अध्याय ७९
अन्धा! अज्ञानी! काम नलाग्ने रद्दीको थुप्रो, तैपनि तिमीहरू मेरो सामान्य मानवतालाई मेरो सम्पूर्ण ईश्वरत्वबाट अलग गर्छौ! के तिमीहरूलाई यसले मलाई चिढ्याउँछ भन्ने लाग्दैन? त्यसमाथि, यो क्षमा गर्न गाह्रो कुरा हो! व्यावहारिक परमेश्वर आज तिमीहरूमाझ आउनुभएको छ, तैपनि तिमीहरू मेरो एउटा पक्ष—मेरो सामान्य मानवतालाई—मात्रै चिन्छौ र तिमीहरूले मेरो पूर्ण ईश्वरीय पक्ष बिलकुलै देखेका छैनौ। के तँलाई मेरो पिठिउँ पछाडि मलाई कसले ठग्ने कोसिस गर्छ भनेर मलाई थाहा छैन जस्तो लाग्छ? म तेरो आलोचना गरिरहेको छैनँ; म त खालि तँ कुन स्तरसम्म पुग्न सक्छस्, र अन्ततः तँ कस्तो अवस्थामा पुग्नेछस् भनेर हेरिरहेको छु। मेरा वचनहरू लाखौँका सङ्ख्यामा बोलिएका छन्, तैपनि तिमीहरूले खराब कामहरू अति धेरै गरेका छौ। तिमीहरू किन मलाई बारम्बार ठग्ने कोसिस गर्छौ? तेरो ज्यान जाला, सतर्क बस्! यदि तैँले मलाई एउटा निश्चित स्तरसम्म रिस उठाइस् भने, म तँलाई कुनै कृपा देखाउनेछैनँ, र तँलाई बाहिर निकालिनेछ। तँ पहिले कस्तो थिइस्, तँ बफादार वा जोसिलो थिइस् कि थिइनस्, तैँले कति दौडधुप गरेको छस्, वा तैँले मप्रति आफूलाई कति समर्पित गरेको छस् भन्ने कुरालाई म ख्याल गर्नेछैनँ; म यी कुराहरू पटक्कै हेर्नेछैनँ। तैँले अहिले मलाई चिढ्याइस् मात्रै भने पनि, म तँलाई अतल कुण्डमा फालिदिनेछु। अझै पनि मलाई ठग्ने कोसिस गर्ने आँट कसले गर्छ? यो कुरा याद राख्! अबदेखि, जब म कोहीसँग रिसाउँछु, चाहे तँ जोसुकै होस्, म तँलाई तुरुन्तै निकाल्नेछु ताकि भविष्यमा कुनै समस्या नहोस् र मैले तँलाई फेरि देख्न नपरोस्। यदि तैँले मेरो विरोध गरिस् भने, म तँलाई तुरुन्तै सजाय दिनेछु। के तिमीहरू यो कुरालाई मनमा राख्नेछौ? तिमीहरूमध्ये चलाखहरूले तुरुन्तै पश्चात्ताप गर्नुपर्छ।
आज—अर्थात्, अहिले—म मेरो क्रोध बर्साउँदै छु। तिमीहरू सबै मप्रति बफादार बन्नुपर्छ र तेरो सम्पूर्ण सत्त्व मलाई सुम्पनुपर्छ। तैँले उप्रान्त कुनै ढिलाइ गर्नु हुँदैन। यदि तैँले मेरा वचनहरू सुनिनस् भने, म मेरो हात फैलाउनेछु र तँलाई ढाल्नेछु। यसो गरेर, म आफूलाई सबैमाझ चिनाउनेछु; आजको दिन, म हरेकप्रति क्रोधित र प्रतापी छु (जुन मेरो न्यायभन्दा पनि गम्भीर छ)। मैले धेरै वचन बोलेको छु, तैपनि तिमीहरूले प्रतिक्रिया नै दिएका छैनौ; के तिमीहरू साँच्चै यति मन्द-बुद्धिका छौ? मलाई तिमीहरू त्यस्ता छौ भन्ने लाग्दैन। यो त तिमीहरूभित्रको त्यो पुरानो दियाबलसले चकचक गरिरहेको हो। के तिमीहरू यो कुरा स्पष्ट रूपमा देख्छौ? हत्तपत्त आमूल परिवर्तन ल्याइहाल! आज, पवित्र आत्माको काम यस चरणसम्म पुगेको छ; के तिमीहरूले यो देखेका छैनौ? मेरो नाम घर-घरमा, सबै राष्ट्रमा र सबै ठाउँमा घोषणा गरिनेछ, र ब्रह्माण्डभरि वयस्क र बच्चाहरूको मुखले एकै गरी पुकार्नेछन्; यो एउटा निरपेक्ष सत्य हो। म अद्वितीय परमेश्वर स्वयम् हुँ र यसभन्दा पनि बढी, म परमेश्वरको एक मात्र व्यक्तित्व हुँ। त्यसभन्दा पनि बढी, म, देहको पूर्णता, परमेश्वरको पूर्ण प्रकटीकरण हुँ। जसले मेरो डर नमान्ने आँट गर्छ, जसले आफ्ना आँखाहरूले मेरो विरोध गर्ने आँट गर्छ, र जसले आफ्नो ओठले मेरो विरोध गर्ने आँट गर्छ, त्यो निश्चित रूपमा मेरो श्राप र क्रोधबाट मर्नेछ। (मेरो क्रोधका कारण श्राप हुनेछ।) यसबाहेक, जसले मप्रति बफादार नहुने वा मप्रतिको धर्म ननिभाउने आँट गर्छ, र जसले मलाई छक्काउने कोसिस गर्छ, त्यो निश्चय मेरो घृणाका कारण मर्नेछ। मेरो धार्मिकता, प्रताप र न्याय सदासर्वदा रहिरहनेछ। सुरुमा, म प्रेमिलो र कृपालु थिएँ, तर यो मेरो सम्पूर्ण ईश्वरत्वको स्वभाव होइन; केवल धार्मिकता, प्रताप र न्याय मेरा स्वभाव—पूर्ण परमेश्वर स्वयम्को स्वभाव हुन्। अनुग्रहको युगको दौरान म प्रेमिलो र कृपालु थिएँ। मैले समाप्त गर्नुपर्ने कामका कारण मसँग दया र कृपा थियो; तर त्यसपछि त्यस्ता कुराहरूको कुनै आवश्यकता परेन (र त्यस बेलादेखि परेकै छैन)। यो सबै धार्मिकता, प्रताप र न्याय हो, र यो मेरो सम्पूर्ण ईश्वरत्वसँग जोडिएको मेरो सामान्य मानवताको पूर्ण स्वभाव हो।
मलाई नचिन्नेहरू अतल कुण्डमा नाश हुनेछन्, तर ममा पूर्ण विश्वास गर्नेहरू सदासर्वदा जिउनेछन्, अनि तिनीहरूलाई मेरो प्रेमभित्रै हेरचाह र सुरक्षा गरिनेछ। मैले एउटा वचन बोल्नेबित्तिकै, सम्पूर्ण ब्रह्माण्ड र पृथ्वीका कुना-कुना हल्लिन्छन्। मेरा वचनहरू सुनेर पनि डरले नकाम्ने को छ? को चाहिँ मेरो डर मान्ने हृदय विकास नगरी बस्न सक्छ? अनि मेरा कार्यहरूबाट मेरो धार्मिकता र प्रताप चिन्न नसक्ने को रहेछ! अनि मेरा कार्यहरूभित्र मेरो सर्वशक्तिमान्ता र बुद्धि देख्न नसक्ने को रहेछ! जो ध्यान दिँदैन त्यो निश्चित रूपमा मर्नेछ। किनभने ध्यान नदिनेहरू तिनै हुन् जो मेरो विरोध गर्छन् र मलाई चिन्दैनन्; तिनीहरू नै प्रधान स्वर्गदूत हुन्, र सबैभन्दा बेलगाम छन्। तिमीहरू आफैलाई जाँच: जो बेलगाम, आत्म-धर्मी, घमण्डी, र अभिमानी छ, त्यो निश्चित रूपमा मेरो घृणाको पात्र हो, र त्यो नाश हुने निश्चित छ!
अब म मेरो राज्यका प्रशासकीय आदेशहरू घोषणा गर्दछु: सबै कुरा मेरो न्यायभित्र छन्, सबै कुरा मेरो धार्मिकताभित्र छन्, सबै कुरा मेरो प्रतापभित्र छन्, र म सबैप्रति मेरो धार्मिकताको अभ्यास गर्दछु। ममा विश्वास गर्ने भनेर भन्ने, तर भित्री गहिराइमा मेरो प्रतिरोध गर्नेहरू, वा जसको हृदयले मलाई इन्कारेको छ, तिनीहरूलाई निकालिनेछ—तर यो सबै मेरो आफ्नै ठीक समयमा हुनेछ। अरूले थाहा नपाउने तरिकाले मेरो बारेमा व्यङ्ग्यात्मक कुरा गर्ने मानिसहरू तुरुन्तै मर्नेछन् (भन्नुको मतलब तिनीहरूका आत्मा, शरीर र प्राण मर्नेछन्)। मेरा प्रियजनहरूलाई थिचोमिचो वा उपेक्षा गर्नेहरूलाई तुरुन्तै मेरो क्रोधद्वारा न्याय गरिनेछ। यसको मतलब के हो भने, मैले प्रेम गर्नेहरूलाई ईर्ष्या गर्ने, र मलाई अधर्मी ठान्नेहरूलाई मेरो प्रियद्वारा न्याय गरिनका लागि सुम्पिइनेछ। निष्कलङ्क, सरल र निष्कपटहरू सबै (बुद्धि नहुनेहरू लगायत), र मसँग एकचित्त भई व्यवहार गर्नेहरू सबै मेरो राज्यमा रहनेछन्। जसले तालीम पाएका छैनन्—अर्थात् बुद्धि र अन्तर्बोधको कमी भएका इमानदार मानिसहरूले——मेरो राज्यमा शक्ति हातमा लिनेछन्। तर, तिनीहरूलाई काटछाँट गरिएको र तोडिएको हुन्छ। तिनीहरूले तालिम नपाउनु निरपेक्ष कुरा होइन। बरु, यिनै कुराहरूद्वारा म सबैलाई मेरो सर्वशक्तिमान्ता र मेरो बुद्धि देखाउनेछु। म अझै पनि मलाई शङ्का गर्नेहरू सबैलाई बाहिर निकाल्नेछु; म तिनीहरूमध्ये एकै जनालाई पनि चाहन्नँ। (यस्तो समयमा पनि मलाई शङ्का गर्ने मानिसहरूलाई म घृणा गर्दछु।) मैले सम्पूर्ण ब्रह्माण्डमा गर्ने कार्यहरूद्वारा, म इमानदार मानिसहरूलाई मेरा कार्यहरूको अद्भुतता देखाउनेछु, त्यसरी म उनीहरूको बुद्धि, अन्तर्बोध र विवेक वृद्धि गराउनेछु। म छली मानिसहरूलाई पनि मेरा अद्भुत कार्यहरूको फलस्वरूप एकै क्षणमा नाश पार्नेछु। मेरो नाउँ पहिले स्वीकार गर्ने सबै ज्येष्ठ पुत्र (अर्थात्, ती पवित्र र निष्कलङ्क, इमानदार मानिसहरू) नै राज्यमा प्रवेश प्राप्त गर्ने र मसँगै असङ्ख्य जाति र मानिसमाथि शासन गर्ने, राज्यमा राजाहरूका रूपमा शक्ति प्रयोग गर्ने र असङ्ख्या राष्ट्र र मानिसलाई न्याय गर्ने पहिलो मानिस हुनेछन् (यसले राज्यका सबै ज्येष्ठ पुत्रलाई जनाउँछ र अरू कसैलाई होइन)। असङ्ख्य जाति र मानिसमध्ये जसले न्याय गरिएपछि पश्चात्ताप गरेका छन्, तिनीहरू मेरो राज्यमा प्रवेश गर्नेछन् र मेरा मानिस हुनेछन्, जबकि अटेरी र अपश्चात्तापी मानिसहरू अतल कुण्डमा फालिनेछन् (सदाका लागि नाश हुनलाई)। राज्यमा हुने न्याय अन्तिम हुनेछ, र त्यो मैले गर्ने संसारको पूर्ण सफाइ हुनेछ। त्यसपछि कुनै अन्याय, शोक, आँसु वा सुस्केराहरू हुनेछैनन्, र त्यसभन्दा पनि बढी, कुनै संसार हुनेछैन। सबै कुरा ख्रीष्टको प्रकटीकरण हुनेछ, र सबै ख्रीष्टको राज्य हुनेछ। कस्तो महिमा! कस्तो महिमा!