अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (३)

विषयवस्तु तीन: हरेक कर्तव्य उचित तरिकाले निर्वाह गर्नका निम्ति बुझ्‍नुपर्ने सत्यता सिद्धान्तहरूमा सङ्‍गति गर्ने (भाग दुई)

पछिल्लो भेलामा, हामीले अगुवा र कामदारहरूको दोस्रो जिम्मेवारीबारे थप सङ्गति गर्‍यौँ, जीवन प्रवेशमा केकस्ता कठिनाइहरू हुन्छन् भन्‍नेबारे कुरा गर्‍यौँ, र झूटा अगुवाहरूका निश्‍चित अभ्यास र प्रकटीकरणहरू खुलासा गर्‍यौँ। त्यसपछि, हामीले अगुवा र कामदारहरूको तेस्रो जिम्मेवारी, अर्थात् हरेक कर्तव्य उचित तरिकाले निर्वाह गर्नका निम्ति बुझ्नुपर्ने सत्यता सिद्धान्तहरूमा सङ्गति गर्नेसम्बन्धी धेरै मामलाहरूबारे छलफल गर्‍यौँ र यी मामिलाहरूप्रति झूटा अगुवाहरूका मनोवृत्ति, अभ्यास, र प्रकटीकरणहरूमार्फत झूटा अगुवाहरूको “झूटोपन” कहाँ प्रकट हुन्छ भन्ने कुरा, अर्को शब्दमा भन्दा, झूटा अगुवाहरू कसरी अगुवाका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न असफल हुन्छन् भन्‍ने कुराका प्रकटीकरणहरूलाई खुलासा र चिरफार गर्‍यौँ। यी मामिलाहरूलाई सूचीबद्ध गर त। (तीमध्ये एउटा परमेश्‍वरका वचनका पुस्तकहरूको मुद्रणसँग सम्बन्धित थियो। त्यो झूटो अगुवाले ठोस काम गरेन, केवल खोक्रो तरिकाले धर्मसिद्धान्तहरू बोल्यो। उसले सत्यता सिद्धान्तहरूबारे पनि निर्दिष्ट रूपमा सङ्गति वा अलिकति पनि वास्तविक काम गरेन।) यस मामलामा, त्यो झूटो अगुवाले वास्तविक काम गरेन, ऊ अगुवा र कामदारका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न असफल भयो, र उसले काममा संलग्‍न व्यावसायिक मागहरू, निर्दिष्ट सिद्धान्तहरू, र ध्यान दिनुपर्ने बुँदाहरूमा स्पष्ट रूपमा सङ्गति गरेन। उसले केवल केही नाराहरू फलाक्‍यो र केही खोक्रा शब्दहरू बोल्यो, र त्यसपछि आफूले राम्रो काम गरेको छु भन्‍ने सोच्यो। हामीले अरू के-के कुरा छलफल गर्‍यौँ? (परमेश्‍वरका लागि डाउन कोट किनेको घटना पनि थियो।) यो घटनाले झूटा अगुवाहरूका सम्बन्धमा के समस्या खुलासा गर्‍यो? (यसले झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, र तिनीहरूमा मानवता र समझको पूर्ण कमी हुन्छ भन्‍ने कुरा खुलासा गर्‍यो।) जब कसैले मलाई एउटा लुगा किनेर दिएको थियो, तब ती अगुवाहरूले यसको जाँच गर्न मद्दत गरे—के यो अगुवा र कामदारहरूले गर्नुपर्ने कामको पाटो हो? (अहँ, होइन।) तिनीहरूले गर्नुनपर्ने काम गरे—यसमा के समस्या छ? (तिनीहरूले आफ्नो उचित काममा ध्यान दिइरहेका थिएनन्।) यो झूटा अगुवाहरूको एउटा प्रकटीकरण हो। पहिलो कुरा, यसले झूटा अगुवाहरू आफ्नो उचित काममा ध्यान दिँदैनन् भनेर खुलासा गर्‍यो, र दोस्रो कुरा, यसले तिनीहरूमा समझको कमी हुन्छ र तिनीहरूले समझ र मानवताहीन घृणित काम मात्रै गर्छन् भनेर खुलासा गर्‍यो। तिमीहरूलाई उदाहरणहरू मात्रै याद छ, तर तिमीहरूले यी उदाहरणहरूले चित्रण गर्न खोजेका कुराहरू, वा तिनले चिरफार गर्ने अभिप्राय राखेका यी समस्याहरूको सार छर्लङ्गै देखेका छैनौ। झूटा अगुवाहरूले आफ्नो उचित काममा ध्यान दिँदैनन् भन्‍नेबारे मैले अरू केकस्ता उदाहरणहरू दिएँ? (एउटा केक बनाउने व्यक्ति थियो जसले परमेश्‍वरका लागि सधैँ केक बनाउँथ्यो। परमेश्‍वरले उसलाई यसो नगर्नू भनेर भन्‍नुभयो, तर अगुवा र कामदारहरू उसलाई त्यसो गर्न दिइरहन्थे, र आफै पनि केक चाख्थे।) यो उदाहरणले झूटा अगुवाहरूका केकस्ता समस्याहरू खुलासा गर्‍यो? (यो कि तिनीहरू आफ्नो उचित काममा ध्यान दिँदैनन्, वा आफूले गर्नुपर्ने काम गर्दैनन्, र आफूले नगर्नुपर्ने काम गर्न जिद्दी गर्छन्।) मुख्य रूपमा, यसले झूटा अगुवाहरू आफ्नो उचित काममा ध्यान दिँदैनन् र आफ्नो कामको केन्द्र र मुख्य बिन्दु बुझ्न सक्दैनन् भन्‍ने कुरा खुलासा गर्‍यो। यसका साथै, झूटा अगुवाहरूमा एउटा गम्भीर समस्या पनि हुन्छ। त्यो के हो? (तिनीहरूले परमेश्‍वरका वचनहरू पालना गर्दैनन् वा परमेश्‍वरका मागहरूअनुसार काम कार्यान्वयन गर्दैनन्।) अरू कसैलाई केही थप्नु छ? (तिनीहरूले आफू आत्मिक भएको र परमेश्‍वरको बोझप्रति ध्यान दिएको ढोँग गर्छन्, तर वास्तवमा तिनीहरू खराब कुराहरू गर्न मात्र उन्मत्त हुन्छन्।) त्यो तिनीहरूको अर्को समस्या हो। अरू केही छ? (काम गर्नुभन्दा पहिले तिनीहरू परमेश्‍वरका मागहरू बुझ्ने प्रयास गर्दैनन्; बरु, तिनीहरू परमेश्‍वरका चाहनाहरूलाई प्रतिस्थापन गर्न आफ्नै कल्पनाहरू प्रयोग गर्छन्।) यो समझको कमी हुनुको वर्गमा पर्छ। अरू केही छ? (परमेश्‍वरका लागि कसैले लुगा किनेको मामलालाई झूटा अगुवाहरूले जेजसरी लिए, त्यसले तिनीहरूमा सामान्य मानवताको कमी हुन्छ भन्‍ने कुरा खुलासा गर्‍यो।) तिनीहरूमा सामान्य मानवताको कुन पक्षको कमी हुन्छ? तिनीहरूले कसरी व्यवहार गर्ने भन्‍ने कुराका नियमहरू बुझ्दैनन् र तिनीहरूसँग सोमत हुँदैन। कुरा त्यही होइन र? (हो।) वास्तवमा, तिमीहरूले उल्लेख गरेका यी कुराहरू गौण हुन्; मुख्य समस्या के हो? अगुवा बनेपछि, यी मानिसहरू आफ्नो हैसियत र विशेष व्यवहारका लाभहरू लिन चाहन्छन्, र सुखसुविधाको तृष्णा गर्छन्। उदाहरणका लागि, तिनीहरू अलिकति केक खान चाहन्छन्, र जब तिनीहरूले कुनै व्यक्ति खाना पकाउन सिपालु छ भन्‍ने देख्छन्, तब तिनीहरूले उसको खाना चाखेर आफ्नो तृष्णा मेटाउने सोच्छन्। तिनीहरूले आफ्नो उचित काममा ध्यान नदिनु वा वास्तविक काम नगर्नु पहिले नै घृणास्पद हुन्छ, त्यसमाथि तिनीहरूलाई सुखसुविधा र धेरै खानुको आनन्दको लोभ हुन्छ। तिनीहरू आफ्ना खन्चुवा चाहनाहरू पूरा गर्न, र आफ्नो हैसियतका लाभहरूमा लिप्त हुनका लागि परमेश्‍वरका लागि स्वाद चाख्‍ने र जाँच गर्ने बहाना प्रयोग गर्छन्। यी सबै झूटा अगुवाहरूका प्रकटीकरणहरू हुन्। ख्रीष्टविरोधीहरूको स्वभाव सारको तुलनामा यी प्रकटीकरणहरूलाई क्रूर वा दुष्ट भन्‍न नमिल्ने भए पनि, मानिसहरूमा घिन पैदा गर्नका लागि झूटा अगुवाहरूको मानवता नै काफी हुन्छ। तिनीहरूको चरित्र हेर्दा, तिनीहरूमा विवेक र समझको कमी हुन्छ; तिनीहरूको मानवता निकै नीच र घिनलाग्दो हुन्छ, र तिनीहरूको निष्ठा कमजोर हुन्छ। यी उदाहरणहरूबाट, झूटा अगुवाहरूले वास्तविक काम गर्न सक्दैनन् भन्‍ने कुरा देख्‍न सकिन्छ। यो तथ्य हो।

झुटा अगुवाहरू काम निर्वाह गर्नुका सिद्धान्तहरूमा सङ्गति गर्न सक्दैनन्

आज, हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूका आधारमा झूटा अगुवाहरूका विभिन्‍न प्रकटीकरणहरू खुलासा गर्ने कार्य जारी राख्‍नेछौँ। झूटा अगुवाहरू मूलतः मण्डलीको सारभूत र महत्त्वपूर्ण काम गर्न असक्षम हुन्छन्। तिनीहरूले केही सरल र सामान्य मामलाहरू मात्र सम्हाल्छन्; समग्रमा तिनीहरूको कामले मण्डलीको काममा महत्त्वपूर्ण वा निर्णायक भूमिका खेल्दैन, र त्यसले वास्तविक नतिजाहरू दिँदैन। तिनीहरूको सङ्गतिले मूलभूत रूपमा केही बासी र सामान्य विषयवस्तुहरू मात्र समेट्छ, यो बारम्बार दोहोर्‍याइने शब्द र धर्मसिद्धान्तहरूमा मात्र सीमित हुन्छ र यो अत्यन्तै खोक्रो, फराकिलो, र विवरणहीन हुन्छ। तिनीहरूको सङ्गतिमा मानिसहरूले शाब्दिक रूपमा केही कुरा पढेर बुझ्न सक्ने कुराहरू मात्र समावेश हुन्छ। यी झूटा अगुवाहरूले परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्नो जीवन प्रवेशमा सामना गर्ने वास्तविक समस्याहरू बिलकुलै समाधान गर्न सक्दैनन्; खास गरी, तिनीहरू मानिसहरूका धारणा, कल्पनाहरू, र भ्रष्ट स्वभावका प्रकाशहरू समाधान गर्न झन् कम सक्षम हुन्छन्। मुख्य कुरा के हो भने, झूटा अगुवाहरू सुसमाचारको काम, चलचित्र निर्माणको काम, वा लेखन-पठनको कामजस्ता परमेश्‍वरको घरले बन्दोबस्त गरेका महत्त्वपूर्ण कामको जिम्मेवारी लिनै सक्दैनन्। विशेष गरी, जब व्यावसायिक ज्ञानसँग सम्बन्धित कामको कुरा आउँछ, तब झूटा अगुवाहरूलाई आफू यी क्षेत्रहरूमा भुइँमान्छे भएको स्पष्ट रूपमा थाहा भए पनि, तिनीहरू त्यसको अध्ययन गर्दैनन्, न त अनुसन्धान नै गर्छन्, र अरूलाई निर्दिष्ट दिशा प्रदान गर्न वा तीसँग सम्बन्धित कुनै समस्या समाधान गर्न त झनै सक्षम हुँदैनन्। तैपनि तिनीहरू अझै निर्लज्ज रूपमा भेलाहरू आयोजना गर्छन्, खोक्रा सिद्धान्तहरूबारे अनन्त रूपमा कुरा गर्छन्, अनि शब्द र धर्मसिद्धान्तहरू बोल्छन्। झूटा अगुवाहरूलाई आफूले यस्तो काम गर्न नसक्ने राम्रोसँग थाहा हुन्छ, तैपनि तिनीहरू विज्ञ भएको नाटक गर्छन्, अभिमानी व्यवहार गर्छन्, र सधैँ भव्य धर्मसिद्धान्तहरू प्रयोग गरेर अरूलाई गाली गर्छन्। तिनीहरू कसैका प्रश्नहरूको जवाफ दिन सक्दैनन्, तैपनि अरूलाई गाली गर्ने निहुँ र बहाना फेला पार्छन्, उनीहरूले किन त्यो पेशा सिक्दैनन्, किन सत्यता खोज्दैनन्, र किन आफ्नै समस्याहरू समाधान गर्न सक्दैनन् भनेर सोध्छन्। यी झूटा अगुवाहरू, जो यी क्षेत्रका भुइँमान्छे हुन् र कुनै पनि समस्याहरू समाधान गर्न सक्दैनन्, अझै पनि माथिबाट अरूलाई भाषण दिन्छन्। बाहिरबाट हेर्दा, तिनीहरू अरूका नजरमा निकै व्यस्त देखिन्छन्, मानौँ तिनीहरूले धेरै काम गर्न सक्छन् र तिनीहरू निकै सक्षम छन्, तर वास्तवमा, तिनीहरू केही पनि होइनन्। झूटा अगुवाहरू प्रस्ट रूपमा वास्तविक काम गर्न असक्षम हुन्छन्, तैपनि तिनीहरू उत्साहका साथ आफूलाई व्यस्त राख्छन्, र भेलाहरूमा जहिले पनि उही सधैँ भनिरहेकै कुरा भन्छन्, बारम्बार एउटै कुरा दोहोर्‍याउँछन्, र एउटा पनि वास्तविक समस्या समाधान गर्न सक्दैनन्। मानिसहरू योदेखि निकै वाक्क हुन्छन्, र तिनीहरूले यसबाट शिक्षाप्रद कुरा लिन बिलकुलै सक्दैनन्। यस्तो काम अत्यन्तै अकुशल हुन्छ, र यसले कुनै नतिजाहरू दिँदैन। झूटा अगुवाहरू यसरी नै काम गर्छन्, र यसका कारण मण्डलीको काममा ढिलाइ हुन्छ। तैपनि झूटा अगुवाहरू आफूले निकै ठूलो काम गरिरहेको र आफू निकै सक्षम भएको महसुस गर्छन्, जबकि तथ्य के हो भने, तिनीहरूले मण्डलीको कामको एउटा पक्ष पनि राम्रोसँग गरेका हुँदैनन्। तिनीहरूलाई आफ्नो जिम्मेवारीको दायराअन्तर्गत पर्ने अगुवा र कामदारहरू मानकअनुरूप छन् कि छैनन् भनेर थाहा हुँदैन, न त विभिन्‍न समूहका अगुवा र सुपरिवेक्षकहरू आफ्ना कामको जिम्मेवारी लिन सक्षम छन् कि छैनन् भनेर थाहा हुन्छ, र तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना कर्तव्य निर्वाह गर्दा कुनै समस्याहरू आएका छन् कि भनेर न त चासो राख्ने न सोध्ने नै गर्छन्। छोटकरीमा, झूटा अगुवाहरूले आफ्नो काममा कुनै पनि समस्याहरू समाधान गर्न सक्दैनन्, तैपनि तिनीहरू जोशका साथ व्यस्त रहन्छन्। अरू मानिसहरूको दृष्टिकोणबाट हेर्दा, झूटा अगुवाहरू कठिनाइ भोग्न सक्छन्, मूल्य चुकाउन तयार हुन्छन्, र हरेक दिन दौडधुप गर्दै बिताउँछन्। खाना खाने बेला भएपछि तिनीहरूलाई मेचमा बोलाउनुपर्छ, र तिनीहरू निकै अबेला सुत्छन्। तैपनि तिनीहरूको कामका नतिजाहरू राम्रा हुँदैनन्। यदि तैँले ध्यानपूर्वक हेरिनस् भने, बाहिरबाट सबै कामहरू भइरहेको, र सबै जना आफ्ना कर्तव्य निर्वाह गर्नमा व्यस्त रहेको देखिन्छ, तर यदि तैँले नजिकबाट मिहिन रूपमा नियाल्ने, र गम्भीरतापूर्वक निरीक्षण गर्ने हो भने, साँचो अवस्था प्रकाश हुनेछ। तिनीहरूको जिम्मेवारीको दायरामा पर्ने हरेक काम भद्रगोल हुन्छ, त्यसमा कुनै संरचना वा व्यवस्था हुँदैन। प्रत्येक काममा समस्याहरू—वा छिद्रहरूसमेत—हुन्छन्। यी समस्याहरू देखा पर्नु झूटा अगुवाहरूले सत्यता सिद्धान्तहरू नबुझ्नु, र आफ्ना धारणा, कल्पना र जोशका आधारमा कार्य गर्नुसँग सम्बन्धित हुन्छ। झूटा अगुवाहरूले कहिल्यै सत्यता सिद्धान्तहरूबारे सङ्गति गर्दैनन्, न त कहिल्यै समस्याहरू समाधान गर्न सत्यताको खोजी नै गर्छन्। तिनीहरूमा प्रस्ट रूपमा आत्मिक बुझाइ हुँदैन र तिनीहरू अगुवाइको काम गर्न सक्दैनन्, साथै तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू ओकल्न मात्र सक्छन् र सत्यता बिलकुलै बुझ्दैनन्, तैपनि तिनीहरू आफूलाई थाहा नभएका कुरा थाहा भएको ढोँग गर्छन् र आफूलाई विज्ञ साबित गर्ने कोसिस गर्छन्। तिनीहरूले झारा टार्ने काम मात्र गर्छन्। कुनै समस्या आउँदा, तिनीहरूले अन्धाधुन्ध त्यसमा प्रावधानहरू लागु गर्छन्। तिनीहरू अन्धाधुन्ध दौडधुप मात्र गर्छन् तर कुनै वास्तविक नतिजाहरू निकाल्दैनन्। यी झूटा अगुवाहरूले सत्यता सिद्धान्तहरू नबुझ्ने, र केवल शब्द र धर्मसिद्धान्तहरू ओकल्ने र अरूलाई प्रावधानहरू पालना गर्न सल्लाह दिने भएकाले, मण्डलीको प्रत्येक कामको प्रगतिमा ढिलाइ हुन्छ र कुनै प्रस्ट नतिजाहरू हासिल हुँदैनन्। कुनै झूटो अगुवा केही समय काममा रहनुको सबैभन्दा प्रस्ट परिणाम के हो भने, धेरैजसो मानिसहरूले सत्यता बुझ्न सक्दैनन्, कसैले भ्रष्टता प्रकाश गर्दा वा धारणाहरू विकास गर्दा कसरी खुट्ट्याउने भनेर जान्दैनन्, र निश्चय नै आफ्ना कर्तव्यहरू निर्वाह गर्दा पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरू बुझ्दैनन्। आफ्ना कर्तव्यहरू निर्वाह गर्ने र नगर्नेहरू सबै सुस्त, स्वच्छन्द, र अनुशासनहीन, साथै छरिएको बालुवाजस्तै छरपस्ट हुन्छन्। तीमध्ये धेरैजसोले केही शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्लान्, तर आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा, तिनीहरूले प्रावधानहरू मात्र पालना गर्छन्; तिनीहरू समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न जान्दैनन्। झूटा अगुवाहरूलाई नै समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न नआउने भएपछि, तिनीहरूले त्यो कुरामा अरूलाई कसरी अगुवाइ गर्न सक्छन् त? अरू मानिसहरूलाई जे आइपरे पनि, झूटा अगुवाहरूले तिनीहरूलाई यसो भनेर अर्ती दिन मात्र सक्छन्, “हामीले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नैपर्छ!” “हामी आफ्नो कर्तव्य निर्वाहमा बफादार हुनैपर्छ!” “आफूलाई केही आइपर्दा, हामीले प्रार्थना गर्न जान्नैपर्छ, र सत्यता सिद्धान्तहरू खोज्नैपर्छ!” झूटा अगुवाहरूले प्रायः यी नारा र धर्मसिद्धान्तहरू फलाक्छन्, र यसले कुनै पनि नतिजाहरू दिँदैन। मानिसहरूले तिनीहरूको कुरा सुनेपछि पनि सत्यता सिद्धान्तहरू के हुन् भनेर बुझ्दैनन्, र तिनीहरूसँग अभ्यासको मार्ग हुँदैन। सतही रूपमा, मानिसहरू आफूलाई केही आइपर्दा प्रार्थना गर्छन्, र आफ्नो कर्तव्य निर्वाहमा इमानदार हुने इच्छा गर्छन्—तर तिनीहरू सबैमा बफादार हुनका निम्ति तिनीहरूले के गर्नुपर्छ, परमेश्‍वरका अभिप्रायहरू बुझ्नका निम्ति तिनीहरूले कसरी प्रार्थना गर्नुपर्छ, र आफूलाई कुनै समस्या आइपर्दा सत्यता सिद्धान्तहरूबारे बुझाइ प्राप्त गर्नका निम्ति कसरी खोजी गर्नुपर्छ भन्‍ने जस्ता मामलाहरूसम्बन्धी बुझाइको कमी हुन्छ। मानिसहरूले झूटा अगुवाहरूलाई सोध्दा, तिनीहरू यसो भन्छन्, “तिमीलाई केही आइपर्दा, परमेश्‍वरका वचनहरू अझ धेरै पढ, अझ धेरै प्रार्थना गर, र सत्यतामा अझ बढी सङ्गति गर।” मानिसहरूले तिनीहरूलाई “यो कामले कस्ता सिद्धान्तहरू समेट्छ?” भनेर सोध्छन् र तिनीहरूले भन्छन्, “परमेश्‍वरका वचनहरूले व्यावसायिक कामका मामलाहरूबारे केही भन्दैनन्, र म पनि कामको त्यो क्षेत्र बुझ्दिनँ। यदि तिमीहरूलाई बुझ्ने इच्छा छ भने आफैले अनुसन्धान गर—मलाई नसोध। म तिमीहरूलाई व्यावसायिक कामका मामलाहरूमा होइन, सत्यता बुझ्नमा अगुवाइ गर्छु।” झूटा अगुवाहरूले प्रश्नहरूबाट बच्नका लागि यस्ता शब्दहरू प्रयोग गर्छन्। अनि फलस्वरूप, धेरैजसो मानिसहरूमा आफ्ना कर्तव्यहरू निर्वाह गर्ने तीव्र जोश भए पनि, तिनीहरू सत्यता सिद्धान्तहरूका आधारमा कार्य गर्न जान्दैनन्, न त आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा सिद्धान्तहरू पालना गर्न नै जान्दछन्। झूटा अगुवाहरूको जिम्मेवारीको दायराभित्र पर्ने हरेक कामका नतिजाहरू हेर्दा, धेरैजसो मानिस आफ्नो काम गर्न आफ्नो ज्ञान, सिकाइ र वरदानहरूमा भर परिरहेका छन्, र तिनीहरू परमेश्‍वरका विशिष्ट मागहरू के-के हुन्, कर्तव्य निर्वाह गर्नुका सिद्धान्तहरू के-के हुन्, र परमेश्‍वरको गवाही दिने नतिजा हासिल गर्नका निम्ति कसरी कार्य गर्ने र परमेश्‍वरको देखापराइका लागि तड्पिने सबैले उहाँको आवाज सुनून्, साँचो मार्ग छानबिन गरून्, र सकेसम्म चाँडो परमेश्‍वरसामु फर्कून् भनेर कसरी सुसमाचारलाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने भन्ने जस्ता मामलाहरूबारे अनजान हुन्छन्। तिनीहरू किन यी कुराहरूबारे अनजान हुन्छन्? यो सिधै झूटा अगुवाहरू वास्तविक काम गर्न असफल हुनुसँग सम्बन्धित छ। यसको मुख्य कारण के हो भने, झूटा अगुवाहरूलाई नै सत्यता सिद्धान्तहरू के हुन्, वा मानिसहरूले केकस्ता सिद्धान्तहरू बुझ्नु र पछ्याउनुपर्छ भनेर थाहा हुँदैन। तिनीहरू सिद्धान्तहरूबिना कार्य गर्छन्, र कहिल्यै मानिसहरूलाई आफ्ना कर्तव्यमा अभ्यासका सिद्धान्तहरू र मार्गहरू खोज्नमा अगुवाइ गर्दैनन्। जब कुनै झूटो अगुवाले कुनै समस्या फेला पार्छ, तब ऊ आफैले त्यसलाई समाधान गर्न सक्दैन, र उसले अरूसँग सङ्गति र खोजी गर्दैन, जसका कारण प्रत्येक काममा बारम्बार कार्यहरू दोहोर्‍याएर गर्नुपर्ने हुन्छ। यो आर्थिक र भौतिक स्रोतको मात्र होइन, मानिसहरूको ऊर्जा र समयको पनि बरबादी हो। यस्ता परिणामहरू सिधै झूटा अगुवाहरूको कमजोर क्षमता र गैरजिम्मेवारीसँग सम्बन्धित हुन्छन्। झूटा अगुवाहरूले जानाजान दुष्टता गर्छन् र बाधाहरू निम्त्याउँछन् भनेर भन्‍न नसकिए पनि, तिनीहरू आफ्नो काममा सत्यता सिद्धान्तहरू बिलकुलै खोज्दैनन्, सधैँ आफ्नै इच्छाका आधारमा कार्य गर्छन् भनेर चाहिँ भन्‍न सकिन्छ। यो निश्चित हो। झूटा अगुवाहरूले सत्यता सिद्धान्तहरू बुझ्दैनन्, न त तिनका बारेमा अरूलाई प्रस्ट रूपमा सङ्गति गर्न नै सक्छन्; बरु, तिनीहरूले मानिसहरूलाई मनपरी गर्न खुल्ला छोडिदिन्छन्। यसले निश्चित काममा प्रभारी रहेका कतिपय मानिसलाई अनजानमै स्वेच्छाचारी र जानाजान ढङ्गले काम गर्न, आफ्नो इच्छाअनुसार चल्न र मनपरी गर्नतिर डोर्‍याउँछ। फलस्वरूप, वास्तविक नतिजाहरू थोरै मिल्ने मात्र नभई, मण्डलीको काम पनि भद्रगोल हुन्छ। जब कुनै झूटो अगुवा बरखास्त हुन्छ, तब उसले आत्मचिन्तन नगर्ने वा आफूलाई नचिन्‍ने मात्र होइन, उसले कुतर्क पनि गर्छ र आफ्नै पक्षमा तर्क गर्छ, र सत्यतालाई कति पनि स्विकार्दैन, अनि उसले पश्चात्ताप गर्ने मनसाय बिलकुलै राख्दैन। उसले आफूले पक्कै राम्रोसँग त्यो काम गर्न सक्ने भन्दै परमेश्‍वरको घरले आफूलाई अर्को मौका देओस् भनेर समेत माग गर्न सक्छ। के तिमीहरू तिनीहरूलाई विश्‍वास गर्छौ? तिनीहरू आफैलाई पटक्कै चिन्दैनन्, न त सत्यतालाई नै स्विकार्छन्। त्यसोभए, के तिनीहरूले आफ्नो मार्ग परिवर्तन गर्न सक्छन्? तिनीहरूसित सत्यता वास्तविकता छैन भने, के तिनीहरूले राम्रोसँग त्यो काम गर्न सक्छन्? के त्यो सम्भव छ? तिनीहरूले यस पटक राम्रोसँग काम गरेनन्—यदि तिनीहरूलाई अर्को मौका दिइयो भने, के तिनीहरूले राम्ररी गर्न सक्नेछन्? त्यो सम्भव छैन। निश्चितताका साथ भन्‍न सकिन्छ कि झूटा अगुवाहरूसित कार्यक्षमता हुँदैन; बेलाबेलामा, तिनीहरूले धेरै नै परिश्रम गर्लान् र तिनीहरू निकै व्यस्त हुन सक्लान्, तर यो अन्धो व्यस्तता हो, र यसले कुनै नतिजा दिँदैन। झूटा अगुवाहरूमा निकै कमजोर क्षमता हुन्छ, तिनीहरूले सत्यता बिलकुलै बुझ्दैनन्, र वास्तविक काम गर्न सक्दैनन् भनेर देखाउन यो नै पर्याप्त छ। यसले काममा धेरै समस्याहरू उत्पन्न गराउँछ, तर तिनीहरूले सत्यताबारे सङ्गति गरेर तिनलाई समाधान गर्न सक्दैनन्, केवल मानिसहरूलाई प्रावधानहरू पालना गर्न अर्ती दिन थोरै खोक्रा धर्मसिद्धान्तहरू प्रयोग गर्छन्, र फलस्वरूप तिनीहरूले कामलाई लथालिङ्ग पार्छन् र भद्रगोल अवस्थामा छोड्छन्। झूटा अगुवाहरूले काम गर्ने शैली र त्यसले निम्त्याउने परिणामहरू यही हो। सबै अगुवा र कामदारहरूले यसलाई एउटा चेतावनीका रूपमा लिनुपर्छ।

मण्डलीभित्र देखा पर्ने विभिन्‍न असन्तुष्टिपूर्ण समस्याहरू प्रत्यक्ष रूपमा झूटा अगुवाहरूसँग सम्बन्धित हुन्छन्—यो टार्न नसकिने समस्या हो। यी झूटा अगुवाहरूमा सत्यता बुझ्ने क्षमताको कमी हुन्छ, तैपनि तिनीहरू आफूले सबै कुरा बुझेको र जानेको छु भन्‍ने सोच्छन्, र त्यसपछि तिनीहरू आफ्नै कल्पना र धारणाहरूका आधारमा काम गर्छन्। तिनीहरूले सत्यता सिद्धान्तहरू वा परमेश्‍वरले तोक्‍नुभएका मापदण्डहरूसम्बन्धी तिनीहरूको बुझाइको अभाव समाधान गर्न कहिल्यै सत्यता खोज्‍ने गर्दैनन्। मैले धेरै अगुवा र कामदारहरूसँग अन्तरक्रिया गरेको छु, र म बारम्बार तिनीहरूलाई भेट्छु। जब हामी भेला हुन्छौँ, तब म तिनीहरूलाई सोध्छु, “के तिमीहरूसँग कुनै समस्याहरू छन्? के तिमीहरूले काममा रहेका समस्याहरू अभिलेख गरेका छौ? के तिमीहरूले आफै समाधान गर्न नसक्‍ने कुनै समस्याहरू छन्?” मैले सोधिसकेपछि, तिनीहरू ट्वाल्ल पर्छन्, र तिनीहरूले हृदयमा शङ्का गर्छन्: “हामी अगुवा हौँ; के हामीसँग कुनै समस्या हुन सक्छ? यदि हामीसँग समस्या छ भने, के मण्डलीको काम धेरै पहिले नै अवरुद्ध भएको हुन्थेन र? यो कस्तो प्रश्‍न हो? हामी प्रवचनहरू सुन्छौँ र सङ्गति गर्छौँ, र परमेश्‍वरका वचनहरू हातमा बोक्छौँ। मण्डलीमा अगुवाइ गर्ने हामी धेरै छौँ, तैपनि कसरी तपाईँ अझै चिन्ता गर्न सक्नुहुन्छ? यो प्रश्‍न गरेर तपाईँले हामीलाई स्पष्ट रूपमै कम आँकिरहनुभएको छ। हामीसँग कसरी समस्याहरू हुन सक्छन्? यदि हामीसँग समस्याहरू हुन्थे भने, हामीहरू अगुवा नै हुन्थेनौँ। तपाईँको प्रश्‍न निकै अनुचित छ!” हरेक पटक जब म तिनीहरूलाई कुनै समस्या छ कि छैन भनेर सोध्छु, तब तिनीहरू यस्तै स्थितिमा हुन्छन्—तिनीहरू हरव्यक्ति भावशून्यता र मूर्खताका नमुना हुन्। मण्डलीको कामका विभिन्‍न भागहरूमा धेरै समस्याहरू हुन्छन्, तर यी मानिसहरूले ती समस्या देख्‍न वा पत्ता लगाउन सक्दैनन्। तिनीहरूले व्यक्तिगत जीवन प्रवेशसँग सम्बन्धित सवालहरू, वा काममा रहेका सत्यता सिद्धान्तहरूसँग सम्बन्धित सवालहरू उठाउन सक्दैनन्। तिनीहरूले यी सवालहरू उठाउन नसक्‍ने हुनाले, म तिनीहरूलाई सोध्छु, “परमेश्‍वरका वचनहरू अनुवाद गर्ने काम कसरी अघि बढिरहेको छ? अहिले कति भाषामा अनुवाद गरिनुपर्छ, तँलाई थाहा छ? सुरुमा कुनकुन भाषाहरूमा अनुवाद गरिनुपर्छ, र कुनकुन भाषाहरूमा पछि गरिनुपर्छ? निश्‍चित भाषाहरूका लागि परमेश्‍वरका वचनहरूका कति प्रतिहरू छापिनुपर्छ?” तिनीहरूले जवाफ दिन्छन्, “अँ, ती वचनहरू अनुवाद भइरहेका छन्।” म तिनीहरूलाई सोध्छु, “अनुवादमा कति हदसम्‍म प्रगति भएको छ? के कुनै समस्याहरू छन्?” तिनीहरूले जवाफ दिन्छन्, “मलाई थाहा छैन; मैले सोध्नुपर्छ।” मैले तिनीहरूलाई यी कुराहरूबारे सोध्नुपर्छ, तर तिनीहरूलाई उत्तरहरू थाहा हुँदैन। त्यसोभए तिनीहरूले यति समयदेखि के काम गरिरहेका हुन्छन्? म तिनीहरूलाई सोध्छु, “के तैँले पछिल्लो पटक दाजुभाइ-दिदीबहिनीहरूले सोधेका समस्याहरू समाधान गरिस्?” तिनीहरूले जवाफ दिन्छन्, “मैले तिनीहरूसँग भेला आयोजना गरेँ—एउटा दिनभरिको भेला।” म तिनीहरूलाई सोध्छु, “भेलापछि समस्याहरू समाधान भए?” तिनीहरूले जवाफ दिन्छन्, “के तपाईँले अझै पनि समस्याहरू छन् भने, हामीले अर्को भेला गर्नुपर्छ भनेर भन्‍नुभएको हो?” म भन्छु, “मैले तैँले भेला आयोजना गरिस् कि गरिनस् भनेर सोधेको होइन। मैले त पेशागत समस्याहरू समाधान भएका छन् कि छैनन् भनेर सोधिरहेको छु। के यी मानिसहरूले सिद्धान्तहरू बुझेका छन्? के तिनीहरूले कर्तव्य निर्वाह गर्दा कुनै सिद्धान्तहरू उल्लङ्घन गरेका छन्? के तैँले कुनै समस्याहरू पत्ता लगाएको छस्?” तिनीहरूले जबाफ दिन्छन्, “ए, समस्याहरू? मैले ती समाधान गरेँ। मैले दाजुभाइ-दिदीबहिनीहरूका लागि भेला आयोजना गरेँ।” के यो कुराकानी जारी रहन सक्छ? (अहँ, सक्दैन।) के यो कुराकानी सुन्दा तिमीहरूलाई रिस उठ्दैन? (उठ्छ।) यी अगुवाहरू कस्ता छन्? के तिनीहरू छद्म-आत्मिक मूर्खहरू मात्रै होइनन् र? तिनीहरूमा अगुवा र कामदारहरूको क्षमता हुँदैन; तिनीहरू अन्धा हुन्छन्, तिनीहरूले काम कसरी गर्ने भन्‍ने कुरा बुझ्दैनन्, र तिनीहरूले हरेक प्रश्‍नको जवाफ “मलाई थाहा छैन” भनेर दिन्छन्, र जब तैँले तिनीहरूलाई प्रश्‍नहरू सोधिरहन्छस्, तब तिनीहरूले भन्छन्, “जे भए नि मैले भेला आयोजना गरेँ; यो कुरा छोड्नुहोस्!” के यी अगुवाहरूले वास्तविक काम गरेका हुन्छन्? के तिनीहरू मानकअनुरूपका अगुवाहरू हुन्? (होइनन्।) तिनीहरू झूटा अगुवाहरू हुन्। के तिमीहरूलाई यस्ता अगुवाहरू मन पर्छ? यदि तिमीहरूले त्यस्ता अगुवाहरू भेट्यौ भने, तिमीहरूले के गर्नुपर्छ? कति अगुवाहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्दा यसो भन्छन्, “आज तपाईँहरूसँग जेजस्ता समस्या भए नि सुरुमा कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने भन्‍नेबारे सङ्गति गरौँ।” त्यसपछि कति मानिसहरूले भन्छन्, “हामीले आफ्नो कर्तव्यमा पेशागत विधिहरूको समस्या सामना गरेका छौँ: के हामीले गैरविश्‍वासीहरूमाझ लोकप्रिय रहेका व्यावसायिक विधिहरू प्रयोग गर्नुपर्छ?” के यो अगुवाहरूले समाधान गर्नुपर्ने समस्या होइन र? यदि कति समस्याहरू दाजुभाइ-दिदीबहिनीहरूमाझ सङ्गति गरेर हल गर्न सकिँदैन भने, ती समस्याहरू हल गर्न अगुवाहरूले हस्तक्षेप गर्नुपर्छ—यो अगुवाहरूको जिम्मेवारीसित जोडिएको हुन्छ। झूटा अगुवाहरूले यी समस्याहरू सामना गर्दा के गर्छन्? तिनीहरूले भन्छन्, “यो पेशागत समस्या हो; यो तिमीहरूको समस्या हो, मसँग यसको के सम्बन्ध छ र? यो विषयमा आफै सङ्गति गर, तर सुरुमा म तिमीहरूका लागि भेला आयोजना गर्नेछु। आजको भेलामा, हामी सामञ्जस्यपूर्ण सहकार्यबारे सङ्गति गर्नेछौँ। तिमीहरूले भर्खरै सोधेको प्रश्‍न सामञ्जस्यपूर्ण सहकार्यसँग सम्बन्धित छ। तिमीहरूले मिलेर यी कुराहरूबारे छलफल र सङ्गति गर्न, र थप अनुसन्धान गर्न सक्‍नुपर्छ; कोही पनि आत्मधर्मी हुनु हुँदैन, र बहुमतको समर्थन भएको हरकुनै निर्णय हरकसैले स्विकार्नुपर्छ—के यो सामञ्जस्यपूर्ण सहकार्यको सवाल होइन र? सामञ्जस्यपूर्ण सहकार्य कसरी गर्ने, वा समस्याहरू देखा पर्दा कसरी छलफल गर्ने भन्‍ने तिमीहरूलाई थाहा छैन जस्तो छ। तिमीहरू मलाई हरेक समस्याबारे सोधिरहन्छौ। तिमीहरू केक लागि मलाई सोधिरहेका छौ? के मैले यी कुराहरू बुझेको छु? यदि मैले बुझेको भए, के तिमीहरूसँग कुनै काम हुनेथ्यो? तिमीहरू मलाई सबै कुराबारे सोधिरहन्छौ। के यो मैले सम्हाल्नुपर्ने समस्या हो? मेरो जिम्‍मेवारी त सत्यतामा सङ्गति गर्नु मात्र हो; पेशागत समस्याहरू आफै समाधान गर। मलाई ती कुराको के सरोकार? जे भए नि, मैले तिमीहरूलाई सङ्गति गरिसकेको छु र सामञ्जस्यपूर्ण सहकार्य गर्न भनिसकेको छु—यदि तिमीहरूले त्यसो गर्न सक्दैनौ भने, यो कर्तव्य निर्वाह नगर। मैले मेरो सङ्गति सकिसकेको छु; जाओ, आफै समस्या समाधान गर।” के यी अगुवाहरूलाई समस्याहरू कसरी हल गर्ने भन्‍ने थाहा हुन्छ? (अहँ, थाहा हुँदैन।) यो कसरी हल गर्ने भन्‍ने थाहा नभए नि, तिनीहरू आफूलाई अत्यन्तै औचित्यपूर्ण ठान्छन्, र तिनीहरू जिम्मेवारीबाट पन्छिन सिपालु हुन्छन्। बाहिरबाट हेर्दा, तिनीहरूले आफ्नो काम गरिसकेका हुन्छन्, तिनीहरू निरीक्षण गर्न कार्यस्थल पुगेका हुन्छन्, र तिनीहरू सुस्त भइरहेका हुँदैनन्। तर, तिनीहरूले वास्तविक काम गर्न वा वास्तविक समस्याहरू हल गर्न सक्दैनन्, जसको अर्थ तिनीहरू झूटा अगुवाहरू हुन् भन्‍ने हुन्छ। के तिमीहरूले यस्ता झूटा अगुवाहरू खुट्ट्याउन सक्छौ? तिनीहरूले कुनै पनि समस्या सामना गर्दा उपयुक्त सत्यताहरू सङ्गति गर्न सक्दैनन्: तिनीहरूले केही खोक्रा धर्मसिद्धान्त र वादहरू मात्रै बोल्छन्, जसलाई तिनीहरूले निकै उच्च र गहन सुनिने गरी बोल्छन्, र मानिसहरूले ती सुनेपछि, तिनीहरूले सत्यता बुझ्नु त कता हो कता, बरु उल्टै तिनीहरू अन्योलग्रस्त र दिग्भ्रमित पनि हुन्छन्। झूटा अगुवाहरूले गर्ने काम यही हो।

हरेक कर्तव्य उचित तरिकाले निर्वाह गर्नका निम्ति बुझ्नुपर्ने सत्यता सिद्धान्तहरूमा सङ्गति गर्ने काममा, झूटा अगुवाहरू पूर्ण रूपमा प्रकाश हुन्छन्। तिनीहरूले सत्यता सिद्धान्तहरूमा सङ्गति गर्न, वा मानिसहरूलाई कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू पालना र अभ्यास गर्न अगुवाइ गर्न, वा तिनीहरूलाई सत्यता वास्तविकता बुझ्न र त्यसमा प्रवेश गर्न अगुवाइ गर्न सक्दैनन्—तिनीहरूले अगुवाहरूद्वारा पूरा गरिनुपर्ने जिम्मेवारी पूरा गर्न सक्दैनन्। यति मात्र होइन, तिनीहरूले फरकफरक कामका सुपरिवेक्षकहरू र विभिन्‍न महत्त्वपूर्ण कामका लागि जिम्मेवार व्यक्तिहरूका परिस्थितिहरूबारे पनि सुसूचित रहन सक्दैनन्, र तिनीहरूले यसबारे केही बुझे नि, त्यो सही हुँदैन। यसले विभिन्‍न काममा ठूलो बाधा र हानि ल्याउँछ। अगुवा र कामदारहरूको चौथो जिम्मेवारीअन्तर्गत आज हामीले खुलासा गर्न लागेका झूटा अगुवाहरूका विभिन्‍न प्रकटीकरणहरू यिनै हुन्।

विषयवस्तु चार: विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूका बारेमा सुसूचित रहने, र आवश्यकताअनुसार तिनीहरूका कर्तव्य तुरुन्तै हेरफेर गर्ने वा तिनीहरूलाई बरखास्त गर्ने, ताकि अनुपयुक्त मानिसहरूलाई प्रयोग गर्दा हुने क्षति रोक्‍न वा घटाउन सकियोस्, र कामको कार्यकौशलता र सहज प्रगतिको प्रत्याभूति दिन सकियोस्

अगुवा र कामदारहरूले विभिन्न कामका सुपरिवेक्षकहरूका परिस्थितिहरू बुझ्नैपर्छ

अगुवा र कामदारहरूको चौथो जिम्मेवारी के हो? (“विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूका बारेमा सुसूचित रहने, र आवश्यकताअनुसार तिनीहरूका कर्तव्य तुरुन्तै हेरफेर गर्ने वा तिनीहरूलाई बरखास्त गर्ने, ताकि अनुपयुक्त मानिसहरूलाई प्रयोग गर्दा हुने क्षति रोक्‍न वा घटाउन सकियोस्, र कामको कार्यकौशलता र सहज प्रगतिको प्रत्याभूति दिन सकियोस्।”) ठीक भन्यौ, काम गर्दा अगुवा र कामदारहरूले पूरा गर्न सक्‍नुपर्ने न्यूनतम मापदण्ड यही हो। के यो चौथो बुँदासँग सम्बन्धित अगुवा र कामदारहरूका मुख्य जिम्मेवारीहरूबारे तिमीहरू सबै स्पष्ट छौ? अगुवा र कामदारहरूमा विभिन्‍न कामका सुपरिवेक्षकहरू र विभिन्‍न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूबारे प्रस्ट बुझाइ हुनैपर्छ। विभिन्‍न कामका सुपरिवेक्षकहरू र विभिन्‍न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरू बुझ्नु अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै पर्छ। त्यसोभए, यी कर्मचारीहरू को हुन्? मूलतः तिनीहरू मण्डली अगुवाहरू हुन्, त्यसपछि टोली सुपरिवेक्षकहरू र विभिन्‍न समूहका अगुवाहरू हुन्। के विभिन्‍न कामका सुपरिवेक्षकहरू र विभिन्‍न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूमा सत्यता वास्तविकता छ कि छैन, तिनीहरू आफ्ना क्रियाकलापहरूमा सिद्धान्तनिष्ठ छन् कि छैनन्, र तिनीहरूले मण्डलीको काम राम्रोसँग गर्न सक्छन् कि सक्दैनन् भन्‍नेजस्ता परिस्थितिहरू बुझ्नु र बोध गर्नु अत्यावश्यक र अत्यन्तै महत्त्वपूर्ण छैन र? यदि अगुवा र कामदारहरूले फरक कामका मुख्य सुपरिवेक्षकहरूका परिस्थितिहरू राम्ररी बुझ्छन्, कर्मचारीहरूको उचित समायोजन गर्छन् भने, त्यो तिनीहरूले प्रत्येक काम उचित जाँच गरे जस्तै हो, र यो तिनीहरूले आफ्ना जिम्मेवारी र कर्तव्यहरू पूरा गर्नुसरह हो। यदि यी कर्मचारीहरूको सही समायोजन गरिएन र समस्या आयो भने, मण्डलीको काममा ठूलो असर पर्नेछ। यदि यी कर्मचारीहरू राम्रो मानवता भएका, परमेश्‍वरमाथिको आफ्नो आस्थामा जग भएका, जिम्मेवार भएर मामलाहरू सम्हाल्ने स्वभावका, र समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न सक्षम छन् भने, तिनीहरूलाई कामको प्रभारी बनाउँदा धेरै समस्याबाट बचिनेछ, र सबैभन्दा महत्त्वपूर्ण कुरा त, त्यसले कामलाई सहज रूपमा अघि बढ्न दिनेछ। तर यदि विभिन्‍न टोलीका सुपरिवेक्षकहरू भरपर्दा छैनन्, कमजोर मानवता भएका छन्, शिष्ट व्यवहार गर्दैनन्, र सत्यता अभ्यास गर्दैनन्, र त्यसको साथै, तिनीहरूले केही अवरोध र बाधाहरू निम्त्याउने सम्भावना हुन्छ भने, यसले तिनीहरूले जिम्मेवारी लिएको काममा र तिनीहरूले अगुवाइ गर्ने दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा असर गर्नेछ। त्यो प्रभाव अवश्यै ठूलो वा सानो हुन सक्छ। यदि सुपरिवेक्षकहरू केवल आफ्ना कर्तव्यहरूलाई उपेक्षा गर्छन् र आफूले गर्नुपर्ने काममा ध्यान दिँदैनन् भने, यसले सम्भवतः काममा केही ढिलाइ मात्र निम्त्याउनेछ; कार्यप्रगति अलि सुस्त हुनेछ, र काम अलि कम कुशल हुनेछ। तर, यदि तिनीहरू ख्रीष्टविरोधीहरू हुन् भने, समस्या गम्भीर हुनेछ: यो काम अलि बढी अकुशल वा अप्रभावकारी हुने समस्याको कुरा मात्र हुनेछैन—तिनीहरूले आफू जिम्मेवार रहेको मण्डलीको काममा बाधा र क्षति पुर्‍याउनेछन्, जसले गम्भीर हानि गर्नेछ। त्यसकारण, विभिन्‍न कामका सुपरिवेक्षकहरू र विभिन्‍न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूबारे सुसूचित रहनु, र कसैले वास्तविक काम नगरेको थाहा पाएपछि समयमै हेरफेर र बरखास्त गर्नु अगुवा र कामदारहरूले टार्न मिल्ने दायित्व होइन—यो अत्यन्तै गम्भीर र महत्त्वपूर्ण काम हो। यदि अगुवा र कामदारहरूले तत्कालै विभिन्‍न कामका सुपरिवेक्षकहरू र विभिन्‍न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूको चरित्र, अनि सत्यता र आफ्ना कर्तव्यहरूप्रति तिनीहरूको मनोवृत्ति, साथै प्रत्येक अवधि र चरणमा तिनीहरूका स्थिति र कार्यप्रदर्शनबारे थाहा पाउन सक्छन्, र तत्कालै ती मानिसहरूलाई परिस्थितिअनुसार समायोजन गर्न वा सम्हाल्न सक्छन् भने, काम सहज रूपमा अघि बढ्न सक्छ। त्यसविपरीत, यदि ती मानिसहरूले खराब कामकुरा गर्दै भाँडभैलो गर्छन् र मण्डलीमा वास्तविक काम गर्दैनन्, अनि अगुवा र कामदारहरूले तत्कालै यो कुरा पहिचान गर्न र समयमै काममा हेरफेर गर्न सक्दैनन्, बरु मण्डलीको काममा ठूलो नोक्सान पुर्‍याउनेगरी सबै प्रकारका समस्याहरू आइपरेपछि मात्र तिनलाई सामान्य रूपमा सम्हाल्ने, काममा हेरफेर गर्ने, र परिस्थितिलाई सच्याउने र जोगाउने प्रयास गर्छन् भने, ती अगुवा र कामदारहरू फोहोरको डङ्गुर हुन्। तिनीहरू बरखास्त गरिनैपर्ने र हटाइनैपर्ने असली झूटा अगुवाहरू हुन्।

भर्खरै, हामीले विविध कामका सुपरिवेक्षकहरूको वास्तविक स्थिति र तिनीहरूको कामको प्रभावकारिता बुझ्नु र जान्‍नुको महत्त्वबारे फराकिलो रूपले सङ्गति गर्‍यौँ, र अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गरेका छन् कि छैनन् भनेर मूल्याङ्कन गर्न यी वास्तविक अवस्थाहरू प्रयोग गर्‍यौँ, र तिनीहरूले प्रदर्शन गर्ने कुन-कुन प्रकटीकरणले तिनीहरू झूटा अगुवाहरू हुन् भनेर प्रमाणित गर्छन् भनेर खुलासा गर्‍यौँ, र यसमार्फत झूटा अगुवाहरूको सार चिरफार गर्‍यौँ। जब मण्डलीको काममा गम्भीर समस्याहरू देखा पर्छन्, तब झूटा अगुवाहरूले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैनन्। तिनीहरूले यी समस्याहरू तुरुन्तै पत्ता लगाउन पनि सक्दैनन्, तिनलाई समयमै सम्हाल्न र समाधान गर्न सक्नु त परको कुरा हो। यसले गर्दा समस्याहरू लामो समयसम्म रहिरहन्छन्, र पछि गएर यसबाट मण्डलीको काममा ढिलाइ र हानि हुन्छ, र यसले मण्डलीको काम अवरुद्ध वा अस्तव्यस्त पार्नसमेत सक्छ। यस्तो भइसकेपछि मात्रै झूटा अगुवाहरू मन नलागीनलागी मण्डलीको कामको अवलोकन गर्न जान्छन्, तैपनि तिनीहरूले अझै पनि समस्याहरू समाधान गर्नको लागि सम्बन्धित वा उचित समाधानहरू पहिचान गर्न सक्दैनन्, र अन्ततः तिनीहरूले ती समाधान नभएको अवस्थामै छोड्छन्। झूटा अगुवाहरूको प्राथमिक प्रकटीकरण यही हो।

विभिन्न कामका सुपरिवेक्षकहरू चयन गर्नका लागि मानकहरू

के धेरैजसो मानिसहरू विभिन्न कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरू छनौट गर्ने मानकहरूबारे धेरथोर स्पष्ट हुन्छन्? उदाहरणका लागि, कलासम्बन्धी कामको सुपरिवेक्षकमा मुख्य रूपमा के कुरा हुनुपर्छ? (तिनीहरूमा यो विधाको व्यावसायिक सीप हुनुपर्छ र तिनीहरूले कामको बोझ लिन सक्‍नुपर्छ।) व्यावसायिक सीप हुनु एउटा सिद्धान्त हो। त्यसोभए, यी व्यावसायिक सीपहरूले ठ्याक्‍कै के जनाउँछन्? यसलाई व्याख्या गरौँ। यदि कसैलाई चित्रकला मन पर्छ र उसलाई कला बनाउनमा रुचि छ, तर त्यो उसको पेसा होइन, उसमा यो विधाको ज्ञान छैन, र उसलाई यो कुरा मन मात्रै परेको हो भने, के त्यस्तो व्यक्तिलाई कला समूहको सुपरिवेक्षकका रूपमा छनौट गर्नु उचित हुन्छ? (अहँ, हुँदैन।) कतिले भन्छन्, “यदि तिनीहरूलाई कला बनाउन मन पर्छ भने, तिनीहरूले काम गर्न र बिस्तारै यसबारे सिक्न सक्छन्।” के यो अभिव्यक्ति सही छ? (छैन।) यसमा एउटा अपवाद छ, जसमा कला समूहका अरू सबै जना पनि उक्त पेशाबारे अपरिचित हुन्छन्, र यो व्यक्तिले अरूले भन्दा अलिक बढी जानेको हुन्छ र छिटो सिक्छ। के उसलाई छनौट गर्नु तुलनात्मक रूपमा उचित हुन्छ? (हो।) यो परिदृश्यबाहेक, मानौँ कला सिर्जनामा संलग्‍न सबै मानिसहरूमध्ये यो व्यक्तिले मात्रै उक्त पेसा जानेको छैन, तर उसले सत्यता बुझ्ने र उसलाई कला बनाउन मनपर्ने हुनाले उसलाई छनौट गरिन्छ भने—के त्यो उचित हो? (अहँ, होइन।) यो किन उचित होइन? किनभने ऊ पहिलो वा एक मात्र विकल्प होइन। त्यसोभए यस्तो सुपरिवेक्षक कसरी छनौट गरिनुपर्छ? यो पेसामा सबैभन्दा दक्ष र अनुभवी मानिसहरूमध्येबाट सुपरिवेक्षक छनौट गरिनुपर्छ; अर्थात्, ऊ दक्ष हुनुपर्छ, र उसमा व्यावसायिक सीप र कार्य सामर्थ्य दुवै हुनुपर्छ—भुइँमान्छे छनौट नगर्। यो एउटा पक्ष हो। यसका साथै, ऊ बोझ लिने, आत्मिक बुझाइ भएको, र सत्यता बुझ्न सक्ने हुनैपर्छ। ऊसँग कम्तीमा परमेश्‍वरमाथिको आस्थाको जग पनि हुनैपर्छ। यसका मुख्य सिद्धान्तहरू यी हुन्: पहिलो, ऊसँग कार्य सामर्थ्य हुनैपर्छ; दोस्रो, उसले उक्त पेसा बुझेको हुनैपर्छ; अनि तेस्रो, ऊसँग आत्मिक बुझाइ हुनैपर्छ र उसले सत्यता बुझ्न सक्‍नैपर्छ। विभिन्न कामका सुपरिवेक्षकहरू छनौट गर्न यी तीन मापदण्डहरू प्रयोग गर।

विभिन्न कामका सुपरिवेक्षकहरूका सम्बन्धमा झुटा अगुवाहरूका प्रकटीकरणहरू

विभिन्‍न विशिष्ट कामहरूका लागि सुपरिवेक्षकहरू छनौट गरेपछि, अगुवा र कामदारहरू केही नगरी पन्छिएर बस्‍नु हुँदैन; तिनीहरूले आफूले छनौट गरेका यी सुपरिवेक्षकहरूले साँच्‍चै नै कामको बोझ लिन सक्छन् कि सक्दैनन् र त्यसलाई सही मार्गमा अघि बढाउन सक्छन् कि सक्दैनन् भनेर हेर्न ती व्यक्तिहरूलाई केही समयसम्म तालिम दिँदै संवर्धन पनि गर्नुपर्छ। त्यो नै जिम्मेवारी पूरा गर्नु हो। मानौँ, छनौटको बेला, तैँले तेरा उम्मेदवारहरूले आफ्नो पेसा बुझेका छन्, तिनीहरूसँग कार्य सामर्थ्य छ, तिनीहरूले अलिकति बोझ बोक्छन्, र तिनीहरूसँग आत्मिक बुझाइ छ र सत्यता बुझ्ने क्षमता छ भन्‍ने देखिस्, र तैँले तिनीहरू यी हिसाबमा योग्य भएकाले सबै कुरा ठीकठाक हुनेछ भन्‍ने सोचिस्, र यसो भनिस्, “तिमीहरूले काम गर्न थाले हुन्छ; मैले तिमीहरूलाई सबै सिद्धान्तहरू बताइसकेको छु। अबदेखि, परमेश्‍वरको घरले तिमीहरूलाई जे गर्न लगाउँछ त्यो आफैँ गर।” के यो काम अघि बढाउने स्वीकार्य तरिका हो? तैँले सुपरिवेक्षकहरूको बन्दोबस्त गरिसकेपछि, के यसको अर्थ तैँले त्यसलाई त्यतिकै छोड्न सक्छस् भन्‍ने हो? (अहँ, होइन।) त्यसोभए के गर्नुपर्छ? मानौँ कुनै अगुवाले हप्तामा दुई पटक सुपरिवेक्षकहरूसँग भेला गर्छ, तिनीहरूसँग सत्यता सङ्गति गर्छ, र त्यसबाहेक अरू केही गर्दैन, बरु उसले ती सुपरिवेक्षकहरू सबै सक्रिय, भरपर्दा, र अरूले भनेको कुरा बुझ्न सक्षम छन्, त्यसकारण तिनीहरूले सत्यताअनुसार अभ्यास गर्न सक्छन् भन्‍ने विश्‍वास गर्छ। यो अगुवाले ती सुपरिवेक्षकहरूले ठ्याक्‍कै कसरी आफ्नो काम गर्छन्, तिनीहरूले अरूसँग सामञ्जस्यपूर्ण सहकार्य गर्छन् कि गर्दैनन्, तिनीहरूले यस अवधिमा व्यावसायिक सीपहरू बुझेका छन् कि छैनन्, वा परमेश्‍वरको घरले दिएको काम तिनीहरूले कति पूरा गरेका छन् भन्‍ने कुराको जाँचबुझ वा अनुगमन गर्नुपर्दैन भन्ने सोच्छ। के अगुवा र कामदारले यसरी नै काम सम्हाल्नुपर्ने हो? (अहँ, होइन।) झूटा अगुवाहरूले आफ्नो काम यसरी नै गर्छन्। तिनीहरूले सबै काम एकै पटकमा सधैँका लागि पूरा गर्ने प्रयास गर्छन्, तिनीहरूले सुपरिवेक्षकहरूको बन्दोबस्त गर्छन् र केही सदस्यहरूसहितको टोली बनाउँछन्, र त्यसपछि भन्छन्, “काम सुरु गर। यदि तिमीहरूलाई कुनै उपकरण चाहिन्छ भने, मलाई भन, अनि परमेश्‍वरको घरले तिमीहरूलाई ती कुरा किनिदिनेछ। यदि तिमीहरूलाई दैनिक जीवनमा कुनै कठिनाइहरू वा कुनै समस्या आइपर्‍यो भने, तीबारे निर्धक्‍क भएर बताओ, अनि परमेश्‍वरको घरले सधैँ तिमीहरूका लागि ती समाधान गरिदिनेछ। यदि तिमीहरूसँग कुनै कठिनाइहरू छैनन् भने, आफ्नो काममा ध्यान देओ। बाधा वा अवरोधहरू ननिम्त्याऊ, र ठुल्ठुला विचारहरू नफलाक।” झूटा अगुवाहरूले यी मानिसहरूलाई मिलेर काम गर्ने बन्दोबस्त मिलाउँछन्, र तिनीहरूसँग खानपान, र बस्‍ने ठाउँ छ भने, त्यो नै पर्याप्त हुन्छ, र तिनीहरूलाई कुनै ध्यान दिनुपर्दैन भन्‍ने सोच्छन्। जब माथिले “यस कामका लागि सुपरिवेक्षकहरू छनौट गरिएको कति भयो? काम कसरी अघि बढिरहेको छ?” भनेर सोध्छन्, तब तिनीहरूले जवाफ दिन्छन्, “छ महिना भयो। हामीले तिनीहरूका लागि लगभग १० वटा भेला आयोजना गरेका छौँ, र तिनीहरू उत्साहित देखिन्छन्, र काम भइरहेको छ।” माथिले “त्यसोभए सुपरिवेक्षकहरूको कार्य सामर्थ्य कस्तो छ त?” भनेर सोध्दा, तिनीहरूले भन्छन्, “ठीकै छ; हामीले तिनीहरूलाई छनौट गर्दा, तिनीहरू नै सबैभन्दा उत्कृष्ट थिए।” माथिले तिनीहरूलाई सोध्छन्, “अहिले तिनीहरूको अवस्था कस्तो छ? के तिनीहरूले वास्तविक काम गर्न सक्छन्?” तिनीहरूले जवाफ दिन्छन्, “मैले तिनीहरूका लागि एउटा भेला आयोजना गरेँ।” माथिले जवाफमा भन्छन्, “मैले तिमीले भेला आयोजना गर्‍यौ कि गरेनौ भनेर सोधेको होइनँ; मैले त तिनीहरूको काम कस्तो चलिरहेको छ भनेर सोधेको हुँ।” तिनीहरूले भन्छन्, “त्यो त ठीकै होला; तिनीहरूका बारेमा कसैले पनि कुनै नराम्रो कुरा रिपोर्ट गरेको छैन।” माथिले प्रतिक्रिया दिन्छन्, “तिनीहरूबारे कसैले पनि नराम्रो कुरा रिपोर्ट नगर्नु मानक होइन। तिमीले तिनीहरूका कार्य सामर्थ्य र व्यावसायिक सीपहरू कस्ता छन् भनेर हेर्नुपर्छ, साथै तिनीहरूसँग आत्मिक बुझाइ छ कि छैन, र तिनीहरूले वास्तविक काम गर्छन् कि गर्दैनन् भनेर हेर्नुपर्छ।” तिनीहरूले जवाफ दिन्छन्, “छनौटको बेला, तिनीहरू ठीकै देखिन्थे। मैले केही समयदेखि यी विवरणबारे सोधपुछ गरेको छैनँ। यदि तपाईँ थाहा पाउन चाहनुहुन्छ भने, म फेरि सोध्छु।” झूटा अगुवाहरूले यसरी नै काम गर्छन्। तिनीहरूले भेलाहरू आयोजना गरिरहन्छन् र आफ्ना मातहतकासँग निरन्तर सङ्गति गर्छन्, तर माथिसँग तिनीहरूले घुमाउरो कुरा गर्छन् र झाराटारुवा प्रतिक्रिया दिन्छन्। तिनीहरूको सबैभन्दा राम्रो झाराटारुवा प्रतिक्रिया “मैले तिनीहरूका लागि भेला आयोजना गरेँ। पछिल्लो पटक, मैले कामबारे धेरै विस्तृत रूपमा सोधेँ” भन्‍ने हुन्छ। तिनीहरूले माथिलाई यसरी नै प्रतिक्रिया दिन्छन्। के यी झूटा अगुवाहरूले वास्तविक काम गरिरहेका हुन्छन्? के तिनीहरूले वास्तविक समस्याहरू पहिचान गरेका हुन्छन्? के तिनीहरूले ती समस्या समाधान गरेका हुन्छन्? सुपरिवेक्षकहरूको बन्दोबस्त गरेपछि, झूटा अगुवाहरू सुपरिवेक्षकहरूले जिम्मेवारी पूरा गर्ने वा बफादार बन्‍ने गरेका छन् कि छैनन्, काम कसरी भइरहेको छ, नतिजाहरू राम्रा छन् कि खराब, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूबारे कसरी रिपोर्ट गरिरहेका छन्, वा उक्त कामका लागि अझै उपयुक्त व्यक्तिहरू छन् कि छैनन् भन्‍नेबारे पूरै अनजान हुन्छन्। तिनीहरू किन यी कुराहरूबारे अनजान हुन्छन्? किनभने तिनीहरूले यो वास्तविक काम गर्दैनन्; तिनीहरूले आफूलाई व्यर्थ कुराहरूमा मात्रै व्यस्त राख्छन्। तिनीहरू यसरी निरन्तर कामको सुपरिवेक्षण र निरीक्षण गर्नु जरुरी छैन, यसो गर्नुको अर्थ तिनीहरूले ती सुपरिवेक्षकहरूलाई भरोसा नगर्नु हो भन्‍ने सोच्छन्। तिनीहरूका मनमा, भेलाहरू आयोजना गर्नु नै आफ्नो जिम्मेवारी पूरा गर्नु र बफादारी प्रदर्शन गर्नु हो। झूटा अगुवाहरूले वास्तविक काम नगर्नुको प्राथमिक प्रकटीकरण यही हो।

अ. वास्तविक काम नगर्ने सुपरिवेक्षकहरूलाई झुटा अगुवाहरूले कस्तो व्यवहार गर्छन्

झूटा अगुवाहरूले मण्डलीका हरप्रकारका कामका सुपरिवेक्षकहरूका विभिन्‍न परिस्थितिहरूप्रति आँखा चिम्लिदिन्छन्; तिनीहरूले यी परिस्थितिहरूबारे बुझ्‍ने, वा तीबारे जाँचबुझ गर्ने, वा तिनलाई सम्हाल्‍ने, वा सुल्झाउने गर्दैनन्। सुपरिवेक्षकहरूका के-कस्ता खास परिस्थितिहरू हुन्छन्? पहिलोचाहिँ के हो भने, सुपरिवेक्षकहरूले बोझ लिँदैनन् र आफूले गर्नुपर्ने उचित काम नगरी वा वास्तविक काम नगरी खानपान, र मनोरन्जनको खोजी मात्र गरिरहन्छन्। के यो गम्भीर समस्या होइन र? (हो।) कति मानिसहरूसँग काम गर्ने क्षमता हुन्छ, तिनीहरूमा पेसागत दक्षता हुन्छ, र तिनीहरू सबैभन्दा उत्कृष्ट हुन्छन्; तिनीहरू बोल्न सिपालु र बुद्धिमानी हुन्छन्, र यदि निर्देशनहरू दोहोर्‍याउन लगाइयो भने तिनीहरूले एउटा शब्द पनि नछुटाई त्यसो गर्न सक्छन्, तिनीहरू त्यति चलाख हुन्छन्; तिनीहरूले सबैबाट निकै राम्रो मूल्याङ्कन पाउँछन्, र तिनीहरू विश्‍वासी बनेको धेरै भएको हुन्छ। फलस्वरूप, तिनीहरूलाई सुपरिवेक्षकका रूपमा छनौट गरिन्छ। तर, यी मानिसहरू व्यावहारिक छन् कि छैनन्, तिनीहरूले मूल्य चुकाउन सक्छन् कि सक्दैनन्, र वास्तविक काम गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा कसैलाई थाहा हुँदैन। मानिसहरूले तिनीहरूलाई छनौट गरेका हुनाले, सुरुमा संवर्धन गर्न र परीक्षणका आधारमा प्रयोग गर्नका लागि तिनीहरूलाई बढुवा गरिन्छ। तर, केही समय काम गरेपछि, तिनीहरू व्यावसायिक सीप र अनुभवका बाबजुद घिचुवा र अल्छी छन्, र मूल्य चुकाउन अनिच्छुक छन् भन्‍ने कुरा पत्ता लाग्छ। अलिक थकाइलाग्दो हुनेबित्तिकै तिनीहरूले काम गर्न छोड्छन्, र समस्या वा कठिनाइमा परेर तिनीहरूको मार्गदर्शन आवश्यक परेको कसैलाई तिनीहरूले ध्यान दिन चाहँदैनन्। बिहान, आँखा खोल्नेबित्तिकै, तिनीहरूले सोच्छन्, “आज मैले के खाने होला? भान्सामा सुँगुरको मासु नपकाएको धेरै दिन भयो।” प्रायजसो तिनीहरू अरूलाई सधैँ यसो भन्छन्, “मेरो गृहनगरतिर पाइने खाजा निकै स्वादिष्ट हुन्छ; हामी हरेक चाडपर्वमा बाहिर गएर खान्थ्यौँ। म स्कूल पढ्दा, शनिबार निद्रा पुगुञ्जेल सुत्थेँ, र त्यसपछि अनुहार नधोई वा कपाल नकोरी खाना खान जान्थेँ। दिउँसो, म पाइजामा लगाएर घरभित्रै भिडियो गेम खेलेर बस्थेँ, कहिलेकाहीँ त भोलिपल्ट बिहान ५ बजेसम्म खेल्थेँ। अहिले त, परमेश्‍वरको घरको कामले मलाई यो हालतमा पुर्‍याएको छ, र सुपरिवेक्षकका रूपमा, मैले निश्‍चित कामकुरा गर्नुपर्छ। तिमीहरू सबैलाई कति आनन्द छ, हेर त; तिमीहरूले यो मूल्य चुकाउनुपर्दैन। सुपरिवेक्षकका रूपमा, मैले त कठिनाइ सहन सक्‍नुपर्छ।” तिनीहरूले यसो भन्छन्, तर के तिनीहरूले देहविरुद्ध विद्रोह गर्छन्? के तिनीहरूले मूल्य चुकाउँछन्? तिनीहरू गुनासोले भरिएका हुन्छन्, र कुनै पनि वास्तविक काम गर्न इच्छुक हुँदैनन्। तिनीहरू धकेलिँदा मात्रै हिँड्छन्, र सुपरिवेक्षणविना, तिनीहरूले झाराटारुवा व्यवहार गर्छन्। कर्तव्य निर्वाह गर्दा, तिनीहरू निश्चिन्त र अनुशासनहीन हुन्छन्, तिनीहरू प्रायजसो धूर्त र सुस्त हुन्छन्, र तिनीहरू अलिकति पनि जिम्मेवार हुँदैनन्। तिनीहरू आफूले देखेका व्यावसायिक समस्याहरू पनि अरूका लागि समाधान गरिदिँदैनन्, र अरू सबैले तिनीहरूले जस्तै झाराटारुवा व्यवहार गर्दा तिनीहरू खुसी हुन्छन्। तिनीहरू कामलाई कसैले पनि गम्भीरतापूर्वक लियोस् भन्‍ने चाहँदैनन्। कति सुपरिवेक्षकहरू त आफ्नो हातका कामहरूलाई यत्तिकै झाराटारुवा तरिकाले सक्‍काइहाल्छन्, त्यसपछि लगातार धेरै टेलीनाटकहरू हेरिरहन्छन्। तिनीहरूले लगातार टेलीनाटकहरू हेर्नुको कारण के हो? “मैले मेरा कामहरू पूरा गरिसकेको छु; मैले परमेश्‍वरको घरमा सित्तैँमा खाइरहेको छैनँ। म त मनलाई शान्त पार्न मात्रै आराम गरिरहेको छु। नत्र, म अत्यन्तै थकित हुनेछु, र मेरो कामको प्रभावकारितामा असर पर्नेछ। मेरो कामको प्रभावकारिता सुधार्न मलाई केही समय आराम गर्न देऊ।” तिनीहरू राती २-३ बजेसम्म टेलीनाटकहरू हेरिरहन्छन्। भोलिपल्ट बिहान ८ बजे सबैले बिहानको खाजा खाइसकेर कर्तव्य निर्वाह गर्न थाल्दा पनि यी सुपरिवेक्षकहरू अझै सुतिरहेका हुन्छन्, र घाम माथि पुग्दा पनि तिनीहरू ओछ्यानबाट निस्कँदैनन्। पछि, तिनीहरू खुट्टा घिसार्दै, जिउ तन्काउँदै र हाइ काढ्दै मन नलागीनलागी उठ्छन्, अनि अरू सबैले काम थालिसकेको देखेर तिनीहरू आफ्नो अल्छीपन अरूले देख्लान् भनेर डराउँछन्, र बहानाहरू खोज्न थाल्छन्, “म हिजो राती धेरै अबेरसम्म सुतिनँ, काम धेरै थियो, कामको बोझ अत्यन्तै भारी थियो। म अलिक थकित छु। मैले हिजो राती एउटा काममा समस्या भएको सपना पनि देखेँ। आज बिहान बिउँझँदा, मेरो हात कम्प्युटरमा टाइप गर्ने मुद्रामा थियो। मेरो दिमाग साँच्‍चै धूमिल छ, र आज दिउँसो म सुत्नुपर्छ।” तिनीहरू यति ढिलो उठ्छन् र दिउँसो पनि सुत्नुपर्छ—के तिनीहरू सुँगुर त बनेका छैनन्? तिनीहरूले स्पष्ट रूपमै ढिलासुस्ती गरिरहेका थिए, तैपनि तिनीहरू आफूलाई सही साबित गर्न र आफ्नो बचाउ गर्न बहाना बनाउँछन्, र आफूले राती अबेरसम्म कर्तव्य निर्वाह गरेका कारण आफू थकित भएको दाबी गर्छन्। तिनीहरू स्पष्ट रूपमै लगातार टेलीनाटकहरू हेरिरहेका, देहगत ऐसआराममा लिप्त भइरहेका, र भोगी स्थितिमा जिइरहेका थिए, तैपनि अन्त्यमा तिनीहरूले अरूलाई छल्न राम्रो बहानासमेत भेट्टाउँछन्। के यो आफ्नो उचित काममा ध्यान नदिनु होइन र? (हजुर, हो।) यस्ता मानिसहरूमा कार्य सामर्थ्य र व्यावसायिक सीप होला, तर के तिनीहरू मानकअनुरूपका सुपरिवेक्षक हुन् त? स्पष्ट रूपमै होइनन्। तिनीहरू सुपरिवेक्षक बन्न सुहाउँदैन किनभने तिनीहरू अत्यन्तै अल्छी छन्, तिनीहरू देहगत ऐसआराममा लिप्त हुन्छन्, तिनीहरू खाना, निद्रा, र मनोरञ्जनको लोभ गर्छन्, र तिनीहरूले सुपरिवेक्षकका जिम्मेवारीहरू लिन वा पूरा गर्न सक्दैनन्।

कति महिलाहरूले प्राय अनलाइनमा लुगा, जुत्ता, सौन्दर्य सामग्री, र खानेकुरा हेर्छन्, र त्यो काम सकेपछि, एकोहोरो रूपमा टेलीनाटकहरू हेर्न थाल्छन्। मानिसहरूले भन्छन्, “तपाईँ आफ्नो काम सक्दै नसकी किन टेलीनाटकहरू हेरेर बस्‍नुहुन्छ? साथै, अरू मानिसहरूसँग अझै पनि धेरै समस्याहरू छन्। सुपरिवेक्षकको रूपमा, तपाईँले तिनीहरूलाई मार्गदर्शन गर्नुपर्छ। तपाईँले किन आफ्नो जिम्मेवारी पूरा गरिरहनुभएको छैन?” ती महिलाहरूले भन्छन्, “विभिन्‍न टेलीनाटकहरू हेर्नु पनि मेरो कामको भाग नै हो। परमेश्‍वरको घरका भिडियो र चलचित्रहरू विकास गर्नुपर्छ, र मैले यी टेलीनाटकहरूबाट प्रेरणा प्राप्त गर्नुपर्छ!” के त्यो छली कुरा होइन र? यदि तिनीहरू यो पेसामा संलग्‍न छन् भने, कहिलेकहीँ प्रेरणाको लागि टेलीनाटकहरू हेर्नु स्वीकार्य नै हुन्छ, तर के प्रेरणा प्राप्त गर्नको लागि दिन रात हेर्ने त? के त्यो छली कुरा होइन र? (हजुर, हो।) त्यहाँ के भइरहेको छ भन्‍ने कुरा सबैलाई थाहा हुन्छ, त्यसैले त्यस्ता कुराहरू बोलेर, ती महिलाहरूले आफ्नो गरिमा र निष्ठा बेचिरहेका हुन्छन्। कति मानिसहरूसँग पहिले नै भिडियो गेम खेल्ने बानी हुन्छ, र त्यो तिनीहरूको जीवनको नियमित कुरा बनेको हुन्छ। तर सुपरिवेक्षकको रूपमा छनौट भएपछि, के तिनीहरूले ती खराब बानीबेहोरा र आनीबानी परिवर्तन गर्नुपर्दैन र? (पर्छ।) यदि तिनीहरूले तीविरुद्ध विद्रोह गर्न सक्दैनन् भने, तिनीहरूलाई सुपरिवेक्षकको रूपमा छनौट गर्दा, तिनीहरूले यसो भन्‍नुपर्छ, “म यो काम लिन सक्दिनँ। म भिडियो गेम खेल्ने लतमा परेको छु। जब म गेम खेल्छु, तब म सबै कुरा बिर्सिन्छु, र कसैले नि मलाई हस्तक्षेप वा प्रभावित गर्न सक्दैन। यदि तिमीहरूले मलाई छनौट गर्‍यौ भने, यसले अवश्य नै काममा ढिलाइ गराउनेछ। त्यसैले तुरुन्तै कदम चाल्‍नुहोस् र मलाई सुपरिवेक्षक बन्‍न नदिनुहोस्।” यदि ती मानिसहरूले अग्रिम रूपमा यस्तो घोषणा गर्दैनन् र छनौट हुँदा हैसियतलाई प्रिय ठान्दै खुशी र गौरव महसुस गर्छन्, र सुपरिवेक्षक बनेपछि पनि तिनीहरूले पहिलेजसरी मनलाग्दी रूपमै भिडियो गेमहरू खेल्छन् भने, यो अनुचित हुन्छ, र यसले अवश्य नै काममा ढिलाइ गराउनेछ।

कति सुपरिवेक्षकहरूमा निश्‍चित खराब बानीहरू हुन्छन्। जब दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई छनौट गर्छन्, तब कतिले त तिनीहरूको परिस्थिति नै बुझ्दैनन्, जबकि अरूले ती व्यक्तिहरूले परमेश्‍वरका लागि आफूलाई पूर्णकालीन रूपमा समर्पित गर्न सक्छन् भन्‍ने विश्‍वास गर्छन्, र जवान मानिसहरूका खराब बानीबेहोरा र आनीबानीहरू उमेरसँगै र सत्यताबारे निरन्तर बुझाइ आएसँगै क्रमिक रूपमा परिवर्तन हुन सक्छन् भन्‍ने सोच्छन्। ती व्यक्तिहरूलाई सुपरिवेक्षकका रूपमा छनौट गर्दा, धेरै मानिसहरूले यही मनोवृत्ति र दृष्टिकोण बोकेका हुन्छन्। ती व्यक्तिहरू छनौट भएपछि, तिनीहरूले अलिअलि काम गर्छन्, तर केही समयपछि नै तिनीहरू नकारात्मक बन्छन् र यस्तो सोच्छन्, “सुपरिवेक्षक बन्‍नु सजिलो छैन। म बिहानै उठ्नुपर्छ र राती अबेरसम्‍म बस्‍नुपर्छ, र मैले हरमोडमा अरूले भन्दा बढी काम र अवलोकन गर्नुपर्छ। मैले अझै धेरै चिन्ता गर्नुपर्छ, र मेरो समय र ऊर्जा अझै धेरै खर्च गर्नुपर्छ। यो काम गाह्रो छ; यो अत्यन्तै थकाइलाग्दो छ!” फलस्वरूप, तिनीहरूले काम छोड्नेबारे सोच्छन्। यदि तैँले बोझ लिँदैनस् भने, तैँले सुपरिवेक्षकको काम गर्न सक्दैनस्। यदि तँ हृदयमा बोझ बोकेको छस् भने, तँ कामबारे चिन्ता गर्न इच्छुक हुनेछस्, र तैँले आफू अरूभन्दा अलिक थकित भए नि कष्ट भोगिरहेको महसुस गर्नेछैनस्। विश्राम गर्ने समय आए नि अझै तैँले “आजको काम कस्तो भयो?” भनेर सोच्दै बस्‍नेछस्। यदि तँलाई समाधान नभएको समस्या अचानक याद आयो भने, तँलाई निद्रा लाग्‍नेछैन। यदि तैँले हृदयमा बोझ बोकेको छस् भने, तैँले सधैँ कामबारे विचार गरिरहेको हुनेछस्, र आफूले कति राम्ररी खाइरहेको छु वा कति आराम गरिरहेको छु भनेरसमेत वास्ता गर्नेछैनस्। यदि मानिसहरूले सुपरिवेक्षकका रूपमा एकदमै थोरै मात्र बोझ लिन्छन् भने, तिनीहरूको थोरै जोश केही दिन मात्रै रहन्छ, र समय बित्दै जाँदा, तिनीहरूमध्ये कतिले त्यो सहनै सक्दैनन्। तिनीहरूले सोच्छन्, “यो काम कति थकाइलाग्दो छ। मैले मनोरञ्जन गर्ने र अलिक आराम गर्ने उपाय के हो? बरु म त केही भिडियो गेम नै खेल्नेछु।” तिनीहरूले छोटो समयसम्म राम्रो कार्यप्रदर्शन गर्छन्, तर अचानक तिनीहरूलाई भिडियो गेम खेल्ने इच्छा जाग्छ। खेल्न सुरु गरेपछि, तिनीहरू रोकिन सक्दैनन्; अनि तिनीहरूमा पहिले भएको त्यो सानो बोझ पनि खेल्‍न थालेसँगै नष्ट भएर जान्छ, र सँगसँगै कर्तव्य निर्वाहमा भएको आफूलाई समर्पित गर्ने तिनीहरूको उत्साहजनक उत्प्रेरणा, सङ्कल्प, र सकारात्मक मनोवृत्ति पनि हराइजान्छ। जब कसैले तिनीहरूलाई कुनै कुरा सोध्छ, तब तिनीहरू अधीर बन्छन्। तिनीहरूले या त मानिसहरूलाई काटछाँट गर्छन्, वा तिनीहरूलाई भाषण छाँट्छन् र तिनीहरूको गिल्‍ला गर्छन्, वा झाराटारुवा तरिकाले काम गर्छन् र आफ्नो काम छोड्छन्। के ती सुपरिवेक्षकहरूमा समस्या हुँदैन र? (हुन्छ।) दिनको समयमा, तिनीहरूले झुम्म भएर आफ्नो काम बल्‍लबल्‍ल पूरा गर्छन्, र राती, कसैले नदेखेको बेला, एक झिमिक्‍क पनि नसुती लुकेर भिडियो गेमहरू खेल्छन्। सुरुमा, तिनीहरूलाई यसबारे सहज नै लाग्छ, र तिनीहरूले सोच्छन्, “मैले दिनको समयमा काममा ढिलाइ गरिनँ। मैले आफूले गर्नुपर्ने सबै काम गरिसकेको छु। मैले अरूले मलाई सोधेका सबै समस्याहरू समाधान गरेको छु। यदि म भिडियो गेम खेल्‍ने समय निकाल्नका लागि राती सुतिनँ भने पनि, के यो सबै कुरालाई म बफादार भएको मानिँदैनदैन र?” परिणामस्वरूप, तिनीहरूले भिडियो गेम खेल्न थालेपछि, रोकिनै सक्दैनन्, र तिनीहरूले कसैको कुरा सुन्दैनन्। यसले अरूको विश्राम वा काम गर्ने वातावरणमा असर नगरे नि, के त्यस्ता सुपरिवेक्षकहरूले अझै आफ्नो कामको बोझ लिन सक्छन्? के तिनीहरूले राम्ररी काम गर्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? तिनीहरू प्रायजसो रातभरि नसुरी भिडियो गेम खेल्छन्, अनि तिनीहरूले दिनभरि काम गर्नुपर्ने हुन्छ—एक व्यक्तिमा कति ऊर्जा हुन सक्छ र? यदि तिनीहरू यसरी भिडियो गेम खेल्नमा लागिरहन्छन् भने, के तिनीहरूको कामको प्रभावकारिता राम्रो हुनेछ? अवश्य नै हुनेछैन। त्यसकारण, त्यस्ता सुपरिवेक्षकहरूले आफ्नो कर्तव्य निर्वाह गर्न वा आफ्नो कामको बोझ लिन पटक्‍कै सक्दैनन्। तिनीहरूसँग व्यावसायिक सीप र केही क्षमता भए नि, तिनीहरू खेल्‍नै मन गर्छन् र उचित काममा ध्यान दिँदैनन्। के यी सुपरिवेक्षकहरूलाई बर्खास्त गरिनुपर्दैन र? यदि तिनीहरूलाई बर्खास्त गरिएन भने, काममा ढिलाइ हुनेछ। कति मानिसहरू भन्छन्, “यदि तिनीहरूलाई बर्खास्त गरियो भने, हामीले तिनीहरूजस्तै व्यावसायिक सीप भएका अरू कोही भेट्टाउन सक्‍नेछैनौँ। हामीले तिनीहरूलाई यो काम गर्न दिनुपर्छ—तिनीहरूले भिडियो गेम खेल्‍ने गरे पनि कामको बोझ लिन सक्छन्।” के यो अभिव्यक्ति सही छ? (अहँ, छैन।) व्यक्तिले एकै पटक दुई कुरामा ध्यान दिन सक्दैन; मानिसहरूसँग सीमित ऊर्जा हुन्छ। यदि तैँले आफ्नो धेरैजसो ऊर्जा खेल्नमा केन्द्रित गरिस् भने, कर्तव्य निर्वाह गर्ने तेरो निष्ठामा असर पर्नेछ, र कर्तव्य निर्वाह गर्दा तेरो प्रभावकारिता धेरै कम हुनेछ। यो कर्तव्य निर्वाहप्रतिको गैरजिम्मेवार मनोवृत्ति हो। व्यक्तिले आफ्नो कर्तव्यमा सारा हृदय र सारा ऊर्जा लगाए पनि परिणामहरू शतप्रतिशत मानकअनुरूप नै हुनेछैन भन्ने हुँदैन। यदि तैँले आफ्नो हृदय र आफ्नो धेरैजसो ऊर्जा गेममा केन्द्रित गरिस् भने यो अझै खराब हुनेछ—तँसँग आफ्नो कर्तव्य निर्वाह गर्दा प्रयोग गर्नका लागि चाहिने त्यति धेरै ऊर्जा र सोच हुनेछैन, र कर्तव्य निर्वाह गर्दा तेरो प्रभावकारितामा असर पर्नेछ।यसमा असर पर्नेछ भनेर भन्‍नु यसलाई हल्का ढङ्गले व्यक्त गर्नु हो; वास्तवमा, कर्तव्य निर्वाह गर्दा तेरो प्रभावकारितामा गम्भीर क्षति पुग्‍नेछ। यदि त्यस्ता सुपरिवेक्षकहरू पहिचान भए भने, तिनीहरूलाई तुरुन्तै अर्को काममा लगाउनुपर्छ र बर्खास्त गर्नुपर्छ, किनभने तिनीहरू पहिले नै अयोग्य साबित भइसकेका हुन्छन्। तिनीहरूको कर्तव्य निर्वाह मानकअनुरूप नहुने मात्र होइन—तिनीहरू पहिले नै कामको बोझ लिन नसक्‍ने हुन्छन् र तिनीहरूले आफ्नो काममा कुनै पनि सकारात्मक प्रभाव पार्न सक्दैनन्। त्यसकारण, तिनीहरूको काम लिन अलिक कम व्यावसायिक सीप नै भएको कोही इमानदार र जिम्मेवार व्यक्ति खोज्नु नै तिनीहरूभन्दा राम्रो विकल्प हुनेछ।

भर्खरै, मैले खाना, निद्रा, र मनोरञ्जनको लोभ गर्ने विभिन्‍न प्रकारका मानिसहरूबारे सङ्गति गरेँ। अर्को प्रकारको व्यक्ति पनि हुन्छ। सुरुमा, सुपरिवेक्षकहरू छनौट गर्ने क्रममा, यस्तो व्यक्ति हरेक हिसाबमा उक्त भूमिकाका लागि उपयुक्त देखिन्छ, र दाजुभाइ-दिदीबहिनीहरू सबै जना उसलाई नै छनौट गर्न इच्छुक हुन्छन्। तिनीहरूले त्यो व्यक्तिमा राम्रो मानवता छ, ऊ उत्साहित, र आफ्नो पेसामा दक्ष छ, साथै समूहमा हरेक पक्षमा ऊ नै सबैभन्दा राम्रो र सबल छ भन्‍ने सोच्छन्, जसले गर्दा ऊ सुपरिवेक्षक पदका लागि स्पष्ट विकल्प बन्छ। तर, छनौट भएको केही समयपछि, यो व्यक्ति भेलाहरूमा समेत बारम्बार निन्द्राले लट्ठ हान थाल्छ। जब अरूले ऊसँग कुरा गर्छन्, तब ऊ सधैँ अन्योलमा पर्छ र यसले प्रश्‍नहरूका अप्रासङ्गिक उत्तर दिन्छ। ऊ पहिले यस्तो थिएन, तर अचानक किन ऊ फरक व्यक्ति बनेजस्तो लाग्छ? पछि अनजानमै कसैले यो सुपरिवेक्षकको कुनै व्यक्तिसँगको कुराकानी सुन्दा तिनीहरू दुई जना रोमान्टिक सम्बन्धमा भएजस्तो कुरा पत्ता लगाउँछ, र तिनीहरू साँच्‍चै नै रोमान्टिक सम्बन्धमा संलग्‍न भएका छन् कि छैनन् भन्‍नेबारे अनुमानहरू पैदा हुन्छन्। यो मामला झन्झन् स्पष्ट हुँदै जाँदा, यो सुपरिवेक्षक झन्झन् भ्रमित हुँदै जान्छ। जब उसलाई कुनै कुराबारे प्रश्‍न सोधिन्छ वा कुरा गरिन्छ, तब उसको प्रतिक्रिया पहिलेको जस्तो छिटो हुँदैन, र ऊ पहिलेजस्तो स्पष्ट र बुझ्न सकिने हुँदैन। उसले सुपरिवेक्षकले गर्नुपर्ने काम झन्झन् कम रूपमा गर्न थाल्छ, र कर्तव्य निर्वाह गर्नेबारे उसको उत्साह झन्झन् कम हुन्छ। ऊ फरक व्यक्ति बनेजस्तै देखिन्छ; उसलाई आफ्नो लुगा र व्यक्तिगत सजावटप्रति पहिलेभन्दा बढी चासो हुन्छ। यहीँ नै समस्या छ। विगतमा, कामको व्यस्तता हुने समयमा, ऊ बिरलै नुहाउँथ्यो, तर अहिले उसले दिनमा दुई पटक मुख धुन्छ, र हरेक मौकामा कपाल कोर्छ र ऐना हेर्छ, र अरूलाई निरन्तर सोधिरहन्छ, “तपाईँलाई मेरो अनुहारको छाला अचेल अलिक गोरो भएजस्तो लाग्छ कि कालो भएजस्तो लाग्छ? मलाई किन आफू कालो भएजस्तो लाग्छ?” मानिसहरूले जबाफ दिन्छन्, “सुपरिवेक्षक भएर तपाईँले यी चिजहरूबारे कुरा गर्नु अत्यन्तै खेलाँची कुरा हो—गोरो वा कालो बन्नुले कुनै कुरामा के असर गर्छ र?” तिनीहरूले निरन्तर यी सानातिना विषयहरूबारे कुरा गर्छन्, र तिनीहरू आफ्नो काम गर्ने मुडमा हुँदैनन्। जबजब मौका मिल्छ, तबतब तिनीहरूले लुगा, महिला, पुरुष, र मायाप्रेमबारे, अनि मानिसहरूले कस्तो श्रीमान वा श्रीमती छनौट गर्ने भन्‍नेबारे छलफल गर्छन्, तर तिनीहरूले कर्तव्य-निर्वाहमा केकस्ता समस्याहरू छन् वा तिनलाई कसरी समाधान गर्ने भनेर कहिल्यै छलफल गर्दैनन्। के यहाँ समस्या छैन र? के तिनीहरूले अझै पनि काम गर्न सक्छन्? (अहँ, सक्दैनन्।) तिनीहरूको मानसिकता परिवर्तन भएको हुन्छ, र कर्तव्य निर्वाह गर्ने कुरा त अब तिनीहरूको विचारमा हुँदै हुँदैन। बरु, तिनीहरूको मन दिनभरि रोमान्टिक सम्बन्धहरूमा कसरी संलग्‍न हुने, कसरी चिटिक्‍क परेको लुगा लगाउने, र विपरीतलिङ्गीलाई कसरी आकर्षित गर्ने भनेर सोच्‍नमै व्यस्त हुन्छ। गैरविश्‍वासीहरूमाझ एउटा वाक्यांश छ: “प्रेममा फस्‍नु।” के यो प्रेम हो? अहँ, यो त गहिरो खाल्डो हो! तँ यसमा फसेपछि, यसबाट बाहिर आउन सक्दैनस्। के कर्तव्य निर्वाह गरिरहेका व्यक्तिहरूमाझ यस्ता मानिसहरू हुन्छन्? (हुन्छन्।) मानिसहरूले रोमान्टिक साथी खोज्दा परमेश्‍वरको घरले हस्तक्षेप नगर्ने भए नि, यदि त्यसो गरेर तिनीहरूले मण्डली जीवनमा बाधा दिए र मण्डलीको काममा असर पारे भने, ती मानिसहरूलाई पखालेर हटाइनुपर्छ। ती जोडीहरूले बाहिर गएर आफै डेटिङ गर्नुपर्छ र अरूलाई असर पार्नु हुँदैन। यदि तँ परमेश्‍वरका लागि आफ्नो सारा जीवन समर्पित गर्नमा आफूलाई अर्पण गर्ने व्यक्ति होस्, र तैँले रोमान्टिक सम्बन्धहरूमा संलग्‍न नहुने सङ्कल्प गरेको छस् भने, परमेश्‍वरलाई लागि आफूलाई समर्पित गर्नमा ध्यान दे। यदि तँ रोमान्टिक सम्बन्धमा लागेको छस् र तँलाई अब आफ्नो काम गर्न मन लाग्दैन भने, तैँले सुपरिवेक्षकको कर्तव्य निर्वाह गर्नु हुँदैन, र परमेश्‍वरको घरले त्यो पदका लागि अर्को व्यक्ति छनौट गर्नेछ। तेरो रोमान्टिक सम्बन्धले परमेश्‍वरको घरको काममा ढिलाइ गराउनु वा असर पार्नु हुँदैन। काम अघि बढिरहनुपर्छ। त्यो कसरी अघि बढिरहन सक्छ? तेरो काम सुम्पन अर्को सुपरिवेक्षक छनौट गरेर, जो रोमान्टिक सम्बन्धमा संलग्‍न छैन, जोसँग राम्रो व्यावसायिक सीप छ र जसले कामको बोझ लिन सक्छ। परमेश्‍वरको घर सधैँ यसरी नै सञ्चालन हुन्छ, र यो सिद्धान्त अपरिवर्तित नै रहन्छ। कति सुपरिवेक्षकहरू भन्छन्, “मेरो रोमान्टिक सम्बन्धले मेरो काममा असर पार्दैन; मलाई नै इन्चार्ज रहन दिनुहोस्।” के हामी यो अभिव्यक्तिमा विश्‍वास गर्न सक्छौँ? (अहँ, सक्दैनौँ।) हामी किन यसमा विश्‍वास गर्न सक्दैनौँ? किनभने तथ्यहरू सबैले देख्न सक्छन्! जब व्यक्ति रोमान्टिक सम्बन्धमा हुन्छ, तब उसले आफ्नो रोमान्टिक साथीबारे मात्रै सोच्छ, र उसको हृदय यी कुराहरूमा उल्झिएको हुन्छ, त्यसकारण ऊभेलाहरूमा प्रायः निद्राले लट्ठ हुने गर्छ र उसले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैन। त्यसकारण, परमेश्‍वरको घरले त्यस्ता व्यक्तिहरूलाई निराकरण गर्ने तरिका उचित र सिद्धान्तहरूअनुरूप हुन्छ। परमेश्‍वरको घरले तँलाई डेटिङ गर्नबाट रोक्दैन, न त यसले तँबाट तेरो डेटिङ गर्ने स्वतन्त्रता नै खोस्छ। तैँले धीत मरुन्जेल कसैसँग डेट गर्न सक्छस्: त्यो तेरो आफ्नै निर्णय हो, बस तैँले यसबारे पछुतो नगरे, यसबारे पछि नरोए भइहाल्यो। केही सुपरिवेक्षकहरूलाई रोमान्टिक सम्बन्धका कारण बर्खास्त गरिएको हुन्छ। अनि कति मानिसहरू सोध्छन्, “के व्यक्ति रोमान्टिक सम्बन्धमा भएपछि उसले परमेश्‍वरमा विश्‍वास गर्न पाउँदैन र?” परमेश्‍वरको घरले कहिल्यै त्यसो भनेको छैन। के परमेश्‍वरको घरले रोमान्टिक सम्बन्धमा संलग्‍न सबै मानिसहरूलाई इन्कार्ने वा निष्कासित गर्ने गर्छ त? (गर्दैन।) यदि तँ रोमान्टिक सम्बन्धमा छस् भने, तँ सुपरिवेक्षक वा अगुवा वा कामदार बन्‍न सक्दैनस्, र यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्नप्रति निष्ठावान छैनस् भने, तैँले पूर्णकालीन कर्तव्य मण्डली छोड्नुपर्छ। के कसैले तँलाई अबदेखि परमेश्‍वरमा विश्‍वास गर्ने अनुमति छैन, वा तँलाई निष्कासित गरिनेछ भनेर भनेको छ र? के कसैले तँलाई मुक्ति दिन सकिँदैन, वा तँ श्रापित हुनेछस् भनेर फैसला गरेको छ र? (छैन।) परमेश्‍वरको घरले कहिल्यै त्यस्ता कुराहरू भनेको छैन। परमेश्‍वरको घरले तेरो व्यक्तिगत निर्णय र स्वतन्त्रतामा कदापि हस्तक्षेप गर्दैन; यसले तँबाट कुनै पनि स्वतन्त्रता खोस्दैन—यसले तँलाई स्वतन्त्रता प्रदान गर्छ। तर, यस्तो सुपरिवेक्षकका हकमा, परमेश्‍वरको घरले तिनीहरूलाई निराकारण गर्ने सिद्धान्त भनेको तिनीहरूलाई बर्खास्त गर्नु र तिनीहरूको स्थान लिन उपयुक्त व्यक्ति खोज्नु हो। यदि तिनीहरू कर्तव्य निर्वाह गरिरहनका लागि उपयुक्त छन् भने, तिनीहरूलाई कायम राख्‍न सकिन्छ। होइन भने, तिनीहरूलाई पठाइनेछ। कुनै कुटपिट वा गालीगलौज वा अपमान हुनेछैन। यो लाजमर्दो कुरा होइन; यो अत्यन्तै सामान्य कुरा हो। त्यसकारण जब केही मानिसहरूलाई तिनीहरूको रोमान्टिक सम्बन्धका कारण आफ्नो पदबाट हटाइन्छ वा साधारण मण्डलीमा पठाइन्छ, तब के यो लाजमर्दो कुरा हुन्छ र? यसले तिनीहरूको कर्तव्य निर्वाहमा बफादारीको कमी छ, तिनीहरूलाई सत्यताप्रति चासो छैन, र तिनीहरू आफ्नो जीवन प्रवेशका लागि कुनै बोझ लिँदैनन् भन्‍ने कुरा मात्रै जनाउन सक्छ। यस्ता सुपरिवेक्षकले आफ्‍नो उचित काममा ध्यान दिँदैनन्—तिनीहरूले रोमान्टिक सम्बन्धहरूमा मात्रै ध्यान दिन्छन्, जसले गर्दा मण्डलीको काममा ढिलाइ हुन्छ, र यसले मण्डलीको कामको प्रगतिमा असर पारिसकेको हुन्छ—के यो गम्भीर समस्या होइन र? (हो।) त्यसकारण, यस्ता सुपरिवेक्षक कायम राखिनका लागि उपयुक्त हुँदैन र तिनीहरूलाई पदबाट हटाउनुपर्छ। कतिले भन्छन्, “के तिनीहरूलाई हटाउनु अलिक हतारमा चालिएको कदम हुँदैन र?” यदि तिनीहरूको रोमान्टिक सम्बन्ध सुरु भएको समयदेखि तिनीहरूलाई हटाइएको समयसम्म एक-दुई दिन मात्रै बितेको छ भने, त्यसलाई हतारमा चालिएको कदम भन्‍न सकिएला। तर यदि चार-पाँच महिना बितिसकेको छ भने, के त्यसलाई अझै पनि हतारमा चालिएको कदम मानिन्छ र? (मानिँदैन।) यो कारबाही गर्नमा त पर्याप्त ढिलासुस्ती भइसकेको छ, काममा धेरै ढिलाइ भइसकेको छ—तँलाई यसबारे कसरी चिन्ता नलागेको? के यो समस्या होइन र? (हजुर, हो।)

झूटा अगुवाहरूले वास्तविक काम नगर्ने वा आफ्‍ना उचित कामहरूमा ध्यान नदिने सुपरिवेक्षकहरूका बारेमा सोधपुछ गर्दैनन्। तिनीहरूलाई आफूले सुपरिवेक्षक छनौट गरे पुग्छ, अनि त्यो मामलाको अन्त्य हुन्छ, र पछि सुपरिवेक्षकले कामका सबै मामलाहरू आफै सम्‍हाल्‍न सक्‍नेछ भन्ने लाग्छ। त्यसकारण झूटा अगुवाहरूले कहिलेकाहीँ भेला आयोजना मात्रै गर्छन्, र कामको सुपरिवेक्षण गर्ने वा त्यो कसरी अघि बढिरहेको छ भनेर सोध्‍ने गर्दैनन्, अनि आफू चाहिँ काम नगरी अरूलाई अह्राउने हाकिमको जस्तो व्यवहार गर्छन्। यदि कसैले सुपरिवेक्षकको समस्याबारे रिपोर्ट गर्‍यो भने, झूटो अगुवाले भन्‍नेछ, “यो सानोतिनो समस्या मात्रै हो, ठीकै छ। तपाईँहरू आफैले यो कुरा सम्‍हाल्‍न सक्‍नुहुन्छ। मलाई नसोध्‍नुहोस्।” समस्या रिपोर्ट गर्ने व्यक्तिले भन्छ, “त्यो सुपरिवेक्षक अल्छे भातमारा हो। उसले खान र मनोरञ्‍जन गर्नमा मात्रै ध्यान दिन्छ, र ऊ हात बाँधेर बस्छ। ऊ आफ्नो कर्तव्यमा अलिकति पनि कठिनाइ भोग्‍न चाहँदैन, र आफ्‍नो काम र जिम्‍मेवारीहरूबाट पन्छिन सधैँ छल गर्दै अल्याङटल्याङ गर्छ र बहाना बनाउँछ। ऊ सुपरिवेक्षक हुन उपयुक्त छैन।” झूटो अगुवाले भन्छ, “सुपरिवेक्षकका रूपमा छनौट गरिँदा ऊ निकै राम्रो थियो। तपाईँले भन्‍नुभएको कुरा साँचो होइन, वा हो नै भने पनि, यो क्षणिक प्रकटीकरण मात्रै हो।” झूटो अगुवाले सुपरिवेक्षकको परिस्थितिबारे थप कुरा पत्ता लगाउने प्रयास गर्नेछैन, बरु त्यो सुपरिवेक्षकले विगतमा कस्तो छाप पारेको थियो भन्‍ने आधारमा त्यो मामिलाबारे मूल्याङ्कन गरेर फैसला गर्छ। सुपरिवेक्षकमा रहेका समस्याहरूबारे जसले रिपोर्ट गरे पनि, झूटो अगुवाले तिनीहरूलाई बेवास्ता गर्छ। त्यो सुपरिवेक्षकले कुनै वास्तविक काम गरिरहेको हुँदैन, र मण्डलीको काम झन्डै ठप्‍प बनेको हुन्छ, तर झूटो अगुवालाई मतलब हुँदैन, मानौँ तिनीहरू यसमा संलग्‍न समेत छैनन्। कसैले सुपरिवेक्षकका समस्याहरू रिपोर्ट गर्दा तिनीहरूले देखे पनि नदेखे जस्तो गर्नु आफैमा पनि वाक्‍कलाग्दो कुरा हो। तर सबभन्दा घिनलाग्दो कुराचाहिँ के हो? जब सुपरिवेक्षकमा रहेका साँच्‍चै गम्‍भीर समस्याहरूबारे मानिसहरूले तिनीहरूलाई रिपोर्ट गर्छन्, तिनीहरूले त्यो सुल्झाउने प्रयास गर्नेछैनन्, बरु हर प्रकारका बहानाहरूसमेत बनाउनेछन्: “यो सुपरिवेक्षकलाई मैले चिनेको छु, उसले परमेश्‍वरमा साँच्‍चै विश्‍वास गर्छ, उसमा कहिल्यै कुनै समस्या हुँदैन। उसमा सानो समस्या नै भयो भने पनि, परमेश्‍वरले उसलाई सुरक्षा र ताडना दिनुहुनेछ। उसले कुनै गल्ती गर्‍यो भने, त्यो ऊ र परमेश्‍वरबीचको कुरा हो—हामीले यसबारे चासो लिनु पर्दैन।” झूटा अगुवाहरूले आफ्‍नै धारणा र कल्‍पनाअनुसार यसरी काम गर्छन्। तिनीहरूले सत्यता बुझेको र आफूसँग आस्था भएको ढोँग गर्छन्, तर तिनीहरूले मण्डलीको काम भद्रगोल पार्छन्, — मण्डलीको काम ठप्‍पसमेत हुन सक्छ, तैपनि तिनीहरूले यसबारे अझै अनजान रहेको नाटक गर्छन्। के झूटा अगुवाहरूले कागजात खेलाउने मानिसहरूले गर्ने जस्तै व्यवहार निकै गर्दैनन् र? तिनीहरू आफैले वास्तविक काम गर्न सक्दैनन्, र तिनीहरूले समूह अगुवा र सुपरिवेक्षकको कामप्रति पनि मिहिन रूपमा ध्यान दिँदैनन्—तिनीहरूले यसबारे अनुगमन गर्ने वा सोधपुछ गर्ने गर्दैनन्। मानिसहरूसम्‍बन्धी तिनीहरूको दृष्टिकोण तिनीहरूको आफ्‍नै विचार र कल्‍पनामा आधारित हुन्छ। जब तिनीहरूले कसैले केही समयसम्‍म राम्ररी काम गरिरहेको देख्छन्, तब तिनीहरूलाई यो व्यक्ति सधैँ असल रहनेछ, र परिवर्तन हुनेछैन भन्‍ने लाग्छ; यो व्यक्तिमा समस्या छ भनेर भन्‍ने कसैको कुरा पनि तिनीहरूले पत्याउँदैनन्, र यो व्यक्तिका बारेमा कसैले चेतावनी दिँदा, तिनीहरूले बेवास्ता गर्छन्। के तिमीहरूलाई झूटा अगुवाहरू मूर्ख हुन्छन् भन्‍ने लाग्छ? तिनीहरू मूर्ख र बेवकुफ हुन्छन्। कुन कुराले तिनीहरूलाई मूर्ख बनाउँछ? तिनीहरू कुनै व्यक्ति छनौट हुँदा, उसले शपथ खाएको र सङ्कल्प गरेको अनि आफ्नो अनुहारभरि आँसु झार्दै प्रार्थना गरेको कारणले ऊ भरपर्दो छ, र उसले कामको अभिभारा लिँदा कुनै समस्याहरू हुनेछैनन् भन्दै उसलाईमाथि निर्धक्‍क भरोसा गर्छन्। झूटा अगुवाहरूसित मानिसहरूको प्रकृतिका बारेमा कुनै बुझाइ हुँदैन; तिनीहरू भ्रष्ट मानवजातिको साँचो परिस्थितिका बारेमा अनजान हुन्छन्। तिनीहरू भन्छन्, “कुनै व्यक्तिलाई सुपरिवेक्षकका रूपमा छनौट गरिसकेपछि ऊ कसरी खराब रूपमा परिवर्तन हुन सक्छ? अत्यन्तै सख् र भरपर्दो देखिने व्यक्ति कसरी कामदेखि भाग्न सक्छ? तिनीहरूले त्यसो गर्दैनन्, गर्छन् र? तिनीहरूमा धेरै निष्ठा हुन्छ।” झूटा अगुवाहरूले आफ्‍नो कल्पना र भावनाहरूमा धेरै आस्था राख्ने हुनाले, यसले तिनीहरूलाई मण्डलीको काममा उत्पन्न हुने धेरै समस्याहरू समयमै हल गर्न असक्षम तुल्याउँछ, र सम्बन्धित सुपरिवेक्षकलाई तुरुन्तै बर्खास्त गर्न र नयाँ काममा खटाउनबाट रोक्छ। तिनीहरू खाँटी झूटा अगुवाहरू हुन्। अनि यहाँको समस्या के हो त? आफ्नो कामप्रतिको झूटा अगुवाको रवैयासित झाराटारूवापनको कुनै सम्बन्ध छ? एक हिसाबमा, तिनीहरूले ठूलो रातो अजिङ्गरले उन्मत्त रूपमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई पक्राउ गरेको देख्छन्, त्यसैले आफूलाई सुरक्षित राख्‍नका लागि तिनीहरूले हचुवाको भरमा कसैलाई कामको अभिभारा सुम्पने बन्दोबस्त गर्छन्, र यसबाट समस्या समाधान हुन्छ र यसप्रति तिनीहरूले अबउप्रान्त ध्यान दिन जरुरी छैन भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले आफ्नो हृदयमा के सोच्छन्? “यो वातावरण त एकदमै शत्रुतापूर्ण छ, म केही समय लुक्‍नुपर्छ।” यो देहगत ऐसआरामको लालसा गर्नु हो, होइन र? अर्को हिसाबमा, झूटा अगुवाहरूमा एउटा घातक खोट हुन्छ: तिनीहरू आफ्नै कल्पनाका आधारित भएर मानिसहरूलाई भरोसा गरिहाल्‍छन्। अनि यो सत्यतालाई नबुझेको कारणले हुने हो, होइन र? परमेश्‍वरका वचनहरूले भ्रष्ट मानवजातिको सार कसरी प्रकाश गर्छन्? परमेश्‍वरले ती मानिसहरूलाई भरोसा गर्नुहुन्‍न भने तिनीहरूले चाहिँ किन भरोसा गर्नुपर्‍यो? झूटा अगुवाहरू अत्यन्तै अहङ्कारी र आत्मधर्मी हुन्छन्, होइन र? तिनीहरूले के सोच्छन् भने, “मैले यो व्यक्तिलाई गलत रूपमा मूल्याङ्कन गरेको हुन सक्दैन, मैले उपयुक्त भनी मूल्याङ्कन गरेको यो व्यक्तिमा कुनै पनि समस्याहरू नहुनुपर्ने हो; ऊ अवश्य नै खाने, पिउने, र मनोरञ्जन गर्ने काममा लिप्त हुने, वा ऐसआराम मन पराउने र कठिन परिश्रम गर्न मन नपराउने व्यक्ति होइन। ऊ अवश्य नै भरपर्दो र भरोसायोग्य छ। ऊ परिवर्तन हुनेछैन; यदि ऊ परिवर्तन भयो भने, म नै ऊबारे गलत थिएँ भन्ने अर्थ लाग्‍छ, होइन र?” यो कस्तो प्रकारको तर्क हो? के तँ कुनै विशेषज्ञ होस्? के तँसँग एक्स-रे दृष्टि छ? के तँसँग त्यो विशेष सीप छ? तँ कुनै व्यक्तिसित एक-दुई वर्ष बस्न सक्छस् तर उसको प्रकृति सारलाई उदाङ्गो पार्ने उपयुक्त वातावरणविना तैँले ऊ साँच्चै को हो भनी देख्न सक्छस् र? यदि ऊ परमेश्‍वरद्वारा प्रकाश नगरिएको भए, तँ ऊसित तीनदेखि पाँच वर्षसम्म पनि सँगसँगै जिउन सक्थिस् र पनि तिनीहरूको प्रकृति सार कस्तो चाहिँ छ भन्ने कुरा देख्न तैँले अझै सङ्घर्ष गर्नुपर्थ्यो। अनि तैँले तिनीहरूलाई बिरलै देख्ने, तिनीहरूसित बिरलै रहने अवस्थामा त यो झन् कति साँचो हुन्छ? झूटा अगुवाहरूले व्यक्तिको अस्थायी छवि वा अरू कसैले तिनीहरूबारे गरेको सकारात्मक मूल्याङ्कनका आधारमा उसलाई निर्धक्‍क विश्‍वास गर्छस्, र त्यस्तो व्यक्तिलाई मण्डलीको कामको जिम्मेवारी सुम्पने आँट गर्छन्। यसमा, के तिनीहरू अत्यन्तै अन्धो बनिरहेका हुँदैनन् र? के तिनीहरूले लापरवाह व्यवहार गरिरहेका हुँदैनन् र? अनि झूटा अगुवाहरूले यसरी काम गर्दा, के तिनीहरू अत्यन्तै गैरजिम्‍मेवार भइरहेका हुँदैनन् र? माथिल्ला अगुवा र कामदारहरूले तिनीहरूलाई सोध्छन्, “के तपाईँले त्यो सुपरिवेक्षकको काम जाँच गर्नुभएको छ? उसको चरित्र र क्षमता कस्तो छ? के ऊ आफ्नो काममा जिम्मेवार छ? के उसले यो कामको बोझ उठाउन सक्छ?” झूटा अगुवाहरूले जवाफ दिन्छन्, “उसले अवश्य नै गर्न सक्छ! ऊ छनौट हुँदा, उसले शपथ खाएको र सङ्कल्प गरेको थियो। मसँग अझै पनि उसकोको लिखित शपथ छ। ऊ यो कामको बोझ लिन सक्षम हुनुपर्ने हो।” झूटा अगुवाहरूका यी शब्दहरूबारे तिमीहरूलाई के लाग्छ? तिनीहरू यो व्यक्तिले आफ्नो प्रतिबद्धता व्यक्त गर्न शपथ नै खाएको हुनाले, उसले अवश्य नै यसलाई पूरा गर्न सक्‍नेछ भन्‍ने विश्‍वास गर्छन्। के यो अभिव्यक्ति साँचो हुन्छ त? आजभोलि कति मानिसहरूले वास्तवमै आफ्नो शपथ पूरा गर्न सक्छन्? आफ्नो सङ्कल्पअनुसार काम गर्ने कति इमानदार मानिसहरू छन्? व्यक्तिले शपथ खाएको छ भन्दैमा यसको अर्थ उसले साँच्‍चै नै त्यो पूरा गर्न सक्छ भन्‍ने हुँदैन। मानौँ तैँले उसलाई यस्तो सोधिस् रे, “के तपाईँ त्यो सुपरिवेक्षक बदलिनेछैन भन्‍ने कुराको प्रत्याभूति दिन सक्‍नुहुन्छ? के तपाईँ उसको आजीवन बफादारीको प्रत्याभूति दिन सक्‍नुहुन्छ? जब परमेश्‍वरले मानिसहरूलाई प्रकाश गर्न चाहनुहुन्छ, तब उहाँले तिनीहरूलाई जाँच्न विभिन्‍न वातावरणहरू तयार गर्नुपर्छ। तपाईँ ऊ भरपर्दो छ भनेर कुन आधारमा भन्‍नुहुन्छ? के तपाईँले ऊबारे जाँचबुझ गर्नुभएको छ?” झूटा अगुवाहरूले जवाफ दिन्छन्, “त्यसो गर्नु पर्दैन। दाजुभाइ-दिदीबहिनीहरूले ऊ भरपर्दो छ भनेर रिपोर्ट गरेका छन्।” यो अभिव्यक्ति पनि गलत छ। के दाजुभाइ-दिदीबहिनीहरूले कुनै व्यक्ति असल छ भनेर रिपोर्ट गरेकै कारण ऊ साँच्‍चै असल हुन्छ र? के सबै दाजुभाइ-दिदीबहिनीहरूसँग सत्यता हुन्छ? के तिनीहरू सबैले कामकुराहरूलाई छर्लङ्ग देख्‍न सक्छन्? के सबै दाजुभाइ-दिदीबहिनीहरू यो व्यक्तिसँग परिचित हुन्छन्? यो अभिव्यक्ति त झनै घृणित छ! वास्तवमा, त्यो व्यक्ति धेरै पहिले नै प्रकाश भइसकेको हुन्छ। उसले पवित्र आत्माको काम गुमाइसकेको हुन्छ, र सहजतालाई प्रेम गर्ने र परिश्रमलाई घृणा गर्ने, घिचुवा र अल्छे बन्‍ने, र आफ्नो उचित काममा ध्यान नदिने उसका नीच विशेषताहरू खुलासा भइसकेका हुन्छन्। अझै पनि केही थाहा नभएका झूटा अगुवाहरूले बाहेक, सबैले उसको वास्तविकता धेरै पहिले नै छर्लङ्ग देखिसकेका हुन्छन्—झूटा अगुवाहरूले मात्रै उसलाई अझै पनि यति धेरै भरोसा गर्छन्। यी झूटा अगुवाहरूको के काम? के तिनीहरू केही न कामका हुँदैनन् र? कति अवस्थामा त माथिले कार्यस्थल गएर अनुसन्धान र सोधपुछ गरी निश्‍चित सुपरिवेक्षकहरूका विभिन्‍न प्रकटीकरणहरूबारे थाहा पाउँछन्, तैपनि अगुवाहरू अझै पनि यो विषयमा पूरै अन्धकारमा हुन्छन्। के यो समस्या होइन र? यी अगुवाहरू खाँटी झूटा अगुवाहरू हुन्। तिनीहरूले वास्तविक काम गर्दैनन्, तिनीहरू केवल कागजात खेलाउने मानिसहरू हुन्, र अरूलाई अह्राउने मालिकहरूजस्तै तिनीहरूले थोरै काम गर्छन् अनि त्यसपछि त्यसैबाट आफ्नो गुजारा चलाउँछन् र आफूसँग रमाइलो गर्ने अधिकार छ भन्‍ने सोच्छन्, र परिस्थितिहरू खराब हुँदा मद्दत गर्न समेत अघि सर्दैनन। हैसियतका फाइदाहरू प्राप्त गर्ने तँसँग के अधिकार छ? यो साँच्‍चै नै निर्लज्ज कुरा हो! जब झूटा अगुवाहरूले काम गर्छन्, तब तिनीहरूले कहिल्यै कुनै कामको जाँच गर्दैनन्, तिनीहरूले कामको प्रगतिबारे सोधपुछ गर्दैनन्, र तिनीहरूले अवश्य नै विभिन्‍न टोली सुपरिवेक्षकहरूको परिस्थितिको जाँचबुझ पनि गर्दैनन्। तिनीहरूले काम तोक्ने र सुपरिवेक्षकहरूको बन्दोबस्त गर्ने मात्रै गर्छन्, र त्यसपछि आफूले काम गरिसकेँ, आफ्नो काम सक्‍किसक्‍यो, र त्यो सधैँका लागि पूरा भइसक्‍यो भन्‍ने सोच्छन्। तिनीहरूले यस्तो विश्‍वास गर्छन्, “कसैले यो काम सम्हालिरहेको छ, त्यसकारण यो अब मेरो चासोको विषय होइन। म रमाइलो गर्न सक्छु।” के यो काम गर्नु हो? यसरी काम गर्ने जोकोही निस्सन्देह नै झूटो अगुवा हो—मण्डलीको काममा ढिलाइ गर्ने र परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्ने झूटो अगुवा हो।

झूटा अगुवाहरूले कहिल्यै विभिन्‍न टोली-सुपरिवेक्षकहरूको कार्य परिस्थितिहरूबारे सोध्दैनन् वा त्यसको अनुगमन गर्दैनन्। तिनीहरूले विभिन्‍न टोलीका सुपरिवेक्षकहरू, र विभिन्‍न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूको जीवन प्रवेश, साथै मण्डलीको काम र तिनीहरूका कर्तव्यहरूप्रति, र परमेश्‍वरमाथिको आस्था, सत्यता, र परमेश्‍वर स्वयम्प्रति तिनीहरूका मनोवृत्तिहरूबारे पनि सोध्ने, अनुगमन गर्ने, वा बुझ्ने गर्दैनन्। तिनीहरूलाई यी व्यक्तिहरूमा कुनै रूपान्तरण वा वृद्धि भएको छ कि छैन भनेर थाहा हुँदैन, न त तिनीहरूलाई तिनीहरूको काममा हुन सक्ने विभिन्‍न समस्याहरूबारे नै थाहा हुन्छ; खासगरी, तिनीहरूलाई कामका विभिन्‍न चरणहरूमा आइपर्ने त्रुटि र विचलनहरूले मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमाथि पार्ने प्रभावबारे थाहा हुँदैन, साथै यी त्रुटि र विचलनहरू कहिल्यै सच्याइएका छन् कि छैनन् भन्‍ने पनि थाहा हुँदैन। तिनीहरू यी सबै थोकबारे पूर्णतया अनजान हुन्छन्। यदि तिनीहरूलाई यी विस्तृत अवस्थाहरूबारे केही पनि थाहा छैन भने, समस्याहरू उत्पन्‍न हुनेबित्तिकै तिनीहरू निष्क्रिय बन्छन्। तर, झूटा अगुवाहरूले आफ्नो काम गर्ने क्रममा यी विस्तृत समस्याहरूबारे बिलकुलै मतलब गर्दैनन्। तिनीहरूले के विश्‍वास गर्छन् भने, विभिन्‍न टोली सुपरिवेक्षकहरूको बन्दोबस्त गरेर कामहरू तोकेपछि तिनीहरूको काम सकियो—यसलाई राम्रोसँग काम गरेको मानिन्छ, र यदि अरू समस्याहरू उत्पन्न भएमा त्यो तिनीहरूको चासोको विषय होइन। झूटा अगुवाहरूले विभिन्‍न टोली सुपरिवेक्षकहरूलाई निरीक्षण, निर्देशन, र अनुगमन नगर्ने, र यी क्षेत्रहरूमा आफ्ना जिम्मेवारीहरू पूरा नगर्ने हुनाले, मण्डलीको काम लथालिङ्ग हुन्छ। यो अगुवा र कामदारहरू कर्तव्यच्युत हुनु हो। परमेश्‍वरले मानव हृदयको गहिराइको छानबिन गर्न सक्नुहुन्छ; यो त्यस्तो क्षमता हो, जुन मानवसँग हुँदैन। त्यसकारण, काम गर्दा मानिसहरू बढी लगनशील र सचेत हुनुपर्छ, तिनीहरूले मण्डलीको सामान्य कार्यप्रगति सुनिश्चित गर्नका निम्ति नियमित रूपमा कार्यस्थलमा गएर कामको अनुगमन, सुपरिवेक्षण र निर्देशन गर्नुपर्छ। स्पष्ट छ, झूटा अगुवाहरू आफ्ना काममा पूर्णतया गैरजिम्मेवार हुन्छन्, र तिनीहरू कहिल्यै विभिन्‍न कार्यहरूको सुपरिवेक्षण, अनुगमन, र निर्देशन गर्दैनन्। फलस्वरूप, कतिपय सुपरिवेक्षकहरू काममा उत्पन्न हुने विभिन्‍न समस्याहरू समाधान गर्न जान्दैनन्, र त्यो काम गर्न अलिकति पनि योग्य नहुँदा पनि सुपरिवेक्षकको भूमिकामै रहन्छन्। अन्ततः काममा बारम्बार ढिलाइ हुन्छ र तिनीहरूले त्यसलाई पूर्णतया लथालिङ्ग पार्छन्। यो झूटा अगुवाहरूले सुपरिवेक्षकहरूका परिस्थितिहरूबारे नसोध्नु, त्यसको सुपरिवेक्षण र अनुगमन नगर्नुको परिणाम हो, जुन पूर्णतया झूटा अगुवाहरू जिम्मेवारीबाट विमुख हुनुले निम्त्याएको परिणाम हो। झूटा अगुवाहरूले कामको निरीक्षण र अनुगमन नगर्ने, वा त्यसबारे नसोध्ने, र परिस्थितिलाई तत्कालै बुझ्न नसक्ने हुनाले, तिनीहरू सुपरिवेक्षकहरूले वास्तविक काम गरिरहेका छन् कि छैनन्, काम कसरी अगाडि बढिरहेको छ, र यसले कुनै वास्तविक नतिजाहरू दिएको छ कि छैन भन्‍ने जस्ता कुराबारे बेखबर रहन्छन्। सुपरिवेक्षकहरू केमा व्यस्त छन् वा तिनीहरूले खासमा के-कस्ता कामहरू सम्हालिरहेका छन् भनेर सोध्दा, झूटा अगुवाहरूले “मलाई थाहा छैन, तर तिनीहरू प्रत्येक भेलामा सहभागी हुन्छन्, र हरेक पटक मैले तिनीहरूसँग कामका बारेमा कुरा गर्दा, तिनीहरूले कहिल्यै कुनै समस्या वा कठिनाइहरू उल्लेख गर्दैनन्” भन्‍ने जवाफ दिन्छन्। झूटा अगुवाहरूले के विश्‍वास गर्छन् भने, यदि सुपरिवेक्षकहरूले आफ्नो काम त्याग्दैनन् र तिनीहरूलाई खोज्दा सधैँ भेटिन्छ भने, तिनीहरूमा बिलकुलै कुनै समस्या छैन। झूटा अगुवाहरू यसरी नै काम गर्छन्। के यो “झूटोपन” को प्रकटीकरण होइन र? के यो तिनीहरू आफ्ना जिम्मेवारीहरू पूरा गर्न असफल हुनु होइन र? यो एउटा गम्भीर जिम्मेवारीविमुखता हो! झूटा अगुवाहरूले आफ्नो काममा झारा टार्नमा मात्रै ध्यान दिन्छन्, र वास्तविक परिणामहरू ल्याउन खोज्दैनन्। सतही रूपमा तिनीहरूले प्रायजसो भेलाहरू आयोजना गरिरहन्छन्, र तिनीहरू साधारण व्यक्तिभन्दा व्यस्त देखिन्छन्। तर तिनीहरूले वास्तवमा केकस्ता समस्याहरू समाधान गरेका छन्, तिनीहरूले केकस्ता खास कामहरू राम्ररी सम्हालेका छन्, र तिनीहरूले केकस्ता परिणामहरू हासिल गरेका छन् भन्‍ने कुरा अज्ञात नै रहन्छ। यी कुराहरूबारे झूटा अगुवाहरू आफैलगायत कसैले पनि स्पष्ट उत्तर दिन सक्दैन। तर एउटा कुरा निश्‍चित हुन सक्छ: काम गर्ने ठाउँमा मानिसहरूलाई जेजस्ता समस्या आइपरे नि यी झूटा अगुवाहरूलाई कहीँ भेट्टाउन सकिँदैन; कसैले पनि काम गर्ने ठाउँमा तिनीहरूलाई मानिसहरूका समस्याहरू समाधान गरेको देखेको हुँदैन। त्यसोभए, झूटा अगुवाहरूले दिनभरि के काम गरिरहेका हुन्छन्? तिनीहरूको भेलाले केकस्ता समस्याहरू समाधान गर्छन्? त्यो कसैलाई नि निश्‍चित रूपमा थाहा हुँदैन, र तिनीहरूको कामको निरीक्षणपछि मात्रै चाङ लागेका र समाधान नभएका धेरै समस्याहरू बल्ल पत्ता लाग्छन्। झट्ट हेर्दा, झूटा अगुवाहरू साँच्‍चै नै व्यस्त देखिन्छन्—तिनीहरूले “नानाथरी मामलाहरू सम्हालिरहे” जस्तो देखिन्छ। तर तिनीहरूको कामका परिणामहरू जाँच्दा, त्यो पूरै भद्रगोल हुन्छ; त्यो अस्तव्यस्त हुन्छ, त्यसमा कुनै मूल्यवान् कुरा बिलकुलै हुँदैन, र यी झूटा अगुवाहरूले अलिकति पनि वास्तविक काम नगरेको स्पष्ट हुन्छ। झूटा अगुवाहरूले समाधान नगरी त्यत्तिकै छोडेका धेरै वास्तविक समस्याहरूका बाबजुद, तिनीहरूसँग कुनै विवेकको चेतना र कुनै आत्मग्लानि नभएजस्तो नै देखिन्छ। त्यसमाथि, तिनीहरू अत्यन्तै आत्मसन्तुष्ट पनि हुन्छन् र तिनीहरूले आफू निकै असल छु भन्‍ने सोच्छन्; तिनीहरूसँग साँच्‍चै नै समझको कमी हुन्छ। यस्ता मानिसहरू मण्डलीका अगुवा वा कामदार हुन लायक हुँदैनन्।

हामीले भर्खरै सङ्गति गरेको प्रकारको सुपरिवेक्षकले आफ्नो पेसाको सबै कुरा जान्दछ र ऊसँग काम गर्ने क्षमता हुन्छ, तर उसले बोझ लिँदैन, र आफ्नो उचित काममा ध्यान नदिई वा कुनै वास्तविक काम नगरी ऊ दिनभर खान, पिउन, र मनोरञ्‍जन गर्नमा लिप्त हुन्छ। झूटा अगुवाहरूले त्यस्ता सुपरिवेक्षकलाई तुरुन्तै नयाँ काममा खटाउन र बर्खास्त गर्न सक्दैनन्, र यसले गर्दा काममा बाधा र व्यवधान आउँछ, र काम सहज रूपमा अघि बढ्न सक्दैन। के यो झूटा अगुवाहरूले गर्दा भएको होइन र? यसका लागि झूटा अगुवाहरू प्रत्यक्ष रूपमा जिम्मेवार त हुँदैनन्, तर तिनीहरू जिम्मेवारीबाट विमुख भएकाले र रेखदेखकर्ताका रूपमा आफ्नो भूमिका निभाउन नसकेकाले, काममा हुने क्षतिका लागि अप्रत्यक्ष रूपमा तिनीहरू नै जिम्मेवार हुन्छन्। यी झूटा अगुवाहरूले रेखदेखकर्ताका रूपमा रहेको आफ्नो कर्तव्य पूरा गर्दैनन्, तिनीहरू जिम्मेवारीविमुख हुन्छन्, जसले गर्दा अन्ततः मण्डलीको काममा क्षति पुग्छ। कामको जिम्‍मा लिन, जाँचहरू गर्न, र सुपरिवेक्षण गर्न र काम अघि बढाउन उपयुक्त सुपरिवेक्षकको कमीले गर्दा कति कामहरू त ठप्प र अस्तव्यस्तसमेत हुन्छन्। कर्मचारीहरूलाई अनुचित रूपमा प्रयोग गर्दा काममा यस्ता क्षतिहरू हुने गर्छन्। यस प्रकारको सुपरिवेक्षकसँग अलिअलि क्षमता हुने भए नि र उसले पेसालाई थोर बुझेको भए नि, उसले आफ्नो उचित काममा ध्यान दिँदैन, प्रायजसो आफ्नै मार्ग समात्छ, र सही मार्ग पछ्याउँदैन। कसैले यस्तो सुपरिवेक्षकको समस्या रिपोर्ट गरेको छ भनेर सुने पनि, झूटा अगुवाहरूले तुरुन्तै यसबारे अनुसन्धान गर्ने वा यसलाई सम्हाल्ने गर्दैनन्, र यसले अन्ततः मण्डलीको काम ठप्‍प पार्छ। के यो झूटा अगुवाहरूको गैरजिम्मेवारपनका कारण भएको हुँदैन र? तिनीहरूले सुपरिवेक्षकको परिस्थिति बुझिनँ, र आफू मूर्ख र अज्ञानी छु भनेर दाबी गर्दै, र यसो भनेर यो कुराबाट पार पाउन सकिन्छ र आफूले जिम्मेवारी लिनुपर्दैन भन्‍ने सोच्दै जिम्मेवारीबाट पन्छिने प्रयाससमेत गर्छन्। झूटा अगुवाहरूले आफ्नो काममा सधैँ झाराटारुवा व्यवहार गर्छन्। मानिसहरूले समस्याहरूबारे रिपोर्ट गर्दा पनि, तिनीहरूले ती कुराबारे न त सोध्छन् न त सम्हाल्छन्, र जब परिस्थिति खराब हुन्छ, तब तिनीहरूले जिम्मेवारीबाट पन्छिने प्रयास गर्छन्। यो झूटा अगुवाहरूको एउटा प्रकटीकरण हो।

आ. झुटा अगुवाहरूले कमजोर क्षमता भएका र कामको योग्यता नभएका सुपरिवेक्षकहरूलाई कस्तो व्यवहार गर्छन्

जब झूटा अगुवाहरूले काम गरिरहेका हुन्छन्, तब तिनीहरूले सामना गर्ने समस्याहरू यो परिस्थितिमा मात्रै सीमित हुँदैनन्—अर्को एउटा परिस्थिति पनि हुन्छ, जसमा सुपरिवेक्षकहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूमा कुनै कामको योग्यता हुँदैन र तिनीहरूले कामको बोझ लिन सक्दैनन्। त्यस्ता परिस्थितिहरूमा पनि, झूटा अगुवाहरूले तुरुन्तै सोधपुछ गरेर समस्या सम्हाल्न सक्दैनन्। किन? झूटा अगुवाहरूमा कामको योग्यताको कमी हुन्छ, तिनीहरूको क्षमता कमजोर हुन्छ, र तिनीहरूमा आत्मिक बुझाइ हुँदैन। तिनीहरूले कहिल्यै विभिन्‍न टोली सुपरिवेक्षकहरूको क्षमता, कामको बोझ लिने तिनीहरूको सक्षमता, वा तिनीहरूको कामका परिस्थितिहरूबारे वास्ता गर्ने वा सोध्‍नेखोज्‍ने पहल गर्दैनन्। तिनीहरूले कमजोर क्षमता भएका र कामको बोझ लिन नसक्‍ने सुपरिवेक्षकहरूलाई छर्लङ्गै देख्न सक्दैनन्, न त तिनीहरूलाई यी कुराहरूबारे केही थाहा नै हुन्छ। तिनीहरूको मनमा त कुनै व्यक्तिले सुपरिवेक्षकको भूमिका सम्हालेपछि, ऊ तबसम्‍म आफ्नो पदमा दीर्घकालीन रूपमै रहनेछ, जबसम्‍म उसले विविध दुष्कर्महरू गर्दैन र आम आक्रोशहरू पैदा गराउँदैन, र जबसम्‍म उसलाई दाजुभाइ-दिदीबहिनीहरूले हटाउँदैनन्, वा कसैले माथिलाई उसको समस्याबारे रिपोर्ट गर्दैन र माथिले उसलाई सीधै बर्खास्त गर्दैनन्। नत्र भने, झूटा अगुवाहरूले त्यो व्यक्तिलाई कहिल्यै बर्खास्त गर्नेछैनन्। तिनीहरूले के विश्‍वास गर्छन् भने, दाजुभाइ-दिदीबहिनीहरूले त्यो व्यक्ति असल छ भनेर भनेका हुनाले र उसलाई निर्वाचित गरेका हुनाले, त्यो व्यक्ति नै सबैभन्दा राम्रो विकल्प हुनुपर्छ। कसैले काम गर्न सक्छ कि सक्दैन र ऊ सुपरिवेक्षकका रूपमा काम गर्न उपयुक्त छ कि छैन भनेर निर्धारित गर्नका लागि झूटा अगुवाहरू सधैँ कल्पना र मूल्याङ्कनहरूमा भर पर्छन्। उदाहरणका लागि, नृत्य टोलीकी एक सुपरिवेक्षक थिइन्, र उनलाई नाच्‍न आउँदैनथ्यो, र उनले नृत्य छनौट गर्ने सिद्धान्तहरू बुझेकी थिइनन्। नृत्यको कोरियोग्राफी गर्ने क्रममा, उनलाई समकालीन शैली छनौट गर्ने कि शास्‍त्रीय शैली छनौट गर्ने भन्‍ने नै थाहा थिएन। ठ्याक्कै भन्दा, उनीसँग नृत्यको कुनै ज्ञान नै थिएन। तर झूटो अगुवाले यो कुरा देख्‍न सकेन। उसले त्यो व्यक्ति उत्साहित भएकी र चर्चामा आउन इच्छुक भएकीले उनलाई छनौट गर्‍यो, र उसले उनले सबै कुरा बुझेकी छिन् भन्‍ने अनुमान गर्‍यो र उनलाई दाजुभाइ-दिदीबहिनीहरूको अगुवाइ गर्न दियो। पछि, त्यो झूटा अगुवाले अनुगमन गर्ने, उनको काम अवलोकन गर्ने, वा उनले दाजुभाइ-दिदीबहिनीहरूलाई कति राम्ररी अगुवाइ गरिरहेकी छिन्, उनी विशेषज्ञ हुन् कि साधारण मानिस हुन्, उनले सिकाएको कुरा उचित छ कि छैन, वा त्यो परमेश्‍वरको घरका मागहरूअनुरूप छ कि छैन भनेर हेर्ने गरेन। उसले यी कुराहरू बुझ्न सकेन्, र ऊ यी कुराहरूबारे सोध्न गएन। परिणामस्वरूप, सबैले कुनै परिणाम ननिकाली लामो समयसम्म काम गरिरहे, अनि अन्त्यमा मात्रै झूटा अगुवाले छनौट गरेको त्यो सुपरिवेक्षकलाई नाच्‍न आउँदैन, तैपनि उनले विशेषज्ञ भएको नाटक गर्दै अरूलाई निर्देशित गरिरहेकी छिन् भन्‍ने कुरा पत्ता लाग्यो। के यसले काममा ढिलाइ गराएन र? तर झूटो अगुवाले यो समस्या पहिचान गर्न सकेन र अझै पनि उनले राम्रो काम गरिरहेकी छिन् भन्‍ने विश्‍वास गर्‍यो। झूटा अगुवाहरूको मनमा त, व्यक्ति जोसुकै भए नि, ऊसँग साहस छ र उसले बोल्ने, व्यवहार गर्ने, र काम लिने आँट गर्छ भने, यसले ऊसँग क्षमता छ र उसले त्यसको बोझ लिन सक्छ भन्‍ने प्रमाणित गर्छ, जबकि यदि उसले ती कुराहरू गर्ने आँट गर्दैन भने, यसले त्यो कामको बोझ लिन उसको क्षमता अपर्याप्त छ भन्‍ने प्रमाणित गर्छ। कति मानिसहरू आधेबुद्धि वा लापरवाह मूर्खहरू हुन्छन्, जो जुनसुकै कुरा पनि गर्ने आँट गर्छन्। यी मानिसहरूलाई आफूसँग सही क्षमता छ कि छैन वा आफूले कामको बोझ लिन सक्छु कि सक्दिन भन्‍ने थाहा हुँदैन, तर पनि तिनीहरू सुपरिवेक्षक बन्‍ने आँट गर्छन्। अनि तिनीहरूले त्यो भूमिका लिएपछि, कुनै पनि काम अघि बढ्दैन, र तिनीहरूले जुनै काम गरे नि तिनीहरूमा दिशा, वा चरण, वा सही विचारहरूको स्पष्ट बोध हुँदैन। जोसुकैले जुनसुकै विचार अघि सार्न सक्छ तर त्यो सही छ कि गलत छ भन्‍ने तिनीहरूलाई थाहै हुँदैन। यदि कुनै व्यक्तिले एउटा तरिकाले काम गर्नुपर्छ भनेर भन्यो भने, तिनीहरूले त्यो ठीकै छ भनेर भन्छन्, अनि यदि अर्को व्यक्तिले अर्को तरिकाले काम गर्नुपर्छ भनेर भन्यो भने, त्यो पनि ठीकै छ भनेर भन्छन्। अनि जब वास्तवमा कुन रवैयाचाहिँ अपनाउने भन्‍ने कुरा आउँछ, तब तिनीहरूले सबैलाई आफ्नो कुरा बताउन दिन्छन्, र जसले सबैभन्दा चर्को स्वरमा बोल्छ, उसैका विचारहरू व्यवहारमा लागू गरिन्छ। यस्ता मानिसहरूसँग कुनै क्षमता हुँदैन, तिनीहरूले कुनै कुरा पनि छर्लङ्गै देख्‍न सक्दैनन्, र आफ्नो कामलाई लथालिङ्ग मात्र पार्छन्, तर झूटा अगुवाहरूले अझै पनि यस्ता सुपरिवेक्षकहरूलाई छर्लङ्गै देख्‍न सक्दैनन्। कति मानिसहरू भन्छन्, “त्यो सुपरिवेक्षकको क्षमता अत्यन्तै कमजोर छ; उसलाई तुरुन्तै बर्खास्त गरिनुपर्छ!” तर झूटा अगुवाहरूले यस्तो जवाफ दिन्छन्, “मैले ऊसँग कुरा गरेको छु, र उसले आफ्नो भूमिका खेल्न तयार छु भनेर भनेको छ। हामी उसलाई अर्को मौका दिऊँ।” यो अभिव्यक्तिबारे तिमीहरूलाई के लाग्छ? के यो मूर्खले भन्‍ने कुरा होइन र? यो अभिव्यक्तिमा के गलत छ? (ऊ आफ्नो भूमिका खेल्न इच्छुक छ कि छैन भन्‍ने कुरासँग यसको कुनै सम्बन्ध हुँदैन; उसमा क्षमताको कमी हुन्छ र उसले कामको बोझ पटक्‍कै लिन सक्दैन।) ठीक भनिस्, यो ऊ काम गर्न इच्छुक छ कि छैन भन्‍ने कुरासँग सम्बन्धित हुँदैन; यो उसको क्षमता अत्यन्तै कमजोर रहेको र उसलाई यो कसरी गर्ने भन्‍ने नै थाहा नभएको कुरासँग सम्बन्धित हुन्छ—समस्याको जड यही हो। त्यसकारण तिनीहरूका अगुवाहरूमा केही बुद्धि हुनुपर्छ र उनीहरूले मानिसहरूलाई मूल्याङ्कन गर्न सक्‍नुपर्छ, र यी सुपरिवेक्षकहरूमा आवश्यक क्षमता छ कि छैन भनेर हेर्न सक्‍नुपर्छ। यी अगुवाहरूले तिनीहरूको बोलीवचन र सङ्गतिका आधारमा, तिनीहरूले सामान्यतया उचित ढाँचा र व्यवस्थित तरिका र चरणहरू अपनाएर काम गर्छन् कि गर्दैनन् भन्‍ने कुराको अवलोकनका आधारमा, र दाजुभाइ-दिदीबहिनीहरूको प्रतिक्रियाका आधारमा तिनीहरूको विस्तृत मूल्याङ्कन गर्नुपर्छ। यदि यी सुपरिवेक्षकहरूको क्षमता अत्यन्तै कमजोर छ र तिनीहरूमा आवश्यक काम गर्ने योग्यताको कमी छ भने, यदि तिनीहरूले आफूले गर्ने सबै कुरालाई लथालिङ्ग पार्छन्, र तिनीहरू केही न कामका छन् भने, तिनीहरूलाई तुरुन्तै बर्खास्त गरिनुपर्छ।

एउटा खेतबारीको सुपरिवेक्षक थियो जसले खेतीको कामलाई पूरै लथालिङ्ग पारेको थियो। उसलाई कुन जग्गामा कुन बाली रोप्‍नुपर्छ, वा कुन जग्गा तरकारी उब्जाउनका लागि उपयुक्त छ भन्‍ने थाहा थिएन, र उसले सबैसँग खोजी र सङ्गति पनि गरेन—उसलाई यी कुराहरूबारे कसरी सङ्गति गर्ने भन्ने थाहै थिएन, त्यसकारण उसले सङ्गति गर्दै गरेन। उसले आफूलाई मन लागेअनुसार बाली रोप्यो, र परमेश्‍वरको घरका सिद्धान्तहरूलाई पूरै बेवास्ता गर्‍यो। परिणामस्वरूप, उसले खेतको हरेक भागमा जथाभाबी बाली रोप्यो, र थोरै मात्रामा रोपिनुपर्ने बालीहरू ठूलो मात्रामा रोप्यो, र ठूलो मात्रामा रोपिनुपर्ने बालीहरू थोरै मात्रामा रोप्यो। जब माथिले उसलाई काटछाँट गरे, तब ऊ अझै पनि अवज्ञाकारी भयो, र उसलाई यसरी बाली रोप्दा केही गलत हुँदैन भन्‍ने लाग्यो। भन त, के यस्ता सुपरिवेक्षकहरू निकै गाह्रो खाले मानिसहरू होइनन् र? परमेश्‍वरको घरले स्थापित गरेका सिद्धान्तहरूका आधारमा कसरी मामलाहरू सम्हाल्ने, वा पूर्णकालीन कर्तव्य मण्डलीमा कर्तव्य निर्वाह गर्ने मानिसहरूको सङ्ख्याका आधारमा कति अनाज र कति सागसब्जी रोप्‍ने भनेर निर्धारित गर्नुपर्छ भन्‍ने कुरा उसलाई थाहै थिएन। बरु, उसले त आफ्नो प्राथमिकताअनुसार नै निश्‍चित बालीहरू धेरै वा थोरै रोप्ने निर्णय गर्‍यो, र यसो गर्नु पूर्ण रूपमा उचित हुन्छ भन्‍ने विश्‍वास गर्‍यो। अन्ततः उसले भ्रमित तरिकाले बाली रोप्यो। पछि, बेर्नाहरू उम्रे। तीमध्ये कति पहेँलो भए र तिनलाई मल चाहियो, तर कति मल लगाउने वा कहिले लगाउने भन्‍ने उसलाई थाहै थिएन। कति बालीहरूमा कीराहरू लागे, र तिनमा कीटनाशक औषधी लगाउनुपर्छ कि पर्दैन भन्‍ने पनि उसलाई थाहै थिएन। कति मानिसहरूले कीटनाशक औषधी प्रयोग गर्नुपर्छ भने, र कतिले गर्नु हुँदैन भने, र ऊ अन्योलमा पर्‍यो, र कीटनाशकहरूबारे के गर्ने भनेर उसलाई थाहै भएन। यसरी, उसले बाली उठाउने समय नआएसम्म अल्याङटल्याङ गरिरह्यो। हरेक बालीको उब्जाउ अवधि कति लामो हुन्छ वा हरेक बाली कहिले पाक्छ भन्‍ने पनि उसलाई थाहै थिएन। परिणामस्वरूप, चाँडै काटिएका अनाजहरू अझै पनि हरियै थिए, जबकि ढिलो काटिएका अनाजहरू भुइँमा झरिसकेका थिए। अन्त्यमा, यी सबै कुराका बाबजुद बाली काटियो, र अन्ततः अनाज भण्डारण गरियो, र यसरी नै त्यो वर्षका लागि खेतीका क्रियाकलापहरू लगभग समाप्त भए। त्यो खेतबारी सुपरिवेक्षकले आफ्नो काम कस्तो गर्‍यो? (उसले काम लथालिङ्ग पार्‍यो।) त्यो किन त्यति लथालिङ्ग भयो? त्यो समस्याको जड पत्ता लगाओ त। (उसको क्षमता अत्यन्तै कमजोर थियो।) यो सुपरिवेक्षकको क्षमता अत्यन्तै कमजोर थियो! परिस्थितिहरू सामना गर्दा, उसले सही मूल्याङ्कन गरेन, सिद्धान्तहरू भेट्टाउन सकेन, र ऊसँग परिस्थितिहरू सम्हाल्ने कुनै तरिका वा विधि थिएन। यसले गर्दा उसले बाली रोप्नेजस्तो सरल कामलाई पनि अत्यन्तै अव्यवस्थित रूपमा सम्हाल्यो, र यो काम पूरै लथालिङ्ग पार्‍यो। कमजोर क्षमताका मुख्य प्रकटीकरणहरू केके हुन्? (सही मूल्याङ्कनको कमी हुनु र सिद्धान्तहरू खोज्‍न नसक्‍नु।) के यी शब्दहरू महत्त्वपूर्ण छैनन् र? के तिमीहरूले यी शब्‍दहरू याद गर्नेछौ? जब व्यक्तिलाई मामलाहरू आइपर्छ, तब सही मूल्याङ्कनको कमी हुनु र सिद्धान्तहरू पत्ता लगाउन नसक्नुले अत्यन्तै कमजोर क्षमता इङ्गित गर्छ। अरूले जति धेरै सुझाव र सङ्केतहरू प्रदान गर्थे, त्यो सुपरिवेक्षक त्यति नै अन्योलमा पर्थ्यो। उसले त एउटा मात्रै सुझाव भएको भए राम्रो हुनेथ्यो भन्‍ने सोच्थ्यो, किनभने उसले त्यसलाई प्रावधानका रूपमा लिन र पालना गर्न सक्‍नेथ्यो, जसले गर्दा कामकुरा निकै सरल हुन्थ्यो र त्यसको अर्थ उसले विचार गर्नु वा मूल्याङ्कन अभ्यास गर्नुपर्दैन भन्ने हुन्थ्यो। उसलाई धेरै मानिसहरूले सुझावहरू देलान् भन्‍ने डर लाग्थ्यो, किनभने ती सुनेपछि तिनलाई कसरी सम्हाल्ने भनेर उसलाई थाहा हुँदैनथ्यो। वास्तवमा, दिमाग र राम्रो क्षमता भएका मानिसहरूलाई अरूले सुझावहरू देलान् भन्ने डर हुँदैन। तिनीहरू सोच्छन्, जति धेरै मानिसहरूले सुझावहरू दिन्छन्, त्यति नै तिनीहरूको मूल्याङ्कन अझै सही हुन्छ र गल्तीको सम्भावना अझै कम हुन्छ। दिमाग वा क्षमता नभएका मानिसहरू धेरै मानिसहरूका फरकफरक विचार र सुझावहरूको डर मान्छन्; धेरै स्रोतहरूबाट सल्लाह प्राप्त गर्दा तिनीहरू हक्क न बक्क हुन्छन्। के मैले भर्खरै उल्लेख गरेको खेतबारी सुपरिवेक्षकको क्षमता अत्यन्तै कमजोर थिएन र—के ऊ त्यो काम लिन पर्याप्त रूपमा योग्य नभएको होइन र? (हो।) कतिले तर्क गर्छन्, “सायद उसले पहिले खेती गरेको थिएन होला। तपाईँले उसलाई खेतीको काम गर्न लगाउन जिद्दी गर्नुभयो—के त्यो माछालाई जमिनमा जिउन लगाउनुजस्तै होइन र?” के पहिले खेती गरेको अनुभव नभएको व्यक्तिले खेती गर्न सक्दैन भन्‍ने हुन्छ? कसले जन्मजात रूपमा खेती गर्ने क्षमता पाएको हुन्छ र? के किसानहरू यो क्षमता लिएर जन्मेका हुन्छन्? (हुँदैनन्।) के कुनै यस्ता किसानहरू छन्, जो अनुभवको कमीले र खेती कसरी गर्ने भन्‍ने थाहा नभएर, पहिलो पटक बाली रोपेपछि फसल नउब्जेर खाने कुनै अनाज नभएका कारण एक वर्ष भोकै बस्‍नुपरेको छ? के यस्तो कुरा हुन्छ? (हुँदैन।) यदि वास्तवमा त्यस्तो हुन्थ्यो भने, यो मानव कार्यहरूको परिणाम नभई, प्राकृतिक प्रकोप हुनेथ्यो। त्यस्ता परिस्थितिहरू अत्यन्तै दुर्लभ हुन्छन्! किसानहरूले खेती गरेर जीविकोपार्जन गर्छन्, र एकदुई वर्षदेखि खेती गर्नेहरूले पनि खेती गर्न सिकिहाल्छन्। राम्रो क्षमता भएका व्यक्तिहरूले खेती गर्दा अलिक बढी उपज उब्जाउन सक्छन्, जबकि कमजोर क्षमता भएका मानिसहरूले अलि कम उपज उब्जाउन सक्छन्। अझ भन्‍ने हो भने, वर्तमान उन्नति-प्रगति र जानकारीको प्रशस्तताका कारण, यदि कुनै व्यक्तिमा क्षमता छ भने, सही मूल्याङ्कन र निर्णयहरू गर्ने सन्दर्भका रूपमा त्यस्तो जानकारी नै पर्याप्त हुन्छ। जानकारी जति व्यापक र सही हुन्छ, उसको मूल्याङ्कन र निर्णय त्यति नै सही बन्छ, र उसले त्यति नै कम गल्तीहरू गर्छ। तर, कमजोर क्षमता भएका व्यक्तिहरू यसको विपरीत हुन्छन्; जति धेरै जानकारी हुन्छन्, तिनीहरू त्यति नै अन्योलमा पर्छन्। अनि अन्त्यमा, तिनीहरूका लागि हरेक चरण सङ्घर्ष बन्छ र अत्यन्तै गाह्रो हुन्छ। खेती भनेको समयसँगको दौड हो; धेरै चाँडो भयो वा धेरै ढिलो भयो भने काम बन्दैन। यदि तैँले ढिलाइ गरेर सही समय गुमाइस् भने, अन्तिम फसलमा असर पर्नेछ। खेती गर्ने क्रममा, त्यो सुपरिवेक्षकले बोझ थाम्न सकेन, र समय बित्दै गएको हुनाले ऊ हतारहतार अघि बढ्यो, र हरेक चरणमा जबरजस्ती अघि बढ्यो। उसले अझै पनि हरेक कदम चाल्न सकेको भए पनि, उसलाई यो कुरा निकै गाह्रो भयो, र अन्त्यमा, यसले गर्दा उसले काम लथालिङ्ग पार्‍यो। त्यस्ता व्यक्तिहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ!

अत्यन्तै कमजोर क्षमता भएका मानिसहरूले एउटै कामसमेत राम्ररी गर्न सक्दैनन्; तिनीहरूले जुनसुकै काम गरे पनि त्यसलाई पूरै भद्रगोल पार्छन्। यदि यी सुपरिवेक्षकहरूका अगुवाहरूको क्षमता राम्रो छ र तिनीहरू जिम्मेवारी पूरा गर्न सक्षम छन् भने, तिनीहरूले यी कुराहरू देख्‍न सक्‍नुपर्छ। तिनीहरूले कमजोर क्षमता भएका सुपरिवेक्षकहरूलाई मार्गदर्शन, मानकीकरण, र जाँचहरू गर्न सहयोग गर्नुपर्छ। तर झूटा अगुवाहरूले यसो गर्न सक्दैनन्; तिनीहरूले त सुपरिवेक्षकहरूले गर्न नसक्‍ने कुराहरू पनि गर्न सक्दैनन्, र जब सुपरिवेक्षकहरूलाई आफ्‍नो काम गाह्रो लाग्छ वा आफ्नो काममा अनिश्‍चितता र हिचकिचाहट महसुस हुन्छ, तब झूटा अगुवाहरू पनि तिनीहरूसँगै हिचकिचाउँछन्। सुपरिवेक्षकहरूले आफ्नो काम कसरी गरिरहेका छन्, तिनीहरूले कामलाई कहाँसम्म पुर्‍याएका छन्, त्यसमा केकस्ता चुनौतीहरू देखा परेका छन्, वा तिनीहरूले केकस्तो अन्योलता भोगिरहेका छन् भन्‍ने कुरासमेत तिनीहरूलाई थाहा हुँदैन। जब कसैले त्यो अगुवालाई खेतीबारे सोधे, तब उसले भनी, “म अगुवा हुँ, म खेतीको इन्चार्ज होइनँ।” उसले यस्तो जवाफ दियो, “तपाईँ अगुवा हुनुहुन्छ, त्यसकारण तपाईँलाई खेतीबारे सोध्नुमा के गलत छ र? यो काम त तपाईँकै जिम्मेवारीको दायराभित्र पर्छ।” उसले भनी, “म तपाईँका लागि यसबारे सोध्छु है त।” सोधेपछि, उसले जवाफ दिई, “अहिले हामी आलु रोप्दैछौँ।” उसले सोध्यो, “तपाईँ कति आलु रोप्दै हुनुहुन्छ?” उसले जबाफ दिई, “मैले त्यो कुरा सोधेको छैनँ, म तपाईँका लागि गएर सोधखोज गर्छु है त।” फेरि सोधेपछि, उसले जबाफ दिई, “हामीले दुई एकड रोप्यौँ।” उसले सोध्यो: “तपाईँले कुन प्रजाति रोप्‍नुभयो? के त्यो जग्गा आलु रोप्नका लागि उपयुक्त छ? के तपाईँले ती रोप्दा मल हाल्नुभयो? आलुको बीउ कति गहिरो रोप्नुभयो?” उसलाई यीमध्ये कुनै पनि कुरा थाहा थिएन। तँलाई यी कुरा थाहा छैन, तैपनि तँ यीबारे सोधखोज गर्दिनस् र कसैलाई खोजेर यीबारे सोध्दिनस्—के यसले काममा ढिलाइ गराउँदैन र? के तँ अगुवा त होस्? तैँले अगुवाका रूपमा के काम गरिरहेकी छेस्? यदि तँ मानिसहरूलाई यति सानो बाहिरी काम गर्नसमेत अगुवाइ गर्न सक्दिनस् भने, तँ अगुवा भएको के काम? सुपरिवेक्षकको क्षमता यति कमजोर भए पनि, यो झूटो अगुवाले यो कुरा पत्ता लगाउन सकिन, र सुपरिवेक्षकको क्षमता कस्तो छ, बाली कस्तो भइरहेको छ, र फसलको प्रत्याभूति छ कि छैन भनेर सोध्दा, उसले यस्तो विश्‍वास गर्थी: “तपाईँले यी कुराहरूबारे सोधपुछ गर्नु अनावश्यक छ; खेती गर्नु निकै सरल काम हो! हामीले खेतमा बाली रोपिसकेका छौँ, छैनौँ र? कसरी फसल नहुन सक्छ र?” उसले केही कुराबारे पनि विचार गर्दैनथी, कुनै कुराबारे पनि सोधपुछ गर्दैनथी, र ऊसँग कुनै दिमागै थिएन। यो कस्तो अगुवा हो? (झूटो अगुवा।) जब त्यो सुपरिवेक्षकले कुनै कुरा सामना गर्थ्यो, तब ऊ टाउको काटेको कुखुरा जस्तै अनभिज्ञ हुन्थ्यो। कसलाई सोध्‍ने, वा कसरी जानकारी खोज्ने, वा जानकारीका फरकफरक स्रोतहरूले धेरै फरकफरक विचारहरू प्रस्तुत गर्दा कुन कुरा रोज्‍ने भन्‍ने उसलाई थाहा हुँदैनथ्यो। यो अगुवाले यी परिस्थितिहरूको अनुसन्धान गरिन। उसलाई त काम यो व्यक्तिलाई सुम्पिसकिएको छ भन्‍ने मात्र लाग्यो, त्यसकारण उसले यसबारे पटक्‍कै मतलब गरिन। के तिमीहरूलाई यति कमजोर क्षमता भएको सुपरिवेक्षकका कारण कामका परिणामहरूमा असर पर्छ भन्‍ने लाग्छ? (लाग्छ।) त्यसोभए यो समस्या समाधान गर्न अगुवाले के गर्नुपर्थ्यो? यसबारे अनुसन्धान र अप्रत्यक्ष सोधपुछ गरेर, आफ्‍नो वरपर घटेका घटनाहरूबाट, र त्यो मौसमको बाली रोपाइमार्फत, उसले सुपरिवेक्षकको क्षमता अत्यन्तै कमजोर छ, उसले केही गर्न सक्दैन भन्‍ने कुरा पत्ता लगाउनुपर्थ्यो। त्यो सुपरिवेक्षकले वर्षौँसम्‍म खेती गरेपछि पनि आफ्नो अनुभव सारांशित गर्न सक्दैनथ्यो—त्यो बेलासम्म आइपुग्दा, उसलाई बाली कसरी रोप्ने भन्‍नेसमेत थाहा थिएन—उसको क्षमता कमजोर छ र ऊ काम गर्न सक्‍ने अवस्थामा छैन भन्‍ने कुरा अगुवालाई स्पष्ट हुनुपर्थ्यो, र त्यस्तो व्यक्तिलाई बर्खास्त गरिनुपर्थ्यो! उसले सुपरिवेक्षकका रूपमा को उपयुक्त छ, कसले यो काम लिन र राम्ररी गर्न सक्छ भनेर सोध्नुपर्थ्यो, र त्यसो गरेर परमेश्‍वरको घरको काममा हानि नहुने कुरा सुनिश्‍चित गर्नुपर्थ्यो। के यो झूटो अगुवामा यस्तो मानसिकता थियो? के उसले यी समस्याहरू देख्‍न सकी? (सकिन।) उसको मन र आँखा अन्धो थियो; ऊ पूर्ण रूपमा अन्धी थिई। झूटा अगुवाहरूको एउटा प्रकटीकरण यही हो। जब कमजोर क्षमता भएका मानिसहरूको कुरा आउँछ, तब उनीहरूलाई काममा कसरी मार्गदर्शन गर्ने भन्‍ने कुरा तिनीहरूलाई थाहै हुँदैन, जाँचहरू गरेर उनीहरूलाई कसरी मद्दत गर्ने वा उनीहरूका कठिनाइहरूलाई कसरी तुरुन्तै समाधान गर्ने भन्‍ने कुरा तिनीहरूलाई थाहा हुँदैन, अनि कमजोर क्षमता भएको व्यक्तिले काम सम्हाल्न सक्दैन र उसलाई तुरुन्तै उपयुक्त व्यक्तिद्वारा प्रतिस्थापित गरिनुपर्छ भन्‍ने कुरा त तिनीहरूलाई झनै थाहा हुँदैन। झूटा अगुवाहरूले यीमध्ये कुनै पनि काम पूरा गर्दैनन्; तिनीहरू यो कुरामा सक्षम हुँदैनन्, र तिनीहरूले यीमध्ये कुनै पनि कुरा देख्‍न सक्दैनन्। के तिनीहरू अन्धा मानिसहरू होइनन् र? कति मानिसहरू भन्छन्, “सायद तिनीहरू अरू काममा व्यस्त होलान्। तपाईँ किन तिनीहरूलाई यी महत्त्वहीन र सानातिना कामहरू सम्हाल्न लगाइरहनुहुन्छ?” यी त अगुवाहरूले गर्नैपर्ने कामहरू हुन्, तिनलाई कसरी सानातिना कामका रूपमा लिन सकिन्छ? यी कुराहरू अगुवाहरूको जिम्मेवारीको दायराभित्र पर्छन्—तिनीहरूले तिनलाई बेवास्ता गरे भने के त्यो ठीक हुन्छ? यदि तिनीहरूले त्यसो गरे भने, त्यो जिम्मेवारीविमुखता हो। कामका कठिनाइ र समस्याहरू हरेक दिन अगुवाहरूको आँखैअगाडि देखा पर्छन्, र मानिसहरूले हरेक दिन तिनको कुरा उठाउँछन्। तैपनि, झूटा अगुवाहरूको आँखा र मन दुवै अन्धो हुन्छन्। तिनीहरूले यी कुरा समस्याहरू हुन् भन्‍ने कुरा देख्‍न, महसुस गर्न, वा अनुभूति गर्न सक्दैनन्, त्यसकारण अवश्य नै तिनीहरूले तिनलाई समाधान गर्न पनि सक्दैनन्। त्यो झूटा अगुवाले सुपरिवेक्षकको क्षमता अत्यन्तै कमजोर छ भन्‍ने पत्ता लगाउन सकिन। उसले त्यो व्यक्तिको काममा पैदा भएका विभिन्‍न समस्याहरू पनि पहिचान गर्न सकिन। त्यो सुपरिवेक्षकले समस्याहरू सम्हाल्न सक्दैनथ्यो र जब कुनै घटना घट्थ्यो, तब उसले तातो भाँडोमा राखिएको कमिलाले जस्तो जथाभाबी काम गर्थ्यो, उसमा सिद्धान्तहरूको कमी हुन्थ्यो, र उसले काम अस्तव्यस्त पार्थ्यो, तैपनि त्यो झूटा अगुवाले यीमध्ये कुनै पनि कुरा देख्‍न वा पत्ता लगाउन सक्दैनथी। झूटा अगुवाहरूले आफ्नो काम कसरी गर्छन् भन्‍ने कुराको एउटा सिद्धान्त के हो भने, जबसम्‍म तिनीहरूले हरेक कामको जिम्मेवारी कसैलाई दिने बन्दोबस्त गरेका हुन्छन्, तबसम्‍म तिनीहरूले त्यो काम पूरा भएको ठान्छन्, र सुपरिवेक्षकको क्षमता राम्रो भए पनि वा नराम्रो भए नि, उसले काम राम्ररी गर्न सके पनि वा नसके पनि, वा काममा जति धेरै समस्याहरू पैदा भए नि, तिनीहरूलाई यो कुरासँग तिनीहरूको कुनै सम्बन्ध छैन भन्‍ने लाग्छ। के त्यस्ता अगुवाले अझै पनि काम पूरा गर्न सक्छन् र? के तिनीहरूले कसरी काम गर्ने भन्‍ने कुरा बुझेका हुन्छन् र? (हुँदैनन्।) यदि तँलाई कसरी काम गर्ने भन्‍ने नै थाहा छैन भने, तँ किन अगुवाका रूपमा काम गरिरहेकी छेस् त? यदि तँ यसको बाबजुद अगुवाका रूपमा काम गर्छेस् भने, तँ झूटो अगुवा होस्। झूटा अगुवाहरूले कमजोर क्षमता भएका मानिसहरूका विभिन्‍न प्रकटीकरणहरू वा तिनीहरूले कर्तव्य निर्वाह गर्दा पैदा हुने विभिन्‍न समस्याहरू देख्‍न वा पत्ता लगाउन सक्दैनन्। तिनीहरूको हृदय अत्यन्तै भावशून्य हुन्छ। के तिनीहरूको आँखा र मन दुवै अन्धो हुँदैन र? कतिले यसो भन्‍न सक्छन्, “तिनीहरू अन्धा होइनन्। तपाईँ सधैँ तिनीहरूलाई निन्दा र बदनाम गरिरहनुभएको हुन्छ।” यो खेती सुपरिवेक्षकका समस्याहरू अत्यन्तै गम्भीर थिए; त्यो झूटो अगुवा हरेक दिन ऊसँग बस्थी, र उसले त्यहाँ हुने सबै कुरा सुन्‍न र देख्‍न सक्थी। त्यसोभए यी कुराहरू समस्या हुन् भनेर उसले कसरी पत्ता लगाउन वा महसुस गर्न सकिन? उसले किन यी समस्याहरू सम्हाल्‍ने वा सुल्झाउने गरिन? के उसको आँखा र मन अन्धो थिएन र? के यो समस्या गम्भीर थियो? (हो, थियो।) यो झूटा अगुवाहरूको अर्को प्रकटीकरण—मन र आँखाको अन्धोपन हो।

जब तैँले कमजोर क्षमता भएको कसैलाई कुनै काम सुम्पन्छस्, तब उसले सामान्यतया कसरी बोल्छ, कामबारे छलफल गर्दा उसले कस्तो मनोवृत्ति र दृष्टिकोण राख्छ, र उसले कामहरू सम्हाल्ने तरिका कस्तो छ भन्ने कुराबाट तैँले उसको क्षमता अत्यन्तै कमजोर छ, उसको सोचाइ गन्जागोल छ, र उसले सबै कुराप्रति अलिक अन्धोपन र बेपरवाहीको रवैया अपनाउँछ, र उसको कुनै लक्ष्य छैन भन्‍ने कुरा पत्ता लगाउन सक्छस्। व्यक्तिको काम गर्ने तरिका हेरेरै पनि उसको क्षमता अत्यन्तै कमजोर छ भनेर निर्धारित गर्न सकिन्छ, त्यसकारण के तैँले उसलाई त्यति लामो समयसम्म अवलोकन गरिरहनु आवश्यक हुन्छ र? अहँ, हुँदैन। तर, झूटा अगुवाहरूमा एउटा घातक समस्या हुन्छ; त्यो के हो भने, तिनीहरू कुनै व्यक्तिले यति लामो समयसम्म काम गरिरह्यो र छोडेन, र तिनीहरूले कसैले पनि उसले कुनै खराब काम गरेको, वा बाधा वा अवरोध ल्याएको, वा नकारात्मक वा अल्छे भएको भनेर ऊबारे रिपोर्ट गरेको सुनेका छैनन् भने, यसको अर्थ त्यो व्यक्तिले अझै पनि काम गर्न सक्छ भन्‍ने हुन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूलाई व्यक्तिको बोलीवचन, मामलाहरूप्रतिको उसको मनोवृत्ति र दृष्टिकोण, वा उसको काम गर्ने तरिकाका आधारमा उसको क्षमता वा राम्रोसित काम गर्ने उसको सामर्थ्य कसरी मूल्याङ्कन गर्ने भन्‍ने थाहा हुँदैन। तिनीहरूमा यो सचेतना हुँदैन; तिनीहरू यस विषयमा भावशून्य हुन्छन् र तिनीहरूमा यस विषयको कुनै बोध हुँदैन। तिनीहरूको एउटा दृष्टिकोण हुन्छ: व्यक्ति निष्क्रिय छैन भने, सबै कुरा ठीकै हुन्छ र काम अघि बढ्न सक्छ। के तिमीहरूलाई यस्तो दृष्टिकोण बोकेको अगुवाले राम्रो काम गर्न सक्छ भन्‍ने लाग्छ? के ऊ काम गर्न सक्षम हुन्छ? (हुँदैन।) त्यस्तो व्यक्तिलाई अगुवा हुन दिँदा काम लथालिङ्ग हुन्छ, होइन र? जब व्यक्ति खान, पिउन, र मनोरञ्जन गर्नमा लिप्त हुन्छ, र जब उसले आफ्नो कर्तव्यलाई बेवास्ता गर्छ, तब झूटा अगुवाहरूले यसबारे अनुसन्धान गर्ने वा सम्हाल्ने झन्झट उठाउँनन्, र यस्तो व्यक्तिसँगको सम्पर्कमा आएको जति नै लामो समय भएको भए पनि, तिनीहरूले त्यो व्यक्तिको क्षमता वा चरित्र असल छ कि खराब छ भनेर पत्ता लगाउन सक्दैनन्। के यी अगुवाहरूमा अगुवाको कार्य क्षमता हुन्छ त? (हुँदैन।) तिनीहरू झूटा अगुवाहरू हुन्। झूटा अगुवाहरूले कुनै व्यक्तिमा राम्रो क्षमता छ कि छैन भनेर खुट्ट्याउन सक्दैनन्, र तिनीहरूले यी निश्‍चित कामहरू गर्न सक्दैनन्। तिनीहरूले यो तिनीहरूको कामको भाग होइन भन्‍ने सोच्छन्। के यो जिम्मेवारीविमुखता होइन र? तिमीहरूलाई के लाग्छ, कमजोर क्षमता भएको व्यक्तिले कामको बोझ बोक्न सक्छ कि केही क्षमता भएको व्यक्तिले? (केही क्षमता भएको व्यक्तिले।) त्यसकारण, व्यक्तिको क्षमता र कामका लागि उसको योग्यता मूल्याङ्कन गर्नु अगुवा र कामदारहरूले वास्ता गर्नुपर्ने र बुझ्नुपर्ने विषय हो, र यो अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने काम पनि हो। तर झूटा अगुवाहरूले यो तिनीहरूको कामको भाग हो भन्‍ने कुरा बुझ्दैनन्, तिनीहरूमा यो सचेतनाको कमी हुन्छ, र तिनीहरूले आफ्नो जिम्मेवारीको यो भाग पूरा गर्न सक्दैनन्। झूटा अगुवाहरू आफ्नो जिम्मेवारीबाट विमुख हुने ठाउँ यही हो, र यो झूटा अगुवाहरू काम गर्न असक्षम हुनुको प्रकटीकरण पनि हो। यो दोस्रो प्रकारको परिस्थिति हो: सुपरिवेक्षकहरूको क्षमता कमजोर हुनु, तिनीहरूमा कार्य क्षमताको कमी हुनु, र आफ्नो कामको बोझ बोक्न नसक्‍नु, र यो तिनीहरूको क्षमतासँग सम्बन्धित समस्या हो। यस्तो परिस्थितिमा, झूटा अगुवाहरूले अगुवाको भूमिका खेल्न पनि सक्दैनन् र कमजोर क्षमता भएका सुपरिवेक्षकहरूलाई तुरुन्तै बर्खास्त गर्न पनि सक्दैनन्।

इ. झुटा अगुवाहरूले अरूलाई सास्ती दिने र मण्डलीको काममा बाधा पुर्‍याउने सुपरिवेक्षकहरूलाई कस्तो व्यवहार गर्छन्

तेस्रो प्रकारको परिस्थितिमा अरूलाई सास्ती दिने र बन्धनमा पार्ने, मण्डलीको काममा बाधा दिने सुपरिवेक्षकहरू समावेश हुन्छन्। हामीले यसभन्दा पहिले कुरा गरेको पहिलो परिस्थिति के थियो भने, कति सुपरिवेक्षकहरूको क्षमता तुलनात्मक रूपमा राम्रो भए पनि र तिनीहरूले आफ्नो काम सम्हाल्न सके पनि तिनीहरू कामलाई गम्भीरतापूर्वक लिँदैनन्, र झाराटारुवा तरिकाले व्यवहार गर्छन्, तर झूटा अगुवाहरूलाई यो कुरा थाहै हुँदैन र तिनीहरूले त्यस्ता सुपरिवेक्षकहरूलाई तुरुन्तै बर्खास्त गर्दैनन्। दोस्रो परिस्थितिमा, कति सुपरिवेक्षकहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूले कामको बोझ बोक्न सक्दैनन्, तर झूटा अगुवाहरूले यो कुरा पत्ता लगाउन वा उनीहरूलाई तुरुन्तै प्रतिस्थापन गर्न असफल हुन्छन् भन्ने कुरा समावेश हुन्छ। तेस्रो परिस्थितिचाहिँ त्यस्ता सुपरिवेक्षकहरूका बारेमा छ, जो आफ्नो क्षमता राम्रो भए पनि वा नराम्रो भए नि, आफ्नो उचित काममा ध्यान दिँदैनन्, र अरूलाई सास्ती दिने र बन्धनमा पार्ने मात्र गर्छन्, जसले गर्दा मण्डलीको काममा बाधा हुन्छ। तिनीहरूलाई सुपरिवेक्षकका रूपमा छनौट गरिएको समयदेखि नै, तिनीहरूले आफ्नो क्षेत्रबारे जान्‍ने वा अध्ययन गर्ने प्रयास गर्दैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरू नै खोज्छन्, र तिनीहरूले अवश्य नै अरूलाई आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्न मार्गदर्शन पनि गर्दैनन्। बरु, तिनीहरूले मौका पाउनेबित्तिकै कसैलाई हेप्छन्, र कसैलाई गिल्ला र खिसी गर्छन्; तिनीहरूले मौका पाऊञ्जेल जहिल्यै धाक लगाउँछन्, र तिनीहरूले जे गरे पनि, तिनीहरूको खुट्टा कहिल्यै जमिनमा हुँदैन। तिनीहरूले मानिसहरूलाई एकदिन एउटा तरिकाले काम गर्न लगाउँछन्, र भोलिपल्ट अर्को तरिकाले काम गर्न लगाउँछन्; तिनीहरू सधैँ नयाँ चलाकीहरू लिएर आउँछन्, र सधैँ आफूलाई अलग देखाउन चाहन्छन्। यो सबैले मानिसहरूलाई तनावको स्थितिमा पार्छ। जबजब तिनीहरू बोल्छन्, तबतब कति मानिसहरूले हृदय काँपिरहेको महसुस गर्छन्। जब तिनीहरूले सबैलाई वशमा पारेका हुन्छन्, र सबैलाई तिनीहरूको डर मान्ने र आज्ञा मान्ने तुल्याएका हुन्छन्, तब तिनीहरूलाई उल्लास हुन्छ। तिनीहरू झूटा अगुवाहरू भए पनि वा ख्रीष्टविरोधीहरू भए नि, र तिनीहरू शक्तिमा भए पनि वा नभए नि, यस्ता मानिसहरूले मण्डलीको शान्ति भङ्ग गर्छन्। तिनीहरूले वास्तविक काम गर्न वा आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न नसक्‍ने मात्र होइन, तिनीहरूले मानिसहरूमाझ कलह फैलाउने र द्वन्द्व पैदा गराउने समेत गर्छन्, जसले गर्दा मण्डली जीवनमा बाधा हुन्छ। तिनीहरूले अरूलाई सत्यता बुझ्न सहयोग गर्न सक्‍नु त कता हो कता, बरु उल्टै बारम्बार मानिसहरूको आलोचना र निन्दासमेत गर्छन्, र मानिसहरूलाई सबै कुरामा तिनीहरूको आज्ञा मान्‍न लगाउँछन्, र यसरी उनीहरूलाई यति हदसम्म बन्धनमा पार्छन् कि उनीहरूलाई उचित रूपमा कसरी काम गर्ने भन्‍नेसमेत थाहा हुँदैन। विशेषगरी मानिसहरूले कसरी जिउँछन् भन्‍ने कुराको हिसाबमा भन्‍नुपर्दा, तिनीहरूले अलिक ढिलो वा अलिक चाँडो सुत्न पाउँदैनन्। तिनीहरूले जे गरे पनि यी मानिसहरूको अनुहारको भाव हेर्नुपर्छ, जसले गर्दा जीवन अत्यन्तै थकाइलाग्दो हुन्छ। यदि यस्ता मानिसहरू सुपरिवेक्षक बने भने, अरू सबैलाई गाह्रो हुनेछ। यदि तैँले तिनीहरूसँग इमानदारीसाथ कुरा गरिस् र तिनीहरूका समस्याहरू खुलासा गरिस् भने, तिनीहरूले तैँले जानीजानी तिनीहरूलाई निसाना बनाइरहेको र खुलासा गरिरहेको छस् भनेर भन्‍नेछन्। यदि तैँले तिनीहरूका समस्याहरूबारे तिनीहरूसँग कुरा गरिनस् भने, तिनीहरूले तैँले तिनीहरूलाई तुच्छ ठानिरहेको छस् भनेर भन्‍नेछन्। यदि तँ कामबारे गम्भीर र जिम्मेवार छस् र तैँले तिनीहरूलाई केही सल्लाह दिइस् भने, तिनीहरू अटेरी हुनेछन्, र तैँले तिनीहरूलाई आक्रमण गरिरहेको छस् भनेर तिनीहरूले भन्‍नेछन् र तँलाई अहङ्कारी भन्‍नेछन्। जे भए पनि, तैँले जे गरे पनि, तिनीहरूलाई त्यो अप्रिय लाग्‍नेछ। तिनीहरूले सधैँ मानिसहरूलाई सास्ती दिनेबारे सोचिरहेका हुन्छन्, र तिनीहरूले मानिसहरूलाई यसरी बन्धनमा पार्छन् ताकि तिनीहरूको हातखुट्टा बाँधिएजस्तै होस् र तिनीहरूले आफूले गर्ने कुनै पनि कुरा सही छैन भन्‍ने महसुस गरून्। त्यस्ता सुपरिवेक्षकहरूले मण्डलीको काममा बाधा पुर्‍याउँछन्।

झूटा अगुवाहरू देखावटी काममा माहिर हुन्छन्, तर तिनीहरू कहिल्यै वास्तविक काम गर्दैनन्। तिनीहरू विभिन्‍न व्यावसायिक कामको निरीक्षण, सुपरिवेक्षण गर्न, वा तिनलाई निर्देशन गर्न जाँदैनन्, वा विभिन्‍न टोलीहरूको काम कसरी अगाडि बढिरहेको छ, के-कस्ता समस्याहरू छन्, टोलीका सुपरिवेक्षकहरू आफ्ना काममा योग्य छन् कि छैनन्, र दाजुभाइ-दिदीबहिनीहरूले कसरी सुपरिवेक्षकहरूका बारेमा रिपोर्ट वा मूल्याङ्कन गर्छन् भन्‍ने कुराको निरीक्षण गर्दै ती टोलीमा के भइरहेको छ भन्ने कुरा समयमै पत्ता लगाउँदैनन्। तिनीहरूले टोली अगुवा वा सुपरिवेक्षकहरूद्वारा कोही बाँधिएको पो छ कि, मानिसहरूले दिएका सही सुझावहरू अवलम्बन गरिँदै छन् कि छैनन्, कुनै प्रतिभाशाली वा सत्यता पछ्याउने व्यक्ति दमन वा बहिष्करणमा पो परिरहेको छ कि, कुनै निष्कपट मानिसहरू हेपाइमा पो परिरहेका छन् कि, झूटा अगुवाहरूको खुलासा र रिपोर्ट गर्ने मानिसहरूमाथि आक्रमण पो भइरहेको छ कि, उनीहरूसँग प्रतिशोध लिइँदै छ कि, उनीहरू निकालिँदै र निष्कासित हुँदै पो छन् कि, टोली अगुवा र सुपरिवेक्षकहरू दुष्ट मानिस पो हुन् कि, र कोही सास्तीमा पो परिरहेको छ कि भनी हेर्न जाँचबुझ गर्दैनन्। यदि झूटा अगुवाहरूले यीमध्ये कुनै पनि ठोस काम गर्दैनन् भने, तिनीहरूलाई बरखास्त गर्नुपर्छ। उदाहरणका लागि, मानौँ, कुनै व्यक्तिले एक जना सुपरिवेक्षकले मानिसहरूलाई बारम्बार बाँध्छ र दमन गर्छ भनेर एक जना झूटो अगुवालाई रिपोर्ट गर्छ। उक्त सुपरिवेक्षकले केही गलत कामहरू गरेको छ, तर उसले दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै पनि सुझावहरू प्रदान गर्न दिँदैन, र आफूलाई सही ठहराउन र आफ्नो बचाव गर्न बहानाहरूसमेत खोज्छ, र आफ्ना गल्तीहरू कहिल्यै स्विकार्दैन। के यस्तो सुपरिवेक्षकलाई तत्कालै बरखास्त गर्नुपर्दैन र? अगुवाहरूले समयमै समाधान गर्नुपर्ने समस्याहरू यिनै हुन्। कतिपय झूटा अगुवाहरू आफूले नियुक्त गरेका सुपरिवेक्षकहरूको काममा जस्तोसुकै समस्याहरू आएका भए पनि तिनीहरूको खुलासा हुन दिँदैनन्, र निश्चय नै माथिल्लो तहका मानिसहरूकहाँ तिनीहरूको रिपोर्ट गर्ने अनुमति दिँदैनन्—तिनीहरूले मानिसहरूलाई समर्पित हुन सिक्न समेत भन्छन्। यदि कसैले कुनै सुपरिवेक्षकका समस्याहरू खुलासा गरिहाल्यो भने, यी झूटा अगुवाहरूले तिनीहरूलाई बचाउने वा साँचो तथ्यहरू छोप्ने कोसिस गर्छन्, र यसो भन्छन्, “यो सुपरिवेक्षकको जीवन प्रवेशसम्बन्धी समस्या हो। तिनीहरूमा अहङ्कारी स्वभाव हुनु सामान्य हो—अलिकति क्षमता भएको जोकोही अहङ्कारी हुन्छ। यो ठूलो कुरा होइन, मैले तिनीहरूसित थोरै सङ्गति मात्र गर्नुपर्छ।” सुपरिवेक्षकले सङ्गतिमार्फत यसो भन्दै आफ्नो अडान राख्छ, “म अहङ्कारी छु भन्‍ने कुरा स्विकार्छु। म स्विकार्छु कि कहिलेकाहीँ म मेरो आफ्नै अभिमान, शान, र हैसियतप्रति चासो राख्छु, र अरू मानिसहरूका सुझावहरू स्विकार्दिनँ। तर अरू मानिसहरू यो पेशामा निपुण हुँदैनन्, तिनीहरूले प्रायः बेकारका सुझावहरू दिन्छन्, त्यसकारण मैले तिनीहरूको कुरा नसुन्‍नुको कारण छ।” झूटा अगुवाहरूले परिस्थितिलाई राम्रोसँग बुझ्ने कोसिस गर्दैनन्, सुपरिवेक्षकको कामका नतिजाहरू हेर्दैनन्, तिनीहरूको मानवता, स्वभाव, र पछ्याइ कस्ता छन् भनेर त झनै हेर्दैनन्। तिनीहरूले यसो भन्दै कामकुरालाई सानो मात्र बनाउँछन्, “यो कुरा मलाई रिपोर्ट गरियो, त्यसैले मैले तिमीलाई निगरानीमा राखिरहेको छु। म तिमीलाई अर्को मौका दिँदै छु।” तिनीहरूको कुराकानीपछि, सुपरिवेक्षकले आफू पश्चात्ताप गर्न इच्छुक रहेको भन्छ, तर उसले त्यसपछि साँच्चै पश्चात्ताप गरोस् कि ढाँटोस् र धोका देओस्, झूटा अगुवाहरूले यसप्रति कुनै चासो राख्दैनन्। यदि कसैले यो विषयमा प्रश्‍नहरू उठायो भने, झूटा अगुवाहरूले भन्छन्, “मैले तिनीहरूसँग कुरा गरिसकेको छु र तिनीहरूलाई परमेश्‍वरका वचनहरूका धेरै खण्डहरूमा सङ्गतिसमेत गरिसकेको छु। तिनीहरू पश्‍चात्ताप गर्न इच्छुक छन्, र समस्या समाधान भइसकेको छ।” जब त्यो व्यक्तिले सोध्छ, “त्यो सुपरिवेक्षकको मानवता कस्तो छ? के ऊ सत्यता स्विकार्ने व्यक्ति हो? तपाईँले उसलाई मौका दिनुभएको छ, तर के उसले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छ र के ऊ परिवर्तन हुन सक्छ?” झूटा अगुवाहरूले यो कुरा छर्लङ्गै देख्‍न सक्दैनन्, र यस्तो जबाफ दिन्छन्, “म अझै पनि तिनीहरूलाई नियालिरहेको छु।” त्यो व्यक्तिले सोध्छ: “तपाईँले तिनीहरूलाई नियाल्नुभएको कति भयो? के तपाईँले कुनै निष्कर्ष निकाल्‍नुभएको छ?” झूटा अगुवाहरूले भन्छन्: “छ महिनाभन्दा बढी समय बितिसकेको छ, तैपनि मैले कुनै निष्कर्ष निकालेको छैनँ।” यदि तिनीहरूले छ महिनाभन्दा बढी नियालेपछि पनि कुनै परिणाम प्राप्त गरेका छैनन् भने, त्यो कस्तो कार्य प्रभावकारिता हो? झूटा अगुवाहरूले सुपरिवेक्षकसँग एक पटक कुराकानी गर्नु नै प्रभावकारी हुन्छ र समस्या समाधान हुन्छ भन्‍ने विश्‍वास गर्छन्। के यो विचार मान्य छ? तिनीहरूले के सोच्छन् भने, तिनीहरूले कसैसँग कुरा गरिसकेपछि, त्यो व्यक्ति परिवर्तन हुन सक्छ, र यदि कसैले फेरि त्यसो नगर्ने आफ्नो सङ्कल्प व्यक्त गर्‍यो भने, तिनीहरूले थप सोधपुछ वा परिस्थितिबारे फेरि जाँच नगरीकनै उसलाई पूर्ण रूपमा विश्‍वास गर्छन्। यदि कसैले पनि यो कुराबारे सोधपुछ गरेन भने, तिनीहरूले छ महिनासम्म कामको अनुसन्धान वा अनुगमन गर्ने झन्झट नगर्न पनि सक्छन्। त्यो सुपरिवेक्षकले काम लथालिङ्ग पारे पनि यी झूटा अगुवाहरूलाई केही थाहा हुँदैन। त्यो सुपरिवेक्षकले तिनीहरूसँग कसरी चलाकी गरिरहेको र खेलिरहेको छ भनेर तिनीहरूले खुट्ट्याउनै सक्दैनन्। अझै घृणित कुरा त के हो भने, जब कसैले सुपरिवेक्षकका समस्याहरूबारे रिपोर्ट गर्छ, तब झूटा अगुवाहरूले तिनलाई बेवास्ता गर्छन् र समस्याहरू छन् कि छैनन् वा रिपोर्ट गरिएका समस्याहरू वास्तविक हुन् कि होइनन् भनेर वास्तवमा जाँच्दैनन्। तिनीहरूले यी समस्याहरूबारे विचार गर्दैनन्—तिनीहरूमा साँच्‍चै नै आफूमाथि धेरै विश्‍वास हुन्छ! मण्डलीको काममा जस्तोसुकै परिस्थितिहरू देखा परे पनि, झूटा अगुवाहरू तिनलाई सम्बोधन गर्न हतार गर्दैनन्; तिनीहरूले यो तिनीहरूको चिन्ताको विषय होइन भन्‍ने सोच्छन्। यी समस्याहरूप्रति झूटा अगुवाको प्रतिक्रिया अत्यन्तै सुस्त हुन्छ, तिनीहरूले उपाय अपनाउँछन्, अनि अति सुस्त गतिमा चल्छन्, तिनीहरू कामकुरा टार्न खोजिरहन्छन्, अनि मानिसहरूलाई पश्‍चात्ताप गर्ने अर्को मौका दिइरहन्छन्, मानौँ तिनीहरूले मानिसहरूलाई दिने यी मौकाहरू अति बहुमूल्य र महत्त्वपूर्ण छन्, मानौँ ती मौकाले तिनीहरूको भाग्य परिवर्तन गर्न सक्छन्। झूटा अगुवाहरू कुनै व्यक्तिमा प्रकट भएको कुराबाट उसको प्रकृति सार देख्न, अनि त्यो व्यक्तिको प्रकृति सारका आधारमा ऊ कस्तो बाटोमा हिँड्छ भनेर मूल्याङ्कन गर्न, वा उसले हिँड्ने बाटोका आधारमा ऊ सुपेरिविक्षक बन्न वा अगुवाइको काम गर्न योग्य छ कि छैन भनी बुझ्‍न सक्दैनन्। तिनीहरूले यी कुराहरूलाई त्यसरी हेर्न सक्दैनन्। झूटा अगुवाहरूले आफ्‍नो काममा दुई वटा कुरा मात्रै गर्न सक्छन्: एउटा, मानिसहरूलाई गफमा भुलाउनु र झारा टार्नु; अर्को, मानिसहरूलाई मौका दिनु, अरूलाई खुसी पार्नु, र कसैलाई पनि नचिढ्याउनु। के तिनीहरूले वास्तविक काम गरिरहेका हुन्छन्? स्पष्ट रूपमै हुँदैनन्। तर झूटा अगुवाहरूले कसैलाई गफमा भुलाउनु नै वास्तविक काम गर्नु हो भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले यी कुराकानीहरूलाई अत्यन्तै मूल्यवान् र महत्त्वपूर्ण ठान्छन्, र तिनीहरूले बोल्‍ने खोक्रा शब्‍द र धर्मसिद्धान्तहरूलाई अत्यन्तै अर्थपूर्ण ठान्छन्। तिनीहरूले यी कुराकानीमार्फत मुख्य समस्याहरू सुल्झाएका र वास्तविक काम गरेका छन् भन्‍ने सोच्छन्। परमेश्‍वरले मानिसहरूलाई किन न्याय र सजाय, काटछाँट, वा जाँच र शोधन गर्नुहुन्छ भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन। तिनीहरूलाई परमेश्‍वरका वचनहरू र सत्यताले मात्रै मानिसको भ्रष्ट स्वभाव समाधान गर्न सक्छन् भन्‍ने थाहा हुँदैन। तिनीहरूले परमेश्‍वरको काम र परमेश्‍वरबाट हुने मानवजातिको मुक्तिलाई साह्रै नै सरल रूपमा प्रस्तुत गर्छन्। तिनीहरू केही शब्‍द र धर्मसिद्धान्तहरू बोल्‍नु नै परमेश्‍वरको कामको विकल्प हो, र यसले मानिसको भ्रष्टताको समस्या समाधान गर्न सक्छ भन्‍ने विश्‍वास गर्छन्। के यो झूटा अगुवाहरूको मूर्खता र अज्ञानता होइन र? झूटा अगुवाहरूमा अलिकति पनि सत्यता वास्तविकता हुँदैन, तैपनि किन तिनीहरूमा यति आत्मविश्‍वास हुन्छ? के केही धर्मसिद्धान्तहरू फलाक्नुले मानिसहरूलाई आफूलाई चिन्‍ने तुल्याउँछ? के यसले तिनीहरूलाई आफ्‍नो भ्रष्ट स्वभाव फाल्‍न सक्‍ने तुल्याउँछ? यी झूटा अगुवाहरू कसरी यति अज्ञानी र भोलाभाला हुन सक्छन्? के व्यक्तिको गलत अभ्यास र भ्रष्ट व्यवहार समाधान गर्नु त्यति सरल कुरा हो? के मानिसको भ्रष्ट स्वभावको समस्या समाधान गर्न त्यति सजिलो छ? झूटा अगुवाहरू अत्यन्तै मूर्ख र सतही हुन्छन्! मानिसको भ्रष्टताको समस्या समाधान गर्न परमेश्‍वरले एउटा विधि मात्रै प्रयोग गर्नुहुन्‍न। उहाँले मानिसहरूलाई प्रकाश गर्न, शुद्ध पार्न र सिद्ध तुल्याउन धेरै विधिहरू प्रयोग गर्नुहुन्छ र फरकफरक वातावरणहरू योजनाबद्ध गर्नुहुन्छ। त्यसविपरित, झूटा अगुवाहरू अत्यन्तै नीरस र सतही रूपमा काम गर्छन्: तिनीहरू मानिसहरूलाई गफ गर्न बोलाउँछन्, मानिसहरूसँग तिनीहरूका सोचाइको तरिकाबारे परामर्श गर्ने थोरै काम गर्छन्, मानिसहरूलाई थोरै अर्ती दिन्छन्, र यो नै वास्तविक काम गर्नु हो भन्ठान्छन्। यो सतही कुरा हो, होइन र? अनि यस सतहीपनको पछाडि कुन समस्या लुकेको हुन्छ? के त्यो भोलापन होइन र? झूटा अगुवाहरू अत्यन्तै भोलाभाला हुन्छन्, र तिनीहरूले मानिस र कामकुराहरूलाई पनि अत्यन्तै भोलाभाला तरिकाले हेर्छन्। मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान गर्न जतिको गाह्रो केही पनि हुँदैन—नानीदेखि लागेको बानी बदल्न सकिँदैन। झूटा अगुवाहरूले यो कुरा छर्लङ्ग देख्न सक्दै सक्दैनन्। त्यसकारण, निरन्तर बाधाहरू सिर्जना गरिरहने, सधैँ मानिसहरूलाई बाँध्ने र सास्ती दिने मण्डलीका त्यस्ता सुपरिवेक्षकहरूको कुरा आउँदा, झूटा अगुवाहरू उनीहरूसँग कुरा गरेर तिनीहरूलाई एक-दुई वचन सुनाएर काटछाँट गर्नुबाहेक केही गर्दैनन्, अनि कुरा त्यतिमै सकिन्छ। तिनीहरू उनीहरूलाई तुरुन्तै अर्का काममा खटाउने र बरखास्त गर्ने गर्दैनन्। झूटा अगुवाहरूको यो रवैयाले मण्डलीको काममा ठूलो हानि पुर्‍याउँछ, र प्रायः मण्डलीको काम रोकिने, त्यसमा ढिलाइ हुने, क्षति पुग्ने, र केही दुष्ट मानिसहरूका बाधाहरूका कारण सामान्य, सहज, र कुशल रूपमा अघि बढ्नबाट रोकिने अवस्था सिर्जना गर्छ—यो सबै झूटा अगुवाहरूले आफ्ना भावनाहरूका आधारमा कार्य गर्नु, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्नु, र गलत मानिसहरू प्रयोग गर्नुका गम्भीर परिणामहरू हुन्। बाहिरबाट हेर्दा, झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूझैँ जानाजान अनेकौँ दुष्टताहरू गरिरहेका, वा आफ्नै तरिकाले कामकुरा गरिरहेका र तिनीहरूका आफ्नै स्वतन्त्र राज्य स्थापना गरिरहेका हुँदैनन्। तर झूटा अगुवाहरू मण्डलीको काममा उत्पन्‍न हुने विभिन्‍न समस्याहरूलाई तत्कालै समाधान गर्न सक्षम हुँदैनन्, अनि जब विभिन्‍न टोलीका सुपरिवेक्षकहरूमा समस्याहरू देखिन्छन् र जब ती सुपरिवेक्षकहरूले आफ्नो कामको बोझ बोक्न सक्दैनन्, तब झूटा अगुवाहरूले तुरुन्तै तिनीहरूको कर्तव्य फेरबदल गर्न वा तिनीहरूलाई बरखास्त गर्न सक्दैनन्, जसले गर्दा मण्डलीका काममा गम्भीर नोक्सान हुन्छ। अनि यो सबै झूटा अगुवाहरू जिम्मेवारीबाट विमुख हुनुले गर्दा निम्तिएको हो। के झूटा अगुवाहरू अत्यन्तै घृणास्पद हुँदैनन् र? (हुन्छन्।)

ई. झुटा अगुवाहरू कामका बन्दोबस्तहरूविरुद्ध जाने र आफ्नै तरिकाले कामकुरा गर्ने सुपरिवेक्षकहरूलाई कस्तो व्यवहार गर्छन्

झुटा अगुवाहरूले सुपरिवेक्षकहरूले अरूलाई सास्ती दिने, बन्धनमा पार्ने, र मण्डलीको काममा बाधा दिने जस्ता मण्डलीमा देखा पर्ने दुष्ट कार्यहरूलाई तुरुन्तै सम्हाल्न सक्दैनन्। त्यसरी नै, जब कतिपय सुपरिवेक्षकहरू परमेश्‍वरको घरका कामका बन्दोबस्तविरुद्ध जान्छन् र आफ्नै तरिकाले कामकुरा गर्छन्, तब झुटा अगुवाहरूले यी समस्याहरू तुरुन्तै हल गर्न उचित समाधानहरू निकाल्न सक्दैनन्। यसले गर्दा मण्डलीको काम र परमेश्‍वरको घरका भौतिक र आर्थिक स्रोत-साधनहरूमा घाटा हुन्छ। झुटा अगुवाहरू भोलाभाला र सतही हुन्छन्, सत्यता सिद्धान्तहरू बुझ्न सक्दैनन्, र विशेष गरी मानिसहरूको प्रकृति सारलाई छर्लङ्गै देख्‍न सक्दैनन्। परिणामस्वरूप, तिनीहरूले प्रायजसो सतही तरिकाले आफ्नो काम गर्छन्, झारा टार्छन्, प्रावधानहरू पालना गर्छन्, र नाराहरू फलाक्छन्, तर तिनीहरू कार्यस्थलमा गएर काम निरीक्षण गर्न, हरेक सुपरिवेक्षकलाई नियाल्न र तिनीहरूका बारेमा सोध्न, वा यी सुपरिवेक्षकहरूले के गरेका छन्, तिनीहरूको कार्यलाई निर्देशित गर्ने सिद्धान्तहरू के-कस्ता छन्, र त्यसपछिका प्रभावहरू के-के हुन् भनेर समयमा नै सोध्न सक्दैनन्। फलस्वरूप, तिनीहरूले प्रयोग गरिरहेका मानिसहरू वास्तवमा को हुन् र तिनीहरूले के गरेका छन् भन्‍ने बारेमा तिनीहरू पूर्ण रूपमा अनभिज्ञ हुन्छन्। त्यसकारण, जब यी सुपरिवेक्षकहरू गोप्य रूपमा परमेश्‍वरको घरका कामका बन्दोबस्तविरुद्ध जान्छन् र आफ्नै तरिकाले कामकुरा गर्छन्, तब झुटा अगुवाहरूलाई यसबारे थाहा नहुने मात्र नभई तिनीहरूले सुपरिवेक्षकहरूको बचाउ गर्ने प्रयाससमेत गर्छन्। तिनीहरूले यसबारे सुने पनि, तिनीहरूले यसको अनुसन्धान गर्दैनन् र तुरुन्तै यसलाई सम्हाल्दैनन्। झुटा अगुवाहरू एक हिसाबले आफ्नो काममा अयोग्य हुन्छन्, र अर्को हिसाबले, तिनीहरू आफ्नो कर्तव्यमा लापरवाह हुन्छन्। एउटा उदाहरण दिऊँ। निश्‍चित अगुवाले अर्को टोलीबाट हटाइएका एक जना व्यक्तिलाई रोपाइँ प्राविधिकका रूपमा छनौट गर्‍यो। उसले यो व्यक्तिसँग उपयुक्त अनुभव र विशेषज्ञता छ कि छैन, उसले काम राम्ररी गर्न सक्छे कि सक्दिन, वा ऊसँग गम्भीर र जिम्मेवार मनोवृत्ति छ कि छैन भनेर जाँच गरेन, र उसलाई त्यो भूमिकामा राखिसकेपछि, उसले उसलाई पूर्ण रूपमा छाडा छोडिदियो र भन्यो, “ल सागसब्जी रोप्‍न थाल। तिमीले बीउ छनौट गर्न सक्छौ, र तिमीले खर्च गर्ने जतिसुकै रकम म स्वीकृत गर्नेछु। यो काम आफूलाई जसरी उचित लाग्छ त्यसरी गर!” अगुवाले यसो भन्यो, त्यसकारण यो सुपरिवेक्षकले आफूलाई उचित लागेअनुसार काम गर्न थाली। उसको पहिलो काम भनेको बीउ छनौट गर्नु थियो। उसले अनलाइन जाँच गर्दा, यो कुरा पत्ता लगाई, “अति धेरै किसिमका तरकारीहरू हुँदा रहेछन्—यो विशाल संसार असाधारण कुराहरूले भरिएको छ! बीउ छनौट गर्नु निकै रमाइलो कुरा हो। मैले यसभन्दा पहिले कहिल्यै यो काम गरेको छैनँ, र मलाई यसमा यति धेरै चासो हुनेछ भन्‍ने मलाई थाहा थिएन। मलाई यसप्रति यति चासो भएको हुनाले, म पूर्ण रूपमा लागिपर्नेछु!” उसले सुरुमा गोलभेडाको बीउको खण्ड खोली, र ऊ आश्चर्यचकित भई। ती बीउ धेरै प्रजातिका र धेरै आकारका थिए, र रङको कुरा गर्नुपर्दा रातो, पहेँलो, र हरियो थिए। एउटा प्रजाति त बहुरङ्गी समेत थियो—उसले यस्तो कहिल्यै देखेकी थिइन, र यसले उसको दृष्टिकोण साँच्‍चै नै फराकिलो बनायो! तर उसले कसरी सही बीउ छनौट गर्नुपर्थ्यो? उसले हरेक किसिमका प्रजाति थोरै-थोरै रोप्ने, विशेष गरी अत्यन्तै अद्वितीय देखिने बहुरङ्गी प्रजाति रोप्ने निर्णय गरी। सुपरिवेक्षकले फरक-फरक आकार, रङ, र आकारका १० वटाभन्दा बढी प्रजातिका गोलभेडा छनौट गरी। गोलभेडाको बीउ छनौट गरेपछि, बैगुनको बीउ छनौट गर्ने समय आएको थियो। सामान्यतया, मानिसहरूले खाने बैगुन लामा र बैजनी हुन्छन् वा सेता हुन्छन्, तर उसले सोची, “बैगुन यी दुई प्रकारमा मात्रै सीमित हुनु हुँदैन। हरिया, बुट्टे, लामा, गोला, र अण्डाकार किसिमका पनि हुन्छन्। म हरेक प्रकारका थोरै-थोरै बैगुनहरू छनौट गर्नेछु, ताकि सबैले आफ्नो मनलाई फराकिलो बनाएर सबै किसिमका फरक-फरक बैगुन खान सकून्। सुपरिवेक्षकका रूपमा, म बीउ छनौट गर्न कति सिपालु र साहसी छु, म दाजुभाइ-दिदीबहिनीहरूको कति वास्ता गर्छु, र सबैको रुचि पूरा गर्छु, हेर त।” त्यसपछि, उसले प्याजको बीउ छनौट गरी। स्थानीय स्तरमा १४ किसिमका प्याजका प्रजातिहरू थिए, र उसले ती सबै छनौट गरी, र त्यसो गरिसकेपछि, ऊ निकै सन्तुष्ट भई। के यो सुपरिवेक्षक “साहसी” हो? यति धेरै किसिमका प्रजाति छनौट गर्ने आँट कसले गर्छ र? पछि, मैले यस विषयलाई चिरफार गरिरहेँ, र कसैले यसो समेत भन्यो, “स्थानीय रूपमा १४ प्रजाति मात्रै छैनन्; उसले छनौट नगरेका अझै केही प्रजाति पनि छन्!” उसले के भनिरहेको थियो भने, १४ प्रजाति त्यति धेरै होइन, र सुपरिवेक्षकले छनौट नगरेका अरू पनि प्रजाति छन्, त्यसकारण उसले कुनै गल्ती गरिन। के यसो भन्‍ने व्यक्ति मन्दबुद्धिको होइन र? यो त मन्दबुद्धिको हुनु, मानव भाषा नबुझ्नु, र मैले किन यस विषयलाई चिरफार गरिरहेको छु भन्‍ने बारेमा अनभिज्ञ हुनु हो। प्याजको बीउ छनौट गरेपछि, सुपरिवेक्षकले कम्तीमा आठ किसिमका आलु पनि छनौट गरी। यति धेरै किसिमका प्रजातिहरू छनौट गर्नुपछाडिको उसको उद्देश्य के थियो? सबैको दृष्टिकोणलाई फराकिलो बनाउनु र तिनीहरूलाई विभिन्‍न स्वाद चखाउनु। सुपरिवेक्षकले के विश्‍वास गरी भने, बीउको छनौट दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुर्‍याउने सिद्धान्तमा आधारित हुनुपर्छ। तँलाई उसको उत्प्रेरणाबारे के लाग्छ? के सबैको पक्षमा सोच्‍ने र सबैको सेवा गर्ने मनोवृत्तिका आधारमा व्यवहार गर्नु नै परमेश्‍वरको घरले माग गरेको सिद्धान्त हो? (होइन।) त्यसोभए, बीउ छनौटका लागि परमेश्‍वरको घरको सिद्धान्त के हो? हामीले सामान्यतया नखाने केही अनौठा र दुर्लभ किसिमका प्रजाति नरोप। आम रूपमा खाइने प्रजातिहरूका हकमा भन्दा, यदि हामीले पहिले ती रोपेका छैनौँ र ती स्थानीय माटो र हावापानीका लागि उपयुक्त छन् कि छैनन् भन्‍ने कुरा हामीलाई थाहा छैन भने, एक-दुई किसिमका प्रजाति छनौट गर, बढीमा तीन-चार वटा छनौट गर। पहिलो कुरा, ती स्थानीय माटो र हावापानीका लागि उपयुक्त हुनुपर्छ; दोस्रो, ती उब्जाउन सजिलो अनि रोग र कीराहरू नलाग्ने हुनुपर्छ; तेस्रो, तिनले अर्को वर्षका लागि बीउ दिनुपर्छ; अन्तिममा, तिनले राम्रो फसल दिनुपर्छ। यदि ती स्वादिलो छन् तर तिनले दिने फसल थोरै हुन्छ भने, ती उपयुक्त हुँदैनन्। बीउ छनौटको कुरालाई हेर्दा, के यो सुपरिवेक्षकले सिद्धान्तहरूबमोजिम काम गरी? के उसले खोजी गरी? के ऊ समर्पित भई? के उसले परमेश्‍वरको घरको ख्याल गरी? के उसले कर्तव्य निर्वाह गर्दा आफूमा हुनुपर्ने मनोवृत्ति अनुसार व्यवहार गरी? (गरिन।) स्पष्ट रूपमा नै, ऊ खराब कुराहरू गर्नमा उन्मत्त भएर लागिरहेकी थिई, खुलेआम परमेश्‍वरको घरका कामका बन्दोबस्तविरुद्ध गइरहेकी थिई र आफ्नै तरिकाले कामकुरा गरिरहेकी थिई! उसले आफ्नो व्यक्तिगत जिज्ञासा र रमाइलो गर्ने इच्छालाई सन्तुष्ट पार्न यसरी परमेश्‍वरका भेटीहरू बरबाद गरी, र यस्तो महत्त्वपूर्ण कामलाई खेलका रूपमा लिई, तर उसको झूटो अगुवाले उसलाई प्रश्‍न नगरी वा हस्तक्षेप नगरी उसले चाहे अनुसार गर्न दियो। जब उसलाई यसो भनेर सोधियो, “तपाईँले छनौट गर्नुभएको सुपरिवेक्षकले वास्तवमा कुनै काम गरी? के-कस्ता परिणामहरू आए? के तपाईँले बीउ छनौट गर्ने क्रममा जाँचहरू गरेर उसलाई सहयोग गर्नुभयो?”, तब उसले यी कुराहरूप्रति ध्यान दिएन, र यति मात्रै भन्यो, “बीउ रोपिएको छ; रोप्ने बेलामा हामीले स्थलगत भ्रमण गरेका छौँ।” उसलाई अरू कुनै समस्याको वास्ता थिएन। अन्तमा यो सुपरिवेक्षकको समस्या कसरी पत्ता लाग्यो? उसले केही स्ट्रबेरी रोपी, र त्यससम्बन्धी प्राविधिक विवरणहरू अनुसार, पहिलो वर्षमा स्ट्रबेरीको बिरुवालाई ढाक्नु वा त्यसमा फल लाग्न दिनु हुँदैन, र सबै फूलहरू टिप्नुपर्छ; नत्र, दोस्रो वर्षमा कुनै फल हुनेछैन, र पहिलो वर्षमा फल फले पनि त्यो अत्यन्तै सानो हुनेछ। विशेषज्ञहरूले सुपरिवेक्षकलाई यो कुरा बताए पनि, उसले सुनिन। उसको तर्क पहिलो वर्षमा स्ट्रबेरीका बिरुवालाई प्लास्टिकले छोपेर फल लाग्न दिनु स्वीकार्य हुन्छ भनेर भन्‍ने अनलाइन जानकारीमा आधारित थियो। परिणामस्वरूप तिनमा बीउको दानाले ढाकिएका आकार नमिलेका विभिन्‍न स-साना स्ट्रबेरीहरू फले—कतिपय तीता, कतिपय मीठा, र कतिपय बेस्वादका—सबै किसिमका फलहरू थिए। समस्या यति गम्भीर भएको थियो, तैपनि त्यहाँका झुटा अगुवाहरूले यसलाई पूर्ण रूपमा बेवास्ता गरे। किन? तिनीहरूलाई त्यसै पनि ती स्ट्रबेरीहरू खान पाइँदैन भन्‍ने लागेको थियो, त्यसैले तिनीहरूले समस्यालाई बेवास्ता गर्ने निर्णय गरे। के तिनीहरूले कुनै कुरा खान पाउँदैनन् भन्दैमा तिनीहरूले त्यसबारे वास्ता गर्नु हुँदैन भन्‍ने हुन्छ? अनि तिनीहरूले खान पाउने आलु र प्याज चाहिँ—के तिनीहरूले तिनका बारेमा वास्ता गर्थे? यी झुटा अगुवाहरू कसैले पनि वास्ता गर्दैनथिए; तिनीहरूले केवल सुपरिवेक्षकले आफूले चाहे अनुसार गरेको हेरिरहे। एक दिन, म तिनीहरूलाई भेट्न गएँ, र कसैले रायो हुर्केको छ, र चाँडै टिपिएन भने त्यो कसैले पनि खान सक्दैन र बरबाद हुन्छ भनेर रिपोर्ट गर्‍यो। तर, सुपरिवेक्षकले यसलाई त्यतिकै छोड्नुपर्छ भनेर जिद्दी गरी, र तिनीहरूले यो टिपेमा अरू तरकारीहरू रोप्नुपर्छ भनेर भनी, जुन उसलाई समस्याग्रस्त लाग्थ्यो। यसका बारेमा थाहा पाउँदापाउँदै पनि झुटा अगुवाहरूले केही गरेनन्। अन्तमा, माथिले तिनीहरूलाई तुरुन्तै रायो टिप्न र परिस्थितिलाई सम्हाल्न आदेश दिनुपर्‍यो; नत्र भने, रायोले जग्गा ओगट्नेथ्यो र ग्रीष्मकालीन सागसब्जी रोप्न पाइने थिएन। काममा यस्तो ठूलो समस्या पैदा भए पनि, झुटा अगुवाहरूले यसका बारेमा केही गरेनन्, तिनीहरूलाई मानिसहरूलाई चिढ्याउँछु कि भनेर अत्यन्तै डर लागेको थियो। सुपरिवेक्षकलाई झुटा अगुवाले बढुवा गरेको र बढुवा गरेपछि उसको काम कहिल्यै जाँच नगरेको हुनाले, उसलाई स्वतन्त्र रूपमा काम गर्न दिएको र उसलाई साथ र समर्थन दिएको, अनि अरू अगुवाहरूले हस्तक्षेप गर्ने आँट नगरेका र तिनीहरूसँग मिलेर काम गरेका हुनाले, अन्तमा धेरै समस्याहरू पैदा भए। अगुवाहरूले गरेको काम यही हो। के तिनीहरूलाई अझै पनि अगुवा भन्‍न सकिन्छ? तिनीहरूको आँखै अगाडि यस्तो गम्भीर समस्या आइपर्दा पनि तिनीहरूले यसलाई समस्याका रूपमा पहिचान गर्न सकेनन्, यसलाई समाधान गर्नु त परै जाओस्। के यिनीहरू झुटा अगुवा होइनन् र? (हजुर, हुन्।) एक हिसाबमा, तिनीहरू मान्छे खुसी पारिहिँड्ने मानिस थिए र अरूलाई चिढ्याउँछु कि भनेर डर मान्थे। अर्को हिसाबमा, तिनीहरूलाई समस्या कति गम्भीर छ भन्‍ने थाहा थिएन, तिनीहरूमा सटीक मूल्याङ्कनको कमी थियो, तिनीहरूलाई यो समस्या हो भन्‍ने थाहा थिएन, र तिनीहरू यो काम तिनीहरूको जिम्मेवारीको दायराभित्र पर्छ भन्‍नेबारे अनजान थिए। के तिनीहरू केही न कामका र अपव्ययी मानिस होइनन् र? के यो जिम्मेवारीविमुखता होइन र? (हो।) चौथो परिस्थिति यो हो: सुपरिवेक्षकहरूले परमेश्‍वरको घरका कामका बन्दोबस्तविरुद्ध गएर आफ्नै तरिकाले कामकुरा गर्नु। हामीले एउटा उदाहरण प्रस्तुत गरेका छौँ, जसले यस मामलामा झुटा अगुवाहरू आफ्ना जिम्मेवारीबाट विमुख भएको प्रकटीकरणलाई खुलासा गर्छ र झुटा अगुवाहरूको प्रकृति सारलाई प्रकाशमा ल्याउँछ।

उ. झुटा अगुवाहरूले ख्रीष्टविरोधी र स्वतन्त्र राज्य स्थापित गर्ने सुपरिवेक्षकहरूलाई कस्तो व्यवहार गर्छन्

अर्को परिस्थिति भनेको सुपरिवेक्षकहरूले आफूभन्दा वरिष्ठहरूविरुद्ध विद्रोह गर्नु र स्वतन्त्र राज्यहरू स्थापना गर्नु हो—यी सुपरिवेक्षकहरू ख्रीष्टविरोधी हुन्। झूटा अगुवाहरूले सुपरिवेक्षकहरूको क्षमता कमजोर हुनु, तिनीहरूमा खराब मानवता हुनु, वा तिनीहरू खराब कुराहरू गर्न उन्मत्त हुनु जस्ता समस्याहरूका हकमा रेखदेखकर्ताको भूमिका खेल्न सक्दैनन्। तिनीहरूले यस्ता सुपरिवेक्षकहरूको उपयुक्तता निर्धारित गर्न तिनीहरूले गरिरहेको काम र तिनीहरूका समस्याहरू तुरुन्तै निरीक्षण गर्न र तिनका बारेमा सोधपुछ गर्न पनि सक्दैनन्। त्यस्तै, झुटा अगुवाहरू अनिष्टकर र आक्रामक मानिसका रूपमा रहेका ख्रीष्टविरोधीहरूको प्रकृति सारलाई छर्लङ्गै देख्‍न झनै असमर्थ हुन्छन्। तिनीहरूले यो कुरालाई छर्लङ्गै देख्‍न नसक्‍ने मात्र होइन, त्योसँगै तिनीहरूलाई यी मानिसहरूको अलिक डर लाग्छ, र तिनीहरू अलिक असहाय र शक्तिहीन हुन्छन्, यहाँसम्म कि प्रायजसो, तिनीहरूलाई ख्रीष्टविरोधीहरूले पकडमा राखेर चलाउँछन्। यो कति गम्भीर हुन सक्छ? ख्रीष्टविरोधीहरूले झुटा अगुवाहरूको कार्यक्षेत्रभित्र गुटबन्दी गर्न सक्छन्, आफ्नै शक्तिहरू आकर्षित गर्न र स्वतन्त्र राज्यहरू स्थापना गर्न सक्छन्, र अन्ततः, तिनीहरूले शक्ति हत्याउन, निर्णय गर्न थाल्न, र झुटा अगुवाहरूलाई टाउके बनाउन सक्छन्। यी झुटा अगुवाहरू ख्रीष्टविरोधीहरूले निर्णय गरेका र जानेका कुराहरूका बारेमा कसैगरी बेखबर हुन्छन्, र तिनीहरू ती कुराहरूका बारेमा अन्धकारमा हुन्छन्। कुनै घटना घटेपछि र कसैले तिनीहरूलाई यसबारे रिपोर्ट गरेपछि मात्रै तिनीहरूले यी कुराहरूका बारेमा थाहा पाउँछन्, तर त्यो बेलासम्म ज्यादै ढिला भइसकेको हुन्छ। झुटा अगुवाहरूले ख्रीष्टविरोधीहरूलाई आफूलाई किन जानकारी गराइएन भनेर समेत सोध्छन्, र तिनीहरूको प्रतिक्रिया यस्तो हुन्छ, “तपाईँलाई भनेर के फाइदा? तपाईँले कुनै पनि कुराबारे निर्णय गर्न सक्‍नुहुन्‍न, त्यसकारण तपाईँसँग यसबारे छलफल गर्नुपर्ने कुनै आवश्यकता थिएन, हामीले आफै निर्णय गर्‍यौँ। हामीले तपाईँलाई जानकारी दिएको भए पनि, तपाईँले अवश्य नै सहमति जनाउनुहुनेथियो। तपाईँसँग कस्तो राय हुन सक्थ्यो र?” त्यस्ता मामलाहरूमा झुटा अगुवाहरू असहाय हुन्छन्। यदि तैँले खुट्ट्याउन, समाधान गर्न, वा यी ख्रीष्टविरोधीहरूलाई सम्हाल्न सक्दैनन् भने, तैँले माथिलाई तिनका बारेमा रिपोर्ट गर्नुपर्छ, तर तैँले त्यसो गर्ने आँट समेत गर्दैनन्—के तँ केही न कामको होइनस् र? (हुँ।) त्यस्ता कुराहरूको सामना गर्दा, यी ठूला काम नलाग्‍ने मानिसहरू आँसु झार्दै मेरो अघि आएर गुनासो गर्छन्, र झर्कन्छन् “यो मेरो गल्ती होइन; मैले त्यो निर्णय गरेको होइनँ। तिनीहरूले गरेको निर्णय सही थियो कि थिएन भन्‍ने कुराको मसँग कुनै सम्बन्ध छैन, किनभने तिनीहरूले यो निर्णय गर्दा मलाई त्यसबारे जानकारी दिएनन् वा बताएनन्।” तिनीहरूले यसो भन्‍नुको अर्थ के हो? (तिनीहरू जिम्मेवारीबाट पछि हटिरहेका छन्।) अगुवा भएको नाताले, तैँले यी कुराहरू जान्‍नु र बुझ्नुपर्छ; यदि ख्रीष्टविरोधीहरूले तँलाई यी कुराहरूका बारेमा जानकारी दिँदैनन् भने, तँ किन सक्रिय रूपमा गएर आफै सोध्दैनस्? अगुवाको नाताले तैँले हरेक मामलालाई सङ्गठित गर्नुपर्छ, तिनको नेतृत्व गर्नुपर्छ, र तिनका बारेमा निर्णय गर्नुपर्छ; यदि तिनीहरूले तँलाई कुनै कुराका बारेमा जानकारी दिँदैनन् र तिनीहरू आफैले निर्णय गर्छन्, अनि पछि तँलाई हस्ताक्षर गर्न बिलहरू पठाउँछन् भने, के तिनीहरूले तेरो अख्तियार हडपिरहेका हुँदैनन् र? जब झुटा अगुवाहरू ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा दिइरहेका छन् भन्ने कुराको आमनेसामने हुन्छन्, तब तिनीहरू स्तब्ध हुन्छन्; तिनीहरू मूर्खहरूले ब्वाँसोको सामना गरे जतिकै असहाय हुन्छन्, र तिनीहरू नाम मात्रका अगुवामा परिणत हुँदै गर्दा र तिनीहरूको अख्तियार लुटिँदै गर्दा निरीह भएर उभिन्छन्। तिनीहरूले त्यसबारे केही पनि गर्न सक्दैनन्—कस्तो बेकामका नीच मानिसहरू! तिनीहरूले समस्याहरू समाधान गर्न सक्दैनन्, ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन वा खुलासा गर्न सक्दैनन्, र तिनीहरूले अवश्य नै तिनीहरूलाई कुनै पनि दुष्ट कार्यहरू गर्नबाट रोक्न सक्दैनन्। यसको साथै, तिनीहरूले यी समस्याहरूका बारेमा माथिलाई रिपोर्ट गर्दैनन्। के यिनीहरू केही न कामका होइनन् र? तँलाई अगुवाका रूपमा छनौट गरेको के काम? ख्रीष्टविरोधीहरू उन्मत्त भएर खराब कुराहरू गर्छन्, तिनीहरूले खुलेआम भेटीहरू उडाउँछन्, शक्ति निर्माण गरेर त्यसको नेतृत्व गर्छन् र मण्डलीभित्रै स्वतन्त्र राज्यहरू स्थापना गर्छन्; यसबीच, तँ तिनीहरूलाई सुपरिवेक्षण गर्न, खुलासा गर्न, नियन्त्रण गर्न, वा सम्हाल्न पूर्ण रूपमा असफल हुन्छस्, तैपनि तँ गुनासो गर्न मकहाँ आउँछस्। तँ कस्तो अगुवा होस्? तँ साँच्‍चै नै केही न कामको होस्! तिनले जे गरिरहेका भए पनि, ख्रीष्टविरोधीहरूले नेतृत्व गर्ने यी गिरोहहरूले गोप्य रूपमा एक-अर्कासँग छलफल गर्छन् अनि त्यसपछि अख्तियारीविना निर्णय गर्छन्। तिनीहरूले अगुवाहरूलाई के भइरहेको छ भनेर जान्‍ने अधिकार समेत दिँदैनन्, निर्णय गर्ने अधिकार दिनु त परको कुरा हो। तिनीहरूले अगुवाहरूलाई सिधै नकार्छन्, सबै शक्ति आफै हत्याउँछन् र सबै कुराको निर्णय गर्छन्। यो सबको बीचमा तिनीहरूलाई व्यवस्थापन गर्ने काम पाएका अगुवाहरूले के गर्छन्? तिनीहरू यो कामको निरीक्षण गर्न, सुपरिवेक्षण गर्न, व्यवस्थापन गर्न, वा त्यस सम्बन्धमा निर्णय गर्न पूर्ण रूपमा असफल हुन्छन्। अन्त्यमा, तिनीहरूले ख्रीष्टविरोधीहरूलाई कमान सम्हाल्न र माथिबाट तिनीहरूको व्यवस्थापन गर्न दिन्छन्। के यो समस्या झुटा अगुवाहरूको कामबाट पैदा भएको हुँदैन र? यो समस्याको सार के हो? यो कहाँबाट आएको हुन्छ? यो झुटा अगुवाहरूको क्षमता कमजोर भएकाले, तिनीहरूमा कार्य क्षमताको कमी भएकाले, र ख्रीष्टविरोधीहरूले तिनीहरूलाई पटक्‍कै वास्ता नगर्ने हुनाले पैदा हुन्छ। ख्रीष्टविरोधीहरू सोच्छन्, “तिमीले अगुवाका रूपमा के गर्न सक्छौ? म अझै पनि तिम्रो कुरा सुन्नेछैन, र म तिम्रो वास्ता नगरी निरन्तर काम गरिरहनेछु। यदि तिमीले माथिलाई यो कुराका बारेमा रिपोर्ट गर्‍यौ भने, हामी तिमीलाई सास्ती दिनेछौँ!” झुटा अगुवाहरूले त्यस्ता कुराहरूका बारेमा रिपोर्ट गर्ने आँट गर्दैनन्। झुटा अगुवाहरूमा कार्य क्षमताको कमी हुने मात्र होइन, तिनीहरूसँग सिद्धान्तहरू पालना गर्ने साहस पनि हुँदैन, तिनीहरूलाई मानिसहरूलाई चिढ्याउँछु कि भन्‍ने डर हुन्छ, र तिनीहरूमा बफादारीको पूर्ण रूपमा कमी हुन्छ—के यो गम्भीर समस्या होइन र? यदि तिनीहरूसँग साँच्‍चै नै केही क्षमता थियो र तिनीहरूले सत्यता बुझेका थिए भने, यी मानिसहरू खराब छन् भन्‍ने देखेर, तिनीहरूले भन्‍नेथिए, “म तिनीहरूलाई एकलै खुलासा गर्ने आँट गर्दिनँ, त्यसकारण म यी समस्याहरूलाई समाधान गर्न सत्यता पछ्याउने र सत्यता अझै बढी बुझ्ने केही दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्नेछु। यदि तिनीहरूसँग सङ्गति गरेपछि पनि हामीले ख्रीष्टविरोधीहरूलाई निराकरण गर्न सकेनौँ भने, म माथिलाई समस्याबारे रिपोर्ट गर्नेछु र उनलाई नै यो कुरा समाधान गर्न दिनेछु। म अरू केही गर्न सक्दिनँ, तर मैले सुरुमा परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नुपर्छ; मैले छर्लङ्गै देखेका मामिलाहरू र पत्ता लगाएका समस्याहरूलाई निरन्तर बढ्न दिनु हुँदैन।” के यो समस्याहरू समाधान गर्ने एउटा तरिका होइन र? के यसलाई पनि आफ्नो जिम्मेवारी पूरा गरेको मान्न सकिँदैन र? यदि तैँले यसो गर्न सकेमा, माथिले तँसँग कमजोर क्षमता छ र तँमा कार्य क्षमताको कमी छ भनेर भन्‍नेछैनन्। तर, तैँले समस्याहरूका बारेमा माथिलाई रिपोर्ट गर्न समेत सक्दैनन्, त्यसकारण तँलाई केही न कामको र झुटा अगुवाका रूपमा चित्रण गरिन्छ। तेरो क्षमता कमजोर हुने र तँमा कार्य क्षमताको कमी हुने मात्र नभई तँसँग ख्रीष्टविरोधीहरूको खुलासा गर्न र तिनीहरूविरुद्ध लड्नका लागि परमेश्‍वरमा भर पर्ने आस्था र साहस समेत हुँदैन। के तँ केही न कामको होइनस् र? के ख्रीष्टविरोधीहरूद्वारा हडपिएका मानिसहरू दयनीय हुन्छन्? तिनीहरू दयनीय छन् जस्तो लाग्छ होला; तिनीहरूले केही पनि नराम्रो गरेका हुँदैनन्, र आफ्नो काममा तिनीहरू अत्यन्तै सतर्क हुन्छन्, तिनीहरू गल्ती गर्न, काटछाँटमा पर्न, र दाजुभाइ-दिदीबहिनीहरूद्वारा तिरस्कृत हुन डर मान्छन्। तैपनि तिनीहरू आफ्नै आँखाअगाडि ख्रीष्टविरोधीहरूको पूर्ण कब्जामा पर्छन्, तिनीहरूले बोलेको कुनै पनि कुराले प्रभाव पार्दैन, र तिनीहरू त्यहाँ भए पनि वा नभए पनि त्यसले फरक पार्दैन। झट्ट हेर्दा तिनीहरू दयनीय देखिन्छन् होला, तर तिनीहरू वास्तवमा निकै घृणित हुन्छन्। ल भन् त, के परमेश्‍वरको घरले मानिसहरूले समाधान गर्न नसक्‍ने समस्याहरू समाधान गर्न सक्छ? के मानिसहरूले समस्याहरूका बारेमा माथिलाई रिपोर्ट गर्नुपर्छ? (हो, गर्नुपर्छ।) परमेश्‍वरको घरमा, समाधान गर्न नसकिने कुनै समस्याहरू हुँदैनन्, र परमेश्‍वरका वचनहरूले कुनै पनि समस्या समाधान गर्न सक्छन्। के तँमा परमेश्‍वरमाथिको साँचो आस्था छ? यदि तँसँग यति थोरै आस्था समेत छैन भने, तँ कसरी अगुवा बन्‍न योग्य छस् र? के तँ बेकारको नीच मानिस होइनस् र? यो झुटा अगुवा हुने कुरा मात्रै होइन; तँमा परमेश्‍वरमाथिको सबैभन्दा आधारभूत आस्था समेत छैन। तँ अविश्‍वासी होस् र तँ अगुवा बन्‍न लायक छैनस्!

अगुवा र कामदारहरूको चौथो जिम्मेवारीको सम्बन्धमा हामीले झुटा अगुवाहरूले विभिन्‍न कामहरू र सुपरिवेक्षकहरूलाई कसरी लिन्छन् भनेर खुलासा गर्नका लागि पाँच वटा परिस्थितिहरू सूचीकृत गरेका छौँ। यी पाँच वटा परिस्थितिहरूका आधारमा, हामीले झुटा अगुवाहरूको अत्यन्तै कमजोर क्षमता, अयोग्यता, र वास्तविक काम गर्ने असक्षमताका विभिन्‍न प्रकटीकरणहरूलाई चिरफार गर्‍यौँ। यसरी सङ्गति गरेर, के तिमीहरू झुटा अगुवाहरूलाई कसरी खुट्ट्याउने भन्‍ने बारेमा अलिक प्रस्ट भयौ? (भयौँ।) ठीक छ, आज हामी हाम्रो सङ्गतिलाई यहीँ समाप्त गरौँ। फेरि भेटौँला!

जनवरी २३, २०२१

अघिल्लो:  अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२)

अर्को:  अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (४)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger