प्रार्थनाको महत्त्व र त्यसको अभ्यास

तिमीहरू हाल परमेश्‍वरको प्रार्थना कसरी गर्छौ? यो कसरी धार्मिक प्रार्थनाभन्दा राम्रो हो? प्रार्थनाको महत्त्वबारे वास्तवमा तिमीहरूले के बुझेका छौ? के तिमीहरूले यी सवालहरूबारे मनन गरेका छौ? प्रार्थना नगर्ने हरेक व्यक्ति परमेश्‍वरबाट टाढिन्छ, र प्रार्थना नगर्नेहरू सबैले आफ्नै इच्छा पछ्याउँछन्। प्रार्थनाको अनुपस्थितिले परमेश्‍वरसँगको दूरी र परमेश्‍वरप्रतिको विश्‍वासघात जनाउँछ। प्रार्थनासम्बन्धी तिमीहरूको वास्तविक अनुभव कस्तो छ? परमेश्‍वर र मानवहरूबीचको सम्बन्ध मानिसहरूको प्रार्थनाबाट देख्‍न सकिन्छ। तैँले गरेको कामका नतिजाका निम्ति दाजुभाइ-दिदीबहिनीहरूले तेरो प्रशंसा गर्दा, तँ कस्तो व्यवहार गर्छस्? मानिसहरूले तँलाई सुझावहरू दिँदा, तँ कस्तो प्रतिक्रिया दिन्छस्? तँ परमेश्‍वरसामु प्रार्थना गर्छस्? समस्या वा कठिनाइहरू सामना गर्दा त तिमीहरू सबैजना प्रार्थना गर्न समय निकाल्छौ, तर के आफू राम्रो स्थितिमा नहुँदा पनि परमेश्‍वरको प्रार्थना गर्छौ त? के तिमीहरू आफूले भ्रष्‍टता प्रकट गर्दा प्रार्थना गर्छौ? के तिमीहरू साँचो रूपमा प्रार्थना गर्छौ? यदि तिमीहरू साँचो रूपमा प्रार्थना गर्दैनौ भने, तिमीहरू अघि बढ्न सक्दैनौ। विशेषतः भेलाहरूमा, तिमीहरूले प्रार्थना र प्रशंसा चढाउनुपर्छ। केही मानिसहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन्, तर दुर्भाग्यवश, तिनीहरू प्रायः प्रार्थना गर्दैनन्। केही शब्द र धर्मसिद्धान्तहरू बुझेपछि, तिनीहरू आफूले सत्यता बुझेको, कद प्राप्‍त गरेको भन्ठान्दै अहङ्कारी बन्छन्, र तिनीहरू आफैदेखि धेरै खुसी महसुस गर्छन्। परिणामस्वरूप, तिनीहरू यस प्रकारको असामान्य स्थितिमा फस्छन्, र अर्कोपटक प्रार्थना गर्न आउँदा तिनीहरूसँग भन्‍नका लागि केही पनि हुँदैन, र तिनीहरूसँग पवित्र आत्माको काम पनि हुँदैन। मानिसहरू आफ्नो स्थिति नियन्त्रण गर्न सक्दैनन्—तिनीहरूले थोरै काम गरेपछि नै आफ्नो परिश्रमको फलको आनन्द लिन पनि सक्छन्, र तिनीहरू नकारात्मक बन्‍न, आफ्नो काममा सुस्त हुन, र थोरै कठिनाइ सामना गर्दा नै कर्तव्य निर्वाह गर्न छोड्न सक्छन्। यो अत्यन्तै खतरनाक कुरा हो। विवेक वा समझ नभएका मानिसहरू यस्तै हुन्छन्। धेरैजसो मानिसहरू आफूलाई कठिनाइ आइपर्दा, वा कुनै मामिलालाई पूर्ण रूपमा बुझ्न नसक्दा मात्र प्रार्थना गर्नका लागि समय निकाल्छन्। तिनीहरू आफूलाई शङ्का र अनिर्णयले सताउँदा, वा आफूले भ्रष्‍ट स्वभाव प्रकट गर्दा मात्र प्रार्थना गर्छन्। तिनीहरू समस्या पर्दा मात्र प्रार्थना गर्छन्। यो सामान्य हो। तर आफ्नो कामको नतिजा प्राप्‍त गर्दा पनि तैँले प्रार्थना गर्नैपर्छ र परमेश्‍वरलाई धन्यवाद दिनैपर्छ। यदि तँ खुसी हुनमा मात्र ध्यान दिन्छस् र प्रार्थना गर्दैनस्, र सधैँ प्रफुल्लित हुन्छस्, सधैँ यी भावनाहरूको आनन्द लिन्छस्, तर परमेश्‍वरको कृपा बिर्सिन्छस् भने, यो पूर्णतया समझ गुमाउनु हो। जब तँ परमेश्‍वरबाट अत्यन्तै धेरै टाढिन्छस्, तब कहिलेकाहीँ तँलाई अनुशासन भोग्‍न लगाइन्छ; वा सायद कामकुरा गर्ने प्रयास गर्दा तँ पर्खालमा ठोक्किन पुग्छस्; वा तैँले गल्ती गर्छस् र तँलाई काटछाँट गरिन्छ, तँलाई मुटु छेड्ने शब्दहरू सुन्‍न लगाइन्छ, र तैँले दबाब वा दुःख सहनुपर्छ, तर यी सबै तैँले परमेश्‍वरलाई चिढ्याउन ठ्याक्कै केचाहिँ गरिस् भन्‍ने थाहा नपाई सहनुपर्छ। वास्तवमा, परमेश्‍वर तँलाई ताडना दिन, पीडा दिन र शोधन गर्नका लागि प्रायः बाह्य वातावरणहरू प्रयोग गर्नुहुन्छ, र अन्त्यमा जब तँ परमेश्‍वरसामु प्रार्थना गर्न जान्छस् र मनन गर्छस्, तैँले आफ्नो स्थिति गलत छ—आत्मसन्तुष्‍टि, घमण्ड र सायद आत्मप्रशंसाले भरिएको छ भन्‍ने महसुस गर्छस्—तँ आफ्नै कार्यहरूदेखि घिनाउँछस्, र पूर्णतया पछुतो मान्छस्। त्यसपछि तँ परमेश्‍वरलाई प्रार्थना गरेर गल्ती स्विकार्छस्, र तैँले आफैलाई घृणा गर्न थाल्छस् र प्रायश्‍चित गर्न मन गर्छस्। यस समयमा तेरो गलत स्थिति आफै सुध्रिन थाल्छ। जब मानिसहरूले साँचो रूपमा प्रार्थना गर्छन्, तब पवित्र आत्माले उहाँको काम गर्नुहुन्छ, र एक निश्‍चित अनुभूति, वा अन्तर्दृष्‍टि दिनुहुन्छ, जसले तिनीहरूलाई असामान्य स्थितिबाट बाहिर आउन मद्दत गर्छ। प्रार्थना गर्नु भनेको अलिकति खोज्नु, केही औपचारिकताहरू निभाउनु, अनि त्यतिमै त्यो कुरा सक्‍नु मात्र होइन। आफूलाई परमेश्‍वर चाहिँदा प्रार्थनाका केही शब्दहरू बोल्नु र नचाहिँदा केही नबोल्नु भनेको प्रार्थना गर्नु होइन। यदि तिमीहरूले लामो समयसम्म प्रार्थना गरेनौ भने, बाहिरबाट हेर्दा तिमीहरूको स्थिति सामान्यजस्तो देखिए पनि, तिमीहरू जे मन लाग्यो त्यही गर्दै आफ्नो कर्तव्य निर्वाहमा आफ्नै इच्छाशक्तिमा भर पर्नेछौ, र यसरी तिमीहरू सिद्धान्तहरूअनुरूप कार्य गर्न सक्‍नेछैनौ। तिमीहरूले लामो समयसम्म परमेश्‍वरलाई प्रार्थना गरेनौ भने, पवित्र आत्माले तिमीहरूलाई कहिल्यै अन्तर्दृष्‍टि वा ज्योति दिनुहुनेछैन। तिमीहरूले कर्तव्य निर्वाह गर्‍यौ भने पनि, प्रावधानहरूको पालना मात्र गरिरहेका हुन्छौ र यसरी कर्तव्य निर्वाह गरेर तिमीहरूले परमेश्‍वरको गवाही दिने फल फलाउनेछैनौ।

मैले पहिले पनि भनिसकेको छु, धेरै मानिसहरूले आफ्नो कर्तव्यको सिलसिलामा आफ्नै व्यवसाय सम्हाल्छन् र आफ्नै उद्यममा संलग्‍न हुन्छन्, र आज पनि मानिसहरू यस्तै रहेका छन्। केही समय काम गरेपछि, तिनीहरू प्रार्थना गर्न छोड्छन् र त्यस उप्रान्त परमेश्‍वर तिनीहरूको हृदयमा रहनुहुन्‍न। तिनीहरू सोच्छन्, “म कार्य प्रबन्धहरूले तोकेबमोजिम मात्र गर्नेछु। जे भए पनि, मैले कुनै गल्ती गरेको छैन, र मैले कुनै अवरोध वा बाधा उत्पन्‍न गरेको छैन…।” जब तैँले प्रार्थना नगरी कामकुरा गर्छस्, र राम्ररी काम सम्पन्‍न हुँदा परमेश्‍वरलाई धन्यवाद दिँदैनस्, तब तेरो स्थितिमा समस्या हुन्छ। यदि तँलाई आफ्नो अवस्था गलत छ भन्‍ने थाहा छ, तर तँ आफै यसलाई समायोजन गर्न असमर्थ हुन्छस् भने, तँ निरन्तर आफ्ना कार्यहरूमा आफ्नै इच्छामा निर्भर रहनेछस्, र तैँले सत्यता बुझ्दा पनि यसलाई अभ्यास गर्न सक्दैनस्। तँलाई आफ्नो सोच्ने तरिका नै सही छ भन्‍ने लागिरहन्छ र तँ सधैँ त्यसैमा अडिग रहिरहन्छस्, मनलागी गर्छस्, पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्‍ने कुरालाई बेवास्ता गर्छस्, आफ्नै प्रयत्‍नहरूमा लागिरहन्छस्, र फलस्वरूप पवित्र आत्माले तँलाई त्याग्‍नुहुन्छ। पवित्र आत्माले तँलाई त्याग्‍नुभएपछि, तैँले अन्धकार र ओइलिएको महसुस गर्नेछस्। तैँले कुनै पनि पोषण वा आनन्द महसुस गर्नै सक्‍नेछैनस्। छ महिनामा एकपटक पनि साँचो रूपमा प्रार्थना नगर्ने मानिसहरू धेरै छन्। यस प्रकारका व्यक्तिहरूको हृदयभित्र अब परमेश्‍वर रहनुहुन्‍न। केही मानिसहरू प्रायः प्रार्थना गर्दैनन्, र तिनीहरू खतरामा पर्दा वा सङ्कष्ट भोग्दा मात्र प्रार्थना गर्छन्। तिनीहरू आफ्नो कर्तव्य पूरा त गर्छन्, तर आत्मिक रूपमा ओइलिएको महसुस गर्छन्, त्यसैले तिनीहरूमा अपरिहार्य रूपमै नकारात्मक विचारहरू हुन्छन्। कहिलेकाहीँ तिनीहरू सोच्छन्, “मैले कहिले आफ्ना कर्तव्यहरू सक्‍न सक्छु होला?” यस्ता विचारहरू किन पनि आउन सक्छन् भने, तिनीहरूले लामो समयदेखि प्रार्थना गरेका हुँदैनन्, र तिनीहरू परमेश्‍वरबाट टाढिएका हुन्छन्। यदि यसबाट अविश्‍वासी, दुष्‍ट हृदयले जन्म लिन्छ भने, यो धेरै खतरनाक हुन्छ। प्रार्थना जरुरी कुरा हो! प्रार्थनाबिनाको जीवन धुलोजस्तै सुक्खा हुन्छ, र यसले पवित्र आत्माको काम प्राप्‍त गर्न सक्दैन; त्यस्ता मानिसहरू परमेश्‍वरको अगाडि जिउँदैनन्, र तिनीहरू अन्धकारमा परिसकेका हुन्छन्। त्यसकारण, तैँले प्रायः प्रार्थना गरिरहन र परमेश्‍वरका वचनहरूबारे सङ्गति गरिरहन आवश्यक छ, ताकि तैँले पवित्र आत्माको कामको आनन्द लिन र हृदयबाट परमेश्‍वरको प्रशंसा गर्न सक्। यसरी मात्र तेरो जीवन शान्ति र हर्षले भरिन सक्छ। पवित्र आत्मा सबै कुरामा प्रार्थना र प्रशंसा गर्नेहरूमा विशेष जोडबलसाथ काम गर्नुहुन्छ। पवित्र आत्माले मानिसहरूलाई प्रदान गर्ने शक्ति असीम छ, र यसलाई मानिसहरूले कहिल्यै प्रयोग गरेर सिध्याउन वा सक्‍न सक्दैनन्। मानिसहरू अनवरत रूपमा बोल्न र प्रचार गर्न सक्छन् र तिनीहरू धेरै धर्मसिद्धान्त बुझ्न सक्छन्, तर पवित्र आत्माको कामबिना यो बेकार र व्यर्थ हुन्छ। धेरै घटनाहरूमा त मानिसहरूले आफ्नो धेरै समय प्रार्थनामै बिताउन सक्छन्, तर त्यसो गर्दा केही शब्दहरू मात्र बोल्छन्, जस्तै, “परमेश्‍वर, म तपाईँलाई धन्यवाद दिन्छु र तपाईँको प्रशंसा गर्छु!” केही समयपछि, तिनीहरूले फेरि उही वाक्य दोहोर्‍याउन सक्छन्। तिनीहरू परमेश्‍वरलाई भन्‍नका लागि थप केही सोच्न सक्दैनन्, उहाँलाई भन्‍नका लागि तिनीहरूसँग कुनै भित्री विचारहरू हुँदैनन्। यो धेरै खतरनाक कुरा हो! यदि परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले उहाँको प्रशंसा गर्ने, धन्यवाद दिने र महिमा गाउने शब्दहरू उच्चारण गर्न पनि सक्दैनन् भने, तिनीहरूको हृदयमा उहाँका लागि ठाउँ छ भनेर कसरी भन्‍न सकिन्छ? तँ आफूलाई परमेश्‍वरमा विश्‍वास छ र उहाँलाई आफ्नो हृदयले चिन्छ भनेर दाबी गर्न सक्छस्, तर तँ उहाँको अगाडि आउँदैनस्, प्रार्थना गर्दा तेरो हृदयमा के छ भनी उहाँलाई बताउन सक्दैनस्, र तेरो हृदय परमेश्‍वरबाट धेरै टाढा छ, र त्यसैले पवित्र आत्माले उहाँको काम गर्नुहुनेछैन। हरेक बिहान उठ्दा, तिमीहरूले हृदय खोलेर इमानदारीपूर्वक प्रार्थना गर्नैपर्छ, परमेश्‍वरका वचनहरू पढ्नैपर्छ र त्यसपछि ज्योति र अभ्यासको मार्ग नभेटुन्जेल ती वचनहरूबारे मनन गर्नैपर्छ। यसो गर्, अनि तेरो दिन विशेष रूपमा राम्रो र परिपूर्ण हुनेछ, र तैँले पवित्र आत्मा तेरो सुरक्षा गर्दै सधैँ तँसँगै हुनुहुन्छ भन्‍ने महसुस गर्नेछस्।

मैले धेरै मानिसमा एउटा साझा समस्या रहेको देखेको छु। मामिलाहरू आइपर्दा, तिनीहरू प्रार्थना गर्न परमेश्‍वरसामु आउँछन्, तर कुनै कुराले पनि नपिरोल्दा तिनीहरू परमेश्‍वरलाई बेवास्ता गर्छन्। तिनीहरू आफूखुसी देहसुखमा लिप्‍त हुन्छन्, तर कहिल्यै चेतमा आउँदैनन्। के यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? के यो साँचो आस्था हुनु हो? साँचो आस्थाको अभाव हुनु भनेको हिँड्ने मार्ग नहुनु हो। साँचो आस्थाबिना परमेश्‍वरमाथिको विश्‍वासका कुन कार्यहरू परमेश्‍वरका अभिप्रायअनुरूप हुन्छन् वा कुन कार्यहरूद्वारा सत्यता प्राप्‍त गर्न वा जीवनमा वृद्धि हुन सकिन्छ भन्‍ने कुरा थाहा पाउन सकिँदैन। आस्था नहुँदा, व्यक्ति अन्धो हुन्छ, ऊसँग पछ्याउने चाहना हुन्छ, तर दिशा र लक्ष्य हँदैन। त्यसोभए, आस्था कसरी पैदा हुन्छ? आस्था प्रार्थना र परमेश्‍वरसँगको सङ्गतिद्वारा पैदा हुन्छ, र परमेश्‍वरका वचनहरू पढेर र पवित्र आत्माको अन्तर्दृष्‍टि प्राप्‍त गरेर अझ बढी आस्था पैदा हुन्छ। तैँले जति धेरै सत्यता बुझ्दै जान्छस्, तँसँग त्यति नै धेरै आस्था हुनेछ। सत्यता नबुझेकाहरूमा अलिकति पनि आस्था हुँदैन, र यदि तिनीहरू मण्डलीमा घुलमिल नै भए भने पनि, तिनीहरू अविश्‍वासी नै हुन्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले प्रार्थना नगरी र परमेश्‍वरका वचनहरू नपढी त्यसो गर्न सक्दैनन्। यदि तिनीहरू केवल भेलाहरूमा उपस्थित भइरहन्छन्, तर बिरलै इमानदारीपूर्वक प्रार्थना गर्छन् भने, तिनीहरूले आफूलाई परमेश्‍वरबाट झन्‌झन् टाढिएको पाउनेछन्। तिमीहरू सबै बिरलै साँचो रूपमा प्रार्थना गर्छौ र केही मानिसहरू त अझै पनि प्रार्थना गर्न जान्दैनन्। तथ्य के हो भने, प्रार्थना मूलतः आफ्नो हृदयबाट बोल्नु हो। यो परमेश्‍वरसामु आफ्नो हृदय खोल्नु र उहाँको अगाडि खुलेर कुरा गर्नु हो। यदि कुनै व्यक्तिको हृदय सही प्रकारको छ भने, ऊ हृदयबाट बोल्न सक्छ, र यसरी, परमेश्‍वरले उसको प्रार्थना सुन्‍नु र स्विकार्नुहुन्छ। कतिपय मानिसहरूले प्रार्थना गर्दा परमेश्‍वरसँग बिन्ती गर्न मात्र जानेका हुन्छन्। तिनीहरू अरू केही नभनी निरन्तर परमेश्‍वरको अनुग्रह मात्र माग्छन्, र यसरी तिनीहरू जति धेरै प्रार्थना गर्छन्, त्यति नै सुकेको महसुस गर्छन्। प्रार्थना गर्दा, चाहे तैँले कुनै कुराको तृष्णा गर्, चाहे परमेश्‍वरसँग केही खोजी गर्, वा आफूले सम्हालिरहेको प्रस्ट देख्न नसक्‍ने मामिलामा बुद्धि र शक्ति प्रदान गर्नका लागि परमेश्‍वरसँग अनुरोध गर्, वा चाहे परमेश्‍वरसँग अन्तर्दृष्‍टि माग्, तँसँग सामान्य मानवताको समझ हुनैपर्छ। समझ नहुँदा, तैँले आफ्नो घुँडा टेकेर यसो भन्‍नेछस्, “परमेश्‍वर, बिन्ती छ, मलाई आस्था र बल दिनुहोस्, बिन्ती छ, मलाई अन्तर्दृष्‍टि दिनुहोस् र मलाई मेरो प्रकृति हेर्न दिनुहोस्, बिन्ती छ, तपाईँ काम गरेर मलाई अनुग्रह र आशिष्‌हरू प्रदान गर्नुहोस्।” यस “बिन्ती” मा एउटा अनिवार्य कुरा छ। यो परमेश्‍वरलाई दबाब दिने एउटा तरिका हो, यो मामिला निर्धारित भइसकेझैँ गरी उहाँले गर्नैपर्छ भनेर भन्‍ने तरिका हो। यो निष्कपट प्रार्थना होइन। पवित्र आत्माका लागि, तैँले के गर्न लाग्दै छस् भनेर निर्धारित गरिसकेको हुनाले, के तैँले यसरी प्रार्थना गरेर झारा मात्र टारिरहेको हुँदैनस् र? के यो परमेश्‍वरलाई धोका दिनु होइन र? व्यक्तिले खोजी गर्ने, समर्पणकारी हृदयसहित प्रार्थना गर्नुपर्छ। उदाहरणका निम्ति, जब तँमाथि केही आइपरेको हुन्छ, र त्यसलाई कसरी सम्हाल्ने भनी तँलाई थाहा हुँदैन, तब तैँले यसो भन्‍न सक्छस्, “हे परमेश्‍वर, मलाई यस विषयमा के गर्ने हो भन्‍ने थाहा छैन। म यस मामिलामा तपाईँलाई सन्तुष्ट पार्न र तपाईँका अभिप्राय खोज्न चाहन्छु। म आफू जे चाहन्छु त्यो नभई तपाईँ जे चाहनुहुन्छ त्यही गर्न चाहन्छु। तपाईँलाई थाहा छ, मानव चाहनाहरू तपाईँका अभिप्रायहरूको पूर्ण विपरीत हुन्छन्, यिनले तपाईँलाई पूर्ण प्रतिरोध गर्छन्, र यी सत्यतासँग मेल खाँदैनन्। मलाई तपाईँ अन्तर्दृष्टि दिनुहोस्, यस विषयमा मलाई मार्गदर्शन गर्नुहोस्, र मलाई तपाईँलाई नचिढ्याउन मद्दत गर्नुहोस्…।” प्रार्थना गर्ने सही बोली यही हो। यदि तँ “हे परमेश्‍वर, म तपाईँलाई बिन्ती गर्छु कि तपाईँ मलाई मद्दत गर्नुहोस्, मार्गदर्शन गर्नुहोस्, सही वातावरण र सही मानिसहरू तयार गरिदिनुहोस्, र मलाई मेरो काम राम्ररी गर्न दिनुहोस्,” भनेर भन्छस् भने, तैँले प्रार्थना गरिसकेपछि पनि परमेश्‍वरका अभिप्रायहरू बोध गर्न सक्‍नेछैनस्, किनकि तँ परमेश्‍वरलाई तेरा चाहनाअनुसार कार्य गर्न बिन्ती गरिरहेको छस्। अब, तैँले प्रार्थनामा आफूबाट प्रयोग हुने शब्दहरूमा समझ छ कि छैन, र ती तेरो हृदयबाट आएका हुन् कि होइनन् भनी निश्‍चित गर्नैपर्छ। यदि तेरा प्रार्थनाहरूमा समझ छैन भने, पवित्र आत्माले तँमा काम गर्नुहुनेछैन। त्यसकारण, जब तँ प्रार्थना गर्छस्, तब तँ समझसाथ अनि उचित बोलीमा बोल्नैपर्छ। यसो भन्: “हे परमेश्‍वर, तपाईँ मेरा कमजोरी र मेरो विद्रोहीपन जान्‍नुहुन्छ। म तपाईँसँग केवल यति बिन्ती गर्दछु कि तपाईँ मलाई बल दिनुहोस् र तपाईँका चाहनाअनुसार मात्र मलाई मेरा परिस्थितिहरू सहन सहायता गर्नुहोस्। मलाई तपाईँका चाहनाहरू के हुन् भन्‍ने थाहा छैन, र म यही बिन्ती मात्र गर्छु। तथापि, तपाईँका चाहना पूरा होऊन्। यदि मलाई सेवा प्रदान गर्न वा प्रतिभारका रूपमा काम गर्न लगाइयो भने पनि, म त्यो स्वेच्छाले गर्नेछु। मलाई बल र बुद्धि दिनुहोस्, र मलाई यस विषयमा तपाईँलाई सन्तुष्ट पार्न दिनुहोस् भनी म तपाईँसँग बिन्ती गर्दछु। म केवल तपाईँका बन्दोबस्तहरूमा समर्पित हुन चाहन्छु…।” यस्तो प्रार्थना गरिसकेपछि, तेरो हृदयले विशेष सहजता महसुस गर्नेछ। यदि तँ मागी मात्र रहन्छस् भने, तैँले जति धेरै कुरा भने पनि त्यो सब खोक्रा शब्दहरू मात्र हुनेछन्; परमेश्‍वरले तेरो बिन्तीको जवाफमा काम गर्नुहुनेछैन, किनकि तैँले आफूलाई चाहिएको कुरा अग्रिम रूपमै निर्धारित गरेको हुन्छस्। जब तँ प्रार्थना गर्न घुँडा टेक्छस्, यसो भन्: “हे परमेश्‍वर, तपाईँ मानिसका कमजोरीहरू जान्‍नुहुन्छ, र तपाईँ मानिसका स्थितिहरू जान्‍नुहुन्छ। म बिन्ती गर्छु, यस विषयमा तपाईँ मलाई अन्तर्दृष्टि दिनुहोस्। मलाई तपाईँका चाहना बुझ्न दिनुहोस्। म केवल तपाईँले बन्दोबस्त गर्ने सबै कुरामा समर्पित हुने इच्छा गर्छु, र मेरो हृदय तपाईँमा समर्पित हुन इच्छुक छ…।” यसरी प्रार्थना गर्, र पवित्र आत्माले तँलाई उत्प्रेरित गर्नुहुनेछ। प्रार्थना गर्दा यदि तेरो अभिप्राय गलत छ, र तँ सधैँ आफ्नै इच्छामा आधारित भएर परमेश्‍वरसँग मागहरू राख्छस् भने, तेरा प्रार्थनाहरू निरस र बाँझो हुनेछन्, र पवित्र आत्माले तँलाई उत्प्रेरित गर्नुहुनेछैन। यदि तँ आँखा चिम्लेर परमेश्‍वरसँग झारा टार्नका लागि केही बासी भनाइहरू ओकल्छस् भने, के पवित्र आत्माले तँलाई त्यसरी नै उत्प्रेरित गर्नुहुनेछ? परमेश्‍वरको अगाडि आउँदा मानिसहरूले आज्ञाकारी ढङ्गले व्यवहार गर्नैपर्छ र भक्त मनोवृत्ति राख्‍नैपर्छ। तँ साँचो परमेश्‍वरको अगाडि आउँदै छस्, सृष्‍टिकर्तासँग कुरा गर्दै छस्। के तँ भक्त हुनुपर्दैन र? प्रार्थना गर्नु कुनै चानचुने कुरा होइन। मानिसहरू परमेश्‍वरसामु आउँदा आफ्नो दाह्रा-नङ्ग्रा देखाउँछन्, तिनीहरूमा भक्तिको पूर्ण अभाव हुन्छ; र प्रार्थना गर्दा तिनीहरू आ-आफ्नै खाटमा सुतेर केही सरल, सतही शब्दहरू भट्याउँछन्, र आफूले प्रार्थना गरिरहेको छु र परमेश्‍वर तिनीहरूलाई सुन्न सक्‍नुहुन्छ भन्ठान्छन्—के यो आफैप्रतिको धोका होइन र? यो भन्‍नुको मेरो उद्देश्य मानिसहरूले कुनै खास प्रावधान पालना गरून् भनी माग गर्नु होइन। तैपनि, मान्छे कम्तीमा पनि परमेश्‍वरमा समर्पित हुने हृदय धारण गर्न र भक्तिपूर्ण मनोवृत्तिसाथ परमेश्‍वरसामु आउन त सक्छ नि। तिमीहरूका प्रार्थनाहरूमा समझको अभाव अलि बढी नै भइरहन्छ। तिमीहरू सधैँ यस्तो भावमा प्रार्थना गर्छौ, “हे परमेश्‍वर! तपाईँले मलाई यो कर्तव्य पूरा गर्न दिनुभएको हुनाले, मैले गर्ने सबै कुरा उपयुक्त बनाइदिनुहोस्, ताकि तपाईँको काममा बाधा नपरोस् र परमेश्‍वरको परिवारको हितमा हानि नहोस्। तपाईँले मेरो रक्षा गर्नैपर्छ…।” यस्तो प्रार्थना अत्यन्तै समझहीन छ, होइन र? यदि तैँले परमेश्‍वरसामु आएर यसरी प्रार्थना गरिस् भने, के उहाँले तँमा काम गर्नुहुन्छ? यदि तैँले मेरो अगाडि आएर समझहीन कुरा गरिस् भने, के म सुन्नेछु? यदि तैँले मलाई तँलाई घृणा गर्न लगाइस् भने, म तँलाई सीधै बाहिर निकाल्नेछु! के तँ ख्रीष्‍टको अघि र आत्माको अघि उस्तै होइनस् र? जब तँ प्रार्थना गर्नका लागि परमेश्‍वरसामु आउँछस्, तैँले कसरी समझसाथ बोल्ने र कसरी आफ्नो भित्री स्थितिलाई भक्ति प्राप्‍त गर्न र समर्पित हुन सक्षम हुन मिलाउने भन्‍ने कुरामा विचार गर्नैपर्छ। तैँले त्यसो गरिसकेपछि, फेरि प्रार्थना गर्दा राम्रो हुनेछ र तैँले परमेश्‍वरको उपस्थिति महसुस गर्नेछस्। मानिसहरू धेरै पटक घुँडा टेकेर प्रार्थना गर्छन्; आफ्ना आँखा बन्द गर्छन्, र तिनीहरू ठूल्ठूलो स्वरमा “हे परमेश्‍वर! हे परमेश्‍वर!” भन्दै चिच्याउन मात्र सक्छन्। तिनीहरू यसरी धेरै बेरसम्म निःशब्द भएर किन कराउँछन्? यो मानिसको गलत मानसिकता र असामान्य स्थितिको कारणले हुन्छ। जब व्यक्ति आफ्नो हृदयमा परमेश्‍वरसम्म पुग्‍न सक्दैन, उसको प्रार्थना शब्दहीन हुन्छ। के तिमीहरू कहिल्यै यसो गर्छौ? तिमीहरूलाई अब आफ्नो माप थाहा छ, तर जब तिमीहरूको स्थिति असामान्य हुन्छ, तिमीहरू आत्मचिन्तन गर्ने वा सत्यता खोज्ने गर्दैनौ, र तिमीहरू प्रार्थनामा परमेश्‍वरसामु आउन, वा उहाँका वचन खान र पिउन इच्छुक हुँदैनौ। यसो गर्नु खतरनाक हुन्छ। चाहे कुनै व्यक्तिको स्थिति सामान्य होस् वा नहोस्, वा जस्तासुकै समस्याहरू उत्पन्‍न होऊन्, उसले प्रार्थनाको प्रार्थनाको बाटो बिराउनै हुँदैन। यदि तिमीहरूले प्रार्थना गरेनौ भने, तिमीहरूको स्थिति अहिले सामान्य भए पनि, लामो समयको अन्तरालपछि यो असामान्य हुनेछ। प्रार्थना गर्ने र परमेश्‍वरको वचन पढ्ने काम सामान्य हुनुपर्छ। सत्यता खोज्नका लागि परमेश्‍वरका वचनहरू पढ्दा साँचो प्रार्थना आउन सक्छ, प्रार्थनाद्वारा परमेश्‍वरको अन्तर्दृष्‍टि प्राप्‍त गर्न सकिन्छ, र यसले व्यक्तिलाई परमेश्‍वरको वचन बुझ्न सक्षम बनाउन सक्छ। परमेश्‍वरलाई प्रार्थना गर्दा, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पहिले आफ्नो मानसिकता सच्याउनु हो। प्रार्थनाको सिद्धान्त यही हो। यदि तिमीहरूको मानसिकता गलत छ भने, तिमीहरू भक्त हुनेछैनौ, तिमीहरूले झारा मात्र टारिरहेका, र परमेश्‍वरलाई धोका दिइरहेका हुनेछौ। यदि तिमीहरूको हृदयमा परमेश्‍वरप्रतिको डर र समर्पणता छ, र तिमीहरू उहाँलाई प्रार्थना गर्छौ भने मात्र तिमीहरूको हृदयमा शान्ति हुनेछ। त्यसकारण, प्रार्थना गर्दा तिमीहरूको मानसिकता सही हुनैपर्छ, अनि तिमीहरूको प्रार्थना फलदायी हुनेछ। यदि तिमीहरू प्रायः यस तरिकाले अभ्यास गर्छौ, प्रार्थना गर्दा आफ्नो हृदयमा साँच्चै के छ भन्‍ने कुरा परमेश्‍वरलाई बताउँछौ, र आफ्नो हृदयले परमेश्‍वरलाई सबैभन्दा बढी जे भन्‍न चाहन्छ त्यही कुरा भन्छौ भने, तिमीहरू थाहै नपाई परमेश्‍वरलाई प्रार्थना गर्न सक्षम हुनेछौ, अनि तिमीहरू परमेश्‍वरसँग सामान्य रूपमा सङ्गति गर्न सक्‍नेछौ।

प्रार्थना गर्नका लागि शिक्षित वा सुसंस्कृत हुनुपर्छ भन्‍ने छैन, र यो कुनै निबन्ध लेख्‍ने काम होइन। सामान्य व्यक्तिको समझसाथ बस इमानदारीपूर्वक बोल। येशूका प्रार्थनाहरूबारे विचार गर। गेतसमनीको बगैँचामा, उहाँले यस्तो प्रार्थना गर्नुभयो, “यदि सम्भव छ भने…।” अर्थात्, “यदि यो गर्न सकिन्छ भने।” यो परामर्शको क्रममा भनिएको थियो। उहाँले “म तपाईँसँग याचना गर्छु” भनेर भन्‍नुभएन। उहाँले समर्पित हृदयसाथ र समर्पित स्थितिमा यसो भनेर प्रार्थना गर्नुभयो, “यदि सम्भव छ भने, यो कचौरा मबाट हटोस्: तैपनि मेरो चाहना होइन, बरु तपाईँको चाहना पूरा होस्।” उहाँले दोस्रोपटक यसरी नै प्रार्थना गर्न जारी राख्‍नुभयो, र तेस्रोपटक उहाँले यस्तो प्रार्थना गर्नुभयो, “तपाईँको इच्‍छा पूरा होस्।” परमेश्‍वर पिताको चाहना बोध गरेर उहाँले भन्‍नुभयो, “तपाईँको इच्‍छा पूरा होस्।” उहाँ कुनै पनि व्यक्तिगत छनौट नगरी पूर्ण रूपमा समर्पित हुन सक्‍नुभयो। प्रार्थनामा, येशूले भन्‍नुभयो, “यदि सम्भव छ भने, यो कचौरा मबाट हटोस्।” त्यसको अर्थ के हो? उहाँले क्रूसमा अन्तिम साससम्म रगत बगाएर सहनुपर्ने कष्ट सोचेर—अनि त्यसले मृत्युको विषय छोएकाले—र उहाँले अझसम्म परमेश्‍वर पिताको चाहना पूर्ण रूपमा बोध नगर्नुभएकाले यसरी प्रार्थना गर्नुभएको थियो। त्यस्तो कष्ट भोग्‍नुपर्ने सोचमा डुबेर पनि उहाँले यसरी प्रार्थना गर्नुले उहाँको समर्पणताको गहिराइ देखाउँछ। उहाँको प्रार्थना गर्ने शैली सामान्य थियो। उहाँले आफ्नो प्रार्थनामा कुनै सर्तहरू राख्‍नुभएन, न त त्यो कचौरा हटाइनैपर्छ भनेर नै भन्‍नुभयो। बरु, उहाँको उद्देश्य त उहाँले बुझ्न नसक्‍ने परिस्थितिमा परमेश्‍वरको चाहना खोज्नु थियो। उहाँले पहिलो पटक प्रार्थना गर्नुहुँदा बुझ्नुभएको थिएन, अनि उहाँले भन्‍नुभयो, “यदि सम्भव छ भने … तर तपाईँको चाहना पूरा होस्।” उहाँले समर्पणताको स्थितिमा परमेश्‍वरसँग प्रार्थना गर्नुभयो। दोस्रो पटक पनि उहाँले त्यसरी नै प्रार्थना गर्नुभयो। समग्रमा, उहाँले तीन पटक प्रार्थना गर्नुभयो, र उहाँको अन्तिम प्रार्थनामा, उहाँले परमेश्‍वरको चाहना पूर्ण रूपमा बुझ्नुभयो, त्यसपछि उहाँले फेरि कुनै कुरा माग्‍नुभएन। उहाँको पहिलो दुई वटा प्रार्थनामा, उहाँ खोजी मात्रै गर्दै हुनुहुन्थ्यो, र उहाँले समर्पणताको स्थितिमा खोजी गर्नुभयो। तर, मानिसहरू त्यसरी प्रार्थना गर्दै गर्दैनन्। मानिसहरू आफ्ना प्रार्थनामा सधैँ यसो भन्छन्, “हे परमेश्‍वर, म तपाईँ यो वा त्यो गरिदिनुहोस् भनी बिन्ती गर्छु, र तपाईँ मलाई यसमा वा त्यसमा मार्गदर्शन गरिदिनुहोस् भनी बिन्ती गर्छु, र म तपाईँ मेरा लागि अवस्थाहरू तयार गरिदिनुहोस् भनी बिन्ती गर्छु…।” सायद परमेश्‍वरले तेरा निम्ति सुहाउँदा अवस्थाहरू तयार गरिदिनुहुनेछैन, र उहाँले तँलाई यो कष्ट भोग्‍न लगाउनुहुनेछ र तँलाई पाठ सिकाउनुहुनेछ। यदि तँ सधैँ “हे परमेश्‍वर, म बिन्ती गर्छु, तपाईँ मेरा निम्ति तयारीहरू गरिदिनुहोस् र मलाई शक्ति दिनुहोस्” भनेर प्रार्थना गर्छस् भने, यो अत्यन्तै अनुचित कुरा हो! जब तँ परमेश्‍वरलाई प्रार्थना गर्छस्, तँ मनासिब हुनाइँपर्छ र तैँले उहाँलाई समर्पणटको हृदयले प्रार्थना गर्नुपर्छ। आफूले के गर्ने भनेर निर्धारण गर्ने प्रयास नगर्। यदि तँ प्रार्थना गर्नुअघि नै आफूले के गर्ने भनेर निर्धारण गर्ने प्रयास गर्छस् भने, यो परमेश्‍वरप्रतिको समर्पणता होइन। प्रार्थना गर्दा, तेरो हृदय समर्पणकारी हुनैपर्छ, र तैँले पहिले परमेश्‍वसँग खोजी गर्नैपर्छ। यसरी, प्रार्थनाको समयमा तेरो हृदय स्वाभाविक रूपमै उज्यालो हुनेछ, र तैँले के गर्न उपयुक्त हुन्छ भन्‍ने थाहा पाउनेछस्। प्रार्थना गर्नुअघिको तेरो योजनाबाट प्रार्थनापछि तेरो हृदयमा उत्पन्‍न हुने परिवर्तनमा जानु पवित्र आत्माको कामको नतिजा हो। यदि तैँले आफ्नो निर्णय गरिसकेर के गर्ने भनी निर्धारण गरिसकेकोको छस् भने, र त्यसपछि तँ परमेश्‍वरसँग अनुमति माग्‍न वा आफूले चाहेको कुरा गरिदिनुहोस् भनी बिन्ती गर्न परमेश्‍वरसँग प्रार्थना गर्छस् भने, यस प्रकारको प्रार्थना मनासिब हुँदैन। धेरै पटक, मानिसहरूले के गर्ने भनेर निर्धारित गरिसकेका हुनाले, र परमेश्‍वरसँग केवल अनुमति मागिरहेका हुनाले नै परमेश्‍वरले मानिसहरूका प्रार्थनाहरूको जवाफ दिनुहुन्‍न। परमेश्‍वर भन्‍नुहुन्छ, “तैँले के गर्ने भनेर निर्धारित गरिसकेको हुनाले, मलाई किन सोध्छस्?” यस प्रकारको प्रार्थना परमेश्‍वरलाई धोका दिनुजस्तै लाग्छ, र यसकारण तिनीहरूका प्रार्थनाहरू सुकेर जान्छन्।

मानिसहरू घुँडा टेकेर प्रार्थना गर्दा परमेश्‍वरसँग कुरा गरिरहेका हुने भए पनि तैँले के कुरा स्पष्‍टसित बुझ्नुपर्छ भने परमेश्वरलाई प्रार्थना गर्नु भनेको पवित्र आत्माको काम प्राप्त गर्ने एउटा माध्यम पनि हो, र मानिसहरूले प्रार्थना गर्दा परमेश्‍वरले सधैँ उनीहरूलाई अन्तर्दृष्‍टि, ज्योति र अगुवाइ प्रदान गर्नुहुन्छ। मानिसहरू सही स्थितिमा हुँदा प्रार्थना र खोजी गर्छन् भने, पवित्र आत्माले पनि सँगसँगै काम गरिरहनुभएको हुनेछ। यो परमेश्‍वर र मानिसहरूबीचको एक प्रकारको अघोषित सम्झौता हो; तैँले यसलाई परमेश्‍वरले मानिसहरूलाई कामकाज सम्हाल्‍न मद्दत गर्नुभएको पनि भन्‍न सक्छस्। प्रार्थना भनेको मानिसहरूका लागि परमेश्‍वरसामु आउने र उहाँसँग सहकार्य गर्ने माध्यम हो। यो मानिसहरूलाई मुक्ति दिने र शुद्ध पार्ने परमेश्‍वरको एउटा तरिका पनि हो। यसबाहेक, यो जीवन प्रवेशको मार्ग हो; यो कुनै विधिविधान होइन। प्रार्थना मानिसहरूलाई उत्प्रेरित गर्ने तरिका मात्र होइन, न त यो केवल परमेश्‍वरलाई सन्तुष्‍ट पार्ने सूत्रीय तरिका नै हो। यस्ता विचार गलत हुन्। प्रार्थना गहन रूपमा अर्थपूर्ण हुन्छ! यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तँ प्रार्थनाबाट पन्छिन मिल्दैन, झन् परमेश्‍वरका वचनहरू पढ्नबाट पन्छिनु त टाढाको कुरा हो। प्रार्थनाको माध्यमबाट पवित्र आत्मा मानिसहरूमा काम गर्नुहुन्छ, तिनीहरूलाई अन्तर्दृष्‍टि र अगुवाइ प्रदान गर्नुहुन्छ। यदि मानिसहरूले परमेश्‍वरलाई प्रार्थना गरेनन् भने, उनीहरूलाई पवित्र आत्माको काम प्राप्‍त गर्न कठिन हुनेछ। यदि तँ बारम्बार प्रार्थना गर्छस्, बारम्बार प्रार्थना गर्ने अभ्यास गर्छस् र बारम्बार परमेश्‍वरमा समर्पित हृदयले प्रार्थना गर्छस् भने, तेरो भित्री स्थिति सामान्य हुन्छ। यदि तँ प्रार्थना गर्दा सामान्यतया धर्मसिद्धान्तका केही वाक्यहरू मात्र बोल्छस्, र परमेश्‍वरसित आफ्नो हृदय खोल्‍ने वा सत्यता खोज्‍ने गर्दैनस्, न त परमेश्‍वरका अभिप्राय र मागहरूबारे विचार नै गर्छस् भने, तँ साँचो रूपमा प्रार्थना गरिरहेको छैनस्। सत्यताबारे बारम्बार विचार गर्ने मानिसहरू, जसको हृदय बारम्बार परमेश्‍वरको नजिक रहन्छन्, र जो बारम्बार परमेश्‍वरका वचनहरूमा जिउँछन्, तिनीहरूसँग मात्र साँचो प्रार्थना हुन्छ, तिनीहरूको हृदयमा मात्र परमेश्‍वरसँग बोल्ने शब्दहरू हुन्छन्, र तिनीहरूले मात्र परमेश्‍वरबाट सत्यता खोज्न सक्छन्। प्रार्थना गर्न सिक्‍नका लागि, तैँले परमेश्‍वरका वचनहरू बारम्बार मनन गर्नुपर्छ। यदि तँ परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्छस् भने, उहाँलाई भन्‍नका लागि तेरो हृदयमा धेरै कुरा हुनेछन् र तैँले कुन शब्दहरू व्यावहारिक प्रार्थनाहरू हुन् र कुन चाहिँ होइनन्; कुन प्रार्थनाहरू साँचा उपासना हुन् र कुन चाहिँ होइनन्; कुन प्रार्थनाहरूमा तैँले परमेश्‍वरका अभिप्रायहरू बुझ्न खोज्छस्, र कुन प्रार्थनाहरूमा तैँले निर्णय गरिसकेको हुन्छस् र तँ ती कुराका लागि केवल परमेश्‍वरसित अनुमति माग्दै छस् भनेर बुझ्न सक्‍नेछस्। यदि तैँले यी मामिलाहरूलाई कहिल्यै गम्भीर रूपमा लिइनस् भने, तेरा प्रार्थनाहरू कहिल्यै सफल हुनेछैनन्, र तेरो भित्री स्थिति सधैँ असामान्य हुनेछ। जहाँसम्म सामान्य समझ के हो, साँचो समर्पणता के हो, साँचो उपासना के हो, र प्रार्थना गर्दा कुन स्थानमा बस्‍नुपर्छ भन्‍ने कुरा छ—यी सबै पाठहरूमा प्रार्थनाका सत्यताहरू समावेश हुन्छन्। ती सबै विस्तृत मामिला हुन्। धेरैजसो मानिसहरूले मलाई वास्तवमै देख्‍न नसक्‍ने हुनाले, तिनीहरू आत्मासामु प्रार्थना गर्नमै सीमित छन्। तैँले प्रार्थना गर्न थालेपछि, तैँले बोल्ने शब्‍दहरू समझयुक्त छन् कि छैनन्, तेरा शब्‍दहरू साँचो रूपमा आराधनापूर्ण छन् कि छैनन्, तैँले माग्‍ने कुराहरूले परमेश्‍वरको स्वीकृति प्राप्त गर्छन् कि गर्दैनन्, तेरो प्रार्थनाभित्र कारोबारको तत्त्व छ कि छैन, वा यसमा मानव अशुद्धताहरू मिसिएका छन् कि छैनन्, तेरा प्रार्थना र बोलीवचनहरू परमेश्‍वरका अभिप्रायअनुरूप छन् कि छैनन्, तँसँग परमेश्‍वरप्रति विशेष डर, सम्‍मान र समर्पणता छ कि छैन, र तैँले परमेश्‍वरलाई साँच्‍चै परमेश्‍वरकै रूपमा व्यवहार गरिरहेको छस् कि छैनस् भन्‍ने प्रश्‍नहरू उब्जन्छन्। तँ प्रार्थनामा बोल्‍ने कुराप्रति गम्‍भीर हुनैपर्छ, परमेश्‍वरका अभिप्राय अनुभूत गर्नैपर्छ, र उहाँका मागअनुरूपको बन्‍नैपर्छ। यसरी प्रार्थना गरेर मात्रै तैँले हृदयमा शान्ति र खुसी पाउनेछस्। यसरी मात्रै ख्रीष्‍टको अघि आउँदा तँसँग सामान्य समझ हुन सक्छ। यदि तँ आत्माको अघि प्रार्थना गर्ने वा आफ्नो हृदयमा भएको कुरा बोल्‍ने गर्दैनस् भने, जब तँ ख्रीष्‍टको अघि आउँछस्, तब तँमा धारणाहरू उत्पन्‍न हुने र तैँले उहाँविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गर्ने सम्भावना हुनेछ, वा तैँले अनुचित रूपमा वा बेइमानी तरिकाले बोल्‍नेछस्, वा तेरा बोलीवचन र व्यवहारद्वारा निरन्तर अवरोध खडा गर्नेछस्, र त्यसपछि तैँले सधैँ धिक्‍कार भोग्‍नेछस्। तैँले किन सधैँ धिक्‍कार भोग्‍नेछस्? किनभने सामान्यतया तँसँग परमेश्‍वरलाई कसरी आराधना वा व्यवहार गर्ने भन्‍नेसम्‍बन्धी सत्यताको अलिकति पनि ज्ञान हुँदैन, त्यसैले जब तैँले कुनै समस्या सामना गर्छस्, तँ अन्योलग्रस्त हुन्छस्, कसरी अभ्यास गर्ने भनेर जान्दैनस्, र तैँले निरन्तर गल्ती गरिरहन्छस्। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू उहाँको सामु कसरी आउनुपर्छ? यो पक्कै पनि प्रार्थनामार्फत हुनुपर्छ। यदि तैँले प्रार्थना गर्दा तेरो मनोवृत्ति सच्याएको छस् र तेरो हृदय शान्त छ भने, तँ परमेश्‍वरसामु आएको छस्। प्रार्थना गरिसकेपछि, तैँले प्रार्थनामा बोलेका शब्दहरू समझयुक्त थिए कि थिएनन्, तँ उपयुक्त स्थानमा तैनाथ भएको थिइस् वा थिइनस्, तँमा परमेश्‍वरप्रति समर्पणताको हृदय थियो कि थिएन, र तँमा मानवीय अशुद्धता वा बेइमानी थियो कि थिएन भनेर तैँले मनन गर्नैपर्छ। यदि तैँले केही समस्या फेला पारिस् भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्न जारी राख्‍नैपर्छ, र परमेश्‍वरसामु आफ्ना कमजोरी र त्रुटिहरू स्विकार्नैपर्छ। यसरी आफ्नो हृदयमा भएको कुरा परमेश्‍वरलाई भनेपछि, तेरो स्थिति झन्झन् सामान्य हुँदै जानेछ, तँमा विवेक र समझ झन्झन् बढ्दै जानेछ, र तेरा गलत स्थितिहरू झन्‍झन् घट्दै जानेछन्। तैँले केही समय यसरी अभ्यास गरेपछि, तेरा प्रार्थनाहरू सुध्रिँदै जानेछन्, र धेरैजसो समय ती प्रार्थनाहरू परमेश्‍वरद्वारा सुनिनेछन् र स्वीकृत हुनेछन्। प्रायः यसरी परमेश्‍वरलाई प्रार्थना गर्न सक्‍नेहरू नै परमेश्‍वरसामु जिउन आएकाहरू हुन्। यदि तँ प्रार्थनालाई गम्भीरतापूर्वक लिँदैनस् वा आफ्ना प्रार्थनाका गलत तरिकाहरू सच्याउँदैनस् भने, तैँले प्रार्थना गर्ने तरिका नै थाहा पाउनेछैनस्। अनि, प्रार्थना गर्ने तरिका थाहा नहुनुको परिणामस्वरूप, तँलाई परमेश्‍वरसामु जिउन गाह्रो हुनेछ। यसप्रकारको व्यक्तिको कुनै जीवन प्रवेश हुनेछैन र ऊ परमेश्‍वरको वचनबाहिर हुनेछ। यदि तँलाई परमेश्‍वरसामु प्रार्थना गर्ने वा बोल्ने तरिका थाहा छैन भने, यदि तँ बोल्दा गम्भीर हुँदैनस्, आफूखुसी बोल्छस्, र आफूले गलत कुराहरू बोल्दा त्यसमा कुनै समस्या छ भन्‍ने महसुस गर्दैनस् भने, र यदि तँ निरन्तर लापरवाह र भ्रमित हुन्छस् भने, यसको परिणामस्वरूप, जब तँ ख्रीष्‍टको सामुन्‍ने आउँछस्, तँ केही गलत बोलिएला वा गरिएला कि भनेर डराउनेछस्। अनि, तँ जति धेरै गल्ती गर्छु कि भनी डराउँछस्, तैँले त्यति नै धेरै गल्तीहरू गर्नेछस्, र तैँले ती कुरा कहिल्यै सच्याउन सक्‍नेछैनस्। अनि, मानिसहरू ख्रीष्‍टसँग निरन्तर सम्पर्कमा रहन नसक्‍ने वा आफ्नो आमनेसामने ख्रीष्‍टले कुरा गर्नुभएको प्रायः सुन्‍न नपाउने हुनाले, म प्रायः तिमीहरूसामु रहन नसक्‍ने हुनाले, तिमीहरूले बारम्बार प्रार्थनामा आई खोजी गर्न र आत्माको अगाडि हृदय खोलेर बोल्‍न मात्र सक्‍नेछौ, र यदि तिमीहरूले परमेश्‍वरप्रतिको समर्पणता हासिल गर्न र परमेश्‍वरको डर मान्‍ने हृदय पाउन सक्यौ भने, त्यो नै पर्याप्‍त हुनेछ। मैले तिमीहरूसँग आमनेसामने कुरा गरेँ भने पनि, सत्यता स्विकार्ने र पछ्याउने र परमेश्‍वरको पछि लाग्‍ने मार्गमा हिँड्ने कुरा तिमीहरूमै निर्भर रहन्छ। अबदेखि, तिमीहरूले प्रार्थना गर्दा के भन्‍ने हो, त्यसमा बढी ध्यान दिनैपर्छ। प्रार्थना, मनन र महसुस गर्न समय लेओ। त्यसपछि, पवित्र आत्माले जब तिमीहरूलाई अन्तर्दृष्‍टि दिनुहुन्छ, तिमीहरूले प्रगति गर्नेछौ। पवित्र आत्माले तिमीहरूलाई अन्तर्दृष्‍टि दिनुहुँदा, तिमीहरूले प्राप्‍त गर्ने अनुभूति अत्यन्तै सूक्ष्म हुन्छ। यस्ता केही सूक्ष्म अनुभूतिहरू र सूक्ष्म ज्ञान प्राप्‍त गरेपछि, यदि तिमीहरूले केही काम गर्‍यौ, वा केही मामिलाहरू सम्हाल्न तिमीहरू ख्रीष्‍टको सम्पर्कमा आयौ भने, तब तिमीहरूले कुन शब्दहरू समझयुक्त ढङ्गले बोलिएका हुन् र कुन चाहिँ होइनन्, कुन काम समझयुक्त ढङ्गले गरिएका हुन् र कुन चाहिँ होइनन् भनेर चिन्‍न सक्‍नेछौ। यसरी, तिमीहरूले प्रार्थनाका उद्देश्यहरू हासिल गरिसकेका हुनेछौ।

बाइबलले धेरै मानिसका प्रार्थनाहरूको अभिलेख राखेको छ, जसले ती प्रार्थनाहरूमा आफ्ना सर्तहरू तय गरिसकेका थिएनन्। बरु, तिनीहरूले परमेश्‍वरका अभिप्राय खोज्न र बोध गर्न, र पवित्र आत्मालाई निर्णयहरू गर्न दिन प्रार्थना प्रयोग गरे। उदाहरणका लागि, इस्राएलीहरूले प्रार्थनामार्फत यरीहोमा आक्रमण गरे। निनवेका मानिसहरूले पनि प्रार्थनामार्फत नै पश्‍चात्ताप गरे र परमेश्‍वरको क्षमा प्राप्‍त गरे। प्रार्थना कुनै प्रकारको विधिविधान होइन। यो एक व्यक्ति र परमेश्‍वरबीच हुने वास्तविक मिलन हो, र यसको गहन महत्त्व हुन्छ। मानिसहरूको प्रार्थनाबाट, तिनीहरूले सोझै परमेश्‍वरको सेवा गरिरहेका छन् भनी बुझ्न सकिन्छ। यदि तँ प्रार्थनालाई एक विधिविधानका रूपमा हेर्छस् भने, तेरो प्रार्थना प्रभावहीन हुनेछ, र त्यो वास्तविक प्रार्थना हुनेछैन किनभने तँ परमेश्‍वरलाई आफ्ना भित्री भावनाहरू बताउने वा उहाँसित हृदय खोल्ने काम नै गर्दैनस्। जहाँसम्म परमेश्‍वरको सरोकार छ, तेरो प्रार्थना प्रार्थनाका रूपमा गन्ती नै हुँदैन। परमेश्‍वरको हृदयमा तँ अस्तित्वमै रहँदैनस्। त्यसोभए, तँमा पवित्र आत्माले कसरी काम गर्नुहुनेछ त? यसको परिणामस्वरूप, केही समयसम्‍म काम गरिसकेपछि, तँ थकित हुनेछस्। अबदेखि, प्रार्थना नगरी, तैँले काम गर्न सक्‍नेछैनस्। काम गराउने त प्रार्थनाले हो, र सेवा गराउने पनि प्रार्थनाले नै हो। परमेश्‍वरको सेवा गर्ने अगुवा भएर पनि, यदि तैँले आफूलाई प्रार्थनामा समर्पित गरेको वा प्रार्थनालाई गम्भीरतासाथ कहिल्यै लिएको छैनस् भने, तँसित परमेश्‍वरलाई भन्‍नुपर्ने विचारै छैन, र यसरी, तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा गल्ती गर्ने सम्भावना हुन्छ, र आफ्ना कार्यहरू गर्नका लागि निरन्तर आफ्नै अभिप्रायहरूमा भर परेसँगै तँलाई ठेस लाग्‍ने सम्भावना पनि हुन्छ। पर्याप्त मात्रामा प्रार्थना नगरी परमेश्‍वरमा विश्‍वास गर्नु अस्वीकार्य छ। कतिपय मानिसहरू बिरलै प्रार्थना गर्छन्, र परमेश्‍वर देहधारी हुनुभएकाले सोझै परमेश्‍वरका वचनहरू पढ्‍नु नै काफी हुन्छ भन्‍ने सोच्छन्। यसमा तँ अति सरल रूपमा सोच्ने गर्छस्। के तैँले परमेश्‍वरलाई प्रार्थना नै नगरी केवल उहाँको वचन पढेर पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छस्? यदि कुनै व्यक्तिले परमेश्‍वरलाई कहिल्यै प्रार्थना गर्दैन भने, अर्थात् परमेश्‍वरसित बोल्‍ने वा साँचो रूपमा सङ्गति गर्ने गर्दैन भने, उसलाई आफ्नो भ्रष्ट स्वभाव फाल्न र आफ्नो कर्तव्य निर्वाह गर्द परमेश्‍वरलाई सन्तुष्ट पार्न एकदमै कठिन हुनेछ। देहधारी परमेश्‍वर समेत कहिलेकाहीँ प्रार्थना गर्नुहुन्छ। जब येशू देहधारी हुनुहुन्थ्यो, उहाँ पनि महत्त्वपूर्ण मामिलाहरूमा प्रार्थना गर्नुहुन्थ्यो। उहाँ पर्वतहरूमा, डुङ्गा चढेको बेला, र बगैँचाहरूमा हुँदा प्रार्थना गर्नुहुन्थ्यो। उहाँ आफ्ना चेलाहरूलाई पनि प्रार्थना गर्न अगुवाइ गर्नुहुन्थ्यो। यदि तँ बारम्बार परमेश्‍वरसामु आएर उहाँसँग प्रार्थना गर्छस् भने, त्यसले तँ परमेश्‍वरलाई परमेश्‍वरजस्तै व्यवहार गर्छस् भन्‍ने प्रमाणित गर्छ। यदि तँ बारम्बार आफ्नै चाहनाअनुसार व्यवहार गर्छस्, र प्रायः प्रार्थनालाई बेवास्ता गर्छस्, र उहाँको पिठ्यूँपछाडि विभिन्‍न कार्यहरू गर्छस् भने, तँ परमेश्‍वरको सेवा गरिरहेको छैनस्, तँ केवल आफ्नै उद्यममा संलग्‍न भइरहेको छस्। यस्तो हुँदा, के तँलाई दोषी ठहराइनेछैन र? बाहिरबाट हेर्दा, तैँले बाधा पार्ने कुनै काम गरेजस्तो नदेखिएला, न त तैँले परमेश्‍वरको निन्दा गरेजस्तो नै देखिएला, तर तैँले अझै पनि बस आफ्नै कामकाज सम्हालिरहेको हुनेछस्। तँ आफ्नै उद्यममा संलग्‍न भइरहेको, अनि प्रसिद्धि, लाभ, हैसियत र व्यक्तिगत फाइदा पछ्याइरहेको हुनेछस्। के यो मण्डलीको कामका अवरोध पुर्‍याउनु र? यदि सतही रूपमा तैँले अवरोध पुर्‍याएजस्तो नदेखिए पनि, सारमा तेरा कार्यहरू परमेश्‍वरको प्रतिरोधी छन्। यदि तँ कहिल्यै पश्‍चात्ताप गर्दैनस् वा बदलिँदैनस् भने, तँ खतरामा छस्।

कुनै असन्तोषजनक कुरा हुँदा हरेक व्यक्ति पीडामा हुने र दुःखी हुने, र कसैसँग बोल्न नचाहने स्थितिमा पुगेका छन्। केही समयपछि, तिनीहरूले अलि राम्रो महसुस गर्छन्, तर त्यो स्थिति सुल्झिएको हुँदैन। कहिलेकाहीँ, तिनीहरू कर्तव्य निर्वाह गर्ने क्रममा भ्रष्‍ट स्वभाव प्रकट गर्छन् र काममा ढिलाइ गराउँछन्, वा काटछाँटमा पर्छन्, र तिनीहरू दुखित र व्याकुल हुन्छन्, तर यो समाधान गर्न सत्यताको खोजी गरिएन भने, यो असामान्य स्थिति समाधान हुनेछैन। तिमीहरू आफूलाई दुःख र कष्‍ट पर्दा प्रार्थना गर्न परमेश्‍वरसामु कतिपटक आएका छौ? तिमीहरू सबै निस्फिक्री मानसिकता अपनाउँछौ र झारा मात्रै टार्छौ। यसरी, परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गर्ने तर हृदयमा परमेश्‍वर नहुनेहरू धेरै छन्। तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, जुनै समस्या सामना गर्दा, तिनीहरू कहिल्यै प्रार्थना गर्ने वा सत्यता खोज्‍ने गर्दैनन्। कामकुरा गर्नका लागि तिनीहरू आँखा चिम्लिएर आफ्नै इच्छाम भर पर्छन्, हेर्दा लाग्छ कि तिनीहरू कष्ट सहिरहेका र ऊर्जा खर्चिरहेका छन्, र तिनीहरूले केही नगरे पनि र तिनीहरूको प्रयास व्यर्थको भए पनि, तिनीहरू आफूहरूले कर्तव्य राम्रैसँग निर्वाह गरिरहेका छौँ भन्ठान्छन्। मानिसहरू प्रायः आफ्नै इच्छामा भर पर्छन् र हिँड्दा बाटो बिराउँछन्। एकपटक सानोतिनो काम गरेपछि, तिनीहरू अहङ्कारी बन्छन्, आफूसँग पुँजी छ भन्ठान्छन्, र तिनीहरूको हृदयमा परमेश्‍वरका लागि कुनै ठाउँ हुँदैन। यसबाट मानिसहरूको प्रकृति नै धोका दिने हो भनी देख्‍न सकिन्छ। मानिसहरू यस्तो पनि सोच्छन्, “यदि म परमेश्‍वरमा विश्‍वास गर्छु भने, मेरो हृदयमा उहाँका लागि कसरी ठाउँ हुन सक्दैन र? के म अहिले मण्डलीका लागि काम गरिरहेको छैन र? परमेश्‍वर मलाई कसरी त्याग्‍न सक्‍नुहुन्छ?” यो होइन कि परमेश्‍वर तँलाई त्याग्‍न चाहनुहुन्छ, बरु यति मात्र हो कि, तेरो हृदयमा परमेश्‍वरका लागि कुनै स्थान छैन। तैँले जतिसुकै काम गरे पनि, तैँले यसबाट छुटकारा पाउन सक्‍नेछैनस्, तँसँग पवित्र आत्माको काम प्राप्‍त गर्ने कुनै उपाय हुनेछैन, र तैँले जे गरे पनि, आफूलाई परमेश्‍वरबाट टाढा राख्दै उहाँलाई धोका दिइरहनेछस्। प्रार्थनाको पाठ सबैभन्दा गहन हुन्छ। यदि तँ प्रार्थनासमेत नगरी आफ्नो कर्तव्यमा लाग्छस् भने, तेरो प्रदर्शन मानकअनुरूपको हुनेछैन, र तेरो मेहनत व्यर्थ हुनेछ। तेरो स्थिति जति असामान्य छ, तैँले त्यति नै धेरै प्रार्थना गर्नुपर्छ। प्रार्थनाविना, तेरो स्थिति झन्‌झन् खराब मात्रै हुनेछ, र तेरो कर्तव्य निष्प्रभावी हुनेछ। प्रार्थना तैँले बोल्ने कुराहरू कति राम्रा सुनिन्छन् भन्‍ने कुरामा निर्भर हुँदैन। बरु यसका लागि त आफ्नो हृदयबाट बोल्‍नु आवश्यक छ, आफ्ना कठिनाइहरूबारे सत्य बोल्नु, सृजित प्राणीको स्थानबाट र समर्पणताको दृष्‍टिकोणबाट बोल्नु आवश्यक छ: “हे परमेश्‍वर, तपाईँलाई थाहा छ, मानिसहरू कति कठोर छन्। कृपया यस विषयमा मलाई मार्गदर्शन गर्नुहोस्। तपाईँलाई थाहा छ, म कमजोर छु, ममा चरम रूपमा कमी छ, म तपाईँको प्रयोगका लागि अनुपयुक्त छु, म विद्रोही छु, र जबजब कामकुरा गर्छु, म तपाईँको काममा अवरोध पुर्‍याउँछु र तपाईँका अभिप्रायसित नमिल्ने कामकुरा गर्छु। बिन्ती छ, तपाईँ आफ्नो काम गर्नुहोस्, म बस समर्पित हुन र सहकार्य गर्न चाहन्छु…।” यदि तँ यी वचनहरूसमेत बोल्न सक्दैनस् भने, तेरा लागि कुनै आशा छैन। कतिपय मानिस यस्तो सोच्छन्, “जब म प्रार्थना गर्छु, मैले अझै पनि म समझयुक्त प्रार्थना गर्छु कि गर्दिनँ भनेर खुट्ट्याउनुपर्छ। अनि मैले कसरी प्रार्थना गर्नुपर्छ?” आफू समझयुक्त छु कि छुइनँ भनेर खुट्ट्याउन धेरै समय लाग्छ र? प्रत्येक प्रार्थनापछि, इमानदारीपूर्वक मनन गर्, अनि तँमा स्पष्‍टता आउनेछ। तैँले यसो गर्दै जाँदा, त्यसपछिका प्रार्थनाहरूमा तँ अझ धेरै समझयुक्त हुँदै जानेछस्, किनकि जब तँ प्रार्थना गर्छस्, तँलाई केही शब्दहरू अनुपयुक्त छन् भन्‍ने थाहा हुनेछ। जब मानिस प्रार्थना गर्छ, परमेश्‍वरसँगको उसको सम्बन्ध सबैभन्दा प्रत्यक्ष, र घनिष्‍ठ हुन्छ। के तँ कामकुरा गर्दा सामान्यतया घुँडा टेकेर तुरुन्तै प्रार्थना गर्न सक्छस्? सधैँ यस्तो हुँदैन; यो वातावरणमा निर्भर गर्दछ। जब तँ घरमा एक्लै हुन्छस् र घुँडा टेकेर परमेश्‍वरलाई प्रार्थना गर्छस्, तब परमेश्‍वरसँगको तेरो सम्बन्ध सबैभन्दा घनिष्‍ठ हुन्छ। तैँले हृदयमा भएका जुनसुकै कुरा भन्‍न सक्छस्, अनि तँलाई सबैभन्दा ठूलो आनन्द महसुस हुन्छ। यदि तँ परमेश्‍वरको वचन पढ्दा पहिले प्रार्थना गर्छस् भने, उहाँको वचन पढ्दाको अनुभूति फरक हुनेछ। आफ्नो कर्तव्य निर्वाह गर्दा, पहिले प्रार्थना र खोजी गर्, त्यसपछि तेरो हृदय गम्भीर हुनेछ र तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा, त्यसको प्रभाव फरक हुनेछ। यदि तैँले परमेश्‍वरको वचन पढेर ज्योति पाउँछस् भने, परमेश्‍वरलाई प्रार्थना गर्, अनि तैँले अझ बढी आनन्द पाउनेछस्। यदि तँ कहिल्यै प्रार्थना गर्दैनस् भने, तैँले परमेश्‍वरको वचन पढ्दा र आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्‍वरको उपस्थिति महसुस गर्नेछैनस्। कहिलेकाहीँ, परमेश्‍वरको वचन पढ्दा तँलाई अन्तर्दृष्‍टि मिल्नेछैन, र उहाँको वचन पढेपछि, त्यसको कुनै स्पष्‍ट प्रभाव हासिल हुनेछैन। तैँले परमेश्‍वरमाथिको विश्‍वासमा गर्ने कुनै पनि काम प्रार्थनाबिना गर्न सकिँदैन। यदि तँ बारम्बार परमेश्‍वरलाई प्रार्थना गर्छस्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्छ भने, तैँले जीवन प्रवेश हासिल गर्नेछस्, र तेरो आस्था अझ बलियो हुनेछ। यदि तँ लामो समयसम्म प्रार्थना गर्दैनस् भने, तैँले आफ्नो आस्था गुमाउनेछस्, अनि त्यसपछि तैँले कसरी जीवन प्रवेश हासिल गर्नेछस्? साँचो आस्था भएका मानिसहरूले प्रार्थनामार्फत परमेश्‍वरसामु जिउँदै र प्रार्थनामार्फत सत्यता खोज्दै त्यो कुरा हासिल गर्छन्। धेरै मानिसहरू प्रार्थना गर्दा झारा मात्रै टार्छन्, र सत्यता खोज्दैनन्। तिनीहरू केही आइपर्दा र आफूले गर्न सक्‍ने अरू केही नहुँदा मात्र प्रार्थना र बिन्ती गर्न परमेश्‍वरसामु आउँछन्। तिनीहरू सधैँ परमेश्‍वरलाई तिनीहरूको इच्छाअनुसार गर्न र तिनीहरूलाई सन्तुष्‍ट पार्न कर गर्छन्। के यो साँचो प्रार्थना हो? के परमेश्‍वरले यस्ता प्रार्थनाहरू सुन्‍नुहुन्छ? परमेश्‍वरको उपस्थितिमा प्रार्थना र खोजी गर्नु भनेको परमेश्‍वरलाई तैँले चाहेजस्तै गर्न कर गर्ने कुरा होइन, झन् उहाँलाई यो वा त्यो गर्न लगाउने कुरा हुनु त परै जाओस्। यी सबै कुरा समझ नहुनुका प्रकटीकरणहरू हुन्। अनि, समझयुक्त प्रार्थना के हो? समझहीन प्रार्थना के हो? तैँले केही समयपछि अनुभवबाट यी कुराहरू जान्‍नेछस्। उदाहरणका लागि, तैँले प्रार्थना गरिसकेपछि तँलाई तैँले जुन कुराका निम्ति प्रार्थना गर्छस् त्यो त पवित्र आत्माले गर्नु नै हुन्‍न, न त तैँले प्रार्थना गरेअनुसार उहाँ तँलाई अगुवाइ नै गर्नुहुन्छ भन्‍ने लाग्‍न सक्छ। अर्कोपटक प्रार्थना गर्दा तैँले भिन्‍नै तरिकाले प्रार्थना गर्नेछस्। तैँले पछिल्लो पटक गर्न खोजे जस्तो परमेश्‍वरसँग फेरि जबरजस्ती गर्ने कोसिस गर्नेछैनस् वा तेरा आफ्नै इच्छाहरूका आधारमा उहाँसँग बिन्ती गर्नेछैनस्। तैँले भन्‍नेछस्, “हे परमेश्‍वर! सबै कुरा तपाईँका चाहनाअनुसार नै होस्।” जबसम्म तँ यस तरिकामा ध्यान दिन्छस्, तबसम्म तैँले केही समय बुझ्ने प्रयास गरेपछि समझयुक्त प्रार्थना के हो र समझहीन प्रार्थना के हो भनेर जान्‍नेछस्। यस्तो स्थिति पनि हुन्छ, जसमा तैँले आफ्नै इच्छाहरूअनुसार प्रार्थना गर्दा, तँलाई तेरो आत्मामा तेरा प्रार्थनाहरू नीरस भएको महसुस हुनेछ, र तैँले चाँडै नै तँसँग भन्‍नुपर्ने कुरा केही पनि नरहेको थाहा पाउउनेछस्। तँ जति धेरै बोल्‍ने प्रयास गर्छस्, तेरो बोली उत्ति नै अनौठो हुन्छ। यसले तैँले यसरी प्रार्थना गर्दा पूर्ण रूपमा देहलाई पछ्याइरहेको हुन्छस्, र पवित्र आत्मा त्यसरी तँभित्र काम गर्नुहुँदैन वा तँलाई मार्गदर्शन गर्नुहुँदैन भन्‍ने प्रमाणित गर्छ। यो पनि खोजी र अनुभव गर्नुपर्ने कुरा हो। यस्ता मामिलाहरू अझ बढी अनुभव गर्दै जाँदा, तैँले प्राकृतिक रूपमै यी कुराहरू बुझ्दै जानेछस्।

प्रार्थना भनेको मुख्य रूपमा परमेश्‍वरसित इमानदारीसाथ बोल्नु र आफ्नो हृदयका कुरा उहाँलाई भन्‍नु हो। तँ भन्छस्, “हे परमेश्‍वर! तपाईँलाई मानिसको भ्रष्टता थाहा छ। आज मैले अर्को अनुचित काम गरेको छु। मैले मनमा एउटा अभिप्राय राखेँ—म एक छली व्यक्ति हुँ। म तपाईँका अभिप्राय वा सत्यताअनुसार काम गरिरहेको थिइनँ। मैले आफ्नै चाहनाअनुसार काम गरेँ, र आफूलाई सही ठहराउने कोसिस गरेँ। अब, मैले मेरो भ्रष्टता बुझेँ। म तपाईँसँग बिन्ती गर्छु, मलाई अझ बढी अन्तर्दृष्टि दिनुहोस्, र मलाई सत्यता बुझ्ने, त्यसलाई अभ्यास गर्ने, र यो भ्रष्टता फाल्ने तुल्याउनुहोस्।” यसरी प्रार्थना गर्; वास्तविक कुराहरू बता र वास्तविक तरिकाले बोल्। धेरैजसो मानिसहरू परमेश्‍वरसामु प्रार्थना गर्न आउँदा, तिनीहरूका अधिकांश शब्दहरू धर्मसिद्धान्तका शब्दहरू हुन्छन्। ती हृदयबाट आएका साँचो प्रार्थना हुँदैनन्। सोचाइको हिसाबले मात्र तिनीहरूमा थोरथोरै ज्ञान हुन्छ, र तिनीहरूको हृदय पश्‍चात्ताप गर्न इच्छुक हुन्छ, तर तिनीहरूले सत्यताबारे चिन्तन गर्नमा र पूर्ण रूपले सत्यता बुझ्‍नमा कुनै प्रयत्‍न लगाएका हुँदैनन्। यसले तिनीहरूको जीवन प्रगतिमा असर गर्छ। यदि तँ प्रार्थना गर्दा परमेश्‍वरका वचनहरूबारे चिन्तन गर्न र सत्यताको खोजी गर्न, अनि पवित्र आत्मालाई तँलाई अन्तर्दृष्टि दिने तुल्याउन सक्छस् भने, त्यो यसबारे सोच्‍ने र यसलाई बुझ्ने कार्यभन्दा कैयौँ गुणा बढी सार्थक हुन्छ; तँ सत्यता सिद्धान्तहरू बुझ्न सक्षम बन्छस्। पवित्र आत्माले काम गर्नुहुँदा उहाँ मानिसहरूलाई उत्प्रेरित गर्नुहुन्छ र उहाँ परमेश्‍वरका वचनहरूद्वारा मानिसहरूलाई अन्तर्दृष्टि र ज्योति प्रदान गर्नुहुन्छ, ताकि मानिसहरूमा साँचो बुझाइ र साँचो पश्‍चात्ताप होस्, जुन मानिसहरूका विचारहरू र बुझाइभन्दा धेरै गहन कुरा हो। तैँले यो कुरा राम्ररी बुझ्‍नुपर्छ। यदि तँ सतही, अव्यवस्थित सोचविचार र जाँचमा मात्र संलग्‍न हुन्छस्, तँसँग पछि अभ्यास गर्ने कुनै उपयुक्त मार्ग हुँदैन, र तैँले सत्यतामा थोरै मात्र प्रवेश हासिल गर्छस् भने, तँ परिवर्तन हुन नसक्‍ने अवस्थामा नै रहनेछस्। उदाहरणका लागि, कहिलेकाहीँ तैँले लगनसाथ परमेश्‍वरप्रति आफैलाई अर्पित गर्ने, र लगनसाथ उहाँको प्रेम चुक्ता गर्ने अठोट गर्छस्। तर मनमा यस्तो चाहना लिएर पनि, तैँले त्यति धेरै ऊर्जा अर्पण नगर्न सक्छस्, र तेरो हृदय त्यस प्रयासतर्फ पूर्ण रूपमा समर्पित नहुन सक्छ। तैपनि यदि प्रार्थना गरेर उत्प्रेरित भएपछि तँ एउटा सङ्कल्प गर्छस् र “हे परमेश्‍वर, म कष्ट भोग्‍न इच्छुक छु। म तपाईँका परीक्षाहरू स्वीकार गर्न इच्छुक छु; र म तपाईँमा पूर्ण रूपमा समर्पित हुन तयार छु। मेरो दुःख जति नै ठूलो भए पनि, म तपाईँको प्रेम चुक्ता गर्न इच्छुक छु। म तपाईँको ठूलो प्रेमको आनन्द लिन्छु, र तपाईँले मलाई उठाउनुभएको छ। यसका निम्ति म तपाईँलाई मेरो हृदयको गहिराइबाट धन्यवाद दिन्छु, र तपाईँलाई सारा महिमा चढाउँछु” भनेर भन्छस् भने, यस्तो प्रार्थना चढाइसकेपछि, तेरो सम्पूर्ण शरीर सशक्त हुनेछ, र तँसँग अभ्यास गर्ने मार्ग हुनेछ। यो प्रार्थनाको प्रभाव हो। व्यक्तिले प्रार्थना गरिसकेपछि, पवित्र आत्मा उनीहरूमा काम गर्न, उनीहरूलाई अन्तर्दृष्टि दिन, प्रकाश दिन, र उनीहरूलाई मार्गदर्शन गर्न थाल्नुहुन्छ, तिनीहरूलाई आस्था र साहस दिनुहुन्छ, र तिनीहरूलाई सत्यता अभ्यास गर्न सक्षम तुल्याउनुहुन्छ। यस्ता मानिसहरू पनि छन्, जसले दिनहुँ परमेश्‍वरका वचनहरू पढ्छन्, तैपनि यस्तो नतिजा हासिल गर्दैनन्। तर ती वचनहरू पढेपछि, तिनीहरू तीबारे सङ्गति गर्छन्, र तिनीहरूको हृदय उज्यालो हुन्छ, र तिनीहरूले अगाडि बढ्ने मार्ग प्राप्त गर्छन्। यसको अतिरिक्त, यदि पवित्र आत्माले तँलाई उत्प्रेरित गर्नुहुन्छ, र तँलाई केही बोझ, साथसाथै केही मार्गदर्शन पनि दिनुहुन्छ भने, नतिजाहरू निश्‍चय नै बिलकुलै फरक हुनेछन्। जब तँ परमेश्‍वरका वचनहरू पढ्छस्, तँ केही उत्प्रेरित मात्र होलास्, र त्यतिबेला तँ रोलास्। केही समयपछि त्यो भावना हराएर जानेछ। तर यदि तैँले गरेको प्रार्थना आँसुसहितको, गम्भीर, साँचो र इमानदार हुन्छ भने, र तँ पवित्र आत्माद्वारा उत्प्रेरित हुन्छस् भने, तैँले तेरो हृदयको आनन्द लामो समयसम्म बिर्सनेछैनस्। प्रार्थनाको प्रभाव नै यही हो। प्रार्थनाको उद्देश्य परमेश्‍वरसामु आउनु र उहाँ मानिसहरूलाई जे दिनुहुन्छ त्यो स्विकार्नु हो। यदि तँ प्रायः प्रार्थना गरिरहन्छस्, यदि तँ प्रायः परमेश्‍वरसामु आएर उहाँसँग सङ्गति गर्छस्, र उहाँसँग तेरो सामान्य सम्बन्ध हुन्छ भने, तँ सधैँ उहाँद्वारा उत्प्रेरित हुनेछस्। यदि तँ सधैँ उहाँको भरणपोषण प्राप्त गर्छस्, र सत्यता स्विकार्छस् भने, तँ परिवर्तित हुनेछस्, र तेरो अवस्था निरन्तर सुधार हुँदै जानेछ। खास गरी, जब दाजुभाइ-दिदीबहिनीहरूले एकसाथ प्रार्थना गर्छन्, तत्पश्‍चात् विशेष ठूलो ऊर्जा उत्पन्‍न हुन्छ र तिनीहरूले आफूले धेरै कुरा प्राप्त गरेका महसुस गर्छन्। वास्तवमा, तिनीहरूले सँगै बिताएको समयमा त्यति धेरै सङ्गति नगरेका हुन सक्छन्, तर प्रार्थनाले नै तिनीहरूलाई जगाएको थियो, यहाँसम्म कि तिनीहरूले आफ्नो परिवार र संसारलाई त्याग्‍न एक क्षण कुर्न पनि सकेनन्, अनि तिनीहरूले केही पनि चाहेनन्, र परमेश्‍वरलाई पाउनु नै पर्याप्त भयो। कति ठूलो आस्था! पवित्र आत्माको कामले मानिसहरूलाई जुन बल दिन्छ, त्यो अनवरत रूपमा उपभोग गर्न सकिन्छ! परमेश्‍वरले दिने त्यो शक्तिमा भर पर्नुको साटो, लिँडेढिपी गर्दै, अनि आफ्नै हठमा भर परेर, तँ कति टाढासम्म जान सक्छस्? तँ बस हिँडेको हिँड्यै गर्छस्, र आफ्नो तागत सक्छस्, र जब तैँले कुनै समस्या वा कठिनाइ सामना गर्छस्, तब तँसँग अघि बढ्ने कुनै मार्ग हुँदैन। तँ लड्छस् र अन्तिम अवस्थामा पुग्‍नुभन्दा पहिले नै पतित हुन्छस्। यहाँ कैयौँ मानिसहरू छन्, जो परमेश्‍वरलाई पछ्याउने मार्गमा असफलभएका र लडेका छन्; सत्यताबिना तिनीहरू खडा हुनै सक्दैनन्। त्यसैले, मानिसहरूले निरन्तर परमेश्‍वरसित प्रार्थना गर्नैपर्छ, परमेश्‍वरमा भर पर्नैपर्छ, र परमेश्‍वरसँग अन्त्यसम्मै सामान्य सम्बन्ध कायम राख्‍नैपर्छ! तैपनि मानिसहरू हिँड्दै जाँदा परमेश्‍वरबाट टाढा जान्छन्। परमेश्‍वर परमेश्‍वर हुनुहुन्छ, र मानवजाति मानवजाति हो। दुवैको आ-आफ्नो बाटो छ। परमेश्‍वर परमेश्‍वरकै वचनहरू बोल्नुहुन्छ, र मानवजाति आफ्नै मार्गमा हिँड्छ, जुन परमेश्‍वरको समान हुँदैन। जब कुनै व्यक्तिले परमेश्‍वरमाथिको विश्‍वासमा आफ्नो बल गुमाउँछ, ऊ परमेश्‍वरसामु केही शब्दहरू प्रार्थना गर्न र केही बल माग्‍न आउँछ। केही ऊर्जा पाइसकेपछि, ऊ फेरि पनि अलग्गिन्छ। केही समयपछि, उसको ऊर्जा समाप्त हुन्छ, र थप ऊर्जा माग्‍न ऊ परमेश्‍वरकहाँ फर्कन्छ। यदि जुनै व्यक्ति यसरी नै अघि बढ्छ भने, ऊ लामो समय टिक्‍न सक्दैन। यदि कुनै व्यक्ति परमेश्‍वरलाई छोडिजान्छ भने, ऊसँग अगाडि बढ्ने कुनै मार्ग हुँदैन।

मैले अहिले धेरै मानिसहरूको आफैलाई नियमन गर्ने क्षमता असाध्यै कमजोर छ भन्‍ने कुरा पत्ता लगाएको छु। यसको कारण के हो? यसको कारण के हो भने, सुरुमा त मानिसहरू सत्यता नै बुझ्दैनन्, र यदि तिनीहरू प्रार्थना गर्दैनन् भने, तिनीहरू व्यभिचारी हुने सम्भावना सबैभन्दा बढी हुन्छ। तिनीहरू शब्द र धर्मसिद्धान्तहरू मात्र बुझ्छन्, जसले काम गर्दैन, र तिनीहरू आफूलाई संयमित राख्‍न पटक्‍कै सक्दैनन्। यस्तो स्थितिमा, तैँले प्रार्थनाको माध्यमबाट मात्र पवित्र आत्माको अन्तर्दृष्‍टि र ज्योति प्राप्‍त गर्न सक्छस्, र यदि तँ केही सत्यता बुझ्छस् भने मात्र, तँ कुनै न कुनै रूपमा संयमित हुन र अलिअलि मानव रूपमा हुन सक्छस्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले उहाँका वचनहरू बारम्बार पढ्नैपर्छ, सत्यतामा जोड दिनैपर्छ र बारम्बार प्रार्थना गर्नैपर्छ। तब मात्र मानिसहरू सुध्रिन सक्छन्, परिवर्तन हासिल गर्न सक्छन्, र मानव रूपको केही अंश जिउन सक्छन्। यदि तँ आफैलाई चिन्‍ने र सामान्य मानवतामा जिउने कुरा मात्र गर्छस् भने, त्यो ठीक होइन; पवित्र आत्माको कामबिना, त्यसको कुनै प्रभाव हुनेछैन। यदि तँ पवित्र आत्मा ठ्याक्कै कसरी काम गर्नुहुन्छ र कसरी मानिसहरूलाई उत्प्रेरित गर्नुहुन्छ, र मानिसहरूले आफ्नो दैनिक जीवनमा कसरी सत्यता खोज्‍नु र अभ्यास गर्नुपर्छ भन्‍ने कुरालाई उपेक्षा गर्छस् भने, तँ कसरी परमेश्‍वरमा विश्‍वास गर्न सक्छस्? तँ कुन कर्तव्य निर्वाह गर्न सक्छस्? यदि मानिसहरू आफ्नो हृदयमा परमेश्‍वरको अस्तित्वमा मात्र विश्‍वास गर्छन् भने, यदि तिनीहरूको विश्‍वासमा बाँकी रहेको कुरा भनेकै परमेश्‍वरको अस्तित्व स्विकार्नु मात्र हो भने, र यदि तिनीहरूले उहाँका वचन र सत्यतालाई पाखा लगाउँछन् भने, तिनीहरूको जीवन प्रवेश हुनेछैन, र तिनीहरूको हृदयमा न त परमेश्‍वर हुनुहुनेछ न त सत्यता नै। मानिसहरूका विचार र धारणाहरू केवल भौतिक संसारले भरिएका हुनेछन्। परमेश्‍वरप्रतिको यस प्रकारको विश्‍वास धार्मिक विधिविधानमा परिणत भएको छ। सत्यतालाई प्रेम नगर्नेहरूले नास्तिकता वा भौतिकवादलाई पनि स्विकार्न सक्छन्, र तिनीहरूले बिस्तारै परमेश्‍वरको अस्तित्वमाथि प्रश्‍नचिन्ह खडा गर्न सक्छन्, र आत्मिक क्षेत्र र आत्मिक जीवनका मामिलाहरू इन्कार्न सक्छन्। यो साँचो मार्गबाट पूर्ण रूपमा प्रस्थान हुनु हो, र तिनीहरू अतलकुण्डमा खसिसकेका छन्। प्रार्थनाबिना मानिसहरूको सत्यता अभ्यास गर्ने चाहना केवल व्यक्तिपरक इच्छा हो; तिनीहरू प्रावधानहरू मात्र पालना गर्छन्। यदि तँ माथिको बन्दोबस्तअनुसार काम गर्छस् र परमेश्‍वरलाई चिढ्याउँदैनस् भने पनि, तँ प्रावधानहरूमा मात्र अल्झन्छस्, र तैँले कहिल्यै आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्‍नेछैनस्। मानिसहरूको आत्मा अहिले पूरै भावशून्य र सुस्त छ। परमेश्‍वरसँगको मानिसहरूको सम्बन्धमा कैयौँ सूक्ष्म कुराहरू हुन्छन्, जस्तो कि आत्माद्वारा उत्प्रेरित हुने र अन्तर्दृष्‍टि प्राप्‍त गर्ने, तर मानिसहरू ती कुरा महसुस गर्न सक्दैनन्—ती औधी भावशून्य छन्! यदि मानिसहरू परमेश्‍वरका वचनहरू पढ्दैनन् वा प्रार्थना गर्दैनन्, र आत्मिक जीवनका कुराहरू कहिल्यै अनुभव गर्दैनन्, र आफ्नै स्थिति नियन्त्रणमा राख्‍न सक्दैनन् भने, तिनीहरूसँग आफू परमेश्‍वरसामु जिइरहेका छौँ भनेर प्रत्याभूति गर्ने कुनै उपाय हुँदैन। यदि तँ परमेश्‍वरसामु जिउन चाहन्छस् भने, प्रार्थना नगर्नु अस्वीकार्य हुन्छ, र परमेश्‍वरका वचनहरू नपढ्नु त झनै अस्वीकार्य हुन्छ। मण्डली जीवन नजिउनु पनि अस्वीकार्य नै हुन्छ। यदि व्यक्ति परमेश्‍वरका वचनहरूबाट टाढा जान्छ भने, उसले उहाँमा विश्‍वास गर्न छोडेको हुन्छ, र प्रार्थनाबाट टाढा भाग्‍नु भनेको परमेश्‍वरबाट टाढा भाग्‍नु हो। परमेश्‍वरमा विश्‍वास गर्नका लागि व्यक्तिले प्रार्थना गर्नैपर्छ। प्रार्थनाविना, परमेश्‍वरमाथिको विश्‍वासको झलक पनि हुँदैन। मैले भनेको छु, तैँले प्रावधानहरू पालन गरिरहनुपर्दैन, र तैँले जुनसुकै ठाउँ र जुनसुकै समयमा प्रार्थना गरे हुन्छ, त्यसैले बिरलै प्रार्थना गर्नेहरू पनि केही छन्। बिहान उठ्दा तिनीहरू प्रार्थना गर्दैनन्, बरु परमेश्‍वरका वचनहरूका केही खण्ड मात्र पढ्छन्, र भजनहरू सुन्छन्। दिउँसो तिनीहरू बाहिरी मामिलाहरूमा व्यस्त हुन्छन्, र राति सुत्‍न जानुअघि प्रार्थना गर्दैनन्। के तिमीहरूलाई तिमीहरू परमेश्‍वरका वचनहरू पढ्छौ तर प्रार्थना गर्दैनौ भने, तिमीहरू उहाँको वचन पढ्ने तर त्यो नबुझ्ने गैरविश्‍वासीजस्तो हुन्छौ भन्‍ने लाग्दैन र? यदि मानिसहरू प्रार्थना गर्दैनन् भने, तिनीहरूको हृदय परमेश्‍वरका वचनहरूमा जानै सक्दैन, र ती वचनहरू पढ्दा तिनीहरूलाई अन्तर्दृष्‍टि प्राप्‍त हुनेछैन। तिनीहरूमा आत्माको सूक्ष्म अनुभूति हुनेछैन, न त तिनीहरूले आत्मा उत्प्रेरित भएको अनुभूति नै गर्नेछन्। तिनीहरू भावशून्य र सुस्त हुन्छन्; तिनीहरू मण्डलीको काम र आफ्नो कर्तव्य निर्वाह गर्नेबारे सतही स्तरको सङ्गति मात्र गर्छन्। जब केही हुन्छ, तब तिनीहरू आफ्नो हृदयका सबैभन्दा भित्री भावनाहरू बुझ्न सक्दैनन्। के यसले परमेश्‍वरसँगको तिनीहरूको सामान्य सम्बन्धमाथि प्रभाव पार्दैन र? तिनीहरूको हृदयमा परमेश्‍वरका लागि पहिलेदेखि नै कुनै ठाउँ हुँदैन, र तिनीहरूले प्रार्थना गर्न खोजे पनि कुनै शब्द बाहिर निस्कँदैन, र तिनीहरू परमेश्‍वरलाई महसुस गर्न सक्दैनन्। यो पहिल्यै धेरै खतरनाक कुरा हो। यसको मतलब, तिनीहरू परमेश्‍वरबाट धेरै टाढा भइसकेका छन्। वास्तवमा, प्रार्थना गर्नका लागि आफ्नो आत्मामा फर्किनुले कामका बाह्य कार्यहरूमा अवरोध पुर्‍याउँदैन; यसले कामकुरामा बिलकुलै ढिलाइ गराउँदैन। यदि कुनै समस्या देखा पर्छ र त्यसलाई सुल्झाइँदैन भने, कामकुरामा ढिलाइ हुनेछ। परमेश्‍वरलाई प्रार्थना गर्नु भनेको समस्याहरू समाधान गर्न, र मानिसहरूलाई परमेश्‍वरको उपस्थितिमा जिउन र उहाँका वचनहरूको आनन्द लिन सक्षम पार्नका लागि हो। यो मानिसहरूका कर्तव्यहरू पूरा गर्न, र तिनीहरूको जीवन प्रवेशका लागि झनै लाभदायक छ।

१९९८

अघिल्लो:  अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको प्रतिरोधको जड हो

अर्को:  पत्रुसको मार्गमा कसरी हिँड्ने

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger