घ. सत्य के हो भन्ने खुलासा सम्बन्धी वचनहरू
१५२. आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि चिरस्थायी र अनन्त सत्यताको मार्ग ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्वरलाई चिन्नेछ र ऊ परमेश्वरद्वारा अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्टले प्रदान गर्नुभएको जीवनको मार्गको खोजी गर्दैनस् भने, तैँले कहिल्यै येशूको अनुमोदन प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। प्रावधानहरू, शब्दहरू, र इतिहासको जन्जिरद्वारा नियन्त्रित हुनेहरूले कहिल्यै जीवन प्राप्त गर्न सक्नेछैनन् न त तिनीहरूले चिरस्थायी जीवनको मार्ग नै पाउन सक्नेछन्। यस्तो किन हुन्छ भने, तिनीहरूसँग सिंहासनबाट बग्ने जीवनको पानी नभई धमिलो पानी मात्रै छ, जसलाई तिनीहरूले हजारौँ वर्षदेखि पक्रेर बसेका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, र नरकका पुत्रहरू भएर रहनेछन्। त्यसोभए, कसरी तिनीहरूले परमेश्वरलाई देख्न सक्छन्? तँ विगतलाई मात्रै पक्रिराख्न खोज्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्न मात्रै खोज्छस्, र यथास्थितिलाई परिवर्तन गर्न र इतिहासलाई फाल्न खोज्दैनस्, त्यसकारण के तँ सधैँ परमेश्वरप्रति शत्रुवत् हुनेछैनस् र? परमेश्वरको कामका कदमहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै विशाल र शक्तिशाली छन्—तैपनि तँ आफ्नो मूर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पदचापहरू पछ्याउने व्यक्ति कसरी मान्न सकिन्छ? तैँले पक्रेर बसेको परमेश्वर सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस् र? अनि तेरा पहेँलो भइसकेका पुस्तकका अक्षरहरूले तँलाई कसरी नयाँ युगमा पुर्याउन सक्छन् र? तिनले कसरी तँलाई परमेश्वरको कामका कदमहरूको खोजी गर्नका निम्ति अगुवाइ गर्न सक्छन् र? अनि, तिनले कसरी तँलाई स्वर्गमा लैजान सक्छन् र? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने शब्दहरू मात्र हुन्, तँलाई जीवन दिन सक्ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्त्रका शब्दहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्न तँलाई सहयोग गर्न सक्ने दर्शनशास्त्रका शब्दहरू होइनन्, ती तँलाई सिद्ध पार्ने मार्ग त झनै होइनन्। के यो विसङ्गतिले तँलाई सचिन्तन गर्ने कारण दिँदैन र? के यसले तँलाई त्यसभित्र रहेका रहस्यहरूलाई बोध गर्ने तुल्याउँदैन र? के तँ परमेश्वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा पठाउन सक्छस्? परमेश्वरको आगमनविना, के तँ परमेश्वरसँग पारिवारिक खुसीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ, हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ
१५३. मेरा वचनहरू सदैव अपरिवर्तनीय सत्यता हुन्। म मानवजातिका निम्ति जीवनको आपूर्ति र मानवजातिका निम्ति एक मात्र मार्गदर्शक हुँ। मेरा वचनहरूको मूल्य र अर्थ मानवजातिले तिनलाई अनुमोदन र स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुराले नभई ती वचनहरू स्वयम्को सारले निर्धारण गर्छ। यस पृथ्वीमा भएको एक जनाले पनि मेरा वचनहरू स्विकार्न सकेन भने पनि, मेरा वचनको मूल्य र तिनले मानवजातिलाई गर्ने सहयोगको आकलन कुनै पनि मानिसले लगाउन सक्दैन। त्यसकारण, मेरा वचनविरुद्ध विद्रोह गर्ने, तिनलाई खण्डन गर्ने, वा अत्यन्तै तिरस्कार गर्ने धेरै मानिसहरूको सामना गर्दा, मेरो मनोवृत्ति यो मात्र हुन्छ: समय र तथ्यहरू नै मेरो गवाही बनून् र मेरा वचन नै सत्यता, मार्ग र जीवन हुन् भनी प्रमाणित गरून्। मैले भनेका सबै कुराहरू सही छन्, यो मानिससँग हुनुपर्ने कुरा हो, र योभन्दा पनि बढी, यो मानिसले स्वीकार गर्नुपर्ने कुरा हो भनी तिनले प्रमाणित गरून्। मलाई पछ्याउने सबैलाई म यो तथ्य जान्ने तुल्याउनेछु: मेरा वचनहरू पूर्ण रूपमा स्वीकार गर्न नसक्नेहरू, मेरा वचनहरू अभ्यास गर्न नसक्नेहरू, मेरा वचनमा उद्देश्य भेट्टाउन नसक्नेहरू, अनि मेरा वचनहरूका कारण मुक्तिको अनुग्रह प्राप्त गर्न नसक्नेहरू मेरा वचनहरूद्वारा निन्दा गरिएकाहरू हुन्; योभन्दा पनि बढी, तिनीहरू ती हुन् जसले मेरो मुक्तिको अनुग्रह गुमाएका छन्, र मेरो डण्डा तिनीहरूबाट कहिल्यै भट्किने छैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ
१५४. परमेश्वर स्वयम् नै जीवन र सत्यता हुनुहुन्छ, र उहाँको जीवन र सत्यता सहअस्तित्वमा रहन्छन्। सत्यता प्राप्त गर्न नसक्नेले जीवन कहिल्यै प्राप्त गर्नेछैनन्। सत्यताको मार्गदर्शन, सहयोग, र आपूर्तिविना, तैँले शब्द, धर्मसिद्धान्तहरू, र अझ बढी, मृत्यु मात्रै प्राप्त गर्नेछस्। परमेश्वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्यता र जीवन सहअस्तित्वमा रहन्छन्। यदि तैँले सत्यताको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पोषण प्राप्त गर्नेछैनस्; तैँले जीवनको आपूर्ति प्राप्त गर्न सक्दैनस् भने, तँसँग अवश्य नै कुनै सत्यता हुनेछैन, र कल्पना र धारणाहरू बाहेक, तेरो सम्पूर्ण शरीर तेरो देहबाहेक—तेरो दुर्गन्धित देहबाहेक अरू केही हुनेछैन। यो कुरा जान्: पुस्तकका शब्दहरू जीवनका रूपमा गन्ती हुँदैनन्, इतिहासका अभिलेखहरूलाई सत्यताका रूपमा प्रतिष्ठापन गर्न सकिँदैन, र विगतका प्रावधानहरू परमेश्वरका हालका वचनहरूका विवरण हुन सक्दैनन्। पृथ्वीमा आई मानिसहरूमाझ बस्नुहुँदा परमेश्वरले व्यक्त गर्नुहुने वचनहरू मात्रै सत्यता, जीवन, परमेश्वरका अभिप्राय र उहाँको काम गर्ने वर्तमान शैली हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ
१५५. सत्यता नै जीवनका सूत्रहरूमा सबैभन्दा व्यावहारिक हुन्छ, र सारा मानवजातिमाझ यस्ता सूत्रहरूमध्ये सर्वोच्च हुन्छ। यो परमेश्वरले मानिसबाट गर्नुभएको माग भएको हुनाले, र यो परमेश्वरद्वारा व्यक्तिगत रूपमा गरिएको कार्य भएको हुनाले, यसलाई “जीवनको सूत्र” भनिएको हो। यो सूत्र केही कुराबाट सारांश गरिएको होइन, न त यो कुनै महान् हस्तीबाट आएको प्रसिद्ध उद्धरण नै हो। यसको सट्टामा, यो त स्वर्ग र पृथ्वी र सबै थोकका सार्वभौमबाट मानवजातिका लागि आएको वाणी हो; यो मानिसद्वारा सारांश गरिएका केही शब्दहरू होइनन्, तर परमेश्वरको अन्तर्निहित जीवन हो। अनि त्यसैले यसलाई “सबै जीवनका सूत्रहरूमध्येको सर्वोच्च” भनी भनिएको हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्
१५६. मानिसको संसारबाट सत्यता आउँछ, तैपनि मानिसहरूमाझ सत्यता ख्रीष्टले नै हस्तान्तरण गर्नुभएको हो। यो ख्रीष्टबाट, अर्थात् परमेश्वर स्वयम्बाट उत्पन्न हुन्छ, र यसको लागि मानिस सक्षम छैन। तैपनि ख्रीष्टले सत्यता मात्रै दिनुहुन्छ; मानिस सत्यतासम्बन्धी आफ्नो खोजीमा सफल हुनेछ कि हुनेछैन भनी निर्णय गर्न उहाँ आउनुहुन्न। त्यसैले सत्यतासम्बन्धी सफलता वा असफलताको कुरा पूर्ण रूपमा मानिसकै खोजीमा निर्भर हुन्छ। सत्यतासम्बन्धी मानिसको सफलता वा असफलता ख्रीष्टसँग कहिल्यै सम्बन्धित रहेको छैन, यो कुरा त उसकै खोजीद्वारा निर्धारित हुन्छ। मानिसको गन्तव्य र उसको सफलता वा असफलताको जिम्वारी परमेश्वरले नै बोक्नुहोओस् भनेर यसलाई परमेश्वरको टाउकोमा थोपर्न मिल्दैन, किनभने यो परमेश्वर स्वयम्को मामला होइन, यो त सृष्टि गरिएका प्राणीहरूले पूरा गर्नुपर्ने कर्तव्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ
१५७. सत्यता सूत्रबद्ध हुँदैन, न त यो नियम नै हो। यो मरेको छैन, यो आफैमा जीवन हो, यो सजीव कुरा हो, र यो सृष्टि गरिएको थोकले जीवनमा पछ्याउनुपर्ने नियम र मानिससित जीवनमा हुनुपर्ने नियम हो। यो तैँले अनुभवद्वारा जतिसक्दो धेरै बुझ्नुपर्ने कुरा हो। तेरो अनुभवमा तँ जुन अवस्थामा आइपुगे तापनि, तँलाई परमेश्वरको वचन वा सत्यतादेखि अलग गर्न सकिँदैन, र परमेश्वरको स्वभावको बारेमा तँ जे बुझ्छस्, र परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसबारे तँलाई जे थाहा छ, ती सबैलाई परमेश्वरका वचनहरूमा व्यक्त गरिएका छन्; ती सत्यतासित फुकाउनै नमिल्ने गरी गाँसिएका छन्। परमेश्वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, ती आफैमा सत्यता हुन्; सत्यता परमेश्वरको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको विशुद्ध प्रस्फुटन हो। यसले उहाँसित जे छ, र उहाँ जे हुनुहुन्छ, त्यसलाई ठोस बनाउँछ र यसले उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसको प्रष्ट अभिव्यक्ति दिन्छ; परमेश्वरले के मन पराउनुहुन्छ अनि के मन पराउनुहुन्न, तैँले के गरेको उहाँ चाहनुहुन्छ, अनि उहाँले तँलाई के गर्न अनुमति दिनुहुन्न, कुन मानिसहरूलाई उहाँले तुच्छ ठान्नुहुन्छ, कुन मानिसहरूमा उहाँले आनन्द लिनुहुन्छ त्यसबारे यसले तँलाई अझ प्रत्यक्ष रूपमा बताउँछ। परमेश्वरले व्यक्त गर्नुहुने सत्यताहरूको पछाडि, मानिसहरूले उहाँको आनन्द, रिस, शोक र खुशीको साथै उहाँको सारलाई देख्न सक्छन्—यो उहाँको स्वभावको प्रकटीकरण हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३
१५८. परमेश्वरले बोल्नुभएका वचनहरू बाहिरी रूपमा सरल हुन् वा गहन हुन्, ती वचनहरू मानिसको जीवन प्रवेशको निम्ति सम्पूर्ण अपरिहार्य सत्यता हुन्; ती वचनहरू जीवित पानीका फोहरा हुन्, जसले मानिसलाई आत्मा र शरीर दुवैमा जीवित रहन सक्षम तुल्याउँछन्। ती वचनहरूले मानिसलाई जीवित रहन चाहिने खाँचोहरू आपूर्ति गर्छन्; उसको दैनिक जीवनको आत्म-आचरणका सिद्धान्तहरू र मान्यताहरू आपूर्ति गर्छन्; मुक्तिसम्म उसले लिनुपर्ने मार्ग, साथै मुक्ति प्राप्त गर्नका लागि चाहिने लक्ष्य र निर्देशन आपूर्ति गर्छन्; परमेश्वरसामु सृजित प्राणीका रूपमा उसमा हुनुपर्ने हरेक सत्यता आपूर्ति गर्छन्; र मानिस कसरी परमेश्वरप्रति समर्पित हुन्छ र उहाँको आराधना गर्छ भन्नेबारे हरेक सत्यता आपूर्ति गर्छन्। यी वचनहरू मानिसको अस्तित्व सुनिश्चित गर्ने प्रत्याभूति हुन्, मानिसको दैनिक भोजन हुन्, र तिनीहरू दह्रिलो टेवा पनि हुन् जसले मानिसलाई बलियो हुन र खडा हुन सक्षम तुल्याउँछन्। परमेश्वरका वचनहरू सत्यता वास्तविकतामा प्रचुर हुन्छन् जसद्वारा सृजित मानवजातिले सामान्य मानवता जिउँछ, मानिसलाई भ्रष्टताबाट उम्कने र शैतानका पासोबाट निस्किहिँड्ने तुल्याउने सत्यतामा ती प्रचुर हुन्छन्, सृष्टिकर्ताले सृजित मानवजातिलाई दिनुहुने निष्कपट र धैर्यवान् शिक्षण, अर्ती, उत्साह, र सान्त्वनाले ती भरिपूर्ण हुन्छन्। ती सङ्केत बत्ती हुन् जसले मानिसहरूलाई सबै सकारात्मक कुराहरू बुझ्न मार्गदर्शन र अन्तर्दृष्टि दिन्छन्, ती प्रत्याभूति हुन् जसले मानिसहरूले सबै न्यायोचित, सुन्दर र असल कुराहरू जिउनेछन् र मानिसहरूसँग ती कुरा हुनेछन् भन्ने सुनिश्चित गर्छन्, ती मापदण्डहरू हुन् जसद्वारा सबै मानिस, घटना, र कामकुराहरूलाई मापन गरिन्छन्, र तिनीहरू नौपरिवहन सङ्केत पनि हुन् जसले मानिसहरूलाई मुक्तिमा र ज्योतिको मार्गमा डोर्याउँछन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। प्रस्तावना
१५९. परमेश्वरको वचनलाई मानिसको वचन भन्न मिल्दैन, मानिसको शब्दलाई कसैले परमेश्वरको वचन भन्न त झनै मिल्दैन। परमेश्वरद्वारा प्रयोग गरिएको मानिस देहधारी परमेश्वर होइन, अनि देहधारी परमेश्वर परमेश्वरद्वारा प्रयोग गरिएको मानिस होइन। यसमा, एउटा सारगत भिन्नता हुन्छ। सायद, यी वचनहरू पढिसकेपछि तँ तिनलाई परमेश्वरका वचनहरू नभई, बरु मानिसले प्राप्त गरेको अन्तर्दृष्टि मात्र मान्छस् होला। त्यस अवस्थामा, तँ ज्यादै अज्ञानी छस्। परमेश्वरको वचन कसरी मानिसले प्राप्त गरेको अन्तर्दृष्टि जस्तो हुन सक्छ? देहधारी परमेश्वरका वचनहरूले एउटा नयाँ युग सुरु गर्दछन्, सारा मानवजातिलाई डोऱ्याउँछन्, रहस्यहरू प्रकट गर्दछन्, र मानिसले त्यो नयाँ युगमा लिनुपर्ने दिशा देखाउँछन्। मानिसले प्राप्त गर्ने अन्तर्दृष्टि भनेको केही सरल अभ्यास वा ज्ञान बाहेक केही होइन। यसले सम्पूर्ण मानवजातिलाई नयाँ युगमा मार्गदर्शन गर्न वा परमेश्वर स्वयम्का रहस्य प्रकट गर्न सक्दैन। आखिर, परमेश्वर परमेश्वर नै हुनुहुन्छ, र मानिस मानिस नै हो। परमेश्वरसित परमेश्वरको सार छ, र मानिससित मानिसको सार छ। यदि मानिसले परमेश्वरले बोल्नुभएका वचनहरूलाई पवित्र आत्माले दिनुभएको सरल अन्तर्दृष्टिका रूपमा हेर्छ भने र प्रेरितहरू र अगमवक्ताहरूले बोलेका शब्दलाई परमेश्वरले व्यक्तिगत रूपमा बोल्नुभएको वचनका रूपमा लिन्छ भने, त्यो मानिसको गल्ती हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
१६०. परमेश्वर स्वयमको जीवन नै सत्यता हो; यसले उहाँको स्वभाव, उहाँको सार, अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबको प्रतिनिधित्व गर्छ। केही अनुभवात्मक ज्ञान भएकाले यदि तँ आफूसँग सत्यता छ भनेर भन्छस् भने, के तैँले पवित्रता प्राप्त गरेको हुन्छस्? तैँले अझै किन भ्रष्टता प्रकट गर्छस्? किन तैँले फरक फरक प्रकारका मानिसहरूका बीचमा भिन्नता छुट्याउन सक्दैनस्? तैँले किन परमेश्वरको गवाही दिन सक्दैनस्? तैँले केही सत्यता प्राप्त गरे पनि, के तैँले परमेश्वरको प्रतिनिधित्व गर्न सक्छस्? के तँ परमेश्वरको स्वभावमा जिउन सक्छस्? तँसँग कुनै सत्यताको कुनै निश्चित पक्षबारे केही अनुभवात्मक ज्ञान हुन सक्छ र तैँले आफ्नो वाणीमा केही ज्योति घुसाउन सक्छस् होला, तर तैँले मानिसहरूलाई प्रदान गर्न सक्ने कुरा अत्यन्तै सीमित हुन्छ, र त्यो दीर्घकालीन रूपमा रहन सक्दैन। यस्तो किन हुन्छ भने तेरो बुझाइ र तैँले प्राप्त गरेको ज्योतिले सत्यताको सार र सत्यताको सम्पूर्णतालाई प्रतिनिधित्व गर्दैन। यसले सत्यताको एउटा वा सानो पक्षलाई मात्रै प्रतिनिधित्व गर्छ, यो मानवले हासिल गर्न सक्ने स्तर मात्रै हो, र यो अझै पनि सत्यताको सारबाट टाढै हुन्छ। यो थोरै ज्योति, अन्तर्दृष्टि, अनुभवात्मक ज्ञानले कहिल्यै सत्यताको स्थान लिन सक्दैन। सबै मानिसहरूले सत्यता अनुभव गरेर केही परिणाम हासिल गरे पनि, र तिनीहरूका सबै अनुभवात्मक ज्ञानलाई एकै ठाउँमा राखे पनि, त्यो यो सत्यताको एक हरफको सम्पूर्णता र सारसम्म पुग्न सक्दैन। विगतमा यस्तो भनिएको थियो, “म यस कुरालाई मानव संसारको लागि यो उक्तिद्वारा सारांशित गर्छु: मानिसहरूका बीचमा, मलाई प्रेम गर्ने कोही पनि छैन।” यो वाक्य सत्यता हो, जीवनको साँचो सार, सबैभन्दा गहन कुरा, अनि परमेश्वर स्वयम्को एक अभिव्यक्ति हो। तँ अनुभवहरूबाट गुज्रिन्छस्, र तीन वर्षको अनुभवपछि, तैँले थोरै सतही बुझाइ प्राप्त गरेको हुन सक्छस्, र सातआठ वर्षपछि, तैँले अलिक बढी बुझाइ प्राप्त गरेको हुन सक्छस्, तर यो बुझाइले सत्यताको यो हरफको स्थान कहिल्यै लिन सक्दैन। कोही अर्कोले पनि दुई वर्षपछि थोरै बुझाइ वा दश वर्षपछि थप बुझाइ प्राप्त गर्न सक्छ, वा जीवनभरमा तुलनात्मक रूपमा निकै उच्च बुझाइ प्राप्त गर्न सक्छ, तर तिमीहरू दुवैको समग्र बुझाइले पनि सत्यताको यो हरफको स्थान लिन सक्दैन। तिमीहरू दुवैले समग्र रूपमा जति धेरै अन्तर्ज्ञान, ज्योति, अनुभव, वा ज्ञान बटुले पनि, त्यो कुराले सत्यताको यो हरफको स्थान लिन सक्दैन। भन्नु को अर्थ, मानव जीवन सधैँ मानव जीवन नै हुन्छ, र तेरो ज्ञान सत्यता, परमेश्वरका अभिप्राय, वा परमेश्वरका मागहरूसँग जति मिले पनि, त्यसले कहिल्यै पनि सत्यताको स्थान लिन सक्दैन। मानिसहरूसँग सत्यता छ भन्नु को अर्थ मानिसहरूले साँचो रूपमा सत्यता बुझेका छन्, तिनीहरू परमेश्वरको वचनका केही वास्तविकताहरूमा जिउँछन्, तिनीहरूसँग परमेश्वरबारे केही वास्तविक ज्ञान छ, र तिनीहरूले परमेश्वरलाई उचाल्न र सन्तुष्ट पार्न सक्छन् भन्ने हुन्छ। तर मानिसहरूसँग पहिल्यैदेखि सत्यता छ भनेर भन्न सकिँदैन, किनभने सत्यता अत्यन्तै प्रगाढ हुन्छ। परमेश्वरको वचनको एउटा हरफलाई अनुभव गर्नसमेत जीवनभरिको समय लाग्न सक्छ, र धेरै जीवनकालको अनुभवपछि, वा हजारौँ वर्षपछि पनि, परमेश्वरको वचनको एउटा हरफलाई पूर्ण रूपमा अनुभव गर्न सकिँदैन। यो स्पष्ट छ कि सत्यतालाई बुझ्ने र परमेश्वरलाई चिन्ने प्रक्रिया वास्तवमै अनन्त हुन्छ, र मानिसहरूले जीवनकालभरिको अनुभवमा कति सत्यता बुझ्न सक्छन् भन्ने कुराको पनि सीमा हुन्छ। कतिपय मानिसहरूले परमेश्वरको वचनको पाठ्य तहको अर्थ बुझ्नासाथ तिनीहरूसँग सत्यता छ भनेर भन्छन्। के यो बकवास होइन र?
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
१६१. मानिसहरूले सत्यता बुझ्ने, र त्यसलाई आफ्नो जीवनको रूपमा जिउनेबारे कुरा गर्नुपर्दा, त्यो “जीवन” ले केलाई जनाउँछ? यसले तिनीहरूको हृदयमा सत्यता सर्वोच्च हुन्छ, तिनीहरू परमेश्वरको वचनको आधारमा जिउन सक्छन्, र तिनीहरूमा परमेश्वरका वचनहरूको वास्तविक ज्ञान र सत्यताको सच्चा बुझाइ छ भन्ने जनाउँछ। जब मानिसहरूभित्र यो नयाँ जीवन हुन्छ, यो पूर्णतया परमेश्वरका वचनहरू अभ्यास र अनुभव गरेर हासिल गरिएको हुन्छ। यो परमेश्वरका वचनहरूको सत्यताको जगमा निर्मित भएको हुन्छ, र यो सत्यताको क्षेत्रमा तिनीहरूको जियाइमार्फत प्राप्त भएको हुन्छ; मानिसहरूको जीवनमा हुने सबै कुरा भनेकै सत्यतासम्बन्धी तिनीहरूको ज्ञान र अनुभव हुन्छ। यही नै जग हो, र यसले त्यो दायरा नाघ्न सक्दैन; सत्यता र जीवन प्राप्त गर्ने कुरा गर्दा यही जीवनलाई इङ्गित गरिएको हुन्छ। परमेश्वरका वचनहरूको सत्यताअनुसार जिउन सक्नु भनेको मानिसहरूभित्र सत्यताको जीवन छ भन्ने हुँदैन, न त मानिसहरूसित तिनीहरूको जीवनको रूपमा सत्यता छ भन्दैमा तिनीहरू सत्यता बन्छन्, र तिनीहरूको आन्तरिक जीवन सत्यताको जीवन बन्छ भन्ने नै हुन्छ; झन् तिनीहरू सत्यता र जीवन हुन् भनेर भन्न सकिनु त परै जाओस्। आखिर, तिनीहरूको जीवन अझै पनि मानव जीवन नै हुन्छ। यदि तँ परमेश्वरका वचनहरूअनुसार जिउन सक्छस्, तँसित सत्यको ज्ञान छ, यदि यो ज्ञानले तँभित्र जरा गाड्छ र यो तेरो जीवन बन्छ, र तैँले अनुभवमार्फत प्राप्त गरेको त्यो सत्यता तेरो अस्तित्वको आधार बन्छ, यदि तँ परमेश्वरका यी वचनहरूअनुसार जिउँछस्, र यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन, र शैतानले तँलाई बहकाउन वा भ्रष्ट तुल्याउन सक्दैन भने, तैँले सत्यता र जीवन प्राप्त गरेको हुनेछस्। यसको मतलब, तेरो जीवनमा सत्यता, अर्थात् सत्यतासम्बन्धी तेरो बुझाइ, अनुभव, र अन्तर्ज्ञान मात्र हुन्छ; र तैँले जे गरे पनि, तँ यिनै कुराहरूअनुसार जिउँछस्, र तँ तिनको क्षेत्रभन्दा बाहिर जाँदैनस्। सत्यता वास्तविकता प्राप्त गर्नु भनेको यही हो, र परमेश्वरले आफ्नो कार्यद्वारा अन्तिममा प्राप्त गर्न चाहनुहुने मानिसहरू यिनै हुन्। तर मानिसहरूले सत्यलाई जति नै राम्ररी बुझे पनि तिनीहरूको सार अझै पनि मानवताकै हुन्छ, र त्यसलाई परमेश्वरको सारसँग कदापि तुलना गर्न सकिँदैन। यस्तो किन हो भने, तिनीहरूले कहिल्यै सबै सत्यता अनुभव गर्न सक्दैनन्, र तिनीहरूले सत्यमा पूर्ण रूपमा जिउन असम्भव हुन्छ; तिनीहरूले मानिसहरूले प्राप्त गर्न सक्ने सत्यताको अति सीमित भाग मात्र जिउन सक्छन्। अनि, तिनीहरू कसरी परमेश्वरमा परिणत हुन सक्छन् र? … यदि तँमा परमेश्वरका वचनहरूको अलिअलि अनुभव छ भने, र तँ सत्यताको सच्चा अनुभववात्मक ज्ञानअनुसार जिइरहेको छस् भने, परमेश्वरका वचनहरू क्रमिक रूपमा तेरो जीवन बन्नेछन्। तापनि, तैँले अझै पनि सत्य नै तेरो जीवन हो वा तैँले व्यक्त गरिरहेका कुराहरू सत्य हुन् भनेर भन्न सक्दैनस्; यदि तेरो विचार त्यस्तो छ भने, तँ गलत छस्। यदि तँसँग सत्यको एउटा खास पक्षबारे मात्रै अनुभव छ भने, के त्यसले तैँले सत्यता धारण गरेको अवस्था प्रतिनिधित्व गर्न सक्छ? के यसलाई सत्यता प्राप्त गरेको रूपमा लिन सकिन्छ? के तैँले सत्यको पूर्ण रूपमा वर्णन गर्न सक्छस्? के तैँले सत्यताबाट परमेश्वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनहुन्छ त्यो पत्ता लगाउन सक्छस्? यदि यी प्रभावहरू हासिल गर्न सकिएन भने, यसले के प्रमाणित गर्छ भने सत्यताको कुनै पक्षलाई अनुभव गर्ने कार्यलाई मात्रै साँचो रूपमा सत्यता बुझेको वा परमेश्वरलाई चिनेको मान्न सकिँदैन, यसलाई सत्यता प्राप्त गरेको भनेर भन्न सकिनु त परको कुरा हो। प्रत्येक व्यक्तिसँग सत्यको एक पक्ष र क्षेत्रको मात्र अनुभव हुन्छ; उसले यसलाई सीमित क्षेत्रभित्र अनुभव गर्छ, तर सत्यको सबै अनगन्ती पक्षहरूलाई छुन सक्दैन। के मानिसहरू सत्यताको वास्तविक अर्थअनुसार जिउन सक्छन्? तेरो थोरै अनुभवको परिमाण कति हुन्छ? समुद्र किनारको बालुवाको केवल एउटा कण जति; समुद्रको पानीको केवल एक थोपा जति। त्यसकारण तैँले आफ्ना अनुभवहरूबाट प्राप्त गरेको त्यो ज्ञान र ती भावनाहरू जति नै मूल्यवान् भए पनि, तिनलाई पनि अझै सत्यताको रूपमा गन्ती गर्न सकिँदैन। तिनलाई सत्यताअनुरूपका छन् भनेर मात्रै भन्न सकिन्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
१६२. परमेश्वर स्वयम् नै सत्यता हुनुहुन्छ, र उहाँसित सबै सत्यताहरू छन्। परमेश्वर सत्यताको स्रोत हुनुहुन्छ। हरेक सकारात्मक कुरा र हरेक सत्यता परमेश्वरबाटै आउँछ। उहाँ यावत् थोक र घटनाको सहीपन र गलतपनको विषयमा न्याय गर्न सक्नुहुन्छ; उहाँले भइसकेका कुराहरू, अहिले भइरहेका कुराहरू, र मानिसलाई अझै थाहा नभएका भविष्यका कुराहरूमाथि न्याय गर्न सक्नुहुन्छ। परमेश्वर मात्रै सबै कुराको सहीपन र गलतपनका बारेमा न्याय गर्न सक्ने न्यायकर्ता हुनुहुन्छ, र यसको अर्थ सबै थोकको सहीपन र गलतपनलाई परमेश्वरले मात्र न्याय गर्न सक्नुहुन्छ भन्ने हुन्छ। उहाँलाई सबै कुराका मापदण्डहरू थाहा छ। उहाँले कुनै पनि समय र स्थानमा सत्यताहरू व्यक्त गर्न सक्नुहुन्छ। परमेश्वर सत्यताको मूर्त रूप हुनुहुन्छ, मतलब उहाँ स्वयम्मा सत्यताको सार छ। यदि मानिसले धेरै सत्यता बुझ्छ र ऊ परमेश्वरद्वारा सिद्ध पारिन्छ भने पनि, के सत्यताको मूर्त रूपसँग उसको कुनै सरोकार हुन्छ? हुँदैन। यो निश्चित छ। जब मानिसलाई सिद्ध पारिन्छ, तब परमेश्वरको वर्तमान काम र परमेश्वरले मानिसबाट माग गर्नुहुने विभिन्न मानकहरूका सम्बन्धमा ऊसँग सही मूल्याङ्कन र अभ्यासका विधिहरू हुनेछ, र उसले परमेश्वरका अभिप्रायहरूलाई पूर्ण रूपमा बुझ्नेछ। तिनीहरूले परमेश्वरबाट के आउँछ र मानिसबाट के आउँछ सोबीचको भिन्नता, साथै सही के हो र गलत के हो सोबीचको भिन्नता छुट्याउन सक्छन्। तर पनि मानिसहरूका निम्ति अप्राप्य र अस्पष्ट रहने कुराहरू, अर्थात् परमेश्वरले तिनीहरूलाई बताउनुभएपछि मात्रै तिनीहरूले जान्ने केही कुराहरू छन्। के मानिसले अज्ञात कुराहरू, अर्थात् परमेश्वरले अझसम्म उसलाई नबताउनुभएका कुराहरू जान्न वा भविष्यवाणी गर्न सक्छ? कदापि सक्दैन। अझ भन्ने हो भने, यदि मानिसले परमेश्वरबाट सत्यता प्राप्त गऱ्यो, सत्यता वास्तविकता प्राप्त गऱ्यो, र धेरै सत्यताहरूको सार जान्यो, र सही र गलत छुट्ट्याउन सक्यो भने पनि, के ऊसित सबै कुरालाई नियन्त्रण र शासन गर्ने क्षमता हुन्छ र? तिनीहरूसँग यो क्षमता हुँदैन। परमेश्वर र मानिसबीचको भिन्नता नै त्यही हो। सृजित प्राणीहरूले सत्यताको स्रोतबाट मात्र सत्यता प्राप्त गर्न सक्छन्। के तिनीहरूले मानिसबाट सत्यता प्राप्त गर्न सक्छन्? के मानिस सत्यता हो? के मानिसले सत्यता प्रदान गर्न सक्छ? सक्दैन, र भिन्नता त्यसैमा छ। तैँले सत्यता प्राप्त गर्न मात्र सक्छस्, प्रदान गर्न सक्दैनस्—त्यसोभए, के तँलाई सत्यता भएको व्यक्ति भनेर भन्न मिल्छ? के तँलाई सत्यताको मूर्त रूप भनेर भन्न मिल्छ? कदापि मिल्दैन! सत्यताको मूर्त रूपको वास्तविक सार के हो? यो सत्यता प्रदान गर्ने स्रोत हो, सबै थोकमाथिको शासन र सार्वभौमिकताको स्रोत हो, र यो यावत् थोक र घटनाहरूको न्याय गर्ने एकमात्र मानक र मापदण्ड पनि हो। सत्यताको मूर्त रूप यही नै हो।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग तीन)
१६३. सत्यता नै सबै सकारात्मक कुराहरूको वास्तविकता हो। यो एक व्यक्तिको जीवन र ऊ हिँड्ने दिशा हुनसक्छ; यसले व्यक्तिलाई आफ्नो भ्रष्ट स्वभाव फाल्ने, परमेश्वरको डर मान्ने र दुष्टतादेखि अलग बस्ने, परमेश्वरप्रति समर्पित हुने, सृजित प्राणीका रूपमा मानकअनुरूपको हुने, र परमेश्वरले प्रेम गर्नुहुने र उहाँलाई स्वीकार्य लाग्ने व्यक्ति हुने तुल्याउन सक्छ। सत्यताको बहुमूल्यता ध्यानमा राखी हेर्दा, परमेश्वरका वचनहरू र सत्यताबारे व्यक्तिसँग कस्तो मनोवृत्ति र दृष्टिकोण हुनुपर्छ? यो निकै स्पष्ट छ: परमेश्वरमा साँचो रूपमा विश्वास गर्नेहरू र परमेश्वरको डर मान्ने हृदय भएकाहरूका लागि, उहाँका वचनहरू तिनीहरूका जीवनशक्ति हुन्। मानिसहरूले परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नुपर्छ, तिनलाई खानु र पिउनुपर्छ, तिनको आनन्द उठाउनुपर्छ, र तिनलाई आफ्नो जीवनका रूपमा, आफू हिँड्ने दिशाका रूपमा, र तयारी सहायता र आपूर्तिका रूपमा स्वीकार गर्नुपर्छ; मानिसहरूले सत्यताका अभिव्यक्ति र मागहरूअनुसार अभ्यास र अनुभव गर्नुपर्छ, अनि तिनीहरू सत्यताले तिनीहरूलाई प्रदान गर्ने विभिन्न माग र सिद्धान्तहरूप्रति समर्पित हुनुपर्छ। यसो गरे मात्र व्यक्तिले जीवन प्राप्त गर्न सक्छ। सत्यताको पछ्याइ मुख्यगरी परमेश्वरका वचनहरूको अभ्यास र अनुभव हो, तिनका बारेमा छानबिन, विश्लेषण, अनुमान, र शङ्का गर्ने होइन। सत्यता नै मानिसहरूको तयारी सहायता र आपूर्ति भएकोले, र यो तिनीहरूको जीवन हुनसक्ने हुनाले, तिनीहरूले सत्यतालाई सबैभन्दा बहुमूल्य कुराका रूपमा लिनुपर्छ, किनभने तिनीहरूले जिउन, परमेश्वरका मागहरू पूरा गर्न, उहाँको डर मान्न र दुष्टतादेखि अलग बस्न, अनि आफ्नो दैनिक जीवनमा अभ्यासको मार्ग भेट्टाउन र अभ्यासका सिद्धान्तहरू बोध गर्न, यसमार्फत परमेश्वरप्रतिको समर्पणता हासिल गर्न सत्यतामाथि नै भर पर्नुपर्छ; मानिसहरूले आफ्नो भ्रष्ट स्वभाव फाल्न, अनि मुक्ति दिइने र मानकअनुरूपको सृजित प्राणी बन्नका लागि पनि सत्यतामै भर पर्नुपर्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग सात)
१६४. सत्यतासम्बन्धी उहाँको अभिव्यक्तिमा, परमेश्वरले उहाँको स्वभाव र सार व्यक्त गर्नुहुन्छ; सत्यतासम्बन्धी उहाँको अभिव्यक्ति मानवजातिले सारसङ्क्षेप गरेको भनी मानिसहरूले विश्वास गर्ने विभिन्न सकारात्मक कुराहरू र भनाइहरूमा आधारित हुँदैन। परमेश्वरका वचनहरू परमेश्वरका वचनहरू नै हुन्; परमेश्वरका वचनहरू सत्यता हुन्। ती एकमात्र त्यस्ता जग र व्यवस्था हुन् जसमार्फत मानवजाति अस्तित्वमा रहन्छ, र मानवजातिबाट उत्पन्न हुने तथाकथित सिद्धान्तहरू गलत र बेतुकका छन्, र परमेश्वरले तिनलाई दोषी ठहराउनुहुन्छ। तिनले उहाँको मान्यता आर्जन गर्दैनन्, र ती उहाँका वाणीहरूको मूल वा आधार त झनै होइनन्। परमेश्वरले आफ्नो स्वभाव र आफ्नो सार आफ्ना वचनहरूद्वारा व्यक्त गर्नुहुन्छ। परमेश्वरद्वारा व्यक्त गरिएका सबै वचन सत्यता हुन्, किनकि उहाँसँग परमेश्वरको सार छ, र उहाँ सबै सकारात्मक थोकहरूको वास्तविकता हुनुहुन्छ। यो भ्रष्ट मानवजातिले परमेश्वरका वचनहरूलाई जुन स्थानमा राखे पनि वा जसरी परिभाषित गरे पनि, वा तिनलाई जसरी हेरे वा बुझे पनि, परमेश्वरका वचनहरू अनन्त रूपमा सत्यता हुन्, र यो कहिल्यै परिवर्तन नहुने तथ्य हो। परमेश्वरका वचनहरू जति धेरै बोलिए पनि, र यस भ्रष्ट र दुष्ट मानवजातिले तिनलाई जति नै दोषी ठहऱ्याए पनि र इन्कार गरे पनि, यसमा अनन्त रूपमा परिवर्तन नहुने तथ्य रहेको छ: परमेश्वरका वचनहरू सदा सत्यता रहनेछन्, र मानिसले यसलाई कहिल्यै परिवर्तन गर्न सक्छैन। अन्त्यमा, मानिसले परमेश्वरका वचनहरू सत्यता हुन्, र मानवजातिले सम्मान गरेका परम्परागत संस्कृति र वैज्ञानिक ज्ञान कहिल्यै सकारात्मक कुराहरू बन्न सक्दैनन्, र ती कहिल्यै सत्यता हुन सक्दैनन् भनेर मान्नैपर्छ। यो अटल कुरा हो। समय परिवर्तनका कारण वा लामो समय बितेकले मानवजातिका परम्परागत संस्कृति र बाँच्ने रणनीतिहरू सत्यता बन्नेछैनन्, न त मानवजातिको निन्दा वा भुलक्कडपनको कारण परमेश्वरका वचनहरू मानिसका वचनहरू नै बन्नेछन्। सत्यता सधैँ सत्यता नै हुन्छ; यो सार कहिल्यै परिवर्तन हुनेछैन। यहाँ कुन तथ्य छ? तथ्य के छ भने, मानवजातिले सारसङ्क्षेप गरेका सबै आम भनाइहरूको स्रोत शैतान र मानव कल्पना र धारणाहरू नै हुन् वा ती मान्छेको गरम निजासीपन, र मानिसहरूको भ्रष्ट स्वभावहरूबाट उत्पन्न भएका हुन्छन्, र सकारात्मक कुराहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। अर्कोतर्फ, परमेश्वरका वचनहरू परमेश्वरको सार र पहिचानका अभिव्यक्ति हुन्। कुन कारणले गर्दा उहाँले यी वचनहरू व्यक्त गर्नुहुन्छ? म किन ती सत्यता हुन् भनी भन्छु? कारण के हो भने परमेश्वर यावत् थोकका सबै व्यवस्थाहरू, नियमहरू, जडहरू, सारहरू, वास्तविकताहरू, र रहस्यहरूमाथि सार्वभौम हुनुहुन्छ। ती सबै उहाँकै हातको पकडमा छन्। त्यसकारण, परमेश्वरले मात्रै सबै कुराका नियम, वास्तविकता, तथ्य, र रहस्यहरू जान्नुहुन्छ। परमेश्वरले सबै थोकको उत्पत्तिबारे जान्नुहुन्छ, र सबै थोकको जड के हो भन्ने परमेश्वरलाई थाहा छ। परमेश्वरका वचनहरूमा प्रस्तुत गरिएका सबै कुराहरूको परिभाषा मात्रै सबैभन्दा सही छ, र परमेश्वरका वचनहरू मात्रै मानव जीवनका मानक र सिद्धान्तहरू हुन् र ती सत्यता र मापदण्डहरू हुन्, जसमार्फत मानवहरू जिउन सक्छन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक)