अगुवा र कामदारहरूका जिम्मेवारीहरू (४)
विषयवस्तु पाँच: प्रत्येक कामको स्थिति र प्रगतिको अद्यावधिक बोध र बुझाइ कायम राख्ने, अनि तुरुन्तै समस्याहरू समाधान गर्न, विचलनहरूलाई सच्याउन र कामका त्रुटिहरूको निदान गर्न सक्षम हुने ताकि कामको प्रगति सहज होस्
आजको सङ्गति अगुवा र कामदारहरूको पाँचौँ जिम्मेवारीबारे रहेको छ: “प्रत्येक कामको स्थिति र प्रगतिको अद्यावधिक बोध र बुझाइ कायम राख्ने, अनि तुरुन्तै समस्याहरू समाधान गर्न, विचलनहरूलाई सच्याउन र कामका त्रुटिहरूको निदान गर्न सक्षम हुने ताकि कामको प्रगति सहज होस्।” हामी झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरूलाई चिरफार गर्न, झूटा अगुवाहरूले यस काममा आफ्नो जिम्मेवारी पूरा गर्छन् कि गर्दैनन्, र तिनीहरू आफ्नो कर्तव्यमा दृढ़तासाथ लागिरहन्छन् कि रहँदैनन् र राम्ररी काम गर्छन् कि गर्दैनन् भनेर हेर्न यो जिम्मेवारीमा ध्यान दिनेछौँ।
झूटा अगुवाहरू सहजतामा लिप्त हुन्छन् र कामलाई बुझ्न आधारभूत तहमा गहन रूपले संलग्न हुँदैनन्
अगुवा र कामदारहरूको पाँचौँ जिम्मेवारीले सुरुमा “प्रत्येक कामको स्थिति र प्रगतिको अद्यावधिक विवरण र बुझाइ कायम राख्ने” भन्ने कुरा उल्लेख गर्छ। “प्रत्येक कामको स्थिति” ले के जनाउँछ? यसले कुनै निश्चित कामको वर्तमान स्थिति कस्तो छ भन्ने कुरा जनाउँछ। यहाँ अगुवा र कामदारहरूले के बुझ्नुपर्छ? उदाहरणका लागि: कर्मचारीले के-कस्ता निश्चित कामहरू गरिरहेका छन्, तिनीहरू के-कस्ता क्रियाकलापहरूमा व्यस्त छन्, यी क्रियाकलापहरू जरुरी छन् कि छैनन्, ती मुख्य र महत्त्वपूर्ण काम हुन् कि होइनन्, यी कर्मचारीहरू कति दक्ष छन्, काम सहज रूपमा अघि बढिरहेको छ कि छैन, कर्मचारीको सङ्ख्या कामको बोझसँग मिल्दो छ कि छैन, सबैलाई प्रशस्त काम दिइएको छ कि छैन, कुनै निश्चित कामका लागि धेरै कर्मचारीहरू भएको——जहाँ अति थोरै कामका लागि अति धेरै कर्मचारीहरू हुन्छन्, र धेरैजसो काम नगरी बसेका हुन्छन्—वा कामको बोझ धेरै भएको तर कर्मचारीहरू अति कम भएको, र सुपरिवेक्षकले प्रभावकारी ढङ्गले निर्देशन गर्न नसकेर कामको प्रभावकारिता कम भएको र प्रगति ढिलो भएको अवस्था छ कि छैन भन्ने कुरा। यी सब अगुवा र कामदारहरूले बुझ्नुपर्ने परिस्थितिहरू हुन्। यसअलावा, हरेक काम अघि बढाउने क्रममा, कसैले बाधा दिइरहेको वा ध्वंस गरिरहेको पो छ कि, कसैले प्रगतिलाई रोकिरहेको वा कमजोर पारिरहेको पो छ कि, कुनै पनि प्रकारको हस्तक्षेप वा झारा टार्ने काम भइरहेको पो छ कि—यी पनि अगुवा र कामदारहरूले बुझ्नुपर्ने कुरा हुन्। त्यसोभए तिनीहरूले यी समस्याहरूबारे कसरी बुझाइ प्राप्त गर्छन्? कति अगुवाहरूले कहिलेकहीँ फोन गरेर सोध्न सक्छन्, “के तिमीहरू अहिले व्यस्त छौ?” अर्को पक्षले आफू अत्यन्तै व्यस्त छु भनेको सुन्दा, तिनीहरूले यस्तो प्रतिक्रिया दिन सक्छन्, “ठिक छ, तिमीहरू व्यस्त छौ भने, म ढुक्क भएँ।” काम गर्ने यो तरिकाबारे तिमीहरूलाई के लाग्छ? यो प्रश्नबारे तिमीहरूलाई के लाग्छ? के यो सोध्नुपर्ने अत्यन्तै महत्त्वपूर्ण र जरुरी प्रश्न हो? झूटा अगुवाहरूको कामको विशेषता यही हो—तिनीहरूले बस झारा मात्र टार्छन्। तिनीहरू आफ्नो विवेकलाई अलिक ढुक्क बनाउन थोरथोरै सतही काम गरेर नै सन्तुष्ट हुन्छन् तर वास्तविक काम गर्नमा ध्यान दिँदैनन्, कामको वर्तमान स्थिति बुझ्न तिनीहरू तल्लो तह र हरेक समूहमा जानु त झन् धेरै परको कुरा हो। उदाहरणका लागि, कर्मचारी बन्दोबस्तहरू उपयुक्त छन् कि छैनन्, काम कसरी गरिँदै छ, कुनै समस्याहरू देखा परेका छन् कि छैनन्—यी वास्तविक समस्याहरूबारे झूटा अगुवाहरूले कुनै सोधपुछ गर्दैनन्, बरु तिनीहरू आँधी वा घामको कठोरता नभोगी खान, पिउन, र रमाइलो गर्नहेतु अरूले नदेख्ने ठाउँ खोज्छन्। तिनीहरूले बेलाबेलामा पत्र पठाउँछन् वा सोधपुछ गर्न आफ्नो तर्फबाट कसैलाई खटाउँछन्, र यसैलाई नै आफ्नो काम गरेको भन्ठान्छन्। अझ भन्नुपर्दा, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई दश दिन वा आधा महिनासम्मै नदेख्न सक्छन्। जब दाजुभाइ-दिदीबहिनीहरूलाई “तिमीहरूको अगुवा केमा व्यस्त छ? के उसले ठोस काम गरिरहेको छ? के उसले तिमीहरूलाई मार्गदर्शन गरिरहेको र समस्याहरू सुल्झाइरहेको छ?” भनेर सोधिन्छ, तब तिनीहरूले जवाफ दिन्छन्, “यसबारे कुरै नगर्नुहोस्, हामीले हाम्रो अगुवालाई नदेखेको नै एक महिना भयो। उसले हाम्रा लागि आयोजना गरेको पछिल्लो भेलादेखि ऊ फेरि कहिल्यै आएको छैन, र अहिले हामीसँग धेरै समस्याहरू छन् जसलाई समाधान गर्न मद्दत गर्ने कोही छैन। अरू कुनै उपाय छैन; हाम्रो समूहका सुपरिवेक्षक र हाम्रा दाजुभाइ-दिदीबहिनीहरू आफै प्रार्थना गर्न र सिद्धान्तहरू खोजी गर्न, र कामबारे सँगै छलफल र सहकार्य गर्न एकजुट हुनुपर्छ। यहाँको अगुवा प्रभावकारी छैन; अहिले हामी अगुवाविहीन छौँ।” यो अगुवाले आफ्नो काम कति राम्ररी गरिरहेको छ? माथिले यो अगुवालाई सोध्छ, “पछिल्लो चलचित्र सकिएपछि, के तिमीले कुनै नयाँ पटकथा प्राप्त गर्यौ? अहिले तिमी केको छायाङ्कन गरिरहेका छौ? काम कसरी अघि बढिरहेको छ?” अगुवाले जवाफ दिन्छ, “मलाई थाहा छैन। पछिल्लो चलचित्रपछि, मैले तिनीहरूसँग एउटा भेला आयोजना गरेँ, त्यसपछि तिनीहरू सबै उत्साहित भए, नकारात्मक भएनन्, र तिनीहरूसँग कुनै कठिनाइ थिएन। त्यसपछि हामी भेटेका छैनौँ। यदि तपाईं तिनीहरूको वर्तमान अवस्था जान्न चाहनुहुन्छ भने, म तपाईंका लागि कल गरेर सोध्न सक्छु।” “तिमीले किन यसभन्दा पहिले अवस्था बुझ्न कल गरेनौ?” “किनभने म जताततै भेलाहरूमा सहभागी हुनुपरेकोले अत्यन्तै व्यस्त थिएँ। तिनीहरूको पालो अझै आएको छैन। अर्कोपटक तिनीहरूसँग भेला हुँदा मात्रै मैले अवस्था बुझ्न सक्नेछु।” मण्डलीको कामप्रति तिनीहरूको मनोवृत्ति यही हो। त्यसपछि माथिले भन्छ, “तिमीलाई चलचित्र निर्माणको कामको वर्तमान अवस्था वा त्यसमा रहेका समस्याहरूबारे थाहा छैन, त्यसोभए सुसमाचारको कामको प्रगतिचाहिँ कस्तो छ त? कुन देशको सुसमाचारको काम सबैभन्दा राम्रो र आदर्श रूपमा फैलिएको छ? कुन देशका मानिसहरूले तुलनात्मक रूपमा राम्रो क्षमता राख्छन् र छिटो बुझ्छन्? कुन देशमा मण्डली जीवन अरूमा भन्दा राम्रो छ?” “अहो, म त भेलाहरूमा मात्रै ध्यान दिन्थेँ, मैले यी कुराहरूबारे त सोध्नै बिर्सेछु।” “त्यसोभए, सुसमाचार समूहमा, कति जना मानिसहरू गवाही दिन सक्षम छन्? गवाही दिनका लागि कति जना मानिसलाई संवर्धन गरिँदै छ? कसले कुन देशको मण्डलीको काम र मण्डली जीवनको जिम्मेवारी लिन्छ र त्यसको अनुगमन गर्छ? कसले मलजल र रखवारी गर्छ? के विभिन्न देशका नयाँ मण्डली सदस्यहरूले मण्डली जीवन जिउन थालेका छन्? के तिनीहरूका धारणा र कल्पनाहरू पूर्ण रूपमा समाधान भएका छन्? कति जना मानिसहरूले धार्मिक मानिसहरूको बहकाउमा पर्न छाडेर साँचो मार्गमा जरा गाडेका छन्? एकदुई वर्ष परमेश्वरमा विश्वास गरेपछि, कति जनाले आफ्नो कर्तव्य पूरा गर्न सक्छन्? के तिमीले यी मामलाहरू बुझ्छौ र बोध गर्छौ? काममा समस्याहरू देखा पर्दा, तिनलाई कसले समाधान गर्न सक्छ? सुसमाचार समूहमा, कुन समूह वा कुन व्यक्तिहरूले आफ्नो कामप्रति जिम्मेवार भएर वास्तविक परिणामहरू प्राप्त गर्छन्, तिमीलाई थाहा छ?” “मलाई थाहा छैन। यदि तपाईं थाहा पाउन चाहनुहुन्छ भने, म तपाईंका लागि सोधिदिन सक्छु। यदि तपाईंलाई हतार छैन भने, मसँग समय हुँदा सोधूँला; म अझै पनि व्यस्त नै छु!” के यो अगुवाले कुनै ठोस काम गरेको छ त? (छैन।) उसले हरेक कुरामा “मलाई थाहा छैन” भन्छ; उसलाई सोधिएको बेलामा मात्रै उसले कामकुराबारे सोध्छ, त्यसोभए ऊ के कुरामा व्यस्त हुन्छ? ऊ भेलाहरूमा वा कामको जाँच गर्न जुनसुकै समूहमा गए पनि उसले कामका समस्याहरू पहिचान गर्न सक्दैन र तिनलाई समाधान गर्न जानेको हुँदैन। यदि तैँले तुरुन्तै विभिन्न मानिसहरूको स्थिति र चरित्र छर्लङ्ग देख्न सक्दैनन् भने, के तैँले कम्तीमा पनि काममा रहेका समस्याहरूबारे, अहिले के काम भइरहेको छ, र यो कुन चरणमा पुगेको छ भन्नेबारे अनुगमन गर्नुपर्दैन र? तर झूटा अगुवाहरूले यतिसमेत गर्न सक्दैनन्; के तिनीहरू अन्धा होइनन् र? तिनीहरू अनुगमन गर्न र कामबारे जाँच गर्न मण्डलीभित्रकै विभिन्न समूहहरूमा गए पनि तिनीहरूले वास्तविक अवस्था बुझ्दै बुझ्दैनन्, मुख्य समस्याहरू पहिचान गर्न सक्दैनन्, र केही समस्याहरू पत्ता लगाए पनि तिनलाई समाधान गर्न सक्दैनन्।
एउटा चलचित्र निर्माण टोलीले एउटा निकै चुनौतीपूर्ण चलचित्र छायाङ्कन गर्ने तयारी गरिरहेको थियो, जुन प्रकारको चलचित्र तिनीहरूले पहिले कहिल्यै बनाउने प्रयास गरेका थिएनन्। यो चलचित्रको पटकथामा काम गर्न तिनीहरू उपयुक्त छन् कि छैनन्, अनि त्यसको निर्देशक र सम्पूर्ण टोलीसँग यो काम पूरा गर्ने क्षमता छ कि छैन—तिनीहरूको अगुवालाई यी अवस्थाहरूबारे थाहै थिएन। उसले त बस यति मात्रै भन्यो, “तिमीहरूले नयाँ पटकथा लिएका छौ। ठीक छ, छायाङ्कन गर्न थाल। म तिमीहरूलाई साथ दिनेछु र अनुगमन गर्नेछु। तिमीहरूले सक्दो राम्रो गर, र जब कठिनाइहरू उत्पन्न हुन्छन्, तब परमेश्वरलाई प्रार्थना गर र परमेश्वरका वचनहरूअनुसार तिनलाई समाधान गर।” त्यसपछि ऊ गयो। यो अगुवाले त्यसमा रहेका कुनै पनि कठिनाइहरू देख्न वा पहिचान गर्न सकेन; के यो तरिकाले काम राम्ररी गर्न सकिन्छ त? चलचित्र निर्माण समूहले यो पटकथा प्राप्त गरेपछि, त्यसका निर्देशक र समूह सदस्यहरूले बारम्बार कथाको विश्लेषण गरे, अनि पोशाक र ढाँचाबारे छलफल गरे, तर चलचित्र कसरी छायाङ्कन गर्ने भनेर तिनीहरूलाई कुनै ज्ञान थिएन; तिनीहरूले आधिकारिक रूपमा निर्माण सुरु गर्न सकेनन्। वर्तमान स्थिति यही होइन र? के यी विद्यमान समस्याहरू होइनन् र? के यी अगुवाले समाधान गर्नुपर्ने समस्याहरू होइनन् र? त्यो अगुवाले हरेक दिन भेलाहरूमा समय बिताउँथ्यो, तर धेरै दिन भेला भएपछि पनि कुनै वास्तविक समस्याहरू समाधान भएनन्, र छायाङ्कन अझै पनि सामान्य रूपमा अघि बढ्न सकेन। के त्यो अगुवाले कुनै प्रभाव पारेको थियो? (थिएन।) उसले मनोबल बढाउन नाराहरू मात्रै घन्काउँथ्यो: “हामी काम नगरी बस्नु हुँदैन, हामीले परमेश्वरको सित्तैँमा खानु हुँदैन!” उसले त मानिसहरूलाई भाषण समेत छाँट्थ्यो: “तिमीहरूसँग कुनै विवेक छैन, र केहीजस्तो नमानी परमेश्वरका सित्तैँमा खान्छौ—के तिमीहरूलाई लाज लाग्दैन?” उसले यसो भनेपछि, सबैको विवेकले अलिक धिक्कार महसुस गर्यो: “हो, काम यति ढिलो अघि बढ्छ, र पनि हामी यसैगरी दिनमा तीन छाक खाना खान्छौँ—के यो सित्तैँमा खानु होइन र? हामीले साँच्चिकै कुनै काम गरेकै छैनौँ। अनि, काममा उत्पन्न हुने यी समस्याहरू कसले समाधान गर्छ? हामी तिनलाई समाधान गर्न सक्दैनौँ, त्यसकारण हामी अगुवालाई सोध्छौँ, तर अगुवाले हामीलाई केवल लगनसाथ प्रार्थना गर्नू, परमेश्वरका वचनहरू पढ्नू र सद्भावपूर्ण सहकार्य गर्नू भनेर मात्रै भन्छ, यी समस्याहरू कसरी समाधान गर्ने भनेर सङ्गति गर्दैन।” त्यो अगुवाले हरेक दिन स्थलगत भेलाहरू आयोजना गर्थ्यो, तर यी समस्याहरूको समाधान हुनै सकेन। समय बित्दै जाँदा, कति मानिसहरूको विश्वास सेलायो, र तिनीहरूले अगाडि बढ्ने बाटो नदेखेर अनि छायाङ्कनलाई कसरी अघि बढाउने भन्ने थाहा नभएर तिनीहरूको स्थिति निराशापूर्ण बन्यो। तिनीहरूले आफ्नो अन्तिम आशा उक्त अगुवामाथि राखे, किनभने तिनीहरूलाई अगुवाले केही वास्तविक समस्याहरू समाधान गर्न सक्छ भन्ने आशा थियो, तर दुःखको कुरा, त्यो अगुवा अन्धोजस्तै थियो, जसले न त यो पेसा नै सिक्यो न त यसलाई बुझेका मानिसहरूसँग सङ्गति, छलफल, वा खोजी नै गर्यो। उसले प्रायः परमेश्वरका वचनहरूको पुस्तक हातमा लिन्थ्यो र यसो भन्थ्यो, “म आत्मिक भक्तिका लागि परमेश्वरका वचनहरू पढिरहेको छु। म आफूलाई सत्यताले सुसज्जित गरिरहेको छु। कसैले पनि मलाई बाधा नदेओ, म व्यस्त छु!” अन्त्यमा, झन्झन् धेरै समस्याहरू थुप्रिए, जसले गर्दा काम लगभग ठप्प भयो, तैपनि झूटो अगुवाले अझै पनि आफूले ठूलो काम गरिरहेको छु भन्ने सोच्यो। किन? उसलाई विश्वास लाग्यो कि उसले भेलाहरू आयोजना गरेको, कामको अवस्थाबारे सोधपुछ गरेको, समस्याहरू पहिचान गरेको, परमेश्वरका वचनहरू बाँडेको, मानिसहरूको स्थिति औँल्याएको, अनि सबैले आफूलाई यी स्थितिहरूसँग तुलना गरेका र आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने सङ्कल्प गरेका हुनाले, अगुवाका रूपमा उसको जिम्मेवारी पूरा भएको छ, र ऊबाट अपेक्षा गर्न सकिने सबै कुरा उसले पूरा गरेको छ—यदि व्यावसायिक पक्षहरूसँग सम्बन्धित निश्चित कामहरू राम्ररी व्यवस्थापन गर्न सकिएन भने, त्यो अगुवाको चिन्ताको विषय होइन। यो कस्तो खालको अगुवा हो? मण्डलीको काम लगभग ठप्प स्थितिमा पुगेको थियो, तैपनि ऊ बिलकुलै चिन्तित वा व्याकुल भएन। यदि माथिले सोधपुछ वा आग्रह नगरेको भए, उसले निरन्तर ढिलाइ गरिरहनेथ्यो, र उसको मातहतमा के भइरहेको छ भनेर कहिल्यै उल्लेख गर्नेथिएन, र कुनै पनि समस्याहरू समाधान गर्नेथिएन। के त्यस्तो अगुवाले आफ्नो नेतृत्वका जिम्मेवारीहरू पूरा गरेको थियो? (थिएन।) त्यसोभए, उसले दिनभरि भेलाहरूमा केका बारेमा कुरा गर्थ्यो? ऊ यतिकै बकबकाउँथ्यो, केवल सिद्धान्तहरू प्रचार गर्थ्यो र नाराहरू फलाक्थ्यो। त्यो अगुवाले कामका वास्तविक समस्याहरू समाधान गरेन, मानिसहरूका झाराटारुवा र नकारात्मक स्थितिहरूलाई समाधान गरेन, र सत्यता सिद्धान्तहरूअनुसार मानिसहरूको कामका समस्याहरू कसरी समाधान गर्ने भन्ने उसलाई थाहै थिएन। परिणामस्वरूप, सम्पूर्ण परियोजना ठप्प भयो र लामो अवधिसम्म कुनै प्रगति देख्न सकिएन। तैपनि त्यो अगुवा पटक्कै चिन्तित थिएन। के यो झूटा अगुवाहरूले वास्तविक काम नगर्नुको प्रकटीकरण होइन र? झूटा अगुवाहरूको यो प्रकटीकरणको सार के हो? के यो जिम्मेवारीमा गम्भीर हेलचेक्र्याइँ गर्नु होइन र? आफ्नो काममा गम्भीर हेलचेक्र्याइँ गर्नु, आफ्नो जिम्मेवारी पूरा गर्न नसक्नु—झूटा अगुवाहरूले गर्ने भनेकै यही हो। तँ झारा टार्नलाई मात्रै कार्यस्थलमा बस्छस्, वास्तविक समस्याहरू समाधान गर्दैनस्। तँ मानिसहरूलाई ठग्नलाई मात्रै कार्यस्थलमा बस्छस्; कुनै वास्तविक काम नगरेपछि तँ सधैँ त्यहाँ बसे पनि त्यसबाट केही पनि हासिल हुँदैन। काममा र व्यावसायिक पक्षहरूमा विभिन्न समस्याहरू देखा पर्छन्, जसमध्ये कति त तैँले समाधान गर्न सक्छस् तर समाधान गर्दैनस्—यो नै जिम्मेवारीमा गम्भीर हेलचेक्र्याइँ गर्नु हो। अझ भन्ने हो भने, तेरा आँखा र दिमाग दुवै बन्द छन्: कहिलेकहीँ जब तैँले समस्याहरू पत्ता लगाउँछस्, तब तैँले तिनको सार छर्लङ्गै देख्न सक्दैनस्। तैँले तिनलाई समाधान गर्न सक्दैनस्, तर तिनलाई सम्हाल्न सक्छु भन्ने नाटक गर्छस्, सत्यता बुझेका मानिसहरूसँग सङ्गति गर्न वा परामर्श लिन सिधै इन्कार्दै जसोतसो थामेर बस्छस्, र माथि रिपोर्ट गर्ने वा माथिसित खोजी गर्ने काम पनि गर्दैनस्। यसको कारण के हो? के तँलाई काटछाँटमा पर्छु कि भन्ने डर लाग्छ? माथिले तँबारे सत्यता जानेर तँलाई बर्खास्त गर्लान् भन्ने डर लाग्छ? के यो परमेश्वरको घरको कामलाई अलिकति पनि परिपालन नगरी हैसियतमा ध्यान दिनु होइन र? यस्तो मानसिकता बोकेर तैँले कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्थिस् र?
एउटा अगुवा वा कामदारले जुनसुकै महत्त्वपूर्ण काम गर्ने भए पनि, र यो कामको प्रकृति जस्तोसुकै भए पनि, तिनीहरूको पहिलो प्राथमिकता भनेको त्यो काम कस्तो भइरहेको छ भनेर बुझ्नु र बोध गर्नु हो। कामकुरालाई अनुगमन गर्न र प्रश्नहरू सोध्न अनि प्रत्यक्ष सूचना प्राप्त गर्न तिनीहरू व्यक्तिगत रूपमा त्यहाँ उपस्थित हुनैपर्छ। तिनीहरूले केवल हल्लाको भरमा चल्ने वा अरूका रिपोर्टहरू सुन्ने गर्नु हुँदै हुँदैन। बरु, तिनीहरूले कर्मचारीहरूको अवस्था कस्तो छ, काम कसरी अघि बढिरहेको छ भनेर नियाल्नुपर्छ, र के-कस्ता कठिनाइहरू छन्, कुनै क्षेत्रहरू माथिका मागहरूसित बेमेलमा छन् कि, सिद्धान्तहरू उल्लङ्घन भएका छन् कि, कुनै बाधा वा अवरोधहरू छन् कि, व्यावसायिक कामका सम्बन्धमा कुनै आवश्यक सामान वा त्यससम्बन्धी प्रशिक्षण सामग्रीहरूको कमी छ कि भनेर बुझ्नुपर्छ—तिनीहरूले यी सबै कुरामाथि निरन्तर निगरानी राखिरहनुपर्छ। तिनीहरूले जति वटा विवरणहरू सुने पनि वा हल्लाबाट जति नै जानकारी पाए पनि, यी कुनै पनि कुरा व्यक्तिगत रूपमा गएर हेरे जतिको राम्रो हुँदैन; तिनीहरूले आफ्नै आँखाले कामकुरा हेर्दा बढी सही र भरपर्दो हुन्छ; तिनीहरू अवस्थाका सम्पूर्ण पक्षहरूसित परिचित भइसकेपछि, के भइरहेको छ भन्नेबारे तिनीहरूलाई राम्रो ज्ञान हुन्छ। तिनीहरूले विशेष गरी को राम्रो क्षमतायुक्त र संवर्धनको लायक छ भन्ने कुरा स्पष्ट र सही रूपले बुझेको हुनुपर्छ, किनभने यसले मात्रै तिनीहरूले सही तरिकाले मानिसहरूलाई संवर्धन र प्रयोग गर्न सहयोग गर्छ, जुन अगुवा र कामदारहरूले आफ्नो काम राम्ररी गर्नु छ भने महत्त्वपूर्ण हुन्छ। अगुवा र कामदारहरूसित राम्रो क्षमता भएका मानिसहरूलाई संवर्धन गर्ने र प्रशिक्षण दिने मार्ग र सिद्धान्तहरू हुनुपर्छ। यसको साथै, तिनीहरूले मण्डलीका काममा देखा पर्ने विभिन्न प्रकारका समस्या र कठिनाइहरूबारे बोध र बुझाइ प्राप्त गरेको हुनुपर्छ, र तिनलाई कसरी सुल्झाउने भनेर जानेको हुनुपर्छ, र तिनीहरूसित कामको प्रगति कस्तो हुनुपर्छ वा भावी सम्भाव्यता कस्तो हुनुपर्छ भन्नेबारे आफ्नै विचार र सुझावहरू पनि हुनुपर्छ। यदि तिनीहरूले आँखा चिम्लेर, शङ्का नगरी वा संशय नमानी त्यस्ता विषयहरूमा बोल्न सक्छन् भने, उक्त काम गर्न अझ धेरै सजिलो हुनेछ। अनि यस तरिकाले काम गर्दा, अगुवाले आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुनेछ, होइन र? तिनीहरूलाई माथि उल्लेख गरिएका कामका समस्याहरू कसरी समाधान गर्ने भन्नेबारे राम्ररी थाहा हुनुपर्छ, र तिनीहरूले यी कुराहरूबारे प्रायः मनन गरिरहनुपर्छ। जब तिनीहरूलाई कठिनाइहरू आइपर्छन्, तब तिनीहरूले यी कुराहरूबारे सबैसँग सङ्गति र छलफल गर्नुपर्छ, र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। यसरी दृढ रूपले व्यावहारिक भएर वास्तविक काम गरियो भने, त्यस्ता कुनै कठिनाइहरू हुनेछैनन् जुन समाधान गर्नै नसकियोस्। के झूटा अगुवाहरूलाई यो कसरी गर्ने भन्ने थाहा हुन्छ? (हुँदैन।) झूटा अगुवाहरूलाई नाटक गर्न र मानिसहरूलाई धोका दिन मात्रै आउँछ, तिनीहरू आफूले नबुझेका कुराहरू बुझेजस्तो गर्छन्, कुनै पनि वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन् र आफूलाई बेकारका मामलाहरूमा मात्रै व्यस्त राख्ने गर्छन्। के कुरामा व्यस्त छौ भनेर सोध्दा, तिनीहरू यसो भन्छन्, “हाम्रो बस्ने ठाउँमा केही कुसन कम थियो, र चलचित्र निर्माण समूहलाई पोशाकका लागि एउटा कपडा पुगेको थिएन, त्यसैले म ती कुरा किन्न गएँ। अर्कोपटक भान्सामा सामग्रीहरू सकिएछन्, र भान्से बाहिर जान मिल्दैनथ्यो, त्यसकारण मैले नै बाहिर गएर केही सामान किन्नुपर्यो र मैले आउँदा बाटोमा एकदुई पोका पिठो किनेँ। यी सबै कुरा मैले आफै गर्नुपर्यो।” तिनीहरू साँच्चै नै निकै व्यस्त भएछन्। के तिनीहरूले आफ्नो उचित कामलाई बेवास्ता गरिरहेका छैनन् र? तिनीहरू अगुवाका रूपमा आफ्नो जिम्मेवारीको दायराभित्र पर्ने कामलाई बिलकुलै वास्ता गर्दैनन् वा त्यसको बोझ लिने पटक्कै लिँदैनन्, र केवल अल्याङटल्याङ गर्न खोज्छन्। तिनीहरूको आफ्नै क्षमता निकै कमजोर हुनु र तिनीहरूको आँखा र दिमाग दुवै अन्धो हुनुको समस्या नै पर्याप्त रूपमा गम्भीर हुन्छ, त्यसमाथि तिनीहरूले कुनै बोझ पनि लिँदैनन् र तिनीहरू सहजतामा पनि लिप्त हुन्छन्, र प्रायजसो केही आरामदायी ठाउँमा केही दिन बिताउने गर्छन्। जब कसैलाई समस्या हुन्छ र उसले समाधानका लागि तिनीहरूलाई खोज्छ, तब तिनीहरू कतै भेटिँदैनन्, र तिनीहरू वास्तवमा के गर्दै छन् भनेर कसैलाई थाहा हुँदैन। तिनीहरू आफ्नै समय व्यवस्थापन गर्छन्। यो हप्ता, तिनीहरूले एउटा समूहका लागि बिहान भेला आयोजना गर्छन्, दिउँसो विश्राम लिन्छन्, र त्यसपछि साँझमा, तिनीहरूले सामान्य मामलाहरूका जिम्मेवारीमा रहेका मानिसहरूलाई मामलाहरूबारे छलफल गर्न भेला गर्छन्। अर्को हप्ता, तिनीहरूले बाहिरी मामलाहरूका जिम्मेवारी सम्हाल्नेहरूका लागि भेला आयोजना गर्छन्, र सामान्य सोधपुछ गर्छन्, “कुनै कठिनाइहरू छन्? के तिमीले यो अवधिमा परमेश्वरको वचन पढेका छौ? के गैरविश्वासीहरूसँगको सम्पर्कमा तिमीलाई बन्धनमा पारिएको वा बाधा दिइएको छ?” अनि यी केही प्रश्नहरू गरेपछि, तिनीहरूले काम सकिएको घोषणा गर्छन्। आँखा झिमिक्क गर्दा, एक महिना बित्छ। तिनीहरूले के काम गरेका छन्? तिनीहरूले हरेक समूहका लागि पालैपालो भेलाहरू राखे पनि, तिनीहरूलाई कुनै पनि समूहको कामको अवस्थाबारे केही थाहा थिएन, न त तिनीहरूले यसबारे बुझे वा सोधपुछ गरे, हरेक समूहका काममा सहभागी हुने वा कामलाई निर्देशित गर्ने काम त झनै गरेनन्। तिनीहरूले काममा सहभागी हुने, कामको अनुगमन गर्ने, वा निर्देशन दिने गरेनन्, तर तिनीहरूले केही कुराचाहिँ समयमै गर्थे: समयमै खाने, समयमै सुत्ने, र समयमै भेलाहरू आयोजना गर्ने। तिनीहरूको जीवन निकै नियमित हुन्छ, तिनीहरूले आफ्नो राम्रो हेरचाह गरिरहेका हुन्छन्, तर तिनीहरूको कामको प्रस्तुति सोचेजस्तो राम्रो हुँदैन।
कतिपय अगुवाहरूले अगुवा र कामदारहरूका कुनै पनि जिम्मेवारीहरू पूरा गर्दैनन्, मण्डलीको अत्यावश्यक काम गर्दैनन् बरु त्यसको साटो केही महत्त्वहीन सामान्य मामलाहरूमा मात्रै ध्यान दिन्छन्। तिनीहरू भान्सा व्यवस्थापनमा दखल राख्छन्, र सधैँ सोधिरहन्छन्, “आज हामी के खान्छौँ? के हामीसँग अण्डा छ? मासु कति बाँकी छ? यदि सकिएको हो भने, म अलिकति किनेर ल्याउँछु।” तिनीहरू भान्साको कामलाई अत्यन्तै महत्त्वपूर्ण ठान्छन्, विनाकारण भान्सामा जान्छन्, सधैँ बढी माछा खाने, बढी मासु खाने, बढी आनन्द लिने, र निस्फिक्री रूपमा खाना खानेबारे सोच्छन्। हरेक समूहका मानिसहरू आफ्नो कर्तव्य राम्ररी निभाउन ध्यान दिँदै काममा व्यस्त हुँदै गर्दा, यी अगुवाहरू चाहिँ राम्रो खानमा र एकदमै सहज जीवन जिउनमा मात्रै ध्यान दिन्छन्। अगुवा बनेपछि, तिनीहरूले मण्डलीको कामबारे चिन्ता नलिने र कुनै पनि मेहनत गर्नबाट तर्किने मात्र नभई, आफूलाई मोटोघाटो र राख्न र स्याउजस्ता गाला बनाउन पनि ध्यान दिएका हुन्छन्। तिनीहरू हरेक दिन के गर्छन्? तिनीहरू केही सामान्य मामला सम्बन्धी काममा, केही सानातिना मामलाहरूमा व्यस्त हुन्छन्, तिनीहरूले कुनै पनि वास्तविक काम राम्ररी गरेका हुँदैनन् वा कुनै पनि वास्तविक समस्याहरू समाधान गरेका हुँदैनन्। तैपनि तिनीहरूलाई हृदयमा कुनै पछुतो हुँदैन। सारा झूटा अगुवाहरू मण्डलीको मुख्य काम गर्दैनन्, न त तिनीहरूले कुनै पनि वास्तविक समस्याहरू समाधान नै गर्छन्। अगुवा बनेपछि, तिनीहरूले सोच्छन्, “मैले खासखास काम गर्नका लागि केही मानिसहरू मात्रै खोजेँ भने, त्यसपछि मैले आफै त्यो काम गर्नु पर्दैन।” तिनीहरू आफूले हरेक कामका लागि सुपरिवेक्षकको बन्दोबस्त गरेपछि अब आफैले गर्नुपर्ने केही बाँकी रहँदैन भन्ने विश्वास गर्छन्। तिनीहरू अगुवाइको काम गर्नु भनेको यही हो, र यति गरेपछि आफ्नो हैसियतका फाइदाहरू प्राप्त गर्ने अधिकार हुन्छ भन्ने विश्वास गर्छन्। तिनीहरू कुनै पनि वास्तविक काममा सहभागी हुँदैनन्, तिनीहरूले अनुगमन गर्ने वा निर्देशन दिने गर्दैनन्, र समस्याहरू समाधान गर्न छानबिन वा अनुसन्धान गर्दैनन्। के तिनीहरूले अगुवाका जिम्मेवारीहरू पूरा गर्छन् त? के यसरी मण्डलीको काम राम्ररी गर्न सकिन्छ त? माथिले तिनीहरूलाई काम कसरी अघि बढिरहेको छ भनेर सोध्दा, तिनीहरूले भन्छन्, “मण्डलीको काम सबै सामान्य रूपले चल्दै छ। हरेक काम सम्हाल्ने एउटा सुपरभाइजर राखिएको छ।” यदि काममा कुनै समस्याहरू छन् कि छैनन् भनेर थप प्रश्न सोधियो भने, तिनीहरूले यस्तो जवाफ दिन्छन्, “मलाई थाहा छैन। सायद कुनै समस्याहरू छैनन् होला!” आफ्नो कामप्रति झूटा अगुवाहरूको मनोवृत्ति यस्तै हुन्छ। अगुवाको भएको नाताले, तँ आफूले पाएको कामप्रति पूर्ण गैरजिम्मेदारी देखाउँछस्; यो सबै अरूलाई सुम्पिइन्छ, र तेरो तर्फबाट कुनै अनुगमन, सोधपुछ, वा समस्याहरू सुल्झाउन मद्दत हुँदैन—तँ अरूमाथि काम थोपर्ने तर आफूचाहिँ संलग्न नहुने सरदारजस्तै भएर बस्छस्। के तैँले आफ्नो जिम्मेवारीमा हेलचेक्र्याइँ गरिरहेको छैनस् र? के तैँले पदाधिकारीले जस्तै व्यवहार गरिरहेको छैनस् र? कुनै निश्चित काम नगर्नु, कामको अनुगमन नगर्नु, वास्तविक समस्याहरू समाधान नगर्नु—के यस्ता अगुवाहरू सजावटका वस्तु मात्रै होइनन् र? के तिनीहरू झूटा अगुवा होइनन् र? झूटो अगुवाको ठेट चित्रण यही हो। झूटो अगुवाको काम भनेकै साँच्चिकै काममा सहभागी नभई वा अनुगमन नगरी जिब्रो मात्र पड्काउने र आदेशहरू दिने, र कामभित्रका समस्याहरू नखोज्ने वा पहिचान नगर्ने हो। समस्याहरू पहिचान हुँदा पनि, तिनीहरूले तिनलाई समाधान गर्दैनन्। तिनीहरू केवल अरूमाथि काम थोपर्छन् र आफू संलग्न हुँदैनन्, र यो नै काम गर्नु हो भन्ने सोच्छन्। तैपनि यसरी अगुवाइ गर्दा यसले तिनीहरूको मनको शान्तिलाई बाधा दिँदैन; तिनीहरू हरेक दिन सहज रूपमा जिउँछन्, र जतिबेला पनि प्रसन्न हुन्छन्। तिनीहरू कसरी अझै पनि मुस्कुराउन सक्छन्? मैले एउटा तथ्य पत्ता लगाएको छु: त्यस्ता मानिसहरूले पूरै लाज पचाएका हुन्छन्। तिनीहरू अगुवाका रूपमा कुनै वास्तविक काम गर्दैनन्, तिनीहरूले कामहरू गर्न केही मानिसहरू बन्दोबस्त मात्र गर्छन् र यसलाई काम पूरा भएको ठान्छन्। तैँले तिनीहरूलाई कार्यस्थलमा कहिल्यै देख्दैनस्; तिनीहरूलाई मण्डलीको कामको प्रगतिबारे वा परिणामहरूबारे केही थाहा हुँदैन, तैपनि तिनीहरू अझै आफू योग्य र मानकअनुरूपको अगुवा हुँ भन्ने सोच्छन्। कुनै प्रकारको वास्तविक काम नगर्ने झूटा अगुवाहरूको उत्कृष्ट उदाहरण यही हो। झूटा अगुवाहरूसँग मण्डलीको कामप्रति कुनै बोझ हुँदैन, तिनीहरू जति नै समस्याहरू देखा परे पनि चिन्तित वा तनावग्रस्त हुँदैनन्; तिनीहरू केही सामान्य मामलाहरू पूरा गरेर मात्रै पनि सन्तुष्ट हुन्छन्, र त्यसपछि आफूले वास्तविक काम गरेको छु भन्ने सोच्छन्। माथिले झूटा अगुवाहरूलाई जति खुलासा गरे पनि तिनीहरूलाई भित्री रूपमा नराम्रो महसुस हुँदैन, न त तिनीहरूले त्यो खुलासामा आफूलाई नै देख्छन्; तिनीहरू कुनै आत्मचिन्तन वा पश्चात्ताप गर्दैनन्। के त्यस्ता मानिसहरू विवेक र समझरहित हुँदैनन् र? के साँच्चिकै विवेक र समझ भएको व्यक्तिले मण्डलीको कामप्रति यस्तो व्यवहार गर्न सक्छ र? अवश्य नै सक्दैन।
सामान्यतया, अलिकति विवेक र समझ भएका मानिसहरूले, झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू खुलासा गरिएको सुनेपछि र आफूलाई ती व्याख्याहरूसँग तुलना गरेपछि, ती व्याख्याहरूमा भएका कुराहरू धेरथोर मात्रामा आफूभित्र रहेकै कुरा हुन् भनेर देख्न सक्नेछन्। तिनीहरूको अनुहार रातो हुनेछ, तिनीहरू बेचैन हुनेछन्, अनि परमेश्वरप्रति ऋणी भएको महसुस गर्दै तिनीहरूको हृदयलाई असहज हुनेछ, र तिनीहरूले गोप्य रूपमा यस्तो सङ्कल्प गर्नेछन्: “पहिले, म देहसुखमा लिप्त हुन्थेँ, आफ्नो काम राम्ररी गर्दिनथेँ, आफ्ना जिम्मेवारीहरू पूरा गर्दिनथेँ, वास्तविक काम गर्दिनथेँ, प्रश्न सोधिँदा बेवास्ता गर्थेँ, सधैँ पछि हट्न चाहन्थेँ, र सधैँ नाटक गर्थेँ, किनभने अरूले वास्तवमा मलाई के भइरहेको छ भन्ने देखेमा मलाई मेरो प्रतिष्ठा र हैसियत गुम्ला, र मैले लिएको अगुवाको पद टिकाउन नसकिएला भन्ने डर लाग्थ्यो। अहिले मात्रै मैले यस्तो व्यवहार लाजमर्दो कुरा हो र मैले यसलाई निरन्तरता दिनु हुँदैन भन्ने थाहा पाएँ। मैले अब कदम चाल्दा अलि बढी इमानदार हुनुपर्छ, र मैले मेहनत गर्नुपर्छ। यदि मैले अझै पनि निरन्तर राम्रो गर्न सकिनँ भने, त्यो अक्षम्य हुनेछ—मेरो विवेकले मलाई दोष दिनेछ!” यस्ता झूटा अगुवाहरूमा अझै पनि केही मानवता र विवेक हुन्छ; कम्तीमा पनि तिनीहरूको विवेक सचेत हुन्छ। मैले गरेको खुलासा सुनेपछि, तिनीहरूले यी वचनहरूमा आफैलाई देख्छन् र तिनीहरू व्याकुल हुन्छन्; तिनीहरू यस्तो चिन्तन गर्छन्: “मैले साँच्चै नै कुनै वास्तविक काम गरेको, वा कुनै वास्तविक समस्याहरू समाधान गरेको छैनँ। म परमेश्वरको आज्ञा वा अगुवाको पद पाउन लायक छैनँ। त्यसोभए अब मैले के गर्ने? मैले केही कुरा सुधार गर्नैपर्छ; अबदेखि, मैले गम्भीर रूपमा लागिपरेर वास्तविक समस्याहरू समाधान गर्नुपर्छ, हरेक निश्चित काममा सहभागी हुनुपर्छ, जिम्मेवारीबाट भाग्न छोड्नुपर्छ, नाटक गर्न छोड्नुपर्छ, र आफ्नो पूर्ण क्षमतामा काम गर्नुपर्छ। परमेश्वरले मानिसहरूको हृदय र अन्तर्निहित विचारहरू छानबिन गर्नुहुन्छ, परमेश्वरलाई सबैको साँचो औकात थाहा हुन्छ; मैले काम राम्ररी गरे पनि नराम्ररी गरे पनि, यसलाई सम्पूर्ण हृदयले गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि मैले योसमेत गर्न सकिनँ भने, के मलाई अझै पनि मानव भन्न मिल्छ र?” यसरी आत्मचिन्तन गर्न सक्नुलाई विवेक भएको भनिन्छ। विवेकरहित मानिसहरूलाई तैँले जति खुलासा गरे पनि तिनीहरूको अनुहार रातो हुँदैन वा मुटु धड्केको महसुस हुँदैन; तिनीहरूले त बस आफूले चाहेको कुरा गरी नै रहन्छन्। परमेश्वरले गर्नुभएको खुलासामा तिनीहरूले आफूलाई देखे पनि यसबारे तिनीहरू उदासीन नै रहन्छन्। तिनीहरूले सोच्छन्, “मलाई नामै तोकेर उल्लेख गरिएको छैन। म किन डराउने? मेरो क्षमता राम्रो छ, म प्रतिभाशाली छु; मविना परमेश्वरको घर रहन सक्दैन! त्यसकारण मैले कुनै वास्तविक काम गरिनँ भने पनि के हुन्छ र? म आफै यो काम गर्दिनँ, तर अरू कसैलाई गर्न लगाउँछु, त्यसकारण यो काम फत्ते हुन्छ नै, होइन र? जे भए पनि, तपाईंले मलाई गर्न लगाउनुहुने हरेक काम, मैले जसलाई गर्न लगाए पनि म तपाईंका लागि त्यो काम पूरा गराइहाल्छु। मेरो क्षमता राम्रो छ, त्यसकारण म चलाख रूपमा काम गर्छु। भविष्यमा, म अल्याङटल्याङ गरी नै रहनेछु र आफूले चाहेअनुसार जीवनको आनन्द लिई नै रहनेछु।” वास्तविक काम नगरेकाले झूटा अगुवाहरूलाई मैले जति चिरफार वा खुलासा गरे पनि त्यस्ता मानिसहरू उस्तै नै रहन्छन्, पूर्ण रूपमा बेपर्बाह नै रहन्छन्: “अरूले जे मन लाग्छ त्यही सोचून्, र मलाई जसरी हेर्न मन लाग्छ त्यसरी नै हेरून्—म त बस यो काम गर्नेछैन!” के त्यस्ता झूटा अगुवाहरूमा विवेक हुन्छ? (हुँदैन।) हामीले झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू खुलासा गर्नेबारे सङ्गति गरेको यो चौथो पटक हो, र जब म त्यस्ता व्यक्तिहरूको खुलासा गर्छु, तब अलिअलि विवेक भएका मानिसहरू काँडा र सियोमाथि उभिएको छु भन्ने महसुस गर्छन्, आफ्नो काम राम्ररी नगरेकोमा असुरक्षित महसुस गर्छन्, र तिनीहरूले चुपचाप तुरुन्तै पश्चात्ताप गरेर परिवर्तन हुने सङ्कल्प गर्छन्। तर यसबीच, विवेकरहित मानिसहरू असाधारण रूपमा निर्लज्ज बन्छन्; तिनीहरूले केही पनि महसुस गर्दै गर्दैनन्। मैले जेजसरी सङ्गति गरे पनि तिनीहरू निरन्तर सामान्य रूपमै आफ्नो दिन बिताइरहन्छन्, र आफूले चाहेअनुसार नै जीवनको आनन्द लिइरहन्छन्। जब तैँले तिनीहरूलाई “कति मानिसहरू सुसमाचारको कामका लागि, कतिपय अनुवादको कामका लागि, र अरू चाहिँ चलचित्र निर्माणको कामका लागि जिम्मेवार छन्—तिमी ठ्याक्कै कुन कामका लागि जिम्मेवार छौ?” भनेर सोध्छस्, तब तिनीहरू भन्छन्: “मैले कुनै निश्चित काम नगरेको भए पनि म सबै कुराको निगरानी गर्छु। म तिनीहरूका लागि भेलाहरू आयोजना गर्छु।” त्यसपछि यदि तैँले तिनीहरूलाई “तिमीले एक महिनामा कति वटा भेलाहरू आयोजना गर्छौ?” भनेर सोधिस् भने, तिनीहरूले “कम्तीमा पनि, महिनामा एउटा ठूलो भेला, र हरेक पन्ध्र दिनमा एउटा सानो भेला” भनेर जबाफ दिनेछन्। अनि जब तैँले तिनीहरूलाई “भेलाहरू आयोजना गर्नेबाहेक, तिमीले कुन खास काम गरेका छौ?” भनेर सोध्छस्, तब तिनीहरूले जवाफ दिन्छन्: “भेलाहरूले मलाई यति व्यस्त तुल्याउँदा, मैले कस्तो खास काम गर्न सक्छु र? साथै, मैले व्यवस्थापन गर्ने क्षेत्र पनि यति व्यापक छ कि मसँग कुनै खास कामका लागि समय नै हुँदैन।” यी झूटा अगुवाहरूलाई आफू पूर्ण रूपमा सही छु—आफू अत्यन्तै स्थिर र दह्रिलो अगुवा हुँ भन्ने लाग्छ! तिनीहरूलाई जति खुलासा र काटछाँट गरिए पनि यसबारे तिनीहरू अलिकति पनि व्याकुल हुँदैनन्। यदि मलाई पाँच जना मानिसका लागि खाना पकाउनेजस्तो निश्चित काम गर्न लगाइयो, तर मैले चार जनाका लागि मात्रै खाना बनाएको हुन्थेँ भने, पर्याप्त खाना नबनाएकोमा मलाई असहज लाग्नेथ्यो, र सबैलाई राम्ररी नखुवाएकोमा मलाई दोषी महसुस हुनेथ्यो। त्यसपछि मैले यसलाई कसरी पूर्ति गर्ने भनेर सोच्नेथिएँ, र अर्कोपटक सही हिसाब गर्ने सुनिश्चित गर्नेथिएँ ताकि सबैले पर्याप्त खान पाऊन्। अनि यदि कसैले नून चर्को भयो भनेर भनेको भए पनि मलाई नराम्रो लाग्नेथ्यो। मैले कुन खानेकुरामा नून चर्को भयो भनेर सोध्नेथिएँ, र त्यसपछि अरूलाई मसला ठीक छ कि छैन भनेर सोध्नेथिएँ। सबैलाई खुसी पार्न गाह्रो हुने भए पनि मैले आफ्नो भूमिका राम्ररी पूरा गर्नका लागि सम्भव भएजति सबै उपायहरू लगाउने कोसिस चाहिँ गर्नैपर्छ। यसलाई आफ्ना जिम्मेवारीहरू पूरा गरेको भनिन्छ; मानिसहरूमा हुनुपर्ने समझ नै यही हो। तैँले सधैँ आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ; काम जेसुकै भए पनि यसमा तँ आफै सहभागी हुनुपर्छ। यदि कसैले फरक विचार प्रस्तुत गर्छ—चाहे ऊ जोसुकै होस्—र यो सुनेपछि तँलाई आफू गलत भएको महसुस हुन्छ र तँलाई नराम्रो लाग्छ भने, तैँले आफूलाई सुधार गर्नुपर्छ र भविष्यमा जे गर्छस् त्यसमा आफ्नो हृदय लगाउनुपर्छ, र केही कठिनाइ सहनुपरे पनि तैँले राम्ररी काम गर्नुपर्छ। झूटा अगुवाहरूमा यस्तो भावना हुँदैन, त्यसकारण तिनीहरूले कुनै कठिनाइ भोग्दै भोग्दैनन्। झूटा अगुवाहरूको खुलासाबारे यी तथ्यहरू सुनेपछि पनि तिनीहरूलाई केही महसुस हुँदैन, तिनीहरू अझै पनि आफ्नो खानाको आनन्द लिन्छन्, राम्ररी सुत्छन्, र हरेक दिन उस्तै खुसीको मुडमा जिउँछन्, तर आफ्नो काँधमा भारी बोझ वा हृदयमा ग्लानिको पीडा महसुस गर्दैनन्। यिनीहरू कस्ता प्रकारका मानिस हुन्? त्यस्ता मानिसहरूको चरित्रमा समस्या हुन्छ: तिनीहरूमा विवेकको कमी हुन्छ, तिनीहरू समझहीन हुन्छन्, र तिनीहरू निकृष्ट चरित्रका हुन्छन्। झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू—सकारात्मक दृष्टिकोणबाट, भरणपोषण र सङ्गति गरेर, र नकारात्मक दृष्टिकोणबाट तिनीहरूलाई खुलासा र चिरफार गरेर—यति लामो समयदेखि खुलासा गरिँदै आएको भए पनि झूटा अगुवाहरूको एउटा अंशले अझै पनि आफ्ना समस्याहरू पहिचान गर्न सक्दैनन्, न त तिनीहरूले कहिल्यै चिन्तन र पश्चात्ताप गर्ने अभिप्राय नै राख्छन्। यदि माथिबाट कुनै सुपरिवेक्षण र प्रोत्साहन नहुने हो भने, तिनीहरूले अझै पनि आफ्नो काममा सकेसम्म आलटाल गर्नेथिए, तर आफ्नो मार्ग पटक्कै परिवर्तन गर्नेथिएनन्। मैले तिनीहरूलाई जति खुलासा गरे पनि तिनीहरू अझै पनि जस्ताको तस्तै र पूर्ण रूपमा बेखबर बसेका हुनेथिए। के तिनीहरू अति नै लाजविहीन हुँदैनन् र? यस्ता मानिसहरू अगुवा वा कामदार हुन लायक हुँदैनन्; तिनीहरू यति नीच चरित्रका हुन्छन् कि तिनीहरूलाई लाज भन्ने कुरा थाहै हुँदैन! सामान्य मानिसहरूका हकमा, आफ्ना कमीकमजोरी, त्रटिहरू, वा आफूले गरेका कामसम्बन्धी अनुचित वा सिद्धान्तहरूविपरीतको कुनै कुरा कसैले उल्लेख गरेको सुन्दा मात्रै पनि—र किटेरै खुलासा गरिएको सुन्दा त झन् धेरै—तिनीहरूलाई सहन गाह्रो हुन्छ, र व्याकुल र लज्जित महसुस हुन्छ, र तिनीहरूले आफूलाई कसरी परिवर्तन र सुधार गर्ने भनेर सोच्छन्। तर यसबीच, यी झूटा अगुवाहरूले भने आफ्नो काम पूर्ण रूपमा बरबाद गर्छन् र तिनीहरू अझै पनि सफा विवेकसाथ जिउँछन्, चिन्ता वा तनाव महसुस गर्दैनन्, र तिनीहरूलाई जति खुलासा गरिए पनि तिनीहरू पूर्ण रूपमा बेपर्बाह रहन्छन्—तिनीहरूले लुकेर फुर्सतको समय बिताउने ठाउँहरूसमेत भेटाउँछन्, र तिनीहरू सधैँ कहीँकतै देखिँदैनन्। तिनीहरूलाई साँच्चै नै लाज भन्ने कुरा थाहै हुँदैन!
मण्डली अगुवामा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ, र तिनीहरूले केही सत्यताहरू पनि बुझ्नुपर्छ—त्यसपछि मात्रै तिनीहरूले बोझ महसुस गर्न सक्छन्। बोझ महसुस गर्नुका प्रकटीकरणहरू के-के हुन्? यदि तिनीहरूले केही मानिसहरू नकारात्मक छन्, केहीमा विकृत बुझाइ छ, केहीले परमेश्वरको घरका सम्पत्तिहरू बरबाद गरिरहेका छन्, केहीले झाराटारुवा रूपमा आफ्नो काम गरिरहेका छन्, केहीले आफ्नो कर्तव्य निर्वाह गर्दा उचित काममा ध्यान दिँदैनन्, र केहीले सधैँ उत्कृष्ट सुनिने शब्दहरू बोल्छन् तर वास्तविक काम गर्दै गर्दैनन् भन्ने देखे…, मण्डलीभित्र धेरै समस्याहरू छन् र तिनलाई समाधान गरिनुपर्छ भन्ने थाहा पाए भने, र धेरै काम सम्पन्न नभएको देखे भने, यसले तिनीहरूलाई बोझको बोध विकास गराउँछ। अगुवा बनेदेखि, तिनीहरूभित्र निरन्तर आगो बलिरहेकोझैँ महसुस हुन्छ; यदि तिनीहरूले कुनै समस्या पत्ता लगाए र यसलाई समाधान गर्न सकेनन् भने, तिनीहरू चिन्तित र तनावग्रस्त हुन्छन्, र खान वा सुत्न सक्दैनन्। भेलाहरूका दौरान, जब केही मानिसहरूले अगुवाले तुरुन्तै देख्न र समाधान गर्न नसक्ने आफ्नो कामका समस्याहरूबारे रिपोर्ट गर्छन्, तब यस्ता अगुवाले हरेस खाँदैनन्; तिनीहरूलाई त्यो समस्या समाधान गर्नैपर्छ भन्ने लाग्छ। प्रार्थना र खोजी गर्नुका साथै त्यसबारे दुई दिन विचार गरेपछि, त्यसलाई कसरी समाधान गर्ने भन्ने थाहा पाएपछि, तिनीहरूले तुरुन्तै समस्या समाधान गर्छन्। उक्त समस्या समाधान गरेपछि, तिनीहरूले तुरुन्तै अरू कामहरू जाँच गर्छन् र एउटै काममा धेरै मानिसहरू संलग्न भएको र कर्मचारी घटाउनुपर्ने अर्को समस्या पत्ता लगाउँछन्। त्यसपछि तिनीहरूले तुरुन्तै भेला बोलाउँछन्, अवस्थाबारे स्पष्ट जानकारी लिन्छन्, र कर्मचारी घटाउँछन्, र उचित बन्दोबस्तहरू गर्छन्, र यसरी समस्या समाधान हुन्छ। तिनीहरूले जुनसुकै कामको निरीक्षण गरिरहेका भए पनि, बोझ लिने अगुवाहरू सधैँ समस्याहरू पहिचान गर्न सक्षम हुन्छन्। तिनीहरूले व्यावसायिक ज्ञानसम्बन्धी वा सिद्धान्तहरू विपरीतका कुनै पनि समस्याहरूलाई पहिचान गर्न, तिनका बारेमा सोधपुछ गर्न र एउटा बुझाइ प्राप्त गर्न सक्नेछन्, र जब तिनीहरूले कुनै समस्या पत्ता लगाउँछन्, तब तिनीहरूले त्यसलाई तुरुन्तै समाधान गर्छन्। बुद्धिमान् अगुवा र कामदारहरूले मण्डलीको काम, व्यावसायिक ज्ञान, र सत्यता सिद्धान्तहरूसँग सम्बन्धित समस्याहरू मात्रै समाधान गर्छन्। तिनीहरू दैनिक जीवनका सानातिना कुराहरूलाई कुनै ध्यान दिँदैनन्। तिनीहरू परमेश्वरले आज्ञा गर्नुभएको सुसमाचार फैलाउने कामको हरेक पाटोको हेरविचार गर्छन्। तिनीहरू आफूले बुझ्न वा पत्ता लगाउन सक्ने हर समस्याका बारेमा सोध्छन् र त्यसको निरीक्षण गर्छन्। यदि तिनीहरू आफैले उत्तिखेरै समस्या समाधान गर्न सकेनन् भने, तिनीहरू अरू अगुवा र कामदारहरूसँग भेला हुन्छन्, तिनीहरूसँग सङ्गति गर्छन्, सत्यता सिद्धान्तहरू खोजी गर्छन्, र यसलाई समाधान गर्ने उपायहरू सोच्छन्। यदि तिनीहरूलाई साँच्चिकै समाधान गर्न नसकिने ठूलो समस्या आइपर्यो भने, तिनीहरूले तुरुन्तै माथिको सहयोग खोज्छन्, र माथिलाई नै उक्त समस्या सम्हाल्न र समाधान गर्न दिन्छन्। यस्ता अगुवा र कामदारहरू आफ्ना काममा सिद्धान्त पालना गर्ने मानिसहरू हुन्। चाहे जे समस्याहरू भए पनि, तिनीहरूले ती देखेसम्म तिनलाई यतिकै छाड्नेछैनन्; तिनीहरूले यी समस्याहरू पूर्ण रूपमा बुझ्ने र त्यसपछि एक-एक गरी समाधान गर्ने कुरामा जिद कस्छन्। ती पूर्ण रूपमा समाधान नभए पनि, यी समस्याहरू फेरि उत्पन्न हुनेछैनन् भन्ने चाहिँ सुनिश्चित गर्न सकिन्छ। यो आफ्नो सारा हृदय, शक्ति, र मनले आफ्नो कर्तव्य निभाउनु, र आफ्ना जिम्मेवारीहरू पूर्ण रूपमा पूरा गर्नु हो। वास्तविक काम नगर्ने वा वास्तविक समस्याहरू समाधान गर्ने कार्यमा ध्यान नदिने ती झूटा अगुवा र कामदारहरूले आफ्नो अगाडि रहेका समस्याहरू पत्ता लगाउन सक्दैनन् र के काम गर्नुपर्ने हो भनेर पनि तिनीहरूलाई थाहा हुँदैन। दाजुभाइ-दिदीबहिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नमा व्यस्त रहेको देखुन्जेलसम्म, तिनीहरू यो तिनीहरूको वास्तविक कामकै परिणाम हो भन्ने लागेर पूर्ण रूपमा सन्तुष्ट हुन्छन्; तिनीहरू कामका सबै पक्षहरू निकै राम्रा छन् र तिनीहरूले व्यक्तिगत रूपमा गर्नुपर्ने काम वा आफूले समाधान गर्नुपर्ने कुनै समस्या छैन भन्ने सोच्छन्, त्यसकारण त्यसपछि तिनीहरू आफ्नो हैसियतका फाइदाहरू लिनमा ध्यान दिन्छन्। तिनीहरू सधैँ दाजुभाइ-दिदीबहिनीहरूमाझ आफ्नो प्रदर्शन गर्न र धाक देखाउन चाहन्छन्। दाजुभाइ-दिदीबहिनीहरूलाई देख्दैपिच्छे तिनीहरू भन्छन्, “असल विश्वासी बन। आफ्नो कर्तव्य राम्ररी निर्वाह गर। झारा नटार। यदि तिमीले फटाइँ गर्यौ वा समस्या निम्त्यायौ भने, म तिमीलाई बर्खास्त गर्नेछु!” तिनीहरू आफ्नो हैसियत जोरदार रूपमा प्रस्तुत गर्न र मानिसहरूलाई भाषण छाँट्न मात्रै जान्दछन्। भेलाहरूका दौरान तिनीहरूले सधैँ काममा के-कस्ता समस्याहरू छन् भनेर सोध्छन् र आफ्ना मातहतका मानिसहरूलाई कुनै कठिनाइहरू छन् कि छैनन् भनेर सोध्छन्, तर जब अरूले आफ्ना समस्या र कठिनाइहरू व्यक्त गर्छन्, तब तिनीहरूले तिनलाई समाधान गर्न सक्दैनन्। यसका बाबजुद, तिनीहरू अझै पनि खुसी नै हुन्छन्, र अझै पनि सफा विवेक बोकेरै जिउँछन्। यदि दाजुभाइ-दिदीबहिनीहरूले कुनै कठिनाइ वा समस्याहरूको कुरा उठाएनन् भने, तिनीहरूलाई आफूले आफ्नो काम राम्ररी गरिरहेको महसुस हुन्छ, र तिनीहरू आत्मगर्वित हुन्छन्। तिनीहरू कामबारे सोधखोज गर्नु नै तिनीहरूलाई अह्राइएको काम हो भन्ने सोच्छन्, र जब समस्याहरू देखा पर्छन् र जब माथिले तिनीहरूलाई जिम्मेवार तुल्याउँछ, तब तिनीहरू स्तब्ध हुन्छन्। अरूले कामका कठिनाइ र समस्याहरू तिनीहरूसामु प्रस्तुत गर्छन्, तर तिनलाई समाधान गर्न किन सत्यता खोजी नगरेको भनेर तिनीहरूले उल्टै गुनासो गर्छन्। तिनीहरूले वास्तविक समस्याहरू आफै समाधान गर्दैनन्, बरु निर्दिष्ट काम गर्नेहरूलाई कडाइसाथ हप्की लगाउँदै आफ्नो मातहतका सुपरिवेक्षकहरूमाथि जिम्मेवारी सार्छन्। यस्तो हप्कीले तिनीहरूलाई आफ्नो रिस कम गर्न मद्दत गर्छ, र तिनीहरू आफूले वास्तविक काम गर्दै छु भनेर सफा विवेकले विश्वाससमेत गर्छन्। तिनीहरूले समस्याहरू पत्ता लगाउन वा हल गर्न नसकेकोमा कहिल्यै पनि चिन्ता वा तनाव महसुस गरेका हुँदैनन्, न त यसले गर्दा तिनीहरूले राम्ररी खान वा सुत्न नसकेको नै हुन्छ—तिनीहरूले कहिल्यै यस्तो कठिनाइ भोगेका हुँदैनन्।
हरेक पटक कुनै किसान मण्डलीमा जाँदा, म केही समस्याहरू समाधान गर्छु। म हरेक पटक जानु भनेको मैले सम्बोधन गर्नुपर्ने कुनै न कुनै खास समस्या भेट्टाएकोले गर्दा होइन; केही खाली समय भएकाले मण्डलीका विभिन्न समूहहरूको काम कसरी अघि बढिरहेको छ, र हरेक समूहका मानिसहरूको अवस्था कस्तो छ भनेर हेर्न जाने मात्र हो। म कुराकानी गर्नका लागि सुपरिवेक्षकहरूलाई भेला गर्छु, यो अवधिमा तिनीहरूले के काम गरिरहेका छन्, र के-कस्ता समस्याहरू छन् भनेर सोध्छु, तिनीहरूलाई केही सवालहरू उठाउन लगाउँछु, र त्यसपछि तिनलाई कसरी समाधान गर्ने भन्नेबारे म तिनीहरूसँग सङ्गति गर्छु। तिनीहरूसँग सङ्गति गर्दा, मैले केही नयाँ समस्याहरू पनि पत्ता लगाउन सक्छु। एक प्रकारको समस्या चाहिँ अगुवा र कामदारहरूले आफ्नो काम कसरी गर्छन् भन्नेसँग सम्बन्धित समस्याहरू हो; अर्को प्रकारको समस्या चाहिँ तिनीहरूको जिम्मेवारीको दायराभित्र रहेका कामका समस्याहरू हो। यसअलावा, म तिनीहरूलाई कुनै निश्चित काम कसरी गर्ने, काम कसरी कार्यान्वयन गर्ने, के काम गर्ने भन्नेबारेमा मद्दत र मार्गदर्शन पनि प्रदान गर्छु, र त्यसपछि अर्को पटक अनुगमन गर्छु, र तिनीहरूलाई पछिल्लो पटक दिइएको काम कस्तो भयो भनेर सोध्छु। यस्तो सुपरिवेक्षण, प्रोत्साहन, र अनुगमन जरुरी हुन्छ। यो धेरै बाजागाजा बजाएर र चिच्याएर नगरिने, अनि लाउडस्पीकरहरू प्रयोग गरेर नगरिने भए पनि यी निश्चित काम र कार्यहरू वास्तविक काम गर्न सक्ने केही अगुवा र कामदारहरूमार्फत सञ्चारित र लागू गरिन्छन्। यसरी, हरेक समूहको काम व्यवस्थित बन्छ र त्यसमा प्रगति हुन्छ, र कामको प्रभावकारितामा सुधार आउँछ, र परिणामहरू अझै राम्रा आउँछन्। अन्त्यमा, हरेक समूहका हरेक व्यक्तिले के गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने कुरा जानेर आफ्नो कर्तव्यमा अडिग रहन सक्छन्। कम्तीमा पनि, सबै जना आफूले गर्नुपर्ने कर्तव्य निर्वाह गरिरहेका हुन्छन्, र तिनीहरू सबैको हातमा काम हुन्छ, र तिनीहरूले जे गर्छन् त्यो परमेश्वरको घरका मागहरूअनुसार गरिन्छ र ती सिद्धान्तहरूअनुसार पनि गर्न सकिन्छ। के यो केही परिणामहरू हासिल गर्नु होइन र? के झूटा अगुवाहरूले यस तरिकाले काम गर्न जानेका हुन्छन्? झूटा अगुवाहरू यस्तो मनन गर्छन्: “त्यसोभए, माथिले यसरी नै काम गर्ने रहेछ: केही मानिसहरूलाई कुराकानी गर्न बोलाउने, सबैले सानो नोटबुकमा टिपोटहरू लिने, अनि टिपोटहरू लिइसकेपछि माथिको काम समाप्त हुन्छ। यदि माथिले यसरी नै काम गर्छ भने, हामी पनि त्यस्तै गर्नेछौँ।” तसर्थ, झूटा अगुवाहरूले यसरी नै नक्कल गर्छन्। तिनीहरूले रूपको नक्कल गर्छन्, तर अन्त्यमा, तिनीहरूले कुनै पनि वास्तविक काम पटक्कै गर्दैनन्, र आफूलाई अह्राइएको कुनै पनि काम कार्यान्वयन गर्दैनन्, र बित्थाको कुरा गरेर समय कटाउँछन्। कहिलेकहीँ, म बिरुवाहरू कति बढिरहेका छन् भनेर हेर्न, वा जाडो याममा हरितगृहमा कति पटक बाली उब्जाउन सकिन्छ, र तिनलाई कति अन्तरालमा मलजल गर्नुपर्छ भनेर पत्ता लगाउन करेसाबारी र हरितगृहमा पनि जाने गर्छु। चाहे ठूला हुन् या साना, यी सबै कामहरू सागसब्जी फलाउनेसम्बन्धी प्राविधिक कुरासँग सम्बन्धित हुन्छन्, र व्यक्तिले लगनसाथ गरेको खण्डमा यो काम पूरा गर्न सक्छ। झूटा अगुवाहरूले आफ्नो झूट मुख्य रूपमा कहाँ देखाउँछन्? सबैभन्दा प्रधान झुट भनेकै वास्तविक काम नगर्नु हो; तिनीहरू आफूलाई राम्रो देखाउने केही काम मात्रै गर्छन् र त्यसपछि काम पूरा भएको ठान्छन्, र त्यसपछि तिनीहरू आफ्नो हैसियतका फाइदाहरूको आनन्द लिन थाल्छन्। तिनीहरूले यो किसिमको काम जति नै गरे पनि, के यसको अर्थ तिनीहरूले वास्तविक काम गरिरहेका छन् भन्ने हुन्छ र? धेरैजसो झूटा अगुवाहरूले सत्यतालाई अशुद्ध रूपमा बुझ्छन्, केही शब्द र धर्मसिद्धान्तहरू मात्रै बुझ्छन्, जसले गर्दा वास्तविक काम राम्ररी गर्न निकै गाह्रो हुन्छ। कति झूटा अगुवाहरूले त सामान्य मामलाहरूसँग सम्बन्धित समस्याहरूसमेत समाधान गर्न सक्दैनन्; प्रस्ट रूपमा तिनीहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूमा आत्मिक बुझाइको कमी हुन्छ। तिनीहरूलाई संवर्धन गर्नुको कुनै महत्त्व हुँदैन। कतिपय झूटा अगुवासँग थोरै क्षमता हुन्छ, तर तिनीहरू वास्तविक काम गर्दैनन्, र तिनीहरू देहसुखमा लिप्त हुन्छन्। देहसुखमा लिप्त हुने मानिसहरू सुँगुरभन्दा खासै फरक हुँदैनन्। सुँगुरको दिन सुत्दै र खाँदैमा बित्छ। त्यसले केही गर्दैन। तर, मेहनत गरेर त्यसलाई एक वर्षसम्म पालेपछि, वर्षको अन्त्यमा पूरै परिवारले त्यसको मासु खाँदा, त्यो काम लाग्यो भन्न सकिन्छ। यदि कुनै झूटा अगुवालाई सुँगुरझैँ पालियो, र उसले हरेक दिन सित्तैँमा तीन छाक खाने र पिउने गर्छ, ऊ मोटाउँछ र बलियो हुन्छ, तर कुनै वास्तविक काम गर्दैन र निकम्मा भयो भने, के उसलाई व्यर्थमा पालिएको हुँदैन र? के उसलाई पालेर केही काम लागेको छ? उसले प्रतिभारका रूपमा मात्र काम गर्न सक्छ र उसलाई हटाइनुपर्छ। वास्तवमा, झूटो अगुवा पाल्नुभन्दा सुँगुर पाल्नु बेस हुन्छ। झूटा अगुवाहरूसँग “अगुवा” को उपाधि त होला, तिनीहरूले यो पद ओगट्लान् र दिनको तीनपल्ट मज्जाले खालान् र परमेश्वरका धेरै अनुग्रह पाउलान्, र खानपानका कारण वर्षको अन्तमा तिनीहरू हृष्टपुष्ट भएका हुन्छन्—तर काम चाहिँ कस्तो भएको हुन्छ? यस वर्ष आफ्नो काममा हासिल भएका सबै कुरा हेर्: के तैँले यो वर्ष कामको कुनै पनि क्षेत्रमा नतिजाहरू प्राप्त गरेको छस्? तैँले कुन चाहिँ वास्तविक काम गरिस्? परमेश्वरको घरले तैँले सबै काम सिद्ध रूपमा गर्नुपर्छ भन्दैन, तर तैँले मुख्य कामचाहिँ राम्ररी गर्नैपर्छ—उदाहरणका लागि, सुसमाचारको काम वा चलचित्र निर्माणको काम, लेखन-पठनको काम, आदि इत्यादि। यी सबै फलदायी हुनैपर्छ। सामान्य परिस्थितिमा, तीनदेखि पाँच महिनापछि कामबाट केही परिणाम र उपलब्धिहरू हासिल भएको हुनुपर्छ; यदि एक वर्षपछि पनि कुनै उपलब्धि भएन भने, यो गम्भीर समस्या हो। तेरो जिम्मेवारीको दायराभित्रको कुन काम सबैभन्दा फलदायी भएको छ? वर्षभरि तैँले कुन कामका लागि सबैभन्दा धेरै मूल्य चुकाएको र सबैभन्दा बढी कष्ट भोगेको छस्। यो उपलब्धि प्रस्तुत गर्, अनि एक वर्षसम्म परमेश्वरको अनुग्रह प्राप्त गरेपछि तैँले कुनै मूल्यवान् उपलब्धि हासिल गरेको छस् कि छैनस् भन्नेबारे चिन्तन गर्; तैँले यो कुरा आफ्नो हृदयमा स्पष्ट रूपमा बुझ्नुपर्छ। यतिका समय परमेश्वरको घरको खानेकुरा खाँदा र उहाँको अनुग्रह प्राप्त गर्दा, तँ ठ्याक्कै के गरिरहेको थिइस्? के तैँले केही हासिल गरेको छस्? यदि तैँले केही पनि हासिल गरेको छैनस् भने, तँ अल्याङटल्याङ मात्रै गरिरहेको छस्; तँ एक वास्तविक झूटो अगुवा होस्। के त्यस्ता अगुवाहरूलाई बर्खास्त गरिनु र हटाइनुपर्छ? (पर्छ।) के तिमीहरूले त्यस्ता झूटा अगुवाहरूलाई भेट्दा तिनीहरूलाई खुट्ट्याउन सक्छौ? के तिमीहरूले तिनीहरू झूटा अगुवा हुन्, जो आलटाल गरेर सित्तैँमा खान खोज्छन् भन्ने देख्न सक्छौ? तिनीहरू मुख पूरै चिप्लो हुन्जेल खान्छन् तर कामबारे कहिल्यै चिन्तित वा व्याकुल देखिँदैनन्, र तिनीहरू कुनै पनि निर्दिष्ट काममा सहभागी हुने वा कुनै पनि कामबारे सोधपुछ गर्ने गर्दैनन्। तिनीहरूले सोधपुछ गरीहाले पनि त्यसको एउटै कारण हुन्छ; तिनीहरू माथिबाट परिणामहरूबारे दबाब आएपछि मात्रै त्यसो गर्छन्, नत्र त्यस्तो झमेला लिँदैनन्। तिनीहरू सधैँ आनन्दमा लिप्त हुन्छन्, र प्रायजसो चलचित्र वा टिभी कार्यक्रमहरू हेरिरहन्छन्। तिनीहरूले काम अरूलाई सुम्पन्छन् र अरू सबैजना कर्तव्य पूरा गर्नमा व्यस्त हुँदा, तिनीहरू भने आराम र रमाइलो गरिरहेका हुन्छन्। यदि कुनै समस्या आयोर तैँले यसलाई सम्हाल्नका लागि तिनीहरूलाई खोज्ने प्रयास गरिस् भने, तिनीहरू कहीँकतै देखिँदैनन्, तर खाना खाने बेलामा चाहिँ तिनीहरू कहिल्यै पनि ढिला गर्दैनन्। अनि खाना खाएपछि, जब अरू सबैजना काममा फर्कन्छन्, तब तिनीहरू थप खाली समय लिन जान्छन्। यदि तैँले तिनीहरूलाई, “तिमी किन बाहिर गएर कामको जाँच गर्दैनौ? सबैले तिम्रो निर्देशन, तिम्रो बन्दोबस्त पर्खिरहेका छन्!” भनेर भनिस् भने, तिनीहरूले भन्छन्: “मलाई किन पर्खनु? तिमीहरू सबैले यो गर्न सकिहाल्छौ, तिमीहरू सबैले यो गर्न जानेकै छौ—के म नहुँदा पनि हुने त्यही नै होइन र? के मैले केही समय आराम गर्न पाउँदिनँ र?” “के त्यो आराम गरेको हो? तिमी त चलचित्र मात्रै हेरिरहेका छौ!” “म व्यावसायिक सीप सिक्दै छु, चलचित्र कसरी छायाङ्कन गरिन्छ भनेर अध्ययन गरिरहेको छु।” तिनीहरूले बहानासमेत बनाउँछन्। तिनीहरू एकपछि अर्को चलचित्र हेर्छन्, र सबैले राती आराम गर्दा, तिनीहरूले पनि आराम गर्छन्। हरेक दिन, तिनीहरू यसरी नै आलटाल गर्छन्, तर कुन हदसम्म? सबैलाई तिनीहरू अप्रिय लाग्छन्, सबैलाई तिनीहरूले अप्ठ्यारो अनुभूति गराउँछन्, र अन्त्यमा, तिनीहरूलाई कसैले पनि कुनै ध्यान दिँदैन। ल भन् त, यदि यस्तो अगुवा प्रभारी छैन भने, के काम अझै अघि बढ्न सक्छ? के ऊविना पृथ्वी घुम्न छोड्छ र? (यो निरन्तर घुमिरहन्छ।) त्यसोभए, उसलाई खुलासा गरिनुपर्छ, ताकि सबैले यो व्यक्तिले उचित कामहरूमा ध्यान दिइरहेको छैन र कोही पनि उसको बन्धनमा पर्नु पर्दैन भन्ने कुरा देख्न सकून्। उचित कामहरूमा ध्यान नदिने यस्ता झूटा अगुवालाई खुलासा र चिरफार गर्नुपर्छ ताकि सबैले खुट्ट्याऊन्, र त्यसपछि उसलाई बर्खास्त गरेर पाखा लगाउनुपर्छ! के तिमीहरूले त्यस्ता झूटा अगुवाहरू भेट्दा तिनीहरूलाई खुट्ट्याउन सक्छौ? के झूटा अगुवाहरू नहुँदा तिमीहरूलाई आफू कप्तानविनाका नाविक भएजस्तै महसुस हुन्छ? के तिमीहरूले स्वतन्त्र रूपमा काम पूरा गर्नेछौ र कार्य सम्पन्न गर्नेछौ? यदि गर्नेछैनौ भने, तिमीहरू खतरामा छौ। आफ्नो कर्तव्य उचित रूपमा निर्वाह नगर्ने, आफूलाई उदाहरण बनाएर अगुवाइ नगर्ने, र अनलाइन कुराकानी गर्दै समय खेर फाल्ने यस्ता झूटा अगुवाहरू सामना गर्दा—के यस्तो अवस्थामा तिमीहरूमा समझशक्ति हुन्छ? के तिमीहरू पनि तिनीहरूको प्रभावमा परेर व्यर्थको गफमा व्यस्त हुने र आफ्नो कर्तव्यमा ढिलाइ गर्ने गर्छौ? के तिमीहरूले अझै पनि त्यस्ता झूटा अगुवाहरूलाई पछ्याउन सक्छौ? (सक्दैनौँ।)
कतिपय झूटा अगुवाहरू घिचुवा र अल्छी हुन्छन्, मेहनतभन्दा आराम रोज्छन्। तिनीहरू न त काम गर्न चाहन्छन् न त चिन्ता नै लिन्छन्, मेहनत र जिम्मेवारीबाट भाग्छन्, र आराममा लिप्त हुन मात्र चाहन्छन्। तिनीहरू खान र खेल्न मन पराउँछन्, अनि निकै अल्छी हुन्छन्। एक जना झूटो अगुवा थियो जो बिहान सबैले खाना खाइसकेपछि मात्र उठ्थ्यो, अनि राति, अरू सबै आराम गरिरहेका बेलामा पनि टेलिनाटक हेरिरहेकै हुन्थ्यो। एक जना भान्साको जिम्मेवारी लिएका ब्रदरले त्यो कुरा सहन नसकेर उसको आलोचना गरे। के तिमीहरूलाई उसले एउटा भान्सेको कुरा सुन्छ जस्तो लाग्छ? (लाग्दैन।) मानौँ कुनै अगुवा वा कामदारले उसलाई यसो भन्दै झपारे, “तिमी अलि बढी लगनशील हुनुपर्छ; जुन काम गरिनुपर्छ त्यो जसरी पनि गरिनैपर्छ। एक अगुवाका रूपमा, काम जेसुकै भए पनि तिमीले आफ्ना जिम्मेवारीहरू पूरा गर्नैपर्छ; तिमीले त्यसमा कुनै समस्याहरू नभएको सुनिश्चित गर्नैपर्छ। अहिले एउटा समस्या भेटिएको छ र त्यसलाई समाधान गर्न तिमी यहाँ छैनौ, त्यसकारण यसले कामलाई असर गर्छ। यदि तिमीले निरन्तर रूपमा यस्तै तरिकाले नै काम गर्छौ भने, के यो मण्डलीको काममा ढिलाइ गर्नु होइन र? के तिमीले यो जिम्मेवारी बहन गर्न सक्छौ?” के उसले यो कुरा सुन्छ होला त? सुन्छ नै भन्ने छैन। यस्ता झूटा अगुवाहरूका हकमा, निर्णयकर्ताहरूको समूहले तिनीहरूलाई तत्काल बर्खास्त गरेर तिनीहरूका लागि अरू कार्य बन्दोबस्त गर्नुपर्छ, तिनीहरू जे गर्न सक्षम छन्, तिनीहरूलाई त्यही गर्न दिनुपर्छ। यदि तिनीहरू केही न कामका छन्, जहाँ गए पनि सित्तैँमा खान चाहन्छन्, केही गर्नै सक्दैनन् भने, तिनीहरूलाई कुनै कर्तव्य निर्वाह गर्न नदिई खेदिहाल्। तिनीहरू कर्तव्य पूरा गर्न लायकका छैनन्; तिनीहरू मानव होइनन्, तिनीहरूमा सामान्य मानवताको विवेक र समझ छैन, तिनीहरू निर्लज्ज छन्। यस्ता काम नलाग्ने झूटा अगुवाहरूलाई छर्लङ्गै चिनिसकेपछि, तिनीहरूलाई सोझै बर्खास्त गर्नुपर्छ; तिनीहरूलाई अर्ती दिने कोसिस गर्नु आवश्यक नै छैन, र तिनीहरूलाई अवलोकन गरिने कुनै अवसर दिनु हुँदैन, न त तिनीहरूसित सत्यता सङ्गति गर्न नै जरुरी छ। के तिनीहरूले पर्याप्त सत्यताहरू सुनेका छैनन् र? यदि तिनीहरूलाई काटछाँट गरिएको भए, के तिनीहरू बदलिन सक्नेथिए? सक्नेथिएनन्। यदि कसैको क्षमता कमजोर छ, उसले कहिलेकाहीँ बेतुके विचारहरू बोक्छ, वा अज्ञानताका कारण सबै कुरा बुझ्न सक्दैन, तर ऊ लगनशील छ, बोझ बोक्छ, र अल्छी छैन भने, आफ्नो कर्तव्य पूरा गर्दा विचलनहरू आए पनि, त्यस्तो व्यक्तिले काटछाँट सामना गर्दा पश्चात्ताप गर्न सक्छ। कम्तीमा पनि, उसलाई एउटा अगुवाका जिम्मेवारीहरू के हुन् र आफूले के गर्नुपर्छ भन्ने कुरा थाहा हुन्छ, उसमा विवेक र जिम्मेवारी बोध हुन्छ, र ऊसँग हृदय हुन्छ। तर, जो अल्छी छन्, मेहनतभन्दा आराम रोज्छन्, र बोझ बोक्दैनन्, तिनीहरू बदलिन सक्दैनन्। तिनीहरूको हृदयमा कुनै बोझ हुँदैन; तिनीहरूलाई चाहे जसले काटछाँट गरे पनि, त्यो व्यर्थ हुन्छ। कतिपय मानिसहरू भन्छन्, “त्यसोभए, यदि तिनीहरूलाई परमेश्वरको न्याय, सजाय, परीक्षा, र शोधन आइलाग्यो भने, के यसले बोझ नलिने तिनीहरूको समस्या परिवर्तन गर्नेछ?” यसलाई परिवर्तन गर्न सकिँदैन; कुकुरले फोहोर खाने आफ्नो बानी परिवर्तन गर्न नसकेजस्तै यो कुरा पनि व्यक्तिको प्रकृतिद्वारा निर्धारित हुन्छ। जब तैँले अल्छी मान्ने र बोझ नलिने तर अगुवाको काम पनि गर्ने व्यक्ति देख्छस्, तब तँ ऊ झूटो अगुवा हो भनेर पक्का हुन सक्छस्। कतिले यसो भन्न सक्छन्, “तिमीले उसलाई कसरी झूटो अगुवा भन्न मिल्छ? उसको क्षमता राम्रो छ, ऊ चलाख छ, उसले कामकुरा छर्लङ्गै देख्न सक्छ, र योजनाहरू रच्न सक्छ। संसारमा, उसले व्यापार व्यवस्थापन गरेको छ, प्रमुख कार्यकारी अधिकृतका रूपमा सेवा गरेको छ; ऊ ज्ञानवान्, अनुभवी छ, र उसमा सांसारिक बुद्धि छ!” के यी गुणहरूले अल्छीपन र बोझ नलिने उसको समस्या समाधान गर्न सक्छन् त? (सक्दैनन्।)
अत्यन्तै अल्छी मानिसहरूले के-कस्ता प्रकटीकरण र विशेषताहरू प्रस्तुत गर्छन्? पहिलो, तिनीहरूले जे काम गरिरहेका भए पनि, लापरवाही रूपमा काम गर्छन्, यतिकै समय खेर फाल्छन्, अल्याङटल्याङ गर्छन्, अनि जहाँ सकिन्छ त्यहाँ बिसाउँछन् र विलम्ब गर्छन्। दोस्रो, तिनीहरूले मण्डलीको काममा कुनै ध्यान दिँदैनन्। तिनीहरू जसलाई त्यस्ता कुराबारे चिन्ता गर्न मन पर्छ उसले गरे हुन्छ भन्ने सोच्छन्। तिनीहरूले चाहिँ चिन्ता गर्नेछैनन्। जब तिनीहरूले केही कुराबारे चिन्ता गर्छन्, तब त्यो तिनीहरूको आफ्नै ख्याति, प्राप्ति र हैसियतका लागि हुन्छ—हैसियतका फाइदाहरू लिन पाउनु नै तिनीहरूका लागि महत्त्वपूर्ण हुन्छ। तेस्रो, तिनीहरू आफ्नो कामको कठिनाइबाट पछि हट्छन्; तिनीहरूले काम अलिकति मात्र थकाइलाग्दो भएको पनि स्वीकार गर्न सक्दैनन्, यदि त्यस्तो भयो भने तिनीहरू अत्यन्तै अप्रसन्न बन्छन् र तिनीहरूले कठिनाइ भोग्न वा मूल्य चुकाउन सक्दैनन्। चौथो, तिनीहरू आफूले गर्ने जुनसुकै काममा लागिपर्न सक्दैनन्, सधैँ बीचैमा हार मान्छन् र कामकुरा छर्लङ्गै बुझ्न सक्दैनन्। यदि तिनीहरू अस्थायी रूपमा राम्रो मुडमा छन् भने, तिनीहरूले रमाइलोका लागि केही काम गर्लान्, तर यदि कुनै काममा दीर्घकालीन प्रतिबद्धता चाहिन्छ, र यसले तिनीहरूलाई व्यस्त राख्छ, धेरै सोचविचार गर्नुपर्छ र यसले तिनीहरूको देहलाई थकित तुल्याउँछ भने, समय बित्दै जाँदा तिनीहरू झर्कन थाल्छन्। उदाहरणका लागि, कति अगुवाहरू मण्डलीको काममा जिम्मेवार हुन्छन्, र तिनीहरूलाई सुरुमा यो काम नयाँ र ताजा लाग्छ। सत्यता सङ्गति गर्दा तिनीहरू अत्यन्तै उत्प्रेरित हुन्छन् र दाजुभाइ-दिदीबहिनीहरूलाई समस्या छ भन्ने देख्दा, तिनीहरूले सहयोग गर्न र ती समस्या सुल्झाउन सक्छन्। तर केही समयसम्म लागिपरेपछि, तिनीहरूलाई अगुवाइको काम अति थकाइलाग्दो लाग्न थाल्छ, र तिनीहरू नकारात्मक बन्छन्—तिनीहरू सजिलो काममा सर्ने इच्छा गर्छन् र कठिनाइ भोग्न इच्छुक हुँदैनन्। त्यस्ता मानिसहरूमा लगनशीलता हुँदैन। पाँचौँ, अल्छी मानिसहरूलाई छुट्याउने अर्को विशेषता भनेको तिनीहरूमा वास्तविक काम गर्ने इच्छा नहुनु हो। तिनीहरूको देहलाई कष्ट हुनेबित्तिकै, तिनीहरू कामबाट भाग्ने र पछि हट्ने बहाना निकाल्छन् र त्यो काम अरू कसैलाई सुम्पन्छन्। अनि जब त्यस व्यक्तिले काम पूरा गर्छ, तब तिनीहरूले लाज नमानी त्यसको इनाम आफै लिन्छन्। अल्छी मानिसहरूका पाँच विशेषता यिनै हुन्। तिमीहरूले मण्डलीहरूमा अगुवा र कामदारहरूमध्ये त्यस्ता अल्छी मानिसहरू छन् कि भनी जाँचेर हेर्नुपर्छ। यदि यस्तो कोही भेटिएमा, उसलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ। के अल्छी मानिसहरूले अगुवाका रूपमा राम्रो काम गर्न सक्छन्? तिनीहरूमा जस्तोसुकै क्षमता भए पनि वा तिनीहरूको मानवतामा जस्तोसुकै गुण भए पनि, यदि तिनीहरू अल्छी छन् भने, तिनीहरूले आफ्नो काम राम्ररी गर्न सक्नेछैनन्, र तिनीहरूले काममा र महत्त्वपूर्ण मामलाहरूमा ढिलाइ गर्नेछन्। मण्डलीको काम बहुआयामिक हुन्छ; यसको हरेक पक्षमा धेरै ससाना कामहरू हुन्छन् र तिनलाई राम्ररी पूरा गर्नका लागि समस्याहरू सुल्झाउन सत्यताबारे सङ्गति गर्नु आवश्यक हुन्छ। त्यसकारण, अगुवा र कामदारहरू लगनशील हुनैपर्छ—तिनीहरूले कामको प्रभावकारिता सुनिश्चित गर्न हरदिन धेरै बोल्नुपर्छ र धेरै काम गर्नुपर्छ। यदि तिनीहरूले अति थोरै बोलेमा वा काम गरेमा, कुनै परिणाम आउनेछैन। त्यसकारण, यदि कुनै अगुवा वा कामदार अल्छी व्यक्ति हो भने, ऊ पक्कै पनि झूटो अगुवा हो र उसले वास्तविक काम गर्न सक्दैन। अल्छी मानिसहरूले वास्तविक काम गर्दैनन्, आफै कार्यस्थलमा जानु त झन् परको कुरा हो, र तिनीहरूलाई समस्याहरू हल गर्ने वा कुनै पनि निश्चित काममा संलग्न हुने इच्छा हुँदैन। तिनीहरूले कुनै पनि कामका समस्याहरूबारे अलिकति पनि बुझाइ वा बोध प्राप्त गरेका हुँदैनन्। तिनीहरूले अरूले भनेको कुरा सुनेर, दिमागमा सतही र अस्पष्ट विचार मात्र राखेका हुन्छन्, र तिनीहरू अलिअलि धर्मसिद्धान्त प्रचार गरेर नै आलटाल गर्छन्। के तिमीहरू यस्तो अगुवालाई खुट्ट्याउन सक्छौ? के तिमीहरूले ती झूटा अगुवा हुन् भनेर भन्न सक्छौ? (केही हदसम्म।) अल्छी मानिसहरू आफूले निर्वाह गर्ने कुनै पनि कर्तव्यमा लापरवाह हुन्छन्। कर्तव्य जे-जस्तो भए पनि, तिनीहरूमा लगनशीलता हुँदैन, तिनीहरू घरी काम गर्ने घरी नगर्ने गर्छन्, र केही कठिनाइ भोग्दैपिच्छे गुनासो गर्छन्, र अनवरत गनगन पोखाउँछन्। जसले तिनीहरूलाई आलोचना वा काटछाँट गर्छ, तिनीहरूले उसलाई गालीगलौज गर्छन्, बाटोमा अरूको बेइज्जत गर्ने झगडालु महिलाझैँ व्यवहार गर्छन्, सधैँ अरूमाथि आफ्नो रिस पोखाउन चाहन्छन् र आफ्नो कर्तव्य पूरा चाहँदैनन्। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न नचाहनुले के देखाउँछ? यसले तिनीहरू बोझ लिँदैनन्, जिम्मेवारी लिन चाहँदैनन्, र तिनीहरू अल्छी मानिस हुन् भन्ने देखाउँछ। तिनीहरू कष्ट भोग्न वा मूल्य चुकाउन चाहँदैनन्। यो विशेषगरी अगुवा र कामदारहरूमा लागू हुन्छ: यदि तिनीहरूले बोझ नै लिँदैनन् भने, के तिनीहरूले अगुवा र कामदारका जिम्मेवारीहरू पूरा गर्न सक्छन् त? कदापि सक्दैनन्।
झूटा अगुवाहरूले कामका सम्बन्धमा अनुगमन गर्ने वा निर्देशन दिने गर्दैनन्
हामीले अगुवा र कामदारहरूको पाँचौँ जिम्मेवारीको यो पक्षबारे भर्खरै छलफल गर्यौँ: “प्रत्येक कामको स्थितिको अद्यावधिक बोध र बुझाइ कायम राख्ने।” यो पक्षबारे छलफल गरेर, हामीले झूटा अगुवाहरूका केही खास प्रकटीकरणहरू, साथै तिनीहरूको मानवता र चरित्र खुलासा गर्यौँ। अब हामी “प्रत्येक कामको प्रगतिको अद्यावधिक बोध र बुझाइ कायम राख्ने” बारेमा हेरौँ। अवश्य नै, कामको प्रगति केही हदसम्म कामको स्थितिसँग सम्बन्धित हुन्छ, यो सम्बन्ध तुलनात्मक रूपमा निकट हुन्छ। यदि व्यक्तिले कामको स्थितिको बुझाइ र बोध कायम राख्न सक्दैन भने, उसले कामको प्रगतिको पनि बुझाइ र बोध कायम राख्न सक्दैन। उदाहरणका लागि, कामको प्रगति कस्तो छ, यो कुन चरणमा पुगेको छ, संलग्न मानिसहरूको स्थिति कस्तो छ, व्यावसायिक पक्षहरूमा कुनै कठिनाइहरू छन् कि छैनन्, परमेश्वरको घरका मागहरू पूरा नगर्ने कामका कुनै क्षेत्रहरू छन् कि छैनन्, हासिल भएका परिणामहरू कस्ता छन्, काम गर्ने तर कामका व्यावसायिक पक्षहरूमा त्यति सिपालु नभएका मानिसहरूले सिकिरहेका छन् कि छैनन्, सिकाइ कसले सञ्चालन गरिरहेको छ, तिनीहरूले के सिकिरहेका छन्, तिनीहरूले कसरी सिकिरहेका छन्, आदि इत्यादि कुराहरू—यी निश्चित सवालहरू सबै प्रगतिसँग सम्बन्धित हुन्छन्। उदाहरणका लागि, के भजनहरू रचना गर्ने काम निकै महत्त्वपूर्ण होइन र? एउटा भजनका लागि, परमेश्वरका वचनहरूका अत्यावश्यक खण्डहरूको प्रारम्भिक छनौटदेखि रचना पूरा गर्ने कामसम्म, यस प्रक्रियामा के-कस्ता खास कामहरू गर्नुपर्ने हुन्छ? पहिलो कुरा त, भजन बन्न उपयुक्त रहेका परमेश्वरका वचनका अत्यावश्यक खण्डहरू छनौट गर्नु जरुरी हुन्छ, र ती उचित लम्बाइका पनि हुनुपर्छ। दोस्रो चरणमा उक्त खण्डका लागि कुन शैलीको धुन उपयुक्त हुन्छ जसले गर्दा त्यो गाउँदा सुमधुर र रमाइलो होओस् भनेर विचार गरिन्छ। त्यसपछि, भजन गाउनका लागि सही मानिसहरू खोज्नुपर्छ। के यी खास कामहरू होइनन् र? (हुन्।) भजन रचना भइसकेपछि, झूटो अगुवाले उक्त रचना योग्य छ कि छैन वा शैली उचित छ कि छैन भनेर पटक्कै सोधपुछ गर्दैन। सुपरिवेक्षण नभएको देखेपछि, रचनाकारलाई व्यक्तिगत रूपमा यो पर्याप्त छ भन्ने महसुस हुन्छ र ऊ यसलाई रेकर्ड गर्नतिर लाग्छ। सबैले भजनमा रूपान्तरित हुने आशा गरेका परमेश्वरका वचनहरूको खण्डलाई बल्लतल्ल सङ्गीत दिएर भजन बनाइएको हुन्छ, तर धेरैजसोले गाउने क्रममा यसमा अझै पनि कमीकमजोरी रहेको पाउँछन्। कस्तो समस्या पैदा हुन्छ? रचना गरिएको त्यो भजन मापदण्डअनुरूपको हुँदैन: धुनको मिठास र मोहकता नभए पनि यो रेकर्ड गरियो। यो सुनेपछि झूटो अगुवाले सोध्छ, “यो भजन कसले रचना गरेको हो? यो किन रेकर्ड गरियो?” उसले यो प्रश्न गरुन्जेल कम्तीमा पनि एक महिना बितिसकेको हुन्छ। यो महिनाको अवधिमा, के अगुवाले यो कामको अनुगमन गरेर यसको प्रगतिबारे तुरुन्तै बुझ्नुपर्दैनथ्यो र? उदाहरणका लागि, रचना गर्ने काम कस्तो भइरहेको थियो? के आधारभूत सुर तय भइसकेको थियो? के यसमा धुन थियो? के यो भजनको धुन र शैली परमेश्वरका वचनहरूसँग मिल्छ? के सान्दर्भिक अनुभव भएका व्यक्तिहरूले यसको मार्गदर्शनमा सहयोग गरे? रचना भइसकेपछि, के यो भजन व्यापक रूपमा गाउन सकिन्थ्यो? यसले कस्तो प्रभाव पार्नेथ्यो? के यसको सुर राम्रो मानिन्थ्यो? झूटो अगुवा यस्ता मामलाहरूमा अनुगमन गर्न सधैँ असफल भयो। अनि उसले अनुगमन नगर्नुको एउटा कारण छ: “म भजन रचना बुझ्दिनँ। आफूले नबुझेको कुराको म कसरी अनुगमन गर्न सक्छु र? यो असम्भव छ।” के यो उचित कारण हो त? (होइन।) यो उचित कारण होइन; त्यसोभए, के भजन रचना गर्ने कार्यबारे अनजान व्यक्तिले अझै पनि अनुगमन गर्न सक्छ? (सक्छ।) उसले कसरी अनुगमन गर्नुपर्छ? (उसले दाजुभाइ-दिदीबहिनीहरूसँग सहकार्य गर्न सक्छ, र यो उपयुक्त छ कि छैन भनेर हेर्न सिद्धान्तहरूका आधारमा धुनको लेखाजोखा गर्न सक्छ; उसले हात झिक्नुको सट्टा व्यावहारिक रूपमा कामको अनुगमन गर्न सक्छ।) झूटा अगुवाहरूको कामको प्रमुख विशेषता भनेको धर्मसिद्धान्तबारे बकबक गरिरहने र नाराहरू भट्याइरहने हो। आफ्ना आदेशहरू जारी गरिसकेपछि, तिनीहरूले त्यस मामलाबाट हात झिकिहाल्छन्। तिनीहरूले कामको त्यसपछिको विकासबारे प्रश्नहरू सोध्दैनन्; तिनीहरूले कुनै समस्या, विचलन, वा कठिनाइहरू उत्पन्न भए कि भनेर सोध्दैनन्। तिनीहरूले काम अह्राउनेबित्तिकै आफ्नो काम सकिएको मान्छन्। वास्तवमा, अगुवाको नाताले, कामको बन्दोबस्त गरेपछि, तैँले कामको प्रगतिबारे अनुगमन गर्नैपर्छ। तँ त्यस क्षेत्रको कामसित परिचित नभए पनि—तँसँग यसबारे कुनै ज्ञान नभए पनि—तैँले कुनै उपाय खोजेर आफ्नो काम गर्न सक्छस्। तैँले परीक्षण गर्न र सुझावहरू दिनका लागि त्यसलाई साँच्चिकै बोध गरेको, सम्बन्धित पेसा बुझेको व्यक्ति भेटाउन सक्छस्। तिनीहरूका सुझावहरूबाट तैँले उचित सिद्धान्तहरू पहिचान गर्न सक्छस्, र त्यसरी तैँले कामको अनुगमन गर्न सक्नेछस्। सम्बन्धित पेसासित तँ परिचित भए पनि नभए पनि वा तैँले त्यसलाई बुझे पनि नबुझे पनि, तैँले कम्तीमा पनि उक्त कामको जिम्मेवारी लिनुपर्छ, यसको अनुगमन गर्नुपर्छ, र निरन्तर रूपमा यसको प्रगतिबारे सोधपुछ गर्नुपर्छ र प्रश्नहरू सोध्नुपर्छ। तैँले यस्ता मामलाहरूको बोध कायम राख्नुपर्छ; यो तेरो जिम्मेवारी हो, यो तेरो कामकै पाटो हो। कामको अनुगमन नगर्नु, काम अह्राइसकेपछि थप केही नगर्नु, यसबाट हात झिक्नु—यो झूटा अगुवाहरूको कामकुरा गर्ने तरिका हो। कामको अनुगमन नगर्नु वा त्यस सम्बन्धमा निर्देशन प्रदान नगर्नु, उत्पन्न भएका समस्याहरूबारे सोधपुछ नगर्नु वा तिनलाई समाधान नगर्नु, र कामको प्रगति वा कौशलता बोध नगर्नु—यी पनि झूटा अगुवाहरूका प्रकटीकरण नै हुन्।
झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, जसले गर्दा कामको प्रगतिमा ढिलाइ हुन्छ
झूटा अगुवाहरूले कार्यप्रगतिबारे थाहा नपाउने, र त्यसमा उत्पन्न हुने समस्याहरू तुरुन्तै पहिचान गर्न नसक्ने, तिनलाई समाधान त झन गर्नै नसक्ने हुनाले, यसले प्राय: बारम्बार ढिलाइहरू सिर्जना गर्छ। निश्चित कार्यमा, मानिसहरूले सिद्धान्तहरू नबुझेका हुने र यसको जिम्मेवारी लिने वा निरीक्षण गर्ने कुनै पनि उपयुक्त व्यक्ति नहुने हुनाले, काम गर्नेहरू प्रायजसो नकारात्मकता, निष्क्रियता, र प्रतीक्षाका स्थितिमा हुन्छन्, जसले कामको प्रगतिलाई गम्भीर रूपमा असर पार्छ। यदि अगुवाहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरेका थिए भने—यदि तिनीहरूले कामको निरीक्षण गरेका थिए, त्यसलाई अघि सारेका थिए, त्यसको सुपरिवेक्षण गरेका थिए, र उक्त कामलाई मार्गनिर्देशन गर्न उक्त क्षेत्र बुझेको व्यक्ति भेट्टाएका थिए भने, काममा बारम्बार ढिलाइ हुनुको सट्टा त्यो तीव्र गतिमा अघि बढेको हुनेथ्यो। त्यसकारण, अगुवाहरूले कामको वास्तविक स्थितिबारे बुझ्नु र त्यसलाई बोध गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। अवश्य नै, अगुवाहरूले कार्यप्रगतिबारे बुझ्न र त्यसलाई बोध गर्न पनि अत्यन्तै जरूरी हुन्छ, किनभने कामको प्रगति त्यस कामको प्रभावकारिता र त्यसबाट प्राप्त हुनुपर्ने नतिजाहरूसँग सम्बन्धित हुन्छ। यदि अगुवा वा कामदारहरूले मण्डलीको काम के-कसरी अघि बढिरहेको छ भन्नेबारे बोध गरेका छैनन्, र तिनीहरूले कामकुराको अनुगमन वा सुपरिवेक्षण गर्दैनन् भने, मण्डलीको कामको प्रगति निश्चय नै ढिलो हुनेछ। कर्तव्य निभाउने अधिकांश मानिसहरू अत्यन्तै फोहोरी हुने, तिनीहरूमा बोझ लिनुपर्छ भन्ने भावना नहुने, र तिनीहरू प्राय: नकारात्मक, निष्क्रिय र झाराटारुवा हुने भएकाले यस्तो हुने हो। यदि ठोस रूपमा कामको जिम्मेवारी लिने, कामको प्रगतिबारे सामयिक रूपमा जानकारी लिने, र कर्तव्य निभाउने कर्मचारीहरूलाई मार्गनिर्देशन गर्ने, सुपरिवेक्षण गर्ने, अनुशासनमा राख्ने वा काटछाँट गर्ने बोझ लिनुपर्छ भन्ने भावना र कार्य क्षमता भएको कोही पनि छैन भने, स्वाभाविक रूपमा, कार्य प्रभावकारिताको स्तर निकै खस्किन्छ र कामका नतिजाहरू निकै कमजोर हुनेछन्। यदि अगुवा र कामदारहरूले योसमेत प्रस्टसित देख्न सक्दैनन् भने, तिनीहरू मूर्ख र अन्धा हुन्। त्यसैले, अगुवा र कामदारहरूले तुरुन्तै कामको प्रगतिको छानबिन, अनुगमन र बोध गर्नुपर्छ, कर्तव्य निभाउने मानिसहरूमा समाधान गर्नुपर्ने कस्ता समस्याहरू छन् भनी छानबिन गर्नुपर्छ, र अझ राम्रा नतिजाहरू प्राप्त गर्न कुन समस्याहरू समाधान गर्नुपर्छ भनी बुझ्नुपर्छ। यी सबै कुरा अत्यन्तै महत्त्वपूर्ण छन्, अगुवाका रूपमा काम गर्ने व्यक्ति यी कुराबारे प्रस्ट हुनैपर्छ। तैँले आफ्नो कर्तव्य राम्रोसित निर्वाह गर्न, तँ केही सतही काम गर्ने र त्यसपछि आफ्नो कर्तव्य राम्रोसित पूरा गरेको छु भन्ठान्ने झूटो अगुवाजस्तो बन्नै हुँदैन। झूटा अगुवाहरू आफ्नो काममा लापर्बाह र असावधान हुन्छन्, तिनीहरूमा जिम्मेवारी बोध हुँदैन, समस्याहरू उत्पन्न हुँदा तिनीहरूले ती समाधान गर्दैनन्, र तिनीहरूले जे काम गरिरहेका भए पनि, तिनीहरू त्यो गरेजस्तो मात्र गर्छन् र त्यो कामलाई झारटारुवा तरिकाले लिन्छन्; तिनीहरू केवल ठूला कुरा गर्छन्, धर्मसिद्धान्त र खोक्रो कुरा ओकल्छन्, र आफ्नो काममा झारा टार्छन्। सामान्यतया, झूटा अगुवाहरूले यस्तै स्थितिमा काम गर्छन्। ख्रीष्टविरोधीहरूका तुलनामा झूटा अगुवाहरूले अत्यधिक दुष्ट केही नगर्ने र जानाजान दुष्टता नगर्ने भए पनि, तिनीहरूको कार्य प्रभावकारितालाई हेर्दा, तिनीहरूलाई झाराटारुवा, बोझ नउठाउने, गैरजिम्मेवार हुने र आफ्नो कामप्रति बफादारी नभएको भनी चित्रण गर्नु उचित हुन्छ।
हामीले भर्खरै झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, र हरेक कामको प्रगतिबारे बुझ्ने र बोध राख्ने गर्दैनन् भन्नेबारे सङ्गति गर्यौँ। मण्डलीका काममा पैदा हुने समस्या र कठिनाइहरूका सम्बन्धमा भन्नुपर्दा, झूटा अगुवाहरूले तिनलाई ध्यान दिँदै दिँदैनन् वा तिनलाई पन्छाउन थोरथोरै धर्मसिद्धान्त बोल्ने र केही नाराहरू फलाक्ने मात्र गर्छन्। सबै खालका काममा, तिनीहरू कामबारे बुझ्ने र त्यसको अनुगमन गर्ने प्रयास गर्न आफै कार्यस्थल आएको कहिल्यै देखिँदैन। तिनीहरूले त्यहाँका समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गरेको देखिँदैन, र तिनीहरूले त्यहाँ व्यक्तिगत रूपमा कामको निर्देशन दिइरहेको र सुपरिवेक्षण गरिरहेको, र यसमा त्रुटि र विचलनहरू देखा पर्नबाट रोकेको देखिनु त झन् परको कुरा हो। झूटा अगुवाहरूले झाराटारुवा तरिकामा काम गर्नुको सबैभन्दा स्पष्ट प्रकटीकरण यही हो। झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूले जस्तो मण्डलीको काममा अवरोध गर्ने बाधा दिने प्रयास नगर्ने, विभिन्न दुष्कर्महरू नगर्ने र आफ्नै स्वतन्त्र राज्य स्थापना नगर्ने भए पनि, तिनीहरूका विभिन्न झाराटारुवा व्यवहारले मण्डलीका काममा ठूला रोकावटहरू ल्याउँछन्, जसले गर्दा विभिन्न समस्याहरू अटुट रूपमा देखा परिरहन्छन् र ती समाधान हुँदैनन्। यसले मण्डलीको हरेक कामको प्रगतिमा गम्भीर प्रभाव पार्छ, र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई असर पार्छ। के त्यस्ता झूटा अगुवाहरूलाई हटाइनुपर्दैन र? झूटा अगुवाहरू वास्तविक काम गर्न सक्दैनन्—तिनीहरूले जे गरे पनि त्यसको सुरुवात त दह्रिलै हुन्छ तर अन्त्यमा त्यो विस्तारै कमजोर हुँदै जान्छ। तिनीहरूले खेल्ने भूमिका भनेको समारोहहरूको उद्घाटन गर्ने मात्रै हो: तिनीहरूले नाराहरू गाउँछन् र धर्मसिद्धान्तहरू प्रचार गर्छन्, र जब तिनीहरूले अरूलाई काम सुम्पेका र यसको जिम्मेवारी कसले लिने भन्नेबारे बन्दोबस्त गरेका हुन्छन्, तब तिनीहरूका लागि यो काम सकिन्छ। तिनीहरू चीनका ग्रामीण क्षेत्रमा पाइने चर्को आवाजमा घन्किने लाउडस्पीकरजस्तै हुन्छन्—तिनीहरूले खेल्ने भूमिका यति मात्र हो। तिनीहरूले थोरै प्रारम्भिक काम मात्रै गर्छन्; बाँकी काममा, तिनीहरू कहीँकतै देखिँदैनन्। जहाँसम्म हरेक काम कसरी अघि बढिरहेको छ, यो सिद्धान्तहरूअनुरूप छ कि छैन, र यो प्रभावकारी छ कि छैन भन्नेजस्ता निश्चित प्रश्नहरूको कुरा छ—तिनीहरूलाई तिनको उत्तर थाहा हुँदैन। तिनीहरू कहिल्यै पनि तल्लो तहसँग गहन रूपमा संलग्न हुने र कार्यस्थलमै गएर हरेक कामको प्रगति र विवरणहरूबारे बुझ्ने र बोध गर्ने गर्दैनन्। त्यसकारण, झूटा अगुवाहरूले अगुवाका रूपमा आफ्नो कार्यकालमा अवरोध र बाधाहरू निम्त्याउने, वा विभिन्न दुष्कर्महरू गर्ने उद्देश्य नराख्न सक्छन्, तर वास्तवमा तिनीहरूले काम ठप्प पार्छन्, मण्डलीको हरेक कामको प्रगतिमा ढिलाइ गराउँछन्, र परमेश्वरका चुनिएका मानिसहरूका लागि आफ्नो कर्तव्य राम्ररी पूरा गर्न र जीवन प्रवेश प्राप्त गर्न असम्भव तुल्याउँछन्। यसरी काम गरेर, तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई परमेश्वरमाथिको विश्वासको सही मार्गमा कसरी डोर्याउन सक्छन् होला र? यसले देखाउँछ कि झूटा अगुवाहरूले कुनै पनि वास्तविक काम गर्दैनन्। तिनीहरू मण्डलीको काम सामान्य रूपमा अघि बढ्ने सुनिश्चित गर्नका निम्ति आफूले जिम्मेवारी लिनुपर्ने कामको अनुगमन गर्न वा मार्गदर्शन र सुपरिवेक्षण प्रदान गर्न असफल हुन्छन्; तिनीहरू अगुवा र कामदारहरूका अपेक्षित कार्यहरू निर्वाह गर्न असफल हुन्छन्, र तिनीहरू आफ्नो बफादारी वा जिम्मेवारीहरू पूरा गर्न असफल हुन्छन्। यसले पुष्टि गर्छ कि झूटा अगुवाहरू आफ्नो कर्तव्य निर्वाहमा बफादार हुँदैनन्, तिनीहरू झारा मात्र टार्छन्; तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरू र परमेश्वर स्वयम् गरी दुवैलाई छल गर्छन्, र तिनीहरूले उहाँको इच्छा पूरा गर्ने कार्यमा असर र बाधा पुर्याउँछन्। यो तथ्य सबैले देख्न सक्छन्। झूटो अगुवा कामका लागि साँच्चै नै योग्य नभएको हुन सक्छ; ऊ आफ्नो कामबाट पन्छिरहेको र जानीजानी झाराटारुवा बनिरहेको पनि हुन सक्छ। जे भए पनि, तथ्य यही हो कि उसले मण्डलीको काममा बरबादी ल्याउँछ। मण्डलीको हरेक काममा अलिकति पनि प्रगति हुँदैन, र थुप्रिएका समस्याहरू लामो समयसम्म समाधान हुँदैनन्। यसले सुसमाचार फैलाउने काममा असर गर्ने मात्र होइन, परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पनि गम्भीर रोकावट ल्याउँछ। झूटा अगुवाहरूले वास्तविक काम गर्न नसक्ने मात्र होइन, तिनीहरू त सुसमाचार प्रचारको काममा र मण्डलीमा परमेश्वरको इच्छा पूरा गर्नमा बाधक समेत बन्छन् भनेर देखाउन यी तथ्यहरू नै पर्याप्त छन्।
झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन् र वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्। यसले कामको प्रगतिमा ढिलाइ गराउने र यसका परिणामहरूमा असर गर्ने मात्र होइन, यसले धेरै जनशक्ति, भौतिक स्रोतसाधन, र आर्थिक स्रोतसाधन खेर फालेर मण्डलीको काममा पनि गम्भीर घाटा पुर्याउँछ। त्यसकारण, झूटा अगुवाहरूले आर्थिक घाटाहरू पूर्ति गर्नुपर्छ। कति मानिसहरू भन्छन्, “यदि अगुवा र कामदारहरूले आफ्नो काम राम्ररी नगरेर आइपरेको घाटा पूर्ति गर्नुपर्छ भने, कोही पनि अगुवा वा कामदार बन्न चाहनेथिएन।” त्यस्ता गैरजिम्मेवार मानिसहरू अगुवा वा कामदार बन्न योग्य हुँदैनन्। विवेक वा समझ नभएका मानिसहरू दुष्ट मानिस हुन्—यदि दुष्ट मानिसहरू अगुवा र कामदार बन्न चाहन्छन् भने, के यो समस्याजनक कुरा होइन र? परमेश्वरको घरको धेरैजसो काममा आर्थिक खर्चहरू संलग्न हुन्छन्, त्यसैले के तिनको लेखा राख्न जरुरी हुँदैन र? के परमेश्वरका भेटीहरू मानिसहरूले मनोमानी रूपमा बरबाद गर्न र फजुलमा उडाउन मिल्ने कुरा हुन्? परमेश्वरका भेटीहरू फजुलमा उडाउन अगुवा र कामदारहरूसँग के अधिकार हुन्छ? आर्थिक घाटा पुर्याएपछि त्यसको पूर्ति गर्नैपर्छ; यो पूर्ण रूपमा प्राकृतिक र न्यायोचित कुरा हो, र यसलाई कसैले नकार्न सक्दैन। उदाहरणका लागि, मानौँ एउटा काम एक व्यक्तिले एक महिनामा पूरा गर्न सक्छ रे। यदि यो काम गर्न छ महिना लाग्यो भने, के बाँकी पाँच महिनाको खर्च घाटा होइन र? म सुसमाचार प्रचार गर्नेबारे एउटा उदाहरण दिन्छु। मानौँ कुनै व्यक्ति साँचो मार्गको अनुसन्धान गर्न इच्छुक छ र उसलाई सायद एक महिनाभित्रै विश्वासमा ल्याउन सकिन्छ, र त्यसपछि ऊ मण्डलीमा प्रवेश गर्छ र उसले निरन्तर मलजल र भरणपोषण प्राप्त गर्छ, र छ महिनाभित्र उसले एउटा जग बसाल्न सक्छ। तर यदि यो मामलाप्रति सुसमाचार प्रचार गर्ने व्यक्तिको मनोवृत्ति बेवास्ता गर्ने र झारा टार्ने प्रकारको छ, र अगुवा र कामदारहरूले पनि आफ्नो जिम्मेवारीलाई बेवास्ता गर्छन्, अनि त्यो व्यक्तिलाई विश्वासमा ल्याउन आधा वर्ष लाग्छ भने, के यो आधा वर्ष त्यो व्यक्तिको जीवनको घाटा हुनेछैन र? यदि उसलाई ठूला प्रकोपहरू आइपर्यो र उसले अझै पनि साँचो मार्गमा जग बसालेको छैन भने, ऊ खतरामा हुनेछ, अनि के ती मानिसहरूले उसलाई निराश तुल्याएका हुँदैनन् र? यस्तो घाटा पैसा वा भौतिक कुराले मापन गर्न सकिँदैन। यदि त्यो व्यक्तिको सत्यताको बुझाइ छ महिना रोकियो, र उसलाई जग बसाल्न र कर्तव्य निभाउन थाल्नमा छ महिना ढिलाइ भयो भने, यसको जिम्मेवारी कसले लिनेछ? के अगुवा र कामदारहरूले यसको जिम्मेवारी लिन सक्छन्? कसैको जीवन रोक्ने कार्यको जिम्मेवारी कसैले लिन सक्दैन। कसैले पनि यो जिम्मेवारी लिन नसक्ने हुनाले, अगुवा र कामदारहरूले के गर्दा उचित हुन्छ? बस चार शब्द: यसमा सारा मेहनत लगा। के गर्नका लागि सारा मेहनत लगाउने? आफ्ना जिम्मेवारीहरू पूरा गर्न, जसका लागि आफ्नो आँखाले देख्न सक्ने, आफ्नो मनले सोच्न सक्ने, र आफ्नो क्षमताले हासिल गर्न सक्ने सबै कुरा गर्नुपर्छ। यो आफ्नो सारा मेहनत लगाउनु हो, यो बफादार र जिम्मेवार हुनु हो, र यो नै अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो। कतिपय अगुवा र कामदारहरूले सुसमाचार प्रचार गर्नुलाई गम्भीर मामलाका रूपमा लिँदैनन्। तिनीहरूले सोच्छन्, “परमेश्वरका भेडाहरूले परमेश्वरको आवाज सुन्नेछन्। जसले अनुसन्धान गर्छ र स्विकार्छ उसले आशिष् पाउनेछ; जसले अनुसन्धान गर्दैन र स्विकार्दैन उसले आशिष् पाउनेछैन, र ऊ प्रकोपमा मर्नयोग्य हुन्छ!” झूटा अगुवाहरूले परमेश्वरका अभिप्रायहरूको कुनै ख्याल गर्दैनन्, र सुसमाचारको कामको कुनै बोझ लिँदैनन्; तिनीहरूले भर्खरै मण्डली प्रवेश गरेका नयाँ विश्वासीहरूको पनि कुनै जिम्मेवारी लिँदैनन्, र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई गम्भीरतापूर्वक लिँदैनन्—तिनीहरू सधैँ आफ्नो हैसियतका फाइदाहरूमा लिप्त हुनमा मात्रै ध्यान दिन्छन्। जति धेरै मानिसहरूले साँचो मार्ग अनुसन्धान गरे पनि, तिनीहरूलाई पटक्कै चिन्ता हुँदैन, तिनीहरूमा सधैँ आलटाल गर्ने मानसिकता हुन्छ, र तिनीहरू सेवानिवृत्त सम्राट् वा अधिकारीले जस्तो व्यवहार गर्छन्। काम चाहे जतिसुकै महत्त्वपूर्ण वा जरुरी होस्, तिनीहरू कहिल्यै कार्यस्थलमा देखा पर्दैनन्, र तिनीहरूले कामको अवस्थाबारे सोधपुछ गर्ने र बुझ्ने, वा कामको अनुगमन गर्ने र समस्याहरू सुल्झाउने गर्दैनन्। तिनीहरूले बस कामहरू बन्दोबस्त गर्छन्, अनि आफ्नो काम पूरै सकियो भन्ने सोच्छन्, र तिनीहरूले काम गर्नु भनेकै यही हो भन्ने विश्वास गर्छन्। के यो झाराटारुवा हुनु होइन र? के यो आफूभन्दा माथि र तलका दुवैलाई छल गर्नु होइन र? के त्यस्ता अगुवा र कामदारहरू परमेश्वरले प्रयोग गर्न योग्य हुन्छन्? के तिनीहरू ठूलो रातो अजिङ्गरका अधिकारीजस्तै होइनन् र? तिनीहरूले सोच्छन्, “अगुवा वा कामदार बन्नु भनेको पद सम्हाल्नुजस्तै हो, र व्यक्तिले यस्तो हैसियतका फाइदाहरू लिनुपर्छ। पदमा रहनुले मलाई यो सुविधा दिन्छ, र सबै मामलाहरूमा उपस्थित भइरहनुपर्ने झमेलाबाट छूट दिन्छ। यदि म सधैँ कार्यस्थलमा कामको अनुगमन गर्दै र वस्तुस्थिति बुझ्दै बसिरहने हो भने, त्यो कति थकाइलाग्दो, कति अपमानजनक कुरा हुन्थ्यो होला! म यस्तो थकान स्विकार्न सक्दिनँ!” झूटा अगुवा र झूटा कामदारहरूले ठ्याक्कै यसरी नै काम गर्छन्, तिनीहरू कुनै वास्तविक काम नगरी सहजताको लोभ गर्ने र हैसियतका फाइदाहरू लिने कार्यमा मात्रै ध्यान दिन्छन्, र तिनीहरूसँग कुनै विवेक वा समझ हुँदैन। त्यस्ता परजीवीहरूलाई साँच्चै नै हटाइनुपर्छ, र तिनीहरू दण्डित भए पनि, तिनीहरू त्यसको लायक नै हुन्छन्! कति अगुवा र कामदारहरूले त धेरै वर्ष मण्डलीको काम गरे पनि सुसमाचार कसरी प्रचार जानेका हुँदैनन्, गवाही दिन त झनै जानेका हुँदैनन्। यदि तैँले तिनीहरूलाई सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूसँग परमेश्वरको कामका दर्शनहरूसँग सम्बन्धित सबै सत्यताहरू सङ्गति गर्न लगाइस् भने, तिनीहरू त्यसो गर्न असमर्थ हुन्छन्। ती झूटा अगुवाहरूलाई “के तिमीले कहिल्यै आफूलाई दर्शनहरूको सत्यताले सुसज्जित गर्ने प्रयत्न गरेका छौ?” भनेर सोधियो भने, तिनीहरूले मनन गर्छन्, “मैले किन यस्तो मेहनत लगाउनु? मेरो उच्च हैसियत भएकोले, त्यो काम मेरो होइन; त्यो काम गर्नका लागि अरू प्रशस्तै छन्।” मलाई भन् त, तिनीहरू कस्ता प्राणी हुन्? तिनीहरूले धेरै वर्षदेखि मण्डलीको काम गर्दै आएका छन्, तैपनि सुसमाचार प्रचार गर्न जान्दैनन्। अनि जब गवाही दिने कुरा आउँछ, तिनीहरूले आफ्नो तर्फबाट गवाही दिने सुसमाचार प्रचारक खोज्नुपर्ने हुन्छ। यदि अगुवा वा कामदारका रूपमा तैँले सुसमाचार प्रचार गर्न, गवाही दिन, वा दर्शनहरूका सम्बन्धमा मानिसहरूसित सङ्गति गर्न सक्दैनस् भने, तैँले केचाहिँ गर्न सक्छस्? तेरा जिम्मेवारीहरू के-के हुन्? के तैँले ती पूरा गरेको छस्? के तैँले पहिले नै आफूसँग भएका कुराले नै काम चलाइरहेको छस्? तँसँग के चाहिँ छ? तँलाई पहिले नै आफूसँग भएका कुराले काम चलाउन कसले अनुमति दियो? कतिपय सुसमाचार समूहका सुपरिवेक्षकहरूले त अरूले सुसमाचार प्रचार गरेको कहिल्यै देखेका र सुनेका समेत हुँदैनन्। तिनीहरू सुन्न मन पराउँदैनन्; तिनीहरूलाई झमेला लिन मन पर्दैन, यो अत्यन्तै समस्याजनक लाग्छ, र तिनीहरूमा धैर्य हुँदैन। तिनीहरू अगुवा हुन्, के तँलाई थाहा छैन र—तिनीहरू पदाधिकारीभन्दा कम होइनन्—त्यसकारण तिनीहरूले यी निश्चित कामहरू गर्दैनन्; यी काम त तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई गर्न लगाउँछन्। मानौँ केही सुसमाचार प्रचारकहरूले उच्च क्षमता भएको एक व्यक्तिलाई अचानक भेटेछन्, जो सबै कुरालाई इमानदारीसाथ हेर्छ, र दर्शनहरूबारे केही निश्चित सत्यताहरू बुझ्न चाहन्छ। ती सुसमाचार प्रचारकहरूले पूर्णतया स्पष्ट सङ्गति गर्न सक्दैनन्, त्यसैले तिनीहरूले आफ्ना अगुवाहरूलाई सङ्गति गर्न लगाउँछन्। अगुवाहरूले केही बोल्न सक्दैनन्, र यसो भन्दै बहानासमेत बनाउन खोज्छन्, “म आफैले यो काम कहिल्यै गरेको छैनँ। तिमीहरू नै गएर गर; म तिमीहरूलाई साथ दिनेछु। यदि कुनै समस्याहरू आएमा, म तिमीहरूलाई ती समाधान गर्न मद्दत गर्नेछु; म तिमीहरूलाई आड दिन्छु। चिन्ता नगर। हामीसँग परमेश्वर हुँदाहुँदै डराउनुपर्ने के छ र? कसैले साँचो मार्ग खोज्दा, तिमीहरूले दर्शनहरूका सत्यताहरूबारे गवाही दिन वा सङ्गति गर्न सक्छौ। म त जीवन प्रवेशसम्बन्धी सत्यताहरू सङ्गति गर्न मात्रै जिम्मेवार छु। गवाही दिने काम तिमीहरूले लिनुपर्ने भारी बोझ हो, ममाथि भर नपर।” सुसमाचार प्रचार गर्ने क्रममा हरेक पटक गवाही दिने महत्त्वपूर्ण क्षणमा तिनीहरू लुक्छन्। तिनीहरूलाई आफूसँग सत्यताको कमी छ भन्ने कुरा पूर्ण रूपमा थाहा छ भने तिनीहरूले किन आफूलाई सत्यताद्वारा सुसज्जित गर्ने प्रयास गर्दैनन्? आफूमा सत्यताको कमी छ भन्ने राम्ररी थाहा भएर पनि तिनीहरू किन सधैँ अगुवा बन्न मरिहत्ते गर्छन्? तिनीहरूसँग कुनै किसिमको प्रतिभा हुँदैन, तैपनि तिनीहरू जुनसुकै आधिकारिक पद लिन लजाउँदैनन्—तैँले अनुमति दिइस् भने तिनीहरूले सम्राट्को भूमिकासमेत लिनेछन्—तिनीहरू अति नै निर्लज्ज हुन्छन्! तिनीहरू जुनसुकै तहको नेतृत्वमा भए पनि तिनीहरूले वास्तविक काम गर्न सक्दैनन्, तैपनि तिनीहरूले कुनै विवेकको घोचाइ महसुस नगरी हैसियतका फाइदाहरू लिने आँट गर्छन्। के तिनीहरू पूर्ण रूपमा लाजविहीन मानिस होइनन् र? यदि तँलाई विदेशी भाषामा बोल्न लगाइएको भएर तैँले बोल्न नसकेको भए, त्यो बुझ्न सकिनेथ्यो; तर दर्शनहरू र परमेश्वरका अभिप्रायहरूसम्बन्धी सत्यताहरू आफ्नो मातृभाषामा सङ्गति गर्न त सम्भव हुनुपर्ने हो, होइन र? तीनदेखि पाँच वर्ष मात्र विश्वास गरेका मानिसहरूले सत्यता सङ्गति गर्न नसके, तिनीहरूलाई माफ गर्न सकिनेथ्यो। तर कतिले त लगभग २० वर्ष परमेश्वरमा विश्वास गरेका हुन्छन् तर अझै पनि दर्शनसम्बन्धी सत्यताहरू सङ्गति गर्न सक्दैनन्—के त्यस्ता मानिसहरू काम नलाग्ने व्यक्ति होइनन् र? के तिनीहरू केही न कामका होइनन् र? कसैले परमेश्वरमा विश्वास गरेको यति धेरै वर्ष भएको छ, र पनि उसलाई दर्शनहरूबारे सत्यताहरू कसरी सङ्गति गर्ने भन्ने थाहा छैन भन्ने सुन्दा म छक्क पर्छु। यो सुनेपछि तिमीहरू सबैलाई के लाग्छ? के यो अकल्पनीय कुरा होइन र? तिनीहरूले यतिका वर्ष आफ्नो काम कसरी गर्दै आएका छन्? सङ्गीत बनाउनका लागि मार्गदर्शन दिन लगाउँदा, तिनीहरूले त्यो जान्दैनन्, र यो विशेषज्ञ क्षेत्र अत्यन्तै गाह्रो हुन्छ, यो औसत व्यक्तिले बुझ्न सक्ने कुरा होइन भनेर भन्छन्। कला सिर्जना गर्ने काममा, वा चलचित्र निर्माणको काममा मार्गदर्शन गर्न लगाउँदा, तिनीहरूले यी कामहरू सम्हाल्न अत्यन्तै उच्च स्तरको प्राविधिक सीप आवश्यक पर्ने दाबी गर्छन्। अनुभवात्मक गवाही लेखहरू लेख्न लगाउँदा, तिनीहरू आफ्नो शैक्षिक स्तर अत्यन्तै न्यून भएको, आफूलाई ती कसरी लेख्ने थाहा नभएको, र आफूले यसमा कहिल्यै तालिम नलिएको भनेर भन्छन्। यदि तिनीहरूले यस्ता कामहरू गर्न सक्दैनन् भने, त्यो क्षम्य कुरा हो, तर सुसमाचारको काम अन्तर्निहित रूपमा तिनीहरूको कर्तव्यको पाटो नै हो। तिनीहरू यो कामप्रति योभन्दा बढी परिचित हुन सक्दैनन्—के तिनीहरूलाई यो सजिलो हुनुपर्ने होइन र? दर्शनहरूबारे सत्यताहरू सङ्गति गर्नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको कामका तीन चरणहरूको सत्यताबारे प्रस्ट रूपमा सङ्गति गर्नु हो। सुरुमा, मानिसहरूमा यो काम गरेको धेरै अनुभव हुँदैन र तिनीहरूले त्यति राम्ररी सङ्गति नगर्लान्, तर समय बित्दै जाँदा यो विषयमा तालिम लिएपछि, तिनीहरूले जति धेरै सङ्गति गर्छन्, तिनीहरू सङ्गति गर्नमा त्यति नै सिपालु हुन सक्छन्, जस्तो कि तिनीहरू व्यवस्थित तरिकाले, सटीक र स्पष्ट भाषामा, राम्रोसँग पदक्रम मिलाएर बोल्न सक्षम हुन्छन्। के यो अगुवाहरूले जान्नैपर्ने विशिष्टीकृत कामको एउटा निश्चित क्षेत्र होइन र? यो माछालाई जबरजस्ती जमिनमा जिउन लगाएजस्तो त होइन नि, हो त? (अहँ, होइन।) तर त्यस्ता झूटा अगुवाहरू यति सानो कामसमेत गर्न सक्षम हुँदैनन्। तैपनि तिनीहरूले अझै अगुवाका रूपमा सेवा गर्छन् त? तिनीहरूले अझै त्यो पद ओगटेर के गरिरहेका छन्? कति मानिसहरू भन्छन्, “म त्यस्तो व्यक्ति हुँ जसको सोचाइ भ्रमित र अस्पष्ट छ, जसमा तर्कको कमी छ, र म दर्शनहरूसँग सम्बन्धित सत्यताहरूबारे कुरा गर्न त्यति दक्ष छैनँ।” त्यसो हो भने, के तैँले सुसमाचारको काममा देखा पर्ने विभिन्न त्रुटि र विचलनहरू पहिचान गर्न र सुल्झाउन सक्छस्? यदि तैँले तिनलाई पहिचान गर्न सक्दैनस् भने, तिनलाई अवश्य नै सुल्झाउन पनि सक्दैनस्। जब झूटा अगुवाहरू सुसमाचारको कामको प्रभारी हुन्छन्, तब तिनीहरूले चेकजाँच वा सुपरिवेक्षणमा कुनै भूमिका खेल्दैनन्; तिनीहरूले आफ्ना मातहतका मानिसहरूलाई आफूले चाहेअनुसार काम गर्न दिन्छन्, जसले गर्दा जोकसैले आफूले चाहेअनुसार काम गर्न सक्छ, र जसलाई मन लाग्यो उसलाई प्रचार गर्न सक्छ—कुनै पनि सिद्धान्त वा मानकहरू बिलकुलै लागू हुँदैनन्। कति मानिसहरूले आवेगमा काम गर्छन्, कामकुरा गर्दा तिनीहरूमा समझ र खासगरी सिद्धान्तहरूको कमी हुन्छ, र तिनीहरूले लापरवाही रूपमा दुष्कर्म गर्छन्। झूटा अगुवाहरू यी समस्याहरू पत्ता लगाउन वा पहिचान गर्न पूर्ण रूपमा असफल हुन्छन्।
भनिन्छ, दक्षिण अमेरिका र अफ्रिकामा, सुसमाचार कार्यमार्फत केही गरिब मानिसहरूलाई झुन्डमा ल्याइएको छ। ती मानिसहरूको कुनै स्थिर आम्दानी छैन, र पर्याप्त रूपमा खान पाउने र बाँच्ने कुरामा समेत तिनीहरूलाई समस्याहरू हुन्छन्। यस्तोमा, के गर्नुपर्छ? अगुवाहरूले यसो भनेका थिए, “मानवजातिलाई मुक्ति दिनु परमेश्वरको अभिप्राय हो, र मुक्ति पाउनका लागि, सुरुमा खानेकुरा पर्याप्त हुनुपर्छ, होइन र? के परमेश्वरको घरले राहत प्रदान गर्नुपर्दैन र? यदि तिनीहरूले परमेश्वरमा विश्वास गर्छन् भने, हामी तिनीहरूलाई परमेश्वरका वचनका केही पुस्तकहरू बाँड्न सक्छौँ। तिनीहरूसँग कम्प्युटर वा फोन छैन, त्यसैले यदि तिनीहरूले कर्तव्य निर्वाह गर्छु भनेर अनुरोध गरे भने, हामीले के गर्नुपर्छ? केही सोधपुछ गर्नुपर्छ, र तिनीहरू सच्चा रूपमा कर्तव्य निभाउन इच्छुक छन् कि छैनन् भनी हेर्नुपर्छ।” सोधपुछ गर्दा थाहा पाइयो कि यी मानिसहरूसँग त्यतिबेला पैसा थिएन, तर यदि तिनीहरूसँग पैसा भएको र तिनीहरूले पेटभर खान पाएको भए तिनीहरू बाहिर गएर सुसमाचार प्रचार गर्न र आफ्नो कर्तव्य निभाउन इच्छुक हुनेथिए। यी परिस्थितिहरू बुझेपछि, अगुवाहरूले राहत रकम वितरण गर्न थाले, र त्यो हरेक महिना जारी गरे। यी मानिसहरूका लागि खानेबस्ने, र यहाँसम्म कि इन्टरनेट शुल्क, र फोन, कम्प्युटर, र अन्य उपकरणहरू किन्न सबै भुक्तानी परमेश्वरको घरको पैसाबाट गरिएको थियो। यी मानिसहरूलाई पैसा बाँड्नुको उद्देश्य सुसमाचार कार्य फैलाउनु नभई तिनीहरूको जीविकाका लागि राहत प्रदान गर्नु थियो। के यो सिद्धान्तहरूअनुरूप थियो त? (अहँ, थिएन।) के सुसमाचार प्रचार गर्दा र जीविकोपार्जनका माध्यमहरू नभएका गरिब मानिसहरू भेट्दा, तिनीहरूले कामको यो चरण स्विकार्न सक्छन् भने, तिनीहरूलाई सहयोग प्रदान गर्नुपर्छ भनेर परमेश्वरको घरले नियम बनाएको छ? के त्यस्तो कुनै सिद्धान्त छ? (छैन।) त्यसोभए, यी अगुवाहरूले कुन सिद्धान्तमा टेकेर तिनीहरूलाई राहत रकम बाँडेका थिए? के तिनीहरूले परमेश्वरका घरमा पैसा छ तर खर्च गर्ने ठाउँ छैन भन्ने सोचेर हो, कि तिनीहरूले यी मानिसहरूलाई अत्यन्तै दयनीय ठानेर हो, कि यी मानिसहरूले सुसमाचार प्रचार गर्न मद्दत गर्नेछन् भन्ने आशाले हो? तिनीहरूको अभिप्राय वास्तवमा के थियो? तिनीहरूले के हासिल गर्ने प्रयास गरिरहेका थिए? फोन, कम्प्युटर, र जीवनयापनको खर्च बाँड्ने विषयमा, तिनीहरूले ठूलो जोस देखाए; तिनीहरूलाई अरूलाई फाइदा दिने यस्तो काममा संलग्न हुँदा रमाइलो लाग्थ्यो, किनभने यसले गर्दा तिनीहरूले यी मानिसहरूलाई चापलुसी गर्न र तिनीहरूको मन जित्न सक्थे, र तिनीहरू यस्ता कामहरूमा विशेष रूपमा लागिपर्थे, झन्झन् अगाडि सर्थे र तिनीहरूमा अलिकति पनि लाज हुन्थेन। यो त परमेश्वरको पैसा प्रयोग गरेर मानिसहरूलाई चापलुसी गर्नु र तिनीहरूको स्नेह किन्नु हो। वास्तवमा, यी गरिब व्यक्तिहरूले परमेश्वरमा साँचो रूपमा विश्वास गर्दैनथे; तिनीहरू त आफ्नो पेट भर्ने र जिउने उपाय खोज्ने प्रयास मात्रै गरिरहेका थिए। त्यस्ता मानिसहरू सत्यता वा मुक्ति प्राप्त गर्न खोजिरहेका थिएनन्। के परमेश्वरले यी मानिसहरूलाई मुक्ति दिनुहुन्थ्यो होला त? कतिपय त कर्तव्य पूरा गर्न इच्छुक भए पनि सच्चा थिएनन्, बरु तिनीहरू फोन र कम्प्युटरप्रतिको, जीवनका सुविधाप्रतिको चाहनाद्वारा प्रेरित थिए। तर झूटा अगुवाहरूले त्यसबारे कुनै वास्ता गरेनन्; कुनै व्यक्ति कर्तव्य पूरा गर्न इच्छुक थियो भने, तिनीहरूले त्यो व्यक्तिको हेरचाह गर्थे, आवास र खानाका लागि पैसा दिने मात्र होइन, कम्प्युटर, फोन, र विभिन्न उपकरणहरूसमेत किनेर दिन्थे। तर यी मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गरे पनि कुनै किसिमको नतिजा हासिल गरेनन्। के ती झूटा अगुवाहरूले पैसा फ्याँक्ने काम मात्रै गरिरहेका थिएनन् र? के तिनीहरूले आफ्नो उदारता देखाउन परमेश्वरको घरको पैसा प्रयोग गरिरहेका थिएनन् र? (हो।) के अगुवा र कामदारहरूले गर्नुपर्ने काम यही हो त? (होइन।) के यिनीहरू झूटा अगुवा थिएनन् र? झूटा अगुवाहरू असलपन, उपकार, र दयाको नाटक गर्न मन पराउँछन्। यदि तँ दयालु हृदय देखाउन चाहन्छस् भने, ठीकै छ, आफ्नो पैसा प्रयोग गर्! यदि तिनीहरूसँग कुनै लुगा छैन भने, आफ्नो लुगा खोलेर तिनीहरूलाई दे; परमेश्वरको भेटी खर्च नगर्! परमेश्वरका भेटीहरू सुसमाचार प्रचार गर्ने कामका लागि हुन्, कल्याणकारी लाभहरू वितरण गर्नका लागि होइनन्, र अवश्य नै गरिबहरूलाई सहयोग प्रदान गर्नका लागि पनि होइनन्। परमेश्वरको घर कुनै कल्याणकारी संस्था होइन। झूटा अगुवाहरू वास्तविक काम गर्न असमर्थ हुन्छन्, र तिनीहरू सत्यता वा जीवन आपूर्ति गर्न अझै कम सक्षम हुन्छन्। तिनीहरू मानिसहरूलाई चापलुसी गर्न र आफ्नो प्रतिष्ठा र हैसियत कायम राख्नका लागि परमेश्वरका भेटीहरू प्रयोग गरेर कल्याणकारी लाभहरू वितरण गर्नमा मात्रै ध्यान दिन्छन्। तिनीहरू लाज नभएका फजुलखर्ची हुन्, होइनन् र? यदि त्यस्ता झूटा अगुवाहरू पत्ता लागेमा, के कसैले तिनीहरूलाई समयमै खुलासा गर्न र रोक्न सक्छ? तिनीहरूलाई रोक्न कोही खडा भएन। यदि माथिले पत्ता नलगाएको र यसलाई नरोकेको भए, परमेश्वरको पैसा प्रयोग मानिसहरूलाई लाभहरू प्रदान गर्ने अभ्यास कहिल्यै रोकिने थिएन। ती गरिब मानिसहरू सधैँ अझ बढी चाहन्छन् र झन्झन् परसम्म हात फैलाउँछन्। तिनीहरू अतृप्त हुन्छन्; तैँले जति नै दिए पनि त्यो कहिल्यै पर्याप्त हुँदैन। परमेश्वरमा सच्चा रूपमा विश्वास गर्नेहरूले मुक्ति पाउनका लागि आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र करियर छाड्न सक्छन्, र तिनीहरूलाई जीवनमा कठिनाइहरू आइपरे पनि तिनीहरूले परमेश्वरको घरबाट निरन्तर रूपमा कामकुरा नमागी तिनलाई आफै समाधान गर्ने उपायहरू खोज्न सक्छन्। तिनीहरू आफूले गर्न सक्ने कुरा आफै समाधान गर्छन्, र आफूले समाधान गर्न नसक्ने कुराका लागि परमेश्वरलाई प्रार्थना गर्छन् र अनुभव गर्नका लागि आफ्नो विश्वासमा भरोसा गर्छन्। जो सधैँ परमेश्वरबाट माग्छन्, र परमेश्वरको घरले आफ्नो जीविकोपार्जन र भरणपोषण प्रदान गरोस् भन्ने अपेक्षा गर्छन्, तिनीहरूमा समझ हुँदै हुँदैन! तिनीहरू कुनै कर्तव्य निर्वाह गर्न चाहँदैनन् तर पनि जीवनको आनन्द लिने इच्छा राख्छन्, तिनीहरूले हात तेर्स्याएर परमेश्वरको घरबाट विभिन्न कुराहरू माग्न मात्रै जानेका हुन्छन्, र त्यसपछि पनि तिनीहरूलाई कहिल्यै पुग्दैन। के तिनीहरू भिखारी होइनन् र? अनि झूटा अगुवाहरू—यी पटमूर्खहरूले—लाभहरू दिइरहे, र रोकेनन्, निरन्तर मानिसहरूलाई खुसी पार्दै आफ्नो कृतज्ञता कमाइरहे, र त्यस्ता कार्यहरूले परमेश्वरलाई महिमा दिन्छन् भन्नेसमेत सोचे। झूटा अगुवाहरूले सबैभन्दा बढी आनन्द लिएर गर्ने कामकुरा यिनै हुन्। त्यसोभए, के यी समस्याहरू पहिचान गर्न सक्ने, यी समस्याहरूको सार छर्लङ्गै देख्न सक्ने कोही छ? धेरैजसो अगुवाहरू यस्तो सोच्दै आँखा चिम्लिदिन्छन्, “चाहे जे भए पनि, म सुसमाचारको कामको प्रभारी होइनँ, त्यसैले मैले किन यी कुराहरूबारे वास्ता गर्ने? मेरो पैसा खर्च भएको होइन। मेरो आफ्नै खल्तीको पैसा यथावत् रहुन्जेल, ठीकै छ। तिमीहरूले जसलाई मन लाग्छ उसलाई दिन सक्छौ, र मसँग यसको के सम्बन्ध छ र? आखिर त्यो पैसा मेरो थैलीमा आइपुग्ने पनि त होइन।” यस्ता गैरजिम्मेवार मानिसहरू धेरै छन्, तर कतिले चाहिँ परमेश्वरको घरको काममा साथ दिन सक्छन् त?
अहिले, विदेशमा सुसमाचारको काम विश्वव्यापी रूपमा अघि बढिरहेको छ। कतिपय देशमा सत्यता स्विकार्न सक्ने मानिसहरू धेरै छन्, जबकि अरूमा अलि कम क्षमताको जनमानस छ, जसले गर्दा सत्यता स्विकार्न सक्ने मानिसहरू थोरै मात्र छन्। कतिपय देशमा विश्वासको स्वतन्त्रता छैन, र त्यसले त्यहाँ साँचो मार्ग र परमेश्वरको कामप्रति दृढ प्रतिरोध हुन्छ , र त्यति धेरै मानिसहरूले सत्यता स्विकार्न सक्दैनन् भन्ने देखाउँछ। साथै, कति देशका मानिसहरू अत्यन्तै पिछाडिएका हुन्छन् र तिनीहरूको क्षमता यति कमजोर हुन्छ कि जसरी सङ्गति गरे पनि तिनीहरूले सत्यता बुझ्न सक्दैनन्, र त्यहाँका मानिसहरू सत्यताको स्तरभन्दा धेरै तल भएझैँ लाग्छन्। त्यस्ता ठाउँमा सुसमाचार प्रचार गर्नु हुँदैन। तर, सुसमाचार प्रचार गर्नेहरूले समस्याको सार देख्न सक्दैनन्; तिनीहरू सत्यता स्विकार्न सक्नेहरूलाई प्रचार गर्दैनन्, बरु कठिन मानिसहरू खोज्न र सजिलाहरूलाई बेवास्ता गर्न जिद् कस्छन्। तिनीहरू पहिले नै सुसमाचारको काम फैलिइरहेको र प्रचार गर्न सजिला ठाउँहरूमा प्रचार गर्दैनन्। बरु, तिनीहरू ती गरिब र पिछडिएका स्थानहरूमा सुसमाचार प्रचार गर्न जिद्दी गर्छन्, र सबैभन्दा कमजोर क्षमता भएका र सत्यता बुझ्न नसक्ने मानिसहरूका समूहमा, अनि परमेश्वरप्रति सबैभन्दा बढी धार्मिक धारणा र सबैभन्दा बढी प्रतिरोध भएका जातीय समूहमा प्रचार गर्छन्। के यो विचलन होइन र? उदाहरणका लागि, यहूदी धर्म, र गहिरो रूपमा जरा गाडेका केही जातीय धर्महरूलाई लिऊँ, जसले इसाई धर्मलाई शत्रुका रूपमा लिन्छन् र सताउनेसमेत गर्छन्। यस्ता देश र जातीय समूहहरूमा सुसमाचार प्रचार गर्नु नै हुँदैन। किन हुँदैन? किनभने त्यहाँ प्रचार गर्नु व्यर्थ हुन्छ। तैँले सारा जनशक्ति, आर्थिक स्रोतसाधन, र भौतिक संसाधन समर्पित गरिस् भने पनि, तीन, पाँच, वा दश वर्ष बित्दा पनि कुनै महत्त्वपूर्ण नतिजा नआउन सक्छ। यस अवस्थालाई ध्यान दिँदा, के गर्न सकिन्छ? सुरुमा, राम्ररी नबुझेरै व्यक्तिले प्रयास गर्न सक्छ; तर ठूलो मूल्य चुकाएर तिनीहरूलाई सुसमाचार प्रचार गर्दा गर्दा पनि अन्ततः राम्रा परिणामहरू प्राप्त नहुन सक्ने परिस्थितिहरू देखेपछि, व्यक्तिले अर्को मार्ग रोज्नुपर्छ, एउटा त्यस्तो मार्ग जसले नतिजाहरू दिन सकोस्। के यो अगुवा र कामदारहरूले छर्लङ्गै देख्नुपर्ने कुरा होइन र? (हो।) तर झूटा अगुवाहरूले यो कुरा बुझ्दैनन्। विदेशमा सुसमाचार प्रचार गर्न कहाँ सुरु गर्ने भन्ने विषयमा, कतिले भन्छन्, “इस्राएलबाट सुरु गर। इस्राएल परमेश्वरको कामका पहिलो दुई चरणहरूको आधार भएको हुनाले, यसको प्रचार त्यहाँ नै गरिनुपर्छ। जति नै गाह्रो भए पनि हामी तिनीहरूलाई प्रचार गर्न निरन्तर लागिरहनुपर्छ।” तर, लामो समय प्रचार गरेपछि पनि कुनै महत्त्वपूर्ण परिणामहरू आउँदैनन्, जसले निराशामा पुर्याउँछ। यस्तो बेला अगुवाहरूले के गर्नुपर्छ? यदि क्षमता र बोझ भएको अगुवा हुन्थ्यो भने, उसले यसो भन्नेथ्यो, “हाम्रो सुसमाचार प्रचारमा कुनै सिद्धान्त छैन; हामीले परिस्थितिअनुसार अघि बढ्न जानेकै छैनौँ, बरु हामी कामकुरालाई आफ्नै कल्पनाहरूका आधारमा मात्रै हेर्छौँ—हामी अत्यन्तै अनुभवहीन भयौँ! यी मानिसहरूको मूर्खता, जिद्दीपन, र हास्यास्पद अवस्था हामीले अपेक्षा गरेका कुरा थिएनन्। हामीले त तिनीहरूले हजारौँ वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएका हुनाले परमेश्वरको सुसमाचार सुन्ने पहिलो तिनीहरू नै हुनुपर्छ भन्ने सोचेका थियौँ, तर हामीले गलत सोचेका रहेछौँ; तिनीहरू अत्यन्तै हास्यास्पद छन्! वास्तवमा, जब परमेश्वरले छुटकाराको काम गरिरहनुभएको थियो, उहाँले तिनीहरूमाथि पहिले नै हार मानिसक्नुभएको रहेछ। हामी अहिले तिनीहरूकहाँ गएर प्रचार गर्नु भनेको व्यर्थ प्रयास गर्नु हो; यो व्यर्थमा परिश्रम गर्नु र मूर्ख व्यवहार गर्नु हो। हामीले परमेश्वरका अभिप्रायहरूलाई गलत बुझेका छौँ। परमेश्वरले त यो मामलामा काम गर्नुहुन्न भने हामी मानिसहरूले कुन उपायले गर्न सक्छौँ र? हामीले प्रयास त गरेका छौँ, तर हामीले जसरी प्रचार गरे पनि तिनीहरूले साँचो मार्ग स्विकार्दैनन्। हामीले अहिलेका लागि यसलाई छाड्नुपर्छ, र तिनीहरूलाई पन्छाउनुपर्छ, र तत्कालका लागि तिनीहरूलाई कुनै ध्यान दिनु हुँदैन। यदि खोजी गर्न इच्छा गर्नेहरू छन् भने, हामी तिनीहरूलाई स्वागत गर्नेछौँ र तिनीहरूलाई परमेश्वरको कामको गवाही दिनेछौँ। यदि खोजी गर्ने कोही छैन भने, हामीले सक्रिय रूपमा तिनीहरूलाई खोज्दै हिँड्नुपर्दैन।” के यो सुसमाचार प्रचार गर्ने सिद्धान्त होइन र? (हो।) त्यसोभए, के झूटो अगुवाले सिद्धान्तहरू पालना गर्न सक्छ? (सक्दैन।) झूटा अगुवाहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूले समस्याको सार छर्लङ्गै देख्न सक्दैनन्; तिनीहरूले भन्नेछन्, “परमेश्वरले इस्राएलीहरू उहाँका चुनिएका मानिसहरू हुन् भनेर भन्नुभएको छ। हामीले तिनीहरूबारे कहिल्यै पनि हार मान्नु हुँदैन। तिनीहरू नै पहिला आउनुपर्छ; हामीले अरू देशका मानिसहरूलाई प्रचार गर्नुभन्दा पहिले तिनीहरूलाई नै प्रचार गर्नुपर्छ। यदि परमेश्वरको काम इस्राएलमा फैलियो भने, त्यो कति ठूलो महिमा हुन्थ्यो होला! परमेश्वरले इस्राएलबाट पूर्वमा महिमा ल्याउनुभयो, र हामीले त्यो महिमा पूर्वबाट इस्राएलमा फिर्ता ल्याउनुपर्छ, र परमेश्वर फर्केर आउनुभएको छ भन्ने कुरा तिनीहरूलाई देखाउनुपर्छ!” के यो नारा मात्रै होइन र? के यो तथ्यहरूअनुरूप छ? आत्मिक बुझाइ नभएका मानिसहरू यही भन्छन्। वास्तविक काम नगर्ने ती झूटा अगुवाहरू चाहिँ के भन्छन्? तिनीहरूले यी कुरालाई ध्यानै दिँदैनन्। सुसमाचार प्रचार गर्ने मानिसहरूलाई यो कुराले लामो समयदेखि समस्यामा पारेको छ, तिनीहरू प्रचार गर्न छोड्ने र प्रचार जारी राख्नेबीच विभाजित छन्, र कसरी अभ्यास गर्ने भनेर अनिश्चित छन्। झूटा अगुवाहरू यो समस्या हो भन्नेबारे पूर्णतया अनजान हुन्छन्। यी मानिसहरूले बाटो नभएकोमा चिन्ता गरेको देख्दा, तिनीहरूले भन्छन्, “चिन्ता गर्नुपर्ने कारण के छ र? हामीसँग सत्यता र अनुभवात्मक गवाही छ; बस तिनीहरूलाई प्रचार गर!” कसैले भन्छ, “तपाईंले बुझ्नुहुन्न, यी मानिसहरूलाई प्रचार गर्न निकै गाह्रो छ।” जब काममा महत्त्वपूर्ण समस्याहरू देखा पर्छन् र तिनलाई समाधान गर्न अगुवाहरू नै चाहिन्छ, तब अगुवाहरूले अझै पनि नाराहरू मात्रै फलाकिरहेका र खोक्रा शब्दहरू मात्रै बोलिरहेका हुन्छन्। के अगुवाहरूबाट अपेक्षा गरिने व्यवहार यही हो त? त्यस्ता सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई प्रचार गर्नुपर्छ कि पर्दैन भनेर सोधियो भने, तिनीहरूले भन्छन्, “सबैलाई प्रचार गरिनुपर्छ, र विशेष गरी इस्राएलीहरूलाई त अवश्य नै प्रचार गरिनुपर्छ।” के तिमीहरूले यी शब्दहरूमा कुनै समस्या सुन्छौ? के तिनीहरूलाई यो एउटा विचलन हो, सुसमाचारको काममा तिनीहरूले सुधार गर्नुपर्ने त्रुटि हो भन्ने थाहा हुन्छ? यी केही न कामका मानिसहरूलाई थाहा हुँदैन र तिनीहरू अझै पनि उत्कृष्ट सुनिने भाषा फलाक्दै र नाराहरू घन्काउँदै बस्छन्, तिनीहरू साँच्चै नै बेकारका कसिङ्गर हुन्! तैपनि तिनीहरूले आफू बाठो छु, आफूसँग क्षमता छ र आफू चलाख छु भन्ने सोच्छन्। काममा यस्तो ठूलो त्रुटि र विचलन देखा परेको छ भन्ने कुरा तिनीहरूलाई थाहासमेत हुँदैन; के तिनीहरूले त्यसलाई सुल्झाउन सुरु गर्न नै सक्छन् र? त्यो सम्भावना त झनै कम हुन्छ। सुसमाचार प्रचार गर्नेहरू सबै अत्यन्तै चिन्तित हुन्छन्; सुसमाचारको काममा असर परेको हुन्छ, बाधा आएको हुन्छ, र त्यो सहज रूपमा अघि बढ्न सक्दैन, र अचम्मको कुरा त के हुन्छ भने, काममा भइरहेको विचलनबारे झूटा अगुवाहरूलाई थाहासमेत हुँदैन। काममा समस्या वा विचलनहरू आइपर्दा, धेरैजसो मानिसहरूले प्रायजसो वास्ता गर्दैनन्, ध्यान दिँदैनन्, र अत्यन्तै बेपर्बाह भएर गलत शैलीमा जिद्दीपूर्वक लागिरहन्छन्। यदि अगुवा र कामदारहरूले पनि अवस्थालाई तुरुन्तै बुझ्दैनन् र बोध गर्दैनन् भने, समस्या गम्भीर बनेर त्यसले कामको प्रगतिमा असर पार्दासम्म, र धेरैजसो मानिसहरूले समस्या पत्ता लगाउन सक्ने हुँदासम्म, अगुवा र कामदारहरू अकमक्क हुन्छन्। यो अगुवा र कामदारहरूको जिम्मेवारीमा लापरवाहीका कारण भएको हो। त्यसोभए, तिनीहरू यस्ता गम्भीर परिणामहरूबाट कसरी जोगिन सक्छन्? अगुवा र कामदारहरूले नियमित रूपमा कामको जाँच गर्नुपर्छ, र कामको वर्तमान स्थिति र प्रगतिबारे तुरुन्तै बुझ्नुपर्छ। यदि कामको प्रभावकारिता उच्च नभएको भेटिएमा, तिनीहरूले कुन भागमा कमीकमजोरी र समस्याहरू छन् भनेर हेर्नुपर्छ, र मनन गर्नुपर्छ: “अहिले, यी मानिसहरू व्यस्त देखिन्छन्, तर किन कुनै स्पष्ट प्रभावकारिता छैन? सुसमाचार समूहको काम हेरौँ त; धेरै मानिसहरूले हरेक दिन सुसमाचार प्रचार गर्छन् र गवाही दिन्छन्, साथै कतिपय मानिसहरूले पनि यस काममा सहकार्य गर्छन्, तर पनि किन हरेक महिना त्यति धेरै मानिसहरू प्राप्त हुँदैनन्? कुन भागमा समस्या छ? समस्या कसले पैदा गरिरहेको छ? यो विचलन कसरी पैदा भयो? यो कहिले सुरु भयो? म हरेक समूहमा जानुपर्छ, र मैले अहिले सबैले के गरिरहेका छन्, वर्तमानमा सुसमाचार स्विकार्ने सम्भावना भएकाहरू कस्ता छन्, र सुसमाचार सही दिशामा प्रचार भइरहेको छ कि छैन भनेर पत्ता लगाउनुपर्छ; मैले यो सबै कुरा पत्ता लगाउनुपर्छ।” काममा हुने विचलन र त्रुटिहरू परामर्श, सङ्गति, र छलफलमार्फत क्रमिक रूपमा स्पष्ट हुन्छन्। कुनै समस्या पत्ता लागेपछि, यसलाई त्यतिकै छोड्नु हुँदैन; यसलाई समाधान गर्नैपर्छ। त्यसोभए, कस्ता प्रकारका अगुवाहरूले काममा देखा पर्ने केही समस्या, विचलन, र त्रुटिहरू पत्ता लगाउन सक्छन्? ती अगुवाहरूले बोझ लिनुपर्छ, तिनीहरू लगनशील हुनुपर्छ र निश्चित कामको हरेक सानो-सानो कुरामा संलग्न हुनुपर्छ; तिनीहरूले हरेक पाटोको अनुगमन गर्नुपर्छ, त्यसलाई बुझ्नु र बोध गर्नुपर्छ; सबैले के गरिरहेका छन्, कुन काम गर्न कति जना मानिसहरू उपयुक्त हुन्छन्, सुपरिवेक्षकहरू को-को छन्, यी मानिसहरूको क्षमता के-कस्तो छ, र तिनीहरूले आफ्नो काम राम्ररी गरिरहेका छन् कि छैनन्, र तिनीहरूको प्रभावकारिता कस्तो छ, काम कसरी अघि बढिरहेको छ, आदि इत्यादि कुरा पत्ता लगाउनुपर्छ—यी सबै कुरा निश्चित गरिनुपर्छ। यसका साथै, सुसमाचारको कामको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको सुसमाचार प्रचारकहरूमा सत्यता छ कि छैन, तिनीहरूले मानिसहरूका धारणा र समस्याहरू समाधान गर्न स्पष्ट रूपमा दर्शनहरूका सत्यताहरू सङ्गति गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूले सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई पूर्णतया विश्वस्त गराउन तिनीहरूमा जे कुराको कमी छ त्यो आपूर्ति गर्न सक्छन् कि सक्दैनन्, र सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूले परमेश्वरको आवाज अझ धेरै सुन्न सकून् भन्नका लागि तिनीहरूले कुराकानीको शैलीमा सत्यता सङ्गति गर्न सक्छन् कि सक्दैनन् भन्ने हो। उदाहरणका लागि, यदि सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्तिले परमेश्वरको देहधारणको महत्त्वसँग सम्बन्धित सत्यताहरूबारे जान्न चाहन्छ, तर कुनै निश्चित सुसमाचार प्रचारकले सधैँ परमेश्वरको कामको महत्त्वबारे र धार्मिक धारणाहरू भनेका के हुन् भन्नेबारे मात्रै कुरा गर्छ भने, के यो समस्या होइन र? यदि कुनै व्यक्तिले कसरी मुक्ति पाउन सकिन्छ र मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापन योजनाको विषयवस्तु के हो भन्नेबारे मात्रै जान्न चाहन्छ भने, के यो परमेश्वरको कामका तीन चरणहरूसँग सम्बन्धित दर्शन-सत्यताहरूबारे सङ्गति गर्ने बेला भएको होइन र? (हो।) तर त्यो सुसमाचार प्रचारकले परमेश्वरको सजाय र न्यायबारे, र मानिसहरूको भ्रष्ट स्वभावमा अहङ्कार, छल, र दुष्टता हुन्छन् भन्ने उहाँको खुलासा र अरू त्यस्तै विषयहरूबारे मात्रै कुरा गरिरहन्छ। अर्को पक्षले परमेश्वरको काम स्विकार्नुभन्दा पहिले नै, सुसमाचार प्रचारकले ऊसँग सजाय र न्यायबारे कुरा गर्न थाल्छ, र उसका भ्रष्ट स्वभावहरू खुलासा गर्छ। परिणामस्वरूप, त्यो व्यक्तिले वाक्क मान्छ, र चाहेको कुरा प्राप्त गर्दैन, र उसका समाधान गरिनुपर्ने समस्याहरू समाधान हुँदैनन्; उसको रुचि हराउँछ र उसले अनुसन्धान जारी राख्न चाहँदैन। के यो सुसमाचार प्रचारकको समस्या होइन र? त्यो सुसमाचार प्रचारकले सत्यता बुझेको हुँदैन, वा उसमा आत्मिक बुझाइको कमी हुन्छ, त्यसकारण अर्को व्यक्तिलाई के चाहिन्छ भन्ने कुरा उसलाई पटक्कै थाहा हुँदैन, उसले बोल्दा ठ्याक्कै कुरा भन्न सक्दैन, लम्बे-चौडे कुरा गरिरहन्छ, र सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्तिका समस्याहरू पटक्कै समाधान गर्दैन—उसले यसरी सुसमाचार प्रचार गरेर कसरी मानिसहरू प्राप्त गर्न सक्छ र?
झूटा अगुवाहरूले आफ्नो काममा आउन सक्ने जुनकुनै समस्यालाई बेवास्ता गर्छन्। सुसमाचारको काममा जस्तोसुकै समस्याहरू पैदा भए पनि, र दुष्ट मानिसहरूले यो काममा जति बाधा र असर पारे पनि, तिनीहरूले यो कुनै पनि कुराप्रति ध्यान दिँदैनन्, मानौँ तिनीहरूसँग यसको कुनै सम्बन्ध छैन। झूटा अगुवाहरू आफ्नो काममा अन्योलमा हुन्छन्; कुनै निश्चित व्यक्तिले आफ्नो कर्तव्यमा कुनै परिणामहरू प्राप्त गरे पनि नगरे पनि वा ऊ सिद्धान्तहरूअनुरूप भए पनि नभए पनि, उसले सुपरिवेक्षण वा जाँच गर्दैन, र जसले गर्दा परिणामहरू जेसुकै भए पनि मानिसहरूले स्वतन्त्र रूपमा काम गर्न पाउँछन्। यसले गर्दा सुसमाचारको काममा देखा पर्ने विचलन र त्रुटिहरू कहिल्यै समाधान हुँदैनन्, र साँचो मार्ग खोज्ने असङ्ख्य मानिसहरू पछि हट्छन्, र तिनीहरूलाई सक्दो चाँडो परमेश्वरसामु ल्याउन सकिँदैन। कति मानिसहरू त परमेश्वरको आखिरी दिनहरूको काम स्विकारेपछि यसो भन्छन्, “खासमा मलाई कसैले तीन वर्ष पहिले सुसमाचार प्रचार गरेको थियो। मैले यसलाई स्विकार्न नचाहेको वा नकारात्मक प्रचारबाजीमा विश्वास गरेको होइन; बरु कुरा के हो भने, मलाई प्रचार गर्ने व्यक्ति अत्यन्तै गैरजिम्मेवार थियो। उसले मैले सोधेका प्रश्नहरूका उत्तर दिन सकेन, र मैले सत्यता खोजी गर्ने क्रममा, उसले सङ्गति दिँदा ऊ स्पष्ट थिएन, उसले केही व्यर्थका शब्दहरू मात्रै बोल्थ्यो। परिणामस्वरूप, निराश भएर जानेबाहेक मैले केही गर्न सकिनँ।” तीन वर्षपछि, अनलाइनमा अनुसन्धान गरेर दाजुभाइ-दिदीबहिनीहरूसँग खोजी र सङ्गति गरेपछि, यी मानिसहरूले आफ्ना हृदयका सबै धारणा र अन्योलहरू एकएक गरी समाधान गर्छन्, र परमेश्वर देखा परेर उहाँले काम गरिरहनुभएको छ भन्ने कुरा पूर्ण रूपमा पुष्टि गर्छन्, र यसलाई स्विकार्छन्। यो तिनीहरूले आफ्नै खोजी र अनुसन्धानमार्फत परमेश्वरको काम स्विकारेको कुरा हो। यदि सुसमाचार प्रचार गर्ने व्यक्तिले स्पष्ट रूपमा सत्यता सङ्गति गरेर तिनीहरूका धारणा र प्रश्नहरू तीन वर्ष पहिले नै समाधान गर्न सकेको भए, तिनीहरूले यसलाई तीन वर्ष पहिले नै स्विकार्नेथिए। यो तीन वर्षमा जीवन वृद्धिमा कति ढिलाइ भयो! यसलाई सुसमाचार प्रचार गर्नेहरूले कर्तव्यमा लापर्बाही गरेको रूपमा लिइनुपर्छ र यो कुरा तिनीहरूले सत्यता नबुझ्नुसँग सिधै सम्बन्धित छ। कतिपय सुसमाचार प्रचारकहरू आफूलाई सत्यताले सुसज्जित गर्ने कार्यमा ध्यान दिँदै दिँदैनन्, केही धर्मसिद्धान्तहरू मात्रै फलाक्न सक्छन् तर मानिसहरूका धारणा वा वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्। परिणामस्वरूप, धेरै मानिसहरूले सुसमाचार सुनेपछि त्यसलाई समयमै स्विकार्दैनन्, जसले गर्दा तिनीहरूको जीवन वृद्धिमा धेरै वर्ष ढिलाइ हुन्छ। सुसमाचारको कामका प्रभारी अगुवाहरूको अपर्याप्त मार्गदर्शन र निरीक्षणका कारण तिनीहरू नै यसको जिम्मेवार छन् भनेर भन्नैपर्छ। यदि अगुवा र कामदारहरूले साँच्चै नै बोझ बोकेका हुन्थे र तिनीहरूले अलिक बढी कष्ट सहन, सत्यताबारे अझ बढी सङ्गति अभ्यास गर्न, र सत्यताका सबै पक्षहरूमा स्पष्ट सङ्गति गर्दै अलिक बढी बफादारी देखाउन सक्थे, सत्यताका सबै पक्षहरूमा प्रस्ट सङ्गति गर्थे, र यसले गर्दा सुसमाचार प्रचारकहरूले सत्यता सङ्गति गरेर मानिसहरूका धारणा र शङ्काहरू समाधान गर्न गर्न सक्थे भने, सुसमाचार प्रचार गर्नुका परिणामहरू झन्झन् राम्रा हुँदै जानेथियो। यसले साँचो मार्ग अनुसन्धान गरिरहेका अझै धेरै मानिसहरूलाई परमेश्वरको काम चाँडै स्विकार्न र चाँडो परमेश्वरसामु फर्केर उहाँको मुक्ति ग्रहण गर्न मद्दत गर्नेथियो। झूटा अगुवाहरूले आफ्ना कर्तव्यमा गम्भीर लापर्बाही गर्ने, वास्तविक काम नगर्ने वा कामको अनुगमन र निरीक्षण नगर्ने, र तिनीहरूले समस्याहरू समाधान गर्नका लागि सत्यता सङ्गति गर्न नसक्ने भएर नै मण्डलीको काममा ढिलाइ हुन्छ। अवश्य नै, यसको कारण के पनि हो भने, यी झूटा अगुवाहरू हैसियतका लाभहरूमा लिप्त हुन्छन्, सत्यताबिलकुलै पछ्याउँदैनन्, र सुसमाचार फैलाउने कामको अनुगमन, सुपरिवेक्षण, वा निर्देशन गर्न अनिच्छुक हुन्छन्—जसले गर्दा त्यो कामको प्रगति ढिलो हुन्छ, र विभिन्न मानव-सिर्जित विचलन, मूर्खता, र असावधान गलत कार्यहरू तुरुन्तै सच्याउन वा समाधान गर्न सकिँदैन, जसले गर्दा सुसमाचार फैलाउने कामको प्रभावकारितामा गम्भीर असर पुग्छ। माथिले यी समस्याहरू पत्ता लगाएर अगुवा र कामदारहरूलाई ती समाधान गर्न लगाइएपछि मात्रै यी समस्याहरू समाधान हुन्छन्। अन्धा मानिसहरूजस्तै, यी झूटा अगुवाहरूले कुनै पनि समस्या पत्ता लगाउन सक्दैनन्, र तिनीहरूको कामकुरा गराइमा सिद्धान्तहरू पटक्कै हुँदैनन्, तर पनि तिनीहरूले आफ्ना गल्तीहरू महसुस गर्न सक्दैनन्, अनि माथिले तिनीहरूको काटछाँट गरेपछि मात्र तिनीहरूले आफ्ना गल्तीहरू स्विकार्छन्। यी झूटा अगुवाहरूले पुर्याएको नोक्सानीको जिम्मेवारी कसले लिन सक्छ? तिनीहरूलाई पदबाट निकालियो नै भने पनि, तिनीहरूले पुर्याएको घाटालाई कसरी परिपूर्ति गर्न सकिन्छ? तसर्थ, कुनै पनि वास्तविक काम गर्न नसक्ने झूटा अगुवाहरू पत्ता लागेमा, तिनीहरूलाई तुरुन्तै बर्खास्त गरिनुपर्छ। कतिपय मण्डलीहरूमा सुसमाचारको काम निकै ढिलो रूपमा अघि बढ्छ, र यसो हुनुको कारण भनेकै झूटा अगुवाहरूले वास्तविक काम नगर्नु, साथै तिनीहरूको लापरवाही र गल्तीका धेरै घटनाहरू हुनु हो।
झूटा अगुवाहरूले गर्ने विभिन्न किसिमका सबै काममा, वास्तवमा तिनीहरूले समाधान गर्नुपर्ने, र सच्याउनुपर्ने र सुधार्नुपर्ने अनेकौँ समस्या, विचलन, र त्रुटिहरू हुन्छन्। तर, यी झूटा अगुवाहरूमा बोझको भावना नहुने, र तिनीहरू कुनै वास्तविक काम नगरी आफ्नो हैसियतका फाइदाहरूमा मात्रै लिप्त हुने हुनाले, तिनीहरूले कामलाई पूरै भद्रगोल पार्छन्। कति मण्डलीहरूमा त मानिसहरूको मन मिलेको हुँदैन, र सबैले एकअर्कामा शङ्का गर्ने, एकअर्काबाट सतर्क रहने, र एकअर्कालाई कमजोर पार्ने गर्छन्, र सँगसँगै तिनीहरू परमेश्वरको घरले हटाइदेला भनेर डराउँछन्। यी अवस्थाहरू सामना गर्दा, झूटा अगुवाहरू तिनलाई समाधान गर्न अघि बढ्दैनन्, र कुनै पनि वास्तविक र खास काम गर्न असफल हुन्छन्। मण्डलीको काम ठप्प हुन्छ, तैपनि झूटा अगुवाहरू यो कुराले बिलकुलै निराश हुँदैनन्, र तिनीहरू अझै पनि आफूले धेरै काम गरेको छु र मण्डलीको काममा ढिलाइ गराएको छैन भन्ने विश्वास गर्छन्। त्यस्ता झूटा अगुवाहरू आधारभूत रूपमा जीवन आपूर्ति गर्ने काम गर्न असमर्थ हुन्छन्, न त तिनीहरूले सत्यताअनुसार वास्तविक समस्याहरू नै समाधान गर्न सक्छन्। तिनीहरूले माथिबाट विशेष रूपमा अह्राइएको र तोकिएको थोरै सामान्य मामलाका काम मात्रै गर्छन्, र तिनीहरूको काम भनेकै माथिका लागि मात्रै हो जस्तो गर्छन्। माथिले सधैँ जरुरी बनाएको मण्डलीको आधारभूत कामका हकमा—जस्तै जीवन आपूर्ति गर्ने काम र मानिसहरूको संवर्धन गर्ने काम—वा माथिले निर्देशित गर्ने निश्चित विशेष कामहरूका हकमा, तिनीहरूले यी काम गर्न जान्दैनन् र सक्दैनन्। तिनीहरूले बस यी काम अरूलाई सुम्पन्छन्, र त्यसपछि आफ्नो काम पूरा भएको ठान्छन्। तिनीहरूले माथिबाट आफूलाई जति निर्देशन दिइएको छ त्यति मात्रै गर्छन्, र झकझक्याउँदा मात्र थोरथोरै काम गर्छन्; नत्रभने, तिनीहरू निष्क्रिय र झाराटारुवा बन्छन्—यिनीहरू झूटा अगुवा हुन्। झूटो अगुवा भनेको के हो? छोटकरीमा भन्दा, यो वास्तविक काम नगर्ने, अगुवाका रूपमा आफ्नो काम नगर्ने, महत्त्वपूर्ण र आधारभूत काममा जिम्मेवारीलाई अस्वीकार्य रूपमा बेवास्ता गर्ने र कुनै कदम नचाल्ने व्यक्ति हो—यो नै झूटो अगुवा हो। झूटा अगुवाहरू सतही सामान्य मामलाका काममा मात्रै व्यस्त हुन्छन्, र यसलाई वास्तविक काम गरेको रूपमा लिन्छन्, तर वास्तवमा, अगुवाका रूपमा रहेको आफ्नो काम र परमेश्वरको घरले आफूलाई सुम्पेको महत्त्वपूर्ण कामको कुरा गर्नुपर्दा, तिनीहरूले यो कुनै पनि काम राम्ररी गर्दैनन्। यसअलावा, मण्डलीका विभिन्न कामहरूमा बारम्बार समस्याहरू उत्पन्न भइरहन्छन् जसलाई अगुवाले समाधान गर्नुपर्ने हुन्छ, तर तिनीहरूले तिनलाई समाधान गर्न सक्दैनन्, र प्रायजसो पन्छिने मनोवृत्ति अपनाउँछन्, र दाजुभाइ-दिदीबहिनीहरूले समस्या समाधान गर्न चाहँदा तिनीहरूलाई भेट्टाउनै सक्दैनन्। यदि तिनीहरूले ती अगुवालाई भेट्टाइहाले पनि, उक्त अगुवाले काममा अत्यन्तै व्यस्त भएको बहाना बनाएर तिनीहरूलाई पन्छाउँछ र दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना समस्याहरू आत्मनिर्भर रूपमा समाधान गर्नका लागि आफै परमेश्वरका वचनहरू पढ्न सत्यता खोजी गर्न लगाउँछ, र हात झिक्ने शैली अपनाउँछ। यसले गर्दा अन्ततः समाधान नभएका धेरै समस्याहरूको चाङ लाग्छ, र सबै कामको प्रगति रोकिन्छ र मण्डलीको काम ठप्प हुन्छ। झूटा अगुवाहरूले वास्तविक काम नगर्नुको परिणाम यही हो। झूटा अगुवाहरू आफ्नो मुख्य जिम्मेवारीका सम्बन्धमा कहिल्यै इमानदार वा लगनशील हुँदैनन्, न त तिनीहरूले विभिन्न समस्याहरू समाधान गर्न सत्यता नै खोज्छन्। यसको अर्थ झूटा अगुवाहरू वास्तविक काम गर्न र कुनै पनि समस्याहरू समाधान गर्न असमर्थ हुन्छन्। झूटा अगुवाहरू शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न, नाराहरू फलाक्न, र अरूलाई अर्ती दिन खप्पिस हुन्छन्, र आफूलाई सामान्य मामलाका काममा व्यस्त राख्न केन्द्रित हुन्छन्। समस्याहरू समाधान गर्नका लागि जीवन आपूर्ति गर्ने र सत्यता सङ्गति गर्ने जस्ता परमेश्वरको घरले तिनीहरूलाई सुम्पेको मण्डलीको आधारभूत कामको कुरा गर्नुपर्दा, तिनीहरूले ती कसरी गर्ने भनेर जान्दैनन्, ती कसरी गर्ने भनेर तालिम लिँदैनन्, र कुनै पनि वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्—यिनीहरू झूटा अगुवा हुन्।
कतिपय झूटा अगुवाहरूलाई पटकथा लेख्ने, अनुभवात्मक गवाही लेख लेख्ने, र अरू केही निश्चित कामहरू गर्नेजस्ता लेखन-पठनका काममा मार्गदर्शन दिन अनुरोध गर्दा, तिनीहरूले मार्गदर्शन मात्रै मागिएको त हो नि भनेर कुनै ठोस काम गर्नु पर्दैन भन्ने सोच्छन्, र त्यसैले बरु तिनीहरू यताउति डुलेर हिँड्छन्। तिनीहरू भन्छन्, “झाङ, तिम्रो लेख कस्तो भइरहेको छ?” “सक्न लाग्यो।” “ली, के तिमीलाई त्यो पटकथा लेख्न कुनै कठिनाइ भइरहेको छ?” “हो, के तपाईं मलाई ती हल गर्न मद्दत गर्न सक्नुहुन्छ?” “तिमीहरू सबैले यसबारे एकअर्कासँग छलफल गर। अझ बढी प्रार्थना गर।” यी झूटा अगुवाहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई अगुवाइ र सहयोग गर्न नसक्ने मात्र होइन, तिनीहरू आफ्नो काम राम्ररी पूरा गर्नमा समेत ध्यान दिँदैनन्, र सधैँ घुमफिर गर्ने, र ढुक्क र आरामदायी जीवन जिउने मात्र गर्छन्। झट्ट हेर्दा, तिनीहरूले काम निरीक्षण गरिरहेको जस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले कुनै पनि समस्या हल गर्दैनन्—वास्तवमा तिनीहरू महत्त्वहीन काम गर्छन्! गैरविश्वासी संसारका कतिपय देशका ती सक्षम अधिकारीहरू पनि उतिकै भ्रष्ट मानिसहरू हुन्, तर तिनीहरू पनि यी झूटा अगुवाहरूभन्दा धेरै उत्तम हुन्छन्, किनभने तिनीहरूमा यी अधिकारीहरूमा हुने जिम्मेवारीबोध हुँदैन। उदाहरणका लागि, महामारीको प्रकोपपछि, संसारभरका देशहरूले रोकथामका उपायहरू लागू गर्न थाले। अन्ततः यीमध्ये धेरैजसो देशहरू ताइवानका रोकथामका प्रयासहरू प्रभावकारी रहेको कुरामा सहमत भए, जसले ताइवानका सरकारी अधिकारीहरूले सबैभन्दा उच्च स्तरमा र अत्यन्तै मिहिन रूपमा महामारी प्रतिकार्यका कामहरू गरेको जनाउँछ। अधर्मी संसारको देशका लागि, भ्रष्ट मानवजातिमध्येका अधिकारी र राजनीतिज्ञहरूका लागि, सबैभन्दा उच्च स्तरमा र यति मिहिन रूपमा काम गर्नु साँच्चै नै प्रशंसनीय कुरा हो। धेरै युरोपेली अधिकारीहरू ताइवान गएर त्यहाँबाट सिक्न इच्छुक थिए; यो दृष्टिकोणबाट हेर्दा ताइवानका सरकारी अधिकारीहरू अरू राष्ट्रका भन्दा निकै माथि थिए। तिनीहरूमध्ये धेरैजसो अधिकारीहरूले ठोस काम गर्न सकेका र हृदय लगाएर आफ्नो जिम्मेवारी पूरा गर्न सकेका भएर नै ती अधिकारीहरू मानकअनुरूप थिए भन्ने प्रमाणित हुन्छ। मण्डलीका कतिपय अगुवा र कामदारहरू आफ्नो कर्तव्य पूरा गर्दा सधैँ झाराटारुवा हुन्छन्, र तिनीहरूलाई जति काटछाँट गर्दा पनि त्यो प्रभावकारी हुँदैन। म त के देख्छु भने, यी अगुवा र कामदारहरूको चरित्र गैरविश्वासी संसारका वास्तविक काम गर्न सक्ने अधिकारीहरूको चरित्रसँग समेत बराबरी छैन। तिनीहरूमध्ये धेरैजसोले परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने दाबी गर्छन्, तर वास्तवमा तिनीहरू मूल्य चुकाउन इच्छुक नै हुँदैनन्। तिनीहरूलाई यति धेरै सत्यता आपूर्ति भइरहेको हुन्छ, तैपनि आफ्नो कर्तव्य पूरा गर्नेप्रति तिनीहरूको मनोवृत्ति यस्तै हुन्छ। फलस्वरूप तिनीहरू सबै झूटा बन्छन्, जो उच्च सरकारी अधिकारीहरूका तुलनामा निकै कमजोर हुन्छन्! मानिसहरूप्रति मेरा मागहरू वास्तवमा उच्च छैनन्; म मानिसहरूले धेरै सत्यता बुझून् वा तिनीहरूमा अत्यन्तै उच्च क्षमता होस् भन्ने माग राख्दिनँ। न्यूनतम मानक भनेको विवेकले काम गर्नु र आफ्नो जिम्मेवारी पूरा गर्नु हो। अरू केही नभए पनि, कम्तीमा पनि तैँले आफ्नो दैनिक जीविका चलाउन र परमेश्वरले दिनुभएको आज्ञा पूरा गर्न सक्नुपर्छ; त्यो नै पर्याप्त हुन्छ। तर अहिलेसम्म परमेश्वरको काम पूरा भएको छ, र के धेरै मानिसहरूले विवेकले काम गर्न सक्छन् त? म लोकतान्त्रिक देशहरूका कतिपय अधिकारीहरूले इमानदारीसाथ बोलेको र व्यवहार गरेको देख्छु। तिनीहरूले बढाइचढाइ गर्दैनन् वा उच्च सिद्धान्तहरू बोल्दैनन्, तिनीहरूको बोलीवचन विशेष रूपमा सावधानपूर्ण र साँचो हुन्छ, र तिनीहरूले धेरै वास्तविक मामलाहरू सम्हाल्न सक्छन्। तिनीहरूको काम साँच्चै नै निकै राम्रो हुन्छ, र यसले साँच्चै नै तिनीहरूको निष्ठा र मानवतालाई प्रतिविम्बित गर्छ। अहिले मण्डलीका धेरैजसो अगुवा र कामदारहरूलाई हेर्दा, तिनीहरूले आफ्नो काममा औपचारिकता पूरा गर्ने र झारा टार्ने मात्र गर्छन्, त्यति राम्रा नतिजाहरू हासिल गरेका हुँदैनन्, र आफ्ना जिम्मेवारीहरू पूर्ण रूपमा पूरा गरेका हुँदैनन्। अगुवा बनेपछि, तिनीहरू धार्मिक अधिकारीमा परिणत हुन्छन्, तिनीहरू ठालु पल्टेर आदेश दिन्छन् र महत्त्वहीन काम गर्छन्। तिनीहरू आफ्नो हैसियतका लाभहरूमा लिप्त हुनमा मात्रै ध्यान दिन्छन्, र सबैलाई आफ्नो पछि लगाउन र आफ्नो वरिपरि घुमाउन मन पराउँछन्। तिनीहरू वास्तविक समस्याहरू समाधान गर्न मण्डलीको आधारभूत तहसँग विरलै गहन रूपमा संलग्न हुन्छन्। तिनीहरू हृदयमा परमेश्वरबाट झन्झन् टाढिदै गरेका हुन्छन्। यस्ता झूटा अगुवा र झूटा कामदारहरू पूर्णतया अपूरणीय हुन्छन्! मैले यति श्रमसाध्य रूपमा सत्यता सङ्गति गरेको छु, तैपनि यी अगुवा र कामदारहरूले त्यसलाई स्विकार्दैनन्, तिनीहरू जिद्दी भएर आफ्ना गलत विचारहरूमा टाँसिरहन्छन्, र तिनीहरू अप्रभावित रहन्छन्। आफ्नो कर्तव्यप्रतिको तिनीहरूको मनोवृत्ति सधैँ झाराटारुवा हुन्छ, र तिनीहरूमा पश्चात्ताप गर्ने अलिकति पनि अभिप्राय हुँदैन। म यी मानिसहरू विवेकहीन र समझरहित देख्छु, तिनीहरू पटक्कै मानव होइनन्! त्यसपछि म मनन गर्छु: के अझै पनि यस्ता मानिसहरूलाई यी सत्यताहरूबारे बारम्बार सङ्गति गर्नु जरुरी छ? के मैले सङ्गतिलाई यति निर्दिष्ट बनाउनुपर्छ? के मैले यो कष्ट सहनुपर्छ? के यी वचनहरू वाहियात हुन्? केही विचार गरेपछि, मैले अझै पनि बोल्नुपर्छ भन्ने निर्णय गर्छु, किनभने कति पनि विवेक वा समझ नभएका मानिसहरूमा यी वचनहरूले कुनै असर नगरे पनि, अलि न्यून क्षमताका बाबजुद, सत्यता स्विकार्न सक्ने र सच्चा रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेहरूका लागि भने यी उपयोगी नै हुन्छन्। झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन् र आफ्ना जिम्मेवारीहरू पूरा गर्दैनन्, तर सत्यता पछ्याउनेहरूले यी वचन र मामलाहरूबाट पाठहरू सिक्नेछन्, प्रेरणा लिनेछन्, र अभ्यास गर्ने मार्ग भेट्टाउनेछन्। जीवन प्रवेश त्यति सजिलो छैन; सहयोग र आपूर्ति गर्ने कोही छैन भने, सत्यताको हरेक पक्ष एक-एक गरी प्रस्ट पारिएन भने, मानिसहरू अत्यन्तै कमजोर बन्छन्, तिनीहरूले प्रायजसो आफूलाई असमर्थता र अन्योलको स्थितिमा, र नकारात्मकता र निष्क्रियताको स्थितिमा पाउँछन्। त्यसकारण, धेरै पटक जब म यी झूटा अगुवाहरूलाई भेट्छु, तब तिनीहरूसँग सङ्गति गर्ने मेरो जोस हराउँछ। तर, जब म परमेश्वरमा सच्चा रूपमा विश्वास गर्ने र आफ्नो कर्तव्य बफादारीका साथ निर्वाह गर्ने मानिसहरूले भोगेका कष्ट र चुकाएका मूल्यहरूबारे सोच्छु, तब म मेरो मन परिवर्तन गर्छु। योबाहेक अरू कुनै कारण छैन: यदि ३० देखि ५० जना मानिसहरूले—वा कम्तीमा पनि ८-१० जना मानिसहरूले—आफ्नो कर्तव्य निर्वाह गर्दा सच्चा रूपमा आफूलाई समर्पित गर्न र बफादार हुन सक्छन्, र तिनीहरू सुन्न र समर्पित हुन तयार छन् भने पनि, यी वचनहरू बोल्नु सार्थक नै हुन्छ। विवेक र समझ नभएका मानिसहरूसँग बोल्न र सङ्गति गर्न म उत्प्रेरित हुँदिनँ; यी मानिसहरूसँग कुरा गर्नु थकाइलाग्दो महसुस हुन्छ र त्यो फलहीन हुन्छ। तिमीहरूमध्ये धेरैजसोले सत्यता पछ्याउँदैनौ र आफ्नो कर्तव्यमा मूल्य चुकाउँदैनौ—तिमीहरूसँग कुनै बोझ वा बफादारी छैन, तिमीहरू आफ्नो कार्यव्यवहारमा झारा मात्र टार्छौ, र आशिष्हरू प्राप्त गर्ने आशामा मन नलागीनलागी काम गर्छौ। यी वचनहरू सुन्न पाउनु वास्तवमा तिमीहरूले नपाउनुपर्ने निगाह हो। तिमीहरू त बस सच्चा रूपमा कर्तव्य निर्वाह गर्ने, साँच्चिकै मूल्य चुकाउने, बफादारी र बोझ भएका, र सत्यता अभ्यास गर्न इच्छुकहरूको बुई चढिरहेका छौ। यी वचनहरू ती मानिसहरूका लागि हुन्, र ती सुनेर तिमीहरूले नपाउनुपर्ने निगाह पाइरहेका छौ। यो दृष्टिकोणबाट हेर्दा—अर्थात्, तिमीहरूमध्ये धेरैजसोले आफ्नो कर्तव्यमा कुनै इमानदारी नदेखाई झारा टार्ने मनोवृत्ति अपनाउँछौ भने—तिमीहरू यी वचनहरू सुन्न लायक छैनौ। तिमीहरू किन लायक छैनौ? किनभने तिमीहरूले सुने पनि यो सबै व्यर्थ हुन्छ; जति नै धेरै कुरा भनिए पनि वा जति नै विस्तृत रूपमा भनिए पनि, तिमीहरूले यी वचनहरू सुनेपछि जति नै धेरै बुझे पनि, तिमीहरूले सुनेजस्तो मात्र गर्छौ, तर यी वचनहरू अभ्यास गर्दैनौ। यी वचनहरू कसलाई सुनाउनुपर्छ? यी वचनहरू सुन्न लायक को छ? मूल्य चुकाउन तयार हुने, सच्चा रूपमा आफूलाई समर्पित गर्न सक्ने, र आफ्नो कर्तव्य र आज्ञाप्रति बफादार हुने मानिसहरू मात्रै सुन्न लायक हुन्छन्। तिनीहरू सुन्न लायक हुन्छन् भनेर म किन भन्छु? किनभने सत्यता सुनेर थोरथोरै बुझेपछि, तिनीहरूले यसलाई अभ्यास गर्न सक्छन्, र आफूले बुझेको कुरा नै अभ्यास गर्छन्; तिनीहरू धूर्त हुँदैनन् र सुस्ताउँदैनन्; अनि तिनीहरूले सत्यता र परमेश्वरका मागहरूलाई सच्चाइ र तृष्णाको मनोवृत्तिले लिन्छन्, र तिनीहरू सत्यतालाई प्रेम गर्न र स्विकार्न सक्छन्। त्यसकारण, तिनीहरूले यी वचनहरू सुनेपछि, तिनले तिनीहरूमाथि प्रभाव पार्छन् र परिणाम हासिल गर्छन्।
फेब्रुवरी १३, २०२१