सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ

धेरैजसो मानिस आफ्‍नो भविष्यको गन्तव्यका खातिर वा अस्थायी आनन्दका लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। काँटछाँटमा नपरेकाहरूको हकमा भन्दा, तिनीहरू स्वर्ग प्रवेश गर्नका लागि, इनामहरू प्राप्त गर्नका लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरू सिद्ध पारिन, वा सृजित प्राणीका रूपमा कर्तव्य पूरा गर्न परमेश्‍वरमा विश्‍वास गर्दैनन्। भन्‍नुको अर्थ, धेरैजसो मानिस आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्न वा आफ्‍नो कर्तव्य पूरा गर्नका लागि परमेश्‍वरमा विश्‍वास गर्दैनन्। अर्थपूर्ण जीवन जिउनका लागि त मानिसहरू बिरलै परमेश्‍वरमा विश्‍वास गर्छन्, न त मानिस जीवित भएकाले उसले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ किनभने त्यो पूर्णतया स्वाभाविक र न्यायोचित कुरा हो, अनि मानिसको प्राकृतिक पेशा हो भनेर विश्‍वास गर्नेहरू नै छन्। यसरी, फरकफरक मानिसहरू आ-आफ्‍नै लक्ष्‍यहरूको पछि लाग्‍ने भए तापनि, तिनीहरूको खोजीको लक्ष्‍य र यसको पछाडि रहेको उत्प्रेरणा सबै उस्तै हुन्छन्, र यति मात्र होइन, तिनीहरूमध्ये धेरैको आराधनाका वस्तुहरू लगभग उही हुन्छन्। विगतका हजारौं वर्षको अवधिमा, धेरै विश्‍वासीहरू मरेका छन्, र धेरैले मरेर पनि फेरि पुनर्जन्म पाएका छन्। परमेश्‍वरको खोजी गर्नेहरू एकदुई जना मानिसहरू मात्रै छैनन्, न त एकदुई हजार मात्र नै छन्, तैपनि यीमध्ये धेरैजसो मानिसहरूले तिनीहरूका आफ्‍नै सम्भाव्यताहरू वा महिमापूर्ण भविष्यका आशाहरूका खातिर खोजी गर्छन्। ख्रीष्टप्रति समर्पितहरू एकदमै कम मात्र छन्। धेरैजसो भक्त विश्‍वासीहरू आफ्‍नै जालमा फसेर मरेका छन्, र विजयी मानिसहरूको सङ्ख्या भने अत्यन्तै सानो छ। आजको दिनसम्‍म पनि, मानिसहरूलाई तिनीहरू किन असफल हुन्छन्, वा तिनीहरूको विजयका रहस्यहरू के-के हुन् भन्‍ने नै थाहा छैन। ख्रीष्‍टको पछि लाग्‍नमा तल्लीन हुनेहरूको लागि अझै पनि अचानक अन्तर्दृष्टि प्राप्त भइदिने क्षण आएकै छैन, तिनीहरू यी रहस्यहरूको पिँधमा पुग्‍न सकेका छैनन्, किनभने तिनीहरूलाई थाहै छैन। तिनीहरूले आफ्नो खोजीमा परिश्रमपूर्वक प्रयासहरू गरे तापनि, तिनीहरू जुन हिँड्ने मार्ग हिँड्दै छन् त्यो तिनीहरूभन्दा पहिलेकाहरूले हिँडिसकेको असफलताको मार्ग हो, सफलताको मार्ग होइन। यसरी, तिनीहरूले जसरी खोजी गरे तापनि, के तिनीहरू अझै पनि अन्धकारतर्फ डोर्‍याउने मार्गमै हिँड्दैनन् र? के तिनीहरूले जे प्राप्त गर्छन् त्यो तीतो फल होइन र? विगतमा सफल हुनेहरूको अनुकरण गर्ने मानिसहरू आखिरमा सौभाग्यमा पुग्‍छन् कि कष्टमा पुग्‍छन् भनेर अनुमान गर्न कठिन हुन्‍छ। त्यसैले, असफल भएकाहरूका पाइलाहरू पछ्याएर खोजी गर्ने मानिसहरूको हालत झन् कति नराम्रो होला? के तिनीहरू असफल हुने सम्‍भावना अझै बढी हुँदैन र? तिनीहरू हिँड्ने मार्गको के मूल्य छ र? के तिनीहरूले आफ्‍नो समय बरबाद गरिरहेका छैनन् र? छोटकरीमा भन्दा, मानिसहरू आफ्नो खोजीमा सफल भए पनि असफल भए पनि, तिनीहरूले किन खोजी गर्छन् भन्‍ने कुराको कारण हुन्‍छ, र जसरी मन लाग्यो त्यसरी खोजी गरेको आधारमा तिनीहरूको सफलता वा असफलता निर्धारित हुन्छ भन्‍ने छैन।

परमेश्‍वरमाथि मानिसको विश्‍वासको सबैभन्दा आधारभूत माग भनेको ऊसँग इमानदार हृदय हुनुपर्छ, र उसले आफूलाई पूर्ण रूपमा अर्पित गर्न, र साँच्चै समर्पित हुन सक्नुपर्छ भन्‍ने हो। साँचो विश्‍वासको साटोमा आफ्‍नो सम्पूर्ण जीवन दिनु नै मानिसका लागि सबैभन्दा कठिन कुरा हो, जसमार्फत उसले सम्पूर्ण सत्यता प्राप्त गर्न, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्छ। यो असफल हुनेहरूले हासिल गर्न नसक्‍ने कुरा हो, र ख्रीष्टलाई भेट्टाउन नसक्‍नेहरूले त झनै हासिल गर्न नसक्ने कुरा हो। आफैलाई पूर्ण रूपले परमेश्‍वरमा अर्पित गर्नमा मानिस त्यति सिपालु नभएकाले, सृष्टिकर्ताका लागि आफ्‍नो कर्तव्य निर्वाह गर्न मानिस इच्‍छुक नभएकाले, मानिसले सत्यतालाई देखेका भए पनि यसबाट टाढै बसी आफ्‍नै मार्गमा हिँड्ने भएकाले, सधैँ असफल भएकाहरूको मार्ग अनुसरण गर्दै मानिसले पछ्याउने भएकाले, र सधैँभरि नै मानिसले स्वर्गविरुद्ध विद्रोह गर्ने भएकाले, मानिस सधैँ असफल हुन्छ, सधैँ शैतानको छलकपटको पासोमा, र आफ्‍नै जालमा फस्छ। मानिसले ख्रीष्टलाई नचिन्‍ने हुनाले, मानिस सत्यतालाई बुझ्‍न र अनुभव गर्नमा सिपालु नभएकाले, मानिसले पावलको अत्यन्तै आराधना गर्ने हुनाले र उसको स्वर्ग जाने कामना अत्यन्तै दह्रिलो भएकाले, मानिसले सधैँ ख्रीष्टलाई उसलाई पालन गर्न माग गर्ने र परमेश्‍वरलाई हुकुम गर्ने हुनाले, तसर्थ ती सबै उच्च महान् व्यक्तित्वहरू र संसारका विभिन्‍न उतार-चढाव अनुभव गरेकाहरू अझै पनि मृत्युबाट उम्कन सक्दैनन्, र परमेश्‍वरको सजायको दौरान नै मर्छन्। त्यस्ता मानिसहरूको बारेमा मैले भन्‍न सक्‍ने भनेको तिनीहरू दुःखद मृत्यु मर्छन्, र तिनीहरूको परिणाम—तिनीहरूको मृत्यु—न्यायोचित नै हुन्छ भन्‍ने हो। के तिनीहरूको असफलता स्वर्गको नियमको लागि अझै असहनीय हुँदैन र? मानिसको संसारबाट सत्यता आउँछ, तैपनि मानिसहरूमाझ सत्यता ख्रीष्‍टले नै हस्तान्तरण गर्नुभएको हो। यो ख्रीष्टबाट, अर्थात् परमेश्‍वर स्वयम्‌बाट उत्पन्‍न हुन्छ, र यसको लागि मानिस सक्षम छैन। तैपनि ख्रीष्टले सत्यता मात्रै दिनुहुन्छ; मानिस सत्यतासम्‍बन्धी आफ्‍नो खोजीमा सफल हुनेछ कि हुनेछैन भनी निर्णय गर्न उहाँ आउनुहुन्‍न। त्यसैले सत्यतासम्‍बन्धी सफलता वा असफलताको कुरा पूर्ण रूपमा मानिसकै खोजीमा निर्भर हुन्छ। सत्यतासम्‍बन्धी मानिसको सफलता वा असफलता ख्रीष्टसँग कहिल्यै सम्‍बन्धित रहेको छैन, यो कुरा त उसकै खोजीद्वारा निर्धारित हुन्छ। मानिसको गन्तव्य र उसको सफलता वा असफलताको जिम्वारी परमेश्‍वरले नै बोक्‍नुहोओस् भनेर यसलाई परमेश्‍वरको टाउकोमा थोपर्न मिल्दैन, किनभने यो परमेश्‍वर स्‍वयम्‌को मामला होइन, यो त सृष्टि गरिएका प्राणीहरूले पूरा गर्नुपर्ने कर्तव्यसँग प्रत्यक्ष रूपमा सम्‍बन्धित छ। पावल र पत्रुसका खोजी र गन्तव्यको बारेमा धेरैजसो मानिसहरूसँग थोरै ज्ञान छ, तैपनि उनीहरूलाई पत्रुस र पावलका परिणामहरूका बारेमा मात्रै थाहा छ, तर पत्रुसको सफलतापछाडिको रहस्य, वा पावललाई असफल तुल्याउने त्रुटिहरूको बारेमा तिनीहरू अनजान छन्। त्यसकारण, यदि तिमीहरू तिनीहरूको खोजीको सारलाई देख्‍न पूर्ण रूपमा असमर्थ छौ भने, तिमीहरूमध्ये धेरैजसोको खोजी असफल नै हुनेछ, र तिमीहरूमध्ये थोरै व्यक्तिहरू सफल भए भने पनि, तिनीहरू पत्रुस बराबर हुनेछैनन्। यदि तेरो खोजीको मार्ग सही छ भने, तँसँग सफलताको आशा हुन्छ; यदि सत्यताको खोजीमा तैँले हिँड्ने बाटो गलत छ भने, तँ सफलता पाउन सदासर्वदा नै असक्षम हुनेछस्, र तैँले पावलको जस्तै परिणाम भोग्‍नेछस्।

पत्रुस सिद्ध पारिएका मानिस थिए। सजाय र न्यायको अनुभव गरेपछि, र यसरी परमेश्‍वरलाई प्रेम गर्ने शुद्ध हृदय प्राप्त गरेपछि मात्रै तिनी पूर्ण रूपमा सिद्ध पारिए; तिनले हिँडेको मार्ग सिद्ध पारिने मार्ग थियो। भन्‍नुको अर्थ के हो भने, सुरुदेखि नै, पत्रुस हिँडेको मार्ग सही थियो, र परमेश्‍वरमा विश्‍वास गर्नुमा तिनको मनसाय सही थियो, त्यसैले तिनी सिद्ध पारिएका व्यक्ति बने; तिनी यसअघि मानिस कहिल्यै नहिँडेको नयाँ मार्गमा हिँडे। तर, पावल सुरुदेखि नै हिँडेको मार्ग ख्रीष्टको विरोध गर्ने मार्ग थियो, र पवित्र आत्माले तिनलाई प्रयोग गर्न, र उहाँको कामका लागि तिनका वरदानहरू र तिनका सबै असल गुणको फाइदा उठाउन चाहनुभएकोले मात्रै तिनले केही दशकसम्म ख्रीष्टका लागि काम गरे। तिनी पवित्र आत्माद्वारा प्रयोग गरिएका व्यक्ति मात्रै थिए, र येशूद्वारा तिनको मानवतामाथि कृपादृष्टि राखिएकोले तिनलाई प्रयोग गरिएको थिएन, बरु तिनका वरदानहरूका कारण प्रयोग गरिएको थियो। तिनलाई ढालिएको हुनाले तिनले येशूका लागि काम गर्न सकेका थिए, तिनी त्यसो गर्न खुसी भएकाले होइन। पवित्र आत्माको प्रबोधन र मार्गदर्शनका कारण तिनले त्यस्तो काम गर्न सकेका थिए, र तिनले गरेको कामले कुनै पनि हालतमा तिनको पछ्याइ, वा तिनको मानवतालाई प्रतिनिधित्व गर्दैनथ्यो। पावलको कामले एउटा सेवकको कामलाई प्रतिनिधित्व गर्थ्यो, भन्‍नुको अर्थ तिनले प्रेरितको काम गरे। तर, पत्रुस फरक थिए: तिनले पनि केही काम गरे; त्यो पावलको काम जति ठूलो थिएन, तर तिनले आफ्नै प्रवेशलाई पछ्याउँदै काम गरे, र तिनको काम पावलको कामभन्दा फरक थियो। पत्रुसको काम एउटा सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु थियो। तिनले प्रेरितको भूमिकामा काम गरेनन्, बरु परमेश्‍वरप्रतिको प्रेमलाई पछ्याउँदै काम गरे। पावलको काममा तिनको व्यक्तिगत पछ्याइ पनि संलग्न थियो: तिनको पछ्याइ भविष्यका लागि तिनका आशाहरू, र तिनको एउटा असल गन्तव्यप्रतिको चाहनाबाहेक अरू केहीका खातिर थिएन। तिनले आफ्नो कामको दौरान शोधन स्वीकार गरेनन्, न त तिनले काटछाँट नै स्वीकार गरे। तिनी आफूले गरेको कामले परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पारेसम्म, र आफूले गरेका सबै कामले परमेश्‍वरलाई खुसी पारेसम्म, अन्ततः आफूलाई एउटा इनामले पर्खिरहेको हुन्छ भन्‍ने विश्‍वास गर्थे। तिनको काममा कुनै व्यक्तिगत अनुभव थिएन—त्यो सबै त्यसैका खातिर थियो, र परिवर्तनको पछ्याइबीच गरिएको थिएन। तिनको काममा भएको सबथोक एउटा लेनदेन थियो, त्यसमा सृजित प्राणीको कर्तव्य वा समर्पण केही पनि थिएन। पावलको कामको क्रममा, तिनको पुरानो स्वभावमा कुनै परिवर्तन आएन। तिनको कामले अरूको मात्र सेवा गर्थ्यो, र यसले तिनको स्वभावमा परिवर्तनहरू ल्याउन सक्दैनथ्यो। पावलले सिद्धता प्राप्त नगरीकन वा काटछाँट नभोगीकन सिधै आफ्नो काम गरे, र तिनी इनामद्वारा उत्प्रेरित थिए। पत्रुस फरक थिए: तिनी काटछाँट र शोधनबाट गुज्रेका व्यक्ति थिए। पत्रुसको कामका लक्ष्य र मनसाय आधारभूत रूपमा पावलका भन्दा फरक थिए। पत्रुसले धेरै मात्रामा काम नगरे पनि, तिनको स्वभावमा धेरै वटा परिवर्तन आए, र तिनले पछ्याएको कुरा भनेको सत्यता र वास्तविक परिवर्तन थियो। तिनको काम केवल कामकै खातिर गरिएको थिएन। पावलले धेरै काम गरे पनि, त्यो सबै पवित्र आत्माको काम थियो, र पावलले यस काममा सहकार्य गरे पनि, यो तिनको अनुभवको नतिजास्वरूप आएको थिएन। पवित्र आत्माले पत्रुसमा त्यति धेरै काम नगर्नुभएको हुनाले मात्रै तिनले कम काम गरेका हुन्। तिनीहरूको कामको मात्राले तिनीहरू सिद्ध पारिए थिए कि पारिएनन् भन्‍ने निर्धारण गर्दैनथ्यो; एक जनाको पछ्याइ इनामहरू प्राप्त गर्नका निम्ति थियो, र अर्कोको पछ्याइ भनेको परमेश्‍वरप्रतिको परम प्रेम हासिल गर्न, र एक सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्नका निम्ति थियो, ताकि तिनले परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न एउटा प्रेमिलो स्वरूप जिउन सकून्। बाहिरी रूपमा तिनीहरू फरक थिए, र त्यसैगरी तिनीहरूका सारहरू पनि फरक थिए। तिनीहरूले कति काम गरे भन्‍ने आधारमा तिनीहरूमध्ये कसलाई सिद्ध पारियो भनेर तैँले निर्धारण गर्न सक्दैनस्। पत्रुसले परमेश्‍वरलाई प्रेम गर्ने व्यक्तिको स्वरूप जिउन, परमेश्‍वरको अधीनमा रहने व्यक्ति बन्न, काटछाँट स्वीकार गर्ने व्यक्ति बन्न, र एक सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्ने व्यक्ति बन्न खोजे। तिनी परमेश्‍वरप्रति आफूलाई अर्पित गर्न, आफ्नो सम्पूर्णतालाई परमेश्‍वरको हातमा सुम्पन, र मृत्युसम्मै उहाँको अधीनमा रहन सक्षम थिए। तिनमा यस प्रकारको सङ्कल्प थियो, र तिनले यसलाई पूरा पनि गरे। अन्ततः तिनको परिणाम पावलको भन्दा फरक हुनुको जड यही हो। पवित्र आत्माले पत्रुसमा गर्नुभएको काम तिनलाई सिद्ध पार्नका लागि थियो, अनि पवित्र आत्माले पावलमा गर्नुभएको काम तिनलाई प्रयोग गर्नका लागि थियो। किनभने तिनीहरूका प्रकृतिहरू र तिनीहरूको पछ्याइपछाडिका दृष्टिकोणहरू एउटै थिएनन्। दुवैमा पवित्र आत्माको काम थियो। पत्रुसले यो काम आफैमा लागु गरे र अरूलाई पनि प्रदान गरे; अर्कोतर्फ, पावलले पवित्र आत्माको सम्पूर्ण काम अरूलाई मात्रै प्रदान गरे अनि आफूले चाहिँ त्यसबाट केही पनि प्राप्त गरेनन्। यसरी, पावलले यतिका धेरै वर्ष पवित्र आत्माको काम अनुभव गरेपछि, तिनमा लगभग कुनै परिवर्तन आएको थिएन। तिनी अझै पनि लगभग आफ्नो प्राकृतिक स्थितिमै रहे, र तिनी अझै पनि पहिलेकै पावल थिए। यति मात्रै थियो कि धेरै वर्षको कामको कष्ट सहेपछि, तिनले कसरी “काम गर्ने” भनेर सिकेका थिए, र सहनशीलता सिकेका थिए, तर तिनको पुरानो प्रकृति—तिनको अत्यन्तै प्रतिस्पर्धी र नाफामुखी प्रकृति—अझै पनि बाँकी नै थियो। यतिका धेरै वर्ष काम गरेपछि पनि, तिनले आफ्नो भ्रष्ट स्वभाव चिनेनन्, न त तिनले आफ्नो पुरानो स्वभावलाई नै फालेका थिए, जुन तिनको काममा अझै पनि स्पष्ट रूपमा देखिन्थ्यो। तिनमा कामको अनुभव मात्रै बढी थियो, तर त्यति थोरै अनुभवले मात्रै तिनलाई परिवर्तन गर्न सक्दैनथ्यो र यसले अस्तित्वबारे तिनको दृष्टिकोण वा तिनको पछ्याइको महत्त्वलाई बदल्न सक्दैनथ्यो। तिनले धेरै वर्ष ख्रीष्टका लागि काम गरेका, र प्रभु येशूलाई फेरि कहिल्यै नसताएका भए पनि, तिनको हृदयमा परमेश्‍वरसम्बन्धी तिनको ज्ञानमा कुनै परिवर्तन आएको थिएन। यसको अर्थ तिनले परमेश्‍वरप्रति आफूलाई अर्पित गर्नका लागि काम गरेका थिएनन्, बरु तिनी आफ्नो भविष्यको गन्तव्यका खातिर काम गर्न बाध्य थिए। किनभने, सुरुमा, तिनले ख्रीष्टलाई सताए, र तिनी ख्रीष्टको अधीनमा रहेनन्; तिनी अन्तर्निहित रूपमा नै जानाजानी ख्रीष्टको विरोध गर्ने विद्रोही थिए, र पवित्र आत्माको कामको कुनै ज्ञान नभएको व्यक्ति थिए। तिनको काम लगभग समाप्त हुनै लाग्दा पनि तिनले पवित्र आत्माको कामलाई चिनेनन्, र पवित्र आत्माका अभिप्रायहरूलाई अलिकति पनि ध्यान नदिई केवल आफ्नै चरित्रअनुसार स्वेच्छाले काम गरे। त्यसैले तिनको प्रकृति ख्रीष्टसँग शत्रुवत् हुने र सत्यताको अधीनमा नरहने थियो। यस्तो व्यक्ति, जसलाई पवित्र आत्माको कामद्वारा त्यागिएको थियो, जो पवित्र आत्माको कामलाई चिन्दैनथ्यो, र जो ख्रीष्टको विरोध पनि गर्थ्यो—त्यस्तो व्यक्तिलाई कसरी मुक्ति दिन सकिन्थ्यो र? मानिसलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन भन्‍ने कुरा ऊ कति काम गर्छ, वा ऊ कति अर्पित हुन्छ भन्‍ने कुरामा निर्भर हुँदैन, बरु ऊ पवित्र आत्माको कामलाई चिन्छ कि चिन्दैन, ऊ सत्यतालाई व्यवहारमा लागु गर्न सक्छ कि सक्दैन, र उसको पछ्याइपछाडिको दृष्टिकोण सत्यताअनुरूप छ कि छैन भन्‍ने कुराद्वारा निर्धारित हुन्छ।

पत्रुसले येशूलाई पछ्याउन थालेपछि प्राकृतिक प्रकाशहरू देखा परेका भए तापनि, प्रकृतिको हिसाबमा तिनी सुरुदेखि नै पवित्र आत्मामा समर्पित हुन र ख्रीष्टको खोजी गर्न इच्‍छुक व्यक्ति थिए। पवित्र आत्‍माप्रति तिनको समर्पण विशुद्ध थियो: तिनले ख्याति र सम्पत्तिको खोजी गरेनन्, तिनी त सत्यताप्रतिको समर्पणद्वारा उत्प्रेरित थिए। तीनपटक पत्रुसले ख्रीष्टलाई चिनेकोबारे इन्कार गरेका भए तापनि, र तिनले प्रभु येशूको परीक्षा गरेका भए तापनि, तिनको प्रकृतिसँग त्यस्तो हल्का मानव कमजोरीको कुनै सम्‍बन्ध थिएन, यसले तिनको भविष्यको खोजीलाई कुनै प्रभाव पारेन, र यसले तिनको परीक्षा ख्रीष्टविरोधीको कार्य थियो भनेर पर्याप्त रूपमा प्रमाणित गर्दैन। सामान्य मानव कमजोरी संसारका सबै मानिसहरूमा हुने कुरा हो—के तँ पत्रुस योभन्दा फरक थिए भन्‍ने अपेक्षा गर्छस्? पत्रुसले धेरै मूर्खतापूर्ण गल्तीहरू गरेका हुनाले के मानिसहरूले तिनको बारेमा केही निश्‍चित दृष्टिकोणहरू राख्दैनन् र? अनि पावलले गरेका सबै काम र तिनले लेखेका सबै पत्रहरूका कारण के मानिसहरूले तिनलाई श्रद्धा गर्दैनन् र? मानिस कसरी मानिसको सारलाई देख्‍न सक्षम हुन्थ्यो र? अवश्य नै जोसँग साँचो समझ हुन्छ, के तिनीहरूले त्यति सानो कुरा देख्‍न सक्छन् र? पत्रुसको धेरै वर्षको पीडादायी अनुभवको बारेमा बाइबलमा विवरण नदिइएको भए तापनि, यसले पत्रुससँग वास्तविक अनुभवहरू थिएनन् वा पत्रुस सिद्ध पारिएका थिएनन् भन्‍ने प्रमाणित गर्दैन। परमेश्‍वरको कार्यलाई मानिसले कसरी पूर्ण रूपमा बुझ्‍न सक्छ? बाइबलमा दिइएका विवरणहरू येशूले व्यक्तिगत रूपमा छनौट गर्नुभएको थिएन, ती विवरण त पछिका पुस्ताहरूले सङ्ग्रहित गरेका थिए। त्यसो भएको हुँदा, के बाइबलमा भएका सबै विवरणहरू मानिसका विचारअनुसार चुनिएका थिएनन् र? यसअलावा, पत्रुस र पावलको अन्त्यलाई पत्रहरूमा स्पष्ट रूपमा उल्‍लेख गरिएको छैन, त्यसकारण मानिसले पत्रुस र पावललाई उसका आफ्‍नै दृष्टिकोण र उसका आफ्‍नै रुचिहरूअनुसार मूल्याङ्कन गर्छ। अनि पावलले धेरै काम गरेका हुनाले, उनका “योगदानहरू” अत्यन्तै धेरै भएकाले, धेरैको तिनको भरोसा गरे। के मानिस सतही कुरामा मात्रै केन्द्रित हुँदैन र? मानिस कसरी मानिसको सार देख्‍न सक्षम हुन्थ्यो र? पावल हजारौं वर्षदेखि आराधनाको पात्र बनेको कुरालाई ध्यानमा राख्दा, तिनको कार्यलाई हतारमा इन्कार गर्ने आँट कसले गर्छ र? पत्रुस एक मछुवा मात्रै थिए, त्यसकारण उनको योगदान कसरी पावलको जत्तिकै महान् हुन सक्थ्यो र? तिनीहरूले गरेका योगदानहरूको हिसाबमा, पावललाई पत्रुसभन्दा पहिले इनाम दिइनुपर्नेथ्यो, र परमेश्‍वरको अनुमोदन प्राप्त गर्नको लागि तिनी अझै बढी योग्य हुनुपर्नेथ्यो। पावललाई व्यवहार गर्ने क्रममा परमेश्‍वरले तिनका प्रतिभाहरूद्वारा मात्रै तिनलाई काम गर्न लगाउनुभयो, जबकि परमेश्‍वरले पत्रुसलाई सिद्ध पार्नुभयो भनेर कसले कल्‍पना गर्न सक्थ्यो र? प्रभु येशूले सुरुदेखि नै पत्रुस र पावलको लागि योजना बनाउनुभएको थियो भन्‍ने कुरा साँचो हुँदै होइन: बरु, तिनीहरूका अन्तर्निहित प्रकृतिअनुसार नै तिनीहरूलाई सिद्ध तुल्याइयो वा काममा लगाइयो। त्यसकारण, मानिसहरूले देख्‍ने भनेको मानिसका बाहिरी योगदानहरू मात्रै हुन्, जबकि परमेश्‍वरले मानिसको सारका साथै मानिसले सुरुदेखि नै पछ्याउने मार्ग र मानिसको खोजीको पछाडि रहेको उत्प्रेरणालाई देख्‍नुहुन्छ। मानिसहरूले कुनै पनि मानिसलाई तिनीहरूका आफ्नै धारणा र तिनीहरूका आफ्‍नै दृष्टिकोणअनुसार मापन गर्छन्, तैपनि मानिसको आखिरी अन्त्य उसका बाहिरी कुराहरूअनुसार निर्धारित हुँदैन। त्यसकारण, यदि तैँले सुरुबाटै लिने मार्ग सफलताको मार्ग हो, र खोजीप्रतिको तेरो दृष्टिकोण सुरुदेखि नै सही छ भने, तँ पत्रुसजस्तै होस्; यदि तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो भने, तैँले जेसुकै मूल्य चुकाए तापनि, तेरो अन्त्य अझै पनि पावलको जस्तै हुनेछ। जेसुकै भए तापनि, तेरो गन्तव्य के हुनेछ, र तँ सफल वा असफल हुनेछस् भन्‍ने दुवै कुरा तैँले हिँड्ने बाटो सही छ कि छैन भन्‍ने कुराले निर्धारित गर्छ, तेरो भक्ति वा तैँले चुकाउने मूल्यले निर्धारित गर्दैन। पत्रुस र पावलको सार, र तिनीहरूले पछ्याएका लक्ष्यहरू फरकफरक थिए; मानिसले यी कुराहरूलाई पत्ता लगाउन सक्दैन, र परमेश्‍वरले मात्रै यी कुराहरूलाई पूर्ण रूपमा जान्‍न सक्‍नुहुन्छ। किनभने परमेश्‍वरले मानिसको सार देख्‍नुहुन्छ, जबकि मानिसलाई उसको आफ्‍नै सारको बारेमा केही पनि थाहा हुँदैन। मानिसले मानिसभित्रको सार वा उसको वास्तविक कदलाई देख्‍न सक्दैन, तसर्थ उसले पावल र पत्रुसको असफलता र सफलताका कारणहरू पहिचान गर्न सक्दैन। धेरैजसो मानिसहरूले पत्रुसलाई नभई पावललाई आराधना गर्नुको कारण यो हो कि पावललाई सार्वजनिक कार्यको लागि प्रयोग गरिएको थियो र मानिसले यो कार्यलाई बुझ्‍न सक्छ, र त्यसकारण मानिसहरूले पावलका “उपलब्धिहरूलाई” स्वीकार गर्छन्। तर, पत्रुसका अनुभवहरू मानिसका लागि अदृश्य छन्, र तिनले जे कुराको खोजी गरे त्यसलाई कुनै पनि मानिसले प्राप्त गर्न सक्दैन, र त्यसैले मानिसमा पत्रुसप्रति कुनै चासो छैन।

काँटछाँट र शोधनको अनुभवद्वारा पत्रुसलाई सिद्ध पारिएको थियो। तिनले भने, “मैले सधैँ परमेश्‍वरका अभिप्राय पूरा गर्नैपर्छ। मैले गर्ने सबै कुरामा म परमेश्‍वरका अभिप्राय पूरा गर्न मात्रै प्रयास गर्छु, र मलाई दण्ड वा न्याय गरिए पनि, म त्यसो गर्न खुशी नै हुन्छु।” पत्रुसले परमेश्‍वरलाई आफ्‍नो सम्पूर्णता दिए, र उनका काम, वचन, र सम्पूर्ण जीवन सबै नै परमेश्‍वरलाई प्रेम गर्नको खातिर थिए। तिनी पवित्रताको खोजी गर्ने व्यक्ति थिए, र तिनले जति धेरै अनुभव गरे, तिनको हृदयभित्रको गहिराइमा परमेश्‍वरप्रतिको तिनको प्रेम त्यति नै ठूलो बन्यो। यसबीच, पावलले बाहिरी काम मात्रै गरे, र तिनले पनि कठिन परिश्रम नै गरेका भए तापनि, तिनका परिश्रमहरू आफ्‍नो काम उचित रूपमा गरेर इनाम प्राप्त गर्नको खातिर थिए। तिनले कुनै पनि इनाम प्राप्त गर्नेछैनन् भन्‍ने तिनलाई थाहा भएको भए, तिनले आफ्‍नो काम छोड्नेथिए। पत्रुसलाई आफ्‍नो हृदयभित्रको साँचो प्रेमको बारेमा, र व्यवहारिक र हासिल गर्न सकिने कुरामा मात्रै चासो थियो। तिनले इनाम प्राप्त गर्नेछन् कि छैनन् भन्‍ने बारेमा नभई तिनको स्वभाव परिवर्तन हुन सक्छ कि सक्दैन भन्‍ने विषयमा तिनलाई चासो थियो। पावललाई सधैँ कठिन परिश्रम गर्नेबारेमा चासो थियो, तिनलाई बाहिरी काम र भक्तिको बारेमा चासो थियो, र सामान्य मानिसहरूले अनुभव नगरेका धर्मसिद्धान्तहरूका बारेमा चासो थियो। तिनलाई आफ्‍नो अन्तस्करणमा हुने परिवर्तनहरूका बारेमा चासो थिएन, न त परमेश्‍वरप्रतिको साँचो प्रेमको बारेमा नै चासो थियो। पत्रुसका अनुभवहरू परमेश्‍वरप्रतिको साँचो प्रेम र साँचो ज्ञान हासिल गर्नको लागि थियो। तिनका अनुभवहरू परमेश्‍वरसँग अझै घनिष्ठ सम्‍बन्ध प्राप्त गर्न, र व्यावहारिक जियाइ प्राप्त गर्नको लागि थियो। पावलका कामहरू येशूले तिनलाई सुम्‍पिनुभएको कारण र तिनले तृष्णा गरेका कुराहरू प्राप्त गर्नको लागि गरिएका थिए, तर ती काम तिनको आफ्नै बारेको ज्ञान र परमेश्‍वरबारेको ज्ञानसँग सम्‍बन्धित थिएनन्। तिनको कार्य सजाय र न्यायबाट उम्‍कनको खातिर मात्रै थियो। पत्रुसले खोजेको चोखो प्रेम थियो, तर पावलले खोजेको धार्मिकताको मुकुट थियो। पत्रुसले धेरै वर्ष पवित्र आत्‍माको कार्य अनुभव गरेका थिए, र तिनमा ख्रीष्‍टको बारेमा व्यवहारिक ज्ञानका साथै आफ्‍नै बारेमा पनि गहन ज्ञान थियो। त्यसकारण, परमेश्‍वरप्रतिको तिनको प्रेम चोखो थियो। धेरै वर्षको शोधनले येशू र जीवनसम्‍बन्धी उनको ज्ञानलाई उच्‍च पारेको थियो, र तिनको प्रेम निसर्त प्रेम थियो, यो स्वतस्फूर्त प्रेम थियो, र तिनले सट्टामा केही पनि मागेनन्, न त तिनले कुनै लाभहरूको आशा नै गरे। पावलले धेरै वर्षसम्‍म काम गरे, तैपनि तिनमा ख्रीष्‍टसम्‍बन्धी ठूलो ज्ञान थिएन, र तिनको आफ्‍नै बारेको ज्ञान निकै सानो थियो। ख्रीष्टप्रति तिनमा प्रेम नै थिएन, र तिनको काम र तिनले दौडेको दौड आखिरी सम्मान प्राप्त गर्नको लागि थियो। तिनले खोजेको कुरा उत्तम मुकुट थियो, विशुद्ध प्रेम थिएन। तिनले सक्रिय रूपमा होइन, निष्क्रिय रूपमा खोजी गरे; तिनले आफ्‍नो कर्तव्य निभाइरहेका थिएनन्, तर पवित्र आत्‍माको कार्यले तिनलाई आफ्‍नो पकडमा लिइसकेपछि तिनी खोजी गर्न बाध्य भए। त्यसकारण, तिनको खोजीले तिनी मानक पूरा गर्ने सृष्टि गरिएको प्राणी थिए भन्‍ने प्रमाणित गर्दैन; मानक पूरा गर्ने सृष्टि गरिएको प्राणी त पत्रुस नै थिए जसले आफ्‍नो कर्तव्य पूरा गरे। मानिस परमेश्‍वरका निम्ति योगदान दिने सबैले इनाम प्राप्त गर्नुपर्छ, र योगदान जति ठूलो हुन्छ, त्यो परमेश्‍वरलाई मन पर्नु त्यति नै स्वाभाविक र सही हुन्छ भन्ने सोच्छन्। मानिसको दृष्टिकोणको सार लेनदेनमा आधारित छ, र ऊ सृजित प्राणीका रूपमा आफ्‍नो कर्तव्य सक्रिय रूपमा पूरा गर्ने प्रयास गर्दैन। परमेश्‍वरका लागि, मानिसहरूले परमेश्‍वरप्रति साँचो प्रेम र परमेश्‍वरप्रति पूर्ण समर्पण गर्न जति बढी पछ्याउँछन्, अर्थात्, तिनीहरू सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न जति खोज्छन्, तिनीहरू त्यति नै बढी परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्। परमेश्‍वरको दृष्टिकोण भनेको मानिसलाई उसको मूल कर्तव्य र हैसियतलाई पुनर्प्राप्त गर्न लगाउनु हो। मानिस सृजित प्राणी हो, त्यसकारण मानिसले परमेश्‍वरबाट कुनै पनि माग गरेर सीमा नाघ्‍नु हुँदैन, र सृजित प्राणीका रूपमा आफ्‍नो कर्तव्य निर्वाह गर्नेबाहेक अरू केही पनि गर्नु हुँदैन। पावल र पत्रुसको गन्तव्यको मापन तिनीहरूले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न सके कि सकेनन् भन्‍ने कुराअनुसार गरियो, र तिनीहरूका योगदानको अधिकताअनुसार गरिएन; तिनीहरूको गन्तव्य तिनीहरूले सुरुदेखि नै पछ्याएको कुराअनुसार निर्धारित भयो, तिनीहरूले कति काम गरे, वा अरू मानिसहरूले तिनीहरूको आँकलन कसरी गरे भन्ने कुराअनुसार निर्धारित भएन। त्यसकारण, सृजित प्राणीका रूपमा आफ्‍नो कर्तव्य सक्रियताका साथ निर्वाह गर्न खोज्‍नु नै सफलताको मार्ग हो; परमेश्‍वरप्रतिको साँचो प्रेम पछ्याउने मार्ग नै सबैभन्दा सही मार्ग हो; आफ्‍नो पुरानो स्वभाव परिवर्तन गर्न र परमेश्‍वरप्रतिको चोखो प्रेम पछ्याउनु नै सफलताको मार्ग हो। सफलताको त्यस्तो मार्ग नै सृजित प्राणीको मूल कर्तव्य साथै मूल स्वरूप पुनर्प्राप्त गर्ने मार्ग हो। पुनर्प्राप्तिको मार्ग यही हो, र सुरुदेखि अन्त्यसम्‍मै परमेश्‍वरको सम्पूर्ण कामको उद्देश्य पनि यही नै हो। यदि मानिसको पछ्याइ व्यक्तिगत अत्यधिक मागहरू र अनुचित लालसाहरूद्वारा कलङ्कित छ, अनि यसले हासिल गर्ने नतिजा मानिसको स्वभावमा परिवर्तन हुँदैन भने, यो पुनर्प्राप्तिको कार्यको विपरीत हुन्छ। यो अवश्य नै पवित्र आत्माद्वारा गरिएको काम होइन, त्यसकारण यसले यस प्रकारको पछ्याइलाई परमेश्‍वर अनुमोदन गर्नुहुन्न भन्‍ने कुरा प्रमाणित गर्छ। परमेश्‍वरले अनुमोदन नगर्नुभएको पछ्याइको के महत्त्व हुन्छ र?

पावलले गरेको काम मानिसको अगाडि प्रदर्शन गरिएको थियो, तर परमेश्‍वरप्रतिको तिनको प्रेम कति शुद्ध थियो र तिनी आफ्नो हृदयको गहिराइमा परमेश्‍वरलाई कति प्रेम गर्थे—यी कुराहरू मानिसले देख्न सक्दैन। मानिसले तिनले गरेको काम मात्रै देख्न सक्छ, जसबाट मानिसले तिनी निश्चय नै पवित्र आत्माद्वारा प्रयोग गरिएका थिए भन्‍ने जान्दछ, र त्यसैले मानिसले पावल पत्रुसभन्दा असल थिए, तिनको काम पत्रुसको भन्दा ठूलो थियो भन्‍ने सोच्छ, किनभने तिनी मण्डलीहरूलाई भरणपोषण गर्न सक्थे। पत्रुसले आफ्ना व्यक्तिगत अनुभवहरूमा मात्रै ध्यान दिए र कहिलेकाहीँ काम गर्ने दौरान थोरै मानिस मात्रै प्राप्त गरे, र तिनले थोरै मात्र कम-चर्चित पत्रहरू लेखेका छन्। तर तिनको हृदयको गहिराइमा परमेश्‍वरप्रति कति ठूलो प्रेम थियो भन्‍ने कसलाई थाहा छ र? दैनन्दिन, पावलले परमेश्‍वरका लागि काम गरे: गर्नुपर्ने काम भएसम्म, तिनले त्यो गरे। तिनलाई आफूले यसरी मुकुट प्राप्त गर्न सकिन्छ र परमेश्‍वरलाई सन्तुष्ट पार्न सकिन्छ भन्‍ने लाग्यो, तैपनि तिनले आफ्नो काम गर्दा आफूलाई परिवर्तन गर्ने तरिकाहरू पछ्याएनन्। पत्रुसको जीवनमा परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट नपार्ने कुनै पनि कुराले तिनलाई असहज महसुस गराउँथ्यो। यदि तिनले परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पारेनन् भने, तिनी पछुतो महसुस गर्थे र परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न प्रयास गर्न सक्ने उपयुक्त तरिका खोज्थे। दैनिक जीवनका साना, साधारण कुराहरूमा समेत, तिनी अझै पनि आफूलाई परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न माग गर्थे। आफ्नो पुरानो स्वभावको कुरामा तिनी कम कडिकडाउ गर्दैनथे, सत्यतामा अझै गहिरो प्रगति गर्नका लागि आफूप्रतिका मागहरूमा सधैँ कठोर हुन्थे। पावलले देखावटी प्रतिष्ठा र हैसियत मात्रै पछ्याए। तिनले मानिसको अगाडि आफ्नै प्रदर्शन गर्न खोजे, र जीवन प्रवेशमा कुनै गहिरो प्रगति गर्न खोजेनन्। तिनी वास्तविकता होइन, धर्मसिद्धान्तबारे वास्ता गर्थे। कतिपय मानिस भन्छन्, “पावलले परमेश्‍वरका लागि यति धेरै काम गरे, तिनलाई किन परमेश्‍वरद्वारा स्मरण गरिएन? पत्रुसले परमेश्‍वरका लागि थोरै मात्र काम गरे, र मण्डलीहरूमा ठूलो योगदान दिएनन्, तर तिनलाई किन सिद्ध पारियो?” पत्रुसले परमेश्‍वरलाई एउटा निश्‍चित बिन्दुसम्म प्रेम गरे, परमेश्‍वरले चाहनुभएको कुरा पनि त्यही नै थियो; यस्ता मानिसहरूमा मात्रै गवाही हुन्छ। अनि पावलले के गरे? पावलले परमेश्‍वरलाई कुन हदसम्म प्रेम गरे? के तँलाई थाहा छ? पावलको काम केका लागि गरिएको थियो? अनि पत्रुसको काम केका लागि गरिएको थियो? पत्रुसले धेरै काम गरेनन्, तर तिनको हृदयको गहिराइमा के थियो भन्‍ने कुरा तँलाई थाहा छ? पावलको काम मण्डलीहरूलाई भरणपोषण गर्ने, र मण्डलीहरूलाई समर्थन गर्नेसँग सम्बन्धित थियो। पत्रुसले अनुभव गरेको भनेको तिनको जीवन स्वभावमा आएका परिवर्तनहरू थिए; तिनले परमेश्‍वरप्रतिको प्रेम अनुभव गरे। अब तैँले तिनीहरूका सारहरूमा भएका भिन्‍नताहरू थाहा पाएको हुनाले, अन्ततः कसले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गरे, र कसले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गरेनन् भन्‍ने कुरा तैँले देख्न सक्छस्। तिनीहरूमध्ये एक जनाले परमेश्‍वरलाई साँच्चिकै प्रेम गर्थे, र अर्कोले परमेश्‍वरलाई साँच्चिकै प्रेम गर्दैनथे; एक जनाको स्वभावमा परिवर्तनहरू आए, र अर्कोकोमा आएन; एक जनाले विनम्रतापूर्वक सेवा गरे, र तिनी सजिलै मानिसहरूको नजरमा पर्दैनथे, अनि अर्कोलाई मानिसहरूद्वारा पुजिन्थ्यो, र तिनी ठूलो स्वरूपका थिए; एक जनाले पवित्रीकरण पछ्याए, र अर्कोले पछ्याएनन्, अनि तिनी फोहोरी नभए पनि, तिनमा शुद्ध प्रेम थिएन; एक जनामा साँचो मानवता थियो, र अर्कोमा थिएन; एक जनामा सृजित प्राणीको समझ थियो, र अर्कोमा थिएन। पावल र पत्रुसका सारहरूमा भएका भिन्‍नताहरू यिनै हुन्। पत्रुस हिँडेको मार्ग सफलताको मार्ग थियो, जुन सामान्य मानवता पुनर्प्राप्त गर्ने र सृजित प्राणीको कर्तव्य पुनर्प्राप्त गर्ने मार्ग थियो। पत्रुस सफल भएकाहरू सबैलाई प्रतिनिधित्व गर्छन्। पावल हिँडेको मार्ग असफलताको मार्ग थियो, र तिनी आफू स्वयम्‌लाई सतही रूपमा समर्पित र अर्पित गर्ने, अनि परमेश्‍वरलाई प्रेम गर्ने सच्‍चा हृदय नभएकाहरू सबैलाई प्रतिनिधित्व गर्छन्। पावल सत्यता नभएकाहरू सबैलाई प्रतिनिधित्व गर्छन्। पत्रुसले परमेश्‍वरमाथिको विश्‍वासमा सबै कुरामा परमेश्‍वरलाई नै सन्तुष्ट पार्न खोजे, र परमेश्‍वरबाट आएका सबै कुराप्रति समर्पित हुन खोजे। तिनले एउटा पनि गुनासो व्यक्त नगरी सजाय र न्यायका साथै शोधन, सङ्कष्ट र अभावपूर्ण जीवन स्वीकार गर्न सके। यीमध्ये कुनै पनि कुराले परमेश्‍वरलाई प्रेम गर्ने तिनको हृदयलाई बदल्न सकेन। के यो परमेश्‍वरप्रतिको परम प्रेम थिएन र? के यो सृजित प्राणीको कर्तव्य पूरा गर्नु थिएन र? चाहे त्यो सजायमा होस्, न्यायमा होस् वा सङ्कष्टमा होस्, तँ मृत्युसम्‍मै समर्पण हासिल गर्न सक्छस्, र सृजित प्राणीले हासिल गर्नुपर्ने कुरा यही हो, र परमेश्‍वरप्रतिको प्रेमको विशुद्धता यही हो। यदि मानिसले यति हासिल गर्न सक्छ भने, ऊ मानकअनुरूपको सृजित प्राणी हो, र सृष्टिकर्ताका अभिप्राय त्यसले भन्दा राम्ररी अरू केहीले पूरा गर्दैन। तँ परमेश्‍वरका लागि काम गर्न सक्छस्, तैपनि तँ परमेश्‍वरप्रति समर्पित हुँदैनस्, र तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस् भनेर कल्पना गर्। यसरी, तैँले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा नगरेको मात्रै हुनेछैनस्, तँलाई त परमेश्‍वरले दोषी पनि ठहराउनुहुनेछ, किनभने तँ सत्यता नभएको, परमेश्‍वरप्रति समर्पित हुन नसक्ने, र परमेश्‍वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्। तँ परमेश्‍वरका लागि काम गर्ने कुराको मात्रै वास्ता गर्छस्, तर सत्यता अभ्यास गर्ने वा आफैलाई चिन्‍ने कुराको वास्ता गर्दैनस्। तँ सृष्टिकर्तालाई बुझ्दैनस् वा चिन्दैनस्, तँ सृष्टिकर्ताप्रति समर्पित हुँदैनस् वा उहाँलाई प्रेम गर्दैनस्, र तँ जन्मजातै परमेश्‍वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्। यिनै कारणहरूले गर्दा नै सृष्टिकर्ता त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्‍न।

कतिपय मानिस भन्छन्, “पावलले असाध्यै मात्रामा काम गरे, र तिनले मण्डलीहरूका लागि ठूला-ठूला बोझहरू वहन गरे र तिनलाई ज्यादै फाइदा पुर्‍याए। पावलका तेह्र वटा पत्रले अनुग्रहको युगको २,००० वर्षलाई थामे, र ती चार सुसमाचारका पुस्तकहरूपछि दोस्रो स्थानमा आउँछन्। तिनीसँग कसको तुलना हुन सक्छ र? यूहन्नाको प्रकाशको पुस्तक कसैले बुझ्न सक्दैन, जबकि पावलका पत्रहरूले जीवन प्रदान गर्छन्, र तिनले गरेको काम मण्डलीहरूका लागि लाभदायक थियो। यस्ता कुराहरू अरू कसले हासिल गर्न सक्थ्यो र? अनि पत्रुसले के नै काम गरे र?” मानिसले अरूलाई मापन गर्दा, ऊ तिनीहरूको योगदानअनुसार मापन गर्छ। परमेश्‍वरले मानिसलाई मापन गर्दा, उहाँ मानिसको प्रकृतिअनुसार मापन गर्नुहुन्छ। जीवन पछ्याउनेहरूमध्ये, पावल यस्ता व्यक्ति थिए जसलाई आफ्नै मूल-तत्त्व थाहा थिएन। तिनी कुनै पनि हालतमा विनम्र वा समर्पित थिएनन्, र परमेश्‍वरको विरोधमा रहेको आफ्नै सारका बारेमा तिनलाई कुनै ज्ञान थिएन। त्यसैले, तिनी विस्तृत अनुभवहरूबाट नगुज्रेका व्यक्ति थिए, र सत्यतालाई व्यवहारमा लागु नगर्ने व्यक्ति थिए। पत्रुस फरक थिए। तिनलाई आफ्ना कमीकमजोरी, दुर्बलताहरू, र एउटा सृजित प्राणीका रूपमा आफ्नो भ्रष्ट स्वभावको ज्ञान थियो, र त्यसैले तिनीसँग आफ्नो स्वभाव परिवर्तन गर्नका लागि अभ्यासको मार्ग थियो; तिनी धर्मसिद्धान्त मात्रै भएका तर वास्तविकता नभएकाहरूमध्येमा पर्दैनथे। परिवर्तन हुनेहरू मुक्ति पाएका नयाँ मानिस हुन्, तिनीहरू मानकअनुरूप रहेका र सत्यता पछ्याउने मानिस हुन्। परिवर्तन नहुने मानिसहरू ती हुन् जो आफ्नै प्राकृतिक स्थितिमा रहन्छन् र उही पुरानै मानिसका रूपमा रहन्छन्; तिनीहरू मुक्ति नपाएकाहरू हुन्, अर्थात्, परमेश्‍वरद्वारा तिरस्कार गरिएकाहरू हुन्। तिनीहरूको काम जतिसुकै ठूलो भए पनि तिनीहरूलाई परमेश्‍वरद्वारा स्मरण गरिनेछैन। जब तैँले यसलाई तेरो आफ्नै पछ्याइसँग तुलना गर्छस्, तब अन्ततः तँ पत्रुसजस्तै व्यक्ति होस् कि पावलजस्तै होस् भन्‍ने कुरा स्वतः स्पष्ट हुनुपर्छ। यदि तेरो पछ्याइमा अझै पनि कुनै सत्यता छैन भने, र यदि आज पनि तँ पावलजस्तै अहङ्कारी र अभद्र छस्, र अझै पनि तिनीजस्तै फोस्रो कुरा गर्छस् भने, तँ निस्सन्देह असफल हुने पतित व्यक्ति होस्। यदि तैँले पत्रुसले जस्तै गरी पछ्याइस्, अभ्यास र साँचो परिवर्तनहरू पछ्याइस्, अहङ्कारी वा स्वेच्छाचारी भइनस्, बरु आफ्नो कर्तव्य निर्वाह गर्न खोजिस् भने, तँ विजय हासिल गर्न सक्ने सृजित प्राणी हुनेछस्। पावललाई आफ्नै सार वा भ्रष्टता थाहा थिएन, तिनलाई आफ्नै विद्रोहीपन त झनै थाहा थिएन। तिनले ख्रीष्टप्रतिको आफ्नो घृणास्पद विरोधलाई कहिल्यै उल्लेख गरेनन्, न त तिनी धेरै पछुतो नै मान्थे। तिनले छोटो स्पष्टीकरण मात्रै दिए र, हृदयको गहिराइमा, तिनी परमेश्‍वरसामु पूर्ण रूपमा झुकेनन्। तिनी दमासकसको बाटोमा भुइँमा लडे पनि, तिनले आफूलाई हृदयको गहिराइबाट जाँचेनन्। तिनी काम मात्र गरिरहनमै सन्तुष्ट थिए, र तिनले आफूलाई चिन्नु र आफ्नो पुरानो स्वभाव परिवर्तन गर्नुलाई सबैभन्दा महत्त्वपूर्ण मुद्दा मानेनन्। तिनी सत्यताहरू बोल्नमा, आफ्नो विवेकको मलमका रूपमा अरूलाई भरणपोषण गर्नुमा, र आफूलाई सान्त्वना दिन र आफूलाई विगतका आफ्ना पापहरूका लागि क्षमा गर्न येशूका चेलाहरूलाई सताउन छोड्नमा नै सन्तुष्ट थिए। तिनले पछ्याएको लक्ष्य एउटा भविष्यको मुकुट र अस्थायी कामबाहेक केही थिएन, तिनले पछ्याएको लक्ष्य प्रशस्त अनुग्रह थियो। तिनले पर्याप्त सत्यता पछ्याएनन्, न त तिनले आफूले पहिले नबुझेको सत्यतामा अझै गहिरो प्रगति गर्न नै पछ्याए। त्यसैले आफूबारे तिनको ज्ञानलाई नक्कली भन्न सकिन्छ, र तिनले सजाय वा न्याय स्वीकार गरेनन्। तिनी काम गर्न सक्षम थिए भन्नुको अर्थ तिनमा आफ्नै प्रकृति वा सारको ज्ञान थियो भन्‍ने होइन; तिनको ध्यान बाहिरी अभ्यासहरूमा मात्रै थियो। यसबाहेक, तिनले हासिल गर्न मेहनत गरेको परिवर्तनका लागि थिएन, ज्ञानका लागि थियो। तिनको काम पूर्ण रूपमा दमासकसको बाटोमा येशूको देखा पराइको नतिजा थियो। यो तिनले सुरुमा गर्न सङ्कल्प गरेको कुरा थिएन, न त तिनी आफ्नो पुरानो स्वभावको काटछाँट स्वीकार गरेपछि काम गरिरहेका थिए। तिनले जतिसुकै काम गरे पनि, तिनको पुरानो स्वभाव परिवर्तन भएन, त्यसैले तिनको कामले तिनका विगतका पापहरूको प्रायश्चित्त गरेन बरु त्यस समयका मण्डलीहरूमाझ एउटा निश्चित भूमिका मात्रै खेल्यो। यस्तो व्यक्ति, जसको पुरानो स्वभाव परिवर्तन भएन—भन्‍नुको अर्थ, जसले मुक्तिको अनुग्रह प्राप्त गरेनन्, र जो अझ बढी सत्यताविहीन थिए—तिनी प्रभु येशूद्वारा स्वीकार गरिएकाहरूमध्ये एक बन्न पूर्ण रूपमा असक्षम थिए। तिनी येशू ख्रीष्टप्रतिको प्रेम र डरले भरिएका व्यक्ति थिएनन्, न त तिनी सत्यता खोज्नमा निपुण व्यक्ति नै थिए, तिनी देहधारणको रहस्य खोज्ने व्यक्ति त झनै थिएनन्। तिनी केवल कुतर्क गर्नमा सिपालु, र आफूभन्दा माथिको वा सत्यता बोकेको कोहीसामु नझुक्ने व्यक्ति थिए। तिनी आफू विपरीत, वा आफूसँग शत्रुवत् मानिसहरू वा सत्यताहरूको डाहा गर्थे, र ठूलो छवि प्रस्तुत गर्ने र गहिरो ज्ञान भएका ती विद्वत् मानिसहरू रुचाउँथे। तिनी साँचो मार्ग खोज्ने र सत्यतालाई मात्र प्रेम गर्ने गरिब मानिसहरूसँग अन्तरक्रिया गर्न मन पराउँदैनथे, बरु तिनी धर्मसिद्धान्तहरूबारे मात्रै बोल्ने, र प्रशस्त ज्ञान भएका धार्मिक सङ्गठनहरूका वरिष्ठ व्यक्तिहरू रुचाउँथे। तिनलाई पवित्र आत्माको नयाँ कामप्रति कुनै प्रेम थिएन र तिनी पवित्र आत्माको नयाँ कामको गतिविधिलाई वास्ता गर्दैनथे। बरु, तिनी सामान्य सत्यताहरूभन्दा उच्च प्रावधान र धर्मसिद्धान्तहरू रुचाउँथे। तिनको अन्तर्निहित मूल-तत्त्व र तिनले पछ्याएको सम्पूर्ण कुरामा, तिनी सत्यता पछ्याउने इसाई कहलिन योग्य छैनन्, परमेश्‍वरको घरको बफादार सेवक कहलिन त झनै योग्य छैनन्, किनभने तिनको पाखण्ड ज्यादै नै थियो, र तिनको विद्रोहीपन ज्यादै ठूलो थियो। तिनी प्रभु येशूको सेवकका रूपमा चिनिए पनि, तिनी स्वर्गको राज्यको प्रवेशद्वारमा प्रवेश गर्न पटक्कै योग्य थिएनन्, किनभने सुरुदेखि अन्त्यसम्मका तिनका कार्यहरूलाई धर्मी भन्न मिल्दैन। तिनलाई पाखण्डी र अधार्मिकता गर्ने, तर ख्रीष्टका लागि पनि काम गर्ने व्यक्तिका रूपमा मात्रै हेर्न सकिन्छ। तिनलाई दुष्ट भन्न नमिले पनि, तिनलाई अधार्मिकता गर्ने मानिस भनेर भन्नु उचित हुन्छ। तिनले धेरै काम गरे, तर तिनलाई तिनले गरेको कामको मात्राका आधारमा मूल्याङ्कन गरिनु हुँदैन, बरु त्यसको गुणस्तर र सारका आधारमा मात्रै गरिनुपर्छ। यसरी मात्रै यस मामिलाको गहिराइसम्म पुग्न सम्भव हुन्छ। तिनी सधैँ “म काम गर्न सक्षम छु, म धेरैजसो मानिसभन्दा कुशल छु; म प्रभुको बोझलाई अरू कसैले नगर्ने ख्याल गर्छु, र मैले जति गहिरो पश्‍चात्ताप कसैले गर्दैन, किनभने ममाथि ठूलो ज्योति चम्किएको थियो, र मैले ठूलो ज्योति देखेको छु, त्यसैले मेरो पश्‍चात्ताप अरू कसैको भन्दा गहिरो छ” भनी विश्‍वास गर्थे। त्यस समयमा, तिनले आफ्नो हृदयमा सोचेको कुरा यही थियो। आफ्नो कामको अन्त्यमा, पावलले भने, “मैले लडाइँ लडेको छु, मैले दौडनुपर्ने दौड पूरा गरेको छु, र मेरो लागि धार्मिकताको मुकुट राखिएको छ।” तिनको लडाइँ, काम, र दौड पूर्ण रूपमा धार्मिकताको मुकुटका खातिर थिए, र तिनी सक्रिय रूपमा अघि बढेनन्। हुन त तिनी आफ्नो काममा झारा टार्दैनथे, तर तिनको काम केवल आफ्ना गल्तीहरू पूर्ति गर्न, आफ्नो विवेकको दोषारोपण पूर्ति गर्नका लागि मात्रै गरिएको थियो भनेर भन्न सकिन्छ। तिनको आशा भनेको आफूले तृष्णा गरेको धार्मिकताको मुकुट अझ चाँडो प्राप्त गर्न सकियोस् भन्नका लागि जतिसक्दो चाँडो आफ्नो काम सम्पन्न गर्ने, आफ्नो दौड पूरा गर्ने, र आफ्नो लडाइँ सकाउने मात्र थियो। तिनले तृष्णा गरेको कुरा आफ्ना अनुभवहरू र साँचो ज्ञानका साथ प्रभु येशूलाई भेट्नु थिएन, बरु जतिसक्दो चाँडो आफ्नो काम पूरा गर्नु थियो, ताकि प्रभु येशूलाई भेट्दा तिनले आफ्नो कामले कमाएको इनाम प्राप्त गर्न सकून्। तिनले आफ्नो कामलाई आफैलाई सान्त्वना दिन, र एक प्रकारको लेनदेनका रूपमा प्रयोग गरे, र भविष्यमा यसलाई मुकुटसँग साट्ने आशा गरे। तिनले पछ्याएको कुरा सत्यता वा परमेश्‍वर थिएन, मुकुट मात्रै थियो। यस्तो पछ्याइ कसरी मानकअनुरूप हुन सक्छ? तिनको मनसाय, तिनको काम, तिनले चुकाएको मूल्य, र तिनले बलिदान गरेका सबै कुरा—तिनका अद्भुत कल्पनाहरू ती सबैमा व्याप्त थिए, र तिनले पूर्णतया आफ्नै चाहनाहरूअनुसार काम गरे। तिनको सम्पूर्ण काममा, तिनले चुकाएको मूल्यमा अलिकति पनि तत्परता थिएन; तिनी केवल लेनदेनको हिसाबले त्यसो गरिरहेका थिए। तिनका बलिदानहरू इच्छापूर्वक आफ्नो कर्तव्यका खातिर गरिएका थिएनन्, बरु इच्छापूर्वक लेनदेन गर्ने आफ्नो उद्देश्य हासिल गर्न गरिएका थिए। के त्यस्ता बलिदानहरूको कुनै मूल्य हुन्छ? तिनका अशुद्ध बलिदानहरूलाई कसले अनुमोदन गर्छ र? त्यस्ता बलिदानहरूमा कसलाई रुचि हुन्छ? तिनको काम भविष्यका सपनाहरूले भरिएको थियो, अद्भुत योजनाहरूले भरिएको थियो, र यसमा मानव स्वभाव परिवर्तन गर्ने कुनै मार्ग थिएन। तिनी झूटो परोपकारले भरिएका थिए; तिनको कामले जीवन प्रदान गर्दैनथ्यो, बरु यो एउटा बनावटी शिष्टता थियो; यो लेनदेनमा आधारित थियो। यस्तो कामले मानिसलाई कसरी उसको मूल कर्तव्य पुनर्प्राप्त गर्ने मार्गतर्फ डोर्‍याउन सक्छ?

पत्रुसले पछ्याएका सबै कुरा परमेश्‍वरका अभिप्रायहरूअनुरूप थिए। उनले परमेश्‍वरका अभिप्रायहरूको सन्तुष्टि पछ्याए र उनी आफूले कष्ट र सङ्कष्ट भोग्नुपरे पनि, अझै परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न इच्छुक थिए। परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको योभन्दा ठूलो पछ्याइ हुँदैन। पावलले पछ्याएको कुरा उसको आफ्नै देह, आफ्नै धारणाहरू अनि आफ्नै योजना र युक्तिहरूद्वारा दूषित भएको थियो। ऊ कुनै पनि हालतमा मानकअनुरूपको सृजित प्राणी थिएन; ऊ परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न खोज्ने व्यक्ति थिएन। पत्रुसले आफूलाई परमेश्‍वरका योजनाबद्ध कार्यहरूको कृपामा छोड्नुलाई पछ्याए र उनले गरेको काम ठूलो नभए पनि, उनको पछ्याइपछाडिको उत्प्रेरणा र उनी हिँडेको मार्ग सही थियो; अर्थात्, उनले धेरै मानिस प्राप्त गर्न नसके पनि, सत्यताको मार्ग पछ्याउन सके। यसैकारण उनी मानकअनुरूपको सृजित प्राणी थिए भनेर भन्न सकिन्छ। आज, तँ कामदार नभए पनि, तैँले सृजित प्राणीको कर्तव्य पूरा गर्न र सबै कुरा परमेश्‍वरका योजनाबद्ध कार्यहरूको कृपामा छोड्नुलाई पछ्याउन सक्नुपर्छ। तँ परमेश्‍वरले भन्ने जुनसुकै कुराप्रति समर्पित हुन सक्नुपर्छ र सबै प्रकारका सङ्कष्ट र शोधन अनुभव गर्न सक्षम हुनुपर्छ अनि तैँले आफू कमजोर भए पनि, आफ्नो हृदयमा अझै पनि परमेश्‍वरलाई प्रेम गर्न सक्नुपर्छ। आफ्नो जीवनको जिम्मेवारी लिनेहरू सृजित प्राणीको कर्तव्य पूरा गर्न इच्छुक हुन्छन् र त्यस्ता मानिसहरूको पछ्याइपछाडिको दृष्टिकोण सही हुन्छ। परमेश्‍वरलाई आवश्यक पर्ने मानिसहरू यिनै हुन्। यदि तैँले धेरै काम गरिस् र अरूले तँबाट मार्गदर्शन प्राप्त गरे तर तँ आफै परिवर्तन भइनस् अनि कुनै गवाही दिइनस् वा तँसँग कुनै साँचो अनुभव भएन, जसले गर्दा तेरो जीवनको अन्त्यमा, तैँले गरेका कुनै पनि कुराले अझै गवाही दिँदैन भने, के तँ परिवर्तनबाट गुज्रेको व्यक्ति होस् र? के तँ सत्यता पछ्याउने व्यक्ति होस्? त्यसबेला, पवित्र आत्माले तँलाई प्रयोग गर्नुभयो तर जब उहाँले तँलाई प्रयोग गर्नुभयो, तब उहाँले काम गर्न प्रयोग गर्न सकिने तेरो भागलाई प्रयोग गर्नुभयो र उहाँले प्रयोग गर्न नसकिने तेरो भागलाई प्रयोग गर्नुभएन। यदि तैँले परिवर्तनहरू पछ्याएको भए, तँ प्रयोग गरिने प्रक्रियाको दौरान बिस्तारै सिद्ध पारिनेथिइस्। तैपनि तँ अन्ततः प्राप्त गरिन्छस् कि गरिँदैनस् भन्‍ने कुराका लागि पवित्र आत्मा पूर्णतया जिम्मेवार हुनुहुन्न—यो त तेरो पछ्याइ ठ्याक्कै कसरी अघि बढ्छ भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तेरो व्यक्तिगत स्वभावमा कुनै परिवर्तनहरू हुँदैनन् भने, त्यो तेरो पछ्याइपछाडिको दृष्टिकोण गलत भएकाले गर्दा हो। यदि तँलाई कुनै इनाम दिइँदैन भने, त्यो तेरो आफ्नै समस्या हो, किनभने तँ आफैले सत्यता अभ्यास नगरेको होस् र तँ परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न असक्षम छस्। र त्यसैले, तेरा व्यक्तिगत अनुभवहरूभन्दा महत्त्वपूर्ण कुरा कुनै छैन र तेरो व्यक्तिगत प्रवेशभन्दा महत्त्वपूर्ण कुरा कुनै छैन! कतिपय मानिसले अन्त्यमा यसो भन्नेछन्, “मैले तपाईँका लागि यति धेरै काम गरेको छु र मैले केही हासिल नगरेको भए पनि, कष्ट सहेको छु। के तपाईँ मलाई जीवनको फल खान स्वर्गमा प्रवेश गर्न दिन सक्नुहुन्न?” म कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; फोहोरीहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, फोहोरीहरूलाई पवित्र भूमि अपवित्र बनाउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म खटेको हुन सक्‍ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहोरी हुन्छस्, र तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुन्छ! संसारको सृष्टि भएदेखि अहिलेसम्‍म, मेरो चापलुसी गर्नेहरूलाई मैले राज्यमा त्यति सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवन पछ्याउनैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तनको पछि लाग्ने, र परमेश्‍वरको गवाही दिन र सृजित प्राणीका रूपमा आफ्‍नो कर्तव्य निर्वाह गर्न इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूको मात्रै आश गर्छस्, र आफ्‍नो जीवन स्वभाव परिवर्तन गर्नुको पछि लाग्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!

पत्रुस र पावलका सारहरूमा भएको भिन्‍नताबाट तैँले के बुझ्नुपर्छ भने जीवन नपछ्याउनेहरू सबै व्यर्थमा परिश्रम गर्छन्! परमेश्‍वरमा विश्‍वास गर्दा र परमेश्‍वरलाई पछ्याउँदा, तँसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ, तैँले आफ्नो भ्रष्ट स्वभावलाई फाल्नैपर्छ, तैँले परमेश्‍वरका अभिप्रायहरूको सन्तुष्टिलाई पछ्याउनैपर्छ, र तैँले एउटा सृजित प्राणीको कर्तव्य पूरा गर्नैपर्छ। तँ परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौट वा मागहरू गर्नु हुँदैन, अनि तैँले परमेश्‍वरका अभिप्राय पूरा गर्नुपर्छ। तँ सृजित मानव भएको हुनाले, तँ आफूलाई सृष्टि गर्नुहुने प्रभुमा समर्पित हुनुपर्छ, किनभने तँ अन्तर्निहित रूपमा नै आफूलाई नियन्त्रण गर्न सक्दैनस्, र तँसँग तेरो आफ्नै भवितव्यलाई नियन्त्रण गर्ने कुनै अन्तर्निहित क्षमता छैन। तँ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रीकरण र परिवर्तन पछ्याउनुपर्छ। तँ एउटा सृजित प्राणी भएको हुनाले, तैँले आफ्नो कर्तव्य पालन गर्नुपर्छ, र आफ्नो स्थानमा रहनुपर्छ, साथै तैँले आफ्नो कर्तव्यलाई नाघ्नै हुँदैन। यो तँलाई बाँध्न, वा धर्मसिद्धान्तमार्फत तँलाई दबाउनका लागि होइन, बरु यो त्यो मार्ग हो जसद्वारा तैँले आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस्, र यो धार्मिकता गर्नेहरू सबैले हासिल गर्न सक्छन्—र हासिल गर्नुपर्छ। यदि तैँले पत्रुस र पावलका सारहरूलाई तुलना गरिस् भने, तैँले कसरी पछ्याउनुपर्छ भन्‍ने तँलाई थाहा हुनेछ। पत्रुस र पावल हिँडेका मार्गहरूमध्ये, एउटा सिद्ध पारिने मार्ग हो, र अर्को हटाइने मार्ग हो; पत्रुस र पावलले दुई फरक मार्गलाई प्रतिनिधित्व गर्छन्। दुवैले पवित्र आत्माको काम प्राप्त गरेका, दुवैले पवित्र आत्माको प्रबोधन र ज्योति प्राप्त गरेका, र दुवैले प्रभु येशूद्वारा आफूलाई सुम्पिएको कुरा स्वीकार गरेका भए पनि, तिनीहरू प्रत्येकमा फलेको फल एउटै थिएन: एक जनाले साँच्चै फल फलाए, र अर्कोले फलाएनन्। तिनीहरूका सारहरू, तिनीहरूले गरेको काम, तिनीहरूद्वारा बाहिरी रूपमा व्यक्त गरिएका कुरा, र तिनीहरूका अन्तिम परिणामहरूबाट, तैँले आफूले कुन मार्ग लिनुपर्छ, आफूले कुन मार्गमा हिँड्ने छनौट गर्नुपर्छ भन्‍ने कुरा बुझ्नुपर्छ। तिनीहरू प्रस्ट रूपमा दुई फरक मार्गमा हिँडे। पावल र पत्रुस, तिनीहरू प्रत्येक मार्गका सर्वोत्कृष्ट उदाहरण थिए, त्यसैले सुरुदेखि नै तिनीहरूलाई उदाहरणका रूपमा खडा गरियो। पावलका अनुभवहरूका मुख्य बुँदाहरू के-के हुन्, र तिनी किन सफल भएनन्? पत्रुसका अनुभवहरूका मुख्य बुँदाहरू के-के हुन्, अनि तिनले कसरी सिद्ध पारिने अनुभव गरे? यदि तैँले तिनीहरू प्रत्येकले वास्ता गरेका कुराहरूलाई तुलना गरिस् भने, परमेश्‍वर ठ्याक्कै कस्तो प्रकारको व्यक्ति चाहनुहुन्छ, परमेश्‍वरका अभिप्रायहरू के हुन्, परमेश्‍वरको स्वभाव के हो, अन्ततः कस्तो प्रकारको व्यक्तिलाई सिद्ध पारिनेछ, र कस्तो प्रकारको व्यक्तिलाई सिद्ध पारिनेछैन भन्‍ने कुरा पनि तँलाई थाहा हुनेछ; सिद्ध पारिनेहरूको स्वभाव कस्तो हुन्छ, र सिद्ध नपारिनेहरूको स्वभाव कस्तो हुन्छ भन्‍ने तँलाई थाहा हुनेछ—यी सारका समस्याहरू पत्रुस र पावलका अनुभवहरूमा देख्न सकिन्छ। परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुभयो, त्यसकारण उहाँले सबै सृष्टिलाई उहाँको प्रभुत्वमा आउने र उहाँको प्रभुत्वमा समर्पित हुने तुल्याउनुहुन्छ; उहाँ यावत् थोकमाथि शासन गर्नुहुनेछ, ताकि यावत् थोक उहाँकै हातमा होऊन्। जीवजन्तु, वनस्पति, मानवजाति, पहाडपर्वत र नदीनाला, अनि तालतलैयालगायत परमेश्‍वरका सबै सृष्टि—यावत् थोक उहाँको प्रभुत्वमा आउनैपर्छ। आकाश र जमिनका यावत् थोक उहाँको प्रभुत्वमा आउनैपर्छ। तिनीहरूसँग कुनै विकल्‍प हुन सक्दैन र सबै उहाँको योजनाबद्ध कार्यमा समर्पित हुनैपर्छ। यो परमेश्‍वरले निर्धारित गर्नुभएको थियो, र यो परमेश्‍वरको अख्‍तियार हो। परमेश्‍वर यावत् थोकमाथि शासन गर्नुहुन्छ र सबै कुरालाई व्यवस्थित र श्रेणीबद्ध तुल्याउनुहुन्छ, र हरेकलाई परमेश्‍वरका चाहनाहरूअनुसार तिनको प्रकारअनुसार वर्गीकरण गर्नुहुन्छ, र प्रत्येकलाई आफ्‍नो स्थानमा राखिन्छ। जति नै ठूलो भए पनि कुनै पनि चीजले परमेश्‍वरलाई उछिन्‍न सक्दैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई नै सबै थोकले सेवा गर्छन्, र कुनैले पनि परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने वा परमेश्‍वरबाट कुनै माग गर्ने आँट गर्दैन। त्यसकारण सृजित प्राणीका रूपमा मानिसले पनि मानिसको कर्तव्य पूरा गर्नैपर्छ। चाहे ऊ यावत् थोकको मालिक होस् वा अभिरक्षक, यावत् थोकमाझ मानिसको हैसियत जति उच्‍च भए तापनि, ऊ अझै परमेश्‍वरको प्रभुत्वमा रहेको सानो मानव मात्र हो; ऊ सानो मानव, सृजित प्राणीभन्दा बढी अरू केही होइन, र ऊ परमेश्‍वरभन्दा माथि कहिल्यै हुनेछैन। सृजित प्राणीका रूपमा, मानिसले सृष्टिकर्तालाई जान्न र सृजित प्राणीको कर्तव्य पूरा गर्न खोज्नुपर्छ, र सबैभन्दा महत्त्वपूर्ण रूपमा, अरू कुनै छनौटहरू बिलकुलै नगरी परमेश्‍वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्‍वरलाई प्रेम गर्नुको पछि लाग्नेहरूले कुनै पनि व्यक्तिगत लाभ वा व्यक्तिगत आशाहरू पछ्याउनु हुँदैन; पछ्याउने सबैभन्दा सही तरिका यही हो। यदि तैँले सत्यता नै पछ्याउँछस् भने, यदि तैँले सत्यता नै अभ्यास गर्छस् भने, र यदि तैँले आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तँ हिँड्ने मार्ग सही छ। यदि तँ देहका आशिष्‌हरू पछ्याउँछस्, र तेरा आफ्नै धारणाहरूको सत्यता अभ्यास गर्छस् भने, र यदि तेरो स्वभावमा बिलकुलै परिवर्तन आएको छैन, र देहमा हुनुभएका परमेश्‍वरप्रति तँ पटक्कै समर्पित छैनस्, र तँ अझै अस्पष्टतामै जिउँछस् भने, तैँले जे पछ्याउँछस् त्यसले तँलाई अवश्य नै नरकमा लैजानेछ, किनभने तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो। तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्‍ने कुरा तेरो आफ्‍नै पछ्याइमा निर्भर हुन्छ, भन्‍नुको अर्थ के पनि हो भने, सफलता वा असफलता व्यक्ति हिँड्ने मार्गमै निर्भर हुन्छ।

अघिल्लो:  परमेश्‍वर सबै सृजित प्राणीका प्रभु हुनुहुन्छ

अर्को:  परमेश्‍वरको काम र मानिसको काम

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger