अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१२)

हाम्रो पछिल्लो भेलामा, हामीले अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी दसौँ विषयवस्तु सङ्गति गर्‍यौँ, र त्यो हो, “परमेश्‍वरका घरका विभिन्‍न सम्पत्तिहरूलाई (पुस्तकहरू, विभिन्‍न उपकरण, अन्‍नपात र यस्तै अन्य कुराहरू) उचित तरिकाले सुरक्षित गर्ने र विवेकपूर्वक परिचालन गर्ने, अनि क्षति र खेर जाने अवस्थालाई न्यून गर्न नियमित निरीक्षणहरू, मर्मत-सम्भार र सुधार गर्ने; साथै, दुष्ट मानिसहरूलाई ती कुराहरू हडप्‍न वा दुरुपयोग गर्न नदिने।” दसौँ विषयवस्तुको सङ्गति अगुवा र कामदारहरूले गर्नुपर्ने काम र परमेश्‍वरको घरका विभिन्न भौतिक सरसामग्री सम्बन्धमा उनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरूसँग सम्बन्धित थियो, र सँगसँगै, त्यो सङ्गतिले तुलनामार्फत झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू खुलासा गरेको थियो। यदि अगुवा र कामदारहरूले परमेश्‍वरको घरको हरेक काममा आफूले पूरा गर्नुपर्ने र गर्न सक्ने जिम्मेवारीहरू पूरा गर्छन् भने, तिनीहरू मापदण्डअनुरूपका अगुवा र कामदार हुन्; यदि तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्दैनन् र कुनै वास्तविक काम गर्दैनन् भने, एकदमै प्रष्ट छ कि तिनीहरू झूटा अगुवाहरू हुन्। दसौँ विषयवस्तु सम्बन्धमा कुरा गर्नुपर्दा, झूटा अगुवाहरूले परमेश्‍वरको घरका विभिन्न भौतिक वस्तुहरूको सुरक्षा गर्ने र विवेकपूर्वक परिचालन गर्ने काममा अवश्य नै राम्रो गर्दैनन्—ती वस्तुहरू राम्रोसँग सुरक्षा गरिएका हुँदैनन्, वा तिनको सुरक्षा बिलकुलै नगरिएको पनि हुन सक्छ, र झूटा अगुवाहरूले तिनलाई अस्तव्यस्त तरिकाले परिचालन गर्छन्। अनि तिनीहरूले यो कामलाई गम्भीर रूपमा बिलकुलै नलिन पनि सक्छन्। यो सामान्य मामलाहरूसम्बन्धी काम भए पनि, यो अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी र तिनीहरूले गर्नुपर्ने काम नै हो। चाहे यो काम तिनीहरू आफैले गरून् वा यो काम गर्न तिनीहरूले उचित मानिसहरू बन्दोबस्त गरेर सुपरिवेक्षण, निरीक्षण, अनुगमन, आदि इत्यादि नै गरून्, तर जे गरे नि, यो कामलाई अगुवा र कामदारहरूका जिम्मेवारीहरूबाट अलग गर्न सकिँदैन—यी प्रत्यक्ष रूपमै सम्बन्धित छन्। त्यसकारण, यो कामको कुरा आउँदा, यदि अगुवा र कामदारहरूले परमेश्‍वरको घरका विभिन्न भौतिक वस्तुहरू उचित तरिकाले जोगाउँदैनन् र विवेकपूर्वक परिचालन गर्दैनन् भने, तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेका छैनन्, र तिनीहरूले आफ्नो काम राम्ररी गरिरहेका छैनन्। यो झूटा अगुवाहरूको एउटा प्रकटीकरण हो। हाम्रो पछिल्लो भेलामा, हामीले झूटा अगुवाहरूले सामान्य मामलाहरूसम्बन्धी यो काम सम्हाल्ने क्रममा देखाउने प्रकटीकरणहरूको खुलासा र चिरफार गरेका थियौँ, र केही उदाहरणहरू दिएका थियौँ। यदि कोही झूटो अगुवा हो भने, उसले यो काममा आफ्ना जिम्मेवारीहरू बिलकुलै पूरा गरेको हुँदैन, र उसले गर्ने काम मापदण्डअनुरूप हुँदैन, किनभने झूटा अगुवाहरूले वास्तविक काममा कहिल्यै मेहनत लगाउँदैनन्—एकपटक त्यो बन्दोबस्त भएपछि, तिनीहरूको काम त्यहीँ समाप्त हुन्छ, र तिनीहरूले कहिल्यै अनुगमन गर्ने वा काममा सहभागिता जनाउने गर्दैनन्। अर्को मुख्य कारण यो हो कि झूटा अगुवाहरू आफूले गर्ने कुनै पनि कामका सिद्धान्तहरू बुझ्दैनन्। तिनीहरू आफ्ना काममा निष्क्रिय भइरहेका त हुँदैनन्, तर तिनीहरूले जे गर्छन् त्यो परमेश्‍वरको घरले तोकेका सिद्धान्त र नियमहरूअनुरूप नहुने, वा सिद्धान्तहरूसँग सम्पूर्ण रूपमै बेमेल हुनेसमेत हुन्छ। सिद्धान्तहरूसँग बेमेल हुनु भन्नुको अर्थ के हो? त्यसको आशय यो हो कि तिनीहरू लापरवाहीपूर्वक कार्य गरिरहेका छन्, र आफ्नै कल्पना, इच्छा, भावना, आदि इत्यादिको आधारमा कार्य गरिरहेका छन्। त्यसैले, चाहे जे भए नि, अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी यो विषयवस्तु सम्बन्धमा दुइटा प्रमुख प्रकटीकरणहरू रहेका छन्: पहिलो हो, तिनीहरूले वास्तविक काम गर्दैनन्, र दोस्रो हो, तिनीहरूले सिद्धान्तहरू बोध गर्न सक्दैनन्, त्यसैले तिनीहरूले वास्तविक काम गर्न सक्दैनन्। मूलभूत प्रकटीकरणहरू यिनै हुन्। हाम्रो पछिल्लो भेलामा, हामीले झूटा अगुवाहरूले सामान्य मामलासम्बन्धी यस किसिमको काम सम्हाल्दा तिनीहरूको मानवता कसरी प्रकट हुन्छ भन्नेबारे सङ्गति र खुलासा गरेका थियौँ। यो सरल एउटै कामको हकमा समेत, झूटा अगुवाहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्दैनन्। तिनीहरूसँग यो काम गर्ने क्षमता हुन्छ, तर तिनीहरूले गर्दैनन्। यो यसकिसिमका मानिसहरूको चरित्र र मानवतासँग सम्बन्धित छ। तिनीहरूको मानवतामा कस्तो समस्या हुन्छ? तिनीहरूको हृदय सही ठाउँमा हुँदैन, र तिनीहरूको चरित्र निकृष्ट हुन्छ। हामीले मूलतः दसौँ विषयवस्तुअन्तर्गत अगुवा र कामदारहरूका जिम्मेवारीहरू, सामान्य सिद्धान्तहरू, र झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरूबारे सङ्गति गरिसकेका छौँ। आज, हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी एघारौँ विषयवस्तुबारेमा सङ्गति अघि बढाउनेछौँ।

विषयवस्तु एघार: विशेषगरी भेटीलाई व्यवस्थित ढङ्‍गबाट दर्ता, मिलान र सुरक्षित गर्ने कार्यको निम्ति मानक हदसम्‍म मानवता भएका भरपर्दा मानिसहरू छान्‍ने; आय र व्ययलाई निरन्तर पुनरावलोकन र जाँच गर्ने ताकि फजुल खर्च र खेर जाने स्थितिका साथै अनुचित खर्चहरू तत्कालै पहिचान गर्न सकियोस्—यस्ता कुराहरूलाई रोक्‍ने र उचित क्षतिपूर्ति माग गर्ने; यसअलावा, जुनसुकै माध्यम प्रयोग गरेर भए पनि, भेटीलाई दुष्ट मानिसहरूका हातमा पर्न र दुरुपयोग हुनदेखि जोगाउने

भेटीहरू भनेका के हुन्

अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी एघारौँ विषयवस्तु यस्तो छ: विशेषगरी भेटीलाई व्यवस्थित ढङ्‍गबाट दर्ता, मिलान र सुरक्षित गर्ने कार्यको निम्ति मानक हदसम्‍म मानवता भएका भरपर्दा मानिसहरू छान्‍ने; आय र व्ययलाई निरन्तर पुनरावलोकन र जाँच गर्ने ताकि फजुल खर्च र खेर जाने स्थितिका साथै अनुचित खर्चहरू तत्कालै पहिचान गर्न सकियोस्—यस्ता कुराहरूलाई रोक्‍ने र उचित क्षतिपूर्ति माग गर्ने; यसअलावा, जुनसुकै माध्यम प्रयोग गरेर भए पनि, भेटीलाई दुष्ट मानिसहरूका हातमा पर्न र तिनीहरूको कब्जामा पर्नदेखि जोगाउने।” यो काममा अगुवा र कामदारहरूका जिम्मेवारीहरू केके हुन्? उनीहरूले गर्नुपर्ने मुख्य काम के हो? (भेटीहरूलाई उचित तरिकाले सुरक्षित गर्नु।) दसौँ विषयवस्तु परमेश्‍वरको घरका विभिन्न भौतिक सरसामानहरू सुरक्षित गर्ने र विवेकपूर्वक परिचालन गर्नेबारेमा थियो; योचाहिँ भेटीहरूलाई उचित रूपमा सुरक्षित गर्नेबारेमा रहेको छ। परमेश्‍वरको घरका विभिन्न भौतिक सरसामानहरू र त्यसका भेटीहरू केही हदसम्म मिल्दो हुन्छन्—तर के ती एउटै हुन् त? (होइनन्।) के भिन्नता छ? (भेटीहरूले मुख्यगरी पैसा जनाउँछन्।) पैसा त्यसको एउटा पक्ष हो। परमेश्‍वरको घरका विभिन्न भौतिक सरसामान र भेटीहरूको प्रकृति कसरी फरक हुन्छन्? के परमेश्‍वरका वचनका पुस्तकहरू भेटी हुन्? के कामको लागि प्रयोग गरिने विभिन्न मेसिनहरू भेटी हुन्? के परमेश्‍वरको घरले किन्ने विभिन्न दैनिक आवश्यकताका सामानहरू भेटी हुन्? (होइनन्।) त्यसोभए, यी के हुन् त? परमेश्‍वरको घरमा, परमेश्‍वरका वचनका सारा पुस्तकहरू, र परमेश्‍वरको घरको काममा चाहिने विभिन्न प्रकारका सबै उपकरणहरू, जुन परमेश्‍वरका चुनिएका मानिसहरूले चढाएको पैसाले खरिद गरिएको हुन्छ, जस्तै क्यामेरा, अडियो रेकर्डर, कम्प्युटर, र मोबाइल फोनजस्ता विविध सामग्रीहरू—यी सबै परमेश्‍वरको घरका भौतिक सरसामानहरू हुन्। यीबाहेक, टेबुल, कुर्सी, बेन्च, खानेकुरा, र अन्य त्यस्तै दैनिक आवश्यकताका कुराहरू पनि परमेश्‍वरको घरका भौतिक सरसामान नै हुन्। यी कतिपय सामानहरू दाजुभाइ-दिदीबहिनीहरूले खरिद गर्छन्, र कति अरूचाहिँ परमेश्‍वरको घरले भेटीहरूद्वारा किनेको हुन्छ; यी सबै कुराहरू परमेश्‍वरको घरका भौतिक सामानहरूमा वर्गीकृत हुन्छन्। हामीले यो विषयबारे पछिल्लो भेलामा सङ्गति गरेका थियौँ। अब हामी केही महत्त्वपूर्ण कुरा हेर्नतिर लाग्नेछौँ र यो कुरा हामी एघारौँ विषयवस्तुअन्तर्गत सङ्गति गर्नेछौँ, र यो कुरा हो: भेटी। भेटीहरू ठ्याक्कै के हुन्? तिनको दायरा कसरी तोकिन्छ? हामीले अगुवा र कामदारहरूका जिम्मेवारीहरूमाथि सङ्गति गर्नुअघि, भेटीहरू के हुन् भन्ने सवाल प्रस्ट पार्न जरुरी छ। अधिकांश मानिसहरूले विगतमा येशूमा विश्‍वास गरेका र केही वर्षसम्म यो चरणको काम स्विकारेका भए नि भेटीहरूबारे तिनीहरूको अवधारणा धूमिल रहेको छ। तिनीहरू भेटीहरू साँच्चिकै के हुन् भन्नेबारे अस्पष्ट रहेका छन्। कत्तिले भन्छन्, भेटीहरू परमेश्‍वरलाई चढाइने पैसा र भौतिक सरसामानहरू हुन्, जबकि कत्ति अरूचाहिँ भेटीहरूले मुख्यतः पैसा जनाउँछन् भनेर भन्छन्। यीमध्ये कुन कथनचाहिँ सही छ त? (यदि कुनै चीज परमेश्‍वरलाई चढाइएको हो भने, चाहे त्यो पैसा होस् वा अन्य सरसामान, चाहे त्यो ठूलो होस् वा सानो, त्यो भेटी हुन्छ।) त्यो तुलनात्मक रूपले सही सारांश हो। अब भेटीहरूका दायरा र सीमाहरू प्रस्ट भएपछि, भेटीहरू ठ्याक्कै के हुन् भनेर सही रूपमा परिभाषित गरौँ, ताकि त्यसको अवधारणाबारे सबैजना प्रस्ट हुन सकून्।

भेटीहरूको विषयमा, बाइबलमा लेखिएको छ, सुरुमा परमेश्‍वरले मानिसलाई परमेश्‍वरलाई दशांश चढाउन आदेश दिनुभयो—यो एउटा भेटी हो। चढाइएको मात्रा धेरै भए नि वा थोरै भए नि, र जे चढाइएको भए नि—चाहे त्यो पैसा होस् वा भौतिक वस्तु—यदि त्यो एक व्यक्तिको आम्दानीको चढाउनुपर्ने दशांश हो भने, त्यो पक्कै पनि भेटी हुन्थ्यो। परमेश्‍वरले मानिसबाट माग्नुभएको कुरा यही थियो, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूले परमेश्‍वरलाई चढाउनुपर्ने कुरा त्यही थियो। यो दशांश भेटीहरूको एउटा पक्ष हो। कति मानिसहरू सोध्छन्, “के त्यो दशांशले पैसा मात्र जनाउन सक्छ?” पैसा नै हुनुपर्छ भन्‍ने जरूरी छैन। उदाहरणको लागि, यदि एक व्यक्तिले दश एकड खेतको फसल काट्यो भने, अन्नपात जति भए नि, अन्त्यमा एक एकड जमिन बराबरको फसल परमेश्‍वरलाई चढाउनैपर्छ—मानिसहरूले चढाउनुपर्ने भनेकै यो दशांश हो। यसैले, “दशांश” अवधारणाले पैसा मात्र बुझाउँदैन—यसको अर्थ एक व्यक्तिले जब एक हजार डलर कमाउँछ, उसले परमेश्‍वरलाई एक सय चढाउनैपर्छ भन्‍ने मात्र होइन—बरु यसले त मानिसहरूले प्राप्त गर्ने सबथोकलाई जनाउँछ जसमा अझ धेरै कुराहरू समेटिन्छन्—जस्तै भौतिक वस्तुहरू र पैसा। बाइबलले यसकै बारेमा कुरा गर्छ। अवश्य नै, आजकाल मानिसहरूले प्राप्त गर्ने सबथोकको अत्यन्तै कडाइसाथ दशांश चढाउनुपर्ने विषयमा परमेश्‍वरको घरले बाइबल पालना गर्दैन; यहाँ म केवल “दशांश” को अवधारणा र परिभाषा सङ्गति गरिरहेको र फैलाइरहेको छु ताकि मानिसहरूले दशांश भनेको भेटीको एउटा पक्ष नै हो भनेर थाहा पाऊन्। म मानिसहरूलाई दशांश चढाउन आह्वान् गरिरहेको छैन; मानिसहरूले कति चढाउँछन् भन्ने कुरा उनीहरूको व्यक्तिगत बुझाइ र इच्छामा भर पर्छ, र परमेश्‍वरको घरसँग यो मामला सम्बन्धमा थप मापदण्डहरू केही पनि छैन।

भेटीहरूको अर्को पक्ष मानिसहरूले परमेश्‍वरलाई चढाउने वस्तुहरू हो। सामान्य रूपमा भन्‍नुपर्दा, यसमा अवश्यै दशांश पनि समावेश हुन्छ; खासगरी भन्नुपर्दा, दशांशबाहेक, मानिसहरूले परमेश्‍वरलाई चढाउने कुनै पनि कुरा “भेटी” को वर्गमा पर्छ। परमेश्‍वरलाई चढाइने चीजहरूले ठूलो दायरा समेट्छ, उदाहरणको निम्ति, खाना, उपकरणहरू, दैनिक आवश्यकताका कुराहरू, स्वास्थ्य पूरकहरू, साथसाथै पुरानो करारको समयमा वेदीमा चढाइएका गाई, भेडा, आदि इत्यादि। यी सबै भेटीहरू हुन्। कुनै चीज भेटी हो कि होइन भन्ने कुरा चढाउने व्यक्तिको आशयमा भर पर्छ; यदि चढाउने व्यक्तिले यो कुरा परमेश्‍वरलाई चढाइएको हो भन्छ भने, चाहे त्यो सीधै परमेश्‍वरलाई चढाइयोस् वा सुरक्षाको लागि परमेश्‍वरको घरमा राखियोस्, त्यो भेटीहरूको वर्गमै पर्छ, र त्यसलाई मानिसहरूले स्वेच्छाचारी रूपमा छुन मिल्दैन। उदाहरण दिनुपर्दा: जब कसैले एउटा उच्चस्तरीय कम्प्युटर किनेर परमेश्‍वरलाई चढाउँछ, त्यो भेटी बन्छ; जब कसैले परमेश्‍वरलाई गाडी किनिदिन्छ, त्यो भेटी बन्छ; जब कसैले स्वास्थ्य पूरकको दुई बोतल किनेर परमेश्‍वरलाई चढाउँछ, ती बोतलहरू भेटी बन्छन्। परमेश्‍वरलाई चढाइने भौतिक सरसामान केके हुन् भनेर कुनै खास र निश्‍चित परिभाषा छैन। समग्रमा भन्नुपर्दा, यसको दायरा निकै फराकिलो छ—यो परमेश्‍वर पछ्याउनेहरूले उहाँलाई चढाएका चीजहरू हो। कत्तिले भन्न सक्छन्, “परमेश्‍वर अहिले धर्तीमा देहधारी हुनुभएको छ, र उहाँलाई चढाइएका चीजहरू उहाँकै हुन्—तर यदि उहाँ धर्तीमा नहुनुभएको भए के हुन्थ्यो? जब परमेश्‍वर स्वर्गमा हुनुहुन्छ, के उहाँलाई चढाइएका चीजहरू भेटी होइनन् त?” के यो सही हो? (होइन।) यो कुरा परमेश्‍वर देहधारणको अवधिमा हुनुहुन्छ कि हुन्न भन्नेमा आधारित हुँदैन। चाहे जे भए नि, यदि कुनै चीज परमेश्‍वरलाई चढाइएको हो भने, त्यो भेटी नै हो। अरूले भन्न सक्छन्, “त्यस्ता धेरै चीजहरू छन् जुन परमेश्‍वरलाई चढाइन्छन्। के उहाँले तिनको प्रयोग गर्न सक्नुहुन्छ? के उहाँले ती सबै प्रयोग गर्न सक्नुहुन्छ?” (मान्छेसँग त्यसको कुनै सरोकार छैन।) त्यो कुरा बताउने त्यो सही र गहन तरिका हो। ती चीजहरू परमेश्‍वरलाई मानवद्वारा चढाइन्छन्; उहाँले तिनलाई कसरी प्रयोग गर्नुहुन्छ र उहाँले ती सबै प्रयोग गर्न सक्नुहुन्छ कि हुन्न, र उहाँले तिनलाई कसरी परिचालन गर्नुहुन्छ र सम्हाल्नुहुन्छ भन्ने कुराको मान्छेसँग कुनै सम्बन्ध छैन। त्यसबारे पिर वा चिन्ता लिनुपर्दैन। संक्षेपमा भन्दा, कसैले परमेश्‍वरलाई केही चीज चढाउनेबित्तिकै, त्यो चीज भेटीहरूको दायरामा पर्न जान्छ। त्यो परमेश्‍वरको हुन्छ, र कुनै पनि व्यक्तिसँग त्यसको कुनै सरोकार हुँदैन। कतिले भन्न सक्छन्, “तपाईंले जेजसरी भनिरहनुभएको छ, यस्तो लाग्छ मानौँ परमेश्‍वरले जबरजस्ती त्यो चीजमा स्वामित्व जनाइरहनुभएको छ।” के त्यही नै भइरहेको हो त? (होइन।) त्यो चीज परमेश्‍वरको हो, त्यसैले त्यसलाई भेटी भनिएको हो। मानिसहरूले त्यसलाई आफ्नो इच्छाअनुसार छुन वा परिचालन गर्न मिल्दैन। कतिले सोध्‍न सक्छन्, “के त्यो खेर फाल्‍नु होइन र?” खेर गए नि त्यो तेरो सरोकारको विषय होइन। अरूले भन्‍न सक्छन्, “जब परमेश्‍वर स्वर्गमा हुनुहुन्छ र देहधारी हुनुहुन्न, त्यसबेला उहाँले मानिसहरूले उहाँलाई चढाएका वस्तुहरू उपभोग वा प्रयोग गर्न सक्नुहुन्न। त्यसबेला के गरिनुपर्छ?” त्यसको ख्याल सजिलै गरिन्छ: ती चीजहरू सिद्धान्तहरूअनुसार सम्हाल्नको लागि परमेश्‍वरको घर र मण्डली छन्; तैँले त्यसबारे पिर वा चिन्ता लिनु आवश्यक छैन। समग्रमा भन्दा, कुनै चीजलाई जसरी सम्हालिए पनि, त्यो भेटीहरूको कोटिमा पर्नेबित्तिकै, त्यो भेटीको रूपमा वर्गीकृत हुनेबित्तिकै, मान्छेसँग त्यसको कुनै सम्बन्ध रहँदैन। अनि त्यो चीज परमेश्‍वरको हुने भएपछि, मानिसहरूले त्यसलाई मनपरी गर्नु हुँदैन—त्यसो गरे परिणामहरू भोग्नुपर्ने हुन्छ। पुरानो करारको युगमा, शरद ऋतुको बाली उठाउने समयमा, मानिसहरूले हरप्रकारका वस्तुहरू वेदीमा चढाउँथे। कतिले अन्नपात, फलफूल, र अन्य विभिन्न बालीहरू चढाउँथे भने, अन्यले गाई र भेडाहरू चढाउँथे। के परमेश्‍वरले ती चीजहरू उपभोग गर्नुहुन्थ्यो? के उहाँले ती चीजहरू खानुहुन्छ? (खानुहुन्न।) उहाँले खानुहुन्न भनेर तँलाई कसरी थाहा हुन्छ? के तैँले देखिस्? त्यो तेरो धारणा हो। तँ परमेश्‍वरले ती खानुहुन्न भन्छस्—अनि, यदि उहाँले एकचोटि टोक्‍नुभयो भने, त्यसले तँलाई कस्तो महसुस गराउँथ्यो? के त्यो तेरा धारणा र कल्पनाहरूसँग नमिल्दो हुन्थेन र? कति मानिसहरू त परमेश्‍वरले ती वस्तुहरू खानु वा उपभोग गर्नुहुन्न भने ती चढाउनु आवश्यक छैन भनेर पनि विश्‍वास गर्दैनन् र? तिमीहरू कसरी यति निश्‍चित हुन सक्छौ? के तिमीहरूले “परमेश्‍वरले ती खानुहुन्न” भन्नुको कारण तिमीहरूलाई उहाँ एक आत्मिक शरीर हुनुभएर उहाँले खान नसक्ने भन्ने लागेर हो, कि तिमीहरूलाई परमेश्‍वरसित परमेश्‍वरको रूपमा पहिचान छ, उहाँ दैहिक र मरणशील हुनुहुन्न, र उहाँले यी वस्तुहरू उपयोग गर्नु हुँदैन भन्ने लागेर हो? के मानिसहरूले परमेश्‍वरलाई चढाएका भेटीहरू उहाँले उपभोग गर्नु उहाँको लागि लाजमर्दो कुरा हो? (होइन।) त्यसोभए, के त्यो मानिसहरूका धारणाहरूसँग नमिल्दो हुन्छ, कि परमेश्‍वरको पहिचानसँग नमिल्दो हुन्छ? त्यो ठ्याक्कै कस्तो हो? (मानिसहरूले यसबारे छलफल गर्नु हुँदैन।) ठीक भनिस्—त्यो मानिसहरूले चासो राख्नुपर्ने कुरा होइन। तैँले परमेश्‍वरले तिनलाई उपभोग गर्नैपर्छ, वा उपभोग गर्नु हुँदैन भनेर पनि निर्णय गर्नुपर्दैन। तैँले जे गर्नुपर्ने हो त्यो गर्, तेरो कर्तव्य र जिम्मेवारीहरू पूरा गर्, अनि तेरा दायित्वहरू पूरा गर्—त्यति भए पुग्छ। त्यसपछि तैँले आफ्नो काम पूरा गरेको हुनेछस्। परमेश्‍वरले ती वस्तुहरू कसरी सम्हाल्नुहुन्छ, त्यो उहाँकै कुरा हो। परमेश्‍वरले ती वस्तुहरू मानिसहरूसँग बाँड्नुहुन्छ, कि यतिकै बिग्रन दिनुहुन्छ, कि उहाँले अलिकति भए नि तिनको उपभोग गर्नुहुन्छ, कि तिनलाई हेर्नुहुन्छ, यो आलोचनाको विषय होइन, र यो त वैध कुरा हो। परमेश्‍वरसित यी मामलाहरू कसरी सम्हाल्ने भन्ने स्वतन्त्रता हुन्छ। यो मानिसहरूले चासो राख्नुपर्ने कुरा होइन, न त यो तिनीहरूले आलोचना गर्नुपर्ने कुरा नै हो। मानिसहरूले यी मामलाहरूबारे मनपरी कल्पना गर्नु हुँदैन, र तीबारेमा आलोचना वा फैसला गर्न त झनै हुँदैन। अब कुरो बुझिस्? मानिसहरूले परमेश्‍वरलाई चढाएका भेटीहरू उहाँले कसरी सम्हाल्नुपर्छ? (उहाँले तिनलाई जसरी मन लाग्छ त्यसरी सम्हाल्नुहुनेछ।) ठीक भनिस्। यसलाई त्यो तरिकाले बुझ्ने मानिसहरूमा सामान्य समझ हुन्छ। परमेश्‍वरले यी चीजहरू उहाँको चाहनाअनुसार सम्हाल्नुहुनेछ। उहाँले तिनलाई झलक्क हेर्न पनि सक्नुहुन्छ, वा तिनलाई बिलकुलै नहेर्न वा ध्यान नदिन पनि सक्नुहुन्छ। भेटीहरू चढाउने समय आउँदा भेटीहरू चढाउन, र इच्छा हुँदा परमेश्‍वरका मापदण्डहरूअनुसार भेटीहरू चढाउन, र मान्छेको जिम्मेवारी पूरा गर्नमा मात्र चासो राख्। परमेश्‍वरले त्यस्ता मामलाहरू कसरी सम्हाल्नुहुन्छ र तीप्रति कसरी व्यवहार गर्नुहुन्छ भन्नेबारे चासो नराख्। संक्षेपमा भन्दा, यदि तैँले जे गर्छस् त्यो परमेश्‍वरका मापदण्डहरूको दायराभित्र पर्छ, विवेकको मापदण्डअनुसार छ, र मानवजातिको कर्तव्य, दायित्व र जिम्मेवारीअनुसार छ भने, त्यो नै काफी हुन्छ। परमेश्‍वरले ती वस्तुहरू कसरी सम्हाल्नुहुन्छ र तीप्रति कसरी व्यवहार गर्नुहुन्छ, त्यो उहाँको आफ्नै कुरा हो, र मानिसहरूले त्यसमाथि बिलकुलै आलोचना वा फैसला गर्नु हुँदैन। तिमीहरूले एकदुई सेकेन्डमै ठूलो गल्ती गर्‍यौ। मैले तिमीहरूलाई परमेश्‍वरले यी चीजहरू उपभोग गर्नुहुन्छ कि हुन्न वा खानुहुन्छ कि हुन्न भनेर सोधेँ, र तिमीहरूले उहाँले खाने वा उपभोग गर्ने गर्नुहुन्न भन्यौ। तिमीहरूको गल्ती के थियो? (परमेश्‍वरको आलोचना गर्नु।) त्यो हतारमा सीमा निर्धारण गर्नु र हतारमा आलोचना गर्नु थियो, र यसले मानिसहरूभित्र अझै पनि परमेश्‍वरप्रतिका मापदण्डहरू छन् भन्ने प्रमाणित गर्छ। तिनीहरूको नजरमा, परमेश्‍वरले यी चीजहरू उपभोग गर्नु पनि गलत हो, र उहाँले उपभोग नगर्नु पनि गलत हो। यदि उहाँले उपभोग गर्नुभयो भने, तिनीहरूले भन्‍नेछन्, “तपाईं आत्मिक शरीर हुनुहुन्छ, दैहिक र मरणशील हुनुहुन्न। तपाईंले यी चीजहरू किन उपभोग गर्नुहुन्छ? यो अत्यन्तै अशोचनीय कुरा हो!” अनि यदि परमेश्‍वरले यी चीजहरूप्रति वास्तै गर्नुभएन भने, तिनीहरूले भन्नेछन्, “हामीले तपाईंलाई आफ्नो हृदय अर्पण गर्न कष्टपूर्वक श्रम गरेका छौँ, तर तपाईंले हामीले चढाएका चीजहरूतिर झलक्क हेर्नु पनि भएन। के तपाईंलाई हाम्रो कुनै चासो छ?” यहाँ पनि मानिसहरूलाई केही भन्नुपर्ने हुन्छ। यो समझ नहुनु हो। सारांशमा भन्दा, मानिसहरूले यो मामलालाई कस्तो मनोवृत्तिद्वारा हेर्नुपर्छ? (मानिसहरूले परमेश्‍वरलाई जे चढाउनुपर्ने हो त्यो चढाउनुपर्छ, र परमेश्‍वरले यी चीजहरू कसरी सम्हाल्नुहुन्छ भन्नेबारे मानिसहरूले कुनै धारणा वा कल्पनाहरू बिलकुलै राख्नु हुँदैन, न त तिनीहरूले त्यसप्रति आलोचना गर्नु नै हुन्छ।) हो—मानिसहरूमा हुनुपर्ने समझ नै त्यही हो। यो परमेश्‍वरलाई चढाइने चीजहरूसँग सम्बन्धित छ, र ती चीजहरू पनि भेटीहरूकै एउटा पक्ष हुन्। परमेश्‍वरलाई चढाइने भौतिक वस्तुहरूमा विविध प्रकारका चीजहरू पर्छन्, किनभने मानिसहरू भौतिक संसारमा जिउँछन्, र पैसा, सुन, चाँदी, र गरगहनाका अतिरिक्त, त्यस्ता धेरै चीजहरू छन् जसलाई तिनीहरूले अत्यन्तै राम्रो र मूल्यवान् ठान्छन्, र केही मानिसहरूले परमेश्‍वरबारे विचार गर्दा वा परमेश्‍वरको प्रेमबारे सोच्दा, तिनीहरू आफूलाई अमूल्य र मूल्यवान् लागेको चीज नै परमेश्‍वरलाई चढाउन इच्छुक हुन्छन्। जब ती चीजहरू परमेश्‍वरलाई चढाइन्छन्, तब ती भेटीहरूकै दायरामा पर्छन्; ती भेटी बन्छन्। अनि ती भेटी बनेसँगै, तिनलाई कसरी सम्हाल्ने भन्ने कुरा परमेश्‍वरकै हातमा हुन्छ—त्यसपछि मानिसहरूले तिनलाई छुन मिल्दैन, ती मानिसहरूको नियन्त्रणमा हुँदैनन्, र तिनमा मानिसहरूको स्वामित्व हुँदैन। एकपटक तैँले कुनै चीज परमेश्‍वरलाई चढाएपछि, त्यो परमेश्‍वरको हुन्छ, त्यसलाई कसरी सम्हाल्ने भन्ने कुरा तेरो हातमा हुँदैन, र तैँले उप्रान्त त्यो मामलामा हस्तक्षेप गर्न मिल्दैन। परमेश्‍वरले त्यो मामला जेजसरी सम्हाल्नु भए नि वा त्यसप्रति जेजसरी व्यवहार गर्नु भए नि, मान्छेसँग त्यसको कुनै सम्बन्ध हुँदैन। परमेश्‍वरलाई चढाइने भौतिक सामानहरू पनि भेटीहरूकै एउटा पक्ष हुन्। कति मानिसहरू सोध्छन्, “के पैसा र बहुमूल्य सुन, चाँदी, र गरगहना मात्र भेटी हुन सक्छन्? मानौँ कसैले एक जोर जुत्ता, एक जोर मोजा, वा एक जोर भित्री सोल परमेश्‍वरलाई चढायो रे—के ती भेटीमा गनिन्छन्?” यदि हामीले भेटीहरूको परिभाषाअनुसार नै हेर्ने हो भने, कुनै चीज जतिसुकै ठूलो वा सानो होस्, अथवा जतिसुकै बहुमूल्य वा सस्तो होस्—चाहे त्यो एउटा कलम होस् वा कापीको टुक्रा नै होस्—यदि त्यो परमेश्‍वरलाई चढाइएको हो भने, त्यो भेटी नै हो।

भेटीहरूको अर्को पक्ष पनि छ: परमेश्‍वरको घर र मण्डलीलाई चढाइएका भौतिक वस्तुहरू। यी वस्तुहरू पनि भेटीको श्रेणीमा पर्छन्। त्यस्ता भौतिक वस्तुहरूमा केके पर्छन्? उदाहरणको लागि, मानौँ, कसैले एउटा गाडी किन्यो, र केही समय चलाएपछि उसलाई त्यो अलि पुरानो भएको महसुस भयो, अनि उसले एउटा नयाँ किन्यो, र पुरानो गाडी परमेश्‍वरको घरले त्यसको आफ्नो कामको निम्ति प्रयोग गरोस् भनेर परमेश्‍वरको घरलाई चढायो त्यसपछि त्यो गाडी परमेश्‍वरको घरको हुन्छ। जुन चीजहरू परमेश्‍वरको घरका हुन्, तिनलाई भेटीको वर्गमा राख्नुपर्छ—यसो गर्नु ठिक हुन्छ। अवश्य नै, मण्डलीलाई र परमेश्‍वरको घरलाई चढाइने कुरामा यन्त्र र उपकरण मात्र पर्दैनन्, अरू चीजहरू पनि पर्छन्; यो दायरा निकै ठूलो हुन्छ। कति मानिसहरू भन्छन्, “मानिसहरूले प्राप्त गरेर चढाउने सबै कुराको दशांश एउटा भेटी हो, परमेश्‍वरलाई चढाइएका पैसा र भौतिक वस्तुहरू पनि भेटी नै हुन्; यी चीजहरूलाई भेटीको वर्गमा राख्दा हामीलाई कुनै आपत्ति छैन, यसमा प्रश्‍न गर्नुपर्ने केही छैन। तर मण्डली र परमेश्‍वरको घरलाई चढाइएका भौतिक वस्तुहरू पनि किन भेटीको श्रेणीमै पर्छन्? त्यो बुझ्न गाह्रो छ।” ल भन त, के तिनलाई भेटीको वर्गमा राख्नुको कुनै अर्थ हुन्छ? (हुन्छ।) अनि तिमीहरू किन त्यसो भन्छौ? (परमेश्‍वर अस्तित्वमा हुनुभएको कारणले गर्दा मात्र मण्डली अस्तित्वमा रहेको हो, त्यसैले मण्डलीहरूलाई जे चढाइन्छ त्यो पनि भेटी नै हो।) राम्रो कुरा गरिस्। मण्डली र परमेश्‍वरको घर परमेश्‍वरका हुन्, र ती परमेश्‍वरको अस्तित्वको कारणले गर्दा मात्र अस्तित्वमा रहन्छन्; मण्डली भएर मात्र दाजुभाइ—दिदीबहिनीहरू भेला हुने र बस्ने ठाउँ छ, र परमेश्‍वरको घर भएर नै दाजुभाइ-दिदीबहिनीहरूका सबै समस्याहरू समाधान गर्ने ठाउँ छ, र दाजुभाइ-दिदीबहिनीहरूको एउटा साँचो घर छ। यो सबै परमेश्‍वरको अस्तित्वको आधारमा मात्र अस्तित्वमा छन्। मण्डलीका मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र तिनीहरू परमेश्‍वरको घरका सदस्य भएर मानिसहरूले मण्डली र परमेश्‍वरको घरलाई वस्तुहरू चढाएका होइनन्—त्यो सही कारण होइन। परमेश्‍वरकै कारण मानिसहरूले मण्डली र परमेश्‍वरको घरलाई वस्तुहरू चढाउँछन्। यसको आशय के हो? यदि परमेश्‍वरको कारणले होइन भने, कसले सजिलै मण्डलीलाई वस्तुहरू चढाउँथ्यो र? परमेश्‍वरबिना, मण्डली अस्तित्वमा रहनेथिएन। जब मानिसहरूसँग आफूलाई नचाहिने वा आवश्यकताभन्दा बढी वस्तुहरू हुन्छन्, तिनीहरूले तिनलाई फाल्न वा प्रयोग नगरी राख्न सक्छन्; कति वस्तुहरू त बेच्न पनि सकिन्छ। ती वस्तुहरू सम्हाल्नमा यी सबै विधिहरू प्रयोग गर्न सकिन्छ, होइन र? त्यसोभए मानिसहरूले तिनलाई किन यसरी सम्हाल्दैनन्—त्यसको साटो तिनीहरूले ती वस्तुहरू किन मण्डलीलाई चढाउँछन्? के त्यो परमेश्‍वरको कारणले होइन र? (हो।) ठ्याक्कै भन्नुपुर्दा परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र नै मानिसहरूले मण्डलीलाई वस्तुहरू चढाउँछन्। त्यसकारण, मण्डली वा परमेश्‍वरको घरलाई चढाइएको कुनै पनि चीजलाई भेटी भनेर वर्गीकृत गर्नुपर्छ। कति मानिसहरू भन्छन्, “म मेरो यो सामान मण्डलीलाई चढाउँछु।” त्यो चीज मण्डलीलाई चढाउनु भनेको परमेश्‍वरलाई चढाउनुसरह हो, र मण्डली र परमेश्‍वरको घरसित ती वस्तुहरूलाई सम्हाल्ने पूर्ण अख्तियार हुन्छ। जब तैँले मण्डलीलाई केही चीज चढाउँछस्, त्यसपछि तँसित त्यो चीजको कुनै पनि सम्बन्ध गुम्छ; परमेश्‍वरको घरले र मण्डलीले परमेश्‍वरको घरले तोकेका सिद्धान्तहरूअनुसार यी भौतिक वस्तुहरूलाई विवेकपूर्वक परिचालन र प्रयोग गर्नेछन् र सम्हाल्नेछन्। त्यसोभए, यी सिद्धान्तहरू कहाँबाट आउँछन्? परमेश्‍वरबाट। मूलतः यी वस्तुहरू प्रयोग गर्ने सिद्धान्त के हो भने, तिनलाई परमेश्‍वरको व्यवस्थापन योजनाको लागि, र परमेश्‍वरको सुसमाचारको काम फैलाउनको लागि प्रयोग गरिनुपर्छ। ती कुनै पनि व्यक्तिले मात्र प्रयोग गर्नको लागि होइनन्, कुनै समूहका मानिसहरूले प्रयोग गर्नको लागि त झनै होइनन्, बरु ती त सुसमाचार फैलाउने काम र परमेश्‍वरको घरका विभिन्‍न कामको निम्ति प्रयोग गरिनलाई हुन्। त्यसकारण, ती वस्तुहरू प्रयोग गर्ने विशेष अधिकार कसैलाई पनि हुँदैन; तिनको प्रयोग र परिचालनको एक मात्र सिद्धान्त र आधार भनेको परमेश्‍वरको घरले तोकेका सिद्धान्तहरूअनुसार गर्नु हो। यो मनासिब र उचित हुन्छ।

यी भेटीको परिभाषाका तीन भागहरू हुन्, जसमा प्रत्येक भाग भेटीहरूको एउटा पक्षको परिभाषा, र तिनको दायराको एउटा पक्ष हो। अब तिमीहरू सबै जना भेटीहरू भनेका के हुन् भन्नेबारे प्रस्ट छौ, होइन त? (हो।) यसअघि कत्तिले यसो भनेका थिए, “यो चीज पैसा होइन, र जुन व्यक्तिले यो चढाएको थियो उसले यो परमेश्‍वरको लागि हो भनेर भनेको थिएन। उसले यो चढाएको हो भनेर मात्र भनेको थियो। त्यसैले, यो परमेश्‍वरको घरको प्रयोगको लागि हुन सक्दैन, र यो परमेश्‍वरलाई त झन् दिनै मिल्दैन।” त्यसैले, तिनीहरूले त्यसको अभिलेख राखेनन्, र गोप्य रूपमा त्यो चीज मनलाग्दी रूपमा प्रयोग गरे। के त्यो मनासिब हो? (होइन।) तिनीहरूले जे भने त्यो नै मनासिब छैन; तिनीहरूले “मण्डली र परमेश्‍वरको घरलाई चढाइएका भेटीहरू साझा सम्पत्ति हुन्—तिनलाई जसले नि प्रयोग गर्न मिल्छ” भनेर पनि भने, जुन प्रस्ट रूपमा बेमनासिब छ। ठ्याक्कै भन्नुपर्दा धेरैजसो मानिसहरू भेटीहरूको परिभाषा र अवधारणाबारे अन्योल र अस्पष्ट भएकै कारणले गर्दा कत्ति नीच खलपात्रहरू र अभिलाषी हृदय र अनुचित आकाङ्क्षाहरू भएका कत्ति मानिसहरूले परिस्थितिको फाइदा उठाउँदै ती वस्तुहरू कब्जा गर्नेबारे सोच्छन्। अब त तिमीहरू भेटीहरूको सही परिभाषा र अवधारणाबारे प्रस्ट भइसकेका छौ, त्यसैले भविष्यमा त्यस्ता घटना र मानिसहरू सामना गर्दा तिमीहरूले तिनलाई खुट्ट्याउन सक्नेछौ।

भेटीहरू सुरक्षित गर्ने सम्बन्धमा अगुवा र कामदारहरूका जिम्मेवारीहरू

अ. भेटीहरू उचित रूपमा सुरक्षित गर्ने

यसपछि, हामी भेटीहरू सुरक्षित गर्ने सम्बन्धमा अगुवा र कामदारहरूले ठ्याक्कै कस्ता जिम्मेवारीहरू पूरा गर्नुपर्छ भनेर हेर्नतिर लाग्नेछौँ। भेटीहरूको हकमा, अगुवा र कामदारहरूले सुरुमा भेटीहरू के हुन् भनेर बुझ्न जरुरी छ। जब मानिसहरूले आफूले पाएको चीजको दशांश चढाउँछन्, तब त्यो भेटी हुन्छ; जब उनीहरूले परमेश्‍वरलाई पैसा वा वस्तुहरू चढाउँदै छु भनेर प्रस्ट रूपमा व्यक्त गर्छन्, तब ती भेटी हुन्छन्; जब उनीहरूले मण्डली वा परमेश्‍वरको घरलाई कुनै चीज चढाउँदै छु भनेर प्रस्ट रूपमा व्यक्त गर्छन्, तब त्यो भेटी हुन्छ। एकपटक भेटीहरूको परिभाषा र अवधारणा बुझिसकेपछि, अगुवा र कामदारहरूले मानिसहरूले चढाउने भेटीहरूको प्रस्ट बोध राख्नुपर्छ र तिनलाई व्यवस्थापन गर्नुपर्छ, र यस प्रयोजनको लागि उचित योग्यता परीक्षण अघि बढाउनुपर्छ। सुरुमा, उनीहरूले भेटीहरूको व्यवस्थित रूपमा अभिलेख राख्ने र भेटीहरूको सुरक्षा गर्ने संरक्षकको रूपमा कार्य गर्नको लागि मापदण्डअनुरूपको मानवता भएका भरपर्दा मानिसहरू खोज्नुपर्छ। यो नै अगुवा र कामदारहरूले गर्नुपर्ने कामभित्रको पहिलो कार्य हो। भेटीहरूका यी संरक्षकहरू औसत योग्यता भएका र अगुवा व कामदार बन्न असक्षम हुन सक्छन्, तर उनीहरू भरोसायोग्य र केही पनि हिनामिना नगर्ने हुनुपर्नेछ, र भेटीहरू उनीहरूको स्वामित्वमा हुँदा ती नहराउने वा मिसमास नहुने हुनुपर्नेछ, र ती उचित रूपमा सुरक्षित हुनुपर्नेछ। यसको लागि कार्य बन्दोबस्तहरूमा नियमहरू छन्। मापदण्डअनुरूपको मानवता भएको भरपर्दो व्यक्तिबाहेक कसैलाई पनि यो काम दिइनु हुँदैन। कमजोर मानवता भएका मानिसहरूले केही राम्रो चीज देख्दा, तिनीहरूमा लोभ जाग्छ, र तिनीहरू सधैँ तिनलाई आफैसँग राख्ने मौका हेरिरहेका हुन्छन्। चाहे जेसुकै होस्, तिनीहरू सधैँ फाइदा लिन खोजिरहेका हुन्छन्। त्यस्ता मानिसहरूलाई प्रयोग गर्न मिल्दैन। मापदण्डअनुरूपको मानवता भएको व्यक्ति कम्तीमा पनि इमानदार हुनुपर्छ, र ‍मानिसहरूले भरोसा गर्ने व्यक्ति हुनुपर्छ। यदि भेटीहरू सुरक्षित गर्ने वा मण्डलीका सम्पत्तिहरू व्यवस्थित गर्ने जिम्मेवारी दिइएमा, त्यो उनीहरूले राम्रोसँग, मिहिन रूपमा, लगनसाथ, र ठूलो सावधानी अपनाएर पूरा गर्नेछन्। उनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुन्छ र उनीहरूले यी चीजहरू हिनामिना गर्ने, पैँचो दिने, आदि इत्यादि गर्नेछैनन्। संक्षेपमा भन्दा, तैँले भेटीहरू उनीहरूको हातमा सुम्पेपछि न एक पैसा न एउटा चीज नै हराउनेछ भनेर ढुक्क हुन सक्छस्। यस्तो व्यक्ति फेला पार्न जरुरी छ। यसबाहेक, परमेश्‍वरको घरको नियम के छ भने, यस्तो एक व्यक्ति मात्र खोज्‍ने होइन; दुई वा तीन जना खोज्‍नु उत्तम हुन्छ—जसमध्ये केहीले अभिलेख राख्छन् र केहीले सुरक्षा गर्ने काम गर्छन्। एकपटक यस्ता मानिसहरू फेला परिसकेपछि, भेटीहरूलाई वर्गीकृत गरिनुपर्छ, र कसले कुन श्रेणीको वस्तु सुरक्षा गरिरहेको छ, र उसले कति सुरक्षा गरिरहेको छ भन्ने कुराको व्यवस्थित अभिलेखहरू राखिनुपर्छ। के उचित मानिसहरू फेला पारेर वस्तुहरू सुरक्षित गरी श्रेणीहरूमा दर्ता गरिसकेपछि काम सकिन्छ? (सकिँदैन।) त्यसोभए, त्यसपछि के गरिनुपर्छ? आय र व्ययका खाताहरू हरेक तीनदेखि पाँच महिनामा जाँचेर सही छन् कि छैनन्—अर्थात्, अभिलेख राख्ने व्यक्तिले सही अभिलेख राखेको छ कि छैन, दर्ता गर्दा केही कुरा छुटेको छ कि छैन, आय र व्ययका खाताहरूसँग कूल रकम मिलेको छ कि छैन, आदि इत्यादि कुराहरू हेरिनुपर्छ। यस्तो लेखासम्बन्धी काम सावधानीपूर्वक गरिनुपर्छ। यस्तो काममा खासै दखल नभएका अगुवा र कामदारहरूले यसमा तुलनात्मक रूपमा प्रखर व्यक्तिको बन्दोबस्त गरेर यसलाई अघि बढाउनुपर्छ, र त्यसपछि नियमित निरीक्षणहरू गर्ने र उनीहरूको रिपोर्ट सुन्‍ने गर्नुपर्छ। सारांशमा भन्‍नुपर्दा, उनीहरू आफैले लेखासम्बन्धी काम र समग्र योजना बुझे नि नबुझे नि, भेटीहरू सुरक्षित गर्ने कामलाई यतिकै छोड्न मिल्दैन, न त त्यसलाई बेवास्ता गर्न र त्यसबारे सोधखोज नगर्न नै मिल्छ। बरु, उनीहरूले नियमित निरीक्षणहरू गर्नुपर्छ, र जाँच गरिएका खाताहरू कस्ता छन् र ती मिलेका छन् कि छैनन् भनी सोधखोज गरिरहनुपर्छ, र त्यसपछि केही व्यय अभिलेखहरूको नमुना जाँच गर्नुपर्छ ताकि हालको खर्च स्थिति कस्तो छ, कुनै फजुल खर्च भएको छ कि छैन, लेखा कार्यप्रक्रिया कुन अवस्थामा छ, र आयहरू व्ययसँग मेल खान्छन् कि खाँदैनन् भनी देख्न सकियोस्। अगुवा र कामदारहरूले यी परिस्थितिहरूमाथि दरिलो पकड राख्नुपर्छ। यो भेटीहरू सुरक्षित राख्नेसम्बन्धी एउटा कार्य हो। के तिमीहरू यो काम सजिलो छ भन्छौ? के त्यसमा एक हदसम्म चुनौती छ? कत्ति अगुवा र कामदारहरू यसो भन्छन्, “मलाई सङ्ख्याहरू मन पर्दैन; ती देख्दा मेरो टाउको दुख्छ।” ठिक छ, त्यसोभए तँलाई निरीक्षण र सुपरिवेक्षणमा सहयोग गर्ने एउटा उचित व्यक्ति फेला पार्; अनि यी कुराहरू जाँच गर्न उसको मद्दत लिई। हुन सक्छ तँलाई यो काम मन पर्दैन वा तँ यो काममा दक्ष छैनस्, तर यदि तैँले मानिसहरूलाई प्रयोग गर्न जानेको छस् र सही तरिकाले प्रयोग गर्छस् भने, तैँले अझै पनि यो काम राम्ररी गर्न सक्‍नेछस्। यो काम गर्न उचित मानिसहरू प्रयोग गरिस् भने, तैँले केवल उनीहरूको रिपोर्टहरू सुने हुन्छ। यसो गरे नि हुन्छ। यो सिद्धान्त पालन गर्: यो कामको जिम्मा लिने व्यक्तिसँग सबै सुरक्षित सम्पत्तिहरूको नियमित जाँच र मिलान गर्, र त्यसपछि महत्त्वपूर्ण खर्चहरूबारे केही प्रश्‍नहरू सोध्‌—के तैँले यो हासिल गर्न सक्छस्? (सक्छु।) अगुवा र कामदारहरूले यो काम गर्न किन जरुरी छ? किनभने यो भेटीहरू सुरक्षित गर्नु हो—यो तेरो जिम्मेवारी हो।

मानिसहरूले परमेश्‍वरलाई चढाउने भेटीहरू परमेश्‍वरले उपभोग गर्नुहोओस् भनेर हो, तर के उहाँले ती उपभोग गर्नुहुन्छ र? के परमेश्‍वरको लागि यो पैसा र यी वस्तुहरूको कुनै उपयोगिता छ? के परमेश्‍वरलाई चढाइएका यी भेटीहरू सुसमाचार कार्य फैलाउनमा प्रयोग गर्नलाई होइनन् र? के ती परमेश्‍वरको घरको कामका सबै खर्चहरू वहन गर्नलाई होइनन् र? ती परमेश्‍वरको घरको कामसँग सम्बन्धित छन्, त्यसैले भेटीहरूको व्यवस्थापन र खर्च दुवैमा अगुवा र कामदारहरूका जिम्मेवारीहरू हुन्छन्। त्यो पैसा जसले चढाउने भए नि वा ती वस्तुहरू जहाँबाट आउने भए नि, यदि ती परमेश्‍वरको घरका हुन् भने, तैँले तिनलाई राम्ररी व्यवस्थापन गर्नुपर्छ, र तैँले त्यो कामको अनुगमन र निरीक्षण गर्नुपर्छ, र त्यसबारे चासो राख्नुपर्छ। यदि परमेश्‍वरलाई चढाइएका भेटीहरू परमेश्‍वरको सुसमाचार कार्य फैलाउनको लागि उचित रूपमा खर्च गर्न सकिएन, बरु असावधानीपूर्वक फजुलमा उडाइयो र खेर फालियो, वा दुष्ट मानिसहरूद्वारा खोसियो वा कब्जा गरियो भने, के त्यो उचित हो त? के त्यो अगुवा र कामदारहरूको कर्तव्यविमुखता होइन र? (हो।) यो उनीहरूको कर्तव्यविमुखता हो। त्यसैले, अगुवा र कामदारहरूले यो काम गर्नैपर्छ। यो उनीहरूको लागि अपरिहार्य कुरा हो। भेटीहरू राम्ररी व्यवस्थित गर्नु, तिनलाई सुसमाचार कार्य फैलाउनमा र परमेश्‍वरको व्यवस्थापनसम्बन्धी कुनै पनि काममा सही तरिकाले प्रयोग हुन सक्षम तुल्याउनु अगुवा र कामदारहरूको जिम्मेवारी हो, र यसलाई बेवास्ता गर्नु हुँदैन। दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरलाई चढाउनको लागि निकै मेहनत गरेर थोरै भए नि जसोतसो पैसा बचाउँछन्। मानौँ रे, अगुवा र कामदारहरू कर्तव्यमा लापरवाह र बेवास्ते भएर, यो पैसा दुष्ट मानिसहरूको हातमा पर्छ—दुष्ट मानिसहरूले त्यो सबै खेर फाल्छन् र उडाउँछन्, वा कब्जासमेत गर्छन्। परिणामस्वरूप, अगुवा र कामदारहरूसँग यात्रा गर्ने वा खाने खर्चको लागि पर्याप्त पैसा हुँदैन, र परमेश्‍वरका वचनहरूका पुस्तकहरू छाप्ने वा आवश्यक उपकरण र सामग्रीहरू किन्ने समय आउँदा पनि पर्याप्त पैसा हुँदैन। के यसले काममा ढिलाइ गराइरहेको हुँदैन र? जब दाजुभाइ-दिदीबहिनीहरूले चढाएको पैसा उचित रूपमा प्रयोग हुनुको साटो दुष्ट मानिसहरूको कब्जामा पुग्छ, अनि जब परमेश्‍वरको घरको कामको लागि पैसा खर्च गर्नुपर्ने हुन्छ, तर पैसा पर्याप्त हुँदैन, तब के काममा अवरोध पुगेको हुँदैन र? के अगुवा र कामदारहरू आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएका हुँदैनन् र? (हुन्छन्।) अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेर भेटीहरू राम्ररी व्यवस्थित नगरेको कारण, र उनीहरूले असल परिचारक नबनेको वा यो काममा आफ्नो जिम्मेवारी पूरा गर्न मन नलगाएको कारण, भेटीहरूमा क्षति पुगेको हुन्छ र मण्डलीको कत्ति काम ठप्प भएको वा केही समयको लागि रोकिएको हुन्छ। के यसको लागि अगुवा र कामदारहरूको ठूलो जिम्मेवारी हुँदैन र? यो अनैतिकता हो। हुन सक्छ तैँले यी भेटीहरू कब्जा गरेको, उडाएको वा खेर फालेको छैनस् होला, र तिनलाई आफ्नै गोजीमा हालेको छैनस् होला, तर यो परिस्थिति तेरो लापरवाही र कर्तव्यविमुखताको कारण सिर्जना भएको छ। के तैँले यसको जिम्मेवारी वहन गर्नुपर्दैन र? (पर्छ।) यो वहन गर्नको लागि निकै ठूलो जिम्मेवारी हो!

आ. खाताहरू जाँच्ने

आफ्नो काममा विभिन्न कार्य बन्दोबस्तहरू उचित तरिकाले कार्यान्वयन गर्ने र समस्याहरू समाधान गर्नको लागि सत्यता सङ्गति गर्न सक्षम हुनेबाहेक, अगुवा र कामदारहरूले भेटीहरू पनि राम्ररी सुरक्षित गर्नुपर्छ। उनीहरूले भेटीहरूको व्यवस्थित व्यवस्थापन गर्नको लागि परमेश्‍वरको घरका मापदण्डहरूअनुसार उचित मानिसहरू फेला पार्नुपर्छ, र बारम्बार खाताहरू जाँच्नुपर्छ। कत्तिले सोध्छन्, “परिस्थितिहरूले साथ दिँदैनन् भने, म कसरी तिनको जाँच गर्न सक्छु?” “परिस्थितिहरूले साथ दिँदैनन्”—के त्यो खाताहरूको जाँच नगर्नुपर्ने कारण हो? परिस्थितिहरूले साथ नदिँदा पनि तैँले तिनलाई जाँच्न सक्छस्; यदि तँ आफै जान सक्दैनस् भने, तैँले भरपर्दो उचित व्यक्तिलाई सुपरिवेक्षण गर्न पठाउनुपर्छ, र संरक्षकले सुहाउँदो तरिकाले भेटीहरूको सुरक्षा गरिरहेको छ कि छैन, खाताहरूमा कुनै अन्तरहरू छन् कि छैनन्, संरक्षक भरपर्दो छ कि छैन, हालसालै उसको स्थिति कस्तो छ र ऊ नकारात्मक बनेको छ कि छैन, निश्‍चित परिस्थितिहरू सामना गर्दा उसलाई डर महसुस भयो कि भएन, र धोकाको सम्भावना छ कि छैन भनी हेर्न लगाउनुपर्छ। मानौँ तैँले उसको परिवारसँग पैसाको अभाव छ भन्ने सुनिस् रे—के उसले भेटीहरू हिनामिना गर्न सक्ने सम्भावना छ? सङ्गति र परिस्थिति जाँचबुझमार्फत, तैँले संरक्षक निकै भरपर्दो भएको, उसलाई भेटीहरू छुनु हुँदैन भन्ने थाहा भएको, र उसको परिवारसँग पैसाको जति अभाव भए नि उसले भेटीहरूमा हात हालेको छैन भन्ने देख्न सक्छस्, अनि लामो अवधिको अवलोकनमार्फत त्यो संरक्षक पूर्णतया भरपर्दो रहेको प्रमाणित हुन सक्छ। यसबाहेक, भेटीहरू राखिएको घरवरपर वातावरण खतरनाक छ कि, कुनै दाजुभाइ-दिदीबहिनीहरू ठूलो रातो अजिङ्गरद्वारा पक्राउ गरिएका छन् कि, भेटीहरूको संरक्षकले कुनै खतरा सामना गरेको छ कि, भेटीहरू उचित ठाउँमा भण्डारण गरिएका छन् कि छैनन्, र तिनलाई अर्को ठाउँमा सार्नुपर्छ कि पर्दैन भनी जाँच्न जरुरी हुन्छ। संरक्षकहरूको घरको वातावरण र परिस्थितिहरू बारम्बार निरीक्षण गरिनुपर्छ, ताकि कुनै पनि समयमा उचित प्रतिक्रिया र योजनाहरू बनाउन सकियोस्। यसो गर्ने क्रममा, तैँले कुन समूहहरूले हालसालै नयाँ उपकरणहरू प्राप्त गरेका छन्, र ती उपकरणहरू कसरी प्राप्त भएका थिए भनेर बारम्बार जानकारीहरू लिनुपर्छ। यदि ती उपकरणहरू किनिएका भए, ती खरिद गर्नुअघि कसैले आवेदनहरूको पुनरावलोकन गरेर तीमाथि हस्ताक्षर गरेको थियो कि थिएन, ती उच्च मूल्यमा किनिएका थिए कि उचित बजार मूल्यमा किनिएका थिए, अनावश्यक पैसा खर्च गरियो कि गरिएन, भन्‍नेजस्ता कुराहरू तैँले सोध्नुपर्छ। मानौँ कि खाताहरूको जाँच र पुनरावलोकनमार्फत त्यसमा कुनै पनि समस्याहरू भेटिएनन्, तर कत्ति खरिदकर्ताहरूले बारम्बार भेटीहरू फजुल तरिकाले उडाउँदा रैछन् रे। त्यस्ताहरूले कुनै चीज जति नै महँगो भए नि त्यै किन्नेछन्; यसबाहेक, तिनीहरूलाई कुनै सामानमा छूट लाग्नेछ, त्यसको मूल्य घट्नेछ भनेर राम्रोसँग थाहा हुन्छ, तर तिनीहरू पर्खँदैनन्, बरु तुरुन्तै त्यो सामान किन्नेछन्, र तिनीहरूले राम्रा, उच्चस्तरीय, र सबैभन्दा नयाँ मोडेलका सामानहरू किन्नेछन्। ती खरिदकर्ताहरूले सिद्धान्तहीन र मनपरी ढङ्गले पैसा खर्च गर्नेछन्, र भेटीहरू उडाउँदै परमेश्‍वरको घरको लागि सरसामान किन्नेछन् र यसरी तिनीहरू आफ्नो शत्रुको लागि काम गरिरहेजस्तो व्यवहार गर्नेछन्। तिनीहरूले कहिल्यै सिद्धान्तहरूबमोजिम व्यावहारिक सरसामानहरू किन्‍नेछैनन्, बरु कुनै पनि स्टोर खोजेर मूल्य र गुणस्तर पर्वाह नगरी सिधै सरसामान किन्‍नेछन्। अनि सामानहरू ल्याइसकेपछि, ती केही दिन प्रयोग गर्दैमा बिग्रिनेछन्, र यी खरिदकर्ताहरूले बिग्रेपछि तिनलाई बनाउनेछैनन्, बरु नयाँ किन्‍नेछन्। यदि खाताहरूको जाँच गर्दा र आर्थिक खर्चहरूको पुनरावलोकन गर्दा, केही मानिसहरूले गम्भीर रूपमा भेटीहरू उडाउँदै र खेर फाल्दै आएको भेटिएमा, यसलाई कसरी सम्हाल्नुपर्छ? के ती मानिसहरूलाई अनुशासनात्मक चेतावनी दिनुपर्छ, कि क्षतिपूर्ति तिर्न लगाउनुपर्छ? अवश्य नै दुइटै जरुरी हुन्छन्। यदि तिनीहरूको हृदय सही ठाउँमा नभएको, तिनीहरू गैरविश्‍वासी र अविश्‍वासी रहेको, र तिनीहरू दियाबलस रहेको पाइएमा, उक्त समस्या अनुशासनात्मक चेतावनी दिएर वा तिनीहरूलाई काटछाँट गरेर मात्र समाधान गर्न सकिँदैन। सत्यता जति नै सङ्गति गरे नि त्यो तिनीहरूले स्विकार्नेछैनन्; तिनीहरूलाई जति नै काटछाँट गरे नि त्यसलाई तिनीहरूले गम्भीर रूपमा लिनेछैनन्। यदि तिनीहरूलाई क्षतिपूर्ति तिर्न लगाइयो भने, तिनीहरूले तिर्नेछन्, तर भविष्यमा त्यही तरिकाले व्यवहार गर्न जारी राख्‍नेछन्, र तिनीहरू बदलिनेछैनन्। तिनीहरूले निश्‍चय नै परमेश्‍वरको घरका मापदण्डहरूबमोजिम कार्य गर्नेछैनन्; बरु, तिनीहरूले मनमौजी, असावधान, र असैद्धान्तिक शैलीमा कार्य गर्नेछन्। यसप्रकारको व्यक्तिलाई कसरी तह लगाइनुपर्छ? के तिनीहरूलाई भविष्यमा प्रयोग गर्न सकिन्छ? तिनीहरूलाई प्रयोग गरिनु हुँदैन; यदि गरिन्छ भने, यसको मतलब अगुवा र कामदारहरू अत्यन्तै मूर्ख छन्—तिनीहरू अत्यन्तै बेवकुफ छन्! जब त्यस्ता अविश्‍वासीहरू पत्ता लाग्छन्, तब तिनीहरूलाई बर्खास्त गरिनुपर्छ, हटाइनुपर्छ, र मण्डलीबाट तुरुन्तै पखालेर फालिनुपर्छ। तिनीहरू सेवा प्रदान गर्नसमेत योग्य छैनन्—तिनीहरू सेवा प्रदान गर्न अयोग्य छन्!

जब अगुवा र कामदारहरूले खाता र खर्चहरू जाँचिरहेका हुन्छन्, उनीहरूले फजुल खर्च र नाशबिगार वा केही अनुचित खर्चका घटनाहरू मात्र फेला पार्ने नभई, यस्तो काम गर्ने कत्ति मानिसहरूको चरित्र निकृष्ट भएको, तिनीहरू नीच र स्वार्थी रहेको, र तिनीहरूले मण्डलीको काममा घाटा पुर्‍याएको कुरासमेत पत्ता लाउन सक्छन्। यदि तैँले यसकिसिमको परिस्थिति पत्ता लगाइस् भने, त्यसलाई कसरी सम्हाल्नुपर्छ? त्यसलाई सम्हाल्न सजिलो छ: तैँले त्यसलाई ठाउँको ठाउँ सम्हाल्ने र समाधान गर्ने गर्नुपर्छ—ती मानिसहरूलाई बर्खास्त गरिहाल्, र त्यसपछि उक्त काम गर्नको लागि उचित मानिसहरू छान्। उचित मानिसहरू भनेका तिनै हुन् जसको मानवता मापदण्डअनुरूप छ, जसमा विवेक र समझ छ, र जो परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार कामकुरा सम्हाल्न सक्षम छन्। जब तिनीहरूले परमेश्‍वरको घरको लागि किनमेल गर्छन्, तिनीहरूले किफायती वस्तुहरू किन्छन्, जुन तुलनात्मक रूपमा व्यावहारिक र टिकाउ पनि हुन्छन्, र जुन किन्नैपर्ने चीजहरू हुन्छन्। तिनीहरू सस्तो वस्तुहरू मात्र किन्न लिँडेढिपी गर्दैनन्, तर सबैभन्दा महङ्गा वस्तुहरू नै किन्‍नुपर्छ भन्‍ने पनि आवश्यक ठान्दैनन्; समान किसिमका वस्तुहरूको समूहमा तिनीहरूले राम्रो समीक्षा र प्रतिष्ठा भएका, साथै उपयुक्त मूल्य भएका वस्तुहरू छान्छन्, र अवश्य नै, यदि ती वस्तुहरूको वारेन्टी अवधि लामो छ भने, त्यो अझ राम्रो हुन्छ। तैँले परमेश्‍वरको घरको लागि किनमेल गर्न यस्तै किसिमको व्यक्ति फेला पार्नुपर्छ। तिनीहरू हृदयमा सही हुनुपर्छ, र तिनीहरूले आफ्ना कामहरूमा परमेश्‍वरको घरको विचार गर्नुपर्छ, र परिणामहरूबारे सोच्नुपर्छ; तिनीहरूले कामकुराहरू पनि परमेश्‍वरको घरका मापदण्डहरूअनुसार सम्हाल्नुपर्छ, दोधारबिना र प्रस्टतासाथ सुशील रूपमा कार्य र व्यवहार गर्ने गर्नुपर्छ। तैँले त्यस्तो व्यक्ति फेला पारिसकेपछि, तिनीहरूलाई परमेश्‍वरको घरका केही कामकुराहरू सम्हाल्न लगा, अनि तिनीहरूलाई अवलोकन गर्। यदि तिनीहरू तुलनात्मक रूपमा उचित देखिन्छन् भने, तिनीहरूलाई प्रयोग गर्न सकिन्छ। तर त्यो बन्दोबस्त गरेपछि पनि कुरा त्यतिमै टुङ्गिँदैन—भविष्यमा, तैँले तिनीहरूसँग भेटघाट गरिरहनुपर्छ, सङ्गति गरिरहनुपर्छ, र तिनीहरूको काम निरीक्षण गरिरहनुपर्छ। कतिले सोध्छन्, “के त्यो तिनीहरूलाई भरोसा गर्न नसकिने भएर हो?” त्यो पूर्णतया भरोसाको कमीले गर्दा होइन—कहिलेकाहीँ, तिनीहरू भरोसायोग्य नै भए नि निरीक्षण गर्नैपर्ने हुन्छ। अनि केचाहिँ निरीक्षण गर्नुपर्छ त? तिनीहरूले सिद्धान्तहरू नबुझेका परिस्थितिहरूमा तिनीहरूको अभ्यासमा विचलनहरू आएका छन् कि वा तिनीहरूमा विकृत बुझाइ आएको छ कि भनेर हेर्। योग्यता परीक्षण गरेर तिनीहरूलाई मद्दत गर्न जरुरी हुन्छ। उदाहरणको लागि, मानौँ कि तिनीहरूले बजारमा एकदमै प्रख्यात सामान उपलब्ध छ भनेर भन्छन्, तर तिनीहरूलाई परमेश्‍वरको घरको लागि त्यसको उपयोगिता छ कि छैन भन्ने थाहा छैन, तर तिनीहरू यदि अहिले नै किनिएन भने भविष्यमा त्यो बिक्रीमा नहुन सक्छ भनेर चिन्तित हुन्छन्। तिनीहरूले यसलाई कसरी सम्हाल्ने भनेर तँलाई सोध्छन्। यदि तँलाई थाहा छैन भने, तैँले तिनीहरूलाई गएर उक्त व्यावसायिक काममा संलग्न कोही व्यक्तिलाई सोध्न आग्रह गर्नुपर्छ। त्यसपछि उक्त व्यावसायिक व्यक्तिले भन्छ कि त्यो सामान नयाँ हो जुन बढीजसो उपयोगी हुँदैन, र त्यसमा पैसा खर्च गर्न आवश्यक छैन। उक्त व्यावसायिक व्यक्तिको रायलाई सन्दर्भ मानेर, उक्त सामान किन्न आवश्यक छैन, त्यो किन्नु फजुल खर्च हुनेछ, र अहिले त्यो नकिन्दा कुनै घाटा हुँदैन भन्ने निर्णय गरिन्छ। अगुवा र कामदारहरूले यो हदसम्म आफ्नो काम गर्नैपर्छ। चाहे कुनै कुरा जति नै महत्त्वपूर्ण वा मामुली किन नहोस्, यदि तिनीहरूले त्यसलाई देख्न सक्छन्, त्यसबारे सोच्न सक्छन्, वा त्यसबारे थाहा पाउन सक्छन् भने, तिनीहरूले एकनाससित त्यसको अनुगमन र निरीक्षण गर्नुपर्छ, र त्यसलाई परमेश्‍वरको घरका मापदण्डहरूअनुसार तोकिएको शैलीमा गर्नुपर्छ। आफ्नो जिम्मेवारी पूरा गर्नु भन्नुको अर्थ नै यही हो।

कत्ति मानिसहरूले बारम्‍बार सरसामान किन्न आवेदन दिन्छन्, र परमेश्‍वरको घरलाई यी वस्तुहरू किनिदिन आग्रह गर्छन्, तर ध्यानपूर्वक समीक्षा र जाँच गर्दा, प्रायजसो अनुरोध गरिएका पाँचवटामध्ये एउटा मात्र किन्न आवश्यक देखिन्छ, र अरू चारवटा किन्न आवश्यक हुँदैन। त्यस्ता अवस्थाहरूमा के गर्नुपर्छ? तिनीहरूले आवेदन दिएका वस्तुहरूबारे कडाइसाथ समीक्षा र विचार गर्नुपर्छ, ती हतारमा किन्नु हुँदैन। ती मानिसहरूले काममा आवश्यक छ भनेकै भरमा ती वस्तुहरू किन्नु हुँदैन—ती मानिसहरूलाई कामको नाममा आफ्नो इच्छाअनुसार मनलाग्दी वस्तुहरूको आवेदन दिने अनुमति दिनु हुँदैन। यी मानिसहरूले जस्तोसुकै भेष अपनाए नि, र तिनीहरूको आग्रह जति नै जरुरी भए नि, अगुवा र कामदारहरू वा भेटीहरू व्यवस्थापन गर्ने प्रभारी मानिसहरू हरहालतमा हृदयमा स्थिर रहनुपर्छ। उनीहरूले विवेकपूर्वक यी वस्तुहरूबारे निरीक्षण र जाँच गर्नुपर्छ; अलिकति पनि त्रुटि हुनु हुँदैन। जुन वस्तुहरू बिलकुलै खरिद गर्नैपर्छ, तीबारे अगुवाहरूले अनुसन्धान गरेर स्वीकृति दिन जरुरी हुन्छ, र यदि ती किन्नु ऐच्छिक हो भने, तिनलाई अस्वीकार गर्नुपर्छ, स्वीकृति दिनु हुँदैन। यदि अगुवा र कामदारहरूले यो काम सावधानीपूर्वक, ठोस रूपमा, र गहिराइमा पुगेर गर्छन् भने, त्यसले भेटीहरू फजुलमा उडाइने र खेर फाल्ने घटनाहरू कम गराउनेछ, र अझ बढी रूपमा अनुचित खर्चहरू पनि अवश्यै घटाउनेछ। यो काम गर्नु भनेको केवल खातामा अभिलिखित आय र व्ययहरू कस्ता छन्, अङ्कहरू कस्ता छन् भनेर ध्यानपूर्वक हेर्ने कुरा मात्र होइन। त्यो त गौण कुरा हो। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त तेरो हृदय सही स्थानमा हुनुपर्छ, र तैँले हरेक खर्च र हरेक प्रविष्टिलाई आफ्नै बैङ्क खातामा गरिएको प्रविष्टिझैँ व्यवहार गर्नुपर्छ। त्यसपछि तैँले तिनलाई विस्तृत रूपमा हेर्, अनि तैँले तिनलाई याद गर्न सक्नेछस्, र तिनलाई बुझ्न सक्नेछस्—अनि यदि कुनै भुलचुक वा समस्या भयो भने, त्यो तैँले भन्न सक्नेछस्। यदि तैँले तिनलाई अरू कसैको वा सार्वजनिक खाताको रूपमा हेर्छस् भने, पक्कै पनि तेरो आँखा र दिमागले काम गरेको छैन, र तैँले कुनै पनि समस्याहरू पत्ता लगाउन सक्नेछैनस्। कत्ति मानिसहरूले बैङ्कमा अलिकति नै भए नि पैसा बचत गर्छन्, र हरेक महिना त्यसको स्टेटमेन्ट लिन्छन् र ब्याज हेर्छन्, त्यसपछि खाताहरू जाँच गर्छन्—तिनीहरूले हरेक महिना कति खर्च भयो, कतिपटक पैसा झिकियो, र कति पैसा जम्मा गरियो भनेर जाँच गर्छन्। प्रत्येक प्रविष्टि तिनीहरूको दिमागमा रेकर्ड हुन्छ, तिनीहरूलाई प्रत्येक अङ्क राम्ररी थाहा हुन्छ, र तिनीहरू दिमागमा तीबारे प्रस्ट हुन्छन्। यदि कहीँकतै कुनै समस्या उत्पन्न भएमा, तिनीहरूले एकै झलकमा पत्ता लाउन सक्छन्, र तिनीहरूले सानोभन्दा सानो त्रुटिलाई समेत बेवास्ता गर्दैनन्। मानिसहरू आफ्नो पैसामा त यति सावधान हुन सक्छन्, तर के तिनीहरूले परमेश्‍वरका भेटीहरूप्रति पनि उस्तै चासो देखाउँछन्? मेरो विचारमा, ९९.९% मानिसहरूले देखाउँदैनन्, त्यसैले जब परमेश्‍वरका भेटीहरू सुरक्षाको लागि मानिसहरूलाई हस्तान्तरण गरिन्छ, तब अक्सर फजुलमा उडाउने र खेर फाल्ने अनि विभिन्न किसिमका अनुचित खर्चका घटनाहरू घटित हुन्छन्, तैपनि कसैलाई नि त्यो समस्या हो भन्ने लाग्दैन, र त्यो कामको जिम्मेवार मानिसहरूलाई पनि कहिल्यै विवेकको घोचाइ महसुस हुँदैन। सय डलर गुमाउँदा त परै जाओस्—तिनीहरूले हजार, वा दस हजार डलर हराए नि हृदयमा धिक्‍कार, ऋणबोध, वा दोष महसुस गर्दैनन्। मानिसहरूलाई यो मामलामा किन यति दुविधा हुन्छ? के यसले धेरैजसो मानिसहरूको हृदय सही ठाउँमा छैन भन्ने जनाउँदैन र? अनि तँ आफूले बैङ्कमा कति पैसा बचत गरेको छु भनेरचाहिँ कसरी यति प्रस्ट हुन्छस्? जब परमेश्‍वरको घरको पैसा सुरक्षित गर् भनेर अस्थायी रूपमा तेरो खातामा जम्मा गरिन्छ, तैँले त्यसलाई गम्भीर रूपमा लिने वा ख्याल गर्ने गर्दैनस्। यो कस्तो मानसिकता हो? तँ परमेश्‍वरका भेटीहरूको हकमा समेत बफादार छैनस् भने, के तँ अझै परमेश्‍वरको विश्‍वासी नै होस् त? भेटीहरूप्रतिको मानिसहरूको मनोवृत्ति नै परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिको प्रमाण हो—भेटीहरूप्रतिको तिनीहरूको मनोवृत्ति निकै प्रस्ट छ। मानिसहरू भेटीहरूबारे उदासीन रहन्छन् र तीप्रति चिन्ता गर्दैनन्। भेटीहरू हराएमा त्यो कुराले तिनीहरूलाई दुःखी बनाउँदैन; तिनीहरूले जिम्मेवारी लिँदैनन्, र वास्ता गर्दैनन्। त्यसकारण, के परमेश्‍वरप्रति पनि तिनीहरूको मनोवृत्ति उस्तै हुँदैन र? (हुन्छ।) के कसैले “परमेश्‍वरका भेटीहरू उहाँका हुन्। मैले तिनको लालच वा कब्जा नगरेसम्म सबै ठीक हुन्छ। तिनलाई कब्जा गर्ने जोकोही दण्डित हुनेछ—त्यो उसैको कृत्य हुन्छ, र ऊ त्यसैको लायक हुन्छ। त्यसमा मेरो कुनै सम्बन्ध हुँदैन। ममा त्यसबारे चिन्ता लिनुपर्ने दायित्व हुँदैन” भनेर कसैले भन्छ? के यो कथन सही हो? प्रस्टै छ, यो सही होइन। त्यसोभए, यो कहाँनेर गलत छ? (तिनीहरूको हृदय ठीक छैन; तिनीहरूले परमेश्‍वरको घरको काम जोगाउँदैनन्, र भेटीहरू रक्षा गर्दैनन्।) यस्तो व्यक्तिको मानवता कस्तो हुन्छ? (स्वार्थी र नीच हुन्छ। तिनीहरूले आफ्नै वस्तुहरूको धेरै ख्याल राख्छन् र तिनलाई राम्रोसँग रक्षा गर्छन्, तर तिनीहरूले परमेश्‍वरका भेटीहरूको ख्याल राख्‍ने वा तीबारेमा सोधीखोजी गर्ने गर्दैनन्। त्यस्ता मानिसहरूको मानवताको गुणस्तर अत्यन्तै तल्लोस्तरको हुन्छ। मूलतः त्यो स्वार्थी र नीच हुन्छ। के यस्ता मानिसहरू नृशंस हुँदैनन् र? तिनीहरू स्वार्थी, नीच, र नृशंस हुन्छन्, र तिनीहरूमा मानवीय भावनाको कमी हुन्छ। के त्यस्ता मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्न सक्छन्? के तिनीहरू उहाँप्रति समर्पित हुन सक्छन्? के तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुन सक्छ? (सक्दैन।) त्यसोभए, त्यस्ता मानिसहरूले केको लागि परमेश्‍वर पछ्याउँछन्? (आशिष्‌हरू प्राप्त गर्नको लागि।) के यो पूर्ण रूपमा निर्लज्ज हुनु होइन र? कुनै व्यक्तिले भेटीहरूप्रति कसरी व्यवहार गर्छ भन्ने कुराले उसको प्रकृति कस्तो छ भन्ने कुरा सबैभन्दा बढी खुलासा गर्छ। मानिसहरूले वास्तवमा परमेश्‍वरको निम्ति केही पनि गर्न सक्दैनन्। तिनीहरूले अलिअलि कर्तव्य निर्वाह गर्न सक्ने भए नि त्यो अत्यन्तै सीमित हुन्छ। यदि तैँले परमेश्‍वरका भेटीहरूलाई समेत सही तरिकाले व्यवहार गर्न, वा तिनलाई राम्ररी सुरक्षित गर्न सक्दैनस् भने, यदि तैँले त्यसकिसिमको विचार र मनोवृत्ति बोक्छस् भने, के तँ मानवता सबैभन्दा कमी भएको व्यक्ति होइनस् र? के तैँले परमेश्‍वरलाई प्रेम गर्छु भन्नु झूटो होइन र? के त्यो छलपूर्ण छैन र? त्यो अत्यन्तै छलपूर्ण छ! यसप्रकारको व्यक्तिमा बिलकुलै मानवता हुँदैन—के परमेश्‍वरले त्यस्तो फोहोरीलाई मुक्ति दिनुहुन्छ र?

इ. हरप्रकारका खर्चहरू अनुगमन, जाँच, र निरीक्षण गर्ने, र कडा सम्परीक्षण गर्ने

अगुवा र कामदारहरू असल परिचारक हुनको लागि, उनीहरूले राम्ररी गर्नुपर्ने सबैभन्दा पहिलो काम भनेको भेटीहरूको उचित व्यवस्थापन गर्नु हो। भेटीहरूको उचित सुरक्षित गर्नेबाहेक, उनीहरूले भेटीहरूको खर्च सम्बन्धमा कडा सम्परीक्षण पनि गर्नुपर्छ। कडा सम्परीक्षण गर्नु भन्नुको अर्थ के हो? मूलतः यसको अर्थ भेटीहरूको अनुचित खर्च पूर्ण रूपमा हटाउनु, र भेटीहरू फजुलमा उडाउने र खेर फाल्‍ने कार्य रोक्‍दै भेटीहरूको हरेक खर्चलाई मनासिब र प्रभावकारी बनाउने प्रयत्न गर्नु हो। यदि भेटीहरूको खेरफालाइ वा फजुलखर्चका घटनाहरू पत्ता लागेमा, अगुवा र कामदारहरूले तिनलाई तत्काल रोक लगाउने मात्र नभई संलग्‍नहरूलाई उत्तरदायी बनाउने, र त्यो काम गर्नको लागि उचित मानिसहरू पहिचान गर्ने काम पनि गर्नुपर्छ। अगुवा र कामदारहरूले आफ्नो व्यवस्थापन क्षेत्रभित्र हरेक खर्च कहाँ जान्छ र हरेक खर्च केको लागि हो भनेर ठ्याक्कै थाहा पाउनुपर्छ—उनीहरूले यी कुराहरू कडाइपूर्वक समीक्षा गर्नुपर्छ। उदाहरणको लागि, यदि कुनै कोठामा पङ्खाको अभाव छ भने, उनीहरूले त्यो कसले किन्ने, त्यसमा कति खर्च गर्ने र त्यसको लागि सबैभन्दा उपयुक्त कार्यहरू केके हुन् भन्ने सर्तहरू प्रदान गर्नुपर्छ। कत्ति अगुवा र कामदारहरू भन्छन्, “हामी व्यस्त छौँ; हामी त्यो किन्न जाने समय निकाल्न सक्दैनौँ।” तँलाई त्यो आफै गएर किन्‌ भनेको होइन। तैँले कुनै असल व्यक्ति, अर्थात् योग्यता भएको व्यक्तिलाई यो काम सम्हाल्न लगाउन सक्छस्। जो डुकुलट्ठक छ र जसको हृदय गलत ठाउँमा छ, त्यस्तो खराब व्यक्तिलाई यो किन्न नलगा। सामान्य मानवता भएका मानिसहरूलाई थाहा हुन्छ कि तिनीहरूले उपयुक्त विशेषताहरू भएका र उचित मूल्य सहितका सामानहरू किन्नुपर्छ—अत्यधिक विशेषताहरू अनावश्यक हुन्छन्, र ती अत्यन्तै महँगा हुन्छन्। यसविपरीत, भोगविलास खोज्ने र हृदय सही ठाउँमा नहुने ती मानिसहरूले अव्यावहारिक वस्तुहरू किन्छन्, जसमा विभिन्न प्रकारका कार्यहरू जोडजाड गरिएका हुन्छन्, र जसको लागत बढी हुन्छ। खरिदकर्ताहरूमा समझ हुनुपर्छ; तिनीहरूले सिद्धान्तहरू बुझेको हुनुपर्छ। खरिद गरिएका सामानहरू धेरै लागत नलाग्ने गरी व्यावहारिक, र सबैले उचित ठान्ने किसिमका हुनुपर्छ। यदि तैँले जथाभाबी रूपमा पैसा खर्च गर्ने र फजुलमा उडाउने गैरजिम्मेवार व्यक्तिलाई यो खरिद गर्न लगाइस् भने, तिनीहरूले पङ्खा किन्ने मूल्यको दश गुणा महँगो तिरेर उच्चस्तरीय एयर कन्डिसनर खरिद गर्नेछन्। तिनीहरूले ठान्छन् कि त्यसलाई अलि बढी मूल्य पर्ने भए नि मानिसहरू नै हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ—त्यो एयर कन्डिसनरले हावा फिल्टर गर्ने मात्र नभई, आर्द्रता र तापक्रम पनि मिलाउन सक्छ, र त्यसमा धेरै टाइमर र सेटिङ्हरू पनि हुन्छन्। के त्यो पैसा फाल्‍नु होइन र? यो पैसा फाल्ने र फजुलमा उडाउने काम हो। त्यो व्यक्ति आफै आनन्द लिने खोजीमा हुन्छ, र उसले व्यावहारिक वस्तुहरू किन्नको लागि नभई रोमाञ्चकताको लागि, र देखाउनको लागि पैसा खर्च गरिरहेको हुन्छ। त्यस्ता मानिसहरूको हृदय गलत ठाउँमा हुन्छ। यदि तिनीहरू आफैले आफ्नो लागि खरिद गर्ने हो भने, तिनीहरूले पैसा बचाउने उपायहरू सोच्छन्, छूट मूल्यका सामानहरू खोज्छन्, र मोलमोलाइ गर्ने कोसिस गर्छन्। तिनीहरूले सकेसम्‍म पैसा बचत गर्छन्—जति सस्तो उति राम्रो ठान्छन्। तर जब तिनीहरूले परमेश्‍वरको घरको लागि खरिद गर्छन्, तिनीहरूले जतिसुकै पैसा खर्च भए नि वास्ता गर्दैनन्। तिनीहरूले सस्तो वस्तुहरू हेर्ने कष्टसमेत गर्दैनन्; तिनीहरू महँगा, उच्चस्तरीय, र अत्याधुनिक सरसामान मात्र किन्न चाहन्छन्। यसको मतलब तिनीहरूको हृदय सही ठाउँमा छैन। के गलत ठाउँमा हृदय भएका मानिसहरूलाई प्रयोग गर्न मिल्छ? (मिल्दैन।) परमेश्‍वरको घरको लागि कार्यहरू सम्हाल्दा, गलत ठाउँमा हृदय भएका मानिसहरूले अनर्थक र बेकारका काम गर्छन्। तिनीहरूले सही कुराहरूमा पैसा खर्च गर्दैनन्; तिनीहरू केवल भेटीहरू खेर फाल्छन् र फजुलमा उडाउँछन्, र तिनीहरूको हरेक खर्च बेमनासिब हुन्छ।

अन्य कत्ति मानिसहरूमा गरिबी मानसिकता हुन्छ र तिनीहरू परमेश्‍वरको घरको लागि खरिद कार्य गर्दा सबैभन्दा सस्तो सामानहरू किन्नुपर्ने, र जति सस्तो उति राम्रो भन्ने विश्‍वास गर्छन्। तिनीहरू यसरी परमेश्‍वरको घरको पैसा बचत भइरहेको ठान्छन्, त्यसैले तिनीहरूले पुराना र सस्तो सामानहरू मात्र किन्छन्। फलस्वरूप, तिनीहरूले सबैभन्दा सस्तो मेसिनहरू किन्छन् जुन कमसल हुन्छन्। यी मेसिनहरू प्रयोग गर्नेबित्तिकै बिग्रिन्छन्, र मर्मत र प्रयोग गर्न योग्यसमेत हुँदैनन्। त्यसपछि अरू मेसिनहरू किन्‍नुपर्ने हुन्छ जुन पर्याप्त गुणस्तरका होऊन्, र जसलाई सामान्य तरिकाले प्रयोग गर्न सकियोस्, र त्यसैले अर्को रकम खर्च हुन्छ। के यो मूर्खता होइन र? त्यस्ता मानिसहरूलाई कन्जुस भनिनुपर्छ, र तिनीहरूमा गरिबी मानसिकता हुन्छ। तिनीहरू सधैँ परमेश्‍वरको घरको पैसा बचाउन चाहन्छन्, र तिनीहरूको खर्च कटौती र बचतबाट के परिणाम आउँछ? यो पैसाको नाश र फजुलखर्चमा परिणत हुन्छ। तिनीहरूले आफ्नो निम्ति बहानाहरूसमेत बनाउँछन्: “मैले जानाजान त्यसो गरेको होइन। मेरा अभिप्रायहरू असल थिए—म त केवल परमेश्‍वरको घरको पैसा बचाउन खोजिरहेको थिएँ—म जथाभाबी रूपमा पैसा खर्च गर्न चाहन्नथेँ।” के तिनीहरूले त्यसो गर्न नचाहनुको कुनै उपयोग हुन्छ? वास्तवमा, तिनीहरूले जथाभाबी रूपमा पैसा खर्च गरिरहेका हुन्छन्, यसले गर्दा फजुलखर्ज हुन्छ, र यसमा पैसा र जनशक्ति नाश हुन्छ। त्यस्ता मानिसहरूलाई पनि प्रयोग गर्न मिल्दैन—तिनीहरू डुकुलट्ठक हुन्, तिनीहरू पर्याप्त मात्रामा जानिफकार हुँदैनन्। संक्षेपमा भन्दा, गलत ठाउँमा हृदय भएका मानिसहरूलाई परमेश्‍वरको घरको खरिद कार्यमा प्रयोग गरिनु हुँदैन, न त डुकुलट्ठकहरूलाई नै प्रयोग गरिनु हुन्छ। प्रयोग गरिनुपर्नेहरू भनेका त निश्‍चित खरिद अनुभव भएका र निश्‍चित योग्यता भएका, अनि सबै कुरालाई अविकृत शैलीमा हेर्ने जानिफकार मानिसहरू हुन्। चाहे जेसुकै किनिँदै गरिएको भए नि त्यो व्यावहारिक हुनुपर्छ, र त्यसको मूल्य उचित हुनुपर्छ, र त्यो बिग्रिए नि मर्मत गर्न सजिलो हुनुपर्छ, र त्यसका पाटपुर्जाहरू किन्न सजिलो हुनुपर्छ। त्यही नै जायज कुरा हो। कत्ति मानिसहरूले केही चीज किनेपछि त्यसलाई एक महिनाभित्र फिर्ता गर्न सकिने देख्छन् र छिटोछिटो त्यसलाई प्रयोग गरिहेर्न खोज्छन्, र तिनीहरूले एक महिनाभित्रमै नतिजा पाइहाल्छन्। यदि त्यसमा केही खराबी छ र त्यसले राम्रोसँग काम गर्दैन भने, तिनीहरूले त्यो तुरुन्तै फिर्ता गर्छन्, र अरू नै केही छान्छन्, जसले गर्दा घाटा कम हुन्छ। यस्ता मानिसहरूमा तुलनात्मक रूपमा अलि असल मानवता हुन्छ। मानवता नै नभएका मानिसहरूले चाहिँ केही चीज किन्छन्, र त्यसपछि त्यसलाई मिल्काउँछन्। तिनीहरूले त्यसमा कुनै खराबी छ कि छैन वा त्यो टिकाउ छ कि छैन भने प्रयोग गरिहेर्ने गर्दैनन्, न त तिनीहरूले त्यसको वारेन्टी कति छ वा त्यसलाई फिर्ता गर्ने समय कति छ भनेर नै हेर्छन्—तिनीहरूले यो कुनै पनि कुराबारे वास्ता गर्दैनन्। जब कुनै दिन तिनीहरूलाई त्यो वस्तुप्रति अचानक रुचि लाग्छ, तब तिनीहरूले त्यसलाई प्रयोग गरिहेर्छन्, र त्यतिबेला मात्र त्यो बिग्रिएको छ भनेर थाहा पाउँछन्। तिनीहरूले रसिद हेर्छन् र फिर्ता गर्ने समय सक्‍किसकेको देख्छन्, अनि त्यो सामान फिर्ता गर्नै मिल्दैन। त्यसपछि तिनीहरूले “अर्को किनौँ” भन्छन्। के त्यो पैसाको नाश होइन र? “अर्को किनौँ”—त्यो वाक्यांशसँगै परमेश्‍वरको घरले अर्को रकम तिर्नुपर्छ। अर्को किन्‍ने आवेदन दिनु झट्ट हेर्दा मण्डलीको कामकै निम्ति भएको, र मनासिब खर्च नै हो जस्तो देखिन्छ, जबकि वास्तवमा, गहिराइमा हेर्ने हो भने, यो तिनीहरूले सामान किनेपछि तत्काल नजाँचेर आफ्नो कर्तव्य उपेक्षा गरेको कारण भएको हो। भेटीको केही अंश खेर जान्छ र फेरि अर्को अंश तिरिन्छ, तैपनि नयाँ सामान सुरक्षा गर्ने अझै कोही हुँदैन, त्यसैले त्यो पनि छोटो समय प्रयोग गरेपछि बिग्रिहाल्छ। यी वस्तुहरू निरीक्षण गर्ने कोही नहुनु, यी उत्पन्न समस्याहरू समाधान गर्ने कोही नहुनु साँच्‍चै अनौठो कुरा हो—अगुवा र कामदारहरू के गरिरहेका हुन्छन्? यो कामबारे तिनीहरू पूर्णतया कर्तव्यविमुख भएका हुन्छन्—तिनीहरूले सुपरिवेक्षण, निरीक्षण, र सत्यापन गर्ने आफ्नो काम गरेका हुँदैनन्, त्यसैले भेटीहरू यसरी नै फजुलमा उडाइन्छन् र बरबाद पारिन्छन्। यदि खरिदकर्ताहरू जिम्मेवार मानिसहरू हुन् भने, आफूले खरिद गरेको सामान व्यावहारिक छैन भन्ने देख्नेबित्तिकै तिनीहरूले त्यसलाई तत्काल फिर्ता गर्नेछन्। यसले घाटा र बिगार काम गर्छ। यदि तिनीहरू गलत ठाउँमा हृदय भएका गैरजिम्मेवार मानिसहरू हुन् भने, तिनीहरूले कमसल वस्तुहरू किन्नेछन्, र यसरी नै भेटीहरू बरबाद पार्नेछन्। त्यसोभए, यसरी पैसाको नाश हुनुको जिम्मा ठ्याक्कै कसलाई दिइनुपर्छ? के खरिदकर्ता अनि अगुवा र कामदारहरू सबैले यसको जिम्मेवारी वहन गर्नुपर्दैन र? यदि अगुवा र कामदारहरूले यो मामला इमानदारीपूर्वक, ठोस रूपमा, र सावधानीपूर्वक सम्हालेका भए, के यी समस्याहरू पहिल्यै पत्ता लाग्‍दैनथे र? के यी त्रुटिहरू पहिल्यै पूर्ति गरिसकिन्थ्यो, होइन र? (हो।) यदि अगुवा र कामदारहरू अक्सर विभिन्न ठाउँका मण्डलीहरूमा भेटीहरूको खर्च स्थिति निरीक्षण गर्न जान्छन् भने, तिनीहरू समस्याहरू फेला पार्न र यस्तो फजुल खर्च र पैसाको नाश हटाउन सक्षम हुनेछन्। यदि अगुवा र कामदारहरू अल्छी र गैरजिम्मेवार छन् भने, यस्ता अनुचित खर्च अनि अपव्यय र खेर फाल्‍ने घटनाहरू बारम्बार उत्पन्न हुनेछन्—ती बढी नै रहनेछन्। यो वृद्धि केले गराउँछ? के यसको सम्बन्ध अगुवा र कामदारहरूले वास्तविक काम नगर्नु, बरु आफूलाई अरूभन्दा माथि राख्नु र अप्रभावकारी अधिकारीजस्तै व्यवहार गर्नुसँग छैन र? (छ।) त्यस्ता अगुवा र कामदारहरूमा कुनै विवेक वा समझ हुँदैन, र तिनीहरूसँग कुनै मानवता हुँदैन। मण्डलीले खर्च गर्ने सबै पैसा परमेश्‍वरको घरको भएकोले र त्यो सबै परमेश्‍वरको भेटी हुनाले, अनि तिनीहरूले आफूसँग त्यसको कुनै सम्बन्ध नभएको ठान्ने हुनाले, तिनीहरूले त्यसबारे न त वास्ता गर्छन् न सोधखोज नै गर्छन्, र तिनीहरूले बस त्यसलाई बेवास्ता गरिदिन्छन्। अधिकांश मानिसहरूलाई लाग्छ कि परमेश्‍वरको घरको पैसा त खर्च गरिनैपर्ने कुरा हो, र त्यसलाई कुनै पनि तरिकाले खर्च गर्दा हुन्छ, र त्यसलाई कुम्ल्याउने वा हिनामिना गर्ने नगरेसम्‍म त्यो खेर गए नि फरक पर्दैन, र त्यो भनेको मानिसहरूको किन्‍ने अनुभव र आफ्ना दायराहरू फराकिलो बनाउनु मात्र हो। अगुवा र कामदारहरू यसप्रति आँखा चिम्लन्छन्: “त्यो पैसा जसले जसरी मन लाग्छ त्यसरी खर्च गर्न सक्छ, र त्यो पैसाले जे मन लाग्छ त्यो किन्न मिल्छ। जतिसुकै पैसा खेर गए पनि फरक पर्दैन—जसले पैसा खेर फाल्छ त्यसको लागि ऊ नै जिम्मेवार हुन्छ, र उसले भविष्यमा प्रतिशोध र दण्ड भोग्नेछ—मसँग यसको कुनै सम्बन्ध छैन। आखिर त्यो मैले खर्च गरेको होइन, र मेरो पैसा खर्च भएको पनि होइन।” के यो गैरविश्‍वासीहरूले सार्वजनिक कोषको खर्चप्रति राख्ने दृष्टिकोण र मनोवृत्तिजस्तै होइन र? यस्तो लाग्छ मानौँ तिनीहरूले शत्रुको पैसा खर्च गरिरहेका थिए। गैरविश्‍वासीहरूले कुनै कारखानामा काम गर्दा, यदि व्यवस्थापन कमजोर छ भने, साझा सामानहरू सधैँ चोरी हुन्छन् र मान्छेका घर पुग्छन् वा त्यतिकै बिग्रिन्छन्, र यदि केही बिग्रियो भने, तिनीहरूले कारखानालाई नयाँ किन्न आग्रह गर्छन्। जब तिनीहरूले कारखानाको लागि केही खरिद गर्छन्, तिनीहरूले राम्रा र महँगा मात्र किन्छन्। जे भए नि, पैसा स्वेच्छाचारी रूपमा र माथिल्लो तहको रोकतोकबिना खर्च गरिन्छ। यदि परमेश्‍वरका विश्‍वासीहरूमा पनि यस्तै मानसिकता छ भने, के तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन्? के परमेश्‍वरले त्यस्ता समूहका मानिसहरूमाथि काम गर्नुहुनेछ? (गर्नुहुनेछैन।) यदि मानिसहरूले परमेश्‍वरका भेटीहरूप्रति यस्तो मनोवृत्ति राख्छन् भने, तिमीहरूले ती मानिसहरूप्रति परमेश्‍वरले कस्तो मनोवृत्ति राख्नुहुन्छ भनेर मैले नभनीकनै थाहा पाउनुपर्छ।

परमेश्‍वरप्रति कुनै व्यक्तिको मनोवृत्ति प्रकट हुने सबैभन्दा प्रत्यक्ष तरिका भनेको भेटीहरूप्रतिको उसको मनोवृत्ति हो। भेटीहरूप्रतिको तेरो मनोवृत्ति जस्तो छ, परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति पनि त्यस्तै नै हुन्छ। यदि तैँले भेटीहरूलाई पनि आफ्नो बैङ्क खाताका प्रविष्टिहरूलाई जस्तै—सावधानीपूर्वक, होसियारीपूर्वक, सतर्कतापूर्वक, कडाइपूर्वक, जिम्मेवारीपूर्वक, र ध्यानपूर्वक—व्यवहार गर्छस् भने परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति पनि लगभग त्यस्तै नै हुन्छ। यदि भेटीहरूप्रति तेरो मनोवृत्ति सार्वजनिक सम्पत्तिप्रति वा बजारको तरकारीप्रतिजस्तै—आफूलाई जे चाहिन्छ त्यो जथाभाबी रूपमा अलिकति किन्ने अनि आफूलाई मननपर्ने कुनै पनि तरकारीलाई हेर्दासमेत नहेर्ने, ती जहाँ राखिएका भए नि बेवास्ता गर्ने, कसैले तिनलाई लगेर प्रयोग गर्लान् कि भनी वास्ता नगर्ने, ती भुइँमा खसेर कसैले कुल्चिँदा नि नदेखेको बहाना गर्ने, अनि तँसँग यसको कुनै सम्बन्ध नभएको ठान्ने—मनोवृत्ति छ भने, यो तेरो लागि समस्याको सङ्केत हो। यदि तैँले भेटीहरूप्रति त्यस्तो मनोवृत्ति राख्छस् भने, के तँ जिम्मेवार व्यक्ति होस् त? के तँजस्तो व्यक्तिले राम्ररी कर्तव्य निर्वाह गर्न सक्छ त? तँसित कस्तो किसिमको मानवता छ भन्ने कुरा प्रस्ट छ। संक्षेपमा भन्दा, भेटीहरू व्यवस्थित गर्ने काममा, अगुवा र कामदारहरूको मुख्य जिम्मेवारी भनेको तिनलाई राम्ररी सुरक्षित गर्नुबाहेक, तिनीहरूले त्यसपछिको काम पनि अनुगमन गर्नैपर्छ—सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरूले नियमित रूपमा खाताहरू जाँच गर्नुपर्छ, साथै हरप्रकारका खर्चहरूको अनुगमन, छानबिन, र निगरानी गर्नुपर्छ, र कठोर सम्परीक्षण अघि बढाउनुपर्छ। तिनीहरूले अनुचित खर्चहरूलाई पैसा उडाउने र खेर फाल्‍ने कार्यमा परिणत हुनुअघि नै पूर्ण रूपमा हटाउनुपर्छ; र यदि अनुचित खर्चहरूले पहिल्यै ती दुष्परिणामहरू निम्त्याइसकेका छन् भने, तिनीहरूले दोषीहरूलाई उत्तरदायी बनाउनुपर्छ, चेतावनी दिनुपर्छ, र क्षतिपूर्ति तिराउनुपर्छ। यदि तैँले यति कामसमेत राम्ररी गर्न सक्दैनस् भने, चाँडो राजीनामा दे—अगुवा वा कामदारको पद ओगटेर नबस्, किनभने तैँले त्यो पदको काम गर्न सक्दैनस्। यदि तैँले यो कामको जिम्मेवारी लिन र यसलाई राम्रोसँग गर्नसमेत सक्दैनस् भने, तैँले के कामचाहिँ गर्न सक्छस् त? मलाई व्यवस्थित रूपमा भन् त: भेटीहरू सम्बन्धमा अगुवा र कामदारहरूले गर्नैपर्ने जम्मा कति वटा कामहरू छन्? (पहिलो, तिनलाई सुरक्षित गर्नु। दोस्रो, खाताहरू जाँच गर्नु। तेस्रो, हरप्रकारका खर्चहरूको अनुगमन, छानबिन र निरीक्षण गर्नु, साथै कठोर सम्परीक्षण गर्नु; अनुचित खर्चहरू हटाउनैपर्छ, र फजुल खर्च वा पैसाको नाश गराउने जो भए नि उसलाई उत्तरदायी बनाएर क्षतिपूर्ति तिराउनैपर्छ।) के यी चरणहरूअनुसार काम गर्न सजिलो छ? (छ।) यो एउटा स्पष्ट रूपमा निरूपित काम गर्ने उपाय हो। यदि तैँले यति सरल कामसमेत गर्न सक्दैनस् भने, तैँले अगुवा वा कामदारको रूपमा—अर्थात् परमेश्‍वरको घरको परिचारकको रूपमा—केचाहिँ गर्न सक्छस् त? हरमोडमा भेटीहरू खेर फालिने र फजुलमा उडाइने घटनाहरू हुन्छन्, र यदि एक अगुवा वा कामदारको रूपमा तँमा त्यसबारे कुनै चेतना छैन र तँलाई त्यसबारे बिलकुलै नराम्रो लाग्दैन भने, के परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ त—के त्यहाँ परमेश्‍वरको लागि ठाउँ छ त? यो शङ्कास्पद छ। तैँले भन्छस् कि तेरो परमेश्‍वरलाई प्रेम गर्ने हृदय महान् छ र तँसित साँच्चिकै परमेश्‍वरको डर मान्ने हृदय छ, तर जब उहाँका भेटीहरू फजुलमा उडाइन्छन् र बरबाद पारिन्छन्, तँलाई त्यसबारे चेतनै हुँदैन र बिलकुलै दुख लाग्दैन—के त्यसले परमेश्‍वरप्रतिको तेरो प्रेम र डरमाथि शङ्का उब्जाउँदैन र? (उब्जाउँछ।) तेरो आस्थासमेत शङ्कास्पद छ, परमेश्‍वरप्रतिको तेरो प्रेम र डरको त कुरै छोडौँ। परमेश्‍वरप्रतिको तेरो प्रेम र डर समर्थनयोग्य छैन—त्यो मान्य छैन! भेटीहरू राम्रोसँग सुरक्षित गर्नु अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने दायित्व हो, र त्यो तिनीहरूले पन्छाउनै नमिल्ने जिम्मेवारी पनि हो। यदि भेटीहरू राम्रोसँग सुरक्षित गरिएनन् भने, त्यो तिनीहरू कर्तव्यबाट चुक्नु हो—यो भन्‍न सकिन्छ कि भेटीहरू राम्रोसँग सुरक्षा नगर्नेहरू सबै नै झूटा अगुवा र झूटा कामदारहरू हुन्।

ई. भेटीहरूको ठेगाना, साथै तिनका संरक्षकहरूका विभिन्न परिस्थितिहरू तत्काल पत्ता लगाउने

भेटीहरूको खर्च स्थिति निरीक्षण गर्ने र अनुचित खर्चहरू समाधान गर्नेबाहेक, अगुवा र कामदारहरूको अर्को सबैभन्दा महत्त्वपूर्ण कार्य पनि छ: तिनीहरूले भेटीहरू कहाँ छन्, साथै तिनका संरक्षकहरूका विभिन्न परिस्थितिहरू केकस्ता छन् भनेर तुरुन्तै पत्ता लगाउनुपर्छ। यसको उद्देश्य भनेको दुष्ट मानिसहरू, शङ्कास्पद योजनाहरू बोकेका मानिसहरू, र लालची हृदय भएका मानिसहरूलाई हेलचेक्र्याइको फाइदा उठाएर भेटीहरू कब्जामा लिन नदिनु हो। कत्ति मानिसहरूले परमेश्‍वरको घरसित धेरै चीजहरू भएको, र केही चीजहरूको निगरानी गर्ने वा अभिलेख राख्ने कोही पनि नभएको देख्छन्, त्यसैले तिनीहरू सधैँ तिनलाई कहिले आफ्नै निजी सम्पत्ति बनाउने, र आफ्नै प्रयोजनको लागि राख्ने भनेर सोचिरहेका हुन्छन्। यस्ता मानिसहरू जहाँतहीँ हुन्छन्। कत्ति मानिसहरू बाहिरी रूपमा अरूको फाइदा नउठाउने र भौतिक वस्तु वा पैसाप्रति ठूलो चाहना नराख्नेजस्ता देखिन्छन्, तर त्यो त परिस्थिति र अवस्थाहरू उपयुक्त नभएर मात्र भएको हुन्छ—यदि सुरक्षाको लागि साँच्चिकै भेटीहरू तिनीहरूको हातमा थम्याउने हो भने, तिनीहरूले तिनलाई मज्‍जाले कब्जा गर्न सक्छन्। कत्तिले सोध्छन्, “तर ऊ पहिले त अत्यन्तै राम्रो व्यक्ति थियो: ऊ लालची थिएन, र उसको चरित्र ठिकै थियो—त्यसोभए उसका हातमा केही भेटीहरू राख्दैमा किन उसको खुलासा भयो?” यो तैँले यस्ता मानिसहरूसँग धेरै समय नबिताएको, तिनीहरूबारे गहिरो बुझाइमा नपुगेको, र तिनीहरूको सार छर्लङ्गै नबुझेको कारणले भएको हो। यदि तैँले तिनीहरू त्यस किसिमका व्यक्ति हुन् भनेर चाँडै थाहा पाएको हुन्थिस् भने, भेटीहरू दुष्ट मानिसहरूको कब्जामा पर्ने दुर्भाग्य नै आउँथेन। त्यसैले, भेटीहरू दुष्ट मानिसहरूको हातमा पर्न नदिनको निम्ति, अगुवा र कामदारहरूको अर्को अझै महत्त्वपूर्ण कार्य हुन्छ: भेटीहरू रहेको ठाउँ र संरक्षकहरूका विभिन्न परिस्थितिहरूबारे तुरुन्तै पत्ता लगाउनु र जानकारी अद्यावधिक राख्‍नु। मानौँ कुनै व्यक्तिको स्वामित्वमा व्यवस्थापन गर्नको लागि केही सय वा केही हजार डलर छ रे, अनि यदि ऊसँग थोरै भए नि विवेक छ भने, उसले त्यसलाई हिनामिना गर्नेछैन—तर यदि त्यो दसौँ वा सयौँ हजार हुन्थ्यो भने, अधिकांश मानिसहरूलाई भरोसा गर्न सकिँदैन, यो खतरनाक हुनेछ, र तिनीहरूको मन बदलिन सक्छ। तिनीहरूको मन कसरी बदलिन सक्छ? केही सय वा हजारले मानिसहरूको मन बहकाउने सम्भावना हुँदैन, तर दसौँ वा सयौँ हजार छ भने, त्यसले तिनीहरूको मन सजिलै बहकाउन सक्छ। “यति धेरै त मैले कैयौँ जीवनकालमा पनि कमाउन सक्दिनँ, तर अहिले यो मेरो हातमा छ—यदि यो मेरो भएको भए म कति धनी हुन्थेँ होला!” तिनीहरूले मनमा कुरा खेलाउँछन्: “मलाई यस्ता सोचहरूबारे ग्लानि महसुस हुँदैन—त्यसैले वास्तवमै परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न? परमेश्‍वर कहाँ हुनुहुन्छ? मलाई यस्ता सोचहरू आइरहेका छन् भनेर कसैलाई थाहा हुँदैन नि होइन र? कसैलाई नि थाहा हुँदैन, र मलाई ग्लानि वा नरमाइलो महसुस हुँदैन—के यसको अर्थ परमेश्‍वर नै हुनुहुन्न भन्ने त होइन? मतलब, यदि मैले यो पैसा आफैसित राखेँ भने, के मैले कुनै दण्ड वा प्रतिशोध सामना गर्नु नपर्ने हो? त्यसका कुनै परिणामहरू नहुने हो?” के यो व्यक्तिको मन बदलिने क्रममा छैन र? के उसका हातमा भएका भेटीहरू खतरामा छैनन् र? (छन्।) यसबाहेक, भेटीहरू व्यवस्थापन गर्ने कत्ति मानिसहरू निकै असल हुन्छन्, परमेश्‍वरमाथिको विश्‍वासमा तिनीहरूको जग हुन्छ र तिनीहरू आफ्ना कार्यमा बफादार हुन्छन्, साथै तिनीहरूलाई दसौँ वा सयौँ हजार डलर सुरक्षित गर्न दिइए पनि, तिनीहरूले त्यो काम राम्रोसँग गर्न सक्छन्, र तिनीहरूले त्यसलाई हिनामिना नगर्ने सुनिश्‍चित हुन्छ। तर तिनीहरूका परिवारमा केही गैरविश्‍वासीहरू पनि हुन्छन्, अनि ती मानिसहरूले पैसा देखेपछि तिनीहरूका आँखाहरू ब्वाँसोले आफ्नो सिकार हेर्दाजस्तै रातो बन्छन्। दसौँ वा सयौँ हजारको कुरा त बिर्सिदे—यदि पैसा देखेमा, तिनीहरूले एक हजार डलर पनि आफ्नो गोजीमा हाल्छन्। तिनीहरूले त्यो कसको हो भनेर वास्ता गर्दैनन्; तिनीहरूले त्यो जसले गोजीमा हाल्न सक्छ, जसले पहिला थुत्छ, त्यो उसैको हुन्छ भन्ने विश्‍वास गर्छन्। यदि भेटीहरूको सुरक्षा गर्ने व्यक्तिवरपर यस्ता दुष्ट ब्वाँसोहरू छन् भने, के भेटीहरू जहाँ पनि र जुनसुकै समयमा कब्जामा पर्ने खतरा हुँदैन र? के यस्तो परिस्थिति आउन सक्छ? (सक्छ।) यदि अगुवा र कामदारहरू लापरवाह छन् र तिनीहरूमा जिम्मेवारीबोध छैन, अनि भेटीहरू यस्तो खतरनाक परिस्थितिमा हुँदा त्यो तिनीहरूले देख्दै देख्दैनन् वा गएर त्यसबारे जानकारी लिने र त्यसलाई छानबिन गर्ने गर्दै गर्दैनन् भने, के त्यो खतरनाक होइन र? जुनसुकै स्थान र जुनसुकै समयमा कुरा बिग्रिन सक्छ। अनि अर्को किसिमको परिस्थिति पनि छ: कत्ति संरक्षकहरूले आफ्नो घरमा पैसा र विभिन्न सरसामान दुवैको सुरक्षा गर्छन्, साथै तिनीहरूले त्यहाँ दाजुभाइ-दिदीबहिनीहरू र अगुवा र कामदारहरूलाई पाहुना पनि राख्छन्। यो अस्थायी रूपमा तुलनात्मक रूपले सुरक्षित हुन सक्छ, तर के दीर्घकालीन रूपमा भेटीहरू त्यहाँ राख्नु उचित हुन्छ त? (हुँदैन।) ती भेटीहरू सुरक्षा गर्ने व्यक्ति उचित भए नि वातावरण र अवस्थाहरू बिलकुलै उचित हुँदैनन्। कि त तिनीहरूले पाहुना राखिरहेका मानिसहरूलाई हटाउनुपर्छ, कि त भेटीहरू त्यहाँबाट अन्यत्र लगिनुपर्छ। यदि अगुवा र कामदारहरूले न त यो कामको जाँचबुझ गर्छन् न त यससम्बन्धी आफ्नो जिम्मेवारी नै पूरा गर्छन् भने, जुनसुकै स्थान र जुनसुकै समयमा कुरा बिग्रिन सक्छ; भेटीहरू जुनसुकै स्थान र जुनसुकै समयमा क्षतिमा पर्न सक्छन् र ती पिशाचहरूको हात लाग्‍न सक्छन्। अर्को प्रकारको परिस्थिति पनि हुन्छ: कत्ति मण्डलीहरू असहज वातावरणमा हुन्छन् जहाँ मानिसहरू प्रायः पक्राउ परिरहेका हुन्छन्, र यसकारण, भेटीहरू सुरक्षित गर्ने घरहरूलाई सजिलै विश्‍वासघात गरिने, र ठूलो रातो अजिङ्गरद्वारा छापा मारिने र खानतलास गरिने खतरा हुन्छ—भेटीहरू कुनै पनि समय पिशाचहरूद्वारा लुटिन सक्छन्। के त्यस्ता ठाउँहरू भेटीहरू राख्नको लागि उपयुक्त हुन्छन्? (हुँदैनन्।) त्यसोभए, यदि ती पहिले नै त्यहाँ राखिएका भए, के गरिनुपर्छ? तिनलाई तुरुन्तै अन्यत्र सारिनुपर्छ। कत्ति अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गर्दैनन् र वास्तविक काम गर्दै गर्दैनन्। तिनीहरूले ती कुराहरू अनुमान गर्न वा तीबारे सोच्न सक्दैनन्, तिनीहरूलाई तीबारे चेतनै हुँदैन, अनि जब कुरा बिग्रिन्छ र भेटीहरू पिशाचहरूले थुत्छन्, तब मात्र तिनीहरूले “हामीले त्यतिबेलै तिनलाई अन्यत्र सारेको भए हुन्थ्यो” भन्ने सोच्छन्, र यसरी नै थोरथोरै पछुतो मात्रै मान्छन्। तर यदि केही पनि बिग्रिएन भने, अर्को दस वर्ष बिते नि तिनीहरूले भेटीहरू अन्यत्र सार्दैनन्। तिनीहरूले यो समस्याको कारण केकस्ता गम्भीर परिणामहरू उत्पन्न हुन सक्छन् भन्ने कुरा देख्न सक्दैनन्, र तिनीहरूले यी कुराहरूलाई महत्त्व र आकस्मिकताको आधारमा प्राथमिकता दिन सक्दैनन्। अगुवा र कामदारहरूले यस्तो परिस्थिति सामना गर्दा यसबारे प्रस्ट बुझाइ प्राप्त हुनुपर्छ: “भेटीहरू राखिने एउटा ठाउँ उपयुक्त छैन। त्यहाँको वातावरण अत्यन्तै खतरनाक छ, र त्यसकै छेउछाउ धेरै दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परेका, पछ्याइएका, वा निगरानीमा राखिएका छन्। हामीले भेटीहरू त्यहाँबाट बाहिर निकाल्ने उपाय सोच्नुपर्छ। तिनलाई त्यहीँ छोडेर अरूले लैजाने पार्नुभन्दा तुलनात्मक रूपमा सुरक्षित स्थानमा सार्नु नै उत्तम हुनेछ।” जब भर्खरै कुनै एउटा परिस्थिति उत्पन्न भएको हुन्छ र जब तिनीहरूलाई भेटीहरू खतरामा रहेको आभास हुन्छ, तब तिनीहरूले ती भेटीहरू तत्कालै अन्यत्र सार्नुपर्छ, ताकि तिनलाई ठूलो रातो अजिङ्गर पिशाचद्वारा कब्जा गर्न र हसुर्नबाट जोगाउन सकियोस्। यही नै भेटीहरूको सुरक्षा सुनिश्‍चित गर्ने, र कुनै पनि जोखिम वा भुलचुक हुनबाट जोगाउने एकमात्र तरिका हो। यही नै अगुवा र कामदारहरूले गर्नुपर्ने काम हो। अलिकति खतराको सङ्केत देखिनेबित्तिकै, कोही पक्राउ पर्नेबित्तिकै, र कुनै परिस्थिति सिर्जना हुनेबित्तिकै, अगुवा र कामदारहरूले सुरुमा भेटीहरू सुरक्षित छन् कि छैनन्, भेटीहरू दुष्ट मानिसहरूको हातमा पर्न, वा तिनीहरूको कब्जामा पर्न, वा पिशाचहरूद्वारा खोसिन सक्छन् कि सक्दैनन्, र भेटीहरूमा कुनै क्षति पुगेको छ कि छैन भनी सोच्नुपर्छ। तिनीहरूले तुरुन्तै भेटीहरू सुरक्षा गर्ने उपायहरू अपनाउनुपर्छ। यही नै अगुवा र कामदारहरूको जिम्मेवारी हो। कत्ति अगुवा र कामदारहरूले यसो भन्न सक्छन्, “यी कामहरू गर्नको लागि हामीले जोखिमहरू मोल्‍नुपर्ने हुन्छ। के हामीले ती कामहरू नगर्न मिल्छ? के मानिसहरू नै हाम्रो पहिलो प्राथमिकता होइनन् र, मतलब भेटीहरूलाई पहिलो प्राथमिकतामा राख्न आवश्यक छैन, बरु मानिसहरूलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, होइन र?” तिनीहरूको प्रश्‍नबारे तेरो विचार के छ? के यस्ता मानिसहरूमा मानवता हुन्छ? (हुँदैन।) भेटीहरू राम्रोसँग सुरक्षित गर्नु, तिनलाई राम्रोसँग व्यवस्थित गर्नु, र तिनलाई राम्रोसँग निगरानी गर्नु—यी एक असल परिचारकले पूरा गर्नुपर्ने जिम्मेवारीहरू हुन्। अझ गम्भीर रूपमा भन्नुपर्दा, तैँले आफ्नो जीवन बलि दिनु परे नि त्यो सार्थक नै हुन्छ र तैँले गर्नुपर्ने पनि त्यही हो। त्यो तेरो जिम्मेवारी हो। मानिसहरू सधैँ “परमेश्‍वरको निम्ति मर्नु एक सार्थक मृत्यु हो” भनेर चिच्याइरहेका हुन्छन्। के मानिसहरू साँच्चिकै परमेश्‍वरको निम्ति मर्न इच्छुक हुन्छन् त? अहिले तँलाई परमेश्‍वरको निम्ति मर्न आग्रह गरिएको छैन; तैँले केवल भेटीहरू भरोसापूर्ण तरिकाले सुरक्षित राख्‍न अलिकति जोखिम लिनुपर्छ। के तँ त्यो काम गर्न इच्छुक छस्? तैँले खुसीसाथ “इच्छुक छु” भन्नुपर्छ! किन? किनभने यो मानिसप्रतिको परमेश्‍वरको आज्ञा र मापदण्ड हो, यो तैँले पन्छाउनै नमिल्ने जिम्मेवारी हो, र तैँले यसबाट उम्किने प्रयास गर्नु हुँदैन। तैँले परमेश्‍वरको निम्ति मर्न सक्छु भनेर दाबी त गरेकै छस्, तब भेटीहरू सुरक्षित गर्न तैँले किन अलिकति मूल्य तिर्न र अलिकति जोखिम लिन सक्दैनस्? के तैँले गर्नुपर्ने त्यही होइन र? यदि तैँले वास्तविक काम केही पनि गर्दैनस्, तर परमेश्‍वरको निम्ति मर्छु भनेर सधैँ चिच्याइरहेको हुन्छस् भने, के त्यो कुरा खोक्रो होइन र? अगुवा र कामदारहरूमा भेटीहरू सुरक्षित गर्ने कामबारे विशुद्ध बुझाइ हुनुपर्छ, र तिनीहरूले यो जिम्मेवारी वहन गर्नुपर्छ। तिनीहरूले यसबाट भाग्नु वा तर्किनु हुँदैन, र तिनीहरू आफ्नो जिम्मेवारीबाट पछि हट्नु हुँदैन। तँ अगुवा वा कामदार होस्, त्यसैले यो काम तँमाथि आइपर्ने अनिवार्य जिम्मेवारी हो। यो महत्त्वपूर्ण काम हो—के तँ केही जोखिम लिएर भए नि, आफ्नो जीवन जोखिममा राखेर भए नि, यो काम गर्न इच्छुक छस्? के तैँले यसो गर्नुपर्छ? (गर्नुपर्छ।) तँ यसो गर्न इच्छुक हुनुपर्छ; तैँले यो जिम्मेवारी इन्कार्नु हुँदैन। यो मानिसप्रतिको परमेश्‍वरको मापदण्ड र उहाँले मानिसलाई दिनुहुने आज्ञा हो। परमेश्‍वरले तँलाई उहाँको सबैभन्दा न्यूनतम मापदण्ड र आज्ञा बताउनुभएको छ—यदि तँ यसलाई अघि बढाउन इच्छुकसमेत छैनस् भने, तैँले केचाहिँ गर्न सक्छस् त?

अगुवा र कामदारहरूले भेटीहरू सुरक्षित गर्ने र खर्च गर्ने काम सकेसम्म सावधानीपूर्वक र ठोस रूपमा गर्नुपर्छ। उनीहरूले त्यसमा लापरवाही गर्नु हुँदैन, त्यसलाई अरू कसैको सरोकारको विषय भएझैँ व्यवहार गर्ने र जिम्मेवारी इन्कार्ने गर्नु त झनै हुँदैन। यी कुराहरूको हकमा, अगुवा र कामदारहरूले व्यक्तिगत रूपमै सम्परीक्षण कार्य अघि बढाउनुपर्छ, संलग्नता जनाउनुपर्छ, र जानकारीहरू लिनुपर्छ, ताकि दुष्ट मानिसहरू र कमजोर मानवता भएका मानिसहरूले बेवास्ताको फाइदा उठाउँदै विनाश पैदा नगरून्। तैँले यो काम जति सावधानीपूर्वक गर्छस्, दुष्ट मानिसहरू र खराब मानिसहरूले बेवास्ताहरूको फाइदा उठाउने अवसर त्यति नै कम पाउनेछन्; तैँले जति विस्तृत जानकारीहरू लिन्छस् र तेरो व्यवस्थापन जति कडा छ, अनुचित खर्च, र पैसा उडाउने र खेर फाल्‍ने घटनाहरू त्यति नै कम हुनेछन्। कतिले भन्छन्, “के यसो गर्नु परमेश्‍वरको घरको पैसा बचत गर्नलाई हो? के परमेश्‍वरको घरसित पैसाको अभाव छ? यदि हो भने, म अझै थप चढाउनेछु।” त्यही भइरहेको हो त? (होइन।) यो अगुवा र कामदारहरूको जिम्मेवारी हो, यो मानिसप्रति परमेश्‍वरको मापदण्ड हो, र यो अगुवा र कामदारहरूले यो काम गर्दा पालना गर्नुपर्ने सिद्धान्त हो। परमेश्‍वरको विश्‍वासीको रूपमा र परमेश्‍वरको घरमा परिचारकको भूमिका लिएको व्यक्तिको रूपमा, भेटीहरूप्रति तँसँग जिम्मेवारी लिने र कठोर सम्परीक्षण सञ्चालन गर्ने मनोवृत्ति हुनुपर्छ; नत्र, तँ यो काम गर्न योग्य छैनस्। यदि तँ जिम्मेवारीबोध नभएको र सत्यता नपछ्याउने साधारण विश्‍वासी थिइस् भने, तैँले यी कामकुराहरू गर्नुपर्ने नै थिएन। तँ एक अगुवा वा कामदार होस्; यदि तँमा यो जिम्मेवारीबोध छैन भने, तँ अगुवा वा कामदार हुन योग्य छैनस्, र तैँले अगुवा वा कामदार भएर सेवा गरे नि तँ गैरजिम्मेवार झूटो अगुवा वा झूटो कामदार बन्छस्, र ढिलोचाँडो तँलाई हटाइनेछ। जोसँग पूर्णतया जिम्मेवारीबोधको कमी हुन्छ ती सबै परमेश्‍वरको घरको काम बिलकुलै रक्षा नगर्ने मानिसहरू हुन्—तिनीहरू सबैमा विवेक र समझको सानो झिल्कोसमेत हुँदैन। यस्ता मानिसहरूले कसरी कर्तव्यहरू निर्वाह गर्न सक्छन् होला र? तिनीहरू सबै लापरवाह निम्नस्तरीय मानिसहरू हुन्—तिनीहरू तुरुन्तै परमेश्‍वरको घर छोडेर जहाँबाट आएको हो त्यहीँ फर्कनुपर्छ!

यदि हामीले भेटीहरूसम्बन्धी सामान्य ज्ञान, साथै भेटीहरू सुरक्षा गर्नेसम्बन्धी सत्यताहरू र मानिसहरूले अभ्यास गर्नुपर्ने सिद्धान्तहरूबारे यसरी नै सङ्गति गरेनौँ भने, के तिमीहरू यी कुराहरूबारे अस्पष्ट हुन्थेनौ र? (हुन्थ्यौँ।) जब मानिसहरू सटीक सिद्धान्तहरूबारे अस्पष्ट हुन्छन्, के तिनीहरूले आफ्ना केही जिम्मेवारी पूरा गर्न सक्छन्? के तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्दै आएका हुन्छन्? के अधिकांश मानिसहरूले “म कुनै पनि हालतमा परमेश्‍वरका भेटीहरूको लालच गर्दिनँ, म तिनलाई हिनामिना वा दुरुपयोग गर्दिनँ, बरु तीमाथि राम्रो निगरानी राख्छु र मानिसहरूलाई स्वेच्छाचारी रूपमा ती खर्च गर्न दिन्नँ—त्यो नै काफी छ” भन्ने सबैभन्दा सतही सिद्धान्त अपनाउँदै आएका छैनन् र? के यो सत्यता अभ्यास गर्नु हो? के यो आफ्नो जिम्मेवारी पूरा गर्नु हो? (होइन।) यदि अधिकांश मानिसहरूको ज्ञान यो मानकभन्दा बढी छैन भने, यो विषय साँच्चिकै सङ्गति गर्न योग्य छ। यो सङ्गतिमार्फत, के अब तिमीहरूले भेटीहरू सुरक्षित गर्ने तरिका अनि तिनलाई सुरक्षित गर्दा आफूमा हुनुपर्ने मनोवृत्ति र ज्ञानबारे अलि बढी बोध र बुझाइ प्राप्त गरेका छौ? (हजुर।) हामी भेटीहरूसँग सम्बन्धित सत्यताहरू र भेटीहरूप्रति कसरी व्यवहार गर्ने र तिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने सिद्धान्तहरूमाथिको हाम्रो यो सङ्गति यहीँ टुङ्ग्याउँछौँ।

भेटीहरू सम्बन्धमा झूटा अगुवाहरूका मनोवृत्ति र प्रकटीकरणहरू

अ. भेटीहरूलाई साझा सम्पत्तिको रूपमा व्यवहार गर्नु

अब, हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी एघारौँ विषयवस्तु सम्बन्धमा झूटा अगुवाहरूको सामान्य खुलासा र चिरफार गर्नेछौँ। हामी भेटीहरूप्रतिको मनोवृत्तिमा र तिनको सुरक्षा तथा व्यवस्थापनमा झूटा अगुवाहरूले केकस्ता प्रकटीकरणहरू देखाउँछन् भन्ने कुरा हेर्नेछौँ। पहिलो प्रकटीकरण भनेको झूटा अगुवाहरूमा भेटीहरूबारे सही ज्ञानको कमी हुनु हो। तिनीहरूले विश्‍वास गर्छन्, “नामले त भेटीहरू परमेश्‍वरलाई चढाइन्छ, तर वास्तवमा चाहिँ ती मण्डलीलाई चढाइन्छ। हामीलाई परमेश्‍वर कहाँ हुनुहुन्छ भन्ने थाहा छैन, र आखिर उहाँ यति धेरै सामानहरू प्रयोग गर्न पनि सक्नुहुन्न। यी भेटीहरू नाममा मात्र परमेश्‍वरलाई चढाइएको हो; वास्तवमा, ती मण्डलीलाई र परमेश्‍वरको घरलाई चढाइएको हो, र ती कुनै विशेष व्यक्तिलाई तोकेर चढाइँदैन। मण्डली र परमेश्‍वरको घर त्यहाँका सारा मानिसहरूकै लागि हुन्, र यसको मतलब भेटीहरू सबैका हुन्, र जे चीज सबैको हुन्छ त्यो साझा सम्पत्ति हुन्छ। त्यसैले, भेटीहरू सारा दाजुभाइ-दिदीबहिनीहरूको स्वामित्वमा पर्ने साझा सम्पत्ति हुन्।” के यो बुझाइ सही हो? स्पष्ट रूपमै होइन। के यस्तो बुझाइ भएका मानिसहरूको मानवतामा समस्या हुँदैन र? के तिनीहरू भेटीहरूको लालसा गर्ने मानिसहरू होइनन् र? लालची हृदय र भेटीहरू हत्याउने चाहना भएका मानिसहरूले भेटीहरू सम्बन्धमा यही विधि र यही दृष्टिकोण अपनाउँछन्। प्रस्ट रूपमै, तिनीहरूले भेटीहरूमा आँखा लगाइरहेका हुन्छन् र तिनलाई आफ्नै आनन्दको लागि हत्याउन चाहिरहेका हुन्छन्। तिनीहरू कस्ता किसिमका प्राणीहरू हुन्? के तिनीहरू यहूदा वर्गमै पर्दैनन् र? त्यसैले, यसप्रकारको अगुवा वा कामदारले परमेश्‍वरका भेटीहरूलाई मण्डलीको साझा सम्पत्तिको रूपमा लिन्छन्। तिनीहरूले मनमा यस्तै किसिमको मनोवृत्ति बोकेका हुन्छन्—तिनीहरूले इमानदारीसाथ भेटीहरू सुरक्षित गर्ने, वा तिनलाई उचित र जिम्मेवार रूपमा व्यवस्थित गर्ने गर्दैनन्, बरु तिनीहरूले भेटीहरूलाई आफ्नै इच्छाअनुसार, निर्लज्ज रूपमा, र पूर्णतया अनियन्त्रित तरिकाले प्रयोग गर्ने गर्छन्, जसमा सिद्धान्तहरूको पूर्ण कमी हुन्छ। तिनीहरूले जोसुकैलाई ती प्रयोग गर्न दिन्छन्, र त्यस क्रममा, जसको “आधिकारिक पद” ठूलो छ, जसको हैसियत उच्च छ, जो दाजुभाइ-दिदीबहिनीहरूमाझ प्रतिष्ठित छ, उसले स्वामित्व र प्रयोगमा प्राथमिकता पाउँछ। यो कुरा समाजमा रहेका कम्पनी र कारखानाहरूमा जस्तै हुन्छ, जहाँ कम्पनीका गाडी साथै राम्रा र उच्चस्तरीय सामानहरू व्यवस्थापक, कारखाना निर्देशक, र अध्यक्षहरूले प्रयोग गर्न पाउँछन्। तिनीहरू परमेश्‍वरका भेटीहरूको हकमा पनि यस्तै हुनुपर्छ, र जो अगुवा वा कामदार हो उसलाई नै परमेश्‍वरको घरका उच्चस्तरीय सामानहरूको आनन्द लिन, र परमेश्‍वरलाई चढाइएका भेटीहरू उपभोग गर्न प्राथमिकता दिइनुपर्छ भन्‍ने विश्‍वास गर्छन्। त्यसैले, अगुवा र कामदार हुनुलाई उच्चस्तरीय कम्प्युटर र मोबाइल फोन किन्ने बहानाको रूपमा प्रयोग गर्ने सबैजनाले, साथसाथै भेटीहरू आफैले लिने ती सबै अगुवा र कामदारहरूले भेटीहरू साझा सम्पत्ति हुन्, र भेटीहरूलाई जसरी मन लाग्छ त्यसरी प्रयोग गर्नुपर्छ र फजुलमा उडाउनुपर्छ भन्ने विश्‍वास गर्छन्। कत्ति दाजुभाइ-दिदीबहिनीहरूले सुनचाँदीका गहना, झोला, कपडा, र जुत्ताहरू चढाउँदा तिनीहरूले परमेश्‍वरलाई चढाइएको भनेर तोक्दैनन्, त्यसैले झूटा अगुवाहरूले यस्तो विश्‍वास गर्छन्, “तिनीहरूले यी सामानहरू परमेश्‍वरलाई चढाइएको भनेर नतोकेका हुनाले, ती मण्डलीको प्रयोगको लागि हुनुपर्छ। मण्डलीलाई जे चीज दिइएको छ त्यो साझा सम्पत्ति हो, र साझा सम्पत्ति उपभोग गर्नमा अगुवा र कामदारहरूले प्राथमिकता पाउनुपर्छ।” अनि त्यसैले, तिनीहरूले यी चीजहरू स्वाभाविक रूपमै आफैले लिन्छन्। तिनीहरूले छानेर लिएपछि बाँकी रहेका वस्तुहरू जसलाई मन लाग्छ उसले प्रयोग गर्न र लिन सक्छ—सबैले ती कुराहरू बाँडेर लिन्छन्। यी अगुवा र कामदारहरूले यसलाई सम्पत्ति बाँडफाँट गरेको भन्छन्; तिनीहरूलाई पछ्याउँदा, मानिसहरूले राम्रो खानपिउन सक्छन्, र साँच्चिकै रमाइलो मान्छन्। सबैजना खुसी हुन्छन्, र सबैले यसो भन्छन्, “परमेश्‍वरलाई धन्यवाद होस्—यदि हामीले उहाँमा विश्‍वास नगरेको भए, के हामीले यी चीजहरू उपभोग गर्न सक्नेथ्यौँ र? यी भेटी हुन्, र यी भेटी उपभोग गर्न हामी लायकसमेत छैनौँ!” तिनीहरूले आफू लायक नभएको भन्छन्, तर ती चीजहरू अँठ्याएर राख्छन् र छोड्दैनन्। त्यस्ता अगुवा र कामदारहरूले भेटीहरू कब्जा गरेर बाँडफाँट गर्ने, र कसैको स्वीकृति प्राप्त नगरी व्यक्तिगत रूपमा उपभोग गर्ने मात्र नभई—यसो गर्दा, तिनीहरूले भेटीहरूको व्यवस्थापन, खर्च र प्रयोगप्रति एकनाससित ध्यान नदिनेसमेत गर्छन्, अनि तिनीहरूले भेटीहरूको व्यवस्थापन गर्न र अभिलेख राख्न उचित मानिसहरू छान्‍ने काम गर्दै गर्दैनन्, र खाताहरू जाँच्ने, वा खर्चहरूको स्थिति कडाइसाथ समीक्षा गर्ने काम त झनै गर्दै गर्दैनन्। भेटीहरूको व्यवस्थापनप्रति झूटा अगुवाहरूको उदासीनताले अस्तव्यस्तता निम्त्याउँछ, र कतिपय भेटीहरू हराउँछन् र फजुलमा उडाइन्छन्। झूटा अगुवाहरूको काममा सबैभन्दा टड्कारै देखिने कुरा भनेको सबैले आफ्नै इच्छाअनुसार काम गर्नु हो। कुनै समूहको सुपरभाइजरले जे भन्छ त्यो नै अन्तिम हुन्छ, अनि जब कुनै समूहलाई केही किन्न आवश्यक पर्छ, तिनीहरूले स्वीकृति अनुरोध पेश नगरी नै किन्ने निर्णय गर्न सक्छन्। यदि कामको लागि कुनै चीज चाहिएको छ भने, तिनीहरूले त्यसलाई कति मूल्य पर्छ, त्यसलाई उपयोग गर्न सकिन्‍छ कि सकिन्‍न, वा त्यो जरुरी छ कि छैन भनेर चिन्ता नलिई त्यो किन्न सक्छन्—आखिर तिनीहरूले कुनै व्यक्तिको पैसा नभएर भेटीहरू खर्च गरिरहेका हुन्छन्। झूटा अगुवाहरूले यसको सुपरिवेक्षण वा सम्परीक्षण गर्दैनन्, सिद्धान्तहरूबारे सङ्गति त झनै गर्दैनन्। जब कुनै चीज किनिएको हुन्छ, झूटा अगुवाहरूले त्यसको सुरक्षा गर्ने कोही छ कि छैन, त्यसमा केही समस्या आउन सक्छ कि सक्दैन, वा त्यो खर्च गरिएको पैसाको लायक छ कि छैन भन्ने कुराप्रति एकनासले ध्यान नदिने गर्छन्। तिनीहरूले यी कुराहरूमा किन ध्यान नदिने गर्छन्? किनभने त्यो पैसा तिनीहरूको होइन—तिनीहरू त्यो पैसा जोकोहीले खर्च गर्न मिल्ने भन्ठान्छन्, किनकि जे भए नि आखिर जुन पैसा खर्च भइरहेको छ त्यो तिनीहरूको हुँदै होइन। भेटीहरूको व्यवस्थापनको हरेक पक्ष अस्तव्यस्त हुन्छ। त्यो कति अस्तव्यस्त हुन्छ? त्यो समाजवादी देशका ठूला र राज्य स्वामित्वका कारखानाहरूमा जस्तै हुन्छ, जहाँ जसले जेजति काम गरे नि सबैले बराबर पाउँछन्। सबैले सरसामान घर लिएर जान्छन्, कारखानाको खाना खान्छन्, कारखानाको पैसा कमाउँछन्, र कारखानाका सरसामान हिनामिना गर्छन्। त्यो पूरै अस्तव्यस्तता हुन्छ। झूटा अगुवाहरूले कुनै पनि उपकरण वा सामग्रीहरू खरिद गर्नमा खर्च गर्ने नियमहरू बनाउँदैनन्। परमेश्‍वरको घरले नियमहरू बनाउँछ, तर तिनीहरूले कडाइसाथ खर्चहरूको समीक्षा, जाँच, अनुगमन, वा निरीक्षण गर्दैनन्। तिनीहरूले यी कुनै पनि काम गर्दैनन्। झूटा अगुवाहरूको काम पूरै अस्तव्यस्त हुन्छ, कुनै पनि कुरा व्यवस्थित हुँदैन, र जहाँतहीँ त्रुटिहरू हुन्छन्। हरमोडमा, दुष्ट मानिसहरू र गलत ठाउँमा हृदय भएकाहरूलाई बेवास्ताहरूको मौका छोप्दै फाइदा लिन दिइन्छ। परमेश्‍वरका भेटीहरू ती मानिसहरूद्वारा निर्बाध रूपमा उडाइन्छन् र खेर फालिन्छन्, तैपनि तिनीहरूलाई कुनै पनि दण्ड वा कारबाही हुँदैन—तिनीहरूलाई चेतावनीसमेत दिइँदैन। तिनीहरू कस्ता अगुवा र कामदार हुन्? के तिनीहरू कृतघ्न भइरहेका छैनन् र? के तिनीहरू परमेश्‍वरको घरका परिचारक हुन्? तिनीहरू त परमेश्‍वरको घरका चोर गद्दारहरू हुन्!

भेटीहरू सुरक्षित गर्ने सम्बन्धमा जिम्मेवारी नलिने यस्ता अगुवा र कामदारहरूलाई कसरी हेरिनुपर्छ? के तिनीहरू निकृष्ट चरित्रका अनि विवेक र समझरहित होइनन् र? दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वर र मण्डलीलाई चढाएका वस्तुहरू ती झूटा अगुवाहरू परमेश्‍वरको घरको सम्पत्ति हो भन्ठान्छन्, र भन्छन् कि तिनलाई दाजुभाइ-दिदीबहिनीहरूले सामूहिक रूपमा व्यवस्थित गर्नुपर्छ। त्यसैले, जब ती समस्याहरू उजागर भएका हुन्छन्, र माथिले मानिसहरूलाई जबाफदेही बनाइरहेको हुन्छ, तब तिनीहरूले आफूलाई जोगाउन भरमग्दुर प्रयास गर्छन्, र अगुवा बनेर हैसियत प्राप्त गरेपछि परमेश्‍वरका भेटीहरू चोर्नु र जफत गर्नु कति गम्भीर विषय हो भन्ने कुरा स्विकार्दैनन्। के तिनीहरू निकृष्ट चरित्रका मानिसहरू होइनन् र? तिनीहरू पूर्णतया निर्लज्ज छन्! तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूले किन पैसा र वस्तुहरू चढाउँछन्, र कसलाई चढाउँछन् भन्ने कुरा थाहै हुँदैन। यदि परमेश्‍वर नहुनुभएको भए, आफूलाई मन पर्ने वस्तुहरू कसले त्यति सजिलै चढाउनेथ्यो र? यो यति सामान्य तर्क हो, तैपनि यी तथाकथित “अगुवाहरू” ले यो कुरा जानेका वा बुझेका हुँदैनन्। यी झूटा अगुवाहरूको एउटा प्रिय वाक्यांश छ: “परमेश्‍वरको घरका भेटीहरू।” के यो अभिव्यक्तिलाई सच्याउन आवश्यक छैन र? सही अभिव्यक्ति कस्तो हुनुपर्ने हो? “भेटीहरू” वा “परमेश्‍वरका भेटीहरू।” यदि तैँले विशेषक जोड्न चाहन्छस् भने “परमेश्‍वर” थप्नुपर्छ—भेटीहरू परमेश्‍वरका मात्र हुन्। यदि तैँले विशेषक थप्दैनस् भने त्यो “भेटीहरू” मात्र हुन्छ—तैपनि मानिसहरूलाई थाहा हुनुपर्छ कि भेटीहरूको मालिक सृष्टिकर्ता अर्थात् परमेश्‍वर नै हो, मानिस होइन। मानिस भेटीहरूको स्वामित्वको योग्य हुँदैन, र धर्मगुरुहरूले समेत भेटीहरू आफ्नो हो भनेर भन्न मिल्दैन—तिनीहरूले परमेश्‍वरको अनुमति लिएर भेटीहरू उपभोग गर्न सक्छन्, तर ती तिनीहरूका होइनन्। “भेटीहरू” को विशेषक कुनै व्यक्ति कहिल्यै हुनेछैन—त्यो अरू कोही नभएर परमेश्‍वर मात्र हुन सक्‍नुहुन्छ। त्यसैले, यो एकदमै प्रस्ट छ कि झूटा अगुवाहरूले अक्सर बोल्ने “परमेश्‍वरको घरका भेटीहरू” भन्ने अभिव्यक्ति त्रुटिपूर्ण छ, र त्यसलाई सच्याइनुपर्छ। “परमेश्‍वरको घरका भेटीहरू” वा “मण्डलीका भेटीहरू” जस्ता कुनै पनि भनाइ हुनु हुँदैन। कत्ति मानिसहरूले त “हाम्रा भेटीहरू” र “हाम्रो परमेश्‍वरको घरका भेटीहरू” भनेरसमेत भन्छन्। यी सबै अभिव्यक्तिहरू गलत छन्। भेटीहरू सृष्टि गरिएका मानवजातिद्वारा, अर्थात् परमेश्‍वर पछ्याउनेहरूद्वारा परमेश्‍वरलाई चढाइन्छ। भेटीहरूको मालिक, प्रयोगकर्ता, र उपभोगकर्ता हुने अधिकार परमेश्‍वरलाई मात्र हुन्छ। भेटीहरू साझा सम्पत्ति होइनन्; ती मानिसका होइनन्, मण्डली र परमेश्‍वरको घरका त झनै होइनन्, ती त परमेश्‍वरका हुन्। परमेश्‍वरले मण्डली र परमेश्‍वरको घरलाई ती प्रयोग गर्न अनुमति दिन्छ—यो उहाँको आज्ञा हो। त्यसकारण, “परमेश्‍वरको घरका भेटीहरू,” “मण्डलीका भेटीहरू,” र “हाम्रा भेटीहरू” जस्ता सबै अभिव्यक्तिहरू बेठीक छन्, र अझ भन्नुपर्दा, ती मानिसहरूका अभिव्यक्तिहरू हुन् जसमा गोप्य मनसाय लुकेका छन्, र तिनको उद्देश्य मानिसहरूलाई भ्रममा पार्नु र बोधो बनाउनु, र अझै बढी रूपमा मानिसहरूलाई गलत बाटो देखाउनु हो। यस्ता मानिसहरूले भेटीहरूलाई मण्डलीको वा परमेश्‍वरको घरको वा सारा दाजुभाइ-दिदीबहिनीहरूको साझा सम्पत्ति भनेर वर्गीकृत गर्छन्। यसमा पूरै समस्या र त्रुटि छ र यसलाई सच्याइनुपर्छ। यो एकप्रकारको झूटो अगुवाको प्रकटीकरण हो। यस्ता मानिसहरूले भेटीहरूलाई साझा सम्पत्तिको रूपमा लिन्छन् र आफूखुसी प्रयोग गर्छन्; अथवा, तिनीहरूले आफू अगुवा भएको नाताले आफूसँग यी वस्तुहरू परिचालन गर्ने अधिकार छ भन्ने विश्‍वास गर्छन्, र त्यसैले तिनीहरूले ती वस्तुहरू आफूले मनपरेका मानिसहरू वा सबैलाई बराबरी रूपमा वितरण गर्छन्। तिनीहरूले कस्तो प्रकारको परिदृश्य सिर्जना गर्न खोजिरहेका छन्? त्यस्तो परिदृश्य जहाँ सबैजना समान होऊन्, जहाँ सबैले परमेश्‍वरको अनुग्रह उपभोग गर्न सकून्, जहाँ सबैले साझा भागीदारी गरून्। तिनीहरू परमेश्‍वरको घरका स्रोतसाधन उदारतापूर्वक बाँडफाँट गरेर मानिसहरूको निगाह प्राप्त गर्न चाहन्छन्। के त्यो घिनलाग्दो कुरा होइन र? त्यो दुष्ट र निर्लज्ज व्यवहार हो! त्यस्ता मानिसहरूलाई कसरी चित्रण गरिनुपर्छ? त्यस्ता झूटा अगुवाहरू भेटीहरूको लालसा गर्छन्, र मानिसहरूले तिनीहरूलाई सुपरिवेक्षण नगरून्, खुलासा नगरून् र नचिनून् भनेर, तिनीहरू आफूले प्रयोग गरिसकेर बाँकी रहेका सरसामान दाजुभाइ-दिदीबहिनीहरूलाई बाँडिदिन्छन्, जसमार्फत तिनीहरूको निगाह प्राप्त गर्छन् र सबैजना बराबर हुने परिदृश्य निर्माण गर्छन्, अनि साथमा सबैलाई तिनीहरूसँगको सङ्गतबाट फाइदा लिन सक्षम तुल्याउँछन्, ताकि कसैले पनि तिनीहरूको खुलासा नगरोस्। यदि तिमीहरूले यसकिसिमको झूटो अगुवा भेट्यौ, जसले तिमीहरूलाई केही फाइदाहरू लिन अनुमति दिन सक्थ्यो र जोसँग तिमीहरूले केही “साझा सम्पत्ति” उपभोग गर्न सक्थ्यौ भने—यदि तिमीहरूसँग यो अधिकार थियो र तिमीहरूले यस्तो फाइदा लियौ भने, के तिमीहरू त्यसमा खुसी हुनेथ्यौ? के तिमीहरूले त्यसलाई अस्वीकार गर्न सक्नेथ्यौ? (सक्नेथ्यौँ।) यदि तिमीहरू लालची छौ, तिमीहरूसँग परमेश्‍वरको डर मान्ने हृदय छैन, र तिमीहरू परमेश्‍वरदेखि डराउँदैनौ भने, तिमीहरूले अस्वीकार गर्न सक्नेछैनौ। थोरै भए नि निष्ठा, समझ, र परमेश्‍वरको डर मान्ने हृदय भएको जोकोहीले त्यसलाई अस्वीकार गर्नेछ, र तिनीहरूले त्यो अगुवालाई गाली गर्न, काटछाँट गर्न, रोक्नको लागि उठ्दै यसोसमेत भन्‍नेछन्: “अगुवा भएको नाताले तिमीले गर्नुपर्ने पहिलो काम भनेको भेटीहरू राम्रोसँग व्यवस्थापन गर्नु हो, तिनलाई हिनामिना गर्नु होइन, अनुमितबिना आफ्नै इच्छाको आधारमा भेटीहरू सबैलाई बाँड्ने निर्णय गर्नु त झनै होइन। तिमीसँग त्यो अधिकार छैन; परमेश्‍वरले तिमीलाई दिनुभएको आज्ञा त्यो होइन। भेटीहरू परमेश्‍वरद्वारा प्रयोग गरिनलाई हुन्, र मण्डलीद्वारा तिनको प्रयोग गरिनको लागि सिद्धान्तहरू छन्—कसैले नि तीबारे आफै अन्तिम निर्णय गर्न पाउँदैन। तिमी अगुवा हुन सक्छौ, तर तिमीलाई त्यो विशेष अधिकार छैन। परमेश्‍वरले तिमीलाई त्यो अधिकार प्रदान गर्नुभएको छैन। तिमीलाई परमेश्‍वरका सरसामान प्रयोग गर्ने पनि अधिकार छैन—परमेश्‍वरले तिमीलाई त्यो कामको आज्ञा गर्नुभएको छैन। त्यसैले, दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरलाई चढाएका सुनचाँदीका गहनाहरू चाँडो खोल, र तिनीहरूले उहाँलाई चढाएका कपडाहरू फुकाल। तिमीले खानै नहुने चीजहरू खाएको छौ, त्यसको चाँडो क्षतिपूर्ति तिर। यदि तिमी मानव नै हौ र तिमीमा केही लाज छ भने, यो काम तुरुन्त गर। यसबाहेक, तिमीले निगाह प्राप्त गर्न जसलाई यी भेटीहरू पठाएको भए नि, वा जसलाई ती कब्जा गर्न र उपभोग गर्न दिएको भए नि, ती चीजहरू तुरुन्तै फिर्ता ल्याऊ। यदि त्यसो गरेनौ भने, हामी सारा दाजुभाइ-दिदीबहिनीहरूलाई सूचना दिनेछौँ र तिमीलाई यहूदाको रूपमा तह लगाउनेछौँ!” के तिमीहरूलाई यसो गर्ने आँट छ? (छ।) भेटीहरू सम्बन्धमा सबैसँग यस्तो जिम्मेवारी हुन्छ, र तीप्रति सबैले यस्तो विवेक र यस्तो मनोवृत्तिसाथ व्यवहार गर्नुपर्छ। अनि अवश्य नै, तिनीहरूसँग अरूले भेटीहरूप्रति कस्तो व्यवहार गर्छन्, भेटीहरू राम्रोसँग सुरक्षा गरिरहेका छन् कि छैनन्, र भेटीहरू सिद्धान्तहरूअनुसार व्यवस्थापन गरिरहेका छन् कि छैनन् भनी सुपरिवेक्षण गर्ने दायित्व पनि हुन्छ। त्यसैले आफूसित यसको कुनै सम्बन्ध छैन भन्ठान्ने, अनि यसो भन्दै जिम्मेवार नहुने नगर्: “जे भए नि म कुनै अगुवा वा कामदार होइन, यो मेरो जिम्मेवारी होइन। मैले त्यो कुरा पत्ता लगाए नि त्यसबारे मैले चिन्ता लिनु वा केही भन्नु जरुरी छैन—त्यो त अगुवा र कामदारहरूको मामला हो। जसले स्वेच्छाचारी रूपमा पैसा खर्च गर्छ र भेटीहरू हिनामिना गर्छ, ऊ यहूदा हो, र समय आएपछि परमेश्‍वरले उसलाई दण्डित गर्नुहुनेछ। जसले कुनै दुष्परिणाम निम्त्याउँछ, त्यसको लागि ऊ नै जिम्मेवार हुन्छ। मैले त्यसमा चिन्ता लिनु आवश्यक छैन। मैले त्यसबारे अनावश्यक कुरा गरेर के नै फाइदा हुन्छ र?” तँलाई यस्तो व्यक्तिबारे के लाग्छ? (तिनीहरूसँग कुनै विवेक हुँदैन।) यदि तैँले अगुवा र कामदारहरूले छानबिन नगर्ने कत्ति क्षेत्रहरूमा मानिसहरूले भेटीहरू फजुलमा उडाइरहेका र कब्जा गरिरहेका छन् भनेर पत्ता लगाइस् भने, तैँले त्यसमा संलग्न मानिसहरूलाई व्यक्तिगत रूपमै चेतावनी दिनुपर्छ, र त्यो कुरा तुरुन्तै अगुवा र कामदारहरूलाई रिपोर्ट गर्नुपर्छ। तैँले यसो भन्नुपर्छ, “हाम्रो टोली प्रमुख र हाम्रो अगुवाले भेटीहरू प्राय आफै राख्छन्। तिनीहरूले भेटीहरू पनि स्वेच्छाचारी रूपमा खर्च गर्छन्, र तिनीहरू अरूसँग छलफल गर्दैनन् र आफैले अनेक कुराहरू किन्ने निर्णय गर्छन्। तिनीहरूका धेरैजसो खर्चहरू सिद्धान्तहरूसँग मिल्दो हुँदैनन्। के परमेश्‍वरको घरले यसलाई सम्हाल्न सक्छ?” आफूले पत्ता लगाएका समस्याहरूबारे रिपोर्ट र जानकारी गराउनु परमेश्‍वरका चुनिएका मानिसहरूको जिम्मेवारी हो। हाम्रो यो सङ्गति एकप्रकारको झूटो अगुवाको प्रकटीकरणबारे थियो—त्यो प्रकटीकरण भेटीहरूप्रति साझा सम्पत्तिको रूपमा व्यवहार गर्ने तिनीहरूको मनोवृत्ति हो।

आ. भेटीहरूका खर्चहरूबारे वास्ता नगर्नु वा नसोध्नु

भेटीहरू सुरक्षित गर्ने सम्बन्धमा झूटा अगुवाहरूको अर्को प्रकटीकरण के हो भने, तिनीहरूले भेटीहरू कसरी व्यवस्थापन गर्ने भनेर जानेकै हुँदैनन्। तिनीहरूलाई भेटीहरू छुनु हुँदैन, तिनलाई स्वेच्छाचारी रूपमा अपचलन गर्नु वा हिनामिना गर्नु हुँदैन, ती पवित्र हुन् र तिनलाई पवित्र भनेर अलग्गै राखिन्छ, र तीबारे अनुचित सोचहरू राख्नु हुँदैन भन्ने मात्र थाहा हुन्छ। तर ठ्याक्कै कसरी भेटीहरू राम्रोसँग व्यवस्थापन गर्ने, तिनको सुरक्षार्थ कसरी असल परिचारक बन्ने भन्ने सम्बन्धमा, तिनीहरूसँग यो कामको लागि कुनै पनि मार्ग, कुनै पनि सिद्धान्तहरू, कुनै पनि खास योजना वा कदमहरू हुँदैनन्। त्यसैले, भेटीहरू दर्ता, मिलान, र सुरक्षित गर्ने, अनि आय र व्यय खाताहरू जाँच्ने र साथमा खर्चहरू पनि जाँच्नेजस्ता मामलाहरूमा, यी झूटा अगुवाहरू निकै निष्क्रिय हुन्छन्। जब कसैले अनुमोदनको लागि केही कुरा पेश गर्छ, तब तिनीहरूले त्यसमा हस्ताक्षर गरिदिन्छन्। जब कसैले सोधभर्नाको लागि आवेदन दिन्छ, तब तिनीहरूले उसलाई सोधभर्ना गरिदिन्छन्। जब कसैले कुनै उद्देश्यको लागि पैसाको लागि आवेदन दिन्छन्, तब तिनीहरूले उसलाई उक्त पैसा दिइदिन्छन्। तिनीहरूलाई विभिन्न मेसिन र उपकरणहरू कहाँ सुरक्षित राख्‍ने गरिएको छ भन्ने थाहै हुँदैन। तिनीहरूलाई तिनको संरक्षक उपयुक्त छ कि छैन भन्ने पनि थाहै हुँदैन, न त त्यो व्यक्ति उपयुक्त छ कि छैन भनेर कसरी बताउने भनेर नै थाहा हुन्छ; तिनीहरूले मानिसहरूको हृदय छर्लङ्गै देख्न सक्दैनन्, र मानिसहरूको सार पनि छर्लङ्गै देख्न सक्दैनन्। त्यसैले, यी मानिसहरूको व्यवस्थापनको दायराअन्तर्गत खर्च हुने सबै भेटीहरूका अभिलेखहरू त हुन्छन्, तर ती खाताहरूमा भएका खर्चका विवरणहरू हेर्दा, धेरैजसो खर्चहरू अनुचित र अनावश्यक हुन्छन्—तीमध्ये धेरैजसो खर्चहरू अत्यधिक र फजुल हुन्छन्। यी अगुवा र कामदारहरूको हस्ताक्षरमा भेटीहरू हराउँछन्। देख्दाखेरि, तिनीहरू कुनै खास काम गरिरहेका देखिन्छन्, तर वास्तवमा तिनीहरू गरिरहेका कामकुराहरूमा बिलकुलै कुनै सिद्धान्तहरू हुँदैनन्। तिनीहरूले सम्परीक्षण प्रक्रिया अघि बढाइरहेका हुँदैनन्—तिनीहरूले झारा मात्र टारिरहेका हुन्छन्, नियम र प्रावधानहरू पालना गर्नेबाहेक केही पनि गरिरहेका हुँदैनन्। यसले भेटीहरू व्यवस्थित गर्ने मानकहरू बिलकुलै पूरा गर्दैन, त्यसका सिद्धान्तहरू पूरा गर्ने त झन् कुरै नगरौँ। त्यसैले, झूटा अगुवाहरू काममा हुँदाको अवधिमा, अत्यन्तै धेरै अनुचित खर्चहरू हुन्छन्। त्यहाँ कामकुराहरू सुपरिवेक्षण र व्यवस्थापन गर्ने कोही हुँदा नि कसरी यी अनुचित खर्चहरू उत्पन्न हुन्छन्? यस्तो किन हुन्छ भने, यी अगुवा र कामदारहरूले आफ्नो काममा जिम्मेवारी लिने गर्दैनन्। तिनीहरूले औपचारिकता मात्र पूरा गर्छन् र कामकुराहरू झाराटारुवा तरिकाले सम्हाल्छन्, साथै तिनीहरूले सिद्धान्तहरूअनुसार व्यवहार पनि गर्दैनन्। तिनीहरूले अरू कसैलाई चिढ्याउँदैनन्, तिनीहरू मान्छे खुसी पारिहिँड्नेहरूझैँ व्यवहार गर्छन्, साथै सही तरिकाले सम्परीक्षण प्रक्रिया लागू गर्ने पनि गर्दैनन्। ती भेटीहरू व्यवस्थापन गर्नेहरूमाझ साँच्चिकै जिम्मेवार व्यक्ति एकजना पनि नहुन सक्छ, साँच्चिकै सम्परीक्षण प्रक्रिया अपनाउन सक्ने एकजना पनि नहुन सक्छ। झूटा अगुवाहरूले भेटीहरू सुरक्षित गर्ने मानिसहरू उपयुक्त छन् कि छैनन्, वा ती मानिसहरूका मण्डलीहरूमा कुनै खतरनाक परिस्थितिहरू छन् कि छैनन् भन्नेप्रति कुनै चासो दिँदैनन्। तिनीहरूको लागि त तिनीहरू आफै सुरक्षित हुन्जेल सबथोक ठिकै हुन्छ। जब खतरा उत्पन्न हुन्छ, तिनीहरूले सोच्ने पहिलो कुरा भनेको आफू कहाँ भाग्न सकिन्छ र आफ्नो पैसा लुटिने त होइन भन्ने मात्र हो, तर तिनीहरूले भेटीहरू कस्तो अवस्थामा छन् वा ती खतरामा छन् कि छैनन् भनेर न त छानबिन गर्छन् न त सोधखोज नै गर्छन्। घटना घटेको केही महिना वा आधा वर्षपछि मात्र, तिनीहरूले विवेकद्वारा सोधखोज गर्न सक्छन्, र जब तिनीहरूले केही भेटीहरू ठूलो रातो अजिङ्गरको स्वामित्वमा गइसकेको, केही भेटीहरू दुष्ट मानिसहरूले फजुलमा उडाइसकेको, र केही भेटीहरूको कुनै अत्तोपत्तो नभएको थाहा पाउँछन्, तब तिनीहरूलाई केही समयको लागि नराम्रो लाग्छ—तिनीहरूले थोरै प्रार्थना गर्छन्, आफ्नो गल्ती स्विकार्छन्, र त्यो कुरा त्यहीँ सक्‍किन्छ। यी मानिसहरू कस्ता प्राणीहरू हुन्? के यस्तो कामगराइमा समस्या हुँदैन र? भेटीहरूप्रति यस्तो मनोवृत्ति राख्ने व्यक्तिलाई परमेश्‍वरले कस्तो व्यवहार गर्नुहुनेछ? के उहाँले तिनीहरूलाई साँचो विश्‍वासीको रूपमा लिनुहुनेछ? (लिनुहुनेछैन।) त्यसोभए, उहाँले तिनीहरूलाई केको रूपमा लिनुहुनेछ? (गैरविश्‍वासीको रूपमा।) जब परमेश्‍वरले कसैलाई गैरविश्‍वासीको रूपमा लिनुहुन्छ, के त्यो व्यक्तिलाई कुनै अनुभूति हुन्छ? तिनीहरू आत्मामा संवेदनहीन र मूर्ख बन्छन्, र जब तिनीहरूले कार्य गर्छन्, तिनीहरूसँग परमेश्‍वरको अन्तर्दृष्टि वा मार्गदर्शन, वा कुनै ज्योति हुँदैन। तिनीहरूलाई केही आइपर्दा परमेश्‍वरले तिनीहरूको संरक्षण गर्नुहुन्न, साथै तिनीहरू अक्सर नकारात्मक र कमजोर बनेर अन्धकारमा जिइरन्छन्। तिनीहरूले अक्सर प्रवचनहरू सुन्ने, र आफ्नो काममा कष्ट सहन र मूल्य तिर्न सक्ने भए नि, तिनीहरूको बिलकुलै प्रगति हुँदैन र तिनीहरू दयनीय देखिन्छन्। तिनीहरूका “नतिजाहरू” तिनै हुन्। के यो दण्ड सहनुभन्दा पनि गाह्रो होइन र? ल भन् त, यदि परमेश्‍वरमा विश्‍वास गर्नुको नतिजा यस्तै हुन्छ भने, के त्यो खुसी र उत्सव मनाउने कारण हो कि दुःख र बिलौना गर्ने? मेरो विचारमा त यो राम्रो सङ्केत होइन।

झूटा अगुवाहरूले भेटीहरू व्यवस्थापन गर्ने कामलाई कहिल्यै गम्भीर रूपमा लिँदैनन्। तिनीहरूले “मानिसहरूले परमेश्‍वरका भेटीहरू छुनु हुँदैन; परमेश्‍वरका भेटीहरू कसैले हिनामिना गर्नु हुँदैन, र ती खराब मानिसहरूको हातमा पर्नु हुँदैन” भन्दै यी नाराहरू अत्यन्तै राम्रोसँग फलाक्ने गर्छन्, र तिनीहरूका शब्दहरू पनि निकै नैतिक र शिष्ट नै सुनिन्छ, तैपनि तिनीहरूले मानवजस्तो व्यवहार गर्दैनन्। अनि तिनीहरूले भेटीहरू हिनामिना नगर्ने गरे नि, र तिनीहरूले तीबारे अनुचित सोचहरू वा तिनलाई कब्जा गर्ने कुनै आशय नराख्ने गरे नि, र तिनीहरूमध्ये केहीले आफ्नो कुनै पनि खर्चको लागि कहिल्यै परमेश्‍वरको घरको पैसा प्रयोग नगर्ने वा परमेश्‍वरका भेटीहरू नछुने, बरु आफ्नै पैसा खर्च गर्ने गरे नि, भेटीहरूको व्यवस्थापन सम्बन्धमा अगुवा र कामदारहरूको रूपमा तिनीहरूले वास्तविक काम बिलकुलै गर्दैनन्। तिनीहरूले भेटीहरूको खर्च स्थितिबारे सोधखोज गर्ने वा भेटीहरूको खर्चको सम्परीक्षण गर्नेजस्ता यति सरल कामहरूसमेत गर्दैनन्। तिनीहरू प्रस्ट रूपमै झूटा अगुवाहरू हुन्। भेटीहरूप्रति तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ: “म भेटीहरू खर्च गर्दिनँ र हिनामिना गर्दिनँ, साथै म अरूले तिनलाई कसरी खर्च गर्छन् वा तिनको हिनामिना गर्छन् कि गर्दैनन् भन्नेबारे पनि चिन्ता लिँदिनँ।” म ती झूटा अगुवाहरूलाई भन्छु, तेरो यो उदासीन मनोवृत्ति निकै समस्याजनक छ। मानिसहरूले गर्नुपर्ने भनेको तिनलाई खर्च र हिनामिना नगर्नु हो, तर अगुवा वा कामदारको नाताले, तैँले अझ बढी रूपमा गर्नुपर्ने भनेको भेटीहरू राम्ररी व्यवस्थापन गर्नु हो, तैपनि तँ यो काम गर्न असफल भएको छस्। यो कर्तव्यविमुखता हो। यो एउटा झूटो अगुवाको प्रकटीकरण हो। हुन सक्छ तैँले एक पैसा पनि खर्च गरेको वा एउटा पनि भेटी हिनामिना गरेको छैनस् होला, तर तैँले वास्तविक काम नगर्ने हुनाले, अनि भेटीहरू सम्बन्धमा पनि कुनै खास व्यवस्थापन कार्य नगर्ने हुनाले, तँलाई झूटो अगुवाको रूपमा चित्रण गरिन्छ, र त्यसो गर्नु न्यायसङ्गत र मनासिब हुन्छ। कति अगुवाहरूले कहिल्यै कुनै भेटीहरू लिने वा प्रयोग गर्ने बिलकुलै गर्दैनन्—अरू सबै अगुवा र कामदारहरूले तिनलाई प्रयोग गरे नि तिनीहरूले प्रयोग गर्दैनन्, अनि परमेश्‍वरको घरले तिनीहरूलाई केही कुरा दिने बन्दोबस्त गर्दा नि तिनीहरूले त्यसलाई अस्वीकार गर्छन्। तिनीहरू अत्यन्तै सफा र लालचरहित देखिन्छन्, तर जब तिनीहरूलाई भेटीहरू व्यवस्थापन गर्ने बन्दोबस्त गरिन्छ, तिनीहरूले कुनै पनि खास काम कत्ति पनि गर्दैनन्। भेटीहरू जोसुकैले खर्च गरिरहेको भए नि तिनीहरूले त्यसमा हस्ताक्षर गरिदिन्छन्—तिनीहरूले कुनै जानकारीसमेत लिँदैनन्, र त्यसबारे थप एक शब्द पनि बोल्दैनन्। ती मानिसहरूले एक पैसा भेटी हिनामिना नगरे नि तिनीहरूको व्यवस्थापन दायराअन्तर्गत भेटीहरू दुष्ट मानिसहरूको कब्जामा पर्छन्, साथै तिनीहरूको गैरजिम्मेदारी र कर्तव्यविमुखताको कारण भेटीहरू जोसुकैले फजुलमा उडाउन वा खेर फाल्न सक्छ। के यो फजुल खर्च र खेरफालाइ तिनीहरूको गलत व्यवस्थापनसँग सम्बन्धित छैन र? के यो तिनीहरूको कर्तव्यविमुखताले निम्त्याएको होइन र? (हो।) के यी मानिसहरूका दुष्कर्महरूमा तिनीहरूको पनि भागीदारी छैन र? के तिनीहरू तिनको लागि जिम्मेवार छैनन् र? यो एउटा ठूलो जिम्मेवारी हो, र तिनीहरूले यसलाई पन्छाउन मिल्दैन! तिनीहरू आफ्नो यो हरफमा अडिग रहन्छन्: “जे भए नि, मैले परमेश्‍वरका भेटीहरू हिनामिना गरिरहेको छैन, र हिनामिना गर्ने मेरो इच्छा वा योजना पनि छैन। परमेश्‍वरका भेटीहरू जसले खर्च गरे नि म खर्च गर्दिनँ; जसले तिनलाई लगेर प्रयोग गरे नि म गर्दिनँ; जसले तिनको उपभोग गरे नि म गर्दिनँ। भेटीहरूप्रति मेरो मनोवृत्ति यही हो—तिमी जे चाहन्छौ त्यो गर्न सक्छौ!” के त्यस्ता मानिसहरू हुन्छन्? (हुन्छन्।) ख्रीष्टविरोधीहरूले त भेटीहरू उच्चस्तरीय कपडा, विलासी सामान, र गाडीहरूमा समेत खर्च गर्छन्। ल भन् त, के यसकिसिमको झूटो अगुवाले यो समस्या बुझ्न सक्छ? तिनीहरू आफैले भेटीहरू हिनामिना गर्दैनन्, तिनीहरूसँग यस्तो मनोवृत्ति हुन्छ, त्यसोभए के तिनीहरूले भेटीहरू हिनामिना गर्नु नराम्रो हो भन्ने विश्‍वास गर्दैनन् र? (गर्छन्।) त्यसोभए, ख्रीष्टविरोधीहरूले यस्तो ठूलो दुष्टता गर्दा, तिनीहरूले किन त्यसलाई बेवास्ता गर्छन्, किन त्यसमा रोक लगाउँदैनन्? तिनीहरूले त्यसलाई किन गम्भीर रूपमा लिँदैनन्? (तिनीहरू कसैलाई चिढ्याउन चाहँदैनन्।) के त्यो दुष्कर्म होइन र? (हो।) यो एक परिचारकले पूरा गर्नुपर्ने जिम्मेवारी पूरा नगर्नु हो। यदि तेरो व्यवस्थापन दौरान भेटीहरू दुष्ट मानिसहरूको स्वामित्वमा पुग्छन् भने, यदि तिनलाई फजुलमा उडाइन्छ, खेर फालिन्छ, र अनुचित तरिकाले खर्च गरिन्छ भने, यदि ती यसरी नै हराउँदै जान्छन्, तैपनि तैँले कुनै काम गर्दैनस् वा एक शब्दसमेत बोल्दैनस् भने, के त्यो कर्तव्यविमुखता होइन र? के त्यो झूटो अगुवाको प्रकटीकरण होइन र? यदि तैँले भन्नुपर्ने कुरा भन्दैनस्, गर्नुपर्ने काम गर्दैनस्, पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्दैनस्, र हरेक धर्मसिद्धान्त बुझे नि वास्तविक काम गर्दैनस् भने, तँ पक्कै पनि झूटो अगुवा होस्। तँ यस्तो विश्‍वास गर्छस्, “जे भए नि, मैले भेटीहरू हिनामिना गरिरहेको छैन; यदि अरूले गर्छन् भने, त्यो तिनीहरूको कुरा हो।” त्यसोभए, के तँ झूटो अगुवा होइनस् र? भेटीहरू हिनामिना नगर्नु तेरो व्यक्तिगत कुरा हो, तर के तैँले भेटीहरू राम्रोसँग सुरक्षित गरेको छस्? के तैँले भेटीहरूसम्बन्धी आफ्नो जिम्मेवारी पूरा गरेको छस्? यदि गरेको छैनस् भने, तँ झूटो अगुवा होस्। बहाना बनाउन खोज्दै, यसो नभन्: “जे भए नि, म भेटीहरू हिनामिना गर्दिनँ, त्यसैले म झूटो अगुवा होइन!” भेटीहरू हिनामिना नगर्नु मात्रै कुनै अगुवा वा कामदार मानकअनुरूप छ कि छैन भनी मापन गर्ने मापदण्ड हुन सक्दैन; तिनीहरू मानकअनुरूप छन् कि छैनन् भनी मापन गर्ने साँचो मापदण्ड भनेको तिनीहरूले परमेश्‍वरद्वारा सुम्पिइएका कुराहरूमा आफ्नो जिम्मेवारी पूरा गर्छन् कि गर्दैनन्, व्यक्तिको रूपमा गर्नुपर्ने काम गर्छन् कि गर्दैनन्, र व्यक्तिको रूपमा पूरा गर्नुपर्ने दायित्व पूरा गर्छन् कि गर्दैनन् भन्ने हो—त्यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले, भेटीहरूको व्यवस्थापनमा, तेरो दायित्व र जिम्मेवारी के हो? के तैँले ती सबै पूरा गरेको छस्? यो प्रस्टै छ, तैँले पूरा गरेको छैनस्। तैँले झारा मात्र टारिरहेको छस्; तँ मानिसहरूलाई चिढ्याउन डराउँछस्, तर परमेश्‍वरलाई चिढ्याउन डराउँदैनस्। तैँले भेटीहरूलाई बेवास्ता गर्छस् किनभने तँ मानिसहरूलाई चिढ्याउँछु कि, तिनीहरूको नजरमा आफ्नो राम्रो छवि बिग्रिन्छ कि भनेर डराउँछस्—यदि तँमा यस्तो प्रकटीकरण छ भने, तँ पक्कै पनि झूटो अगुवा होस्। यो तँलाई आधारहीन आरोप लगाइएको होइन। तथ्यहरू सबैले देख्ने गरी प्रस्ट छन्: तैँले आफ्नो दायित्व र जिम्मेवारीसमेत पूरा गर्न सक्दैनस्—तँ अत्यन्तै स्वार्थी छस्! तैँले आफ्नो सरसामान, आफ्नो व्यक्तिगत सम्पत्तिलाई अत्यन्तै राम्रोसँग, विवेकसाथ, र होसियारीपूर्वक व्यवस्थापन गर्छस्। तैँले ती चीजहरूलाई प्रतिकूल मौसममा पर्न दिँदैनस्; तैँले कसैलाई ती चीजहरू लान दिँदैनस्, र कसैलाई आफ्नो फाइदा उठाउन दिँदैनस्। तर भेटीहरूको हकमा, तँसित जिम्मेवारीबोध बिलकुलै छैन—तैँले आफ्ना सामानहरू व्यवस्थापन गर्दा जति जिम्मेवारी पूरा गर्छस्, भेटीहरूको हकमा त्यसको दश भागको एक भागसमेत पूरा गर्दैनस्। तँलाई कसरी असल परिचारक मान्न सकिन्छ? तँलाई कसरी असल अगुवा वा कामदार मान्न सकिन्छ? तँ प्रस्ट रूपमै झूटो अगुवा होस्। यो एकप्रकारको झूटो अगुवाको प्रकटीकरण हो।

इ. मनासिब खर्चहरूलाई सीमित गर्नु

अर्को किसिमको झूटो अगुवा हुन्छ, र ऊ पनि निकै घृणित हुन्छ। यस्ता मानिसहरू अगुवा बनेपछि, तिनीहरूले देख्छन् कि भेटीहरूको संरक्षण गर्दै आइरहेको व्यक्तिले अनर्गल र अत्यन्तै फजुल तरिकाले पैसा खर्च गर्ने गरेको छ, त्यसैले तिनीहरूले उसलाई बर्खास्त गर्छन्। त्यसपछि तिनीहरू यस्तो व्यक्ति खोज्ने चाहना गर्छन् जो सावधानीपूर्वक योजना बनाउन र ध्यानपूर्वक बजेट तयार पार्न सक्षम होस्, जसले साँच्चै नै सकेसम्म कम पैसा खर्च गरोस्, र जसले मितव्ययी रूपमा घर चलाउन जानेको होस्। तिनीहरू त्यस किसिमको व्यक्ति नै असल संरक्षक हुन्छन् भन्ठान्छन्, र तिनीहरूलाई कोही पनि उपयुक्त छ भन्ने लाग्दैन, र अन्त्यमा तिनीहरू आफै भेटीहरूको संरक्षण गर्न पुग्छन्। जब दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरका वचनका केही पुस्तकका प्रतिहरू सुसमाचार प्रचार गर्नका लागि छाप्नुपर्ने भन्छन्, तब यी अगुवाहरूले पुस्तकहरू छपाउनका लागि अत्यन्तै धेरै पैसा लाग्छ भन्ठानेर यो कार्य पूरा हुन दिँदैनन्; तिनीहरूले कामका लागि त्यो तुरुन्तै चाहिएको हो कि होइन भनी वास्ता गर्दैनन्—तिनीहरूका लागि, पैसा बचत गरे पुग्छ। तिनीहरूलाई परमेश्‍वरका भेटीहरू कहाँ प्रयोग गर्दा उहाँका अभिप्रायहरूसँग सबैभन्दा मिल्ने हुन्छ भन्ने नै थाहा हुँदैन; तिनीहरूलाई परमेश्‍वरका भेटीहरूको सुरक्षा गर्न र ती कसैलाई पनि बिलकुलै छुन नदिन मात्र आउँछ। तिनीहरूले खर्च गर्नुपर्ने ठाउँमा खर्च गर्दैनन्—तिनीहरू साँच्चिकै “राम्रोसँग” परिक्षण गरिरहेका हुन्छन्! यो तरिकाले काम कसरी अगाडि बढ्न सक्छ? के यी अगुवाहरूका कार्यहरूमा सिद्धान्तहरू हुन्छन्? (हुँदैनन्।) तिनीहरू गरिनुपर्ने काम गरिन, वा छपाइनुपर्ने पुस्तकहरू छपाइन, वा खर्च गर्नुपर्ने पैसा खर्च गर्न दिँदैनन्—तिनीहरूले कुनै पनि मनासिब खर्चहरूको अनुमति दिँदैनन्। के त्यो व्यवस्थापन हो? (होइन।) त्यो के हो त? त्यो सिद्धान्तहरूसम्बन्धी बुझाइको अभाव हो। सिद्धान्तहरूसम्बन्धी बुझाइको कमी भएका मानिसहरूले काम गर्दा भेटीहरू कसरी व्यवस्थापन गर्ने भनी जानेका हुँदैनन्। तिनीहरू आफूले पैसामाथि निगरानी गर्नैपर्ने र त्यो एक पैसा पनि घट्न दिन नहुने, अनि, जेसुकै खर्च भए पनि त्यो पैसा छुन नहुने विश्‍वास गर्छन्। के यो परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ? (अहँ, हुँदैन।) सिद्धान्तहरूबिना कामकुरालाई नियमन गर्नु र परिक्षण गर्नु व्यवस्थापन होइन। मनपरी खर्च, बरबादी, र फजुलमा उडाउने काम व्यवस्थापन होइन, तर एक पैसा पनि खर्च हुन नदिनु र परिक्षणका कारण मनासिब खर्चहरूलाई सीमित गर्नु पनि व्यवस्थापन होइन। न त त्यो सिद्धान्तहरूअनुरूप नै हुन्छ। कतिपय मानिसहरूले भेटीहरू प्रयोग, खटनपटन, र व्यवस्थापन गर्ने सिद्धान्तहरू नबुझेका हुने हुनाले, यावत् किसिमका तमासा र यावत् किसिमका अस्तव्यस्तता आइपर्छन्। यी अगुवाहरू बाहिरी रूपमा निकै जिम्मेवार र अर्पित देखिन्छन्, तर तिनीहरूले गर्ने काम चाहिँ कस्तो हुन्छ? (त्यो सिद्धान्तहीन हुन्छ।) अनि त्यो सिद्धान्तहीन हुने भएकाले, तिनीहरूको क्षेत्रको सुसमाचारको काममा अवरोध र रोकावट सामना गर्छ, र भेटीहरूको प्रयोग सम्बन्धी तिनीहरूको अत्यन्तै कडा परिक्षणका कारण केही पेसागत काम पनि रोकिन्छ। बाहिरी रूपमा, तिनीहरू भेटीहरूको संरक्षणमा निकै विवेकशील र जिम्मेवार देखिन्छन्। तर वास्तवमा, तिनीहरूमा आत्मिक बुझाइ नभएका हुनाले, र तिनीहरूले आफ्ना धारणा र कल्पनाहरूका आधारमा मात्र कार्य गर्ने, र मण्डलीका निम्ति मितव्ययी हुने ढोँगमा परमेश्‍वरको घरका लागि परिक्षण समेत गर्ने हुनाले, तिनीहरूले थाहै नपाइ मण्डलीका कामका विभिन्न विषयवस्तुहरूको प्रगतिमा गम्भीर असर पार्छन्। के त्यस्ता मानिसहरूलाई झूटा अगुवाका रूपमा चित्रण गर्न सकिन्छ? (सकिन्छ।) यसले तिनीहरूलाई झूटा अगुवाका रूपमा ठहर गर्छ। केही हदसम्म, तिनीहरूले सुसमाचारको काम र मण्डलीको काममा बाधा र अवरोधहरू सृजना गरिसकेका हुन्छन्। यी बाधा र अवरोधहरू तिनीहरूको सिद्धान्तहरू सम्बन्धी बुझाइको अभाव, साथै तिनीहरूले आफ्नै प्राथमिकता र धारणाहरूका आधारमा जथाभाबी काम गर्नु, र सत्यता सिद्धान्तहरू नखोज्नु, वा अरूसँग कामकुराबारे छलफल वा सहकार्य नगर्नुले निम्तिन्छन्। भेटीहरू तिनीहरूसँग हुँदा खेर जाने वा फजुलमा उडाइने छैनन्, तर तिनीहरूले भेटीहरूलाई सिद्धान्तहरूअनुसार मनासिब रूपमा प्रयोग गर्न सक्दैनन्, र तिनको सुरक्षा गर्नका लागि मात्रै प्रयोग गरिन दिँदैनन्, र परिणामस्वरूप सुसमाचार फैलाउने काममा ढिलाइ हुन्छ, र परमेश्‍वरको घरको सामान्य सञ्चालनमा असर पर्छ। त्यसैले, यही प्रकटीकरणका आधारमा, तिनीहरूलाई झूटा अगुवाका रूपमा चित्रण गर्नु बिलकुलै अत्युक्ति हुँदैन। त्यस्ता मानिसहरूलाई झूटा अगुवाका रूपमा पनि किन चित्रण गरिन्छन्? तिनीहरूले काम कसरी गर्ने भनेर जानेका हुँदैनन्, साथै तिनीहरूको भेटीहरूलाई कस्तो व्यवहार गर्ने भन्ने सम्बन्धी बुझाइ र तिनलाई व्यवहार गर्ने तरिकाहरू अति विकृत हुन्छन्, त्यसोभए के तिनीहरूले अन्य काम राम्ररी गर्न सक्छन् त? निश्चय नै सक्दैनन्। के यी मानिसहरूको बुझाइमा समस्या छैन र? (छ।) तिनीहरूको बुझाइ विकृत हुन्छ, तिनीहरू आफ्ना प्रावधानहरू पालना गर्छन्, ढोँगमा संलग्न हुन्छन्, र तिनीहरू झुटो रूपमा आत्मिक हुन्छन्। तिनीहरू परमेश्‍वरको घरको कामलाई ख्याल गर्दैनन्, र तिनीहरू सिद्धान्तहरूअनुसार काम गर्दैनन्—तिनीहरूले कार्य गर्ने सिद्धान्तहरू भेट्टाउन सक्दैनन्, र तिनीहरूले आफ्नै तुच्छ चतुर्‍याइँ र इच्छाअनुसार चल्छन् र प्रावधानहरू पालना गर्छन्। त्यसकारण तिनीहरूको कामको परिणामस्वरूप बाधा र अवरोधहरू आउँछन्। तिनीहरूले काम गर्ने तरिका मूर्खतापूर्ण र बेसुरे हुन्छ—त्यो घिनलाग्दो हुन्छ। त्यस्ता मानिसहरू स्पष्ट रूपमा झूटा अगुवा हुन्। के यसो भन्ने कोही छ, “म भेटीहरूको अत्यन्तै राम्रोसँग संरक्षण गर्छु, म यो काम अत्यन्तै ध्यानपूर्वक गर्छु, र अझै पनि, मलाई झूटो अगुवाका रूपमा चित्रण गरिन्छ। त्यसोभए, म अब उप्रान्त तिनको व्यवस्थापन गर्नेछैन! जोसुकैले तिनलाई खर्च गर्न चाहन्छ, गरे हुन्छ; जोसुकैले तिनलाई प्रयोग गर्न चाहन्छ, गरे हुन्छ; जोसुकैले तिनलाई लान चाहन्छ, लगे हुन्छ!” के त्यो सोच राख्ने कोही छ? त्यसोभए, हामीले विभिन्न किसिमका झूटा अगुवाहरूका फरक-फरक स्थिति र प्रकटीकरणहरू खुलासा गर्नुको उद्देश्य के हो त? (मानिसहरूलाई सिद्धान्तहरू बोध गर्ने तुल्याउनु र झूटा अगुवाहरूको मार्गमा हिँड्नबाट जोगाउनु।) ठीक भनिस्। यसको उद्देश्य मानिसहरूलाई सिद्धान्तहरू बोध गर्ने तुल्याउनु हो, ताकि तिनीहरू सिद्धान्तहरूअनुरूप आफ्नो काम राम्ररी गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम होऊन्, धारणा र कल्पनाहरूमा भर नपरून्, तिनीहरूले मानवीय इच्छा वा आवेश नराखून्, आफूले कल्पना गरेको कुनै सिद्धान्तलाई सत्यता सिद्धान्तका रूपमा नलिऊन्, आत्मिक भएको ढोँग नगरून्, र आफूलाई आत्मिकता ठानेका कुराहरूलाई सिद्धान्तहरूको नक्कल वा प्रतिस्थापनका रूपमा प्रयोग नगरून्। अगुवा र सेवकहरूमध्ये यस्ता मानिसहरू हुन्छन्, र तिनीहरूलाई चेतावनीका रूपमा लिनु सार्थक हुन्छ।

ई. भेटीहरू कब्जा र उपभोग गर्नु

अर्को प्रकारको झूटो अगुवा पनि हुन्छ, र भेटीहरू व्यवस्थापन गर्ने कुरा आउँदा तिनीहरूले गर्ने काम झनै अव्यवस्थित हुन्छ। तिनीहरू विश्‍वास गर्छन् कि, एक अगुवा वा कामदारका रूपमा, तिनीहरूले सधैँ भेटीहरूमा एकटक नजर राखिरहन सक्दैनन्, वा भेटीहरूको कुरा आउँदा अत्यन्तै ध्यान दिन सक्दैनन्। तिनीहरू आफूले केवल मण्डलीको प्रशासनिक काम राम्रोसँग गर्नुपर्ने, परमेश्‍वरका चुनिएका मानिसहरूको मण्डली जीवन र जीवन प्रवेश सम्बन्धी काम राम्रोसँग गर्नुपर्ने, र त्यसका साथै, विभिन्न किसिमका पेसागत काम राम्रोसँग गरिएको सुनिश्चित गर्नुपर्ने सोच्छन्। तिनीहरू विश्‍वास गर्छन् कि भेटीहरू भनेका परमेश्‍वरले मण्डलीलाई प्रदान गर्नुहुने पैसा र वस्तुहरू हुन्, र यो पैसा र यी वस्तुहरू अगुवा र कामदारहरूका जीवन र काममा तिनीहरूका खाँचोहरू पूरा गर्नका लागि हुन्। यसको तात्पर्य यो हो कि भेटीहरू अगुवा र कामदारहरूका लागि तयार गरिएका हुन्छन्, र एकपटक कसैलाई अगुवा वा कामदारका रूपमा चुनिएपछि, परमेश्‍वरले उसलाई यी भेटीहरू उपभोग गर्ने अनुमति दिनुहुन्छ, साथै अगुवा र कामदारहरूले तिनलाई खटनपटन, उपभोग, र खर्च गर्ने प्राथमिकता पाउँछन्—र त्यसैले, जब कुनै व्यक्ति अगुवा वा कामदार बन्छ, तब ऊ भेटीहरूको मालिक, भेटीहरूको व्यवस्थापक र धनी बन्छ। यस किसिमका मानिसहरू आफ्नो काममा भेटीहरूको सम्पर्कमा आउँदा, तिनीहरूले तिनलाई दर्ता, मिलान, वा संरक्षण गर्दैनन्, न त तिनीहरूले भेटीहरूको आय र व्यय सम्बन्धी खाताहरू जाँच्ने गर्छन्, तिनीहरूले तिनको खर्च र खटनपटनको अवस्थाको निरीक्षण त झनै गर्दैनन्। यसको सट्टामा, तिनीहरूले त्यहाँ कस्ता-कस्ता भेटीहरू छन् र अगुवा र कामदारहरूले उपभोग गर्न मिल्ने कुनै छन् कि छैनन् भनी जाँचपड्ताल गरेर बोध गर्ने गर्छन्। भेटीहरूप्रति यी अगुवा र कामदारहरूले यस्तै प्रकारको मनोवृत्ति राख्छन्। तिनीहरूको विचारमा, भेटीहरूको दर्ता, मिलान, र संरक्षण गर्न, वा तिनको आय र व्यय वा तिनको खर्चको अवस्था निरीक्षण गर्न आवश्यक हुँदैन—यस्ता कुराहरूको तिनीहरूसँग कुनै सरोकार हुँदैन—तिनीहरूले केवल अगुवा र कामदारहरूलाई भेटीहरू खटनपटन गर्नुपर्छ, र भेटीहरू उपभोग गर्ने कुरा आउँदा तिनीहरूलाई प्राथमिकता दिनुपर्छ। तिनीहरूको विचारमा, अगुवा र कामदारहरूले जे भन्छन् त्यो नै सिद्धान्त हो—भेटीहरू कसरी खर्च र खटनपटन गर्ने भन्ने कुरा तिनीहरूको निर्णय हो। तिनीहरू विश्‍वास गर्छन् कि अगुवा वा कामदारका रूपमा चुनिनु भनेको कोही पहिले नै सिद्ध पारिएको छ, र कुनै धर्मगुरुझैँ, उसलाई भेटीहरू उपभोग गर्ने सुविधा, साथै अन्तिम निर्णय गर्ने अधिकार, प्रयोगको अधिकार, र भेटीहरूलाई खटनपटन गर्ने अधिकार हुन्छ। कतिपय मण्डलीहरूमा, दाजुभाइ-दिदीबहिनीहरूले चढाउने वस्तुहरूलाई उचित कर्मचारीले दर्ता, मिलान, र भण्डारण गर्नुभन्दा पहिले नै, अगुवा र कामदारहरूले तिनलाई हेरेर, छानेर, अनि फिल्टर गरेर, आफूले प्रयोग गर्न सक्ने चीज राखिसकेका, खान सक्ने चीज खाइसकेका, लगाउन सक्ने चीज लगाइसकेका, र जे चीज आफूलाई चाहिँदैन त्यो जसलाई खाँचो परेको छ उसलाई सीधै बाँडिसकेका हुन्छन्, यसरी परमेश्‍वरको साटो तिनीहरूले नै निर्णय गर्छन्। यो नै तिनीहरूको सिद्धान्त हो। यहाँ के भइरहेको छ? के तिनीहरू साँच्चिकै आफूलाई धर्मगुरु सोच्छन्? के यो समझको अत्यन्तै कमी हुनु होइन र? (हो।) अरू अगुवा र कामदारहरू हुन्छन् जसले एउटा परिवारमा दुइटा कुर्सीहरूको कमी भएको, अर्कोमा चुल्हो नभएको, र कसैको स्वास्थ्य कमजोर रहेको र उसले स्वास्थ्य परिपूरक लिनुपर्ने देख्छन्, र त्यसपछि यी सबै वस्तुहरू किन्नका लागि परमेश्‍वरको घरको पैसा प्रयोग गर्छन्। सारा भेटीहरूको खटनपटन, उपभोग, खर्च, र प्रयोगको अधिकार यी अगुवा र कामदारहरूलाई नै हुन्छ—के यो अर्थपूर्ण छ? के यो शैली तिनीहरूको बुझाइमा केही गडबडी भइरहेका कारण निम्तिएको होइन र? तिनीहरूले केका आधारमा निर्णय गरिरहेका छन्? के अगुवा र कामदारहरूसँग भेटीहरू नियन्त्रण गर्ने अधिकार हुन्छ? (हुँदैन।) भेटीहरू त तिनीहरूले व्यवस्थापन पो गर्ने हो, तिनीहरूले नियन्त्रण र प्रयोग गर्ने होइन। तिनीहरूलाई ती उपभोग गर्ने सुविधा हुँदैन। के अगुवा र कामदारहरू धर्मगुरु सरह हुन्? सिद्ध पारिएका मानिसहरू सरह हुन्? के तिनीहरू भेटीहरूका धनी हुन्? (होइनन्।) त्यसोभए तिनीहरू किन प्राधिकारबिना फलानो-ढिस्कानो परिवारका लागि वस्तुहरू किन्न भेटीहरू प्रयोग गर्ने निर्णय गर्छन् त—तिनीहरूसँग त्यो अधिकार किन हुन्छ? तिनीहरूलाई त्यो अधिकार कसले दियो? के कामका प्रबन्धहरूले “आफ्नो पद ग्रहण गरेपछि अगुवाहरू र कामदारहरूले गर्नुपर्ने पहिलो कुरा भनेको परमेश्‍वरको घरका आर्थिक पक्षहरूमाथि पूर्ण नियन्त्रण जमाउनु हो” भनेर तोकेका हुन्छन्? (हुँदैनन्।) त्यसोभए यस्तो विश्‍वास गर्ने अगुवा र कामदारहरूको जत्था किन हुन्छ त? त्यहाँ समस्या के हो? जब कुनै दाजुभाइ वा दिदीबहिनीले एउटा महँगो कपडा चढाउँछन् र भोलिपल्ट नै कुनै अगुवा वा कामदारले त्यो लगाइरहेको हुन्छ भने, त्यहाँ के भइरहेको छ? दाजुभाइ-दिदीबहिनीहरूले चढाएका भेटीहरू किन एउटा व्यक्तिका हातमा पर्छन्? यहाँ “व्यक्ति” भन्नुको अर्थ अरू कोही नभएर उही अगुवा वा कामदार नै हो। ऊ भेटीहरूलाई राम्ररी व्यवस्थापन गर्न असफल हुने मात्र होइन—त्यसको साटो, उसले तिनलाई कब्जा गर्न र व्यक्तिगत रूपमा उपभोग गर्न अगुवाइ गर्छन्। यसमा के समस्या छ? यदि हामीले यो अगुवा वा कामदारलाई भेटीहरूको व्यवस्थापनको कुरा आउँदा, उसले वास्तविक काम नगरेको प्रसङ्गमा हेर्ने हो भने, तब उसलाई झूटो अगुवाका रूपमा चित्रण गर्न सकिन्छ—तर यदि हामीले उसलाई भेटीहरू कब्जा गरेर व्यक्तिगत रूपमा उपभोग गरेको सन्दर्भमा हेर्ने हो भने, उसलाई ख्रीष्टविरोधीका रूपमा शतप्रतिशत चित्रण गर्न सकिन्छ। त्यसोभए, उक्त व्यक्तिलाई ठ्याक्कै कुन रूपमा चित्रण गर्नु समझदारीपूर्ण हुन्छ? (ख्रीष्टविरोधीका रूपमा।) ऊ झूटो अगुवा र ख्रीष्टविरोधी दुइटै हो। भेटीहरू व्यवस्थापन गर्दा, झूटा अगुवाहरूले सबै भेटीहरू जाँच्छन्, र तिनलाई व्यवस्थापन गर्न मानिसहरूलाई आज्ञा गर्छन्। तर त्यसो गर्नु अघि, तिनीहरूले एक अंश आफ्नै लागि कब्जा गर्छन् र प्राधिकारबिना अर्को अंश खटनपटन गर्ने निर्णय गर्छन्। बाँकी रहेका वस्तुहरू—जुन तिनीहरू चाहँदैनन्, वा जसलाई तिनीहरूले चिन्दैनन् तर अरूलाई दिन चाहँदैनन्—तिनीहरूले ती वस्तुहरूलाई केही समयका लागि छुट्टै राख्छन्। ती भेटीहरू कहाँ छन्, तिनलाई संरक्षण गर्ने उचित व्यक्ति छ कि छैन, तिनलाई नियमित रूपमा निरीक्षण गर्नुपर्छ कि पर्दैन, कसैले ती चोरिरहेको पो छ कि, वा कसैले ती कब्जा पो गरिरहेको छ कि भन्ने सम्बन्धमा, झूटा अगुवाहरूले एकैरूपमा चिन्ता लिँदैनन्। तिनीहरूको सिद्धान्त यो हो: “मैले उपभोग गर्नुपर्ने चीजहरू र मलाई आवश्यक पर्ने चीजहरू पहिले नै लिइसकेको छु। बाँकी रहेका र मलाई आवश्यक नपर्ने चीजहरू जसले लिन चाहन्छ उसले लिए हुन्छ; जसले तिनलाई व्यवस्थापन गर्न चाहन्छ उसले व्यवस्थापन गरे हुन्छ। जसले पहिला कब्जा गर्छ ती उसैका हुन्छन्—ती जसको हातमा पर्छन् उसैले फाइदा लिन्छ।” यो कस्तो प्रकारको सिद्धान्त र तर्क हो? त्यस्ता मानिसहरू केवल दियाबलस र पशुहरू हुन्!

एक पटक, एक जना झूटो अगुवाले गोदाममा अत्यन्तै धेरै सामान छ भनेर भन्यो, अनि मैले त्यसलाई दर्ता गरेको छस् कि छैनस् भनेर सोधेँ। उसले भन्यो, “मलाई तीमध्ये केही चीजहरू के हुन् भन्नेसमेत थाहा छैन, त्यसैले तिनलाई दर्ता गर्ने कुनै उपाय नै छैन।” मैले भनेँ, “त्यो वाहियात कुरा हो। तिनलाई दर्ता गर्न उपाय नहुन कसरी सक्छ? जब तिनलाई पहिलो पटक यहाँ ल्याइयो, त्यसबेलादेखि तिनका अभिलेखहरू राखिएको हुनुपर्छ!” “त्यो निकै लामो समयअघि थियो, त्यो थाहा पाउने कुनै उपाय नै छैन।” यो कस्तो खालको कुरा हो? के उसले जिम्मेवारी लिइरहेको छ? (छैन।) मैले भनेँ, “त्यहाँ केही कपडाहरू छन्—कुन-कुन दाजुभाइ-दिदीबहिनीहरूलाई तिनको खाँचो छ भनेर हेर्, अनि ती कपडाहरू तिनीहरूलाई वितरण गर्।” “तीमध्ये कतिपयको स्टाइल पुरानो भइसकेको छ। तिनमा कसैलाई पनि रुचि छैन।” मैले भनेँ, “दाजुभाइ-दिदीबहिनीहरूलाई जे चाहिएको छ, त्यो चाहिँ वितरण गर, अनि तिनीहरूलाई जे चाहिएको छैन, तिनलाई उचित रूपमा सम्हाल्।” तिनीहरूले यो कुरा पालन गरेनन्। के तिनीहरू विवेकशील र लगनशील भइरहेका थिए? तिनीहरूलाई एउटा काम गर्न लगाउँदा, तिनीहरू नकारात्मक कुराहरू भनेर अनि कठिनाइहरू औँल्याएर गुनासो गरिरहन्छन्। तिनीहरूले यी कुराहरू सिद्धान्तहरूअनुसार राम्रोसँग सम्हाल्नेछु चाहिँ भन्दैनन्। तिनीहरूमा समर्पित हुने आशय बिलकुलै हुँदैन। कसैले तिनीहरूबाट जे माग गरे पनि, तिनीहरू कठिनाइहरूको कुरा गरिरहन्छन्, मानौँ यदि तिनीहरूले यसरी बोलेर त्यस व्यक्तिलाई निःशब्द बनाउन सके भने, तिनीहरूले जित्नेछन् र आफ्नो पक्ष बलियो बनाउनेछन्, र त्यसपछि तिनीहरूको काम सम्पन्न हुनेछ। यो व्यक्ति कस्तो किसिमको प्राणी हो? तँलाई समस्या सिर्जना गर्न सक्, वा कठिनाइ र समस्याहरू औँल्याउन सक् भनेर अगुवा वा कामदार बनाइएको थिएन—तैँले समस्याहरूलाई समाधान गर्न र कठिनाइहरूलाई सम्हाल्न सक् भनी बनाइएको थियो। यदि तँ आफ्नो काममा साँच्चिकै सक्षम छस् भने, समस्या र कठिनाइका उठान गरेपछि, तैँले तिनलाई सिद्धान्तहरूअनुसार यसरी सम्हाल्ने र समाधान गर्ने थिएँ भनेर भन्ने थिइस्। झूटा अगुवाहरूले नाराहरू फलाक्न, धर्मसिद्धान्त प्रचार गर्न, ठूला कुरा गर्न, र वस्तुगत तर्क र बहानाहरूबारे बोल्न मात्र सक्छन्—तिनीहरूमा वास्तविक काम गर्ने सक्षमता बिलकुलै हुँदैन, अनि भेटीहरूको व्यवस्थापनमा पनि, तिनीहरू सिद्धान्तहरूअनुसार कार्य गर्न वा आफ्नो जिम्मेवारी पूरा गर्न त्यसरी नै असक्षम हुन्छन्। तिनीहरू यति कमजोर बुद्धि भएका र असक्षम छन्, तैपनि तिनीहरूलाई अझै लाग्छ कि अब तिनीहरू अगुवा वा कामदार भएकाले, तिनीहरूसँग विशेष अधिकारहरू र हैसियत छ, विशिष्ट पहिचान छ, र तिनीहरू भेटीहरूका मालिक र प्रयोगकर्ता हुन्। यस किसिमको झूटो अगुवाले भेटीहरू खर्च गर्ने विशेष अधिकार कसरी उपभोग गर्ने भन्ने मात्र जानेको हुन्छ—उसले भेटीहरूको अनुचित र जथाभाबी खर्चका कुनै पनि घटनाहरू देख्न वा पत्ता लगाउन सक्दैन, र तिनलाई देखे पनि तिनलाई सम्हाल्नका लागि केही पनि गर्दैन। उसले किन यस्तो गर्छ? किनभने उसले अगुवा वा कामदार बनेसँगै आउने श्रेष्ठताको भावनाको उपभोग गर्न मात्र जानेको हुन्छ—उसले अगुवा र कामदारहरूबाट परमेश्‍वरले गर्नुहुने मागहरू वा परमेश्‍वरको घरको काम गर्ने सिद्धान्तहरू बिलकुलै बुझेको हुँदैन। ऊ केही काम नलाग्ने हुन्छ, केवल रद्दी हुन्छ, र कमजोर बुद्धि भएको व्यक्ति हुन्छ। के त्यस्ता अन्योलमा परेका मानिसहरूले अझै पनि हैसियतका लाभहरू उपभोग गर्ने चाहना गर्नु वाक्कलाग्दो कुरा होइन र? हामीले गरेको यस किसिमको झूटो अगुवाको खुलासामार्फत तिमीहरूले के बुझेका छौ? यस किसिमको व्यक्ति अगुवा वा कामदार बन्नेबित्तिकै, उसले भेटीहरूका सम्बन्धमा षडयन्त्रहरू रच्न चाहन्छ, र उसको नजर भेटीहरूमा नै अडिएको हुन्छ। एक नजरमै भन्न सकिन्छ कि, उसले लामो समयदेखि आवश्यकताभन्दा बढी पैसा खर्च गर्ने र भेटीहरू फजुलमा उडाउने लालसा गर्दै आएको छ। अब, अन्ततः उसले त्यो मौका पाएको छ; उसले स्वेच्छाचारी रूपमा त्यस शैलीमा पैसा खर्च गर्न, र परमेश्‍वरको भेटीलाई आफ्नो चाहनाअनुसार प्रयोग गर्न, जुन चीजका लागि तिनीहरूले काम गरेका छैनन् ती उपभोग गर्न सक्छ। उसको लोभी साँचो रङ्ग यसरी पूर्ण रूपमा खुलासा हुन्छ। के तिमीहरूले विगत र वर्तमानका, अगुवा र कामदारहरूमध्ये त्यस्ता मानिसहरू देख्छौ? तिनीहरूले सधैँ अगुवा र कामदारहरूका जिम्मेवारीहरू र परिभाषालाई गलत रूपमा व्याख्या गर्छन्, अनि अगुवा वा कामदार बन्नेबित्तिकै, तिनीहरूले आफूलाई परमेश्‍वरको घरका मालिकका रूपमा लिन्छन्, तिनीहरूले आफूलाई धर्मगुरुहरूको दर्जामा सूचीकृत गर्छन्, र तिनीहरूले आफूलाई विशिष्ट व्यक्ति ठान्छन्। के यो अलि कमजोर बुद्धि होइन र? कोही अगुवा वा कामदार बन्नेबित्तिकै, ऊ उप्रान्त भ्रष्ट मानव नरहने हो र? के ऊ तुरुन्तै पवित्र व्यक्तिमा परिणत हुने हो र? तिनीहरू अगुवा बनेपछि, तिनीहरूले आफू को हुँ भनेर चिन्दैनन्, र तिनीहरू आफूले भेटीहरू उपभोग गर्नुपर्छ भन्ने सोच्छन्—के त्यस्ता मानिसहरू कमजोर बुद्धिका हुँदैनन् र? त्यस्ता मानिसहरू पक्कै पनि कमजोर बुद्धिका हुन्छन्, तिनीहरूमा सामान्य मानवताको समझ हुँदैन। हामीले यसरी सङ्गति गरिसकेपछि पनि, तिनीहरूलाई अझै अगुवा र कामदारहरूका कर्तव्य र जिम्मेवारीहरू के-के हुन् भन्ने थाहा हुँदैन। निश्चित रूपमा त्यस्ता अगुवा र कामदारहरू हुन्छन्, र त्यस्ता मानिसहरूका प्रकटीकरणहरू अत्यन्तै स्पष्ट र प्रकटित हुन्छन्।

भेटीहरू संरक्षण गर्ने सम्बन्धमा विभिन्न किसिमका झूटा अगुवाहरूका प्रकटीकरणहरू मूलतः यिनै हुन्। अझ गम्भीर समस्याहरू भएकाहरू झूटा अगुवाहरूको वर्गमा पर्दैनन्—तिनीहरू ख्रीष्टविरोधी हुन्। त्यसैले, तिमीहरूले यो दायराबारे राम्रो बोध प्राप्त गर्नुपर्छ। यदि कोही झूटो अगुवा हो भने, ऊ त्यही नै हो—उसलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न मिल्दैन। मानवता, कार्यहरू, प्रकटीकरणहरू, र सारका सन्दर्भमा ख्रीष्टविरोधीहरू झूटा अगुवाहरूभन्दा खराब हुन्छन्। अधिकांश झूटा अगुवाहरूमा कमजोर क्षमता हुन्छ, तिनीहरू कमजोर बुद्धिका हुन्छन्, तिनीहरूमा काम गर्ने सक्षमताको कमी हुन्छ, तिनीहरूको बुझाइ विकृत हुन्छ र तिनीहरूमा आत्मिक बुझाइ हुँदैन, तिनीहरूको चरित्र नीच हुन्छ, तिनीहरू स्वार्थी र दुष्ट हुन्छन्, र तिनीहरूको हृदय सही ठाउँमा हुँदैन। यसले तिनीहरूलाई भेटीहरू संरक्षण गर्ने सम्बन्धमा वास्तविक काम गर्न सक्षम नहुने र नगर्ने तुल्याउँछ, र त्यसले भेटीहरूको समझदारीपूर्ण व्यवस्थापन र उचित संरक्षणलाई असर पार्छ। झूटा अगुवाहरू कर्तव्यविमुख हुने, तिनीहरूले वास्तविक काम नगर्ने, र परमेश्‍वरको घरका सिद्धान्त र मागहरूअनुरूप काम नगर्ने हुनाले भेटीहरूको एक भाग दुष्ट मानिसहरूको हातमा समेत पर्छन्—यस किसिमको समस्या पनि धेरै नै आउँछ। भेटीहरू संरक्षण गर्ने काममा झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू मूलतः यसरी खुलासा हुन्छन्: तिनीहरूको चरित्र नीच हुन्छ, तिनीहरू स्वार्थी र दुष्ट हुन्छन्, तिनीहरूको बुझाइ विकृत हुन्छ, तिनीहरूमा काम गर्ने सक्षमताको कमी हुन्छ, तिनीहरूको क्षमता कमजोर हुन्छ, तिनीहरूले सत्यता सिद्धान्तहरूको खोजी बिलकुलै गर्दैनन्, साथै तिनीहरू लाटा र कमजोर बुद्धिका मानिसहरू जस्तै हुन्छन्। कतिपयले यसो भन्न सक्छन्, “हामी तपाईंले खुलासा गर्नुभएका अन्य सबै प्रकटीकरणहरूलाई मान्छौँ, तर यदि तिनीहरू लाटा र कमजोर बुद्धिका छन् भने, तिनीहरू कसरी अगुवा बन्न सक्थे त?” के तिमीहरू कतिपय अगुवा र कामदारहरू लाटा र कमजोर बुद्धिका छन् भन्ने कुरा मान्छौ? के त्यस्ता मानिसहरू हुन्छन्? कतिपयले यसो भन्न सक्छन्, “तपाईं हामीलाई अत्यन्तै कम सोच्नुहुन्छ। हामी सबै कलेज वा उच्च शिक्षा पार गरेका आधुनिक मानिस हौँ—यो समाज र मानवजातिका सम्बन्धमा हामीसँग खुट्ट्याउने उत्कृष्ट शक्तिहरू छन्। हामी कमजोर बुद्धि भएको व्यक्तिलाई कसरी हाम्रो अगुवा हुन छनोट गर्न सक्छौँ र? सम्भवतः त्यस्तो हुनै सक्दैन!” त्यसमा असम्भव कुरा के छ? तिमीहरूमध्ये अधिकांश कमजोर बुद्धिका छौ, र अपर्याप्त बुद्धिमत्ताका पनि छौ, त्यसैले तिमीहरूले कमजोर बुद्धि भएको व्यक्तिलाई सजिलै अगुवा हुन छनोट गर्न सक्छौ। म किन तिमीहरूमध्ये धेरैजसो कमजोर बुद्धिका छौ भन्छु? किनभने तिमीहरूले जति नै अनुभव गरेका भए पनि, तिमीहरूमध्ये धेरैजसोले कामकुराको सार छर्लङ्गै देख्न सक्दैनौ र सिद्धान्तहरू बोध गर्न सक्दैनौ। तिमीहरूले वर्षौँसम्म प्रावधानहरू मात्र पालना गरिरहन सक्छौ, कुनै फेरबदल नगरी बारम्बार उही तरिका अपनाउन सक्छौ, चाहे जसरी सत्यता सङ्गति गरे पनि तिमीहरू सत्यता सिद्धान्तहरू बोध गर्न असक्षम नै रहन्छौ। यहाँ समस्या के हो? तिमीहरूको क्षमता अत्यन्तै कमजोर छ। तिमीहरूले समस्याहरूको सार वा जडलाई छर्लङ्गै देख्न सक्दैनौ, साथै कामकुराहरूको विकासको ढाँचा पत्ता लगाउन सक्दैनौ, कामकुरा गर्दा अपनाउनुपर्ने सिद्धान्तहरू पालना गर्न त झनै सक्दैनौ—यसलाई कमजोर बुद्धिको हुनु भनिन्छ। तिमीहरू सबैलाई आफ्ना कर्तव्यहरूसँग सम्बन्धित कामकुराका सिद्धान्तहरू बोध गर्न कति समय लाग्छ? कतिपय मानिसहरूले लेखन-पठनको काम गरेको कैयौँ वर्ष भइसक्यो, तर अहिले पनि, तिनीहरूले लेख्ने सबै लेख र पटकथाहरू अझै खोक्रो शब्दहरू नै हुन्, तिनीहरूले अझै पनि सिद्धान्तहरू बोध गर्न सक्दैनन्, र वास्तविकता के हो, वा कुनै वास्तविक कुरा कसरी भन्ने भनेर जानेका हुँदैनन्। यो अत्यन्तै कमजोर क्षमता र अत्यन्तै कम बौद्धिकता हुनु हो। तिमीहरूसँग जुन बौद्धिकता छ, के तिमीहरूले त्यसद्वारा कमजोर बुद्धि भएको व्यक्तिलाई सजिलै अगुवा हुन छनौट गर्न सक्नेथिएनौ र? अनि तिमीहरूले तिनीहरूलाई छनौट गर्ने मात्र होइन, आफ्नो हृदय पनि तिनीहरूमा लगाउनेथियौ। जब तिनीहरूलाई बर्खास्त गरिनुपर्थ्यो, तैँले त्यस्तो होस् भन्ने चाहनेथिइनस्। दुई वर्षपछि, जब तैँले तिनीहरूलाई छर्लङ्गै देखेको र तिनिहरूबारे बुझाइ प्राप्त गरेको हुनेथिइस्, तब मात्र तैँले तिनीहरू झूटो अगुवा हुन् भनेर खुट्ट्याउन सक्ने थिइस्, तर त्यो बेलामा, तँलाई जे भनिए पनि, तैँले तिनीहरूलाई बर्खास्त हुन दिनेथिइनस्। के तँ तिनीहरूभन्दा पनि कमजोर बुद्धिको छैनस् र? म किन कतिपय अगुवा र कामदारहरूको बौद्धिकता अपर्याप्त हुन्छ भनेर भन्छु? किनभने तिनीहरूले सबैभन्दा सरल काम मात्र गर्न जानेका हुन्छन्। जब अलि जटिल कामको कुरा आउँछ, तिनीहरूले त्यो कसरी गर्ने भनेर जान्दैनन्, जब तिनीहरूले सानो कठिनाइ सामना गर्छन्, तिनीहरूले त्यसलाई सम्हाल्न जान्दैनन्, अनि जब तिनीहरूलाई एउटा अतिरिक्त काम दिइएको हुन्छ, तिनीहरूलाई के गर्ने भन्ने नै थाहा हुँदैन। के यो तिनीहरूको बौद्धिकताको समस्या होइन र? के यस्ता अगुवाहरू तिमीहरूद्वारा नै चुनिएका होइनन् र? अनि तिमीहरू चाहिँ तिनीहरूको प्रशंसामा लम्पसार पर्छौ: “उनीहरूले प्रेम जोडी नखोजी परमेश्‍वरमा विश्‍वास गर्छन्, र उनीहरूले परमेश्‍वरप्रति आफूलाई बीस वर्षभन्दा बढी समर्पित गरेका छन्। उनीहरूमा दुःख सहने इच्छा छ, ठीक हो, र उनीहरू आफ्नो कामबारे साँच्चिकै गम्भीर छन्।” “तर, के उनीहरूले आफ्ना काममा सिद्धान्तहरू बुझ्छन् त?” “यदि उनीहरूले नै बुझ्दैनन् भने कसले बुझ्छ?” अनि तिनीहरूको काम निरीक्षण गर्दा त्यो पूर्ण रूपमा अस्तव्यस्त भएको पाइन्छ—तिनीहरू कुनै पनि काम कार्यान्वयन गर्न सक्षम हुँदैनन्। तिनीहरूलाई तिनीहरूका कामका सिद्धान्तहरू बताइएको हुन्छ, तर तिनीहरूले त्यो कसरी गर्ने भनेर कहिल्यै जान्दैनन्। तिनीहरू प्रश्नहरू मात्र सोधिरहन्छन्, र सिधै नभनिएसम्म तिनीहरूलाई के गर्नुपर्छ भन्ने थाहा हुँदैन। तिनीहरूलाई सिद्धान्तहरू बताउनु भनेको केही पनि नभन्नु सरह हो; सिद्धान्तहरू एक-एक गरी सूचीकृत गरिएका भए पनि, तिनीहरूले काम कसरी कार्यान्वयन गर्ने भनेर अझै पनि थाहा पाउनेछैनन्। के यस्ता अगुवाहरू छन्? तिनीहरूलाई सिद्धान्तहरू चाहे जसरी बताइए पनि, तिनीहरूले ती बुझ्दैनन्, र तिनीहरू काम कार्यान्वयन गर्न सक्षम हुँदैनन्। उही वचनहरू वा कामकुराबारे कैयौँ पटक तिनीहरूसँग सङ्गति गर् वा तिनीहरूलाई निर्देश दे, र अझै पनि, तिनीहरूले बुझ्नेछैनन्, अनि पछि उक्त समस्या पूर्णतया नसुल्झिकन रहनेछ—तिनीहरूले अझै पनि के गर्ने भनेर सोध्नेछन्, र एउटा मात्र हरफ छुट्यो भने काम लाग्नेछैन। के तिनीहरू कमजोर बुद्धि भएकाहरू होइनन् र? के यी कमजोर बुद्धि भएका अगुवाहरू तिमीहरूद्वारा नै छनौट भएका होइनन् र? (हुन्।) तिमीहरूले त्यो नकार्न सक्दैनौ, सक्छौ त? त्यस्ता अगुवाहरू पक्कै पनि हुन्छन्।

आज हामीले सङ्गति गरिरहेको झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू मुख्यगरी भेटीहरूको व्यवस्थापन गर्ने कामसँग सम्बन्धित छन्। झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरूबारे हामीले गरेको खुलासामार्फत, मानिसहरूले थाहा पाउनुपर्छ कि भेटीहरूको व्यवस्थापन गर्नु अगुवा र कामदारहरूका लागि एउटा महत्त्वपूर्ण कामको विषयवस्तु हो, र तिनीहरूले यसलाई बेवास्ता गर्नु हुँदैन। यो सामान्य मामला सम्बन्धी कामको विषयवस्तु अन्य कामभन्दा फरक भए पनि, यो परमेश्‍वरको घरको अन्य कामको सामान्य सञ्चालनसँग सम्बन्धित छ। त्यसैले, भेटीहरू व्यवस्थापन गर्नु निकै महत्त्वपूर्ण, निर्णायक कामको विषयवस्तु हो। यो कसरी महत्त्वपूर्ण छ? भेटीहरूको व्यवस्थापन गर्ने काममा संरक्षण गरिएका वस्तुहरू परमेश्‍वरका हुन्—अलि अनुचित तरिकाले भन्नुपर्दा, ती वस्तुहरू परमेश्‍वरका व्यक्तिगत सम्पत्ति हुन्, त्यसैले अगुवा र कामदारहरू यो कामको सम्बन्धमा अझ बढी एकनिष्ठ, विवेकशील, र लगनशील हुनुपर्छ। यदि हामी यो कामलाई यसको प्रकृतिका आधारमा हेरिरहेका छौँ भने, मलाई लाग्दैन कि त्यसलाई प्रशासनिक कामको सूचिअन्तर्गत राख्नु अत्युक्ति हुन्छ। हामीले यसलाई प्रशासनिक कामको वर्गअन्तर्गत सूचीकृत गर्नुको कारण के हो भने यो काम गर्नु परमेश्‍वरप्रति र उहाँको सम्पत्तिप्रति मानिसहरूको मनोवृत्तिसँग सम्बन्धित हुन्छ। त्यसैले, मानिसहरूले यो काम गर्दा सही मनोवृत्ति राख्न र सही सिद्धान्तहरू बोध गर्न जरुरी छ। हामीले यसलाई प्रशासनिक कामकै वर्गमा राख्नुको कारण भनेको अगुवा र कामदारहरूलाई यो काम गर्न अत्यन्तै महत्त्वपूर्ण छ, साथै यो काम निकै वजनदार कार्य र निकै गह्रौँ बोझ हो भनी बुझाउनका लागि हो। यसको उद्देश्य भनेको तिनीहरूलाई यसलाई नियमित सामान्य मामला सम्बन्धी कामका रूपमा लिनु हुँदैन—तिनीहरूसँग यो कामको महत्त्वबारे सही, गहन ज्ञान हुनैपर्छ, र त्यसपछि त्यस सम्बन्धमा एकनिष्ठ, विवेकशील, र लगनशील हुनुपर्छ भनी बुझाउनु हो। मानिसहरूले अरू मानिसहरूप्रति ध्यान नदिन सक्छन्—गल्तीहरू भए पनि, त्यो ठूलो समस्या हुँदैन। तर म मानिसहरूलाई तिनीहरूले परमेश्‍वरसँग व्यवहार गर्दा अलमल्ल नहुन, झाराटारुवा नहुन, र मुख मात्र चलाउने काम चाहिँ नगर्ने नहुन आग्रह गर्छु। भेटीहरूलाई व्यवस्थापन गर्ने काम राम्रोसँग गर्नु परमेश्‍वरले अगुवा र कामदारहरूलाई दिनुभएको एउटा महत्त्वपूर्ण आज्ञा हो।

मे ८, २०२१

अघिल्लो:  अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (११)

अर्को:  अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१३)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger