ड. शैतानको प्रभावलाई कसरी त्याग्ने र मुक्ति हासिल गर्ने सो सम्बन्धमा
४८८. शैतानद्वारा भ्रष्ट तुल्याइएपछि मानवजातिले परमेश्वरको डर मान्ने उनीहरूको हृदय, साथै सृजित प्राणीहरूमा हुनुपर्ने कार्य गुम्यो, त्यसरी उनीहरू परमेश्वरविरुद्ध विद्रोह गर्ने शत्रु भए। त्यसपछि मानवजाति शैतानको सत्तामा जियो र शैतानको चालबाजीको गोटी बन्यो; यसरी, परमेश्वरसित आफ्ना सृष्टि गरिएका प्राणीहरूमाझ काम गर्ने कुनै बाटो नै थिएन, र उनीहरूको भय प्राप्त गर्न उहाँ झनै असक्षम हुनुभयो। मानवलाई परमेश्वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्यो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्ति दिनुपर्छ। यसरी मात्र परमेश्वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। अन्त्यमा विद्रोहका ती सन्तानहरूको पूर्ण विनाश पनि मानवलाई अझ राम्रोसँग परमेश्वरको आराधना गर्न र पृथ्वीमा अझ राम्रोसँग जिउन सक्षम हुन दिनका निम्ति हुनेछ। परमेश्वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्ने हुन्छ; यसको अर्थ परमेश्वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्ने हुन्छ। यसको अर्थ परमेश्वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई निरन्तर रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजाति चाहिँ उहाँको आराधना गर्ने, उहाँप्रति पूर्ण रूपमा समर्पित हुने र उहाँको महिमा भएको मानवजाति हो। यदि परमेश्वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्वरले उहाँविरुद्ध विद्रोह गर्ने ती शत्रुहरूलाई नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान् उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँविरुद्ध विद्रोही ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
४८९. प्रारम्भिक मानवजाति परमेश्वरको हातमा थियो तर शैतानको परीक्षा र भ्रष्टताका कारण, मानिस शैतानको बन्धनमा पऱ्यो र दुष्टको हातमा पऱ्यो। तसर्थ, शैतान परमेश्वरको व्यवस्थापन कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वशमा पारेकोले र मानिस परमेश्वरले सबै व्यवस्थापन पूरा गर्न प्रयोग गर्नुहुने पूँजी भएकोले यदि मानिसलाई बचाइनु छ भने, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिनैपर्छ, अर्थात् मानिसलाई शैतानले कैदमा राखेपछि फिर्ता लिनैपर्छ। तसर्थ, मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर अनि मानिसको सुरुको समझलाई पुनर्स्थापित गरेर शैतानलाई पराजित गर्नैपर्छ। यसरी मानिस, जसलाई कैद गरिएको छ, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने, शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिस शैतानको अन्धकारको प्रभावबाट स्वतन्त्र भएकोले गर्दा, मानिस यो पूरै लडाइँको लुटको सामान बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिइनुपर्ने पात्र बन्छ, त्यसपछि मानवजातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
४९०. अन्धकारको प्रभावमा जिउने सबै मृत्युका बीचमा जिउनेहरू हुन्, र शैतानद्वारा स्वामित्वमा राखिएकाहरू हुन्। परमेश्वरद्वारा मुक्ति नदिइएमा र परमेश्वरद्वारा न्याय नगरिएमा र सजाय नदिइएमा, मानिसहरू मृत्युको प्रभावबाट उम्कन सक्दैनन्; तिनीहरू जीवित बन्न सक्दैनन्। यस्ता मृत मानिसहरूले परमेश्वरको गवाही दिन सक्दैनन्, न त तिनीहरू परमेश्वरद्वारा प्रयोग गरिन नै सक्छन्, तिनीहरूले राज्यमा प्रवेश गर्ने कुरा त परै जाओस्। परमेश्वरले मृतहरूले होइन, जीवितहरूले गवाही दिएको चाहनुहुन्छ, र उहाँ मृतहरूले होइन, जीवितहरूले उहाँका लागि काम गरून् भन्नुहुन्छ। “मृतहरू” ती हुन् जसले परमेश्वरको प्रतिरोध गर्छन् र परमेश्वरविरुद्ध विद्रोह गर्छन्; तिनीहरू ती हुन् जो आत्मामा भावशून्य छन् र परमेश्वरका वचनहरू बुझ्दैनन्; तिनीहरू ती हुन् जो सत्यता अभ्यास गर्दैनन् र जोसँग परमेश्वरप्रति रत्तीभर बफादारी छैन, र तिनीहरू ती हुन् जो शैतानको सत्ताअन्तर्गत जिउँछन् र शैतानद्वारा शोषित हुन्छन्। मृत व्यक्तिहरूले सत्यताको विरोधमा उभिएर, परमेश्वरको विरुद्ध विद्रोह गरेर अनि तुच्छ, घृणायोग्य, दुष्ट, पाशविक, छली तथा धोखेबाज बनेर आफूलाई प्रकट गर्छन्। त्यस्ता व्यक्तिहरूले परमेश्वरका वचनहरू खाने र पिउने गरे तापनि तिनीहरू परमेश्वरको वचनहरू अनुरूप जिउन सक्दैनन्; तिनीहरू जीवित भए तापनि तिनीहरू केवल हिँड्ने र सास फेर्ने लासहरू हुन्। मृत व्यक्तिहरू परमेश्वरलाई सन्तुष्ट पार्न पूर्ण रूपमा असक्षम हुन्छन्, पूर्ण रूपमा उहाँप्रति समर्पित हुने कुरा त परै जाओस्। तिनीहरूले उहाँ विरुद्ध छल गर्न, उहाँको निन्दा गर्न, उहाँलाई धोखा दिन मात्रै सक्छन्, र तिनीहरूले आफू जिउने तरिका मार्फत जे ल्याउँछन् ती सबैले शैतानको प्रकृति प्रकट गर्छन्। यदि मानिसहरू जीवित प्राणीहरू बन्न र परमेश्वरको गवाही दिन, अनि परमेश्वरद्वारा अनुमोदित हुन चाहन्छन् भने, तिनीहरूले परमेश्वरको मुक्ति स्विकार्नैपर्छ; तिनीहरू खुसीसाथ उहाँको न्याय र सजायमा समर्पित हुनैपर्छ र तिनीहरूले परमेश्वरको काटछाँट खुसीसाथ स्वीकार गर्नैपर्छ। त्यसपछि मात्र परमेश्वरले माग गर्नुभएका सबै सत्यतालाई तिनीहरूले अभ्यास गर्न सक्नेछन्, र त्यसपछि मात्र तिनीहरूले परमेश्वरको मुक्ति प्राप्त गर्नेछन् र साँच्चिकै जीवित प्राणी बन्नेछन्। जीवितहरू ती हुन् जसलाई परमेश्वरले मुक्ति दिनुभएको छ; तिनीहरू परमेश्वरद्वारा न्याय गरिएका र सजाय दिइएका हुन्छन्, तिनीहरू आफूलाई अर्पण गर्न इच्छुक हुन्छन् र परमेश्वरका लागि आफ्नो जीवन त्याग्न खुसी हुन्छन् र तिनीहरूले खुसीसाथ आफ्नो सम्पूर्ण जीवन परमेश्वरमा अर्पित गर्नेछन्। जब जीवितहरूले परमेश्वरको गवाही दिन्छन् तब मात्र शैतानलाई लज्जित बनाउन सकिन्छ; जीवितहरूले मात्र परमेश्वरको सुसमाचारको काम फैलाउन सक्छन्, जीवितहरू मात्र परमेश्वरका अभिप्राय अनुसारका हुन्छन्, र जीवितहरू मात्र वास्तविक मानिसहरू हुन्। मौलिक रूपमा परमेश्वरद्वारा सृजित मानिस जीवित थियो तर शैतानको भ्रष्टताको कारण मानिस मृत्युको बीचमा अनि शैतानको प्रभावमा रहेर जिउँछ, र त्यसैले यसप्रकार मानिसहरू आत्माविहीन मृतक बनेका छन्, तिनीहरू परमेश्वरको विरोध गर्ने शत्रुहरू बनेका छन्, तिनीहरू शैतानका औजारहरू बनेका छन् अनि तिनीहरू शैतानका बन्दीहरू बनेका छन्। परमेश्वरद्वारा सृजित सबै जीवित मानिसहरू मृत मानिसहरू बनेका छन् र त्यसरी परमेश्वरले उहाँको साक्षी गुमाउनुभएको छ र उहाँले उहाँद्वारा सृजित अनि उहाँको सास भएको एकमात्र वस्तु मानवजातिलाई गुमाउनुभएको छ। यदि परमेश्वरले उहाँको साक्षी फिर्ता लिनु परेमा र उहाँको आफ्नै हातद्वारा सृजित भएका तर शैतानद्वारा बन्दी बनाइएका व्यक्तिहरूलाई फिर्ता लिनु परेमा, उहाँले तिनीहरूलाई पुनर्जीवित गर्नुपर्छ ताकि तिनीहरू जीवित प्राणीहरू बनून् र उहाँले तिनीहरूलाई फिर्ता लिनैपर्छ ताकि तिनीहरू उहाँको ज्योतिमा बाँच्न सकून्। मृतकहरू ती हुन् जोसँग आत्मा हुँदैन, ती व्यक्तिहरू जो अत्याधिक रूपमा चेतनाशून्य छन् र जसले परमेश्वरको विरोध गर्छन्। तिनीहरू सबैभन्दा बढी परमेश्वरलाई नचिन्ने व्यक्तिहरू हुन्। यी मानिसहरूमा परमेश्वरमा समर्पित हुने रत्तीभर मनसाय हुँदैन; तिनीहरूले केवल उहाँको विरुद्ध विद्रोह गर्छन् र उहाँको विरोध गर्छन् अनि उनीहरूमा रत्तीभर पनि बफादारीता हुँदैन। जीवित व्यक्तिहरू ती व्यक्तिहरू हुन् जसका आत्माले पुनर्जन्म पाएका छन्, जसले परमेश्वरमा समर्पित हुन जान्दछन् र जो परमेश्वरप्रति बफादार छन्। तिनीहरू सत्यता र साक्षी युक्त हुन्छन् र ती व्यक्तिहरू मात्र परमेश्वरको लागि उहाँको घरमा प्यारा हुन्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ जीवित भएको व्यक्ति होस्?
४९१. अन्धकारको प्रभाव भनेको के हो? यो कथित “अन्धकारको प्रभाव” शैतानको बहकाइ, भ्रष्टता, बन्धन र मानिसहरूलाई नियन्त्रण गर्ने प्रभाव हो; शैतानको प्रभाव एउटा यस्तो प्रभाव हो जसमा मृत्युको वातावरण हुन्छ। शैतानको सत्तामा जिउने सबै विनाशतिर उन्मुख हुन्छन्। परमेश्वरप्रतिको विश्वास हासिल गरिसकेपछि तँ कसरी अन्धकारको प्रभावदेखि उम्कन सक्छस् त? तैँले परमेश्वरसँग इमान्दारितापूर्वक प्रार्थना गरिसकेपछि आफ्नो हृदयलाई पूर्ण रीतिले उहाँतर्फ फर्काउँछस्, जुन बिन्दुमा तेरो हृदय परमेश्वरका आत्माद्वारा उत्प्रेरित हुन्छ। तँ आफैलाई पूर्ण रीतिले उहाँमा समर्पित गर्न इच्छुक हुन्छस्, अनि यसै क्षणमा, तँ अन्धकारको प्रभावदेखि उम्केको हुनेछस्। यदि मानिसले गर्ने हरेक कुराले परमेश्वरलाई खुशी तुल्याउँछ र त्यो उहाँका मागहरूसित मेल खान्छ भने, ऊ परमेश्वरका वचनहरूमा र उहाँको हेरविचार तथा सुरक्षामा जिउने व्यक्ति हुन्छ। यदि मानिसहरूले परमेश्वरका वचनहरू अभ्यास गर्न सक्दैनन्, यदि तिनीहरूले उहाँप्रति लापरवाही व्यवहार देखाउँदै अनि उहाँको अस्तित्वमा अविश्वास गर्दै, सधैँ उहाँलाई मूर्ख बनाउने प्रयास गरिरहन्छन् भने—ती सबै मानिसहरू अन्धकारको प्रभावमा जिइरहेका हुन्छन्। परमेश्वरको मुक्ति नपाएका मानिसहरू शैतानको शक्तिमा जिइरहेका हुन्छन्; यसको अर्थ, तिनीहरू सबै अन्धकारको प्रभावमा जिउँछन्। परमेश्वरमा विश्वास नगर्नेहरू शैतानको शक्तिमा जिइरहेका हुन्छन्। परमेश्वरको अस्तित्वमा विश्वास गर्नेहरू पनि उहाँको ज्योतिमा नै जिइरहेका हुन्छन् भन्ने छैन, किनकि उहाँमा विश्वास गर्नेहरू वास्तविक रूपमा उहाँका वचनहरूमा जिइरहेका नहुन सक्छन्, न त तिनीहरू परमेश्वरमा समर्पित हुन सकेका नै हुन्छन्। परमेश्वरमा विश्वास गर्ने कार्यमा मानिस सीमित छ, अनि ऊसित परमेश्वरको ज्ञान नभएको कारणले, ऊ अझै पनि पुराना नियमहरूमा, मृत शब्दहरूमा यस्तो जीवन जिइरहेका हुन्छन् जुन अँध्यारो र अनिश्चित छ, जुन न त परमेश्वरद्वारा पूर्ण रूपले शुद्ध गरिएको छ, न त उहाँद्वारा पूर्ण रूपले हासिल गरिएको छ। त्यसैकारण, यो स्पष्ट नै छ कि परमेश्वरमा विश्वास नगर्नेहरू अन्धकारको प्रभावमा जिइरहेका हुन्छन्, परमेश्वरमा विश्वास गर्नेहरू पनि अझै त्यसको प्रभावमा हुन सक्छन्, किनकि तिनीहरूसित पवित्र आत्माको कार्यको कमी हुन्छ। परमेश्वरको अनुग्रह वा कृपा प्राप्त नगरेकाहरू र पवित्र आत्माको कार्य देख्न नसक्नेहरू सबै अन्धकारको प्रभावमा जिइरहेका हुन्छन्; अनि प्रायजसो परमेश्वरको अनुग्रहको मात्रै आनन्द लिने, तैपनि उहाँलाई भने नचिन्ने मानिसहरू पनि त्यस्तै हुन्छन्। यदि कुनै मानिसले परमेश्वरमा विश्वास गर्छ, तापनि आफ्नो अधिकांश जीवन अन्धकारको प्रभावमा जिइरहेको छ भने, यस मानिसले आफ्नो अस्तित्वको अर्थ नै गुमाएको हुन्छ—अनि परमेश्वरको अस्तित्वमा विश्वास नगर्ने मानिसहरूको बारेमा उल्लेख गर्नु खाँचो छ र?
परमेश्वरको कार्यलाई स्वीकार गर्न नसक्नेहरू, अथवा परमेश्वरको कार्यलाई स्वीकार गर्ने तर उहाँका मागहरूलाई पूरा गर्न असमर्थ हुनेहरू सबै अन्धकारको प्रभावमा जिइरहेका मानिसहरू हुन्। सत्यतालाई अनुसरण गर्नेहरू र परमेश्वरका मागहरू पूरा गर्न सक्नेहरूले मात्रै उहाँबाट आशिषहरू प्राप्त गर्नेछन्, र तिनीहरू मात्रै अन्धकारको प्रभावदेखि उम्किनेछन्। जो स्वतन्त्र भएका छैनन्, जो सधैँ केही निश्चित कुराहरूद्वारा बन्धित हुन्छन्, अनि जसले आफ्नो हृदय परमेश्वरलाई दिन सक्दैनन्, तिनीहरू मृत्युको वातावरणमा जिउँदै शैतानको बन्धनमुनि रहने मानिसहरू हुन्। आफ्ना कर्तव्यहरूप्रति विश्वासयोग्य नहुने, परमेश्वरको आज्ञाप्रति विश्वासयोग्य नहुने अनि मण्डलीमा गर्नुपर्ने आफ्ना काम-कर्तव्यहरू पूरा गर्न नसक्नेहरू अन्धकारको प्रभावमुनि जिउने मानिसहरू हुन्। जसले जानाजान मण्डली-जीवनलाई बिथोल्छन्, जसले जानी-बुझी आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको माझमा अमेलको बीउ रोप्छन् वा जसले गुट निर्माण गर्छन्, तिनीहरू अझै गहिरो अन्धकारको प्रभावमा, शैतानको बन्धनमा जिउने मानिसहरू हुन्। परमेश्वरसित असामान्य सम्बन्ध कायम राख्नेहरू, लालची इच्छाहरू बोकेर हिँड्नेहरू, सधैँ लाभ हासिल गर्न चाहनेहरू, र आफ्नो स्वभाव कहिल्यै रूपान्तरण गर्न नखोज्नेहरू अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। सधैँ बेहोसी रहने अनि सत्यताको अभ्यासमा कहिल्यै गम्भीर नहुने, परमेश्वरका अभिप्रायहरू पूरा गर्ने कार्यमा लागिपर्नुको सट्टामा आफ्नै देहलाई सन्तुष्ट गर्न खोज्नेहरू पनि, मृत्युको आवरणले ढाकिएको अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। परमेश्वरको निम्ति काम गर्दा जो कुटिलता र छलकपटमा संलग्न हुन्छन्, जसले परमेश्वरसित लापरवाहीपूर्ण ढङ्गले व्यवहार गर्छन्, जसले परमेश्वरलाई ठग्छन् अनि जसले सधैँ आफ्नै निम्ति योजना बनाउँछन्, तिनीहरू अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। जसले परमेश्वरलाई साँचो रीतिले प्रेम गर्न सक्दैनन्, जसले सत्यताको अनुसरण गर्दैनन्, अनि जो आफ्नो स्वभावलाई रूपान्तरण गर्ने कार्यमा केन्द्रित हुँदैनन्, तिनीहरू सबै अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्वरद्वारा प्राप्त गरिन सक्नेछस्
४९२. मानिस देहमाझ जिउँछ, अर्थात् ऊ मानव नरकमा जिउँछ, र परमेश्वरको न्याय र सजायविना ऊ शैतानजस्तै फोहोरी छ। मानिसलाई कसरी पवित्र पार्न सकिन्थ्यो? परमेश्वरद्वारा गरिने सजाय र न्याय नै मानिसको सबैभन्दा उत्तम सुरक्षा र सबैभन्दा ठूलो अनुग्रह हो भन्ने विश्वास पत्रुस गर्थ्यो। परमेश्वरको सजाय र न्यायमार्फत मात्रै मानिस बिउँझन सक्थ्यो र उसले देहलाई घृणा गर्न, शैतानलाई घृणा गर्न सक्थ्यो। परमेश्वरको कठोर अनुशासनले मानिसलाई शैतानको प्रभावबाट रिहा गर्छ, उसलाई आफ्नै सानो संसारबाट रिहा गर्छ र उसलाई परमेश्वरको मुहारको ज्योतिमा जिउने तुल्याउँछ। सजाय र न्यायभन्दा उत्तम मुक्ति कुनै छैन। पत्रुसले यसो भन्दै प्रार्थना गर्थे, “हे परमेश्वर! जबसम्म तपाईंले मलाई सजाय र न्याय गर्नुहुन्छ, तबसम्म म तपाईंले मलाई छोड्नुभएको छैन भनी थाहा पाउनेछु। तपाईंले मलाई आनन्द वा शान्ति नदिनुभए पनि, मलाई कष्टमा जिउन लगाउनुभए पनि र ममाथि अनगिन्ती सजायहरू दिनुभए पनि, जबसम्म तपाईं मलाई छोड्नुहुन्न, तबसम्म मेरो हृदय सहजतामा हुनेछ। आज तपाईंको सजाय र न्याय मेरो सबैभन्दा उत्तम सुरक्षा र मेरो सबैभन्दा महान् आशिष् बनेका छन्। तपाईंले दिनुहुने अनुग्रहले मलाई सुरक्षा दिन्छ। आज तपाईंले ममाथि बर्साउनुहुने अनुग्रह तपाईंको धर्मी स्वभावको प्रकटीकरण हो, र सजाय र न्याय हो; यसको साथै, यो एउटा परीक्षा हो, र त्योभन्दा पनि बढी, यो कष्टको जीवन हो।” पत्रुसले आफ्ना देहका सुखचैनहरूलाई पन्छाएर गहन प्रेम र महान् सुरक्षाको खोजी गर्न सके, किनभने उनले परमेश्वरको सजाय र न्यायबाट अत्यन्तै धेरै अनुग्रह प्राप्त गरेका थिए। मानिस उसको जीवनमा, यदि पखालिन र आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ र आफूबाट परमेश्वरको अनुशासन र परमेश्वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस् र ऊ परमेश्वरको ज्योतिमा जिउन सकोस्। यो जान कि परमेश्वरको सजाय र न्याय नै ज्योति हो र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसका लागि योभन्दा उत्तम आशिष्, र योभन्दा ठूलो अनुग्रह वा सुरक्षा कुनै छैन। मानिस शैतानको प्रभावमा जिउँछ, र देहको अस्तित्वमा छ; यदि उसलाई शुद्ध पारिँदैन र उसले परमेश्वरको सुरक्षा प्राप्त गर्दैन भने, मानिस अझै भ्रष्ट बन्नेछ। यदि उसले परमेश्वरलाई प्रेम गर्न चाहन्छ भने, उसलाई धोइन र मुक्त गरिनैपर्छ। पत्रुसले प्रार्थना गर्थे, “परमेश्वर, तपाईंले मसँग दयालु व्यवहार गर्नुहुँदा म प्रसन्न हुन्छु, र सान्त्वनाको अनुभूति गर्छु; जब तपाईंले मलाई सजाय दिनुहुन्छ, म अझै बढी सान्त्वना र आनन्द महसुस गर्छु। म कमजोर भए पनि र मैले अवर्णनीय कष्ट सहे पनि, यसमा आँसु र दुःख भए पनि, यो दुःखको कारण मेरो विद्रोहीपन र कमजोरी हो भनी तपाईं जान्नुहुन्छ। म रुन्छु किनभने म तपाईंका अभिप्रायहरूलाई पूरा गर्न सक्दिनँ, म शोक र पछुतो महसुस गर्छु किनभने तपाईंका मागहरूका लागि म अपर्याप्त छु, तर यो स्थिति प्राप्त गर्न म इच्छुक छु, तपाईंलाई सन्तुष्ट पार्नको लागि मैले सक्ने सबै गर्न म इच्छुक छु। तपाईंको सजायले मलाई सुरक्षा दिएको छ र मलाई सर्वोत्तम मुक्ति दिएको छ; तपाईंको न्यायले तपाईंको सहनशीलता र धैर्यतालाई उछिन्छ। तपाईंको सजाय र न्यायविना, मैले तपाईंको कृपा र प्रेमिलोदयालुपनको आनन्द उठाउने थिइनँ। आज तपाईंको प्रेमले स्वर्गहरूलाई उछिनेको र अरू सबै थोकलाई पार गरेको म अझै बढी देख्छु। तपाईंको प्रेम त कृपा र प्रेमिलोदयालुपन मात्रै होइन; त्योभन्दा पनि बढी, यो सजाय र न्याय हो। मैले तपाईँको सजाय र न्यायबाट एकदमै धेरै प्राप्त गरेको छु। तपाईँको सजाय र न्यायविना, एक जना पनि शुद्ध पारिन्नथ्यो र एक जनाले पनि सृष्टिकर्ताको प्रेम अनुभव नगर्नेथ्यो। मैले सयौँ परीक्षा र सङ्कष्टहरू सहेको र म मृत्युको नजिक पुगेको समेत भए पनि, ती सबैले मलाई साँचो रूपमा तपाईँलाई चिन्न र अत्यन्तै ठुलो मुक्ति प्राप्त गर्न दिएको छ। यदि तपाईँको सजाय, न्याय र अनुशासनले मलाई छोडेको भए, म अन्धकारमा शैतानको सत्ताअन्तर्गत जिउनेथिएँ। मानिसको देहसँग के लाभहरू छन् र? यदि तपाईँको सजाय र न्यायले मलाई छोडेको भए, यो तपाईँको आत्माले मलाई त्याग्नुभएको जस्तो हुनेथियो, तपाईँ मसँग त्यसउप्रान्त नहुनुभएजस्तो हुनेथियो। त्यस्तो भएको भए, म कसरी जिइरहन सक्नेथिएँ र? तपाईँले मलाई रोग दिनुभयो र मेरो स्वतन्त्रता लैजानुभयो, म जिइरहन सकेँ, तर तपाईँको सजाय र न्यायले मलाई छोडेमा, मसँग जिइरहने कुनै उपाय हुनेथिएन। यदि म तपाईँको सजाय र न्यायविना भएको भए, मैले तपाईँको प्रेम गुमाएको हुनेथिएँ। तपाईँको प्रेम यति गहन् छ कि म त्यसलाई शब्दमा भन्नै सक्दिनँ। तपाईँको प्रेमविना, म शैतानको सत्ताअन्तर्गत जिउनेथिएँ, र तपाईँको महिमावान् अनुहार देख्न असमर्थ हुनेथिएँ। म कसरी निरन्तर जिउन सक्ने थिएँ र? मलाई त्यस्तो अन्धकार, त्यस्तो जीवनमा अघि बढ्न गाह्रो हुनेथियो। तपाईँ मसँग हुनु भनेको तपाईँलाई देख्नुजस्तै हो, त्यसकारण म तपाईँलाई कसरी छोड्न सक्छु र? म तपाईँलाई पूर्ण निष्कपटताका साथ अनुरोध गर्छु, म बिन्ती गर्छु कि मेरो सबैभन्दा ठूलो सान्त्वना मबाट नलैजानुहोस्, चाहे यो तपाईँका सान्त्वनादायी शब्दहरूको छिटा नै किन नहोस्। मैले तपाईँको प्रेमको आनन्द उठाएको छु र आज म तपाईँबाट टाढा हुन सक्दिनँ; म तपाईँलाई प्रेम नगर्न कसरी पो सक्छु र? तपाईँको प्रेमका कारण मैले शोकका धेरै आँसु बगाएको छु, तैपनि मैले सधैँ के अनुभूति गरेको छु भने, यस्तो जीवन अझै बढी अर्थपूर्ण छ, यसले मलाई समृद्ध तुल्याउन, मलाई परिवर्तन गर्न अझै बढी सक्छ, र सृजित प्राणीहरूसँग हुनुपर्ने सत्यता हासिल गर्ने तुल्याउन अझै बढी सक्छ।”
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
४९३. मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै शोचनीय किसिमको फोहोर छ, र यो अशुद्ध कुरा हो। मानिसहरू देहको मनोरञ्जनको अति नै लोभ गर्दछन् र देहका प्रकटीकरणहरू अति धेरै छन्; यसैकारण परमेश्वरले मानिसको देहलाई केही हदसम्म तुच्छ ठान्नुहुन्छ। जब मानिसहरूले शैतानका फोहोर र भ्रष्ट थोकहरू फ्याँक्छन्, तब परमेश्वरको मुक्ति प्राप्त गर्छन्। तर यदि तिनीहरूले अझै आफूलाई फोहोर र भ्रष्टताबाट अलग गर्दैनन् भने, तिनीहरू अझै पनि शैतानको सत्तामा जिइरहेका हुन्छन्। मानिसहरूले गर्ने गुप्त षड्यन्त्र, छलकपट र बेईमानी सबै शैतानका कुराहरू हुन्। परमेश्वरले दिनुहुने मुक्ति तँलाई शैतानका यिनै कुराहरूबाट मुक्त गर्नका निम्ति हो। परमेश्वरको काम गलत हुन सक्दैन; यो सबै मानिसहरूलाई अन्धकारबाट मुक्त गर्नका लागि गरिन्छ। जब तैँले एक निश्चित बिन्दुसम्म विश्वास गरेको छस् र आफूलाई देहको भ्रष्टताबाट अलग गर्न सक्छस्, र अब उप्रान्त यो भ्रष्टताको बन्धनमा रहँदैनस्, तब के तैँले मुक्ति पाएको हुँदैनस् र? जब तँ शैतानको अधीनमा जिउँछस्, तब तँ परमेश्वरलाई प्रकट गर्न असमर्थ हुन्छस्, तँ फोहोर वस्तु बन्छस् र तैँले परमेश्वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्। तँलाई शुद्ध र सिद्ध पारिएपछि, तँ पवित्र हुनेछस्, तँ सामान्य व्यक्ति हुनेछस्, र तैँले परमेश्वरबाट आशिष् पाउनेछस् र तँ परमेश्वरको निम्ति आनन्दको मानिस बन्नेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (२)
४९४. मानिसले सम्पूर्ण जीवन शैतानको सत्तामा जिउँछ, र आफ्नै प्रयासद्वारा आफूलाई शैतानको प्रभावबाट मुक्त गर्न सक्ने एक जना पनि छैन। सबै नै अलिकति अर्थ वा मूल्यसमेत नभएको फोहोर संसारमा, भ्रष्टता र रिक्ततामा जिउँछन्; तिनीहरू देहको लागि, अभिलाषाको लागि र शैतानको लागि त्यस्तो मस्त जीवन जिउँछन्। तिनीहरूको अस्तित्वमा अलिकति पनि मूल्य छैन। शैतानको प्रभावबाट आफूलाई मुक्त गराउने सत्यता भेट्टाउन मानिस असक्षम छ। मानिसले परमेश्वरलाई विश्वास गर्ने र बाइबल पढ्ने गर्छ, तैपनि शैतानको प्रभावको नियन्त्रणबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसले बुझ्दैन। युगौँयुगदेखि, मानिसहरूले बिरलै यो रहस्य पत्ता लगाएका छन्, बिरलै कुनै मानिसले यसलाई बुझेको छ। त्यसैले, मानिसले शैतानलाई घृणा गरे पनि र देहलाई घृणा गरे पनि, शैतानको हानिकारक प्रभावबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसलाई थाहा हुँदैन। आज के तिमीहरू अझै पनि शैतानको सत्तामा छैनौ र? तिमीहरू आफ्ना विद्रोही कार्यहरूबारे पछुतो गर्दैनौ, तिमीहरूले आफू फोहोरी र विद्रोही छौँ भनी महसुस गर्नु त परै जाओस्। परमेश्वरको विरोध गरिसकेपछि, तिमीहरू ढुक्क हुन्छौ र ठूलो शान्ति महसुस गर्छौ। के तिमीहरूले यो शान्ति आफू भ्रष्ट भएकोले प्राप्त गरेका होइनौ र? के यो ढुक्कपन तिमीहरूको विद्रोहीपनबाट आउँदैन र? मानिस मानव-नरकमा जिउँछ, ऊ शैतानको अँध्यारो प्रभावमा जिउँछ; सारा मुलुकभरि, मानिसको देहमा अतिक्रमण गर्दै भूतहरू मानिससँग जिउँछन्। पृथ्वीमा तँ सुन्दर स्वर्गलोकमा जिउँदैनस्। तिमीहरू जिउने संसार दियाबलसहरूको राज्य हो, यो एउटा मानव-नरक, मृतकहरूको संसार हो। यदि मानिसलाई शुद्ध पारिएन भने, ऊ फोहोरी हुन्छ; यदि उसलाई परमेश्वरले सुरक्षा र हेरचाह गर्नुभएन भने, ऊ अझै शैतानकै कैदी हुन्छ; उसलाई न्याय र सजाय गरिएन भने, शैतानको अँध्यारो प्रभावको दमनबाट उम्कने कुनै पनि माध्यम ऊसँग हुनेछैन। तैँले देखाउने भ्रष्ट स्वभाव र तँ जिउने विद्रोही आचरण नै तँ अझै पनि शैतानको सत्तामा छस् भन्ने कुरा प्रमाणित गर्न पर्याप्त छन्। यदि तेरो मन र विचारहरू शुद्ध पारिएका छैनन् भने, र तेरो स्वभावलाई न्याय र सजाय गरिएको छैन भने, तेरो समग्र अस्तित्व अझै पनि शैतानको सत्ताद्वारा नियन्त्रित छ, तेरो मन शैतानको नियन्त्रणमा छ, तेरा विचारहरू शैतानको चालबाजीमा परेको छ, र तेरो सम्पूर्ण अस्तित्व शैतानका हातहरूको नियन्त्रणमा छ। तँ अहिले पत्रुसको मापदण्डहरूबाट कति टाढा छस् भन्ने कुरा के तँलाई थाहा छ? के तँमा त्यो क्षमता छ? तँलाई आजको सजाय र न्यायको बारेमा कति थाहा छ? पत्रुसले जुन कुरालाई जाने त्यो तँमा कति छ? यदि तँ आज यसलाई जान्न सक्दैनस् भने, के तैँले भविष्यमा यो ज्ञान हासिल गर्न सक्नेछस्? तँजस्तो अल्छी र कायर मानिस सजाय र न्यायको बारेमा जान्न असक्षम हुन्छ। यदि तैँले देहको शान्ति र देहका सुख-चैनहरूलाई खोज्छस् भने, शुद्ध पारिनलाई तँसँग कुनै माध्यम हुनेछैन र अन्त्यमा तँ शैतानकहाँ नै फर्कनेछस्, किनभने तँ जे जिइरहेको छस् त्यो शैतान हो र त्यो देह नै हो। आजको यस्तो अवस्थामा, धेरै मानिसहरूले जीवनको खोजी गर्दैनन्, जसको अर्थ तिनीहरूले शुद्ध पारिनेबारेमा वा अझै गहन जीवन अनुभवमा प्रवेश गर्नेबारेमा तिनीहरू वास्ता गर्दैनन्। यस्तो भएकोले, तिनीहरूलाई कसरी सिद्ध पार्न सकिन्छ? जीवनको खोजी नगर्ने मानिसहरूसँग सिद्ध पारिने मौका हुँदैन, र परमेश्वरको ज्ञानको खोजी नगर्नेहरू, आफ्नो स्वभाव परिवर्तन गर्ने कार्यको खोजी नगर्नेहरू शैतानको अँध्यारो प्रभावबाट उम्कन सक्दैनन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
४९५. परमेश्वरमा विश्वास गर्ने, तापनि सत्यतालाई अनुसरण नगर्नेहरूसँग शैतानको प्रभावदेखि उम्कने कुनै उपाय हुँदैन। इमान्दारितासहित आफ्नो जीवन नजिउने, अरूको सामु एक प्रकारले व्यवहार गर्ने तर तिनीहरूको पछाडि अर्कै प्रकारले व्यवहार गर्ने, नम्रता, धैर्यता तथा प्रेमको बाह्य रूप मात्रै देखाउने, तैपनि घातक, धूर्त सार भएका र परमेश्वरप्रति वफादार नहुनेहरू—त्यस्ता मानिसहरू अन्धकारको प्रभावमा जिउनेहरूका खास प्रतिनिधिहरू हुन्; तिनीहरू सर्प वर्गका हुन्। सधैँ आफ्नै फाइदाको निम्ति मात्रै परमेश्वरमा विश्वास गर्ने, स्वधर्मी र अभिमानी, देखावटी व्यवहार गर्ने, अनि आफ्नै हैसियतको रक्षा गर्ने मानिसहरू शैतानलाई प्रेम गर्ने, सत्यतालाई विरोध गर्नेहरू हुन्। यी मानिसहरूले परमेश्वरलाई विरोध गर्छन् तिनीहरू पूर्ण रूपले शैतानका हुन्। परमेश्वरका बोझहरूलाई ध्यान नदिने, सम्पूर्ण हृदयले परमेश्वरको सेवा नगर्ने, सधैँ आफ्नै स्व-रुचिहरू र आफ्नै परिवारका रुचिहरूको चासो गर्ने, परमेश्वरको निम्ति आफूलाई समर्पित गर्न हरेक कुरा त्याग्न नसक्ने, र कहिल्यै परमेश्वरको वचनद्वारा नजिउनेहरू परमेश्वरको वचनबाट बाहिर रहने मानिसहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्वरको स्याबासी प्राप्त गर्न सक्दैनन्।
परमेश्वरले मानिसहरूलाई सृष्टि गर्नुहुँदा, तिनीहरूले उहाँको प्रशस्तताको आनन्द लिऊन् र उहाँलाई साँचो रीतिले प्रेम गरून् भनेर सृष्टि गर्नुभएको थियो; यसप्रकारले मानिसहरू उहाँको ज्योतिमा जिउन सक्नेथिए। आज, परमेश्वरलाई प्रेम गर्न नसक्ने, उहाँका बोझहरूलाई ध्यान नदिने पूर्ण रीतिले आफ्नो हृदय उहाँलाई दिन नसक्ने, उहाँको हृदयलाई तिनीहरूका आफ्नै हृदय जस्तै गरी ग्रहण गर्न नसक्ने, उहाँका बोझहरूलाई आफ्नै जस्तै गरी लिन नसक्ने—त्यस्ता कुनै पनि मानिसहरूमाथि परमेश्वरको ज्योति चम्कँदैन, त्यसैकारण तिनीहरू सबै अन्धकारको प्रभावमा जिइरहेका हुन्छन्। तिनीहरू पूर्णतया परमेश्वरका अभिप्रायहरूको विपरीत बाटोमा हुन्छन्, र तिनीहरूले गर्ने कुनै पनि कुरामा अलिकति सत्यता पनि हुँदैन। तिनीहरू शैतानसितै हिलोमा लुटपुटीरहेका हुन्छन्; तिनीहरू अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। यदि तैँले सधैँ परमेश्वरका वचनहरू खान र पिउन सक्छस्, उहाँको अभिप्रायहरूलाई ख्याल गर्छस् अनि उहाँका वचनहरूलाई अभ्यास गर्छस् भने, तँ परमेश्वरको होस्, तँ उहाँको वचनहरूमा जिउने व्यक्ति होस्। के तँ शैतानको सत्ताबाट उम्किने र परमेश्वरको ज्योतिमा जिउने इच्छा गरिरहेको छस्? यदि तँ परमेश्वरका वचनहरूमा जिउँछस् भने, पवित्र आत्माले आफ्नो काम गर्ने अवसर पाउनुहुनेछ; यदि तँ शैतानको प्रभावमा जिउँछस् भने, पवित्र आत्मासँग त्यस्तो अवसर हुनेछैन। पवित्र आत्माले मानिसहरूमा जुन काम गर्नुहुन्छ, जुन ज्योति उहाँले तिनीहरूमाथि चम्काउनुहुन्छ र जुन निर्धक्कता उहाँले तिनीहरूलाई दिनुहुन्छ, त्यो केवल एक क्षणको लागि रहन्छ; यदि मानिसहरू सावधान छैनन्, तिनीहरूले ध्यान दिँदैनन् भने, पवित्र आत्माको कामले तिनीहरूलाई त्याग्नेछ। यदि मानिसहरू परमेश्वरका वचनहरूमा जिउँछन् भने, पवित्र आत्मा तिनीहरूसित रहनुहुनेछ र उहाँले तिनीहरूमा काम गर्नुहुनेछ। यदि मानिसहरू परमेश्वरका वचनहरूमा जिउँदैनन् भने, तिनीहरू शैतानको बन्धनमा जिउँछन्। यदि मानिसहरू भ्रष्ट स्वभावमा जिउँछन् भने, तिनीहरूसित पवित्र आत्माको उपस्थिति वा काम हुँदैन। यदि तँ परमेश्वरका वचनहरूको सीमाहरूमा जिउँछस्, र यदि तँ परमेश्वरले माग गर्नुभएको अवस्थामा जिउँछस् भने, तँ उहाँको स्वामित्वमा रहेको व्यक्ति होस्, अनि तँमा उहाँको काम सम्पन्न हुनेछ; यदि तँ परमेश्वरका मागहरूको सीमाहरूमा जिइरहेको छैनस् तर शैतानको सत्तामा जिइरहेको छस् भने, तँ निश्चय नै शैतानको भ्रष्टतामा जिइरहेको हुन्छस्। परमेश्वरका वचनहरूमा जिएर अनि उहाँलाई आफ्नो हृदय दिएर मात्रै तैँले उहाँका मागहरू पूरा गर्न सक्छस्; तैँले परमेश्वरका वाणीहरूलाई आफ्नो अस्तित्वको जग र आफ्नो जीवनको वास्तविकता बनाउँदै उहाँले भन्नुभए अनुसार गर्नैपर्छ; तब मात्रै तँ परमेश्वरको हुनेछस्। यदि तैँले वास्तवमै परमेश्वरका अभिप्रायअनुरूप अभ्यास गर्छस् भने, उहाँले तँमा काम सम्पन्न गर्नुहुनेछ, अनि तँ उहाँका आशिषहरूमा, उहाँको मुहारको ज्योतिमा जिउनेछस्; तैँले पवित्र आत्माले गर्नुहुने काम बुझ्नेछस्, परमेश्वरको उपस्थितिको आनन्द तैँले अनुभव गर्नेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्वरद्वारा प्राप्त गरिन सक्नेछस्
४९६. अन्धकारको प्रभावदेखि मुक्त हुनको लागि तँ पहिले परमेश्वरप्रति वफादार हुनैपर्छ र सत्यतालाई अनुसरण गर्न हृदयदेखि नै इच्छुक हुनुपर्छ; तब मात्रै तैँले सही अवस्था प्राप्त गर्न सक्छस्। सही अवस्थामा जिउनु अन्धकारको प्रभावदेखि मुक्त हुने पूर्वसर्त हो। सही अवस्थामा नहुनु भनेको परमेश्वरप्रति वफादार नहुनु हो, र सत्यता खोजी गर्न हृदयदेखि नै इच्छुक नहुनु हो; अनि तँ अन्धकारको प्रभावदेखि उम्कने कुरा सवालभन्दा बाहिरको कुरा हुन्छ। मानिस अन्धकारका प्रभावहरूदेखि उम्कने आधार मेरा वचनहरू नै हुन्, अनि मेरा वचनहरू अनुसार अभ्यास गर्न नसक्ने मानिसहरू अन्धकारको प्रभावको बन्धनदेखि उम्कन सक्नेछैनन्। सही अवस्थामा जिउनु भनेको परमेश्वरका वचनहरूको अगुवाइमा जिउनु, परमेश्वरप्रति वफादारीताको अवस्थामा जिउनु, सत्यताको खोजी गर्ने अवस्थामा जिउनु, परमेश्वरको खातिर इमान्दारितापूर्वक आफैलाई समर्पित गर्ने वास्तविकतामा जिउनु र परमेश्वरलाई साँचो रीतिले प्रेम गर्ने अवस्थामा जिउनु हो। जो यस्तो अवस्थाहरूमा र यस वास्तविकतामा जिउँछन्, तिनीहरू सत्यताको गहिराइभित्र प्रवेश गर्ने क्रममा विस्तारै रूपान्तरण हुनेछन्, अनि काम गहन हुँदै जाँदा तिनीहरू रूपान्तरण हुनेछन्; अनि अन्त्यमा तिनीहरू निश्चय नै त्यस्ता मानिसहरू हुनेछन् जो परमेश्वरद्वारा हासिल गरिएका हुन्छन्, जसले उहाँलाई साँचो प्रकारले प्रेम गर्छन्। अन्धकारको प्रभावदेखि उम्केकाहरूले विस्तारै परमेश्वरका अभिप्रायलाई बोध गर्न सक्छन्, विस्तारै तिनलाई बुझ्न थाल्छन्, अन्ततः तिनीहरू परमेश्वरका विश्वासपात्रहरू हुन्छन्। तिनीहरूले परमेश्वरको बारेमा कुनै धारणा मनमा नराख्ने र उहाँको विरुद्धमा कुनै विद्रोह नगर्ने मात्र होइन, तर पहिले तिनीहरूलाई प्रभुत्व गरेको त्यस्ता धारणा तथा विद्रोहहरूलाई तिनीहरूले झन् बढी घृणा पनि गर्छन्, अनि तिनीहरूको हृदयमा परमेश्वरको निम्ति साँचो प्रेम उदय हुन्छ। अन्धकारको प्रभावदेखि उम्कन नसक्ने मानिसहरू सबै देहद्वारा पूर्णरूपमा भरिएका हुन्छन्, विद्रोहले भरिपूर्ण हुन्छन्; तिनीहरूका हृदय जीविका सम्बन्धी मानव धारणा तथा सांसारिक कुराहरू सम्बन्धी दर्शनहरू, साथै तिनीहरूका आफ्नै अभिप्राय तथा सोचविचारहरूले भरिएका हुन्छन्। परमेश्वरले चाहनुहुने भनेको मानिसले दिने अद्वितीय प्रेम हो; उहाँले चाहना गर्नुहुने कुरा भनेको मानिस उहाँका वचनहरूद्वारा र उहाँप्रतिको प्रेमले भरिएको हृदयद्वारा भरपूर भएको होस् भन्ने नै हो। परमेश्वरका वचनहरूमा जिउन, तिनीहरूले खोजतलास गर्नुपर्ने कुराहरू उहाँका वचनहरूमा खोज्न, उहाँका वचनहरूका निम्ति परमेश्वरलाई प्रेम गर्न, उहाँका वचनहरूलाई पछ्याउन, उहाँका वचनहरूका निम्ति जिउन—मानिसले हासिल गर्न प्रयास गर्नुपर्ने लक्ष्यहरू यिनै हुन्। हरेक कुरा परमेश्वरका वचनहरूको जगमा निर्माण हुनुपर्छ; तब मात्रै मानिसले परमेश्वरका मागहरूलाई पूरा गर्न सक्नेछ। यदि मानिस परमेश्वरका वचनहरूले सुसज्जित छैन भने, ऊ केही होइन, केवल शैतानको कब्जामा परेको भुसुना हो! यस कुरालाई मूल्याङ्कन गर्: परमेश्वरको वचनले तँभित्र कतिसम्म जरा गाडेको छ? कुन कुराहरूमा तँ उहाँका वचनहरू अनुसार जिइरहेको छस्? कुन कुराहरूमा तँ उहाँका वचनहरू अनुसार जिइरहेको छैनस्? यदि परमेश्वरका वचनहरूले तँलाई पूर्ण रूपले पक्रेको छैन भने, कुन कुराले यथार्थमा तेरो हृदयलाई ओगटेको छ? तेरो दिनदिनको जीवनमा, तँ शैतानद्वारा नियन्त्रित भइरहेको छस् कि परमेश्वरका वचनहरूद्वारा ओगटिएको छस्? के तेरा प्रार्थनाहरू उहाँका वचनहरूको जगमा आधारित छन्? के परमेश्वरका वचनहरूद्वारा अन्तर्दृष्टि पाएर तँ आफ्नो नकारात्मक अवस्थादेखि बाहिर निस्केको छस्? परमेश्वरका वचनहरूलाई तेरो अस्तित्वको जगको रूपमा लिनु—यही नै हरेक व्यक्ति प्रवेश गर्नुपर्ने कुरा हो। यदि तेरो जीवनमा उहाँका वचनहरूले स्थान लिएका छैनन् भने, तँ अन्धकारको प्रभावमा जिइरहेको छस्, तैँले परमेश्वरको विरुद्धमा विद्रोह गरिरहेको छस्, तैँले उहाँको प्रतिरोध गरिरहेको छस्, तैँले उहाँको नाउँलाई लज्जित पारिरहेको छस्। त्यस्ता मानिसहरूको परमेश्वरप्रतिको विश्वास पूर्ण बदमासी र बाधा मात्रै हुन्छ। तेरो जीवनको कति भाग उहाँका वचनहरू अनुसार जिइएको छ? तेरो जीवनको कति भाग उहाँका वचनहरू अनुसार जिइएको छैन? परमेश्वरको वचनले तँलाई माग गरेको कति कुरा तँमा पूरा भएको छ? कति कुरा तँमा हराएको छ? के तैँले त्यस्ता कुराहरूलाई नजिकबाट नियालेको छस्?
अन्धकारको प्रभावदेखि उम्किनको निम्ति पवित्र आत्माको काम र मानिसको समर्पित सहकार्य दुवै आवश्यक हुन्छ। मानिस ठीक मार्गमा छैन भनी म किन भन्छु? ठीक मार्गमा भएका मानिसहरूले पहिले आफ्नो हृदय परमेश्वरलाई दिन सक्छन्। यो एउटा यस्तो कार्य हो जसभित्र प्रवेश गर्न निकै लामो समय लाग्छ, किनकि मानवजाति सधैँ अन्धकारको प्रभावमा बाँचेको छ र हजारौँ वर्षदेखि शैतानको बन्धनमा रहेको छ। त्यसैकारण, यसभित्रको प्रवेश एक वा दुई दिनमा हासिल गर्न सकिँदैन। मानिसहरूले तिनीहरूका आफ्नै अवस्थालाई बुझ्न सकून् भनेर मैले यो विषय उठाएँ; जब मानिसले अन्धकारको प्रभाव के हो र ज्योतिमा जिउनु भनेको के हो भनी बुझ्दछ, तब प्रवेश गर्ने कार्य धेरै सजिलो हुन्छ। किनभने शैतानको प्रभावदेखि उम्किनभन्दा अघि तैँले यो के हो भनी जान्नुपर्छ; त्यसपछि मात्रै तँसँग त्यसलाई त्याग्ने उपाय हुनेछ। त्यसपछि के गर्ने भनी निर्णय गर्ने काम मानिसहरूको आफ्नै हातमा हुन्छ। हरेक कुराभित्र सकारात्मक पक्षबाट प्रवेश गर् र कहिल्यै निष्क्रिय भएर नपर्खी। यसरी मात्रै तँ परमेश्वरद्वारा प्राप्त गरिन सक्नेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्वरद्वारा प्राप्त गरिन सक्नेछस्
४९७. परमेश्वरले गर्नुहुने सबै कुरा आवश्यक र असाधारण महत्त्वका छन्, किनकि उहाँले मानिसमा गर्नुहुने सबै काम उहाँको व्यवस्थापन र मानवजातिको मुक्तिसित सम्बन्धित छन्। स्वाभाविक रूपमा, अय्यूब परमेश्वरको नजरमा सिद्ध र इमानदार भएका भए पनि, उहाँले तिनमा गर्नुभएको काम अरूभन्दा फरक छैन। अर्को शब्दमा भन्दा, परमेश्वरले चाहे जे गर्नु भए पनि वा जुनसुकै साधनहरूद्वारा त्यो काम गर्नु भए पनि, मूल्य जति लागे पनि, उहाँको ध्येय जेसुकै नै भए पनि उहाँका कार्यहरूको उद्देश्य परिवर्तन हुँदैन। परमेश्वरको उद्देश्य मानिसभित्र परमेश्वरका वचनहरू काममा लगाउनु हो, साथै मानिसका निम्ति रहेका परमेश्वरका मापदण्ड र अभिप्रायहरूलाई पनि मानिसभित्र काममा लगाउनु हो; अर्को शब्दमा भन्दा, यो भनेको परमेश्वरले सकारात्मक भनी विश्वास गर्नुभएका सबैकुरा उहाँका चरणहरूअनुसार मानिसभित्र गराउनु हो, जसले मानिसलाई परमेश्वरको हृदय बुझ्न र परमेश्वरको सार बोध गर्न सक्षम बनाउँछ, र मानिसलाई परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन मद्दत गर्छ, र यसरी मानिसले परमेश्वरको भय मान्ने र दुष्टताबाट अलग बस्ने आचरण हासिल गर्न सक्छ—यो सबै कुरा परमेश्वरले गर्नुहुने हर कार्यमा रहेको उहाँको उद्देश्यको एक पक्ष हो। अर्को पक्ष के हो भने, शैतान परमेश्वरको काममा प्रतिभार र सेवा गर्ने पात्र भएकोले मानिसलाई प्रायः शैतानको हातमा नै सुम्पिइन्छ; मानिसहरूलाई शैतानका परीक्षा र आक्रमणहरूमा शैतानको दुष्टता, कुरूपता र घिनलाग्दो अवस्था देखाई, उहाँले मानिसलाई शैतानलाई घृणा गर्ने, र नकारात्मक कुरा चिन्न र बुझ्न सक्ने तुल्याउनुहुन्छ। यो प्रक्रियाले तिनीहरूलाई बिस्तारै शैतानका नियन्त्रण र आरोपहरू, बाधा र आक्रमणहरूबाट स्वतन्त्र हुन मदत गर्छ, र यो तबसम्म जारी रहन्छ जबसम्म परमेश्वरका वचनहरू, परमेश्वरको बारेमा तिनीहरूको ज्ञान, परमेश्वरप्रति तिनीहरूको समर्पण, परमेश्वरप्रतिको तिनीहरूको आस्था र डरका कारण तिनीहरूले शैतानका आक्रमण र आरोपहरूमाथि विजय हासिल गर्दैनन्; अनि मात्र तिनीहरूले शैतानको सत्ताबाट पूर्ण रूपमा छुटकारा पाउनेछन्। मानिसहरूको छुटकाराको अर्थ शैतान हारेको छ भन्ने हो, र यसको अर्थ तिनीहरू अबउप्रान्त शैतानको मुखभित्रको आहार हुँदैनन्—निल्नुको साटो शैतानले तिनीहरूलाई छोडिदिएको छ भन्ने हुन्छ। त्यस्ता मानिसहरू सोझा भएकाले, तिनीहरूसित परमेश्वरप्रतिको आस्था, समर्पण र भय भएकोले, र तिनीहरू पूर्ण रूपमा शैतानबाट अलग भएकोले त्यस्तो हुन्छ। तिनीहरूले शैतानलाई लज्जित बनाउँछन्, तिनीहरूले शैतानलाई कायर बनाउँछन्, र तिनीहरूले शैतानलाई पूर्ण रूपमा पराजित गर्छन्। परमेश्वरलाई पछ्याउने तिनीहरूको आस्था, र परमेश्वरप्रतिको समर्पण र डरले नै शैतानलाई पराजित गर्छ, र शैतानलाई पूर्ण रूपमा तिनीहरूलाई त्याग्ने बनाउँछ। यस्ता मानिसहरू मात्र वास्तवमा परमेश्वरद्वारा साँचो रूपमा प्राप्त गरिएका हुन्छन्, र परमेश्वरले मानिसलाई मुक्ति दिनुको अन्तिम उद्देश्य पनि यही हो। यदि परमेश्वरलाई पछ्याउनेहरू मुक्ति पाउन र परमेश्वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन चाहन्छन् भने, तिनीहरू सबैले शैतानबाट आउने ठूला र साना दुवै किसिमका प्रलोभन र आक्रमणहरूको सामना गर्नैपर्छ। जो यी प्रलोभन र आक्रमणहरू पार गरी बाहिर निस्कन्छन् र शैतानलाई पूर्ण रूपले पराजित गर्न सक्षम हुन्छन्, तिनीहरू नै परमेश्वरबाट मुक्ति पाएकाहरू हुन्। भन्नुको अर्थ, जसले परमेश्वरतर्फको मुक्ति पाएका हुन्छन् तिनीहरू परमेश्वरका जाँचहरूमार्फत गुज्रेका, र शैतानका अनगन्ती परीक्षा र आक्रमणमा परेकाहरू हुन्। परमेश्वरतर्फको मुक्ति पाएकाहरूले परमेश्वरका अभिप्राय र मापदण्डहरू बुझ्छन्, र तिनीहरू परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छन्, र शैतानका परीक्षाहरूको माझमा पनि तिनीहरूले परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग रहने मार्ग छोड्दैनन्। परमेश्वरतर्फको मुक्ति पाएकाहरूमा इमानदारिता हुन्छ, तिनीहरू दयालु हृदयका हुन्छन्, तिनीहरूले प्रेम र घृणाबीच भिन्नता छुट्याउँछन्, तिनीहरूसँग न्यायको चेतना हुन्छ र तिनीहरू तर्कसङ्गत हुन्छन्, र तिनीहरूले परमेश्वरलाई ख्याल गर्न र परमेश्वरका सबै थोकलाई मूल्यवान् सम्झेर राख्न सक्छन्। त्यस्ता मानिसहरू शैतानको बन्धन, जासुसी, आरोप वा दुर्व्यवहारमा पर्दैनन्; तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुन्छन्, तिनीहरूलाई पूर्ण रूपमा मुक्ति र छुटकारा दिइएको हुन्छ। अय्यूब त्यस्तै स्वतन्त्र मानिस थिए, र परमेश्वरले तिनलाई शैतानको हातमा सुम्पनुको अर्थ पनि ठीक यही थियो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
४९८. अय्यूबको विश्वास, समर्पण र शैतानलाई जितेको तिनको गवाही मानिसहरूका निम्ति ठूलो सहयोग र उत्साहको स्रोत भएर आएको छ। अय्यूबमा तिनीहरूले आफ्नै मुक्तिको आशा देख्छन्, अनि आस्थाका साथै परमेश्वरप्रतिको समर्पण र डरमार्फत शैतानलाई पराजित गर्न, शैतानमाथि विजय पाउन पूर्ण रूपमा सम्भव छ भनी बुझ्छन्। तिनीहरूले यो देख्छन् कि जबसम्म उनीहरू कुनै विरोध नगरी परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूफ्रति समर्पित हुन्छन्, जबसम्म सबै कुरा गुमाइसकेपछि पनि परमेश्वरलाई नत्याग्ने दृढ सङ्कल्प र विश्वास गर्छन्, तबसम्म उनीहरूले शैतानलाई लज्जित पार्न र हराउन सक्छन्, र उनीहरूले आफ्नो प्राण गुमाउनु परे पनि शैतानलाई भयभीत बनाउन र तुरुन्तै धपाउनको लागि उनीहरूमा आफ्नो गवाहीमा दृढ भई खडा हुने सङ्कल्प र दृढता मात्र हुनुपर्छ भनी बुझ्छन्। अय्यूबको गवाही पछिका पुस्ताहरूका लागि एउटा चेतावनी हो, र यो चेतावनीले उनीहरूलाई भन्छ कि यदि उनीहरूले शैतानलाई पराजित गरेनन् भने उनीहरूले शैतानका आरोप र बाधाहरूबाट आफूलाई कहिल्यै पनि छुटकारा दिलाउन सक्नेछैनन्, न त उनीहरू कहिल्यै शैतानको दुर्व्यवहार र आक्रमणहरूबाट उम्कन नै सक्नेछन्। अय्यूबको गवाहीले पछिका पुस्ताहरूलाई अन्तर्दृष्टि प्रदान गरेको छ। यो अन्तर्दृष्टिले मानिसहरूलाई उनीहरू सिद्ध र सोझो छन् भने मात्र परमेश्वरको भय मान्न र दुष्टताबाट अलग बस्न सक्छन् भन्ने कुरा सिकाउँछ; यसले के पनि सिकाउँछ भने, उनीहरू परमेश्वरको भय मान्छन् र दुष्टताबाट अलग बस्छन् भने मात्र उनीहरूले परमेश्वरको बलियो र जोडदार गवाही दिन सक्छन्; उनीहरूले परमेश्वरको निम्ति बलियो र जोडदार गवाही दिन्छन् भने मात्र उनीहरू कहिल्यै शैतानको नियन्त्रणमा पर्न सक्दैनन् र परमेश्वरको अगुवाइ र सुरक्षाको अधीनमा जिउन सक्छन्—तब मात्र उनीहरूले वास्तविक रूपमा मुक्ति पाएका हुनेछन्। अय्यूबको व्यक्तित्व र तिनको जीवनको खोजलाई मुक्तिको खोजी गर्ने प्रत्येक व्यक्तिले अनुकरण गर्नुपर्छ। तिनले आफ्नो सम्पूर्ण जीवन जसरी जिए र जाँचहरूको अवधिमा तिनको आचरण जस्तो थियो, ती सबै नै परमेश्वरको भय मान्ने र दुष्टताबाट अलग बस्ने मार्गको खोजी गर्नेहरूको लागि अनमोल सम्पत्ति हुन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
४९९. जब मानिसहरूलाई मुक्ति दिन बाँकी नै हुन्छ, तिनीहरूको जीवनलाई बारम्बार शैतानले बाधा दिने र नियन्त्रण गर्नेसमेत गरेको हुन्छ। अर्को शब्दमा भन्दा, मुक्ति नपाएका मानिसहरू शैतानका कैदीहरू हुन्, तिनीहरूसँग कुनै स्वतन्त्रता हुँदैन, तिनीहरूलाई शैतानले छोडेको हुँदैन, तिनीहरू परमेश्वरको आराधना गर्न योग्य वा हकदार हुँदैनन्, र तिनीहरू शैतानद्वारा नजिकबाट खेदो गरिएका र क्रूरतापूर्वक आक्रमण गरिएका हुन्छन्। त्यस्ता मानिसहरूसँग बताउन सकिने कुनै खुसी हुँदैन, तिनीहरूसँग बताउन सकिने सामान्य अस्तित्वको कुनै अधिकार हुँदैन, र यसबाहेक तिनीहरूसँग बताउन सकिने कुनै मर्यादा हुँदैन। यदि तँ शैतानसँग जीवन-मृत्युको लडाइँ लड्न हतियारका रूपमा परमेश्वरप्रतिको आफ्नो आस्था र समर्पण अनि परमेश्वरको डरलाई प्रयोग गर्दै, खडा भएर शैतानसँग युद्ध गर्छस् भने, र त्यसरी तैँले शैतानलाई पूर्ण रूपमा पराजित गर्छस् र त्यसले तँलाई देख्नेबित्तिकै, त्यसलाई पुच्छर लुकाउने र कायर बन्ने तुल्याउँछस्, तब मात्र त्यसले तँविरुद्धका आफ्ना आक्रमणहरू र आरोपहरू पूर्ण रूपमा त्याग्नेछ, र त्यस अवस्थामा तैँले मुक्ति पाउनेछस् र स्वतन्त्र हुनेछस्। यदि तँ शैतानबाट पूर्ण रूपमा अलग हुन मात्र सङ्कल्पित छस्, तर तँ शैतानलाई पराजित गर्न प्रभावकारी हातहतियारहरूले सुसज्जित छैनस् भने, तँ अझै पनि खतरामै हुनेछस्। र समय बित्दै जाँदा, जब तँलाई शैतानद्वारा यति यातना दिइन्छ कि तँमा अलिकति पनि शक्ति बाँकी रहँदैन, तैपनि तँ गवाही दिन असमर्थ नै रहेको हुन्छस्, तैँले अझै पनि आफूलाई शैतानका तँविरुद्धका आरोप र आक्रमणहरूबाट पूर्ण रूपमा मुक्त पारेको हुँदैनस्, तब तँसँग मुक्ति पाउने आशा निकै कम हुनेछ। अन्त्यमा, अर्थात्, जब परमेश्वरको कामको समाप्तिको घोषणा हुन्छ, यदि तँ आफैलाई मुक्त गर्न नसक्ने गरी अझै पनि शैतानको पकडमै हुन्छस् भने, तँसँग कहिल्यै मौका वा आशा हुनेछैन। यसको तात्पर्य भनेको, त्यस्ता मानिसहरू पूर्ण रूपमा शैतानको कैदमा परेका हुनेछन् भन्ने हुन्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
५००. मानिसहरूका निम्ति परमेश्वरको अनन्त प्रबन्ध र सहयोगको कामको अवधिमा उहाँले मानिसलाई आफ्नो सम्पूर्ण अभिप्राय र आवश्यकताहरूको बारेमा बताउनुहुन्छ र उहाँको काम, स्वभाव अनि उहाँसित के छ र को हुनुहुन्छ भनी मानिसलाई देखाउनुहुन्छ। यसको उद्देश्य मानिसलाई कदले सुसज्जित पार्नु हो, र मानिस परमेश्वरको पछि लाग्दा उसलाई उहाँबाट विभिन्न सत्यताहरू प्राप्त गर्न दिनु हो—ती सत्यताहरू परमेश्वरले मानिसलाई शैतानसित लड्नका निम्ति दिनुभएका हतियारहरू हुन्। यसरी सुसज्जित भएपछि मानिसले परमेश्वरका परीक्षाहरूको सामना गर्नैपर्छ। परमेश्वरसित मानिसलाई परीक्षा गर्ने धेरै वटा साधन र उपायहरू छन्, तर ती सबैमा परमेश्वरको शत्रु शैतानको “सहकार्य” आवश्यक पर्छ। भन्नुको अर्थ, मानिसलाई शैतानसँग लड्ने हातहतियारहरू दिनुभएपछि परमेश्वरले उसलाई शैतानको हातमा सुम्पिनुहुन्छ र शैतानलाई मानिसको कद “जाँच्ने” अनुमति दिनुहुन्छ। यदि मानिस शैतानको युद्ध संरचनाबाट निस्कन सक्यो भने, यदि ऊ शैतानको घेराउबाट उम्केर अझै जीवित रहन सक्यो भने, मानिस त्यो जाँचमा सफल भएको हुनेछ। तर यदि मानिस शैतानको युद्ध संरचना छोड्न असफल हुन्छ र शैतानसामु झुक्छ भने, ऊ त्यो जाँचमा सफल भएको हुनेछैन। परमेश्वरले मानिसको जुनसुकै पक्षलाई जाँच्नु भए पनि, उहाँको मापदण्डचाहिँ शैतानले आक्रमण गर्दा मानिस आफ्नो गवाहीमा दृढ रूपमा खडा हुन्छ कि हुँदैन, र शैतानको पासोमा परेपछि उसले परमेश्वरलाई त्यागेर शैतानसामु झुकेको र आत्मसमर्पण गरेको छ छैन भन्ने नै हुन्छ। यो भन्न सकिन्छ कि मानिसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा उसले शैतानलाई जित्न र पराजित गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर गर्छ, र उसले स्वतन्त्रता हासिल गर्न सक्छ कि सक्दैन भन्ने कुरा शैतानसित लड्नका लागि परमेश्वरले उसलाई दिनुभएका हातहतियारहरू उसले आफ्नै बलबूताले उठाउन सक्छ कि सक्दैन र शैतानलाई पूर्ण रूपमा आशा मार्ने र उसलाई दुःख दिन छोड्ने बनाउन सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। यदि शैतानले आशा मारेर कसैलाई छोडेर जान्छ भने त्यसको अर्थ यही हुन्छ कि अब फेरि शैतानले त्यस व्यक्तिलाई परमेश्वरबाट खोस्ने कोसिस कहिल्यै गर्नेछैन, त्यस व्यक्तिलाई फेरि कहिल्यै पनि आरोप लगाउने र बाधा दिने गर्नेछैन, फेरि उसलाई कहिल्यै पनि कष्ट दिइरहन वा आक्रमण गरिरहन मात्र चाहँदैन; त्यस्तो व्यक्ति मात्र वास्तवमा परमेश्वरद्वारा प्राप्त गरिएको हुनेछ। परमेश्वरले मानिसहरूलाई प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया यही हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
५०१. आज, तँ सिद्ध बनाइन वा तेरो बाहिरी मानवतामा परिवर्तन ल्याउन र तेरो क्षमतामा सुधार गर्न लागिपर्न सक्छस्, तर प्रमुख महत्त्वको कुरा यो हो कि तैँले आज परमेश्वरले गर्नुहुने सबै कुराको अर्थ छ र त्यो लाभदायक छ भनी बुझ्न सक्नेछस्: यसले तँ फोहोर देशमा जन्मेको व्यक्तिलाई फोहोरबाट उम्कन र त्यसलाई फाल्न सक्ने, यसले तँलाई शैतानको प्रभावलाई जित्न, र शैतानको अन्धकारको प्रभावलाई त्याग्न सक्ने बनाउँछ। यी कुराहरूमा ध्यान दिँदा, तँ फोहोरको यो देशमा सुरक्षित हुनेछस्। आखिरमा, तँलाई के गवाही दिन लगाइन्छ? तँ फोहोरको देशमा जन्मेको छस्, तर तँ पवित्र बन्न सक्छस्, र शैतानको सत्तामा जिउने गरी फेरि कहिल्यै फोहोरद्वारा दूषित हुँदैनस्, तर आफैलाई शैतानको प्रभावबाट छुटाउँछस्, शैतानको कब्जा वा उत्पीडनमा पर्दैनस्, सर्वशक्तिमानका हातहरूमुनि जिउँछस्। शैतानसितको लडाइँमा पाएको विजयको गवाही र प्रमाण यही नै हो। तैँले शैतानको विरुद्ध विद्रोह गर्न सक्छस्, तैँले आफ्नो जियाइमा शैतानी स्वभावहरू प्रकट गर्दैनस्, बरु परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले माग गर्नुभएअनुसार नै जिउनेछस्: सामान्य मानवता, सामान्य ज्ञान, सामान्य अन्तर्दृष्टि, परमेश्वरलाई प्रेम गर्ने सामान्य संकल्प, र परमेश्वरप्रतिको बफादारीता। यो सृष्टि गरिएको प्राणीले वहन गर्नुपर्ने गवाही हो। तैँले यसो भन्छस्, “हामी फोहोरको देशमा जन्मिएका छौं, तर परमेश्वरको सुरक्षाको कारण, उहाँको नेतृत्वको कारण, र उहाँले हामीलाई जित्नुभएको कारण, हामीले आफैलाई शैतानको प्रभावदेखि छुटाएका छौं। आज हामी समर्पित हुन सक्नु पनि परमेश्वरले हामीलाई विजय गर्नुभएको प्रभाव हो, अनि यो हामी असल भएकोले, वा हामीले स्वाभाविक रूपले परमेश्वरलाई प्रेम गरेकोले होइन। परमेश्वरले हामीलाई चुन्नुभएकोले र हामीलाई पूर्वनियुक्त गर्नुभएकोले आज हामीलाई विजय गरिएको, र उहाँको गवाही दिन सक्छौं, उहाँको सेवा गर्न सक्छौं; यसरी, उहाँले हामीलाई चुन्नुभएको र रक्षा गर्नुभएकोले पनि, हामी शैतानको शक्तिबाट बचाइएका र छुटाइएका छौं, अनि फोहोरलाई त्यागेर ठूलो रातो अजिङ्गरको देशमा शुद्ध हुन सक्छौं।”
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (२)
५०२. आज, मैले भन्ने वचनहरूमा तँ विश्वास गर्दैनस्, र तिनलाई तैँले ध्यानै दिँदैनस्; जब यस प्रकारको काम फैलने दिन आउनेछ र तैँले यसको सम्पूर्णता देख्नेछस्, तब तँ पछुताउनेछस्, र त्यो समय तँ अक्क न बक्क हुनेछस्। आशिष्हरू छन्, तैपनि तिनमा आनन्द लिन तैँले जान्दैनस्, र सत्यता छ, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तैँले आफैमा तिरस्कार ल्याउँदैनस् र? आज, परमेश्वरको कार्यको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट अपेक्षा गरिएका मापदण्डहरू र तँलाई जिउन आग्रह गरिएका कुराहरू अतिरिक्त होइनन्। काम धेरै छन्, र सत्यता पनि धेरै छन्; के ती तैँले थाहा पाउन योग्य छैनन् र? के सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवं थोरै दैहिक सहजतामा जिउन पाउँदा सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्तिलाई देखेका तर यसलाई प्राप्त गर्नको लागि खोजी नगर्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; देहमा लिप्त हुने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्वरमाथिको तेरो विश्वासमा तँ कुनै पनि चुनौती वा संकष्टहरू, वा थोरै पनि कष्ट नआओस् भन्ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्नै अनावश्यक विचारहरूलाई अघि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्नता छ र? सत्यताको खोजी नगरेर देहलाई प्रेम गर्नेहरू सबै नै पशुहरू होइनन् र? आत्माविहीन रहेका मृत मानिसहरू सबै जिउँदो लासहरू होइनन् र? तिमीहरूका माझमा कति वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै काम मात्र गरिएका छन्? तिमीहरूका माझमा मैले कति भरणपोषण गरेँ? त्यसो भए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केको बारेमा गुनासो गर्नु छ? के तैँले देहलाई अत्यन्तै धेरै प्रेम गर्ने हुनाले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के यो तेरा विचारहरू अत्यन्तै अनावश्यक भएकोले होइन र? के यो तँ अत्यन्तै मूर्ख भएकोले होइन र? यदि तँ यी आशिष्हरू प्राप्त गर्न असक्षम छस् भने, तँलाई मुक्ति नदिनुभएकोमा के तैँले परमेश्वरलाई दोष दिन सक्छस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
५०३. परमेश्वर यस्तो बृहत् मात्रामा काम गर्नुहुन्छ र मानिसहरूको यो समूहलाई पूर्ण रूपमा मुक्ति दिनुहुन्छ, ताकि तैँले शैतानको प्रभावबाट मुक्त हुन, पवित्र भूमिमा बस्न, परमेश्वरको ज्योतिमा रहन, र ज्योतिको नेतृत्व र अगुवाइ पाउन सकून्। अनि त्यसपछि तेरो जीवन अर्थपूर्ण हुन्छ। तिमीहरूले जे खान्छौ र पहिरिन्छौ त्यो गैरविश्वासीहरूको भन्दा फरक हुन्छ; तिमीहरूलाई परमेश्वरका वचनहरूमा आनन्द लाग्छ, र तिमीहरू अर्थपूर्ण जीवन जिउँछौ—तर तिनीहरू कुन कुरामा रमाउँछन्? तिनीहरूले केवल आफ्ना “पुर्ख्यौली सम्पदा” र “राष्ट्रिय भावना” मा आनन्द मनाउँछन्। तिनीहरूसँग मानवताको छाप रत्तीभर पनि हुँदैन! तिमीहरूका वस्त्र, बोलीवचन र कार्यहरू तिनीहरूको भन्दा फरक छन्। आखिरमा, तिमीहरू पूर्ण रूपमा फोहोरबाट उम्कनेछौ, त्यसउप्रान्त शैतानको परीक्षाको पासोमा फस्नेछैनौ, र परमेश्वरको दैनिक प्रबन्ध प्राप्त गर्नेछौ। तिमीहरू सधैँ सतर्क हुनुपर्दछ। तिमीहरू फोहोर ठाउँमा बसे पनि तिमीहरूलाई फोहोरको दाग लागेको छैन र तिमीहरू परमेश्वरको ठूलो सुरक्षा पाउँदै उहाँको छेउमा जिउन सक्छौ। परमेश्वरले तिमीहरूलाई पहेँलो देशका सबै मानिसहरूमध्येबाट चुन्नुभएको छ। के तिमीहरू सबैभन्दा आशिषित व्यक्तिहरू होइनौ र? तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्वरको आराधना गर्दैनस् तर आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ मानिस भएकोले तैँले आफूलाई परमेश्वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। यस संसारमा, मानिसले शैतानको वस्त्र लगाउँछ, शैतानबाट खानेकुरा लिएर खान्छ, र शैतानकै अधीनमा रही काम र सेवा गर्दछ, अनि त्यसद्वारा फोहोरले ढाकिने हदसम्म कुल्चीमिल्ची पारिन्छ। यदि तैँले जीवनको अर्थ बुझ्दैनस् वा साँचो मार्ग प्राप्त गर्दैनस् भने, यस्तो प्रकारले जिउनुको के महत्त्व हुन्छ र? तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (२)