अगुवा र कामदारहरूका जिम्मेवारीहरू (११)
यसअघिको भेलामा, हामीले अगुवा र कामदारहरूका जिम्मेवारीहरूको नवौँ विषयवस्तुमाथि सङ्गति गर्यौँ: त्यो हो, “आवश्यकताको आधारमा, कार्यान्वयनको स्थितिको मार्गनिर्देशन, सुपरिवेक्षण, निरीक्षण, आग्रह र अनुगमन प्रदान गर्दै परमेश्वरको घरका विभिन्न कामका प्रबन्धहरूलाई सही ढङ्गबाट सञ्चार, जारी र कार्यान्वयन गर्ने।” हामीले अगुवा र कामदारहरूले पूरा गर्नैपर्ने जिम्मेवारीहरू र उनीहरूले गर्नैपर्ने कामबारे सङ्गति गर्यौँ, साथै हामीले झूटा अगुवाहरूका केही व्यवहारहरूको चिरफार पनि गर्यौँ। हामीले अगुवा र कामदारहरूले हरेक कामको प्रबन्ध कसरी कार्यान्वयन गर्नुपर्छ भन्ने कुराका विशिष्ट विवरणहरूबारे सङ्गति नगरे पनि, हामीले ती प्रबन्धहरू कार्यान्वयन गर्ने सिद्धान्तहरूका विशिष्ट विवरणहरू, साथै अगुवा र कामदारहरूले के गर्नैपर्छ भन्नेबारे सङ्गति गर्यौँ। नवौँ विषयवस्तुमाथिको हाम्रो सङ्गतिमार्फत के तिमीहरूले अगुवा र कामदारहरूले के गर्नुपर्छ भन्ने कुराको अझ विशिष्ट र सही परिभाषा प्राप्त गरेका छौ? के अब तिमीहरू अगुवा र कामदारहरूले के काम गर्नैपर्छ भन्ने बारेमा प्रस्ट छौ? उनीहरूका लागि मुख्य कुरा भनेको परमेश्वरका मागहरू र उहाँको घरका प्रबन्धअनुसार काम कार्यान्वयन गर्नु हो। मूलभूत कुरा त्यही हो। अब, हामी सबै जना प्रस्ट छौँ। एक अगुवा वा कामदारले परमेश्वरको घरमा के काम गर्नैपर्छ, र उसका जिम्मेवारीहरू के-के हुन्, भन्ने कुराहरू नवौँ विषयवस्तुभित्रै अत्यन्तै विशिष्ट रूपमा सङ्गति गरिएको हुनुपर्छ। यो मूलतः वृहत् छ। उनीहरूका जिम्मेवारीहरूको दायरा सीमित छ, र उनीहरूले गर्नुपर्ने काम, साथै उनीहरूले त्यो कसरी गर्नुपर्छ, भन्ने कुरा पनि प्रस्ट रूपमा भनिएको हुन्छ। अब प्रस्ट रूपमा भनिएपछि पनि यदि कसैले ठोस काम कसरी गर्ने भनेर जान्दैन भने, त्यो उसमा कमजोर क्षमता हुनुको समस्या हो। ऊ त्यस्तो किसिमको झूटो अगुवा हो जसले काम गर्नै सक्दैन। अर्को किसिमको झूटो अगुवा हुन्छ जसले आफ्नै धारणा र कल्पनाहरूद्वारा मात्र कामको प्रबन्ध गर्छ, र मानिसहरूलाई जथाभाबी प्रयोग गर्छ, जसको परिणामस्वरूप बाठाहरू धेरै हुने अवस्था आउँछ। काम राम्रोसँग पूरा नहुने मात्र होइन—उनीहरूले त्यसलाई पूरै अस्तव्यस्त नै पार्छन्, र त्यसलाई अघि बढाउने मार्ग नै हुँदैन। झूटा अगुवाहरूले कहिल्यै कामका प्रबन्धहरू कार्यान्वयन गर्नेछैनन्, वास्तविक काम त झनै गर्नेछैनन्। तिनीहरू आफूलाई मन पर्ने काम मात्र गर्छन्, र सामान्य मामलाहरूका काममा मात्र केन्द्रित हुन्छन्; जब तिनीहरूले काम गर्छन्, तिनीहरूलाई कसरी हुकुमहरू जारी गर्ने र खोक्रो सुत्रवाक्य र धर्मसिद्धान्तहरू फलाक्ने भन्ने मात्र थाहा हुन्छ। तिनीहरूले कहिल्यै कामको अनुगमन गर्दैनन्, न त त्यो प्रभावकारी भएको छ कि छैन भन्ने वास्ता नै गर्छन्। यो एक किसिमको झूटो अगुवा हो। छोटकरीमा, चाहे कसैले अगुवाका रूपमा वास्तविक काम गर्न नसक्ने होस् वा वास्तविक काम नगर्ने होस्—परिस्थितिहरू जेसुकै भए पनि—यदि उसले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न वा परमेश्वरको आज्ञा पूरा गर्न सक्दैन, र यदि उसले परमेश्वरको घरद्वारा प्रबन्ध गरिएका विभिन्न कामहरू कार्यान्वयन गर्न सक्दैन भने, ऊ झूटो अगुवा हो।
अब, हामीले गरेको अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी नवौँ विषयवस्तुबारेको सङ्गति र झूटा अगुवाहरू प्रकट हुने विभिन्न तरिकाहरूको खुलासामार्फत, के तिमीहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरू कसरी पूरा गर्ने भनी केही आधारभूत ज्ञान र बुझाइ प्राप्त गरेका छौ? (गरेका छौँ।) त्यसोभए, के तिमीहरू परमेश्वरको घरको काम गर्न सजिलो छ भन्ने देख्छौ? के मानिसबाट गरिने मागहरू उच्च छन्? के ती अति छन्? (ती उच्च छैनन्; ती सबै हामीले पूरा गर्न सक्ने मागहरू नै हुन्।) के यसो भन्ने अगुवा र कामदारहरू छन्, “परमेश्वरको घरले हामीलाई अति धेरै विषयवस्तु र प्रकारका कामहरू गर्न माग गर्छ। कुनै अगुवा जति माथिल्लो स्तरको हुन्छ, उसको कामको दायरा त्यति नै ठुलो हुन्छ, र ऊ त्यति नै धेरै कामका विषयवस्तुको जिम्मेवार हुन्छ। त्यो काम राम्रोसँग गर्नु र त्यो माथिका मागहरूअनुसार कार्यान्वयन भएको सुनिश्चित गर्नु—हामी त थकाइले नै मर्नेथियौँ, होइन र?” के सबै ठोस काम राम्ररी गरेर, हरेक कामको विषयवस्तु जहाँ कार्यान्वयन गर्नुपर्ने हो त्यहाँ कार्यान्वयन गरेर, कोही थाकेर ढलेको छ? (छैन।) के कोही थाकेर बिरामी भएको छ? के कोही खाने वा सुत्ने समय नै नहुने गरी अत्यन्तै व्यस्त छ? (छैन।) कतिपयले यसो भन्न सक्छन्, “तपाईँले, छैन, भन्नुको मतलब के हो? कतिपय मानिसहरू मण्डलीको काम गरेर थाक्छन्, किनभने उनीहरूले लामो समयदेखि नियमित तालिकाअनुसार खान, वा नियमित तरिकाले, सन्तुलित मात्राको परिश्रम र विश्रामका साथ काम गर्न र आराम गर्न सकेका हुँदैनन्। उनीहरू अन्त्यमा थकानका कारणले बिरामी हुन पुग्छन्।” के तिमीहरूले त्यस्तो अवस्था आएको सुनेका छौ? (छैनौँ।) के कसैले नवौँ विषयवस्तु सुनेर अनि परमेश्वरको घरका विभिन्न कामहरू विषयवस्तुका विशिष्ट विषयसूचीहरूका साथै यो विशिष्ट काम गर्दा अगुवा र कामदारहरूबाट माग गरिने मानकहरू देखेर डर र भय महसुस गरेको छ? के तिनीहरूले यस्तो महसुस गर्छन्, “अगुवा वा कामदार हुन सहज छैन। सुस्वास्थ्य, असल क्षमता, खुला हृदय, र अतिमानवीय ऊर्जा र सामर्थ्यबिना यो कार्य कसले राम्रोसँग गर्न सक्नेथियो र?” कसैलाई यस्तो सोच आएको थियो? के यो जायज हो? (होइन।) के कुराले यसलाई जायज बनाउँदैन? पहिला, परमेश्वरको घरको काम गर्दा, उनीहरूको दर्जा चाहे जे भए पनि, र चाहे उनीहरूको जिम्मेवारी वृहत् होस् वा एउटै कामको विषयवस्तु होस्, अगुवा र कामदारहरूले कम्तीमा आफ्नो प्रमुख काम चाहिँ राम्ररी गर्नुपर्छ, साथै बढीमा एकदुई वटा थप कामका विषयवस्तुहरू गर्नुपर्छ। उनीहरूलाई वृहत् कार्य दिइए पनि, त्यसको अर्थ यो होइन कि उनीहरूले वृहत् अनुगमन वा मार्गनिर्देशन प्रदान गर्नुपर्छ। उनीहरूले सबैभन्दा निर्णायक कामको जिम्मा वहाँ गर्न, वा सँगसँगै केही कामहरूका कमजोर कडीहरूलाई सम्बोधन गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। कतिपय मानिसहरू ऊर्जाले भरिपूर्ण, बलियो जिम्मेवारीको बोध भएका, र असल क्षमता भएका हुन सक्छन्, र उनीहरूले धेरै किसिमका बहुआयामिक काम गर्न सक्छन्, तर उनीहरूको प्रमुख काममा मुख्यगरी एउटा वा दुइटा मात्र कामका विषयवस्तुहरू पर्छन्। अरू कामका हकमा, उनीहरूले केवल त्यसको सोधीखोजी गर्ने, त्यसका बारेमा सोधपुछ गर्ने, र त्यसलाई बुझ्न कोसिस गर्ने गर्नुपर्छ, र आफूले पत्ता लगाएका समस्याहरू मात्र समाधान गर्नुपर्छ। त्यो एउटा पाटो हो। अर्को पाटो के हो भने उनीहरूले एकै समयमा कैयौँ कामका विषयवस्तुहरू सम्हालिरहेका भए पनि, उनीहरूले ती कामका विषयवस्तुहरू गर्नका लागि केवल प्रमुख सुपरिवेक्षकहरूमा भर पर्नुपर्छ। उनीहरूले गर्ने भनेको विभिन्न कामका विषयवस्तुहरूको सुपरिवेक्षण गर्नु, तिनको जाँच गर्नु, र तिनलाई मार्गनिर्देशन गर्नु मात्र हो; उनीहरू आफैले गर्नुपर्ने मुख्य काम भनेको अझै एउटै कामको विषयवस्तु नै हो। अनि के एउटै कामको विषयवस्तु गरेर कोही थकित हुन्छ त? (हुँदैन।) यदि व्यक्तिको क्षमता पर्याप्त छ र उसको दिमाग लचिलो छ भने, उसले समय कसरी खटनपटन गर्ने र त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने हिसाबले कामलाई समझदारीपूर्वक प्रबन्ध गर्नेछ। ऊ अव्यवस्थित गन्जागोलमा पर्नेछैन, जहाँ अघि बढ्ने मार्ग नै नहोस्। ऊ अत्यन्तै व्यस्त देखिनेछैन—उसले निर्धारित समयतालिकाअनुसार काम गरिरहेको हुनेछ—तर काम अप्रभावकारी हुनेछैन, र त्यसले राम्रा नतिजाहरू निकाल्नेछ। त्यो क्षमता भएको व्यक्ति हो, जसले जनशक्ति र समयलाई समझदारीपूर्ण खटनपटन गर्न जानेको हुन्छ। क्षमता नभएका वा कमजोर क्षमता भएका मानिसहरू जुनसुकै काम गरिरहेका भए पनि अस्तव्यस्त हुन्छन्। तिनीहरू हरदिन निकै व्यस्त नै हुन्छन्, तर तिनीहरू के कुरामा व्यस्त हुन्छन्, तिनीहरू आफैले निश्चितताका साथ भन्न सक्दैनन्। तिनीहरूसँग कुनै समयतालिका हुँदैन, समयको कुनै अवधारणा हुँदैन; तिनीहरू निकै चाँडो उठ्छन् र निकै अबेला सुत्छन्; तिनीहरूले नियमित समयमा खान सक्दैनन्—तर कामको प्रभावकारितालाई हेर्दा, तिनीहरूले वास्तविक काम बिलकुलै गर्दैनन्। के यो अत्यन्तै कमजोर क्षमता भएको मामला होइन र? (हो।) यस किसिमको व्यक्ति हरेक दिन आराम नगरी दौडधुप गरिरहेकोझैँ देखिन्छ, तर ऊ कामको सारतत्त्वमा पुग्न सक्दैन, न त उसले अत्यन्तै जरुरी र पर्खन सकिने काम नै पहिचान गर्न सक्छ, साथै ऊ समस्याहरू समाधान गर्न प्रभावकारी हुँदैन। यसले कामको गतिमा ढिलाइ पुर्याउँछ। तिनीहरू मुटु फुट्लाझैँ गरी बेचैन हुन्छन्, र तिनीहरूको मुखमा घाउखटिरा आउँछ। तर यी अवस्थाहरूमा पनि, तिनीहरू थकानले ढल्दैनन्। कमजोर क्षमता भएका मानिसहरूले दैनिक आठ घन्टाभन्दा बढी काम गर्लान्, तैपनि तिनीहरूको कामको प्रभावकारिता असल क्षमता भएका मानिसहरूकोभन्दा निकै कम हुन्छ। त्यसकारण, तिनीहरू व्यस्त हुनुपर्छ, पर्दैन त? हुनुपर्छ—तिनीहरूले व्यस्त हुँदा समेत नतिजाहरू प्राप्त गर्न सक्दैनन्; यदि तिनीहरू व्यस्त भएनन् भने, काम त ठप्प हुने थियो। यो यस्तो कमजोर क्षमता भएको व्यक्ति हो कि ऊ काममा योग्य हुन वा त्यसलाई वहन गर्न सक्ने नै हुँदैन। त्यसबाहेक, परमेश्वरको घरको काममा धेरै विषयवस्तुहरू हुन्छन्, र कर्मचारी र समयको सन्दर्भमा मागहरू अलि कठोर हुन्छन्। धेरै मानिसहरूका हकमा, जब तिनीहरू अलि बढी व्यस्त हुन्छन्, त्यो उत्कृष्टतातर्फ लागिपर्न र राम्रा नतिजाहरू प्राप्त गर्नका लागि हुन्छ, किनभने परमेश्वरको घरको काम भनेको गैरविश्वासीहरूका व्यवसायहरूको र कारखानाहरूको कामभन्दा फरक हुन्छ: तिनले आर्थिक प्रभावकारिताको माग गर्छन्, जबकि हामी कामका नतिजाहरूमा जोड दिन्छौँ। तर धेरैजसो मानिसहरू कमजोर क्षमताका भएका, असैद्धान्तिक र आफ्नो काममा अत्यन्तै अप्रभावकारी हुने हुनाले, तिनीहरूलाई नतिजाहरू निकाल्न बढी समय लाग्छ। के अब तिमीहरूमध्ये धेरैजसोमा अगुवा र कामदारहरूका जिम्मेवारीहरूबारे कुनै नकारात्मक सोचहरू छैनन्? एउटा कुरा चाहिँ निश्चित छ: अगुवा र कामदारहरू परमेश्वरको घरका मागहरूअनुसार काम गरेर थकानले ढल्नेछैनन्। यी बाह्य, वस्तुगत तत्त्वहरू बाहेक, तिमीहरू अर्को कुरामा पनि निश्चित भए हुन्छ: यदि कुनै व्यक्तिमा बोझ छ र ऊ निश्चित क्षमताको छ भने—र पवित्र आत्माको काम छ भन्ने तथ्यलाई बेवास्ता नगर्—, उसले कल्पना वा पूर्वानुमान गर्न नसक्ने केही समस्याहरूका हकमा, र उसले यसअघि नभोगेका र अनुभव नगरेका केही मामलाहरूका हकमा, पवित्र आत्माले उसलाई निरन्तर रूपमा सम्झौटा दिनुहुनेछ, उसलाई जुनसुकै समयमा अन्तर्दृष्टि दिने र सहयोग गर्नुहुनेछ। मण्डलीको काम सम्पन्न हुनका लागि पूर्णतया मानव शक्ति, ऊर्जा र बोझहरूमा भर पर्दैन—त्यसको एउटा हिस्सा धेरैजसो मानिसहरूले अनुभव गरेझैँ पवित्र आत्माको काम र अगुवाइमा भर पर्नैपर्छ। त्यसकारण, व्यक्तिले त्यसलाई जुन तरिकाले हेरे पनि, आफ्ना जिम्मेवारीहरू पूरा गर्नु भनेको एक अगुवा वा कामदारले हासिल गर्नुपर्ने कुरा हो। यो ऊबाट गरिने अतिरिक्त माग होइन। गैरविश्वासीहरूले संसारमा काम गर्दा, तिनीहरू आफ्नो व्यक्तिगत क्षमताका आधारमा कार्य गर्छन्। परमेश्वरको घरमा कर्तव्य पूरा गर्नु फरक कुरा हो: व्यक्तिले आफ्नो क्षमताका आधारमा मात्र त्यो काम गर्दैन—यदि उसले नतिजाहरू हासिल गर्नु छ भने ऊ सत्यता सिद्धान्तहरूबारे आफ्नो बुझाइमा पनि भर पर्नुपर्छ। कहिलेकाहीँ, यदि तिनीहरूलाई आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु छ भने तिनीहरूले एक अर्कालाई सहयोग गर्न र सामञ्जस्यपूर्ण सहकार्य गर्न पनि जरुरी हुन्छ। कतिपयले सोध्लान्, “के परमेश्वरको घरमा काम गर्दा हामीबाट ‘मरुन्जेल काममै लागिरहन र सक्दो मेहनत गर्न’ माग गरिन्छ? ‘रेसम किराले बाँचुन्जेल धागो बुन्छ’—के हामीले त्यो हासिल गर्नुपर्छ? के हामी थकानले मर्न लाग्दा मात्र परमेश्वरको घरलाई चित्त बुझ्नेछ?” के परमेश्वरले मानिसबाट माग गर्नुहुने कुरा यही हो? (होइन।) अगुवा र कामदारहरूबाट गरिने जिम्मेवारीहरूका मागहरूबारे हाम्रो सङ्गतिको उद्देश्य केवल मानिसहरूलाई परमेश्वरको काममा सत्यता सिद्धान्तहरू र उहाँले माग गर्नुहुने कामका विधिहरूअनुसार कसरी सहकार्य गर्ने भनी प्रस्टता र बुझाइ प्रदान गर्नु हो, ताकि उहाँको काम व्यवस्थित, प्रभावकारी रूपमा अघि बढोस्, र उहाँका वचनहरू र कामले उहाँका चुनिएका मानिसहरूमा अझ राम्रा नतिजाहरू हासिल गर्न सकून्। त्यसको एउटा पक्ष भनेको काम विकास गर्नु र फैलाउनु हो; अर्को पक्ष भनेको परमेश्वरलाई पछ्याउनेहरूमा उहाँका वचनहरू र कामले हासिल गर्नुपर्ने नतिजाहरू हासिल गराउनु हो। अगुवा र कामदारहरूका जिम्मेवारीहरू र उनीहरूले आफ्नो काममा हासिल गर्नुपर्ने कुराहरू यिनै हुन्।
विषयवस्तु दस: परमेश्वरका घरका विभिन्न भौतिक सामग्रीहरूलाई (पुस्तकहरू, विभिन्न उपकरण, अन्नपात र आदि कुराहरू) उचित तरिकाले सुरक्षित गर्ने र समझदारीपूर्वक खटनपटन गर्ने, अनि क्षति र खेर जाने अवस्थालाई न्यून गर्न नियमित निरीक्षणहरू, मर्मत-सम्भार र सुधार गर्ने; साथै, दुष्ट मानिसहरूलाई ती कुराहरू स्वामित्वमा लिनबाट रोक्ने
आज, हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दसौँ विषयवस्तुबारे सङ्गति गर्नतिर लाग्नेछौँ: त्यो हो, “परमेश्वरका घरका विभिन्न भौतिक सामाग्रीहरूलाई (पुस्तकहरू, विभिन्न उपकरण, अन्नपात र यस्तै अन्य कुराहरू) उचित तरिकाले सुरक्षित गर्ने र समझदारीपूर्वक खटनपटन गर्ने, अनि क्षति र खेर जाने अवस्थालाई न्यून गर्न नियमित निरीक्षणहरू, मर्मत-सम्भार र सुधार गर्ने; साथै, दुष्ट मानिसहरूलाई ती कुराहरू स्वामित्वमा लिनबाट रोक्ने।” नवौँ विषयवस्तु तुलनात्मक रूपले अगुवा र कामदारहरूबाट गरिने वृहत् माग हो। दसौँ विषयवस्तु कामको अर्को ठूलो खण्ड हो, जसले अगुवा र कामदारहरूका जिम्मेवारीहरूको अर्को विशिष्ट माग समेट्छ। कामको यो भाग परमेश्वरको घरका सामानहरूसँग सम्बन्धित छन्, जसमध्ये केही पूर्णकालिक कर्तव्य पूरा गर्ने मानिसहरूका जीवन आवश्यकताहरू पूरा गर्नका लागि खरिद गरिएका हुन्छन्, र अरूचाहिँ सुसमाचार फैलाउने कामका लागि खरिद गरिएका उपकरण, भौतिक सामाग्री, आदि हुन्। परमेश्वरका वचनहरूका केही पुस्तकहरू र यस्ता केही कुराहरू पनि छन् जुन दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशसँग सम्बन्धित छन्, र तिनलाई परमेश्वरको घरले राख्नुपर्छ। यी परमेश्वरमाथि मानिसहरूको विश्वाससँग सम्बन्धित सामानहरू हुन्। जम्मा तीनवटा वर्गहरू छन्: जीवनका लागि आवश्यक सामानहरू, कामका लागि आवश्यक सामानहरू, र परमेश्वरमाथिको विश्वासका लागि आवश्यक सामानहरू। यी सामानहरू चाहे परमेश्वरको घरले किनेका हुन् वा दाजुभाइ-दिदीबहिनीहरूले चढाएका हुन्, ती एक पटक परमेश्वरको घरको स्वामित्वमा आइसकेपछि, ती अगुवा र कामदारहरूले गर्ने भौतिक सामानहरूको व्यवस्थापन र खटनपटन मामलासँग सम्बन्धित हुन्छन्। बाहिरबाट हेर्दा यो काम मण्डली जीवन, प्रशासनिक काम, वा पेसागत कामका तुलनामा त्यति महत्त्वपूर्ण, र कार्यसूचीमा हुनुपर्ने कुरा झैँ नदेखिए पनि, यो अझै पनि अगुवा र कामदारहरूले गर्नुपर्ने महत्त्वपूर्ण काम नै हो। परमेश्वरको घरका यी विभिन्न सामानहरू कर्तव्य पूरा गर्ने सबै कर्मचारीहरूको काम, जीवन, अध्ययन, र यस्ता यावत् कुराहरूसँग सम्बन्धित हुन्छन्, त्यसैले तिनको सुरक्षा र समझदारीपूर्वक खटनपटन निकै महत्त्वपूर्ण हुन्छ र तिनलाई बेवास्ता गर्नु हुँदैन।
उचित सुरक्षा
अगुवा र कामदारहरूका रूपमा, मण्डलीको प्रशासनिक काम राम्ररी गर्नु र मण्डली जीवनलाई असल बनाउनुभन्दा झनै बढी केन्द्रीय काम भनेको सुसमाचार फैलाउने काम, र त्यससँग सम्बन्धित विभिन्न कामहरू राम्रोसँग गर्नु हो। यसका साथै, परमेश्वरको घरका विभिन्न भौतिक सामग्रीहरूको पनि उचित व्यवस्थापन गरिनुपर्छ। यी चीजहरूको राम्रोसँग सुरक्षा गरिनुपर्छ; तिनलाई ढुसी लाग्न वा किराले खान नदे, र मानिसहरूलाई ती तिनीहरूको निजी सम्पत्ति भएझैँ तिनको स्वामित्व लिन नदे। परमेश्वरको घरसित अगुवा र कामदारहरूले कसरी यो काम राम्रोसँग गर्नुपर्छ भन्नेसम्बन्धी विशिष्ट माग र कदमहरू पनि हुन्छन्। उनीहरूले सुरुमा यी सामग्रीहरूको व्यवस्थापन गर्ने कर्मचारीहरू उपयुक्त, जिम्मेवार मानिस हुन् कि होइनन्, र उनीहरूलाई ती व्यवस्थापन गर्न आउँछ कि आउँदैन, र उनीहरूले लगनशीलताका साथ आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् कि सक्दैनन्—यी चीजहरू उनीहरूको हातमा सुरक्षित राखिनेछन् कि छैनन् भनी जाँच्नुपर्छ। उदाहरणका लागि, अन्नपात भण्डारण गर्दा, बर्खायाममा—जब मौसम आद्र हुन्छ र धेरै पानी पर्छ—के त्यसलाई राखिएको ठाउँ ओसिलो छ? के यसको व्यवस्थापन गर्ने मानिसहरूले समयमै यसको जाँच गर्छन्? यदि अन्नपात ओसियो भने, के उनीहरूले त्यसलाई सुकाउन निकाल्छन्? के उनीहरूले यी कुराहरू आफ्नै भएझैँ होसियारीका साथ व्यवस्थापन गर्छन्? के उनीहरूमा यस्तो मानवता छ? के उनीहरूमा यस्तो बफादारी छ? उनीहरूले यी चीजहरूको व्यवस्थापन गर्ने मानिसहरूको मानवता कस्तो छ, र उनीहरूमा विवेक छ कि छैन र उनीहरू सद्गुणी छन् कि छैनन् भनी गर्न लेखा परीक्षण गरेर गर्नुपर्छ। यदि कुनै व्यक्ति राम्रै मानवता भएको र दयालु हृदयकोझैँ देखिन्छ, र अरू धेरैजसोले उसको राम्रो रिपोर्ट दिन्छन्, तर ऊ परमेश्वरको घरका सामग्रीहरूको व्यवस्थापन गर्न उपयुक्त छ कि छैन भनेर तँलाई थाहा छैन भने, त्यसबेला के गर्नुपर्छ? तैँले अनुगमन, सामानहरूको जाँच, र सुपरिवेक्षण गर्नैपर्छ। तैँले संरक्षकले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ कि छैन भनी हेर्न, केही समयपछि चीजहरूको अवस्थाबारे सोधपुछ गर्नुपर्छ। उदाहरणका लागि, अन्नपातको सबैभन्दा ठूलो चिन्ता ओस हो। संरक्षकले गोदाम आद्र छ कि छैन र अन्नपातमा किरा लाग्ने सम्भावना छ कि छैन भनेर जाँच्नुपर्छ, उसले परामर्श लिन र कस्ता अभ्यासहरूले अन्न नओसिने र ढुसी नलाग्ने वा किरा नपर्ने सुनिश्चित हुन्छ भन्नेबारे बुझाइ प्राप्त गर्न यस्ता कुराहरूबारे जानकार कसैलाई खोज्नुपर्छ। अन्नपात भण्डारण गरेपछि, उसले बारम्बार गोदामको जाँच गर्नुपर्छ, वा हावा सञ्चार गर्न झ्यालहरू खोल्नुपर्छ। त्यो साँच्चिकै आफ्नो जिम्मेवारी पूरा गर्नु हुनेछ। यदि संरक्षकले कसैले आग्रह गर्नु वा सम्झाउनु नपर्ने गरी, यी कामहरू गर्न आफै पहल गर्छ भने, ऊ भरपर्दो छ, जसले ढुक्क बनाउँछ। त्यसोभए, विभिन्न किसिमका उपकरणहरूको सुरक्षा गर्ने मानिसहरू—के उनीहरू कामका लागि सही छन् त? तँलाई अहिले थाहा छैन; तैँले उनीहरूको पनि जाँच गर्नुपर्छ। धेरैजसो उपकरणहरू—विद्युतीय सामग्री, काठका सामग्री, सुविधाहरू, आदि—सामान्यतया प्रयोगमा आउँदैनन् भने तिनको कस्तो सुरक्षा गरिएको छ? के संरक्षकले त्यसको हेरचाह र मर्मत सम्भार गर्छ? के उसले विद्युतीय उपकरणहरू नियमित रूपमा जाँच्ने, पावर अन गर्ने र तिनलाई चालु गर्ने गर्छ? यताउति सोधेर, तैँले यी सामानहरूको संरक्षकले नियमित रूपमा यी कुराहरू गरिरहेको छ भनेर थाहा पाउन सक्छस्। ती सामानहरू बिनाकाम बसिरहेका हुन सक्छन्, तर तीमाथि धूलो लागेको छैन, जसको मतलब कसैले बारम्बार आएर तिनको हेरचाह गर्छ—तैँले तिनको संरक्षक ठीक छ, उसले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ भनेर देख्नेछस्। त्यसपछि तँ ढुक्क हुन सक्छस्। परमेश्वरका वचनका पुस्तकहरू पनि छन्। ती प्रत्येकलाई पाउन कठिन छ, र यसको अतिरिक्त, परमेश्वरका वचनका पुस्तकहरू परमेश्वरको हरेक विश्वासीका लागि अन्य कुनै पनि चीजभन्दा बढी महत्त्वपूर्ण हुन्छ—अन्नपात, विद्युतीय उपकरणहरू, वा त्यस्ता अन्य कुनै पनि सामानभन्दा बढी महत्त्वपूर्ण हुन्छ। त्यसैले, यी चीजहरूका हकमा, तैँले तिनको व्यवस्थापन गर्ने सही व्यक्ति र तिनलाई भण्डारण गर्ने सही ठाउँ खोज्न झनै बढी आवश्यक छ। उचित हावा सञ्चार, निगरानी, र निरीक्षण पनि जरुरी छन्—उनीहरूले पुस्तकहरू ओसिन वा भिज्न, वा मुसालाई खान दिनु हुँदैन। यी सबै कुरामा ध्यान दिनुपर्छ। त्यसैले, के त्यस्ता सामग्रीहरू व्यवस्थापन गर्ने मानिसहरू कार्यका लागि उचित छन् त? तैँले यसको पनि बारम्बार जाँच गर्नुपर्छ। यदि हेरचाहकर्ताहरू अल्छी, बेवास्ते, र लापरवाह छन् भने, कतिपय सामानहरू बिग्रिनेछन्, ओसिएनन् वा ढुसी लागेनन् भने पनि तिनलाई किराले खानेछ। यी सबै अगुवा र कामदारहरूको कमजोर निगरानी र निरीक्षणका कारण हुने क्षतिहरू हुन्। यदि हेरचाहकर्ताहरूले यी सामानहरूको उचित हेरचाह गर्छन् भने, अगुवा र कामदारहरूको यो जिम्मेवारी पूरा भएको हुन्छ। चाहे यी सामानहरू ठूला हुन् वा साना, र चाहे ती बारम्बार प्रयोगमा आउन् वा नआउन्, यदि ती परमेश्वरको घरको स्वामित्वमा पर्ने सामानहरूको वर्गमा पर्छन् भने, तिनको व्यवस्थापन गर्न कसैको प्रबन्ध गर्नुपर्छ। सामान चाहे जुन किसिमको भए पनि र चाहे जहाँ भण्डारण गरिएको भए पनि, त्यो सुरक्षित हुनुपर्छ, र त्यसमा केही पनि नबिग्रिने सुनिश्चित गर्नुपर्छ। बफादार र जिम्मेवार हुनु भनेको त्यही नै हो। यदि सामानहरूको व्यवस्थापन गर्ने व्यक्ति अनुपयुक्त भएको भेटियो भने के गर्नुपर्छ? उसलाई तुरुन्तै अर्को काममा खटाउनुपर्छ, र उसलाई प्रतिस्थापन गर्न अरू कोही खोज्नुपर्छ। उदाहरणका लागि, कतिपय मानिसहरू निष्क्रिय र कामचोर हुन्छन्, खान रुचाउँछन् तर काम गर्न रुचाउँदैनन्, र कुनै जिम्मेवारी लिँदैनन्। उनीहरूले मण्डलीका सामानहरूलाई सार्वजनिक सम्पत्ति जस्तो गरी, लापरवाह व्यवहार गर्छन्, र ती नहराएसम्म सब ठिक छ भन्ठान्छन्। ती सामानहरू ढुसी वा किरा परेको, वा बिग्रिएका छन् कि छैनन् भनेर उनीहरूले न त चासो राख्ने न सोध्ने नै गर्छन्। तैँले उनीहरूलाई जहिले सोध्दा पनि, उनीहरूले आफू तिनको जाँच गर्न गएको, र सबथोक ठीक रहेको भन्छन्। वास्तवमा, उनीहरू लामो समयदेखि सामानहरूको जाँच गर्न गएका हुँदैनन्। त्यसपछि, एक दिन कसैले अचानक अन्नपातमा ढुसी परेको, र कुनै उपकरणको तार मुसाले काटेको, र परमेश्वरका वचनका पुस्तकहरू समेत, तिनमा लेखिएका कुराहरू धमिलो र अस्पष्ट हुने गरी निकै ओसिएको पाउँछ। त्यसबेला मात्र यी कुराहरूबारे थाहा पाउनु—के त्यो ज्यादै ढिलो होइन र? (हो, क्षति पुगिसकेको हुन्छ।) त्यो अनुचित व्यवस्थापनको नतिजा हो। त्यसोभए, के तिनको व्यवस्थापन गरिरहेको व्यक्ति अयोग्य छ? के ऊ कमजोर मानवताको र अनैतिक छैन र? (छ।) गैरविश्वासीहरूले यस किसिमको व्यक्तिलाई अनैतिक भन्नेथिए; हामी के भन्छौँ? हामी भन्छौँ कि यस व्यक्तिको मानवता खराब छ, र ऊ बफादार छैन। उसले त्यति सानो जिम्मेवारी समेत पूरा गर्न सक्दैन; उसले त्यस्तो काम समेत गर्न सक्दैन जुन थोरै पीडा वहन गर्ने, थोरै मात्र विवेक र मानवता भएको व्यक्तिले गर्न सक्नेथियो। के ऊ अझै पनि परमेश्वरको विश्वासी हो? गैरविश्वासीहरूले समेत “अरूले जिम्मा दिएको कुरा बफादारीपूर्वक पूरा गर्न सक्दो प्रयास गर” भन्ने विचार बोकेका हुन्छन्—यो व्यक्ति त गैरविश्वासीहरूको न्यूनतम नैतिक मानकअनुरूप समेत छैन, त्यसकारण ऊ स्पष्ट रूपमा नै सामान व्यवस्थापन कर्मचारीको सदस्यका रूपमा सेवा गर्न अनुपयुक्त छ। अनुपयुक्त मानिसहरूलाई तुरुन्तै तह लगाउनुपर्छ, र तिनीहरूको स्थानमा उपयुक्त मानिसहरू खोज्नुपर्छ। यदि तँ तेरो सामान व्यवस्थापन कर्मचारीलाई भरोसा गर्दैनस्, र तँसँग आफै सामानहरूको जाँच गर्ने समय छैन, वा तैँले कुनै परिस्थितिजन्य कारणले कामकुराहरूको अनुगमन र जाँच गर्न सक्दैनस् भने, त्यो अवस्थामा के गर्नुपर्छ? तैँले सामानहरूको व्यवस्थापन गर्ने व्यक्तिलाई, यदि उसले व्यवस्थापन गर्ने सामानहरूमा क्षति पुगेमा, उसले त्यसको पैसा तिर्नेछ, वा ऊ परमेश्वरको घरबाट जस्तोसुकै जरिवाना स्विकार्न इच्छुक हुनेछ भनी प्रत्याभूति लेख्न लगाउन सक्छस्। त्यसलाई प्रशासनिक प्रणालीअनुसार नै समाधान गरिनुपर्छ। यदि कुनै अगुवा वा कामदारले यो स्तरसम्म आफ्नो कार्य गर्न सक्छ भने, उसले आफ्नो जिम्मेवारी पूरा गरिरहेको हुनेछ।
परमेश्वरको घरको कुनै पनि भौतिक सामान, चाहे त्यो ठूलो होस् वा सानो, महँगो होस् वा सस्तो, चाहे त्यो तँलाई काम लाग्ने होस् वा नहोस्, यदि तँलाई त्यसको व्यवस्थापन गर्न लगाइएको छ भने, त्यो तेरो जिम्मेवारी हो। यो काम अगुवा र कामदारहरूको जिम्मेवारीको दायराभित्र नै पर्छ, त्यसकारण तैँले त्यसलाई उचित तरिकाले सुरक्षित गर्नका लागि सही व्यक्ति र सही स्थान खोज्नुपर्छ। परमेश्वरको घरका सामानहरूमा क्षति पुग्न नदे। उदाहरणका लागि, परमेश्वरका वचनहरूका पुस्तकहरूको सुरक्षा गर्ने कुरा आउँदा—एक पटक कुनै अगुवा वा कामदारले तिनका लागि उचित कर्मचारीहरूको प्रबन्ध गरेपछि, उसले अझै पनि बारम्बार त्यसबारे सोधपुछ गर्ने गर्नुपर्छ: “हालसालै थुप्रै पुस्तकहरू जारी भएका छन्, तर झन् थोरै बाँकी भए पनि, लापर्बाही नगर। पुस्तकहरू भण्डारण गर्दा, मुख्य कुरा भनेको तिनलाई ओसिन वा घामले बिग्रन नदिनु र तिनलाई थिचिएर बिग्रन वा मोडिन नदिनु हो।” उसले बारम्बार त्यसबारे सोधपुछ गर्ने र जानकारी लिने गर्नुपर्छ। यदि नयाँ पुस्तकहरू आएका छन् भने, उसले तिनको सुरक्षा कति राम्रोसँग भइरहेको छ; ती सबैलाई पहिलेकै ठाउँमा राख्न मिल्छ कि मिल्दैन, र यदि मिल्दैन भने, तिनका लागि नयाँ ठाउँ भेटिएको छ कि छैन, र त्यो ठाउँ कस्तो छ, त्यो सुरक्षित र सुक्खा छ कि छैन; पुस्तकहरू राम्ररी भण्डारण गरिएका छन् कि छैनन्; र यदि मुसाको चिन्ता छ भने, बिरालो राख्न आवश्यक छ कि छैन भनेर सोध्नैपर्छ। यस्ता सबै कामकुराहरू अगुवा र कामदारहरूले गर्नैपर्ने काम, र उनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो। यो काम अलि महत्त्वहीन देखिएला, तर त्यो पनि, अगुवा र कामदारहरूले नियमित रूपमा गर्नुपर्ने एउटा कार्य नै हो। यसको अवमूल्यन नगर्—यसलाई गम्भीर रूपमा लिइनुपर्छ। ती चीजहरू सार्वजनिक सम्पत्ति हुन सक्लान् र कुनै व्यक्तिको नहुन सक्लान्, तर तिनको राम्रो सुरक्षा गर्नैपर्छ; चाहे तँलाई भविष्यमा ती काम लागून् वा नलागून्, र ती तेरै उपयोगका लागि हुन् वा नहुन्, तिनलाई राम्रोसँग सुरक्षित राख्नु तेरो जिम्मेवारी हो, यो तेरो काँधमा आइपर्ने मामला हो, र तैँले त्यसलाई पन्छाउन वा बेवास्ता गर्न कुनै कारण वा बहाना खोज्नु हुँदैन। कुनै कुरा तेरो जिम्मेवारी भएसम्म, त्यो तैँले व्यवस्थापन गर्नुपर्ने कुरा हो, र तैँले गर्नुपर्ने काम हो। यो सबै कुरामा, तैँले सोधपुछ गरेर कामकुरा बुझ्ने कोसिस गर्नुपर्छ, वा त्यसमा व्यक्तिगत रूपमा सहभागी हुनुपर्छ। यदि तँसित कार्य-स्थलमै गएर हेर्ने समय छ भने, त्यो अवश्य पनि, झनै राम्रो हुनेथियो। तर यदि परिस्थिति र अवस्थाहरूले दिएनन्, वा यदि तँ काममा अति व्यस्त छस् भने, तैँले अझै पनि सामयिक रूपमा त्यसबारे खोजीनिती गर्ने र सोधपुछ गर्ने गर्नुपर्छ, ताकि परमेश्वरको घरका सामानहरू बिग्रिन वा कुनै पनि रूपमा खेर जानबाट बचाउने प्रयास सकियोस्। यसो गर्नुको मतलब यो हो कि तैँले अगुवा र कामदारहरूको जिम्मेवारी पूरा गरेको छस्।
समझदार वितरण
परमेश्वरको घरका भौतिक सामानहरूका हकमा, तिनको सुरक्षा गर्नेबाहेक अर्को महत्त्वपूर्ण काम छ: तिनलाई समझदारीपूर्वक वितरण गर्ने। यी सबै सामानहरू मानिसहरूको प्रयोजनका लागि हुन्—ती सबै उपयोगी चीजहरू हुन्—त्यसैले तिनको सुरक्षा गर्नुको मुख्य उद्देश्य भनेको तिनलाई समझदारीपूर्वक प्रयोग गरियोस् भन्ने हो। यी सामानहरूलाई समझदारीपूर्वक प्रयोगमा लगाउनुअघि, तिनलाई समझदारीपूर्वक वितरण गर्नु अगुवा र कामदारहरूको काम हो। समझदार वितरण भनेको के हो? यी सामानहरू कसलाई प्रयोग गर्न दिइनुपर्छ भन्ने सम्बन्धमा, परमेश्वरको घरसँग सिद्धान्त र नियमहरू छन्। चाहे ती दाजुभाइ-दिदीबहिनीहरूले चढाएका हुन् वा परमेश्वरको घरले खरिद गरेका हुन्, यी सामानहरूको मुख्य उद्देश्य भनेको तिनलाई राहतका लागि भण्डारण गर्नु वा कल्याणकारी कामका लागि भिक्षाका रूपमा प्रयोग गर्नु होइन; बरु, ती त पूर्णकालिक रूपमा कर्तव्य पूरा गर्ने सबै दाजुभाइ-दिदीबहिनीहरूको प्रयोजनका लागि हो। त्यसोभए, तिनलाई कसरी वितरण गरिनुपर्छ—तिनलाई वितरण गर्ने सिद्धान्तहरू के-के हुन्—त्यो अगुवा र कामदारहरूले परमेश्वरको घरका विभिन्न भौतिक सामानहरूको व्यवस्थापन गर्दा पूरा गर्नुपर्ने अर्को जिम्मेवारी हो। हामीले यहाँ समझदार वितरणको कुरा उल्लेख गर्यौँ; यो अवस्थामा, “समझदार” हुनु नै परमेश्वरको घरले माग गर्ने सिद्धान्त हो।
अ. परमेश्वरको घरका पुस्तकहरूलाई समझदारीपूर्वक वितरण गर्ने
हामी परमेश्वरका वचनका पुस्तकहरूबाट सुरु गर्नेछौँ। हरेक पटक नयाँ पुस्तकहरू जारी हुँदा, ती पुस्तकहरू कसलाई जारी गरिनुपर्छ भन्ने सिद्धान्तहरूका सन्दर्भमा परमेश्वरको घरका माग र नियमहरू हुन्छन्। मण्डलीमा, परमेश्वरका वचनहरू पढ्ने र नपढ्ने मानिसहरू हुन्छन्, सत्यतालाई प्रेम गर्ने र नगर्ने मानिसहरू हुन्छन्, साथै कर्तव्यहरू पूरा गर्ने र नगर्ने मानिसहरू हुन्छन्—यस किसिमका मानिसहरूका बीचमा भिन्नताहरू छुट्याइनुपर्छ। पाठ्यपुस्तकहरूका वर्गमा केही विशेष पुस्तकहरू—व्याकरण, शब्दकोश, र त्यस्ता अन्य उपयोगी पुस्तकहरू पनि छन्। यी सबै कडाइका साथ सिद्धान्तहरूअनुरूप वितरण गरिनुपर्छ। तिनको आवश्यकता परेकाहरूलाई मात्र ती दिनुपर्छ, र आवश्यकता नपरेकाहरूलाई दिनु हुँदैन। अनि त्यसपछि त्यस्ता केही महत्त्वपूर्ण पुस्तकहरू हुन्छन् जुन तुलनात्मक रूपमा कम मात्रामा छापिन्छन्—यदि यी कुनै व्यक्तिलाई जारी गरियो भने, त्यस व्यक्तिबाट के माग गरिन्छ? तैँले ती पढ्न सक्छस्, तर तिनलाई क्षति नपुऱ्या; तिनलाई जथाभावी छोड्ने वा जथाभावी रूपमा च्यात्ने नगर्। अनि तैँले ती पढिसकेपछि तिनलाई पुरानै ठाउँमा फिर्ता राख्नुपर्छ। परमेश्वरमाथिको विश्वाससम्बन्धी पुस्तकहरूका हकमा, अगुवा र कामदारहरूले तिनलाई कडाइका साथ परमेश्वरको घरका कामका प्रबन्धहरूअनुरूप वितरण गर्नुपर्छ, साथै उनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई पनि सिद्धान्तहरू बुझ्न, र तीअनुसार कार्य गर्न दिनुपर्छ।
आ. विभिन्न किसिमका उपकरणहरूलाई समझदारीपूर्वक वितरण गर्ने
त्यसपछि विभिन्न किसिमका उपकरणहरूलाई कसरी वितरण गर्ने भन्ने कुरा आउँछ। यो तुलनात्मक रूपमा निर्णायक कार्य हो। विभिन्न किसिमका उपकरणहरूलाई केही कडाइका साथ वितरण गर्नुपर्ने हुन्छ। त्यस्ता उपकरणहरूमा विद्युतीय उपकरणहरू, साथै विभिन्न पेसाहरूका लागि आवश्यक पर्ने औजारहरू पर्छन्। अगुवा र कामदारहरूले तिनलाई जिम्मा लगाइँदा, त्यसका पनि सिद्धान्तहरू हुनु पर्छ। जसलाई ती जिम्मा लगाइन्छ गरिन्छन् उनीहरू त्यस्ता उपकरणहरू सुलभ रूपमा चलाउन सक्ने र तिनको सही र समझपूर्ण प्रयोग गर्न सक्ने मानिसहरू हुनुपर्छ। यदि कोही नयाँ सिकारु छ वा उसले उक्त चीजलाई प्रयोग गर्न जानेकै छैन भने, त्यो उसलाई जिम्मा लगाउनु हुँदैन। यो विशेषगरी राम्रा, उच्च-स्तरीय विद्युतीय उपकरणहरूमा लागु हुन्छ, जस्तै उच्च-स्तरीय क्यामेरा र महङ्गा कम्प्युटरहरू, साथै रेकर्ड गर्ने उपकरण, फोटो खिच्ने कामसँग सम्बन्धित उपकरणहरू, वा भिडियो निर्माण पश्चात् आवश्यक पर्ने उपकरण—क्षति हुनबाट जोगाउनका लागि त्यस्तो उपकरण यस्तो व्यक्तिलाई झनै जिम्मा लगाइनु हुँदैन। अगुवा र कामदारहरूले त्यस्ता उपकरण प्रयोग गर्नेहरू, सुरुमा, उक्त उपकरणको महत्त्व बुझ्न सक्षम, र दोस्रो, त्यसलाई सही ढङ्गले प्रयोग र मर्मत गर्न सक्षम छन् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ। उदाहरणका लागि, कतिपय मेसिनलाई, त्यसको नियमानुसार दुई घण्टासम्म प्रयोग गरेपछि सेलाउनका लागि दस मिनेट आराम दिनुपर्छ। यदि त्यो सेलाएन भने, त्यसले मेसिनमा क्षति पुर्याउँछ र त्यसको उपयोगी आयु छोट्याउँछ। मेसिनलाई महत्त्व दिने मानिसहरूले त्यसलाई कडाइका साथ त्यसको मर्मत सावधानीहरू अनुरूप प्रयोग गर्नेछन्; तैँले नभनिकन उनीहरू आफैले तिनको पालना गर्नेछन्, र यदि तैँले आग्रह गरिस् भने उनीहरू अझ कडाइका साथ र सही रूपमा पालना गर्नेछन्। त्यस्ता मानिसहरू मेसिनहरू प्रयोग गर्न उपयुक्त हुन्छन्; उनीहरू उच्च-स्तरीय सामानहरू प्रयोग गर्न उपयुक्त हुन्छन्, किनभने उनीहरूले मेसिनलाई महत्त्व दिन जानेका हुन्छन्, र त्यसका मर्मत र सम्भारसम्बन्धी सावधानीहरूलाई गम्भीरतापूर्वक लिन्छन्। मेसिनलाई कदर गर्न र सामान्य तरिकाले प्रयोग गर्न सक्ने त्यस्ता मानिसहरू नै उच्च श्रेणीका मेसिनहरूको वितरण र वितरणका लागि सबैभन्दा उपयुक्त हुन्छन्। अगुवा र कामदारहरूले यस सम्बन्धमा उचित जाँचहरू गर्नुपर्छ। यदि एउटा उच्च-स्तरीय कम्प्युटर छ, र आफ्नो आवश्यकता व्यक्त गरेर आवेदन दिनेलाई यो वितरण गरिन्छ भने, के त्यो सिद्धान्त सही हो? (होइन।) त्यसमा के चाहिँ सही छैन? अगुवा र कामदारहरूका लागि, यस्ता चीजहरूको बाँडफाँट र वितरणको एक भाग, कार्यको जिम्मा पाएको व्यक्तिको पेसागत दक्षतामा आधारित हुनुपर्छ; अर्को भाग भनेको उनीहरूले त्यो व्यक्तिले मेसिनलाई कदर गर्ने हद, ऊसँग मानवता छ कि छैन, र उसले मेसिन प्रयोग गर्दा त्यसलाई महत्त्व दिन्छ कि दिँदैन भन्ने कुरामा आधारित हुनुपर्छ। यदि त्यस व्यक्तिले मेसिनको हेरचाह गर्न जान्दैन र ऊ उक्त पेसाका सीपहरूसँग अपरिचित छ, र जिज्ञासाका कारण मात्र मेसिन खेलाउन चाहन्छ भने, उसलाई त्यो प्रयोग गर्नबाट रोक र प्रतिबन्ध लगाइनुपर्छ। ऊ उच्च श्रेणीका मेसिनहरूको प्रयोग र हेरचाह गर्न उपयुक्त छैन। साधारण कर्तव्यहरू पूरा गर्नेहरूलाई साधारण मेसिनहरू दिए काफी हुन्छ। जसले कुनै पेसा जानेका छन्; जो असल मानवताका छन्; र जसले मेसिनलाई कसरी प्रयोग गर्ने, मर्मत गर्ने, र महत्त्व दिने भनी जानेका छन्, उनीहरूले उच्च श्रेणीका सामानहरू प्रयोग गर्न सक्छन्, किनभने उनीहरू कुनै पेसामा निपुण हुन्छन् र उच्च श्रेणीका मेसिनहरू प्रयोग गर्न सक्षम हुन्छन्। यदि तैँले कुनै अलमल्ल वा रूखो व्यक्तिलाई उच्च श्रेणीको कुनै मेसिन प्रयोग गर्न दिइस् भने, उसले केही दिनमै उक्त मेसिन बिगार्नेछ। अरूले त्यसलाई प्रयोग गर्न सक्नेछैनन्, र त्यसलाई मर्मत गर्न सहज हुनेछैन। यसले मण्डलीको काममा अड्चन ल्याउने मात्र नभई, परमेश्वरको घरको एउटा भौतिक सामग्री पनि खेर पारेको हुन्छ। यसमा के कुरा निहित छ? त्यस्ता मानिसहरू मेसिनहरू प्रयोग गर्नका लागि उपयुक्त हुँदैनन् भन्ने कुरा। राम्रा मेसिनहरू मानवता भएका, कुनै पेसासँग परिचित मानिसहरूलाई नै प्रयोग गर्न दिइनुपर्छ। कुनै पेसामा विज्ञता नभएका र कमजोर मानवता भएका मानिसहरूले साधारण चीजहरू प्रयोग गर्नु काफी हुन्छ। के यस तरिकाले सामानहरू वितरण गर्नु समझदार कुरा हो? (हो।)
हर प्रकारका भौतिक वस्तुहरूको कुरा आउँदा, फरक-फरक मानिसहरूले तिनलाई व्यवहार गर्ने तरिकाहरू फरक-फरक हुन्छन्। कतिपय मानिसहरूले एउटा उच्चस्तरीय कम्प्युटर किन्छन्, अनि दुई वर्ष प्रयोग गरेपछि, त्यो अझै पनि नयाँ नै देखिन्छ; स्क्रिनमा कहिल्यै कुनै औँलाको दाग देखिँदैन, र किबोर्ड सधैँ अति सफा हुन्छ, त्यसमा धूलोको एउटा कण समेत हुँदैन। डेस्कटप पनि राम्रो र सफा हुन्छ, र कम्प्युटरमा भण्डारण गरिएका सबै कुराहरू अत्यन्तै सङ्गठित र स्पष्ट हुन्छन्। यदि कसैले उनीहरूलाई लामो समयसम्म स्क्रिन प्रयोग गर्नु त्यसका लागि नराम्रो हो भनेमा, उनीहरूले सर्वोत्तम रूपमा कसरी स्क्रिनको सुरक्षा गर्ने भनेर तुरुन्तै सोध्नेछन्—जुनसुकै तरिका सर्वोत्तम हुन्छ, उनीहरूले त्यही गर्छन्। यदि कसैले उनीहरूलाई लामो समयसम्म प्रयोग गरेपछि कम्प्युटरलाई विश्राम चाहिन्छ, धेरै तातियो भने त्यसले पहिले जस्तो राम्रो काम गर्नेछैन, र त्यसले मेसिनको दीर्घायुमा असर पार्नेछ भन्यो भने, जब उनीहरूले आफूले दुई घन्टाभन्दा बढी समयदेखि कम्प्युटर चलाउँदै आएको भन्ने थाहा पाउँछन्, तब उनीहरूले तुरुन्तै त्यसलाई चिसिन दिनका लागि चलाउन छोड्नेछन्। यदि अत्यन्तै गर्मी मौसम भएकाले त्यो ढिलो चिसियो भने उनीहरूले त्यसलाई हावा दिनका लागि पङ्खा जोड्नेछन्। उनीहरूले उक्त मेसिन आफ्नो बच्चा नै भए झैँ गरी त्यसको विशेष हेरचाह गर्छन्। उनीहरूले त्यसलाई झोलामा हाल्दा अत्यन्तै ध्यान र होसियारी पुर्याउँछन्, अनि उनीहरूले त्यसलाई टेबुलमा राख्दा, सतहलाई सफा गर्नुपर्ने र मेसिनलाई उचित तरिकाले राख्नुपर्ने हुन्छ। के यो उनीहरूको सबल पक्ष होइन र? (हो।) यस्ता मानिसहरूले आफूले मात्र मेसिनको कदर गर्ने होइनन्—जब उनीहरू अरूले मेसिनलाई बिगारिरहेको र क्षति पुर्याइरहेको देख्छन्, उनीहरूलाई त्यो सहन कठिन हुन्छ। यस्ता मानिसहरू राम्रा मेसिनहरू प्रयोग गर्न उपयुक्त हुन्छन्। कतिपय पैसावाल मानिसहरूले पनि उच्चस्तरीय कम्प्युटरहरू किन्नेछन्, जसलाई घरमा ल्याएपछि बिलकुलै कदर गर्दैनन्। उनीहरूले जतिसुकै धूलो जमेको भए पनि, तिनलाई सफा गर्दैनन्, र तिनलाई अत्यन्तै फोहोर बनाउँछन्। अरूले कुनै मेसिन दुई वर्ष प्रयोग गर्नेछन्, र तैपनि त्यो नयाँ नै देखिन्छ; यस्ता मानिसहरूले चाहिँ एउटा मेसिन दुई महिना प्रयोग गरेपछि, त्यो दस वर्ष चलाइएको जस्तो देखिन्छ। उनीहरूलाई मेसिनहरूलाई मर्मत सम्भार आवश्यक पर्छ भनेर भनिस् भने, उनीहरूले यसो भन्नेछन्, “त्यसलाई मर्मत सम्भार गर्नुको के अर्थ? मेसिनहरूले मानिसहरूलाई सेवा प्रदान गर्ने हो, ती मानिसहरूको सेवामा हुन्छन्। यदि त्यो बिग्रियो भने, नयाँ किने भइहाल्यो नि!” फलस्वरूप, उक्त मेसिन अनुचित प्रयोगका कारण छ महिना नपुग्दै बिग्रिन्छ। त्यस्ता मानिसहरूबारे तँ के भन्छस्? के उनीहरू उच्च श्रेणीका मेसिनहरू प्रयोग गर्न उपयुक्त हुन्छन्? (हुँदैनन्।) उनीहरूले किनेका कम्प्युटरहरू जतिसुकै राम्रा भए पनि, उनीहरूले तिनलाई कदर गर्नेबारे सोच्दैनन्, बरु तिनलाई लछार र पछार गर्छन् अनि लापर्बाहीपूर्वक राख्छन्। उनीहरूका कतिपय कम्प्युटरहरूमा कोरिएर क्षतिग्रस्त हुन्छन्; कतिपय चाहिँ पानीले भिजेर बिग्रेका हुन्छन्; कतिपय भुइँमा खसेर फुट्छन्। उनीहरूले तिनलाई अत्यन्तै जथाभाबी रूपमा प्रयोग गर्छन्। त्यस्ता मानिसहरूको मानवतामा केही कुराको कमी हुन्छ। के तिमीहरू त्यस्ता मानिसहरूको प्रयोजनका लागि मेसिनहरू खटनपटन गर्न इच्छुक छौ? (छैनौँ।) कतिपय मानिसहरूले चस्मा लगाउँछन्, र लेन्सहरू सधैँ पुछेर अत्यन्तै सफा राखिएको हुन्छ, तर अन्य मानिसहरूका लेन्सहरू मैलो र औँलाका दागहरू र त्यस्तै अन्य कुराहरू लागेर फोहोर हुन्छन्। उनीहरूले तिनलाई त्यसरी प्रयोग गर्न पनि कसरी सकेका हुन्? आफ्नो चस्माको ख्याल राख्नेहरूले तिनलाई फुकालेर राख्दा विशेष ध्यान दिन्छन्; उनीहरूले लेन्सलाई टेबुलको सतहमा वा कुनै पनि वस्तुसँग छुन दिनेछैनन्, न त उनीहरूले लेन्सलाई कोरिन वा रगडिन नै दिनेछन्। चस्माहरू विशेषगरी नजिकको दृष्टिदोष भएका मानिसहरूका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छन्—लेन्सहरू कोरिएमा तैँले तिनलाई कसरी प्रयोग गर्नेछस्? कतिपय मानिसहरू आफ्ना चस्मासँग लापर्बाह हुन्छन्, र उनीहरूले केही समय लगाए पछि नै लेन्सहरू धमिलो हुन्छन्। उनीहरूले ती लगाउँदा केही पनि प्रस्टसित देख्न सक्दैनन्—उनीहरूले ती नलगाउँदा नै राम्रो हुन्छ। तैपनि उनीहरूले ती जस्तो छन् त्यस्तै लगाए हुन्छ भन्ठान्छन्, मानौँ त्यसले केही फरक पर्दैन। म यो कुराले अन्योलमा पर्छु: के उनीहरूले चस्मा लगाउनुको उद्देश्य वस्तुहरू अझ प्रस्ट रूपमा देख्न सक्ने हुनु होइन र? उनीहरूका लेन्सहरू सबै कोरिएपछि उनीहरूले के चाहिँ प्रस्ट रूपमा देख्न सक्छन् त? के यिनीहरू ज्याद्रो मानिस होइनन् र? वास्तवमै ज्याद्रो हुन्! अत्यन्तै ज्याद्रा मानिसहरूको मानवतामा केही कुराको कमी हुन्छ—उनीहरूलाई सामानहरूको कसरी हेरचाह गर्ने भन्ने थाहा हुँदैन, तिनको कदर गर्नेबारे त उनीहरूले झन् सोच्दै सोच्दैनन्।
परमेश्वरको घरका महत्त्वपूर्ण उपकरण र सामग्रीहरूको कुरा आउँदा, अगुवा र कामदारहरूको जिम्मेवारी के हो? त्यस्ता उपकरण खटनपटन गर्दा, त्यो उपयुक्त मानिसहरूलाई दिइनुपर्छ। त्यस्ता महत्त्वपूर्ण, उच्च श्रेणीका उपकरण प्रयोग गर्नेहरू बिलकुल नै सामानहरूको कदर गर्न जान्ने मानिस हुनुपर्छ। उनीहरूले त्यसको कदर गर्नेछन्, हेरचाह गर्नेछन्, र त्यसको सम्भार गर्नेछन्; जब त्यो उनीहरूको स्वामित्वमा हुन्छ, तँ आश्वस्त हुन सक्छस् कि, कुनै क्षणिक लापर्बाही वा केही सामान्य ज्ञानको तत्त्वको कमीका कारण बाहेक, उनीहरूले कहिल्यै जानाजानी वा आफ्नै कारणले त्यसलाई नष्ट पार्ने वा बिगार्नेछैनन्। त्यस्ता मानिसहरूले यो उपकरण प्रयोग गर्न सक्छन्; उच्च श्रेणीका, राम्रा उपकरण उनीहरूलाई खटनपटन गर्न सकिन्छ। जो सामानहरूको प्रयोगमा स्वतः रूखो हुन्छन्, उनीहरूलाई साधारण चीजहरू मात्र प्रयोग गर्न दिनु काफी हुन्छ। साथै, त्यस्ता उपकरण र औजारहरूका संरक्षकहरू तिनको प्रयोगको अभिलेख राख्न जिम्मेवार हुन्छन्: कसले के लगेको छ र उसले त्यो कति समयका लागि प्रयोग गरेको छ, वा कुन सामान चाहिँ निश्चित व्यक्तिको प्रयोजनका लागि मात्र हो, जसले, यदि त्यो बिग्रिएमा त्यसको मूल्यअनुसार क्षतिपूर्ति तिर्नुपर्छ। दुवै पक्षले यी कुरामा हस्ताक्षर गर्नुपर्छ, ताकि कामकुराहरू सबैका लागि न्यायोचित र समझदारीपूर्ण होस्। मेसिन र उपकरणहरूको राम्रो हेरचाह गरिनुपर्छ, चाहे तिनको प्रयोग अल्पकालीन होस् वा दीर्घकालीन होस्; प्रयोगकर्ताले तिनलाई सही तरिकाले प्रयोग गर्न सिक्नैपर्छ, र यदि तिनमा समस्या आयो भने, तिनलाई तत्काल मर्मत गरिनुपर्छ। यो काम जति सावधानीपूर्वक गरियो, उति नै राम्रो हुन्छ। यदि शैतानको शासनले मानिसहरूलाई पक्राउ गरिरहेको कुनै अवस्था देखा पऱ्यो भने, त्यसबेला अगुवा र कामदारहरूको सबैभन्दा केन्द्रीय जिम्मेवारी भनेको महत्त्वपूर्ण उपकरण र औजारहरू भरपर्दो, र भरोसायोग्य मानिसहरूलाई खटनपटन गर्नु हो। त्यो पठाइसकेपछि, उनीहरूले त्यस व्यक्तिलाई यसो भन्दै केही परामर्श दिनुपर्छ, “यी परमेश्वरको घरका सामानहरू हुन्, जसलाई तिमीले आफ्नो कर्तव्य पूरा गर्दा प्रयोग गर्न सक्छौ। ती खेलबाड गर्ने सामान होइनन्। तिमीले तिनलाई समझदारीपूर्वक प्रयोग गर्नुपर्छ र तिनको राम्रो हेरचाह गर्नुपर्छ। तिनलाई क्षति हुन नदिनू। यी उपकरण र औजारहरू कर्तव्य निर्वाहका लागि आवश्यक हुने हुनाले, यदि तिनमा क्षति पुगेमा, तिनको मूल्यअनुसार क्षतिपूर्ति तिर्नुपर्छ। यदि क्षति पुगेको उपकरणका कारण काम ढिलो भयो भने, त्यो झनै गम्भीर प्रकृतिको समस्या हो, यसको मतलब काममा केही बाधा र विनाश हुन पुगेको छ। त्यसैले, तिमीले हर प्रकारका उपकरण र औजारहरूलाई, कर्तव्यहरू पूरा गर्दा सही तरिकाले प्रयोग गर्न जान्नैपर्छ—तिमीले परमेश्वरको घरको सम्पत्तिलाई कदापि क्षति पुर्याउनु हुँदैन। जसरी पनि यी सिद्धान्तहरू याद राख: समझदारीपूर्वक प्रयोग, र नियमित निरीक्षण, मर्मत, र सम्भार—यदि कुनै सामानमा समस्या आयो भने, तुरुन्तै रिपोर्ट गरेर मर्मतका लागि आवेदन देऊ।” यो काम राम्ररी गर्नका लागि, अगुवा र कामदारहरूले, एकातिर खटनपटन र प्रयोगका सिद्धान्तहरू जान्नैपर्छ; अर्कोतिर उनीहरूले प्रयोगकर्ताहरूलाई कसरी सम्भार गर्ने र राम्रो अवस्थामा राख्ने, र यदि कुनै सामानमा समस्या आयो भने त्यसलाई कसरी मर्मत गर्ने, आदि कुराहरू थाहा दिनुपर्छ। मानिसहरूले हरप्रकारका उपकरण र सामग्रीहरूको हेरचाह गर्दा र प्रयोग गर्दा बुझ्नुपर्ने र तिनीहरूसँग हुनुपर्ने मानक ज्ञान यही हो।
अगुवा र कामदारहरूले परमेश्वरको घरका विभिन्न उपकरणहरूको समझदारीपूर्वक खटनपटन गर्नुपर्छ। उदाहरणका लागि, यदि कुनै कामको कर्मचारीलाई तुलनात्मक रूपमा बृहत् सुविधाहरू भएको कम्प्युटरको आवश्यकता छ भने, तैँले उसलाई एउटा दिनुपर्छ। यदि उसले एउटा पर्याप्त हुँदैन भनेमा, तैँले उसलाई किन भनेर सोध्नुपर्छ, र उसले भनेको कुरा तथ्य हो कि होइन भनी हेर्न वरपर सोधपुछ गर्नुपर्छ। उसको आवेदनकै भरमा उसले मागे जति कम्प्युटरहरू दिने, एउटा पर्याप्त हुँदैन भनेमा दुइटा दिने, दुइटा पर्याप्त हुँदैन भनेमा तीन वटा दिने नगर्। त्यसो गरिस् भने, के तैँले कम्प्युटरहरू खेलौनाझैँ बाँडिरहेको हुनेथिइनस् र? के त्यो अविवेकीपन हुनेथिएन त? तैँले सुरुमा अवस्था छानबिन गर्नुपर्छ र परमेश्वरको घरका सिद्धान्तहरूका आधारमा निर्णय गर्नुपर्छ। तैँले कुनै पनि हालतमा सबै किसिमका आवेदनहरू जथाभाबी स्वीकृत गर्नु हुँदैन, किनभने कतिपय अवस्थामा मानिसहरूले कर्तव्य पूरा गर्ने बहानाले जथाभावी आवेदनहरू दिइरहेका हुन्छन्। यसका साथै, महत्त्वपूर्ण काम गर्ने कतिपय मानिसहरूलाई उच्च श्रेणीका कम्प्युटरहरूको आवश्यकता पर्न सक्छ, तैपनि उनीहरूका व्यक्तिगत कम्प्युटरहरूमा तल्लो श्रेणीका विशेषताहरू रहेका हुन्छन्। अगुवा र कामदारहरूले तुरुन्तै यसको पनि जाँचबुझ गर्नुपर्छ र समझदारीपूर्वक उपकरणको खटनपटन गर्नुपर्छ। कम्प्युटरको प्रबन्ध गर्ने कुरा कुनै व्यक्तिको कामको प्रकृति र कम्प्युटरको श्रेणीका मागहरूका आधारमा निर्णय गरिनुपर्छ। यदि कोही एक साधारण अगुवा वा कामदार मात्र हो, र ऊ कम्प्युटर प्रविधि वा भिडियो निर्माणको काममा संलग्न छैन, र उसले इन्टरनेट चलाउने, स्रोतहरू खोज्ने, र कल गर्ने जस्ता कामहरू गर्न मात्र कम्प्युटर प्रयोग गर्छ, र उसलाई धेरै विशिष्ट कम्प्युटर चाहिँदैन भने, उसले एउटा साधारण कम्प्युटर प्रयोग गर्दा हुन्छ। कतिपय पाको उमेरका मानिसहरूले टाइप गर्ने, अनलाइन जाने, र कल गर्ने जस्ता सामान्य कामहरू मात्र जानेका हुन्छन्, तैपनि उनीहरू अगुवा वा कामदार बनेपछि, उनीहरूलाई अत्यन्तै उच्च श्रेणीका कम्प्युटरहरू जिम्मा लगाइन्छ। के यो समझदारीपूर्ण कुरा हो? के उनीहरूले विशेष सुविधाहरू खोजिरहेका छैनन् र? के उनीहरूले हैसियतका लाभहरू उठाइरहेका छैनन् र? (छन् नि।) यस किसिमको उच्च-स्तरीय, उच्च श्रेणीको उपकरण केका लागि प्रयोग गरिनुपर्छ? ती सम्बन्धित कामकाजी कर्मचारी र पेसागत कर्मचारीहरूलाई प्रयोग गर्न दिइनुपर्छ। ती कुनै व्यक्तिको हैसियतसँग मिल्ने हुनुपर्दैन। कतिपय अगुवाहरू र कामदारहरू भूलवश आफूले परमेश्वरको घरका विभिन्न सामानहरूको विशेष प्रयोगका अधिकारहरूको लाभ उठाउनुपर्ने विश्वास गर्छन्। के त्यो परमेश्वरको घरको नियम हो? होइन। कतिपय मानिसहरू अगुवा र कामदार बनिसकेपछि, उनीहरूलाई तुरुन्तै उच्च श्रेणीका कम्प्युटर, मोबाइल, र हेडफोनहरू दिइन्छ, उनीहरूलाई हर प्रकारका उच्च श्रेणीका उपकरणहरूले उपलब्ध गराइन्छ। यसको परिणाम के हुन्छ? के यो साँच्चिकै काममा राम्रा नतिजाहरू प्राप्त गर्नका लागि गरिन्छ? के ती मानिसहरू देहसुखको लालसा गरिरहेका हुँदैनन् र? आखिरमा तैँले उच्च श्रेणीका कम्प्युटरहरू केका लागि प्रयोग गरिरहेको छस्? के तैँले केवल अनलाइनमा भेलाहरू राखेर शब्द र धर्मसिद्धान्तहरू प्रचार गरिरहेको छैनस् र? के तैँले भिडियोहरू अपलोड गर्न जानेको छस्, वा के तँ भिडियोहरू निर्माण गर्न सक्षम छस्? के तैँले नेटवर्क सुरक्षा कायम राख्न जानेको छस्, वा वेबसाइटहरू बनाउन सक्छस्? के तैँले यी पेसाहरू जानेको छस्? यदि जानेको छैनस् भने, तँलाई उच्च श्रेणीको कम्प्युटरको के काम? के यसो गर्नु घिनलाग्दो कुरा होइन र? (हो।) यदि तँसँग आफ्नै पैसा छ भने, त्यो पैसाले जति वटा कम्प्युटरहरू किने पनि कसैले वास्ता गर्दैन, र ती जतिसुकै उच्च श्रेणीका भए पनि कसैले हस्तक्षेप गर्नेछैन। हामी अहिले परमेश्वरको घरका भौतिक सामानहरू कसरी समझदारीपूर्वक वितरण गरिनुपर्छ भन्नेबारे कुरा गरिरहेका छौँ। “समझदारीपूर्वक” भन्नुको अर्थ के हो? अगुवा र कामदारहरूले परमेश्वरको घरको यो उच्च श्रेणीको उपकरण प्रयोग गर्दा, के त्यो त्यसलाई “समझदारीपूर्वक” प्रयोग गरेको मानिन्छ? (मानिँदैन।) उनीहरूले उक्त पेसा वा कुनै पनि काम कसरी गर्ने भनेर जानेका हुँदैनन्। के उच्च श्रेणीको कम्प्युटर हुँदैमा उनीहरू उच्च श्रेणीका हुन्छन्? उनीहरू केका लागि रबाफ देखाउँछन्? परमेश्वरको घरसित अगुवा र कामदारहरूलाई त्यसका भौतिक सामानहरूको प्रयोग र वितरणमा विशेष अधिकारहरू दिने कुनै नियम छैन; उनीहरूसँग त्यो विशेष सुविधा हुँदैन, र यो परमेश्वरको घरले सामानहरू वितरण गर्ने समझदार सिद्धान्त होइन—यो समझदार कुरा पटक्कै होइन। कोही यी वस्तुहरू किन्न सक्ने स्थितिमा छ भने उसले आफै किन्न सक्छ; यदि छैन, र परमेश्वरको घरले नै उसलाई वितरण गर्नु आवश्यक छ भने, उसले साधारण सामानहरू प्रयोग गर्दा काफी हुन्छ। यो न्यायोचित र समझदार कुरा हो। साँच्चिकै यो उच्च श्रेणीको उपकरण प्रयोग गर्न जानेकाहरू यही काममा संलग्न पेसागत कर्मचारी हुन्, त्यसकारण परमेश्वरको घरले उनीहरूलाई यो उपकरण वितरण गर्नुपर्छ। यी परमेश्वरको घरका भौतिक सामानहरूको वितरणका सम्बन्धमा अगुवा र कामदारहरूले बुझ्नु र बोध गर्नुपर्ने केही सिद्धान्तहरू हुन्। यी वस्तुहरू कहीँ कतै असमझ्दारीपूर्वक वितरण गरिएका छन् कि भनी हेर्न सिद्धान्तहरूका आधारमा फेरि जाँच गर्। यदि छन् भने, त्यसलाई चाँडो सच्याइहाल्। कतिपय मानिसहरू अगुवा वा कामदार बनेपछि, उनीहरूले देख्छन् कि परमेश्वरको घरको कसैले पनि उनीहरूको चापलुसी गरिरहेको छैन, कसैले पनि उनीहरूलाई उच्च श्रेणीका सामानहरू दिइरहेको छैन, र उनीहरू अझै पनि आफ्नै पुराना लुगाहरू, पुराना पहिरनहरू लगाइरहेका छन्, अझै पनि आफ्नै, अत्यन्तै साधारण सानो कम्प्युटर प्रयोग गरिरहेका छन्, र परमेश्वरको घरले उनीहरूलाई राम्रो कम्प्युटर उपलब्ध गराएको छैन। त्यसैले, उनीहरू वित्तीय समूहकहाँ गएर नयाँ कम्प्युटर किन्नका लागि आवेदन दिन्छन्। के यो समझदार कुरा हो? (होइन।) उनीहरूले यसो भन्छन्, “यदि तपाईंले मलाई त्यो जारी गर्नुभएन भने, म आफ्नो कर्तव्य पूरा गर्नेछैनँ—म परमेश्वरको घरलाई मेरा लागि उच्च श्रेणीको, अझै नयाँ मोडेलको र तीव्र गतिको कम्प्युटर किन्न लगाउने मौका खोज्नेछु!” उनीहरू निकै हक्की हुन्छन्—उनीहरूले गर्न नआँट्ने केही पनि हुँदैन। यी मानिसहरू अगुवा बनेपछि, उनीहरूले परमेश्वरको घरलाई आफ्नै जस्तो व्यवहार गर्छन् र सोच्छन्, “परमेश्वरको घरको पैसा पनि मेरै हो—म त्यसलाई जसरी मन लाग्छ त्यसरी खर्च गर्नेछु!” यो ख्रीष्टविरोधीहरूले गर्न सक्ने काम हो।
इ. विभिन्न दैनिक आपूर्तिका सामानहरू र खाद्यान्नलाई समझदारीपूर्वक वितरण गर्ने
हामीले अब विभिन्न भौतिक वस्तुहरू र उपकरणहरूको समझदार वितरणबारे बोलिसकेका छौँ। अब, हामी दैनिक जीवनयापनका वस्तुहरूबारे कुरा गर्नेछौँ, जस्तै: अन्नपात, सागसब्जी, र सुकाइएका खाना, साथै पकाउनका लागि जरुरी अवयवहरू, विभिन्न पूरक खानाहरू, आदि। यी सामग्रीहरूको समझदारीपूर्वक सुरक्षा गर्नु पर्ने मात्र होइन, तिनलाई समझदारीपूर्वक वितरण पनि गरिनुपर्छ। त्यसोभए, यी विभिन्न सामग्रीहरूलाई कसरी समझदारीपूर्वक वितरण गरिन्छ त? परमेश्वरको घरसँग त्यसको खानाका मानकहरू छन्, र त्यस्ता सामग्रीहरूको व्यवस्थापन गर्नेहरूले ती मानकहरूलाई कडाइका साथ पालना गरेर तिनलाई समझदारीपूर्वक वितरण गर्नुपर्छ। उनीहरूले राम्रो खाना आफू निकटकालाई बढी दिने होइन। उदाहरणका लागि, यदि कुनै स्वादिष्ठ, राम्रो गुणस्तरको चामल खरिद गरिएको छ, वा यदि कुनै फलफूल वा मासु कहिलेकाहीँ मात्र किनिन्छ, र तैँले त्यो तँ जोसँग मिल्छस् उसलाई बढी दिन्छस्, वा राम्रा चीजहरू सबै उसलाई नै दिन्छस्, र नराम्रा चीजहरू अरूलाई पठाउँछस् भने—के त्यसलाई समझदारीपूर्वक वितरण गर्नु मानिन्छ? (मानिँदैन।) त्यसोभए, यसमा “समझदारी” लाई कसरी मापन गर्नुपर्छ? वस्तुहरू वितरण गर्ने कस्तो तरिकालाई समझदारीपूर्ण मान्न सकिन्छ? खानाका लागि परमेश्वरको घरले तोकेका सिद्धान्तहरू र माग गरेका मानकहरूअनुसार बराबर वितरण गर्नु, जति वितरण गर्नुपर्ने हो उति वितरण गर्नु। यदि तैँले आफू कोहीसँग नजिक भएको महसुस गर्छस् भने, तैँले उसलाई तेरो आफ्नै भाग दिन सक्छस्। अरू मानिसहरूका वस्तुहरूका साथ उदार नबन्, अनि अरू मानिसहरूलाई उदारता देखाउन परमेश्वरको घरका भौतिक वस्तुहरू प्रयोग नगर्; यदि तँ उदार बन्न चाहन्छस् भने, आफ्नै वस्तुहरू दिएर बन्। उदारता परमेश्वरको घरको सिद्धान्त नै होइन—परमेश्वरको घरको सिद्धान्त त समझदारीपूर्ण वितरण हो। दैनिक जीवनका आवश्यक चीजहरू र विभिन्न खाद्यसामाग्रीहरूको वितरण परमेश्वरको घरद्वारा स्थापित मानकहरूअनुसार गर्नुपर्छ, जथाभाबी तरिकाले गर्नु हुँदैन। स्वाभाविक रूपमा, अगुवा र कामदारहरूले सुपरिवेक्षण गरेर त्यस्ता वस्तुहरूको वितरणका लागि जिम्मेवार मानिसहरूको हृदय सही ठाउँमा छ कि छैन, तिनको वितरण समझदारीपूर्ण छ कि छैन, परमेश्वरको घरका सिद्धान्तहरूअनुरूप वितरण गरिएको छ कि छैन, धेरैजसो मानिसहरूले त्यो कस्तो छ भनी रिपोर्ट गर्ने गर्छन्, उनीहरूका कुनै गुनासाहरू छन् कि, र सबैको हेरचाह गरिएको छ कि छैन भनी हेर्न सक्छन्। कहिलेकाहीँ वस्तुहरूको अभाव भएमा के गर्नुपर्छ? के अगुवा र कामदारहरूले ती आफै खानलाई राख्नु ठीक हो? कतिपयले यसो भन्लान्, “अगुवा र कामदारहरूको सबैभन्दा उच्च हैसियत र प्रतिष्ठा हुन्छ, र हामीसँग सबैभन्दा धेरै बोल्ने प्रायः उनीहरू नै हुन्छन्, जसले गर्दा उनीहरूको मुख सुक्छ। यदि कुनै राम्रो खानेकुरा छ भने, उनीहरूलाई खान दिऊँ।” के यसरी वस्तुहरू वितरण गर्नु ठीक हो? (होइन; वस्तुहरू जसलाई साँच्चिकै आवश्यक पर्छ उनीहरूका लागि राख्नुपर्छ।) यदि तुलनात्मक रूपमा महङ्गा केही स्वास्थ्य सेवासम्बन्धी उत्पादनहरूको अभाव छ भने, तिनलाई कसरी वितरण गर्नुपर्छ? ती जसले धेरै वर्षदेखि परमेश्वरप्रति आफूलाई समर्पित गरेका र योगदान दिएका छन् उनीहरूलाई दिइनुपर्छ। उमेरका कारण यस्ता मानिसहरूको स्वास्थ्य अवस्था कमजोर हुन्छ, तैपनि उनीहरू अझै लगनशीलताका साथ आफ्ना कर्तव्यहरू पूरा गरिरहेका हुन्छन्, र दाजुभाइ-दिदीबहिनीहरूले उनीहरूबाट धेरै फाइदा प्राप्त गरेका हुन्छन्। यी मानिसहरूले आफ्ना शरीरलाई अलि सन्तुलित राख्न र त्यसको हेरचाह गर्न आवश्यक हुन्छ, र उनीहरूलाई ती स्वास्थ्य सेवासम्बन्धी उत्पादनहरू खान र प्रयोग गर्न दिनु नै ठीक हुन्छ। अभावमा रहेका संसाधनहरूका लागि कसैले पनि झगडा गर्नु हुँदैन। अगुवा र कामदारहरूले यी वस्तुहरूलाई यसरी नै वितरण गर्नुपर्छ। के यो समझदारीपूर्ण कुरा हो? (हो।) त्यसोभए, के धेरैजसो मानिसहरूले यस्तो वितरणमा आपत्ति जनाउलान् त? के त्यस्तो कोही छ जसले यसो भनोस्, “म त्यति पाको नहुँला, तर मैले प्रशस्त काम गर्नु छ—म हरेक दिन आठ घन्टाभन्दा बढी काम गर्छु। मेरो काम त्यति कुशल नहोला, र मैले त्यो काम धेरै वर्षदेखि गर्दै आएको नहुँला, तर कहिलेकाहीँ त मेरो स्वास्थ्य पनि खासै राम्रो हुँदैन। किन कसैले पनि मेरो हेरचाह गर्दैन? राम्रा वस्तुहरू हुँदा, ती प्राप्त गर्ने मेरो पालो कहिल्यै आउँदैन, तर जब काम गर्नुपर्ने हुन्छ, त्यसबेला सधैँ मलाई नै खोजिन्छ”? के यस्तो व्यक्तिलाई एक भाग दिइनुपर्छ? उनीहरूले यो चीज माग्ने हिम्मत गरिहालेकाले, उनीहरूका लागि अलिकति राखिदे—के त्यो समझदारीपूर्ण कुरा हो? के तैँले त्यसो गर्न मान्ने थिइस्? (मान्ने थिइनँ।) यदि म भएको भए, मान्ने थिएँ। यस्ता कुरामा किन यति चिन्ता लिने? मानिसहरू रमाइलोका लागि जीवन जिउँदैनन्; उनीहरू खान, पिउन, र रमाइलो गर्नका लागि जिउँदैनन्। त्यस्ता कुराहरूका लागि किन झगडा गर्ने? यदि कोही तिनका लागि साँच्चिकै झगडा गर्न चाहन्छ, र उसका परिस्थितिहरू अलि उपयुक्त नै छन् भने, उसलाई यी कुराहरूमा अलिकति रमाउन दे। उनीहरूलाई केही विशेष निगाह देखाइएको हुनेछ, तर त्यसका लागि तैँले केही पनि गुमाएको हुनेछैनस्; यति चिन्ता लिनुपर्ने आवश्यकता नै छैन। त्यसकारण, मानौँ कसैले यसो भन्यो रे, “मलाई किन अलिकति दिँदैनौ? मेरो स्वास्थ्य पनि त त्यति राम्रो छैन; यदि मैले साँच्चिकै केही राम्रो कुरा खान पाएँ भने, मेरो स्वास्थ्यमा सुधार आएर, म अझ बढी काम गर्न र परमेश्वरको घरका लागि अझ बढी पीडा वहन गर्न सक्षम हुने थिएँ, र मेरो काम अझ कुशल हुने थियो।” उनीहरूले यो अनुरोध गरिहालेकाले, त्यसलाई अस्वीकार गरेर उनीहरूलाई लज्जित तुल्याउने काम नगर्, उनीहरूलाई केही वितरण गरिदे। अरू मानिसहरूले यसको बारेमा त्यति चिन्ता लिनु पर्दैन—अलि बढी उदार बन्। ती कुराहरू नहुँदा पनि के तेरो जीवन त्यसरी नै चल्नेछैन र? परमेश्वरले मानिसहरूलाई जे दिनुहुन्छ त्यसको अभाव हुँदैन; त्यो प्रशस्त र प्रचुर हुन्छ—वस्तुहरूका लागि झगडा गर्नुपर्ने कुनै आवश्यकता छैन। यदि कुनै विशेष सामान छ, र कसैलाई पनि यसको आवश्यकता छ वा यसलाई उपभोग गर्नुपर्छ भन्ने महसुस हुँदैन भने, बहुमतले अन्ततः जुन किसिमको व्यक्तिलाई सबैभन्दा उपयुक्त मान्छ उसैलाई त्यो खान दिइनुपर्छ। हामी मानवता र वस्तुहरूको समझदार वितरणमा जोड दिन्छौँ। यी कुराहरू प्राप्त गर्छन् गर्नेहरूले तिनलाई परमेश्वरबाट स्विकार्नुपर्छ र उहाँको अनुग्रहका लागि उहाँलाई धन्यवाद दिनुपर्छ। अरूले तिनका लागि झगडा गर्नु हुँदैन। यदि तँ झगडा गर्छस् भने, तँ बेसमझ छस्, तैँले जानाजानी समस्या सिर्जना गरिरहेको हुन्छस्, र तैँले सीमा नाघेको हुन्छस्। त्यस्ता विशेष परिस्थितिहरूलाई यसरी नै निराकरण गर्नुपर्छ। विशेष र साधारण परिस्थितिहरू दुवैका सिद्धान्तहरू हुन्छन्; तिनलाई जथाभावी रूपमा व्यवहार गर्नु हुँदैन, मानव सम्बन्धहरूका मागहरूका आधारमा त झनै गर्नु हुँदैन। जब यी वस्तुहरूलाई समझदारीपूर्वक वितरण गरिन्छ, तब अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गरेका हुन्छन्।
दैनिक आपूर्ति र खाद्यान्न वितरण गर्दा, अगुवा र कामदारहरूले वास्तविक अवस्थाहरू, वास्तविक मानव सङ्ख्या, र आवश्यक वास्तविक परिमाणका आधारमा पनि वितरण गर्नुपर्छ, ताकि तिनलाई खेर जान र क्षति हुन नदिने उद्देश्यले तिनको साँच्चिकै समझदारीपूर्वक वितरण गरियोस्। यो अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो। कहिलेकाहीँ, जब उनीहरूसँग विशिष्ट परिस्थितिहरूको बुझाइ नहुँदा, उनीहरूले केही कुराहरू एउटा आधारभूत सिद्धान्तअनुसार वितरण गर्न, र पछि सबैको सल्लाह-सुझाव र त्यसपछिको अनुगमनमार्फत वितरण समझदारीपूर्वक भएको थिएन, त्यो प्रावधानद्वारा अलि बाँधिएको थियो भनेर थाहा पाउन सक्छन्। त्यो अवस्थामा, उनीहरूले त्यस समस्याको पुनरावृत्ति रोक्न र बरबादी र क्षति कम गर्न अर्को पटक सुधार गर्नैपर्छ। त्यो आफ्नो जिम्मेवारी पूरा गर्नु हो। अवश्य पनि, क्षति र बरबादीबाट जोगिनका निम्ति, उनीहरूले एकातिर वस्तुहरू वितरण गर्दा अझ बढी परामर्शहरू लिनुपर्छ; उनीहरूले कडाइका साथ सिद्धान्तहरूलाई पनि पालना गर्नुपर्छ। यो जरुरी छ। वस्तुहरू जथाभावी रूपमा वितरण गर्ने, जसलाई साँच्चिकै खाँचो परेको छ उनीहरूलाई नदिने, निष्कपटताका साथ आफ्नो कर्तव्य पूरा गर्ने र सत्यता वास्तविकता भएकाहरूलाई नदिने, तर विशिष्ट रूपमा आत्मिक बुझाइ नभएका चापलुसहरूलाई दिने काम नगर्। के त्यसो गर्नु सिद्धान्तहरूअनुरूप कार्य गर्नु हो? (होइन।) के त्यसो गर्नु उद्दण्ड लापरवाही होइन र? सिद्धान्तहरूअनुसार कार्य नगर्नु भनेको आफ्ना जिम्मेवारीहरू पूरा नगर्नु हो। आफ्ना जिम्मेवारीहरू पूरा गर्नुले के जनाउँछ? त्यो झारा नटार्नु र प्रावधानहरू पालना गर्नु हो, र त्यो शृङ्खलाबद्ध निर्धारित कदमहरू चालेर पूरा हुने होइन—बरु, त्यो परमेश्वरको घरले माग गरेका सिद्धान्तहरूलाई साँच्चिकै कडाइका साथ पालना गरेर कार्य गर्नु, साथै परमेश्वरको घरको कुनै पनि कुरामा कुनै बरबादी वा क्षति नहुने पनि सुनिश्चित गर्नु हो। आफ्नो जिम्मेवारीलाई साँचो रूपमा पूरा गर्नु भनेको त्यही नै हो। उदाहरणका लागि, पाँच जना मानिसहरूलाई अण्डा वितरण गर्दा, तैँले हरेक व्यक्तिलाई दिनमा एउटा अण्डा दिनुपर्छ, र ती हरेक दस दिनमा वितरण गर्नुपर्छ, ताकि तैँले ठ्याक्कै पचास वटा पठाएस्। तैँले तिनलाई यसरी नै वितरण गर्नुपर्छ किनभने, एकातिर, त्यो सङ्ख्या सानो हो र त्यसलाई हेरचाह गर्न सजिलो हुन्छ; त्यसका साथै, यो उनीहरूलाई खानका लागि ठ्याक्कै सही मात्रा हो। परमेश्वरको घरले माग गर्ने मानक र निर्देशहरूअनुसार यसरी अभ्यास गर्नु, अत्यन्तै सही हुन्छ—त्यो नै सिद्धान्तहरूअनुसार कार्य गर्नु हो। यदि कुनै अगुवा वा कामदारले, झन्झटको डरले, उनीहरूलाई एक पटकमा सय दिन बराबरको अण्डा—पाँच सय वटा अण्डा—वितरण गर्यो भने, के त्यो उचित हुनेथियो? ल भन्, के ढुवानी र हेरचाह गर्नका लागि पचास वटा अण्डा सजिलो हुन्छ, कि पाँच सय वटा? (पचास वटा।) थोरै सङ्ख्या भए ढुवानी र हेरचाह गर्न बढी सजिलो हुन्छ। कतिपय मानिसहरूले सय दिन बराबरको नै पठाउँछन्, र फलस्वरूप, कति त बाटोमै फुट्छन्, र कति चाहिँ गन्तव्यमा पुर्याउँदा कुच्चिन्छन्। अलिअलि फुट्दै एक भागमा क्षति पुग्छ। त्यसमाथि मानिसहरूले धेरै अण्डाहरू पठाइएको देख्दा, तिनलाई यतिकै खेर फाल्नेछन्, त्यसैले अर्को ढुवानी हुनु अघिको दिनसम्म उनीहरूसँग खानलाई अन्डा नै हुनेछैन। त्यसैले, जब यी अन्डाहरू फुट्छन् र तिनमा क्षति पुग्छ, के त्यो अगुवा र कामदारहरूको कर्तव्य विमुखताले निम्त्याएको होइन र? (हो।) यदि उनीहरूले अझ बढी मागेमा, के तैँले उनीहरूलाई दिन मिल्छ? सिद्धान्तहरूअनुसार, तैँले उनीहरूलाई तोकिएको मितिभन्दा अगाडि थप दिन नै मिल्दैन, तर खानका लागि आफूसँग अण्डा नै नभएपछि उनीहरूलाई छटपटी महासुस हुन्छ। यहाँ के गर्नुपर्छ? (तिनीहरूलाई समयमा र सही मात्रामा दिइनुपर्छ।) तिनीहरूलाई समयमा र सही मात्रामा दिनु नै सिद्धान्तहरूअनुसार कार्य गर्नु हो—त्यो नै समझदारीपूर्ण वितरण हो। यी कुराहरू वितरण गर्दा, अगुवा र कामदारहरूले कुनै पनि हालतमा समझदारीपूर्ण वितरण गर्ने सिद्धान्त र परमेश्वरको घरले माग गर्ने मानकलाई एकदमै पालन गर्नैपर्छ र तिनलाई समयमा र नियमित रूपमा वितरण गर्नुपर्छ। त्यसबाहेक, उनीहरूले कतै खेर गएका घटनाहरू छन् कि छैनन्, खेर गएका कारण अभाव भएका वस्तुहरूको पुनः आवेदन वा अनुरोध आएका छन् कि छैनन्, र मानिसहरूलाई मन नपरेका चीजहरू वितरण गर्दा खेर गएका छन् कि छैनन् भनेर तुरुन्तै बुझ्नुपर्छ। उदाहरणका लागि, मासु र तरकारीहरू दुइटै वितरण गरिएका छन्, र अधिकांश मानिसहरूले मासु रुचाउँछन्, त्यसैले उनीहरूले त्यसलाई तीन वा पाँच दिनमा खाइसक्छन्, र तरकारीहरू बाँकी रहन्छन्। तरकारीहरू लामो समयमा रहँदैनन्; कति त केही समयपछि बिग्रेर कुहिन्छन्, त्यसकारण ती अर्को खेप वितरण गर्नुअघि नै सकिन्छन्। त्यसपछि कसैले पुनः आवेदन दिएर थप माग्न सक्छ। के यस्तो अवस्थामा थप दिनुपर्छ? के उनीहरूलाई थपेर दिनु समझदारीपूर्वक हुन्छ? (हुँदैन।) अरू मानिसहरूले लुकीलुकी मासु र अन्डा खाइदिनेछन्, र आफूलाई मन पर्ने सबै तरकारी खाइदिनेछन् जबकि आफूलाई मन नपर्ने तरकारी नखान यावत् किसिमका कारण र बहानाहरू दिनेछन्। जब तरकारीहरू पहेँलो हुन्छन् र बिग्रन्छन्, उनीहरूले ती खान अयोग्य भएको भन्छन्, र अन्त्यमा ती सुँगुर वा कुखुरालाई खुवाउँछन्, या नत्र केवल फालिदिन्छन्, अनि थप माग्छन्। अगुवा र कामदारहरूले यस्तो घटना सामना गर्दा, उनीहरूले त्यसलाई कसरी सम्हाल्नुपर्छ? यदि उनीहरूले “म तिमीहरूलाई अर्को पटक बढी दिनेछु, किनभने यतिले नपुग्ने देखिन्छ—म तिमीहरूलाई अझ बढी प्रदान गर्नेछु, किनभने तिमीहरूले धैरै खान्छौ,” भन्छन् भने, के त्यो त्यसलाई सम्हाल्ने उचित तरिका हो त? के त्यो अन्धोपन होइन र? (हो।) उनीहरू कसरी अन्धा हुन्? (उनीहरूले साँच्चिकै के भइरहेको छ भन्ने कुरा बुझ्दैनन्: उनीहरूले वितरण गरेको खाद्यान्न अपुग हुनुको मूल कारण भनेको त्यो खेर फालिएकाले हो।) उनीहरू साँच्चिकै के भइरहेको छ भन्ने कुरा नबुझी निष्कर्षमा पुग्छन्। परमेश्वरको घरका निर्देशहरूअनुसार खाद्यान्न वितरण गरिएको धेरैजसो ठाउँहरूमा खानका लागि पर्याप्त हुन्छ। त्यो एउटा ठाउँमा चाहिँ किन कहिल्यै पर्याप्त हुँदैन? के त्यसका लागि विशिष्ट अनुसन्धान आवश्यक छैन र? उनीहरूले के भइरहेको छ भनी हेर्नका लागि, स्थलमै गएर अवस्थाबारे होसियारीपूर्वक र विस्तृत रूपमा सोधपुछ गर्नुपर्छ। अन्त्यमा, उनीहरूको अनुसन्धान र बुझाइमार्फत, उनीहरूले त्यस ठाउँको भान्से खराब र अनैतिक व्यक्ति रहेको, जसले मानिसहरूको खाना कुखुरालाई खुवाउने गरेको, र यसरी जानाजान परमेश्वरको घरको खाना खेर फाल्ने गरेको पत्ता लगाउँछन्। उनीहरू खानेकुरामा अत्यन्तै किचकिचे हुन्छन्, र स्वादिष्ठ खाना मात्र खान रुचाउँछन्। मासु नहुँदा उनीहरू तरकारी नै खाँदैनन्, र मासु छ भने, तोफु समेत खाँदैनन्। अण्डा पाएको बेलामा, उनीहरू हरेक छाक अण्डासँग खान्छन्। उनीहरूले केवल स्वादिष्ठ खाना मात्र रोज्छन् र कुनै पनि साधारण तरकारी खाँदैनन्, न त ती बिग्रिएमा वास्ता नै गर्छन्। बुझाइअनुसार भान्से खराब व्यक्ति भएको देखिएको छ—के अर्को पटक वस्तुहरू वितरण गरिँदा उसलाई कुराहरू बढाएर दिनुपर्छ? (पर्दैन।) के उसलाई बढी नदिनु नै समाधान होइन र? यस्तो समस्यालाई, पत्ता लागेपछि कसरी समाधान गर्नुपर्छ? उसलाई तुरुन्तै प्रतिस्थापित गर्; उसको सट्टा कर्तव्य वहन गर्न अलिकति मानवता भएको व्यक्ति राख्। समस्यालाई पत्ता लगाएर तुरुन्तै समाधान गर्, अनि त्यस्ता दुष्ट मानिसहरू, त्यस्ता कुहिएका स्याउहरूलाई हटा। कतिपयले सोध्न सक्छन्, “उनीहरूले अब पकाउन छाडेकाले, के उनीहरूलाई कुखुरालाई चारो खुवाउन लगाउँदा ठीक हुन्छ?” (हुँदैन।) यदि तिनीहरूले कुखुरालाई चारो खुवाएमा, कुखुराहरूले अण्डा पार्नेछैनन्; यदि तिनीहरूले सुँगुरलाई चारो खुवाएमा, सुँगुरहरू दुब्लाउनेछन्। तिनीहरूलाई केहीलाई पनि खुवाउन लगाए काम लाग्नेछैन। त्यस्ता मानिसहरूलाई खेदाउनैपर्छ—तिनीहरू परमेश्वरको घरमा कर्तव्य पूरा गर्न अयोग्य हुन्छन्। यदि परमेश्वरको घरका भौतिक वस्तुहरू वितरण गर्दा अन्य कुनै समस्याहरू भेटिएमा, तिनलाई पनि तुरुन्तै समाधान गरिनुपर्छ। यी समस्याहरू समाधान गर्नुको उद्देश्य के हो? परमेश्वरको घरका भौतिक वस्तुहरूको बरबादी र बिगारलाई कम गर्नु। कतिपयले सोध्लान्, “ती समस्याहरू समाधान गर्न, भान्सामै गएर अनुसन्धान गर्नुपर्छ। अगुवा र कामदारहरू भान्सामा प्रवेश गर्न पाउँदैनन् भनेर के तपाईंले नै भन्नुभएको होइन र? अहिले चाहिँ उनीहरू किन प्रवेश गर्न पाउँछन् त?” ती दुई अलग मामलाहरू हुन्। मैले उनीहरू जान पाउँदैनन् भनेको थिइनँ—त्यो त अगुवा र कामदारहरूको काम गर्न नजान्ने, उद्देश्यबिना पर्खेर बस्ने र हिँडडुल गर्ने, हैसियतका लाभहरूको लोभ गर्ने, राम्रा चीजहरू खोजेर खान सधैँ भान्सामा जाने कार्यको विश्लेषण थियो। अहिलेको प्रसङ्गमा, उनीहरू भान्सामा समस्याहरू समाधान गर्न गइरहेका छन्, न कि खानलाई राम्रा चीजहरू खोज्न। जानु पर्दा जा अनि जानु नपर्दा नजा। अगुवा र कामदारहरूले गर्नुपर्ने कामहरू धेरै हुन्छन्, र यो उनीहरूको कार्यहरूमध्ये एक हो, जसको विशिष्ट समस्याहरू भान्साको गहिराइमा पुगेर अनि विवरणहरूको बुझाइ प्राप्त गरेर मात्र थाहा पाउन सकिन्छ। यदि कुनै भान्से अनुपयुक्त भेटिएमा, उसलाई तुरुन्तै बर्खास्त गरेर उपयुक्त व्यक्तिले प्रतिस्थापन गरिनुपर्छ। त्यसो गर्नाले परमेश्वरको घरद्वारा वितरण गरिएका वस्तुहरू बरबाद नहुने र नबिग्रने सुनिश्चित हुन्छ। मैले चाहे जसरी भने पनि, अगुवा र कामदारहरूबाट गरिने माग भनेको उनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरून् भन्ने हो—यदि कुनै कुरा तैँले नै चिन्ता लिनु र गर्नुपर्ने छ भने, तैँले कुनै पनि हालतमा त्यसको चिन्ता लिनुपर्छ र त्यो काम गर्नुपर्छ। तैँले आफ्नै आँखाले अवलोकन गर्नुपर्छ र हरेक प्रकारको व्यक्तिले के भन्छ भनेर ध्यानपूर्वक सुन्न आफ्नै कान प्रयोग गर्नुपर्छ—र अवश्य पनि, तैँले हृदयमा यावत् किसिमका कुराहरूबारे राय, सोच, र सुझबुझ राख्न पनि सिक्नुपर्छ; अर्को महत्त्वपूर्ण कुरा भनेको परमेश्वरको घरद्वारा पालना गर्न माग गरिएका सिद्धान्तहरूलाई हृदयमा लिनु, र कुनै पनि समयमा तीबाट विचलित नहुनु हो। तैँले चाहे जे काम गरिरहेको भए पनि, सुरुमा तैँले परमेश्वरको घरले माग गर्ने सिद्धान्त र नियमहरू के-के हुन् भनी बुझ्नैपर्छ; तैँले काम सुरु गर्नुअघि, आफैलाई थप केही पटक यस्ता प्रश्नहरू सोध्नैपर्छ: के म परमेश्वरको घरले माग गरेका सिद्धान्तहरूबारे प्रस्ट छु? यदि यो परमेश्वरको घरका सिद्धान्तहरूअनुसार गर्ने हो भने यसलाई कसरी गरिनुपर्छ? विशेष परिस्थितिहरूमा यसलाई सिद्धान्तहरूअनुसार कसरी गरिनुपर्छ? साधारण परिस्थितिहरूमा यसलाई कसरी सम्हाल्नुपर्छ? तैँले काम सुरु गर्नुअघि कुनै पनि हालतमा यी र यस्तै अन्य प्रश्नहरू आफैलाई अझ धेरै सोध्नुपर्छ, र परमेश्वरसमक्ष बढी प्रार्थना गर्नुपर्छ। यसको एउटा पाटो आत्मजाँच हो; अर्को पाटो भनेको परमेश्वरको छानबिन स्विकार्नु हो। त्यसो गर्दा अगुवा र कामदारहरूलाई गल्तीहरू कम गर्न र आफ्नो काममा कम विचलित हुन, परमेश्वरको घरका भौतिक वस्तुहरूको बरबादीलाई कम गर्न, र उहाँको घरले बेहोर्ने घाटाहरू कम गर्नमा मदत पुग्छ। अझ महत्त्वपूर्ण कुरा के हो भने त्यसो गर्नाले अगुवा र कामदारहरूका जिम्मेवारीहरू कायम राख्छ र ती जिम्मेवारीहरू पूरा गर्छ। अगुवा र कामदारहरूले साँचो रूपमा गर्नुपर्ने नै यही हो। यो नै अगुवा र कामदारहरूबाट गरिने माग हो। परमेश्वरको घरका विभिन्न भौतिक वस्तुहरूको सुरक्षा र वितरण गर्नु कुनै जटिल कार्य होइन। एउटा पाटो भनेको, त्यो अगुवा र कामदारहरू आफै सिद्धान्तहरूसँग परिचित हुने कुरा हो; यसको अर्को पाटो भनेको अगुवा र कामदारहरूले, विभिन्न भौतिक वस्तुहरू व्यवस्थापन गर्न जिम्मेवार मानिसहरूलाई यी सिद्धान्तहरू अझ बढी सङ्गति गर्नुपर्छ, कामकुराको अझ धेरै अनुगमन गर्नुपर्छ र कामकुरालाई अझ बढी बुझ्ने र व्यवस्थापनको स्थितिबारे अझ बढी छानबिन गर्ने कोसिस गर्नुपर्छ, र त्यो सँगसँगै परमेश्वरको घरका विभिन्न भौतिक सामानहरू वितरण गर्ने सुपरिवेक्षकहरूसँग अझ बढी सङ्गति गर्नुपर्छ, उनीहरूलाई यी सिद्धान्तहरूको अझ राम्रो बोध प्रदान गर्नुपर्छ। अवश्य पनि, ती मानिसहरूले कसरी ती वस्तुहरूको वितरण र वितरण गरिरहेका छन्, र कुनै विशेष परिस्थितिहरू छन् कि छैनन् भनेर पनि अगुवा र कामदारहरूले निरन्तर रूपमा सोध्ने र बुझ्ने गर्नैपर्छ—उदाहरणका लागि, परमेश्वरको घरले फरक-फरक मौसममा, फरक-फरक समयमा, र विभिन्न प्रकारका मानिसहरूप्रति फरक-फरक मागहरू हुने अवस्थामा माग गरेका सिद्धान्तहरूअनुसार सुपरिवेक्षकहरूले वस्तुहरू वितरण गरिरहेका छन् कि छैनन् भनी हेर्नुपर्छ। त्यसो गर्नुको उद्देश्य भनेको परमेश्वरको घरका विभिन्न वस्तुहरूलाई प्रभावकारी रूपमा आफ्ना कार्यहरू निर्वाह गर्न सक्षम बनाउनु, र तिनलाई सकेसम्म समझदारीपूर्ण तरिकाले प्रयोग गर्नु, र समभव भएसम्म सबैभन्दा उत्कृष्ट हेरचाह र उत्कृष्ट सम्भारका साथ तिनको संरक्षण गर्नु हो। यो अगुवा र कामदारहरूको जिम्मेवारी हो।
परमेश्वरको घरका भौतिक वस्तुहरूलाई राम्ररी व्यवस्थापन गर्नु परमेश्वरका चुनिएका सबै मानिसहरूको जिम्मेवारी हो
अगुवा र कामदारहरूका जिम्मेवारीहरू बुझेपछि, के तिमीहरूले हरेक दाजुभाइ-दिदीबहिनीले परमेश्वरको घरका विभिन्न भौतिक वस्तुहरूलाई व्यवहार गर्दा उनीहरूले बोध गर्नुपर्ने सिद्धान्तहरू पनि बुझेका छौ त? तिमीहरू अगुवा र कामदार होइनौ होला, तर तिमीहरूले सुपरिवेक्षणको जिम्मेवारी अझै पनि पूरा गर्नुपर्छ। यो परमेश्वरका चुनिएका मानिसहरूको अधिकार हो। साथै, परमेश्वरको घरका विभिन्न भौतिक वस्तुहरू—हर प्रकारका पुस्तक र उपकरणहरू; दैनिक खानपान, र सामग्रीहरू; आदि इत्यादिलाई—सबैले प्रेम र हेरचाहका साथ व्यवहार गर्नुपर्छ। सबैले आफूले प्रयोग गरिरहेका विभिन्न वस्तुहरूको पनि नियमित जाँच, मर्मत, र सम्भार गर्नुपर्छ, र उनीहरूले तिनलाई समझदारीपूर्वक प्रयोग गर्नुपर्छ—तिनलाई तेरो स्वामित्वमा हुँदा क्षति र बरबाद हुन नदे, वा तिनलाई जथाभावी नफाल्। कतिपयले यसो भन्छन्, “आखिरमा, यो चीज मेरो होइन। मैले यो आफ्नै पैसाले किनेको थिइनँ। यो त मलाई परमेश्वरको घरले वितरण गरेको हो—यो सार्वजनिक सम्पत्ति हो। मैले यसको सम्भार र मर्मत कहिले गरिनुपर्छ, वा यसलाई कहाँ भण्डारण गर्नुपर्छ भन्नेबारे वास्ता गर्नु पर्दैन। मैले यसलाई अपहरण गरेझैँ, आफूसँग लिएर हिँड्न मिल्दैन।” के यो समझदारीपूर्ण सोच हो? के यो निकै स्वार्थी हुनु अनि मानवताको अभाव हुनु होइन? (हो।) त्यसोभए, परमेश्वरको घरका भौतिक वस्तुहरू प्रयोग गर्दा कुन सिद्धान्तहरू पालना गर्नुपर्छ? यदि कुनै चीज तेरो प्रयोजनका लागि वितरण गरिएको छ भने, त्यसलाई प्रयोग गर्दा तैँले नै त्यसको मर्मत र हेरचाह गर्नुपर्छ। तँ नै पूर्ण रूपमा जिम्मेवार हुन्छस्; अरू कसैको आग्रह वा सुपरिवेक्षणबिना, तैँले उक्त वस्तुलाई आफ्नो व्यक्तिगत सम्पत्तिझैँ व्यवहार गर्ने, कदर गर्ने, र सुरक्षित राख्ने गर्नुपर्छ। मानवता हुनु भनेको नै त्यही हो। त्यो चीज तँलाई वितरण गरिँदा चाहे जुन अवस्थामा भएको भए पनि, जब तँलाई त्यो प्रयोग गर्ने अनुमति सक्किन्छ वा जब तैँले त्यो प्रयोग गरिसक्छस्, तब तैँले त्यो जुन व्यक्तिले त्यसलाई पूर्ण रूपमा अक्षय र मौलिक अवस्थामा रहने गरी संरक्षण गर्छ उसैलाई फिर्ता गर्नुपर्छ। यसलाई समझ हुनु भनिन्छ; यो मानवतामा हुनुपर्ने कुरा हो। तँ आफूले परमेश्वरमा विश्वास गर्ने, आफूमा विवेक र समझ भएको, आफूले सत्यतालाई प्रेम गर्ने, त्यसलाई पछ्याउने, र त्यसमा समर्पित हुने गरेको भन्छस्, तर यदि तँसित कुनै भौतिक वस्तुलाई व्यवहार गर्दा हुनुपर्ने सबैभन्दा न्यूनतम मानवता समेत छैन भने, तैँले सत्यतालाई प्रेम गर्ने वा अभ्यास गर्नेबारे कुरा नै कसरी गर्न सक्छस्? के त्यो अत्यन्तै खोक्रो कुरा होइन र? यदि तैँले कुनै भौतिक वस्तुप्रतिको व्यवहारमा आफूले पूरा गर्नुपर्ने जिम्मेवारी समेत पूरा गर्न सक्दैनस् भने, त्यसको मतलब तेरो मानवता पटक्कै असल छैन—त्यसलाई सामान्यतया “मानवताको अभाव भएको” भन्ने गरिन्छ। यसको अतिरिक्त, तैँले आफ्नै सामानहरूलाई जसरी प्रयोग गर्ने भए पनि, तैँले तिनलाई लापर्बाही वा सावधानीपूर्ण व्यवहार गर्ने भए पनि, त्यो तेरो अधिकारको कुरा हो। कसैले पनि हस्तक्षेप गर्नेछैन। तर परमेश्वरको घरसँग त्यसका सामानहरू प्रयोग गर्ने सिद्धान्तहरू छन्। यी सिद्धान्तहरू सबै विवेक र समझमा आधारित हुन्छन्, र ती सत्यताको उचाइसम्म पुग्न नसक्ने भए पनि, कम्तीमा पनि ती मानवताका मानकहरूअनुरूप हुन्छन्। यदि तैँले मानवताको यो मानक समेत पूरा गर्न सक्दैनस्, यदि तैँले परमेश्वरको घरले तँलाई प्रदान गरेका उपकरण र सामग्रीहरूलाई सही तरिकाले व्यवहार र प्रयोग गर्न समेत सक्दैनस् भने, तैँले सत्यता बुझ्न सक्छस् कि सक्दैनस् र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा समस्याजनक हुन्छ—यसमा प्रश्नचिन्ह उठ्छ। त्यसकारण, यी सामाग्रीहरूलाईहरूलाई व्यवहार गर्ने कुरा आउँदा, तँसित तिनलाई प्रयोग गर्ने अधिकार हुन्छ, र तँसित तिनको मर्मत, सम्भार, र हेरचाह गर्ने जिम्मेवारी पनि स्वतः हुन्छ। तैँले यी कुराहरूलाई गम्भीरताका साथ लिनैपर्छ। यदि तैँले, गैरविश्वासीहरूले जस्तै यसो भन्छस्, “जे भए पनि, यो मेरो होइन। मैले यो आफ्नो पैसाले किनेको थिइनँ। यदि कुनै सार्वजनिक चीज बिग्रियो भने बिग्रियो—नयाँ किने भइगयो नि, वा अझै खराब स्थिति आयो भने मर्मत गरे भइगयो नि। तैपनि, मैले त कुनै चीज गुमाएको छैन।” यदि तैँले त्यसरी नै सोच्छस् भने, त्यो समस्या हो—तँ खतरामा छस्। तँसित सोझो चरित्र छैन, र तेरो हृदय सही ठाउँमा छैन। आफ्ना चीजहरूलाई मितव्ययी तरिकाले प्रयोग गर्नु, तर परमेश्वरको घरका चीजहरूलाई महत्त्वहीन ठान्नु, तिनको कदर गर्न ख्याल नगर्नु—के त्यो हृदय सही ठाउँमा नभएको व्यक्ति होइन र? के परमेश्वरले हृदय सही ठाउँमा नभएका मानिसहरूलाई मन पराउनुहुन्छ? (मन पराउनुहुन्न।) ल भन्, के परमेश्वरले हृदय सही ठाउँमा नभएका मानिसहरूको छानबिन गर्नुहुन्छ? (गर्नुहुन्छ।) परमेश्वरले हृदय सही ठाउँमा भएका र नभएका दुवैलाई एउटै तरिकाले छानबिन गर्नुहुन्छ। तैँले परमेश्वरको छानबिन स्विकार्दा, यदि तैँले आफूले त्यस तरिकाले सोचिरहेको पत्ता लगाइस् भने के गर्नुपर्छ? त्यसलाई ध्यान नै नदिने? त्यसको जाँच नै नगरी छोडिदिने? त्यसबारे वास्तै नराख्ने? “म जे सोच्छु त्यो मेरो कुरा हो। त्यसमा हस्तक्षेप गर्ने तँ को होस्? यदि तैँले मलाई केही चीज प्रयोग गर्न दिइस् भने, त्यो प्रयोग गर्ने मेरो हकको कुरा हो—र जे भए पनि, यदि मैले त्यो मेसिन बिगारिनँ भने सबै ठिकै हुनेछ। तँ किन त्यस्तो उच्च र त्यति धेरै मागहरू गरिरहेको छस्?” के यो सोच्ने तरिका राम्रो हो? (होइन।) त्यो “मानवताको अभाव हुनु” हो। यदि तँलाई त्यस्ता सोचहरू आउँछन् भने, तैँले परमेश्वरको छानबिन स्विकारेर यसो भन्नुपर्छ, “परमेश्वर, ममा भ्रष्ट स्वभाव छ, र मेरो मानवता कमजोर छ। म सोच्ने गर्थेँ कि म निकै आदर्शमयी र सम्मानयोग्य छु, कि ममा इज्जत छ; म यो सानो कुराले मलाई प्रकाश गर्ला भनेर मैले सोच्ने नै थिइन: मसित स्वार्थी कामनाहरू छन्; मेरो हृदय सही ठाउँमा छैन; मेरा आफ्नै स-साना लक्ष्यहरू छन्। म तपाईंको छानबिन र तपाईंको ताडना स्विकार्न इच्छुक छु, र म आफूलाई परिवर्तन गर्न इच्छुक छु।” तैँले परमेश्वरसमक्ष प्रार्थना र पश्चात्ताप गर्नैपर्छ, र उहाँलाई तेरो छानबिन गर्न दिनुपर्छ। जब तैँले उहाँको छानबिन स्विकारेको हुन्छस्, तब तैँले आफूलाई कसरी परिवर्तन गराउनुपर्छ? तैँले यसो भन्नेछस्, “मैले एकताका जे सोचे त्यो अनैतिक थियो—त्यो गैरविश्वासीहरूको, अविश्वासीहरूको सोचाइ हो। अब मैले त्यस्तो सोच्नै मिल्दैन। मैले त्यो बाटो लिनै हुँदैन। म परमेश्वरको विश्वासी हुँ; म एउटा मानवता र इज्जत भएको व्यक्ति हुनु पर्छ। मैले परमेश्वरले प्रेम गर्नुहुने कामकुराहरू। मैले भविष्यमा उपकरण र मेसिनहरू प्रयोग गर्ने आफ्नो तरिका बदल्नुपर्छ। मैले तिनलाई आराम चाहिएको बेलामा आराम दिनैपर्छ, र आवश्यकताअनुसार तिनको मर्मत र सम्भार गर्नुपर्छ। मैले तिनलाई बारम्बार सफा गर्नुपर्छ, र नियमित रूपमा तिनको सामान्य प्रयोग सुनिश्चित गर्न तिनका विभिन्न पाटपुर्जाहरू जाँच्नुपर्छ। अनि प्रयोग गरिसकेपछि म तिनलाई तुरुन्तै सफा गर्नेछु, र सुरक्षित ठाउँमा फिर्ता राख्नेछु, ताकि असम्बन्धित मानिसहरूले तीसँग छेडछाड गर्न नपाऊन्।” अनि त्यसपछि, तैँले भविष्यमा फेरि मेसिनहरू प्रयोग गर्दा, तँ अत्यन्तै सावधान र ध्यानपूर्वक हुनेछस्। तेरा विचारहरू निरन्तर रूपमा परिवर्तन हुँदै जानेछन्, र तेरा तरिकाहरू सुध्रिनेछन्, पहिलेका तेरा स्वार्थी, घृणास्पद सोच र कार्यहरूबाट जिम्मेवारीको बोधमा, वस्तुहरूको हेरचाह गर्ने मन, र जिम्मेवारी लिने मनमा बदलिनेछ। तेरो सोच परिवर्तन हुनु नै आफूलाई साँच्चिकै परिवर्तन गर्ने सुरुवात हो। जब तैँले आफ्नो सोच र विचारलाई आफ्नो अभ्यासमा उतार्छस् तब त्यो तेरा तरिकाहरूमा आएको परिवर्तन बन्छ। त्यो यस स्तरमा पुगेपछि नै परमेश्वरले देख्नुहुन्छ कि तैँले साँच्चिकै आफूलाई परिवर्तन गरिरहेको र पश्चात्ताप गरिरहेको छस्; तैँले ल्याउने यी बदलाव र परिवर्तनहरू परमेश्वरका लागि साँच्चिकै स्वीकार्य हुनेछन्। सत्यता अभ्यास गर्नु यही हो। सत्यता अभ्यास गर्दा व्यक्तिसँग हुनैपर्ने सबैभन्दा आधारभूत कुरा के हो? मानिसहरूमा हुनुपर्ने विवेक र समझ हो। अनि के स्वार्थी र घृणास्पद व्यक्तिसित विवेक र समझ हुन्छ? (हुँदैन।) तँलाई परमेश्वरको घरका वस्तुहरू यत्रतत्र छोड्न, वा तिनलाई क्षति र बरबाद गर्न, वा तीप्रति गैरजिम्मेवार हुन मिल्दैन भनेर धर्मसिद्धान्तको रूपमा थाहा हुन सक्छ—तर तेरो हृदय र सोचमा चाहिँ तेरो मनोवृत्ति के छ त? “ती चीजहरूको हेरचाह गर्नुको के अर्थ? त्यो चीज मेरो नै होइन।” त्यस्तो सोचाइले तेरो व्यवहारलाई निर्देशित गर्नेछ, अनि तैँले जानेको धर्मसिद्धान्त तब उपयोगी हुनेछ त? हुनेछैन—त्यो बिलकुलै काम नलाग्ने धर्मसिद्धान्त मात्र हुनेछ। जब तेरो सोचाइ र विचारहरू सुल्टिन्छन्, र तैँले साँचो रूपमा आफूलाई परिवर्तन गरेको र परमेश्वरसमक्ष पश्चात्ताप गरेको हुन्छस्, तब मात्र तेरो व्यवहार र तेरा व्यावहारिक कार्यहरू परिवर्तन हुन थाल्नेछन्। तब तेरो जियाइमा मानवता हुन थाल्नेछ; तब तँ सत्यता वास्तविकतामा प्रवेश गर्न थाल्नेछस्। त्यस्तो सानो मामलाले नै एउटा व्यक्तिको मानवता, साथै त्यस व्यक्तिले सत्यतालाई साँच्चिकै प्रेम गर्छ कि गर्दैन भन्ने कुरा प्रकाश गर्छ।
परमेश्वरको घरका विभिन्न भौतिक वस्तुहरूको व्यवस्थापन गर्नु अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो, र परमेश्वरका चुनिएका मानिसहरूमध्ये हरेकले सामूहिक रूपमा सुपरिवेक्षण, सहयोग, र सक्दो सहकार्य प्रदान गर्नुपर्छ। यो सबैजनाको जिम्मेवारी हो। परमेश्वरका चुनिएका मानिसहरू उदाहरण बन्नुपर्छ। उनीहरूले आफूबाटै सुरु गर्नुपर्छ—उनीहरू आफैले राम्रो काम गरेपछि मात्र अरूलाई सुपरिवेक्षण गर्न, र अरूले जे गर्छन् त्यो उचित र सिद्धान्तहरूअनुरूप छ कि छैन भनी मूल्याङ्कन योग्य बन्छन्। यो सबैलाई समेट्ने मामला हो, त्यो सानो कुराले मानिसहरूको मानवताका, साथै सत्यताप्रति उनीहरूको मनोवृत्ति प्रकाश गर्छ। अगुवा र कामदारहरूले यो काम राम्ररी र अत्यन्तै जोसका साथ, परमेश्वरको घरका सिद्धान्तहरूअनुसार गर्नुपर्छ, साथै हरेक साधारण दाजुभाइ-दिदीबहिनीले पनि यस मामलालाई कडाइ र सावधानीका साथ हेर्नुपर्छ। तेरो मानवता र सोचाइमा समस्याहरू छन् कि छैनन्, तँसित कस्तो किसिमको मनोवृत्ति छ भनी तैँले बारम्बार आत्मचिन्तन गर्नुपर्छ। जब तैँले आफ्नो मनोवृत्ति र सोचाइमा समस्या छ भनेर पत्ता लगाउँछस्, तब तैँले तुरुन्तै प्रार्थना गरेर आफूलाई सुल्टाउनुपर्छ—अनि परमेश्वरको घरका सामानहरू व्यवस्थापन वा प्रयोग गर्दा, तैँले एकातिर अन्तरात्माद्वारा गाली नगरिन र परमेश्वरसामु नचुक्न, र अर्कोतिर अरूको प्रशंसा पाउने र उनीहरूलाई तैँले जे गर्छस् त्यसको अनुमोदन गराउने, र तँसित मानवता छ, जुन सबैले देख्न सक्छन् भनेर भन्न लगाउने प्रयास गर्नुपर्छ। मुख्य कुरा भनेको मानिसहरूले यसो गर्दा सिद्धान्तहरू कायम राख्नु हो। यो मानिसहरूले पूरा गर्नुपर्ने दायित्व, र परमेश्वरको घरको कुनै पनि सदस्यले हासिल गर्नुपर्ने कुरा हो। यो अगुवा र कामदारहरूको मात्र जिम्मेवारी होइन।
के अब तिमीहरू अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दसौँ विषयवस्तुबारे धेरथोर प्रस्ट भयौ? सिद्धान्तहरू बुझेपछि, मानिसहरूले यो काम गर्दा बढी ध्यान र होसियारी पुर्याउनुपर्छ, र त्योसँगै उनीहरूले बढी पीडा वहन गर्नुपर्छ, र अल्छी गर्नु हुँदैन—त्यसपछि उनीहरू मूलतः परमेश्वरको घरका भौतिक वस्तुहरूको क्षति र बर्बादी कम गर्न, र तिनलाई दुष्ट मानिसहरूको स्वामित्वमा पर्नबाट जोगाउन सक्षम हुनेछन्। यो हासिल गर्न सकिनुपर्ने कुरा हो। म किन यो हासिल गर्न सहज छ भन्छु? यी त्यस्ता मामलाहरू हुन् सबैको घरका दैनिक जीवनसँग सम्बन्धित हुन सक्छन्। तेरो आफ्नै घरका सामानहरू व्यवस्थापन गर्नमा ध्यान दिन सजिलो हुन्छ, त्यसैले यदि तैँले परमेश्वरको घरका सामानहरूलाई आफ्नै जस्तो गरेर, उहाँको घरका मागहरूअनुसार संरक्षण गर्छस्, तिनलाई समझदारीपूर्वक वितरण गर्छस्, क्षति र बरबादी कम गर्न पुग्छस्, र दुष्ट मानिसहरूलाई तिनको स्वामित्व लिन दिँदैनस् भने, तैँले अगुवा र कामदारहरूको जिम्मेवारी पूरा गरिरहेको हुनेछस्। यो काम त्यसको प्रकृतिअनुसार सामान्य मामलासम्बन्धीको कार्य जस्तो देखिन्छ। हामी किन यसलाई सामान्य मामलासम्बन्धीको कार्य भनिरहेका छौ? यसमा भौतिक वस्तुहरूको व्यवस्थापन संलग्न हुन्छ। तिनलाई राम्रोसँग व्यवस्थापन र वितरण गरिस् भने, तैँले आफ्नो जिम्मेवारी पूरा गरिरहेको हुनेछस्। साथै, यस कामको सिद्धान्त अत्यन्तै सरल छ—त्यसमा एउटै मात्र सिद्धान्त संलग्न हुन्छ, र जटिल सत्यताहरू संलग्न हुँदैनन्। यदि कसैसँग बोझ र सही अभिप्रायहरू छन् भने, उसले त्यति धेरै सत्यता बुझ्नु नपरी र ऊसँग त्यति धेरै सत्यता सङ्गति गर्नु नपरी उसले यो काम राम्रोसँग गर्न सक्छ। त्यसकारण, यो काम एउटा एकल कार्य हो, र यो सामान्य मामलासम्बन्धी कार्य हो। यो त्यस्तो काम हो जुन अगुवा र कामदारहरूका लागि गर्न सजिलो हुन्छ। यदि तैँले अलि बढी कर्मठ छस्, बढी प्रश्नहरू सोध्छस्, धेरै सोधपुछ गर्छस्, बढी चासो लिन्छस्, र तँसँग सही अभिप्रायहरू छन् भने, तैँले त्यो गर्न सक्छस्। त्यो बिलकुलै जटिल हुँदैन। हामीले अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दसौँ विषयवस्तुमाथिको सङ्गति सकाएका छौँ। यो त्यति सरल छ।
परमेश्वरको घरका भौतिक वस्तुहरूसम्बन्धी झूटा अगुवाहरूका मनोवृत्ति र प्रकटीकरणहरू
अब तिमीहरूले अगुवा र कामदारहरूको यो जिम्मेवारी बुझेकाले, त्यसका सम्बन्धमा, हामी झूटा अगुवाहरूले यो काम गर्दा देखाउने प्रकटीकरणहरू, र तिनीहरूले के-के कामकुरा गर्छन् जसले तिनीहरूलाई झूटा अगुवाका रूपमा परिभाषित गर्न सक्छ भन्ने कुराको चिरफार गर्नेछौँ। पहिलो कुरा, जब झूटा अगुवाहरूले यो काम गर्छन्, तिनीहरू विभिन्न वस्तुहरूको राम्रोसँग संरक्षण गर्न सक्षम हुँदैनन्। हर किसिमका भौतिक वस्तुहरूका कुरा आउँदा संरक्षण गर्नु नै कामको पहिलो महत्त्वपूर्ण विषयवस्तु हो। झूटा अगुवाहरू, आफूले गर्ने सबैकुरामा अस्तव्यस्त हुन्छन्; सत्यता र त्यससँग सम्बन्धित विभिन्न सिद्धान्तहरूको कुरा आउँदा, दलदलमा फस्नु बाहेक, तिनीहरू परमेश्वरको घरका विभिन्न भौतिक वस्तुहरूको संरक्षण गर्ने कुरामा पनि त्यसै गरी अस्तव्यस्त हुन्छन्। तिनीहरूलाई ती वस्तुहरूको व्यवस्थापन गर्नका लागि कस्ता प्रकारका मानिसहरू खोज्ने भनेर थाहा हुँदैन न त तिनलाई संरक्षण गर्ने तरिका नै थाहा हुन्छ। तिनीहरूसँग कुनै स्पष्ट लक्ष्य र निश्चित योजनाहरू हुँदैनन्, यो काम गर्ने विस्तृत कदमहरू त झनै हुँदैनन्। यदि कोही कष्ट वहन गर्न इच्छुक छ भने, यी वस्तुहरूको संरक्षण गर्न सकिन्छ; यदि छैन भने, झूटो अगुवाले यी वस्तुहरूलाई जथाभावी रूपमा पन्छिन दिन्छ। उसले तिनलाई संरक्षण गर्नका लागि कुनै उपयुक्त व्यक्ति वा तिनलाई भण्डारण गर्नका लागि उपयुक्त ठाउँ खोज्दैनन्, र तिनको सुरक्षा गर्नेबारे विशिष्ट सिद्धान्तहरू त झनै सङ्गति गर्दैनन्। त्यो सँगसँगै, तिनीहरूले यी भौतिक वस्तुहरूको भावी स्थान, मर्मत, र सम्भारका लागि कुनै प्रबन्धहरू गर्दैनन्। कतिपय झूटा अगुवाहरू त परमेश्वरको घरसित के-के वस्तुहरू छन् भन्ने सम्बन्धमा पूर्ण रूपमा अनभिज्ञ हुन्छन्—तिनीहरूले यसको बारेमा वास्ता गर्दैनन् र सोधपुछ गर्दैनन्। उदाहरणका लागि, मानौँ परमेश्वरको घरले परमेश्वरका वचनहरूका नयाँ पुस्तकहरू छापेको छ। ती वितरण गरेपछि कतिवटा पुस्तकहरू बाँकी छन्, तिनलाई भण्डारण गर्न कसको प्रबन्ध गरिएको छ, तिनलाई कसरी भण्डारण गरिँदै छ, र ती सही ठाउँमा भण्डारण भइरहेका छन् कि छैनन्—झूटो अगुवालाई यीमध्ये कुनै पनि कुराहरू थाहा हुनेछैन, न त उसले तिनका बारेमा सोध्नेछ वा खोजीनिती गर्नेछन्। उसले किन खोजीनिती गर्नेछैन? उसले सोच्छ कि परमेश्वरको घरका भौतिक वस्तुहरूको संरक्षण गर्नु सानोतिनो मामला हो, कि ऊ अगुवा हुन्, महत्त्वपूर्ण कामकुरा गर्ने व्यक्ति हो, जसले केवल प्रवचन दिन्छ। उसले यी सबै “सानातिना मामलाहरू” लाई बिलकुलै ध्यान दिँदैन, बरु केही पनि नबुझ्ने मानिसहरूलाई ती सम्पन्न गर्न सुम्पन्छ, र ती राम्ररी गरिएका छन् कि खराब तरिकाले भन्नेबारे उसले वास्ता गर्दैन। त्यसकारण, ऊ परमेश्वरको घरका भौतिक वस्तुहरूको संरक्षण गर्ने कामलाई गम्भीर रूपमा बिलकुलै लिँदैन। यो एउटा कारण हो। अर्को कारण भनेको कतिपय झूटा अगुवा अन्योलमा हुन्छन्—तिनीहरूको मन अस्तव्यस्त हुन्छ। तिनीहरूमा सामान्य सोचाइ वा वस्तुहरूको संरक्षण गर्ने चेतना हुँदैन, र तिनीहरूसँग परमेश्वरको घरका वस्तुहरूलाई कसरी सुरक्षा गर्ने भन्ने प्रक्रिया वा मार्ग हुँदैन। त्यसैले, तिनीहरूलाई यी वस्तुहरूमध्ये कतिवटा बिग्रिएका छन्, र खेर गएका घटनाहरू छन् कि छैनन् भनेर पनि थाहा हुँदैन। जब केही वस्तु दुष्ट मानिसहरूले लिन्छन्, तब झूटो अगुवा यसो भन्छ, “हुन देऊ—जे भए पनि, सबथोक परमेश्वरकै हातमा हुन्छ।” कतिपय महत्त्वपूर्ण वस्तु कसैको अनुमोदनबिना व्यक्तिहरू प्रयोग गर्छन्; ती मानिसहरू यी वस्तुहरू लिन्छन्, अनि अरूले तिनलाई आफ्नो काममा प्रयोग गर्न सक्दैनन्, र कसैले पनि ती कुरा माग्ने आँट गर्दैन। झूटो अगुवा यसो भन्छ, “ठूलो कुरा नै होइन। एउटा नयाँ किन्दा भइहाल्यो नि। उनीहरूले त्यो चीज लिए, त्यसैले उनीहरूलाई पहिला प्रयोग गर्न देऊ। त्यो एउटा वस्तु न हो—चाहे जसले प्रयोग गरे पनि एउटै हो। यदि उनीहरूले त्यसलाई समझदारीपूर्वक प्रयोग गरिरहेका छैनन् भने, त्यो उनीहरू र परमेश्वरबीचको कुरा हो। हामीले हस्तक्षेप गर्नु आवश्यक छैन।” हेर्, तिनीहरू मामलालाई “सम्हाल्न” कसरी भव्य धर्मसिद्धान्त प्रचार गर्छन्, ठूला समस्याहरूलाई सानो र साना समस्याहरूलाई पूरै उपेक्षा गर्छन्। परमेश्वरको घरका विभिन्न वस्तुको सुरक्षा गर्ने कुरा आउँदा, झूटा अगुवाहरू आफ्ना कुनै पनि जिम्मेवारी पूरा गर्दैनन्। तिनीहरू त्यसबारे वास्ता गर्दैनन् वा सोध्दैनन्, र तिनीहरू कुनै पनि समस्याहरू समाधान गर्ने वा सम्हाल्ने गर्दैनन्। माथिले तिनीहरूको काम जाँच-पड्ताल गरे पनि, तिनीहरू कुरा घुमाएर उसलाई पन्छाउँछ, र कुरा त्यतिमै सकिन्छ।
कतिपय दाजुभाइ-दिदीबहिनी परमेश्वरको घरको प्रयोजनका लागि उपकरण, लत्ताकपडा, र औषधी किन्छन्, अनि जब कुनै झूटो अगुवाले ती वस्तुहरू देख्छ, तबउसले तीबाट छानेर राम्रा कपडा, जुत्ता, र झोलाहरू आफ्नै लागि लिन्छ, र बाँकी रहेका आफूलाई नचाहिने वस्तुहरू मात्र अरूलाई लान दिन्छ। उसले अगुवाइ गर्ने लन्ठकहरूले यो देखेर, यसो भन्छन्, “हाम्रा अगुवाले आफूले चाहेको चीज छान्नुभयो—अब, हाम्रो पालो हो। हामीले छानिसकेपछि, बाँकी रहेका बेकारका सामानहरू हामीमुनिका दाजुभाइ-दिदीबहिनीहरूलाई फालिदिनेछौँ।” यी वस्तुहरू जसका हातमा पर्छन्, ती तिनीहरूकै बन्छन्, अनि कसैलाई पनि मन नपर्ने बाँकी वस्तुहरू पफ्याँकिन्छन्, र कसैले पनि तिनको सुरक्षा गर्दैन। त्यसकारण, परमेश्वरको घरका विभिन्न भौतिक वस्तुहरूको सुरक्षा गर्ने ठाउँहरू नाम मात्रका हुन्छन्, तर वास्तवमा, तिनको सुरक्षा बिलकुलै भइरहेको हुँदैन—ती ठाउँहरू फोहोर थुपार्ने ठाउँजस्ता हुन्छन्, जसको व्यवस्थापन गर्ने बिलकुलै कोही हुँदैन। तिनीहरू कुनै ठाउँमा वस्तुहरू फ्याँक्छन् र थुप्रिन दिन्छन्। त्यहाँ लत्ताकपडा, जुत्ता-मोजा, औषधी, र विद्युतीय उपकरणहरू, साथै दैनिक उपभोग्य वस्तुहरू र भान्साका सामानहरू हुन्छन्—त्यो अस्तव्यस्त हुन्छ, जहाँ हरप्रकारका फोहोरहरू हुन्छन्, र यहाँसम्म कि मानिसको खाना र कुकुरको खाना पनि सँगै मिसिएको हुन्छ। यदि तैँले यी सामानहरूको व्यवस्थापन कसले गरिरहेको छ र तिनीहरू तिनलाई वर्गीकरण गर्छन् कि गर्दैनन्; वा यी कुराहरूका लागि निर्देशनहरू आएका छन् कि छैनन्, र तिनलाई कसरी सुरक्षा गरिनुपर्छ; वा, यी वस्तुहरू परमेश्वरको घरको कामका लागि आवश्यक नपर्ने हुन् कि, दाजुभाइ-दिदीबहिनीहरूलाई तिनको आवश्यकता छ कि छैन भनेर सोधिस् भने—कसैलाई पनि जबाफ थाहा हुँदैन। दाजुभाइ-दिदीबहिनीहरूलाई थाहा नहुनु निकै सामान्य कुरा हो, तर अगुवा र कामदारहरूसित पनि यी कुनै पनि प्रश्नका जबाफ हुँदैन—तिनीहरू कि त “मलाई थाहा छैन” या “कसैले यसको हेरचाह गरिरहेको छ,” भनेर आफ्नो जिम्मेवारीबाट पूर्ण रूपमा पछि हट्छन्, र यसरी तँलाई खारेज गर्छन्, र परमेश्वरको घरसित बेइमानी गर्छन्। यसका कारण यी समस्याहरू समाधान हुँदैनन्। अगुवा र कामदारहरूलाई परमेश्वरको घरका विभिन्न भौतिक वस्तु व्यवस्थापन गर्ने उपयुक्त मानिसहरू खोज्न गाह्रो हुँदैन, हुन्छ र? झूटा अगुवाहरू यी वस्तुहरूको राम्रोसँग सुरक्षा गर्ने, राम्रो अभिलेख राख्ने र तिनलाई राम्ररी वर्गीकरण गर्ने कुनै बफादार व्यक्ति खोज्ने सरल कामसमेत गर्दैनन्। त्यसोभए, तिनीहरू के चाहिँ गर्छन् त? जब दाजुभाइ-दिदीबहिनीहरूले परमेश्वरको घरलाई लत्ताकपडा वा दैनिक आवश्यकताका सामानहरू चढाएका हुन्छन्, अनि झूटा अगुवाहरूले यी वस्तुहरू देख्छन्, तब तिनीहरू एकसाथ मासु लुछिरहेका एक हुल ब्वाँसोझैँ ती वरिपरि झुम्मिन्छन्। तिनीहरू आफूलाईसुहाउने कपडाहरू बारम्बार लगाएर हेर्छन्, र आफ्ना लागि सामानहरू छानेका छानेकै गरिहन्छन्। परमेश्वरको घरले विभिन्न किसिमका महत्त्वपूर्ण र महँगा मेसिन र उपकरणहरू खरिद गर्दा, तिनीहरू सुरुमा आफ्ना लागि राम्रा-राम्रा सामानहरू छान्न हतारिन्छन्। तिनीहरू किन राम्रा-राम्रा सामानहरू छान्छन्? तिनीहरू अगुवा वा कामदारका रूपमा आफूसँग परमेश्वरको घरका वस्तुहरू प्रयोग गर्ने विशेष अधिकार छ भन्ठान्छन्। परमेश्वरको घरले चाहे जे प्रदान गरे पनि, तिनीहरू सधैँ पहिला सर्वोत्कृष्ट सामानहरू छान्छन्। तिनीहरू परमेश्वरको घरका वस्तुहरूलाई यसरी नै लिन्छन्। के यो काम गर्नु हो? के यो झूटा अगुवाहरूको प्रकटीकरण होइन र? म्याद सकिने सामानहरू—उदाहरणका लागि, खाना र औषधी—का सन्दर्भमा भन्नुपर्दा, झूटा अगुवाहरू तीबारे वास्ता नै गर्दैनन्। तिनीहरूले ती व्यवस्थापन गर्ने उपयक्त कर्मचारी खोज्दैनन्, न त उक्त कर्मचारीलाई यसो भन्छन्, “यीमध्ये कतिपय सामानमा म्याद सकिने मिति छ, त्यसैले तुरुन्तै तिनको रेकर्ड राख। झट्ट तिनलाई म्याद सकिनुअघि नै दाजुभाइ-दिदीबहिनीहरूलाई वितरण गर, ताकि तिनलाई समझदारीपूर्वक प्रयोग गरियोस्—तिनको म्याद सकिन्जेल पर्खेर नबस; तिनलाई खेर जान नदेऊ।” झूटा अगुवाहरू कहिल्यै यस्ता कुराहरू गर्दैनन्। जब कुनै चीजको म्याद सकिन्छ, तिनीहरू त्यसलाई बस फालिदिन्छन्। अगुवा र कामदारहरूले परमेश्वरको घरमा काम गर्दा, कठोर रूपमा भन्नुपर्दा, तिनीहरू परमेश्वरको घरका प्रबन्धक बन्नुपर्छ। तिनीहरूले गर्नुपर्ने पहिलो काम भनेको परमेश्वरको घरका वस्तुहरूलाई समझदारीपूर्वक राम्रोसँग सुरक्षा गर्नु, तिनको कडा निगरानी र उचित जाँचहरू गर्नु हो। यो परमेश्वरको घरको कामको एउटा आधारभूत पक्ष पनि हो, तैपनि झूटा अगुवाहरू यस्तो आधारभूत कामसमेत गर्न सक्दैनन्। के तिनीहरू अलमल्ल, कमजोर क्षमताका, र मन्द बुद्धिका छन्—कि तिनीहरूको हृदय सही ठाउँमा छैन? यदि तिनीहरू मन्द बुद्धिका र अलमल्ल छन् भने, तिनीहरूलाई आफ्ना लागि राम्रा वस्तुहरू छान्न कसरी आउँछ त? तिनीहरू किन आफ्ना सामानहरूबाट अलग हुँदैनन् वा यतिकै ती अरू मानिसलाई दिँदैनन् त? तिनीहरू किन आफ्ना सामानहरू बिगार्ने वा तिनमा क्षति पुर्याउने गर्दैनन्? अनि परमेश्वरको घरका सामानहरूप्रति चाहिँ तिनीहरूको मनोवृत्ति किन यस्तो हुन्छ? स्पष्टतः तिनीहरूमा नैतिकताको कमी छ, र तिनीहरूको हृदय सही ठाउँमा छैन। अगुवा र कामदारहरूले हैसियत प्राप्त गरिसकेपछि, र आफू परमेश्वरको घरको कामको अझ ठूलो दायराको सम्पर्कमा आइसकेपछि, परमेश्वरको घरका विभिन्न भौतिक वस्तु र सार्वजनिक सम्पत्तिमा विशेष पहुँच प्राप्त गर्छन्, र यी वस्तुहरूबारे तिनीहरू नै सबैभन्दा बढी जानकार हुन्छन्। तैपनि कतिपय अगुवा तिनलाई बेवास्ता गर्छन्, उचित रूपमा सुरक्षा गर्दैनन्, र जोकोहीलाई ती प्रयोग गर्न र लान दिन्छन्, जो तिनको रेखदेख गर्न इच्छुक छ उसलाई नै रेखदेख गर्न दिन्छन्, र यदि कोही तिनको रेखदेख गर्न इच्छुक छैन वा गैरजिम्मेवार छ भने, तिनीहरू वास्ता गर्दैनन्, र कसैसँग कुनै समस्या छ भन्ने थाहा पाउँदासमेत, त्यो समाधान गर्दैनन्। यिनीहरू झूटा अगुवा हुन्। यस क्षणमा, हामीले झूटा अगुवाहरू कमजोर क्षमताका हुने र तिनीहरूले बोझनबोक्नेबाहेक, तिनीहरूको हृदय पनि गलत ठाउँमा हुन्छ, र तिनीहरूको चरित्र खराब हुन्छ भन्ने निष्कर्ष निकालेका छौँ। यी अगुवाहरू कमजोर क्षमताका हुने र तिनीहरूमा बोध क्षमताको अभाव हुने भएकाले, तिनीहरूले सत्यता र जीवन प्रवेशसँग सम्बन्धित काममा खराब प्रदर्शन गर्नु बुझ्न सकिने कुरा हो। अनि तिनीहरू कमजोर क्षमताका हुने र तिनीहरूमा काम गर्ने क्षमता नहुने हुनाले, तिनीहरूले प्रशासनसम्बन्धी काममा खराब प्रदर्शन गर्नु पनि सहन सकिने कुरा नै हो। तर तिनीहरूले परमेश्वरको घरका विभिन्न वस्तु व्यवस्थापन गर्नुसँग सम्बन्धित काम—जुन चाहिँ सबैभन्दा न्यूनतम र सरल काम हुन्—गर्नसमेत नसक्नुले अझ प्रस्ट रूपमा एउटा कुरा देखाउँछ: कतिपय झूटा अगुवाका हकमा भन्दा, तिनीहरूको समस्या कमजोर क्षमता हुनु र बोझ नबोक्नुजस्तो सरल हुँदैन, अझ बढी तिनीहरू अत्यन्तै नीच चरित्र कमजोर मानवताका हुन्छन्। अगुवा र कामदारहरूको दसौँ जिम्मेवारीबारे हामीले गरेको सङ्गतिमार्फत, झूटा अगुवाहरूको अर्को प्रकटीकरण खुलासा भएको छ: तिनीहरू केवल कमजोर क्षमताका, बोझ नबोक्ने, र देहसुखको लोभी मात्र हुँदैनन्—तिनीहरू खराब चरित्रका पनि हुन्छन्, र तिनीहरूको हृदय सही ठाउँमा हुँदैन। जुन चीजहरू तिनीहरूका होइनन् तीप्रति तिनीहरूलाई कुनै चासो हुँदैन—तिनीहरू तिनको सुरक्षासमेत गर्दैनन्। तिनीहरूलाई परमेश्वरको घरको प्रबन्धक बनाइएका हुन्छन्, र तैपनि तिनीहरू जुन थालमा खायो त्यही थालमा थुक्छन् र परमेश्वरको घरमा निर्भर रहेर पनि त्यसका हितहरूको सुरक्षा गर्दैनन्; तिनीहरू परमेश्वरको घरका वस्तुहरूलाई लापरवाहीपूर्वक बेवास्ता गर्छन्, मानौँ ती बाह्य मानिसका हुन्, र तिनको सुरक्षा गर्दैनन्, र त्यो ठुलो कुरा होइन भन्ठान्छन्। यो तिनीहरू आफ्ना जिम्मेवारीहरू पूरा गर्नबाट असफल हुनु मात्र होइन—यो त तिनीहरूको मानवताको समस्या हो, यो नैतिकताको अत्यन्तै कमी हुनु हो! आफूले सुरक्षा गर्नुपर्ने वस्तुहरूलाई खराब तरिकाले सुरक्षा गर्नु, वा तिनलाई सुरक्षा नगर्नुले झुटा अगुवाहरूमा कुनै मानवता हुँदैन, र तिनीहरूको हृदय सही ठाउँमा हुँदैन भन्ने देखाउँछ। तिनीहरू परमेश्वरको घरका सामानहरूको राम्रोसँग सुरक्षासमेत गर्न सक्दैनन्, त्यसैले यदि तिनीहरूले तिनलाई को वितरण गर्ने हो भने, के तिनीहरूले त्यो समझदारीपूर्वक गर्न सक्नेथिए त? तिनीहरू सिद्धान्तहरूअनुसार कार्य गर्न झनै बढी चुक्छन्। तिनीहरूले परमेश्वरको घरका वस्तुहरू लापरवाहीपूर्वक फालिएको, बिग्रिएको, र बर्बाद भएको, र तिनको व्यवस्थापन गर्न कोही पनि राम्रो व्यक्ति नभएको देख्छन्, र तिनीहरूलाई त्यसो गर्नु ठिक होइन भनेर हृदयमा एकदमै राम्रोसँग थाहा हुन्छ—तैपनि, तिनीहरू यसलाई सम्हाल्दैनन्। हृदय गलत ठाउँमा हुनु भनेको त्यही हो। के गलत ठाउँमा हृदय हुने ती फोहोरीहरूले परमेश्वरको घरका विभिन्न भौतिक वस्तुलाई समझदारीपूर्वक वितरण गर्न सक्छन्? तिनीहरू त्यसो गर्न झनै सक्दैनन्—यदि तैँले तिनीहरूलाई ती चीजहरू वितरण गर्न लगाइस् भने, तिनीहरूले नैतिकताको झन् अभाव हुने कार्यहरू गर्नेछन्।
कुकुरहरू पाल्ने एउटा किसानी मण्डलीमा, तिनलाई पाल्ने जिम्मेवार व्यक्तिले भर्खर जन्मेका छाउराछाउरीको निकै हेरचाह गर्छन्। उसलाई छाउराछाउरीले आवश्यक पोषण नपाउलान् कि भनेर डर थियो, त्यसैले उसले कुकुरहरूलाई खुवाउन जैविक अण्डाका लागि आवेदन दियो। त्यहाँको झूटो अगुवाले उक्त अनुरोध पत्रमा तुरुन्तै हस्ताक्षर गरिदियो; उसले जैविक अण्डाहरू कति अपर्याप्त हुन्छन् भन्नेबारे सोचेन। मानिसहरूलाई खान पुग्ने समेत हुँदैनन्, त्यसोभए तिनीहरूले किन ती अण्डा कुकुरलाई दिन्छन्? के यो यस मामलालाई सम्हाल्ने बेतुका तरिका होइन र? त्यो झूटो अगुवाको यो व्यवहारको प्रकृति के हो? त्यसलाई कसरी चित्रण गरिनुपर्छ? के त्यो झूटो अगुवाको यो अभ्यास बेतुका भएन र? त्यो झूटो अगुवाले जहिलेसुकै मुख खोल्दा, सधैँ मानिसहरूको स्वादलाई सुहाउँदो धर्मसिद्धान्तहरू नै भन्छ, तर वास्तवमा, उसले अलिकति पनि सत्यता सिद्धान्तहरू बुझ्दैन, त्यसैले केही घटना घट्दा, उसले त्यसलाई मानव कल्पना, प्राथमिकता, र व्यक्तिगत कामनाहरूअनुसार व्यवहार गर्ने र सम्हाल्ने गर्छ—अनि उसले अन्ततः कुकुरलाई जैविक अण्डा खुवाउने जस्तो घृणास्पद काम गर्न पुग्छ। के त्यो झूटो अगुवाले गरेको परमेश्वरको घरका सामानहरूको यस्तो प्रकारको खटनपटनलाई समझदारीपूर्ण मान्न सकिन्छ? (सकिँदैन।) उसले किन समझदारीपूर्ण खटनपटन हासिल गर्न सक्दैन? सतहमा, त्यो झूटो अगुवाले यो अत्यन्तै सानो मामलामा पनि हस्तक्षेप गरिरहेको, वास्ता गरिरहेको, र अनुगमन गरिरहेको, अनि ऊसँग यो आवेदनलाई समर्थन गर्ने पर्याप्त कारण र आधारहरू भएको जस्तो देखिन्छ—तर के उसले सिद्धान्तहरूअनुरूप कार्य गरिरहेको थियो? के उसले परमेश्वरको घरले माग गर्ने सिद्धान्तहरूअनुसार कार्य गरिरहेको थियो? थिएन। त्यसैले, उसको यो कार्यको प्रकृतिलाई हेर्दा, के त्यो असल कार्य हो कि दुष्ट कार्य हो? के त्यो उसको जिम्मेवारीको पूर्ति हो कि विमुखता हो? त्यो विमुखता हो—त्यो असैद्धान्तिक हुनु हो, त्यो लापरवाहीपूर्वक खराब कामकुरा गर्नु हो! यस मामलामार्फत, तैँले यस झूटो अगुवाको मानवताको सार कस्तो छ भन्ने देख्छस्? के त्यो प्रावधानहरूको विकृत बुझाइ र अन्धाधुन्ध कार्यान्वयन होइन र? हरेक सासमा उसले सही धर्मसिद्धान्तहरू भन्छ, र त्यसमा एउटा पनि गलत वाक्यांश नभएको जस्तो सुनिन्छ, तैपनि वास्तवमा, त्यो विकृत हुन्छ। त्यस्ता मानिसहरू झूटो रूपमा आत्मिक हुन्छन् र तिनीहरूमा विकृत बुझाइ हुन्छ—तिनीहरू आत्मिक बुझाइ नभएका रद्दी मानिस हुन्। हामीले भर्खरै झूटा अगुवाहरूको मानवता यस्तो हुन्छ कि तिनीहरूको चरित्र नीच हुन्छ र तिनीहरूको हृदय गलत ठाउँमा हुन्छ भनेर उल्लेख गर्यौँ। जब परमेश्वरको घरका वस्तुहरू खटनपटन गर्ने समय आउँछ, तब तिनीहरूमा सिद्धान्तहरूको अभाव हुन्छ, र तिनीहरूले तिनलाई अन्धाधुन्ध खटनपटन गर्छन्, जसले झूटा अगुवाहरूको बुझाइ विकृत हुन्छ र तिनीहरूले अन्धाधुन्ध प्रावधानहरू लागू गर्छन्, र तिनीहरू आफ्ना कार्यमा असैद्धान्तिक हुन्छन् भन्ने कुरा प्रकाश गर्छ—तिनीहरूले अन्धाधुन्ध र जथाभाबी रूपमा कार्य गर्छन्। झूटा अगुवाहरू बाहिरबाट परोपकारी र दयालु भए जस्तो देखिन्छन्, जबकि वास्तवमा, यो झूटो परोपकार र झूटो दया हो। उदाहरणका लागि, एउटी पोथी कुकुरले छाउराहरू जन्माउँदा, उक्त कुकुर पालकले मानिसहरूका लागि ल्याइएको कम्बल कुकुरलाई दिनुपर्छ भन्यो। त्यसपछि कसैले यसो भन्यो, “नयाँ कम्बल कुकुरहरूलाई दिनु त दुःखद कुरा हुनेथियो—बरु त्यो चाहिँ दाजुभाइ-दिदीबहिनीहरूलाई दिएर, हामीले पन्छाउन लागेको पुरानो कम्बल जनावरहरूलाई दिए राम्रो हुने थियो।” यो सुझावबारे तँलाई के लाग्छ? नयाँ सामानहरू मानिसलाई र पुराना सामानहरू जनावरलाई खटनपटन गर्नु निकै समझदारीपूर्ण नै हुन्छ। सिद्धान्त नै यही हो; यो समझदारीपूर्ण खटनपटन हो। झूटा अगुवाहरूले यस्ता कुराहरू सामना गर्दा तिनलाई कसरी सम्हाल्छन्? यो सुनेपछि, त्यहाँको झूटो अगुवाले यसो मनन गर्यो: “जनावरहरूले कहिल्यै नयाँ चीजहरू प्रयोग गर्न पाउँदैनन्। तिनीहरू सधैँ पुराना, फोहोर सामानहरू प्रयोग गरिरहेका हुन्छन्। हामी मानिसहरूले सधैँ नयाँ सामानहरू प्रयोग गर्न पाउँछौँ। परमेश्वरका वचनहरूले हामी कहिलेकाहीँ हामी सुँगुर वा कुकुरहरू जति असल समेत हुँदैनौँ भनेका छन्। त्यसैले, सामानहरूका लागि सुँगुर र कुकुरहरूसँग नलड। त्यो मानवताको कमी हो।” त्यसकारण, तिनीहरू नयाँ कम्बल ती जनावरलाई दिएरै छाड्छन्। त्यहाँका मानिसहरूले पुरानो कम्बल प्रयोग गरेर केही पनि नगुमाएका हुन सक्छन्, तर यो कुरालाई जसरी सम्हालियो त्यसले मामलालाई राम्रोसँग चित्रण गर्छ। यस मामलामा उक्त झूटो अगुवाले के भूमिका खेल्यो? के साधारण मानिसहरूले यस्तो काम गर्न सक्छन् भनेर तिमीहरू भन्ने थियौ? (भन्ने थिएनौँ।) त्यसोभए, यस मामलालाई सम्हाल्दा कस्ता किसिमका मानिसहरूले कामकुरालाई यो अवस्थासम्म पुग्न दिन्छन् होला? (बेतुका किसिमका मानिसहरूले जोसँग सामान्य मानिसहरूको समझ वा सोच हुँदैन।) यी जबाफहरू सबै सही छन्—ती मानिसहरू केही पनि होइनन्। सामान्य मानिसहरूले यस्तो केही सामना गर्दा, त्यसलाई समझदारीपूर्वक सम्हाल्न जानेका हुन्छन्, तर विकृत बुझाइ भएका झूटो रूपमा आत्मिक झूटा अगुवाहरूले त्यसलाई सम्हाल्न जानेका हुँदैनन्। तिनीहरूले त्यसलाई सम्हाल्ने तरिकाको पनि केही आधार भए जस्तो देखिन्छ, र त्यो परमेश्वरको घरका सिद्धान्तहरूसँग मेल खाने, र त्यसमा प्रचुर, समझदारीपूर्ण जायजताहरू भएको जस्तो देखिन्छ—तैपनि मानिसहरूले त्यो सुनेर हाँस्ने कि रुने भनेर थाहै पाउँदैनन्, त्यो अत्यन्तै हास्यास्पद हुन्छ। तिनीहरूले यति सरल, स्पष्ट तर्कसमेत कसरी बुझ्न सक्दैनन्? तिनीहरूले कसरी यसलाई यति विकृत तरिकाले सम्हाल्न पुग्छन्? यो घिनलाग्दो कुरा हो। यदि तैँले तिनीहरूलाई संरक्षकका रूपमा काम गर्न लगाइस् भने, तिनीहरूले कुकुरलाई मुसा समात्न लगाउनेछन्, बिरालोलाई घरको सुरक्षा गर्न लगाउनेछन्, र सुँगुरलाई ओछ्यानमा राख्नेछन्—सबथोक अलमल्ल हुनेछ। के झूटा अगुवाहरू परमेश्वरको घरका विभिन्न भौतिक वस्तुहरूलाई समझदारीपूर्वक खटनपटन गर्न सक्षम हुन्छन्? (हुँदैनन्।) तिनीहरू बेग्लै प्रकारका, अलमल्ल मानिसहरू, र बेतुका प्रकारका हुन्। विशेषगरी विकृत बुझाइ भएका र गलत ठाउँमा हृदय भएका ती झूटा अगुवाहरू बाहेक, अधिकांश झूटा अगुवाहरूले पनि, अलिकति क्षमता भए पनि र विकृत बुझाइ नभए पनि, यस प्रकारको कामलाई अस्तव्यस्त र अव्यवस्थित बनाइदिन्छन्। तिनीहरू आफूले पूरा गर्नुपर्ने सबैभन्दा न्यूनतम जिम्मेवारीहरू समेत पूरा गर्न सक्दैनन्। त्यसैले, जब तैँले तिनीहरूलाई यो कामबारे सोध्छस्, तिनीहरूको जबाफ सधैँ एउटै हुन्छ: “फलानो-ढिस्कानोले यो काम गरिरहेको छ। फलानो-ढिस्कानोलाई थाहा छ। यदि तिमीसँग कुनै प्रश्नहरू छन् भने, मैले गएर फलानो-ढिस्कानोलाई सोध्नुपर्छ।” अनि तैँले त्यसबारे सुन्ने त्यो नै अन्तिम पटक हुनेछ। झूटा अगुवाहरूले यो काम गरिरहेका बेलामा देखाउने प्रकटीकरण नै यही हो।
परमेश्वरको घरका विभिन्न भौतिक वस्तुहरू खटनपटन गर्ने कुरा आउँदा, झूटा अगुवाहरूले परमेश्वरको घरले माग गर्ने सिद्धान्तहरूअनुसार यो काम गर्न नसक्ने मात्र नभई, तिनीहरूले आफ्ना थुप्रै व्यक्तिगत भावना, प्राथमिकता, र कामनाहरू, साथै तिनीहरूका व्यक्तिगत बुझाइहरूलाई, यसमा मिसिन दिन्छन्। तिनीहरूले यो कामलाई अव्यवस्थित र अन्योलग्रस्त रूपमा अस्तव्यस्त बनाउँछन्, जसमा कुनै पनि सिद्धान्तहरू बिलकुलै हुँदैनन्। त्यसैले, जब कुनै झूटो अगुवाले परमेश्वरको घरका विभिन्न वस्तुहरूको व्यवस्थापन गरिरहेको हुन्छ, तब के भइरहेको छ भनेर कसैलाई थाहा नहुने परिस्थितिहरूमा, प्रायः वस्तुहरू क्षतिग्रस्त हुन्छन्, कुनै कारणबिना बरबाद हुन्छन्, वा वस्तुहरू हराउँछन् र तिनको गणना मिल्दैन। अरू वस्तुहरू व्यक्तिहरूले दर्ता वा रिपोर्ट नगरी व्यक्तिगत प्रयोगका लागि लान्छन्। झूटा अगुवाहरूले सामान्य मामलाको कामसम्बन्धी यति सरल कार्य समेत राम्रोसँग व्यवस्थापन गर्न सक्दैनन्। तिनीहरूले यो कामलाई अस्तव्यस्त बनाउँछन्, तैपनि तिनीहरू आफूले धेरै काम गरेको छु भन्ने ठानेर, ढुक्क महसुस गर्छन्। झूटा अगुवाहरूले कहिल्यै परमेश्वरको घरका विभिन्न भौतिक वस्तुहरूको नियमित निरीक्षण, सम्भार, र संरक्षण गर्दैनन्; हृदयमा, तिनीहरूले यी वस्तुहरूबारे अलिकति पनि वास्ता गर्दैनन्। मानौँ तैँले तिनीहरूलाई सोधिस्, “के कसैले यी उपकरणहरूको सम्भार र संरक्षणको जिम्मा लिइरहेको छ? के तिनलाई मर्मत गर्ने क्रममा पाटपुर्जाको खरिदमा फजुल खर्च भएका कुनै घटनाहरू छन्? अथवा कसैले अत्यधिक खर्च गरेको वा कोही ठगिएको घटना छ? के ती घटनाहरूपछि कसैलाई जबाफदेही ठहर्याइएको थियो? के कसैलाई जरिबाना तिराइएको वा चेतावनी दिइएको थियो?” झूटा अगुवाहरूलाई यीमध्ये कुनै पनि कुराबारे थाहा वा वास्ता हुनेछैन। परमेश्वरको घरका लागि सामानहरू किन्दा अवैध रूपमा पैसा खर्च गरियो कि गरिएन, ती सामानहरू किनेपछि कसैलाई तिनको व्यवस्थापन गर्न खटाइएको छ कि छैन, किनिएका सामानहरू उपयुक्त छन् कि छैनन् र तिनलाई प्रभावकारी रूपमा प्रयोगमा ल्याउन सकिन्छ कि सकिँदैन, र, यदि सकिँदैन भने, तोकिएको समयसीमाभित्र नै तिनलाई फिर्ता वा साटफेर गरियो कि गरिएन—तिनीहरूलाई यी कुनै पनि कुराबारे थाहा हुँदैन। तिनीहरू त्यस्ता मूर्ख हुन्छन्—तिनीहरूलाई केही पनि थाहा हुँदैन। झूटा अगुवाहरूले सोच्ने भनेको आफूलाई सम्मान गर्न लगाउनका निम्ति कसरी भेलाहरूमा मानिसहरूलाई धर्मसिद्धान्तहरू प्रचार गर्ने भन्ने मात्र हो; तिनीहरूसँग वस्तुहरूको व्यवस्थापनसम्बन्धीको विशिष्ट मामलाका सम्बन्धमा काम गर्ने सक्षमता हुँदैन, न त तिनीहरूसँग यस मामलाप्रति कुनै मनोवृत्ति नै हुन्छ। तिनीहरूलाई यो आफूले गर्नुपर्ने काम हो भनेर थाहा हुँदैन, र त्यो कसरी गर्ने भन्ने पनि थाहा हुँदैन। परमेश्वरको घरका वस्तुहरूप्रति झूटा अगुवाहरूको दृष्टिकोणअनुसार भनेको, ती सबैका हुन्, त्यसैले जोसुकैलाई जुनै कुरा प्रयोग गर्न मन लागे प्रयोग गर्दा हुन्छ, र जोसुकैलाई जेसुकै चाहिए पनि उसले त्यो लिन वा त्यसका लागि माथिल्लो तहलाई आवेदन दिन पाउँछ—यो सबैको अधिकार हो, र परमेश्वरको घरका वस्तुहरू कुनै पनि व्यक्तिको व्यवस्थापन वा नियन्त्रणमा हुनु हुँदैन भन्ने हुन्छ। त्यसैले, यदि कसैले कुनै मेसिन बिगार्यो वा हरायो भने, तिनीहरूले वास्ता गर्दैनन्, र यदि कसैले केही कुरा किन्नका लागि आवेदन दिनुपर्ने छ भने पनि तिनीहरूले त्यो महँगो छ कि सस्तो भनी वास्ता नै गर्दैनन्। तथ्य के हो भने परमेश्वरको घरसित यी कामकुराहरूका नियमहरू हुन्छन्। अगुवा र कामदारहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरेसम्म र परमेश्वरको घरका सिद्धान्तहरूअनुसार सही जाँचहरू अघि बढाएसम्म, यस्ता सबै क्षति र बरबादीहरूबाट जोगिन सकिन्छ। तैपनि झूटा अगुवाहरूले क्षतिहरू रोक्न सक्ने यो सबैभन्दा सरल काम समेत गर्दैनन्। के तिनीहरू केवल सित्तैँमा परमेश्वरको घरको खाना खाइरहेका छैनन् र? के तिनीहरूले सित्तैँमा खाइरहेका छैनन् र? के यो झूटा अगुवाहरूको “झुटोपन” को विशिष्ट प्रकटीकरण होइन र? यदि तैँले यस्तो अगुवा भेटिस् भने उसलाई कसरी तह लगाउने थिइस्? (उसलाई बर्खास्त गरेर।) बर्खास्त मात्र गरेर हुन्छ? के तैँले उसलाई एकदुई वटा कुराहरू सिकाउनु पर्दैन र? “त्यो मेसिन त्यहाँ राखिएको थियो, र त्यो ओसियो, तर कसैले पनि धेरै दिनसम्म त्यसको जाँच गरेन। पावरले काम गर्छ कि गर्दैन, वा मुसाले तार काटेको छ कि छैन भनेर प्रस्ट छैन। तिमी किन यी कुराहरूमा चासो राख्दैनौ? मैले प्रयोग गर्ने कम्प्युटर बिग्रिएको छ र त्यसलाई मर्मत गर्नुपर्ने छ। यदि त्यसलाई मर्मत गरिएन भने काममा ढिलाइ हुनेछ। तैपनि मैले यसका लागि तिमीलाई धेरै पटक आवेदन दिएको छु—तिमीले किन ध्यान दिएका छैनौ? तिमी टाउको छिनिएको कुखुरा जस्तै, अन्धाधुन्ध रूपमा दिनभरि केमा व्यस्त हुन्छौ? तिमी जस्तो अगुवालाई भरोसा गरेर काम गर्न दिँदा, तिमीले सबै काममा ढिलाइ गर्छौ, र सबै मेसिन र भौतिक वस्तुहरू तिम्रो हातबाट नष्ट हुन्छन्। तिमी परमेश्वरको घरका विभिन्न वस्तुहरूको हेरचाह वा व्यवस्थापन गर्दैनौ। तिमी अगुवा हुन अयोग्य छौ—झट्टै राजीनामा देऊ!” के तिनीहरूलाई यसरी भाषण दिनु ठीक हो? (हो।) अगुवा र कामदारहरूलाई भाषण दिने आँट गर्ने व्यक्तिसँग के हुन्छ? सुरुमा त ऊ बहादुर हुनुपर्छ, र ऊसँग इन्साफको बोध हुनुपर्छ। कतिले यसो भन्न सक्छन्, “म त अगुवा र कामदारहरूलाई भाषण दिने आँट गर्नेथिइनँ। तिनीहरू अधिकारी हुन्, र म पिउसो मात्र हुँ, मेरो दर्जा तिनीहरूकोभन्दा निकै तल छ। तिनीहरूसँग सत्यता छ र तिनीहरूले प्रवचनहरू प्रचार गर्न सक्छन्। म केही कुरामा पनि राम्रो छैन, र म तिनीहरूलाई भाषण दिने स्थानमा छैनँ।” के यो दुर्जनको तर्क होइन र? (हो।) त्यसोभए, तिमीहरूले यस प्रकारको अगुवालाई कसरी भाषण दिने थियौ त? “यदि तिमी यो काम गर्न सक्छौ भने, परमेश्वरको घरका सिद्धान्तहरूअनुरूप सक्दो राम्रो गर्ने कोसिस गर। तिमीले हाम्रा लागि जे गर्न प्रबन्ध गरे पनि हामी त्यसलाई पालन गर्नेछौँ। तर यदि तिमीले यो काम गर्न सक्दो राम्रो कोसिस गर्दैनौ, यदि त्यसलाई परमेश्वरको घरका सिद्धान्तहरूअनुसार गर्दैनौ भने, तिमीले हामीलाई कहिल्यै तिम्रो कुरा सुन्ने बनाउने छैनौ! त्यसमाथि, यदि तिमीले कुनै वास्तविक काम गर्दैनौ भने, हामीसँग तिमीलाई तिम्रो पदबाट हटाउने र तिमीलाई निकाल्ने अधिकार छ! यदि तिमी कसैलाई हानि पुऱ्याउन चाहन्छौ भने आफैलाई पुऱ्याऊ—तिमीले हामी सबैलाई हानि पुऱ्याउने प्रयास गर्नु नै हुँदैन।” के तिमीहरूले तिनीहरूलाई यसरी भाषण दिने आँट गर्ने थियौ? (गर्ने थियौँ।) तिमीहरू अहिले त त्यसो भन्छौ; के त्यसो गर्ने समय आउँदा तिमीहरूले साँच्चिकै गर्ने थियौ त? सामान्यतया, सत्यता सिद्धान्तहरू र महत्त्वपूर्ण मामलाहरूसँग सम्बन्धित कामकुरामा, तिमीहरू सहज रूपमा बोल्न आँट गर्दैनौ, किनभने तिमीहरूलाई अन्तर्ज्ञानको अभाव र बोलाइमा स्पष्टताको अभावले तिमीहरूले केवल अगुवा र कामदारहरूको आलोचना गरिरहेका र बाधा सिर्जना गरिरहेका छौ भन्ने अर्थ दिन सक्ने डर हुन्छ। तर तिमीहरूले भौतिक वस्तुहरू व्यवस्थापन गर्ने मामलामा अन्तर्ज्ञान राख्न सक्नुपर्छ; तिमीहरूले यस मामलालाई खुट्ट्याउन सिक्नुपर्छ र त्यसका सिद्धान्तहरू बोध गर्नुपर्छ।
चलचित्र निर्माण टोलीमा पहिरनको जिम्मेवारी लिने मानिस थियो। ऊ आफ्ना क्रियाकलापहरूमा अराजक थियो, र सधैँ परमेश्वरको घरका सामानहरू सुटुक्क हिनामिना गर्थ्यो। जब उसले चलचित्र निर्माण टोली छोड्यो, तब उसले आफूसँगै केही सामान लिएर गयो, र पछि खाता जाँच गर्दा उसले प्राप्त गरेको थुप्रै पैसाको हिसाब नमिलेको देखियो। त्यसबाहेक, उसले काम नगरिरहेको भए पनि, ऊसँग पैसा हुन्थ्यो, र उसले धेरै उच्च-गुणस्तरका सामानहरू पनि किनेको थियो। ऊ चलचित्र निर्माण टोलीमा हुँदा, धेरै मानिसले उसलाई चापलुसी गर्थे, र तिनीहरू सबै जना उसको दाहिने हुन चाहन्थे, ताकि कपडाको आवश्यकता पर्दा, तिनीहरूले उसलाई माग्नु मात्र परून् अनि उसले तिनीहरूलाई केही कपडा दिइहालोस्। यदि कुनै व्यक्ति ऊसँग नमिलेमा, ऊ उसलाई पाउनुपर्ने कपडासमेत दिँदैनथ्यो। यो केको समस्या हो? यो व्यवस्थापन कर्मचारीसम्बन्धी समस्या हो। एकातिर ऊ आफैले यी सामानहरू हिनामिना गरिरहेको थियो; अर्कोतिर ऊ परमेश्वरको घरका वस्तुहरू सिद्धान्तहरूअनुरूप खटनपटन गर्दैनथ्यो, बरु आफ्नै भावना, इच्छा र सम्बन्धहरूका आधारमा खटनपटन गर्थ्यो। सिद्धान्तहरूअनुसार, यो व्यक्ति हटाइनुपर्थ्यो। यो स्पष्ट समस्या थियो। झुटो अगुवाले उसलाई नहटाएको मात्र होइन, उसलाई असल व्यक्ति ठान्यो र उसका लागि अर्को ठाउँमा गएर कर्तव्य पूरा गर्ने प्रबन्ध गऱ्यो। के यसले गल्तीलाई झन् बढाएको होइन र? यो काम जसरी गरियो त्यसबारे तिमीहरूलाई के लाग्छ? के त्यो सिद्धान्तहरूअनुरूप थियो? के यस अगुवाले एउटा अगुवाले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गऱ्यो? (गरेन।) अहिलेका लागि अगुवाले त्यस व्यक्तिलाई यसरी सम्हालेर कस्ता फाइदाहरू उठाउन सक्थ्यो भन्ने कुरालाई बिर्सेर—उसले त्यस मामलालाई कसरी सम्हाल्यो भन्ने कुरालाई मात्र हेर्दा, यो कस्तो प्रकृतिको थियो? यो भावनाहरूका आधारमा दुष्ट व्यक्तिलाई आश्रय दिने, र उसलाई परमेश्वरको घरका सिद्धान्तहरूअनुसार तह नलगाउने प्रकृतिको थियो। त्यसोभए, त्यसलाई अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दसौँ विषयवस्तुसँग जोडेर हेर्दा, यस प्रकारको अगुवा र कामदारले परमेश्वरको घरका विभिन्न भौतिक वस्तुलाई व्यवहार गर्दा कस्तो गल्तीहरू गर्छ? के यस अगुवाले आफ्ना जिम्मेवारीहरू पूरा गऱ्यो? के उसले त्यस मामलालाई सम्हाल्ने काम परमेश्वरको घरका वस्तुहरूको सुरक्षा गर्ने कुरामा आधारित थियो? पक्कै पनि थिएन। उसले परमेश्वरको घरका वस्तुहरूलाई गम्भीर रूपमा लिएन, यहाँसम्म कि दुष्ट व्यक्तिले यी सामानहरू बरबाद पार्दा वा आफूखुसी लैजाँदासमेत ऊ आँखा चिम्लेर बस्यो। यदि उसका आफ्नै सामानहरूलाई क्षति पुगेको वा अरूले लिएर गएको भए के उसले त्यसलाई त्यसरी नै सम्हाल्नेथियो? अहँ—तब उसले बदला र क्षतिपूर्तिबारे सोचिरहेको हुनेथियो। त्यसोभए, उसले परमेश्वरको घरका वस्तुहरूलाई किन त्यो तरिकाले सम्हालेन? उसले यस्तो समेत भन्यो, “यदि उसलाई मन परेमा, उसले केही वस्तु लगे हुन्छ—उसले त्यति धेरै लगिरहेको छैन। यदि उसलाई मन पर्छ भने उसले यी सामानहरू अलिअलि हिनामिना गरे हुन्छ—त्यसो गर्ने अलिकति चाहना कसलाई हुँदैन र? उसले गर्ने थोरै हिनामिनाले के फरक पार्छ र? अरूले कम पाउने पनि त होइन।” यो कस्तो प्रकारको मनोवृत्ति हो? के अगुवा र कामदारहरूले परमेश्वरको घरका वस्तुहरूप्रति राख्नुपर्ने मनोवृत्ति यही हो? (होइन।) के उसले जुन थालमा खायो त्यही थालमा थुकिरहेको छैन र? अनि उसले अन्त्यमा के तर्क दियो? “उसलाई ती सामानहरू हिनामिना गर्न देऊ—हामीले ऊसित यी हिसाबहरू मिलाउनु आवश्यक छैन। ती साना रकम र वस्तुहरू कति नै हुन् र? ख्रीष्टविरोधीहरू त्योभन्दा निकै धेरै हिनामिना गर्छन्। उसले ती वस्तुहरू हिनामिना गर्नु ऊ र परमेश्वरबीचको कुरा हो—समय आएपछि ऊ परमेश्वरसमक्ष कसरी जबाफदेही हुनेछ त्यो उसको कुरा हो। हामीसँग त्यसको कुनै सरोकार छैन।” कुनै अगुवाले त्यस्तो कुरा भनेको सुनेपछि तिमीहरू कस्ता सोच र भावनाहरू अनुभव गर्छौ? अलिकति न्यायको बोध भएको, अलिकति विवेकको चेतना भएको जोकोही यी शब्दहरू सुनेर भित्रभित्रै रुनेथियो, र उसलाई हृदय टुटेको र निराशा महसुस हुनेथियो, चाहे ऊ एक साधारण अनुयायी नै किन नहोस्, अगुवा वा कामदार भएको भए त झन् कुरै छाडौँ! यस प्रकारको झुटो अगुवाले परमेश्वरको धेरै अनुग्रह र सुरक्षा, र उहाँका धेरै सत्यता उपभोग गर्छ, तर उसमा अझै पनि परमेश्वरको घरका वस्तुहरूप्रति यस प्रकारको क्रूर मनोवृत्ति हुन्छ। के ऊसँग मानवता हुन्छ? के ऊ अगुवा वा कामदार हुन उपयुक्त हुन्छ? (हुँदैन।) एक पटक यस्तो व्यक्ति बर्खास्त भएपछि, के ऊ भविष्यमा अगुवा वा कामदार हुन योग्य हुन्छ? (हुँदैन—उसको मानवता कमजोर हुन्छ।) उसको कमजोर मानवता कसरी प्रकट हुन्छ? (ऊ परमेश्वरको घरका हितहरूलाई कायम राख्दैन।) त्यो विशिष्ट कार्य के हो जसमा ऊ परमेश्वरको घरका हितहरूलाई कायम राख्दैन? यो विशिष्ट प्रकटीकरणको सार के हो? यस्ता मानिसहरूको हृदय सही ठाउँमा हुँदैन र तिनीहरूको चरित्र नीच हुन्छ; तिनीहरू निकै राम्रो तरिकाले बोल्छन्, तर वास्तविक काम केही पनि गर्दैनन्। त्यस्ता मानिसहरू कदापि अगुवा र कामदार बन्नु हुँदैन। जसको हृदय सही ठाउँमा हुँदैन तिनीहरू सत्यताप्रेमी होइनन्, बरु तिनीहरू आफ्नै लाभको खोजीमा हुन्छन्; जसको हृदय सही ठाउँमा हुँदैन तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूबारे बिलकुलै सोच्दैनन्, र मण्डलीको काम वा परमेश्वरको घरका हितहरूलाई बिलकुलै कायम राख्दैनन्।
अगुवा र कामदारहरूले गर्नैपर्ने पहिलो आधारभूत कुरा भनेको परमेश्वरको घरका विभिन्न भौतिक वस्तुको उचित निगरानी गर्नु, परमेश्वरको घरका लागि सही तरिकाले जाँचहरू गर्नु र परमेश्वरको घरको रक्षा गर्नु, कुनै पनि वस्तुहरूलाई क्षति हुन, खेर जान, वा दुष्ट मानिसहरूको स्वामित्वमा पर्न नदिनु हो। यो उनीहरूले गर्नुपर्ने न्यूनतम कुरा हो। तँ अगुवा वा कामदारका रूपमा चुनिने बित्तिकै, परमेश्वरको घरले तँलाई त्यसको प्रबन्धक मान्दछ: तँ व्यवस्थापकीय वर्गमा पर्छस्, र तैँले वहन गर्ने कार्य अरूको भन्दा गह्रौँ हुन्छ। तँ ठूलो जिम्मेवारी वहन गर्छस्। त्यसकारण तेरो हरेक मनोवृत्ति, तेरो हरेक कार्य, समस्याहरू सम्हाल्ने तेरो हरेक योजना, र समस्याहरू समाधान गर्ने तेरो हरेक विधि, सबैमा परमेश्वरको घरका हितहरू संलग्न हुन्छन्। यदि तँ परमेश्वरको घरका हितहरूलाई ख्यालसमेत गर्दैनस् वा तिनलाई मनमा लिँदैनस् भने, तँ उहाँको घरको प्रबन्धक हुन अयोग्य छस्। यो कस्तो प्रकारको व्यक्ति हो? ऊ किन परमेश्वरको घरको प्रबन्धक हुन योग्य छैन? झुटा अगुवाहरूमध्ये, कतिपय कमजोर क्षमताका मात्र हुँदैनन्—तिनीहरूको मुख्य समस्या भनेको तिनीहरू कुनै बोझ वहन गर्दैनन्; तिनीहरूलाई काम कसरी गर्ने भनी थाहा हुँदैन, तर तिनीहरू सत्यता खोज्दैनन्, र तिनीहरू प्रबन्धकले पूरा गर्नुपर्ने न्यूनतम जिम्मेवारीहरू समेत पूरा गर्न असक्षम हुन्छन्। तिनीहरूमा विवेक वा समझ हुँदैन। किनभने तिनीहरूको हृदय सही ठाउँमा हुँदैन, तिनीहरू तुच्छ चरित्रका हुन्छन्, अनि तिनीहरू स्वार्थी र नीच हुन्छन्; तिनीहरू परमेश्वरको घरको कामलाई बिलकुलै कायम राख्दैनन्, बरु प्रायः मण्डलीका हितहरूलाई क्षति पुर्याउने र धोका दिने गर्छन्, मण्डलीका हितहरूलाई हानि गरेर मानिसहरूलाई चापलुसी गर्छन् र अरू मानिससँगको आफ्नो सम्बन्धलाई कायम राख्छन्। तिनीहरू परमेश्वरको घरका भौतिक वस्तुहरूलाई क्षति हुन, खेर जान, हराउन, वा दुष्ट मानिसहरूको स्वामित्वमा पर्नसमेत दिन्छन्, र तिनीहरू यसबारे बिलकुलै वास्ता गर्दैनन्, वा यसबारे अलिकति पनि ऋणी वा दोषी महसुस गर्दैनन्। त्यसैले, अगुवा र कामदारहरू छनोट गर्ने कुरा आउँदा, यसलाई मानवताको दृष्टिकोणबाट हेर्दा, तिनीहरूमा हुनुपर्ने सबैभन्दा आधारभूत कुरा के हो? तिनीहरूमा विवेक र न्यायको बोध हुनैपर्छ, र तिनीहरूको मनसाय उचित हुनुपर्छ। पहिले तिनीहरूको मानवता मानकअनुरूप हुनैपर्छ। तिनीहरूसँग काम गर्ने सक्षमता जति नै भए पनि, वा तिनीहरूमा जुनसुकै तहको क्षमता भए पनि, त्यस प्रकारका मानिसहरूले सुपरिवेक्षकका रूपमा सेवा गरेमा तिनीहरू मानकअनुरूपका प्रबन्धक हुनेछन्। कम्तीमा, तिनीहरू परमेश्वरको घरका हितहरू र दाजुभाइ-दिदीबहिनीहरूका सामान्य हितहरू कायम राख्न सक्षम हुनेछन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका हितहरूलाई बिलकुलै धोका दिनेछैनन्, न त परमेश्वरको घरका हितहरूलाई बिलकुलै धोका दिनेछन्। परमेश्वरको घर र दाजुभाइ-दिदीबहिनीहरूका हितहरूलाई हानि वा चोट पुग्न लाग्दा, तिनीहरूले त्यसबारे पहिल्यै सोचिसकेका हुनेछन्, र तिनीहरूले सुरक्षा गर्न सबैभन्दा पहिले पाइला चाल्नेछन्, चाहे त्यसो गर्दा तिनीहरूको आफ्नै सुरक्षालाई असर नै किन नपुगोस्, वा तिनीहरूले मूल्य चुकाउन वा कष्ट भोग्न नै किन नपरोस्। यी सबै विवेक र समझ भएका मानिसहरूले गर्न सक्ने कुरा हुन्। कतिपय झूटा अगुवा र कामदार खतरनाक परिस्थितिहरू सामना गर्दा हतारिएर लुक्नका लागि सुरक्षित ठाउँ खोज्छन्, तैपनि परमेश्वरको घरका महत्त्वपूर्ण वस्तुहरू—परमेश्वरका वचनका पुस्तकहरू, मोबाइल, कम्प्युटर आदि—सामानहरूबारे तिनीहरू न त वास्ता न त सोधीखोजी नै गर्छन्। यदि तिनीहरूलाई आफू पक्राउ पर्दा मण्डलीको समग्र काममा असर पुग्छ भन्ने चिन्ता भएको भए, तिनीहरूले यी कुराहरू सम्हाल्न अरूलाई पठाउन सक्थे—तैपनि यी झुटा अगुवाहरू आफ्नै सुरक्षाका खातिर मात्र लुक्छन्। तिनीहरू मर्नेगरी त्रसित हुन्छन्, र आफ्नो सुरक्षा सुनिश्चित गर्नका निम्ति, आफूले सक्ने काम पनि गर्दैनन्। त्यसकारण त्यस्ता धेरै उदाहरणहरू छन् जसमा खतरनाक अवस्थाहरू देखा पर्दा झूटा अगुवाहरूको लापरवाही, निष्क्रियता, र गैरजिम्मेदारीका कारण परमेश्वरको घरका विभिन्न वस्तु र परमेश्वरका भेटीहरू ठूलो रातो अजिङ्गरले लुटेर लैजान्छ, जसले गर्दा गम्भीर क्षतिहरू पुग्छन्। मण्डलीमा भर्खरै त्यस्ता अवस्थाहरू देखा पर्दा, अगुवा र कामदारहरूको पहिलो सोच भनेको परमेश्वरको घरका उपकरण र भौतिक वस्तुहरूलाई उपयुक्त ठाउँहरूमा राख्ने, तिनलाई व्यवस्थापन गर्नका लागि उपयुक्त मानिसहरूलाई हस्तान्तरण गर्ने हुनुपर्छ; ठूलो रातो अजिङ्गरलाई ती वस्तुहरू बिलकुलै लान दिनु हुँदैन। तर झूटा अगुवाहरूको मनमा त्यस्ता कुराहरू कहिल्यै आउँदैनन्; तिनीहरूले परमेश्वरको घरका हितहरूलाई कहिल्यै पहिलो प्राथमिकता दिँदैनन्, बरु तिनीहरूले आफ्नै सुरक्षालाई पहिलो प्राथमिकता दिन्छन्। झूटा अगुवाहरूले वास्तविक काम गर्न असफल हुँदा परमेश्वरको घरका विभिन्न महत्त्वपूर्ण वस्तुहरूमा प्रायः नोक्सान वा क्षति पुग्छन्। के यो झूटा अगुवाहरूको गम्भीर कर्तव्य विमुखता होइन र? (हो।)
अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी दसौँ विषयवस्तुका सम्बन्धमा, हामीले खुलासा गरिरहेको झूटा अगुवाहरूको मुख्य प्रकटीकरण चाहिँ के हो? परमेश्वरको घरका भौतिक वस्तुहरूप्रति झूटा अगुवाहरूको मनोवृत्ति बेवास्ता र उपेक्षाको प्रकृतिको हुन्छ; तिनीहरू सिद्धान्तहरूअनुरूप चल्दैनन्, बरु ती वस्तुहरूलाई तिनीहरूका आफ्नै कल्पना र प्राथमिकताका आधारमा जथाभाबी रूपमा खटनपटन गर्छन्। तिनीहरूले सामानहरू व्यवस्थापन गरिरहँदा, परमेश्वरको घरका वस्तुहरूमा प्रायः धेरै वा थोरै क्षति र बरबादी भइरहेको हुन्छ, जसले परमेश्वरको घरको काममा घाटा पुऱ्याउँछ। यो नै झूटा अगुवाहरूको प्रमुख प्रकटीकरण हो। झूटा अगुवाहरूले सामान्य मामला कामको यति सरल, एकल कार्य समेत सम्हाल्न सक्दैनन्; तिनीहरूले त्यति गर्न वा त्यसलाई राम्रोसँग गर्न समेत सक्दैनन्—त्यसोभए, तिनीहरूले के गर्न सक्छन् त? त्यसैले, जब तैँले त्यस्ता मानिसहरूले अगुवाका रूपमा कार्य गरिरहेको देख्छस्, तैँले तिनीहरूको कामको निरीक्षण र सुपरिवेक्षण गर्न सक्छस्। यदि तिनीहरूले साधारण मामलाको कामको एउटा कार्य समेत अस्तव्यस्त बनाउँछन्, आफूले सक्ने जति समेत गर्दैनन्, र आफूसँग समय नहुँदा त्यो काम गर्ने अरू उपयुक्त मानिसहरू खोज्दैनन् भने, त्यस्ता अगुवाहरूलाई तुरुन्तै तिनीहरूको पदबाट बर्खास्त गरेर हटाइनुपर्छ। परमेश्वरको घरले तिनीहरूलाई कहिल्यै प्रयोग गर्नेछैनन्। के यो उचित हो? (हो।) किन? जुन व्यक्तिको हृदय सही ठाउँमा छैन, जसको बुझाइ विकृत छ, र जसले आफ्ना भावना र स्वार्थी, नीच महत्त्वाकाङ्क्षा र चाहनाहरूअनुसार मात्र काम गर्छ, ऊ भरोसायोग्य हुँदैन। भरोसाहीन व्यक्तिले के काम चाहिँ राम्रोसँग गर्न सक्छ? उसले कस्तो कर्तव्य राम्ररी पूरा गर्न सक्छ? के ऊ बफादारीका साथ कर्तव्य पूरा गर्न सक्षम हुन्छ? (हुँदैन।)
अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दसौँ विषयवस्तुबारे आजको सङ्गतिमार्फत, के मैले अगुवा र कामदारहरूबाट माग गरिने अर्को एउटा सिद्धान्त र मानकबारे प्रस्ट रूपमा व्याख्या गरेको छैन र? यो क्षमताको प्रश्न होइन, र काम गर्ने सक्षमताको प्रश्न पनि होइन, बरु मानवताको प्रश्न हो। त्यस्ता मानिसहरूलाई नियालेर हेर् जो अगुवा र कामदारका रूपमा सेवा गरिरहेका छन्, वा जसलाई मण्डलीले जगेर्ना गरिरहेको छ, अनि तिनीहरूमध्ये कमजोर मानवता भएका र सही ठाउँमा हृदय नभएका, दसौँ विषयवस्तुमा चिरफार गरिएका झूटा अगुवाहरूको जस्तै मानवता भएका कोही छन् कि भनी हेर्। यदि तैँले साँच्चिकै त्यस्ता अगुवा र कामदारहरू भेट्टाउँछस् भने, तैँले तिनीहरूलाई बर्खास्त गर्नुपर्छ, र त्यस्ता मानिसहरूलाई अगुवाका रूपमा कहिल्यै छनौट नगर्न, र त्यस्ता मानिसहरूलाई अगुवा र कामदार बन्न कहिल्यै जगेर्ना नगर्न याद राख्नैपर्छ। यदि केही मानिसहरूले ती मानिसहरूको चरित्रलाई नबुझेर तिनीहरूलाई चुनेमा, तुरुन्तै तिनीहरूको रिपोर्ट गर्। तिनीहरूलाई अगुवा र कामदार हुने मौका नदे। ती मानिसहरू वास्तविक काम गर्न अगुवा र कामदार बनेका हुँदैनन्, बरु मण्डलीको कामलाई नष्ट गर्नका लागि बनेका हुन्छन्। यदि तिनीहरू अगुवा बनेमा, परमेश्वरको घरका विभिन्न भौतिक वस्तुहरू त्यसकै कारण नष्ट मात्र हुनेछन्। के तिमीहरू त्यस्तो परिणाम हेर्न इच्छुक छौ? (छैनौँ।) त्यसोभए, तिमीहरूले त्यस्ता मानिसहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? यदि तिनीहरू हाल अगुवाका रूपमा सेवा गरिरहेका छन् भने, तिनीहरूको रिपोर्ट गरेर तिनीहरूलाई पदबाट हटाइदे। यदि सेवा गरिरहेका छैनन्, यदि तिनीहरू नियुक्त भइसकेका छैनन् भने, सबैलाई यसो भन्: “यो व्यक्ति काम लाग्दैन। जे गरे पनि उसलाई चाहिँ छनौट नगर; त्यो मण्डलीलाई हानिकारक हुन्छ।” अनि यदि मानिसहरूलाई झुक्काइएर र गलत मार्गनिर्देशन गरिएर तिनीहरूलाई चयन गर्न बाध्य गरिएको छ भने, तैँले तुरुन्तै सबैलाई जानकारी गराउनैपर्छ: “आज हामीले एउटा गल्ती गर्यौँ। हामीले कमजोर मानवता भएको, गलत ठाउँमा हृदय भएको व्यक्तिलाई हाम्रो अगुवाका रूपमा छनौट गर्यौँ। अब हामीले यसो गरेकाले परमेश्वरको घरका हितहरूमा क्षति र हानि पुग्नेछ। हामीले उसलाई पदबाट तुरुन्तै हटाउनुपर्छ, ताकि परमेश्वरको घरका हितहरू र विभिन्न वस्तुहरू क्षति हुनबाट जोगिऊन्। हामीले तिनीहरूको षडयन्त्रलाई सफल हुन दिनु हुँदैन।” के यसो गर्नु उचित कुरा हो? (हो।)
जो अगुवा र कामदारका रूपमा चुनिएका छन् तिनीहरूबाट क्षमता र काम गर्ने सक्षमता माग गरिन्छ; अब त तिनीहरूका चरित्रबारे मागहरू पनि छन्। तिमीहरू के भन्छौ, के अधिकांश मानिसहरूले अगुवा र कामदार बन्ने मापदण्डहरू पूरा गर्दैनन् नै भन्ने हो र? यी तीनमध्ये कुन चाहिँ सबैभन्दा महत्त्वपूर्ण छ? (मानवता।) अनि दोस्रो? (काम गर्ने सक्षमता।) त्यसपछि? (तिनीहरूमा क्षमता छ कि छैन भन्ने कुरा।) त्यो क्रम निकै सही छ। तिमीहरूले भविष्यमा अगुवाहरू छनौट गर्दा, तिनीहरूलाई यही क्रमअनुसार मापन गर। कतिपय मानिसहरू यसो भन्छन्, “यो क्रममा एउटा समस्या छ। मानौँ मानवता पहिलो स्थानमा आउँछ, र कतिपय मानिसहरू छन् जसको मानवता असल छ तर क्षमता ज्यादै खराब छ, र यदि तिनीहरूलाई अगुवाका रूपमा छनौट गरियो भने, तिनीहरूले कुनै पनि वास्तविक काम गर्न सक्नेछैनन्—त्यस्तो अवस्थामा के अझै पनि मानिसहरूको मानवतालाई मात्र ख्याल गर्नु ठीक हुन्छ त?” मानिसहरूको मानवता सबैभन्दा महत्त्वपूर्ण हो, र त्यो नै तैँले हेर्नुपर्ने पहिलो कुरा हो, तर अगुवा र कामदारहरू छनौट गर्दा ख्याल गर्नुपर्ने एउटै मात्र कुरा चाहिँ होइन। यदि कुनै व्यक्तिको मानवता मानकअनुरूप छ भने, त्यसपछि उसको काम गर्ने क्षमता हेर्। यदि उसमा काम गर्ने सक्षमताको कमी छ, र उसले कुनै पनि वास्तविक काम गर्न सक्दैन भने, तैँले उसलाई अत्यधिक क्षमता आवश्यक नपर्ने किसिमको काम वहन गर्न आग्रह गर्न सक्छस्। यदि उसको मानवता असल छ, र ऊ कामको जिम्मेवारी वहन गर्न सक्षम छन् र त्यो काम राम्ररी गर्न सक्दो कोसिस गर्छ, साथै ऊ भरोसायोग्य छ, परमेश्वरको घरले उसलाई प्रयोग गर्नेबारे कुनै सङ्कोच मान्नुपर्दैन, र ऊ धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूका लागि ज्ञानवर्धक, सहयोगी, र फाइदाजनक छन् भने, ऊ मानकअनुरूप छ। यदि उसको क्षमता कमजोर छ र उसमा काम गर्ने सक्षमताको कमी छ, वा काम गर्ने सक्षमताका हिसाबले यदि ऊ औसत मात्र छ भने, उसलाई केही सरल काम अथवा एउटा मात्र काम गराऊ। यदि उसमा असल क्षमता र बलियो काम गर्ने सक्षमता छ भने, उसले केही महत्त्वपूर्ण काम वा केही फरक-फरक कामहरू गर्न सक्छ। के तँ यस्ता किसिमका प्रबन्धहरू समेत गर्न सक्दैनस्? यदि उसको मानवता कमजोर छ र उसको हृदय सही ठाउँमा छैन भने, उसको काम गर्ने सक्षमता जति नै ठूलो भए पनि, के उसले काम राम्ररी गर्न सक्नेछ? (सक्नेछैन।) यदि उसले एउटा कम्पनी वा केही कर्मचारी व्यवस्थापन गरेमा, सायद समस्या नहोला—तर यदि उसलाई परमेश्वरको घरका विभिन्न वस्तुहरू व्यवस्थापन गर्न भनियो भने कस्ता समस्याहरू उत्पन्न होलान्? सर्वप्रथम, तिनीहरूले बिलकुलै ती वस्तुहरू व्यवस्थापन गर्ने थिएनन् वा परमेश्वरको घरले माग गर्ने सिद्धान्तहरूअनुसार कामकुरा सम्हाल्ने थिएनन्। तिनीहरूको हृदय सही ठाउँमा हुँदैन, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, र तिनीहरूको हृदयमा षड्यन्त्र बाहेक केही पनि हुँदैन, दुष्ट विचार र सोचहरू बाहेक केही पनि हुँदैन, त्यसैले तिनीहरूले जहिलेसुकै सत्यता सिद्धान्तहरू र निष्पक्षताका आधारमा नभई आफ्नै प्राथमिकताहरूअनुसार, र आफ्नै स्वार्थहरूमा आधारित भएर कार्य गर्छन्। तिनीहरू आफूले गुमाउनु वा पाउनु पर्ने कुराबारे मात्र विचार गर्छन् र परमेश्वरको घरले माग गर्ने सिद्धान्तहरूबारे केही पनि सोच्दैनन्—यसर्थ तिनीहरू अगुवा र कामदारहरूको काममा असफल हुने निश्चित हुन्छ। यो केद्वारा निर्धारित हुन्छ? तिनीहरूको चरित्रले; यो तिनीहरूको काम गर्ने सक्षमताले निर्धारित हुँदैन। त्यसैले, कोही कुलीन हो कि नीच, र उसले अगुवा र कामदारहरूमा छनोट हुनका लागि परमेश्वरको घरका मानकहरू पूरा गर्छ कि गर्दैन भन्ने कुरालाई जोख्दा, सुरुमा उसको मानवतालाई हेर्: यदि उसको मानवता भरपर्दो र योग्य छ भने, त्यसपछि उसमा काम गर्ने सक्षमता छ कि छैन र ऊसँग बोझ छ कि छैन भन्नेबारे विचार गर्; त्यसपछि अन्य पक्षहरूबारे ख्याल गर्।
यो अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दसौँ विषयवस्तु हो। झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरूसम्बन्धी दसौँ विषयवस्तुमा चिरफार गरिएको कुरा लगभग यही नै हो। झूटा अगुवाहरूले परमेश्वरको घरका विभिन्न भौतिक वस्तुहरूसँग व्यवहार गर्दा देखाउने मनोवृत्ति र प्रकटीकरणहरूमा देख्न सकिन्छ कि तिनीहरूमध्ये धेरैजसोमा विवेक र समझ हुँदैन, कि तिनीहरूको मानवता अत्यन्तै कमजोर हुन्छ र तिनीहरूले कुनै जिम्मेवारी लिँदैनन्—तैँले तिनीहरूका हृदय गलत ठाउँमा छन् भन्न सक्छस्। के अब झूटा अगुवाहरूलाई चित्रण गर्नका लागि हामीसँग थप एउटा प्रमाण छैन त? कतिपय झूटा अगुवाहरू काम गर्ने सक्दैनन् किनभने तिनीहरूको क्षमता कमजोर हुन्छ, साथै तिनीहरू अन्धा हुन्छन् र तिनीहरूमा कामकुराको अन्तर्ज्ञान हुँदैन। कतिपयले वास्तविक काम गर्दैनन् किनभने तिनीहरूका हृदय सही ठाउँमा हुँदैनन्, र तिनीहरू आफ्नै फाइदाको खोजीमा मात्र हुन्छन्—तिनीहरूले परमेश्वरको घरका हितहरूलाई कायम राख्दैनन्, र परमेश्वरका चुनिएका मानिसहरू बाँचे वा मरे पनि वास्ता गर्दैनन्। परमेश्वरको घरको काममा ढिलो हुन नदिन र उहाँका चुनिएका मानिसहरूलाई हानिबाट जोगाउन, हरेक प्रकारको झूटो अगुवालाई सकेसम्म चाँडो बर्खास्त गर्नुपर्छ र हटाउनुपर्छ।
मे १, २०२१