पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
परमेश्वरद्वारा सजाय दिइँदै गर्दा, पत्रुसले यसरी प्रार्थना गरे, “परमेश्वर! मेरो देह विद्रोही छ र तपाईँ मलाई सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ। म तपाईँको सजाय र न्यायमा रमाउँछु अनि तपाईँ मलाई चाहनुहुन्न भने पनि, म तपाईँको न्यायमा तपाईँको पवित्र र धर्मी स्वभाव देख्छु। जब तपाईँ मेरो न्याय गर्नुहुन्छ, तब यदि अरूले तपाईँको न्यायमा तपाईँको धर्मी स्वभाव देख्न सके भने, म सन्तुष्ट महसुस गर्छु। यदि तपाईँको न्यायले तपाईँको स्वभाव व्यक्त गर्न सक्छ र तपाईँको धर्मी स्वभावलाई सबै सृजित प्राणीद्वारा देखिने बनाउन सक्छ र यदि यसले तपाईँलाई प्रेम गर्ने मेरो हृदयलाई अझै शुद्ध बनाउन सक्छ, जसले गर्दा म धर्मी व्यक्तिको स्वरूप प्राप्त गर्न सक्छु भने, त्यो नै पर्याप्त हो। तपाईँको यो न्याय असल छ, किनभने तपाईँको असल अभिप्राय त्यस्तै छ। मलाई थाहा छ ममा अझै पनि धेरै विद्रोहीपन छ र म अझै पनि तपाईँसमक्ष आउन योग्य छैनँ। म तपाईँले मलाई अझै बढी न्याय गर्नुभएको चाहन्छु। चाहे तपाईँ मलाई प्रतिकूल वातावरणहरूमा पार्नुहोस् वा महासङ्कष्टहरूमा पार्नुहोस्, तपाईँले जेसुकै गर्नुभए पनि, म त्यसलाई बहुमूल्य ठान्छु। तपाईँको प्रेम यति गहन छ र म अलिकति पनि गुनासो नगरी तपाईँको योजनाबद्ध कार्यको कृपामा रहन इच्छुक छु।” यो परमेश्वरको कामको अनुभव गरेपछिको पत्रुसको ज्ञान हो र यो परमेश्वरप्रतिको उनको प्रेमको गवाही पनि हो। अब तिमीहरूमाथि विजय हासिल गरिएपछि, तिमीहरूमा त्यो विजय कसरी व्यक्त हुन्छ? कतिपय मानिस यसो भन्छन्, “ममाथि विजय हासिल गरिनु परमेश्वरको अपार अनुग्रह र उहाँले मलाई उचाल्नुभएको हो। मानिसको जीवन खोक्रो र अर्थहीन छ भन्ने कुरा मैले अहिले मात्रै बुझेको छु। पुस्ता दर पुस्ता, मानिस दौडधुप गरेर अनि छोराछोरी जन्माएर र हुर्काएर आफ्नो जीवन बिताउँछ र अन्ततः ऊसँग केही पनि बाँकी रहँदैन। आज, परमेश्वरद्वारा विजय हासिल गरिएपछि मात्रै मैले यसरी जिउनुको कुनै मूल्य छैन भन्ने देखेको छु; यो साँच्चै नै अर्थहीन जीवन हो। बरु म मरे कुरै सकिन्छ!” के विजय हासिल गरिएका त्यस्ता मानिसहरू परमेश्वरद्वारा प्राप्त गरिन सक्छन्? के तिनीहरू उदाहरण र नमुना बन्न सक्छन्? त्यस्ता मानिसहरू नकारात्मकताका पाठ हुन्; तिनीहरूसँग कुनै सङ्कल्प हुँदैन र तिनीहरू प्रगति गर्ने प्रयास गर्दैनन्। तिनीहरू विजय हासिल गरिएका मानिए पनि, त्यस्ता नकारात्मक मानिसहरू सिद्ध पारिन असक्षम हुन्छन्। पत्रुसले आफ्नो जीवनको अन्त्यतिर सिद्ध पारिएपछि भने, “हे परमेश्वर! यदि म अझै केही वर्ष जिएँ भने, म तपाईँप्रति अझै शुद्ध र गहिरो प्रेम हासिल गर्न चाहनेथिएँ।” जब उनी क्रूसमा टाँगिनै लागेका थिए, तब उनले हृदयमा प्रार्थना गरे, “हे परमेश्वर! अब तपाईँको समय आइसकेको छ; तपाईँले मेरा लागि तयार पारेको समय आइसकेको छ। म तपाईँका लागि क्रूसमा टाँगिनैपर्छ, मैले तपाईँका लागि यो साक्षी दिनैपर्छ र मलाई मेरो प्रेमले तपाईँका मागहरू पूरा गर्न सक्छ र यो अझै शुद्ध बन्न सक्छ भन्ने आशा छ। आज, तपाईँका लागि मर्न पाउनु र तपाईँका लागि क्रूसमा टाँगिन पाउनुले मलाई सान्त्वना र शान्ति महसुस गराउँछ, किनभने म तपाईँका लागि क्रूसमा टाँगिन र तपाईँका इच्छाहरू पूरा गर्न सक्छु। आफूलाई तपाईँलाई दिँदा र आफ्नो जीवन तपाईँलाई चढाउँदा त्यसले मलाई पूर्ण रूपमा सन्तुष्ट पार्छ। हे परमेश्वर! तपाईँ कति प्रेमिलो हुनुहुन्छ! यदि तपाईँले मलाई जिउन दिनुभयो भने, म तपाईँलाई प्रेम गर्न अझ बढी इच्छुक हुनेछु। म जीवित रहुन्जेल, तपाईँलाई प्रेम गर्नेछु। म तपाईँलाई अझ गहिरो प्रेम गर्न चाहन्छु। तपाईँ मेरो न्याय गर्नुहुन्छ, मलाई सजाय दिनुहुन्छ र मेरो परीक्षा गर्नुहुन्छ किनभने म धर्मी छैनँ, किनभने मैले पाप गरेको छु। अनि तपाईँको धर्मी स्वभाव मेरा लागि अझै स्पष्ट हुन्छ। यो मेरा लागि एउटा आशिष् हो, किनभने म तपाईँलाई अझै गहन रूपमा प्रेम गर्न सक्छु। तपाईँले मलाई प्रेम नगर्नुभए पनि म तपाईँलाई यसरी नै प्रेम गर्न इच्छुक छु। म तपाईँको धर्मी स्वभाव हेर्न इच्छुक छु, किनभने यसले मलाई अर्थपूर्ण जीवन जिउन अझ बढी सक्षम बनाउँछ। मलाई सधैँ अहिलेको मेरो जीवन बढी अर्थपूर्ण छ भन्ने लाग्छ, किनभने म तपाईँका खातिर क्रूसमा टाँगिएको छु र तपाईँका लागि मर्नु अर्थपूर्ण हुन्छ। तैपनि मलाई अझै सन्तुष्ट महसुस हुँदैन, किनभने म तपाईँलाई अत्यन्तै कम चिन्छु, मलाई थाहा छ, म तपाईँका इच्छाहरू पूर्ण रूपमा पूरा गर्न सक्दिनँ र मैले तपाईँलाई अत्यन्तै कम प्रतिदान गरेको छु। म आफ्नो जीवनमा तपाईँलाई पूर्ण रूपमा प्रतिदान गर्न असमर्थ भएको छु; म त्योभन्दा धेरै टाढा छु। यस क्षणलाई फर्केर हेर्दा, म तपाईँप्रति अत्यन्तै ऋणी भएको महसुस गर्छु र मेरा सबै गल्ती र मैले तपाईँलाई प्रतिदान नगरेका सबै प्रेमको परिपूर्ति गर्न मसँग यो क्षण मात्रै छ।”
सबै मानिसहरू अर्थपूर्ण जीवन जिउने खोजीमा लाग्नुपर्छ, र आफ्ना वर्तमान परिस्थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। तिनीहरूले पत्रुसको स्वरूपमा जिउनैपर्छ, र तिनीहरूसँग पत्रुसका ज्ञान र अनुभवहरू हुनैपर्छ। तिनीहरूले अझै उच्च र अझै गहन कुराहरूको खोजी गर्नुपर्छ। तिनीहरूले परमेश्वरप्रतिको अझ गहिरो र शुद्ध प्रेम, साथै मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्र जीवन हो; तब मात्र तिनीहरू पत्रुसजस्तै हुनेछन्। तैँले सकारात्मक पाटोतर्फ सक्रिय रूपमा प्रवेश गर्न ध्यान दिनुपर्छ, र अस्थायी सहजतामा सन्तुष्ट भएकै कारण नकारात्मक हुने र आफूलाई पछाडि धकेल्ने, र त्यो सँगसँगै अझै प्रगाढ, अझै विस्तृत र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्ने गर्नु हुँदैन। तँमा व्यवहारिक प्रेम हुनैपर्छ, र तैँले कुनै जनावरको भन्दा फरक नभएको यो पतित, निस्फिक्री जीवनबाट आफूलाई मुक्त गर्ने हरसम्भव उपाय पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्यवान् जीवन जिउनैपर्छ, र तैँले आफैलाई मूर्ख बनाउनु वा आफ्नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन। सङ्कल्प भएका र परमेश्वरलाई प्रेम गर्ने हरेकका लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन् र दह्रिलो गरी खडा हुन नसकिने कुनै इन्साफ छैन। तैँले आफ्नो जीवन कसरी जिउनुपर्छ? तैँले कसरी परमेश्वरलाई प्रेम गर्नुपर्छ, र यो प्रेम प्रयोग गरेर उहाँका अभिप्रायहरू पूरा गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमको सङ्कल्प र दृढता हुनैपर्छ, र तँ कायर, दुर्बल व्यक्ति बन्नु हुँदैन। तैँले अर्थपूर्ण जीवन र अर्थपूर्ण सत्यताहरूको अनुभव गर्न सिक्नैपर्छ, र आफूलाई त्यसरी झाराटारूवा व्यवहार गर्नु हुँदैन। तैँले थाहै नपाई, तेरो जीवन बितेर जानेछ; त्यसपछि के तैँले अझै पनि परमेश्वरलाई प्रेम गर्ने यस्तो अवसर पाउनेछस्? के मानिसले आफू मरेपछि परमेश्वरलाई प्रेम गर्न सक्छ? तँसँग पनि पत्रुसको जस्तै सङ्कल्प र विवेक हुनुपर्छ; तैँले अर्थपूर्ण जीवन जिउनैपर्छ, र आफैसँग खेलबाड गर्नु हुँदैन। मानवका रूपमा र परमेश्वरलाई पछ्याउने व्यक्तिका रूपमा, तैँले आफ्नो जीवनलाई होसियारीपूर्वक ख्याल गर्न र सम्हाल्न जरुरी छ—तैँले कसरी आफूलाई परमेश्वरप्रति अर्पित गर्नुपर्छ, तैँले कसरी परमेश्वरमा अझ अर्थपूर्ण विश्वास राख्नुपर्छ, र तैँले परमेश्वरलाई प्रेम गर्ने हुनाले, तैँले कसरी उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले प्रेम गर्नुपर्छ भन्ने कुरालाई ख्याल गर्नुपर्छ। आज, तँ आफूमाथि विजय हासिल गरिन लागिएको कुरामा मात्रै सन्तुष्ट हुनु हुँदैन, तैँले आफ्नो अगाडि रहेको मार्गमा कसरी हिँड्नुपर्छ भन्ने कुरालाई पनि ख्याल गर्नैपर्छ। तँसँग सिद्ध पारिने सङ्कल्प र साहस हुनैपर्छ र तैँले सधैँ आफूलाई असक्षम ठान्नु हुँदैन। के सत्यताले मानिसलाई अन्यायपूर्ण व्यवहार गर्न सक्छ? के सत्यताले जानाजानी मानिसको विरोध गर्न सक्छ? यदि तँ सत्यता पछ्याउँछस् भने, के यो तँमाथि हाबी हुन सक्छ? यदि तँ इन्साफको पक्षमा दृढ हुन्छस् भने, के यसले तँलाई ढाल्नेछ? यदि जीवन पछ्याउनु साँच्चै नै तेरो सङ्कल्प हो भने, के जीवन तँबाट उम्कन सक्छ? यदि तँ सत्यतारहित छस् भने, त्यो सत्यताले तँलाई बेवास्ता गर्ने भएकाले होइन, बरु तँ सत्यताबाट टाढा बस्ने भएकाले हो; यदि तँ इन्साफको पक्षमा दृढ रहन सक्दैनस् भने, त्यो इन्साफमा केही खराबी भएकाले होइन, बरु तैँले इन्साफले तथ्यहरू बङ्ग्याउँछ भन्ने विश्वास गर्ने भएकाले हो; यदि तैँले धेरै वर्षको पछ्याइपछि जीवन प्राप्त गरेको छैनस् भने, त्यो जीवनले तँलाई कुनै विवेक नदेखाउने भएकाले होइन, बरु तैँले जीवनलाई विवेक नदेखाउने भएकाले र जीवनलाई पर धकेलेकाले गर्दा हो; यदि तँ ज्योतिमा जिउँछस् तैपनि तैँले ज्योति प्राप्त गरेको छैनस् भने, त्यो ज्योतिले तँलाई उज्यालो दिन नसक्ने भएकाले होइन, बरु तैँले ज्योतिको अस्तित्वलाई कुनै ध्यान नदिएकाले गर्दा हो र त्यसैले ज्योति तँबाट चुपचाप छुटेर गएको छ। यदि तँ पछ्याउँदैनस् भने, तँ मूल्यहीन रद्दी होस् र तँमा जिउने साहस छैन अनि तँसँग अन्धकारका शक्तिहरूलाई प्रतिरोध गर्ने आत्मा छैन भनेर मात्रै भन्न सकिन्छ। तँ अत्यन्तै कायर छस्! तँ शैतानका शक्तिहरूको घेराबन्दीबाट मुक्त हुन सक्दैनस् र तँ यस्तो प्रकारको शान्ति र सुरक्षामा आफ्नो जीवन बिताउन र अज्ञानतामा मर्न मात्रै इच्छुक छस्। विजय हासिल गरिने पछ्याइ नै तैँले हासिल गर्नुपर्ने कुरा हो; यो तेरो गर्नैपर्ने दायित्व हो। यदि तँ विजय हासिल गरिनुमा मात्रै सन्तुष्ट हुन्छस् भने, तैँले ज्योतिको अस्तित्वलाई धपाइरहेको छस्। तैँले सत्यताका लागि कष्ट भोग्नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी दुःख भोग्नैपर्छ। तैँले गर्नुपर्ने यही नै हो। पारिवारिक सामञ्जस्यतामा रमाउनका खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र अस्थायी आनन्दका खातिर तैँले जीवनभरको इज्जत र निष्ठा गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्य छैन भने, के यो तैँले आफ्नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्नुपर्छ, र थोरै आनन्दका खातिर सबै सत्यताहरूलाई फ्याँक्नु हुँदैन। यस्ता मानिसहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!
परमेश्वर मानिसलाई सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ किनभने यो उहाँको कामको माग हो अनि त्योभन्दा पनि बढी, यो मानिसको आवश्यकता हो। मानिसले सजाय र न्याय पाउन आवश्यक छ र त्यसपछि मात्रै उसले परमेश्वरप्रतिको प्रेम हासिल गर्न सक्छ। आज, तिमीहरू पूर्ण रूपमा विश्वस्त भएका छौ, तर जब तिमीहरू सानोभन्दा सानो रोकावट सामना गर्छौ, तब तिमीहरू समस्यामा पर्छौ; तिमीहरूको कद अझै पनि ज्यादै सानो छ र तिमीहरूले अझ गहन ज्ञान हासिल गर्नका लागि अझै पनि यस्तो सजाय र न्याय अझ बढी अनुभव गर्न आवश्यक छ। आज, तिमीहरूसँग लगभग परमेश्वरको डर मान्ने थोरै हृदय छ अनि तिमीहरू परमेश्वरसँग डराउँछौ र उहाँ साँचो परमेश्वर हुनुहुन्छ भन्ने जान्दछौ तर तिमीहरूमा उहाँप्रति त्यति प्रेम छैन, झन् तिमीहरूले शुद्ध प्रेम हासिल गरेका हुनु त परै जाओस्; तिमीहरूको ज्ञान अत्यन्तै सतही छ र तिमीहरूको कदमा अझै पनि कमी छ। जब तिमीहरू साँच्चै नै कुनै वातावरण सामना गर्छौ, तब तिमीहरूले अझै पनि साक्षी दिएका हुँदैनौ, तिमीहरूसँग सकारात्मक प्रवेश अत्यन्तै कम हुन्छ र कसरी अभ्यास गर्ने भन्ने तिमीहरूलाई पटक्कै थाहा हुँदैन। धेरैजसो मानिस नकारात्मक र निष्क्रिय हुन्छन्; तिनीहरू हृदयमा गोप्य रूपले मात्र परमेश्वरलाई प्रेम गर्छन्, तर तिनीहरूसँग अभ्यासको कुनै मार्ग हुँदैन, न त तिनीहरू आफ्नो लक्ष्य के हो भन्ने कुरामा नै स्पष्ट हुन्छन्। सिद्ध पारिएकाहरूमा सामान्य मानवता मात्रै नभई, विवेकको मापनलाई उछिन्ने, विवेकका मानकहरूभन्दा उच्च सत्यताहरू पनि हुन्छन्। तिनीहरूले आफ्नो विवेक प्रयोग गरेर परमेश्वरको प्रेम चुक्ता गर्ने मात्र नभई, त्योभन्दा बढी, परमेश्वरलाई चिनेका हुन्छन् र परमेश्वर प्रेमिलो हुनुहुन्छ, उहाँ मानिसको प्रेमको योग्य हुनुहुन्छ र परमेश्वरमा प्रेम गर्ने कुराहरू यति धेरै छन् र मानिस उहाँलाई प्रेम नगरी बस्नै सक्दैन भनी देखेका हुन्छन्। सिद्ध पारिएका मानिसहरूको परमेश्वरप्रतिको प्रेम तिनीहरूको आफ्नै व्यक्तिगत सङ्कल्प पूरा गर्नका लागि हो। तिनीहरूको प्रेम स्वस्फूर्त हुन्छ, त्यसले बदलामा केही पनि माग्दैन र जुन लेनदेन होइन। तिनीहरू परमेश्वरलाई उहाँबारे आफ्नो ज्ञानको कारणले मात्रै प्रेम गर्छन्। त्यस्ता मानिसहरू परमेश्वर तिनीहरूलाई अनुग्रह प्रदान गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने कुराको वास्ता गर्दैनन् र परमेश्वरलाई सन्तुष्ट पार्नुमा मात्रै सन्तुष्ट हुन्छन्। तिनीहरू परमेश्वरसँग सर्तहरू राखेर सम्झौता गर्दैनन्, न त तिनीहरू परमेश्वरप्रतिको आफ्नो प्रेमलाई विवेकद्वारा मापन नै गर्छन्: “तपाईँले मलाई दिनुभएको छ, त्यसैले बदलामा म तपाईँलाई प्रेम गर्छु; यदि तपाईँ मलाई दिनुहुन्न भने, मसित बदलामा तपाईँलाई दिने केही पनि छैन।” सिद्ध पारिएकाहरू सधैँ यस्तो विश्वास गर्छन्, “परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ र उहाँ हामीमाथि यो काम गर्नुहुन्छ। मसँग सिद्ध पारिने यो अवसर, अवस्था र योग्यता भएको हुनाले, मेरो पछ्याइ भनेको अर्थपूर्ण जीवन जिउने हुनुपर्छ र मैले उहाँलाई सन्तुष्ट पार्नुपर्छ।” यो ठ्याक्कै पत्रुसले अनुभव गरेको कुराजस्तै हो: जब उनी सबैभन्दा कमजोर अवस्थामा थिए, तब उनले परमेश्वरलाई प्रार्थना गरे र भने, “हे परमेश्वर! तपाईँलाई थाहा छ, समय वा ठाउँ जस्तोसुकै भए पनि, म सधैँ तपाईँलाई सम्झन्छु र चाहे समय वा ठाउँ जस्तोसुकै होस्, म तपाईँलाई प्रेम गर्न चाहन्छु, तर मेरो कद अत्यन्तै सानो छ, म अत्यन्तै कमजोर र शक्तिहीन छु, मेरो प्रेम अत्यन्तै सीमित छ र तपाईँप्रतिको मेरो सच्चापन अत्यन्तै थोरै छ। तपाईँको प्रेमको तुलनामा, म जिउनका लागि योग्य नै छैनँ। मलाई मेरो जीवन व्यर्थ नहोस् र मैले तपाईँको प्रेमको प्रतिदान गर्न सकूँ भन्ने मात्र होइन, तर त्यसबाहेक, आफूसित भएका सबै कुरा तपाईँलाई अर्पण गर्न सकूँ भन्ने इच्छा छ। यदि मैले तपाईँलाई सन्तुष्ट पार्न सकेँ भने, एक सृजित प्राणीका रूपमा, मेरो मनले शान्ति पाउनेछ र म अरू केही पनि माग्नेछैनँ। म अहिले कमजोर र शक्तिहीन भए पनि, म तपाईँका निर्देशनहरू बिर्सनेछैनँ र म तपाईँको प्रेम बिर्सनेछैनँ। अहिले मैले तपाईँको प्रेमको प्रतिदान गर्नेबाहेक अरू केही गरिरहेको छैनँ। हे परमेश्वर, मलाई अत्यन्तै नराम्रो महसुस हुन्छ! म कसरी आफ्नो हृदयको प्रेम तपाईँलाई फर्काउन सक्छु, म कसरी आफूले सक्ने सबै गर्न अनि तपाईँका इच्छाहरू पूरा गर्न सक्ने हुन र आफूसित भएका सबै कुरा तपाईँलाई अर्पण गर्न सक्ने हुन सक्छु? तपाईँलाई मानिसको कमजोरी थाहा छ; म कसरी तपाईँको प्रेमको योग्य हुन सक्छु र? हे परमेश्वर! तपाईँलाई थाहा छ मेरो कद सानो छ र मेरो प्रेम अत्यन्तै थोरै छ। यस्तो प्रकारको वातावरणमा म कसरी सक्दो प्रयास गर्न सक्छु र? मलाई मैले तपाईँको प्रेमको प्रतिदान गर्नुपर्छ भन्ने थाहा छ, मलाई मैले आफूसँग भएका सबै कुरा तपाईँलाई दिनुपर्छ भन्ने थाहा छ, तर आज मेरो कद अत्यन्तै सानो छ। म मलाई शक्ति र आस्था दिनुहोस् भनी अनुरोध गर्छु, ताकि म तपाईँलाई शुद्ध प्रेम अर्पण गर्न, आफूसँग भएका सबै कुरा तपाईँलाई अर्पण गर्न अझ बढी सक्षम हुन सकूँ र तपाईँको प्रेमको प्रतिदान गर्न सक्ने मात्रै नभई, अझ महत्त्वपूर्ण कुरा, तपाईँको सजाय, न्याय र परीक्षाहरू अनि अझै गम्भीर श्रापहरू अनुभव गर्न सक्ने हुन सकूँ। तपाईँले मलाई तपाईँको प्रेम हेर्न दिनुभएको छ र म तपाईँलाई प्रेम नगरी बस्न सक्दिनँ अनि आज म कमजोर र शक्तिहीन भए पनि, म तपाईँलाई कसरी बिर्सन सक्छु र? मैले तपाईँलाई तपाईँको प्रेम, सजाय र न्याय सबैका कारण चिनेको छु, तैपनि मलाई तपाईँको प्रेमलाई सन्तुष्ट पार्न सक्दिनँ भन्ने पनि महसुस हुन्छ, किनभने तपाईँ अत्यन्तै महान् हुनुहुन्छ। म कसरी आफूसँग भएका सबै कुरा सृष्टिकर्तालाई अर्पण गर्न सक्छु?” पत्रुसको बिन्ती यस्तो थियो, तैपनि उनको कदमा कमी थियो। यसबेला, उनलाई आफ्नो हृदयमा छुरा घुमिरहेको जस्तो महसुस भयो। उनी वेदनामा थिए; त्यस्तो अवस्थामा के गर्ने भन्ने उनलाई थाहा थिएन। तैपनि उनले अझै प्रार्थना गर्न जारी राखे, “हे परमेश्वर! मानिस बुलसुलभ कदको हुन्छ, उसको विवेक कमजोर हुन्छ र मैले हासिल गर्न सक्ने एउटै मात्र कुरा भनेको तपाईँको प्रेमको प्रतिदान गर्नु हो। आज, म तपाईँका अभिप्रायहरू कसरी पूरा गर्ने भनी जान्दिनँ र मेरो इच्छा भनेको आफूले सकेजति सबै गर्ने, आफूसँग भएका सबै कुरा दिने र आफूसँग भएका सबै कुरा तपाईँलाई अर्पण गर्ने मात्रै हो। तपाईँको न्यायको बाबजुद, तपाईँको सजायको बाबजुद, चाहे तपाईँ मलाई कामकुराहरू प्रदान गर्नुहोस् वा मबाट कामकुराहरू लैजानुहोस्, कृपया मलाई तपाईँप्रतिको अलिकति गुनासोबाट मुक्त राख्नुहोस्। धेरै पटक, तपाईँले मलाई सजाय दिँदा र मेरो न्याय गर्दा, मभित्र सधैँ गुनासाहरू हुन्थे र म शुद्धता हासिल गर्न वा तपाईँका इच्छाहरू पूरा गर्न असमर्थ हुन्थेँ। मैले तपाईँको प्रेमको प्रतिदान गर्नु मेरो बाध्यता थियो र यसबेला म आफूलाई अझ बढी घृणा गर्छु।” पत्रुसले परमेश्वरप्रतिको अझ शुद्ध प्रेम खोजी गरेकाले यसरी प्रार्थना गरेका थिए। उनी खोजी र बिन्ती गरिरहेका थिए अनि त्योभन्दा पनि बढी, उनी आफूलाई दोष दिइरहेका थिए र परमेश्वरसामु आफ्ना पापहरू स्वीकार गरिरहेका थिए। उनले परमेश्वरप्रति ऋणी महसुस गरे र आफूप्रति घृणा महसुस गरे, तैपनि उनी केही हदसम्म दुःखी र नकारात्मक पनि थिए। उनी सधैँ यस्तै महसुस गर्थे, मानौँ उनी परमेश्वरका अभिप्रायहरू पूरा गर्न सकिरहेका छैनन् र सक्दो राम्रो गर्न सकिरहेका छैनन्। यस्ता अवस्थाहरूमा, पत्रुसले अझै पनि अय्यूबको आस्थालाई पछ्याए। उनले अय्यूबको विश्वास कति महान् थियो भन्ने कुरा देखे, किनभने अय्यूबले आफूसँग भएका सबै कुरा परमेश्वरद्वारा प्रदान गरिएको हो र परमेश्वरले उनीबाट सबै कुरा लैजानु स्वाभाविक हो, परमेश्वर जसलाई इच्छा गर्नुहुन्छ उसैलाई दिनुहुन्छ भन्ने देखेका थिए—परमेश्वरको धर्मी स्वभाव त्यस्तो थियो। अय्यूबसँग कुनै गुनासो थिएन र उनी अझै पनि परमेश्वरको प्रशंसा गर्न सक्थे। पत्रुसले आफूलाई पनि चिनेका थिए र उनले हृदयमा प्रार्थना गरे, “आज म आफ्नो विवेक प्रयोग गरेर तपाईँको प्रेमको प्रतिदान गर्नुमा र म तपाईँलाई जति प्रेम फर्काउँछु त्यसमा सन्तुष्ट हुनु हुँदैन, किनभने मेरा सोचहरू अत्यन्तै भ्रष्ट छन् र म तपाईँलाई सृष्टिकर्ताका रूपमा देख्न असमर्थ छु। म अझै पनि तपाईँलाई प्रेम गर्न योग्य नभएको हुनाले, मैले आफूसँग भएका सबै कुरा तपाईँलाई अर्पण गर्नैपर्छ र स्वेच्छाले त्यसो गर्नुपर्छ, तपाईँले गरेका सबै कुरा मैले थाहा पाउनैपर्छ र कुनै पनि निर्णय म आफैले गर्नु हुँदैन, मैले तपाईँको प्रेम हेर्नैपर्छ र तपाईँको प्रशंसा गर्न र तपाईँको पवित्र नामको गुणगान गाउन सक्नैपर्छ, ताकि तपाईँले ममार्फत ठूलो महिमा प्राप्त गर्न सक्नुहोओस्। म तपाईँका लागि यस गवाहीमा दृढ रहन इच्छुक छु। हे परमेश्वर! तपाईँको प्रेम अति बहुमूल्य र सुन्दर छ; म कसरी दुष्टको हातमा जिउन इच्छुक हुन सक्छु र? के मलाई तपाईँले बनाउनुभएको होइन र? म कसरी शैतानको सत्ताअन्तर्गत जिउन सक्छु र? म दुष्टको सत्ताअन्तर्गत जिउनुभन्दा बरु आफ्नो सम्पूर्ण सत्त्व तपाईँको सजायमाझ जिओस् भन्ने चाहन्छु। यदि म पखालिन सक्छु र मेरा सबै कुरा तपाईँलाई अर्पण गर्न सक्छु भने, म आफ्नो शरीर र हृदय तपाईँको न्याय र सजायमा अर्पण गर्न इच्छुक छु, किनभने म शैतानलाई घृणा गर्छु र यसको सत्ताअन्तर्गत जिउन अनिच्छुक छु। तपाईँ मेरो न्याय गरेर आफ्नो धर्मी स्वभाव व्यक्त गर्नुहुन्छ; म पूर्ण रूपमा इच्छुक छु र मलाई अलिकति पनि गुनासो छैन। यदि म एक सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्षम हुन्छु भने, म आफ्नो सम्पूर्ण जीवनमा तपाईँको न्याय होस् अनि यसरी मैले तपाईँको धर्मी स्वभावलाई चिन्न सकूँ र आफूलाई दुष्टको प्रभावबाट मुक्त गर्न सकूँ भन्ने चाहन्छु।” पत्रुस सधैँ यसरी नै प्रार्थना गर्थे, सधैँ यसरी खोजी गर्थे र उनी तुलनात्मक रूपले उच्च स्तरमा पुगे। उनले परमेश्वरको प्रेमको प्रतिदान गर्न सकेका मात्र होइनन्, अझ महत्त्वपूर्ण कुरा, उनले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पनि पूरा गरे। उनलाई आफ्नो विवेकले नघोचेको मात्रै होइन, उनी विवेकका मानकहरूलाई उछिन्न पनि सक्षम भए। उनका प्रार्थनाहरू निरन्तर परमेश्वरसम्म पुगिरहे, जसले गर्दा उनका सङ्कल्पहरू अझै ठूला बन्दै गए र उनीसँग परमेश्वरलाई प्रेम गर्ने हृदय झन्-झन् बढ्दै गयो। उनले पीडादायी कष्ट भोगे पनि, अझै परमेश्वरलाई प्रेम गर्न बिर्सेनन् र अझै पनि परमेश्वरका अभिप्रायहरू बुझ्ने सामर्थ्य हासिल गर्न खोजे। उनले आफ्ना प्रार्थनाहरूमा निम्न शब्दहरू उच्चारण गरे: “मैले तपाईँको प्रेमको प्रतिदान गर्नेभन्दा बढी केही पनि हासिल गरेको छैनँ। मैले शैतानको अगाडि तपाईँका लागि साक्षी दिएको छैनँ, आफूलाई शैतानको प्रभावबाट मुक्त गरेको छैनँ र म अझै पनि देहमाझ जिउँछु। मलाई आफ्नो प्रेम प्रयोग गरेर शैतानलाई पराजित गर्ने, त्यसलाई लज्जित पार्ने र यसरी तपाईँका अभिप्रायहरू पूरा गर्ने इच्छा छ। मलाई आफ्नो सम्पूर्णता तपाईँलाई दिने, आफ्नो अलिकति पनि भाग शैतानलाई नदिने इच्छा छ, किनभने शैतान तपाईँको शत्रु हो।” उनले जति बढी यस दिशामा खोजी गरे, उनी त्यति नै बढी प्रभावित भए र यी मामिलाहरूबारे उनको ज्ञान त्यति नै बढ्दै गयो। थाहै नपाई, उनले आफू शैतानको प्रभावबाट मुक्त हुनुपर्छ र आफूलाई पूर्ण रूपमा परमेश्वरलाई दिनुपर्छ भन्ने थाहा पाए। उनी यस्तो स्तरमा पुगेका थिए। उनले शैतानको प्रभावलाई उछिनिहेका थिए अनि आफूलाई देहका आनन्द र रुचिहरूबाट मुक्त गरिरहेका थिए, अनि उनी परमेश्वरको सजाय र उहाँको न्याय दुवैको अझ गहन रूपमा अनुभव गर्न इच्छुक थिए। उनले भने, “म तपाईँको सजायमाझ र तपाईँको न्यायमाझ जिए पनि, त्यो जतिसुकै पीडादायी भए पनि, म अझै शैतानको सत्तामा जिउन अनिच्छुक छु, म शैतानद्वारा मूर्ख बनाइने जीवन जिउन अनिच्छुक छु। म तपाईँका श्रापहरूमाझ जिउनुलाई सुख ठान्छु र शैतानका आशिष्हरूमाझ जिउनुलाई पीडा ठान्छु। तपाईँको न्यायमाझ जिउँदा म तपाईँलाई प्रेम गर्छु र यसले गर्दा मेरो हृदयमा ठूलो आनन्द छाउँछ। तपाईँका सजाय र न्याय धार्मिकता र पवित्रता हुन्; यो मलाई धुनका लागि हो र त्योभन्दा पनि बढी, यो मलाई मुक्ति दिनका लागि हो। म एक क्षण पनि शैतानको शक्तिअन्तर्गत जिउनुभन्दा बरु आफ्नो सम्पूर्ण जीवन तपाईँको न्यायमा बिताउन र तपाईँको हेरचाह पाउन चाहन्छु। म तपाईँबाट धोइन चाहन्छु; कष्ट नै भोग्नु परे पनि, म शैतानद्वारा शोषित हुन र मूर्ख बनाइन अनिच्छुक छु। म, यो सृजित प्राणी, तपाईँद्वारा प्रयोग गरिनुपर्छ, तपाईँको स्वामित्वमा राखिनुपर्छ; मलाई तपाईँद्वारा न्याय पनि गरिनुपर्छ, र तपाईँद्वारा सजाय पनि दिइनुपर्छ, तपाईँद्वारा श्राप समेत दिइनुपर्छ। जब तपाईँ मलाई आशिष् दिन इच्छुक हुनुहुन्छ तब मेरो हृदय हर्षित हुन्छ, किनभने मैले तपाईँको प्रेम देखेको छु। तपाईँ सृष्टिकर्ता हुनुहुन्छ, र म एक सृजित प्राणी हुँ: मैले तपाईँलाई धोका दिनु र शैतानको सत्ताअन्तर्गत जिउनु हुँदैन, न त म शैतानद्वारा शोषित नै हुन मिल्छ। म शैतानका लागि जिउनुको साटो तपाईँको घोडा, वा गोरु हुनुपर्छ। म बरु दैहिक आनन्दविना, तपाईँको सजायमाझ जिउन चाहन्छु, र मैले तपाईँको अनुग्रह गुमाउनुपरे पनि यसले मलाई आनन्द दिनेछ। तपाईँको अनुग्रह मसँग नहुने भए पनि, म तपाईँको सजाय र तपाईँको न्यायबाट आनन्द प्राप्त गरिरहेको नै हुनेथिएँ। यो तपाईँको सर्वोत्तम आशिष् हो, तपाईँको सबैभन्दा ठूलो अनुग्रह हो। हुन तपाईँ मप्रति सधैँ प्रतापी र क्रोधित हुनुहुन्छ, तर म अझै पनि तपाईँलाई छोडेर जान असमर्थ छु, र म अझै पनि तपाईँलाई पर्याप्त प्रेम गर्न सक्दिनँ। म बरु तपाईँको घरमा जिउन रुचाउँछु, म तपाईँको श्राप, सजाय, र प्रहार भोग्न रुचाउँछु, तर शैतानको सत्ताअन्तर्गत जिउन, वा देहका लागि मात्र दौडधुप गर्न र आफूलाई व्यस्त राख्न चाहन्नँ, देहका लागि जिउन त झनै चाहन्नँ।” पत्रुसको प्रेम एउटा शुद्ध प्रेम थियो। यो नै सिद्ध पारिनुको अनुभव हो, र सिद्ध पारिने उच्चतम स्तर हो; योभन्दा अर्थपूर्ण जीवन अरू कुनै छैन। उनले परमेश्वरको सजाय र न्याय स्वीकार गरे, उनले परमेश्वरको धर्मी स्वभावलाई बहुमूल्य ठाने, र पत्रुसको योभन्दा बहुमूल्य कुरा अरू केही थिएन। उनले भने, “शैतानले मलाई भौतिक आनन्दहरू दिन्छ, तर म तिनलाई बहुमूल्य ठान्दिनँ। परमेश्वरका सजाय र न्याय ममाथि आउँछन्—म यसलाई अनुग्रहका रूपमा, आनन्दको स्रोतका रूपमा, र आशिष्का रूपमा लिन्छु। यदि परमेश्वरको न्याय नभएको भए म परमेश्वरलाई कहिल्यै प्रेम गर्ने थिइनँ, म अझै पनि शैतानको सत्ताअन्तर्गत जिउने थिएँ, र अझै पनि शैतानको नियन्त्रणमा र यसको पकडमा हुने थिएँ। यदि त्यस्तो भएको भए, म कहिल्यै पनि साँचो मानव बन्ने थिइनँ, किनभने म परमेश्वरलाई सन्तुष्ट पार्न असमर्थ हुने थिएँ, र परमेश्वरलाई मेरो सम्पूर्णता अर्पण गर्न सक्षम हुने थिइनँ। परमेश्वरले मलाई आशिष् नदिनुभए पनि, मभित्र आगो बलिरहेको जस्तो भित्री सान्त्वनाविना, र कुनै शान्ति वा आनन्दविना मलाई छोड्नुभए पनि, साथै परमेश्वरको सजाय र ताडना मबाट कहिल्यै अलग नभए पनि, परमेश्वरको सजाय र न्यायमा म उहाँको धर्मी स्वभाव देख्न सक्षम छु। म यसमा रमाउँछु; जीवनमा योभन्दा मूल्यवान् वा अर्थपूर्ण कुरा अरू कुनै छैन। उहाँको सुरक्षा र हेरचाह निर्मम सजाय, न्याय, श्राप, र प्रहारमा परिणत भएका भए पनि, म यी कुराहरूमा अझै पनि आनन्द लिन्छु, किनभने तिनले मलाई अझ राम्ररी पखाल्न र परिवर्तन गर्न सक्छन्, मलाई परमेश्वरको अझ नजिक ल्याउन सक्छन्, मलाई परमेश्वरलाई प्रेम गर्न अझ बढी सक्षम बनाउन सक्छन्, र परमेश्वरप्रतिको मेरो प्रेमलाई अझ शुद्ध बनाउन सक्छन्। यसले मलाई एउटा सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्षम बनाउँछ, र मलाई परमेश्वरसमक्ष र शैतानको प्रभावबाट टाढा लैजान्छ, र मलाई आइन्दा शैतानको सेवा नगर्ने अवस्थामा पुर्याउँछ। जब म शैतानको सत्ताअन्तर्गत जिउँदिनँ, र म आफूसित नराखी आफूसँग भएको सबै कुरा र आफूले गर्न सक्ने सबै कुरा परमेश्वरलाई अर्पण गर्न सक्षम हुन्छु—त्यसैबेला म पूर्ण रूपमा सन्तुष्ट हुन्छु। परमेश्वरका सजाय र न्यायले नै मलाई मुक्ति दिएका छन्, र मेरो जीवन परमेश्वरको सजाय र न्यायबाट अविभाज्य छ। मेरो लागि, पृथ्वीमा जिउनु र शैतानको सत्ताअन्तर्गत जिउनु भनेको एउटै हो, र यदि परमेश्वरको सजाय र न्यायको हेरचाह र सुरक्षा नभएका भए, म सधैँ शैतानको सत्ताअन्तर्गत जिउने थिएँ, र, त्योभन्दा पनि बढी, मसँग अर्थपूर्ण जीवन जिउने अवसर वा उपाय हुने थिएन। जब परमेश्वरका सजाय र न्यायले मलाई कहिल्यै छोड्दैनन्, र मलाई निरन्तर परमेश्वरद्वारा पखालिन सक्षम बनाउँछन्, साथै परमेश्वरका कठोर वचनहरू, धर्मी स्वभाव, र प्रतापी न्याय मसँग हुन्छन्, तब मात्र म अधिकतम सुरक्षा प्राप्त गर्छु, ज्योतिमा जिउन थाल्छु, र परमेश्वरका आशिष्हरू प्राप्त गर्छु। पखालिन, र आफूलाई शैतानबाट मुक्त गर्न, र परमेश्वरको प्रभुत्वअन्तर्गत जिउन पाउनु—यो नै मेरो जीवनको सबैभन्दा ठूलो आशिष् हो।” पत्रुसले आफ्ना अनुभवहरूमा हासिल गरेको सबैभन्दा ठूलो उचाइ यही हो।
सिद्ध पारिएपछि मानिसले हासिल गर्नुपर्ने स्थिति यही हो। यदि तँ यति पनि हासिल गर्न सक्दैनस् भने, तँ अर्थपूर्ण जीवन जिउन सक्दैनस्। मानिस देहमाझ जिउँछ, अर्थात् ऊ मानव नरकमा जिउँछ, र परमेश्वरको न्याय र सजायबिना मानिस शैतानजत्तिकै फोहोरी छ। मानिस कसरी पवित्र हुन सक्थ्यो र? पत्रुस यस्तो विश्वास गर्थ्यो: परमेश्वरद्वारा गरिने सजाय र न्याय नै मानिसको सर्वोत्तम सुरक्षा र सबैभन्दा ठूलो अनुग्रह हो। परमेश्वरको सजाय र न्यायमार्फत मात्रै मानिस बिउँझन सक्छ र देहलाई घृणा गर्न, शैतानलाई घृणा गर्न सक्छ। परमेश्वरको कठोर अनुशासनले मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्छ, उसलाई उसको आफ्नै सानो संसारबाट मुक्त गर्छ र उसलाई परमेश्वरको मुहारको ज्योतिमा जिउन सक्षम बनाउँछ। सजाय र न्यायभन्दा उत्तम मुक्ति कुनै छैन। पत्रुसले यसो भन्दै प्रार्थना गरे, “परमेश्वर! तपाईँले मलाई सजाय दिनुभएसम्म र न्याय गर्नुभएसम्म, तपाईँले मलाई छोड्नुभएको छैन भनी मैले थाहा पाउनेछु। तपाईँले मलाई आनन्द वा शान्ति नदिनुभए पनि, मलाई कष्टमा जिउन लगाउनुभए पनि र ममाथि अनगिन्ती ताडना दिनुभए पनि, तपाईँले मलाई नछोड्नुभएसम्म मेरो हृदय ढुक्क हुनेछ। आज तपाईँको सजाय र न्याय मेरो सर्वोत्तम सुरक्षा र मेरो सबैभन्दा ठूलो आशिष् बनेका छन्। तपाईँले दिने अनुग्रहले मलाई सुरक्षा दिन्छ। आज तपाईँ ममाथि अनुग्रह बर्साउनुहुन्छ र यो अनुग्रह तपाईँको धर्मी स्वभावको प्रकटीकरण हो, र सजाय र न्याय हो; त्यसभन्दा पनि बढी, यो एउटा परीक्षा हो, र कष्टको जीवन हो।” पत्रुसले आफ्नो देहका सुखचैनहरू त्याग्न र झनै गहन प्रेम र झनै ठूलो सुरक्षाको खोजी गर्न सके, किनभने उनले परमेश्वरको सजाय र न्यायबाट अत्यन्तै धेरै अनुग्रह प्राप्त गरेका थिए। यदि मानिस आफ्नो जीवनमा पखालिन र आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्वरको सजाय र न्याय स्वीकार गर्नैपर्छ, र आफूबाट परमेश्वरको अनुशासन र परमेश्वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट मुक्त गर्न सकोस् र ऊ परमेश्वरको ज्योतिमा जिउन सकोस्। परमेश्वरको सजाय र न्याय नै ज्योति हो, र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसका लागि योभन्दा राम्रो आशिष्, र योभन्दा ठूलो अनुग्रह वा सुरक्षा छैन भन्ने कुरा जान। मानिस शैतानको प्रभावमा जिउँछ, र देहमा अस्तित्वमा छ; यदि उसलाई पखालिँदैन र उसले परमेश्वरको सुरक्षा प्राप्त गर्दैन भने, मानिस अझै पतित बन्नेछ। यदि ऊ परमेश्वरलाई प्रेम गर्न चाहन्छ भने, उसलाई पखालिनैपर्छ र मुक्ति दिइनैपर्छ। पत्रुस प्रार्थना गर्थे, “परमेश्वर, तपाईँले मसँग दयालु व्यवहार गर्नुहुँदा म प्रसन्न हुन्छु, र सान्त्वना अनुभूति गर्छु; जब तपाईँ मलाई सजाय दिनुहुन्छ, म अझै बढी सान्त्वना र आनन्द महसुस गर्छु। म कमजोर भए पनि र मैले अवर्णनीय कष्ट सहेको भए पनि, मसँग आँसु र दुःख भए पनि, तपाईँलाई यो दुःख मेरो विद्रोहीपनका कारण र मेरो कमजोरीका कारण हो भन्ने थाहा छ। म रुन्छु किनभने म तपाईँका अभिप्रायहरू पूरा गर्न सक्दिनँ, म दुःख र पछुतो महसुस गर्छु किनभने म तपाईँका मागहरूका लागि अपर्याप्त छु, तर म यस तहमा पुग्न इच्छुक छु, म तपाईँलाई सन्तुष्ट पार्नका लागि आफूले सक्ने सबै गर्न इच्छुक छु। तपाईँको सजायले मेरो सुरक्षा र मेरा लागि सर्वोत्तम मुक्तिका रूपमा काम गरेको छ; तपाईँको न्यायले तपाईँको सहनशीलता र धैर्यतालाई उछिन्छ। तपाईँको सजाय र न्यायविना, मैले तपाईँको कृपा र प्रेमिलो-दयालुपनको आनन्द उठाउने थिइनँ। म आज तपाईँको प्रेमले स्वर्गहरूलाई पार गरेको र अरू सबै थोकभन्दा उत्कृष्ट भएको अझै बढी देख्छु। तपाईँको प्रेम त कृपा र प्रेमिलो-दयालुपन मात्रै होइन; त्योभन्दा पनि बढी, यो सजाय र न्याय हो। मैले तपाईँको सजाय र न्यायबाट एकदमै धेरै प्राप्त गरेको छु। तपाईँको सजाय र न्यायविना, एक जना पनि पखालिने थिएन र एक जनाले पनि सृष्टिकर्ताको प्रेम अनुभव गर्ने थिएन। मैले सयौँ परीक्षा र सङ्कष्ट सहेको र म बल्लतल्ल मृत्युबाट जोगिएको समेत भए पनि, तिनले मलाई साँचो रूपमा तपाईँलाई चिन्न र विशाल मुक्ति प्राप्त गर्न दिएका छन्। यदि तपाईँको सजाय, न्याय र अनुशासनले मलाई छोडेका भए, म शैतानको सत्ताअन्तर्गत अन्धकारमा जिउनेथिएँ। मानिसको देहसँग के-कस्ता लाभहरू छन् र? यदि तपाईँको सजाय र न्यायले मलाई छोडेका भए, यो त तपाईँको आत्माले मलाई त्याग्नुभएको जस्तो हुनेथ्यो, तपाईँ मसँग त्यसउप्रान्त नहुनुभएजस्तो हुनेथ्यो। त्यस्तो भएको भए, म कसरी जिइरहन सक्नेथिएँ र? तपाईँले मलाई रोग दिनुभयो र मेरो स्वतन्त्रता लैजानुभयो, म जिइरहन सकेँ, तर तपाईँको सजाय र न्यायले मलाई कहिल्यै छोडेर गएमा, मसँग जिइरहने कुनै उपाय हुनेछैन। यदि म तपाईँको सजाय र न्यायरहित भएको भए, मैले तपाईँको प्रेम गुमाएको हुनेथिएँ। तपाईँको प्रेम यति गहन छ कि म त्यसलाई शब्दमा बयान गर्नै सक्दिनँ। तपाईँको प्रेमबिना, म शैतानको सत्ताअन्तर्गत जिउनेथिएँ, र तपाईँको महिमामयी मुहार देख्न असमर्थ हुनेथिएँ। म कसरी जिइरहन सक्ने थिएँ र? मलाई त्यस्तो अन्धकार, त्यस्तो जीवनमा अघि बढ्न गाह्रो हुनेथियो। तपाईँ मसँग हुनु भनेको तपाईँलाई देख्नुजस्तै हो, त्यसकारण म तपाईँलाई कसरी छोड्न सक्छु र? म तपाईँलाई पूर्ण निष्कपटताका साथ याचना गर्छु, म मेरो सबैभन्दा ठूलो सान्त्वना मबाट नलैजानुहोस् भनी बिन्ती गर्छु, चाहे यो तपाईँका सान्त्वनादायी शब्दहरूको छिटा नै किन नहोस्। मैले तपाईँको प्रेमको आनन्द उठाएको छु र आज म तपाईँबाट टाढा हुन सक्दिनँ; म तपाईँलाई प्रेम नगर्न कसरी पो सक्छु र? तपाईँको प्रेमका कारण मैले शोकका धेरै आँसु बगाएको छु, तैपनि मैले सधैँ यस्तो जीवन अझै बढी अर्थपूर्ण छ, यसले मलाई समृद्ध पार्न अझै बढी सक्छ, मलाई परिवर्तन गर्न अझै बढी सक्छ, र सृजित प्राणीहरूसँग हुनुपर्ने सत्यता हासिल गर्न सक्षम बनाउन अझै बढी सक्छ भन्ने अनुभूति गरेको छु।”
मानिसको सम्पूर्ण जीवन शैतानको सत्ताअन्तर्गत बित्छ, र त्यस्तो व्यक्ति एक जना पनि छैन जसले आफ्नै बलमा आफूलाई शैतानको प्रभावबाट मुक्त गर्न सकोस्। सबै जना फोहोरी संसारमा, भ्रष्टता र शून्यतामा, अलिकति पनि अर्थ वा मूल्यविना जिउँछन्; तिनीहरू देहका लागि, वासनाका लागि, र शैतानका लागि यस्तो निस्फिक्री जीवन जिउँछन्। तिनीहरूको अस्तित्वको अलिकति पनि मूल्य छैन। मानिस आफूलाई शैतानको प्रभावबाट मुक्त गर्ने सत्यता भेट्टाउन असक्षम छ। मानिसले परमेश्वरमा विश्वास गर्ने र बाइबल पढ्ने भए पनि, ऊ आफूलाई शैतानको प्रभावको नियन्त्रणबाट कसरी मुक्त गर्ने भन्ने कुरा बुझ्दैन। युगौँयुगभरि, निकै कम मानिसले मात्रै यो रहस्य पत्ता लगाएका छन्, निकै कमले मात्रै यसलाई बोध गरेका छन्। त्यसैले, मानिसले शैतानलाई तिरस्कार गरे पनि, र देहलाई तिरस्कार गरे पनि, उसलाई आफूलाई शैतानको हानिकारक प्रभावबाट कसरी मुक्त गर्ने भन्ने थाहा छैन। आज, के तिमीहरू अझै पनि शैतानको सत्ताअन्तर्गत छैनौ र? तिमीहरू आफ्ना विद्रोही कार्यहरूमा पछुतो गर्दैनौ, र तिमीहरू आफू फोहोरी र विद्रोही भएको त झनै महसुस गर्दैनौ। परमेश्वरको विरोध गरेपछि, तिमीहरूलाई मनको शान्ति समेत हुन्छ र तिमीहरू ठूलो प्रशान्ति महसुस गर्छौ। के तेरो प्रशान्ति तँ भ्रष्ट भएको कारणले होइन र? के यो प्रशान्तिको बोध तेरो विद्रोहीपनबाट आउँदैन र? मानिस एउटा मानव नरकमा जिउँछ, ऊ शैतानको अन्धकारको प्रभावअन्तर्गत जिउँछ; भूमिभरि, भूतहरू मानिससँगै जिउँछन्, मानिसको देहलाई अतिक्रमण गर्छन्। पृथ्वीमा, तँ एउटा सुन्दर स्वर्गमा जिउँदैनस्। तँ जहाँ छस् त्यो ठाउँ दियाबलसहरूको क्षेत्र, एउटा मानव नरक, एउटा पाताल लोक हो। यदि मानिसलाई पखालिएन भने, ऊ फोहोरको हुन्छ; यदि उसलाई परमेश्वरद्वारा सुरक्षा र हेरचाह गरिएन भने, ऊ अझै पनि शैतानको बन्दी हुन्छ; यदि उसको न्याय गरिएन र उसलाई सजाय दिइएन भने, ऊ शैतानको कालो प्रभावको दमनबाट उम्कन झनै असक्षम हुन्छ। तँ अझै पनि शैतानको सत्ताअन्तर्गत जिइरहेको छस् भन्ने प्रमाणित गर्न तैँले प्रकट गर्ने भ्रष्ट स्वभाव र तैँले जिउने विद्रोही व्यवहार पर्याप्त छन्। यदि तेरो मन र तेरा विचारहरू पखालिएका छैनन्, र तेरो स्वभावलाई न्याय गरिएको र सजाय दिइएको छैन भने, तेरो सम्पूर्ण सत्त्व अझै पनि शैतानको शक्तिको पकडमा हुन्छ, तेरो मन शैतानद्वारा नियन्त्रित हुन्छ, तेरा विचारहरू शैतानद्वारा खेलाइन्छन्, र तेरो सम्पूर्ण सत्त्व शैतानको हातमा हुन्छ। अहिले तँ पत्रुसका मानकहरूबाट कति टाढा छस्, तँलाई थाहा छ? के तँसँग त्यो क्षमता छ? आजको न्याय र सजायका बारेमा तँलाई कति थाहा छ? पत्रुसले थाहा पाएको कुरा तैँले कति थाहा पाएको छस्? यदि, आज, तँ थाहा पाउन सक्ने अवस्थामा छैनस् भने, के तैँले भविष्यमा यो ज्ञान हासिल गर्न सक्नेछस्? तँजस्तो अल्छी र कायर व्यक्ति सजाय र न्याय जान्न कदापि सक्षम हुँदैन। यदि तैँले देहको शान्ति, र देहका आनन्दहरू पछ्याइस् भने, तँ कुनै पनि हालतमा शुद्ध पारिनेछैनस्, र अन्तमा तँ शैतानलाई दिइनेछस्, किनभने तैँले जिउने कुरा शैतान हो, र त्यो देह हो। आजको अवस्था हेर्दा, धेरै मानिस जीवनलाई पटक्कै पछ्याउँदैनन्, जसको अर्थ तिनीहरू पखालिने बारेमा, वा अझ गहिरो जीवन अनुभवमा प्रवेश गर्ने बारेमा वास्ता गर्दैनन्। त्यसो हो भने, तिनीहरू कसरी सिद्ध पारिन सक्छन्? जो जीवन पछ्याउँदैनन् तिनीहरूले सिद्ध पारिने कुनै अवसर पाउँदैनन्, र जो परमेश्वरको ज्ञान पछ्याउँदैनन्, जो आफ्नो स्वभावमा परिवर्तन पछ्याउँदैनन्, तिनीहरू शैतानको कालो प्रभावबाट उम्कन असक्षम हुन्छन्। तिनीहरू ठ्याक्कै धर्ममा विश्वास गर्ने, केवल अनुष्ठानहरू पालना गर्ने र सेवाहरूमा सहभागी हुने मानिस जस्तै, परमेश्वरसम्बन्धी आफ्नो ज्ञानबारे र आफ्नो स्वभावमा हुने परिवर्तनहरूमा आफ्नो प्रवेशबारे गम्भीर हुँदैनन्। के त्यो व्यर्थ होइन र? परमेश्वरमा विश्वास गर्दा, यदि मानिस जीवनका मामलाहरूबारे गम्भीर हुँदैन, सत्यतामा प्रवेश पछ्याउँदैन, आफ्नो स्वभावमा परिवर्तनहरू पछ्याउँदैन, परमेश्वरको कामसम्बन्धी ज्ञान त झनै पछ्याउँदैन भने, ऊ सिद्ध पारिन सक्दैन। यदि तँलाई सिद्ध पारिने इच्छा छ भने, तैँले परमेश्वरको काम बुझ्नैपर्छ। विशेष गरी, तैँले उहाँको सजाय र न्यायको महत्त्व, र यो काम मानिसमाथि गरिनुको कारण बुझ्नैपर्छ। के तँ यो काम स्वीकार गर्न सक्षम छस्? यस्तो प्रकारको सजायको दौरान, के तँ पत्रुसको जस्तै अनुभव र ज्ञान हासिल गर्न सक्षम हुन्छस्? यदि तँ परमेश्वरको र पवित्र आत्माको कामको ज्ञान पछ्याउँछस् भने, र यदि तँ आफ्नो स्वभावमा आउने परिवर्तनहरू पछ्याउँछस् भने, तैँले सिद्ध पारिने अवसर पाउँछस्।
सिद्ध पारिनेहरूका लागि, विजय गरिने कामको यो चरण अपरिहार्य छ; मानिस विजय गरिएपछि मात्रै उसले सिद्ध पारिने कामको अनुभव गर्न सक्छ। विजय गरिने भूमिका मात्रै निर्वाह गर्नुको कुनै ठूलो मूल्य हुँदैन, र यसले तँलाई परमेश्वरले प्रयोग गर्न योग्य बनाउनेछैन। सुसमाचार फैलिँदा तैँले कुनै हालतमा आफ्नो भूमिका निर्वाह गर्नेछैनस्, किनभने तँ जीवन पछ्याउँदैनस्, र आफैमा परिवर्तन र नवीकरण पछ्याउँदैनस्, त्यसकारण तँसँग कुनै व्यावहारिक जीवन अनुभव छैन। यस चरणबद्ध कामको दौरान, तैँले एक पटक सेवाकर्ता र प्रतिभारको रूपमा काम गरिस्, तर यदि अन्ततः तँ पत्रुस बन्न पछ्याउँदैनस्, र तेरो पछ्याइ पत्रुसलाई जुन मार्गद्वारा सिद्ध पारियो त्यसअनुसार छैन भने, स्वाभाविक रूपमा, तैँले आफ्नो स्वभावमा परिवर्तनहरू अनुभव गर्नेछैनस्। यदि तँ सिद्ध पारिनुलाई पछ्याउने व्यक्ति होस् भने, तैँले साक्षी दिएको हुनेछस्, र तँ यसो भन्नेछस्, “परमेश्वरको यस चरणबद्ध काममा, मैले परमेश्वरको सजाय र न्यायको कामलाई स्वीकार गरेको छु, र मैले ठूलो दुःख सहेको भए पनि, परमेश्वरले मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ भन्ने कुरा मैले जानेको छु, मैले परमेश्वरद्वारा गरिएको काम प्राप्त गरेको छु, मलाई परमेश्वरको धार्मिकताको ज्ञान भएको छ, र उहाँको सजायले मलाई मुक्ति दिएको छ। उहाँको धर्मी स्वभाव ममाथि आएको छ र यसले मलाई आशिष् र अनुग्रह ल्याइदिएको छ; उहाँको न्याय र सजायले नै मलाई सुरक्षा दिएको छ र मेरो शुद्धिकरण गरेको छ। यदि मलाई परमेश्वरद्वारा सजाय र न्याय नगरिएको भए, र यदि परमेश्वरका कठोर वचनहरू ममाथि नआएका भए, मैले परमेश्वरलाई चिन्न सक्नेथिइनँ, न त मैले मुक्ति नै पाउन सक्नेथिएँ। आज म देख्छु: एक सृजित प्राणीका रूपमा, व्यक्तिले सृष्टिकर्ताद्वारा बनाइएका यावत् थोकको आनन्द लिने मात्र होइन, अझ महत्त्वपूर्ण कुरा, सबै सृजित प्राणीले परमेश्वरको धर्मी स्वभाव र उहाँको धर्मी न्यायको आनन्द लिनुपर्छ, किनभने परमेश्वरको स्वभाव मानिसले आनन्द लिन लायक छ। शैतानद्वारा भ्रष्ट तुल्याइएको सृजित प्राणीका रूपमा, व्यक्तिले परमेश्वरको धर्मी स्वभावको आनन्द लिनुपर्छ। उहाँको धर्मी स्वभावमा सजाय र न्याय छ, र अझ बढी, त्यसमा महान् प्रेम छ। आज म परमेश्वरको प्रेम पूर्ण रूपमा प्राप्त गर्न असक्षम भए पनि, मैले यसलाई देख्ने सौभाग्य पाएको छु, र यसमा म आशिषित् भएको छु।” सिद्ध पारिनुको अनुभव गर्नेहरूद्वारा हिँडिने मार्ग यही हो, र तिनीहरू यही ज्ञानबारे बोल्छन्। त्यस्ता मानिसहरू पत्रुस जस्तै हुन्; तिनीहरूका अनुभवहरू पत्रुसका जस्तै हुन्छन्। त्यस्ता मानिसहरू जीवन प्राप्त गरेका, सत्यता भएका मानिस पनि हुन्। जब तिनीहरू अन्त्यसम्मै अनुभव गर्छन्, तब तिनीहरूले परमेश्वरको न्यायको बीचमा आफूलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गर्न सक्नेछन्, र तिनीहरू परमेश्वरद्वारा प्राप्त गरिनेछन्।
मानिसहरू विजय गरिएपछि, तिनीहरूसँग कुनै जोरदार गवाही हुँदैन। तिनीहरूले शैतानलाई लज्जित मात्रै पारेका हुन्छन्, तर परमेश्वरका वचनहरूको वास्तविकता जिएका हुँदैनन्। तैँले दोस्रो मुक्तिको अनुग्रह पाएको छैनस्; तैँले केवल एउटा पापबलि प्राप्त गरेको छस्, तैपनि तँ सिद्ध पारिएको छैनस्—यो ठूलो घाटा हो। तिमीहरूले आफू केमा प्रवेश गर्नुपर्छ, र आफूले के जिउनुपर्छ भन्ने कुरा बुझ्नैपर्छ, र तिमीहरू ती कुरामा प्रवेश गर्नैपर्छ। अन्त्यमा, यदि तँ सिद्ध पारिन सफल भइनस् भने, तँ साँचो मानव हुनेछैनस्, र तँ पछुतोले भरिनेछस्। सुरुमा परमेश्वरद्वारा सृष्टि गरिएका आदम र हव्वा शुद्ध मानिस थिए, भन्नुको मतलब, अदनको बगैँचामा हुँदा तिनीहरू शुद्ध थिए, फोहोर नमिसिएका थिए। तिनीहरू यहोवाप्रति बफादार पनि थिए, र यहोवालाई विश्वासघात गर्ने बारेमा तिनीहरूलाई केही पनि थाहा थिएन। किनभने तिनीहरू शैतानको प्रभावबाट अबाधित थिए र तिनीहरू शैतानको विषरहित थिए। तिनीहरू सारा मानवजातिमध्ये सबैभन्दा शुद्ध थिए। तिनीहरू अदनको बगैँचामा, कुनै पनि फोहोरले अशुद्ध नभई, देहको अधीनमा नपरी, र यहोवाको डरमा जिउँथे। पछि, तिनीहरू शैतानद्वारा प्रलोभनमा पारिँदा, तिनीहरूमा सर्पको विष, र यहोवालाई विश्वासघात गर्ने चाहना आयो, र तिनीहरू शैतानको प्रभावअन्तर्गत जिए। सुरुमा, तिनीहरू शुद्ध थिए र यहोवाको डर मान्थे; यो स्थितिमा मात्रै तिनीहरू मानव थिए। पछि, तिनीहरू शैतानद्वारा प्रलोभनमा पारिएपछि, तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाए, र तिनीहरू शैतानको प्रभावअन्तर्गत जिए। तिनीहरू बिस्तारै शैतानद्वारा भ्रष्ट तुल्याइए, र तिनीहरूले मानिसको सुरुको स्वरूप गुमाए। सुरुमा, मानिसमा यहोवाको सास थियो, ऊ अलिकति पनि विद्रोही थिएन, र उसको हृदयमा कुनै दुष्टता थिएन। त्यस बेला, मानिस साँच्चिकै मानव थियो। शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, मानिस पशु बन्यो। उसका विचारहरू, दुष्टता र फोहोरले भरिएका थिए, जसमा असलपन वा पवित्रता थिएन। के यो शैतान होइन र? तैँले परमेश्वरको धेरै काम अनुभव गरेको छस्, तैपनि तँ परिवर्तन भएको वा शुद्ध पारिएको छैनस्। तँ अझै पनि शैतानको सत्ताअन्तर्गत जिउँछस्, र अझै पनि परमेश्वरप्रति समर्पित हुँदैनस्। यो त्यस्तो व्यक्ति हो जो विजय मात्रै गरिएको छ तर सिद्ध पारिएको छैन। अनि त्यस्तो व्यक्ति सिद्ध पारिएको छैन भनेर किन भनिन्छ? किनभने यो व्यक्तिले जीवन वा परमेश्वरको कामसम्बन्धी ज्ञान पछ्याउँदैन, साथै देहको आनन्द र क्षणिक आरामबाहेक केही कुराको लालसा गर्दैन। फलस्वरूप, तिनीहरूको जीवन स्वभावमा कुनै परिवर्तन आउँदैन, र तिनीहरूले परमेश्वरद्वारा सृष्टि गरिएको मानिसको सुरुको स्वरूप पुनः प्राप्त गरेका हुँदैनन्। त्यस्ता मानिसहरू जिउँदा लास हुन्, तिनीहरू आत्मा नभएका मृत मानिस हुन्! जो आत्माका मामलाहरूसम्बन्धी ज्ञान पछ्याउँदैनन्, जो पवित्रीकरण पछ्याउँदैनन्, र जो सत्यता जिउनुलाई पछ्याउँदैनन्, जो नकारात्मक पक्षमा विजय गरिनुमा मात्रै सन्तुष्ट हुन्छन्, साथै जो परमेश्वरका वचनहरूद्वारा जिउन र पवित्र पारिएका मानिस बन्न सक्दैनन्—यिनीहरू मुक्ति नपाएका मानिस हुन्। किनभने, यदि मानिससँग सत्यता छैन भने, ऊ परमेश्वरका परीक्षाहरूको दौरान दृढ रहन असक्षम हुन्छ; जो परमेश्वरका परीक्षाहरूको दौरान दृढ रहन सक्छन् तिनीहरूले मात्र मुक्ति पाएका हुन्छन्। मलाई पत्रुसजस्ता मानिसहरू, सिद्ध पारिनुलाई पछ्याउने मानिसहरू चाहिएको छ। आजको सत्यता यसको तृष्णा र खोजी गर्नेहरूलाई प्रदान गरिन्छ। यो मुक्तिको अनुग्रह तिनीहरूलाई प्रदान गरिन्छ जो परमेश्वरद्वारा मुक्ति दिइयोस् भन्ने तृष्णा गर्छन्। यो मुक्तिको अनुग्रह तिमीहरूले प्राप्त गर्नका लागि मात्रै होइन; यसले तिमीहरूलाई परमेश्वरद्वारा प्राप्त गरिने अवसर पनि दिन्छ—परमेश्वरले तिमीहरूलाई प्राप्त गर्न सक्नुभएको होस् भनेर तिमीहरू परमेश्वरलाई प्राप्त गर्छौ। आज मैले यी वचनहरू तिमीहरूलाई बोलेको छु, र तिमीहरूले ती सुनेका छौ, र तिमीहरूले यी वचनहरूअनुसार अभ्यास गर्नुपर्छ। यदि तिमीहरूले अन्ततः यी वचनहरूलाई व्यवहारमा लागु गर्यौ भने, मैले यी वचनहरूमार्फत तिमीहरूलाई प्राप्त गरेको हुनेछु; साथसाथै, तिमीहरूले पनि यी वचनहरू प्राप्त गरेका हुनेछौ, अर्थात्, तिमीहरूले यो विशाल मुक्तिको अनुग्रह पाएका हुनेछौ। शुद्ध पारिएपछि, तिमीहरू साँचो मानव बनेका हुनेछौ। यदि तँ सत्यता जिउन, वा सिद्ध पारिएको व्यक्तिको स्वरूप जिउन असक्षम छस् भने, तँ मानव होइनस्, जिउँदो लास होस्, पशु होस् भनेर भन्न सकिन्छ, किनभने तँसँग सत्यता नै छैन, अर्थात् तँसँग यहोवाको सास छैन, तसर्थ तँ आत्माविहीन मृत व्यक्ति होस्! विजय गरिएपछि साक्षी दिन सम्भव हुने भए पनि, तैँले अलिकति मुक्तिको अनुग्रह मात्रै पाउँछस्, र तँ आत्मा भएको जीवित प्राणी बनेको छैनस्। तैँले सजाय र न्याय अनुभव गरेको भए पनि, यसको फलस्वरूप तेरो स्वभाव नवीकरण वा परिवर्तन भएको छैन; तँ अझै पनि तेरो पुरानै रूपमा छस्, तँ शैतानको होस्, र तँ पखालिएको व्यक्ति होइनस्। सिद्ध पारिएकाहरूको मात्रै मूल्य हुन्छ, र यस्ता मानिसहरूले मात्रै साँचो जीवन प्राप्त गरेका हुन्छन्। एक दिन, कसैले तँलाई यसो भन्नेछ, “तैँले परमेश्वरको काम अनुभव गरेको छस्, त्यसैले उहाँको काम कस्तो छ भन्नेबारे कुरा गर्। दाऊदले परमेश्वरको काम अनुभव गरे, र यहोवाका कार्यहरू देखे, मोशाले पनि यहोवाका कार्यहरू देखे, र ती दुवैले यहोवाका कार्यहरू वर्णन गर्न सके, र यहोवाको अद्भुतपनका बारेमा बोल्न सके। तिमीहरूले आखिरी दिनहरूका देहधारी परमेश्वरले गर्नुभएको काम देखेका छौ; के तँ उहाँको बुद्धिका बारेमा कुरा गर्न सक्छस्? के तँ उहाँको कामको अद्भुतपनका बारेमा कुरा गर्न सक्छस्? परमेश्वरले तिमीहरूसँग के-कस्ता मागहरू गर्नुभयो, अनि तिमीहरूले तिनलाई कसरी अनुभव गर्यौ? तिमीहरूले आखिरी दिनहरूमा परमेश्वरको काम अनुभव गरेका छौ—तिमीहरूको सबैभन्दा ठूलो दर्शन के हो? के तिमीहरू यसबारे कुरा गर्न सक्छौ? के तिमीहरू परमेश्वरको धर्मी स्वभावका बारेमा कुरा गर्न सक्छौ?” यी प्रश्नहरूको सामना गर्दा तैँले कसरी जवाफ दिनेछस्? यदि तैँले “परमेश्वर अत्यन्तै धर्मी हुनुहुन्छ, उहाँ हामीलाई सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ, र केही पनि बाँकी नराखी हाम्रो खुलासा गर्नुहुन्छ। परमेश्वरको स्वभावले मानिसको उल्लङ्घन साँच्चै नै सहँदैन। परमेश्वरको काम अनुभव गरेपछि, मैले थाहा पाएँ कि हामी त पशु रहेछौँ, र मैले साँच्चै नै परमेश्वरको धर्मी स्वभाव देखेको छु” भनिस् भने, अर्को व्यक्तिले तँलाई फेरि सोध्नेछ, “तँलाई परमेश्वरबारे अरू के थाहा छ? मानिसले कसरी जीवन प्रवेशको अभ्यास गर्छ? के तँसँग कुनै व्यक्तिगत सङ्कल्प छ?” तैँले यस्तो जवाफ दिनेछस्, “शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, सृजित प्राणीहरू पशु बनेका छन्, र गधाभन्दा फरक छैनन्। आज, म परमेश्वरको हातमा जिउँछु, त्यसैले मैले सृष्टिकर्ताका अभिप्रायहरू पूरा गर्नैपर्छ र उहाँ जे सिकाउनुहुन्छ मैले त्यो पालन गर्नैपर्छ। मसँग अरू कुनै विकल्प छैन।” यदि तैँले त्यसरी मोटामोटी कुरा मात्र गरिस् भने, तैँले भनेको कुरा त्यो व्यक्तिले बुझ्नेछैन। तिनीहरूले तँलाई परमेश्वरको कामका बारेमा तँसँग के ज्ञान छ भनेर सोध्दा, तिनीहरूले तेरा व्यक्तिगत अनुभवहरूलाई इङ्गित गरिरहेका हुन्छन्। तिनीहरू परमेश्वरको सजाय र न्याय अनुभव गरेपछि तँसँग त्यसको के-कस्तो ज्ञान छ भनेर सोधपुछ गरिरहेका हुन्छन्, र यसमा तिनीहरू तेरा व्यक्तिगत अनुभवहरूलाई इङ्गित गरिरहेका हुन्छन्, र तँलाई सत्यतासम्बन्धी तेरो ज्ञानका बारेमा बोल्न भनिरहेका हुन्छन्। यदि तँ त्यस्ता कुराहरूका बारेमा बोल्न असक्षम छस् भने, यसले तँलाई आजको कामका बारेमा केही पनि थाहा छैन भन्ने प्रमाणित गर्छ। तँ सधैँ त्यस्ता शब्दहरू बोल्छस् जुन भ्रमपूर्ण छन्, वा जुन सबैलाई थाहा छ; तँसँग कुनै विशिष्ट अनुभव छैन, तेरो ज्ञानमा सार त झनै छैन, र तँसँग कुनै साँचो गवाही पनि छैन, त्यसकारण अरू मानिसहरू तेरो कुरा पत्याउँदैनन्। परमेश्वरको नकारात्मक अनुयायी नबन्, र तँलाई उत्सुक बनाउने कुरा नपछ्या। उदासीन भएर तैँले आफैलाई बरबाद गर्नेछस् र आफ्नो जीवनलाई ढिलाइ गर्नेछस्। तँ यस्तो नकारात्मक र निष्क्रिय स्थितिबाट मुक्त हुनैपर्छ, र सकारात्मक कुराहरू पछ्याउन र आफ्ना कमजोरीहरूलाई जित्न निपुण बन्नैपर्छ, जसले गर्दा तैँले सत्यता प्राप्त गर्न र सत्यता जिउन सक्छस्। तेरा कमजोरीहरूका बारेमा डरलाग्दो कुरा केही पनि छैन, र तेरा कमीकमजोरीहरू तेरो सबैभन्दा ठूलो समस्या होइनन्। तेरो सबैभन्दा ठूलो समस्या, र तेरो सबैभन्दा ठूलो कमीकमजोरी भनेको तँ उदासीन हुनु र तँमा सत्यता खोज्ने चाहना नहुनु हो। तिमीहरू सबैको सबैभन्दा ठूलो समस्या भनेको कायर मानसिकता हो जसद्वारा तिमीहरू जे छ त्यसमै खुसी हुन्छौ, र केवल नकारात्मकतामा पर्खिरहन्छौ। यो तिमीहरूको सबैभन्दा ठूलो बाधा हो, र सत्यता पछ्याइमा तिमीहरूको सबैभन्दा ठूलो शत्रु हो। यदि मैले बोल्ने वचनहरू अत्यन्तै गहन भएकाले मात्रै तँ समर्पित हुन्छस् भने, तँसँग साँच्चिकै ज्ञान छैन, न त तँ सत्यतालाई बहुमूल्य नै ठान्छस्। तेरो जस्तो समर्पण भनेको गवाही होइन, र म त्यस्तो समर्पणलाई अनुमोदन गर्दिनँ। कसैले तँलाई सोध्ला, “तेरो परमेश्वर ठ्याक्कै कहाँबाट आउनुहुन्छ? तेरो यो परमेश्वरको सार के हो?” तैँले जबाफ दिनेछस्, “उहाँको सार भनेको सजाय र न्याय हो।” त्यसपछि उसले फेरि सोध्छ, “के परमेश्वर मानिसप्रति कृपालु र प्रेमी हुनुहुन्न र? के तँलाई यो कुरा थाहा छैन?” तैँले भन्नेछस्, “त्यो अरूको परमेश्वर हो। त्यो धर्मका मानिसहरूले विश्वास गर्ने परमेश्वर हो, त्यो हाम्रो परमेश्वर होइन।” तँजस्ता मानिसहरूले सुसमाचार प्रचार गर्दा, तँ साँचो मार्गलाई विकृत बनाउँछस्, त्यसकारण तेरो के काम छ र? अरूले कसरी तँबाट साँचो मार्ग प्राप्त गर्न सक्छन्? तँसँग सत्यता छैन, र तँ सत्यताका बारेमा केही पनि बोल्न सक्दैनस्, र तँ सत्यता जिउन त झनै सक्दैनस्। तँलाई परमेश्वरसमक्ष जिउन केले योग्य बनाउँछ? जब तँ अरूलाई सुसमाचार प्रचार गर्छस्, र जब तँ सत्यताका बारेमा सङ्गति गर्छस् र परमेश्वरको गवाही दिन्छस्, यदि तैँले तिनीहरूलाई विश्वस्त पार्न सकिनस् भने, तिनीहरूले तेरो कुराको खण्डन गर्नेछन्। के तँ धर्तीको बोझ होइनस् र? तैँले परमेश्वरको यति धेरै काम अनुभव गरेको छस्, तैपनि तैँले सत्यताका बारेमा बोल्दा तँमा प्रस्टता हुँदैन। के तँ निकम्मा होइनस् र? तेरो के काम छ र? तिमीहरूले परमेश्वरको यति धेरै काम अनुभव गरेर पनि उहाँका बारेमा अलिकति पनि ज्ञान नहुन कसरी सम्भव छ? जब तिनीहरूले तँसँग परमेश्वरको साँचो ज्ञान के छ भनेर सोध्छन्, तब तँसँग बोल्ने शब्द नै हुँदैन, अथवा कुनै असान्दर्भिक जवाफ दिन्छस्—परमेश्वर शक्तिशाली हुनुहुन्छ, तैँले प्राप्त गरेका ठूला आशिष्हरू साँच्चै नै परमेश्वरले उच्च पार्नुभएको हो, र परमेश्वरलाई व्यक्तिगत रूपमा देख्न पाउनुभन्दा ठूलो सौभाग्य अरू कुनै छैन भनेर भन्छस्। यसो भन्नुको के महत्त्व छ र? ती काम नलाग्ने, खोक्रा शब्द हुन्! परमेश्वरको यति धेरै काम अनुभव गरेपछि, के तँलाई परमेश्वरले उच्च पार्नु नै सत्यता हो भन्ने मात्रै थाहा छ? तैँले परमेश्वरको काम चिन्नैपर्छ, अनि त्यसपछि मात्रै तँसँग साँचो गवाहीहरू हुनेछन्। जसले सत्यता नै प्राप्त गरेका छैनन् तिनीहरूले कसरी परमेश्वरको गवाही दिन सक्छन्?
यदि यति धेरै काम, र यति धेरै वचनले तँमाथि कुनै प्रभाव पारेका छैनन् भने, परमेश्वरको काम फैलाउने समय आउँदा तँ आफ्नो कर्तव्य निर्वाह गर्न असक्षम हुनेछस्, र तँ लज्जित र अपमानित हुनेछस्। त्यस बेला, तँलाई आफू परमेश्वरप्रति ज्यादै ऋणी भएको, र परमेश्वरसम्बन्धी तेरो ज्ञान अत्यन्तै सतही भएको महसुस हुनेछ। यदि आज, उहाँले काम गरिरहनुभएको बेला, तैँले परमेश्वरको ज्ञान पछ्याइनस् भने, पछि धेरै ढिला हुनेछ। अन्त्यमा, तँसँग बोल्नका लागि कुनै ज्ञान हुनेछैन—तँ रित्तो रहनेछस्, तँसँग केही पनि हुनेछैन। परमेश्वरलाई जबाफ दिन तैँले के प्रयोग गर्नेछस्? के तँ परमेश्वरको सामना गर्ने दुस्साहस गर्नेछस्? तैँले अहिले नै आफ्नो पछ्याइमा कडा मेहनत गर्नुपर्छ, ताकि अन्त्यमा तैँले, पत्रुसले जस्तै, परमेश्वरको सजाय र न्याय मानिसका लागि कति लाभदायक छ, र उहाँको सजाय र न्यायविना मानिसले मुक्ति पाउन सक्दैन, र मानिस यस फोहोर भूमिमा झन्-झन् गहिरो, हिलोमा झन्-झन् गहिरो भासिँदै जान मात्र सक्छ भन्ने कुरा थाहा पाउनेछस्। मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका छन्, तिनीहरूले एकअर्काका विरुद्धमा षड्यन्त्र रचेका छन् र एकअर्कालाई कुल्चीमिल्ची गरेका छन्, परमेश्वरको डर मान्ने हृदय गुमाएका छन्। तिनीहरूको विद्रोहीपन अत्यन्तै ठूलो छ, तिनीहरूका धारणाहरू अति धेरै छन्, र ती सबै शैतानका हुन्। परमेश्वरको सजाय र न्यायविना, मानिसको भ्रष्ट स्वभाव पखाल्न सकिँदैनथ्यो र उसले मुक्ति पाउन सक्दैनथ्यो। देहधारी परमेश्वरको देहको कामद्वारा जे व्यक्त गरिन्छ त्यो ठ्याक्कै आत्माद्वारा व्यक्त गरिने कुरा नै हो, र उहाँले गर्ने काम आत्माद्वारा गरिने कुराअनुसार नै गरिन्छ। आज, यदि तँलाई यो कामको कुनै ज्ञान छैन भने, तँ अत्यन्तै मूर्ख होस्, र तैँले धेरै कुरा गुमाएको छस्! यदि तैँले परमेश्वरको मुक्ति प्राप्त गरेको छैनस् भने, तेरो विश्वास धार्मिक आस्था हो, र तँ धर्मको इसाई होस्। तैँले मृत प्रावधानहरूलाई कसेर पक्रिराख्ने हुनाले, तैँले पवित्र आत्माको नयाँ काम गुमाएको छस्; परमेश्वरको प्रेम पछ्याउने अरू मानिसहरू सत्यता र जीवन प्राप्त गर्न सक्षम हुन्छन्, तर तेरो विश्वासले परमेश्वरको अनुमोदन प्राप्त गर्नै सक्दैन। यसको सट्टा, तँ दुष्कर्मी, विनाशकारी र घृणित कार्यहरू गर्ने व्यक्ति बनेको छस्; तँ शैतानको ठट्टाको पात्र, र शैतानको बन्दी बनेको छस्। परमेश्वरमा मानिसले विश्वास गर्ने होइन, बरु उहाँलाई उसले प्रेम गर्ने, साथै उसले पछ्याउने र आराधना गर्ने हो। यदि आज तैँले पछ्याइनस् भने, तैँले यसो भन्ने दिन आउनेछ, “उतिबेला मैले किन परमेश्वरलाई राम्ररी पछ्याइनँ, उहाँलाई राम्ररी सन्तुष्ट पारिनँ, आफ्नो जीवन स्वभावमा परिवर्तनहरू पछ्याइनँ? उतिबेला परमेश्वरप्रति समर्पित हुन नसकेकोमा, र परमेश्वरको वचनको ज्ञान नपछ्याएकोमा मलाई धेरै पछुतो भइरहेको छ। परमेश्वरले उतिबेला यति धेरै कुरा भन्नुभयो—मैले किन पछ्याइनँ? म अति मूर्ख थिएँ!” तैँले आफैलाई चरम हदसम्म घृणा गर्नेछस्। आज, मैले भन्ने वचनहरूलाई तँ विश्वास गर्दैनस्, र तँ तिनलाई ध्यानै दिँदैनस्; जब यो काम फैलिएको दिन आउँछ र तैँले यसको सम्पूर्णता देख्छस्, तब तँलाई यसमा पछुतो हुनेछ, र त्यतिबेला तँ अक्क न बक्क हुनेछस्। आशिष्हरू छन्, तैपनि तँ तिनको आनन्द लिन जान्दैनस्, र सत्यता छ, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ आफैमाथि समस्या ल्याउँदैनस् र? आज, परमेश्वरको कामको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट गरिएका मागहरू र तँलाई जिउन लगाइएका कुराहरूमा केही पनि अतिरिक्त छैन। काम धेरै छन्, र सत्यता धेरै छन्; के ती तैँले थाहा पाउन लायक छैनन् र? के सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवम् थोरै दैहिक आराममा जिउनमै सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्तिको अनुग्रह देखेका तर त्यसलाई प्राप्त गर्नुलाई नपछ्याउने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; देहमा लिप्त हुने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्वरमाथिको तेरो आस्थामा तँ कुनै पनि कठिनाइ वा सङ्कष्टहरू नहोऊन्, वा थोरै पनि कष्ट नहोओस् भन्ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरू पछ्याउँछस् जुन व्यर्थ छन्, र तँ जीवनलाई कुनै महत्त्व दिँदैनस्, बरु आफ्नै विलासी विचारहरूलाई सत्यताभन्दा अगाडि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्नता छ र? सत्यता नपछ्याउने, बरु देहलाई प्रेम गर्नेहरू सबै नै पशु होइनन् र? ती आत्माविहीन मृत मानिसहरू सबै जिउँदा लासहरू होइनन् र? तिमीहरूका माझमा कतिवटा वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै मात्र काम गरिएको छ? तिमीहरूका माझमा मैले कति प्रदान गरेको छु? त्यसोभए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केका बारेमा गुनासो गर्नु छ? के तँ देहसित ज्यादै मोहित भएकोले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के तेरा विचारहरू अत्यन्तै अत्यधिक भएकाले यस्तो भएको होइन र? के तँ अत्यन्तै मूर्ख भएकोले यस्तो भएको होइन र? यदि तैँले यी आशिष्हरू प्राप्त गर्न सक्दैनस् भने, के तैँले परमेश्वरलाई तँलाई मुक्ति नदिएको भनी दोष दिन मिल्छ? तँ केवल परमेश्वरमा विश्वास गरेपछि शान्ति प्राप्त गर्न सकूँ—आफ्ना छोराछोरी रोगमुक्त होऊन्, श्रीमान्ले राम्रो जागिर पाऊन्, छोराले असल श्रीमती पाऊन्, छोरीले असल श्रीमान् पाऊन्, आफ्नो गोरु र घोडाले राम्ररी खेत जोतून्, बालीनालीका लागि वर्षभरि राम्रो मौसम होस् भन्ने खोजी गर्छस्। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु—तेरो परिवारमा कुनै दुर्घटना नहोस्, तँलाई समस्याले नछोओस्, तँलाई कष्ट नपरोस्, तेरो परिवारको अन्न-बाली बाढीले नबगाओस्—कुनै पनि विपत्तिले असर नपारोस्, “परमेश्वरको अङ्गालोमा” जिउन पाइयोस्, आरामदायी निवासमा जिउन पाइयोस् भन्ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायर—के तँसँग हृदय छ, के तँसँग आत्मा छ? के तँ पशु होइनस् र? बदलामा केही पनि नमागी म तँलाई साँचो मार्ग प्रदान गर्छु, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ अझै पनि परमेश्वरमा विश्वास गर्नेहरूमा पर्छस्? म तँलाई साँचो मानव जीवन दिन्छु, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ सुँगुर र कुकुरसँग एउटै प्रकारको छैनस् र? सुँगुरहरू मानिसको जीवन पछ्याउँदैनन्, तिनीहरू पखालिनुको पछि लाग्दैनन्, र तिनीहरू जीवन के हो भन्ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्न खाएपछि तिनीहरू त्यत्तिकै सुत्छन्। मैले तँलाई साँचो मार्ग प्रदान गरेको छु, तैपनि तैँले त्यो प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई निरन्तरता दिन इच्छुक छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन घृणित र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तँ कुनै पनि लक्ष्य पछ्याउँदैनस्, त्यसकारण, के तेरो जीवन सबैभन्दा नीच छैन र? के तँसँग परमेश्वरको सामना गर्ने दुस्साहस छ? तैँले यसरी नै अनुभव गरिरहिस् भने, के तैँले केही पनि प्राप्त नगर्ने होइन र? तँलाई साँचो मार्ग प्रदान गरिएको छ, तर तैँले अन्त्यमा त्यो प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो आफ्नै पछ्याइमा निर्भर हुन्छ। मानिसहरू भन्छन्, “परमेश्वर धर्मी परमेश्वर हुनुहुन्छ। जबसम्म मानिसले उहाँलाई अन्त्यसम्मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। यदि मानिसले उहाँलाई अन्तिमसम्मै पछ्यायो भने, के उहाँले मानिसलाई पन्छाउन सक्नुहुन्छ?” म सबै मानिसहरूप्रति निष्पक्ष छु, र सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसहरूप्रति मेरा सबै मागहरूमा उचित सर्तहरू समावेश छन्, र मैले माग गरेको कुरा सबै मानिसहरूले पूरा गर्नैपर्छ, चाहे ती जोसुकै होऊन्। मलाई तँ कति वरिष्ठ छस् वा कति अनुभवी छस् भन्ने कुराको मतलब छैन; म त तैँले मेरो मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् र तैँले सत्यताप्रति प्रेम र तृष्णा गर्छस् कि गर्दैनस् भन्ने कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ र यसको सट्टा तैँले मेरो नाउँलाई लज्जित पार्छस् र कुनै वास्ता वा चिन्ता नगरी पछ्याउने काम मात्र गर्छस् तर मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि ढाल्नेछु र दण्ड दिनेछु, अनि त्यसबेला तँसँग भन्नका लागि के रहनेछ? के तैँले परमेश्वर धर्मी हुनुहुन्न भनेर भन्न सक्छस्? यदि मैले आज बोलेका सबै वचनहरूलाई तैँले पालन गरेको छस् भने, तँ मैले अनुमोदन गर्ने प्रकारको व्यक्ति होस्। तँ तैँले परमेश्वरलाई पछ्याउने क्रममा सधैँ दुःख भोगेको छस्, आँधीबेरीमा उहाँलाई पछ्याएको छस्, र उहाँसँग राम्रा र नराम्रा पलहरू बिताएको छस् भनेर भन्छस्, तर परमेश्वरले बोल्नुभएका वचनहरू तैँले जिएको छैनस्; तँ हरेक दिन परमेश्वरका लागि दौडधुप गर्न र आफूलाई उहाँमा समर्पित गर्न मात्रै चाहन्छस्, तर तैँले अर्थपूर्ण जीवन जिउनेबारे कहिल्यै पनि सोचेको छैनस्। तँ यो पनि भन्छस्, “आखिरमा, म परमेश्वर धर्मी हुनुहुन्छ भनी विश्वास गर्छु। म उहाँका लागि दुःख भोग्छु, उहाँका लागि दौडधुप गर्छु, र उहाँप्रति आफूलाई अर्पित गर्छु, अनि मैले कुनै पनि उपलब्धि हासिल नगरेको भए पनि कष्ट सहेको छु; उहाँले निश्चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्वर धर्मी हुनुहुन्छ भन्ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूद्वारा कलङ्कित छैन: यसमा कुनै मानव इच्छा समावेश हुँदैन र यो देह वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। जो विद्रोही र विरोधमा छन्, जसले उहाँको मार्ग पालन गर्दैनन्, ती सबै दण्डित हुनेछन्; कसैलाई पनि क्षमा दिइनेछैन र कसैलाई पनि बाँकी राखिनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईँका निम्ति दौडधुप गर्छु; अन्तिममा, के तपाईँ मलाई अलिकति आशिष् दिन सक्नुहुन्छ?” त्यसोभए म तँलाई सोध्छु, “के तैँले मेरा वचनहरू पालन गरेको छस्?” तँ जुन धार्मिकताको कुरा गर्छस् त्यो एउटा लेनदेनमै सीमित छ। तँ यति मात्र सोच्छस् कि म धर्मी छु, कि म सबै मानिसहरूप्रति निष्पक्ष छु, र मलाई अन्त्यसम्मै पछ्याउने सबैले पक्कै पनि मुक्ति पाउँछन् र मेरा आशिष्हरू प्राप्त गर्छन्। “जसले मलाई अन्त्यसम्मै पछ्याउँछन् तिनीहरू सबैले निश्चय नै मुक्ति पाउँछन्” भन्ने मेरो वचनको भित्री अर्थ छ: जसले अन्त्यसम्म मलाई पछ्याउँछन्, तिनीहरू नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेछन्; तिनीहरू ती हुन् जो मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्छन् र सिद्ध पारिन्छन्। तैँले कतिवटा मागहरू पूरा गरेको छस्? मलाई अन्त्यसम्मै पछ्याउनेबाहेक तैँले अरू कुन माग पूरा गरेको छस्? के तैँले मेरा वचनहरू पालन गरेको छस्? तैँले मेरा पाँचवटा मागहरूमध्ये एउटा पूरा गरेको छस्, तर तँसँग बाँकी चारवटा मागहरू पूरा गर्ने कुनै अभिप्राय छैन। तैँले केवल सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्ग भेट्टाएको छस्, र भाग्यमा मात्र भर पर्ने मनोवृत्तिसाथ पछ्याएको छस्। तँजस्तो व्यक्तिप्रति मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय, साथै धर्मी सजाय मात्र हो; यसको अर्थ सबै दुष्कर्मीहरूलाई दिइने धर्मी दण्ड हो। अन्त्यसम्मै पछ्याए पनि मेरो मार्ग नपछ्याउने सबैजना अवश्य नै दण्डित हुनेछन्। परमेश्वरको धार्मिकता नै यही हो। जब यो धर्मी स्वभाव मानिसको दण्डमा व्यक्त गरिन्छ, तब मानिस अक्क न बक्क हुनेछ, र परमेश्वरलाई पछ्याउँदा, उसले उहाँको मार्ग नपछ्याएकोमा पछुतो महसुस गर्नेछ। “त्यस बेला, मैले परमेश्वरलाई पछ्याउँदा थोरै मात्र दुःख भोगेँ, तर परमेश्वरको मार्ग पछ्याइनँ। के नै बहाना बनाउनु? सजाय पाउनुबाहेक अरू कुनै विकल्प छैन!” तैपनि ऊ मनमा यस्तो सोचिरहेको हुन्छ, “जे होस्, मैले तपाईँलाई अन्त्यसम्मै पछ्याएको छु, त्यसैले तपाईँले मलाई सजाय दिनुभए पनि, यो अत्यन्तै कठोर सजाय हुन सक्दैन, र मलाई सजाय दिइएपछि पनि, तपाईँले मलाई चाहनुहुनेछ। मलाई थाहा छ तपाईँ धर्मी हुनुहुन्छ, र मलाई सधैँभरि त्यसरी व्यवहार गर्नुहुनेछैन। आखिर, म नाश हुनेहरू जस्तो होइनँ; नाश हुनेहरूले भारी सजाय पाउनेछन्, तर मेरो सजाय हल्का हुनेछ।” धर्मी स्वभाव तैँले भनेजस्तो हुँदैन। आफ्ना पापहरू राम्ररी स्वीकार गर्नेहरूलाई लचिलो व्यवहार गरिन्छ भन्ने होइन। धार्मिकता भनेको पवित्रता हो, र यो यस्तो स्वभाव हो जसले मानिसको अपराध सहँदैन, र जे फोहोर छ र परिवर्तन भएको छैन त्यो परमेश्वरको घृणाको निशानामा पर्छ। परमेश्वरको धर्मी स्वभाव कानुन होइन, तर प्रशासनिक आदेश हो: यो राज्यभित्रकै प्रशासनिक आदेश हो, र यो प्रशासनिक आदेश भनेको जोसँग सत्यता छैन र जो परिवर्तन भएको छैन उसको धर्मी दण्ड हो, र त्यहाँ मुक्तिका लागि कुनै ठाउँ हुँदैन। किनभने जब हरेक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकरण गरिन्छ, तब असललाई इनाम दिइनेछ र दुष्टलाई दण्ड दिइनेछ। मानिसको गन्तव्य त्यही बेला प्रकट हुनेछ; मुक्तिको काम त्यही बेला समाप्त हुनेछ, र यसपछि, आइन्दा मानिसलाई मुक्ति दिने काम गरिनेछैन, र दुष्टता गर्ने हरेकलाई कर्मफल दिइनेछ। कतिपय मानिस भन्छन्, “परमेश्वर अक्सर आफ्नो साथमा हुने हरेकलाई याद गर्नुहुन्छ। उहाँले हामीमध्ये कसैलाई पनि बिर्सनुहुनेछैन। हामी परमेश्वरद्वारा सिद्ध पारिनेछौँ भन्ने निश्चित छ। उहाँले मुनिका कसैलाई पनि याद गर्नुहुनेछैन। यो निश्चित छ कि मुनिका मानिसहरूमध्ये सिद्ध पारिनेहरू सङ्ख्यामा हामीभन्दा थोरै छन्, हामी जो अक्सर परमेश्वरसँग अन्तरक्रिया गर्छौं; परमेश्वरले हामीमध्ये कसैलाई पनि बिर्सन सक्नुहुनेछैन, हामी सबैलाई परमेश्वरले योग्य पाउनुभएको छ, र हामी परमेश्वरद्वारा सिद्ध पारिनेछौँ भन्ने निश्चित छ।” तिमीहरू सबैसँग यस्ता धारणाहरू छन्। के यो धार्मिकता हो? के तैँले सत्यतालाई व्यवहारमा लागु गरेको छस् कि छैनस्? तँ वास्तवमा यस्ता आधारहीन अफवाहहरू फैलाउँछस्—तँलाई कुनै लाज छैन!
आज, कतिपय मानिस परमेश्वरद्वारा प्रयोग गरिनुको पछि लाग्छन्, तर विजय गरिएपछि तिनीहरूलाई सिधै प्रयोग गर्न सकिँदैन। आज बोलिएका वचनहरूका हकमा, परमेश्वरले मानिसहरूलाई प्रयोग गर्नुहुँदा, यदि तँ अझै पनि ती हासिल गर्न सक्दैनस् भने, तँ सिद्ध पारिएको छैनस्। अर्को शब्दमा भन्दा, मानिसलाई सिद्ध पारिने अवधिको अन्त्यको आगमनले मानिसलाई हटाइनेछ कि परमेश्वरद्वारा प्रयोग गरिनेछ भन्ने कुरा निर्धारण गर्नेछ। विजय गरिएकाहरू निष्क्रिय र नकारात्मक पक्षका उदाहरणबाहेक केही होइनन्; तिनीहरू नमूना र प्रतिरूप हुन्, तर तिनीहरू प्रतिभारबाहेक अरू केही होइनन्। जब मानिसको जीवन स्वभाव परिवर्तन भएको हुन्छ, र उसले भित्र र बाहिर परिवर्तनहरू हासिल गरेको हुन्छ, तब मात्रै ऊ पूर्ण रूपमा पूर्ण पारिएको हुनेछ। आज, तँ के चाहन्छस्: विजय गरिनु, कि सिद्ध पारिनु? तँ कुन चाहिँ हासिल गर्न चाहन्छस्? के तैँले सिद्ध पारिनुका सर्तहरू पूरा गरेको छस्? तँमा अझै कुन सर्तहरूको कमी छ? तैँले आफूलाई कसरी सुसज्जित गर्नुपर्छ, र तैँले आफ्ना कमीकमजोरीहरूको कसरी परिपूर्ति गर्नुपर्छ? तँ सिद्ध पारिने मार्गमा कसरी अघि बढ्नुपर्छ? तँ कसरी पूर्ण रूपमा समर्पित हुनुपर्छ? तँ सिद्ध पारिन माग गर्छस्, त्यसोभए के तँ पवित्रीकरण पछ्याउँछस्? के तँ शुद्ध पारिनका लागि सजाय र न्याय अनुभव गर्न खोज्ने व्यक्ति होस्? तँ शुद्ध पारिनुको पछि लाग्छस्, त्यसोभए के तँ सजाय र न्याय स्वीकार गर्न इच्छुक छस्? तँ परमेश्वरलाई चिन्न माग गर्छस्, तर के तँसँग उहाँको सजाय र न्यायको ज्ञान छ? आज, उहाँले तँमा गर्ने धेरैजसो काम सजाय र न्याय हो; तँमा गरिएको यो कामबारे तेरो ज्ञान के हो? तैँले अनुभव गरेको सजाय र न्यायले तँलाई शुद्ध पारेको छ त? के यसले तँलाई परिवर्तन गरेको छ? के यसले तँमा कुनै प्रभाव पारेको छ? के तँ आजका यति धेरै काम—श्राप, न्याय, र खुलासाहरू—देखि वाक्क भएको छस्, कि तँलाई यी कुराहरू आफ्ना लागि एकदमै लाभदायक छन् भन्ने लाग्छ? तँ परमेश्वरलाई प्रेम गर्छस्, तर तँ उहाँलाई किन प्रेम गर्छस्? के तँ थोरै अनुग्रह प्राप्त गरेको कारण परमेश्वरलाई प्रेम गर्छस्? कि तँ शान्ति र आनन्द प्राप्त गरेपछि परमेश्वरलाई प्रेम गर्छस्? कि तँ उहाँको सजाय र न्यायद्वारा शुद्ध पारिएपछि परमेश्वरलाई प्रेम गर्छस्? तँलाई ठ्याक्कै कुन कुराले गर्दा परमेश्वरलाई प्रेम गर्छस्? सिद्ध पारिनका लागि पत्रुसले कुन-कुन सर्तहरू पूरा गरे? तिनी सिद्ध पारिएपछि, यो कुन महत्त्वपूर्ण तरिकाले अभिव्यक्त भएको थियो? के तिनले प्रभु येशूको तृष्णा गरेको कारण, वा तिनले उहाँलाई देख्न नसकेको कारण, वा तिनलाई हप्की खाएको महसुस भएको कारण उहाँलाई प्रेम गरे? कि तिनले सङ्कष्टहरूको कष्ट स्वीकार गरेको, र यसरी आफ्नै अशुद्धता र विद्रोहीपन, साथै प्रभुको पवित्रता चिन्न पुगेको कारण प्रभु येशूलाई अझै बढी प्रेम गरे? तिनको परमेश्वरलाई प्रेम गर्ने हृदय परमेश्वरको सजाय र न्यायका कारण अझै शुद्ध भयो कि अरू कुनै कुराका कारण? कुनचाहिँ हो त? तँ परमेश्वरको अनुग्रहका कारण, र आज उहाँले तँलाई केही थोरै आशिष् दिनुभएको कारण परमेश्वरलाई प्रेम गर्छस्। के यो साँचो प्रेम हो? तैँले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ? के तैँले उहाँको सजाय र न्याय स्वीकार गर्नुपर्छ, र उहाँको धर्मी स्वभावलाई देखेपछि, तँ पूर्ण रूपमा विश्वस्त हुनेगरी र तँसँग उहाँको ज्ञान हुनेगरी उहाँलाई साँचो रूपमा प्रेम गर्न सक्नुपर्छ? पत्रुसले जस्तै, के तँ आफूले परमेश्वरलाई जति प्रेम गरे पनि पुग्दैन भनेर भन्न सक्छस्? तँ सजाय र न्यायपछि विजय गरिनुलाई पछ्याउँछस् कि सजाय र न्यायपछि शुद्ध गरिनु, सुरक्षा पाउनु, र हेरचाह पाउनुको पछि लाग्छस्? तँ ठ्याक्कै यीमध्ये कुनलाई पछ्याउँछस्? तेरो जीवन अर्थपूर्ण छ कि अर्थहीन र मूल्यहीन छ? तँ देह चाहन्छस् कि सत्यता चाहन्छस्? तँ न्याय चाहन्छस् कि ऐस-आराम चाहन्छस्? परमेश्वरको यति धेरै काम अनुभव गरेपछि, र परमेश्वरको पवित्रता र धार्मिकता देखेपछि, तैँले कसरी पछ्याउनुपर्छ? तँ यस मार्गमा ठ्याक्कै कसरी हिँड्नुपर्छ? तैँले परमेश्वरलाई प्रेम गर्ने अभ्यास कसरी गर्नुपर्छ? के परमेश्वरको सजाय र न्यायले तँमा कुनै प्रभाव हासिल गरेको छ? तँसँग परमेश्वरको सजाय र न्यायको ज्ञान छ कि छैन भन्ने कुरा तँ के प्रकट गर्छस्, र तँ परमेश्वरलाई कुन हदसम्म प्रेम गर्छस् भन्ने कुरामा निर्भर हुन्छ! तेरा ओठले तँ परमेश्वरलाई प्रेम गर्छस् भनेर भन्छन्, तैपनि तँ पुरानो, भ्रष्ट स्वभाव नै प्रकट गर्छस्; तँसँग परमेश्वरको डर मान्ने हृदय छैन, र तँसँग विवेक हुनु त झनै परको कुरा हो। के त्यस्ता मानिसहरू परमेश्वरलाई प्रेम गर्छन्? के त्यस्ता मानिसहरू परमेश्वरप्रति बफादार हुन्छन्? के तिनीहरू परमेश्वरको सजाय र न्याय स्वीकार गर्नेहरू हुन्? तँ परमेश्वरलाई प्रेम गर्छु र उहाँमा विश्वास गर्छु भन्छस्, तैपनि तैँले आफ्ना धारणाहरू त्याग्दैनस्। तेरो काम, प्रवेश, तैँले बोल्ने वचनहरू, र तेरो जीवनमा, परमेश्वरप्रतिको तेरो प्रेमको अलिकति पनि प्रकटीकरण छैन, र परमेश्वरको डर मान्ने हृदय छैन। के यो सजाय र न्याय प्राप्त गरेको व्यक्ति हो? के यस्तो व्यक्ति पत्रुस हुन सक्छ? के पत्रुसजस्ता मानिसहरूसँग ज्ञान मात्रै हुन्छ, तर जियाइ हुँदैन? आज, वास्तविक जीवन जिउनका लागि मानिसले पूरा गर्नुपर्ने सर्त के हो? के पत्रुसका प्रार्थनाहरू तिनको मुखबाट निस्केका शब्दहरू मात्रै थिए? के ती तिनको हृदयको गहिराइबाट आएका शब्दहरू थिएनन् र? के पत्रुसले प्रार्थना मात्रै गरे, र सत्यतालाई अभ्यासमा लागू गरेनन्? तेरो पछ्याइ कसका खातिर हो? परमेश्वरको सजाय र न्यायको दौरान तैँले आफूलाई कसरी सुरक्षा र शुद्धीकरण प्राप्त गर्ने तुल्याउनुपर्छ? के परमेश्वरको सजाय र न्याय मानिसका लागि लाभदायक हुँदैन र? के सबै न्याय दण्ड हो? के शान्ति र आनन्द मात्रै, भौतिक आशिष् र क्षणिक सुख-सुविधा मात्रै मानिसको जीवनका लागि लाभदायक हुन सक्छन् र? यदि मानिस सहजता र सुख-सुविधाको वातावरणमा जिउँछ, न्यायविनाको जीवन जिउँछ भने, के ऊ शुद्ध पारिन सक्छ? यदि मानिस परिवर्तन हुन र शुद्ध पारिन चाहन्छ भने, उसले सिद्ध पारिनुलाई कसरी स्वीकार गर्नुपर्छ? आज तैँले कुन मार्ग छनौट गर्नुपर्छ?