ञ. प्रेमिलो परमेश्‍वरलाई कसरी पछ्याउने त्यसको सम्‍बन्धमा

४३६. परमेश्‍वरको सार मानिसका लागि विश्‍वास गर्नहेतु मात्र होइन; अझ अधिक, यो त मानिसले प्रेम गर्नको लागि हो। तर परमेश्‍वरमाथि विश्‍वास गर्ने धेरैजनाले यो “गोप्य कुरा” पत्ता लगाउन सक्दैनन्। मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्ने आँट गर्दैनन्‌, न त तिनीहरूले उहाँलाई प्रेम गर्ने प्रयत्न नै गर्छन्‌। परमेश्‍वरको बारेमा प्रेम गर्न योग्य कुराहरू यति धेरै छन्‌ भन्‍ने कुरा तिनीहरूले कहिल्यै पत्ता लगाएका छैनन्‌; तिनीहरूले परमेश्‍वर त मानिसलाई प्रेम गर्नुहुने परमेश्‍वर हुनुहुन्छ, र उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जसलाई मानिसले प्रेम गर्छ भन्‍ने कुरा कहिल्यै पत्ता लगाएका छैनन्‌। परमेश्‍वरको प्रेमिलो स्वभाव उहाँको काममा व्यक्त हुन्छ: मानिसहरूले उहाँको कामलाई अनुभव गर्दा मात्र उहाँको प्रेमिलो स्वभाव पत्ता लगाउन सक्छन्‌; वास्तविकतामा मात्र मानिसहरूले परमेश्‍वरको प्रेमिलो स्वभावलाई प्रत्यक्ष अनुभव गर्न सक्छन्‌; र यसलाई वास्तविक जीवनमा अनुभव र अवलोकन नगरी, कसैले पनि परमेश्‍वरको प्रेमिलो स्वभावलाई पत्ता लगाउन सक्दैन। परमेश्‍वरको बारेमा प्रेम गर्ने कुरा धेरै छन्, तर उहाँसँग सम्पर्कमा नआई मानिसहरू यसलाई पत्ता लगाउन असक्षम हुन्छन्‌। भन्नुको अर्थ, यदि परमेश्‍वर देह नबन्नुभएको भए, मानिसहरू उहाँसँग वास्तवमा सम्पर्कमा आउन असक्षम हुनेथिए, र यदि तिनीहरू उहाँसँग वास्तविक रूपमा तल्लीन हुन असमर्थ भएका भए, तिनीहरू उहाँको काम अनुभव गर्न पनि समर्थ हुनेथिएनन्‌—र यसरी परमेश्‍वरप्रतिको तिनीहरूको प्रेम धेरै झूट र कल्पनाले कलङ्कित हुनेथियो। स्वर्गमा भएको परमेश्‍वरप्रतिको प्रेम पृथ्वीमा भएको परमेश्‍वरप्रतिको प्रेम जस्तै वास्तविक छैन, किनभने स्वर्गमा हुनुहुने परमेश्‍वरको बारेमा मानिसहरूको ज्ञान तिनीहरूको आफ्नै आँखाले देखेका र तिनीहरूले व्यक्तिगत रूपमा अनुभव गरेका कुराहरूमाथि भन्दा पनि तिनीहरूको कल्पनाहरूमाथि निर्माण भएको छ। जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, तिनीहरूले उहाँका व्यावहारिक कार्यहरू र उहाँको प्रेमिलो स्वभाव देख्न सक्छन्, र तिनीहरूले उहाँको व्यावहारिक र सामान्य स्वभाव देख्न सक्छन्‌, यी सबै नै स्वर्गमा हुनुहुने परमेश्‍वर सम्बन्धी ज्ञानभन्दा हजारौं गुना बढी वास्तविक हुन्छन्‌। मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई जतिसुकै प्रेम गरे तापनि त्यो वास्तविक नै हुँदैन, त्यो मानवीय विचारहरूले भरिएको हुन्छ। पृथ्वीमा हुनुहुने परमेश्‍वरका निम्ति तिनीहरूको प्रेम जतिसुकै थोरै भए तापनि यो प्रेम वास्तविक हुन्छ; यो थोरै मात्र भए तापनि फेरि पनि यो वास्तविक हुन्छ। परमेश्‍वरले मानिसहरूलाई व्यावहारिक काममार्फत उहाँलाई चिन्न लगाउनुहुन्छ, र यही ज्ञानमार्फत उहाँले तिनीहरूको प्रेम प्राप्त गर्नुहुन्छ। यो पत्रुसको जस्तै हो: यदि ऊ येशूसँग नजिएको भए, उसले येशूलाई श्रद्धा गर्न असम्भव हुनेथियो। येशूप्रतिको उसको बफादारी पनि येशूसँगको उसको सम्पर्कमा आधारित थियो। मानिसले परमेश्‍वरलाई प्रेम गर्न लगाउनको लागि उहाँ मानिसको बीचमा आउनुभएको छ र मानिससँग सँगै जिउनुहुन्छ, र उहाँले मानिसलाई देख्न र अनुभव गर्न लगाउन खोज्नुभएको एउटै कुरा भनेको परमेश्‍वरको व्यावहारिकता हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

४३७. “प्रेम”, यसलाई जसरी बोलाइन्छ, एक स्नेह हो, जुन शुद्ध र दोषरहित हुन्छ जहाँ तँ प्रेम गर्न, अनुभव गर्न र विचारशील हुन आफ्नो हृदय प्रयोग गर्छस्। प्रेममा कुनै सर्तहरू हुँदैनन्, कुनै अवरोधहरू हुँदैनन् र कुनै दूरी पनि हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छलकपट हुँदैन र कुनै धूर्तता पनि हुँदैन। प्रेममा कुनै लेनदेन र अपवित्र मिसावट हुँदैन। यदि तैँले प्रेम गर्छस् भने, छलकपट गर्दैनस्, गुनासो गर्दैनस्, धोका दिँदैनस्, विद्रोह गर्दैनस्, माग राख्दैनस्, वा कुनै कुरा प्राप्त गर्न वा निश्चित मात्रामा केही पाउन खोज्दैनस्। यदि तैँले प्रेम गरिस् भने, खुसीसाथ आफूलाई समर्पण गर्नेछस्, खुसी र दुःख सहनेछस्, तँ मेरो अनुकूल हुनेछस्, मेरा लागि आफूसँग भएका सम्पूर्ण कुरा त्याग्नेछस्, आफ्‍नो परिवार, आफ्‍नो भविष्य, आफ्‍नो यौवन र आफ्‍नो विवाह त्याग्नेछस्। होइन भने, तेरो प्रेम कत्ति पनि प्रेम हुनेछैन, तर त्यो त केवल छलकपट र धोका हुनेछ! तेरो प्रेम कस्तो प्रेम हो? के यो साँचो प्रेम हो? अथवा झूटो? तैँले कति कुरा त्यागिस्? तैँले कति कुरा दिइस्? मैले तँबाट कति प्रेम प्राप्त गरेँ? के तँलाई थाहा छ? तिमीहरूको हृदय दुष्टता, विश्‍वासघात र छलकपटले भरिएको छ, र त्यसकारण तिमीहरूको प्रेम कति अपवित्र छ? तिमीहरू सोच्छौ मेरो लागि प्रशस्त कुराहरू तिमीहरूले त्यागिसकेका छौ; तिमीहरू ठान्छौ मेरो लागि तिमीहरूको प्रेम चाहिनेभन्दा बढी भइसक्यो। तर किन तिमीहरूका भनाइ र गराइहरू सधैँ विद्रोही र कपटपूर्ण हुन्छन्? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि मेरो वचन स्वीकार गर्दैनौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि मलाई एकातिर पन्छाइ दिन्छौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि मलाई सन्देह गर्छौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि मेरो अस्तित्व स्वीकार गर्न सक्दैनौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि मलाई सुहाउँदो व्यवहार गर्दैनौ र हरेक पटक मेरो लागि समस्या सिर्जना गर्छौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि हरेक कुरामा मलाई मूर्ख बनाउने र धोका दिने प्रयास गर्छौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो सेवा गर्छौ तर मदेखि भयभीत हुँदैनौ। के यसलाई प्रेम मान्न सकिन्छ? हरतरहले र सबै कुरामा तिमीहरू मेरो विरोध गर्छौ। के यी सबैलाई प्रेम मान्न सकिन्छ? यो सत्य हो कि तिमीहरू पूर्ण रूपमा समर्पित छौ तर मैले तिमीहरूबाट चाहेको कुरा तिमीहरूले कहिल्यै पनि अभ्यास गरेनौ। के यसलाई प्रेम भन्न सकिन्छ? सुविचारित लेखाजोखाले देखाउँछ कि तिमीहरूभित्र मेरो लागि प्रेमको अलिकति पनि सङ्केत छैन। यत्तिका वर्षका काम र मैले दिएका यति धेरै वचनपछि तिमीहरूले वास्तवमा कति प्राप्त गऱ्यौ? के यो पछाडि फर्किएर ध्यानपूर्वक हेर्न लायक छैन?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ

४३८. परमेश्‍वरलाई प्रेम गर्ने पाठभन्दा अर्को गहन पाठ छैन, र यसो पनि भन्‍न सकिन्छ कि जीवनभरिको विश्‍वासबाट मानिसहरूले सिक्ने पाठ भनेको परमेश्‍वरलाई कसरी प्रेम गर्ने भन्‍ने नै हो। यसो भन्नुको अर्थ, यदि तैँले परमेश्‍वरलाई विश्‍वास गर्छस् भने तैँले परमेश्‍वरलाई प्रेम गर्नुपर्ने हुन्छ। यदि तँ परमेश्‍वरलाई विश्‍वास गर्छस् तर उहाँलाई प्रेम गर्दैनस् र तैँले परमेश्‍वरको ज्ञान हासिल गरेको छैनस्, र तेरो हृदयबाट निस्कने साँचो प्रेमले परमेश्‍वरलाई कहिल्यै प्रेम गरेको छैनस् भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास निरर्थक छ; यदि, परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरलाई प्रेम गर्दैनस् भने, तँ व्यर्थमा जिउँछस्, र तेरो सम्पूर्ण जीवन सबैभन्दा नीच जीवन हो। यदि, तेरो सम्पूर्ण जीवनभरि, तैँले परमेश्‍वरलाई कहिल्यै प्रेम गरेको छैनस् वा सन्तुष्ट बनाएको छैनस् भने, तँ जिउनुको के अर्थ? परमेश्‍वरमाथिको तेरो विश्‍वासको के अर्थ? के यो प्रयत्न खेर जानु होइन र? यसो भन्नुको अर्थ, यदि मानिसहरूले परमेश्‍वरलाई विश्‍वास र प्रेम गर्नु छ भने, उनीहरूले मूल्य चुकाउनैपर्छ। बाहिरी रूपमा निश्चित तरिकाले व्यवहार गर्ने प्रयास गर्नुभन्दा, उनीहरूले उनीहरूको हृदयको गहिराइमा साँचो अन्तर्ज्ञान खोज्नुपर्छ। यदि तँ गाउन र नाच्न उत्सुक छस्, तर सत्यता अभ्यास गर्न असक्षम छस् भने, के तैँले परमेश्‍वरलाई प्रेम गर्छस् भनेर मानिन्छ त? परमेश्‍वरलाई प्रेम गर्न सबै कुराहरूमा परमेश्‍वरका अभिप्रायहरू खोज्नु, “र तँलाई केही हुँदा तैँले आफूभित्रको गहिराइमा खोजनिधो गर्दै,” परमेश्‍वरका अभिप्राय बोध गर्ने प्रयास गर्नु, र यी मामलाहरूमा परमेश्‍वरका अभिप्राय के हुन्, उहाँ तँलाई के हासिल गर्न अह्राउनुहुन्छ, र तैँले उहाँका अभिप्रायलाई कसरी ख्याल गर्नुपर्छ भन्‍ने कुरा हेर्ने प्रयास गर्नु आवश्यक हुन्छ। उदाहरणको लागि: कठिनाइ सहनु पर्ने गरी तँलाई केही हुन्छ, उक्त समयमा परमेश्‍वरका अभिप्रायहरू के हुन् र उहाँका अभिप्रायहरूलाई तैँले कसरी ख्याल गर्नुपर्छ भनेर तैँले बुझ्नु पर्दछ। तैँले आफूलाई सन्तुष्ट बनाउनु हुँदैन: सर्वप्रथम, आफूलाई इन्कार गर्। देहभन्दा पतित कुरा अर्को छैन। तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाउन र आफ्नो कर्तव्य पूरा गर्न प्रयास गर्नुपर्दछ। यस्ता सोचले, यो विषयमा परमेश्‍वरले तँमा विशेष अन्तर्दृष्टि ल्याइदिनुहुन्छ र तेरो हृदयले पनि आराम पाउनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

४३९. आज, तिमीहरू सबैलाई के कुरा थाहा छ भने, मानिसले प्राणको मुक्तिका लागि र देहको हितका लागि मात्रै परमेश्‍वरमा विश्‍वास गर्दैन, न त प्रेमिलो परमेश्‍वरद्वारा आफ्नो जीवन समृद्ध पार्न र त्यस्तै इत्यादि कुरा प्राप्त गर्नका लागि मात्रै नै विश्‍वास गर्छ। यसैले, यदि तैँले देहको हितका लागि वा क्षणिक सुख-चैनको लागि परमेश्‍वरलाई प्रेम गरिस् र अन्त्यमा परमेश्‍वरप्रति तेरो प्रेम चरम अवस्थामा पुग्यो अनि तैँले उप्रान्त केही मागेनस् भने पनि, तैँले खोज्ने यो प्रेम कलङ्कित र परमेश्‍वरलाई प्रसन्‍न नपार्ने किसिमको प्रेम हुनेछ। आफ्नो सुस्त किसिमको अस्तित्वलाई समृद्ध बनाउन र आफ्नो हृदयको रिक्ततालाई भर्नको लागि परमेश्‍वरको प्रेमलाई प्रयोग गर्ने मानिसहरू जीवनको सहजताका लागि लालच गर्नेहरू हुन्, परमेश्‍वरको प्रेमलाई साँचो रूपमा खोज्नेहरू होइनन्। यस किसिमको प्रेम जबरजस्ती गरिने प्रेम हो, यो मानसिक आनन्दको खोजी मात्रै हो र परमेश्‍वरलाई यसको कुनै आवश्यकता पर्दैन। त्यसोभए, तेरो प्रेम कस्तो किसिमको प्रेम हो? के कुराको लागि तँ परमेश्‍वरलाई प्रेम गर्छस्? तँभित्र अहिले परमेश्‍वरप्रतिको साँचो प्रेम कति छ? तिमीहरूमध्ये धेरैको प्रेम यसभन्दा पहिले उल्लेख गरिएको किसिमको प्रेम नै हो। त्यस किसिमको प्रेमले वर्तमान स्थितिलाई मात्रै कायम राख्‍न सक्छ; यसले कुनै पनि स्थायित्व प्राप्त गर्न सक्दैन, न त यसले मानिसमा जरा नै गाड्न सक्छ। यस किसिमको प्रेम फुलेर पनि फल नफलाई ओइलाएर जाने फूल जस्तो हो। अर्को शब्दमा भन्नुपर्दा, तैँले परमेश्‍वरलाई यस किसिमले प्रेम गरिसकेको छस्, र तँलाई अगाडि बाटोमा डोर्‍याउने कोही पनि छैन भने, तँ पतन भएर जानेछस्। यदि तैँले परमेश्‍वर प्रेमिलो हुनुभएको समयमा मात्रै परमेश्‍वरलाई प्रेम गर्छस् तर त्यसपछि तेरो जीवन स्वभाव परिवर्तन हुँदैन भने, तँ अन्धकारको प्रभावको कफनबाट बाहिर निस्केर आउने अवस्थामा रहनेछैनस्, तँ शैतानको बन्धन र यसका चलाकीहरूलाई तोड्न नसक्‍ने अवस्थामा रहनेछस्। यस किसिमको कुनै पनि व्यक्तिलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछैन; आखिरमा तिनीहरूको आत्मा, प्राण, र शरीर शैतानको हातमा पर्नेछ। यसबारे कुनै शङ्का हुन सक्दैन। परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गर्न नसक्‍ने मानिसहरू तिनीहरूको सुरुको अवस्थामा नै फर्कनेछन्, अर्थात् शैतानको हातमा फर्कनेछन्, र परमेश्‍वरको अर्को चरणको दण्ड भोग्‍नका लागि आगो र गन्धकको खाडलमा पर्नेछन्। परमेश्‍वरले प्राप्त गरेका मानिसहरू तिनीहरू नै हुन् जसले शैतानको विरुद्धमा विद्रोह गरेका छन् र त्यसको शक्तिबाट उम्केका छन्। तिनीहरूलाई आधिकारिक रूपमा नै परमेश्‍वरको राज्यका मानिसहरूमाझ थपिन्छ। यसरी राज्यका मानिसहरूको निर्माण हुन्छ। के तँ यस किसिमको व्यक्ति बन्‍न इच्छुक छस्? के तँ परमेश्‍वरद्वारा प्राप्त गरिन चाहन्छस्? के तँ शैतानको शक्तिबाट निस्केर परमेश्‍वरकहाँ फर्केर आउन चाहन्छस्? तँ अहिले शैतानको स्वामित्वमा छस् कि राज्यका मानिसहरूमध्ये एक होस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासीहरूले कस्तो दृष्टिकोण राख्‍नुपर्छ

४४०. मानिस अहिलेसम्म अन्धकारको प्रभावको कवचमुनि जिएको छ, शैतानको प्रभावको बन्धनमा परेको छ, उम्‍कनलाई असमर्थ छ, र उसको स्वभाव शैतानद्वारा संचालित गरिएकोले निरन्तर रूपमा भ्रष्ट हुन्छ। यसो भन्न सकिन्छ कि मानिस सँधै उसको भ्रष्ट शैतानी स्वभावमा जिएको छ र ऊ परमेश्‍वरलाई साँचो प्रेम गर्न असक्षम छ। यसो भएको हुनाले, यदि मानिसले परमेश्‍वरलाई प्रेम गर्ने इच्छा गर्दछ भने, ऊ आफ्नो स्व-धार्मिकता, स्व-महत्त्व, अहङ्कार, घमण्ड र यस्तै कुराहरू—शैतानका स्वभावका हरेक कुराबाट अलग हुनैपर्छ। नत्र भने, उसको प्रेम अशुद्ध प्रेम, शैतानी प्रेम, र पूर्ण रूपले परमेश्‍वरको स्वीकृती प्राप्त गर्न नसक्ने प्रेम हो। पवित्र आत्माद्वारा प्रत्यक्ष रूपमा सिद्ध, तोडिएका, काँटछाँट गरिने, अनुशासित गरिने, ताडना दिइने र शोधन गरिने जस्ता कार्य नगरिकन, कोही पनि परमेश्‍वरलाई साँचो प्रेम गर्न सक्षम हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानिसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन

४४१. जब मानिसहरूले आफ्नो हृदयद्वारा परमेश्‍वरलाई सम्पर्क गर्छन्, जब तिनीहरूको हृदय पूर्ण रूपमा उहाँमा फर्कन सक्छ, परमेश्‍वरप्रतिको मानिसको प्रेमको पहिलो चरण यही हो। तँ परमेश्‍वरलाई प्रेम गर्न चाहन्छस् भने, तैँले पहिले आफ्नो हृदय उहाँतिर फर्काउन सक्‍नुपर्छ। तेरो हृदय परमेश्‍वरतिर फर्काउनु भनेको के हो? यो भनेको तैँले आफ्नो हृदयमा खोजी गर्ने सबै कुरा परमेश्‍वरलाई प्रेम र प्राप्त गर्नका खातिर हुने अवस्था हो। यो अवस्थाले तैँले आफ्नो हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्काएको छस् भन्‍ने देखाउँछ। परमेश्‍वर र उहाँको वचनहरूबाहेक, तेरो हृदयमा लगभग अरू (परिवार, धनसम्पत्ति, पति, पत्‍नी, छोराछोरी, आदि) केही पनि हुँदैन। यदि केही छ भने पनि, त्यस्ता कुराले तेरो हृदय ओगट्न सक्दैनन्, र तँ आफ्ना भावी सम्भाव्यताहरूका बारेमा सोच्दैनस्, केवल परमेश्‍वरलाई प्रेम गर्न पछ्याउँछस्। यस्तो समयमा तैँले आफ्नो हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्काएको हुनेछस्। मानौं, तैँले अझै पनि आफ्नो हृदयमा आफ्नै लागि योजना बनाउँदै छस्, तँ सधैँ व्यक्तिगत फाइदाको पछि लागिरहेको छस्, र तैँले सधैँ यस्तो सोच्छस्: “मैले कहिले परमेश्‍वरसँग एउटा सानो बिन्ती गर्न सक्छु? मेरो परिवार कहिले धनी हुनेछ? मैले कसरी राम्रो लुगाफाटा पाउन सक्छु? …” यदि तँ त्यो स्थितिमा जिइरहेको छस् भने यसले तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्केको छैन भन्‍ने देखाउँछ। यदि तँसँग हृदयमा परमेश्‍वरका वचनहरू मात्रै छन् र तैँले परमेश्‍वरसँग प्रार्थना गर्न सक्छस् र हरसमय उहाँको नजिक हुन सक्छस् भने—मानौं उहाँ तेरो धेरै नजिक हुनुहुन्छ, मानौं परमेश्‍वर तँभित्र हुनुहुन्छ र तँ उहाँभित्र छस् भने—यदि तँ त्यस प्रकारको स्थितिमा छस् भने, त्यसको अर्थ तेरो हृदय परमेश्‍वरको उपस्थितिमा छ भन्‍ने हुन्छ। यदि तैँले हरेक दिन परमेश्‍वरसित प्रार्थना गर्छस् र प्रत्येक दिन उहाँका वचनहरू खान्छस् र पिउँछस्, सधैँ मण्डलीको कामको बारेमा सोचिरहेको हुन्छस् भने, र यदि तैँले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्छस् भने, यदि उहाँलाई सच्‍चा प्रेम गर्न र उहाँको हृदयलाई सन्तुष्ट पार्न आफ्‍नो हृदय प्रयोग गर्छस् भने, तेरो हृदय परमेश्‍वरको स्वामित्वमा हुनेछ। यदि तेरो हृदयलाई अन्य थुप्रै कुराहरूले कब्जा गरेको छ भने, यो अझै पनि शैतानको कब्जामा हुन्छ र यो साँचो रूपले परमेश्‍वरतर्फ फर्केको हुँदैन। जब कसैको हृदय साँच्‍चै परमेश्‍वरतर्फ फर्केको हुन्छ, तब तिनीहरूमा उहाँको निम्ति साँचो, स्वस्फूर्त प्रेम हुन्छ, र तिनीहरूले परमेश्‍वरको कामलाई ध्यान दिन सक्‍नेछन्। तिनीहरूमा अझै पनि मूर्खता र विवेकहीनताका पलहरू हुन सक्‍ने भए तापनि, तिनीहरूले परमेश्‍वरको घर, उहाँको काम, र तिनीहरूका आफ्नै स्वभावको परिवर्तनमा चासो देखाउँछन् र तिनीहरूको हृदय सही स्थानमा हुन्छ। केही मानिसहरूले जहिले पनि आफूले गरेका सबै काम मण्डलीका लागि हुन् भनी दाबी गरिरहेका हुन्छन्, तर वास्तवमा तिनीहरूले आफ्नो फाइदाका लागि काम गरिरहेका हुन्छन्। यस्ता मानिसहरूसित गलत अभिप्राय हुन्छ। तिनीहरू कुटिल र छली हुन्छन् र तिनीहरूले गर्ने धेरैजसो काम आफ्नै व्यक्तिगत फाइदाका लागि नै हुन्छन्। यस प्रकारको व्यक्तिले परमेश्‍वरप्रतिको प्रेमको खोजी गर्दैन; तिनीहरूको हृदय अझै पनि शैतानको अधीनमा हुन्छ र परमेश्‍वरतर्फ फर्कन सक्दैन। त्यसैले, परमेश्‍वरसँग यस प्रकारको व्यक्तिलाई प्राप्त गर्ने कुनै उपाय हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वस्फूर्त हुन्छ

४४२. परमेश्‍वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र घट्ने सबै कुरा शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्‍वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्‍वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ। उदाहरणको लागि, यदि तँ तेरा दाजुभाइ तथा दिदी-बहिनीप्रति पूर्वाग्रही छस् भने, तँलाई भन्न मन लागेका वचनहरू तँसँग हुनेछन्—यस्ता वचन जुन परमेश्‍वरलाई अप्रिय लाग्न सक्छ—तर यदि तैँले ती वचनहरू उनीहरूलाई भनिनस् भने, तँलाई आन्तरिक असुविधा हुनेछ, र यो क्षणमा, तँभित्र एउटा लडाइँ सुरु हुन्छ: “म बोलूँ कि नबोलुँ?” लडाइँ यही नै हो। तसर्थ, तैँले सामना गर्ने प्रत्येक कुरामा लडाइँ हुन्छ, र जब तँभित्र लडाइँ हुन्छ, तेरो वास्तविक सहकार्य र वास्तविक कष्टका कारण, परमेश्‍वरले तँभित्र कार्य गर्नुहुन्छ। अन्ततोगत्वा, तँ उक्त विषयलाई आफूभित्र पन्छाउन सक्षम हुन्छस् र रिस प्राकृतिक रूपमा हराएर जान्छ। परमेश्‍वरसँगको तेरो सहकार्यको प्रभाव यस्तो हुन्छ। मानिसहरूले गर्ने प्रत्येक कुराका लागि उनीहरूको रगत-पसिनाको निश्‍चित मात्रा आवश्यक हुन्छ। वास्तविक कठिनाइविना, उनीहरूले परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्दैनन्; उनीहरू परमेश्‍वरलाई सन्तुष्ट बनाउने दिशामा नजिक पनि आउन सक्दैनन्, र उनीहरूले खोक्रा नाराहरू मात्रै भट्याइरहेका हुन्छन्! के यी खोक्रा नाराहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सक्छन्? जब आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच लडाइँ हुन्छ, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट पार्नुपर्छ, र उहाँको गवाहीमा तँ कसरी दृढ रहनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो परीक्षा हो र परमेश्‍वरलाई तेरो गवाही चाहिने समय हो भन्‍ने तँलाई थाहा हुनुपर्छ। ती बाहिरबाट नगण्य देखिए पनि, जब यी कुराहरू हुन्छन्, तिनले तँ परमेश्‍वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्‍ने कुरा देखाउँछन्। यदि तँ उहाँलाई प्रेम गर्छस् भने, तँ उहाँको गवाहीमा दृढ रहन सक्नेछस्, र यदि तैँले उहाँप्रतिको प्रेमलाई अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्, तँ सत्यताविहीन छस्, र जीवनविहीन छस्, तँ भुस होस् भन्‍ने देखाउँछ! मानिसहरूलाई हुने सबै कुरामा, परमेश्वर उनीहरू उहाँको गवाहीमा दृढ रहून् भन्ने माग गर्नुहुन्छ। अहिले तँलाई कुनै उल्लेखनीय कुरा नभइरहेको भए पनि, र तैँले ठुलो गवाही नदिने भए पनि, तेरो दैनिक जीवनका सारा विवरणहरू नै परमेश्‍वरलाई दिइने गवाहीसँग सम्बन्धित हुन्छ। यदि तैँले तेरा दाजुभाइ र दिदीबहिनीहरू, तेरो परिवारका सदस्यहरू, र तेरो वरिपरि भएका सबैको सम्मान जित्न सक्छस्; यदि, कुनै दिन, गैरविश्‍वासीहरू आउँछन् र तैँले गर्ने सबै कुरालाई सम्मान गर्छन्, र परमेश्‍वरले गर्ने सबै कुरा अद्भुत छ भन्‍ने देख्छन् भने, तैँले गवाही दिएको हुनेछस्। तेरो बोधको दायरा फराकिलो नभए पनि र तेरो क्षमता कमजोर भए पनि, तँ परमेश्वरद्वारा सिद्ध पारिएर, उहाँलाई सन्तुष्ट पार्न र उहाँका अभिप्रायलाई ख्याल गर्न सक्षम हुन्छस्, अरूलाई उहाँले सबैभन्दा कमजोर क्षमता भएका मानिसहरूमा कति महान् काम गर्नुभएको छ भनी देखाउँछस्। जब मानिसहरू परमेश्‍वरलाई जान्न पुग्छन् र शैतानको अगाडि विजेता बन्छन्, धेरै हदसम्म परमेश्‍वरप्रति बफादार हुन्छन्, तब मानिसहरूको यो समूहभन्दा अरू कसैसँग पनि बढी मेरुदण्ड हुँदैन, र यो नै सबैभन्दा महान् गवाही हो। तँ महान् काम गर्न अक्षम भए पनि, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम छस्। अरूले उनीहरूका धारणाहरू पन्छाउन सक्दैनन्, तर तँ सक्छस्; अरूले उनीहरूका वास्तविक अनुभवको दौरान परमेश्वरको गवाही दिन सक्दैनन्, तर तँ परमेश्‍वरको प्रेम चुकाउनका निम्ति र उहाँको जोरदार गवाही दिनका निम्ति आफ्नो वास्तविक कद र कार्यहरू प्रयोग गर्न सक्छस्। यसलाई मात्रै परमेश्‍वरलाई वास्तवमा प्रेम गरेको रूपमा गणना गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

४४३. परमेश्‍वरलाई प्रेम गर्नेहरू सत्यतालाई प्रेम गर्नेहरू हुन्, र सत्यतालाई प्रेम गर्नेहरूले जति धेरै सत्यता अभ्यास गर्छन्, त्यत्ति नै धेरै तिनीहरूसित सत्यता हुन्छ; तिनीहरूले जति धेरै सत्यता अभ्यास गर्छन्, त्यत्ति नै धेरै तिनीहरूसित परमेश्‍वरको प्रेम हुन्छ; र तिनीहरूले जति धेरै सत्यता अभ्यास गर्छन्, त्यत्ति नै धेरै तिनीहरू परमेश्‍वरद्वारा आशिषित हुन्छन्। यदि तैँले सदैव यसै गरी अभ्यास गरिस्‌ भने, तेरो लागि दिइने परमेश्‍वरको प्रेमले विस्तारै तँलाई देख्न सक्षम तुल्याउनेछ, जसरी पत्रुसले परमेश्‍वरलाई जाने: परमेश्‍वरसँग स्वर्ग र पृथ्वी सृष्टि गर्ने बुद्धि मात्र होइन, तर, त्योभन्दा पनि बढी, उहाँसँग मानिसहरूमा व्यावहारिक काम गर्ने बुद्धि पनि छ भनेर पत्रुसले भने। उहाँले स्वर्ग र पृथ्वीको र सबै कुराहरूको सृष्टि गर्नुभएको कारणले गर्दा मात्र मानिसहरूको प्रेमको योग्य हुनुभएको होइन, तर, त्योभन्दा पनि बढी, मानिसलाई सृष्टि गर्ने, मानिसलाई मुक्ति दिने, मानिसलाई पूर्ण बनाउने, र मानिसलाई आफ्नो प्रेम हस्तान्तरण गर्ने उहाँको क्षमताको कारणले गर्दा पनि उहाँ योग्य हुनुभएको हो भनेर पत्रुसले भने। त्यसैले पनि पत्रुस भन्छन्‌ कि मानिसको प्रेमको निम्ति उहाँमा योग्य कुराहरू धेरै छन्‌। पत्रुसले येशूलाई भने: “के स्वर्ग र पृथ्वी र सबै थोकहरू सृष्टि गर्नु नै मानिसहरूको प्रेम पाउन योग्य हुनुको एउटै कारण हो र? तपाईंमा अरू पनि धेरै कुराहरू छन्‌ जुन प्रेमिलो छन्‌। तपाईं वास्तविक जीवनमा कार्यरत र चलायमान हुनुहुन्छ, तपाईंको आत्माले मलाई भित्र स्पर्श गर्नुहुन्छ, तपाईंले मलाई ताडना दिनुहुन्छ, तपाईंले मलाई हप्काउनुहुन्छ—यी कुराहरू मानिसहरूको प्रेम पाउन अझ धेरै योग्य छन्‌।” यदि तँ परमेश्‍वरको प्रेम हेर्ने र अनुभव गर्ने इच्छा राख्छस्‌ भने, तैँले वास्तविक जीवनमा उत्खनन र खोजी गर्नुपर्छ र तेरो आफ्नै पापमय स्वभावलाई पन्साउने इच्छा राख्नुपर्छ। तैँले यो सङ्कल्प गर्नैपर्छ। तँ यस्तो सङ्कल्प भएको व्यक्ति हुनुपर्छ जसले अल्छी नबनी वा पापमय स्वभावका आनन्दहरूको लालसा नगरी, पापमय स्वभावको लागि नभएर परमेश्‍वरको लागि जिएर सबै कुराहरूमा परमेश्‍वरलाई सन्तुष्ट पार्न समर्थ हुन्छ। यस्ता समयहरू हुन सक्छन्‌ जब तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्दैनस्‌। त्यो तैँले परमेश्‍वरका अभिप्रायहरू नबुझेको कारणले हो; अर्को पटक, अझ धेरै प्रयास चाहिने भए पनि, तैँले उहाँलाई सन्तुष्ट पार्नुपर्छ र पापमय स्वभावलाई सन्तुष्ट पार्ने होइन। जब तैँले यस्तो प्रकारले अनुभव गर्छस्‌, तैँले परमेश्‍वरलाई चिन्न आएको हुनेछस्‌। तैँले देख्नेछस्‌ कि परमेश्‍वरले स्वर्ग र पृथ्वी र सबै थोकहरू सृष्टि गर्न सक्नुहुन्छ, कि उहाँ देह बन्नुभएको छ ताकि मानिसहरूले वास्तवमा उहाँलाई देख्न सकून्‌ र वास्तवमा उहाँसँग तल्लीन हुन सकून्‌; तैँले के देख्नेछस्‌ भने उहाँ मानिसहरूको माझमा हिँडडुल गर्न समर्थ हुनुहुन्छ, र उहाँको आत्माले वास्तविक जीवनमा मानिसहरूलाई उहाँको प्रेमिलोपन देख्न र उहाँको ताडना, उहाँको सजाय, र उहाँका आशिषहरू अनुभव गर्न दिँदै पूर्ण बनाउन सक्नुहुन्छ। यदि तैँले सदैव यसरी अनुभव गरिस्‌ भने, वास्तविक जीवनमा तँ परमेश्‍वरबाट अलग्याउन नसकिने हुनेछस्‌, र यदि कुनै दिन परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य हुन छोड्छ भने, तँ सङ्घर्ष गर्न र पछुतो गर्न समर्थ हुनेछस्‌। जब परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य हुन्छ, तैँले परमेश्‍वरलाई त्याग्ने इच्छा कहिल्यै गर्नेछैनस्‌, र यदि कुनै दिन परमेश्‍वरले तँलाई त्याग्‍नेछु भनी भन्नुहुन्छ भने, तँ भयभीत हुनेछस्‌, र परमेश्‍वरद्वारा त्यागिइनुभन्दा बरु मरुँला भनी तैँले भन्‍नेछस्‌। यी भावनाहरू तँसँग हुनेबित्तिकै, तैँले परमेश्‍वरलाई त्याग्न असक्षम छस् भन्‍ने तैँले आभास गर्नेछस्‌, र यसरी, तँसँग एउटा जग हुनेछ, र तैँले साँच्चै परमेश्‍वरको प्रेमको आनन्द मनाउनेछस्‌।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

४४४. आज तँ परमेश्‍वरलाई साँच्चै कति प्रेम गर्छस्? र परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूमध्ये तैँले ठ्याक्कै कति जान्दछस्? तैँले सिक्नुपर्ने पाठहरू यिनै हुन्। जब परमेश्‍वर पृथ्वीमा आइपुग्नुहुन्छ, उहाँले मानिसमा जे गर्नुभएको छ र मानिसलाई जे देख्ने तुल्याउनुभएको छ, त्यो सबै मानिसले उहाँलाई प्रेम गरोस् र साँच्चै उहाँलाई चिनोस् भनेर नै हो। मानिसले परमेश्‍वरका लागि कष्ट भोग्न सक्‍नु र यति टाढासम्‍म आउन सक्‍नु, एक हिसाबमा, परमेश्‍वरको प्रेमका कारण हो, र अर्को हिसाबमा, परमेश्‍वरको मुक्तिका कारण हो। त्यो भन्दा पनि बढी, परमेश्‍वरले मानिसमा गर्नुभएको न्याय र सजायको कामका कारण हो। यदि तिमीहरू परमेश्‍वरको न्याय, सजाय, र परीक्षाहरूरहित छौ भने, अनि यदि परमेश्‍वरले तिमीहरूलाई कष्ट भोग्ने तुल्याउनुभएको छैन भने, इमानदारीसाथ भन्नुपर्दा, तिमीहरू परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेछैनौ। मानिसमा परमेश्‍वरको काम जति ठूलो हुन्छ, र मानिसको कष्ट जति ठूलो हुन्छ, त्यसले परमेश्‍वरको काम कति अर्थपूर्ण छ भनी त्यत्ति नै बढी देखाउँछ, अनि मानिसको हृदय परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्न त्यति नै सक्ने हुन्छ। परमेश्‍वरलाई प्रेम गर्ने पाठ कसरी सिकिन्छ? यदि कुनै कष्ट र शोधनविना, पीडादायक परीक्षाहरूविना—र यदि, त्यसमाथि, परमेश्‍वरले मानिसलाई दिनुभएका सबै कुरा अनुग्रह, प्रेमिलो दयालुपन, र कृपा मात्रै थियो भने—के तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्ने बिन्दुमा पुग्न सक्थिस्? एकातिर, परमेश्‍वरका परीक्षाका अवधिमा, मानिसले आफ्ना कमी-कमजोरीहरू थाहा पाउँछ र ऊ नगण्य, घृणायोग्य र तुच्छ छ, उसँग केही पनि छैन र ऊ केही पनि होइन भनी बुझ्छ; अर्कोतिर, परीक्षाका अवधिमा परमेश्‍वरले मानिसका लागि केही वातावरणहरू प्रबन्ध गर्नुहुन्छ, ताकि मानिस तीभित्र, परमेश्‍वरको प्रेमिलो स्वभाव अनुभव गर्न झन् बढी सक्षम होस्। त्यो पीडा ठूलो भए तापनि, र कहिलेकहीँ अपराजेय भए तापनि—चरम दुःखको तहसम्म समेत पुग्‍ने भए तापनि—त्यो अनुभव गरिसकेपछि, मानिसले उसमा भएको परमेश्‍वरको काम कति प्रेमिलो छ भनी देख्छ, अनि यसैको जगमाथि मात्र मानिसभित्र परमेश्‍वरका निम्ति साँचो प्रेमको जन्म हुन्छ। आज मानिसले देख्छ, कि केवल परमेश्‍वरको अनुग्रह, प्रेम, र कृपाले मात्र उसले आफैलाई वास्तवमा चिन्न सक्दैन, मानिसको सार बुझ्‍ने बारेमा त कुरै नगरौँ। केवल परमेश्‍वरको शोधन र न्याय दुवैद्वारा र शोधनको प्रक्रियाको अवधिमा मात्रै मानिसले आफ्ना कमी-कमजोरीहरू जान्न र उसँग केही पनि छैन भनी जान्न सक्छ। यसरी, परमेश्‍वरप्रतिको मानिसको प्रेम परमेश्‍वरको शोधन र न्यायको जगमाथि निर्माण भएको हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

४४५. आज, धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू कष्टको कुनै मूल्य हुँदैन भन्ने विश्‍वास गर्छन्, तिनीहरू संसारद्वारा त्यागिएका छन्, तिनीहरूको घरेलु जीवन समस्याग्रस्त छ, परमेश्‍वरलाई तिनीहरू मनोहर लाग्दैनन्, र तिनीहरूको भविष्य धूमिल छ। कतिपय मानिसहरूले एउटा हदसम्म कष्ट भोग्छन्, तिनीहरू मर्नसमेत चाहन्छन्। यो परमेश्‍वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायर हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र अयोग्य छन्! परमेश्‍वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्कण्ठित हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ, मानिसको कष्ट उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ, मानिसको परीक्षा उति नै ठुला हुन्छन्। यदि तँ उहाँलाई प्रेम गर्छस् भने, सबै प्रकारका कष्टहरू तँमाथि आइलाग्नेछन्—र यदि तँ उहाँलाई प्रेम गर्दैनस् भने, सायद तेरा निम्ति सबै कुरा सहज हुनेछ र तेरो वरिपरि सबथोक शान्तिपूर्ण हुनेछ। जब तँ परमेश्‍वरलाई प्रेम गर्छस्, तब तैँले आफ्नो वरिपरि विजय गर्न नसकिने धेरै कुराहरू छन् भन्ने सधैँ महसुस गर्नेछस्, र तेरो कद धेरै सानो भएकोले तँलाई शोधन गरिनेछ; त्यसमाथि, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम हुनेछस्, र तैँले परमेश्‍वरका अभिप्रायहरू अति उच्च र मानिसको पहुँचभन्दा बाहिर छन् भन्‍ने महसुस गर्नेछस्। यी सबैका कारण तँलाई शोधन गरिनेछ—तँभित्र धेरै कमजोरीहरू भएकाले, र परमेश्‍वरको अभिप्रायहरू पूरा गर्न नसक्ने धेरै कुरा भएकाले, तँलाई आन्तरिक रूपमा शोधन गरिनेछ। तैपनि शोधनद्वारा मात्र शुद्धीकरण हासिल गरिन्छ भन्‍ने कुरालाई तैँले स्पष्ट रूपमा देख्नैपर्छ। यसैले, यी आखिरी दिनहरूका अवधिमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका कष्टहरू जतिसुकै ठूला भए पनि, तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि, तिमीहरू परमेश्‍वरप्रति बफादार र उहाँकै योजनाबद्ध कार्यहरूका कृपामा रहनुपर्छ; यो मात्रै परमेश्‍वरलाई साँच्चै प्रेम गर्नु हो, र यो मात्र बलियो र गुन्जायमान गवाही हो। जब तँलाई शैतानले परीक्षा गर्छ, तैँले यसो भन्नुपर्छ: “मेरो हृदय परमेश्‍वरको हो, र परमेश्‍वरले मलाई अघिबाटै प्राप्त गरिसक्नुभएको छ। म तँलाई सन्तुष्ट पार्न सक्दिनँ—मैले मेरा सबै कुरा परमेश्‍वरलाई सन्तुष्ट पार्नको निम्ति समर्पण गर्नैपर्छ।” तैँले परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छस्, परमेश्‍वरले त्यत्तिनै धेरै तँलाई आशिष् दिनुहुन्छ र परमेश्‍वरप्रतिको तेरो प्रेमको शक्ति त्यति नै ठूलो हुन्छ; यसरी पनि तँसित विश्‍वास र संकल्प हुनेछ, अनि परमेश्‍वरलाई प्रेम गरेर जिउनुभन्दा उचित वा महत्त्वपूर्ण अरू केही छैन भनी तैँले महसुस गर्नेछस्। यो भन्न सकिन्छ, कि दुःखरहित हुनका निम्ति मानिसले परमेश्‍वरलाई प्रेम मात्रै गर्नुपर्छ। कहिलेकहीँ तेरो शरीर कमजोर हुनेभए पनि र तँ धेरै वास्तविक समस्याहरूले ग्रस्त हुनेभए पनि, यदि यस बेला तैँले साँच्चै परमेश्‍वरमा भरोसा राखिस् भने तेरो आत्माभित्र तँलाई सान्त्वना दिइनेछ, तँ ढुक्‍क हुनेछस्, र तैँले आफू भर पर्न सक्ने कुरा केही छ भन्‍ने महसुस गर्नेछस्। यसरी, तैँले धेरै वटा वातावरणमाथि विजय प्राप्त गर्न सक्‍नेछस्, अनि यसरी तैँले भोग्न परेको वेदनाका निम्ति परमेश्‍वरको बारेमा गुनासो गर्नेछैनस्। त्यसको साटो, तँ गाउन, नाच्न, र प्रार्थना गर्न, भेला हुन र सङ्गति गर्न, परमेश्‍वरको बारेमा विचार गर्न चाहन्छस्, र परमेश्‍वरले तेरो वरिपरि राख्नुभएका मानिसहरू, विषयहरू र थोकहरू उचित छन् भन्‍ने महसुस गर्नेछस्। यदि तँ परमेश्‍वरलाई प्रेम गर्दैनस् भने, तैँले हेर्ने सबै कुरा तँलाई पट्यारलाग्दो हुनेछ र कुनै पनि कुरा तेरा आँखाहरूलाई मनपर्दो हुनेछैन। तेरो आत्मामा तँ स्वतन्त्र हुनेछैनस्, तर अपहेलित हुन्छस्, तेरो हृदयले सधैँ परमेश्‍वरको बारेमा गुनासो गर्नेछ, र तैँले सधैँ धेरै पीडा सहनुपर्छ र यो अत्यन्तै अन्याय हो भन्‍ने महसुस गर्छस्। यदि तँ खुसीका पछि लाग्दैनस्, तर परमेश्‍वरलाई सन्तुष्ट पार्न र शैतानद्वारा दोषी हुन खोज्छस् भने त्यस्तो खोजीले तँलाई परमेश्‍वरलाई प्रेम गर्ने ठूलो शक्ति दिनेछ। मानिस परमेश्‍वरले बोल्नुभएका सबै कुरा पूरा गर्न सक्षम छ र उसले गर्ने सबै कुराद्वारा ऊ परमेश्‍वरलाई खुसी पार्न सक्षम छ—वास्तविकता हुनु भनेको अर्थ यही नै हो। परमेश्‍वरको सन्तुष्टि पछ्याउनु भनेको उहाँको वचन अभ्यास गर्नका लागि परमेश्वरलाई प्रेम गर्ने तेरो हृदय प्रयोग गर्नु हो; समय जे-जस्तो भए पनि—अरू शक्तिविहीन हुँदा समेत—तँभित्र अझै पनि परमेश्‍वरलाई प्रेम गर्ने एउटा हृदय हुन्छ, र तँ भित्री गहिराइदेखि परमेश्‍वरको तृष्णा गर्छस् र उहाँलाई याद गर्छस्। यो वास्तविक कद हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

४४६. यो तीतो शोधनको समयमा नै मानिस सबैभन्दा सजिलोसँग शैतानको प्रभावमा पर्न सक्छ, त्यसैले त्यस्तो शोधनको अवधिमा तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? तैँले आफ्‍नो हृदय परमेश्‍वरसामु राख्दै र तेरो अन्तिम समय उहाँमा समर्पण गर्दै आफ्‍नो इच्‍छालाई पुकार्नुपर्छ। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि तैँले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्नका लागि सत्यताको अभ्यास गर्न सक्नुपर्दछ र परमेश्‍वरलाई खोज्ने र बातचित गर्ने काम तँ आफैले गर्नुपर्छ। यस्ता समयमा, तँ जति धेरै निष्क्रिय बन्छस्, त्यति नै धेरै नकारात्मक बन्नेछस् र त्यति नै सहजै पछि हट्नेछस्। तैँले राम्ररी काम नगरे पनि जब तैँले आफ्नो काम गर्नुपर्ने हुन्छ, तैँले आफूले गर्न सक्‍नेजति गर्छस्, र परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदयबाहेक अरू केही प्रयोग नगरी त्यसो गर्न सक्छस्; अरूले जे भने पनि—तिनीहरूले तैँले राम्रो गरिस् वा नराम्रो गरिस् भनेर भने पनि—तेरा अभिप्रायहरू सही हुन्छन्, र तँ आत्म-धर्मी हुँदैनस्, किनकि तैँले परमेश्‍वरको खातिर काम गरिरहेको हुन्छस्। जब अरूले तँलाई गलत अर्थ लगाउँछन्, तैँले परमेश्‍वरलाई प्रार्थना गर्दै यसो भन्न सक्छस्: “हे परमेश्‍वर! अरूले मलाई सहून् वा राम्रो व्यवहार गरून् भनी म भन्दिनँ, न त तिनीहरूले मलाई बुझून् वा स्वीकार गरून् नै भन्छु। म केवल यति भन्छु, कि मैले आफ्नो हृदयमा तपाईंलाई प्रेम गर्न सकूँ, मैले मेरो हृदयमा आराम पाउन सकूँ, र मेरो अन्तस्करण शुद्ध होस्। म अरूले मेरो प्रशंसा गरून् वा मलाई उच्च सम्मान गरून् भनी भन्दिनँ; म केवल मेरो हृदयदेखि नै तपाईंलाई सन्तुष्ट पार्न चाहन्छु; म आफूले सक्दो गरेर आफ्नो भूमिका निर्वाह गर्छु, र म मूर्ख, अबुझ, कम क्षमताको र अन्धो भए पनि तपाईं प्रेमिलो हुनुहुन्छ भन्‍ने म जान्दछु, र म आफूसँग भएका सबै कुरा तपाईंमा समर्पण गर्न इच्छुक छु।” तैँले यस्तो प्रकारले प्रार्थना गर्नसाथ, परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदय प्रेम देखा पर्दछ, र तैँले आफ्नो हृदयमा धेरै ढुक्क महसुस गर्छस्। परमेश्‍वरप्रतिको प्रेमलाई अभ्यास गर्नु भनेको यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

४४७. शोधनको क्रममा मानिसले कसरी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ? परमेश्‍वरलाई प्रेम गर्नका लागि उहाँको शोधनलाई स्वीकार गर्ने सङ्कल्प गरेर: शोधनको क्रममा तँलाई आन्तरिक रूपमा यातना दिइन्छ, मानौं तेरो हृदयमा छुरी चलाइएको छ, तैपनि तँ परमेश्‍वरलाई प्रेम गर्ने आफ्नो हृदय प्रयोग गरी उहाँलाई प्रसन्न तुल्याउन चाहन्छस्, र तँ देहको वास्ता गर्न अनिच्छुक हुन्छस्। परमेश्‍वरप्रतिको प्रेमलाई अभ्यास गर्नु भनेको यही हो। तँलाई आन्तरिक रूपमा चोट परेको हुन्छ, र तेरो कष्ट एक निश्चित बिन्दुमा पुगेको हुन्छ, तैपनि तँ अझै परमेश्‍वरसामु आउन र यसरी प्रार्थना गर्न इच्छुक हुन्छस्: “हे परमेश्‍वर! म तपाईंलाई छोड्न सक्दिनँ। मभित्र अन्धकार छ, तैपनि म तपाईंलाई सन्तुष्ट पार्न चाहन्छु; तपाईं मेरो हृदय जान्नुहुन्छ, र तपाईंले आफ्नो प्रेम मभित्र झनै धेरै हालिदिनुहोस् भन्‍ने म चाहन्छु।” यो शोधनको समयको अभ्यास हो। यदि तैँले परमेश्‍वरलाई प्रेम प्रेम गर्ने आफ्नो हृदयलाई आधारको रूपमा प्रयोग गर्छस् भने, शोधनले तँलाई परमेश्‍वरको अझ नजिक ल्याउन सक्छ र तँलाई परमेश्‍वरसँग अझ घनिष्ठ बनाउँछ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकाले, तैँले आफ्नो हृदय परमेश्‍वरलाई सुम्‍पनैपर्छ। यदि तँ परमेश्‍वरसामु आफ्‍नो हृदय चढाउँछस् र सुम्पन्छस् भने, शोधन दौरान उहाँलाई अस्वीकार गर्न, वा छोड्न तँलाई असम्भव हुनेछ। यस प्रकारले परमेश्‍वरसँगको तेरो सम्बन्ध झन्झन् नजिक र झन्झन् सामान्य हुँदै जानेछ, र उहाँसँगको तेरो सङ्गति झन्झन् निरन्तर हुनेछ। यदि तँ सधैँ यस तरिकाले अभ्यास गर्छस् भने, तैँले परमेश्‍वरको ज्योतिमा अझ बढी समय बिताउनेछस् र उहाँका वचनको मार्गदर्शनमुनि अझ बढी समय बिताउनेछस्। तेरो स्वभावमा झन्-झन् बढी परिवर्तनहरू पनि हुनेछन्, र तेरो ज्ञान दिन प्रतिदिन बढ्नेछ। जब परमेश्‍वरका परीक्षा अचानक तँमाथि आइपर्ने दिन आउँछ, तब तँ परमेश्‍वरको पक्षमा खडा हुन सक्षम मात्र हुनेछैनस्, तर उहाँको गवाही दिन पनि सक्षम हुनेछस्। त्यसबेला, तँ अय्यूब, र पत्रुसजस्तै हुनेछस्। परमेश्‍वरको गवाही दिएपछि तँ उहाँलाई साँच्चै प्रेम गर्ने, र खुसीसाथ आफ्‍नो जीवन उहाँका लागि बलिदान गर्ने व्यक्ति बन्नेछस्; तँ परमेश्‍वरको साक्षी, र उहाँले प्रेम गर्नुहुने व्यक्ति बन्नेछस्। शोधन अनुभव गरेको प्रेम नाजुक नभई बलियो हुन्छ। परमेश्‍वरले तँलाई जहिले वा जसरी उहाँका परीक्षाहरूमा पार्नुभए पनि, तँ जिउने वा मर्ने चिन्ता पन्छाउन सक्षम हुन्छस्, सबै कुरा परमेश्‍वरका लागि खुसीसाथ त्याग्न सक्छस्, र उहाँका लागि खुसीसाथ कुनै पनि कुरा सहन सक्छस्—यसप्रकार तेरो प्रेम शुद्ध हुनेछ र तेरो आस्थामा वास्तविकता हुनेछ। तब मात्र तँ परमेश्‍वरद्वारा साँच्चै प्रेम गरिएको र उहाँद्वारा साँच्चै सिद्ध पारिएको व्यक्ति बन्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

४४८. परमेश्‍वर मानिसलाई सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ किनभने यो उहाँको कार्यका लागि आवश्यक छ र त्यसबाहेक, मानिसलाई पनि यसको आवश्यकता छ। मानिसलाई सजाय दिइनुपर्छ र न्याय गरिनुपर्छ, त्यसपछि मात्रै उसले परमेश्‍वरलाई प्रेम गर्ने क्षमता हासिल गर्न सक्छ। आज तिमीहरू पूर्ण रूपमा विश्‍वस्त भएका छौ, तर जब तिमीहरू अलिकति बाधा सामना गर्छौ, तब तिमीहरूलाई समस्या हुन्छ; तिमीहरूको कद अझै पनि अत्यन्तै सानो छ र गहन ज्ञान प्राप्त गर्नका लागि तिमीहरूले अझै त्यस किसिमको सजाय र न्याय अनुभव गर्नुपर्छ। आज, तिमीहरूसँग धेरथोर परमेश्वरको अलिकति डर मान्ने हृदय छ र तिमीहरू परमेश्‍वरदेखि डराउँछौ र उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने तिमीहरूलाई थाहा छ तर तिमीहरूसँग उहाँप्रतिको महान् प्रेम छैन, झन् तिमीहरूले शुद्ध प्रेम प्राप्त गरिसकेको हुने त कुरै नगरौँ; तिमीहरूको ज्ञान अत्यन्तै सतही छ र तिमीहरूको कद अझै अपर्याप्त छ। तैँले साँचो रूपमा कुनै परिस्थिति सामना गर्दा त्यसमा अझै गवाही दिएको हुँदैनस्, तेरो प्रवेश अत्यन्तै थोरै मात्र सक्रिय हुन्छस् र कसरी अभ्यास गर्ने सो तँलाई केही थाहा हुँदैन। धेरैजसो मानिस निष्क्रिय र सुस्त छन्; तिनीहरू परमेश्‍वरलाई आफ्‍नो हृदयमा गोप्य रूपमा मात्र प्रेम गर्छन् तर तिनीहरूमा अभ्यास गर्ने कुनै उपाय छैन, न त तिनीहरू आफ्‍ना उद्देश्यहरू के हुन् भन्‍नेबारे नै स्पष्ट छन्। सिद्ध पारिएकाहरूमा सामान्य मानवता मात्र नभई विवेकको हदभन्दा माथिका सत्यताहरू पनि हुन्छन्, र ती सत्यता विवेकका मापदण्डहरूभन्दा माथि हुन्छन्; तिनीहरूले परमेश्‍वरको प्रेमको ऋण तिर्न विवेकको प्रयोग त गर्छन् नै, तर त्योभन्दा पनि बढी, तिनीहरूले परमेश्‍वरलाई चिनेका छन्, र परमेश्‍वर प्रेमिलो हुनुहुन्छ, मानिसको प्रेमको योग्य हुनुहुन्छ र परमेश्‍वरमा प्रेम गर्नुपर्ने कुरा धेरै छन् भन्‍ने कुरा देखेका छन्; मानिसले उहाँलाई प्रेम नगरीकन बस्‍न सक्दैन! सिद्ध पारिएकाहरूको परमेश्‍वरप्रतिको प्रेम तिनीहरूका आफ्‍नै आकाङ्क्षाहरू पूरा गर्नका लागि हो। तिनीहरूको प्रेम स्वस्फूर्त प्रेम हो र त्यस प्रेमले सट्टामा केही पनि माग्दैन र त्यो कुनै कारोबार होइन। तिनीहरू अरू केही कारणले नभई उहाँप्रतिको तिनीहरूको ज्ञानको कारणले मात्रै परमेश्‍वरलाई प्रेम गर्छन्। त्यस्ता मानिसहरू आफूलाई परमेश्‍वरले अनुग्रह गर्नुहुन्छ कि गर्नुहुन्‍न भन्‍ने कुरालाई वास्ता गर्दैनन् र परमेश्‍वरलाई सन्तुष्ट पार्नेबाहेक अरू केही कुराद्वारा तिनीहरू सन्तुष्ट हुँदैनन्। तिनीहरू परमेश्‍वरसँग मोलतोल गर्दैनन्, न त परमेश्‍वरप्रतिको आफ्‍नो प्रेमलाई नै विवेकका आधारमा मापन गर्छन्: “तपाईँले मलाई दिनुभएको छ, त्यसैले यसको सट्टामा म तपाईँलाई प्रेम गर्छु; यदि तपाईँ मलाई दिनुहुन्‍न भने, यसको सट्टामा मसँग तपाईँलाई दिन केही पनि हुँदैन।” सिद्ध पारिएकाहरू सधैँ यस्तो विश्‍वास गर्छन्: “परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ र उहाँ हामीमा आफ्‍नो काम गर्नुहुन्छ। सिद्ध पारिनका लागि मसँग यो मौका, अवस्था र योग्यता भएको हुनाले, मेरो उद्देश्य अर्थपूर्ण जीवन जिउने हुनुपर्छ र मैले उहाँलाई सन्तुष्ट पार्नुपर्छ।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

४४९. पत्रुसले आफ्नो जीवनकालमा सयौं पटक शोधनको अनुभव गरे, र धेरै पीडादायी निखार भोगे। यही शोधन परमेश्‍वरप्रति तिनको सर्वोच्च प्रेमको जग र तिनको सम्पूर्ण जीवनको सबैभन्दा महत्त्वपूर्ण अनुभव बन्यो। एक अर्थमा, परमेश्‍वरलाई प्रेम गर्ने तिनको सङ्कल्‍पकै कारण तिनमा उहाँप्रति सर्वोच्च प्रेम थियो; तैपनि अझ महत्त्वपूर्ण कुरा, तिनी जुन शोधन र कष्टबाट गुज्रिए त्यसकै कारण त्यस्तो भएको थियो। त्यो कष्ट नै परमेश्‍वरलाई प्रेम गर्ने मार्गमा तिनको पथप्रदर्शक र सबैभन्दा स्मरणीय कुरा बन्यो। यदि मानिसहरू परमेश्‍वरलाई प्रेम गर्दा शोधनबाट गुज्रँदैनन् भने, तिनीहरूको प्रेम अशुद्धता र आफ्नै प्राथमिकताहरूले भरिएको हुन्छ; यसप्रकारको प्रेम शैतानका विचारहरूले भरिएको हुन्छ, र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न आधारभूत रूपमै असमर्थ हुन्छ। परमेश्‍वरलाई प्रेम गर्ने सङ्कल्प हुनु र उहाँलाई साँच्चै प्रेम गर्नु एउटै कुरा होइन। तिनीहरूले आफ्नो हृदयमा सोच्ने सबै कुरा परमेश्‍वरलाई प्रेम गर्न र सन्तुष्ट पार्नका खातिर भए पनि, र तीरू परमेश्‍वरका खातिर र कुनै मानवीय विचाररहित देखिए पनि, परमेश्‍वरलाई प्रेम गर्ने त्यस्तो अभ्यासलाई उहाँसामु ल्याउँदा उहाँले त्यसलाई अनुमोदन गर्नुहुन्‍न वा आशिष्‌ दिनुहुन्‍न। मानिसहरूले सबै सत्यताहरू पूर्ण रूपमा बुझ्ने र जान्‍ने हो भने पनि, यसलाई परमेश्‍वरलाई प्रेम गर्नुको सङ्केत भन्‍न मिल्दैन, यी मानिसहरूमा परमेश्‍वरलाई प्रेम वास्तविकता छ भनेर भन्‍न मिल्दैन। शोधनबाट नगुज्रिकन मानिसहरूले धेरैवटा सत्यताहरू बुझेका भए पनि, ती सत्यताहरूलाई अभ्यास गर्न सक्दैनन्; शोधनको अवधिमा मात्र मानिसहरूले यी सत्यताहरूको वास्तविक अर्थ बुझ्न सक्दछन्, तब मात्र मानिसहरूले वास्तविक रूपमा त्यसको भित्री अर्थलाई बुझ्‍न सक्छन्। त्यसबेला, जब तिनीहरूले फेरि यी सत्यताहरू अभ्यास गर्छन्, तिनीहरू सही रूपमा, र परमेश्‍वरका अभिप्रायहरू अनुसार अभ्यास गर्न सक्षम हुन्छन्; त्यस बेलाको तिनीहरूको अभ्यासमा, तिनीहरूका आफ्नै मानवीय विचारहरू कम हुन्छन्, तिनीहरूको मानव भ्रष्टता कम भएको हुन्छ, र तिनीहरूका मानवीय भावनाहरू घटेका हुन्छन्; त्यसबेला मात्र तिनीहरूको अभ्यास परमेश्‍वरको प्रेमको वास्तविक अभिव्यक्ति हुन्छ। परमेश्‍वरप्रति प्रेमको सत्यताको प्रभाव मौखिक ज्ञान वा मानसिक तत्परताबाट प्राप्त हुन सक्दैन, न त यो त्यस सत्यतालाई बुझेर मात्र प्राप्त गर्न सकिन्छ। यसका लागि मानिसहरूले मूल्य चुकाउनुपर्छ, तिनीहरू शोधनको अवधिमा धेरै पीडाबाट गुज्रिनुपर्छ, अनि तब मात्र तिनीहरूको प्रेम शुद्ध र परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

४५०. उनलाई सिद्ध बनाइएपछि, आफ्‍नो जीवनको अन्त्यतिर पत्रुसले भने, “हे परमेश्‍वर! यदि मैले थप केही वर्ष जिउनुपर्थ्यो भने, म तपाईंको अझ शुद्ध र अझ गहन प्रेम प्राप्त गर्ने कामना गर्नेथिएँ।” उनी क्रूसमा टाँगिन लागेको बेला, उनले आफ्‍नो हृदयमा यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! तपाईंको समय अब आइपुगेको छ; तपाईंले मेरो लागि तयार पार्नुभएको समय आइपुगेको छ। म तपाईंको लागि क्रूसमा टाँगिनैपर्छ, मैले तपाईंलाई यो गवाही दिनैपर्छ र मलाई आशा छ मेरो प्रेमले तपाईंका मापदण्डहरू पूरा गर्न सक्छ र यो अझै शुद्ध हुन सक्छ। आज तपाईंको लागि मर्न सक्‍नु र तपाईंको लागि क्रूसमा टाँगिन सक्‍नु मेरो लागि सान्त्वना र आश्‍वासन दिने किसिमको छ, किनभने तपाईंको लागि क्रूसमा मर्न सक्‍नु र तपाईंका इच्‍छाहरू पूरा गर्नु र आफैलाई तपाईंमा अर्पित गर्न सक्‍नु, र तपाईंलाई आफ्‍नो जीवन चढाउनुजत्तिको आनन्दको कुरा मेरो लागि अरू केही छैन। हे परमेश्‍वर! तपाईं कति प्रेमिलो हुनुहुन्छ! यदि तपाईंले मलाई जिउन दिनुभएको भए, तपाईंलाई म अझै बढी प्रेम गर्न इच्‍छुक हुनेथिएँ। जबसम्‍म म जीवित रहन्छु, तबसम्‍म म तपाईंलाई नै प्रेम गर्नेछु। म तपाईंलाई अझै गहन रूपमा प्रेम गर्न चाहन्छु। तपाईंले मलाई न्याय गर्नुहुन्छ, मलाई सजाय दिनुहुन्छ र मलाई जाँच्‍नुहुन्छ किनभने म धर्मी छैनँ र मैले पाप गरेको छु। अनि तपाईंको धर्मी स्वभाव मेरो लागि अझै स्पष्ट हुन्छ। यो मेरो लागि एउटा आशिष्‌ हो, किनभने म तपाईंलाई अझै गहन रूपमा प्रेम गर्न सक्छु र तपाईंले मलाई प्रेम गर्नुभएन भने पनि म तपाईंलाई यसरी नै प्रेम गर्न इच्‍छुक छु। तपाईंको धर्मी स्वभावलाई हेर्न म इच्‍छुक छु, किनभने यसले मलाई अर्थपूर्ण जीवन जिउनको लागि अझै सक्षम तुल्याउँछ। मेरो जीवन अहिले अझै अर्थपूर्ण भएको मलाई आभास हुन्छ, किनभने म तपाईंको लागि क्रूसमा टाँगिएको छु र तपाईंको लागि मर्नु अर्थपूर्ण छ। तैपनि, मलाई अझै पनि सन्तुष्टिको आभास छैन, किनभने मलाई तपाईंको बारेमा अत्यन्तै थोरै मात्रै ज्ञान छ, मलाई थाहा छ म तपाईंका इच्‍छाहरूलाई पूर्ण रूपमा पूरा गर्न सक्दिनँ र मैले तपाईंको ऋण थोरै मात्रै तिरेको छु। मेरो जीवनमा, तपाईंलाई मैले मेरो सम्पूर्णता फिर्ता दिन असक्षम रहेको छु; म त्योबाट धेरै टाढा छु। यस क्षणमा फर्केर हेर्दा, म तपाईंप्रति अत्यन्तै ऋणी भएको आभास गर्छु, र मेरा सबै गल्तीहरूको निम्ति र मैले तपाईंलाई फिर्ता नदिएको सबै प्रेम चुकाउनलाई मसँग यो बाहेक अरू क्षण छैन।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

४५१. मानिस अर्थपूर्ण जीवन जिउन लागिपर्नुपर्छ, र ऊ आफ्‍ना वर्तमान परिस्‍थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। पत्रुसको स्वरूपमा जिउनको लागि, उसले पत्रुसको ज्ञान र अनुभवहरू प्राप्त गर्नैपर्छ। मानिसले अझै उच्‍च र अझै प्रगाढ कुराहरूको खोजी गर्नुपर्छ। उसले परमेश्‍वरप्रतिको अझै गहन, अझै शुद्ध प्रेम, र मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्रै जीवन हो; तब मात्र मानिस पत्रुसजस्तै हुनेछ। तैँले सकारात्मक पक्षमा सक्रिय रूपमा प्रवेश गर्न ध्यान दिनुपर्छ, र अझै प्रगाढ, अझै विस्तृत र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्दै अस्थायी सुखका खातिर तँ निष्क्रिय हुनु हुँदैन र तैँले आफूलाई पछिल्तिर धकेल्नु हुँदैन। तँमा व्यवहारिक प्रेम हुनैपर्छ, र तैँले पशुको भन्दा फरक नभएको यो पतित, निस्फिक्र जीवनबाट आफूलाई मुक्त गर्ने हरसम्भव उपायहरू पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्य भएको जीवन जिउनुपर्छ, र तैँले आफैलाई मूर्ख तुल्याउने वा आफ्‍नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन। सङ्कल्प भएका र परमेश्‍वरलाई प्रेम गर्ने हरेकका लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन्‌ र तिनीहरू दह्रिलो गरी खडा हुन नसक्‍ने कुनै इन्साफ छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ र उहाँका अभिप्रायहरू पूरा गर्नका लागि कसरी यो प्रेमको प्रयोग गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय अरू कुनै छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमको सङ्कल्प र दृढता हुनैपर्छ, र तँ मेरुदण्ड नभएका, दुर्बल व्यक्तिहरूजस्तो बन्‍नु हुँदैन। अर्थपूर्ण जीवनको अनुभव र अर्थपूर्ण सत्यताहरूको अनुभव कसरी गर्ने त्यो तैँले सिक्‍नैपर्छ, र आफैलाई त्यसरी झाराटारूवा व्यवहार गर्नु हुँदैन। तैँले महसुस नै गर्न नपाई, तेरो जीवनले तँलाई छोडेर जानेछ; त्यसपछि के तैँले अझै पनि परमेश्‍वरलाई प्रेम गर्ने यस्तो मौका पाउनेछस्? के मरेपछि मानिसले परमेश्‍वरलाई प्रेम गर्न सक्छ? तँसँग पनि पत्रुसको जस्तो सङ्कल्प र विवेक हुनुपर्छ; तेरो जीवन अर्थपूर्ण हुनैपर्छ, र तैँले आफैसँग खेलबाड गर्नु हुँदैन। मानवका रूपमा र परमेश्‍वरलाई पछ्याउने व्यक्तिका रूपमा, तैँले आफ्‍नो जीवनलाई होसियारीपूर्वक ख्याल गर्न र सम्हाल्न सक्नुपर्छ—तैँले आफैलाई परमेश्‍वरमा कसरी अर्पण गर्नुपर्छ, परमेश्‍वरमा तैँले कसरी अझै अर्थपूर्ण विश्‍वास राख्‍नुपर्छ, र परमेश्‍वरलाई तैँले प्रेम गर्ने हुनाले उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले तैँले कसरी प्रेम गर्नुपर्छ भन्‍नेबारे ख्याल गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

४५२. यदि मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्ने इच्छा राख्छन्‌ भने, तिनीहरूले परमेश्‍वरको प्रेमिलोपनको स्वाद लिनुपर्छ र परमेश्‍वरको प्रेमिलोपनलाई देख्नुपर्छ; तब मात्र तिनीहरूमा परमेश्‍वरलाई प्रेम गर्ने र परमेश्‍वरको निम्ति आफैलाई निष्ठा पूर्वक समर्पित गर्ने हृदय जगाउन सकिन्छ। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको वचनहरू वा कल्पनामार्फत उहाँलाई प्रेम गर्न लगाउनुहुन्न, र उहाँले मानिसहरूलाई उहाँलाई प्रेम गर्न लगाउनको लागि बलजफती गर्नुहुन्न। बरु, उहाँले तिनीहरूलाई तिनीहरूको आफ्नै इच्छाले उहाँलाई प्रेम गर्न दिनुहुन्छ, र उहाँले तिनीहरूलाई उहाँको काम र उच्चारणहरूमा आफ्नो प्रेमिलोपन हेर्न दिनुहुन्छ, जसपछि तिनीहरूमा परमेश्‍वरप्रतिको प्रेम जन्मिन्छ। यसरी मात्र मानिसहरूले साँच्चै परमेश्‍वरको साक्षी दिन सक्छन्‌। अरूहरूद्वारा त्यसो गर्नलाई भनिएकोले गर्दा मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्दैनन्‌, न त यो कुनै क्षणिक भावनात्मक आवेग हो। तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन्‌ किनभने तिनीहरूले उहाँको प्रेमिलोपन देखेका छन्‌ कि मानिसहरूको प्रेमको योग्यको उहाँमा अति धेरै कुराहरू छन्‌, तिनीहरूले परमेश्‍वरको मुक्ति, बुद्धि, र अचम्मका कार्यहरू देखेका हुनाले, र यसको परिणाम स्वरूप, तिनीहरूले परमेश्‍वरलाई साँच्चै प्रशंसा गर्छन्‌ र साँच्चै उहाँको तृष्णा गर्छन्‌, र तिनीहरूमा यस्तो उत्कण्ठा जाग्छ कि परमेश्‍वरलाई प्राप्त नगरी तिनीहरू बाँच्न सक्दैनन्‌। परमेश्‍वरको साँच्चै गवाही दिनेहरूले किन सानदार साक्षी दिन समर्थ हुन्छन्‌ भन्‍ने कुराको कारण यही हो कि तिनीहरूको साक्षी साँचो ज्ञान र परमेश्‍वरको लागि साँचो तृष्णाको जगमाथि खडा छ। यस्तो साक्षी कुनै भावनात्मक संवेगअनुसार प्रदर्शन गरिएको होइन, तर परमेश्‍वरको ज्ञान र उहाँको स्वभावअनुसार हो। तिनीहरूले परमेश्‍वरलाई चिन्न आएका हुनाले, तिनीहरूले आभास गर्छन्‌ कि तिनीहरूले निश्चय नै परमेश्‍वरको गवाही दिनुपर्छ र परमेश्‍वरको लागि तृष्णा राख्नेहरू सबैलाई नै परमेश्‍वरलाई चिन्न लगाउनुपर्छ, र परमेश्‍वरको प्रेमिलोपन र उहाँको व्यावहारिकताको बारेमा सचेत हुनुपर्छ‌। परमेश्‍वरको लागि मानिसहरूको प्रेम जस्तै, तिनीहरूको गवाही स्वतःस्फूर्त हुन्छ; यो वास्तविक हुन्छ र यसको वास्तविक महत्त्व र मूल्य हुन्छ। यो निष्क्रिय वा खोक्रो र अर्थहीन छैन। परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरूसँग मात्र आफ्नो जीवनमा सर्व मूल्य र अर्थ हुनुको कारण, तिनीहरूले मात्र परमेश्‍वरमा साँच्चै विश्‍वास गर्ने कारण यही हो कि यी मानिसहरू परमेश्‍वरको ज्योतिमा जिउन समर्थ हुन्छन्‌ र परमेश्‍वरको काम र व्यवस्थापनको लागि जिउन समर्थ हुन्छन्‌। यस्तो किन हुन्छ भने तिनीहरू अन्धकारमा जिउँदैनन्‌, तर ज्योतिमा जिउँछन्‌; तिनीहरूले अर्थहीन जीवन जिउँदैनन्‌, तर परमेश्‍वरद्वारा आशिषित गरिएको जीवन जिउँछन्‌। परमेश्‍वरलाई प्रेम गर्नेहरू मात्र परमेश्‍वरको गवाही दिन समर्थ हुन्छन्‌, तिनीहरू मात्र परमेश्‍वरका गवाहीहरू हुन्‌, तिनीहरूले मात्र परमेश्‍वरद्वारा आशिष पाएका हुन्छन्‌, र तिनीहरूले मात्र परमेश्‍वरका प्रतिज्ञाहरू पाउन समर्थ हुन्छन्‌। परमेश्‍वरलाई प्रेम गर्नेहरू परमेश्‍वरका हितैषीहरू हुन्‌; ती परमेश्‍वरद्वारा प्रेम गरिएका व्यक्तिहरू हुन्‌, र तिनीहरूले परमेश्‍वरसँग सँगै आशिषहरूको आनन्द उपभोग गर्न सक्छन्‌। यस्ता मानिसहरू मात्र अनन्तसम्म जिउनेछन्‌, र तिनीहरू मात्र सदाको लागि परमेश्‍वरको स्याहार र सुरक्षा अन्तर्गत जिउनेछन्‌। मानिसहरूले प्रेम गरून्‌ भनेर नै परमेश्‍वर हुनुहुन्छ, र उहाँ सबै मानिसहरूको प्रेमको योग्य हुनुहुन्छ, तर सबै मानिसहरू परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुँदैनन्‌, र सबै मानिसहरू परमेश्‍वरको गवाही दिन सक्दैनन्‌ र परमेश्‍वरसँगै शक्ति चलाउन सक्दैनन्। परमेश्वरलाई साँच्चै प्रेम गर्ने मानिसहरूले परमेश्‍वरको गवाही दिन सक्ने र तिनीहरूले परमेश्‍वरको काममा आफ्ना सबै प्रयासहरू लगाउन सक्ने भएकाले तिनीहरू स्वर्गमुनि जुनसुकै ठाउँमा कसैले तिनीहरूको विरोध गर्ने आँट नगर्ने गरी हिँड्न सक्छन्‌, र तिनीहरूले पृथ्वीमा शक्ति अभ्यास गर्न सक्छन्‌ र परमेश्‍वरका सारा मानिसहरूमाथि शासन गर्न सक्छन्‌। यी मानिसहरू संसारभरिबाट आएका छन्‌। तिनीहरू विभिन्न भाषा बोल्ने र फरक-फरक वर्णका सारा संसारभरिबाट आएका मानिस हुन्, तर तिनीहरूको अस्तित्वको महत्त्व एउटै छ; तिनीहरू सबैसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ, तिनीहरू सबै एउटै गवाही दिन्छन्, र तिनीहरूसँग एउटै सङ्कल्प, र एउटै चाहना छ। परमेश्‍वरलाई प्रेम गर्नेहरू संसारभरि स्वतन्त्र हिँडडुल गर्न सक्छन्‌, र परमेश्‍वरको गवाही दिनेहरू ब्रह्माण्डभरि नै यात्रा गर्न सक्छन्‌। यी मानिसहरू परमेश्‍वरद्वारा प्रेम गरिएका हुन्छन्‌, तिनीहरू परमेश्‍वरद्वारा आशिषित गरिएका हुन्छन्‌, र तिनीहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

अघिल्लो:  झ. विश्‍वासमा आफ्‍नो मार्ग कसरी छनौट गर्ने सो सम्बन्धमा

अर्को:  ट. परमेश्‍वरको ज्ञान कसरी प्राप्त गर्ने त्यसको सम्बन्धमा

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger