मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
मानिसले आजको काम र भविष्यको कामबारे थोरै जान्दछ तर उसले त्यो गन्तव्य बुझ्दैन जसमा मानवजाति प्रवेश गर्नेछ। एक सिर्जित प्राणी भएको नाताले, मानिसले सिर्जित प्राणीको कर्तव्य पालना गर्नुपर्दछ: परमेश्वरले जे गर्नुहुन्छ, उसले त्यसैमा उहाँलाई पछ्याउनुपर्छ। मैले तिमीहरूलाई बताउने जुनसुकै मार्गमा तिमीहरू अगाडि बढ्नुपर्छ। आफ्नै निम्ति प्रबन्ध गर्ने तेरो कुनै उपाय छैन अनि आफैमाथि तेरो कुनै प्रभुत्व छैन; सबै कुरालाई परमेश्वरकै कृपामा छोडिनुपर्छ, अनि हरेक कुरा उहाँकै हातमा छ। यदि परमेश्वरको कामले मानिसलाई समय अगावै एउटा समाप्ति, उद्देश्य वा एउटा सुन्दर गन्तव्य प्रदान गऱ्यो र यदि परमेश्वरले मानिसलाई प्रलोभनमा पार्न र उहाँलाई पछ्याउने तुल्याउन यसलाई प्रयोग गर्नुभयो—यदि उहाँले मानिससित सौदा गर्नुभयो भने—यो जित हुने थिएन, न त यो मानिसको जीवनको निम्ति काम हुने थियो। यदि परमेश्वरले मानिसलाई नियन्त्रण गर्न अनि उसको हृदयलाई जित्न उसको गन्तव्य प्रयोग गर्नुहुने हो भने, यसमा उहाँले मानिसलाई सिद्ध बनाइरहनुभएको हुने थिएन, न त उहाँले मानिसलाई हासिल गर्न नै सक्नुहुनेथियो तर त्यसको साटो उहाँले उसलाई नियन्त्रण गर्न उसको गन्तव्यलाई प्रयोग गरिरहनुभएको हुनेथियो। मानिसले आफ्नो भावी उद्देश्य, अन्तिम गन्तव्य अनि आशा गर्नको निम्ति कुनै असल कुरा छ वा छैन भन्ने कुराभन्दा अरू कुनै कुरालाई वास्ता गर्दैन। यदि मानिसलाई जितको कामको अवधिमा एउटा सुन्दर आशा दिइयो र यदि मानिसलाई जित्नुभन्दा पहिले, पछ्याउनको निम्ति उसलाई एउटा उचित गन्तव्य दिइयो भने, उसको जितले यसको असरलाई हासिल नगर्ने मात्र होइन तर जितको कामको असर पनि प्रभावित हुनेछ। यसको अर्थ, मानिसको भाग्य र उसको भावी अपेक्षालाई हटाएर अनि मानिसको विद्रोही स्वभावलाई न्याय गरेर र त्यसलाई ताडना दिएर मात्रै जितको कामले यसको असरलाई हासिल गर्नसक्छ। यो मानिससित सौदा गरेर अर्थात् उसलाई आशिष् तथा अनुग्रह दिएर होइन तर यसको साटोमा उसलाई “स्वतन्त्रता”-बाट वञ्चित गरेर अनि उसको भावी अपेक्षालाई मेटाएर यसद्वारा उसको वफादारीतालाई प्रकट गरेर हासिल गर्न सकिन्छ। जितको कामको सार यही नै हो। यदि मानिसलाई सुरुमै सुन्दर आशा दिइयो अनि सजाय र न्यायको काम पछि मात्र गरियो भने, मानिसले यो सजाय र न्यायको कामलाई उसको भविष्यमा रहेको अपेक्षाको आधारमा स्वीकार गर्नेथियो र अन्त्यमा सृष्टिकर्ताले आफ्ना सिर्जित प्राणीहरूबाट पाउनुपर्ने निःशर्त समर्पण र आराधना हासिल हुन सक्नेथिएन; केवल अन्धो, अज्ञानी समर्पण मात्र हुनेथियो, अन्यथा मानिसले परमेश्वरबाट अन्धाधुन्ध मागहरू गर्नेथियो अनि मानिसको हृदय जित्ने कुरा असम्भव हुनेथियो। परिणामस्वरूप, मानिसलाई प्राप्त गर्ने त्यस्तो जितको काम अथवा परमेश्वरको गवाही हुने काम असम्भव हुने थियो। त्यस्ता सिर्जित प्राणीहरू आफ्नो कर्तव्य पालना गर्न असक्षम हुनेथिए अनि तिनीहरूले परमेश्वरसित मोलतोल मात्र गर्नेथिए; यो जित हुने थिएन तर कृपा र आशिष् मात्रै हुनेथियो। मानिसको सबैभन्दा ठूलो कठिनाइ के हो भने, ऊ सधैँ आफ्नो भाग्य र भविष्यबारे सोच्छ र यिनै कुराहरूलाई पूजा गर्छ। मानिस आफ्नो भाग्य र भविष्यका खातिर परमेश्वरलाई पछ्याउँछ; ऊ परमेश्वरप्रतिको आफ्नो प्रेमका कारण उहाँलाई आराधना गर्दैन। अनि यसैले मानिसलाई विजय गर्दा मानिसको स्वार्थ, लोभ, अनि परमेश्वरको आराधना गर्नमा उसलाई सबैभन्दा बढी रोकटोक गर्ने सबै कुरालाई निराकरण गरिनुपर्छ। त्यसो गरेर मानिसमाथि विजय गरिन्छ। फलस्वरूप, मानिसमाथिको विजयका सुरुका चरणहरूमा पहिले परमेश्वरलाई प्रेम गर्ने मानिसको हृदय प्रकट गर्न अनि मानव जीवनबारे उसको ज्ञान, परमेश्वरबारे उसको दृष्टिकोण र उसको अस्तित्वको अर्थ परिवर्तन गर्नका लागि मानिसका अत्यधिक महत्त्वाकाङ्क्षा तथा सबैभन्दा गम्भीर कमजोरीहरू हटाउनु आवश्यक छ। यसरी, परमेश्वरलाई प्रेम गर्ने मानिसको हृदय शुद्ध बन्छ, भन्नुको अर्थ, मानिसको हृदयलाई विजय गरिन्छ। तर सारा सिर्जित प्राणीहरूप्रति परमेश्वरको मनोवृत्तिलाई हेर्दा, परमेश्वरले जित्नकै खातिर जित्नुहुन्न; बरु मानिसलाई हासिल गर्नको निम्ति, आफ्नै महिमाको खातिर अनि मानिसको सबैभन्दा सुरुको मूल प्रतिरूपलाई पुनर्स्थापना गर्नको निम्ति उहाँले जित्नुहुन्छ। यदि जित्नकै खातिर मात्रै उहाँले जित्नु हुनेथियो भने, जितको कामको महत्त्व हराउनेथियो। भनाइको अर्थ, यदि मानिसलाई जितिसकेपछि परमेश्वर मानिसप्रति उत्तरदायी हुन छोड्नुभयो र मानिसको जीवन र मरणलाई नै बेवास्ता गर्नुभयो भने, यो मानवजातिको व्यवस्थापन हुने थिएन, न त मानिसको जित उसको मुक्तिको खातिर नै हुनेथियो। केवल मानिसको जितपछि र अन्त्यमा सुन्दर गन्तव्यमा ऊ आइपुगेपछि मानिसलाई हासिल गर्नु मुक्तिको सबै कामको केन्द्रविन्दु हो र यसले मात्रै मानिसको मुक्तिको लक्ष्यलाई हासिल गर्न सक्दछ। अर्को शब्दमा, मानिस सुन्दर गन्तव्यमा आइपुग्नु र विश्राममा प्रवेश गर्नु हरेक सिर्जित प्राणीमा हुनुपर्ने भावी सम्भावना र सृष्टिकर्ताद्वारा गरिनुपर्ने काम हुन्। यदि मानिसले यो काम गर्नुथियो भने, यो अति नै सीमित हुनेथियो: यसले मानिसलाई एउटा निश्चित बिन्दुमा लानेथियो तर यसले मानिसलाई अनन्त गन्तव्यमा ल्याउन सक्नेथिएन। मानिसले मानिसको नियति निर्धारण गर्न सक्दैन, यसबाहेक, न त उसले मानिसको भावी अपेक्षा र भावी गन्तव्यलाई सुरक्षित गर्न सक्छ। तथापि, परमेश्वरद्वारा गरिने काम फरक हुन्छ। परमेश्वरले मानिसलाई सृष्टि गर्नुभएको कारण, उहाँले उसलाई डोऱ्याउनुहुन्छ, उहाँले मानिसलाई मुक्ति दिनुहुने कारणले उहाँले उसलाई पूरै मुक्ति दिनुहुनेछ र उसलाई पूर्ण रूपले प्राप्त गर्नुहुनेछ उहाँले मानिसलाई अगुवाइ गर्नुहुने हुनाले, उहाँले उसलाई उचित गन्तव्यमा ल्याउनुहुनेछ; अनि उहाँले मानिसलाई सृष्टि गर्नुभएको र व्यवस्थित गर्नुभएको कारण उहाँले मानिसको भाग्य तथा भावी अपेक्षाको जिम्मेवारी पनि लिनुपर्छ। सृष्टिकर्ताद्वारा गरिने काम यही नै हो। जितको काम मानिसको भावी अपेक्षालाई शुद्ध गरेर हासिल गरिने भए तापनि, मानिसलाई अन्ततः उसको निम्ति परमेश्वरले तयार गर्नुभएको उचित गन्तव्यमा ल्याइनु नै पर्छ। परमेश्वरले मानिसको निम्ति काम गर्नुहुने भएकोले नै मानिससित एउटा गन्तव्य हुन्छ र उसको भाग्य सुनिश्चित हुन्छ। यहाँ उल्लेख भएको उचित गन्तव्य भन्नाले विगतका समयहरूमा शुद्ध गरिएका मानिसको आशा र भावी अपेक्षा होइन, ती दुई फरक छन्। मानिसले आशा गर्ने र पछ्याउने कुरा देहका अत्यधिक चाहनाहरू पछ्याउँदा उसले तृष्णा गर्ने कुरा हो, मानिसले पाउनुपर्ने गन्तव्य होइन। यसैबीच परमेश्वरले मानिसका निम्ति जे तयार गर्नुभएको छ, त्यो मानिसलाई शुद्ध पारिएपछि उसले पाउनुपर्ने आशिष् र प्रतिज्ञा हो, जुन परमेश्वरले संसार सृष्टि गरिसक्नुभएपछि मानिसका निम्ति तयार गर्नुभयो, र जुन मानिसका छनौट, धारणा, कल्पनाहरू, अथवा देहद्वारा कलङ्कित हुँदैन। यो गन्तव्य एउटा विशेष व्यक्तिका निम्ति तयार गरिएको होइन, बरु यो त सम्पूर्ण मानवजातिको विश्राम गर्ने स्थान हो। त्यसैले यो गन्तव्य मानवजातिका निम्ति सबैभन्दा उचित गन्तव्य हो।
सृष्टिकर्ताले सिर्जित प्राणीहरूलाई योजनाबद्ध गर्ने आशय राख्नुहुन्छ। उहाँले गर्ने कुनै कुरालाई तैँले परित्याग गर्नु वा अवज्ञा गर्नुहुँदैन, न त तँ उहाँप्रति विद्रोही नै बन्नु हुन्छ। जब उहाँले गर्नुहुने कामले अन्ततः उहाँका उद्देश्यहरू हासिल गर्दछ, यसमा उहाँले महिमा प्राप्त गर्नुहुन्छ। आज किन तँलाई मोआबको सन्तान होस् वा ठूलो रातो अजिङ्गरको सन्तान होस् भनी भनिएको छैन? किन चुनिएका मानिसहरूबारे कुनै कुराकानी छैन, केवल सृष्टि भएका प्राणीहरूको मात्र कुराकानी हुन्छ? सृष्टि गरिएको प्राणी—यो नै मानिसको सुरुको पदवी नाम थियो र यो नै उसको जन्मसिद्ध परिचय हो। नामहरू हेरफेर हुन्छन् किनभने युगहरू र कामका अवधिहरू हेरफेर हुन्छन्; वास्तवमा, मानिस एउटा साधारण सिर्जित प्राणी हो। सबै सिर्जित प्राणीहरू, चाहे ती अत्यन्त भ्रष्ट होऊन् वा अत्यन्त पवित्र होऊन्, तिनीहरूले सृष्टि गरिएको प्राणी भएको हैसियतले आफ्नो कर्तव्य पालना गर्नुपर्छ। जब परमेश्वरले जितको काम गर्नुहुन्छ, उहाँले तेरो भावी अपेक्षा, भाग्य वा गन्तव्यलाई प्रयोग गरेर तँलाई नियन्त्रण गर्नुहुन्न। वास्तवमा, यसप्रकारले काम गर्नुपर्ने कुनै खाँचो छैन। विजयको कामको लक्ष्य मानिसलाई सृजित प्राणीका रूपमा आफ्नो काम गर्न लगाउनु, उसलाई सृष्टिकर्ताको आराधना गर्न लगाउनु हो; केवल यसपछि मात्रै उसले सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्छ। मानिसको भाग्य परमेश्वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्। मानिस सधैँ आफ्नै खातिर भागदौड गर्ने र व्यस्त रहने भए पनि, उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै नियति नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृजित प्राणी नै कहलिनेथिइस् र? सङ्क्षेपमा, परमेश्वरले जसरी काम गर्नुभए तापनि, उहाँका सबै काम मानवजातिका खातिर हुन्। यो त स्वर्ग र पृथ्वी अनि यावत् थोकलाई परमेश्वरले मानिसको सेवा गर्नकै निम्ति सृष्टि गर्नुभए जस्तै हो: परमेश्वरले मानिसका लागि चन्द्र, सूर्य अनि ताराहरू बनाउनुभयो, उहाँले मानिसका लागि जनावरहरू र वनस्पतिहरू बनाउनुभयो, उहाँले मानिसका लागि वसन्त, ग्रीष्म, शरद तथा शिशिर ऋतु इत्यादि बनाउनुभयो—यी सबै मानिसको अस्तित्वका खातिर नै बनाइएका थिए। त्यसैले परमेश्वरले मानिसलाई जसरी सजाय दिनुभए तापनि, न्याय गर्नुभए तापनि, यो सबै मानिसको मुक्तिको निम्ति हो। उहाँले मानिसलाई उसका दैहिक आशाहरूबाट वञ्चित गर्नुभयो भने पनि, यो अझैँ पनि मानिसलाई शुद्धीकरण गर्नका निम्ति हो, र मानिसको शुद्धीकरण मानिसको अस्तित्वका खातिर गरिन्छ। मानिसको गन्तव्य सृष्टिकर्ताको हातमा छ, त्यसैले कसरी मानिसले आफूलाई नियन्त्रण गर्न सक्थ्यो र?
विजयको काम पूरा भएपछि, मानवजातिलाई एउटा सुन्दर संसारमा ल्याइनेछ। यो जीवन, अवश्य पनि, अझै यही पृथ्वीमा नै हुनेछ, तर त्यो आजको मानिसको जीवनभन्दा पूर्णतः फरक हुनेछ। यो जीवन सम्पूर्ण मानवजातिलाई विजय गरिएपछि मानवजातिसँग हुने जीवन हुनेछ, यो मानवजातिका लागि पृथ्वीमा एउटा नयाँ सुरुवात हुनेछ। मानवजातिसँग यस्तो जीवन हुनु भनेको मानवजाति एउटा नयाँ र सुन्दर क्षेत्रमा प्रवेश गरेको छ भन्ने कुराको प्रमाण हुनेछ; यो पृथ्वीमा परमेश्वर र मानिसको जीवनको सुरुवात हुनेछ। यस्तो सुन्दर जीवनको पूर्वसर्त भनेको मानिस शुद्ध पारिएपछि र विजय गरिएपछि, ऊ सृष्टिकर्ताको सामु समर्पित हुनुपर्छ। र त्यसैले, विजयको काम भनेको मानवजाति अद्भुत गन्तव्यमा प्रवेश गर्नुअघि परमेश्वरको कामको अन्तिम चरण हो। त्यस्तो जीवन नै पृथ्वीमा मानवजातिको भावी जीवन हो, पृथ्वीमा सबैभन्दा सुन्दर जीवन, मानिसले तृष्णा गर्ने प्रकारको जीवन, संसारको इतिहासमा मानिसले यसभन्दा पहिले कहिल्यै हासिल नगरेको प्रकारको जीवन हो। ६,००० वर्षे व्यवस्थापनको कार्यको अन्तिम परिणाम यही नै हो। मानिसले सबैभन्दा बढी तृष्णा गर्ने कुरा यही हो, अनि मानिसलाई परमेश्वरको प्रतिज्ञा पनि यही नै हो। तर यो प्रतिज्ञा तुरुन्तै साकार हुन सक्दैन: मानवजाति तब मात्र भावी गन्तव्यमा प्रवेश गर्नेछ जब आखिरी कामको यो अन्तिम चरण पूरा भएको हुन्छ र मानिसलाई पूर्ण रूपमा विजय गरिएको हुन्छ, अर्थात्, जब शैतान पूर्ण रूपले पराजित भएको हुन्छ। मानिस शोधन गरिसकिएपछि ऊ पापपूर्ण स्वभावरहित हुनेछ किनकि परमेश्वरले शैतानलाई पराजित गरिसक्नुभएको हुनेछ, यसको अर्थ त्यहाँ कुनै विरोधी शक्तिहरूको अतिक्रमण हुनेछैन अनि मानिसको देहलाई आक्रमण गर्ने कुनै विरोधी शक्तिहरू हुनेछैन। यसैले मानिस स्वतन्त्र हुनेछ र पवित्र पारिनेछ—उसले अनन्ततामा प्रवेश गरिसकेको हुनेछ। यदि अन्धकारका विरोधी शक्तिहरूलाई बन्धनमा राखिन्छ र मानिस जतासुकै गए पनि स्वतन्त्र हुन्छ भने मात्र मानिसमा विद्रोहीपन वा विरोध हुनेछैन। शैतानलाई बन्धनमा मात्र राखिनुपर्छ, अनि मानिसको सबै थोक ठीक हुनेछ; शैतानले अझै पनि पृथ्वीमा सबै ठाउँमा बाधा पुऱ्याउने भएकाले र परमेश्वरको व्यवस्थापन अन्त्यमा पुग्न बाँकी रहेकाले हालको स्थिति अस्तित्वमा रहेको हो। शैतानलाई पराजित गरिएपछि मानिस पूर्ण रूपले स्वतन्त्र हुनेछ; जब मानिसले परमेश्वरलाई प्राप्त गर्छ र ऊ शैतानको सत्ताबाट बाहिर आउँछ, तब उसले धार्मिकताको सूर्यलाई हेर्नेछ। सामान्य मानिसले पाउनुपर्ने जीवन पुनर्प्राप्त हुनेछ; सामान्य मानिसमा हुनुपर्ने सबै कुरा—जस्तै असल र खराब खुट्याउने सामर्थ्य, आफूले कसरी खानुपर्छ र पहिरिनुपर्छ भन्ने बुझाइ र सामान्य प्रकारले जिउने सामर्थ्य—यी सबै कुरा पुनर्प्राप्त हुनेछन्। सुरुमा मानिसको सृष्टि गरिएपछि, यदि हव्वालाई सर्पद्वारा प्रलोभनमा नपारिएको भए पनि, मानिसले यस प्रकारको जीवन जिएको हुनेथियो। उसले खानेथियो, वस्त्र धारण गर्नेथियो र पृथ्वीमै सामान्य मानव जीवन जिउनेथियो। तर मानिस पतित बनेपछि, यो जीवन एउटा अप्राप्य भ्रम बन्यो र आज पनि मानिस त्यस्ता कुराहरू कल्पना गर्ने आँट गर्दैन। वास्तवमा, मानिसले तृष्णा गर्ने यो सुन्दर जीवन एउटा आवश्यकता हो। यदि मानिससँग त्यस्तो गन्तव्य हुँदैनथियो भने, पृथ्वीमा उसको पतित जीवन कहिल्यै टुङ्गिनेथिएन, अनि यदि यस्तो सुन्दर जीवन नभएको भए, शैतानको भाग्य वा शैतानले पृथ्वीमाथि शक्ति जमाउने यो युग अन्त्य हुँदैनथियो। मानिस अन्धकारका शक्तिहरू पुग्न नसक्ने क्षेत्रभित्र पुग्नैपर्छ, र जब ऊ त्यहाँ आइपुग्छ, तब यसले शैतान पराजित भइसकेको प्रमाणित गर्नेछ। तसर्थ, जब शैतानद्वारा कुनै बाधा दिइँदैन, र मानवजाति परमेश्वर स्वयम्को हातमा हुन्छ, र मानिसको सम्पूर्ण जीवन परमेश्वरको पकड र नियन्त्रणमा हुन्छ, तब मात्र यसलाई शैतानको पराजय भन्न सकिन्छ। मानिसको जीवन आज मुख्यतया फोहोरको जीवन हो; यो अझै पनि दुःख र सङ्कष्टकै जीवन हो। यसलाई शैतानको पराजय भन्न सकिँदैन; मानिस अझै पनि व्यथाको सागरदेखि उम्कन बाँकी नै छ, मानव जीवनको दुःखबाट वा शैतानको प्रभावबाट उम्कन बाँकी नै छ, र ऊसित अझै पनि परमेश्वरको अति सूक्ष्म ज्ञान मात्रै छ। मानिसको सबै दुःख शैतानद्वारा सृष्टि गरिएको हो; मानिसको जीवनमा कठिनाइ ल्याउने शैतान नै थियो र शैतानलाई बन्धनमा राखिएपछि मात्रै मानिस व्यथाको सागरबाट पूर्ण रूपले उम्कन सक्नेछ। तर शैतानको बन्धन मानिसको हृदयको विजय र प्राप्तिमार्फत, मानिसलाई शैतानसँगको युद्धको प्रतिफल बनाएर मात्रै हासिल गरिन्छ।
विजेता बन्नु र सिद्ध पारिनु भनेका त्यस्ता कुरा हुन् जसलाई मानिसले आज पृथ्वीमा सामान्य मानव जीवन पाउनुभन्दा पहिले पछ्याउँछ, र त्यस्ता लक्ष्य हुन् जसलाई उसले शैतानलाई बन्धनमा पारिनुभन्दा पहिले पछ्याउँछ। सारमा भन्दा, मानिसको विजेता बन्ने, सिद्ध पारिने, वा धेरै प्रयोग गरिने पछ्याइ भनेको शैतानको प्रभावबाट उम्कनका लागि हो: मानिसको पछ्याइ विजेता बन्नु हो, तर अन्तिम परिणाम शैतानको प्रभावबाट उसको छुटकारा हुनेछ। यदि मानिस शैतानको प्रभावबाट उम्कन्छ भने, उसले पृथ्वीमा सामान्य मानव जीवन, अर्थात् परमेश्वरको आराधना गर्ने जीवन जिउन सक्छ। विजेता बन्नु र सिद्ध पारिनु भनेका आज पृथ्वीमा सामान्य मानव जीवन पाउनुभन्दा पहिले मानिसले पछ्याउने कुराहरू हुन्। ती मुख्यतया शुद्ध पारिन र सत्यतालाई व्यवहारमा लागु गर्नका खातिर, अनि सृष्टिकर्ताको आराधना गर्नका निम्ति पछ्याइन्छन्। यदि मानिससँग पृथ्वीमा सामान्य मानव जीवन, अर्थात् दुःख वा सङ्कष्टविनाको जीवन छ भने, मानिस विजेता बन्ने पछ्याइमा लाग्नेछैन। “विजेता बन्नु” र “सिद्ध पारिनु” भनेका परमेश्वरले मानिसलाई पछ्याउन उद्देश्यहरू हुन्, र यी उद्देश्यहरूको पछ्याइमार्फत उहाँ मानिसलाई सत्यतालाई व्यवहारमा लागु गर्न र अर्थपूर्ण जीवन जिउन लगाउनुहुन्छ। यो उद्देश्य भनेको मानिसलाई पूर्ण पार्नु र उसलाई प्राप्त गर्नु हो, र विजेता बन्ने वा सिद्ध पारिने पछ्याइ एउटा माध्यम मात्रै हो। भविष्यमा, यदि मानिस अद्भुत गन्तव्यमा प्रवेश गर्छ भने, त्यहाँ विजेता बन्ने र सिद्ध पारिने कुराको कुनै उल्लेख हुनेछैन; त्यहाँ हरेक सृजित प्राणीले आफ्नो कर्तव्य निर्वाह गर्ने कुरा मात्रै हुनेछ। आज, मानिसका लागि एउटा दायरा परिभाषित गर्नका निम्ति मात्र मानिसलाई यी कुराहरू पछ्याउन लगाइन्छ, ताकि मानिसको पछ्याइ अझ बढी लक्षित र व्यावहारिक हुन सकोस्। अन्यथा, मानिस काल्पनिकतामा जिउनेछ, र अनन्त जीवनमा प्रवेश गर्ने पछ्याइमा हुनेछ, र यदि यस्तो भयो भने, के मानिस अझ बढी दयनीय हुनेछैन र? लक्ष्य वा सिद्धान्तहरूविना यसरी पछ्याउनु—के यो आफैलाई छल गर्नु होइन र? अन्ततः, यो पछ्याइ स्वाभाविक रूपमा फलहीन हुनेछ; अन्त्यमा, मानिस अझै पनि शैतानको सत्ताअन्तर्गत जिउनेछ र यसबाट आफूलाई मुक्त गर्न असमर्थ हुनेछ। आफूलाई किन यस्तो उद्देश्यहीन पछ्याइमा लगाउने? जब मानवजाति अनन्त गन्तव्यमा प्रवेश गर्छ, तब मानिसले सृष्टिकर्ताको आराधना गर्नेछ, र मानिसले मुक्ति पाएको र अनन्ततामा प्रवेश गरेको हुने हुनाले, मानिसले उप्रान्त कुनै लक्ष्य पछ्याउनेछैन, उसले शैतानको घेरामा परिने चिन्ता त झनै गर्नुपर्नेछैन। यस समयमा, हरेक व्यक्ति आफ्नो मर्यादामा रहनेछ, र आफ्नो कर्तव्य निर्वाह गर्नेछ, र तिनीहरूलाई सजाय नदिइए पनि वा तिनीहरूको न्याय नगरिए पनि, हरेक व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्नेछ। त्यस समयमा, मानिस पहिचान र हैसियत दुवै हिसाबमा एउटा सृजित प्राणी हुनेछ। त्यहाँ अब उच्च र नीचको भेद हुनेछैन; कुरा यत्ति हो कि हरेक व्यक्तिले फरक प्रकार्य निर्वाह गर्नेछ। तैपनि मानिस अझै पनि व्यवस्थित र मानवजातिका लागि उपयुक्त गन्तव्यमा जिउनेछ; मानिसले सृष्टिकर्ताको आराधना गर्नका खातिर आफ्नो कर्तव्य निर्वाह गर्नेछ, र यो मानवजाति नै अनन्तताको मानवजाति हुनेछ। त्यस समयमा, मानिसले परमेश्वरद्वारा ज्योति दिइएको जीवन, परमेश्वरको हेरचाह र सुरक्षाअन्तर्गतको जीवन प्राप्त गरेको हुनेछ, र ऊ परमेश्वरसँगै जिउनेछ। मानवजातिले पृथ्वीमा सामान्य जीवन जिउनेछ, र सारा मानवजाति सही मार्गमा प्रवेश गर्नेछन्। ६,००० वर्षे व्यवस्थापनको योजनाले शैतानलाई पूर्ण रूपमा पराजित गरेको हुनेछ, जसको अर्थ परमेश्वरले पृथ्वीमा मानवजातिको सृष्टि गरेपछिको मानिसको मौलिक स्वरूपलाई पुनर्स्थापित गर्नुभएको हुनेछ, र यसरी, परमेश्वरका मौलिक अभिप्रायहरू पूरा भएका हुनेछन्। सुरुमा, मानवजातिलाई शैतानद्वारा भ्रष्ट तुल्याइनुअघि, मानवजाति पृथ्वीमा सामान्य जीवन जिउँथ्यो। पछि, जब मानिसलाई शैतानद्वारा भ्रष्ट तुल्याइयो, तब मानिसले यो सामान्य जीवन गुमायो, अनि परमेश्वरको व्यवस्थापनको कार्य, र मानिसको सामान्य जीवन पुनर्स्थापित गर्न शैतानसँगको लडाइँ त्यहीँबाट सुरु भयो। जब परमेश्वरको ६,००० वर्षे व्यवस्थापनको कार्य समाप्त हुन्छ तब मात्र सारा मानवजातिको जीवन आधिकारिक रूपमा पृथ्वीमा सुरु हुनेछ; तब मात्र मानवजातिको जीवन अद्भुत हुनेछ, र परमेश्वरले सुरुमा मानिसलाई सृष्टि गर्नुको उद्देश्य, साथै मानिसको मौलिक रूपलाई पुनर्स्थापित गर्नुहुनेछ। त्यसैले, एक पटक मानिससँग पृथ्वीमा मानवजातिको सामान्य जीवन भएपछि, मानिस विजेता बन्ने वा सिद्ध पारिने पछ्याइमा लाग्नेछैन, किनभने मानिसलाई पवित्र पारिएको हुनेछ। मानिसहरूले कुरा गर्ने “विजेताहरू” र “सिद्ध पारिनु” भनेका परमेश्वर र शैतानबीचको लडाइँको दौरान मानिसलाई पछ्याउन दिइएका उद्देश्यहरू हुन्, र मानिसलाई भ्रष्ट तुल्याइएको हुनाले मात्र ती अस्तित्वमा छन्। तँलाई एउटा उद्देश्य दिएर र तँलाई यो उद्देश्य पछ्याउन लगाएर नै शैतानलाई पराजित गरिनेछ। तँलाई विजेता बन्न, सिद्ध पारिन वा प्रयोग गरिन भनिनुको अर्थ शैतानलाई लज्जित पार्नका निम्ति तैँले गवाही दिनुपर्छ भन्ने हो। अन्त्यमा, यदि मानिसहरू पृथ्वीमा सामान्य मानव जीवन जिउँछन् र सबैलाई पवित्र पारिएको छ भने, के तिनीहरू अझै पनि विजेता बन्ने पछ्याइमा लाग्नेछन्? के तिनीहरू सबै सृजित प्राणी होइनन् र? विजेता बन्ने र सिद्ध पारिएको व्यक्ति बन्नेबारे कुरा गर्नुपर्दा, यी वचनहरू शैतानप्रति, र मानिसको फोहोरीपनप्रति लक्षित छन्। के यो “विजेता” भन्ने शब्दले शैतान र शत्रुवत् शक्तिहरूमाथिको विजयलाई जनाउँदैन र? तैँले आफू सिद्ध पारिएको भनेर भन्दा, तँभित्रको कुन कुरा सिद्ध पारिएको हुन्छ? के त्यो तैँले आफ्ना शैतानी भ्रष्ट स्वभावहरू फालेको, र परमेश्वरलाई उच्च प्रेम गर्न थालेको होइन र? यस्ता कुराहरू मानिसभित्रका फोहोरी कुराहरूका सम्बन्धमा, र शैतानको सम्बन्धमा भनिन्छन्; ती परमेश्वरको सम्बन्धमा भनिदैनन्।
यदि तँ अहिले एक विजयी बन्ने र सिद्ध हुने कुराको पछि लाग्दैनस् भने, भविष्यमा जब मानवजातिले पृथ्वीमा सामान्य जीवन बिताउँछ त्यसबेला त्यसरी पछि लाग्ने कुनै मौका हुँदैन। त्यस समयमा, सबै प्रकारका व्यक्तिको अन्त्य प्रकट गरिएको हुनेछ। त्यस समयमा, तँ कस्तो प्रकारको थोक होस् भन्ने स्पष्ट हुनेछ र यदि तँ एक विजयी हुन चाहन्छस् वा सिद्ध हुने इच्छा गर्छस् भने, त्यो असम्भव हुनेछ। उसको विद्रोहीपनको कारणले मात्रै मानिसलाई प्रकट गरिएपछि उसले दण्ड मात्र भोग्नुपर्नेछ। त्यसबेला, मानिसको खोजीको अरूभन्दा उच्च स्थान हुनेछैन, किनकि कोही विजय हासिल गर्न र अरूले सिद्ध हुन, कोही परमेश्वरको जेठो छोरा हुनका निम्ति र अरू परमेश्वरको सन्तान हुनलाई ती कुराहरूको पछि लाग्दैनन्। सबै सिर्जित प्राणीहरू हुनेछन्, सबै पृथ्वीमा बस्नेछन् र सबै पृथ्वीमा परमेश्वरसँगै बस्नेछन्। अहिले परमेश्वर र शैतानको बीचमा लडाइँको समय हो, यो यस्तो समय हो जहाँ लडाइँको अन्त्य हुन बाँकी नै छ, एउटा यस्तो समय जब मानिस पूर्ण रूपमा प्राप्त हुन बाँकी नै छ; यो सङ्क्रमणको अवधि हो। अनि यसैले, मानिस एक विजयी बन्ने वा त परमेश्वरका मानिसहरूमध्ये एक बन्ने कुराको पछि लाग्नु आवश्यक छ। आज स्थितिमा भिन्नताहरू छन् तर जब समय आउँछ तब त्यस्ता भिन्नताहरू हुनेछैनन्: विजेता भएकाहरू सबैको स्थिति त्यस्तै हुनेछ, तिनीहरू सबै मानवजातिको योग्य सदस्य हुनेछन् र पृथ्वीमा समान रूपले बाँच्नेछन् अर्थात् तिनीहरू सृष्टि गरिएका योग्य प्राणीहरू हुनेछन् अनि सबैलाई एउटै कुरा दिइनेछ। परमेश्वरको कामका युगहरू फरक-फरक छन् र उहाँको कामका उद्देश्यहरू फरक छन्, त्यसकारण यदि यो काम तिमीहरूमा गरिन्छ भने, तिमीहरू सिद्ध बनाइन र विजेताहरू बन्नका निम्ति योग्य हुन्छौ; यदि यो काम विदेशमा गरियो भने, त्यहाँका मानिसहरू जितिनुपर्ने र सिद्ध बनाइनुपर्ने मानिसहरूको पहिलो समूह बन्नेछन्। आज यो काम विदेशमा गरिएको छैन, यसैले अन्य देशका मानिसहरू सिद्ध बनाइने र जितिने योग्यका छैनन् अनि उनीहरू पहिलो समूह बन्न असम्भव छ। परमेश्वरको कामको उद्देश्य फरक भएकोले, परमेश्वरको कामको युग फरक भएकोले र यसको कार्यक्षेत्र फरक भएकोले, त्यहाँ पहिलो समूह छ अर्थात् त्यहाँ विजेताहरू छन्, यसैले त्यहाँ दोस्रो समूह पनि हुनेछ जसलाई सिद्ध बनाइनेछ। सिद्ध बनाइएको पहिलो समूह भएपछि, एउटा नमूना र ढाँचा हुनेछ र भविष्यमा सिद्ध बनाइएकाहरूको दोस्रो र तेस्रो समूह हुनेछन् तर अनन्तमा तिनीहरू सबै एक समान हुनेछन् र त्यहाँ हैसियतको कुनै वर्गीकरण हुनेछैन। तिनीहरूलाई फरक-फरक समयमा सिद्ध बनाइएको हुनेछ र हैसियतमा कुनै भिन्नता हुनेछैन। जब सबै जना पूर्ण बनाइने र सम्पूर्ण ब्रह्माण्डको काम समाप्त गर्ने समय आउनेछ, तब हैसियतको कुनै भिन्नता हुनेछैन, सबै जना समान हैसियतका हुनेछन्। आज, यो काम तिमीहरूको बीचमा गरिन्छ, ताकि तिमीहरू विजेता बन्न सक। यदि यो बेलायतमा गरिएको थियो भने जसरी तँ पहिलो समूह हुनेथिइस्, त्यसरी नै बेलायत पहिलो समूह भएको हुनेथियो। तिमीहरू अनुग्रहसहित आशिष् पाएकोले नै आज त्यस प्रकारले तिमीहरूमा काम भइरहेको छ र यदि यो काम तिमीहरूमा नगरिएको भए तिमीहरू दोस्रो वा तेस्रो वा चौथो वा पाँचौं समूह हुनेथियौ। यो कामको चरणको कारणले मात्र भिन्नता भएको हो; पहिलो समूह र दोस्रो समूहले तिनीहरू एउटा अर्कोभन्दा उच्च छ वा निम्न स्तरको छ भनेर जनाउँदैन, त्यसले ती मानिसहरूलाई सिद्ध बनाइएको क्रमलाई मात्र जनाउँछ। आज यी वचनहरू तिमीहरूलाई बताइएको छ तर तिमीहरूलाई पहिले यो किन बताइएन? किनकि, एक प्रक्रियाविना, मानिसहरू चरमतातिर बढ्छन्। उदाहरणको लागि, येशूले उहाँको समयमा यसो भन्नुभयो: “जसरी म जाँदैछु, त्यसरी नै म आउनेछु।” आज, धेरै जना व्यक्ति यी वचनहरूद्वारा मोहित भएका छन् र तिनीहरू केवल सेतो वस्त्र पहिरिन्छन् र स्वर्गमा उठाई लैजाने घटनालाई पर्खन्छन्। यसैले, धेरैवटा यस्ता कुराहरू छन् जुन चाँडै बोल्न सकिँदैन; यदि तिनलाई चाँडै बोलियो भने, मानिसहरू चरमतातिर जान्छन्। मानिसको कद धेरै सानो छ र ऊ यी वचनहरूको सत्यताहरूलाई देख्न असमर्थ छ।
जब मानवजातिले पृथ्वीमा साँचो मानव जीवन हासिल गर्छ र शैतानका सम्पूर्ण शक्तिहरूलाई बन्धनमा राखिन्छ, तब मानिस पृथ्वीमा निकै सहज रूपमा जिउनेछ। कुराहरू आजका जस्ता जटिल हुनेछैनन्: अन्तरवैयक्तिक सम्बन्धहरू, सामाजिक सम्बन्धहरू, जटिल पारिवारिक सम्बन्धहरू—तिनले अति धेरै समस्या, अति धेरै पीडा ल्याउँछन्! यी सबैका बीचमा जिउनु अत्यन्तै झिँजोलाग्दो हुन्छ! मानिसलाई विजय गरिएपछि, उसको हृदय र मन परिवर्तन हुनेछ। ऊसँग परमेश्वरको डर मान्ने र परमेश्वरलाई प्रेम गर्ने हृदय हुनेछ। ब्रह्माण्डभित्र परमेश्वरलाई प्रेम गर्न खोज्ने सबैलाई विजय गरिएपछि, अर्थात्, शैतानलाई पराजित गरिएपछि, र शैतानलाई—अन्धकारका सबै शक्तिलाई—बन्धनमा राखिएपछि, पृथ्वीमा मानिसको जीवन बाधारहित हुनेछ, र ऊ पृथ्वीमा स्वतन्त्र रूपमा जिउन सक्नेछ। यदि मानिसको जीवनमा दैहिक सम्बन्धहरू र देहका जटिल मामलाहरू नहुने हो भने, यो निकै सजिलो हुनेथियो। मानिसका दैहिक सम्बन्धहरू अत्यन्तै जटिल छन्, र मानिससँग त्यस्ता कुराहरू हुनु भनेको उसले आफूलाई शैतानको प्रभावबाट मुक्त गर्न बाँकी नै छ भन्ने कुराको प्रमाण हो। यदि हरेक दाजुभाइ-दिदीबहिनीसँग तेरो उस्तै सम्बन्ध हुन्थ्यो भने, यदि तेरो परिवारको हरेक सदस्यसँग तेरो उस्तै सम्बन्ध हुन्थ्यो भने, तँलाई समस्या दिने कुनै कुरा हुनेथिएन, र तैँले कसैको बारेमा चिन्ता लिनुपर्नेथिएन। योभन्दा राम्रो केही हुन सक्दैनथियो, र यसरी मानिसले आफ्नो आधा दुःखबाट छुटकारा पाउनेथियो। पृथ्वीमा सामान्य मानव जीवन जिउँदा, मानिस स्वर्गदूतहरू जस्तै हुनेछ; देहकै भए पनि, ऊ धेरै हदसम्म स्वर्गदूत जस्तै हुनेछ। यो नै अन्तिम प्रतिज्ञा हो, मानिसलाई दिइएको अन्तिम प्रतिज्ञा हो। आज मानिस सजाय र न्याय भोग्छ; के तँलाई मानिसले त्यस्ता कुराहरू अनुभव गर्नु अर्थहीन छ जस्तो लाग्छ? के सजाय र न्यायको काम व्यर्थमा गर्न सकिन्छ र? यसभन्दा पहिले मानिसलाई सजाय दिनु र न्याय गर्नु भनेको उसलाई अतल कुण्डमा हाल्नु हो भनेर भनिएको छ, जसको अर्थ उसका भाग्य र सम्भावनाहरू खोस्नु हो। यो एउटै कुराका खातिर हो: मानिसको सफाइ। मानिसलाई जानाजानी अतल कुण्डमा हालिँदैन, जसपछि परमेश्वरले ऊबाट हात झिक्नुहुन्छ। बरु, यो मानिसभित्रकै विद्रोहीपनलाई काटछाँट गर्नका निम्ति हो, ताकि अन्त्यमा मानिसभित्रका कुराहरू शुद्ध हुन सकून्, ताकि उसले परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सकोस् र ऊ पवित्र व्यक्ति जस्तै हुन सकोस्। यदि यसो गरियो भने, सबै कुरा पूरा हुनेछ। वास्तवमा, जब मानिसभित्रकै काटछाँट गरिनुपर्ने ती कुराहरू काटछाँट गरिन्छन्, र मानिसले जोरदार साक्षी दिन्छ, तब शैतान पनि पराजित हुनेछ, र सुरुमा मानिसभित्रै रहेका ती कुराहरूमध्ये केही पूर्ण रूपमा सफा नगरिएको भए पनि, शैतान एक पटक पराजित भएपछि, यसले उप्रान्त बाधा दिनेछैन, र त्यस समयमा मानिस पूर्ण रूपमा सफा गरिएको हुनेछ। मानिसले त्यस्तो जीवन कहिल्यै अनुभव गरेको छैन, तर जब शैतान पराजित हुन्छ, तब सबै कुरा मिल्नेछ र मानिसभित्रका ती सानातिना कुराहरू सबै समाधान हुनेछन्, र त्यो मुख्य समस्या समाधान भएपछि, अरू सबै समस्या अन्त्य हुनेछन्। पृथ्वीमा हुनुहुने परमेश्वरको यस देहधारणको दौरान, जब उहाँ व्यक्तिगत रूपमा मानिसमाझ आफ्नो काम गर्नुहुन्छ, तब उहाँले गर्नुहुने सबै काम शैतानलाई पराजित गर्नका लागि गरिन्छ, र उहाँले मानिसको विजयमार्फत र तिमीहरूलाई पूर्ण पारेर शैतानलाई पराजित गर्नुहुनेछ। जब तिमीहरू जोरदार साक्षी दिन्छौ, यो पनि शैतानको पराजयको एउटा सङ्केत हुनेछ। शैतानलाई पराजित गर्नका निम्ति मानिसलाई पहिले विजय गरिन्छ र अन्ततः पूर्ण रूपमा सिद्ध पारिन्छ। तर सारमा भन्नुपर्दा, शैतानको पराजयसँगसँगै, यो यस व्यथाको रित्तो सागरबाट सम्पूर्ण मानवजातिको मुक्ति पनि हो। काम चाहे सम्पूर्ण ब्रह्माण्डमा गरियोस् वा चीनमा गरियोस्, यो सबै शैतानलाई पराजित गर्न र सम्पूर्ण मानवजातिलाई मुक्ति दिनका लागि हो, ताकि मानिस विश्रामको स्थानमा प्रवेश गर्न सकोस्। देहधारी परमेश्वर, यो सामान्य देह, ठ्याक्कै शैतानलाई पराजित गर्नकै खातिर हो। देहमा हुनुहुने परमेश्वरको काम परमेश्वरलाई प्रेम गर्ने स्वर्गमुनिका सबैलाई मुक्ति दिनका लागि प्रयोग गरिन्छ, यो सम्पूर्ण मानवजातिलाई विजय गर्नका खातिर हो, र अझ बढी यो शैतानलाई पराजित गर्नका खातिर हो। परमेश्वरको सम्पूर्ण व्यवस्थापनको कार्यको केन्द्रविन्दुलाई सम्पूर्ण मानवजातिलाई मुक्ति दिनका लागि शैतानलाई पराजित गर्ने कुराबाट अलग गर्न सकिँदैन। यी धेरैजसो काममा किन सधैँ तिमीहरूलाई गवाही दिन लगाउने कुरा गरिन्छ? अनि यो गवाही कोप्रति लक्षित छ? के यो शैतानप्रति लक्षित छैन र? यो गवाही परमेश्वरका लागि बनाइएको हो, र यो परमेश्वरको कामले आफ्नो प्रभाव हासिल गरेको छ भनी साक्षी दिनका लागि बनाइएको हो। गवाही दिनु शैतानलाई पराजित गर्ने कामसँग सम्बन्धित छ; यदि शैतानसँगको लडाइँ नहुने हो भने, मानिसले गवाही दिनु पर्नेथिएन। शैतानलाई पराजित गर्नैपर्ने भएकाले, मानिसलाई मुक्ति दिँदादिँदै, परमेश्वर मानिसले शैतानको अगाडि उहाँको गवाही दिनुपर्छ भनेर माग गर्नुहुन्छ, जसलाई उहाँ मानिसलाई मुक्ति दिन र शैतानसँग लडाइँ गर्न प्रयोग गर्नुहुन्छ। फलस्वरूप, मानिस मुक्तिको पात्र र शैतानलाई पराजित गर्ने साधन दुवै हो, त्यसैले मानिस परमेश्वरको सम्पूर्ण व्यवस्थापनको कार्यको केन्द्रमा रहन्छ, जबकि शैतान विनाशको पात्र, शत्रु मात्रै हो। तँलाई आफूले केही पनि गरेको छैनँ भन्ने महसुस होला, तर तेरो स्वभावमा आएका परिवर्तनहरूका कारण, गवाही दिइएको छ, र यो गवाही शैतानप्रति लक्षित छ र मानिसका लागि दिइएको होइन। मानिस त्यस्तो गवाहीको आनन्द लिन योग्य छैन। उसले कसरी परमेश्वरद्वारा गरिएको काम स्पष्ट रूपमा देख्न सक्छ र? परमेश्वर लड्ने भनेको शैतानसँग हो; तर, मानिस मुक्तिको पात्र मात्रै हो। मानिसमा शैतानी भ्रष्ट स्वभावहरू हुन्छन्, र ऊ यो काम स्पष्ट रूपमा देख्न असक्षम हुन्छ। यो शैतानले भ्रष्टता तुल्याएको कारणले गर्दा हो र मानिसमा अन्तर्निहित रूपमा हुँदैन, बरु शैतानद्वारा निर्देशित हुन्छ। आज, परमेश्वरको मुख्य काम शैतानलाई पराजित गर्नु हो, अर्थात्, मानिसलाई पूर्ण रूपमा विजय गर्नु हो, ताकि मानिसले शैतानको अगाडि परमेश्वरको अन्तिम गवाही दिन सकोस्। यसरी, सबै कुरा पूरा हुनेछन्। धेरै वटा अवस्थामा, तेरो नाङ्गो आँखाले केही पनि गरिएको छैन जस्तो देख्छ, तर वास्तवमा, काम पहिल्यै पूरा गरिएको छ। मानिस पूरा भएका सबै काम देखिने हुनुपर्ने भनी माग गर्छ, तर तँलाई नदेखाईकन, मैले आफ्नो काम पूरा गरेको छु, किनभने शैतान झुकेको छ, जसको अर्थ यो पूर्ण रूपमा पराजित भएको छ, परमेश्वरका सम्पूर्ण बुद्धि, शक्ति, र अख्तियारले शैतानलाई पराजित गरेका छन्। दिनैपर्ने गवाही ठ्याक्कै यही हो, र मानिसमा यसको कुनै स्पष्ट अभिव्यक्ति नभए पनि, यो नाङ्गो आँखाले देख्न नसकिने भए पनि, शैतान पहिल्यै पराजित भइसकेको छ। यो सम्पूर्ण काम शैतानका विरुद्धमा लक्षित छ र शैतानसँगको लडाइँका कारण गरिन्छ। त्यसैले, त्यस्ता धेरै वटा कुरा छन् जुन मानिसले सफल भएको देख्दैन, तर जुन, परमेश्वरका नजरमा, धेरै अघि नै सफलतापूर्वक पूरा भइसकेका हुन्छन्। परमेश्वरका सबै कामका बारेमा लुकेका तथ्यहरूमध्ये यो एउटा हो।
एक पटक शैतान पराजित भएपछि, अर्थात्, एक पटक मानिसलाई पूर्ण रूपमा विजय गरिएपछि, मानिसले यो सबै काम मुक्तिका खातिर हो, र यो मुक्तिको माध्यम भनेको मानिसहरूलाई शैतानको हातबाट खोस्नु हो भन्ने कुरा बुझ्नेछ। परमेश्वरको ६,००० वर्षे व्यवस्थापनको कार्यलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग, र राज्यको युग। कामका यी तीन वटा चरण सबै मानवजातिको मुक्तिका खातिर हुन्, भन्नुको मतलब, ती शैतानद्वारा गम्भीर रूपमा भ्रष्ट तुल्याइएको मानवजातिको मुक्तिका लागि हुन्। तर, त्यो सँगसँगै, परमेश्वर शैतानसँग लडाइँ पनि गरिरहनुभएको छ। तसर्थ, जसरी मुक्तिको कामलाई तीन वटा चरणमा विभाजन गरिएको छ, त्यसरी नै शैतानसँगको लडाइँलाई पनि तीन वटा चरणमा विभाजन गरिएको छ, र परमेश्वरको कामका यी दुई वटा पक्षलाई एकैसाथ सञ्चालन गरिन्छ। शैतानसँगको लडाइँ वास्तवमा मानिसको मुक्तिका खातिर हो, र मानिसको मुक्तिको काम एउटै चरणमा सफलतापूर्वक पूरा गर्न सकिने कुरा नभएको हुनाले, शैतानसँगको लडाइँलाई पनि चरण र अवधिहरूमा विभाजन गरिएको छ, र मानवजातिको आवश्यकता र शैतानले मानिसलाई भ्रष्ट तुल्याएको हदअनुसार शैतानमाथि युद्ध छेडिन्छ। सायद, मानिसको कल्पनामा, ऊ यो लडाइँमा, दुई जना सेनाले एकअर्कासँग लडेजस्तै गरी, परमेश्वरले शैतानविरुद्ध हतियार उठाउनुहुनेछ भन्ने विश्वास गर्छ। मानिसको बौद्धिकताले कल्पना गर्न सक्ने कुरा यति मात्रै हो; यो अत्यन्तै काल्पनिक र अवास्तविक विचार हो, तैपनि मानिसले विश्वास गर्ने यही नै हो। अनि मैले यहाँ मानिसलाई मुक्ति दिने भनेको शैतानसँगको लडाइँको माध्यमबाट हो भनेर भनेको हुनाले, मानिस लडाइँ यसरी नै सञ्चालन गरिने कल्पना र विश्वास गर्छ। मानिसको मुक्तिको कामका तीन वटा चरण छन्, अर्थात् शैतानसँगको लडाइँलाई तीन वटा चरणमा विभाजन गरिएको छ र यसरी शैतानलाई सधैँका लागि पराजित गरिनेछ। तर शैतानसँगको लडाइँको सम्पूर्ण कामको वास्तविक कथा के हो भने यसका प्रभावहरू कामका केही चरणमार्फत हासिल हुन्छन्: मानिसलाई अनुग्रह प्रदान गर्ने, मानिसको पापबलि बन्ने, मानिसका पापहरू क्षमा गर्ने, मानिसलाई विजय गर्ने, र मानिसलाई सिद्ध पार्ने। स्पष्ट रूपमा भन्नुपर्दा, शैतानसँगको लडाइँ भनेको शैतानविरुद्ध हतियार उठाउनु होइन, बरु यो मानिसलाई मुक्ति दिएर, मानिसको जीवनमा काम गरेर, र मानिसको स्वभाव परिवर्तन गरेर परमेश्वरको गवाही दिनु, र यसरी शैतानलाई पराजित गर्नु हो। शैतानलाई मानिसको भ्रष्ट स्वभाव परिवर्तन गरेर पराजित गरिन्छ। जब शैतान पराजित भएको हुन्छ, अर्थात्, जब मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुन्छ, तब लज्जित शैतानलाई पूर्ण रूपमा बन्धनमा राखिनेछ, र यसरी, मानिसलाई पूर्ण रूपमा मुक्ति दिइएको हुनेछ। तसर्थ, मानिसको मुक्तिको सार भनेको शैतानविरुद्धको लडाइँ हो, र यो लडाइँ मुख्यतया मानिसको मुक्तिमा प्रतिविम्बित हुन्छ। मानिसलाई विजय गरिनुपर्ने यो अन्तिम चरण नै शैतानसँगको लडाइँमा कामको अन्तिम चरण हो, र यो शैतानको सत्ताबाट मानिसको पूर्ण मुक्तिको काम पनि हो। मानिसको विजयको भित्री अर्थ भनेको शैतानको मूर्तरूप—शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिस—लाई उसको विजयपछि सृष्टिकर्ताकहाँ फर्काउनु हो, जसमार्फत ऊ शैतानविरुद्ध विद्रोह गर्नेछ र पूर्ण रूपमा परमेश्वरकहाँ फर्कनेछ। यसरी, मानिसलाई पूर्ण रूपमा मुक्ति दिइएको हुनेछ। त्यसैले, विजयको काम शैतानविरुद्धको लडाइँमा अन्तिम काम हो, र यो परमेश्वरको व्यवस्थापनको अन्तिम चरण हो, जसको उद्देश्य शैतानलाई पराजित गर्नु हो। यो कामविना, मानिसको पूर्ण मुक्ति अन्ततः असम्भव हुनेथियो, शैतानको पूर्ण पराजय पनि असम्भव हुनेथियो, र मानवजाति कहिल्यै पनि अद्भुत गन्तव्यमा प्रवेश गर्न, वा शैतानको प्रभावबाट मुक्त हुन सक्षम हुनेथिएन। त्यसकारण, शैतानसँगको लडाइँ समाप्त हुनुअघि मानिसको मुक्तिको काम समाप्त हुन सक्दैन, किनभने परमेश्वरको व्यवस्थापनको कार्यको केन्द्रविन्दु भनेको मानवजातिको मुक्तिका खातिर हो। सबैभन्दा सुरुमा मानवजाति परमेश्वरको हातमा थियो, तर शैतानको प्रलोभन र भ्रष्टताका कारण, मानिस शैतानद्वारा बाँधियो र दुष्टको हातमा पऱ्यो। यसरी, शैतान परमेश्वरको व्यवस्थापनको कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वशमा पारेकाले र मानिस परमेश्वरका सबै व्यवस्थापनमा पूँजी भएकाले, यदि मानिसलाई मुक्ति दिइनु छ भने, उसलाई शैतानको हातबाट फिर्ता लिनैपर्छ, अर्थात् शैतानले कैदमा पारेको मानिसलाई फिर्ता लिनैपर्छ। यसरी, मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर अनि मानिसको सुरुको समझलाई पुनर्स्थापित गरेर शैतानलाई पराजित गर्नैपर्छ। यसरी कैद गरिएको मानिसलाई शैतानको हातबाट फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने, शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिसलाई शैतानको अँध्यारो प्रभावबाट स्वतन्त्र गरिएकाले, मानिस यो पूरै लडाइँको प्रतिफल बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिइनुपर्ने पात्र बन्छ, त्यसपछि मानवजातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।
परमेश्वर सृजित प्राणीहरूप्रति कुनै दुर्भावना राख्नुहुन्न; उहाँले गर्ने सबै कुरा शैतानलाई पराजित गर्नका खातिर हो। उहाँको सबै काम—चाहे त्यो सजाय होस् वा न्याय—शैतानप्रति लक्षित हुन्छ; यो मानवजातिको मुक्तिका खातिर गरिन्छ, यो सबै शैतानलाई पराजित गर्नका निम्ति हो, र यसको एउटै उद्देश्य रहेको छ: अन्तसम्मै शैतानविरुद्ध लडाइँ गर्नु! परमेश्वरले शैतानमाथि विजय प्राप्त नगरेसम्म कहिल्यै विश्राम लिनुहुनेछैन! उहाँले शैतानलाई पूर्ण रूपमा पराजित गरेपछि मात्रै विश्राम लिनुहुनेछ। परमेश्वरद्वारा गरिने सबै काम शैतानप्रति लक्षित हुने हुनाले, र शैतानद्वारा भ्रष्ट तुल्याइएकाहरू सबै शैतानको शक्तिको नियन्त्रणमा हुने र सबै शैतानको शक्तिअन्तर्गत जिउने हुनाले, यदि परमेश्वरले यी मानिसहरूलाई शैतानसँग लडाइँ गर्न र यससँगको सम्बन्ध तोड्न अगुवाइ नगर्नुभएको भए, र यदि परमेश्वरले शैतानमाथि विजय प्राप्त गर्न नसक्नुभएको भए, शैतानले यी मानिसहरूलाई जान दिनेथिएन, र तिनीहरूलाई परमेश्वरद्वारा प्राप्त गर्न सकिनेथिएन। यदि परमेश्वरले तिनीहरूलाई प्राप्त गर्नुभएन भने, यसले शैतानलाई पराजित गरिएको छैन, यसलाई हराइएको छैन भन्ने कुरा प्रमाणित गर्नेथियो। त्यसैले, परमेश्वरको ६,००० वर्षे व्यवस्थापनको योजनामा, पहिलो चरणको दौरान उहाँले व्यवस्थाको काम गर्नुभयो, दोस्रो चरणको दौरान उहाँले अनुग्रहको युगको काम, अर्थात्, क्रूसीकरणको काम गर्नुभयो, र तेस्रो चरणको दौरान उहाँ मानवजातिलाई विजय गर्ने काम गर्नुहुन्छ। यी सबै काम शैतानले मानवजातिलाई कुन हदसम्म भ्रष्ट तुल्याएको छ भन्ने कुराप्रति लक्षित छ, यो सबै शैतानलाई पराजित गर्नका निम्ति हो, र हरेक चरण शैतानलाई पराजित गर्नकै खातिर हो। परमेश्वरको व्यवस्थापनको ६,००० वर्षे कामको सार ठूलो रातो अजिङ्गरविरुद्धको लडाइँ हो, र मानवजातिलाई व्यवस्थापन गर्ने काम भनेको शैतानलाई पराजित गर्ने काम, शैतानसँग लडाइँ गर्ने काम हो। परमेश्वरले ६,००० वर्षसम्म लडाइँ गर्नुभएको छ, र यसरी उहाँले ६,००० वर्षसम्म काम गर्नुभएको छ। अन्त्यमा, उहाँले मानिसलाई नयाँ क्षेत्रमा ल्याउनुहुनेछ। जब शैतान पराजित हुन्छ, तब मानिस पूर्ण रूपमा स्वतन्त्र हुनेछ। के आज परमेश्वरको कामको दिशा यही होइन र? आजको कामको प्रवृत्ति ठ्याक्कै यही हो: मानिस पूर्ण रूपमा मुक्त र स्वतन्त्र हुने, कुनै पनि प्रावधानद्वारा नियन्त्रित नहुने, र कुनै पनि बन्धन वा प्रतिबन्धद्वारा सीमित नहुने अवस्था बनाउनु। यो सबै काम तिमीहरूको कदअनुसार र तिमीहरूका आवश्यकताहरूअनुसार गरिन्छ, जसको अर्थ तिमीहरूलाई आफूले पूरा गर्न सक्ने जुनसुकै कुरा प्रदान गरिन्छ। यो माछालाई जमीनमा जिउन बाध्य पार्ने, तिमीहरूमाथि कुनै कुरा लाद्ने मामला होइन; बरु, यो सबै काम तिमीहरूका खास आवश्यकताहरूअनुसार गरिन्छ। कामको हरेक चरण मानिसका खास आवश्यकता र मागहरूअनुसार गरिन्छ; कामको हरेक चरण शैतानलाई पराजित गर्नकै खातिर हो। वास्तवमा, सुरुमा सृष्टिकर्ता र सृजित प्राणीहरूबीच कुनै अवरोध थिएन। यी सबै अवरोध शैतानद्वारा निम्त्याइएका थिए। शैतानले मानिसलाई जसरी बाधा दिएको छ र भ्रष्ट तुल्याएको छ, त्यसले गर्दा मानिस कुनै पनि कुरा देख्न वा छुन नसक्ने भएको छ। मानिस नै पीडित हो, जसलाई धोका दिइएको छ। एक पटक शैतान पराजित भएपछि, सृजित प्राणीहरू सृष्टिकर्तालाई देख्नेछन्, र सृष्टिकर्ता सृजित प्राणीहरूलाई हेर्नुहुनेछ र व्यक्तिगत रूपमा तिनीहरूलाई अगुवाइ गर्न सक्षम हुनुहुनेछ। यो मात्र मानिसले पृथ्वीमा जिउनुपर्ने जीवन हो। त्यसैले, परमेश्वरको मुख्य काम शैतानलाई पराजित गर्नका लागि गरिन्छ, र एक पटक शैतान पराजित भएपछि, सबै कुरा समाधान हुनेछन्। आज, तैँले परमेश्वर मानिसमाझ आउनु कुनै सरल कुरा होइन भन्ने देखेको छस्। उहाँ हरेक दिन तिमीहरूको खोट पत्ता लगाउन, नानाथरीका कुरा भन्न, वा तिमीहरूलाई उहाँ कस्तो देखिनुहुन्छ र उहाँ कसरी बोल्नुहुन्छ र जिउनुहुन्छ भनी हेर्न दिन मात्रै आउनुभएको होइन। परमेश्वर केवल तिमीहरूलाई उहाँलाई हेर्न दिन वा तिमीहरूको ज्ञानको दायरा फराकिलो बनाउन दिन, वा तिमीहरूलाई उहाँले उल्लेख गर्नुभएका रहस्यहरू र उहाँले खोल्नुभएका सात वटा मोहर सुन्न दिन देह बन्नुभएको होइन। बरु, उहाँ शैतानलाई पराजित गर्न देह बन्नुभएको हो। उहाँ मानिसलाई मुक्ति दिन र शैतानसँग लडाइँ गर्न देहमा व्यक्तिगत रूपमा मानिसमाझ आउनुभएको छ; उहाँको देहधारणको महत्त्व यही हो। यदि शैतानलाई पराजित गर्नका लागि नभएको भए, उहाँ व्यक्तिगत रूपमा यो काम गर्नुहुनेथिएन। परमेश्वर मानिसमाझ आफ्नो काम गर्न, व्यक्तिगत रूपमा मानिससामु देखा पर्न र मानिसलाई उहाँलाई हेर्न दिन पृथ्वीमा आउनुभएको छ; के यो सानो कुरा हो र? यो साँच्चै सामान्य कुरा होइन! मानिसले कल्पना गरेजस्तो परमेश्वर मानिसले उहाँलाई हेर्न सकोस्, मानिसले परमेश्वर व्यावहारिक हुनुहुन्छ र काल्पनिक वा खोक्रो हुनुहुन्न, र परमेश्वर उच्च हुनुहुन्छ तर दीन पनि हुनुहुन्छ भनी बुझ्न सकोस् भन्नका लागि आउनुभएको होइन। के यो त्यति सजिलो हुन सक्छ र? शैतानले मानिसको देहलाई भ्रष्ट तुल्याएको, र परमेश्वरले मुक्ति मानिसलाई नै मुक्ति दिने अभिप्राय राख्नुभएको हुनाले, परमेश्वरले शैतानसँग लडाइँ गर्न र व्यक्तिगत रूपमा मानिसको गोठालो गर्न देह धारण गर्नैपर्छ। यसो गरे मात्र उहाँको कामलाई लाभ मिल्छ। परमेश्वरका दुई वटा देह शैतानलाई पराजित गर्न, र मानिसलाई अझ राम्ररी मुक्ति दिनका लागि पनि अस्तित्वमा रहेका छन्। किनभने शैतानसँग लडाइँ गर्ने परमेश्वर मात्रै हुन सक्नुहुन्छ, चाहे त्यो परमेश्वरका आत्मा होस् वा परमेश्वरको देहधारी शरीर होस्। छोटकरीमा भन्नुपर्दा, शैतानसँग लडाइँ गर्ने स्वर्गदूतहरू हुन सक्दैनन्, शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिस हुनु त झनै परको कुरा हो। स्वर्गदूतहरू यो लडाइँ लड्न शक्तिहीन छन्, र मानिस यसमा संलग्न हुने आशा त झनै कम छ। यसर्थ, यदि परमेश्वर मानिसको जीवनमा काम गर्न चाहनुहुन्छ भने, यदि उहाँ मानिसलाई मुक्ति दिन व्यक्तिगत रूपमा पृथ्वीमा आउन चाहनुहुन्छ भने, उहाँ व्यक्तिगत रूपमा देह बन्नैपर्छ—अर्थात्, उहाँले व्यक्तिगत रूपमा देह धारण गर्नैपर्छ अनि आफ्नो अन्तर्निहित पहिचान र आफूले गर्नैपर्ने कामका साथ मानिसमाझ आएर व्यक्तिगत रूपमा मानिसलाई मुक्ति दिनुपर्छ। होइन भने, यदि परमेश्वरका आत्मा वा मानिसले यो काम गरेको भए, यो लडाइँबाट कहिल्यै कुनै नतिजा आउनेथिएन, र यो कहिल्यै अन्त्य हुनेथिएन। जब परमेश्वर मानिसमाझ शैतानविरुद्ध व्यक्तिगत रूपमा युद्ध गर्न देह बन्नुहुन्छ तब मात्र मानिससँग मुक्तिको अवसर हुन्छ। यसबाहेक, फलस्वरूप शैतान लज्जित हुन्छ र फाइदा उठाउनका लागि कुनै अवसर वा गर्नका लागि कुनै षड्यन्त्र बाँकी रहँदैन। देहधारी परमेश्वरद्वारा गरिने काम परमेश्वरका आत्माद्वारा हासिल गर्न नसकिने हुन्छ, र रगत र मासुले बनेको कुनै पनि मानिसले परमेश्वरको तर्फबाट यो गर्नु अझ बढी असम्भव हुन्छ, किनभने उहाँले गर्ने काम सबै मानिसको जीवनका खातिर, र मानिसको भ्रष्ट स्वभाव परिवर्तन गर्नका निम्ति हो। यदि मानिस यो लडाइँमा सहभागी हुने हो भने, ऊ आफ्ना हतियारहरू फालेर अत्यन्तै अपमानित र तितरबितर भएर भाग्नेथियो; ऊ मानिसको भ्रष्ट स्वभाव परिवर्तन गर्न पूर्ण रूपमा असक्षम हुनेथियो। ऊ मानिसलाई क्रूसबाट मुक्ति दिन, वा सम्पूर्ण विद्रोही मानवजातिलाई विजय गर्न असक्षम हुनेथियो, बरु ऊ सिद्धान्तहरूभन्दा बाहिर नजाने अलिकति पुरानो काम, अथवा शैतानको पराजयसँग असम्बन्धित काम मात्रै गर्न सक्षम हुनेथियो। त्यसोभए किन दुःख गर्ने? उसले मानिस प्राप्त गर्न सक्नेथिएन, र उसले शैतानलाई पराजित गर्ने काम त झनै गर्न सक्नेथिएन, त्यसोभए यसको के अर्थ हुन्थ्यो र? त्यसैले, शैतानसँगको लडाइँ परमेश्वर स्वयम्द्वारा मात्रै गर्न सकिन्छ, र मानिसले यो गर्नु पूर्ण रूपमा असम्भव हुनेछ। मानिसको कर्तव्य भनेको अधीनमा रहनु र पछ्याउनु हो, किनभने मानिस स्वर्ग र पृथ्वी सृष्टि गर्ने जस्तो काम गर्न पूर्ण रूपमा असक्षम छ, ऊ शैतानसँग लडाइँ गर्ने काम त झनै गर्न सक्दैन। मानिसले परमेश्वर स्वयम्को अगुवाइमा मात्रै सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्छ, जसमार्फत शैतान पराजित हुन्छ; मानिसले गर्न सक्ने एउटै कुरा यही हो। त्यसैले, हरेक पटक नयाँ लडाइँ सुरु हुँदा, अर्थात्, हरेक पटक नयाँ युगको कामको थालनी हुँदा, यो काम परमेश्वर स्वयम्द्वारा व्यक्तिगत रूपमा गरिन्छ, जसमार्फत उहाँ सम्पूर्ण युगको अगुवाइ गर्नुहुन्छ र सम्पूर्ण मानवजातिका लागि अझ नयाँ मार्ग खोल्नुहुन्छ। हरेक नयाँ युगको आरम्भ शैतानसँगको लडाइँमा एउटा नयाँ सुरुवात हो, जसमार्फत मानिस अझ नयाँ, अझ सुन्दर क्षेत्रमा, र परमेश्वर स्वयम्द्वारा व्यक्तिगत रूपमा अगुवाइ गरिने नयाँ युगमा प्रवेश गर्छ। मानिस यावत् थोकको मालिक हो, तर जो प्राप्त गरिएका छन् तिनीहरू शैतानसँगका सबै लडाइँका फल बन्नेछन्। शैतान यावत् थोकलाई भ्रष्ट तुल्याउने पात्र हो, यो सबै लडाइँको अन्त्यमा पराजित हुने पात्र हो, र यी लडाइँहरूपछि दण्डित हुने पात्र पनि हो। परमेश्वर, मानिस, र शैतानमध्ये, तिरस्कृत हुने भनेको शैतान मात्र हो। यसैबीच, शैतानद्वारा प्राप्त गरिएका तर परमेश्वरद्वारा फिर्ता नलिइएकाहरू शैतानको ठाउँमा दण्ड प्राप्त गर्ने जन बन्छन्। यी तीनमध्ये, परमेश्वरलाई मात्रै यावत् थोकद्वारा आराधना गरिनुपर्छ। यसैबीच, शैतानद्वारा भ्रष्ट तुल्याइएका तर परमेश्वरद्वारा फिर्ता लिइएका र परमेश्वरको मार्ग पछ्याउनेहरू परमेश्वरको प्रतिज्ञा प्राप्त गर्ने र परमेश्वरका लागि दुष्ट जनहरूको न्याय गर्ने जन बन्छन्। परमेश्वर अवश्यै विजयी हुनुहुनेछ र शैतान अवश्यै पराजित हुनेछ, तर मानिसमध्ये जित्नेहरू र हार्नेहरू हुनेछन्। जित्नेहरू विजेतामा पर्नेछन्, र हार्नेहरू हरुवामा पर्नेछन्; हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नु भनेको यही हो, यो परमेश्वरका सबै कामको आखिरी अन्त्य हो। यो परमेश्वरका सबै कामको उद्देश्य पनि हो, र यो कहिल्यै परिवर्तन हुनेछैन। परमेश्वरको व्यवस्थापनको योजनाको केन्द्रविन्दु मुख्यतया मानिसको मुक्तिमा केन्द्रित छ, र परमेश्वर मुख्यतया यस केन्द्रविन्दुका खातिर, यस कामका खातिर, र शैतानलाई पराजित गर्नका लागि देह बन्नुहुन्छ। परमेश्वर पहिलो पटक देह बन्नुभएको पनि शैतानलाई पराजित गर्नका लागि थियो। उहाँ व्यक्तिगत रूपमा देह बन्नुभएको र व्यक्तिगत रूपमा क्रूसमा टाँगिनुभएको पहिलो लडाइँको काम पूरा गर्नका निम्ति थियो, जुन मानवजातिको छुटकाराको काम थियो। त्यसैगरी, कामको यो चरण पनि व्यक्तिगत रूपमा परमेश्वरद्वारा नै गरिन्छ, जो मानिसमाझ आफ्नो काम गर्न, व्यक्तिगत रूपमा आफ्नो वचन बोल्न र मानिसलाई यी कुराहरू हेर्न दिन देह बन्नुभएको छ। अवश्य नै, उहाँले यस क्रममा केही अन्य काम पनि गर्नु अपरिहार्य छ, तर उहाँले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुको मुख्य कारण भनेको शैतानलाई पराजित गर्नु, सम्पूर्ण मानवजातिलाई विजय गर्नु, र यी मानिसहरूलाई प्राप्त गर्नु हो। त्यसैले, परमेश्वरको देहधारणको काम सजिलो छैन। यदि उहाँको उद्देश्य मानिसलाई परमेश्वर दीन र गुप्त हुनुहुन्छ र परमेश्वर व्यावहारिक हुनुहुन्छ भनी देखाउने मात्रै भएको भए, यदि त्यो यो काम गर्नका खातिर मात्रै भएको भए, देह बनिरहन आवश्यक नै हुनेथिएन। परमेश्वर देह नबन्नुभएको भए पनि, उहाँले आफ्नो दीनता र गुप्तता, साथै आफ्नो महान्ता र पवित्रतालाई सिधै मानिससामु प्रकट गर्न सक्नुहुन्थ्यो, तर त्यस्ता कुराहरूको मानवजातिलाई व्यवस्थापन गर्ने कामसँग कुनै सम्बन्ध हुँदैन। तिनले मानिसलाई मुक्ति दिन वा उसलाई पूर्ण पार्न सक्दैनन्, तिनले शैतानलाई पराजित गर्न सक्नु त झनै परको कुरा हो। यदि शैतानको पराजयमा केवल आत्माले कुनै आत्माविरुद्ध लडाइँ गर्नुपर्थ्यो भने, त्यस्तो कामको अझ कम व्यावहारिक मूल्य हुनेथियो; यसले मानिसलाई प्राप्त गर्न सक्नेथिएन र मानिसको भाग्य र भविष्यलाई बरबाद गर्नेथियो। यसर्थ, परमेश्वरको आजको कामको गहिरो महत्त्व छ। यो मानिसले उहाँलाई देख्न सकोस्, वा मानिसका दायराहरू फराकिला बनून् भन्नका लागि, वा उसलाई भावुक र प्रोत्साहित भएको थोरै आभास गराउनका लागि मात्रै होइन; त्यस्तो कामको कुनै महत्त्व हुँदैन। यदि तँ यस्तो प्रकारको ज्ञानका बारेमा मात्रै बोल्न सक्छस् भने, यसले तैँले अझै पनि परमेश्वरको देहधारणको साँचो महत्त्व थाहा पाएको छैनस् भन्ने कुरा प्रमाणित गर्छ।
परमेश्वरको सम्पूर्ण व्यवस्थापनको योजनाको काम परमेश्वर स्वयम्द्वारा व्यक्तिगत रूपमा गरिन्छ। पहिलो चरण—संसारको सृष्टि—परमेश्वर स्वयम्द्वारा व्यक्तिगत रूपमा गरिएको थियो, र यदि नगरिएको भए, मानवजातिको सृष्टि गर्न कोही पनि सक्षम हुनेथिएन। दोस्रो चरण, सम्पूर्ण मानवजातिको छुटकारा पनि परमेश्वर स्वयम्द्वारा व्यक्तिगत रूपमा गरिएको थियो। तेस्रो चरणको बारेमा त भनिरहनै पर्दैन: परमेश्वरका सबै कामको अन्त्य परमेश्वर स्वयम्द्वारा गरिनुपर्ने अझ ठूलो आवश्यकता छ। सम्पूर्ण मानवजातिलाई छुटकारा दिने, विजय गर्ने, प्राप्त गर्ने, र सिद्ध पार्ने काम सबै परमेश्वर स्वयम्द्वारा व्यक्तिगत रूपमा गरिन्छ। यदि उहाँले व्यक्तिगत रूपमा यो काम नगर्नुभएको भए, उहाँको पहिचानलाई मानिसद्वारा प्रतिनिधित्व गर्न सकिनेथिएन, न त उहाँको काम नै मानिसद्वारा गर्न सकिनेथियो। शैतानलाई पराजित गर्न, मानवजातिलाई प्राप्त गर्न, र मानवजातिलाई पृथ्वीमा सामान्य जीवन दिनका लागि, उहाँ व्यक्तिगत रूपमा मानिसलाई अगुवाइ गर्नुहुन्छ र व्यक्तिगत रूपमा मानिसमाझ काम गर्नुहुन्छ; आफ्नो सम्पूर्ण व्यवस्थापनको योजनाका खातिर, र आफ्ना सबै कामका खातिर, उहाँले व्यक्तिगत रूपमा यो काम गर्नैपर्छ। यदि मानिसले परमेश्वर आउनुको कारण भनेको मानिसले उहाँलाई देख्न सकोस् भन्नका लागि, मानिसलाई खुसी बनाउनका खातिर मात्रै हो भन्ने विश्वास गर्छ भने, त्यस्ता विश्वासहरूको कुनै मूल्य हुँदैन, कुनै महत्त्व हुँदैन। मानिसको बुझाइ अत्यन्तै सतही छ! परमेश्वर स्वयम्ले यो काम गरेर मात्रै यसलाई राम्रोसँग र पूर्ण रूपमा गर्न सक्नुहुन्छ। यदि मानिसले यो काम गर्ने हो भने, ऊ परमेश्वरको प्रतिनिधित्व गर्न असक्षम हुनेथियो। उसमा परमेश्वरको पहिचान वा उहाँको सार नभएको हुनाले, ऊ परमेश्वरको काम गर्न असक्षम हुन्छ, र यदि मानिसले यो काम गरे पनि, यसले कुनै प्रभाव पार्नेथिएन। परमेश्वर पहिलो पटक देह बन्नुभएको छुटकाराका खातिर थियो, सारा मानवजातिलाई पापबाट छुटकारा दिन, मानिसलाई शुद्ध गरिन र उसका पापहरू क्षमा गरिन सक्षम बनाउनका लागि थियो। विजयको काम पनि व्यक्तिगत रूपमा परमेश्वरद्वारा मानिसमाझ गरिन्छ। यदि, यस चरणको दौरान, परमेश्वरले अगमवाणी मात्रै बोल्ने हो भने, उहाँको स्थान लिन कुनै अगमवक्ता—वरदानयुक्त कोही व्यक्ति—भेट्टाउन सकिन्थ्यो; यदि अगमवाणी मात्रै बोलिन्थ्यो भने, मानिस परमेश्वरको स्थानमा उभिन सक्थ्यो। तर व्यक्तिगत रूपमा परमेश्वर स्वयम्को काम गर्ने र मानिसको जीवनमा काम गर्ने कुरामा, मानिसले यो काम गर्न सक्दैनथियो। यो व्यक्तिगत रूपमा परमेश्वर स्वयम्द्वारा नै गरिनुपर्छ; यो काम गर्न परमेश्वर व्यक्तिगत रूपमा देह बन्नैपर्छ। वचनको युगमा, यदि अगमवाणी मात्रै बोलिन्थ्यो भने, यो काम गर्न यशैया वा अगमवक्ता एलियालाई भेट्टाउन सकिन्थ्यो, र परमेश्वर स्वयम्ले व्यक्तिगत रूपमा यो गर्न आवश्यक नै हुनेथिएन। यस चरणमा गरिने काम अगमवाणी बोल्ने मात्रै नभएको हुनाले, र मानवजातिलाई विजय गर्न र शैतानलाई पराजित गर्न वचनहरूको काम प्रयोग गरिनुको अझ ठूलो महत्त्व भएको हुनाले, यो काम मानिसद्वारा गर्न सकिँदैन, र व्यक्तिगत रूपमा परमेश्वर स्वयम्द्वारा नै गरिनुपर्छ। व्यवस्थाको युगमा यहोवाले आफ्नो कामको केही भाग गर्नुभयो, त्यसपछि उहाँले अगमवक्ताहरूमार्फत केही वचन बोल्नुभयो र केही काम गर्नुभयो। किनभने मानिसले यहोवाको काममा उहाँलाई प्रतिस्थापन गर्न सक्थ्यो, र भविष्यदर्शीहरूले उहाँको तर्फबाट घटनाहरूको भविष्यवाणी गर्न र केही सपनाको व्याख्या गर्न सक्थे। त्यस समयमा गरिएको काम सिधै मानिसको स्वभाव परिवर्तन गर्ने काम थिएन, र यो मानिसको पापसँग असम्बन्धित थियो, र मानिसले व्यवस्थाको पालन मात्र गर्नुपर्ने हुन्थ्यो। त्यसैले यहोवा देह बन्नुभएन र मानिससामु देखा पर्नुभएन; बरु उहाँले सिधै मोशा र अरूसँग बोल्नुभयो, तिनीहरूलाई उहाँको तर्फबाट बोल्न र काम गर्न लगाउनुभयो, र तिनीहरूलाई सिधै मानिसमाझ काम गर्न लगाउनुभयो। परमेश्वरको कामको पहिलो चरण मानिसको अगुवाइ थियो। यो शैतानविरुद्धको लडाइँको सुरुवात थियो, तर यो लडाइँ आधिकारिक रूपमा सुरु हुन बाँकी नै थियो। शैतानविरुद्धको आधिकारिक युद्ध परमेश्वरको पहिलो देहधारणसँगै सुरु भयो, र यो आजसम्म नै निरन्तर चलिरहेको छ। यस युद्धको पहिलो लडाइँ देहधारी परमेश्वरलाई क्रूसमा टाँगिदा भएको थियो। देहधारी परमेश्वरको क्रूसीकरणले शैतानलाई पराजित गर्यो, र यो नै युद्धको पहिलो सफल चरण थियो। जब देहधारी परमेश्वरले सिधै मानिसको जीवनमा काम गर्न थाल्नुभयो, यो मानिसलाई पुनः प्राप्त गर्ने कामको आधिकारिक सुरुवात थियो, र यो मानिसको पुरानो स्वभाव परिवर्तन गर्ने काम भएको हुनाले, यो शैतानसँग लडाइँ गर्ने काम थियो। सुरुमा यहोवाद्वारा गरिएको कामको चरण पृथ्वीमा मानवजातिको जीवनको अगुवाइ मात्रै थियो। यो परमेश्वरको कामको सुरुवात थियो, र यसमा कुनै लडाइँ, वा कुनै ठूलो काम हुन बाँकी नै भए पनि, यसले आउँदो लडाइँको कामका लागि जग बसाल्यो। पछि, अनुग्रहको युगका दौरान कामको दोस्रो चरण मानिसको पुरानो स्वभाव परिवर्तन गर्नेसँग सम्बन्धित थियो, जसको अर्थ परमेश्वर स्वयम्ले मानिसको जीवनमा काम गर्नुभयो। यो व्यक्तिगत रूपमा परमेश्वरद्वारा नै गरिनु पर्नेथियो; यसका लागि परमेश्वर व्यक्तिगत रूपमा देह बन्नु पर्नेथियो। यदि उहाँ देह नबन्नुभएको भए, कामको यस चरणमा अरू कसैले उहाँलाई प्रतिस्थापन गर्न सक्नेथिएन, किनभने यसले सिधै शैतानविरुद्ध लड्ने कामलाई प्रतिनिधित्व गर्थ्यो। यदि मानिसले शैतानको उपस्थितिमा परमेश्वरको तर्फबाट यो काम गरेको भए, त्यो झुक्नेथिएन; यसलाई पराजित गर्न असम्भव हुनेथियो। यसलाई पराजित गर्न देहधारी परमेश्वर नै आउनुपर्ने हुन्थ्यो, किनभने देहधारी परमेश्वरको सार अझै पनि परमेश्वर नै हो, उहाँ अझै पनि मानिसको जीवन हुनुहुन्छ, र उहाँ अझै पनि सृष्टिकर्ता हुनुहुन्छ; चाहे जेसुकै आइपरोस्, उहाँको पहिचान र सार परिवर्तन हुनेछैन। त्यसैले, उहाँले देह धारण गर्नुभयो र शैतानलाई पूर्ण रूपमा झुक्न लगाउन यो काम गर्नुभयो। कामको यस अन्तिम चरणको दौरान, यदि मानिसले यो काम गर्ने हो र उसलाई सिधै वचनहरू बोल्न लगाइने हो भने, ऊ ती बोल्न असक्षम हुनेथियो, र यदि अगमवाणी बोलिने हो भने, मानिसलाई विजय गर्न असम्भव हुनेथियो। परमेश्वर देह बनेर शैतानलाई पराजित गर्न र यसलाई पूर्ण रूपमा झुक्न लगाउन आउनुहुन्छ। जब उहाँले शैतानलाई पूर्ण रूपमा पराजित गर्नुहुन्छ, मानिसलाई पूर्ण रूपमा विजय गर्नुहुन्छ, र मानिसलाई पूर्ण रूपमा प्राप्त गर्नुहुन्छ, तब कामको यो चरण पूरा हुनेछ र सफलता हासिल हुनेछ। परमेश्वरको व्यवस्थापनमा, मानिस परमेश्वरको ठाउँमा उभिन सक्दैन। विशेष गरी, युगको अगुवाइ गर्ने र नयाँ काम सुरु गर्ने काम व्यक्तिगत रूपमा परमेश्वर स्वयम्द्वारा गरिनुपर्ने अझ ठूलो आवश्यकता छ। मानिसलाई प्रकाश दिने र उसलाई अगमवाणी प्रदान गर्ने काम मानिसद्वारा गर्न सकिन्छ, तर यदि त्यो व्यक्तिगत रूपमा परमेश्वरद्वारा नै गरिनुपर्ने काम हो, परमेश्वर स्वयम् र शैतानबीचको लडाइँको काम हो भने, यो काम मानिसद्वारा गर्न सकिँदैन। कामको पहिलो चरणको दौरान, जब शैतानसँग कुनै लडाइँ चलिरहेको थिएन, यहोवाले अगमवक्ताहरूद्वारा बोलिने अगमवाणी प्रयोग गरेर व्यक्तिगत रूपमा इस्राएलका मानिसहरूलाई अगुवाइ गर्नुभयो। त्यसपछि, कामको दोस्रो चरण शैतानसँगको लडाइँ थियो, र परमेश्वर स्वयम् व्यक्तिगत रूपमा देह बन्नुभयो, र यो काम गर्न देहमा आउनुभयो। शैतानविरुद्धको लडाइँ समावेश हुने जुनसुकै कुरामा परमेश्वरको देहधारण समावेश हुन्छ, जसको अर्थ यो लडाइँ मानिसद्वारा छेड्न सकिँदैन। यदि मानिसले लडाइँ गर्ने हो भने, ऊ शैतानलाई पराजित गर्न असक्षम हुनेथियो। ऊ त्यसकै शक्तिअन्तर्गत छ भने ऊसँग कसरी त्यसविरुद्ध लड्ने बल हुन सक्छ? मानिस बीचमा छ; यदि तँ शैतानतिर ढल्किन्छस् भने, तँ शैतानको होस्, तर यदि तैँले परमेश्वरलाई सन्तुष्ट पार्छस् भने, तँ परमेश्वरको होस्। यदि मानिसले यस लडाइँको काममा परमेश्वरको ठाउँमा उभिने प्रयास गर्ने हो भने, के ऊ सक्षम हुनेथियो र? यदि उसले त्यसो गरेको भए, के ऊ धेरै अघि नै नाश भएको हुनेथिएन र? के ऊ धेरै अघि नै पातालमा प्रवेश गरेको हुनेथिएन र? त्यसैले, मानिस परमेश्वरको काममा उहाँलाई प्रतिस्थापन गर्न असक्षम हुन्छ, जसको अर्थ मानिससँग परमेश्वरको सार हुँदैन, र यदि तैँले शैतानसँग लडाइँ गरिस् भने तँ यसलाई पराजित गर्न असक्षम हुनेछस्। मानिसले केही काम मात्रै गर्न सक्छ; उसले केही मानिसलाई आफ्नो पक्षमा ल्याउन सक्छ, तर ऊ परमेश्वर स्वयम्को काममा परमेश्वरको ठाउँमा उभिन सक्दैन। मानिसले कसरी शैतानसँग लडाइँ गर्न सक्छ र? तैँले सुरु गर्नुअघि नै शैतानले तँलाई बन्दी बनाउनेथियो। जब परमेश्वर स्वयम्ले शैतानसँग लडाइँ गर्नुहुन्छ र मानिस यस आधारमा परमेश्वरलाई पछ्याउँछ र उहाँको अधीनमा रहन्छ, तब मात्र मानिस परमेश्वरद्वारा प्राप्त गरिन र ऊ शैतानको बन्धनबाट उम्कन सक्छ। मानिसले आफ्नै बुद्धि र क्षमताहरूद्वारा हासिल गर्न सक्ने कुराहरू अत्यन्तै सीमित छन्; ऊ मानिसलाई पूर्ण पार्न असक्षम छ, उसलाई अगुवाइ गर्न असक्षम छ, र शैतानलाई पराजित गर्न त झनै असक्षम छ। मानिसको बौद्धिकता र बुद्धिले शैतानका षड्यन्त्रहरूलाई विफल पार्न सक्दैनन् भने मानिसले योसँग कसरी लडाइँ गर्न सक्छ र?
सिद्ध पारिन इच्छुक हुने सबैसँग सिद्ध पारिने मौका हुन्छ, त्यसकारण सबै जना ढुक्क हुनुपर्छ: भविष्यमा तिमीहरू सबै गन्तव्यमा प्रवेश गर्नेछौ। तर यदि तँ सिद्ध पारिन इच्छुक छैनस्, र सुन्दर क्षेत्रमा प्रवेश गर्न इच्छुक छैनस् भने, त्यसको जिम्मेवार तँ आफै होस्। सिद्ध पारिन इच्छुक हुने र परमेश्वरप्रति बफादार हुने सबै, अधीनमा रहने सबै, र इमानदार तरिकाले आफ्नो प्रकार्य गर्ने सबै—त्यस्ता सबै मानिस सिद्ध पारिन सक्छन्। आज, अर्पित भई आफ्नो कर्तव्य निर्वाह नगर्ने सबै, परमेश्वरप्रति बफादार नहुने सबै, परमेश्वरको अधीनमा नरहने सबै, विशेष गरी पवित्र आत्माको प्रबोधन र ज्योति प्राप्त गरेर पनि त्यसलाई व्यवहारमा लागू नगर्नेहरू—त्यस्ता सबै मानिस सिद्ध पारिन असक्षम हुन्छन्। परमेश्वरप्रति बफादार हुन र उहाँको अधीनमा रहन इच्छुक हुने सबैलाई सिद्ध पार्न सकिन्छ, चाहे तिनीहरू अलिकति अज्ञानी नै किन नहोऊन्; पछ्याउन इच्छुक हुने सबैलाई सिद्ध पार्न सकिन्छ। यसबारे चिन्ता लिनु आवश्यक छैन। तँ यस दिशामा पछ्याउन इच्छुक भएमा, तँ सिद्ध पारिन सक्छस्। म तिमीहरूको बीचमा भएका कसैलाई पनि त्याग्न वा हटाउन इच्छुक छैनँ तर यदि तँ राम्रो गर्ने प्रयास गर्दैनस् भने, तैँले केवल आफैलाई हानि गरिरहेको हुन्छस्; तँलाई हटाउने म होइनँ बरु तँ आफै होस्। यदि तँ आफैले राम्रो गर्ने कोसिस गर्दैनस् भने—यदि तँ अल्छी छस् वा आफ्नो कर्तव्य पालन गर्दैनस् वा तँ बफादार छैनस्, वा सत्यको पछि लाग्दैनस् र सधैँ तँलाई जे मन लाग्छ त्यही गर्छस्, यदि तँ लापरवाही व्यवहार गर्छस्, तेरो आफ्नै प्रसिद्धि र धनको लागि लडाइँ गर्छस्, विपरीत लिङ्गप्रतिको तेरो व्यवहारमा बेइमान छस् भने, तैँले आफ्नो पापको बोझ आफै बोक्नेछस्; तँ कसैको दया पाउने लायकको हुँदैनस्। मेरो अभिप्राय तिमीहरू सबै सिद्ध पारिऊ र कम्तीमा पनि विजय गरिऊ भन्ने हो, ताकि यस चरणको काम सफलतापूर्वक पूरा हुन सकोस्। परमेश्वरको चाहना हरेक व्यक्ति सिद्ध पारिओस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्ने छ। मैले तिमीहरू पिछडिएका छौ वा कम क्षमताका छौ भने पनि—यी सब तथ्य हुन्। तर, मैले यसो भन्नुले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा गुमाएको छु भन्ने प्रमाणित गर्दैन, अनि म तिमीहरूलाई मुक्ति दिन अनिच्छुक छु भन्ने त झनै प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध पारिने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एक जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर क्षमताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँप्रतिका मेरा मागहरू यसअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्षम छस् भने, तँप्रति मेरा मागहरू यही बमोजिम हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्दिनँ, निश्चित प्रकारका प्रकार्य मात्र गर्न सक्छु भन्छस् भने, चाहे त्यो सुसमाचार प्रचार गर्ने होस् वा मण्डलीको रेखदेख गर्ने होस्, वा अन्य सामान्य कुराहरूमा सहभागी हुने होस्, मैले तँलाई सिद्ध पार्ने काम तैँले गर्ने प्रकार्यअनुसार हुनेछ। बफादार हुनु, अन्त्यसम्म समर्पित हुनु र परमेश्वरलाई सक्दो प्रेम गर्न खोज्नु—यी तैँले पूरा गर्नैपर्ने कुरा हुन्, केवल यी तीन कुरा, र यी सबैभन्दा राम्रा अभ्यासहरू हुन्। अन्त्यमा, मानिसहरूले यी तीन कुरा हासिल गर्नु आवश्यक हुन्छ, र ती प्राप्त गर्न सक्नेहरूलाई सिद्ध पारिनेछ। तर सबैभन्दा मुख्य कुरा, तैँले निष्कपट रूपमा पछ्याउनुपर्छ, तँ सक्रिय रूपमा अगाडि र माथितिर बढ्नुपर्छ र यस मामिलामा निष्क्रिय हुनुहुँदैन। मैले भनेको छु, प्रत्येक व्यक्तिसँग सिद्ध पारिने मौका हुन्छ र प्रत्येक व्यक्ति सिद्ध पारिनका लागि सक्षम हुन्छ, र यो सत्य हो, तर तँ उँभो लाग्न प्रयास गर्दैनस्। यी तीन मापदण्ड पूरा नगर्नेहरूलाई अझै पनि अन्त्यमा हटाइनेछ। सबैले यो गतिलाई पछ्याउन सकून् भन्ने म चाहन्छु, म सबैले पवित्र आत्माको काम र अन्तर्दृष्टि प्राप्त गरोस् र अन्त्यसम्म समर्पित हुन सकोस् भन्ने चाहन्छु, किनकि तिमीहरू प्रत्येकले गर्नुपर्ने कर्तव्य यही हो। जब तिमीहरू सबैले आफ्नो कर्तव्य पूरा गर्छौ तब तिमीहरू सबै सिद्ध बनाइएका हुनेछौ, तिमीहरूका गवाही पनि धेरै शानदार हुन्छ। गवाही हुनेहरू सबै शैतानमाथि विजय बनेका र परमेश्वरका प्रतिज्ञा प्राप्त गरेका हुन्छन् अनि तिनीहरू ती व्यक्तिहरू हुन् जो त्यस सुन्दर गन्तव्यमा बस्नको लागि रहिरहनेछन्।