अध्याय ११६
मेरा वचनहरूमध्ये यस्ता धेरैवटा छन् जसले मानिसहरूलाई भयभीत तुल्याउँछन्। मेरा धेरैवटा वचनका कारण मानिसहरू त्रासले थरथर काँप्छन्, र मेरा धेरैवटा वचनका कारण मानिसहरू कष्ट भोग्छन् र आशा गुमाउँछन्, र अझै धेरै वचनका कारण मानिसहरू नाश हुन्छन्। कसैले पनि मेरा वचनहरूको प्रचुरता बुझ्न वा यसलाई प्रस्ट रूपमा बोध गर्न सक्दैन। जब म तिमीहरूलाई एक-एक वाक्य गर्दै मेरा वचनहरू बताउँछु र तिनलाई तिमीहरूसामु प्रकट गर्छु, तब मात्र तिमीहरू सामान्य वस्तुस्थिति थाहा पाउँछौ, तर खास तथ्यहरूको साँचो रूपबारे अझै अस्पष्ट नै रहन्छौ। त्यसकारण, म तथ्यहरू प्रयोग गरेर मेरा सबै वचन प्रकट गर्नेछु, र यसरी तिमीहरूलाई अझ ठूलो बुझाइमा पुर्याउनेछु। मेरो बोल्ने शैलीलाई विचार गर्दा, म मेरा वचनहरूद्वारा बोलिरहेको मात्रै छैनँ, त्योभन्दा पनि बढी, म मेरा वचनहरूद्वारा काम गरिरहेको छु; यो नै “वचन र तथ्यहरू एकसाथ देखा पर्नु” को साँचो अर्थ हो। किनभने ममा सबथोक स्वतन्त्र छ, र सबथोक मुक्त छ, र यस जगमा, मैले गर्ने सबै कुरा बुद्धिले भरिपूर्ण हुन्छ। म जथाभावी बोल्दिनँ, न त म जथाभावी काम नै गर्छु। (मानवतामा होस् वा ईश्वरत्वमा, म बुद्धिले बोल्छु र काम गर्छु, किनभने मेरो मानवता मेरै एउटा अभिन्न अङ्ग हो।) तैपनि जब म बोल्छु, तब कसैले पनि मेरो बोलीको लबजलाई ध्यान दिँदैन; जब म काम गर्छु, तब कसैले पनि मेरो कामको शैलीलाई ध्यान दिँदैन। यो मानिसको कमजोरी हो। म सबै मानिसमाथि मेरो महान् शक्ति प्रकट गर्नेछु, मेरा ज्येष्ठ पुत्रहरूमाथि मात्रै होइन, त्योभन्दा पनि बढी म असङ्ख्य राष्ट्रमा र असङ्ख्य मानिसका बीचमा मेरो महान् शक्ति प्रकट गर्नेछु; यसो गर्नु मात्रै शैतानलाई लज्जित पार्ने शक्तिशाली गवाही हो। म मूर्खतापूर्वक काम गर्दिनँ। धेरैजसो मानिस मैले ज्येष्ठ पुत्रहरूको गवाही दिनु गल्ती हो भन्ठान्छन्; तिनीहरू मबाहेक अरू परमेश्वर पनि छन्, म समझहीन तरिकाले काम गर्छु, म आफैलाई गिराउँछु भनेर भन्छन्; र यसमा, मानिसको भ्रष्टता अझै बढी प्रकट हुन्छ। के मैले ज्येष्ठ पुत्रहरूको गवाही दिएर गलत गरेको हुन सक्छु र? तिमीहरू म गलत छु भन्छौ, त्यसोभए के तिमीहरू गवाही दिन सक्छौ? यदि मैले नउचालेको भए, मेरो गवाही नभएको भए, तिमीहरूले अझै पनि मेरो पुत्रलाई धकेलेर आफूभन्दा मुनि पार्नेथियौ, अझै पनि उहाँलाई कठोर उदासीनताका साथ व्यवहार गर्नेथियौ, र अझै पनि उहाँलाई आफ्नो नोकरझैँ व्यवहार गर्नेथियौ। ए पशुहरूको बगाल! म तिमीहरू हरेकलाई पालैपालो ठेगान लगाउनेछु! कोही पनि बाँकी रहनेछैन! ल भन्, सामान्य मानवता भएको व्यक्तिसँग नमिल्ने ती कस्ता चिज हुन्? निस्सन्देह, ती पशु हुन्! म तिनलाई बिलकुलै देखिसहन्नँ। यदि मैले तिमीहरूको गवाही पर्खेको भए, मेरो काममा ढिलाइ भइसकेको हुनेथियो! ए पशुहरूको बगाल! तिमीहरूमा पटक्कै मानवता छैन! मलाई तैँले सेवा प्रदान गर्नु पर्दैन! अहिल्यै यहाँबाट गइहाल्! तैँले मेरो पुत्रलाई यति लामो समयसम्म हेपेको र दमन गरेको छस्; म तँलाई कुल्चेर धुलोपिठो पार्नेछु! तैँले फेरि जङ्गली बन्ने आँट गरिस् भने के हुन्छ हेर्; तैँले मलाई फेरि पनि बेइज्जत गर्ने आँट गरिस् भने के हुन्छ हेर्! मैले मेरो महान् काम पूरा गरिसकेको छु; मैले फर्केर पशुहरूको यो बगाललाई ठेगान लगाउनुपर्छ!
सबै कुरा मेरो हातमा पूरा हुन्छन् (जहाँसम्म मैले प्रेम गर्नेहरूको सवाल छ), र सबै कुरा मेरै हातमा नष्ट पनि हुन्छन् (जहाँसम्म मैले घृणा गर्ने ती पशुहरू, र मैले घृणा गर्ने ती मानिस, घटना र कामकुराहरूको सवाल छ)। म मेरा ज्येष्ठ पुत्रहरूलाई मैले गर्न लागेको सबै कुरा देख्न दिन्छु, तिनीहरूलाई पूर्ण रूपमा बुझ्न दिन्छु र त्यसमा मैले सियोनबाट बाहिर आएदेखि गरेका सबै कुरा देख्न दिन्छु। त्यसपछि, हामी सँगै सियोन पर्वतमा प्रवेश गर्नेछौँ, युगहरूभन्दा पहिले हामी जहाँ थियौँ त्यही ठाउँमा प्रवेश गर्नेछौँ, र नयाँ रूपमा आफ्नो जीवन जिउनेछौँ। त्यसपछि, संसार र पशुहरूको यो बगालसँग कुनै सम्पर्क हुनेछैन, बरु पूर्ण स्वतन्त्रता हुनेछ; सबै कुरा निर्बाध र बाधारहित हुनेछ। मेरा ज्येष्ठ पुत्रहरूमध्ये कुनैलाई पनि प्रतिरोध गर्ने आँट कसले गर्छ? मेरा ज्येष्ठ पुत्रहरूलाई निरन्तर विरोध गरिरहने आँट कसले गर्छ? म पक्कै पनि तिनीहरूलाई सजिलै छोड्नेछैनँ! जसरी विगतमा तिमीहरू मेरो डर मान्थ्यौ, त्यसरी नै आज तिमीहरूले मेरा ज्येष्ठ पुत्रहरूको पनि डर मान्नुपर्छ। तिमीहरू मेरो अगाडि एउटा र मेरो पछाडि अर्को व्यवहार नगर्; हरेक व्यक्ति कस्तो छ भन्ने कुरा म छर्लङ्गै देख्छु। मेरो पुत्रप्रति बफादार नहुनु भनेको छोराछोरीले मप्रतिको धर्म ननिभाउनु हो, जुन एउटा स्पष्ट तथ्य हो, किनभने हामी एउटै शरीरका हौँ। यदि कोही मप्रति असल व्यवहार गर्छ तर मेरा ज्येष्ठ पुत्रहरूप्रति फरक मनोवृत्ति राख्छ भने, ऊ निस्सन्देह ठूलो रातो अजिङ्गरको ठेट वंशज हो, किनभने ऊ ख्रीष्टको शरीरलाई टुक्र्याउँछ; यो पापलाई कहिल्यै क्षमा गर्न सकिँदैन! तिमीहरू हरेकले यो कुरा देख्नैपर्छ: मेरो साक्षी दिनु तिमीहरूको कर्तव्य हो, र त्योभन्दा पनि बढी, ज्येष्ठ पुत्रहरूको साक्षी दिनु तिमीहरूको दायित्व हो। तिमीहरूमध्ये कोही पनि आफ्नो जिम्मेवारीबाट पन्छिनु हुँदैन; जसले अवरोध गर्छ म त्यसलाई तुरुन्तै ठेगान लगाउनेछु! आफैलाई कुनै विशेष चिज नठान्। म तँलाई अहिले नै भन्छु: तँ जति बढी यस्तो चिज बन्छस्, तँ त्यति नै बढी मेरो कडा दण्डको निसाना बन्नेछस्! तँ जति बढी यस्तो चिज बन्छस्, तँ त्यति नै बढी आशारहित हुन्छस्, र तँ विनाशको पुत्र पनि होस्। म तँलाई सधैँभरि सजाय दिनेछु!
मेरो सबै काम मेरो आत्माद्वारा व्यक्तिगत रूपमा गरिन्छ, र म शैतानको जमातका कसैलाई पनि हस्तक्षेप गर्न दिन्नँ। यो मेरा योजनाहरूमा बाधा नआओस् भन्नका लागि हो। अन्त्यमा, म वयस्क र बालबालिका दुवैलाई खडा भएर मेरो र मेरा ज्येष्ठ पुत्रहरूको प्रशंसा गर्न, मेरा अद्भुत कार्यहरूको प्रशंसा गर्न, र मेरो व्यक्तित्वको प्रकटीकरणको प्रशंसा गर्न दिनेछु। म प्रशंसाको आवाजलाई सम्पूर्ण ब्रह्माण्डमा र पृथ्वीको कुनाकुनासम्म प्रतिध्वनित हुन दिनेछु, पहाड, नदी, र यावत् थोकलाई हल्लाउनेछु, र म शैतानलाई पूर्ण रूपमा लज्जित पार्नेछु। म आफ्नो गवाही प्रयोग गरेर सम्पूर्ण फोहोरी र नीच पुरानो संसारलाई नष्ट गर्नेछु, अनि एउटा पवित्र र शुद्ध नयाँ संसार निर्माण गर्नेछु। (मैले भविष्यमा सूर्य, चन्द्रमा, र ताराहरू परिवर्तन हुनेछैनन् भन्नुको अर्थ पुरानो संसार अझै अस्तित्वमा छ भन्ने होइन, बरु सम्पूर्ण संसार नष्ट हुनेछ र पुरानो संसार प्रतिस्थापित हुनेछ भन्ने हो। मैले ब्रह्माण्डलाई प्रतिस्थापन गर्नुपर्छ भन्न खोजेको होइन।) त्यसपछि मात्रै यो मेरा अभिप्रायहरू अनुरूपको संसार हुनेछ; त्यहाँ, आजको जस्तो दबाब हुनेछैन, न त अहिलेको जस्तो मानिसहरूले एक-अर्कालाई शोषण गर्ने घटना नै घट्नेछ। बरु, देहभित्र पूर्ण निष्पक्षता र समझदारी हुनेछ। (मैले निष्पक्षता र समझदारी हुनेछ भने पनि, यो देहभित्रै हुनेछ; यो मेरो राज्यभन्दा धेरै फरक हुनेछ—स्वर्ग र पृथ्वी जत्तिकै फरक हुनेछ; यी दुईलाई कुनै तरिकाले तुलना गर्न मिल्दैन—आखिर, मानव संसार भनेको मानव संसार नै हो, र आत्मिक क्षेत्र भनेको आत्मिक क्षेत्र नै हो।) त्यस समयमा, मेरा ज्येष्ठ पुत्रहरू र म मिलेर त्यस्तो संसारमाथि न्यायाधिकार अभ्यास गर्नेछौँ (यस संसारमा, शैतानबाट कुनै बाधा हुनेछैन, किनभने शैतानलाई मद्वारा पूर्ण रूपमा ठेगान लगाइएको हुनेछ), तर हाम्रो जीवन अझै पनि राज्यको जीवन नै हुनेछ, जसलाई कसैले नकार्न सक्दैन। युगौँयुग र पुस्तौँपुस्ताभरि, (चाहे जतिसुकै बफादार होस्) यस्तो प्रकारको जीवन अनुभव गरेको कुनै पनि मानव कहिल्यै थिएन, किनभने पुस्तौँपुस्ताभरि, मेरो ज्येष्ठ पुत्रका रूपमा काम गर्ने कोही पनि थिएन, र तिनीहरूले पछि पनि मेरो लागि सेवा प्रदान गर्नेछन्। यी सेवाकर्ताहरू बफादार भए पनि, तिनीहरू आखिर शैतानका वंशज हुन् जो मद्वारा विजय गरिएका छन्, त्यसैले देहको मृत्यु भएपछि पनि, तिनीहरू मेरो लागि सेवा प्रदान गर्न मानव संसारमा नै जन्मिन्छन्; “पुत्रहरू आखिर पुत्र नै हुन्, र सेवाकर्ताहरू आखिर शैतानका वंशज हुन्” भन्नुको साँचो अर्थ यही हो। पुस्तौँपुस्ताभरि, आजका ज्येष्ठ पुत्रहरूका लागि सेवा प्रदान गर्ने कति जना मानिस थिए भन्ने कुरा अज्ञात छ; सबै सेवाकर्तामध्ये, कोही पनि भाग्न सक्दैन, र म तिनीहरूलाई सधैँभरि मेरो लागि सेवा प्रदान गर्न लगाउनेछु। तिनीहरूको प्रकृतिलाई विचार गर्दा, तिनीहरू सबै शैतानका सन्तान हुन्, र तिनीहरू सबैले मेरो प्रतिरोध गर्छन्, साथै तिनीहरूले मेरो लागि सेवा प्रदान गरे पनि, तिनीहरू बाध्य पारिएका हुन्, र तिनीहरूमध्ये कसैसँग पनि कुनै विकल्प छैन। किनभने सबै कुरा मेरो हातद्वारा नियन्त्रित छ, र मैले प्रयोग गर्ने सेवाकर्ताहरूले अन्त्यसम्म मेरो लागि सेवा प्रदान गर्नैपर्छ। तसर्थ, आज पनि त्यस्ता धेरै मानिस छन् जसको प्रकृति पुस्तौँपुस्ताभरिका अगमवक्ता र प्रेरितहरूको जस्तै छ, किनभने तिनीहरू एउटै आत्माका हुन्। तसर्थ, अझै पनि बफादार सेवाकर्ताहरू धेरै छन् जो मेरो लागि दौडधुप गर्छन्, तर अन्त्यमा (छ हजार वर्षदेखि, तिनीहरू निरन्तर मेरो लागि सेवा प्रदान गर्दै आएका छन्, त्यसैले यी मानिसहरू सेवाकर्ताहरूमा पर्छन्), पुस्तौँपुस्ताभरिका मानिसहरूले आशा गरेको कुरा कसैले पनि प्राप्त गर्न सक्दैन, किनभने मैले जे तयार गरेको छु त्यो तिनीहरूका लागि होइन।
मेरा सबै कुराहरू आँखाअगाडि नै पूरा भइसकेका छन्; म मेरा ज्येष्ठ पुत्रहरूलाई मेरो घर फर्कन र मेरो समीपमा फर्कन लगाउनेछु, ताकि हाम्रो पुनर्मिलन होस्। म जितेर र विजयी भएर फर्केको र मैले पूर्ण रूपमा महिमा प्राप्त गरेको हुनाले, म तिमीहरूलाई फिर्ता लैजान आउँछु। विगतमा, कतिपय मानिसले “पाँच जना बुद्धिमती कन्या र पाँच जना मूर्ख कन्या” को भविष्यवाणी गरेका थिए। यो भविष्यवाणी ठ्याक्कै नमिले पनि, यो पूर्ण रूपमा गलत पनि छैन—तसर्थ, म तिमीहरूलाई केही स्पष्टीकरण दिन सक्छु। “पाँच जना बुद्धिमती कन्या र पाँच जना मूर्ख कन्या”—ती सबैले केही मानिसको सङ्ख्यालाई प्रतिनिधित्व गर्दैनन्, न त ती सबैले एक प्रकारको व्यक्तिलाई नै प्रतिनिधित्व गर्छन्। “पाँच जना बुद्धिमती कन्या” ले केही मानिसको सङ्ख्यालाई जनाउँछ, र “पाँच जना मूर्ख कन्या” ले एक प्रकारको व्यक्तिलाई प्रतिनिधित्व गर्छ, तर ती कुनैले पनि ज्येष्ठ पुत्रहरू जनाउँदैन। बरु, तिनले सृजित प्राणीहरूलाई प्रतिनिधित्व गर्छन्। यही कारणले गर्दा तिनीहरूलाई आखिरी दिनहरूमा तेल तयार गर्न भनिएको छ। (सृजित प्राणीहरूमा मेरो क्षमता हुँदैन; यदि तिनीहरू बुद्धिमती हुन चाहन्छन् भने, तिनीहरूले तेल तयार गर्नुपर्छ, र यसरी तिनीहरू मेरा वचनहरूले सुसज्जित हुनुपर्छ।) “पाँच जना बुद्धिमती कन्या” ले मैले सृष्टि गरेका मानवहरूमध्ये मेरा पुत्रहरू र मेरा मानिसहरूलाई प्रतिनिधित्व गर्छ। तिनीहरूलाई “कन्या” भनिन्छ किनभने संसारमा जन्मेका भए पनि तिनीहरू मद्वारा प्राप्त गरिन्छन्, र तिनीहरूलाई पवित्र भन्न सकिन्छ। यही कारणले तिनीहरूलाई जनाउन “कन्या” शब्द प्रयोग गरिन्छ। माथि उल्लिखित “पाँच” ले मैले पूर्वनिर्धारित गरेका मेरा पुत्रहरू र मेरा मानिसहरूको सङ्ख्यालाई प्रतिनिधित्व गर्छ। “पाँच जना मूर्ख कन्या” ले सेवाकर्ताहरूलाई जनाउँछ, किनभने तिनीहरू जीवनलाई अलिकति पनि महत्त्व नदिई मेरो लागि सेवा प्रदान गर्छन्, बाहिरी कुराहरू मात्र पछ्याउँछन् (किनभने तिनीहरूसँग मेरो क्षमता हुँदैन, तिनीहरूले जे गरे पनि, यो बाहिरी कुरा हो), र तिनीहरू मेरा सक्षम सहयोगी हुन सक्दैनन्, त्यसैले तिनीहरूलाई “मूर्ख कन्या” भनिन्छ। माथि उल्लिखित “पाँच” ले शैतानलाई प्रतिनिधित्व गर्छ, र तिनीहरूलाई “कन्या” भनिनुको अर्थ तिनीहरू मद्वारा विजय गरिएका छन् र मेरो लागि सेवा प्रदान गर्न सक्षम छन् भन्ने हो—तर त्यस्ता मानिसहरू पवित्र हुँदैनन्, त्यसैले तिनीहरूलाई सेवाकर्ता भनिन्छ।