२. प्रभुको दोस्रो आगमनको विषयमा, बाइबलले स्पष्ट बताउँछ, “तर त्यो दिन र घडीका बारेमा न त कुनै मानिसलाई थाहा छ, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ” (मत्ती २४:३६)। प्रभु कहिले आउनुहुन्छ त्यो कसैलाई थाहा छैन, तापनि सर्वशक्तिमान् परमेश्वरको मण्डलीले प्रभु येशू पहिले नै आइसक्नुभएको छ भनेर गवाही दिइरहेको छ। तपाईं यो कसरी जान्नुहुन्छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ” (मत्ती २५:६)।
“हेर, म ढोकामा खडा हुन्छु र ढकढक्याउँछु: यदि कसैले मेरो स्वर सुन्छ र ढोका खोल्छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०)।
“मेरा भेडाले मेरो सोर सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्ना १०:२७)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
हामीले परमेश्वरका पदचापहरू खोजिरहेका हुनाले, हामीले परमेश्वरका अभिप्रायहरू, परमेश्वरका वचनहरू, उहाँका वाणीहरू खोज्नुपर्छ। किनभने जहाँ परमेश्वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्वरको आवाज हुन्छ, र जहाँ परमेश्वरका पदचापहरू हुन्छन्, त्यहाँ परमेश्वरका कार्यहरू हुन्छन्; जहाँ परमेश्वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्वर देखा पर्नुहुन्छ, र परमेश्वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छन्। परमेश्वरका पदचापहरू खोज्दा, तिमीहरूले “परमेश्वर सत्य, मार्ग र जीवन हुनुहुन्छ” भन्ने वचनहरूलाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्यता प्राप्त गर्दा पनि, तिनीहरूले परमेश्वरका पदचापहरू भेट्टाएका छन् भनी विश्वास गर्दैनन्, र तिनीहरूले परमेश्वरको देखापराइलाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्वरको देखापराइ मानिसका धारणाहरूसँग मेल खानै सक्दैन, परमेश्वर मानिसले माग गरेअनुसार त झनै देखा पर्न सक्नुहुन्न। परमेश्वरले आफ्नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू गर्नुहुन्छ र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँले जुनसुकै काम गर्नुभए पनि, उहाँले यसका बारेमा मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, हरेक व्यक्तिलाई उहाँको कामका बारेमा सूचित गर्नु त परै जाओस्। यो परमेश्वरको स्वभाव हो, र अझ भन्ने हो भने, यसलाई सबैले चिन्नैपर्छ। यदि तिमीहरू परमेश्वरको देखापराइ देख्न, परमेश्वरका पाइलाहरू पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्ना धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्वरसँग यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले तिमीहरूका सीमामा राख्न र तिमीहरूका धारणाहरूमा उहाँलाई सीमित गर्न त झनै हुँदैन। त्यसको सट्टा, तिमीहरूले परमेश्वरका पाइलाहरू कसरी खोज्नुपर्छ, कसरी परमेश्वर देखापराइलाई स्विकार्नुपर्छ, र कसरी परमेश्वरको नयाँ काममा समर्पित हुनुपर्छ भनेर आफैसँग माग गर्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र समर्पित हुनुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ
आज, परमेश्वरले नयाँ काम गर्नुभएको छ। तैँले यी वचनहरू स्वीकार गर्न सक्दैनस् होला, र ती तँलाई असामान्य लाग्न सक्छ, तर म तँलाई अहिलेका लागि तेरो स्वाभाविकता खुलासा नगर्ने सल्लाह दिन्छु, किनकि परमेश्वरको अगाडि साँच्चै धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन्, अनि जो वास्तवमा भक्त छन् तिनीहरूले मात्र उहाँद्वारा अन्तर्दृष्टि र मार्गनिर्देशन पाउन सक्छन्। प्रतिफलहरू गम्भीर शान्तिको साथ सत्यताको खोजी गरेर प्राप्त गरिन्छ, झगडा र विवाद गरेर होइन। जब म “आज, परमेश्वरले नयाँ काम गर्नुभएको छ” भन्छु, तब म परमेश्वर देहमा फर्कनुहुने बारेमा कुरा गरिरहेको हुन्छु। सायद, तैँले यी वचनहरूलाई वास्ता गर्दैनस् होला; सायद, तँ ती वचनहरूलाई तुच्छ ठान्छस् होला; वा सायद, तँलाई तिनमा ठूलो रुचि छ होला। जेसुकै भए पनि, परमेश्वरको देखापराइको साँचो तृष्णा गर्नेहरू सबैले हतारमा निष्कर्ष निकाल्नुभन्दा यस तथ्यलाई सामना गर्न सक्छन् र ध्यानपूर्वक जाँच गर्छन् भन्ने मेरो आशा छ; एक बुद्धिमान् व्यक्तिले त्यसै गर्नुपर्छ।
यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन कार्य होइन, तर यसका निम्ति हामी प्रत्येकले पहिला यो एउटा सत्यतालाई जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्वर हुनुहुन्छ, उहाँसँग परमेश्वरको सार हुनेछ, र जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँसँग परमेश्वरको अभिव्यक्ति हुनेछ। परमेश्वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको काम अघि ल्याउनुहुनेछ, र परमेश्वर देह बन्नुहुने हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि मार्ग औँल्याउन सक्नुहुनेछ। परमेश्वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्नुहुने वचनहरूबाट पुष्टि गर्नै पर्दछ। भन्नुको अर्थ, यो परमेश्वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो मार्ग हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारका आधारमा छुट्ट्याउनैपर्छ। त्यसैले, यो देहधारी परमेश्वरको शरीर हो कि होइन भनी निर्धारण गर्दा, मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र छानबिन गर्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अज्ञानी छ भन्ने देखाउँछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
परमेश्वर मौन हुनुहुन्छ, र कहिल्यै हामीकहाँ प्रकट हुनुभएको छैन, तैपनि उहाँको काम कहिल्यै रोकिएको छैन। उहाँले सारा पृथ्वीलाई छानबिन गर्नुहुन्छ, सबै थोकहरूलाई आज्ञा गर्नुहुन्छ, र मानिसका सबै शब्दहरू र कामहरूलाई हेर्नुहुन्छ। उहाँले उहाँको व्यवस्थापनलाई मौनता पूर्वक र नाटकीय प्रभाव विना मापन चरणहरू र उहाँको योजनाअनुसार सञ्चालन गर्नुहुन्छ, तापनि उहाँका पाइलाहरू मानवजातिका नजिक हुनेगरि एक-एक गरेर अगाडि बढ्छन्, र उहाँको न्याय आसन बिजुलीको गतिमा ब्रम्हाण्डमा तैनात गरिन्छ, त्यसपछि उहाँको सिंहासन तुरुन्त हाम्रा बीचमा ओर्लन्छ। त्यो कस्तो प्रतापी दृश्य हो, कस्तो शानदार र प्रभावशाली नाटकीय दृश्य! ढुकुरजस्तै र गर्जने सिंह जस्तै गरी पवित्र आत्मा हाम्रा बीचमा आउनुहुन्छ। उहाँ बुद्धि हुनुहुन्छ, उहाँ धार्मिकता र प्रताप हुनुहुन्छ, र उहाँ अख्तियार चलाउँदै अनि प्रेमिलोपन र कृपाले भरिएर, हाम्रा बीचमा गोप्य रूपमा आउनुहुन्छ। उहाँको आगमनबारे कोही सचेत छैन, उहाँको आगमनलाई कसैले स्वागत गर्दैन, र, त्यो भन्दा पनि बढी, उहाँले गर्न लाग्नुभएको सबै कुरा कसैलाई पनि थाहा छैन। मानिसको जीवन पहिलेको जस्तै चलिरहन्छ, उसको हृदय केही फरक हुँदैन, र दिनहरू सदाझैँ गुज्रन्छन्। परमेश्वर अनुयायीहरूमध्ये सबैभन्दा नगण्य र एक साधारण विश्वासीका रूपमा, साधारण व्यक्तिझैँ, हाम्रा माझमा जिउनुहुन्छ। उहाँका आफ्नै पछ्याइहरू, आफ्नै उद्देश्यहरू छन्; र, त्यो भन्दा पनि बढी, उहाँसँग साधारण मानिसहरूसँग नभएको ईश्वरत्व छ। उहाँको ईश्वरत्वको अस्तित्वलाई कसैले पनि ध्यान दिएको छैन, र उहाँको र मानिसका सार बीचको भिन्नतालाई कसैले अनुभूत गरेको छैन। हामी उहाँसँग स्वतन्त्र र निडर भएर एकसाथ जिउँछौँ, किनकि हाम्रा नजरमा उहाँ एक नगण्य विश्वासी मात्र हुनुहुन्छ। उहाँ हाम्रा हरेक चाल हेर्नुहुन्छ, र हाम्रा सबै सोच र विचारहरू उहाँका सामु उदाङ्गो पारिएका छन्। कसैले पनि उहाँको अस्तित्वमा चासो राख्दैन, कसैले पनि उहाँले गर्ने कार्यबारे कुनै कुरा कल्पना गर्दैन, र, त्यो भन्दा पनि बढी, उहाँको पहिचानबारे कसैलाई अलिकति पनि शङ्का लागेको छैन। उहाँको हामीसँग कुनै पनि सरोकार नभए झैँ गरी, हामी केवल आफ्ना पछ्याइहरू जारी राख्छौँ …
पवित्र आत्माले उहाँद्वारा वचनहरूका खण्ड अचानक व्यक्त गर्नुहुन्छ, र यो अति नै अप्रत्याशित जस्तो अनुभूति भए पनि, हामी यसलाई परमेश्वरबाट आएको वाणीको रूपमा मान्यता दिन्छौं र यसलाई परमेश्वरबाट आएको रूपमा सहजै स्वीकार गर्छौं। त्यो हुनुको कारणचाहिँ, यी वचनहरूलाई जसले व्यक्त गरे पनि, जबसम्म ती पवित्र आत्माबाट आउँछन् तबसम्म हामीले तिनीहरूलाई स्वीकार गर्नुपर्छ र तिनीहरूलाई इन्कार गर्नुहुन्न। अर्को वाणी मबाट, वा तपाईंबाट, वा अरू कसैबाट आउनसक्छ। यो जो भए पनि, सबै परमेश्वरबाटको अनुग्रह नै हो। यो जो भए पनि, हामीले यस व्यक्तिलाई आराधना गर्नु हुँदैन, किनभने जे नै भए पनि, यो व्यक्ति सम्भव त परमेश्वर हुन सक्दैन, नत हामीले कुनै किसिमले पनि यस्तो सामान्य व्यक्तिलाई हाम्रो परमेश्वर भनी छान्न नै सक्छौं। हाम्रा परमेश्वर अति नै महान् र आदरयोग्य हुनुहुन्छ; यस्तो नगण्य व्यक्ति कसरी उहाँको स्थानमा खडा हुन सक्थ्यो? अझै अधिक कुराचाहिँ, परमेश्वर आएर हामीलाई स्वर्गको राज्यमा फर्काएर लानका लागि हामीले उहाँलाई पर्खिरहेका छौँ, यसैले यति महत्त्वपूर्ण र कठिन कार्य कसरी यति तुच्छ व्यक्तिको दायित्व हुन सक्थ्यो? यदि प्रभु फेरि आउनुहुन्छ भने, यो सेतो बादलमा हुनैपर्छ, ताकि सबै भीडले देख्न सकून्। त्यो कति महिमित हुनेछ! उहाँ साधारण मानिसहरूको समूहमा कसरी गुप्त रूपमा लुक्न सम्भव हुनसक्छ?
तैपनि मानिसहरूका बीचमा लुक्नुभएका यी साधारण व्यक्तिले नै, हामीलाई मुक्ति दिने नयाँ काम गरिरहनुभएको छ। उहाँ हामीलाई कुनै स्पष्टीकरण दिनुहुन्न, न त उहाँ किन आउनुभएको हो भनी हामीलाई बताउनु नै हुन्छ, तर बस उहाँले गर्ने अभिप्राय राख्नुभएको काम उहाँको योजना र कार्यविधिअनुसार गर्नुहुन्छ। उहाँ वचन र वाणीहरू झन् बारम्बार बोलिरहनुहुन्छ। सान्त्वना दिने, अर्ती दिने, स्मरण गराउने, र चेतावनी दिनेदेखि, हप्काउने र अनुशासित गर्नेसम्म; नम्र र कोमल लबजदेखि कठोर र प्रतापी वचनहरूसम्म—ती सबैले मानिसलाई प्रचुर कृपा र अत्यन्तै भय महसुस गराउँछन्। उहाँले भन्नुहुने सबै कुराले हामीभित्र गहिराइमा लुकेका गुप्त कुराहरूलाई ठ्याक्कै प्रहार गर्छन्; उहाँका वचनहरूले हाम्रा हृदयलाई डस्छन्, हाम्रा आत्माहरूलाई डस्छन्, र हामीलाई सहनै नसकिने लाजले भरेर छोडी दिन्छन्, आफैलाई कहाँ लुकाउने भनी हामीलाई थाहै हुँदैन। यस व्यक्तिका हृदयमा हुनुभएका परमेश्वरले साँच्चै हामीलाई प्रेम गर्नुहुन्छ कि गर्नुहुन्न र उहाँ के गर्न चाहनुहुन्छ भनी हामी शङ्का गर्न थाल्छौँ। सायद, यी दुःखहरू भोगिसकेपछि मात्र हामी उठाइ लगिन सक्छौ? आउने गन्तव्य र हाम्रो भविष्यको नियतिका बारेमा … हामी हाम्रा मस्तिष्कमा हिसाब गरिरहेका हुन्छौँ। पहिले झैँ, अझै पनि, हाम्रा बीचमा काम गर्न परमेश्वरले देहधारण गरिसक्नुभयो भनी हामी कसैले पनि विश्वास गर्दैनौँ। यति लामो समयदेखि उहाँ हामीसँग हुनुहुन्छ, उहाँले हामीसँग आमने-सामने भएर धेरै वचनहरू बोलिसक्नुभएको छ तापनि, हाम्रा भविष्यका परमेश्वरका रूपमा यस साधारण व्यक्तिलाई स्वीकार गर्न हामी अनिच्छुक रहेका छौँ, र यस नगण्य व्यक्तिलाई हाम्रो भविष्य र हाम्रो नियतिको नियन्त्रणका लागि जिम्मा दिने त परै जाओस्। उहाँबाट नै हामीले जीवित पानीको अन्त्यहीन आपूर्तिको आनन्द लिन्छौँ, अनि उहाँमार्फत नै हामी मानिस र परमेश्वर आमने-सामने हुने जीवन जिउँछौँ। तर स्वर्गमा हुनुहुने प्रभु येशूको अनुग्रहका निम्ति मात्र हामी कृतज्ञ छौँ, र ईश्वरत्व भएका यी साधारण व्यक्तिका भावनाहरूलाई कहिल्यै कुनै ध्यान दिएका छैनौँ। मानवजातिले उहाँलाई गरेको इन्कारप्रति अप्रभावित भएझैँ गरी, मानिसको अपरिपक्वता र अज्ञानतालाई अनन्त रूपमा क्षमा गरेझैँ गरी, र उहाँप्रति मानिसको अनादरकारी मनोवृत्तिप्रति सदा सहनशील भएझैँ गरी, उहाँ अझै पनि, पहिलाजस्तै, देहमा लुकेर नम्रतासाथ आफ्नो काम गर्नुहुन्छ, र आफ्नो हृदयको आवाज अभिव्यक्त गर्नुहुन्छ।
हामीले थाहै नपाई, यी नगण्य मानिसले हामीलाई परमेश्वरको कामको एकपछि अर्को कदममा अगुवाइ गर्नुभएको छ। हामी असङ्ख्य परीक्षा भोग्छौँ, र असङ्ख्य ताडनाहरू भोग्छौँ, र हामी मृत्युद्वारा जाँचिन्छौँ। हामी परमेश्वरको धर्मी र प्रतापी स्वभावबारे जान्दछौँ, उहाँको प्रेमिलो-दयालुपन र कृपाको आनन्द पनि लिन्छौँ, परमेश्वरको महान् शक्ति र बुद्धि बुझ्छौँ, परमेश्वरको प्रेमिलो स्वभाव देख्छौँ, र मानिसलाई मुक्ति दिने परमेश्वरको उत्कट अभिप्रायलाई देख्छौँ। यस साधारण व्यक्तिका वचनहरूमा, हामीले परमेश्वरको स्वभाव र सार जान्न, परमेश्वरका अभिप्राय बुझ्न, मानिसको प्रकृति सार जान्न, र मुक्ति र सिद्धताको बाटो देख्न पुग्छौँ। उहाँका वचनहरूले हामीलाई “मर्ने” तुल्याउँछन्, र तिनले हामीलाई “पुनर्जन्म लिने” तुल्याउँछन्; उहाँका वचनहरूले हामीलाई सान्त्वना दिन्छन्, तैपनि हामीलाई पछुतो र ऋणी भावको वेदनामा पार्छन्; उहाँका वचनहरूले हामीमा हर्ष र शान्ति ल्याउँछन्, तर असीमित पीडा पनि ल्याउँछन्। कहिलेकहीँ हामी उहाँका हातहरूमा राखिएर काटिने थुमाहरूजस्तै हुन्छौँ; कहिलेकहीँ हामी उहाँको आँखाका नानी जस्तै हुन्छौँ, र उहाँको कोमल प्रेमको आनन्द लिन्छौँ। कहिलेकहीँ हामी उहाँका शत्रु जस्तै हुन्छौँ, र उहाँका हेराइमा उहाँको क्रोधद्वारा खरानीमा परिणत हुन्छौँ। हामी उहाँद्वारा मुक्ति दिइएका मानवजाति हौँ, हामी उहाँका नजरमा किरा हौँ, अनि हामी हराएका भेडाहरू हौँ, जसलाई भेट्टाउन उहाँ दिन र रात लागी पर्नुहुन्छ। उहाँ हामीप्रति कृपालु हुनुहुन्छ, उहाँ हामीलाई घृणा गर्नुहुन्छ, उहाँले हामीलाई उठाउनुहुन्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ र हामीलाई अर्ती दिनुहुन्छ, उहाँले हामीलाई अगुवाइ गर्नुहुन्छ, उहाँले हामीलाई अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले हामीलाई ताडना दिनुहुन्छ र अनुशासनमा राख्नुहुन्छ, अनि उहाँले हामीलाई श्राप पनि दिनुहुन्छ। रात र दिन, उहाँ हाम्रा बारेमा फिक्री गर्न कहिल्यै छोड्नुहुन्न, र रात र दिन, हाम्रो सुरक्षा र हेरचाह गर्नुहुन्छ, हाम्रो साथ कहिल्यै छोड्नुहुन्न, तर हाम्रो खातिर आफ्नो रगत-पसिना बगाउनुहुन्छ र हाम्रा निम्ति कुनै पनि मूल्य चुकाउनुहुन्छ। यो सानो र साधारण मासुले बनेको शरीरका वाणीहरूभित्र, हामीले परमेश्वरको सम्पूर्णताको आनन्द लिएका छौँ र परमेश्वरले हामीलाई दिनुभएको गन्तव्यलाई देखेका छौँ। यसको बाबजुद पनि, व्यर्थताले हाम्रा हृदयभित्र अझै समस्या ल्याउँछ, र यस किसिमका व्यक्तिलाई हाम्रा परमेश्वरका रूपमा सक्रिय पूर्वक स्वीकार गर्न हामी अझै अनिच्छुक छौँ। उहाँले हामीलाई यति धेरै मन्न दिनुभएको भएको छ, आनन्द लिनको लागि धेरै कुरा दिनुभएको छ, तापनि यो कुनैले पनि हाम्रा हृदयमा प्रभुको स्थानलाई लिन सक्दैन। हामी यस व्यक्तिको विशेष पहिचान र दर्जालाई अति नै अनिच्छुक भएर मात्र आदर गर्छौं। उहाँ परमेश्वर हुनुहुन्छ भनी स्वीकार गर्न उहाँले आफ्नो मुख खोलेर हामीलाई आग्रह नगरेसम्म, हामीले उहाँलाई चाँडै आउनुहुने परमेश्वरको रूपमा स्वीकार गर्न आफै अग्रसर हुँदैनौं, तापनि उहाँले हाम्रो माझमा लामो समयदेखि काम गरिरहनुभएको छ।
हामीले के गर्नुपर्छ भनी हामीलाई अर्ती दिन, साथसाथै, उहाँको हृदयको आवाज व्यक्त गर्दै परमेश्वरले विभिन्न विधि र धेरै दृष्टिकोणहरू प्रयोग गरेर आफ्ना वाणीहरूलाई निरन्तरता दिनुहुन्छ। उहाँका वचनहरूले जीवन शक्ति बोक्छन्, हामीले हिँड्नुपर्ने मार्ग हामीलाई प्रदान गर्छन्, र हामीलाई सत्यता ठ्याक्कै के हो भनी बोध गर्ने तुल्याउँछन्। हामी उहाँका वचनहरूद्वारा आकर्षित हुन थाल्छौँ, हामी उहाँको बोलाइको सुर र शैलीमा ध्यान केन्द्रित गर्न थाल्छौँ, र यस नगण्य व्यक्तिको हृदयको आवाजलाई अवचेतन रूपमा ध्यान दिन थाल्छौँ। उहाँ हाम्रा लागि हृदय लगाएर काम गर्नुहुन्छ, हाम्रा खातिर निद्रा र भोक गुमाउनुहुन्छ, हाम्रा निम्ति रुनुहुन्छ, हाम्रा निम्ति सुस्केरा हाल्नुहुन्छ, हाम्रा निम्ति बिमारीमा ऐया भन्नुहुन्छ; उहाँ हाम्रो गन्तव्य र मुक्तिका खातिर अपमान सहनुहुन्छ र हाम्रो संवेदनहीनता र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत बगाउँछन्। कुनै पनि साधारण व्यक्तिसँग उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती कुराहरू हुँदैन, र कुनै पनि भ्रष्ट मानिससँग ती हुन सक्दैन वा उसले त्यो हासिल गर्न सक्दैन। कुनै पनि साधारण व्यक्तिमा नभएको सहनशीलता र धैर्यता उहाँसँग छ, र उहाँसँग हुने प्रेम कुनै सृजित प्राणीसँग हुँदैन। उहाँ बाहेक अरू कसैले पनि हाम्रा सबै सोचहरू जान्न, वा आफ्नै हातको हत्केला जस्तै गरी हाम्रा प्रकृति र सारलाई जान्न, वा मानवजातिको विद्रोहीपन र भ्रष्टतालाई न्याय गर्न, वा स्वर्गका परमेश्वरका तर्फबाट यसरी हामीसँग बोल्न र हामीमा काम गर्न सक्दैन। उहाँबाहेक अरू कोहीसँग पनि परमेश्वरको अख्तियार, बुद्धि, र गरिमा छैन; परमेश्वरको स्वभाव र परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, ती सम्पूर्ण रूपमा उहाँमा व्यक्त हुन्छन्। उहाँबाहेक अरू कसैले पनि हामीलाई मार्ग देखाउन र हामीकहाँ ज्योति ल्याउन सक्दैन। सृष्टि भएदेखि आजसम्म पनि परमेश्वरले थाहा नदिनुभएका रहस्यलाई उहाँबाहेक अरू कसैले खुलासा गर्न सक्दैन। उहाँबाहेक अरू कसैले पनि हामीलाई शैतानको बन्धनबाट र हाम्रा आफ्नै भ्रष्ट स्वभावहरूबाट मुक्ति दिन सक्दैन। उहाँले परमेश्वरको प्रतिनिधित्व गर्नुहुन्छ; उहाँले परमेश्वरको हृदयको आवाज, परमेश्वरका अर्तीहरू, र सबै मानवजातिप्रति परमेश्वरका न्यायका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँले नयाँ युग, नयाँ कालखण्ड खोलिदिनुभएको छ, र नयाँ स्वर्ग र पृथ्वी र नयाँ काम प्रारम्भ गर्नुभएको छ, उहाँले हामीकहाँ आशा ल्याउनुभएको छ र हामीले अस्पष्ट स्थितिमा जिएको जीवनलाई अन्त्य गर्नुभएको छ, र उहाँले हाम्रो सम्पूर्ण सत्वलाई मुक्तिको मार्ग पूर्ण रूपमा देख्ने तुल्याउनुभएको छ। उहाँले हाम्रो सम्पूर्ण सत्वलाई विजय गर्नुभएको छ र हाम्रा हृदय प्राप्त गर्नुभएको छ। त्यस क्षणदेखि, हाम्रा हृदयले सचेतना प्राप्त गरेका छन्, र हाम्रा आत्मा पुनर्जीवित भएझैँ देखिन्छन्: यी साधारण, नगण्य व्यक्ति, यी व्यक्ति जो हाम्रा बीचमा जिउनुहुन्छ र लामो समयदेखि हामीद्वारा इन्कार गरिनुभएको छ—के उहाँ प्रभु येशू नै हुनुहुन्न, जो हामी बिउँझिँदा वा सपनामा हुँदा, जहिले पनि हाम्रा विचारमा हुनुहुन्छ, र जसको हामी रात-दिन तृष्णा गर्छौँ? यो उहाँ नै हुनुहुन्छ! यो साँच्चै उहाँ नै हुनुहुन्छ! उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ! उहाँ सत्य, मार्ग, र जीवन हुनुहुन्छ! उहाँले हामीलाई फेरि जिउन र ज्योति देख्न सक्षम बनाउनुभएको छ र हाम्रा हृदयहरूलाई बरालिनबाट रोक्नुभएको छ। हामी परमेश्वरका घरमा फर्केका छौँ, हामी उहाँको सिंहासनको सामु फर्केका छौँ, हामी उहाँसँग आमने-सामने छौँ, हामीले उहाँको मुहार देखेका छौँ, र हामीले हाम्रो अगाडिको बाटो देखेका छौँ। यस बेला, उहाँले हाम्रा हृदयलाई पूर्ण रूपमा जित्नुभएको छ; उहाँ को हुनुहुन्छ भन्ने कुरालाई अब हामी शङ्का गर्दैनौँ, उहाँको काम र उहाँका वचनलाई विरोध गर्दैनौँ, र हामी उहाँका सामु लम्पसार पर्छौँ। हाम्रा पूरै बाँकी जीवनभरि परमेश्वरका पाइलाहरू पछ्याउन, उहाँद्वारा सिद्ध पारिन, उहाँको अनुग्रहको ऋण तिर्न, र हाम्रा निम्ति भएको उहाँको प्रेमको ऋण तिर्न, उहाँको योजनाबद्ध कार्यमा र प्रबन्धमा आज्ञाकारी हुन, र उहाँको काममा साथ दिन, र उहाँले हामीलाई जिम्मा दिनुभएका कुराहरूलाई पूरा गर्न सक्नुभन्दा अरू हामीले केही कुराको पनि चाहना गर्दैनौँ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्वरको न्याय र सजायमा उहाँको देखा पराइ हेर्नु