अगुवा र कामदारहरूका जिम्मेवारीहरू (७)
विषयवस्तु सात: फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवता र सबल पक्षको आधारमा समझदारीपूर्वक खटनपटन र प्रयोग गर्ने, ताकि हरेकलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकियोस् (भाग दुई)
यसअघिको सङ्गतिमा, अगुवा र कामदारहरूको सातौँ जिम्मेवारी छलफल गरिएको थियो: “फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवता र सबल पक्षको आधारमा समझदारीपूर्वक खटनपटन र प्रयोग गर्ने, ताकि हरेकलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकियोस्।” हामीले मुख्यतः यो जिम्मेवारीका तीनवटा पक्षहरू सङ्गति गऱ्यौँ। ती तीन पक्षहरू केके हुन्? (एउटा, फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवताका आधारमा समझदारीपूर्वक प्रयोग गर्ने; अर्को, फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूका सबल पक्षहरूको आधारमा समझदारीपूर्वक प्रयोग गर्ने; अनि अझै अर्को, केही विशेष प्रकारका मानिसहरूलाई कसरी व्यवहार र प्रयोग गर्ने।) ती तीन पक्षहरू मूलतः यिनै हुन्। ती तीन पक्षहरूमार्फत हेर्दा, के परमेश्वरको घरको मानिसहरूलाई प्रयोग गर्ने सिद्धान्त हरेक व्यक्तिलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकिनेअनुरूप छ? (छ।) के यो सिद्धान्त सही छ? के यो मानिसहरूको लागि न्यायसङ्गत छ? (यो न्यायसङ्गत छ।) अक्कल कमजोर भएका मूर्खहरूको कुरा आउँदा, तिनीहरू कुनै पनि कुरा गर्न असक्षम हुन्छन्, र थोरै पनि कर्तव्य निर्वाह गर्न सक्दैनन्। यदि तैँले तिनीहरूलाई कुनै कार्य दिइस् भने, चाहे त्यो पेसागत, प्राविधिक पक्षमा होस् वा श्रमको हिसाबले होस्, तिनीहरूले त्यो पूरा गर्न सक्दै सक्दैनन्। त्यस्ता मानिसहरूलाई बिलकुलै प्रयोग गर्न सकिँदैन, सेवा प्रदान गर्नमा समेत प्रयोग गर्न सकिँदैन। यो अक्कलको हिसाबले हो। मानवताको हिसाबले, जसको मानवता खराब छ र जो दुष्ट मानिसहरू हुन्, तिनीहरूले केही काम गर्न र केही कर्तव्य निभाउन सके नि, तिनीहरूको मानवता अत्यन्तै दुष्ट भएकोले, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा बाधा दिन्छन् र अवरोध पुऱ्याउँछन्, जसले लाभभन्दा धेरै क्षतितर्फ डोऱ्याउँछ, तिनीहरूले कुनै पनि कुरा राम्ररी गर्न सक्दैनन्। त्यस्ता मानिसहरू कर्तव्य निभाउन उपयुक्त हुँदैनन् र तिनीहरूलाई बिलकुलै प्रयोग गर्न सकिँदैन। यदि निश्चित सबल पक्षहरू भएका मानिसहरू उपलब्ध छन् भने, तिनीहरूले परमेश्वरको घरको कामको लागि चाहिने सबै सर्तहरू पूरा गरेसम्म—योग्य मानवता भएको आधारमा—तिनीहरूलाई समझदारीपूर्वक प्रबन्ध र प्रयोग गर्न सकिन्छ। यसअघि, हामीले केही विशेष प्रकारका मानिसहरूलाई कसरी व्यवहार र प्रयोग गर्ने भन्नेबारे पनि सङ्गति गऱ्यौँ। पहिलो प्रकार भनेको यहूदालगायतका मानिसहरू हुन्, जो निकै कायर हुन्छन्। तिनीहरूको अधिक कायरताको आधारमा मूल्याङ्कन गर्दा, तिनीहरू ठूलो रातो अजिङ्गरद्वारा पक्राउ गरिएपछि यहूदा बन्ने सम्भावना शतप्रतिशत हुन्छ; यदि तिनीहरूलाई महत्त्वपूर्ण काम दिइयो भने, एकपटक केही भइहालेमा तिनीहरूले सबथोकलाई धोका दिनेछन्। के यी खतरनाक पात्रहरू होइनन्? अविश्वासीजस्तै अर्को प्रकारका मानिसहरू पनि हुन्छन्, जसलाई हामी मण्डलीका मित्रहरू भन्छौँ। हृदयमा यी मानिसहरूले आकाशमा कोही बुढो मान्छे छ भन्ने विश्वास गर्छन्, तर तिनीहरूलाई परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुन्न, परमेश्वर कहाँ हुनुहुन्छ, वा परमेश्वरले वास्तवमै उहाँको नयाँ काम गर्नुभएको छ कि छैन भन्ने थाहा हुँदैन, तिनीहरूले प्रायः परमेश्वरको अस्तित्वमा शङ्का गरिरहन्छन्। तिनीहरूले साँचो रूपमा परमेश्वरमा साँच्चै विश्वास गर्दैनन् र उहाँलाई पछ्याउँदैनन्। त्यसकारण, त्यस्ता मानिसहरूलाई प्रयोग गर्न सकिन्न, तिनीहरू परमेश्वरका घरमा कर्तव्य निर्वाह गर्न अनुपयुक्त हुन्छन्। साँच्चै विश्वास गर्नेहरूले समेत आफ्नो कर्तव्य मानक पूरा गर्ने गरी गर्न सक्छन् भन्ने जरुरी छैन, झन् मण्डलीको मित्र अविश्वासीले त्यसो गर्न सक्छ भन्ने त कुरै हुँदैन! अर्को प्रकारका मानिसहरू बर्खास्त भएकाहरू हुन्; यो समूह पनि कैयौँ परिस्थितिहरूमा विभाजित हुन्छ।
अगुवा र कामदारहरूको सातौँ जिम्मेवारीसम्बन्धी यसअघिको सङ्गतिको विषयवस्तुले आधारभूत रूपमा यी तीन प्रमुख बुँदाहरू समेट्यो: एउटा, फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवताका आधारमा समझदारीपूर्वक प्रयोग गर्ने; अर्को, फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूका सबल पक्षहरूका आधारमा प्रयोग गर्ने; अनि अझै अर्को, केही विशेष प्रकारका मानिसहरूलाई कसरी व्यवहार र प्रयोग गर्ने। यी तीन बुँदाहरूलाई सातौँ जिम्मेवारीमा उल्लेख गरिएका कैयौँ पक्षहरूका आधारमा सङ्गति गरिएको थियो, र सिद्धान्तहरू सबै स्पष्ट रूपमा सङ्गति गरिएका थिए। कतिपय मानिसहरूले यस्तो भन्छन्: “सिद्धान्तहरू स्पष्ट रूपमा सङ्गति गरिएका भए पनि, केही विशेष मामलाहरू र विशेष परिस्थितिहरूको कुरा आउँदा, हामीलाई अझै पनि यी सिद्धान्तहरू कसरी लागू गर्ने, मानिसहरूलाई कसरी व्यवहार गर्ने, वा व्यक्तिहरूको प्रवर्द्धन र प्रयोग कसरी गर्ने भनेर थाहा छैन; हामीलाई अझै पनि धेरै जसो समय के गर्ने भनेर थाहा नै हुँदैन।” के यस्तो समस्या अस्तित्वमा हुन्छ? (हुन्छ।) यो समस्या कसरी समाधान गरिनुपर्छ? मानिसहरूको प्रवर्द्धन र प्रयोग गर्दा ख्याल गर्नुपर्ने पहिलो कुरा भनेको परमेश्वरको घरको कामका आवश्यकताहरू हो। ख्याल गर्नुपर्ने दोस्रो कुरा भनेको परमेश्वरको घरका काममा कुनै व्यक्तिलाई प्रयोग गर्दा त्यसको प्रभाव हानिकारकभन्दा बढी लाभदायक हुन्छ कि त्यसको उल्टो हुन्छ भन्ने हो। यदि व्यक्तिको मानवता त्रुटिपूर्ण छ, तर उसलाई प्रयोग गर्नु परमेश्वरको घरको कामको लागि हानिकारकभन्दा बढी लाभदायक हुन्छ भने, अर्को उत्तम व्यक्ति नभेट्टाउन्जेल त्यस्ता व्यक्तिहरूलाई अल्पकालिक रूपमा प्रयोग गर्न सकिन्छ। यदि त्यो व्यक्तिलाई प्रयोग गर्दा लाभभन्दा बढी हानि हुन्छ, फाइदाभन्दा बढी क्षति हुन्छ, र त्यसले मण्डलीको कामलाई गडबडी र अस्तव्यस्ततातर्फ मात्र डोऱ्याउँछ भने, त्यस्तो व्यक्तिलाई बिलकुलै प्रयोग गर्न सकिन्न। उपयुक्त उम्मेदवारहरू कोही नभएको अवस्थामा सुरुमा बोध गरिनुपर्ने, फाइदा र नोक्सान तौलने सिद्धान्त यही हो, र यो मानिसहरूलाई अल्पकालिक रूपमा प्रयोग गर्ने सिद्धान्त पनि हो। उपयुक्त उम्मेदवार भेट्टाउन नसकिँदा र तुलनात्मक रूपमा को बढी असल छ भनेर स्पष्ट नहुँदा, को कार्यको लागि पूर्ण उपयुक्त छ भनेर प्रस्ट नहुँदा अनि सबैजना सामान्य देखिँदा, के गरिनुपर्छ? एउटै विकल्प भनेको तुलनात्मक रूपमा अलिक आत्मिक बुझाइ भएका, अर्थात् विशुद्ध रूपमा सत्यता बुझ्ने दुई जना खोज्नु र तिनीहरूलाई सहकार्य गर्दै सँगै काम गर्न लगाउनु हो। अनि, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दैगर्दा, तिनीहरूसँग अझ बढी सत्यता सङ्गति गरिनुपर्छ, र तिनीहरूको अवस्था अवलोकन गरिनुपर्छ र बुझिनुपर्छ; यसले कोसँग तुलनात्मक रूपमा असल क्षमता छ भनेर निर्धारण गर्न सम्भव बनाउँछ, र यसरी सही उम्मेदवार खोज्न सहज हुन्छ। कर्तव्य निर्वाह गर्न जोसुकै प्रबन्ध गरिए नि त्यो उसको क्षमता, सबल पक्ष र चरित्रको आधारमा गरिनुपर्छ। यदि कसैले यी पक्षहरू छर्लङ्ग देख्न सकिँदैन र त्यो व्यक्तिसँग केकस्ता सबल पक्षहरू छन् भनेर बुझिँदैन भने, उसलाई सुरुमा एउटा सरल कर्तव्य, वा केही शारीरिक श्रम दिइनुपर्छ, वा सुसमाचार प्रचार गर्नको लागि उसलाई सुसमाचार स्विकार्ने व्यक्तिको खोजतलास गर्ने प्रबन्ध गरिनुपर्छ। एउटा परीक्षण अवधिपछि, अनुगमन अनि थप अवलोकनले उसको अवस्था सही रूपमा मूल्याङ्कन गर्न सम्भव बनाउँछ र यसरी उसको लागि सबैभन्दा उपयुक्त कर्तव्य निर्धारण गर्न सहज हुन्छ। यदि उसको क्षमता अत्यन्तै कमजोर छ र ऊसँग सबल पक्षहरू छैनन् भने, उसलाई केही शारीरिक काम दिइनु नै पर्याप्त हुन्छ। अगुवाहरू र कामदारहरूले महत्त्वपूर्ण कामका सुपरिवेक्षकहरू, सुसमाचार निर्देशकहरू, प्रत्येक टोली अगुवा, चलचित्र निर्माण टोलीका निर्देशकहरू, र अन्य व्यक्तिहरूका बारेमा विभिन्न स्रोतहरूबाट बुझाइ प्राप्त गर्नैपर्छ, साथै यी मानिसहरूका बारेमा पक्का हुनका लागि तिनीहरूले उनीहरूको अझ तीव्र रूपले अवलोकन र जाँच गर्नुपर्छ। यसरी मानिसहरूलाई होसियारीसाथ कर्तव्य सुम्पेर मात्रै कार्य बन्दोबस्तहरू उचित हुने, र ती मानिसहरू आफ्नो कर्तव्यमा प्रभावकारी बन्ने पक्का हुन्छ। कतिपय मानिसहरूले भन्छन्, “गैरविश्वासीहरूले समेत यसो भन्छन्, ‘आफूले काममा लगाएका मानिसहरूमाथि शङ्का नगर्नू न त शङ्का लागेकाहरूलाई काममा लाउनू।’ परमेश्वरको घरले किन भरोसा गर्न नसकेको? तिनीहरू सबै विश्वासी हुन्; तिनीहरू कति नै खराब हुन सक्छन् र? के तिनीहरू सबै असल मानिसहरू होइनन् र? किन परमेश्वरको घरले तिनीहरूलाई बुझ्नु, निरीक्षण गर्नु, र अवलोकन गर्नुपर्यो?” के यी शब्दहरू जायज छन्? के ती समस्याग्रस्त छन्? (छन्।) के कसैलाई बुझ्नु र तिनीहरूका बारेमा गहन अवलोकन गर्नु, र तिनीहरूसँग निकट रही कुराकानी गर्नु सिद्धान्तहरूअनुरूप छ? यो पूर्ण रूपमा सिद्धान्तअनुरूप छ। यो कुन सिद्धान्तअनुरूप छ? (अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरूको चौथो बुँदा: विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामहरूप्रति जिम्मेवार व्यक्तिहरूका परिस्थितिहरूको बारेमा सुसूचित रहने र आवश्यक परेमा तिनीहरूका कर्तव्य तुरुन्तै हेरफेर गर्ने वा तिनीहरूलाई बरखास्त गर्ने, ताकि अनुपयुक्त मानिसहरूलाई काममा राख्दा हुने क्षति रोक्न वा घटाउन सकियोस्, र कार्यकौशलता र सहज प्रगति सुनिश्चित गर्न सकियोस्।) यो राम्रो सन्दर्भ बिन्दु हो, तर त्यसो गर्नुको वास्तविक कारण के हो? त्यो के हो भने, मानिसहरूमा भ्रष्ट स्वभाव रहेको हुन्छ। आज, धेरै मानिसहरूले कर्तव्य पूरा गर्ने भए पनि, सत्यता खोजी गर्ने थोरै मात्र छन्। ज्यादै कम मानिसहरू आफ्नो कर्तव्य पूरा गर्ने क्रममा सत्यता पछ्याउने र सत्यता वास्तविकतामा प्रवेश गर्ने गर्छन्; धेरैजसोको कुरा गर्दा, तिनीहरूको काम गर्ने शैलीमा अझै कुनै सिद्धान्त हुँदैन, तिनीहरू अझै पनि साँचो रूपमा परमेश्वरप्रति समर्पित हुने मानिसहरू होइनन्; तिनीहरू मुखले मात्र सत्यतालाई प्रेम गर्छु, र सत्यता पछ्याउन इच्छुक छु, अनि सत्यताप्रति लागिपर्न इच्छुक छु भनी दाबी गर्छन्, तैपनि तिनीहरूको सङ्कल्प कति लामो समयसम्म टिक्छ थाहा हुँदैन। सत्यता नपछ्याउने मानिसहरूले कुनै पनि समय वा स्थानमा आफ्ना भ्रष्ट स्वभावहरू प्रकट गर्ने सम्भावना हुन्छ। तिनीहरूमा आफ्नो कर्तव्यप्रति कुनै जिम्मेवारीबोध हुँदैन, तिनीहरू प्राय: झारा टार्छन्, तिनीहरू जस्तो इच्छा लाग्छ त्यस्तै कार्य गर्छन्, र काटछाँट स्विकार्न समेत सक्दैनन्। नकारात्मक र कमजोर हुनेबित्तिकै तिनीहरूले आफ्नो कर्तव्य त्याग्ने सम्भावना हुन्छ—यो प्रायजसो भइरहन्छ, योभन्दा आम कुरा अरू केही छैन; सत्यता खोजी नगर्ने मानिसहरू सबैले व्यवहार गर्ने तरिका यस्तै हुन्छ। त्यसकारण, मानिसहरूले सत्यता अझै प्राप्त गरेका छैनन् भने, तिनीहरू भरोसा र विश्वास गर्न नसकिने हुन्छन्। तिनीहरू विश्वास गर्न नसकिने हुन्छन् भन्नुको अर्थ के हो? यसको अर्थ तिनीहरूले कठिनाइ वा बाधा सामना गर्दा, तिनीहरू पतन हुने, र नकारात्मक र कमजोर बन्ने सम्भावना धेरै हुन्छ भन्ने हो। के प्रायजसो नकारात्मक र कमजोर भइरहने मानिस विश्वासयोग्य हुन्छ? अवश्यै हुँदैन। तर सत्यता बुझ्ने मानिसहरू फरक हुन्छन्। साँच्चिकै सत्यता बुझेका मानिसहरूमा अवश्यै परमेश्वरको डर मान्ने, र उहाँप्रति समर्पित हुने हृदय हुन्छ, र परमेश्वरको डर मान्ने हृदय भएका मानिसहरू मात्रै भरोसायोग्य मानिसहरू हुन्; परमेश्वरको डर मान्ने हृदय नभएका मानिसहरू भरोसायोग्य हुँदैनन्। परमेश्वरको डर मान्ने हृदय नभएका मानिसहरूसँग कसरी व्यवहार गर्नुपर्छ? अवश्य पनि तिनीहरूलाई प्रेमपूर्ण सहयोग र साथ दिइनुपर्छ। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा, तिनीहरूलाई अनुगमन गर्नुपर्छ, र अझ धेरै सहयोग र निर्देशन दिनुपर्छ; त्यसपछि मात्रै तिनीहरूले आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्न सक्छन् भन्ने सुनिश्चित हुन्छ। अनि यसो गर्नुको उद्देश्य के हो? मुख्य उद्देश्य परमेश्वरको घरको काममा साथ दिनु हो। सहायक उद्देश्यचाहिँ तुरुन्तै समस्याहरू पहिचान गर्नु, तिनीहरूलाई भरणपोषण गर्नु, सहयोग गर्नु, वा काटछाँट गर्नु, तिनीहरूको विचलन सच्याउनु, र तिनीहरूका कमीकमजोरी र त्रुटिहरू पूर्ति गर्नु हो। यो मानिसहरूका लागि फाइदाजनक हुन्छ; यसमा कुनै पनि द्वेषपूर्ण कुरा हुँदैन। मानिसहरूको रेखदेख गर्नु, तिनीहरूलाई नियाल्नु, तिनीहरूलाई बुझ्ने प्रयास गर्नु—यो सबै तिनीहरूलाई परमेश्वरमाथिका विश्वासमा सही मार्गमा प्रवेश गर्न, परमेश्वरले अह्राउनुभएअनुसार र सिद्धान्तअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सहयोग गर्न, तिनीहरूलाई कुनै पनि बाधा वा अवरोध सिर्जना गर्न नदिन, र तिनीहरूलाई व्यर्थको काम गर्न रोक्नका लागि हो। यसो गर्नुको उद्देश्य पूर्णतया तिनीहरूप्रति र परमेश्वरको घरको कामप्रतिको जिम्मेवारी देखाउनु हो; यसमा कुनै द्वेषभाव लुकेको हुँदैन। मानौँ कसैले यस्तो भन्छ, “त्यसोभए परमेश्वरको घरले मानिसहरूलाई गर्ने व्यवहारका सिद्धान्तहरू यी हुन्, तिनीहरूले प्रयोग गर्ने साधनहरू यिनै हुन्। म अबदेखि होसियार हुनुपर्छ। परमेश्वरका घरमा सुरक्षाको बोध नै हुँदैन। सधैँ कसैले हेरिरहेको हुन्छ; कर्तव्य निर्वाह गर्न नै गाह्रो हुन्छ!” के यो भनाइ सही हो? कस्ता प्रकारका मानिसहरूले यस्तो कुरा भन्छन्? (अविश्वासीहरूले।) अविश्वासी, निरर्थक मानिसहरू, र आत्मिक बुझाइ नभएकाहरूले—तिनीहरू सत्यता बुझ्दै नबुझी अन्योलपूर्ण र अनर्थ कुराहरू बोल्न प्रवृत्त हुन्छन्। यहाँ समस्या के हो? के यी मण्डलीको कामलाई आलोचना र निन्दा गर्ने शब्दहरू होइनन्? यो सत्यता र सकारात्मक कुराहरूको आलोचना र निन्दा पनि हो। यस्ता शब्दहरू बोल्न सक्ने मानिसहरू निश्चित रूपमै अन्योल परेका मानिसहरू हुन् जो सत्यता बुझ्दैनन्, तिनीहरू सबै सत्यतालाई प्रेम नगर्ने अविश्वासीहरू हुन्।
परमेश्वरको घरले कर्तव्य निर्वाह गर्ने मानिसहरूलाई सुपरिवेक्षण गर्ने, अवलोकन गर्ने र बुझ्ने प्रयास गर्छ। के तिमीहरू परमेश्वरको घरको यो सिद्धान्त स्विकार्न सक्छौ? (सक्छौँ।) यदि तैँले परमेश्वरको घरले तेरो सुपरिवेक्षण र अवलोकन गर्दा, र तँलाई बुझ्ने प्रयास गर्दा, त्यो स्विकार्न सक्छस् भने, त्यो राम्रो कुरा हो। यसले तँलाई आफ्नो कर्तव्य निर्वाह गर्न मदत गर्छ, मानक पूरा गर्ने गरी कर्तव्य निर्वाह गर्न र परमेश्वरका अभिप्रायहरू सन्तुष्ट पार्न सक्षम हुन मदत गर्छ। यसबाट तँलाई फाइदा र सहयोग पुग्छ, यसमा कुनै पनि घाटा छैन। तैँले यो सिद्धान्त बुझेपछि, अगुवाहरू, कामदारहरू, र परमेश्वरका चुनिएका मानिसहरूको सुपरिवेक्षणप्रति तँमा उप्रान्त प्रतिरोध वा सावधानीको भावना नहुनुपर्ने होइन र? कहिलेकहीँ कसैले तँलाई बुझ्ने, अवलोकन गर्ने, तेरो कामलाई सुपरिवेक्षण गर्ने प्रयास गरे पनि, तैँले यो मनमा लिनुपर्ने कुरा होइन। म किन यसो भन्छु त? किनभने तैँले अहिले पाएका कामहरू, तैँले निभाउने कर्तव्य, र तैँले गर्ने कुनै पनि काम तेरो निजी मामला वा व्यक्तिगत जागिर होइन; ती परमेश्वरको घरको कामसँग सम्बन्ध भएका र परमेश्वरको कामको एक भागसँग जोडिएका हुन्छन्। त्यसकारण, जब कसैले तँसँग खुला हृदयले कुरा गर्ने र यस बेला तेरो अवस्था के छ भनेर पत्ता लगाउने कोसिस गर्दै केही समय तेरो निरीक्षण वा अवलोकन गर्छ, वा तँलाई गहन रूपमा बुझ्ने प्रयास गर्छ, अनि तिनीहरूको मनोवृत्ति कहिलेकाहीँ केही कठोर भएको बेला तिनीहरूले तँलाई अलि काटछाँट गर्छन्, अनुशासनमा राख्छन्, र हप्काउँछन्, तब यो सबै परमेश्वरको घरप्रतिको तिनीहरूको कर्तव्यनिष्ठ र जिम्मेवार आचरणकै कारणले गर्दा हो। यसप्रति तँसँग नकारात्मक विचार वा संवेग हुनु हुँदैन। यदि अरूले तँलाई निरीक्षण, अवलोकन र बुझ्ने प्रयास गर्दा तैँले स्विकार्न सक्छस् भने त्यसको अर्थ के हुन्छ? त्यसको अर्थ, तैँले आफ्नो हृदयमा परमेश्वरको सूक्ष्म परीक्षणलाई स्विकार्छस् भन्ने हुन्छ। यदि तँ तँलाई मानिसहरूले निरीक्षण, अवलोकन र बुझ्ने प्रयास गर्दा त्यो स्विकार्दैनस् भने—यदि तँ यी सबैलाई इन्कार गर्छस् भने—के तँ परमेश्वरको सूक्ष्म परीक्षणलाई स्वीकार गर्न सक्षम हुन्छस्? मानिसहरूले तँलाई बुझ्ने प्रयास गर्नुभन्दा परमेश्वरको सूक्ष्म परीक्षण विस्तृत, गहन र सही हुन्छ; परमेश्वरका मागहरू अझ निश्चित, स्पष्ट र गहन हुन्छ। यदि तैँले परमेश्वरका चुनिएका मानिसहरूबाट गरिने निरीक्षण स्विकार्न सक्दैनस् भने, तैँले परमेश्वरको सूक्ष्म परीक्षण स्वीकार गर्छस् भन्ने तेरो दाबी खोक्रा शब्दहरू मात्र हुँदैनन् र? परमेश्वरको सूक्ष्म परीक्षण र जाँचलाई स्वीकार गर्न सक्षम हुनको निम्ति, सर्वप्रथम तँ परमेश्वरको घर, अगुवाहरू र कामदारहरू वा दाजुभाइ-दिदीबहिनीहरूको निरीक्षणलाई स्विकार्न सक्षम हुनुपर्छ। कतिपय मानिसहरूले यस्तो भन्छन्, “मेरा मानवअधिकारहरू छन्, मसँग मेरो स्वतन्त्रता छ, मेरो आफ्नो काम गर्ने तरिका छ। म आफूले गर्ने सबथोकमा सुपरिवेक्षण र निरीक्षणको अधीनमा पर्नु, यो त एकदम दबिएर जिउनु होइन र? मेरा मानवअधिकारहरू खोइ त? मेरो स्वतन्त्रता खोइ त?” के यो भनाइ सही हो? के मानवअधिकार र स्वतन्त्रता सत्यता हुन्? ती सत्यता होइनन्। मानवअधिकार र स्वतन्त्रता भनेका त मानव समाजमा मानिसहरूलाई व्यवहार गर्ने, तुलनात्मक रूपमा अलि सभ्य र प्रगतिशील तरिकाहरू मात्र हुन्, तर परमेश्वरको घरमा, परमेश्वरका वचन र सत्यता सबैभन्दा माथि हुन्छन्—तिनलाई “मानवअधिकार” र “स्वतन्त्रता” सँगसँगै उल्लेख गर्न सकिँदैन। त्यसकारण, परमेश्वरको घरमा जे गरिन्छ, त्यो गैरविश्वासी संसारको उच्च प्रतिपादित सिद्धान्तहरू वा ज्ञानको आधारमा गरिँदैन, बरु परमेश्वरको वचन र सत्यताका आधारमा हुन्छ। त्यसैले, केही मानिसहरूले तिनीहरूलाई मानव अधिकार र स्वतन्त्रता चाहियो भन्दा, के त्यो सिद्धान्तहरूअनुरूप हुन्छ त? (हुँदैन।) त्यो कर्तव्य निर्वाह गर्ने सिद्धान्तहरूअनुरूप हुँदैन भन्ने कुरा निकै स्पष्ट नै छ। तँ परमेश्वरका घरमा छस्, सृजित प्राणीको कर्तव्य निर्वाह गरिरहेको छस्, पैसा कमाउन समाजमा काम गरिरहेको छैनस्। त्यसकारण, तेरो मानव अधिकारको सुरक्षा गर्नको लागि कोही तेरा लागि उभिनु आवश्यक नै हुँदैन; त्यस्ता कुराहरू अनावश्यक हुन्छन्। के धेरै जसो मानिसहरूसँग मानव अधिकार र स्वतन्त्रतासम्बन्धी सुझबुझ हुन्छ? यी मानव सोच अनि परिप्रेक्ष्यका कुरा हुन् र यिनलाई सत्यताको सँगसँगै उल्लेख गर्न सकिँदैन; त्यस्ता विचारहरू परमेश्वरको घरमा टिक्दैनन्। अगुवाले तेरो काम सुपरिवेक्षण गर्नु असल कुरा हो। किन? किनकि त्यसको अर्थ उसले मण्डलीको कामको जिम्मेवारी लिइरहेको छ भन्ने हुन्छ; यो उसको कर्तव्य, उसको जिम्मेवारी हो। उसले यो जिम्मेवारी पूरा गर्न सक्नुले ऊ एउटा योग्य अगुवा, एउटा असल अगुवा हो भन्ने प्रमाणित गर्छ। यदि तँलाई पूर्ण रूपमा स्वतन्त्रता र मानवअधिकारहरू दिइयो भने, र तैँले जे मन लाग्यो त्यही गर्न, आफ्नै इच्छाहरू पछ्याउन, र पूर्ण स्वतन्त्रता र लोकतन्त्रको आनन्द उठाउन पाउँथिस् भने, र तैँले चाहे जे गरे नि वा त्यो जसरी गरे नि, अगुवाले वास्ता वा सुपरिवेक्षण गरेन भने, तँलाई कहिल्यै प्रश्न गरेन भने, तेरो काम जाँचेन भने, समस्याहरू पत्ता लाग्दा बोलेन भने, र तँलाई कि त फुस्ल्याउने कि त तँसँग सम्झौता गर्ने मात्र गऱ्यो भने, के ऊ असल अगुवा हुन्थ्यो र? स्पष्ट रूपमै हुन्थेन। त्यस्तो अगुवाले तँलाई हानि गरिरहेको हुन्छ। उसले तेरो दुष्कर्ममा आड दिन्छ, र तँलाई सिद्धान्तहरूविरुद्ध जान र मनपरी गर्न अनुमति दिन्छ—उसले तँलाई आगोको कुण्डतर्फ धकेलिरहेको हुन्छ। यो एउटा जिम्मेवार, अनि मानक पूरा गर्ने अगुवा होइन। अर्कोतर्फ, यदि अगुवाले नियमित रूपमा तेरो सुपरिवेक्षण गर्न, तेरो कामका समस्याहरू पहिचान गर्न र तँलाई तुरुन्तै सम्झाउन वा आलोचना अनि खुलासा गर्न, र कर्तव्य पुरा गर्ने क्रममा हुने तेरा गलत पछ्याइ र विचलनहरू सामयिक रूपमा सच्याउन र तिनमा तँलाई मद्दत गर्न सक्छ भने, अनि उसको सुपरिवेक्षण, फटकार, आपूर्ति, र सहयोगले कर्तव्यप्रतिको तेरो गलत मनोवृत्ति परिवर्तन हुन्छ, र तैँले तेरा केही निरर्थक विचारहरू फाल्न सक्छस्, र तेरो आवेगबाट उत्पन्न हुने तेरा आफ्नै अवधारणा र कुराहरू बिस्तारै कम हुन्छन्, र तैँले सही अनि सिद्धान्तअनुरूप हुने भनाइ र विचारहरू शान्त रूपमा स्विकार्न सक्छस् भने, के यो तेरो लागि फाइदाजनक हुँदैन र? यी फाइदाहरू वास्तवमै अत्यन्तै धेरै हुन्छन्।
परमेश्वरको घरले यसका अगुवा र कामदारहरूसँग सुपरिवेक्षण, अवलोकन, र बुझाइ लागू गरेर व्यवहार गर्छ। मानिसहरूलाई यसरी व्यवहार गर्नुको आधार के हो? मानिसहरूलाई यसरी किन व्यवहार गर्ने? के यो आफ्नो कर्तव्यप्रति बफादार, गम्भीर, र जिम्मेवार हुने सिद्धान्तहरूबाट उत्पन्न हुने विधि र तरिका होइन र? (हो।) यदि अगुवाले कर्तव्य निर्वाह गर्दा कहिल्यै पनि आफ्नो जिम्मेवारीमा रहेका मानिसहरूलाई सुपरिवेक्षण, अवलोकन, वा गहन रूपमा बुझ्ने गर्दैन भने, के उसलाई आफ्नो कर्तव्यप्रति बफादार रहेको अगुवा मान्न सकिन्छ? स्पष्ट रूपमै, सकिँदैन। के तिमीहरूका अगुवा, कामदार, र सुपरिवेक्षकहरूले कहिल्यै तिमीहरूका काम जाँचेका छन्? के तिनीहरूले तेरो कामको प्रगतिबारे सोधपुछ गरेका छन्? के तिनीहरूले तेरो काममा उत्पन्न भएका समस्याहरू समाधान गरेका छन्? के तिनीहरूले तेरो काममा रहेका स्पष्ट त्रुटि र विचलनहरू सच्याएका छन्? के तिनीहरूले तेरो मानवता अनि जीवन प्रवेशको पछ्याइका विभिन्न प्रकटीकरण र प्रकाशहरू सम्बन्धी सहयोग, आपूर्ति, मदत, वा काटछाँट प्रस्ताव गरेका छन्? यदि अगुवाले साधारण कर्तव्य निर्वाह गरिरहेकाहरूलाई कहिल्यै मार्गदर्शन प्रदान नगर्ने मात्र नभई, महत्त्वपूर्ण काममा संलग्न भएकाहरूलाई कहिल्यै सुपरिवेक्षण, अवलोकन, वा गहन बुझाइ गर्ने त कुरै छोडौँ, सङ्गति, सहयोग, वा मदतसमेत गर्दैन भने, यी प्रकटीकरण र कार्यहरूबिना, के यस्तो अगुवालाई ठोस काम गर्ने अगुवा मान्न सकिन्छ? के उसले अगुवाको रूपमा मानक पूरा गर्छ? (गर्दैन।) कति मानिसहरूले भन्छन्, “हाम्रो अगुवाले हाम्रो लागि केवल हप्ताको दुईपटक भेला राख्छ, एकैछिन परमेश्वरका वचनहरू सङ्गति गर्छ, अनि माथिका केही सङ्गतिहरू पढ्छ, र कहिलेकाहीँ आफ्नो व्यक्तिगत अनुभवात्मक बुझाइबारे सङ्गति गर्छ। तर उसले कहिले पनि हाम्रा विभिन्न स्थिति, साथसाथै हामीले आफ्नो कर्तव्य निर्वाह गर्दा वा आफ्नो जीवन प्रवेशमा सामना गर्ने समस्याहरूबारे कुनै सल्लाह, आपूर्ति, वा मदत प्रस्ताव गरेको छैन।” तँ यस अगुवाका बारेमा के सोच्छस्? (उसले मानक पूरा गर्दैन, ऊ एउटा झुटो अगुवा हो।) यदि एउटा अगुवाले आफ्नै कार्य वा आफू मुनि रहेका मानिसहरूको विभिन्न स्थितिबारे वास्ता गर्दैन, न त आफ्ना जिम्मेवारीहरू नै पूरा गर्छ भने, उसले अगुवाको रूपमा मानक पूरा गर्दैन। उसले कसैलाई सुपरिवेक्षण, अवलोकन गर्दैन, वा बुझ्ने प्रयास गर्दैन। हरेक पटक, ऊसँगको तेरो वार्तालाप यस्तो हुन्छ: “यो व्यक्तिले अहिले कस्तो गरिरहेको छ?” “मैले हालै उसलाई अवलोकन गरिरहेको छु।” “तिमीले अवलोकन गरेको कति भयो? के तिमी ऊसँग परिचित भयौ?” “मैले उसलाई एक-दुई वर्षदेखि अवलोकन गरिरहेको छु। म अझै पनि ऊसँग त्यति परिचित भएको छैनँ।” “अनि त्यो व्यक्ति चाहिँ?” “म अझै पनि ऊबारे धेरै स्पष्ट भएको छैनँ, तर उसले आफ्नो कर्तव्य निर्वाह गर्दा कठिनाइ सहन सक्छ, ऊसँग सङ्कल्प छ, र ऊ आफूलाई परमेश्वरप्रति समर्पित गर्न इच्छुक छ।” “त्यो त सब सतही भयो। उसको सत्यता पछ्याइ कस्तो छ?” “मैले त्यसबारे पनि बुझ्नुपर्छ? ठिक छ, म त्यो पनि हेर्नेछु।” उसले हेर्नेछु भनेपछि नतिजाको लागि तैँले कति समय पर्खनुपर्छ, त्यो कसैलाई थाहा हुँदैन, त्यो अनिश्चित हुन्छ। त्यस्तो झुटो अगुवा काममा भरोसायोग्य हुँदैन।
के तिमीहरूका मण्डली अगुवा र सुपरिवेक्षकहरूमा तिमीहरूको कामप्रति जिम्मेवार मनोवृत्ति छ? के तिनीहरूले कामसम्बन्धी तिमीहरूका स्थितिहरू साँच्चै बोध गर्ने र बुझ्ने गर्छन्? के कामको यो पक्षलाई राम्ररी सम्बोधन गरिएको छ? (छैन।) तिनीहरूमध्ये कसैले पनि यो पक्षलाई राम्ररी सम्बोधन गरेका छैनन्; तिनीहरूमध्ये कोही पनि आफ्नो कर्तव्यप्रति बफादार र कामप्रति गम्भीर र जिम्मेवार हुने अवस्थामा पुगेका छैनन्। त्यसोभए, के यो हासिल गर्न सजिलो हुन्छ? के यो कठिन हुन्छ? यो कठिन हुँदैन। यदि तँमा साँच्चै केही निश्चित हदको क्षमता छ, तैँले आफ्नो जिम्मेवारीको दायराभित्र व्यावसायिक सीपलाई राम्ररी बुझेको छस्, र तँ तेरो कार्यक्षेत्रभन्दा बाहिरको मान्छे होइनस् भने, तैँले एउटा वाक्यांश मात्र पालना गर्नुपर्छ, अनि तँ आफ्नो कर्तव्यमा निष्ठावान् हुन सक्नेछस्। कुन वाक्यांश? “आफ्नो हृदय लगाउनु।” यदि तैँले काममा र मानिसहरूमा हृदय लगाउँछस् भने, तँ आफ्नो कर्तव्यमा निष्ठावान् र जिम्मेवार हुन सक्छस्। के यो वाक्यांश अभ्यास गर्नु सजिलो छ? तैँले यसलाई कसरी अभ्यास गर्छस्? यसको अर्थ सुन्न कान प्रयोग गर्नु होइन, र सोच्न दिमाग प्रयोग गर्नु होइन—यसको अर्थ हृदय प्रयोग गर्नु हो। यदि कुनै व्यक्तिले साँच्चै आफ्नो हृदय लगाउन सक्छ भने, जब उसको आँखाले कुनै व्यक्तिले केही गरिरहेको, कुनै तरिकाले कार्य गरिरहेको, वा कुनै किसिमले कुनै कुराको प्रतिक्रिया दिइरहेको देख्छ, वा जब उसको कानले कतिपय मानिसहरूका राय र तर्कहरू सुन्छ, तब यी कुराहरूका बारेमा मनन र विचार गर्नका लागि उसले आफ्नो हृदय प्रयोग गर्छ र उसको मनमा केही विचार, दृष्टिकोण, र मनोवृत्ति प्रकट हुन्छन्। यी विचार, दृष्टिकोण, र मनोवृत्तिले गर्दा उसले उक्त व्यक्ति वा वस्तुको बारेमा गहन, विशेष र सही बुझाइ प्राप्त गर्छ, र साथमा यसबाट उचित र सही मूल्याङ्कन र सिद्धान्तहरू पनि प्राप्त हुन्छ। कुनै व्यक्तिमा आफ्नो हृदय प्रयोग गर्ने यी प्रकटीकरणहरू हुँदा मात्रै ऊ आफ्नो कर्तव्यप्रति बफादार भएको हुन्छ। तर यदि तँ कामकुराहरूमा हृदय लगाउँदैनस्, र तँसँग यसो गर्ने हृदय छैन भने, तैँले जे देख्छस् त्यसप्रति तेरा आँखाले कुनै प्रतिक्रिया जनाउँदैनन्, र तैँले जे सुन्छस् त्यसप्रति पनि तेरा कानले कुनै प्रतिक्रिया जनाउँदैनन्। तेरा आँखाले कहिले पनि मानिस, घटना र विभिन्न कुराहरू अवलोकन गर्दैनन्; तैँले सामना गर्ने जानकारी तिनले अवलोकन गर्दैनन्। अनि, हृदयमा तैँले आफूले सुन्ने विभिन्न आवाज र बहसहरू खुट्ट्याउनेछैनस्, र तँ आफूले सुनेका जानकारी खुट्ट्याउन असक्षम हुनेछस्। यो त आँखा खुल्लै भए नि अन्धो हुनु समान हो। जब व्यक्तिको हृदय अन्धो हुन्छ, उसका आँखा पनि अन्धा हुन्छन्। त्यसैले, आँखाले विभिन्न कुराहरू अवलोकन गरेर अनि कानले जानकारीहरू प्राप्त गरेर अवधारणाहरू, विचारहरू र मनोवृत्तिहरू निर्माण गर्नमा के कुराले डोऱ्याउँछ? यो सबै तैँले ती कुराहरूमा तेरो हृदय लगाउने अनि सत्यता खोजी गर्ने कार्यमा निर्भर हुन्छ। यदि तैँले ती कुराहरूमा हृदय लगाउँछस् भने, तैँले जबजब जानकारी प्राप्त गर्छस्, चाहे त्यो देखिएको होस् वा सुनिएको, तैँले व्यक्ति वा वस्तुबारे विचारहरू निर्माण गर्न र गहन बुझाइ प्राप्त गर्न सक्नेछस्। तर यदि तैँले ती कुराहरूमा हृदय लगाउँदैनस् भने, जतिसुकै जानकारी प्राप्त भए नि त्यो उपयोगी हुँदैन; यदि तैँले त्यसलाई खुट्ट्याउन वा छर्लङ्ग देख्न हृदय लगाउँदैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्, तँ व्यर्थ र बेकार हुनेछस्। बेकारको व्यक्तिले कसलाई जनाउँछ? त्यसले आफ्नो कर्तव्य निर्वाह गर्नमा हृदय नलगाउने व्यक्तिलाई जनाउँछ—ऊसँग आँखा र कान हुन्छ, तर ती कुनै कामका हुँदैनन्। हृदयविहीन व्यक्ति आफ्नो कर्तव्यप्रति बफादार हुँदैन, न त उसले आफ्नो कामप्रति गम्भीर र जिम्मेवार मनोवृत्ति नै हासिल गर्नेछ।
परमेश्वरको घरले सम्भव भएसम्म चाँडो मण्डलीको काम सुधार्ने र परमेश्वरका चुनिएका मानिसहरूलाई परमेश्वरमा विश्वास गर्ने सही मार्गमा अगुवाइ गर्ने उद्देश्यले अगुवा र कामदारहरूमाथि हरतहमा सुपरिवेक्षण अभ्यास गर्दै तिनीहरूलाई गहन रूपमा अवलोकन गर्ने र बुझ्ने गर्छ। त्यसकारण, अगुवा र कामदारहरूलाई सुपरिवेक्षण र अवलोकन गर्नु अत्यावश्यक हुन्छ र त्यसको अभ्यास यही तरिकामा गरिनुपर्छ। परमेश्वरका चुनिएका मानिसहरूको सुपरिवेक्षणमार्फत, यदि अगुवा र कामदारहरू वास्तविक काममा संलग्न नभइरहेको कुरा पत्ता लाग्छ र तिनीहरूलाई तुरुन्तै निराकरण र सम्बोधन गरिन्छ भने, यो मण्डलीको कामको प्रगतिको लागि फाइदाजनक हुन्छ। अगुवा र कामदारहरूको सुपरिवेक्षण परमेश्वरका चुनिएका मानिसहरूको जिम्मेवारी हो, र त्यसो गर्नु पूर्ण रूपमा परमेश्वरका अभिप्रायहरूअनुरूप हुन्छ। अगुवा र कामदारहरूसँग भ्रष्ट स्वभावहरू हुने हुनाले, यदि तिनीहरूको सुपरिवेक्षण गरिएन भने, त्यो तिनीहरूको लागि मात्रै हानिकारक हुने नभई, त्यसले मण्डलीको कामलाई पनि सीधै प्रभाव पार्नेछ। कस्ता परिस्थितिहरूमा अगुवा र कामदारहरूलाई उप्रान्त परमेश्वरका चुनिएका मानिसहरूको सुपरिवेक्षण आवश्यक पर्दैन? अगुवा र कामदारहरूले सत्यता पूर्ण रूपमा बुझेको हुँदा, तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गरेको हुँदा, अनि तिनीहरू सिद्धान्तहरूसाथ कार्य गर्ने, र परमेश्वरद्वारा सिद्ध पारिएका र प्रयोग गरिएका मानिसहरू बनिसकेको हुँदा। त्यस्ता अवस्थाहरूमा, परमेश्वरका चुनिएका मानिसहरूको सुपरिवेक्षण अनावश्यक हुन्छ, र परमेश्वरको घरले उप्रान्त यो मामलामा जोर दिनेछैन। तर के परमेश्वरद्वारा सिद्ध पारिएको व्यक्ति पूर्ण रूपमा गल्ती र विचलनहरूरहित हुन्छ भन्ने पक्का हुन्छ त? त्यस्तो हुन्छ नै भन्ने छैन। त्यसैले, परमेश्वरको छानबिन, र सत्यता बुझ्ने मानिसहरूको सुपरिवेक्षण अझ पनि आवश्यक हुन्छ; यो अभ्यास पूर्ण रूपमा परमेश्वरका अभिप्रायहरूअनुरूप हुन्छ। सबै मानवहरूमा भ्रष्ट स्वभावहरू हुने भएकोले, सुपरिवेक्षणद्वारा मात्र अगुवा र कामदारहरूलाई आफ्नो कामको जिम्मेवारी लिन र आफ्ना कर्तव्यप्रति बफादार हुन प्रोत्साहन गर्न सकिन्छ। सुपरिवेक्षणबिना, धेरैजसो अगुवा र कामदारहरूले स्वेच्छाचारी लापरवाहीसाथ कार्य गर्छन्, र झाराटारुवा शैली अपनाउँछन्—यो एउटा वस्तुगत तथ्य हो। यदि तँ अगुवा वा कामदार होस् र तेरो वरपरका दाजुभाइ-दिदीबहिनीहरूले, तँ सत्यता पछ्याउने व्यक्ति होस् कि होइनस् भनेर बुझ्ने प्रयास गर्दै, तँलाई बारम्बार सुपरिवेक्षण र अवलोकन गर्छन् भने, तेरो लागि त्यो असल कुरा हुन्छ। यदि तिनीहरूले तँमा समस्या पत्ता लगाए र तँ यसलाई सक्दो चाँडो हल गर्न सक्षम हुन्छस् भने, यो तेरो सत्यता पछ्याइ अनि जीवन प्रवेशको लागि फाइदाजनक हुन्छ। यदि तिनीहरूले तैँले अपराध गरिरहेको, र एकान्तमा विविध दुष्ट व्यवहार प्रदर्शन गरेको, अनि तँ निश्चित रूपमै सत्यता पछ्याउने व्यक्ति नभएको पत्ता लगाए भने, तिनीहरूले तँलाई खुलासा गरेर पदबाट बर्खास्त गर्नेछन्, जसले परमेश्वरका चुनिएका जनहरूको एउटा कष्ट हटाउनेछ, र त्यसले तँलाई पनि अझ बढी गम्भीर दण्डबाट जोगिने मौका दिनेछ: त्यस्तो सुपरिवेक्षण सबैको लागि फाइदाजनक हुन्छ। अनि त्यसैले, अगुवा र कामदारहरूसँग परमेश्वरका चुनिएका जनहरूको सुपरिवेक्षणप्रति सही प्रतिक्रिया हुनुपर्छ। यदि तँ परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति होस् भने, तँलाई परमेश्वरका चुनिएका जनहरूको सुपरिवेक्षण आवश्यक छ भन्ने महसुस हुनेछ, र त्योभन्दा पनि बढी, तँलाई तिनीहरूको मद्दत आवश्यक छ भन्ने महसुस हुनेछ। यदि तँ दुष्ट व्यक्ति होस्, र तँमा दोषी विवेक छ भने, तँलाई सुपरिवेक्षणदेखि डर लाग्नेछ र तँ त्यसबाट जोगिने प्रयास गर्नेछस्; यो अपरिहार्य हुन्छ। त्यसकारण, परमेश्वरका चुनिएका जनहरूको सुपरिवेक्षण प्रतिरोध गर्ने र त्यसप्रति वितृष्णा महसुस गर्ने सबैले निस्सन्देह नै केही न केही लुकाइरहेका हुन्छन्, र तिनीहरू पक्कै इमानदार मानिसहरू होइनन्; सुपरिवेक्षणको डर त छली मानिसहरूले भन्दा बढी अरू कसैले मान्दैन। त्यसैले, अगुवा र कामदारहरूले परमेश्वरका चुनिएका जनहरूको सुपरिवेक्षणप्रति कस्तो प्रतिक्रिया जनाउनुपर्छ? के त्यो नकारात्मकता, सावधानी, प्रतिरोध, र रुष्टता हुनुपर्छ कि परमेश्वरका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूप्रतिको आज्ञापालन, अनि विनम्र स्वीकार हुनुपर्छ? (विनम्र स्वीकार हुनुपर्छ।) विनम्र स्वीकारले के जनाउँछ? त्यसको अर्थ परमेश्वरबाट आउने सबथोक स्विकार्नु, सत्यता खोजी गर्नु, सही मनोवृत्ति अपनाउनु, र आवेगी नहुनु हो। यदि कसैले साँच्चै तँमा समस्या पत्ता लगाउँछ र तँलाई त्यो औँल्याइदिन्छ, तँलाई त्यो खुट्ट्याउन र बुझ्न मदत गर्छ, र त्यो समस्या हल गर्न तँलाई सहयोग गर्छ भने, ऊ तँप्रति, परमेश्वरको घरको कामप्रति अनि परमेश्वरका चुनिएका जनहरूको जीवन प्रवेशप्रति जिम्मेवार भइरहेको हुन्छ; यो गर्नैपर्ने सही कुरा हो, र यो पूर्ण रूपमा प्राकृतिक र जायज हुन्छ। यदि मण्डलीको सुपरिवेक्षणलाई शैतानबाट आएको, र दुराचारी अभिप्रायहरूबाट उत्पन्न भएको मान्ने मानिसहरू छन् भने, तिनीहरू दियाबलस र शैतानहरू हुन्। त्यस्तो दुष्ट प्रकृति हुँदा, तिनीहरूले निश्चित रूपमा नै परमेश्वरको छानबिन स्विकार्ने थिएनन्। यदि कसैले सत्यतालाई साँच्चै प्रेम गर्छ भने, ऊसँग परमेश्वरका चुनिएका जनहरूको सुपरिवेक्षणबारे सही बुझाइ हुनेछ, उसले त्यसलाई प्रेमको कारण गरिएको, र परमेश्वरबाट आएको मान्न सक्नेछ, र उसले त्यसलाई परमेश्वरबाट आएको भनी स्विकार्न सक्नेछ। ऊ निश्चित रूपमै आवेगी हुनेछैन वा उसले उत्तेजनामा आएर कार्य गर्नेछैन, र उसको हृदयमा प्रतिरोध, सावधानी, वा सन्देह त झनै देखा पर्नेछैन। परमेश्वरका चुनिएका जनहरूको सुपरिवेक्षणलाई व्यवहार गर्ने सबैभन्दा सही मनोवृत्ति यस्तो हुन्छ: तैँले तेरो लागि सहयोगी हुने कुनै पनि शब्द, कार्य, सुपरिवेक्षण, अवलोकन, वा सच्च्याइ, र काँटछाँटसमेत परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ; आवेगी नहो। आवेगी हुनु भनेको दुष्टता र शैतानबाट आउने कुरा हो, त्यो परमेश्वरबाट आउँदैन, र त्यो मानिसहरूमा सत्यताप्रति हुनुपर्ने मनोवृत्ति होइन।
अगुवा र कामदारहरूको सातौँ जिम्मेवारीसम्बन्धी सङ्गतिमा हामी यति मात्र थप्नेछौँ। त्यसोभए के यसको अर्थ यो जिम्मेवारीबारे कुनै पनि थप विशिष्ट सामाग्री नथपीकनै पूर्ण रूपमा सङ्गति गरिएको छ भन्ने हो त? होइन, प्रत्येक जिम्मेवारीमा अझ बढी विशिष्ट र विस्तृत सामाग्री अझै बाँकी छन्। मैले सङ्गति गरेका कुराहरू दिशानिर्देश गर्ने सिद्धान्तहरू हुन्; अब बाँकी कुरा, अर्थात् विशिष्ट विवरणहरू कसरी कार्यान्वयन गर्ने र यी सिद्धान्तहरू कसरी अभ्यास र लागू गर्ने भन्ने कुरा तिमीहरूको आफ्नै अनुभवद्वारा हुने संलग्नतामा निर्भर हुन्छ। यदि तिमीहरू अझै पनि यी सिद्धान्तहरू छर्लङ्गै देख्न वा ती कसरी लागु गर्ने भनेर जान्न सक्दैनौ भने, सँगै मिलेर खोजी र सङ्गति गर। यदि सँगै मिलेर गरिएको सङ्गतिले पनि नतिजामा पुऱ्याउँदैन भने, तिमीहरूका वरिष्ठहरूसित सोधखोज गर। छोटकरीमा भन्दा, चाहे त्यो कुनै पनि प्रकारको व्यक्तिसँग व्यवहार गर्दा होस् वा कसको प्रवर्द्धन र प्रयोग गर्ने भन्ने निर्णय गर्दा होस्, त्यो सबले सिद्धान्तहरू पालना गर्नुपर्छ। निश्चित प्रतिभावान् व्यक्तिहरू सन्दर्भमा, कसैले पनि तिनीहरूलाई छर्लङ्ग देख्न वा बुझ्न नसक्ने अवस्था हुँदा, तिनीहरूलाई मण्डलीको कामका आवश्यकताअनुसार प्रारम्भिक रूपमा प्रवर्द्धन र प्रयोग गर्न सकिन्छ—काममा ढिलाइ नगर, र मानिसहरूको जगेर्ना गर्नमा ढिलाइ नगर; यो नै मुख्य कुरा हो। कति मानिसहरूले सोध्छन्, “तिनीहरूलाई प्रयोग गरिसकेपछि तिनीहरूले काम भद्रगोल पारे भने के गर्ने? को जिम्मेवार हुन्छ?” तैँले कसैलाई प्रयोग गर्दा, के त्यो तैँले उसलाई अरू कसैले सम्पर्क गर्ने उपाय नहुने गरी सुनसान टापुमा राखेजस्तो हुन्छ र? के विशिष्ट कार्यहरूमा उसको वरपर वास्तवमा अरू धेरैजना संलग्न हुँदैनन् र? यी सब मामलाहरू समाधान गर्ने तरिकाहरू अवश्यै हुन्छन्; नामै लिनुपर्दा, उसको सुपरिवेक्षण, अवलोकन गर्नु, र उसलाई बुझ्नु, र, यदि परिस्थितिहरूले दिएमा, उसलाई नजिकबाट सम्पर्क गर्नु। नजिकबाट सम्पर्क गर्नु भनेको ठ्याक्कै के हो? त्यो भनेको तिनीहरूसँगै काम गर्नु हो; काम गर्ने प्रक्रिया नै तिनीहरूलाई बुझ्ने प्रक्रिया हो। के यसप्रकारको सम्पर्कद्वारा तैँले बिस्तारै तिनीहरूलाई बुझ्न थाल्नेछैनस् र? यदि तँसँग सम्पर्क गर्ने अवसर छ, तर तँ त्यसो गर्दैनस्, र केही प्रश्नहरू सोध्न एक फोन मात्रै गर्छस्, र त्यत्तिमै छोडिदिन्छस् भने, तिनीहरूलाई बुझ्नु असम्भव हुन्छ। तैँले समस्याहरू हल गर्नलाई आफूले सम्पर्क गर्न सक्नेहरूसँग सम्पर्क गर्नुपर्छ। त्यसकारण, अगुवा र कामदारहरू आफ्नो काममा अल्छे हुनु हुँदैन। त्यसोभए, यदि तँ कसैलाई अवलोकन गर्न र बुझ्न चाहन्छस् भने, तैँले त्यो कसरी गर्नुपर्छ? (तिनीहरूलाई सम्पर्क गरेर।) त्यही हो? मुख्य कुरा, तैँले त्यसमा आफ्नो हृदय लगाउनुपर्छ! तैँले आफ्नो मनमा राख्न सक्ने जानकारी बाँदरले मकै टिपेजस्तै हो—त्यसले हिँड्दै गर्दा टिप्दै जान्छ, टिप्दै जाँदा खसाल्दै जान्छ, र अन्त्यमा, एउटा मात्र मकैको घोगा बाँकी रहन्छ, सम्पूर्ण मेहनत व्यर्थ हुन्छ। प्रवचन सुनेपछि अन्त्यमा, तिमीहरू पहिले सङ्गति गरिएको विषयवस्तु सम्झिनै सक्दैनौ; यसको कारण के हो? (हामी त्यसमा हृदय नै लगाउँदैनौँ।) तिमीहरू सामान्यतया सत्यता अभ्यास गर्नमा केन्द्रित हुँदैनौ, त्यसैले तिमीहरूको हृदय यी कुराहरूमा केन्द्रित हुँदै हुँदैन। कसरी सत्यता बुझ्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने, कसरी आफैलाई चिन्ने, र कसरी सत्यतामार्फत विभिन्न मानिस, घटना, र कुराहरूको सार छर्लङ्ग देख्ने भन्ने सन्दर्भमा, तिनीहरूसँग कुनै प्रवेश छैन; त्यसैले, तिमीहरूको हृदयमा यी मामलाहरूको जग नै छैन। सत्यता वास्तविकताभित्रको प्रवेश समावेश हुने कुराहरूबारे, तिमीहरू सधैँ अलमलमा हुन्छौ। अहिले, तिमीहरू प्रवचन सुन्नको लागि अझै हरेक हप्ता भेलामा सहभागी हुन्छौ। यदि तिमीहरूले प्रवचनहरू सुनेनौ भने, तिमीहरूको हृदयभित्र भएको परमेश्वरमाथिको त्यो थोरै आस्था बिलाइरहेको, र अलिअलि गर्दै हराइरहेको हुँदैन र? यो खतरनाक सङ्केत हो! के तिमीहरूले त्यसमा आफ्नो हृदय लगाउन सक्छौ कि सक्दैनौ? मैले तिमीहरूलाई सबै विवरणहरू भनेको छु; यदि तँसँग साँच्चै त्यस्तो हृदय छ भने, तँ त्यसो गर्न सक्षम हुनेछस्। यदि तँसँग त्यस्तो हृदय छैन भने, मैले जसरी बोले नि तैँले बुझ्नेछैनस्। यो विषयबारे हाम्रो सङ्गति यत्ति हो।
विषयवस्तु आठ: काममा सामना गरिने अन्योलता र कठिनाइहरू समाधान गर्न तुरुन्तै रिपोर्ट अनि खोजी गर्ने (भाग एक)
अगुवा र कामदारहरूले कठिनाइहरू तुरुन्तै पहिचान अनि समाधान गर्नुपर्छ
आज, हामी अगुवा र कामदारहरूको आठौँ जिम्मेवारीबारे सङ्गति गर्न गइरहेका छौँ: “काममा सामना गरिने अन्योलता र कठिनाइहरू समाधान गर्न तुरुन्तै रिपोर्ट अनि खोजी गर्ने।” हामी यो जिम्मेवारी सन्दर्भमा झुटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू खुलासा गर्नेछौँ। काममा सामना गरिने अन्योलता र कठिनाइहरू समाधान गर्न तुरुन्तै रिपोर्ट अनि खोजी गर्नु—के यो अगुवा र कामदारहरूका काम र कर्तव्यहरूको एउटा भाग होइन र? (हो।) अगुवा र कामदारहरूले आफ्नो काममा अपरिहार्य रूपमै केही जटिल समस्याहरू सामना गर्छन्, वा मण्डलीको कामको दायराभन्दा बाहिरका कठिनाइहरू सामना गर्छन्, वा सत्यता सिद्धान्तहरू संलग्न नहुने विशेष अवस्थाहरू सामना गर्छन्, र यी अवस्थाहरू कसरी सम्हाल्ने भनेर अनभिज्ञ हुन्छन्। अथवा, तिनीहरूको क्षमता कमजोर भएकोले र त्यसकारण तिनीहरू सही रूपमा सिद्धान्तहरू बोध गर्न नसक्ने भएकाले, तिनीहरूले अपरिहार्य रूपमै केही समाधान गर्न कठिन अन्योलता र कठिनाइहरू सामना गर्छन्। यी अन्योलता र कठिनाइहरू व्यक्ति प्रयोग गर्ने समस्याहरूसँग, कामका समस्याहरूसँग, बाहिरी वातावरणबाट उत्पन्न समस्याहरूसँग, मानिसहरूको जीवन प्रवेशका समस्याहरूसँग, दुष्ट मानिसहरूले दिने बाधा र अवरोधहरूसँग, साथै मानिसहरूलाई निकाल्ने वा निष्कासन गर्ने समस्याहरूसँग, र आदि इत्यादिसँग सम्बन्धित हुन सक्छन्। यी सबै समस्याहरू सन्दर्भमा, परमेश्वरको घरसँग विशिष्ट माग र प्रावधानहरू हुन्छन्, वा केही मौखिक निर्देशनहरू हुन्छन्। यी विशिष्ट प्रावधानहरूबाहेक पनि अपरिहार्य रूपमै केही अनुल्लेखित विशेष अवस्थाहरू हुन्छन्। कति अगुवाहरूले त यी विशेष अवस्थाहरूलाई परमेश्वरको घरले तोकेका सिद्धान्तहरू पालना गरेर सम्हाल्न सक्छन्, जस्तै परमेश्वरको घरका हितहरू रक्षा गर्ने, दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा सुनिश्चित गर्ने, र मण्डलीको कामको सहज कार्यसञ्चालन कायम गर्ने—र अझ भन्ने हो भने तिनीहरूले यी अवस्थाहरू निकै राम्ररी सम्हाल्छन्—जबकि कति अगुवाहरूले यी अवस्थाहरू सम्हाल्नै सक्दैनन्। सम्हाल्न नसकिने यी समस्याहरूलाई के गरिनुपर्छ? कति अगुवा र कामदारहरूले भ्रमित रूपमा काम गर्छन्, र समस्याहरू पहिचान गर्न सक्दैनन्, र पहिचान गरे नै भने पनि तिनलाई समाधान गर्न सक्दैनन्। तिनीहरू माथिबाट समाधान नखोजी झारा टार्दै अघि बढ्छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई केवल यस्तो भन्छन्, “तिमीहरू यो आफै समाधान गर; परमेश्वरमा भर पर र समाधानका लागि परमेश्वरतर्फ हेर,” अनि त्यसपछि तिनीहरूले त्यो पूर्ण रूपमा सल्टियो भन्ने मान्छन्। चाहे जति नै समस्याहरू थुप्रियोस्नि, तिनीहरूले ती आफै समाधान गर्न सक्दैनन्, तैपनि माथितर्फ त्यसको रिपोर्ट गर्ने वा ती कसरी समाधान गर्ने भनेर खोजी गर्ने गर्दैनन्, र तिनीहरू सम्भवतः माथिले तिनीहरूलाई छर्लङ्ग देख्लान् र तिनीहरूको इज्जत गुम्ला भनी डराउँछन्। माथिलाई कहिल्यै समस्या रिपोर्ट नगर्ने केही अगुवा र कामदारहरू पनि हुन्छन्, र तिनीहरूले किन त्यसो गर्छन् त्यो मलाई थाहा छैन। माथितर्फ रिपोर्ट गर्नु भनेको सीधै माथिलाई नै रिपोर्ट गर्नु हो भन्ने जरुरी छैन; व्यक्तिले निश्यय नै सुरुमा कुनै जिल्ला वा इलाकाका अगुवाहरूलाई रिपोर्ट गर्न सक्छ। अनि, यदि तिनीहरूले त्यो समाधान गर्न सक्दैनन् भने, तिमीहरूले अगुवा र कामदारहरूलाई सीधै माथिलाई रिपोर्ट गर्न आग्रह गर्न सक्छौ। यदि तैँले अवस्था प्रस्ट्याउँदै, कुनै अगुवा वा कामदारलाई कुनै मामला माथिलाई रिपोर्ट गर्न आग्रह गर्छस् भने, के उसले त्यो मामला दबाउन र बेवास्ता गर्न सक्छ? त्यस्ता मानिसहरू दुर्लभ हुन्छन्। यदि त्यस्ता अगुवाहरू वास्तवमै भए पनि समस्या दबाउने र रिपोर्ट नगर्ने व्यक्तिको खुलासा गर्न तैँले त्यो मामला अरू अगुवा र कामदारहरूसँग प्रस्ट्याउन सक्छस्। यदि यी अरू अगुवा र कामदारहरूले पनि अझै मामला रिपोर्ट गरेनन् भने, एउटा अन्तिम उपाय हुन्छ: तैँले मामला माथिसामु पुऱ्याउन सीधै परमेश्वरको घरको वेबसाइटमा गएर लेख्न सक्छस्, र यसरी समस्याबारे माथि रिपोर्ट हुने कुरा सुनिश्चित गर्न सक्छस्। माथिले पहिला पनि अनेकौँपटक यस्ता पत्रहरूमा काम गरेको छ, र तिनीहरूले अगुवा र कामदारहरूलाई सीधै मामला सम्हाल्ने जिम्मा सुम्पेका छन्। वास्तवमा, माथि समस्या रिपोर्ट गर्ने अनेकौँ उपायहरू हुन्छन्; त्यो अभ्यास गर्न सजिलो हुन्छ, यो कुरा व्यक्तिले त्यो समस्या साँच्चै समाधान गर्न चाहन्छ कि चाहँदैन भन्ने कुरामा निर्भर हुन्छ। यदि तैँले कुनै निश्चित अगुवा वा कामदारलाई भरोसा गर्दैनस् भने पनि, परमेश्वर धर्मी हुनुहुन्छ र माथिले सत्यता सिद्धान्तहरूअनुरूप कार्य गर्छ भनेर तैँले अझै पनि विश्वास गर्नुपर्छ। यदि परमेश्वरप्रति तँमा साँचो विश्वास छैन, र परमेश्वरको घरमा सत्यताले शासन गर्छ भन्ने कुरामा तँ विश्वास गर्दैनस् भने, तैँले कुनै उपलब्धि हासिल गर्न सक्दैनस्। धेरै मानिसहरूले सत्यता बुझ्दैनन्; तिनीहरूले परमेश्वरको घरमा सत्यताले शासन गर्छ भन्नेमा विश्वास गर्दैनन्, र तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुँदैन। तिनीहरूले संसारका अधिकारीहरूले एकअर्कालाई सुरक्षा दिइरहेका हुन्छन्, र परमेश्वरको घरले पनि त्यसै गर्नुपर्छ भनेर सधैँ सोचिरहेका हुन्छन्। तिनीहरूले परमेश्वर सत्यता र धार्मिकता हुनुहुन्छ भन्नेमा विश्वास गर्दैनन्। त्यसकारण, यस्तो व्यक्तिलाई अविश्वासी भन्न सकिन्छ। तैपनि, अल्पसङ्ख्यक मानिसहरूले वास्तविक समस्याहरू रिपोर्ट गर्न सक्छन्। यस्ता मानिसहरूलाई परमेश्वरको घरका हितहरू रक्षा गर्ने मानिसहरू भनेर भन्न सकिन्छ; तिनीहरू जिम्मेवार मानिस हुन्। कति अगुवा र कामदारहरू आफूले देखेका गम्भीर समस्याहरू समाधान गर्न असफल हुने मात्र होइनन्, तिनीहरूले यसबारे माथितिर रिपोर्ट पनि गर्दैनन्। माथिले यसबारे अनुसन्धान गरेपछि मात्रै तिनीहरूले समस्याको गम्भीरता अनुभूति गर्न थाल्छन्। यसले काममा ढिलाइ हुन्छ। त्यसकारण, तँ साधारण ब्रदर वा सिस्टर, अथवा अगुवा वा कामदार भए पनि, आफूले समाधान गर्न नसक्ने र बृहत् कार्य सिद्धान्तहरूसँग सम्बन्धित कुनै समस्या सामना गर्दा, तैँले यसबारे माथितिर रिपोर्ट गर्नुपर्छ र समयमै समाधान खोज्नुपर्छ। यदि तैँले अन्योलता वा कठिनाइहरू सामना गर्छस् तर तिनलाई समाधान गर्दैनस् भने, कतिपय काम अघि बढ्न सक्नेछैनन्; त्यस कामलाई पन्छाउनु र रोक्नुपर्ने हुन्छ। यसले मण्डलीको कामको प्रगतिमा असर गर्छ। त्यसकारण, जब त्यो कामको प्रगतिमा प्रत्यक्ष असर गर्ने समस्याहरू पैदा हुन्छन्, तिनलाई खुलासा गरेर समयमै समाधान गरिनुपर्छ। यदि समस्या समाधान गर्न सजिलो छैन भने, तैँले सत्यता बुझ्ने र त्यस क्षेत्रमा विशेषज्ञता भएका मानिसहरूलाई खोजेर, तिनीहरूसँग मिलेर सँगै अनुसन्धान गरी समस्या समाधान गर्नुपर्छ। यस्ता समस्याहरू समाधान गर्ने काममा ढिलाइ हुनु हुँदैन! तैँले तिनलाई समाधान गर्दा जति दिन ढिलाइ गर्छस् कामको प्रगतिमा पनि त्यति नै दिन ढिलाइ हुन्छ। यो एउटा व्यक्तिको मामलामा बाधा दिने कुरा होइन; यसले मण्डलीको काममा असर गर्छ, साथै परमेश्वरका चुनिएका मानिसहरूले आफ्नो कर्तव्य कसरी निर्वाह गर्छन् भन्ने कुरामा असर गर्छ। त्यसकारण, जब तैँले यसप्रकारको कुनै अन्योलता वा कठिनाइ सामना गर्छस्, तब त्यसलाई तुरुन्तै समाधान गरिनुपर्छ, ढिलाइ गर्न मिल्दैन। यदि तँ साँच्चै यसलाई समाधान गर्न सक्दैनस् भने, तैँले तुरुन्तै यसबारेमा माथि रिपोर्ट गर्नुपर्छ। तिनीहरू यसलाई समाधान गर्न सीधै अघि आउनेछन्, वा तिनीहरूले तँलाई बाटो देखाउनेछन्। यदि कुनै अगुवाले यस्ता समस्याहरू सम्हाल्न सक्दैन, अनि यसलाई माथि रिपोर्ट गरेर तिनीहरूबाट समाधान खोज्नुको सट्टा, समस्यालाई हेरेर बस्छ भने, त्यो अगुवा अन्धो छ; ऊ मरेतुल्य र बेकामको छ। उसलाई बर्खास्त गरेर पदबाट हटाइनुपर्छ। यदि उसलाई उसको पदबाट हटाइएन भने, मण्डलीको काम अघि बढ्न सक्नेछैन; उसको हातमा काम बरबाद हुनेछ। तसर्थ, यसलाई तुरुन्तै समाधान गरिहाल्नुपर्छ।
चलचित्र निर्माण कार्य पनि परमेश्वरको घरको लागि कामको एउटा महत्त्वपूर्ण भाग हो। चलचित्र निर्माण टोलीहरूले बारम्बार एउटा समस्या सामना गर्छन्, जसमा हरेक व्यक्तिले पटकथाबारे विवाद गर्छ। उदाहरणको लागि, निर्देशकले पटकथा वास्तविक जीवनभन्दा फरक र टाढिने खालको छ र छायाङ्कन गरिएपछि अवास्तविक देखिनेछ भन्ने विश्वास गर्छ, र त्यसैले ऊ त्यसमा हेरफेर गर्न चाहन्छ। तर पटकथा लेखक अडिग रूपमा असहमत हुन्छ, उसले पटकथा व्यावहारिक रूपमा लेखिएको छ भन्ने विश्वास गर्छ र निर्देशकले पटकथाअनुसार छायाङ्कन गर्नुपर्ने माग गर्छ। अभिनेताहरूको पनि आफ्नै असहमतिहरू हुन्छन्, तिनीहरू निर्देशक र पटकथा लेखक दुवैसँग असहमत हुन्छन्। अभिनेताले भन्छ, “यदि निर्देशकले त्यसरी नै छायाङ्कन गर्ने जिद कस्छ भने, म अभिनय नै गर्नेछैनँ!” पटकथा लेखकले भन्छ, “यदि निर्देशकले पटकथा हेरफेर गर्छ भने, कुनै समस्या उत्पन्न भए तिमीहरू सबै जिम्मेवार हुनेछौ!” निर्देशकले भन्छ, “यदि मलाई पटकथाले माग गरेअनुसार छायाङ्कन गर्न लगाइयो र गल्तीहरू भए भने, परमेश्वरको घरले मलाई जबाफदेही तुल्याउनेछ। यदि तिमी मैले छायाङ्कन गरूँ भन्ने चाहन्छौ भने, त्यो मेरो सोचमा आधारित भएर गरिनुपर्छ; होइन भने, म निर्देशन गर्नेछैनँ।” अब, तिन्टै पक्षहरू त्यही अल्झन्छन्, होइन र? स्पष्टै छ, काम अघि बढ्न सक्दैन। के यो अन्योल उत्पन्न भएको होइन र? त्यसोभए, कोचाहिँ वास्तवमा सही छ त? सबैका आआफ्नै सिद्धान्तहरू, आआफ्नै तर्कहरू छन् र कोही पनि सम्झौता गर्न इच्छुक छैन। तिन्टै पक्ष त्यसमा अल्झँदा, केमा हानि हुन्छ? (परमेश्वरको घरको काममा।) परमेश्वरको घरको काममा अवरोध र हानि पुग्छ। के तिमीहरूले त्यस्ता अवस्थाहरू सामना गर्दा तनाव र चिन्ता महसुस गरेका छौ? यदि छैनौ भने, तिमीहरूले यसमा साँच्चै आफ्नो हृदय लगाएका छैनौ भन्ने प्रमाणित हुन्छ। जब त्यस्ता अन्योल र अड्चन उत्पन्न हुन्छन्, कति मानिसहरू यति तनावग्रस्त हुन्छन् कि तिनीहरू खान वा सुत्नसमेत सक्दैनन्, र तिनीहरूले यस्तो सोच्छन्, “के गरिनुपर्ने हो? यसरी तर्क गर्ने र डेग नचल्ने व्यवहारले त कहीँकतै पुऱ्याउँदैन। के यसले चलचित्र निर्माणको प्रगतिमा असर गरिरहेको छैन र? यसले पहिले नै कैयौँ दिनको ढिलाइ गराइसक्यो र अब यसलाई पछि सार्न सकिँदैन। छायाङ्कन सहज रूपमा हुने र काममा ढिलाइ नहुने सुनिश्चित गर्न हामीले यो समस्या कसरी समाधान गर्न सक्छौँ? यो समस्या समाधान गर्न हामी कसकहाँ जानुपर्छ?” यदि तँमा हृदय छ भने, तैँले अगुवाहरूबाट समाधान खोज्नुपर्छ, र यदि अगुवाहरूले समाधान गर्न सक्दैनन् भने, तैँले यसलाई तुरुन्तै माथि रिपोर्ट गर्नुपर्छ। यदि तँ साँच्चै परमेश्वरका अभिप्रायहरूको ख्याल गर्छस् भने, तैँले सक्दो चाँडो यो समस्या समाधान गर्न सक्दो सबै गर्नुपर्छ; यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। अनि यदि तँ चिन्तित छैनस् भने नि? तैँले त्यसबारे मनन गर्दै यस्तो सोच्न सक्छस्, “तिनीहरू गलत छन्। म आफ्नो दृष्टिकोणमा अडिग रहन्छु—तिनीहरूले मलाई केही गर्न सक्छन् जस्तो लाग्दैन। म खान्छु अनि केही बेर सुत्छु, जे भए नि दिउँसो गर्नैपर्ने कुनै काम छैन।” तेरा खुट्टा भारी हुन्छन्, तँलाई चक्कर आउन थाल्छ, तेरो हृदयको तागत हराउँछ, र तँ अल्छे बन्छस्। समस्याहरूको थुप्रो हुन्छ, तर तँ ध्यानरहित र अल्छे हुन्छस्, त्यसैले त्यो समस्या समाधान गर्ने कुनै उपाय हुँदैन। किन हुँदैन? किनभने तँमा त्यो समाधान गर्ने जोस र चाहना हुँदैन, त्यसैले तैँले कुनै समाधान सोच्न सक्दैनस्। तैँले मनमनै यस्तो सोच्छस्: “कठिनाइहरू उत्पन्न भएर काम ठप्प हुने प्रायः हुँदैन। म यो मौका छोपेर केही दिन विश्राम र अलिक आराम गर्नेछु। सधैँ किन थकित हुने? यदि मैले अहिले विश्राम लिएँ भने, कसैले त्यसबारे केही भन्न पाउँदैन। आखिर, मैले सुस्ती गरिरहेको वा म आफ्नो कामप्रति गैरजिम्मेवार भइरहेको छैनँ। म जिम्मेवार हुन चाहन्छु, तर हाम्रो मार्गमा यो कठिनाइ आएको छ—यसलाई कसले समाधान गर्ने हो? यो समाधान नगरी हामी कसरी छायाङ्कन गर्न सक्छौँ? यदि हामीलाई छायाङ्कन गर्न रोक्ने समस्याहरू छन् भने, के हामीले विश्राम लिनुपर्दैन र?” तेरो सामु यस्तो ठुलो समस्या हुँदा, यदि त्यो तुरुन्तै समाधान गरिएन भने, परिणाम के हुनेछ? यदि समस्याहरू उत्पन्न भइरहे र ती कुनै पनि समाधान भएनन् भने, के कामको प्रगति जारी रहन सक्छ? यसले अज्ञात ढिलाइ निम्त्याउनेछ। कामको प्रगति पछाडि होइन, अगाडि मात्र जान सक्छ, त्यसैले यो समस्याले कठिनाइहरू ल्याउँछ भनी थाहा हुँदा, तैँले थप आलटाल गर्नुहुँदैन; तैँले त्यसलाई तुरुन्तै समाधान गर्नु आवश्यक छ। एकपटक यो समस्या समाधान भएपछि, अर्को समस्या उत्पन्न हुँदा, समय बरबाद नगर्न लागिपर्, र चाँचाँडो त्यसलाई समाधान गर् ताकि काम तालिकाअनुरूप सहज रूपमा अघि बढ्न र पूरा हुन सकोस्। त्यो कस्तो सुनिन्छ? (राम्रो।) हृदय भएकाहरूले यही मनोवृत्तिसाथ अन्योल र कठिनाइहरू सामना गर्छन्। तिनीहरूले समय बरबाद गर्दैनन्, आफ्नै लागि बहानाहरू बनाउँदैनन्, र देहगत आरामको लालच गर्दैनन्। अर्कोतर्फ, हृदय नभएकाहरूले भुलचुकहरूको दुरुपयोग गर्छन्; तिनीहरूले बहानाहरू बनाउँछन् र विश्राम लिने मौकाहरू खोज्छन्, सबथोक सुस्त गतिमा र आतुरीबोध वा तनावबिना गर्छन्, र तिनीहरूमा कष्ट भोग्ने वा मूल्य चुकाउने कुनै सङ्कल्प हुँदैन। अनि अन्त्यमा के हुन्छ? अन्योल वा कठिनाइ सामना गर्दा, हरव्यक्ति कैयौँ दिनको गतिरोधमा अल्झिरहन्छ। न त निर्देशक, अभिनेता, न त पटकथा लेखकहरूले नै समस्या रिपोर्ट गर्छन्। जबकि अगुवाहरू अन्धा हुन्छन् र त्यसलाई समस्याको रूपमा पहिचान गर्न असक्षम हुन्छन्; तिनीहरूले त्यसलाई समस्याको रूपमा पहिचान गरे नि, समस्या आफै समाधान गर्न नसक्दा तिनीहरूले माथितिर त्यसको रिपोर्ट गर्दैनन्। तहतह गर्दै माथि रिपोर्ट पुगुन्जेलसम्म, दस-पन्ध्र दिन बितिसकेको हुन्छ। यो दस-पन्ध्र दिनमा के गरियो? के कसैले आफ्नो कर्तव्य निर्वाह गरिरहेको थियो? अहँ, तिनीहरू त खाँदै, पिउँदै, रमाउँदै आफ्नो समय नष्ट गरिरहेका थिए! के तिनीहरू सित्तैमा खाइरहेका छैनन्? आफ्नो काममा सामना गरिने अन्योल र कठिनाइहरूको लागि तुरुन्तै समाधानहरू खोज्न नसक्ने ती सबै सुपरिवेक्षकहरू सित्तैमा खाइरहेका मात्र हुन्छन्, बिनाउद्देश्य आफ्ना दिनहरू बिताइरहेका हुन्छन्। त्यस्ता मानिसहरू छोटकरीमा “अल्छे” कहलिन्छन्। किन “अल्छे” कहलिन्छन्? किनभने यी मानिसहरूले कर्तव्यलाई गम्भीरता, जिम्मेवारपन, सटीकता, वा सकारात्मक मनोवृत्तिसाथ लिँदैनन्, तिनीहरू लापरवाह र नकारात्मक हुन्छन् र तिनीहरूले सुस्ती गर्छन्, अनि कठिनाइ वा अड्चन उत्पन्न होस् भन्ने आशा मात्र गर्छन् ताकि तिनीहरूसँग कार्यालाय बन्द गरेर काम रोक्ने बहाना होस्।
अगुवा र कामदारहरूले काममा आइपर्ने अन्योल र कठिनाइहरूलाई तुरुन्तै समाधान गर्ने मात्र होइन, तुरुन्तै जाँचबुझ गर्ने र यी समस्याहरू पहिचान गर्ने पनि गर्नुपर्छ। यसो किन गर्नुपर्छ? यसो गर्नुको एउटै उद्देश्य हुन्छ: परमेश्वरको काम र परमेश्वरको घरको काम रक्षा गर्नु, र यसरी कामको हरेक पक्ष सहज रूपमा अघि बढ्ने र सामान्य कामको अवधिमै पूरा हुने कुरा सुनिश्चित गर्नु। काम सहज रूपमा अघि बढ्ने कुरा कुरा सुनिश्चित गर्न, कुनकुन समस्याहरू समाधान गर्नु आवश्यक हुन्छ? सुरुमा, मण्डलीको काममा बाधा दिने कुनै पनि अड्चन वा गतिरोधहरूलाई पूर्ण रूपमा निकाल्नु, र अविश्वासी एवं दुष्ट मानिसहरूलाई प्रतिबन्धित गरेर समस्या सृजना गर्नबाट रोक्नु अत्यावश्यक हुन्छ। यसका साथै, कामको हरेक भागका सुपरिवेक्षकहरू र दाजुभाइ-दिदीबहिनीहरूलाई सत्यता बुझ्न र अभ्यास मार्ग खोज्न, अनि सामञ्जस्य रूपमा सहकार्य गर्न र एकअर्काको सुपरिवेक्षण गर्न सिक्न अगुवाइ गर्नुपर्छ। यसरी मात्र काम सम्पन्न हुने प्रत्याभूति गर्न सकिन्छ। चाहे जस्तोसुकै कठिनाइ वा अन्योलता सामना गरे नि, यदि अगुवा र सुपरिवेक्षकहरूले ती समाधान गर्न सक्दैनन् भने, तिनीहरूले तुरुन्तै त्यो समस्या माथिलाई रिपोर्ट गर्नुपर्छ र समाधानहरू खोज्नुपर्छ। अगुवा र कामदारहरूले चाहे जुनै काम गरे नि समस्या समाधानलाई नै प्राथमिकता दिनुपर्छ, र कामसँग सम्बन्धित प्राविधिक समस्याहरू र सिद्धान्तका समस्याहरूलाई, साथै मानिसहरूले जीवन प्रवेश सन्दर्भमा सामना गर्ने विभिन्न कठिनाइहरूलाई सम्बोधन गर्नुपर्छ। यदि तैँले अन्योलता र कठिनाइहरू समाधान गर्न सक्दैनस् भने, तैँले आफ्नो काम राम्ररी गर्न सक्नेछैनस्। त्यसकारण, जब तैँले आफूले समाधान गर्न नसक्ने असाधारण कठिनाइ वा अन्योलताहरू सामना गर्छस्, तीबारे तैँले तुरुन्तै माथि रिपोर्ट गर्नुपर्छ। समय खेर नफाल्, किनकि तीनदेखि पाँच दिनमात्रको ढिलाइले नै काममा क्षति पुग्न सक्छ, र यदि त्यो पन्ध्र दिन वा महिना दिन ढिलो भयो भने, त्यो क्षति अत्यन्तै ठुलो हुनेछ। त्यसअलावा, समस्या जे भए नि त्यसलाई सत्यता सिद्धान्तहरूको आधारमै निराकरण गरिनुपर्छ। चाहे जे भए नि, समस्याहरू समाधान गर्न दुनियाँसँग व्यवहार गर्ने मानव दर्शनहरू कहिल्यै प्रयोग नगर्। गम्भीर समस्याहरूलाई साना समस्याहरू बनाउने, र त्यसपछि साना समस्याहरूलाई नगण्यमा परिणत गर्ने, वा समस्यामा संलग्न दुवै पक्षलाई गाली गर्ने अनि केही मिठो कुराले तिनीहरूलाई फेरि शान्त पार्ने काम नगर्, र सधैँ समस्या बढ्ला भनेर डराउँदै सधैँ वार्ताको सहारा लिने र तिनीहरूलाई फकाउने काम नगर्। यसले समस्या आधारभूत तलमा समाधान नहुनेतर्फ डोऱ्याउँछ, जसले गर्दा पछिसम्म पनि समस्याहरू रहिरहन्छन्। के यो समस्या थमथम्याउनु मात्र होइन र? यदि तँलाई कुनै समस्याका सबै मानव समाधानहरू सक्किसके, र त्यसलाई साँच्चै नै समाधान गर्न सकिँदैन जस्तो लाग्छ, र तैँले समस्याभित्र रहेका प्राविधिक समस्याहरूको लागि सिद्धान्तहरू बिलकुलै भेट्टाउन सक्दैनस् भने, तैँले तुरुन्तै यी समस्याहरू माथि रिपोर्ट गर्नुपर्छ र नपर्खीकनै वा आलटाल नगरीकनै समाधानहरू खोज्नुपर्छ। समाधान गर्न नसकिने कुनै पनि समस्याको समाधान खोज्न तुरुन्तै माथि रिपोर्ट गरिनुपर्छ। यो सिद्धान्त तिमीहरूलाई कस्तो लाग्छ? (राम्रो।)
के चलचित्र निर्माण समूह र पटकथा लेखन समूहहरू छायाङ्कनको कुरामा बारम्बार गतिरोधमा अल्झिरहन्छन्? हरेकको आफ्नै तर्क हुन्छ, र तिनीहरू एकमतमा पुग्न सक्दैनन्, र सधैँ मौखिक रस्साकस्सी गरिरहन्छन्। के अगुवाहरूले यी समस्याहरू उत्पन्न हुँदा तिनलाई समाधान गर्न सक्छन्? (कहिलेकाहीँ सक्छन्।) के तिमीहरूले कहिल्यै अगुवाले सङ्गतिमार्फत केही समस्याहरू समाधान गरेको, र त्यो पूर्ण रूपमा व्यावहारिक र सैद्धान्तिक रूपमा ठोस् भएको, तर त्यो परमेश्वरको घरका वा सत्यता सिद्धान्तहरूका मापदण्डअनुरूप छ कि छैन भनी तिमीहरू अनिश्चित भएको अवस्था सामना गरेका छौ? (छौँ।) त्यस्ता अवस्थाहरू तिमीहरूले कसरी सम्हाल्यौ? (कहिलेकाहीँ हामी माथिबाट खोजी गर्थ्यौँ।) त्यो सही तरिका हो। के तिमीहरू कहिल्यै माथिका ब्रदर अलि व्यस्त रहेको देखेर कुनै समस्याबारे नसोध्ने निर्णय गरेको, र त्यो मामला सैद्धान्तिक रूपमा सही भएसम्म ठिकै हुन्छ भन्ने सोचेको र त्यसपछि त्यो सत्यताअनुरूप भए नि नभए नि छायाङ्कन अघि बढाउने निर्णय गरेको अवस्थामा परेका छौ? (हामीले विगतमा यसबारे गम्भीर समस्या भोगेका थियौँ। यसले हामीलाई काम फेरि दोहोर्याएर गर्नुपर्ने बनायो, अनि काममा बाधा र अवरोध पुऱ्यायो।) त्यो अवस्था गम्भीर छ! चलचित्र निर्माण समूहले सामना गर्ने धेरैजसो समस्याहरू अन्ततः वास्तवमा पटकथा लेखन समूहकै जिम्मेवारी हुन्। उदाहरणको लागि, यदि अढाई घन्टे पाङ न पुच्छर कथाको चलचित्र बन्यो भने, मुख्यतः पटकथा लेखकहरू नै जिम्मेवार हुन्छन्। तर निर्देशकको जिम्मेवारीचाहिँ के हो नि? यदि पटकथा पाङ न पुच्छरको छ भने, के निर्देशकहरूले यो देख्न सक्नुपर्छ? सैद्धान्तिक रूपमा, तिनीहरूले देख्न सक्नुपर्छ। तर निर्देशकहरूले त्यस्तो परिस्थितिमा चलचित्र पूरा गर्न महिनौँ बिताएर उल्लेखनीय जनशक्ति, सामाग्री स्रोतहरू, र धन खर्च गर्न सक्छन्। यो कस्तो खालको समस्या हो? निर्देशकको रूपमा, तिमीहरूको जिम्मेवारी के हो? पटकथा प्राप्त गरेपछि, तैँले यस्तो सोच्नुपर्छ, “यो पटकथा निकै लामो र विषयवस्तु प्रशस्त छ, तर यसमा मुख्य, केन्द्रीय विषय छैन; पूरै कथा-संरचना प्राणविहीन छ। यो पटकथा छायाङ्कन गर्न सकिँदैन; यसलाई परिमार्जन गर्न पटकथा लेखकहरूकहाँ फिर्ता पठाइनुपर्छ।” के तिमीहरू यसो गर्न सक्षम छौ? के तिमीहरूले कहिल्यै कुनै पटकथा फिर्ता पठाएका छौ? (अहँ।) के त्यो तिमीहरूले समस्याहरू देख्न नसक्ने भएकोले हो, वा तँलाई यो फिर्ता पठाउन डर लागेकोले हो? कि तँलाई कसैले तेरो आलोचना गर्ला र यसो भन्ला भन्ने डर लाग्छ, “तिनीहरूले तिमीलाई यो तयार पटकथा दिए, र तिमीले यसलाई एक शब्दले नै इन्कारेर फिर्ता पठाउँदै छौ—तिमी अत्यन्तै अहङ्कारी छौ, होइन र?” तिमीहरू कुनचाहिँ कुराको डर मान्छौ? तिमीहरूले समस्या देख्छौ, त्यसैले लेखकहरूलाई पटकथा किन फर्काउँदैनौ? (हामी आफ्नो चलचित्र निर्माण काममा जिम्मेवार छैनौँ।) चलचित्र निर्माण समूहहरूका लागि, मण्डली अगुवाहरूबाहेक, निर्देशकहरूले पनि सुपरिवेक्षकका रूपमा, फैसला गर्ने र अन्तिम राय दिने व्यक्तिको रूपमा काम गर्नुपर्छ। तँ निर्देशक भएको नाताले, तैँले यो मामलाको पूर्ण जिम्मेवारी लिनुपर्छ, र पटकथा पाएकै क्षणदेखि त्यसलाई होसियारीसाथ जाँच्नुपर्छ। मानौँ कि, तैँले एउटा पटकथा प्राप्त गरिस् र सुरुदेखि अन्त्यसम्म त्यसलाई समीक्षा गरिस्, र तँलाई विषयवस्तु निकै राम्रो लाग्यो। त्यसमा मूलतत्त्व र केन्द्रीय विषय छ, यसको संरचना मुख्य कथावस्तुकै वरपर घुम्छ, र समग्र पटकथामा कुनै ठुलो समस्या नभएझैँ देखिन्छ—त्यो राम्रै देखिन्छ, छायाङ्कन गर्न लायक देखिन्छ, र त्यसैले त्यो पटकथा स्विकार्न सकिन्छ। तर यदि पटकथा लामो छ, जसमा कुनै केन्द्रबिन्दु वा मुख्य कथावस्तुबिनै कुनै व्यक्तिको कथा सुरुदेखि अन्त्यसम्म सुनाइन्छ, र पटकथाले के व्यक्त गर्ने लक्ष्य राखेको छ, दर्शकहरूमा के प्रभाव पार्न चाहन्छ, वा त्यसको केन्द्रीय अवधारणा र आत्मिक अर्थ के हो भन्ने कुरा अस्पष्ट नै छोडिदिन्छ भने—यदि त्यो केवल एउटा गलफती विवरण, एउटा उल्झिएको पटकथा मात्र हो भने—के यो कथा स्विकार्न सकिन्छ? यस्तो अवस्थामा निर्देशकहरूले के गर्नुपर्छ? तिनीहरूले पटकथा फिर्ता गर्नुपर्छ र पटकथा लेखकलाई परिमार्जन सुझावहरू पठाउनुपर्छ। पटकथा लेखन समूहका मानिसहरूले विरोध गर्दै यस्तो भन्न सक्छन्, “यो न्यायसङ्गत भएन! हामीले लेखेको पटकथा परीक्षण गर्ने तिनीहरू को हुन्? तिनीहरूले किन फैसला गर्न पाएको हो? परमेश्वरको घरले मानिसहरूलाई निष्पक्ष र उचित रूपमा व्यवहार गर्नुपर्छ!” तब के गरिनुपर्छ? यदि निर्देशकहरूले पटकथामा समस्याहरू पहिचान गर्न सक्छन् भने, तिनीहरूले फैसला गर्न हतार गर्नु हुँदैन, बरु यो मामलाबारे सुरुमा मण्डली अगुवा र चलचित्र निर्माण समूहका सदस्यहरूसँग सङ्गति गर्नुपर्छ। यदि आफ्ना विगत वर्षका चलचित्र निर्माण अनुभव र पटकथा बुझाइको आधारमा, सबैले एक भएर कुनै पटकथाले मानक पूरा गर्दैन भन्ने निधो गर्छन् भने, र त्यसलाई छायाङ्कन गर्दा त्यसले चलचित्र निर्माण कार्यमा ढिलाइ गर्ने मात्र नभई, त्यसमा समावेश सारा मानव, भौतिक र आर्थिक स्रोतहरूसमेत खेर फाल्नेछ, र त्यो जिम्मेवारी कसैले वहन गर्न सक्नेछैन भन्ने विश्वास गर्छन् भने, त्यो पटकथा फिर्ता पठाइनुपर्छ। पाङ् न पुच्छरको पटकथालाई बिलकुलै छायाङ्कन गरिनु हुँदैन; यो एउटा सिद्धान्त हो। यदि सबैले त्यो पटकथाबारे उस्तै महसुस गर्छन् भने, पटकथा लेखकहरूले बिनाकुनै सर्त त्यसलाई स्विकार्नुपर्छ र चलचित्र निर्माण समूहको सुझावअनुसार त्यसलाई परिमार्जन गर्नुपर्छ। यदि अझै पनि असहमतिहरू हुन्छन् भने, कसका तर्क सत्यता सिद्धान्तहरूअनुरूप छन् भनेर हेर्न दुवै पक्षका सदस्य र अगुवाहरूले सँगै बसेर बहस गर्न सक्छन्। यदि निष्कर्षहीन अवस्था रहिरह्यो भने, अन्तिम उपाय लगाउनुपर्छ, र त्यो उपाय भनेको आज सङ्गति गरिएको, अगुवा र कामदारहरूको आठौँ जिम्मेवारी हो: “काममा सामना गरिने अन्योलता र कठिनाइहरूलाई समाधान गर्न तुरुन्तै रिपोर्ट अनि खोजी गर्ने।” गतिरोधमा परेका र समाधान गर्न नसकिने समस्याहरूलाई अन्योलता र कठिनाइहरू भनिन्छ। हरेक पक्षले आफ्नो तर्क सही छ भन्ठान्छ, र कसैले पनि फैसला गर्न सक्दैन। यसरी यसमा तर्कवितर्क गरिरहँदा समस्या झन् गाढिन्छ, र यसले यो समस्याको समष्टिगत विवरणको बुझाइ र लिइनुपर्ने दिशाबारे सबैको बुझाइ धूमिल पारिदिन्छ। यो अवस्थामा, अगुवा र कामदारहरूले तिनीहरूको काममा देखा पर्ने यी समस्या र अन्योलताहरू तुरुन्तै रिपोर्ट गर्ने र समाधान खोज्ने जिम्मेवारी लिनुपर्छ, र तिनलाई कामको प्रगतिमा अवरोध पुऱ्याउन नदिन, र अझ बढी रूपमा, तिनलाई थुप्रिन नदिन तुरुन्तै समाधान गर्न लागिपर्नुपर्छ। यी समस्याहरूलाई तुरुन्तै रिपोर्ट गर्नु र कसरी समाधान गर्ने भनेर खोजी गर्नु—के यो काम गर्नु होइन र? के यो कामप्रति गम्भीर र जिम्मेवार मनोवृत्ति देखाउनु होइन र? के यो कर्तव्य निर्वाह गर्नमा आफ्नो हृदय लगाउनु होइन र? के यो बफादार हुनु होइन र? (हो।) यो आफ्नो कर्तव्यप्रति बफादार हुनु हो।
कामको प्रभारी रहेका अगुवा र कामदारहरूले काममा देखा पर्ने कुनै पनि समस्या तुरुन्तै देख्नु र समाधान गर्नुपर्छ, किनकि त्यसो गर्दा मात्र कामको सहज प्रगति सुनिश्चित हुन्छ। समस्याहरू समाधान गर्न नसक्ने सबै अगुवा र कामदारहरूमा सत्यता वास्तविकता हुँदैन र तिनीहरू झुटा अगुवा र कामदारहरू हुन्। समस्या पत्ता लगाउने तर ती समाधान गर्न असफल हुने, बरु तिनलाई पन्छाउने वा ढाकछोप गर्ने जोकोही व्यर्थको निकम्मा हो र त्यस्तो व्यक्तिले कामलाई ध्वस्त मात्र पार्छ। विवादित मामलाहरू सङ्गति र बहसमार्फत समाधान गरिनुपर्छ। यदि त्यसबाट सही नतिजा आउँदैन, बरु अवस्था झन् बिग्रन्छ भने, प्रमुख अगुवाले व्यक्तिगत रूपमै मामला सम्हाल्ने जिम्मा लिनुपर्छ, अनि त्यसका समाधान र विधिहरू तुरुन्तै प्रस्ताव गर्ने, साथै अवस्थाको परिणाम कस्तो आउला भनेर तुरुन्तै अवलोकन गर्ने, बुझ्ने, र मूल्याङ्कन गर्ने गर्नुपर्छ। कुनै समस्याबारे अझ पनि विवादहरू रहिरहँदा र कुनै पनि निर्णयमा पुग्न नसकिँदा, समाधान खोज्नको निम्ति त्यो समस्या तुरुन्तै माथि रिपोर्ट गरिनुपर्छ, समस्या थमथम्याउने, कुर्ने, वा आलटाल गर्ने, र खासगरी समस्यालाई बेवास्ता गर्ने गर्नु हुँदैन। के तिमीहरूका हालका अगुवा र कामदारहरूले यसरी नै काम गर्छन्? तिनीहरूले तुरुन्तै अनुगमन गर्ने र कामको प्रगतिमा जोड दिने काम गरिरहेको हुनुपर्छ, र साथसाथै विभिन्न ससाना समस्याहरूलाई पनि बेवास्ता नगरी काममा देखा पर्ने हरेक विभिन्न टकरावहरूलाई पहिचान गर्ने काम गरिरहेको हुनुपर्छ। जब ठूला समस्याहरू पहिचान गरिन्छन्, तब तिनलाई समाधान गर्नको निम्ति प्रमुख अगुवा र कामदारहरू उपस्थित हुनुपर्छ, र ती समस्याको समष्टिगत विवरणबारे, समस्या देखा पर्नुको कारणबारे, र संलग्न मानिसहरूको परिप्रेक्ष्यबारे सही बुझाइ प्राप्त गर्नुपर्छ, ताकि वास्तवमा के भइरहेको हो भनेर सही रूपमा बोध गर्न सकियोस्। अनि सँगसँगै, तिनीहरू यी समस्याहरूबारे सङ्गति, बहस र खण्डन गर्नसमेत सहभागी हुनुपर्छ। यो एउटा आवश्यक कुरा हो; सहभागिता अत्यन्तै महत्त्वपूर्ण छ, किनकि यसले तँलाई काममा देखा पर्ने समस्याहरू मूल्याङ्कन र समाधान गर्न मदत गर्छ। यदि तँ संलग्न नभई सुन्छस् मात्रै, र सधैँ हात बाँधेर कक्षामा बसिरहेको व्यक्तिझैँ व्यवहार गर्दै छेउमा उभिरहन्छस्, काममा देखा पर्ने कुनै पनि समस्या आफ्नो सरोकारको विषय होइन भन्ने सोच्छस् र तँमा त्यो मामलाबारे कुनै निर्दिष्ट विचार वा मनोवृत्ति हुँदैन भने, तँ स्पष्ट रूपमै झुटो अगुवा होस्। जब तैँले संलग्नता जनाउँछस्, तब यी कुराहरू विस्तृत रूपमा थाहा पाउनेछस्—काममा के समस्याहरू देखा परेका छन्, तिनका कारण के हुन्, को जिम्मेवार छ, मुख्य समस्या केमा छ, र ती समस्या मानिसहरूका धारणा र कल्पनाले गर्दा भएका हुन् कि प्राविधिक र पेसागत अपर्याप्तताले गर्दा भएका हुन् भनेर थाहा पाउनेछस्—निष्पक्ष रूपमा समस्या सम्हाल्न र समाधान गर्न यी सबै कुराहरू प्रस्ट पारिनुपर्छ। जब तैँले यो काममा सहभागिता जनाउँछस् र जब तैँले समस्याहरू मानव-निर्मित होइनन् वा तिनलाई कसैले जानीजानी सृजना गरेका होइनन् भनी पत्ता लगाउँछस्, तैपनि समस्याको सार औँल्याउन तँलाई गाह्रो हुन्छ र तँलाई यो समाधान कसरी गर्ने भन्ने थाहा हुँदैन, र दुवै पक्ष लामो समयदेखि बहस गरिरहेका हुन्छन्, वा सबैले एउटा समस्याको लागि आफ्नो हृदय र मेहनत अर्पित गरेका हुन्छन्, तैपनि अझै त्यसलाई समाधान गर्न सक्दैनन्, अनि सिद्धान्तहरू वा दिशा खोज्न असफल भएका हुन्छन्, जसले गर्दा काम रोकिएको छ, र यही स्थिति जारी रहे थप गल्तीहरू, अवरोधहरू, र नकारात्मक परिणामहरू सृजना हुनेछ भन्ने डर सबैलाई छ भने, तैँले के गर्नुपर्छ? अगुवा र कामदारहरूले सबैभन्दा बढी गर्नुपर्ने कार्य भनेको सबैसँग उपाय र समाधानहरूबारे छलफल गर्नु होइन, बरु सक्दो चाँडो समस्या माथि रिपोर्ट गर्नु हो। अगुवा र कामदारहरूले काममा रहेका समस्याहरू सारांशित र अभिलिखित गर्नुपर्छ र तुरुन्तै माथि रिपोर्ट गर्नुपर्छ, आलटाल गर्ने, कुरेर बस्ने, वा भाग्यभरोसा गर्ने मनस्थिति पाल्ने, र राती सुतेपछि प्रेरणा वा आकस्मिक स्पष्टता आउनेछ भन्ने सोच्नु हुँदैन—त्यस्तो हुनु एउटा दुर्लभ घटना मात्र हो र त्यस्तो हुने सम्भावना हुँदैन। त्यसैले, सर्वोत्कृष्ट समाधान भनेको समस्या माथि रिपोर्ट गरेर सक्दो चाँडो समाधान खोज्नु हो, र यसबाट समस्या तुरुन्तै र सक्दो चाँडो समाधान हुने सुनिश्चित हुन्छ; साँचो रूपमा काम गर्नु भनेकै यही हो।
अगुवा र कामदारहरूले आफ्नो काममा बारम्बार सामना गर्ने अन्योलता र कठिनाइहरू
अ. अन्योलताहरू
हामीले भर्खरै छलफल गरेको विषयवस्तुका आधारमा, “दुविधाहरू” र “कठिनाइहरू” भनेका ठ्याक्कै के हुन् भनेर सारांश निकालौँ। यी दुई उही कुरा होइनन्। पहिला, म “दुविधा” शब्दको व्याख्या गर्नेछु। दुविधा भनेको तँ कुनै मामलाबारे छर्लङ्ग हुन नसक्नु हो; तँ सिद्धान्तहरूअनुरूप वा सही तरिकाले मूल्याङ्कन गर्न वा खुट्ट्याउन जान्दैनस्। तैँले केही हदसम्म छर्लङ्ग देख्न सकिस् भने पनि, तँ आफ्नो विचार सही हो कि होइन भनेर निश्चित हुँदैनस्, तैँले त्यो मामला सम्हाल्न वा समाधान गर्न जान्दैनस्, अनि तँलाई त्यसबारे निष्कर्षमा पुग्न कठिन हुन्छ। छोटकरीमा भन्दा, तँ त्यसबारे अनिश्चित हुन्छस् र निर्णय गर्न सक्दैनस्। यदि तैँले अलिकति पनि सत्यता बुझ्दैनस् र अरू कसैले त्यो समस्या समाधान गर्दैन भने, त्यो समाधान गर्न नसकिने बन्छ। के यो कठिन चुनौती सामना गर्नु होइन र? यस्ता समस्याहरू सामना गर्नुपर्दा, अगुवाहरू र कामदारहरूले माथिलाई तिनको रिपोर्ट गर्नुपर्छ र समस्याहरू चाँडो समाधान गर्न सकियोस् भनेर माथिबाट सल्लाह लिनुपर्छ। के तिमीहरूले बारम्बार दुविधाहरू सामना गर्छौ? (गर्छौँ।) नियमित रूपमा दुविधाहरू सामना गर्नु आफैमा एउटा समस्या हो। मानिलिऊँ, तँलाई कुनै समस्या आइपरेको छ र तँलाई त्यो सम्हाल्ने उचित तरिका थाहा छैन। कसैले एउटा समाधान बताउँछ, जुन तँलाई मनासिब लाग्छ, अनि अर्को व्यक्तिले पनि फरक समाधान बताउँछ, जुन तँलाई त्यो पनि मनासिब लाग्छ, अनि सबैका फरक-फरक रायहरूका कारण र समस्याको मूल जड वा सार कसैले बुझ्न नसकेका कारण, तैँले कुन समाधान बढी उपयुक्त छ भनेर प्रस्ट रूपमा बुझ्न सकिनस् भने, त्यस समस्याको समाधानमा गल्तीहरू अवश्यै देखिनेछन्। तसर्थ, कुनै समस्या समाधान गर्नका लागि, त्यसको मूल जड र सार निर्धारण गर्नु अत्यावश्यक र महत्त्वपूर्ण हुन्छ। यदि अगुवाहरू र कामदारहरूले खुट्ट्याउन सक्दैनन्, समस्याको सार बुझ्न सक्दैनन्, र सही निष्कर्षमा पुग्न सक्दैनन् भने, तिनीहरूले तत्कालै त्यस समस्याबारे माथिलाई रिपोर्ट गर्नैपर्छ र माथिबाट समाधान खोज्नैपर्छ; यो जरुरी काम हो र कुनै अनावश्यक प्रतिक्रिया होइन। नसुल्झिएका समस्याहरूले गम्भीर परिणामहरू निम्त्याउन र मण्डलीको कामलाई प्रभावित पार्न सक्छन्—यो कुरा राम्रोसँग बुझ्नैपर्छ। यदि तँ चिन्ताले ग्रस्त छस्, सधैँ माथिले तेरो साँचो क्षमता देख्नुहोला वा तैँले वास्तविक काम गर्न नसक्ने देखेर तेरो कर्तव्य हेरफेर गर्लान् वा तँलाई बरखास्त गर्नुहोला भनेर डराउँछस्, र त्यसकारण तैँले उक्त समस्याको रिपोर्ट गर्ने आँट गर्दैनस् भने, यसले सजिलैसँग कामहरूमा ढिलाइ गर्न सक्छ। यदि तैँले आफै समाधान गर्न नसक्ने दुविधाहरू सामना गरिस्, तैपनि माथिलाई त्यसको रिपोर्ट गरिनस् भने, यसले गम्भीर परिणामहरू निम्त्याउँदा र माथिले तँलाई उत्तरदायी ठहराउनुहुँदा, तँ ठूलो समस्यामा पर्नेछस्। के यसको दोषी तँ आफै मात्र होइनस् र? यस्ता दुविधाहरू सामना गर्नुपर्दा, यदि अगुवाहरू र कामदारहरू जिम्मेवारी हुँदैनन् र केवल केही धर्मसिद्धान्तहरू बोल्छन् र झाराटारुवा तरिकाले समस्या समाधान गर्न केही प्रावधानहरू लागु गर्छन् भने, त्यो समस्या समाधान भएको हुँदैन र परिस्थिति जस्ताका तस्तै रहन्छ, र काम अघि बढ्न सक्दैन। दुविधाहरू समाधान नहुँदा ठ्याक्कै यही हुन्छ; त्यसले सजिलै ढिलाइ गराउँछ।
जब अन्योलताहरू देखा पर्छन्, कति अगुवा र कामदारहरूले समस्या आएको बोध गर्न सक्छन्, जबकि अरू अगुवा र कामदारहरूले समस्या पत्ता लगाउन सक्दैनन्—यी पछिल्लो समूहका मानिसहरूमा अत्यन्तै कमजोर क्षमता हुन्छ, र तिनीहरू बोधा र मन्दबुद्धिका हुन्छन्; तिनीहरूमा कुनै पनि समस्याप्रति संवेदनशीलता हुँदैन। जति नै ठूलो अन्योलता देखा परे नि तिनीहरूले प्रदर्शन गर्ने भनेको बोधोपन र मन्दबुद्धिपन मात्रै हुन्छ; तिनीहरू समस्यालाई बेवास्ता गर्छन् र समस्यालाई टार्न खोज्छन्—यो भनेको झुटा अगुवाहरू वास्तविक काममा संलग्न नहुनु हो। त्यस्तो अवस्था देखा पर्दा निश्चित मात्रामा क्षमता र कार्य सामर्थ्य भएका अगुवा र कामदारहरूले त्यो महसुस गर्न सक्छन्: “यो एउटा समस्या हो। मैले यसबारे टिपोट गर्नुपर्छ। माथिले यसअघि यसप्रकारको समस्याबारे कहिल्यै उल्लेख गरेको छैन, र यसलाई हामी पहिलोपटक सामना गर्दै छौँ, तर यसप्रकारको अवस्था सम्हाल्ने सिद्धान्तहरू ठ्याक्कै के हुन्? यो विशिष्ट समस्या कसरी समाधान गरिनुपर्छ? ममा केही अन्तःप्रेरित सोचहरू छन् जस्तो लाग्छ, तर ती अस्पष्ट छन्, र ममा यस्ता मामलाहरूप्रति एउटा मनोवृत्ति पनि छ, तर मनोवृत्ति मात्र हुनु पर्याप्त हुँदैन; समस्या समाधान गर्न सत्यता खोजी गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। सबैले सँगै मिलेर सङ्गति र छलफल गर्नको लागि हामीले यो मामला बाहिर ल्याउनैपर्छ।” एक चरण सङ्गति र छलफल गरेपछि, यदि तिनीहरूसँग समस्या समाधान गर्नको लागि अभ्यासको सही योजना हुँदैन भने, र तिनीहरूलाई अझै पनि कसरी अघि बढ्ने भन्ने थाहा नभएर अन्योलता कायमै रहन्छ भने, तिनीहरूले माथिबाट समाधान खोज्नुपर्छ। यो अवस्थामा, समस्याबारे अन्योलताका बुँदाहरू टिपोट गर्ने जिम्मेवारी अगुवा र कामदारहरूको हुन्छ, ताकि समय आउँदा तिनीहरूले अन्योलताको समस्या ठ्याक्कै के हो र ठ्याक्कै के कुरा खोजी गरिँदै छ भनेर स्पष्ट रूपमा बताउन सकुन्। अगुवा र कामदारहरूले गर्नुपर्ने भनेकै यही हो।
आ. कठिनाइहरू
क. कठिनाइहरू के हुन्
यसपछि, हामी “कठिनाइहरू” भन्ने शब्दलाई हेरौँ। शाब्दिक दृष्टिकोणबाट हेर्दा, कठिनाइहरू अन्योलताभन्दा बढी गम्भीर हुन्छन्। त्यसोभए, कठिनाइहरूले ठ्याक्कै के जनाउँछन् त? कसैले व्याख्या गर त। (परमेश्वर, हाम्रो बुझाइ के छ भने, कठिनाइहरू भनेका आइपर्ने वास्तविक समस्याहरू हुन्, जसलाई समाधान गर्न व्यक्तिले प्रयास त गरिसकेको हुन्छ तर उसले अझै समाधान गर्न सकेको हुँदैन; यिनैलाई कठिनाइ मानिन्छ।) (यसमा केही थप्नुपर्दा, कहिलेकाहीँ व्यक्तिले पहिला कहिल्यै सामना नगरेका निकै जटिल केही समस्याहरू सामना गर्न सक्छ, जसमा हरव्यक्तिमा अनुभवको अभाव हुन्छ, हरव्यक्ति अत्यन्तै अन्योलमा हुन्छ, र हरकसैसँग कुनै राय वा अवधारणा हुँदैन—यी एकप्रकारका निकै चुनौतीपूर्ण समस्याहरू हुन्।) निकै चुनौतीपूर्ण समस्याहरूलाई कठिनाइ भनिन्छ, हो? कठिनाइको सबैभन्दा सरल, र सीधा वर्णन भनेको ती वास्तवमै हुने समस्याहरू हुन्। उदाहरणको लागि, व्यक्तिको क्षमता, पेसागत सीप, शारीरिक रोगबिमार, साथै वातावरणगत र समय सम्बन्धित समस्याहरू, र आदि इत्यादि, यी वास्तवमै विद्यमान हुने समस्याहरूलाई कठिनाइ भनिन्छ। तर, हामीले अहिले सङ्गति गरिरहेको, अगुवा र कामदारहरूको आठौँ जिम्मेवारी भनेको तिनीहरूले काममा सामना गर्ने अन्योलता र कठिनाइहरू समाधान गर्न तुरुन्तै रिपोर्ट अनि खोजी गर्नुपर्छ भन्ने कुरा हो। यहाँ, कठिनाइले व्यापक रूपमा परिभाषित गरिएका वास्तवमै विद्यमान समस्याहरू नभई, काममा सामना गरिने निकै जटिल र सम्हाल्न नसकिने समस्याहरूलाई जनाउँछ। यी कस्ता खालका समस्याहरू हुन्? यी सत्यता सिद्धान्तहरूसँग विशेष सम्बन्ध नराख्ने बाहिरी मामलाहरू हुन्। तर यी समस्याहरूमा सत्यता वास्तविकता संलग्न नभए नि यी साधारण समस्याहरूभन्दा जटिल हुन्छन्। यी कसरी जटिल हुन्छन्? उदाहरणको लागि, यी समस्याहरूमा कानुनी र सरकारी प्रावधानहरू संलग्न हुन्छन् वा यी मण्डलीभित्र रहेका केही मानिसहरूको सुरक्षासँग सम्बन्धित हुन्छन्, र यस्तै अन्य कुराहरू संलग्न हुन्छन्। यी सबै नै अगुवा र कामदारहरूले आफ्नो काममा सामना गर्ने समस्याहरू हुन्। उदाहरणको लागि, विदेशमा रहेर परमेश्वरमा विश्वास गर्दा, व्यक्ति जुनै देशमा रहे नि, मण्डलीका सबै काम र दाजुभाइ-दिदीबहिनीहरू जिउने वातावरणले स्थानीय सरकारी प्रावधानहरू पालना गर्नुपर्छ र त्यसमा स्थानीय नियम र नीतिहरू बुझ्नुपर्ने हुन्छ। ती मामलाहरूमा बाहिरी संसारहरूसँग अन्तरक्रिया गर्ने र बाहिरी मामलाहरूसँग व्यवहार गर्ने कार्य समावेश हुन्छ; ती मण्डलीका आन्तरिक व्यक्तिहरूका समस्याहरूको तुलनामा अझ बढी जटिल हुन्छन्। यो जटिलता कहाँ हुन्छ? यो मण्डलीका मानिसहरूलाई परमेश्वरमा समर्पित होओ, आज्ञाकारी होओ, सत्यता अभ्यास गर, बफादारीपूर्वक कर्तव्य निर्वाह गर, र सत्यता बुझ अनि मामलाहरूलाई सिद्धान्तहरूअनुसार सम्हाल मात्र भन्नुजस्तो सरल हुँदैन—यी कुराहरू भन्नु मात्रले समस्याहरू समाधान गर्दैन। बरु, त्यसमा त्यो देशको कानुन, नीति, र प्रावधानहरूकोहरेक पक्ष, अनि स्थानीय चलन र अभ्यासहरूलगायतका कुराहरूको बुझाइ आवश्यक हुन्छ। यी बाहिरी मामलाहरूमा कैयौँ कारकतत्त्वहरू समावेश हुन्छन्, र यसमा आकस्मिक समस्याहरू पैदा हुने अनि मण्डलीका सिद्धान्तहरू प्रयोग गरेर सम्बोधन गर्न कठिन हुने समस्याहरू देखा पर्ने गर्नु आम नै हुन्छ, र यी समस्याहरू उद्भव हुनु भनेकै कठिनाइ हुनु हो। उदाहरणको लागि, मण्डलीभित्र आन्तरिक रूपमा, यदि केही मानिसहरूले आफ्नो कर्तव्य झाराटारुवा रूपमा पूरा गरे भने, यी समस्याहरू सत्यता सङ्गति गरेर, काँटछाँट गरेर, वा सहयोग र साथ प्रदान गरेर समाधान गर्न सकिन्छ। तर बाहिरी रूपमा, के तैँले मामलाहरू सम्हाल्न यी सिद्धान्त र विधिहरू प्रयोग गर्न सक्छस् त? के यो तरिकाले त्यस्ता समस्याहरू समाधान गर्छ त? (गर्दैन।) त्यसोभए के गरिनुपर्छ? त्यस्ता समस्याहरू सम्हाल्न र तीप्रति जबाफी कदम चाल्न केही बुद्धिमानी विधिहरू प्रयोग गरिनुपर्छ। यी बाहिरी मामलाहरूसँग व्यवहार गर्ने प्रक्रियामा, परमेश्वरको घरले केही सिद्धान्तहरू पनि तय गरेको छ, तर यिनलाई चाहे जेजसरी व्याख्या गरे नि अझै हरप्रकारका कठिनाइहरू बारम्बार देखा परिरहन्छन्। किनभने यो संसार, यो समाज, र यो मानवजाति अत्यन्तै अँध्यारो र अत्यन्तै जटिल छ, र ठूलो रातो अजिङ्गरका दुष्ट शक्तिहरूको बाधाले गर्दा, यी बाहिरी मामलाहरूसँग व्यवहार गर्दा, केही अप्रत्याशित र थप कठिनाइहरू हुन्छन्। यी कठिनाइहरू देखा पर्दा, यदि तिमीहरूलाई “केवल परमेश्वरका प्रबन्धहरूमा समर्पित होओ, सबथोक परमेश्वरद्वारै योजनाबद्ध गरिएका हुन्छन्, यो समस्यालाई बस बेवास्ता गर” भनेर एउटा सरल सिद्धान्त मात्र दिइन्छ भने, के यसले समस्या समाधान गर्न सक्छ? (सक्दैन।) यदि समस्या समाधान गर्न सकिँदैन भने, दाजुभाइ-दिदीबहिनीहरूले कर्तव्य निर्वाह गर्ने वातावरणमा, अनि तिनीहरूको जिउने वातावरणमा बाधा हुन्छ, पिरलो हुन्छ र क्षति हुन्छ। के यसले समस्याहरू देखा पर्नतर्फ डोऱ्याउदैन र? तब के गरिनुपर्छ? के त्यसलाई उग्रताका साथ सम्बोधन गर्न सकिन्छ? पक्कै पनि सकिन्न। कतिले भन्छन्, “त्यसोभए के हामीले त्यसलाई कानुनी माध्यमले समाधान गर्न सक्छौँ?” धेरै कुराहरू कानुनद्वारा समाधान हुन सक्दैनन्। उदाहरणको लागि, के कानुनले ठूलो रातो अजिङ्गरले दखल र हस्तक्षेप गर्ने ठाउँहरूमा समस्याहरू समाधान गर्न सक्छ र? त्यहाँ त कानुनको कुनै प्रभाव नै हुँदैन। धेरै ठाउँहरूमा, कानुनलाई प्राय मानव शक्तिले उछिन्छ, त्यसैले कानुनमा भर परेर समस्याहरू समाधान गर्ने अपेक्षा नराख। तिनलाई समाधान गर्न मानव विधि र उग्रता प्रयोग गर्नु पनि उपयुक्त हुँदैन। त्यस्ता अवस्थामा अगुवा र कामदारहरूले के गर्नुपर्छ? के यी समस्याहरू देखा पर्दा शब्द र धर्मसिद्धान्तहरू मात्र फलाक्न सक्नेहरूले ती समाधान गर्न सक्छन् त? के यी विशेष रूपमा जटिल समस्याहरू होइनन् र? के तँलाई ती समाधान गर्न वकिल नियुक्त गरेर अदालत जानुले काम गर्छ जस्तो लाग्छ? के ती मानिसहरूले सत्यता बुझ्छन्? यो संसारमा तार्किकताको कुनै ठाउँ हुँदैन; कानुनी देशका न्यायाधीशहरूले पनि सधैँ कानुनअनुसार कार्य गर्दैनन्, बरु उल्टै, निष्पक्षविहीन भएर, आफ्नो फैसला को संलग्न छ भन्ने आधारमा समायोजित गर्छन्। यो संसारमा, जहाँसुकै होस्, मानिसहरू आफ्नो बोली प्रबल बनाउन बल र शक्तिमा भर पर्छन्। त्यसोभए, परमेश्वरमा विश्वास गर्ने हामीहरू केमा भर पर्ने त? हामीले परमेश्वरका वचनहरूअनुरूप, सत्यताअनुरूप मानिसहरूसँग व्यवहार गर्ने र मामलाहरू सम्हाल्ने गर्नुपर्छ। तर यदि हामी परमेश्वरका वचनहरू अनि सत्यतामा भर पर्यौ भने संसारमा हाम्रो लागि सबथोक सहज रूपमा अघि बढ्न सक्छ त? अहँ, सक्दैन; यसको लागि बुद्धि आवश्यक हुन्छ। त्यसैले, अगुवा र कामदारहरूले यस्ता समस्याहरू सामना गर्दा, यदि तिनीहरूलाई मामला अत्यन्तै महत्त्वपूर्ण छ र तिनीहरूले त्यसलाई अनुचित रूपमा सम्हाल्न सक्छन् र यसरी अप्रिय प्रभाव वा परिणामहरू ल्याउँदै परमेश्वरको घरमा समस्याहरू निम्त्याउन सक्छन् जस्तो लाग्छ भने, तिनीहरूको लागि त्यस्ता समस्याहरू कठिन हुन्छन्। तिनीहरूले समाधान गर्न नसक्ने कठिनाइहरू सामना गर्दा, तिनीहरूले तुरुन्तै माथि रिपोर्ट गर्नुपर्छ र समस्याहरू समाधान गर्न उपयुक्त विधिहरू खोज्नुपर्छ; अगुवा र कामदारहरूले गर्नुपर्ने भनेकै यही हो।
ख. कठिनाइहरू सामना गर्दा व्यक्तिसँग हुनुपर्ने सही दृष्टिकोण र मनोवृत्तिहरू
मैले तिमीहरूलाई यहाँ बताउनुपर्ने कुरा अगुवा र कामदारहरूप्रति मात्र नभई, उपस्थित सबैप्रति नै लक्षित छ—यो एउटा सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त हो। तिमीहरूले चाहे जुनसुकै ठाउँमा मण्डलीको काम, कर्तव्य वा सुसमाचार प्रचार गरिरहेका भए पनि चुनौतीहरू सधैँ आउनेछन्। परमेश्वरको आफ्नै कामसमेत कठिनाइहरूले गाँजिएको हुन्छ—के तिमीहरू सबैले यो तथ्य याद गरेका छौ? तिमीहरूलाई खास विवरणहरू थाहा नभए नि वा तिमीहरूले ती स्पष्ट रूपमा नबुझे नि, तिमीहरू सबै समग्र परिस्थितिबारे सचेत छौ। परमेश्वरको सुसमाचार फैलाउनु सहज हुँदैन, र तिमीहरू सबैले मानसिक रूपमा तयार हुनुपर्छ र यो कुरा महसुस गर्नुपर्छ। यो स्थापित तथ्य यहाँ प्रस्तुत गरिएको छ, त्यसैले सबैभन्दा उचित, सबैभन्दा समझदार, अनि सबैभन्दा सही हुन हामीले यी मामलाहरूप्रति कस्तो मनोवृत्ति अपनाउनुपर्छ? के भित्रभित्रै डरपोक र भयभीत हुनु सही हुन्छ? (हुँदैन।) डरपोक र भयभीत हुनु सही नभएकोले, के तिमीहरूमा स्वर्ग र पृथ्वीको डर नमान्ने, संसारको शत्रु बन्ने, अन्त्यसम्मै सम्पूर्ण संसारको प्रतिरोध गर्ने, र प्रवाह विपरीत जाने मनोवृत्ति र दृष्टिकोण हुनु सही हो त? (होइन।) यो सामान्य मानवताको चेतना हो, कि उग्रता हो? यी गलत दृष्टिकोणहरू सबै उग्रताका प्रतिविम्ब हुन्, वास्तविक आस्था होइनन्। त्यसोभए कस्ता प्रकारका दृष्टिकोण र मनोवृत्ति सही हुन्छन्? म केही तिमीहरूको लागि सूचिबद्ध गरिदिन्छु। मानिसहरूसँग पहिलो दृष्टिकोण यस्तो हुनुपर्छ: चाहे चीनमा भए नि वा विदेशमा भए नि सम्पूर्ण हृदयसाथ आफूलाई परमेश्वरप्रति समर्पित गर्नु र आफ्नो कर्तव्य निर्वाह गर्नु नै सारा मानवजातिमाझ प्राचीन समयदेखि वर्तमानसम्मको सबैभन्दा न्यायवान् अभियान हो। हाम्रो कर्तव्य निर्वाह खुला र स्पष्ट छ, गुप्त छैन, किनभने हामीले अहिले जे गरिरहेका छौँ, त्यो मानवजातिमाझको सबैभन्दा न्यायवान् अभियान हो। यो “न्यायवान्” ले के जनाउँछ? यसले सत्यता, परमेश्वरको इच्छा, सृष्टिकर्ताका प्रबन्ध र आज्ञाहरू जनाउँछ; यो मानव नैतिकता, नीति र कानुनभन्दा पूर्ण रूपमा माथि जान्छ, र यो सृष्टिकर्ताको अगुवाइ र हेरचाहमा गरिएको अभियान हो। के यो सबैभन्दा सही दृष्टिकोण होइन र? एक हिसाबले, यो दृष्टिकोण साँच्चै विद्यमान तथ्य हो; अर्को हिसाबले, यो व्यक्तिले पूरा गर्ने कर्तव्यको सबैभन्दा सही मान्यता पनि हो। मानिसहरूसँग दोस्रो दृष्टिकोणचाहिँ यस्तो हुनुपर्छ: परमेश्वर यावत् थोक र यावत् घटनाहरूमाथि सार्वभौम हुनुहुन्छ। संसारका शासक र संसारमा भएका कुनै पनि शक्ति, धर्म, सङ्गठन, र जातिलगायत यावत् थोक परमेश्वरकै हातद्वारा शासित र नियन्त्रित छन्—कसैको नियति पनि ऊ आफैको नियन्त्रणमा हुँदैन। हामी कुनै अपवाद होइनौँ; हाम्रो नियति परमेश्वरकै हातद्वारा शासित र नियन्त्रित छ, र हामी कहाँ जान्छौँ र कहाँ रहन्छौँ भन्ने कुरा कसैले परिवर्तन गर्न सक्दैन, न त कसैले हाम्रो भविष्य र गन्तव्य नै परिवर्तन गर्न सक्छ। यो ठ्याक्कै बाइबलले भनेजस्तै कुरा हो: “राजाको हृदय यहोवाको हातमा छ, पानीका नदीहरूजस्तै: उहाँले जता चाहनुहुन्छ यसलाई उतै फर्काउनुहुन्छ” (हितोपदेश २१:१)। हामी नगण्य मानवहरूको नियति त झन् कति बढी त्यस्तो होला! हामी बस्ने देशको शासकको नियम र प्रणाली, साथै यो देशको जिउने वातावरण, चाहे त्यो हामीप्रति त्रासदीपूर्ण र शत्रुवत् होस्, वा मैत्रीपूर्ण होस्—यो सब परमेश्वरको सार्वभौमिकतामुनि हुन्छ, र हामीले चिन्ता वा चासो लिनुपर्ने कुनै कुरा छैन। मानिसहरूले राख्नुपर्ने दृष्टिकोण र तिनीहरूसँग हुनुपर्ने सचेतना, साथै तिनीहरूसँग हुनुपर्ने र तिनीहरूले बुझ्नुपर्ने सत्यता यही हो। अनि तिनीहरूमा हुनुपर्ने तेस्रो दृष्टिकोणचाहिँ सबैभन्दा महत्त्वपूर्ण छ, र त्यो तेस्रो दृष्टिकोण यस्तो हुनुपर्छ: चाहे हामी जहाँ र जुनै देशमा जिऔँ, र हाम्रो सामर्थ्य वा क्षमता चाहे जेजस्तो नै होस्, तर हामी सृष्टि गरिएका नगण्य प्राणीहरूको भिडको एक हिस्सा मात्र हौँ। हामीले पूरा गर्नुपर्ने एक मात्र जिम्मेवारी र कर्तव्य भनेको सृष्टिकर्ताको सार्वभौमिकता, प्रबन्ध र योजनाबद्ध कार्यमा समर्पित हुने मात्र हो; यसमा अरू केही पनि छैन, यो त्यति सरल छ। हामी हाल एउटा स्वतन्त्र देश र स्वतन्त्र वातावरणमा भए नि, यदि एक दिन परमेश्वरले हामीलाई सताउन र हानि गर्न शत्रुवत् शक्ति उठाउनुभयो भने नि, हामीले कुनै गुनासा गर्नु हुँदैन। हामीले किन कुनै गुनासा गर्नु हुँदैन? किनभने हामी लामो समयदेखि तयार रहेका छौँ; हाम्रो दायित्व, जिम्मेवारी र कर्तव्य भनेको परमेश्वरले गर्नुहुने सबथोकमा, परमेश्वरले योजनाबद्ध गर्नुहुने सबथोकमा समर्पित हुनु हो। के यो समर्पण सत्यता हो? के यो मानिसहरूमा हुनुपर्ने मनोवृत्ति हो? (हो।) यदि एकदिन, सारा मानवजाति र सम्पूर्ण वातावरण हामी विरुद्ध गए, र हामीले मृत्यु सामना गऱ्यौँ भने, के हामीले गुनासा गर्नुपर्छ? (गर्नु हुँदैन।) कतिले भन्छन्, “के हामीले अबउप्रान्त शैतानको क्रूर सतावटको कष्ट नभोग्नुपरोस् भनेर नै परमेश्वरले हामीलाई विदेश डोऱ्याउनुभएको होइन र? के त्यो हामीले स्वतन्त्र रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न र स्वतन्त्रताको सास फेर्न सकौँ भनेर नै गरिएको होइन र? त्यसोभए परमेश्वरले किन अझै पनि हामीले मृत्यु सामना गरौँ भन्ने अभिप्राय राख्नुहुन्छ?” यी शब्दहरू सही होइनन्। परमेश्वरका योजनाबद्ध कार्यहरूमा अनि प्रबन्धहरूमा समर्पित हुनु एउटा मनोवृत्ति हो, यो परमेश्वरप्रति, परमेश्वरको सार्वभौमिकताप्रति मानिसहरूमा हुनुपर्ने मनोवृत्ति हो। यो एउटा सृजित प्राणीसँग हुनुपर्ने मनोवृत्ति हो।
मानिसहरूले महसुस गर्नुपर्ने अर्को अत्यन्तै महत्त्वपूर्ण कुरा छ: विदेश तुलनात्मक रूपमा स्थिर र स्वतन्त्र भए नि ठूलो रातो अजिङ्गरबाट बारम्बार हुने सतावटबाट जोगिन कठिन हुन्छ। ठूलो रातो अजिङ्गरको सतावट भोग्दा, कति मानिसहरू चिन्तित हुन्छन्: “ठूलो रातो अजिङ्गरको शक्ति अत्यन्तै ठूलो छ। त्यसले आफ्नो निम्ति सेवा प्रदान गराउन र आफ्नो पक्षमा काम गराउन संसारभरका महत्त्वपूर्ण व्यक्तित्वहरूलाई पैसा खुवाउन सक्छ। त्यसकारण, हामी विदेश भागे नि अझै खतरा र आसन्न जोखिममै छौँ! हामीले के गर्न सक्छौँ?” हरेकपटक समाचारका ती अंश सुन्दा, कति मानिसहरू चिन्तित र भयभीत बन्छन्, अनि सम्झौता गर्न र भाग्न चाहन्छन्, तिनीहरूलाई कहाँ लुक्ने भन्ने नै थाहा हुँदैन। जबजब यस्तो हुन्छ, तबतब कतिले सोच्छन्, “संसार कति विशाल छ, तैपनि मेरा लागि कुनै ठाउँ छैन! ठूलो रातो अजिङ्गरको शक्तिमुनि, मैले त्यसको सतावट भोग्छु, अनि त्यसको अख्तियारको दायराभन्दा बाहिरसमे, म किन त्यसद्वारा अझै पनि बाधित हुन्छु? ठूलो रातो अजिङ्गरको शक्ति अत्यन्तै ठूलो छ; संसारको अन्त्यसम्म भागे नि अझै किन त्यसले मलाई भेट्टाउन सक्छ?” मानिसहरूले भयभीत हुने र के गर्ने भनेर अनिश्चित हुनेबाहेक अरू केही गर्न सक्दैनन्। के यो आस्था हुनुको प्रकटीकरण हो? यहाँ समस्या के छ? (परमेश्वरमाथिको आस्थाको अभाव।) के यो परमेश्वरमाथिको आस्थाको अभाव मात्र हो त? के तिमीहरूले हृदयभित्र तिमीहरू अरूभन्दा कम छौ भन्ने महसुस गर्छौ? के तिमीहरू सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्दा र मण्डलीमा कर्तव्य निर्वाह गर्दा, चोरजस्तो अलिक गुप्ती महसुस गर्छौ? के तिमीहरू धर्मको संसारमा रहेकाहरूभन्दा अलिक नीचो महसुस गर्छौ? “तिनीहरूको शक्ति हेर त; तिनीहरूसँग आधिकारिक पाष्टर र राज्यद्वारा मान्यताप्राप्त भव्य गिर्जाघरहरू छन्, ती कति ऐश्वर्यपूर्ण छन्! तिनीहरूसँग विभिन्न देशमा गायनसमूह र व्यवसायहरू छन्। तर हामीलाई हेर त, हामी जहाँ गए नि सधैँ हेपिन्छौँ, बहिष्कृत हुन्छौँ—हामी तिनीहरूभन्दा किन फरक छौँ? हामी जहाँ गए नि यसबारे किन खुलस्त हुन सक्दैनौँ? हामी किन यति पीडित भएर जिउनुपर्ने? विशेषगरी, अनलाइनमा ती सब नकारात्मक भ्रामक प्रचारहरू मात्र छन्। यो किन अरू मण्डलीहरूले सहँदैनन्, हामीले नै किन जहिल्यै यी कुराहरूको कष्ट भोग्नुपर्ने? अरू विश्वासीहरू जहाँ गए नि, इसाई धर्ममाथिको आफ्नो आस्था खुला रूपमा दाबी गर्छन्, तर हामी सर्वशक्तिमान् परमेश्वरका विश्वासीहरू खुला रूपमा बोल्ने पनि आँट गर्दैनौँ, र खराब मानिसहरूले उजुरी गरिदेलान् र हामी पक्राउ पर्नेछौँ भनी डराइरहन्छौँ।” हालै, एउटा सरकारी अधिकारी हुँ भनेर दाबी गर्ने व्यक्तिले केही दाजुभाइ-दिदीबहिनीहरूलाई केही प्रश्नहरू सोध्यो भन्ने मैले सुनेँ। एउटा अधिकारीले आफूहरूलाई प्रश्न गरिरहेको देख्दा, तिनीहरू भयभीत भए र तिनीहरूले आफूलाई थाहा भएको सबै कुरा खोलिदिए, जे सुकै सोधिए नि जबाफ दिदिए। तिनीहरूले यसरी व्यवहार गर्दा त्यसमा समस्या के थियो? तँ परमेश्वरको विश्वासी होस्—तँ अधिकारीहरूसँग किन डराउनुपऱ्यो? यदि तैँले कुनै पनि गैरकानुनी कार्य गरेको छैनस् भने, डराउनुपर्ने कुनै कारण नै छैन। यदि तँसँग सत्यता छ भने, दियाबलस र शैतानहरूसँग किन डराउनुपऱ्यो? के तँलाई परमेश्वरमा विश्वास गर्नु सही मार्ग होइन जस्तो लाग्छ? के तँलाई आफूले केही गैरकानुनी कार्य गरेजस्तो लाग्छ? त्यसोभए तँ एउटा अधिकारीसँग किन डराउँछस्? के त्यस्ता मानिसहरू मूर्ख र अज्ञानी हुँदैनन् र? कति मानिसहरूले मूलभूमिमा अत्यन्तै ठूलो हदको खेदो र सतावट भोगे; विदेश आएपछि, के तिनीहरूले परमेश्वरमा विश्वास गर्नेबारे दोषी महसुस गर्छन्? के तिनीहरू ठूलो रातो अजिङ्गरको सतावटको कारण अपमानित महसुस गर्छन्? के तिनीहरू परमेश्वरमा विश्वास गरेर कर्तव्य निर्वाह गर्न विदेश भाग्न बाध्य भएकोमा आफ्ना पुर्खासामु जान लज्जित र बेइज्जत महसुस गर्छन्? के तिनीहरूले शैतानी शासन र धार्मिक समुदायहरूले परमेश्वर र मण्डलीलाई शत्रुवत् व्यवहार गरेको देखेर निकृष्ट, र सायद अपराध गरेभन्दा बढी कलङ्कित महसुस गर्छन्? के तिमीहरूमा यी भावनाहरू छन्? (छैनन्।) तिमीहरूले यी सोच र भावनाहरू खेलाउन नचाहेर, सतही रूपमा होइन भन्दै आफ्नो टाउको हल्लाउन सक्छौ, तर वास्तविक अवस्था सामना गर्दा, व्यक्तिको मानसिकता, उसको व्यवहार, र उसले गर्ने अचेतन व्यवहारहरूले अपरिहार्य रूपमै उसको हृदयका सबैभन्दा गहन, र लुकेका पक्षहरू खुलासा गरिदिन्छ। यहाँ के भइरहेको छ? यदि तिमीहरूमा यी कुराहरू छैनन् भने, तिमीहरू किन भयभीत छौ? के कानुन नतोडेको मानिस प्रहरीसँग डराउँछ? के ऊ न्यायाधीशसँग डराउँछ? डराउँदैन। कानुन तोडेकाहरू मात्र प्रहरीसँग डराउँछन्, र चिनियाँहरू, जसलाई प्रहरीले गर्ने दमनको बानी परिसकेको हुन्छ, तिनीहरू प्रहरीसँग सबैभन्दा बढी डराउँछन् किनभने चिनियाँ कम्युनिस्ट पार्टीको प्रहरी कानुनहीन हुन्छन् र जे मन लाग्यो त्यही गर्छन्। त्यसकारण, जब चिनिया मानिसहरू पहिलोपटक विदेश आइपुग्छन्, तिनीहरू प्रहरी देख्दा मात्र पनि डराउँछन्। यो ठुलो रातो अजिङ्गरको शासनले सन्त्रस्त पारिनुको नतिजा हो, यो तिनीहरूको अवचेतनमै प्रकट हुने कुरा हो। पश्चिमा देशहरूमा, तेरो स्थिति वैधानिक हुन्छ, तँसँग आवासीय अधिकार हुन्छ, तैँले कुनै पनि कानुन तोडेको हुँदैनस्, न त तैँले सरकारको विरोध नै गरेको हुन्छस्, र तैँले कुनै पनि अपराध गरेको हुँदैनस्। धार्मिक समुदायमा तेरो विश्वासले चाहे जति धेरै विवाद मच्चाए नि एउटा तथ्य निश्चित रहन्छ: तेरो आस्था कानुनी रूपमा सुरक्षित छ, त्यो वैधानिक र स्वतन्त्र छ, र यो तेरो वैध मानवअधिकार हो। तैँले कुनै पनि कानुन तोडेको हुँदैनस्, त्यसैले यदि कसैले प्रहरी अधिकारी भएको दाबी गर्छ र “के तिमी सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छौ? मलाई तिम्रो परिचयपत्र देखाऊ! तिमी कहाँबाट आएका हौ? तिमी कति वर्षको भयौ? तिमी कति वर्षदेखि विश्वासी रहिआएका छौ? तिमी कहाँ बस्छौ? मलाई तिम्रो ठेगाना भन!” भनेर तँलाई भन्छ भने, तैँले कसरी प्रतिक्रिया जनाउनेथिस्? “के तिमी सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छौ?” भन्ने पहिलो प्रश्नको जबाफ के भन्नेथिस्? (गर्छौँ।) तैँले “गर्छौँ” किन भन्नेथिस्? के यो तथ्यमा आधारित छ? कि यो तँलाई सोधिएको खण्डमा, नागरिकको रूपमा तैँले “गर्छौँ” भन्नुपर्ने तेरो जिम्मेवारी हो? कि तँलाई परमेश्वरले “गर्छौँ” भन्न निर्देशन दिनुभएको हो? तेरो आधार के हो? तिनीहरूले दोस्रो कुरा “मलाई तिम्रो परिचयपत्र देखाऊ!” भनेर भन्दा, के तैँले त्यो देखाउनेथिस्? (अहँ।) अनि तेस्रो कुरा छ: “तिमी कहाँ बस्छौ? तिम्रो ठेगाना लेख।” के तैँले त्यो लेखिदिनेथिस्? (अहँ।) चौथो प्रश्न छ: “तिमीले कति वर्षदेखि परमेश्वरमा विश्वास गरिआएका छौ? तिनीहरूको आस्थाबारे तिमीलाई कसले परिचय गरायो? तिमी किन विश्वास गर्छौ? तिमी विदेशमा भएको कति वर्ष भयो?” के तैँले यी कुराको जबाफ दिनेथिस्? (दिनेथिइन।) पाँचौँ प्रश्न छ: “तिमीले यहाँ के कर्तव्य निर्वाह गरिरहेका छौ? तिम्रो अगुवा को हो?” के तैँले यसको जबाफ दिनेथिस्? (अहँ।) किन नि? (म तिनीहरूलाई भन्न बाध्य छैनँ।) त्यसोभए पहिलो प्रश्नमै फर्किँऔँ: के तिमी सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छौ भनेर सोधियो भने, “गर्छौँ” भन्नेथ्यौँ भनेर तिमीहरू सबैले एकमत जाहेर गर्यौँ। के यसरी उत्तर दिनु सही हो? (होइन।) त्यो किन गलत हो त? (किनभने आस्था भनेको व्यक्तिगत स्वतन्त्रताको कुरा हो। त्यसमा प्रहरीलाई हस्तक्षेप गर्ने अधिकार छैन। त्यसकारण, मसँग तिनीहरूलाई नभन्ने अधिकार छ।) त्यसोभए तैँले तिनीहरूलाई किन भन्नेथिनस् त? (किनभने सुरुमा म, तिनीहरूले किन मलाई प्रश्न सोधिरहेका छन्, कुन हैसियतले प्रश्न गरिरहेका छन्, र तिनीहरूको प्रश्न वैधानिक छ कि छैन भनेर स्पष्ट हुनुपर्छ। यदि तिनीहरूको उद्देश्य र पहिचान अस्पष्ट छन् भने, म तिनीहरूको प्रश्नको उत्तर दिन बाध्य छैनँ।) यो भनाइ सही हो। सुरुमा, तिमीहरू सबैले आफ्नो उत्तर “गर्छौँ” भन्नेथ्यौँ भनेर बतायौ, तर मैले सोध्दै जाँदा, तिमीहरूलाई यसमा केही गडबड छ भन्ने लाग्न थाल्यो, र आफ्नो जबाफ गलत रहेको महसुस गर्यौ। के तिमीहरूले समस्या कहाँनेर थियो भनेर पहिचान गर्यौ त? यो मामलामा, तिमीहरूमा यस्तो बुझाइ हुनुपर्छ: हामीले परमेश्वरमा विश्वास गरेर कुनै पनि कानुन उल्लङ्घन गरेका छैनौँ, हामी अपराधी होइनौँ, हामीसँग हाम्रा मानव अधिकार र स्वतन्त्रता छन्। जो कोहीले हामीलाई मनपरी सोधपुछ गर्न र प्रश्न सोध्न सक्दैन। हामीलाई जसले प्रश्न सोधे नि हामीले साँचो रूपमा उत्तर दिनुपर्छ भन्ने हुँदैन, हामी त्यसो गर्न बाध्य छैनौँ। के यी शब्दहरू सही छन्? (छन्।) चाहे जोसुकै होस्, कसैले हामीलाई जथाभाबी सोधपुछ गर्नु गैरकानुनी हुन्छ; हामीले कानुन बुझ्नुपर्छ र आफ्नो सुरक्षा गर्न कानुन कसरी प्रयोग गर्ने भनी जान्नुपर्छ। परमेश्वरका चुनिएका मानिसहरूसँग हुनुपर्ने बुद्धि यही हो। त्यसोभए, तैँले भविष्यमा त्यस्तो अवस्था सामना गरिस् भने के गर्नेछस्? यदि कसैले तँलाई के तिमी सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छौ भनेर सोध्यो भने, तैँले कसरी प्रतिक्रिया जनाउनेछस्, त्यसलाई कसरी सम्हाल्नेछस्? तैँले सुरुमै “तिमी को हौ? तिमीले कुन अधिकारले मलाई यो सोधेको? के म तिमीलाई चिन्छु?” भनेर भन्नुपर्छ। यदि तिनीहरूले तिनीहरू कुनै सरकारी निकायका कर्मचारी हुन् भनेमा, तैँले तिनीहरूलाई प्रमाण देखाउन भन्नुपर्छ। यदि तिनीहरूले परिचय प्रमाणपत्र देखाउँदैनन् भने, तैँले “तिमी मसँग कुरा गर्न योग्य छैनौ, र म तिमीलाई उत्तर दिन बाध्य छैनँ। सरकारी कर्मचारीहरू धेरै छन्; के मैले तिनीहरू सबैलाई उत्तर दिनुपर्छ र? सरकारले मानिसहरूलाई निश्चित कार्यहरू सम्हाल्न नियुक्त गरेको हुन्छ—के तिमी साँच्चै यो मामलाको प्रभारी हौ? यदि तिमी हौ भने पनि, मैले कानुन तोडेको छैनँ, त्यसैले मैले किन तिमीलाई उत्तर दिनुपऱ्यो? मैले किन तिमीलाई सबथोक भन्नुपऱ्यो? यदि तिमीलाई मैले केही गल्ती गरेर कानुन तोडेको छु भन्ने लाग्छ भने, तिमी प्रमाण देखाउन सक्छौ। तर यदि मैले तिम्रो कुनै पनि प्रश्नको उत्तर दिऊँ भन्ने चाहन्छौ भने, गएर मेरो वकिलसँग कुरा गर। म तिमीलाई उत्तर दिन बाध्य छैनँ, र तिमीसँग प्रश्न सोध्ने अधिकार छैन।” जबाफ दिने यो विधि कस्तो छ? के यसले मर्यादा प्रदर्शन गर्छ? (गर्छ।) त्यसोभए तिमीहरूको जबाफले चाहिँ के देखायो? के त्यसले मर्यादा प्रदर्शन गर्यो? (गरेन।) तिमीहरूको तरिकाले जबाफ दिनुले कानुनको अज्ञानता देखाउँछ। तँ त बस अरूले सोधेका जुनसुकै प्रश्नहरूको उत्तर दिदिन्छस्, अनि अन्त्यमा के हुन्छ? तँ यहूदा बन्छस्। तैँले जथाभाबी उत्तर दिन सक्छस्, र त्यसको कारण यो हो कि: ठूलो रातो अजिङ्गरको देशका मानिसहरूलाई परमेश्वरका विश्वासीहरू अज्ञानी, निम्नवर्गका, र राज्यद्वारा सताइने मानिसहरू हुन्, र तिनीहरूले यो देशमा मानवअधिकार र मर्यादाबिना जिउनुपर्छ भनेर भुटिएको र मगज धुलाइ गरिएको हुन्छ; त्यसकारण, विश्वासीहरूले पनि आफै आफूलाई तल्लो हैसियतमा राख्छन्। पश्चिमा देशहरूमा आएपछि, तिनीहरूले मानवअधिकारहरू के हुन्, मर्यादा के हो, वा नागरिकका दायित्वहरू के हुन् भनी बुझ्दैनन्। त्यसैले, कसैले के तिमी परमेश्वरमा विश्वास गर्छौ भनेर सोध्दा, तँ डराएर हतारहतार स्विकार्छस्, र तिनीहरूलाई आफूलाई थाहा भएको सबथोक बताउँछस् र कद बिलकुलै देखाउँदैनस्। यो सब कसको कारण भएको हो? यो सब ठूलो रातो अजिङ्गरको भुटाइ र शासनको कारण भएको हो। मूलभूमि चिनमा रहेका सबैको अवचेतन गहिराइमा, एकपटक परमेश्वरमा विश्वास गरेपछि, तैँले समाजमा र मानवजातिमाझ सबैभन्दा तल्लो हैसियत ओगट्छस्, र तँ समाज र मानवजातिबाट अलग हुन्छस् भन्ने विचार हुन्छ। त्यसकारण, यी मानिसहरूमा मर्यादा, मानव अधिकार, र आफ्नो सुरक्षा गर्ने सचेतनाको अभाव हुन्छ; तिनीहरू मूर्ख र अज्ञानी हुन्छन् र तिनीहरूमा अन्तर्ज्ञान हुँदैन, जसले तिनीहरूलाई अरूले मनपरी हेप्ने र चालबाजी गर्ने तुल्याउँछ। तिमीहरूको मनस्थिति यस्तै छ। तँ परमेश्वरको गवाहीमा दृढ हुनुभन्दा धेरै टाढा छस्, तैँले कुनै पनि क्षण उहाँलाई घात गर्छस्, र तँ कुनै पनि क्षण यहूदा बन्छस्। त्यसैले, तँ मर्यादासाथ कसरी व्यवहार गर्न सक्छस् र? तैँले आफूलाई प्रश्न सोध्ने अपरिचित व्यक्तिलाई कसरी सामना गर्नुपर्छ? सुरुमा, तिमी को हौ भनेर सोध्, र त्यसपछि परिचय प्रमाण देखाउन भन्। यो उचित कानुनी प्रक्रिया हो। पश्चिमा देशहरूमा, प्रहरी वा अरू कुनै सरकारी कर्मचारीले, सरकारको तर्फबाट काम गर्ने प्रतिनिधिको रूपमा जनसाधारणसँग अन्तरक्रिया गर्दा, सुरुमा सधैँ आफ्नो परिचय प्रमाण देखाउँछन्। परिचय प्रमाणको आधारमा तिनीहरूको पहिचान पुष्टि गरेपछि, तैँले तिनीहरूका प्रश्नहरूको कसरी प्रतिक्रिया दिने वा तिनीहरूले तँबाट गरेका मागहरूप्रति कसरी व्यवहार गर्ने भनेर निर्णय गर्छस्। अवश्य नै, यो मामलामा तँसँग छनोटहरू गर्ने ठाउँ निश्चय नै हुन्छ, र तँसँग पूर्ण स्वायत्तता छ, र तँ कुनै कठपुतली होइनस्। तँ चिनियाँ नागरिक र सर्वशक्तिमान् परमेश्वरको मण्डलीको सदस्य भए नि, तँ आफूले आवास लिएको देशको वैधानिक र मान्यताप्राप्त सदस्य होस। तँसँग स्वायत्तता छ भन्ने कुरा नबिर्सी; तँ कुनै पनि देशको दास वा कैदी होइनस्, तँ यो देशको कानुन, मानवअधिकार, र प्रणालीहरूको उपभोग गर्न सक्ने व्यक्ति होस्।
मैले गरेको सङ्गतिको विषयवस्तुको आधारमा, तिमीहरूले अचानक आउने वातावरण र अप्रत्याशित घटनाहरू कसरी सामना गर्नुपर्छ? यो हामीले सङ्गति गर्न गइरहेको चौथो बुँदा हो—डरपोक नहुनु। कति मानिसहरूले सोध्छन्, “के डरपोक नहुनु भनेको मूर्खतापूर्ण दुस्साहससाथ कार्य गर्नु हो त?” होइन, डरपोक नहुनु भनेको कुनै पनि शक्तिसँग नडराउनु हो, किनभने हामी अपराधी होइनौँ, हामी दास होइनौँ; हामी त परमेश्वरका चुनिएका मर्यादित मानिसहरू हौँ, सृष्टिकर्ताको सार्वभौमिकतामा रहेका सृष्टि गरिएका मर्यादित मानवहरू हौँ। तैँले यो मामलाप्रति व्यवहार गर्दा, सर्वप्रथम, डरपोक नहो; साथै, सक्रिय रूपमा आफ्नो कर्तव्य अनि आफूले कर्तव्य गर्ने वातावरण कायम राख्, र हामीलाई निशाना बनाउने विभिन्न वातावरण र भनाइहरू, कार्यहरू, र विभिन्न शक्तिका अरू कुराहरूलाई सक्रिय मनोवृत्तिसाथ सामना पनि गर्। ती कुराहरूलाई सक्रिय रूपमा सामना गर्नु र डरपोक नहुनु—तिमीहरूलाई यो मनोवृत्ति कस्तो लाग्छ? (यो राम्रो छ।) यसरी जिउनु भनेको व्यक्तिको रूपमा मर्यादित रूपले जिउनु हो; यो अपमानजनक रूपमा झारा टारेर जिउनु होइन। हामी कर्तव्य निर्वाह गर्न विदेश आउँछौँ, पेट भर्न वा गुजारा गर्न होइन; हामीले कुनै कानुन तोडेका छैनौँ, कुनै देशको लागि समस्या सृजना गरेका छैनौँ, र हामी निश्चय नै कुनै देशको दास पनि होइनौँ। हामी परमेश्वरको घरभित्रै रहेर सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गरिरहेका छौँ; हामी आफ्नो सहारा आफै हुन्छौँ, अरूमा निर्भर हुँदैनौँ; यो पूर्ण रूपमा वैधानिक छ।
हामीले भर्खर छलफल गरेका चार बुँदाहरूमध्ये, प्रत्येक बुँदा नै अत्यन्तै महत्त्वपूर्ण छन्। पहिलो बुँदा के थियो? (चाहे विदेशमा भए नि वा चीनमा भए नि, सम्पूर्ण हृदयसाथ आफूलाई परमेश्वरप्रति समर्पित गर्नु र आफ्नो कर्तव्य निर्वाह गर्नु नै सारा मानवजातिमाझ प्राचीन समयदेखि वर्तमानसम्मको सबैभन्दा जायज अभियान हो। हाम्रो कर्तव्य निर्वाह खुला र स्पष्ट छ, गुप्त छैन, किनभने हामीले अहिले जे गरिरहेका छौँ, त्यो मानवजातिमाझको सबैभन्दा जायज अभियान हो।) अनि दोस्रो? (परमेश्वर यावत् थोक र यावत् घटनाहरूमाथि सार्वभौम हुनुहुन्छ। संसारका शासक र संसारमा भएको कुनै पनि शक्तिलगायत सबथोक परमेश्वरकै हातद्वारा शासित र नियन्त्रित छन्—कसैको नियति पनि ऊ आफैको नियन्त्रणमा हुँदैन। हामी कुनै अपवाद होइनौँ; हाम्रो नियति परमेश्वरकै हातद्वारा शासित र नियन्त्रित छ, र हामी कहाँ जान्छौँ र कहाँ रहन्छौँ भन्ने कुरा कसैले परिवर्तन गर्न सक्दैन, न त कसैले हाम्रो भविष्य र गन्तव्य नै परिवर्तन गर्न सक्छ। हामी बस्ने देशको शासन र प्रणाली जेजस्तो भए नि, साथै यो देशको जिउने वातावरण जस्तो भए नि, चाहे त्यो हामीप्रति त्रासदीपूर्ण, र शत्रुवत्, वा मैत्रीपूर्ण नै किन नहोस्—यो सब परमेश्वरको सार्वभौमिकतामुनि हुन्छ, र हामीले चिन्ता वा चासो लिनुपर्ने कुनै कुरा छैन।) तेस्रो बुँदा? (चाहे हामी जहाँ भए नि, र हाम्रो सामर्थ्यको क्षमता चाहे जेजस्तो भए नि, हामी सृष्टि गरिएका नगण्य प्राणीहरूको भिडको एउटा हिस्सा मात्र हौँ। हामीले पूरा गर्नुपर्ने एक मात्र जिम्मेवारी र कर्तव्य भनेको सृष्टिकर्ताको सार्वभौमिकता, प्रबन्ध र योजनाबद्ध कार्यमा समर्पित हुने मात्र हो; हामी हाल एउटा स्वतन्त्र देशमा भए नि, यदि एकदिन परमेश्वरले हामीलाई सताउन र हानि गर्न शत्रुवत् शक्ति उठाउनुभयो भने नि, हामीले कुनै गुनासो गर्नुहुँदैन। किनभने हाम्रो दायित्व, जिम्मेवारी, र कर्तव्य भनेको परमेश्वरले गर्नुहुने सबथोकमा, परमेश्वरले योजनाबद्ध गर्नुहुने सबथोकमा समर्पित हुनु हो।) चौथो बुँदा भनेको सबै बाहिरी मानिस, घटना र कुराहरूलाई भयरहित भएर सक्रिय रूपमा सामना गर्नु हो। यी चार बुँदाहरू भनेका कर्तव्य निर्वाह गर्नेहरू सबैसँग हुनुपर्ने मनोवृत्ति र बुझाइहरू हुन्, र ती कर्तव्य निर्वाह गर्नेहरू सबैले बुझ्नुपर्ने सत्यता पनि हुन। यी चार बुँदाहरू आज सङ्गति गरिएको अगुवा र सेवकहरूको आठौँ जिम्मेवारीसँग त्यति सम्बन्धित नभए नि, हामी कामका कठिनाइहरूबारे कुरा गरिरहेकाले, हामीले अझै पनि यी मामलाहरूलाई छुनुपर्छ; यो व्यर्थमा गरिने कुरा हुनेछैन।
ग. कठिनाइहरू सामना गर्दा अगुवा र सेवकहरूले अभ्यास गर्नुपर्ने सिद्धान्तहरू
कति अगुवा र कामदारहरू बाहिरी मामलाहरूमा सम्हाल्न निकै कठिन हुने समस्याहरू सामना गर्छन् र तिनीहरू असमञ्जसमा पर्छन्, र समस्याको जड छर्लङ्ग देख्न सक्दैनन्, न त तिनीहरूलाई त्यो कसरी सम्हाल्ने भनेर नै थाहा हुन्छ। तिनीहरू केवल त्यसलाई बेवास्ता गरिदिन्छन्, जसले गर्दा मामलामा ढिलाइ हुन्छ। यो कस्तो समस्या हो? यो झुटा अगुवाहरूले काम गर्न नसक्नु अनि ढिलाइ मात्र गर्नु हो। झुटा अगुवाहरूमा सामान्य व्यक्तिको समझ हुँदैन; तिनीहरूले समस्याहरू सम्हाल्न सक्दैनन्, तैपनि किन तिनीहरूले त्यो माथि रिपोर्ट गर्दैनन्? यदि तैँले माथि कुनै समस्या रिपोर्ट गरिस् भने, हामी सँगै त्यसको सामना गर्न सक्छौँ, अनि अन्ततः समस्या समाधान हुनेछ। तिमीहरूले छर्लङ्ग देख्न नसक्ने केही कुरा हुन्छन्; म तिमीहरूलाई ती विश्लेषण गर्न मद्दत गर्नेछु। हामीले कानुन वा सरकारी प्रावधानहरू तोडेनौँ भने, पार पाउनै नसकिने ठूलो समस्या हुँदैन। सत्यता सिद्धान्तहरू संलग्न समस्याहरूको हकमा, हामी आफै ती समाधान गर्छौँ; कानुन संलग्न समस्याहरूको हकमा, हामी मद्दतको लागि कानुनी परामर्श खोज्छौँ अनि कानुनी मध्यमबाट ती समाधान गर्छौँ। परमेश्वरको घरको काममा चाहे जुनै दुष्ट शक्तिले जानीजानी बाधा दिए नि र क्षति पुऱ्याए नि, एउटा कुरा याद राख: हामीले कानुन तोडेनौँ वा सरकारी प्रावधानहरू उल्लङ्घन गरेनौँ भने, हामीलाई कसैले केही गर्न सक्दैन। किनभने धेरैजसो विदेशी राष्ट्र प्रजातान्त्रिक छन् अनि कानुनद्वारा चल्छन्; दुष्ट शक्तिहरूले कानुनविरुद्ध कार्य गरे पनि, तिनीहरू पनि खुलासा र कानुनी कारबाहीसँग डराउँछन्। यो तथ्य हो। ठुलो रातो अजिङ्गरका दुष्ट हातहरूले परमेश्वरको घरको कामलाई जेजसरी बाधा दिए नि र क्षति पुऱ्याए नि, वा हाम्रो सामान्य जीवनलाई हैरान पारे नि, वा खराब काम गर्न कसैलाई पैसा दिए नि, हामीले फोटोहरू खिच्नैपर्छ र प्रामाणिक भिडियोहरू बनाउनैपर्छ, गम्भीरतासाथ सही अभिलेखहरू राख्नैपर्छ, अनि त्यसको समय, स्थान र संलग्न मानिसहरूको नाम स्पष्टसित लेखेर राख्नुपर्छ। सही समय आउँदा, हामी कानुनी माध्यममार्फत त्यो समाधान गर्नेछौँ, र हामीले त्यसको डर मान्नु आवश्यक हुँदैन। ठुलो रातो अजिङ्गरको दमन जति नै उन्माद भए नि, हामी त्योसँग डराउँदैनौँ किनभने परमेश्वर हाम्रो सहारा हुनुहुन्छ, र परमेश्वरले त्यसलाई नष्ट गर्न एकदिन विपत्तिहरू ल्याउनुहुनेछ, परमेश्वरले त्यसविरुद्ध सिधै प्रतिशोध लिनुहुनेछ, र हामीले केही पनि गर्नुपर्दैन। कहिलेकाहीँ तिमीहरू केही समस्या छर्लङ्ग देख्न सक्दैनौ; त्यो अवस्थामा, तिमीहरूले त्यसबारे तुरुन्तै माथि रिपोर्ट गर्नुपर्छ, अनि माथिबाट तँलाई मार्ग देखाइनेछ, ठूला समस्यालाई साना हुने र साना समस्यालाई समाधान हुने तुल्याउनेछ। वास्तवमा, धेरै समस्या सन्दर्भमा, तिमीहरूलाई ती कसरी विश्लेषण गर्ने भन्ने थाहा हुँदैन र तिमीहरू तिनको सार छर्लङ्ग देख्न सक्दैनौ, अनि परिस्थिति महत्त्वपूर्ण र गम्भीर छ भन्ठान्छौ, तर माथिको विश्लेषणपछि, त्यो मूलतः केही पनि हुँदैन; त्यो डर मान्नुपर्ने वा महत्त्वपूर्ण कुनै कुरा होइन भनेर तिमीहरू बुझ्नेछौ—केवल अहस्तक्षेपकारी शैली अपनाओ, अनि केही समयपछि समस्या आफै समाधान हुनेछ। दुष्ट शक्तिका बाधाहरूले ठुलो हलचल मच्चाउन सक्दैन; तिनीहरू सार्वजनिक रूपमा खुलासा भइन्छ भनेर सबैभन्दा बढी डराउँछन्, त्यसैले तिनीहरूले सीमा पार गर्ने आँट गर्दैनन्। यदि मुट्ठीभर मूर्खहरूले सीमा पार गर्ने दुस्साहस गर्छन् भने, हामी त्यसलाई कानुनी उपाय अपनाएर, कानुनी रूपमा समाधान गर्न सक्छौँ। यो सबै अगुवा र कामदारहरूले छर्लङ्गै देख्नुपर्ने कुरा हो। तिमीहरूले जेजस्तो परिस्थिति सामना गरे नि, भ्रमित या मूर्ख रूपमा कार्य गर्नु बिलकुलै हुँदैन। यदि तँ कुनै परिस्थिति छर्लङ्गै देख्न वा सम्हाल्न सक्दैनस् भने, तैँले तुरुन्तै त्यसबारे माथि रिपोर्ट गर्नुपर्छ र माथिलाई तँलाई सल्लाह र रणनीतिहरू प्रदान गर्न दिनुपर्छ। एकमात्र वास्तविक डर भनेको झुटा अगुवाहरू समस्याहरू छर्लङ्गै देख्न वा सम्हाल्न सक्दैनन्, तैपनि त्यसबारे माथि रिपोर्ट गर्ने वा जानकारी दिने गर्दैनन्; तिनीहरू परिस्थिति बिग्रेर त्यसले काममा ढिलाइ नगरेसम्म माथि रिपोर्ट नगरी कुरिबस्छन्, जसले गर्दा समस्या सम्हाल्ने सर्वोत्तम अवसर गुम्ने सम्भावना हुन्छ। यो त क्यान्सर भएको तर समयमा त्यसको उपचार नगर्ने व्यक्तिजस्तै हो, जो क्यान्सरको अन्तिम चरणमा मात्र उपचार गराउन अस्पताल जान्छ, तर त्यतिबेला निकै ढिलो भइसकेको हुन्छ र ऊ मृत्यु कुरेर बस्न मात्र सक्छ। यसरी, झुटा अगुवाहरूले आफ्नो कामका मामलाहरूमा ढिलाइ गर्ने सबैभन्दा बढी सम्भावना हुन्छ। झुटा अगुवाहरू मानसिक रूपमा असक्त हुन्छन्, तिनीहरू दुष्ट हुन्छन्, परमेश्वरको घरको कामको न त जिम्मेवारी लिन्छन् न त परिपालन नै गर्छन्। झुटा अगुवाहरू एकदमै समझ नभएका बेकामका, विनाशका अग्रदूत र मूर्ख हुन् भनेर किन भन्ने त? कारण त्यही हो। परमेश्वरको घरको काममा थप ढिलाइ हुन नदिन, बाहिरी मामलाहरूसमेत सम्हाल्न नसक्ने यस्तो कमजोर क्षमता भएको कुनै झुटो अगुवालाई तुरुन्तै बर्खास्त गर्नु र हटाउनुपर्छ, र फेरि कहिल्यै प्रयोग गर्नु हुँदैन। झुटा अगुवाहरूको काम सबैभन्दा बढी अवरोधकारी हुन्छ। प्रायः कुनै समस्या उत्पन्न हुँदा, सबैसँग समयमै परामर्श गरेर त्यसको समाधान गर्न सकिन्छ; एकमात्र चिन्ता के हो भने, प्रभारी झुटो अगुवा मानसिक रूपमा असक्त हुन्छ, ऊ त्यो समस्या आफै समाधान गर्न असक्षम हुन्छ र पनि ऊ निर्णयकर्ता समूहसँग त्यसबारे छलफल गर्ने वा माथि रिपोर्ट गर्ने गर्दैन, र समस्या बेवास्ता गर्ने, ढाकछोप गर्ने र दबाउने मनोवृत्ति अपनाउँछ—मामलाहरू सबैभन्दा बढी ढिलाइ गराउने कुरा यही हो। यदि मामलामा ढिलाइ भयो र परिस्थितिहरू परिवर्तन भए भने, त्यसले समस्या सम्हाल्ने पहल गुम्ने स्थितिमा पुऱ्याउन सक्छ, निष्क्रिय अवस्था पुऱ्याउन सक्छ। यसले के प्रमाणित गर्छ? कतिपय कुरामा ढिलाइ गर्न मिल्दैन र तिनलाई तुरुन्तै पहिलो मौकामै सम्हाल्नुपर्छ। तर झुटा अगुवाहरू यसबारे सचेत हुँदैन, त्यसैले अत्यन्तै कमजोर क्षमताका व्यक्तिहरूले बिलकुलै अगुवाइ गर्नु हुँदैन। झुटा अगुवाहरूलाई केही शब्द र सिद्धान्त फलाक्न मात्र आउँछ तर तिनीहरू कुनै वास्तविक समस्या समाधान गर्न सक्दैनन्; तिनीहरू केवल कि त मानिसहरूलाई हानि गर्छन् कि चाहिँ ढिलाइ गराउँछन्। यी झुटा अगुवाहरूलाई बर्खास्त गरेर जिम्मेवारीको बोझ र बोध हुने व्यक्तिहरूलाई अगुवा र कामदार हुन छनोट गरे मात्र मण्डलीको कामले सामान्य रूपमा प्रगति गर्न सक्छ। तैँले जे समस्याहरू सामना गरे नि सत्यता खोज्न सकिस् भने, ती समाधान गर्ने तरिका हुन्छ। बाहिरी मामलाहरू र ठुलो रातो अजिङ्गरले गराउने बाधाहरू आवश्यक परेमा कानुनी उपायमार्फत सुल्झाउन सकिन्छ, त्यो कुनै ठुलो कुरा होइन। हामीले कानुन तोडेनौँ वा सरकारी प्रावधानहरू उल्लङ्घन गरेनौँ भने, हामीलाई कसैले केही गर्न सक्दैन, र यो आत्मविश्वास भएकोले, हामीले शैतान वा दियाबलसहरूबाट आउने कुनै पनि बाधासँग डर मान्नुपर्दैन।
अब, झुटा अगुवाहरूको समस्या चिरफार गर्नुपर्छ र बुझ्नुपर्छ। मण्डलीको काम राम्ररी गर्नका लागि यो अत्यन्तै महत्त्वपूर्ण छ! अब हामी, झुटा अगुवाहरूले आफैले समाधान गर्न नसक्ने समस्याहरू सामना गर्दा, किन अझै पनि तीबारे माथिलाई रिपोर्ट गर्दैनन् भन्नेबारे सङ्गति गरौँ। हामीले यसलाई कसरी हेर्नुपर्छ? तिमीहरू सबैले यसलाई विश्लेषण गरेर यसबाट फाइदा लिन सक्छौ। झुटा अगुवाहरूले वास्तविक काम नगर्ने समस्या पहिले नै गम्भीर छ, तर झनै बढी गम्भीर समस्या छ: जब मण्डलीमा दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूबाट बाधा आइपर्छ, तब झुटा अगुवाहरूले त्यो नसम्हाल्ने मात्र होइनन्; अझ खराब कुरा त के हो भने तिनीहरू त्यसबारे माथि रिपोर्ट गर्न पनि असफल हुन्छन्, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई मण्डली बिथोल्न दिन्छन्—तिनीहरू सुरक्षित रूपमा छेउबाट हेर्छन्, कसैलाई चिढ्याउँदैनन्। मण्डलीको कामलाई जुनै हदसम्म बाधा पुगे नि झुटा अगुवाहरू वास्ता गर्दैनन्। यहाँ समस्या के हो? के त्यस्ता झुटा अगुवाहरू अत्यन्तै नैतिकता छैन? त्यस्ता झुटा अगुवाहरूलाई निष्कासित गर्न यो तथ्य एक्लै पर्याप्त छ। झुटा अगुवाहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई स्वतन्त्र रूपमा मण्डली बिथोल्न दिनु भनेको मण्डली र परमेश्वरका चुनिएका मानिसहरूलाई यी दुष्ट मानिस र ख्रीष्टविरोधीहरूको हातमा सुम्पनु, र दुष्ट मानिस अनि ख्रीष्टविरोधीहरूको ढालको रूपमा काम गर्नुसमान हो। यसले मण्डलीको काममा अत्यन्तै ठुलो क्षति पुऱ्याउँछ! यो कुरा मात्रैको आधारमा, सवाल झुटा अगुवाहरूलाई बर्खास्त गर्नुपर्छ कि पर्दैन भन्ने होइन, तर तिनीहरूलाई हटाउनुपर्छ कि पर्दैन भन्ने हो। यीमध्ये कुनचाहिँ बढी गम्भीर प्रकृतिको हुन्छ: झुटा अगुवाहरूले वास्तविक काम नगर्नु कि झुटा अगुवाहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई मण्डली बिथोल्न दिनु? वास्तविक काम नगर्नुले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेश र मण्डलीको कार्य प्रगतिमा असर गर्न सक्छ; यसले पहिले नै महत्त्वपूर्ण मामलाहरूमा ढिलाइ गराइसकेको हुन्छ। तर जब झुटा अगुवाहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई मनमानी ढङ्गले मण्डली बिथोल्न दिन्छन्, समाधान खोज्ने वा माथि रिपोर्ट गर्ने गर्दैनन्, तब परिणामहरू अकल्पनीय बन्छन्। कम्तीमा पनि, दुष्ट मानिस र ख्रीष्टविरोधीहरूले मण्डली जीवन पूर्ण रूपमा अस्तव्यस्त र अव्यवस्थित पार्छन्, र त्यसअलावा, मण्डलीको काम बिग्रन्छ र ठप्पसमेत हुन्छ। के यसले सुसमाचार प्रचारमा सिधै असर गर्दैन र? परिणामहरू वास्तवमै गम्भीर हुन्छन्! त्यसैले, यदि झुटा अगुवाहरूले यस्तो गल्ती गरे भने, तिनीहरूलाई निष्कासित गर्नैपर्छ। सधैँ धेरै अगुवा र कामदारहरूसँग समस्याहरू माथि रिपोर्ट गर्नेबारे फरक सोच र धारणाहरू हुन्छन्। कतिले भन्छन्, “माथि समस्या रिपोर्ट गरे नि ती समाधान नहुन सक्छन्।” यो बेतुके कुरा हो! तैँले “ती समाधान नहुन सक्छन्” भन्नुको अर्थ के हो? तैँले ती समाधान गर्न सक्दैनस् भन्दैमा माथिले सक्दैन भन्ने होइन। यदि माथिले तँलाई मार्ग दिन्छ भने, वास्तवमा समस्या मूलतः समाधान हुन्छ; यदि माथिले मार्ग प्रदान गर्दैन भने, तँसँग मार्ग हुँदैन। तँ यो सानो मामिला पनि छर्लङ्ग देख्न सक्दैनस्; तँ अत्यन्तै अहङ्कारी र आत्मधर्मी छस्! कतिले त यस्तो पनि भन्छन्, “जब हामी कठिनाइ वा समस्याहरू सामना गर्छौँ, तब हामीले सुरुमा केही दिन मनन गर्नुपर्छ, अनि आफूले साँच्चै समाधान भेट्टाउन सकेनौँ भने मात्र रिपोर्ट गर्नुपर्छ।” यस्तो भन्नेहरूसँग केही समझ भएझैँ लाग्न सक्छ, तर के यी मनन गर्ने दिनहरूले ढिलाइ गराउने सम्भावना हुँदैन र? के तँ केही दिनको मननले समस्या समाधान हुनेछ भनेर निश्चित हुन सक्छस्? के तँ त्यसले थप ढिलाइ गराउनेछैन भनेर ग्यारेन्टी दिन सक्छस्? कति अरूले भन्छन् “यदि हामीले कुनै समस्या तुरुन्तै रिपोर्ट गऱ्यौँ भने, के माथिले हामी यो सानो समस्या पनि छर्लङ्ग देख्न सक्दैनौँ भनी सोच्नेछैन र? के तिनीहरूले हामीलाई मूर्ख र अज्ञानी भनेर काटछाँट गर्नेछैनन् र?” तिनीहरूले यसो भन्नु गलत हो—तैँले समस्या रिपोर्ट गरे नि नगरे नि तेरो क्षमताको गुणस्तर पहिले नै स्पष्ट छ; माथिलाई त्यो सबै थाहा छ। के तँलाई तैँले कुनै समस्या रिपोर्ट गरिनस् भने माथिले तँलाई उच्च मान्नेछ भन्ने लाग्छ? यदि तैँले समस्या रिपोर्ट गरिस् भने, र त्यसले महत्त्वपूर्ण मामलाहरूमा ढिलाइ गराएको छैन भने, परमेश्वरको घरले तँलाई जबाफदेही बनाउनेछैन। तर यदि तैँले रिपोर्ट गरिनस् र त्यसले ढिलाइ गराउँछ भने, तँलाई सीधै जिम्मेवार ठहराइनेछ, र तँलाई फेरि कहिल्यै प्रयोग नगर्ने गरी तुरुन्तै बर्खास्त गरिनेछ। परमेश्वरका चुनिएका मानिसहरूले पनि तँलाई अज्ञानी, मूर्ख, मन्दबुद्धि र मानसिक रूपमा असक्त व्यक्तिको रूपमा हेर्नेछन्, र तँलाई घृणा गर्नेछन् र सधैँको लागि तिरस्कार गर्नेछन्। समस्याहरू रिपोर्ट गरेको कारण माथिले काँटछाँट गर्छ र हेयको दृष्टिले हेर्छ भनेर सधैँ डर मान्नेहरू कमजोर क्षमताका र सबैभन्दा मूर्ख हुन्छन्; तिनीहरूलाई फेरि कहिल्यै प्रयोग नगर्ने गरी बर्खास्त गरिनुपर्छ। त्यस्तो कमजोर क्षमता हुनु, तैपनि अझै इज्जत जोगाउन खोज्नु—के त्यो अत्यन्तै लज्जास्पद कुरा होइन र? मलाई भन् त, आफ्नो काम राम्ररी नगर्ने, अनि त्यसमाथि महत्त्वपूर्ण मामलाहरूमा ढिलाइसमेत गराउने झुटा अगुवाहरू घृणास्पद हुँदैनन्? के तिनीहरूलाई बर्खास्त गरिनुपर्छ? (पर्छ।) यदि तिनीहरूले ठूलो समस्या सामना गरे र तिनीहरूले ढिलाइ नगराई वा गम्भीर परिणामहरू नल्याई त्यसबारे तुरुन्तै रिपोर्ट गर्न सक्छन् भने, त्यस्ता अगुवाहरूलाई कसरी हेरिनुपर्छ? कम्तीमा पनि तिनीहरूसँग समझ छ र तिनीहरूले मण्डलीको काममा साथ दिन सक्छन् भनेर मान्न सकिन्छ। के त्यस्ता अगुवाहरूलाई प्रयोग गर्न निरन्तरता दिइरहनुपर्छ? पर्छ। मानसिक रूपमा सबैभन्दा असक्त अगुवाहरू मात्र काँटछाँट गरिने डरले समस्याहरू रिपोर्ट गर्न डराउँछन्। के त्यस्ता अगुवाहरूलाई भविष्यमा अझै पनि प्रयोग गर्न सकिन्छ? मलाई लाग्छ तिनीहरूलाई उप्रान्त प्रयोग गर्न सकिँदैन, किनभने तिनीहरूलाई प्रयोग गर्दा अति नै ढिलाइ हुनेछ। अहिले सम्ममा, तिमीहरू सबैजनाले यसप्रकारका समस्याहरू छर्लङ्गै देख्न सकेको हुनुपर्छ, होइन र? जब तिमीहरूले आफूले सम्हाल्न नसक्ने समस्याहरू सामना गर्छौ, तब तिनलाई तुरुन्तै रिपोर्ट गर र समाधानको लागि निर्णयकर्ता समूहसँग सङ्गति गर। यदि निर्णयकर्ता समूहले तिनलाई सम्हाल्न सक्दैन भने, तीबारे तुरुन्तै माथि रिपोर्ट गर; यो कुरा र त्यो कुराबारे चिन्ता नलेओ, तुरुन्तै समस्या समाधान गर्न सक्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। भर्खरै उल्लेख गरिएको उदाहरण सबै मण्डलीहरूमा घटित हुने कुरा हो; यी कठिनाइ र समस्याहरू आइपरिरहन्छन्। मण्डलीका केही आन्तरिक कठिनाइहरूको तुलनामा, यी बाहिरी समस्याहरूमा अझ बढी गम्भीर परिणामहरू संलग्न हुन्छन्। त्यसकारण, मण्डलीका आन्तरिक समस्याहरूको तुलनामा बाहिरी मामलाहरूको कठिनाइ अलिक बढी नै हुन्छ। यदि तिमीहरूले बाहिरी समस्याहरू सामना गर्यौ भने, तिनलाई परामर्शद्वारा तुरुन्तै समाधान गर्नुपर्छ वा माथि रिपोर्ट गर्नुपर्छ; यो अत्यावश्यक छ। यसरी अभ्यास गरेर मात्र हामीले मण्डलीको कामको सामान्य प्रगति सुनिश्चित गर्न र राज्यको सुसमाचार फैलने कुरा अवरोध नुहुने प्रत्याभूति दिन सक्छौँ। मण्डलीका बाहिरी मामलाहरू सम्हाल्ने सिद्धान्तहरूबारे हाम्रो सङ्गति यत्ति नै हो।
हरेक मण्डलीमा, कमजोर क्षमता भएका केही मानिसहरू हुन्छन्, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा जहिल्यै कठिनाइहरू सामना गर्छन्, तिनीहरूसँग सत्यताबारे जेजसरी सङ्गति गरिए नि तिनीहरूले अभ्यासका सिद्धान्तहरू भेट्टाउन सक्दैनन्, र बिनाकुनै वास्तविक प्रभावकारिता अन्धाधुन्ध नियमप्रावधानहरू मात्रै लागु गरिरहन्छन्। त्यस्ता अवस्थाहरूमा, यी मानिसहरूका कर्तव्यहरू पुनः निर्धारण गरिनुपर्छ। कर्तव्यको यो पुनः निर्धारण भनेको व्यक्तिहरूको पुनः खटनपटन हो। उदाहरणको लागि, कुनै महत्त्वपूर्ण काममा कुनै व्यक्ति खटाइएको छ, तर उसको काममा केही यस्ता समस्याहरू छन् जसलाई तैँले ऊसँग जेजसरी सङ्गति गरे नि समाधान गर्नै सकिँदैन। तैँले त्यो समस्याको सार वा त्यो व्यक्ति अझै पनि प्रयोगलायक छ कि छैन भनेर छर्लङ्गै देख्न सक्दैनस्, अनि अवलोकन र थप सङ्गतिले पनि कुनै नतिजा निकाल्दैन। त्यो व्यक्तिले काममा धेरैपटक ढिलाइ नगराउने भए नि, अत्यन्तै महत्त्वपूर्ण कुराहरू कहिल्यै समाधान हुँदैनन्, र त्यसले तँलाई अलिक असहज महसुस गराउँछ। तैँले यस्तो कुरा सामना गर्दा के गर्नुपर्छ? यो एउटा अत्यन्तै महत्त्वपूर्ण कुरा हो। यदि तँ आफै यसलाई समाधान गर्न सक्दैनस् भने, तैँले सङ्गति, चिरफार, र विश्लेषण गर्नको लागि यसलाई अगुवा र कामदारहरूको भेलामा ल्याउनुपर्छ। यदि अन्ततः एकमतमा पुग्न सकिन्छ भने, समस्या समाधान हुनेछ। यदि यसरी अभ्यास गर्दा समस्या समाधान हुँदैन भने, त्यो लम्बिँदै जाँदा, के त्यसले महत्त्वपूर्ण मामलाहरूमा ढिलाइ गराउन सक्छ? यदि सक्छ भने, तैँले सक्दो चाँडो यसबारे माथि रिपोर्ट गर्नुपर्छ र समाधान खोज्नुपर्छ। छोटकरीमा भन्दा, तैँले आफ्नो काममा चाहे जेजस्ता अन्योलता र कठिनाइहरू सामना गरे नि, तिनले परमेश्वरका चुनिएका मानिसहरूलाई कर्तव्य पूरा गर्नमा असर गर्न सक्छन् भने वा तिनले मण्डलीको कामको सामान्य प्रगति बिथोल्न सक्छन् भने, ती समस्याहरू तुरुन्तै समाधान गरिनुपर्छ। यदि तैँले कुनै समस्या आफै समाधान गर्न सक्दैनस् भने, यसलाई समाधान गर्न तैँले सत्यता बुझ्ने केही मानिसहरू खोज्नुपर्छ। यदि यसले पनि काम गरेन भने, तैँले समाधान खोज्न त्यो समस्यालाई अघि ल्याउनुपर्छ र तीबारे माथि रिपोर्ट गर्नुपर्छ। यो अगुवा र सेवकहरूको जिम्मेवारी र दायित्व हो। अगुवा र कामदारहरूले आफूले सामना गर्ने जुनसुकै कठिनाइ वा अन्योलताहरूलाई गम्भीर रूपमा लिनुपर्छ, त्यत्तिकै केही शब्द र सिद्धान्त प्रचार गर्ने, दाजुभाइ-दिदीबहिनीहरूलाई तताउन नाराहरू फलाक्ने, वा तिनीहरूलाई काँटछाँट गर्ने अनि समस्या र कठिनाइहरू पत्ता लगाएपछि त्यो निराकरण भइहाल्यो भन्ठान्ने गर्नु हुँदैन। कहिलेकाहीँ शब्द र सिद्धान्तहरूले केही सतही समस्याहरू समाधान गर्न सक्छ, तर अन्त्यमा त्यसले जड समस्याहरू समाधान गर्न सक्दैन। जड, भ्रष्ट स्वभाव, अनि मानिसहरूका धारणा र कल्पनाहरू संलग्न समस्याहरूलाई परमेश्वरका वचनहरूमा आधारित सत्यताको सङ्गतिद्वारा समाधान गरिनुपर्छ। यहाँ मानिसहरूका व्यक्तिगत कठिनाइहरू पनि हुन्छन्, वातावरणसँग सम्बन्धित समस्याहरू, र कर्तव्य निर्वाह गर्नको लागि आवश्यक पेसागत ज्ञानसँग सम्बन्धित समस्याहरू पनि हुन्छन्; यी सबै व्यावहारिक समस्याहरू अगुवा र कामदारहरूद्वारै समाधान गरिनुपर्छ। यी समस्याहरूमध्ये, अगुवा र कामदारहरूले समाधान गर्न नसक्ने कुनै पनि अन्योलता र कठिनाइहरूलाई कि त चिरफार, विश्लेषण र समाधान गर्नको लागि अगुवा र कामदारहरूको भेलामा ल्याउनुपर्छ, कि त समाधानको लागि सत्यता खोज्न सीधै माथि रिपोर्ट गर्न सकिन्छ। यसलाई नै वास्तविक काम गर्नु भनिन्छ, र यसरी वास्तविक काम गर्ने तालिम प्राप्त गरेर मात्र व्यक्तिको कद बढ्न सक्छ र अनि मात्र उसले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ। अगुवा र सेवकहरूमा जिम्मेवारीबोध भएसम्म, तिनीहरूले कुनै पनि समय र स्थानमा समस्याहरू पहिचान गर्नेछन्; र तिनीहरूले हरदिन समाधान गर्नुपर्ने समस्याहरू हुन्छन्। उदाहरणको लागि, मैले भर्खरै कसैले तँलाई के तँ सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छस् भनेर सोध्छ भन्ने एउटा घटना उल्लेख गरेँ, अनि तिमीहरू सबैजना अन्योल पऱ्यौ। सुरुमा, सबैले हामी “गर्छौँ” भन्नेथ्यौँ भन्यौ, तर पछि केहीले त्यो सही प्रतिक्रिया होइन भन्यौ, र अरूले थाहै छैन भन्यौ; हरप्रकारको जबाफ आएको थियो। अन्त्यमा, अगुवा र कामदारहरू पनि यस्तो सोच्दै चकित भएका थिए, “म परमेश्वरमाथि विश्वास ‘गर्दिनँ’ भन्नु त अरूसामु परमेश्वरलाई इन्कार गर्नु हुनेथ्यो, र त्यसपछि परमेश्वरले हामीलाई अनुमोदन गर्नुहुन्थेन—तर परमेश्वरमा विश्वास ‘गर्छु’ भन्नुको परिणाम के हुनेथ्यो? दुवै छनोट गलत देखिन्छ।” अगुवा र कामदारहरूलाई यो समस्या कसरी समाधान गर्ने भन्ने थाहा भएन र तिनीहरूले निर्णय गर्न सकेनन्; त्यसकारण, जब दाजुभाइ-दिदीबहिनीहरूले फेरि यस्ता अवस्था सामना गर्छन्, तिनीहरूमा सही दृष्टिकोण र मनोवृत्ति अझै पनि हुनेछैन, र समस्याहरू अझै पनि समाधान नभई रहिरहनेछन्, मतलब अगुवा र कामदारहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरेका हुनेछैनन् र आफ्ना कर्तव्यहरू बेवास्ता गरेका हुनेछन्। आफ्ना कर्तव्यहरू बेवास्ता गर्नु भनेको सामर्थ्य र क्षमताको समस्या हो, तर त्यस्ता समस्याहरू देखा पर्दा, तँलाई ती समाधान भएका छैनन् भन्ने थाहा हुन्छ भने, तैँले के गर्नुपर्छ? तैँले तिनलाई बेवास्ता गर्ने वा मामला दबाएर त्यो सेलाओस् भनेर त्यतिकै छोड्नु हुँदैन, र यसरी सबैलाई स्वतन्त्र र मनपरी रूपमा कार्य गर्न दिनु हुँदैन। बरु, तैँले त्यसबारे तुरुन्तै माथि रिपोर्ट गर्नुपर्छ, र त्यस्तो अवस्थामा चालिनुपर्ने उपयुक्त कदम र अभ्यास मार्ग खोज्नुपर्छ। अनि अन्त्यमा, सबैजनालाई यी अवस्थाहरूमा परमेश्वरका अभिप्रायहरू के हुन्छन्, मानिसहरूले कस्ता सिद्धान्तहरू कायम राख्नुपर्छ, र तिनीहरूले कस्ता मनोवृत्ति र अडानहरू अपनाउनुपर्छ भन्ने कुरा बुझाउनुपर्छ। त्यसपछि, भविष्यमा फेरि त्यस्ता अवस्थाहरू सामना गर्दा, तिनीहरूले सत्यता सिद्धान्त बुझ्नेछन् र तिनीहरूसँग अभ्यास मार्ग हुनेछ। यसरी, अगुवा र कामदारहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्छन्। त्यसोभए तिमीहरूलाई के तिमीहरू सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छौ भनेर सोधियो भने, तिमीहरूले सुरुमा “गर्छु” भन्नेथ्यौँ भनेर किन भन्यौ त? यसको एउटा कारण छ: अगुवा र कामदारहरूले त्यस्ता समस्याहरू कसरी समाधान गर्ने भनेर तिमीहरूसँग कहिल्यै सङ्गति गरेका छैनन्। तिनीहरूले तिनलाई साना मामला ठान्छन्, जसमा सबैको आआफ्नै बुझाइ हुन्छ, र जहाँ सबैले आफूलाई मन परेअनुसार बुझ्न र उपयुक्त लागेअनुसार अभ्यास गर्न सक्छन्। त्यसकारण, जब तिमीहरूलाई यो प्रश्न सोधियो, हरप्रकारका जबाफहरू आए। अब, के तिमीहरू यो मामलाबारे निष्कर्षमा पुगेका छौ त? यदि कसैले तँलाई के तँ सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छस् भनेर सोध्यो भने तैँले के गर्नुपर्छ? सुरुमा, ऊ को हो भनेर सोध्। दोस्रोमा, उसलाई उसको पहिचान पत्र देखाउन भन्। यदि उसले तँलाई अरू व्यक्तिगत प्रश्नहरू सोध्यो भने, कुनै उत्तर नदे। यदि उसले पहिचान पत्र देखायो भने पनि, उसलाई केही नभन्, किनभने यो तेरो व्यक्तिगत गोपनीयता हो। तैँले कति वर्षदेखि परमेश्वरमा विश्वास गरिआएको छस्, तँलाई सुसमाचार कसले प्रचार गऱ्यो, तैँले कहाँकहाँ कर्तव्य निर्वाह गरेको छस्, तेरो आस्था कति बलियो छ, तैँले आफ्नो भावी मार्ग कसरी छनोट गर्छस्, तैँले सत्यता कसरी पछ्याउँछस् र प्राप्त गर्छस्—कुनै अपरिचितलाई हामीले त्यत्तिकै बताउनको लागि यी मामलाहरू अति अमूल्य छन्। ऊसँग यस्ता महत्त्वपूर्ण जानकारीबारे सोधपुछ गर्ने कुनै अधिकार हुँदैन। यदि अगुवा र कामदारहरूले यस्ता समस्याहरू समाधान गर्न सक्दैनन् भने, तिनीहरूले समाधानहरू खोज्न र प्रतिक्रिया जनाउने उपयुक्त तरिकाहरू सोध्न तुरुन्तै यसबारे माथि रिपोर्ट गर्नुपर्छ। माथिले तेरो उपहास गर्नेछैन; धेरै भए, तिनीहरू तँ मूर्ख छस् मात्र भन्नेछन्। जे भए नि समस्या समाधान गर्न सक्नु नै सर्वोत्तम नतिजा हो।
आज, अगुवा र कामदारहरूको आठौँ जिम्मेवारी सन्दर्भमा—काममा सामना गरिने अन्योलता र कठिनाइहरू समाधान गर्न तुरुन्तै रिपोर्ट अनि खोजी गर्ने भन्ने सन्दर्भमा—हामीले मुख्यतः अन्योलता र कठिनाइहरूमा के समावेश हुन्छ, साथै अगुवा र कामदारहरूले यी समस्याहरू सामना गर्दा तिनलाई कसरी सम्हाल्नु र समाधान गर्नुपर्छ, अनि यी मामलाहरूप्रति कसरी व्यवहार गर्नुपर्छ भनी सङ्गति गऱ्यौँ। यी समस्याहरू सामना गर्दा झुटा अगुवाका प्रकटीकरणहरू केके हुन्छन् भन्ने सन्दर्भमा, हामी त्यो भाग यसपछिको सङ्गतिमा समेट्नेछौँ।
मार्च २७, २०२१