३. तपाईंले प्रभु येशू शरीरमा फर्केर आउनुभएको छ भनी गवाही दिनुहुन्छ। त्यसो भए प्रभु अहिले कहाँ हुनुहुन्छ? हामीले किन उहाँलाई देखेका छैनौं? देख्नु नै विश्‍वास गर्नु हो, त्यसैले हामीले उहाँलाई नदेखेका तथ्यले प्रभु अझै आउनुभएको छैन भनी प्रमाणित गर्दछ। जब म देख्छु, तब मात्र यस कुरामा विश्‍वास गर्नेछु।

सन्दर्भका लागि बाइबलका पदहरू:

“येशूले उसलाई भन्‍नुभयो, म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन। यदि तिमीहरूले मलाई चिनेका थियौ भने, तिमीहरूले मेरो पितालाई पनि चिनेका हुनेथियौ: अनि अबदेखि तिमीहरूले उहाँलाई चिन्छौ, र उहाँलाई देखेका छौ। फिलिपले उहाँलाई भने, प्रभु, हामीलाई पिता देखाउनुहोस् र यो हाम्रो लागि पर्याप्त हुन्छ। येशूले तिनलाई भन्‍नुभयो, फिलिप, म तिमीसँग लामो समयदेखि छु, तापनि तिमीले मलाई चिनेका रहनेछौ? जसले मलाई देखेको छ उसले पितालाई देखेको छ; अनि हामीलाई पिता देखाइदिनुहोस् भनेर तिमीले कसरी भन्‍न सक्छौ? के म पितामा छु र पिता ममा हुनुहुन्छ भन्‍ने तिमी विश्‍वास गर्दैनौ? मैले तिमीहरूलाई भनेका वचनहरू मेरा आफ्नै होइनन्: तर ममा वास गर्नुहुने पिताका हुन्, उहाँले नै काम गर्नुहुन्छ। म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर ममा विश्‍वास गर: नत्र कामहरूकै खातिर मलाई विश्‍वास गर” (यूहन्‍ना १४:६-११)

“अनि फेरि आठ दिनपछि उहाँका चेलाहरू भित्रै थिए र थोमा पनि तिनीहरूसँग थिए: तब ढोकाहरू बन्द भएको अवस्थामा येशू भित्र आउनुभयो र बीचमा खडा हुनभयो, र भन्‍नुभयो, तिमीहरूलाई शान्ति होस्। तब उहाँले थोमालाई भन्‍नुभयो, तिम्रो औँला यहाँ ल्याऊ र मेरा हातहरू हेर; र तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखामा छिराऊ: र अविश्‍वासी होइन, तर विश्‍वास गर्ने होऊ। अनि थोमाले उहाँलाई जवाफ दिँदै भने, मेरा प्रभु र मेरा परमेश्‍वर। येशूले तिनलाई भन्‍नुभयो, थोमा तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ: तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्” (यूहन्‍ना २०:२६-२९)

“मेरा भेडाले मेरो सोर सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्‍ना १०:२७)

“यसैले तब विश्‍वास सुनाइबाट आउँछ र ख्रीष्टको वचन सुनाइबाट” (रोमी १०:१७)

परमेश्वरका सान्दर्भिक वचनहरू:

अन्तिम दिनहरूमा मानिसहरूलाई सत्यको आत्मा दिइन्छ भनी येशूले घोषणा गर्नुभयो। अन्तिम दिनहरू अहिले यहाँ छ; सत्यको आत्माले वचनहरूलाई कसरी व्यक्त गर्नुहुन्छ भनी तँ बुझ्छस्? सत्यको आत्मा कहाँ देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ? अगमवक्ता यशैयाको अगमवाणीको पुस्तकमा नयाँ करारको युगमा येशू नाम गरिएको बालक जन्‍मनेछ भनी कहिल्यै पनि बताइएको थिएन; इम्मानुएल नाम गरेको पुरुष बालक जन्‍मनेछ भनी लेखिएको मात्र छ। येशूको नाउँ किन उल्लेख नगरिएको? पुरानो करारभरि यो नाउँ कतै पनि देखा पर्दैन, त्यसो भए तँ किन अझै पनि येशूमा विश्‍वास गर्छस्? पक्कै पनि तैँले येशूलाई आफ्नै आँखाले देखेपछि मात्र विश्‍वास थिइनस्, थिइस् त? वा के तैँले प्रकाश पाएपछि विश्‍वास गर्न थालेको हो? के परमेश्‍वरले तँलाई साँच्चै नै यस्तो अनुग्रह देखाउनुहुन्थ्यो? के उहाँले तँलाई यत्रो आशिष्‌ प्रदान गर्नुहुन्छ? येशूप्रति तेरो विश्‍वासको आधार के हो? आज परमेश्‍वर देह बन्नुभएको छ भन्‍ने कुरा तँ किन विश्‍वास गर्दैनस्? तँलाई परमेश्‍वरबाट आउने प्रकाशको अभाव छ भन्दैमा उहाँ देहधारी नहुनुभएको कुरा साबित गर्छ भनी तँ कसरी भन्‍न सक्छस्? के परमेश्‍वरले कुनै काम सुरु गर्न अघि मानिसहरूलाई जानकारी दिनु नै पर्छ त? के उहाँले पहिले तिनीहरूबाट स्वीकृति लिनुपर्छ र? यशैयाले डुँडमा पुरुष बालक जन्मिनेछन् भनेर मात्र बताए; तर मरियमले येशूलाई जन्‍माउनेछिन् भनी उनले कहिल्यै पनि अगमवाणी गरेनन्। मरियमबाट जन्मनुभएको येशूप्रतिको तेरो विश्‍वासलाई तैले खास केमा बसाल्छस्? निश्‍चय नै तेरो विश्‍वासमा गडबडी त आएको छैन?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

परमेश्‍वरले सुरुवातदेखि अन्त्यसम्म मानिसलाई व्यवस्थित गर्ने र मानवजातिमाझ मानिसलाई मुक्ति दिने आफ्नो काम गरिरहनुभएको छ। सुरुवातदेखि अन्त्यसम्म, एउटै परमेश्‍वर हुनुहुन्छ जो काम गरिरहनुभएको छ, बोलिरहनुभएको छ, र मानवजातिलाई सिकाइरहनुभएको र डोऱ्याइरहनुभएको छ। यो परमेश्‍वर साँच्चै हुनुहुन्छ। परमेश्‍वरले अहिले अत्यन्तै धेरै वचन बोल्नुभएको छ, हामीले उहाँलाई आमनेसामने देखिसकेका छौँ, उहाँले बोल्नुभएको सुनेका छौँ, उहाँको काम अनुभव गरेका छौँ, उहाँका वचनहरू खाएका र पिएका छौँ, र उहाँका वचनहरूलाई आफ्नो जीवन बनाउन आफूभित्र स्विकारेका छौँ। यी वचनहरूले हामीलाई निरन्तर डोऱ्याइरहेका र परिवर्तन गरिरहेका छन्। यो परमेश्‍वर वास्तवमै हुनुहुन्छ। तसर्थ, परमेश्‍वरले भन्नुभएझैँ हामीले मानवजातिको सृष्टि परमेश्‍वरले गर्नुभएको हो, र परमेश्‍वरले सुरुमा आदम र हव्वा सृष्टि गर्नुभयो भनेर विश्‍वास गर्नुपर्छ। तैँले यो परमेश्‍वरको अस्तित्व छ भनी विश्‍वास गर्ने भएकोले र तँ अहिले उहाँसामु आएकोले, के तँलाई अझै पनि यहोवाले गर्नुभएको काम यही परमेश्‍वरको काम हो भन्‍ने पुष्टि चाहिन्छ? यदि यो कसैले पुष्टि गर्न सक्दैन र कसैले देख्दैन भने, के तँ यसमा विश्‍वास गर्नेछैनस्? अथवा अनुग्रहको युगको कामको सम्बन्धमा, के तँ आफूले येशूलाई कहिल्यै नदेखेकोले उहाँ देहधारी परमेश्‍वर हुनुहुन्थ्यो भनी विश्‍वास गर्दैनस्? यदि तैँले व्यक्तिगत रूपमा वर्तमान परमेश्‍वरले बोल्नुभएको, काम गर्नुभएको वा देहधारण गर्नुभएको नदेखेको भए, के तँ यी कुरा विश्‍वास गर्ने थिइनस्? यदि तैँले यी कुराहरू नदेखेको भए वा यी कुराको पुष्टि गर्न कोही गवाही नभएको भए, के तैँले ती सबै कुरा विश्‍वास गर्ने थिइनस्? यो त मानिसमा हुने हास्यास्पद गलत दृष्टिकोणको कारण हुन्छ। यो निकै धेरै मानिसले गर्ने गल्ती हो। तिनीहरूले सबै कुरा व्यक्तिगत रूपमा हेर्नुपर्छ, र यदि हेरेनन् भने त्यो विश्‍वास गर्दैनन्। यो गलत हो। यदि व्यक्तिले साँचो रूपमा परमेश्‍वरलाई चिन्छ, तथ्यहरू नदेखीकन समेत उहाँको वचनमा विश्‍वास गर्न सक्छ, र उहाँको वचनको पुष्टि गर्न सक्छ भने मात्र, ऊ सत्यता बुझ्ने र साँचो विश्‍वास भएको व्यक्ति हुन्छ। अब हामीले परमेश्‍वरका यी वचनहरू देखिसकेका र उहाँको आवाज सुनिसकेका छौँ, हामीलाई साँचो विश्‍वास दिलाउन र त्यसैले हामीलाई उहाँलाई पछ्याउन र उहाँबाट आउने हरेक शब्द र सबै काममा विश्‍वास गराउन यो काफी छ। हामीले यी कुरा विश्लेषण वा अनुसन्धान गरिरहनुपर्ने कुनै आवश्यकता छैन। के मानिसहरूसँग हुनुपर्ने समझ यस्तै होइन र? परमेश्‍वरले मानवजाति सृष्टि गर्नुहुँदा, त्यो देख्ने कोही थिएन, तर अहिले परमेश्‍वर सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिन, आफ्नो काम व्यावहारिक रूपमा गर्न, मण्डलीमाझ हिँड्न र मानवजातिमाझ काम गर्न देहधारी हुनुभएको छ। के धेरै मानिसले यो देखेका छैनन् र? सबैले यो देख्न सक्दैनन्, तर तँ यसमा विश्‍वास गर्छस्। किन तँ यसमा विश्‍वास गर्छस्? तँलाई परमेश्‍वरको वचन सत्यता हो र यही नै साँचो मार्ग र परमेश्‍वरको काम हो भन्‍ने लागेकोले, तँ यसमा विश्‍वास गर्छस् होइन र? के तँ अझै यसो भन्न सक्छस्, “परमेश्‍वरको कामको यस चरणमा, मैले उहाँले बोल्नुभएको सुनेँ, र उहाँका वचनहरू पनि देखेँ। यो साँचो हो, यी वचनहरू परमेश्‍वरबाट आएका हुन्। तर प्रभु येशूको क्रूसीकरण कामको सम्बन्धमा, मैले उहाँको किलाका डोबहरू स्पर्श गरिनँ, त्यसैले उहाँ क्रूसमा टाँगिनुभएको थियो भन्‍ने कुरालाई विश्‍वास गर्दिनँ। मैले व्यवस्थाको युगमा यहोवा परमेश्‍वरले गरेको काम देखिनँ, र उहाँले व्यवस्थाहरू घोषणा गर्नुहुँदा मैले सुनिनँ। ती घोषणा मोशाले मात्र सुने र मोशाका पाँच पुस्तक लेखे, तर मलाई उनले ती कसरी लेखे त्यो थाहा छैन”? के यी कुराहरू भन्‍ने मानिसहरू सामान्य मनस्थितिका हुन् र? तिनीहरू अविश्‍वासी हुन् र परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिस होइनन्। ठ्याक्‍कै यस्तै कुरा इस्राएलीहरूले पनि भनेका थिए, “के यहोवा साँच्‍चै मोशामार्फत मात्र बोल्‍नुभएको छ र? के ऊहाँ हामीमार्फत बोल्‍नुभएको छैन र?” (गन्ती १२:२)। यसमा तिनीहरूले यसो भन्न खोजेका थिए: “हामी मोशाको कुरा सुन्नेछैनौँ, हामीले यो कुरा सिधै यहोवा परमेश्‍वरबाट नै सुन्नुपर्छ।” अनुग्रहको युगमा पनि मानिसहरूले यस्तै भनेका थिए, तिनीहरूले व्यक्तिगत रूपमा आफ्नै आँखाले नदेखेकाले, येशू क्रूसमा टाँगिनुभएको थियो वा उहाँ मृत अवस्थाबाट ब्युँतनुभएको थियो भनेर विश्‍वास गरेनन्। त्यति बेला थोमा नामको चेलाले येशूको किलाका डोबहरू छुन्छु भनी जिद्दी गरेको थियो। अनि प्रभु येशूले उसलाई के भन्नुभयो? (“थोमा तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ: तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्” (यूहन्‍ना २०:२९)।) “तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्।” खासमा यसको अर्थ के हो? के तिनीहरूले साँच्चै केही नदेखेका हुन्? वास्तवमा, येशूले भनेका सबै कुरा र उहाँले गरेका सबै कामले उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने पुष्टि गरिसकेको थियो, त्यसैले मानिसहरूले त्यो विश्‍वास गर्नुपर्थ्यो। येशूले अझ बढी चिन्ह र चमत्कार देखाउनु वा अझ बढी वचनहरू बोल्नु आवश्यक थिएन, र मानिसहरूले विश्‍वास गर्न उहाँको किलाका डोबहरू छुन आवश्यक थिएन। साँचो विश्‍वास देखेको कुरामा मात्र भर पर्दैन, बरु विश्‍वास त आत्मिक पुष्टिद्वारा अन्त्यसम्म कायम रहन्छ र त्यसमा कहिल्यै कुनै शङ्का हुँदैन। थोमा देखेको कुरामा मात्र विश्‍वास गर्ने अविश्‍वासी थियो। थोमाजस्तो नबन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ

प्रभु येशूले भन्‍नुभयो: “थोमा तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ: तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्।” यी वचनहरूको अर्थ के हो भने, उसलाई प्रभु येशूले निन्दा गरिसक्नुभएको थियो र ऊ एक अविश्‍वासी हो भनेर भनिसक्‍नुभएको थियो। यदि तँ साँचो रूपमा प्रभुमा र उहाँले भनेका सबै कुरामा विश्‍वास गर्छस् भने तँ आशिषित् हुनेछस्। यदि तैँले प्रभुलाई पछ्याएको धेरै समय भएको छ, तर उहाँको पुनरुत्थान क्षमतामा, वा उहाँ सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनस् भने तँमा साँचो विश्‍वास छैन र तैँले आशिष् पाउन सक्नेछैनस्। विश्‍वासद्वारा मात्र आशिष् पाउन सकिन्छ, र यदि तँ विश्‍वास गर्दैनस् भने, तैँले आशिष् पाउनेछैनस्। के परमेश्‍वर तँसामु प्रकट हुनुभयो, र उहाँले तँलाई उहाँ देख्ने तुल्याउनुभयो, र तँलाई व्यक्तिगत रूपमा विश्‍वस्त पार्नुभयो भने मात्र, तैँले कुनै पनि कुरा विश्‍वास गर्न सक्ने हो? मानव भएर तँ कसरी परमेश्‍वरलाई तँकहाँ व्यक्तिगत रूपमा देखा पर्नुहोस् भनी अनुरोध गर्न योग्य छस्? तँ कसरी उहाँलाई तँजस्तो भ्रष्ट मानवसँग व्यक्तिगत रूपमा बोल्न लगाउन योग्य छस्? त्यसबाहेक, कुन कुराले तँलाई तैँले विश्‍वास गर्नुअघि परमेश्‍वरलाई सबै कुरा स्पष्ट बताउन बाध्य पार्न योग्य बनाउँछ? यदि तँसँग समझ छ भने, परमेश्‍वरले व्यक्त गरेका यी वचनहरू पढेपछि नै विश्‍वास गर्नेछस्। यदि तँ साँचो रूपमा विश्‍वास गर्छस् भने, उहाँले भन्‍ने वा गर्ने कुराले केही फरक पर्दैन। बरु, यी वचनहरू सत्यता हुन् भन्‍ने देखेपछि, तँ ती वचन परमेश्‍वरद्वारा भनिएका हुन् र उहाँले ती कुराहरू गर्नुभएको हो भनेर शतप्रतिशत विश्‍वस्त हुनेछस्, अनि तँ उहाँलाई अन्त्यसम्म पछ्याउन तयार भइसको हुनेछस्। तैँले शङ्का गर्नु पर्दैन। शङ्कै-शङ्का गर्ने मानिसहरू अति छली हुन्छन्। तिनीहरू बस परमेश्‍वरमा विश्‍वास गर्नै सक्दैनन्। तिनीहरू सधैँ ती रहस्यहरू बुझ्ने प्रयास गरिरहन्छन् र तिनलाई विस्तृत रूपमा बुझिसकेपछि मात्र विश्‍वास गर्नेछन्। तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गर्ने पूर्वसर्त भनेको यी प्रश्नहरूको स्पष्ट जवाफ पाउनु हो: देहधारी परमेश्‍वर कसरी आउनुभयो? उहाँ कहिले आउनुभयो? उहाँ जानुअघि कति समय बस्नुहुनेछ? उहाँ यहाँबाट गएपछि कहाँ जानुहुन्छ? उहाँको जाने प्रक्रिया के हो? देहधारी परमेश्‍वरले कसरी काम गर्नुहुन्छ, र उहाँ कसरी जानुहुन्छ? … तिनीहरू केही रहस्य बुझ्न चाहन्छन्; तिनीहरू सत्यता खोजी गर्न होइन, ती रहस्य अनुसन्धान गर्न यहाँ आएका हुन्। तिनीहरू आफूले यी रहस्यहरू बुझ्न नसकुञ्जेल परमेश्‍वरमा विश्‍वास गर्न सकिनेछैन भन्‍ने सोच्छन्; यस्तो लाग्छ, मानौँ तिनीहरूको विश्‍वासमा अवरोध आइपरेको छ। त्यस्ता मानिसहरूमा यो दृष्टिकोण हुनु समस्याजनक कुरा हो। तिनीहरूलाई रहस्यहरू अनुसन्धान गर्ने चाहना भइसकेपछि, तिनीहरू सत्यता वा परमेश्‍वरको वचनलाई ध्यान दिने कष्ट उठाउँदैनन्। के यस्ता मानिसहरूले आफूलाई चिन्न सक्लान्? आफूलाई चिन्नु तिनीहरूका लागि सहज हुँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ

प्रभु येशू क्रूसमा टाँगिनुभन्दा अघि, थोमा उहाँ ख्रीष्ट हुनुहुन्छ भन्‍ने कुरामा सधैँ शङ्का गर्थे र विश्‍वास गर्न असमर्थ थिए। उसले आफ्नो आँखाले जे देख्‍न सक्थ्यो, उसले आफ्नो हातले जे छुन सक्थ्यो, त्यसको आधारमा मात्रै परमेश्‍वरमाथिको उसको विश्‍वास स्थापित थियो। यस प्रकारको व्यक्तिको विश्‍वासको बारेमा प्रभु येशूलाई राम्ररी थाहा थियो। त्यस्ता व्यक्तिहरूले केवल स्वर्गको परमेश्‍वरमा विश्‍वास गर्थे, तर परमेश्‍वरले पठाउनुभएका एक मात्र पुत्रलाई वा देहमा आउनुभएका ख्रीष्टलाई बिलकुलै विश्‍वास गर्दैनथे, न त तिनीहरूले उहाँलाई स्वीकार नै गर्थे। थोमाले प्रभु येशू ख्रीष्टको अस्तित्व र उहाँ साँच्‍चिकै देहधारी परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार र विश्‍वास गर्न सकोस् भनेर उहाँले थोमालाई हात बढाएर उहाँको करङ छुन दिनुभयो। के प्रभु येशूको पुनरुत्थानभन्दा अघि र पछिको थोमाको शङ्कामा कुनै भिन्‍नता थियो र? उसले सधैँ शङ्का गरिरहेको थियो अनि प्रभु येशूको आत्मिक शरीर व्यक्तिगत रूपमा ऊकहाँ प्रकट नभएसम्म र उसलाई उहाँको शरीरमा भएका कीलाका डोबहरू छुन नदिएसम्म कसैले पनि उसका शङ्काहरू निवारण गर्न र उसलाई शङ्का गर्न छोड्न लगाउन सक्दैनथ्यो। त्यसैले, प्रभु येशूले थोमालाई उहाँको करङ छुन र कीलाका डोबहरूको अस्तित्व साँच्‍चिकै महसुस गर्न दिनुभएको समयपछि, थोमाको शङ्का हट्यो, अनि उसले प्रभु येशू बौरी उठ्नुभएको हो भनी साँचो रीतिले जान्‍न सक्‍यो, अनि उसले प्रभु येशू साँचो ख्रीष्ट र देहधारी परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार र विश्‍वास गर्‍यो। यस समयमा, थोमाले अब फेरि कुनै शङ्का नगरेको भए पनि, उसले ख्रीष्टलाई भेट्ने अवसर सधैँका निम्ति गुमाइसकेको थियो। उसले उहाँको साथमा रहने, उहाँलाई पछ्याउने, उहाँलाई चिन्‍ने अवसर सधैँका लागि गुमाइसकेको थियो। उसले आफू ख्रीष्टद्वारा सिद्ध पारिइने मौका गुमाइसकेको थियो। प्रभु येशू देखा पर्नुभएको घटना र उहाँका वचनहरूले शङ्काले भरिएकाहरूको विश्‍वासमा एउटा निष्कर्ष र फैसला प्रदान गर्‍यो। स्वर्गका परमेश्‍वरलाई मात्र विश्‍वास गर्ने र ख्रीष्टलाई विश्‍वास नगर्ने शङ्कालुहरूलाई यो कुरा बताउन उहाँले आफ्नो व्यावहारिक वचन र कार्यहरू प्रयोग गर्नुभयो: परमेश्‍वरले तिनीहरूको विश्‍वासको तारिफ गर्नुभएन, न त शङ्का गर्दै उहाँलाई पछ्याएकोमा तिनीहरूको तारिफ नै गर्नुभयो। तिनीहरूले परमेश्‍वर र ख्रीष्टलाई पूर्ण रीतिले विश्‍वास गर्ने दिन मात्रै परमेश्‍वरले आफ्‍नो महान् काम पूरा गर्नुभएको दिन हुन सक्थ्यो। अवश्य नै, त्यो दिन तिनीहरूको शङ्कामाथि फैसला गरिने दिन पनि थियो। ख्रीष्टप्रतिको तिनीहरूको मनोवृत्तिले तिनीहरूको नियति निर्धारण गर्‍यो, र तिनीहरूसँग हठी शङ्का हुनुको अर्थ तिनीहरूको विश्‍वासले तिनीहरूको निम्ति कुनै फल फलाएन, र तिनीहरूमा कठोरता हुनुको अर्थ तिनीहरूका आशाहरू व्यर्थ भए। स्वर्गका परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास भ्रमहरूमा आधारित थियो, अनि ख्रीष्टप्रतिको तिनीहरूको शङ्का वास्तवमा ख्रीष्टप्रतिको तिनीहरूको साँचो मनोवृत्ति थियो, तिनीहरूले प्रभु येशूको शरीरमा भएका कीलाका डोबहरू छोएको भए तापनि, तिनीहरूको विश्‍वास अझै पनि व्यर्थको थियो र तिनीहरूको परिणाम इनारबाट डोकोमा पानी निकाल्‍नुझैँ थियो भनेर भन्‍न सकिन्छ—सबै व्यर्थ थियो। प्रभु येशूले थोमालाई जे भन्‍नुभयो, त्यो हरेक मानिसलाई यो कुरा बताउने उहाँको तरिका थियो भन्‍ने स्पष्ट छ: बौरी उठ्नुभएका प्रभु येशू नै मानिसहरूको माझमा काम गर्दै साढे तेत्तीस वर्ष बिताउनुहुने प्रभु येशू हुनुहुन्छ। उहाँलाई क्रूसमा टाँगिएको र उहाँले मृत्युछायाको घाटी अनुभव गर्नुभएको भए तापनि, र उहाँले पुनरुत्थानको अनुभव गर्नुभएको भए तापनि, उहाँले कुनै पनि पक्षमा कुनै परिवर्तन अनुभव गर्नुभएन। अहिले उहाँको शरीरमा कीलाका डोबहरू भए तापनि, र उहाँ पुनरुत्थान भई र चिहानबाट बाहिर निस्कनुभएको भए तापनि, उहाँको स्वभाव, मानवजातिसम्‍बन्धी उहाँको बुझाइ, र मानवजातिप्रतिका उहाँका अभिप्रायहरू अलिकति पनि बदलिएको थिएन। साथै, उहाँले मानिसहरूलाई उहाँ क्रूसबाट तल ओर्लेर आउनुभएको छ, पापमाथि विजयी हुनुभएको छ, कठिनाइहरूबाट पार पाउनुभएको छ, र मृत्युमाथि विजयी हुनुभएको छ भनी बताउँदै हुनुहुन्थ्यो। कीलाका डोबहरू शैतानमाथिको उहाँको विजयको प्रमाण, सारा मानवजातिलाई सफलतापूर्वक छुटकारा दिनको लागि पापबलि बन्‍नुभएको प्रमाण थियो। उहाँले पहिले नै मानवजातिको पाप लिइसक्‍नुभएको छ र उहाँले छुटकाराको आफ्‍नो काम पूरा गरिसक्‍नुभएको छ भनेर मानिसहरूलाई बताइरहनुभएको थियो। जब उहाँ आफ्ना चेलाहरूलाई भेट्न फर्कनुभयो, तब उहाँले आफ्नो उपस्थितिद्वारा तिनीहरूलाई यो सन्देश दिनुभयो: “म अझै जीवित छु, म अझै अस्तित्वमा छु; आज म साँच्‍चिकै तिमीहरूको माझमा उभिरहेको छु ताकि तिमीहरूले मलाई देख्‍न र छुन सक। म तिमीहरूको साथमा सधैँ हुनेछु।” प्रभु येशूले थोमाको उदाहरणलाई भविष्यका मानिसहरूका निम्ति चेतावनीको रूपमा पनि प्रयोग गर्न चाहनुहुन्थ्यो: तैँले प्रभु येशूमाथिको विश्‍वासमा उहाँलाई देख्‍न वा छुन नसके पनि, तेरो साँचो विश्‍वासको कारणले तँ धन्यको छस्, अनि तेरो साँचो विश्‍वासको कारणले तैँले प्रभु येशूलाई देख्‍न सक्छस्, अनि यस्तो प्रकारको व्यक्ति धन्यको हुन्छ।

थोमाकहाँ प्रकट हुनुहुँदा प्रभु येशूले बोल्नुभएको भनी बाइबलमा लेखिएका यी वचनहरू अनुग्रहको युगका सबै मानिसहरूको निम्ति अत्यन्तै उपयोगी छन्। उहाँ थोमाकहाँ देखा पर्नुभएको घटना र उहाँले तिनलाई भन्‍नुभएका वचनहरूले त्यसपछिका पुस्ताहरूमाथि गहिरो प्रभाव पारेको छ; ती दुवै कुराको अनन्त महत्त्व छ। परमेश्‍वरलाई विश्‍वास गरे पनि, परमेश्‍वरलाई शङ्का गर्ने व्यक्तिलाई थोमाले प्रतिनिधित्व गर्छ। तिनीहरू शङ्कालु प्रकृतिका हुन्छन्, तिनीहरूमा कुटिल हृदय हुन्छ, तिनीहरू विश्‍वासघाती हुन्छन्, र परमेश्‍वरले पूरा गर्न सक्‍नुहुने कुराहरूमा तिनीहरू विश्‍वास गर्दैनन्। तिनीहरूले परमेश्‍वरको सर्वशक्तिमान्‌ता तथा उहाँको सम्प्रभुतामा विश्‍वास गर्दैनन्, न त तिनीहरूले देहधारी परमेश्‍वरमा नै विश्‍वास गर्छन्। तैपनि, प्रभु येशूको पुनरुत्थानले तिनीहरूका यी गुणहरूलाई प्रहार गर्‍यो, र यसले तिनीहरूलाई आफ्नो शङ्का पत्ता लगाउने, आफ्नो शङ्का पहिचान गर्ने, र आफ्नो विश्‍वासघातलाई स्वीकार गर्ने अवसर पनि प्रदान गर्‍यो, र यसरी तिनीहरू प्रभु येशूको अस्तित्व र पुनरुत्थानमा साँचो रीतिले विश्‍वास गर्ने अवस्थामा आइपुगे। थोमालाई जे भएको थियो, त्यो पछिका पुस्ताहरूको निम्ति एउटा चेतावनी र सावधानी थियो ताकि धेरै मानिसहरूले आफैलाई थोमाजस्तो शङ्कालु नहुन, र यदि तिनीहरू शङ्काले भरिए भने तिनीहरू अन्धकारभित्र डुब्‍नेछन् भनी चेतावनी दिन सकून्। यदि तँ परमेश्‍वरलाई पछ्याउँछस् तर थोमाले जस्तै, परमेश्‍वरको अस्तित्व छ कि छैन भनेर पुष्टि, प्रमाणित र अनुमान गर्न सधैँ प्रभुको करङ र उहाँका कीलाका डोबहरू छुन चाहन्छस् भने परमेश्‍वरले तँलाई त्याग्‍नुहुनेछ। त्यसैले, मानिसहरू थोमाजस्तो आफ्नै आँखाले देख्‍न सकेपछि मात्र विश्‍वास गर्ने नबनून् तर शुद्ध, इमानदार मानिसहरू बनून्, परमेश्‍वरप्रति शङ्काहरू नपालून्, केवल उहाँलाई विश्‍वास गरून् र पछ्याऊन् भन्‍ने चाहना प्रभु येशूको हुन्छ। यस्ता मानिसहरू धन्यका हुन्छन्। यो उहाँले मानिसहरूबाट गर्नुभएको एउटा सानो अपेक्षा हो, र यो उहाँका अनुयायीहरूको निम्ति एउटा चेतावनी हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्‍न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्‍न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्‍वरको आशिष्‌ प्राप्‍त गर्न सक्थे भन्ने लाग्छ? तिनीहरूले मसीहलाई कसरी देख्‍न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेकाका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव मध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्‍च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्‍वास वाहियात र हास्यास्पद छैन र? म तिमीहरूलाई अझै सोध्छु: तिमीहरूसित येशूको थोरै पनि बुझाइ नभएकाले, तिमीहरूलाई पनि त्यो समयका फरिसीहरूको गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तिमीहरूले सत्यताको मार्ग खुट्ट्याउन सक्छौ? के तिमीहरूले ख्रीष्टको विरोध गर्नेछैनौ भनी साँच्‍चै प्रत्याभूति गराउन सक्छौ? के तिमीहरूले पवित्र आत्माको काम अनुसरण गर्न सक्छौ? तिमीहरूलाई आफूले ख्रीष्टको विरोध गर्नेछु कि गर्नेछैनँ भनेर थाहा छैन भने, म भन्छु, तिमीहरू पहिले नै मृत्युको मुखमा जिइरहेका छौ। मसीहलाई नचिन्‍नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरू सबैले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। तिनीहरूले येशूको पुनरागमनलाई शैतानको बहकाउका रूपमा झनै देख्‍न सक्छन् र अझ धेरै मानिसहरूले देहमा फर्कनुभएका येशूको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत बनाउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्माविरुद्धको ईश्‍वरनिन्दा, मण्डलीहरूका लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको विनाश र येशूले व्यक्त गर्नुभएका सबै कुराहरूको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने, तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ

अय्यूबले कानको सुनाइद्वारा परमेश्‍वरको बारेमा सुन्छन्

अय्यूब ९:११ हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई दख्दिनँ: उहाँ जानुहुन्छ, तर म उहाँलाई देख्दिनँ।

अय्यूब २३:८-९ हेर्नुहोस्, म अगाडि बढ्छु तर उहाँ त्यहाँ हुनुहुन्‍न; अनि पछाडि फर्कन्छु, तर उहाँलाई देख्दिनँ: देब्रे हातपट्टि, जहाँ उहाँ काम गर्नुहुन्छ, तर म उहाँलाई देख्‍न सक्दिनँ: मैले नदेखूँ भनेर उहाँले आफैलाई दाहिने हातपट्टि लुकाउनुहुन्छ।

अय्यूब ४२:२-६ मलाई थाहा छ तपाईंले सबै थोक गर्न सक्‍नुहुन्छ, अनि तपाईंदेखि कुनै पनि विचारलाई लुकाउन सकिन्‍न। कसले ज्ञानविना सल्लाहलाई लुकाउँछ? यसैले मैले नबुझ्‍ने कुरा मैले बोलेको छु; मेरो निम्ति अत्यन्तै अचम्मका कुराहरू, जुन मलाई थाहा थिएन। सुन्‍नुहोस्, म तपाईंलाई बिन्ती गर्छु, अनि म बोल्‍नेछु: म तपाईंसँग माग गर्छु र तपाईंलाई मतर्फ घोषणा गर्छु। मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरो आँखाले नै तपाईंलाई देख्छ। म किन आफैलाई घृणा गर्छु, अनि धुलो र खरानीमा पश्‍चात्ताप गर्छु।

परमेश्‍वरले आफैलाई अय्यूबको सामु प्रकट नगर्नुभएको भए पनि, अय्यूबले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छन्

यी वचनहरूले जोड दिएको कुरा के हो? यसमा एउटा तथ्य छ भन्‍ने कुरा तिमीहरू कसैलाई थाहा छ? सर्वप्रथम, अय्यूबले परमेश्‍वर हुनुहुन्छ भनेर कसरी थाहा पाए? अनि, परमेश्‍वरले नै स्वर्ग, पृथ्वी र सबै थोकमाथि शासन गर्नुहुन्छ भनी तिनले कसरी जाने? यो एउटा खण्डले यी दुई प्रश्‍नको उत्तर दिन्छ: “मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरो आँखाले नै तपाईंलाई देख्छ। म किन आफैलाई घृणा गर्छु, अनि धुलो र खरानीमा पश्‍चात्ताप गर्छु।” यी वचनहरूबाट हामी के सिक्छौं भने परमेश्‍वरलाई आफ्नै आँखाले देख्‍नुको सट्टा अय्यूबले परमेश्‍वरबारे किंवदन्तीहरूबाट जानेका थिए। यिनै परिस्थितिमा तिनी परमेश्‍वरलाई पछ्याउने मार्गमा हिँड्न थाले, अनि पछि तिनले आफ्नो जीवनलगायत सबै कुरामा परमेश्‍वरको अस्तित्व भएको पुष्टि गरे। यहाँ एउटा इन्कार गर्न नसकिने तथ्य छ—त्यो के हो त? परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा लाग्‍न सके पनि अय्यूबले परमेश्‍वरलाई कहिल्यै देखेका थिएनन्। यस कुरामा तिनी आजका मानिसजस्तै थिएनन् र? अय्यूबले कहिल्यै परमेश्‍वरलाई देखेका थिएनन्, यसको अर्थ, तिनले परमेश्‍वरबारे सुनेको भए पनि, परमेश्‍वर कहाँ हुनुहुन्छ वा परमेश्‍वर कस्तो हुनुहुन्छ वा परमेश्‍वरले के गर्दै हुनुहुन्छ भन्‍ने कुरा तिनलाई थाहा थिएन। यी सबै व्यक्तिपरक कुराहरू हुन्; वस्तुपरक रूपमा भन्‍नुपर्दाचाहिँ, तिनले परमेश्‍वरलाई पछ्याएको भए पनि परमेश्‍वर कहिल्यै तिनको अघि देखा पर्नुभएन वा तिनीसँग बोल्नुभएन। के यो तथ्य होइन र? परमेश्‍वरले अय्यूबसँग बोल्‍नुभएको वा तिनलाई कुनै आज्ञा दिनुभएको थिएन, तैपनि अय्यूबले परमेश्‍वरको अस्तित्व र सबै कुरामाथि रहेको उहाँको सार्वभौमिकतालाई देखेका थिए, र अय्यूबले कानको सुनाइमार्फत परमेश्‍वरबारे किंवदन्तीहरूबाट थाहा पाएपछि परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने जीवन बिताउन थालेका थिए। अय्यूबले परमेश्‍वरलाई पछ्याउने कार्यको सुरुवात र प्रक्रिया यही थियो। …

परमेश्‍वर अय्यूबबाट लुक्‍नुभएको तथ्यले उहाँमाथिको तिनको विश्‍वास हल्लिएन

त्यसपछि, तलको धर्मशास्‍त्रको खण्डमा, अय्यूब भन्छन्, “हेर्नुहोस्, म अगाडि बढ्छु तर उहाँ त्यहाँ हुनुहुन्‍न; अनि पछाडि फर्कन्छु, तर उहाँलाई देख्दिनँ: देब्रे हातपट्टि, जहाँ उहाँ काम गर्नुहुन्छ, तर म उहाँलाई देख्‍न सक्दिनँ: मैले नदेखूँ भनेर उहाँले आफैलाई दाहिने हातपट्टि लुकाउनुहुन्छ” (अय्यूब २३:८-९)। यस विवरणमा हामी के थाहा पाउछौं भने अय्यूबको अनुभवमा परमेश्‍वर पूर्ण रूपमा तिनीबाट लुक्‍नुभएको थियो; परमेश्‍वर खुल्लमखुल्ला तिनीकहाँ देखा पर्नुभएको थिएन, न त उहाँले तिनीसँग खुल्लमखुल्ला कुनै वचन नै बोल्नुभएको थियो, तर पनि अय्यूब आफ्नो हृदयमा परमेश्‍वरको अस्तित्वप्रति विश्‍वस्त थिए। तिनले सधैँ परमेश्‍वर तिनको अघिअघि हिँडिरहनुभएको हुन सक्छ, वा तिनको छेउमा काम गरिरहनुभएको हुन सक्छ, र तिनले परमेश्‍वरलाई देख्‍न नसके पनि परमेश्‍वर तिनको छेउमा हुनुहुन्छ, र तिनीसँग सम्‍बन्धित सबथोक सञ्‍चालन गर्दै हुनुहुन्छ भन्‍ने विश्‍वास गर्थे। अय्यूबले कहिल्यै परमेश्‍वरलाई देखेका थिएनन्, तर तिनी आफ्नो विश्‍वासमा दृढ रहन सक्षम थिए, जुन अरू कनै पनि व्यक्तिले गर्न सकेन। किन अरू मानिसले त्यसो गर्न सकेनन्? किनकि परमेश्‍वर अय्यूबसँग बोल्नुभएन वा तिनको सामु देखा पर्नुभएन, र यदि तिनले साँच्‍चै विश्‍वास नगरेको भए तिनी निरन्तर त्यसो गरिरहन सक्‍नेथेनन्, न त तिनी परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा नै लागिरहन नै सक्थे। के यो सत्य होइन? जब तँ अय्यूबले भनेका यी वचनहरू पढ्छस् तब तँलाई कस्तो लाग्छ? के तँलाई अय्यूबको सिद्धता र सोझोपन र परमेश्‍वरको सामु तिनको धार्मिकता साँचो हो, र परमेश्‍वरको तर्फबाट भएको अतिशयोक्ति होइन भन्‍ने लाग्छ? परमेश्‍वरले अय्यूबलाई अन्य मानिसहरूलाई जस्तै व्यवहार गर्नुभयो र तिनको सामु देखा पर्नुभएन वा कुरा गर्नुभएन, तैपनि अय्यूब अझै पनि आफ्नो निष्ठामा अडिग रहे, तिनले अझै पनि परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास राखे र यसबाहेक, परमेश्‍वरलाई चिढ्याउँछु कि भन्‍ने डरको कारण तिनले बारम्बार होमबलि चढाए र परमेश्‍वरलाई प्रार्थना गरे। परमेश्‍वरलाई नदेखे पनि उहाँको भय मान्‍ने अय्यूबको क्षमतामा, हामी तिनले सकारात्मक कुराहरूलाई कति धेरै प्रेम गर्थे, र तिनको विश्‍वास कति दृढ र वास्तविक थियो भन्‍ने कुरा देख्छौं। तिनले परमेश्‍वर तिनीबाट लुक्‍नुभयो भन्दैमा परमेश्‍वरको अस्तित्वलाई इन्कार गरेनन्, न त परमेश्‍वरलाई कहिल्यै नदेखेको कारण आफ्नो विश्‍वास नै गुमाए र परमेश्‍वरलाई नै त्यागे। बरु, सबै थोकमाथि शासन गर्ने परमेश्‍वरको लुकेको कामको माझमा तिनले परमेश्‍वरको अस्तित्वलाई बुझेका र परमेश्‍वरको सार्वभौमिकता र शक्ति महसुस गरेका थिए। परमेश्‍वरलाई नदेखे पनि तिनी सोझो हुन छाडेनन्, न त परमेश्‍वर तिनको अगाडि कहिल्यै देखा नपर्नुभएको कारणले नै तिनले परमेश्‍वरको भय मान्‍ने र दुष्टाबाट अलग बस्‍ने मार्गलाई नै त्यागे। परमेश्‍वर आफ्नो अस्तित्व प्रमाणित गर्न तिनको अघि देखा परून् भनेर अय्यूबले कहिल्यै अनुरोध गरेनन्, किनकि तिनले सबै थोकमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई देखिसकेका थिए र अरूले प्राप्त नगरेका आशिष्‌ र अनुग्रह आफूले प्राप्त गरेको छु भन्‍ने तिनलाई विश्‍वास थियो। परमेश्‍वर तिनीबाट लुक्‍नुभएको भए पनि परमेश्‍वरमाथिको तिनको विश्‍वास कहिल्यै डगमगाएन। यसैले, तिनले अरू कसैले नपाएको फल अर्थात् परमेश्‍वरको अनुमोदन र परमेश्‍वरको आशिष् प्राप्त गरे।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

हामीले परमेश्‍वरका पदचापहरू खोजिरहेका हुनाले, हामीले परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरका वचनहरू, उहाँका वाणीहरू खोज्नुपर्छ। किनभने जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पदचापहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कार्यहरू हुन्छन्; जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छन्। परमेश्‍वरका पदचापहरू खोज्दा, तिमीहरूले “परमेश्‍वर सत्य, मार्ग र जीवन हुनुहुन्छ” भन्‍ने वचनहरूलाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्यता प्राप्त गर्दा पनि, तिनीहरूले परमेश्‍वरका पदचापहरू भेट्टाएका छन् भनी विश्‍वास गर्दैनन्, र तिनीहरूले परमेश्‍वरको देखापराइलाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्‍वरको देखापराइ मानिसका धारणाहरूसँग मेल खानै सक्दैन, परमेश्‍वर मानिसले माग गरेअनुसार त झनै देखा पर्न सक्नुहुन्न। परमेश्‍वरले आफ्‍नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू गर्नुहुन्छ र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँले जुनसुकै काम गर्नुभए पनि, उहाँले यसका बारेमा मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, हरेक व्यक्तिलाई उहाँको कामका बारेमा सूचित गर्नु त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, र अझ भन्‍ने हो भने, यसलाई सबैले चिन्नैपर्छ। यदि तिमीहरू परमेश्‍वरको देखापराइ देख्‍न, परमेश्‍वरका पाइलाहरू पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्ना धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरसँग यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले तिमीहरूका सीमामा राख्‍न र तिमीहरूका धारणाहरूमा उहाँलाई सीमित गर्न त झनै हुँदैन। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरू कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखापराइलाई स्विकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पित हुनुपर्छ भनेर आफैसँग माग गर्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र समर्पित हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ

यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन कार्य होइन, तर यसका निम्ति हामी प्रत्येकले पहिला यो एउटा सत्यतालाई जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँसँग परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँसँग परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको काम अघि ल्याउनुहुनेछ, र परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि मार्ग औँल्याउन सक्नुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्नुहुने वचनहरूबाट पुष्टि गर्नै पर्दछ। भन्नुको अर्थ, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो मार्ग हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारका आधारमा छुट्ट्याउनैपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी निर्धारण गर्दा, मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र छानबिन गर्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अज्ञानी छ भन्‍ने देखाउँछ। बाहिरी स्वरूपले सार निर्धारण गर्न सक्दैन; अझ भन्‍ने हो भने, परमेश्‍वरको कार्य मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खाँदैन। के येशूको बाहिरी स्वरूप मानिसको धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोसाकले उहाँको वास्तविक पहिचानलाई प्रस्तुत गर्न सक्थे र? के सुरु-सुरुका फरिसीहरूले येशूको बाहिरी स्वरूपलाई हेरेकाले र इमानदारीपूर्वक उहाँको मुखका वचनहरू स्वीकार नगरेकाले उहाँको विरोध गरेका होइनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

अघिल्लो:  २. प्रभुको दोस्रो आगमनको विषयमा, बाइबलले स्पष्ट बताउँछ, “तर त्यो दिन र घडीका बारेमा न त कुनै मानिसलाई थाहा छ, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ(मत्ती २४:३६)। प्रभु कहिले आउनुहुन्छ त्यो कसैलाई थाहा छैन, तापनि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले प्रभु येशू पहिले नै आइसक्नुभएको छ भनेर गवाही दिइरहेको छ। तपाईं यो कसरी जान्नुहुन्छ?

अर्को:  ४. हामीले प्रभुमा धेरै वर्षदेखि विश्‍वास गरेका छौं र सतर्कतासाथ उहाँको पुनरागमनको बाटो हेर्दै सधैँ उहाँको लागि कठोर परिश्रम गरेका छौं। हामीलाई विश्‍वास छ, प्रभुको दोस्रो आगमनको विषयमा प्रकाश पाउने पहिलो मानिसहरू हामी नै हुनुपर्छ। प्रभु येशू फर्केर आउनुभएको छ भनेर तपाईं गवाही दिनुहुन्छ, त्यसोभए हामीले यस विषयमा किन प्रकाश पाएनौं? प्रभु फर्केर आउनुभएको छैन भन्ने बारेमा हामीसित प्रमाणहरू छन्। के हामीले यस्तो सोच्नु गलत हो?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger