परमेश्वरको कार्य र मानिसको अभ्यास
मानिसको बीचमा परमेश्वरले गर्ने काम मानिसबाट अलग रहन सक्दैन, किनभने मानिस नै यो कामको लक्ष्य र परमेश्वरले बनाउनुभएको एउटै मात्र प्राणी हो, जसले परमेश्वरको साक्षी दिन सक्छ। मानिसको जीवन र मानिसका सबै क्रियाकलापहरूलाई परमेश्वरबाट अलग गर्न सकिँदैन र यी सबै परमेश्वरका हातद्वारा नियन्त्रित छन् र कुनै पनि व्यक्ति परमेश्वरबाट स्वतन्त्र रहेर अस्तित्वमा रहन सक्दैन भनेर समेत भन्न सकिन्छ। यसलाई कसैले पनि इन्कार गर्न सक्दैन, किनभने यो एउटा तथ्य हो। परमेश्वरले गर्नुहुने सबै कुरा मानवजातिको फाइदाको लागि हुन् र यी शैतानका युक्तिहरूका विरुद्ध निर्देशित छन्। मानिसलाई चाहिने सबै कुरा परमेश्वरबाट आउँछन् र मानिसको जीवनको स्रोत परमेश्वर नै हुनुहुन्छ। तसर्थ, मानिस परमेश्वरबाट अलग हुनै सक्दैन। यसको साथै, मानिसबाट अलग हुने परमेश्वरको कुनै अभिप्राय कहिल्यै रहेको छैन। परमेश्वरले गर्नुहुने काम सारा मानवजातिको खातिर हो र उहाँका विचारहरू सँधै दयालु छन्। त्यसो भए, मानिसको लागि परमेश्वरको काम र परमेश्वरका विचारहरू (अर्थात् परमेश्वरका अभिप्राय) दुवै नै मानिसले जान्नुपर्ने “दर्शनहरू” हुन्। त्यस्ता दर्शनहरू परमेश्वरको व्यवस्थापन, र मानिसले गर्न नसक्ने काम पनि हुन्। यसबीच, आफ्नो कामको अवधिमा परमेश्वरले मानिसलाई गर्ने मागहरूलाईमानिसको “अभ्यास” भनिन्छ। दर्शनहरू परमेश्वर स्वयमका काम हुन् वा ती मानवजातिप्रतिको उहाँका अभिप्राय वा उहाँको कामका उद्देश्यहरू र महत्त्व हुन्। दर्शनहरूलाई व्यवस्थापनको भाग पनि भन्न सकिन्छ, किनभने यो व्यवस्थापन परमेश्वरको काम हो र यो मानिसप्रति निर्देशित छ, जसको अर्थ यो, परमेश्वरले मानिसको बीचमा गर्नुहुने काम हो भन्ने हुन्छ। यो काम त्यो प्रमाण र मार्ग हो जसद्वारा मानिसले परमेश्वरलाई चिन्छ र यो, मानिसको लागि सबैभन्दा धेरै महत्त्वको छ। यदि मानिसहरूले परमेश्वरको कार्यको ज्ञानमा ध्यान दिनुको सट्टा, परमेश्वरमाथिको विश्वासका धर्मसिद्धान्तहरू वा सानातिना महत्त्वहीन विवरणहरूमा मात्रै ध्यान दिन्छन् भने, तिनीहरूले परमेश्वरलाई चिन्नेछैनन् र यसको साथै, तिनीहरू परमेश्वरका अभिप्रायअनुरूप हुनेछैनन्। परमेश्वरसम्बन्धी मानिसको ज्ञानको लागि अत्यन्तै उपयोगी परमेश्वरको कामलाई दर्शनहरू भनिन्छ। परमेश्वरको काम, परमेश्वरका अभिप्राय र परमेश्वरको कामका लक्ष्यहरू र महत्त्व नै यी दर्शनहरू हुन्; ती सबै मानिसको लागि लाभदायक छन्। अभ्यासले मानिसद्वारा गरिनुपर्ने, परमेश्वरलाई पछ्याउने सृष्टि गरिएका प्राणीहरूद्वारा गरिनुपर्ने कुरालाई जनाउँछ र यो मानिसको कर्तव्य पनि हो। मानिसले के गर्नुपर्छ भन्ने कुरा मानिसले सुरुदेखि नै बुझेको कुरा होइन तर आफ्नो कामको अवधिमा परमेश्वरले मानिसलाई दिनुभएका मागहरू नै हुन्। परमेश्वरले कार्य गर्ने क्रममा यी मागहरू क्रमिक रूपमा अझै गहन र अझै उच्च बन्छन्। उदाहरणको लागि, व्यवस्थाको युगमा मानिसले व्यवस्थालाई पछ्याउनुपर्थ्यो र अनुग्रहको युगमा मानिसले क्रूसलाई बोक्नुपर्थ्यो। राज्यको युग फरक छ: मानिसलाई दिइएका मागहरू व्यवस्थाको युग र अनुग्रहको युगको भन्दा उच्च छन्। दर्शनहरू जति उच्च हुँदै जान्छन्, मानिसलाई दिइएका मागहरू त्यति नै उच्च हुँदै जान्छन् र अझै स्पष्ट र अझै व्यावहारिक हुँदै जान्छन्। त्यसरी नै, दर्शनहरू पनि बढ्दो रूपमा व्यावहारिक हुँदै जान्छन्। यी धेरै वास्तविक दर्शनहरू परमेश्वरप्रतिको मानिसको समर्पणसँग मात्रै अनुकूल छैनन् तर परमेश्वरसम्बन्धी उसको ज्ञानसँग अझै अनुकूल छन्।
अघिल्ला युगहरूको तुलनामा, राज्यको युगको अवधिमा परमेश्वरको काम अझ बढी वास्तविक, मानिसको सार-तत्व र उसका स्वभाव परिवर्तनहरूप्रति अझै बढी निर्देशित र उहाँलाई पछ्याउनेहरू सबैका खातिर परमेश्वर स्वयमको साक्षी दिन अझै बढी सक्षम छ। अर्थात, राज्यको युगको अवधिमा उहाँले काम गर्ने क्रममा, परमेश्वरले आफैलाई मानिसकहाँ विगतको कुनै पनि समयमा भन्दा बढी प्रकट गर्नुहुन्छ, जसको अर्थ मानिसले जान्नुपर्ने दर्शनहरू कुनै पनि अघिल्लो युगको भन्दा उच्च छन् भन्ने हुन्छ। मानिसको बीचमा परमेश्वरले गर्नुहुने काम अभूतपूर्व क्षेत्रमा प्रवेश गरेको हुनाले, राज्यको युगको अवधिमा मानिसले जानेका दर्शनहरू सम्पूर्ण व्यवस्थापनको कार्यभरिमा नै सबैभन्दा उच्च छन्। परमेश्वरको कार्य अभूतपूर्व क्षेत्रमा प्रवेश गरेको छ र त्यसैले मानिसले जान्नुपर्ने दर्शनहरू सम्पूर्ण दर्शनहरूमा सबैभन्दा उच्च बनेका छन् र यसको परिणामस्वरूप मानिसले गर्ने अभ्यास पनि अघिल्लो जुनसुकै युगको भन्दा उच्च छ, किनभने मानिसको अभ्यास दर्शनहरूसँगै परिवर्तन हुन्छ र दर्शनहरूको सिद्धता मानिसलाई दिइएका मागहरूको सिद्धताको पनि सङ्केत हो। परमेश्वरका सबै व्यवस्थापन रोकिनेबित्तिकै, मानिसको अभ्यास पनि रोकिन्छ र परमेश्वरको कामविना, विगत समयका धर्मसिद्धान्तलाई पालन गर्नेबाहेक मानिससँग अरू कुनै विकल्प रहनेछैन, अन्यथा फर्कने ठाउँ कहीँ पनि हुनेछैन। नयाँ दर्शनहरूविना, मानिसद्वारा गरिने कुनै नयाँ अभ्यास हुनेछैन; पूर्ण दर्शनहरूविना, मानिसद्वारा गरिने कुनै सिद्ध अभ्यास हुनेछैन; उच्च दर्शनहरूविना, मानिसद्वारा गरिने कुनै उच्च अभ्यास हुनेछैन। मानिसको अभ्यास परमेश्वरका पाइलाहरूसँगै परिवर्तन हुन्छ अनि सोहीअनुरूप, मानिसका ज्ञान र अनुभव पनि परमेश्वरको कार्यसँगै परिवर्तन हुन्छन्। मानिस जति सक्षम भए तापनि, ऊ परमेश्वरबाट अलग रहन सक्दैन र यदि परमेश्वरले एक क्षणको लागि मात्रै भए पनि काम गर्न छोड्नुभयो भने, मानिस उहाँको क्रोधबाट तुरुन्तै मर्नेथियो। घमण्ड गर्नको लागि मानिससँग केही पनि छैन, किनभने मानिसको ज्ञान आज जति नै उच्च किन नहोस्, उसका अनुभवहरू जति नै प्रगाढ किन नहोऊन्, ऊ परमेश्वरको कामबाट अलग रहन सक्दैन—किनभने मानिसको अभ्यास र परमेश्वरमाथिको आफ्नो विश्वासमा उसले खोज्नुपर्ने कुरालाई दर्शनहरूबाट अलग गर्न सकिँदैन। परमेश्वरको कार्यको हरेक घटनामा, मानिसले जान्नुपर्ने दर्शनहरू छन् र यीनै कुराहरूलाई पछ्याउँदै, मानिसलाई उचित मागहरू दिइन्छ। जगको रूपमा रहेका यी दर्शनहरूविना, मानिस अभ्यास गर्न असक्षम हुने थियो, न त ऊ अटल रूपमा परमेश्वरलाई पछ्याउन नै सक्षम हुने थियो। यदि मानिसले परमेश्वरलाई चिन्दैन वा परमेश्वरका अभिप्राय बुझ्दैन भने, मानिसले गर्ने सबै कुरा व्यर्थ र परमेश्वरद्वारा अनुमोदन हुन असक्षम हुन्छ। मानिसका वरदानहरू जति नै प्रशस्त भए पनि, परमेश्वरको काम र परमेश्वरको अगुवाइबाट ऊ अझै अलग रहन सक्दैन। मानिसका कार्यहरू जति नै असल भए पनि वा मानिसले जति नै कामहरू गरे पनि, तिनले परमेश्वरको कार्यलाई अझै प्रतिस्थापन गर्न सक्दैनन्। त्यसैले, कुनै पनि परिस्थितिमा मानिसको अभ्यासलाई दर्शनहरूबाट अलग गर्न सकिँदैन। नयाँ दर्शनहरूलाई स्वीकार नगर्नेहरूसँग कुनै नयाँ अभ्यास हुँदैन। तिनीहरूको अभ्यासले सत्यतासँग कुनै सम्बन्ध राख्दैन किनभने तिनीहरू धर्मसिद्धान्तअनुसार चल्दछन् र तिनीहरूले मृत व्यवस्थालाई छाड्दैनन्; तिनीहरूमा कुनै नयाँ दर्शनहरू हुँदैन, र यसको परिणामस्वरूप, तिनीहरूले नयाँ युगको कुनै पनि कुरालाई अभ्यास गर्दैनन्। तिनीहरूले दर्शनहरूलाई गुमाएका छन् र यस क्रममा तिनीहरूले पवित्र आत्माको कामलाई पनि गुमाएका छन् र तिनीहरूले सत्यतालाई गुमाएका छन्। सत्यताविहीनहरू मूर्खताका सन्तान हुन्, तिनीहरू शैतानका मूर्तरूप हुन्। कुनै व्यक्ति चाहे जस्तोसुकै प्रकारको व्यक्ति होस्, तिनीहरू परमेश्वरको कामका दर्शनहरूविहीन हुन सक्दैनन् र पवित्र आत्माको उपस्थितिविहीन हुन सक्दैनन्; कुनै व्यक्तिले दर्शनहरूलाई गुमाउनेबित्तिकै, ऊ पातालमा झरिहाल्छ र अन्धकारको बीचमा जिउँछ। दर्शनहरूविनाका मानिसहरू परमेश्वरलाई मूर्खतापूर्ण तरिकाले पछ्याउनेहरू हुन्, तिनीहरू त्यस्ता हुन् जसमा पवित्र आत्माको काम हुँदैन र तिनीहरू नरकमा जिइरहेका हुन्छन्। त्यस्ता मानिसहरूले सत्यताको खोजी गर्दैनन्, बरु परमेश्वरको नामलाई साइनबोर्ड जस्तै झुण्ड्याउँछन्। पवित्र आत्माको कामलाई नचिन्नेहरू, देहधारी परमेश्वरलाई नचिन्नेहरू, परमेश्वरको व्यवस्थापनको सम्पूर्णताका तीन चरणको कार्यलाई नजान्नेहरू—तिनीहरूलाई दर्शनहरूबारे थाहा छैन, त्यसैले तिनीहरू सत्यताविहीन छन्। अनि सत्यता नभएकाहरू सबै दुष्ट काम गर्नेहरू होइनन् र? सत्यतालाई अभ्यास गर्न इच्छुकहरू, परमेश्वरको ज्ञानको खोजी गर्न इच्छुकहरू र परमेश्वरसँग साँचो रूपमा सहकार्य गर्नेहरू ती मानिसहरू हुन् जसका लागि दर्शनहरूले जगको रूपमा काम गर्छन्। तिनीहरूलाई परमेश्वरले स्वीकार गर्नुहुन्छ किनभने तिनीहरूले परमेश्वरसँग सहकार्य गर्छन् र मानिसले अभ्यास गर्नुपर्ने सहकार्य यही नै हो।
दर्शनहरूमा अभ्यास गर्नुपर्ने धेरै मार्गहरू समावेश छन्। मानिसले जान्नुपर्ने परमेश्वरको काम भएजस्तै, मानिसबाट गरिने व्यवहारिक मागहरू पनि दर्शनहरूभित्र समावेश छन्। विगतमा, विभिन्न स्थानमा आयोजना गरिने विशेष भेलाहरू वा भव्य भेलाहरूमा, अभ्यासको मार्गको एउटै पक्षबारे मात्रै बोलियो। त्यस्तो अभ्यास अनुग्रहको युगको अवधिमा व्यवहारमा उतार्नुपर्ने अभ्यास थियो र परमेश्वरसम्बन्धी ज्ञानसँग यसले मुस्किलले सम्बन्ध राख्थ्यो, किनभने अनुग्रहको युगको दर्शन येशूको क्रूसीकरणको दर्शन मात्रै थियो र अरू कुनै ठूला दर्शनहरू थिएनन्। क्रूसीकरणद्वारा उहाँले गर्नुभएको मानवजातिको छुटकाराको कामभन्दा बढी कुरा मानिसले जान्नुहुँदैन भन्ने मानिन्थ्यो र अनुग्रहको युगको अवधिमा, मानिसले जान्नुपर्ने अरू कुनै पनि दर्शनहरू थिएनन्। यसरी, मानिससँग परमेश्वरसम्बन्धी थोरै मात्रै ज्ञान थियो र येशूको प्रेम र करुणासम्बन्धी ज्ञानबाहेक, उसले अभ्यास गर्नका लागि थोरै सरल र दयनीय कुराहरू अर्थात् आजका कुराहरूभन्दा निकै टाढाका कुराहरू मात्रै थिए। विगतमा, मानिसको भेलाले जस्तोसुकै आकार लिए पनि, परमेश्वरको कामको व्यवहारिक ज्ञानबारे बताउन ऊ असक्षम थियो, मानिस प्रवेश गर्नुपर्ने सबैभन्दा उपयुक्त अभ्यासको मार्ग कुन हो भन्ने कुरालाई कसैले स्पष्ट रूपमा बताउन सक्नु त परै जाओस्। मानिसले सहनशीलता र धैर्यताको जगमा केही सरल विवरणहरू मात्रै थप्यो; उसको अभ्यासको सारमा कुनै परिवर्तन नै थिएन, किनभने उही युगमा परमेश्वरले कुनै पनि नयाँ काम गर्नुभएन र मानिसलाई उहाँले गर्नुभएका मागहरू सहनशीलता र धैर्यता वा क्रूस उठाउने कार्य मात्रै थिए। त्यस्ता अभ्यासहरूबाहेक, येशूको क्रूसीकरणभन्दा अरू कुनै उच्च दर्शनहरू थिएनन्। विगतमा, अरू दर्शनहरूबारे कुनै उल्लेख गरिएन किनभने परमेश्वरले त्यति धेरै काम गर्नुभएन, किनभने उहाँले मानिसलाई सीमित मागहरू मात्रै गर्नुभयो। यसरी, मानिसले जेसुकै गरे तापनि, यी सीमाहरूलाई उल्लङ्घन गर्न ऊ असक्षम थियो, जुन सीमाहरू मानिसले अभ्यास गर्नुपर्ने केही सरल र सतही कुराहरूबाहेक केही पनि थिएनन्। आज म अरू दर्शनहरूबारे बताउँछु किनभने आज धेरै काम गरिएको छ, जुन काम व्यवस्थाको युग र अनुग्रहको युगको भन्दा धेरै गुणा बढी छ। मानिसलाई दिइएका मागहरू पनि विगतका युगहरूका भन्दा कैयौं गुणा बढी छन्। यदि मानिस त्यस किसिमको कार्यलाई बुझ्न पूर्ण रूपमा असमर्थ छ भने, यसमा त्यति ठूलो महत्त्व हुँदैन; यदि मानिसले यसको लागि आफ्नो सम्पूर्ण जीवनभरिको प्रयासलाई समर्पित गर्दैन भने, त्यस्ता कार्यलाई पूर्णरूपमा बुझ्न उसलाई कठिनाइ हुनेछ भन्न सकिन्छ। विजयको काममा, अभ्यासको मार्ग बारे मात्रै कुरा गर्नुले मानिसको विजयलाई असम्भव तुल्याउनेथियो। मानिसलाई कुनै पनि मागहरू नदिइकन दर्शनहरूबारे मात्रै कुरा गरियो भने, यसले पनि मानिसको विजयलाई असम्भव नै तुल्याउनेथियो। यदि अभ्यासको मार्गबाहेक अरू केहीबारे बोलिएन भने, मानिसको मुख्य कमजोरीलाई प्रहार गर्नु वा मानिसका धारणाहरूलाई तोड्नु असम्भव हुनेथियो र मानिसलाई पूर्ण रूपले विजय गर्नु पनि असम्भव नै हुनेथियो। मानिसको विजयको मुख्य औजार दर्शनहरू नै हुन्, तैपनि यदि दर्शनहरूबाहेक अभ्यासको कुनै मार्ग थिएन भने, मानिसले पछ्याउनको लागि कुनै बाटो हुने थिएन, उसँग प्रवेशका कुनै माध्यमहरू हुनु त परै जाओस्। सुरुदेखि अन्तिमसम्मै परमेश्वरको कामको सिद्धान्त यही नै रहेको छ: दर्शनहरूमा ती कुरा छन् जसलाई अभ्यास गर्न सकिन्छ र अभ्यासबाहेक थप रूपमा दर्शनहरू पनि छन्। मानिसको जीवन र उसको स्वभाव दुवैमा हुने परिवर्तनहरूको तह दर्शनहरूको परिवर्तनसँग साथ-साथै रहन्छ। यदि मानिस आफ्नै प्रयासहरूमा मात्रै भर पर्नुपरेको थियो भने, उसले कुनै पनि ठूलो तहको परिवर्तन हासिल गर्न असम्भव हुनेथियो। दर्शनहरूले परमेश्वर स्वयमको काम र परमेश्वरको व्यवस्थापनबारे बताउँछन्। अभ्यासले मानिसको अभ्यासको मार्ग र मानिसको अस्तित्वको बाटोलाई जनाउँछ; परमेश्वरको सबै व्यवस्थापनमा, दर्शनहरू र अभ्यासबीचको सम्बन्ध परमेश्वर र मानिसबीचको सम्बन्ध हो। यदि दर्शनहरूलाई हटाइयो भने, वा यदि अभ्यासबारे कुरा नगरिकन तिनीबारे बताइयो भने, वा यदि दर्शनहरू मात्रै थिए र मानिसका अभ्यासलाई हटाइएको थियो भने, त्यस्ता कुराहरूलाई परमेश्वरको व्यवस्थापनको रूपमा लिन सकिँदैन, मानवजातिको लागि परमेश्वरको कार्य गरिएको छ भनेर भन्न सक्ने त परै जाओस्; यसरी, मानिसको कर्तव्यलाई हटाइने मात्रै होइन तर यो परमेश्वरको कामको उद्देश्यको पनि इन्कार हुनेथियो। यदि, सुरुदेखि अन्तिमसम्मै, परमेश्वरको कामको संलग्नताविना नै मानिसले अभ्यास मात्रै गर्नु आवश्यक थियो, साथै, मानिसले परमेश्वरको कामबारे जान्नु आवश्यक थिएन भने, त्यस्तो काम अझै विरलै परमेश्वरको व्यवस्थापन भन्न सकिन्थ्यो। यदि मानिसले परमेश्वरलाई चिनेको थिएन र परमेश्वरका अभिप्रायबारे अनजान थियो अनि उसले आफ्नो अभ्यासलाई अस्पष्ट र अमूर्त रूपमा अन्धाधुन्ध अघि बढाउँथ्यो भने, ऊ कहिल्यै पनि पूर्ण रूपमा योग्य सृष्टि गरिएको प्राणी बन्नेथिएन। त्यसकारण, यी दुवै कुरा अपरिहार्य छन्। यदि परमेश्वरको काम मात्रै थियो, भन्नुको अर्थ यदि दर्शनहरू मात्रै थिए र मानिसद्वारा कुनै सहकार्य वा अभ्यास गरिएको थिएन भने, त्यस्ता कुराहरूलाई परमेश्वरको व्यवस्थापन भन्न सकिँदैन। यदि मानिसको अभ्यास र प्रवेश मात्रै थिए भने, मानिस जति उच्च मार्गमा प्रवेश गरे तापनि, यो पनि अस्वीकार्य नै हुनेथियो। मानिसको प्रवेश काम र दर्शनहरूसँगै क्रमिक रूपमा परिवर्तन हुनुपर्छ; यो झट्ट परिवर्तन हुन सक्दैन। मानिसको अभ्यासका सिद्धान्तहरू स्वतन्त्र र बन्धनमुक्त छैनन् तर ती निश्चित सीमाभित्र तय गरिएका हुन्छन्। त्यस्ता सिद्धान्तहरू कामको दर्शनहरूसँगै परिवर्तन हुन्छन्। त्यसकारण, परमेश्वरको व्यवस्थापन आखिरमा परमेश्वरको काम र मानिसको अभ्यासमा नै जोडिन्छ।
मानिसको कारणले गर्दा मात्रै व्यवस्थापनको कार्य आयो, जसको अर्थ मानवजातिको अस्तित्वको कारणले मात्रै यो खडा भयो। मानवजाति हुनुभन्दा पहिले वा सुरुमा, जब स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गरियो, त्यो बेला कुनै व्यवस्थापन थिएन। यदि, परमेश्वरको सारा काममा, मानिसको लागि लाभदायक कुनै अभ्यास थिएन भने, अर्थात् भ्रष्ट मानवजातिलाई परमेश्वरले उचित मागहरू नदिनुभएको भए (यदि, परमेश्वरले गर्नुभएको काममा, मानिसको अभ्यासको लागि कुनै उपयुक्त मार्ग थिएन भने), यो कार्यलाई परमेश्वरको व्यवस्थापन भनेर भन्न सकिने थिएन। यदि परमेश्वरको कार्यको सम्पूर्णतामा भ्रष्ट मानवजातिलाई तिनीहरूले आफ्नो अभ्यासलाई कसरी अघि बढाउनुपर्छ भन्ने बारेमा बताउने कार्य मात्रै समावेश थियो भने, र परमेश्वरले आफ्नो कुनै पनि कार्य-कुशलतालाई अघि नबढाउनुभएको भए, र आफ्नो सर्व-शक्ति वा बुद्धिको एउटा भाग पनि प्रदर्शन नगर्नुभएको भए, परमेश्वरले मानिसलाई दिनुभएको मागहरू जति उच्च भए पनि, मानिसको बीचमा परमेश्वर जति लामो समय बस्नुभएको भए तापनि, मानिसले परमेश्वरको स्वभावको बारेमा केही पनि जान्ने थिएन; यदि त्यसो भएको भए, यस प्रकारको कामलाई परमेश्वरको व्यवस्थापन भन्न अझै अयोग्य हुनेथियो। सरल रूपमा भन्दा, परमेश्वरको व्यवस्थापनको काम भनेको परमेश्वरले गर्नुभएका, साथै परमेश्वरद्वारा प्राप्त गरिएकाहरूले परमेश्वरको अगुवाइमा गरेका सबै काम हो। त्यस प्रकारको कामलाई व्यवस्थापनको रूपमा सार-सङ्क्षेप गर्न सकिन्छ। अर्को शब्दमा भन्दा, मानिसको बीचमा परमेश्वरले गर्नुहुने काम, साथै उहाँलाई पछ्याउनेहरूले उहाँसँग गर्ने सहकार्य सबैलाई समग्रमा व्यवस्थापन भनिन्छ। यहाँ, परमेश्वरको कार्यलाई दर्शनहरू भनिएको छ र मानिसको सहकार्यलाई अभ्यास भनिएको छ। परमेश्वरको कार्य जति उच्च छ (अर्थात् दर्शनहरू जति उच्च छन्), परमेश्वरको स्वभावलाई मानिसको लागि त्यति नै सरल तुल्याइन्छ, यो मानिसका धारणाहरूसँग त्यति नै अमिल्दो हुन्छ र मानिसको अभ्यास र सहकार्य त्यति नै उच्च बन्छ। मानिसलाई दिइएका मापदण्डहरू जति उच्च छन्, मानिसका धारणाहरूसँग परमेश्वरको कार्य त्यति नै अमिल्दो हुन्छ, जसको परिणामस्वरूप, मानिसका परीक्षाहरू र उसले पूरा गर्नुपर्ने मापदण्डहरू पनि उच्च बन्छन्। यो कामको समाप्तिमा, सारा दर्शनहरू पूरा गरिएका हुनेछन् र मानिसले जुन कुरालाई अभ्यास गर्नुपर्ने छ त्यो सिद्धताको शिखरमा पुगेको हुनेछ। यो हरेकलाई यसका प्रकारअनुसार वर्गीकरण गरिने समय पनि हुनेछ, किनभने मानिसले जान्नु आवश्यक कुरा मानिसलाई देखाइएको हुनेछ। त्यसकारण, जब दर्शनहरू चरम विन्दुमा पुग्छन्, सोहीअनुरूप काम पनि यसको समाप्तिमा पुग्नेछ र मानिसको अभ्यास पनि यसको शीर्ष विन्दुमा पुगेको हुनेछ। मानिसको अभ्यास परमेश्वरको काममा आधारित हुन्छ र परमेश्वरको व्यवस्थापन मानिसको अभ्यास र सहकार्यमा मात्रै पूर्ण रूपमा व्यक्त हुन्छ। मानिस परमेश्वरको कामको प्रदर्शन-नमुना र परमेश्वरको सारा व्यवस्थापन कार्यको लक्ष्य, साथै परमेश्वरको सम्पूर्ण व्यवस्थापनको परिणाम पनि हो। यदि परमेश्वरले मानिसको सहकार्यविना नै काम गर्नुभयो भने, उहाँको सम्पूर्ण कार्यको उत्कृष्टताको रूपमा रहन सक्ने केही पनि हुनेथिएन र परमेश्वरको व्यवस्थापनको अलिकति पनि महत्त्व हुनेथिएन। परमेश्वरको कामको अतिरिक्त, आफ्नो कामलाई व्यक्त गर्न र यसको सर्व-शक्ति र बुद्धिलाई प्रमाणित गर्नको लागि परमेश्वरले उचित पात्रहरूलाई छनौट गरेर मात्रै, आफ्नो व्यवस्थापनको उद्देश्यलाई पूरा गर्न र शैतानलाई पूर्ण रूपमा पराजित गर्न यी सबै कार्यको प्रयोग गर्नुको आफ्नो लक्ष्यलाई हासिल गर्न सक्नुहुन्छ। त्यसकारण, मानिस परमेश्वरको व्यवस्थापनको कामको अपरिहार्य भाग हो र परमेश्वरको व्यवस्थापनलाई फल फलाउने र यसको अन्तिम लक्ष्यलाई हासिल गर्ने बनाउन सक्ने मानिस मात्रै हो; मानिसबाहेक, अरू कुनै पनि प्राणीले त्यस किसिमको भूमिकालाई निर्वाह गर्न सक्दैन। यदि मानिस परमेश्वरको व्यवस्थापन कार्यको साँचो उत्कृष्टता हुनु छ भने, भ्रष्ट मानवजातिको विद्रोहीपनलाई पूर्ण रूपमा हटाइनुपर्छ। यसको लागि के आवश्यक पर्छ भने, मानिसलाई फरक-फरक समयको लागि उपयुक्त अभ्यास दिइनुपर्छ र परमेश्वरले मानिसको बीचमा त्यसैअनुरूपको कार्य गर्नुपर्छ। यसरी मात्रै आखिरमा मानिसहरूको त्यो समूहलाई प्राप्त गरिनेछ जो परमेश्वरको व्यवस्थापन कार्यको उत्कृष्टता हुन्। परमेश्वरको कार्यद्वारा मात्रै मानिसको बीचमा परमेश्वरले गर्नुभएको कार्यले परमेश्वरको गवाही दिन सक्दैन; त्यस्तो गवाही हासिल गर्न उहाँको कामको निम्ति उपयुक्त जीवित मानवजातिको आवश्यकता पर्छ। परमेश्वरले सुरुमा यी मानिसहरूमा काम गर्नुहुन्छ, त्यसपछि त्यसद्वारा उहाँको कामलाई व्यक्त गरिनेछ र यसरी उहाँको त्यस्तो गवाहीलाई सृष्टि गरिएका प्राणीहरूमाझ वहन गरिनेछ र यसमा परमेश्वरले आफ्नो कामको लक्ष्यलाई हासिल गर्नुभएको हुनेछ। शैतानलाई हराउनको लागि परमेश्वरले एकलै काम गर्नुहुन्न किनभने उहाँले सारा सृष्टि गरिएका प्राणीहरूमाझ आफ्नो गवाही आफै दिन सक्नुहुन्न। यदि उहाँले त्यसो गर्नुभयो भने, मानिसलाई पूर्ण रूपमा विश्वस्त तुल्याउनु असम्भव हुनेथियो, त्यसकारण त्यसलाई जित्नका लागि परमेश्वरले मानिसमा काम गर्नैपर्छ, त्यसपछि मात्रै उहाँले सारा सृष्टि गरिएका प्राणीहरूमाझ आफ्नो गवाही प्राप्त गर्न सक्नुहुनेछ। यदि मानिसको सहकार्यविना परमेश्वरले मात्रै काम गर्नुभयो भने, वा यदि मानिसले सहकार्य गर्नु आवश्यक थिएन भने, मानिसले परमेश्वरको स्वभावलाई कहिल्यै पनि जान्न सक्नेथिएन र ऊ परमेश्वरका अभिप्रायबारे सदासर्वदा नै अनभिज्ञ हुनेथियो; त्यसपछि परमेश्वरको कामलाई परमेश्वरको व्यवस्थापनको काम भनेर भन्न सकिने थिएन। यदि परमेश्वरको कामलाई नबुझीकन मानिसले आफै प्रयास गरेको र खोजी गरेको र कठिन परिश्रम गरेको भए, मानिसले मजाक गरिरहेको हुनेथियो। पवित्र आत्माको कार्यविना, मानिसले गर्ने कुरा शैतानकै हुन्छ, त्यो विद्रोही र दुष्कर्म हुन्छ; भ्रष्ट मानिसले गर्ने सबै कुरामा शैतानलाई प्रकट गरिन्छ र परमेश्वरको अनुरूप केही पनि हुँदैन र मानिसले गर्ने सबै कुरा शैतानको प्रकटीकरण नै हुन्छ। बोलिएका सबै कुरामा दर्शनहरू र अभ्यासबाट कुनै पनि कुरा अलग छैनन्। दर्शनहरूका जगमा मानिसले अभ्यास र समर्पणको मार्ग भेट्टाउँछ, ताकि उसले आफ्ना धारणाहरूलाई पन्छ्याएर विगतमा उसँग नभएका कुराहरूलाई प्राप्त गर्न सकोस्। मानिसले उहाँसँग सहकार्य गरोस्, उहाँका मागहरूमा मानिस पूर्ण रूपमा समर्पित होस् भनेर परमेश्वरले माग गर्नुहुन्छ र मानिसले परमेश्वर स्वयमले गर्नुभएको कामलाई हेर्न, परमेश्वरको सर्वशक्तिमान् शक्तिलाई अनुभव गर्न र परमेश्वरको स्वभावलाई जान्नको लागि अनुरोध गर्छ। सारांशमा, यी परमेश्वरका व्यवस्थापन हुन्। मानिससँगको परमेश्वरको मिलाप नै व्यवस्थापन हो र यो सबैभन्दा ठूलो व्यवस्थापन हो।
दर्शनहरूसँग सम्बन्धित कुराले मुख्य रूपमा परमेश्वर स्वयम्को कामलाई जनाउँछ, र अभ्याससँग सम्बन्धित कुरा मानिसद्वारा गरिनुपर्छ र परमेश्वरसँग यसको कुनै सम्बन्ध हुँदैन। परमेश्वरको काम परमेश्वर स्वयम्द्वारा पूरा गरिन्छ, र मानिसको अभ्यास मानिस स्वयम्द्वारा सम्पन्न गरिन्छ। परमेश्वर स्वयम्द्वारा गरिनुपर्ने कुरा मानिसद्वारा गरिनुपर्दैन, र मानिसद्वारा अभ्यास गरिनुपर्ने कुरा परमेश्वरसँग असम्बन्धित हुन्छ। परमेश्वरको काम उहाँको आफ्नै सेवकाइ हो र मानिससँग यसको कुनै सम्बन्ध हुँदैन। यो काम मानिसद्वारा गरिनुपर्दैन, र यसबाहेक, मानिस परमेश्वरद्वारा गरिनुपर्ने काम गर्न असक्षम हुन्छ। मानिसले अभ्यास गर्नुपर्ने कुरा मानिसद्वारा नै सम्पन्न गरिनुपर्छ, चाहे त्यो उसको जीवनको बलिदान नै किन नहोस्, वा आफ्नो गवाहीमा दृढ रहनका लागि उसलाई शैतानको हातमा सुम्पिने कुरा नै किन नहोस्—यो सबै मानिसद्वारा नै सम्पन्न गरिनुपर्छ। परमेश्वरले गर्नुपर्ने सबै काम उहाँ स्वयम्ले पूरा गर्नुहुन्छ, र मानिसले गर्नुपर्ने कुरा मानिसलाई देखाइन्छ, र बाँकी काम गर्न मानिसका लागि छोडिन्छ। परमेश्वर अतिरिक्त काम गर्नुहुन्न; उहाँ आफ्नो सेवकाइभित्रको काम मात्रै गर्नुहुन्छ, मानिसलाई मार्ग मात्रै देखाउनुहुन्छ, मार्ग खोल्ने काम मात्रै गर्नुहुन्छ, र मार्ग तयार पार्ने काम गर्नुहुन्न। यो कुरा सबैले बुझ्नुपर्छ। सत्यतालाई व्यवहारमा लागु गर्नु भनेको परमेश्वरका वचनहरूलाई व्यवहारमा लागु गर्नु हो, र यो सबै मानिसको कर्तव्य हो, यो मानिसद्वारा गरिनुपर्ने कुरा हो, र परमेश्वरसँग यसको कुनै सरोकार हुँदैन। यदि मानिस परमेश्वरले पनि मानिसले जस्तै सत्यतामा कष्ट भोग्नुपर्छ र शोधन सहनुपर्छ भनी माग गर्छ भने, मानिस विद्रोही भइरहेको हुन्छ। परमेश्वरको काम भनेको उहाँको सेवकाइ निर्वाह गर्नु हो, र मानिसको कर्तव्य भनेको कुनै प्रतिरोधविना परमेश्वरको सबै मार्गदर्शनको अधीनमा रहनु हो। परमेश्वरले जुन तरिकाले काम गर्नुभए पनि वा उहाँ जुन तरिकाले जिउनुभए पनि, मानिसले जे हासिल गर्नुपर्छ त्यो पूरा गर्नु उसको दायित्व हो। परमेश्वर स्वयम्ले मात्रै मानिसबाट मागहरू गर्न सक्नुहुन्छ, भन्नुको मतलब, परमेश्वर स्वयम् मात्रै मानिसबाट मागहरू गर्न योग्य हुनुहुन्छ। मानिससँग पूर्ण रूपमा अधीनमा रहने र अभ्यास गर्नेबाहेक कुनै विकल्प हुनु हुँदैन र उसले अरू केही गर्नु हुँदैन; मानिसमा हुनुपर्ने समझ यही हो। परमेश्वर स्वयम्द्वारा गरिनुपर्ने काम पूरा भएपछि, मानिसले यसलाई चरणबद्ध रूपमा अनुभव गर्न आवश्यक हुन्छ। यदि, अन्त्यमा, परमेश्वरको सबै व्यवस्थापन पूरा गरिएपछि पनि, मानिसले अझै पनि परमेश्वरद्वारा माग गरिएको कुरा गरेको छैन भने, मानिसलाई दण्ड दिइनुपर्छ। यदि मानिसले परमेश्वरका मागहरू पूरा गर्दैन भने, यो मानिसको विद्रोहीपन हो; यसको अर्थ परमेश्वरले आफ्नो काम राम्रोसँग पूरा गर्नुभएको छैन भन्ने होइन। परमेश्वरका वचनहरूलाई व्यवहारमा लागु गर्न नसक्नेहरू, परमेश्वरका मागहरू पूरा गर्न नसक्नेहरू, र आफ्नो अर्पण दिन र आफ्नो कर्तव्य पूरा गर्न नसक्नेहरू सबै दण्डित हुनेछन्। आज, तिमीहरूले पूरा गर्नुपर्ने भनेको थप मागहरू नभई मानिसको कर्तव्य, र सबै मानिसले गर्नुपर्ने कार्य हो। यदि तिमीहरू आफ्नो कर्तव्य निर्वाह गर्न वा त्यो राम्ररी निर्वाह गर्न समेत असक्षम छौ भने, के तिमीहरू आफैमाथि समस्या निम्त्याइरहेका छैनौ र? के तिमीहरूले मृत्युलाई बोलाइरहेका छैनौ र? तिमीहरू कसरी अझै पनि भविष्य र प्रत्याशाहरू पाउने अपेक्षा गर्न सक्छौ? परमेश्वरको काम मानवजातिका खातिर गरिन्छ र मानिसको सहकार्य परमेश्वरको व्यवस्थापनका खातिर दिइन्छ। परमेश्वरले आफूले गर्नुपर्ने सबै कुरा गरिसक्नुभएपछि, मानिसले तनमन लगाएर आफ्नो अभ्यास गर्न र परमेश्वरसँग सहकार्य गर्न आवश्यक छ। परमेश्वरको काममा, मानिसले सक्दो गर्नुपर्छ, बफादारी देखाउनुपर्छ र विभिन्न धारणामा लिप्त हुनु वा निष्क्रिय बसेर मृत्यु पर्खिनुहुँदैन। परमेश्वर मानिसका लागि आफैलाई बलि चढाउन सक्नुहुन्छ भने, मानिस चाहिँ किन परमेश्वरलाई बफादारी देखाउन सक्दैन? मानिसप्रति परमेश्वर एउटै हृदय र मन लगाउनुहुन्छ भने, मानिस चाहिँ किन अलिकति सहकार्य गर्न सक्दैन? परमेश्वरले मानवजातिका लागि काम गर्नुहुन्छ भने, मानिस चाहिँ किन परमेश्वरको व्यवस्थापनका खातिर आफ्ना केही कर्तव्य निर्वाह गर्न सक्दैन? परमेश्वरको काम यहाँसम्म आइसकेको छ, तैपनि तिमीहरू हेर्छौ तर कदम चाल्दैनौ, तिमीहरू सुन्छौ तर हलचल गर्दैनौ। के यस्ता मानिसहरू अनन्त विनाशका पात्रहरू होइनन् र? परमेश्वरले आफ्नो सबै कुरा मानवजातिलाई अर्पित गरिसक्नुभएको छ, तर आज मानिस किन गम्भीरतापूर्वक केही कर्तव्य निर्वाह गर्न असमर्थ छ? परमेश्वरका लागि, उहाँको कार्य नै उहाँको पहिलो प्राथमिकता हो र उहाँको व्यवस्थापनको काम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मानिसका लागि, परमेश्वरका वचनहरू अभ्यास गर्नु र परमेश्वरका मागहरू पूरा गर्नु नै उसको पहिलो प्राथमिकता हो। तिमीहरू सबैले यो कुरा बुझ्नुपर्छ। तिमीहरूलाई बोलिएका वचनहरू तिमीहरूको मूल-तत्त्वभित्रै पुगेका छन्, र परमेश्वरको काम अभूतपूर्व क्षेत्रमा प्रवेश गरेको छ। धेरै मानिस अझै पनि यो मार्ग सत्य हो कि झूटो हो भनेर बुझ्दैनन्; तिनीहरू अझै पनि पर्खिरहेका र हेरिरहेका छन्, र आफ्नो कर्तव्य निर्वाह गरिरहेका छैनन्। बरु, तिनीहरू परमेश्वरको हरेक वचन र कार्यको जाँच गर्छन्, तिनीहरू उहाँ के खानुहुन्छ र के लगाउनुहुन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्छन्, र तिनीहरूका धारणाहरू झन्-झन् गम्भीर बन्दै जान्छन्। के त्यस्ता मानिसहरू व्यर्थमा बखेडा झिकिरहेका छैनन् र? त्यस्ता मानिसहरू कसरी परमेश्वरलाई खोज्ने मानिस हुन सक्छन्? अनि तिनीहरू कसरी परमेश्वरको अधीनमा रहने अभिप्राय भएका मानिस हुन सक्छन्? तिनीहरू आफ्नो अर्पण र कर्तव्यलाई ध्यानमा राख्दैनन्, बरु परमेश्वर कहाँ हुनुहुन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्छन्। तिनीहरू साँच्चै तिरस्कारयोग्य छन्! यदि मानिसले आफूले बुझ्नुपर्ने सबै कुरा बुझेको छ, र आफूले व्यवहारमा लागु गर्नुपर्ने सबै कुरालाई व्यवहारमा लागु गरेको छ भने, परमेश्वरले अवश्यै मानिसलाई आफ्ना आशिष्हरू प्रदान गर्नुहुनेछ, किनभने उहाँले मानिसबाट जे माग गर्नुहुन्छ त्यो मानिसको कर्तव्य हो, र त्यो मानिसद्वारा गरिनुपर्ने कुरा हो। यदि मानिस आफूले बुझ्नुपर्ने कुरा बोध गर्न असक्षम छ र आफूले व्यवहारमा लागु गर्नुपर्ने कुरालाई व्यवहारमा लागु गर्न असक्षम छ भने, मानिस दण्डित हुनेछ। परमेश्वरसँग सहकार्य नगर्नेहरू परमेश्वरसँग शत्रुतामा हुन्छन्, नयाँ काम स्वीकार नगर्नेहरूले स्पष्ट रूपमा त्यसको विरोधमा केही नगरे पनि, त्यस्ता मानिसहरू त्यसप्रति विरोधी मनोवृत्ति पाल्छन्। परमेश्वरद्वारा माग गरिएको सत्यतालाई व्यवहारमा लागु नगर्नेहरू सबैले पवित्र आत्माको कामबारे विशेष “चासो” राख्ने भए पनि त्यस्ता मानिसहरू जानाजानी परमेश्वरका वचनहरूको विरोध गर्ने र तीप्रति विद्रोही रहेका मानिस हुन्। जुन मानिसहरू आज्ञाकारी छैनन् वा अधीनमा रहँदैनन् तिनीहरू विद्रोही हुन्, र तिनीहरू परमेश्वरको विरोधमा हुन्छन्। आफ्नो कर्तव्य निर्वाह नगर्ने मानिसहरू ती हुन् जो परमेश्वरसँग सहकार्य गर्दैनन्, र परमेश्वरसँग सहकार्य नगर्ने मानिसहरू ती हुन् जो पवित्र आत्माको कामलाई स्वीकार गर्दैनन्।
जब परमेश्वरको काम एउटा निश्चित बिन्दुमा पुग्छ, र उहाँको व्यवस्थापन एउटा निश्चित बिन्दुमा पुग्छ, तब उहाँका अभिप्रायहरूअनुरूप हुनेहरू सबै उहाँका मागहरू पूरा गर्न सक्षम हुन्छन्। परमेश्वर आफ्नै मानकहरूअनुसार र मानिसले हासिल गर्न गर्न सक्ने कुराअनुसार मानिसबाट मागहरू गर्नुहुन्छ। उहाँको व्यवस्थापनबारे कुरा गर्नुपर्दा, उहाँ मानिसलाई मार्ग पनि औँल्याइदिनुहुन्छ र मानिसलाई अस्तित्वको मार्ग प्रदान गर्नुहुन्छ। परमेश्वरको व्यवस्थापन र मानिसको अभ्यास दुवै एउटै चरणका काम हुन् र सँगसँगै गरिन्छन्। परमेश्वरको व्यवस्थापनको कुरा मानिसको स्वभावमा हुने परिवर्तनहरूसँग सम्बन्धित हुन्छ, र मानिसद्वारा गरिनुपर्ने कुरा र मानिसको स्वभावमा हुने परिवर्तनहरूको कुरा परमेश्वरको कामसँग सम्बन्धित हुन्छ; यी दुईलाई कुनै पनि समयमा अलग गर्न सकिँदैन। मानिसको अभ्यास चरणबद्ध रूपमा परिवर्तन भइरहेको हुन्छ। किनभने मानिसप्रति परमेश्वरका मागहरू पनि परिवर्तन भइरहेका हुन्छन्, र किनभने परमेश्वरको काम सधैँ परिवर्तन भइरहेको र अघि बढिरहेको हुन्छ। यदि मानिसको अभ्यास प्रावधानहरूमा फसेर रहन्छ भने, यसले ऊ परमेश्वरको काम र मार्गदर्शनबाट वञ्चित छ भन्ने प्रमाणित गर्छ; यदि मानिसको अभ्यास कहिल्यै परिवर्तन हुँदैन वा अझ गहिराइमा पुग्दैन भने, यसले मानिसको अभ्यास मानिसको इच्छाअनुसार गरिन्छ, र यो गैर-सत्यताको अभ्यास हो भन्ने प्रमाणित गर्छ; यदि हिँड्नका लागि मानिससँग कुनै मार्ग छैन भने, ऊ शैतानको हातमा परिसकेको छ, र शैतानद्वारा नियन्त्रित छ, यसको मतलब ऊ दुष्ट आत्माहरूद्वारा नियन्त्रित छ। यदि मानिसको अभ्यास अझ गहिराइमा पुगेन भने, परमेश्वरको कामको विकास हुनेछैन, र यदि परमेश्वरको काममा कुनै परिवर्तन भएन भने, मानिसको प्रवेश रोकिनेछ; यो अपरिहार्य छ। परमेश्वरको सम्पूर्ण कामभरि, यदि मानिसले सधैँ यहोवाको व्यवस्थालाई पालन गर्ने हो भने, परमेश्वरको काम अघि बढ्न सक्नेथिएन, सम्पूर्ण युगलाई अन्त्य गर्न त झनै सम्भव हुनेथिएन। यदि मानिसले सधैँ क्रूसलाई समाइरहने अनि धैर्य र दीनताको अभ्यास गरिरहने हो भने, परमेश्वरको काम निरन्तर अघि बढ्न असम्भव हुनेथियो। छ हजार वर्षे व्यवस्थापनलाई व्यवस्था मात्रै पालन गर्ने, वा क्रूसलाई मात्रै समाइरहने अनि धैर्य र दीनताको अभ्यास गर्ने मानिसहरूमाझ अन्त्य गर्न सकिँदैन। त्यसको सट्टामा, परमेश्वरको व्यवस्थापनको सम्पूर्ण काम आखिरी दिनहरूका ती मानिसहरूमाझ सम्पन्न गरिनेछ, जो परमेश्वरलाई चिन्छन्, जो शैतानको पन्जाबाट निकालिएका छन्, र जसले आफूलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गरेका छन्। परमेश्वरको कामको अपरिहार्य दिशा यही हो। धार्मिक मण्डलीहरूमा हुनेहरूको अभ्यास पुरानो भइसकेको छ भनेर किन भनिन्छ? किनभने तिनीहरूले व्यवहारमा लागु गर्ने कुरा आजको कामबाट पूर्ण रूपमा अलग छ। अनुग्रहको युगमा, तिनीहरूले व्यवहारमा लागु गर्ने कुरा सही हुन्थ्यो, तर युग बित्दै जाँदा र परमेश्वरको काम परिवर्तन हुँदै जाँदा, तिनीहरूको अभ्यास बिस्तारै पुरानो भएको छ। यसलाई नयाँ काम र नयाँ ज्योतिद्वारा पछाडि छोडिएको छ। यसको मूल जगका आधारमा, पवित्र आत्माको काम अझ केही कदम गहिराइमा पुगेको छ। तैपनि ती मानिसहरू अझै परमेश्वरको कामको मूल चरणमै अड्किएर बसेका छन्, र अझै पनि पुराना अभ्यासहरू र पुरानो ज्योतिमै टाँसिइरहन्छन्। परमेश्वरको काम तीन वा पाँच वर्षमा धेरै परिवर्तन हुन सक्छ भने, के २,००० वर्षको अवधिमा अझ ठूला परिवर्तनहरू आउँदैनन् र? यदि मानिससँग कुनै नयाँ ज्योति वा अभ्यास छैन भने, यसको अर्थ उसले पवित्र आत्माको कामसँग तालमेल राखेको छैन, र यो मानिसको असफलता हो। विगतमा जसले पवित्र आत्माको काम प्राप्त गरे तिनीहरू आज पनि पुराना अभ्यासहरू पालन गरिरहेका छन् भन्दैमा परमेश्वरको नयाँ कामको अस्तित्वलाई नकार्न मिल्दैन। पवित्र आत्माको काम सधैँ अगाडि बढिरहेको हुन्छ, र जो पवित्र आत्माको प्रवाहमा छन् तिनीहरू पनि सबै जना चरणबद्ध रूपमा गहिराइमा पुग्दै र परिवर्तन हुँदै जानुपर्छ। तिनीहरू एउटा पनि चरणमा रोकिनु हुँदैन। जसले पवित्र आत्माको काम चिनेका छैनन् तिनीहरू मात्रै उहाँको मूल काममा रोकिनेछन्, र पवित्र आत्माको नयाँ कामलाई स्वीकार गर्नेछैनन्। जो विद्रोही छन् तिनीहरू मात्रै पवित्र आत्माको काम प्राप्त गर्न असक्षम हुनेछन्। यदि मानिसको अभ्यासले पवित्र आत्माको नयाँ कामसँग तालमेल राख्दैन भने, मानिसको अभ्यास पक्कै पनि वर्तमान कामबाट छुट्टिएको हुन्छ र पक्कै पनि वर्तमान कामसँग बाझिएको हुन्छ। यस्ता पुराना भइसकेका मानिसहरू परमेश्वरको इच्छा पूरा गर्न पूर्ण रूपमा असक्षम हुन्छन्, तिनीहरू अन्ततः परमेश्वरको गवाहीमा दृढ रहने मानिस त झनै बन्न सक्दैनन्। यसबाहेक, सम्पूर्ण व्यवस्थापनको कामलाई यस्ता मानिसहरूको समूहमा टुङ्ग्याउन सकिँदैन। जसले एक समय यहोवाको व्यवस्थालाई पालन गरे, र जसले एक समय क्रूसका लागि कष्ट भोगे यदि तिनीहरूले आखिरी दिनहरूको कामको चरणलाई स्वीकार गर्न सकेनन् भने, तिनीहरूले गरेका सबै कुरा व्यर्थ र बेकार हुनेछन्। पवित्र आत्माको कामको सबैभन्दा स्पष्ट प्रकटीकरण भनेको विगतमा टाँसिइरहनुमा होइन, वर्तमानलाई अँगाल्नुमा हुन्छ। जसले आजको कामसँग तालमेल राखेका छैनन्, र जो आजको अभ्यासबाट अलग्गिएका छन् तिनीहरू ती हुन् जो पवित्र आत्माको कामको विरोध गर्छन् र त्यसलाई स्वीकार गर्दैनन्। त्यस्ता मानिसहरू परमेश्वरको वर्तमान कामको विरोध गर्छन्। तिनीहरूले विगतको ज्योतिलाई समाइरहने भए पनि, तिनीहरू पवित्र आत्माको कामलाई चिन्दैनन् भन्ने कुरालाई नकार्न सकिँदैन। मानिसको अभ्यासमा हुने परिवर्तनहरू, विगत र आजको अभ्यासबीचका भिन्नताहरू, अघिल्लो युगमा कसरी अभ्यास गरिन्थ्यो, र आज यो कसरी गरिन्छ भन्ने बारेमा किन यति धेरै कुरा गरिएको छ? मानिसको अभ्यासमा भएका यस्ता विभाजनहरूका बारेमा सधैँ कुरा गरिन्छ किनभने पवित्र आत्माको काम निरन्तर अगाडि बढिरहेको हुन्छ, र त्यसैले मानिसको अभ्यास पनि निरन्तर परिवर्तन हुन आवश्यक छ। यदि मानिस एउटै चरणमा अड्किएर रहन्छ भने, यसले ऊ परमेश्वरको नयाँ काम र नयाँ ज्योतिसँग तालमेल राख्न असक्षम छ भन्ने प्रमाणित गर्छ; यसले परमेश्वरको व्यवस्थापनको योजना परिवर्तन भएको छैन भन्ने प्रमाणित गर्दैन। पवित्र आत्माको प्रवाहबाहिर हुनेहरू सधैँ आफूलाई सही ठान्छन्, तर वास्तवमा, तिनीहरूमाथि परमेश्वरको काम धेरै अघि नै रोकिसकेको छ, र तिनीहरू पूर्ण रूपमा पवित्र आत्माको कामबाट वञ्चित छन्। परमेश्वरको काम धेरै अघि नै मानिसहरूको अर्को समूहमा सारियो, र उहाँ आफ्नो नयाँ काम यी मानिसहरूमा पूरा गर्ने अभिप्राय राख्नुहुन्छ। धर्ममा हुनेहरू परमेश्वरको नयाँ काम स्वीकार गर्न असक्षम हुने हुनाले, र विगतको पुरानो काममा मात्रै टाँसिइरहने हुनाले, परमेश्वरले यी मानिसहरूलाई त्याग्नुभएको छ, र उहाँ आफ्नो नयाँ काम स्वीकार गर्ने मानिसहरूमा यो नयाँ काम गर्नुहुन्छ। यिनीहरू त्यस्ता मानिस हुन् जो उहाँको नयाँ कामसँग सहकार्य गर्छन्, र यसरी मात्रै उहाँको व्यवस्थापन सम्पन्न हुन सक्छ। परमेश्वरको व्यवस्थापन सधैँ अगाडि बढिरहेको हुन्छ, र मानिसको अभ्यास सधैँ माथि उक्लिरहेको हुन्छ। परमेश्वर सधैँ काम गरिरहनुभएको हुन्छ, र मानिस सधैँ खाँचोमा हुन्छ, जसले गर्दा दुवै आफ्नो उत्कर्षमा पुग्छन् र परमेश्वर र मानिसको पूर्ण मिलन हुन्छ। यो परमेश्वरको महान् काम सम्पन्न हुनुको अभिव्यक्ति हो, र यो परमेश्वरको सम्पूर्ण व्यवस्थापनको अन्तिम परिणाम हो।
परमेश्वरको कामको हरेक चरणमा मानिसप्रति सोहीअनुरूपका मागहरू पनि हुन्छन्। जो पवित्र आत्माको प्रवाहभित्र छन् तिनीहरू सबैसँग पवित्र आत्माको उपस्थिति र अनुशासन हुन्छ, र जो पवित्र आत्माको प्रवाहभित्र छैनन् तिनीहरू शैतानको शासनअन्तर्गत हुन्छन्, र तिनीहरूमा पवित्र आत्माको कुनै पनि काम हुँदैन। पवित्र आत्माको प्रवाहमा हुने मानिसहरू ती हुन् जो परमेश्वरको नयाँ कामलाई स्वीकार गर्छन्, र तिनीहरू ती हुन् जो परमेश्वरको नयाँ कामसँग सहकार्य गर्छन्। यदि यही प्रवाहभित्र हुनेहरू सहकार्य गर्न असक्षम छन्, र यस समयमा परमेश्वरद्वारा माग गरिएको सत्यतालाई व्यवहारमा लागु गर्न असमर्थ छन् भने, तिनीहरूलाई ताडना दिइनेछ, र सबैभन्दा खराब अवस्थामा पवित्र आत्माद्वारा त्यागिनेछ। तिनीहरूले पवित्र आत्माको नयाँ काम स्वीकार गरेका हुनाले, तिनीहरू पवित्र आत्माको हेरचाह र सुरक्षा प्राप्त गर्दै पवित्र आत्माको प्रवाहभित्रै जिउँछन्। जो सत्यतालाई व्यवहारमा लागु गर्न इच्छुक छन् तिनीहरूलाई पवित्र आत्माद्वारा प्रबोधित गरिन्छ, र जो सत्यतालाई व्यवहारमा लागु गर्न अनिच्छुक छन् तिनीहरूलाई पवित्र आत्माद्वारा ताडना दिइन्छ, र दण्ड समेत दिन सकिन्छ। तिनीहरू जस्तोसुकै प्रकारका व्यक्ति भए पनि, तिनीहरू पवित्र आत्माको प्रवाहभित्र भएको खण्डमा, परमेश्वरले उहाँको नामका खातिर उहाँको नयाँ काम स्वीकार गर्नेहरू सबैको जिम्मेवारी लिनुहुनेछ। जो उहाँको नामलाई महिमित पार्छन् र उहाँका वचनहरूलाई व्यवहारमा लागु गर्न इच्छुक छन् तिनीहरूले उहाँका आशिष्हरू प्राप्त गर्नेछन्; जो उहाँका विरुद्धमा विद्रोह गर्छन् र उहाँका वचनहरूलाई व्यवहारमा लागु गर्दैनन् तिनीहरूले उहाँको दण्ड प्राप्त गर्नेछन्। पवित्र आत्माको प्रवाहमा हुने मानिसहरू ती हुन् जो नयाँ कामलाई स्वीकार गर्छन्, र तिनीहरूले नयाँ काम स्वीकार गरेका हुनाले, तिनीहरूले सोहीअनुसार परमेश्वरसँग सहकार्य गर्नुपर्छ, र आफ्नो कर्तव्य निर्वाह नगर्ने विद्रोहीहरूका रूपमा काम गर्नु हुँदैन। मानिसप्रति परमेश्वरको एउटै मात्र माग यही हो। नयाँ कामलाई स्वीकार नगर्ने मानिसहरूका हकमा यस्तो हुँदैन: तिनीहरू पवित्र आत्माको प्रवाहबाहिर हुन्छन्, र पवित्र आत्माको ताडना र हप्की तिनीहरूलाई पटक्कै लागु हुँदैन। दिनभरि, यी मानिसहरू देहभित्र जिउँछन्, तिनीहरू आफ्नै दिमागभित्र जिउँछन्। तिनीहरूले गर्ने सबै कुरा तिनीहरूको आफ्नै मानसिक विश्लेषण र अनुसन्धानद्वारा सिर्जित धर्मसिद्धान्तहरूअनुसार हुन्छ; यो पवित्र आत्माको नयाँ कामद्वारा माग गरिएको कुरा होइन, परमेश्वरसँगको सहकार्य त झनै होइन। जो परमेश्वरको नयाँ कामलाई स्वीकार गर्दैनन् तिनीहरू परमेश्वरको उपस्थितिबाट वञ्चित हुन्छन्, र अझ बढी परमेश्वरका आशिष्हरू र सुरक्षाविहीन हुन्छन्। तिनीहरूका अधिकांश बोलीवचन र कार्यहरूले पवित्र आत्माको विगतको कामका मागहरू पालन गर्छन्; ती त धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। त्यस्ता धर्मसिद्धान्त र प्रावधानहरू यी मानिसहरू सँगै भेला हुनु भनेको धर्मबाहेक अरू केही होइन भनी प्रमाणित गर्न पर्याप्त छन्; तिनीहरू चुनिएका मानिस, वा परमेश्वरको कामका लक्षित पात्र होइनन्। तिनीहरू सँगै भेला हुनुलाई केवल धार्मिक खिचडी भन्न मिल्छ; यसलाई मण्डली भन्न मिल्दैन। यो परिवर्तन गर्न नसकिने तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ काम हुँदैन; तिनीहरूले गर्ने काम धर्मले दुर्घन्धित हुन्छ, तिनीहरूले जिउने कुरा धर्मले भरिभराउ हुन्छ; तिनीहरूसँग पवित्र आत्माको उपस्थिति र काम हुँदैन, तिनीहरू पवित्र आत्माको ताडना वा प्रबोधन प्राप्त गर्न योग्य हुनु त झनै परको कुरा हो। यी मानिसहरू सबै निर्जीव लास हुन्, र आध्यात्मिकताविहीन औँसा हुन्। तिनीहरूलाई मानिसको विद्रोहीपन र विरोधको कुनै ज्ञान हुँदैन, मानिसका सबै दुष्कर्मको कुनै ज्ञान हुँदैन, तिनीहरूलाई परमेश्वरका सबै काम र परमेश्वरका वर्तमान अभिप्रायहरू त झनै थाहा हुँदैन। तिनीहरू सबै अज्ञानी, नीच मानिस हुन्, र तिनीहरू विश्वासी कहलिन अयोग्य घटिया मानिस हुन्! तिनीहरूले गर्ने कुनै पनि कुरा परमेश्वरको व्यवस्थापनसँग सान्दर्भिक हुँदैन, त्यसले परमेश्वरका योजनाहरूलाई हानि पुर्याउन सक्नु त झनै परको कुरा हो। तिनीहरूका बोलीवचन र कार्यहरू अत्यन्तै घिनलाग्दा साथै दयनीय हुन्छन्, र उल्लेख गर्न पटक्कै योग्य हुँदैनन्। जो पवित्र आत्माको प्रवाहभित्र छैनन् तिनीहरूद्वारा गरिने कुनै पनि कुराको पवित्र आत्माको नयाँ कामसँग कुनै सरोकार हुँदैन। यसकारण, चाहे तिनीहरूले जेसुकै गरून्, तिनीहरूमा पवित्र आत्माको ताडना हुँदैन—प्रबोधन त झनै हुँदैन। किनभने तिनीहरू सबै सत्यतालाई प्रेम नगर्ने, र पवित्र आत्माद्वारा तिरस्कार गरिएका मानिस हुन्। तिनीहरूलाई दुष्कर्मी भनिन्छ किनभने तिनीहरू आफूलाई जे मन लाग्यो त्यही गर्छन्, आफ्नो देहअनुसार काम गर्छन् र त्यसो गर्दा परमेश्वरको झण्डा फहराउँछन्, र किनभने तिनीहरू जानाजानी परमेश्वरप्रति शत्रुवत् हुन्छन् र उहाँले आफ्नो काम गर्दा उहाँको उल्टो काम गर्छन्। मानिस परमेश्वरसँग सहकार्य गर्न असफल हुनु आफैमा अत्यन्तै विद्रोही कुरा हो, त्यसोभए के जानाजानी परमेश्वरको उल्टो हिँड्ने ती मानिसहरूले विशेष गरी आफ्नो उचित कर्मफल प्राप्त गर्नेछैनन् र? यी मानिसहरूको दुष्कर्मको कुरा उठ्नेबित्तिकै, कतिपय मानिस तिनीहरूलाई सराप्न उत्सुक हुन्छन्, तर परमेश्वर तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ। मानिसको नजरमा तिनीहरूका कार्यहरू परमेश्वरको नामसँग सम्बन्धित भएजस्ता देखिन्छन्, तर वास्तवमा, परमेश्वरको नजरमा, उहाँको नाम वा उहाँको गवाहीसँग तिनको कुनै सम्बन्ध हुँदैन। यी मानिसहरूले चाहे जेसुकै गरून्, त्यो परमेश्वरसँग असम्बन्धित हुन्छ: त्यो उहाँको नाम र उहाँको वर्तमान काम दुवैसँग असम्बन्धित हुन्छ। यी मानिसहरू आफैलाई अपमानित गर्छन्, र शैतानलाई प्रकट गर्छन्; तिनीहरू त्यस्ता व्यक्ति हुन् जो क्रोधको दिनका लागि दुष्ट कार्यहरू थुपारिरहेका छन्। आज, तिनीहरूले जेजस्ता कार्यहरू गरे पनि, तिनीहरूले परमेश्वरको व्यवस्थापनमा बाधा नपुर्याएसम्म र परमेश्वरको नयाँ कामसँग कुनै सरोकार नराखेसम्म, त्यस्ता मानिसहरूलाई सोहीअनुरूपको कर्मफल दिइनेछैन, किनभने क्रोधको दिन आउन अझै बाँकी छ। त्यस्ता कुराहरू धेरै छन् जुन मानिसहरूलाई लाग्छ कि परमेश्वरले पहिले नै निराकरण गरिसक्नुपर्ने थियो, र तिनीहरू ती दुष्कर्मीहरूले जतिसक्दो चाँडो कर्मफल भोग्नुपर्छ भन्ने सोच्छन्। तर परमेश्वरको व्यवस्थापनको काम अझै समाप्त नभएको, र क्रोधको दिन आउन अझै बाँकी रहेको हुनाले, अधर्मीहरू अझै पनि आफ्ना अधर्मी कार्यहरू गरिरहन्छन्। कतिपयले भन्छन्, “धर्ममा हुनेहरू पवित्र आत्माको उपस्थिति वा कामविहीन छन्, र तिनीहरू परमेश्वरको नामलाई लज्जित पार्छन्; त्यसोभए परमेश्वर तिनीहरूको बेलगाम व्यवहारलाई अझै सहनुको सट्टा तिनीहरूलाई किन नष्ट गर्नुहुन्न?” शैतानलाई प्रकट गर्ने र देहलाई व्यक्त गर्ने यी मानिसहरू—तिनीहरू अज्ञानी, नीच मानिस हुन्; तिनीहरू असङ्गत मानिस हुन्। परमेश्वर कसरी मानिसमाझ आफ्नो काम गर्नुहुन्छ भन्ने कुरा नबुझेसम्म तिनीहरूले परमेश्वरको क्रोधको उदय देख्नेछैनन्, र एकपटक तिनीहरू पूर्ण रूपमा विजय गरिएपछि, ती दुष्कर्मीहरू सबैले आफ्नो कर्मफल प्राप्त गर्नेछन्, र तिनीहरूमध्ये कोही पनि क्रोधको दिनबाट उम्कन सक्नेछैन। अहिले मानिसलाई दण्ड दिने समय होइन, बरु विजयको काम गर्ने समय हो, तर यदि परमेश्वरको व्यवस्थापनलाई हानि पुर्याउनेहरू छन् भने, त्यस्तो अवस्थामा तिनीहरूलाई तिनीहरूका कार्यहरूको गाम्भीर्यका आधारमा दण्ड दिइनेछ। परमेश्वरले मानवजातिको व्यवस्थापन गर्ने दौरान, जो पवित्र आत्माको प्रवाहभित्र छन् तिनीहरू सबैको परमेश्वरसँग एउटा सम्बन्ध हुन्छ। पवित्र आत्माद्वारा तिरस्कार गरिएकाहरू शैतानको प्रभावअन्तर्गत जिउँछन्, र तिनीहरूले व्यवहारमा लागु गर्ने कुराको परमेश्वरसँग कुनै सम्बन्ध हुँदैन। परमेश्वरको नयाँ काम स्वीकार गर्ने र परमेश्वरसँग सहकार्य गर्नेहरूको मात्रै परमेश्वरसँग सम्बन्ध हुन्छ, किनभने परमेश्वरको काम यसलाई स्वीकार गर्नेहरूप्रति मात्रै लक्षित हुन्छ, र यो सबै मानिसप्रति लक्षित हुँदैन, चाहे तिनीहरूले यसलाई स्वीकार गरून् वा नगरून्। परमेश्वरद्वारा गरिने कामको सधैँ एउटा उद्देश्य हुन्छ र यो लहडमा गरिँदैन। जो शैतानसँग सम्बन्धित छन् तिनीहरू परमेश्वरको गवाही दिन योग्य हुँदैनन्, तिनीहरू परमेश्वरसँग सहकार्य गर्न योग्य हुनु त झनै परको कुरा हो।
पवित्र आत्माको कामको हरेक चरणमा मानिसको गवाही पनि आवश्यक हुन्छ। कामको हरेक चरण परमेश्वर र शैतानबीचको एउटा लडाइँ हो, र लडाइँको निसाना शैतान हो, जबकि यस कामद्वारा सिद्ध पारिने भनेको मानिस हो। परमेश्वरको कामले प्रतिफल दिन सक्छ कि सक्दैन भन्ने कुरा मानिसले दिने परमेश्वरको गवाही कस्तो छ भन्ने कुरामा निर्भर हुन्छ। यो गवाही परमेश्वरलाई पछ्याउनेहरूसँग उहाँको एक मात्र माग हो; यो शैतानको अगाडि दिइने गवाही हो, र उहाँको कामका प्रभावहरूको प्रमाण पनि हो। परमेश्वरको सम्पूर्ण व्यवस्थापनलाई तीन चरणमा विभाजन गरिएको छ, र हरेक चरणमा, मानिससँग सुहाउँदा मागहरू गरिन्छन्। यसबाहेक, युगहरू बित्दै र अघि बढ्दै जाँदा, सारा मानवजातिप्रति परमेश्वरका मागहरू अझ उच्च हुँदै जान्छन्। यसरी, चरणबद्ध रूपमा, परमेश्वरको व्यवस्थापनको यो काम उत्कर्षमा पुग्छ, जसले गर्दा मानिसले “देहमा वचनको देखापराइ” को तथ्यलाई देख्छ, र यसरी मानिसप्रतिका मागहरू अझ उच्च हुँदै जान्छन्, र मानिसले दिनुपर्ने गवाही पनि अझ उच्च हुँदै जान्छ। मानिस परमेश्वरसँग साँच्चै सहकार्य गर्न जति बढी सक्षम हुन्छ, परमेश्वरले त्यति नै बढी महिमा प्राप्त गर्न सक्नुहुन्छ। मानिसको सहकार्य नै उसले दिनुपर्ने गवाही हो, र उसले दिने गवाही नै मानिसको अभ्यास हो। त्यसकारण, परमेश्वरको कामले अपेक्षित प्रभाव पार्न सक्छ कि सक्दैन, र साँचो गवाही हुन सक्छ कि सक्दैन भन्ने कुरा मानिसको सहकार्य र गवाहीसँग अटुट रूपमा जोडिएको हुन्छ। जब काम समाप्त हुन्छ, अर्थात्, जब परमेश्वरको सबै व्यवस्थापन अन्त्यमा पुग्छ, तब मानिसले अझ उच्च गवाही दिन आवश्यक हुनेछ, र जब परमेश्वरको काम अन्त्यमा पुग्छ, तब मानिसका अभ्यास र प्रवेश उत्कर्षमा पुग्नेछन्। विगतमा, मानिसले व्यवस्था र आज्ञाहरू पालन गर्नुपर्थ्यो, साथै ऊ धैर्यवान् र दीन हुनुपर्थ्यो। आज, मानिस परमेश्वरका सबै प्रबन्धको अधीनमा रहनुपर्ने र उसमा परमेश्वरप्रति सर्वोच्च प्रेम हुनुपर्ने हुन्छ, र अन्ततः उसले सङ्कष्टका बीचमा पनि परमेश्वरलाई प्रेम गर्नुपर्ने हुन्छ। यी तीन वटा चरण परमेश्वरले आफ्नो सम्पूर्ण व्यवस्थापनभरि चरणबद्ध रूपमा मानिससँग गर्नुहुने मागहरू हुन्। परमेश्वरको कामको हरेक चरण अघिल्लोभन्दा गहिराइमा पुग्छ, र हरेक चरणमा मानिसप्रतिका मागहरू अघिल्लो चरणकाभन्दा उच्च हुन्छन्, अनि यसरी नै परमेश्वरको सम्पूर्ण व्यवस्थापनले बिस्तारै आकार लिन्छ। मानिसप्रतिका मागहरू झन्-झन् उच्च हुँदै जाने हुनाले नै मानिसको स्वभाव परमेश्वरद्वारा माग गरिने मानकहरूको झन्-झन् नजिक आउँछ, र त्यसपछि मात्रै सम्पूर्ण मानवजाति शैतानको प्रभावबाट बिस्तारै टाढा जान्छ, र अन्ततः परमेश्वरको काम पूर्ण रूपमा अन्त्य भएपछि सम्पूर्ण मानवजातिलाई शैतानको प्रभावबाट मुक्ति दिइएको हुनेछ। जब त्यो समय आउँछ, तब परमेश्वरको काम अन्त्यमा पुगेको हुनेछ, र आफ्नो स्वभावमा परिवर्तनहरू हासिल गर्नका निम्ति मानिसले परमेश्वरसँग गर्ने सहकार्य अब बाँकी हुनेछैन, समस्त मानवजाति परमेश्वरको ज्योतिमा जिउनेछन्, र त्यसपछि, परमेश्वरका विरुद्धमा कुनै विद्रोहीपन वा विरोध हुनेछैन। परमेश्वरले पनि मानिससँग कुनै माग गर्नुहुनेछैन, साथै मानिस र परमेश्वरबीच अझ सामञ्जस्यपूर्ण सहकार्य हुनेछ, जुन मानिस र परमेश्वरको सँगैको जीवन हुनेछ, त्यस्तो जीवन जुन परमेश्वरको व्यवस्थापन पूर्ण रूपमा टुङ्गिएपछि र मानिसलाई परमेश्वरद्वारा शैतानको पञ्जाबाट पूर्ण रूपमा मुक्ति दिइएपछि आउँछ। जो परमेश्वरका पदचापहरूलाई नजिकबाट पछ्याउन सक्दैनन् तिनीहरू त्यस्तो जीवन प्राप्त गर्न असक्षम हुन्छन्। तिनीहरू अन्धकारमा डुबेका हुनेछन्, जहाँ तिनीहरू रुनेछन् र दाह्रा किट्नेछन्; तिनीहरू त्यस्ता मानिस हुन् जो परमेश्वरमा विश्वास गर्छन् तर उहाँलाई पछ्याउँदैनन्, जो परमेश्वरमा विश्वास गर्छन् तर उहाँको सबै कामप्रति आफूलाई समर्पित गर्दैनन्। मानिस परमेश्वरमा विश्वास गर्ने हुनाले, उसले परमेश्वरका हरेक पदचापलाई नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।” यस्तो गर्नेहरू मात्रै साँचो मार्गको साँच्चै खोजी गर्नेहरू हुन्, जो पवित्र आत्माको काम चिन्दछन्। शब्द र धर्मसिद्धान्तहरूलाई जिद्दीपूर्वक पालन गर्ने मानिसहरू पवित्र आत्माको कामद्वारा हटाइएकाहरू हुन्। हरेक समयावधिमा, परमेश्वरले नयाँ काम सुरु गर्नुहुनेछ र हरेक अवधिमा, मानिसमाझ नयाँ सुरुवात हुनेछ। यदि मानिस एउटा युगमा मात्रै लागू हुने “यहोवा नै परमेश्वर हुनुहुन्छ” र “येशू नै ख्रीष्ट हुनुहुन्छ” भन्ने सत्यताहरूलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्माको कामसँग कहिल्यै तालमेल राख्न सक्दैन, र ऊ पवित्र आत्माको काम प्राप्त गर्न सधैँका लागि असमर्थ हुनेछ। परमेश्वरले जसरी काम गर्नुभए तापनि, यदि मानिस अलिकति पनि शङ्का नगरी पछ्याउँछ र नजिकबाट पछ्याउँछ भने, मानिस कसरी पवित्र आत्माद्वारा हटाइन सक्छ? परमेश्वरले जे गर्नुभए तापनि, जबसम्म मानिस यो पवित्र आत्माको काम हो भन्ने कुरामा निश्चित हुन्छ, र आशङ्का नगरी पवित्र आत्माको कामसँग सहकार्य गर्छ, र परमेश्वरका मागहरू पूरा गर्ने प्रयास गर्छ भने, ऊ कसरी दण्डित हुन सक्छ? परमेश्वरको काम कहिल्यै रोकिएको छैन, उहाँका पदचापहरू कहिल्यै अडिएका छैनन्, र उहाँको व्यवस्थापनको कार्य पूरा हुनुभन्दा पहिले, उहाँ जहिल्यै व्यस्त रहनुभएको छ र उहाँ कहिल्यै रोकिनुहुन्न। तर मानिस फरक छ: पवित्र आत्माको काम थोरै मात्र प्राप्त गरेपछि, ऊ यो कहिल्यै परिवर्तन नहुने झैँ गरी यसलाई व्यवहार गर्छ; थोरै ज्ञान प्राप्त गरिसकेपछि, ऊ अघि बढेर परमेश्वरको अझ नयाँ कामलाई “पछ्याउँदैन”; परमेश्वरको थोरै काम मात्र देखेपछि, ऊ तुरुन्तै परमेश्वरलाई काठको विशेष आकृति हुनुमा सीमित गर्छ, र आफूले देख्ने स्वरूपलाई परमेश्वर सदा कायम राख्नुहुनेछ, विगतमा यो यस्तै थियो र भविष्यमा पनि यस्तै नै रहनेछ भन्ने विश्वास गर्छ; अलिकति सतही ज्ञान मात्र प्राप्त गरेपछि, मानिस यति घमण्डी हुन्छ कि ऊ आफैलाई बिर्सन्छ र अस्तित्वमा नै नभएको परमेश्वरको स्वभाव र अस्तित्व जथाभावी घोषणा गर्न थाल्छ; अनि पवित्र आत्माको कामको एउटा चरणबारे निश्चित भएपछि, परमेश्वरको नयाँ काम घोषणा गर्ने व्यक्ति जस्तोसुकै प्रकारको भए तापनि, मानिस यो कुरा स्वीकार गर्दैन। यस्ता मानिसहरू पवित्र आत्माको नयाँ काम स्वीकार गर्न सक्दैनन्; यिनीहरू अत्यन्तै रूढिवादी हुन्छन्, र नयाँ कुराहरू स्वीकार गर्न असमर्थ छन्। त्यस्ता मानिसहरू परमेश्वरमा विश्वास गर्ने तर उहाँलाई इन्कार पनि गर्नेहरू हुन्। मानिस इस्राएलीहरूले “यहोवामा मात्रै विश्वास गरेर येशूमा विश्वास नगर्नु” गलत थियो भन्ने विश्वास गर्छ, तैपनि अधिकांश मानिस “यहोवामा मात्रै विश्वास गर्ने र येशूलाई इन्कार गर्ने” साथै “मसीहको आगमनको लागि तिर्सना गर्ने तर येशू भनिने मसीहको विरोध गर्ने” भूमिका खेल्छन्। त्यसैले, पवित्र आत्माको कामको एउटा चरण स्वीकार गरिसकेपछि पनि मानिसहरू अझै शैतानको सत्ताअन्तर्गत जिउँछन्, र अझै परमेश्वरका आशिष्हरू प्राप्त गर्दैनन् भन्ने कुरामा कुनै आश्चर्य मान्नुपर्दैन। के यो मानिसको विद्रोहीपनको नतिजा होइन र? संसारभरि इसाई धर्ममा हुने मानिसहरू जसले आजको नयाँ कामसँग तालमेल राखेका छैनन्, तिनीहरू सबै परमेश्वरले तिनीहरूका आ-आफ्ना इच्छाहरू पूरा गर्नुहुनेछ भन्ने ठानेर आफू भाग्यशाली हुने आशामा टाँसिइरहन्छन्। तैपनि परमेश्वरले तिनीहरूलाई किन तेस्रो स्वर्गमा लैजानुहुनेछ, वा येशू कसरी सेतो बादलमा सवार भएर तिनीहरूलाई लिन आउनुहुनेछ भनी तिनीहरू पूर्ण निश्चितताका साथ भन्न सक्दैनन्, येशू साँच्चै नै तिनीहरूले कल्पना गरेको दिनमा सेतो बादलमा सवार भएर आइपुग्नुहुनेछ कि आइपुग्नुहुनेछैन भन्ने कुरामा तिनीहरू पूर्ण रूपमा निश्चित हुनु त झनै परको कुरा हो। तिनीहरू सबै व्याकुल हुन्छन्, र केही पनि सोच्न सकिरहेका हुँदैनन्; परमेश्वरले हरेक सम्प्रदायबाट आएका स-साना समूहका यी विभिन्न मानिसमध्ये प्रत्येलाई माथि लानुहुनेछ कि लानुहुनेछैन भन्ने कुरा तिनीहरू आफैलाई थाहा छैन। अहिले परमेश्वरले गर्ने काम, वर्तमान युग, परमेश्वरका अभिप्रायहरू—तिनीहरूलाई यी कुनै पनि कुराको बोध छैन, र तिनीहरू औँलामा दिन गन्ने बाहेक केही पनि गर्दैनन्। जो थुमाका पदचापहरूलाई अन्त्यसम्म पछ्याउँछन् तिनीनेहरूले मात्रै अन्तिम आशिष् प्राप्त गर्न सक्छन्, जबकि ती “चलाख मानिसहरू,” जो अन्त्यसम्म पछ्याउन असमर्थ छन् तैपनि आफूले सबै कुरा प्राप्त गरेको भन्ने विश्वास गर्छन्, तिनीहरू परमेश्वरको देखापराइ देख्न असक्षम हुन्छन्। तिनीहरू प्रत्येकले आफूलाई पृथ्वीको सबैभन्दा चलाख व्यक्ति भन्ठान्छन्, र तिनीहरू विनाकारण परमेश्वरको कामको निरन्तर विकासलाई रोक्छन्, र परमेश्वरले तिनीहरूलाई स्वर्गमा लैजानुहुनेछ भनेर तिनीहरूले पूर्ण निश्चितताका साथ विश्वास गरेको जस्तो देखिन्छ, तिनीहरू जो “परमेश्वरप्रति अविभाजित रूपमा बफादार छन्, परमेश्वरलाई पछ्याउँछन्, र परमेश्वरका वचनहरू पालन गर्छन्।” तिनीहरूमा परमेश्वरद्वारा बोलिएका वचनहरूप्रति “अविभाजित बफादारी” भए पनि, तिनीहरूका बोलीवचन र कार्यहरू अझै पनि अत्यन्तै घिनलाग्दा हुन्छन् किनभने तिनीहरू पवित्र आत्माको कामको विरोध गर्छन्, अनि छल र दुष्टता गर्छन्। जो अन्त्यसम्म पछ्याउन सक्दैनन्, र पवित्र आत्माको कामसँग तालमेल राख्न सक्दैनन् र पुरानो काममा मात्रै टाँसिइरहन्छन् तिनीहरू परमेश्वरप्रति बफादारी हासिल गर्न असफल मात्रै भएका छैनन्, यसको विपरीत, तिनीहरू परमेश्वरको विरोध गर्ने, नयाँ युगद्वारा अस्वीकार गरिएका, र दण्डित हुने मानिस बनेका छन्। के तिनीहरूभन्दा दयनीय अरू कोही छ र? धेरैले त पुरानो व्यवस्थालाई अस्वीकार गर्ने र नयाँ कामलाई स्वीकार गर्नेहरू सबै विवेकविहीन रहेको भनेर समेत विश्वास गर्छन्। “विवेक” मा मात्रै ध्यान केन्द्रित गर्ने तैपनि पवित्र आत्माको कामलाई नचिन्ने यी मानिसहरूका सम्भावनाहरू अन्ततः तिनीहरूको आफ्नै विवेकद्वारा रोकिनेछन्। परमेश्वर समेत आफ्नो काममा प्रावधानहरू पालन गर्नुहुन्न, र यो परमेश्वरको आफ्नै काम भए पनि, उहाँ अझै पनि यसमा टाँसिइरहनुहुन्न। नकारिनुपर्ने कुरालाई नकारिन्छ, हटाइनुपर्ने कुरालाई हटाइन्छ। तैपनि मानिस परमेश्वरको व्यवस्थापनको कामको एउटा सानो पाटोलाई मात्रै समातेर उहाँको विरोध गर्छ। के यो मानिसको असङ्गति होइन र? के यो मानिसको अज्ञानता होइन र? मानिसहरू आशिष्हरू प्राप्त नगर्ने डरले जति धेरै कायर र अति सतर्क हुन्छन्, तिनीहरू आशिष्हरू प्राप्त गर्न र अन्तिम आशिष् प्राप्त गर्न त्यति नै असक्षम हुन्छन्। जिद्दीपूर्वक व्यवस्थालाई पालन गर्ने ती मानिसहरू सबैले व्यवस्थाप्रति अविभाजित बफादारी देखाउँछन्, र तिनीहरूले व्यवस्थाप्रति जति बढी यस्तो बफादारी देखाउँछन्, त्यति नै बढी तिनीहरू परमेश्वरको विरोध गर्ने विद्रोही हुन्। किनभने अहिले राज्यको युग हो र व्यवस्थाको युग होइन, साथै आजको काम र विगतको कामलाई एकै पटक उल्लेख गर्न सकिँदैन, न त विगतको कामलाई आजको कामसँग तुलना गर्न नै सकिन्छ। परमेश्वरको काम परिवर्तन भएको छ, र मानिसको अभ्यास पनि परिवर्तन भएको छ; यो व्यवस्थामा टाँसिइरहनु वा क्रूस बोक्नु होइन। त्यसकारण, व्यवस्था र क्रूसप्रतिको मानिसको बफादारीले परमेश्वरको अनुमोदन प्राप्त गर्नेछैन।
मानिसलाई राज्यको युगमा पूर्ण रूपमा पूर्ण पारिनेछ। विजयको कामपछि, मानिसलाई शोधन र सङ्कष्ट भोग्न लगाइनेछ। यस सङ्कष्टको दौरान विजयी हुन र आफ्नो गवाहीमा दृढ रहन सक्नेहरूलाई नै अन्ततः पूर्ण पारिनेछ; तिनीहरू नै विजेता हुन्। यस सङ्कष्टको दौरान, मानिसले यो शोधनलाई स्वीकार गर्न आवश्यक हुन्छ, र यो शोधन नै अन्तिम पटक गरिने परमेश्वरको काम हो। परमेश्वरको व्यवस्थापनको सबै काम सम्पन्न हुनुअघि मानिसलाई शोधन गरिने यो अन्तिम पटक हो, र जो परमेश्वरलाई पछ्याउँछन् तिनीहरू सबैले यो अन्तिम परीक्षालाई स्वीकार गर्नैपर्छ, र तिनीहरूले यो अन्तिम शोधनलाई स्वीकार गर्नैपर्छ। सङ्कष्टहरूको माझमा हुनेहरू पवित्र आत्माको कामविहीन र परमेश्वरको मार्गदर्शनविहीन हुन्छन्, तर साँच्चै विजय गरिएकाहरू र परमेश्वरलाई साँच्चै पछ्याउनेहरू अन्ततः दृढ रहनेछन्; तिनीहरू मानवता भएकाहरू, र परमेश्वरलाई निष्कपट रूपमा प्रेम गर्नेहरू हुन्। परमेश्वरले चाहे जे गर्नुभए पनि, यी विजेताहरूले दर्शनहरू गुमाउनेछैनन् र आफ्नो गवाही नगुमाई अझै सत्यता अभ्यास गर्नेछन्। आखिरमा महा-सङ्कष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्। लाभका लागि केवल अल्याङटल्याङ गर्नेहरूले आज सित्तैमा खान पाए पनि, कोही पनि अन्तिम सङ्कष्टबाट उम्कन सक्दैन, र कोही पनि अन्तिम परीक्षाबाट उम्कन सक्दैन। जित्नेहरूका लागि, यस्तो सङ्कष्ट एक ठूलो शोधन हो; तर लाभका लागि केवल अल्याङटल्याङ गर्नेहरूका लागि, यो पूर्ण रूपमा हटाइने काम हो। हृदयमा परमेश्वर हुनेहरूलाई जस्तोसुकै जाँच गरिए पनि, तिनीहरूको निष्ठा अपरिवर्तित रहन्छ; तर हृदयमा परमेश्वर नहुनेहरूका लागि, परमेश्वरको काम तिनीहरूको देहका लागि लाभदायक नहुनेबित्तिकै, तिनीहरूले परमेश्वरप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गर्छन्, र परमेश्वरबाट टाढा समेत जान्छन्। यिनीहरू नै अन्तमा दृढतापूर्वक खडा नहुनेहरू हुन्, जो केवल परमेश्वरका आशिष्हरू खोज्छन् र परमेश्वरका लागि आफूलाई समर्पित गर्ने र उहाँप्रति आफूलाई अर्पित गर्ने कुनै चाहना राख्दैनन्। यस्ता नीच मानिसहरू सबैलाई परमेश्वरको कामको अन्त्य भएपछि “खेदिनेछ,” र तिनीहरूलाई अलिकति पनि कृपा देखाइनेछैन। मानवता नभएकाहरूमा परमेश्वरप्रति साँचो प्रेम पटक्कै हुँदैन। जब वातावरण सहज हुन्छ, वा तिनीहरूले केही पाउन सक्छन्, तब तिनीहरू परमेश्वरप्रति पूर्ण रूपमा आज्ञाकारी हुन्छन्, तर जब तिनीहरूका चाहनाहरूमाथि खतरा उत्पन्न हुन्छ वा ती अन्ततः चकनाचुर हुन्छन्, तब तिनीहरू तुरुन्तै विद्रोहमा उत्रन्छन्। केवल एक रातको अन्तरालमा समेत, तिनीहरू मुस्कुराउने, “दयालु” व्यक्तिबाट जङ्गली देखिने जल्लादमा परिणत हुन्छन्, र कुनै तुक वा कारणविना, अप्रत्याशित रूपमा हिजोको आफ्नो हितकारीलाई आफ्नो घोर शत्रुका रूपमा व्यवहार गर्छन्। यदि आँखा झिमिक्क नगरी मार्ने यी दुष्ट पिशाचहरूलाई फालिएन भने, के तिनीहरू गम्भीर अन्तर्निहित खतरा बन्नेछैनन् र? विजयको काम समाप्त भएपछि, मानिसलाई मुक्ति दिने काम पूर्ण रूपमा सम्पन्न हुन्छ भन्ने होइन। विजयको काम अन्त्य भएको भए तापनि, मानिसलाई शुद्ध गर्ने काम अन्त्य भएको छैन; जब मानिसलाई पूर्ण रूपमा शुद्ध गरिन्छ, जब सच्चा रूपमा परमेश्वरको अधीनमा रहनेहरूलाई पूर्ण पारिन्छ, र जब आफ्नो हृदयमा परमेश्वर नभएका छद्मभेषीहरूलाई निकालिन्छ, तब मात्रै काम समाप्त हुनेछ। जो परमेश्वरको कामको अन्तिम चरणमा उहाँलाई सन्तुष्ट पार्न असक्षम छन् तिनीहरूलाई पूर्ण रूपमा हटाइनेछ, र हटाइएकाहरू दियाबलसको प्रजातिमा पर्छन्। जो परमेश्वरलाई सन्तुष्ट पार्न असक्षम छन् तिनीहरू परमेश्वरविरुद्ध विद्रोही हुन्छन्। यी मानिसहरूले आज परमेश्वरलाई पछ्याउने भए पनि, यसले अन्ततः बाँकी रहने तिनीहरू नै हुन् भनी प्रमाणित गर्दैन। “अन्त्यसम्म परमेश्वरलाई पछ्याउनेहरूले मुक्ति प्राप्त गर्नेछन्” भन्ने वचनहरूमा, “पछ्याउनु” को अर्थ सङ्कष्टको बीचमा दृढ रहनु हो। आज, धेरैले परमेश्वरलाई पछ्याउनु निकै सजिलो रहेको विश्वास गर्छन्, तर परमेश्वरको काम समाप्त हुनै लाग्दा, तैँले “पछ्याउनु” को साँचो अर्थ थाहा पाउनेछस्। विजय गरिएपछि पनि तँ आज परमेश्वरलाई पछ्याउन सक्षम छस् भन्दैमा, यसले तँ सिद्ध पारिनेहरूमा पर्छस् भन्ने कुरा प्रमाणित गर्दैन। जो परीक्षाहरू सहन असमर्थ छन्, जो सङ्कष्टको बीचमा विजयी हुन असक्षम छन्, तिनीहरू अन्ततः दृढ रहन असक्षम हुनेछन्, र तिनीहरू अन्त्यसम्म नै परमेश्वरलाई पछ्याउन असमर्थ हुनेछन्। जो सच्चा रूपमा परमेश्वरलाई पछ्याउँछन् तिनीहरू आफ्नो कामको परीक्षा लिइएको सहन सक्षम हुन्छन्, तर जो सच्चा रूपमा परमेश्वरलाई पछ्याउँदैनन् तिनीहरू परमेश्वरको कुनै पनि परीक्षा सहन असक्षम हुन्छन्। ढिलोचाँडो तिनीहरूलाई निकालिनेछ, जबकि विजेताहरू राज्यमा नै रहनेछन्। मानिस सच्चा रूपमा परमेश्वरलाई खोज्छ कि खोज्दैन भन्ने कुरा उसको कामको परीक्षा गरेर, अर्थात्, परमेश्वरका परीक्षाहरूद्वारा मात्रै निर्धारण गर्न सकिन्छ, र मानिस स्वयम्ले निर्धारण गर्ने कुरासँग यसको कुनै सम्बन्ध हुँदैन। परमेश्वर कुनै पनि व्यक्तिलाई सजिलै अस्वीकार गर्नुहुन्न; उहाँले गर्नुहुने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्वस्त पार्न सक्छ। उहाँ मानिसले नदेख्ने कुनै पनि कुरा, वा मानिसलाई विश्वस्त पार्न नसक्ने कुनै पनि काम गर्नुहुन्न। मानिसको विश्वास साँचो हो कि होइन भन्ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र मानिसद्वारा निर्धारण गर्न सकिँदैन। “गहुँ सामा बन्न सक्दैन, र सामा गहुँ बन्न सक्दैन” भन्ने कुरामा कुनै शङ्का छैन। जो सच्चा रूपमा परमेश्वरलाई प्रेम गर्छन् तिनीहरू सबै अन्ततः राज्यमा बाँकी रहनेछन्, र परमेश्वर उहाँलाई सच्चा रूपमा प्रेम गर्ने कसैलाई पनि नराम्रो व्यवहार गर्नुहुनेछैन। तिनीहरूका फरक-फरक प्रकार्य र गवाहीका आधारमा, राज्यभित्रका विजेताहरूले पूजाहारी वा अनुयायीका रूपमा सेवा गर्नेछन्, र सङ्कष्टको बीचमा विजयी हुनेहरू सबै राज्यभित्र पूजाहारीहरूको समूह बन्नेछन्। ब्रह्माण्डभित्र सुसमाचारको काम समाप्त भएपछि पूजाहारीहरूको समूह गठन गरिनेछ। जब त्यो समय आउँछ, तब मानिसद्वारा गरिनुपर्ने कुरा भनेको परमेश्वरको राज्यभित्र आफ्नो कर्तव्य निर्वाह गर्ने, र राज्यभित्र परमेश्वरसँगै जिउने हुनेछ। पूजाहारीहरूको समूहमा मुख्य पूजाहारी र पूजाहारीहरू हुनेछन्, र बाँकी चाहिँ परमेश्वरका पुत्र र मानिसहरू हुनेछन्। तिनीहरूलाई सङ्कष्टको दौरान तिनीहरूले परमेश्वरलाई दिएका गवाहीहरूका आधारमा विभाजन गरिनेछ; यी लहडमा दिइने पदवीहरू होइनन्। एकपटक मानिसको हैसियत स्थापित भएपछि, परमेश्वरको काम रोकिनेछ, किनभने प्रत्येक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकरण गरिनेछ र उसको मूल स्थानमा फर्काइनेछ, र यो परमेश्वरको महान् काम सम्पन्न भएको सङ्केत हो, यो परमेश्वरको काम र मानिसको अभ्यासको अन्तिम परिणाम हो, र यो परमेश्वरको कामका दर्शनहरू र मानिसको सहकार्यको प्रतिफल हो। अन्त्यमा, मानिस परमेश्वरको राज्यमा प्रवेश गर्नेछ र उसले त्यहाँ विश्राम पाउनेछ, अनि परमेश्वर पनि विश्राम गर्न आफ्नो वासस्थानमा फर्कनुहुनेछ। यो नै परमेश्वर र मानिसबीचको ६,००० वर्षे सहकार्यको अन्तिम परिणाम हुनेछ।