परिचय

(सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूबाट उद्धृत खण्डहरू)

सबै मानिसहरूले पृथ्वीमा मेरो कामका उद्देश्यहरू बुझ्न आवश्यक छ, भन्नुको अर्थ, म अन्ततः जे प्राप्त गर्न चाहन्छु, र यसलाई पूरा गर्न सक्‍नुभन्दा पहिले मैले यो काममा कुन स्तर हासिल गर्नुपर्छ। आजको दिनसम्म मसँग हिँडिसकेपछि, यदि मानिसहरूले मेरो काम के हो भन्‍ने बारेमा बुझेका छैनन् भने, के तिनीहरू मसँग व्यर्थमा हिँडेका होइनन् र? यदि मानिसहरूले मलाई पछ्याउँछन् भने, तिनीहरूले मेरा अभिप्राय पनि जान्नुपर्छ। म यस पृथ्वीमा हजारौं वर्षदेखि काम गर्दै आइरहेको छु, र हालसम्म पनि मेरो कामलाई निरन्तरता दिन्छु। मेरो काममा धेरै परियोजनाहरू भए तापनि, यसको उद्देश्य अपरिवर्तित रहन्छ; यद्यपि म मानिसप्रतिको न्याय र सजायले भरिएको छु, उदाहरणका लागि, मैले जे गर्छु त्यो अझै पनि उसैको मुक्तिको खातिर हो, र मानिसलाई पूर्ण बनाइसकेपछि सबै अन्यजातिहरूका माझ मेरो सुसमाचार अझ फैलाउनको खातिर र मेरो काम अझ विस्तार गर्नको खातिर हो। यसैले आज, धेरै मानिसहरू लामो समयदेखि गहिरो निराशामा डुबेको यस्तो समयमा, म अझै पनि मेरो कामलाई निरन्तरता दिन्छु, मैले मानिसलाई न्याय गर्न र सजाय दिन मैले गर्नुपर्ने काम जारी राख्छु। म जे भन्छु त्योसँग मानिस वाक्क भएको छ भन्‍ने यथार्थताको बाबजुद पनि, र उसलाई मेरो कामप्रति चासो राख्ने कुनै इच्छा नभए तापनि, म अझै पनि आफ्नो कर्तव्य पूरा गर्दैछु, किनकि मेरो कामको उद्देश्य अपरिवर्तित रहन्छ, र मेरो मौलिक योजना भङ्ग हुनेछैन। मेरो न्यायको उद्देश्य भनेको मानिसलाई राम्रोसँग ममा समर्पित हुन सक्‍ने बनाउनु हो, र मेरो सजायको उद्देश्य भनेको मानिसलाई अझ राम्रोसँग परिवर्तन हासिल गर्न सक्षम बनाउनु हो। मैले गर्ने सबथोक मेरो व्यवस्थापनको खातिर नै हुने भए पनि, मैले कहिल्यै त्यस्तो कुनै काम गरेको छैन, जुन मानिसका लागि फाइदाजनक नहोस्, किनकि म इस्राएलभन्दा बाहिरका सबै जातिहरूलाई पनि इस्राएलीहरू जस्तो समर्पित बनाउन, उनीहरूलाई सच्चा मानिसहरू बनाउन चाहन्छु, ताकि इस्राएलभन्दा बाहिरको भूमिमा पनि मैले पाइला टेक्‍ने ठाउँ पाउन सकूँ। यो मेरो व्यवस्थापन हो; यो अन्यजाति राष्ट्रहरूमाझको मेरो काम हो। अहिले समेत, धेरै मानिसहरूले अझै पनि मेरो व्यवस्थापनलाई बुझ्दैनन्‌, किनभने उनीहरूले त्यस्ता कुराहरूको वास्ता गर्दैनन्‌, बरु आफ्नै भविष्य र गन्तव्यको मात्र वास्ता गर्छन्। मैले जे भने पनि, मानिसहरू मैले गर्ने कामप्रति उदासीन रहन्छन्‌, यसको सट्टामा उनीहरूले सारा हृदयले आफ्नो भावी गन्तव्यमा ध्यान केन्द्रित गर्छन्। यदि कामकुरा यसरी नै चलिरह्यो भने, मेरो काम कसरी फैलिन सक्छ? मेरो सुसमाचार कसरी सारा संसारभरि प्रचार गर्न सकिन्छ? तिमीहरूले थाहा पाउनुपर्छ कि जब मेरो काम फैलिन्छ, म तिमीहरूलाई छरपस्ट पार्नेछु, र जसरी यहोवाले इस्राएलको प्रत्येक कुललाई प्रहार गर्नुभयो त्यसरी नै तिमीहरूलाई पनि प्रहार गर्नेछु। यी सबै कुराहरू मेरो सुसमाचार पृथ्वीभरि फैलियोस्, मेरो काम अन्यजाति राष्ट्रहरूसम्म फैलियोस्‌, जसले गर्दा मेरो नाम वयस्क र बच्चा दुवैमाझ समान रूपमा महान् भनेर सम्मानित हुन सकोस्, र सबै जाति र राष्ट्रहरूका मानिसहरूको मुखबाट मेरो पवित्र नामको गुणगान गरियोस् भनेर हुनेछन्। यो अन्तिम युगमा, अन्यजाति राष्ट्रहरूमाझ मेरो नाम महान् भनी उच्च पारियोस्, मेरा काम अन्यजाति राष्ट्रहरूका मानिसहरूले देखून्, तिनीहरूले मलाई मेरा कार्यहरूका आधारमा सर्वशक्तिमान् भनेर बोलाऊन्, र मेरा वचनहरू चाँडै पूरा होऊन्। म इस्राएलीहरूको परमेश्‍वर मात्र होइन, सबै अन्यजाति राष्ट्रहरूका मानिसहरूको, मैले श्राप दिएका राष्ट्रहरू समेतका मानिसहरूको पनि परमेश्‍वर हुँ भनेर म सबै मानिसहरूलाई बुझाउनेछु। म सृष्टि गरिएका सबै प्राणीहरूको परमेश्‍वर हुँ भनेर म सबै मानिसहरूलाई बुझ्ने बनाउनेछु। मेरो सबैभन्दा महान् काम, आखिरी दिनहरूको लागि मेरो कार्य योजनाको उद्देश्य, र आखिरी दिनहरूमा मैले हासिल गर्न इच्छा गर्ने एउटै काम यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो

के तँ परमेश्‍वरले हरेक युगमा व्यक्त गरेको स्वभावलाई उचित र त्यस युगको महत्त्व बोक्‍ने भाषामा ठोस तरिकाले सम्प्रेषित गर्न सक्छस्? के आखिरी दिनहरूका परमेश्‍वरको कार्यलाई अनुभव गर्ने तँ, परमेश्‍वरको धर्मी स्वभावलाई विस्तृत रूपमा व्याख्या गर्न सक्छस्? के तँ स्पष्ट र सटीक रूपमा परमेश्‍वरको स्वभावको गवाही दिन सक्छस्? धार्मिकताका निम्ति भोकाउने र तिर्खाउने अनि तैँले तिनीहरूको गोठाला गरोस् भनी तँलाई प्रतीक्षा गरिरहेका ती दयनीय, गरिब, र भक्त धार्मिक विश्‍वासीहरूलाई तैँले कसरी आफूले देखेका र अनुभव गरेका कुराहरू बताउनेछस्? तैँले तिनीहरूको गोठालो गरोस् भनी कस्तो प्रकारका मानिसहरूले तँलाई प्रतीक्षा गरिरहेका छन्? के तँ कल्‍पना गर्न सक्छस्? के तेरा काँधका बोझहरू, तेरो कार्यभार, र तेरो जिम्‍मेवारीबारे तँलाई थाहा छ? ऐतिहासिक मिसनको तेरो आभास कहाँ छ? अर्को युगको मालिकका रूपमा तैँले कसरी उचित रूपमा सेवा गर्नेछस्? के तँमा मालिक हुने बलियो आभास छ? यावत् थोकका मालिकलाई कसरी व्याख्या गर्नुपर्छ? के यो साँच्‍चै संसारका सारा जीवित प्राणीहरू अनि सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिको लागि तँसँग के-कस्ता योजनाहरू छन्? कति धेरै मानिसहरूले तँलाई तिनीहरूलाई गोठालो हुन प्रतीक्षा गरिरहेका छन्? के तेरो काम बोझमय छ? तिनीहरू गरिब, दयनीय, अन्धाहरू हुन्, र तिनीहरू असमञ्जसमा छन्, अन्धकारमा बिलौना गरिरहेका छन्—यो मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई थिचोमिचोमा पारेको अन्धकारको शक्तिहरूलाई उल्काझैँ अचानक ज्योति तल झरेर हटाओस् भनी ती मानिसहरु कति तड्पिन्छन्। तिनीहरू यसका लागि उत्सुकताका साथ दिन-रात आशा गर्छन्, र विलाप गर्छन्—यो कुरा कसले पूर्ण रूपमा जान्‍न सक्छ र? ज्योति चम्‍केर जाने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; कहिले तिनीहरूले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नदिइएका यी कमजोर आत्माहरूको दुर्भाग्य कति भयानक छ, अनि निर्दयी बन्धनहरू र कठ्याङ्ग्रिएको इतिहासद्वारा तिनीहरूलाई यो अवस्थामा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? तिनीहरूको दयनीय स्थिति कसले देखेको छ र? परमेश्‍वरको हृदय कति शोकित र व्याकुल छ भन्‍ने तैँले कहिल्यै विचार गरेको छस्? उहाँको आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो पीडा भोगेको उहाँले कसरी देख्‍न सक्‍नुहुन्छ? आखिर, मानवजाति विष खुवाइएका पीडितहरू नै त हुन्। मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विष खुवाएको छ भन्‍ने कसलाई थाहा हुनेथियो र? के तँ पीडितहरूमध्ये एक होस् भन्‍ने तैँले बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमको कारण, सबै यी बाँचेकाहरूलाई मुक्ति दिने प्रयास गर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरको ऋण तिर्न आफ्‍नो सारा सामर्थ्य अर्पण गर्न इच्‍छुक छैनस्? तेरो असाधारण जीवन जिउनका लागि परमेश्‍वरद्वारा प्रयोग गरिनुलाई तँ ठ्याक्कै कसरी बोध गर्छस्? के तँसँग एक भक्त, परमेश्‍वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आस्था साँच्‍चै छ त?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले तेरो भविष्यको मिसनलाई कसरी सम्हाल्नुपर्छ?

तिमीहरूले भोगेका र देखेका कुराहरू सारा युगका सन्तहरू र अगमवक्ताहरूको भन्दा पनि अधिक छन्, तर के तिमीहरूले विगतका यी सन्तहरू र अगमवक्ताहरूका वचनभन्दा ठूलो गवाही दिन सक्छौ त? मैले अहिले तिमीहरूलाई दिने कुराहरूले मोशा र दाऊदलाई दिएका कुरालाई नै उछिन्छ, त्यसरी नै तिमीहरूका गवाही मोशाको भन्दा अधिक र तिमीहरूका शब्दहरू दाऊदका भन्दा महान् होस् भन्‍ने म चाहन्छु। म तिमीहरूलाई सय गुणा दिन्छु—तिमीहरूले उही रूपमा फिर्ता गरेको म चाहन्छु। मानवजातिलाई जीवन दिने म नै हुँ भनी तिमीहरूलाई थाहा हुनुपर्छ, अनि मबाट जीवन पाउने र मेरो निम्ति गवाही दिने तिमीहरू नै हौ। मैले तिमीहरूलाई दिएको कर्तव्य यही हो, जुन तिमीहरूले मेरो निम्ति गर्नुपर्छ। मैले मेरा सबै महिमा तिमीहरूलाई दिएको छु, मेरा चुनिएका मानिसहरू, इस्राएलीहरूले कहिल्यै प्राप्‍त नगरेका जीवन मैले तिमीहरूलाई दिएको छु। अधिकारद्वारा नै, तिमीहरूले मेरो गवाही दिनुपर्छ र तिमीहरूको जवानी र तिमीहरूको जीवन मलाई अर्पण गर्नुपर्छ। जसलाई म मेरो महिमा दिन्छु उसले मेरो गवाही दिनेछ र मेरो निम्ति तिनीहरूको जीवन दिनेछन्। यसलाई मैले उहिले नै निर्धारण गरेको छु। मैले तिमीहरूलाई मेरो महिमा दिनु त तिमीहरूको लागि सौभाग्यको कुरा हो र तिमीहरूको कर्तव्यचाहिँ मेरो महिमाको गवाही दिनु हो। यदि तिमीहरूले आशिष्‌ पाउनलाई मात्र ममा विश्‍वास गरेका थियौ भने, मेरो कामको महत्त्व कम हुन्थ्यो र तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुँदैनथियौ। इस्राएलीहरूले मेरो कृपा, प्रेम र महानता मात्रै देखे र यहूदीहरूले मेरो धैर्यता र उद्धार मात्र देखे। तिनीहरूले मेरो आत्माको काम अतिभन्दा अति कम देखे, यहाँसम्‍म कि ती तिमीहरूले सुनेका र देखेका भन्दा दशौं हजारमा एक भाग जति मात्र तिनीहरूले बुझे। तिमीहरूले देखेका कुराहरूले तिनीहरूका प्रधान पूजाहारीलाई पनि उछिन्छ। तिमीहरूले आज बुझेका कुराहरूले तिनीहरूले बुझेका कुरालाई उछिन्छ; तिमीहरूले आज जे देखेका छौ यसले व्यवस्थाको युग साथै अनुग्रहको युगमा देखिएको कुरालाई पनि उछिन्छ र तिमीहरूले भोगेका कुराहरू मोशा र एलियाको भन्दा पनि अधिक छन्। इस्राएलीहरूले जे बुझे त्यो परमप्रभुको व्यवस्था मात्र थियो र तिनीहरूले जे देखे त्यो परमप्रभुको पिठ्यूँ मात्र थियो; यहूदीहरूले जे बुझे त्यो येशूको उद्धार मात्र थियो, तिनीहरूले जे प्राप्‍त गरे त्यो येशूले दिनुभएको अनुग्रह मात्र थियो र तिनीहरूले जे देखे त्यो यहूदीहरूको घरानाभित्रको येशूको स्वरूप मात्र थियो। आज तिमीहरूले जे देख्छौ त्यो परमप्रभुको महिमा, येशूको उद्धार र यस दिनको मेरा सबै कामहरू हुन्। त्यसैले तिमीहरूले मेरो आत्माका वचनहरू सुनेका छौ, मेरो बुद्धिको बखान गरेका छौ, मेरो चमत्कार थाहा पाएका छौ र मेरो स्वभाव जानेका छौ। मैले तिमीहरूलाई मेरो सारा व्यवस्थापन योजना पनि बताएको छु। तिमीहरूले जे देखेका छौ त्यो प्रेमिलो र कृपालु परमेश्‍वर मात्र होइन, तर धार्मिकताले पूर्ण परमेश्‍वर हो। तिमीहरूले मेरो चमत्कारपूर्ण काम देखेका छौ र म प्रताप र क्रोधले भरिएको छु भन्‍ने जानेका छौ। यसको अतिरिक्त, कुनै समय मैले इस्राएलको घरानामाथि मेरो उर्लँदो क्रोध खन्याएँ र आज यो तिमीहरूमाथि आएको छ भन्‍ने तिमीहरू जान्दछौ। तिमीहरूले स्वर्गको मेरा रहस्यहरूलाई यशैया र यूहन्नाले भन्दा बढी बुझ्छौ; तिमीहरू मेरो प्रमिलो स्वभाव र श्रद्धेयतालाई विगतका सबै सन्तहरूले भन्दा पनि बढी जान्दछौ। तिमीहरूले प्राप्‍त गरेको कुरा मेरो सत्यता, बाटो र जीवन मात्र होइन, तर यूहन्नाको भन्दा पनि ठूलो दर्शन र प्रकाश हो। तिमीहरूले धेरैभन्दा धेरै रहस्यहरू बुझ्छौ र मेरो साँचो मुहारमा हेरेका छौ; तिमीहरूले मेरो न्याय धेरै स्वीकार गरेका छौ र मेरो धर्मी स्वभावलाई बढी जान्दछौ। त्यसै गरी, तिमीहरू आखिरी दिनहरूमा जन्मिएका भए तापनि तिमीहरूको बुझाइ विगतको जस्तो छ, र तिमीहरूले आजका कुराहरू पनि अनुभव गरेका छौ र यी सबै म स्वयम्‌ले गरेको थिएँ। मैले तिमीहरूसँग जे मागेको छु त्यो अत्याधिक छैन, किनभने मैले तिमीहरूलाई धेरै दिएको छु, र तिमीहरूले ममा धेरै देखेका छौ। यसैले, तिमीहरूले विगतका सन्तहरूलाई मेरो निम्ति गवाही देओ भन्‍ने म चाहन्छु र मेरो हृदयको एक मात्र इच्छा यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

मैले अहिले चाहने भनेको तेरो बफादारी र समर्पण, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्‍नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तेरो बफादारी र समर्पण। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारी र समर्पणमा रहन्छ भन्‍ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्‍वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै समर्पित हुनु हो। मैले मेरो कामको अर्को चरण सुरु गर्न अघि, तैँले मेरो निम्ति कसरी साक्षी दिनेछस्? तँ मप्रति कसरी बफादार र समर्पित हुनेछस्? के तँ आफ्‍ना सबै बफादारीता आफ्नै काममा अर्पण गर्छस् कि हरेस खान्छस्? तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्? तँ मेरो साक्षी दिने बन्, मप्रति बफादार र समर्पित बन् भनेर म तँलाई सजाय दिन्छु। यति मात्र कहाँ हो र, हालको सजाय मेरो कामको अर्को चरण प्रकट गर्नु र कामलाई निर्बाध रूपमा अघि बढ्न दिनको लागि हो। त्यसैले, म तँलाई बुद्धिमान बन् अनि आफ्नो जीवनलाई अनि आफ्नो अस्तित्वलाई निकम्मा बालुवाको रूपमा व्यवहार नगर् भन्‍ने उत्साह दिन्छु। आउनेवाला मेरो काम ठ्याक्कै कस्तो हुनेछ भनी के तैँले जान्न सक्छस्? आउने दिनमा म कसरी काम गर्नेछु र मेरो काम कसरी प्रकट हुनेछ भन्‍ने के तँ जान्दछस्? तैँले मेरो कामप्रतिको तेरो अनुभवको महत्त्व र मप्रति तेरो विश्‍वासको महत्त्वलाई जान्नुपर्छ। मैले यति धेरै गरेको छु; तैँले कल्पना गरेजस्तो म कसरी बीचैमा छोड्न सक्थेँ? मैले यति व्यापक काम गरेको छु; म यसलाई कसरी नष्ट गर्न सक्थेँ? वास्तवमा, म यो युगलाई अन्त गर्न आएको हुँ। यो सत्य हो, तर मैले नयाँ युग सुरु गर्नुपर्छ, नयाँ काम सुरु गर्नुपर्छ र सबैभन्दा मुख्य कुरा, राज्यको सुसमाचार फैलाउनुपर्छ भन्‍ने तैँले जान्नुपर्छ। त्यसैले हालको कामचाहिँ नयाँ युग ल्याउन, आउने समयमा सुसमाचार फैलाउन र भविष्यमा युगलाई अन्त गर्नको निम्ति जग बसाल्नलाई मात्र हो भन्‍ने तैँले जान्नुपर्छ। मेरो काम तैँले सोचेजस्तो सरल छैन, न त तैँले विश्‍वास गरेजस्तो यो निकम्मा वा व्यर्थ नै छ। यसकारण, मैले अझ पनि तँलाई भन्नुपर्छ: तैँले आफ्नो जीवन मेरो कामको निम्ति दिनुपर्छ, र यस बाहेक, तैँले आफूलाई मेरो महिमाको निम्ति अर्पण गर्नुपर्छ। मैले जति लामो समयदेखि तैँले मेरो निम्ति गवाही दिओस् भन्‍ने उत्कट इच्छा गरेको छु, तैँले मेरो सुसमाचार फैलाएको होस् भन्‍ने कुरालाई मैले त्योभन्दा बढी चाहेको छु। मेरो हृदयमा के छ सो तैँले बुझ्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

सारा ब्रह्माण्डभरि म मेरो काम गरिरहेको छु र पूर्वमा मेघ गर्जन असीम रूपमा जारी हुन्छ, जसले सबै देश र सम्प्रदायहरूलाई हल्लाइदिन्छ। सारा मानिसहरूलाई वर्तमानमा डोर्‍याएको मेरै वाणीहरूले हो। म सबै मानिसहरूलाई मेरा वाणीद्वारा विजय गरिने, यही प्रवाहमा पार्ने, र मेरो सामु आत्मसमर्पण गर्ने तुल्याउँछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा नयाँ रूपमा जारी गरेको छु। मेरो महिमा देख्ने अभिलाषा कसलाई हुँदैन? कसले व्यग्रतापूर्वक मेरो पुनरागमनको प्रतीक्षा गर्दैन? मेरो पुन: देखापराइको तृष्णा कसले गर्दैन? मेरो प्रेमिलो स्वभावका निम्ति को लालायित हुँदैन? ज्योतिमा कोचाहिँ आउँदैन? कनानको सम्‍पन्‍नतालाई कसले हेर्दैन? उद्धारकको आगमनलाई कसले चाह गर्दैन? महाशक्ति भएकोलाई कसले आदर गर्दैन? मेरा वाणीहरू पृथ्वीभरि प्रसार गरिनेछन्; शक्तिशाली मेघगर्जनहरूले पहाड़ र नदीहरू थर्काएझैँ, म मेरा चुनिएका मानिसहरूसँग अझ धेरै वचन व्यक्त गर्नेछु र बोल्नेछु। म मेरा वचनहरू सारा ब्रह्माण्ड र मानवजातिलाई सुनाउँछु। यसकारण, मेरो मुखबाट निस्कने वचनहरू मानिसहरूको खजाना बनेका छन् र सबै मानिसहरूले मेरा वचनहरूलाई प्रिय ठान्छन्। बिजुली पूर्वदेखि पश्‍चिमसम्म नै चम्कन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस तीबाट अलग हुन अनिच्छुक हुन्छन्, अनि ती वचन मानिसलाई अथाह लाग्छ, र त्यसभन्दा पनि बढी, तिनले मानिसलाई आनन्दित हुने तुल्याउँछन्। भर्खरै जन्‍मेका शिशुझैँ, सबै मानिसहरू खुसी र आनन्दित महसुस गर्छन्, र मेरो आगमनको उत्सव मनाउँछन्। मेरा वाणीहरूको माध्यमले म सबै मानिसहरूलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म मानिसहरूमाझ औपचारिक रूपमा प्रवेश गर्नेछु, र तिनीहरूलाई मलाई श्रद्धा गर्न आउने तुल्याउनेछु। मैले जगमगाउने मेरो महिमा र मेरो मुखका वचनहरूसँगै, म यसलाई यस्तो बनाइदिनेछु कि सबै मानिसहरू मेरो सामु आउनेछन् र तिनीहरूले बिजुली पूर्वबाट चम्केको, म पूर्वको “जैतूनको डाँड़ामा” ओर्लेको, म पृथ्वीमा लामो समयअघि नै आएको, र म अबउप्रान्त यहूदीको छोरा नभई पूर्वको बिजुली भएको देख्नेछन्। किनभने म उहिले नै बौरी उठेको छु र म मानवजातिको माझबाट प्रस्थान गरेको छु, र मानिसहरू माझ महिमासहित फेरि देखा परेको छु। आजभन्दा कैयौँ युगहरू अघिदेखि आराधना गरिएको म नै हुँ, र कैयौँ युगहरू अघि इस्राएलीहरूद्वारा त्यागिएको बालक पनि म नै हुँ। यसभन्दा पनि बढी, म हालको युगको महा-महिमित सर्वशक्तिमान् परमेश्‍वर हुँ। सबै जना मेरो सिंहासन सामु आऊन् र तिनीहरूले मेरो महिमामय मुहार देखून्, मेरा वाणी सुनून्, र मेरा कार्यहरू हेरून्। मेरो अभिप्रायको सम्पूर्णता यही हो; यो नै मेरो योजनाको अन्त र उत्कर्ष हो, साथै मेरो व्यवस्थापनको उद्देश्य हो: असङ्ख्य राष्ट्रले मलाई श्रद्धा गरून्, असङ्ख्य मुखले मलाई स्वीकार गरून्, असङ्ख्य मानिसले ममाथि भरोसा राखून् र मेरा चुनिएका असङ्ख्य मानिसले मेरो सामु समर्पण गरून्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

अर्को:  १. तपाईंले प्रभु मानिस बन्नुभयो, गोप्य रूपमा पृथ्वीमा ओर्लनुभयो, र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दैहुनुहुन्छ भनी गवाही दिनुहुन्छ। यो कसरी सम्भव छ? बाइबलले स्पष्ट रूपमा अगमवाणी गर्दछ, “अनि त्यसपछि स्वर्गमा मानिसको पुत्रको चिन्‍ह देखा पर्नेछ: अनि पृथ्वीका सबै कुलले शोक गर्नेछन्, अनि तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महान् महिमाका साथमा स्वर्गको बादलमा आइरहनुभएको देख्‍नेछन्(मत्ती २४:३०)। “हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि, जसले उहाँलाई घोचे: र उहाँका कारण पृथ्वीका सब कुलहरूले विलाप गर्नेछन्(प्रकाश १:७)। हामी विश्‍वास गर्छौं, जब प्रभु फेरि आउनुहुन्छ, उहाँ बादलहरूमा र सबै मानिसहरूले देख्ने गरी आउनुहुन्छ। तैपनि प्रभु पहिले नै मानिस बनिसक्नुभएको छ र गोप्य रूपमा पृथ्वीमा ओर्लनुभएको छ भनेर तपाईं गवाही दिनुहुन्छ, जुन हाम्रो बुझाइभन्दा बिलकुलै फरक छ। यहाँ के भइरहेको छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger