इस्राएलीहरूले गरे सरह सेवा गर्

आजभोलि धेरै मानिसहरूले अरूसित सहकार्य गर्दा के-कस्ता पाठहरू सिक्नुपर्छ भनेर ध्यान दिँदैनन्। तिमीहरूमध्ये धेरैले अरूसित सहकार्य गर्दा पाठहरू सिक्न सक्दैनौ भनेर मैले पत्ता लगाएको छु; तिमीहरूमध्ये धेरै जना आफ्नै विचारहरूमा लागिरहन्छौ। मण्डलीमा काम गर्दा तँ आफ्नो विचार पोख्छस् अनि अरू कसैले आफ्नै विचारहरू पोख्छन्, अनि एउटाको अर्कोसित कुनै सम्बन्ध हुँदैन; तिमीहरूले वास्तवमा केही सहकार्य नै गर्दैनौ। सानो मात्रामा नै भएपनि जीवनको खोजी नगरिकन तिमीहरू सबै केवल आफ्नै अन्तर्दृष्टिहरूलाई व्यक्त गर्नुमा वा आफूभित्र बोकेका “बोझहरू” हलुको बनाउनामै मग्न हुन्छौ। अरू कसैले के भन्छ वा गर्छ भन्‍ने कुराको पर्बाह नगरी तँ सधैँ आफ्नै बाटोमा हिँड्नुपर्छ भनी विश्‍वास गर्दै तैँले झारा टार्ने हिसाबले मात्रै काम गरिरहेको देखिन्छ; अरूका परिस्थितिहरू जस्तोसुकै भए तापनि त्यसलाई पर्बाह नगरीकन पवित्र आत्माले अगुवाइ गर्नुभएअनुसार तैँले सङ्गति गर्नुपर्छ भन्‍ने तँलाई लाग्छ। तँ अरूका बलिया पक्षहरू पत्ता लगाउन सक्षम छैनस्, अनि न त आफैलाई जाँच्न सक्षम छस्। तिमीहरू जसरी कामकुरालाई बुझ्छौ, त्यो साँच्चि नै पथभ्रष्ट र विकृत छ। यसो भन्न सकिन्छ कि अहिले पनि तिमीहरूले अझै प्रशस्त आत्म-धार्मिकता प्रदर्शन गर्दछौ, मानौँ तिमीहरू पुरानै बिमारीको दशामा फर्केका छौ। उदाहरणको निम्ति, तिमीहरू निश्चित मण्डलीहरूको कामबाट आफूले कस्ता प्रकारको परिणाम हासिल गरेका छौ, वा तेरा भित्री अवस्थाहरूको हालैको स्थिति र यस्तै इत्यादि कुराबारे एकअर्कासित पूर्ण रूपले खुला हुने किसिमले बातचित गर्दैनौ; तिमीहरूले त्यस्ता कुराबारे पटक्कै कुराकानी गर्दैनौ। तिमीहरू आफ्ना धारणाहरूलाई छोडिदिने वा आफ्‍नो विरुद्धमा विद्रोह गर्नेजस्ता अभ्यासहरू पटक्कै गर्दैनौ। अगुवा र कार्यकर्ताहरूले केवल तिनीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी नकारात्मक हुनदेखि बचाउने अनि कसरी तिनीहरूलाई जोशपूर्वक पछ्याउने तुल्याउने भनेर मात्र सोच्छन्। तैपनि, तिमीहरू सबै आफैले जोशपूर्वक पछ्याए भइहाल्छ भनी सोच्छौ अनि आफूलाई जान्नु र आफ्‍नो विरुद्धमा विद्रोह गर्नु के हो भन्‍नेबारे तिमीहरूसित कुनै आधारभूत बुझाइ छैन, अरूसित सहकार्य गरेर सेवा गर्नुको अर्थ बुझ्नु त झन् परको कुरा हो। तिमीहरू परमेश्‍वरको प्रेमको साटो तिर्ने र पत्रुसको शैलीमा जिउने इच्छा राख्नेबारे मात्रै सोच्छौ। यी कुराबाहेक, तिमीहरू अरू कुनै कुराबारे सोच्दैनौ। तैँले के समेत भन्छस् भने, अरू मानिसहरूले जे गरे पनि, तँ अन्धो भएर आज्ञाकारी हुनेछैनस्, अनि अरू मानिसहरू जस्तोसुकै भएपनि, तैँले चाहिँ परमेश्‍वरद्वारा प्राप्त गरिने सिद्धता खोज्नेछस्, अनि त्यही नै पर्याप्त हुनेछ। तथापि, तथ्य के हो भने, वास्तवमा तेरो इच्छा कुनै पनि प्रकारले बिलकुलै लागू भएको छैन। के यी सबै, तिमीहरूले हिजोआज प्रदर्शन गर्ने व्यवहार होइनन् र? तिमीहरूमध्ये हरेकले आफ्नै अन्तर्दृष्टिलाई पक्रन्छौ, अनि तिमीहरू सबै सिद्ध तुल्याइने चाहना गर्छौ। म देख्छु कि तिमीहरूले त्यति धेरै प्रगति नगरिकन त्यत्तिका लामो समयसम्म सेवा गरेका छौ; निश्‍चित रूपमा, एकआपसमा मिलेर काम गर्नेसम्‍बन्धी यस पाठमा तिमीहरूले केही हासिल गरेका छैनौ! मण्डलीहरूमा जाँदा तिमीहरू आफ्नै तरिकाले कुराकानी गर्छौ, अनि अरूले आफ्नै तरिकाले कुराकानी गर्छन्। मेलपूर्ण सहकार्य बिरलै हुन्छ, अनि तिमीहरूभन्दा तलका अनुयायीहरूको सम्बन्धमा यो कुरा अझै बढी लागू हुन्छ। भन्‍नुको अर्थ, तिमीहरूमध्ये कसैले परमेश्‍वरको सेवा गर्नु भनेको के हो वा कसरी उहाँको सेवा गर्नुपर्छ भन्‍ने कुरा बिरलै मात्र बुझ्छौ। तिमीहरू अन्योलमा छौ र यस प्रकारका पाठलाई हल्का विषयको रूपमा लिन्छौ। यस्ता मानिसहरू अझ धेरै छन् जो सत्यताको यस पक्षलाई अभ्यास गर्नमा मात्र चुक्दैनन् तर जानी-जानी गल्तीसमेत गर्छन्। धेरै वर्षसम्म सेवा गर्नेहरूसमेत एकअर्काको विरुद्धमा लड्छन्, एकअर्काको विरुद्ध युक्ति रच्छन् अनि तिनीहरू ईर्ष्यालु र प्रतिस्पर्धात्मक छन्; हरेकले आफ्नै हित मात्रै खोज्दछ, अनि तिनीहरूले बिलकुल सहकार्य गर्दैनन्। के यी सबै कुराले तिमीहरूको वास्तविक कदलाई प्रतिनिधित्व गर्दैनन् र? दैनिक जीवनमा सेवा गर्ने तिमीहरू इस्राएलीहरूजस्तै छौ, जसले हरेक दिन मन्दिरमा परमेश्‍वर स्वयम्‌को प्रत्यक्ष सेवा गरे। परमेश्‍वरको सेवा गर्ने तिमीहरूसित नै कसरी सहकार्य गर्ने वा कसरी सेवा गर्ने भन्‍ने कुराको कुनै ज्ञान छैन, यो कसरी हुनसक्छ?

त्योबेला, इस्राएलीहरूले मन्दिरमा यहोवाको प्रत्यक्ष सेवा गर्थे, अनि तिनीहरू पूजाहारीहरू भनी चिनिन्थे (अवश्य, हरेक व्यक्ति पूजाहारी थिए भन्‍ने छैन; केवल मन्दिरमा यहोवाको सेवा गर्नेहरूसित मात्रै त्यस्तो पहिचान थियो)। तिनीहरूले यहोवाले तिनीहरूलाई दिनुभएका मुकुटहरू पहिरिन्थे (भन्‍नुको अर्थ, तिनीहरूले यहोवाका मापदण्डहरूअनुसार यी मुकुटहरू बनाउँथे; यहोवाले तिनीहरूलाई प्रत्यक्ष रूपमा ती मुकुटहरू दिनुभएको होइन)। तिनीहरू यहोवाले तिनीहरूलाई दिनुभएको पूजाहारीका लबेदाहरू पनि पहिरिन्थे र मन्दिरमा प्रत्यक्ष रूपले बिहानदेखि साँझसम्मै खाली खुट्टा उहाँको सेवा गर्थे। यहोवाप्रति तिनीहरूको सेवा लापरवाही थिएन, अनि यसमा अन्धाधुन्ध यताउति दौड्ने कुरा समावेश थिएन; बरु यी सबै नियमअनुसार नै गरिन्थे जुन नियमलाई उहाँको सेवा गर्ने कसैले पनि प्रत्यक्ष रूपले भङ्ग गर्न सक्दैनथिए। तिनीहरू सबैले यी नीति-नियमहरूलाई पालना गर्नुपर्थ्यो; नत्र भने, तिनीहरू मन्दिरमा पस्नदेखि वञ्चित हुन्थे। यदि कसैले मन्दिरका नियमहरू तोडे भने—अर्थात्, यदि कसैले यहोवाका आज्ञाहरू अवज्ञा गरे भने—तब त्यस व्यक्तिलाई उहाँले जारी गर्नुभएका नियमहरूअनुसार व्यवहार गरिनुपर्थ्यो, अनि कसैलाई यसप्रति आपत्ति जनाउन वा अपराधीलाई सुरक्षा दिने अनुमति दिइँदैनथ्यो। तिनीहरूले जति वर्ष परमेश्‍वरको सेवा गरे पनि, सबैले नियमहरू पालना गर्नु आवश्यक हुन्थ्यो। यही कारणले, धेरै पूजाहारीहरूले पूजाहारीको लबेदा पहिरिन्थे र यही शैलीमा वर्षभरि यहोवाको निरन्तर सेवा गर्थे, यद्यपि उहाँले तिनीहरूलाई विशेष व्यवहार गर्नुभएको थिएन। तिनीहरूले आफ्नो सम्पूर्ण जीवनसमेत वेदीको सामु र मन्दिरमा बिताउँथे। यही नै तिनीहरूको बफादारीता र अधीनताको प्रकटीकरण थियो। यहोवाले तिनीहरूमाथि त्यस्ता आशिषहरू राखिदिनुभएको थियो भन्‍ने कुरामा कुनै आश्चर्य मान्नु पर्दैन; तिनीहरूको बफादारीताको कारणले नै तिनीहरूले यी सबै कृपा प्राप्त गरे र यहोवाका सबै कार्य देखे। त्यो बेला जब यहोवाले इस्राएलमा आफ्ना चुनिएका मानिसहरूमाझ काम गर्नुभयो, तब उहाँले तिनीहरूबाट कडा मागहरू गर्नुभयो। तिनीहरू सबै अत्यन्तै समर्पित थिए र व्यवस्थाहरूद्वारा प्रतिबन्धित थिए; यी व्यवस्थाहरूले यहोवाको डर मान्ने तिनीहरूको क्षमतालाई सुरक्षित गर्ने काम गर्थे। यी सबै यहोवाका प्रशासनिक आदेशहरू थिए। यदि ती पूजाहारीहरूमध्ये कसैले पनि विश्राम दिन पालन गरेनन् वा यहोवाका आज्ञाहरू भङ्ग गरे भने, अनि यदि त्यो कुरा साधारण मानिसहरूले पत्ता लगाए भने, त्यस पुजाहारीलाई तुरुन्तै वेदीको सामु लगिन्थ्यो र ढुङ्गाले हानेर मारिन्थ्यो। ती लाशहरूलाई मन्दिरमा वा मन्दिर वरिपरि राखिने अनुमति दिइँदैनथियो; यहोवाले त्यसो गर्ने अनुमति दिनुभएको थिएन। जसले त्यसो गर्थ्यो, त्यसलाई “अशुद्ध बलिदानहरू” चढाउने व्यक्तिको रूपमा व्यवहार गरिन्थ्यो, अनि ठूलो खाल्डोमा खसालिन्थ्यो र मृत्युदण्ड दिइन्थ्यो। अवश्य, त्यस्ता सबै मानिसहरूले आफ्नो ज्यान गुमाउँथे; कसैलाई पनि छोडिँदैनथियो। “अशुद्ध आगो” चढाउनेहरूसमेत थिए; अर्को शब्दमा भन्दा, यहोवाले तोक्‍नुभएका दिनहरूमा बलिदान नचढाउने मानिसहरूलाई तिनीहरूले बलिदानको रूपमा चढाउने थोकहरूसँगै उहाँको आगोले जलाउँथ्यो, जुन थोकहरूलाई वेदीमा रहिरहन अनुमति दिइँदैनथियो। पूजाहारीहरूलाई दिइएका नियमहरू यस्ता थिए: तिनीहरूलाई खुट्टा नधोई मन्दिर वा त्यसको बाहिरी चोकमा समेत प्रवेश गर्ने अनुमति दिइँदैनथियो; पूजाहारीको लबेदा नपहिरेसम्म तिनीहरू मन्दिरभित्र प्रवेश गर्न सक्दैनथिए; पूजाहारीका मुकुट शिरमा नपहिरेसम्म तिनीहरू मन्दिर प्रवेश गर्न सक्दैनथिए; यदि लाश छोएर अपवित्र भएमा तिनीहरू मन्दिर प्रवेश गर्न सक्दैनथिए; अधर्मी व्यक्तिको हात छोइसकेपछि आफ्नो हात नधोएसम्म तिनीहरू मन्दिरमा प्रवेश गर्न सक्दैनथिए; अनि तिनीहरूले स्त्रीहरूसित आफूलाई अशुद्ध पारेपछि तिनीहरू मन्दिर प्रवेश गर्न सक्दैनथिए (तीन महिनाको लागि, सधैँको लागि होइन), न त तिनीहरूलाई यहोवाको मुहार हेर्ने अनुमति नै दिइन्थ्यो। समय पूरा भएपछि—भनाइको अर्थ, तीन महिनापछि मात्र तिनीहरूलाई पूजाहारीको सफा लबेदा पहिरिने अनुमति दिइन्थ्यो—तब यहोवाको मुहार हेर्न तिनीहरूले मन्दिर प्रवेश गर्न सक्नुभन्दा अघि तिनीहरूले बाहिरी चोकमा सात दिनसम्म सेवा गर्नुपर्थ्यो। यहोवाको मन्दिरलाई अपवित्र हुन नदिन तिनीहरूलाई पूजाहारीको यो कुनै पनि वस्त्र मन्दिरभित्र मात्रै पहिरिन अनुमति दिइन्थ्यो, र कहिल्यै पनि बाहिर पहिरिने अनुमति थिएन। ती सबै पूजाहारीहरूले यहोवाका व्यवस्था भङ्ग गर्ने अपराधीहरूलाई उहाँको वेदीको सामु ल्याउनुपर्थ्यो, जहाँ तिनीहरूलाई साधारण मानिसहरूले मृत्युदण्ड दिन्थे; नत्र भने, अपराधको साक्षी भएका पूजाहारीमाथि आगो वर्षन्थ्यो। यसरी, तिनीहरू नचुकीकन यहोवाप्रति वफादार हुन्थे, किनभने उहाँका व्यवस्थाहरू तिनीहरूको निम्ति अति कठोर थिए, अनि तिनीहरूले उहाँका प्रशासनिक आदेशहरूलाई त्यत्तिकै भङ्ग गर्ने साहस कहिल्यै पनि गर्न सक्दैनथिए। इस्राएलीहरू यहोवाप्रति वफादार थिए किनभने तिनीहरूले उहाँको आगो देखेका थिए, अनि त्यस हातलाई देखेका थिए जसद्वारा उहाँले मानिसहरूलाई सजाय दिनुभएको थियो, अनि साथै सुरुमा तिनीहरूमा उहाँको डर मान्ने हृदय थियो। त्यसैकारण, तिनीहरूले केवल यहोवाको ज्वाला मात्र प्राप्त गरेनन् तर उहाँको वास्ता, उहाँको सुरक्षा र उहाँका आशिषहरू पनि प्राप्त गरे। तिनीहरूका सबै कार्यमा यहोवाका वचनको पालना गर्नु नै तिनीहरूको बफादारीता थियो, अनि कसैले विद्रोह गरेनन्। यदि कुनै विद्रोह गर्ने काम भयो भने, अरूले यहोवाका वचनहरू पालना गर्थे र यहोवाको विरुद्धमा विद्रोह गर्ने जोकोहीलाई पनि मृत्युदण्ड दिन्थे, अनि त्यस व्यक्तिलाई उहाँबाट बिलकुल लुकाउँदैनथिए। जसले विश्राम दिन भङ्ग गर्थे, जो व्यभिचारको दोषी हुन्थे, अनि जसले यहोवाका भेटीहरू चोर्थे, तिनीहरूलाई विशेष कठोरताका साथ दण्ड दिइन्थ्यो। विश्राम दिन भङ्ग गर्नेहरूलाई तिनीहरूले (साधारण मानिसहरूले) ढुङ्गाले हान्थे, वा कोर्राले हानेर मारिन्थ्यो, जसमा कुनै अपवाद हुँदैनथियो। जसले व्यभिचार गर्थे—जसले आकर्षक स्त्रीहरूको लालसा गर्थे वा दुष्ट स्त्रीहरूलाई हेरेर कामुक विचारहरू मनमा खेलाउँथे, वा जवान स्त्रीहरूलाई हेरेर कामुक हुन्थे—ती सबैलाई मृत्युदण्ड दिइन्थ्यो। आवरण वा घुम्टो नलगाउने जवान स्त्रीहरूले यदि कुनै मानिसलाई अनैतिक व्यवहारमा फसाउने परीक्षा गरे भने, त्यस स्त्रीलाई मृत्युदण्ड दिइन्थ्यो। यदि यसप्रकारका व्यवस्थाहरू भङ्ग गर्ने मानिस पूजाहारी (जसले मन्दिरमा सेवा गर्थ्यो) थियो भने, उसलाई क्रूसमा चढाइन्थ्यो वा झुण्ड्याइन्थ्यो। त्यस्तो कुनै पनि प्रकारको मानिसलाई बाँच्ने अनुमति दिइँदैनथियो, अनि एउटै व्यक्तिले पनि यहोवासामु कृपा पाउँदैनथिए। यस्तो प्रकारको मानिसका आफन्तहरूलाई उसको मृत्युको तीन वर्षसम्म यहोवालाई वेदीको सामु बलिदानहरू चढाउने अनुमति दिइँदैनथियो, न त यहोवाद्वारा साधारण मानिसहरूलाई प्रदान गरिएका बलिदानहरूमा सहभागी हुन नै दिइन्थ्यो। त्यो समय सिद्धिएपछि मात्रै तिनीहरूले उच्च गुणस्तरको गाईवस्तु वा भेडाहरू यहोवाको वेदीमाथि चढाउन सक्थे। यदि अन्य कुनै अपराधहरू भएमा, तिनीहरूले यहोवाको अनुग्रहको निम्ति बिन्ती गर्दै उहाँसामु तीन दिनसम्म उपवास बस्नुपर्थ्यो। उहाँका व्यवस्थाहरू अति कठोर र कडा भएको कारणले मात्रै तिनीहरूले यहोवाको आराधना गर्दैनथिए; उहाँको अनुग्रह र उहाँप्रति तिनीहरूको बवफादारीताको परिणामस्वरूप तिनीहरूले यसो गर्थे। जस्तै कि, आजको दिनसम्म तिनीहरू आफ्नो सेवामा त्यसरी नै बफादार रहेका छन्, अनि तिनीहरू यहोवासामु बिन्ती चढाउन कहिल्यै पछि हटेका छैनन्। हिजोआज, इस्राएलका मानिसहरूले अझै उहाँको हेरचाह र सुरक्षा प्राप्त गर्छन्, अनि उहाँ अझै पनि तिनीहरूको माझमा अनुग्रह हुनुहुन्छ र सधैँ तिनीहरूसित बास गर्नुहुन्छ। तिनीहरू सबैलाई कसरी यहोवाको डर मान्नुपर्छ र सेवा गर्नुपर्छ भन्‍ने थाहा छ, अनि उहाँको हेरचाह तथा सुरक्षा पाउनको निम्ति कसरी व्यवहार गर्नुपर्छ भन्‍ने तिनीहरू सबैलाई थाहा छ; किनकि तिनीहरू सबै आफ्नो हृदयमा उहाँको डर मान्छन्। तिनीहरूका सबै सेवाको सफलताको रहस्य उहाँप्रतिको तिनीहरूको डरभन्दा अरू केही होइन। त्यसैले, तिमीहरू सबै हिजोआज कस्ता छौ? के इस्राएलका मानिसहरूसित तिमीहरूको कुनै समानता छ? के तँलाई हिजोआज सेवा गर्ने काम महान् आत्मिक व्यक्तित्वको अगुवाइलाई पछ्याउनु नै हो भन्‍ने लाग्छ? तिमीहरूसित कुनै बफादारीता र डर नै छैन। तिमीहरूले यथेष्ट अनुग्रह प्राप्त गर्दछौ, अनि तिमीहरू सबैले प्रत्यक्ष रूपले परमेश्‍वरको सेवा गरिरहेका हुनाले, तिमीहरू इस्राएली पूजाहारीसरह छौ। तिमीहरू मन्दिरमा प्रवेश नगरे पनि, जे प्राप्त गऱ्यौ र जे देख्यौ, त्यो, मन्दिरमा यहोवाको सेवा गर्ने पूजाहारीहरूले प्राप्त गरेको भन्दा अति धेरै हो। तैपनि, तिमीहरू तिनीहरूले भन्दा धेरै पटक विद्रोह गर्छौ र विरोध गर्दछौ। तिमीहरूमा डर मान्ने अति सानो हृदय छ, अनि परिणामस्वरूप, तिमीहरूले अति थोरै अनुग्रह प्राप्त गर्दछौ। तिमीहरूले अति थोरै समर्पण गरे पनि, ती, इस्राएलीहरूले पाएको भन्दा धेरै बढी तिमीहरूले पाएका छौ। यी सबै कुरामा के तिमीहरूलाई उदारताको साथ व्यवहार गरिएको छैन र? इस्राएलमा काम हुँदै गर्दा, मानिसहरूले जानीजानी यहोवाको आलोचना गर्ने साहस गर्दैनथिए। तापनि, तिमीहरूबारे के भन्‍ने? यदि यो, तिमीहरूलाई जित्न हाल मैले गरिरहेको कामको खातिर नहुँदो हो त, तिमीहरूले मेरो नाउँलाई घातक रूपले लज्‍जित पारेको म कसरी सहन सक्थेँ र? यदि तिमीहरू बाँच्‍ने युग व्यवस्थाको युग भएको भए, तिमीहरूका वचन र कार्यअनुसार त तिमीहरूमध्ये एक जना पनि जीवित रहनेथिएनौ। तिमीहरूमा डर मान्ने अत्यन्तै सानो हृदय छ! तिमीहरूमाथि धेरै कृपा नवर्षाएकोमा तिमीहरू सधैँ मलाई दोष लगाइरहन्छौ, र मैले तिमीहरूलाई आशिषका पर्याप्त वचनहरू दिँदिनँ अनि तिमीहरूका निम्ति मसित श्रापहरू मात्र छन् भनेर दाबी समेत गर्दछौ। मेरो डर मान्ने त्यस्तो सानो हृदयले मेरा आशिषहरू स्वीकार गर्न तिमीहरूलाई असम्भव हुन्छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरूको सेवाको दयनीय अवस्थाले गर्दा म तिमीहरूमाथि निरन्तर श्राप र न्याय खन्याउँछु भनेर के तिमीहरूलाई थाहा छैन? के तिमीहरूलाई अन्याय गरिएको छ भन्‍ने तिमीहरू सबैलाई लाग्छ? म कसरी विद्रोही र समर्पित नहुने मानिसहरूको झुण्डलाई आशिष दिन सक्छु? मेरो नाउँलाई लज्जित पार्ने मानिसहरूलाई म कसरी त्यत्तिकै अनुग्रह प्रदान गर्न सक्छु र? तिमीहरूलाई पहिले नै अत्यन्त ठूलो दयासहित व्यवहार गरिएको छ। यदि इस्राएलीहरू आज तिमीहरूजस्तो विद्रोही भएका भए म तिनीहरूलाई धेरैअघि नै नाश गरिसक्नेथिएँ। तैपनि, म तिमीहरूलाई कोमलताबाहेक अरू कुनै किसिमले व्यवहार गर्दिनँ। के यो उदारता होइन र? के तिमीहरू यो भन्दा ठूला आशिषहरू चाहन्छौ? यहोवाको डर मान्नेहरूलाई मात्रै उहाँ आशिष दिनुहुन्छ। उहाँको विरुद्ध विद्रोह गर्ने मानिसहरूलाई उहाँले सजाय दिनुहुन्छ, तिनीहरूमध्ये एउटैलाई पनि कहिल्यै क्षमा दिनुहुन्न। कसरी सेवा गर्ने भन्‍ने थाहा नभएका तिमी आजका मानिसहरूलाई आफ्नो हृदय पूर्ण रूपले परिवर्तन गर्न के सजाय र न्यायको अझै बढी खाँचो छैन? के त्यस्ता सजाय र न्याय तिमीहरूलाई दिनुपर्ने सर्वोत्तम प्रकारका आशिषहरू होइनन् र? के ती तिमीहरूका सर्वोत्तम सुरक्षा होइनन् र? के तीविना तिमीहरूमध्ये कसैले यहोवाको बलिरहेको आगो सहन सक्थ्यौ र? यदि तिमीहरूले पनि इस्राएलीहरूले जस्तै साँचो रीतिले बफादार भई सेवा गर्न सक्‍ने भए, के तिमीहरूले पनि निरन्तर सहयोगीको रूपमा अनुग्रह पाउनेथिएनौ र? के तिमीहरूले सधैँ आनन्द र पर्याप्त निगाह पाउनेथिएनौ र? कसरी सेवा गर्नुपर्छ भन्‍ने कुरा के तिमीहरू सबैलाई थाहा छ?

सौहार्दपूर्ण रूपमा सहकार्य गर्न भनी आज तिमीहरूबाट गरिएको माग यहोवाले इस्राएलीहरूबाट उहाँको सेवा गर्दा गर्नुभएको माग जस्तै हो; अन्यथा, सेवा गर्न छोडिदेऊ। तिमीहरू सिधै परमेश्‍वरको सेवा गर्ने मानिस भएकाले, तिमीहरूले आफ्नो सेवामा कम्तीमा पनि बफादारी र समर्पण देखाउन सक्नैपर्छ, र व्यावहारिक रूपमा पाठहरू सिक्न पनि सक्षम हुनैपर्छ। विशेष गरी मण्डलीमा काम गर्ने तिमीहरूका हकमा, के तिमीहरूभन्दा तल्लो तहका कुनै पनि दाजुभाइ-दिदीबहिनीले तिमीहरूलाई काटछाँट गर्ने आँट गर्ला र? के कसैले तिमीहरूका गल्तीहरू तिमीहरूकै अगाडि भन्‍ने आँट गर्ला र? तिमीहरू अरू सबैभन्दा माथि छौ; तिमीहरू राजा भएर शासन गर्छौ! तिमीहरू यस प्रकारका व्यावहारिक पाठहरू सिक्ने वा तिनमा प्रवेश गर्ने समेत गर्दैनौ, तैपनि तिमीहरू अझै परमेश्‍वरको सेवा गर्ने कुरा गर्छौ! वर्तमान समयमा, तँलाई केही मण्डलीको अगुवाइ गर्न भनिएको छ, तर तैँले आफूलाई नत्याग्ने मात्र होइन, तँ त आफ्नै धारणा र रायहरूमा टाँसिन्छस्, र यस्ता कुराहरू भन्छस्, “मलाई लाग्छ यो काम यसरी गरिनुपर्छ। परमेश्‍वरले भन्नुभएको छ कि हामी अरूद्वारा बाँधिनु हुँदैन र आजभोलि हामीले अन्धाधुन्ध रूपमा आज्ञापालन गर्नु हुँदैन।” त्यसकारण, तिमीहरू सबैजना आ-आफ्नो रायमा अडिग रहन्छौ, र कसैले पनि एकअर्काको आज्ञापालन गर्दैनौ। आफ्नो सेवा गतिरोधमा पुगेको छ भन्‍ने स्पष्ट रूपमा थाहा भए पनि, तिमीहरू अझै यसो भन्छौ, “मेरो विचारमा, मेरो तरिका लगभग मिलेको छ। जे भए पनि, हामी दुवैको आ-आफ्नै पक्ष छ: तिमी तिम्रो पक्षको कुरा गर, म मेरो पक्षको कुरा गर्छु; तिमी तिम्रा दर्शनहरूबारे सङ्गति गर, म मेरो प्रवेशबारे सङ्गति गर्छु।” तिमीहरू कहिल्यै पनि सम्हाल्नुपर्ने धेरै कुराको जिम्मेवारी लिँदैनौ, वा तिमीहरू तिनलाई झाराटारुवा तरिकाले सम्हाल्छौ, तिमीहरू हरेकले आफ्नै रायहरू व्यक्त गर्छौ र होसियारीका साथ आफ्नै हैसियत, प्रतिष्ठा, र इज्जतको रक्षा गर्छौ। तिमीहरूमध्ये कोही पनि आफूलाई विनम्र तुल्याउन इच्छुक छैनौ, र जीवन अझै द्रुत रूपमा अघि बढोस् भनेर कुनै पनि पक्षले आफूलाई त्याग्ने र एक-अर्काका कमजोरीहरूलाई पूर्ति गर्ने पहल गर्दैन। एक-अर्कासँग सहकार्य गर्दा, तिमीहरूले सत्यता खोज्न सिक्नुपर्छ। तिमीहरू यसो भन्न सक्छौ, “सत्यताको यस पक्षबारे मसँग स्पष्ट बुझाइ छैन। यसमा तिम्रो कस्तो अनुभव छ?” वा, तिमीहरू यसो भन्न सक्छौ, “यस पक्षका सम्बन्धमा मेरोभन्दा तिम्रो बढी अनुभव छ; के तिमी मलाई केही मार्गदर्शन दिन सक्छौ?” के त्यसरी अघि बढ्दा राम्रो हुँदैन र? तिमीहरूले धेरै प्रवचन सुनेका छौ, र सेवा गर्नमा केही अनुभव प्राप्त गरेका छौ। यदि तिमीहरू मण्डलीहरूमा काम गर्दा एक-अर्काबाट सिक्दैनौ, एक-अर्कालाई मद्दत गर्दैनौ, र एक-अर्काका कमजोरीहरूलाई पूर्ति गर्दैनौ भने, तिमीहरू कसरी कुनै पाठ सिक्न सक्छौ? कुनै पनि कुराको सामना गर्नुपर्दा, तिमीहरूले एक-अर्कासँग सङ्गति गर्नुपर्छ ताकि तिमीहरूको जीवनलाई फाइदा पुग्न सकोस्। तिमीहरूले कुनै पनि निर्णय गर्नुअघि कुनै पनि प्रकारका कुराहरूबारे ध्यानपूर्वक सङ्गति गर्नुपर्छ। यसो गरेर मात्रै तिमीहरू केवल झाराटारुवा तरिकाले काम गर्नुको सट्टा मण्डलीका लागि जिम्मेवारी लिइरहेका हुन्छौ। सबै मण्डलीको भ्रमण गरेपछि, तिमीहरू एकसाथ भेला हुनुपर्छ र आफूले पत्ता लगाएका सबै समस्या र आफ्नो काममा सामना गर्नुपरेको कुनै पनि समस्याबारे सङ्गति गर्नुपर्छ, साथै तिमीहरूले आफूले प्राप्त गरेको अन्तर्दृष्टि र ज्योतिबारे पनि सङ्गति गर्नुपर्छ—यो सेवाको एक अपरिहार्य अभ्यास हो। परमेश्‍वरको कामको उद्देश्यका लागि, मण्डलीको फाइदाका लागि, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई अघि बढाउनका लागि तिमीहरूले सौहार्दपूर्ण सहकार्य हासिल गर्नैपर्छ। परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नका लागि, तिमीहरूले एक-अर्कासँग सहकार्य गर्नुपर्छ, एक-अर्काका कमजोरीहरूलाई पूर्ति गर्नुपर्छ र काममा अझ राम्रा नतिजाहरू हासिल गर्नुपर्छ। साँचो सहकार्य भनेको यही हो, र यसमा संलग्न हुनेहरूले मात्रै साँचो प्रवेश पाउँछन्। सहकार्य गर्दा, तिमीहरूले बोल्ने कतिपय शब्द अनुपयुक्त हुन सक्छन्, तर त्यसले फरक पर्दैन। यसबारे पछि सङ्गति गर, र यससम्बन्धी स्पष्ट बुझाइ प्राप्त गर; यसलाई बेवास्ता नगर। यस प्रकारको सङ्गतिपछि, तिमीहरू गएर आफ्ना दाजुभाइ वा दिदीबहिनीहरूका कमीहरूलाई पूर्ति गर्न सक्छौ। यसरी आफ्नो काममा झन्-झन् गहिराइमा गएर मात्रै तिमीहरू अझ राम्रा नतिजाहरू हासिल गर्न सक्छौ। परमेश्‍वरको सेवा गर्ने मानिसहरूका रूपमा, तिमीहरू हरेकले आफ्नै हितहरूलाई ख्याल गर्नुको सट्टा हरेक कुरामा मण्डलीको हितको रक्षा गर्न सक्नुपर्छ। तिमीहरूले एक-अर्कालाई कमजोर पारेर आफ्नै मर्जीले काम गर्नै हुँदैन। त्यस्तो व्यवहार गर्ने मानिसहरू परमेश्‍वरको सेवा गर्न योग्य हुँदैनन्! त्यस्ता मानिसहरूको स्वभाव अत्यन्तै खराब हुन्छ; तिनीहरूमा रत्तीभर मानवता बाँकी हुँदैन। तिनीहरू शतप्रतिशत शैतान हुन्! तिनीहरू पशु हुन्! अहिले पनि, तिमीहरूमाझ यस्ता कुराहरू अझै भइरहन्छन्; यहाँसम्म कि तिमीहरू सङ्गतिको दौरान एक-अर्कामाथि जाइलाग्छौ, कुनै तुच्छ कुरामा वादविवाद गर्दै जानाजानी निहुँ खोज्छौ र अनुहार रातो-पिरो बनाउँछौ, कोही पनि आफूलाई पन्छाउन चाहँदैनौ, हरेकले आफ्नै अभिप्रायहरू पाल्छौ, चनाखो भएर अर्को पक्षलाई हेर्छौ र सतर्क रहन्छौ। के परमेश्‍वरको सेवामा यस्तो स्वभाव सुहाउँछ? के तिमीहरूको जस्तो कामले तिमीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई केही आपूर्ति गर्न सक्छ? तैँले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउन नसक्ने मात्र होइन, बरु तँ वास्तवमा आफ्ना भ्रष्ट स्वभावहरू आफ्ना दाजुभाइ-दिदीबहिनीहरूभित्र घुसाइदिन्छस्। के तँ अरूलाई हानि गरिरहेको छैनस् र? तेरो विवेक अत्यन्तै खराब छ, र यो भित्रैसम्म कुहिएको छ! तँ वास्तविकतामा प्रवेश गर्दैनस्, न त तँ सत्यतालाई नै व्यवहारमा लागु गर्छस्। यसका साथै, तँ निर्लज्ज भई अरूसामु आफ्नो दुष्ट प्रकृतिको खुलासा गर्छस्। तँ बिलकुलै लाज मान्दैनस्! यी दाजुभाइ-दिदीबहिनीहरू तँलाई सुम्पिइएका छन्, तर तँ तिनीहरूलाई नरकतिर लगिरहेको छस्। के तँ विवेक कुहिएको व्यक्ति होइनस् र? तँलाई पटक्कै लाज छैन!

अघिल्लो:  अभ्यास (८)

अर्को:  क्षमता बढाउनु परमेश्‍वरको मुक्ति पाउनका खातिर हो

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger