1001 आफ्नो मिसन पूरा गर्नका लागि जिउनु मात्रै अर्थपूर्ण हुन्छ
१
हरेक व्यक्तिको यो जीवनमा एउटा मिसन हुन्छ, र यदि तिनीहरू आफ्नो मिसनका लागि जिउँदैनन् भने, तिनीहरूले यो जीवन जिउनुको कुनै मूल्य हुँदैन। यदि तैँले जीवन जिउनुको कुनै मूल्य छैन भने, तेरो जीवन व्यर्थ हुन्छ। तैँले जिउँदो लासका रूपमा जीवन जिउनेछस्; तँ जिउनलायक हुनेछैनस्। यदि तँ आफ्नो जिम्मेवारी पूरा गर्दैनस् र आफ्नो मिसन पूरा गर्दैनस् भने, तँ परमेश्वरले तँलाई दिने सबै कुराको आनन्द लिन योग्य हुँदैनस्। यसले के जनाउँछ? यसले परमेश्वरले कुनै पनि बेला तेरो सबै कुरा खोस्न सक्नुहुन्छ भन्ने कुरा जनाउँछ। परमेश्वर दिन सक्नुहुन्छ र लिन पनि सक्नुहुन्छ—यस्तै नै हुन्छ।
२
तिमीहरूको मिसन भनेको परमेश्वरका काममा सहकार्य गर्नु, परमेश्वरको सुसमाचार र नयाँ काम फैलाउनु, साथै सत्यता बुझ्नु र मुक्ति प्राप्त गर्नु हो—यो सबैभन्दा हर्षपूर्ण कुरा हो। मानव इतिहासमा योभन्दा हर्षपूर्ण वा सौभाग्यशाली कुनै कुरा भएको छैन। योभन्दा महत्त्वपूर्ण अरू केही छैन; यो जीवनको सबैभन्दा ठूलो कुरा हो, र यो मानव इतिहासको सबैभन्दा ठूलो कुरा हो। यदि तैँले आफ्नो मिसन त्यागिस् र आफ्नो कर्तव्य र जिम्मेवारीहरूबाट पन्छिस् भने, तेरो जीवनको कुनै मूल्य हुनेछैन, र तेरा लागि जिउनुको कुनै अर्थ हुनेछैन।
३
परमेश्वरले तँलाई यो मिसन दिनुभएको हुनाले, तैँले सुसमाचार प्रचार गर्ने जिम्मेवारी उठाउनुपर्छ, अरूलाई परमेश्वरको गवाही दिनुपर्छ, मानिसले पूरा गर्नुपर्ने सबै जिम्मेवारी पूरा गर्नुपर्छ, आफूले बुझेको सत्यता र आफ्नो अनुभवात्मक गवाही समर्पित गर्नुपर्छ ताकि सबैले फाइदा पाउन सकून्, र त्यसपछि परमेश्वर सन्तुष्ट हुनुहुनेछ। मानिसहरूले गर्न सक्ने कुराहरू वास्तवमा यी मात्रै हुन्। यदि तँ थोरै कष्ट भोग्न, केही मूल्य चुकाउन, र ऐसआराममा अलि कम लिप्त हुन सक्छस् भने, तैँले यी कुराहरू हासिल गर्न सक्नेछस्। यसरी, तेरो परिणाम गैरविश्वासीहरूको भन्दा फरक हुनेछ, र परमेश्वरले तँलाई फरक तरिकाले मापन गर्नुहुनेछ—यो अत्यन्तै दुर्लभ कुरा हो! परमेश्वर तँलाई यो आशिष् दिनुहुन्छ, र यदि तँलाई यसको कदर गर्न आउँदैन भने, तँ घोर विद्रोही होस्।
४
तैँले परमेश्वरमाथिको विश्वासको यो मार्ग रोजेको हुनाले, यसबारे दोधारे नबन्, तर एकचित्तले आफ्नो हृदय शान्त पार् र कर्तव्य राम्ररी निर्वाह गर्। कुनै पछुतो बाँकी नराख्। तैँले अहिले पत्रुसको कद प्राप्त गर्न नसके पनि र अय्यूबका धर्मी कार्यहरू गर्न नसके पनि, आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्न लागिपर्। यसको अर्थ छली वा सुस्त नबनी, कुनै गुप्त मनसाय नपाली, वा केही बाँकी नराखी सक्दो गर्नु हो, सत्यता सिद्धान्त र परमेश्वरको घरका प्रबन्धहरू अनुसार आफ्नो कर्तव्य निर्वाह गर्नु हो—त्यसपछि तैँले आफ्नो कर्तव्य मानकअनुरूप पूरा गरिरहेको हुनेछस्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक)