ग. राज्यको युग—आखिरी युगको सम्बन्धमा
३३. जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग ल्याउनुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूको दौरान, परमेश्वर फेरि देह बन्नुभएको छ, र यो देहधारणमार्फत उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र राज्यको युग ल्याउनुभयो। परमेश्वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्ने सबैलाई राज्यको युगमा डोऱ्याइनेछ, र यसबाहेक तिनीहरू व्यक्तिगत रूपमा परमेश्वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर मानिसलाई उसको शैतानद्वारा भ्रष्ट तुल्याइएको स्वभाव पूर्ण रूपमा फाल्ने तुल्याउन परमेश्वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
३४. मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्र पहिल्यै रोपिएका थिए, र शैतानद्वारा भ्रष्ट तुल्याइएको हजारौँ वर्षपछि, ऊसँग भित्र परमेश्वरको प्रतिरोध गर्ने एउटा प्रकृति हुन्छ। यसकारण, जब मानिसलाई छुटकारा दिइयो, त्यो छुटकारा भन्दा अरू केही पनि थिए न। अर्थात्, मानिसलाई ठूलो मूल्यमा किनेर फिर्ता लिइएको थियो, तर ऊभित्रको विषाक्त प्रकृति हटाइएको थिएन। यस्तो फोहोरी मानिसले परमेश्वरलाई सेवा गर्न योग्य हुनुभन्दा अघि परिवर्तन भोग्नैपर्छ। यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। वचनको न्याय र सजायमार्फत नै मानिस परमेश्वरद्वारा प्राप्त गरिन पुग्छ, र वचनमार्फत गरिने शोधन, न्याय, र खुलासाले नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, मनसाय र व्यक्तिगत आशाहरूलाई पूर्ण रूपमा प्रकट गर्छन्। मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएका भए पनि, यसलाई केवल परमेश्वरले उसका अपराधहरू याद नगर्नुभएको र उसका अपराधहरूअनुसार ऊसँग व्यवहार नगर्नुभएको मान्न सकिन्छ। तर, मानिस पापबाट मुक्त नभईकन देहमा जिउँछ, र ऊ निरन्तर पाप गरिरहन, अटुट रूपमा आफ्नो शैतानी भ्रष्ट स्वभावहरू प्रकट गरिरहन मात्र सक्छ। मानिसले जिउने जीवन यही हो, पाप गर्ने र क्षमा गरिने एउटा निरन्तर चक्र। अधिकांश मानिसहरूले दिनमा पाप गर्छन् र साँझमा स्वीकार गर्छन्। अनि त्यसैले, पापबलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि, त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभावहरू छन्। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्ने थाहा पाए, तब तिनीहरूले गुनासो गरे, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानिस अझै पनि परमेश्वरको प्रभुत्वको अन्तर्गत पूर्ण रूपमा समर्पित हुन असमर्थ छ भनी देखाउँदैन र? के ठ्याक्कै यही नै मानिसका शैतानी भ्रष्ट स्वभाव होइनन् र? जब तँलाई सजायको अधीनमा पारिएको थिएन, तँ तेरो हात अरू सबैका भन्दा माथि उठाउँथिस्, येशूको भन्दा पनि माथि उठाउँथिस्। अनि तँ ठूलो स्वरमा कराउँथिस्: “परमेश्वरको प्यारो छोरा हुनू! परमेश्वरको एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मरौँला! त्यो वृद्ध शैतानविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर सदाका लागि शक्तिबाट खसोस्। परमेश्वरले हामीलाई पूर्ण बनाउनुहोओस्!” तैँले अरू सबैको भन्दा चर्को स्वरमा पुकारिस्। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, तेरा भ्रष्ट स्वभावहरू प्रकट भए। तेरो पुकार रोकियो, र तैँले तेरो सङ्कल्प गुमाइस्। मानिसको भ्रष्टता यही नै हो; यो यस्तो कुरा हो, जुन पापभन्दा गहिरो छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरूबारे सचेत हुनु मानिसका निम्ति सजिलो छैन, र ऊसँग गहिरो जरा गाडेको आफ्नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन। वचनको न्यायमार्फत मात्रै यो नतिजा हासिल गर्न सकिन्छ। यसरी मात्र मानिसलाई यस बिन्दुबाट बिस्तारै परिवर्तन गर्न सकिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
३५. आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू ल्याउन सकिन्छ। यी वचनहरू स्वीकार गर्दा यी मानिसहरूमा ल्याइने परिवर्तनहरू, अनुग्रहको युगमा चिह्न र चमत्कारहरू स्वीकार गर्दा मानिसहरूमा ल्याइएका परिवर्तनहरूभन्दा ठूला हुन्छन्। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर अनि प्रार्थना गरेर ऊबाट दुष्टात्माहरू निकालिए, तर मानिसभित्रका भ्रष्ट स्वभाव अझै रहिरहे। मानिसलाई उसको बिमारीबाट निको पारियो र उसका पापहरू क्षमा गरिए, तर मानिसले ऊभित्रका भ्रष्ट शैतानी स्वभावहरू कसरी फाल्न सक्छ भन्ने कुरा आउँदा, उसमा यो काम गर्न अझै बाँकी नै थियो। मानिसको आस्थाका कारण, उसलाई केवल मुक्ति दिइयो र उसका पापहरू क्षमा गरियो, तर मानिसको पापी प्रकृति हटाइएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रह्यो। मानिसका पापहरू परमेश्वरको देहधारणमार्फत क्षमा गरिएका थिए, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्छ, तर मानिसलाई उप्रान्त कसरी पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापी प्रकृतिलाई कसरी पूर्ण रूपले फाल्न र रूपान्तरित गर्न सकिन्छ भन्ने सवालमा, ऊसँग यो समस्या समाधान गर्ने कुनै उपाय छैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्वरको क्रूसीकरणको कामका कारण हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानी स्वभावअन्तर्गत जिइरह्यो। यस्तो भएकोले, मानिसलाई उसको भ्रष्ट शैतानी स्वभावबाट पूर्ण रूपमा मुक्ति दिइनैपर्छ, ताकि उसको पापी प्रकृति पूर्ण रूपले फालियोस्, र फेरि कहिल्यै विकास नहोस्, यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसका निम्ति मानिसले जीवनमा वृद्धि हुने मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने मार्गलाई बुझ्नु आवश्यक हुन्छ। यसका साथै, मानिसले यो मार्गअनुसार अभ्यास गर्नु आवश्यक हुन्छ, ताकि उसको स्वभाव बिस्तारै परिवर्तित हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, ताकि उसले गर्ने सबथोक परमेश्वरका अभिप्रायअनुसार होस्, ताकि उसले आफ्नो भ्रष्ट शैतानी स्वभाव फाल्न सकोस् र ताकि ऊ शैतानको अन्धकारको प्रभावबाट उम्कन सकोस्, यसरी ऊ पापबाट पूर्ण रूपमा निस्कन सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ। जुन बेला येशूले आफ्नो काम गर्दैहुनुहुन्थ्यो, उहाँसम्बन्धी मानिसको ज्ञान अझै अनिश्चित र अस्पष्ट नै थियो। मानिसले सधैँ उहाँ दाऊदको छोरा हुनुहुन्छ भनी विश्वास गरे, र उहाँलाई एक महान् अगमवक्ता, मानिसका पापबाट छुटकारा दिने परोपकारी प्रभु भनी घोषणा गरे। कोही-कोही आफ्नो विश्वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तापनि, मानिस ऊ आफै भित्र गहिरो जरा गाडेर बसेको भ्रष्ट शैतानिक स्वभावलाई पत्ता लाउन असमर्थ नै थियो, न त त्यसलाई कसरी फाल्ने भन्ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्वासले सम्पूर्ण परिवारमा आशिष् ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्छ भने तिनीहरूलाई स्वीकार्य विश्वासी मानिन्थ्यो। केवल यस प्रकारका विश्वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले मुक्ति पाएका थिए भन्ने हुन्थ्यो। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण, कामको त्यो चरण समाप्त भएपछि, न्याय र सजायको काम अझै बाँकी नै रह्यो। यो चरण भनेको मानिसलाई वचनको माध्यमद्वारा शुद्ध गर्नु हो, र यसरी उसलाई पछ्याउने मार्ग दिनु हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले, मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम समाप्तिमा पुगिसकेको छ, र परमेश्वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहँदा, मानिसले अझै पनि पाप गर्न र परमेश्वरको प्रतिरोध गर्न सक्छ, र परमेश्वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। त्यसैले कामको यस चरणमा परमेश्वरले मानिसको भ्रष्ट स्वभाव खुलासा गर्न वचन प्रयोग गर्नुहुन्छ, र उसलाई उचित मार्गअनुरूप अभ्यास गर्ने तुल्याउनुहुन्छ। कामको यो चरण अघिल्लोभन्दा अझ बढी अर्थपूर्ण छ, साथै अझ बढी फलदायी पनि छ, किनकि अहिले वचनले नै सिधै मानिसको जीवनलाई आपूर्ति गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण हुने तुल्याउँछ; यो अझै पूर्ण कामको चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्वरको देहधारणको महत्त्व पूरा गरेको छ र मानिसको मुक्तिका लागि परमेश्वरको व्यवस्थापनको योजनालाई पूर्ण रूपमा पूरा गरेको छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
३६. आखिरी दिनहरूका काम उनीहरूका किसिमअनुसार सबैलाई छुट्याउनु, र परमेश्वरको व्यवस्थापन योजनालाई निष्कर्षमा पुर्याउनु हो, किनकि समय नजिक छ र परमेश्वरको दिन आएको छ। परमेश्वरले उहाँको राज्यमा प्रवेश गर्ने सबैलाई अर्थात् अन्तिमसम्म उहाँप्रति निष्ठावान् हुने सबैलाई परमेश्वर स्वयम्को युगमा ल्याउनुहुन्छ। परमेश्वर स्वयम्को युगमा आइपुग्नुभन्दा पहिले, परमेश्वरको काम मानवका कार्यहरूलाई अवलोकन गर्नु होइन, वा मानवको जीवनको सोधपूछ गर्नु होइन, तर मानिसको विद्रोहीपन न्याय गर्नु हो, किनकि परमेश्वरको सिंहासनको सामुन्ने आउने सबैलाई उहाँले स्वच्छ पार्नुहुन्छ। यस दिनसम्म परमेश्वरका पदचापहरू पछ्याउनेहरू सबै परमेश्वरको सिंहासनका सामुन्ने आउनेहरू हुन्, अनि यो यस्तो हुँदा, अन्तिम चरणको परमेश्वरको कामलाई स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्वरको शुद्धीकरणको पात्र हुन्छ। अर्को शब्दमा भन्दा, अन्तिम चरणमा भएको परमेश्वरको काम स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्वरको न्यायको पात्र हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
३७. आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरप्रति बफादार हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव, र इत्यादि जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्ने सन्दर्भमा बोलिएका हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्दहरूले व्याख्या गर्नुहुन्न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन, तर मानिससँग पूर्णतया नभएको सत्यताले प्रतिस्थापन गर्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्वस्त हुन सक्छ, र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्वरका अभिप्राय, परमेश्वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्ने तुल्याउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै मानवका कुरूपता पत्ता लगाउने पनि तुल्याउँछ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, मार्ग, र जीवनलाई खोल्नु हो। यो परमेश्वरद्वारा गरिएको न्यायको काम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
३८. मानवजाति शैतानद्वारा यति गम्भीर रूपले भ्रष्ट भएको छ कि उसले परमेश्वर हुनुहुन्छ भनी जान्दैन र उसले परमेश्वरको आराधना गर्न छाडेको छ। आदिमा, जब आदम र हव्वाको सृष्टि गरियो, यहोवाको महिमा र गवाही सधैँ विद्यमान थिए। तर भ्रष्ट पारिएपछि, मानिसले त्यो महिमा र गवाही गुमायो, किनकि सबैले परमेश्वरको विरुद्धमा विद्रोह गरे, र उहाँको डर मान्न पूरै छाडे। आजको विजयको काम भनेको सम्पूर्ण गवाही र सम्पूर्ण महिमा फेरि प्राप्त गर्नु, र सबै मानिसहरूलाई परमेश्वरको आराधना गर्ने बनाउनु हो, ताकि सृजित प्राणीहरूका माझमा गवाही होस्; यो यस चरणको दौरान गर्नुपर्ने काम हो। वास्तवमा, कसरी मानवजातिमाथि विजय प्राप्त गर्नुपर्छ? मानिसलाई पूर्ण रूपमा विश्वास दिलाउन यस चरणमा वचनहरूको काम प्रयोग गरेर; उसलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन खुलासा, न्याय, सजाय र निर्दयी श्राप प्रयोग गरेर; मानिसको विद्रोहीपनलाई खुलासा गरेर अनि उसको प्रतिरोधको न्याय गरेर ताकि उसले मानवजातिको अधार्मिकता र फोहोर चिन्न सकोस्, र यसरी ती चीजहरूलाई परमेश्वरको धर्मी स्वभावको प्रतिभारको रूपमा प्रयोग गरेर। मुख्य रूपमा यी वचनहरूद्वारा नै मानिसउपर विजय प्राप्त गर्न र उसलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन सकिन्छ। वचनहरू मानवजातिलाई अन्तिम विजय गरिने माध्यम हुन्, र परमेश्वरको विजयलाई स्वीकार गर्ने सबैले उहाँको वचनको प्रहार र न्यायलाई स्वीकार गर्नुपर्दछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)
३९. राज्यको युगमा, परमेश्वरले नयाँ युगको प्रारम्भ गर्न, आफूले गर्ने कामका माध्यमहरू परिवर्तन गर्न, र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्वरले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। उहाँ देह बन्नुभयो र फरक-फरक दृष्टिकोणहरूबाट बोल्नुहुन्छ, मानिसले वचन देहमा देखा पर्नुभएका परमेश्वरलाई साँच्चै देख्ने तुल्याउनुहुन्छ, र उहाँको बुद्धि र अद्भुतता देख्ने तुल्याउनुहुन्छ। मानिसहरूलाई विजय गर्ने, मानिसहरूलाई सिद्ध पार्ने, र मानिसहरूलाई हटाउने लक्ष्यहरू अझै राम्ररी हासिल गर्न परमेश्वर यसरी काम गर्नुहुन्छ, जुन वचनको युगमा काम गर्न गरिने वचनको प्रयोगको सही अर्थ हो। वचनहरूद्वारा मानिसहरूले परमेश्वरको काम, परमेश्वरको स्वभाव, मानिसको सार, र मानिस जेमा प्रवेश गर्नु पर्ने हो, त्यो थाहा पाउन पुग्छन्। वचनहरूद्वारा, परमेश्वरले वचनको युगमा गर्ने चाहना गर्नुभएको सबै काम हासिल हुन्छन्। वचनहरूद्वारा, मानिसहरूलाई प्रकाश गरिन्छ, हटाइन्छ, र जाँचिन्छ। मानिसहरूले यी वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन्, र यी वचनहरूको अस्तित्व चिनेका छन्। परिणामस्वरूप, उनीहरू परमेश्वरको अस्तित्वमा, परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धिमा, र मानिसलाई प्रेम गर्ने र मुक्ति दिने परमेश्वरको हृदयमा विश्वास गर्न पुगेका छन्। “वचनहरू” भन्ने शब्द साधारण र सरल हुन सक्ला, तर देहधारी परमेश्वरका मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्, तिनले मानिसहरूका हृदय, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू, र सम्पूर्ण संसारको विगतको स्वरूपलाई रूपान्तरण गर्छन्। युगौँ-युगदेखि, आजका परमेश्वरले मात्र यसरी काम गर्नुहुन्छ, र केवल उहाँ मात्रै यसरी बोल्नुहुन्छ र यस प्रकार मानिसलाई मुक्ति दिन आउनुहुन्छ। यो समयदेखि, मानिस परमेश्वरका वचनहरूको मार्गदर्शनअन्तर्गत, उहाँका वचनहरूको खुवाइ र आपूर्तिमाझ जिउँछ; मानिसहरू परमेश्वरका वचनहरूको संसारमा, परमेश्वरका वचनहरूका श्रापहरू र आशिष्हरूमाझ जिउँछन्, र अधिकांश मानिसहरू त उहाँका वचनहरूको न्याय र सजायअन्तर्गत जिउँछन्। यी सबै वचनहरू र यो काम मानिसको मुक्तिका खातिर, परमेश्वरको इच्छा पूरा गर्नका खातिर, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नका खातिर हुन्। वचनहरू प्रयोग गरेर परमेश्वरले संसारको सृष्टि गर्नुभयो, वचनहरू प्रयोग गरेर नै उहाँले ब्रह्माण्डका सबै मानिसहरूलाई अगुवाइ गर्नुहुन्छ, वचनहरू प्रयोग गरेर नै उहाँ उनीहरूलाई विजय गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ, र अन्ततः उहाँले पुरानो सम्पूर्ण संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ, यसरी उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो
४०. राज्यको युगमा, देहधारी परमेश्वरले उहाँमा विश्वास गर्ने सबैलाई विजय गर्नका निम्ति वचनहरू बोल्नुहुन्छ। “वचन शरीरमा देखा पर्नुहुन्छ” भनेको यही हो। आखिरी दिनहरूमा यो काम गर्नलाई परमेश्वर आउनुभएको छ, भन्नुको अर्थ, उहाँ वचन शरीरमा देखा पर्नुहुन्छ भन्ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्न आउनुभएको छ। उहाँले वचनहरू मात्र बोल्नुहुन्छ, अनि त्यहाँ तथ्यहरूको उदय बिरलै हुन्छ। वचन देहमा देखा पर्नुको सार यही हो र जब देहधारी परमेश्वरले आफ्ना वचनहरू बोल्नुहुन्छ, त्यो देहमा वचनको देखा पराइ, र देहमा वचनको आगमन हो। “प्रारम्भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्वर हुनुहुन्थ्यो, र वचन देह बन्नुभयो।” यो (वचन शरीरमा देखा पर्ने काम) परमेश्वरले आखिरी दिनहरूमा पूरा गर्नुहुने काम हो, अनि यो उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको अन्तिम अध्याय हो, यसैले परमेश्वर संसारमा आउनुपर्छ र उहाँका वचनहरू शरीरमा प्रकट गर्नुपर्छ। आज जे गरिन्छ, भविष्यमा जे गरिनेछ, परमेश्वरद्वारा जे पूरा गरिनेछ, मानिसको अन्तिम गन्तव्य, तिनीहरू जो मुक्त हुनेछन्, तिनीहरू जो नाश पारिनेछन्, र इत्यादि—अन्त्यमा पूरा गरिने यी सबै काम स्पष्ट रूपमा बताइएको छ, अनि यी सबै वचन देहमा देखा पर्नुहुन्छ भन्ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्नका निम्ति हो। पहिले जुन प्रशासनिक आदेश र संविधान जारी गरिएको थियो, तिनीहरू जो नाश पारिनेछन्, तिनीहरू जो विश्राममा प्रवेश गर्नेछन्—यी वचनहरू सबैलाई पूरा गरिनैपर्छ। यो देहधारी परमेश्वरले आखिरी दिनहरूमा मुख्य रूपमा पूरा गर्नुहुने काम हो। उहाँले मानिसहरूलाई परमेश्वरले अघिबाटै नियुक्त गर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन् र परमेश्वरले अघिबाटै नियुक्त नगर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन्, उहाँका मानिसहरू र छोराहरूलाई कसरी वर्गीकरण गरिनेछ, इस्राएललाई के हुनेछ, मिश्रलाई के हुनेछ सो बुझ्ने तुल्याउनुहुन्छ—भविष्यमा ती प्रत्येक वचनहरू पूरा गरिनेछ। परमेश्वरको कामको गति बढिरहेको छ। परमेश्वरले प्रत्येक युगमा के गरिनुपर्छ, आखिरी दिनहरूमा देहधारी परमेश्वरद्वारा के काम हुनुपर्छ, गर्नुपर्ने उहाँको सेवकाइ आदि कुरा मानिसलाई प्रकट गर्ने माध्यमको रूपमा परमेश्वरले वचनको प्रयोग गर्नुहुन्छ, अनि यी वचनहरू सबै वचन शरीरमा देखा पर्नुहुन्छको वास्तविक महत्त्व प्राप्त गर्नका निम्ति हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ
४१. आज, परमेश्वर मुख्य रूपले “वचन देहमा देखा पर्नुहुन्छ” को काम पूरा गर्न, मानिसलाई सिद्ध पार्न वचन प्रयोग गर्न, मानिसलाई वचनको काटछाँट र वचनको शोधन स्वीकार गर्ने बनाउन देहधारी हुनुभएको छ। उहाँले आफ्ना वचनहरूमा तँलाई प्रावधान र जीवन प्राप्त गर्ने तुल्याउनुहुन्छअनि उहाँका काम र कार्यहरू देख्ने तुल्याउनुहुन्छ। परमेश्वर तँलाई सजाय दिन र शोधन गर्न वचन प्रयोग गर्नुहुन्छ, र यसैले यदि तैँले पीडा भोगिस् भनेसमेत, त्यो पनि परमेश्वरको वचनको कारणले नै हो। आज, परमेश्वरले तथ्यहरूद्वारा काम गर्नुहुन्न, तर वचनहरूद्वारा गर्नुहुन्छ। उहाँको वचन तँमा आएपछि मात्र पवित्र आत्माले तँभित्र काम गर्न सक्नुहुनेछ र तँलाई कष्ट भोग्ने वा मिठास अनुभव गर्ने तुल्याउनुहुन्छ। परमेश्वरको वचनले मात्र तँलाई वास्तविकतामा ल्याउन सक्छ, र परमेश्वरको वचन मात्र तँलाई सिद्ध पार्न सक्षम छ। अनि यसैले कम्तीमा पनि तैँले यसलाई बुझ्नैपर्छ: परमेश्वरले आखिरी दिनहरूमा गर्नुभएका काम मुख्य रूपले उहाँको वचन प्रयोग गरेर प्रत्येक व्यक्तिलाई सिद्ध पार्न र मानिसलाई बाटो देखाउनु हो। उहाँले सबै काम उहाँको वचनद्वारा गर्नुहुन्छ; तँलाई सजाय दिन उहाँले तथ्यहरू प्रयोग गर्नुहुन्न। यस्ता समयहरू हुन्छन्, जब केही मानिसहरूले परमेश्वरको विरोध गर्छन्। परमेश्वरले तँलाई ठूलो अप्ठ्यारोमा पार्नुहुन्न, तेरो देहलाई सजाय दिनुहुन्न, न त त्यसले कुनै पीडा नै भोग्छ—तर तँमाथि उहाँको वचन आउने, अनि त्यसले तँलाई शोधन गर्नेबित्तिकै र यो तेरो निम्ति असहनीय हुन्छ। के त्यस्तो हुँदैन र? सेवाकर्ताहरूको समयमा परमेश्वरले मानिसलाई अतल कुण्डमा फालिदिनु भन्नुभयो। के मानिस साँच्चै अतल कुण्डमा पुगेको छ? मानिसलाई शोधन गर्न वचनहरू प्रयोग गरेर मानिस अतल कुण्डमा प्रवेश गऱ्यो। अनि यसैले, आखिरी दिनहरूमा जब परमेश्वर देहधारी हुनुहुन्छ, उहाँले मुख्यतः सबै हासिल गर्न र सबै प्रकाश गर्न वचन प्रयोग गर्नुहुन्छ। उहाँको वचनमा मात्र, उहाँ के हुनुहुन्छ भनी तैँले देख्न सक्छस्; उहाँको वचनमा मात्र उहाँ स्वयम् परमेश्वर हुनुहुन्छ भनी देख्न सक्छस्। जब देहधारी परमेश्वर पृथ्वीमा आउनुहुन्छ, उहाँले वचन बोल्ने बाहेक अरू काम गर्नुहुन्न—त्यसैले तथ्यहरूको कुनै आवश्यकता छैन; वचनहरू नै पर्याप्त छन्। यसकारण, उहाँ मुख्यतः यही काम गर्न आउनुभएको हो, मानिसलाई उहाँका वचनहरूमा उहाँको महान् शक्ति र सर्वोच्चता देख्ने तुल्याउन, मानिसलाई उहाँका वचनमा उहाँको विनम्रता र गुप्टता देख्ने तुल्याउन, अनि मानिसलाई उहाँको वचनमा उहाँको सम्पूर्णता जान्ने तुल्याउन आउनुभएको हो। उहाँसँग जे छन् र उहाँ जो हुनुहुन्छ ती सब उहाँको वचनमा छन्। उहाँको बुद्धि र उहाँका अद्भुतता उहाँको वचनमा छन्। यसमा तँलाई परमेश्वरले उहाँका वचनहरू बोल्नुहुने धेरै विधिहरू देख्ने तुल्याइन्छ। परमेश्वरले यति लामो समय काम गर्नुभएको छ। यो कार्य मानिसलाई भरणपोषण गर्नु, खुलासा वा निराकरण गर्नको लागि नै गरिएको हो। परमेश्वरले मानिसलाई हल्कासाथ सराप्नुहुन्न, उहाँले सराप्नु भए पनि, उहाँले वचनद्वारा नै तिनीहरूलाई सराप्नु हुन्छ। अनि यसैले, परमेश्वर देहधारी हुनुभएको यो युगमा, परमेश्वरले फेरि बिरामीलाई निको पार्नुभएको र भूतात्माहरू निकाल्नुभएको देख्ने कोसिस नगर्नुहोस्, अनि निरन्तर चिह्नहरू खोज्न छोडिदिनुहोस्—त्यसको कुनै अर्थ हुँदैन! ती चिह्नहरूले मानिसलाई सिद्ध बनाउन सक्दैन। स्पष्ट रूपमा भन्ने हो भने: आज, देहधारण गर्नुहुने व्यावहारिक परमेश्वर आफैले काम गर्नुहुन्न; उहाँ बोल्नु हुन्छ मात्र। यो सत्यता हो। उहाँले तँलाई सिद्ध बनाउन वचनहरू प्रयोग गर्नुहुन्छ, उहाँले तँलाई खुवाउन र पानी पियाउन वचन प्रयोग गर्नुहुन्छ। उहाँले काम गर्नका निम्ति पनि वचनहरू प्रयोग गर्नुहुन्छ, तँलाई उहाँको व्यावहारिकता थाहा गराउन उहाँले तथ्यहरूको सट्टामा वचनहरू प्रयोग गर्नुहुन्छ। यदि तँ परमेश्वरको यस किसिमको कामलाई बुझ्न सक्षम छस् भने नकारात्मक हुन कठिन हुन्छ। नकारात्मक कुराहरूमा ध्यान दिनुभन्दा तैँले सकारात्मक कुराहरूमा ध्यान दिनुपर्छ—भन्नुको अर्थ, परमेश्वरका वचनहरू पूरा भए वा नभए पनि वा तथ्यहरूको आगमन भए वा नभए पनि परमेश्वरले उहाँको वचनबाट मानिसलाई जीवन प्राप्त गर्न दिनुहुन्छ, अनि यो सबै चिह्नहरूमध्ये ठूलो हो; अझ त्योभन्दा बढी यो एउटा निर्विवाद सत्यता हो। परमेश्वरलाई जान्ने यो नै सर्वोत्तम प्रमाण हो, र यो चिह्नहरूभन्दा ठूलो एउटा चिह्न हो। यी वचनहरूले मात्र मानिसलाई सिद्ध बनाउन सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ
४२. आखिरी दिनहरूमा, परमेश्वरले मानिसलाई सिद्ध बनाउन मुख्य रूपमा वचनकै प्रयोग गर्नुहुन्छ। उहाँले मानिसलाई दबाब दिन, वा विश्वस्त तुल्याउन चिह्नहरू र अचम्मका कामहरू प्रयोग गर्नुहुन्न; यसले परमेश्वरको महान् शक्तिलाई प्रकट गराउन सक्दैन। यदि परमेश्वरले चिह्नहरू र अचम्मका कामहरू मात्र देखाउनुभएको भए, परमेश्वरको व्यावहारिकता प्रकट गराउन असम्भव हुनेथियो, यसरी मानिसलाई सिद्ध बनाउन पनि असम्भव नै हुनेथियो। परमेश्वरले चिह्नहरू र अचम्मका कामहरूद्वारा मानिसलाई सिद्ध बनाउनुहुन्न, तर मानिसमा पानी हाल्न र गोठालो गर्न वचनको प्रयोग गर्नुहुन्छ, त्यसपछि मानिसको पूर्ण समर्पणता र मानिसमा परमेश्वरको ज्ञान प्राप्त गरिन्छ। उहाँले गर्नुहुने काम र उहाँले बोल्नुहुने वचनको उद्देश्य यही नै हो। परमेश्वरले मानिसलाई सिद्ध बनाउनका निम्ति चिह्नहरू र अचम्मका कामहरू देखाउने विधिको प्रयोग गर्नुहुन्न—उहाँले मानिसलाई सिद्ध पार्नको लागि वचनहरू प्रयोग गर्नुहुन्छ, र धेरै वटा फरक-फरक तरिकाहरू प्रयोग गर्नुहुन्छ। चाहे त्यो शोधन होस्, काँटछाँट वा वचनहरूको प्रबन्ध होस्, मानिसलाई सिद्ध बनाउन अनि मानिसलाई परमेश्वरको काम, बुद्धि र अद्भुतता ज्ञान दिन परमेश्वर विभिन्न दृष्टिकोणहरूबाट बोल्नुहुन्छ। … मैले पहिल्यै भनेको छु कि विजेताहरूको एउटा समूह पूर्वबाट प्राप्त गरिन्छन्, विजेताहरू जो महासङ्कष्टबाट निस्केर आउँछन्। यी वचनहरूको अर्थ के हो? तिनको अर्थ यो हो कि, न्याय, सजाय, काटछाँट, र हरकिसिमका शोधन भोगेपछि मात्र ती प्राप्त गरिएका मानिसहरू साँचो रूपमा समर्पित हुन्छन्। यी मानिसहरूको विश्वास अस्पष्ट हुँदैन, तर वास्तविक हुन्छ। तिनीहरूले कुनै पनि चिन्हहरू र चमत्कारहरू वा कुनै आश्चर्यकर्महरू देखेका हुँदैनन्; तिनीहरू कुनै अगाध शब्द र धर्मसिद्धान्तहरू, वा गहन अन्तर्ज्ञानहरूबारे कुरा गर्न सक्दैनन्; त्यसको साटो तिनीहरूसित वास्तविकता र परमेश्वरका वचनहरू छन्, र परमेश्वरको व्यावहारिक र साँचो ज्ञान छ। के यस्तो समूह परमेश्वरको महान् शक्ति प्रकट गराउन अझ बढी सक्षम हुँदैन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ
४३. आखिरी दिनहरूमा, मुख्यतया वचनहरू बोल्नको लागि देहधारी परमेश्वर पृथ्वीमा आउनुभएको छ। जब येशू आउनुभयो, उहाँले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो, र उहाँले क्रूसीकरणको छुटकाराको काम पुरा गर्नुभयो। उहाँले व्यवस्थाको युगको अन्त्य गर्नुभयो र सबै पुराना कुराहरू उन्मूलन गर्नुभयो। येशूको आगमनले व्यवस्थाको युगको अन्त्य गर्यो र अनुग्रहको युग आरम्भ गर्यो; आखिरी दिनहरूका देहधारी परमेश्वरको आगमनले अनुग्रहको युगको अन्त्य गरेको छ। उहाँ मुख्य रूपमा आफ्ना वचनहरू बोल्न—मानिसलाई सिद्ध पार्नको लागि वचनहरूको प्रयोग गर्न, मानिसलाई ज्योति र अन्तर्ज्ञान दिन—र यसरी मानिसको हृदयभित्रबाट अस्पष्ट परमेश्वरको स्थान हटाउन आउनुभएको हो। जब येशू आउनुभयो, उहाँले कामको यो चरण गर्नुभएन। जब उहाँ आउनुभयो, उहाँले धेरै आश्चर्यकर्महरू गर्नुभयो, उहाँले बिरामीहरू निको पार्नुभयो र भूतप्रेतहरू धपाउनुभयो, र उहाँले क्रूसीकरणको छुटकाराको काम गर्नुभयो। परिणामस्वरूप, मानिसहरूले आफ्ना धारणाहरूमा परमेश्वर यस्तै हुनुपर्छ भन्ने विश्वास गरे। किनकि जब येशू आउनुभयो, उहाँले मानिसका हृदयबाट अस्पष्ट परमेश्वरको प्रतिरूप हटाउने काम गर्नुभएन; जब उहाँ आउनुभयो, उहाँ क्रूसमा टाँगिनुभयो, उहाँले बिरामीहरू निको पार्नुभयो र भूतप्रेतहरू धपाउनुभयो, र उहाँले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो। एक हिसाबमा, आखिरी दिनहरूका परमेश्वरको देहधारणले मानिसका धारणाहरूमा अस्पष्ट परमेश्वरले ओगटेको ठाउँ हटाउनुहुन्छ, ताकि मानिसका हृदयमा अबउप्रान्त अस्पष्ट परमेश्वरको प्रतिरूप नरहोस्। उहाँका व्यावहारिक वचनहरू र यथार्थ काम, सबै ठाउँहरूमा उहाँको गतिविधि, र उहाँले मानिसमाझ गर्नुहुने अत्यन्तै व्यावहारिक र सामान्य कामद्वारा, उहाँले मानिसलाई परमेश्वरको व्यावहारिकता बुझाउनुहुन्छ, र मानिसको हृदयबाट अस्पष्ट परमेश्वरको स्थान हटाउनुहुन्छ। अर्को हिसाबमा, मानिसलाई पूर्ण पार्न, र सबै कामकुराहरू पूरा गर्न परमेश्वरले उहाँको देहले बोलेका वचनहरू प्रयोग गर्नुहुन्छ। आखिरी दिनहरूमा परमेश्वरले पूरा गर्नुहुने काम यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वर्तमान काम जान्नु
४४. आखिरी दिनहरूमा, मुख्य रूपमा आफ्ना वचनहरू बोल्न नै परमेश्वर आउनुभएको हो। उहाँ आत्माको दृष्टिकोणबाट, मानिसको दृष्टिकोणबाट, र तृतीय पुरुषको दृष्टिकोणबाट बोल्नुहुन्छ; एक समयावधिको लागि एउटा तरीका प्रयोग गर्दै उहाँ फरकफरक तरिकाले बोल्नुहुन्छ, र उहाँले मानिसका धारणाहरू परिवर्तन गर्न र मानिसका हृदयबाट अस्पष्ट परमेश्वरको प्रतिरूप हटाउन उक्त बोल्ने तरिकाको प्रयोग गर्नुहुन्छ। परमेश्वरद्वारा गरिएको मुख्य काम यही हो। परमेश्वर बिरामीहरू निको पार्न, भूतप्रेतहरू धपाउन, आश्चर्यकर्महरू प्रस्तुत गर्न र मानिसलाई भौतिक आशिष्हरू प्रदान गर्न आउनुभएको हो भनी मानिसले विश्वास गर्ने भएकोले, मानिसका धारणाहरूबाट यस्ता कुराहरू हटाउन परमेश्वरले यो चरणको काम—सजाय र न्यायको काम—गर्नुहुन्छ ताकि मानिसले परमेश्वरको व्यावहारिकता र सामान्यता थाहा पाउन सकोस्, र ताकि उसको हृदयबाट येशूको प्रतिरूप हटोस् र त्यसको सट्टा परमेश्वरको नयाँ प्रतिरूप स्थापित होस्। मानिसभित्रको परमेश्वरको प्रतिरूप पुरानो हुनासाथ, यो मूर्ति बन्छ। जब येशू आउनुभयो र त्यो चरणको काम गर्नुभयो, उहाँले परमेश्वरको सम्पूर्णतालाई प्रतिनिधित्व गर्नुभएन। उहाँले केही चिन्हहरू र अचम्मका कामहरू प्रस्तुत गर्नुभयो, केही वचनहरू बोल्नुभयो, र अन्त्यमा क्रूसमा टाँगिनुभयो। उहाँले परमेश्वरको एक भागको प्रतिनिधित्व गर्नुभयो। उहाँले परमेश्वरको जे जति छ त्यो सबै प्रतिनिधित्व गर्न सक्नुभएन, तर उहाँले परमेश्वरको कामको एक भाग कार्यान्वयन गर्दै परमेश्वरको प्रतिनिधित्व गर्नुभयो। यसको कारण के हो भने, परमेश्वर अति महान् र अति आश्चर्यजनक हुनुहुन्छ, र उहाँ बुझ्न नसकिने हुनुहुन्छ, र परमेश्वरले हरेक युगमा उहाँको कामको एक भाग मात्र गर्नुहुन्छ। यो युगको अवधिमा परमेश्वरले गर्नुहुने काम मुख्य रूपमा मानिसका लागि जीवनका वचनहरू प्रदान गर्नु; मानिसको प्रकृति सार, र उसको भ्रष्ट स्वभाव खुलासा गर्नु; र धार्मिक धारणाहरू, सामन्ती सोच, पुरानो सोच, र मानिसको ज्ञान र संस्कृतिलाई हटाउनु हो। यी सबै कुराहरू परमेश्वरका वचनहरूद्वारा खुलासा गरेर पखालिनुपर्छ। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न, परमेश्वरले वचनहरू प्रयोग गर्नुहुन्छ, चिन्हहरू र चमत्कारहरू प्रयोग गर्नुहुन्न। उहाँले मानिसलाई प्रकाश गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन, र मानिसलाई सिद्ध पार्न आफ्ना वचनहरू प्रयोग गर्नुहुन्छ ताकि परमेश्वरका वचनहरूमा, मानिसले परमेश्वरको बुद्धि र प्रेमिलो स्वभाव देख्न र परमेश्वरको स्वभाव बुझ्न सकोस्, र ताकि परमेश्वरका वचनहरूमार्फत, मानिसले परमेश्वरका कार्यहरू देखोस्। व्यवस्थाको युगमा, यहोवाले आफ्ना वचनहरूद्वारा मोशालाई मिश्रबाट बाहिर निकाल्नुभयो, र इस्राएलीहरूसँग केही वचनहरू बोल्नुभयो; त्यो समयमा, परमेश्वरका कार्यका केही भाग प्रकाश गरिएका थिए, तर मानिसको क्षमता सीमित भएकोले र कुनै कुराले पनि उसको ज्ञानलाई पूर्ण बनाउन नसक्ने भएकोले, परमेश्वरले बोल्न र काम गर्न जारी राख्नुभयो। अनुग्रहको युगमा, मानिसले एकपटक फेरि परमेश्वरको कामका केही भाग देख्यो। येशू चिन्हहरू र अचम्मका कामहरू देखाउन, बिरामीहरू निको पार्न र भूतप्रेतहरू धपाउन र क्रूसमा टाँगिन सक्षम हुनुभयो, र क्रूसीकरणको तीन दिनपछि उहाँ पुनर्जीवित हुनुभयो र मानिसको अगाडि देहमा प्रकट हुनुभयो। मानिसले परमेश्वरको बारेमा योभन्दा बढी थाहा पाएन। परमेश्वरले मानिसलाई जति प्रकाश गर्नुहुन्छ, उसले त्यति नै थाहा पाउँछ, र यदि परमेश्वरले मानिसलाई केही पनि प्रकाश नगर्ने हो भने, परमेश्वरबारे मानिसको सीमा निर्धारण त्यति नै हुनेथ्यो। त्यसैले, परमेश्वरले काम गर्न जारी राख्नुहुन्छ ताकि उहाँबारेको मानिसको ज्ञान गहिरो बनोस्, र ताकि मानिसले परमेश्वरको सार बिस्तारै बुझ्न सकोस्। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्नको लागि परमेश्वरले आफ्ना वचनहरूको प्रयोग गर्नुहुन्छ। तेरो भ्रष्ट स्वभाव परमेश्वरका वचनहरूद्वारा खुलासा हुन्छ, र तेरा धार्मिक धारणाहरू परमेश्वरको व्यावहारिकताद्वारा प्रतिस्थापित हुन्छन्। आखिरी दिनहरूका देहधारी परमेश्वर मुख्य रूपमा “वचन देह बन्नुहुन्छ, वचन देहमा आउनुहुन्छ, र वचन देहमा देखा पर्नुहुन्छ” भन्ने वचनहरू पूरा गर्न आउनुभएको हो, र यदि तँलाई यसको विस्तृत ज्ञान छैन भने, तँ दृढ रहन सक्नेछैनस्। आखिरी दिनहरूको अवधिमा, परमेश्वरले मुख्य रूपमा वचन देहमा देखा पर्नुहुने कामको चरण पूरा गर्ने अभिप्राय राख्नुहुन्छ, र यो परमेश्वरको व्यवस्थापन योजनाको एउटा भाग हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको वर्तमान काम जान्नु
४५. आखिरी दिनहरूको काममा, वचनको शक्ति चिह्न र चमत्कारका कार्यहरूको प्रकटीकरणभन्दा अझ ठूलो हुन्छ, र वचनको अख्तियारले चिह्न र चमत्कारहरूको अख्तियारलाई उछिन्छ। वचनले मानिसको हृदयको गहिराइमा गाडिएका सबै भ्रष्ट स्वभावलाई खुलासा गर्दछ। तँसित तिनलाई आफै पत्ता लगाउने कुनै उपाय छैन। जब वचनद्वारा तिनलाई खुलासा गरिन्छ तब तैँले तिनलाई प्राकृतिक रूपमै पत्ता लगाउनेछस्; तैँले आफ्नो अनुमोदन दिनुपर्नेछ, र तँ पूर्ण रूपमा विश्वस्त हुनेछस्। के यो वचनको अख्तियार होइन र? यो आज वचनको कामद्वारा प्राप्त गरिने नतिजा हो। त्यसकारण, रोग निको पारेर र भूतहरू निकालेर मानिस उसका पापहरूबाट पूर्ण रूपले मुक्त हुन सक्दैन, न त चिह्न र चमत्कारहरू देखाएर नै उसलाई सम्पूर्ण रूपमा पूर्ण बनाउन सकिन्छ। रोग निको पार्ने र भूतहरू धपाउने अख्तियारले मानिसलाई अनुग्रह मात्र दिन्छ, तर मानिसको शरीर अझै पनि शैतानकै हुन्छ, र ऊभित्र त्यो भ्रष्ट शैतानिक स्वभाव अझै रहिरहन्छ। अर्को शब्दमा भन्ने हो भने, जुन कुरा अझै धोइएको हुँदैन त्यो अझै पाप र फोहोरसँग सम्बन्धित हुन्छ। वचनको माध्यमबाट धोइएपछि मात्र र पवित्र पारिन सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
४६. यो चरणको कामले तँलाई यहोवाका व्यवस्था र येशूले दिनुभएको छुटकाराबारे स्पष्ट पार्नेछ, अनि यो विशेष गरी तैँले परमेश्वरको छ हजार वर्षको व्यवस्थापन योजनाका सबै कामहरू बुझ्न सक् अनि यो छ हजार वर्षको व्यवस्थापन योजनाको अर्थ र सारको महत्त्वलाई बुझ्न सक्, अनि येशूले गर्नुभएका सबै काम र उहाँले बोल्नुभएका वचनहरूको उद्देश्य, अनि तेरो अन्धविश्वास र बाइबलप्रतिको भक्तिलाई समेत बुझ्न सक् भनेर हो। यी सबैले तँलाई सबै कुरा पूर्ण रूपमा बुझ्ने तुल्याउनेछ। तैँले येशूले गर्नुभएको काम र आज परमेश्वरले गर्नुभएको काम, दुवै बुझ्नेछस्; तैँले सत्य, जीवन र बाटो सबै बुझ्नेछस् र देख्नेछस्। येशूले गर्नुभएको कामको चरणमा उहाँ किन अन्तिम कार्य नगरी बिदा भएर जानुभयो? किनकि येशूको कामको चरण अन्तिम काम थिएन। उहाँलाई क्रूसमा टाँगिएपछि उहाँका वचनहरूको पनि अन्त्य भयो; उहाँको क्रूसीकरणपछि उहाँको काम पूर्ण रूपले समाप्त भयो। वर्तमान चरण भिन्नै छ: आखिरीसम्म वचन बोलिसकेपछि र परमेश्वरका सबै काम समाप्त भएपछि मात्र उहाँको काम पूरा भएको हुनेछ। येशूको कामको चरणमा, धेरै वटा वचनहरू नबोलिएकै अवस्थामा रहे वा जसलाई पूर्ण रूपमा व्यक्त गरिएन। तापनि उहाँले के भन्नुभयो र के भन्नुभएन भन्ने कुरा येशूले वास्ता गर्नुभएन, किनकि उहाँको सेवकाइ वचनको सेवकाइ थिएन, यसैले उहाँलाई क्रूसमा झुण्ड्याइएपछि उहाँ बिदा हुनुभयो। कामको त्यो चरण विशेष गरी क्रूसीकरणको निम्ति थियो, र त्यो वर्तमान चरणजस्तो थिएन। यो वर्तमान चरणको काम विशेष गरी पूरा गर्नु, स्पष्ट पार्नु अनि सबै कामलाई टुङ्गोमा पुर्याउनु हो। यदि वचनहरू अन्त्यसम्मै बोलिएन भने, यो कामलाई टुङ्गोमा पुऱ्याउने कुनै उपाय हुनेछैन, किनकि यो चरणको काममा वचनहरू प्रयोग गरेर सबै कामलाई समाप्तिमा पुऱ्याइनेछ र पूरा गरिनेछ। त्यो बेला, येशूले त्यस्ता धेरै काम गर्नुभयो जुन मानिसले बुझ्न सकेनन्। उहाँ चुपचाप बिदा हुनुभयो, अनि आज पनि धेरै मानिसहरू छन्, जसले उहाँको वचन बुझ्दैनन्, जसको बुझाइ गलत छ, तापनि तिनीहरू त्यो सही छ भनी विश्वास गर्छन्, अनि तिनीहरू गलत छन् भनी जान्दैनन्। अन्तिम चरणले परमेश्वरको कामलाई पूर्ण समाप्तिमा पुऱ्याउनेछ, र त्यसलाई निष्कर्ष प्रदान गर्नेछ। सबैले परमेश्वरको व्यवस्थापन योजनालाई बुझ्ने र जान्नेछन्। मानिसभित्र हुने धारणाहरू, उसका अभिप्रायहरू, उसको भ्रमित बुझाइ, यहोवा र येशूको कामको सम्बन्धमा उसका धारणाहरू, गैरविश्वासीहरूको विषयमा उसका दृष्टिकोणहरू र अन्य वकृतिहरू सुधारिनेछन्। अनि मानिसले जीवनका सबै सही मार्गहरू र परमेश्वरले गर्नुभएका सबै काम र सम्पूर्ण सत्यतालाई बुझ्नेछ। जब त्यस्तो हुन्छ, यो चरणको काम समाप्त हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (२)
४७. यदि मानिसहरू अनुग्रहको युगमा अल्झिरहन्छन् भने, तिनीहरू आफ्नो भ्रष्ट स्वभावबाट कहिल्यै पनि मुक्त हुनेछैनन्, परमेश्वरको अन्तर्निहित स्वभाव जान्ने कुरा त परै जाओस्। यदि मानिसहरू जहिले पनि अनुग्रहको प्रशस्तताको बीचमा जिउँछन्, तर तिनीहरूसँग परमेश्वरलाई चिन्ने वा उहाँलाई सन्तुष्ट पार्ने जीवनको बाटो छैन भने, तिनीहरूले उहाँमाथिको आफ्नो विश्वासमा उहाँलाई साँच्चिकै प्राप्त गर्न सक्नेछैनन्। यस किसिमको विश्वास वास्तवमै दयनीय हुन्छ। जब तैँले यो पुस्तक पढिसक्छस्, जब तैँले राज्यको युगको देहधारी परमेश्वरको कामको प्रत्येक चरणको अनुभव गरेको हुनेछस्, तब धेरै वर्षदेखि तँमा भएका कामनाहरू अन्त्यमा साकार भएको महसुस गर्नेछस्। तैँले अहिले मात्र साँच्चै परमेश्वरलाई आमनेसामने देखेको, अहिले मात्र उहाँको मुहार एक टक लाएर हेरेको, उहाँको व्यक्तिगत वाणी सुनेको, उहाँको कामको बुद्धिलाई कदर गरेको र उहाँ कति व्यावहारिक र सर्वशक्तिमान् हुनुहुन्छ भनी जानेको महसुस गर्नेछस्। तैँले विगतका मानिसहरूले नदेखेका र उनीहरूसित नभएका धेरै थोकहरू प्राप्त गरेको महसुस गर्नेछस्। यस बेला, तैँले परमेश्वरमा विश्वास गर्नु भनेको के हो र परमेश्वरका अभिप्रायहरूअनुरूप हुनु भनेको के हो त्यो स्पष्ट रूपमा जान्नेछस्। निश्चय नै, यदि तँ विगतका दृष्टिकोणहरूमा अल्झिबसिस्, र परमेश्वरको दोस्रो देहधारणको तथ्यलाई इन्कार वा अस्वीकार गरिस् भने, तँ खाली हात रहनेछस्, तैँले केही पनि प्राप्त गर्नेछैनस्, र अन्त्यमा तँ परमेश्वरको विरोध गरेकोमा दोषी ठहरिनेछस्। सत्यतामा समर्पित हुन र परमेश्वरको कामको अधीनमा बस्न सक्नेहरूलाई दोस्रो देहधारी परमेश्वर—सर्वशक्तिमानको नाउँमा दाबी गरिनेछ। तिनीहरूले परमेश्वरको व्यक्तिगत मार्गदर्शन स्वीकार गर्न, अझ धेरै र उच्च सत्यताहरू, साथै वास्तविक जीवन पनि प्राप्त गर्न सक्नेछन्। तिनीहरूले विगतका कुनै मानिसहरूले नदेखेको दर्शन देख्नेछन्: “अनि मसँग बोल्ने आवाजलाई हेर्न म फर्केँ। र फर्केपछि, मैले सुनका सात वटा सामदान; र सात वटा सामदानको बीचमा मानिसको पुत्रजस्तै, पाउसम्मै कपडा लगाउनुभएको र छातीमा सुनको फिता कस्नुभएको एक जनालाई देखेँ। उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो” (प्रकाश १:१२-१६)। यो दर्शन परमेश्वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो, र उहाँको सम्पूर्ण स्वभावको अभिव्यक्ति उहाँको वर्तमान देहधारणमा प्रकट हुने परमेश्वरको कार्यको अभिव्यक्ति पनि हो। सजाय र न्यायको प्रवाहमा, मानिसको पुत्रले वाणीहरूका माध्यमद्वारा आफ्नो अन्तर्निहित स्वभाव प्रकट गर्नुहुन्छ, उहाँको सजाय र न्यायलाई स्वीकार गर्ने सबैलाई मानिसको पुत्रको वास्तविक अनुहार देखाउनुहुन्छ, जुन यूहन्नाले देखेको मानिसको पुत्रको अनुहारको एक विश्वसनीय अनुहारको चित्रण हो। (निस्सन्देह, यी सबै कुरा तिनीहरूका निम्ति अदृश्य हुनेछन् जसले राज्यको युगमा हुने परमेश्वरको कामलाई स्वीकार गर्दैनन्।) परमेश्वरको वास्तविक अनुहार मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा वर्णन गर्न सकिँदैन, त्यसैले परमेश्वरले मानिसलाई उहाँको वास्तविक अनुहार देखाउन उहाँको अन्तर्निहित स्वभाव व्यक्त गर्ने विधि प्रयोग गर्नुहुन्छ। भन्न खोजेको के हो भने, मानिसको पुत्रको अन्तर्निहित स्वभावको कदर गर्ने सबैले मानिसको पुत्रको वास्तविक अनुहार देखेका हुन्छन्, किनकि परमेश्वर अति महान् हुनुहुन्छ र मानव भाषा प्रयोग गरेर उहाँलाई पूर्ण रूपमा बुझ्न सकिँदैन। मानिसले राज्यको युगको परमेश्वरको कामको प्रत्येक चरणको अनुभव गरेपछि, उसले यूहन्नाले सामदानहरूको माझमा हुनुभएको मानिसको पुत्रको बारेमा भनेका कुराहरूको सही अर्थ बुझ्नेछ: “उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो।”
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
४८. विजयको काम किन अन्तिम चरणमा छ? के यो सबै वर्गका मानिसहरूको अन्त्य कस्तो प्रकारको हुनेछ भन्ने कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नका निम्ति होइन र? के यो सजाय र न्यायको विजयको क्रममा सबैलाई आफ्नो वास्तविक रङ्ग देखाउन र त्यसपछि आ-आफ्नै प्रकारअनुसार वर्गीकृत हुन दिनका लागि होइन र? यसलाई मानवजातिउपर विजय गर्नु भन्नुभन्दा बरु प्रत्येक वर्गको व्यक्तिले कस्तो प्रकारको अन्त्यको सामना गर्नुपर्छ त्यो देखाउनु हो भन्नु राम्रो हुन्छ। यो मानिसहरूको पापहरूको न्याय गर्ने र त्यसपछि विभिन्न वर्गका मानिसहरूलाई खुलासा गर्दै, त्यसमार्फत तिनीहरू दुष्ट वा धर्मी के हुन् भनेर निर्णय गर्नु हो। विजयको कामपछि, असललाई इनाम र दुष्टलाई दण्ड दिने काम हुन्छ। पूर्ण रूपमा समर्पित हुनेगर्ने मानिसहरूलाई—अर्थात् पूर्ण रूपले जितिएका मानिसहरूलाई—सम्पूर्ण ब्रह्माण्डमा परमेश्वरको कार्य फैलाउने अर्को चरणमा राखिनेछ; अनि नजितिएकाहरूलाई अन्धकारमा राखिनेछ र तिनीहरूले विपत्तिको सामना गर्नेछन्। यसरी मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ, दुष्ट हरूलाई दुष्टहरूको समूहमा, फेरि सूर्यको किरणमा नहुने गरी राखिनेछन्, र धर्मीहरू असल मानिसहरूको समूहमा राखिनेछन् र तिनीहरूले ज्योति प्राप्त गर्नेछन् र सदासर्वदा ज्योतिमा जिउनेछन्। सबै थोकको अन्त्य नजिक छ; मानिसको अन्त्य उसको आँखाको अघि स्पष्ट देखाइएको छ, र यावत् थोकलाई तिनको प्रकारअनुसार वर्गीकृत गरिनेछ। त्यसो भए, मानिसहरूले तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिने पीडाबाट कसरी उम्कन सक्छन्? सबै थोकको अन्त्य नजिक आउँदा प्रत्येक प्रकारको व्यक्तिको अन्त्य प्रकट गरिन्छ, र यो (वर्तमान कार्यबाट सुरु गर्दै, विजयका सबै कामहरूलगायत) सम्पूर्ण ब्रह्माण्डलाई जित्ने काम गरिने अवधिमा गरिन्छ। सबै मानवजातिको अन्त्यको प्रकटीकरण न्यायको सिंहासनअघि, सजाय दिने अवधिमा, र आखिरी दिनहरूको विजयको कामको क्रममा गरिन्छ। …
आखिरी दिनहरू भनेका ती दिनहरू हुन् जुन बेला यावत् थोकलाई विजयद्वारा तिनका प्रकारअनुसार वर्गीकृत गरिनेछ। विजय भनेको आखिरी दिनहरूको काम हो; अर्को शब्दमा, प्रत्येक व्यक्तिको पापको न्याय गर्नु आखिरी दिनहरूको काम हो। अन्यथा, कसरी मानिसहरूलाई प्रकारअनुसार वर्गीकृत गर्न सकिन्छ? तिमीहरूमाझ गरिने वर्गीकरणको काम सम्पूर्ण ब्रह्माण्डमा गरिने यस्तो कामको सुरुवात हो। त्यसपछि, सबै भूमि र सबै जातिकाले पनि विजयको काम स्विकार्नेछन्। यसको अर्थ सृष्टिको प्रत्येक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकृत गरिनेछ, न्याय गरिनका लागि न्यायको आसनअगाडि समर्पित गराइनेछ। कुनै पनि व्यक्ति वा कुनै पनि कामकुरा यस सजाय र न्यायको कष्टबाट उम्किन सक्दैन, न त कुनै व्यक्ति न त कुनै कामकुरा नै आफ्नो प्रकारअनुसार वर्गीकृत नगरिएको हुनेछ; प्रत्येक व्यक्तिलाई वर्गीकृत गरिनेछ, किनकि यावत् थोकको परिणाम नजिकै आउँदै छ, र सारा स्वर्ग र पृथ्वी आफ्नो निष्कर्षमा पुगिसकेको छ। मानिस कसरी मानव अस्तित्व अन्त्य हुने दिनबाट उम्कन सक्छ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)
४९. आखिरी दिनहरूको चरण, जसमा मानिस जितिनुपर्छ, यो शैतानसितको लडाइँको अन्तिम चरण हो, र यो, शैतानको सत्ताबाट मानिसलाई पूर्ण मुक्त गर्ने काम पनि हो। मानिसको विजयको भित्री अर्थ शैतानको मूर्तरूपलाई—मानिस जसलाई शैतानले भ्रष्ट पारेको छ—उसको विजयपछि सृष्टिकर्ताकहाँ फर्काएर ल्याउनु हो, जसद्वारा उसले शैतानविरुद्ध विद्रोह गर्नेछ र पूर्ण रूपमा परमेश्वरमा फर्कन्छ। यस तरिकाले, मानिस पूर्ण रूपमा बचाइएको हुनेछ। र यसैले, विजयको काम शैतानविरुद्ध लडाइँको अन्तिम कार्य हो र शैतानको पराजयको खातिर परमेश्वरको प्रबन्धको अन्तिम चरण हो। यो कामविना मानिसको पूर्ण मुक्ति अन्ततः असम्भव नै हुनेथियो, शैतानको पूर्ण पराजय पनि असम्भव हुनेथियो र मानिसजाति कहिल्यै पनि सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्षम हुने थिएन वा शैतानको प्रभावबाट स्वतन्त्र हुन सक्नेथिएन। फलस्वरूप, मानिसको मुक्तिको काम शैतानसँगको लडाइँको अन्त्य हुनुभन्दा अघि समाप्त हुन सक्दैन, किनकि परमेश्वरको व्यवस्थापन कार्यको मुख्य भाग मानवजातिको मुक्तिको लागि हो। प्रारम्भिक मानवजाति परमेश्वरको हातमा थियो तर शैतानको परीक्षा र भ्रष्टताका कारण, मानिस शैतानको बन्धनमा पऱ्यो र दुष्टको हातमा पऱ्यो। तसर्थ, शैतान परमेश्वरको व्यवस्थापन कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वशमा पारेकोले र मानिस परमेश्वरले सबै व्यवस्थापन पूरा गर्न प्रयोग गर्नुहुने पूँजी भएकोले यदि मानिसलाई बचाइनु छ भने, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिनैपर्छ, अर्थात् मानिसलाई शैतानले कैदमा राखेपछि फिर्ता लिनैपर्छ। तसर्थ, मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर अनि मानिसको सुरुको समझलाई पुनर्स्थापित गरेर शैतानलाई पराजित गर्नैपर्छ। यसरी मानिस, जसलाई कैद गरिएको छ, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने, शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिस शैतानको अन्धकारको प्रभावबाट स्वतन्त्र भएकोले गर्दा, मानिस यो पूरै लडाइँको लुटको सामान बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिइनुपर्ने पात्र बन्छ, त्यसपछि मानवजातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
५०. आखिरी दिनहरूमा परमेश्वरको न्याय र सजायको काममा, अर्थात्, अन्तिम शुद्धीकरणको कामको अवधिमा—दृढ रहन सक्नेहरू नै परमेश्वरसँगै अन्तिम विश्राममा प्रवेश गर्नेहरू हुनेछन्; यसरी, विश्राममा प्रवेश गर्नेहरू सबै परमेश्वरको अन्तिम शुद्धीकरणको काम भोगेपछि मात्र शैतानको प्रभावलाई तोडेर मुक्त भएका र उहाँद्वारा प्राप्त गरिएका हुनेछन्। यी मानव, जो अन्ततः परमेश्वरद्वारा प्राप्त गरिएका हुनेछन्, अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई शुद्धीकरण गर्नु हो, अन्तिम दिनको विश्रामका खातिर हो; नत्र, मानवजातिको कुनै पनि सदस्य तिनीहरूको प्रकारअनुसार वर्गीकृत हुन, वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्वरको शुद्धीकरणको कामले मात्र मानवको अधार्मिकता पखाल्नेछ, र उहाँको सजाय र न्यायको कामले मात्र मानवजातिका ती विद्रोही तत्त्वहरूको खुलासा गर्नेछ, जसले गर्दा मुक्ति दिन सकिनेलाई मुक्ति दिन नसकिनेबाट र बाँकी रहनेहरूलाई बाँकी नरहनेहरूबाट खुट्ट्याइनेछ। जब यो काम समाप्त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च क्षेत्रमा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरू मानव विश्रामको दिनमा प्रवेश गर्नेछन् र परमेश्वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशाना हुन् र खराब र अधर्मी मानिस हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्वरका लागि श्रम पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूको खराबीको कारण साथै मुक्त गरिनलाई तिनीहरूको विद्रोहीपन र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। मानवजाति माझमा रहेका पवित्र भएकाहरू विश्राममा प्रवेश गरेपछि, दुष्कर्म गर्नेहरू र मुक्त नगरिएकाहरू मृतहरूका आत्माहरू हुन् वा अझै देहमा जीवितै रहेका मानिसहरूका आत्मा हुन्, तिनीहरू सबैलाई नष्ट पारिनेछन्। जहाँसम्म यी दुष्कर्म गर्ने आत्माहरू र मानव वा धर्मी मानिसहरूका आत्माहरू र धार्मिकता अभ्यास गर्नेहरूको सवाल छ, उनीहरू जुनै युगका भए तापनि, खराब काम गर्नेहरू सबैलाई अन्त्यमा नष्ट पारिनेछ, र सबै धर्मीहरू बाँच्नेछन्। कुनै व्यक्ति वा आत्माले मुक्ति पाउने कुरालाई समग्र रूपमा अन्तिम युगको कामको आधारमा निर्णय गरिँदैन; बरु, तिनीहरू परमेश्वरविरुद्ध विद्रोही भएका छन् वा छैनन्, तिनीहरूले उहाँको प्रतिरोध गरेका थिए वा थिएनन् भन्ने कुराद्वारा निर्धारण गरिन्छ। अघिल्लो युगमा दुष्ट काम गर्ने र मुक्ति पाउन नसक्ने मानिसहरू नै निस्सन्देह रूपमा दण्डको निशानामा पर्नेछन्, साथै हालको युगमा दुष्ट काम गर्नेहरू र मुक्त हुन नसक्नेहरू पनि निश्चय नै दण्डको निशानामा पर्नेछन्। मानवलाई तिनीहरू जिएका युगको आधारमा होइन, असल र खराबको आधारमा वर्गीकरण गरिनेछ। यसरी वर्गीकरण गरिसकेपछि, तिनीहरूलाई तुरुन्तै दण्ड दिइँदैन वा इनाम दिइँदैन; बरु, परमेश्वरले आखिरी दिनहरूमा उहाँको विजयको कार्यलाई अघि बढाइसक्नुभएपछि मात्र दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम अघि बढाउनुहुनेछ। वास्तवमा, उहाँले मानवजातिको मुक्तिको काम गर्न सुरु गर्नुभएदेखि नै मानिसहरूलाई असल र खराबमा छुट्टाउँदै आउनुभएको छ। यति मात्र हो, उहाँको काम समाप्त भएपछि मात्र उहाँले धर्मीलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ; उहाँको काम पूरा भएपछि उहाँले तिनीहरूलाई वर्ग-वर्गमा छुट्टाउनुहुनेछ र तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनतिर लाग्नुहुनेछ भन्ने होइन। बरु, उहाँको काम पूर्ण रूपमा समाप्त भएपछि मात्रै यो काम पूरा हुनेछ। दुष्टलाई दण्ड र असललाई इनाम दिने परमेश्वरको अन्तिम कामको एउटै उद्देश्य भनेको नै पूरै मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले विशुद्ध रूपमा शुद्ध पारिएको मानवजातिलाई अनन्त विश्राममा ल्याउन सक्नुहोस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको सम्पूर्ण व्यवस्थापन कार्यको अन्तिम चरण हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्