“आशिष्” को सम्बन्धमा, तिमीहरू तिनलाई कसरी बुझ्छौ?
यस युगमा जन्मिएका मानिसहरू शैतान र अशुद्ध आत्माहरूद्वारा भ्रष्ट तुल्याइएका भए तापनि, यस भ्रष्टताका कारण तिनीहरूले सबैभन्दा ठूलो मुक्ति, अय्यूबले प्राप्त गरेको प्रचुर पशुधन र अपार सम्पत्तिभन्दा ठूलो अनि अय्यूबले आफ्ना परीक्षाहरूपश्चात् प्राप्त गरेको यहोवालाई दर्शन गर्ने आशिष्भन्दा अझै ठूलो मुक्ति पनि प्राप्त गरेका छन्। अय्यूबले मृत्युको परीक्षा भोगेपछि मात्रै यहोवा बोल्नुभएको सुने, आँधीबेहरीमा उहाँको आवाज सुने। तैपनि उनले यहोवाको अनुहार देखेनन् र उहाँको स्वभाव जानेनन्। अय्यूबले शारीरिक सुखचैन दिने भौतिक सम्पत्ति र वरपरका सबै सहरमध्ये सबैभन्दा सुन्दर छोराछोरी, साथै स्वर्गका स्वर्गदूतहरूको सुरक्षा मात्र प्राप्त गरे। उनले कहिल्यै यहोवालाई देखेनन् र उनलाई धर्मी भनिएको भए तापनि, उनले कहिल्यै यहोवाको स्वभाव जानेनन्। अनि आजका मानिसहरूको भौतिक सुखचैन अस्थायी रूपमा कम भएको छ वा बाहिरी संसारको वातावरण शत्रुतापूर्ण छ भनेर भन्न सकिए पनि, म चाहिँ सबैभन्दा तुच्छ तर मेरो सबैभन्दा महान् मुक्ति प्राप्त गरेका यी मानिसहरूलाई अनादिकालदेखि मानिसलाई कहिल्यै थाहा नदिइएको र सधैँ गुप्त राखिएको मेरो स्वभाव—साथै अतीतका युगौँका रहस्यहरू—प्रकट गर्छु। त्यसबाहेक, मैले यी कुराहरू प्रकट गरेको यो पहिलो पटक हो; मैले पहिले कहिल्यै यस्तो काम गरेको छैनँ। तिमीहरू अय्यूबभन्दा धेरै निम्न भए तापनि, तिमीहरूले उनले भन्दा धेरै कुरा प्राप्त गरेका र देखेका छौ। तिमीहरू सबै प्रकारका कष्टबाट गुज्रेका र तिमीहरूले सबै किसिमको सास्ती अनुभव गरेका भए पनि, तिमीहरूले सहेको कुरा अय्यूबका परीक्षाहरूजस्तो पटक्कै होइन; बरु त्यो त मानिसहरूको विद्रोहीपन, तिनीहरूको प्रतिरोध र मेरो धर्मी स्वभावका कारण तिनीहरूले प्राप्त गरेको न्याय र सजाय हो; त्यो धर्मी न्याय, सजाय र श्राप हो। अर्कोतर्फ, अय्यूब इस्राएलीहरूमध्ये एक धर्मी मानिस थिए जसले यहोवाको महान् प्रेम र स्नेह प्राप्त गरे। उनले कुनै दुष्ट कार्यहरू गरेका थिएनन् र उनले यहोवाको प्रतिरोध गरेनन्; बरु, उनी यहोवाप्रतिको आफ्नो भक्तिमा बफादार थिए। उनी आफ्नो धार्मिकताका कारण परीक्षाहरूमा परे र उनी यहोवाका विश्वासयोग्य सेवक भएकाले उनले अग्निपरीक्षाहरू भोगे। आजका मानिसहरूले आफ्नो फोहोरीपन र अधार्मिकताका कारण मेरो न्याय र श्राप पाउँछन्। तिनीहरूको कष्ट अय्यूबले आफ्नो पशुधन, आफ्नो सम्पत्ति, आफ्ना नोकरहरू, आफ्ना सबै प्रियजन गुमाउँदा भोगेको कुराजस्तो नभए तापनि, तिनीहरूले भोग्ने कुरा तीव्र शोधन र दहन हो। अनि अय्यूबले अनुभव गरेको कुराभन्दा यसलाई अझ गम्भीर बनाउने कुरा के हो भने, मानिसहरू कमजोर भएकाले त्यस्ता परीक्षाहरू घटाइँदैनन् वा हटाइँदैनन्; बरु, ती चिरस्थायी हुन्छन् र मानिसहरूको जीवनको अन्तिम दिनसम्म जारी रहन्छन्। यो दण्ड, न्याय र श्राप हो; यो निर्दयी दहन हो र अझ बढी, यो मानवजातिको हकपूर्ण “उत्तराधिकार” हो। यो मानिसहरूले पाउनुपर्ने कुरा हो र यहीँ नै मेरो धर्मी स्वभाव व्यक्त हुन्छ। यो एउटा विदित तथ्य हो। तैपनि, मानिसहरूले प्राप्त गरेको कुराले आज तिनीहरूले सहने कष्टलाई धेरैअघि नै उछिनेको छ। तिमीहरूले सहने कष्ट त तिमीहरूको मूर्खताको परिणामस्वरूप आएको रोकावट मात्र हो, जबकि तिमीहरूले प्राप्त गरेको कुरा तिमीहरूको कष्टभन्दा सयौँ गुणा ठूलो छ। पुराना करारमा भएका इस्राएलका विधानहरूअनुसार, मेरो प्रतिरोध गर्नेहरू सबै, मलाई खुला रूपमा गलत ठहराउनेहरू सबै र मेरो मार्ग नपछ्याउने र त्यसको सट्टा मलाई निर्भीकतापूर्वक अपवित्र बलिहरू चढाउनेहरू सबैलाई निश्चय नै मन्दिरमा आगोद्वारा नष्ट गरिनेछ वा चुनिएका केही मानिसद्वारा ढुङ्गाले हानेर मारिनेछ अनि तिनीहरूका आफ्नै कुलका वंशजहरू र अन्य प्रत्यक्ष नातेदारहरूले समेत मेरो श्राप भोग्नेछन्। तिनीहरू आउँदा जुनीहरूमा स्वतन्त्र हुनेछैनन् बरु मेरा दासहरूका दास हुनेछन् र म तिनीहरूलाई अन्यजातिहरूमाझ निर्वासनमा पठाउनेछु अनि तिनीहरू आफ्नो मातृभूमिमा फर्कन असक्षम हुनेछन्। आजका मानिसहरूले आफ्ना कार्यहरू र व्यवहारका आधारमा सहने कष्ट इस्राएलीहरूले भोगेको दण्डजत्तिको गम्भीर त छैन। तिमीहरूले हाल भोगिरहेको कुरा प्रतिफल हो भनेर भन्नु निराधार छैन, किनभने तिमीहरूले वास्तवमै सीमा पार गरेका छौ। यदि तिमीहरू इस्राएलमा भएका भए, अनन्त पापी बनेका हुनेथ्यौ र तिमीहरू धेरै पहिले नै इस्राएलीहरूद्वारा टुक्रा-टुक्रा पारिएका हुनेथ्यौ अनि यहोवाको मन्दिरमा स्वर्गबाट आएको आगोद्वारा भस्म पारिएका हुनेथ्यौ। तिमीहरूले अहिले प्राप्त गरेको कुरा के हो? तिमीहरूले केको उत्तराधिकार पाएका छौ र तिमीहरूले केको आनन्द उठाएका छौ? मैले तिमीहरूमा आफ्नो धर्मी स्वभाव प्रकट गरेको छु, तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने मैले मानवजातिलाई छुटकारा दिनका लागि आफ्नो धैर्यता प्रकट गरेको छु। मैले तिमीहरूमा गरेको काम धैर्यताको काम मात्र हो भनेर भन्न सकिन्छ; यो मेरो व्यवस्थापनका खातिर र त्योभन्दा बढी, मानवजातिको आनन्दका खातिर गरिएको हो।
अय्यूब यहोवाका परीक्षाहरूबाट गुज्रे पनि, उनी यहोवाको आराधना गर्ने धर्मी मानिस मात्र थिए। ती परीक्षाहरूबाट गुज्रे पनि, उनले यहोवाका बारेमा गुनासो गरेनन् र उहाँसँगको आफ्नो भेटलाई कदर गरे। आजका मानिसहरूले यहोवाको उपस्थितिलाई कदर नगर्ने मात्र होइनन्, उहाँको देखापराइलाई अस्वीकार गर्छन्, घृणा गर्छन्, गुनासो गर्छन् र उपहास गर्छन्। के तिमीहरूले निकै धेरै प्राप्त गरेका छैनौ र? के तिमीहरूको कष्ट साँच्चै यति ठूलो भएको छ र? के तिमीहरू मरियम र याकूबभन्दा बढी आशिषित् भएका छैनौ र? अनि के तिमीहरूको प्रतिरोध साँच्चै त्यति कम भएको छ र? के तिमीहरूबाट मैले गर्ने मागहरू अत्यन्तै उच्च छन् र के मैले तिमीहरूबाट अत्यन्तै धेरै माग गरेको छु? मेरो क्रोध मेरो प्रतिरोध गर्ने इस्राएलीहरूमाथि मात्र पोखिएको थियो, तिमीहरूमाथि सोझै पोखिएको थिएन; तिमीहरूले प्राप्त गरेको कुरा त मेरो निर्दयी न्याय र खुलासा, साथै निरन्तर अग्निमय शोधन मात्र भएको छ। यसको बाबजुद, मानिसहरू अझै मेरो प्रतिरोध गर्छन् र मलाई खण्डन गर्छन् अनि तिनीहरूमा समर्पणको एउटा अंश पनि छैन। कतिपय त मबाट टाढिने र मलाई इन्कार्नेसमेत गर्छन्; त्यस्ता मानिसहरू त मोशाको विरोध गर्ने कोरह र दातानको दलभन्दा पनि खराब हुन्। मानिसको हृदय अत्यन्तै हठी छ र उसको प्रकृति अत्यन्तै जिद्दी छ। ऊ आफ्नो पुरानो प्रकृति कहिल्यै बदल्दैन। म भन्छु, ऊ वेश्याजस्तै खुला दिनको उज्यालोमा उदाङ्गिएको छ र मेरा वचनहरू यति कठोर छन् कि ती “कानलाई अप्रिय” समेत लाग्न सक्छ, जसले मानिसको प्रकृतिलाई दिनको उज्यालोमा खुलासा गर्छन्—तैपनि ऊ आफ्नो टाउको मात्र हल्लाउँछ, केही थोपा आँसु झार्छ र आफूलाई अलि दुःखी महसुस गर्न बाध्य पार्छ। यो बितिसकेपछि, ऊ पहाडका जनावरहरूको राजाजस्तै उग्र हुन्छ र ऊसँग अलिकति पनि सचेतना हुँदैन। यस्तो स्वभाव भएको मानिसले आफू धेरै पहिलेदेखि नै अय्यूबभन्दा सयौँगुणा बढी आशिषित् भइसकेको छु भनेर कसरी थाहा पाउन सक्छ? उसले आफूले उपभोग गर्ने कुराहरू युगौँयुगभरि बिरलै देखिएका आशिषहरू हुन् र तिनलाई यसअघि कसैले कहिल्यै उपभोग गरेको छैन भनेर कसरी बुझ्न सक्छ? मानिसको अन्तस्करणले दण्ड समावेश भएका त्यस्ता आशिषहरूलाई कसरी अनुभूत गर्न सक्छ? स्पष्ट रूपमा भन्दा, तिमीहरूबाट मैले माग गर्ने भनेकै तिमीहरू मेरो कामका नमुना अनि मेरो सम्पूर्ण स्वभाव र मेरा सबै कार्यका साक्षी बन्न सक र तिमीहरू शैतानका दुःखकष्टहरूबाट मुक्त हुन सक भन्ने मात्र हो। तैपनि, मानिसहरू सधैँ मेरो कामप्रति अरुचि राख्छन् र जानाजानी त्यसप्रति शत्रुवत् हुन्छन्। त्यस्ता मानिसहरूले मलाई इस्राएलका व्यवस्थाहरू पुनः ल्याउन र मैले इस्राएलमाथि ल्याएको क्रोध उनीहरूमाथि ल्याउन कसरी नउक्साऊलान् र? तिमीहरूमध्ये धेरै जना मप्रति “आज्ञाकारी र समर्पित” भए तापनि, कोरहको दलजस्तै हुनेहरू अझ पनि धेरै छन्। मैले आफ्नो पूर्ण महिमा प्राप्त गरिसकेपछि, म तिनीहरूलाई जलाएर खरानी बनाउन स्वर्गको आगो प्रयोग गर्नेछु। तिमीहरूले के जान्नुपर्छ भने म उप्रान्त मानिसहरूलाई मेरा वचनहरूद्वारा सजाय दिनेछैनँ; बरु, इस्राएलको काम गर्नुअघि, म मेरो प्रतिरोध गर्ने र मैले धेरैपहिले हटाएको “कोरहको दल” लाई पूर्ण रूपमा भस्म पार्नेछु। मानवजातिसँग उप्रान्त मलाई उपभोग गर्ने अवसर हुनेछैन; यसको सट्टा, उनीहरूले देख्ने भनेकै मेरो क्रोध र स्वर्गबाट आउने ज्वालाहरू मात्र हुनेछन्। म सबै प्रकारका मानिसहरूका विभिन्न परिणामहरू प्रकट गर्नेछु अनि म उनीहरू सबैलाई वर्गहरूमा विभाजन गर्नेछु। म उनीहरूको हरेक विद्रोही कार्यलाई याद गर्नेछु र त्यसपछि आफ्नो काम पूरा गर्नेछु, ताकि मानिसहरूका परिणामहरू पृथ्वीमा मेरो फैसला, साथै मप्रति उनीहरूको मनोवृत्तिहरूका आधारमा निर्धारण हुनेछन्। त्यो समय आएपछि, उनीहरूका परिणामहरू परिवर्तन गर्न सक्ने कुनै कुरा हुनेछैन। मानिसहरूलाई आफ्नै परिणामहरू प्रकट गर्न देऊ! त्यसरी म मानिसहरूका परिणामहरू स्वर्गमा हुनुहुने पितालाई सुम्पन सकूँ।