उपाधि र पहिचानको सम्बन्धमा
यदि तँ परमेश्वरद्वारा प्रयोगयोग्य हुन चाहन्छस् भने, तैँले परमेश्वरको कार्यलाई जान्नैपर्छ, तैँले यसभन्दा पहिले (नयाँ र पुरानो करारमा) उहाँले गर्नुभएको कामलाई जान्नैपर्छ, अनि, यति मात्र होइन, तैँले उहाँको आजको कामलाई जान्नैपर्छ; भन्नुको अर्थ, ६,००० वर्षको अवधिमा गरिएका परमेश्वरको कार्यका तीन चरणहरूलाई जान्नैपर्छ। यदि तँलाई सुसमाचार फैलाउन लगाइएको छ भने, परमेश्वरको कार्यलाई नजानिकन तैँले त्यसो गर्न सक्नेछैनस्। कसैले तँलाई तिमीहरूका परमेश्वरले बाइबल, पुरानो करार, र त्यस बेलाको येशूको काम र वचनहरूका बारेमा के भन्नुभएको छ भनी प्रश्न गर्न सक्छ। यदि तैँले बाइबलको भित्री कथालाई बताउन सक्दैनस् भने, तिनीहरू विश्वस्त हुनेछैनन्। त्यो बेला, येशूले आफ्ना चेलाहरूसँग पुरानो करारको बारेमा धेरै कुरा गर्नुभयो। तिनीहरूले पढ्ने सबै कुरा पुरानो करारबाट नै थियो; येशूलाई क्रूसमा मारिएको धेरै दशकपछि मात्रै नयाँ करार लेखिएको थियो। सुसमाचार फैलाउनको लागि, तैँले बाइबलको भित्री सत्यता, र परमेश्वरले इस्राएलमा गर्नुभएको कार्य अर्थात् यहोवाले गर्नुभएको कार्यलाई मुख्य रूपमा बुझ्नुपर्छ, र येशूले गर्नुभएको कामको बारेमा पनि तँसँग बुझाइ हुनुपर्छ। सबै मानिसहरूले सबैभन्दा चासो राख्ने विवादहरू यिनै हुन्, र तिनीहरूले नसुनेको कुरा कामका ती दुई चरणहरूको भित्री कथा नै हो। सुसमाचार फैलाउने क्रममा, पहिला पवित्र आत्माले आज गर्नुहुने कामको कुराकानीलाई पन्छ्याएर राख्। कामको यो चरण तिनीहरूको पहुँचभन्दा बाहिर छ, किनभने तिमीहरूले जे कुराको खोजी गर्छौ त्यो सबैभन्दा उत्कृष्ट छ—परमेश्वरको ज्ञान, र पवित्र आत्माको कामको ज्ञान—अनि यी दुई कुराहरू जत्तिको उचालिएका कुराहरू केही पनि छैन। यदि तैँले सुरुमा उत्कृष्ट कुराको बारेमा कुरा गर्छस् भने, यो तिनीहरूको लागि अति धेरै हुनेछ, किनभने पवित्र आत्माको त्यस्तो कार्यलाई कसैले पनि अनुभव गरेको छैन; यसको कुनै उदाहरण छैन, र यसलाई स्वीकार गर्नु मानिसको लागि सहज हुँदैन। तिनीहरूका अनुभवहरू पवित्र आत्माले बेला-बेलामा गर्नुभएका कामहरूसहितका विगतका पुराना कुराहरू हुन्। तिनीहरूले अनुभव गर्ने कुरा पवित्र आत्माको आजको काम, वा परमेश्वरको आजको अभिप्राय होइन। कुनै पनि नयाँ ज्योति विना, र कुनै पनि नयाँ कुराहरू विना, तिनीहरू अझै पनि पुरानै अभ्यासहरू अनुसार कार्य गर्छन्।
येशूको युगमा, पवित्र आत्माले मुख्य रूपमा येशूमा आफ्नो काम गर्नुभयो। मन्दिरमा पूजाहारीको पोसाक लगाएर यहोवाको सेवा गर्नेहरू पूर्ण हृदयको बफादारीसाथ त्यसो गर्थे र तिनीहरूसँग पवित्र आत्माको काम पनि हुन्थ्यो। कुरा के मात्रै हो भने तिनीहरूले परमेश्वरका वर्तमान अभिप्रायहरू बुझ्न सकेनन्—तिनीहरू पुराना अभ्यासहरूअनुरूप यहोवाप्रति बफादार मात्रै रहे, तर तिनीहरूसँग नयाँ मार्गदर्शन थिएन। येशू आउनुभयो र उहाँले नयाँ काम ल्याउनुभयो, तैपनि मन्दिरमा सेवा गर्नेहरूसँग नयाँ मार्गदर्शन थिएन, न त तिनीहरूसँग नयाँ काम नै थियो। मन्दिरमा सेवा गर्दा, तिनीहरू पुराना अभ्यासहरू मात्रै कायम राख्न सक्थे र मन्दिर नछोडी, तिनीहरू कुनै पनि नयाँ प्रवेश पाउन असक्षम नै थिए। नयाँ काम येशूले ल्याउनुभएको थियो र येशू आफ्नो काम गर्न मन्दिरभित्र जानुभएन। उहाँले मन्दिरबाहिर मात्रै आफ्नो काम गर्नुभयो, किनभने परमेश्वरको कामको दायरा धेरैअघि नै परिवर्तन भइसकेको थियो र उहाँले उप्रान्त मन्दिरभित्र काम गर्नुभएन। मानिसले त्यहाँ परमेश्वरको सेवा गर्दा, कामकुराहरूलाई जस्ताका तस्तै राख्ने काम मात्र गर्थ्यो र कुनै नयाँ काम ल्याउन सक्दैनथ्यो। त्यसै गरी, आज धार्मिक मानिसहरू अझै पनि बाइबलको आराधना गर्छन्। यदि तैँले तिनीहरूलाई सुसमाचार प्रचार गरिस् भने, तिनीहरूले तँसँग बाइबलका शब्दहरूबारे तर्कवितर्क गर्नेछन् र तिनीहरूले धेरै प्रमाण फेला पार्नेछन्, जसले गर्दा तँ अवाक र निःशब्द हुनेछस्; त्यसपछि तिनीहरूले तेरो विश्वास अन्योलपूर्ण छ भन्ने सोचेर तँलाई लेबल लगाउनेछन्। तिनीहरूले भन्नेछन्, “तिमीलाई परमेश्वरको वचन, बाइबलसमेत थाहा छैन, त्यसोभए तिमी आफूले परमेश्वरमा विश्वास गर्छु भनेर कसरी भन्न सक्छौ?” त्यसपछि तिनीहरूले तँलाई तुच्छ ठान्नेछन् र यसो पनि भन्नेछन्, “तिमीहरूले विश्वास गर्ने व्यक्ति परमेश्वर हुनुभएकाले, उहाँ किन तिमीहरूलाई पुरानो र नयाँ करारको कुरा के हो भनेर बताउनुहुन्न? उहाँले आफ्नो महिमा इस्राएलबाट पूर्वमा ल्याउनुभएको हुनाले, उहाँलाई किन इस्राएलमा गरिएको काम थाहा छैन? उहाँलाई किन येशूको काम थाहा छैन? यदि तिमीहरूलाई थाहा छैन भने, त्यसले तिमीहरूलाई बताइएको छैन भन्ने प्रमाणित गर्छ; उहाँ येशूको दोस्रो देहधारण हुनुभएको हुनाले, उहाँलाई यी कुराहरू कसरी थाहा नहुन सक्छ? येशूलाई यहोवाले गरेको काम थाहा थियो; उहाँलाई कसरी थाहा नहुन सक्छ?” जब समय आउँछ, तब तिनीहरू सबैले तँलाई यस्ता प्रश्नहरू सोध्नेछन्। तिनीहरूको दिमाग यस्ता कुराहरूले भरिएको हुन्छ; तिनीहरूले कसरी नसोध्न सक्छन् र? यस प्रवाहभित्र हुने तिमीहरू बाइबलमा ध्यान केन्द्रित गर्दैनौ, किनभने तिमीहरूले आज परमेश्वरले गरेको कामको हरेक चरणसम्म जान्दै आएका छौ, तिमीहरूले आफ्नै आँखाले कामको हरेक चरण देखेका छौ र तिमीहरूले कामको तीन चरण स्पष्ट रूपमा देखेका छौ अनि त्यसैले तिमीहरूले बाइबललाई पन्छाएर त्यसलाई अध्ययन गर्न छोड्नुपरेको छ। तर तिनीहरू त्यो अध्ययन गर्न सक्दैनन्, किनभने तिनीहरूलाई यस चरणबद्ध कामबारे कुनै ज्ञान हुँदैन। कतिपय मानिसले सोध्नेछन्, “देहधारी परमेश्वरले गरेको काम र विगतका अगमवक्ता तथा प्रेरितहरूले गरेको कामबीच के भिन्नता छ? दाऊदलाई प्रभु भनिन्थ्यो र येशूलाई प्रभु भनिन्थ्यो; तिनीहरूले गरेको काम फरक-फरक भए पनि, तिनीहरूलाई एउटै कुरा भनिन्थ्यो। मलाई भन त, तिनीहरूको पहिचान किन एउटै थिएन? यूहन्नाले देखेको कुरा दर्शन थियो, जुन पवित्र आत्माबाट पनि आएको थियो र उनी पवित्र आत्माले भन्ने अभिप्राय राखेका वचनहरू भन्न सक्थे; यूहन्नाको पहिचान येशूको पहिचानभन्दा किन फरक थियो?” येशूले बोलेका वचनहरूले परमेश्वरलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्थे र तिनले परमेश्वरको कामलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्थे। यूहन्नाले देखेको कुरा दर्शन थियो र उनी परमेश्वरको कामलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न असक्षम थिए। यूहन्ना, पत्रुस र पावलले येशूले जस्तै धेरै वचन बोले, तैपनि किन तिनीहरूको पहिचान येशूको जस्तो थिएन? यो मुख्यतया तिनीहरूले गरेको काम फरक भएकाले गर्दा हो। येशूले परमेश्वरका आत्मालाई प्रतिनिधित्व गर्नुभयो र उहाँ सिधै काम गरिरहनुभएको परमेश्वरका आत्मा हुनुहुन्थ्यो। उहाँले नयाँ युगको काम, पहिले कसैले नगरेको काम गर्नुभयो। उहाँले नयाँ मार्ग खोल्नुभयो, उहाँले यहोवालाई प्रतिनिधित्व गर्नुभयो र उहाँले परमेश्वर स्वयम्लाई प्रतिनिधित्व गर्नुभयो, जबकि पत्रुस, पावल र दाऊदको हकमा भन्दा, तिनीहरूलाई जेसुकै भनिए पनि, तिनीहरू एक सृजित प्राणीको पहिचानलाई मात्रै प्रतिनिधित्व गर्थे र तिनीहरूलाई येशू वा यहोवाले पठाउनुभएको थियो। त्यसैले तिनीहरूले जतिसुकै काम गरे पनि, तिनीहरूले जतिसुकै ठूला चमत्कारहरू गरे पनि, तिनीहरू अझै पनि सृजित प्राणी मात्रै थिए र परमेश्वरका आत्मालाई प्रतिनिधित्व गर्न असक्षम थिए। तिनीहरूले परमेश्वरको नाममा काम गरे वा परमेश्वरद्वारा पठाइएपछि काम गरे; यसबाहेक, तिनीहरूले येशू वा यहोवाद्वारा सुरु गरिएका युगहरूमा काम गरे र तिनीहरूले अरू काम गरेनन्। आखिर, तिनीहरू केवल सृजित प्राणी थिए। पुरानो करारमा, धेरै अगमवक्ताले अगमवाणीहरू गरे वा अगमवाणीका पुस्तकहरू लेखे। कसैले पनि तिनीहरू परमेश्वर हुन् भनी भनेन तर येशूले काम गर्न थाल्नेबित्तिकै, परमेश्वरका आत्माले उहाँ परमेश्वर हुनुहुन्छ भनी गवाही दिनुभयो। त्यो किन हो? यस बिन्दुमा तँलाई पहिले नै थाहा हुनुपर्छ! पहिले, प्रेरित र अगमवक्ताहरूले विभिन्न पत्रहरू लेखे र धेरै अगमवाणी गरे। पछि, मानिसहरूले तीमध्ये केहीलाई बाइबलमा राख्न छाने र केही हराए। आफूले बोलेका सबै कुरा पवित्र आत्माबाट आएका हुन् भनेर भन्ने मानिसहरू भएकाले, तीमध्ये केहीलाई किन असल र खराब मानिन्छ? अनि किन केहीलाई छानियो र अरूलाई छानिएन? यदि ती वास्तवमा पवित्र आत्माले बोलेका वचनहरू थिए भने, के मानिसहरूले तिनलाई छान्नु आवश्यक हुन्थ्यो र? येशूले बोलेका वचनहरू र उहाँले गरेको कामको विवरण चारवटा सुसमाचारका पुस्तकहरूमा किन फरक-फरक छन्? के यो तिनलाई अभिलेख गर्नेहरूको दोष होइन र? कतिपय मानिसले सोध्नेछन्, “पावल र नयाँ करारका अन्य लेखकहरूले लेखेका पत्रहरू र तिनीहरूले गरेको काम आंशिक रूपमा मानिसको इच्छाबाट उत्पन्न भएको हुनाले र मानिसका धारणाहरूद्वारा मिसावट भएको हुनाले, के तपाईँ (परमेश्वरले) आज बोल्ने वचनहरूमा मानव मिसावटहरू छैनन् र? के तिनमा साँच्चै मानिसका कुनै पनि धारणाहरू छैनन्?” परमेश्वरले गरेको कामको यो चरण पावल र धेरै प्रेरित तथा अगमवक्ताले गरेको कामभन्दा पूर्ण रूपमा फरक छ। पहिचानमा मात्रै फरक नभई, मुख्यतया, सम्पन्न गरिने काममा पनि फरक छ। पावललाई प्रहार गरिएर उनी प्रभुसामु ढलेपछि, उनलाई पवित्र आत्माले काम गर्न अगुवाइ गर्नुभयो र उनी पठाइएको व्यक्ति बने। त्यसैले उनले मण्डलीहरूलाई पत्रहरू लेखे र यी सबै पत्रले येशूका शिक्षाहरूलाई निरन्तरता दिए। पावल प्रभुद्वारा प्रभु येशूको नाममा काम गर्न पठाइएका थियो, तर जब परमेश्वर स्वयम् आउनुभयो, तब उहाँले कुनै पनि नाममा काम गर्नुभएन र आफ्नो काममा परमेश्वरका आत्माबाहेक कसैलाई प्रतिनिधित्व गर्नुभएन। परमेश्वर सिधै आफ्नो काम गर्न आउनुभयो: उहाँ मानिसद्वारा सिद्ध पारिनुभएन र उहाँको काम कुनै मानिसको शिक्षाका आधारमा सम्पन्न गरिएन। परमेश्वर कामको यस चरणमा आफ्ना व्यक्तिगत अनुभवहरूबारे कुरा गरेर अगुवाइ गर्नुहुन्न, बरु आफूसँग भएको कुराअनुसार सिधै आफ्नो काम गर्नुहुन्छ। उदाहरणका लागि, सेवाकर्ताहरूको परीक्षा, सजायको समय, मृत्युको परीक्षा, परमेश्वरलाई प्रेम गर्ने समय...। यी सब अघि कहिल्यै नगरिएका काम हुन् र यी मानिसका अनुभवहरूको काम नभई, बरु वर्तमान युगका काम हुन्। मैले बोलेका वचनहरूमा कुन चाहिँ मानिसका अनुभवहरू हुन्? के ती सबै सिधै आत्माबाट आउँदैनन् अनि के ती आत्माद्वारा जारी गरिँदैनन् र? कुरा के मात्रै हो भने तेरो क्षमता यति कमजोर छ कि तँ सत्यता छर्लङ्गै देख्न सक्दैनस्! मैले कुरा गर्ने जीवनको व्यावहारिक तरिका देखाउनका लागि हो र यसबारे यसअघि कसैले कहिल्यै बोलेको छैन, न त कसैले कहिल्यै यो मार्ग अनुभव नै गरेको छ वा यो वास्तविकताबारे जानेको नै छ। मैले यी वचनहरू बोल्नुअघि, कसैले तीबारे कहिल्यै बोलेको थिएन। कसैले कहिल्यै यस्ता अनुभवहरूबारे कुरा गरेको थिएन, न त तिनीहरूले कहिल्यै यस्ता विवरणहरू बोलेका थिए र यसबाहेक, कसैले यी कुराहरू खुलासा गर्न कहिल्यै यस्ता स्थितिहरू औँल्याएको थिएन। आज मैले अगुवाइ गर्ने मार्गलाई कसैले पनि कहिल्यै अगुवाइ गरेको थिएन र यदि यो मानिसले अगुवाइ गरेको भए, त्यहाँ नयाँ मार्ग हुनेथिएन। उदाहरणका लागि पावल र पत्रुसलाई नै लिऊँ। तिनीहरूसँग येशूले त्यस मार्गलाई अगुवाइ गर्नुअघि आफ्नै व्यक्तिगत अनुभवहरू थिएनन्। येशूले मार्गलाई अगुवाइ गर्नुभएपछि मात्रै तिनीहरूले येशूद्वारा बोलिएका वचनहरू र उहाँद्वारा अगुवाइ गरिएको मार्गका आधारमा कामकुराहरू अनुभव गरे; यसबाट तिनीहरूले धेरै अनुभव प्राप्त गरे र पत्रहरू लेखे। अनि त्यसैले, मानिसका अनुभवहरू परमेश्वरको कामजस्ता हुँदैनन् र परमेश्वरको काम मानिसका धारणाहरू वा मानिसले आफ्ना अनुभवहरूका आधारमा बाँडेको ज्ञानजस्तो हुँदैन। मैले बारम्बार के भनेको छु भने आज म नयाँ मार्गलाई अगुवाइ गरिरहेको छु र नयाँ काम गरिरहेको छु अनि मेरो काम र वाणीहरू यूहन्ना र अन्य सबै अगमवक्ताका भन्दा फरक छन्। म कहिले पनि पहिले अनुभवहरू प्राप्त गर्ने र त्यसपछि तिमीहरूलाई तीबारे बोल्ने गर्दिनँ—कुरा त्यो पटक्कै होइन। यदि त्यो हुन्थ्यो भने, के त्यसले तिमीहरूलाई धेरैअघि नै ढिलो गराउनेथिएन र? विगतमा, धेरैले बोल्ने ज्ञान पनि निकै उच्च थियो, तर तिनीहरूका सबै वचन तथाकथित आत्मिक व्यक्तिहरूका आधारमा मात्रै बोलिएका थिए। तिनीहरूले मार्ग देखाएनन् तर ती तिनीहरूका अनुभवहरूबाट आएका थिए, तिनीहरूले देखेका कुराहरूबाट र तिनीहरूको ज्ञानबाट आएका थिए। केही तिनीहरूका धारणाहरूबाट आएका थिए र केहीमा तिनीहरूले प्राप्त गरेका अनुभवहरू समावेश थिए। आज, मेरो कामको प्रकृति तिनीहरूको भन्दा पूर्ण रूपमा फरक छ। मैले अरूद्वारा अगुवाइ गरिएको अनुभव गरेको छैनँ, न त अरूद्वारा सिद्ध पारिने कुरा नै स्वीकार गरेको छु। यसबाहेक, मैले बोलेका र सङ्गति गरेका सबै कुरा अरू कसैको जस्तो छैन र अरू कसैले कहिल्यै बोलेको छैन। आज, तिमीहरू जोसुकै भए पनि, तिमीहरूको काम मैले बोल्ने वचनहरूका आधारमा सम्पन्न गरिन्छ। यी वाणीहरू र कामविना, को चाहिँ यी कुराहरू (सेवाकर्ताहरूको परीक्षा, सजायको समय...) अनुभव गर्न सक्षम हुन्थ्यो होला अनि को चाहिँ यस्तो ज्ञानबारे बोल्न सक्षम हुन्थ्यो होला र? के तँ साँच्चै यो देख्न असक्षम छस्? कामको चरण जेसुकै भए पनि, मेरा वचनहरू बोलिनेबित्तिकै, तिमीहरू मेरा वचनहरूअनुसार सङ्गति गर्न र तीअनुसार काम गर्न थाल्छौ अनि यो तिमीहरूमध्ये कसैले पनि सोचेको मार्ग होइन। यहाँसम्म आइसक्दा पनि, के तँ अझै यस्तो स्पष्ट र सरल प्रश्न देख्न सक्दैनस्? यो कसैले सोचेको मार्ग होइन, न त यो कुनै आत्मिक व्यक्तिमा आधारित छ। यो नयाँ मार्ग हो र येशूले बोलेका पुराना धेरै वचनसमेत खारेज भएका छन्। मैले बोल्ने कुरा नयाँ युग सुरुवात गर्ने काम हो र यो आफ्नै विशिष्ट काम हो; मैले गर्ने काम र मैले बोल्ने वचनहरू सबै नयाँ छन्। के यो आजको नयाँ काम होइन र? येशूको काम पनि यस्तै थियो। उहाँको काम मन्दिरमा भएका मानिसहरूको भन्दा पनि फरक थियो र त्यसरी नै यो फरिसीहरूको कामभन्दा पनि फरक थियो, न त यो इस्राएलका सबै मानिसले गरेको कुरासँग मिल्दोजुल्दो नै थियो। यो देखेपछि, मानिसहरूले निर्णय गर्न सकेनन्: “के यो साँच्चै परमेश्वरले गर्नुभएको थियो?” येशूले यहोवाको व्यवस्था पालन गर्नुभएन; जब उहाँ मानिसलाई सिकाउन आउनुभयो, तब उहाँले बोलेका सबै कुरा नयाँ र पुरानो करारका पुरातन सन्त र अगमवक्ताहरूले भनेका कुराहरूभन्दा फरक थिए अनि यसैकारण, मानिसहरू अनिश्चित रहे। यसैले मानिसलाई सम्हाल्न यति गाह्रो बनाउँछ। कामको यो नयाँ चरण स्वीकार गर्नुभन्दा पहिले, तिमीहरूमध्ये धेरैजसो हिँडेको मार्ग भनेको ती विगतका आत्मिक व्यक्तिहरूले बसालेको जगका आधारमा अभ्यास र प्रवेश गर्नु थियो। तर आज, मैले गर्ने काम एकदमै फरक छ र त्यसैले तिमीहरू यो सही हो कि होइन भनेर निर्णय गर्न असक्षम छौ। मलाई तँ पहिले कुन मार्गमा हिँडिस् भन्ने कुरामा वास्ता छैन, न त तैँले कसको “खानेकुरा” खाइस् वा कसलाई आफ्ना “पिता” का रूपमा लिइस् भन्नेमा नै चासो छ। मैले आएर मानिसलाई मार्गदर्शन गर्न नयाँ काम ल्याएको हुनाले, मलाई पछ्याउने सबैले मैले भनेजस्तो गर्नैपर्छ। तँ जतिसुकै शक्तिशाली “परिवार” बाट आएको भए पनि, तैँले मलाई पछ्याउनैपर्छ, तैँले आफ्ना पूर्व अभ्यासहरूअनुसार काम गर्नै हुँदैन, तेरा “धर्मपिता” ले पद छोड्नुपर्छ र तँ आफ्नो उचित हिस्सेदारी खोज्न आफ्ना परमेश्वरसामु आउनुपर्छ। तेरो सम्पूर्णता मेरो हातमा छ र तैँले आफ्ना धर्मपितालाई अत्यधिक अन्धविश्वास गर्नु हुँदैन; उसले तँलाई पूर्ण रूपमा नियन्त्रण गर्न सक्दैन। आजको काम यसको आफ्नै विशिष्ट काम हो। मैले आज भन्ने सबै कुरा स्पष्ट रूपमा विगतको जगमा आधारित छैन; यो नयाँ सुरुवात हो। यदि तँ यो मानिसको हातद्वारा सिर्जना गरिएको हो भनेर भन्छस् भने, तँ मुक्ति पाउनै नसक्ने अन्धो होस्!
यशैया, इजकिएल, मोशा, दाऊद, अब्राहाम र दानिएल इस्राएलका चुनिएका मानिसहरूमाझ अगुवा वा अगमवक्ताहरू थिए। तिनीहरूलाई किन परमेश्वर भनिएन? पवित्र आत्माले किन तिनीहरूको गवाही दिनुभएन? किन पवित्र आत्माले येशूले आफ्नो काम सुरु गर्ने र आफ्ना वचनहरू बोल्न थाल्नेबित्तिकै उहाँको गवाही दिनुभयो? अनि पवित्र आत्माले किन अरूको गवाही दिनुभएन? देहका मानिसहरू, तिनीहरू सबैलाई “प्रभु” भनिन्थ्यो। तिनीहरूलाई जेसुकै भनिए पनि, तिनीहरूको कामले तिनीहरूको सत्त्व र सारलाई प्रतिनिधित्व गर्छ अनि तिनीहरूको सत्त्व र सारले तिनीहरूको पहिचानलाई प्रतिनिधित्व गर्छ। तिनीहरूको सार तिनीहरूको नामसँग सम्बन्धित हुँदैन; यसलाई तिनीहरूले व्यक्त गरेको कुरा र तिनीहरूले जिएको कुराले प्रतिनिधित्व गर्छ। पुरानो करारमा, प्रभु कहलाइनु कुनै असामान्य कुरा थिएन र कुनै व्यक्तिलाई जुनसुकै तरिकाले बोलाउन सकिन्थ्यो तर तिनीहरूको सार र अन्तर्निहित पहिचान अपरिवर्तनीय थियो। के ती झुटा ख्रीष्टहरू, झुटा अगमवक्ताहरू र बहकाउनेहरूमाझ “परमेश्वर” कहलाइनेहरू पनि छैनन् र? अनि तिनीहरू किन परमेश्वर होइनन्? किनभने तिनीहरू परमेश्वरको काम गर्न असक्षम छन्। मूल रूपमा तिनीहरू मानव, मानिसहरूलाई बहकाउनेहरू हुन्, परमेश्वर होइनन् र त्यसैले तिनीहरूसँग परमेश्वरको पहिचान हुँदैन। के दाऊदलाई पनि बाह्र कुलमाझ प्रभु भनिँदैनथ्यो र? येशूलाई पनि प्रभु भनिन्थ्यो; किन येशूलाई मात्रै देहधारी परमेश्वर भनियो? के यर्मियालाई पनि “मानिसको पुत्र” भनिँदैनथ्यो र? अनि के येशूलाई मानिसको पुत्र भनिँदैनथ्यो र? येशू किन परमेश्वरको तर्फबाट क्रूसमा टाँगिन सक्षम हुनुभयो? के यो उहाँको सार फरक भएकाले गर्दा होइन र? के यो उहाँले गरेको काम फरक भएकाले गर्दा होइन र? के कुनै उपाधिले अर्थ राख्छ र? येशूलाई पनि मानिसको पुत्र भनिए पनि, उहाँ परमेश्वरको पहिलो देहधारण हुनुहुन्थ्यो, उहाँ शक्ति ग्रहण गर्न र छुटकाराको काम पूरा गर्न आउनुभएको थियो। यसले येशूको पहिचान र सार मानिसको पुत्र कहलाइने अरू मानिसहरूको भन्दा फरक थियो भनेर प्रमाणित गर्छ। आज, तिमीहरूमध्ये कसले पवित्र आत्माद्वारा प्रयोग गरिएकाहरूले बोलेका सबै वचन पवित्र आत्माबाटै आएका हुन् भनी भन्ने आँट गर्छौ? के कसैले यस्ता कुराहरू भन्ने आँट गर्छ? यदि तँ यस्ता कुराहरू भन्छस् भने, किन एज्राको अगमवाणीको पुस्तकलाई हटाइयो अनि ती पुरातन सन्त र अगमवक्ताहरूका पुस्तकहरूलाई किन त्यसै गरियो? यदि ती सबै पवित्र आत्माबाट आएका थिए भने, तिमीहरू किन यस्ता स्वेच्छाचारी छनौटहरू गर्ने आँट गर्छौ? के तँ पवित्र आत्माको काम छान्न योग्य छस्? इस्राएलका धेरै कथा पनि हटाइएका थिए। अनि यदि तँ विगतका यी लेखोटहरू सबै पवित्र आत्माबाट आएका हुन् भनी विश्वास गर्छस् भने, कतिपय पुस्तकलाई किन हटाइएको त? यदि ती सबै पवित्र आत्माबाट आएका थिए भने, ती सबैलाई राख्नुपर्थ्यो र मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूकहाँ पढ्न पठाउनुपर्थ्यो, मानव इच्छाद्वारा स्वेच्छाचारी रूपमा छनौट गरिनु वा हटाइनु हुँदैनथ्यो—यो मात्रै सही हुनेथ्यो। पावल र यूहन्नाका अनुभवहरू तिनीहरूका व्यक्तिगत अन्तर्दृष्टिहरूसँग मिसिएका थिए भनेर भन्नुको अर्थ तिनीहरूको अनुभवात्मक ज्ञान शैतानबाट आएको थियो भन्ने होइन तर तिनीहरूसँग आफ्ना व्यक्तिगत अनुभव र अन्तर्दृष्टिहरूबाट आएका कुराहरू थिए भन्ने मात्रै हो। तिनीहरूको ज्ञान त्यसबेलाका तिनीहरूका वास्तविक अनुभवहरूको पृष्ठभूमिमा आधारित थियो। कसले ती सब पवित्र आत्माबाट आएका हुन् भनेर विश्वासका साथ भन्न सक्थ्यो? यदि चारवटा सुसमाचारका पुस्तक सबै पवित्र आत्माबाट आएका थिए भने मत्ती, मर्कूस, लूका र यूहन्ना प्रत्येकले येशूको कामबारे किन फरक-फरक कुरा भने त? यदि तिमीहरू यो विश्वास गर्दैनौ भने पत्रुसले प्रभुलाई कसरी तीन पटक इन्कार गरे भन्ने बाइबलका विवरणहरू हेर: ती सबै फरक छन् र ती प्रत्येकका आफ्नै विशेषताहरू छन्। अज्ञानीहरू धेरैले भन्छन्, “देहधारी परमेश्वर पनि मानव नै हुनुहुन्छ, त्यसैले के उहाँले बोल्ने वचनहरू पूर्ण रूपमा पवित्र आत्माबाट आउन सक्छन् र? यदि पावल र यूहन्नाका वचनहरू मानव इच्छासँग मिसिएका थिए भने, के उहाँले बोल्ने वचनहरू साँच्चै मानव इच्छासँग मिसिएका छैनन् र?” यस्ता कुराहरू भन्ने मानिसहरू अन्धा र अज्ञानी हुन्! चारवटा सुसमाचारका पुस्तकहरूलाई ध्यान दिएर पढ: येशूले भनेको र गरेको कुरासम्बन्धी प्रत्येक विवरण साँच्चै व्यक्तिपिच्छे फरक-फरक छ, प्रत्येक लेखकका आफ्नै दृष्टिकोणहरू छन्। यदि यी पुस्तकहरूका लेखकहरूले लेखेका कुराहरू सबै पवित्र आत्माबाट आएका थिए भने, ती सबै उस्तै र एकरूपको हुनुपर्थ्यो। त्यसोभए किन त्यहाँ वसङ्गतिहरू छन् त? यो देख्न नसक्ने मानिस के पट मूर्ख होइन र? यदि तँलाई परमेश्वरको गवाही दिन भनियो भने, तँ कस्तो प्रकारको गवाही दिन सक्छस्? के तँ यस बुझाइका साथ परमेश्वरको गवाही दिन सक्छस्? यदि अरूले तँलाई, “यदि यूहन्ना र लूकाका अभिलेखहरू मानव इच्छासँग मिसिएका थिए भने, के तिमीहरूका परमेश्वरले बोलेका वचनहरू मानव इच्छासँग मिसिएका छैनन् र?” भनी सोधे भने, के तँ स्पष्ट जवाफ दिन सक्छस्? लूका र मत्तीले येशूका वचनहरू सुनिसकेपछि र येशूको काम देखिसकेपछि, तिनीहरूले येशूले गरेको कामका केही तथ्यलाई विस्तृत रूपमा सम्झने तरिकामा आफ्नै ज्ञानबारे बोले। के तँ तिनीहरूको ज्ञान पूर्ण रूपमा पवित्र आत्माद्वारा प्रकट गरिएको थियो भनेर भन्न सक्छस्? बाइबलबाहिर, तिनीहरूको भन्दा उच्च ज्ञान भएका धेरै आत्मिक व्यक्ति थिए, त्यसोभए तिनीहरूका वचनहरूलाई पछिल्ला पुस्ताहरूले किन अपनाएनन् त? के तिनीहरूलाई पनि पवित्र आत्माले प्रयोग गर्नुभएको थिएन र? आज मैले गर्ने काम मेरा आफ्नै अन्तर्दृष्टिहरूका साथ येशूको कामलाई अघि बढाउनु होइन, न त यो येशूको कामलाई पृष्ठभूमिका रूपमा लिएर मेरो आफ्नै ज्ञान बाँड्नु नै हो भनेर जानिराख्। त्यसबेला येशूले के काम गर्नुभयो? अनि आज म के काम गर्दै छु? मैले गर्ने र भन्ने कुराको कुनै पूर्वदृष्टान्त छैन। आज म हिँड्ने मार्गमा यसअघि कहिल्यै पाइला टेकिएको छैन, यसमा युगौँयुग र विगत पुस्ताका मानिसहरू कहिल्यै हिँडेका छैनन्। आज, यसलाई निर्माण गरिएको छ र के यो आत्माको काम होइन र? यो पवित्र आत्माको काम भए पनि, विगतका अगुवाहरू सबैले अरूको जगमा आफ्नो काम सम्पन्न गरे; तर, परमेश्वर स्वयम्को काम फरक छ। येशूको कामको चरण पनि त्यस्तै थियो: उहाँले नयाँ मार्ग खोल्नुभयो। जब उहाँ आउनुभयो, तब उहाँले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो अनि मानिसले पश्चात्ताप गर्नुपर्छ र पाप स्विकार्नुपर्छ भनी भन्नुभयो। येशूले आफ्नो काम पूरा गर्नुभएपछि, पत्रुस र पावल अनि अरूहरूले येशूको कामलाई निरन्तरता दिन थाले। येशू क्रूसमा टाँगिनुभएपछि र स्वर्गमा उक्लनुभएपछि, तिनीहरूलाई क्रूसको मार्ग प्रचार गर्न आत्माद्वारा पठाइयो। पावलका वचनहरू उच्च भए पनि, ती धैर्य, प्रेम, कष्ट, शिर-ढाक्ने, बप्तिस्मा वा पालन गर्नुपर्ने अन्य प्रावधानहरूजस्ता येशूले भनेका कुराहरूले बसालेको जगमा पनि आधारित थिए। यी सब येशूका वचनहरूको जगमा बोलिएका थिए। तिनीहरू नयाँ मार्ग खोल्न असक्षम थिए, किनभने तिनीहरू सबै परमेश्वरद्वारा प्रयोग गरिएका मानिस थिए।
त्यस बेलाको येशूका वाणीहरू र कार्यले धर्मसिद्धान्तलाई पछ्याएन, र उहाँले पुरानो करारको व्यवस्थाको कार्य अनुसार आफ्नो काम गर्नुभएन। यसलाई अनुग्रहको युगमा गरिनुपर्ने कार्य अनुसार अघि बढाइएको थियो। उहाँले अघि सार्नुभएको काम अनुसार, उहाँको आफ्नै योजना अनुसार, र उहाँको आफ्नै सेवकाइ अनुसार परिश्रम गर्नुभयो; उहाँले पुरानो करारको व्यवस्था अनुसार काम गर्नुभएन। उहाँले गर्नुभएको कुनै पनि कुरा पुरानो करारको व्यवस्था अनुसार थिएन, र उहाँ अगमवक्ताहरूका वचनहरूलाई पूरा गर्नको लागि काम गर्न आउनुभएन। प्राचीन अगमवक्ताहरूको भविष्यवाणीहरूलाई पूरा गर्नको लागि मात्रै भनेर परमेश्वरको कामको हरेक चरण प्रस्तुत गरिएन, र उहाँ धर्मसिद्धान्तको पालन गर्न वा प्राचीन अगमवक्ताहरूको भविष्यवाणीहरूलाई जानी-जानी पूरा गर्नको लागि आउनुभएन। तैपनि उहाँका कार्यहरूले प्राचीन अगमवक्ताहरूका भविष्यवाणीहरूलाई भङ्ग गरेन, न त उहाँले पहिले गर्नुभएको काममा नै तिनीहरूले बाधा दिए। उहाँको कामको प्रमुख बुँदा भनेको उहाँ कुनै पनि धर्मसिद्धान्तद्वारा बाँधिनुको सट्टा, उहाँ स्वयमले गर्नुपर्ने काम गर्नुभयो भन्ने थियो। उहाँ अगमवक्ता वा द्रष्टा हुनुहुन्न थियो, तर कर्ता हुनुहुन्थ्यो जो वास्तवमा आफूले गर्नु पर्ने काम गर्न आउनुभयो, र उहाँ आफ्नो नयाँ युग सुरु गर्न र आफ्नो नयाँ कार्यलाई अघि बढाउन आउनुभयो। अवश्य नै, जब येशू आफ्नो काम गर्न आउनुभयो, उहाँले पुरानो करारका प्राचीन अगमवक्ताहरूले बोलेका धेरै वचनहरूलाई पनि पूरा गर्नुभयो। त्यसरी नै आजको कार्यले पनि पुरानो करारका प्राचीन अगमवक्ताहरूका भविष्यवाणीहरूलाई पूरा गरेको छ। यति मात्रै हो कि, “पुरानो तिथि-पत्र” लाई म पालन गर्दिन। किनभने मैले गर्नै पर्ने काम धेरै छन्, मैले तिमीहरूसँग बोल्नै पर्ने वचनहरू धेरै छन्, र यो काम र यी वचनहरू बाइबलका अनुच्छेदहरूबाट व्याख्या गर्नुभन्दा धेरै नै महत्त्वपूर्ण छन्, किनभने तिमीहरूका निम्ति त्यस्ता कामको ठूलो महत्त्व वा मूल्य हुँदैन, र तिनले तिमीहरूलाई सहायता गर्न, वा तिमीहरूलाई परिवर्तन गर्न सक्दैनन्। म बाइबलको कुनै पनि अनुच्छेदलाई पूरा गर्नको खातिर नयाँ काम गर्ने अभिप्राय राख्दिनँ। यदि परमेश्वर बाइबलका प्राचीन अगमवक्ताहरूका वचनहरूलाई पूरा गर्न मात्रै आउनुभयो भने, को ठूलो हो, देहधारी परमेश्वर कि ती प्राचीन अगमवक्ताहरू? आखिर, अगमवक्ताहरू परमेश्वरको रेखदेख गर्ने हुन् कि परमेश्वर अगमवक्ताहरूका रेखदेख गर्ने हुनुहुन्छ? तँ कसरी यी वचनहरूलाई व्याख्या गर्छस्?
सुरुमा, जब येशूले आफ्नो सेवकाइलाई आधिकारिक रूपमा सुरु गर्न बाँकी नै थियो, उहाँलाई पछ्याउने चेलाहरूजस्तै उहाँ पनि कहिलेकहीँ मन्दिरका भेलाहरूमा जानुहुन्थ्यो, र भजनहरू गाउनुहुन्थ्यो, प्रशंसा चढाउनुहुन्थ्यो, र पुरानो करार पढ्नुहुन्थ्यो। उहाँ बप्तिस्मा लिएर बाहिर निस्कनुभएपछि, आत्मा आधिकारिक रूपमै उहाँमाथि आउनुभयो र उहाँको पहिचान र उहाँले लिनुपर्ने सेवकाइलाई प्रकट गर्दै काम गर्न थाल्नुभयो। यसभन्दा पहिले, कसैले पनि उहाँको पहिचान जानेको थिएन, र मरियम बाहेक, यूहन्नालाई समेत थाहा थिएन। बप्तिस्मा लिनुहुँदा येशू २९ वर्षको हुनुहुन्थ्यो। उहाँको बप्तिस्मा पूरा भइसकेपछि, आकाश खोलिए, अनि एउटा आवाजले भन्यो: “यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु।” येशूले बप्तिस्मा लिनुभएपछि, पवित्र आत्माले यसरी उहाँको गवाही दिन थाल्नुभयो। २९ वर्षको उमेरमा बप्तिस्मा लिनुभन्दा पहिले, खाने बेलामा खाने, सामान्य रूपमै सुत्ने र वस्त्र लगाउने जस्ता कार्य गर्दै उहाँले सामान्य व्यक्तिको जीवन जिउनुभयो, अनि उहाँको बारेमा केही पनि अरूभन्दा फरक थिएन, यद्यपि यो मानिसको देहको नजरको लागि मात्रै थियो। बाइबलमा यसरी लेखिए झैँ, कहिलेकहीँ उहाँ पनि कमजोर बन्नुहुन्थ्यो, र कहिलेकहीँ उहाँले पनि काम-कुराहरूलाई पहिचान गर्न सक्नुहुन्नथियो: उहाँको बौद्धिकता उहाँको उमेरसँगै वृद्धि भयो। यी वचनहरूले उहाँसँग सामान्य र साधारण मानवता थियो, र उहाँ अरू साधारण मानिसहरूभन्दा विशेष रूपमा फरक हुनुहुन्नथियो भन्ने मात्रै देखाउँछ। उहाँ पनि सामान्य व्यक्ति जस्तै हुर्कनुभयो, र उहाँको बारेमा विशेष केही पनि थिएन। तैपनि, उहाँ परमेश्वरको हेरचाह र सुरक्षामा हुनुहुन्थ्यो। बप्तिस्मा लिएपछि, उहाँ परीक्षामा पर्न थाल्नुभयो, जसपछि उहाँले आफ्नो सेवकाइ गर्न र काम गर्न सुरु गर्नुभयो, अनि उहाँमा शक्ति, बुद्धि र अख्तियार थियो। यसो भन्नुको अर्थ उहाँको बप्तिस्माभन्दा पहिले पवित्र आत्माले उहाँमा काम गर्नुभएन, वा उहाँभित्र पवित्र आत्मा हुनुहुन्नथियो भन्ने होइन। उहाँको बप्तिस्माभन्दा पहिले पवित्र आत्मा पनि उहाँभित्र बास गर्नुहुन्थ्यो तर उहाँले आधिकारिक रूपमा काम गर्न सुरु गर्नुभएको थिएन, किनभने परमेश्वरले कहिले आफ्नो काम गर्नुहुन्छ त्यसका सीमितताहरू हुन्छन्, यसको साथै, सामान्य मानिसहरूमा वृद्धि हुने सामान्य प्रक्रिया हुन्छ। पवित्र आत्माले सधैँ नै उहाँभित्र बास गर्नुभएको थियो: जब येशूको जन्म भयो, उहाँ अरूभन्दा फरक हुनुहुन्थ्यो, र बिहानीको तारा देखा पर्यो; उहाँको जन्मभन्दा पहिले, सपनामा योसेफकहाँ एक जना स्वर्गदूत देखा परे र मरियमले एक बालक जन्माउनेछिन्, र उक्त बालक पवित्र आत्माद्वारा गर्भधारण भएको हो भनी तिनलाई भने। येशूको बप्तिस्मा भएपछि, पवित्र आत्माले आफ्नो काम सुरु गर्नुभयो, तर यसको अर्थ पवित्र आत्मा भर्खरै येशूमा ओर्लनुभएको थियो भन्ने हुँदैन। पवित्र आत्मा ढुकुरजस्तै उहाँमा ओर्लनुभयो भन्नुले उहाँको सेवकाइको आधिकारिक सुरुवातलाई जनाउँछ। परमेश्वरका आत्मा पहिले नै उहाँभित्र हुनुहुन्थ्यो, तर उहाँले त्यस बेलासम्म काम गर्न सुरु गर्नुभएको थिएन, किनभने समय आइसकेको थिएन, र आत्माले हतारमा काम सुरु गर्नुभएन। आत्माले बप्तिस्माद्वारा उहाँको गवाही दिनुभयो। जब उहाँ पानीबाट माथि उठ्नुभयो, तब आत्माले आधिकारिक रूपमा नै उहाँमा काम गर्न सुरु गर्नुभयो, जसले परमेश्वरको देहधारी शरीरले आफ्नो सेवकाइलाई पूरा गर्न थाल्नुभएको थियो र छुटकाराको काम सुरु गर्नुभएको थियो, अर्थात् अनुग्रहको युग आधिकारिक रूपमा सुरु भएको थियो भन्ने अर्थ दिन्छ। त्यसकारण, उहाँले जुनसुकै काम गर्नुभए तापनि परमेश्वरको कार्यको समय हुन्छ। उहाँको बप्तिस्मापछि, येशूमा कुनै निश्चित परिवर्तनहरू आएको थिएन; उहाँ अझै पनि उहाँको मूल देहमा नै हुनुहुन्थ्यो। के मात्रै थियो भने उहाँले आफ्नो काम सुरु गर्नुभयो र आफ्नो पहिचान प्रकट गर्नुभयो, र उहाँ अख्तियार र शक्तिले भरिपूर्ण हुनुभयो। यस हिसाबमा उहाँ पहिलेभन्दा फरक हुनुहुन्थ्यो। उहाँको पहिचान फरक थियो, भन्नुको अर्थ, उहाँको हैसियतमा निकै ठूलो परिवर्तन आएको थियो; यो पवित्र आत्माको गवाही थियो, मानिसले गरेको काम होइन। सुरुमा, मानिसहरूलाई थाहा थिएन, र त्यसरी पवित्र आत्माले येशूको गवाही दिनुभएपछि मात्रै तिनीहरूले थोरै जान्न पुगे। यदि पवित्र आत्माले उहाँको गवाही दिनुभन्दा पहिले येशूले ठूलो काम गर्नुभएको थियो, तर यो परमेश्वर स्वयमको गवाही विनाको थियो भने, उहाँको काम जति नै ठूलो भए तापनि, मानिसहरूले कहिल्यै पनि उहाँको पहिचानलाई जान्ने थिएनन्, किनभने मानव आँखाले यसलाई देख्न सक्दैन। पवित्र आत्माको गवाहीको चरणविना, उहाँलाई कसैले पनि देहधारी परमेश्वरको रूपमा पहिचान गर्नेथिएन। यदि पवित्र आत्माले उहाँको गवाही दिएपछि, येशूले कुनै पनि भिन्नताविना उही तरिकाले निरन्तर काम गर्नुभएको भए, यसको त्यति प्रभाव हुनेथिएन, र यही कारणले नै पवित्र आत्माको कार्यलाई पनि प्रदर्शन गरिन्छ। पवित्र आत्माले गवाही दिनुभएपछि, पवित्र आत्माले आफैलाई देखाउनु परेको थियो ताकि तैँले उहाँ परमेश्वर हुनुहुन्छ, उहाँभित्र परमेश्वरका आत्मा हुनुहुन्थ्यो भन्ने कुरालाई स्पष्ट देख्न सक्; परमेश्वरको गवाही गलत थिएन, र उहाँको गवाही सहि थियो भन्ने कुरालाई यसले प्रमाणित गर्न सक्यो। यदि पवित्र आत्माको गवाहीभन्दा पहिलेको काम र पछिको काम उही रहेको थियो भने, उहाँको देहधारी सेवकाइ र पवित्र आत्माको कार्य स्पष्ट हुनेथिएन, तसर्थ मानिसले पवित्र आत्माको कार्यलाई पहिचान गर्नेथिएन, किनभने तिनमा कुनै स्पष्ट भिन्नता हुनेथिएन। गवाही दिइसक्नुभएपछि, पवित्र आत्माले यो गवाहीलाई कायम राख्नु पर्नेथियो, त्यसकारण उहाँले येशूमा उहाँको बुद्धि र अख्तियार प्रकट गर्नु पर्नेथियो, जुन विगतको भन्दा फरक थियो। अवश्य नै, यो बप्तिस्माको प्रभाव थिएन—बप्तिस्मा एउटा विधि मात्रै हो—बप्तिस्मा भनेको अब उहाँको सेवकाइ गर्ने समय आएको छ भन्ने देखाउने एउटा तरिका मात्रै थियो। त्यस्तो कार्य परमेश्वरको महान् शक्तिलाई स्पष्ट पार्न, पवित्र आत्माको गवाहीलाई स्पष्ट पार्नको लागि मात्रै थियो, र पवित्र आत्माले यो गवाहीको लागि अन्त्यसम्मै जिम्मेवारी लिनुहुनेथियो। आफ्नो सेवकाइ गर्नुभन्दा पहिले, येशूले पनि प्रवचनहरू सुन्नुभयो, विभिन्न स्थानमा सुसमाचार प्रचार गर्ने र फैलाउने काम गर्नुभयो। उहाँले कुनै ठूलो काम गर्नुभएन किनभने उहाँको सेवकाइ गर्ने बेला आइसकेको थिएन, किनभने परमेश्वर स्वयम् नै नम्र भई देहमा लुक्नुभएको थियो, र उहाँले समय तयार नभइञ्जेलसम्म कुनै काम गर्नुभएन। उहाँले दुई कारणले गर्दा बप्तिस्माभन्दा पहिले काम गर्नुभएन: पहिलो, काम गर्नको लागि पवित्र आत्मा आधिकारिक रूपमा उहाँमा ओर्लनुभएको थिएन (भन्नुको अर्थ, त्यस्तो काम गर्नको लागि पवित्र आत्माले येशूलाई शक्ति र अख्तियार दिनुभएको थिएन), र उहाँले आफ्नै पहिचान जान्नुभएको भए तापनि, उहाँले पछि गर्ने अभिप्राय राख्नुभएको काम गर्न येशूले सक्नुहुन्नथियो, र उहाँले आफ्नो बप्तिस्माको दिनसम्म प्रतीक्षा गर्नुपर्नेथियो। यो परमेश्वरको समय थियो, र यसलाई कसैले पनि उल्लङ्घन गर्न सक्दैनथियो, चाहे यो येशू स्वयम् नै किन नहोस्; येशू स्वयम्ले आफ्नो काममा अवरोध पुऱ्याउन सक्नुहुन्नथियो। अवश्य नै, यो परमेश्वरको नम्रता थियो, र परमेश्वरको कार्यको नियम पनि थियो; यदि परमेश्वरका आत्माले काम नगर्नुभएको भए, कसैले पनि उहाँको काम गर्न सक्दैनथियो। दोस्रो, उहाँलाई बप्तिस्मा दिइनुभन्दा पहिले, उहाँ अत्यन्तै सामान्य र साधारण मानिस हुनुहुन्थ्यो, र अरू सामान्य र सर्वसाधारण मानिसहरूभन्दा फरक हुनुहुन्नथियो; देहधारी परमेश्वर किन अलौकिक हुनुहुन्नथियो त्यसको एउटा पक्ष यही नै हो। देहधारी परमेश्वरले परमेश्वरका आत्माका बन्दोबस्तहरूलाई अवहेलना गर्नुभएन; उहाँले सुव्यवस्थित तरिकाले काम गर्नुभयो र उहाँले अत्यन्तै सामान्य रूपमा काम गर्नुभयो। बप्तिस्मापछि मात्रै उहाँको काममा अख्तियार र शक्ति भयो। भन्नुको अर्थ, उहाँ देहधारी परमेश्वर हुनुभए तापनि, उहाँले कुनै पनि अलौकिक कार्यहरू गर्नुभएन, र उहाँ अरू सामान्य मानिसहरू जस्तै उही तरिकामा हुर्कनुभयो। यदि येशूले पहिले नै उहाँको आफ्नो पहिचानलाई जान्नुभएको थियो, उहाँको बप्तिस्माभन्दा पहिले नै देशभरि सबै ठाउँमा ठूलो काम गर्नुभएको थियो, र आफैलाई असाधारण रूपमा प्रदर्शन गर्दै, उहाँ सामान्य मानिसहरूभन्दा फरक हुनुभएको थियो भने, यूहन्नाले आफ्नो काम गर्नु असम्भव मात्रै हुनेथिएन, तर परमेश्वरले आफ्नो कामको अर्को चरण सुरु गर्ने पनि कुनै उपाय हुनेथिएन। त्यसकारण परमेश्वरले जे गर्नुभएको थियो त्यो गलत थियो भन्ने यसले प्रमाणित गर्नेथियो, र मानिसको लागि, परमेश्वरका आत्मा र परमेश्वरको देहधारी शरीर एउटै स्रोतबाट आउनुभएको होइन भन्ने जस्तो देखिनेथियो। त्यसकारण बाइबलमा विवरण दिइएको येशूको कार्य उहाँको बप्तिस्मापछि गरिएको कार्य थियो, जुन तीन वर्षको अवधिमा गरिएको कार्य थियो। उहाँको बप्तिस्मा हुनुभन्दा पहिले उहाँले के गर्नुभयो त्यसको बारेमा बाइबलले विवरण दिँदैन किनभने उहाँले बप्तिस्मा लिनुभन्दा पहिले यो काम गर्नुभएन। उहाँ एक साधारण मानिस मात्रै हुनुहुन्थ्यो र सामान्य मानिसको प्रतिनिधित्व गर्नुभयो; येशूले आफ्नो सेवकाइ गर्न सुरु गर्नुभन्दा पहिले, उहाँ सामान्य मानिसहरूभन्दा फरक हुनुहुन्नथियो, र अरूले उहाँमा कुनै भिन्नता देख्न सक्दैनथिए। उहाँ २९ वर्ष पुग्नुभएपछि मात्रै उहाँ परमेश्वरको कार्यको एउटा चरण पूरा गर्न आउनुभएको हो भन्ने येशूलाई थाहा भयो; त्योभन्दा पहिले, उहाँ स्वयमलाई यो थाहा थिएन, किनभने परमेश्वरले गर्नुभएको कार्य अलौकिक थिएन। जब बाह्र वर्षको उमेरमा उहाँ सभाघरको भेलामा सहभागी हुनुभयो, मरियमले उहाँको खोजी गरिरहेकी थिइन्, र उहाँले अरू कुनै पनि बच्चाकै शैलीमा जस्तै गरि एउटा वाक्य भन्नुभयो: “आमा! मैले मेरो पिताको इच्छालाई नै सबैभन्दा माथि राख्नुपर्छ भन्ने तपाईंलाई थाहा छैन?” अवश्य नै, उहाँ पवित्र आत्माद्वारा गर्भधारण भई जन्मनुभएको हुनाले, के येशू कुनै न कुनै तरिकाले विशेष हुन सक्नुहुन्नथियो र? तर उहाँको विशेषपनले उहाँ अलौकिक हुनुहुन्थ्यो भन्ने अर्थ दिँदैन, तर अरू कुनै पनि साना बालकले भन्दा बढी उहाँले परमेश्वरलाई प्रेम गर्नुहुन्थ्यो। स्वरूपमा उहाँ मानव हुनुहुन्थ्यो, तैपनि उहाँको सार अझै विशेष, र अरूको भन्दा फरक थियो। तैपनि बप्तिस्मापछि मात्रै, पवित्र आत्माले उहाँमा काम गरिरहनुभएको छ भन्ने कुरालाई उहाँले वास्तवमै अनुभूति गर्न सक्नुभयो, उहाँ परमेश्वर स्वयम् नै हुनुहुन्छ भन्ने अनुभूति गर्नुभयो। उहाँ ३३ वर्षको उमेरमा पुग्नुभएपछि मात्रै पवित्र आत्माले उहाँद्वारा क्रूसीकरणको काम गर्ने अभिप्राय राख्नुभएको छ भन्ने उहाँले साँचो रूपमा पहिचान गर्नुभयो। ३२ वर्षको उमेरमा, उहाँले मत्तीको सुसमाचारमा लेखिएजस्तै, केही भित्री सत्यताहरूलाई जान्नुभएको थियो: “अनि सिमोन पत्रुसले जवाफ दिएर भने, तपाईं जीवित परमेश्वरको पुत्र, ख्रीष्ट हुनुहुन्छ” (मत्ती १६:१६), र “त्यस समयदेखि येशूले आफ्ना चेलाहरूलाई उहाँ कसरी यरूशलेम जानुपर्छ र धर्मगुरु, मुख्य पुजारी र व्यवस्थाका पण्डितहरूबाट धेरै किसिमका कष्ट भोग्नुपर्छ र मारिनुपर्छ अनि तेस्रो दिनमा फेरि उठाइनुपर्छ भन्ने कुरा देखाउन थाल्नुभयो” (मत्ती १६:२१)। उहाँले के काम गर्नुपर्छ भन्ने कुरा उहाँलाई पहिले थाहा भएन, तर निश्चित समयमा मात्रै थाहा भयो। उहाँ जन्मने बित्तिकै उहाँलाई पूर्ण रूपमा थाहा भएन; पवित्र आत्माले उहाँमा क्रमिक रूपमा काम गर्नुभयो, र त्यहाँ कामको प्रक्रिया थियो। यदि, सुरुमा नै, उहाँ परमेश्वर, र ख्रीष्ट, अनि मानिसको देहधारी पुत्र हुनुहुन्छ, उहाँले क्रूसीकरणको काम पूरा गर्नुपर्छ भन्ने उहाँलाई थाहा हुन्थ्यो भने, उहाँले किन पहिले काम गर्नुभएन? आफ्ना चेलाहरूलाई आफ्नो सेवकाइको बारेमा बताइसक्नुभएपछि मात्रै किन येशूले शोकको अनुभूति गर्नुभयो, र यसको लागि उत्कटताको साथ प्रार्थना गर्नुभयो? पहिले उहाँले नबुझ्नुभएका धेरै कुराहरूलाई उहाँले बुझ्नुभन्दा पहिले किन यूहन्नाले उहाँको लागि बाटो खोलिदियो र उहाँलाई बप्तिस्मा दियो? यसले के प्रमाणित गर्छ भने, यो देहधारी परमेश्वरले देहमा गर्नुहुने काम थियो, त्यसकारण उहाँले बुझ्ने र हासिल गर्ने एउटा प्रक्रिया थियो, किनभने उहाँ परमेश्वरको देहधारी शरीर हुनुहुन्थ्यो, जसको काम आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको कामभन्दा फरक थियो।
परमेश्वरको कामको हरेक चरणले एउटै र उही प्रवाहलाई पछ्याउँछ, त्यसकारण परमेश्वरको छ हजार वर्षे व्यवस्थापनको योजनामा, संसारको जग बसालिएको देखि आजको दिनसम्मै हरेक चरणलाई अर्को चरणले नजिकबाट पछ्याएको थियो। यदि मार्ग तयार गर्ने कोही नभएको भए, त्यसपछि आउने कोही पनि हुनेथिएन; त्यसपछि आउनेहरू पनि भएका हुनाले, मार्ग तयार गर्नेहरू पनि हुन्छन्। यसरी यो कामलाई चरणबद्ध रूपमा हस्तान्तरण गरिएको छ। एउटा चरणले अर्कोलाई पछ्याउँछ, र मार्ग खुला गर्ने कुनै व्यक्ति विना, काम सुरु गर्नु असम्भव हुनेथियो, र आफ्नो कार्यलाई अघि बढाउने कुनै माध्यम परमेश्वरसँग हुनेथिएन। कुनै पनि चरणले अरू चरणमा अवरोध पुऱ्याउँदैन, र एउटाले अर्कोलाई प्रवाह निर्माण गर्ने गरी क्रमबद्ध रूपले पछ्याउँछ; यो सबै उही आत्माले गर्नुहुन्छ। तर कसैले मार्ग खोले पनि वा अर्कोको काम गरे पनि, यसले तिनीहरूको पहिचानलाई निर्धारित गर्दैन। के यो सहि होइन र? यूहन्नाले मार्ग खोले, र येशूले आफ्नो कामलाई अघि बढाउनुभयो, त्यसकारण के यसले येशूको पहिचान यूहन्नाको भन्दा सानो थियो भन्ने प्रमाणित गर्छ? यहोवाले येशूले भन्दा पहिले आफ्नो काम गर्नुभयो, त्यसकारण के यहोवा येशूभन्दा महान् हुनुहुन्छ भनेर तैँले भन्न सक्छस्? तिनीहरूले मार्ग तयार गरे पनि वा अरूको काम गरे पनि त्यो महत्त्वपूर्ण कुरा होइन; तिनीहरूको कामको सार र त्यसले प्रतिनिधित्व गर्ने पहिचान नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। के यो सहि होइन र? परमेश्वरले मानिसको बीचमा काम गर्ने अभिप्राय राख्नुभएको हुनाले, उहाँले मार्ग तयार गर्ने काम गर्न सक्नेहरूलाई खडा गर्नुपर्यो। जब यूहन्नाले भर्खरै प्रचार गर्न सुरु गरेका थिए, उनले भने, “परमप्रभुको बाटो तयार पार, उहाँका मार्गहरू सोझा बनाओ।” “पश्चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ।” तिनले सुरुदेखि नै त्यसरी बोलेका थिए, र किन तिनले यी वचनहरू भन्न सके? वचनहरू बोलिने क्रमको हिसाबले, स्वर्गको राज्यको सुसमाचार सुरुमा बोल्ने यूहन्ना नै थियो, अनि त्यसपछि उसो येशूले बोल्नुभयो। मानिसका धारणाहरू अनुसार, नयाँ मार्ग खोल्ने यूहन्ना नै थिए, त्यसकारण अवश्य नै यूहन्ना नै येशूभन्दा महान् थिए। तर तिनी ख्रीष्ट हुन् भनेर यूहन्नाले भनेनन्, र परमेश्वरले तिनी परमेश्वरका प्रिय पुत्र हुन् भनी साक्षी दिनुभएन, तर प्रभुको मार्ग खोल्न र तयार गर्नको लागि मात्रै प्रयोग गर्नुभयो। उनले येशूको लागि मार्ग तयार गरे, तर उनले येशूको तर्फबाट काम गर्न सकेनन्। मानिसको सबै कामलाई पनि पवित्र आत्माले नै कायम राख्नुहुन्छ।
पुरानो करारको युगमा, मार्गलाई अगुवाइ गर्ने यहोवा नै हुनुहुन्थ्यो, र यहोवाको कार्यले पुरानो करारको सम्पूर्ण युग, र इस्राएलमा गरिएका सबै कार्यलाई प्रतिनिधित्व गर्यो। मोशाले यो कार्यलाई पृथ्वीमा थामी राख्यो मात्रै, र तिनका परिश्रमहरूलाई मानिसले प्रदान गरेको सहकार्यको रूपमा लिइन्छ। त्यो बेला, मोशालाई बोलावट गर्नुहुँदै, बोल्नुहुने यहोवा नै हुनुहुन्थ्यो, र उहाँले मोशालाई इस्राएलका मानिसहरूका बीचमा खडा गर्नुभयो, र तिनलाई उजाड स्थानदेखि कनानसम्म तिनीहरूलाई डोर्याउने बनाउनुभयो। यो कार्य मोशा स्वयमको थिएन, तर यहोवाले व्यक्तिगत रूपमा निर्देशित गर्नुभएको कार्य थियो, त्यसकारण मोशालाई परमेश्वर कहलाइन सकिँदैन। मोशाले व्यवस्थालाई पनि कायम गरे, तर यो व्यवस्था व्यक्तिगत रूपमा यहोवाले नै जारी गर्नुभएको थियो। उहाँले मोशालाई यो व्यक्त गर्न लगाउनुभएको मात्रै थियो। येशूले पनि आज्ञाहरू गर्नुभयो, र उहाँले पुरानो करारको व्यवस्थालाई रद्द गर्नुभयो र नयाँ युगका निम्ति आज्ञाहरूलाई स्थापित गर्नुभयो। किन येशू परमेश्वर स्वयम् हुनुहुन्छ? किनभने एउटा भिन्नता छ। त्यो बेला, मोशाले गरेको कामले युगलाई प्रतिनिधित्व गरेन, न त यसले नयाँ मार्ग नै खुल्ला गर्यो; तिनलाई यहोवाले नै अगाडि निर्देशित गर्नुभएको थियो र तिनी परमेश्वरले प्रयोग गर्नुभएको व्यक्ति मात्रै थिए। जब येशू आउनुभयो, यूहन्नाले मार्ग तयार गर्ने कार्यको चरणलाई अघि बढाएका थिए र स्वर्गको राज्यको सुसमाचारलाई फैलाउन थालेका थिए (पवित्र आत्माले नै यसको सुरुवात गर्नुभएको थियो)। जब येशू आउनुभयो, उहाँले प्रत्यक्ष रूपमै उहाँको आफ्नो काम गर्नुभयो, तर उहाँको काम र मोशाको कामको बीचमा ठूलो भिन्नता थियो। यशैयाले पनि धेरै अगमवाणीहरू बोलेका थिए, तैपनि किन तिनी परमेश्वर स्वयम् थिएनन्? येशूले धेरै अगमवाणीहरू बोल्नुभएन, तैपनि किन उहाँ परमेश्वर स्वयम् नै हुनुहुन्थ्यो? त्यो बेला येशूको काम पवित्र आत्माबाट आएको हो भनेर कसैले पनि भन्ने आँट गरेन, न त तिनीहरूले यो मानिसको इच्छाबाट आएको हो वा यो पूर्ण रूपमा परमेश्वर स्वयम्को काम हो भनेर भन्ने नै आँट गरे। त्यस्ता कुराहरूलाई विश्लेषण गर्ने कुनै उपाय मानिससँग थिएन। यशैयाले त्यस्तो काम गरे, र त्यस्ता अगमवाणीहरू बोले, र ती सबै पवित्र आत्माबाट नै आएका थिए भनेर भन्न सकिन्छ; ती यशैया स्वयम्बाट नै सीधै आएको थिएन, तर यहोवाबाट आएका प्रकाशहरू थिए। येशूले ठूलो मात्रामा काम गर्नुभएन, र धेरै वचनहरू बोल्नुभएन, न त उहाँले धेरै अगमवाणीहरू नै बोल्नुभयो। मानिसको लागि, उहाँको प्रचार खास रूपमा उच्च देखिएन, तैपनि उहाँ परमेश्वर स्वयम् नै हुनुहुन्थ्यो र यसलाई मानिसले वर्णन गर्न सक्दैन। कसैले पनि कहिल्यै यूहन्ना, वा यशैया, वा दाऊदमा विश्वास गरेका छैनन्, न त कसैले तिनीहरूलाई परमेश्वर, वा दाऊद परमेश्वर, वा यूहन्ना परमेश्वर भनेर नै भनेका छन्; कसैले पनि त्यसरी बोलेको छैन, र येशूलाई मात्रै ख्रीष्ट भनेर भनिएको छ। यो वर्गीकरण परमेश्वरको गवाही, उहाँले गर्नुभएको काम, र उहाँले गर्नु भएको सेवकाइ अनुसार गरिएको हो। बाइबलका महान् पुरुषहरूका बारेमा कुरा गर्दा—अब्राहाम, दाऊद, यहोशू, दानिएल, यशैया, यूहन्ना, र येशू—उनीहरूले गरेका कामद्वारा नै, तैँले को परमेश्वर स्वयम् हो, र कस्ता प्रकारका मानिसहरू अगमवक्ताहरू हुन्, र प्रेरितहरू को हुन् भनेर भन्न सक्छस्। कसलाई परमेश्वरले प्रयोग गर्नुभएको थियो, र को परमेश्वर स्वयम् हुनुहुन्थ्यो त्यस कुरालाई उनीहरूले गरेका कामको सार र प्रकारद्वारा नै भिन्नता छुटाइन्छ र निर्धारित गरिन्छ। यदि तैँले भिन्नताहरू छुट्याउन सक्दैनस् भने, परमेश्वरमा विश्वास गर्नु भनेको के हो सो तँलाई थाहा छैन भन्ने यसले प्रमाणित गर्छ। येशू नै परमेश्वर हुनुहुन्छ किनभने उहाँले धेरै वचनहरू बोल्नुभयो, र धेरै काम गर्नुभयो, निश्चित रूपमा उहाँले धेरै आश्चर्यकर्महरू प्रदर्शन गर्नुभयो। त्यसरी नै, यूहन्नाले पनि मोशाले जस्तै धेरै काम गरे, र धेरै वचनहरू बोले; किन तिनीहरूलाई परमेश्वर भनेर कहलाइएन? आदमलाई प्रत्यक्ष रूपमा परमेश्वरले नै सृष्टि गर्नुभएको थियो; किन तिनलाई परमेश्वर भन्नुको सट्टा, सृष्टि गरिएको प्राणी भनेर भनियो? यदि कसैले तँलाई, “आज, परमेश्वरले धेरै काम गर्नुभएको छ, र उहाँले धेरै वचन बोल्नुभएको छ; उहाँ परमेश्वर स्वयम् नै हुनुहुन्छ। मोशाले धेरै वचन बोलेका हुनाले, तिनी पनि पक्कै परमेश्वर स्वयम् नै थिए!” भनेर भन्छ भने, तैँले यसको जवाफमा तिनीहरूलाई यो सोध्नुपर्छ, “त्यो बेला, किन परमेश्वरले येशूलाई परमेश्वर स्वयम् भनी गवाही दिनुभयो तर यूहन्नालाई दिनुभएन? के यूहन्ना येशूभन्दा पहिले आएका थिएनन् र? कुनचाहिँ महान् थियो, यूहन्नाको काम कि येशूको काम? मानिसको लागि, यूहन्नाको काम येशूको भन्दा महान् देखिन्छ, तर किन पवित्र आत्माले येशूको गवाही दिनुभयो तर यूहन्नाको गवाही दिनुभएन?” आज पनि यही कुरा भइरहेको छ! त्यो समयमा, जब मोशाले इस्राएलका मानिसहरूलाई डोर्याए, यहोवा तिनीसँग बादलहरूका बीचबाट बोल्नुहुन्थ्यो। मोशाले प्रत्यक्ष रूपमा बोलेनन्, तर तिनलाई यहोवाले नै प्रत्यक्ष रूपमा अगुवाइ गर्नुभएको थियो। यो पुरानो करारमा भएको इस्राएलको काम थियो। मोशाभित्र आत्मा हुनुहुन्नथियो, न त परमेश्वरको अस्तित्व नै। तिनले त्यो काम गर्न सकेनन्, त्यसकारण तिनले गरेको काम र येशूले गर्नुभएको कामको बीचमा ठूलो भिन्नता छ। र त्यसको कारण के हो भने उनीहरूले गरेको काम फरक थियो! कुनै व्यक्ति परमेश्वरले प्रयोग गर्नुभएको व्यक्ति हो कि अगमवक्ता, प्रेरित हो कि परमेश्वर स्वयम् नै हो सो कुरालाई उसले गरेको कामको प्रकृतिद्वारा पत्ता लगाउन सकिन्छ, अनि यसले तेरा शङ्काहरूलाई अन्त्य गर्नेछ। बाइबलमा थुमाले मात्रै सात वटा मोहोर तोड्न सक्नुहुन्छ भनेर लेखिएको छ। युगहरूभरि, ती महान् व्यक्तित्वहरू मध्येमा धर्मशास्त्रका व्याख्या गर्ने धेरै छन्, तब के तैँले तिनीहरू सबै थुमा हुन् भनेर भन्न सक्छस्? के तँ तिनीहरूको स्पष्टीकरण सबै परमेश्वरबाट नै आउँछन् भनेर भन्न सक्छस्? तिनीहरू व्याख्याकार मात्रै हुन्; तिनीहरूसँग थुमाको पहिचान छैन। तिनीहरू कसरी सात मोहरहरू तोड्न योग्य हुन सक्थे र? “थुमाले मात्र सात मोहरहरू तोड्न सक्नुहुन्छ” भन्ने कुरा साँचो हो, तर उहाँ सात मोहरहरू तोड्न मात्रै आउनुहुन्न; यो कामको कुनै आवश्यकता छैन, यसलाई संयोगवश गरिन्छ। उहाँको आफ्नै कामको बारेमा उहाँ पूर्ण रूपमा स्पष्ट हुनुहुन्छ; के उहाँले धर्मशास्त्रको अर्थ लगाउँदै धेरै समय बिताउनु आवश्यक हुन्छ? के छ हजार वर्षे कार्यमा “धर्मशास्त्रको अर्थ लगाउने थुमाको युग” लाई थप्नुपर्छ? उहाँ नयाँ काम गर्न आउनुहुन्छ, तर मानिसहरूलाई छ हजार वर्षको कामको सत्यतालाई बुझ्न सहायता गर्दै, उहाँले विगतका समयहरूको कामको बारेमा पनि केही प्रकाशहरू प्रदान गर्नुहुन्छ। बाइबलका धेरै अनुच्छेदहरूको व्याख्या गर्नुपर्ने कुनै आवश्यकता छैन; आजको काम नै कुञ्जी र महत्त्वपूर्ण कुरा हो। परमेश्वर सात मोहरहरू तोड्नको लागि मात्रै विशेष गरी आउनुहुन्न, तर मुक्तिको काम गर्नको लागि आउनुहुन्छ भन्ने तैँले जान्नुपर्छ।
तँ येशू आखिरी दिनहरूमा ओर्लनुहुनेछ भन्ने मात्रै जान्दछस्, तर उहाँ ठ्याक्कै कसरी अवरोहण गर्नुहुनेछ? भर्खरै छुटकारा पाएको, र परिवर्तन वा परमेश्वरको सिद्धीकरणबाट नगुज्रेको तँजस्तो पापी—के तँ परमेश्वरका अभिप्रायहरूअनुरूपको हुन सक्छस्? अझै आफ्नो पुरानो सत्त्व बोकेको तेरो सन्दर्भमा भन्नुपर्दा, येशूले तँलाई मुक्ति दिनुभएको थियो, र परमेश्वरले दिनुभएको मुक्तिका कारण तँ पापको होइनस् भन्ने साँचो हो, तर यसले तँ पापरहित वा फोहोररहित छस् भन्ने कुरा प्रमाणित गर्दैन। यदि तँ परिवर्तनबाट गुज्रेको छैनस् भने, तँ कसरी पवित्र पारिन सक्छस्? भित्री रूपमा, तँ फोहोरले भरिएको छस्, र तँ स्वार्थी र नीच छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—सपना देखिराख्! परमेश्वरमाथिको विश्वासमा तैँले एउटा कदम छुटाएको छस्; तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँ परिवर्तनबाट गुज्रेको छैनस्। तँ परमेश्वरका अभिप्रायहरूअनुरूपको हुनका लागि, परमेश्वरले तँलाई परिवर्तन गर्न र पखाल्न व्यक्तिगत रूपमै काम गर्नुपर्छ; नत्र भने, तँलाई छुटकारा मात्र दिइएको हुन्छ र तँलाई पवित्र पारिने कुनै सम्भावना हुँदैन। त्यस अवस्थामा, तँ परमेश्वरको साथमा अद्भुत आशिष्हरूको आनन्द उठाउन अयोग्य छस्, किनभने तँ मानिसलाई व्यवस्थापन गर्ने परमेश्वरको काममा एक कदम पछि परेको छस्, जुन मानिसलाई परिवर्तन गर्ने र सिद्ध पार्ने महत्त्वपूर्ण चरण हो। यसर्थ, भर्खरै छुटकारा दिइएको पापी, तँ प्रत्यक्ष रूपमा परमेश्वरको उत्तराधिकार प्राप्त गर्न असक्षम छस्।
कामको यो नयाँ चरणको सुरुवातविना, तिमी सुसमाचार प्रचार गर्नेहरू, प्रचारकहरू, व्याख्या गर्नेहरू र तथाकथित महान् आत्मिक मानिसहरू कति हदसम्म जानेथियौ कसलाई थाहा छ र! कामको यो नयाँ चरणको सुरुवातविना, तिमीहरूले जे कुरा गर्छौ त्यो थोत्रो हुनेथियो! यो कि त सिंहासनमा उक्लने बारेमा हो, कि त राजा बन्नको लागि कद तयार गर्ने बारेमा हो; कि त यो आफैलाई इन्कार गर्ने बारेमा हो कि त आफ्नो शरीरलाई काबुमा राख्ने बारेमा हो; कि त यो धैर्य बन्ने बारेमा हो कि त सबै कुराबाट पाठहरू सिक्ने बारेमा हो; कि त नम्रता हो कि त प्रेम हो। के यो त्यही पुरानो गीत गाउनुजस्तै होइन र? यो एउटै कुरालाई फरक नामले बोलाउनु सरह हो! कि त आफ्नो शिर ढाक्ने र रोटी भाँच्ने, कि त शिरमा हात राखेर प्रार्थना गर्ने अनि बिरामीलाई निको पार्ने र भूतहरू धपाउने हो। के कुनै नयाँ काम हुन सक्छ? के विकासको कुनै अपेक्षा हुन सक्छ? यदि तँ निरन्तर रूपमा यसरी अघि बढिरहन्छस् भने, तैँले अन्धाधुन्ध धर्मसिद्धान्तलाई पछ्याउनेछस् वा प्रचलनलाई पालना गर्नेछस्। तिमीहरूका काम उत्कृष्ट छ भन्ने तिमीहरू विश्वास गर्छौ, तर के यो सबै प्राचीन समयका “वृद्ध मानिसहरू” ले हस्तान्तरण गरेका र सिकाएका हुन् भन्ने तिमीहरूलाई थाहा छैन र? के तिमीहरूले भन्ने र गर्ने सबै ती वृद्ध मानिसहरूका आखिरी वचनहरू होइनन् र? के यो तिनीहरू मरेर जानुभन्दा पहिले ती वृद्ध मानिसहरूले आज्ञा गरेको कुरा होइन र? के तिमीहरूका कार्यहरूले विगतका पुस्ताहरूका प्रेरितहरू र अगमवक्ताहरूलाई उछिन्न सक्छ, र सबै थोकलाई समेत उछिन्न सक्छ भन्ने तँलाई लाग्छ? कामको यो चरणको सुरुवातले राजा बन्ने र सिंहासनमा बस्ने प्रयास गर्ने विट्नेस लीको कार्यप्रतिको तेरो भक्तिलाई समाप्त गरेको छ, र यसले तेरो अहङ्कार र घमण्डलाई पकडमा राखेको छ, ताकि तैँले कामको यो चरणमा हस्तक्षेप गर्न सक्दैनस्। कामको यो चरणविना, तिमीहरू छुटकारा दिन नसक्ने अवस्थासम्म नै झन्-झन् गहिराइमा डुब्दै जानेथियौ। तिमीहरूका बीचमा पुराना कुराहरू धेरै नै छन्! खुसीको कुरा, आजको कामले तिमीहरूलाई फर्काएर ल्याएको छ; अन्यथा, तिमीहरू कुन दिशामा जानेथियौ कसलाई के थाहा! परमेश्वर सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वर हुनुहुन्छ भने, किन तैँले नयाँ कुराहरूलाई खोजी गर्दैनस्? तँ किन सधैँ पुरानो कुराहरूमा टाँसिरहन्छस्? त्यसकारण, पवित्र आत्माको आजको कार्यलाई जान्नु भनेको सबैभन्दा महत्त्वपूर्ण कुरा हो!