परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ
तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्वरको योजनाका खातिर र उहाँको नियोजनका खातिर, तँ आफ्नो भूमिका खेल्छस् र आफ्नो जीवन यात्रा सुरु गर्छस्। तेरो पृष्ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसुकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धहरूबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ। मानवजाति पहिलो पटक अस्तित्वमा आएदेखि नै, परमेश्वरले यसरी नै आफ्नो काम गर्दै आउनुभएको छ, अनि यस ब्रह्माण्डलाई व्यवस्थापन गर्दै, अनि यावत् थोक परिवर्तन हुने व्यवस्थाहरू र ती चल्ने मार्गहरूलाई निर्देशन गर्दै आउनुभएको छ। यावत् थोक जस्तै, सबै मानिस चुपचाप र अनजानमा परमेश्वरको मिठास साथै उहाँको झरी र शीतबाट पोषित भइरहेका हुन्छन्; यावत् थोकजस्तै, मानिसहरू सबै अनजानमै परमेश्वरको हातको योजनाबद्ध गर्ने कार्यअन्तर्गत जिउँछन्। मानिसको हृदय र मानिसको आत्मा परमेश्वरको पकडभित्र हुन्छन्, र मानिसको सम्पूर्ण जीवन पनि परमेश्वरको नजरमै हुन्छ। तैँले यो सब कुरामा विश्वास गरे वा नगरे पनि, तर हरेक थोक, चाहे त्यो सजीव वा निर्जीव होस्, परमेश्वरका विचारअनुसार घुम्नेछ, परिवर्तन हुनेछ, नवीकृत हुनेछ र लोप हुनेछ। परमेश्वरले यसरी नै यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ।
जसरी रात नजिकिँदै जाँदा मानिस बेखबर हुन्छ, किनभने मानिसको हृदयले रात कसरी नजिकिँदैछ भनी थाहा पाउन सक्दैन, न त यो कहाँबाट आउँछ भनी उसले जान्दछ। जसरी रात बिस्तारै बितेर जान्छ, मानिसले उज्यालोलाई स्वागत गर्छ, तर उज्यालो कहाँबाट आउँछ र यसले रातको अँध्यारोलाई कसरी हटायो भन्ने बारेमा मानिसले अति कम मात्र जान्दछ र यसप्रति अझै कम सचेत रहन्छ। यिनै दिन र रात भइरहने क्रमले नै मानिसलाई एउटा कालखण्डबाट अर्को कालखण्डमा, एउटा ऐतिहासिक सन्दर्भबाट अर्को ऐतिहासिक सन्दर्भमा पुर्याउँछ र यस क्रममा हरेक युगमा परमेश्वरको कार्य भएको छ र हरेक युगको निम्ति उहाँको योजना पूरा भएको छ भन्ने कुरालाई सुनिश्चित गर्छ। मानिस परमेश्वरलाई पछ्याउँदै यी सबै विभिन्न कालखण्डमा हिँडेको छ, तैपनि परमेश्वर यावत् थोक र जीवित प्राणीहरूको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने कुरा ऊ जान्दैन, न त परमेश्वरले यावत् थोकहरूलाई कसरी योजनाबद्ध र निर्देशन गर्नुहुन्छ भन्ने कुरा नै जान्दछ। यो कुरा वर्तमान समयको मानिस अनि अनादिकालको मानिसले समेत बुझेको छैन। परमेश्वरका कार्यहरू अत्यन्त गुप्त भएर यसो भएको होइन, न त परमेश्वरको योजना साकार हुन बाँकी रहेर नै भएको हो, बरु मानिसको हृदय र आत्मा परमेश्वरबाट अति टाढा भएको कारणले हो, यो यति टाढा छ कि मानिसले “परमेश्वरलाई पछ्याउँदा” पनि ऊ शैतानको सेवामा रहन्छ—तैपनि ऊ यो कुरा जान्दैन। परमेश्वरका पदचापहरू र परमेश्वरको देखापराइलाई कसैले पनि सक्रियतापूर्वक खोज्दैन, अनि कोही पनि परमेश्वरको हेरचाह र सुरक्षामा बाँच्न इच्छुक छैन। बरु, यस संसारसँग र यो दुष्ट मानवजातिले पछ्याउने अस्तित्वका नियमहरूसँग समायोजित हुनका लागि तिनीहरू शैतान, त्यो दुष्ट दियाबलसले गर्ने क्षयीकरण स्विकार्न इच्छुक हुन्छन्। यस बिन्दुमा, मानिसको हृदय र आत्मा मानिसले शैतानलाई चढाउने भेटी र शैतानको खाद्य पदार्थ बन्छ। अझ बढी, मानव हृदय र आत्मा शैतान बस्ने ठाउँ, साथै त्यसको हक लाग्ने खेल मैदान बनेको छ। यसरी मानिसले आफ्ना मानव आचरणका सिद्धान्तहरूका साथै मानव अस्तित्वको मूल्य र अर्थको बुझाइ थाहा नै नपाइकन गुमाउँछ। मानिसको हृदयमा परमेश्वरका व्यवस्थाहरू अनि परमेश्वर र मानिस बीचको करार क्रमिक रूपमा धुमिल्लिँदै जान्छ र उसले परमेश्वरलाई खोज्न वा उहाँको ख्याल गर्न छोड्छ। समय बित्दै जाँदा, मानिसले परमेश्वरले उसलाई सृष्टि गर्नुको महत्त्वको बुझाइ गुमाउँछ, न त उसले परमेश्वरको मुखबाट निस्केको वचन र परमेश्वरबाट आएका सबै कुरा नै बुझ्छ। त्यसपछि मानिसले परमेश्वरका व्यवस्थाहरू र कानूनहरूको प्रतिरोध गर्न थाल्छ, अनि उसको हृदय र आत्मा भावशून्य बन्छ…। परमेश्वरले सुरुमा सृष्टि गर्नुभएको मानिसलाई गुमाउनुहुन्छ, अनि मानिसले उसको मौलिक मूललाई गुमाउँछ: मानवजातिको दुःखान्त यही नै हो। वास्तवमा, प्रारम्भदेखि अहिलेसम्म नै परमेश्वरले मानवजातिको निम्ति दुःखद घटनाहरूलाई प्रस्तुत गर्नुभएको छ, जसमा मानिस नै नायक र पीडित दुवै बन्छ। अनि यो दुःखद घटनाको निर्देशक को हो भनी कसैले जवाफ दिन सक्दैन।
संसारको व्यापक फैलावटमा, महासागरहरू भरिएर मैदानमा परिणत हुन्छन्, र जमिनहरू बगेर महासागरहरूमा परिवर्तन हुन्छन् र यो प्रक्रिया अनगिन्ती पटक दोहोरिन्छ। यावत् थोकमाझ, सबै कुरामाथि सार्वभौमिकता राख्नुहुने उहाँबाहेक, अरू कोही पनि यस मानवजातिलाई अगुवाइ गर्न र मार्गनिर्देशन गर्न सक्षम छैन। मानवजातिका निम्ति परिश्रम गर्ने वा तयारी गर्ने “शक्तिशाली जन” कोही पनि छैन, मानवजातिलाई ज्योतिको गन्तव्यतिर अगाडि बढ्न र मानिसको संसारका अन्यायहरूबाट मुक्त हुन अगुवाइ गर्न सक्ने जन त झनै छैन। मानवजातिको भविष्यप्रति परमेश्वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ, अनि मानिस पाइला दर पाइला क्षय र फर्कन नसक्ने मार्गतिर हिँडिरहेको कुराले उहाँलाई पीडा दिन्छ। यो कुरा कसैले कहिल्यै विचार गरेको छैन: परमेश्वरको हृदयलाई पूर्ण रूपमा छियाछिया बनाएको र दुष्टलाई खोज्न उहाँलाई छोडेको त्यस्तो मानवजाति कतातिर लागेको हुन सक्छ? यसैकारणले गर्दा नै कसैले पनि परमेश्वरको रिस महसुस गर्ने प्रयास गर्दैन, कसैले पनि परमेश्वरलाई प्रसन्न पार्ने मार्ग खोज्दैन वा परमेश्वरको नजिक जाने कोसिस गर्दैन, अझ भन्नुपर्दा, कसैले पनि परमेश्वरको शोक र पीडा बुझ्ने प्रयास गर्दैन। परमेश्वरको आवाज सुनेपछि पनि, मानिस आफ्नै मार्गमा हिँड्न जारी राख्छ, परमेश्वरबाट टाढा जान जिद कस्छ, परमेश्वरको अनुग्रह र हेरचाहबाट तर्कन्छ, उहाँको सत्यताबाट अलग बस्छ, परमेश्वरको शत्रु शैतानका हातमा आफूलाई बेच्न रुचाउँछ। र कसले सोचेको छ कि, यदि मानिस आफ्नो जिदमा लागिरह्यो भने, परमेश्वरलाई अत्यन्तै अवहेलना गर्ने यस मानवजातिप्रति उहाँले कस्तो व्यवहार गर्नुहुनेछ? परमेश्वरले मानिसलाई बारम्बार चेतावनी र अर्ती दिने कारण के हो भने, उहाँले आफ्नो हातमा अभूतपूर्व विपत्तिहरू तयार पार्नुभएको छ, जो मानिसको देह र आत्मालाई असह्य हुनेछ, जो देहका निम्ति दण्ड मात्र हुँदैनन्, बरु आत्माप्रति लक्षित हुन्छन् भन्ने कुरा कसैलाई थाहा छैन। तैँले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्वरको योजना विफल हुन्छ, र उहाँका चेतावनी र अर्तीहरूको कुनै प्रतिक्रिया दिइँदैन, तब उहाँले कस्तो रिस पोखाउनुहुनेछ? यो कुनै पनि सृजित प्राणीले कहिल्यै अनुभव नगरेको र थाहा नपाएको किसिमको हुनेछ। त्यसैले म भन्छु, यी विपत्तिहरू अभूतपूर्व छन्, र कहिल्यै दोहोरिनेछैनन्। किनकि परमेश्वरको योजना भनेको, मानवजातिलाई यो एक पटक मात्रै सृष्टि गर्नु र मानवजातिलाई यो एक पटक मात्रै मुक्ति दिनु हो। यो पहिलो पटक र अन्तिम पटक पनि हो। त्यसकारण, परमेश्वरले मानवजातिलाई यस पटक मुक्ति दिनुपछाडिका श्रमसाध्य अभिप्रायहरू र उत्कट प्रत्याशालाई कसैले बुझ्न सक्दैन।
परमेश्वरले यो संसार सृष्टि गर्नुभयो र यसमा उहाँले जीवन दिनुभएको जीवित प्राणी, मानिसलाई ल्याउनुभयो। त्यसपछि, मानिसले आमाबुबा र नातेदारहरू पायो, अनि ऊ उप्रान्त एक्लो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै, उसको भाग्यमा परमेश्वरको नियोजनमा बाँच्न लेखिएको थियो। परमेश्वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीलाई हुर्काएर वयस्कतासम्म धान्छ। यस क्रममा, मानिस परमेश्वरको हेरचाहमा अस्तित्वमा रहन्छ र हुर्कन्छ भनेर कसैले महसुस गर्दैन; बरु, तिनीहरू मानिस आफ्ना आमाबुबाको लालनपालनको अनुग्रहमा हुर्कन्छ र उसको हुर्काइलाई उसैको जीवनको जन्मजात प्रवृत्तिले अघि बढाउँछ भन्ने विश्वास गर्छन्। यस्तो किन हुन्छ भने, मानिस आफ्नो जीवन आफूलाई कसले दिएको हो वा यो कहाँबाट आउँछ भन्ने कुरा जान्दैन, जीवनको जन्मजात प्रवृत्तिले कसरी चमत्कारहरू सृजना गर्छ भन्ने कुरा जान्नु त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो, दृढता नै उसको जीवनको अस्तित्वको स्रोत हो, अनि उसको मनमा भएका विश्वासहरू नै पुँजी हुन् जसमाथि उसको अस्तित्व निर्भर हुन्छ भन्ने मात्र ऊ जान्दछ। मानिस परमेश्वरको अनुग्रह र उहाँको आपूर्तिबारे पूर्णतः अनजान हुन्छ र परमेश्वरले उसलाई दिनुभएको जीवन ऊ यसरी नै खेर फाल्छ…। परमेश्वरले दिनरात रेखदेख गर्ने एउटा व्यक्तिले पनि उहाँको आराधना गर्ने पहलकदमी लिँदैन। परमेश्वर आफूले योजना बनाएअनुसार, मानिसमा काम मात्र गर्नुहुन्छ, जसबाट कुनै पनि अपेक्षा गर्न सकिँदैन। कुनै दिन मानिस आफ्नो सपनाबाट ब्युँझनेछ अनि उसले अचानक जीवनको मूल्य र अर्थ, परमेश्वरले उसलाई प्रदान गर्नुभएको सबै कुराका निम्ति उहाँले चुकाउनुभएको मूल्य, र जुन उत्कटताका साथ परमेश्वर मानिस उहाँतर्फ फर्कियोस् भनी व्यग्र अभिलाषा राख्नुहुन्छ, त्यो महसुस गर्नेछ भन्ने आशाका साथ परमेश्वर यसो गर्नुहुन्छ। मानव जीवनको उद्गम र निरन्तरतासँग सम्बन्धित रहस्यहरूभित्र कसैले नियालेको छैन। यी सबै कुरालाई बुझ्नुहुने परमेश्वरले मात्र चोट र प्रहारलाई चूपचाप सहनुहुन्छ, जुन प्रहार परमेश्वरबाट प्राप्त गरेको हरेक थोकको निम्ति धन्यवादी समेत नहुने मानिसले उहाँलाई दिन्छ। जीवनले सामान्य रूपमा ल्याउने सबै कुराहरूको आनन्द मानिसले लिन्छ, र परमेश्वरलाई मानिसले विश्वासघात गर्छ, बिर्सन्छ र उहाँबाट खोस्छ भन्ने कुरा त “सामान्य नै हो”। के परमेश्वरको योजना यति धेरै महत्त्वको हुन सक्छ? के परमेश्वरको बाहुलीबाट आएको यो जीवित प्राणी अर्थात् मानिस साँच्चै यति धेरै महत्त्वपूर्ण हुन सक्छ? निश्चित रूपमा नै, परमेश्वरको योजना महत्त्वपूर्ण छ; यद्यपि, परमेश्वरको बाहुलीद्वारा सृष्टि गरिएको यो जीवित प्राणी उहाँको योजनाको खातिर मात्र अस्तित्वमा छ। यसकारण, परमेश्वरले यस मनावजातिप्रतिको घृणाको खातिर आफ्नो योजनालाई बर्बाद पार्न सक्नुहुन्न। मानिसको देहको निम्ति होइन तर मानिसको जीवनको निम्ति, उहाँको योजना र उहाँले फुक्नुभएको सासको निम्ति परमेश्वरले सारा कष्टहरू सहनुहुन्छ। मानिसको देहलाई फिर्ता लिनको निम्ति होइन, तर उहाँले फुक्नुभएको जीवनको सासको निम्ति उहाँले यसो गर्नुहुन्छ। यो नै उहाँको योजना हो।
यस संसारमा आउने सबैले जीवन र मृत्युबाट भएर जानुपर्छ, र तीमध्ये अधिकांश मृत्यु र पुनर्जन्मको चक्रबाट गुज्रेका छन्। जो जीवित छन् तिनीहरू चाँडै मर्नेछन्, र मरेकाहरू चाँडै फर्कनेछन्। यी सबै कुरा परमेश्वरले प्रत्येक जीवित प्राणीका लागि प्रबन्ध गर्नुभएको जीवनको क्रम हुन्। तैपनि यो क्रम र यो चक्र ठ्याक्कै त्यही तथ्य हो जुन मानिसले हेरोस् भन्ने परमेश्वर चाहनुहुन्छ: परमेश्वरले मानिसलाई दिने जीवन अनन्त रूपमा बग्छ र यो देह, समय, वा स्थानद्वारा सीमित हुँदैन। परमेश्वरले मानिसलाई दिने जीवनको रहस्य यही हो, र जीवन मूल रूपमा परमेश्वरबाट आउँछ भन्ने कुराको प्रमाण पनि यही हो। मानिसको जीवन परमेश्वरबाट आउँछ भनी धेरै मानिसले विश्वास नगरे पनि, तिनीहरूले परमेश्वरको अस्तित्वमा विश्वास गरे पनि वा परमेश्वरको अस्तित्वलाई इन्कार गरे पनि, सबै मानिसले अवश्यम्भावी रूपमा परमेश्वरबाट आउने सबै कुराको आनन्द लिन्छन्। यदि कुनै दिन परमेश्वरले अचानक आफ्नो मन परिवर्तन गर्नुहुन्छ र पृथ्वीका सबै कुरा फिर्ता लिन चाहनुहुन्छ र आफ्नो जीवन फिर्ता लिन चाहनुहुन्छ भने, तीमध्ये कुनै पनि कुरा अस्तित्वमा रहनेछैन। परमेश्वर सबै जीवित र निर्जीव कुराहरूलाई आपूर्ति गर्न आफ्नो जीवन प्रयोग गर्नुहुन्छ, र आफ्नो महान् शक्ति र अख्तियारद्वारा उहाँ यी सबैलाई व्यवस्थित रूपमा अघि बढ्ने तुल्याउनुहुन्छ। यो कसैले कल्पना गर्न नसक्ने तथ्य हो र यो जोकोहीलाई पनि बुझ्न गाह्रो छ। मानिसलाई बुझ्न गाह्रो लाग्ने यी तथ्यहरू नै परमेश्वरको जीवनको शक्तिको प्रकटीकरण र प्रमाण हुन्। यस बिन्दुमा, म तँलाई एउटा रहस्य बताउनेछु: परमेश्वरको जीवनको महान्ता र उहाँको जीवनको ऊर्जालाई कुनै पनि सृजित प्राणीले बोध गर्न सक्दैन। अहिले यस्तै छ; विगतमा पनि यस्तै थियो, र भविष्यमा पनि यस्तै हुनेछ। मैले तँलाई बताउने दोस्रो रहस्य यो हो: सबै प्राणीको जीवनको स्रोत परमेश्वरबाट आउँछ। जीवनका रूप र संरचनाहरू जतिसुकै फरक भए पनि, र तँ जस्तोसुकै जीवित प्राणी भए पनि, तँ परमेश्वरद्वारा तय गरिएको जीवनको मार्गविरुद्ध जान सक्दैनस्। जे भए पनि, म मानिसले यो कुरा बुझ्न सकोस् भन्ने मात्र आशा गर्छु: परमेश्वरको हेरचाह र सुरक्षाविना र परमेश्वरको आपूर्तिविना, मानिसले जतिसुकै लगनशीलताका साथ प्रयास गरे पनि वा जतिसुकै कडा सङ्घर्ष गरे पनि, उसले आफूले प्राप्त गर्नुपर्ने सबै कुरा प्राप्त गर्नेछैन। यदि मानिसले परमेश्वरको जीवनको आपूर्ति गुमाउँछ भने, उसले जिउनुको मूल्य गुमाउँछ र जीवनको अर्थ गुमाउँछ। आफ्नो जीवनको मोललाई व्यर्थमा खेर फाल्ने मानिसलाई परमेश्वरले कसरी यस्तो लापरवाह हुने अनुमति दिन सक्नुहुन्छ? मैले पहिले भनेझैँ: परमेश्वर तेरो जीवनको स्रोत हुनुहुन्छ भन्ने कुरालाई नबिर्सी। यदि परमेश्वरले दिनुभएका सबै कुराको कदर गर्न मानिसले सकेन भने, परमेश्वरले सुरुमा जे दिनुभयो त्यो मात्र फिर्ता लिनुहुन्न, तर उहाँले मानिसलाई दिनुभएको भन्दा दोबर मूल्य उसलाई तिर्न लगाउनुहुन्छ।
मे २६, २००३