ठ. कसरी परमेश्‍वरको सेवा गर्ने र उहाँको गवाही बन्‍ने सो सम्बन्धमा

४६९. सारा ब्रह्माण्डमा आफ्नो कामको सुरुवातदेखि नै, परमेश्‍वरले धेरै मानिसहरूलाई उहाँको सेवा गर्न अघिबाटै नियुक्त गरिसक्‍नु भएको छ, जसमा जीवनका हरेक क्षेत्रका मानिसहरू समावेश छन्। उहाँको उद्देश्य उहाँका अभिप्रायहरू पूरा गर्नु र पृथ्वीमा उहाँको कामलाई सहजतापूर्वक पूर्णतामा ल्याउनु हो; उहाँको सेवाको लागि मानिसहरू छनौट गर्नुमा परमेश्‍वरको लक्ष्य यही हो। परमेश्‍वरको सेवा गर्ने हरेकले उहाँको अभिप्राय बुझ्नुपर्छ। उहाँको यो कामले परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ता, र पृथ्वीमा उहाँको कामका सिद्धान्तहरू मानिसहरूका निम्ति अझ स्पष्ट पार्दछ। परमेश्‍वर वास्तवमा यस पृथ्वीमा आफ्नो काम गर्न, मानिसहरूसँग संलग्न हुन नै आउनुभएको छ ताकि तिनीहरूले उहाँका कामहरू अझ स्पष्ट रूपमा थाहा पाऊन्। आज तिमीहरू, मानिसहरूको यो समूह, व्यावहारिक परमेश्‍वरको सेवा गर्न पाएकोमा भाग्यशाली छौ। यो तिमीहरूका लागि अतुलनीय आशिष् हो—साँच्चै, तिमीहरू परमेश्‍वरद्वारा उठाइएका हौ। कुनै व्यक्तिलाई उहाँको सेवा गर्न छनौट गर्दा, परमेश्‍वरसँग सधैँ आफ्ना सिद्धान्तहरू हुन्छन्। मानिसहरूले कल्पना गरेझैं, परमेश्‍वरको सेवा गर्नु भनेको कुनै पनि हालतमा केवल उत्साहको कुरा होइन। आज, तिमीहरू देख्छौ कि परमेश्‍वरको अघि सेवा गर्नेहरू सबैले त्यसो गर्दछन् किनभने उनीहरूसँग परमेश्‍वरको मार्गदर्शन र पवित्र आत्माको काम छ, र किनभने तिनीहरू सत्यको पछि लाग्ने मानिसहरू हुन्। यी परमेश्‍वरको सेवा गर्नेहरू सबैका निम्ति न्यूनतम सर्तहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई उन्मुलन गरिनैपर्छ

४७०. परमेश्‍वरको सेवा गर्नेहरू परमेश्‍वरका घनिष्ठहरू हुनुपर्छ, तिनीहरू परमेश्‍वरलाई मनपर्दो हुनुपर्छ र परमेश्‍वरप्रति अत्याधिक बफादार हुन सक्ने हुनुपर्छ। चाहे तिमीहरू एकान्तमा व्यवहार गर वा सार्वजनिक स्थानमा, तिमीहरूले परमेश्‍वरको सामु परमेश्‍वरको आनन्द प्राप्त गर्न सक्छौ, तिमीहरू परमेश्‍वरको सामु दह्रिलो भई खडा हुन सक्छौ, अनि अरू मानिसहरूले तिमीहरूसँग जस्तोसुकै व्यवहार गरे पनि तिमीहरूले हिँड्नुपर्ने बाटो हिँड्नेछौ, अनि परमेश्‍वरको बोझलाई पूर्ण ध्यान दिनेछौ। यस्ता मानिसहरू मात्र परमेश्‍वरका घनिष्ठहरू हुन्। परमेश्‍वरसित घनिष्ठ रहेका व्यक्तिहरूले प्रत्यक्ष रूपमा उहाँको सेवा गर्न सक्छन्, किनकि तिनीहरूलाई परमेश्‍वरको महान् आज्ञा र परमेश्‍वरको बोझ दिइएको हुन्छ, तिनीहरू परमेश्‍वरको हृदयलाई आफ्नो हृदय बनाउन सक्षम हुन्छन्, र परमेश्‍वरको बोझलाई आफ्नै बोझ जस्तो गरी लिन्छन्, र तिनीहरू आफ्ना भावी सम्भावनाहरूको लाभ र नोक्सानलाई विचार गर्दैनन्—तिनीहरूसँग केही हुनेछैन भन्ने सम्भावना हुँदासमेत, र तिनीहरूले केही कुरा प्राप्त गर्न नसक्‍ने हुँदा पनि, परमेश्‍वरलाई प्रेम गर्ने हृदयले सधैँ परमेश्‍वरमा विश्‍वास गर्छन्। यसैले यस्तो व्यक्ति परमेश्‍वरसँग घनिष्ठ हुन्छ। परमेश्‍वरसँग घनिष्ठ रहेका मानिसहरू परमेश्‍वरका विश्‍वासपात्रहरू पनि हुन्; परमेश्‍वरसँग घनिष्ठ रहेका व्यक्तिहरू मात्र उहाँको बेचैनी र उहाँका विचारहरूमा सहभागी हुन सक्छन्, अनि तिनीहरूका देह कष्टमय र कमजोर भए पनि, तिनीहरूले कष्ट सहन सक्छन्, अनि परमेश्‍वरलाई प्रसन्न तुल्याउनका निम्ति आफूलाई मन परेको थोक त्याग्छन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरले अझ बढी बोझहरू दिनुहुन्छ, अनि परमेश्‍वरले गर्न चाहनुभएको कुरा त्यस्ता मानिसहरूको गवाहीमा उत्पन्न हुँदछ। यसैले, यस्ता मानिसहरू परमेश्‍वरका निम्ति मनपर्दो हुन्छन्, तिनीहरू परमेश्‍वरका अभिप्रायाहरूअनुसारका परमेश्‍वरका सेवकहरू हुन्, त्यस्ता मानिसहरूले मात्र परमेश्‍वरसँग मिलेर शासन गर्न सक्छन्। जब तँ साँच्चै परमेश्‍वरप्रति घनिष्ठ व्यक्ति बनेको हुन्छस्, तैँले परमेश्‍वरसित शासन गर्ने बेला ठीक त्यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरका अभिप्रायहरूअनुसार कसरी सेवा गर्ने

४७१. परमेश्‍वरको साँचो सेवा गर्ने व्यक्ति भनेको परमेश्‍वरका अभिप्राय अनुसारको, परमेश्‍वरको प्रयोगको लागि लायक, धार्मिक धारणाहरू त्याग्‍न सक्‍ने व्यक्ति हो। यदि तँ परमेश्‍वरको वचन खाने र पिउने तेरो कार्य प्रभावकारी होस् भन्‍ने चाहन्छस् भने, तैँले आफ्‍ना धार्मिक धारणाहरूलाई त्याग गर्नैपर्छ। यदि तँ परमेश्‍वरको सेवा गर्न चाहन्छस् भने, तैँले सुरुमा धार्मिक धारणाहरूलाई त्याग्‍नु अनि सबै कुरामा परमेश्‍वरका वचनहरूमा समर्पित हुनु अझै बढी आवश्यक छ। परमेश्‍वरको सेवा गर्ने व्यक्तिमा यो कुरा हुनुपर्छ। यदि तँमा यो ज्ञानको कमी छ भने, तैँले सेवा गर्न सुरु गर्दागर्दै बाधा अनि अर्चनहरू पैदा गर्नेछस्, अनि यदि तँ आफ्ना धारणाहरूमा टाँसिरहन्छस् भने, तँलाई परमेश्‍वरले फेरि कहिल्यै उठ्न नसक्‍ने गरी प्रहार गर्नुहुनेछ। उदाहरणको लागि, वर्तमानलाई लिएर हेर्: आजका धेरै वाणीहरू र कार्य बाइबल र परमेश्‍वरले यसअघि गर्नुभएका कार्यसित मिल्दैन, अनि यदि तँमा समर्पित हुने इच्छा छैन भने, तँ कुनै पनि समय पतित हुन सक्छस्। यदि तँ परमेश्‍वरका अभिप्रायअनुसार सेवा गर्न चाहन्छस् भने, तैँले सुरुमा धार्मिक धारणाहरू हटाउनैपर्छ अनि तैँले आफ्नै विचारधारालाई सुधार्नैपर्छ। पछि भनिने धेरैजसो कुराहरू पहिले भनिएका कुराहरूसँग मिल्दैनन्, अनि यदि तँमा अहिले समर्पित हुने इच्छा छैन भने, तँ यसपछि आउने बाटोमा हिँड्न सक्नेछैनस्। यदि परमेश्‍वरको कार्य गर्ने एउटा पद्धतिले तँभित्र जरा गाडेको छ भने र तैँले यसलाई कहिले पनि त्याग्‍दैनस् भने, उक्त पद्धति तेरो धार्मिक धारणा बन्नेछ। यदि परमेश्‍वर जे हुनुहुन्छ त्यसले तँमा जरा गाडेको छ भने, तैँले सत्यतालाई प्राप्त गरिसकेको छस्, अनि यदि परमेश्‍वरका वचनहरू अनि सत्यता तेरो जीवन बन्न सक्षम हुन्छन् भने, तँमा अबउप्रान्त परमेश्‍वरबारे कुनै धारणाहरू रहनेछैनन्। परमेश्‍वरको साँचो ज्ञान प्राप्त गरेकाहरूमा कुनै धारणाहरू हुनेछैनन् अनि तिनीहरू प्रावधानहरूमा बाँधिएर रहनेछैनन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वर्तमान काम बोध गर्नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

४७२. परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले कहिले पनि परमेश्‍वरको सेवा गर्न सक्दैन। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय गरिएको र सजाय दिइएको छैन भने, तेरो स्वभावले अझै शैतानलाई नै प्रतिनिधित्व गर्दछ जसले के प्रमाणित गर्छ भने तैँले तेरो आफ्नै असल अभिप्रायहरूबाट सेवा गर्छस्, तेरो सेवा तेरो शैतानी स्वभावमा आधारित छ। तैँले आफ्‍नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्‍वरलाई खुसी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्‍वरका निम्ति घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्‍वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो सांसारिक मामिलाहरूको दर्शन हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई बहकाउँछन्। पहिले नै भनिएका झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरू यस्ता मानिसहरूका बीचबाट खडा हुनेछन्। यदि परमेश्‍वरको सेवा गर्नेहरूले आफ्नै चरित्र अनुसरण गर्छन् र आफ्नै इच्छा अनुसार कार्य गर्छन् भने, तिनीहरूले कुनै पनि समयमा हटाइने जोखिम उठाउँछन्। जसले अरूको हृदय जित्न, उनीहरूलाई व्याख्यान गर्न र उनीहरूलाई बन्धनमा राख्‍न, र उच्चमा खडा हुन परमेश्‍वरको सेवा गर्ने क्रममा प्राप्त गरेको आफ्नो वर्षौंको अनुभव प्रयोग गर्दछन्—र जसले कहिल्यै पश्‍चात्ताप गर्दैनन्, आफ्ना पापहरूलाई कहिल्यै स्वीकार गर्दैनन्, हैसियतको फाइदा कहिल्यै त्याग्दैनन्—यी मानिसहरू परमेश्‍वरको अघि पतन हुनेछन्। तिनीहरू पावल जत्तिकै हुन्, जसले आफ्नो वरिष्ठतामा घमण्ड गर्दछन् र आफ्‍ना योग्यताहरूलाई बढवा दिन्छन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्ध पार्नुहुनेछैन। यस्तो सेवाले परमेश्‍वरको काममा अवरोध पुऱ्याउँछ। मानिसहरू सँधै विगतसँग टाँसिरहेका हुन्छन्। तिनीहरू विगतका धारणाहरू, बितेका दिनका हरेक कुराहरूमा टाँसिएका हुन्छन्। यो तिनीहरूको सेवाका निम्ति ठूलो बाधा हो। यदि तैँले तिनलाई बाहिर फाल्न सक्दैनस् भने, यी कुराहरूले तेरो पूरै जीवनलाई दबाउनेछ। परमेश्‍वर तँलाई अनुमोदन गर्नुहुन्न, चाहे तैँले दौडेर आफ्‍नो खुट्टा वा परिश्रम गरेर आफ्‍नो ढाड नै भाँच्, चाहे तँ परमेश्‍वरको सेवामा शहीद नै बन्, उहाँले अलिकति पनि तेरो तारिफ गर्नुहुन्‍न। ठीक विपरीत: उहाँले तँलाई दुष्ट काम गर्ने भनी भन्‍नुहुनेछ।

आजदेखि सुरु गरेर, परमेश्‍वरले धार्मिक विचारहरू नभएकाहरूलाई, आफ्नो पुरानो स्वभाव पन्छाउन इच्छुक हुनेहरूलाई, र सरल हृदयले परमेश्‍वरमा समर्पित हुनेहरूलाई औपचारिक रूपमा नै सिद्ध तुल्याउनुहुनेछ। जो मानिसहरू परमेश्‍वरको वचनहरूको निम्ति तिर्खाउँछन् उनीहरूलाई उहाँले सिद्ध गर्नुहुनेछ। यी मानिसहरू खडा भएर परमेश्‍वरको सेवा गर्नुपर्दछ। परमेश्‍वरमा अन्त्यहीन प्रशस्तता र असीम बुद्धि छ। उहाँको अचम्मको काम र बहुमूल्य वचनहरूले मानिसहरूको अझ ठूलो सङ्ख्याले आनन्द गरून् भनेर प्रतीक्षा गरिरहेका छन्। यस कुरालाई हेर्दा, धार्मिक धारणाहरू भएकाहरू, वरिष्ठता ग्रहण गर्नेहरू, र आफूलाई पन्छ्याउन नसक्नेहरूलाई ती नयाँ कुराहरू स्वीकार्न कठिन हुन्छ। पवित्र आत्मासँग यी मानिसहरूलाई सिद्ध गर्ने कुनै अवसर नै छैन। यदि कुनै व्यक्तिले समर्पित हुने संकल्प गरेको छैन, र परमेश्‍वरको वचनहरूको लागि तिर्खाउँदैन भने, ती नयाँ कुराहरू स्विकार्नका लागि तिनीहरूसँग कुनै माध्यम छैन; तिनीहरू केवल झन्-झन् विद्रोही, झन्-झन् धेरै धूर्त हुनेछन्, र यसरी गलत मार्गमा पुग्‍नेछन्। आफ्नो काम अहिले गरिरहँदा, परमेश्‍वरले अझ धेरै व्यक्तिहरू खडा गर्नुहुनेछ जसले उहाँलाई साँच्चै प्रेम गर्दछन् र नयाँ ज्योति ग्रहण गर्न सक्छन्, र आफ्नो वरिष्ठता ग्रहण गर्ने धार्मिक अधिकारीहरूलाई उहाँले पूर्णरूपमा ढाल्नुहुनेछ; जिद्दी पूर्वक परिवर्तनको प्रतिरोध गर्नेहरूमध्ये एक जनालाई पनि उहाँ चाहनुहुन्न। के तँ यी मानिसहरूमध्ये एक जना हुन चाहन्छस्? तैँले तेरो आफ्नै अभिरुचिहरू अनुसार सेवा गर्छस्, कि परमेश्‍वरले चाहनुभए अनुसार गर्छस्? यो तैँले आफै जान्‍नुपर्ने कुरा हो। के तँ धार्मिक अधिकारी होस्, वा के तँ परमेश्‍वरले सिद्ध बनाउनुभएको नवजात शिशु होस्? तेरो कति सेवालाई पवित्र आत्माले प्रशंसा गर्नुभयो? योमध्ये कत्ति जति परमेश्‍वरले सम्झन समेत झन्झट मान्नुहुनेछ? तेरो वर्षौंको सेवाको परिणामको रूपमा तेरो जीवनमा कति ठूलो परिवर्तन आएको छ? के तँ यी सबैको बारेमा स्पष्ट छस्? यदि तँ साँच्चिकै विश्‍वासबाटकै होस् भने, तैँले पहिलेका तेरो पुरानो धार्मिक धारणाहरू हटाउनेछस्, र नयाँ तरिकामा अझै राम्ररी परमेश्‍वरको सेवा गर्नेछस्। अब खडा हुन धेरै ढीला भएको छैन। पुरानो धार्मिक धारणाहरूले कुनै व्यक्तिको सम्पूर्ण जीवनलाई हराउन सक्छ। एक व्यक्तिले प्राप्त गरेको अनुभवले उनीहरूलाई परमेश्‍वरबाट बरालिन र आफ्नै तरिकाले काम-कुराहरू गर्ने तुल्याउन सक्छ। यदि तैँले त्यस्ता कुराहरूलाई पन्छ्याउँदैनस् भने, ती तेरो जीवनको वृद्धिमा ठेस लाग्ने अवरोध हुनेछन्। परमेश्‍वरले सधैँ उहाँको सेवा गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ, र तिनीहरूलाई हल्का रूपमा हटाउनुहुन्न। यदि तैँले परमेश्‍वरको वचनहरूको न्याय र सजायलाई साँच्चिकै स्वीकार गर्छस् भने, यदि तँ आफ्नो पुरानो धार्मिक आचरणहरू र नियमावलीहरूलाई पन्छ्याउन सक्छस्, र पुरानो धार्मिक धारणाहरूलाई आजका वचनहरूको मापनको रूपमा प्रयोग गर्न छोड्छस् भने मात्रै तेरो निम्ति भविष्य हुनेछ। तर यदि तँ पुराना चीजहरूसँग टाँसिरहन्छस् भने, यदि तँ अझै तिनलाई मूल्यवान् ठान्छस् भने, तैँले मुक्ति पाउन सक्ने कुनै मार्ग छैन। यस्ता मानिसहरूलाई परमेश्‍वरले वास्ता गर्नुहुन्न। यदि तँ साँच्चिकै सिद्ध हुन चाहन्छस् भने, तैँले पहिलेदेखिका सबै कुरा त्याग्ने संकल्प गर्नुपर्छ। पहिले जे गरिएको थियो त्यो ठीक थियो भने पनि, यो परमेश्‍वरको काम थियो भने पनि, तँ अझै यसलाई अलग राख्न सक्षम हुनुपर्दछ र यससँग टाँसिन बन्द गर्नुपर्दछ। यदि यो स्पष्ट रूपमै पवित्र आत्माको काम, पवित्र आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको काम थियो भने पनि, आज तैँले त्यसलाई पन्छ्याउनुपर्छ। तैँले यसलाई समाति राख्‍नु हुँदैन। परमेश्‍वरले चाहनुहुने कुरा यही हो। सबै कुरालाई नवीकरण गरिनुपर्छ। परमेश्‍वरको काम र परमेश्‍वरको वचनहरूमा, उहाँले अघि गएका पुरानो कुराहरूको कुनै सन्दर्भ दिनुहुन्न, उहाँले पुरानो पञ्चाङ्गलाई खोतल्नुहुन्न; परमेश्‍वर त्यो परमेश्‍वर हुनुहुन्छ जो सँधै नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न, र विगतका आफ्ना वचनहरूमा समेत टाँसिनुहुन्न—जुन कुराले देखाउँदछ कि परमेश्‍वरले कुनै नियमावलीहरू पालना गर्नुहुन्न। त्यसकारण, यदि एक मानिसको रूपमा तँ जहिले पनि विगतका कुराहरूमा टाँसिरहन्छस्, यदि तैँले तिनलाई छोडिदिन इन्कार गर्छस् भने, र कठोरताका साथ तिनलाई सूत्रको रूपमा लागू गर्छस् भने, जबकि परमेश्‍वर अब आफूले पहिले गरेको माध्यमहरू प्रयोग गरेर काम गर्नुहुन्न, त्यसोभए के तेरा शब्दहरू र कार्यहरू विघटनकारी छैनन्? के तिनीहरू परमेश्‍वरका विरोधी होइनन् र? के तँ आफ्नो पूरै जीवन यी पुरानो चीजहरूले बरबाद गर्न र बिगार्न दिन इच्छुक छस्? यी पुराना चीजहरूले तँलाई यस्तो व्यक्ति बनाउनेछ जसले परमेश्‍वरको काममा अवरोध पुऱ्याउँछ—के तँ त्यस्तै प्रकारको व्यक्ति बन्‍न चाहन्छस्? यदि तँ साँच्चिकै त्यो चाहँदैनस् भने, तैँले के गरिरहेको छस् त्यसलाई रोकेर फर्किहाल्; फेरि सुरु गर्। परमेश्‍वरले तेरो विगतका सेवाहरू सम्‍झनुहुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई उन्मुलन गरिनैपर्छ

४७३. संकल्प गरेका सबैले परमेश्‍वरको सेवा गर्न सक्दछन्—तर परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्ने र बुझ्ने व्यक्तिहरू मात्र परमेश्‍वरको सेवा गर्ने योग्यका र हकदार हुनेछन्। मैले तिमीहरूको बीचमा यो थाहा पाएको छु: धेरै मानिसहरूले जोसिलो भएर परमेश्‍वरको निम्ति सुसमाचार फैलाउँछन्, परमेश्‍वरको निम्ति अघि बढ्छन्, आफैलाई समर्पित गर्छन् र परमेश्‍वरका निम्ति केही कुरा त्याग्छन्, र त्यस्तै अरू कुराहरू गर्छन् भने, त्यसलाई परमेश्‍वरको सेवा हो भनी विश्‍वास गर्छन्। अझ धेरै धार्मिक मानिसहरू त हातमा बाइबल लिएर यताउति दगुर्नु, स्वर्गको राज्यको सुसमाचार फैलाउनु, र मानिसहरूलाई पश्चात्ताप र पाप-स्वीकार गर्न लगाएर मुक्त गर्नु परमेश्‍वरको सेवा गर्नु हो भनी विश्‍वास गर्छन्। यस्ता धेरै धार्मिक अगुवाहरू पनि छन्, जसले परमेश्‍वरको सेवा गर्नु भनेको उच्च अध्ययन गरेर अनि सेमिनरीमा तालिम लिएर च्यापलमा प्रचार गर्नु र बाइबलका शास्त्रहरू पढेर मानिसहरूलाई शिक्षा दिनु हो भनी विचार गर्छन्। यसबाहेक, गरिब क्षेत्रहरूमा यस्ता मानिसहरू हुन्छन् जसले परमेश्‍वरको सेवा गर्नु भनेको बिरामीलाई निको पार्नु र तिनीहरूका दाजुभाइ-दिदीबहिनीहरूको बीचमा भएका भूतात्माहरू निकाल्नु वा उनीहरूका निम्ति प्रार्थना गर्नु, वा उनीहरूको सेवा गर्नु हो भनी विश्‍वास गर्छन्। तिमीहरूको बीचमा धेरै जना यस्ता मानिसहरू छन्, जसले परमेश्‍वरको सेवा गर्नु भनेको परमेश्‍वरको वचनहरू खानु र पिउनु, हरेक दिन परमेश्‍वरसँग प्रार्थना गर्नु साथै सबैतिरका मण्डलीहरूमा भेटघाट गर्न जानु र कामहरू गर्नु हो भनी विश्‍वास गर्छन्। अरू दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरको सेवा गर्नु भनेको कहिल्यै विवाह नगर्नु वा परिवार खडा नगर्नु र आफ्नो सम्पूर्ण अस्तित्व परमेश्‍वरमा समर्पण गर्नु हो भनी विश्‍वास गर्छन्। तापनि परमेश्‍वरको सेवा गर्नु भनेको के हो सो थोरै मानिसहरूले मात्रै साँचो रूपमा जानेका हुन्छन्। परमेश्‍वरको सेवा गर्ने मानिसहरू आकाशका ताराहरू जत्तिकै धेरै भए पनि प्रत्यक्ष रूपमा र परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्नेहरूको सङ्ख्या नगण्य—अत्यन्तै रूपमा कम छ। म किन यो कुरा भन्दछु? यसकारण भन्दछु, कि तिमीहरू “परमेश्‍वरको सेवा” भन्‍ने वाक्यांशको सारलाई बुझ्दैनौ, अनि परमेश्‍वरका अभिप्रायहरूअनुसार कसरी सेवा गर्ने भन्‍ने कुरा त झनै कम बुझ्छौ। परमेश्‍वरको निम्ति गरिएको कस्तो सेवा वास्तवमा उहाँका अभिप्रायहररूअनुरूप हुन्छ भन्‍ने कुरा मानिसहरूले झट्टै बुझ्नु आवश्यक हुन्छ।

यदि तिमीहरू परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्न चाहन्छौ भने, पहिले तिमीहरूले यो बुझ्नुपर्छ कि, परमेश्‍वरका निम्ति कस्ता मानिसहरू मनपर्दा हुन्छन्, परमेश्‍वरले कस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ, परमेश्‍वरले कस्ता मानिसहरूलाई सिद्ध बनाउनुहुन्छ र कस्ता मानिसहरू परमेश्‍वरको सेवा गर्न योग्यका हुन्छन्। कम्तीमा पनि तिमीहरूमा यो ज्ञान हुनुपर्छ। यसबाहेक, तिमीहरूले परमेश्‍वरको कामको लक्ष्य अनि परमेश्‍वरले यहाँ र अहिले गर्नुहुने कामको बारेमा जान्नुपर्छ। यो कुरा बुझेपछि, अनि परमेश्‍वरको वचनको मार्गदर्शनद्वारा तिमीहरूले पहिले प्रवेश पाउनुपर्छ र परमेश्‍वरको आज्ञा प्राप्त गर्नुपर्छ। तिमीहरूले परमेश्‍वरका वचनहरू वास्तविक रूपमा अनुभव गरेपछि, र साँच्चै परमेश्‍वरको कामलाई जानेपछि, तिमीहरू परमेश्‍वरको सेवा गर्न योग्यका बन्नेछौ। अनि जब तिमीहरू उहाँको सेवा गर्छौ, त्यस बेला परमेश्‍वरले तिमीहरूका आत्मिक आँखाहरू खोलिदिनुहुनेछ र तिमीहरूलाई उहाँको कामलाई अझ राम्ररी बुझ्ने र त्यसलाई स्पष्ट रूपमा देख्ने बनाउनुहुनेछ। जब तिमीहरू यस वास्तविकतामा प्रवेश गर्छौ, तब तिमीहरूका अनुभवहरू अझ गहन र व्यावहारिक बन्नेछन्, अनि त्यस्ता अनुभवहरू प्राप्त गर्ने तिमीहरू सबै मण्डलीहरूको माझमा हिँड्न सक्नेछौ अनि आफ्ना दाजुभाइ, दिदी-बहिनीहरूका निम्ति प्रबन्ध गरिदिन सक्नेछौ, यसरी तिमीहरू प्रत्येकले एक-अर्काको सबल पक्षले आफ्नै कमीहरूलाई कम गर्न सक्नेछौ, अनि आफ्‍नो आत्मामा अझ राम्ररी ज्ञान प्राप्त गर्नेछौ। यस्ता वास्तविकता प्राप्त गरिसकेपछि मात्र तिमीहरूले परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्ने बन्नेछौ र तिमीहरूको सेवाको अवधिमा परमेश्‍वरद्वारा सिद्ध बनाइनेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरका अभिप्रायहरूअनुसार कसरी सेवा गर्ने

४७४. मण्डलीहरूलाई अगुवाइ गर्न, मानिसहरूलाई जीवन दिन, र मानिसहरूका निम्ति प्रेरितहरू बन्‍न सक्‍नेहरू यथार्थता अनुभव हुनुपर्छ; उनीहरूसँग आत्मिक कुराहरूको सही बुझाइ हुनुपर्छ र उनीहरूमा सत्यताको सही बुझाइ र अनुभव हुनुपर्छ। यस किसिमका मानिसहरू मात्र मण्डलीहरूलाई अगुवाइ गर्ने सेवक वा प्रेरितहरू बन्‍न योग्य हुन्छन्। अन्यथा, उनीहरूले साना व्यक्तिहरूको रूपमा पछ्याउन मात्रै सक्छन् र अगुवाइ गर्न सक्‍दैनन्, मानिसहरूलाई जीवन उपलब्ध गराउन सक्‍ने प्रेरितहरू बन्‍न सक्‍ने त परै जाओस्। किनकि प्रेरितहरूको कार्य हतार गर्नु वा झगडा गर्नु होइन; बरु जीवन सम्‍बन्धी सेवाको काम गर्नु र अरूलाई तिनीहरूको स्वभाव रूपान्तरण गर्न अगुवाइ गर्नु हो। यो कार्य गर्नेहरूलाई गाह्रो जिम्मेवारी पूरा गर्नको लागि नियुक्ति गरिएको हुन्छ, यस्तो कार्य जो-कोहीले पूरा गर्न सक्दैन। यस किसिमको काम केवल जीवन भएकाहरूले मात्र पूरा गर्न सक्छन्, अर्थात्, सत्यताको अनुभव गरिसकेकाहरूले मात्र पूरा गर्न सक्छन्। यस किसिमको काम त्यतिकै छोडेर हिँड्ने, हतार गर्ने वा आफैलाई खर्च गर्न इच्छुकहरू जोकोहीले पूरा गर्न सक्दैन; सत्यताको अनुभव नभएका, नछिवलिएका वा न्याय नगरिएका मानिसहरू यस किसिमको काम गर्न असक्षम हुन्छन्। अनुभव नभएका मानिसहरू, यथार्थता नभएका मानिसहरू, वास्तविकतालाई स्पष्‍टसँग देख्‍न नसक्‍ने हुन्छन् किनकि उनीहरू आफैमा यस किसिमको सार हुँदैन। त्यसैले, यस किसिमको व्यक्ति अगुवापनको काम गर्न असक्षम हुने मात्र होइन, तर यदि लामो समयसम्म तिनीहरू सत्यतारहित भइरहन्छन् भने उनीहरूलाई हटाइनुपर्ने हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

४७५. जहाँसम्म कामको कुरा छ, काम गर्नु भनेको परमेश्‍वरका निम्ति यताउति दौडनु, सबै ठाउँमा प्रचार गर्नु, र उहाँको खातिर अर्पित हुनु हो भन्‍ने मानिसले विश्‍वास गर्छ। यस्तो विश्‍वास सही भए पनि यो अत्यन्तै एकतर्फी छ; परमेश्‍वरले मानिसलाई आग्रह गर्नुभएको कुरा उहाँका निम्ति यताउति दौडधूप गर्नु मात्र होइन; त्योभन्दा बढी, यो काम आत्माभित्रको सेवकाइ र प्रबन्धसित सम्बन्धित छ। धेरै दाजुभाइ-दिदीबहिनीहरूले, यति धेरै वर्षको अनुभवपछि पनि परमेश्‍वरको निम्ति काम गर्नेबारेमा कहिल्यै सोचेका छैनन्, किनकि मानिसले जुन कामको बारेमा सोच्छ त्यो परमेश्‍वरले आग्रह गर्नुभएको कामसित नमिल्दो हुन्छ। त्यसकारण, मानिसमा कामको विषयमा कुनै पनि रुचि छैन, मानिसको प्रवेश एकतर्फी हुनुको मुख्य कारण यही हो। तिमीहरू सबैले परमेश्‍वरका निम्ति काम गर्दै आफ्नो प्रवेश सुरु गर्नुपर्छ, यसरी तिमीहरूले अनुभवको प्रत्येक पक्षलाई राम्ररी अनुभव गर्न सक्छौ। तिमीहरू प्रवेश गर्नुपर्ने यहीभित्र हो। कामले परमेश्‍वरको खातिर यताउति दगुरिहिँड्नु भन्‍ने बुझाउँदैन, यसले त मानिसको जीवन अनि ऊ जसरी जिउँछ त्यस कुराले परमेश्‍वरलाई आनन्द दिन्छ कि दिँदैन भन्‍ने कुरालाई बुझाउँछ। कामले परमेश्‍वरप्रतिको आफ्‍नो बफादारी र परमेश्‍वरसम्बन्धी आफ्नो ज्ञानलाई मानिसहरूले उहाँको निम्ति साक्षी दिन र मानिसको सेवा गर्नको लागि प्रयोग गर्नुलाई बुझाउँछ। मानिसको जिम्मेवारी यही हो र सबै मानिसहरूले बुझ्नुपर्ने यही हो। कसैले भन्‍न सक्छ कि तिमीहरूको प्रवेश नै तिमीहरूको काम हो, र तिमीहरूले परमेश्‍वरका निम्ति काम गरिरहेको बेला प्रवेश गर्ने कोसिस गर्छौ। परमेश्‍वरको कामको अनुभव गर्नु भनेको उहाँको वचन कसरी खाने र पिउने भनी जान्‍नु मात्र होइन; अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले परमेश्‍वरको बारेमा साक्षी दिन जान्‍नुपर्छ र तिमीहरूले परमेश्‍वरको सेवा गर्नका साथै मानिसको लागि सेवकाइ र आवश्यक प्रबन्ध गर्न सक्‍नुपर्छ। यही नै काम हो, र यो तिमीहरूको प्रवेश पनि हो; प्रत्येक व्यक्तिले हासिल गर्नुपर्ने कुरा यही हो। परमेश्‍वरका निम्ति यताउति दौडनु र सबै ठाउँमा प्रचार गर्नुमा मात्र ध्यान दिनेहरू धेरै छन्, तैपनि तिनीहरूले आफ्नो व्यक्तिगत अनुभवमा ध्यान दिँदैनन् र आत्मिक जीवनमा आफूले गर्नुपर्ने प्रवेशको बारेमा बेवास्ता गर्छन्। यही कुराले नै परमेश्‍वरको सेवा गर्ने मानिसहरूलाई परमेश्‍वरको विरोध गर्ने मानिसहरू बनाएको छ। …

व्यक्तिले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न, परमेश्‍वरका अभिप्राय अनुसारका सबै मानिसहरूलाई उहाँको सामु ल्याउन, मानिसलाई परमेश्‍वरकहाँ ल्याई पवित्र आत्माको काम र परमेश्‍वरको अगुवाइसित परिचित गराउनका निम्ति काम गर्छ, र यसरी उसले परमेश्‍वरको कामको फललाई सिद्ध तुल्याउँछ। त्यसकारण, तिमीहरू त्यो कामको सारको बारेमा पूर्ण रूपमा स्पष्ट हुनु आवश्यक हुन्छ। परमेश्‍वरले प्रयोग गर्नुभएको व्यक्तिको रूपमा, प्रत्येक मानिस परमेश्‍वरको निम्ति काम गर्न योग्य हुन्छ, अर्थात् प्रत्येक व्यक्तिले पवित्र आत्माद्वारा प्रयोग गरिने मौका पाएको हुन्छ। तैपनि, एउटा कुरा तिमीहरूले बुझ्नुपर्छ: जब मानिसले परमेश्‍वरले आज्ञा गर्नुभएको काम गर्छ, तब उसले परमेश्‍वरद्वारा प्रयोग गरिने मौका पाएको हुन्छ, तर मानिसले जे भन्छ र जान्दछ त्यो पूर्ण रूपले मानिसको कद होइन। तिमीहरूले गर्न सक्‍ने भनेको आफ्नो कामको अवधिमा आफ्नै कमजोरीहरूलाई अझ राम्ररी जान्‍नु र पवित्र आत्माबाट अझ ठूलो अन्तर्ज्ञान प्राप्त गर्नु मात्र हो। यस तरिकाले, तिमीहरू कामको अवधिमा अझ राम्रोसित प्रवेश प्राप्त गर्न सक्षम हुनेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (२)

४७६. पवित्र आत्माको वर्तमान वाणीहरूबाट अलग रहेको सेवा देहको, र धारणाहरूको सेवा हो, र यो परमेश्‍वरका अभिप्रायअनुसार हुनु असम्‍भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूमाझ जिउँछन् भने, तिनीहरूले परमेश्‍वरका अभिप्राय अनुसार केही पनि गर्न सक्दैनन्, र तिनीहरूले परमेश्‍वरको सेवा गरे तापनि, तिनीहरूले तिनीहरूका कल्‍पना र धारणाहरूमाझ सेवा गर्छन्, अनि परमेश्‍वरको अभिप्रायहरूअनुसार सेवा गर्न तिनीहरू पूर्ण रूपमा असमर्थ हुन्छन्। पवित्र आत्माको कामलाई पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरका अभिप्रायलाई बुझ्‍दैनन्, र परमेश्‍वरका अभिप्रायहरूलाई नबुझ्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्। परमेश्‍वर उहाँका आफ्‍नै अभिप्राय अनुसारको सेवा चाहनुहुन्छ; उहाँ धारणाहरू र देहको सेवा चाहनुहुन्‍न। यदि मानिसहरूले पवित्र आत्माको कार्यका चरणहरूलाई पछ्याउन सक्दैनन् भने, तिनीहरू धारणाहरूमाझ जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले अवरोध पुऱ्याउँछ र बाधा दिन्छ, अनि त्यस्तो सेवा परमेश्‍वरको विपरीत हुन्छ। त्यसकारण, परमेश्‍वरका पाइलाहरू पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्; परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन नसक्‍नेहरूले अवश्य नै परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू परमेश्‍वरको अनुरूप हुन सक्दैनन्। “पवित्र आत्माको कार्यलाई पछ्याउनु” को अर्थ परमेश्‍वरको आजका अभिप्रायहरूलाई बुझ्‍नु, परमेश्‍वरका वर्तमान मापदण्डहरूअनुसार काम गर्न सक्‍नु, आजको परमेश्‍वरमा समर्पित हुन र उहाँलाई पछ्याउन, र परमेश्‍वरका सबैभन्दा नयाँ वाणीहरूअनुसार प्रवेश गर्न सक्‍नु भन्‍ने हुन्छ। पवित्र आत्‍माको कार्यलाई पछ्याउने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति यही मात्रै हो। त्यस्ता मानिसहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न र परमेश्‍वरलाई देख्‍न सक्‍ने मात्रै होइनन्, तिनीहरूले त परमेश्‍वरको हालैको कामबाट परमेश्‍वरको स्वभावलाई पनि जान्‍न सक्छन्, र उहाँको हालैको कामबाट मानिसका धारणाहरू र विद्रोहीपनलाई, अनि मानिसको स्वभाव र सारलाई पनि जान्‍न सक्छन्; यसको साथै, तिनीहरूको सेवाको अवधिमा तिनीहरूले आफ्‍नो स्वभावमा क्रमिक रूपमा परिवर्तन हासिल गर्न पनि सक्छन्। यस्ता मानिसहरू मात्रै परमेश्‍वरलाई प्राप्त गर्न सक्‍ने, र यथार्थ रूपमा साँचो मार्ग भेट्टाउन सफल भएका मानिसहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ

४७७. यदि आजका परमेश्‍वरलाई सेवा गरिरहँदा तँ विगतमा पवित्र आत्माको अन्तर्दृष्टिद्वारा प्रकट गरिएका कुराहरूमा टाँसिरहन्छस् भने, तेरो सेवाले बाधा सृजना गर्नेछ, अनि तेरो अभ्यास पुरानो हुनेछ, त्यो धार्मिक रीति बाहेक केही हुनेछैन। यदि परमेश्‍वरको सेवा गर्नेहरूमा, अरू योग्यताहरूका अलावा, तिनिहरू बाहिरी रूपले नम्र र धैर्य हुनैपर्छ भन्‍ने कुरामा तैँले विश्‍वास गर्छस् भने, अनि आज तैँले यस प्रकारको ज्ञानको अभ्यास गरिस् भने, यस्तो ज्ञान केवल धार्मिक धारणा हुन्छ; यस्तो अभ्यास केवल देखावटी कार्य बनेको छ। “धार्मिक धारणा” भन्‍ने वाक्यांशले प्राचीन र अप्रचलित (परमेश्‍वरले पहिले बोल्नुभएका वचनहरू अनि पवित्र आत्माले सोझै प्रकट गर्नुभएको प्रकाशलगायत) कुराहरूलाई दर्साउँछ, अनि ती कुराहरूलाई आज अभ्यास गरियो भने, त्यसले परमेश्‍वरको कामलाई बाधा पुर्‍याउँछ, अनि मानिसलाई केही पनि लाभ हुँदैन। यदि मानिसहरूले धार्मिक धारणाभित्र पर्ने ती कुराहरूलाई आफूबाट हटाउन सकेनन् भने, ती कुराहरू परमेश्‍वरको सेवा गर्ने तिनीहरूको कार्यमा ठूलो बाधा बन्‍नेछन्। धार्मिक धारणा बोकेका मानिससँग पवित्र आत्माको कामसित कदम मिलाउने कुनै उपाय हुँदैन—तिनीहरू एक कदम, दुई कदम गर्दै पछि पर्छन्। यस्तो हुन्छ किनभने यी धार्मिक धारणाहरूले मानिसलाई असाधारण रूपमा स्व-धर्मी र अहङ्कारी बनाउँछ। परमेश्‍वरले विगतमा उहाँले जे भन्नुभएको थियो र जे गर्नुभएको थियो त्यसलाई सम्झेर बस्नुहुन्न; यदि कुनै कुरा काम नलाग्‍ने भयो भने, उहाँले त्यसलाई हटाउनुहुन्छ। के तँ आफ्‍ना धारणाहरू त्याग्न साँच्चै असक्षम छस्? यदि तँ विगतमा परमेश्‍वरले बोल्नुभएका वचनहरूमा नै झुन्डिन्छस् भने, के त्यसले तैँले परमेश्‍वरको कामलाई बुझ्छस् भन्‍ने प्रमाणित गर्छ? यदि तैँले आज पवित्र आत्माको ज्योति ग्रहण गर्न सक्दैनस्, बरु त्यही पुरानो प्रकाशमा झुन्डिरहन्छस् भने, के त्यसले तैँले परमेश्‍वरको पाइला पछ्याइरहेको छस् भन्‍ने प्रमाणित गर्छ? के तँ अझै पनि धार्मिक धारणाहरू त्याग्न असक्षम छस्? यदि त्यसो हो भने, तँ परमेश्‍वरले विरोध गर्ने व्यक्ति बन्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वर्तमान काम बोध गर्नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

४७८. धेरैले आफ्नो जोशको दममा परमेश्‍वरको सेवा गर्छन् तर उनीहरूमा परमेश्‍वरको प्रशासनिक व्यवस्थाको कुनै बुझाइ नै हुँदैन र उहाँको वचनका आशयहरूको आभास त परै जाओस्। तसर्थ, उनीहरूको असल नियत हुँदाहुँदै पनि, उनीहरू परमेश्‍वरको व्यवस्थापनमा बाधा पुऱ्याउने कुराहरू गर्न पुग्छन्। गम्भीर अवस्थाहरूमा, उनीहरूलाई परमेश्वरको घरबाट निष्कासित गरिन्छ, उहाँलाई अनुसरण गर्ने थप अवसरबाट वञ्चित गरिन्छ र नरकमा फ्याँकिन्छ, र परमेश्‍वरको भवनसँगको सबै सम्बन्ध अन्त्य हुन्छ। यी मानिसहरू आफ्नो अनभिज्ञ असल अभिप्रायको दममा परमेश्‍वरको घरमा काम गर्छन् र अन्त्यमा परमेश्‍वरको स्वभावलाई क्रोधित पार्न पुग्छन्। मानिसहरूले परमेश्‍वरको भवनमा आफ्ना अधिकारीहरू र मालिकहरूको सेवा गर्ने तरिकाहरू लिएर आउँछन् र तिनीहरूले यहाँ प्रयत्नविना सजिलै प्रयोग गर्न सकिन्छ भन्‍ने कुरा व्यर्थमा सोचेर तिनीहरूलाई प्रयोगमा ल्याउने कोसिस गर्छन्। परमेश्‍वरको स्वभाव भेडाको पाठाको जस्तो हुँदैन, बरु सिंहको जस्तो हुन्छ भनेर उनीहरूले कहिल्यै पनि कल्पना गर्दैनन्। त्यसकारण, परमेश्‍वरसँग पहिलोपल्ट सम्बन्ध राख्ने व्यक्तिहरूले उहाँसँग वार्तालाप गर्न सक्दैनन् किनभने परमेश्‍वरको हृदय मानिसको हृदयभन्दा फरक हुन्छ। तैँले धेरै सत्यहरू बुझिसकेपछि मात्र तैँले परमेश्‍वरलाई निरन्तर बुझ्न सक्छस्। यो ज्ञान शब्दहरू र सिद्धान्तहरूले बनेको होइन तर यसलाई खजानाको रूपमा प्रयोग गर्न सकिन्छ जसको मद्दतले तँ परमेश्‍वरसँगको निकट निश्‍चयतामा प्रवेश गर्न सक्छस् र यसलाई उहाँ तँसँग प्रसन्न हुनुहुन्छ भन्‍ने प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ। यदि तँमा ज्ञानको वास्तविकताको कमी छ र तँ सत्यद्वारा सुसज्जित छैनस् भने तेरो आवेगपूर्ण सेवाले परमेश्‍वरको घृणा र द्वेष मात्र निम्त्याउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

४७९. धर्ममा, धेरै मानिसहरूले आफ्नो जीवनभरि ठूलो दुःख भोग्छन्: तिनीहरूले आफ्नो देहलाई वशमा राख्छन् र आफ्नो क्रूस बोक्छन् र मृत्यु हुन लाग्दासमेत तिनीहरूले कष्ट भोग्छन् र सहन्छन्! कोही-कोही त आफ्नो मृत्यु हुने बिहानसम्म उपवास बसिरहेका हुन्छन्। तिनीहरूले आफ्नो सारा जीवनभरि राम्रो भोजन र वस्त्र अस्वीकार गर्छन्, केवल कष्टमा मात्र ध्यान दिन्छन्। तिनीहरू आफ्नो शरीरलाई वशमा राख्‍न र आफ्नो देहको विरुद्धमा विद्रोह गर्न सक्छन्। कष्ट भोग्‍न सक्‍ने तिनीहरूको जोस सराहनीय हुन्छ। तर तिनीहरूको सोचविचार, धारणा, मनोवृत्ति र वास्तवमा तिनीहरूको पुरानो प्रकृतिलाई अलिकति पनि काटछाँट गरिएको हुँदैन। तिनीहरूमा आफ्नैबारे साँचो ज्ञानको कमी हुन्छ। तिनीहरूको मस्तिष्कमा एक परम्परागत, अस्पष्ट परमेश्‍वरको प्रतिरूप हुन्छ। परमेश्‍वरका लागि कष्ट भोग्‍ने तिनीहरूको सङ्कल्प तिनीहरूका जोश र तिनीहरूको मानवताको असल चरित्रबाट आउँछ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूले न त उहाँलाई बुझ्छन्, न त उहाँका अभिप्रायबारे तिनीहरूलाई केही थाहा नै हुन्छ। तिनीहरू केवल काम गर्छन् र परमेश्‍वरका लागि अन्धाधुन्ध कष्ट भोग्छन्। तिनीहरूले समझलाई कुनै प्रकारको महत्त्व दिँदैनन्, आफ्नो सेवाले वास्तवमै परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने कुरा सुनिश्‍चित गर्न त्यत्ति वास्ता गर्दैनन्, तिनीहरूलाई परमेश्‍वरको ज्ञान कसरी प्राप्त गर्ने भन्‍ने कुरा थाहा हुनु त परै जाओस्। तिनीहरूले सेवा गरेका परमेश्‍वर उहाँको अन्तर्निहित स्वरूपमा हुनुहुन्‍न, बरु तिनीहरूले कल्पना गरेका परमेश्‍वर, तिनीहरूले सुनेका परमेश्‍वर वा लिखित दन्त्यकथाहरूमा पढेका परमेश्‍वर मात्र हुनुहुन्छ। त्यसपछि परमेश्‍वरका निम्ति कष्ट भोग्‍न आफ्ना उर्वर कल्पनाहरू र धर्मीपन प्रयोग गर्छन् र परमेश्‍वरले गर्न चाहनुभएको परमेश्‍वरको काम गर्न थाल्छन्। तिनीहरूको सेवा अति नै अवास्तविक हुन्छ, यहाँसम्म कि व्यावहारिक रूपमा तिनीहरूमध्ये कसैले पनि साँचो रूपले परमेश्‍वरका अभिप्रायअनुसार सेवा गर्न सक्दैन। तिनीहरूले जति नै खुसीसाथ दुःख भोगे पनि, सेवाबारे तिनीहरूको मूल दृष्टिकोण र तिनीहरूको मस्तिष्कमा रहेको परमेश्‍वरको प्रतिरूप अपरिवर्तित रहन्छ, किनभने तिनीहरूले परमेश्‍वरको न्याय, सजाय, शोधन र सिद्धता भोगेका हुँदैनन्, न त कसैले तिनीहरूलाई सत्यताको प्रयोग गरी डोर्‍याएको नै हुन्छ। तिनीहरूले मुक्तिदाता येशूमा विश्‍वास गरे पनि तिनीहरूमध्ये कसैले पनि मुक्तिदातालाई देखेका हुँदैनन्। तिनीहरूले उहाँलाई केवल दन्त्यकथा र सुनेका कुराहरूको माध्यमबाट जान्दछन्। फलस्वरूप, तिनीहरूको सेवा आँखा बन्द गरेर बिनाउद्देश्य गरिएको कामभन्दा बढी हुँदैन, त्यो एक अन्धोले आफ्नो बुबाको सेवा गरेको जस्तो हुन्छ। त्यस्तो सेवाबाट अन्त्यमा के हासिल गर्न सकिन्छ? अनि यसलाई कसले अनुमोदन गर्नेछ? सुरुदेखि अन्त्यसम्म, तिनीहरूको सेवा एक समान रहन्छ; तिनीहरूले केवल मानवनिर्मित पाठहरू सिक्छन् र तिनीहरूको सेवा केवल तिनीहरूको आफ्नै प्राकृतिकपन र तिनीहरूका आफ्नै रुचिहरूमा आधारित हुन्छ। यसले कस्तो इनाम ल्याउन सक्छ? येशूलाई देख्‍ने पत्रुसले पनि परमेश्‍वरका अभिप्रायअनुसार सेवा गर्न जान्दैनथे; तिनले यो कुरा अन्त्यतिर, आफ्नो बुढेसकालमा मात्र जाने। यसले काटछाँट वा काटछाँटको अलिकति पनि अनुभव नगरेका र कसैद्वारा नडोर्‍याइएका अन्धा व्यक्तिहरूबारे के भन्छ? के आज तिमीहरूमध्ये धेरैको सेवा ती अन्धा मानिसहरूको जस्तो छैन र? न्याय प्राप्त नगरेका, काटछाँट नभोगेका र परिवर्तन नभएका सबै व्यक्तिहरू—के तिनीहरू सबै अधुरो रूपमा मात्रै जितिएका छैनन् र? त्यस्ता मानिसहरू कुन कुरामा काम लाग्छन्? यदि तेरो सोच, जीवनबारे तेरो ज्ञान र परमेश्‍वरसम्बन्धी तेरो ज्ञानले कुनै नयाँ परिवर्तन देखाउँदैन र तैँले वास्तवमा केही पनि प्राप्त गर्दैनस् भने, तैँले आफ्नो सेवामा कुनै उल्लेखनीय कुरा कहिले पनि हासिल गर्नेछैनस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (३)

४८०. येशूले परमेश्‍वरको आज्ञा पूरा गर्न—अर्थात् सारा मानवजातिको छुटकाराको काम गर्न सक्षम हुनुहुन्थ्यो—किनकि उहाँले आफ्नै निम्ति कुनै योजनाहरू वा बन्दोबस्तहरू नगरी परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नुभयो। त्यसै पनि, उहाँ परमेश्‍वर, अर्थात् परमेश्‍वर स्वयम्‌सँग अति घनिष्ठ हुनुहुन्थ्यो, जुन कुरा तिमीहरू सबैले राम्ररी बुझ्दछौ। (वास्तवमा, उहाँ परमेश्‍वर स्वयम्‌ हुनुहुन्थ्यो, जुन कुराको साक्षी परमेश्‍वरले दिनुभयो। मैले यस विषयमा उदाहरण दिनका निम्ति येशूका तथ्यहरू प्रयोग गर्न यहाँ यो कुरा भन्दैछु।) उहाँले परमेश्‍वरको व्यवस्थापन योजनालाई केन्द्रमा राख्न सक्‍नुहुन्थ्यो, अनि सधैँ स्वर्गमा हुनुहुने पितासँग प्रार्थना गर्नुभयो र उहाँको इच्छा खोज्नुभयो। उहाँले प्रार्थना गर्दै भन्नुभयो: “हे परमेश्‍वर पिता! तपाईंको इच्छा जे छ त्यो पूरा गर्नुहोस्, अनि मेरा इच्छाहरू अनुसार होइन, तर तपाईंको योजनाअनुसार काम गर्नुहोस्। मानिस कमजोर हुन सक्छ, तर तपाईं त्यसको किन वास्ता गर्नुहुन्छ? मानिस तपाईंको वास्ता पाउने योग्यको कसरी बन्न सक्छ? अर्थात् मानिस, जो तपाईंको हातमा एउटा कमिला जस्तो छ? मेरो हृदयमा, म तपाईंको इच्छा मात्र पूरा गर्न चाहन्छु, अनि तपाईंले आफ्नो इच्छाअनुसार ममा जे गर्न चाहनुहुन्छ त्यो गर्नुहोस् भन्‍ने म चाहन्छु।” यरूशलेमतर्फ जाने बाटोमा येशू ठूलो वेदनामा हुनुहुन्थ्यो, मानौं उहाँको मुटुमा छुरी रोपेको थियो, तापनि उहाँमा आफ्नो वचनबाट पछि फर्कने अलिकति पनि इच्छा थिएन; सधैँ एउटा प्रबल शक्तिले काम गरिरहेको थियो, र त्यो शक्तिले उहाँलाई क्रूसमा टाँगिने स्थानतर्फ बढ्न बाध्य बनायो। अन्त्यमा, उहाँलाई क्रूसमा टाँगियो र मानवजातिको छुटकाराको काम पूरा गर्दै उहाँ पापी मानिस सरह हुनुभयो। उहाँ मृत्यु र पातलका बन्धनहरू तोडेर स्वतन्त्र हुनुभयो। उहाँको सामुन्ने मृत्यु, नरक र पातालले आफ्‍नो शक्ति गुमाए, र उहाँद्वारा पराजित भए। उहाँ तेत्तीस वर्ष जिउनुभयो, ती अवधिभरि उहाँले सधैँ त्यस बेलाको परमेश्‍वरको कामअनुसार परमेश्‍वरकै अभिप्रायहरूलाई पूरा गर्ने सक्दो कोसिस गर्नुभयो, उहाँले आफ्नो फाइदा वा नोक्‍सानीको बारेमा कहिल्यै पनि विचार गर्नुभएन, अनि सधैँ परमेश्‍वर पिताका अभिप्रायहरूका बारेमा सोच्नुहुन्थ्यो। यसैकारण उहाँको बप्तिस्मा भएपछि परमेश्‍वरले यसो भन्नुभएको थियो: “यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु।” परमेश्‍वरको सामुन्ने उहाँले गर्नुभएको सेवा, जुन परमेश्‍वरका अभिप्रायहरूअनुरूप थियो, त्यसैले गर्दा परमेश्‍वरले सारा मानवजातिलाई छुटकारा दिने गह्रौं काम उहाँको काँधमा राखिदिनुभयो र त्यो पूरा गर्न लगाउनुभयो, अनि त्यो महत्त्वपूर्ण काम पूरा गर्न उहाँ योग्य हुनुहुन्थ्यो र उहाँलाई अधिकार दिइएको थियो। उहाँले आफ्नो जीवनभरि परमेश्‍वरको निम्ति असीमित दुःखहरू भोग्नुभयो, अनि शैतानद्वारा उहाँको अनगिन्ती पटक परीक्षा भयो, तर उहाँ कहिल्यै निराश हुनुभएन। परमेश्‍वरले उहाँलाई भरोसा, र प्रेम गर्नुभएको कारणले गर्दा उहाँलाई यस्तो महत्त्वपूर्ण काम दिनुभयो, यसैले परमेश्‍वरले व्यक्तिगत रूपमा यसो भन्नुभयो: “यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु।” त्यस बेला, येशूले मात्र त्यो आज्ञा पूरा गर्न सक्नुहुन्थ्यो, अनि परमेश्‍वरले अनुग्रहको युगमा सारा मानवजातिलाई छुटकारा दिने काम पूरा गर्ने कार्यको यो एउटा व्यावहारिक पक्ष थियो।

यदि येशूजस्तै तिमीहरूले पनि परमेश्‍वरको बोझलाई पूर्ण रूपमा ध्यान दिन्छौ र तिमीहरूका देहको विरुद्धमा विद्रोह गर्छौ भने, परमेश्‍वरले उहाँका महत्त्वपूर्ण कामहरू तिमीहरूलाई सुम्पनुहुनेछ, त्यसरी तिमीहरूले परमेश्‍वरको सेवा गर्नका निम्ति चाहिने सर्तहरू पूरा गर्नेछौ। त्यस्ता परिस्थितिहरूमा पर्दा मात्र तिमीहरूले परमेश्‍वरको इच्छालाई पछ्याउँछौ र उहाँले दिनुभएको आज्ञा पूरा गर्दैछौ भनी भन्‍ने साहस गर्छौ, अनि मात्र तिमीहरूले साँच्चै परमेश्‍वरको सेवा गर्दैछौ भनी भन्‍ने साहस गर्छौ। येशूको उदाहरणसँग तुलना गर्दा, के तैँले तँ परमेश्‍वरसित घनिष्ठ छस् भनी भन्‍ने साहस गर्छस्? के तैँले परमेश्‍वरको इच्छालाई पछ्याइरहेको छु भनी भन्‍ने साहस गर्छस्? के तैँले साँच्चै परमेश्‍वरको सेवा गर्दैछु भनी भन्‍ने साहस गर्छस्? आज तैँले परमेश्‍वरको सेवा कसरी गर्ने सो बुझ्दैनस्, के तैँले परमेश्‍वरसित घनिष्ठ छु भनी भन्‍ने साहस गर्छस्? यदि तैँले परमेश्‍वरको सेवा गर्दैछु भनी भन्छस् भने के तैँले उहाँको विरुद्धमा ईश्‍वर-निन्दा गर्दैनस् र? यस विषयमा विचार गर्: तैँले परमेश्‍वरको सेवा गर्दैछस् कि आफ्नै सेवा गर्दैछस्? तँ शैतानको सेवा गर्छस्, तापनि हठी बन्दै अझ परमेश्‍वरकै सेवा गरिरहेको छु भनी भन्छस्—के यसो गरेर तैँले ईश्‍वर-निन्दा गर्दैनस् र? मेरो पिठिउँ पछाडि धेरै जना मानिसहरू सामाजिक प्रतिष्ठाका लाभहरू पाउने लालसा गर्छन्, तिनीहरू घाँटीसम्म आउने गरी खान्छन्, तिनीहरू सुत्न मन पराउँछन् र देहमा पूरा ध्यान दिन्छन्, देहको लागि कुनै उपाय छैन भनी सधैँ डराउँछन्। तिनीहरू मण्डलीमा आफूले गर्नुपर्ने उचित काम गर्दैनन्, तर मण्डलीको उदारताको फाइदा उठाउँछन्, वा कि त तिनीहरूका दाजुभाइ र दिदी-बहिनीहरूलाई मेरा वचनहरूद्वारा हप्काउँछन्, उच्च स्थानमा बसेर अरूलाई बन्धनमा राख्छन्। यस्ता मानिसहरू आफूले परमेश्‍वरको इच्छा पछ्याइरहेका छौं भन्छन्—र तिनीहरू परमेश्‍वरका घनिष्ठ मानिसहरू हुन् भनी सधैँ भन्‍ने गर्छन्—के यो हास्यास्पद कुरा होइन त? यदि तेरो मनसायहरू सही छन् तापनि परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्न सक्दैनस् भने तँ मूर्ख बन्दैछस्; तर यदि तेरो मनसायहरू सही छैनन् भने र पनि परमेश्‍वरको सेवा गर्दै छस् भन्छस् भने तँ त्यस्तो व्यक्ति हो जसले परमेश्‍वरको विरोध गर्छ, र तैँले परमेश्‍वरबाट दण्ड पाउनुपर्छ। त्यस्ता मानिसहरूप्रति मेरो कुनै सहानुभूति छैन। परमेश्‍वरको भवनमा तिनीहरू सित्तैँमा फाइदा उठाउँछन्, सधैँ देहको आराम-सुविधाको लालसा गर्छन्, अनि परमेश्‍वरको चासोका कुराहरूमा कुनै ध्यान दिँदैनन्। तिनीहरू सधैँ आफ्नो निम्ति जे असल छ त्यसैको मात्र खोजी गर्छन्, अनि तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूलाई कुनै ध्यान दिँदैनन्। तिनीहरू आफूले गरेको कुनै पनि कार्यमा परमेश्‍वरका आत्माले गर्ने छानबिन स्वीकार गर्न सक्दैनन्। तिनीहरू सधैँ कुटिल बन्छन् र सधैँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग छली र धोकेबाज व्यवहार गर्छन्, दाखबारीमा आउने चतुर स्याल जस्तो भएर तिनीहरू अङ्गुर चोर्छन् र दाखबारी कुल्चीमिल्ची गर्छन्। के त्यस्ता मानिसहरू परमेश्‍वरसित घनिष्ठ हुन सक्छन्? के तँ परमेश्‍वरका आशिषहरू पाउने योग्यको छस्? तैँले आफ्नै जीवन र मण्डलीको निम्ति कुनै बोझ उठाउँदैनस्, के तँ परमेश्‍वरको आज्ञा पाउने योग्यको छस्? तँजस्तो व्यक्तिलाई भरोसा गर्ने आँट कसले गर्ला? जब तैँले यसरी सेवा गर्छस् के परमेश्‍वरले तँलाई अझ ठूला कामहरू सुम्पनुहुन्छ होला? के त्यसले काम अझ ढिलो गराउँदैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरका अभिप्रायहरूअनुसार कसरी सेवा गर्ने

४८१. तिमीहरूले भोगेका र देखेका कुराहरू सारा युगका सन्तहरू र अगमवक्ताहरूको भन्दा पनि अधिक छन्, तर के तिमीहरूले विगतका यी सन्तहरू र अगमवक्ताहरूका वचनभन्दा ठूलो गवाही दिन सक्छौ त? मैले अहिले तिमीहरूलाई दिने कुराहरूले मोशा र दाऊदलाई दिएका कुरालाई नै उछिन्छ, त्यसरी नै तिमीहरूका गवाही मोशाको भन्दा अधिक र तिमीहरूका शब्दहरू दाऊदका भन्दा महान् होस् भन्‍ने म चाहन्छु। म तिमीहरूलाई सय गुणा दिन्छु—तिमीहरूले उही रूपमा फिर्ता गरेको म चाहन्छु। मानवजातिलाई जीवन दिने म नै हुँ भनी तिमीहरूलाई थाहा हुनुपर्छ, अनि मबाट जीवन पाउने र मेरो निम्ति गवाही दिने तिमीहरू नै हौ। मैले तिमीहरूलाई दिएको कर्तव्य यही हो, जुन तिमीहरूले मेरो निम्ति गर्नुपर्छ। मैले मेरा सबै महिमा तिमीहरूलाई दिएको छु, मेरा चुनिएका मानिसहरू, इस्राएलीहरूले कहिल्यै प्राप्‍त नगरेका जीवन मैले तिमीहरूलाई दिएको छु। अधिकारद्वारा नै, तिमीहरूले मेरो गवाही दिनुपर्छ र तिमीहरूको जवानी र तिमीहरूको जीवन मलाई अर्पण गर्नुपर्छ। जसलाई म मेरो महिमा दिन्छु उसले मेरो गवाही दिनेछ र मेरो निम्ति तिनीहरूको जीवन दिनेछन्। यसलाई मैले उहिले नै निर्धारण गरेको छु। मैले तिमीहरूलाई मेरो महिमा दिनु त तिमीहरूको लागि सौभाग्यको कुरा हो र तिमीहरूको कर्तव्यचाहिँ मेरो महिमाको गवाही दिनु हो। यदि तिमीहरूले आशिष्‌ पाउनलाई मात्र ममा विश्‍वास गरेका थियौ भने, मेरो कामको महत्त्व कम हुन्थ्यो र तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुँदैनथियौ। इस्राएलीहरूले मेरो कृपा, प्रेम र महानता मात्रै देखे र यहूदीहरूले मेरो धैर्यता र उद्धार मात्र देखे। तिनीहरूले मेरो आत्माको काम अतिभन्दा अति कम देखे, यहाँसम्‍म कि ती तिमीहरूले सुनेका र देखेका भन्दा दशौं हजारमा एक भाग जति मात्र तिनीहरूले बुझे। तिमीहरूले देखेका कुराहरूले तिनीहरूका प्रधान पूजाहारीलाई पनि उछिन्छ। तिमीहरूले आज बुझेका कुराहरूले तिनीहरूले बुझेका कुरालाई उछिन्छ; तिमीहरूले आज जे देखेका छौ यसले व्यवस्थाको युग साथै अनुग्रहको युगमा देखिएको कुरालाई पनि उछिन्छ र तिमीहरूले भोगेका कुराहरू मोशा र एलियाको भन्दा पनि अधिक छन्। इस्राएलीहरूले जे बुझे त्यो परमप्रभुको व्यवस्था मात्र थियो र तिनीहरूले जे देखे त्यो परमप्रभुको पिठ्यूँ मात्र थियो; यहूदीहरूले जे बुझे त्यो येशूको उद्धार मात्र थियो, तिनीहरूले जे प्राप्‍त गरे त्यो येशूले दिनुभएको अनुग्रह मात्र थियो र तिनीहरूले जे देखे त्यो यहूदीहरूको घरानाभित्रको येशूको स्वरूप मात्र थियो। आज तिमीहरूले जे देख्छौ त्यो परमप्रभुको महिमा, येशूको उद्धार र यस दिनको मेरा सबै कामहरू हुन्। त्यसैले तिमीहरूले मेरो आत्माका वचनहरू सुनेका छौ, मेरो बुद्धिको बखान गरेका छौ, मेरो चमत्कार थाहा पाएका छौ र मेरो स्वभाव जानेका छौ। मैले तिमीहरूलाई मेरो सारा व्यवस्थापन योजना पनि बताएको छु। तिमीहरूले जे देखेका छौ त्यो प्रेमिलो र कृपालु परमेश्‍वर मात्र होइन, तर धार्मिकताले पूर्ण परमेश्‍वर हो। तिमीहरूले मेरो चमत्कारपूर्ण काम देखेका छौ र म प्रताप र क्रोधले भरिएको छु भन्‍ने जानेका छौ। यसको अतिरिक्त, कुनै समय मैले इस्राएलको घरानामाथि मेरो उर्लँदो क्रोध खन्याएँ र आज यो तिमीहरूमाथि आएको छ भन्‍ने तिमीहरू जान्दछौ। तिमीहरूले स्वर्गको मेरा रहस्यहरूलाई यशैया र यूहन्नाले भन्दा बढी बुझ्छौ; तिमीहरू मेरो प्रमिलो स्वभाव र श्रद्धेयतालाई विगतका सबै सन्तहरूले भन्दा पनि बढी जान्दछौ। तिमीहरूले प्राप्‍त गरेको कुरा मेरो सत्यता, बाटो र जीवन मात्र होइन, तर यूहन्नाको भन्दा पनि ठूलो दर्शन र प्रकाश हो। तिमीहरूले धेरैभन्दा धेरै रहस्यहरू बुझ्छौ र मेरो साँचो मुहारमा हेरेका छौ; तिमीहरूले मेरो न्याय धेरै स्वीकार गरेका छौ र मेरो धर्मी स्वभावलाई बढी जान्दछौ। त्यसै गरी, तिमीहरू आखिरी दिनहरूमा जन्मिएका भए तापनि तिमीहरूको बुझाइ विगतको जस्तो छ, र तिमीहरूले आजका कुराहरू पनि अनुभव गरेका छौ र यी सबै म स्वयम्‌ले गरेको थिएँ। मैले तिमीहरूसँग जे मागेको छु त्यो अत्याधिक छैन, किनभने मैले तिमीहरूलाई धेरै दिएको छु, र तिमीहरूले ममा धेरै देखेका छौ। यसैले, तिमीहरूले विगतका सन्तहरूलाई मेरो निम्ति गवाही देओ भन्‍ने म चाहन्छु र मेरो हृदयको एक मात्र इच्छा यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

४८२. मैले अहिले चाहने भनेको तेरो बफादारी र समर्पण, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्‍नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तेरो बफादारी र समर्पण। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारी र समर्पणमा रहन्छ भन्‍ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्‍वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै समर्पित हुनु हो। मैले मेरो कामको अर्को चरण सुरु गर्न अघि, तैँले मेरो निम्ति कसरी साक्षी दिनेछस्? तँ मप्रति कसरी बफादार र समर्पित हुनेछस्? के तँ आफ्‍ना सबै बफादारीता आफ्नै काममा अर्पण गर्छस् कि हरेस खान्छस्? तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्? तँ मेरो साक्षी दिने बन्, मप्रति बफादार र समर्पित बन् भनेर म तँलाई सजाय दिन्छु। यति मात्र कहाँ हो र, हालको सजाय मेरो कामको अर्को चरण प्रकट गर्नु र कामलाई निर्बाध रूपमा अघि बढ्न दिनको लागि हो। त्यसैले, म तँलाई बुद्धिमान बन् अनि आफ्नो जीवनलाई अनि आफ्नो अस्तित्वलाई निकम्मा बालुवाको रूपमा व्यवहार नगर् भन्‍ने उत्साह दिन्छु। आउनेवाला मेरो काम ठ्याक्कै कस्तो हुनेछ भनी के तैँले जान्न सक्छस्? आउने दिनमा म कसरी काम गर्नेछु र मेरो काम कसरी प्रकट हुनेछ भन्‍ने के तँ जान्दछस्? तैँले मेरो कामप्रतिको तेरो अनुभवको महत्त्व र मप्रति तेरो विश्‍वासको महत्त्वलाई जान्नुपर्छ। मैले यति धेरै गरेको छु; तैँले कल्पना गरेजस्तो म कसरी बीचैमा छोड्न सक्थेँ? मैले यति व्यापक काम गरेको छु; म यसलाई कसरी नष्ट गर्न सक्थेँ? वास्तवमा, म यो युगलाई अन्त गर्न आएको हुँ। यो सत्य हो, तर मैले नयाँ युग सुरु गर्नुपर्छ, नयाँ काम सुरु गर्नुपर्छ र सबैभन्दा मुख्य कुरा, राज्यको सुसमाचार फैलाउनुपर्छ भन्‍ने तैँले जान्नुपर्छ। त्यसैले हालको कामचाहिँ नयाँ युग ल्याउन, आउने समयमा सुसमाचार फैलाउन र भविष्यमा युगलाई अन्त गर्नको निम्ति जग बसाल्नलाई मात्र हो भन्‍ने तैँले जान्नुपर्छ। मेरो काम तैँले सोचेजस्तो सरल छैन, न त तैँले विश्‍वास गरेजस्तो यो निकम्मा वा व्यर्थ नै छ। यसकारण, मैले अझ पनि तँलाई भन्नुपर्छ: तैँले आफ्नो जीवन मेरो कामको निम्ति दिनुपर्छ, र यस बाहेक, तैँले आफूलाई मेरो महिमाको निम्ति अर्पण गर्नुपर्छ। मैले जति लामो समयदेखि तैँले मेरो निम्ति गवाही दिओस् भन्‍ने उत्कट इच्छा गरेको छु, तैँले मेरो सुसमाचार फैलाएको होस् भन्‍ने कुरालाई मैले त्योभन्दा बढी चाहेको छु। मेरो हृदयमा के छ सो तैँले बुझ्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

४८३. के तँ परमेश्‍वरले हरेक युगमा व्यक्त गरेको स्वभावलाई उचित र त्यस युगको महत्त्व बोक्‍ने भाषामा ठोस तरिकाले सम्प्रेषित गर्न सक्छस्? के आखिरी दिनहरूका परमेश्‍वरको कार्यलाई अनुभव गर्ने तँ, परमेश्‍वरको धर्मी स्वभावलाई विस्तृत रूपमा व्याख्या गर्न सक्छस्? के तँ स्पष्ट र सटीक रूपमा परमेश्‍वरको स्वभावको गवाही दिन सक्छस्? धार्मिकताका निम्ति भोकाउने र तिर्खाउने अनि तैँले तिनीहरूको गोठाला गरोस् भनी तँलाई प्रतीक्षा गरिरहेका ती दयनीय, गरिब, र भक्त धार्मिक विश्‍वासीहरूलाई तैँले कसरी आफूले देखेका र अनुभव गरेका कुराहरू बताउनेछस्? तैँले तिनीहरूको गोठालो गरोस् भनी कस्तो प्रकारका मानिसहरूले तँलाई प्रतीक्षा गरिरहेका छन्? के तँ कल्‍पना गर्न सक्छस्? के तेरा काँधका बोझहरू, तेरो कार्यभार, र तेरो जिम्‍मेवारीबारे तँलाई थाहा छ? ऐतिहासिक मिसनको तेरो आभास कहाँ छ? अर्को युगको मालिकका रूपमा तैँले कसरी उचित रूपमा सेवा गर्नेछस्? के तँमा मालिक हुने बलियो आभास छ? यावत् थोकका मालिकलाई कसरी व्याख्या गर्नुपर्छ? के यो साँच्‍चै संसारका सारा जीवित प्राणीहरू अनि सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिको लागि तँसँग के-कस्ता योजनाहरू छन्? कति धेरै मानिसहरूले तँलाई तिनीहरूलाई गोठालो हुन प्रतीक्षा गरिरहेका छन्? के तेरो काम बोझमय छ? तिनीहरू गरिब, दयनीय, अन्धाहरू हुन्, र तिनीहरू असमञ्जसमा छन्, अन्धकारमा बिलौना गरिरहेका छन्—यो मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई थिचोमिचोमा पारेको अन्धकारको शक्तिहरूलाई उल्काझैँ अचानक ज्योति तल झरेर हटाओस् भनी ती मानिसहरु कति तड्पिन्छन्। तिनीहरू यसका लागि उत्सुकताका साथ दिन-रात आशा गर्छन्, र विलाप गर्छन्—यो कुरा कसले पूर्ण रूपमा जान्‍न सक्छ र? ज्योति चम्‍केर जाने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; कहिले तिनीहरूले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नदिइएका यी कमजोर आत्माहरूको दुर्भाग्य कति भयानक छ, अनि निर्दयी बन्धनहरू र कठ्याङ्ग्रिएको इतिहासद्वारा तिनीहरूलाई यो अवस्थामा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? तिनीहरूको दयनीय स्थिति कसले देखेको छ र? परमेश्‍वरको हृदय कति शोकित र व्याकुल छ भन्‍ने तैँले कहिल्यै विचार गरेको छस्? उहाँको आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो पीडा भोगेको उहाँले कसरी देख्‍न सक्‍नुहुन्छ? आखिर, मानवजाति विष खुवाइएका पीडितहरू नै त हुन्। मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विष खुवाएको छ भन्‍ने कसलाई थाहा हुनेथियो र? के तँ पीडितहरूमध्ये एक होस् भन्‍ने तैँले बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमको कारण, सबै यी बाँचेकाहरूलाई मुक्ति दिने प्रयास गर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरको ऋण तिर्न आफ्‍नो सारा सामर्थ्य अर्पण गर्न इच्‍छुक छैनस्? तेरो असाधारण जीवन जिउनका लागि परमेश्‍वरद्वारा प्रयोग गरिनुलाई तँ ठ्याक्कै कसरी बोध गर्छस्? के तँसँग एक भक्त, परमेश्‍वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आस्था साँच्‍चै छ त?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले तेरो भविष्यको मिसनलाई कसरी सम्हाल्नुपर्छ?

४८४. परमेश्‍वरको गवाही दिनु भनेको मुख्य रूपले परमेश्‍वरको कामको बारेमा अनि परमेश्‍वरले मानिसहरूलाई कसरी जित्नुहुन्छ, उहाँले कसरी मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र उहाँले कसरी मानसिहरूलाई परिवर्तन गर्नुहुन्छ सोबारेमा तेरो ज्ञान बताउनु हो; यो भनेको परमेश्‍वरले मानिसहरूलाई उहाँद्वारा जितिन, सिद्ध बनाइन र उहाँद्वारा बचाइन दिँदै, कसरी उहाँले तिनीहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्नुहुन्छ भनी बताउनु हो। गवाही दिनु भनेको उहाँको काम र तैँले अनुभव गरेका सबै कुराहरूको बारेमा बताउनु हो। उहाँको कामले मात्र उहाँको प्रतिनिधित्व गर्न सक्दछ, र उहाँको कार्यले मात्र उहाँलाई उहाँको सम्पूर्णतामा सार्वजनिक रूपमा प्रकट गर्न सक्दछ; उहाँको कामले उहाँको गवाही दिन्छ। उहाँको काम र वाणीहरूले सीधै आत्माको प्रतिनिधित्व गर्छन्; उहाँले गर्नुहुने कामलाई आत्माले अघि बढाउनुहुन्छ, र उहाँले बोल्नुहुने वचनहरू आत्माद्वारा बोलिन्छन्। यी कुराहरू केवल परमेश्‍वरको देहधारी शरीरको माध्यमबाट मात्र व्यक्त गरिन्छ, तापनि वास्तवमा ती आत्माका अभिव्यक्तिहरू हुन्। उहाँले गर्नुहुने सबै काम र उहाँले बोल्नुहुने सबै वचनहरूले उहाँको सारतत्त्वलाई प्रतिनिधित्व गर्दछ। यदि, उहाँले शरीर धारण गरेर मानिसको माझ आउनुभएपछि परमेश्‍वरले बोल्नुहुन्न वा काम गर्नुहुन्न भने र तिमीहरूलाई उहाँको व्यावहारिकता, उहाँको सामान्यता र उहाँको सर्वशक्ति जान्‍न लगाइयो भने के तँ त्यसो गर्न सक्‍नेथिइस्? के तैँले आत्माको सार के हो भनी जान्न सक्‍नेथिइस्? के तैँले उहाँको देहका विशेषताहरू के-के हुन् भनी जान्न सक्‍नेथिइस्? तिमीहरूले उहाँको कामको प्रत्येक चरणको अनुभव गरेको हुनाले मात्रै उहाँले तिमीहरूलाई उहाँको साक्षी दिन अनुरोध गर्नुभएको हो। यदि तिमीहरू त्यस्तो अनुभवरहित भएको भए उहाँले तिमीहरूलाई गवाही दिन लगाउन जोड दिनुहुनेथिएन। यसैले जब तैँले परमेश्‍वरको गवाही दिन्छस्, तैँले उहाँको बाहिरी सामान्य मानवताको मात्र गवाही होइन, तर उहाँले गर्नुहुने काम र उहाँले देखाउनुहुने मार्गको पनि गवाही दिइरहेको हुन्छस्; तँलाई कसरी उहाँले जित्‍नुभयो र कुन-कुन पक्षहरूमा तँलाई सिद्ध बनाइयो सो बारे तैँले गवाही दिनुपर्छ। तैँले दिनुपर्ने प्रकारको गवाही यही हो। … तैँले चरणबद्ध रूपमा दण्ड, न्याय, शोधन, परीक्षाहरू, बाधाहरू र सङ्कष्टहरूको अनुभव गरेको छस्, र तँलाई जितिएको छ; तैँले शरीरका सम्भावनाहरूलाई, तेरा व्यक्तिगत प्रेरणाहरूलाई र देहको भित्री रुचिहरूलाई पन्छाएको छस्। अर्को वचनमा, परमेश्‍वरका वचनहरूले तेरो हृदयलाई पूर्ण रूपमा जितेको छ। तँ उहाँले माग गर्नुभएजस्‍तो प्रकारले आफ्नो जीवनमा वृद्धि भएको छैनस्, तापनि यी सबै कुरा तँलाई थाहा छ र उहाँले जे गर्नुहुन्छ त्यसप्रति तँ पूर्ण रूपमा विश्‍वस्त छस्। यसैले यसलाई गवाही भन्न सकिन्छ, यस्तो गवाही जुन वास्तविक र सत्य छ। परमेश्‍वर जुन काम गर्न आउनुभयो, अर्थात् न्याय गर्ने र दण्ड दिने काम, त्यसको उद्देश्य भनेको मानिसलाई जित्नु हो, तर उहाँले आफ्नो कामलाई अन्त्य पनि गर्दैहुनुहुन्छ, युगको अन्त्य गर्दैहुनुहुन्छ र निष्कर्षको काम पूरा गर्दै हुनुहुन्छ। उहाँले सम्पूर्ण युगको अन्त्य गर्दैहुनुहुन्छ, सारा मानव जातिलाई बचाउँदै हुनुहुन्छ, मानव जातिलाई एकै पल्टमा सधैँभरिका निम्ति पापबाट छुटकारा दिँदैहुनुहुन्छ; आफूले सृष्टि गर्नुभएको मानव जातिलाई उहाँले पूर्ण रूपमा प्राप्त गर्दैहुनुहुन्छ। तैँले यी सबै कुराको गवाही दिनुपर्छ। तैँले परमेश्‍वरको धेरै कामको अनुभव गरेको छस्, तैँले यो आफ्नै आँखाले देखेको छस् र व्यक्तिगत रूपमा अनुभव गरेको छस्; जब तँ अन्त्यमा पुगेको हुन्छस्, तब तँलाई जुन काम गर्ने कर्तव्य दिइएको छ त्यो गर्न तँ असक्षम हुनु हुँदैन। त्यो धेरै दुःखलाग्दो कुरा हुनेछ! भविष्यमा, जब सुसमाचार फैलाइन्छ, तैँले आफ्नै ज्ञानको कुरा गर्न सक्षम हुनुपर्दछ, तैँले आफ्नो हृदयमा प्राप्त गरेका सबै कुराहरूको गवाही दिनुपर्छ, र कुनै पनि कोसिस बाँकी राख्नुहुँदैन। सृष्टि गरिएको प्राणीले प्राप्त गर्नुपर्ने कुरा यही हो। परमेश्‍वरको कामको यस चरणको वास्तविक महत्त्व के हो? यसको प्रभाव के हो? र मानिसमा यो कतिसम्म अघि बढाइन्छ? मानिसहरूले के गर्नुपर्छ? जब तिमीहरूले देहधारी परमेश्‍वरले संसारमा आउनुभएपछि गर्नुभएका सबै कामहरूको बारेमा स्पष्ट बताउन सक्छौ, तब तिमीहरूको गवाही पूर्ण हुनेछ। जब तैँले यी पाँचवटा कुरा स्पष्ट रूपमा बताउन सक्छस्: उहाँको कामको महत्त्व; त्यसको विषयवस्तुहरू; त्यसको सार; त्यसले प्रतिनिधित्व गर्ने स्वभाव र त्यसका सिद्धान्तहरू, तब त्यसले तँ परमेश्‍वरको गवाही दिन सक्षम छस्, र तँमा साँच्चै ज्ञान छ भन्‍ने प्रमाण दिन्छ। मैले तिमीहरूबाट गरेका मागहरू अति उच्च छैनन्, र जो वास्तविक खोजीमा छन् तिनीहरूले त्यो प्राप्त गर्न सक्छन्। यदि तैँले परमेश्‍वरका गवाहीहरूमध्ये एक बन्ने संकल्प गर्छस् भने, परमेश्‍वरले कुन कुरालाई घृणा गर्नुहुन्छ र कुन कुरालाई प्रेम गर्नुहुन्छ सो तैँले बुझ्नैपर्छ। तैँले उहाँका धेरै कामहरूको अनुभव गरेको छस्; यस कामद्वारा तैँले उहाँको स्वभाव जान्नुपर्छ, उहाँका अभिप्रायहरू र मानव जातिसँग उहाँले गर्नुभएको मागलाई बुझ्नुपर्छ र उहाँको गवाही दिन र तेरो कर्तव्य पूरा गर्न तैँले त्यो ज्ञानको प्रयोग गर्नुपर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

४८५. परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनुभव गरेपछि तँलाई नयाँ कुराहरू र वास्तविक अनुभव प्राप्त हुन्छ—त्यसकारण तैँले परमेश्‍वरको गवाही दिनुपर्छ। परमेश्‍वरको गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, र मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले के-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्‍नेबारेमा नै कुरा गर्नुपर्छ। तिमीहरूले तिमीहरूका अनुभवमा कति भ्रष्टता प्रकट गरेका छौ, तिमीहरूले कति धेरै कष्ट सहेका छौ, परमेश्‍वरको प्रतिरोध गर्न तिमीहरूले कति धेरै कुराहरू गरेका छौ, अन्त्यमा तिमीहरू परमेश्‍वरद्वारा कसरी विजय गरियौ, तिमीहरूले परमेश्‍वरको कामको कति वास्तविक ज्ञान प्राप्त गरेका छौ, र तिमीहरूले परमेश्‍वरको प्रेम चुकाउन कसरी उहाँको गवाही दिनुपर्दछ भन्‍ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यी शब्दहरूमा ठोसता प्रदान गर्नुपर्छ, जबकि सरल तरिकाले बोल्नुपर्छ। रित्ता सिद्धान्तहरूका बारेमा कुरा नगर। व्यावहारिक तरिकाले बोल; हृदयबाट बोल। तिमीहरूले विभिन्‍न कुराहरूको अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउने प्रयासमा गहन लाग्ने, रित्ता सिद्धान्तहरू तयार नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र समझहीन देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूका बारेमा बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूका लागि सबैभन्दा उपयुक्त देखिन्छ। तिमीहरू विगतमा परमेश्‍वरलाई सबैभन्दा धेरै विरोध गर्ने र उहाँप्रति समर्पित हुन सबैभन्दा कम झुकाव राख्‍ने मानिसहरू थियौ, तर अब तिमीहरू जितिएका छौ—त्यो कुरा कहिल्यै नबिर्स। तिमीहरूले यी विषयहरूमा धेरै चिन्तन र मनन गर्नुपर्छ। जब मानिसहरूले ती कुराहरू स्पष्ट बुझ्छन्, तब तिनीहरूलाई गवाही कसरी दिनुपर्छ भन्‍ने थाहा हुनेछ, अन्यथा, तिनीहरूले लाजमर्दो र मूर्ख कामहरू गर्न सक्‍नेछन्, जुन परमेश्‍वरको लागि गवाही दिनु होइन, बरु परमेश्‍वरलाई लज्जित तुल्याउनु हो। सच्‍चा अनुभवहरू र सत्यताको बुझाइविना परमेश्‍वरको लागि गवाही दिन सम्‍भव हुँदैन। परमेश्‍वरमाथिको भ्रमित र अन्योलपूर्ण विश्‍वास भएका मानिसहरूले परमेश्‍वरको लागि कहिल्यै गवाही दिन सक्दैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

४८६. परमेश्‍वरको कामको साक्षी दिनका लागि तँ आफ्नै अनुभव, ज्ञान र तैँले चुकाएको मूल्यमा भर पर्नुपर्छ। यसरी मात्र तैँले उहाँका अभिप्रायहरूलाई पूरा गर्न सक्छस्। के तँ परमेश्‍वरको कामको साक्षी दिने व्यक्ति होस्? के तँमा यस्तो आकांक्षा छ? यदि तँ उहाँको नाउँको, अझ बढी उहाँको कामको साक्षी दिन सक्छस् भने, अनि उहाँले आफ्ना मानिसहरूबाट माग गर्नुभएको स्वरूप लिएर जिउन सक्छस् भने तँ परमेश्‍वरका निम्ति एक साक्षी होस्। तँ वास्तवमा कसरी परमेश्‍वरको साक्षी बन्छस्? तँ परमेश्‍वरको वचनको खोजी गर्दै र त्यस अनुसार जिउने कोसिस गर्दै, तेरा वचनहरूद्वारा साक्षी दिँदै, मानिसहरूलाई उहाँको काम जान्‍ने र उहाँका कामहरू देख्‍ने तुल्याउँदै यो गर्छस्। यदि तँ साँच्‍चै यी सबै कुराको खोजी गर्छस् भने, परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तँ परमेश्‍वरबाट सिद्ध पारिन र अन्त्यसम्मै आशिषित हुन मात्र खोज्‍छस् भने परमेश्‍वरमा भएको तेरो विश्‍वासको दृष्टिकोण शुद्ध छैन। तँ वास्तविक जीवनमा परमेश्‍वरका कामहरू देख्ने, उहाँले तँलाई आफ्ना अभिप्रायहरू प्रकट गर्नुहुँदा त्यो कसरी पूरा गर्ने त्यसको पछि लाग्नुपर्छ, र उहाँको आश्‍चर्यपन र बुद्धिको साक्षी तैँले कसरी दिनुपर्छ, अनि उहाँले कसरी तँलाई अनुशासनमा राख्‍नुहुन्छ र काटछाँट गर्नुहुन्छ त्यसको साक्षी कसरी दिने सोको खोजी गर्नुपर्छ। यी सबै तैँले विचार गरिरहेको हुनुपर्ने कुरा हुन्। यदि परमेश्‍वर उहाँले तँलाई सिद्ध पार्नुभएपछि तँ उहाँको महिमामा सहभागी हुन सक्छस् भनेर मात्रै तँमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ भने, त्यो अझै अपर्याप्त हुन्छ र तैँले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैनस्। तँ परमेश्‍वरको कामको साक्षी दिन, उहाँका मागहरू पूरा गर्न र उहाँले मानिसहरूमा व्यावहारिक रूपमा गर्नुभएको कामको अनुभव गर्न सक्ने हुनुपर्छ। चाहे पीडा होस्, आँसु होस् वा उदासी होस्, जे भए पनि तैँले आफ्नो अभ्यासमा यी सबै कुरा अनुभव गर्नुपर्छ। ती सबैको उद्देश्य परमेश्‍वरको साक्षी दिने व्यक्तिको रूपमा तँलाई सिद्ध बनाउनु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ

४८७. तिमीहरूको विश्‍वास अत्यन्तै सच्‍चा भए तापनि, तिमीहरूमध्ये कसैले पनि मेरो बारेमा पूर्ण रूपमा बताउन सक्दैन, तिमीहरूले देखेका सबै तथ्यहरूको पूर्ण गवाही कसैले पनि दिन सक्दैन। यसको बारेमा सोच: आज तिमीहरूमध्ये धेरै जना आफ्नो कर्तव्यबाट विमुख भएर शरीरका कुराहरूको खोजी गर्ने, शरीरलाई सन्तुष्ट पार्ने र लालचका साथ शरीरको मज्जा लिने भएका छौ। तिमीहरूसँग थोरै मात्र सत्यता छ। यस्तो हो भने तिमीहरूले देखेका सबै कुराहरूको गवाही कसरी दिन सक्छौ? के तिमीहरू मेरा साक्षी बन्‍न सक्छौ भन्‍ने कुरामा साँच्चै तिमीहरू निश्‍चित छौ? तिमीहरूले आज देखेका सबै कुराहरूको गवाही दिन नसक्‍ने दिन आयो भने तिमीहरूले सृजित प्राणीहरूको कार्य गुमाएको हुनेछौ र तिमीहरूको अस्तित्वको कुनै अर्थ रहनेछैन। तिमीहरू मानिस हुनको निम्ति अयोग्य हुनेछौ। यसो पनि भन्‍न सकिन्छ कि तिमीहरू मानिस हुने छैनौ! मैले तिमीहरूमा मापन नै गर्न नसकिने काम गरेको छु, तर तिमीहरूले अहिले केही पनि नसिकेको, थाहा नपाएको र तिमीहरूका परिश्रमहरूमा अप्रभावी भएको कारण मैले मेरो कामलाई विस्तार समय आउँदा तिमीहरूले खाली नजर, बाँधिएको जिब्रो र पूर्ण रूपमा बेकम्मा भएर हेर्नेछौ। के तिमीहरू इतिहासमा पापीको रूपमा कहलिनेछैनौ र? जब त्यो समय आउँछ, के तिमीहरूले सबैभन्दा गहिरो पश्‍चातापको अनुभव गर्नेछैनौ र? के तिमीहरू निराशामा डुब्‍ने छैनौ र? आज मैले गर्ने सबै कामहरू निष्क्रियता र आलस्यतामा होइन तर भविष्यको मेरो कामको लागि जग निर्माण गर्नको निम्ति गरिन्छन्। मैले केही गर्न नै नसक्ने प्रतिरोधको अवस्थामा आएको कारण केही नयाँ गरौं भनेर यसो गरेको होइन। मैले गर्ने काम तैँले बुझ्‍नुपर्छ; यो बालकले सडकमा खेले जस्तो होइन, यो त मेरा पिताको प्रतिनिधित्व गर्न गरिने काम हो। यी सबै कुराहरू म आफैँ गर्दिनँ तर म मेरा पिताको प्रतिनिधित्व गर्छु भन्‍ने कुरा तिमीहरूले जान्‍नुपर्छ। यस बीच, तिमीहरूको भूमिका भनेको पछ्याउनु, समर्पित हुनु, परिवर्तन गर्नु र गवाही दिनु हो। तिमीहरूले ममाथि किन विश्‍वास गर्नुपर्छ भन्‍ने तिमीहरूले बुझ्‍नुपर्छ; यो तिमीहरू हरेकले बुझ्‍नुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्‍न हो। मेरा पिताले आफ्नो महिमाको निम्ति संसारको सृष्टिदेखि नै तिमीहरूलाई मेरो निम्ति अघिबाटै नियुक्त गर्नुभएको हो। उहाँले तिमीहरूलाई यो मेरो काम र उहाँको महिमाको निम्ति अघिबाटै नियुक्त गर्नुभएको हो। मेरा पिताको कारण तिमीहरू ममाथि विश्‍वास गर्छौ; मेरा पिताले अघिबाटै नियुक्त गर्नुभएको कारण तिमीहरूले मलाई पछ्याउँछौ। यीमध्ये कुनै पनि कुरा तिमीहरूले आफैले छनौट गरेका होइनौ। मेरा पिताले मेरो गवाहीको उद्देश्य राखेर तिमीहरूलाई मकहाँ सुम्पिनुभएको हो भन्‍ने कुरा तिमीहरूले बुझ्‍नु अझ महत्त्वपूर्ण कुरा हो। उहाँले मलाई तिमीहरू प्रदान गर्नुभएको कारण तिमीहरूलाई मैले दिएका कुराहरूका साथै मेरा मार्गहरू र मैले तिमीहरूलाई सिकाउने वचनहरूमा तिमीहरू रहनुपर्छ, किनकि मेरो मार्गमा रहनु तिमीहरूको कर्तव्य हो। ममाथिको तिमीहरूको विश्‍वासको मूल उद्देश्य यही हो। यसैले म तिमीहरूलाई भन्छु: तिमीहरू मेरा मार्गमा चल्‍नको निम्ति मेरा पिताले मलाई सुम्पिनुभएका मानिसहरू मात्र हौ। यद्यपि तिमीहरू ममाथि विश्‍वास मात्र गर्छौ; तिमीहरू इस्राएली परिवारका नभएका कारण मबाट आएका होइनौ, तिमीहरू त प्राचीन सर्पबाटका हौ। मैले तिमीहरूलाई गर्नको निम्ति भनेको कुरा यही हो कि तिमीहरू मेरो गवाही बन, तर आजचाहिँ तिमीहरूले मेरा मार्गहरू पछ्याउनुपर्छ। यी सबै कुराचाहिँ भविष्यको गवाहीको निम्ति हो। यदि तिमीहरूले मेरा मार्गहरूको बारेमा सुन्‍ने मानिसहरूको रूपमा मात्रै कार्य गर्‍यौ भने तिमीहरू मूल्य नभएका व्यक्तिहरू हुनेछौ र मेरा पिताले तिमीहरूलाई मेरो निम्ति सुम्पिनुभएको कुराको महत्त्व हराउने छ। मैले तिमीहरूलाई जोड दिएर भन्‍ने कुरा यही हो: तिमीहरूले मेरो मार्ग पछ्याउनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?

अघिल्लो:  ट. परमेश्‍वरको ज्ञान कसरी प्राप्त गर्ने त्यसको सम्बन्धमा

अर्को:  ड. शैतानको प्रभावलाई कसरी त्याग्ने र मुक्ति हासिल गर्ने सो सम्बन्धमा

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger