अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८)

विषयवस्तु आठ: काममा सामना गरिने अन्योलता र कठिनाइहरूलाई तुरुन्तै रिपोर्ट गर्ने र कसरी समाधान गर्ने भनेर खोजी गर्ने (भाग दुई)

यसअघि, हामीले अगुवा र कामदारहरूका जिम्मेवारीको आठौँ विषयवस्तुबारे सङ्गति गऱ्यौँ: “काममा सामना गरिने अन्योलता र कठिनाइहरूलाई तुरुन्तै रिपोर्ट गर्ने र कसरी समाधान गर्ने भनेर खोजी गर्ने।” विषयवस्तु आठ एक हरफ मात्र छ, र यसले आधारभूत रूपमा अगुवा र कामदारहरूलाई तिनीहरूको जिम्मेवारी सन्दर्भमा केवल एउटै मात्र मापदण्ड दिन्छ, र त्यो एकदम सरल छ, तैपनि हामीले यो विषयबारे सङ्गति गर्दै पूरै एउटा भेला बितायौँ। हामीले यसअघि यो विषयका कुनकुन पक्षहरूबारे खास रूपमा सङ्गति गऱ्यौँ त? यसले छुने अगुवा र कामदारहरूका मुख्य जिम्मेवारीहरू केके हुन् त? (यो कि, अन्योलता र कठिनाइहरू सामना गर्दा तिनीहरू भेला हुनुपर्छ र सङ्गति गर्नुपर्छ, र यदि तिनीहरूले तीबारे सङ्गतिमार्फत स्पष्टता प्राप्त गर्न सक्दैनन् भने, तिनलाई कसरी समाधान गर्ने भनेर तुरुन्तै खोजी गर्नुपर्छ र माथि रिपोर्ट गर्नुपर्छ।) यो विषयवस्तुले अगुवा र कामदारहरूको छुने मुख्य जिम्मेवारी भनेको काममा सहभागी हुनु, र आफूलाई वास्तविक कामका विभिन्न विषयवस्तुमा तल्लीन राख्नु हो, ताकि व्यक्तिले काममा सामना गरिने विभिन्न समस्याहरू पत्ता लगाउन, र तिनलाई समयमै समाधान गर्न सकोस्। यदि विभिन्न विधिहरू अपनाइएको छ, र पनि अझै समस्याहरू पूर्ण रूपमा समाधान हुन सक्दैनन् भने, र ती अझै रहिरहन्छन् र ती अन्योलता र कठिनाइहरू बन्छन् भने, अगुवा र कामदारहरूले ती अन्योलता र कठिनाइहरूलाई जम्मा हुन दिने वा तिनलाई एकातिर पन्छाउने वा बेवास्ता गर्ने गर्नु हुँदैन, बरु त्यसको सट्टा तिनलाई समाधान गर्ने तरिका तुरुन्तै सोच्नुपर्छ। तिनलाई समाधान गर्ने सर्वोत्तम तरिका भनेको, अवश्य नै, ती समस्याहरूको समाधानसम्‍म पुग्न, दाजुभाइ-दिदीबहिनीहरूसँग र साथसाथै विभिन्न तहका अगुवा र कामदारहरूसँग खोजी र सङ्गति गर्नु हो। यदि ती समस्याहरू समाधान गर्न सकिँदैन भने, अगुवा र कामदारहरूले ठूला समस्याहरूलाई सानाझैँ बनाउने, र त्यसपछि साना समस्याहरूलाई समस्या नै होइनझैँ बनाउने, वा तिनलाई एकातिर पन्छाएर बेवास्ता मात्रै गर्ने गर्नु हुँदैन, बरु त्यसको सट्टा तीबारे तुरुन्तै माथि रिपोर्ट गर्नुपर्छ र माथिबाट समाधान खोज्नुपर्छ ताकि ती समाधान हुन सकुन्। यसरी, काम कुनै कठिनाइ र अवरोधहरूबिना सहज रूपमा अघि बढ्नेछ।

काममा सामना गरिने अन्योलता र कठिनाइहरूलाई अगुवा र कामदारहरूले तुरुन्तै रिपोर्ट र समाधान गर्नुपर्छ

अ. “तुरुन्तै” को परिभाषा

अगुवा र कामदारहरूको जिम्मेवारीको आठौँ विषयवस्तुले काममा सामना गरिने अन्योलता र कठिनाइहरू तुरुन्तै रिपोर्ट गर्ने कुरा उल्लेख गर्छ—यो अत्यन्तै महत्त्वपूर्ण छ। यदि कुनै समस्या आज पत्ता लागेको छ, तर त्यो समाधान गर्न आठदश दिन, वा छ महिना वा एक वर्षै ढिलो गरिन्छ भने, के त्यसलाई “तुरुन्तै” भन्न सकिन्छ? (अहँ, सकिँदैन।) त्यसोभए, “तुरुन्तै” को अर्थ के हो त? (त्यसको अर्थ समस्यालाई तत्कालै, झट्टै, र चाँडै सम्हाल्नु हो।) के त्यो अलिक कठोर हुँदैन र? यदि हामी त्यसलाई वर्णन गर्न समयसँग सम्बन्धित शब्दावली प्रयोग गर्छौँ भने, “तुरुन्तै” भनेको समस्यालाई तत्कालै, झट्टै, र अहिल्यै समाधान गर्नु भन्‍ने हुन्छ, तर यी शब्दहरूको शाब्दिक अर्थलाई हेर्दा, मानिसहरूलाई यो हासिल गर्न सजिलो हुँदैन, र यो यथार्थपरक हुँदैन। त्यसैले, “तुरुन्तै” भन्ने शब्दलाई सही रूपमा परिभाषित गर्न हामीले त्यसलाई कसरी परिभाषित गर्नुपर्छ? यदि समस्या ठुलो छैन तर त्यसले अझै पनि काममा अवरोध पुऱ्याउँछ, र यदि त्यसलाई केही घण्टाभित्रै समाधान गर्न सकिन्छ भने, त्यसलाई केही घण्टाभित्रै समाधान गर्नुपर्छ—के यसलाई तुरुन्तै मान्न सकिन्छ? (सकिन्छ।) मानौँ कि समस्या अलिक जटिल र कठिन छ, र त्यसलाई दुईतीन दिनभित्र समाधान गर्न सकिन्छ, तर मानिसहरूले सत्यता खोज्ने प्रयास गर्दै, अझ बढी जानकारी खोतलेर त्यसलाई एक दिनमै समाधान गर्न लागिपर्छन् रे—के त्यो कामको लागि अझ बढी फाइदाजनक हुन्थेन र? मानौँ अहिले नै छर्लङ्ग देख्न नसकिने कुनै समस्या छ, र त्यसको लागि अनुसन्धान र शोध आवश्यक छ रे। त्यसले केही समय लिनेछ र यो विशिष्ट समस्या समाधान हुन बढीमा तीन दिन लाग्छ रे। यदि त्यसले तीन दिनभन्दा बढी लिन्छ भने, त्यसको समाधानमा जानीजानी ढिलाइ भइरहेको छ भन्ने शङ्का उत्पन्न हुन्छ, र त्यसको अर्थ समय खेर गइरहेको हुन्छ। त्यसैले, त्यो समस्याबारे रिपोर्ट गरिनुपर्छ, खोजी गरिनुपर्छ, र त्यसलाई तीन दिनभित्रै समाधान गरिनुपर्छ। “तुरुन्तै” को अर्थ यही हो। यदि त्यो समस्या समाधान गर्न एकपछि अर्को तहको सम्पर्क र अनुसन्धान, साथसाथै एकपछि अर्को तहको जानकारी सङ्कलन, र आदि इत्यादि आवश्यक हुन्छ भने—यदि ती विविध प्रक्रियाहरू निकै जटिल हुन्छन् भने—त्यो अझै पनि एक महिनासम्म लम्बिनु हुँदैन। मानौँ कि अगुवा र कामदारहरूले हतार गरे, अझ चाँडो काम गरे, र केही उपयुक्त मानिसहरूलाई छनोट गरी प्रयोग गरे, यो समस्या एक हप्ताभित्र समाधान हुन सक्छ रे, तब त्यो अवस्थामा “तुरुन्तै” भनेको समस्याको समाधानलाई एक हप्तामै सीमित गर्नु हो। त्यो समस्या समाधान गर्न एक हप्ताभन्दा बढी लगाउनु अनुपयुक्त हुन्छ—त्यो तुरुन्तै होइन। त्यस्ता तुलनात्मक रूपमा जटिल मामलाहरू सम्हाल्ने समयसीमा त्यही हो। त्यो समयावधि के कुरामा आधारित हुन्छ? त्यो मामलाको आकार र त्यसको कठिनाइको स्तरको आधारमा निर्धारित हुन्छ। तर पेसागत सीपसँग सम्बन्धित समस्या वा मानिसहरू सिद्धान्तका मामलाहरूबारे अस्पष्ट हुनेजस्ता धेरैजसो समस्याहरूलाई केही वाक्यले नै समाधान गर्न सकिन्छ—ती समस्याका समाधानहरूलाई कति समयावधिमा सीमित गरिनुपर्छ ताकि तिनलाई “तुरुन्तै” मान्न सकियोस्? यदि हामी “तुरुन्तै” लाई मामलाको आकार र कठिनाइको स्तरको आधारमा परिभाषित गर्छौँ भने, धेरैजसो मामलाहरूलाई आधा दिनभन्दा पनि कम समयमा समाधान गर्न सकिन्छ, तीमध्ये निकै कमलाई मात्र सायद बढीमा एक हप्ता आवश्यक पर्न सक्छ; यदि कुनै नयाँ समस्या देखा पर्छ भने, त्यो अर्कै मामला हो। त्यसकारण, यदि हामीले “तुरुन्तै” लाई तत्कालै, झट्टै, र अहिल्यै भनेर परिभाषित गर्छौँ भने, यो यी शब्दहरूको शाब्दिक अर्थद्वारा मूल्याङ्कन गरेर मानिसहरूबाट कठोर माग गर्नुजस्तै देखिन्छ, तर समयसीमा हेर्दा, यदि मानिसहरूले तुरुन्तै रिपोर्ट गरेर ती समस्या कसरी समाधान गर्ने भनेर खोजी गरे भने, अधिकांश मामलाहरू आधा दिन वा बढीमा एक दिनमा समाधान गर्न सकिन्छ। के यसलाई समयको हिसाबले कठिन मान्न सकिन्छ? (सकिँदैन।) अनि यो समयको हिसाबले कठिन नभएकोले, काममा सामना गरिने अन्योलता र कठिनाइहरूलाई तुरुन्तै रिपोर्ट गर्ने र कसरी समाधान गर्ने भनेर खोजी गर्नु अगुवा र कामदारहरूको लागि सजिलो मापदण्ड हुनुपर्छ, र यी अन्योलता र कठिनाइहरू निरन्तर रहिरहने र समाधान नहुने हुनु हुँदैन, र लामो समयसम्‍म तिनलाई काममा जम्मा हुनेगरी त्यतिकै छोड्नु त झनै हुँदैन। तिमीहरू सबैलाई अब “तुरुन्तै” को समय-अवधारणा थाहा भएको हुनुपर्छ—यो मामला काममा सामना गरिने अन्योलता र कठिनाइहरू सम्हाल्दा अगुवा र कामदारहरूले समयावधिलाई कसरी मापन गर्नुपर्छ भन्ने मामला हो। छोटकरीमा भन्दा, “तुरुन्तै” को सबैभन्दा सही परिभाषा भनेको सकेसम्म चाँडो कार्य गर्नु हो—अर्थात्, यदि समस्याबारे रिपोर्ट गर्न, खोजी गर्न र समाधान गर्न आधा दिनभित्र सकिन्छ भने, त्यसै गर्नु हो, र यदि त्यसलाई एक दिनभित्र समाधान गर्न सकिन्छ भने, त्यसै गर्नु हो—र यसरी ढिलाइ नगर्न र काममा असर पर्न नदिन लागिपर्नु हो। अगुवा र कामदारहरूको जिम्मेवारी यही हो। जब काममा समस्याहरू सामना गरिन्छ र पत्ता लगाइन्छ, अगुवा र कामदारहरूले तीबारे तुरुन्तै सङ्गति गर्नुपर्छ र तिनलाई समाधान गर्नुपर्छ। यदि तिनीहरूले ती समाधान गर्न सक्दैनन् भने, तिनलाई एक छेउमा पन्छाउनु, बेवास्ता गर्नु, र गम्भीरतापूर्वक नलिनुको सट्टा, सक्दो चाँडो तीबारे रिपोर्ट गर्नुपर्छ र माथिबाट तिनलाई कसरी समाधान गर्ने भनेर खोजी गर्नुपर्छ। जब समस्याहरू देखा पर्छन्, ढिलाइ गर्नु, कुर्नु वा अरूमा भर पर्नुको सट्टा अगुवा र कामदारहरूले तिनलाई तुरुन्तै समाधान गर्नुपर्छ—अगुवा र कामदारहरूले त्यस्ता प्रकटीकरणहरू देखाउनु हुँदैन।

आ. समस्याहरू तुरुन्तै समाधान नगर्नुका दुष्परिणामहरू

समस्याहरू समाधान गर्ने मुख्य सिद्धान्त भनेकै के हो भने, तिनलाई तुरुन्तै समाधान गरिनुपर्छ। तिनलाई किन तुरुन्तै समाधान गरिनुपर्छ? यदि धेरै समस्याहरू देखा पर्छन् र तिनलाई तुरुन्तै समाधान गर्न सकिँदैन भने, एक हिसाबले मानिसहरू एउटा अन्योलताको स्थितिमा अड्किनेछन् र तिनीहरूलाई कसरी कार्य गर्ने भनेर थाहै हुनेछैन, र अर्को हिसाबमा, यदि मानिसहरूले गलत विधिमा आधारित भएर अघि बढ्न जारी राखे भने, र पछि तिनीहरूले आफूले गरेको काम फेरि गर्नु र सच्याउनुपऱ्यो भने, तब परिणामहरू के हुनेछन्? एउटा ठूलो परिमाणको जनशक्ति, आर्थिक स्रोतसाधन, र भौतिक स्रोतसाधन खेर गएको र सिध्याइएको हुनेछ—यो क्षति हो। यदि काममा समस्याहरू देखा पर्छन्, र अगुवा र कामदारहरू अन्धा भएर ती समस्याहरू तुरुन्तै पत्ता लगाउन र समाधान गर्न असक्षम हुन्छन् भने, धेरै मानिसहरू गलत विधिमै आधारित भएर काम गर्न जारी राख्नेछन्। जब मानिसहरूले ती समस्याहरू पत्ता लगाउँछन् र तिनलाई समाधान गर्न र सच्याउन चाहन्छन्, ती समस्याहरूले मण्डलीको कामलाई पहिल्यै क्षति पुऱ्याइसकेका हुनेछन्। के ती सबै जनशक्ति र ती आर्थिक स्रोतसाधन अनि भौतिक स्रोतसाधन खेर गएका हुनेछैनन् र? के त्यस्ता क्षति हुनु र अगुवा र कामदारहरूले समस्याहरू तुरुन्तै समाधान नगर्नुबीच कुनै सम्बन्ध छ? (छ।) यदि अगुवा र कामदारहरूले काममा अनुगमन, सुपरिवेक्षण, निगरानी र निर्देश प्रदान गर्न सक्छन् भने, तिनीहरूले समस्याहरू तुरुन्तै पत्ता लगाउन र समाधान गर्न बिलकुलै सक्नेछन्। यदि अगुवा र कामदारहरू लापरवाह छन्, र तिनीहरूले काममा अनुगमन, सुपरिवेक्षण, निगरानी र निर्देश प्रदान गर्ने गर्दैनन् भने, यदि तिनीहरू यो हिसाबमा निकै निष्क्रिय हुन्छन् भने, र तिनीहरूले अति धेरै समस्याहरू आइपरुन्जेल कुर्छन् र तिनीहरूले तिनलाई समाधान गर्नेबारे सोच्नुअघि नै, र तीबारे माथिलाई रिपोर्ट गरी माथिबाट समाधानहरू खोजी गर्नेबारे सोच्नुअघि नै मामला नियन्त्रणबाहिर गइसकेको हुन्छ भने, के त्यस्ता अगुवा र कामदारहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरेका हुन्छन् त? (हुँदैनन्।) यो कर्तव्यको गम्भीर अवहेलना हो; त्यस्ता अगुवा र कामदारहरूले समस्या समाधान नगरेका मात्र हुँदैनन्, बरु उल्टै परमेश्‍वरको घरको जनशक्ति र भौतिक स्रोतसामाग्रीमा क्षति पुऱ्याएका, साथसाथै मण्डलीको काममा अत्यन्तै ठूलो अवरोध सृजना गरेका समेत हुन्छन्। अगुवा र कामदारहरूको कर्तव्यप्रतिको अवहेलना, बेवास्ता, बोधोपन, र मन्द-बुद्धिपनले गर्दा, र तिनीहरूले काममा देखा पर्ने धेरै समस्याहरू तुरुन्तै पत्ता लगाउन र समाधान गर्न नसकेको कारण, र तीबारे माथिलाई तुरुन्तै रिपोर्ट गर्न अनि माथिबाट समाधानहरू खोज्नसमेत नसकेको कारण, धेरै कार्यहरू फेरि गरिनुपर्ने हुन्छ, र ती फेरि गरिसकिएपछि पनि सिद्धान्तहरू खोज्न नसकिएको कारण झन् धेरै समस्याहरू देखा पर्छन्। कामकुराहरू यसरी नै अघि बढ्दा, काम पूरा हुने मिति अत्यन्तै पछाडि सर्छ, र पूरा हुन एक महिना लिनुपर्ने कार्यले तीन महिना लिन्छ, र पूरा हुन तीन महिना लिनुपर्नेले आठनौ महिना लिन्छ—यो कुरा अगुवा र कामदारहरूले वास्तविक काम नगर्नुसँग सीधै सम्बन्धित छ। अगुवा र कामदारहरूले आफ्नो कामको जिम्मेवारी नलिने हुनाले—अर्थात्, तिनीहरूले समस्याहरू देखा पर्दा तिनलाई तुरुन्तै भेट्टाउन र सच्याउन नसक्ने हुनाले—कामका विभिन्न कुराहरू नतिजा हासिल गर्न असफल भइरहन्छन् र अचल स्थितिमा रहिरहन्छन्। अनि यो समस्याको सीधा जिम्मेवार को हुन्छ? (अगुवा र कामदारहरू।) त्यसकारण, अगुवा र कामदारहरूले वास्तविक काम गर्नु अत्यन्तै महत्त्वपूर्ण छ, र तिनीहरूले वास्तविक काम गर्दैगर्दा समस्याहरू पता लगाउनु पनि अत्यन्तै महत्त्वपूर्ण छ। कहिलेकाहीँ अगुवा र कामदारहरूले समस्याहरू पत्ता लगाउँछन् तर तिनीहरूलाई ती कसरी समाधान गर्ने भन्ने थाहै हुँदैन, र पनि तिनीहरूले तिनलाई समाधान गर्न तीबारे तुरुन्तै माथि रिपोर्ट गर्न र माथिबाट हल खोज्न सक्छन्, जुन अझ बढी महत्त्वपूर्ण छ। धेरै अगुवा र कामदारहरूले यस्तो सोच्छन्, “काम गर्ने हाम्रो आफ्नै तरिका छ। माथिले हामीलाई केवल सिद्धान्तहरू भनिदिनुपर्छ र बाँकी वास्तविक काम हामी आफै गर्नेछौँ। यदि हामीले कुनै कठिनाइहरू सामना गऱ्यौँ भने, मुनि हामीले सँगै सङ्गति र प्रार्थना गर्नु मात्र नै पर्याप्त हुन्छ।” समस्या समाधान गर्ने कार्यको सबल पक्षहरू, वा तिनीहरूका हलहरू पूर्ण र प्रभावकारी छन् कि छैनन् भन्ने सन्दर्भमा, तिनीहरू एकनास रूपमै यी कुराहरूबारे वास्ता वा सोधपुछ गर्दैनन्। काम गर्दा तिनीहरूले पाल्ने गैरजिम्मेवार खाले मनोवृत्ति यही हो, र अन्ततः यसको अर्थ मण्डलीमा कामका सबै कुराहरू सहज रूपमा अघि बढ्न सक्दैनन्, र तिनमा गम्भीर समस्याहरू हुन्छन् जुन समाधान हुँदै हुँदैनन्। अगुवा र कामदारहरूको अत्यन्तै कमजोर क्षमताले, वा तिनीहरूले जिम्मेवारी नलिनु र वास्तविक काम नगर्नुले ल्याएको नतिजा यही हो।

आठौँ जिम्मेवारीको आधारमा केही प्रकारका झुटा अगुवाहरूको चिरफार

अ. झुटा अगुवाहरू जो नक्कली रूपमा आत्मिक हुन्छन्

यसअघि, हामीले अन्योलता र कठिनाइहरू के हुन् भनेर सङ्गति गऱ्यौँ, र तुरुन्तै रिपोर्ट गरिनुपर्ने र तुरुन्तै समाधान खोजिनुपर्ने विशिष्ट समस्याहरूलाई परिभाषित गऱ्यौँ। आधारभूत रूपमा, दुई मुख्य प्रकारका समस्याहरू हुन्छन्। एउटा प्रकार भनेको काममा हुने ती समस्याहरू हुन् जसबारे मानिसहरू अनिश्‍चित हुन्छन् वा जसलाई तिनीहरूले छर्लङ्ग देख्न सक्दैनन्। यी समस्याहरूको हकमा मानिसहरूलाई सिद्धान्तहरू बोध गर्न निकै कठिन लाग्छ। तिनीहरूले धर्मसैद्धान्तिक रूपमा सिद्धान्तहरू बुझ्न सके नि ती कसरी अभ्यास वा लागू गर्ने तिनीहरूलाई थाहै हुँदैन। यी समस्याहरू अन्योलतासँग सम्बन्धित हुन्छन्। अर्को प्रकार भनेको वास्तविक कठिनाइ र समस्याहरू हो, जुन मानिसहरूलाई कसरी समाधान गर्ने भनेर थाहै हुँदैन। यो प्रकार अन्योलताको तुलनामा अलि बढी गम्भीर हुन्छ, र यी समस्याहरू पनि अगुवा र कामदारहरूले रिपोर्ट गरेर समाधान खोज्नुपर्ने समस्याहरू हुन्। यसअघि, हामीले मुख्यतः काममा सामना गरिने समस्याहरूलाई रिपोर्ट गर्नु र तिनलाई कसरी समाधान गर्ने भनेर खोजी गर्नु अगुवा र कामदारहरूको जिम्मेवारी हो भनेर सङ्गति गऱ्यौँ, र हामीले अगुवा र कामदारहरूले गर्नुपर्ने र ध्यान दिनुपर्ने निश्‍चित कामकुराहरूबारे सकारात्मक दृष्टिकोणबाट सङ्गति गऱ्यौँ। आज, हामी आठौँ विषयवस्तु सन्दर्भमा झुटा अगुवाहरूमा केके प्रकटीकरणहरू हुन्छन्, र तिनीहरूले अगुवाहरूले गर्नुपर्ने काम गर्छन् कि गर्दैनन् र पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्छन् कि गर्दैनन् भनी चिरफार गर्नेछौँ। काममा सामना गरिने समस्याहरू समाधान गर्ने कुरा आउँदा, यसमा झुटा अगुवाहरू निश्‍चित रूपमै योग्य हुँदैनन्; तिनीहरू कामको यो पक्ष निर्वाह गर्न चुक्छन् र यो जिम्मेवारी पूरा गर्न असक्षम हुन्छन्। अनि एकप्रकारको झुटो अगुवा छ जसले काम गर्दा यस्तो सोच्दै धारणा पाल्छ, “म काम गर्दा ती औपचारिकतामा संलग्न हुँदिनँ, न त म ज्ञान, सिकाइ, सीप, वा वादजस्ता कुराहरूलाई नै ध्यान दिन्छु। भेलाहरूमा म आफूले परमेश्‍वरका वचनहरूका सत्यता स्पष्ट रूपमा सङ्गति गर्ने सुनिश्‍चित मात्रै गर्छु, र त्यो पर्याप्त छ। हरेक हप्ता म साना समूहहरूको लागि दुइटा भेला राख्छु, हरेक दुई हप्तामा म अगुवा र कामदारहरूको लागि एउटा भेला राख्छु, र हरेक महिना म सबै दाजुभाइ-दिदीबहिनीहरूको लागि एउटा ठुलो भेला राख्छु। म यी सबै प्रकारका भेलाहरू राम्ररी आयोजना गर्छु भन्ने कुरा नै पर्याप्त छ।” तिनीहरूको काम गर्ने आधार र विधि यही हो। यस्तो प्रकारको अगुवा र कामदारले निरन्तर प्रवचन प्रचारको तालिम मात्रै लिन्छ, र उसले आफूलाई शब्द र धर्मसिद्धान्तहरूले सुसज्जित गर्न निकै मेहनत लगाउँछ—उसले हरेक भेलाको लागि सङ्गति गरिने रूपरेखा, विषयवस्तु, उदाहरण, र सत्यताहरू तयार गर्छ, र निश्‍चित मानिसहरूका स्थिति र समस्याहरू समाधान गर्न केही योजनाहरू पनि तयार गर्छ। उसले के सोच्छ भने, अगुवा वा कामदारको रूपमा, उसले राम्ररी प्रचार मात्र गरे पुग्छ, र त्यसपछि उसले आफ्ना जिम्मेवारीहरू पूरा गरिसकेको हुन्छ। उसले सुसमाचार प्रचार गर्दै गरिएको तरिका उचित छ कि छैन, वा मण्डलीका व्यक्तिहरू कसरी खटाइन्छन्, वा विभिन्न प्रकारका पेसागत काम निर्वाह गर्ने व्यक्तिहरू योग्य वा मानक पूरा गर्ने छन् कि छैनन् भन्‍नेजस्ता अरू कुराहरूमा चासो राख्नुपर्दैन भन्ने सोच्छ—उसले सुपरिवेक्षकहरूलाई यी कुराहरू सम्हाल्न दिनु नै पर्याप्त हुन्छ भन्ने सोच्छ। त्यसकारण, यसप्रकारको व्यक्ति जहाँसुकै गए नि उसले भेलाहरू गर्न र प्रवचन प्रचार गर्नमा मात्रै ध्यान केन्द्रित गर्छ, र चाहे जेजस्तो प्रकारको भेला भइरहेको होस्, उसले सधैँ प्रवचन मात्रै प्रचार गर्छ। बाहिरबाट हेर्दा, उसले मानिसहरूलाई परमेश्‍वरका वचनहरू पढ्न र भजनहरू सिक्न र गाउन अगुवाइ गरिरहेको हुन्छ, र उसले कहिलेकाहीँ कामबारे कुरा पनि गर्छ। यसप्रकारको व्यक्तिलाई बारम्बार सङ्गति गरिने समस्याहरूबारे थाहा हुन्छ, जस्तै विभिन्न प्रकारका मानिसहरूले सामना गरेका समस्याहरूसित तुलना गर्न परमेश्‍वरका कुन वचनहरू प्रयोग गरिनुपर्छ, साथै मानिसहरूले किन कमजोर महसुस गर्छन् र तिनीहरूमा केके स्थिति देखा परेका छन्, र यी कुराहरू समाधान गर्न परमेश्‍वरका वचनहरूका कुनकुन सत्यताहरूबारे सङ्गति गरिनुपर्छ। समग्रमा, उसको प्रवचन र सङ्गतिहरूले सत्यता र अभ्यासका धेरै पक्षहरू छुन्छन्; केही काटछाँटसँग सम्बन्धित हुन्छन्, केही परीक्षा र शोधनहरूसँग सम्बन्धित हुन्छन्, केही परमेश्‍वरका वचनहरू प्रार्थनार्थ पढ्ने कार्यसँग सम्बन्धित हुन्छन्, केही न्याय र सजाय कसरी अनुभव गर्ने भन्‍ने कुरासँग, र केही यस्तै आदि इत्यादिसँग सम्बन्धित हुन्छन्—उसले सत्यताका विभिन्न पक्षहरूबारे अलिअलि सङ्गति गर्न सक्छ। जब उसले नयाँ विश्‍वासीहरू भेट्छ, उसले नयाँ विश्‍वासीहरूलाई प्रवचन दिन्छ, र जब उसले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका मानिसहरू भेट्छ, उसले जीवन प्रवेशबारे केही प्रवचनहरू दिन सक्छ। तर जब कुनै पेसागत सीप समावेश भएको कामको कुरा आउँछ, उसले त्यो कामबारे सोधपुछ गर्ने वा त्यससँग सम्बन्धित कुराहरू अध्ययन गर्ने कहिल्यै गर्दैन, र समस्याहरू समाधान गर्नको लागि कामका कुनै पनि कुरा अनुगमन गर्ने, त्यसमा सहभागी वा तल्लीन हुने त झनै गर्दैन। उसको नजरमा त उसले प्रवचनहरू दिएर, परमेश्‍वरका वचनहरू पढेर, र भजनहरू सिकेर काम गरिरहेकै हुन्छ, र अगुवा र कामदारहरूका जिम्मेवारीहरू यिनै हुन्; र यसबाहेकको अरू सबै काम नगण्य हुन्छ, त्यो अरू मानिसहरूको चासो हो, र ऊसँग त्यसको कुनै सरोकार हुँदैन, र उसले प्रवचनहरू राम्ररी दिन सकेसम्म, ऊ निश्‍चिन्त रहन सक्छ। “निश्‍चिन्त रहनु” भनेको के हो? त्यसको अर्थ एउटा भेला सम्पन्न गर्नु भनेको उसले आफ्नो काम सम्पन्न गर्नुसमान हो, र विश्राम गर्ने समय भएर ऊ विश्राम गर्छ भन्ने हो। मण्डलीको काममा जुनसुकै समस्या देखा परे नि उसले तिनलाई बेवास्ता गर्छ, र जब कुनै समस्या समाधान गर्न मानिसहरूले उसलाई खोज्छन्, तब उसलाई भेट्टाउन निकै गाह्रो हुन्छ। काममा जति नै चाप भए नि उसले दिउँसो झप्की लिनैपर्छ, र अरूले कष्ट सहन र मूल्य तिर्न सक्दा, ऊ सुखसयलमा लिप्त हुन्छ। उसले यस्तो सोच्छ, “मैले प्रचार गरेर सक्काएको छु, भेला सक्कियो, र मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुरा भनिसकेँ। मैले अरू के भन्नुपऱ्यो र? मेरो काम सक्कियो। बाँकी तिमीहरूको काम हो। मैले तिमीहरूलाई परमेश्‍वरका वचनहरू बताएको छु, त्यसले केवल सिद्धान्तहरूअनुसार कार्य गर। देखा पर्ने कुनै पनि समस्या तिमीहरूको चिन्ताको विषय हो, र त्यसको मसँग कुनै सरोकार छैन। तिमीहरूले समस्या समाधान गर्न आफै परमेश्‍वरसामु गएर प्रार्थना गर्नुपर्छ, भेला हुनुपर्छ, र सङ्गति गर्नुपर्छ। मलाई खोज्दै नआओ।” जब भेला सकिन्छ, उसले कसैलाई प्रश्‍न सोध्न लगाउँदैन, उसले कहिल्यै समस्या समाधान गर्न चाहँदैन, झन् उसले समस्या पत्ता लगाउन सक्छ भनेर त कुरै नगरौँ। भेलापछि, उसले आफ्नो काम सक्कियो भन्ठान्छ, अनि सुत्छ, खान्छ, र नियमित रूपमा मनोरञ्जनमा सहभागी हुन्छ। के ऊ वास्तविक काम बिलकुलै नगर्ने झुटो अगुवा होइन र? (हो।)

कति अवस्था यस्ता हुन्छन् कि जसमा कुनै अगुवा वा कामदार छ महिनादेखि आफ्नो पदमा रहेको हुन्छ, र उसलाई प्रायः भेट्न सक्ने उसको निकटका मानिसहरूबाहेक, धेरै दाजुभाइ-दिदीबहिनीहरूले उसलाई भेट्नै सक्दैनन्। तिनीहरूले बारम्बार उसले अनलाइनमा प्रवचन दिएको मात्रै सुन्छन्, तैपनि कुनै समस्या हुँदा, त्यो अगुवा वा कामदारले त्यसलाई समाधान गर्दै गर्दैन। कति दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्यमा कठिनाइहरू सामना गर्छन् जुन तिनीहरूलाई कसरी समाधान गर्ने भनेर आउँदैन, र तिनीहरू यति बेचैन हुन्छन् कि स्थिर बस्नै सक्दैनन्, र जब तिनीहरू आफ्नो अगुवालाई खोज्न जान्छन्, तब उसलाई भेट्टाउनै सक्दैनन्। के यस्तो प्रकारको अगुवाले राम्रो कार्य गर्न सक्छ त? दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको अगुवालाई के कुराले हरदिन यति व्यस्त राखिरहेको छ भन्ने कुरा थाहै हुँदैन, र समस्या र कठिनाइहरूको एउटा ठुलो थुप्रो जम्‍मा हुन्छ, र तिनीहरूलाई ती समाधान गर्न तिनीहरूको अगुवा कहिले आउँछ भनेर पनि थाहै हुँदैन। सबैजनाले अगुवा सहयोग गर्न आउँछ भनी उत्सुकतासाथ कुर्छन्, तर तिनीहरूले चाहे जति नै लामो समय कुरे नि त्यो अगुवा कहिल्यै देखा पर्दैन। त्यस्ता अगुवा र कामदारहरू निकै छली हुन्छन्, र तिनीहरू लुकेर बस्न खप्पिस हुन्छन्! तिनीहरूले निकै राम्ररी प्रवचन दिन्छन् र, प्रवचन दिएपछि, चिटिक्क वस्‍त्र लगाउँछन् र कुनै काम नगरी, आरामसाथ मस्त रहन सकिने कुनै स्थानमा सुटुक्क बस्छन्। अनि यो सब बाबजुद पनि तिनीहरू अझै आफूले निकै राम्ररी र उचित रूपमा काम गरिरहेको भन्ठान्छन्। तिनीहरू आफूले झारा नटारिरहेको, र प्रवचन दिएको, भेला राखेको, आफूले बताउनुपर्ने सबै कुरा बताएको, र व्याख्या गर्नुपर्ने सबै कुरा व्याख्या गरेको भन्ठान्छन्। तिनीहरू कहिले पनि अनुगमन गर्नको लागि दाजुभाइ-दिदीबहिनीहरूसँग गहन रूपमा संलग्न हुन र काममा सहभागी हुन, निरीक्षण गरेर तिनीहरूलाई सहयोग गर्न, र समस्याहरू तुरुन्तै सम्हाल्‍न र सुल्झाउन तिनीहरूलाई सहयोग गर्न चाहँदैनन्। यदि तिनीहरूले समाधान गर्न नसक्ने समस्या सामना गरे भने, त्यसबारे माथि रिपोर्ट गर्न र माथिबाट समाधान खोज्न पनि तिनीहरूलाई आउँदैन। तिनीहरू यसो भन्दै मनमा चिन्‍तन गर्ने पनि गर्दैनन्, “के दाजुभाइ-दिदीबहिनीहरूले भेलामा सिद्धान्तहरू सुनेपछि त्यसलाई कायम पालना गर्न सक्छन् त? अनि तिनीहरूले काममा फेरि कठिनाइ र अन्योलता सामना गर्दा, के तिनीहरूले सत्यता पालना गर्न र सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सक्छन् त? साथै, काममा कसले निष्क्रिय भूमिका खेलिरहेको छ? कुनकुन मानिसहरूले नकारात्मक भूमिका खेलिरहेका छन्? अनि बाधा दिने र अवरोध पुऱ्याउने मानिसहरू छन् कि, वा कामकुरा बरबाद गर्ने, वा सधैँ खराब उपायहरू सोच्ने बेतुके मानिसहरू छन् कि? काम हालै कसरी अघि बढिरहेको छ?” तिनीहरू एकनासले यस्ता मामलाहरूबारे चासो राख्ने वा सोधपुछ गर्ने गर्दैनन्। झट्ट हेर्दा, यस्ता मानिसहरूले काम गरिरहेझैँ देखिन्छ—तिनीहरूले प्रवचन दिन्छन्, भेला राख्छन्, प्रवचनको खाका र रूपरेखा तयार पार्छन्, र कामका रिपोर्टहरूसमेत लेख्छन्। कति अगुवाहरूले त बारम्बार आफ्ना जीवन अनुभवहरूबारे प्रवचन पनि लेख्छन्; तिनीहरू आफ्नो कोठाभित्र बस्छन् र तीनदेखि पाँच दिनसम्म लगातार लेख्छन् अनि तिनीहरूलाई विशेष रूपमा पानी पिलाइदिने र खाना ल्याइदिने व्यक्ति पनि आवश्यक पर्छ, र कसैले पनि तिनीहरूलाई भेट्न सक्दैन। यदि तैँले तिनीहरूले वास्तविक काम गरिरहेका छैनन् भनेर भनिस् भने, तिनीहरूलाई अन्याय गरिएको झैँ महसुस हुन्छ: “मैले कसरी वास्तविक काम गरिरहेको छैनँ र? म दाजुभाइ-दिदीबहिनीहरूसँगै जिउँछु र मैले सधैँ भेला राखिरहेको र प्रवचन दिइरहेको हुन्छु। मेरो मुख प्याक्कै नसुकेसम्म म प्रवचन दिन्छु, र कहिलेकाहीँ त म अबेरसम्‍मै जागै रहन्छु।” बाहिरबाट हेर्दा तिनीहरू साँच्चै नै व्यस्त रहेको र निष्क्रिय नरहेझैँ देखिन्छ—तिनीहरूले कैयौँ प्रवचनहरू दिन्छन्, अनि बोल्न र लेख्नमा अत्यन्तै धेरै मेहनत लगाउँछन्, तिनीहरूले नियमित रूपमा सन्देश र पत्रहरू सञ्चार गर्छन्, र माथिले तोकेका सिद्धान्तहरू सञ्चार गर्छन्, र भेलाहरूको अवधिमा तिनीहरू निष्कपट र धैर्यवान् भएर सङ्गति गर्ने र विषयवस्तुमाथि थप जोर दिएर प्रकाश पार्नेसमेत गर्छन्—तिनीहरू वास्तवमै धेरै बोल्छन्, तर तिनीहरू कहिल्यै पनि कुनै खास काममा सहभागी हुँदैनन्, कहिल्यै पनि कामको अनुगमन गर्दैनन् र कहिले पनि दाजुभाइ-दिदीबहिनीहरूसँग सँगै मिलेर समस्याहरूसँग जुध्‍ने गर्दैनन्। यदि तैँले तिनीहरूलाई कामको यो वा त्यो कुरा कसरी अघि बढिरहेको छ वा कामका नतिजाहरू कस्ता छन् भनेर सोधिस् भने, तिनीहरूलाई थाहै हुँदैन र तिनीहरूले पहिला कसैलाई गएर सोध्नुपर्छ। यदि तैँले तिनीहरूलाई त्यसअघिका समस्याहरू समाधान भए कि भएनन् भनेर सोधिस् भने, तिनीहरूले भेला राखेको र सिद्धान्तहरूबारे सङ्गति गरेको भनी बताउँछन्। मानौँ, तैँले त्यसपछि तिनीहरूलाई, “के तिमीले सत्यता सिद्धान्तहरूबारे सङ्गति गरेपछि दाजुभाइ-दिदीबहिनीहरूले साँच्चै बुझे त? के तिनीहरू पथभ्रष्ट हुने सम्भावना अझै पनि छ? तिनीहरूमध्ये कोसँग सिद्धान्तहरूको तुलनात्मक रूपमा अलि राम्रो बुझाइ छ, को पेसागत सीपमा अलि बढी पोख्त छ, र को असल क्षमताको अनि जगेर्ना योग्य छ?” भनेर सोधिस् भने, तिनीहरूलाई यी कुनै पनि प्रश्‍नहरूको उत्तर थाहै हुँदैन; तिनीहरूलाई त्यसबारे केही पनि थाहै हुँदैन। जबजब तैँले तिनीहरूलाई कामको अवस्थाबारे सोध्छस्, तिनीहरूले यसो भन्छन्, “मैले सिद्धान्तहरूबारे सङ्गति गरेको छु, मैले भर्खरै भेला राखेर सक्काएँ, र मैले भर्खरै तिनीहरूको काटछाँट गरेँ। तिनीहरूले आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्, र तिनीहरू यो काम राम्ररी गर्न दृढ छन्।” तर जब त्यसपछिको काम कसरी अघि बढिरहेको छ भन्ने कुरा आउँछ, तिनीहरूलाई केही पनि थाहै हुँदैन। के तिनीहरूलाई मानक पूरा गर्ने अगुवा र कामदारहरू मान्न सकिन्छ? (सकिँदैन।) यसप्रकारका अगुवा र कामदारले काम गर्ने तरिका भनेको मानिसहरूलाई परमेश्‍वरका वचनहरू सुनाउनु र शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्नु मात्रै हो, तैपनि तिनीहरूले वास्तविक समस्याहरू समाधान गर्नमा कुनै ध्यान दिँदैनन् र अझ बढी रूपमा तिनीहरू माथिलाई तीबारे रिपोर्ट गर्न र माथिबाट समाधानहरू खोज्न डराउँछन्—तिनीहरू माथिले तिनीहरूको वास्तविक अवस्था के हो भनेर थाहा पाउनेछ भनी डराउँछन्। यस्ता कार्यको प्रकृति के हो? सारका हिसाबले तिनीहरू कस्तो प्रकारका व्यक्ति हुन्? ठ्याक्कै भन्नुपर्दा, त्यस्ता मानिसहरू खाँटी फरिसीहरू हुन्। फरिसीका प्रकटीकरणहरू यसप्रकार हुन्छन्: तिनीहरू गरिमामय बाहिरी कार्यहरूमा संलग्न हुन्छन्, शिष्ट शैलीमा बोल्छन् र व्यवहार गर्छन्, आफ्ना सारा शब्द र कार्यहरू बाइबलमा आधारित गर्छन्, र जब तिनीहरूले मानिसहरूसित भेट्छन् र कुराकानी गर्छन्, तब बाइबलबाट शब्दहरू वाचन गर्छन्, र तिनीहरू बाइबलका अत्यन्तै धेरै पङ्क्तिहरू कण्ठस्थ सुनाउन सक्‍ने हुन्छन्। झुटा अगुवाहरू फरिसीहरूजस्तै नै हुन्छन्—बाहिरबाट, तैँले तिनीहरूमा कुनै त्रुटि भेट्टाउन सक्दैनस्, र तिनीहरू निकै आत्मिक देखिन्छन्। तैँले तिनीहरूका बाहिरी बोली, कार्य र व्यवहारबाट कुनै समस्या पत्ता लगाउन सक्दैनस्, तैपनि तिनीहरूले मण्डलीको काममा हुने धेरै समस्याहरू हल गर्न सक्दैनन्। त्यसोभए यो “आत्मिक” भनेको चाहिँ के हो त? कठोर शब्दहरूमा भन्दा, त्यो नक्कली आत्मिकता हो। नक्कली आत्मिकता भएका यस्ता मानिसहरूले आफूलाई हरदिन निकै व्यस्त राख्छन्, ठूला र साना सबै समूहहरूबीच भागदौड गर्छन्, र जहाँ गए नि परमेश्‍वरका वचनहरू प्रचार गर्छन्। बाहिरबाट हेर्दा, तिनीहरूले अरू कुनै पनि कुरालाई भन्दा परमेश्‍वरका वचनहरूलाई बढी प्रेम गर्छन्, परमेश्‍वरका वचनहरूमा अरू कसैले भन्दा बढी मेहनत लगाउँछन्, र परमेश्‍वरका वचनहरूबारे अरू कुनै पनि व्यक्तिभन्दा तिनीहरूलाई बढी ज्ञान भएजस्तो देखिन्छ, र तिनीहरू परमेश्‍वरका वचनहरूको कुनै पनि महत्त्वपूर्ण खण्डको पृष्ठ सङ्ख्या तत्कालै भन्न सक्छन्। यदि कसैले समस्या सामना गऱ्यो भने, तिनीहरूले उसलाई परमेश्‍वरका वचनहरूको सान्दर्भिक पृष्ठ सङ्ख्या दिन्छन् र गएर ती खण्ड पढ्नू भन्छन्। बाहिरबाट हेर्दा, तिनीहरूले सबथोकमा परमेश्‍वरका वचनहरूलाई आफ्नो मापदण्डको रूपमा लिने र आफूमाथि केही आइपर्दा तिनीहरूले परमेश्‍वरका वचनहरूको गवाही दिने गरेझैँ देखिन्छ, र तिनीहरूमा कुनै समस्या नभएजस्तो देखिन्छ। तर जब तैँले तिनीहरूले गर्ने कामलाई नजिकबाट हेर्छस्, के तिनीहरूले यी शब्द र धर्मसिद्धान्त प्रचार गर्दैगर्दा समस्याहरू पत्ता लगाउन र समाधान गर्न सक्छन् त? यदि सत्यताबारे सङ्गति गरेर तिनीहरूले कामको एउटा कुरामा पहिला पत्ता नलागेको समस्या भेट्टाए भने, र अरूले हल गर्न नसकेका समस्याहरू समाधान गरे भने, यसले देखाउँछ कि तिनीहरूले परमेश्‍वरका वचनहरू बुझ्छन् र सत्यताबारे स्पष्ट सङ्गति गर्छन्। नक्कली आत्मिकता भएका मानिसहरू यसको ठ्याक्कै उल्टो हुन्छन्। तिनीहरू परमेश्‍वरका वचनहरू कण्ठ पार्छन् र जताततै त्यसैलाई प्रचार गर्छन्, र तिनीहरूको मन र हृदय परमेश्‍वरका वचनहरूले भरिएको हुन्छ। तर काममा ठूलो वा सानो जेजस्तो समस्या देखा परे नि तिनीहरूले त्यो देख्न वा पता लगाउन सक्दैनन्। भेलाहरूको अन्त्यमा, कसैले वास्तविक समस्याको उठान गर्ला र तिनीहरूलाई सुल्झाइदिन आग्रह गर्ला भनी तिनीहरू सबैभन्दा बढी डराउँछन्, र त्यसैले भेला सकिएपछि तिनीहरू यस्तो सोच्दै तुरुन्तै निस्किन्छन्, “यदि कसैले मलाई प्रश्‍न सोध्यो र मैले त्यसको जबाफ दिन सकिनँ भने, त्यो अति अप्ठ्यारो र अपमानजनक हुनेछ!” तिनीहरूको वास्तविक कद र साँचो स्थिति यही हो।

तिमीहरूवरपरका कुनकुन अगुवा र कामदारहरू समस्या समाधान गर्नको लागि सत्यता सङ्गति गर्नमा उत्तम छन्, र आफ्नो कर्तव्य गर्दा दाजुभाइ-दिदीबहिनीहरूसँग संलग्न हुन अनि तिनीहरूसँगै काम अघि बढाउन सक्षम छन्, त्यसबारे सोच—ती अगुवा र कामदारहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छन्। तिमीहरूवरपरका कुनकुन अगुवा र कामदारहरू समस्याहरू पता लगाउन र समाधान गर्नमा उत्तम छन्, र सबैभन्दा वास्तविक काम गर्न अनि आफ्नो काममा सबैभन्दा बढी नतिजा ल्याउन केन्द्रित छन्, त्यसबारे सोच—ती अगुवा र कामदारहरू बफादार मानिसहरू हुन्, जो निकै जिम्मेवार र लगनशील हुन्छन्। यसविपरीत, यदि कुनै अगुवा शब्द र सिद्धान्तहरू प्रचार गर्न माहिर छ, र उसले तार्किक र व्यवस्थित शैलीमा, मुख्य बुँदा र विषयवस्तुसाथ, अनि सुसंरचनागत तरिकाले प्रचार गर्छ, र मानिसहरू उसको प्रवचनबारे उत्साहित हुन्छन्, तैपनि ऊ सधैँ दाजुभाइ-दिदीबहिनीहरूसँग तर्किन्छ, सधैँ दाजुभाइ-दिदीबहिनीहरूले प्रश्‍न सोध्लान् भनेर डराउँछ, र दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर समस्याहरू समाधान गर्न र सम्हाल्न डराउँछ भने, त्यो अगुवा नक्कली रूपमा आत्मिक हुन्छ, ऊ झुटो अगुवा हुन्छ। तिमीहरूवरपरका अगुवा र सुपरिवेक्षकहरू कस्ता प्रकारका मानिसहरू हुन्? साधारण रूपमा, भेलामा सहभागी हुने र प्रवचन दिनेबाहेक, के तिनीहरूले अनुगमन गर्ने र काममा सहभागी हुने गर्छन् त, के तिनीहरूले काममा प्रायः समस्याहरू पत्ता लगाउन र समाधान गर्न सक्छन् त, कि तिनीहरू भेलामा देखा परेर हराउने मात्र गर्छन्? नक्कली रूपमा आत्मिक झुटा अगुवाहरू सधैँ प्रचार गर्नलाई केही पनि नहोला कि, दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्दा भन्‍ने कुरा केही पनि नहोला कि भन्‍ने डरमा हुन्छन्, र त्यसैले तिनीहरू आफ्नो कोठामा परमेश्‍वरका वचनहरू कण्ठ पार्ने र प्रवचन कसरी दिने भनेर अभ्यास गर्ने गर्छन्। तिनीहरू के विश्‍वास गर्छन् भने, प्रवचन दिने कार्य भनेको सिक्न सकिने र घोकेर हासिल गर्न सकिने कुरा हो, त्यो ज्ञान हासिल गर्नु र विश्‍वविद्यालय जानुजस्तै हो, अनि त्यसको लागि तिनीहरूले टुप्पी बानेर अथक रूपमा रटान मार्ने चित्त धारण गर्नुपर्छ। के यी झुटा अगुवाहरूले पाल्ने बुझाइ विकृत छैन र? (हजुर, छ।) यस्ता मानिसहरूले आफ्नो उच्च स्थानबाट धर्मसिद्धान्तहरू प्रचार गर्छन्, र केही असान्दर्भिक मामलाहरूमा चासो राख्छन्, र त्यसपछि आफूले अगुवाको रूपमा आफ्नो काम गरिरहेको भन्ठान्छन्। तिनीहरू कार्य निर्देशन गर्न वा समस्या समाधान गर्न कार्यस्थल कहिल्यै जाँदैनन्, बरु त्यसको सट्टा प्रायः आफ्नै कोठामा बसिरहन्छन्, “स्वजगेर्नामा ध्यान दिन एकान्तबास गरिरहन्छन्,” परमेश्‍वरका वचनहरूले आफूलाई सुसज्जित पारिरहन्छन्—के यो आवश्यक हुन्छ? कस्ता परिस्थितिमा अगुवा र कामदारहरूले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूलाई अल्पकालिक रूपमा एकातर्फ पन्छाएर आफूलाई सत्यताले सुसज्जित पार्न सक्छन्? जब काममा व्यस्तता हुँदैन, र जब समाधान गरिनुपर्ने सबै समस्याहरू समाधान गरिएका, र ध्यान माग गर्ने सबै मामलाहरू र व्याख्या गरिनुपर्ने सबै सिद्धान्तहरू व्याख्या गरिएका हुन्छन्, अनि दाजुभाइ-दिदीबहिनीहरूसँग कुनै प्रश्‍न वा कठिनाइहरू हुँदैनन्, र जब कसैले बाधा दिने वा अवरोध पुऱ्याउने गरिरहेको हुँदैन, र काम सहज रूपमा अघि बढ्न सक्छ, र अरू अवरोधहरू हुँदैनन्, तब अगुवा र कामदारहरूले परमेश्‍वरका वचनहरू पढ्न र आफूलाई सत्यताले सुसज्जित पार्न सक्छन्—यो मात्र वास्तविक काम गर्नु हो। झुटा अगुवाहरूले यसरी काम गर्दैनन्; तिनीहरू सधैँ आफूलाई चर्चामा ल्याउनमा ध्यान केन्द्रित गर्छन्, र धाक देखाउन अरूले देख्न सक्ने केही अत्यन्तै देखिँदो काम मात्र गर्छन्। यदि तिनीहरूले परमेश्‍वरको वचन पढ्दा वा प्रवचन सुन्दा केही नयाँ ज्योति भेट्टाउन सके भने, तिनीहरूलाई आफूले केही हासिल गरेजस्तो, आफूसँग सत्यता वास्तविकता भएजस्तो महसुस हुन्छ, अनि तिनीहरू हतारिँदै अरूलाई प्रवचन सुनाउने मौका खोज्छन्। तिनीहरू व्यवस्थित, तार्किक, र व्यवस्थित शैलीमा, मुख्य बुँदा र विषयवस्तुसाथ, र प्रख्यात व्यक्तित्व वा प्राज्ञिक प्राध्यापकले भन्दा पनि अत्यन्तै बढी शक्तिशाली र गहन तरिकाले धर्मसिद्धान्तहरू प्रचार गर्छन्, र त्यसप्रति निकै सन्तुष्ट हुन्छन्। र तैपनि तिनीहरू यस्तो मनन गर्छन्, “मैले यो प्रवचन सक्काएपछि अर्कोपालि के प्रचार गर्ने होला? मसँग अरू केही पनि छैन।” अनि, त्यसैले तिनीहरू हतारिँदै फेरि “स्वजगेर्नामा ध्यान दिन एकान्तबास गर्छन्”, र गहन धर्मसिद्धान्तहरू खोज्छन्। तिनीहरू मण्डलीको कामको कार्यस्थलमा कहिल्यै देखिँदैनन्, र जब मानिसहरूसँग कठिनाइहरू हुन्छन् र तिनीहरू त्यसको समाधान कुरिरहेका हुन्छन्, यी झुटा अगुवाहरूलाई कहीँ पनि भेट्टाउन सकिँदैन। के झुटा अगुवाहरूलाई सङ्कोच र असहजता महसुस हुँदैन र? तिनीहरूले वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन् र पनि धाक देखाउन उच्च सुनिने प्रवचनहरू दिन चाहन्छन्। यी मानिसहरू अत्यन्तै लाजपचुवा हुन्छन्।

सारा झूटा अगुवाहरूले शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न सक्छन्, तिनीहरू सबै नक्कली आत्मिक हुन्छन्, तिनीहरूले कुनै वास्तविक काम गर्नै सक्दैनन्, र परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरेको बाबजुद सत्यता बुझ्दैनन्—तिनीहरूमा कुनै आत्मिक बुझाइ हुँदैन भनेर भन्‍न सकिन्छ। तिनीहरू सोच्छन्, मण्डली अगुवा हुनु भनेको आफूले केही शब्द र धर्मसिद्धान्त प्रचार गर्नु र केही नारा फलाक्नु मात्र पर्छ, र परमेश्‍वरका वचनहरू थोरै व्याख्या गर्नुपर्छ, त्यसपछि मानिसहरूले सत्यता बुझ्नेछन्। तिनीहरूलाई काम गर्नुको अर्थ के हो, अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू केके हुन्, र किन खासगरी परमेश्‍वरको घरले कसैलाई अगुवा वा कामदार हुन चयन गर्छ, वा यसले कस्ता समस्याहरू समाधान गर्नुपर्ने हुन्छ भन्‍ने थाहा हुँदैन। त्यसकारण, अगुवाहरू र कामदारहरूले कामको अनुगमन, निरीक्षण र सुपरिवेक्षण गर्नैपर्छ, तिनीहरूले काममा भएका समस्याहरू तत्काल पत्ता लगाएर समाधान गर्नैपर्छ, आदि कुराहरू भनेर परमेश्‍वरको घरले जति नै सङ्गति गरे पनि, तिनीहरूले यीमध्ये कुनै पनि ग्रहण गर्दैनन् र यो कुरा बुझ्दैनन्। तिनीहरू परमेश्‍वरको घरले अगुवाहरू र कामदारहरूका लागि तोकेका मापदण्डहरू पूरा गर्न वा हासिल गर्न सक्दैनन्, र तिनीहरूले कर्तव्य निर्वाहमा सम्मिलित पेसागत सिपसँग सम्बन्धित समस्याहरू, साथै सुपरिवेक्षकहरू चयन गर्ने सिद्धान्तको समस्या आदि कुराहरू बुझ्न सक्दैनन्, र तिनीहरूलाई यी समस्याहरूबारे थाहा भए पनि, तिनीहरू अझै पनि तिनलाई सम्हाल्न सक्षम हुँदैनन्। त्यसकारण, यस्ता झूटा अगुवाहरूका अगुवाइमा, मण्डलीको काममा आइपर्ने सबै प्रकारका समस्याहरू समाधान गर्न सकिँदैन। परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा सामना गर्ने पेसागत सिपसँग सम्बन्धित समस्याहरू मात्र नभएर परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हुने कठिनाइहरू पनि लामो समयसम्म समाधान हुँदैनन्, अनि केही अगुवाहरू र कामदारहरू अथवा कामका विभिन्न पक्षका सुपरिवेक्षकहरूले वास्तविक काम गर्न नसक्दा, तिनीहरूलाई तत्काल बरखास्त गरिने वा अन्यत्र खटाइने आदि गरिँदैन। यी कुनै पनि समस्या तत्काल समाधान हुँदैनन्, र फलस्वरूप मण्डलीका विभिन्‍न कामहरूको कुशलता निरन्तर खस्किन्छ, अनि कामको प्रभावकारिता झन्-झन् कमजोर बन्दै जान्छ। कर्मचारीहरूका सन्दर्भमा भन्‍नुपर्दा, अलि प्रतिभाशाली र बोल्नमा सिपालुहरू अगुवाहरू र कामदारहरू बन्छन्, जबकि सत्यतालाई प्रेम गर्ने, कडा मेहनतमा डुब्न सक्ने, र गुनासो नगरी अथक रूपमा काम गर्नेहरूले बढुवा र संवर्धन पाउँदैनन्, र तिनीहरूलाई श्रमजीवीझैँ व्यवहार गरिन्छ, अनि निश्चित सिप भएका विभिन्‍न प्राविधिक कर्मचारीहरूलाई उचित रूपमा प्रयोग गरिँदैनन्, र इमानदारीसाथ आफ्नो कर्तव्य पूरा गर्ने कतिपय मानिसहरूले जीवन भरणपोषण प्राप्त गर्दैनन्, त्यसकारण तिनीहरू नकारात्मकता र कमजोरीमा फस्छन्। यति मात्र नभएर, ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले जतिसुकै दुष्टता गरे पनि, झूटा अगुवाहरूले नदेखेझैँ गर्छन्। यदि कसैले कुनै दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीको खुलासा गर्‍यो भने, झूटा अगुवाहरूले उसलाई त्यस व्यक्तिलाई प्रेमपूर्वक व्यवहार गर्नुपर्छ र पश्चात्ताप गर्ने मौका दिनुपर्छ समेत भन्‍नेछन्। यसो गरेर तिनीहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई दुष्टता गर्न र मण्डलीमा बाधा पुऱ्याउन दिन्छन्, र यसले गर्दा यी दुष्ट मानिसहरू, अविश्‍वासीहरू, र ख्रीष्टविरोधीहरू निकालिन वा निष्कासित हुनमा एकदमै ढिलाइ हुन्छ, र तिनीहरूले मण्डलीमा दुष्टता गरिरहन र मण्डलीका काममा बाधा पुऱ्याइरहन पाउँछन्। झूटा अगुवाहरू यीमध्ये कुनै पनि समस्याहरू सम्हाल्न र समाधान गर्न सक्षम हुँदैनन्; तिनीहरूले मानिसहरूलाई निष्पक्ष व्यवहार गर्न वा उचित तरिकाले कामको बन्दोबस्त गर्न सक्दैनन्, बरु तिनीहरू लापरवाहीपूर्ण व्यवहार गर्छन् र केही बेकारका काम मात्र गर्छन्, फलस्वरूप, तिनीहरू मण्डलीको कामलाई अस्तव्यस्त र भद्रगोल बनाउँछन्। परमेश्‍वरको घरले सत्यताबारे जसरी सङ्गति गरे पनि वा मण्डलीको काम कार्यान्वयन गर्दा पालना गर्नुपर्ने सिद्धान्तहरूलाई जसरी जोड दिए पनि—प्रतिबन्धित गर्नुपर्ने र निकाल्नुपर्ने विभिन्‍न प्रकारका दुष्कर्मी र अविश्‍वासीहरूलाई प्रतिबन्धित गर्नु र निकाल्नु, अनि राम्रो क्षमता र बोध क्षमता भएका मानिसहरू, सत्यता पछ्याउन सक्ने र प्रवर्धन र जगेर्ना गरिनुपर्ने मानिसहरूलाई प्रवर्धन र जगेर्ना गर्नु—यी कुराहरू अनेकौँ पटक सङ्गति गरिए पनि, झूटा अगुवाहरूले ती बुझ्दैनन् वा बोध गर्दैनन् र तिनीहरू सधैँ आफ्ना छद्म आत्मिक विचारहरू र “प्रेमिलो” विधिहरूमा अडिग रहन्छन्। झूटा अगुवाहरू के विश्‍वास गर्छन् भने, तिनीहरूको इमानदार र धैर्यशील निर्देशनमा, सबै प्रकारका मानिसहरू व्यवस्थित तरिकाले, अस्तव्यस्त नपारी आ-आफ्ना भूमिकाहरू निर्वाह गर्छन्, सबैमा धेरै नै आस्था छ, सबै जना आफ्ना कर्तव्यहरू निर्वाह गर्न इच्छुक छन्, जेल जान र खतरा सामना गर्न डराउँदैनन्, र हरव्यक्तिले कष्ट सहने सङ्कल्प राख्छन् र सबै जना यहूदा बन्‍न अनिच्छुक छन्। तिनीहरू के विश्‍वास गर्छन् भने मण्डली जीवनमा राम्रो वातावरण हुनुको अर्थ तिनीहरूले राम्रो काम गरेका छन् भन्‍ने हो। मण्डलीमा दुष्ट मानिसहरूले बाधा पुऱ्याउने, वा अविश्‍वासीहरूले विधर्म र भ्रमहरू फैलाउने भए पनि वा नभए पनि, तिनीहरूले यी कुराहरूलाई समस्या ठान्दैनन्, र तिनीहरू तिनलाई समाधान गर्नु आवश्यक ठान्दैनन्। झूटा अगुवाहरूले आफ्नै इच्छाका आधारमा लापरवाहीपूर्वक काम गर्ने र सुसमाचारको काममा बाधा पुऱ्याउने कुनै व्यक्तिलाई काम सुम्पेको सन्दर्भमा भन्नुपर्दा, तिनीहरू झनै अन्धा हुन्छन्। तिनीहरू यसो भन्छन्, “मैले व्याख्या गर्नुपर्ने कार्य सिद्धान्तहरू व्याख्या गरेको छु, र मैले तिनीहरूलाई के गर्ने भनेर बारम्बार भनेको छु। यदि कुनै समस्याहरू आए भने, त्यसको मसित कुनै सम्बन्ध छैन।” तर, तिनीहरूलाई त्यो व्यक्ति सही हो कि होइन भनेर थाहा हुँदैन, तिनीहरू त्यससँग चासो राख्दैनन्, र तिनीहरूले त्यस व्यक्तिलाई सकारात्मक परिणाम हासिल गर्न के गर्ने र त्यसले कस्ता नतिजाहरू ल्याउँछन् भनेर बुझाउँदै र बताउँदै गर्दा आफूले भनेको कुरा सत्यता सिद्धान्तहरूसँग मेल खान्छन् कि खाँदैनन्, वा त्यसको आधार परमेश्‍वरको वचनमा छ कि छैन भन्‍ने कुरा पनि तिनीहरूलाई थाहा हुँदैन। झूटा अगुवाहरूले भेला राख्दा, अन्त्यहीन रूपले शब्द र धर्मसिद्धान्तहरू बोल्छन्, फलस्वरूप तिनीहरू समस्या समाधान गर्न सक्दैनन्। तैपनि तिनीहरू अझै आफूले ठूलो काम गरिरहेको ठान्छन्, तिनीहरू अझै पनि आफूप्रति खुसी हुन्छन् र आफू अद्भुत भएको ठान्छन्। वास्तवमा, तिनीहरूले बोल्ने शब्द र धर्मसिद्धान्तहरूले अज्ञानी र कमजोर क्षमताका ती अन्योल, बेबकुफ, र मूर्ख मानिसहरूलाई छल गर्न मात्र सक्छन्। यी मानिसहरूले यी वचनहरू सुनेपछि, तिनीहरू अन्योलमा पर्छन् र झूटा अगुवाहरूले भनेको कुरा एकदमै सही हो, तिनीहरूले भनेको केही पनि गलत होइन भन्‍ने विश्‍वास गर्छन्। झूटा अगुवाहरूले यी दुविधामा रहेका मानिसहरूलाई मात्र सन्तुष्ट पार्न सक्छन् र तिनीहरू मूलतः वास्तविक समस्याहरू समाधान गर्न असक्षम हुन्छन्। अवश्य नै, झूटा अगुवाहरू पेसागत सिप र ज्ञानसँग सम्बन्धित समस्याहरूलाई समाधान गर्न झनै कम सक्षम हुन्छन्—तिनीहरू यी कुराहरूमा पूर्णतया शक्तिहीन हुन्छन्। परमेश्‍वरको घरको पाठ्यपुस्तकसम्बन्धी कामकै उदाहरण लिऔँ। झूटा अगुवाहरूको सबैभन्दा बढी टाउको दुखाइको काम यही हो। तिनीहरूले आत्मिक बुझाइ र राम्रो क्षमता भएका पाठ्यपुस्तकसम्बन्धी काम गर्न उपयुक्त मानिसहरू ठ्याक्कै को हुन् भनेर पहिचान गर्न सक्दैनन्, र तिनीहरू चस्मा लगाएको र उच्च शिक्षा हासिल गरेको जोकोहीलाई राम्रो क्षमता र आत्मिक बुझाइ भएको ठान्छन्, त्यसकारण तिनीहरूले ती मानिसहरूका लागि त्यो कामको बन्दोबस्त गर्छन्, र तिनीहरूलाई यसो भन्छन्, “तिमीहरू सबै जनामा पाठ्यपुस्तकसम्बन्धी काम गर्ने प्रतिभा छ। म यो काम बुझ्दिनँ, त्यसकारण यो कुरा तिमीहरूकै काँधमा छ। परमेश्‍वरको घरलाई तिमीहरूबाट अरू केही चाहिँदैन, यति मात्र हो कि, तिमीहरूले आफ्नो सामर्थ्य प्रयोग गर्नुपर्छ, केही पनि लुकाउनु हुँदैन, र आफूले सिकेको सबथोक दिनुपर्छ। परमेश्‍वरले तिमीहरूलाई हुर्काइबढाइ गरेकोमा तिमीहरूले कृतज्ञ भएर उहाँलाई धन्यवाद दिन जान्नुपर्छ।” झूटा अगुवाहरूले थुप्रै प्रभावहीन र सतही वचनहरू भनेपछि, तिनीहरूलाई काम बन्दोबस्त गरिएको छ, र आफूले गर्नुपर्ने सबै कुरा गरेको छु भन्‍ने लाग्छ। तिनीहरूलाई यो काम गर्न आफूले बन्दोबस्त गरेका मानिसहरू उचित छन् कि छैनन् भन्ने थाहा हुँदैन, न त तिनीहरूलाई पेसागत ज्ञानका सन्दर्भमा मानिसहरूका कमीकमजोरीहरू के-के हुन्, वा तिनीहरूले कसरी तिनको पूर्ति गर्नुपर्छ भनेर नै थाहा हुन्छ। तिनीहरू मानिसहरूलाई हेर्न र खुट्ट्याउन जान्दैनन्, पेसागत समस्याहरू बुझ्दैनन्, न त तिनीहरूले लेखनसँग सम्बन्धित ज्ञान नै बुझ्छन्—तिनीहरू यी कुराहरूबारे पूर्णतया अज्ञानी हुन्छन्। तिनीहरू आफूले यी कुराहरू नबुझ्ने वा बोध नगर्ने भन्छन्, तर हृदयमा, यस्तो सोच्छन्, “के तिमीहरू मभन्दा अलि बढी शिक्षित र ज्ञानवान् भएको मात्र होइन र? मैले तिमीहरूलाई यो काममा मार्गदर्शन गर्न नसके पनि, म तिमीहरूभन्दा बढी आत्मिक छु, म प्रवचनहरू दिनमा तिमीहरूभन्दा राम्रो छु, र म परमेश्‍वरका वचनहरू तिमीहरूले भन्दा राम्ररी बुझ्छु। मैले नै तिमीहरूलाई अगुवाइ गरिरहेको छु, म तिमीहरूभन्दा माथिको हुँ। मैले तिमीहरूको व्यवस्थापन गर्नुपर्छ, र म जे भन्छु तिमीहरूले त्यो गर्नैपर्छ।” झूटा अगुवाहरू आफूलाई निकै महत्त्वपूर्ण ठान्छन्, तैपनि तिनीहरूले कुनै पनि प्रकारको पेसागत सिपसित सम्बन्धित कामका सम्बन्धमा कुनै सार्थक सुझावहरू दिन सक्दैनन्, र तिनीहरू कुनै मार्गदर्शन दिन पनि सक्दैनन्। बढीमा, तिनीहरू कर्मचारीहरूलाई राम्रोसँग बन्दोबस्त गर्न सक्छन्; तिनीहरू त्यसपछिका कुनै पनि काम गर्न सक्दैनन्। तिनीहरू पेसागत ज्ञान हासिल गर्ने कोसिस गर्दैनन्, र कामको अनुगमन गर्दैनन्। सबै झूटा अगुवाहरू छद्म आत्मिक हुन्छन्; तिनीहरूले गर्न सक्ने भनेकै केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्ने मात्र हो र त्यसपछि तिनीहरू आफूले सत्यता बुझ्ने भन्ठान्छन् र परमेश्‍वरका चुनिएका मानिसहरूसामु निरन्तर देखावट गर्छन्। हरेक भेलामा, तिनीहरू घन्टौँसम्म प्रचार गर्छन्, तैपनि कुनै पनि समस्याहरू बिलकुलै समाधान गर्न सक्दैनन्। तिनीहरू मानिसहरूका कर्तव्यमा पर्ने पेसागत ज्ञानसँग सम्बन्धित समस्याहरूबारे पूर्णतया अनजान हुन्छन्; तिनीहरू प्रस्ट रूपले साधारण मानिस हुन्, तैपनि तिनीहरू आत्मिक भएको नाटक गर्छन्, पेशेवारहरूका काममा निर्देशन दिन्छन्—यसरी त तिनीहरूले कसरी राम्ररी काम गर्न सक्छन्? झूटा अगुवाहरूले पेसागत ज्ञान सिक्ने कोसिस नगर्नु र कुनै वास्तविक काम गर्न नसक्नुले नै मानिसहरूलाई पहिल्यै विरक्त पारिरहेको हुन्छ, र यसमाथि, तिनीहरूले आत्मिक मानिस भएको नाटक गर्नु र आफ्ना आत्मिक वचनहरू प्रदर्शन गर्नु, जुन एकदमै समझ नहुनु हो! यो फरिसीहरूभन्दा फरक होइन। फरिसीहरू सबैभन्दा समझहीन भएको कुरा यो थियो कि परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नुहुन्थ्यो, तैपनि तिनीहरू यसबारे पूर्णतया अनजान थिए र अझै पनि आफूलाई अत्यन्तै राम्रो र निकै आत्मिक ठान्थे। झूटा अगुवाहरूमा आत्मचेतनाको यति कमी हुन्छ; तिनीहरू प्रस्ट रूपले कुनै वास्तविक काम गर्न सक्दैनन् र तैपनि आत्मिक भएको नाटक गर्छन्, र पाखण्डी फरिसी बन्छन्। तिनीहरू ठ्याक्कै तिनै मानिसहरू हुन्, जसलाई परमेश्‍वरले तिरस्कार गरेर हटाउनुहुन्छ।

आफूलाई आत्मिक मानिसहरूको रूपमा प्रस्तुत गर्ने झुटा अगुवाहरूको मुख्य विशेषता के हो? त्यो के हो भने, तिनीहरू प्रवचनहरू दिनमा राम्रो हुन्छन्। ती “प्रवचनहरू” वास्तविक प्रवचनहरू हुँदैनन्। ती सत्यताबारे सङ्गति गर्ने प्रवचनहरू हुँदैनन्, न त सत्यता वास्तविकता भएका प्रवचनहरू नै हुन्छन्। बरु, ती त शब्द र धर्मसिद्धान्तका प्रवचनहरू मात्रै हुन्छन्; ती नक्कली रूपमा आत्मिक प्रवचनहरू हुन्छन्, फरिसीहरूका प्रवचनहरू हुन्छन्। झुटा अगुवाहरू परमेश्‍वरका वचनहरूका शब्द र वाक्यांशहरूमा कडा मेहनत लगाउनमा निकै राम्रा हुन्छन्, तिनीहरू शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्नमा विशेष ध्यान दिन्छन्, तैपनि तिनीहरू परमेश्‍वरका वचनहरूमा कहिल्यै सत्यता खोज्दैनन् र सत्यता वास्तविकतामा कसरी प्रवेश गर्नुपर्छ भनेर कहिल्यै चिन्तन गर्दैनन्। तिनीहरू केवल शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न सक्षम हुनुमै सन्तुष्ट हुन्छन्; एकपटक तिनीहरूले स्पष्ट र तार्किक रूपमा धर्मसिद्धान्त प्रचार गरेपछि, तिनीहरूलाई त्यो पर्याप्त लाग्छ र तिनीहरूले आफूसँग सत्यता वास्तविकता छ र आफू अरूसामु उभिएर हैकम जमाउन, र उच्च स्थानबाट मानिसहरूलाई भाषण दिन सक्छु भन्ने सोच्छन्। झट्ट हेर्दा, तिनीहरूले जे भन्छन् र गर्छन् त्यो सत्यतासँग सम्बन्धित भएझैँ देखिन्छ, तिनीहरूले बाधा दिने वा अवरोध पुऱ्याउने नगरेझैँ देखिन्छ, र तिनीहरूले त्रुटिपूर्ण भनाइको वकालत नगरेको वा त्रुटिपूर्ण अभ्यासहरू पनि नउक्साएको झैँ देखिन्छ। तैपनि, त्यसमा एउटा समस्या हुन्छ, जुन के हो भने तिनीहरूले कुनै पनि वास्तविक काम वहन गर्ने वा अलिकति मात्र पनि जिम्मेवारी पूरा गर्ने गर्दैनन्, जसले तिनीहरूलाई अन्ततः काममा कुनै पनि समस्या पत्ता लगाउन असक्षम हुने तुल्याउँछ। तिनीहरूले काम गर्ने तरिका भनेको अन्धो व्यक्तिले आफ्नो बाटो छामछुम गरेजस्तै हुन्छ: तिनीहरूले जहिल्यै आफ्नो भावना र कल्पनाअनुसार कार्य गर्छन्, र मामलाहरूमा अन्धाधुन्ध नियमप्रावधानहरू लागु गर्छन्, र समस्याको सार देख्न पूर्ण रूपमा असक्षम हुन्छन्, तर पनि तीबारे अर्थहीन कुरा फलाकिरहन्छन्—तिनीहरूले कुनै पनि वास्तविक समस्याहरू बिलकुलै समाधान गर्न सक्दैनन्। यदि झुटो अगुवाले साँच्चै सत्यता बुझेको भए, उसले स्वतः नै समस्याहरू पत्ता लगाउन र समाधान गर्न सत्यता खोजी गर्न सक्थ्यो। तर झुटा अगुवाहरूले स्पष्टतः सत्यता बुझ्दैनन्, तैपनि तिनीहरू आत्मिक भएको ढोँग गर्छन्, आफूलाई मण्डलीको काम गर्न सक्षम ठान्छन्, र बिना सङ्कोच आफ्नो हैसियतका लाभहरूको आनन्द उठाउने आँट गर्छन्। के यो घिनलाग्दो छैन र? तिनीहरूले आफूसँग वास्तविक सिप छ भन्ने सोच्छन्—र आफूले प्रवचन दिन सक्छु भन्ठान्छन्। तैपनि तिनीहरूले वास्तविक काम गर्न सक्दैनन्। झुटा अगुवाहरूले जानेका र प्रचार गर्ने गरेका शब्द र धर्मसिद्धान्तहरूले तिनीहरूलाई आफ्नो काम राम्ररी गर्न मदत गर्न सक्दैनन्, न त तिनले तिनीहरूलाई काममा भएका समस्याहरू पत्ता लगाउन नै मदत गर्न सक्छन्, झन् तिनीहरूले सामना गर्ने सबै समस्याहरू समाधान गर्न मदत गर्नु त धेरै परको कुरा हो। केही समय काम गरेपछि, तिनीहरूले कुनै पनि अनुभवात्मक गवाही बताउन सक्दैनन्। के त्यस्तो अगुवा वा कामदार मानक पुरा गर्ने हुन्छ त? हुँदैन भन्ने कुरा स्पष्टै छ। अनि मानक पूरा नगर्ने झुटा अगुवाहरूलाई कसरी सम्हाल्नुपर्छ? तिनीहरूलाई बर्खास्त गर्नुपर्ने र हटाउनुपर्ने मात्र होइन, यदि तिनीहरू पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरूलाई चुनाव हुँदा फेरि अगुवा वा कामदारको रूपमा सेवा गर्न चुन्‍न पनि सकिँदैन। यदि हटाइएको झुटो अगुवा वा झुटो कामदारलाई कसैले छनोट गर्छ भने, उसले जानाजान मण्डलीको काममा बाधा र क्षति पुऱ्याइरहेको हुन्छ र त्यसले देखाउँछ कि त्यो मतदाता त्यो झुटो अगुवालाई आराधना गर्ने र पछ्याउने व्यक्ति हो, र परमेश्‍वरमा साँच्चै विश्‍वास गर्ने व्यक्ति होइन। के तिमीहरूले कहिल्यै नक्कली रूपमा आत्मिक झुटा अगुवाहरूलाई छनोट गरेका छौ? (गरेका छौँ।) मलाई लाग्छ तिमीहरूले तीमध्ये धेरैलाई छनोट गरेका छौ। तिमीहरूलाई धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको, परमेश्‍वरका वचनहरू धेरै पढेको र धेरै प्रवचनहरू सुनेको, प्रचार र कामको प्रचुर अनुभव भएको, एकपटकमा घन्टौँ प्रवचन दिन सक्ने जोकोहीले निश्‍चय नै काम गर्न सक्छ भन्ने लाग्छ। अनि, तिनीहरूलाई छनोट गरेपछि, तिमीहरूले एउटा गम्भीर समस्या पत्ता लगाउँछौ: दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई कहिल्यै देख्‍न सक्दैनन् र समस्या आइपर्दा तिनीहरूलाई कहिल्यै भेट्टाउन सक्दैनन्। तिनीहरू कहाँ लुकिरहेका हुन्छन् भनेर कसैलाई थाहा हुँदैन, र तिनीहरू कहीँकतै लुक्छन् र आफूलाई बाधा दिन कसैलाई दिँदैनन्। त्यो एउटा समस्या हो। कामका निर्णायक क्षणहरूमा तिनीहरू जहिल्यै लुकामारी खेलिरहेका हुन्छन् र समस्या समाधान गर्न तिनीहरूको खाँचो पर्दा दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई कहिल्यै भेट्टाउन सक्दैनन्—के तिनीहरूले आफ्ना उचित कर्तव्यहरू बेवास्ता गरिरहेका हुँदैनन् र? किन कति मानिसहरू एकपटक अगुवा बनेपछि दाजुभाइ-दिदीबहिनीहरूलाई सामना गर्ने आँट गर्दैनन्? किन तिनीहरूलाई कहीँ पनि भेट्टाउन सकिँदैन? तिनीहरूलाई ठ्याक्कै के कुराले व्यस्त राखिरहेको हुन्छ? तिनीहरूले वास्तविक समस्याहरू किन समाधान गर्दैनन्? तिनीहरूले आफूलाई चाहे जे कुरामा व्यस्त राखिरहेका भए नि, यो कुराबारे तिमीहरू पक्का हुन सक्छौ: यदि तिनीहरू वास्तविक काम नगरी केही समय बिताउँछन् भने, तिनीहरू झुटा अगुवा हुन्, र तिनीहरूलाई तुरन्तै बर्खास्त गरिनुपर्छ, र अरू कसैलाई छनोट गरिनुपर्छ। के तिमीहरूले भविष्यमा यसप्रकारको झुटो अगुवालाई छनोट गर्नेछौ? (गर्नेछैनौँ।) किन गर्नेछैनौ? तिमीहरूलाई आफ्नो मार्गदर्शकको रूपमा अन्धो व्यक्ति छनोट गर्नुको परिणाम के हुन्छ जस्तो लाग्छ? त्यो व्यक्ति आफै अन्धो छ, त्यसोभए के उसले अरूलाई सही मार्गमा मार्गदर्शन गर्न सक्छ त? यो त बाइबलका परमेश्‍वरका वचनहरूले भनेजस्तै हो, “यदि अन्धोले अन्धोलाई डोर्‍यायो भने दुवै खाडलमा खस्‍नेछन्” (मत्ती १५:१४)। अन्धो व्यक्ति कुनै दिशा वा उद्देश्यबिनै हिँड्छ; उसले अरूलाई कसरी डोर्‍याउन सक्छ र? यदि कसैले अन्धो व्यक्तिलाई आफ्नो मार्गदर्शकको रूपमा छनोट गर्छ भने, ऊ झनै अन्धो हुन्छ। गैरविश्‍वासीहरूमाझ एउटा भनाइ छ: “अन्धो मान्छेलाई बाटो सोध्नु।” मण्डली अगुवाको रूपमा सेवा प्रदान गर्न झुटो अगुवालाई छनोट गर्नु भनेको अन्धो व्यक्तिलाई बाटो सोध्नु हो। त्यो बेतुकापन हो, होइन र? झुटो अगुवालाई मत दिने सबैजना अन्धोलाई छनोट गर्ने अन्धा मानिसहरू हुन्, र तिनीहरूमध्ये एकजनाले पनि सत्यता बुझ्दैन।

जब कति मानिसहरूले नक्कली रूपमा आत्मिक व्यक्तिलाई अगुवा छनोट गर्छन्, तिनीहरू यस्तो सोच्दै निकै खुसी हुन्छन्, “हामीसँग अब एक महान् अगुवा छन्। हाम्रा अगुवा प्रवचनहरू दिनमा निकै राम्रा छन्। उनले निकै तार्किक र व्यवस्थित शैलीमा प्रचार गर्छन्, र उनका प्रवचनहरू निकै स्पष्ट हुन्छन्।” सुझबुझ नभएका कति मानिसहरू गहन रूपमा रुने गरी उत्प्रेरित हुन्छन्, र यो अगुवाप्रति निकै लगाव महसुस गर्छन्, र तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न जानसमेत चाहँदैनन्। तिनीहरूले सङ्गति सुन्दा कुराहरू निकै स्पष्ट रूपमा बुझ्छन्, तर कर्तव्य निर्वाह गर्दा जब तिनीहरूले समस्याहरू पत्ता लगाउँछन्, तिनीहरूलाई ती समाधान गर्न आउँदैन, र तिनीहरू यस्तो सोच्दै अन्योल पर्छन्, “यी अगुवाले सङ्गति गरेको सुन्दा मैले सबथोक बुझेजस्तो लाग्छ, तैपनि मैले काममा सामना गर्ने कठिनाइहरू कसरी समाधान गर्न नसकेको?” यहाँ समस्या के हो? यसप्रकारको झुटो अगुवाले प्रचार गर्ने सबै कुरा शब्द र धर्मसिद्धान्त, रित्तो वाक्यांश, नारा, र बकवास मात्रै हुन्छ। उसले प्रचार गर्ने कुराले तेरा वास्तविक समस्याहरू समाधान गर्दैन; उसले तँलाई मूर्ख बनाएको हुन्छ। उसले तँलाई भ्रम मात्र प्रदान गर्छ, र केही नाराहरू फलाक्दै समस्याहरू समाधान भए भनेर गलत रूपमा विश्‍वास गर्ने तुल्याउँछ, जबकि वास्तवमा उसले तेरा समस्याहरूसँग सम्बन्धित सत्यता सिद्धान्तहरू सङ्गति गरिरहेकै हुँदैन। यस तरिकाले सङ्गति गरेर समस्याहरू कसरी समाधान हुन सक्छन् र? उसले प्रचार गर्ने धर्मसिद्धान्तहरूको वास्तविक समस्याहरूसँग कुनै सरोकार हुँदैन; उसले त सबै समस्याहरूको सार पन्छाउँदै रित्तो तरिकामा सिद्धान्तहरूबारे मात्र कुरा गरिरहेको हुन्छ। उसले शब्द र धर्मसिद्धान्तहरू अनि आत्मिक सिद्धान्तहरू मात्र प्रचार गर्छ। सत्यता वास्तविकता के हो भनेर उसलाई थाहै हुँदैन, र समस्याहरू देखा पर्दा, उसको दिमाग घुम्छ। उसले दिने प्रवचनले वास्तविक समस्याहरू समाधान गर्न सक्दैन, त्यो केवल एकप्रकारको सिद्धान्त, एकप्रकारको ज्ञान र धर्मसिद्धान्त हुन्छ। यसप्रकारको झुटो अगुवाले परमेश्‍वरका वचनहरू र सत्यता यसरी प्रचार गर्छ मानौँ ती शब्द र धर्मसिद्धान्त अनि नारा मात्रै हुन्। ऊ सबै वास्तविक समस्याहरूबाट पन्छिन्छ र उसले खोक्रो र अव्यवहारिक शब्द मात्र प्रचार गर्छ। अनि अन्तिममा के हुनेछ? उसले चाहे जति नै लामो समय प्रचार गरे नि, बढीमा उसको प्रवचनले मानिसहरूमाथि प्रोत्साहन र उपदेशको प्रभाव मात्र ल्याउनेछ, तिनीहरूलाई अलि उत्साहित मात्र तुल्याउनेछ र तिनीहरूमा ऊर्जाको विस्फोट मात्र गराउनेछ, तर त्यसले अरू कुनै समस्याहरू समाधान गर्न सक्दैन। वास्तविकताबाट सत्यता असम्बन्धित हुँदैन, बरु वास्तविकतासँग र साँच्चै विद्यमान हरप्रकारका समस्याहरूसँग जोडिएको हुन्छ। त्यसैले, के अब तिमीहरूले नक्कली रूपमा आत्मिक झुटा अगुवाहरू सामना गर्दा तिनीहरूलाई खुट्टयाउन सक्छौ त? सक्दैनौ भने, तिमीहरूले कसैलाई मत दिएर अगुवा बनाउन चाहँदा, उसलाई पहिला केही समस्याहरू समाधान गर्न लगाओ। यदि उसले ती समस्याहरू सिद्धान्तहरूअनुरूप समाधान गर्छ भने, र यदि उसले निकै राम्रो नतिजा हासिल गर्छ र सत्यता वास्तविकता प्रयोग गरेर समस्या समाधान गर्छ भने, तिमीहरूले उसलाई मत दिन सक्छौ; यदि ऊ पन्छिने गर्छ र समस्याहरूको सार अनि वास्तविक अवस्थाबारे कुरा गर्दैन भने, र उसले रित्तो तरिकामा धर्मसिद्धान्तहरू प्रचार गर्न, नाराहरू फलाक्न, र नियमप्रावधानहरूमा टाँसिन मात्र सक्छ भने, तिमीहरूले त्यो व्यक्तिलाई मत दिन मिल्दैन। तिमीहरूले त्यो व्यक्तिलाई किन मत दिन मिल्दैन? (किनभने उसले वास्तविक समस्याहरू समाधान गर्न सक्दैन।) अनि कस्तो प्रकारको व्यक्तिले वास्तविक समस्याहरू समाधान गर्न सक्दैन? शब्द र धर्मसिद्धान्तहरू मात्र प्रचार गर्न सक्ने व्यक्तिले—ऊ एउटा पाखण्डी, एउटा नक्कली रूपमा आत्मिक फरिसी हो। ऊसँग सत्यता बुझ्न चाहिने क्षमता हुँदैन, समस्याहरू समाधान गर्ने ल्याकत हुँदैन, उसले समस्याहरू समाधान गर्न सक्दैन, र त्यसैले यदि तैँले उसलाई अगुवा बनाउन छनोट गरिस् भने, ऊ झुटो अगुवा हुने पक्‍का हुन्छ। ऊ अगुवाको काम गर्न वा अगुवाका जिम्मेवारीहरू पूरा गर्न सक्षम हुँदैन। त्यसैले, यदि तैँले उसलाई मत दिइस् भने, के उसलाई हानि गरिरहेको हुँदैनस् र? कति मानिसहरू यसो भन्छन्, “त्यो कसरी उसलाई हानि गर्नु भयो र? उसलाई मत दिएर हामी उसको भलो नै सोचिरहेका हुन्छौँ। उसमा केही क्षमता छ, र यदि हामीले उसलाई छनोट गऱ्यौँ भने, के हामीसँग कामको जिम्मेवारी लिने व्यक्ति हुनेछैन र?” कामको जिम्मेवारी लिने व्यक्ति हुनु अवश्य नै राम्रो कुरा हो, तर यसप्रकारको व्यक्तिले जिम्मेवारी लिनै सक्दैन। उसले रित्तो शैलीमा सिद्धान्तहरूबारे कुरा गर्न मात्र सक्छ, उसले वास्तविक अवस्थालाई ध्यानमा राख्दैन, र समस्याहरू समाधान गर्ने कुरा आउँदा ऊ कामै लाग्दैन, त्यसैले उसलाई मत दिएर, के तैँले उसलाई दुष्टता गर्ने मौका दिइरहेको हुँदैनस् र? के तैँले उसलाई झुटो अगुवाको मार्ग हिँड्न बाध्य पारिरहेको हुँदैनस् र? त्यसकारण, तैँले त्यस्ता मानिसहरूलाई अगुवाको रूपमा छनोट गर्नु हुँदैन।

तिमीहरूवरपरका मानिसहरू, जोसँग तिमीहरू बारम्बार सम्पर्कमा आउँछौ र निकै परिचित छौ, तिनीहरूमध्ये को रित्तो शैलीमा धर्मसिद्धान्तहरूबारे मात्रै बोल्न सक्छ र वास्तविक समस्याहरू समाधान गर्न सक्दैन भनेर के तिमीहरू खुट्टयाउन सक्छौ? को सधैँ उच्च सुनिने सिद्धान्तहरू प्रचार गर्छ र पहिला कसैले नसुनेका नयाँ र अद्वितीय योजनाहरू प्रस्ताव गर्छ, तर कार्यका निश्‍चित योजना र ठोस विवरणहरू कसरी अभ्यास र लागु गर्ने भनेर सोध्दा अन्योल र निःशब्द हुन्छ? त्यस्तो व्यक्तिले बोल्ने कुरा अत्यन्तै रित्तो र पूर्णतः अवास्तविक हुन्छ, र वास्तविक अवस्था, वास्तविक वातावरण, मानिसहरूले वास्तवमा हासिल गर्नसक्‍ने कुरा, मानिसहरूको कद, र तिनीहरूको पेसागत सिपको स्तरसँग सम्बन्धित र मिल्दो हुँदैन। अनि उसले बोल्ने कुरा अझै बढी रूपमा परमेश्‍वरका घरका मापदण्डहरूअनुरूप हुँदैन; उसले केवल बकवास बोल्छ, ऊ कल्पनामा लिप्त भइरहेको हुन्छ, र उसले मनमा जे आयो त्यही उत्तेजित रूपमा भट्याउने मात्र गर्छ। उसले सोच्छ कि उसले आफूले बोलेको कुनै पनि कुराको जिम्मेवारी लिनुपर्दैन, धाक र रवाफ नै देखाए नि त्यसको जिम्मेवारी लिनुपर्दैन। यो मनोवृत्तिसाथ, उसले आफ्ना विचारहरू व्यक्त गर्छ र आफ्ना धारणाहरू अघि सार्छ—के ऊ नक्कली आत्मिक मानिस होइन र? (हो।) कति मानिसहरूलाई लाग्छ कि धाक, रवाफ, वा उच्च सुनिने अवधारणाहरूलाई यसै पनि कसैले गम्भीरतापूर्वक लिँदैन, र त्यसैले तिनीहरूले आफू कति सक्षम छु भनेर देखाउने मौका पाउँछन्। तिनीहरूलाई लाग्छ, यदि तिनीहरूले कुनै गल्ती गरे भने, तिनीहरूले त्यसको जिम्मेवारी लिनुपर्दैन, र तिनीहरूले कुनै सही कुरा गरे भने, सबैले तिनीहरूलाई उच्च सम्मान दिनेछन्, र त्यसैले तिनीहरू जे चाह्यो त्यही बोल्छन् र सबथोकलाई एकदमै सहज रूपमा प्रस्तुत गर्छन्। तिनीहरूसँग धेरै अवधारणाहरू हुन्छन्, तर तीमध्ये कुनैमा पनि अभ्यासको निश्‍चित योजना हुँदैन र तीमध्ये कुनैलाई पनि उचित रूपमा लागु गरिन सकिँदैन। तिनीहरूले आफूले अघि सार्ने कुनै पनि विचारलाई गम्भीर रूपमा लिँदैनन्, चाहे त्यो विशुद्ध होस् वा विकृत। तिनीहरूले आज एउटा कुरा बोल्छन् अनि भोलि अर्कै कुरा बोल्छन्, र तिनीहरूले बोल्‍ने विचार, सिद्धान्त, र आधारहरू सबै निकै उच्च सुनिन्छन्, तैपनि ती सबै रित्तो र अव्यवहारिक हुन्छन्। तिनीहरूले कहिलेकाहीँ रित्तो वा विकृत नभएका योजनाबारे पनि कुरा गर्छन्, तर जब तिनीहरूलाई त्यो योजना ठ्याक्‍कै कसरी गर्ने भनेर सोधिन्छ, तिनीहरूले त्यो भन्नै सक्दैनन्। नाराहरू फलाक्दा, उच्चसुनिने शब्दहरू बोल्दा, र विचारहरू व्यक्त गर्दा, तिनीहरू अत्यन्तै जोसिला र सक्रिय हुन्छन्। तर कुनै निश्‍चित काम गर्ने र कुनै निश्‍चित योजनाहरू लागु गर्ने कुरा आउँदा, तिनीहरू नामनिशानबिनै गायब हुन्छन्, र आफूलाई लुकाउँछन्, र त्यसउप्रान्त तिनीहरूसँग कुनै पनि विचार हुँदैन। के यस्ता मानिसहरू अगुवा बन्न सक्छन्? (सक्दैनन्।) त्यसोभए, यस्ता मानिसहरू अगुवा बन्नुका परिणामहरू के हुनेछन्? के तिनीहरूले आफैलाई र अरूलाई हानि गर्नेछैनन् र? तिनीहरूले मण्डलीको काममा ढिलाइ गराउनेछन् र, अझ भन्‍ने हो भने, तिनीहरूले आफैमाथि ठूलो हानि गराउनेछन्। तिनीहरूले प्रचार गर्ने धर्मसिद्धान्तहरू केही सीमित कुराहरू मात्र हुन्छन्, अनि तिनीहरूले प्रचार गरिसकेपछि, तिनीहरूसँग भन्नको लागि अरू केही पनि हुँदैन, र त्यसैले तिनीहरूले सधैँ लुक्नुपर्ने र “स्व-वृद्धिविकासमा ध्यान दिन एकान्त बस्नुपर्ने” हुन्छ। के यसले तिनीहरूको लागि कामकुरा कठिन पार्नेछैन र? तिनीहरू अगुवा बन्नेबित्तिकै, तिनीहरूलाई ठूला पर्वतहरूले तिनीहरूको टाउको थिचिरहेजस्तो महसुस गर्नेछन्, तिनीहरूले हरदिन थकित र निकै दबाबमा परेको महसुस गर्नेछन्—तिनीहरूले यसरी कष्ट भोग्नुको अर्थ के हो? तिनीहरूसँग अगुवा बन्ने क्षमतै हुँदैन, र तिनीहरूले समस्याहरू सामना गर्दा, आफ्नै कल्पनाअनुसार जथाभाबी नियमहरू लागु गर्ने मात्र गर्छन् र वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्—यस्ता मानिसहरू अगुवा बन्न सक्दैनन्। तिनीहरू वास्तविक काम गर्न सक्षम हुँदैनन्, त्यसैले तिनीहरू झुटा अगुवाहरू बन्छन्, र दाजुभाइ-दिदीबहिनीहरूको जीवनमा ढिलाइ पुऱ्याउँदा समेत आफू निकै महान् भएको ठान्छन्। यदि तैँले यी नक्कली आत्मिक मानिसहरूको क्षमता र चरित्र पत्ता लाउन र बोध गर्न सक्थिस् भने, के तैँले अझै तिनीहरूलाई अगुवा बनाउन मत दिनेथिस् त? यदि तँ आफै यसप्रकारको व्यक्ति होस् र कसैले तँलाई मत दिन चाहन्थ्यो भने, तँ के गर्नेथिस्? (ममा केही आत्मसचेतना हुनेथ्यो, र म अगुवा बन्न उपयुक्त छैनँ भनेर भन्दिन्थेँ।) यदि, तैँले यो अभिव्यक्ति दिइसकेपछि पनि अझै सबैले तँ असल छस् भन्ने सोच्छन् र तँलाई नै मत दिन जोर गर्छन् भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, “म अगुवाको काम गर्न सक्दिनँ, म त्यो काम वहन गर्न सक्दिनँ। झट्ट हेर्दा ममा अलिअलि क्षमता भएजस्तो देखिए नि, र मसँग कहिलेकाहीँ केही असल अवधारणाहरू भए नि र मैले केही ज्योति प्रदान गर्न सके नि, धेरैजसो समय म केवल शब्द र सिद्धान्तहरू मात्रै प्रचार गर्छु। म साँच्चै अगुवा वा कामदार हुन सक्दिनँ। म तिमीहरूभन्दा असल छैनँ। तिमीहरूले जे गरे नि मलाई मत नदेओ। मैले सबैभन्दा बढी मत पाए नि म अझै अगुवा बन्न सक्दिनँ। म कसैलाई हानि गर्न सक्दिनँ! मैले पहिला पनि अगुवाको रूपमा सेवा गरेको छु, र हरेकपटक म असफल भएर बर्खास्त भएको छु। हरेकपटक म बर्खास्त हुँदा, त्यो मेरो सामर्थ्य कमजोर भएकोले, मसँग काम गर्ने क्षमता नभएकोले र मैले वास्तविक काम गर्न नसकेकोले भएको थियो। म शब्द र सिद्धान्तहरू मात्र प्रचार गर्न सक्थेँ, र त्यसबाहेक, मैले राम्ररी काम गर्न वा अगुवाहरूले पूरा गर्नुपर्ने एउटा पनि जिम्मेवारी पूरा गर्न सक्दिनथेँ। म झुटो अगुवा थिएँ।” यो आत्मसचेतना हुनु हो, केवल आफू अगुवा बन्न उपयुक्त छैन भनी केही शब्द बोल्नु र त्यतिमै छोडिदिनु होइन। कति मानिसहरू सोच्छन्, “मैले अत्यन्तै धेरै वर्षदेखि यो समूहमा कर्तव्य निर्वाह गरेको छु र मलाई हरहालतमा वरिष्ठ कर्मचारी मानिनुपर्छ। मैले कहिल्यै कुनै योगदान नगरेको भए नि कडा मेहनत गरेको छु, त्यसैले कसरी कसैले मेरा सबल पक्षहरू पत्ता नलगाएको हो? म अगुवा हुन लायक पनि छु। म प्रायः निकै मूल्यवान् र व्यावहारिक प्रयोग भएका सोच, अवधारणा, र सुझावहरू प्रस्तुत गर्छु। अगुवाहरूले ती अपनाए नि नअपनाए नि, र चाहे जे भए नि, म मनोवृत्ति, अवधारणा, र विचार भएको व्यक्ति हुँ। किन कसैले नि मलाई मत नदिएको हो?” यदि तँ यसरी सोच्छस् भने, तैँले आफूलाई यसरी मूल्याङ्कन गर्न सक्छस्: के तँसँग भएका ती सोच, अवधारणा, र सुझावहरू केवल अभिव्यक्तिहरू हुन्, कि तिनको साँच्चै व्यावहारिक प्रयोग छ? के तँ काममा सामना गरिने हरप्रकारका कठिनाइहरू पत्ता लाउन र समाधान गर्न सक्छस्? के तेरा सोच र अवधारणाहरू प्रयोगयोग्य छन्? के तँ काम वहन गर्न सक्छस्? यदि तेरा सोच र विचारहरू शब्द र सिद्धान्तहरूको स्तरमै रहन्छन् भने, यदि तिनको कुनै व्यावहारिक प्रयोग नै हुँदैन भने, र अझ महत्त्वपूर्ण रूपमा, ती परमेश्‍वरको घरका कामका सिद्धान्तहरूअनुरूप नै हुँदैनन् भने, तेरो क्षमता ठ्याक्कै कस्तो छ त? तँलाई अगुवा बन्न छनोट गरिँदा, के तैँले अगुवा र कामदारहरूका जिम्म्मेवारीहरू पूरा गर्न सक्छस्? के तँ महत्त्वाकाङ्क्षाको कारण अगुवा बन्न चाहन्छस्, कि बोझबोधको कारण? यदि तँसँग साँच्चै काम गर्ने क्षमता र समस्याहरू समाधान गर्ने सामर्थ्य छ भने, र तैँले निश्‍चित अगुवा र कामदारहरूले निकै कमजोर रूपमा काम गरिरहेको र कुनै समस्याहरू समाधान गर्न नसकेको देख्दा, तँलाई बेचैन महसुस हुन्छ, र तैँले तिनीहरूलाई सुझावहरू दिन्छस् तर तिनीहरूले सुन्दैनन्, र तिनीहरूले समस्याहरू समाधान गर्न पनि सक्दैनन् र पनि तीबारे माथि रिपोर्ट गर्दैनन्, र तँ परमेश्‍वरको घरको कामबारे चिन्तित र बेचैन महसुस गर्छस्, अनि झुटा अगुवाहरूले मण्डलीको काममा ढिलाइ गराउँदा सहनै नसक्ने गरी विक्षिप्त हुन्छस् भने, यसले तँसँग बोझको बोध छ भन्ने देखाउँछ। तर यदि तँ सबैको अनुमोदन प्राप्त गर्न, अझै धेरै दर्शकश्रोता पाउन, र तँसँग केवल केही अवधारणाहरू भएकोले, अझै बढी मानिसहरूलाई तेरो प्रचार र उपदेश सुनाउन चाहन्छस् भने, र यदि तँ भिडभन्दा पृथक् देखिन चाहन्छस् भने, यो बोझको बोध होइन—यो महत्त्वाकाङ्क्षा हो। महत्त्वाकाङ्क्षी मानिसहरूले शब्द र सिद्धान्तहरू मात्र प्रचार गर्न सक्छन्, र तिनीहरूसँग हुने हरकुनै अवधारणा केवल रित्ता शब्द र सिद्धान्तहरू मात्रै हुन्छन्। जब यस्ता मानिसहरू अगुवा बन्छन्, तिनीहरू झुटा अगुवा बन्‍ने निश्‍चित हुन्छ, र यदि तिनीहरू दुष्ट मानिसहरू हुन् भने, तिनीहरू ख्रीष्टविरोधीहरू हुन्छन्। यदि तेरा अवधारणाहरू रित्ता शब्दकै स्तरमा रहन्छन् भने, तँ एकपटक अगुवा बनेपछि, तँ हरकुनै नक्कली आत्मिक झुटो अगुवासरह हुने निश्‍चित हुन्छ। तँ सधैँ “स्व-वृद्धिविकासमा ध्यान दिन एकान्त बस्नेछस्,” नत्र तँलाई सङ्कटबोध महसुस हुनेछ र तँसँग प्रचार गर्नको लागि केही हुनेछैन। यदि तँ तिनीहरूजस्तै नै छस् भने, र तैँले उच्च स्थानबाट प्रवचन दिँदै गर्दा, काममा रहेका कुनै पनि समस्या पत्ता लाउन, अनि स्वाभाविक रूपमा कुनै पनि समस्या समाधान गर्न सक्दैनस् भने, तँ झुटो अगुवा हुने निश्‍चित हुन्छ। अनि अन्त्यमा झुटा अगुवाहरूलाई के हुन्छ? तिनीहरू आफ्नो पदबाट बर्खास्त हुन्छन् किनकि तिनीहरू वास्तविक काम गर्न सक्दैनन्—तिनीहरूले यो मार्ग हिँड्‍ने निश्‍चित हुन्छ।

धेरै मानिसहरू आफ्नो हृदयमा जहिल्यै रुष्ट हुन्छन् र कुनै कदम चाल्‍न तयार महसुस गर्छन्, र जबजब अगुवा वा सुपरिवेक्षक छनोट गर्ने समय आउँछ, तबतब तिनीहरू सधैँ आफै चुनिन चाहन्छन्। कति मानिसहरू आफूले परमेश्‍वरमा सबैभन्दा धेरै वर्ष विश्‍वास गरेको छु, सबैभन्दा धेरै कष्ट सहेको छु, सबैभन्दा लामो समयसम्म र सबैभन्दा धेरै बफादारीसाथ कर्तव्य निर्वाह गरेको छु, र अगुवा हुन सबैभन्दा योग्य छु भन्ने सोच्छन्, र त्यसैले आफूलाई नै अरू मानिसहरूले छनोट गरुन् भन्ने चाहन्छन्। अरू मानिसहरूले तँलाई छनोट गरे भने तैँले के गर्न सक्छस्? के तँ झुटो अगुवाको उपाधि प्राप्त गर्नबाट जोगिन सक्छस्? के तैँले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्छस्? यी सबै वास्तविक समस्याहरू हुन्, तर कसैले पनि यस्ता कुराहरूलाई ख्याल गर्दैन। यी मानिसहरूमध्ये, केही पर्याप्त क्षमताका हुन्छन्। तिनीहरूले आफ्नो कर्तव्यमा समस्याहरू हुँदा सत्यता खोज्न सक्छन्, र जब तिनीहरूले सत्यता बुझ्छन् र सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सक्छन्, तिनीहरू मानक अनुरूपका हुन सक्छन्। यी मानिसहरूले सत्यता बुझ्न, सत्यतालाई प्रेम गर्न, र सत्यता पछ्याउन सक्छन् भने, र त्यसअलावा, तिनीहरूसँग तुलनात्मक रूपमा असल मानवता छ भने, तिनीहरूलाई मानक अनुरूपका अगुवा र कामदारहरू बन्न कुनै समस्या हुनेछैन—यो तिनीहरूका लागि धेरै कठिन हुनेछैन। कति मानिसहरू जहिले पनि आफूले गरिरहेको काम कठिन छ भन्ने गुनासो गर्छन्, सत्यताको कुरा आउँदा मेहनत लगाउन वा मूल्य चुकाउन अनिच्छुक हुन्छन्, अनि काटछाँटमा पर्दा गनगन गर्छन्। के त्यस्ता मानिसहरू मानक अनुरूपका अगुवा र कामदारहरू हुन सक्छन्? तिनीहरूको मनसाय र मनोवृत्ति बस गलत हुन्छन्, तिनीहरू सत्यता पछ्याउने मानिसहरू होइनन्, र परमेश्‍वरले तिनीहरूबाट जेसुकै माग गर्नुभए पनि तिनीहरू नकारात्मक मनोवृत्ति नै कायम राख्छन्। यस्ता मानिसहरू अगुवा र कामदार बन्न योग्य हुँदैनन्। तिनीहरूको हृदयमा बोझको बोध नै हुँदैन, र परमेश्‍वरको घरका कार्य प्रबन्धहरू चाहे जति नै स्पष्ट वा प्रस्ट रूपमा राखिए पनि, तिनीहरू अझै पनिराम्ररी काम गर्न मेहनत गर्न इच्छुक हुँदैनन्। वास्तवमा, राम्ररी काम गर्न कठिन हुदैन। किन कठिन हुँदैन? पहिलो कुरा त मण्डलीको सबै कामका लागि परमेश्‍वरको घरसँग विशिष्ट कार्य प्रबन्धहरू हुन्छन् र माथिले त्यसका लागि विशिष्ट व्यवस्थाहरू तोकेका हुन्छन्, त्यसैले तिमीहरूलाई कामको कुनै पनि विषयवस्तुमाकुरामा सृजनशील हुनुपर्ने, वा आत्मनिर्भर भई त्यसलाई पूरा गर्नुपर्ने माग गरिएको हुँदैन। माथिले तिमीहरूलाई एउटा दायरा र एउटा दिशा, र सिद्धान्तहरू, र न्यूनतम मापदण्डहरू दिएका छन्; तिमीहरूले आफ्नो काम गर्दा, हावामा काम गरिरहेका, वा दिशाहीन भइरहेका हुँदैनौ। दोस्रो कुरा, कामको कुनै पनि विषयवस्तुमा, सुपरिवेक्षक चाहे जो भए पनि, र कामको केन्द्रबिन्दु चाहे वैदेशिक वा आन्तरिक जे भए नि, सबैभन्दा मुख्य कुरा भनेको माथिका ब्रदरले निर्दिष्ट रूपमा कामको अनुगमन, मार्गदर्शन, सुपरिवेक्षण, निरीक्षण, र जाँचगरिरहेका, अनि बारम्बार सोधपुछ गरिरहेका हुन्छन्। यी कार्यहरू कति निर्दिष्ट हुन्छन्? माथिका ब्रदरले हरेक पटकथा, हरेक चलचित्र, हरेक कार्यक्रम, हरेक भजन, आदि इत्यादिमा व्यक्तिगत रूपमै संलग्न भएर तिनको अनुगमन गरिरहेका हुन्छन्। म पनि तिमीहरूलाई साधारण निर्देशन र रूपरेखा प्रदान गर्दै केही काममा संलग्न हुन्छु। तेस्रो कुरा, सत्यता सिद्धान्तहरू संलग्न भएको कामको कुनै पनि पक्षमा, माथिले तिमीहरूसँग बारम्बार सङ्गति गर्ने र तिमीहरूको कामलाई मार्गदर्शन गर्ने पनि गर्छन्; माथिले तिमीहरूलाई काटछाँट पनि गर्छ, तेरा लागि जाँच पनि गर्छन्, र कुनै पनि बेला तिमीहरूका विकृतिहरू सच्याउँछन्। चौथो कुरा, कमुख्य कर्मचारीहरू र प्रशासनिक कार्यका सन्दर्भमा, माथिले जाँच गरेर अनि निर्णयहरू लिएर तिमीहरूलाई व्यक्तिगत रूपमै मद्दत गर्छन्। तथ्य के हो भने, तिमीहरूले चाहे जे काम गरे पनि त्यो काम स्वतन्त्र रूपमा पूरा गर्दैनौ; त्यो सबै माथिद्वारै प्रबन्ध, अगुवाइ, निर्देशन, र जाँच गरिएको हुन्छ। त्यसोभए, तिमीहरू चाहिँ के गर्छौ त? तिमीहरू केवल तयारकामकुराहरूको आनन्द उठाउँछौ—तिमीहरू निकै आशिषित छौ! तिमीहरूले केही कुराबारे चिन्ता लिनुपर्दैन; तिमीहरूले काममा केवल हातपाउ चलाएर काम गरेपुग्छ। तिमीहरूलाई आइपर्ने काम यही हो। के तिमीहरूले कहिल्यै अतिरिक्त मूल्य चुकाएका छौ? (अहँ।) यो सबै ठुलो र महत्त्वपूर्ण काममाथिले नै गरेका छन्; त्यसकारण, तिमीहरूले गर्ने सबै काम निकै सजिलो हुन्छ र त्यसमा ठुला कठिनाइहरू बिलकुलै हुँदैनन्। त्यस्तो परिस्थितिमा, यदि मानिसहरूले अझै पनि आफ्नो काम राम्ररी गर्दैनन् भने, त्यो अक्षम्य हुन्छ, र त्यसले तिनीहरूले आफ्नो काममा वा जिम्मेवारी पूरा गर्नमा आफ्नो हृदय र मेहनत लगाएका छँदै छैनन् भन्ने प्रमाणित गर्छ। कतिपय मानिसहरू भन्छन्, “काम गर्दा कसको चाहिँ कुनै त्रुटि हुँदैन र? के मानिसहरूलाई तिनीहरूमा कुनै समस्या हुने अनुमति नै हुँदैन र?” तिमीहरूबाट काममा पूर्णाङ्क हासिल गर भन्ने माग गरिएको हुँदैन; केवल उत्तीर्णाङ्क ल्याऊ भन्ने माग गरिएको हुन्छ, र त्यसपछि तिमीहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गरेको मानिन्छ। के यो धेरै माग गर्नु हो र? (होइन।) माथिको निर्देशन र जाँचणमार्फत उत्तीर्णाङ्क ल्याउन सजिलो छ; त्यो मानिसहरूले निष्कपटसाथ सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् भन्ने कुरामा निर्भर हुन्छ। यदि तिनीहरूले सत्यतामा कुनै मेहनत लाउँदैनन्, र सधैँ लापरवाह हुन चाहन्छन्, र काम गर्दा तिनीहरू झारा टारेरै, कुनै खराब कुरा नगरेरै, कुनै बाधा वा अवरोध पुर्‍याएरै, र आफ्नो विवेकलाई कुनै पनि कुराले चिन्तित नबनाउने तुल्याएरै सन्तुष्ट हुन्छन् भने, तिनीहरूले उत्तीर्णाङ्क हासिल गर्न सक्दैनन्। काम गर्दा धेरै अगुवा र कामदारहरूमा यसप्रकारको मनोवृत्ति हुन्छ; तिनीहरू अलिअलि काम गर्छन् तर आफूलाई थकाउन चाहँदैनन्, र तिनीहरू औसत हुनमै सन्तुष्ट हुन्छन्, र जहाँसम्‍म तिनीहरूको कामको नतिजा कस्तो हुन्छ भन्ने कुरा छ, तिनीहरू त्यो परमेश्‍वरको चिन्ताको विषय हो र त्यसको तिनीहरूसँग कुनै सरोकार छैन भन्ठान्छन्। के यो मनोवृत्ति स्वीकार्य छ र? यदि तँमा यस्तो मनोवृत्ति छ भने, तैँले गर्न सक्ने काम अत्यन्तै सीमित हुन्छ र तैँले त्यसमा आफ्नो सर्वस्व लाइरहेको हुँदैनस्, र त्यसले सङ्केत गर्छ कि तँ या त वास्तविक काम गर्न सक्षम छैनस् या त तँ वास्तविक काम गर्दैनस्, र त्यसैले तँलाई झुटो अगुवाका रूपमा चित्रण गरिनुपर्छ—यो पूर्ण रूपमा उचित हुन्छ र अन्यायपूर्ण हुँदैन। कति मानिसहरू सधैँ भन्छन्, “तपाईँले हामीबाट गर्नुहुने मागहरू अत्यन्तै उच्च छन्। यदि हामीले यो काम गरेनौँ भने, हामी झुटा अगुवा हुन्छौँ, र यदि हामीले त्यो माग पूरा गरेनौँ भने पनि हामी झुटा अगुवा नै हुन्छौँ। तपाईँ हामीलाई के सोच्नुहुन्छ? हामी रोबोट होइनौँ, र हामी सिद्ध छैनौँ। हामी साधारण मानिसहरू मात्र हौँ, हामी मरणशील प्राणी मात्र हौँ। तपाईँ हामीलाई सर्वसाधारण, आम मानिसहरू बन्न भन्नुहुन्छ, तैपनि किन अगुवाका रूपमा हामीबाट यस्ता उच्च मागहरू गर्नुहुन्छ?” वास्तवमा, मैले तिमीहरूबाट गर्नेमागहरू उच्च छैनन्। म त तँलाई मानवले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्न मात्र भन्छु। यो तैँले गर्नुपर्ने र गर्नैपर्ने कुरा हो, र यो तैँले अगुवा र कामदारका रूपमा हासिल गर्न सक्ने कुरा हो। तर यदि तँ सत्यतातर्फ लागिपर्न कडा मेहनत गर्दैनस् भने, र सधैँ कष्ट भोग्न डराउँछस् र सधैँ सुखसयलको लालसा गर्छस् भने, तेरा कारण वा बहानाहरू चाहे जेसुकै भए नि तँ झुटो अगुवा हुने निश्‍चित हुन्छ। यो त एउटा वयस्क व्यक्ति बिहान कति बजे उठ्नुपर्छ, उसलएक दिनमा कति पटक खानुपर्छ र कति घण्टा काम गर्नुपर्छ, र कहिले आफ्ना फोहोर कपडाहरू धुनुपर्छ भनेजस्तै सामान्य मानवता भएका मानिसहरूले हासिल गर्नुपर्ने र वयस्कहरूले आफै ख्याल गर्नुपर्ने कुराहरू हुन्—तैँले यी कुराहरू आफै सम्हाल्नुपर्छ, र तीबारे अरू कसैलाई सोध्नुपर्दैन। यदि तँ सबथोकबारे अरूलाई सोध्छस् र केही पनि बुझ्दैनस् भने, के यसको अर्थ तेरो अक्कल अपर्याप्त छ, र तँ मूर्ख होस् भन्ने हुँदैन र? यसको अर्थ तँ आफ्नो ख्याल आफै राख्न सक्दैनस् भन्ने हुँदैन र? के यस्ता मानिसहरू अगुवा हुन सक्छन् र? के तिनीहरू झुटा अगुवाहरू होइनन् र? त्यस्ता मानिसहरूलाई बर्खास्त गरिनुपर्छ। त्यस्ता मानिसहरू अझै पनि आफ्नो पदमै टाँसिइरहन र तल नझर्न चाहन्छन्, र तिनीहरू अझै पनि अगुवा बन्न चाहन्छन्! केही झुटा अगुवाहरू बर्खास्त भएपछि, तिनीहरूलाई आफूमाथि अन्याय गरिएझैँ महसुस हुन्छ र तिनीहरू त्यसलाई लिएर रुन छोड्दैनन्। तिनीहरू आँखा नसुन्निएसम्म रोइरहन्छन्। तिनीहरू किन रोइरहन्छन्? तिनीहरूलाई आफू कस्तो प्रकारको चिज हुँ भन्ने नै थाहा हुँदैन। जब म मैले मानिसहरूबाट गर्नेमागहरू उच्च छैनन् भनेर भन्छु, त्यसको अर्थ के हो भने, तँलाई जे गर्न भनिएको छ, त्यो तैँले हासिल गर्न सक्ने कुरा नै हो; तेरा लागि मार्ग तयार गरिसकिएको छ, र दायरा पनि तय गरिसकिएको छ, र निर्णयहरू पनि लिइसकिएका छन्, र तैँले बस कामकार्बाही मात्र अघि बढाउनुपर्छ। यो खाने कामजस्तै हो: तेरा लागि अन्न, तरकारी, हरप्रकारका मरमसला, भाँडाकुँडा अनि चुलो तयार पारिएको छ, र तैँले गर्नुपर्न भनेको पकाउन सिक्नु मात्र हो; एउटा वयस्कले गर्नुपर्ने काम र हासिल गर्नुपर्ने कुरा यही हो। यदि तँ यो कुरा हासिल गर्न सक्दैनस् भने, तँ मूर्ख होस्, र तँलाई सामान्य वयस्कको अक्कलको दायराभित्र गणना गर्न सकिँदैन। कतिपय अगुवाहरूले यो वास्तविक काम गर्न सक्दैनन्, र त्यसैले तिनीहरूलाई बर्खास्त गर्नैपर्छ। त्यसोभए, कुनै व्यक्ति यसप्रकारको काम गर्न सक्षम छ कि छैन भनेर हामी कसरी निर्धारण गर्न सक्छौँ? यदि तँसँग वयस्कको अक्कल र क्षमता छ, र वयस्कमा हुनुपर्ने कर्तव्यनिष्ठा र जिम्मेवारीबोध छ भने, तँ यसप्रकारको काम गर्न सक्षम हुनुपर्छ। यदि तँ काम गर्न सक्दैनस् भने, वा काम गर्दैनस् भने, तँ झुटो अगुवा होस्। यो त्यसरी नै निर्धारित हुन्छ, र यसलाई यसरी निर्धारित गर्नु सही हुन्छ। यो व्यक्तिको निन्दा वा मूल्याङ्कन होइन, त्यसोभए के यो कठोर छ त? तथ्यहरू सबै उदाङ्गो छन्, र यो बिलकुलै कठोर छैन।

आ. कमजोर क्षमता भएका झुटा अगुवाहरू

हामीले भर्खरै काममा सामना गरिने अन्योल र कठिनाइहरूको तुरुन्तै रिपोर्ट गर्ने र तिनलाई कसरी समाधान गर्ने भनेर खोजी गर्ने सन्दर्भमा एक प्रकारको झुटो अगुवासँग हुने प्रकटीकरणहरूबारे, साथै यस्ता मानिसहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरू किन पूरा गर्न सक्दैनन् भन्नेबारे सङ्गति गऱ्यौँ। त्यस्ता मानिसहरू झुटा आत्मिक हुन्छन्; तिनीहरूले काममा हुने अन्योलता र कठिनाइहरू पत्ता लगाउन नसक्ने हुनाले तिनीहरू यो जिम्मेवारी पूरा गर्न नै सक्दैनन्। यो एक प्रकारको व्यक्ति हो। अर्को प्रकारको व्यक्ति पनि हुन्छ: तिनीहरू ती झुटा आत्मिक मानिसहरूसरह नै हुन्छन्—तिनीहरूले पनि काममा हुने समस्याहरू पत्ता लगाउन सक्दैनन्, र त्यसैले तिनीहरू माथिलाई तीबारे तुरुन्तै रिपोर्ट गर्न अनि माथिबाट समाधानहरू खोज्न पनि सक्दैनन्। त्यस्ता मानिसहरू पनि काममा व्यस्त हुन्छन्, तिनीहरू निष्क्रिय नभईकन दिनभर आफूलाई व्यस्त राख्छन्। तिनीहरू प्रवचन दिनमा, दाजुभाइ-दिदीबहिनीहरूलाई विभिन्न ठाउँमा बोलाउनमा, कामका लागि प्रबन्धहरू गर्नमा, अनि मण्डलीको कामका लागि हर प्रकारका सरसामान किन्नमा समेत व्यस्त हुन्छन्। यदि कोही बिरामी भयो भने, तिनीहरूले उसलाई डाक्टर खोज्न मदत गर्छन्; यदि कसैलाई घरमा कठिनाइहरू छन् भने, तिनीहरूले आर्थिक राहतको प्रबन्ध गरेर उसलाई सहयोग गर्छन्; यदि कोही खराब स्थितिमा छ भने, तिनीहरूले उसलाई सहयोग गर्ने पहल गर्छन् र सक्रिय रूपमा उसका समस्याहरू समाधान गर्न मदत गर्छन्। छोटकरीमा, तिनीहरू जहिले पनि केही साधारण मामलाका काममा व्यस्त हुन्छन्। तिनीहरू मण्डलीको वास्तविक कामप्रति, सुसमाचारको कामप्रति, र मण्डली जीवनमा हुने समस्याहरूप्रति उदासीन हुन्छन्। हरदिन, तिनीहरू दौडधुप गर्दै आफूलाई थकाउँछन्, र मण्डलीका मामलाहरू अनि दाजुभाइ-दिदीबहिनीहरूका निजी मामलाहरू सम्हाल्दै र समाधान गर्दै आफूलाई व्यस्त राख्छन्। तिनीहरू अगुवाका रूपमा आफूले यी कार्यहरू निर्वाह गर्नुपर्छ भन्ने सोच्छन्, तर तिनीहरूले अगुवाको मूलभूत काम के हो भनेर कहिल्यै महसुस गर्दैनन्, र तिनीहरूले चाहे जति मेहनतका साथ काम गरे पनि, तिनीहरूले मण्डलीमा हुने वास्तविक र महत्त्वपूर्ण समस्याहरू अझै पनि भेट्टाउन सक्दैनन्। र त्यसैले, मण्डली जीवनमा बाधा र अवरोधहरू पैदा हुँदा, र परमेश्‍वरका चुनिएका मानिसहरूले जीवन प्रवेशमा कठिनाइहरू सामना गर्दा, यी अगुवाहरूले तुरुन्तै यी कामकुराहरू समाधान गर्न सक्दैनन्। तिनीहरू काममा व्यस्त रहे पनि र हरदिन निष्क्रिय नभई बिताए पनि, यति व्यस्त भएर तिनीहरूले केचाहिँ हासिल गर्न सक्छन् त? मण्डलीको काममा धेरै समस्याहरू हुन्छन्, तर तिनीहरू ती पत्ता लगाउन सक्दैनन्। बाहिरबाट हेर्दा, तिनीहरू लगनशील, विचारशील भएको, र निष्क्रिय नभएको जस्तो देखिन्छ, तैपनि काममा एकपछि अर्को समस्या उत्पन्न हुन्छ, र तिनीहरू दुलोहरू टाल्नमा नै व्यस्त हुन्छन्, हरप्रकारका “जटिल र कठिन समस्याहरू” समाधान गर्नमा र हरप्रकारका दुष्ट मानिसहरू र मण्डलीमा देखा पर्ने बाधा र अवरोधहरू निम्त्याउने मानिसहरूलाई निराकरण गर्नमा व्यस्त हुन्छन्। तिनीहरू आफूलाई यस्तो काममा व्यस्त राख्छन्, तैपनि तिनीहरूले सबैभन्दा आधारभूत समस्याहरू नै खुट्टयाउन सक्दैनन्। तिनीहरू असल मानवता के हो र खराब मानवता के हो, राम्रो क्षमता के हो र कमजोर क्षमता के हो, वास्तविक प्रतिभा र ज्ञान हुनु भनेको के हो र वरदानहरू हुनु भनेको के हो भनेर प्रस्ट रूपमा खुट्टयाउन सक्दैनन्। तिनीहरू परमेश्‍वरको घरले कस्ता मानिसहरूको जगेर्ना गर्छ र कस्ता प्रकारका मानिसहरूलाई हटाउँछ, कुन मानिसहरूले सत्यता पछ्याउँछन् र कुन मानिसहरूले पछ्याउँदैनन्, कुन मानिसहरूले इच्छापूर्वक आफ्नो कर्तव्य पूरा गर्छन् र कुन मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दैनन्, कुन मानिसहरूलाई परमेश्‍वरका मानिसका रूपमा सिद्ध पार्न सकिन्छ, र कुन मानिसहरू कामदार हुन्, इत्यादि कुराहरू छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरू ठुलो कुरा गर्ने र रित्ता सिद्धान्तहरू फलाक्ने तर वास्तविक काम गर्न नसक्नेहरूलाई जगेर्नाका मुख्य लक्षित मानिस बनाउँछन्, र तिनीहरूलाई महत्त्वपूर्ण काम गर्ने अनि सुम्पने प्रबन्ध गर्छन्, जबकि तिनीहरूले विशुद्ध बुझाइ, क्षमता, र सत्यता बुझ्ने सक्षमता भएका मानिसहरूले परमेश्‍वरमा लामो समयदेखि विश्वास नगरेका वा अहङ्कारी स्वभाव देखाएका कारणले नै तिनीहरूको प्रवर्द्धन र जगेर्नामा ढिलाइ गर्छन्। यस्ता समस्याहरू मण्डलीमा बारम्बार उत्पन्न हुन्छन् र यसले मण्डलीको कामको प्रगतिमा असर गर्छ। यी वास्तविक समस्याहरू हुन्, तैपनि यस्तो प्रकारको अगुवाले तिनलाई देख्न वा पत्ता लगाउन सक्दैन र ऊ तीबारे पूर्ण रूपमा अनभिज्ञ समेत हुन्छ। दुष्ट मानिसहरूले बाधा र अवरोधहरू निम्त्याउँदा तिनीहरू तिनीहरूलाई अवलोकन गर्ने र आत्म-चिन्तन गर्ने मौका दिन्छन्, जबकि दुष्ट मानिस नरहेका अरूले अपरिपक्वता र अज्ञानताका कारण कहिलेकाहीँ साना त्रुटिहरू गर्दा र सिद्धान्तरहित कार्य गर्दा—सिद्धान्त सम्बन्धी समस्या नरहेका त्रुटिहरू गर्दा—यस्तो प्रकारको अगुवाले ती साना त्रुटिहरूलाई अक्षम्य पाप जसरी व्यवहार गर्छ र यी मानिसहरूलाई घर पठाइदिन्छ। यस्तो प्रकारको झुटो अगुवा हरदिन काममा व्यस्त हुन्छ र, बाहिरबाट हेर्दा, उसले निकै मेहनत गरिरहेको र आफ्नो निकै समय अर्पण गरिरहेको जस्तो देखिन्छ, तैपनि उसले चाहे जसरी काम गरे पनि, कसैले पनि त्यसबाट वास्तविक जीवन आपूर्ति पाउँदैन। परमेश्‍वरका चुनिएका मानिसहरूसँग चाहे जे समस्या र कठिनाइहरू भए पनि, यस्तो प्रकारको झुटो अगुवाले सत्यताबारे सङ्गति गरेर तिनलाई समाधान गर्न सक्दैन, र उसले तिनीहरूलाई प्रेमिलो हृदयले अर्ती दिने र परमेश्‍वरका चुनिएका मानिसहरूलाई प्रोत्साहित गर्न शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्ने मात्र गर्न सक्छ। त्यसकारण, त्यस्ता मानिसहरूको अगुवाइमा परमेश्‍वरका चुनिएका मानिसहरूले कुनै जीवन आपूर्ति पाउँदैनन्, तिनीहरू केवल परमेश्‍वरमा विश्वास गर्छन् र जोसका आधारमा आफ्ना कर्तव्य पूरा गर्छन्, र कुनै जीवन प्रवेश हासिल गर्दैनन्—तिनीहरू कति समयसम्म यसरी नै रहिरहन सक्छन्? फलस्वरूप, कतिपय मानिसहरू प्रायः नकारात्मक र कमजोर हुन्छन् र सधैँ परमेश्‍वरको आगमनको दिनको तृष्णा गरिरहेका हुन्छन्, र तिनीहरूलाई दर्शनहरू झन् झन् अस्पष्ट बन्छन्, र तिनीहरूले समस्या सामना गर्दा, तिनीहरूले परमेश्‍वरबारे धारणा र गलतफहमीहरू राख्न पुग्छन्, र कति त परमेश्‍वरलाई शङ्का गर्न र उहाँविरुद्ध सावधानी अपनाउन समेत पुग्छन्। झुटा अगुवाहरू, यी समस्याहरू सामना गर्दा, तिनलाई समाधान गर्न पूर्ण रूपमा असमर्थ हुन्छन्, र तीबाट जोगिने मात्र गर्छन्। तिनीहरू सत्यता खोज्न र समस्याहरू समाधान गर्न कहिल्यै परमेश्‍वरका वचनहरू पढ्ने वा परमेश्‍वरका चुनिएका मानिसहरूसँगै परमेश्‍वरलाई प्रार्थना गर्ने गर्दैनन्—तिनीहरू यो काम कहिल्यै निर्वाह गर्दैनन्। हरदिन, तिनीहरू केवल केही साधारण मामलाका काम र निश्चित बाहिरी मामलाहरू, जीवन प्रवेश वा सत्यतासँग कुनै सरोकार नराख्ने मामलाहरूमा आफूलाई व्यस्त राख्छन्। तिनीहरू आफू कामकुरा गर्नमा व्यस्त भएसम्म, त्यसको अर्थ तिनीहरूले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गरिरहेका छन्, र तिनीहरू सम्भवतः झुटा अगुवा हुन सक्दैनन् भन्ठान्छन्। वास्तवमा, तिनीहरूले आफूलाई यी साधारण मामलाहरूमा व्यस्त राख्नुले दाजुभाइ-दिदीबहिनीहरूलाई जीवनमा प्रगति गर्न बिलकुलै मदत गर्दैन, परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्ने त झनै तुल्याउँदैन। ल भन्, के यस्तो प्रकारको झुटो अगुवाको क्षमतामा समस्या हुँदैन र? तिनीहरूले केही पनि छर्लङ्ग देख्न सक्दैनन्, र तिनीहरू काम गर्दै व्यस्त रहेसम्म, सबै समस्याहरू बिलाउने र अप्रत्यक्ष रूपमा समाधान हुने भन्ठान्छन्। के यी मानिसहरू निकै अन्योलमा छैनन् र? के तिनीहरूको क्षमता अत्यन्तै कमजोर छैन र? तिनीहरूले केही पनि छर्लङ्ग देख्न सक्दैनन्, कुनै वास्तविक काम गर्न सक्दैनन्, र यसले तिनीहरूलाई खाँटी झुटा अगुवा र झुटा कामदार बनाउँछ। यो खुट्टयाउन सबैभन्दा सजिलो मामला हो।

अहिले झुटा अगुवा र झुटा कामदारहरू मण्डलीहरूमा जताततै छन्। तिनीहरू केवल आफ्नो जोसमा भर परेर काम गर्छन् र तिनीहरूसँग सत्यताको बुझाइ बिलकुलै हुँदैन। तिनीहरूलाई अगुवा वा कामदारको काम के हो भन्ने थाहा हुँदैन, न त तिनीहरू समस्याहरू समाधान गर्नका लागि सत्यताबारे सङ्गति गर्न नै सक्छन्—तिनीहरू केही साधारण मामलाका काममा आफूलाई अन्धाधुन्ध व्यस्त राखेर दिन बिताउँछन्। उदाहरणका लागि, मानौँ मण्डलीलाई एउटा सामान किन्नु छ। यो ठूलो कार्य होइन; गएर त्यो किन्न सम्बन्धित क्षेत्रमा जानकार व्यक्तिको प्रबन्ध मात्र गरिनुपर्छ। तर एउटा झुटो अगुवा अति धेरै पैसा खर्च होला भनेर डरायो, त्यसैले उसले सबैभन्दा सस्तो सामान खरिद गर्न कसैलाई कैयौँ पसलहरू चहार्ने प्रबन्ध गऱ्यो। फलस्वरूप, उसले सस्तो वस्तु किन्यो जुन केवल केही दिन प्रयोग गरेपछि बिग्रियो, र उसले गएर अर्को किन्नुपर्ने भयो। उसले पैसा नबचाएको मात्र होइन, बरु त्यसको उल्टो, झन् बढी पैसा खर्च गर्न पुग्यो। के यो त्यो कार्य सम्हाल्ने सैद्धान्तिक तरिका हो? सामान खरिद गर्दा ख्यातिप्राप्त ब्रान्ड किन्नु जरुरी छैन, तर गर्नुपर्ने उचित कुरा भनेको कम्तीमा पनि उचित गुणस्तरको र प्रयोग योग्य सामान खरिद गर्नु हो। झुटा अगुवाहरू साधारण मामलाहरूका कामबारे निकै चिन्ता लिन्छन्, र त्यसमा केही गलत छैन। तर, तिनीहरूले मण्डलीको महत्त्वपूर्ण कामलाई गम्भीरतापूर्वक लिँदैनन्, र यो ठुलो गल्ती हो; यो तिनीहरूले मूलभूत काम निर्वाह नगर्नु हो। सुसमाचारको काम, चलचित्र निर्माणको काम, लेखन-आधारित काम, अनुभवात्मक गवाहीको भिडियोको काम, र अगुवा र कामदारहरूका कर्तव्य समायोजन गर्ने कामजस्ता सबै कामहरू महत्त्वपूर्ण हुन्छन्, तैपनि झुटा अगुवाहरूले तिनलाई महत्त्वपूर्ण ठान्दैनन्, र यी कामहरूलाई पाखा लगाएर बेवास्ता गर्छन्। तिनीहरू अपर्याप्त क्षमताका हुन्छन् र तिनीहरूलाई काम कसरी गर्ने भनेर थाहा हुँदैन, तर तिनीहरू सिक्न पनि खोज्दैनन्, बरु यस्तो सोच्छन्, “यो कामको जिम्मेवारी लिने कोही छ भने भइहाल्यो नि। मेरो पनि खाँचो त पक्कै छैन होला नि? म महत्त्वपूर्ण कार्यहरू सम्हाल्छु। यी त साना कामकुराहरू मात्र हुन् जसका बारेमा मैले चिन्ता लिनु आवश्यक छैन। मैले तिनीहरूलाई सिद्धान्तहरू बताइसकेपछि, मेरो काम त सक्कियो।” झुटा अगुवाहरू बाहिरबाट निकै व्यस्त भएझैँ देखिन्छन्, तर तिनीहरू व्यस्त भइरहने कामलाई हेर्दा, तीमध्ये एउटा पनि मण्डलीको महत्त्वपूर्ण काम हुँदैन, तीमध्ये एउटा पनि मानिसहरूको जीवनलाई आपूर्ति गर्ने काम हुँदैन, र तीमध्ये एउटा पनि सत्यता प्रयोग गरेर समस्याहरू समाधान गर्ने काम हुँदैन। तिनीहरूले आफूलाई व्यस्त राख्ने कामकुराहरूको कुनै पनि प्रकारको महत्त्व हुँदैन, र यी झुटा अगुवाहरूले आफूलाई अन्धाधुन्ध रूपमा व्यस्त मात्र राखिरहेका हुन्छन्। तिनीहरूलाई परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुनका निम्ति अगुवा र कामदारहरूले के काम गर्नुपर्छ भन्ने थाहा हुँदैन; तिनीहरू केवल आफ्नो जोसको भरमा आफूलाई गर्न रमाइलो लाग्ने निश्चित कार्यहरूमा व्यस्त रहन्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले के-‍कस्ता कपडा लगाउँछन्, तिनीहरूको कपालको शैली कस्तो छ, तिनीहरू अरूसँग कसरी अन्तरक्रिया गर्छन्, साथै तिनीहरू कसरी बोल्छन् र व्यवहार गर्छन् भन्ने मण्डलीको कामसँग असम्बन्धित मामुली मामलाहरूबारे विस्तृत सोधपुछ गर्छन्। तिनीहरू के भन्ठान्छन् भने, यो भनेको तिनीहरू मित्रवत् र मिलनसार हुनु हो, र मानिसहरूको वास्तविक जीवनमा भएका समस्याहरू समाधान गर्नु भनेको अगुवाले गर्नुपर्ने कुरा हो, सामान्य मानवतासँग हुनुपर्ने कुरा हो। तैपनि तिनीहरू सुसमाचारको काम, चलचित्र निर्माणको काम, भजनको काम, लेखन-आधारित काम, प्रशासनिक काम, नयाँ विश्वासीहरूलाई मलजल गर्ने काम, मण्डलीहरू स्थापना गर्ने काम, मानिसहरूको प्रवर्द्धन र जगेर्ना गर्ने काम, इत्यादि महत्त्वपूर्ण कामलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू यीमध्ये कुनै पनि काममा सहभागी हुँदैनन्, र त्यसको अनुगमन गर्दैनन्; मानौँ तिनीहरूसँग यो कामको कुनै सरोकार नै छैन। यी झुटा अगुवाहरू मण्डलीमा थपिँदै गइरहेका धेरै समस्याहरूलाई समाधान नै गर्दैनन्, बर्खास्त गरिनुपर्ने झुटा अगुवाहरूलाई बर्खास्त गर्दैनन्, दुष्टता गर्ने र खराब कार्यहरू गर्दै छाडा दौडने दुष्ट मानिसहरूलाई रोक्ने वा सम्हाल्ने गर्दैनन्, र केही मानिसहरू झाराटारुवा, अनियन्त्रित र अनुशासनहीन हुने, अनि कर्तव्य निर्वाह गर्दा अल्याङटल्याङ गर्ने समस्यालाई समाधान गर्न सत्यताबारे सङ्गति गर्दैनन्। यो कस्तो समस्या हो? तिनीहरू यी वास्तविक समस्याहरू समाधान गर्न सत्यता खोजी गर्दैनन्—के तिनीहरू वास्तविक काम गर्ने मानिस हुन् त? आफूले निर्वाह गर्ने महत्त्वहीन र असान्दर्भिक कार्यहरू तिनीहरूलाई आफ्नो हृदयमा महत्त्वपूर्ण लाग्छन्। तिनीहरू दिनभरि ती निरर्थक कुराहरूमा व्यस्त रहन्छन्, र तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको र आफू बफादार भइरहेको विश्वास गर्छन्, तर तिनीहरू परमेश्‍वरले तिनीहरूलाई सुम्पनुभएको कामको एउटा पनि मूलभूत विषयवस्तु गर्दैनन्—के यस्ता मानिसहरू झुटा अगुवा होइनन्? तिनीहरू समाजका पालिका कार्यालयका निर्देशकसरह हुन्, तिनीहरू छिमेकका लाउके मात्र हुन्—के त्यसोभए तिनीहरू अझै पनि परमेश्‍वरको घरका अगुवा र कामदार हुन् त? तिनीहरू खाँटी झुटा अगुवा र झुटा कामदार हुन्। के कारणले यी मानिसहरूलाई झुटा अगुवा र झुटा कामदारका रूपमा चरित्र-चित्रण गरिन्छ? (तिनीहरूको क्षमता अत्यन्तै कमजोर भएकाले तिनीहरू वास्तविक काम गर्न सक्दैनन्, र केही मामुली मामलाहरू सम्हाल्न मात्र सक्छन्।) विशिष्ट कारण यही हो। यी मानिसहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ; तिनीहरूले चाहे जति धेरै प्रवचनहरू सुने पनि, चाहे जति धेरै कामका प्रबन्धहरू पढे पनि, परमेश्‍वरको घरमा चाहे जति धेरै वर्ष कर्तव्य पूरा गरे पनि, वा चाहे जति धेरै वर्ष अगुवा भए पनि, तिनीहरूले के गरिरहेका छन्, तिनीहरूले गरिरहेको कुरा सही छ कि गलत छ, वा तिनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गरिरहेका छन् कि छैनन् भन्ने कुरा तिनीहरूलाई कहिल्यै थाहा हुँदैन। तिनीहरूका लागि अगुवा र कामदारहरूको संज्ञा र उपाधिको परिभाषा भनेको तिनीहरू व्यस्त रहेसम्म त्यो नै काफी हुन्छ भन्ने हो। तिनीहरू गधाले मिल घुमाएझैँ तिनीहरू हल्लिन नसक्ने नभएसम्म मिल घुमाइरहन्छन्, र यसलाई आफ्ना जिम्मेवारीहरू पूरा गरेको भन्ठान्छन्। तिनीहरूले जुन दिशामा घुमाए पनि, र तिनीहरूले घुमाउन प्रयोग गर्ने ऊर्जा सही भए पनि नभए पनि, तिनीहरू आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको नै भन्ठान्छन्। तिनीहरूले छर्लङ्ग देख्न नसक्ने धेरै समस्याहरू हुन्छन्, तर तिनीहरू ती समाधान गर्ने वा माथिलाई तीबारे रिपोर्ट गरेर माथिबाट समाधानहरू खोज्ने प्रयास गर्दैनन्। तिनीहरूले चाहे जति धेरै वर्ष काम गरे पनि वा तिनीहरू मानिसहरूसँग चाहे जति धेरै वर्षदेखि सम्पर्कमा रहे पनि, तिनीहरूलाई व्यक्तिको प्रकटीकरण आस्थामा सतही जग भएको र सत्यता नबुझ्ने नयाँ विश्वासीको जस्तो छ कि अविश्वासीको जस्तो छ भन्ने समेत थाहा हुँदैन, र तिनीहरू उसलाई कसरी खुट्टयाउने वा चित्रण गर्ने भन्ने पनि जान्दैनन्। जब दुई जना मानिस हुन्छन् र दुवै जना नकारात्मक स्थितिमा हुन्छन्, तिनीहरूलाई कुन चाहिँ जगेर्ना गर्न योग्य छ र कुनचाहिँ छैन भन्ने थाहा हुँदैन; दुई जना मानिस आफ्ना कर्तव्य पूरा गर्नमा अलिक लापरवाह हुँदा, तिनीहरूले कुनचाहिँ सत्यता पछ्याउने व्यक्ति हो र कुनचाहिँ श्रमिक हो, कुनचाहिँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम छ र कुनसँग सत्यता वास्तविकता नै छैन भनेर बताउन सक्दैनन्। तिनीहरूले वर्षौँदेखि यी मानिसहरूको सङ्गत गरेका भए पनि, तिनीहरू कुन मानिसहरूले एकपटक अगुवा बनेपछि सम्भवतः ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउनेछन् भन्ने जान्दैनन्। तिनीहरू चाहे जति धेरै अर्थहीन अभ्यासहरूमा संलग्न भए पनि वा तिनीहरूले चाहे जति धेरै व्यर्थका कार्यहरू निर्वाह गरे पनि वा तिनीहरू वरपर चाहे जति धेरै समस्याहरू भए पनि, तिनीहरू तीबारे अनभिज्ञ हुन्छन्, र यी समस्या हुन् भनेर महसुस गर्दैनन्। यस्ता मानिसहरूको क्षमता कमजोर हुने, तिनीहरूको सोचमा अन्योल हुने, अनि तिनीहरू काम निर्वाह गर्न असक्षम हुने भएकाले, तिनीहरूलाई अगुवा वा कामदारको जिम्मेवारी पूरा गर्न निकै कठिन हुन्छ। साधारण मामलाका केही सरल काम गर्न सक्नु बाहेक, यी अगुवा र कामदारहरू मण्डलीको मूलभूत कामसँग सम्बन्धित केही पनि गर्न सक्षम हुँदैनन्, र तिनीहरूले काममा हुने कुनै पनि वास्तविक समस्याहरू देख्न वा समाधान गर्न सक्दैनन्। के यस किसिमको क्षमता भएको यस प्रकारको अगुवा जगेर्ना गर्न योग्य हुन सक्छ? उसलाई त अन्योल वा कठिनाइहरू के हुन् भन्नेसमेत थाहा हुँदैन, र तिनलाई सिद्धान्तहरूअनुसार सम्हाल्न त ऊ झनै असमर्थ हुन्छ। मण्डलीको काममा आइपर्ने समस्याहरू अत्यन्तै सामान्य कुरा भए पनि, तिनीहरू अझै पनि तिनलाई सारांशीकृत र वर्गीकृत गर्न सक्दैनन्, न त सत्यताबारे सङ्गति गरेर तिनलाई समाधान गर्न नै जान्दछन्—यस्तो प्रकारको झुटो अगुवा मण्डलीमा बारम्बार उत्पन्न हुने यी समस्याहरू सम्हाल्न वा समाधान गर्न सधैँ असक्षम हुन्छ। उसको सबैभन्दा ठुलो समस्या यो होइन कि ऊ मूल्य तिर्न अनिच्छुक हुन्छ वा ऊ व्यस्त हुन र थकित महसुस गर्न डराउँछ, बरु यो हो कि ऊसँग कमजोर क्षमता, अस्पष्ट मन हुन्छ र उसले मण्डलीको महत्त्वपूर्ण काम र वास्तविक काम गर्न सक्दैन। बरु उसले केही साधारण मामलाका काम मात्र गर्छ वा केही असान्दर्भिक कुराहरूमा रुचि राख्छ, र त्यसपछि ऊ अगुवा र कामदारको भूमिका निर्वाह गर्न चाहन्छ—के तिनीहरू अति नै ठुला महत्त्वाकाङ्क्षा र चाहना भएका अलमल्ल मानिस होइनन्? कमजोर क्षमता भएका अगुवाहरू मण्डलीको मुख्य काम, अर्थात् सत्यता सिद्धआन्तहरूसँग सम्बन्धित काम वा जटिल व्यावसायिक काम, जस्तै सुसमाचार फैलाउने काम, मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गर्ने काम, चलचित्र निर्माणको काम, लेखन-आधारित काम, अनि विभिन्न तहका अगुवा र कामदारहरू समावेश हुने कर्मचारी सम्बन्धी काम गर्न असक्षम हुन्छन्। तिनीहरू यो काम गर्न किन असक्षम हुन्छन्? किनभने तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ र तिनीहरूले सिद्धान्तहरू बोध गर्न सक्दैनन्; तिनीहरू सधैँ यी सबै काम गर्न असमर्थ हुन्छन् र त्यो कसरी गर्ने भनी सिक्न असक्षम हुन्छन्। उदाहरणका लागि, मानौँ एउटा यस्तै खालको अगुवालाई पाँच जना मानिसहरू दिइयो र यी पाँच जनालाई तिनीहरूको शैक्षिक स्तर, क्षमता र सबल पक्षहरू, अनि चरित्रका आधारमा काम बाँडफाँट गर्न भनियो। के यो कार्य गर्न सजिलो हुन्छ? के यस कार्यको अगुवा र कामदारहरूको क्षमतासँग कुनै सम्बन्ध हुन्छ? (हुन्छ।) औसत क्षमता भएका अगुवा र कामदारहरूले केही समय ती पाँच जनालाई अवलोकन गरेपछि, तिनीहरूसँग सङ्गत गरेपछि, र अलिकति परिचित भएपछि तुलनात्मक रूपमा सही तरिकाले नै काम बाँडफाँट गर्नेछन्। कमजोर क्षमता भएका अगुवा र कामदारहरूले पाँच जना भनेको त एकदम धेरै हो भन्ठान्नेछन्; धेरै मानिसहरू हुँदा, तिनीहरू अन्योलमा पर्छन् र तिनीहरूलाई काम कसरी बाँडफाँट गर्ने भन्ने थाहा हुँदैन, र तिनीहरूले उनीहरूलाई काम बाँडफाँट गरे पनि, तिनीहरूलाई आफ्नो हृदयमा तिनीहरूले त्यो उचित रूपमा गरिरहेका छन् कि छैनन् भन्ने नै थाहा हुनेछैन। यो कर्मचारीहरूसँग सम्बन्धित पक्षका सन्दर्भमा हो। जब मामलाहरू सम्हाल्ने कुरा आउँछ, उदाहरणका लागि, यदि तिनीहरूले दुई वा तीन वटा मामलाहरू सँगसँगै सम्हाल्नु र समाधान गर्नुपऱ्यो भने, तिनीहरूलाई यी मामलाहरूबीचको सम्बन्ध कसरी मूल्याङ्कन गर्ने र खुट्ट्याउने भनेर थाहा हुनेछैन, न त तिनीहरूले कुन समस्यालाई पहिला समाधान गर्नुपर्छ, र कुन समस्यालाई चाहिँ पछि ढिलाइ नहुनेगरी समाधान गर्न सकिन्छ भनेर तौलन नै सक्नेछन्। भन्नुको अर्थ, तिनीहरूलाई फाइदा र बेफाइदाहरू तौलन नै आउँदैन, तिनीहरूलाई महत्त्व र जरुरीपनका आधारमा कार्यहरूलाई प्राथमिकता दिन आउँदैन, र समस्याहरू कसरी समाधान गर्ने भन्ने थाहा हुँदैन। तर, तिनीहरू अगुवा र कामदार भएकाले तिनीहरूले कुनै कुरा नबुझे पनि बुझेको ढोँग गर्नुपर्छ, कुनै कुरा बोध नगरे पनि बोध गरेको ढोँग गर्नुपर्छ, र झारा टार्नका लागि त्यहीँ रहेर केही धर्मसिद्धान्तहरू प्रचार गर्ने, अनि केही कर्णप्रिय शब्दहरू बोलेर हतार-हतार कामकुरा टुङ्ग्याउने बाहेक तिनीहरू केही गर्न सक्दैनन्। तिनीहरूले भनेको कुरा सही छ कि छैन, त्यो सिद्धान्तहरूअनुरूप छ कि छैन, त्यसले समस्याहरू समाधान गर्न सक्छ कि सक्दैन भन्नेबारे तिनीहरू पूर्णतः स्पष्ट हुन्छन्, तर तिनीहरू केवल आलटाल गर्न चाहन्छन्। तिनीहरूलाई आफूले गरिरहेको कुराले समस्याहरू समाधान गर्न सक्नेछैनन् भन्ने कुरा निकै राम्ररी थाहा हुन्छ, तर तिनीहरूले माथिलाई ती समस्याबारे अझै पनि रिपोर्ट गर्दैनन्, र त्यसैले तिनीहरू अन्तिममा काममा ढिलाइ गर्न अनि बर्खास्त हुन पुग्छन्। ल भन्, के यी मानिसहरू मूर्ख होइनन्? जब केही अगुवा र कामदारहरूले समस्याको रिपोर्ट गर्छन्, तिनीहरूले आजसम्म भइआएका सबै पुराना, महत्त्वहीन घटनाहरू बताउँछन्, र तिनीहरूले धेरै कुरा बताइसकेपछि, तैँले अझै पनि तिनीहरूलाई के-के समस्याहरू छन् भनेर विश्लेषण र मूल्याङ्कन गर्न मदत गर्नुपर्छ। तिनीहरूले त समस्याको उठान कसरी गर्ने भन्ने समेत बुझेका हुँदैनन्, र तिनीहरू समस्याको केन्द्र र सार के हो भन्ने कुरा स्पष्ट रूपमा व्याख्या नगरी घन्टौँ बोल्न सक्छन्। तिनीहरूले भन्ने सबथोक सतही कुरासँग मात्र सम्बन्धित हुन्छ र त्यो केवल बकबास मात्र हुन्छ! के यो तिनीहरूको क्षमता अत्यन्तै कमजोर अनि तिनीहरूको दिमागको तार अलि खुकुलो भएको अवस्था होइन र? के क्षमता भएका मानिसहरू यी कुरा सुन्न इच्छुक हुन्छन् र? तिनीहरू जो व्यक्तिसँग बोलिरहेका छन् ऊ केवल हालको अवस्था र तिनीहरूले रिपोर्ट गरिरहेको व्यक्तिका प्रकटीकरणहरू के-के हुन्, र तिनीहरू कुन स्थितिबारे अन्योलमा छन् र त्यसलाई समाधान गर्न सकिरहेका छैनन् भन्ने कुरा मात्र जान्न चाहन्छ। तैपनि, यी मानिसहरू जहिल्यै त्यो व्यक्तिले विगतमा के काम गऱ्यो भन्नेबारे कुरा गर्छन्, र त्यस व्यक्तिको वर्तमान अवस्थाबारे कुरा गर्दैनन्, वा तिनीहरू आफैसँग के-कस्ता अन्योल र समस्याहरू छन् भनी भन्दैनन्। तिनीहरू थुप्रो कुरा गर्छन्, तर कसैले पनि तिनीहरू केका बारेमा कुरा गरिरहेका छन् भनेर ठ्याक्कै बताउन सक्दैन। तिनीहरूलाई प्रश्न सोध्न मन भए पनि कहाँबाट सुरु गर्ने भन्ने थाहा हुँदैन, प्रभावकारी हुन र मानिसहरूले तिनीहरूलाई बुझ्न सक्ने तरिकामा त्यसलाई कसरी व्यक्त गर्ने भनेर थाहा हुँदैन—तिनीहरूसँग त आफ्नो भाषा सुव्यवस्थित गर्ने क्षमता समेत हुँदैन। के यो अत्यन्तै कमजोर क्षमता हुनुको प्रकटीकरण होइन? कतिपय झुटा अगुवाहरूमा कमजोर क्षमता हुन्छ, र तिनीहरूले समस्या रिपोर्ट गर्दा निरर्थक र बुझ्न नसकिने थुप्रै कुराहरू भन्छन्, अनि यसो सोच्छन्, “मैले तिमीलाई अत्यन्तै धेरै जानकारी दिएको छु, होइन? मैले तिमीलाई यस समस्याबारे विगत र वर्तमानका सबै कुरा समेत भनेको छु, त्यसैले के अब तिमी मैले सोध्न चाहेको प्रश्न बताउन सक्दैनौ र?” तैँले तिनीहरूलाई चाहे जे सोधे पनि वा जसरी मार्गदर्शन गरे पनि, तिनीहरूलाई के भन्ने भनेर थाहा नै हुँदैन र तिनीहरूले समस्याको चुरो कहिल्यै भन्न सक्दैनन्। तिनीहरूसँग आफ्ना कुरा व्यक्त गर्ने शब्दहरू नभएको वा तिनीहरूको शैक्षिक स्तर कमजोर भएको होइन, तर बरु तिनीहरूको क्षमता कमजोर भएको र तिनीहरू दिमागरहित भएका हुन्, त्यसैले तिनीहरूलाई यी कुराहरू व्यक्त गर्न नै आउँदैन, तिनीहरूको मन अलमल्ल हुन्छ, र तिनीहरू अरूले बुझ्ने गरी आफ्ना कुरा स्पष्ट रूपमा व्याख्या गर्न नै सक्दैनन्। तिनीहरूसँग केही बोझको बोध हुन्छ, र समय बित्दै जाँदा, तिनीहरूलाई निश्चित समस्याहरूबारे केही चेतना हुन्छ, तर तिनीहरूलाई ती कसरी व्यक्त गर्ने भन्ने थाहा हुँदैन, तिनीहरू समस्याको सार के हो भनेर बुझ्न सक्षम हुँदैनन्, तिनीहरूले समस्यालाई सारांशीकृत गर्न त झनै सक्दैनन्। के यति कमजोर क्षमता भएका मानिसहरूले काम गर्न सक्छन् त? के तिनीहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्छन् त? अहँ, सक्दैनन्। तैँले तिनीहरूलाई समय र मौकाहरू दिए पनि र समस्याहरूको रिपोर्ट र व्याख्या गर्न दिए पनि, तिनीहरूले त्यो गर्न सक्दैनन्, त्यसोभए के तैँले त्यस्ता मानिसहरूसँग अझै पनि बातचित गर्न सक्छस्? के तिनीहरूलाई अझै पनि प्रयोग गर्न सकिन्छ? (सकिँदैन।) तिनीहरूलाई किन प्रयोग गर्न सकिँदैन? तिनीहरू प्रस्ट रूपले बोल्न पनि सक्दैनन्, र तिनीहरूसँग आफ्ना सोच, विचार र मनोवृत्तिहरू व्यक्त गर्न भाषा प्रयोग गर्ने मानवको न्यूनतम नैसर्गिक प्रवृत्ति समेत हुँदैन, त्यसोभए तिनीहरूले के काम गर्न सक्छन् त? तिनीहरूसँग केही सबल पक्ष, वास्तविक जोस, अलिकति जिम्मेवारीको बोध, र निकै सोझो हृदय भए पनि, तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ, तैँले तिनीहरूलाई चाहे जति सिकाए पनि तिनीहरूले केही सिक्न सक्दैनन्, अनि तैँले तिनीहरूलाई बोल्न सिकाइस् भने पनि तिनीहरूले सिक्न सक्नेछैनन्, र त्यसैले तँ बेचैन र क्रोधित हुनेछस्। तिनीहरूले बोल्दा गडबड गर्छन् र तँलाई अन्योलमा पार्छन्; तिनीहरूले केही पनि स्पष्ट रूपमा भन्न सक्दैनन्, र तिनीहरू अर्थहीन बकबास मात्र बोल्छन्। तिनीहरूको सबैभन्दा दयनीय कुरा भनेको तिनीहरू मानव भाषा बुझ्दैनन् र तैपनि अझै अन्धाधुन्ध रूपमा कार्य गरिरहन्छन्, अझै पनि आफू सक्षम भएको सोच्छन्, र तैँले तिनीहरूलाई काटछाँट गर्दा तिनीहरूले अवज्ञा गर्छन्। तिनीहरूले कसरी अगुवाको काम राम्ररी गर्न सक्छन्? जब अगुवा वा कामदारको क्षमता यति कमजोर हुन्छ कि तिनीहरूले आफूलाई भाषामार्फत व्यक्त नै गर्न सक्दैनन्, तब के तिनीहरू अझै पनि आफ्नो काममा दक्ष हुन सक्छन् त? (सक्दैनन्।) काममा दक्ष नहुनुले के इङ्गित गर्छ? त्यसले तिनीहरू काममा आइपर्ने कठिनाइ र समस्याहरू तुरुन्तै पत्ता लगाउन असक्षम हुन्छन् भन्ने इङ्गित गर्छ, र अवश्य नै, त्यसले काममा चाहे जे समस्याहरू देखा परे पनि तिनीहरूले कहिल्यै तिनलाई तुरुन्तै समाधान गर्न सक्दैनन्, न त माथिलाई तीबारे तुरुन्तै रिपोर्ट गर्न र माथिबाट समाधानहरू खोजी गर्न नै सक्छन् भन्ने इङ्गित गर्छ—यो तिनीहरूका लागि अत्यन्तै कठिन हुन्छ, र तिनीहरू त्यो गर्न असक्षम हुन्छन्। यस्ता कमजोर क्षमता भएका मानिसहरूको कुरा गर्नुपर्दा, तिनीहरूका लागि यो काम अत्यन्तै कठिन हुन्छ; यो त हाँसलाई रूख चढाउनु वा गधालाई नचाउनु जस्तै हो—यो अत्यन्तै गाह्रो हुन्छ।

कतिपयले यसो भन्छन्, “मलाई ती मानिसहरूप्रति दुःख लाग्छ। तिनीहरू हर प्रकारका कार्यहरू सम्हाल्दै निकै दौडधुप गर्छन्, र कमजोर क्षमताका कारण अन्त्यमा झुटा अगुवाका रूपमा चित्रित हुन्छन्। त्यसोभए, के त्यसको अर्थ तिनीहरूले सहेको कष्ट सबै व्यर्थ भएको छ भन्ने हुन्छ त? के त्यो मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गर्नु होइन र?” झुटा अगुवाहरूलाई बर्खास्त गर्नुको अर्थ परमेश्‍वरका चुनिएका मानिसहरू र मण्डलीको कामका लागि जिम्मेवारी लिनु हो, त्यसैले त्यो कसरी मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गरेको हुन सक्छ? यदि तँ झुटा अगुवाहरूलाई अगुवाका रूपमा तिनीहरूको भूमिका जारी राख्न दिनुपर्छ भनी अड्डी कस्छस् भने, के यो परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्नु होइन र? के तँ परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्नु मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गर्नु होइन भन्न खोज्दैछस्? कुनै झुटो अगुवालाई बर्खास्त गरेर, परमेश्‍वरको घरले त्यो झुटो अगुवालाई निन्दा गरिरहेको हुँदैन, न त त्यो झुटो अगुवालाई नरकमा पठाइरहेको नै हुन्छ, बरु त्यसले त्यो व्यक्तिलाई मुक्ति प्राप्त गर्ने मौका दिइरहेको हुन्छ। यदि ऊ झुटो अगुवा रहिरह्यो भने के उसले मुक्ति प्राप्त गर्न सक्छ? उसको अन्तिम परिणाम के हुनेछ? तँ किन यस मामलालाई यो तरिकाले विचार गर्दैनस्? त्यसमाथि, परमेश्‍वरमा विश्वास गर्नुको उद्देश्य के हो? अवश्य नै, अगुवा बन्नु नै अघि बढ्ने एक मात्रै मार्ग होइन? व्यक्ति अगुवा नभएमा उसले पूरा गर्नुपर्ने अरू कर्तव्य हुँदैनन् र? अगुवा नरहेका र कमजोर क्षमता भएकाहरूको बाँच्ने मार्ग नै छैन र? (होइन, त्यो साँचो होइन।) त्यसो हो भने, अभ्यासको मार्ग के हो त? हामीले अहिले विश्लेषण गरिरहेको भनेको यस प्रकारको कमजोर क्षमता भएको झुटो अगुवाका प्रकटीकरणहरू र उसमा भएका समस्याहरू हुन्; हामी तिनीहरूलाई निन्दा गरिरहेका वा सरापिरहेका छैनौँ, केवल तिनीहरूको विश्लेषण गरिरहेका छौँ। तिनीहरूको विश्लेषण गर्नुको उद्देश्य भनेको यस प्रकारको व्यक्तिलाई सही रूपमा आफूलाई चिन्ने र दिशानिर्देश गर्ने, आफ्नो स्थान जान्ने, अगुवा र कामदारहरू के हुन्, अगुवा र कामदारहरूले के गर्नुपर्छ भनेर सही रूपमा बुझ्ने, र त्यसपछि तिनीहरू अगुवा वा कामदार हुन उपयुक्त छन् कि छैनन् भनी हेर्न यी कुराहरूसँग आफैलाई तुलना गर्ने तुल्याउनु हो। यदि तेरो क्षमता साँच्चै अत्यन्तै कमजोर छ, यति कमजोर छ कि तँसँग भाषामार्फत आफूलाई व्यक्त गर्ने, वा आफ्ना सोच र विचार व्यक्त गर्ने, वा समस्याहरू पत्ता लगाउने क्षमता छैन भने, तँ अगुवा वा कामदार हुन उपयुक्त छैनस्, अगुवा वा कामदारको कर्तव्य पूरा गर्न योग्य छैनस्, र तँ अगुवा वा कामदारको काम गर्न असक्षम छस्। तँ कमजोर क्षमताको भएकाले, तँसँग यस प्रकारको आत्म-चेतना हुनुपर्छ। कतिपय मानिसहरू यसो भन्छन्, “मेरो क्षमता कमजोर छ—अनि के भयो त? मसँग असल मानवता छ, त्यसैले म अगुवा हुनुपर्छ।“ के सिद्धान्त यही हो त? अरूले यसो भन्छन्, “असल मानवता हुनु बाहेक, म कष्ट सहन र मूल्य तिर्न पनि इच्छुक छु, म प्रवचनहरू प्रचार गर्न सक्छु, मेरो आस्थामा एउटा आधार छ, र म परमेश्‍वरमाथि विश्वास गरेका कारण कैदमा परेको छु। के यी कुराहरू मलाई अगुवा वा कामदार बन्ने पुँजीमा गनिँदैनन् र?” के अगुवा वा कामदार हुन व्यक्तिसँग पुँजी हुनुपर्छ भन्ने कुरा सत्य हो? (होइन।) हामी अहिले अगुवा र कामदारहरूका जिम्मेवारीहरूबारे छलफल गरिरहेका छौँ र, यसै विषयभित्र, हामी क्षमताको मुद्दाबारे कुरा गरिरहेका छौँ। यदि तेरो क्षमता कमजोर छ र तँ यी जिम्मेवारीहरू पूरा गर्न सक्षम छैनस् भने, तँमा हुनुपर्ने आत्म-चेतना यो हो: “मसँग यो क्षमता छैन र म अगुवा वा कामदार बन्न सक्दिनँ। मसँग चाहे जे पुँजी भए पनि, त्यो बेकार छ।” तँ आफूसँग असल मानवता छ, तँ भरपर्दो छस्, तँसँग कष्ट सहने सङ्कल्प छ, र तँ मूल्य तिर्न इच्छुक छस् भनेर भन्छस्—के त्यसोभए परमेश्‍वरको घरले तँलाई अन्यायपूर्ण व्यवहार गरेको छ त? परमेश्‍वरको घरले सबैलाई सर्वोत्तम तरिकाले प्रयोग गर्ने गरी मानिसहरूलाई प्रयोग गर्छ, हरेक व्यक्तिलाई उपयुक्त भूमिका दिन्छ, र ठ्याक्कै सही तरिकामा त्यसो गर्छ। यदि तँसँग असल मानवता छ तर तेरो क्षमता कमजोर छ भने, तैँले आफ्नो सम्पूर्ण हृदय र शक्तिका साथ आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ; परमेश्‍वरद्वारा अनुमोदित हुनका लागि तँ अगुवा वा कामदार हुनैपर्छ भन्ने छैन। तँ कष्ट भोग्न इच्छुक भए पनि, तर तँ अगुवाले भोग्नुपर्ने तरिकाले कष्ट भोग्न सक्दैनस्, तँसँग अगुवा बन्न हुनुपर्ने क्षमता छैन, र तँ त्यसको योग्य छैनस् भने, तब तैँले के गर्न सक्छस्? आफूलाई जोर-जबरजस्ती गर्ने वा कठिनाइमा पार्ने काम नगर्; यदि तँ २५ किलो बोक्न सक्छस् भने, २५ किलो नै बोक्। आफूलाई सीमाबाहिर धकेलेर “२५ किलोले पुग्दैन। म अझै बढी बोक्न चाहन्छु। म ५० किलो बोक्न चाहन्छु। म थाकेर मरे नै भने पनि म त्यो गर्न इच्छुक छु!” भन्दै धाक देखाउने प्रयास नगर्। तँ अगुवा वा कामदार बन्न सक्षम छैनस्, तर यदि तँ धाक देखाउन आफूलाई अझै पनि आफ्नो सीमाबाहिर धकेलिरहन्छस् भने, तँ थकित नभए पनि, तैँले मण्डलीको काममा ढिलाइ गर्नेछस्, कामको प्रगति र प्रभावकारितामा असर पार्नेछस्, र धेरै मानिसहरूको जीवन प्रगतिमा ढिलाइ गर्नेछस्—यो तैँले वहन गर्न सक्ने जिम्मेवारी होइन। तँसँग अपर्याप्त क्षमता भएकाले, यदि तँसँग आत्म-चेतना छ भने, तैँले सक्रिय रूपमा राजीनामा दिने र असल क्षमता भएको, सत्यतालाई प्रेम गर्ने, र अगुवा वा कामदार बन्न तँभन्दा जिम्मेवार व्यक्तिलाई मनोनयन गर्ने प्रस्ताव गर्नुपर्छ। यो समझदार कार्य हुनेथियो, र त्यसो गरेर मात्र तँ साँच्चै मानवता र समझ भएको, अनि साँच्चै सत्यता बुझ्ने र अभ्यास गर्ने व्यक्ति हुनेथिइस्। यदि तँ अगुवाको काम गर्न असक्षम भएकाले तैँले पदबाट राजीनामा दिइस्, र त्यसपछि परमेश्‍वरद्वारा अनुमोदित हुन आफूलाई उपयुक्त हुने कर्तव्य छनोट गरिस् र आफ्नो बफादारी अर्पण गरिस् भने, तँ अत्यन्तै तीक्ष्ण-बुद्धि भएको व्यक्ति होस्। तँ सधैँ यस्तो सोच्छस्, “मेरो क्षमता कमजोर भए पनि, मसँग असल मानवता छ, र म आफैलाई दुःख दिन, कष्ट सहन, र मूल्य तिर्न इच्छुक छु, ममा सङ्कल्प छ, मैले गर्ने सबथोकमा म तिमीहरू भन्दा बढी दृढ छु, र मसँग खुला मन छ अनि मलाई काटछाँट वा जाँचमा पर्ने डर छैन। मेरो क्षमता अलिक कमजोर नै भए पनि, म अझै पनि अगुवा बन्न सक्छु।“ कमजोर क्षमता हुनु समस्या होइन। यो तँलाई निन्दा गर्नका लागि होइन, केवल तँलाई वर्गीकरण गरेर तँ ठ्याक्कै के गर्न सक्छस् र कस्तो प्रकारको कर्तव्यको लागि उपयुक्त छस् भनी बुझ्ने तुल्याउनलाई मात्र हो। तर हालको समस्या भनेको, तेरो क्षमता कमजोर छ र तँ अगुवा वा कामदार बन्न सक्षम छैनस्। तँ अगुवा वा कामदार बन्न छनोट भए पनि, तँ यो काम राम्ररी गर्न सक्दैनस्, र काम भद्रगोल पार्न मात्र सक्छस्। यदि तँसँग असल मानवता छ, विवेक र समझ छ, र तँ आफूलाई समस्यामा पार्न र मूल्य तिर्न इच्छुक छस् भने, तैँले गर्न उपयुक्त कार्य र तैँले पूरा गर्नुपर्ने कर्तव्य हुनेछ, र परमेश्‍वरको घरले तेरो लागि मनासिब प्रबन्धहरू गर्नेछ। तँलाई अगुवा बन्ने अनुमति नदिनु परमेश्‍वरको घरका प्रावधान र सिद्धान्तहरूमा आधारित कुरा हो। तर, परमेश्‍वरको घरले तेरो क्षमता कमजोर भएकाले तँलाई आफ्नो कर्तव्य पूरा गर्ने अधिकार वा परमेश्‍वरलाई विश्वास गर्ने र पछ्याउने अधिकारबाट वञ्चित गर्नेछैन। के यो उचित होइन र? (हजुर, हो।) के हामीले यस मामलाबारे अझ विस्तृत रूपमा सङ्गति गर्नु जरुरी छ त? कमजोर क्षमता भएका कतिपय मानिसहरूले यो सुन्छन् र यस्तो मनन गर्छन्, “अबदेखि यसबारे सङ्गति नगर्नुहोस्। मलाई कसैको सामु पर्न अत्यन्तै लज्जित महसुस हुन्छ। मलाई थाहा छ मेरो क्षमता कमजोर छ, र म आइन्दा मण्डली अगुवा वा कामदार हुनेछैन। म केवल समूह अगुवा वा सुपरिवेक्षक हुनेछु, या खाना पकाउने वा सफा गर्ने जस्ता सानातिना कामहरू गर्नेछु। जे भए पनि हुन्छ। म गुनासो नगरी आफ्ना पदका कष्टहरू भोग्नेछु, परमेश्‍वरको घरका प्रबन्धहरूमा समर्पित हुनेछु, र परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुनेछु। मेरो क्षमता कमजोर हुनु परमेश्‍वरको अनुग्रहले गर्दा हो, र त्यसमा परमेश्‍वरका असल अभिप्रायहरू छन्। परमेश्‍वरले गर्नुहुने सबथोक सही हुन्छ।” यदि तैँले कामकुरालाई यसरी हेर्न सक्छस् भने, त्यो राम्रो हो, र त्यसको अर्थ तँसँग केही आत्म-चेतना छ। म यस मामलाबारे विस्तृत रूपमा सङ्गति गर्नेछैनँ। समग्रमा, कमजोर क्षमता हुने यी मानिसहरूका सन्दर्भमा, हामी केवल समस्यालाई चिरफार र तथ्यहरूको सत्यता खुलासा गरिरहेका छौँ ताकि यी मानिसहरूका सम्बन्धमा अझ बढी मानिसहरूले सही मनोवृत्ति र दृष्टिकोण राखून्, र ताकि यी मानिसहरूले आफ्नै कमजोर क्षमता सम्बन्धी समस्याका सम्बन्धमा सही मनोवृत्ति र दृष्टिकोण राखून्, र त्यसपछि तिनीहरूले आफूलाई सही रूपमा दिशानिर्देश गर्न, आफूलाई सुहाउने स्थान र कर्तव्य भेट्टाउन सकून्, जसले तिनीहरूको मूल्य चुकाउने धैर्य र कष्ट सहने सङ्कल्पलाई उचित रूपमा प्रयोग गर्न र सक्रिय बनाउन मदत गर्नेछ। यसले तेरो सत्यताको बुझाइ र सत्यता अभ्यासलाई असर गर्दैन, न त यसले परमेश्‍वरको घरमा तेरो छविलाई नै असर गर्छ।

इ. झुटा अगुवाहरू जो अल्छे हुन्छन् र आराममा लिप्त हुन्छन्

हामीले भर्खरै दुई प्रकारका झुटा अगुवाहरूबारे सङ्गति गऱ्यौँ। अर्को प्रकारको झुटो अगुवा हुन्छ, जसबारे हामीले “अगुवा र कामदारहरूका जिम्मेवारीहरू” भन्ने विषयबारे सङ्गति गर्दा बारम्बार कुरा गरेका छौँ। तिनीहरूसँग केही क्षमता हुन्छ, तिनीहरू बुद्धिहीन हुँदैनन्, आफ्नो काममा तिनीहरूसँग तरिका र विधिहरू, साथै समस्याहरू समाधान गर्ने योजनाहरू हुन्छन्, र जब तिनीहरूलाई कुनै काम दिइन्छ, तिनीहरूले लगभग अपेक्षित मानकहरूअनुसार नै त्यसलाई कार्यान्वयन गर्न सक्छन्। तिनीहरूले काममा उत्पन्न हुने कुनै पनि समस्यालाई पत्ता लगाउन सक्छन् र तीमध्ये केहीलाई समाधान गर्न पनि सक्छन्; जब तिनीहरूले केही मानिसहरूले रिपोर्ट गरेका समस्याहरू सुन्छन्, वा केही मानिसहरूका व्यवहार, प्रकटीकरण, बोली र कार्यहरू अवलोकन गर्छन्, तब तिनीहरूले हृदयमा प्रतिक्रिया जनाउँछन्, र तिनीहरूको आफ्नै राय र मनोवृत्ति हुन्छ। अवश्य नै, यदि यी मानिसहरूले सत्यता पछ्याउँछन् र तिनीहरूमा बोझको बोध हुन्छ भने, यी सबै समस्याहरू समाधान गर्न सकिन्छ। तर, हामीले आज सङ्गति गरिरहेका प्रकारको व्यक्तिको जिम्मेवारीमा पर्ने काममा समस्याहरू अप्रत्याशित रूपमा नसुल्झिएका हुन्छन्। त्यस्तो किन हुन्छ? किनभने यी मानिसहरू वास्तविक काम गर्दैनन्। तिनीहरू सहजता मन पराउँछन् र कडा परिश्रमलाई घृणा गर्छन्, तिनीहरू केवल सतही रूपमा झाराटारूवा मेहनत गरिरहेका हुन्छन्, तिनीहरूलाई निष्क्रिय हुन र हैसियतका लाभहरू उपभोग गर्न मन पर्छ, तिनीहरूलाई मानिसहरूमाथि हैकम चलाउन मन पर्छ, र तिनीहरू अलिअलि मुख चलाएर केही सुझाव दिन्छन् र आफ्नो काम सकियो भन्ठान्छन्। तिनीहरू मण्डलीको कुनै पनि वास्तविक काम वा परमेश्‍वरले तिनीहरूलाई सुम्पने महत्त्वपूर्ण कामलाई हृदयमा लिँदैनन्—तिनीहरूसँग यो बोझको बोध हुँदैन, र परमेश्‍वरको घरले यी कुराहरूमा बारम्बार जोड दिए पनि, तिनीहरू अझै पनि तिनलाई हृदयमा लिँदैनन्। उदाहरणका लागि, तिनीहरू परमेश्‍वरको घरको चलचित्र निर्माणको काम वा लेखनआधारित काममा हस्तक्षेप गर्न वा त्यसबारे सोधपुछ गर्न चाहँदैनन्, न त यस प्रकारका कामहरू कसरी अघि बढिरहेका छन् र तिनले कस्ता नतिजाहरू हासिल गरिरहेका छन् भनेर जाँचपड्ताल गर्ने इच्छा नै गर्छन्। तिनीहरू केही अप्रत्यक्ष सोधपुछ मात्र गर्छन्, र एकपटक मानिसहरू यस काममा व्यस्त छन् र उनीहरूले यो काम गरिरहेका छन् भन्ने थाहा पाएपछि, तिनीहरू त्यसबारे थप सरोकार नै राख्दैनन्। तिनीहरूलाई त्यस काममा समस्याहरू छन् भन्ने राम्ररी थाहा हुँदा पनि, तिनीहरू अझै तिनमा सङ्गति गर्न र तिनलाई समाधान गर्न चाहँदैनन्, न त मानिसहरूले कसरी आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेका छन् भनेर सोधपुछ वा जाँचपड्ताल नै गर्छन्। तिनीहरू यी कुराहरूबारे किन सोधपुछ वा जाँचपड्ताल गर्दैनन्? तिनीहरू के सोच्छन् भने, यदि तिनीहरूले यी कुराहरूको जाँचपड्ताल गरे भने, तिनीहरूले समाधान गर्नुपर्ने धेरै समस्या हुनेछन्, र त्यो अति चिन्ताजनक हुनेछ। यदि तिनीहरूले जहिले नि समस्याहरू समाधान गरिरहनुपऱ्यो भने, जीवन अत्यन्तै थकाइलाग्दो हुनेछ! यदि तिनीहरूले धेरै चिन्ता लिए भने, तिनीहरूलाई खाना मिठो लाग्न छोड्नेछ, र तिनीहरू राम्ररी निदाउन सक्नेछैनन्, तिनीहरूको देहलाई थकित महसुस हुनेछ, र त्यसपछि जीवन दयनीय हुनेछ। त्यसकारण, तिनीहरू कुनै समस्या देख्दा सकेसम्म त्यसलाई पन्छाउँछन् र बेवास्ता गर्छन्। यस प्रकारको व्यक्तिको समस्या के हो? (ऊ अत्यन्तै अल्छे हुन्छ।) ल भन्, कसको समस्या गम्‍भीर हुन्छ: अल्छी मानिसहरूको कि कमजोर क्षमता भएका मानिसहरूको? (अल्छी मानिसहरूको।) किन अल्छी मानिसहरूको समस्या गम्‍भीर हुन्छ? (कमजोर क्षमता भएका मानिसहरू अगुवा वा कामदारहरू बन्‍न सक्दैनन्, तर आफ्‍नो क्षमताभित्रको कर्तव्य निर्वाह गर्दा तिनीहरू अलिक प्रभावकारी हुन सक्छन्। तर, अल्छी मानिसहरू केही पनि गर्न सक्दैनन्; तिनीहरूसँग क्षमता नै भए पनि, त्यसको कुनै असर हुँदैन।) अल्छी मानिसहरू केही पनि गर्न सक्दैनन्। दुई शब्‍दमा सारांश गर्नुपर्दा, तिनीहरू निकम्मा मानिस हुन्; तिनीहरूको असक्षमता दोस्रो दर्जाको हुन्छ। अल्छी मानिसहरूको क्षमता जति नै राम्रो भए पनि, यो देखावटी कुरा मात्रै हुन्छ; तिनीहरूसँग राम्रो क्षमता भए पनि, त्यसको कुनै काम हुँदैन। तिनीहरू अत्यन्तै अल्छी हुन्छन्—तिनीहरूलाई आफूले के गर्नुपर्छ भनेर थाहा भए पनि, तिनीहरू त्यो गर्दैनन्; र तिनीहरूलाई कुनै कुरा समस्या हो भनेर थाहा भए पनि, तिनीहरू यसलाई समाधान गर्न सत्यता खोजी गर्दैनन्; र काम प्रभावकारी हुनका लागि तिनीहरूले के-कस्ता कठिनाइहरू भोग्‍नुपर्छ भनेर तिनीहरूलाई थाहा भए पनि, तिनीहरू यी सार्थक कठिनाइहरू सहन इच्‍छुक हुँदैनन्—त्यसैले तिनीहरू कुनै सत्यता प्राप्त गर्न सक्दैनन्, र कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरू मानिसहरूले सहनुपर्ने कठिनाइ सहन चाहँदैनन्; तिनीहरूलाई सुख-सयलमा लिप्त हुन, खुसी र फुर्सतको समयको आनन्द उठाउन, अनि स्वतन्त्र र तनावरहित जीवनको आनन्द उठाउन मात्रै आउँछ। के तिनीहरू बेकामका हुँदैनन् र? कठिनाइ सहन नसक्‍ने मानिसहरू जिउन लायक हुँदैनन्। सधैँ परजीवी जीवन जिउन चाहनेहरू विवेक वा समझ नभएका मानिस हुन्; तिनीहरू पशु हुन् र त्यस्ता मानिसहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। तिनीहरूले कठिनाइ सहन नसक्‍ने हुँदा, तिनीहरूले श्रम गरे पनि, त्यो राम्ररी गर्न सक्दैनन्, र यदि तिनीहरू सत्यता प्राप्त गर्न चाहन्छन् भने, त्यसको आशा झनै कम हुन्छ। कष्ट भोग्‍न नचाहने र सत्यतालाई प्रेम नगर्ने व्यक्ति रद्दी व्यक्ति हो; ऊ श्रम गर्नसमेत योग्य हुँदैन। ऊ अलिकति पनि मानवता नभएको पशु हो। त्यस्ता मानिसहरूलाई हटाउनैपर्छ; यो मात्र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ।

कतिपय मानिस खेतीपातीका लागि जिम्मेवार हुन्छन् र तिनीहरू निकै मेहनती हुन्छन्; तिनीहरूले मनमा योजना बनाएका हुन्छन्, र तिनीहरूलाई हरेक मौसममा के काम गर्ने भन्ने थाहा हुन्छ। खेत जोत्ने समय आउँदा, तिनीहरू हरेक खेतमा गएर हेर्छन्। तिनीहरू आफूले हरेक खेतमा जे रोप्ने योजना गरेका छन् त्यसलाई खेतको वास्तविक स्थितिसँग तुलना गर्छन्, र आफ्नो योजना उपयुक्त छ कि छैन र त्यो वास्तविक परिस्थितिअनुरूप हुन्छ कि हुँदैन भनेर हेर्छन्। त्यसबाहेक, तिनीहरू यो वर्ष माटो कति ओसिलो वा सुख्खा छ, कस्तो मल चाहिन्छ, र के रोप्दा उचित हुन्छ भनेर हेर्छन्। तिनीहरूले यी कुराहरू हेरेर बुझिसकेपछि बिउ उमारिएका छन् कि छैनन्, र कति उमारिएका छन् भनेर तुरुन्तै सोध्छन्, त्यसपछि तिनीहरू हरितगृहमा गएर निरीक्षण गर्छन् र बिउ उमार्ने व्यक्ति भरपर्दो छ कि छैन वा उसले बिउ बिगार्नेछ कि छैन भनेर हेर्छन्। यदि यो काम गर्न एउटा व्यक्ति पर्याप्त हुँदैन भने, तिनीहरू अर्को व्यक्तिलाई ऊसँगै काम गर्न खटाउँछन्, र दुवैले एकअर्काको सुपरिवेक्षण गर्छन्। के अल्छे मानिसहरूले यसो गर्नेछन्? अहँ, गर्नेछैनन्। यदि तिनीहरूलाई कसैले सुपरिवेक्षण गर्दैन र प्रोत्साहन दिँदैन भने, तिनीहरू आफैले कदापि स्थलगत भ्रमण गर्नेछैनन्; यदि परमेश्‍वरको घरले कुनै कामको प्रगतिबारे सोध्दैन भने, तिनीहरूले त्यस कामको वास्तविक अवस्था निरीक्षण गर्ने पहल बिलकुलै गर्नेछैनन्। कमजोर क्षमता भएका मानिसहरूले चाहे जे गरिरहेका भए पनि, त्यो सधैँ आफै गर्छन्, तर तिनीहरू के जरुरी र महत्त्वपूर्ण छ र के छैन भनेर छुट्टयाउन असक्षम हुन्छन्, र तिनीहरू केवल अन्धाधुन्ध रूपमा कार्य गर्छन्। जबकि यी अल्छे मानिसहरू पर्याप्त रूपमा चलाख हुन्छन्, र तिनीहरूले जे गरिरहेका भए पनि, तिनीहरू केवल मुख बजाउन र अरूलाई काम गर्ने हुकुम दिन मन पराउँछन्; तिनीहरू आफै कहिल्यै केही गर्दैनन्, न त वास्तविक काम नै गर्न सक्छन्। तिनीहरू यसो सोच्छन्, “मैले प्रश्नहरू सोध्न केवल एक कल गरे वा एउटा मेसेज पठाए पुग्छ, अनि मेरो काम सकिन्छ, समस्या समाधान हुन्छ। यसले मलाई ठूलो कष्टबाट जोगाउँछ! अगुवाका रूपमा मेरो क्षमता कस्तो छ हेर्। म केही शब्दले नै काम सकाउन सक्छु—के यो पनि मैले आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको होइन र? म आफ्ना कर्तव्य लापरवाह भइरहेको छैनँ। यदि माथिले मलाई यी कामकुराबारे सोधेमा, म तिनीहरूलाई फटाफट जबाफ दिन र स्पष्ट व्याख्या गर्न सक्छु। कार्यस्थलमा गएर हेर्नुको के अर्थ? मैले कठिनाइ र कष्टहरू सहनुपर्ने हुन्थ्यो, र घाममा बसेर मेरो छाला कालो हुनेथियो। त्यो औपचारिकता पूरा गर्न आवश्यक छैन। यदि म आफूलाई केही झन्झटबाट मुक्त गर्न सक्छु भने म त्यही गर्नेछु। आफूलाई यस्तो कठिनाइमा पार्नुपर्ने आवश्यकता छैन।” के तिनीहरू पर्याप्त रूपमा “अकली” छैनन् र? यस्तो प्रकारको व्यक्तिले काम गर्दा, ऊ आफ्ना उद्देश्यहरू हासिल गर्न किफायती तरिका अपनाउनमा र छोटो बाटो भेट्टाउनमा निकै सिपालु हुन्छ, र उसका आफ्ना तरिका र विधिहरू हुन्छन्। ऊ आफै केही पनि गर्दैन, न त कुनै कुरामा सहभागी नै हुन्छ। ऊ केवल प्रश्नहरू सोध्न फोन मात्र गर्छ, झारा टार्छ, र फोन राख्नेबित्तिकै सुत्न जान्छ वा मसाज लिन्छ र देहमा लिप्त हुन थाल्छ। यस्तो प्रकारको व्यक्तिलाई “काम कसरी गर्ने” भनेर साँच्चै थाहा हुन्छ, निष्क्रिय हुने मौकाहरू कसरी भेट्टाउने भनेर साँच्चै थाहा हुन्छ, र कसरी झारा टार्ने र मानिसहरूलाई उल्ल्याउने भनेर साँच्चै थाहा हुन्छ! तिनीहरूसँग त्यति क्षमता भएर के काम? तिनीहरू कम्युनिष्ट पार्टीको राष्ट्रका ती अधिकारीहरूसरह हुन्, जो काममा पुगेपछि चिया पिउने र पत्रिका पढ्ने मात्र गर्छन्, अनि त्यस दिनको काम सकिनुअघि नै के खाने र रमाइलो गर्न कहाँ जाने भनेर सोच्न थाल्छन्—तिनीहरूको जीवन साँच्चिकै राम्रो हुन्छ। यस प्रकारको झुटो अगुवाले आफ्नो काममा पालना गर्ने सिद्धान्त पनि यही हो; उसले कुनै कठिनाइ भोग्दैन, कुनै थकावट सहँदैन, र तैपनि अधिकारीझैँ व्यवहार गर्छ र हैसियतका लाभहरू लिन्छ, र धेरैजसो दाजुभाइ-दिदीबहिनीले यो समस्या हो भनेर देख्न सक्दैनन्। यस प्रकारको झुटो अगुवाले यसरी नै काम गर्छ, ऊ कुनै वास्तविक काम गर्दैन, र कामको अनुगमन र निरीक्षण गर्न कार्यस्थलमा जाँदैन, त्यसोभए के उसले कामका समस्याहरू पत्ता लगाउन सक्छ त? (सक्दैन।) नक्कली रूपमा आत्मिक झुटा अगुवाहरू र कमजोर क्षमता भएका झुटा अगुवाहरूको आँखा खुल्लै भए पनि तिनीहरू अन्धा हुन्छन्, र समस्याहरू देख्न सक्दैनन्, त्यसोभए यस्तो प्रकारको निकम्मा व्यक्तिको अवस्था के होला? ऊ यसो भन्छ, “म वास्तविक काममा सहभागी हुँदिन, र कार्यस्थलमा काम गरिरहेका मानिसहरूसँग संलग्न हुन त्यहाँ जाँदिन, त्यसैले यदि समस्याहरू उत्पन्न भएमा मेरो आँखा खुल्लै भए पनि म अन्धो छु भनेर भन्न मिल्दैन। म कार्यस्थल गएकै छैन र मैले समस्याहरू देखेकै छैन, त्यसैले समस्याहरू उत्पन्न भएमा त्यसको मसँग के सरोकार हुन्छ र? तिमीले गएर त्यसमा संलग्न मानिसहरू खोज्नुपर्छ।” के यी मानिसहरू साँच्चै चतुर छैनन् त? तिनीहरू आफूले आदेश दिने र उचित रूपमा मानिसहरूको बन्दोबस्त गर्ने काम मात्र गरे पुग्छ, त्यसपछि तिनीहरूको जिम्मेवारी पूरा भएको हुन्छ र तिनीहरूले निर्लज्ज रूपमा फुर्सद र मनोरञ्जनको समयको आनन्द लिन सक्छन् भन्ने सोच्छन्। तल जे समस्याहरू भए पनि, तिनीहरू कुनै सोधपुछ गर्दैनन्, र कसैले माथिलाई समस्याबारे रिपोर्ट गऱ्यो भने त्यसलाई सम्हाल्न मात्र हतार गर्छन्। तिनीहरू हरदिन हैसियतका लाभहरूको आनन्द उठाउन, चारैतिर मस्तसँग चहार्न, कामको निरीक्षण गरेको देखावट गर्नमा मात्र केन्द्रित हुन्छन् तर साँच्चै समस्या भएको कुनै ठाउँमा वास्तवमा कहिल्यै जाँदैनन्, र महत्त्वपूर्ण कामको कहिल्यै निरीक्षण गर्दैनन्—के यो ठ्याक्कै कम्युनिष्ट पार्टीका अधिकारीहरूले सतही प्रयास गरेको र आफूलाई असल देखाउने काम मात्र निर्वाह गरेको जस्तै होइन र? तिनीहरू आफूलाई दिइएको काम पूरा गर्ने मिठा कसम खान्छन्, तर त्यसको अनुगमन वा सुपरिवेक्षण गर्दैनन्, र कार्यस्थलमा गए पनि औपचारिकताहरू मात्र पूरा गर्छन्। तिनीहरूले कदापि आफै काम गर्नेछैनन् वा आफै समस्याहरू समाधान गर्नेछैनन्। तिनीहरू सोच्छन्, “मैले यी कामकुरा गर्न कष्ट भोग्नु वा मूल्य चुकाउनु नै पर्दैन। कसैले ती काम गर्नु नै पर्याप्त हुन्छ। मैले यसै पनि पैसा कमाउने होइन, त्यसैले जसोतसो गर्जो टारे भइहाल्छ नि।” के यस्तो मनस्थिति हुँदा तिनीहरूले आफ्नो काम राम्ररी गर्न सक्छन् त? तिनीहरू यस्तो सोच्दै मनमा सानो चाल बुन्छन्, “म जति खान पाउँछु, त्यति मात्रै काम गर्नेछु, र हरदिन झाराटारुवा तरिकाले कटाइदिन्छु।” तैपनि तिनीहरू कहिल्यै विशेष काम गर्दैनन्, र कहिल्यै कार्यस्थलमा देखिँदैनन्। त्यसोभए, तिनीहरू कहाँ हुन्छन् त? तिनीहरू खान, पिउन, र राम्ररी निदाउन पाउने सुन्दर र सुरक्षित स्थानमा रमाइरहेका हुन्छन्, तिनीहरू राजकुमारझैँ जिइरहेका हुन्छन्—नियमित रूपमा नुहाइरहेका, नियमित रूपमा मसाज लिइरहेका, र नियमित रूपमा पहिरन फेरिरहेका हुन्छन्—र तिनीहरू कुनै कष्ट बिलकुलै सहिरहेका हुँदैनन्। तिनीहरू आफूले के-कस्ता वास्तविक काम गर्न सक्छु, के-कस्ता वास्तविक समस्याहरू समाधान गर्न सक्छु, परमेश्‍वरको घरको काममा के योगदान दिएको छु र आफू यी सबै राम्रा कुराहरूको आनन्द उठाउन कति योग्य छु भनेर कहिल्यै चिन्तन गर्दैनन्—तिनीहरू यी कुनै कुराबारे कहिल्यै ख्याल गर्दैनन्। तिनीहरू कस्ता मानिस हुन्? यी बदमासहरूमा कुनै आत्म-चेतना हुँदैन, तिनीहरू लाजमर्दो मानिस हुन्, र तिनीहरू मण्डली अगुवा र कामदार हुन लायक हुँदैनन्।

सम्पूर्ण झूटा अगुवाहरू वास्तविक काम कहिल्यै गर्दैनन्। तिनीहरू आफ्नो नेतृत्वदायी भूमिका कुनै आधिकारिक पद भएझैँ गर्छन्, आफ्‍नो हैसियतका फाइदाहरूमा पूर्ण रूपमा रमाउँछन्, र तिनीहरू आफूले अगुवाका रूपमा पूरा गर्नुपर्ने कर्तव्य र आफूले गर्नुपर्ने कामलाई घाँडोझैँ, झमेलाझैँ ठान्छन्। तिनीहरू आफ्ना हृदयमा मण्डलीको कामप्रति प्रतिरोधी हुन्छन्: तिनीहरूलाई कामको निरीक्षण गर्न र अनुगमन गरेर समाधान गर्न त्यसभित्रका समस्याहरू जान्न लगाइस् भने, तिनीहरू पटक्कै मान्दैनन्। यो अगुवाहरू र कामदारहरूले गर्ने काम हो, यो तिनीहरूको कार्य हो। यदि तिनीहरूले यो काम गर्दैनन् भने—यदि तिनीहरू यो काम गर्न अनिच्छुक छन् भने—तिनीहरू किन अझै पनि अगुवा वा कामदार बन्‍ने इच्छा गर्छन्? के तिनीहरू परमेश्‍वरका अभिप्रायहरूलाई वास्ता गर्नका लागि आफ्नो कर्तव्य पूरा गर्छन् कि एउटा कर्मचारी बनेर हैसियतका फाइदाहरूमा रमाउनका लागि? यदि तँ कुनै आधिकारिक पद पाउन मात्र अगुवा बनिस् भने, के यो अलि लाजमर्दो कुरा होइन र? यस्ता मानिसहरूमा सबैभन्दा नीच चरित्र हुन्छन्, मर्यादा, र लाज हुँदैनन्। यदि तँ देहसुखमा रमाउन चाहन्छस् भने, तँ तुरुन्तै संसारमा फर्कनुपर्छ, र लडाइँ गरेर बलजफ्ती आफूले जति सक्छन् त्यति खोसेर लिनुपर्छ। कसैले दखल दिने छैन। परमेश्‍वरको घर परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्‍नो कर्तव्य निभाउने र उहाँको आराधना गर्ने ठाउँ हो; यो मानिसहरूले सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने ठाउँ हो। यो कोही व्यक्ति देहसुखमा लिप्त हुने ठाउँ होइन, झन् मानिसहरूलाई राजकुमारजस्तो जिउन दिने ठाउँ हुनु त परको कुरा हो। झूटा अगुवाहरूलाई कुनै लाज हुँदैन, तिनीहरू बेसरम हुन्छन्, र तिनीहरूमा समझ हुँदैन। तिनीहरूलाई जुनै निश्चित काम दिइए पनि, तिनीहरू त्यसलाई गम्भीर रूपमा लिँदैनन्, र त्यसलाई दिमागबाट निकाल्छन्; तिनीहरूले एकदमै मिठो बोलीले जवाफ दिए पनि, कुनै वास्तविक काम गर्दैनन्। के यो अनैतिक कुरा होइन र? तिनीहरूले वास्तविक काम नगर्ने मात्र होइन, तिनीहरू एकल शक्ति हातमा लिन चाहन्छन्—वित्तीय, कर्मचारी, र अन्य सम्पूर्ण मामलाहरूमाथि शक्ति हातमा लिन, र हरदिन मानिसहरूलाई रिपोर्ट दिन लगाउन चाहन्छन्। यी कुरामा तिनीहरू वास्तवमा अत्यन्तै लगनशील हुन्छन्। जब तिनीहरूले कामबारे माथिलाई रिपोर्ट गर्ने समय आउँछ, तब तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले गरेका कामका सारा नतिजाहरूको श्रेय आफैलाई दिन्छन्, ताकि तिनीहरूले महान् काम गरेका छन् भनी माथिले गलत रूपमा विश्‍वास गरेकोहोओस्, जबकि खासमा यो सबै अरूले गरेका हुन्छन्। सुसमाचार प्रचारमार्फत कति जना मानिसहरू प्राप्त भएका छन्, कुन मानिसहरूलाई बढुवा गरिएका छन् र संवर्धन गरिँदै छन्, कुन मानिसहरू आफ्ना पदबाट बरखास्त गरिएका छन्, कुन मानिसहरू निकालिएका छन्, आदि—यीमध्ये कुनै पनि विशिष्ट कार्यहरू तिनीहरूले गरेका होइनन्, तैपनि तिनीहरूमा तिनको रिपोर्ट गर्ने साहस हुन्छ। के यी मानिसहरू बेसरम होइनन् र? के तिनीहरूले छल गरिरहेका छैनन् र? यस्ता मानिसहरू अत्यन्तै छली र धूर्त हुन्छन्! तिनीहरू आफूलाई अक्कली ठान्छन्—यो त वास्तवमै आफूले खनेको खाल्डामा आफै पर्नु हो, र अन्त्यमा तिनीहरू आफ्नै कारणले प्रकाश हुन्छन् र हटाइन्छन्। कतिपय मानिसहरूले जुन काम गरे पनि वा जुन कर्तव्य निभाए पनि, तिनीहरू यसमा अदक्ष हुन्छन्, तिनीहरूले यसको जिम्मेवारी थेग्नै सक्दैनन्, र तिनीहरू कुनै व्यक्तिले पूरा गर्नुपर्ने कुनै पनि दायित्व वा जिम्‍मेवारीहरू पूरा गर्न सक्दैनन्। के तिनीहरू रद्दी होइनन् र? के तिनीहरू अझै पनि मानव भनिन लायक हुन्छन् र? बुद्धु, मानसिक रूपले अदक्ष, र शारीरिक कमजोरी भएकाहरूबाहेक, आफ्ना कर्तव्य र जिम्‍मेवारीहरू पूरा गर्नु नपर्ने जीवित मानिस कोही छ र? तर यस्तो व्यक्ति सधैँ छट्टु र सुस्ताइरहेको हुन्छ, र आफ्‍नो जिम्‍मेवारी पूरा गर्न चाहँदैन; यसको आशय के हो भने तिनीहरू उचित मानव हुने इच्छा गर्दैनन्। परमेश्‍वरले तिनीहरूलाई मानव बन्‍ने मौका दिनुभयो, र उहाँले तिमीहरूलाई क्षमता र वरदान दिनुभयो, तैपनि तिनीहरूले यी कुरालाई आफ्‍नो कर्तव्य पूरा गर्नमा प्रयोग गर्न सक्दैनन्। तिनीहरूले केही गर्दैनन्, हरेक मोडमा आनन्द लिन मात्र चाहन्छन्। के त्यस्तो व्यक्ति मानव भनिन लायक हुन्छ? तिनीहरूलाई जुनसुकै काम दिइएको भए पनि, चाहे त्यो काम महत्त्वपूर्ण वा साधारण, कठिन वा सरल जेजस्तो भए पनि, तिनीहरू सधैँ झाराटारुवा र छट्टु अनि सुस्त हुन्छन्। समस्याहरू पैदा हुँदा, तिनीहरू आफ्‍नो जिम्‍मेवारी अरू मानिसहरूको काँधमा थुपार्न चाहन्छन्, कुनै जिम्‍मेवारी वहन गर्दैनन्, अनि आफ्ना परजीवी जीवन जिइरहन चाहन्छन्। के तिनीहरू बेकारका रद्दी होइनन् र? समाजमा, जिउनका लागि कसले पो आफ्‍नै भर पर्नु पर्दैन र? व्यक्ति ठूलो भएपछि, उसले आफ्‍नो ज्यान आफै पाल्‍नुपर्छ। तिनीहरूका आमाबुबाले आफ्‍नो जिम्‍मेवारी पूरा गरिसकेका हुन्छन्। तिनीहरूका आमाबुबाले तिनीहरूलाई सहयोग गर्ने इच्छा गरे पनि, तिनीहरूलाई त्यो कुरामा अप्ठ्यारो लाग्‍नुपर्छ। तिनीहरूले आफ्ना आमाबुबाले तिनीहरूलाई हुर्काउने आफ्‍नो मिसन पूरा गरेका छन् तिनीहरू सक्षम वयस्क हुन्, र आफू आत्मनिर्भर भई बाँच्‍न सक्‍नुपर्छ भन्‍ने कुरा बुझ्न सक्‍नुपर्छ। के वयस्कमा कम्तीमा पनि यतिको समझ हुनुपर्दैन र? यदि कसैमा साँच्चै समझ छ भने, उसले आफ्‍ना आमाबुबासँग हात पसारिरहने सम्भावना नहुन सक्छ; तिनीहरूलाई अरू हाँस्लान्, र आफ्नो इज्जत जाला भन्‍ने डर हुनेछ। त्यसोभए, सहजतालाई मन पराउने र कामलाई घृणा गर्ने मानिसहरूमा समझ हुन्छ? (हुँदैन।) तिनीहरू सधैँ सित्तैमा केही पाउन चाहन्छन्; तिनीहरू कहिल्यै कुनै जिम्‍मेवारी पूरा गर्न चाहँदैनन्, आकासबाट मिठाइ झरेर तिनीहरूको मुखमा परोस् भन्‍ने कामना गर्छन्; तिनीहरू कामै नगरी दिनमा तीनपटक खान चाहन्छन्, बस कसैले भात पस्केर देओस्, र मिठो-मिठो खान र पिउन चाहन्छन्। के यो परजीवीको मानसिकता होइन र? अनि परजीवी मानिसहरूमा विवेक र समझ हुन्छ त? के तिनीहरूमा सत्यनिष्ठा र मर्यादा हुन्छ त? कदापि हुँदैन। तिनीहरू केही न कामका भातमाराहरू, विवेक वा समझविनाका पशुहरू हुन्। तिनीहरूमध्ये कोही पनि परमेश्‍वरको घरमा रहन लायक हुँदैनन्।

मानिलिऊँ, मण्डलीले तेरो लागि एउटा कार्य प्रबन्ध गर्छ, र तँ यसो भन्छस्, “यो कार्यले मलाई अरूको ध्यान आकर्षित गर्ने मौका दिए पनि वा नदिए पनि, यो कार्य मलाई दिइएको हुनाले, म यसलाई राम्ररी गर्नेछु र यो जिम्‍मेवारी लिनेछु। यदि मलाई अतिथि सत्कारको कार्य प्रबन्ध गरियो भने, म त्यो राम्ररी गर्न सकेजति सबै गर्नेछु; म दाजुभाइ-दिदीबहिनीहरूको राम्रो हेरचाह गर्नेछु र सबैको सुरक्षा सुनिश्चित गर्नको लागि सक्दो गर्नेछु। यदि मलाई सुसमाचार प्रचार गर्ने काम प्रबन्ध गरियो भने, म सत्यताले आफूलाई सुसज्जित पारेर प्रेमका साथ सुसमाचार राम्ररी सुनाउँदै आफ्‍नो कर्तव्य पूरा गर्नेछु। यदि मलाई विदेशी भाषा सिक्‍ने काम प्रबन्ध गरियो भने, म पूरै हृदय लगाएर यो अध्ययन गर्नेछु र मेहनत गर्नेछु, र जतिसक्दो चाँडो, एकदुई वर्षमा यसमा निपुण हुन खोज्नेछु, ताकि मैले विदेशीहरूलाई परमेश्‍वरको गवाही दिन सकूँ। यदि मलाई गवाही लेखहरू लेख्‍न लगाइयो भने, म यसो गर्न निष्ठापूर्वक आफूलाई प्रशिक्षित तुल्याउनेछु, कामकुराहरूलाई सत्यता सिद्धान्तअनुसार हेर्नेछु, र म भाषाबारे सिक्‍नेछु। मैले सुन्दर गद्य शैलीमा लेख लेख्‍न नसके पनि कम्तीमा प्रस्ट रूपमा आफ्नो अनुभवात्मक गवाही सुनाउन, सत्यताबारे विस्तृत तवरमा सङ्गति गर्न, र परमेश्‍वरका लागि साँचो गवाही दिन सक्षम बन्‍नेछु, ताकि मानिसहरू मेरा लेखहरू पढेर सच्चिन र लाभ उठाउन सकून्। मण्डलीले मलाई जुन काम दिए पनि म आफ्‍नो सारा हृदय र शक्तिले त्यो गर्नेछु। यदि मैले कुनै कुरा बुझिनँ वा समस्या आइपर्‍यो भने, म परमेश्‍वरलाई प्रार्थना गर्नेछु, सत्यता खोजी गर्नेछु, सत्यता सिद्धान्तहरूअनुसार समस्याहरूलाई हल गर्नेछु, र कार्य राम्ररी गर्नेछु। मेरो कर्तव्य जे भए पनि, म यसलाई राम्ररी पूरा गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफूसँग भएको सबै कुरा प्रयोग गर्नेछु। मैले जेसुकै हासिल गर्न सके पनि, म आफूले वहन गर्नुपर्ने जिम्‍मेवारी वहन गर्नेछु, र कम्तीमा पनि, म आफ्‍नो विवेक र समझविरुद्ध काम गर्नेछैनँ, वा झारा टार्नेछैनँ, वा कपटी र अल्छे बन्‍नेछैनँ, वा अरूको मेहनतको फलमा लिप्त हुनेछैनँ। मैले गर्ने कुनै पनि काम विवेकको मानकभन्दा मुनि हुनेछैन।” यो त मानव आचरणको न्यूनतम मापदण्ड हो र यसरी आफ्‍नो कर्तव्य पूरा गर्ने व्यक्ति विवेक र समझ भएको व्यक्तिको रूपमा योग्य हुन सक्छ। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा तँमा कम्तीमा पनि स्पष्ट विवेक हुनुपर्छ, र कम्तीमा पनि आफ्नो तीन छाकको खानाको लायक हुनुपर्छ र ती सित्तैँमा खानु हुँदैन। यसलाई जिम्‍मेवारीको बोध हुनु भनिन्छ। तेरो क्षमता बलियो भए पनि वा कमजोर भए पनि, र तैँले सत्यता बुझे पनि वा नबुझे पनि, जे भए पनि, तँमा यस्तो मनोवृत्ति हुनैपर्छ: “यो काम मलाई दिइएको हुनाले, मैले यसलाई गम्‍भीरतासाथ लिनैपर्छ; मैले यसलाई मेरो चासोको विषय बनाउनुपर्छ, र यसलाई राम्ररी पूरा गर्न आफ्‍नो सारा हृदय र शक्ति प्रयोग गर्नैपर्छ। मैले यसलाई पूर्ण रूपमा राम्ररी गर्न सक्छु कि सक्दिनँ भन्‍नेबारे ग्यारेन्टी दिन नसके पनि, यसलाई आफूले सकेजति राम्ररी निर्वाह गर्ने मेरो मनोवृत्ति छ, र म यसबारे अवश्य नै झाराटारुवा बन्‍नेछैनँ। यदि काममा कुनै समस्या उत्पन्न भयो भने, मैले जिम्‍मेवारी लिनुपर्छ, र यसबाट पाठ सिकेको सुनिश्‍चित गरेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ।” यो सही मनोवृत्ति हो। के तिमीहरूमा यस्तो मनोवृत्ति छ? कतिपय मानिसहरू भन्छन्, “मलाई सुम्पिइएको काम मैले राम्ररी गर्नैपर्छ भन्‍ने छैन। म आफूले सकेको गर्नेछु र परिणाम जे-जस्तो हुनेछ, हुनेछ। मैले आफैलाई अति थकाउनु पर्दैन वा कुनै गल्ती गरेँ भनेर चिन्तामा डुबिरहनु पर्दैन, र धेरै तनाव पनि लिइरहनु पर्दैन। आफूलाई यति थकित पार्नुको के अर्थ छ र? आखिर, म सधैँ काम गरिरहेको हुन्छु र मैले सित्तैमा खाँदै हिँडेको छैन।” आफ्‍नो कर्तव्यप्रति यस्तो मनोवृत्ति राख्‍नु गैरजिम्‍मेवारी हो। “काम गर्न मन लाग्यो भने, केही काम गर्नेर्छु। म आफूले सकेको मात्र गर्नेछु र परिणाम जे-जस्तो हुनेछ, हुनेछ। त्यसलाई यति गम्‍भीर रूपमा लिनुपर्ने कुनै आवश्यकता छैन।” त्यस्ता मानिसहरूमा आफ्‍नो कर्तव्यप्रति जिम्‍मेवार मनोवृत्ति हुँदैन र तिनीहरूमा जिम्‍मेवारीबोधको कमी हुन्छ। तिमीहरू कस्ता व्यक्तिहरू हौ? यदि तिमीहरू पहिलो प्रकारका व्यक्तिहरू हौ भने, तिमीहरू समझ र मानवता भएका व्यक्तिहरू हौ। यदि तिमीहरू दोस्रो प्रकारका व्यक्तिहरू हौ भने, तिमीहरू मैले भर्खरै चिरफार गरेका झूटा अगुवाहरूभन्दा फरक छैनौ। तिमीहरू केही नगरी आफ्ना दिनहरू मात्रै कटाइरहेका छौ। “म थकान र कठिनाइबाट जोगिनेछु र बढी आनन्द लिनेछु। यदि, कुनै दिन, मलाई बर्खास्त नै गरियो भने पनि मैले सबै कुरा गुमाएको हुनेछैन। कम्तीमा पनि मैले केही दिनसम्‍म हैसियतका लाभहरू उपभोग गरेको हुनेछु, र मेरो लागि यो घाटा हुनेछैन। यदि मलाई अगुवा छनौट गरियो भने म त्यस्तै व्यवहार गर्नेछु।” यस्तो व्यक्तिको मानसिकताबारे तिमीहरू के सोच्छौ? त्यस्ता मानिसहरू अविश्‍वासीहरू हुन् जो अलिकति पनि सत्यता खोजी गर्दैनन्। यदि तँमा साँच्‍चै जिम्मेवारीको बोध छ भने, त्यसले तँमा विवेक र समझ छ भन्‍ने देखाउँछ। कुनै काम जति ठूलो वा सानो भए पनि, त्यो काम तँलाई जसले खटाए भए पनि, चाहे त्यो काम तँलाई परमेश्‍वरको घरले सुम्पेको भए पनि वा मण्डली अगुवा वा सेवकले दिएको भए पनि, तेरो मनोवृत्ति यस्तो हुनुपर्छ: “यो कर्तव्यमा मलाई खटाइएकोले, यो परमेश्‍वरको उत्थान र अनुग्रह हो। मैले त्यसलाई सत्यताका सिद्धान्तअनुसार राम्रोसित पूरा गर्नुपर्छ। मेरो क्षमता औसत भए पनि, म यो जिम्‍मेवारी लिन र आफूले गर्नुपर्ने सबै कुरा राम्ररी पूरा गर्न इच्छुक छु। यदि मैले राम्ररी काम गरिनँ भने, मैले यसको जिम्‍मेवारी लिनुपर्छ, र राम्रो काम गरेँ भने, यसको श्रेय मेरो हुँदैन। मैले गर्नुपर्ने नै यही हो।” व्यक्तिले आफ्‍नो कर्तव्यलाई कसरी लिन्छ भन्‍ने कुरा सिद्धान्तसँग सम्‍बन्धित मामिला हो भनेर म किन भन्छु? यदि तँमा साँच्‍चै नै जिम्‍मेवारीको बोध छ र तँ जिम्‍मेवार व्यक्ति होस् भने, तैँले मण्डलीको काम वहन गर्न अनि आफूले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्न सक्‍नेछस्। यदि तँ आफ्‍नो कर्तव्यलाई हल्का रूपमा लिन्छस् भने, परमेश्‍वरमाथिको विश्‍वाससम्‍बन्धी तेरो दृष्टिकोण गलत छ, अनि परमेश्‍वर र कर्तव्यप्रतिको तेरो मनोवृत्ति समस्याग्रस्त छ। आफ्नो कर्तव्य पूरा गर्नेप्रति तेरो दृष्टिकोण त्यसलाई झाराटारुवा रूपमा गर्नु र केवल आलटाल गर्नु हो, र चाहे तँ त्यो गर्न इच्छुक भए पनि नभए पनि, तँ त्यसमा भए पनि नभए पनि, तँ त्यसलाई सधैँ झारा टार्ने मनोवृत्तिका साथ लिन्छस्, त्यसैले तँ अगुवा वा कामदार बन्न उपयुक्त छैनस् र मण्डलीको काम गर्न लायक छैनस्। अझ के भने, सिधै भन्नुपर्दा, तँजस्ता मानिसहरू नालायक हुन्, केही हासिल गर्न नसक्ने, र बेकार मानिस मात्र हुन्। कस्ता मानिसहरू निकम्मा हुन्छन्? अलमल्ल परेका मानिसहरू, जो केही नगरी दिन कटाउँछन्, तिनीहरू निकम्मा हुन्छन्। यस प्रकारका मानिसहरू आफूले गर्ने कुनै कुरामा पनि जिम्मेवार हुँदैनन्, न त त्यसलाई गम्भीरतापूर्वक नै लिन्छन्; तिनीहरूले सबै कुरा लथालिङ्ग पार्छन्। तैँले जसरी सत्यता सङ्गति गरे पनि, तिनीहरूले तेरो कुरा सुन्दैनन्। तिनीहरू सोच्छन्, “मैले चाहेँ भने म यसरी नै झारा टार्नेछु। जे मन लाग्छ त्यही भन! जे भए पनि, अहिले म आफ्नो कर्तव्य पूरा गर्दैछु र मैले पेट भर्न पाएकै छु, त्यति भए पुगिहाल्यो नि। कम्तीमा म भिखारी त हुनुपरेको छैन। यदि कुनै दिन खान पाइनँ भने, त्यसबारे त्यतिबेलै सोचौँला। स्वर्गले सधैँ मानिसका लागि एउटा बाटो खुला नै राखिदिनेछ। त्यसैले, तपाईँले ममा विवेक वा समझ छैन, र म अलमल्ल परेको छु भनेर भन्नुहुन्छ—ल, त्यसोभए के भयो त? मैले कानुन तोडेको छैनँ। बढी भए, ममा चरित्रको अभाव होला, तर त्यो मेरो लागि कुनै खती होइन। पेट भर्न पाएँ भने भइहाल्यो।” तँ यो दृष्टिकोणबारे के सोच्छस्? म तँलाई भन्छु, केही नगरी दिन कटाउने यस्ता अन्योलमा परेका मानिसहरू सबैलाई हटाइने कुरा निर्धारित छ, र तिनीहरूले कसै गरी पनि मुक्ति पाउन सक्दैनन्। वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गर्ने तर कुनै पनि सत्यता नस्विकार्ने र अनुभवात्मक गवाही नभएका मानिसहरूलाई हटाइनेछ। कोही पनि बच्नेछैनन्। बेकार र नालायकहरू सबै सित्तैमा खानेहरू हुन् र तिनीहरूलाई हटाइने कुरा निर्धारित छ। यदि अगुवा र सेवकहरू सित्तैमा खानेहरू मात्र हुन् भने तिनीहरूलाई त झनै बर्खास्त गरेर हटाइनुपर्छ। यस्ता अन्योलमा परेका मानिसहरू अझै पनि अगुवा र सेवक बन्‍न चाहन्छन्; तिनीहरू अयोग्य छन्! तिनीहरू कुनै वास्तविक काम गर्दैनन्, तैपनि अगुवा हुन चाहन्छन्। तिनीहरूमा साँच्‍चै कुनै लाज छैन।

कतिपय अगुवा र कामदारहरूले आफ्नो पदबाट बर्खास्त भएपछि, यसो भन्छन्, “अगुवा वा कामदार नहुनु त धेरै राम्रो कुरो हो। म यति चिन्तित हुनु वा मैले आफूलाई यति धेरै कष्ट दिनु पर्दैन। साधारण दाजुभाइ वा दिदीबहिनी हुनु त अद्भुत कुरा हो। मैले किन त्यो कष्ट उठाउनु पऱ्यो र? मसँग क्षमता भए पनि त्यो आफूलाई थकाउनका लागि होइन।” अरू कसैले तिनीहरूलाई यसो भन्छ, “अब अगुवा वा कामदार नरहेपछि तिमी के गर्छौ त?” उसले जबाफ दिन्छ, “मैले जे गरे पनि, यदि त्यो थकाइलाग्दो छैन र त्यसमा धेरै मेहनत लाग्दैन भने ठिकै हुन्छ—हिँडडुल गर्ने र वरपर हेर्ने, वा बसेर गफ गर्ने वा कम्प्युटर हेर्ने र धेरै घण्टा वा शारीरिक कष्ट गर्नु नपर्ने कुनै कुरा भए ठिकै हुनेथियो।” यो कस्तो प्रकारको कुरा हो? यदि तिमीहरूले आफूले छनोट गरेको अगुवा वा कामदार यस्तो खालको चिज हो भनेर पत्ता लगायौ भने, तिमीहरूलाई हृदयमा कस्तो महसुस हुनेछ? के तँलाई अत्यन्तै पछुतो हुनेछैन? (हुनेछ।) त्यसोभए, के तँसँग यसबारे कुनै विचार हुनेछ? तैँले यसो भन्नेछस्, “सुरुमा, मैले तिमीसँग अलिक क्षमता छ भन्ने देखेँ र म तिम्रो प्रवर्द्धन र जगेर्ना गर्न, तिमीलाई एउटा मौका दिन चाहन्थेँ, ताकि तिमीले थप केही सत्यताहरू बुझ्न सक। मैले त तिमी निकम्माभन्दा पनि कम छौ भनेर कहिल्यै कल्पना गरेको थिइनँ। मलाई मैले तिमीलाई त्यति बेला मानव ठानेकोमा पछुतो लागेको छ। तिमी आखिर मानव होइनौ भनेर मैले कहिल्यै कल्पना नै गरेको थिइनँ। तिमी त एउटा सुँगुर वा कुकुरभन्दा पनि नीच छौ, तिमी रद्दी हौ। तिमी यो मानव छाला ओढ्न लायक छैनौ, र तिमी मानव हुन योग्य छैनौ!” के यी शब्दहरू अप्रिय लाग्छन्? (लाग्दैनन्।) तिमीहरूलाई ती अप्रिय लाग्दैनन्, तर यस प्रकारको रद्दीलाई के ती अत्यन्तै अप्रिय लाग्दैनन् र? (लाग्छन्।) के यस्तो रद्दीको हृदय हुन्छ? (हुँदैन।) के त्यसोभए कसैले ऊबारे राम्रो कुरा भनिरहेको छ कि नराम्रो कुरा भनिरहेको छ भनेर उसले छुट्टयाउन सक्छ त? हृदयविहीन मानिसहरूले कुनै पनि मामला सामना गर्दा, तिनीहरूले केही नगरी दिन कटाउने आफ्नो मनोवृत्ति परिवर्तन गर्नेछैनन्। तिनीहरू आफूलाई फाइदा र लाभ हुने र आफूलाई सहज महसुस हुने भएसम्म ठिकै हो भन्ने सोच्छन्। त्यसैले अरू जोकोहीले चाहे जे भने पनि तिनीहरू वास्ता गर्दैनन्। तिनीहरूको प्रसिद्ध भनाइ यस्तो छ: “तिमीले जे भने पनि, तिमीले मलाई जसरी हेरे पनि वा मूल्याङ्कन गरे पनि, अथवा मलाई जसरी वर्गीकरण गरे पनि वा सम्हाले पनि, मलाई मतलब छैन!” के यी मानिसहरू रद्दी मात्र होइनन् त? तैँले चाहे जे भने पनि तिनीहरूलाई कुनै अनुभूति बोध हुँदैन र तिनीहरू त्यसलाई मनमा लिँदैनन्। तिनीहरू किन त्यसलाई मनमा लिँदैनन्? तिनीहरू केवल कामचोर हुन्, र तिनीहरूसँग हृदय नै हुँदैन। हृदय नभएका मानिसहरूको कुनै इज्जत वा निष्ठा हुँदैन, तिनीहरू तैँले भन्ने कुनै पनि कुराबारे वास्ता गर्दैनन्, र चाहे तैँले तिनीहरूसँग जति कडा रूपमा बोले पनि, तिनीहरूलाई हृदयमा कुनै चोट महसुस हुँदैन। इज्जत, निष्ठा र समझ भएकाहरूलाई मात्र त्यस्ता शब्दहरू सुन्दा पीडा र हृदय छेडिइरहेको महसुस हुनेछ। तिनीहरूले यसो भन्नेछन्, “त्यो मैले आफूलाई आचरणमा ढाल्ने नीच तरिका थियो, त्यसले गर्दा मानिसहरूले मलाई हेपे, र मैले आफ्नो इज्जत गुमाएँ, त्यसैले म उपरान्त त्यसरी व्यवहार गर्दिनँ। म आफ्नो इज्जत फिर्ता ल्याउन चाहन्छु र मानिसहरूले मलाई हेप्ने स्थिति सिर्जना गर्न चाहन्नँ। म आफ्नो सम्मान फिर्ता ल्याउन लागिपर्नेछु, र इज्जतका साथ जिउन र परमेश्‍वरलाई सन्तुष्ट पार्न जे गर्नुपरे पनि गर्नेछु।” तिनीहरूको इज्जतमा चोट पुऱ्याउने र संवेदनशील अर्थात् कमजोर ठाउँमा घोच्ने शब्दहरूको कुरा आउँदा, तिनीहरूलाई अनुभूति बोध हुन्छ—यिनीहरू हृदय भएका मानिस हुन्। अनुभूति बोध र इज्जत भएका मानिसहरूले सही अभिव्यक्तिहरू सुन्दा र सकारात्मक कुराहरू देख्दा अनि सही र गलत छुट्टयाउँदा, तिनीहरू परिवर्तन हुने सङ्कल्प गर्छन् किनभने तिनीहरूसँग इज्जत हुन्छ, र तिनीहरू अरूले तिनीहरूलाई हेयको दृष्टिले हेरुन् भन्ने चाहँदैनन्। ती कामचोर र निकम्माहरूको कुनै इज्जत हुँदैन, र त्यसैले तैँले तिनीहरूलाई चाहे जे भने पनि, तेरा अभिव्यक्तिहरू चाहे जति सही वा सटिक वा सत्यताअनुरूप भए पनि, वा तेरा अभिव्यक्तिहरू जति सकारात्मक कुरा भए पनि, तिनले यी मानिसहरूमाथि कुनै प्रभाव पार्दैनन् र तिनीहरूलाई अलिकति पनि उत्प्रेरित गर्नेछैनन्। इज्जत नभएको व्यक्तिसँग कुनै पनि सकारात्मक कुरा, कुनै पनि फैसला, वा कुनै पनि खुलासाका सन्दर्भमा बिलकुलै अनुभूति बोध हुँदैन, न त ऊसँग कस्तो प्रकारको जीवन मार्ग छनोट गर्ने भन्नेप्रति सही मनोवृत्ति नै हुन्छ। त्यसैले, तैँले उसलाई चाहे जे भने पनि, चाहे जसरी खुलासा वा चित्रण गरे पनि, उसले त्यसलाई स्विकार्न बिलकुल इन्कार गर्छ, र वास्तै गर्दैन। त्यसैले, के यस्ता मानिसहरूलाई सत्यता प्रचार गरेर अनि प्रवचन दिएर केही काम लाग्छ त? के तिनीहरूलाई काटछाँट गरेर केही काम लाग्छ त? के तिनीहरूलाई न्याय गरेर अनि सजाय दिएर केही काम लाग्छ त? लाग्दैन! यस्ता मानिसहरू बेकार हुन्छन्। तिनीहरू अल्याङटल्याङ गर्दै दिन बिताउँछन्, र तिनीहरू पशुको वर्गमा पर्छन्—ठ्याक्कै भन्नुपर्दा, तिनीहरू मानव होइनन्। तिनीहरू परमेश्‍वरका वचनहरू सुन्न लायक छैनन्। यदि यी नालायक, परजीवीहरू मण्डली अगुवा बनेमा, के तिनीहरूले मण्डलीमा रहेका समस्याहरू पत्ता लगाउन सक्छन् त? के तिनीहरूले समस्याहरू समाधान गर्न सक्छन् त? निश्चय नै सक्दैनन्। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले कुनै समस्या उठान गरेमा, के तिनीहरूले त्यसलाई समाधान गर्न सक्छन् त? तिनीहरूले त्यसलाई पनि निश्चय नै समाधान गर्न सक्दैनन्। तिनीहरूले कुनै पनि समस्या समाधान गर्न सक्दैनन् भने कसरी अगुवाको काम गर्न सक्छन् त? त्यो त अशोचनीय हुनेथियो! अगुवा र कामदारका रूपमा, मानिसहरूले कम्तीमा पनि मण्डलीको कामका समस्याहरू र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशभित्रका समस्याहरू समाधान गर्न सक्नुपर्छ। यदि तिनीहरूले केही समय प्रशिक्षण लिन्छन् र केही अनुभव प्राप्त गर्न पुग्छन् भने, साथै तिनीहरूले केही सत्यताबारे सङ्गति गर्न र केही अनुभवात्मक गवाहीबारे कुरा गर्न सक्छन् भने, तिनीहरू अगुवाको काममा बिस्तारै पारङ्गत बन्न सक्छन्। यदि तिनीहरू कुनै पनि समस्या पत्ता लगाउन वा समाधान गर्न सक्दैनन् भने, तिनीहरूले कुनै पनि हालतमा अगुवाको काम गर्न सक्दैनन्; अनि तिनीहरू झुटा अगुवा हुन्छन्, र तिनीहरूलाई बर्खास्त गर्नुपर्छ, र नयाँ अगुवाहरू चयन गर्नुपर्छ।

अगुवाका रूपमा सेवा गर्नेहरूले कम्तीमा पनि अलिकति सत्यता बुझ्नुपर्छ र तिनीहरूसँग केही व्यावहारिक अनुभवहरू हुनुपर्छ। यदि तिनीहरूसँग बिलकुलै अनुभव छैन भने, तिनीहरूले निश्चय नै कुनै सत्यता बुझ्दैनन्। अगुवाका रूपमा सेवा गर्ने कतिपय मानिसहरू शब्द र धर्मसिद्धान्त प्रचार गर्नमा कुशल हुन्छन्, र तिनीहरूले धेरैजसो मानिसहरूबाट अनुमोदन र प्रशंसा पाउन सक्छन्। सतहमा, झुटा अगुवाहरूले प्रश्नहरूको जबाफ दिन सक्ने भए पनि सत्यता सिद्धान्तहरूबारे सङ्गति गर्न सक्दैनन्। तिनीहरूले प्रचार गर्ने भनेको खोक्रो सिद्धान्त मात्र हो, र त्यसमा व्यावहारिक कुरा बिलकुलै हुँदैन। जब मानिसहरू तिनीहरूले प्रचार गरेको सुन्छन्, तिनीहरूलाई त्यो आफ्नै रुचिसँग मेल खाएजस्तो लाग्छ, र सुझबुझ नभएकाहरूले त्यसलाई निकै अनुमोदन गर्छन्। तर पछि, तिनीहरूसँग अझै पनि अभ्यासको मार्ग हुँदैन र तिनीहरूले अभ्यासका सिद्धान्तहरू भेट्टाउन सक्दैनन्। के त्यसोभए यसलाई कुनै समस्या समाधान गरेको मान्न सकिन्छ त? के यो तिनीहरूले झारा टार्नु होइन र? के यस तरिकाले समस्याहरू समाधान गर्न खोज्नुलाई वास्तविक काम गरेको मान्न सकिन्छ त? झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, तर अधिकारीझैँ व्यवहार कसरी गर्ने भनी तिनीहरूलाई थाहा हुन्छ। अगुवा बनेपछि तिनीहरूले गर्ने पहिलो कुरा के हो? त्यो मानिसहरूको निगाह किन्नु हो। तिनीहरूले “नयाँ अधिकारीहरू आफ्नो असल छाप छोड्न उत्सुक हुन्छन्” भन्‍ने शैली अपनाउँछन्: सुरुमा तिनीहरूले मानिसहरूलाई निगाह बटुल्न केही कार्यहरू गर्छन् र सबैजनाको दैनिक लाभहरू सुधार्ने केही कामकुराहरू सम्हाल्छन्। तिनीहरूले सुरुमा मानिसहरूमा राम्रो प्रभाव पार्न आफू जनमतको पक्षमा छु भनेर देखाउने प्रयास गर्छन्, ताकि सबैले तिनीहरूको तारिफ गरून् र “यो अगुवाले हामीप्रति आमाबुबाले जस्तै व्यवहार गर्छ!” भनेर भनून्! त्यसपछि तिनीहरूले आधिकारिक रूपमै पद हातमा लिन्छन्। तिनीहरूले धेरैजसो मानिसहरूको साथ पाएको र तिनीहरूको पद सुरक्षित भएको महसुस गर्छन्; त्यसपछि तिनीहरूले हैसियतका फाइदाहरूको आनन्द उठाउन थाल्छन्, मानौँ यो तिनीहरूले पाउनुपर्ने कुरा हो। तिनीहरूका आदर्श वाक्यहरू यस्ता हुन्छन्, “मीठो खानु र राम्रो लगाउनु नै जीवन हो,” “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनु पर्छ,” अनि “आजको मद्य आजै पिऊ, भोलिको चिन्ता भोलि नै लिऊ।” तिनीहरूले सकुन्जेल आनन्द लिन्छन्, तिनीहरूले जतिसक्दो रमाइलो गर्छन्, र तिनीहरूले भविष्यको बारेमा कुनै विचार गर्दैनन्, अगुवाले के-कस्ता जिम्‍मेवारीहरूबारे विचार गर्नुपर्छ र के-कस्ता कर्तव्य पूरा गर्नुपर्छ भनेर तिनीहरूले विचार गर्नु त परै जाओस्। तिनीहरूले आदतवश केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन् र देखाउनका लागि एकदुई वटा काम गर्छन्—तर कुनै पनि वास्तविक काम गर्दैनन्। तिनीहरू मण्डलीका वास्तविक समस्याहरूलाई उद्भेदन गरिरहेका र त्यसलाई पूर्ण रूपमा समाधान गरिरहेका हुँदैनन्, त्यसैले तिनीहरूले त्यस्तो सतही कार्य गर्नुको अर्थ के हुन्छ? के यो छली हुँदैन र? के यस्तो झूटो अगुवालाई महत्त्वपूर्ण कार्यहरू सुम्पन मिल्छ? के तिनीहरू अगुवा र सेवकहरू छनौट गर्नेसम्‍बन्धी परमेश्‍वरको घरका सिद्धान्त र सर्तहरूअनुरूप हुन्छन्? (हुँदैनन्।) यी मानिसहरूमा कुनै विवेक वा समझ हुँदैन, तिनीहरूमा जिम्‍मेवारीको कुनै बोध हुँदैन, तैपनि तिनीहरू अझै पनि मण्डलीमा, कुनै आधिकारिक पदमा बस्ने, अगुवा बन्ने इच्छा राख्छन्—तिनीहरू किन यति धेरै लाज पचेका हुन्छन्? जिम्‍मेवारीको बोध भएका कतिपय मानिसहरूको हकमा, यदि तिनीहरूमा कमजोर क्षमता छ भने, तिनीहरू अगुवा हुन सक्दैनन्—अनि कुनै जिम्‍मेवारीको बोध नभएका निकम्मा मानिसहरूको त के कुरा गर्ने र! तिनीहरू त अगुवा बन्‍न झनै अयोग्य हुन्छन्। त्यस्ता खन्चुवा र सुस्त झूटा अगुवाहरू कति अल्छी हुन्छन्? तिनीहरूले कुनै समस्या पत्ता लगाए पनि, र यो समस्या हो भन्‍ने तिनीहरूलाई थाहा भए पनि, तिनीहरू त्यसलाई गम्भीरतापूर्वक लिँदैनन् र ध्यानै दिँदैनन्। तिनीहरू कति गैरजिम्‍मेवार हुन्छन्! तिनीहरू कुरा गर्न सिपालु भए पनि र तिनीहरूमा थोरै क्षमता भएजस्तो देखिने भए पनि, तिनीहरू मण्डलीको कामका विविध समस्याहरू समाधान गर्न सक्दैनन्, जसले गर्दा काम ठप्प हुन्छ; समस्यामाथि समस्या थुप्रिरहन्छन्, तैपनि यी अगुवाहरूलाई यी कुराहरूको बारेमा कुनै चासो हुँदैन, र आदतवश केही सतही कार्यहरू गर्नमा मात्र जोड दिन्छन्। अनि परिणाम के हुन्छ? के तिनीहरूले मण्डलीको काम भताभुङ्ग पार्दैनन् र, के तिनीहरूले गन्जागोल गर्दैनन् र? के तिनीहरूले मण्डलीमा कोलाहल र एकताहीनता ल्याउँदैनन् र? यो अपरिहार्य परिणाम हो। यो अवस्थामा, के झुटा अगुवाहरूले माथिलाई रिपोर्ट गर्नेछन् त? निश्चय नै गर्नेछैनन्। यदि मण्डलीमा कसैले झुटा अगुवाहरूको समस्याबारे माथिलाई रिपोर्ट गर्न चाह्यो भने, के तिनीहरूले यसमा सहमति जनाउनेछन्? तिनीहरूले निश्चित रूपमा त्यस व्यक्तिलाई दबाउनेछन् र रोक लगाउनेछन्, कसैलाई पनि समस्याबारे माथिलाई रिपोर्ट गर्न दिनेछैनन्, र तिनीहरूले त्यसो गर्ने जो कोहीलाई रोक्ने, दबाउने, र अलग्याउनेछन्। ल भन्, के यी झुटा अगुवाहरू अत्यन्तै घृणास्पद हुँदैनन् र? तिनीहरूले मण्डलीको कामलाई चाहे जति हानि गरेका भए पनि, माथिलाई अझै पनि यसबारे थाहा पाउन दिनेछैनन्, समाधान गर्न त झनै दिनेछैनन्। तिनीहरू त आफ्नो हैसियतका लाभहरूमा रमाउने र आफ्नै आडम्बर र घमण्डलाई बचाउनेबारे मात्रै वास्ता गर्छन्—त्यस्ता मानिसहरू अत्यन्तै धेरै घृणास्पद र निर्लज्ज हुन्छन्! के तिनीहरू पूर्ण रूपमा विवेक र मानवताहीन हुँदैनन् र? जब माथिले कामबारे सोधपुछ गर्छन्, तिनीहरूले निश्चिततासाथ कुनै समस्या छैन भन्छन्, माथिलाई घुमाउरो कुरा गरेर टार्छन्—यसो गर्दा, के तिनीहरूले माथिलाई छलिरहेका र आफूभन्दा मुनिकाहरूबाट कामकुराहरू लुकाइरहेका हुँदैनन् र? मण्डलीको काममा समस्याहरू थुप्रिँदै-थुप्रिँदै जान्छन्, र झुटा अगुवाहरू आफैले तिनलाई समाधान गर्न सक्दैनन्, तैपनि यी समस्याहरूबारे माथिलाई रिपोर्ट पनि गर्दैनन्। यस्ता परिस्थितिहरूमा, तिनीहरू केही पनि नबिग्रिएको जस्तो गर्छन्; तिनीहरू उसै गरी आराममा लिप्त हुन्छन्, दिनभरि केही नगरी बस्छन् र यतिकै दिन कटाउँछन्, र तिनीहरूलाई फिटिक्कै चिन्ता हुँदैन। अनि जब समस्याहरू खुलासा हुन्छन् र माथिले यसबारे खोतल्छ, तिनीहरू अझै पनि यसो भन्छन्, “मैले यो काम गर्न मानिसहरू प्रबन्ध गरेँ। मैले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छु। यदि काम राम्ररी गरिएको छैन भने, त्यो अरूको दोष हो। मसँग त्यसको के सरोकार?” यी केही शब्दहरूद्वारा तिनीहरू आफूलाई जिम्मेवारीबाट पूर्णतः पन्छाउँछन्। यस्तो लाग्छ कि यस मामलामा तिनीहरूको बिलकुलै कुनै जिम्मेवारी छैन। तिनीहरूले आत्म-चिन्तन नगर्ने मात्र होइन, तिनीहरू जायज अनि सहज पनि महसुस गर्छन्, र यसो भन्छन्, “जे भए पनि, म आफ्नो कर्तव्यमा निष्क्रिय भएको छैनँ। म सित्तैमा खाने व्यक्ति होइन। यदि माथिले मलाई बर्खास्त गरेन भने म अगुवाका रूपमा सेवा गर्न जारी राख्नेछु। यदि मैले आफ्नो राजीनामा प्रस्ताव गरेँ भने, के मैले परमेश्‍वरलाई धोका दिइरहेको हुँदिन र? के मैले आफ्नो कर्तव्यप्रति बेइमानी देखाइरहेको हुँदिन र?” यदि तैँले तिनीहरूलाई काँटछाँट गरिस् भने, तिनीहरूले तँलाई खण्डन गर्ने धेरै कारणहरू निकाल्न सक्नेछन्। तिनीहरूले आफू यस मामलाका लागि जिम्मेवार छु भनेर भन्नेछैनन्, तिनीहरूका जिम्मेवारीहरू के-के हुन् भनेर भन्नेछैनन्, र तिनीहरूले समस्याहरू समाधान नगर्नु अनि वास्तविक काम नगर्नुको प्रकृति के हो भनेर चिन्तन गर्नेछैनन्। के त्यस्ता मानिसहरू अत्यन्तै घृणायोग्य हुँदैनन् र? तिनीहरूले मण्डलीको काम ठप्प पार्छन् र हृदयमा अलिकति पनि पछुतो महसुस नगरी लामो समयसम्म परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्छन्—के तिनीहरू अझै पनि मानव नै हुन्? के तिनीहरूमा अलिकति पनि विवेक वा समझ हुन्छ? कतिपय मानिसहरू यसो भन्छन्, “यस्ता मानिसहरूलाई अगुवामा निर्वाचित गर्नु हुँदैन।” सैद्धान्तिक रूपमा त त्यही हो; तर, निर्वाचित भएका अगुवा र कामदारहरूमध्ये साँच्चै केही यस्ता मानिसहरू हुन्छन्; यो तथ्य कुरा हो। यो सबै परमेश्‍वरका चुनिएका मानिसहरूमा सुझबुझ नभएकाले गर्दा हुने हो, र धेरै मानिसहरूलाई मान्छे खुसी पारिहिँड्ने मानिसहरू मन पर्ने, र फलस्वरूप तिनीहरूले केही झुटा अगुवा र झुटा कामदारहरू छनोट गर्ने भएकाले पनि हुने हो। त्यसकारण, मण्डलीका चुनावहरू अघि, अगुवा र कामदारहरूलाई छनोट गर्ने सिद्धान्तहरूबारे, साथै झुटा अगुवा र झुटा कामदारहरूलाई खुट्टयाउने सिद्धान्तहरूबारे अझ बढी सङ्गति गरिनुपर्छ; यसले अझ बढी मानिसहरूले सिद्धान्तहरूअनुसार आफ्नो मत दिनेछन् भनी सुनिश्चित गर्नेछ। यसो गर्दा मात्र मण्डलीका चुनावहरूबाट राम्रा नतिजाहरू आउन सक्छन्।

ल भन्, के त्यस्ता घृणास्पद र निर्लज्ज कामचोरहरूले अगुवा र कामदारका रूपमा मण्डलीको काम राम्ररी गर्न सक्छन्? के तिनीहरूले मण्डलीमा रहेका समस्याहरू वा परमेश्‍वरका चुनिएका मानिसहरूले सामना गर्ने कठिनाइहरू समाधान गर्न सक्छन्? (सक्दैनन्।) त्यसोभए, त्यस्ता झुटा अगुवाहरूसँग जम्काभेट हुँदा तिमीहरूले के गर्नुपर्छ? मानौँ कसैले यसो भन्छ, “हाम्रो क्षमता कमजोर छ र हामीमा सुझबुझ छैन, त्यसैले झुटो अगुवासँग जम्काभेट भएमा हामी केही पनि गर्न सक्दैनौँ।” के यो सही हो? निश्चय नै मण्डलीमा भएका सबै जनामा कमजोर क्षमता र सुझबुझको कमी त छैन होला नि? तुलनात्मक रूपमा सत्यता बुझ्ने कम्तीमा पनि केही मानिसहरू त हुनुपर्छ। त्यसैले, यदि कसैले वास्तविक काम गर्न नसक्ने वा कुनै समस्याहरू समाधान गर्न नसक्ने झुटो अगुवा भेट्यो भने, उसले सत्यता बुझ्नेहरूसँग सङ्गति गर्नुपर्छ र तिनीहरूलाई तिनीहरूको सुझबुझ प्रयोग गरेर निर्क्योल गर्न आग्रह गर्नुपर्छ। के यो उचित हो? (हजुर, हो।) यो किन उचित हो? यदि कुनै मण्डली अगुवाले वास्तविक काम गर्न नसकेमा कस्ता परिणामहरू आउनेछन्? पीडितहरू को हुनेछन्? के मण्डलीमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरू पीडित हुनेछैनन् र? यदि कुनै झुटो अगुवाले तीन या पाँच वर्षका लागि मण्डलीलाई नियन्त्रण गर्‍यो भने कति जना मानिसहरूको सत्यता सम्बन्धी बुझाइ अनि वास्तविकता प्रवेशमा असर पर्नेछ? कति जना मानिसहरूको परमेश्‍वरको मुक्ति प्राप्तिमा ढिलाइ हुनेछ? यी परिणामहरू अकल्पनीय हुन्छन्। त्यसैले, कुनै झुटो अगुवाले वास्तविक काम नगरिरहेको र समस्या समाधान गर्न नसक्ने भेटिएमा, यो परमेश्‍वरका चुनिएका मानिसहरूमध्ये हरेकका लागि ठुलो कुरा हो, र तिनीहरूले काममा ढिलाइ गर्नबाट जोगिन तुरुन्तै त्यो झुटो अगुवाको खुलासा र रिपोर्ट गर्नुपर्छ। मण्डली अगुवाले वास्तविक काम नगर्दा हानि पुग्ने भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई नै हो। यदि परमेश्‍वरका चुनिएका मानिसहरूमध्ये कसैले पनि झुटो अगुवाको खुलासा वा रिपोर्ट गरेन र तिनीहरू त्यसो गर्नेबारे तटस्थ मात्रै रहे भने, त्यस मण्डलीका लागि कुनै आशा हुँदैन। मानौँ कि तिमीहरूले हृदयमा सधैँ जिम्मेवारी नलिने यस्ता सोचहरू पाल्छौ, “जे भए पनि, अगुवा त तिमी हौ। तिमी वास्तविक काम गर्न सक्दैनौ तैपनि माथिलाई समस्याहरू रिपोर्ट गर्दैनौ—यदि यसले मण्डलीको काममा ढिलाइ भयो भने, माथिले तिमीलाई जिम्मेवार ठहराउनेछ। हामीसँग त्यसको के सम्बन्ध छ र? हामीले त्यसबारे चिन्ता लिनुको के अर्थ? हामी त प्रभारी होइनौँ। यो तिम्रो जिम्मेवारी हो।” यदि तिमीहरू हृदयमा सधैँ यो सोच पाल्छौ भने, के यसले कामकुराहरूमा ढिलाइ गर्नेछैन र? के यसले तिमीहरूको सत्यताको पछ्याइ, वास्तविकतामा प्रवेश, र परमेश्‍वरको मुक्ति प्राप्तिलाई प्रभाव पार्नेछैन र? यदि मण्डलीको कसैले पनि जिम्मेवारी लिँदैन भने, यो मण्डलीले परमेश्‍वरको गवाही दिन र परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न सक्छ कि सक्दैन भनी भन्न गाह्रो हुन्छ, र यस मण्डलीमा कति जना मानिसहरूले मुक्ति प्राप्त गर्नेछन् भनी भन्न त झनै गाह्रो हुन्छ। यदि यस मण्डलीका सबैले यसरी नै सोच्छन् र यस्तै विचार राख्छन् भने, यो मण्डली बिलकुल आशारहित छ। के चलचित्र निर्माण समूहहरूमा अहिले यो समस्या छैन र? तिमीहरूका केही अगुवाहरूले मामलाहरू सम्हाल्ने वा समस्याहरूको रिपोर्ट गर्ने गर्दैनन्—तिनीहरू झुटा अगुवा हुन्। के तिमीहरूले यो देख्न सक्छौ? यी अगुवाहरूले तिमीहरूका लागि समस्याहरू समाधान गर्दैनन्—के तिमीहरूले यो समस्या हो भनेर पत्ता लगाएका छैनौ? के तिमीहरूलाई वास्तवमा यसबारे खुसी लाग्छ? “हाम्रो अगुवाले यो समस्या रिपोर्ट गरिरहेको छैन र यो समस्या समाधान गर्न सकिँदैन, त्यसैले यो हाम्रा लागि आराम गर्ने राम्रो समय हो। एकदम राम्रो! त्यसमाथि, माथिले हालै यस मामलाबारे व्यक्तिगत रूपमा सोधेको छैन, त्यसैले हामीले समस्या रिपोर्ट पनि गर्नु पर्दैन। हामीले आफूलाई अलिकति फुर्सदको समय दिने प्रयास किन नगर्ने? के हामीले त्यति चाँडो चलचित्र छायाङ्कन गरेर समयमै त्यसको छायाङ्कन सम्पन्न गर्नुपर्छ र? हामीले गरिरहेको प्रगति ठिकै छ नि! हामीले छायाङ्कन नसक्काएर के भयो त? के हामी त्यसका लागि निन्दित हुनेछौँ?” के तिमीहरूको मनोवृत्ति यही हो? के तिमीहरू परमेश्‍वरको घरको कामका लागि त्यस्तो कठोर तालिका हुँदैन, त्यसैले तिमीहरूले त्यसलाई अनिश्चित रूपमा लम्ब्याउन सक्छौ, र माथिले मामलाबारे सोधपुछ वा जाँचपड्ताल नगरेसम्म तिमीहरूले चिन्ता लिनु वा कुनै दबाब महसुस गर्नु पर्दैन, अनि आफूले सक्ने जुनसुकै समस्याहरू समाधान गरे हुन्छ, र नसक्नेलाई चाहिँ छोडिदिए हुन्छ भन्ने सोच्छौ? के तिमीहरूको दृष्टिकोण यही हो? (होइन।) त्यसोभए तिमीहरू आफूलाई समस्याहरू आइपर्दा किन रिपोर्ट गर्दैनौ? के यी झुटा अगुवाहरूले तिमीहरूलाई आफ्नो नियन्त्रणमा राखेका छन् वा जादुमय, लठेब्र्याउने औषधि पिलाइदिएका छन् जसले तिमीहरूलाई अर्धचेत र बोल्न नसक्ने बनाएको छ? समस्या के हो? समस्याहरू हुँदा तिमीहरूलाई तीबारे थाहा हुन्छ? यदि तिमीहरू थाहा हुँदैन भन्छौ भने तिमीहरू झुट बोलिरहेका छौ; यदि तिमीहरू तीबारे थाहा भएर पनि रिपोर्ट गर्दैनौ भने तिमीहरू आफ्ना कर्तव्यमा उपेक्षापूर्ण र अत्यन्तै बेपरवाह भइरहेका छौ, र तिमीहरूसँग आफ्नो कर्तव्यप्रति कुनै किसिमको बफादारी छैन। तैँले पैसा कमाउन संसारमै काम गर्ने भए पनि, तँ आफ्नो झिनो ज्यालाको योग्य हुनै पर्छ नि। झन्, आज त तँ परमेश्‍वरको घरको खाना खाइरहेको छस्; तँ आफ्नो कर्तव्य निर्वाह गर्दै गर्दा मुक्ति पछ्याइरहेको छस्, र त्यसो गरेर तँ आफ्नै गन्तव्यका लागि मार्ग निर्माण र तयारी गरिरहेको छस्। तैँले यो परमेश्‍वरको घरका लागि गरिरहेको छैनस्, न त कुनै व्यक्तिका लागि गरिरहेको छस्, मेरा लागि त झनै गरिरहेको छैनस्—तैँले यो आफ्नै लागि गरिरहेको छस्। मिठो शब्दमा भन्नुपर्दा, मानिसहरू मुक्ति प्राप्त गर्नका लागि आफ्ना कर्तव्य पूरा गरिरहेका हुन्छन्, तर ठ्याक्कै भन्नुपर्दा, तिनीहरू त्यो आशिष्‌हरू प्राप्त गर्न र असल गन्तव्य पाउनका लागि गरिरहेका हुन्छन्। तैँले यस मामलालाई प्रस्ट रूपमा बुझ्नुपर्छ; मूर्ख नहो। तँ अरू मानिस वा आफ्ना आमाबाबुका लागि कर्तव्य पूरा गरिरहेको छैनस्, र तँ आफ्ना पुर्खाहरूलाई महिमित तुल्याउन वा परिवारको नामलाई सम्मानित तुल्याउन त्यसो गरिरहेको छैनस्—तँ त्यो आफ्नै लागि गरिरहेको छस्। परमेश्‍वरले तँलाई सृष्टि गर्नुभयो, र उहाँले संसार सृष्टि गरेदेखि नै, तँ आखिरी दिनहरूमा जन्मिनेछस् भन्ने पूर्वनिर्धारण गर्नुभयो। उहाँले तँलाई उहाँको घरमा ल्याउनुभयो, उहाँको आवाज सुन्न दिनुभयो, उहाँले तँलाई हरदिन उहाँका वचन खान र पिउन अनि जीवन आपूर्ति प्राप्त गर्न दिनुभयो, र परमेश्‍वरको घरमा तैँले आफ्नो कर्तव्य पूरा गर्न सक् भनेर तँलाई एउटा मौका दिनुभयो। सृजित प्राणीका रूपमा तैँले मुक्ति प्राप्त गर्ने यो सबैभन्दा राम्रो मौका हो, र यो तेरो एकमात्र मौका पनि हो। यदि तैँले कर्तव्य पूरा गर्दै गर्दा यो मौकालाई नष्ट गरिस् भने, तँ अन्ततः विपत्तिहरूमा फस्दा चाहे तैँले दण्ड पाए पनि वा रोएर दाह्रा किटे पनि, त्यो सबै तेरै कर्म हुनेछ, र तँ त्यसको लायक हुनेछस्! त्यो तेरो आफ्नै गल्ती हुनेछ। अरू मानिसहरूले तेरा जिम्मेवारीहरू वहन गर्नै पर्दैन, र तैँले अरू मानिसहरूका जिम्मेवारीहरू वहन गर्नै पर्दैन। तैँले आज हिँड्ने मार्ग र गर्ने सबै कामको जिम्मेवारी तैँले मात्रै लिन सक्छस्, र तैँले मात्र अन्तिम परिणामहरू वहन गर्न सक्छस्। मैले गर्न सक्ने भनेको मैले भन्नुपर्ने र तिमीहरूलाई बताउनुपर्ने कुराहरू तिमीहरूलाई बुझाउने र तिमीहरू मुक्तिको मार्गमा हिँड्न सक भनेर तिमीहरूका लागि मार्ग तयार गरिदिने हो। मैले सबथोक स्पष्ट रूपमा बुझाइसकेको छु, त्यसैले तिमीहरू विशेष रूपमा कसरी कार्य गर्छौ भन्ने कुरा तिमीहरूमै भर पर्छ। म तिमीहरूको विषयमा सरोकार राख्दिनँ; म केवल मलाई आइपरेको काम निर्वाह गर्छु, र योभन्दा बढी केही काम गर्दिनँ। के तैँले आफ्नै गन्तव्यका खातिर आफ्ना कर्तव्यहरू पूरा गरिरहेको छस् भन्ने कुरा तथ्य होइन र? यदि तँ “अत्यन्तै धेरै समस्याहरू छन्, तर मेरो अगुवाले ती रिपोर्ट गरिरहेको छैन, त्यसैले म पनि रिपोर्ट गर्दिनँ।” भन्छस् भने, के त्यो मूर्खता होइन? के त्यो तुच्छ कुरा होइन? तैँले कुनै समस्या देख्दा तेरो जिम्मेवारी के हुन्छ? तेरो जिम्मेवारी भनेको समस्याबारे खोजी र सङ्गति गर्न सबैलाई सँगै बोलाएर आफूहरूलाई शान्त पार्नु, समस्या कुन क्षेत्रमा देखा परेको छ भनेर हेर्नु, र समस्याको मूल कारण पत्ता लगाउनु हो। यदि, केही छलफलपछि, मूल कारण भेटियो, तर तिमीहरू त्यस समस्यालाई आफै समाधान गर्न सक्दैनौ भने, तिमीहरूले त्यसबारे माथिलाई तुरुन्तै रिपोर्ट गर्नुपर्छ। त्यसबारे कसले रिपोर्ट गर्नुपर्छ? तैँले आफैलाई अघि सारेर यसो भन्नुपर्छ, “म त्यसको रिपोर्ट गर्नेछु। यदि त्यसले काम गरेन भने, हामी केही प्रतिनिधिहरू छनोट गरेर सँगै रिपोर्ट गर्न सक्छौँ।” कतिपय मानिसहरू यसो भन्छन्, “के हामीसँग अगुवा छैन र?” तँ जबाफ दे, “ऊ अगुवा नै होइन! उसले मानवजातिका जिम्मेवारीहरू बिलकुलै पूरा गर्दैन। ऊ त मानवको खोल ओढेको पशु न हो, र उसलाई त्यागेर बर्खास्त गर्नुपर्छ! उसले समस्या रिपोर्ट गरिरहेको छैन, त्यसैले हामी आफैले रिपोर्ट गर्नुपर्छ—यो हाम्रो जिम्मेवारी हो। हामीले आफ्ना जिम्मेवारीहरू पूरा गरेपछि मात्र परमेश्‍वरले हामीलाई मानवका रूपमा व्यवहार गर्नुहुनेछ। यदि हामीलाई हाम्रा जिम्मेवारीहरू के हुन् भनी स्पष्ट रूपमा थाहा छ तर हामी ती पूरा गर्दैनौँ भने, हामी मानव हुन लायक छैनौँ, र परमेश्‍वरले हामीलाई कुनै पनि हालतमा मानव मान्नुहुनेछैन।” यदि परमेश्‍वरले तँलाई मानव मान्नुहुन्न भने, यसको अर्थ उहाँले तँलाई के मान्नुहुन्छ? यसको अर्थ उहाँले तँलाई सुँगुर वा कुकुर मान्नुहुन्छ। अनि के परमेश्‍वरले त्यसपछि तँलाई अझै पनि मुक्ति दिनुहुनेथियो त? कुनै हालतमा पनि दिनुहुनेथिएन। त्यसैले, यदि अन्तिममा तैँले असल गन्तव्य पाइनस् भने, के त्यो तैँले आफैमाथि निम्त्याएको हुनेछैनस् र? अनि के तैँले व्यर्थमै आफ्नो कर्तव्य पूरा गरेको हुनेछैनस् र? तेरो मार्ग छनोट गर्ने जिम्मेवारी तेरै हो, र त्यसमा हिँड्ने जिम्मेवारी पनि तेरै हो। तैँले चाहे जे मार्ग रोजे पनि, वा अन्तिम परिणामहरू जे-जस्ता भए पनि, जिम्मेवारी वहन गर्ने तँ आफैले हो; तैँले हिँड्ने मार्ग र त्यसका परिणामहरूको जिम्मेवारी कसैले लिनेछैन।

यदि तिमीहरू अगुवाहरू र कामदारहरूका रूपमा कर्तव्यहरू निर्वाहमा देखा पर्ने समस्याहरूलाई बेवास्ता गर्छौ, अनि जिम्मेवारी पन्छाउन विभिन्‍न निहुँ र बहानाहरूसमेत खोज्छौ, र आफूले समाधान गर्न सक्‍ने कतिपय समस्या समाधान गर्दैनौ, अनि आफूले समाधान गर्न नसक्‍ने समस्याहरूबारे माथिलाई रिपोर्ट गर्दैनौ भने, मानौँ तीसित तेरो कुनै सम्बन्ध छैन, के यो आफ्नो जिम्मेवारीलाई बेवास्ता गर्नु होइन? के मण्डलीको कामलाई यसरी लिनु चातुर्य काम हो कि मूर्ख काम? (मूर्ख काम।) के यस्ता अगुवाहरू र कामदारहरू छट्टु हुँदैनन् र? के तिनीहरूमा अलिकति पनि जिम्मेवारीबोध छ र? तिनीहरूलाई समस्याहरू आइपर्दा, तिनीहरू ती बेवास्ता गर्छन्—के तिनीहरू विचारहीन मानिस होइनन्? के तिनीहरू धूर्त मानिस होइनन् र? धूर्त मानिसहरू सबैभन्दा मूर्ख मानिस हुन्। तँ इमानदार व्यक्ति बन्‍नुपर्छ, समस्याहरूको सामना गर्दा तँसँग जिम्मेवारीबोध हुनुपर्छ, र तैँले ती समाधान गर्न सम्भव भएजति सबै उपायहरू प्रयोग गर्नैपर्छ र सत्यता खोज्नैपर्छ। तँ कदापि धूर्त व्यक्ति पटक्कै बन्‍नु हुँदैन। समस्याहरू आइपर्दा, यदि तैँले जिम्मेवारीबाट भागेर यसबाट हात झिक्छस् र आफूबारे मात्र चासो राख्छस् भने, तँ यस व्यवहारका लागि गैरविश्‍वासीहरूमाझ समेत निन्दित हुनेछस्, परमेश्‍वरको घरमा त झन् भनिरहनै परेन! यस व्यवहारलाई परमेश्‍वरले निश्चित रूपमा निन्दा गर्नुहुन्छ अनि परमेश्‍वरका चुनिएका मानिसहरूले घृणा र इन्कार गर्छन्। परमेश्‍वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ, अनि उहाँ छली र छट्टु मानिसहरूलाई घृणा गर्नुहुन्छ। यदि तँ धूर्त व्यक्ति होस् र छट्टु पाराले चल्छस् भने, के परमेश्‍वरले तँलाई तिरस्कार गर्नुहुनेछैन र? के परमेश्‍वरको घरले तँलाई त्यत्तिकै छोड्नेछ र? ढिलो वा चाँडो, तँलाई जवाफदेही ठहराइनेछ। परमेश्‍वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र धूर्त मानिसहरूलाई मन पराउनुहन्‍न। सबैले यस कुरालाई स्पष्टसित बुझ्नुपर्छ, र भ्रमित हुन र मूर्ख कामहरू गर्न बन्द गर्नुपर्छ। अस्थायी अज्ञानता क्षमायोग्य हुन्छ, तर यदि कुनै व्यक्तिले सत्यता पटक्कै स्विकार्दैन भने, ऊ एकदमै हठी हो। इमानदार व्यक्तिले जिम्मेवारी लिन सक्छ। तिनीहरूले आफ्नो लाभ र हानिलाई विचार गर्दैन; तिनीहरू बस परमेश्‍वरको घरका काम र हितको रक्षा गर्छन्। तिनीहरू दयालु र इमानदार हृदयका हुन्छन् जुन एकै नजरमा पीँधसम्म देखिने स्वच्छ पानीको कचौराजस्तै हुन्छन्। तिनीहरूका काममा पारदर्शिता पनि हुन्छ। छली व्यक्ति सधैँ छट्टु पाराले चल्छ, सधैँ बहाना बनाउँछ, कामकुरा ढाकछोप गर्छ र लुकाउँछ, र तिनलाई अति कसेर बेर्छ। यस्तो व्यक्तिलाई कसैले पनि देख्न सक्दैन। मानिसहरूले तेरा भित्री सोचहरू देख्‍न सक्दैनन्, तर परमेश्‍वरले तेरो भित्र हृदयका कुराहरू जाँच्न सक्‍नुहुन्छ। यदि परमेश्‍वरले तँ इमानदार व्यक्ति होइन, तँ छट्टु होस्, तँ कहिल्यै सत्यता स्वीकार गर्दैनस्, सधैँ उहाँ विरुद्ध छल गर्छस्, र कहिल्यै आफ्नो हृदय उहाँलाई सुम्पँदैनस् भने, परमेश्‍वर तँलाई मन पराउनुहुन्न, र उहाँ तँलाई तिरस्कार गर्नुहुन्छ र त्याग्‍नुहुन्छ। गैरविश्‍वासीहरूमाझ फस्टाउने अनि चिप्लो बोल्ने र तीक्ष्ण बुद्धिकाहरू कस्ता प्रकारका मानिस हुन्? के यो कुरा तिमीहरूलाई स्पष्ट छ? उनीहरूको सार के हो? उनीहरू सबैलाई अत्यन्तै रहस्यमय, अत्यन्तै छली र धूर्त, वास्तविक दियाबलस र शैतानहरू हुन् भनेर भन्‍न सकिन्छ। के परमेश्‍वर यस्ता मानिसहरूलाई मुक्ति दिन सक्‍नुहुन्छ? परमेश्‍वर दियाबलसहरू—छली र धूर्त मानिसहरूलाई भन्दा धेरै अरू कुनै कुरालाई तिरस्कार गर्नुहुन्‍न—र उहाँ यस्ता मानिसहरूलाई पक्कै पनि मुक्ति दिनुहुन्न। बोल्दा सधैँ सतर्क र चनाखो रहनेहरू, मामिलाहरू सम्हाल्दा चापलुस र चालबाज हुनेहरू अनि परिस्थितिसँग मिल्दो हुने भूमिका खेल्नेहरू—म तँलाई भन्छु, परमेश्‍वर यस्ता मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ, यस्ता मानिसहरूले मुक्ति पाउँदैनन्। छली र धूर्त मानिसहरूको वर्गमा पर्नेहरू सबैका सन्दर्भमा भन्नुपर्दा, तिनीहरूका शब्दहरू जति मिठा सुनिए पनि, ती सबै छली, शैतानी शब्द हुन्। तिनीहरूका शब्‍दहरू जति मिठा सुनिन्छन्, त्यति नै यी मानिसहरू दियाबलस र शैतान हुन्छन्। यिनीहरू ठ्याक्कै परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्ने मानिस हुन्। यो एकदमै सही कुरा हो। तिमीहरू के भन्छौ: के छली, बारम्बार झूट बोल्ने, र चिप्‍लो बोल्‍ने मानिसहरूले पवित्र आत्‍माको काम प्राप्त गर्न सक्छन्? के तिनीहरूले पवित्र आत्‍माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छन्? कदापि सक्दैनन्। छली र धूर्त मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? उहाँले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ, तिनीहरूलाई पाखा लगाउनुहुन्छ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुन्‍न, र तिनीहरूलाई जनावरको दर्जामा राख्‍नुहुन्छ। परमेश्‍वरका नजरमा, त्यस्ता मानिसहरूले केवल मानव खोल ओढिरहेका हुन्छन् र वास्तवमा तिनीहरू दियाबलस र शैतान हुन्छन्, तिनीहरू जिउँदा लास हुन्, र परमेश्‍वरले तिनीहरूलाई पटक्कै मुक्ति दिनुहुनेछैन। त्यसैले, अहिले यी मानिसहरू कस्तो स्थितिमा छन्? तिनीहरूका हृदयमा अन्धकार छ, तिनीहरूमा साँचो आस्थाको कमी छ, र तिनीहरूलाई जे आइपरे पनि, तिनीहरूले कहिल्यै अन्तर्दृष्टि र ज्योति पाउँदैनन्। विपत्ति र सङ्कष्टहरू सामना गर्नुपर्दा, तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्छन्, तर परमेश्‍वर तिनीहरूसँग हुनुहुन्न, अनि तिनीहरूले आफ्ना हृदयमा साँचो रूपमा भर पर्न सक्ने कोही हुँदैन। आशिष्‌हरू प्राप्त गर्नका निम्ति, तिनीहरू राम्रो देखिने कोसिस गर्छन्, तर तिनीहरूले आफैलाई रोक्न सक्दैनन्, किनकि तिनीहरूमा विवेक र समझ हुँदैन। तिनीहरू चाहेर पनि असल मानिस बन्‍न सक्दैनथे: तिनीहरूले खराब कामकुरा गर्न बन्द गर्न चाहे पनि, आफूलाई नियन्त्रण गर्न सक्दैनथे, त्यो बेकाम हुनेथ्यो। के तिनीहरूले खेदिएर हटाइएपछि आफूलाई चिन्‍न सक्नेथे? तिनीहरूलाई आफू यसको लायक छु भन्ने थाहा पाउने भए पनि, तिनीहरूले त्यो कुरा कसैलाई स्विकार्नेछैनन्, अनि तिनीहरू कुनै कर्तव्य निर्वाह गर्न सक्षम देखिए पनि, तिनीहरूले अझै छट्टु पाराले काम गर्नेछन्, र तिनीहरूको कामले प्रस्ट नतिजाहरू ल्याउनेछैन। त्यसोभए तिमीहरू के भन्छौ: के यी मानिसहरू साँच्चिकै पश्चात्ताप गर्न सक्षम छन्? कदापि छैनन्। किनभने तिनीहरूमा विवेक वा समझ छैन र तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्। परमेश्‍वर यस्तो धूर्त र दुष्ट व्यक्तिलाई मुक्ति दिनुहुन्‍न। यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेर के आशा हुन्छ? तिनीहरूको विश्‍वास पहिलेदेखि नै महत्त्वहीन हुन्छ, र तिनीहरूले निश्चय नै त्यसबाट केही पनि प्राप्त गर्दैनन्। यदि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको अवधिभरि सत्यता पछ्याउँदैनन् भने, उनीहरू जति नै वर्षदेखि विश्‍वासी भएका भए पनि, त्यसले केही प्रभाव पार्नेछैन; उनीहरूले अन्त्यसम्मै विश्वास गरे पनि, केही पनि प्राप्त गर्नेछैनन्। परमेश्‍वरलाई प्राप्त गर्न, मानिसहरूले सत्यता प्राप्त गर्नैपर्छ। यदि उनीहरू सत्यता बुझ्छन्, सत्यता अभ्यास गर्छन् र सत्यता वास्तविकतामा प्रवेश गर्छन् भने मात्र उनीहरूले सत्यता प्राप्त गरेको र परमेश्‍वरको मुक्ति पाएको हुनेछ; अनि त्यसपछि मात्र उनीहरूले परमेश्‍वरबाट मान्यता र आशिष् प्राप्त गर्नेछन्; र यो मात्र परमेश्‍वरलाई प्राप्त गर्नु हो। यदि मानिसहरू सत्यता प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूले लिनुपर्ने पहिलो कदम भनेको जिम्मेवारीहरू पूरा गर्न सिक्नु हो, अर्थात्, तिनीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ—यो नै सबैभन्दा आधारभूत कुरा हो। मानिसहरूले कदापि झुटा अगुवाहरूबाट सिक्नु हुँदैन, जो शब्द र धर्मसिद्धान्तहरू मात्र प्रचार गर्छन्, वास्तविक काम गर्दैनन्, आफूले गर्ने कुनै पनि कुराको जिम्मेवारी लिँदैनन्, सबथोक झाराटारुवा तरिकाले गर्छन् र अन्त्यमा हटाइन्छन्। आफ्नो कर्तव्य पूरा गर्नु सानो मामला होइन; मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सबैभन्दा बढी प्रकाश हुन्छन्, र परमेश्‍वरले मानिसहरूका परिणाम तिनीहरूले कर्तव्य पूरा गर्दा तिनीहरूको एकनासको प्रदर्शनका आधारमा निर्धारण गर्नुहुन्छ। कसैले आफ्नो कर्तव्य राम्ररी पूरा नगर्दा त्यसले के सङ्केत दिन्छ? त्यसले त्यो व्यक्तिले सत्यता स्विकार्दैन वा साँच्चै पश्चात्ताप गर्दैन, र ऊ परमेश्‍वरद्वारा हटाइएको छ भन्ने सङ्केत दिन्छ। जब झुटा अगुवा र झुटा कामदारहरू बर्खास्त हुन्छन्, त्यसले के प्रतिनिधित्व गर्छ? यो यस्ता मानिसहरूप्रति परमेश्‍वरको घरको मनोवृत्ति हो, र अवश्य नै, त्यसले यस्ता मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्तिको पनि प्रतिनिधित्व गर्छ। त्यसोभए, यस्ता निकम्मा मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति के हुन्छ? उहाँले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ, निन्दा गर्नुहुन्छ र हटाउनुहुन्छ। त्यसोभए, के तिमीहरू अझै पनि हैसियतका लाभहरूमा लिप्त हुन र झुटो अगुवा हुन चाहन्छौ?

मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरूलाई हुन सक्ने सबैभन्दा पीडादायी र सबैभन्दा निराशाजनक कुरा के हो? तिनीहरू निकालिएका वा निष्कासित भएका छन्, र तिनीहरू परमेश्‍वरद्वारा प्रकाश गरिएका र हटाइएका छन् भनेर थाहा पाउनुभन्दा ठूलो कुरा केही छैन—यो नै सबैभन्दा पीडादायी र सबैभन्दा दुःखद कुरा हो, र कसैले पनि परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि आफूलाई यस्तो होस् भन्‍ने चाहँदैन। त्यसोभए, मानिसहरू तिनीहरूलाई यस्तो हुनबाट कसरी बच्न सक्छन् त? कम्तीमा पनि, तिनीहरूले आफ्नो विवेकअनुसार कार्य गर्नुपर्छ, अर्थात्, तिनीहरूले पहिला आफ्ना जिम्मेवारीहरू पूरा गर्न सिक्नैपर्छ, तिनीहरू कदापि झाराटारुवा हुनै हुँदैन, र तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई सुम्पेको काममा ढिलाइ गर्नै हुँदैन। तँ व्यक्ति होस्, त्यसैले तैँले व्यक्तिका जिम्मेवारीहरू के-के हुन् भनेर विचार गर्नुपर्छ। गैरविश्‍वासीहरूले सबैभन्दा बढी मूल्यवान् ठान्‍ने जिम्मेवारीहरू, जस्तै योग्य सन्तान बन्‍नु, आमाबुवाको भरणपोषण गर्नु र आफ्नो परिवारको नाम राख्‍नु आदिबारे त भनिरहनुपर्दैन। यी सबै खोक्रो हुन् र यिनमा वास्तविक अर्थ छैन। व्यक्तिले पूरा गर्नुपर्ने न्यूनतम जिम्मेवारी के हो? तैँले अब कसरी आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्छस्, त्यो सबैभन्दा व्यावहारिक कुरा हो। जहिले पनि केवल झारा टारेर सन्तुष्ट हुनु आफ्नो जिम्मेवारी पूरा गर्नु होइन, अनि वचन र धर्मसिद्धान्तहरू बोल्न सक्‍नु मात्र पनि आफ्नो जिम्मेवारी पूरा गर्नु होइन। सत्यता अभ्यास गर्नु र सिद्धान्तअनुसार कामकुरा गर्नु मात्र आफ्नो जिम्मेवारी पूरा गर्नु हो। जब तेरो सत्यता अभ्यास प्रभावकारी, र मानिसहरूका लागि लाभदायी बनेको हुन्छ, तब मात्र तैँले आफ्नो जिम्मेवारी साँच्‍चै पूरा गरेको हुनेछस्। तैँले जुनसुकै कर्तव्य पूरा गरिरहेको भए पनि, तँ यावत् थोकमा सत्यता सिद्धान्तअनुसार काममा लागिरहिस् भने मात्र तैँले साँच्चिकै आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछस्। मानव कार्यशैलीअनुसार अल्याङटल्याङ गर्नु भनेको झाराटारुवा हुनु हो; सत्यता सिद्धान्तहरूमा टाँसिनु मात्र सही तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्नु र आफ्नो जिम्मेवारी पूरा गर्नु हो। अनि जब तँ आफ्नो जिम्मेवारी पूरा गर्छस्, के यो बफादारीको प्रकटीकरण हुँदैन र? यो आफ्नो कर्तव्य बफादारीसाथ निर्वाह गरेको प्रकटीकरण हो। तँमा यो जिम्मेवारी बोध, यो आकाङ्क्षा र चाहना, अनि आफ्नो कर्तव्यका सम्बन्धमा बफादारीको यो प्रकटीकरण छ भने मात्र, परमेश्‍वरले तँलाई कृपा र अनुमोदनको दृष्टिले हेर्नुहुनेछ। यदि तँमा जिम्मेवारीको यो बोधसमेत छैन भने, परमेश्‍वरले तँलाई अल्छे र लन्ठकको रूपमा व्यवहार गर्दै घृणा गर्नुहुनेछ। मानव दृष्टिकोणबाट हेर्दा, यसको अर्थ तेरो अनादर गर्नु, तँलाई गम्भीरतापूर्वक नलिनु र तँलाई तुच्छ नजरले हेर्नु हो। जस्तो कि, यदि तँ कसैसँग केही समयदेखि सम्पर्कमा छस्, र तैँले उसले काल्पनिक, अव्यावहारिक मामिलाबारे बोलेको अनि टुङ्गो न फेदको अवास्तविक कुरा भनेको देखिस्, अनि तैँले उसलाई फाइँफुट्टी लाउन र ठूलो कुरा गर्न मन पर्ने, र ऊ भरपर्दो नभएको देखिस् भने—के तैँले उसको आदर गर्नेथिस्? के तैँले उसलाई कुनै काम सुम्पने आँट गर्नेथिस्? सायद उसले तैँले उसलाई सुम्पेको काममा कुनै न कुनै कारणवश ढिलाइ गर्ला, त्यसकारण तैँले त्यस्ता मानिसहरूलाई केही पनि सुम्पने आँट गर्नेथिइनस्। तैँले तिनीहरूलाई हृदयको गहिराइदेखि नै घृणा गर्नेथिइस्, र तिनीहरूको सङ्गत गर्नुपरेकोमा पछुतो मान्‍नेथिइस्। तैँले तिनीहरूलाई केही पनि नसुम्पेकोमा भाग्यमानी महसुस गर्नेथिस्, र यदि तैँले सुम्पेको भए, त्यसका लागि जिन्दगीभरि पछुताउनेथिस् भनेर सोच्नेथिइस्। मानौँ तैँले कुनै व्यक्तिसँग अन्तरक्रिया गर्छस् र, ऊसँगको कुराकानी र सम्पर्कमार्फत, तैँले देख्छस् कि उसमा असल मानवता भएको मात्र नभई, उसमा जिम्मेवारी बोध पनि छ, अनि जब तैँले उसलाई कुनै काम सुम्पन्छस्, तैँले उसलाई कुनै कुरा त्यतिकै भने पनि, उसले त्यो दिमागमा राख्छ, र उसले तँलाई सन्तुष्ट पार्न त्यस कामलाई राम्रोसँग सम्हाल्ने उपायहरूबारे सोच्छ, अनि यदि उसले तैँले सुम्पेको काम राम्रोसँग सम्हालेन भने, पछि तँसित भेट्दा उसले लज्जित महसुस गर्छ—यो जिम्मेवारी बोध भएको व्यक्ति हो। तिनीहरूलाई केही कुरा भन्यो वा तिनीहरूलाई केही कुरा खटाइयो भने—चाहे त्यो अगुवा, कामदार वा माथिबाट आएको होस्—जिम्मेवारीबोध भएका मानिसहरू सधैँ यस्तो सोच्छन्, “हो, तिनीहरू मेरो इज्‍जत गर्छन्, त्यसैले मैले यो काम राम्ररी सम्हाल्नैपर्छ र तिनीहरूलाई निराश तुल्याउनु हुँदैन।” के तैँले विवेक र समझ भएका यस्ता मानिसहरूलाई कुनै काम सुम्पेर ढुक्क महसुस गर्दैनथिस् र? तैँले कुनै काम सुम्पन सक्ने मानिसहरू निश्चय नै तँलाई मन पर्ने भरोसायोग्य लाग्नेहरू नै हुन्। विशेष गरी, यदि तिनीहरूले तेरा लागि धेरै काम सम्हालेका छन् र ती एकदमै होसियारी साथ र तेरा आवश्यकताहरू पूर्ण रूपमा पूरा गर्ने गरी गरेका छन् भने, तँलाई तिनीहरू भरपर्दा लाग्‍नेछन्। तैँले हृदयमा तिनीहरूको निकै प्रशंसा र आदर गर्नेछस्। मानिसहरू यस्ता व्यक्तिसँग सङ्गत गर्न रुचाउँछन्, झन् परमेश्‍वरसँग सङ्गत गर्न नरुचाउने त कुरै आउँदैन। के तिमीहरूलाई परमेश्‍वर मण्डलीको काम र मान्छेले निर्वाह गर्नुपर्ने कर्तव्य भरोसा नभएको कुनै व्यक्तिलाई सुम्पन इच्छुक हुनुहुनेछ भन्‍ने लाग्छ? (अहँ, उहाँले सुम्पनुहुनेछैन।) जब परमेश्‍वर मण्डलीको एउटा काम कुनै व्यक्तिलाई गर्न खटाउनुहुन्छ, तब उहाँ त्यस व्यक्तिबाट के अपेक्षा गर्नुहुन्छ? पहिलो, परमेश्‍वर ऊ लगनशील र जिम्मेवार होस्, उसले त्यस कामलाई ठूलो मामिला ठानेर त्यहीअनुरूप सम्हालोस् भन्‍ने आशा गर्नुहुन्छ। दोस्रो, परमेश्‍वर ऊ भरोसायोग्य व्यक्ति होस्, जति समय बिते पनि, र परिस्थिति जसरी परिवर्तन भए पनि, उसको जिम्मेवारीबोध नडगमगाओस्, र परीक्षामा उसको निष्ठा दृढ रहोस् भन्‍ने आशा गर्नुहुन्छ। यदि ऊ भरपर्दो व्यक्ति हो भने, परमेश्‍वर आश्‍वस्त हुनुहुनेछ, र उहाँले अबउप्रान्त यस मामिलामा सुपरिवेक्षण वा अनुगमन गर्नुहुनेछैन। किनभने उहाँले हृदयमा उसलाई भरोसा गर्नुहुन्छ, र उसले आफूलाई दिइएको काम गल्ती नगरी पूरा गर्ने सुनिश्‍चित हुन्छ। जब परमेश्‍वर कसैलाई कुनै काम सुम्पनुहुन्छ, तब के यो उहाँले आशा गर्ने कुरा हुँदैन र? (हुन्छ।) त्यसोभए, तैँले परमेश्‍वरको अभिप्राय बुझेपछि, परमेश्‍वरका मागहरू पूरा गर्न कसरी कार्य गर्ने, कसरी परमेश्‍वरका नजरमा निगाह पाउने र परमेश्‍वरको भरोसा जित्ने भनेर हृदयमा जान्नुपर्छ। यदि तैँले आफ्ना प्रकटीकरणहरू र व्यवहार, अनि तैँले आफ्नो कर्तव्यलाई लिने मनोवृत्तिलाई प्रस्ट रूपमा देख्न सक्छस् भने, यदि तँ आफूलाई चिन्छस्, र तँलाई आफू के हुँ भन्‍ने थाहा छ भने, के तैँले परमेश्‍वरले तँलाई निगाह गर्नुहोओस्, अनुग्रह देखाउनुहोओस्, वा विशेष व्यवहार गर्नुहोओस् भनी माग गर्नु बेमनासिब होइन र? (हजुर, हो नि।) तँ आफूलाई एकदमै तुच्छसमेत ठान्छस्, आफूलाई होच्याउनेसमेत गर्छस्, तैपनि परमेश्‍वरले तँलाई निगाह गर्नुहोओस् भनेर माग गर्छस् भने—यसले कुनै अर्थ राख्दैन। यसरी, यदि तँ परमेश्‍वरले तँलाई निगाह गर्नुहोओस् भन्‍ने चाहन्छस् भने, तैँले कम्तीमा पनि आफूलाई अरू मानिसका दृष्टिमा भरपर्दो बनाउनुपर्छ। यदि तँ अरूले तँलाई भरोसा गरून्, निगाह देखाऊन्, आदर गरून् भन्‍ने चाहन्छस् भने, कम्तीमा पनि तँ मर्यादित, जिम्मेवारी बोध भएको, वचनको पक्‍का, र भरपर्दो हुनैपर्छ। त्यसबाहेक, तँ परमेश्‍वरसामु लगनशील, जिम्मेवार, र बफादार हुनैपर्छ—त्यसपछि तैँले परमेश्‍वरका अत्यावश्यक मापदण्डहरू पूरा गरेको हुनेछस्। त्यसपछि, तँलाई परमेश्‍वरको अनुमोदन प्राप्त हुने आशा हुनेछ, हुनेछैनन र? (हजुर, हुनेछ।) के यो हासिल गर्न गाह्रो छ? (छैन।) मानिसहरूले कामहरू सम्हाल्न र सङ्गत गर्नका लागि भरपर्दो व्यक्ति खोज्नसमेत चाहन्छन्, त्यसकारण के परमेश्‍वरले मानिसहरूलाई आफ्ना कर्तव्यहरू राम्रोसँग निभाउनू भनेर माग गर्नु, उहाँले तिनीहरूबाट यति सानो माग गर्नु अतिशय हो? (अहँ, होइन।) यो अतिशय हुँदै होइन। यो मानिसहरूका लागि परिस्थितिहरू कठिन पार्नु होइन, बरु यो त निकै उचित काम हो। यति मात्र हो कि, मानिसहरूमा यो काम गर्ने हृदय छैन, तिनीहरू परमेश्‍वरका सोचहरूबारे मनन गर्दैनन् वा परमेश्‍वरका अभिप्रायहरूको कदर गर्दैनन्। तिनीहरूले गर्न सक्ने भनेकै निरन्तर “तपाईँले मलाई आशिष् दिनैपर्छ! तपाईँले मलाई अनुग्रह देखाउनैपर्छ! तपाईँले मलाई मार्गदर्शन गर्नैपर्छ!” भन्दै परमेश्‍वरसँग माग गर्नु मात्र हो। त्यसोभए, तँ केचाहिँ गरिरहेको छस्? के तँ साँच्चिकै आफ्नो विवेक र समझअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्छस्? के तँ साँच्चै लगनशील, जिम्मेवार र बफादार हुन सक्छस्? यो तैँले परमेश्‍वरबाट निगाह पाउनका निम्ति पूरा गर्नैपर्ने निम्नतम सर्त हो। के मानिसहरूले यही दिशातर्फ मेहनत गर्नुपर्ने होइन र? तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, तैँले सत्यता र परमेश्‍वरका मागहरूप्रति लागिपर्नैपर्छ—मानिसहरूले यही दिशामा मेहनत गर्नुपर्छ। मानिसहरूले सही दिशामा मेहनत गर्नैपर्छ। त्यसो गरियो भने, तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न खोज्ने काम त्यसउप्रान्त खोक्रो रहनेछैन।

के झुटा अगुवाहरूको हृदयमा परमेश्‍वरमा विश्वास गर्दा उहाँलाई सन्तुष्ट पार्नेबारे कुनै बुझाइ हुन्छ? के तिनीहरूसँग कुनै मनोवृत्ति हुन्छ त? हुँदैन भन्ने स्पष्ट छ। तिनीहरू संसारमा जसोतसो जिउने मनोवृत्ति मात्र राख्छन्, र तिनीहरू परमेश्‍वरसँग पनि त्यस्तै शैलीमा, अत्यन्तै अनादरणीय र अपमानजनक शैलीमा व्यवहार गर्छन्। यस्तो प्रकारको मनोवृत्तिले परमेश्‍वरलाई गम्भीर रूपमा अपमानित र निन्दित तुल्याउँछ, र परमेश्‍वरले त्यसलाई घृणा गर्नुहुन्छ। परमेश्‍वरले तिनीहरूलाई जीवन साथै व्यक्तिसँग हुने सबथोक दिनुभयो, र तैपनि तिनीहरू परमेश्‍वरले तिनीहरूलाई दिनुभएको सबथोकप्रति, परमेश्‍वरले तिनीहरूको जीवनका लागि गर्नुहुने प्रबन्धहरूप्रति, परमेश्‍वरको आज्ञा र कामप्रति, र तिनीहरूका आफ्नै कर्तव्यहरूप्रति अवहेलना र तिरस्कारको मनोवृत्ति राख्छन्। “तिरस्कार” को अर्थ के हो? त्यसको अर्थ जसोतसो दिन कटाउन चाहनु र कुनै पनि कुरालाई गम्भीरतापूर्वक नलिनु हो। परमेश्‍वरले तिनीहरूको यो मनोवृत्तिलाई अत्यन्तै घृणा गर्नुहुन्छ, र त्यसैले उहाँले यस्ता मानिसहरूलाई कदापि मुक्ति दिनुहुनेछैन। यसमा तिमीहरूले बुझ्नुपर्ने कुरा के हो? त्यो के हो भने तिमीहरू यस्तो प्रकारको व्यक्ति हुनु हुँदैन। चाहे तँ अगुवा भए पनि वा नभए पनि, वा तँसँग अगुवा बन्ने महत्त्वाकाङ्क्षा र चाहना भए पनि वा नभए पनि, तैँले सुरुमा आफूलाई आचरणमा ढाल्न सिक्नुपर्छ, र कदापि कामचोर, आवारा, वा फोहोरी व्यक्ति बन्नु हुँदैन। तेरो आचरणमा, तँसँग सोझो मनोवृत्ति, इज्जत, र जिम्मेवारीको बोध हुनुपर्छ—यो न्यूनतम कुरा हो। यस जगमाथि मात्र मानिसहरूले परमेश्‍वरका मागहरू पुर्‍याउन र उहाँको आज्ञा पूरा गर्न सक्छन्। यदि तँ सँग यति जग पनि छैन भने कुरा गर्नुपर्ने विषय नै छैन।

अप्रिल ३, २०२१

अघिल्लो:  अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (७)

अर्को:  अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (९)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger