परमेश्‍वरको सेवा गर्नेसम्बन्धी वचनहरू

अंश ७०

मण्डलीको अगुवा वा कामदारको रूपमा, यदि तैँले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न र परमेश्‍वरका लागि असल गवाही दिन अगुवाइ गर्ने हो भने, तिनीहरूलाई परमेश्‍वरका वचनहरू अझ बढी पढ्न र सत्यतामाथि अझ बढी सङ्गति गर्न अगुवाइ गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यसरी, परमेश्‍वरका चुनिएका मानिसहरूले मानिसलाई मुक्ति दिने परमेश्‍वरका लक्ष्यहरू र परमेश्‍वरको कामको उद्देश्यबारे अझ गहिरो ज्ञान प्राप्त गर्न सक्छन्, र परमेश्‍वरका अभिप्रायहरू र मानिसप्रति उहाँका विभिन्न मागहरू बुझ्न सक्छन्, ताकि तिनीहरूले उचित रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सकून्। तिमीहरू सङ्गति गर्न र प्रचार गर्न भेला हुँदा, तिमीहरूले आफ्नो अनुभवात्मक गवाहीबारे व्यावहारिक रूपमा बोल्नुपर्छ, र तिमीहरू शब्द र धर्मसिद्धान्तहरू मात्र प्रचार गरेर सन्तुष्ट हुनु हुँदैन। परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा, तिमीहरूले सत्यता बुझ्नमा ध्यान केन्द्रित गर्नैपर्छ। एकपटक सत्यता बुझेपछि, तिमीहरूले यसलाई व्यवहारमा लागु गर्ने प्रयास गर्नैपर्छ, र जब तिमीहरू यसलाई अभ्यास गर्छौ तब मात्र तिमीहरूले सत्यता साँच्चै बुझ्नेछौ। जब तँ परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्छस्, तैँले जति बुझेको छस् त्यति मात्र सङ्गति गर्। धाक नदेखा, गैरजिम्मेवारीपूर्ण टिप्पणीहरू नगर्, शब्द र धर्मसिद्धान्तहरू नबोल्, र बढाइचढाइ नगर्। यदि तैँले बढाइचढाइ गरिस् भने, मानिसहरूले तँलाई तिरस्कार गर्नेछन्, र पछि तँलाई धिक्कार, पछुतो, र व्याकुलता महसुस हुनेछ। यो सबै तँ आफैले निम्त्याएको परिणाम हुनेछ। यदि तैँले मानिसहरूलाई हप्काउन र काटछाँट गर्न शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्छस् भने, के तैँले उनीहरूलाई सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न मद्दत गर्न सक्छस्? यदि तैँले सङ्गति गर्ने कुराहरू व्यावहारिक छैनन् भने, र यदि त्यो शब्द र धर्मसिद्धान्तहरूबाहेक अरू केही होइन भने, तैँले उनीहरूलाई जति नै काटछाँट गरिस् र हप्काइस् भने पनि, त्यो व्यर्थ हुनेछ। के तैँले मानिसहरू तँसित केही हदसम्म डराउनु, उनीहरूले तैँले अह्राएको काम गर्नु, र विरोध गर्ने आँट नगर्नुलाई उनीहरूले सत्यता बुझेको र उनीहरू समर्पणकारी भएको समान ठान्छस्? यो पूर्ण रूपमा गलत छ। जीवन प्रवेश त्यति सरल छैन। अगुवा बन्न आउने कतिपय मानिसहरू बलियो प्रभाव पार्न खोज्ने नयाँ प्रबन्धकहरू जस्तै हुन्छन्; तिनीहरूले सुरुमा परमेश्‍वरका चुनिएका मानिसहरूमाथि आफ्नो नयाँ-प्राप्त अख्तियार लाद्न र सबैलाई आफ्नो आज्ञा पालन गराउन खोज्छन्। तिनीहरू यसले तिनीहरूको काम सजिलो बनाउनेछ भन्ने सोच्छन्। यदि तँसँग सत्यता वास्तविकता छैन र तैँले समस्याहरू समाधान गर्न सत्यताबारे सङ्गति गर्न सक्दैनस् भने, तब चाँडै नै, तेरो साँचो कद प्रकट हुनेछ, तेरो साँचो रङ्ग खुलासा हुनेछ, र तँ हटाइन पनि सक्छस्। कतिपय प्रशासनिक काममा, मानिसहरूलाई अलिकति काटछाँट गर्नु र अनुशासनमा राख्नु स्वीकार्य हुन्छ। तर यदि तँ सत्यताबारे सङ्गति गर्न असक्षम छस् भने, अन्तमा, तँ अझै पनि समस्याहरू समाधान गर्न असक्षम हुनेछस्, र यसले कामका नतिजाहरूलाई असर गर्नेछ। मण्डलीमा जस्तोसुकै समस्याहरू देखा परे पनि, यदि तँ सधैँ मानिसहरूलाई पाठ पढाउँछस् र निरन्तर दोष लगाउँछस्, र यदि तँ सधैँ मानिसहरूलाई नखरा देखाउने काम मात्र गर्छस् भने, यो तेरो भ्रष्ट स्वभाव प्रकट भइरहेको हो, र तैँले आफ्नो भ्रष्टताको कुरूप अनुहार देखाएको छस्। यदि तँ सधैँ आफूलाई उच्च स्थानमा राख्छस् र मानिसहरूलाई यसरी पाठ पढाउँछस् भने, समय बित्दै जाँदा, मानिसहरूले तँबाट जीवनको आपूर्ति प्राप्त गर्न सक्नेछैनन्, तिनीहरूले कुनै पनि व्यावहारिक कुरा प्राप्त गर्नेछैनन्, र तिनीहरूले बरु तँलाई अत्यन्तै घृणा गर्नेछन् र घिन मान्नेछन्। यसबाहेक, कतिपय मानिसहरू यस्ता हुनेछन् जसले, खुट्ट्याउने क्षमताको कमीको कारणले तँबाट प्रभावित भएर, अरूलाई पाठ पढाउन र काटछाँट गर्न सिक्नेछन्; तिनीहरू पनि रिसाउनेछन् र तिनीहरूले आफ्नो आवेश गुमाउनेछन्। तैँले मानिसहरूका समस्याहरू समाधान गर्न नसक्ने मात्र होइन—तैँले तिनीहरूका भ्रष्ट स्वभावहरूलाई पनि बढावा दिइरहेको हुनेछस्। अनि के त्यो मानिसहरूलाई अनन्त विनाशको मार्गमा डोऱ्याउनु होइन र? के त्यो दुष्टताको कार्य होइन र? एउटा अगुवाले मूलतः सत्यताका बारेमा सङ्गति गरेर र जीवन आपूर्ति गरेर अगुवाइ गर्नुपर्छ। यदि तैँले सधैँ आफूलाई उच्च स्थानमा राख्छस् र अरूलाई पाठ पढाउँछस् भने, के तिनीहरूले सत्यता बुझ्न सक्नेछन्? यदि तैँले यसरी केही समय काम गरिस्, र मानिसहरूले तँ वास्तवमा के होस् भनी स्पष्ट रूपमा देखे भने, तिनीहरूले तँलाई अस्वीकार गर्नेछन्। के तैँले यसरी काम गरेर मानिसहरूलाई परमेश्‍वरसामु ल्याउन सक्छस्? कदापि सक्दैनस्। तैँले केवल मण्डलीको कामलाई अस्तव्यस्त बनाउनेछस् र परमेश्‍वरका चुनिएका मानिसहरूलाई तँलाई तिरस्कार र अस्वीकार गर्ने बनाउनेछस्। विगतमा यसरी नै केही अगुवा र कामदार हटाइए। तिनीहरूलाई वास्तविक समस्याहरू समाधान गर्न सत्यताबारे कसरी सङ्गति गर्ने, वा मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउन र आफैलाई चिन्‍न कसरी अगुवाइ गर्ने भन्‍ने थाहा थिएन, र तिनीहरू माथिद्वारा जारी गरिएका कार्य बन्दोबस्तहरू समेत लागु गर्दैनथे। तिनीहरू यी कुनै पनि विशिष्ट र सारगत कामहरू गर्दैनथे। शब्द र धर्मसिद्धान्तहरू बोल्ने र नाराहरू फलाक्ने बाहेक, तिनीहरू आफ्नो हैसियतको फाइदा उठाएर मानिसहरूलाई अन्धाधुन्ध पाठ पढाउने र आदेश दिने काम मात्र गर्थे, अनि यो मण्डलीको अगुवाइको काम गर्नु हो भन्ने सोच्थे। फलस्वरूप, सबै जना तिनीहरूसँग डराउँथे र तिनीहरूबाट तर्किन्थे, र यदि कुनै समस्या उत्पन्न भयो भने, तिनीहरू यी अगुवाहरूलाई रिपोर्ट गर्ने आँट गर्दैनथे। यसरी काम गरेर, उक्त अगुवाहरूले कामलाई अस्तव्यस्त बनाए र यसलाई ठप्प पारे। परमेश्‍वरको घरले तिनीहरूलाई बर्खास्त गरेपछि मात्रै तिनीहरूले आफूले कुनै वास्तविक काम नगरेको महसुस गरे। सायद तिनीहरूलाई ज्यादै पछुतो लाग्यो होला, तर पछुतो गर्नु व्यर्थ हुन्छ। तैपनि तिनीहरूलाई बर्खास्त गरेर हटाइयो।

अंश ७१

तिमीहरू सबैजना सत्यतातर्फ लागिपर्न चाहन्छौ। विगतमा, तिमीहरूले परमेश्‍वरका वचनमा रहेका सत्यताका विभिन्‍न पक्षको निचोड निकाल्दा केही परिश्रम गऱ्यौ। केही मानिसहरूले यसबाट थोरै लाभ प्राप्त गरे भने अन्यले प्रावधान पालना मात्र गर्न रुचाए, अनि तिनीहरू बहकिए। फलस्वरूप, तिनीहरूले सत्यताको हरेक पक्षलाई पक्रेर तिनलाई पछ्याउनुपर्ने प्रावधानमा परिणत गरे। तिमीहरूले यसरी सत्यताको निचोड निकाल्दा, अरूलाई जीवन प्राप्त गर्न वा सत्यताभित्रबाटै आफ्नो स्वभाव परिवर्तन गर्न सहयोग गरिरहेका हुँदैनौ; बरु तिनीहरूलाई सत्यताअन्तर्गत रहेको कुनै ज्ञान वा धर्मसिद्धान्तमा पोख्त बनाइरहेका हुन्छौ। तिनीहरूले परमेश्‍वरको कामको उद्देश्य बुझेको जस्तो लाग्छ, जबकि वास्तवमा तिनीहरू केही धर्मसिद्धान्त र वचनहरूमा मात्र पोख्त भएका हुन्छन्; तिनीहरू सत्यताभित्र रहेको अर्थ बुझ्दैनन्। यो धर्मशास्त्र वा बाइबल अध्ययन गरेजस्तै हो; बाइबलीय ज्ञानको केही अंश र केही धर्मशास्त्रीय सिद्धान्तलाई सारांशित गरेपछि, मानिसले बाइबलीय ज्ञान र धर्मशास्त्रीय सिद्धान्तबारे बुझाइ मात्र प्राप्त गरेका हुन्छन्। तिनीहरू ती वचन र सिद्धान्त वाचन गर्नमा निकै सिपालु हुन्छन्, तर तिनीहरूसँग कुनै वास्तविक अनुभव हुँदैन। तिनीहरू आफ्नो भ्रष्ट स्वभावलाई बुझ्दैनन्, अनि परमेश्‍वरको काम त झनै बुझ्दैनन्। अन्ततः यी मानिसहरूले प्राप्त गरेको कुरा भनेको केही धर्मसिद्धान्त र ज्ञानका केस्रा मात्र हुन्; ती एकाध प्रावधान मात्र हुन्। तिनीहरूले कुनै व्यावहारिक कुरा हासिल गरेका हुँदैनन्। यदि परमेश्‍वरले नयाँ काम गर्नुभयो भने, के यी मानिसहरू त्यसलाई स्विकार्न र त्यसमा समर्पित हुन सक्छन् त? के तँ त्यसलाई आफूले निचोड गरेका सत्यता अनुरूप बनाउन सक्छस् त? यदि तँ सक्छस् र तँसँग केही बुझाइ पनि छ भने, तैँले निचोड गरेका कुराहरू केही हदसम्म व्यावहारिक हुन्छन्। यदि तँ सक्दैनस् भने, तैँले निचोड गरेका कुराहरू केवल प्रावधान हुन्छन् र तिनीहरूको कुनै मोल हुँदैन। त्यसोभए, यसरी सत्यतालाई निचोड गर्नु उचित हो त? के यसले मानिसलाई सत्यता बुझ्न मदत गर्न सक्छ त? यदि त्यसले कुनै प्रभाव पार्दैन भने, त्यसो गर्नुको कुनै अर्थ नै छैन। यो त केवल मानिसहरूलाई धर्मशास्त्र पढ्न लगाउनु हो। यसले तिनीहरूलाई परमेश्‍वरका वचन र सत्यता अनुभव गर्ने तुल्याउँदैन। त्यसकारण, परमेश्‍वरको घरले पुस्तकहरू सम्पादन गर्दा सिद्धान्तहरू पालन गर्नैपर्छ। तिनले मानिसलाई सत्यता सजिलै बुझ्ने, प्रवेशको मार्ग र हृदयमा ज्योति प्राप्त गर्ने तुल्याउन मद्दत गर्न सक्नुपर्छ। यसले सत्यता वास्तविकतामा प्रवेश गर्न सजिलो बनाउँछ। तँ ती धर्ममा रहेका मानिसहरूजस्तो हुन मिल्दैन, जो व्यवस्थित रूपमा बाइबलीय तथा धर्मशास्त्रीय ज्ञान अध्ययन गर्छन्। त्यसले मानिसहरूलाई केवल बाइबलीय ज्ञान, धार्मिक कर्मकाण्ड र प्रावधानतर्फ डोर्‍याउनेछ, र तिनीहरूलाई एउटा बाकसभित्र सीमित गर्नेछ। सत्यता र परमेश्‍वरका अभिप्राय बुझ्नका लागि मानिसहरूलाई परमेश्‍वरसामु ल्याउन त्यो सक्षम छैन। एकपछि अर्को प्रश्न सोधेर अनि तिनको उत्तर दिएर, वा मुख्य बुँदाहरूको रूपरेखा तयार पारेर, अनि त्यसपछि केही हरफमै सत्यताको सारांश र निचोड निकालेर यी मामिला स्पष्ट हुनेछन् र तेरा दाजुभाइ-दिदीबहिनीहरूलाई बुझ्न सजिलो बन्‍नेछन् भन्‍ने तँलाई लाग्छ। तँलाई यो राम्रै तरिका हो भन्‍ने लाग्छ। तर, मानिसहरूले त्यो पढिसकेपछि पनि सत्यताभित्र रहेको अर्थ बुझ्नेछैनन्; तिनीहरूले त्यसलाई कहिल्यै पनि वास्ताविकता अनुरूप बनाउनेछैनन्। तिनीहरू केही वचन र धर्मसिद्धान्तमा मात्र पोख्त भएका हुन्छन्। त्यसैले, यी कुरा गर्नुभन्दा नगर्नु नै बेस हुन्छ! यी कुरा गर्नु भनेको मानिसलाई ज्ञान बुझ्ने र त्यसमा पोख्त हुनेतर्फ डोऱ्याउने तरिका हो। तँ मानिसलाई धर्मसिद्धान्त र धर्मतर्फ डोर्‍याउँदै छस्, र धार्मिक सिद्धान्तअन्तर्गत परमेश्‍वरमा विश्‍वास गर्न र उहाँलाई पछ्याउन लगाउँदै छस्। के यो पावलले मानिसहरूलाई परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वासको दौरान डोर्‍याएको मार्ग होइन? तिमीहरूलाई लाग्छ, आत्मिक धर्मसिद्धान्त बुझ्नु विशेषतः महत्त्वपूर्ण कुरा हो, तर परमेश्‍वरका वचन बुझ्नु खासै महत्त्वपूर्ण कुरो होइन। यो ठूलो गल्ती हो। धेरै मानिसहरू यस्ता छन्, जो आफूले परमेश्‍वरका कति वटा वचन कण्ठ गर्न सक्छु, कति धर्मसिद्धान्तबारे बोल्न सक्छु, अनि कति वटा आत्मिक सूत्रहरू पत्ता लगाउन सक्छु भन्‍ने कुरामा ध्यान दिन्छन्। यसै कारण तिमीहरू सधैँ सत्यताको हरेक पक्षको व्यवस्थित रूपमा निचोड निकाल्न चाहन्छौ, ताकि सबैले एकैनासले ठ्याक्कै एउटै कुरा बोलून्, एउटै धर्मसिद्धान्त जपून्, एउटै ज्ञान हासिल गरून् अनि एउटै प्रावधान पालन गरून्। तिमीहरूको लक्ष्य यही हो। तिमीहरूले मानिसहरूलाई सत्यता अझ राम्ररी बुझाउनका लागि यसो गरेजस्तो देखिन्छ, तर तिमीहरूले मानिसहरूलाई परमेश्‍वरका वचनका धर्म-सैद्धान्तिक प्रावधानतर्फ डोर्‍याउँदै छौ र तिनीहरू केवल परमेश्‍वरका वचनको सत्यता वास्तविकतादेखि झन्-झन् टाढिनेछन् भन्‍ने कुरा तिमीहरूलाई थाहा छैन। मानिसहरूलाई सत्यता बुझ्न साँच्चै मद्दत गर्नका लागि तिमीहरूले परमेश्‍वरका वचनको अध्ययनलाई वास्तविकता र मानिसहरूको भ्रष्ट स्थितिसँग जोड्नुपर्छ। तिमीहरूले आफूभित्रै रहेका समस्याबारे आत्मचिन्तन गर्नुपर्छ र तिनलाई बुझ्नुपर्छ, अनि आफूले प्रकाश गर्ने भ्रष्ट स्वभावबारे आत्मचिन्तन गर्नुपर्छ। त्यसपछि तैँले परमेश्‍वरका वचनमा सत्यता खोजेर यिनलाई हल गर्नुपर्छ। मानिसहरूका वास्तविक समस्या समाधान गर्ने र तिनीहरूलाई सत्यता बुझाउने अनि वास्तविकतामा प्रवेश गराउने एकमात्र तरिका यही नै हो। यो परिणाम हासिल गरेर मात्र तिमीहरूले मानिसलाई साँच्चै परमेश्‍वरसामु ल्याइरहेका हुन्छौ। यदि तँ आत्मिक सिद्धान्त, धर्मसिद्धान्त र प्रावधानबारे मात्र कुरा गर्छस्; यदि तँ मानिसहरूसँग असल आचरण हुने कुरा सुनिश्चित गर्नमा मात्र केन्द्रित हुन्छस्; यदि तैँले हासिल गर्न सक्ने कुरा मानिसहरूलाई एउटै कुरा बोल्न र एउटै प्रावधान पालना गर्न लगाउनु मात्र हो, तर तँ तिनीहरूलाई सत्यता बुझ्ने मार्गमा डोर्‍याउन सक्दैनस्, अनि तिनीहरूले पश्चात्ताप गर्न र तिनीहरू परिवर्तित हुन सकून् भनी आफूलाई अझ राम्ररी बुझ्ने तुल्याउन त झनै सक्दैनस् भने, तैँले केवल वचन र धर्मसिद्धान्त बुझेको छस्, र तँमा कुनै पनि सत्यता वास्तविकता छैन। अन्त्यमा, तैँले परमेश्‍वरमा यसरी विश्‍वास गरेर सत्यता प्राप्त गर्न नसक्ने मात्र होइन, तैँले आफैलाई अवरोध गरेको र गुमाएको पनि हुनेछस्—तैँले केही पनि प्राप्त गर्न सक्नेछैनस्।

के तिमीहरूले परमेश्‍वरको बोल्ने तरिकामा कुनै शैली देखेका छौ? कतिपय मानिसहरूले यसलाई यसरी व्यक्त गर्छन्: परमेश्‍वरले दिनुहुने हरेक प्रवचनका विषयवस्तु बहुआयामिक हुन्छन्। हरेक अनुच्छेद र हरेक वाक्यको अर्थ फरक हुन्छ। मानिसलाई त्यो सम्झन सजिलो हुँदैन, न त तिनीहरूलाई बुझ्न नै सजिलो हुन्छ। मानिसहरूले हरेक अनुच्छेदको मूल भावलाई सारांशित गर्न चाहे पनि, गर्न सक्नेछैनन्। कमजोर क्षमता भएका मानिसहरूले परमेश्‍वरका वचन बुझ्न सक्दैनन्। तिनीहरूलाई जस्तोसुकै तरिकाले सङ्गति गरिए पनि, तिनीहरू त्यही पनि सत्यता बुझ्न सक्षम हुँदैनन्। परमेश्‍वरका वचन उपन्यास, गद्य वा साहित्यिक रचना होइनन्; ती त सत्यता र मानिसलाई जीवन आपूर्ति गर्ने भाषा हुन्। मानिसहरूले केवल सोचमग्न भएर यी वचनहरू बुझ्न सक्दैनन्, न त अलि बढी परिश्रम गरेर तीभित्रका ढाँचालाई सारांशित गर्न नै सक्छन्। त्यसकारण, तँसँग सत्यताको जुनसुकै पक्षबारे अलिकति ज्ञान भए पनि, अनि तैँले सत्यताको जुनसुकै पक्षबारे स्पष्टताका साथ बोल्न सके पनि, तैँले धाक देखाउन मिल्दैन, किनभने तेरो बुझाइ आंशिक ज्ञान मात्र हो। तेरो बुझाइ सतही मात्रै हुन्छ, यो समुद्रमा पानीको एक थोपा मात्र हो र यो परमेश्‍वरका वास्तविक अभिप्रायहरूबाट एकदम टाढा हुन्छ। परमेश्‍वरको हरेक प्रवचनमा, सत्यताका केही पक्ष हुन्छन्। उदाहरणको लागि, कुनै प्रवचनले परमेश्‍वरको देहधारणका रहस्यबारे बताउँछ। यसमा देहधारणको महत्त्व, देहधारणले पूरा गर्नुभएको काम, अनि मानिसहरूले परमेश्‍वरमा कसरी विश्‍वास गर्नुपर्छ भन्‍ने कुरा पर्छन्। यसमा मानिसहरूले परमेश्‍वरलाई कसरी चिन्‍नु पर्छ र प्रेम गर्नुपर्छ भन्‍ने कुरा पनि समावेश हुन सक्छ। यसमा सत्यताका कैयौँ पक्षहरू सम्मिलित हुन्छन्। तैँले सोचेझैँ, यदि देहधारणका एकाध अर्थ मात्रै छन्, जसलाई केही वाक्यमा सारांशित गर्न सकिन्छ भने, किन मानिसले सधैँ परमेश्‍वरबारे धारणा र कल्पनाहरू पाल्छ त? देहधारणको कामले मानिसहरूमाथि कस्तो प्रभाव हासिल गर्ने लक्ष्य राखेको हुन्छ त? त्यसले मानिसलाई परमेश्‍वरका वचन सुन्‍न र उहाँमा फर्कन सक्षम बनाउने लक्ष्य राखेको हुन्छ। त्यसको लक्ष्य मानिससँग अन्तरक्रिया गर्नु, मानिसलाई प्रत्यक्ष रूपमा मुक्ति दिनु अनि परमेश्‍वरलाई जान्‍न सक्षम तुल्याउनु हो। परमेश्‍वरलाई चिनेपछि, मानिसहरूले प्राकृतिक रूपमै परमेश्‍वरको डर मान्‍ने हृदयको विकास गर्छन्, त्यसपछि तिनीहरूलाई परमेश्‍वरमा समर्पित हुन सजिलो हुन्छ। त्यसैले उहाँको वचन वा सत्यताको कुनै पनि पक्ष तैँले सोचेजस्तो सरल हुँदैन। यदि तँ परमेश्‍वरका वचन र दिव्य भाषालाई निकै सरल भए झैँ देख्छस्, अनि कुनै पनि समस्यालाई परमेश्‍वरका वचनको एउटा अनुच्छेदद्वारा नै समाधान गर्न सकिन्छ भन्‍ने विश्‍वास गर्छस् भने, तैँले सत्यतालाई पूर्ण रूपमा बुझ्न सक्दैनस्। तेरो बुझाइ सत्यतासँग मेल खाए पनि, त्यो अझै एकतर्फी नै हुन्छ। परमेश्‍वरबाट आउने हरेक प्रवचन विविध परिप्रेक्ष्यबाट बोलिएको हुन्छ। मानिसले परमेश्‍वरका वचनलाई सारांशित वा निचोड गर्न सक्दैन। तिनलाई निचोड गरेपछि, तिमीहरूलाई परमेश्‍वरका वचनको एउटा अनुच्छेदले एउटा समस्या मात्र सम्बोधन गर्छ भन्‍ने लाग्छ, जबकि, यथार्थमा, त्यो अनुच्छेदले कैयौँ समस्या समाधान गर्न सक्छ। तैँले तिनको सारांश निकाल्न वा तिनलाई सीमित गर्न सक्दैनस्, किनभने सत्यताका सबै पक्षमा कैयौँ वास्तविकताहरू समावेश हुन्छन्। सत्यता जीवन हो, मानिसले यसको आनन्द उठाउन सक्छन्, अनि यो मानिसले अनेकौँ जीवनकाल वा सयौँ वर्ष जिए पनि पूर्ण रूपमा अनुभव गर्न नसक्ने कुरा हो भनेर किन भनिन्छ? यदि तैँले सत्यताको कुनै निश्चित पक्ष वा परमेश्‍वरका वचनको एउटा अनुच्छेदको निचोड निकाल्छस् भने, तैँले निचोड निकालेको अनुच्छेद एउटा सूत्र, प्रावधान वा धर्मसिद्धान्त बन्छ—त्यसउपरान्त त्यो सत्यता रहेन। त्यो एक शब्द पनि हेरफेर नगरिएको परमेश्‍वरका मौलिक वचन नै भए पनि, तैँले यसरी तिनको निचोड निकाल्छस् र तिनलाई विन्यास गर्छस् भने, ती सत्यता नभई सैद्धान्तिक वचन बन्‍नेछन्। त्यसो किन हुन्छ? किनभने तैँले मानिसहरूलाई बहकाउनेछस् र धर्मसिद्धान्ततर्फ डोर्‍याउनेछस्, अनि तिनीहरूलाई तेरै धर्मसिद्धान्तअनुसार सोच्न, कल्पना गर्न, मामिलाहरू हेर्न र परमेश्‍वरका वचनहरू पढ्न लगाउनेछस्। त्यसलाई बारम्बार पढेपछि, मानिसहरूले त्यसमा भएको एउटा धर्मसिद्धान्त मात्र बुझ्नेछन् र एउटा प्रावधान मात्र देख्नेछन्, र त्यो पक्ष देख्न असक्षम हुनेछन् जुन सत्यता वास्तविकता हो। अन्त्यमा, तैँले मानिसहरूलाई धर्मसिद्धान्त बुझ्ने र प्रावधान पालना गर्ने मार्गमा डोर्‍याउनेछस्। तिनीहरूलाई परमेश्‍वरका वचन कसरी अनुभव गर्ने भनी आउनेछैन। तिनीहरूले धर्मसिद्धान्त मात्र बुझ्नेछन् अनि धर्मसिद्धान्तबारे नै छलफल गर्नेछन्, तर सत्यता बुझ्नेछैनन् वा परमेश्‍वरलाई चिन्‍नेछैनन्। तिनीहरूका मुखबाट सुमधुर र सही धर्मसिद्धान्त निस्कनेछ, तैपनि तिनीहरूसँग रत्तिभर पनि वास्तविकता हुनेछैन र कुनै व्यवहार्य मार्ग हुनेछैन। यस्तो अगुवाइले मानिसलाई साँच्चै नै ठूलो हानि पुर्‍याउँछ।

के तिमीहरूलाई मानिसले परमेश्‍वरलाई गर्ने सेवामा सबैभन्दा वर्जित कुरा के हो भन्‍ने थाहा छ? कतिपय अगुवा र कामदार परमेश्‍वरलाई तिनीहरू वास्तवमा कति सक्षम छन् भनी देखाउनका निम्ति सधैँ अद्वितीय तरिकाले कामकुरा गर्न, अरूभन्दा उत्कृष्ट हुन, देखावटी गर्न अनि केही नयाँ चाल पहिल्याउन चाहन्छन्। तर, तिनीहरू सत्यता बुझ्न र परमेश्‍वरका वचनको वास्तविकतामा प्रवेश गर्नमा ध्यान दिँदैनन्। यो कार्य गर्ने सबैभन्दा मूर्खतापूर्ण तरिका हो। के यो ठ्याक्कै अहङ्कारी स्वभावको प्रकटीकरण होइन र? कतिपय मानिसहरू यसो पनि भन्छन्, “यदि मैले यसो गरेँ भने, यसले पक्कै पनि परमेश्‍वरलाई प्रसन्‍न तुल्याउनेछ; उहाँले यो मन पराउनुहुनेछ। यस पटक मैले यो कुरा परमेश्‍वरलाई देखाउनैपर्छ, उहाँलाई चकित पार्नुपर्छ।” यो “चकित पार्ने कुरा” आफैमा ठूलो कुरा होइन, तर यसको नतिजा के हुन्छ? यी मानिसहरूका कार्यहरू अत्यन्तै असङ्गत छन्, र सत्यता सिद्धान्तहरूसँग पटक्कै मिल्दैनन्, तिनीहरूका कार्यहरूले परमेश्‍वरका भेटीहरूमा नोक्सानी मात्र ल्याउँदैनन्, ती त परमेश्‍वरको घरको कामका लागि पनि हानिकारक हुन्छन् भन्‍ने कुरा सबैले देख्छन्। परमेश्‍वरका भेटीहरू तँलाई जसरी मन लाग्यो त्यसरी प्रयोग गर्न पाइँदैन; परमेश्‍वरका भेटीहरू फजुलमा उडाउनु पाप हो। यी मानिसहरूले परमेश्‍वरको स्वभावलाई चिढ्याउन पुग्छन्, पवित्र आत्माले तिनीहरूमा काम गर्न छोड्नुहुन्छ, अनि तिनीहरू परमेश्‍वरद्वारा हटाइन्छन्। त्यसैले, कहिले पनि आवेगमा आएर आफूलाई जे मन लाग्यो त्यही नगर्। के परिणामहरूलाई ख्याल नगरी काम मात्र गरेर हुन्छ? जब तैँले परमेश्‍वरको स्वभावलाई चिढ्याउँछस् र उहाँका प्रशासनिक आदेशहरूलाई उल्‍लङ्घन गर्छस्, र त्यसपछि तँ हटाइन्छस् भने, तैँले भन्‍नु पर्ने केही पनि बाँकी हुनेछैन। तेरो अभिप्राय जे-जस्तो भए पनि, र तैँले यसलाई जानी-जानी गरेको भए पनि वा नभए पनि, यदि तैँले परमेश्‍वरको स्वभाव वा उहाँका अभिप्रायलाई बुझ्दैनस् भने, तैँले सजिलै उहाँविरुद्ध अपराध गर्नेछस् र उहाँका प्रशासनिक आदेशहरू उल्‍लङ्घन गर्ने सम्भावना हुनेछ; हरेक व्यक्ति यही कुरादेखि सतर्क रहनुपर्छ। तैँले प्रशासनिक आदेशहरू उल्‍लङ्घन गरेपछि वा परमेश्‍वरको स्वभावलाई चिढ्याएपछि, यदि त्यो अत्यन्तै गम्भीर छ भने, तैँले जानी-जानी कि अनजानमा त्यसो गरिस् भन्‍ने कुरालाई उहाँले ध्यान दिनुहुनेछैन। यो तैँले स्पष्ट रूपमा देख्‍नुपर्ने कुरा हो। यदि तैँले यो कुरालाई छर्लङ्गै देख्न सकिनस् भने, तँमा अवश्यै समस्याहरू उत्पन्न हुनेछन्। परमेश्‍वरको सेवा गर्ने क्रममा, मानिसहरू ठूला-ठूला फड्को मार्न, ठूला-ठूला काम गर्न, ठूला-ठूला दाबी गर्न, महान् कार्य गर्न, ठूला-ठूला सभा आयोजना गर्न, र महान् अगुवा बन्‍न समेत इच्छा गर्छन्। यदि तँ सधैँ ठूला महत्वाकाङ्क्षाहरू बोक्छस् भने, तैँले परमेश्‍वरका प्रशासनिक आदेशहरूलाई उल्‍लङ्घन गर्नेछस्; यस्ता मानिसहरू चाँडै नै मर्नेछन्। यदि तँ परमेश्‍वरप्रतिको सेवामा व्यावहारिक, समर्पित, र होसियार भइनस् भने, ढिलो-चाँडो तैँले उहाँको स्वभावलाई उल्‍लङ्घन गर्नेछस्। यदि तँ परमेश्‍वरको स्वभावलाई चिढ्याउँछस्, उहाँका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्छस्, अनि यसरी परमेश्‍वरविरुद्ध अपराध गर्छस् भने, उहाँले तैँले किन त्यसो गरिस् भनेर हेर्नुहुनेछैन, न त तेरा अभिप्रायलाई नै हेर्नुहुनेछ। त्यसोभए, के तिमीहरूलाई परमेश्‍वर तर्कसङ्गत हुनुहुन्‍न जस्तो लाग्छ? के उहाँले मानिसलाई वास्ता गरिरहनुभएको छैन? (त्यसो होइन।) किन होइन? किनभने तँ अन्धो वा बहिरो छैनस्, न त तँ मूर्ख नै छस्। परमेश्‍वरका प्रशासनिक आदेशहरू स्पष्ट र खुलस्त छन्। तैँले तिनलाई देख्न र सुन्‍न सक्छस्। तैपनि यदि तैँले तिनलाई उल्लङ्घन गर्छस् भने, तँसँग त्यसो गर्नुको के नै कारण हुन सक्छ र? तैँले कुनै पनि अभिप्राय नपालेको भए पनि, यदि परमेश्‍वरलाई चिढ्याउँछस् भने, समय आएपछि विनाश अनि दण्ड सामना गर्नेछस्। तेरो परिस्थिति कस्तो थियो भन्‍ने कुराले कुनै फरक पार्नेछ र? शैतानी प्रकृति भएका मानिसले प्राकृतिक रूपमै परमेश्‍वरको स्वभावलाई चिढ्याउन सक्छन्। कसैलाई पनि छुरा देखाएर परमेश्‍वरका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्न वा उहाँको स्वभावलाई चिढ्याउन बाध्य पारिँदैन; यस्तो हुँदै हुँदैन। बरु, यो त मानिसको प्रकृतिले निर्धारण गर्ने कुरा हो। “परमेश्‍वरको स्वभाव भनेको नचिढिनु हो।” यस कथनभित्र एउटा अर्थ रहेको छ। तर, परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको स्थिति र पृष्ठभूमिको आधारमा दण्ड दिनुहुन्छ। उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने थाहा नपाई उहाँलाई चिढ्याउनु एक प्रकारको स्थिति हो भने उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने स्पष्टतः थाहा पाए तापनि उहाँलाई चिढ्याउनु अर्कै प्रकारको स्थिति हो। कतिपय मानिसहरूलाई उहाँ परमेश्‍वर नै हुनुहुन्छ भनेर स्पष्ट रूपमा थाहा भए तापनि तिनीहरू उहाँलाई चिढ्याउन सक्छन्, र तिनीहरू दण्डित हुनेछन्। परमेश्‍वरले आफ्नो कामको हरेक चरणमा आफ्ना केही स्वभाव व्यक्त गर्नुहुन्छ। के मानिसले तीमध्ये केही बुझेको छैन र? के मानिसहरू परमेश्‍वरले व्यक्त गर्नुभएका अनेकौँ सत्यतामार्फत उहाँले आफ्ना कुन-कुन स्वभाव प्रकट गर्नुभएको छ, साथै मानिसका कुन-कुन कार्य र बोली उहाँलाई चिढ्याउन प्रवृत्त हुन्छन् भन्‍नेबारे थोरबहुत जानकार छैनन् र? जहाँसम्म परमेश्‍वरका प्रशासनिक आदेशहरूद्वारा स्थापित मामिलाहरूको कुरा आउँछ—मानिसले के गर्नुपर्छ र के गर्नु हुँदैन—के मानिसलाई यीबारे पनि थाहा छैन र? मानिसहरूले सत्यता र सिद्धान्तसँग सम्बन्धित केही मामिला पूर्ण रूपमा बुझ्न सक्दैनन्, किनभने तिनीहरूले ती अनुभव गरेका हुँदैनन्; तिनीहरू ती बुझ्न सक्षम हुँदैनन्। तर, प्रशासनिक आदेशहरूसँग सम्बन्धित मामिलाहरू पूर्वनिर्धारित दायराभित्र पर्छन्। ती प्रावधान हुन्। ती मानिसले सजिलै बुझ्न र प्राप्त गर्न सक्ने कुरा हुन्। तिनलाई अध्ययन वा व्याख्या गर्नुपर्ने कुनै आवश्यकता छैन। मानिसहरूले तिनको अर्थ जसरी बुझ्छन्, त्यसै अनुरूप काम गर्नु पर्याप्त हुन्छ। यदि तँ लापरवाह छस्, तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय छैन, अनि तँ जानाजानी प्रशासनिक आदेशहरू उल्लङ्घन गर्छस् भने, तँ दण्डित हुन लायक छस्!

अंश ७२

अगुवाको रूपमा काम गर्नेहरूले काममा अति धेरै ध्यान दिनु वा सधैँ आफ्नो हैसियतमा मात्र केन्द्रित हुनु हुँदैन, न त तिनीहरूले आफ्नो लागि उच्च मानकहरू तय गर्नु नै हुन्छ, र तिनीहरूले “म अगुवा हुँ, मसँग यो पद र हैसियत छ, अनि मसँग यो गुण र क्षमता पनि छ। मैले तँलाई अगुवाइ गर्न सक्ने भएकोले म तँलाई भरणपोषण गर्न पनि सक्छु” भनेर सबैले थाहा पाऊन् भन्दै हरेक व्यक्तिका समस्याहरू समाधान गर्न हरतरहको उपायहरू सोच्‍नु पनि हुँदैन। तिनीहरूले यस्ता वचनहरू बोल्न सक्नु भनेको समस्याजनक कुरा हो। कुन अर्थमा यो समस्याजनक कुरा हो? यदि तेरो झुकाव गलत छ र तँसँग आफ्ना मामिलाहरू सम्हाल्ने कुनै सिद्धान्तहरू छैनन् भने तैँले गर्ने हरेक कामहरू गलत हुनेछन् र तिनले विचलन ल्याउनेछन्। यदि तँ गलत रूपले उत्प्रेरित छस् भने, तैँले गर्ने हरेक कामहरू गलत नै हुनेछन्। सत्यता खोजी गर्न, सत्यता बुझ्न, दर्शनहरूसम्बन्धी सत्यताको सार बुझ्‍न र सिद्धान्तहरूको यो पक्षमा पोख्त हुनमा केन्द्रित हो—त्यो सही हुन्छ। तँलाई केही आइपर्दा वा तैँले समस्याहरू सम्हालिरहँदा, जबसम्म तँ यी दायराहरूभन्दा बाहिर जाँदैनस्, तबसम्म तैँले अरूलाई मद्दत गर्न र तिनीहरूका कठिनाइहरू समाधान गर्न सक्नेछस् र तँ योग्य अगुवा हुनेछस्। तर यदि तैँले केही धर्मसिद्धान्तहरू मात्र बुझ्छस् र यदि तँ आफूलाई ती कुराहरूले मात्र सुसज्जित पार्छस्, अझ बढी प्रवचनहरू मात्र सुन्छस् र अगुवाइ गर्न केही थप शब्दहरूमा पोख्त मात्र बन्छस् भने र यदि तैँले कसैको समस्या समाधान गर्न खोज्दा केही धर्मसिद्धान्त, र शब्द मात्र बताउँछस् र फलस्वरूप तिनीहरूको कुनै पनि समस्या समाधान गर्दैनस् भने, तँमा अगुवा हुने कुनै वास्तविकता छैन र तँ एउटा खोक्रो खोल मात्र होस्। यो कस्तो अगुवा हो? (झूटो अगुवा।) यो झूटो अगुवा हो। तँ वास्तविक काम गर्न असक्षम छस्। कसैले झूटो अगुवाको खुलासा र रिपोर्ट नगरे पनि, मण्डलीमा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रगति हुनेछैन, समस्याहरू बढ्दै जानेछन्, अनि झूटो अगुवाले दोष वहन गर्दै पद त्याग गर्न बाध्य हुनुपर्नेछ। यदि तँ झुटो अगुवा होस् भने, तेरो पद जतिसुकै उच्च भए तापनि, तँ झूटो अगुवा नै होस्। अब, तैँले वास्तविक काम गर्न सक्नु वा नसक्‍नु, र तँ झूटो अगुवा हुनु वा नहुनु—यी सबैभन्दा महत्त्वपूर्ण कुराहरू होइनन्। त्यसो भए, सबैभन्दा महत्त्वपूर्ण कुरा के हो त? तैँले अब चाँडो-चाँडो सत्यता खोजी गर्न र जीवन प्रवेशमा ध्यान केन्द्रित गर्नुपर्छ। जब तैँले जीवन प्रवेश पाइसकेको, आफ्नो स्वभाव परिवर्तन गरेको, र परमेश्‍वरका अभिप्राय बुझेको हुन्छस्, र जब तँ आफ्नै गलत स्थितिहरू समाधान गर्न सक्षम हुन्छस्, तँलाई अरू मानिसहरूका समस्याहरू समाधान गर्न सजिलो हुनेछ। जब तैँले सत्यता बुझ्छस् र सत्यता वास्तविकतामा प्रवेश गर्छस्, के तब पनि तँलाई अरूका समस्याहरू समाधान गर्न सक्दिनँ कि भन्‍ने डर लाग्नेछ? तैँले राम्रोसँग अगुवाइ गर्न सक्छु कि सक्दिनँ भनेर चिन्ता लिनुपर्दैन। यदि तँसँग सत्यता वास्तविकता छ भने, तँ स्वतः आफ्नो कर्तव्य राम्रोसँग पुरा गर्न र वास्तविक समस्याहरू समाधान गर्न सक्षम हुनेछस्। तैँले यो कुरा पूर्ण रूपले बुझ्नुपर्छ। यदि तँ यो कुरा पूर्ण रूपले बुझ्दैनस्, र सधैँ एक अगुवाको रूपमा आफ्नो हैसियत रक्षा गर्न, र परमेश्‍वरका चुनिएका मानिसहरूको हृदयमा आफ्नो राम्रो छवि स्थापित गर्न चाहन्छस् भने, तेरो अभिप्राय गलत छ, र तँ स्वतः कलङ्कित र असफल हुनेछस्। यदि तँ सत्यतालाई प्रेम गर्ने र आफ्नै जीवन प्रवेशमा केन्द्रित हुने व्यक्ति होस्, र तैँले आफ्नो मानवीय महत्त्वाकाङ्क्षा, चाहना र गलत खोजीहरू त्याग्छस्, र तँ यी कुराहरूबाट बाधित हुँदैनस् भने, तँ सत्यता पछ्याउन सक्षम हुनेछस्, र तैँले समयक्रममा स्वतः सत्यताको हरेक पक्ष बुझ्नेछस्। यस तरिकाले, तँ अरूलाई अत्यन्तै सहज रूपमा मद्दत गर्ने अवस्थामा पुग्‍नेछस् र तँलाई त्यसो गर्न कुनै कठिनाइ हुनेछैन। त्यसकारण, तैँले आफ्नो हैसियत रक्षा गर्नु हुँदैन। यो एउटा खोक्रो खोल हो। यो बेकार छ। यसले तँलाई कुनै लाभ दिनेछैन, र यसले तँलाई सत्यता बुझ्न पनि मद्दत गर्नेछैन। त्यसैगरी, यसले तँलाई धेरै गल्तीहरू गर्न उक्साउन सक्छ, र यसले तँलाई बहकाउन पनि सक्छ। भ्रष्ट मानवजातिको लागि हैसियत एउटा पासो हो। तर यस बाधालाई कसैले पनि पन्छाउन सक्दैन, सबैले यो पार गर्नैपर्छ, र यो कुरा तैँले यसलाई कसरी लिन्छस् त्यसमा भर पर्छ। यदि तैँले मानवीय विधिहरू प्रयोग गरेर यसलाई सम्हाल्न खोजिस् भने, तैँले आफूलाई संयम राख्न वा आफूविरुद्ध विद्रोह गर्न सक्नेछैनस्। यसलाई सत्यता प्रयोग गरेर मात्र समाधान गर्न सकिन्छ। सत्यताले यो कठिनाइ समाधान गर्न सक्छ। यदि तँ सत्यता खोज्न सक्छस् भने, तैँले यस मामिलालाई जरैदेखि सम्बोधन गर्न सक्छस्। यदि तैँले यो कठिनाइ समाधान गर्न सत्यता प्रयोग गर्न सक्दैनस् भने, यदि तैँले केवल आफूलाई नियन्त्रित गरिरहेको र कामकुराहरूविरुद्ध विद्रोह गरिरहेको छस् भने—यदि तैँले आफ्नो सोच, शैली, विचारजस्ता कुराहरूविरुद्ध मात्र विद्रोह गरिरहेको छस्, र तँ सधैँ यसरी नै विद्रोह गर्छस् भने—यो कस्तो विधि हो? यो त नकारात्मक र निष्क्रिय शैली हो। तैँले यसलाई समाधान गर्न सकारात्मक विधिहरू प्रयोग गर्नुपर्छ, अर्थात्, तैँले यसलाई सत्यताद्वारा समाधान गर्नुपर्छ, र यस मामिलालाई पूर्ण रूपमा बुझ्नुपर्छ। सर्वप्रथम ख्रीष्टविरोधी र झूटा अगुवाहरूले ख्याति, लाभ र हैसियत खोज्न तथा आफ्नो आडम्बर र घमण्ड रक्षा गर्न प्रयोग गर्ने विभिन्‍न शैलीहरू हेर्। ती कुराहरू स्पष्टसित देखेपछि तँलाई यस्तो अनुभूति हुनेछ, “ओहो, कति लाजमर्दो, साँच्चिकै कस्तो लाजमर्दो! के मैले पनि तिनै शैली प्रयोग गर्दै छु?” त्यसपछि, तैँले आफूमाथि चिन्तन गर्न थाल्नेछस् र चाँडै तैँले यस्तो महसुस गर्नेछस्, “ओहो, मैले पनि धेरैजसो तिनै शैलीहरू प्रयोग गर्ने रहेछु, म ती ख्रीष्टविरोधी र झूटा अगुवाहरूभन्दा त्यति फरक छैन।” तँलाई हृदयमा केही पछुतो हुनेछ, र तैँले यसो भन्‍नेछस्, “म मेरो हैसियत जोगाइराख्न र यो लज्जापन प्रकट गरिरहन सक्दिनँ,” अनि तैँले पाठ सिक्ने सङ्कल्प गर्नेछस्। अरूले तँलाई सम्‍मान गर्छन् गर्दैनन्, तैँले अरू मानिसहरूका कति समस्याहरू हल गर्न सक्छस्, कसैले तँलाई सुन्छन् सुन्दैनन्, वा कति मानिसहरूको हृदयमा तेरो लागि ठाउँ छ भन्‍नेतिर ध्यान दिन छोड्। यदि तेरो हृदयमा यस्ता कुराहरू सधैँ रहन्छन् भने, तँ विचलित र प्रभावित हुनेछस्, र तँसँग सत्यता पछ्याउने समय कम हुनेछ। तैँले ख्याति, लाभ र हैसियत प्राप्त गर्ने महत्त्वाकाङ्क्षा तथा चाहनाहरू पछ्याउनमा आफ्नो सीमित ऊर्जा र अमूल्य समय खर्चेको छस्। फलस्वरूप, तैँले सत्यता र जीवन प्राप्त गरेको छैनस्। तैँले हैसियत प्राप्त गरेको भए पनि र तेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा भएका भए पनि, तैँले जीवन प्रवेश हासिल गरेको हुँदैनस्, बरु पवित्र आत्माको काम गुमाएको हुन्छस्। अनि यसको अन्तिम परिणाम के हुनेछ? तँलाई हटाइनेछ र दण्डित गरिनेछ। यस्तो किन हुन्छ? तैँले गलत मार्ग रोज्छस्। अनि, यदि तँ पावलको स्तरमा पुगेको छस् भने, तँलाई अन्त्यमा दण्डित गरिनेछ। तर यदि तँ पावलको स्तरमा पुगेको छैनस्, र तँ आफ्नो सही मार्गमा समयमै फर्कन्छस् भने, तेरो निम्ति छुटकाराको मौका र मुक्तिको आशा अझै रहन्छ।

परमेश्‍वरमा विश्‍वास गर्दा, व्यक्तिलाई जस्तोसुकै समस्या भए पनि, चाहे त्यो हैसियत, ख्याति, प्राप्ति, र धनको पछ्याइ होस्, वा व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्ने होस्, कुनै पनि अवस्थामा, सबै समस्याहरू सत्यताको पछ्याइमार्फत नै समाधान गरिनुपर्छ। व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, ऊ सत्यताबाट पन्छिन सक्दैन, र समस्या जेसुकै भए पनि, सत्यताविना त्यसलाई समाधान गर्न सकिँदैन। जब कोही परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा सत्यताबाट टाढा हुन्छ, तब सबै कुरा खोक्रो हुन्छ, र अरू कुनै पनि कुरा पछ्याउनुको कुनै फाइदा हुँदैन। कतिपय मानिसहरू गौरवशाली र प्रभावशाली कर्तव्यहरू निर्वाह गर्नमा, अरूले तिनीहरूलाई आदरभावले हेरेको र तिनीहरूको ईर्ष्या गरेकोमा नै सन्तुष्ट हुन्छन्। के यी कुराहरूको कुनै काम लाग्छ? यी कुराहरू परमेश्‍वरको अनुमोदनको बराबर होइनन्, न त ती उहाँले दिनुभएका इनाम नै हुन्। त्यसैले, तैँले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, त्यो केवल अस्थायी हो; त्यो अनन्त हुँदैन। कुनै व्यक्तिले अन्त्यमा मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसले कुन कर्तव्य निर्वाह गर्छ भन्नेमा निर्भर हुँदैन, बरु उसले सत्यता बुझ्न र प्राप्त गर्न सक्छ कि सक्दैन, र अन्ततः परमेश्‍वरप्रति पूर्ण समर्पण हासिल गर्न र आफूलाई उहाँको योजनाबद्ध कार्यको कृपामा राख्न, अब उप्रान्त आफ्नो भविष्य र नियतिलाई ख्याल नगर्न, र मानकअनुरूपको सृजित प्राणी बन्न सक्छ कि सक्दैन भन्नेमा निर्भर हुन्छ। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ, उहाँले सबै मानवजातिलाई मापन गर्न यही मानक प्रयोग गर्नुहुन्छ, र यो मानक कहिल्यै परिवर्तन हुनेछैन—तैँले यो कुरा याद गर्नुपर्छ। यो मानकलाई आफ्नो मनमा दृढतापूर्वक राख्, र ती अवास्तविक कुराहरू पछ्याउनका लागि सत्यता पछ्याउने मार्ग छोड्नेबारे कहिल्यै नसोच्। मुक्ति पाउनुपर्ने सबैका लागि परमेश्‍वरले माग गर्नुभएको मानक सधैँ अपरिवर्तनीय छ। तँ जोसुकै भए पनि यो उस्तै रहन्छ। तैँले परमेश्‍वरले माग गर्नुभएको मानकअनुसार परमेश्‍वरमा विश्‍वास गरेर मात्रै मुक्ति प्राप्त गर्न सक्छस्। यदि तैँले अर्को बाटो भेट्टाउँछस् र धमिला कुराहरू पछ्याउँछस्, र तैँले भाग्यले सफल हुन्छु भनेर स्वैरकल्पना गर्छस् भने, तँ परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँलाई धोका दिने व्यक्ति होस्, र तँलाई पक्कै पनि परमेश्‍वरद्वारा श्राप दिइनेछ र दण्डित तुल्याइनेछ।

अंश ७३

आफ्नो कर्तव्य राम्ररी निभाउन र परमेश्‍वरले सुम्पनुभएको काम राम्ररी गर्न, अगुवा र कामदारहरूले पहिला परमेश्‍वरका अभिप्राय बुझ्नुपर्छ र कामको आकार र मात्रामा ध्यान केन्द्रित गर्नुहुन्‍न। त्यसको सट्टा तिनीहरूले आफूसँग जीवन प्रवेश गरेका छन् कि छैनन् र आफ्नो स्वभाव परिवर्तन गरेका छन् कि छैनन् भन्‍ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ। परमेश्‍वरले अगुवा र कामदारहरूबाट माग गर्नुहुने कुरा यही हो। के तिमीहरू अब व्यक्तिको स्वभावमा हुने परिवर्तनलाई साँच्चै बुझ्छौ? स्वभावमा परिवर्तन भनेको के हो? के तिमीहरू व्यवहार अनि स्वभावमा आउने परिवर्तनलाई खुट्ट्याउन सक्छौ? कुन स्थितिहरूलाई व्यक्तिको जीवन स्वभावको परिवर्तन मान्‍न सकिन्छ, अनि कुन स्थितिहरू बाहिरी व्यवहारमा आउने परिवर्तन मात्र हुन् त? व्यक्तिको बाहिरी व्यवहारमा आउने परिवर्तन र भित्री जीवनमा आउने परिवर्तन बिचको भिन्‍नता के हो? के तिमीहरू फरक छुट्ट्याउन सक्छौ? तिमीहरू एउटा उत्साहपूर्ण हृदय भएको, मण्डलीका लागि दौडधुप गरिरहने र समय लगाइरहने व्यक्ति देख्छौ, अनि भन्छौ: “उसको स्वभाव परिवर्तन भएको छ!” तिमीहरू आफ्नो परिवार र जागिर त्यागेको कुनै व्यक्ति देख्छौ, अनि भन्छौ: “उसको स्वभाव परिवर्तन भएको छ!” तिमीहरू सोच्छौ, उसको स्वभाव परिवर्तन नभएको भए, उसले यस्तो त्याग गर्न सक्ने नै थिएन। तिमीहरूमध्ये धेरैले कामकुरालाई यसरी हेर्छौ, तर के यो दृष्टिकोण सही हो त? केही मानिसहरू झनै बेतुके हुन्छन्; तिनीहरूले परिवार वा जागिर त्यागेको व्यक्ति देख्दा यसो भन्छन्: “यो मान्छेले परमेश्‍वरलाई साँच्चै प्रेम गर्छ!” आज तिमीहरू यो व्यक्तिले परमेश्‍वरलाई प्रेम गर्छ भन्छौ, भोलि अर्कै कुनै व्यक्तिले परमेश्‍वरलाई प्रेम गर्छ भन्छौ। तिमीहरूले कुनै व्यक्तिले निरन्तर प्रचार गरिरहेको देख्यौ भने, यसो भन्छौ: “यो व्यक्तिले परमेश्‍वरलाई चिनेको छ। उसले सत्यता प्राप्त गरेको छ। उसले परमेश्‍वरलाई नचिनेको भए, के उसले यति धेरै कुराहरू भन्‍न सक्थ्यो?” के तिमीहरूले कामकुराहरूलाई यसरी हेर्दैनौ र? तिमीहरूमध्ये धेरैले मानिस र कुराहरूलाई पक्कै पनि यसरी नै हेर्छौ। तिमीहरू जहिले पनि अरूलाई ताज पहिराइदिएर सम्मान गर्छौ र तिनीहरूको चापलुसी गर्छौ। आज, तिमीहरू एउटा व्यक्तिलाई परमेश्‍वरलाई प्रेम गरेकोमा ताज पहिराइदिन्छौ, भोलि अरू कसैलाई परमेश्‍वरलाई चिनेकोमा, उहाँप्रति बफादार भएकोमा ताज पहिराइदिन्छौ। तिमीहरू अरूलाई ताज पहिराइदिनमा “खपिस” छौ। हरेक दिन, तिमीहरू अरूलाई ताज पहिराइदिन्छौ र तिनीहरूको चापलुसी गर्छौ, जसले गर्दा तिनीहरूलाई हानि पुग्छ, तैपनि त्यसो गरेकोमा तिमीहरू गर्व महसुस गर्छौ। तिमीहरूले अरूलाई यसरी प्रशंसा गरेर तिनीहरूलाई अहङ्कारी बनाउँछौ। यसरी प्रशंसा पाउनेहरूले सोच्छन्, “म परिवर्तित भएको छु, म ताज पहिरिन सक्छु, म निश्चय नै स्वर्गको राज्यमा पस्नेछु!” अझ खत्तम कुरा त के हो भने, पावल जस्तै, सधैँ आफूले कति पीडा भोगेको छु र कति गवाही दिएको छु भन्‍ने मानिसहरू पनि छन्। तिनीहरू परमेश्‍वरका अभिप्रायको अलिकति पनि ख्याल नगरी आफ्नै गुणगान गाउँछन् अनि आफ्नै धारणा र प्राथमिकता अनुसार बोल्छन्। तिनीहरूले आफ्नै स्वभाव परिवर्तन नगरेको कुरा स्पष्ट भए पनि अरूलाई आफ्नो अनुकरण गर्न भन्छन्, र परिणामस्वरूप, परमेश्‍वरमा विश्‍वास गर्ने तर विवेक नभएका मानिसहरू, र खास गरी तिनीहरूलाई आराधना गर्ने मानिसहरूलाई हानि पुग्छ र तिनीहरू बहकिन्छन्। तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा पाइला चालेका हुँदैनन्, उत्साहका कारण परमेश्‍वरप्रति आफूलाई समर्पित गरिरहेका र परमेश्‍वरका लागि कष्ट भोगिरहेका मात्र हुन्छन्। तिनीहरू कसैलाई धोका नदिईकन वा यहूदा नबनीकन पक्राउ परेका र थुनिएका मात्र छन्—र त्यसैले तिनीहरू आफू गवाहीमा दृढ खडा भएको र स्वर्गको राज्यमा पस्न योग्य भएको सोच्छन्। तिनीहरूले यो थोरै अनुभवलाई गवाहीको रूपमा व्यवहार गरेर सबैतिर यसको प्रदर्शन गर्छन्। के यो मानिसहरूलाई बहकाउन देखावट गर्नु होइन र? धेरै मानिसहरूले यसप्रकारको “गवाही” दिन्छन्, अनि कति मान्छे पथभ्रष्ट भएका छन्? यस्ता मानिसहरूलाई विजेताको रूपमा व्यवहार गरिनु बेतुके कुरा होइन र? के तिमीहरूलाई परमेश्‍वरले मानिसहरूलाई कसरी हेर्नुहुन्छ भनेर थाहा छ? के तिमीहरूलाई विजेता भनेको ठ्याक्कै के हो भनेर थाहा छ? यसरी झुटो गवाही दिने कार्य परमेश्‍वरद्वारा श्रापित हुन्छ। यसरी तिमीहरूले कति वटा दुष्कर्महरू गरेका छौ? तिमीहरू अरूलाई जीवन दिन सक्दैनौ, न त अरूको स्थिति भेद गर्न नै सक्छौ। तिमीहरू मानिसहरूलाई ताज पहिराइदिन मात्र सक्छौ, अनि परिणामस्वरूप तिनीहरूलाई विनाशतर्फ लैजान्छौ। के तिमीहरूलाई भ्रष्ट व्यक्तिले प्रशंसा सहन सक्दैन भन्‍ने कुरा थाहा छैन? यदि कसैले उसको प्रशंसा गरेन भने, ऊ नाक फुलाएर अति घमण्डी बन्छ। तर मानिसहरूले उसको प्रशंसा गरे भने, के ऊ झन् चाँडै मर्दैन र? तिमीहरूलाई परमेश्‍वरलाई प्रेम गर्नु, परमेश्‍वरलाई चिन्‍नु, इमानदारीपूर्वक उहाँमा समर्पित हुनु भनेको के हो भनेर थाहा छैन। तिमीहरू यी कुनै पनि कुराहरू बुझ्दैनौ। तिमीहरू कुराहरूको बाहिरी स्वरूप हेर्छौ अनि अरूको मूल्याङ्कन गर्छौ, तिनीहरूलाई ताज पहिराइदिन्छौ अनि तिनीहरूको चापलुसी गर्छौ, र यसरी धेरै मानिसहरूलाई पथभ्रष्ट बनाउँछौ र हानि पुऱ्याउँछौ र तिमीहरू यो बारम्बार गर्छौ। यसरी तिमीहरूको प्रशंसा पाएर, धेरै मानिसहरू बहकिएर लडेका छन्। तिनीहरू फेरि खडा भए पनि, तिनीहरूले आफ्नो अत्यन्तै धेरै जीवन प्रगतिलाई स्थगित गरेका छन्, र घाटा बेहोरिसकेका छन्। अहिले धेरैजसो मानिसहरू अझै पनि परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा छैनन् र तिनीहरूले सत्यता पछ्याउन सक्दैनन्, र आफूलाई अलिकति मात्र चिन्छन्। यदि, यसरी तिनीहरूको प्रशंसा गरियो भने, तिनीहरूले आफू पहिले नै परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा भएको र आफूसँग केही सत्यता वास्तविकताहरू भएको महसुस गर्दै, आत्म-सन्तुष्ट, ढुक्क हुनेछन् र तिनीहरू आफ्नै तौर-तरिकाहरूमा अड्किनेछन्। तिनीहरू आफ्नो बोलीमा साहसी हुनेछन्, मण्डलीका मानिसहरूलाई हप्काउनेछन् अनि तानाशाह झैँ व्यवहार गर्नेछन्। के तैँले यस्तो तरिकाले काम गरेर मानिसहरूलाई हानि पुऱ्याएर बरबाद गरिरहेको छैनस्? कस्तो व्यक्तिले परमेश्‍वरलाई प्रेम गर्छ? परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरू पत्रुस जस्तो हुनैपर्छ, तिनीहरूलाई सिद्ध पारिनैपर्छ, र तिनीहरूले परमेश्‍वरको प्रेम हासिल गर्न बाटोको अन्त्यसम्मै उहाँलाई पछ्याउनैपर्छ। परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइलाई नियाल्नुहुन्छ, र परमेश्‍वरले मात्र कसले उहाँलाई प्रेम गर्छ भनेर निर्धारण गर्न सक्नुहुन्छ। मानिसहरूलाई यो स्पष्ट रूपमा देख्न सजिलो हुँदैन, अनि तिनीहरूले कसरी अरूको फैसला सुनाउन सक्छन्? परमेश्‍वरलाई मात्र क-कसले उहाँलाई साँच्चै प्रेम गर्छन् भनेर थाहा हुन्छ। तिनीहरूसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय भए पनि, तिनीहरू आफू परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति हौँ भन्‍ने आँट गर्दैनन्। परमेश्‍वरले पत्रुस परमेश्‍वर-प्रेमी व्यक्ति हो भनेर भन्‍नु भयो, तर पत्रुस आफैले त्यसो कहिल्यै भनेन। त्यसैले के परमेश्‍वरलाई प्रेम गर्नु भनेको सहजै घमण्ड गर्न मिल्ने कुरा हो त? परमेश्‍वरलाई प्रेम गर्नु मानिसको कर्तव्य हो, त्यसैले हृदयमा परमेश्‍वरका लागि अलिकति प्रेम पलाउने बित्तिकै घमण्ड गर्नु तर्कहीन कुरा हो। यदि तँ आफै परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति होइनस्, तर परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति भएकोमा अरूको प्रशंसा गर्छस् भने त्यो त झनै तर्कहीन कुरा हो। यो पागलपन हो। परमेश्‍वरलाई मात्र को परमेश्‍वर-प्रेमी हो भनेर थाहा हुन्छ र उहाँले मात्र को त्यस्तो छ भनेर भन्‍न सक्नुहुन्छ। यदि यी शब्द कुनै व्यक्तिको मुखबाट निस्किन्छ भने, ऊ गलत स्थान ओगटेर बसेको छ। तँ परमेश्‍वरको स्थान ओगटेर, अरूको प्रशंसा र चापलुसी गर्दैछस्—यो कसको प्रतिनिधित्वमा गरिन्छ? परमेश्‍वरले निश्चय नै मानिसहरूको चापलुसी गर्नुहुन्‍न, न त तिनीहरूको प्रशंसा नै गर्नुहुन्छ। पत्रुसलाई पूर्ण पारेपछि, परमेश्‍वरले आखिरी दिनहरूको काम नगरेसम्म उसलाई उदाहरणको रूपमा प्रयोग गर्नुभएन। त्यो बेला, उहाँले कहिल्यै अरूलाई “पत्रुसले परमेश्‍वरलाई प्रेम गर्छ।” भन्‍ने शब्दहरू भन्‍नु भएन। उहाँले आखिरी दिनहरूमा परमेश्‍वरको न्याय अनुभव गर्ने अनि उहाँलाई प्रेम गर्न खोज्नेहरूका लागि, उसलाई नमुना र उदाहरण बनाउँदै यो चरणको काम गर्दा मात्रै यस्ता कुराहरू भन्‍नु भयो। परमेश्‍वरले गर्नुहुने सबथोकमा अर्थ हुन्छ। मानिसहरूले जथाभावी फलानो व्यक्ति परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति हो भनेर भन्‍नु कति वाहियात कुरा हो! यो अति वाहियात कुरा हो। पहिलो कुरा, यस्ता मानिसहरू गलत स्थानमा उभिरहेका छन्। दोस्रो, यो कुरा मानिसहरूले फैसला सुनाउन सक्ने कुरा नै होइन। अरूको चापलुसी गर्नु भनेको के हो? यो भनेको अरूलाई बहकाउनु, धोका दिनु र हानि पुऱ्याउनु हो। तेस्रो, वस्तुपरक प्रभावको सन्दर्भमा, यस्तो व्यवहारले अरूलाई सही मार्गमा डोऱ्याउन नसक्ने मात्र होइन, यसले अरूको जीवन प्रवेशमा पनि बाधा दिन्छ र तिनीहरूको जीवनमा हानि पुऱ्याउँछ। यदि तँ सधैँ कुनै व्यक्तिले परमेश्‍वरलाई प्रेम गर्छ, कुराहरू त्याग्न सक्छ, र ऊ परमेश्‍वरप्रति वफादार छ भन्छस् भने, के सबैले उसका बाहिरी कार्यहरूको अनुसरण गर्नेछैनन् र? तिमीहरूले अरूलाई सही मार्गमा नडोऱ्याएको मात्र होइन, तिमीहरूले प्रायजसो मानिसहरूलाई बाहिरी कार्यहरूमा ध्यान केन्द्रित गर्ने पनि तुल्याएका छौ, यतिसम्म कि तिनीहरू ताजका बदलामा यी बाहिरी अभ्यासहरूमा भर पर्छन् र अनजानमै पावलको मार्ग पछ्याउँछन्। के यसको त्यस्तो प्रभाव परेको छैन र? तैँले यी शब्दहरू बोल्दा, के तँ यी समस्याहरूबारे सचेत हुन्छस्? तँ कुन स्थानमा उभिरहेको छस्? तैँले कुन भूमिका निर्वाह गरिरहेको छस्? तेरा शब्दहरूको वस्तुपरक प्रभाव के हो? यसले अरूलाई अन्ततः कस्तो मार्ग पछ्याउने तुल्याउँछ? यो कुन हदसम्म हानिकारक छ? मानिसहरूले यस्तो तरिकाले काम गर्दा त्यसले गम्भीर परिणामहरू निम्त्याउँछ।

मण्डलीभित्रका केही अगुवा र कामदारहरू आफ्नो अनुभवबारे बोल्न र गवाही दिन अनि समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सक्दैनन्। तिनीहरू सधैँ आफूले कसरी कष्ट भोगेका छन्, कसरी काटछाँट स्विकारेका छन्, धेरै अन्याय भोगे पनि कसरी नकारात्मक भएनन्, आफ्नो कर्तव्य निभाउन कसरी दृढ रहे भन्‍ने कुराहरूबारे गवाही दिन्छन्। पावलजस्तै, तिनीहरू सधैँ आफ्नै गवाही दिन्छन्, आफैलाई स्थापित गर्छन्, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई आफ्नो प्रशंसा, सम्मान र आदर गर्ने तुल्याउँछन्। यसका साथै, यस्ता मानिसहरूले शब्द र धर्मसिद्धान्त राम्ररी बताउन सक्ने र प्रचार गर्न सक्ने व्यक्ति देख्दा, तिनीहरूको चापलुसी गर्छन्, र पावल जस्ता अगुवा र कामदारहरूको तारिफ र प्रशंसा गर्छन् अनि यसरी अरूलाई तिनीहरूको आराधना गर्न लगाउँछन्। तिनीहरू मलजल र आपूर्तिको काम गर्न असफल मात्र हुँदैनन्, तर अरूलाई पावलको मार्ग पछ्याउन अगुवाइ गर्ने विनाशकारी र बाधा पुर्‍याउने काममा पनि संलग्न हुन्छन्। तिनीहरू पूरै समय आफू सक्षम भएको र असल अगुवा भएको गलत सोच राख्छन् र परमेश्‍वरबाट इनामहरू पाउन चाहन्छन्। के यो तिमीहरूमध्ये धेरै जनाको स्थिति होइन र? तिमीहरूको शब्द र धर्मसिद्धान्तहरूमा मात्र ध्यान दिने, निरन्तर अरूलाई उपदेश दिने अहिलेको व्यवहारको आधारमा, के तिमीहरूले मानिसहरूलाई सही मार्गमा डोऱ्याउन सक्छौ? यसले तिनीहरूलाई अन्ततः कुन मार्गमा डोऱ्याउन सक्छ? के यसले तिनीहरू सबैलाई पावलको मार्गमा डोऱ्याउनेछैन? म यो जस्ताको तस्तै देख्छु, यो अतिशयोक्ति होइन। तिमीहरू सबैजना मानिसहरूलाई पावलको मार्गमा डोऱ्याइरहेका, पावलजस्तै अगुवाहरू हौ भन्‍न मिल्छ। के तिमीहरूलाई अझै पनि कुनै प्रकारको ताज चाहिन्छ? तिमीहरूलाई निन्दा गरिएन भने तिमीहरू भाग्यमानी हुनेछौ। तिमीहरूका कार्यहरूको आधारमा हेर्दा, तिमीहरू सबैजना परमेश्‍वरको प्रतिरोध गर्ने, परमेश्‍वरको सेवा गरिरहेका, तर उहाँको प्रतिरोध गरिरहेका मानिस बनेका छौ र तिमीहरू उहाँको काममा बाधा दिन खपिस भएका छौ। यदि तिमीहरू यस्तै मार्गमा हिँडिरह्यौ भने, तिमीहरू अन्ततः झुटो गोठाला, झुटा कामदार, झुटा अगुवा र ख्रीष्टविरोधी बन्‍नेछौ। राज्यका लागि तालिम लिने समय अहिले नै हो। यदि तिमीहरूले सत्यतामा प्रयास लगाएनौ र काममा मात्र ध्यान दियौ भने, तिमीहरूले थाहै नपाई पावलको मार्ग लिनेछौ। यसका साथै, तिमीहरूले पावलजस्तै मानिसहरूको समूहलाई पनि आफूसँगै ल्याउनेछौ। के तिमीहरू त्यसपछि परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँको काममा बाधा पुऱ्याउने मानिस बन्‍नेछैनौ? त्यसैले यदि परमेश्‍वरको सेवा गर्ने व्यक्तिले उहाँको गवाही दिन सक्दैन, वा उहाँका चुनिएका मानिसहरूलाई सही मार्गमा डोऱ्याउन सक्दैन भने, ऊ परमेश्‍वरको प्रतिरोध गर्ने व्यक्ति हो। यहाँ यी दुई मार्गहरू मात्र छन्। पत्रुसको मार्ग सत्यता पछ्याउने र अन्ततः आफ्नो विश्‍वासमा सफलता पाउने मार्ग हो। पावलको मार्ग सत्यता नपछ्याउने, अनि आशिष् र इनामहरू मात्र पछ्याउने मार्ग हो। त्यो असफलताको मार्ग हो। आज, पत्रुसको सफलताको मार्ग पछ्याउने मानिसहरू निकै कम छन्, जबकि पावलको असफलताको मार्ग पछ्याउनेहरू अति धेरै छन्। अगुवा र कामदारका रूपमा काम गरिरहेका तिमीहरूले यदि सुरुदेखि अन्त्यसम्मै सत्यता पछ्याएनौ भने, तिमीहरू सबै झुटा अगुवा र झुटा कामदार बन्‍नेछौ, र तिमीहरू सबै ख्रीष्टविरोधी, र परमेश्‍वरको प्रतिरोध गर्ने दुष्ट मानिसहरू हुनेछौ। यदि तिमीहरू अबदेखि सही मार्गमा मोडियौ र साँच्चै पत्रुसको मार्ग समात्यौ भने तिमीहरू अझै पनि परमेश्‍वरले अनुमोदन गर्नुहुने असल अगुवा र कामदार बन्‍न सक्छौ। यदि तिमीहरू सिद्ध पारिन र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न खोज्दैनौ भने, तिमीहरू खतरामा छौ। तिमीहरूको मूर्खता र अज्ञानता, सतही र अपर्याप्त अनुभव, सानो कद र अपरिपक्वतालाई ख्यालमा राख्दा, गर्न सकिने एउटा मात्रै कुरा भनेको तिमीहरूसँग सत्यताबारे अझै सङ्गति गर्न सकिन्छ ताकि तिमीहरू बुझ्न सक्षम होऔ, तर तिमीहरूले सत्यता प्राप्त गर्न सक्छौ कि सक्दैनौ भन्‍ने कुरा तिमीहरूको व्यक्तिगत पछ्याइमा भर पर्छ। किनभने आजको समय पत्रुस र पावलको समयभन्दा निकै फरक छ। ती दिनहरूमा, येशूले मानिसलाई न्याय गर्ने, सजाय दिने वा मानिसको स्वभाव परिवर्तन गर्ने काम गरिसक्नुभएको थिएन। आज, देहधारी परमेश्‍वरले निकै पारदर्शी रूपमा सत्यता व्यक्त गर्नुभएको छ। यदि मानिसहरूले अझै पनि पावलको मार्ग लिए भने, यसले तिनीहरूको बुझ्ने क्षमता त्रुटिपूर्ण छ भनेर देखाउँछ, र साथै, यसले तिनीहरूको चरित्र पावलको जस्तै अति दुष्ट छ, र तिनीहरूको स्वभाव अति अहङ्कारी छ भन्‍ने कुराको सङ्केत पनि गर्छ। त्यो युग आजको भन्दा फरक थियो, र सन्दर्भ पनि फरक थियो। आज, परमेश्‍वरको वचन कति उज्ज्वल र स्पष्ट छ; मानौँ तँलाई सिकाउन र डोऱ्याउन उहाँ आफैले आफ्नो हात अघि सार्नुभएको छ, त्यसैले यदि तैँले अझै पनि गलत मार्ग लिइस् भने त्यो अक्षम्य हुनेछ। यसका साथै, आज, पत्रुस र पावलको दुईवटा नमुना छ, एउटा सकारात्मक, अर्को नकारात्मक, एउटा उदाहरण र अर्को चेतावनी। यदि तैँले गलत मार्ग लिइस् भने, यसको अर्थ तैँले गलत छनौट गरेको छस् र तँ अति दुष्ट छस्। यसका लागि अरू कोही नभई तँ आफै दोषी हुनेछस्। सत्यता वास्तविकता भएको व्यक्तिले मात्र अरूलाई सत्यता वास्तविकतामा प्रवेश गराउन सक्छ, तर सत्यता वास्तविकता नभएको व्यक्तिले अरूलाई बहकाउन मात्र सक्छ।

अंश ७४

यस्ता अगुवा र सेवकहरू हुन्छन् जो, आफ्नो काममा परमेश्‍वरका वचनहरूअनुसार सत्यताबारे सङ्गति गर्दैनन्। तिनीहरू आफै मामलाहरू पूर्णतः बुझ्न सक्दैनन्, अनि प्रायः यसो भन्छन्, “म सबैले आफ्ना राय व्यक्त गरून् भन्‍ने चाहन्छु। सबैजना, मनमा भएको कुरा खुलेर भनौँ।” यसरी सबैलाई आफ्नो अडान व्यक्त गर्न दिनु र अन्ततः सहमतिमा आइपुग्नु सही र एकदम प्रजातान्त्रिक जस्तो सुनिन सक्छ। जब मानिसहरूले सत्यता बुझ्दैनन्, यो अभ्यास अन्तिम उपायको रूपमा स्वीकार्य हुन्छ, तर यसबाट सत्यताअनुरूप निष्कर्ष निस्किन्छ भन्‍ने निश्चित हुँदैन। कसैले पनि सत्यता नबुझ्ने र सबै जनाका रायमा खोट हुने भएकाले, तिनीहरू एकसाथ जम्मा भए पनि सत्यताअनुरूपको निष्कर्षमा पुग्न सक्दैनन्। यस्तै हुन्छ, होइन त? यदि सत्यता बुझ्ने कुनै व्यक्ति सहभागी भए चाहिँ धेरै राम्रो हुन्थ्यो; कुराहरू सुध्रिन्थे। तर, सत्यता बुझ्ने व्यक्तिले यसको अगुवाइ गर्नु निकै महत्त्वपूर्ण हुन्छ। यस व्यक्तिले सबैलाई परमेश्‍वरका वचनहरूमा आधारित सत्यता खोज्नतर्फ डोऱ्याउनुपर्छ। यसरी, तिनीहरूले निकाल्ने निष्कर्षहरू सत्यताअनुरूप हुन सक्छन्। यो सर्वोत्तम तरिका हो। अन्ततः एकता पाउन र सत्यतासम्बन्धी सहमतिमा पुग्नका लागि सत्यता बुझ्ने व्यक्तिले कमान लिनु, डोऱ्याउनु, र सबैलाई परमेश्‍वरका वचनहरूमा आधारित सत्यताहरूबारे सङ्गति गर्नमा अगुवाइ गर्नु आवश्यक हुन्छ। यो अभ्यास गर्ने एक मात्र सही तरिका हो। त्यसोभए, प्रजातन्त्रलाई कसरी हेर्नुपर्छ त? वर्तमान समयमा, भ्रष्ट मानवजातिमाझ, प्रजातन्त्र तुलनात्मक रूपमा प्रगतिशील र विकसित सामाजिक व्यवस्था हो। यो अग्रगामी र चलनचल्तीमा पनि छ, र बहुमतको स्वादअनुसारको छ। यो व्यवस्था तुलनात्मक रूपमा विकसित र प्रगतिशील छ, तर, के कुनै पनि व्यवस्था, जति नै उत्कृष्ट भए पनि, त्यसले मानव पापको समस्या समाधान गर्न सक्छ त? के त्यसले सामाजिक दुष्टता र अँध्यारोको सार बदल्न सक्छ त? यो हासिल गर्नै सकिन्‍न, झन् तानाशाही शासनमा हासिल गर्न सकिने त कुरै भएन। के ती प्रजातान्त्रिक देशहरूका अधिकारीहरूमाझ पनि काफी भ्रष्टाचार र दुराचार छैन र? यस व्यवस्थामा हुने कुनै पनि घटना सत्यताअनुरूप छैन किनकि मानवजाति गहन रूपमा शैतानद्वारा भ्रष्ट तुल्याइएको छ; मानवजातिमा कुनै पनि सत्यता छैन। मानिसहरू आफ्ना भ्रष्ट स्वभावहरूअनुरूप जिउँछन्, परमेश्‍वरविरुद्ध विद्रोह गर्छन् र उहाँको प्रतिरोध गर्छन्; तिनीहरूले सत्यता अभ्यास गर्न सम्भव नै हुँदैन। शक्तिमा रहेका राष्ट्रिय नेताहरू, साथ साथै ती प्रसिद्ध व्यक्तित्वहरू सबै समेत ज्ञान हुँदा-हुँदै पनि, शैतानको स्वभावअनुरूप जिउँछन्। तिनीहरूमा एक रती पनि सत्यता हुँदैन र तिनीहरू परमेश्‍वरविरुद्ध विरोध गर्ने र परमेश्‍वरको प्रतिरोध गर्ने धेरै कार्यहरू गर्न सक्षम हुन्छन्। तिनीहरूले केही दुष्ट, असङ्गत कार्यहरू समेत गर्न सक्छन्। तिनीहरूसँग विश्‍वास भए पनि वा नभए पनि, तीमध्ये एक जनाले पनि सत्यता स्विकार्न वा साँचो रूपमा परमेश्‍वरलाई पछ्याउन सक्दैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्‍वरमा समर्पित हुँदैनन् वा उहाँको आराधना गर्दैनन्। तिनीहरू कहिल्यै पनि परमेश्‍वरलाई उच्च पार्ने वा उहाँको गवाही दिने कुनै कुरा गर्दैनन्। तिनीहरूले बोल्ने सबै शब्द नास्तिक हुन्छन्, ती सब वचनले परमेश्‍वरलाई इन्कार र प्रतिरोध गर्छन्; ती सब झूटा शिक्षा हुन्, स्वर्गलाई अवज्ञा गर्ने वचन हुन्, र दियाबलसका वचनबाहेक केही होइनन्। तसर्थ, मानवहरूले आफ्ना राष्ट्रहरू शासन गर्न जुनसुकै व्यवस्था अपनाए पनि, तिनीहरू परमेश्‍वरमा समर्पित हुनेछैनन्, उहाँको आराधना गर्नेछैनन्, उहाँद्वारा व्यक्त गरिएका कुनै पनि सत्यता स्विकार्नेछैनन्, वा उहाँका वचन र सत्यताअनुसार आफ्ना राष्ट्रहरू शासन गर्नेछैनन्। तिनीहरू कानुनको नियम र विज्ञानको आधारमा हुने शासनको लागि पहल गर्छन्। यसले के देखाउँछ भने तिनीहरूले लिने मार्ग परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गर्ने मार्ग हो। यस्ता राष्ट्रहरू उहाँद्वारा आशिषित हुँदैनन्। पिसाची राजाहरूद्वारा शासित कुनै पनि राष्ट्रले परमेश्‍वरको सबैभन्दा बढी प्रतिरोध गर्छ र उहाँद्वारा श्रापित हुन्छ। यी ती राष्ट्रहरू हुन् जसलाई परमेश्‍वरले नाश गर्नुपर्छ भनी निर्धारण गर्नुभएको छ। त्यसैले, कुनै देश परमेश्‍वरद्वारा तिरस्कृत र नष्ट गरिन्छ कि गरिँदैन भन्‍ने कुरा त्यो देश प्रजातान्त्रिक छ कि छैन भन्‍नेमा मुख्यतः निर्भर हुँदैन। मुख्य कुरा भनेको त्यस राष्ट्रको सत्तामा भएको समूह कस्ता खालका मानिसहरूले बनेको छ भनी हेर्नु हो। यदि सत्तामा भएका सबै दियाबलस, शैतानी खालका छन्, यदि ती सबै परमेश्‍वरको प्रतिरोध गरिरहेका पिशाचका जमात हुन् भने, त्यो देशलाई उहाँ घृणा गर्नुहुन्छ र श्राप दिनुहुन्छ, र त्यो देश उहाँद्वारा नष्ट हुनेछ।

यदि मण्डलीका अगुवा र सेवकहरूले सत्यता पछ्याउँदैनन् र आफ्नो काम सिद्धान्तविना गर्छन् भने, त्यसको परिणाम के हुनेछ त? तिनीहरूले पक्कै पनि परमेश्‍वरको अनुमोदन पाउनेछैनन्। कतिपय अगुवा र सेवकहरू यसो सोच्छन्, “मसँग सत्यता भए पनि वा नभए पनि, यदि मैले सबै मामलाहरूमा प्रजातन्त्रको अभ्यास गरेँ र तानासाही व्यवहार गरिनँ भने, मैले दुष्टता गरिरहेको छैनँ भन्‍ने कुरा निश्चित पार्न सक्छु। यसरी, म परमेश्‍वरद्वारा हटाइने छैनँ। यदि मैले आफ्नो काम राम्रोसँग गरेँ भने, परमेश्‍वरले मलाई अनुमोदन गर्नुहुनेछ।” के यो भनाइ सही छ त? के तिमीहरू तिनीहरूले के भनिरहेका छन् भनी खुट्ट्याउन सक्छौ? के तानासाही रूपमा कार्य नगर्नाले यी मानिसहरू परमेश्‍वरका अभिप्रायहरूअनुरूप छन् भनी पुष्टि हुन्छ त? के प्रजातन्त्रको अभ्यास गर्नाले तिनीहरू सिद्धान्तअनुरूप कार्य गर्छन् भन्‍ने पुष्टि हुन्छ त? यस्तो तरिकाको सोच तर्कसङ्गत लागे पनि, वास्तवमा, यो गलत हो। सत्यता नपछ्याउने अगुवा र सेवकहरूले जसरीसुकै अभ्यास गरे पनि, त्यो सधैँ नमिल्ने कदम र गलत हुन्छ। सत्यता पछ्याउने मार्गमा हिँड्नु मात्र सही हुन्छ। अगुवा र सेवकहरूले सत्यता पछ्याउने मार्गमा हिँड्न डटिरहन सक्नु, र जस्तोसुकै परिस्थितिको सामना गरे पनि, सबैलाई परमेश्‍वरका वचनहरूअनुसारका सत्यताबारे सङ्गति गर्न र सत्यता अभ्यास गर्ने मार्ग भेट्टाउनतर्फ अगुवाइ गर्नु नै एक मात्र उचित तरिका हो। अगुवा र सेवकहरूले सधैँ सबैलाई आफ्नो राय व्यक्त गर्न र आफ्नो मनको कुरा भन्‍न दिने तरिकाको अभ्यास गर्नु सही हो कि गलत हो त? (त्यो गलत हो।) यो कहाँनेर गलत हुन जान्छ त? (कसैसँग सत्यता नहुँदा।) त्यो सही हो। कसैसँग सत्यता नहुँदा। तिनीहरूले जसरीसुकै सङ्गति गरे पनि, के तिनीहरूको सङ्गतिको निष्कर्ष सत्यताअनुरूप हुन सक्छ त? त्यो सम्भवै छैन। त्यसोभए सत्यताअनुरूप हुन व्यक्तिले के गर्नुपर्छ त? (परमेश्‍वरले के भन्‍नु भएको छ भनेर हेर्नुपर्छ। व्यक्तिले उहाँका वचनहरूभित्र मार्ग खोज्नुपर्छ।) यो भनाइ कस्तो सुनिन्छ? यो सत प्रतिशत सही छ। अगुवा र सेवकहरूले सबै मामलाहरूमा परमेश्‍वरका वचनहरूअनुरूप सत्यताबारे सङ्गति गर्नुपर्छ, र उहाँका वचनहरूमा मार्ग खोज्नुपर्छ; त्यसपछि मात्र सही निष्कर्षमा पुग्न सकिन्छ। र सबैले सत्यता सिद्धान्तहरूबारे कसरी सङ्गति गर्छन् र तिनीहरूले सही रूपमा सिद्धान्तहरू भेट्टाउँछन् कि भेट्टाउँदैनन् भन्‍ने कुरा अर्को मामला हो। यदि तँ सबैलाई सत्यता र सिद्धान्तहरू खोज्नलाई परमेश्‍वरका वचनहरू पढ्नतर्फ अगुवाइ गर्न सक्छस् भने, यसले तँ सत्यता पछ्याउने व्यक्ति होस् भन्‍ने देखाउँछ। यदि तँ सबै जनालाई परमेश्‍वरका वचनहरूमा आधार खोज्ने वा उहाँका वचनहरूमा सिद्धान्तहरू खोज्नेबारे कुनै पनि कुरा उल्लेख नै नगरी केवल सङ्गति गराउँछस् र तिनीहरूलाई आफ्ना राय व्यक्त गर्न लगाउँछस् भने तँ सत्यता पछ्याउने व्यक्ति होइनस्; तँ सिद्धान्तहरूको वास्ता नगरी कामकुराहरू मिलाउन खोज्दैछस्। यदि, अन्त्यमा, तैँले सबैलाई हात उठाएर भोट गर्न लगाएर बहुमतले विजय पाउँछ भने, के यो सिद्धान्तहरूअनुरूप हुन्छ त? कहिलेकाहीँ, संयोगवश, यो सिद्धान्तहरूअनुरूप हुन सक्छ वा सिद्धान्तहरूको दायराभन्दा बाहिर नजान सक्छ। तर अधिकांश समय यो सिद्धान्तहरूअनुरूप हुनेछैन किनकि तँ सिद्धान्तहरू खोज्दैनस्; तँ केवल सबैको आधारहीन टिप्पणी सुनिरहेको हुन्छस्, जहाँ सबैभन्दा ठूलो र चर्को आवाज हुनेहरूले अन्तिम निर्णय लिन्छन्। अनि अन्त्यमा यो अगुवालाई के हुन्छ त? ऊ जुन पक्ष हाबी हुन्छ त्यही पक्षको कुरा सुन्‍ने दहीचिउरे बन्छ। यो कुरा केही अगुवाहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई निष्कासन गर्दा हात उठाएर भोट गर्न लगाएको जस्तै नै हो। यदि एउटै व्यक्ति पनि असहमत छ भने, तिनीहरूले त्यस दुष्ट व्यक्तिलाई निष्कासित गर्ने वा हटाउने गर्दैनन्। मैले भनेको कुराले समेत केही फरक पार्दैन। के यो परमेश्‍वरलाई छेउ लगाउनु होइन र? तिनीहरूले परमेश्‍वरलाई छेउ लगाउनु अनि अझै सत्यता खोजिरहेको छौँ भन्‍नु बिलकुलै बकवास हो! सबैले सत्यताबारे सङ्गति गर्दा र सिद्धान्तहरू खोज्दा अन्तिम नजिता के हुन्छ त? त्यस सङ्गतिको परिणाम परमेश्‍वरका वचनहरू, सत्यता र सिद्धान्तहरूअनुरूप हुन्छ; त्यो उहाँका अभिप्रायहरूबमोजिम हुन्छ। यदि, लामो सङ्गतिपछि भएको सहमतिको कार्यान्वयन गर्दा त्यसले परमेश्‍वरको घरको हितलाई हानि पुऱ्याउँछ र परमेश्‍वरका चुनिएका मानिसहरूलाई लाभ पुऱ्याउँदैन भने, त्यो सहमतिको परिणाम सत्यता सिद्धान्तहरूअनुरूप हुँदैन। यो पक्कै पनि परमेश्‍वरका वचनहरूको विरुद्ध जान्छ। यसमा कुनै शङ्कै छैन। त्यसोभए यस सहमतिको परिणामको सार के चाहिँ हो त? यो खोक्रो धर्मसिद्धान्त हो जुन मिठो सुनिन्छ, अधर्मी संसारको तरिकाहरूअनुरूप हुन्छ, सबैको स्वादअनुसारको हुन्छ, र यसले सबैको स्वार्थलाई लाभ पुऱ्याउँछ, तर त्यो परमेश्‍वरको घरको सत्यता सिद्धान्तहरूअनुरूप हुँदैन। कतिपय अगुवाहरू अलमलिएका हुन्छन्; तिनीहरू न सत्यता पछ्याउँछन् न त त्यसलाई बुझ्छन्। सबैले सङ्गति गरिसकेपछि, यी अगुवाहरू आफ्नै प्राथमिकतालाई सुहाउने परिणाम रोज्छन्, जुन वास्तवमा सत्यता सिद्धान्तहरूको विरुद्ध जान्छ। तिनीहरू आफूले गरिरहेको कार्य न्यायसङ्गत छ र तर्कसङ्गत छ र पूर्ण रूपमा सत्यताअनुरूप छ भन्‍ने विश्‍वास गर्छन्। वास्तवमा, तिनीहरू परमेश्‍वरको वचन नै सत्यता हो भन्‍ने बुझ्दैनन्। तिनीहरूले सत्यता सिद्धान्तहरू के हुन् भन्‍ने त झनै बुझ्दैनन्। तिनीहरू सबैको सङ्गतिबाट आफूलाई मन परेको परिणाम खोज्छन्, र यसो सोच्छन्, “हेर म कति प्रजातान्त्रिक छु। म तानाशाही छैनँ। म सबैसँग सबथोक छलफल गर्छु, अनि अन्त्यमा त्यो सबैको निर्णय हुन्छ। हामीले हात उठाएर यसका लागि भोट गऱ्यौँ। यो निर्णय लिन सक्ने समूहको समाधान हो; मैले आफैँ मात्र लिएको निर्णय होइन।” तिनीहरू आफूसँग एकदमै प्रसन्‍न हुन्छन्, तर तिनीहरूले परमेश्‍वरका मापदण्डहरूमाथि कुल्चिँदै, उहाँको घरको हित र उहाँका वचनहरूको सत्यतालाई अन्त्यमा विश्‍वासघात गरिरहेका हुन्छन्। सबैजना सन्तुष्ट हुन्छन् र सबैले लाभ पाएका हुन्छन्। तर के यसबाट परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ त? के उहाँले यसलाई अनुमोदन गर्नुहुनेछ त? परमेश्‍वरले आफ्नो हृदयमा के महसुस गर्नुहुनेछ त? यी अगुवाहरू ती कुराहरूको वास्ता गर्दैनन्; तिनीहरू केवल यही तवरमा मण्डलीको काम गरिरहन्छन्। तिनीहरू झुटा अगुवा वा ख्रीष्टविरोधी हुन् कि होइनन् भन्‍ने कुरा सबैले खुट्टयाउनुपर्छ। के सबैतिरका मण्डलीहरूमा यस्ता घटनाहरू धेरै हुन्छन् त? पक्कै पनि हुन्छन्।

मानिसहरूलाई आफ्नो पक्षमा ल्याउन र अगुवा भएर पुनःनिर्वाचित हुनका लागि, कतिपय मण्डली अगुवा आफूले गर्ने हरेक कुरामा प्रजातान्त्रिक सिद्धान्तहरू अभ्यास गर्छन्, र तानासाही नबन्नका लागि यसो गरेको दाबी गर्छन्। तिनीहरू यसलाई मानिसहरूलाई आफ्नो पक्षमा ल्याउने उपायका रूपमा प्रयोग गर्छन्। वास्तवमा, तिनीहरू आफ्नै हैसियतलाई मजबुत बनाउन सो गरिरहेका हुन्छन्। के यो ख्रीष्टविरोधीको व्यवहार होइन त? (हो।) केवल ख्रीष्टविरोधीले मात्र यसरी कार्य गर्छ। के तिमीहरू पनि यी कुराहरू गर्छौ त? (कहिलेकाहीँ।) अनि के तिमीहरू आफूलाई यसरी कार्य गर्न के-कस्ता आशयहरूले प्रेरित गर्छन् भनी चिन्तन गर्छौ? यदि व्यक्तिले भर्खरै अगुवाइको काममा तालिम लिन सुरु गरेको छ र ऊ सिद्धान्तहरू बुझ्दैन भने यो कुरा बुझ्न सकिन्छ। तर यदि ऊ केही वर्षदेखि अगुवा वा कामदार रहिआएको छ र अझै पनि यसो गर्ने जिद्दी गर्छ भने, यो सिद्धान्तविहीन कुरा हो। यो झूटो अगुवा हो र सत्यता पछ्याउने व्यक्ति होइन। यदि उसका आफ्नै आशय र लक्ष्यहरू छन् र ऊ यसरी नै काम गर्न अड्डी कस्छ भने, ऊ एक ख्रीष्टविरोधी हो। तिमीहरू यो समस्यालाई कसरी हेर्छौ? कुनै समस्याको सामना गर्नुपर्दा तिमीहरू कसरी अभ्यास गर्छौ? यदि तिमीहरूका आफ्नै आशय र लक्ष्यहरू छन् भने, तिनलाई समाधान गर्न तिमीहरूले के गर्नुपर्छ? (म आफूभित्र केही आशय बोक्छु भन्‍ने कुरा मैले याद गरेको छु। कहिलेकाहीँ, मलाई दाजुभाइ-दिदीबहिनीहरूले म आफ्ना कार्यहरूमा खुला र पारदर्शी नभएको, मैले स्वेच्छाचारी र एकलौटी रूपमा कार्य गर्ने गरेको, र आफूले गर्ने कुनै पनि कुरामा मैले कहिल्यै तिनीहरूको सल्लाह नलिएको भन्‍ने हुन् कि भन्ने डर लाग्छ। जब ममा यस्ता विचारहरू आउँछन्, तब म दाजुभाइ-दिदीबहिनीहरूसँग मामलाहरूबारे छलफल गर्नेछु र तिनलाई समाधान गर्नेछु। म स्वेच्छाले निर्णयहरू गर्नेछैनँ।) तैँले अरूसँग मामलाहरूबारे छलफल गरेर सबैलाई जानकारी गराइएको सुनिश्‍चित गरे हुन्छ। यो उचित हुन्छ। यो दाजुभाइ-दिदीबहिनीहरूले गरेको तेरो कामको सुपरिवेक्षणलाई स्वीकार गर्नु हो, जुन तेरो कर्तव्यका लागि लाभदायक हुन्छ। तर, तेरा छलफलहरूको दौरान, तँ सत्यता सिद्धान्तहरूअनुरूप पनि हुनैपर्छ। यदि तैँले सत्यता सिद्धान्तहरूलाई पछ्याइनस् भने, छलफल विषयभन्दा बाहिर जान सक्छ र समय खेर जान सक्छ, अनि तँ सही निष्कर्षमा पुग्‍नेछैनस्। त्यसकारण, कुनै छलफल सुरु गर्दा, अगुवा र कामदारहरूले परमेश्‍वरका वचनहरूका सान्दर्भिक खण्डहरू पढ्नमा अगुवाइ गर्नुपर्छ, र सबैलाई उहाँका वचनहरूअनुसार सङ्गति गर्न लगाउनुपर्छ। यस्तो सङ्गतिले एउटा मार्ग प्रदान गर्नेछ र राम्रा नतिजाहरू ल्याउनेछ। तैँले केवल अनियन्त्रणको विधि अपनाएर जसलाई जसरी मन लाग्छ त्यसरी नै सङ्गति गर्न दिन मिल्दैन। यदि कसैसँग पनि स्वतन्त्र दृष्टिकोण छैन, र तिनीहरू सत्यता खोज्न जान्दैनन् भने, यस प्रकारको सङ्गति जतिसुकै लामो समयसम्म चले पनि, त्यो अर्थहीन हुन्छ। त्यसले कहिल्यै सही परिणाम हासिल गर्नेछैन। त्यसैले, यदि मण्डलीमा असल अगुवा छैन, अनि मण्डलीलाई सत्यता नबुझ्ने व्यक्तिले अगुवाइ गरिरहेको छ भने; यदि त्यो समूह कुनै दृढ राय नभएका अलमल्ल परेका व्यक्तिहरूको समूह हो जसले मनपरी सङ्गति गर्छ र जसको सङ्गतिले बकवास मात्र उत्पादन गर्छ भने, यसको असर के हुन सक्ला त? यो कथित प्रजातन्त्रलाई के भनिन्छ त? यो सब सिद्धान्त नभएको अन्धाधुन्ध गरिने बहस हो जसले सही परिणाम ल्याउनेछैन। यस्तो किसिमको प्रजातान्त्रिक तरिकाले सकारात्मक प्रभाव पार्न सक्दैन। सबैको आकर्षक र चिप्लो बोलीको मुखौटाका बाबजुद, तिनीहरूमा वास्तवमा दृढ राय, साँचो प्रतिभा र वास्तविक सिकाइको कमी हुन्छ। तिनीहरूले मानिसहरूलाई सही मार्गतर्फ अगुवाइ गर्नै सक्दैनन्। तिनीहरू मानिसहरूलाई बहकाउने वचनहरू मात्र बोल्छन्, जसको कुनै सकारात्मक प्रभाव हुँदैन। जे होस्, परिस्थिति आइपर्दा सत्यता बुझ्ने कुनै व्यक्तिले अगुवाइ नगरी कसैले प्रजातान्त्रिक छलफल सञ्चालन गर्छ भने त्यसले काम गर्नेछैन। अझै पनि सबैभन्दा उत्तम तरिका भनेको अगुवा र सेवकहरू आफैले सत्यता खोज्नु, परमेश्‍वरका सान्दर्भिक वचनहरू रोज्नु, तिनलाई ध्यान दिएर पढ्नु र तिनको ध्यानपूर्वक मनन गर्नु हो। त्यसपछि, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई भेलामा सबैसँग सङ्गति र छलफल गर्न ल्याउन सक्छन्। यसरी मात्र नतिजा हासिल गर्न सकिन्छ। अनि झुटा अगुवा र ख्रीष्टविरोधीहरूको कुरा गर्दा, तिनीहरू परिस्थिति जस्तोसुकै भए पनि कहिल्यै प्रजातान्त्रिक परामर्श अभ्यास गर्दैनन्। तिनीहरू कहिल्यै पनि मानिसहरूलाई छलफल गर्न वा सङ्गति गर्न लगाउँदैनन्। तिनीहरू प्रजातान्त्रिक परामर्शले तिनीहरूको अभिप्राय र लक्ष्यहरूको खुलासा गर्नेछन् वा तिनको विरुद्ध निर्णय हुनेछ भन्‍ने डरले आफ्नै अभिप्राय र लक्ष्यहरूलाई नै पक्रिरहन्छन्। तसर्थ, तिनीहरू तानासाही व्यवहार गर्छन्, सधैँ निर्णय लिने व्यक्ति बन्‍न चाहन्छन्। यदि तिनीहरूले केही सानातिना मामलाहरूमा प्रजातान्त्रिक सङ्गतिको अभ्यास गरिहाले भने पनि, त्यो केवल सबैको समर्थन बटुल्न अनि सबैले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्‍ने प्रयासमा मात्र गरिएको हुन्छ; त्यो पूर्णतः तिनीहरूको आफ्नो हैसियत मजबुत बनाउनका लागि गरिएको हुन्छ। यदि तिमीहरूले ती अभिप्राय भएका केही मानिसहरू भेट्टायौ भने, तिनीहरूसँग सतर्क रहनैपर्छ र तिनीहरूलाई नियाल्नैपर्छ, र आवश्यक हुँदा तिनीहरूको खुलासा गर्नैपर्छ र तिनीहरूलाई रोक्नैपर्छ। सही अगुवा वा सेवक त्यो हो जसले पहिले आफैले सत्यता खोज्छ, अनि त्यसपछि सबैलाई परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्न र सत्यता खोज्न अगुवाइ गर्छ। सङ्गतिको दौरान, सबै जनाको हृदय पूर्ण रूपमा स्पष्ट नहुन सक्ला, र थोरै अस्पष्ट होला, तर तिनीहरूले निरन्तर सङ्गति गर्दै जाँदा, पवित्र आत्माको अन्तर्दृष्टि पाउनेछन्। सायद तीमध्ये एक जनाले एउटा ज्योति वा मार्गबारे बताउन सक्छ, अनि सबैले त्यो प्रकाशको ज्योतिमा निरन्तर सङ्गति गरिरहँदा, तिनीहरूको हृदयमा स्पष्टता पैदा हुनेछ, र तिनीहरूले अभ्यासको उचित मार्ग निर्धारण गर्न सक्नेछन्। सबैले सँगै सङ्गति गर्न जारी राख्दा, तिनीहरूले अझै बढ्दो स्पष्टताका साथ बोल्नेछन्। पवित्र आत्माको कामद्वारा एक जना व्यक्तिले मात्र अन्तर्दृष्टि र ज्योति पायो भने, त्यो सबैजनाले अन्तर्दृष्टि र ज्योति पाएसरी हुनेछ। सबै अगुवा र सेवकहरूले यसरी सत्यता खोज्न सिक्नुपर्छ। यो तरिकाले अभ्यास गर्दा पवित्र आत्माले काम गर्ने मौका खुल्छ। यदि तँ सधैँ सबै जनाको रायसँग सहमत हुन्छस् अनि पवित्र आत्मा कसरी काम गर्नुहुन्छ भन्‍ने जान्‍न खोज्दैनस् भने, त्यो भुल हुनेछ। सधैँ सबै जनाको राय पछ्याउनु अनि सबैले राम्रो ठान्‍ने कुरामा सम्झौता गर्नु—यो कस्तो खालको तरिका हो त? यो समर्थन बटुल्ने, बोझ नउठाउने, अनि परमेश्‍वरको घरको कामको ख्याल नगर्ने तरिका हो। सतहमा तैँले आफ्नो कार्य गरेको, मानिसहरूलाई सङ्गति गर्न र आफ्नो राय व्यक्त गर्न दिएको, प्रजातन्त्रको अभ्यास गरेको, र तानासाह नभएको वा एकतर्फी कार्य नगरेको भए पनि, तेरो उद्देश्य भनेको समर्थन बटुल्नु, मानिसहरूले तँलाई उच्च ठान्‍ने तुल्याउनु, तेरो अनुमोदन गर्ने बनाउनु, तँ तानासाही छैनस्, तँ समझदार छस् र काम गर्न सक्षम छस् भन्‍ने तुल्याउनु हो। यो भएपछि तँ सन्तुष्ट हुन्छस्। के यो गर्नु सही हो त? के तेरो उद्देश्य सही छैन भने परिणाम सही हुन सक्छ त? अहँ, पक्कै पनि हुन सक्दैन। तैँले सबै जनाको समर्थन पाएको हुन्छस्, अनि तिनीहरूलाई खुसी बनाएको हुन्छस्। तिनीहरू सबैले तँ असल अगुवा होस्, झुटो अगुवा वा ख्रीष्टविरोधी होइनस्, र तैँले काम गर्न सक्छस् भन्छन्; तिनीहरू सबैले तेरो समर्थन गर्छन्—तर अन्त्यमा लाभ पाउने कसले हो त? तैँले हो। के यो राम्रो परिणाम हो त? होइन। सर्वप्रथम, तैँले परमेश्‍वरको गवाही दिइनस्, अनि दोस्रो, तैँले परमेश्‍वरको घरको कामलाई कायम राखिनस्। अन्तिम परिणाम भनेको तैँले आफ्नो र अरू सबै जनाको स्वार्थको सुरक्षा गरिस्, अनि तैँले आफ्नै हैसियतको सुरक्षा गरिस्, तर कसैले पनि परमेश्‍वरको घर र मण्डलीको हितको सुरक्षा गरेन। तिमीहरू सबैमाझ एकदम समन्वय हुन्छ, तर परमेश्‍वरको घरको महत्त्वपूर्ण कामलाई छेउ लगाइएको हुन्छ। कसैले पनि परमेश्‍वरको घरको काम कसरी सिद्धान्त र परमेश्‍वरका मागहरूअनुरूप हुनुपर्छ भन्‍ने कुरालाई ध्यान दिँदैनन् वा वास्ता गर्दैनन्। के यो परमेश्‍वरको घरको हितहरूप्रतिको विश्‍वासघात होइन त? तैँले सबैको समर्थन बटुल्न सत्यता, परमेश्‍वरका मागहरू, र परमेश्‍वरको घरको काम र हितलाई विश्‍वासघात गरेको छस्। अन्त्यमा, तैँले र अरू सबैजनाले लाभ पाए। तिनीहरू घृणित, नीच मानिसहरू हुन् र त्यो धोकेबाजहरूको गुट हो। ख्रीष्टविरोधीहरूले लिने मार्ग यही हो। सबैलाई रिझाउन र आफ्नो हैसियत कायम राख्न तैँले परमेश्‍वरको घरको हितलाई विश्‍वासघात गर्दा, अन्त्यमा तैँले सबै जनाको साथ र समर्थन पाउँछस् र सबैले सधैँ तँलाई नै तिनीहरूको अगुवाका रूपमा रोज्नेछन्। तैँले आफ्नो हैसियत त मजबुत बनाइस्, तर के मण्डलीमा परमेश्‍वरका अभिप्रायहरू र सत्यता अघि बढेको छ त? (छैन।) ती तँद्वारा अवरोधित भएका छन्। तैँले नियन्त्रण गर्ने मण्डलीमा परमेश्‍वरको इच्छा अघि बढेको छैन। दाजुभाइ-दिदीबहिनीहरूमाझ परमेश्‍वरका वचनहरू अघि बढेका छैनन् र ती परमेश्‍वरका चुनिएका मानिसहरूको हृदयमा प्रवेश गरेर तिनीहरूको जीवन बनेको छैन। यसको मुख्य दोषी को हो त? तँ होस्। तँ मण्डलीमा परमेश्‍वरको इच्छा अघि नबढाउने तगारो र अवरोध भएको छस्—परमेश्‍वर कसरी तँसँग क्रोधित नहुन सक्नुहुन्छ र? के तँलाई प्रतिस्थापन गरिनुपर्दैन त? यदि तँलाई प्रतिस्थापन गर्नुपर्ने समय आइसक्यो तर अझै पनि कसैले मान्दैन भने तँ के भइसकेको हुनेछस् त? तँ ख्रीष्टविरोधी भइसकेको हुनेछस्। तँलाई आराधना गर्ने र पछ्याउने सबैलाई तैँले गलत मार्गतर्फ अगुवाइ गरेको हुन्छस्, तिनीहरू सबैले मुक्ति पाउने मौका गुमाएका हुन्छन्, र तिनीहरू तेरा बलिका बोका भएका हुन्छन्। तेरो नियन्त्रणमा भएको मण्डली ख्रीष्टविरोधीको राज्य बनेको हुन्छ। नतिजाहरू यिनै हुन्। तँलाई प्रतिस्थापन गर्न किन कोही पनि मान्दैन त? किनकि तैँले तिनीहरू सबैलाई किनिसकेको छस्, र अब तिनीहरू तँलाई परमेश्‍वर ठान्छन्। तैँले तिनीहरूको हृदयमा भएको परमेश्‍वरको स्थान ओगटेको, र पूर्णतः तिनीहरूको हृदय कब्जा गरेको हुन्छस्। उप्रान्त तिनीहरूको हृदयमा परमेश्‍वर वा सत्यता हुँदैन; तिनीहरू तँद्वारा बन्दी बनाइएका र नियन्त्रित भइरहेका हुन्छन्। यो शैतानले मानिसहरूलाई नियन्त्रण गर्ने र भ्रष्ट तुल्याउनेभन्दा पटक्कै फरक हुँदैन। परमेश्‍वरले यी मानिसहरूलाई तेरो हातमा राखिदिनुभएको छ, तैपनि तैँले तिनीहरूलाई लुट्छस् र कब्जा गर्छस्। के यो ख्रीष्टविरोधी होइन त? यो वास्तवमै ख्रीष्टविरोधी हो। ख्रीष्टविरोधीले मण्डलीमा के भूमिका निभाउँछ त? यो एकदमै प्रस्ट र देख्न सजिलो हुन्छ। ख्रीष्टविरोधी शैतानको मुनिम हो जो शैतानले चाहने सबथोक गर्छ र शैतानको मानिसहरूलाई भ्रमित पार्ने र नियन्त्रण गर्ने लक्ष्य हासिल गर्छ। यो गरेर, तिनीहरू शैतानको सहयोगी बन्छन् र तिनीहरूलाई परमेश्‍वरले श्राप र दण्ड दिनुपर्छ।

अहिले, अगुवा र कामदारका रूपमा सेवा गर्ने सबैजना ख्रीष्टविरोधीहरूको मार्ग लिइएला भनी डराउँछन्। त्यसोभए, यो नतिजाबाट जोगिन तैँले के गर्न सक्छस् त? सर्वप्रथम, तैँले आफूले निर्वाह गर्ने कर्तव्यहरू र तैँले गर्ने काम परमेश्‍वरका आज्ञा हुन्, र तैँले आफ्नो काम परमेश्‍वरका मागहरूअनुसार गर्नैपर्छ भन्ने कुरा बुझ्नैपर्छ। यसो गरेर, तेरो मनमा एउटा उद्देश्य र दिशा हुनेछ, र तैँले परमेश्‍वरका वचनहरूभित्रै सत्यता खोज्न र एउटा मार्गको खोजी गर्न सक्नेछस्। त्यसपछि तैँले सबैलाई परमेश्‍वरका वचनहरूका सान्दर्भिक खण्डहरूबारे सङ्गति गर्न अगुवाइ गर्नुपर्छ, अनि तिनीहरूलाई उहाँका वचनहरूअनुसार सत्यताबारे सङ्गति गर्न, परमेश्‍वरका वचनहरूभित्र अझ बढी ज्योति प्राप्त गर्न, परमेश्‍वरका अभिप्रायहरू र सत्यता बुझ्न, र त्यसपछि सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्षम तुल्याउनुपर्छ। यो भनेको सही मार्गमा पाइला राख्नु हो। सारमा, मण्डलीको काम भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरले व्यक्त गर्ने सबै सत्यता बुझ्न र तिनमा प्रवेश गर्न अगुवाइ गर्नु हो। मण्डलीको सबैभन्दा आधारभूत काम यही नै हो। त्यसैले, कुनै भेलाको दौरान जुनसुकै समस्या समाधान भइरहेको भए पनि, त्यसलाई परमेश्‍वरका वचनहरूका सान्दर्भिक खण्डहरू पढ्ने कुराबाट वा सत्यताबारे सङ्गति गर्ने कुराबाट अलग गर्न मिल्दैन। अन्ततः यदि सत्यता र अभ्यासका सिद्धान्तहरूबारे प्रस्टताका साथ सङ्गति गर्न सकिएमा, र सबैले सत्यता बुझेमा, त्यसको फलस्वरूप तिनीहरूले त्यसलाई अभ्यास गर्न जान्‍नेछन्। तैँले भेलाको दौरान सत्यताको जुनसुकै पक्ष खाने-पिउने गरिरहेको भए पनि, तैँले यो तरिकाले सङ्गति गर्नैपर्छ र तैँले सामना गरेको समस्याहरूको आधारमा सत्यता खोज्नैपर्छ। सत्यता बुझेकाहरूले सङ्गतिमा अगुवाइ गर्नैपर्छ, र त्यसपछि अन्तर्दृष्टि पाएकाहरूले सङ्गतिलाई निरन्तरता दिन सक्छन्। यसरी, तिनीहरूले जति धेरै सङ्गति गर्छन्, त्यति नै धेरै पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुनेछ, अनि तिनीहरूले सत्यताबारे जति धेरै सङ्गति गर्छन्, त्यति नै धेरै हृदयको उज्यालोपन हासिल गर्नेछन्। सबैले सत्यता बुझिसकेपछि, तिनीहरूले पूर्ण आजादी र स्वतन्त्रता पाउनेछन् र तिनीहरूसँग पछ्याउने मार्ग हुनेछ। भेलाबाट हासिल हुन सक्ने सर्वोत्तम नतिजा यही हो। जब सबैले सत्यता वास्तविकता स्पष्ट नहुञ्जेल यस प्रकारको सङ्गतिमार्फत त्यसबारे कुरा गर्छन्, तब के तिनीहरूले सत्यता बुझ्नेछैनन् र? (बुझ्नेछन्।) मानिसहरूले सत्यता बुझेपछि, तिनीहरूले स्वाभाविक रूपमा कामकुराको अनुभव गर्न र सत्यता अभ्यास गर्न जान्नेछन्। जब तिनीहरू सटीक रूपमा सत्यता अभ्यास गर्न सक्छन्, तब के तिनीहरूले सत्यता प्राप्त गरेका हुनेछैनन् र? (हुनेछन्।) जब कुनै व्यक्तिले सत्यता प्राप्त गरेको हुन्छ, तब के उसले परमेश्‍वर प्राप्त गरेको हुनेछैन र? यदि कसैले परमेश्‍वर पाएको छ भने, के उसले परमेश्‍वरद्वारा दिइने मुक्ति पाएको हुनेछैन त? (पाएको हुनेछ।) यदि तैँले अगुवा वा कामदारका रूपमा गर्ने काममा यो नतिजा हासिल गर्न सकिस् भने, तैँले आफ्नो काम उचित रूपले गरेको हुनेछस्, तैँले मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गरेको हुनेछस्, र तैँले परमेश्‍वरको अनुमोदन पाउनेछस्। जब परमेश्‍वरका सबै चुनिएका मानिसहरूले सत्यता बुझ्छन्, के तिनीहरू अझै पनि तँलाई आराधना गर्ने, मान गर्ने र पछ्याउनेछन् त? (छैनन्।) मानिसहरू केवल तेरो सह्रनी गर्नेछन्, तँलाई सम्मान गर्नेछन्, तँसँग सम्पर्कमा आउन र अन्तरक्रिया गर्न इच्छुक हुनेछन्, र तेरो सङ्गति सुन्‍न इच्छुक हुनेछन् ताकि तिनीहरूले त्यसबाट लाभ लिन सकून्। सत्यता बुझ्नेहरू साँच्चै ज्योति र नुन हुन सक्छन्। सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नु, र मानकअनुरूपको सृजित प्राणी हुनु भनेको यही नै हो। जब मानिसहरूले सत्यतालाई बुझेका र परमेश्‍वरसँग निकट सम्बन्ध बनाएका हुन्छन्, तब तिनीहरू परमेश्‍वरसँग अनुकूलता हासिल गर्न सक्छन्, उप्रान्त उहाँको विरुद्ध विद्रोह गर्दैनन्, उहाँबारे गलतफहमी राख्दैनन्, उहाँको प्रतिरोध गर्दैनन्, अनि जे-जस्ता समस्याहरू सामना गर्नुपरे पनि तिनीहरू परमेश्‍वरलाई उच्च पार्न र उहाँको साक्षी दिन सक्नेछन्। अगुवा वा कामदार भएर, यदि तँ यस्ता सिद्धान्तहरूअनुसार अभ्यास गर्छस् भने, थाहै नपाई, तैँले मानिसहरूलाई परमेश्‍वरसामु ल्याएको हुनेछस्। तैँले अगुवाइ गर्ने मानिसहरूले पनि सत्यता अभ्यास गर्न, वास्तविकतामा प्रवेश गर्न, अनि परमेश्‍वरलाई उच्च पार्न र उहाँको साक्षी दिन सक्नेछन्। यसरी, तैँले अगुवाइ गर्ने मानिसहरू पनि परमेश्‍वरद्वारा अनुमोदित र प्राप्त गरिनेछन्। त्यसैले, जब अगुवा सत्यता पछ्याउने मार्गमा हिँड्छ, त्यो पूर्णतः परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ। मानिसहरू जे गर्छन् त्यो सत्यता सिद्धान्तहरूअनुरूप भएसम्म, तिनीहरूको कार्यबाट झन्-झन् राम्रा नतिजाहरू आउनेछन्, जसको अलिकति पनि नकारात्मक असर हुनेछैन, अनि तिनीहरूसँग हरेक मामलामा परमेश्‍वरको आशिष् र सुरक्षा हुनेछ। तिनीहरूले कहिलेकाहीँ केही विचलन निम्त्याए पनि, परमेश्‍वरले तिनीहरूलाई अन्तर्दृष्टि दिनुहुनेछ र अगुवाइ गर्नुहुनेछ, र तिनीहरूका विचलनहरू परमेश्‍वरका वचनहरूमार्फत सच्याइनेछन्। जब मानिसहरूले सही मार्ग लिन्छन्, तिनीहरूसँग परमेश्‍वरको आशिष् र सुरक्षा हुनेछ।

परमेश्‍वरको घरले प्रजातान्त्रिक चुनाव र परामर्श अभ्यास गर्नुपछाडिको उद्देश्य के हो त? प्रजातन्त्रको अभ्यास किन गर्नैपर्छ त? (मानिसहरूले मनमानी नगरून् भनेर।) पक्कै पनि, यो यही समस्याबाट जोगिनका लागि हो। तर, प्रजातान्त्रिक परामर्श अभ्यास गर्नुको अन्तिम लक्ष्य भनेको समस्याहरू समाधान गर्न सत्यताको प्रयोग गर्नु, भुलहरूबाट जोगिनु, र परमेश्‍वरका अभिप्रायहरूअनुरूप कार्य गर्नु हो। यो सत्यता बुझ्न र सही पथमा प्रवेश गर्नका लागि हो। यो परमेश्‍वरको इच्छा पछ्याउने मार्ग भेट्टाउन, उहाँको काममा समर्पित हुन, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकताभित्र अगुवाइ गर्न हो ताकि उहाँको इच्छा अघि बढोस्। यो झुटा अगुवा र ख्रीष्टविरोधीहरूले फैलाएको भ्रम र बाधाहरूबाट बचाउन, मण्डलीमा अस्तव्यस्तता पैदा हुनबाट रोक्न, र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवनलाई हानिबाट रक्षा गर्नका लागि पनि हो। प्रजातान्त्रिक परामर्शको अभ्यासले यी नतिजा ल्याउन सक्छ। यदि मण्डलीमा सत्यताबारे सङ्गति वा प्रजातान्त्रिक परामर्शहरू हुँदैनन् भने, अस्तव्यस्तता फैलन र दियाबलस र शैतानले कमजोरीको फाइदा उठाएर शक्ति झुटा अगुवा र ख्रीष्टविरोधीको हातमा पुग्न अति सजिलो हुन्छ। सबै मानिसमा भ्रष्ट स्वभाव हुने भएकाले, अगुवा र सेवकहरूले तानासाही व्यवहार गर्ने, आफूलाई मात्र विचार राख्न दिने, र सबै निर्णय आफैले गर्ने सम्भावना सबैभन्दा धेरै हुन्छ। परमेश्‍वरको घरले प्रजातान्त्रिक चुनाव विशुद्ध रूपमा अगुवा र सेवकहरूलाई मनमानी गर्नबाट रोक्नका लागि, र साथै झुटा अगुवा र ख्रीष्टविरोधीहरूलाई मण्डलीमा शक्ति सञ्चालन गर्नबाट, तिनीहरू निर्णय लिने एकमात्र व्यक्ति हुनबाट, र मण्डलीलाई तिनीहरूको परिवारको नियन्त्रणमा आउनबाट रोक्नका लागि पनि हो। यो पूर्णतः सबै तानासाही र ख्रीष्टविरोधी तरिकाहरू रोक्नका लागि हो। तर, यसको अर्थ परमेश्‍वरको घरले प्रजातन्त्रको अभ्यास गरेर दाजुभाइ-दिदीबहिनीहरूलाई अन्तिम निर्णय लिन दिइरहेको छ भन्‍ने होइन, र सबथोकको निर्णय दाजुभाइ-दिदीबहिनीहरूसँग परामर्श गरेर नै गरिनुपर्छ भन्‍ने पनि पक्कै होइन। परमेश्‍वरको घरमा प्रजातन्त्रका साथै केन्द्रीकरण पनि हुन्छ। यसरी अभ्यास गर्नु एकदमै आवश्यक हुन्छ। के प्रजातन्त्र मात्र अभ्यास गरेर निकालिएका निष्कर्ष सत्यताअनुरूप हुने निश्चित हुन्छ त? हुन्छ नै भन्‍ने छैन। त्यसैले त्यहाँ केन्द्रीकरण हुनैपर्छ। केन्द्रीकरण भनेको के हो त? यो भनेको पूर्णतः सत्यता र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुने सही निष्कर्ष निकाल्न सबै जनाको राय जम्मा गर्नु हो। जब प्रजातान्त्रिक परामर्शहरूले राम्रो नतिजा हासिल गर्न सक्दैनन्, त्यतिबेला त्यो नतिजा हासिल गर्न चाहिने कुरा भनेको केन्द्रीकरण हो। केन्द्रीकरणको अभ्यास गर्ने तरिका भनेको जब निर्णय लिने समूहले कुनै समस्याबारे सङ्गति गरेर सहमतिमा आउन र सही निर्णय लिन सक्दैन, तब तिनीहरूले यो कुरालाई माथि रिपोर्ट गर्नुपर्छ ताकि तिनीहरूले निर्णय लिऊन्। माथिकाले सत्यता बुझ्ने र तिनीहरूसँग सिद्धान्त हुने भएकाले, तिनीहरूले प्रदान गर्ने समाधानहरू सही र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छन्। यदि मण्डली अगुवा वा निर्णय लिने समूहले स्पष्ट रूपमा सत्यताबारे सङ्गति गर्न वा सिद्धान्त र मार्ग पत्ता लगाउन सकेनन्, यदि तिनीहरूलाई कसरी निर्णय लिने भनी आएन, अनि यस्तो परिस्थितिमा, तिनीहरूले माथिलाई रिपोर्ट गरेनन् वा समाधान बनाउन आग्रह गरेनन्, र त्यसको सट्टा आफ्नै स्वेच्छाअनुसार हैकम जमाए भने, त्यो मण्डली र निर्णय लिने समूह झुटा अगुवा र ख्रीष्टविरोधीहरूद्वारा नियन्त्रित हुन्छन्। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले सत्यताबारे सङ्गति गरेर नतिजा हासिल गरे, अनि तिनीहरूले निकालेका निष्कर्ष सही छन् भने, माथिकाले त्यसको अनुमोदन गर्नेछन्। यदि तिनीहरूको निष्कर्षमा अझै पनि भुलहरू छन् भने, र ती पूर्णतः सत्यता सिद्धान्तहरूअनुरूप छैनन् भने, माथिकाले त्यसलाई सच्याउनेछन्। यसरी प्रजातान्त्रिक परामर्शमा कहिलेकाहीँ उत्पन्‍न हुने त्रुटिहरूबाट प्रभावकारी रूपमा जोगिन सकिन्छ। यो केन्द्रीकरणद्वारा, प्रजातान्त्रिक परामर्शहरू सामान्य रूपमा सञ्चालन हुन्छन्, तिनलाई बाधा हुँदैन, र साथ-साथै, अगुवा र सेवकहरूको कर्तव्य निर्वाहमा कुनै भुल पनि हुँदैन भनी निश्चित गर्न सम्भव हुन्छ। परमेश्‍वरको घरले प्रजातन्त्र अभ्यास गरे पनि, यसका लागि सिद्धान्तहरू हुन्छन्। ती सिद्धान्तहरू के हुन् भने सो अभ्यास परमेश्‍वरका वचनहरूको सत्यताअनुरूप गरिनुपर्छ, र व्यक्ति सबै मामलाहरूमा परमेश्‍वर र उहाँले भन्‍नु हुने सब कुरामा समर्पित हुनैपर्छ। प्रजातन्त्रसम्बन्धी परमेश्‍वरको घरका सिद्धान्तहरूअनुरूप हुन यो नतिजा हासिल हुनैपर्छ। मण्डलीको प्रजातन्त्रको अभ्यासको अन्तिम नतिजा सत्यताअनुरूप हुनैपर्छ। यदि त्यसो हुँदैन भने, त्यसलाई उल्टाइनैपर्छ। केही मानिसहरू प्रजातन्त्रको अभ्यास गर्नु भनेको सब मामलामा परमेश्‍वरका चुनिएका मानिसहरूले अन्तिम निर्णय लिन्छन्, र दाजुभाइ-दिदीबहिनीहरूले जेसुकै भने पनि त्यसलाई सम्मान गरेर त्यसबारे विचार गरिनैपर्छ भन्‍ने सोच्छन्। के यो सही हो त? के दाजुभाइ-दिदीबहिनीहरूसँग सत्यता हुन्छ त? (हुँदैन।) यदि तिनीहरूलाई सबै मामलाहरूमा अन्तिम निर्णय लिन दिने हो भने, त्यो झुटा अगुवा र ख्रीष्टविरोधीहरूलाई अन्तिम निर्णय लिन दिनुभन्दा कसरी फरक हुन्छ र? यो दुवै अवस्थामा, तिनीहरूसँग सत्यता हुँदैन र तिनीहरू भ्रष्ट मानिसहरू हुन्। यदि तिनीहरूले अन्तिम निर्णय लिन पाए भने, के त्यो भनेको शैतानले शक्ति हातमा लिएको हुँदैन र? तसर्थ, प्रजातन्त्र अभ्यास गर्नु भनेको दाजुभाइ-दिदीबहिनीहरूले भनेको हरेक कुरा सत्यता हो, सही हो, र त्यसको सम्मान गरिनुपर्छ भन्‍ने होइन। यो हुँदै होइन। प्रजातन्त्र भनेको मुख्यतः हरेक व्यक्तिलाई बोल्ने, कुराकानी गर्ने, सङ्गति गर्ने, र तिनीहरूलाई आफ्ना जिम्मेवारी, दायित्व र कर्तव्यहरू पूरा गर्ने मौका दिनका लागि अभ्यास गरिन्छ। तर, निर्णय लिने अधिकार भनेको निर्णय लिने समूहको हातमा हुन्छ। निर्णय सत्यता बुझ्नेहरूद्वारा लिइन्छ, र सबै महत्त्वपूर्ण मामलाहरू माथिकाले निर्णय गर्छन्। यसरी, मण्डलीले गर्ने निर्णयहरू समग्रमा सही हुन्छन्, वा धेरैजसो निर्णयहरू सही हुन्छन्, र भुलहरू कम-कम हुँदै जानेछन् भन्‍ने निश्चित गर्न सकिन्छ। प्रजातान्त्रिक चुनाव र परामर्शहरू अपनाउनु पछाडिको अर्थ यही हो। यी कुराहरू पूर्णतः सबै मामलाहरूमा सत्यताअनुरूप हुने प्रभाव हासिल गर्न, परमेश्‍वरको इच्छा पछ्याउने, कम भन्दा कम गल्तीहरू गरिने वा गल्ती नै नगरिने, र पृथ्वीमा परमेश्‍वरको इच्छा रोकावटविना पूरा गरिने अवस्थासम्म पुग्नका लागि अभ्यास गरिन्छन्। यदि प्रजातान्त्रिक चुनाव र परामर्श अभ्यास गरिएन भने, कमजोरीको फाइदा उठाउने प्रशस्त दुष्ट मानिसहरू, तानासाही रूपमा व्यवहार गर्ने झुटा अगुवा र ख्रीष्टविरोधीहरू हुनेछन् भन्‍ने कुरा निश्चित हुन्छ। यसले सुसमाचारको विस्तारमा मात्र नभई, परमेश्‍वरका चुनिएका मानिसहरूको मण्डली जीवन र जीवन प्रवेशमा पनि असर पार्छ। परमेश्‍वरको घरले प्रजातान्त्रिक चुनावको अभ्यास गर्न थालेदेखि, केही सङ्ख्यामा झुटा अगुवा र सेवकहरूको खुलासा भएको र तिनीहरूलाई हटाइएको छ, र दुष्ट मानिसहरूले फाइदा उठाउने मौकै पाएका छैनन्। कैयौँ त्यस्ताहरू पनि छन् जो सत्यता पछ्याउँछन्, र जसलाई परमेश्‍वरका चुनिएका मानिसहरूले अनुमोदन गरेका छन्, जो अगुवा र सेवकका रूपमा चुनिएका छन्। तिनीहरूलाई तालिम गर्ने र सिद्ध पारिने मौका दिइएको छ। यी प्रजातान्त्रिक चुनावको अभ्यास गर्नुको प्रस्ट नतिजाहरू हुन् र तिनलाई सबैले देख्न सक्छन्। परमेश्‍वरका चुनिएका सबै मानिसहरूले के बुझ्नुपर्छ भने मण्डलीले प्रजातन्त्र अभ्यास गर्नु परमेश्‍वरको घर, मण्डली, र व्यक्तिहरूका लागि लाभदायी र अनुकूल हुन्छ। मण्डलीको हरेक व्यक्ति परमेश्‍वरको घरको सदस्य भएकाले, र तिनीहरूमध्ये कोही पनि पराइ नभएकाले, हरेक व्यक्तिसँग मण्डलीका काम र त्यस्तै अरू कुरासँग सम्बन्धित हुने मामलाहरूबारे बोल्ने, कुराकानी गर्ने, भोट गर्ने र चुनाव गर्ने अधिकार हुन्छ। यो सबैको अधिकार हो। तर, तँसँग यो अधिकार हुनु भनेको तँसँग सत्यता छ, वा तैँले लापरवाह भएर कार्यहरू गर्न पाउँछस् भन्‍ने होइन। यदि तैँले यो अधिकारको दुरुपयोग गरिस् भने, के परमेश्‍वरको घरले तँलाई रोक्नुपर्दैन त? (पर्छ।) तँलाई यो अधिकार तैँले सत्यता अभ्यास गर्नेछस् र सत्यता सिद्धान्तहरूअनुरूप मामलाहरू सम्हाल्नेछस् भनेर दिइएको हो। यो तैँले मण्डली र परमेश्‍वरको घरका हितहरू कायम राख्नेछस् भनेर दिइएको हो। यो तँलाई अन्तिम निर्णय लिन र जथाभावी कार्यहरू गर्नका लागि दिइएको होइन। मण्डलीले तैँले भनेका सही कुराहरूलाई साँच्न र अपनाउन सक्छ। यदि तैँले गलत कुरा भनिस्, र तेरो विरुद्ध निर्णय भयो भने, तैँले हठ गर्नै हुँदैन। तैँले स्वीकरण र समर्पण अभ्यास गर्नुपर्छ। यस्तो प्रकारको अभ्यास परमेश्‍वरको घरको कामका लागि लाभदायी हुन्छ।

अंश ७५

मण्डलीका अगुवा र कामदारहरूले आफ्नो काममा दुई वटा सिद्धान्तलाई ध्यान दिनैपर्छ: एउटा भनेको ठ्याक्कै कार्य बन्दोबस्तहरूद्वारा तोकिएका सिद्धान्तहरूअनुसार आफ्नो काम गर्नु, ती सिद्धान्तहरूलाई उल्लङ्घन नगर्नु, र कल्पना नगर्नु वा आफ्नै विचारहरूअनुसार काम नगर्नु हो। तिनीहरूले गर्ने हरेक कुरामा, तिनीहरूले मण्डलीको कामलाई ख्याल गर्नुपर्छ, र सधैँ परमेश्‍वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नुपर्छ। अर्को कुरा—र सबैभन्दा महत्त्वपूर्ण कुरा—भनेको तिनीहरूले सबै कुरामा पवित्र आत्माको मार्गदर्शनलाई पछ्याउनतर्फ ध्यान दिनुपर्छ र परमेश्‍वरका वचनहरूलाई कडाइका साथ पालन गर्दै कार्य गर्नुपर्छ। यदि तिनीहरू पवित्र आत्माको मार्गदर्शनको विरुद्धमा समेत जान सक्छन्, र आफ्नै विचार र कल्पनाहरूअनुसार जिद्दी गर्दै कामकुराहरू गर्न समेत सक्छन् भने, तिनीहरूका कार्यहरू परमेश्‍वरको विरुद्धमा सबैभन्दा गम्भीर प्रतिरोध हुनेछन्। पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शनलाई बारम्बार पिठिउँ फर्काउँदा त्यसले निकासहीन मार्गतर्फ डोर्‍याउनेछ। यदि तिनीहरूले पवित्र आत्माको काम गुमाए भने, तिनीहरूले काम गर्न सक्नेछैनन्; र यदि तिनीहरूले मुस्किलले अलिकति काम गर्न सके पनि, यसले कुनै नतिजा दिनेछैन। काम गर्ने क्रममा अगुवा र कामदारहरूले पालन गर्नुपर्ने दुई मुख्य सिद्धान्तहरू यिनै हुन्: एउटा भनेको माथिका कार्य बन्दोबस्तहरूसँग ठ्याक्‍कै मिल्ने गरी आफ्नो काम गर्नु, साथै माथिबाट तोकिएका सिद्धान्तहरूअनुसार व्यवहार गर्नु; र अर्कोचाहिँ आफूभित्र पवित्र आत्माको मार्गनिर्देशनलाई पछ्याउनु। यी दुई वटा सिद्धान्तलाई अपनाएपछि तिनीहरूले आफ्नो काममा गल्तीहरू गर्ने सम्‍भावना निकै कम हुनेछ। तिमीहरूको मण्डलीको काम गरेको अनुभव अझै सीमित छ, र तिमीहरूले काम गर्दा त्यो तिमीहरूका आफ्नै विचारहरूद्वारा निकै दूषित हुन्छ। कहिलेकाहीँ, तिमीहरू पवित्र आत्माबाट आउने आफूभित्रको अन्तर्दृष्टि वा अगुवाइलाई बुझ्न सक्दैनौ; अरू बेला, तिमीहरू त्यो बुझेको जस्तो देखिन्छौ, तर तिमीहरूले त्यसलाई बेवास्ता गर्ने सम्भावना हुन्छ। तिमीहरूभित्र सधैँ आफ्नै कल्पना र अनुमानहरू हुन्छन्, र तिमीहरू पवित्र आत्माका चाहनाहरूलाई पटक्कै ध्यान नदिई आफूलाई जसरी उचित लाग्छ त्यसरी नै कार्य गर्छौ। तिमीहरू पूर्ण रूपमा आफ्नै विचारहरूलाई पछ्याउँछौ र पवित्र आत्माबाट आउने कुनै पनि अन्तर्दृष्टिलाई पन्छाउँछौ। यस्ता अवस्थाहरू बारम्बार आउँछन्। पवित्र आत्माबाट आउने भित्री मार्गदर्शन अलौकिक हुँदैन; वास्तवमा, यो अत्यन्तै सामान्य हुन्छ। अर्थात्, हृदयको गहिराइमा, तिमीहरू यो कार्य गर्ने यो उचित तरिका हो, र यो सबैभन्दा उत्तम तरिका हो भन्‍ने ठान्छौ। यो विचार वास्तवमा निकै स्पष्ट हुन्छ; यो तिमीहरू आफैले सोचेका हुँदैनौ, र कहिलेकाहीँ तिमीहरूले किन यसरी कार्य गर्नुपर्छ भन्‍ने कुरा तिमीहरू पूर्ण रूपमा बुझ्दैनौ। यो प्रायजसो पवित्र आत्माको अन्तर्दृष्टिबाहेक अरू केही हुँदैन। यो अनुभव भएका मानिसहरूलाई सबैभन्दा बढी हुने गर्छ। पवित्र आत्माले मानिसहरूलाई जसरी अन्तर्दृष्टि वा मार्गदर्शन दिनुभए पनि, सामान्य मानिसहरू यसलाई आफ्नो हृदयमा केही हदसम्म महसुस गर्न सक्छन्—पूर्ण रूपमा नभए पनि, तिनीहरू कम्तीमा यसको एउटा अंश चाहिँ महसुस गर्न सक्छन्। यो मानव सोचाइको नतिजा होइन, बरु तिनीहरूको हृदयभित्रकै एउटा भावना हो भन्‍ने कुरा तिनीहरू सबैले बुझ्न सक्छन्: अचानक तिनीहरूले बुझ्छन्, तिनीहरूसँग अघि बढ्ने मार्ग हुन्छ, र तिनीहरूले स्पष्टता प्राप्त गर्छन्। तिनीहरू कुनै निश्चित तरिकाले कार्य गर्नु सबैभन्दा उत्तम हो भन्‍ने महसुस गर्छन्, तर आफूलाई त्यसरी कार्य गर्न मन पर्नुको कारण भने तिनीहरूलाई थाहा हुँदैन। यो पवित्र आत्माबाट आएको हुन सक्छ। एउटा व्यक्तिका विचारहरू प्रायजसो उसको सोचाइबाट आउँछन्, र ती सबै स्वेच्छाद्वारा दूषित हुन्छन्; ऊ सधैँ कुनै कुराले आफूलाई कसरी फाइदा पुर्‍याउँछ र यसले के-कस्ता लाभहरू दिन्छ भन्‍ने बारेमा सोच्छ। मानिसहरू जे-जे कार्यमा मन लगाउँछन् त्यो हरेक कार्यमा यी कुराहरू हुन्छन्। तर, पवित्र आत्माको मार्गदर्शनमा कुनै पनि हालतमा त्यस्ता दूषणहरू हुँदैनन्। पवित्र आत्माको मार्गदर्शन वा अन्तर्दृष्टिमा ध्यान दिनु जरुरी छ; विशेष गरी मुख्य विषयहरूमा, यसलाई पक्रन तिमीहरू सजग हुनैपर्छ। आफ्नो दिमाग प्रयोग गर्न मन पराउने र आफ्नै विचारहरूअनुसार कार्य गर्न मन पराउने मानिसहरूले त्यस्तो मार्गदर्शन वा अन्तर्दृष्टि गुमाउने सम्भावना सबैभन्दा बढी हुन्छ। मानकअनुरूपका अगुवा र कामदारहरू भनेका पवित्र आत्माको काम भएका, हरेक क्षण पवित्र आत्माको कामप्रति ध्यान दिने, र पवित्र आत्माप्रति समर्पित हुने, परमेश्‍वरको डर मान्‍ने हृदय भएका, परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्ने, र सत्यता पछ्याउन लागिपर्ने मानिस हुन्। आफ्नो कर्तव्य पूरा गर्न र राम्रोसँग परमेश्‍वरको साक्षी दिन, तिमीहरूले आफ्नो कर्तव्य निर्वाहमा व्यक्तिगत आशय र दूषण कति छ, तिमीहरूका कुन-कुन विचार र दृष्टिकोणहरू आफ्नै विचारहरूबाट उत्पत्ति हुन्छन्, कुन-कुन चाहिँ पवित्र आत्माको अन्तर्दृष्टिबाट उब्जिन्छन्, र कुन-कुन चाहिँ परमेश्‍वरका वचनहरूअनुरूप छन् भनी बारम्बार चिन्तन गर्नुपर्छ। तिमीहरूले लगातार रूपमा, र सबै परिस्थितिमा, आफ्ना शब्द र कार्यहरू सत्यताअनुरूप छन् कि छैनन् भनी चिन्तन गर्नैपर्छ। यसरी लगातार अभ्यास गर्नाले तिमीहरूलाई परमेश्‍वरको सेवा गर्ने सही मार्गमा पुर्‍याउनेछ। परमेश्‍वरप्रतिको सेवा उहाँकै अभिप्रायहरू अनुरूप प्राप्त गर्नका निम्ति व्यक्तिमा सत्यता वास्तविकताहरू हुनु आवश्यक पर्छ। सत्य बुझेपछि मात्र मानिसहरूसँग तिनीहरूका आफ्नै विचारहरूबाट के आउँछ अनि मानव मनसायहरूबाट के आउँछ भनेर छुट्याउन र चिन्‍न सक्‍ने क्षमता हुन्छ। तिनीहरूले मानिसका अशुद्धताहरू, साथै सत्यको आधारमा काम गर्नुको अर्थ के हो सो बुझ्न सक्छन्। तिनीहरू वास्तविकता छुट्याउन सक्‍ने भएपछि मात्रै तिनीहरू सत्यता अभ्यास गर्न र पूर्ण रूपमा परमेश्‍वरका अभिप्रायअनुरूपका बन्‍न सक्छन् भन्‍ने कुरा सुनिश्‍चित गर्न सकिन्छ। सत्यता नबुझी, मानिसहरूले समझशक्तिको अभ्यास गर्नु असम्‍भव हुन्छ। एउटा भ्रमित व्यक्तिले उसको आफ्नै भ्रष्टता प्रकट हुनु भनेको के हो वा परमेश्‍वरको प्रतिरोध गर्नुको अर्थ के हो भनी नजानी आफ्नो जीवनभरि परमेश्‍वरमा विश्‍वास गरेको हुन सक्छ, किनकि उसले सत्यतालाई बुझ्दैन; त्यो विचार उसको मनमा अस्तित्वमा समेत रहेको हुँदैन। अत्यन्तै कम क्षमता भएका मानिसहरूका लागि, सत्यता तिनीहरूको पहुँचदेखि बाहिर हुन्छ; त्यस विषयमा तैँले उनीहरूसित जति नै सङ्गति गरे पनि उनीहरूले अझै बुझ्दैनन्। त्यस्ता व्यक्तिहरू भ्रममा परेका हुन्छन्। तिनीहरूको विश्‍वासमा, भ्रमित मानिसहरूले परमेश्‍वरको गवाही दिन सक्दैनन्; तिनीहरूले थोरै मात्र श्रम गर्न सक्छन्। यदि अगुवा र कामदारहरूले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छन् भने, तिनीहरूको क्षमता अत्यन्तै खराब हुनु हुँदैन। कम्तीमा पनि, तिनीहरूमा आत्मिक बुझाइ हुनुपर्छ र विशुद्ध रूपमा कुराहरू बोध गर्नुपर्छ, ताकि तिनीहरूले सहजै सत्यता बुझ्‍न र अभ्यास गर्न सकून्। कतिपय मानिसहरूको अनुभव अत्यन्तै सतही हुन्छ, त्यसकारण कहिलेकाहीँ सत्यताप्रतिको तिनीहरूको बुझाइमा विकृति हुन्छ, अनि तिनीहरूमा गल्‍ती गर्ने प्रवृत्ति हुन्छ। जब तिनीहरूको बुझाइमा विकृति हुन्छ, तब तिनीहरू सत्यता अभ्यास गर्ने कार्यको स्तरमा पुगेका हुँदैनन्। जब सत्यतासम्‍बन्धी मानिसहरूको बुझाइमा विकृत हुन्छ, तब तिनीहरूले प्रावधानहरू अनुसरण गर्ने सम्‍भावना हुन्छ, र जब तिनीहरूले प्रावधानहरू अनुसरण गर्छन्, तब सहजै गल्ती हुन सक्छ, र तिनीहरू सत्यता अभ्यास गर्ने कार्यको स्तरमा पुगेका हुँदैनन्। जब बुझाइमा विकृति हुन्छन्, तब ख्रीष्टविरोधीहरूले सहजै बहकाउन र प्रयोग गर्न पनि सक्छन्। त्यसकारण, बुझाइमा विकृति भयो भने धेरै गल्तीहरू हुन सक्छन्। फलस्वरूप, तिनीहरूले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न नसक्‍ने मात्र होइन, तिनीहरू सहजै बरालिन सक्छन्, र त्यसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हानि गर्छ। यसरी कसैले आफ्‍नो कर्तव्य पूरा गर्नुको महत्त्व के हुन्छ र? तिनीहरू मण्डलीको काममा बाधा र व्यवधान ल्याउने व्यक्ति बनेका हुन्छन्। अझ भन्‍ने हो भने, यी असफलताहरूबाट पाठहरू सिकिनुपर्छ। परमेश्‍वरले सुम्पनुभएको काम पुरा गर्नको लागि, अगुवा र कामदारहरूले यी दुई वटा सिद्धान्तहरू बुझ्‍नु अत्यावश्यक हुन्छ: कर्तव्य पूरा गर्ने क्रममा माथिबाट दिइएका कार्य बन्दोबस्तहरूलाई कडाइका साथ पालन गर्नुपर्छ, र परमेश्‍वरको वचनअनुसार पवित्र आत्‍माको मार्गदर्शनलाई ध्यान दिनु र तिनमा समर्पित हुनुपर्छ। यी दुई वटा सिद्धान्तहरू बुझेपछि मात्र व्यक्तिको कार्य प्रभावकारी हुन सक्छ र परमेश्‍वरका अभिप्राय पूरा हुन सक्छन्।

अंश ७६

मण्डलीमा, कस्तो व्यक्ति सबैभन्दा अहङ्कारी हुन्छ? उसको अहङ्कार कसरी आफै प्रकाश हुन्छ? कस्तो मामलामा उसको अहङ्कार सबैभन्दा बढी प्रकाश हुन्छ? के तिमीहरूलाई यसको समझ छ? मण्डलीभित्रका सबैभन्दा अहङ्कारी मानिसहरू वास्तवमा दुष्ट र ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूको अहङ्कार सामान्य मानिसहरूको भन्दा धेरै हुन्छ, यहाँसम्म कि तिनीहरू समझहीन हुने विन्दुसम्म पुग्छन्। कुन-कुन मामलाहरूमा यो देख्न सबैभन्दा सजिलो हुन्छ? तिनीहरूलाई काटछाँट गरिँदा तिनीहरूको अहङ्कारी स्वभाव सबैभन्दा स्पष्ट रूपमा खुलासा हुन्छ। यी ख्रीष्टविरोधीहरूका दुष्कर्महरूको परिमाण जतिसुकै भए पनि, यदि कसैले तिनीहरूलाई काटछाँट गर्छ भने, तिनीहरूले रिसाएर यसो भन्‍नेछन्: “मलाई आलोचना र गाली गर्ने तँ को होस्? तँ कति जनालाई अगुवाइ गर्न सक्छस्? के तँ प्रवचन दिन सक्छस्? के तँ सत्यता सङ्गति गर्न सक्छस्? तैँले मेरो भूमिका निभाउनुपरेको भए, तँ मजत्तिको नि राम्रो हुन्थिनस्!” यो कुरा तिमीहरूलाई कस्तो लाग्छ? के तिनीहरूसँग सत्यता स्विकार्ने अलिकति पनि मनोवृत्ति छ त? यदि तिमीहरूले काटछाँटलाई यसरी लिन्छौ भने, त्यसले समस्या निम्त्याउँछ। यसले तिमीहरूसँग कुनै सत्यता वास्तविकता छैन, र तेरो जीवन स्वभाव बिलकुलै परिवर्तित भएको छैन भन्‍ने प्रमाणित गर्छ। के यति गहन रूपमा भ्रष्ट भएको बुढोखाडो अगुवा वा कामदार हुन सक्छ? के उसले परमेश्‍वरलाई सेवा गर्ने कर्तव्य निभाउन सक्छ? पक्कै सक्दैन, किनकि यस्ता मानिसहरू अगुवा वा कामदार बन्‍न योग्यसमेत हुँदैनन्। अगुवा वा कामदार हुन, कम्तीमा पनि व्यक्तिमा अलिकति वास्तविक अनुभव हुनैपर्छ, उसले केही सत्यताहरू बुझ्नैपर्छ, ऊसँग केही वास्तविकताहरू, र सबैभन्दा आधारभूत स्तरको समर्पणता हुनैपर्छ, भन्‍नुको अर्थ, कम्तीमा पनि व्यक्तिमा काटछाँट स्विकार्न सक्‍ने सक्षमता हुनैपर्छ—यस्तो व्यक्ति मात्र अगुवा वा कामदार हुन योग्य हुन्छ। यदि व्यक्तिसँग कुनै पनि सत्यता वास्तविकता छैन, र उसलाई काटछाँट गर्दा, ऊ अझै पनि बहस र प्रतिरोध गर्छ, अनि उसले सत्यता पटक्कै स्विकार्दैन भने, र यदि यस्तो व्यक्तिले परमेश्‍वरको सेवा गर्छ भने, तिमीहरूलाई परिणाम के हुन्छ जस्तो लाग्छ? यसमा शङ्कै छैन, उसले परमेश्‍वरको प्रतिरोध गर्नेछ; उसले जस्तोसुकै काम गरिरहेको भए पनि, उसले सत्यता अभ्याससमेत गर्नेछैन, सिद्धान्तहरूअनुसार कामकुरा सम्हाल्नु त परै जाओस्। त्यसैले सत्यता वास्तविकता नभएका मानिसहरूले अगुवा वा कामदारको भूमिका निभाए भने, तिनीहरूले निश्‍चय नै ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नेछन् र परमेश्‍वरको प्रतिरोध गर्नेछन्। किन कैयौँ अगुवा र कामदारहरू अलिकति कर्तव्य निभाउनेबित्तिकै प्रकाश हुन्छन्? किनभने तिनीहरू सत्यता पछ्याउँदैनन्, बरु ख्याति, लाभ र हैसियत पछ्याउँछन्, र परिणामस्वरूप, तिनीहरू स्वतः ख्रीष्टविरोधीहरूको मार्गमा लाग्छन्। तिमीहरू सबै जनाको कुरा गर्नुपर्दा, यदि तिमीहरूलाई एउटा मण्डलीको जिम्मा दिइयो, र ६ महिनासम्म कसैले तिमीहरूलाई सोधखोज गरेन भने, तिमीहरू अन्त्यमा गलत मार्ग हिँड्नेछौ र मनपरी गर्नेछौ। यदि तिमीहरूलाई एक वर्षको लागि आफ्नै खुसीमा छाडियो भने, तिमीहरूले अरूलाई बहकाउनेछौ, अनि तिनीहरू सबैजना शब्द र धर्मसिद्धान्त बोल्न र कोभन्दा को राम्रो छ भनेर तुलना गर्नमै केन्द्रित हुनेछन्। यदि तिमीहरूलाई दुई वर्ष आफ्नै खुसीमा छाडियो भने, तिमीहरूले मानिसहरूलाई आफूअघि डोर्‍याइल्याउनेछौ, अनि मानिसहरूले परमेश्‍वरको होइन, तिमीहरूको आज्ञापालन गर्नेछन्, र यसरी मण्डली पतित भएर धर्ममा लाग्‍नेछ। यसको कारण के हो? के तिमीहरूले कहिल्यै यो प्रश्‍नबारे सोचेका छौ? व्यक्तिले मण्डलीलाई यसरी अगुवाइ गर्दा ऊ कुन मार्ग हिँडिरहेको हुन्छ? ख्रीष्टविरोधी मार्ग। के तिमीहरू यस्तो हुनेछौ? अहिले बुझेका थोरै सत्यताहरूद्वारा तिमीहरूले मानिसहरूलाई कहिलेसम्म आपूर्ति दिन सक्छौ? के तिमीहरूले मानिसहरूलाई परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा अगुवाइ गर्न सक्छौ? यदि परमेश्‍वरका चुनिएका मानिसहरूले धेरै प्रश्‍न सोधे भने, के तिमीहरूले परमेश्‍वरका वचनहरूअनुरूप सत्यता सङ्गति गरेर उत्तर दिन सक्छौ? यदि तँ सत्यता बुझ्दैनस् र केही शब्द र धर्मसिद्धान्त मात्र प्रचार गर्छस् भने, तँलाई एक-दुई पटक सुनिसकेपछि मानिसहरूलाई पर्याप्त भइसकेको हुनेछ, र तैँले केही शब्द र धर्मसिद्धान्त प्रचार गर्न जारी राख्दा, तिनीहरू त्यसदेखि वितृष्ण हुनेछन्, र भित्री कुरा खुट्टयाउन सक्नेछन्—यो अवस्थामा, तिनीहरूलाई किन प्रचार गरिरहने? यदि तँ समझ भएको व्यक्ति होस् भने, तैँले अरूलाई धर्मसिद्धान्तका वाक्यांश प्रचार गर्न छोड्नुपर्छ, माथि उभिएर अरूलाई भाषण दिन छोड्नुपर्छ, अरूहरू जहाँ उभिएका छन्, त्यहीँ उभिनुपर्छ र तिनीहरूसँगै परमेश्‍वरका वचन खाने, पिउने र अनुभव गर्ने गर्नुपर्छ। यी सबै समझ भएका मानिसहरूका प्रकटीकरणहरू हुन्। अति अहङ्कारी र आत्मधर्मी मानिसहरूले सजिलै आफ्नो समझ गुमाउँछन्, र अरूलाई शब्द र धर्मसिद्धान्त प्रचार गर्नमा जोड दिन्छन्, वा अझ गहन आत्मिक सिद्धान्तहरू खोजेर-सिकेर रवाफ देखाउँछन् र यसरी अरूलाई बहकाउन खोज्ने मान्छे बन्छन्। यसरी व्यवहार गर्नु परमेश्‍वरको प्रतिरोध गर्नु हो। यसरी प्रचार गरिरहिस् भने परिणामहरू के हुनेछन् भनेर के तँ स्पष्ट छस्? तैँले मानिसहरूलाई कहाँ डोऱ्याउनेछस् भनेर के तँ स्पष्ट छस्? जब तँ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्छस्, र मानिसहरूलाई डोर्‍याउँदै तेरो अघि ल्याउँछस् र तिनीहरूलाई तेरो आराधना र आज्ञापालन गर्ने तुल्याउँछस्, तब यो समस्याको प्रकृति के हुन्छ? के तँ परमेश्‍वरका चुनिएकाहरू खोस्‍न उहाँसँग प्रतिस्पर्धा गरिरहेको छैनस् र? यो भनेको सुरुमा परमेश्‍वरमा विश्‍वास गर्न चाहेका, उहाँमा फर्किन चाहेका, र उहाँलाई प्राप्त गर्न चाहेका मानिसहरूलाई आफूसामु ल्याएर, आफ्नो आज्ञापालन गर्ने, आफूले भनेको कुरा गर्ने र आफूलाई परमेश्‍वरझैँ व्यवहार गर्ने तुल्याउनु हो। अनि, यसको परिणाम के हुनेछ? यी मानिसहरूले सुरुमा मुक्ति पाउन परमेश्‍वरमा विश्‍वास गरे, तर तिनीहरू अन्त्यमा तँद्वारा बहकाइए—तिनीहरूले मुक्ति नपाउने मात्र होइन, अनन्त विनाश भोगेर नाशसमेत हुनेछन्। यस्तो तरिकाले व्यवहार गरेर, तैँले तिनीहरूलाई भड्काइरहेको छस्, गहन हानि पुऱ्याइरहेको छस्, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई बर्बाद गरिरहेको छस्। अब तँ कुन अपराधको दोषी होस्? तैँले तिनीहरूलाई कसरी क्षतिपूर्ति गर्न सक्छस्? तैँले नयाँ विश्‍वासीहरूलाई छल गरेर आफ्नो हातमा लगिस्, तिनीहरूलाई आफ्ना थुमा बनाइस्, र तिनीहरू सबैले तँलाई सुन्छन्, तँलाई पछ्याउँछन्, अनि हृदयभित्र तँ खासमा यस्तो सोच्छस्: “अब म शक्तिशाली भएँ; कति धेरै मानिसहरूले मेरो कुरा सुन्छन्, र मण्डली मेरो इसारा र हुकुममा चल्छ।” मानिसभित्र रहेको यो धोकाको प्रकृतिले तँलाई अवचेतन रूपमा परमेश्‍वरलाई कल्पित आकृतिमा परिणत गर्ने तुल्याउँछ, र तँ आफैले कुनै प्रकारको धर्म वा सम्प्रदाय निर्माण गर्नेछस्। विभिन्‍न धर्म र सम्प्रदायहरूको उदय कसरी हुन्छन् त? तिनीहरूको उदय यसरी नै हुन्छ। हरेक सम्प्रदायका अगुवाहरूलाई हेर—ती सबै अहङ्कारी र आत्म-धर्मी छन् र तिनीहरूले गर्ने बाइबलका व्याख्याहरू प्रसङ्गभन्दा बाहिरबाट ल्याइएका र तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा प्रेरित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नका निम्ति वरदानहरू र ज्ञानमा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न बिलकुलै सक्थेनन् भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? आखिरमा, तिनीहरूसँग केही ज्ञान हुन्छ र तिनीहरू केही धर्मसिद्धान्त प्रचार गर्न सक्छन् वा अरूलाई आफ्नो पक्षमा ल्याउन र केही जुक्ति प्रयोग गर्न जान्दछन्। त्यसैले तिनीहरू मानिसहरूलाई छल्छन् र मानिसहरूलाई आफूसमक्ष ल्याउँछन्। यी मानिसहरूले परमेश्‍वरमा नाम मात्रको विश्‍वास गर्छन्, तर वास्तवमा तिनीहरूले यी अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो मार्गको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये केहीले भन्छन्, “आस्थाका मामलाहरूबारे मैले मेरो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्‍वरमा विश्‍वास गर्ने र साँचो मार्ग स्वीकार गर्ने कुरामा मानिसहरूलाई कसरी अरूको सहमति र अनुमोदन समेत आवश्यक पर्दो रहेछ, हेर्—के यो समस्याजनक कुरा होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसी, झूटा गोठाला, र ख्रीष्टविरोधी बनेका छैनन् र? के तिनीहरू मानिसहरूका लागि साँचो मार्ग स्वीकार गर्नमा बाधक बनेका छैनन् र? त्यस्ता मानिसहरू पावलकै प्रकारका हुन्। म किन त्यसो भन्दै छु? पावलका पत्रहरू बाइबलमा अभिलेख गरिएका छन् र २ हजार वर्षदेखि हस्तान्तरण गरिँदै आएका छन्। अनुग्रहको युगको पूरै समय, प्रभुमा विश्‍वास गर्नेहरूले बारम्बार पावलका पत्रहरू पढे र तिनलाई आफ्नो मापदण्ड माने—अर्थात् कष्ट भोग्‍नु, आफ्नो शरीरलाई वशमा राख्‍नु, अनि अन्त्यमा धार्मिकताको ताज प्राप्त हुन्छ भन्‍ने ठाने…। सबै मानिसहरूले पावलका शब्द र धर्मसिद्धान्तअनुसार परमेश्‍वरमा विश्‍वास गरे। यी दुई हजार वर्षहरूमा, कैयौँ मानिसहरूले पावलको अनुकरण गरेका छन्, उसलाई आराधना गरेका र उसलाई पछ्याएका छन्। तिनीहरूले पावलका शब्दहरूलाई धर्मग्रन्थझैँ व्यवहार गरेका छन्, प्रभु येशूका वचनहरूलाई पावलका शब्दहरूले प्रतिस्थापन गरेका छन् र तिनीहरू परमेश्‍वरका वचनहरू अभ्यास गर्न असफल भएका छन्। के यो विचलन होइन र? यो ठूलो विचलन हो। अनुग्रहको युगमा मानिसहरूले परमेश्‍वरको कति अभिप्राय बुझ्‍न सके? त्यो बेला येशूलाई पछ्याउने मानिसहरू, आखिर, अल्‍पसङ्ख्यक नै त थिए, र उहाँलाई चिन्‍नेहरू त झनै कम सङ्ख्यामा थिए—उहाँका चेलाहरूले समेत उहाँलाई साँचो रूपमा चिनेका थिएनन्। यदि मानिसहरूले बाइबलमा अलिकति ज्योति देख्छन् भने, यसले परमेश्‍वरका अभिप्रायलाई प्रतिनिधित्व गर्छ भनेर ठान्‍नु हुँदैन, र अलिकति अन्तर्दृष्टिलाई परमेश्‍वरसम्‍बन्धी ज्ञानको रूपमा त झन् लिनु नै हुँदैन। सबै मानिसहरू अहङ्कारी र अभिमानी छन्, र तिनीहरूले आफ्‍नो हृदयमा परमेश्‍वरलाई राख्दैनन्। जब तिनीहरूले केही धर्मसिद्धान्तहरू बुझ्छन्, तिनीहरू आफै अघि बढ्छन्, जसले गर्दा धेरै व्यक्तिगत सम्प्रदायहरूको उदय हुन्छ। अनुग्रहको युगमा परमेश्‍वर मानिसहरूसँग कत्ति पनि कडा हुनुहुन्थेन। येशूको नाममा रहेका सबै धर्म र सम्प्रदायहरूमा पवित्र आत्माको केही न केही काम हुन्थ्यो; तिनीहरूमा दुष्ट आत्माले काम नगरेसम्म, पवित्र आत्माले कुनै पनि मण्डलीमा काम गर्नसक्नुहुन्थ्यो, त्यसैले अधिकांश मानिसहरूले परमेश्‍वरको अनुग्रहको आनन्द उठाउन सक्थे। विगतमा, मानिसहरूले उहाँमाथि गर्ने विश्‍वास साँचो वा झुटो जे-जस्तो भए पनि, तिनीहरूले अरूलाई नै पछ्याए पनि, वा तिनीहरूले सत्यता पछ्याउँदै नपछ्याए पनि, परमेश्‍वर मानिसहरूसँग कडा हुनुहुन्थेन, किनकि उहाँद्वारा पूर्वनिर्धारित गरिएका र चुनिएकाहरूले आखिरी चरणमा उहाँसामु आएर उहाँको न्याय स्विकार्नैपर्नेछ भनेर उहाँले पहिल्यै तोकिसक्नुभएको थियो। यदि परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारिसकेपछि पनि मानिसहरूले अझै अरूलाई नै आराधना गर्न र पछ्याउन जारी राख्छन् भने, र यदि तिनीहरूले सत्यता पछ्याउनुको सट्टा आशिष् र ताज पछ्याउँछन् भने, त्यो अक्षम्य हुन्छ। त्यस्ता मानिसहरूको अन्त्य पावलको जस्तै हुनेछ। यसरी म किन जहिल्यै पनि पावल र पत्रुसको उदाहरण प्रयोग गरिरहन्छु? यी दुई मार्गहरू हुन्। परमेश्‍वरका विश्‍वासीहरूले कि त पत्रुसको मार्ग पछ्याउँछन् कि त पावलको। यी दुई मार्गहरू मात्र छन्। चाहे तँ अनुयायी या अगुवा जे भए पनि, कुरो एउटै हो। यदि तँ पत्रुसको मार्ग हिँड्न सक्दैनस् भने, तँ पावलको मार्गमा हिँडिरहेको छस्। यो पन्छ्याउन नसकिने कुरा हो; तेस्रो मार्ग छँदै छैन। परमेश्‍वरका अभिप्राय नबुझ्ने, परमेश्‍वरलाई नचिन्‍ने, सत्यता बुझ्न नखोज्ने, र पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन नसक्नेहरूले अन्ततः पावलकै जस्तो अन्त्य भोग्नैपर्छ। यदि तँ परमेश्‍वरलाई चिन्‍न वा परमेश्‍वरका अभिप्राय बुझ्न खोज्दैनस् भने, र तँ शब्द र धर्मसिद्धान्त बोल्न र आत्मिक सिद्धान्तहरू प्रचार गर्न सक्षम हुन मात्रै खोज्छस् भने, तैँले परमेश्‍वरलाई प्रतिरोध गर्न र धोका दिन मात्रै सक्छस्, किनकि परमेश्‍वरलाई प्रतिरोध गर्नु नै मानव प्रकृति हो। सत्यतासँग नमिल्ने कुराहरू पक्कै पनि मानिसको इच्छाबाट उत्पन्‍न हुन्छन्। मानिसको इच्छाबाट उत्पन्‍न हुने जुनसुकै कुराले, चाहे त्यो मानिसको नजरमा असल होस् वा खराब, त्यसले परमेश्‍वरको काममा अवरोध गर्छ। कतिपय मानिसहरूलाई लाग्छ कि तिनीहरूले केही मामलाहरूमा सत्यताअनुरूप कार्य नगरे पनि, दुष्कर्म वा परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनन्। के यो सही हो? यदि तँ सत्यताअनुरूप कार्य गर्दैनस् भने, तैँले पक्कै सत्यता उल्लङ्घन गरिरहेको छस्, र सत्यता उल्लङ्घन गर्नु सारगत रूपमा परमेश्‍वरको प्रतिरोध गर्नु नै हो; यो बस गम्भीरताको फरक स्तर मात्र हो। तँलाई परमेश्‍वरको प्रतिरोध गर्ने व्यक्ति भनेर चित्रण नगरिएको भए पनि, परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुनेछैन, किनकि तँ सत्यता अभ्यास गर्दैनस्, तँ बस सत्यतासँग असम्बन्धित कार्यहरू मात्र गर्छस्, र आफ्नै इच्छाअनुसार मात्र व्यवहार गर्छस्। सत्यता नपछ्याउनेहरूले केही दुष्कर्म नगरे पनि, के तिनीहरू आफ्ना भ्रष्ट स्वभावहरू फाल्न सक्षम हुन्छन् त? यदि तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू फाल्न सक्दैनन् भने, तिनीहरू अझै पनि ती भ्रष्ट स्वभावहरूअनुसार नै जिइरहेका हुन्छन्। तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने कुनै कार्य नगरे पनि, उहाँप्रति समर्पित हुनै सक्दैनन् र परमेश्‍वरले त्यस्ता मानिसहरूलाई अनुमोदन गर्नुहुन्‍न।

अघिल्लो:  शब्द र धर्मसिद्धान्तहरू बोल्नु अनि सत्यता वास्तविकताबीचका भिन्‍नताहरू

अर्को:  परमेश्‍वरले मानिसहरूका परिणामहरू कसरी निर्धारण गर्नुहुन्छ भन्‍नेसम्बन्धी वचनहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger