्तो लागे पनि, मेरो महान् काम सम्पन्न भइसकेको छ। (मानिसहरू सबै म जो व्यक्ति हुँ उसैद्वारा वचन र हृदय दुवैमा पूर्ण रूपमा विश्वस्त भएका छन्। यो एउटा चिह्न हो।) आज, म खडा हुन्छु र मेरो प्रतिरोध गर्ने सबै प्रकारका दुष्ट आत्माहरूलाई सजाय दिन्छु। तिनीहरूले मलाई जतिसुकै लामो समय पछ्याएका भए पनि, तिनीहरूले मेरो साथ छोड्नैपर्छ। म मेरो विरुद्धमा हुने कसैलाई पनि चाहन्नँ (तिनीहरू आत्मिक बुझाइ नभएका, अस्थायी रूपमा दुष्ट आत्माहरूको वशमा परेका र मलाई नचिन्ने मानिस हुन्)—म तिनीहरूमध्ये एक जनालाई पनि चाहन्नँ! सबै जना हटाइनेछन् र विनाशका पुत्र बन्नेछन्! आज मेरा लागि सेवा प्रदान गरेपछि, तिनीहरू सबै जना जानैपर्छ! मेरो घरमा यतिकै नबस; लाज पचाएर निरन्तर सित्तैँमा खान बन्द गर! शैतानकाहरू सबै दियाबलसका पुत्र हुन् र सदाका लागि नाश हुनेछन्। मेरो प्रतिरोध गर्ने सबैले चुपचाप मेरो साथ छोड्नेछन्, त्यसैले मेरो कामको गति अझ बढी सहज र निर्बाध हुनेछ, जसमा थप कुनै बाधा हुनेछैन। कुनै रोकावट वा अड्चनविना, सबै कुरा मेरो आदेशमा गरिनेछन्। सबै जना मेरो दृष्टिअघि ढल्नेछन् र मेरो जलाइमा नष्ट पारिनेछन्। यो (मैले मेरा ज्येष्ठ पुत्रहरूमा गरेको कुरा) आफ्नो सर्वशक्तिमान्ता र मेरो सिद्ध बुद्धिलाई चित्रण गर्न पर्याप्त छ। यसले मेरो नामलाई थप महिमित तुल्याउनेछ र यसले ममा थप महिमामय ज्योति थप्नेछ। मैले गर्ने कुरा र मेरो बोलीको लबजबाट, तिमीहरू सबैले मैले आफ्नो घरमा आफ्ना सबै काम पूरा गरिसकेको, म अन्यजाति राष्ट्रहरूतर्फ फर्कन थालेको र मैले त्यहाँ आफ्नो काम सुरु गरिरहेको र आफ्नो कामको अर्को चरण कार्यान्वयन गरिरहेको देख्न सक्छौ।
मेरा धेरैजसो वचन तिमीहरूका धारणाहरूसँग मिल्दैनन्—तर मेरा पुत्रहरू, मलाई नछोड। ती मानव धारणाहरूसँग नमिल्नुको अर्थ ती मेरा वाणीहरू होइनन् भन्ने होइन। मैले वास्तवमै ती वाणीहरू बोलेको भनेर ठ्याक्कै यही कुराले प्रमाणित गर्छ। यदि मेरा वचनहरू मानव धारणाहरूसँग मिल्दा भएका भए, ती दुष्ट आत्माहरूका काम हुनेथिए। तसर्थ, तिमीहरूले मेरा वचनहरूमा अझ बढी प्रयत्न लगाउनुपर्छ, मैले भनेअनुसार गर्नुपर्छ र मैले प्रेम गर्ने कुरालाई प्रेम गर्नुपर्छ। यो अन्तिम युग सबै प्रकोप फेरि उत्पन्न हुने युग पनि हो र त्योभन्दा पनि बढी, यो मैले मेरो सम्पूर्ण स्वभाव प्रकट गरिरहेको युग हो। जब मेरा पवित्र तुरहीहरू सबै बज्न थाल्छन्, तब मानिसहरू साँच्चै डराउनेछन्; त्यतिबेला, कसैले पनि दुष्टता गर्ने आँट गर्नेछैन, बरु त्यसको सट्टा मेरो बुद्धि र मेरो सर्वशक्तिमान्ताको कदर गर्दै मेरो अगाडि लम्पसार पर्नेछन्। आखिर, म बुद्धिमान् परमेश्वर स्वयम् हुँ! कसले मेरो खण्डन गर्न सक्छ र? अनि मविरुद्ध उठ्ने आँट कसले गर्छ? मेरो बुद्धिलाई स्वीकार नगर्ने आँट कसले गर्छ? मेरो सर्वशक्तिमान्तालाई नचिन्ने आँट कसले गर्छ? मेरो आत्माले सबै ठाउँमा महान् काम गर्दा, सबैलाई मेरो सर्वशक्तिमान्ता थाहा हुन्छ तर अझै पनि मेरो लक्ष्य पूरा भएको छैन। म आफ्नो क्रोधको नतिजास्वरूप मानिसहरूले मेरो सर्वशक्तिमान्ता, मेरो बुद्धि र मेरो व्यक्तित्वको महिमा देखून् भन्ने चाहन्छु। (यी सबै कुरा ज्येष्ठ पुत्रहरूमा प्रकट हुन्छन्; यो पूर्ण रूपमा साँचो हो। तिनीहरूबाहेक, कोही पनि मेरो व्यक्तित्वको हिस्सा हुन सक्दैन; यो मद्वारा नियोजन गरिएको हो।) मेरो घरमा, मानिसहरूले बुझ्न नसक्ने अनन्त रहस्यहरू छन्। जब म बोल्छु, तब मानिसहरू म अत्यन्तै निर्दयी छु भनेर भन्छन्। तिनीहरू धेरै मानिसले मलाई केही हदसम्म प्रेम गरिरहेकै छन् भनेर भन्छन् र मैले किन ती मानिसहरूलाई ठूलो रातो अजिङ्गरका सन्तान हुन् भनी औँल्याएको र म किन तिनीहरूलाई एक-एक गरी त्याग्नेछु भनेर सोध्छन्, साथै मेरो घरमा अझ धेरै मानिस हुनु पक्कै पनि राम्रो हो भनेर भन्छन्। तैपनि, म यसरी नै काम गरिरहन्छु। मैले पूर्वनिर्धारण गरेको सङ्ख्याभन्दा न त एक जना बढी न त एक जना कम नै हुन मिल्छ। (यो मेरो प्रशासनिक आदेश हो। यसलाई कुनै मानवले परिवर्तन गर्न नमिल्ने मात्र होइन, तर म स्वयम्ले समेत यसलाई परिवर्तन गर्न मिल्दैन, किनभने म शैतानसामु झुक्नु हुँदैन। मेरो बुद्धि र प्रताप प्रस्ट पार्न यो नै पर्याप्त छ। म एकमात्र परमेश्वर स्वयम् हुँ। मानवहरू मात्र मसामु घुँडा टेक्छन्। म मानवहरूसामु झुक्दिनँ।) शैतानलाई सबैभन्दा बढी अपमानित गर्ने कुरा ठ्याक्कै यही हो। मैले छानेका मानवहरू सबै विनम्र, समर्पित, आज्ञाकारी र इमानदार छन्, साथै तिनीहरू विनम्रतासाथ र गुप्त रूपमा मेरो सेवा गर्न सक्छन्। (शैतान यो तथ्य प्रयोग गरेर मलाई अपमानित गर्न चाहन्थ्यो, तर मैले उल्टै शैतानलाई हराएँ।) यी मानिसहरूमा मेरो स्वभाव देख्न सकिन्छ। जब म युद्धमा विजयी भएर फर्कन्छु, तब म आफ्ना ज्येष्ठ पुत्रहरूलाई आफ्नो राज्यमा राजा हुन अभिषेक गर्नेछु र त्यसपछि मात्र म विश्राम गर्न थाल्नेछु, किनभने तिनीहरूले मसँगै राजाका रूपमा शासन गर्नेछन्। मेरा ज्येष्ठ पुत्रहरू मेरो प्रतिनिधित्व गर्छन् र तिनीहरू मलाई व्यक्त गर्छन्। तिनीहरूको विनम्र र गुप्त सेवामा, तिनीहरू मेरो अधीनमा रहन्छन्; तिनीहरू आफ्नो इमानदारीमा, मेरा वचनहरू कार्यान्वयन गर्छन्; तिनीहरू आफ्नो इमानदारीमा, म जे भन्छु त्यही भन्छन्; अनि तिनीहरू आफ्नो विनम्रतामा, मेरो नामलाई (न त धृष्टता न त क्रूरताका साथ, तर प्रताप र क्रोधका साथ) महिमित पार्छन्। मेरा ज्येष्ठ पुत्रहरू हो! ब्रह्माण्डीय संसारको न्याय गर्ने समय आयो! म तिमीहरूलाई आशिर्वाद दिन्छु, म तिमीहरूलाई अख्तियार दिन्छु र म तिमीहरूलाई आशिष्हरूको इनाम दिन्छु! सबै कुरा सम्पन्न भइसकेका छन् र यी सबै तिमीहरूद्वारा नियन्त्रित र प्रबन्ध गरिएका छन्, किनभने म तिमीहरूका पिता हुँ; म तिमीहरूको बलियो धरहरा हुँ, म तिमीहरूको आश्रयस्थल हुँ र म तिमीहरूको सहारा हुँ अनि त्योभन्दा पनि बढी, म तिमीहरूको सर्वशक्तिमान् जन हुँ; म तिमीहरूको सबै कुरा हुँ! सबथोक मेरै हातमा छ र सबथोक तिमीहरूको हातमा पनि छ। यसमा आज मात्र होइन, हिजो पनि पर्छ र भोलि पनि पर्छ! के यो उत्सव मनाउन योग्य छैन र? के यो तिमीहरूको जयजयकारको योग्य छैन र? तिमीहरू सबैले, आफूले पाउनुपर्ने अंश मबाट स्वीकार गर! म आफ्ना लागि अलिकति पनि नराखी आफ्ना सबथोक तिमीहरूलाई दिन्छु, किनभने मेरा सबै सम्पत्ति तिमीहरूका हुन् र मेरो धनदौलत तिमीहरूमाथि छन्। यसैकारण मैले तिमीहरूलाई सृष्टि गरेपछि “यो धेरै राम्रो छ” भनेर भनेको हुँ।
के तिमीहरूलाई आज तिमीहरू जे गर्छौ, सोच्छौ र भन्छौ त्यसलाई कसले निर्देशित गर्छ भन्ने कुरा थाहा छ? तिमीहरूका सबै कार्यपछाडिको उद्देश्य के हो? म तिमीहरूलाई सोध्छु: तिमीहरू थुमाको विवाह भोजमा कसरी उपस्थित हुन्छौ? के त्यो आज हो? कि भविष्यमा हो? थुमाको विवाह भोज भनेको के हो? तिमीहरूलाई थाहा छैन, छ त? त्यसोभए, म यो कुरा तिमीहरूलाई बुझाइदिन्छु: जब म मानव संसारमा आएँ, तब मैले आज म जो व्यक्ति हुँ उसको सेवा गर्न सबै प्रकारका मानिस, घटना र कामकुराहरूको प्रबन्ध गरेको थिएँ। अब सबै कुरा पूरा भइसकेको हुनाले, म सेवाकर्ताहरूलाई पन्छाउँदै छु। विवाह भोजसँग यसको के सम्बन्ध छ? जब यी मानिसहरू मेरा लागि सेवा प्रदान गर्छन्—अर्थात्, जब मलाई थुमा बनाइन्छ—तब म विवाह भोजको स्वाद पाउँछु। अर्को शब्दमा भन्नुपर्दा, मैले भोगेका सबै पीडा, मैले गरेका सबै काम, मैले भनेका सबै कुरा, मैले भेटेका सबै जना र मैले आफ्नो जीवनकालमा गरेका सबै कुरा विवाह भोज बनेका छन्। म जो व्यक्ति हुँ उसलाई अभिषेक गरिएपछि, तिमीहरूले मलाई पछ्याउन थाल्यौ (अनि यतिबेला म थुमा बनेँ); यसरी, मेरो अगुवाइमा, तिमीहरूले सबै प्रकारका पीडा र प्रकोप अनुभव गरेका छौ, तिमीहरू संसारद्वारा अस्वीकृत र निन्दित भएका छौ, परिवारद्वारा अस्वीकृत भएका छौ र मेरा आशिष्हरूमा जिएका छौ। यी सबै कुरा थुमाको विवाह भोजका पाटा हुन्। म “विवाह भोज” प्रयोग गर्छु किनभने तिमीहरूलाई अगुवाइ गर्दा मैले गर्ने सबै कुराको उद्देश्य तिमीहरूलाई प्राप्त गर्नु हो। तर, यी सब भोजकै पाटा हुन्। भविष्यमा—वा भनौँ आजै—तिमीहरूले आनन्द लिने सबथोक, तिमीहरूले प्राप्त गर्ने सबै कुरा र तिमीहरूले मसँग राजाका रूपमा शासन गर्नु भोजकै पाटा हुन्। मलाई प्रेम गर्नेहरू सबैमा मेरो प्रेम आउँछ। मैले प्रेम गर्नेहरू सदैव रहिरहनेछन्, कहिल्यै हटाइनेछैनन् र अनन्तसम्म मेरो प्रेमभित्र हुनेछन्। यो सधैँका लागि हो।