सर्वशक्तिमान्को सुस्केरा
तेरो हृदयमा विशाल रहस्य छ, जसका बारेमा तँ कहिल्यै जानकार भएको छैनस्, किनकि तँ ज्योतिबिनाको संसारमा जिउँदै आइरहेको छस्। तेरो हृदय र तेरो आत्मा दुष्टद्वारा बलजफती खोसिएको छ। तेरा आँखाहरू अन्धकारले धमिला भएका छन् र तँ न दिनमा आकाशको सूर्य देख्न सक्छस् न राती चम्किरहने तारा नै। तेरा कानहरू कपटी शब्दहरूले टालिएका छन्, र तँ न यहोवाको गर्जनको आवाज सुन्न सक्छस्, न उहाँको सिंहासनबाट बग्ने धेरै पानीहरूको आवाज नै। तेरो स्वामित्वमा हुनुपर्ने सबै कुराहरू, जुन सर्वशक्तिमान्ले तँलाई दिनुभएको थियो, तैँले ती सबै गुमाइसकेको छस्। तँ पीडाको अनन्त सागरमा प्रवेश गरेको छस्, जहाँ उद्धार गर्ने कुनै शक्ति छैन, बाँच्ने कुनै आशा छैन, र तैँले गर्ने कार्य भनेको केवल सङ्घर्ष र हस्याङफस्याङ मात्र हो…। त्यस क्षणपश्चात्, तँ दुष्टद्वारा पीडित बन्न अभिशप्त भएको छस्, सर्वशक्तिमान्को आशिषबाट धेरै टाढा रहिस्, सर्वशक्तिमान्का भरणपोषणभन्दा धेरै टाढा रहेको छस्, फर्केर आउन नसक्ने मार्गमा हिँडिरहेको छस्। लाखौँ आह्वानहरूले पनि तेरो मन र आत्मालाई मुस्किलले मात्र जगाउन सक्छन्। तँ दुष्टको काखमा चीर निद्रामा सुतेको छस्, जसले तँलाई दिशाविहीन वा सूचक-सङ्केतहरूहित असीम राज्यक्षेत्रमा लोभ्यायो। त्यसबेला, तैँले तेरो मौलिक निर्दोषता र शुद्धता गुमाइस्, र सर्वशक्तिमान्को हेरचाहबाट जोगिन थालिस्। तेरो हृदयमा, दुष्टले हरेक हिसाबले तँलाई निर्देशित गर्छ र त्यो नै तेरो जीवन बनेको छ। अब तँ ऊसँग डराउनु, ऊबाट टाढा रहनु, वा ऊमाथि शङ्का गर्नुको सट्टा उसलाई आफ्नो मनमा रहेको परमेश्वरका रूपमा व्यवहार गर्छस्। तैँले उसलाई प्रतिष्ठापित गर्न र उसैको आराधना गर्न थालेको छस्, र तिमीहरू दुवै जना शरीर र छाया झैँ अविभाज्य भएका छौ, सँगसँगै जिउन र मर्न प्रतिबद्ध बनेका छौ। तँ कहाँदेखि आएको थिइस्, तेरो जन्म किन भएको थियो, वा तँ किन मर्नेछस् भन्ने कुराको ज्ञान तँलाई छैन। तँ सर्वशक्तिमान्लाई एक अपरिचितको रूपमा हेर्छस्; उहाँले तेरा लागि गर्नुभएका सबै कुराहरूलाई छोडौँ, तँलाई त उहाँको मूलबारे समेत थाहा छैन। उहाँबाट आउने सबैकुरालाई तँ शत्रुवत् रूपमा हेर्छस्; तैँले न त्यसको कदर गर्छस् न त्यसको महत्त्व नै जान्दछस्। सर्वशक्तिमान्को भरणपोषण पाउन सुरु गरेको दिनदेखि नै तँ दुष्टको साथमा हिँड्छस्। दुष्टका साथमा तैँले हजारौँ वर्षको तुफान र आँधीबेहरी सहेको छस्, र तँ उसैसँग परमेश्वरविरुद्ध उभिन्छस्, जो तेरो जीवनको स्रोत हुनुहुन्थ्यो। तँ पश्चात्ताप गर्न जान्दैनस्, झन् तैँले आफू विनाशको किनारामा आइपुगिसकेको छस् भन्ने जान्नु त परको कुरा हो, तैँले त पश्चात्तापबारे केही जानेको छैनस्। दुष्टले तँलाई बहकाएको र कष्ट दिएको छ भन्ने कुरा तैँले बिर्सिएको छस्; तैँले आफ्नो सुरुवात बिर्सिएको छस्। यसरी आजको दिनसम्म त्यो दुष्टले तेरो मार्गका हरेक पाइलामा कष्ट दिएको छ। तेरो मन र आत्मा चेतनाशून्य भएका र कुहिएका छन्। तैँले मानव संसारका विडम्बनाहरूका बारेमा गुनासो गर्न बन्द गरेको छस्; तैँले अबउप्रान्त यो संसार अन्यायी छ भन्ने विश्वास गर्दैनस्। सर्वशक्तिमान्को अस्तित्व छ कि छैन भन्ने कुरामा तैँले वास्ता गर्ने त कुरै छाडौं। धेरै पहिलले नै त्यो दुष्ट तेरो वास्तविक पिता हो र तँ त्यसबाट अलग्गिन सक्दैनस् भनी तैँले ठानेकोले गर्दा यस्तो भएको हो। तेरो मनमा गढेको रहस्य यही हो।
मिरमिरे बिहानीको आगमनसँगै पूर्वमा बिहानी तारा उदाउन थाल्छ। यो तारा त्यहाँ पहिला कहिल्यै थिएन, र यसले शान्त, रिमरिमे आकाशलाई चहकिलो बनाउँछ, जसले मानिसहरूको हृदयमा निभेको ज्योति पुनः प्रज्वलित पार्छ। तँमा र अरूमा समान रूपले चम्किने यो ज्योतिको कारण मानव अब एक्लो छैन। तैपनि तँ एक्लै यो अँध्यारो रातमा मस्त निद्रामा रहन्छस्। तैँले कुनै आवाज सुन्दैनस् र कुनै ज्योति देख्दैनस्; नवीन स्वर्ग र पृथ्वीको आगमन, नवयुगको आगमनको बारेमा तँ अनभिज्ञ छस्, किनभने तेरा बुवाले तँलाई भन्नुहुन्छ, “मेरो छोरा, तिमी अहिल्यै नउठ, अझै बिहान सबेरै छ। मौसम चिसो छ, त्यसैले तिमी बाहिर नजाऊ, नत्र तिम्रा आँखाहरू तरबार र भालाले रोपिनेछन्।” तँ केवल तेरो बुवाका सल्लाहहरूमा भरोसा गर्छस्, किनकि तँलाई विश्वास छ कि केवल तेरो बुवा सही हुनुहुन्छ, किनभने उहाँ तँभन्दा जेष्ठ हुनुहुन्छ र तँलाई औधी माया गर्नुहुन्छ। यस्ता सल्लाहहरू र यस्तो मायाले तँलाई विश्वमा ज्योति छ भन्ने प्राचीन कथामा विश्वास गर्न रोक लगाउँछन्; त्यस्ता कुराहरूले विश्वमा अझै सत्य अस्तित्वमा छ भन्ने कुरामा चासो राख्नदेखि तँलाई रोक्छन्। तैँले अबउप्रान्त सर्वशक्तिमान्द्वारा गरिने उद्धारको आशा गर्ने हिम्मत गर्दैनस्। तँ यथास्थितिमा सन्तुष्ट हुन्छस्, अबउप्रान्त तँ ज्योतिको आगमनको अपेक्षा गर्दैनस्, प्राचीन कथामा भनिएझैँ सर्वशक्तिमान्को आगमन हेर्न तँ पर्खँदैनस्। तेरो विचारमा, हरेक सुन्दर चीजलाई पुनर्जीवित गर्न सकिँदैन, यो अस्तित्वमा रहन सक्दैन। तेरो नजरमा, मानवजातिको भोलि र मानवजातिको भविष्य हराउँछ, विलय हुन्छ। आफ्नो पूरै बल लगाई तँ आफ्नो बुवाको लुगामा झुन्डिएको छस्, कठिनाइहरू सहन प्रफुल्ल छस्, तेरो यात्राको सहयात्री र लामो यात्राको दिशा गुम्ने हो कि भन्नेमा निकै डराएको छस्। मानिसहरूको विशाल र धमिलो संसारले तिमीहरूजस्ता धेरैलाई दृढ र निडर भएर विभिन्न भूमिकाहरू निर्वाह गर्न तयार गरेको छ। यसले मृत्युसँग नडराउने धेरै “योद्धाहरू” सृजना गरेको छ। योभन्दा पनि बढी, यसले चेतनाशून्य र पक्षाघात भएका मानवहरूको एकपछि अर्को हूल तयार गरेको छ, जो आफू सृष्टि हुनुको उद्देश्यको बारेमा अनभिज्ञ छन्। सर्वशक्तिमान्का आँखाले गहिरो पीडामा रहेका हरेक मानवजातिको निरीक्षण गर्छन्। उहाँले जे सुन्नुहुन्छ त्यो पीडितहरूको विलाप हो, उहाँले जे देख्नुहुन्छ त्यो पीडाले छट्पटिएकाहरूको निर्लज्जपन हो, र उहाँले जे अनुभूति गर्नुहुन्छ त्यो मुक्तिको अनुग्रह गुमाएको मानवजातिको असहायपन र भयावहपन हो। मानवजातिले आफ्नो मार्गमा आफैँ हिँड्ने निर्णयको छनौट गर्दै उहाँको हेरचाहलाई अस्वीकार गर्छ, र दुस्मनको साथमा रहेर गहिरो समुन्द्रका, अन्तिम थोपासम्मै, तितोपनाको स्वाद चाख्ने इच्छा गर्दै उहाँको दृष्टिको निगरानीबाट भाग्न चाहन्छ। अब मानवद्वारा सर्वशक्तिमान्को सुस्केरा सुनिँदैन; अब सर्वशक्तिमान्का हातहरू पीडित मानवलाई सुमसुम्याउन इच्छुक छैनन्। समय-समयमा उहाँले आधिपत्य जमाउनुहुन्छ, र समय-समयमा पुनः गुमाउनुहुन्छ, र यसरी यही कार्य उहाँले दोहोर्याउनुहुन्छ। त्यही क्षणदेखि उहाँ थाक्न, झर्को मान्न थाल्नुहुन्छ र यसैकारण उहाँले गरिरहनुभएको काम रोक्नुहुन्छ र मानवजातिमाझ हिँड्न छोड्नुहुन्छ…। मानवजाति यी सबै परिवर्तनसँग पूर्ण रूपले अनभिज्ञ छ, सर्वशक्तिमान्को आउने र जाने अनि दुःख र उदासीनताको विषयमा अनभिज्ञ छ।
यस संसारमा भएको हरेक कुरा सर्वशक्तिमान्का विचारहरू र उहाँको प्रत्यक्ष निगरानीमा द्रुत गतिमा परिवर्तन हुन्छ। मानवजातिले कहिल्यै नसुनेका कुराहरू अकस्मात् आइपुग्छन्, जबकि मानवजातिले लामो समयदेखि अधिकार जमाएका कुराहरू थाहै नपाई फुत्कन्छन्। सर्वशक्तिमान् कहाँ हुनुहुन्छ कसैले पनि बुझ्न सक्दैन, झन् सर्वशक्तिमान्को जीवनशक्तिको पराभौतिकता र विशालता जोकोहीले बुझ्छन् भन्ने त कुरै नगरौँ। उहाँ यो अर्थमा सर्वश्रेष्ठ हुनुहुन्छ कि मानवले बुझ्न नसक्ने कुरा उहाँले बुझ्नुहुन्छ। उहाँ यस अर्थमा महान् हुनुहुन्छ कि मानवजातिद्वारा त्यागिनुभए तापनि उहाँले अझै मानवजातिलाई मुक्ति दिनुहुन्छ। उहाँलाई जीवन र मृत्युको अर्थ थाहा छ, र त्यसका अतिरिक्त, उहाँले सृष्टि गर्नुभएको मानवजातिले पालना गर्नुपर्ने अस्तित्वका नियमहरू उहाँलाई थाहा छ। उहाँ मानव अस्तित्वको आधार हुनुहुन्छ, र उहाँ नै उद्धारक हुनुहुन्छ जसले मानवजातिको फेरि पुनरुत्थान गर्नुहुन्छ। उहाँले खुशी हृदयलाई दुःखित पार्नुहुन्छ, र दुःखित हृदयलाई खुशी दिएर उठाउनुहुन्छ, सबै आफ्नो कार्यको खातिर, र आफ्नो योजनाको खातिर।
सर्वशक्तिमान्को जीवन आपूर्ति छोडेर गएको हुनाले, मानवजाति आफ्नो अस्तित्वको उद्देश्यबारे अनभिज्ञ छ, तर ऊ मृत्युसँग डराउँछ। तिनीहरू सहयोग वा सहारारहित छन्, अझै पनि आफ्ना आँखा चिम्लन अनिच्छुक हुन्छन्, र तिनीहरूले कुनै आत्मिक भावना नभएका, तिनीहरूका देहलाई थाम्न आफैलाई बाध्य पार्छन्, र यस संसारमा जसोतोसो एक तुच्छ अस्तित्व लतार्छन्। अरू लक्ष्यबिना जिएझैँ, तँ त्यसरी नै आशाबिना जिउँछस्। केवल किंवदन्तीका पवित्र उहाँले मात्र ती मानिसहरूलाई मुक्ति दिनुहुनेछ, जो आफ्नो कष्टमाझ विलाप गर्दै उहाँको आगमनको व्यग्र तृष्णा गर्छन्। त्यस्तो विश्वास चेतनाको कमी हुनेहरूमा लामो समयदेखि साकार नभएर नै रहेको छ। तथापि, तिनीहरू अझै पनि यसको यसरी तृष्णा गर्छन्। सर्वशक्तिमान्ले यी गहन कष्ट भोगेका मानिसहरूमाथि कृपा गर्नुहुन्छ; साथसाथै, बिलकुलै चेतना नभएका यी मानिसहरूप्रति उहाँ वितृष्ण महसुस गर्नुहुन्छ, किनकि मानिसहरूबाट उत्तर प्राप्त गर्नुअघि उहाँले निकै लामो समय पर्खनुपर्छ। उहाँ खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, र तेरा लागि पानी र खाना ल्याउन चाहनुहुन्छ, ताकि तँ ब्युँझेस् र तैँले उप्रान्त तिर्खाउने र भोकाउने नगरेस्। जब तँ थाक्छस् र जब तैँले यस संसारको केही उजाडता महसुस गर्छस्, तब हराएको महसुस नगर्, नरो। सर्वशक्तिमान् परमेश्वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई अङ्गाल्नुहुनेछ। उहाँ तेरो छेउमै रखवाली गर्दै हुनुहुन्छ, उहाँ तँ पछाडि फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ, तैँले तेरो स्मृति अचानक पुनः प्राप्त गर्ने दिन कुर्दै हुनुहुन्छ: जब तैँले तँ परमेश्वरबाट आइस्, अनि तैँले कुनै अज्ञात समयमा आफ्नो दिशा गुमाइस्, कुनै अज्ञात समयमा तैँले बाटोमा चेतना गुमाइस्, र कुनै अज्ञात समयमा तेरो एक “पिता” थियो भन्ने कुरा थाहा पाउँछस्; यसका अतिरिक्त, जब तैँले सर्वशक्तिमान्ले सदा तेरो रखवाली गर्दै, अत्यन्तै लामो समयदेखि त्यहाँ तेरो फिर्ती पर्खँदै आउनुभएको छ भन्ने कुरा थाहा पाउँछस्। उहाँले व्यग्र रूपमा तृष्णा गर्दै, र उत्तररहित प्रतिक्रिया पर्खँदै आउनुभएको छ। उहाँको रखवाली अमूल्य कुरा हो, र त्यो मानव हृदय र मानव आत्माका खातिर हो। सायद उहाँको रखवाली अनिश्चित कालको हो, वा सायद त्यो समाप्त भएको छ। तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्ने कुरा तैँले जान्नुपर्दछ।
मे २८, २००३