परमेश्‍वरद्वारा बास गरिएको देहको सार

परमेश्‍वर आफ्नो पहिलो देहधारणमा पृथ्वीमा साढे तेत्तीस वर्ष जिउनुभयो, र उहाँले तीमध्ये साढे तीन वर्ष मात्रै आफ्नो सेवकाइ निर्वाह गर्नुभयो। उहाँले काम गर्दाको दौरान, र उहाँले आफ्नो काम सुरु गर्नुअघि दुवै समयमा, उहाँमा सामान्य मानवता थियो; उहाँ साढे तेत्तीस वर्ष आफ्नो सामान्य मानवतामा जिउनुभयो। अन्तिम साढे तीन वर्षभरि, उहाँ देहधारी परमेश्‍वरका रूपमा देखा पर्नुभयो। उहाँले आफ्नो सेवकाइ निर्वाह गर्न सुरु गर्नुअघि, उहाँ साधारण, सामान्य मानवतासहित देखा पर्नुभयो, उहाँले आफ्नो ईश्‍वरत्वको कुनै सङ्केत देखाउनुभएन, र उहाँले औपचारिक रूपमा आफ्नो सेवकाइ निर्वाह गर्न सुरु गरेपछि मात्रै उहाँको ईश्‍वरत्व प्रकट भयो। ती पहिलो उनन्तीस वर्षको दौरानको उहाँको जीवन र कामले उहाँ एक साँचो मानव, मानिसको पुत्र, र दैहिक शरीर हुनुहुन्छ भन्‍ने कुरा देखाए, किनभने उहाँको सेवकाइ उनन्तीस वर्षको उमेरपछि मात्रै साँच्चै सुरु भयो। “देहधारण” भनेको देहमा परमेश्‍वरको देखापराइ हो; परमेश्‍वर सृजित मानिसमाझ देहको स्वरूपमा काम गर्नुहुन्छ। त्यसकारण, उहाँ देहधारी परमेश्‍वर हुनुभएकाले, उहाँ सुरुमा देह, सामान्य मानवतासहितको देह हुनैपर्छ; यो सबैभन्दा आधारभूत पूर्वसर्त हो। वास्तवमा, परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र देहमै काम गर्नुहुन्छ, परमेश्‍वर उहाँको सारमा नै देह बन्नुहुन्छ, एक व्यक्ति बन्‍नुहुन्छ भन्‍ने हो। उहाँको देहधारी जीवन र कामलाई दुई वटा चरणमा विभाजन गर्न सकिन्छ। पहिलो उहाँले आफ्नो सेवकाइ निर्वाह गर्नुअघि जिउने जीवन हो। उहाँ मानव जीवनका सामान्य नैतिकताहरू पालन गर्दै र मानव जीवनका सामान्य नियमहरू मान्दै, सामान्य मानव आवश्यकताहरू (खाना, लत्ताकपडा, सुताइ, बास), सामान्य मानव कमजोरीहरू, र सामान्य मानव संवेगहरू बोकेर एउटा साधारण मानव परिवारमा पूर्णतया सामान्य मानवतामा जिउनुहुन्छ। अर्को शब्दमा भन्नुपर्दा, यो पहिलो चरणको दौरान उहाँ गैर-ईश्‍वरीय, पूर्ण रूपमा सामान्य मानवतामा जिउनुहुन्छ, र सामान्य मानव गतिविधिहरू सबैमा संलग्न हुनुहुन्छ। दोस्रो चरण भनेको उहाँले आफ्नो सेवकाइ निर्वाह गर्न सुरु गरेपछि जिउने जीवन हो। उहाँ अझै पनि सामान्य मानव खोलसहितको साधारण मानवतामा नै बस्नुहुन्छ, र अलौकिकताको कुनै बाहिरी सङ्केत देखाउनुहुन्न। तैपनि उहाँ विशुद्ध रूपमा आफ्नो सेवकाइका खातिर जिउनुहुन्छ, र यस समयमा उहाँको सामान्य मानवता पूर्ण रूपमा उहाँको ईश्‍वरत्वको सामान्य कामलाई कायम राख्नका लागि अस्तित्वमा हुन्छ, किनभने त्यतिन्जेलसम्म उहाँको सामान्य मानवता परिपक्व भएर आफ्नो सेवकाइ निर्वाह गर्न सक्ने बिन्दुमा पुगेको हुन्छ। त्यसैले, उहाँको जीवनको दोस्रो चरण भनेको उहाँको सामान्य मानवतामा उहाँको सेवकाइ निर्वाह गर्नु हो, जुनबेला यो सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवैको जीवन हुन्छ। उहाँको जीवनको पहिलो चरणको दौरान उहाँ पूर्ण रूपमा साधारण मानवतामा जिउनुको कारण के हो भने उहाँको मानवता अझै पनि ईश्‍वरीय कामको सम्पूर्णतालाई कायम राख्न सक्षम हुँदैन, अझै परिपक्व भएको हुँदैन; उहाँको मानवता परिपक्व भएपछि—अर्थात्, त्यो उहाँको सेवकाइको अभिभारा उठाउन सक्ने भएपछि—मात्र उहाँ आफूले निर्वाह गर्नुपर्ने सेवकाइ निर्वाह गर्न सुरु गर्न सक्नुहुन्छ। उहाँ देह हुनुभएकोले, उहाँ बढ्न र परिपक्व हुन आवश्यक हुन्छ। त्यसकारण, उहाँको जीवनको पहिलो चरण सामान्य मानवताको चरण हो भने दोस्रो चरणमा उहाँको मानवता उहाँको कामको अभिभारा उठाउन र उहाँको सेवकाइ निर्वाह गर्न सक्षम हुन्छ, त्यसैले देहधारी परमेश्‍वरले आफ्नो सेवकाइको दौरान जिउने जीवन मानवता र पूर्ण ईश्‍वरत्व दुवैको जीवन हो। यदि परमेश्‍वर जन्मिनुभएको क्षणदेखि नै उहाँको देहधारी शरीरले औपचारिक रूपमा उहाँको सेवकाइ सुरु गर्नुभएको, र उहाँले गर्नुभएका सबै कुरा अलौकिक चिन्ह र आश्‍चर्यकर्महरू गर्नेसँग सम्बन्धित भएको भए, उहाँको कुनै भौतिक सार हुनेथिएन। त्यसकारण, उहाँको मानवता उहाँको भौतिक सारका खातिर अस्तित्वमा रहन्छ; मानवताविनाको कुनै देह हुन सक्दैन, र मानवताविनाको व्यक्ति मानव होइन। यसरी, परमेश्‍वरको देहको मानवता परमेश्‍वरको देहधारी शरीरको अन्तर्निहित गुण हो। “परमेश्‍वर देह बन्नुहुँदा उहाँमा ईश्‍वरत्व मात्रै हुन्छ, कुनै मानवता हुँदैन” भनेर भन्नु ईशनिन्दा हो, किनभने यो भनाइ पटक्कै टिक्दैन, र यसले देहधारणको सिद्धान्तलाई उल्लङ्घन गर्छ। उहाँले आफ्नो सेवकाइ निर्वाह गर्न सुरु गरेपछि पनि, उहाँ आफ्नो काम गर्दा अझै पनि मानवको बाहिरी खोलसहित आफ्नो ईश्‍वरत्वमा जिउनुहुन्छ; कुरा यति मात्रै हो कि यस समयमा उहाँको मानवताको एउटै मात्र उद्देश्य भनेको उहाँको ईश्‍वरत्वलाई सामान्य देहमा काम गर्न दिनु हो। त्यसैले काम गर्ने कर्ता भनेको उहाँको मानवतामा बास गर्ने ईश्‍वरत्व हो। उहाँको मानवताले नभई उहाँको ईश्‍वरत्वले काम गरिरहेको हुन्छ, तैपनि यो ईश्‍वरत्व उहाँको मानवताभित्र नै लुकेको हुन्छ; सारमा, उहाँको काम अझै पनि उहाँको पूर्ण ईश्‍वरत्वद्वारा गरिन्छ, उहाँको मानवताद्वारा होइन। तर काम गर्ने भनेको उहाँको देहले हो। उहाँ मानव हुनुहुन्छ र परमेश्‍वर पनि हुनुहुन्छ भनेर भन्न सकिन्छ, किनभने परमेश्‍वर देहमा जिउने परमेश्‍वर बन्नुहुन्छ; उहाँमा मानव खोल र मानव सार छ, र त्योभन्दा पनि बढी उहाँमा परमेश्‍वरको सार छ। उहाँ परमेश्‍वरको सार बोकेको मानव हुनुभएकाले, उहाँ सारा सृजित मानिसहरूभन्दा माथि, परमेश्‍वरको काम गर्न सक्ने कुनै पनि मानिसभन्दा माथि हुनुहुन्छ। त्यसैले, उहाँको जस्तो मानव खोलसहितका सबै जनामध्ये, मानवता बोकेका सबै जनामध्ये, उहाँ मात्रै देहधारी परमेश्‍वर स्वयम् हुनुहुन्छ—अरू सबै सृजित मानव हुन्। तिनीहरू सबैमा मानवता भए पनि, सृजित मानवमा मानवताबाहेक केही पनि हुँदैन, जबकि देहधारी परमेश्‍वर फरक हुनुहुन्छ: उहाँको देहमा उहाँमा मानवता मात्रै होइन, सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँमा ईश्‍वरीयता छ। उहाँको मानवता उहाँको देहको बाहिरी रूपमा र उहाँको दैनिक जीवनमा देख्न सकिन्छ तर उहाँको ईश्‍वरीयता बोध गर्न गाह्रो छ। उहाँमा मानवता भएको बेला मात्रै उहाँको ईश्‍वरीयता व्यक्त हुने हुँदा र त्यो मानिसहरूले कल्पना गरे जस्तो अलौकिक नहुने हुँदा, मानिसहरूले यसलाई देख्न निकै कठिन हुन्छ। आज पनि, मानिसहरूलाई देहधारी परमेश्‍वरको सार ठ्याक्कै के हो भनेर बुझ्न सबैभन्दा कठिन हुने गरेको छ। मैले यतिका धेरै वचन बोलिसकेपछि पनि, मलाई लाग्छ, तिमीहरूमध्ये अधिकांशका लागि यो अझै पनि रहस्य नै रहेको छ। वास्तवमा, यो विषय अत्यन्तै सरल छ: परमेश्‍वर देह बन्नुहुने भएकोले, उहाँको सार मानवता र ईश्‍वरीयताको संयोजन हो। यस संयोजनलाई परमेश्‍वर स्वयम्, पृथ्वीको परमेश्‍वर स्वयम् भनिन्छ।

येशूले पृथ्वीमा जिउनुभएको जीवन सामान्य देहको जीवन थियो। उहाँ आफ्नो देहको सामान्य मानवतामा जिउनुभयो। आफ्नो काम गर्ने र आफ्नो वचन बोल्ने, वा बिरामीलाई निको पार्ने र पिशाचहरू धपाउने, यस्ता असाधारण कामकुरा गर्ने उहाँको अख्तियार आधारभूत रूपमा उहाँले आफ्नो सेवकाइ निर्वाह गर्न सुरु नगरेसम्म प्रकट भएन। उनन्तीस वर्षको उमेरअघिको, उहाँले आफ्नो सेवकाइ निर्वाह गर्नुअघिको उहाँको जीवन नै उहाँ केवल एक सामान्य देह हुनुहुन्छ भन्‍ने कुराको पर्याप्त प्रमाण थियो। उहाँ सामान्य देह हुनुहुन्थ्यो, र उहाँले अझै आफ्नो सेवकाइ निर्वाह गर्न सुरु गर्नुभएको थिएन, त्यसैले मानिसहरूले उहाँमा कुनै ईश्‍वरीय कुरा देखेनन्, एक सामान्य मानव, एक साधारण व्यक्तिभन्दा बढी केही देखेनन्—जसरी त्यस समयमा, कतिपय मानिस उहाँलाई युसूफका पुत्र ठान्थे। मानिसहरू उहाँ एक साधारण मानिसको पुत्र हुनुहुन्छ भन्‍ने सोच्थे, तिनीहरू उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ भनेर कसैगरी भन्नै सक्दैनथे; उहाँले आफ्नो सेवकाइ निर्वाह गर्ने क्रममा धेरै वटा चिन्ह देखाउनुहुँदा समेत, धेरैजसो मानिसले अझै पनि उहाँ युसूफको पुत्र हुनुहुन्छ भनेर भने, किनभने उहाँ सामान्य मानवताको बाहिरी खोलसहितको ख्रीष्ट हुनुहुन्थ्यो। उहाँको सामान्य मानवता र उहाँको काम दुवै पहिलो देहधारणको अर्थलाई पूरा गर्न, परमेश्‍वर पूर्ण रूपमा देहमा आउनुभएको छ, उहाँ पूर्णतया साधारण व्यक्ति बन्नुभएको छ भनी प्रमाणित गर्नका निम्ति अस्तित्वमा थिए। उहाँले आफ्नो काम सुरु गर्नुअघि उहाँमा सामान्य मानवता हुनु भनेकै उहाँ एक साधारण देह हुनुहुन्छ भन्‍ने कुराको प्रमाण थियो; र उहाँले पछि काम गर्नुले पनि उहाँ एक साधारण देह हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्‍यो, किनभने सामान्य मानवताको देहमा नै उहाँले चिन्ह र आश्‍चर्यकर्महरू गर्नुभयो, बिरामीलाई निको पार्नुभयो, र पिशाचहरूलाई धपाउनुभयो। उहाँले चिन्हहरूको काम गर्न सक्नुको कारण के थियो भने उहाँको देहले परमेश्‍वरको अख्तियार बोकेको थियो, त्यो परमेश्‍वरका आत्माले पहिरिनुभएको देह थियो। परमेश्‍वरका आत्माका कारण उहाँमा यो अख्तियार थियो, र यसको अर्थ उहाँ देह हुनुहुन्न भन्‍ने थिएन। बिरामीलाई निको पार्नु र पिशाचहरू धपाउनु भनेको उहाँले आफ्नो सेवकाइमा निर्वाह गर्नुपर्ने काम थियो, त्यो उहाँको मानवतामा लुकेको उहाँको ईश्‍वरत्वको अभिव्यक्ति थियो, अनि उहाँले जस्तोसुकै चिन्हहरू देखाउनुभए पनि वा उहाँले आफ्नो अख्तियार जसरी प्रदर्शन गर्नुभए पनि, उहाँ अझै पनि सामान्य मानवतामा नै जिउनुभयो र अझै पनि सामान्य देह नै हुनुहुन्थ्यो। उहाँ क्रूसमा टाँगिएपछि मृत्युबाट नबिउँतेसम्म, उहाँले सामान्य देहभित्र नै बास गर्नुभयो। अनुग्रह प्रदान गर्नु, बिरामीलाई निको पार्नु, र पिशाचहरू धपाउनु सबै उहाँको सेवकाइका पाटा थिए, ती सबै उहाँले आफ्नो सामान्य देहमा गर्नुभएका काम थिए। उहाँ क्रूसमा जानुभन्दा पहिले, उहाँले जे गरिरहनुभएको भए पनि, उहाँ आफ्नो सामान्य मानव देहबाट कहिल्यै अलग हुनुभएन। उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो, परमेश्‍वरकै काम गरिरहनुभएको थियो, तैपनि उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुभएकोले, उहाँ खाना खानुहुन्थ्यो र लुगा लगाउनुहुन्थ्यो, उहाँमा सामान्य मानव आवश्यकताहरू थिए, सामान्य मानव समझ थियो, र सामान्य मानव मन थियो। यी सबै कुरा उहाँ एक सामान्य व्यक्ति हुनुहुन्थ्यो भन्‍ने कुराका प्रमाण थिए, जसले परमेश्‍वरको देहधारी शरीर सामान्य मानवतासहितको देह थियो, र अलौकिक थिएन भनी प्रमाणित गर्‍यो। उहाँको काम परमेश्‍वरको पहिलो देहधारणको काम पूरा गर्नु, परमेश्‍वरले आफ्नो पहिलो देहधारणमा निर्वाह गर्नुपर्ने सेवकाइ पूरा गर्नु थियो। एक साधारण, सामान्य व्यक्तिले परमेश्‍वर स्वयम्‌को काम गर्नु नै देहधारणको महत्त्व हो; अर्थात्, परमेश्‍वर मानवतामा आफ्नो ईश्‍वरीय काम गर्नुहुन्छ र यसरी शैतानलाई पराजित गर्नुहुन्छ। देहधारणको अर्थ परमेश्‍वरका आत्मा देह बन्नु हो, अर्थात्, परमेश्‍वर देह बन्नुहुन्छ; देहले गर्ने काम आत्माको काम हो, जुन देहमा साकार हुन्छ, देहद्वारा व्यक्त गरिन्छ। परमेश्‍वरको देहबाहेक अरू कसैले पनि देहधारी परमेश्‍वरको सेवकाइ पूरा गर्न सक्दैन; अर्थात्, परमेश्‍वरको देहधारी शरीर, सामान्य मानवता भएको यस व्यक्तिले मात्रै ईश्‍वरीय काम व्यक्त गर्न सक्छ। यसमा कुनै पनि मानवले उहाँको स्थान लिन सक्दैन। यदि, परमेश्‍वरको पहिलो आगमनको दौरान, उहाँमा उनन्तीस वर्षको उमेरअघि सामान्य मानवता हुँदैनथ्यो भने—यदि उहाँ जन्मिनेबित्तिकै चिन्ह र अचम्मका कार्यहरू गर्न सक्नुहुन्थ्यो भने, यदि उहाँले बोल्न सिक्नेबित्तिकै स्वर्गको भाषा बोल्न सक्नुहुन्थ्यो भने, यदि जन्मेदेखि नै उहाँ सांसारिक मामलाहरू सबै बुझ्न, हरेक व्यक्तिका विचारहरू र उसको हृदयभित्र के छ भनी देख्न सक्नुहुन्थ्यो भने—त्यस्तो व्यक्तिलाई सामान्य मानव भन्न मिल्नेथिएन, र त्यस्तो देहलाई मानव देह भन्न मिल्नेथिएन। यदि ख्रीष्टको हकमा यस्तो भएको भए, परमेश्‍वरको देहधारणका अर्थ र सार गुम्नेथिए। उहाँमा सामान्य मानवता हुनुले उहाँ देहमा देहधारण गर्नुभएका परमेश्‍वर हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्छ; उहाँले सामान्य मानव वृद्धि प्रक्रिया पार गर्ने तथ्यले उहाँ एक सामान्य देह हुनुहुन्छ भन्ने कुरा थप झल्काउँछ; यसमा उहाँको कामलाई जोड्दा, यी सबै कुरा उहाँ परमेश्‍वरको वचन, परमेश्‍वरका आत्मा, देह बन्नुभएको हो भनी प्रमाणित गर्न पर्याप्त छन्। परमेश्‍वर आफ्नो कामका आवश्यकताहरूका कारण देह बन्नुहुन्छ; अर्को शब्दमा भन्नुपर्दा, कामको यो चरण देहमा नै गरिनुपर्छ, अर्थात्, यो सामान्य मानवतामा नै गरिनुपर्छ। यो “मार्ग देह बन्नु” को र “वचन देहमा देखा पर्नु” को पूर्वसर्त हो, र यो परमेश्‍वरका दुई वटा देहधारणको वास्तविक कथा हो। मानिसहरू के विश्‍वास गर्न सक्छन् भने येशूले आफ्नो जीवनभरि चिन्हहरूको काम गर्नुभयो, र पृथ्वीमा आफ्नो काम समाप्त नभएसम्म, उहाँले सामान्य मानवताको कुनै सङ्केत देखाउनुभएन, उहाँमा सामान्य मानव आवश्यकता वा कमजोरीहरू वा मानव संवेगहरू थिएनन्, उहाँलाई जीवनका आधारभूत आवश्यकताहरू चाहिँदैनथियो, र उहाँले सामान्य मानव विचारहरू राख्नुभएन। तिनीहरू उहाँमा अतिमानवीय दिमाग र पराभौतिक मानवता मात्र भएको कल्पना गर्छन्। तिनीहरू उहाँ परमेश्‍वर हुनुभएकाले उहाँले सामान्य मानवले जस्तै सोच्नु र जिउनु हुँदैन, एक सामान्य व्यक्ति, एक साँचो मानवले मात्रै सामान्य मानव विचारहरू सोच्न र सामान्य मानव जीवन जिउन सक्छ भन्ने ठान्छन्। यी सबै मानव विचार र मानव धारणाहरू हुन्, र यी धारणाहरू परमेश्‍वरको कामका मूल अभिप्रायहरूविपरीत छन्। सामान्य मानव सोचाइले सामान्य मानव समझ र सामान्य मानवतालाई सँभाल्छ; सामान्य मानवताले मात्रै देहका सामान्य प्रकार्यहरूलाई सँभाल्न सक्छ; र देहका सामान्य प्रकार्यहरूले मात्रै देहको जीवनका सबै पाटा सामान्य भएको सुनिश्‍चित गर्न सक्छन्। त्यस्तो देहमा काम गरेर मात्रै परमेश्‍वरले आफ्नो देहधारणको उद्देश्य पूरा गर्न सक्नुहुन्छ। यदि देहधारी परमेश्‍वरमा देहको बाहिरी खोल मात्रै हुन्थ्यो तर उहाँ सामान्य मानव विचारहरू सोच्नुहुन्नथ्यो भने, यस देहमा मानव समझ हुनेथिएन, साँचो मानवता त झनै हुनेथिएन। मानवताविनाको यस्तो देहले कसरी देहधारी परमेश्‍वरले निर्वाह गर्नुपर्ने सेवकाइ पूरा गर्न सक्थ्यो? एउटा सामान्य दिमागले मानव जीवनका सबै पक्षलाई सँभाल्छ; सामान्य दिमागविना, कोही पनि मानव हुनेथिएन। अर्को शब्दमा भन्नुपर्दा, सामान्य कुराहरू नसोच्ने व्यक्ति मानसिक रूपमा बिरामी हुन्छ, र मानवता नभएको तर ईश्‍वरत्व मात्रै भएको ख्रीष्टलाई परमेश्‍वरको देहधारी शरीर भन्न मिल्दैन। त्यसैले, परमेश्‍वरको देहधारी शरीरमा कसरी सामान्य मानवता नहुन सक्छ? के ख्रीष्टमा कुनै मानवता छैन भनेर भन्नु ईशनिन्दा होइन र? सामान्य मानिसहरू संलग्न हुने सबै गतिविधि सामान्य मानव दिमागको कार्यसञ्चालनमा निर्भर हुन्छन्। यसविना, मानवहरू प्राकृतिक व्यवस्थाविरुद्ध जानेथिए; तिनीहरू कालो र सेतो, असल र खराबबीचको भिन्‍नता छुट्याउन समेत असमर्थ हुनेथिए; र तिनीहरूसँग कुनै मानव सदाचार र नैतिक सिद्धान्त हुनेथिएन। त्यसै गरी, यदि देहधारी परमेश्‍वर सामान्य मानवले जस्तै सोच्नुहुन्नथ्यो भने, उहाँ साँचो देह, सामान्य देह हुनुहुनेथिएन। सोचाइविनाको त्यस्तो देहले ईश्‍वरीय कामको जिम्मेवारी पटक्कै काँधमा लिन सक्नेथिएन। उहाँ सामान्य देहका गतिविधिहरूमा सामान्य रूपमा संलग्न हुन सक्नुहुनेथिएन, पृथ्वीमा मानिसहरूसँगै जिउनु त झनै परको कुरा हो। त्यसैले, परमेश्‍वरको देहधारणको महत्त्व र देहमा परमेश्‍वरको आगमनको साँचो सार गुम्नेथिए। देहधारी परमेश्‍वरको मानवता देहमा सामान्य ईश्‍वरीय कामलाई कायम राख्न अस्तित्वमा रहन्छ; उहाँको सामान्य मानव सोचाइले उहाँको सामान्य मानवतालाई सँभाल्छ र उहाँका सामान्य भौतिक गतिविधिहरू सबैलाई साथ दिन्छ। उहाँको सामान्य मानव सोचाइ देहमा परमेश्‍वरको सबै कामलाई कायम राख्नका लागि अस्तित्वमा रहन्छ भनेर भन्न सकिन्छ। यदि यस देहमा सामान्य मानव दिमाग नभएको भए, परमेश्‍वरले देहमा काम गर्न सक्नुहुनेथिएन, र उहाँले देहमा गर्नुपर्ने काम कहिल्यै पूरा हुन सक्नेथिएन। देहधारी परमेश्‍वरमा सामान्य मानव दिमाग भए पनि, उहाँको काममा मानव विचार मिश्रित हुँदैन; उहाँ मानवतामा गरिने काम दिमागसहितको मानवता प्राप्त गर्ने पूर्वसर्तमा सामान्य दिमागले गर्नुहुन्छ, सामान्य मानव विचारको प्रयोगद्वारा होइन। उहाँको देहका विचारहरू जतिसुकै उच्च भए पनि, उहाँको काम तर्क वा सोचाइद्वारा दूषित हुँदैन। अर्को शब्दमा भन्नुपर्दा, उहाँको काम उहाँको देहको दिमागद्वारा कल्पना गरिएको होइन, बरु उहाँको मानवतामा ईश्‍वरीय कामको प्रत्यक्ष अभिव्यक्ति हो। उहाँको सबै काम उहाँले पूरा गर्नैपर्ने सेवकाइ हो, र यसमध्ये कुनै पनि उहाँको दिमागद्वारा कल्पना गरिएको होइन। उदाहरणका लागि, बिरामीलाई निको पार्नु, पिशाचहरू धपाउनु, र क्रूसीकरण उहाँको मानव दिमागका उपज थिएनन्, र मानव दिमाग भएको कुनै पनि मानिसद्वारा ती हासिल गर्न सकिनेथिएन। त्यसै गरी, आजको विजयको काम देहधारी परमेश्‍वरद्वारा नै गरिनुपर्ने सेवकाइ हो, तर यो व्यक्तिको इच्छा होइन, यो उहाँको ईश्‍वरत्वले गर्नुपर्ने काम हो, यस्तो काम जुन रगत र मासुले बनेको कुनै पनि मानवले गर्न सक्दैन। त्यसैले देहधारी परमेश्‍वरमा सामान्य मानव दिमाग हुनैपर्छ, सामान्य मानवता हुनैपर्छ, किनभने उहाँले सामान्य दिमाग भएको मानवतामा आफ्नो काम गर्नैपर्छ। यो नै देहधारी परमेश्‍वरको कामको सार हो, देहधारी परमेश्‍वरको सार ठ्याक्कै यही हो।

येशूले काम गर्नुअघि, उहाँ केवल आफ्नो सामान्य मानवतामा जिउनुभयो। उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर कसैले भन्न सक्दैनथ्यो, उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भन्ने कुरा कसैले थाहा पाएन; मानिसहरूले त उहाँलाई सबैभन्दा साधारण व्यक्तिका रूपमा मात्र चिने। उहाँको सामान्य मानवता—जुन त्योभन्दा साधारण हुन सम्भव थिएन—त्यो परमेश्‍वरले देहमा देहधारण गर्नुभएको हो, र अनुग्रहको युग देहधारी परमेश्‍वरको कामको युग हो, आत्माको कामको युग होइन भन्‍ने कुराको प्रमाण थियो। यो परमेश्‍वरका आत्मा पूर्ण रूपमा देहमा साकार हुनुभएको थियो, परमेश्‍वरको देहधारणको युगमा उहाँको देहले आत्माको सबै काम गर्नेछ भन्‍ने कुराको प्रमाण थियो। सामान्य मानवतासहितको ख्रीष्ट यस्तो देह हुनुहुन्छ जसमा आत्मा साकार पारिनुहुन्छ, र जसमा सामान्य मानवता, सामान्य समझ, र मानव सोचाइ हुन्छ। “साकार पारिनु” को अर्थ परमेश्‍वर मानिस बन्नु, आत्मा देह बन्नु हो; अझ स्पष्ट रूपमा भन्नुपर्दा, यो परमेश्‍वर स्वयम् सामान्य मानवतासहितको देहमा बास गर्नु, र त्यसैमार्फत उहाँले आफ्नो ईश्‍वरीय काम व्यक्त गर्नु हो—साकार पारिनु, वा देहधारण हुनुको अर्थ यही हो। परमेश्‍वरको पहिलो देहधारणको दौरान, उहाँले बिरामीलाई निको पार्न र पिशाचहरू धपाउन जरुरी थियो, किनभने उहाँको काम छुटकारा दिनु थियो। सम्पूर्ण मानवजातिलाई छुटकारा दिनका निम्ति, उहाँ कृपालु र सहनशील हुन आवश्यक थियो। उहाँलाई क्रूसमा टाँगिनुअघि उहाँले गर्नुभएको काम बिरामीलाई निको पार्ने र पिशाचहरू धपाउने काम थियो, जसले उहाँले मानिसलाई पाप र फोहोरबाट मुक्तिको दिनुको पूर्वसङ्केत दियो। त्यो अनुग्रहको युग भएकोले, उहाँले बिरामीलाई निको पार्न, र यसरी त्यस युगमा अनुग्रहका प्रतिनिधि रहेका चिन्ह र अचम्मका कार्यहरू देखाउन जरुरी थियो—किनभने अनुग्रहको युग अनुग्रह प्रदान गर्ने कुरामा केन्द्रित थियो; शान्ति, आनन्द, र भौतिक आशिष्‌हरू अनुग्रहको युगका र त्यस समयमा येशूमा मानिसहरूको विश्‍वासका चिनो थिए। भन्नुको मतलब, बिरामीलाई निको पार्नु, पिशाचहरू धपाउनु, र अनुग्रह प्रदान गर्नु अनुग्रहको युगमा येशूको देहका अन्तर्निहित सामर्थ्यहरू थिए, ती आत्माले देहमा साकार पार्नुभएको काम थिए। तर त्यस्तो काम गर्दै गर्दा, उहाँ देहमा जिइरहनुभएको थियो र देहभन्दा माथि उठ्नुभएन। उहाँले निको पार्ने जस्तोसुकै कार्यहरू गर्नुभए पनि, उहाँमा अझै पनि सामान्य मानवता थियो, उहाँ अझै पनि सामान्य मानव जीवन जिउनुहुन्थ्यो। मैले परमेश्‍वरको देहधारणको युगमा देहले आत्माको सबै काम गर्‍यो भनेर भन्नुको कारण के हो भने, उहाँले चाहे जस्तोसुकै काम गर्नुभएको होस्, उहाँले त्यो देहमै गर्नुभयो। तर उहाँको कामका कारणले गर्दा, मानिसहरूले उहाँको देहमा पूर्ण रूपमा भौतिक सार भएको ठानेनन्, किनभने यस देहले चिन्हहरूको काम गर्न सक्थ्यो, र केही विशेष क्षणमा देहभन्दा माथिका कामकुरा गर्न सक्थ्यो। अवश्य नै, यी सबै घटना उहाँले आफ्नो सेवकाइ सुरु गरेपछि घटेका थिए, जस्तै चालीस दिनसम्म उहाँलाई प्रलोभनमा पारिनु वा डाँडामा उहाँको रूपान्तरण हुनु। त्यसैले येशूमार्फत परमेश्‍वरको देहधारणको अर्थ पूरा भएको थिएन, आंशिक रूपमा मात्रै पूरा भएको थियो। उहाँले आफ्नो काम सुरु गर्नुअघि देहमा जिउनुभएको जीवन सबै हिसाबले अत्यन्तै सामान्य थियो। उहाँले काम सुरु गर्नुभएपछि आफ्नो देहको बाहिरी खोल मात्रै कायम राख्नुभयो। उहाँको काम ईश्‍वरत्वको अभिव्यक्ति भएकोले, यसले देहका सामान्य प्रकार्यहरूलाई उछिन्थ्यो। आखिरमा, परमेश्‍वरको देहधारी देह रगत र मासुले बनेका मानवहरूभन्दा फरक थियो। अवश्य नै, उहाँलाई दैनिक जीवनमा खाना, लुगा, सुताइ, र बास चाहिन्थ्यो। उहाँका दैनिक आवश्यकताहरू हरेक हिसाबमा सामान्य थिए, र उहाँमा सामान्य मानवको समझ थियो, अनि उहाँ सामान्य मानवले जस्तै सोच्नुहुन्थ्यो। मानिसहरू अझै पनि उहाँलाई एक सामान्य व्यक्ति नै मान्थे, अपवादमा उहाँले गर्नुभएको काम मात्र अत्यन्तै अलौकिक थियो। वास्तवमा, उहाँले जे गर्नुभए पनि, उहाँ एक साधारण र सामान्य मानवतामा जिउनुभयो, र जति बढी समय उहाँ काम गरिरहनुभएको हुन्थ्यो, उहाँको समझ त्यति नै सामान्य हुन्थ्यो र उहाँका विचारहरू त्यति नै स्पष्ट हुन्थे; उहाँका समझ र विचारहरू कुनै पनि सामान्य मानिसका भन्दा माथि हुन्थे। देहधारी परमेश्‍वरमा ठ्याक्कै यस्तै प्रकारको सोचाइ र समझ हुन आवश्यक थियो, किनभने ईश्‍वरीय काम यस्तो देहद्वारा व्यक्त गरिन आवश्यक थियो जसको समझ हदैसम्म सामान्य होस् र जसका विचारहरू सबैभन्दा स्पष्ट होऊन्—यसरी मात्रै उहाँको देहले ईश्‍वरीय काम व्यक्त गर्न सक्थ्यो। येशू पृथ्वीमा साढे तेत्तीस वर्ष जिउनुभयो, र यस अवधिभरि उहाँले आफ्नो सामान्य मानवता कायम राख्नुभयो, तर उहाँको साढे तीन वर्षको सेवकाइको दौरान उहाँले गर्नुभएको कामका कारणले गर्दा, मानिसहरूले उहाँ अत्यन्तै पराभौतिक हुनुहुन्छ, उहाँ पहिलेभन्दा धेरै अलौकिक हुनुहुन्छ भन्ने सोचे। वास्तवमा, येशूले आफ्नो सेवकाइ सुरु गर्नुभन्दा पहिले र पछि उहाँको सामान्य मानवता अपरिवर्तित रह्यो; उहाँको मानवता सुरुदेखि अन्त्यसम्म उस्तै थियो, तर उहाँले आफ्नो सेवकाइ सुरु गर्नुभन्दा पहिले र पछिको भिन्‍नताका कारणले गर्दा, उहाँको देहका सम्बन्धमा दुई वटा फरक दृष्टिकोण देखा परे। मानिसहरूले जेसुकै सोचे पनि, देहधारी परमेश्‍वरले सधैँभरि आफ्नो मौलिक, सामान्य मानवता कायम राख्नुभयो, किनभने परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँ देहमा, अर्थात् सामान्य मानवता भएको देहमा जिउनुभयो। उहाँले आफ्नो सेवकाइ निर्वाह गरिरहनुभएको भए पनि वा नभए पनि, उहाँको देहको सामान्य मानवतालाई मेटाउन सकिँदैनथियो, किनभने मानवता भनेकै देहको आधारभूत सार हो। येशूले आफ्नो सेवकाइ निर्वाह गर्नुअघि, उहाँको देह पूर्ण रूपमा सामान्य रह्यो, र साधारण मानव गतिविधिहरू सबैमा संलग्न हुन्थ्यो; उहाँ अलिकति पनि अलौकिक देखिनुभएन, उहाँले कुनै चिन्ह देखाउनुभएन। त्यस समयमा, उहाँ परमेश्‍वरको आराधना गर्ने अत्यन्तै साधारण व्यक्ति मात्रै हुनुहुन्थ्यो, यद्यपि उहाँको पछ्याइ अरू कसैको भन्दा बढी इमानदार, बढी सच्चा थियो। हदैसम्म सामान्य रहेको उहाँको मानवता यसरी नै प्रकट भयो। उहाँले आफ्नो सेवकाइको जिम्मेवारी सम्हाल्नुअघि कुनै पनि काम नगर्नुभएकोले, उहाँको पहिचानबारे कसैलाई थाहा थिएन, उहाँको देह अरू सबैको भन्दा फरक छ भनेर कसैलाई थाहा थिएन, किनभने उहाँले एउटा पनि चिन्ह देखाउनुभएन, परमेश्‍वर स्वयम्‌को अलिकति पनि काम गर्नुभएन। तर, उहाँले आफ्नो सेवकाइ निर्वाह गर्न सुरु गरेपछि, उहाँले सामान्य मानवताको बाहिरी खोल कायम राख्नुभयो र उहाँ अझै पनि सामान्य मानव समझसहित जिउनुभयो, तर उहाँले परमेश्‍वर स्वयम्‌को काम गर्न, ख्रीष्टको सेवकाइको जिम्मेवारी सम्हाल्न, र नश्वर प्राणीहरू अर्थात् रगत र मासुले बनेका मानवहरूले गर्न नसक्ने काम गर्न सुरु गर्नुभएकोले, मानिसहरूले उहाँमा सामान्य मानवता नभएको र उहाँ पूर्ण रूपमा सामान्य देह नभई अपूर्ण देह हुनुहुन्छ भन्ने ठाने। उहाँले गर्नुभएको कामका कारणले गर्दा, मानिसहरूले उहाँ सामान्य मानवता नभएको देहको परमेश्‍वर हुनुहुन्छ भनेर भने। यस्तो बुझाइ त्रुटिपूर्ण र बेतुके हो, किनभने मानिसहरूले परमेश्‍वरको देहधारणको महत्त्व बुझेनन्। यो त्रुटिपूर्ण र बेतुके बुझाइ देहको परमेश्‍वरद्वारा व्यक्त गरिएको काम ईश्‍वरीय काम थियो, जुन सामान्य मानवता भएको देहमा व्यक्त गरिएको थियो भन्‍ने तथ्यबाट उत्पन्न भयो। परमेश्‍वरले देह पहिरिनुभएको थियो, उहाँ देहभित्र बास गर्नुहुन्थ्यो, र उहाँले आफ्नो मानवतामा गर्नुभएको कामले उहाँको मानवताको सामान्यतालाई अस्पष्ट पारिदियो। यस कारणले गर्दा, मानिसहरूले परमेश्‍वरमा मानवता छैन, ईश्‍वरत्व मात्रै छ भन्ने विश्‍वास गरे।

परमेश्‍वरले आफ्नो पहिलो देहधारणमा देहधारणको काम पूरा गर्नुभएन; उहाँले देहमा परमेश्‍वरले निर्वाह गर्नुपर्ने कामको पहिलो चरण मात्रै पूरा गर्नुभयो। त्यसैले, देहधारणको काम पूरा गर्नका निम्ति, परमेश्‍वर फेरि एक पटक देहमा फर्कनुभएको छ, देहको सबै सामान्यता र व्यावहारिकता जिउँदै हुनुहुन्छ, अर्थात्, परमेश्‍वरको मार्गलाई सम्भव भएसम्म सामान्य र साधारण देहमा प्रकट गर्दै हुनुहुन्छ, र यसरी उहाँले देहमा पूरा गर्न बाँकी रहेको कामलाई टुङ्ग्याउँदै हुनुहुन्छ। दोस्रो देहधारी शरीरको सार पहिलोको जस्तै छ, तर उहाँ पहिलोभन्दा अझ बढी व्यावहारिक, अझ बढी सामान्य हुनुहुन्छ। फलस्वरूप, दोस्रो देहधारी शरीरले सहने कष्ट पहिलोको भन्दा ठूलो छ, तर यो कष्ट उहाँले देहमा गर्नुभएको सेवकाइको नतिजा हो, जुन भ्रष्ट तुल्याइएको मानिसको कष्टभन्दा फरक छ। यो उहाँको देहको सामान्यता र व्यावहारिकताबाट पनि उत्पन्न हुन्छ। उहाँले सबैभन्दा सामान्य र व्यावहारिक देहमा आफ्नो सेवकाइ निर्वाह गर्नुहुने भएकोले, देहले धेरै कष्ट सहनैपर्छ। यो देह जति बढी सामान्य र व्यावहारिक छ, उहाँले आफ्नो सेवकाइ निर्वाह गर्दा त्यति नै बढी कष्ट भोग्नुहुनेछ। परमेश्‍वरको काम अत्यन्तै साधारण देहमा व्यक्त गरिन्छ, जसमा कुनै अलौकिकता पटक्कै हुँदैन। उहाँको देह सामान्य भएकोले र उहाँले मानिसलाई मुक्ति दिने कामको अभिभारा पनि बोक्नुपर्ने भएकोले, उहाँ कुनै अलौकिक देहले भन्दा पनि बढी मात्रामा कष्ट भोग्नुहुन्छ—र यो सबै कष्ट उहाँको देहको व्यावहारिकता र सामान्यताबाट उत्पन्न हुन्छ। दुई वटा देहधारी शरीरले आफ्नो सेवकाइ निर्वाह गर्दा भोगेका कष्टबाट, व्यक्तिले देहधारी शरीरको सार देख्न सक्छ। देह जति सामान्य हुन्छ, कामको अभिभारा बोक्दा उहाँले त्यति नै ठूलो कष्ट सहनैपर्छ; कामको अभिभारा बोक्ने देह जति बढी व्यावहारिक हुन्छ, मानिसहरूका धारणाहरू त्यति नै बलिया बन्छन्, र उहाँ त्यति नै ठूलो जोखिम लिनुहुन्छ। तैपनि, देह जति बढी व्यावहारिक हुन्छ, र देहमा सामान्य मानवका आवश्यकताहरू र पूर्ण समझ जति बढी हुन्छ, त्यति नै बढी उहाँ देहमा परमेश्‍वरको कामको अभिभारा बोक्न सक्षम हुनुहुन्छ। येशूलाई देहमार्फत क्रूसमा टाँगियो, र उहाँ देहमार्फत पापबलि बन्नुभयो, अर्थात्, सामान्य मानवता भएको देहमार्फत नै उहाँले शैतानलाई पराजित गर्नुभयो र मानिसलाई क्रूसबाट पूर्ण रूपमा मुक्ति दिनुभयो। पूर्ण देहमार्फत नै दोस्रो देहधारी परमेश्‍वर विजयको काम गर्नुहुन्छ र शैतानलाई पराजित गर्नुहुन्छ। पूर्ण रूपमा सामान्य र व्यावहारिक देहले मात्रै पूर्ण अर्थमा विजयको काम गर्न र शक्तिशाली गवाही दिन सक्छ। भन्नुको मतलब, मानिसको विजयले अलौकिक चमत्कार र प्रकाशहरूमार्फत होइन, देहमा हुनुहुने परमेश्‍वरको व्यावहारिकता र सामान्यतामार्फत आफ्नो प्रभाव हासिल गर्छ। यस देहधारी परमेश्‍वरद्वारा निर्वाह गरिने सेवकाइ भनेको बोल्नु हो, र बोलेर नै उहाँ मानिसलाई विजय गर्नुहुन्छ र सिद्ध पार्नुहुन्छ; अर्को शब्दमा भन्नुपर्दा, देहमा साकार हुनुभएको आत्माको काम बोल्नु हो र देहको काम बोल्नु र त्यसमार्फत मानिसहरूलाई पूर्ण रूपमा विजय गर्ने, प्रकट गर्ने, सिद्ध पार्ने, र हटाउने उद्देश्य हासिल गर्नु हो। त्यसैले, विजयको काममा नै देहमा गरिने परमेश्‍वरको काम पूर्ण रूपमा सम्पन्न हुनेछ। पहिलो पटक गरिएको मानिसका पापहरूको प्रायश्‍चित गर्ने काम देहधारणको कामको सुरुवात मात्रै थियो; विजयको काम गर्ने देहले मात्रै देहधारणको सम्पूर्ण काम पूरा गर्छ। लिङ्गको हिसाबले, एउटा पुरुष हुन्छ र अर्को महिला हुन्छ, जसले परमेश्‍वरको देहधारणको महत्त्व पूरा गर्छ, र परमेश्‍वरका बारेमा मानिसका धारणाहरू हटाउँछ: परमेश्‍वर पुरुष र महिला दुवै बन्न सक्नुहुन्छ, र सारमा, देहधारी परमेश्‍वर लिङ्गहीन हुनुहुन्छ। उहाँले पुरुष र महिला दुवै बनाउनुभयो, र उहाँ कुनै लैङ्गिक विभाजन गर्नुहुन्न। कामको यस चरणमा, परमेश्‍वर चिन्हका काम र आश्‍चर्यकर्महरू गर्नुहुन्न, ताकि कामले वचनहरूमार्फत आफ्नो परिणाम हासिल गरोस्। यसबाहेक, यसको कारण के हो भने यस पटक देहधारी परमेश्‍वरको काम बिरामीलाई निको पार्ने र पिशाचहरू धपाउने होइन, बरु बोलेर मानिसलाई विजय गर्ने हो, अर्थात् परमेश्‍वरको यस देहधारी देहमा भएका नैसर्गिक सामर्थ्यहरू वचनहरू बोल्ने र मानिसलाई विजय गर्ने हुन्, बिरामीलाई निको पार्ने र पिशाचहरू धपाउने होइनन्। सामान्य मानवतामा उहाँको काम चिन्हहरू देखाउने होइन, बिरामीलाई निको पार्ने र पिशाचहरू धपाउने होइन, बरु बोल्ने हो, त्यसैले मानिसहरूका नजरमा दोस्रो देहधारी शरीर पहिलोभन्दा ज्यादै सामान्य देखिन्छ। मानिसहरूको हेराइअनुसार, परमेश्‍वर वास्तवमै देह बन्नुभएको छ। तर, यी देहधारी परमेश्‍वर देहधारी येशूभन्दा फरक हुनुहुन्छ, र उहाँहरू दुवै देहधारी परमेश्‍वर हुनुभए पनि, उहाँहरू पूर्ण रूपमा उस्तै हुनुहुन्न। येशूमा सामान्य मानवता थियो, साधारण मानवता थियो, तर उहाँको साथमा धेरै वटा चिन्ह र आश्‍चर्यकर्म थिए। यस देहधारी परमेश्‍वरमा, मानव आँखाले कुनै चिन्ह वा आश्‍चर्यकर्म देख्नेछैन, न त बिरामीलाई निको पार्ने न त पिशाचहरू धपाउने, न त समुद्रमा हिँड्ने, न त चालीस दिनसम्म उपवास बस्ने...। उहाँ येशूले गर्नुभएको जस्तै काम गर्नुहुन्न, जसको कारण भनेको सारमा उहाँको देह येशूको भन्दा कुनै फरक भएकोले होइन, बरु बिरामीलाई निको पार्नु र पिशाचहरू धपाउनु उहाँको सेवकाइ नभएकोले हो। उहाँ आफ्नै कामलाई भत्काउनुहुन्न, आफ्नै काममा बाधा दिनुहुन्न। उहाँले आफ्ना व्यावहारिक वचनहरूमार्फत मानिसलाई विजय गर्नुहुने हुनाले, उसलाई चिन्हहरूद्वारा वशमा पार्न आवश्यक छैन, त्यसैले यो चरण देहधारणको काम पूरा गर्नका लागि हो। आज तैँले देख्ने देहधारी परमेश्‍वर पूर्ण रूपमा देह हुनुहुन्छ, र उहाँमा अलौकिक कुरा केही पनि छैन। उहाँ पनि अरू जस्तै बिरामी पर्नुहुन्छ, उहाँलाई पनि अरूलाई जस्तै खाना र लुगा चाहिन्छ; उहाँ पूर्ण रूपमा देह हुनुहुन्छ। यदि देहधारी परमेश्‍वरले यस पटक अलौकिक चिन्हका काम र आश्‍चर्यकर्महरू गर्नुभएको भए, यदि उहाँले बिरामीलाई निको पार्नुभएको भए, पिशाचहरू धपाउनुभएको भए, वा एकै वचनले मार्न सक्नुभएको भए, विजयको काम कसरी गर्न सकिन्थ्यो? यो कामलाई कसरी अन्यजाति राष्ट्रहरूमाझ फैलाउन सकिन्थ्यो? बिरामीलाई निको पार्नु र पिशाचहरू धपाउनु अनुग्रहको युगको काम थियो, यो छुटकाराको कामको पहिलो कदम थियो, र अब परमेश्‍वरले मानिसलाई क्रूसबाट मुक्ति दिनुभएको हुनाले, उहाँ अब त्यो काम गर्नुहुन्न। यदि, आखिरी दिनहरूमा, येशू जस्तै कुनै “परमेश्‍वर” देखा पर्नुभयो, जो बिरामीलाई निको पार्नुहुन्थ्यो, पिशाचहरू धपाउनुहुन्थ्यो, र मानिसका लागि क्रूसमा टाँगिनुभयो भने, त्यो बाइबलमा वर्णन गरिएको परमेश्‍वर जस्तै भए पनि र मानिसलाई स्वीकार गर्न सजिलो भए पनि, सारमा, परमेश्‍वरका आत्माद्वारा पहिरिएको देह हुनेथिएन, बरु दुष्ट आत्माद्वारा पहिरिएको देह हुनेथियो। किनभने आफूले पूरा गरिसकेको काम कहिल्यै नदोहोर्‍याउनु परमेश्‍वरको कामको सिद्धान्त हो। त्यसैले, परमेश्‍वरको दोस्रो देहधारणको काम पहिलोको कामभन्दा फरक छ। आखिरी दिनहरूमा, परमेश्‍वर एक साधारण, सामान्य देहमा विजयको काम साकार पार्नुहुन्छ; उहाँ बिरामीलाई निको पार्नुहुन्न, मानिसका लागि क्रूसमा टाँगिनुहुनेछैन, बरु केवल देहमा वचनहरू बोल्नुहुन्छ, र देहमा मानिसलाई विजय गर्नुहुन्छ। त्यस्तो देह मात्रै परमेश्‍वरको देहधारी शरीर हो; त्यस्तो देहले मात्रै देहमा परमेश्‍वरको काम पूरा गर्न सक्छ।

चाहे यस चरणमा देहधारी परमेश्‍वरले कष्ट भोगिरहनुभएको होस् वा आफ्‍नो सेवकाइ गरिरहनुभएको होस्, उहाँले देहधारणको अर्थलाई पूरा गर्न त्यसो गर्नुहुन्छ, किनभने यो परमेश्‍वरको अन्तिम देहधारण हो। परमेश्‍वर दुई पटक मात्रै देहधारी हुन सक्‍नुहुन्छ। तेस्रो पटक हुन सक्दैन। पहिलो देहधारण पुरुष हुनुहुन्थ्यो, दोस्रो स्त्री हुनुहुन्छ र त्यसैले परमेश्‍वरको देहको स्वरूप मानिसको मनमा पूरा हुन्छ; यसको साथै, दुई देहधारणहरूले पहिले नै परमेश्‍वरको कामलाई देहमा पूरा गरिसक्नुभएको छ। पहिलो पटक, देहधारणको अर्थलाई पूरा गर्नको लागि देहधारी परमेश्‍वरले सामान्य मानवतालाई धारण गर्नुभयो। यस पटक पनि उहाँले सामान्य मानवतालाई धारण गर्नुहुन्छ तर यो देहधारणको अर्थ फरक छ: यो अझै गहिरो छ र उहाँको काम अझै गहन महत्त्वको छ। परमेश्‍वर एक पटक फेरि देह बन्नुको कारण भनेको देहधारणको अर्थलाई पूरा गर्नु हो। जब परमेश्‍वरले उहाँको कामको यो चरणलाई पूर्ण रूपमा पूरा गर्नुभयो, देहधारणको सम्पूर्ण अर्थ अर्थात् देहमा परमेश्‍वरको कार्य पूरा हुनेछ र देहमा गर्नको लागि थप कुनै काम हुनेछैन। भन्नुको अर्थ, अबदेखि उसो आफ्नो काम गर्नको लागि परमेश्‍वर फेरि कहिल्यै देहमा आउनुहुनेछैन। मानवजातिलाई मुक्त गर्न र सिद्ध गर्न मात्रै परमेश्‍वरले देहधारणको काम गर्नुहुन्छ। अर्को शब्दमा भन्दा, कामको खातिरबाहेक, देहमा आउनु परमेश्‍वरको लागि सामान्य होइन। काम गर्नको लागि देहमा आएर, उहाँले शैतानलाई देखाउनुहुन्छ कि, परमेश्‍वर देह हुनुहुन्छ, सामान्य व्यक्ति, साधारण व्यक्ति हुनुहुन्छ—तैपनि उहाँले संसारलाई पराजित गर्न सक्नुहुन्छ, शैतानलाई पराजित गर्न, मानवजातिलाई छुटकारा दिन, र मानवजातिलाई विजय गर्न सक्नुहुन्छ! शैतानको कामको उद्देश्य भनेको मानवजातिलाई भ्रष्ट तुल्याउनु हो, जबकि परमेश्‍वरको कामको उद्देश्य भनेको मानवजातिलाई मुक्ति दिनु हो। शैतानले मानिसलाई अतल कुण्डमा फसाउँछ, जबकि परमेश्‍वरले उसलाई यसबाट मुक्ति दिनुहुन्छ। शैतानले सबै मानिसहरूलाई त्यसको आराधना गर्ने बनाउँछ तर परमेश्‍वरले तिनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा रहने बनाउनुहुन्छ, किनभने उहाँ सृष्टिका प्रभु हुनुहुन्छ। यी सबै काम परमेश्‍वरका दुई देहधारणहरूद्वारा हासिल गरिन्छ। सारमा, उहाँको देह मानवता र ईश्‍वरीयताको मिलाप हो र यसमा सामान्य मानवता छ। त्यसैले परमेश्‍वरको देहधारी शरीरविना, परमेश्‍वरले मानवजातिलाई मुक्त गर्ने परिणामहरू प्राप्त गर्न सक्नुहुन्नथियो र उहाँको देहको सामान्य मानवताविना, देहमा उहाँले गर्नुहुने कार्यले यी परिणामहरू हासिल गर्न सक्दैन थियो। परमेश्‍वरको देहधारणको सार भनेको उहाँमा सामान्य मानवता हुनैपर्छ भन्‍ने हो; अन्यथा यो हुनु भनेको देहधारी हुने परमेश्‍वरको मूल अभिप्रायको विपरीत हुने थियो।

देहधारणको अर्थ येशूको काममा पूरा भएको थिएन भनेर म किन भन्छु? किनभने मार्ग पूर्ण रूपमा देह बन्नुभएन। येशूले जे गर्नुभयो त्यो देहमा परमेश्‍वरको कामको एउटा भाग मात्रै थियो; उहाँले छुटकाराको काम मात्रै गर्नुभयो, र मानिसलाई पूर्ण रूपमा प्राप्त गर्ने काम गर्नुभएन। यस कारणले गर्दा, परमेश्‍वर आखिरी दिनहरूमा फेरि एक पटक देह बन्नुभएको छ। कामको यो चरण पनि एउटा साधारण देहमा नै गरिन्छ; यो अत्यन्तै सामान्य मानवद्वारा गरिन्छ, जसको मानवता अलिकति पनि पराभौतिक छैन। अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वर पूर्ण मानव बन्नुभएको छ; उहाँ परमेश्‍वरको पहिचान भएको व्यक्ति, एक पूर्ण मानव, एक पूर्ण देह हुनुहुन्छ, जो काम गरिरहनुभएको छ। मानव आँखाले बिलकुलै पराभौतिक नरहेको दैहिक शरीर, स्वर्गको भाषा बोल्न सक्ने एक अत्यन्तै साधारण व्यक्ति देख्छ, जसले कुनै चिन्ह देखाउँदैन, कुनै चमत्कार गर्दैन, ठूला सभा भवनहरूमा धर्मको पछाडि रहेको वास्तविक कथाको खुलासा गर्नु त झनै परको कुरा हो। मानिसहरूको नजरमा, दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा पूर्ण रूपमा फरक देखिन्छ, र ती दुईमा कुनै समानता छैन जस्तो समेत देखिन्छ—यस पटक पहिलोको कामको जस्तो केही पनि देख्न सकिँदैन। दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा फरक भए पनि, त्यसले उहाँहरूको स्रोत एउटै र उही होइन भनी प्रमाणित गर्दैन। उहाँहरूको स्रोत उही हो कि होइन भन्‍ने कुरा देहहरूद्वारा गरिएको कामको प्रकृतिमा निर्भर हुन्छ, उहाँहरूको बाहिरी खोलमा होइन। परमेश्‍वरको कामका तीन वटा चरणको दौरान, उहाँ दुई पटक देहधारण हुनुभएको छ, र दुवै पटक देहधारी परमेश्‍वरको कामले नयाँ युगको औपचारिक सुरुवात गर्छ, नयाँ कामको थालनी गर्छ; देहधारणहरू एक-अर्कालाई परिपूरण गर्छन्। मानव आँखाले दुई वटा देह वास्तवमा एउटै स्रोतबाट आउँछन् भनेर थाहा पाउन असम्भव छ। अवश्य नै, यो मानव आँखा वा मानव दिमागको क्षमताभन्दा बाहिर छ। तर सारमा, उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूको काम एउटै आत्माबाट उत्पन्न हुन्छ। दुई देहधारी देह एउटै स्रोतबाट उत्पन्न हुन्छन् कि हुँदैनन् भन्‍ने कुरा उहाँहरू जन्मनुभएको युग र स्थान, वा त्यस्तै अन्य कारकहरूका आधारमा होइन, उहाँहरूद्वारा व्यक्त गरिएको ईश्‍वरीय कामका आधारमा मूल्याङ्कन गर्न सकिन्छ। दोस्रो देहधारी शरीर येशूले गर्नुभएको कुनै पनि काम गर्नुहुन्न, किनभने परमेश्‍वरको कामले परम्परालाई पालन गर्दैन, बरु हरेक पटक नयाँ मार्ग खोल्छ। दोस्रो देहधारी शरीरले मानिसहरूको मनमा पहिलो देहको छापलाई गहिरो वा सुदृढ बनाउने लक्ष्य राख्नुहुन्न, बरु तिनीहरूको मनमा पहिलो देहको स्वरूपलाई परिपूरण र सुधार गर्ने, परमेश्‍वरबारे मानिसको ज्ञानलाई अझ गहिरो बनाउने, मानिसहरूको हृदयमा रहेका सबै प्रावधानलाई तोड्ने, र तिनीहरूको हृदयमा रहेका ईश्‍वरका त्रुटिपूर्ण र बेतुके स्वरूपहरूलाई मेटाउने लक्ष्य राख्नुहुन्छ। परमेश्‍वर स्वयम्‌को कामको कुनै पनि चरण एक्लैले मानिसलाई उहाँको पूर्ण ज्ञान दिन सक्दैन भनेर भन्न सकिन्छ; प्रत्येकले एउटा भाग मात्रै दिन्छ, सम्पूर्ण ज्ञान दिँदैन। परमेश्‍वरले आफ्नो स्वभाव पूर्ण रूपमा व्यक्त गर्नुभएको भए पनि, मानिसको सीमित बोध सामर्थ्यका कारणले गर्दा, परमेश्‍वरबारे उसको ज्ञान अझै पनि अपूर्ण नै रहन्छ। मानव भाषा प्रयोग गरेर परमेश्‍वरको समग्र स्वभावलाई पूर्ण रूपमा प्रस्ट्याउन असम्भव छ। त्यसोभए, उहाँको कामको एउटै चरणले झनै कति कम परमेश्‍वरलाई पूर्ण रूपमा प्रस्ट्याउन सक्छ होला? उहाँ आफ्नो सामान्य मानवताको आवरणमा रहेर देहमा काम गर्नुहुन्छ, र व्यक्तिले उहाँलाई उहाँको ईश्‍वरत्वका अभिव्यक्तिहरूद्वारा मात्रै चिन्न सक्छ, उहाँको शारीरिक खोलद्वारा सक्दैन। परमेश्‍वर मानिसले उहाँलाई उहाँका विभिन्न कामद्वारा चिन्न सकोस् भनेर देहमा आउनुहुन्छ, र उहाँको कामका कुनै पनि दुई वटा चरण उस्तै हुँदैनन्। यसरी मात्रै मानिसले देहमा हुनुहुने परमेश्‍वरको कामको पूर्ण ज्ञान प्राप्त गर्न र यसलाई निश्चित क्षेत्रमा सीमित नगर्न सक्छ। दुई वटा देहधारी शरीरको काम फरक भए पनि, देहहरूको सार र उहाँहरूको कामको स्रोत उस्ताउस्तै छन्; कुरा यति मात्रै हो कि उहाँहरू कामका दुई वटा फरक चरण गर्नका लागि अस्तित्वमा रहनुहुन्छ, र दुई फरक युगमा उदय हुनुहुन्छ। परमेश्‍वरका देहधारी शरीरहरूका सार र स्रोत कुनै पनि हालतमा एउटै हुन्छन्—यो कसैले पनि नकार्न नसक्ने कुरा हो।

अघिल्लो:  भ्रष्ट मानवजातिलाई देहधारी परमेश्‍वरको मुक्ति बढी चाहिएको हुन्छ

अर्को:  परमेश्‍वरको कार्य र मानिसको अभ्यास

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger