२. आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको काम सम्बन्धी वचनहरू

५१. युगलाई समापन गर्ने परमेश्वरको अन्तिम काममा, उहाँको स्वभाव सजाय र न्यायको स्वभाव हो, जसमा उहाँले सार्वजनिक रूपमा सबै मानिसहरूलाई न्याय गर्न, र निष्कपट रूपमा उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध पार्नका लागि सबै अधर्मी कुरा प्रकाश गर्नुहुन्छ। यस्तो स्वभावले मात्र युगलाई अन्त्य गर्न सक्छ। आखिरी दिनहरू आइसकेका छन्। यावत् थोकहरू तिनका प्रकारअनुसार वर्गीकरण गरिन्छन्, र तिनका फरक-फरक गुणहरूका आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानिसहरूका परिणाम र गन्तव्य प्रकाश गर्नुहुने समय ठ्याक्कै यही हो। यदि मानिसहरूले सजाय र न्याय अनुभव गर्दैनन् भने, तिनीहरूको विद्रोहीपन र अधार्मिकता खुलासा गर्ने कुनै तरिका हुनेछैन। केवल सजाय र न्यायमार्फत यावत् थोकका परिणामहरू प्रकाश गर्न सकिन्छ। मानिसहरूलाई सजाय दिइँदा र न्याय गरिँदा मात्र तिनीहरूले आफ्नो वास्तविक रङ्ग देखाउँछन्। दुष्टलाई दुष्टको साथमा, असललाई असलको साथमा राखिनेछ, र सबै मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ। सजाय र न्यायमार्फत, यावत् थोकका परिणाम प्रकाश गरिनेछ, ताकि दुष्टलाई दण्ड र असललाई इनाम दिन सकियोस्, र सबै मानिसहरूले परमेश्‍वरको प्रभुत्वमा आफूलाई समर्पण गरून्। यी सबै काम धर्मी सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसहरूको भ्रष्टता चरमबिन्दुमा पुगेकाले, र तिनीहरूको विद्रोहीपन अत्यन्तै गम्भीर बनेकाले, परमेश्‍वरको मुख्यतः सजाय र न्याय समावेश भएको र आखिरी दिनहरूमा प्रकाश हुने धर्मी स्वभावले मात्र मानिसहरूलाई पूर्ण रूपमा रूपान्तरण गर्न र पूर्ण पार्न र दुष्टतालाई प्रकाश गर्न सक्छ, र यसरी सबै अधर्मीहरू गम्भीर रूपमा दण्डित हुनेछन्। त्यसकारण, यस्तो स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ। प्रत्येक नयाँ युगको कामका खातिर परमेश्वरको स्वभाव प्रकाश र प्रकट हुन्छ। परमेश्‍वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकाश गर्नुहुन्छ भन्‍ने होइन। यदि, मानिसहरूका परिणाम प्रकाश गर्ने आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसलाई अझै पनि असीम कृपा र प्रेमिलो दयालुपनका साथ प्रेम गर्नुहुने भएको भए, र तिनीहरूप्रति प्रेमिलो हुन जारी राख्नुहुने भएको भए, तिनीहरूलाई धर्मी न्यायको अधीनमा नल्याउनुहुने, बरु तिनीहरूलाई सहनशीलता, धैर्य र क्षमा देखाउनुहुने, र तिनीहरूका पाप चाहे जति नै गम्भीर भए पनि त्यसका निम्ति अलिकति पनि धर्मी न्याय नगरी क्षमा गर्नुहुने भएको भए, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कहिले समाप्त हुनेथियो? यस्तो स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेथियो? उदाहरणका लागि, मानौँ, एउटा न्यायाधीश छ, जो सधैँ मानिसहरूप्रति प्रेमिलो छ, र ऊ दयालु अनुहार र कोमल हृदयको छ। मानिसहरूले जस्तो-सुकै अपराध गरेका भए पनि ऊ तिनीहरूलाई प्रेम गर्छ, र तिनीहरू जो-सुकै भए पनि तिनीहरूप्रति प्रेमिलो र सहनशील हुन्छ। त्यस अवस्थामा, उसले कहिले चाहिँ एउटा न्यायोचित फैसला गर्न सक्नेछ त? आखिरी दिनहरूको अवधिमा, केवल धर्मी न्यायले मानिसहरूलाई उनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न र तिनीहरूलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यसरी, न्याय र सजायको परमेश्‍वरको धर्मी स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

५२. मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्र पहिल्यै रोपिएका थिए, र शैतानद्वारा भ्रष्ट तुल्याइएको हजारौँ वर्षपछि, ऊसँग भित्र परमेश्‍वरको प्रतिरोध गर्ने एउटा प्रकृति हुन्छ। यसकारण, जब मानिसलाई छुटकारा दिइयो, त्यो छुटकारा भन्दा अरू केही पनि थिए न। अर्थात्, मानिसलाई ठूलो मूल्यमा किनेर फिर्ता लिइएको थियो, तर ऊभित्रको विषाक्त प्रकृति हटाइएको थिएन। यस्तो फोहोरी मानिसले परमेश्‍वरलाई सेवा गर्न योग्य हुनुभन्दा अघि परिवर्तन भोग्नैपर्छ। यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। वचनको न्याय र सजायमार्फत नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिन पुग्छ, र वचनमार्फत गरिने शोधन, न्याय, र खुलासाले नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, मनसाय र व्यक्तिगत आशाहरूलाई पूर्ण रूपमा प्रकट गर्छन्। मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएका भए पनि, यसलाई केवल परमेश्‍वरले उसका अपराधहरू याद नगर्नुभएको र उसका अपराधहरूअनुसार ऊसँग व्यवहार नगर्नुभएको मान्‍न सकिन्छ। तर, मानिस पापबाट मुक्त नभईकन देहमा जिउँछ, र ऊ निरन्तर पाप गरिरहन, अटुट रूपमा आफ्नो शैतानी भ्रष्ट स्वभावहरू प्रकट गरिरहन मात्र सक्छ। मानिसले जिउने जीवन यही हो, पाप गर्ने र क्षमा गरिने एउटा निरन्तर चक्र। अधिकांश मानिसहरूले दिनमा पाप गर्छन् र साँझमा स्वीकार गर्छन्। अनि त्यसैले, पापबलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि, त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभावहरू छन्। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्‍ने थाहा पाए, तब तिनीहरूले गुनासो गरे, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानिस अझै पनि परमेश्‍वरको प्रभुत्वको अन्तर्गत पूर्ण रूपमा समर्पित हुन असमर्थ छ भनी देखाउँदैन र? के ठ्याक्कै यही नै मानिसका शैतानी भ्रष्ट स्वभाव होइनन् र? जब तँलाई सजायको अधीनमा पारिएको थिएन, तँ तेरो हात अरू सबैका भन्दा माथि उठाउँथिस्, येशूको भन्दा पनि माथि उठाउँथिस्। अनि तँ ठूलो स्वरमा कराउँथिस्: “परमेश्‍वरको प्यारो छोरा हुनू! परमेश्‍वरको एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मरौँला! त्यो वृद्ध शैतानविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर सदाका लागि शक्तिबाट खसोस्। परमेश्‍वरले हामीलाई पूर्ण बनाउनुहोओस्!” तैँले अरू सबैको भन्दा चर्को स्वरमा पुकारिस्। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, तेरा भ्रष्ट स्वभावहरू प्रकट भए। तेरो पुकार रोकियो, र तैँले तेरो सङ्कल्प गुमाइस्। मानिसको भ्रष्टता यही नै हो; यो यस्तो कुरा हो, जुन पापभन्दा गहिरो छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरूबारे सचेत हुनु मानिसका निम्ति सजिलो छैन, र ऊसँग गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्‍ने कुनै उपाय छैन। वचनको न्यायमार्फत मात्रै यो नतिजा हासिल गर्न सकिन्छ। यसरी मात्र मानिसलाई यस बिन्दुबाट बिस्तारै परिवर्तन गर्न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

५३. आज परमेश्‍वरले तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैँले यो थाहा पाउनु पर्छ, कि तँलाई दोष लाउनुको लक्ष्य तैँले आफैलाई चिन् भन्‍ने हो। उहाँले तँलाई दोष लाउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, यसैले कि तैँले आफूलाई चिन्‍न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, ताकि तैँले आफ्‍नो मूल्यलाई जान्‍न सक् र परमेश्‍वरका सबै कामहरू धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरू अनुसार छन्, र उहाँले मानिसको मुक्तिको योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने, बचाउनुहुने, न्याय गर्नुहुने र दण्ड दिनुहुने धर्मी परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्। यदि तँलाई तँ निम्न प्रतिष्ठाको छस्, तँ भ्रष्ट र विद्रोही छस् भन्‍ने मात्र थाहा छ, तर परमेश्‍वरले आज तँमाथि पठाउनुहुने न्याय र सजायद्वारा उहाँको मुक्तिलाई स्पष्ट पार्न चाहनुहुन्छ भनी जानिनस् भने तैँले कामकुरा अनुभव गर्ने कुनै उपाय हुँदैन, अनि तँ अझ अगि बढ्न योग्य हुने कुरा त परै जाओस्। परमेश्‍वर मार्न वा नाश गर्न आउनुभएको होइन, तर न्याय गर्न, सराप्न, सजाय दिन र बचाउन आउनुभएको हो। उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको नतिजा प्रकट गर्नुभन्दा पहिले—पृथ्वीमा परमेश्‍वरले गर्नुहुने काम मुक्तिका लागि हुनेछ; यसको उद्देश्य भनेको उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण—सम्पूर्ण रूपमा—बनाउनु नै हो र उनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा झुकाउनु हो। परमेश्‍वरले मानिसहरूलाई जसरी बचाउनु भए पनि, त्यो सबै तिनीहरूका पुरानो शैतानिक स्वभावबाट तिनीहरूलाई अलग पारेर नै गरिन्छ; अर्थात्, उहाँले तिनीहरूलाई जीवनको खोजी गर्ने बनाएर बचाउनुहुन्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूसँग परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्ने कुनै उपाय हुँदैन। मुक्ति परमेश्‍वर स्वयम्‌को काम हो, र जीवनको खोजी गर्नु भनेको मुक्ति स्वीकार गर्नको लागि मानिसले गर्नैपर्ने कुरा हो। मानिसको नजरमा मुक्ति परमेश्‍वरको प्रेम हो र परमेश्‍वरको प्रेम कहिल्यै पनि सजाय, न्याय र सरापहरू हुन सक्दैन; मुक्तिमा कृपा, प्रेमिलोदयालुपन र त्यसबाहेक सान्त्वनाका शब्दहरू, साथसाथै परमेश्‍वरले प्रदान गर्नुभएका असीमित आशिषहरू हुनुपर्दछ। जब परमेश्‍वरले मानिसलाई बचाउनुहुन्छ, तब मानिसहरूले आफ्ना हृदयहरू परमेश्‍वरलाई दिन सकून् भनी परमेश्‍वरले उनीहरूलाई आफ्ना आशिषहरू र अनुग्रहले असर पार्दै त्यसो गर्नुहुन्छ भनी मानिसहरू विश्‍वास गर्दछन्। भन्नुको तात्पर्य यो हो, कि उहाँले मानिसलाई छुनु भनेको उहाँले तिनीहरूलाई बचाउनु हो। यस प्रकारको मुक्ति एक सम्झौता गरेर गरिन्छ। जब परमेश्‍वरले तिनीहरूलाई एक सय गुणा दिनुहुन्छ तब मात्र मानिस परमेश्‍वरको नाउँको सामु झुक्छ र उहाँका निम्ति राम्रो गर्ने र उहाँलाई महिमा दिने कोसिस गर्छ। मानव जातिका लागि परमेश्‍वरको अभिप्राय यो होइन। परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै झूट छैन। यदि यो झूट थियो भने, निश्चय उहाँ व्यक्तिगत रूपले आफ्नो काम गर्न आउनुहुने थिएन। विगतमा, उहाँको मुक्तिको माध्यमहरूमा चरम कृपा र प्रेमिलोदयालुपन देखाउने कार्य समावेश थियो, यहाँसम्म कि, उहाँले मानव जातिलाई सम्पूर्ण रूपमा प्राप्त गर्न शैतानलाई आफ्नो सबै कुरा दिनुभयो। वर्तमान विगतजस्तो अलिकति पनि छैन: आज तिमीहरूलाई दिइएको मुक्ति आखिरी दिनहरूमा, प्रत्येकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिएको समयमा आउँछ; तिमीहरूको मुक्तिको माध्यम कृपा वा प्रेमिलोदयालुपन होइन, तर त्यो सजाय र न्याय हो, यसैले कि मानिसले पूर्ण रूपमा मुक्ति पाओस्। यसैले, तिमीहरूले पाउने भनेको सजाय, न्याय र निर्दयी प्रहार मात्र हो, तर यो कुरा जान: यो निर्दयी प्रहारमा दण्ड अलिकति पनि छैन। मेरा वचनहरू जति नै कठोर भए पनि, तँमाथि आइपर्ने चाहिँ थोरै वचनहरू मात्र हुन् जुन तिमीहरूलाई निर्दयी लाग्‍न सक्छ, र म जति नै रिसाए पनि तिमीहरूमाथि बर्सिने भनेको मेरो धिक्कारका वचनहरू नै हुन्, मेरो उद्देश्य तिमीहरूको हानि गर्ने वा तिमीहरूलाई मार्ने होइन। के यो सबै तथ्य होइनन् र? यो जान् कि हिजोआज चाहे धर्मी न्याय होस् वा संवेदनाहीन शोधन र सजाय होस्, सबै कुरा मुक्तिकै लागि हुन्। आज प्रत्येकलाई प्रकारअनुसार वर्गीकरण गरिए नि नगरिए नि वा सबै प्रकारका मानिसहरूलाई खुलासा गरिए नि नगरिए नि, परमेश्‍वरका सबै वचनहरू र कामको उद्देश्य भनेको परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरूलाई मुक्ति दिनु नै हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्नका लागि ल्याइन्छ, र निर्दयी शोधन तिनीहरूलाई शुद्ध पार्नका लागि गरिन्छ; कठोर वचनहरू वा ताडना, दुवै शुद्ध पार्नका लागि र मुक्तिको खातिर दिइन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नुपर्छ

५४. मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्‍वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहँदैन, न त मानिसले परमेश्‍वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको व्यवस्थापनका खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्‍वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र जोडदार गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभाव रूपान्तरण परमेश्‍वरका विभिन्न प्रकारका कामहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरूविना, मानिस परमेश्‍वरको गवाही दिन र परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभाव रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्‍वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्‍वरको साक्षी भएको छ, र परमेश्‍वरका अभिप्रायहरू अनुरूप भएको छ भन्‍ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति समर्पित होस्, उहाँको गवाही दिओस्, तिनीहरूले उहाँको व्यावहारिक र सामान्य कार्य जानून्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूप्रति तिनीहरू समर्पित होऊन्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही तिनीहरूले दिऊन् भन्‍ने हो। परमेश्‍वरको गवाही दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनैपर्छ; यस प्रकारको गवाही मात्र सही र व्यावहारिक हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ। उहाँको न्याय, सजाय, र काँटछाँट भोगेर उहाँलाई जानिसकेकाहरूलाई उहाँ आफ्नो गवाही दिनका लागि प्रयोग गर्नुहुन्छ। शैतानले भ्रष्ट तुल्याएका मानिसहरूलाई उहाँले उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, र त्यसैगरी जसको स्वभाव परिवर्तन भएको छ, र जसले उहाँको आशिषप्राप्त गरेको छ, यी सबैलाई पनि उहाँले गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँद्वारा मुक्ति नपाएको मानिसले आफ्नो मुखबाट उहाँको प्रशंसा गरिरहनु पर्दैन, न त उहाँलाई शैतानको दुष्ट्याइँको प्रशंसा र गवाहीको नै आवश्यकता छ। केवल उहाँलाई चिन्नेहरू मात्र उहाँको गवाही दिन योग्य छन्, र स्वभावमा परिवर्तन भएकाहरू मात्रै उहाँको गवाही दिन योग्य छन्। परमेश्‍वरले जानाजानी मानिसलाई उहाँको नामको बेइज्जत गर्न दिनुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरूले मात्र परमेश्‍वरको गवाही दिन सक्छन्

५५. आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्‍वरप्रति बफादार हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र इत्यादि जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्‍ने सन्दर्भमा बोलिएका हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन, तर मानिससँग पूर्णतया नभएको सत्यताले प्रतिस्थापन गर्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्‍वस्त हुन सक्छ, र त्यसमाथि परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्‍वरका अभिप्राय, परमेश्‍वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्ने तुल्याउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै मानवका कुरूपता पत्ता लगाउने पनि तुल्याउँछ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, मार्ग, र जीवनलाई खोल्नु हो। यो परमेश्‍वरद्वारा गरिएको न्यायको काम हो। यदि तैँले यी सत्यताहरूलाई महत्वपूर्ण ठानिनस्, यदि तैँले अरू कुराहरू विचार नै नगरी तिनीहरूलाई कसरी बेवास्ता गर्ने, वा तिनीहरूलाई संलग्न नगर्ने नयाँ उपाय कसरी भेट्टाउने भन्‍ने कुरा मात्र तैँले विचार गरिस् भने, तँ डरलाग्दो पापी हो भनी म भन्छु। यदि तेरो विश्‍वास परमेश्‍वरमा छ, तर पनि तैँले सत्यता वा परमेश्‍वरका अभिप्राय खोज्दैनस्, न त तँलाई परमेश्‍वरको नजिक ल्याउने बाटोलाई प्रेम गर्छस् भने, म के भन्छु भने तँ न्यायबाट उम्कने कोसिस गरिरहेको छस्, र तँ ठूलो सेतो सिंहासनबाट भाग्ने कठपुतली र धोकेबाज होस्। परमेश्‍वरका आँखाबाट भाग्ने कुनै पनि विद्रोहीलाई परमेश्‍वरले बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले अझ कडा दण्ड पाउनेछन्। परमेश्‍वरको सामु न्याय गरिनका लागि आउनेहरू, र साथै शुद्ध बनाइएकाहरू सदासर्वदा परमेश्‍वरको राज्यमा जिउनेछन्। अवश्य पनि यो भविष्यमा हुने कुरा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

५६. न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, प्राकृतिक रूपमा यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ; उहाँको सट्टामा मानिसले यो गर्न सक्दैन। न्याय भनेको मानवजातिलाई विजय गर्नका लागि सत्यताको प्रयोग भएको हुनाले, मानिसमाझ यो काम गर्नका लागि परमेश्‍वर अझै पनि देहधारी स्वरूपमा प्रकट हुनुहुनेछ भन्‍ने कुरामा कुनै प्रश्न छैन। अर्थात्, आखिरी दिनहरूका ख्रीष्टले सारा संसारभरिका मानिसहरूलाई सिकाउन र सबै सत्यता जान्ने तुल्याउन सत्यता प्रयोग गर्नुहुनेछ। परमेश्‍वरको न्यायको काम यही नै हो। परमेश्‍वरको दोस्रो देहधारणका सन्दर्भमा धेरैलाई असहज महसुस हुन्छ, किनकि न्यायको काम गर्नका लागि परमेश्‍वर देह बन्नुहुनेछ भन्‍ने कुरा विश्‍वास गर्न मानिसहरूलाई कठिनाइ हुन्छ। तर पनि, परमेश्‍वरको काम मानवका अपेक्षाहरूभन्दा प्रायः धेरै पर हुन्छ, र मानव दिमागलाई यो स्वीकार गर्न कठिन हुन्छ भन्‍ने कुरा मैले तँलाई बताउनै पर्छ। किनभने मानिसहरू पृथ्वीमा गोब्रेकीराहरू मात्र हुन्, जबकि परमेश्‍वर ब्रह्माण्ड भर्नुहुने सर्वोच्च हुनुहुन्छ; मानिसको दिमाग फोहोर पानीको खाडलजस्तो हो, जसले कीराहरूमात्रै जन्माउँछ, तर परमेश्‍वरका विचारहरूद्वारा निर्देशित कामको प्रत्येक कदम परमेश्‍वरको बुद्धिको फल हो। मानिसहरूले जहिले पनि परमेश्‍वरसँग प्रतिस्पर्धा गर्ने कोसिस गरिरहेका हुन्छन्, जसलाई म भन्छु, अन्त्यमा को हार्नेछ भन्ने कुरा स्वयम् सिद्ध छ। तिमीहरूले आफूलाई सुनभन्दा बढी मूल्यवान् नठान भनी म तिमीहरू सबैलाई अर्ती दिन्छु। यदि अरूले परमेश्‍वरको न्यायलाई स्वीकार गर्न सक्छन् भने, तँ किन सक्दैनस्? तँ अरूहरूभन्दा कति माथि खडा छस्? यदि अरूले सत्यताको सामु आफ्ना शिरहरू झुकाउन सक्छन् भने, तँ पनि किन सक्दैनस्? परमेश्‍वरको कामको गति रोक्नै नसकिने छ। तैँले दिएको “योगदान” का कारण मात्रै उहाँले न्यायको काम फेरि दोहोऱ्याउनुहुने छैन, र अनि यति असल अवसरलाई जान दिएकोमा तँ पछुतोले भरिनेछस्। यदि तँ मेरा वचनहरूलाई विश्‍वास गर्दैनस् भने, केवल तँलाई न्याय गर्नहेतु आकाशको ठूलो सेतो सिंहासनलाई पर्खी! तँलाई थाहा हुनैपर्छ कि सबै इस्राएलीहरूले येशूलाई इन्कार गरे र नकारे, तैपनि येशूले सबै मानवजातिलाई दिनुभएको छुटकाराको तथ्य सारा ब्रह्माण्डभर र पृथ्वीको अन्त्यसम्म फैलिएको छ। के यो परमेश्‍वरले धेरै पहिले हासिल गर्नुभएको तथ्य होइन र? तँलाई स्वर्ग लैजानका लागि यदि तँ अझै येशूलाई पर्खिरहेको छस् भने, तँ मृत काठको हठी ठुटो होस् भनी म भन्दछु।[क] येशूले तँजस्तो सत्यताप्रति अबफादार र आशिषमात्र खोज्ने झूटो विश्‍वासीलाई स्वीकार गर्नुहुनेछैन। त्यसविपरीत, दस हजारौँ वर्षसम्म जलिरहन उहाँले तँलाई बिना कुनै कृपा आगोको कुण्डमा फालिदिनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

फूटनोटहरू:

क. काठको ठुटा: चिनियाँ टुक्‍का, जसको अर्थ “कामै नलाग्‍ने” भन्‍ने हुन्छ।


५७. परमेश्‍वरले मानिसलाई पालैपालो गरी न्याय गर्नुहुन्न, र उहाँले मानिसलाई पालैपालो गरी जाँच्नुहुन्न; त्यसो गर्नु भनेको न्यायको काम होइन। के सारा मानवजातिको भ्रष्टता उस्तै छैन र? के सारा मानवजातिको सार उस्तै छैन र? न्याय गरिने भनेको मानवजातिको भ्रष्ट सार, शैतानले भ्रष्ट तुल्याएको मानिसको सार र मानिसका सारा पापहरूलाई हो। मानिसका तुच्छ र सानातिना गल्तीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुन्न। न्यायको काम प्रतिनिधिमूलक छ र यसलाई कुनै निश्चित व्यक्तिको लागि विशेष रूपमा अघि बढाइँदैन। बरु, यो त्यस्तो काम हो जसमा सारा मानवजातिको न्यायलाई प्रतिनिधित्व गर्नको लागि मानिसहरूको समूहलाई न्याय गरिन्छ। मानिसहरूको समूहमा आफ्नो कार्य व्यक्तिगत रूपमा गर्नुभएर, देहमा हुनुहुने परमेश्‍वरले सारा मानवजातिको कार्यलाई प्रतिनिधित्व गर्नको लागि आफ्नो कार्यको प्रयोग गर्नुहुन्छ, जसपश्चात यो क्रमिक रूपमा फैलिँदै जान्छ। न्यायको काम पनि यस्तै छ। परमेश्‍वरले निश्चित प्रकारको व्यक्ति वा मानिसहरूको निश्चित समूहलाई न्याय गर्नुहुन्न, तर सारा मानवजातिको सारा अधार्मिकतालाई न्याय गर्नुहुन्छ—उदाहरणको लागि, परमेश्‍वरप्रतिको मानिसको विरोध वा मानिसमा उहाँप्रतिको डरको कमी वा परमेश्‍वरको काममा मानिसको बाधा, इत्यादि। न्याय गरिने भनेको परमेश्‍वरलाई विरोध गर्ने मानिसको सार हो र यो कार्य नै आखिरी दिनहरूको विजयको काम हो। मानिसले देखेको देहधारी परमेश्‍वरको कार्य र वचन नै आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्यायको काम हो, जुन विगतका समयका मानिसहरूले कल्‍पना गरेका थिए। देहधारी परमेश्‍वरले हाल गरिरहनुभएको काम नै वास्तवमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्याय हो। आजका देहधारी परमेश्‍वर नै आखिरी दिनहरूमा सारा मानवजातिलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। यो देह र काम, वचन अनि यस देहको सम्पूर्ण स्वभाव नै उहाँको सम्पूर्णता हो। यस देहको कामको क्षेत्र सीमित भए पनि, र सम्पूर्ण ब्रह्माण्डलाई प्रत्यक्ष रूपमा संलग्न नगरे पनि, न्यायको कामको सार भनेको सारा मानवजातिको प्रत्यक्ष न्याय हो—यो चीनका चुनिएका मानिसहरूका खातिर मात्र होइन, न त मानिसहरूको सानो समूहको खातिर नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

५८. मैले आज बोल्ने वचनहरू मानिसका पापको न्याय गर्न, मानिसको अधर्मीपनको न्याय गर्न, मानिसको विद्रोहीपनलाई श्राप दिनका निम्ति हुन्। मानिसको कुटिलपन र कपट, मानिसका बोलीवचन र कामहरू—परमेश्‍वरका अभिप्रायहरूका विरुद्धमा रहेका यी सबै कुरालाई न्यायको दायरामा ल्याउनुपर्छ, र मानिसको विद्रोहीपनका सबै कुरालाई पापको रूपमा भर्त्सना गरिनुपर्छ। उहाँका वचनहरू न्यायका सिद्धान्तहरूमा केन्द्रित छन्; उहाँले आफ्नो धर्मी स्वभाव प्रकट गर्न मानिसको अधर्मीपनको न्याय, मानिसको विद्रोहीपनको श्राप, र मानिसको कुरूप अनुहारको खुलासालाई प्रयोग गर्नुहुन्छ। पवित्रता उहाँको धर्मी स्वभावको प्रतिनिधित्व हो र वास्तवमा परमेश्‍वरको पवित्रता नै उहाँको धर्मी स्वभाव हो। तिमीहरूका भ्रष्ट स्वभाव नै आजका वचनहरूका सन्दर्भ हुन्—बोल्‍न र न्याय गर्न, अनि विजयको काम पूरा गर्न म तिनलाई प्रयोग गर्छु। व्यावहारिक काम यही मात्र हो र यसले मात्र परमेश्‍वरको पवित्रतालाई पूर्ण रूपमा चम्काउँछ। यदि तँमा अलिकति पनि भ्रष्ट स्वभाव छैन भने, परमेश्‍वरले तँलाई न्याय गर्नुहुनेछैन, न त उहाँले तँलाई उहाँको धर्मी स्वभाव नै देखाउनुहुनेछ। तँमा भ्रष्ट स्वभाव भएकोले, परमेश्‍वरले तँलाई त्यसै छोड्नुहुनेछैन, र यसै मार्फत उहाँको पवित्रतालाई देखाइन्छ। यदि परमेश्‍वरले मानिसको अपवित्रता र विद्रोहीपन अति ठूलो भएको देख्‍नुभयो र पनि उहाँ बोल्नुभएन वा तेरो न्याय गर्नुभएन, र तेरो अधर्मीपनका लागि तँलाई सजाय पनि दिनुभएन भने, त्यसले उहाँ परमेश्‍वर हुनुहुन्‍न भन्‍ने प्रमाणित गर्छ, किनकि उहाँमा पापप्रति कुनै घृणा हुनेथिएन, उहाँ मानिस झैं फोहोरी हुनुहुनेथियो। आज तेरो फोहोरकै कारण म तेरो न्याय गर्छु, र तेरो भ्रष्टता र विद्रोहीपनकै कारण म तँलाई सजाय दिन्छु। मैले तिमीहरूलाई आफ्नो शक्ति देखाइरहेको वा जानीजानी तिमीहरूलाई दमन गरिरहेको छैन; यस फोहोरको देशमा जन्मेका तिमीहरू फोहोरद्वारा नराम्रोसँग दूषित भएका हुनाले म यी कुराहरू गर्छु। तिमीहरूले संसारको सबैभन्दा फोहोरी कुनामा जन्मेका सुँगुरहरूले जस्तै आफ्नो सत्यनिष्ठा र मानवता गुमाएका छौ। तिमीहरूको फोहोर र भ्रष्टताको कारण नै तिमीहरूको न्याय गरिन्छ र म तिमीहरूमाथि क्रोध बर्साउँछु। यी वचनहरूको यही न्यायको कारण नै तिमीहरूले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वर पवित्र परमेश्‍वर हुनुहुन्छ भनी बुझ्न सकेका छौ; उहाँको यही पवित्रता र धार्मिकताको कारणले नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ र तिमीहरूमाथि आफ्नो क्रोध बर्साउनुहुन्छ; मानवजातिको विद्रोहीपन देखेर नै उहाँले उहाँको धर्मी स्वभाव प्रकट गर्नुहुन्छ। मानवजातिको फोहोर र भ्रष्टताले नै उहाँको पवित्रताको प्रकट गराउँछ। यही नै उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, उहाँ पवित्र र निर्मल भएर पनि उहाँ फोहोरको देशमा बस्‍नुहुन्छ भनी देखाउन पर्याप्त हुन्छ। यदि कुनै व्यक्ति अरूसँग हिलोमा लडबडिन्छ, र उभित्र केही पनि पवित्र छैन भने र ऊसँग कुनै धर्मी स्वभाव छैन भने, ऊ मानिसको अधर्मको न्याय गर्न योग्य हुँदैन, न त ऊ मानिसको न्याय गर्न नै योग्य हुन्छ। एकअर्कामा एकसमान रूपले फोहोरी रहेका व्यक्तिहरू आफूजस्तै व्यक्तिहरूको न्याय गर्न कसरी योग्य हुन सक्छन्? पवित्र परमेश्‍वर स्वयम् मात्र सम्पूर्ण फोहोर मानवजातिको न्याय गर्न सक्षम हुनुहुन्छ। मानिसले कसरी मानिसकै पापहरूको न्याय गर्न सक्छ? मानिसले कसरी मानिसका पापहरू देख्‍न सक्छ, र ती पापहरूको निन्दा गर्न मानिस कसरी योग्य हुन सक्छ? यदि परमेश्‍वर मानिसका पापहरूको न्याय गर्न योग्य हुनुहुन्‍नथ्यो भने, उहाँ कसरी धर्मी परमेश्‍वर स्वयम्‌ हुन सक्‍नुहुन्थ्यो? मानिसहरूले भ्रष्ट स्वभावहरू प्रकट गर्ने हुनाले, परमेश्‍वर तिनीहरूको न्याय गर्नका निम्ति बोल्नुहुन्छ, अनि मात्र तिनीहरूले उहाँ पवित्र हुनुहुन्छ भनी देख्‍न सक्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

५९. परमेश्‍वरले मानिसलाई सिद्ध पार्ने कार्य कुन माध्यमबाट पूरा गरिन्छ? यसलाई उहाँको धर्मी स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्‍वरको स्वभावमा मुख्य रूपमा धार्मिकता, क्रोध, प्रताप, न्याय र सराप समावेश हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध पार्नुहुन्छ। कति मानिसहरूले बुझ्दैनन्, र परमेश्‍वरले किन मानिसलाई न्याय र सरापद्वारा मात्र सिद्ध पार्न सक्‍नुहुन्छ भनी प्रश्न गर्छन्। तिनीहरू भन्छन्, “यदि परमेश्‍वरले मानिसलाई सराप्नुभयो भने, के मानिस मर्नेथिएन र? यदि परमेश्‍वरले मानिसलाई न्याय गर्नुभयो भने, के मानिस निन्दित हुनेथिएन? त्यसो भए ऊ कसरी अझै पनि सिद्ध पारिन सक्छ?” यी ती मानिसहरूका कुरा हुन्, जसले परमेश्वरको कामलाई जान्दैनन्। परमेश्‍वरले जुन कुरालाई सराप्नुहुन्छ त्यो मानिसको विद्रोहीपन हो, र उहाँले जे कुराको न्याय गर्नुहुन्छ त्यो मानिसको पाप हो। उहाँ कठोर रूपमा र मानिसका भावनालाई बिलकुलै ख्याल नगरी बोल्ने भए पनि, उहाँले मानिसभित्रका सबै कुरा खुलासा गर्नुहुन्छ, उहाँले केही कठोर वचनद्वारा मानिसभित्र हुने सारगत कुराहरू खुलासा गर्नुहुन्छ, तैपनि त्यस्तो न्यायद्वारा, उहाँले मानिसलाई देहको सारको गहिरो ज्ञान दिनुहुन्छ, र यसैले मानिस परमेश्‍वरको सामु समर्पित हुन्छ। मानिसको देह पापको र शैतानको हो, यो विद्रोही छ, र यो परमेश्‍वरको सजायको पात्र हो। यसैले, मानिसलाई आफैलाई चिन्‍न लगाउनका लागि परमेश्‍वरका वचनहरूको न्याय ऊमाथि आउनुपर्छ र हरप्रकारको शोधन प्रयोग गर्नुपर्दछ; तब मात्र परमेश्‍वरको काम प्रभावकारी हुन सक्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

६०. मानिसलाई सिद्ध बनाउन परमेश्‍वरले उहाँको न्यायको प्रयोग गर्नुहुन्छ, उहाँले मानिसलाई प्रेम गर्नुभएको छ, र मानिसलाई मुक्ति दिनुभएको छ—तर उहाँको प्रेममा कति धेरै कुरा छ? त्यहाँ न्याय, प्रताप, क्रोध र सराप छ। विगतमा परमेश्‍वरले मानिसलाई सराप दिनुभएको भए पनि उहाँले मानिसलाई पूर्ण रूपमा अतल कुण्डमा हालिदिनुभएन, तर त्यो साधनलाई मानिसको विश्‍वासलाई शोधन गर्न प्रयोग गर्नुभयो; उहाँले मानिसलाई मृत्युदण्ड दिनुभएन, तर मानिसलाई सिद्ध बनाउनका निम्ति कार्य गर्नुभयो। शरीरको सार त्यो हो जुन शैतानको हो—परमेश्‍वरले यसलाई ठीकै भन्नुभएको थियो—तर परमेश्‍वरले गर्नुभएका तथ्यहरूलाई उहाँका वचनहरू अनुसार पूरा गरिँदैनन्। तैँले उहाँलाई प्रेम गर्न सक् र तैँले देहको सारलाई बुझ्न सक् भनी उहाँले तँलाई सराप्नुहुन्छ; तँ बिउँझन सक्, तैँले आफू भित्रका कमी-कमजोरीहरूलाई जान्न सक् अनि मानिस पूर्ण रूपमा अयोग्य छ भनी जान् भनी उहाँले तँलाई सजाय दिनुहुन्छ। यसैले, परमेश्‍वरका सरापहरू, उहाँको न्याय र उहाँको प्रताप र क्रोध—ती सबै मानिसलाई सिद्ध बनाउनका निम्ति हुन्। आज परमेश्‍वरले गर्नुहुने सबै कुरा, र उहाँले तिमीहरूभित्र स्पष्ट पार्नुहुने धर्मी स्वभाव—यी सबै मानिसलाई सिद्ध बनाउनका लागि हुन्। परमेश्‍वरको प्रेम यस्तो प्रकारको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

६१. परमेश्‍वरले मानिसलाई न्याय गर्नुभए पनि वा सराप दिनुभए पनि, ती दुवैले मानिसलाई सिद्ध बनाउँछ: ती दुवै मानिसभित्रको अशुद्धतालाई सिद्ध बनाउनका लागि गरिन्छ। यस माध्यमद्वारा मानिस शुद्ध पारिन्छ, मानिसभित्र जुन कुराको कमी हुन्छ त्यसलाई उहाँका वचन र कामहरूद्वारा सिद्ध पारिन्छ। परमेश्‍वरको कामको हरेक चरण—चाहे ती कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले मानिसलाई सिद्ध बनाउँछ, र ती बिलकुल उपयुक्त छन्। परमेश्‍वरले युगौंयुगसम्म कहिल्यै पनि यस्तो काम गर्नुभएन; आज, तिमीहरूले उहाँको बुद्धिको कदर गर्न सक भनेर उहाँले तिमीहरूभित्र काम गर्नुहुन्छ। तिमीहरूले आफैभित्र केही पीडा भोगेको भए तापनि, तिमीहरूको हृदयले स्थिरता र शान्तिको महसुस गर्दछ; परमेश्‍वरको कामको यस चरणको आनन्द लिन सक्नु तेरो निम्ति आशिष् हो। तिमीहरूले भविष्यमा चाहे जे नै प्राप्त गर्न सके पनि आज तिमीहरूले आफूमा देखेको परमेश्‍वरको काम प्रेम नै हो भनी बुझ्नेछौ। यदि मानिसले परमेश्‍वरको न्याय र शोधनको अनुभव गर्दैन भने, उसका कामहरू र जोश सधैँ सतह स्तरमा रहन्छ, र उसको स्वभाव सधैँ अपरिवर्तित रहन्छ। के यसलाई परमेश्‍वरद्वारा प्राप्त गरिएको मान्न सकिन्छ? आज, मानिसभित्र अझै पनि अहङ्कारी र घमण्डी धेरै कुराहरू भए तापनि, मानिसको स्वभाव पहिलेको भन्दा धेरै स्थिर छ। परमेश्‍वरले तँलाई मुक्ति दिनको लागि तँलाई काटछाँट गर्नुहुन्छ, अनि तैँले कहिलेकहीँ पीडा महसुस गरे पनि त्यो दिन आउनेछ जब तेरो स्वभावमा परिवर्तन आउनेछ। त्यस बेला, तैँले पछि फर्केर हेर्नेछस्, र परमेश्‍वरको काम कति बुद्धिमानी रहेछ भनी बुझ्नेछस्, अनि त्यस बेला तैँले परमेश्‍वरका अभिप्रायहरूलाई साँच्चै बुझ्न सक्नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

६२. अहिले भइरहेको काम मानिसहरूलाई उनीहरूको पुरानो पुर्खा, शैतानविरुद्ध विद्रोह गर्न लगाउनका लागि हो। वचनद्वारा गरिने सबै न्यायको उद्देश्य मानवताको भ्रष्ट स्वभाव खुलासा गर्नु र मानिसहरूलाई जीवनको सार बुझ्‍न सक्षम तुल्याउनु हो। बारम्बार दोहोर्‍याइने यी न्यायहरूले मानिसको हृदय छेड्छन्। प्रत्येक न्याय प्रत्यक्ष रूपमा तिनीहरूको नियतिसँग सम्बन्धित हुन्छ र यसको काम तिनीहरूको हृदयमा चोट पुर्‍याउनु हो ताकि तिनीहरूले ती सबै थोक छोड्न र जीवनलाई जान्‍न सकून्, यो फोहोरी संसारलाई चिन्‍न सकून्, परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌तालाई चिन्‍न सकून्, र यसको साथै मानवजातिलाई पनि चिन्‍न सकून् जसलाई शैतानले भ्रष्ट बनाएको छ। सजाय र न्याय जति यस्तो हुन्छ, त्यति नै धेरै मानिसको हृदयमा चोट पुग्‍न सक्छ र त्यति नै धेरै उसको आत्मा जागृत हुन सक्छ। यस प्रकारको न्यायको लक्ष्य यस्ता अत्यन्त भ्रष्ट भएका र सबैभन्दा गहन रूपमा धोकामा परेका व्यक्तिहरूको आत्मालाई जागृत गराउनु हो। मानिससँग आत्मा छैन, अर्थात् उसको आत्मा धेरै अघि मरिसकेको छ र उसलाई स्वर्ग छ भन्‍ने कुरा थाहै छैन, परमेश्‍वर हुनुहुन्छ भन्‍ने पनि थाहै छैन र ऊ मृत्युको पातालमा संघर्ष गरिरहेको छ भन्‍ने पनि उसलाई झनै थाहै छैन; कसरी पो उसले आफू पृथ्वीको यस दुष्ट नरकमा बाँचिरहेको छु भनेर थाहा पाउन सक्थ्यो र? ऊसँग भएको यो दुर्गन्धित लास शैतानको भ्रष्टताको कारण मृत्युको पातालमा खसेको कुरा उसले कसरी थाहा पाउन सक्थ्यो? धेरै पहिले नै पृथ्वीमा भएका सबै कुरालाई मर्मत नै गर्न नसकिने गरी मानवजातिले नाश गरिसकेका छन् भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? अनि, सृष्टिकर्ता आज पृथ्वीमा आउनुभएको छ र उहाँ आफूले मुक्ति दिन सक्‍ने भ्रष्ट मानिसहरूको समूह खोज्दै हुनुहुन्छ भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? मानिसले हरसम्‍भव शोधन र न्यायको अनुभव गरेपछि पनि उसको लाटिएको चेतना सायदै चलायमान हुन्छ र वास्तवमा यो लगभग उदासीन नै रहन्छ। मानवता कत्ति पतित छ! यस किसिमको न्याय आकाशबाट खसेको क्रूर असिनाजस्तो हुने भए तापनि, यो मानिसको लागि सबैभन्दा लाभदायक कुरा हो। यदि मानिसहरूलाई यसरी न्याय नगरिने हो भने, नतिजा केही पनि हुनेथिएन र मानिसहरूलाई पीडाको पातालबाट मुक्ति दिन पक्‍कै पनि असम्भव हुनेथियो। यदि यो काम नगरिएको भए, मानिसहरूलाई पाताल लोकबाट बाहिर निस्कन धेरै गाह्रो हुनेथियो किनभने उनीहरूको हृदय धेरै नै अघि मरिसकेको छ र तिनीहरूका आत्मालाई शैतानले पहिले नै कुल्चिसकेको छ। पतनको सबैभन्दा ठूलो गहिराइमा डुबेका तिमीहरूलाई मुक्ति दिनलाई तिमीहरूलाई जोडजोडले बोलाउनुपर्छ, तिमीहरूलाई धेरै मेहनत साथ न्याय गरिनुपर्छ; अनि मात्र तिमीहरूको जमेको हृदयलाई जगाउन सम्भव हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

६३. तँलाई थाहा हुनुपर्छ कि परमेश्‍वरद्वारा मानिसहरूलाई सिद्ध र पूर्ण बनाउने र मानिसहरूलाई प्राप्त गर्ने कार्यले तिनीहरूका देहमा तरवार र चोटहरू, अन्त्यहीन दुःख, जलन, क्रूर न्याय, सजाय, र श्रापहरू अनि असिम परीक्षाहरूबाहेक अरू केही ल्याउँदैन। मानिसको व्यवस्थापन कार्यको भित्री कथा र सत्यता यही हो। तैपनि, यी सबै कुराहरू मानिसको देहतर्फ लक्षित हुन्छन्, र शत्रुताका सबै वाणहरू निर्दयतापूर्वक मानिसको देहप्रति नै लक्षित गरिन्छन् (किनकि मानिस निर्दोष छ)। यो सबै नै उहाँको महिमा र गवाही अनि उहाँको व्यवस्थापनका लागि हो। यस्तो किन हुन्छ भने उहाँको काम मानवजातिका लागि मात्र होइन, यो त सम्पूर्ण योजनाका लागि पनि हो, साथै उहाँले मानवजातिलाई सृष्टि गर्नुभएको समयको उहाँको सुरुको अभिप्राय पूरा गर्नलाई पनि हो। त्यसकारण, सायद मानिसको नब्बे प्रतिशत अनुभवमा दुःख र अग्‍निपरीक्षा सामेल हुन्छ, र त्यहाँ मानिसको देहले चाहना गरेका मीठा र खुसीयालीका दिनहरू या त थोरै हुन्छन् या त हुँदै हुँदैनन्। मानिसले देहमा परमेश्‍वरसित सुन्दर समय बिताउँदै खुसीका क्षणहरू अनुभव गर्न सक्‍ने त झन् कुरै आउँदैन। देह फोहोरी छ, त्यसैले मानिसको देहले जे देख्छ वा जे उपभोग गर्छ त्यो परमेश्‍वरको सजायबाहेक अरू केही हुँदैन, जसलाई मानिसले असंवेदनशील पाउँछ, यस्तो लाग्छ त्यसमा सामान्य अनुभूतिकै अभाव छ। यस्तो किन हुन्छ भने परमेश्‍वरले आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुन्छ, जुन मान्छेप्रति असंवेदनशील हुन्छ, र उहाँको त्यो धर्मी स्वभावले मानिसका उल्लङ्घनहरू सहँदैन र शत्रुहरूलाई घृणा गर्छ। परमेश्‍वरले कुनै पनि उपायद्वारा उहाँको सम्पूर्ण स्वभाव खुल्लमखुल्ला प्रकट गर्नुहुन्छ, र त्यसमार्फत शैतानसँगको उहाँको छ हजार वर्षे लडाइँ अर्थात् सारा मानवजातिको मुक्तिको काम र प्राचीन कालको शैतानलाई नाश पार्ने काम समाप्त गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानवजातिलाई व्यवस्थापन गर्ने उद्देश्य

६४. के तँ अब न्याय के हो र सत्यता के हो भनी बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय गरिनुप्रति आज्ञाकारितासाथ समर्पित हुन म तँलाई सुझाव दिन्छु, नत्र भने तैँले परमेश्‍वरको अनुमोदन पाउने वा उहाँद्वारा उहाँको राज्यभित्र ल्याइने अवसर कहिल्यै पाउनेछैनस्। न्याय स्वीकार मात्र गर्ने तर कहिल्यै शुद्ध गर्न नसकिने, अर्थात्, न्यायको कामका बीचमा भाग्नेहरूलाई परमेश्‍वरले सदाका लागि तिरस्कार गर्नुहुनेछ। तिनीहरूका पाप फरिसीहरूका भन्दा झनै जघन्य र झनै धेरै हुन्छन्, किनकि तिनीहरूले परमेश्‍वरलाई धोका दिएका छन् र तिनीहरू परमेश्‍वरविरुद्धका विद्रोहीहरू हुन्। श्रम गर्नका लागि पनि लायक नभएका यी मानिसहरूले झनै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ, झन्, अनन्तकालसम्म जारी रहनेछ। परमेश्‍वरले कुनै बेला शब्दले बफादारी देखाएको तर त्यसपछि उहाँलाई धोका दिएको कुनै पनि विश्‍वासघातीलाई बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले आत्मा, प्राण, र शरीरका दण्डमार्फत प्रतिशोध पाउनेछन्। के परमेश्‍वरको धर्मी स्वभावको प्रकटीकरण ठ्याक्कै यही नै होइन र? के मानिसलाई न्याय र प्रकाश गर्ने परमेश्‍वरको उद्देश्य ठ्याक्कै यही होइन र? न्यायको समयावधिमा हरप्रकारका दुष्ट कार्य गर्नेहरूलाई परमेश्‍वरले दुष्ट आत्माहरू भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूलाई आफ्नो इच्छाअनुसार तिनीहरूका देहगत शरीरहरू नष्ट गर्न दिनुहुनेछ, र ती मानिसहरूका शरीरले लासहरूको दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनुपर्ने प्रतिशोध यस्तो हुन्छ। परमेश्‍वरले ती अबफादार झूटा विश्‍वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई तिनीहरूका अभिलेख-पुस्तकहरूमा लेख्नुहुन्छ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुन्छ, ती अशुद्ध आत्माहरूलाई इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरू फोहोर पार्न दिनुहुनेछ, र तिनीहरूलाई कहिल्यै पुनर्जन्म नपाउने र तिनीहरूले फेरि कहिल्यै उज्यालो नदेख्ने तुल्याउनुहुनेछ। केही समयका निम्ति सेवा गर्ने तर अन्तसम्म बफादार नरहने ढोँगीहरूलाई परमेश्‍वरले दुष्टहरूमाझ सूचीकृत गर्नुहुन्छ, तिनीहरूलाई दुष्ट मानिसहरूसँग हिलोमा लडबडिन र विभिन्‍न किसिमका कुकर्मीसँग गिरोह निर्माण गर्न दिनुहुन्छ, र अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै बफादार नभएका वा आफ्नो कुनै सामर्थ्य योगदान नगरेकाहरूलाई परमेश्‍वरले पाखा लगाइदिनुहुन्छ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुन्न, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई नष्ट गर्नुहुनेछ। तिनीहरू उप्रान्त पृथ्वीमा अस्तित्वमा रहनेछैनन्, र तिनीहरूले परमेश्‍वरको राज्यभित्र प्रवेश गर्ने बाटो त झनै प्राप्त गर्नेछैनन्। परमेश्‍वरले उहाँप्रति कहिल्यै निष्कपट नरहेका, तर उहाँसँग झाराटारुवा रूपमा व्यवहार गर्नुबाहेक अरू कुनै विकल्प नभएका जोकोहीलाई उहाँका मानिसहरूका लागि सेवा प्रदान गर्नेहरूमा सूचीकृत गर्नुहुन्छ। यस्ता मानिसहरूका सानो सङ्ख्या मात्र बाँच्नेछ, जबकि बहुसङ्ख्यकहरू मानकअनुरूप श्रम गर्न समेत नसक्‍नेहरूसँगै नष्ट हुनेछन्। अन्त्यमा, परमेश्‍वरसँग एउटै हृदय र मन भएकाहरू, परमेश्‍वरका मानिसहरू र पुत्रहरू, र धर्मगुरु हुनका लागि परमेश्‍वरद्वारा पूर्वनिर्धारित सबैलाई परमेश्‍वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्‍वरको कामको परिष्कृत उपज हुन्। परमेश्‍वरले तोक्नुभएको कुनै पनि वर्गमा वर्गीकृत गर्न नसकिनेहरूलाई गैरविश्‍वासीहरूको श्रेणीका सूचीमा राखिनेछ, र तिनीहरूको परिणाम के हुनेछ भनेर तिमीहरूले निश्चय नै कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्‍नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्‍ने मार्ग केवल तिमीहरूकै छनोट हो। तिमीहरूले बुझ्नुपर्ने कुरा यो हो: परमेश्‍वरसँग गति मिलाउन नसक्ने कुनै पनि व्यक्तिलाई परमेश्‍वरको कामले पर्खँदैन, र परमेश्‍वरको धर्मी स्वभावले कुनै पनि मानिसलाई कृपा देखाउँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

अघिल्लो:  ग. राज्यको युग—आखिरी युगको सम्बन्धमा

अर्को:  क. शैतानले मानवजातिलाई कसरी भ्रष्ट पार्छ भन्‍ने खुलासा सम्बन्धी वचनहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger