ख. मानिसप्रति परमेश्वरका अर्ती र सान्त्वनाहरू
६२३. आज परमेश्वरले तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैँले यो थाहा पाउनु पर्छ, कि तँलाई दोष लाउनुको लक्ष्य तैँले आफैलाई चिन् भन्ने हो। उहाँले तँलाई दोष लाउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, यसैले कि तैँले आफूलाई चिन्न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, ताकि तैँले आफ्नो मूल्यलाई जान्न सक् र परमेश्वरका सबै कामहरू धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरू अनुसार छन्, र उहाँले मानिसको मुक्तिको योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने, बचाउनुहुने, न्याय गर्नुहुने र दण्ड दिनुहुने धर्मी परमेश्वर हुनुहुन्छ भनी देख्न सक्। यदि तँलाई तँ निम्न प्रतिष्ठाको छस्, तँ भ्रष्ट र विद्रोही छस् भन्ने मात्र थाहा छ, तर परमेश्वरले आज तँमाथि पठाउनुहुने न्याय र सजायद्वारा उहाँको मुक्तिलाई स्पष्ट पार्न चाहनुहुन्छ भनी जानिनस् भने तैँले कामकुरा अनुभव गर्ने कुनै उपाय हुँदैन, अनि तँ अझ अगि बढ्न योग्य हुने कुरा त परै जाओस्। परमेश्वर मार्न वा नाश गर्न आउनुभएको होइन, तर न्याय गर्न, सराप्न, सजाय दिन र बचाउन आउनुभएको हो। उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्जेलसम्म—उहाँले प्रत्येक वर्गको मानिसको नतिजा प्रकट गर्नुभन्दा पहिले—पृथ्वीमा परमेश्वरले गर्नुहुने काम मुक्तिका लागि हुनेछ; यसको उद्देश्य भनेको उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण—सम्पूर्ण रूपमा—बनाउनु नै हो र उनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा झुकाउनु हो। परमेश्वरले मानिसहरूलाई जसरी बचाउनु भए पनि, त्यो सबै तिनीहरूका पुरानो शैतानिक स्वभावबाट तिनीहरूलाई अलग पारेर नै गरिन्छ; अर्थात्, उहाँले तिनीहरूलाई जीवनको खोजी गर्ने बनाएर बचाउनुहुन्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूसँग परमेश्वरको मुक्तिलाई स्वीकार गर्ने कुनै उपाय हुँदैन। मुक्ति परमेश्वर स्वयम्को काम हो, र जीवनको खोजी गर्नु भनेको मुक्ति स्वीकार गर्नको लागि मानिसले गर्नैपर्ने कुरा हो। मानिसको नजरमा मुक्ति परमेश्वरको प्रेम हो र परमेश्वरको प्रेम कहिल्यै पनि सजाय, न्याय र सरापहरू हुन सक्दैन; मुक्तिमा कृपा, प्रेमिलोदयालुपन र त्यसबाहेक सान्त्वनाका शब्दहरू, साथसाथै परमेश्वरले प्रदान गर्नुभएका असीमित आशिषहरू हुनुपर्दछ। जब परमेश्वरले मानिसलाई बचाउनुहुन्छ, तब मानिसहरूले आफ्ना हृदयहरू परमेश्वरलाई दिन सकून् भनी परमेश्वरले उनीहरूलाई आफ्ना आशिषहरू र अनुग्रहले असर पार्दै त्यसो गर्नुहुन्छ भनी मानिसहरू विश्वास गर्दछन्। भन्नुको तात्पर्य यो हो, कि उहाँले मानिसलाई छुनु भनेको उहाँले तिनीहरूलाई बचाउनु हो। यस प्रकारको मुक्ति एक सम्झौता गरेर गरिन्छ। जब परमेश्वरले तिनीहरूलाई एक सय गुणा दिनुहुन्छ तब मात्र मानिस परमेश्वरको नाउँको सामु झुक्छ र उहाँका निम्ति राम्रो गर्ने र उहाँलाई महिमा दिने कोसिस गर्छ। मानव जातिका लागि परमेश्वरको अभिप्राय यो होइन। परमेश्वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै झूट छैन। यदि यो झूट थियो भने, निश्चय उहाँ व्यक्तिगत रूपले आफ्नो काम गर्न आउनुहुने थिएन। विगतमा, उहाँको मुक्तिको माध्यमहरूमा चरम कृपा र प्रेमिलोदयालुपन देखाउने कार्य समावेश थियो, यहाँसम्म कि, उहाँले मानव जातिलाई सम्पूर्ण रूपमा प्राप्त गर्न शैतानलाई आफ्नो सबै कुरा दिनुभयो। वर्तमान विगतजस्तो अलिकति पनि छैन: आज तिमीहरूलाई दिइएको मुक्ति आखिरी दिनहरूमा, प्रत्येकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिएको समयमा आउँछ; तिमीहरूको मुक्तिको माध्यम कृपा वा प्रेमिलोदयालुपन होइन, तर त्यो सजाय र न्याय हो, यसैले कि मानिसले पूर्ण रूपमा मुक्ति पाओस्। यसैले, तिमीहरूले पाउने भनेको सजाय, न्याय र निर्दयी प्रहार मात्र हो, तर यो कुरा जान: यो निर्दयी प्रहारमा दण्ड अलिकति पनि छैन। मेरा वचनहरू जति नै कठोर भए पनि, तँमाथि आइपर्ने चाहिँ थोरै वचनहरू मात्र हुन् जुन तिमीहरूलाई निर्दयी लाग्न सक्छ, र म जति नै रिसाए पनि तिमीहरूमाथि बर्सिने भनेको मेरो धिक्कारका वचनहरू नै हुन्, मेरो उद्देश्य तिमीहरूको हानि गर्ने वा तिमीहरूलाई मार्ने होइन। के यो सबै तथ्य होइनन् र? यो जान् कि हिजोआज चाहे धर्मी न्याय होस् वा संवेदनाहीन शोधन र सजाय होस्, सबै कुरा मुक्तिकै लागि हुन्। आज प्रत्येकलाई प्रकारअनुसार वर्गीकरण गरिए नि नगरिए नि वा सबै प्रकारका मानिसहरूलाई खुलासा गरिए नि नगरिए नि, परमेश्वरका सबै वचनहरू र कामको उद्देश्य भनेको परमेश्वरलाई साँचो रूपमा प्रेम गर्नेहरूलाई मुक्ति दिनु नै हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्नका लागि ल्याइन्छ, र निर्दयी शोधन तिनीहरूलाई शुद्ध पार्नका लागि गरिन्छ; कठोर वचनहरू वा ताडना, दुवै शुद्ध पार्नका लागि र मुक्तिको खातिर दिइन्छ। यसैले, आजको मुक्तिको विधि विगतको जस्तो छैन। आज, तिमीहरूको मुक्ति धर्मी न्यायको माध्यमबाट ल्याइन्छ, र यो तिमीहरूलाई प्रकारअनुसार वर्गीकरण गर्ने उत्तम साधन हो। यसबाहेक, निर्दयी सजायले तिमीहरूको पूर्ण मुक्तिको रूपमा काम गर्दछ—र त्यस्तो सजाय र न्यायको सामना गर्नुपर्दा तिमीहरूले के भन्नुपर्ने हुन्छ? के तिमीहरूले सुरुदेखि अन्त्यसम्म सधैँ मुक्तिको आनन्द लिइरहेका छैनौ र? तिमीहरूले देहधारी परमेश्वरलाई देखेका छौ र उहाँको सर्वशक्तिमान्ता र बुद्धिलाई महसुस गरेका छौ; यसबाहेक अझै तिमीहरूले बारम्बारको पिटाइ र अनुशासनको अनुभव गरेका छौ। तापनि, के तिमीहरूले सर्वोच्च अनुग्रह पनि प्राप्त गरेका छैनौ र? के तिमीहरूका आशिषहरू अरू कसैको भन्दा ठूलो छैनन् र? तिमीहरूका अनुग्रहहरू सोलोमनले उपभोग गरेका गौरव र धन-सम्पत्तिभन्दा पनि प्रचुर छन्! यसको बारेमा विचार गर: यदि म आउनुको उद्देश्य तिमीहरूलाई मुक्ति दिनु नभएर तिमीहरूलाई दोष लाउनु र दण्ड दिने थियो भने, के तिमीहरूका दिनहरू यति लामो लम्बिने थियो? के मासु र रगतका तिमी पापी प्राणीहरू आजको दिनसम्म जीवित रहन सक्थ्यौ? यदि मेरो लक्ष्य तिमीहरूलाई दण्ड दिनु मात्र थियो भने, म किन मानिस बन्थें र त्यस्तो ठूलो काम सुरु गर्थें? के तिमीहरूजस्ता मरणशील प्राणीलाई एकै शब्द बोलेर मात्रै पनि दण्ड दिन सकिँदैनथियो र? के तिमीहरूलाई जानाजानी दोष लगाएपछि मैले तिमीहरूलाई नाश पार्नु आवश्यक हुन्थ्यो? के तिमीहरू अझै पनि मेरा यी वचनहरूमा विश्वास गर्दैनौ? के म मानिसहरूलाई कृपा र प्रेमिलोदयालुपनको माध्यमबाट मात्र बचाउन सक्थेँ? वा के मानिसलाई बचाउन म क्रूसको मृत्यु मात्र प्रयोग गर्न सक्थेँ? के मेरो धर्मी स्वभाव मानिसलाई पूर्णतया समर्पित बनाउन अझ उपयोगी छैन र? के यो मानिसलाई पूर्ण रूपमा बचाउन अझ सक्षम छैन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्हरूलाई पन्छ्याउनुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्रायलाई बुझ्नुपर्छ
६२४. तिमीहरू सबै पाप र व्यभिचारको भूमिमा जिउँछौ, र तिमीहरू सबै व्यभिचारी र पापी छौ। आज तिमीहरू परमेश्वरलाई हेर्न मात्र सक्षम छैनौ, तर अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले सजाय र न्याय पाएका छौ, तिमीहरूले यो सबैभन्दा गहन मुक्ति पाएका छौ, भन्नुको मतलब, तिमीहरूले परमेश्वरको सबैभन्दा ठूलो प्रेम पाएका छौ। परमेश्वरले गर्नुहुने सबथोकमा, उहाँ तिमीहरूलाई साँचो प्रेम गर्नुहुन्छ। उहाँको कुनै खराब अभिप्राय छैन। तिमीहरूका पापका कारणले नै उहाँले तिमीहरूलाई न्याय गर्नुहुन्छ, ताकि तिमीहरूले आत्मचिन्तन गर्नेछौ र यो अत्यन्तै ठूलो मुक्ति पाउनेछौ। यो सबै मानिसलाई पूर्ण पार्ने उद्देश्यले गरिन्छ। सुरुदेखि अन्त्यसम्म, परमेश्वरले मानिसलाई मुक्ति दिन यथासक्दो गरिरहनुभएको छ, र उहाँका आफ्नै हातहरूले सृजना गर्नुभएका मानिसहरूलाई पूर्ण रूपमा नष्ट गर्न चाहनुहुन्न। आज, उहाँ तिमीहरूको माझमा काम गर्न आउनुभएको छ; के यो झनै मुक्ति होइन र? यदि उहाँले तिमीहरूलाई घृणा गर्नुहुन्थ्यो भने, के उहाँले तिमीहरूलाई व्यक्तिगत तवरमा मार्गदर्शन गर्न अझै यत्रो ठूलो काम गर्नुहुन्थ्यो र? उहाँले किन त्यस्तो कष्ट भोग्नुहुन्थ्यो? परमेश्वरले तिमीहरूलाई घृणा गर्नुहुन्न वा तिमीहरूप्रति कुनै खराब अभिप्राय राख्नुहुन्न। तिमीहरूलाई थाहा हुनुपर्दछ कि परमेश्वरको प्रेम सबैभन्दा वास्तविक प्रेम हो। मानिसहरू विद्रोही भएकाले मात्र उहाँले तिनीहरूलाई न्यायमार्फत मुक्ति दिनुपर्ने हुन्छ; यदि त्यसो नगरिने भए, तिनीहरूलाई मुक्ति दिन असम्भव हुनेथियो। तिमीहरूले आफ्नो जीवन कसरी जिउने भनी नजानेकाले र कसरी जिउने भनी सचेत समेत नभएकाले, र तिमीहरू यस व्यभिचारी र पापी भूमिमा जिउने र तिमीहरू आफै व्यभिचारी र फोहोर पिशाचहरू भएकाले, उहाँले तिमीहरूलाई अझ बढी पतित बन्न दिन सक्नुहुन्न, तिमीहरू अहिले जसरी यो फोहोर भूमिमा शैतानद्वारा मनपरी कुल्चिइएर जिइरहेका छौ, त्यो उहाँ हेर्न सक्नुहुन्न र उहाँले तिमीहरू पातालमा खस्न दिन सक्नुहुन्न। उहाँ केवल मानिसहरूको यो समूहलाई प्राप्त गर्न र तिमीहरूलाई पूर्ण रूपमा मुक्ति दिन चाहनुहुन्छ। तिमीहरूमाथि गरिने विजयको कामको मुख्य उद्देश्य यही नै हो—यो केवल मुक्तिका लागि हो। यदि तँमाथि गरिएका सबै कुरा प्रेम र मुक्ति हो भनी तैँले बुझ्न सक्दैनस् भने, यदि तँ यो एउटा तरिका मात्र हो, मानिसलाई यातना दिने उपाय र विश्वसनीय कुरा हो भनी सोच्छस् भने तँ पनि दुःख र कठिनाइ भोग्नका लागि संसारमा फर्केर जान सक्छस्! यदि तँ यस प्रवाहमा हुन, र यो न्याय र यो महान् मुक्तिको आनन्द लिन, यी सबै आशिषहरूको आनन्द लिन, मानव संसारमा कहीँ पनि नपाइने आशिष् पाउन र यो प्रेमको आनन्द लिन, अनि असल बन्न इच्छुक छस् भने: विजयको काम प्राप्त गर्न यो प्रवाहमा नै बस्, यसरी तँ सिद्ध पारिन सक्नेछस्। परमेश्वरको न्यायको कारण आज तैँले थोरै पीडा र शुद्धीकरण भोग्नुपर्ला, तर त्यो पीडा भोग्नुको मूल्य र अर्थ छ। यद्यपि मानिसहरूलाई शोधन गरिने र परमेश्वरको सजाय र न्यायद्वारा निर्दयतासाथ उदाङ्गो पारिने भए पनि—त्यसको उद्देश्य तिनीहरूका पापहरूका निम्ति तिनीहरूलाई दण्ड दिनु, तिनीहरूका देहलाई दण्ड दिनु हो—यो कुनै पनि काम तिनीहरूका देहलाई नाश पार्नका निम्ति गरिँदैन। वचनको गम्भीर खुलासाको उद्देश्य तँलाई सही मार्गमा डोर्याउनु हो। तिमीहरूले व्यक्तिगत रूपमा यो कामका धेरै अनुभव गरेका छौ, अनि स्पष्ट छ, यसले तिमीहरूलाई खराब मार्गमा डोर्याएको छैन! यो सबै तँलाई सामान्य मानवजाति भएर जिउने बनाउनलाई हो, र यो सबैलाई तेरो सामान्य मानवताद्वारा हासिल गर्न सकिन्छ। परमेश्वरको कामको हरेक चरण तेरो आवश्यकताहरूमा आधारित छ, तेरो कमजोरीहरू अनुसार, र तेरो वास्तविक कदअनुसार छ र कुनै असहनीय भार तिमीहरूमाथि राखिँदैन। तँलाई आज यो स्पष्ट छैन, र म तँप्रति कठोर भएजस्तो तँलाई लाग्छ, त्यसैकारणले मैले तँलाई घृणा गर्ने हुनाले प्रत्येक दिन म तँलाई दण्ड दिन्छु, न्याय गर्छु र तेरो निन्दा गर्छु भन्ने तँलाई लाग्छ। तर तैँले दण्ड र न्याय भोग्नु परे पनि यो वास्तवमा तँप्रतिको प्रेम हो, र सबैभन्दा ठूलो सुरक्षा हो। यदि तैँले यो कामको गहिरो अर्थ बुझ्न सकिनस् भने, त्यसलाई अनुभव गरिरहन तेरो निम्ति असम्भव हुन्छ। यो उद्धारले तँमा सान्त्वना ल्याउनुपर्छ। होसमा आउन अस्वीकार नगर्। यहाँसम्म आइपुगेपछि, विजयको कामको महत्त्व तँलाई स्पष्ट भएको हुनुपर्छ, र तँमा यस बारेमा कुनै पनि प्रकारका विचारहरू हुनुहुँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (४)
६२५. परमेश्वरका वचनहरूको कारण सबै मानिसहरू शोधनमा परेका छन्। यदि परमेश्वरले देहधारण नगर्नुभएको भए निश्चय नै मानवजातिले यस शोधनद्वारा कष्टको आशिष् पाउनेथिएन। अर्को प्रकारले भन्नुपर्दा, परमेश्वरका वचनहरूको परीक्षा स्वीकार गर्न सक्नेहरू सबै धन्यका हुन्। मानिसहरूको अन्तर्निहित क्षमता, तिनीहरूको व्यवहार र परमेश्वरप्रतिको तिनीहरूको मनोवृतिको आधारमा, तिनीहरू यस प्रकारको शोधन पाउन योग्यका छैनन्। तिनीहरू परमेश्वरद्वारा माथि उठाइएकोले गर्दा नै तिनीहरूले यो आशिष् उपभोग गरेका छन्। मानिसहरूले तिनीहरू परमेश्वरको अनुहार हेर्न वा उहाँका वचनहरू सुन्न लायक छैनन् भन्ने गर्थे। आज, परमेश्वरले उठाउनुभएकोले र उहाँको कृपाका कारण नै मानिसहरूले उहाँका वचनहरूको शोधन प्राप्त गरेका छन्। यो आखिरी दिनहरूमा जन्मने प्रत्येक व्यक्तिले पाउने आशिष् हो—के तैँले व्यक्तिगत रूपमा यो अनुभव गरेको छस्? मानिसहरूले कुन पक्षमा दुःख र प्रतिरोधहरू भोग्नुपर्छ भन्ने कुरा परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ—यो कुरा मानिसहरूका आफ्नै आवश्यकताहरूमा आधारित छैन। यो स्पष्ट सत्य हो। प्रत्येक विश्वासीसँग परमेश्वरका वचनहरूको परीक्षा स्विकार्न र उहाँका वचनहरूभित्र दुःख भोग्न सक्ने क्षमता हुनुपर्छ। के यो तिमीहरूले स्पष्ट रूपमा बुझ्यौ? यसैले तैँले आफूले भोगेका दुःखकष्टको बदलामा आजका आशिष्हरू पाएको छस्; परमेश्वरका लागि दुःख भोग्दैनस् भने, तैँले उहाँको स्याबासी प्राप्त गर्न सक्दैनस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरप्रतिको सच्चा प्रेम स्वस्फूर्त हुन्छ
६२६. तैँले परमेश्वरका वचनहरूको न्याय, सजाय, प्रहार, र शोधनलाई स्वीकार गर्न सक्छस्, यसको साथै तँ परमेश्वरका आज्ञाहरूलाई स्वीकार गर्न सक्छस् भन्ने कुरा युगौंयुग पहिले नै परमेश्वरले पूर्वनिर्धारित गरिसक्नुभएको थियो, तसर्थ तँलाई सजाय दिइँदा तँ हैरान हुनु हुँदैन। तिमीहरूमा गरिएको काम, र तिमीहरूलाई दिइएका आशिष्हरू कसैले पनि खोस्न सक्दैन, अनि तिमीहरूलाई दिइएका सबै कुराहरू कसैले पनि खोसेर लैजान सक्दैन। धर्मका मानिसहरूलाई तिमीहरूसँग तुलना गर्न सकिँदैन। तिमीहरूमा बाइबलसम्बन्धी विशेषज्ञता छैन, र तिमीहरू धार्मिक धर्मसिद्धान्तहरूद्वारा सुसज्जित छैनौ, तर परमेश्वरले तिमीहरूभित्र काम गर्नुभएको हुनाले, तिमीहरूले युगौंयुगको अवधिमा अरू कसैले भन्दा बढी प्राप्त गरेका छौ—त्यसकारण, यो तिमीहरूको सबैभन्दा ठूलो आशिष् हो। यही कारणले गर्दा, तिमीहरू परमेश्वरप्रति अझै समर्पित हुनुपर्छ, र परमेश्वरप्रति अझै निष्ठावान हुनुपर्छ। परमेश्वरले तँलाई माथि उठाउनुहुने भएकोले, तैँले आफ्नो प्रयासहरूलाई सुदृढ पार्नुपर्छ, र परमेश्वरको आज्ञालाई स्वीकार गर्नको लागि तेरो कदलाई तयार गर्नुपर्छ। परमेश्वरले तँलाई दिनुभएको स्थानमा तँ दह्रिलो गरी खडा हुनैपर्छ, परमेश्वरका मानिसहरूमध्ये एक बन्न तँ लागिपर्नुपर्छ, राज्यको तालिमलाई स्वीकार गर्नुपर्छ, परमेश्वरद्वारा प्राप्त गरिनुपर्छ र आखिरमा परमेश्वरको महिमावान् गवाही बन्नुपर्छ। के तँमा यी संकल्पहरू छन्? यदि तँमा यस्ता संकल्पहरू छन् भने, आखिरमा तँलाई अवश्य नै परमेश्वरले प्राप्त गर्नुहुनेछ, र तँ परमेश्वरको महिमावान् गवाही बन्नेछस्। मुख्य आज्ञा भनेको नै परमेश्वरद्वारा प्राप्त गरिनु र परमेश्वरको महिमावान् गवाही बन्नु हो भन्ने कुरालाई तैँले बुझ्नुपर्छ। परमेश्वरको अभिप्राय नै यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ
६२७. मेरो सोर सुन्ने सबै भाइ-बहिनीहरूलाई: तिमीहरूले मेरो कठोर न्यायको आवाज सुनेका छौ र तिमीहरूले चरम कष्ट भोगेका छौ। तापनि मेरो कठोर सोरको पछाडि मेरा अभिप्रायहरू लुकेका छन् भन्ने तिमीहरूले जान्नुपर्छ! तिमीहरूले मुक्ति पाउन सक भनेर म तिमीहरूलाई अनुशासनमा राख्छु। तिमीहरूले जान्नुपर्छ, म मेरा प्रिय छोराहरू, तिमीहरूलाई निश्चय अनुशासनमा राख्छु र तिमीहरूलाई छिँवल्छु र चाँडै नै तिमीहरूलाई पूर्ण बनाउँछु। मेरो हृदय अत्यन्तै उत्सुक छ, तर तिमीहरू मेरो हृदयलाई बुझ्दैनौ र तिमीहरू मेरो वचनअनुसार काम गर्दैनौ। मेरा वचनहरू आज तिमीहरूमाथि आउँछन्, जसद्वारा तिमीहरू परमेश्वर साँच्चै एक प्रेमिलो परमेश्वर हुनुहुन्छ भनी जान्नेछौ र तिमीहरू सबैलाई परमेश्वरको साँचो प्रेम अनुभव गराउँछ। तापनि, थोरै सङ्ख्याका मानिसहरू पनि छन् जसले बहाना गरिरहेका छन्। जब तिनीहरू अरू मानिसहरूको दुःख देख्छन्, तिनीहरूले उनीहरूको नक्कल गर्छन्, अनि तिनीहरूले पनि आँखामा आँसु झार्छन्। अरू पनि छन्—जो बाहिरी रूपमा परमेश्वरप्रति ऋणी भएको जस्तो देखिन्छन् र तिनीहरू पछुताएका जस्ता देखिन्छन्, तर भित्री रूपमा, तिनीहरूले साँचो रूपमा परमेश्वरलाई चिन्दैनन्, न त तिनीहरू उहाँबारे निश्चित नै छन्; बरु, तिनीहरूले बाहिरी रूप मात्र प्रस्तुत गर्दैछन्। म यी मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्छु! ढिलो चाँडो, यी मानिसहरूलाई मेरो सहरबाट अलग गरिनेछ। मेरो अभिप्राय यही हो: म ती मानिसहरू चाहन्छु, जसले उत्कटताको साथ मेरो चाहना गर्छन्, र मलाई साँचो हृदयले पछ्याउनेहरूले मात्र मलाई खुसी पार्न सक्छन्। यी त्यस्ता मानिसहरू हुन् जसलाई म निश्चित रूपले आफ्नै हातले सहायता गर्नेछु, र तिनीहरूले कुनै विपत्तिको सामना गर्नु नपरोस् भन्ने म निश्चित गर्नेछु। साँचो रूपमा परमेश्वरलाई चाहने मानिसहरूले परमेश्वरको हृदयलाई ध्यान दिन र मेरो इच्छालाई पछ्याउन इच्छुक हुनेछन्। यसैले, तिमीहरू चाँडै वास्तविकतामा प्रवेश गर्नुपर्छ र मेरो वचनलाई तिमीहरूको जीवनको रूपमा स्वीकार गर्नुपर्छ—यही नै मेरो सबैभन्दा ठूलो बोझ हो। यदि मण्डलीहरू र सन्तहरू सबै वास्तविकतामा प्रवेश गर्छन् र सबैले प्रत्यक्ष रूपमा मसँग सङ्गति गर्न, मेरो आमनेसामने हुन र सत्यता र धार्मिकताको अभ्यास गर्न सक्छन् भने मात्र तिनीहरू मेरा प्रिय छोराहरू हुनेछन्, जसमा म प्रसन्न हुन्छु। यिनै मानिसहरूलाई म सबै महान् आशिषहरू प्रदान गर्दछु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २३
६२८. आज तँलाई जसरी विजय गरिएको छ त्यसप्रति मात्रै तँ सन्तुष्ट हुन सक्दैनस्, तैँले तेरो अगाडि रहेको मार्गमा कसरी हिँड्नुपर्छ भन्ने बारेमा पनि विचार गर्नैपर्छ। तँसँग सिद्ध पारिनका लागि सङ्कल्प र साहस हुनैपर्छ, र तैँले आफूलाई सधैँ असक्षम ठान्नु हुँदैन। के सत्यताले पक्षपात गर्छ? के सत्यताले मानिसहरूलाई जानीजानी विरोध गर्न सक्छ? यदि सत्यताको खोजी गरिस् भने, के यसले तँलाई परास्त गर्न सक्छ? यदि तँ इन्साफका लागि दह्रिलो गरी खडा भइस् भने, के यसले तँलाई ढाल्नेछ? यदि जीवनको खोजी गर्ने तेरो आकांक्षा साँचो हो भने, के जीवनले तँलाई छल्न सक्छ? यदि तँ सत्यताविहीन छस् भने, सत्यताले तँलाई बेवास्ता गरेको कारणले होइन, बरु तँ सत्यताबाट टाढा बस्ने हुँदा त्यसो भएको हो; यदि तँ इन्साफका लागि दृढ रूपमा खडा हुन सक्दैनस् भने, इन्साफमा कुनै गल्ती भएको कारणले होइन, बरु यो तथ्यहरूसँग मिल्दैन भनेर तैँले ठानेको कारणले गर्दा यसो भएको हो; धेरै वर्षसम्म जीवनको खोजी गरेर पनि तैँले जीवन प्राप्त गरेको छैनस् भने, तँप्रति जीवनको कुनै विवेक नभएर होइन, बरु जीवनप्रति तँसँग कुनै विवेक नभएकोले र तैँले जीवनलाई धपाएको हुनाले यसो भएको हो; यदि तँ ज्योतिमा जिउँछस् र पनि ज्योति प्राप्त गर्न असमर्थ भएको छस् भने, ज्योतिले तँलाई प्रकाश दिन नसकेकोले होइन, बरु ज्योतिको अस्तित्वलाई तैँले कुनै पनि ध्यान नदिएकोले र यही कारण ज्योति तँबाट चुपचाप टाढा गएकोले यसो भएको हो। यदि तैँले खोजी गर्दैनस् भने, तँ मूल्यहीन रद्दी होस्, तेरो जीवनमा कुनै साहस छैन र अन्धकारका शक्तिहरूको प्रतिरोध गर्ने इच्छाशक्ति तँमा छैन भनेर मात्रै भन्न सकिन्छ। तँ अत्यन्तै कमजोर छस्! तँलाई घेरेर राखेको शैतानका शक्तिहरूबाट तँ उम्कन सक्दैनस् र यस प्रकारको सुरक्षित र निश्चिन्त जीवन जिउन र अज्ञानतामा मर्न मात्रै तँ इच्छुक छस्। तैँले हासिल गर्नुपर्ने कुरा भनेको आफूलाई विजय गरिने तेरो खोजी हो; यो तैँले पूरा गर्नैपर्ने कर्तव्य हो। यदि तँ आफूलाई विजय गरिनुमा नै सन्तुष्ट छस् भने, तैँले ज्योतिको अस्तित्वलाई धपाउँछस्। तैँले सत्यताका लागि कष्ट भोग्नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी कष्ट भोग्नैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। पारिवारिक सौहार्दको आनन्द उठाउनका खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र अल्पकालिक आनन्दका खातिर तैँले जीवनभरको मर्यादा र निष्ठा गुमाउनु हुँदैन। तैँले सुन्दर र असल सबै कुरा पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्यहरू छैनन् भने, के यो तैँले आफ्नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्नुपर्छ, र थोरै आनन्दका खातिर सारा सत्यतालाई फ्याँक्नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै निष्ठा वा मर्यादा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
६२९. परमेश्वरलाई पछ्याउनु त्यस्तो सजिलो कुरा हो भन्ने नठान्। उहाँलाई तैँले चिन्नैपर्छ, तैँले उहाँको कामलाई जान्नैपर्छ, र उहाँको खातिर कठिनाइ सहन गर्ने, आफ्नो जीवन उहाँको निम्ति बलिदान दिने र उहाँद्वारा सिद्ध पारिने इच्छा तँमा हुनैपर्छ, मुख्य कुरा यही नै हो। तँमा हुनुपर्ने दर्शन यही हो। यदि तेरा सोचहरू अनुग्रहको आनन्द लिने कुरामा मात्र सधैँ झुक्छन् भने त्यसलाई बदल्नुपर्छ। परमेश्वर मानिसहरूको आनन्दको निम्ति मात्र वा तिनीहरूमाथि अनुग्रह प्रदान गर्नको निम्ति मात्र यहाँ हुनुहुन्छ भन्ने नठान्। तँ गलत हुनेछस्! यदि एक व्यक्तिले उहाँलाई पछ्याउनका निम्ति आफ्नो जीवन खतरामा राख्न सक्दैन भने र यदि एक व्यक्तिले उहाँलाई पछ्याउनका निम्ति हरेक बाहिरी कुरा त्याग्न सक्दैन भने, त्यसले उहाँलाई अन्तिमसम्म पछ्याइरहन निश्चय पनि सक्नेछैन। तेरो जगको रूपमा तँसँग दर्शनहरू हुनुपर्छ। यदि एक दिन तँमाथि दुर्भाग्य आइलाग्यो भने, तैँले के गर्नुपर्छ? के तैँले अझ पनि उहाँलाई पछ्याउन सक्छस्? तैँले अन्तिमसम्म उहाँलाई पछ्याउन सक्षम हुनेछस् कि हुनेछैनस् भनेर हलुका रूपमा कुरा नगर्। अहिले कति बेला भयो भनेर हेर्न तैँले आफ्ना आँखा खोलेको नै राम्रो। तिमीहरू अहिले मन्दिरको स्तम्भहरू जस्तै हुनसक्ने भए तापनि, एउटा यस्तो बेला आउनेछ जुन बेला त्यस्ता सबै स्तम्भहरू कीराहरूले खानेछन्, जसको कारण मन्दिर ढल्नेछ, किनकि वर्तमान समयमा तिमीहरूमा धेरै दर्शनहरूको अभाव छ। तिमीहरूले आफ्ना साना संसारहरूलाई मात्र ध्यान दिन्छौ र खोजको सबैभन्दा भरपर्दो र उचित बाटो के हो सो तिमीहरूलाई थाहा छैन। तिमीहरूले आजको कामको दर्शनलाई ध्यान दिँदैनौ, न त यी कुराहरूलाई आफ्ना हृदयमा नै राख्छौ। एक दिन तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबैभन्दा अपरिचित ठाउँमा राख्नुहुनेछ भन्ने कुरालाई तिमीहरूले ध्यान दिएका छौ? एक दिन मैले तिमीहरूबाट सबै थोक खोसेँ भने तिमीहरूको के हालत हुनेछ के त्यसबारे तिमीहरूले कल्पना गर्न सक्छौ? के तिमीहरूको त्यस दिनको ऊर्जा अहिलेको जस्तै हुनेछ? तिमीहरूको विश्वास पुनः देखा पर्नेछ? परमेश्वरलाई पछ्याउँदा तिमीहरूले यस महान् दर्शनलाई जान्नै पर्छ जो “परमेश्वर” हुनुहुन्छ: यो सबैभन्दा महत्त्वपूर्ण विषय हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीहरूले कामलाई बुझ्नै पर्छ—अन्योलमा नपछ्याओ!
६३०. कुनै व्यक्तिले परमेश्वरमा विश्वास गरेर उहाँलाई चिन्दछ: यो नै अन्तिम लक्ष्य हो, र मानिसको खोजको लक्ष्य हो। तैँले परमेश्वरको वचन अनुसार जिउन प्रयत्न गर्नैपर्छ, ताकि तेरो अभ्यासमा ती वचन फलदायी हुन सकून्। यदि तँसँग सैद्धान्तिक ज्ञान मात्र छ भने, परमेश्वरमाथिको तेरो विश्वास शून्य हुनेछ। यदि तैँले उहाँको वचन अभ्यास गरिस् र त्यसमा जिइस् भने मात्रै तेरो विश्वास पूर्ण भएको र परमेश्वरका अभिप्रायहरू अनुसार भएको मान्न सकिन्छ। यस बाटोमा, धेरै मानिसहरू थुप्रै ज्ञानका कुरा बोल्न सक्छन्, तर तिनीहरूको मृत्युको समयमा, तिनीहरूका आँखा आँसुले भरिन्छन्, र एउटा जीवनकाल व्यर्थमा खेर फालेकोमा र व्यर्थमै बुढेसकालसम्म जिएकोमा आफैलाई घृणा गर्छन्। तिनीहरूले धर्मसिद्धान्तहरू मात्र बुझ्छन्, तर सत्यता अभ्यास गर्न सक्दैनन् अथवा परमेश्वरको गवाही दिन सक्दैनन्; तिनीहरू सतहमा केवल यता-उता दौडिरहन्छन्, मौरी झैँ व्यस्त हुन्छन्, र अन्त्यमा मृत्युको मुखमा पुगेपछि मात्र तिनीहरूले आफूमा साँचो गवाहीको अभाव भएको र तिनीहरूले परमेश्वरलाई बिलकुल नचिनेको कुरा अन्ततः देख्छन्। र के यो धेरै ढिलो हुँदैन र? किन तँ आफूले प्रेम गर्ने सत्यता पछ्याउनका लागि दिनको उपयोग गर्दैनस्? किन भोलिसम्मलाई कुर्छस्? यदि जिउँदै हुँदा, तँ सत्यताका लागि कष्ट भोग्दैनस् अथवा यसलाई प्राप्त गर्न खोजी गर्दैनस् भने, के त्यसको अर्थ तँ मृत्युको घडीमा पछुतो महसुस गर्न चाहन्छस्? यदि त्यसो हो भने, किन परमेश्वरमा विश्वास गर्नु? वास्तवमा, मानिसहरूले यदि अलिकति मात्र परिश्रम गरे भने, तिनीहरूले सत्यता अभ्यास गर्न सक्ने र परमेश्वरलाई सन्तुष्ट पार्न सक्ने थुप्रै मामलाहरू छन्। मानिसहरूका मन सधैँ धुमिल हुने हुनाले मात्रै तिनीहरूले परमेश्वरका खातिर काम गर्न सक्दैनन्, र निरन्तर तिनीहरूको देहका खातिर दौडधुप गर्छन्, अन्त्यमा केही प्राप्त गर्दैनन्। यसकारण, मानिसहरू निरन्तर चिन्ता र कठिनाइहरूद्वारा पीडित हुन्छन्। के यी शैतानका यातनाहरू होइनन्? के यो देहको भ्रष्टता होइन? तैँले आफ्नो ओठ चलाएर परमेश्वरलाई मूर्ख बनाउने कोसिस गर्नु हुँदैन। बरु, तैँले वास्तविक कार्य गर्नुपर्छ। आफैलाई छल नगर्—त्यसको अर्थ के हुन सक्छ? आफ्नो देहका खातिर जिएर अनि ख्याति र प्राप्तिका लागि सङ्घर्ष गरेर तैँले के प्राप्त गर्न सक्छस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ
६३१. जीवनको पछि नलाग्नेहरूलाई रूपान्तरण गर्न सकिँदैन र सत्यको निम्ति नतिर्खाउनेहरूले सत्य प्राप्त गर्न सक्दैनन्। तैँले व्यक्तिगत रूपान्तरण र प्रवेशको पछि लाग्ने कुरामा ध्यान दिँदैनस्, तर परमेश्वरमाथिको तेरो विश्वासमा अवरोध गर्ने र उहाँको नजिक लानबाट तँलाई रोक्ने असामान्य इच्छा र चीजहरूमा ध्यान दिन्छस्। के ती कुराहरूले तेरो रूपान्तरण गर्न सक्छन्? के तिनीहरूले तँलाई राज्यभित्र ल्याउँछन्? यदि सत्यको खोजी गर्नु तेरो खोजीको उद्देश्य होइन भने, तैँले यस मौकाको फाइदा लिएर यसमा सफल हुनको निम्ति संसारतिर फर्कनुपर्छ। तेरो समय यसरी फाल्नु उचित हुँदैन—तैँले आफैलाई किन कष्ट दिने? तैँले सुन्दर संसारमा भएका सबै किसिमका चीजहरूको आनन्द लिन सक्थिस् भन्ने कुरा सत्य होइन? पैसा, सुन्दर स्त्रीहरू, हैसियत, अभिमान, परिवार, बालबच्चाहरू र अन्य—के संसारका यी उत्पादनहरू तैँले आनन्द मनाउन सक्ने सर्वोत्तम कुराहरू होइनन् र? तैँले सुख पाउने ठाउँ कहाँ पाउलास् भनेर यहाँ भौतारिनुको के फाइदा? मानिसको पुत्रको शिर राख्ने ठाउँ कहीँ छैन, यसैले तैँले आरामको ठाउँ कसरी पाउन सक्थिस्? उहाँले तेरो निम्ति आराम गर्ने एउटा सुन्दर ठाउँ कसरी सृजना गर्न सक्नुहुन्थ्यो र? के त्यो सम्भव छ? मेरो न्याय बाहेक, आज तैँले सत्यको बारेमा शिक्षाहरू मात्र प्राप्त गर्न सक्छस्। तैँले मबाट सान्त्वना प्राप्त गर्न सक्दैनस् र तैँले दिनरात चाहना गर्ने गुलाबको ओछ्यान प्राप्त गर्न सक्दैनस्। म तँलाई संसारको धनसम्पत्ति दिनेछैन। यदि तैँले साँच्चिकै पछ्याइस् भने म तँलाई जीवनको मार्ग सम्पूर्ण रूपमा दिन, तँलाई पानीमा फर्किएको माछा जस्तो बनाउन इच्छुक छु। यदि तैँले साँच्चिकै पछ्याउँदैनस् भने, म सबै फिर्ता लिनेछु। आरामको लोभ गर्नेहरूलाई म मेरा मुखका वचनहरू दिन तयार छैनँ, जो सुँगुर र कुकुरहरू जस्ता छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?
६३२. आज, विश्वासले नै तँलाई जित्न सकिने बनाउँछ, जितिएपछि नै तँ यहोवाको हरेक काममा विश्वास गर्न सक्ने हुन्छस्। विश्वासको कारणले नै तैँले त्यस्तो सजाय र न्याय पाउँछस्। यो सजाय र न्यायद्वारा, तँलाई जितिन्छ र सिद्ध बनाइन्छ। आज तैँले पाइरहेको यस किसिमको सजाय र न्यायविना, तेरो विश्वास व्यर्थ हुनेथियो, किनकि तैँले परमेश्वरलाई चिनेको हुँदैनथिइस्; तैँले उहाँमाथि जत्ति धेरै विश्वास गरे पनि, तेरो विश्वास वास्तवमा आधारहीन खोक्रो वचन मात्र रहनेथियो। तैँले तँलाई पूर्ण समर्पित बनाउने विजयको यो काम प्राप्त गरेपछि मात्र, तेरो विश्वास सत्य र विश्वसनीय बन्छ, र तेरो हृदय परमेश्वरतिर फर्कन्छ। यदि तैँले यो “विश्वास” शब्दको कारण ठूलो न्याय र श्राप भोग्नुपर्यो भने पनि, तँसँग साँचो विश्वास हुन्छ र तैँले सबैभन्दा सत्य, सबैभन्दा वास्तविक र सबैभन्दा बहुमूल्य चीज पाउँछस्। यस्तो किन हुन्छ भने न्यायको क्रममा मात्र तैँले सृष्टि गरिएका प्राणीहरूको अन्तिम गन्तव्य देख्छस्; यो न्यायमा तैँले सृष्टिकर्तालाई प्रेम गरिनुपर्छ भनी बुझ्छस्; विजयको यस्तो काममा तैँले परमेश्वरको बाहुली देख्छस्; यो विजयमा तैँले मानव जीवनलाई पूर्ण रूपमा बुझ्छस्; यही विजयमा तैँले मानव जीवनको सही बाटो प्राप्त गर्छस् र “मानिस” को वास्तविक अर्थ बुझ्छस्; यो विजयमा मात्र तैँले सर्वशक्तिमान्को धर्मी स्वभाव र उहाँको सुन्दर, महिमामयी अनुहार देख्छस्; यही विजयको काममा तैँले मानिसको उत्पत्तिबारे जान्दछस् र मानवजातिको सारा “अमर इतिहास” लाई बुझ्छस्; यही विजयमा तैँले मानवजातिका पुर्खाहरू र मानवजातिको भ्रष्टताको सुरुआतबारे बुझ्छस्; यस विजयमा तैँले आनन्द र सान्त्वना पाउँछस्, साथै सृष्टिकर्ताबाट उहाँले सृष्टि गर्नुभएको मानवजातिलाई दिइने अनन्त ताडना, अनुशासन कारबाही, र निन्दाका शब्दहरू प्राप्त गर्दछस्; यही विजयको काममा तैँले आशिष्हरू प्राप्त गर्दछस्, साथै मानिसले पाउनुपर्ने विपत्तिहरू प्राप्त गर्दछस्…। के यो सब तेरो थोरै विश्वासको कारणले गर्दा भएको होइन र? अनि के यी कुराहरू प्राप्त गरेपछि तेरो विश्वास बढेन र? के तैँले धेरै ठूलो मात्रामा प्राप्त गरेको छैनस् र? तैँले परमेश्वरको वचन सुनेको र परमेश्वरको ज्ञान देखेको मात्र छैनस्, तैँले त उहाँको कामको प्रत्येक चरणको व्यक्तिगत रूपमा अनुभव पनि गरेको छस्। हुन सक्छ, तैँले भन्छस् यदि तँमा विश्वास हुँदैनथ्यो भने, तैँले यस किसिमको सजाय वा यस किसिमको न्याय भोग्नुपर्नेथिएन। तर तँलाई थाहा हुनुपर्छ कि बिनाविश्वास, तैँले सर्वशक्तिमान्बाट यस किसिमको दण्ड वा यस किसिमको वास्ता प्राप्त गर्न नसक्ने मात्र थिइनस्, तैँले सृष्टिकर्तालाई भेट्ने अवसर सधैँका निम्ति गुमाउने पनि थिइस्। तैँले मानवजातिको उत्पत्तिको बारेमा कहिल्यै पनि जान्नेथिइनस् र मानव जीवनको महत्त्व कहिल्यै पनि बुझ्नेथिइनस्। यदि तेरो शरीर मरेर तेरो प्राण निस्केर गयो भने पनि, तैँले अझै सृष्टिकर्ताका सबै कार्यहरू बुझ्न सक्नेथिइनस्, सृष्टिकर्ताले मानवजातिलाई सृष्टि गर्नुभएपछि पृथ्वीमा यति महान् काम गर्नुभयो भनी तैँले जान्ने कुरा त परै छाडौं। उहाँले बनाउनुभएको मानवजातिको सदस्यको रूपमा, के तँ अज्ञानी भएर यस प्रकारले अन्धकारमा पर्न र अनन्त दण्ड भोग्न इच्छुक छस्? यदि तैँले आजको सजाय र न्यायबाट आफूलाई अलग गर्छस् भने, तैँले कुन कुराको सामना गर्नेछस्? के तँ एकपल्ट वर्तमान न्यायबाट अलग भएपछि यो कठिन जीवनबाट उम्किन सक्छस् भनी विचार गर्छस्? यदि “यो ठाउँ” छोडिस् भने तैँले दियाबलसहरूले दिने कष्टपूर्ण यातना वा क्रूर दुर्व्यवहारहरू सामना गर्नेछस् भन्ने कुरा सत्य होइन र? के तैँले असहनीय दिन र रातहरूको सामना गर्नुपर्ने हुन सक्छ? के आज तँ यो न्यायबाट उम्किस् भने, सधैँका लागि त्यो भविष्यको यातनालाई छल्न सक्छस् भनेर सोच्छस्? तेरो बाटोमा के आउँछ? के त्यो साँच्चै तैँले आशा गरेको साङ्ग्रिला हुन सक्छ? के तँलाई लाग्छ कि तँ आफूसँग अहिले भएको वास्तविकताबाट टाढा भागेर भविष्यको अनन्त सजायबाट उम्किन सक्छस्? आजको दिनपछि, के तैँले यस किसिमको मौका र यस किसिमको आशिष् फेरि पाउन सक्नेछस्? तँमाथि विपत्ति आइपर्दा के तँ ती कुराहरू पाउन सक्नेछस्? सारा मानवजाति विश्राममा प्रवेश गर्दा के तँ ती कुराहरू प्राप्त गर्न सक्नेछस्? तेरो अहिलेको सुखी जीवन र तेरो सद्भावपूर्ण सानो परिवार—के ती तेरो भविष्यको अनन्त गन्तव्यको प्रतिस्थापना हुन सक्छ? यदि तँसँग साँचो विश्वास छ भने, र यदि तैँले आफ्नो विश्वासको कारण ठूलो कुरा प्राप्त गरिस् भने, तैँले—सृष्टि गरिएको प्राणीले—जे प्राप्त गर्नुपर्छ र तैँले पहिलो स्थानमा जे प्राप्त गर्नुपर्दछ, त्यो त्यही नै हो। त्यस्तो विजयभन्दा बढी कुनै कुरा पनि तेरो विश्वास र जीवनको लागि लाभदायक हुँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)
६३३. जब मोशाले चट्टानलाई हिर्काए र यहोवाले दिनुभएको पानी निस्कियो, त्यो उनको विश्वासको कारणले भएको थियो। जब दाऊदले म, यहोवाको प्रशंसामा आनन्दले भरिएको हृदयले वीणा बजायो—त्यो उसको विश्वासको कारणले भएको थियो। जब अय्यूबले डाँडाकाँडा ढाक्ने वस्तुभाउ र असंख्य सम्पत्ति गुमायो र उसको शरीर कष्टकर खटिराले ढाक्यो, त्यो उसको विश्वासको कारणले भएको थियो। जब उसले म, यहोवाको आवाज सुन्न र म, यहोवाको महिमा देख्न सक्यो, त्यो उसको विश्वासको कारणले भएको थियो। पत्रुसले येशू ख्रीष्टलाई पछ्याउन सक्नुको कारण उसको विश्वास नै थियो। उसले मेरो खातिर क्रूसमा टाँगिन र महिमामयी गवाही दिन सक्नु उसकै विश्वासको कारणले भएको थियो। जब यूहन्नाले मानिसको पुत्रको महिमामयी प्रतिरूप देख्यो, त्यो उसको विश्वासको कारणले भएको थियो। जब उसले आखिरी दिनहरूको दर्शन पायो, त्यो सबै उसकै विश्वासको कारणले भएको थियो। अन्यजाति भनाउँदा भीडहरूले मेरो प्रकाश प्राप्त गर्नु र मानिसहरूमाझ मेरो काम गर्नको निम्ति म देहमा फर्केको छु भन्ने कुरा थाहा पाउनुको कारण पनि तिनीहरूको विश्वासकै कारणले गर्दा भएको हो। मेरा कठोर वचनहरूद्वारा प्रहार गरिएका र ती वनहरूद्वारा नै सान्त्वना र मुक्ति पाएका सबैले यो कुरा तिनीहरूको आफ्नै विश्वासले गरेका होइनन् र? ममाथि विश्वास गरे तापनि कठिनाइ भोग्नेहरू संसारदेखि पनि अस्वीकृत भएका छैनन् र? मेरा वचनबाहिर जिउनेहरू, परीक्षाको संकष्टदेखि भाग्नेहरू, के तिनीहरू सबै संसारमा यता-उता बरालिरहँदैनन् र? तिनीहरू शरद्का पातहरूझैँ एक ठाउँमा नबसी घरी यता, घरी उता सलबलाउँछन्, मेरा सान्त्वनाका वचनहरूको त कुरै नगरौं। मेरो सजाय र शोधनले तिनीहरूलाई नपछ्याए तापनि के तिनीहरू एक ठाउँदेखि अर्को ठाउँमा, स्वर्गको राज्य बाहिरका सडकहरूमा भौतारिने भिखारीहरू होइनन् र? के संसार साँच्चै तेरो विश्राम स्थल हो त? के तैँले मेरो सजायलाई पन्छाएर साँच्चै नै यस संसारबाट सन्तुष्टिको सबैभन्दा मन्द मुस्कान प्राप्त गर्न सक्छस्? के तैँले तेरो क्षणिक आनन्दलाई तेरो हृदयको लुकाउन नमिल्ने रिक्ततालाई ढाक्नको निम्ति प्रयोग गर्न सक्छस्? तैँले तेरो परिवारका सबैलाई मूर्ख बनाउन सक्लास्, तर तैँले मलाई कहिल्यै पनि मूर्ख बनाउन सक्दैनस्। तेरो विश्वास अत्यन्तै थोरै भएको कारण आजको दिनसम्म पनि तँमा जिन्दगीले दिने आनन्द पत्ता लगाउने शक्ति छैन। म तँलाई आग्रह गर्छु: मानिसले सहन नसक्ने दुःख सहेर सम्पूर्ण जीवन मामुली र देहको निम्ति व्यस्त रहनुभन्दा मेरो निम्ति इमान्दारीपूर्वक आधा जीवन जिउनु तेरो लागि असल हुन्छ। मेरो सजायबाट भागेर आफैलाई जोगाउनुको उद्देश्य के छ र? मेरो क्षणिक सजायबाट लुकेर अनन्तको लज्जा, अनन्तको सजायको कटनी गर्नुको के अर्थ छ र? वास्तवमा म कसैमाथि पनि मेरा मागहरू जबरजस्ती थोपर्दिनँ। यदि कोही मेरा सबै योजनाहरूप्रति साँचो रूपमा समर्पित हुने इच्छा गर्छ भने, तिनीहरूसँग म तुच्छ व्यवहार गर्नेछैन। तर सबै मानिसहरूले ममाथि विश्वास गर्नुपर्छ, जसरी अय्यूबले म, यहोवामाथि विश्वास गरे। यदि तिमीहरूको विश्वासले थोमाको विश्वासलाई जित्छ भने तिमीहरूको विश्वासले मेरो प्रशंसा प्राप्त गर्नेछ, तिमीहरूको निष्ठामा तिमीहरूले मेरो परमानन्द पाउनेछौ र तिमीहरूका दिनमा तिमीहरूले मेरो महिमा पक्कै पाउनेछौ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। वास्तविक व्यक्ति हुनुको अर्थ के हो
६३४. यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटका लागि तिमीहरूको निन्दा गरिनँ भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यतालाई त्याग्नेथियौ। तिमीहरूमध्ये उत्तम व्यक्तिहरूले पैसालाई त्यागेर मन नलागी-नलागी सत्यतालाई छनौट गर्नेथियौ, जबकि दोधारेहरूले एउटा हातले पैसा पक्रनेथिए र अर्को हातले सत्यता समात्नेथिए। के तिमीहरूका साँचो रङ त्यसपछि आफै स्पष्ट हुनेथिएनन् र? तिमीहरूले सत्यता र तिमीहरू बफादार भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही शैलीमा छनौट गर्नेथियौ र तिमीहरूको मनोवृत्ति उस्तै रहनेथियो। होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरेका हल्लेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्वर, छोराछोरी र परमेश्वर, सामञ्जस्यता र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरूले गरेका छनौटका बारेमा तिमीहरू अवश्य नै अचेत छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्यौ, यहाँसम्म कि किनारामा फर्किने इच्छा समेत राखेनौ;[क] विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मेरो बीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म चकित परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले वर्षौँ खर्चेको रगत-पसिनाले अनपेक्षित रूपमा मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक ख्याल गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरूले अझै पनि मलाई निराशा र पीडादायी शोक दिनेथियौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको एउटा टुक्रा मात्रै बाँकी रहनेथियो? के तिमीहरू अझै पनि मेरो हृदयलाई सान्त्वना दिन के गर्नुपर्छ भन्नेबारे अनभिज्ञ हुनेथियौ? यो समयमा तिमीहरू केलाई छनौट गर्छौ? तिमीहरू मेरा वचनहरूप्रति समर्पित हुन्छौ कि वितृष्ण हुन्छौ? मेरो दिन तिमीहरूकै आँखाअगाडि छ र तिमीहरूले जे देख्छौ सो नयाँ जीवन र एक नयाँ सुरुवातको विन्दु हो। यद्यपि, मैले तिमीहरूलाई के भन्नुपर्छ भने, यो सुरुवातको विन्दु पहिलेको नयाँ कामको आरम्भ होइन, तर पुरानोको निष्कर्ष हो। अर्थात्, अन्तिम कार्य यही नै हो। यस सुरुवातको विन्दुको बारेमा के असामान्य छ सो तिमीहरू सबैले बुझ्न सक्छौ भन्ने मलाई लाग्छ। तैपनि, एक दिन चाँडै तिमीहरूले यस सुरुवातको विन्दुको साँचो अर्थलाई बुझ्नेछौ, त्यसकारण हामी एकसाथ अघि बढौं र आउने समापनलाई स्वागत गरौं। यद्यपि, मलाई तिमीहरूको के कुराले निरन्तर चिन्ता गराउँछ भने, जब तिमीहरू अन्याय र न्यायको सामना गर्छौ, तिमीहरूले सधैँ पहिलोलाई छनौट गर्छौ। तैपनि, त्यो सबै तिमीहरूको अतीतमा छ। म पनि तिमीहरूको अतीतको सबै कुरा बिर्सने आशा गर्दछु, यद्यपि यो गर्न धेरै कठिन छ। तैपनि, यसो गर्ने धेरै राम्रो तरिका मसँग छ: भविष्यले अतीतलाई प्रतिस्थापन गर्न देओ र तिमीहरूको अतीतको छायालाई आजको तिमीहरूको साँचो रूपले ढाकिदेओ। यसरी, तिमीहरूलाई मैले फेरि पनि छनौट गर्न लगाउनुपर्छ: तिमीहरू वास्तवमा कोप्रति निष्ठावान छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ कोप्रति बफादार छस्?
फूटनोटहरू:
क. किनारामा फर्किने: एक चिनियाँ उखान, जसको अर्थ “आफ्नै दुष्ट मार्गहरूबाट फर्कनु” भन्ने हुन्छ।
६३५. जवान मानिसहरू आकाङ्क्षा, जोस, र प्रगति गर्ने जीवन्त मिजासरहित हुनुहुँदैन; तिनीहरू आफ्ना भविष्यबारे निराश बन्नु हुँदैन, न त तिनीहरूले जीवनप्रतिको आशा वा भविष्यप्रतिको विश्वास नै गुमाउनु हुन्छ; तिनीहरूसँग तिनीहरूको सम्पूर्ण जीवन मप्रति समर्पित गर्ने तिनीहरूको चाहनालाई साकार गर्न—तिनीहरूले अहिले रोजेको सत्यताको मार्गलाई निरन्तरता दिने दृढता हुनुपर्छ। तिनीहरू सत्यतारहित हुनु हुँदैन, न त तिनीहरूले पाखण्ड र बेइन्साफ नै लुकाएर राख्न हुन्छ—तिनीहरू आफ्नो उचित अडानमा दृढ रहनुपर्छ। तिनीहरू भीडसँग लाग्नुहुँदैन, तर इन्साफ र सत्यताका निम्ति बलिदान गर्न र सङ्घर्ष गर्न साहस गर्ने भावना तिनीहरूमा हुनुपर्छ। युवाहरूमा अन्धकारका शक्तिहरूको दमनमा नझुक्ने र तिनीहरूको अस्तित्वको महत्त्वलाई रूपान्तरण गर्ने साहस हुनुपर्छ। युवाहरूले प्रतिकुलतासामु आत्मसमर्पण गर्नुहुँदैन, बरु अझ बढी, तिनीहरूसँग खुलापन र खुलस्तताको भावना हुनुपर्छ, र तिनीहरूका दाजुभाइ दिदीबहिनीहरूप्रति क्षमाको भावना हुनुपर्छ। अवश्य, हरेकका निम्ति यी मेरा सर्तहरू र हरेकका निम्ति मेरा सल्लाहहरू हुन्। तर यसका अतिरिक्त, सबै जवान मानिसहरूका निम्ति यी मेरा सुखदायक वचनहरू हुन्। तिमीहरूले मेरा वचनअनुसार अभ्यास गर्नुपर्छ। विशेष रूपमा, युवाहरू कामकुराका सार प्रस्ट रूपमा खुट्ट्याउने र इन्साफ तथा सत्यताको खोजी गर्ने सङ्कल्परहित हुनुहुँदैन। तिमीहरूले सबै सुन्दर र असल कुराहरू पछ्याउनुपर्छ र तिमीहरूले सबै सकारात्मक कुराहरूको वास्तविकता प्राप्त गर्नुपर्छ। यसबाहेक, तिमीहरू आफ्नो जीवनका निम्ति उत्तरदायी हुनुपर्छ र यसलाई हल्का रूपमा लिनु हुँदैन। मानिस पृथ्वीमा आउँछन्, र मसँग जम्काभेट हुनु अनि सत्यताको खोजी र त्यसलाई प्राप्त गर्ने मौका पाउनु पनि दुर्लभ कुरा हो। यस सुन्दर समयलाई तिमीहरू यस जीवनमा पछ्याउनुपर्ने सही मार्गका रूपमा किन कदर गर्दैनौ? अनि सत्यता र न्यायलाई तिमीहरू किन सधैँ यति धेरै उपेक्षा गर्छौ? मानिसहरूसँग खेलबाड गर्ने त्यस अधर्म र त्यस घिनलाग्दो कुराको निम्ति किन तिमीहरू आफैलाई कुल्चँदैछौ र नष्ट गर्दैछौ? अनि तिमीहरू किन अधर्मीहरूले गर्ने काममा संलग्न हुने वृद्ध मानिसहरू जस्तो अभिनय गर्छौ? तिमीहरू किन पुराना कुराहरूका पुराना तरिकाहरूको नक्कल गर्छौ? तिमीहरूका जीवन न्याय, सत्यता र पवित्रताले भरिपूर्ण हुनुपर्छ; तिमीहरूको जीवन यति चाँडै तिमीहरूलाई पातालमा डोर्याउने गरी यति भ्रष्ट हुनुहुँदैन। के यो भयानक दुर्भाग्य हुनेछ भन्ने तिमीहरूलाई महसुस हुँदैन? के यो डरलाग्दो अन्याय हुनेछ भन्ने तिमीहरूलाई महसुस हुँदैन?
तिमीहरू सबैले आफ्ना सर्वथा सिद्ध काम गर्नुपर्छ र तिमीहरूले मलाई सुम्पन परम, अद्वितीय बलिदान बनाएर त्यसलाई मेरो वेदीमा बलिदान गर्नुपर्छ। तिमीहरू सबै आफ्ना दृष्टिकोणमा बलियो गरी खडा हुनुपर्छ र आकाशका बादलहरू जस्तै हरेक मन्द हावासँगै उड्ने हुनु हुँदैन। तिमीहरूले आफ्नो आधा जीवनसम्म कठिन परिश्रम गर्छौ, यसैले तिमीहरूले किन आफूले पाउनुपर्ने लक्ष्यको खोजी नगर्ने? तिमीहरू आधा जीवनसम्म परिश्रम गर्छौ, तथापि तिमीहरू सुँगुर र कुकुर जस्ता तिमीहरूका अभिभावकहरूलाई सत्यता र तिमीहरूको महत्त्वपूर्ण व्यक्तिगत अस्तित्वलाई चिहानमा तान्न दिन्छौ। यो तेरा विरुद्धको ठूलो अन्याय हो भन्ने तँलाई लाग्दैन? के तँलाई यस तरिकाले जीवन जिउनु अत्यन्तै व्यर्थ हो भन्ने महसुस हुँदैन? यस तरिकाले सत्यता र सही मार्गको खोजी गर्नाले समस्याहरू पैदा हुन्छन् जसको कारण छिमेकीहरूले असहज महसुस गर्छन् र सम्पूर्ण परिवार दुःखी हुन्छ अनि यसले घातक प्रकोपहरूतर्फ डोर्याउँछ। यदि तँ यसरी जिउँछस् भने, के यो सबैभन्दा व्यर्थ जीवन होइन र? कसको जीवन तेरोभन्दा भाग्यशाली हुन सक्छ र कसको जीवन तेरोभन्दा हास्यास्पद हुन सक्छ? के तँ मेरो आनन्द र तेरो निम्ति सान्त्वनाका वचनहरू प्राप्त गर्न नै मेरो खोजी गर्दैनस् र? तर तँ आधा जीवन यताउता दौडेपछि, म रिसले चूर नहोउञ्जेलसम्म र तेरो वास्ता नराखुञ्जेल वा तेरो प्रशंसा नगरुञ्जेलसम्म मलाई क्रोधित तुल्याउँछस्—के यसको अर्थ तेरो सम्पूर्ण जीवन व्यर्थमा गएको छ भन्ने हुँदैन र? शुद्ध हुने स्थानबाट मुक्त पारिएका युगौं-युगका ती सन्तहरूका आत्माहरूलाई हेर्न जाने धृष्टता तैँले कसरी गर्न सक्छस्? तँ मप्रति उदासीन छस् र अन्तमा तैँले घातक विपत्ति पैदा गर्छस्—यस मौकाको फाइदा लिनु र विशाल समुद्र वारपार आनन्दमय यात्रा गर्नु र त्यसपछि मेरो “सुम्पिएको कार्य” पालन गर्नु नै असल हुने थियो। मैले तँलाई धेरै पहिले भनेको थिएँ, तँ जस्तो उदासीन तापनि अलग हुन अनिच्छुक व्यक्तिलाई, मैले सृजना गरेका छालहरूले विलय गर्नेछ र निल्नेछ। के तिमीहरूले साँच्चै आफैलाई सुरक्षा दिन सक्छौ? तेरो अहिलेको खोजले तँ सिद्ध छस् भन्ने कुरालाई सुनिश्चित गर्नेछ भन्ने कुरामा तँ साँच्चै पक्का छस्? के तेरो हृदय धेरै कठोर छैन र? यस किसिमको पछ्याइ, यस किसिमको खोज, यस किसिमको जीवन र यस किसिमको चरित्र—यसले कसरी मेरो अनुमोदन प्राप्त गर्न सक्थ्यो?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। जवान र वृद्धलाई वचनहरू
६३६. परमेश्वरले मानिसहरूलाई सजाय दिएर जित्न चाहनुहुन्न, उहाँले मानिसहरूलाई वशमा राखेर सधैँ डोऱ्याउन चाहनुहुन्न। मानिसहरू उहाँको वचनमा समर्पित होऊन् र अनुशासित ढङ्गले काम गरून्, अनि त्यसरी उहाँका अभिप्रायहरू पूरा गरून् भन्ने उहाँ चाहनुहुन्छ। तर मानिसहरूलाई कुनै लाज छैन र निरन्तर उहाँको विरुद्धमा विद्रोह गर्छन्। हामीले उहाँलाई सन्तुष्ट पार्ने सबैभन्दा सजिलो उपाय पत्ता लगाउनु, अर्थात्, उहाँका सबै प्रबन्धहरूमा समर्पित हुनु नै हाम्रो लागि सबैभन्दा उत्तम हुन्छ भन्ने मलाई लाग्छ। यदि तैँले यसलाई साँचो रूपमा हासिल गर्न सक्छस् भने, तँ सिद्ध हुनेछस्। के यो सजिलो, रमाइलो कुरा होइन र? तैँले हिँड्नुपर्ने बाटो हिँड्; अरूले के भन्छन् त्यसमा ध्यान नदे, र धेरै नसोच्। के तेरो भविष्य र तेरो भाग्य तेरो आफ्नै हातमा छन् र? तँ सधैँ सांसारिक मार्गतिर लाग्ने इच्छा गर्दै उम्कने प्रयास गर्छस्—तर तँ किन बाहिर निस्कन सक्दैनस्? तँ किन धेरै वर्षसम्म चौबाटोहरूमा डगमगाउँछस् र अन्त्यमा फेरि यही मार्ग चुन्न पुग्छस्? धेरै वर्ष भौँतारिएपछि, तँ किन नचाहेर पनि यस घरमा फर्केको छस्? के यो तँमा निर्भर छ? तिमीहरू जो यस प्रवाहमा छौ, यदि तिमीहरूलाई मेरो विश्वास लाग्दैन भने यो सुन: यदि तेरो छोडेर जाने योजना छ भने, परमेश्वरले तँलाई त्यसो गर्न दिनुहुन्छ कि दिनुहुन्न सो हेर्, पवित्र आत्माले तँलाई कसरी चलाउनुहुन्छ सो हेर्—तैँले त्यो आफै अनुभव गर्। स्पष्ट रूपमा भन्नुपर्दा, यदि तैँले दुर्भाग्य भोग्नुपऱ्यो भने पनि, यो प्रवाहमा तैँले दुःख भोग्नुपर्छ, र यदि दुःख छ भने तैँले आज यहीँ नै दुःख भोग्नुपर्छ; तँ अरू कतै जान सक्दैनस्। के यो कुरा स्पष्ट भयो? तँ अरू कहाँ जानेछस्? यो परमेश्वरको प्रशासनिक आदेश हो। के परमेश्वरले मानिसहरूको यस समूहलाई चुन्नुको कुनै अर्थ छैन भन्ने तँलाई लाग्छ? आज उहाँको काममा, परमेश्वर सजिलै रिसाउनुहुन्न—तर यदि मानिसहरूले उहाँको योजनालाई खलबल्याउन खोजे भने, उहाँको अनुहार तुरुन्तै बदलिन्छ र उज्यालोबाट अन्धकारमा परिणत हुन्छ। त्यसैले म तँलाई चुपचाप बस्न र, तँलाई योजनाबद्ध गर्न र पूर्ण बनाउनका लागि परमेश्वरलाई मौका दिन सल्लाह दिन्छु। यसो गर्ने मानिसहरू मात्र बाठो हुन्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मार्ग … (७)
६३७. तिमीहरूको गन्तव्य र तिमीहरूको भाग्य तिमीहरूका निम्ति धेरै महत्त्वपूर्ण छन्—ती तँसँग गम्भीर रूपमा सम्बन्धित कुरा हुन्। तिमीहरू के विश्वास गर्छौ भने, यदि तिमीहरूले ठूलो सावधानीका साथ कामकुराहरू गरेनौ भने, यसको अर्थ तिमीहरूसित उप्रान्त गन्तव्य हुनेछैन, तिमीहरूले आफ्नै भाग्यलाई नष्ट गरेका हुन्छौ भन्ने हुनेछ। तर आफ्नो गन्तव्यका खातिर मात्र मेहनत लगाउने मानिसहरूले व्यर्थमा परिश्रम गरिरहेका छन् भन्ने कुरा के तिमीहरूले कहिल्यै सोचेका छौ? त्यस्ता मेहनतहरू साँचो हुँदैनन्, ती झुटो आवरण र छल मात्र हुन्। यदि त्यसो हो भने, जसले केवल आफ्नो गन्तव्यका खातिर मेहनत लगाउँछन्, तिनीहरू आफ्नो अन्तिम पराजयको सँघारमा हुन्छन्, किनभने परमेश्वरप्रतिको विश्वासमा असफलताको कारण भनेको छल नै हो। मैले पहिले के भनेको छु भने, मलाई चापलुसी वा लोलोपोतो गरेको, वा उत्सुकतासाथ व्यवहार गरेको मन पर्दैन। मलाई इमानदार मानिसहरूले मेरो सत्यता र मेरा अपेक्षाहरूको सामना गरेको मन पर्छ। अझ त्योभन्दा बढी, जब मानिसहरूले मेरो हृदयका लागि सबैभन्दा बढी ख्याल देखाउन सक्छन्, अनि मेरा खातिर सबै कुरा समर्पित गर्न समेत सक्षम हुन्छन्, मलाई त्यो कुरा मन पर्छ। यसरी मात्रै मेरो हृदयले सान्त्वना पाउन सक्छ। अहिले तिमीहरूका विषयमा मैले मन नपराउने कति धेरै कुराहरू छन्? मैले तिमीहरूका बारेमा मन पराउने कुराहरू कति छन्? के तिमीहरूले आफ्नो गन्तव्यको लागि तिमीहरूले देखाएको कुरूपताका विभिन्न प्रकटीकरणहरूलाई तिमीहरूमध्ये कसैले महसुस गरेका छैनौ भन्ने हुन सक्ला र?
मेरो हृदयमा, म सकारात्मक र माथितिर उठ्ने आकाङ्क्षा राख्ने कुनै पनि हृदयलाई चोट पुर्याउन चाहन्न, र आफ्नो कर्तव्य बफादारीपूर्वक पूरा गर्ने कसैको हुटहुटीलाई निरुत्साहित गर्न त म झनै चाहन्न। तथापि, मैले तिमीहरूमध्ये हरेकलाई तिमीहरूका अपर्याप्तताहरू र हृदयका गहनतम कुनाहरूमा रहेका फोहोर प्राणबारे स्मरण गराउनैपर्छ। मेरा वचनहरूको सम्मुख आउँदा तिमीहरूले आफ्नो साँचो हृदय अर्पण गर्न सक्नेछौ भन्ने आशामा म यसो गर्छु, किनभने मैले सबैभन्दा बढी घृणा गर्ने भनेको मानिसहरूको मप्रतिको छल हो। म केवल के आशा गर्छु भने, मेरो कामको अन्तिम चरणमा, तिमीहरूले आफ्नो सर्वोत्कृष्ट प्रदर्शन प्रस्तुत गर्न सक्षम हुनेछौ, अनि तिमीहरूले आफ्नो सम्पूर्ण हृदयले आफूलाई अर्पित गर्नेछौ, उप्रान्त आधा हृदयले होइन। अवश्य नै, म के पनि आशा गर्छु भने तिमीहरू सबैले एउटा असल गन्तव्य पाउन सक्नेछौ। तथापि, मसित अझै मेरो माग छ, जुन तिमीहरूले मलाई तिमीहरूको एउटै र अन्तिम बफादारी अर्पण गरेर सर्वोत्कृष्ट निर्णय गर भन्ने हो। यदि कसैसित यो एक मात्र भक्ति छैन भने, ऊ निश्चय नै शैतानको बहुमूल्य सम्पत्ति हो अनि म उसलाई मेरो प्रयोगको निम्ति राख्नेछैन तर उसको आमाबुबाद्वारा हेरचाह गरिनको निम्ति उसलाई घर पठाइदिनेछु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। गन्तव्यको सम्बन्धमा
६३८. भविष्यमा, आशिष् पाउँछस् कि दुर्भाग्य भोग्छस् भन्ने कुरा तिमीहरूको आजको कार्य र व्यवहारको आधारमा नै निर्णय गरिनेछ। यदि तिमीहरू परमेश्वरबाट सिद्ध पारिन चाहन्छौ भने, यो अहिलेकै यस युगमा हुनुपर्दछ; भविष्यमा अर्को अवसर हुनेछैन। परमेश्वरले तिमीहरूलाई अहिले सिद्ध पार्ने साँचो चाहना गर्नुहुन्छ, र यो बोल्ने तौर-तरिका होइन। भविष्यमा, तिमीहरूका अगाडि जस्तोसुकै परीक्षाहरू आइपरे पनि, जे घटनाहरू घटे पनि वा तिमीहरूले जुन विपत्तिहरूको सामना गर्नुपरे पनि, परमेश्वरले तिमीहरूलाई सिद्ध पार्न चाहनुहुन्छ; यो एक निश्चित र निर्विवाद तथ्य हो। यो कहाँ देख्न सकिन्छ? युगहरू र पुस्ताहरूका परमेश्वरको वचनले आजसम्म यत्तिको उचाइ प्राप्त गरेको छैन भन्ने तथ्यमा यसलाई देख्न सकिन्छ। यो सबैभन्दा माथिल्लो क्षेत्रमा प्रवेश गरिसक्यो, र सम्पूर्ण मानवतामा पवित्र आत्माको आजको काम अभूतपूर्व छ। विगतका पुस्ताका कुनै पनि मानिसहरूले सायदै यस्तो अनुभव गरेका थिए; येशूको युगमा पनि, आजको प्रकाशहरू अस्तित्वमा थिएनन्। तिमीहरूका निम्ति बोलिएका वचनहरू, तिमीहरूले बुझेका कुराहरू, र तिमीहरूको अनुभव सबै नयाँ शिखरमा पुगेको छ। परीक्षा र सजायको बीचमा, तिमीहरूले छोडेर जाँदैनौ, र परमेश्वरको कामले अभूतपूर्व महिमा प्राप्त गरेको पर्याप्त प्रमाण यही नै हो। यो मानिसले गर्न सक्ने काम होइन, न त यो मानिसले कायम गर्ने कुरा नै हो; बरु, यो त परमेश्वर स्वयम्को काम हो। तसर्थ, परमेश्वरको कामको धेरै वास्तविकताबाट, यो देख्न सकिन्छ कि परमेश्वर मानिसलाई सिद्ध बनाउन चाहनुहुन्छ, र उहाँ पक्कै पनि तिमीहरूलाई पूर्ण पार्न सक्षम हुनुहुन्छ। यदि तिमीहरूसँग यो अन्तर्दृष्टि छ, र तिमीहरू यो नयाँ खोजी गर्छौ भने, तिमीहरूले येशूको दोस्रो आगमनको लागि पर्खनेछैनौ; यसको सट्टामा, अहिलेको युगमा तिमीहरूलाई पूर्ण बनाउनको लागि परमेश्वरलाई अनुमति दिनेछौ। त्यसकारण, तिमीहरू प्रत्येकले कुनै मेहनत नछोडी अथक प्रयास गर्नु पर्छ ताकि तिमीहरू परमेश्वरबाट सिद्ध हुन सक।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। हरेकले आफ्नो काम पूरा गर्ने विषयमा
६३९. परमेश्वरको चाहना हरेक व्यक्ति सिद्ध बनोस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्ने छ। मैले तिमीहरू पिछडिएका वा कम क्षमताका छौ भनेर भने पनि नभने पनि—यी सब तथ्य हुन्। मैले त्यसो भनेको कुराले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा हराएको छु र तिमीहरूलाई बचाउन अझ कम अनिच्छुक छु भन्ने प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध बन्ने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एकै जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर योग्यताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँसित मेरा मागहरू तेरो असाक्षरताअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथि-सत्कार प्रदान गर्न सक्छस् भने, तँसँग मेरा मागहरू त्यस क्षमताअनुसार हुनेछन्; यदि तँ अतिथि-सत्कार गर्न सक्दिनँ, निश्चित कामहरू मात्र गर्न सक्छु भन्छस् भने, जस्तै सुसमाचार फैलाउने वा मण्डलीको रेखदेख गर्ने वा अन्य सामान्य कुराहरूमा सहभागी हुने, मैले तँलाई सिद्ध बनाउने काम तैँले गर्ने कामअनुसार हुनेछ। बफादार हुनु, अन्त्यसम्म समर्पित हुनु र परमेश्वरप्रति सर्वोच्च प्रेम प्राप्त गर्न खोज्नु—यो तैँले पूरा गर्नैपर्ने कुरा हो र यी तीन कुराभन्दा अझ राम्रा अभ्यासहरू छैनन्। अन्त्यमा, मानिसले यी तीन कुराहरू हासिल गर्नु आवश्यक हुन्छ र यदि उसले ती प्राप्त गर्न सक्छ भने, उसलाई सिद्ध बनाइनेछ। तर सबैभन्दा मुख्य कुरा, तैँले साँच्चै खोजी गर्नुपर्दछ, तँ सक्रिय रूपमा अगाडि र माथितिर बढ्नुपर्छ र त्यस विषयमा निष्क्रिय हुनुहुँदैन। मैले भनेको छु कि प्रत्येक व्यक्तिसँग सिद्ध हुने मौका हुन्छ र सिद्ध हुनका लागि सक्षम हुन्छ र यो सत्य हो तर तँ आफ्नो खोजीमा अझ उत्तम हुने प्रयास गर्दैनस्। यदि तैँले यी तीन मापदण्डहरू हासिल गर्दैनस् भने, अन्त्यमा तँलाई हटाइनु नै पर्छ। सबैले यो गतिलाई पछ्याउन सकून् भन्ने म चाहन्छु, म सबैले पवित्र आत्माको काम र अन्तर्दृष्टि प्राप्त गरोस् र अन्त्यसम्म समर्पित हुन सकोस् भन्ने चाहन्छु, किनकि तिमीहरू प्रत्येकले गर्नुपर्ने कर्तव्य यही हो। जब तिमीहरू सबैले आफ्नो कर्तव्य पूरा गर्छौ तब तिमीहरू सबै सिद्ध बनाइएका हुनेछौ, तिमीहरूका गवाही पनि धेरै शानदार हुन्छ। गवाही हुनेहरू सबै शैतानमाथि विजय बनेका र परमेश्वरका प्रतिज्ञा प्राप्त गरेका हुन्छन् अनि तिनीहरू ती व्यक्तिहरू हुन् जो त्यस सुन्दर गन्तव्यमा बस्नको लागि रहिरहनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
६४०. सर्वशक्तिमान्ले आपूर्ति गर्नुभएको जीवन छोडेर गएको हुनाले, मानवजाति आफ्नो अस्तित्वको उद्देश्यबारे अनभिज्ञ छ, तथापि ऊ मृत्युसँग डराउँछ। तिनीहरू सहयोग वा भरोसारहित छन्, अझै पनि आफ्ना आँखा चिम्लन अनिच्छुक हुन्छन्, र तिनीहरूले यस संसारमा जसोतोसो एक तुच्छ अस्तित्व कायम राख्ने क्रममा प्राणमा कुनै भावना नभएका देहका पोकाहरू बोक्न आफैलाई तयार पार्छन्। अरू लक्ष्यबिना जिएझैँ, तँ त्यसरी नै आशाबिना जिउँछस्। केवल प्राचीन कथाका पवित्र एउटै उहाँले मात्र ती मानिसहरूलाई मुक्ति दिनुहुनेछ, जो आफ्नो कष्टमाझ विलाप गर्दै उहाँको आगमनको व्यग्र तृष्णा गर्छन्। त्यस्तो विश्वास चेतनाको कमी हुनेहरूमा लामो समयदेखि साकार भएको छैन। तथापि, मानिसहरू अझै पनि यसका लागि आतुर छन्। सर्वशक्तिमान्ले यी मानिसहरूमाथि कृपा गर्नुहुन्छ जो गहिरोगरी कष्टमा छन्; साथसाथै, अलिकति पनि चेतना हुँदै नभएका मानिसहरूप्रति उहाँ वितृष्ण महसुस गर्नुहुन्छ, किनकि मानिसहरूबाट उत्तर प्राप्त गर्न उहाँले लामो समय पर्खनुपरेको छ। उहाँले खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, र तेरा लागि पानी र खाना ल्याउन चाहनुहुन्छ, ताकि तँ ब्यूँझीएस् र तैँले अब उप्रान्त तिर्खाउन र भोकाउन नपरोस्। जब तँ थाक्छस् र जब तैँले यस संसारको उजाडताका केही कुरा महसुस गर्छस्, तब तँ नहरा, तँ नरो। सर्वशक्तिमान् परमेश्वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई अङ्गाल्नुहुनेछ। उहाँ तेरो छेउमै रखवाली गर्दै हुनुहुन्छ, तँ फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ। उहाँ तेरो स्मृति अकस्मात् फर्किने दिनको प्रतिक्षा गर्दै हुनुहुन्छ: जुन दिन तैँले तँ परमेश्वरबाट आइस्, तैँले कुनै अज्ञात समयमा आफ्नो दिशा गुमाइस्, कुनै एक अज्ञात समयमा तैँले बाटोमा चेतना गुमाइस्, र कुनै अज्ञात समयमा एक “पिता” प्राप्त गरिस् भन्ने कुरा महसुस गर्छस्; यसका अतिरिक्त, जब तैँले सर्वशक्तिमान्ले सदा तेरो रखवाली गर्दै, धेरै समयदेखि तेरो फिर्ती पर्खँदै आउनुभएको छ भन्ने कुरा महसुस गर्छस्। उहाँले व्यग्र तृष्णाका साथ रखवाली गर्दै, र बिना कुनै उत्तर तेरो प्रतिक्रिया पर्खँदै आउनुभएको छ। उहाँको रखवाली र प्रतीक्षा अमूल्य छन्, र ती मानव हृदय र मानव आत्माका खातिर हुन्। सायद ती रखवाली र प्रतीक्षा कालातीत छन्, र सायद ती समाप्तिमा आएका छन्। तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्ने कुरा तैँले जान्नुपर्दछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सर्वशक्तिमान्को सुस्केरा
६४१. परमेश्वरको प्रेम र कृपाले उहाँको व्यवस्थापन कार्यको प्रत्येक र हरेक विवरणलाई भिजाउँछ, र मानिसहरूले परमेश्वरका श्रमसाध्य अभिप्रायहरूलाई बुझ्न सके पनि वा नसके पनि, आफूले पूरा गर्ने अभिप्राय राखेको काम निरन्तर दृढताका साथ गर्छ। परमेश्वरको व्यवस्थापनबारे मानिसहरूले जति बुझे पनि, परमेश्वरको कामले मानिसलाई दिने सहयोग र लाभहरूलाई हरेकले सराहना गर्न सक्छन्। सायद, आजको दिनमा, परमेश्वरबाट कुनै प्रेम वा जीवनको भरणपोषण महसुस गरेको छैनस्, तर यदि तैँले परमेश्वरलाई छोड्दैनस् र सत्यता खोजी गर्ने तेरो सङ्कल्पलाई त्याग्दैनस् भने, परमेश्वरको मुस्कान तँलाई देखाउने दिन आउनेछ। किनभने परमेश्वरको व्यवस्थापन कार्यको लक्ष्य भनेको शैतानको शक्तिमा रहेका मानिसहरूलाई पुन: प्राप्त गर्नु हो, शैतानद्वारा भ्रष्ट तुल्याइएका र परमेश्वरको विरोध गर्ने मानिसहरूलाई त्याग्नु होइन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ
६४२. परमेश्वरले मुक्ति दिने कार्य गरिरहनुभएको बेला मुक्ति पाउन सक्ने प्रत्येक व्यक्तिले हरसम्भव मुक्ति पाउनेछ, र तिनीहरूमध्ये कसैलाई पनि फालिनेछैन, किनकि परमेश्वरको कामको उद्देश्य भनेको मानिसलाई बचाउनु नै हो। ती सबै जो, परमेश्वरले मानिसलाई मुक्ति दिइरहनुभएको समयमा आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न असमर्थ हुन्छन्—साथै तिनीहरू सबै जो पूर्ण रूपले परमेश्वरको अधीनमा बस्न असमर्थ हुन्छन्—तिनीहरू दण्डका पात्रहरू बन्नेछन्। कामको यो चरणले, अर्थात् वचनहरूको कामले मानिसहरूले बुझ्न नसक्ने सबै मार्गहरू र रहस्यहरू खोल्नेछ, यसरी तिनीहरूले परमेश्वरका अभिप्राय र परमेश्वरले तिनीहरूबाट गर्नुभएका मागहरू बुझ्न सक्छन्, र यसरी तिनीहरूले परमेश्वरको वचनहरू अभ्यास गर्ने र तिनीहरूको स्वभावमा परिवर्तन गर्ने पूर्वसर्तहरू पाउन सक्छन्। परमेश्वरले उहाँको आफ्नो काम गर्न केवल वचनहरू प्रयोग गर्नुहुन्छ र मानिस थोरै विद्रोही हुँदा उसलाई दण्ड दिनुहुन्न; किनकि अहिले मुक्तिको कामको समय हो। यदि विद्रोही काम गर्ने कुनै पनि व्यक्तिलाई दण्ड दिइयो भने कसैले पनि मुक्ति पाउने मौका पाउनेथिएन; सबैले दण्ड पाउनेथिए र पातालमा खस्नेथिए। मानिसलाई न्याय गर्न वचनहरू प्रयोग गर्नुको उद्देश्य भनेको तिनीहरूलाई आफूलाई चिन्न र परमेश्वरमा समर्पित हुन मदत दिनु हो; यो तिनीहरूलाई त्यस्तो न्यायद्वारा दण्ड दिनु होइन। वचनहरूको कामको अवधिमा, धेरै मानिसहरूले आफ्नो विद्रोहीपन र अनादर साथसाथै देहधारी परमेश्वरप्रति तिनीहरूमा हुने समर्पणताको कमीलाई प्रकट गर्नेछन्। तापनि, त्यसको फलस्वरूप उहाँले यी सबै मानिसहरूलाई दण्ड दिनुहुन्न, तर त्यसको साटो उहाँले भित्रैदेखि भ्रष्ट र मुक्ति पाउन नसक्ने ती सबै मानिसलाई पर पन्छ्याउनुहुनेछ। उहाँले तिनीहरूको देह शैतानलाई दिनुहुनेछ र केही अवस्थाहरूमा तिनीहरूको देह नाश पार्नुहुनेछ। बाँकी रहेकाहरू पछि लागिरहनेछन् र तिनीहरूले काटछाँटको कार्यको अनुभव गर्नेछन्। यदि पछ्याउने क्रममा, यी मानिसहरू अझै पनि काटछाँटको कार्यलाई स्वीकार गर्न सक्दैनन् र झन्-झन् पतित हुँदै जान्छन् भने, तिनीहरूले मुक्ति पाउने आफ्नो मौका गुमाउनेछन्। प्रत्येक व्यक्ति जो परमेश्वरका वचनहरूद्वारा जितिने कार्यलाई स्वीकार गर्छन् तिनीहरूले मुक्ति पाउने धेरै अवसरहरू पाउनेछन्; परमेश्वरले यी प्रत्येक मानिसहरूलाई मुक्ति प्रदान गर्नुहुँदा उहाँले सम्भव भएको सबैभन्दा धेरै हदसम्म सहुलियत प्रदान गर्नुहुनेछ। अर्को शब्दमा, तिनीहरूलाई अत्यधिक उदारता देखाइनेछ। जबसम्म मानिसहरू गलत मार्गबाट फर्कन्छन्, र जबसम्म तिनीहरूले पश्चात्ताप गर्न सक्छन्, परमेश्वरले तिनीहरूलाई उहाँको मुक्ति प्राप्त गर्ने मौका दिनुहुनेछ। जब मानिसले पहिलोपटक परमेश्वरविरुद्ध विद्रोह गर्छ, तब उहाँमा तिनीहरूलाई प्रहार गर्ने कुनैचाहना हुँदैन; बरु, तिनीहरूलाई बचाउन उहाँले सक्दो कोसिस गर्नुहुन्छ। यदि कसैसँग मुक्तिको लागि कुनै ठाउँ छैन भने, परमेश्वरले तिनीहरूलाई पन्छ्याउनुहुनेछ। परमेश्वरले केही मानिसहरूलाई दण्ड दिनु ढिलो गर्नुको कारण यो हो कि मुक्ति पाउन निम्ति योग्य सबै मानिसलाई मुक्ति दिने उहाँको चाहना हुन्छ। उहाँ वचनद्वारा मात्रै मानिसहरूलाई न्याय गर्नुहुन्छ, अन्तर्दृष्टि दिनुहुन्छ, र मार्गदर्शन गर्नुहुन्छ, र तिनीहरूलाई प्रहार गर्न डन्डा चलाउनुहुन्न। मानिसहरूलाई मुक्तिमा ल्याउनका लागि वचनहरू प्रयोग गर्नु नै अन्तिम चरणको कामको उद्देश्य र महत्त्व हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्हरूलाई पन्छ्याउनुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्रायलाई बुझ्नुपर्छ
६४३. संसारको व्यापक फैलावटमा, महासागरहरू भरिएर मैदानमा परिणत हुन्छन्, र जमिनहरू बगेर महासागरहरूमा परिवर्तन हुन्छन् र यो प्रक्रिया अनगिन्ती पटक दोहोरिन्छ। यावत् थोकमाझ, सबै कुरामाथि सार्वभौमिकता राख्नुहुने उहाँबाहेक, अरू कोही पनि यस मानवजातिलाई अगुवाइ गर्न र मार्गनिर्देशन गर्न सक्षम छैन। मानवजातिका निम्ति परिश्रम गर्ने वा तयारी गर्ने “शक्तिशाली जन” कोही पनि छैन, मानवजातिलाई ज्योतिको गन्तव्यतिर अगुवाइ गर्ने र मानिसको संसारका अन्यायहरूबाट मुक्त गर्न सक्ने जन त झनै छैन। मानवजातिको भविष्यप्रति परमेश्वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ, अनि मानिस पाइला दर पाइला पतन र फर्कन नसक्ने मार्गतिर हिँडिरहेको कुराले उहाँलाई पीडा दिन्छ। यो कुरा कसैले कहिल्यै विचार गरेको छैन: परमेश्वरको हृदयलाई पूर्ण रूपमा छियाछिया बनाउने र दुष्टलाई खोज्न उहाँलाई त्याग्ने त्यस्तो मानवजाति कतातिर लागेको हुन सक्छ? यसैकारणले गर्दा नै कसैले पनि परमेश्वरको क्रोध महसुस गर्न खोज्दैन, कसैले पनि परमेश्वरलाई प्रसन्न पार्ने मार्ग खोज्दैन वा परमेश्वरको नजिक जाने कोसिस गर्दैन, अझ भन्नुपर्दा, कसैले पनि परमेश्वरको शोक र पीडालाई बुझ्न खोज्दैन। परमेश्वरको आवाज सुनेपछि पनि, मानिस आफ्नै मार्गमा हिँड्न जारी राख्छ, परमेश्वरबाट टाढा जान जिद कस्छ, परमेश्वरको अनुग्रह र हेरचाहबाट तर्कन्छ, उहाँको सत्यताबाट अलग बस्छ, परमेश्वरको शत्रु शैतानका हातमा आफूलाई बेच्न रुचाउँछ। र कसले सोचेको छ कि, यदि मानिस आफ्नो जिदमा लागिरह्यो भने, परमेश्वरलाई अत्यन्तै अवहेलना गर्ने यस मानवजातिप्रति उहाँले कस्तो व्यवहार गर्नुहुनेछ? कसैलाई थाहा छैन कि परमेश्वरले मानिसलाई बारम्बार सम्झौटो र अर्ती दिनुहुने कारण के हो भने उहाँले आफ्नो हातमा एउटा अभूतपूर्व विपत्ति तयार पार्नुभएको छ, जुन मानिसको देह र प्राणलाई असह्य हुनेछ, यो विपत्ति देहका निम्ति दण्ड मात्र होइन, तर प्राणप्रति लक्षित हुन्छ। तैँले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्वरको योजना विफल हुन्छ, र उहाँका सम्झौटो र अर्तीहरूको कुनै प्रतिक्रिया दिइँदैन, तब उहाँले कस्तो क्रोध पोखाउनुहुनेछ? यो कुनै पनि सृजित प्राणीले कहिल्यै अनुभव नगरेको र थाहा नपाएको किसिमको हुनेछ। त्यसैले म भन्छु, यो विपत्ति अभूतपूर्व छ, र कहिल्यै दोहोरिनेछैन। किनकि परमेश्वरको योजना भनेको, मानवजातिलाई यो एक पटक मात्रै सृष्टि गर्नु र मानवजातिलाई यो एक पटक मात्रै मुक्ति दिनु हो। यो पहिलो पटक र अन्तिम पटक पनि हो। त्यसकारण, परमेश्वरले मानवजातिलाई यस पटक मुक्ति दिनुपछाडिका विचारशील अभिप्रायहरू र उत्कट प्रत्याशालाई कसैले बुझ्न सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ