३. तपाईंले प्रभु येशू शरीरमा फर्केर आउनुभएको छ भनी गवाही दिनुहुन्छ। त्यसो भए प्रभु अहिले कहाँ हुनुहुन्छ? हामीले किन उहाँलाई देखेका छैनौं? देख्नु नै विश्वास गर्नु हो, त्यसैले हामीले उहाँलाई नदेखेका तथ्यले प्रभु अझै आउनुभएको छैन भनी प्रमाणित गर्दछ। जब म देख्छु, तब मात्र यस कुरामा विश्वास गर्नेछु।
सन्दर्भका लागि बाइबलका पदहरू:
“येशूले उसलाई भन्नुभयो, म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन। यदि तिमीहरूले मलाई चिनेका थियौ भने, तिमीहरूले मेरो पितालाई पनि चिनेका हुनेथियौ: अनि अबदेखि तिमीहरूले उहाँलाई चिन्छौ, र उहाँलाई देखेका छौ। फिलिपले उहाँलाई भने, प्रभु, हामीलाई पिता देखाउनुहोस् र यो हाम्रो लागि पर्याप्त हुन्छ। येशूले तिनलाई भन्नुभयो, फिलिप, म तिमीसँग लामो समयदेखि छु, तापनि तिमीले मलाई चिनेका रहनेछौ? जसले मलाई देखेको छ उसले पितालाई देखेको छ; अनि हामीलाई पिता देखाइदिनुहोस् भनेर तिमीले कसरी भन्न सक्छौ? के म पितामा छु र पिता ममा हुनुहुन्छ भन्ने तिमी विश्वास गर्दैनौ? मैले तिमीहरूलाई भनेका वचनहरू मेरा आफ्नै होइनन्: तर ममा वास गर्नुहुने पिताका हुन्, उहाँले नै काम गर्नुहुन्छ। म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर ममा विश्वास गर: नत्र कामहरूकै खातिर मलाई विश्वास गर” (यूहन्ना १४:६-११)।
“अनि फेरि आठ दिनपछि उहाँका चेलाहरू भित्रै थिए र थोमा पनि तिनीहरूसँग थिए: तब ढोकाहरू बन्द भएको अवस्थामा येशू भित्र आउनुभयो र बीचमा खडा हुनभयो, र भन्नुभयो, तिमीहरूलाई शान्ति होस्। तब उहाँले थोमालाई भन्नुभयो, तिम्रो औँला यहाँ ल्याऊ र मेरा हातहरू हेर; र तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखामा छिराऊ: र अविश्वासी होइन, तर विश्वास गर्ने होऊ। अनि थोमाले उहाँलाई जवाफ दिँदै भने, मेरा प्रभु र मेरा परमेश्वर। येशूले तिनलाई भन्नुभयो, थोमा तिमीले मलाई देखेको कारण विश्वास गरेका छौ: तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्वास गरेका छन्” (यूहन्ना २०:२६-२९)।
“मेरा भेडाले मेरो सोर सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्ना १०:२७)।
“यसैले तब विश्वास सुनाइबाट आउँछ र ख्रीष्टको वचन सुनाइबाट” (रोमी १०:१७)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
अन्तिम दिनहरूमा मानिसहरूलाई सत्यको आत्मा दिइन्छ भनी येशूले घोषणा गर्नुभयो। अन्तिम दिनहरू अहिले यहाँ छ; सत्यको आत्माले वचनहरूलाई कसरी व्यक्त गर्नुहुन्छ भनी तँ बुझ्छस्? सत्यको आत्मा कहाँ देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ? अगमवक्ता यशैयाको अगमवाणीको पुस्तकमा नयाँ करारको युगमा येशू नाम गरिएको बालक जन्मनेछ भनी कहिल्यै पनि बताइएको थिएन; इम्मानुएल नाम गरेको पुरुष बालक जन्मनेछ भनी लेखिएको मात्र छ। येशूको नाउँ किन उल्लेख नगरिएको? पुरानो करारभरि यो नाउँ कतै पनि देखा पर्दैन, त्यसो भए तँ किन अझै पनि येशूमा विश्वास गर्छस्? पक्कै पनि तैँले येशूलाई आफ्नै आँखाले देखेपछि मात्र विश्वास थिइनस्, थिइस् त? वा के तैँले प्रकाश पाएपछि विश्वास गर्न थालेको हो? के परमेश्वरले तँलाई साँच्चै नै यस्तो अनुग्रह देखाउनुहुन्थ्यो? के उहाँले तँलाई यत्रो आशिष् प्रदान गर्नुहुन्छ? येशूप्रति तेरो विश्वासको आधार के हो? आज परमेश्वर देह बन्नुभएको छ भन्ने कुरा तँ किन विश्वास गर्दैनस्? तँलाई परमेश्वरबाट आउने प्रकाशको अभाव छ भन्दैमा उहाँ देहधारी नहुनुभएको कुरा साबित गर्छ भनी तँ कसरी भन्न सक्छस्? के परमेश्वरले कुनै काम सुरु गर्न अघि मानिसहरूलाई जानकारी दिनु नै पर्छ त? के उहाँले पहिले तिनीहरूबाट स्वीकृति लिनुपर्छ र? यशैयाले डुँडमा पुरुष बालक जन्मिनेछन् भनेर मात्र बताए; तर मरियमले येशूलाई जन्माउनेछिन् भनी उनले कहिल्यै पनि अगमवाणी गरेनन्। मरियमबाट जन्मनुभएको येशूप्रतिको तेरो विश्वासलाई तैले खास केमा बसाल्छस्? निश्चय नै तेरो विश्वासमा गडबडी त आएको छैन?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्वरलाई सीमित गरेकाहरूले उहाँको प्रकाश कसरी प्राप्त गर्न सक्छन्?
परमेश्वरले सुरुवातदेखि अन्त्यसम्म मानिसलाई व्यवस्थित गर्ने र मानवजातिमाझ मानिसलाई मुक्ति दिने आफ्नो काम गरिरहनुभएको छ। सुरुवातदेखि अन्त्यसम्म, एउटै परमेश्वर हुनुहुन्छ जो काम गरिरहनुभएको छ, बोलिरहनुभएको छ, र मानवजातिलाई सिकाइरहनुभएको र डोऱ्याइरहनुभएको छ। यो परमेश्वर साँच्चै हुनुहुन्छ। परमेश्वरले अहिले अत्यन्तै धेरै वचन बोल्नुभएको छ, हामीले उहाँलाई आमनेसामने देखिसकेका छौँ, उहाँले बोल्नुभएको सुनेका छौँ, उहाँको काम अनुभव गरेका छौँ, उहाँका वचनहरू खाएका र पिएका छौँ, र उहाँका वचनहरूलाई आफ्नो जीवन बनाउन आफूभित्र स्विकारेका छौँ। यी वचनहरूले हामीलाई निरन्तर डोऱ्याइरहेका र परिवर्तन गरिरहेका छन्। यो परमेश्वर वास्तवमै हुनुहुन्छ। तसर्थ, परमेश्वरले भन्नुभएझैँ हामीले मानवजातिको सृष्टि परमेश्वरले गर्नुभएको हो, र परमेश्वरले सुरुमा आदम र हव्वा सृष्टि गर्नुभयो भनेर विश्वास गर्नुपर्छ। तैँले यो परमेश्वरको अस्तित्व छ भनी विश्वास गर्ने भएकोले र तँ अहिले उहाँसामु आएकोले, के तँलाई अझै पनि यहोवाले गर्नुभएको काम यही परमेश्वरको काम हो भन्ने पुष्टि चाहिन्छ? यदि यो कसैले पुष्टि गर्न सक्दैन र कसैले देख्दैन भने, के तँ यसमा विश्वास गर्नेछैनस्? अथवा अनुग्रहको युगको कामको सम्बन्धमा, के तँ आफूले येशूलाई कहिल्यै नदेखेकोले उहाँ देहधारी परमेश्वर हुनुहुन्थ्यो भनी विश्वास गर्दैनस्? यदि तैँले व्यक्तिगत रूपमा वर्तमान परमेश्वरले बोल्नुभएको, काम गर्नुभएको वा देहधारण गर्नुभएको नदेखेको भए, के तँ यी कुरा विश्वास गर्ने थिइनस्? यदि तैँले यी कुराहरू नदेखेको भए वा यी कुराको पुष्टि गर्न कोही गवाही नभएको भए, के तैँले ती सबै कुरा विश्वास गर्ने थिइनस्? यो त मानिसहरूभित्र रहेको असङ्गत दृष्टिकोणका कारण हुने हो। यो निकै धेरै मानिसले गर्ने गल्ती हो। तिनीहरूले सबै कुरा व्यक्तिगत रूपमा हेर्नुपर्छ, र यदि हेरेनन् भने त्यो विश्वास गर्दैनन्। यो गलत हो। यदि कुनै व्यक्तिले साँचो रूपमा परमेश्वरलाई चिन्छ भने, नदेखीकन नै उसले उहाँको वचनमा विश्वास गर्न र उहाँको वचनलाई पुष्टि गर्न सक्छ। त्यसपछि मात्र ऊ सत्यता बुझ्ने र साँचो विश्वास भएको व्यक्ति हुन्छ। अब हामीले परमेश्वरका यी वचनहरू देखिसकेका र उहाँको आवाज सुनिसकेका छौँ, हामीलाई साँचो विश्वास दिलाउन र त्यसैले हामीलाई उहाँलाई पछ्याउन र उहाँबाट आउने हरेक शब्द र सबै काममा विश्वास गराउन यो काफी छ। हामीले यी कुरा विश्लेषण वा अनुसन्धान गरिरहनुपर्ने कुनै आवश्यकता छैन। के मानिसहरूसँग हुनुपर्ने समझ यस्तै होइन र? परमेश्वरले मानवजाति सृष्टि गर्नुहुँदा, त्यो देख्ने कोही थिएन, तर अहिले परमेश्वर सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिन, आफ्नो काम व्यावहारिक रूपमा गर्न, मण्डलीमाझ हिँड्न र मानवजातिमाझ काम गर्न देहधारी हुनुभएको छ। के धेरै मानिसले यो देखेका छैनन् र? सबैले यो देख्न सक्दैनन्, तर तँ यसमा विश्वास गर्छस्। किन तँ यसमा विश्वास गर्छस्? तँलाई परमेश्वरको वचन सत्यता हो र यही नै साँचो मार्ग र परमेश्वरको काम हो भन्ने लागेकोले, तँ यसमा विश्वास गर्छस् होइन र? के तँ अझै यसो भन्न सक्छस्, “परमेश्वरको कामको यस चरणमा, मैले उहाँले बोल्नुभएको सुनेँ, र उहाँका वचनहरू पनि देखेँ। यो साँचो हो, यी वचनहरू परमेश्वरबाट आएका हुन्। तर प्रभु येशूको क्रूसीकरण कामको सम्बन्धमा, मैले उहाँको किलाका डोबहरू स्पर्श गरिनँ, त्यसैले उहाँ क्रूसमा टाँगिनुभएको थियो भन्ने कुरालाई विश्वास गर्दिनँ। मैले व्यवस्थाको युगमा यहोवा परमेश्वरले गरेको काम देखिनँ, र उहाँले व्यवस्थाहरू घोषणा गर्नुहुँदा मैले सुनिनँ। ती घोषणा मोशाले मात्र सुने र मोशाका पाँच पुस्तक लेखे, तर मलाई उनले ती कसरी लेखे त्यो थाहा छैन”? के यी कुराहरू भन्ने मानिसहरू सामान्य मनस्थितिका हुन् र? तिनीहरू अविश्वासी हुन् र परमेश्वरमा साँचो विश्वास गर्ने मानिस होइनन्। ठ्याक्कै यस्तै कुरा इस्राएलीहरूले पनि भनेका थिए, “के यहोवा साँच्चै मोशामार्फत मात्र बोल्नुभएको छ र? के ऊहाँ हामीमार्फत बोल्नुभएको छैन र?” (गन्ती १२:२)। यसमा तिनीहरूले यसो भन्न खोजेका थिए: “हामी मोशाको कुरा सुन्नेछैनौँ, हामीले यो कुरा सिधै यहोवा परमेश्वरबाट नै सुन्नुपर्छ।” अनुग्रहको युगमा पनि मानिसहरूले यस्तै भनेका थिए, तिनीहरूले व्यक्तिगत रूपमा आफ्नै आँखाले नदेखेकाले, येशू क्रूसमा टाँगिनुभएको थियो वा उहाँ मृत अवस्थाबाट ब्युँतनुभएको थियो भनेर विश्वास गरेनन्। त्यति बेला थोमा नामको चेलाले येशूको किलाका डोबहरू छुन्छु भनी जिद्दी गरेको थियो। अनि प्रभु येशूले उसलाई के भन्नुभयो? (“थोमा तिमीले मलाई देखेको कारण विश्वास गरेका छौ: तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्वास गरेका छन्” (यूहन्ना २०:२९)।) “तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्वास गरेका छन्।” यसको अर्थ के हो? के तिनीहरूले साँच्चै केही पनि देखेनन्? वास्तवमा, येशूले भन्नुभएका सबै कुरा र उहाँले गर्नुभएका सबै कामले येशू परमेश्वर हुनुहुन्छ भन्ने कुरा प्रमाणित गरिसकेका थिए, त्यसैले मानिसहरूले यसलाई विश्वास गर्नुपर्थ्यो। तिनीहरूले विश्वास गर्नुअघि येशूले अझ धेरै चिन्ह र अचम्मका कार्य गर्नु वा अझ धेरै वचन बोल्नु आवश्यक थिएन, न त तिनीहरूलाई उहाँको किलाका डोबहरू छोएर पुष्टि गर्नु नै आवश्यक थियो। साँचो विश्वास देख्ने कुरामा मात्रै निर्भर हुँदैन—बरु, आत्मिक पुष्टि भएपछि, व्यक्तिले कहिल्यै शङ्का नगरी अन्त्यसम्म विश्वास गर्न सक्छ। थोमा देख्ने कुरामा मात्रै निर्भर थियो, र ऊ अविश्वासी थियो। थोमाजस्तो नहुनू।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ
प्रभु येशूले थोमालाई भन्नुभयो, “तिमीले मलाई देखेको कारण विश्वास गरेका छौ: तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्वास गरेका छन्” (यूहन्ना २०:२९)। यी वचनहरूको अर्थ के हो भने ऊ प्रभु येशूद्वारा दोषी ठहराइसकिएको थियो र ऊ अविश्वासी हो। यदि तँ साँचो रूपमा प्रभुमा विश्वास गर्छस्, र उहाँले भन्ने सबै वचन सत्यता हुन् भन्ने विश्वास गर्छस्, र हृदयमा प्रभुलाई शङ्का गर्दैनस् भने, तँ आशिषित् हुनेछस्। तर, कतिपय मानिसले केही वर्षदेखि प्रभु येशूलाई पछ्याएका भए पनि प्रभु येशूका वचनहरू सत्यता हुन् भन्ने विश्वास गर्दैनन्, उहाँ मृत अवस्थाबाट बौरी उठ्न सक्नुहुन्छ, वा उहाँ सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ भन्ने कुरा त झनै विश्वास गर्दैनन्। ती मानिसहरूसँग साँचो विश्वास हुँदैन र तिनीहरूले आशिष्हरू प्राप्त गर्नेछैनन्। जो प्रभुमा विश्वास गर्छन् तर उहाँ नै सत्यता हुनुहुन्छ भन्ने विश्वास गर्दैनन् तिनीहरूले केही पनि प्राप्त गर्नेछैनन्। यदि तँ परमेश्वरमाथिको तेरो विश्वासमा सधैँ शङ्का गर्छस्, र सधैँ परमेश्वर तँसमक्ष देखा पर्नुभएपछि वा उहाँले चिन्ह र अचम्मका कार्यहरू गर्नुभएपछि मात्र उहाँमा विश्वास गर्न चाहन्छस् भने, यो विश्वास होइन—यो देखेपछि मात्रै विश्वास गर्नु हो। एउटा सृजित प्राणीको रूपमा, तँ कसरी परमेश्वरलाई व्यक्तिगत रूपमा तँसमक्ष देखा पर्न भन्न योग्य छस्? तँ उहाँलाई व्यक्तिगत रूपमा तँजस्तो भ्रष्ट मानवसँग बोल्न भन्न कसरी योग्य छस्? यसबाहेक, तैँले विश्वास गर्नुअघि उहाँलाई सबै कुरा तँलाई स्पष्ट रूपमा बुझाइदिन भन्न तँ कसरी योग्य छस्? यदि तँसँग समझ छ भने, परमेश्वरले बोल्ने यी वचनहरू सबै सत्यता हुन् भन्ने देख्नेबित्तिकै तैँले विश्वास गर्नेछस्। यदि तँसँग साँच्चिकै विश्वास छ भने, परमेश्वर जे भन्नुहुन्छ वा उहाँ जे गर्नुहुन्छ त्यसले तँलाई केही फरक पार्नेछैन, न त उहाँको मानवता कति सामान्य छ भन्ने कुराले नै तँलाई केही फरक पार्नेछ। बरु, परमेश्वरका वचनहरू सबै सत्यता हुन् भन्ने देखेपछि, ती परमेश्वरद्वारा नै भनिएका हुन् र उहाँले नै यी कुराहरू गर्नुभएको हो भन्ने कुरामा तँ शतप्रतिशत विश्वस्त भइहाल्नेछस्, र तँलाई कुनै शङ्काविना अन्त्यसम्म परमेश्वरलाई पछ्याउने विश्वास प्राप्त हुनेछ। जो शङ्का गर्छन् तिनीहरू छली मानिस हुन्। तिनीहरू परमेश्वरमा विश्वास गर्छन् तर सत्यतामा विश्वास गर्दैनन्। तिनीहरू सधैँ ती रहस्यहरू बुझ्न चाहन्छन्, र ती कुराहरू राम्रोसँग बुझेपछि मात्र साँचो रूपमा विश्वास गर्छन्। परमेश्वरमा विश्वास गर्नका लागि तिनीहरूको पूर्वसर्त भनेको देहधारी परमेश्वर कसरी आइपुग्नुभयो, उहाँ कहिले आइपुग्नुभयो, आइपुगेपछि उहाँ कसरी काम गर्नुहुन्छ, उहाँ जानुअघि कति लामो समय काम गर्नुहुनेछ, उहाँ जाने प्रक्रिया कस्तो हुनेछ, उहाँ निस्केर कहाँ जानुहुनेछ भन्ने कुरा तिनीहरूले स्पष्ट रूपमा बुझ्नुपर्छ…। तिनीहरू केही रहस्य बुझ्न चाहन्छन्; तिनीहरू यहाँ सत्यता खोजी गर्न होइन, ती रहस्यको जाँचबुझ गर्न आएका हुन्। तिनीहरू यी रहस्यहरू बुझिएन भने परमेश्वरमा विश्वास गर्न नसकिने सोच्छन्, मानौँ यसले तिनीहरूलाई परमेश्वरमा विश्वास गर्नबाट रोकिरहेको छ। तिनीहरूले यो दृष्टिकोण राख्नुले समस्या निम्त्याउँछ। यदि तिनीहरू सधैँ रहस्यहरूको अनुसन्धान गरिरहन्छन् भने, तिनीहरूलाई हृदयदेखि नै सत्यतामा अरुचि हुनेछ, र तिनीहरूसँग सत्यतामा ध्यान दिने कुनै मनसाय हुनेछैन। त्यस्तो अवस्थामा, तिनीहरू सत्यता बुझ्न असक्षम हुनेछन्। यदि तिनीहरू परमेश्वरका वचनहरू पढ्दैनन् वा परमेश्वरका वचनहरू मनन गर्नमा ध्यान केन्द्रित गर्दैनन् भने, के त्यस्ता मानिसहरूले आफूलाई चिन्न सक्छन्? यदि तिनीहरूलाई आफूलाई चिन्न सजिलो भएन भने, के तिनीहरूले जीवन प्रवेश प्राप्त गर्न सक्छन्? के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन्? कदापि सक्दैनन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ
प्रभु येशू क्रूसमा टाँगिनुभन्दा अघि, थोमा उहाँ ख्रीष्ट हुनुहुन्छ भन्ने कुरामा सधैँ शङ्का गर्थे र विश्वास गर्न असमर्थ थिए। उसले आफ्नो आँखाले जे देख्न सक्थ्यो, उसले आफ्नो हातले जे छुन सक्थ्यो, त्यसको आधारमा मात्रै परमेश्वरमाथिको उसको विश्वास स्थापित थियो। यस प्रकारको व्यक्तिको विश्वासको बारेमा प्रभु येशूलाई राम्ररी थाहा थियो। त्यस्ता व्यक्तिहरूले केवल स्वर्गको परमेश्वरमा विश्वास गर्थे, तर परमेश्वरले पठाउनुभएका एक मात्र पुत्रलाई वा देहमा आउनुभएका ख्रीष्टलाई बिलकुलै विश्वास गर्दैनथे, न त तिनीहरूले उहाँलाई स्वीकार नै गर्थे। थोमाले प्रभु येशू ख्रीष्टको अस्तित्व र उहाँ साँच्चिकै देहधारी परमेश्वर हुनुहुन्छ भनी स्वीकार र विश्वास गर्न सकोस् भनेर उहाँले थोमालाई हात बढाएर उहाँको करङ छुन दिनुभयो। के प्रभु येशूको पुनरुत्थानभन्दा अघि र पछिको थोमाको शङ्कामा कुनै भिन्नता थियो र? उसले सधैँ शङ्का गरिरहेको थियो अनि प्रभु येशूको आत्मिक शरीर व्यक्तिगत रूपमा ऊकहाँ प्रकट नभएसम्म र उसलाई उहाँको शरीरमा भएका कीलाका डोबहरू छुन नदिएसम्म कसैले पनि उसका शङ्काहरू निवारण गर्न र उसलाई शङ्का गर्न छोड्न लगाउन सक्दैनथ्यो। त्यसैले, प्रभु येशूले थोमालाई उहाँको करङ छुन र कीलाका डोबहरूको अस्तित्व साँच्चिकै महसुस गर्न दिनुभएको समयपछि, थोमाको शङ्का हट्यो, अनि उसले प्रभु येशू बौरी उठ्नुभएको हो भनी साँचो रीतिले जान्न सक्यो, अनि उसले प्रभु येशू साँचो ख्रीष्ट र देहधारी परमेश्वर हुनुहुन्छ भनी स्वीकार र विश्वास गर्यो। यस समयमा, थोमाले अब फेरि कुनै शङ्का नगरेको भए पनि, उसले ख्रीष्टलाई भेट्ने अवसर सधैँका निम्ति गुमाइसकेको थियो। उसले उहाँको साथमा रहने, उहाँलाई पछ्याउने, उहाँलाई चिन्ने अवसर सधैँका लागि गुमाइसकेको थियो। उसले आफू ख्रीष्टद्वारा सिद्ध पारिइने मौका गुमाइसकेको थियो। प्रभु येशू देखा पर्नुभएको घटना र उहाँका वचनहरूले शङ्काले भरिएकाहरूको विश्वासमा एउटा निष्कर्ष र फैसला प्रदान गर्यो। स्वर्गका परमेश्वरलाई मात्र विश्वास गर्ने र ख्रीष्टलाई विश्वास नगर्ने शङ्कालुहरूलाई यो कुरा बताउन उहाँले आफ्नो व्यावहारिक वचन र कार्यहरू प्रयोग गर्नुभयो: परमेश्वरले तिनीहरूको विश्वासको तारिफ गर्नुभएन, न त शङ्का गर्दै उहाँलाई पछ्याएकोमा तिनीहरूको तारिफ नै गर्नुभयो। तिनीहरूले परमेश्वर र ख्रीष्टलाई पूर्ण रीतिले विश्वास गर्ने दिन मात्रै परमेश्वरले आफ्नो महान् काम पूरा गर्नुभएको दिन हुन सक्थ्यो। अवश्य नै, त्यो दिन तिनीहरूको शङ्कामाथि फैसला गरिने दिन पनि थियो। ख्रीष्टप्रतिको तिनीहरूको मनोवृत्तिले तिनीहरूको नियति निर्धारण गर्यो, र तिनीहरूसँग हठी शङ्का हुनुको अर्थ तिनीहरूको विश्वासले तिनीहरूको निम्ति कुनै फल फलाएन, र तिनीहरूमा कठोरता हुनुको अर्थ तिनीहरूका आशाहरू व्यर्थ भए। स्वर्गका परमेश्वरमाथिको तिनीहरूको विश्वास भ्रमहरूमा आधारित थियो, अनि ख्रीष्टप्रतिको तिनीहरूको शङ्का वास्तवमा ख्रीष्टप्रतिको तिनीहरूको साँचो मनोवृत्ति थियो, तिनीहरूले प्रभु येशूको शरीरमा भएका कीलाका डोबहरू छोएको भए तापनि, तिनीहरूको विश्वास अझै पनि व्यर्थको थियो र तिनीहरूको परिणाम इनारबाट डोकोमा पानी निकाल्नुझैँ थियो भनेर भन्न सकिन्छ—सबै व्यर्थ थियो। प्रभु येशूले थोमालाई जे भन्नुभयो, त्यो हरेक मानिसलाई यो कुरा बताउने उहाँको तरिका थियो भन्ने स्पष्ट छ: बौरी उठ्नुभएका प्रभु येशू नै मानिसहरूको माझमा काम गर्दै साढे तेत्तीस वर्ष बिताउनुहुने प्रभु येशू हुनुहुन्छ। उहाँलाई क्रूसमा टाँगिएको र उहाँले मृत्युछायाको घाटी अनुभव गर्नुभएको भए तापनि, र उहाँले पुनरुत्थानको अनुभव गर्नुभएको भए तापनि, उहाँले कुनै पनि पक्षमा कुनै परिवर्तन अनुभव गर्नुभएन। अहिले उहाँको शरीरमा कीलाका डोबहरू भए तापनि, र उहाँ पुनरुत्थान भई र चिहानबाट बाहिर निस्कनुभएको भए तापनि, उहाँको स्वभाव, मानवजातिसम्बन्धी उहाँको बुझाइ, र मानवजातिप्रतिका उहाँका अभिप्रायहरू अलिकति पनि बदलिएको थिएन। साथै, उहाँले मानिसहरूलाई उहाँ क्रूसबाट तल ओर्लेर आउनुभएको छ, पापमाथि विजयी हुनुभएको छ, कठिनाइहरूबाट पार पाउनुभएको छ, र मृत्युमाथि विजयी हुनुभएको छ भनी बताउँदै हुनुहुन्थ्यो। कीलाका डोबहरू शैतानमाथिको उहाँको विजयको प्रमाण, सारा मानवजातिलाई सफलतापूर्वक छुटकारा दिनको लागि पापबलि बन्नुभएको प्रमाण थियो। उहाँले पहिले नै मानवजातिको पाप लिइसक्नुभएको छ र उहाँले छुटकाराको आफ्नो काम पूरा गरिसक्नुभएको छ भनेर मानिसहरूलाई बताइरहनुभएको थियो। जब उहाँ आफ्ना चेलाहरूलाई भेट्न फर्कनुभयो, तब उहाँले आफ्नो उपस्थितिद्वारा तिनीहरूलाई यो सन्देश दिनुभयो: “म अझै जीवित छु, म अझै अस्तित्वमा छु; आज म साँच्चिकै तिमीहरूको माझमा उभिरहेको छु ताकि तिमीहरूले मलाई देख्न र छुन सक। म तिमीहरूको साथमा सधैँ हुनेछु।” प्रभु येशूले थोमाको उदाहरणलाई भविष्यका मानिसहरूका निम्ति चेतावनीको रूपमा पनि प्रयोग गर्न चाहनुहुन्थ्यो: तैँले प्रभु येशूमाथिको विश्वासमा उहाँलाई देख्न वा छुन नसके पनि, तेरो साँचो विश्वासको कारणले तँ धन्यको छस्, अनि तेरो साँचो विश्वासको कारणले तैँले प्रभु येशूलाई देख्न सक्छस्, अनि यस्तो प्रकारको व्यक्ति धन्यको हुन्छ।
प्रभु येशू थोमाकहाँ देखा पर्नुहुँदा उहाँले बोलेका बाइबलमा रेकर्ड गरिएका यी वचनहरूले अनुग्रहको युगका सबै मानिसहरूलाई ठूलो मद्दत गर्छन्। थोमाकहाँ उहाँको देखापराइ र उहाँले उनलाई बोलेका वचनहरूले पछि आएका पुस्ताहरूमा गहिरो प्रभाव पारेका छन्; तिनले अनन्त महत्त्व राख्छन्। थोमाले परमेश्वरमा विश्वास गर्ने तर परमेश्वरलाई शङ्का गर्ने प्रकारको व्यक्तिलाई प्रतिनिधित्व गर्छन्। तिनीहरू शङ्कालु प्रकृतिका हुन्छन्, तिनीहरूको हृदय दुष्ट हुन्छ, तिनीहरू छली हुन्छन् र परमेश्वरले सम्पन्न गर्न सक्ने कामकुराहरूमा विश्वास गर्दैनन्। तिनीहरू परमेश्वरको सर्वशक्ति र उहाँको सार्वभौमिकतामा विश्वास गर्दैनन् अनि न त तिनीहरू देहधारी परमेश्वरमा नै विश्वास गर्छन्। तर, प्रभु येशूको पुनरुत्थानले तिनीहरूमा भएका यी विशेषताहरूलाई पूर्ण रूपमा खण्डन गर्यो र यसले तिनीहरूलाई आफ्नै शङ्का पत्ता लगाउने, आफ्नै शङ्का पहिचान गर्ने र आफ्नै छल स्वीकार गर्ने अवसर पनि प्रदान गर्यो, यसरी तिनीहरूले प्रभु येशूको अस्तित्व र पुनरुत्थानमा साँचो रूपमा विश्वास गरे। थोमालाई जे भयो त्यो पछिल्ला पुस्ताहरूका लागि चेतावनी र सावधानी थियो ताकि अझ धेरै मानिसले आफूलाई थोमाजस्तो शङ्कालु नहुन र यदि तिनीहरू शङ्काले भरिए भने, तिनीहरू अन्धकारमा डुब्नेछन् भनेर चेतावनी दिन सकून्। यदि तँ परमेश्वरलाई पछ्याउँछस्, तर थोमाले जस्तै परमेश्वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भनी पुष्टि गर्न, प्रमाणित गर्न र अनुमान गर्न सधैँ प्रभुको करङ छुन र उहाँका कीलाका डामहरू महसुस गर्न चाहन्छस् भने, परमेश्वरले तँलाई त्याग्नुहुनेछ। त्यसैले, प्रभु येशू मानिसहरू थोमाजस्तो आफ्नै आँखाले देख्न सक्ने कुरामा मात्रै विश्वास गर्ने नहोऊन्, बरु शुद्ध, इमानदार मानिस बनून्, परमेश्वरप्रति कुनै शङ्का नपालून् अनि केवल उहाँमा विश्वास गरून् र उहाँलाई पछ्याऊन् भन्ने माग गर्नुहुन्छ। यस्ता मानिसहरू आशिषित हुन्छन्। यो प्रभु येशूले मानिसहरूसँग गर्ने अत्यन्तै सानो माग हो र यो उहाँका अनुयायीहरूका लागि चेतावनी हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३
के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्वरको आशिष् प्राप्त गर्न सक्थे भन्ने लाग्छ? के तिनीहरूले मसीहलाई देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव माध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्वरप्रति तिनीहरूको विश्वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्वास वाहियात र हास्यास्पद छैन र? म तिमीहरूलाई अझै सोध्छु: तिमीहरूसित येशूको थोरै पनि बुझाइ नभएकाले, तिमीहरूलाई पनि त्यो समयका फरिसीहरूको गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तिमीहरूले सत्यताको मार्ग खुट्ट्याउन सक्छौ? के तिमीहरूले ख्रीष्टको विरोध गर्नेछैनौ भनी साँच्चै प्रत्याभूति गराउन सक्छौ? के तिमीहरूले पवित्र आत्माको काम अनुसरण गर्न सक्छौ? तिमीहरूलाई आफूले ख्रीष्टको विरोध गर्नेछु कि गर्नेछैनँ भनेर थाहा छैन भने, म भन्छु, तिमीहरू पहिले नै मृत्युको मुखमा जिइरहेका छौ। मसीहलाई नचिन्नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरू सबैले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। तिनीहरूले येशूको पुनरागमनलाई शैतानको बहकाउका रूपमा झनै देख्न सक्छन् र अझ धेरै मानिसहरूले देहमा फर्कनुभएका येशूको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत बनाउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्माविरुद्धको ईश्वरनिन्दा, मण्डलीहरूका लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको विनाश र येशूले व्यक्त गर्नुभएका सबै कुराहरूको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने, तिमीहरूले येशूबाट के प्राप्त गर्न सक्छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्नुभएको हुनेछ
अय्यूबले कानको सुनाइद्वारा परमेश्वरको बारेमा सुन्छन्
अय्यूब ९:११ हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई दख्दिनँ: उहाँ जानुहुन्छ, तर म उहाँलाई देख्दिनँ।
अय्यूब २३:८-९ हेर्नुहोस्, म अगाडि बढ्छु तर उहाँ त्यहाँ हुनुहुन्न; अनि पछाडि फर्कन्छु, तर उहाँलाई देख्दिनँ: देब्रे हातपट्टि, जहाँ उहाँ काम गर्नुहुन्छ, तर म उहाँलाई देख्न सक्दिनँ: मैले नदेखूँ भनेर उहाँले आफैलाई दाहिने हातपट्टि लुकाउनुहुन्छ।
अय्यूब ४२:२-६ मलाई थाहा छ तपाईंले सबै थोक गर्न सक्नुहुन्छ, अनि तपाईंदेखि कुनै पनि विचारलाई लुकाउन सकिन्न। कसले ज्ञानविना सल्लाहलाई लुकाउँछ? यसैले मैले नबुझ्ने कुरा मैले बोलेको छु; मेरो निम्ति अत्यन्तै अचम्मका कुराहरू, जुन मलाई थाहा थिएन। सुन्नुहोस्, म तपाईंलाई बिन्ती गर्छु, अनि म बोल्नेछु: म तपाईंसँग माग गर्छु र तपाईंलाई मतर्फ घोषणा गर्छु। मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरो आँखाले नै तपाईंलाई देख्छ। म किन आफैलाई घृणा गर्छु, अनि धुलो र खरानीमा पश्चात्ताप गर्छु।
परमेश्वरले आफैलाई अय्यूबको सामु प्रकट नगर्नुभएको भए पनि, अय्यूबले परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्छन्
यी वचनहरूले जोड दिएको कुरा के हो? यसमा एउटा तथ्य छ भन्ने कुरा तिमीहरू कसैलाई थाहा छ? सर्वप्रथम, अय्यूबले परमेश्वर हुनुहुन्छ भनेर कसरी थाहा पाए? अनि, परमेश्वरले नै स्वर्ग, पृथ्वी र सबै थोकमाथि शासन गर्नुहुन्छ भनी तिनले कसरी जाने? यो एउटा खण्डले यी दुई प्रश्नको उत्तर दिन्छ: “मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरो आँखाले नै तपाईंलाई देख्छ। म किन आफैलाई घृणा गर्छु, अनि धुलो र खरानीमा पश्चात्ताप गर्छु।” यी वचनहरूबाट हामी के सिक्छौं भने परमेश्वरलाई आफ्नै आँखाले देख्नुको सट्टा अय्यूबले परमेश्वरबारे किंवदन्तीहरूबाट जानेका थिए। यिनै परिस्थितिमा तिनी परमेश्वरलाई पछ्याउने मार्गमा हिँड्न थाले, अनि पछि तिनले आफ्नो जीवनलगायत सबै कुरामा परमेश्वरको अस्तित्व भएको पुष्टि गरे। यहाँ एउटा इन्कार गर्न नसकिने तथ्य छ—त्यो के हो त? परमेश्वरको भय मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा लाग्न सके पनि अय्यूबले परमेश्वरलाई कहिल्यै देखेका थिएनन्। यस कुरामा तिनी आजका मानिसजस्तै थिएनन् र? अय्यूबले कहिल्यै परमेश्वरलाई देखेका थिएनन्, यसको अर्थ, तिनले परमेश्वरबारे सुनेको भए पनि, परमेश्वर कहाँ हुनुहुन्छ वा परमेश्वर कस्तो हुनुहुन्छ वा परमेश्वरले के गर्दै हुनुहुन्छ भन्ने कुरा तिनलाई थाहा थिएन। यी सबै व्यक्तिपरक कुराहरू हुन्; वस्तुपरक रूपमा भन्नुपर्दाचाहिँ, तिनले परमेश्वरलाई पछ्याएको भए पनि परमेश्वर कहिल्यै तिनको अघि देखा पर्नुभएन वा तिनीसँग बोल्नुभएन। के यो तथ्य होइन र? परमेश्वरले अय्यूबसँग बोल्नुभएको वा तिनलाई कुनै आज्ञा दिनुभएको थिएन, तैपनि अय्यूबले परमेश्वरको अस्तित्व र सबै कुरामाथि रहेको उहाँको सार्वभौमिकतालाई देखेका थिए, र अय्यूबले कानको सुनाइमार्फत परमेश्वरबारे किंवदन्तीहरूबाट थाहा पाएपछि परमेश्वरको भय मान्ने र दुष्टताबाट अलग बस्ने जीवन बिताउन थालेका थिए। अय्यूबले परमेश्वरलाई पछ्याउने कार्यको सुरुवात र प्रक्रिया यही थियो। …
परमेश्वर अय्यूबबाट लुक्नुभएको तथ्यले उहाँमाथिको तिनको विश्वास हल्लिएन
त्यसपछि, तलको धर्मशास्त्रको खण्डमा, अय्यूब भन्छन्, “हेर्नुहोस्, म अगाडि बढ्छु तर उहाँ त्यहाँ हुनुहुन्न; अनि पछाडि फर्कन्छु, तर उहाँलाई देख्दिनँ: देब्रे हातपट्टि, जहाँ उहाँ काम गर्नुहुन्छ, तर म उहाँलाई देख्न सक्दिनँ: मैले नदेखूँ भनेर उहाँले आफैलाई दाहिने हातपट्टि लुकाउनुहुन्छ” (अय्यूब २३:८-९)। यस विवरणमा हामी के थाहा पाउछौं भने अय्यूबको अनुभवमा परमेश्वर पूर्ण रूपमा तिनीबाट लुक्नुभएको थियो; परमेश्वर खुल्लमखुल्ला तिनीकहाँ देखा पर्नुभएको थिएन, न त उहाँले तिनीसँग खुल्लमखुल्ला कुनै वचन नै बोल्नुभएको थियो, तर पनि अय्यूब आफ्नो हृदयमा परमेश्वरको अस्तित्वप्रति विश्वस्त थिए। तिनले सधैँ परमेश्वर तिनको अघिअघि हिँडिरहनुभएको हुन सक्छ, वा तिनको छेउमा काम गरिरहनुभएको हुन सक्छ, र तिनले परमेश्वरलाई देख्न नसके पनि परमेश्वर तिनको छेउमा हुनुहुन्छ, र तिनीसँग सम्बन्धित सबथोक सञ्चालन गर्दै हुनुहुन्छ भन्ने विश्वास गर्थे। अय्यूबले कहिल्यै परमेश्वरलाई देखेका थिएनन्, तर तिनी आफ्नो विश्वासमा दृढ रहन सक्षम थिए, जुन अरू कनै पनि व्यक्तिले गर्न सकेन। किन अरू मानिसले त्यसो गर्न सकेनन्? किनकि परमेश्वर अय्यूबसँग बोल्नुभएन वा तिनको सामु देखा पर्नुभएन, र यदि तिनले साँच्चै विश्वास नगरेको भए तिनी निरन्तर त्यसो गरिरहन सक्नेथेनन्, न त तिनी परमेश्वरको भय मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा नै लागिरहन नै सक्थे। के यो सत्य होइन? जब तँ अय्यूबले भनेका यी वचनहरू पढ्छस् तब तँलाई कस्तो लाग्छ? के तँलाई अय्यूबको सिद्धता र सोझोपन र परमेश्वरको सामु तिनको धार्मिकता साँचो हो, र परमेश्वरको तर्फबाट भएको अतिशयोक्ति होइन भन्ने लाग्छ? परमेश्वरले अय्यूबलाई अन्य मानिसहरूलाई जस्तै व्यवहार गर्नुभयो र तिनको सामु देखा पर्नुभएन वा कुरा गर्नुभएन, तैपनि अय्यूब अझै पनि आफ्नो निष्ठामा अडिग रहे, तिनले अझै पनि परमेश्वरको सार्वभौमिकतामा विश्वास राखे र यसबाहेक, परमेश्वरलाई चिढ्याउँछु कि भन्ने डरको कारण तिनले बारम्बार होमबलि चढाए र परमेश्वरलाई प्रार्थना गरे। परमेश्वरलाई नदेखे पनि उहाँको भय मान्ने अय्यूबको क्षमतामा, हामी तिनले सकारात्मक कुराहरूलाई कति धेरै प्रेम गर्थे, र तिनको विश्वास कति दृढ र वास्तविक थियो भन्ने कुरा देख्छौं। तिनले परमेश्वर तिनीबाट लुक्नुभयो भन्दैमा परमेश्वरको अस्तित्वलाई इन्कार गरेनन्, न त परमेश्वरलाई कहिल्यै नदेखेको कारण आफ्नो विश्वास नै गुमाए र परमेश्वरलाई नै त्यागे। बरु, सबै थोकमाथि शासन गर्ने परमेश्वरको लुकेको कामको माझमा तिनले परमेश्वरको अस्तित्वलाई बुझेका र परमेश्वरको सार्वभौमिकता र शक्ति महसुस गरेका थिए। परमेश्वरलाई नदेखे पनि तिनी सोझो हुन छाडेनन्, न त परमेश्वर तिनको अगाडि कहिल्यै देखा नपर्नुभएको कारणले नै तिनले परमेश्वरको भय मान्ने र दुष्टाबाट अलग बस्ने मार्गलाई नै त्यागे। परमेश्वर आफ्नो अस्तित्व प्रमाणित गर्न तिनको अघि देखा परून् भनेर अय्यूबले कहिल्यै अनुरोध गरेनन्, किनकि तिनले सबै थोकमाथिको परमेश्वरको सार्वभौमिकतालाई देखिसकेका थिए र अरूले प्राप्त नगरेका आशिष् र अनुग्रह आफूले प्राप्त गरेको छु भन्ने तिनलाई विश्वास थियो। परमेश्वर तिनीबाट लुक्नुभएको भए पनि परमेश्वरमाथिको तिनको विश्वास कहिल्यै डगमगाएन। यसैले, तिनले अरू कसैले नपाएको फल अर्थात् परमेश्वरको अनुमोदन र परमेश्वरको आशिष् प्राप्त गरे।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
हामीले परमेश्वरका पदचापहरू खोजिरहेका हुनाले, हामीले परमेश्वरका अभिप्रायहरू, परमेश्वरका वचनहरू, उहाँका वाणीहरू खोज्नुपर्छ। किनभने जहाँ परमेश्वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्वरको आवाज हुन्छ, र जहाँ परमेश्वरका पदचापहरू हुन्छन्, त्यहाँ परमेश्वरका कार्यहरू हुन्छन्; जहाँ परमेश्वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्वर देखा पर्नुहुन्छ, र परमेश्वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छन्। परमेश्वरका पदचापहरू खोज्दा, तिमीहरूले “परमेश्वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ” भन्ने वचनहरूलाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसले सत्यता प्राप्त गर्दा पनि, तिनीहरू परमेश्वरका पदचापहरू भेट्टाएको विश्वास गर्दैनन्, तिनीहरू परमेश्वरको देखा पराइ त झनै स्वीकार गर्दैनन्। कस्तो गम्भीर भुल! परमेश्वरको देखापराइ मानिसका धारणाहरूसँग मेल खानै सक्दैन, परमेश्वर मानिसले माग गरेअनुसार त झनै देखा पर्न सक्नुहुन्न। परमेश्वरले आफ्नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू गर्नुहुन्छ र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँले जुनसुकै काम गर्नुभए पनि, उहाँले यसका बारेमा मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, हरेक व्यक्तिलाई उहाँको कामका बारेमा सूचित गर्नु त परै जाओस्। यो परमेश्वरको स्वभाव हो, र अझ भन्ने हो भने, यसलाई सबैले चिन्नैपर्छ। यदि तिमीहरू परमेश्वरको देखापराइ देख्न, परमेश्वरका पाइलाहरू पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्ना धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्वरसँग यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले तिमीहरूका सीमामा राख्न र तिमीहरूका धारणाहरूमा उहाँलाई सीमित गर्न त झनै हुँदैन। त्यसको सट्टा, तिमीहरूले परमेश्वरका पाइलाहरू कसरी खोज्नुपर्छ, कसरी परमेश्वर देखापराइलाई स्विकार्नुपर्छ, र कसरी परमेश्वरको नयाँ काममा समर्पित हुनुपर्छ भनेर आफैसँग माग गर्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र समर्पित हुनुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ
यस्तो कुरालाई जाँच्न त्यत्ति कठिन हुँदैन, तर यसका निम्ति हामी प्रत्येकले पहिला यो एउटा सत्यता जान्नु माग गरिएको हुन्छ: जो देहधारी परमेश्वर हुनुहुन्छ, उहाँसँग परमेश्वरको सार हुन्छ, र जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँसँग परमेश्वरको अभिव्यक्ति हुन्छ। परमेश्वर देह बन्नुभएको हुनाले, उहाँले आफूले गर्ने अभिप्राय राख्नुभएको काम आफूसँगै ल्याउनुहुन्छ, र उहाँ देहधारी परमेश्वर भएको हुनाले, उहाँले उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुन्छ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन प्रदान गर्न, र उसलाई मार्ग देखाउन सक्नुहुन्छ। परमेश्वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्वरको देहधारी देह हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट नै निर्धारण गर्नुपर्छ। भन्नुको अर्थ, यो देहधारी परमेश्वरको देह हो कि होइन, र यो साँचो मार्ग हो कि होइन भनी निर्धारण गर्न उसले उहाँको सारकै आधारमा भिन्नता छुट्ट्याउनुपर्छ। त्यसैले, यो देहधारी परमेश्वरको देह हो कि होइन भन्ने कुराको कडी बाहिरी स्वरूपभन्दा उहाँको सार (उहाँको काम, उहाँका वचनहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरू) मा निहित हुन्छ। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, यसले मानिस मूर्ख र अज्ञानी छ भन्ने देखाउँछ। बाहिरी स्वरूपले सार निर्धारण गर्न सक्दैन; अझ भन्ने हो भने, परमेश्वरको काम मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खाँदैन। के येशूको बाहिरी स्वरूप मानिसका धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोसाकले उहाँको वास्तविक पहिचान प्रदर्शन गर्न नसकेका थिएनन् र? के फरिसीहरूले त्यतिबेला येशूको बाहिरी स्वरूपलाई मात्र हेरेकाले र ध्यान दिएर उहाँको मुखका वचनहरू स्वीकार नगरेकाले नै उहाँको विरोध गरेका थिएनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना