क. मानिसप्रति परमेश्‍वरका आवश्यक मापदण्डहरू

६०५. अब, तिमीहरूले परमेश्‍वरका मानिसहरू बन्‍ने प्रयास गर्नुपर्छ, र सम्पूर्ण प्रवेशलाई सही बाटोमा सुरु गर्नुपर्छ। परमेश्‍वरका मानिसहरू बन्‍नु भनेको राज्यको युगमा प्रवेश गर्नु हो। आज, तिमीहरू औपचारिक रूपमा राज्यको तालिममा प्रवेश गर्न सुरु गर्छौ, र तिमीहरूको भविष्यको जीवन पहिलेको जस्तो सुस्त र मन्द बन्‍न छोड्नेछ; त्यसरी बाँचेर, परमेश्‍वरले अपेक्षा गर्नुभएका मापदण्डहरूलाई पूरा गर्नु असम्‍भव हुन्छ। यदि तैँले कुनै आतुरी अनुभूति गर्दैनस् भने, तँसँग आफैलाई सुधार गर्ने इच्छा छैन, तेरो प्रयास अन्योल र दोधारमा छ, र तैँले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्दैनस् भन्‍ने यसले देखाउँछ। राज्यको तालिममा प्रवेश गर्नु भनेको परमेश्‍वरका मानिसहरूको जीवन सुरु गर्नु हो—के तँ त्यस्तो तालिम स्वीकार गर्न इच्‍छुक छस्? के तँ आतुरीको आभास अनुभूत गर्न इच्‍छुक छस्? के तँ परमेश्‍वरको अनुशासनमा जिउन इच्‍छुक छस्? के तँ परमेश्‍वरको सजायमा जिउन इच्‍छुक छस्? जब परमेश्‍वरको वचन तँकहाँ आउँछ र तँलाई जाँच गर्छ, तैँले कसरी व्यवहार गर्नेछस्? अनि तैँले सबै किसिमका तथ्यहरूको सामना गर्दा के गर्नेछस्? विगतमा, तेरो ध्यान जीवनमा केन्द्रित थिएन; आज, तैँले जीवन वास्तविकतामा प्रवेश गर्ने कार्यमा ध्यान केन्द्रित गर्नुपर्छ, र तैँले तेरो जीवन स्वभावमा परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूले हासिल गर्नैपर्ने कुरा यही हो। जो परमेश्‍वरका मानिसहरू हुन् उनीहरू सबैमा जीवन हुनैपर्छ, उनीहरूले राज्यको तालिम स्वीकार गर्नैपर्छ, र आफ्‍नो जीवनको स्वभावलाई परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूलाई परमेश्‍वरले दिनुभएको मापदण्ड यही हो।

राज्यका मानिसहरूका लागि परमेश्‍वरका मापदण्डहरू निम्‍नानुसार छन्:

१) तिनीहरूले परमेश्‍वरका आज्ञाहरूलाई स्वीकार गर्नैपर्छ। भन्‍नुको अर्थ, तिनीहरूले आखिरी दिनहरूका परमेश्‍वरको कार्यमा बोलिएका सबै वचनहरूलाई स्वीकार गर्नैपर्छ।

२) तिनीहरू राज्यको तालिममा प्रवेश गर्नैपर्छ।

३) तिनीहरूले आफ्‍नो हृदयमा परमेश्‍वरको छुवाइ प्राप्त गर्ने प्रयास गर्नैपर्छ। जब तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरमा फर्किएको हुन्छ, र तँसँग सामान्य आत्मिक जीवन हुन्छ, तब तँ स्वतन्त्रताको क्षेत्रमा जिउनेछस्, जसको अर्थ तँ परमेश्‍वरको प्रेमको वास्ता र सुरक्षामा जिउनेछस् भन्‍ने हुन्छ। परमेश्‍वरको वास्ता र सुरक्षामा जिउँदा मात्र तँ परमेश्‍वरको स्वामित्वमा हुनेछस्।

४) तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिनैपर्छ।

५) तिनीहरू पृथ्वीमा परमेश्‍वरको महिमाको प्रकटीकरण बन्‍नैपर्छ।

यी पाँच बुँदाहरू तिमीहरूको लागि मेरा आज्ञाहरू हुन्। मेरा वचनहरू परमेश्‍वरका मानिसहरूको लागि बोलिन्छन्, र यदि तँ यी आज्ञाहरूलाई स्वीकार गर्न अनिच्‍छुक छस् भने, म तँलाई जबरजस्ती गर्नेछैन—तर यदि तैँले तिनलाई साँचो रूपमा स्वीकार गरिस् भने, तँ परमेश्‍वरको इच्छालाई पछ्याउन सक्‍नेछस्। आज, तिमीहरूले परमेश्‍वरका आज्ञाहरू स्वीकार गर्न, र राज्यका मानिसहरू बन्‍ने प्रयास गर्न र राज्यका मानिसहरू बन्‍नका लागि पूरा गर्नुपर्ने मापदण्डहरू पूरा गर्न सुरु गर्छौ। प्रवेशको पहिलो चरण यही हो। यदि तँ पूर्ण रूपमा परमेश्‍वरको इच्छालाई पछ; याउन चाहन्छस् भने, तैँले यी पाँच आज्ञालाई स्वीकार गर्नैपर्छ, र यदि तैँले तिनलाई हासिल गर्न सकिस् भने, तँ परमेश्‍वरका अभिप्रायहरू अनुसारको हुनेछस् र परमेश्‍वरले अवश्य नै तँलाई बृहत् रूपमा प्रयोग गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ

६०६. तिमीहरूले आज जे प्राप्त गरेका छौ त्यसले युगौँदेखिका प्रेरितहरू र अगमवक्ताहरूको प्राप्तिलाई उछिन्छ अनि मोशा र पत्रुसको प्राप्तिलाई पनि उछिन्छ। आशिष् एक-दुई दिनमा प्राप्त गर्न सकिँदैन; त्यसलाई धेरै मूल्य चुकाएर कमाउनुपर्छ। यसको अर्थ, तिमीहरूसित शोधन गरिएको प्रेम हुनैपर्छ, तिमीहरूमा ठूलो विश्‍वास हुनैपर्छ, अनि तिमीहरूले हासिल गर्नुपर्छ भनी परमेश्‍वरले माग गर्नुहुने धेरै सत्यताहरू तिमीहरूमा हुनैपर्छ; त्यसमाथि, तिमीहरूले अटल मनोवृत्तिका साथ इन्साफको सामना गर्नुपर्छ, हार मान्नुहुँदैन। अनि तिमीहरूमा मृत्युसम्‍मै स्थिर रहने परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तिमीहरूसँग सङ्कल्प हुनैपर्छ, तिमीहरूको जीवन स्वभावमा परिवर्तनहरू हुनैपर्छ, तिमीहरूको भ्रष्टता निको हुनैपर्छ, तिमीहरूले कुनै पनि गुनासोविना परमेश्‍वरका सबै योजनाबद्ध कार्यहरू स्वीकार गर्नैपर्छ, अनि तिमीहरू मृत्युसम्‍मै समर्पित हुनैपर्छ। तिमीहरूले हासिल गर्नुपर्ने कुरा यही नै हो, परमेश्‍वरको कामको अन्तिम लक्ष्य यही नै हो, अनि परमेश्‍वरले मानिसहरूको यस समूहबाट माग गर्नुहुने कुरा पनि यही नै हो। उहाँले नै तिमीहरूलाई दिनुहुन्छ, त्यसैले उहाँले तिमीहरूबाट माग्नु नै हुनेछ, अनि निश्चय नै तिमीहरूबाट उचित मागहरू पनि गर्नु नै हुनेछ। त्यसकारण परमेश्वरले गर्नुहुने सबै कामको कारण हुन्छ, जसले परमेश्वरले बारम्बार उच्च मानक र कठोर मागहरू तोक्ने काम किन गर्नुहुन्छ भनी देखाउँछ। यसैकारण, तिमीहरू परमेश्‍वरमा भएको विश्‍वासले भरिनैपर्छ। संक्षिप्तमा, परमेश्‍वरले सबै काम तिमीहरूकै खातिर गर्नुहुन्छ, ताकि तिमीहरू उहाँको उत्तराधिकार प्राप्त गर्न योग्य बन्न सक। यो परमेश्‍वरको आफ्नै महिमाको खातिर हो भन्नुको सट्टा, यो तिमीहरूको मुक्ति अनि अशुद्ध देशमा गहन रूपमा पीडित भएका मानिसहरूको यस समूहलाई सिद्ध पार्नका खातिर हो भन्नु राम्रो हुन्छ। तिमीहरूले परमेश्‍वरको अभिप्राय बुझ्नैपर्छ। यसर्थ, म त्यस्ता धेरै अज्ञानी मानिसहरूलाई अर्ती दिन्छु, जसमा कुनै पनि अन्तर्ज्ञान वा समझ हुँदैन: परमेश्‍वरको परीक्षा नलेओ, अनि अब उप्रान्त प्रतिरोध नगर। परमेश्‍वर पहिले नै यस्तो कष्टमा भएर गइसक्नुभएको छ जो कुनै पनि मानिसले अहिलेसम्म सहेकै छैन, अनि धेरै अघि मानिसको सट्टा झन् ठुलो अपमान पनि सहनुभएको छ। तिमीहरू अब अझै अरू के-के त्याग्न सक्दैनौ? परमेश्‍वरका अभिप्रायभन्दा बढी महत्त्वपूर्ण अरू के हुनसक्छ? परमेश्‍वरको प्रेमभन्दा उच्च के हुनसक्छ? यस अशुद्ध देशमा आफ्नो काम गर्नु नै परमेश्‍वरको निम्ति पर्याप्त रूपमा कठिन कुरा हो; यदि, यसै माथि, मानिसले थाहा हुँदाहुँदै अनि जानी-जानी अपराध गर्छ भने, परमेश्‍वरको काम त लम्बिने नै छ। संक्षिप्तमा, यो कसैको फाइदाको निम्ति होइन, यसले कसैलाई पनि लाभ दिँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

६०७. मैले बोल्ने वचनहरू सम्पूर्ण मानवजातिप्रति लक्षित सत्यताहरू हुन्; तिनीहरू केवल निश्‍चित व्यक्ति वा निश्‍चित प्रकारको व्यक्तिको लागि मात्र सम्बोधन गरिएका होइनन्। त्यसकारण, तिमीहरूले मेरा वचनहरू सत्यताको दृष्टिकोणबाट बुझ्न ध्यान केन्द्रित गर्नुपर्छ र तिमीहरूसँग अविभाजित ध्यान र इमानदारीताको मनोवृत्ति हुनुपर्छ; मैले बोलेका कुनै पनि वचन वा सत्यतालाई बेवास्ता नगर्नू र मैले बोलेका सबै वचनहरूलाई हल्का रूपमा नलिनू। तिमीहरूले तिमीहरूको जीवनमा सत्यतासँग सान्दर्भिक नहुने धेरै कुराहरू गरेका छौ भन्‍ने मैले देखेको छु र त्यसैले म तिमीहरूलाई विशेष अनुरोध गर्दछु, कि तिमीहरू सत्यताका सेवकहरू बन, तिमीहरू दुष्टता र कुरूपताको दास नबन र तिमीहरूले सत्यतालाई नकुल्चिओ वा परमेश्‍वरको घरको कुनै पनि भागलाई अपवित्र नतुल्याओ। तिमीहरूलाई मेरो अर्ती यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

६०८. मैले भोगेका कष्टहरूलाई तिमीहरूले खेर जान दिँदैनौ र त्योभन्दा बढी, मैले लिएको विचारशील वास्तालाई तिमीहरूले बुझ्‍न सक्छौ र तिमीहरूले मेरा वचनहरूलाई मानवजातिको रूपमा गर्नुपर्ने व्यवहारको जगको रूपमा लिन्छौ भन्‍ने मात्रै म आशा गर्छु। ती तिमीहरूले सुन्‍न इच्छा गरेका वचनहरू भए पनि नभए पनि, ती तिमीहरूले आनन्दसाथ स्वीकार गर्ने भए पनि नगर्ने भए पनि, वा तिमीहरूले तिनलाई असजिलो मानेर मात्रै स्वीकार गर्न सके पनि, तिमीहरूले तिनीहरूलाई गम्भीर रूपमा लिनैपर्छ। अन्यथा, तिमीहरूको सतही र बेपर्बाह स्वभाव र आचरणहरूले मलाई गम्भीर रूपमा दुःखी बनाउने र अवश्य नै, ममा घृणा पैदा गर्नेछ। तिमीहरू सबैले मेरा वचनहरू घरीघरी—हजारौँ पटक—पढ्न सक्छौ र तिनलाई हृदयबाटै जान्‍न पुग्‍नेछौ भन्‍ने मलाई धेरै आशा छ। यसरी मात्र मैले तिमीहरूमाथि राखेका अपेक्षाहरूमा तिमीहरू असफल हुन सक्‍नेछैनौ। तथापि, अहिले तिमीहरूमध्ये कोही पनि यसरी जिएका छैनौ। यसको विपरीत, तिमीहरू सबै लम्पटताको जीवनमा, तिमीहरूका हृदय खुसी हुनेगरि खाने र पिउने कुरामा डुबेका छौ र तिमीहरूमध्ये कसैले पनि मेरा वचनहरूलाई तिमीहरूका हृदय र आत्मालाई समृद्ध गराउनको निम्ति प्रयोग गर्दैनौ। यस कारणले गर्दा, मानवजातिको साँचो चेहराको बारेमा म एउटा निष्कर्षमा पुगेको छु: मानिसले मलाई जुनै समयमा विश्‍वासघात गर्न सक्छ र कोही पनि मेरा वचनहरूप्रति पूर्ण रूपमा विश्‍वासयोग्‍य हुन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)

६०९. परमेश्‍वरले चाहनुहुने भनेको मानिसले दिने अद्वितीय प्रेम हो; उहाँले चाहना गर्नुहुने कुरा भनेको मानिस उहाँका वचनहरूद्वारा र उहाँप्रतिको प्रेमले भरिएको हृदयद्वारा भरपूर भएको होस् भन्‍ने नै हो। परमेश्‍वरका वचनहरूमा जिउन, तिनीहरूले खोजतलास गर्नुपर्ने कुराहरू उहाँका वचनहरूमा खोज्न, उहाँका वचनहरूका निम्ति परमेश्‍वरलाई प्रेम गर्न, उहाँका वचनहरूलाई पछ्याउन, उहाँका वचनहरूका निम्ति जिउन—मानिसले हासिल गर्न प्रयास गर्नुपर्ने लक्ष्यहरू यिनै हुन्। हरेक कुरा परमेश्‍वरका वचनहरूको जगमा निर्माण हुनुपर्छ; तब मात्रै मानिसले परमेश्‍वरका मागहरूलाई पूरा गर्न सक्नेछ। यदि मानिस परमेश्‍वरका वचनहरूले सुसज्जित छैन भने, ऊ केही होइन, केवल शैतानको कब्जामा परेको भुसुना हो! यस कुरालाई मूल्याङ्कन गर्: परमेश्‍वरको वचनले तँभित्र कतिसम्म जरा गाडेको छ? कुन कुराहरूमा तँ उहाँका वचनहरू अनुसार जिइरहेको छस्? कुन कुराहरूमा तँ उहाँका वचनहरू अनुसार जिइरहेको छैनस्? यदि परमेश्‍वरका वचनहरूले तँलाई पूर्ण रूपले पक्रेको छैन भने, कुन कुराले यथार्थमा तेरो हृदयलाई ओगटेको छ? तेरो दिनदिनको जीवनमा, तँ शैतानद्वारा नियन्त्रित भइरहेको छस् कि परमेश्‍वरका वचनहरूद्वारा ओगटिएको छस्? के तेरा प्रार्थनाहरू उहाँका वचनहरूको जगमा आधारित छन्? के परमेश्‍वरका वचनहरूद्वारा अन्तर्दृष्टि पाएर तँ आफ्नो नकारात्मक अवस्थादेखि बाहिर निस्केको छस्? परमेश्‍वरका वचनहरूलाई तेरो अस्तित्वको जगको रूपमा लिनु—यही नै हरेक व्यक्ति प्रवेश गर्नुपर्ने कुरा हो। यदि तेरो जीवनमा उहाँका वचनहरूले स्थान लिएका छैनन् भने, तँ अन्धकारको प्रभावमा जिइरहेको छस्, तैँले परमेश्‍वरको विरुद्धमा विद्रोह गरिरहेको छस्, तैँले उहाँको प्रतिरोध गरिरहेको छस्, तैँले उहाँको नाउँलाई लज्जित पारिरहेको छस्। त्यस्ता मानिसहरूको परमेश्‍वरप्रतिको विश्‍वास पूर्ण बदमासी र बाधा मात्रै हुन्छ। तेरो जीवनको कति भाग उहाँका वचनहरू अनुसार जिइएको छ? तेरो जीवनको कति भाग उहाँका वचनहरू अनुसार जिइएको छैन? परमेश्‍वरको वचनले तँलाई माग गरेको कति कुरा तँमा पूरा भएको छ? कति कुरा तँमा हराएको छ? के तैँले त्यस्ता कुराहरूलाई नजिकबाट नियालेको छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्

६१०. के तिमीहरू पृथ्वीमा मेरा आशिषहरू उपभोग गर्न इच्छुक छौ, ती आशिषहरू जुन स्वर्गका आशिषहरू जस्ता छन्? के मसम्बन्धी बुझाइलाई, मेरा वचनहरूको आनन्द, र मेरो विषयको ज्ञान तिमीहरूको जीवनको सबैभन्दा मूल्यवान् र अर्थपूर्ण थोकको रूपमा सम्हालेर राख्न इच्छुक छौ? के तिमीहरू आफ्नै सम्भावनाहरूलाई विचार नगरी साँच्चै पूर्ण रूपमा आफैलाई ममा समर्पण गर्न इच्छुक छौ? के तिमीहरू साँच्चै आफैलाई मद्वारा मारिन, भेडाझैं मद्वारा डोऱ्याइनका लागि सुम्पन सक्छौ? के तिमीहरूको माझमा कोही यस्तो छ जसले यी कुराहरू प्राप्त गर्न सक्छ? के मैले स्वीकार गरेका र मेरा प्रतिज्ञाहरू प्राप्त गर्नेहरू सबै मेरा आशिषहरू प्राप्त गर्नेहरू हुन् भन्‍ने हुनसक्छ? के तिमीहरूले यी वचनहरूबाट केही बुझेका छौ? यदि मैले तिमीहरूलाई जाँचेँ भने, के तिमीहरू मलाई मैले चाहेको जस्तो योजनाबद्ध गर्न दिन सक्छौ, र यी परीक्षाहरूको बीचमा, के मेरा अभिप्रायहरूको खोजी गर्न र मेरो हृदयलाई बुझ्न सक्छौ? तँ हृदयस्पर्शी वचनहरू बोल्न, वा धेरै वटा रोमाञ्चक कथाहरू भन्न सक्षम भएको म चाहन्नँ; बरु, तँ मेरो राम्रो गवाही बन्न सक्, र तँ पूर्ण र गहन रूपमा वास्तविकतामा प्रवेश गर्न सक् भनेर म तँलाई अह्राउँछु। यदि मैले सिधा नबोलेको भए, के तैँले आफूबाहिरका सबै थोकहरू त्याग्न सक्थिस् र आफैलाई मद्वारा प्रयोग हुन दिन सक्थिस्? के मैले चाहेको वास्तविकता यही होइन र? मेरा वचनहरूमा भएको अर्थ कसले बुझ्न सक्दछ? तैपनि म तिमीहरूलाई भन्छु, अब उप्रान्त शङ्काको भारले नथिचिनू, तिमीहरू आफ्नो प्रवेशमा सक्रिय हुनू र मेरा वचनहरूको सार बुझ्‍नू। यसले तिमीहरूलाई मेरा वचनहरू गलत प्रकारले बुझ्नबाट, र मेरो अर्थमा अस्पष्ट भएर मेरो प्रशासनिक आदेशहरूको उल्लङ्घन गर्नबाट बचाउँछ। म आशा गर्छु, मेरा वचनहरूमा तिमीहरूका निम्ति मेरा अभिप्रायहरूलाई तिमीहरूले बुझ्नेछौ। अबउप्रान्त तिमीहरूका आफ्नै सम्भाव्यताहरूबारे नसोच र परमेश्‍वरलाई सबै कुरामा तिमीहरूलाई योजनाबद्ध गर्न दिन तिमीहरूले मेरो अघि सङ्कल्‍प गरेअनुसार व्यवहार गर। मेरो परिवारभित्र उभिने सबै जनाले आफूले सक्‍ने जति गर्नुपर्दछ; तैँले पृथ्वीमा मेरो कामको अन्तिम भागका निम्ति आफ्नो सबैभन्दा उत्तम थोक चढाउनुपर्छ। के तँ साँच्चै यी कुरालाई अभ्यास गर्न इच्छुक छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ४

६११. मेरा मानिसहरू हर समय शैतानका धूर्त युक्तिहरूप्रति सावधान रहनुपर्छ, मेरा निम्ति मेरो घरको ढोकाको प्रतिरक्षा गर्नुपर्छ; तिनीहरूले एक-अर्कालाई सहयोग गर्नुपर्छ र एक-अर्काको लागि प्रबन्ध गर्न सक्नुपर्छ, ताकि शैतानको पासोमा पर्न नपरोस्, जुन बेला पछुतो गर्नको लागि धेरै ढिलो भइसकेको हुनेछ। म किन तिमीहरूलाई यति जरुरीको साथ तालिम दिँदैछु? किन म तिमीहरूलाई आत्मिक क्षेत्रका तथ्यहरू बताउँछु? किन म तिमीहरूलाई बारम्‍बार सम्झाउँछु र सल्लाह दिन्छु? के तिमीहरूले यसमाथि कहिल्यै विचार गरेका छौ? के तिमीहरूका सोच विचारले कहिल्यै स्पष्टता ल्याएको छ? यसरी, तिमीहरूले केवल विगतको जगमाथि निर्माण गरेर आफैलाई उपयोगी बनाउन मात्र सक्‍ने होइन, तर, त्योभन्दा पनि बढी, मेरो प्रत्येक वचनलाई तिमीहरूका आत्माभित्र जरा हाल्न अनि फक्रन दिँदै, र त्योभन्दा अझ महत्त्वपूर्ण, धेरै फल फलाउनका निम्ति आजका वचनहरूको मार्गदर्शनमा रहेर तिमीहरू भित्रको अशुद्धतालाई हटाउनुपर्छ। किनकि मैले चहकिला, लहलहाउँदा फूलहरू मागेको होइन, तर प्रशस्त फल मागेको हुँ, त्यस्तो फल जसले आफ्नो पाकेको रूप हराउँदैन। के तैँले मेरा वचनहरूको वास्तविक अर्थ बुझ्छस्? हरित गृहका फूलहरू ताराहरू जत्तिकै असङ्ख्य छन्, र तिनले तारिफ गर्ने भीडहरूलाई खिँच्छन्, तैपनि तिनीहरू ओइलिएपछि, तिनीहरू शैतानका छलपूर्ण युक्तिहरू जस्तै नष्ट हुन्छन्, र कसैले पनि तिनमा कुनै चासो देखाउँदैन। तर ती सबै जसले हावाको झोक्का र सूर्यको तापमा डढेर मेरो गवाही दिन्छन् ती फक्रेर सुन्दर नभए पनि तिनका फूलहरू ओइलाएपछि तिनले फल फलाउँछन्, किनकि म तिनीहरू त्यस्तै होस् भन्‍ने चाहन्छु। जब म यी वचनहरू बोल्छु, तिमीहरूले कतिसम्म बुझ्दछौ? फूलहरू ओइलिए फल फलेपछि, र यी सबै फल मेरो आनन्दका लागि उपलब्ध गराउन सकिएपछि, म पृथ्वीमा मेरा सबै काम समाप्त गर्नेछु, र मेरो बुद्धिलाई यथार्थमा बदलेकोमा आनन्द लिन थाल्‍नेछु!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ३

६१२. लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू सबैले उत्सुकतापूर्वक सुन्दर गन्तव्यको आशा गरिरहेका छन् र परमेश्‍वरका विश्‍वासीहरू सबैले नै अचानक तिनीहरूको भाग्य चम्कनेछ भनी आशा गर्छन्। तिनीहरू सबैले तिनीहरूलाई थाहा हुनुअघि नै शान्तिपूर्वक स्वर्गको एउटा वा अर्को स्थानमा तिनीहरू बसिसकेको पाउनेछन् भनी आशा गर्छन्। तर म भन्छु कि सुन्दर विचारहरू भएका ती मानिसहरूले तिनीहरू स्वर्गबाट झरी आउने त्यस्तो सौभाग्य प्राप्त गर्नको लागि वा त्यहाँको कुनै स्थानमा बस्नको लागि योग्य छन् कि छैनन् भनेर कहिल्यै पनि जानेका छैनन्। तिमीहरूसँग वर्तमान समयमा आफ्नो बारेमा राम्रो ज्ञान छ, तैपनि तिमीहरूले अझै पनि आखिरी दिनहरूका विपत्तिहरूबाट र उहाँले दुष्टहरूलाई सजाय दिँदै गर्दा सर्वशक्तिमानका हातहरूबाट उ‍म्कने आशा गर्छौ। यस्तो देखिन्छ कि मीठा सपना देख्नु र आफूले चाहेको जस्तै कुराहरू पाउने इच्छा गर्नु शैतानद्वारा भ्रष्ट पारिएका सबै मानिसहरूको एक साझा विशेषता हो अनि त्यो कुरा कोही एक्लो व्यक्तिको कुनै निपुर्ण चाल होइन। त्यति हुँदाहुँदै पनि, म अझै पनि तिमीहरूका यी अनावश्यक इच्छाहरूका साथसाथै आशीर्वादहरू प्राप्त गर्ने तिमीहरूको उत्सुकताको अन्त्य गर्न चाहन्छु। तिमीहरूका अपराधहरू अनगिन्ती छ र तिमीहरूको विद्रोहीपन सधैँ बढिरहन्छ भन्‍ने कुरालाई ध्यानमा राख्दा, यी कुराहरू कसरी भविष्यको लागि तिमीहरूको सुन्दर योजनाहरूसँग मेल खान सक्छन्? यदि तैँले मनोमानी ढङ्गले कुनै कुरा बाँकी नराखी गल्ती गरिरहन्छस्, तर त्यति नै बेला आफ्नो सपना पनि अझै पूरा होस् भन्‍ने चाहन्छस् भने, म तँलाई तेरो अचेतपनलाई जारी राख्न अनि कहिल्यै पनि नब्युँझन आग्रह गर्छु—किनभने त्यो तेरो खोक्रो सपना हो र धर्मी परमेश्‍वरको उपस्थितिमा उहाँले तेरो लागि कुनै अपवाद सृजना गर्नुहुनेछैन। यदि तैँले केवल तेरो सपना पूरा होस् भन्‍ने चाहन्छस् भने, कहिल्यै पनि सपना नदेख्; बरु सधैँ सत्य र तथ्यको सामना गर्। तँलाई मुक्ति दिन सकिने एउटै मात्र तरिका यही मात्रै हो। ठोस शब्दहरूमा भन्दा, यो तरिकाका चरणहरू के-के हुन्?

पहिलो, तेरा सबै अपराधहरूलाई जाँच् र सत्यतासँग मेल नखाने तेरा जुनसुकै व्यवहार र तँमा भएका जुनसुकै सोचहरूको जाँच गर्।

यो तैँले सजिलैसँग गर्न सक्‍ने एउटा कुरा हो, र म सबै बुद्धिमान मानिसहरूले यो कुरा गर्न सक्छन् भन्‍ने विश्‍वास गर्छु। तथापि, जसलाई अपराध र सत्यता के हुन् भन्‍ने नै थाहा छैन तिनीहरू अपवाद हुन्, किनभने आधारभूत तहमा तिनीहरू बुद्धिमान मानिसहरू होइनन्। म ती मानिसहरूसँग कुरा गरिरहेको छु जसलाई परमेश्‍वरले स्वीकार गर्नुभएको छ, जो इमान्दार छन्, अनि जसले गम्भीर रूपमा प्रशासनिक आदेशहरू उल्लंघन गरेका छैनन् र आफ्ना अपराधहरू सजिलैसित देख्न सक्छन्। मैले तिमीहरूलाई पूरा गर्न लगाएको यो कुरा सजिलो भए तापनि, मैले तिमीहरूले पूरा गर्न अनिवार्य गरेको कुरा यही मात्रै होइन। जे-जस्तो कुरा भए पनि, तिमीहरू यी आवश्यकताप्रति एक्लै हाँस्नेछैनौ अनि विशेष गरी तिमीहरूले यसलाई तुच्छ नजरले हेर्नेछैनौ वा यसलाई हल्का रूपले लिनेछैनौ भन्‍ने म आशा गर्छु। तिमीहरूले यसलाई गम्भीर रूपमा लिनुपर्छ, र बेवास्ता गर्नुहुँदैन।

दोस्रो, तेरा हरेक अपराध र विद्रोहका लागि तैँले सम्बन्धित सत्यतालाई खोज्नुपर्छ, त्यसपछि ती सत्यताहरूलाई ती समस्याहरू समाधान गर्नको लागि प्रयोग गर्नुपर्छ। त्यसपछि, तेरा ती अपराधी कार्यहरू र विद्रोही विचार र कार्यहरूलाई सत्यताको अभ्यासद्वारा प्रतिस्थापन गर्नुपर्छ।

तेस्रो, तँ निष्कपट व्यक्ति बन्नुपर्छ, चतुर हुने कोसिस नगर्, र छली व्यक्ति नबन्। (यहाँ मैले तिमीहरूलाई फेरि पनि एक इमान्दार व्यक्ति बन्नू भनी अनुरोध गरिरहेको छु।)

यदि तैँले यी तीन वटै कुराहरू पूरा गर्न सक्छस् भने, तँ भाग्यमानीहरू मध्येको एक होस्—एक यस्तो व्यक्ति जसको सपना पूरा हुन्छ र जसको भाग्य चम्कन्छ। शायद तिमीहरूले यी तीन अनाकर्षक आवश्यकताहरूलाई गम्भीर रूपमा लिनेछौ होला, वा शायद तिमीहरूले तिनलाई गैर-जिम्मेवारपूर्वक लिनेछौ होला। जे भए पनि, मेरो उद्देश्य भनेको तिमीहरूको सपना पूरा गर्नु र तिमीहरूको आकाङ्क्षालाई साकार पार्नु हो, तिमीहरूको खिल्ली उडाउनु वा तिमीहरूलाई खेलाउनु होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ

६१३. मलाई एकदमै धेरै आशा छ। म आशा गर्दछु कि तिमीहरूले उचित र शिष्ट तवरले व्यवहार गर्न, विश्‍वसनीय रूपले आफ्नो कर्तव्य निर्वाह गर्न, सत्यता र मानवता बोक्न, यस्ता मानिस बन्छौ जसले परमेश्‍वरका लागि आफूसँग भएका आफ्नो जीवनलगायत सबै कुरा त्याग्न सक्छ, र यस्तै-यस्तै अन्य कुराहरू गर्न सक्छौ। यी सबै आशाहरू तिमीहरूका अपर्याप्तताहरू अनि तिमीहरूका भ्रष्टता र विद्रोहीपनबाट आएका हुन्। यदि मैले तिमीहरूसँग गरेका कुनै पनि संवादहरूले तिमीहरूको ध्यान खिच्न अपर्याप्त रहेका छन् भने, सम्भवतः मैले अब गर्न सक्ने सबै कुरा भनेको थप केही नबोल्नु मात्र हो। तथापि, त्यसको परिणाम के हुन्छ भनेर तिमीहरू बुझ्छौ। म त्यति धेरै पटक थकाइ मार्दिनँ, त्यसैले यदि म बोल्दिन भने मानिसहरूले हेर्नको लागि म केही गर्नेछु। म कसैको जिब्रो कुहाउन सक्छु, वा कसैलाई अङ्गभङ्ग भई मर्ने बनाउन सक्छु, वा मानिसहरूलाई स्नायु अपाङ्गता दिलाउन सक्छु अनि तिनीहरूलाई धेरै तवरमा कुरूप देखिने बनाउन सक्छु। त्यसपछि पनि फेरि, म मानिसहरूलाई पीडा सहन लगाउन सक्छु जुन मैले विशेष गरी तिनीहरूकै लागि भनेर तयार गरेको छु। यसरी म खुशी हुन्थें, धेरै खुशी हुन्थें, र एकदमै धेरै सन्तुष्ट हुन्थें। सधैँ भनिएको छ कि “राम्रोलाई राम्रैले अनि दुष्टतालाई दुष्टताले नै तिरिन्छ”, त्यसो भए अहिले किन त्यसो नगर्ने? यदि तैँले मलाई विरोध गर्न चाहन्छस् र मलाई केही न्याय गर्छस् भने म तेरो मुख कुहाइदिनेछु, र त्यसले मलाई अत्याधिक खुशी दिलाउनेछ। यस्तो किन हो भने अन्ततः तैँले जे गरेको छस् त्यो सत्यता हुँदै-होइन, जीवनसँग यसको कुनै सम्बन्ध हुने कुरा त परै जाओस्, जबकी मैले गर्ने हरेक कुराहरू सत्यता हुन्; मेरा सबै कार्यहरू मेरो काम र मैले तयार गरेको प्रशासनिक नियमहरूको सिद्धान्तहरूसँग सम्बन्धित छन्। त्यसकारण, म तिमीहरू प्रत्येकलाई केही सद्गुण एकत्रित गर्न, त्यति धेरै दुष्टताको कार्य नगर्न र फुर्सदको समयमा मेरा मागहरूको बारेमा ध्यान दिन आग्रह गर्छु। त्यसपछि म आनन्दित महसुस गर्नेछु। यदि तिमीहरूले देहमा लगाउने प्रयत्नको एक हजारको एक भाग मात्र सत्यताको लागि योगदान (वा दान) गर्थ्यौ भने, म त भन्छु, तिमीहरूले बारम्बार अपराधहरू गर्दैनथ्यौ र तिमीहरूका मुखहरू कुहिएका हुँदैनथे। के यो स्पष्ट छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ

६१४. एक सृष्टि गरिएको मानवता भएको नाताले, व्यक्तिले आफ्‍नो स्थान कायम राख्नैपर्छ, र शिष्ट तरिकाले आफूलाई आचरणमा ढाल्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्‍पनुभएको कुरालाई तैँले कर्तव्यनिष्ठ भई रक्षा गर्। नियमभन्दा बाहिर काम गर्ने, वा तेरो क्षमताभन्दा बाहिरका कुराहरू गर्ने वा परमेश्‍वरको लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् व्यक्ति, अतिमानव, वा भव्य व्यक्ति कोसिस नगर्, साथै परमेश्‍वर बन्न नखोज्। मानिसहरूले यस्तो हुने इच्‍छा गर्नु हुँदैन। महान् वा महामानव बन्‍ने प्रयास गर्नु मूर्खता हो। परमेश्‍वर बन्‍ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्‍छ कुरा हो। बहुमूल्य कुरा, र सृष्टि गरिएका प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्‍नुपर्ने कुरा भनेको नै एक साँचो सृष्टि गरिएको प्राणी बन्‍नु हो; सबै मानिसहरूले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

६१५. तिमीहरू हरेकले खुला र इमानदार हृदयले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र जस्तोसुकै आवश्यक मूल्य चुकाउन इच्छुक हुनुपर्छ। तिमीहरूले भने जस्तै, जब त्यो दिन आउँछ, परमेश्वरका निम्ति कष्ट भोगेका र मूल्य चुकाएका कसैलाई पनि परमेश्‍वरले अन्यायपूर्ण व्यवहार गर्नुहुनेछैन। यस्तो प्रकारको दृढ निश्‍चय पक्रिरहन लायकको छ, अनि तिमीहरूले यो कहिल्यै बिर्सनु हुँदैन भन्‍ने कुरा सही हो। यसरी मात्रै तिमीहरूबारे मेरो मनलाई म ढुक्क बनाउन सक्छु। नत्र, तिमीहरू सधैँभरि यस्ता मानिसहरू हुनेछौ जसका बारेमा म मेरो मनलाई ढुक्क बनाउन सक्दिनँ, अनि तिमीहरू सदा मेरो अरुचिका पात्रहरू हुनेछौ। यदि तिमीहरू सबै आफ्नो विवेकलाई पछ्याउन सक्छौ र मेरा निम्ति आफ्नो सबै दिन सक्छौ, मेरो कामका निम्ति कुनै प्रयास बाँकी राख्दैनौ, अनि मेरो सुसमाचारको कामका निम्ति जीवनभरिको शक्ति अर्पण गर्छौ भने, के मेरो हृदय तिमीहरूका खातिर प्रायः हर्षले उफ्रिने छैन र? यसरी, म मेरो मनलाई तिमीहरूका सम्बन्धमा पूर्ण रूपले ढुक्क बनाउन सक्नेछु, सक्नेछैनँ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। गन्तव्यको सम्‍बन्धमा

६१६. के तँ परमेश्‍वरले हरेक युगमा व्यक्त गरेको स्वभावलाई उचित र त्यस युगको महत्त्व बोक्‍ने भाषामा ठोस तरिकाले सम्प्रेषित गर्न सक्छस्? के आखिरी दिनहरूका परमेश्‍वरको कार्यलाई अनुभव गर्ने तँ, परमेश्‍वरको धर्मी स्वभावलाई विस्तृत रूपमा व्याख्या गर्न सक्छस्? के तँ स्पष्ट र सटीक रूपमा परमेश्‍वरको स्वभावको गवाही दिन सक्छस्? धार्मिकताका निम्ति भोकाउने र तिर्खाउने अनि तैँले तिनीहरूको गोठाला गरोस् भनी तँलाई प्रतीक्षा गरिरहेका ती दयनीय, गरिब, र भक्त धार्मिक विश्‍वासीहरूलाई तैँले कसरी आफूले देखेका र अनुभव गरेका कुराहरू बताउनेछस्? तैँले तिनीहरूको गोठालो गरोस् भनी कस्तो प्रकारका मानिसहरूले तँलाई प्रतीक्षा गरिरहेका छन्? के तँ कल्‍पना गर्न सक्छस्? के तेरा काँधका बोझहरू, तेरो कार्यभार, र तेरो जिम्‍मेवारीबारे तँलाई थाहा छ? ऐतिहासिक मिसनको तेरो आभास कहाँ छ? अर्को युगको मालिकका रूपमा तैँले कसरी उचित रूपमा सेवा गर्नेछस्? के तँमा मालिक हुने बलियो आभास छ? यावत् थोकका मालिकलाई कसरी व्याख्या गर्नुपर्छ? के यो साँच्‍चै संसारका सारा जीवित प्राणीहरू अनि सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिको लागि तँसँग के-कस्ता योजनाहरू छन्? कति धेरै मानिसहरूले तँलाई तिनीहरूलाई गोठालो हुन प्रतीक्षा गरिरहेका छन्? के तेरो काम बोझमय छ? तिनीहरू गरिब, दयनीय, अन्धाहरू हुन्, र तिनीहरू असमञ्जसमा छन्, अन्धकारमा बिलौना गरिरहेका छन्—यो मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई थिचोमिचोमा पारेको अन्धकारको शक्तिहरूलाई उल्काझैँ अचानक ज्योति तल झरेर हटाओस् भनी ती मानिसहरु कति तड्पिन्छन्। तिनीहरू यसका लागि उत्सुकताका साथ दिन-रात आशा गर्छन्, र विलाप गर्छन्—यो कुरा कसले पूर्ण रूपमा जान्‍न सक्छ र? ज्योति चम्‍केर जाने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; कहिले तिनीहरूले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नदिइएका यी कमजोर आत्माहरूको दुर्भाग्य कति भयानक छ, अनि निर्दयी बन्धनहरू र कठ्याङ्ग्रिएको इतिहासद्वारा तिनीहरूलाई यो अवस्थामा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? तिनीहरूको दयनीय स्थिति कसले देखेको छ र? परमेश्‍वरको हृदय कति शोकित र व्याकुल छ भन्‍ने तैँले कहिल्यै विचार गरेको छस्? उहाँको आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो पीडा भोगेको उहाँले कसरी देख्‍न सक्‍नुहुन्छ? आखिर, मानवजाति विष खुवाइएका पीडितहरू नै त हुन्। मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विष खुवाएको छ भन्‍ने कसलाई थाहा हुनेथियो र? के तँ पीडितहरूमध्ये एक होस् भन्‍ने तैँले बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमको कारण, सबै यी बाँचेकाहरूलाई मुक्ति दिने प्रयास गर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरको ऋण तिर्न आफ्‍नो सारा सामर्थ्य अर्पण गर्न इच्‍छुक छैनस्? तेरो असाधारण जीवन जिउनका लागि परमेश्‍वरद्वारा प्रयोग गरिनुलाई तँ ठ्याक्कै कसरी बोध गर्छस्? के तँसँग एक भक्त, परमेश्‍वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आस्था साँच्‍चै छ त?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले तेरो भविष्यको मिसनलाई कसरी सम्हाल्नुपर्छ?

६१७. तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको आराधना गर्दैनस् तर आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ मानिस भएकोले तैँले आफूलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। यस संसारमा, मानिसले शैतानको वस्त्र लगाउँछ, शैतानबाट खानेकुरा लिएर खान्छ, र शैतानकै अधीनमा रही काम र सेवा गर्दछ, अनि त्यसद्वारा फोहोरले ढाकिने हदसम्म कुल्चीमिल्ची पारिन्छ। यदि तैँले जीवनको अर्थ बुझ्दैनस् वा साँचो मार्ग प्राप्त गर्दैनस् भने, यस्तो प्रकारले जिउनुको के महत्त्व हुन्छ र? तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२)

६१८. तिमीहरूले यो शान्तिपूर्ण वातावरणमा परमेश्‍वरलाई प्रेम गर्ने सक्दो प्रयास गर्नुपर्दछ। भविष्यमा तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्ने कुनै मौकाहरू पाउनेछैनौ, किनकि मानिसहरूसित परमेश्‍वरलाई प्रेम गर्ने मौका देहमा मात्र हुन्छ; जब तिनीहरू अर्कै संसारमा जिउँछन्, कसैले पनि परमेश्‍वरलाई प्रेम गर्ने कुरा गर्ने छैनन्। के यो सृष्टि गरिएको प्राणीको जिम्मेवारी होइन र? यसैले तिमीहरूले आफ्नो जीवनकालमा परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्दछ? के तैँले यसबारे कहिल्यै विचार गरेको छस्? के तँ मरेपछि मात्र परमेश्‍वरलाई प्रेम गरुँला भनी पर्खिरहेको छस्? के यो खोक्रो कुरा होइन र? आज, तँ किन परमेश्‍वरलाई प्रेम गर्ने कुराको पछि लाग्दैनस्? के व्यस्त रहेर परमेश्‍वरलाई प्रेम गर्नु साँचो प्रेम हुन सक्छ? परमेश्‍वरको कामको यो चरण चाँडै नै अन्त्य हुनेछ भन्‍नुको कारण के हो भने परमेश्‍वरले शैतानको अगाडि पहिले नै गवाही दिइसक्‍नुभएको छ। यसैले मानिसले केही पनि गर्नु आवश्यक छैन; मानिसलाई केवल ऊ जीवित रहेका वर्षहरूमा परमेश्‍वरलाई प्रेम गर्न मात्र आग्रह गरिएको छ—मुख्य कुरा यही हो। परमेश्‍वरका मागहरू उच्च छैनन्, र यसबाहेक, उहाँको हृदयमा एक तीव्र चिन्ता भएकोले, उहाँले कामको यो चरण समाप्त हुनु अघि नै अर्को चरणको कामको सारांश प्रकट गर्नुभएको छ, जसले अब कति समय छ भन्‍ने कुरालाई स्पष्ट पार्दछ; यदि परमेश्‍वर उहाँको हृदयमा चिन्तित हुनुहुन्नथ्यो भने, के उहाँले यति चाँडै यी वचनहरू बोल्‍नुहुनेथियो? समय थोरै भएकोले परमेश्‍वरले यस तरिकाले काम गर्नुहुन्छ। आशा गरिन्छ, कि तिमीहरूले जसरी आफ्नो शरीरलाई माया गर्छौ त्यसरी नै आफ्नो सारा हृदयले, आफ्‍ना सारा समझले र आफ्‍ना सारा शक्तिले परमेश्‍वरलाई प्रेम गर्न सक्नेछौ। के अति ठूलो अर्थ बोकेको जीवन यही होइन र? तैँले अन्यत्र कहाँ जीवनको अर्थ भेट्टाउन सक्‍छस्? के तँ धेरै नै अन्धो भइरहेको छैनस् र? के तँ परमेश्‍वरलाई प्रेम गर्न इच्छुक छस्? के परमेश्‍वर मानिसको प्रेम पाउन योग्य हुनुहुन्छ? के मानिसहरू मानिसको आराधना पाउन योग्य छन्? त्यसो भए, तैँले के गर्नुपर्छ? कुनै सङ्कोच नमानी साहस पूर्वक परमेश्‍वरलाई प्रेम गर्, र परमेश्‍वरले तँलाई के गर्नुहुनेछ सो हेर्। कतै उहाँले तँलाई मार्नुहुन्छ कि, हेर्। सारांशमा भन्नुपर्दा, परमेश्‍वरलाई प्रेम गर्ने काम परमेश्‍वरका निम्ति प्रतिलिपिहरू बनाउनु र लेख्‍नुभन्दा महत्त्वपूर्ण छ। तैँले सबैभन्दा महत्त्वपूर्ण कुरालाई पहिलो स्थान दिनुपर्दछ, यसैले कि तेरो जीवनको मूल्य अझै बढी होस् र यो खुसीले पूर्ण होस्, र त्यसपछि तैँले तेरो निम्ति परमेश्‍वरको “फैसला” पर्खनुपर्छ। तेरो योजनामा परमेश्‍वरलाई प्रेम गर्ने कुरा समावेश छ कि छैन म त्यो जान्‍न उत्सुक छु। सबैका योजनाहरू परमेश्‍वरद्वारा पूरा गरिएको होस्, र ती सबै वास्तविकता बनून् भन्‍ने मेरो कामना छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-उद्घाटन, अध्याय ४२

६१९. मानिस अर्थपूर्ण जीवन जिउन लागिपर्नुपर्छ, र ऊ आफ्‍ना वर्तमान परिस्‍थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। पत्रुसको स्वरूपमा जिउनको लागि, उसले पत्रुसको ज्ञान र अनुभवहरू प्राप्त गर्नैपर्छ। मानिसले अझै उच्‍च र अझै प्रगाढ कुराहरूको खोजी गर्नुपर्छ। उसले परमेश्‍वरप्रतिको अझै गहन, अझै शुद्ध प्रेम, र मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्रै जीवन हो; तब मात्र मानिस पत्रुसजस्तै हुनेछ। तैँले सकारात्मक पक्षमा सक्रिय रूपमा प्रवेश गर्न ध्यान दिनुपर्छ, र अझै प्रगाढ, अझै विस्तृत र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्दै अस्थायी सुखका खातिर तँ निष्क्रिय हुनु हुँदैन र तैँले आफूलाई पछिल्तिर धकेल्नु हुँदैन। तँमा व्यवहारिक प्रेम हुनैपर्छ, र तैँले पशुको भन्दा फरक नभएको यो पतित, निस्फिक्र जीवनबाट आफूलाई मुक्त गर्ने हरसम्भव उपायहरू पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्य भएको जीवन जिउनुपर्छ, र तैँले आफैलाई मूर्ख तुल्याउने वा आफ्‍नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन। सङ्कल्प भएका र परमेश्‍वरलाई प्रेम गर्ने हरेकका लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन्‌ र तिनीहरू दह्रिलो गरी खडा हुन नसक्‍ने कुनै इन्साफ छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ र उहाँका अभिप्रायहरू पूरा गर्नका लागि कसरी यो प्रेमको प्रयोग गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय अरू कुनै छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमको सङ्कल्प र दृढता हुनैपर्छ, र तँ मेरुदण्ड नभएका, दुर्बल व्यक्तिहरूजस्तो बन्‍नु हुँदैन। अर्थपूर्ण जीवनको अनुभव र अर्थपूर्ण सत्यताहरूको अनुभव कसरी गर्ने त्यो तैँले सिक्‍नैपर्छ, र आफैलाई त्यसरी झाराटारूवा व्यवहार गर्नु हुँदैन। तैँले महसुस नै गर्न नपाई, तेरो जीवनले तँलाई छोडेर जानेछ; त्यसपछि के तैँले अझै पनि परमेश्‍वरलाई प्रेम गर्ने यस्तो मौका पाउनेछस्? के मरेपछि मानिसले परमेश्‍वरलाई प्रेम गर्न सक्छ? तँसँग पनि पत्रुसको जस्तो सङ्कल्प र विवेक हुनुपर्छ; तेरो जीवन अर्थपूर्ण हुनैपर्छ, र तैँले आफैसँग खेलबाड गर्नु हुँदैन। मानवका रूपमा र परमेश्‍वरलाई पछ्याउने व्यक्तिका रूपमा, तैँले आफ्‍नो जीवनलाई होसियारीपूर्वक ख्याल गर्न र सम्हाल्न सक्नुपर्छ—तैँले आफैलाई परमेश्‍वरमा कसरी अर्पण गर्नुपर्छ, परमेश्‍वरमा तैँले कसरी अझै अर्थपूर्ण विश्‍वास राख्‍नुपर्छ, र परमेश्‍वरलाई तैँले प्रेम गर्ने हुनाले उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले तैँले कसरी प्रेम गर्नुपर्छ भन्‍नेबारे ख्याल गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

६२०. मानवजाति र परमेश्‍वरलाई पछ्याउनेहरूका लागि परमेश्‍वरका सही आवश्यक मापदण्डहरू यसप्रकार छन्। उहाँलाई पछ्याउनेहरूका लागि उहाँले पाँच वटा मापदण्डहरू तय गर्नुभएको छ: साँचो विश्‍वास, निष्ठावान बफादारितापूर्ण अनुसरण, पूर्ण समर्पणता, सच्‍चा ज्ञान, र हृदयस्पर्शी डर।

परमेश्‍वरले, यी पाँच वटा कुराहरूमा, मानिसहरूले अब उप्रान्त आफ्ना कल्‍पनाहरू वा अस्पष्ट र अमूर्त दृष्टिकोणहरूको प्रयोग गरी उहाँलाई प्रश्‍न नगरून् वा उहाँलाई नपछ्याऊन् भन्‍ने मापदण्ड तय गर्नुभएको छ; तिनीहरूले परमेश्‍वरलाई कुनै पनि कल्‍पनाहरू वा धारणाहरूका आधारमा पछ्याउनु हुँदैन। उहाँलाई पछ्याउने हरेकले उहाँलाई आधा मनले वा प्रतिबद्धताविना होइन बरु बफादार भई पछ्याऊन् भन्‍ने मापदण्ड तय गर्नुभएको छ। जब परमेश्‍वरले तैँले कुनै मापदण्डहरू पूरा गर्न तय गर्नुहुन्छ, तँलाई जाँच्‍नुहुन्छ, तेरो न्याय गर्नुहुन्छ, तँलाई काट-छाँट गर्नुहुन्छ, वा तँलाई अनुशासनमा राख्‍ने र प्रहार गर्ने गर्नुहुन्छ, तब तँ उहाँमा पूर्ण रूपमा समर्पित हुनुपर्छ। तैँले अभिप्राय सोध्‍ने वा सर्तहरू अघि सार्ने गर्नु हुँदैन, तैँले कारणहरूका बारेमा त झन् कुरा नगरेकै बेस। तेरो समर्पण निरपेक्ष हुनुपर्छ। परमेश्‍वरसम्‍बन्धी ज्ञान नै मानिसहरू सबैभन्दा पछि पर्ने क्षेत्र हो। तिनीहरूले परमेश्‍वरमा प्रायजसो उहाँसँग सम्‍बन्धित नरहेका भनाइहरू, वाणीहरू, र वचनहरू लाद्छन्, तिनीहरू त्यस्ता वचनहरू परमेश्‍वरसम्‍बन्धी ज्ञानको सबैभन्दा सटीक परिभाषा हुन् भन्‍ने विश्‍वास गर्छन्। मानव कल्‍पनाहरू, तिनीहरूका आफ्‍नै तर्क, र तिनीहरूका आफ्‍नै ज्ञानबाट आएका यी भनाइहरू परमेश्‍वरको सारसँग कहीँ कतै सम्‍बन्धित छैनन् भन्‍नेबारे तिनीहरूलाई अलिकति पनि थाहा हुँदैन। यसैले, जब परमेश्‍वरले मानिसहरूमा होस् भनी चाहनुभएको ज्ञानको बारेमा कुरा आउँछ, उहाँले तँलाई उहाँ र उहाँका वचनहरूलाई मात्रै चिन् भनेर भन्‍नुहुन्‍न, बरु उहाँको बारेमा रहेको तेरो ज्ञान पनि सही हुनुपर्छ भनेर भन्‍नुहुन्छ। तैँले एउटै वाक्य मात्रै भन्‍न सक्छस्, वा तँलाई थोरै मात्रै थाहा छ भने पनि, यो थोरै ज्ञान सही र साँचो हुन्छ, र परमेश्‍वर स्वयम्‌को सार अनुरूप हुन्छ। किनभने परमेश्‍वरले उहाँमाथि गरिएको कुनै पनि अवास्तविक वा अनुचित प्रशंसा वा तारिफलाई तिरस्कार गर्नुहुन्छ। त्योभन्दा पनि बढी, उहाँले आफूसित मानिसहरूले हावाजस्तो व्यवहार गरेको घृणा गर्नुहुन्छ। मानिसहरूले परमेश्‍वरको विषयमा छलफल गर्दा, तथ्यहरूको बारेमा विचारै नगरीकन मनोमानी ढङ्गले अनि कुनै पनि हिचकिचाहटविना आफूलाई उचित लागेको कुरा बोलेको देख्दा उहाँले घृणा गर्नुहुन्छ; यसको साथै, उहाँले परमेश्‍वरलाई चिन्छु भनी विश्‍वास गर्ने र उहाँसँग सम्‍बन्धित विषयहरूमा छलफल गर्दा कुनै नियन्त्रण अनि कुनै सीमा नराखीकन छलफल गर्दै उहाँ सम्‍बन्धी आफ्‍नो ज्ञानको सेखी गर्नेहरूलाई उहाँले घृणा गर्नुहुन्छ। यसभन्दा अघि उल्‍लेख गरिएका पाँच मापदण्डहरूमध्ये अन्तिम हृदयस्पर्शी डर थियो: उहाँलाई पछ्याउनेहरू सबैप्रतिको परमेश्‍वरको अन्तिम मापदण्ड यही हो। जब कसैसँग परमेश्‍वरसम्‍बन्धी सही र साँचो ज्ञान हुन्छ, तब तिनीहरू परमेश्‍वरको साँचो रूपमा डर मान्‍न र दुष्टबाट अलग बस्‍न सक्षम हुन्छन्। यो डर तिनीहरूको हृदयको अन्तस्करणबाट आउँछ; यो डर स्वेच्छाले दिइन्छ, र यो परमेश्‍वरको दबाबको परिणाम होइन। परमेश्‍वरले उहाँप्रति तैँले कुनै राम्रो मनोवृत्ति, आचरण, वा बाहिरी बानीबेहोराको उपहार दिनुपर्छ भनेर माग गर्नुहुन्‍न; उहाँले बरु तैँले तेरो हृदयको अन्तस्करणबाट उहाँको डर मान्, र उहाँदेखि डरा भनेर भन्‍नुहुन्छ। त्यस्तो डर तेरो जीवनको स्वभावका परिवर्तनहरू, परमेश्‍वरबारे ज्ञान प्राप्ति र परमेश्‍वरका कार्यहरूको बुझाइ, परमेश्‍वरको सारको बुझाइ, अनि तँ उहाँको एक सिर्जित प्राणी होस् भन्‍ने तेरो स्वीकारको परिणामस्वरूप प्राप्त हुन्छ। त्यसकारण, यहाँ डरलाई परिभाषित गर्नको लागि मैले “हृदयस्पर्शी” भन्‍ने शब्‍द प्रयोग गर्नुको उद्देश्य मानिसहरूले परमेश्‍वरप्रतिको आफ्नो डर आफ्नै हृदयको अन्तस्करणबाट आउनुपर्छ भनी बुझून् भन्‍ने हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

६२१. तिमीहरूभित्र मप्रतिको विश्‍वासघात कति रहेको छ भन्‍ने कुरा हेर्नको निम्ति अब तिमीहरू सबैले सकेसम्म छिटो आफैभित्र हेर्नुपर्छ। म उत्कटताको साथ तिमीहरूको जबाफको प्रतीक्षा गरिरहेको छु। मसँग लापरवाही भएर व्यवहार नगर। म मानिसहरूसँग कहिल्यै खेलबाड गर्दिनँ। म केही गर्नेछु भनेर म भन्छु भने म त्यो निश्‍चय नै गर्नेछु। म आशा गर्छु तिमीहरू हरेकले मेरा वचनहरू गम्भीरता पूर्वक लिनेछौ र तिनीहरूलाई विज्ञान उपन्यासको रूपमा सोच्‍नेछैनौ। म तिमीहरूबाट ठोस कार्य भएको चाहन्छु, तिमीहरूका कल्पनाहरू होइन। अब, तिमीहरूले मेरा देहायबमोजिमका प्रश्‍नहरूको जवाफ दिनुपर्छ:

१) यदि तँ साँच्चै नै सेवाकर्ता होस् भने के तैँले झाटाटारुवापन वा नकारात्मकताको कुनै छनकबिना निष्ठावान् भएर मेरो सेवा गर्न सक्छस्?

२) मैले तेरो कहिले पनि सराहना नगरेको कुरा यदि तैँले पत्ता लगाइस् भने के तैँले अझ पनि अडिग भएर आजीवन मलाई सेवा पुर्‍याउनेछस्?

३) तैँले धेरै प्रयत्‍नहरू गर्दागर्दै पनि यदि म अझ तँप्रति उदासीन नै छु भने, के तैँले यस अस्पष्टताका बीच मेरो निम्ति निरन्तर काम गरिरहन सक्‍नेछस्?

४) तैँले मेरो लागि खर्च गरेपछि यदि मैले तेरा एक-दुईवटा माग पूरा गरिनँ भने, के तँ मसँग निरुत्साहित र निराश हुनेछस् वा अझ क्रोधित भएर गाली गर्नेछस्?

५) यदि तँ मप्रति धेरै प्रेम राख्दै सधैँ निष्ठावान् रहिआएको छस्, तथापि तैँले बिरामी, आर्थिक दबाब र तेरा मित्र तथा आफन्तहरूबाट त्यागिएको पीडाको कष्ट भोग्छस् वा तैँले जीवनमा अन्य दुर्गतिहरू सहिस् भने, के मप्रतिको तेरो निष्ठा र प्रेम अझ पनि निरन्तर रहनेछ?

६) यदि मैले गरेको कुरा तैँले तेरो हृदयमा कल्पना गरेका कुनै कुरासँग मेल खाँदैन भने, तेरो भावी मार्गमा तँ कसरी हिँड्नुपर्छ?

७) यदि तैँले प्राप्त गर्ने आशा गरेका कुनै पनि कुरा प्राप्त गर्दैनस् भने के तँ निरन्तर रूपमा मेरो अनुयायी हुन सक्छस्?

८) यदि तैँले मेरो कार्यको उद्देश्य र महत्त्वलाई कहिल्यै बुझेको छैनस् भने, के तँ मनोमानी तवरले निर्णयहरू नगर्ने र निष्कर्षहरू ननिकाल्ने समर्पित व्यक्ति बन्‍न सक्छस्?

९) के तैँले म मानवजातिमाझ सँगै रहँदा मैले बोलेका सबै वचनहरू र मैले गरेका सबै कामहरूलाई कदर गर्न सक्छस्?

१०) के तैँले केही प्राप्त नगरे तापनि मेरो निम्ति आजीवन पिडा सहन राजी भई मेरो वफादार अनुयायी बन्‍न सक्छस्?

११) के तैँले तेरो भावी अस्तित्वको मार्गको लागि विचार, योजना वा तयारी गर्ने कार्यलाई मेरो खातिर त्याग्‍न सक्छस्?

यी प्रश्‍नहरूले तिमीहरूको निम्ति मेरा अन्तिम आवश्यकताहरूलाई प्रतिनिधित्व गर्छन् र तिमीहरू सबैले मलाई जवाफ दिन सक्नेछौ भन्‍ने मेरो आशा छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

६२२. मैले अहिले चाहने भनेको तेरो बफादारी र समर्पण, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्‍नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तेरो बफादारी र समर्पण। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारी र समर्पणमा रहन्छ भन्‍ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्‍वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै समर्पित हुनु हो। मैले मेरो कामको अर्को चरण सुरु गर्न अघि, तैँले मेरो निम्ति कसरी साक्षी दिनेछस्? तँ मप्रति कसरी बफादार र समर्पित हुनेछस्? के तँ आफ्‍ना सबै बफादारीता आफ्नै काममा अर्पण गर्छस् कि हरेस खान्छस्? तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्? तँ मेरो साक्षी दिने बन्, मप्रति बफादार र समर्पित बन् भनेर म तँलाई सजाय दिन्छु। यति मात्र कहाँ हो र, हालको सजाय मेरो कामको अर्को चरण प्रकट गर्नु र कामलाई निर्बाध रूपमा अघि बढ्न दिनको लागि हो। त्यसैले, म तँलाई बुद्धिमान बन् अनि आफ्नो जीवनलाई अनि आफ्नो अस्तित्वलाई निकम्मा बालुवाको रूपमा व्यवहार नगर् भन्‍ने उत्साह दिन्छु। आउनेवाला मेरो काम ठ्याक्कै कस्तो हुनेछ भनी के तैँले जान्न सक्छस्? आउने दिनमा म कसरी काम गर्नेछु र मेरो काम कसरी प्रकट हुनेछ भन्‍ने के तँ जान्दछस्? तैँले मेरो कामप्रतिको तेरो अनुभवको महत्त्व र मप्रति तेरो विश्‍वासको महत्त्वलाई जान्नुपर्छ। मैले यति धेरै गरेको छु; तैँले कल्पना गरेजस्तो म कसरी बीचैमा छोड्न सक्थेँ? मैले यति व्यापक काम गरेको छु; म यसलाई कसरी नष्ट गर्न सक्थेँ? वास्तवमा, म यो युगलाई अन्त गर्न आएको हुँ। यो सत्य हो, तर मैले नयाँ युग सुरु गर्नुपर्छ, नयाँ काम सुरु गर्नुपर्छ र सबैभन्दा मुख्य कुरा, राज्यको सुसमाचार फैलाउनुपर्छ भन्‍ने तैँले जान्नुपर्छ। त्यसैले हालको कामचाहिँ नयाँ युग ल्याउन, आउने समयमा सुसमाचार फैलाउन र भविष्यमा युगलाई अन्त गर्नको निम्ति जग बसाल्नलाई मात्र हो भन्‍ने तैँले जान्नुपर्छ। मेरो काम तैँले सोचेजस्तो सरल छैन, न त तैँले विश्‍वास गरेजस्तो यो निकम्मा वा व्यर्थ नै छ। यसकारण, मैले अझ पनि तँलाई भन्नुपर्छ: तैँले आफ्नो जीवन मेरो कामको निम्ति दिनुपर्छ, र यस बाहेक, तैँले आफूलाई मेरो महिमाको निम्ति अर्पण गर्नुपर्छ। मैले जति लामो समयदेखि तैँले मेरो निम्ति गवाही दिओस् भन्‍ने उत्कट इच्छा गरेको छु, तैँले मेरो सुसमाचार फैलाएको होस् भन्‍ने कुरालाई मैले त्योभन्दा बढी चाहेको छु। मेरो हृदयमा के छ सो तैँले बुझ्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

अघिल्लो:  १३. परमेश्‍वरको आवश्यक मापदण्ड, अर्ती, सान्त्वना र चेतावनीहरू सम्बन्धी वचनहरू

अर्को:  ख. मानिसप्रति परमेश्‍वरका अर्ती र सान्त्वनाहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger