३. परमेश्‍वरको देखा पर्ने घटना र कामको गवाही बन्‍ने सम्बन्धी वचनहरू

१६५. सियोनमा प्रशंसा आएको छ र परमेश्‍वरको वासस्थान देखा परेको छ। महिमित पवित्र नामलाई असङ्ख्य मानिसहरूले गुणगान गर्छन् र त्यो फैलिरहेको छ। आहा, सर्वशक्तिमान् परमेश्‍वर! ब्रह्माण्डका शिर, आखिरी दिनहरूका ख्रीष्ट—उहाँ सारा ब्रह्माण्डभित्र, प्रतापी र भव्य सियोन पर्वतमाथि उदाउनुभएको चम्किलो सूर्य हुनुहुन्छ …

हे सर्वशक्तिमान् परमेश्‍वर! हामी हर्षोल्लासका साथ तपाईंलाई पुकार्छौँ; हामी नाच्छौँ र गाउँछौँ। तपाईं साँच्चै हाम्रा उद्धारक हुनुहुन्छ, ब्रह्माण्डका महान् राजा! तपाईंले विजेताहरूको एउटा समूह बनाउनुभएको छ र परमेश्‍वरको व्यवस्थापनको योजना पूरा गर्नुभएको छ। असङ्ख्य मानिसहरू यो पर्वतमा ओइरिएर आउनेछन्। असङ्ख्य मानिसहरूले सिंहासनको सामु घुँडा टेक्नेछन्! तपाईं एकमात्र साँचो परमेश्‍वर हुनुहुन्छ र तपाईं महिमा र आदर योग्य हुनुहुन्छ। सारा महिमा, प्रशंसा र अख्तियार सिंहासनलाई होस्! त्यो सिंहासनबाट जीवनको मुहान बग्दछ, त्यसले परमेश्‍वरका सबै मानिसहरूलाई मलजल गर्छ र खुवाउँछ। प्रत्येक दिन हाम्रो जीवन परिवर्तन हुन्छ; नयाँ ज्योति र नयाँ प्रकाशले हामीलाई पछ्याउँछन्, र निरन्तर परमेश्‍वरका विषयमा नयाँ अन्तर्ज्ञानहरू दिन्छन्। अनुभवहरूका बीचमा हामी परमेश्‍वरको विषयमा पूर्ण निश्‍चयतामा पुग्छौँ। उहाँका वचनहरू निरन्तर देखा पर्छन्, जो सही छन् तिनीहरूमा देखा पर्छन्। हामी वास्तवमै अत्यन्तै आशिषित छौँ! हामी प्रत्येक दिन परमेश्‍वरसित आमने-सामने हुन्छौँ, सबै कुरामा परमेश्‍वरसित सङ्गति गर्छौँ र सबै कुरामाथि परमेश्‍वरलाई नियन्त्रण लिन दिन्छौँ। हामी होसियारीसाथ परमेश्‍वरको वचन मनन गर्छौँ, हाम्रा हृदयहरू परमेश्‍वरमा शान्त भई विश्राम गर्छन् अनि यसरी हामी परमेश्‍वरको सामु आउँछौँ जहान हामी उहाँको ज्योति पाउँछौँ। प्रत्येक दिन हाम्रा जीवनमा, कार्यहरूमा, शब्दहरूमा, सोच र विचारहरूमा हामी परमेश्‍वरको वचनभित्र जिउँछौँ, र हामीले हरसमय कामकुरा खुट्ट्याउन सक्छौँ। परमेश्‍वरको वचनले धागोलाई सियोबाट छिराउँछ; अप्रत्याशित रूपमा, हामीभित्र लुकेका कुराहरू एकपछि अर्को गर्दै ज्योतिमा आउँछन्। परमेश्‍वरसितको सङ्गतिले ढिलाइ सहन गर्दैन; हाम्रा सोच र विचारहरू परमेश्‍वरद्वारा उदाङ्गो पारिन्छन्। प्रत्येक क्षण हामी ख्रीष्टको आसनको अघि जिइरहेका हुन्छौँ जहाँ हामीले न्याय अनुभव गर्छौँ। हाम्रो शरीरभित्रका प्रत्येक ठाउँ शैतानद्वारा अझै ओगटिएको छ। आज, परमेश्‍वरको राजकीय शासन पुनःस्थापित गर्नका निम्ति उहाँको मन्दिर शुद्ध पारिनु नै पर्छ। पूर्ण रूपमा परमेश्‍वरद्वारा ओगटिनका लागि हामीले जीवन र मृत्युको सङ्घर्ष पार गर्नैपर्छ। हाम्रो पुरानो स्वरूप क्रूसमा टाँगिएपछि मात्र ख्रीष्टको पुनरुत्थान भएको जीवनले सर्वोच्च रूपमा शासन गर्न सक्छ।

अब पवित्र आत्माले हामीलाई पुनः दाबी गर्नका निम्ति लडाइँ गर्न हाम्रो हरेक कुनामा आक्रमण गर्नुहुन्छ! जबसम्म हामी आफैलाई इन्कार गर्न इच्छुक हुन्छौँ र परमेश्‍वरसित सहकार्य गर्न इच्छुक हुन्छौँ, परमेश्‍वरले निश्चय नै हरसमय हामीलाई भित्रैबाट ज्योति दिनुहुनेछ र शुद्ध गर्नुहुनेछ, अनि शैतानले जे कब्जा गरेको छ त्यो फेरि नयाँ गरी पुनः दाबी गर्नुहुनेछ, ताकि हामी चाँडोभन्दा चाँडो परमेश्‍वरद्वारा पूर्ण पारिन सकौँ। समय खेर नफाल—प्रत्येक क्षण परमेश्‍वरको वचनभित्र जिओ। सन्तहरूसितै वृद्धि हुँदै जाओ, राज्यभित्र तानिएर आओ, अनि परमेश्‍वरसँगसँगै महिमामा प्रवेश गर।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १

१६६. फिलाडेल्फियाको मण्डलीले आकार लिएको छ, जुन पूर्ण रूपमा परमेश्‍वरको अनुग्रह र कृपाले गर्दा भएको हो। असङ्ख्यौं सन्तहरूमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय उत्पन्न हुन्छ, र तिनीहरू आफ्नो आत्मिक यात्रामा डगमगाउँदैनन्। तिनीहरू एक मात्र साँचो परमेश्‍वर देहधारी हुनुभएको छ, उहाँ ब्रह्माण्डका शिर हुनुहुन्छ, जसले सबै थोकलाई आज्ञा दिनुहुन्छ भन्‍ने आफ्नो विश्‍वासमा दृढ भई बस्छन्: यो पवित्र आत्माद्वारा गरिएको पुष्टि हो, यो पहाड जस्तै अटल छ! र यो कहिल्यै पनि परिवर्तन हुँदैन!

हे सर्वशक्तिमान् परमेश्‍वर! आज तपाईँ नै हुनुहुन्छ, जसले हाम्रा आत्मिक आँखा खोलिदिनुभएको छ, अन्‍धालाई देख्ने, लङ्गडोलाई हिँड्ने, कुष्ठरोगीलाई निको पार्नुभएको छ। तपाईँ नै हुनुहुन्छ, जसले स्वर्गको ढोका खोल्नुभएको छ, जसले हामीलाई आत्मिक क्षेत्रका रहस्यहरू बुझ्ने अनुमति दिनुभएको छ। तपाईँका पवित्र वचनहरूद्वारा व्याप्त भएर अनि हाम्रो मानवताबाट मुक्त पारेर, जुन शैतानद्वारा भ्रष्ट पारिएको थियो—अनुमान गर्न नसकिने तपाईँको काम र अनुमान गर्न नसकिने तपाईँको कृपा यस्तो छ। हामी तपाईँका साक्षीहरू हौं।

तपाईँ लामो समयसम्म लुकेर, नम्रतामा र चुपचाप रहनुभयो। तपाईँ मरेकोबाट पुनर्जीवित हुनुभयो, क्रूसमा कष्ट भोग्नुभयो, मानव जीवनको आनन्द र दुःखहरू र सतावट अनि कठिनाइ भोग्नुभयो; तपाईँले मानवीय संसारको पिडा अनुभव गर्नुभएको छ र चाख्‍नुभएको छ, अनि तपाईँलाई युगले त्यागी दिएको छ। देहधारी परमेश्‍वर स्वयम् नै परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरको इच्छाको खातिर तपाईँले हामीलाई गोबरको थुप्रोबाट मुक्त गर्नुभयो, तपाईँको दाहिने हातले माथि तान्नुभयो, र सित्तैँमा तपाईँको अनुग्रह दिनुभयो। कुनै पिडाहरू बाँकी नराखी तपाईँले हामीभित्र आफ्नो जीवन ल्याउनुभयो; तपाईँको रगत-पसिना र तपाईँले चुकाउनुभएको मूल्य सन्तहरूमा मूर्त भएको छ। हामी तपाईँको रगत-पसिनाका फल[क] हौँ; तपाईँले तिर्नुभएका दाम हामी नै हौँ।

हे सर्वशक्तिमान् परमेश्‍वर! तपाईँको दया र कृपा, तपाईँको धार्मिकता र प्रताप, तपाईँको पवित्रता र नम्रताले गर्दा सबै मानिसहरू तपाईंको अगि निहुरिनेछन् अनि सारा अनन्ततासम्म तपाईँको आराधना गर्नेछन्।

आज तपाईँले सबै मण्डलीलाई पूर्ण बनाउनुभएको छ—फिलाडेल्फियाको मण्डली—अनि तपाईँको ६,००० वर्षको व्यवस्थापन योजना पूरा भएको छ। सन्तहरूले आत्मामा जोडिएर अनि प्रेममा रहँदै पछ्याएर, फोहराको मुहानसँग जोडिएर आफैलाई नम्रतापूर्वक तपाईँमा समर्पण गर्न सक्छन्। जीवनको जिउँदो पानी नरोकि बग्छ, मण्डलीमा भएको हिलो र फोहोर पानीलाई पखाल्छ र शुद्ध पार्दछ, यसरी एकचोटि फेरि तपाईँको मन्दिरलाई शुद्ध पार्दछ। हामीले व्यावहारिक सत्य परमेश्‍वरलाई चिनेका छौं, उहाँको वचनभित्र हिँडेका छौं, हाम्रा आफ्नै कार्यहरू र कर्तव्यहरू चिनेका छौं, अनि मण्डलीको खातिर आफैलाई खर्चन जे गर्न सक्छौं ती सबै गरेका छौं। तपाईँको सामु सधैँ चुपचाप रहेर हामीले पवित्र आत्माको काममा ध्यान दिनुपर्छ, नत्र हामीमा तपाईँको इच्छालाई बाधा हुन्छ। सन्तहरूको माझमा परस्पर प्रेम हुन्छ, अनि कसै-कसैका बलले अरूको असफलताहरूलाई पूर्ति गर्दछ। तिनीहरू पवित्र आत्माद्वारा ज्ञान र ज्योति पाएर हरसमय आत्मामा हिँड्न सक्षम हुन्छन्। तिनीहरूले सत्यता बुझेको लगत्तै त्यसलाई व्यवहारमा अपनाउँछन्। तिनीहरू नयाँ ज्योतिसँग कदम मिलाएर अनि परमेश्‍वरका पाइलाहरूलाई पछ्याएर हिँड्छन्।

सक्रिय भएर परमेश्‍वरसँग सहकार्य गर्; उहाँलाई अधीन गर्न दिनुको अर्थ उहाँको साथमा हिँड्नु हो। हाम्रा सबै धारणाहरू, विचारहरू, मन्तव्यहरू र सांसारिक अल्झोहरू धुवाँजस्तो पातलो बतासमा हराउँछ। हामी परमेश्‍वरलाई हाम्रा आत्माहरूमा सर्वोच्च शासन गर्न दिन्छौं, उहाँको साथमा हिँड्छौं र यसरी ज्ञानभन्दा परको अनुभव प्राप्त गर्छौं, संसारमाथि विजय पाउँछौं र हाम्रा आत्माहरू स्वतन्त्र भएर उड्छन् र तिनले छुटकारा प्राप्त गर्दछ: यो सर्वशक्तिमान् परमेश्‍वर राजा बन्नुहुँदा आउने परिणाम हो। हामी ननाची र प्रशंसाको गीत नगाई, हाम्रा प्रशंसा र नयाँ स्तुतिगानहरू भेटी नचढाई कसरी रहन सक्छौं?

साँच्चै परमेश्‍वरको प्रशंसा गर्ने तरिकाहरू धेरै छन्: उहाँको नाउँ पुकार्नु, उहाँको नजिक जानु, उहाँको बारेमा सोचविचार गर्नु, प्रार्थना गर्दै पढ्नु, सङ्गतिमा सामेल हुनु, चिन्तन र मनन गर्नु, प्रार्थना गर्नु र प्रशंसाका गीतहरू गाउनु। यस किसिमको प्रशंसामा आनन्द हुन्छ, र त्यसमा अभिषेक हुन्छ; प्रशंसामा शक्ति हुन्छ, र बोझ पनि हुन्छ। प्रशंसामा विश्‍वास हुन्छ, र नयाँ अन्तर्दृष्टि हुन्छ।

सक्रिय भएर परमेश्‍वरसँग सहकार्य गर्, सेवामा समन्वय गर् र एउटै बन्, सर्वशक्तिमान् परमेश्‍वरका अभिप्रायहरू पूरा गर, पवित्र आत्मिक शरीर बन्न हतार गर्, र शैतानलाई कुल्चिमिल्ची गर्, र शैतानको भाग्यको अन्त्य गरिदेओ। फिलाडेल्फियाको मण्डली परमेश्‍वरको उपस्थितिमा उठाइलगिएको छ र उहाँको महिमामा प्रकट गरिएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २

फूटनोटहरू:

क. मूल पाठमा “का फल” भन्‍ने वाक्यांश समावेश छैन।


१६७. विजयी राजा उहाँको महिमित सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँले छुटकारा पूरा गर्नुभएको छ र उहाँका सारा मानिसहरूलाई महिमामा प्रकट हुन डोऱ्याउनुभएको छ। उहाँले सबैथोक आफ्नो हातमा राख्नुहुन्छ र उहाँको ईश्‍वरीय बुद्धि र शक्तिले उहाँले सियोन निर्माण गर्नुभएको छ र त्यसलाई बलियो बनाउनुभएको छ। उहाँको प्रतापले उहाँ पापी संसारको न्याय गर्नुहुन्छ; उहाँले अनगिन्ती राष्ट्र र मानिसहरूको, पृथ्वी र समुद्र र तिनमा भएका सबै जीवित प्राणीहरूको, साथसाथै व्यभिचारको मद्यले मातेकाहरू सबैको न्याय गर्नुभएको छ। परमेश्‍वरले अवश्य तिनीहरूको न्याय गर्नुहुनेछ, र उहाँ पक्कै पनि तिनीहरूसित रिसाउनुहुनेछ र त्यसमा परमेश्‍वरको प्रताप प्रकट हुनेछ, जसको न्याय तुरुन्तै गरिन्छ र त्यो ढिलाइ नगरी पूरा गरिन्छ। उहाँको क्रोधको आगोले निश्चय नै तिनीहरूका घोर पापहरू भस्म पार्नेछ र कुनै पनि क्षण तिनीहरूमाथि विपत्ति आउँछ; तिनीहरूलाई उम्कने कुनै उपाय थाहा हुनेछैन र तिनीहरूसँग लुक्ने ठाउँ पनि हुनेछैन, तिनीहरू रुनेछन् र दाह्रा किट्नेछन्, र तिनीहरूले आफैमाथि विनाश ल्याउनेछन्।

परमेश्‍वरका प्रिय विजयी छोराहरू निश्चय नै सियोनमा रहनेछन्, र त्यहाँबाट कहिल्यै बिदा हुनेछैनन्। अनगिन्ती मानिसहरूले उहाँको सोरलाई ध्यानपूर्वक सुन्नेछन्, तिनीहरूले ध्यानपूर्वक उहाँका कार्यहरू नियाल्नेछन्, र तिनीहरूको प्रशंसाको आवाज कहिल्यै बन्द हुनेछैन। एक साँचो परमेश्‍वर देखा पर्नुभएको छ! हामी आत्मामा उहाँबारे निश्चित हुनेछौं र उहाँलाई नजिकबाट पछ्याउनेछौं; हामी आफ्नो सम्पूर्ण शक्ति लगाएर अगाडि बढ्नेछौं र उप्रान्त कुनै सङ्कोच मान्नेछैनौं। संसारको अन्त्य हाम्रो अगाडि प्रकट हुँदैछ; एउटा उचित मण्डली साथसाथै मानिसहरू, मामिलाहरू र हाम्रा वरिपरिका थोकहरूले पनि हाम्रो तालिमलाई अझ तीव्र बनाइरहेका छन्। हामी हाम्रो हृदयलाई फिर्ता लिन हतार गरौं जसले संसारलाई धेरै प्रेम गर्दछ! हामी हाम्रो दर्शनलाई फिर्ता लिन हतार गरौं, जुन अति अस्पष्ट छ। हामी हाम्रा पाइलाहरूमा रहौं, ताकि हामीले सीमाहरू ननाघेका होऔं। हामी आफ्ना मुखहरूलाई बन्द गरौं, ताकि हामी परमेश्‍वरको वचनमा हिँड्न सकौं, र उप्रान्त हाम्रा आफ्नै लाभहरू र हानिहरूको प्रतिस्पर्धा नगरौं। अहो, यसलाई छोडिदेओ, बाहिरी संसार र धनको लागि तिमीहरूको लालच! हो, आफैलाई यसबाट स्वतन्त्र बनाओ—तिमीहरूका पति, छोरीहरू र छोराहरूप्रतिको टाँसिरहने बन्धन! आह, तिनीहरूलाई पिठ्यूँ फर्काइदेओ—तिमीहरूका दृष्टिकोणहरू र पूर्वाग्रहहरू! अँ, बिउँझ; समय छोटो छ! आत्मा भित्रबाट माथि हेर, माथि हेर, अनि परमेश्‍वरको हातमा सबै कुरा सुम्‍प। जे भए पनि, लोतकी अर्की पत्नी नबन। पन्छ्याइएको हुनु कति दुःखलाग्दो कुरा हुन्छ! साँच्चै दुःखलाग्दो! अँ, बिउँझ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३

१६८. पर्वत र नदीहरू परिवर्तन हुन्छन्, जल आफ्नै मार्गमा बहन्छ, र मानिसको जीवन धर्ती र आकाश झैँ निरन्तर रहँदैन। केवल सर्वशक्तिमान्‌ परमेश्‍वर नै अनन्त र पुनरुत्थान हुने जीवन हुनुहुन्छ, जुन पुस्तौँ-पुस्ता, सदाकाल नै चलिरहन्छ! सबै चीज र सबै घटना उहाँकै हातमा छन्, र शैतान उहाँको पाउमुनि छ।

आज, परमेश्‍वरको पूर्वनिर्धारित चयनद्वारा उहाँले हामीलाई शैतानको पकडबाट छुटकारा दिलाउनुहुन्छ। उहाँ साँच्चै नै हाम्रा उद्धारक हुनुहुन्छ। येशूको अनन्त, पुनरुत्थानित जीवन वास्तवमा नै हामीभित्र समाहित छ, जसले हामीलाई परमेश्‍वरको जीवनसँग जोडिन प्रेरित गर्दछ, ताकि हामी वास्तवमा नै उहाँको आमने-सामने हुन सकौं, उहाँलाई खान सकौं, उहाँलाई पिउन सकौँ, र उहाँमा रमाउन सकौं। यो परमेश्‍वरको हृदय-रक्तको निःस्वार्थ समर्पण हो।

मौसमहरू आउँछन् र जान्छन्; परमेश्‍वर हावा र तुसारो हुँदै अघि बढ्नुहुन्छ, अनि जीवनका धेरै कष्ट, सतावट र सङ्कष्टहरू, संसारका धेरै अस्वीकृति र आक्षेपहरू सामना गर्नुहुन्छ, सरकारबाट धेरै झूटो अभियोगहरू खेप्छन्, तैपनि न परमेश्‍वरको विश्‍वासमा न उहाँको संकल्पमा अलिकति नै कमी आउँछ। परमेश्‍वरको इच्छाप्रति, र परमेश्‍वरको प्रबन्ध र योजनाप्रति पूर्ण हृदयका साथ समर्पित हुनुभई, तिनलाई पूरा गर्न सकियोस् भनेर, उहाँले आफ्नै जीवनलाई एकातिर पन्छाउनुहुन्छ। बहुविविधतामा रहेका उहाँका मानिसहरूको लागि, उहाँले पीडा सहन कुनै कसर बाँकी नछाडी, तिनीहरूलाई प्रेमिलो तरिकाले खुवाउने र पिलाउने गर्नुहुन्छ। हामी जतिसुकै अज्ञानी भए पनि, वा हामी जतिसुकै कठिन रहे पनि हामी केवल उहाँसामु समर्पित हुनुपर्छ, र ख्रीष्टको पुनरुत्थान भएको जीवनले हाम्रो पुरानो स्वभावलाई बदलिदिनेछ…। उहाँ यी सबै ज्येष्ठ पुत्रहरूका लागि भोक र आराम भुलेर अथक परिश्रम गर्नुहुन्छ। कति दिन र रात, कति चर्को घाम र कठ्याङ्ग्रिने जाडो हुँदै, उहाँ पूर्ण हृदयले सियोनलाई हेर्नुहुन्छ।

सम्पूर्ण रूपले, खुशीसाथ, स्वेच्छाले परित्याग गरिएको यो संसार, घर, काम र सबै कुरा अनि सांसारिक सुखभोगहरूसँग उहाँको केही लिनु-दिनु छैन…। उहाँको मुखबाट निस्कने वचनहरूले हामीलाई वास्तवमा नै प्रहार गर्छन्, हाम्रो हृदयहरूभित्र लुकेका कुराहरूलाई उजागर गर्दछ। हामी कसरी विश्‍वस्त हुन सक्दैनौं? उहाँको मुखबाट निस्कने हरेक वाक्य जुनसुकै समयमा पनि हामीमा सत्य हुन सक्दछ। हामी जे-जे गर्छौं, उहाँको सामुन्नेमा होस् वा उहाँबाट पर लुकाएर होस्, त्यस्तो कुनै कुरा नै छैन जुन उहाँलाई थाहा हुन्‍न, त्यस्तो कुनै कुरा नै छैन जुन उहाँले बुझ्नुहुन्‍न। हाम्रा आफ्‍नै योजना र व्यवस्थाहरूको बावजूद, सबै कुराहरू उहाँको सामुन्ने प्रकट हुनेछन्।

उहाँको सामु बसेर, हाम्रो आत्माभित्र आनन्द महसुस गर्दै, सहज र शान्त रहे पनि, सदैव खालीपन र परमेश्‍वरप्रति वास्तवमै ऋणी भएको महसुस गर्नु: यो एउटा यस्तो रहस्य हो जुन अकल्पनीय र प्राप्त गर्न असम्भव छ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै एकमात्र सच्चा परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा प्रमाणित गर्न पवित्र आत्मा पर्याप्त हुनुहुन्छ! यो निर्विवाद प्रमाण हो! यो समूहका हामी अत्यन्तै धन्य छौं! यदि परमेश्‍वरको अनुग्रह र कृपा नहुँदो हो त हामी विनाशतिर लम्कन र शैतानलाई पछ्याउन मात्र सक्‍नेथियौं। केवल सर्वशक्तिमान्‌ परमेश्‍वरले नै हामीलाई उद्दार गर्न सक्नुहुन्छ!

हे! सर्वशक्तिमान्‌ परमेश्‍वर, व्यावहारिक परमेश्‍वर! यो तपाईं नै हुनुहुन्छ जसले हाम्रो आत्मिक आँखा खोलिदिनुभएको छ, जसबाट हामी यस आत्मिक क्षेत्रका रहस्यहरूलाई हेर्न सक्छौं। यस राज्यका सम्भावनाहरू असीम छन्। प्रतीक्षा गर्ने क्रममा हामी सचेत भएर बसौं। त्यो दिन धेरै टाढा हुन सक्दैन।

युद्धको ज्वाला मडारिन्छ, तोपको धुवाँले हावा भरिन्छ, मौसम गरम हुन्छ, जलवायु परिवर्तन हुन्छ, र महामारी फैलनेछ, र मानिसहरू केवल मर्न सक्छन्, बाँच्ने कुनै आशा हुँदैन।

हे! सर्वशक्तिमान्‌ परमेश्‍वर, व्यावहारिक परमेश्‍वर! तपाईं हाम्रो अभेद्य किल्ला हुनुहुन्छ। तपाईं हाम्रो शरण हुनुहुन्छ। हामी तपाईंको छत्रछायामा रहन्छौं, र विपत्ति हामीसम्म पुग्न सक्दैन। तपाईंको दिव्य सुरक्षा र रेखदेख यही हो।

हामी सबै हाम्रा आवाजहरू गीतमा उठाउँछौं; हामी स्तुतिमा गाउँछौं, र हाम्रो स्तुतिको आवाज पूरै सियोनभरि गुन्जन्छ! सर्वशक्तिमान्‌ परमेश्‍वर, व्यावहारिक परमेश्‍वरले हाम्रो लागि त्यो सुन्दर गन्तव्य तयार गर्नुभएको छ। सचेत रहौं—ओहो, निगरानीमा रहौं! अझै पनि, समय धेरै विलम्ब भएको छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५

१६९. राज्यका राजा, सर्वशक्तिमान् परमेश्‍वरको गवाही दिइएको समयदेखि परमेश्‍वरको व्यवस्थापनको क्षेत्र सारा ब्रह्माण्डमा त्यसको सम्पूर्णतामा खुलेको छ। परमेश्‍वरको देखा पराइको गवाही चीन देशमा मात्र दिइएको छैन, तर सर्वशक्तिमान् परमेश्‍वरको नाउँको गवाही सबै देश र सबै स्थानमा दिइएको छ। तिनीहरू सबैले यो पवित्र नाउँ पुकारिरहेका छन्, हर सम्‍भव उपायद्वारा परमेश्‍वरसित सङ्गति गर्न खोजिरहेका छन्, सर्वशक्तिमान्‌ परमेश्‍वरका अभिप्रायहरू बुझिरहेका र मण्डलीमा सामूहिक रूपमा उहाँको सेवा गरिरहेका छन्। यो पवित्र आत्माले काम गर्ने अचम्मको तरिका हो।

विभिन्न देशका भाषाहरू एक-अर्काभन्दा फरक छन्, तर आत्मा एउटै हुनुहुन्छ। यो आत्माले सारा ब्रह्माण्डका मण्डलीहरूलाई एकसाथ जोड्नुहुन्छ र परमेश्‍वरसित, अलिकति पनि भिन्नता बिना, बिलकुल एक हुनुहुन्छ। यो शङ्का गर्नै नसकिने कुरा हो। अब पवित्र आत्माले तिनीहरूलाई बोलाउनुहुन्छ, र उहाँको आवाजले तिनीहरूलाई सतर्क बनाइराख्नुहुन्छ। यो परमेश्‍वरको कृपाको आवाज हो। तिनीहरू सबैले सर्वशक्तिमान् परमेश्‍वरको पवित्र नाउँ पुकारिरहेका छन्! तिनीहरूले प्रशंसा चढाउँछन् र गाउँछन् पनि। पवित्र आत्माको काममा कहिल्यै कुनै विचलन हुन सक्दैन; यी मानिसहरू सही मार्गमा अगाडि बढ्नका लागि सके सम्म गर्छन्, तिनीहरू पछाडि फर्कँदैनन्, जुन अचम्ममाथि अचम्म छ। यो मानिसहरूले कल्पना गर्न कठिन र अनुमान गर्न असम्भव कुरा हो।

सर्वशक्तिमान् परमेश्‍वर ब्रह्माण्डमा भएको जीवनका राजा हुनुहुन्छ! उहाँ महिमित सिंहासनमा विराजमान हुनुहुन्छ र संसारको न्याय गर्नुहुन्छ, सबैमाथि सार्वभौमिकता राख्नुहुन्छ, र सबै देशहरूमाथि शासन गर्नुहुन्छ; सबै मानिसहरू उहाँको सामु घुँडा टेकेर उहाँलाई प्रार्थना गर्छन्, उहाँको नजिक हुन्छन् र उहाँसँग कुराकानी गर्छन्। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै समय भए पनि, तिमीहरूको हैसियत जति ठूलो वा तिमीहरूको वरिष्ठता जति महान् भए पनि, यदि तिमीहरू आफ्नो हृदयमा परमेश्‍वरको विरुद्ध जान्छौ भने, तिमीहरूको न्याय गरिनैपर्छ र तिमीहरू पीडादायी बिन्तीको आवाज निकाल्दै उहाँको अगाडि लम्पसार हुनैपर्छ; तिमीहरूका आफ्नै कार्यहरूको फल कटनी गर्नु भनेको वास्तवमा यही हो। यो विलापको आवाज आगो र गन्धकको कुण्डमा यातना पाएको आवाज हो, र यो परमेश्‍वरको फलामको लौरोद्वारा ताडना दिइएको चिच्याहट हो; यो ख्रीष्टको सिंहासनको सामुन्नेको न्याय हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ८

१७०. सर्वशक्तिमान् परमेश्‍वर! उहाँको महिमित शरीर खुला ठाउँमा देखा पर्दछ, पवित्र आत्मिक शरीर खडा हुन्छ, र उहाँ पूर्ण परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ! संसार र देह दुवै परिवर्तन भएको छ, र पर्वतमा परिवर्तन भएको उहाँको रूप परमेश्‍वरको व्यक्तित्व हो। उहाँले आफ्नो शिरमा सुनको मुकुट लगाउनुहुन्छ, उहाँको वस्त्र शुद्ध सेतो छ, उहाँको छाती वरिपरि सुनौलो पेटी बाँधिएको छ र संसार र सबै थोक उहाँको पाउदान हुन्। उहाँका आँखाहरू आगोको ज्वालाजस्ता छन्, उहाँको मुखमा एउटा धारिलो दुईधारे तरवारजस्तो छ, र उहाँको दाहिने हातमा सातवटा ताराहरू छन्। परमेश्‍वरको राज्यको बाटो असीमित रूपमा चहकिलो छ, र उहाँको महिमा उठ्छ र चम्किन्छ; पर्वतहरू आनन्दित छन् र समुद्र हाँस्छ, र सूर्य, चन्द्रमा र ताराहरू सबै तिनीहरूका आ-आफ्नो नियमित क्रममा घुम्छन्, अद्वितीय, साँचो परमेश्‍वरको स्वागत गर्दैछन्, जसको विजयी वापसीले उहाँको छ हजार वर्षको व्यवस्थापन योजनाको समापनको वर्णन गर्दछ। सबै उफ्रन्छन् र आनन्दले नाच्छन्! हर्षोल्‍लास गर्छन्! सर्वशक्तिमान् परमेश्‍वर आफ्नो महिमित सिंहासनमा विराजमान हुनुहुन्छ! गाओ! सर्वशक्तिमान्‌को विजयी झन्डा महिमित, भव्य सियोन पर्वतमा उचालिएको छ! सबै जातिहरूले जयजयकार गरिरहेका छन्, सबै मानिसहरू गाउँदैछन्, सियोन पर्वत आनन्दले हाँस्दैछ, र परमेश्‍वरको महिमा उत्पन्न भएको छ! मैले परमेश्‍वरको अनुहार देख्‍नेछु भनी सपनामा पनि सोचेको थिइनँ, तर आज मैले यो देखेको छु। हरेक दिन उहाँसँग आमनेसामने हुन्छु, म उहाँको अगि मेरो हृदय उदाङ्गो पार्छु। उहाँले प्रशस्त खाने र पिउने कुराहरू प्रदान गर्नुहुन्छ। जीवन, वचनहरू, कामहरू, विचारहरू, सोचाइहरू—उहाँको महिमित ज्योतिले ती सबैलाई उज्यालो पार्दछ। उहाँले बाटोको हरेक कदममा डोऱ्याउनुहुन्छ, र कुनै पनि विद्रोही हृदयमाथि उहाँको दण्ड तुरुन्‍तै आउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १५

१७१. मानिसको पुत्रलाई देखिएको छ, र परमेश्‍वर स्वयम्‌लाई खुल्लमखुल्ला प्रकट गरिएको छ। परमेश्‍वरको महिमा प्रकट भएको छ, जलिरहेको सूर्यजस्तो चम्किरहेको छ! उहाँको महिमित अनुहार चहकिलो प्रकाशले चम्कन्छ; कसको आँखाले उहाँसँग विरोधको व्यवहार गर्ने आँट गर्छ? प्रतिरोधले मृत्युमा पुर्‍याउँछ! तैँले आफ्नो हृदयमा सोच्‍ने, तैँले बोल्‍ने कुनै शब्द वा तैँले गर्ने कुनै पनि कामका निम्ति रत्तीभर पनि दया देखाइँदैन। तिमीहरूले पाएको कुरा के हो सो तिमीहरूले बुझ्‍नेछौ र देख्‍नेछौ—त्यो मेरो न्यायबाहेक अरू केही होइन! जब तिमीहरू मेरा वचनहरू खाने र पिउने कोसिस गर्दैनौ र त्यसको साटो स्वेच्छाले अवरोध पुऱ्याउँछौ र मेरो निर्माणलाई ध्वस्त पार्छौ भने के म त्यसलाई सहन सक्छु? यस्तो व्यक्तिसँग म कोमल व्यवहार गर्नेछैनँ! यदि तेरो व्यवहार अझ बढी गम्भीरतासाथ पतित हुन्छ भने, तँ आगोमा नष्ट हुनेछस्! सर्वशक्तिमान्‌ परमेश्‍वर आत्मिक शरीरमा प्रकट हुनुहुन्छ, जो शिरदेखि खुट्टाको औँलासम्म मासु वा रगतले अलिकति पनि जोडिएको हुनुहुन्‍न। उहाँ ब्रह्माण्डको संसारलाई पार गर्नुहुन्छ, तेस्रो स्वर्गमा महिमित सिंहासनमा विराजमान हुनुहुन्छ, र सबै थोकमाथि शासन गर्नुहुन्छ! ब्रह्माण्ड र सबै थोक मेरो हातमा छन्। यदि मैले बोलेँ भने, यो त्यस्तै हुनेछ। यदि मैले यो ठहराउँछु भने, यो यस्तै हुनेछ। शैतान मेरो खुट्टामुनि छ; त्यो अतल कुण्डमा छ! जब मेरो आवाज बाहिर निस्कन्छ, स्वर्ग र पृथ्वी बितेर जानेछ र केही पनि रहनेछैन! सबै थोक नयाँ तुल्याइनेछन्; यो एक अपरिवर्तनीय सत्य हो जुन पूर्ण सही छ। मैले संसारलाई, साथै सबै दुष्टहरूलाई पनि जितेको छु। म यहाँ तिमीहरूसँग कुराकानी गर्दै बस्छु, र जसको कान छ उनीहरू सबैले सुन्नुपर्छ र जो जीवित छन् उनीहरूले स्वीकार गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १५

१७२. सर्वशक्तिमान साँचो परमेश्‍वर, सिंहासनमा विराजमान राजाले, कैयौँ राष्ट्रहरू र मानिसहरूको सामना गर्दै, सारा ब्रह्माण्डमा शासन गर्नुहुन्छ, परमेश्‍वरको महिमा संसारभर चम्किन्छ। ब्रह्माण्ड र पृथ्वीको अन्तिम छेउसम्म भएका सबै जीवित वस्तुहरूले देख्नेछन्। पर्वतहरू, नदीहरू, तालहरू, जमिनहरू, समुद्रहरू, र सबै जीवित प्राणीहरूले साँचो परमेश्‍वरको चेहराको ज्योतिमा तिनीहरूको पर्दाहरू खुलागरी तानेका छन्, र तिनीहरू सपनाबाट ब्यूँझे झैँ, तिनीहरू माटोबाट फुटी निस्‍कने टुसाहरू झैँ, पुनर्जीवित भएका छन्!

आह! एक मात्र साँचो परमेश्‍वर संसारका मानिसहरूको सामुन्ने देखा पर्नुहुन्छ। कसले प्रतिरोधसाथ उहाँको समीप आउने साहस गर्छ? सबै डरले काम्छन्। सबै पूर्ण रूपले विश्‍वस्त भएका छन्, र सबैले बारम्बार क्षमा माग्छन्। कैयौँ मानिसहरू उहाँको अघि घुँडा टेक्छन्, र कैयौँ मुखहरूले उहाँको आराधना गर्छन्! महाद्वीपहरू र सागरहरू, पर्वतहरू, नदीहरू, र यावत् थोकले अटुट रूपमा उहाँको प्रशंसा गर्छन्! वसन्त ऋतुको स्वाससँगै न्यानो बतासले आफूसँग ज्योति, अटुट वसन्त झरी ल्याउँछ। कलकल बग्‍ने खोला र कैयौँ मानिसहरू उस्तै छन्, दुवै दुःख र हर्षले भरिएका छन्, ऋणीपन र आत्म-ग्लानिका आँसु झार्छन्। नदीहरू, तालहरू, लहर र तरङ्गहरू सबैले साँचो परमेश्‍वरको पवित्र नाउँको स्तुतिगान गर्दै गाउँदैछन्! प्रशंसाको ध्वनि यस्तो स्पष्टसँग बज्दछ! एक चोटि शैतानद्वारा भ्रष्‍ट बनाइएका पुराना वस्तुहरू, तिनीहरूमध्ये प्रत्येक र हरेक नवीकरण र परिवर्तित हुनेछन् र पूर्ण रूपमा एउटा नयाँ क्षेत्रमा प्रवेश गर्नेछन् …

यो पवित्र तुरही हो, र यो गुञ्जिन थालेको छ! यसलाई सुन्। त्यो अति सुमधुर आवाज सिंहासनको वाणी हो, त्यसले प्रत्येक राष्ट्र र मानिसहरूलाई समय आएको छ, आखिरी दिनहरूको परिणाम आएको छ, मेरो व्यवस्थापनको योजना सकिएको छ, मेरो राज्य पृथ्वीमा खुला रूपमा देखा परेको छ, र संसारका राज्यहरू मेरो राज्य भएका छन्, जो म परमेश्‍वर हुँ भनी घोषणा गर्दछ। मेरा सात तुरहीहरू सिंहासनबाट गुञ्जिन्छन्, र उदेकका कुराहरू देखा पर्नेछन्! पृथ्वीको पल्‍लो छेउहरूबाट मानिसहरू कोही समुद्रमा पानीजहाज चलाउँदै, कोही हवाइजहाजमा उड्दै, कोही हरेक आकार र आकृतिको गाडीहरूमा चढ्दै, कोही घोडामा चढ्दै, हिमपहिरोको बल र मेघ गर्जनको शक्तिसँगै हरेक दिशाबाट सँगसँगै हतारिँदै आउनेछन्। ध्यान दिएर हेर्। ध्यानपूर्वक सुन्। हरेक रङ्गका यी घोडसवारहरू, जो शक्तिशाली र भव्य, उत्साह जागेका, युद्धको मैदान जितेका झैँ छन्, ती मृत्युप्रति उदासीन छन्। घोडाहरू कराएको आवाज र साँचो परमेश्‍वरको लागि मानिसहरू कराएको हल्लाको बीचमा, धेरै पुरुषहरू, महिलाहरू, र बालबालिकाहरूलाई एकछिनमै तिनीहरूका खुरहरूले कुल्चिएका हुनेछन्। केही मरेका हुनेछन्, केही आफ्नो अन्तिम श्‍वास लिइरहेका हुनेछन्, केही टुक्रिएका हुनेछन्, तिनीहरूलाई रेखदेख गर्ने कोही हुनेछैनन्, अनियन्त्रित रूपमा कराउँदै, पीडामा चिच्याउनेछन्। विद्रोहका छोराहरू! के यो तिमीहरूको अन्तिम नतिजा होइन र?

मेरो आवाज सुन्‍न सक्‍ने र हरेक राष्ट्र र भूमिबाट भेला हुन सक्‍ने मेरा मानिसहरूमाथि म हर्षका साथ नजर लगाउँछु। कैयौँ मानिसहरू, साँचो परमेश्‍वरलाई सधैँ आफ्नो ओठमा राख्दै, निरन्तर प्रशंसा गर्छन् र उफ्रन्छन्! तिनीहरूले संसारलाई साक्षी दिन्छन्, र साँचो परमेश्‍वरप्रति तिनीहरूको साक्षीको आवाज धेरै पानीको गर्जनको आवाज जस्तै हुन्छन्। कैयौँ मानिसहरू मेरो राज्यभित्र जम्मा हुनेछन्।

मेरा सात तुरहीहरू बज्छन्, जसले सुतिरहेकाहरू ब्यूँताउँछन्! छिटो उठ्, अझै पनि ढिलो भएको छैन। तेरो जीवनलाई हेर्! तेरा आँखाहरू खोल् र अहिले यो कुन समय हो, हेर्! खोज्नुपर्ने के कुरा छ? विचार गर्नुपर्ने के कुरा छ? र पक्रिराख्नुपर्ने के कुरा छ? के तैँले मेरो जीवन प्राप्त गर्नु र तैँले माया गरेका र पक्रिराखेका सबै कुरा प्राप्त गर्नुको मूल्यका बीचमा पाइने भिन्‍नताका बारेमा कहिल्यै विचार गरेको छस्? अब उप्रान्त हठी नबन् न त खेलबाड गर्। यो मौकालाई नगुमा। यो समय फेरी आउनेछैन! यही घडी उठ्, तेरो आत्मालाई कसरत गर्ने अभ्यास गर्, शैतानको सबै युक्ति र योजनालाई हेर्न र रोक्नलाई विभिन्न किसिमका संयन्‍त्रहरू प्रयोग गर्, र शैतानमाथि विजय गर्, ताकि तेरो जीवन अनुभव अझ बलियो हुन सकोस् र तँ मेरो स्वभावमा जिउन सक्, ताकि तेरो जीवन परिपक्व र अनुभवी हुन सकोस् र तैँले सधैँ मेरा पाइलाहरू पछ्याउन सक्। निडर, कमजोर नभई, पाइला पाइलामा सधैँ अघि बढिराख्, बाटोको अन्त्य नआएसम्म सिधा बढिराख्!

जब सात तुरहीहरू फेरि बज्छन्, यो न्यायको बोलावट हुनेछ, विद्रोहीका छोराहरूको न्याय, सबै राष्ट्रहरू र सबै मानिसहरूको न्याय हुनेछ, र हरेक राष्ट्र परमेश्‍वरको अघि समर्पित हुनेछन्। परमेश्‍वरको महिमित चेहरा सबै राष्ट्रहरू र सबै मानिसहरूको अघि अवश्य देखा पर्नेछ। सबै जना पूर्ण रूपमा विश्‍वस्त हुनेछन्, र अटुट रूपमा साँचो परमेश्‍वरलाई पुकार्नेछन्। सर्वशक्तिमान परमेश्‍वर अझ धेरै महिमित हुनुहुनेछ, र मेरा छोराहरू र मैले सबै राष्ट्रहरू र सबै मानिसहरूको न्याय गर्दै, दुष्टलाई दण्ड दिँदै, मेरा जतिलाई कृपा देखाउँदै र मुक्त हुँदै, र राज्यलाई बलियो र स्थायी बनाउँदै महिमामा भाग लिनेछौँ र राज्याधिकार बाँड्नेछौँ। सात तुरहीहरूको आवाजद्वारा, धेरै मानिसहरू मुक्त हुनेछन्, मेरो अघि घुँडा टेक्न र निरन्तर प्रशंसाका साथ आराधना गर्न फर्किआउनेछन्!

जब सात तुरहीहरू फेरि एकचोटि बज्नेछन्, यो युगको अन्त्य हुनेछ, दियाबलसहरू र शैतानमाथिको विजयको तुरही चर्को आवाज बज्छ, जुन सलामी हो, जसले पृथ्वीको राज्यमा खुल्ला रूपले जियाई सुरु गर्नलाई घोषणा गर्दछ! यो आवाज कति उच्च छ, यो आवाज सिंहासनको वरिपरि प्रतिध्वनित हुन्छ, स्वर्ग र पृथ्वी हल्लाउँदै यो तुरही चर्को आवाजमा बज्छ, जुन मेरो व्यवस्थापन योजनाको विजयको चिन्ह हो, जुन शैतानको न्याय हो; यसले यो पुरानो संसारलाई अतल कुण्‍डमा फर्किन, पूर्ण रूपले मृत्युको दण्ड सुनाउँछ! यो तुरहीको चर्को आवाजले अनुग्रहको ढोका बन्द हुन लागेको, राज्यको जीवन पृथ्वीमा सुरु हुनेछ, जुनचाँहि सही र उचित छ भन्‍ने कुरा दर्साउँछ। परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। तिनीहरू उहाँको राज्यमा फर्किएपछि, पृथ्वीमा भएका मानिसहरूले अनिकाल र महामारीको सामना गर्नेछन्, र परमेश्‍वरको सात कचौराहरू र सात विपत्तिहरू प्रभावमा आउनेछन्। स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर मेरा वचन बित्नेछैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३६

१७३. जब पूर्वबाट बिजुलीका चमकहरू आउँछन्, जुन म मेरा वचनहरू बोल्न थाल्ने समय पनि हो—जब बिजुलीका चमकहरू आउँछन् तब सम्पूर्ण आकाश उज्यालो हुन्छ, र सबै ताराहरूमा एक रूपान्तरण हुन्छ। यस्तो लाग्छ, मानौँ सम्पूर्ण मानव जातिलाई सफाइ गरिएको छ। पूर्वबाट आउने यो ज्योतिको किरणमा सम्पूर्ण मानव जातिलाई उनीहरूको असली रूपमा प्रकट गरिन्छ, उनीहरूका आँखाहरू तिरमिराउँछन्, के गर्ने भनेर अनिश्चित हुन्छन्, र उनीहरूका कुरूप अनुहारहरू कसरी लुकाउने होला भनी अझै अनिश्चित हुन्छन्। तिनीहरू ती पशुहरूजस्ता छन् जो मेरो ज्योतिबाट भाग्छन् र पहाडका गुफाहरूमा शरण लिन्छन्—तर तीमध्ये एकै जना पनि मेरो ज्योतिबाट नष्ट हुन सक्दैन। सबै मानिसहरू चकित हुन्छन्, सबैले पर्खिरहेका हुन्छन्, सबैले हेरिरहेका हुन्छन्; मेरो ज्योतिको आगमनको साथमा सबै जना आफू जन्मेको दिनमा रमाउँछन्, र त्यस्तै गरी सबैले आफ्नो जन्मेको दिनलाई सराप्छन्। विवादास्पद भावनाहरू व्यक्त गर्न असम्भव हुन्छ; आत्म-निन्दाका आँसुहरूको नदीहरू बग्छन्; र तीव्र प्रवाहमा बगेर जान्छन्, एकै क्षणमा नाम-निसाना मेटिने गरी हराउँछन्। एक पटक फेरि, मेरो दिन सारा मानव जातिको नजिक पुग्छ, एक पटक फेरि मानव जातिलाई उत्तेजित गराउँछ, मानव जातिलाई अर्को एउटा नयाँ सुरुआत दिँदछ। मेरो हृदय धड्किन्छ र, मेरो हृदयको धड्कनको ताल अनुसरण गर्दै, पहाडहरू आनन्दले उफ्रन्छन्, पानीहरू आनन्दले नाच्छन्, र छालहरूले चट्टानका पहराहरूमा हान्छन्। मेरो हृदयमा जे छ त्यो व्यक्त गर्न गाह्रो हुन्छ। सबै अशुद्ध थोकहरूलाई म मेरो नजरमा जलाएर खरानी बनाउन चाहन्छु; म विद्रोहका सबै छोराहरूलाई मेरो आँखाको अगाडिबाट कहिल्यै अस्तित्वमा नरहने गरी विलुप्त पार्न चाहन्छु। त्यो ठूलो रातो अजिङ्गरको बास बस्ने ठाउँमा मैले नयाँ सुरुवात मात्र गरेको छैनँ, मैले ब्रह्माण्डमा पनि नयाँ काम सुरु गरेको छु। चाँडै, पृथ्वीका राज्यहरू मेरो राज्य हुनेछन्; चाँडै, मेरो राज्यको कारण यस पृथ्वीका राज्यहरूको अस्तित्व सदाका लागि समाप्त हुनेछ, किनकि मैले अघिबाटै विजय हासिल गरिसकेको छु, किनकि म विजयी बनेर फर्केको छु। त्यो ठूलो रातो अजिङ्गरले पृथ्वीमा मेरो काम मेटाउने आशामा मेरो योजनामा बाधा पुर्‍याउनका लागि सबै साधनहरू समाप्त गरिसक्यो, तर के म त्यसको कपटपूर्ण चालका कारण निराश हुन सक्छु? के म त्यसको धम्कीबाट आत्मविश्‍वास गुमाउँला भनी डराउँछु? स्वर्गमा वा पृथ्वीमा कहिल्यै कुनै यस्तो प्राणी भएको छैन जसलाई मैले मेरो हत्‍केलामा लिएको छैन; त्यो ठूलो रातो अजिङ्गर, त्यो औजारको बारेमा झन् यो कति धेरै सत्य छ, जसले मेरो निम्ति प्रतिभारको रूपमा काम गर्छ? के यो पनि मेरो हातमा खेलबाड गर्नुपर्ने एक वस्तु होइन र?

मानिसको संसारमा भएको मेरो देहधारणको अवधिमा मानव जाति अनजानमा नै आजको दिनसम्म मेरो मार्गनिर्देशनको अधीनमा आएको छ, अनजानमा नै मलाई चिन्न सकेको छ। तर अगाडि आउने बाटोमा कसरी हिँड्ने भन्‍नेबारे कसैलाई थाहा छैन, कोही पनि सचेत छैन—र त्यो बाटोले तिनीहरूलाई कुन दिशातिर लैजान्छ भन्‍ने कुरा थाहा पाउने त कुरै नगरौं। केवल सर्वशक्तिमान्‌ले उनीहरूमाथि नजर राख्नुभयो भने मात्र कुनै व्यक्ति त्यो बाटोको अन्त्यसम्म पुग्न सक्नेछ; पूर्वमा चम्केको ज्योतिको अगुवाइमा मात्र कसैले मेरो राज्यमा पुर्याउने प्रवेशद्वार पार गर्न सक्छ। मानिसहरू माझ कुनै यस्तो व्यक्ति छैन जसले मेरो अनुहार देखेको छ, जसले पूर्वमा ज्योति चम्केको देखेको छ; मेरो सिंहासनबाट बोलिएको वाणीहरू सुन्ने त झन् कति थोरै होलान्? वास्तवमा, प्राचीन कालदेखि कुनै पनि व्यक्ति मेरो व्यक्तित्वसँग प्रत्यक्ष सम्पर्कमा आएको छैन; केवल आज, म यस संसारमा आएपछि मात्रै मानिसहरूले मलाई देख्ने मौका पाएका छन्। तर अहिले पनि मानिसहरूले मलाई चिन्दैनन्, जसरी उनीहरूले मेरो अनुहार हेर्छन् र मेरो आवाज मात्र सुन्छन् तर मेरो अर्थ बुझ्दैनन्। सबै मानिसहरू यस्तै प्रकारका छन्। मेरा मानिसहरूमध्ये एक भएको नाताले मेरो अनुहार देख्दा के तिमीहरू गर्व महसुस गर्दैनौं र? र के मलाई नचिनेको कारण अति नै ठूलो सरम महसुस गर्दैनौ र? म मानिसहरू माझ हिँड्छु र म मानिसहरू माझ बस्छु, किनकि म देह बनेको छु र म मानव संसारमा आएको छु। मेरो उद्देश्य भनेको मानव जातिलाई मेरो देहलाई हेर्ने क्षमता दिनु मात्र होइन; अझ महत्त्वपूर्ण कुरा, मलाई चिन्न मानिसहरूलाई सक्षम बनाउनु हो। यसबाहेक, म मेरो देहधारी शरीरबाट मानिसहरूलाई तिनीहरूका पापहरूका लागि दोषी ठहराउनेछु; म मेरो देहधारी शरीरद्वारा, त्यो ठूलो रातो अजिङ्गरलाई हराउनेछु र त्यसको गुफालाई नष्ट गर्नेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १२

१७४. म सारा ब्रह्माण्डसँग बोल्दा, सबै मानिसले मेरो आवाज सुन्छन्, अर्थात् सबै मानिसले मैले ब्रह्माण्डभरि गरेका सबै कार्य देख्छन्। मेरा अभिप्रायविरुद्ध जानेहरू, अर्थात् मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्नेहरू मेरो सजायमा ढल्नेछन्। म आकाशका अनगिन्ती ताराहरूलाई नवीकरण गर्नेछु; मैले गर्दा नै घाम र जून पनि नवीकरण हुनेछन्, आकाशहरू यसउप्रान्त पहिलेजस्तो रहँदैनन् र संसारका सबै थोक नवीकरण हुनेछन्—यो सब मेरा वचनहरूको कारण पूर्ण हुनेछ। ब्रह्माण्डभित्रका सबै देशहरू पुनर्विभाजित हुनेछन् र मेरो राज्यद्वारा प्रतिस्थापित गरिनेछन्, ताकि पृथ्वीका देशहरू सदाका लागि हराएर जाऊन्, र त्यहाँ मलाई आराधना गर्ने राज्य मात्र होस्; पृथ्वीका सबै देशहरू नष्ट हुनेछन् र ती अस्तित्वमा रहन छोड्नेछन्। ब्रह्माण्डभित्रका मानव जातिमध्ये, जो दियाबलसका हुन् तिनीहरू सबै सखाप हुनेछन्। शैतानको पूजा गर्ने सबै मेरो प्रज्वलित अग्‍निमा खस्नेछन्—अर्थात्, अहिले प्रवाहभित्र रहेकाहरूबाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ। जब म प्रत्येक मानिसलाई सजाय दिन्छु, तब धार्मिक समुदायहरू विभिन्‍न हदमा, मेरो राज्यमा फर्कनेछन्, अनि मेरा काममार्फत विजय गरिनेछन्, किनभने तिनीहरूले सेतो बादलमा सवार पवित्र जन आइसक्नुभएको छ भनेर देखेका हुनेछन्। सबै मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकृत गरिनेछ, र तिनीहरूले आफ्‍ना कार्यहरूअनुसारका विभिन्न सजाय पाउनेछन्; र मेरो प्रतिरोध गरेकाहरू सबै नष्ट हुनेछन्, अनि पृथ्वीमा आफ्ना कार्यहरूमा मलाई समावेश नगर्नेहरूका हकमा, तिनीहरूले आफूलाई जसरी व्यवहार गरेका हुन्‍छन् सोही कारण तिनीहरू मेरा पुत्रहरू र मेरा मानिसहरूको अधीनमा रही पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। म असङ्ख्या देश र असङ्ख्य मानिसहरूकहाँ देखा पर्नेछु, र म पृथ्वीमा आफ्‍नै आवाज व्यक्त गर्नेछु, मेरो महान् कामको पूर्ती घोषणा गर्नेछु, सबै मानिसलाई यो उनीहरूकै आँखाले देख्न दिनेछु।

मेरा वाणीहरू झन्झन् गहन हुँदै जाँदा, म ब्रह्माण्डको स्थिति पनि अवलोकन गर्छु। मेरा वचनहरूका कारण, यावत् थोक नवीन बनाइन्छन्। स्वर्ग, अनि पृथ्वी पनि परिवर्तन हुन्छ। मानव त्यसको मौलिक स्वरूपमा खुलासा गरिन्छ र, बिस्तारै सबै मानिसलाई उनीहरूको प्रकारअनुसार अलग गरिन्छ, र अनजान रूपमै उनीहरू आफ्‍नो “परिवार” कहाँ फर्काइन्छन्। यसले मलाई अत्यन्तै प्रसन्न तुल्याउँछ। म बाधाबाट मुक्त छु, र थाहै नभई, मेरो महान् काम पूरा हुन्छ, र यावत् थोक रूपान्तरित हुन्छन्। संसारको सृष्टि गर्दा, मैले यावत् थोकलाई तिनीहरूको प्रकारअनुसार छुट्टयाएँ, रूप भएका यावत् थोकलाई वर्गीकृत गरेँ। जब मेरो व्यवस्थापनको योजनाको समाप्ति नजिकिन्छ, म सृष्टिको पहिलेको स्थिति पुनर्स्थापित गर्नेछु; म सबै कुरालाई मौलिक स्थितिमा पुनर्स्थापित गर्नेछु, सबै कुरालाई पूर्णतः परिवर्तन गर्नेछु, र सबै कुरालाई मेरो योजनाअन्तर्गत पर्ने तुल्याउनेछु। समय आइसकेको छ! मेरो योजनाको अन्तिम चरण पूरा हुन लागेको छ। ए, फोहोर पुरानो संसार! यो निश्‍चय नै मेरा वचनहरूमाझ भत्किनेछ! यसलाई मेरो योजनाले अवश्यै शून्यतामा झार्नेछ! ए, यावत् थोकहरू! ती सबैले मेरा वचनहरूमाझ नयाँ जीवन प्राप्त गर्नेछन्—तिनले आफ्नो सार्वभौम पाउनेछन्! ए, पवित्र र निष्खोट नयाँ संसार! यो निश्चय नै मेरो महिमामाझ पुनर्जीवित हुनेछ! ए, सियोन पर्वत! अबउप्रान्त चुप नबस्—म विजयसाथ फर्केको छु! म यावत् कुरामाझ सारा पृथ्वीलाई नियाल्छु। पृथ्वीका मानिसहरूले नयाँ जीवन सुरु गरेका छन् र तिनीहरूसँग नयाँ आशाहरू छन्। ए, मेरा मानिसहरू हो! तिमीहरू कसरी पो मेरो ज्योतिमाझ जीवनमा फर्किआउन नसक्लाऊ र? मेरो मार्गदर्शनमुनि तिमीहरू कसरी पो हर्षले उफ्रन नसक्लाऊ र? भूमिहरू हर्षोल्लासमा चिच्याइरहेका छन्, पानीहरू उल्लासमय हाँसोले गर्जिरहेका छन्! ए, पुनरुत्थानित इस्राएल! मेरो पूर्वनिर्धारणका कारण तैँले कसरी पो गर्व महसुस गर्न नसक्लास् र? को रोएको छ र? कसले विलाप गरेको छ र? पुरानो दिनको इस्राएल उप्रान्त अस्तित्वमा छैन, र आजको इस्राएल संसारमा ठाडो र उच्‍च हुँदै उदाएको छ, र सारा मानवताको हृदयमा खडा भएको छ। आजको इस्राएलले निश्चय नै मेरा मानिसहरूका कारण अस्तित्वको आधार प्राप्त गर्नेछ! हे, घृणित मिश्र! के तैँले अझै मेरो प्रतिरोध गर्नेथिइस् र? तैँले कसरी पो मेरो कृपाको फाइदा उठाएर मेरो सजायबाट उम्कने प्रयास गर्न सक्छस् र? तँ कसरी पो मेरो सजायभित्र नजिउन सक्छस् र? मैले प्रेम गर्ने सबै निश्चय नै अनन्तका लागि अस्तित्वमा रहनेछन्, र मेरो प्रतिरोध गर्ने सबैले निश्चय नै अनन्तका लागि मबाट सजाय पाउनेछन्। किनभने म ईर्ष्यालु परमेश्‍वर हुँ र म सबै मानिसहरूलाई तिनीहरूले गरेका सबै कुराका निम्ति हल्का रूपमा छाड्नेछैन। म सारा पृथ्वीलाई छानबिन गर्नेछु र, संसारको पूर्वमा धार्मिकता, प्रताप, क्रोध, र सजायसहित देखा पर्दै, म अनगिन्ती मानिससामु आफूलाई प्रकाश गर्नेछु!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २६

१७५. भीडहरूले मेरो जयजयकार गर्छन्, भीडहरूले मेरो प्रशंसा गर्छन्; सबै मुखले एउटै साँचो परमेश्‍वरको नाउँ लिन्छन्, सबै मानिसहरूले मेरा कामहरू हेर्न आ-आफ्नो आँखा माथि उठाउँछन्। परमेश्‍वरको राज्य मानिसहरूको संसारमा ओर्लिन्छ, मेरो व्यक्ति धनी र प्रशस्त छ। यसमा को आनन्दित हुँदैन र? आनन्दले को नाच्दैन? ए, सियोन! ममा हर्षोल्‍लास गर्न तेरो विजयको झन्डा उठा! मेरो पवित्र नाउँलाई फैलाउन तेरो विजयको गीत गा! पृथ्वीको अन्त्यसम्‍मका सबै सृष्टि! आफैलाई शुद्ध पार्न हतार गर, यसैले कि तिमीहरू मेरो निम्ति बलि बन्न सक। माथि स्वर्गका तारा मण्डलहरू! आकाशमा मेरो पराक्रमी शक्ति प्रकट गर्न आफ्‍नो स्थानमा तुरुन्तै फर्किहाल। म पृथ्वीका मानिसहरूका आवाज सुन्न मेरो कान थाप्छु, जसले गीतमा मेरो निम्ति आफ्नो असिम प्रेम र सम्मान खन्याउँछन्। यस दिन, जब सबै सृष्टिहरू जीवनमा फर्कन्छन्, म मानिसहरूको संसारमा ओर्लिन्छु। यो क्षणमा, यस बेला, सबै फूलहरू उन्मत्त बनेर फक्रिन्छन्, सबै पक्षीहरू एकै सोरमा गाउँछन्, सबै थोक आनन्दले धड्कन्छन्। परमेश्‍वरको राज्यको सलामीको आवाजमा, शैतानको राज्य ढल्छ, राज्यको स्तुतिगानको गर्जनमा कहिल्यै नउठ्ने गरी नाश हुन्छ।

पृथ्वीमा कसले खडा हुने र विरोध गर्ने हिम्मत गर्छ? जब म पृथ्वीमा ओर्लिन्छु, म आगो ल्याउँछु, क्रोध ल्याउँछु, र हर किसिमका प्राकृतिक विपत्तिहरू ल्याउँछु। अहिले सांसारिक राज्यहरू मेरो राज्य हुन्! माथि आकाशमा, बादलहरू छताछुल्ल र तरङ्गित हुन्छन्; आकाशमुनि, ताल र नदीहरू उर्लेर बढ्छन् र खुसीको साथ एक उत्तेजक धुन निकाल्छन्। विश्राम गरिरहेका जनावरहरू उनीहरूका ओडारहरूबाट निस्किन्छन्, र सबै मानिसहरू मद्वारा उनीहरूको निद्राबाट जगाइन्छन्। असङ्ख्य मानिसहरूले पर्खेका दिन आखिरमा आइपुगेको छ! तिनीहरूले आफ्ना सबैभन्दा सुन्दर गीतहरू मलाई चढाउँछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, राज्यको स्तुतिगान

१७६. जब राज्यप्रतिको सलामी गुञ्जन्छ—जुन सात गर्जनहरू गर्जिने समय पनि हो—यो आवाजले स्वर्ग र पृथ्वीलाई थर्काउँदै आकाशलाई हल्‍लाउँछ र हरेक मानवजातिको मुटु धड्कने तुल्याउँछ। मैले त्यो राष्ट्रलाई नष्ट गरेको छु र आफ्नो राज्य स्थापना गरेको छु भन्‍ने प्रमाणित गर्दै राज्यको राष्ट्रियगान ठूलो रातो अजिङ्गरको भूमिमा विधिवत् रूपमा खडा हुन्छ। अझै महत्त्वपूर्ण कुरा के छ भने, पृथ्वीमा मेरो राज्य स्थापना हुन्छ। त्यस क्षणमा, म मेरा स्वर्गदूतहरूलाई संसारका हरेक राष्ट्रमा पठाउन सुरु गर्छु ताकि तिनीहरूले मेरा पुत्रहरूलाई, मेरा मानिसहरूलाई गोठाला गरून्; यो मेरो कामको अर्को चरणका मागहरू पूरा गर्नको लागि पनि हो। तैपनि, व्यक्तिगत रूपमा म त्यो ठाउँमा जानेछु जहाँ ठूलो रातो अजिङ्गर गुँडुलो परेर बसिरहेको छ, अनि त्यससँग प्रतिस्पर्धा गर्छु। सारा मानवजातिले मलाई मेरो शरीरमा चिनेपछि र शरीरमा मेरा कार्यहरूलाई देख्‍न तिनीहरू सक्षम भइसकेपछि, ठूलो रातो अजिङ्गरको अखडालाई खरानीमा परिणत गरिनेछ र त्यसलाई नामनिसाना नछोडीकन मेटाइनेछ। …

आज, म ठूलो रातो अजिङ्गरको देशमा ओर्लिरहेको मात्रै छैनँ, तर सारा आकाशलाई हल्‍लाउँदै म सम्पूर्ण ब्रह्माण्डको रूपलाई पनि परिवर्तन गर्दैछु। के मेरो न्यायको सामना नगर्ने कहीँ त्यस्तो कुनै ठाउँ छ? के मैले वर्षाउने विपत्तिहरूबाट बच्ने कुनै ठाउँ छ? म जहाँ-जहाँ जान्छु, मैले “विपत्तिका अनेक बीउहरू” छरेको छु। मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्‍ने कुरामा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो। अझै धेरै मानिसलाई मलाई चिन्‍ने र देख्‍न सक्‍ने तुल्याउने मेरो इच्छा छ, अनि, यसरी, तिनीहरूले धेरै वर्षसम्‍म देख्‍न नसकेका तर जो व्यावहारिक तवरमा अहिले हुनुहुन्छ, तिनीहरू उहाँ परमेश्‍वरको डर मान्न पुग्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १०

१७७. धेरै सहस्राब्दीदेखि मानिसले मुक्तिदाताको आगमन देख्न सक्‍ने उत्कट इच्छा गरेको छ। हजारौँ वर्षदेखि उहाँको निम्ति उत्कट इच्छा गर्ने र चाह गर्नेहरूका बीचमा मुक्तिदाता येशू व्यक्तिगत रूपमै सेतो बादलको सवारीमा ओर्लनुभएको देख्ने उत्कट इच्छा मानिसले गरेको छ। मानिसले मुक्तिदाताको आगमन र तिनीहरूसँगको पुनर्मिलनको पनि उत्कट इच्छा गरेको छ; अर्थात्, हजारौँ वर्षदेखि मानिसहरूबाट अलग गरिनुभएका मुक्तिदाता येशू फर्केर आउनुभएको र यहूदीहरू माझ गर्नुभएको छुटकाराको काम फेरि एक पटक कार्यान्वयन गरेको, मानिसप्रति करुणामय र प्रेमिलो भएको, मानिसको पाप क्षमा गरेको, मानिसका पापहरू बहन गरेको, मानिसका सबै अपराधहरू समेत बहन गरेको र मानिसलाई पापबाट छुटकारा दिएको उत्कट चाह गरेको छ। मानिसले खास चाहेको कुराचाहिँ मुक्तिदाता येशू पहिलेको जस्तै हुनुभएको होस् भन्‍ने हो—एक मुक्तिदाता जो प्रेमिलो, दयालु र सम्मानीय हुनुहुन्छ, जो मानिससँग कहिल्यै क्रोधित हुनुहुन्न, र जसले कहिल्यै पनि मानिसको निन्दा गर्नुहुन्न, तर जसले क्षमा गर्नुहुन्छ, मानिसका सबै पापहरू लिनुहुन्छ र पहिलेको जस्तै, मानिसको निम्ति क्रूसमाथि मर्नुहुनेछ। येशू बिदा भएर जानुभएपछि, उहाँलाई पछ्याउने चेलाहरू, साथै उहाँको नाउँमा मुक्ति पाउने सन्तहरू सबैले उहाँको उत्कट चाह गर्दै र उहाँको प्रतीक्षा गर्दै आएका छन्। अनुग्रहको युगमा येशू ख्रीष्टको अनुग्रहद्वारा मुक्ति पाएका सबै मानिसहरू आखिरी दिनहरूको त्यो महान् दिनको तृष्णा गर्दै आइरहेका छन् जब मुक्तिदाता येशू सारा मानिसहरूकहाँ देखा पर्न सेतो बादलमा ओर्लनुहुनेछ। वास्तवमा, यो आज मुक्तिदाता येशूको नाउँ ग्रहण गर्ने सबै जनाको सामूहिक इच्छा पनि हो। येशू मुक्तिदाताको मुक्तिलाई जान्‍ने ब्रह्माण्डका हरेकले पृथ्वीमा हुनुहुँदा: “म जसरी गएको छु त्यसै गरी आउनेछु” भन्नुभएको कुरा पूरा गर्न येशू ख्रीष्ट अचानक देखा पर्नुभएको होस् भनी उत्कट इच्छा गर्दैआइरहेका छन्। क्रुसीकरण र पुनरुत्थानपछि, सर्वोच्चको दाहिने हातपट्टिको उहाँको स्थान लिन येशू सेतो बादलमा स्वर्ग फर्केर जानुभयो भनी मानिसले विश्‍वास गर्छ। त्यसरी नै, हजारौँ वर्षदेखि उहाँको उत्कट चाह गर्नेहरूमाझ, येशू सेतो बादलमा (यो बादलले येशू स्वर्गमा फर्कनुहुँदा चढ्नुभएको बादललाई जनाउँछ) फेरि ओर्लिआउनुहुनेछ र उहाँले यहूदीहरूको स्वरूप बहन गर्नुहुनेछ र पोसाक धारण गर्नुहुनेछ। मानिसकहाँ देखा पर्नुभएपछि, उहाँले तिनीहरूलाई खाना दिनुहुनेछ र तिनीहरूका निम्ति जिउँदो पानी निस्कन लगाउनुहुनेछ र मानिसहरू माझ अनुग्रहले पूर्ण, प्रेमले पूर्ण, सुस्पष्ट र यथार्थ भएर जिउनुहुनेछ। मानिसहरूले यस्तै सारा धारणाहरूमा विश्‍वास गर्छन्। तैपनि मुक्तिदाता येशूले यसो गर्नुभएन; उहाँले मानिसहरूले बुझेको भन्दा विपरीत गर्नुभयो। उहाँको पुनःआगमनको उत्कट इच्छा गर्नेहरूमाझ उहाँ आउनुभएन र सेतो बादलमा सवार भएर उहाँ सबै मानिसहरूकहाँ देखा पर्नुभएन। उहाँ पहिले नै आइसक्नुभएको छ, तर मानिसलाई थाहा छैन र यसबारे अज्ञात रहन्छ। उहाँ अघि नै “सेतो बादलमा” (त्यो बादलचाहिँ उहाँको आत्मा, उहाँका वचनहरू, उहाँको सारा स्वभाव र उहाँ जे हुनुहुन्छ सो सबै हो) ओर्लिआइसक्नुभएको छ भन्‍ने कुराप्रति बेखवर भएर, मानिसले उहाँलाई लक्ष्यहीन रूपमा प्रतीक्षा मात्रै गरिरहन्छन् र अहिले उहाँ आखिरी दिनहरूको अवधिमा उहाँले बनाउनुहुने विजेताहरूको समूह माझ हुनुहुन्छ। मानिसले यो कुरा जान्दैन: मानिसको निम्ति पवित्र मुक्तिदाता येशूसित भएको सारा स्नेह र प्रेमको बाबजुद पनि, फोहोरी र अशुद्ध आत्माहरूले बास गरेको “मन्दिरहरू” मा उहाँले कसरी काम गर्न सक्नुहुन्छ? मानिसले उहाँको आगमनको प्रतीक्षा गर्दैआइरहेको भए पनि, अधर्मीको देह खानेहरू, अधर्मीको रगत पिउनेहरू, र अधर्मीको वस्‍त्र धारण गर्नेहरू, उहाँमा विश्‍वास गर्ने तर उहाँलाई नचिन्ने र उहाँलाई निरन्तर धुतिरहनेहरूकहाँ उहाँ कसरी देखा पर्न सक्नुहुन्थ्यो? येशू प्रेमले पूर्ण, र करुणाले भरिएको हुनुहुन्छ, र उहाँ पाप बलि र उद्धारले पूर्ण हुनुहुन्छ भन्‍ने मात्र मानिसले जान्दछ। यद्यपि, उहाँ स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ जो धार्मिकता, प्रताप, क्रोध र न्यायले पूर्ण, अख्तियारले भएको र प्रतिष्ठाले पूर्ण हुनुहुन्छ भन्‍ने कुरा मानिसले जान्दैन। यसकारण, मानिसले उद्धारकर्ताको आगमनको उत्कट इच्छा र चाह गरे पनि, र तिनीहरूको प्रार्थनाले “स्वर्ग” नै हल्लाए पनि, उहाँमा विश्‍वास गर्ने तर उहाँलाई नचिन्नेहरूकहाँ मुक्तिदाता येशू देखा पर्नुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

१७८. मैले मेरो महिमा इस्राएललाई दिएँ, अनि यसबाट लिएँ, यसरी मैले इस्राएलीहरूलाई, र सारा मानिसलाई पूर्वतिर पनि ल्याएँ, तिनीहरू सबैलाई ज्योतिमा ल्याएँ, ताकि तिनीहरूको ज्योतिसँग पुनर्मिलन होस्, तिनीहरू यससँगै संलग्न होऊन् र तिनीहरूले उपरान्त खोज्न नपरोस्। खोजिरहनेहरू सबैलाई मैले फेरि ज्योति देख्ने, मसँग इस्राएलमा भएको महिमा देख्ने, तिनीहरूलाई लामो समयअघि नै म मानवजातिमाझ सेतो बादलमा ओर्लेको कुरा देख्ने, र तिनीहरूलाई सेता बादलहरूका गुच्छा र झुप्पा-झुप्‍पा प्रशस्त फलहरू देख्ने तुल्याउनेछु। यसभन्दा पनि बढी, मैले तिनीहरूलाई इस्राएलको यहोवा परमेश्‍वर देख्ने, यहूदीहरूको “मालिक”, प्रतीक्षा गरिएको मसीह, र सारा युगभरि राजाहरूद्वारा सताइएको मेरो पूर्ण देखापराइ देख्ने तुल्याउनेछु। म सारा ब्रह्माण्डभरि काम गर्नेछु र महान् काम निर्वाह गर्नेछु, र आखिरी दिनहरूमा मेरो सारा महिमा र मेरा सबै कार्य मानिसलाई प्रकट गर्नेछु, अनि मलाई वर्षौँदेखि प्रतीक्षा गरिरहेकाहरूलाई, म सेतो बादलमा आएको उत्कट चाह गर्नेहरूलाई, म फेरि देखा परेको उत्कट चाह गर्ने इस्राएललाई, र मलाई सताउने सबै मानवजातिलाई मेरो सारा महिमित मुहार देखाउनेछु, ताकि मैले मेरो महिमा धेरै पहिले नै लिएको छु र मैले यसलाई पूर्वतिर ल्याएको छु, र यो अब यहूदियामा छैन भन्‍ने कुरा सबैले जानून्, किनभने आखिरी दिनहरू आइसकेका छन्!

सारा ब्रह्माण्डभरि म मेरो काम गरिरहेको छु र पूर्वमा मेघ गर्जन असीम रूपमा जारी हुन्छ, जसले सबै देश र सम्प्रदायहरूलाई हल्लाइदिन्छ। सारा मानिसहरूलाई वर्तमानमा डोर्‍याएको मेरै वाणीहरूले हो। म सबै मानिसहरूलाई मेरा वाणीद्वारा विजय गरिने, यही प्रवाहमा पार्ने, र मेरो सामु आत्मसमर्पण गर्ने तुल्याउँछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा नयाँ रूपमा जारी गरेको छु। मेरो महिमा देख्ने अभिलाषा कसलाई हुँदैन? कसले व्यग्रतापूर्वक मेरो पुनरागमनको प्रतीक्षा गर्दैन? मेरो पुन: देखापराइको तृष्णा कसले गर्दैन? मेरो प्रेमिलो स्वभावका निम्ति को लालायित हुँदैन? ज्योतिमा कोचाहिँ आउँदैन? कनानको सम्‍पन्‍नतालाई कसले हेर्दैन? उद्धारकको आगमनलाई कसले चाह गर्दैन? महाशक्ति भएकोलाई कसले आदर गर्दैन? मेरा वाणीहरू पृथ्वीभरि प्रसार गरिनेछन्; शक्तिशाली मेघगर्जनहरूले पहाड़ र नदीहरू थर्काएझैँ, म मेरा चुनिएका मानिसहरूसँग अझ धेरै वचन व्यक्त गर्नेछु र बोल्नेछु। म मेरा वचनहरू सारा ब्रह्माण्ड र मानवजातिलाई सुनाउँछु। यसकारण, मेरो मुखबाट निस्कने वचनहरू मानिसहरूको खजाना बनेका छन् र सबै मानिसहरूले मेरा वचनहरूलाई प्रिय ठान्छन्। बिजुली पूर्वदेखि पश्‍चिमसम्म नै चम्कन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस तीबाट अलग हुन अनिच्छुक हुन्छन्, अनि ती वचन मानिसलाई अथाह लाग्छ, र त्यसभन्दा पनि बढी, तिनले मानिसलाई आनन्दित हुने तुल्याउँछन्। भर्खरै जन्‍मेका शिशुझैँ, सबै मानिसहरू खुसी र आनन्दित महसुस गर्छन्, र मेरो आगमनको उत्सव मनाउँछन्। मेरा वाणीहरूको माध्यमले म सबै मानिसहरूलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म मानिसहरूमाझ औपचारिक रूपमा प्रवेश गर्नेछु, र तिनीहरूलाई मलाई श्रद्धा गर्न आउने तुल्याउनेछु। मैले जगमगाउने मेरो महिमा र मेरो मुखका वचनहरूसँगै, म यसलाई यस्तो बनाइदिनेछु कि सबै मानिसहरू मेरो सामु आउनेछन् र तिनीहरूले बिजुली पूर्वबाट चम्केको, म पूर्वको “जैतूनको डाँड़ामा” ओर्लेको, म पृथ्वीमा लामो समयअघि नै आएको, र म अबउप्रान्त यहूदीको छोरा नभई पूर्वको बिजुली भएको देख्नेछन्। किनभने म उहिले नै बौरी उठेको छु र म मानवजातिको माझबाट प्रस्थान गरेको छु, र मानिसहरू माझ महिमासहित फेरि देखा परेको छु। आजभन्दा कैयौँ युगहरू अघिदेखि आराधना गरिएको म नै हुँ, र कैयौँ युगहरू अघि इस्राएलीहरूद्वारा त्यागिएको बालक पनि म नै हुँ। यसभन्दा पनि बढी, म हालको युगको महा-महिमित सर्वशक्तिमान् परमेश्‍वर हुँ। सबै जना मेरो सिंहासन सामु आऊन् र तिनीहरूले मेरो महिमामय मुहार देखून्, मेरा वाणी सुनून्, र मेरा कार्यहरू हेरून्। मेरो अभिप्रायको सम्पूर्णता यही हो; यो नै मेरो योजनाको अन्त र उत्कर्ष हो, साथै मेरो व्यवस्थापनको उद्देश्य हो: असङ्ख्य राष्ट्रले मलाई श्रद्धा गरून्, असङ्ख्य मुखले मलाई स्वीकार गरून्, असङ्ख्य मानिसले ममाथि भरोसा राखून् र मेरा चुनिएका असङ्ख्य मानिसले मेरो सामु समर्पण गरून्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

१७९. मलाई कुनै समय यहोवा भनेर बोलाइन्थ्यो, कुनै समय मानिसहरूले मलाई मसीह भनेर पनि चिन्थे, र कुनै समय मानिसहरूले मलाई प्रेम र आदरसाथ मुक्तिदाता येशू भनी बोलाउँथे। आज, म अब उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइनँ। बरु म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युग अन्त्य गर्ने परमेश्‍वर हुँ; म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो सम्पूर्ण स्वभावले भरिएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिसहरू कहिल्यै मेरो सम्पर्कमा आएका छैनन्, तिनीहरूले मलाई कहिल्यै चिनेका छैनन्, र तिनीहरू सदैव मेरो स्वभावबारे अनभिज्ञ रहेका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म, एउटा व्यक्तिले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसहरूकहाँ देखा पर्नुहुने तर उनीहरूमाझ गुप्त रहनुहुने परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिसहरूमाझ, साँचो र वास्तविक रूपमा, जलिरहेको सूर्य र दन्किरहेको ज्वालाजस्तै, शक्तिले भरिपूर्ण र अख्तियारले भरिएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा वस्तु छैन, र आगोको प्रज्वलनद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा वस्तु छैन। अन्ततः, मेरा वचनहरूका कारण असङ्ख्या देशहरू आशिषित हुनेछन्, र मेरा वचनहरूका कारण टुक्रा-टुक्रा पनि पारिनेछन्। यसरी, आखिरी दिनहरूमा सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ, र म सर्वशक्तिमान् परमेश्‍वर हुँ, जसले सारा मानवजातिलाई विजय गर्नुहुन्छ भनी देख्नेछन्। अनि म एक पटक मानिसका निम्ति पापबलि थिएँ, तर आखिरी दिनहरूमा म यावत् थोकलाई जलाउने दन्किँदो सूर्यका ज्वालाहरू, साथै सबै थोकलाई प्रकाश गर्ने धार्मिकताको सूर्य पनि बनेको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूमा मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र म आफूसँग यो स्वभाव बोक्छु, ताकि म धर्मी परमेश्‍वर, जलिरहेको सूर्य, दन्किरहेको ज्वाला हुँ भन्‍ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो मुहार देख्न सकून्: म इस्राएलीहरूको परमेश्‍वर मात्र होइन, र म उद्धारकर्ता मात्र होइन; बरु म स्वर्गहरू, र पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्‍वर हुँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

१८०. परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापनको योजना अन्त्यतिर आइरहेको छ, र उहाँ देखा पर्नुभएको खोजी गर्ने सबैका निम्ति राज्यको ढोका यसअघि नै खोलिसकिएको छ। प्रिय दाजुभाइ-दिदीबहिनीहरू, तिमीहरू के पर्खदैछौ? तिमीहरूले खोजेको के हो? के तिमीहरू परमेश्‍वर देखा पर्नुहुने पर्खाइमा छौ? के तिमीहरू उहाँका पाइलाहरू खोजिरहेका छौ? परमेश्‍वरको देखा पराइलाई कस्तो तृष्णा गर्छन्! अनि परमेश्‍वरका पाइलाहरू भेट्टाउन कति गाह्रो छ! यस्तो युगमा, यस्तो संसारमा, परमेश्‍वर देखा पर्नुहुने दिनलाई देख्‍नको लागि हामीले के गर्नुपर्छ? परमेश्‍वरका पाइलाहरू पछ्याउन हामीले के गर्नुपर्छ? परमेश्‍वर देखा पर्नुहुने पर्खाइमा रहेका सबै जनाले यस्तो प्रकारको प्रश्नहरूको सामना गरिरहेका हुन्छन्। तिमीहरू सबैले एकभन्दा धेरै समय ती कुराहरूको विचार गरेका छौ—तर परिणाम के भयो त? परमेश्‍वर कहाँ देखा पर्नुहुन्छ? परमेश्‍वरका पाइलाहरू कहाँ छन्? के तिमीहरूले यसको जवाफ पाएका छौ? धेरै मानिसहरूले यसरी जवाफ दिन सक्छन्: “उहाँलाई पछ्याउनेहरूका बीचमा परमेश्‍वर देखा पर्नुहुन्छ र उहाँका पाइलाहरू हामीमाझ छन्; यो त स्पष्ट छ!” जो कसैले पनि सूत्रगत उत्तर दिन सक्छ, तर के तिमीहरू परमेश्‍वर देखा पर्नु वा उहाँका पाइलाहरूको अर्थ के हो भनी बुझ्छौ? परमेश्‍वर देखा पर्नुले उहाँ आफै व्यक्तिगत रूपमा उपस्थित भई उहाँको काम गर्नको निम्ति पृथ्वीमा उहाँको आगमनलाई जनाउँछ। उहाँको आफ्नै पहिचान र स्वभावको साथमा, र उहाँको आफ्नै अन्तर्निहित शैलीमा, उहाँ मानिसहरूको बीचमा युगको सुरुवात गर्ने र युगको अन्त गर्ने काम गर्न ओर्ली आउनुहुन्छ। यस्तो देखापराइ चाहिँ एक प्रकारको समारोह भने होइन। यो कुनै चिन्ह, तस्वीर, अचम्मको काम वा कुनै किसिमको ठूलो दर्शन होइन; यो कुनै प्रकारको धार्मिक प्रक्रिया हुने त कुरै छौडौं। यो जो कसैले पनि छुन र हेर्न सक्ने वास्तविक र यथार्थ तथ्य हो। यस्तो देखापराइ चाहिँ झारा टार्नका लागि वा कुनै छोटो समयको कामका निम्ति होइन; बरु, यो त उहाँको व्यवस्थापन योजनाको कामको एउटा चरणको निम्ति हो। परमेश्‍वरको देखापराइ जहिले पनि अर्थपूर्ण हुन्छ र यसले सँधै उहाँको व्यवस्थापनको योजनासँग केही सम्बन्ध राख्छ। यहाँ भनिएको “देखापराइ” त्यस्तो “देखापराइ” भन्दा पूर्ण रूपले भिन्न छ, जसमा परमेश्‍वरले मानिसलाई अगुवाइ गर्नुहुन्छ, मार्गदर्शन र अन्तर्दृष्टि दिनुहुन्छ। प्रत्येक चोटि उहाँले आफैलाई प्रकट गर्नुहुँदा परमेश्‍वरले उहाँको महान कामको चरणलाई अघि बढाउनुहुन्छ। यो कार्य अरू कुनै युगको भन्दा भिन्न हुन्छ। यो मानिसको निम्ति अकल्पनीय छ र मानिसले कहिल्यै अनुभव गरेको छैन। यो काम नयाँ युगलाई सुरुवात गर्ने र पुरानो युगलाई अन्त्य गर्ने काम हो, र यो मानवजातिको मुक्तिको निम्ति कामको नयाँ र उच्च रूप हो; अझ भन्‍ने हो भने, यो मानवजातिलाई नयाँ युगमा ल्याउने काम हो। परमेश्‍वरको देखापराइले यही कुरालाई नै जनाउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ

१८१. तिमीहरूले परमेश्‍वर देखा पर्नुको अर्थ के हो भन्‍ने बुझिसकेपछि, कसरी तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई खोज्नुपर्छ? यो प्रश्न व्याख्या गर्न गाह्रो छैन: जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, त्यहाँ तिमीहरूले उहाँका पाइलाहरूलाई भेट्टाउँनेछौ। यस्तो व्याख्या सरल सुनिन्छ, तर अभ्यासमा ल्याउन त्यति सहज छैन, किनकि धेरै मानिसहरूलाई परमेश्‍वर कहाँ देखा पर्नुहुन्छ भन्‍ने थाहा छैन, उहाँ कहाँ देखा पर्न चाहनुहुन्छ, कहाँ देखा पर्नुपर्ने हो भन्‍नेबारेमा थाहा हुने त कुरै छौडौं। केहीले आवेगका साथ विश्‍वास गर्छन् कि जहाँ पवित्र आत्माको काम हुन्छ, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। अर्को रूपमा, तिनीहरू विश्‍वास गर्छन् कि जहाँ आत्मिक व्यक्तित्वहरू हुन्छन्, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। या, तिनीहरू विश्‍वास गर्छन् कि जहाँ उच्च प्रसिद्धिका मानिसहरू हुन्छन्, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। केही क्षणको लागि, यस्ता विश्‍वासहरू सही छन् कि गलत छन् भन्‍ने कुरालाई हामी एकातिर छोडौं। यस्तो प्रश्नको व्याख्या गर्न, हामीसँग पहिला स्पष्ट उद्देश्य हुनुपर्दछ: हामी परमेश्‍वरका पाइलाहरू खोजिरहेका छौँ। हामी आत्मिक व्यक्तित्वहरूलाई खोजिरहेका छैनौँ, झन् चर्चित व्यक्तित्वहरूलाई पछ्याउनु त परै जाओस्; हामी परमेश्‍वरका पाइलाहरू पछ्याइरहेका छौँ। यसकारण, हामीले परमेश्‍वरका पदचापहरू खोजिरहेका हुनाले, हामीले परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरका वचनहरू, उहाँका वाणीहरू खोज्नुपर्छ। किनभने जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पदचापहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कार्यहरू हुन्छन्; जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छन्। परमेश्‍वरका पदचापहरू खोज्दा, तिमीहरूले “परमेश्‍वर सत्य, मार्ग र जीवन हुनुहुन्छ” भन्‍ने वचनहरूलाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्यता प्राप्त गर्दा पनि, तिनीहरूले परमेश्‍वरका पदचापहरू भेट्टाएका छन् भनी विश्‍वास गर्दैनन्, र तिनीहरूले परमेश्‍वरको देखापराइलाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्‍वरको देखापराइ मानिसका धारणाहरूसँग मेल खानै सक्दैन, परमेश्‍वर मानिसले माग गरेअनुसार त झनै देखा पर्न सक्नुहुन्न। परमेश्‍वरले आफ्‍नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू गर्नुहुन्छ र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँले जुनसुकै काम गर्नुभए पनि, उहाँले यसका बारेमा मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, हरेक व्यक्तिलाई उहाँको कामका बारेमा सूचित गर्नु त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, र अझ भन्‍ने हो भने, यसलाई सबैले चिन्नैपर्छ। यदि तिमीहरू परमेश्‍वरको देखापराइ देख्‍न, परमेश्‍वरका पाइलाहरू पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्ना धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरसँग यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले तिमीहरूका सीमामा राख्‍न र तिमीहरूका धारणाहरूमा उहाँलाई सीमित गर्न त झनै हुँदैन। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरू कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखापराइलाई स्विकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पित हुनुपर्छ भनेर आफैसँग माग गर्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र समर्पित हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ

१८२. आज, परमेश्‍वरले नयाँ काम गर्नुभएको छ। तैँले यी वचनहरू स्वीकार गर्न सक्दैनस् होला, र ती तँलाई असामान्य लाग्न सक्छ, तर म तँलाई अहिलेका लागि तेरो स्वाभाविकता खुलासा नगर्ने सल्लाह दिन्छु, किनकि परमेश्‍वरको अगाडि साँच्चै धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन्, अनि जो वास्तवमा भक्त छन् तिनीहरूले मात्र उहाँद्वारा अन्तर्दृष्टि र मार्गनिर्देशन पाउन सक्छन्। प्रतिफलहरू गम्भीर शान्तिको साथ सत्यताको खोजी गरेर प्राप्त गरिन्छ, झगडा र विवाद गरेर होइन। जब म “आज, परमेश्‍वरले नयाँ काम गर्नुभएको छ” भन्छु, तब म परमेश्‍वर देहमा फर्कनुहुने बारेमा कुरा गरिरहेको हुन्छु। सायद, तैँले यी वचनहरूलाई वास्ता गर्दैनस् होला; सायद, तँ ती वचनहरूलाई तुच्छ ठान्छस् होला; वा सायद, तँलाई तिनमा ठूलो रुचि छ होला। जेसुकै भए पनि, परमेश्‍वरको देखापराइको साँचो तृष्णा गर्नेहरू सबैले हतारमा निष्कर्ष निकाल्‍नुभन्दा यस तथ्यलाई सामना गर्न सक्छन् र ध्यानपूर्वक जाँच गर्छन् भन्‍ने मेरो आशा छ; एक बुद्धिमान् व्यक्तिले त्यसै गर्नुपर्छ।

यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन कार्य होइन, तर यसका निम्ति हामी प्रत्येकले पहिला यो एउटा सत्यतालाई जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँसँग परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँसँग परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको काम अघि ल्याउनुहुनेछ, र परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि मार्ग औँल्याउन सक्नुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्नुहुने वचनहरूबाट पुष्टि गर्नै पर्दछ। भन्नुको अर्थ, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो मार्ग हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारका आधारमा छुट्ट्याउनैपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी निर्धारण गर्दा, मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र छानबिन गर्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अज्ञानी छ भन्‍ने देखाउँछ। बाहिरी स्वरूपले सार निर्धारण गर्न सक्दैन; अझ भन्‍ने हो भने, परमेश्‍वरको कार्य मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खाँदैन। के येशूको बाहिरी स्वरूप मानिसको धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोसाकले उहाँको वास्तविक पहिचानलाई प्रस्तुत गर्न सक्थे र? के सुरु-सुरुका फरिसीहरूले येशूको बाहिरी स्वरूपलाई हेरेकाले र इमानदारीपूर्वक उहाँको मुखका वचनहरू स्वीकार नगरेकाले उहाँको विरोध गरेका होइनन् र? म आशा गर्छु, परमेश्‍वरको देखा पर्ने घटनाको खोजी गर्ने प्रत्येक दाजुभाइ-दिदीबहिनीहरूले इतिहासको त्रासदी दोऱ्याउनेछैनन्। तैँले आधुनिक समयको फरिसी बनेर परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्‍नु हुँदैन। तैँले परमेश्‍वरको पुनरागमनलाई कसरी स्वागत गर्नुपर्छ त्यो राम्ररी विचार गर्नुपर्छ, अनि सत्यताको अधीनमा बस्ने व्यक्ति कसरी बन्ने त्यस विषयमा स्पष्ट विचार हुनुपर्छ। येशू बादलमा सवार भएर फर्केर आउनुहुने दिनको प्रतीक्षा गर्ने सबैको जिम्मेवारी यही हो। हामीले आफ्ना आत्मिक आँखाहरूलाई स्पष्ट देख्‍ने बनाउनुपर्छ, अनि बढाइचढाइ गरिएका काल्पनिक शब्दहरूको दलदलमा फस्नु हुँदैन। हामीले परमेश्‍वरको वास्तविक कार्यबारे सोच्नुपर्छ, र परमेश्‍वरको व्यावहारिक पक्षलाई हेर्नुपर्छ। तिमीहरू प्रभु येशू बादलमा सवार भएर अचानक तिमीहरूको बीचमा आउनुहुने, र उहाँलाई कहिल्यै नचिनेका र नदेखेका, र उहाँको इच्छा कसरी पालन गर्नुपर्छ भनी नजानेका तिमीहरूलाई लैजानुहुने दिनको चाहनामा बगेर सधैँ अन्तै जाने नगर वा आफै दिवा सपनामा बगेर नजाओ। व्यावहारिक विषयहरूमा अझ बढी सोचविचार गर्नु नै राम्रो हुन्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

१८३. यसपालि, परमेश्‍वर आत्मिक शरीरमा नभई अति साधारण शरीरमा काम गर्नका लागि आउनुहुन्छ। त्यसमाथि, यो परमेश्‍वरको दोस्रो देहधारणको शरीर हो, र त्यो शरीर पनि हो जसमार्फत परमेश्‍वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। उहाँलाई हेर्दा, तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यो फगत नगण्य देह नै परमेश्‍वरका समस्त सत्यताका वचनको मूर्त रूप, आखिरी दिनहरूमा परमेश्‍वरका कामको वाहक, र मानिसले परमेश्‍वरको सम्पूर्ण स्वभाव बुझ्ने अभिव्यक्ति हो। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्ने चाहना बिछट्टै राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्ने चाहना बिछट्टै राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्ने चाहना बिछट्टै राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्यहरू—कुनै पनि मानिसले कहिल्यै तँलाई बताउन नसकेका रहस्यहरू—बताउनुहुनेछ र उहाँले तँलाई तैँले नबुझ्ने सत्यताहरू पनि बताउनुहुनेछ। उहाँ राज्यको तेरो प्रवेशद्वार र नयाँ युगमा प्रवेश गर्नका लागि तेरो मार्गदर्शक हुनुहुन्छ। यो साधारण देहसँग मानिसका निम्ति बुझ्न नसकिने धेरै रहस्य हुन्छन्। उहाँका कार्यहरू तेरा लागि दुर्बोध छन्, तर उहाँले गर्ने कामको सम्पूर्ण लक्ष्य नै तँलाई उहाँ मानिसहरूले विश्‍वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर देख्न सक्षम बनाउन पर्याप्त छ, किनकि उहाँ आखिरी दिनहरूमा परमेश्‍वरका अभिप्राय, र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरको हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको झैँ सुन्न नसके पनि, तैँले उहाँका आँखाहरू अग्निका ज्वालाहरूजस्ता देख्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट परमेश्‍वर क्रोधी भइरहनुभएको सुन्न सक्छस् र परमेश्‍वरले मानवजातिका लागि कृपा देखाइरहनुभएको थाहा पाउन सक्छस् र तैँले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस्, र त्यसभन्दा पनि बढी, सबै मानवजातिका लागि परमेश्‍वरको हेरविचार बोध गर्न सक्छस्। आखिरी दिनहरूमा परमेश्‍वरको काम मानिसलाई पृथ्वीमा मानिसहरूमाझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्ने तुल्याउनु हो, र परमेश्‍वरलाई जान्न, उहाँप्रति समर्पित हुन, उहाँको डर मान्न र उहाँलाई प्रेम गर्न सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुन त यो दिनमा मानिसले देख्ने परमेश्‍वर मानिस झैँ देखिनुभए पनि, उहाँ एउटा नाक र दुई आँखा भएका परमेश्‍वर, र साधारण परमेश्‍वर हुनुभए पनि, अन्त्यमा, परमेश्‍वरले तिमीहरूलाई देखाउनुहुनेछ कि यदि यो व्यक्ति अस्तित्वमा नहुनु हो भने, स्वर्ग र पृथ्वीले ठूलो परिवर्तन भोग्नेथिए; यदि यो व्यक्ति अस्तित्वमा नहुनु हो भने, स्वर्गहरू फिका हुनेथिए, यस पृथ्वी अस्तव्यस्ततामा जाकिनेथियो, र सबै मानवजाति भोकमरी र महामारीमाझ जिउनेथिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि आखिरी दिनहरूका देहधारी परमेश्‍वर तिमीहरूलाई मुक्ति दिन नआउनुभएको भए, त्यसबेला परमेश्‍वरले सबै मानवजातिलाई धेरैअघि नै नरकमा विनाश गरिसक्नुभएको हुनेथियो; यदि यो देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सधैँको लागि महापापी हुनेथियौ, र तिमीहरू सदैव लाश हुनेथियौ। तिमीहरूले थाहा पाउनुपर्छ, यदि यो देह अस्तित्वमा नरहेको भए, सबै मानवजातिका लागि ठूलो विपत्तिबाट उम्कन असम्भव हुनेथियो, र त्यसका लागि आखिरी दिनहरूमा मानवजातिलाई परमेश्‍वरले दिने त्योभन्दा कठोर दण्डबाट उम्कन असम्भव हुनेथियो। यदि यो साधारण देह नजन्मिएको भए, तिमीहरू सबै यस्तो स्थितिमा हुनेथियौ, जहाँ तिमीहरू जीवनको भीख मागिरहेका हुनेथियौ तर जिउन सक्‍नेथिएनौ र मृत्युको भीख मागिरहेका हुनेथियौ तर मर्न सक्‍नेथिएनौ; यदि यो देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्‍वरको सिंहासनको सामुन्ने आउन सक्षम हुनेथिएनौ, बरु, तिमीहरूका घोर पापहरूका कारणले तिमीहरू परमेश्‍वरद्वारा दण्डित हुनेथियौ। के तिमीहरूलाई थाहा थियो, यदि परमेश्‍वरको पुनरागमन देहमा नभएको भए, कसैलाई पनि मुक्तिको मौका हुनेथिएन; र यदि यो देहको आगमन नभएको भए, परमेश्‍वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुनेथियो? अतः, के तिमीहरूले अझै पनि परमेश्‍वरको दोस्रो देहधारणलाई इन्कार गर्नेछौ? यो साधारण व्यक्तिबाट तिमीहरूले यति ठूला फाइदा प्राप्त गर्न सक्‍ने भएकाले, किन तिमीहरूले उहाँलाई खुसीसाथ स्वीकार गर्दैनौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

१८४. परमेश्‍वरको काम यस्तो काम हो जसलाई तँ बुझ्न सक्दैनस्। यदि तैँले तेरो निर्णय सही छ कि छैन त्यसलाई राम्ररी बुझ्‍न सक्दैनस्, अनि परमेश्‍वरको काम सफल हुन सक्छ कि सक्दैन भनेर तैँले जान्‍न पनि सक्दैनस् भने, तैँले भाग्यमा भरोसा गरेर यो साधारण मानिस तेरो लागि ठूलो उपयोगी हुन सक्छ कि सक्दैन, र परमेश्‍वरले साँच्‍चै महान् काम गर्नुभएको छ कि छैन भनेर हेर्ने प्रयास किन गर्दैनस् त? यद्यपि, मैले तँलाई भन्नैपर्छ कि नोआको समयमा मानिसहरू यति हदसम्म खाइरहेका र पिइरहेका, विवाह गरिरहेका र विवाहमा दिइरहेका थिए कि परमेश्‍वरले त्यो हेर्नै सक्नुभएन, त्यसैले आठ जनाको नोआको परिवार र सबै प्रकारका पशु-पंक्षीहरूलाई छाडेर सबै मानवजातिलाई नष्ट गर्न उहाँले विशाल जलप्रलय पठाउनुभयो। तथापि, अन्त्यसम्म परमेश्‍वरप्रति बफादार रहनेहरू सबैलाई आखिरी दिनहरूमा उहाँले बचाउनुहुन्छ। हुनत दुवै युग परमेश्‍वरलाई साक्षी दिन असह्य ठूलो भ्रष्टताका समय थिए, र दुवै युगमा मानवजाति परमेश्‍वर उनीहरूको प्रभु हुनुहुन्थ्यो भन्‍ने इन्कार गरेका र भ्रष्ट भएका कारण परमेश्‍वरले नोआको समयमा मानिसहरूलाई मात्र नष्ट गर्नुभयो। दुवै युगमा मानवजातिले परमेश्‍वरलाई ठूलो दुःख दिए, तर पनि परमेश्‍वरले अहिलेसम्म आखिरी दिनहरूका मानिससँग धैर्य गर्नुभयो। किन हो यो? तिमीहरूले किन कहिल्यै आश्चर्य मानेनौ? यदि तिमीहरूलाई साँच्चिकै थाहा छैन भने, मलाई भन्न देऊ। आखिरी दिनहरूमा मानिसहरूलाई परमेश्‍वरले कृपा गर्न सक्नुको कारण उनीहरू नोआको समयका मानिसहरूभन्दा कम भ्रष्ट भएर होइन, अथवा उनीहरूले परमेश्‍वरलाई पश्चाताप देखाएको भएर होइन, आखिरी दिनहरूमा प्रविधि यति आधुनिक छ कि उनीहरूलाई परमेश्‍वर स्वयमले नष्ट गर्न सक्नुहुन्न भन्‍ने कुरा त परै छाडौँ। बरु, यसको कारण यो हो कि परमेश्‍वरले मानिसहरूको एक समूहमा आखिरी दिनहरूमा गर्नुपर्ने काम छ, र यो काम परमेश्‍वर स्वयमले उहाँको देहधारणमा गर्नुहुनेछ। यसको साथै, परमेश्‍वर उहाँको मुक्तिका पात्रहरू र उहाँको व्यवस्थापनको योजनाको फल बन्न यो समूहको एक भाग छान्‍नुहुनेछ, र ती मानिसहरूलाई अर्को युगमा ल्याउनुहुनेछ चाहना राख्नुहुन्छ। त्यसैले, जे भए पनि, परमेश्‍वरले चुकाउनुभएको यो मूल्य पूर्ण रूपले उहाँको देहधारी शरीरले आखिरी दिनहरूमा गर्ने कामको तयारीको लागि हो। यो देहको कारणले तिमीहरू आजका दिनसम्म आइपुगेका छौ। परमेश्‍वर देहमा जिउनुहुने भएकाले तिमीहरूलाई जीवित रहने मौका छ। यो साधारण मानिसको कारणले यी सबै आशिष् प्राप्त भएको हो। यति मात्र होइन, तर अन्त्यमा, प्रत्येक राष्ट्रले यो साधारण मानिसलाई आराधना गर्नेछन्, साथै धन्यवाद दिनेछन् र यो महत्त्वहीन मानिसप्रति समर्पण गर्नेछन्, किनकि यो उहाँले ल्याउनुभएको सत्य, जीवन, र मार्ग हो जसले सबै मानवजातिलाई मुक्ति दिएको छ, परमेश्‍वर र मानिसबीचको द्वन्द्वलाई कम गरेको छ, उनीहरूबीचको दूरीलाई छोट्याएको छ र परमेश्‍वर र मानिसका विचारहरूबीचको सम्बन्ध खुला गरेको छ। यो उहाँ नै हुनुहुन्छ जसले परमेश्‍वरको लागि अझ महान् महिमा प्राप्त गर्नुभएको छ। के यस किसिमको साधारण मानिस तेरो विश्‍वास र आराधनाको लागि अयोग्य छ? के यस्तो साधारण देह ख्रीष्ट भनिन अनुपयुक्त छ? के यस किसिमको साधारण मानिस मानिसहरूमाझ परमेश्‍वरको अभिव्यक्ति बन्न सक्दैन? के यस प्रकारको मानिस जसले मानवजातिलाई विपत्तिबाट जोगाएको छ, तिमीहरूको प्रेम र तिम्रो चाहना उहाँमा राख्न योग्य छैन? यदि तिमीहरूले उहाँको मुखबाट अभिव्यक्त सत्यताहरू इन्कार गऱ्यौ र तिमीहरू माझ उहाँको अस्तित्व घृणा गऱ्यौ भने, त्यसपछि अन्त्यमा तिमीहरूलाई के हुनेछ?

आखिरी दिनहरूमा परमेश्‍वरका सबै काम यही साधारण मानिसद्वारा गरिन्छ। उहाँले सबै कुरा तँलाई प्रदान गर्नुहुनेछ, र त्योभन्दा बढी, तँसँग सम्बन्धित सबै कुराको निर्णय गर्न उहाँ सक्षम हुनुहुनेछ। के यस्तो व्यक्ति तिमीहरूले विश्‍वास गरे जस्तो: उल्लेख गर्न नै अयोग्य हुने गरी अति साधारण हुन सक्छ? के उहाँको सत्यता तिमीहरूलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? के आफ्नै आँखाले उहाँका कार्य देख्नुले नै तिमीहरूलाई विश्‍वस्त तुल्याउन सक्दैन? अथवा के उहाँले तिमीहरूलाई अगुवाइ गर्नुहुने त्यो मार्ग तिमीहरूका लागि हिँड्न योग्य छैन? अन्ततः, कुन कुराले तिमीहरूलाई उहाँप्रति वितृष्ण हुन र उहाँलाई इन्कार्न र उहाँबाट टाढा रहन लगाउँछ? सत्यता व्यक्त गर्ने मानिस यी नै हुनुहुन्छ, सत्यता आपूर्ति गर्ने मानिस यी नै हुनुहुन्छ, तिमीहरूलाई पछ्याउनका लागि मार्ग दिने मानिस यी नै हुनुहुन्छ। के तिमीहरू यी सत्यताभित्र परमेश्‍वरको कामका पदचापहरू भेट्न अझसम्म असक्षम भएको हुन सक्छ? येशूको कामविना मानवजाति क्रूसबाट ओर्लन सक्ने थिएनन्, तर आजको देहधारणबिना, क्रूसबाट ओर्लिएकाहरूले कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गर्न वा नयाँ युगमा प्रवेश गर्न सक्नेछैनन्। यी साधारण मानिसको आगमनविना, तिमीहरूले परमेश्‍वरको साँचो मुहार देख्ने अवसर कहिल्यै पाउनेथिएनौ, न त तिमीहरू त्यसको योग्य नै हुनेथियौ, किनकि तिमीहरू सबै धेरै पहिले नष्ट गरिसक्नुपर्ने पात्र हौ। परमेश्‍वरको दोस्रो देहधारणको आगमनका कारण, तिमीहरूलाई परमेश्‍वरले क्षमा दिनुभएको छ र कृपा देखाउनुभएको छ। जे भए पनि, मैले तिमीहरूलाई अन्तिमतिर अझै पनि यी वचनका साथ छोड्नैपर्छ: यी साधारण मानिस, जो देहधारी परमेश्‍वर हुनुहुन्छ, तिमीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण हुनुहुन्छ। यो, परमेश्‍वरले मानिसहरूमाझ गरिसक्नुभएको महान् कुरा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

१८५. यदि आखिरी दिनहरूको अवधिमा मुक्तिदाता आउनुभयो भने र अझै येशू नै कहलाइनुभयो भने र फेरि एक पटक यहूदियामा नै जन्मनुभयो र उहाँको काम त्यहाँ नै गर्नुभयो भने त, मैले इस्राएलका मानिसहरूलाई मात्र सृष्टि गरेँ र इस्राएलको मानिसहरूलाई मात्र उद्धार गरेँ र गैर-यहूदीहरूसँग मेरो कुनै सरोकार छैन भन्‍ने कुरा यसले साबित गर्नेथियो। के यो “म स्वर्गहरू, पृथ्वी र सबै थोकहरू सृष्टि गर्ने परमेश्‍वर हुँ” भन्‍ने मेरा वचनहरूसँग विरोधाभासपूर्ण हुँदैन र? मैले यहूदियालाई छोडेँ र गैर-यहूदीहरू माझ मेरो काम गर्छु, किनभने म इस्राएलका मानिसहरूको मात्र परमेश्‍वर होइन, तर सृष्टि गरिएका सबै प्राणीहरूको परमेश्‍वर हुँ। म आखिरी दिनहरूको अवधिमा गैर-यहूदीहरू माझ देखा पर्छु किनभने म इस्राएलका मानिसहरूको परमेश्‍वर, यहोवा मात्र होइन, तर यसको अतिरिक्त, म गैर-यहूदीहरू माझका मेरा चुनिएकाहरू सबैका सृष्टिकर्ता हुँ। मैले इस्राएल, मिश्र र लेबनान मात्र सृष्टि गरेको होइन, तर इस्राएलभन्दा बाहिरका सबै गैर-यहूदी राष्ट्रहरूलाई पनि सृष्टि गरेँ। यसैले म सृष्टि गरिएका सबै प्राणीहरूको प्रभु हुँ। मैले इस्राएललाई मेरो काम प्रारम्भ गर्नको निम्ति प्रारम्भिक बिन्दुको रूपमा मात्रै प्रयोग गरेँ र यहूदिया र गालीललाई उद्धारको कामको किल्लाको रूपमा चलाएँ, र अहिले म अन्यजाति राष्ट्रलाई सम्पूर्ण युगको अन्त ल्याउने आधारको रूपमा प्रयोग गर्छु। मैले इस्राएलमा कामका दुई चरणहरू गरेँ (ती दुई चरणहरू व्यवस्थाको युग र अनुग्रहको युग हुन्), र मैले इस्राएल बाहिरका मुलुकहरूभरि कामका थप दुई चरणहरू (अनुग्रहको युग र राज्यको युग) लाई कार्यान्वयन गर्दै आइरहेको छु। गैर-यहूदी राष्ट्रहरू माझ, म विजयको काम गर्नेछु, र त्यसरी नै युग समाप्‍त गर्नेछु। यदि मानिसहरूले मलाई सदैव येशू ख्रीष्ट भन्छन्, तर आखिरी दिनहरूको अवधिमा मैले नयाँ युग सुरु गरेको छु र नयाँ काम सुरु गरेको छु भन्‍ने जान्दैनन् भने, र यदि मानिसहरूले मुक्तिदाता येशूको आगमनलाई नै उन्मत्त रूपमा प्रतीक्षा गरिरहन्छन् भने त, म यस्ता मानिसहरूलाई त ममा विश्‍वास नगर्ने मानिसहरू भन्‍नेछु; तिनीहरू मलाई नचिन्ने मानिसहरू हुन्, र मप्रतिको तिनीहरूको विश्‍वास झूटो हो। के यस्ता मानिसहरूले स्वर्गबाट आउनुभएको मुक्तिदाता येशूको आगमनलाई देख्न सक्छन्? तिनीहरूले प्रतीक्षा गरेको कुरा मेरो आगमन होइन, तर यहूदीहरूका राजाको आगमन हो। यो अशुद्ध पुरानो संसारलाई मैले सर्वनाश गरेको तिनीहरू चाहना गर्दैनन्, बरु येशूको दोस्रो आगमनको उत्कट इच्छा गर्छन् जसमा तिनीहरूको उद्धार गरिनेछन्। अझै एक पटक यो अशुद्ध र अधर्मी मुलुकबाट सारा मानवजातिलाई येशूले उद्धार गर्नुभएको होस् भनी तिनीहरूले अपेक्षा गर्छन्। यस्ता मानिसहरूले आखिरी दिनहरूमा मेरो कामलाई पूरा गर्ने मानिसहरू बन्‍न सक्छन्? मानिसको चाहनाहरू मेरा इच्छाहरू पूरा गर्न वा मेरो काम सम्पन्न गर्न असक्षम छन्, किनभने मानिसले मैले पहिले गरेका कामको मात्र सराहना गर्छन् वा कदर गर्छन्, र म सदैव नयाँ हुने र कहिल्यै पुरानो नहुने परमेश्‍वर स्वयम् हुँ भन्‍ने त तिनीहरूलाई थाहा नै छैन। मानिसले म यहोवा र येशू हुँ भन्‍ने मात्र जान्दछ र मानवजातिलाई समाप्‍त पार्ने आखिरी दिनहरूमध्ये एउटा म नै हुँ भन्‍ने कुराको कुनै आभास उसलाई छैन। मानिसले चाहेको र जानेका सबै कुराहरू तिनीहरूको आफ्नै धारणहरूबाट नै आउँछन् र यो तिनीहरूको आफ्नै आँखाले देख्न सक्ने कुराहरू मात्र हुन्‌। यो मैले गर्ने कामसँग मिल्दैन, तर योसँग असङ्गतमा छ। यदि मेरो काम मानिसका विचारहरू बमोजिम सञ्चालित थिए भने, यो कहिले अन्त हुन्थ्यो? मानवजाति विश्राममा कहिले प्रवेश गर्थ्यो? अनि म कहिले सातौँ दिन अर्थात् शबाथमा प्रवेश गर्न सक्षम हुन्थें? म मेरो योजना र मेरो उद्देश्य मुताबिक काम गर्छु—मानिसको अभिप्रायहरू अनुसार होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

१८६. तिमीहरू अमेरिकी, बेलायती वा जुनसुकै राष्ट्रको भए तापनि, तिमीहरूले आफू स्वयम्‌भन्दा माथि उठेर, तिमीहरूको आफ्नै राष्ट्रियताको सीमाभन्दा बाहिर आफ्नो पाइला चाली परमेश्‍वरको कामलाई सृष्टि गरिएको प्राणीको पहिचानबाट हेर्नुपर्छ। यो तरिकाले, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कुनै विशेष क्षेत्रमा सीमित पार्नेछैनौ। यस्तो हुन्छ किनभने आजकल धेरै मानिसहरूले परमेश्‍वर कुनै विशेष राष्ट्र वा निश्चित मानिसहरूका बीचमा देखा पर्नु असम्भव छ भनी मान्छन्। परमेश्‍वरको कामको महत्त्व कति गहन छ, र परमेश्‍वर देखा पर्नु कति महत्त्वपूर्ण छ! कसरी मानिसका धारणाहरू र विचारले यसको मापन गर्न सम्भव छ र? त्यसैले म भन्छु, परमेश्‍वर देखा पर्नुभएको खोजी गर्नको निम्ति तिमीहरूले राष्ट्रियता र जातीयताका धारणाहरूलाई तोड्नुपर्छ। त्यसपछि मात्रै तिमीहरू आफ्नै धारणाहरूको वशमा हुनेछैनौ; त्यसपछि मात्रै तिमीहरू परमेश्‍वरको देखा पराइलाई स्वागत गर्न योग्य हुनेछौ। अन्यथा, तिमीहरू अनन्त अन्धकारमा रहनेछौ, र तिमीहरूले कहिल्यै पनि परमेश्‍वरबाट स्वीकृति प्राप्त गर्नेछैनौ।

परमेश्‍वर सम्पूर्ण मानवजातिको परमेश्‍वर हुनुहुन्छ। उहाँ आफूलाई कुनै देश वा राष्ट्रको व्यक्तिगत सम्पत्ति मान्‍नुहुन्‍न, बरु उहाँ त कुनै पनि स्वरूप, देश वा राष्ट्रमा सीमित नभई, उहाँले योजना गर्नुभएअनुसार आफ्नो काम गर्नुहुन्छ। सायद तैँले यो स्वरूपलाई कहिल्यै कल्पना गरेको छैनस्, वा सायद यो स्वरूपप्रति तेरो मनोवृत्ति इन्कारको हुन सक्छ, वा सायद परमेश्‍वर जुन देशमा वा राष्ट्रमा देखा पर्नुहुन्छ त्यो बस सबैद्वारा भेदभाव गरिएको र पृथ्वीमा सबैभन्दा पछि परेको हुन सक्छ। तैपनि परमश्‍वरसँग उहाँको बुद्धि छ। उहाँको महान् शक्तिको साथ र उहाँको सत्यता अनि उहाँको स्वभावमार्फत, उहाँले उहाँसँग एउटै मन भएका मानिसहरूको समूहलाई, र उहाँले पूर्ण पार्ने कामना गर्नुभएको मानिसहरूको समूहलाई साँच्चै प्राप्त गर्नुभएको छ—यो उहाँले विजय गर्नुभएको त्यो समूह हो, जसले सबै प्रकारका परीक्षाहरू र कष्टहरू र सबै प्रकारका सतावट सहेर अन्त्यसम्म नै उहाँलाई पछ्याउन सक्छ। कुनै पनि स्वरूप वा देशमा सीमित नरहेको परमेश्‍वरको देखा पराइको उद्देश्य भनेको, उहाँको काम उहाँले योजना गर्नुभएअनुसार पूरा गर्न उहाँलाई सक्षम तुल्याउनु हो। यो चाहिँ परमेश्‍वर यहूदियामा देहधारी हुनुभएको जस्तो हो: उहाँको उद्देश्य सम्पूर्ण मानवजातिलाई छुटकारा दिन क्रूसीकरणको काम पूर्ण गर्नु थियो। तैपनि यहूदीहरूले परमेश्‍वरका निम्ति यो गर्नु असम्भव छ भनेर विश्‍वास गर्थे, र तिनीहरूले परमेश्‍वरलाई देहधारी हुन र प्रभु येशूको स्वरूप धारण गर्न असम्भव छ भन्‍ने ठाने। तिनीहरूको “असम्भव” नै तिनीहरूले परमेश्‍वरको निन्दा र विरोध गर्ने आधार बन्यो, र अन्ततः यसले इस्राएलको विनाशतर्फ डोऱ्यायो। आज पनि धेरै मानिसहरूले उस्तै गल्ती गरेका छन्। तिनीहरूले आफ्नो सारा शक्तिले परमेश्‍वरको चाँडै हुने देखा पराइको घोषणा गर्छन्, तैपनि उही बेला परमेश्‍वरको देखा पराइलाई निन्दा गर्छन्; तिनीहरूको “असम्भव” ले फेरि एकचोटि परमेश्‍वरको देखा पराइलाई तिनीहरूको कल्पनाका सीमाहरूभित्र सीमित गर्छ। अनि त्यसैले मैले परमेश्‍वरको वचन पाउँदा धेरै मानिसहरूको उन्मत्त हाँसो छुटेको देखेको छु। तर के यो हाँसो यहूदीहरूको भर्त्सना र ईश्‍वरनिन्दा भन्दा फरक छ र? तिमीहरू सत्यताको उपस्थितिमा आदरयुक्त छैनौ, तिमीहरूमा तृष्णाको मनोवृत्ति त झनै छैन। तिमीहरू केवल अन्धाधुन्ध अध्ययन गर्छौ, र बेपरवाह भएर पर्खी बस्छौ। यसरी अध्ययन गरी पर्खी बसेर तिमीहरूले के प्राप्त गर्न सक्छौ? के तिमीहरूले परमेश्‍वरबाट व्यक्तिगत मार्गदर्शन पाउँछौ भन्‍ने तिमीहरूलाई लाग्छ? यदि तँ परमेश्‍वरका वाणी खुट्ट्याउन सक्दैनस् भने, तँ कसरी परमेश्‍वरको देखा पराइ देख्न योग्य छस्? परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुनेछ, र त्यहाँ परमेश्‍वरको आवाज हुनेछ। सत्यता स्वीकार गर्न सक्नेहरूले मात्रै परमेश्‍वरको आवाज सुन्‍न सक्नेछन्, र त्यस्ता मानिसहरू मात्रै परमेश्‍वरको देखा पराइ देख्‍न योग्य हुन्छन्। तेरा धारणा त्यागिदे! आफैलाई शान्त पार् र यी वचनहरूलाई होसियारीसाथ पढ्। तँसँग सत्यताको तृष्णा गर्ने हृदय भएसम्म, परमेश्‍वरले तैँले उहाँका अभिप्राय र वचन बुझ्नेछस् भनेर तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। तिमीहरूका “असम्भवता” का तर्कलाई त्यागिदेओ! मानिसहरूले कुनै कुरा असम्भव छ भन्‍ने विश्‍वास जति धेरै गर्छन्, त्यो हुने सम्भावना त्यति नै धेरै हुन्छ, किनभने परमेश्‍वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्‍वरका सोचहरू मानिसका सोचहरूभन्दा उच्च छन्, र परमेश्‍वरले मानिसका सोच र धारणाका सीमाभन्दा बाहिर आफ्नो काम गर्नुहुन्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसभित्र त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसका धारणाहरूद्वारा जति कल्पना गर्न सकिँदैन, त्यसमा त्यति नै धेरै परमेश्‍वरका अभिप्रायहरू समावेश हुन्छन्। किनभने, उहाँ जहाँ देखा पर्नुभए पनि, परमेश्‍वर अझै परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ देखा पर्नुहुने स्थान वा शैलीका कारण उहाँको सार बिलकुलै परिवर्तन हुनेछैन। परमेश्‍वरका पाइलाहरू चाहे जहाँ भए पनि परमेश्‍वरको स्वभाव परिवर्तन हुनेछैन, र उहाँका पाइलाहरू चाहे जहाँ भए पनि, उहाँ सबै मानवजातिका परमेश्‍वर हुनुहुन्छ, जसरी प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्‍वर नभई, एसिया, युरोप र अमेरिकाका सबै मानिसहरूका परमेश्‍वर हुनुहुन्छ, र त्योभन्दा पनि बढी, उहाँ सम्पूर्ण ब्रह्माण्डमाथि र ब्रह्माण्डभर एक मात्र परमेश्‍वर हुनुहुन्छ। त्यसैले, हामी परमेश्‍वरका अभिप्रायको खोजी गरौँ र उहाँका वाणी र वचनहरूमा उहाँको देखा पराइ पत्ता लगाऔँ, र उहाँका पाइलाहरूसँग पाइला मिलाऔँ! परमेश्‍वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँको देखा पराइ एकैसाथ अस्तित्वमा हुन्छन्, र उहाँको स्वभाव अनि उहाँका पाइलाहरू मानवजातिलाई सदैव सार्वजनिक रूपमा देखाइन्छन्। प्रिय दाजुभाइ-दिदीबहिनीहरू, म आशा गर्छु कि तिमीहरू सबैले यी वचनहरूमा परमेश्‍वरको देखा पराइ देख्न सक्छौ, तिमीहरूले उहाँका पाइलाहरूसँग गति मिलाउन थाल्नेछौ र नयाँ युगतर्फ लम्कनेछौ, र परमेश्‍वरको देखा पराइ कुर्नेहरूका लागि उहाँले तयार पार्नुभएको सुन्दर नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्नेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ

अघिल्लो:  घ. सत्य के हो भन्‍ने खुलासा सम्बन्धी वचनहरू

अर्को:  ४. देहधारणका रहस्यहरूको खुलासा सम्बन्धी वचनहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger