२. तपाईंले प्रभु येशू फर्केर आउनुभएको छ, उहाँ देहधारी सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ, उहाँले मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन सक्ने सबै सत्यताहरू व्यक्त गर्दैहुनुहुन्छ, र उहाँले परमेश्वरको घरबाट नै सुरु गर्दै न्यायको काम गर्दैहुनुहुन्छ भनेर गवाही दिनुहुन्छ। त्यसो भए हामी परमेश्वरको आवाज कसरी चिन्न सक्छौं, र सर्वशक्तिमान् परमेश्वर फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भनी कसरी निश्चित हुन सक्छौं?
सन्दर्भका लागि बाइबलका पदहरू:
“येशूले उसलाई भन्नुभयो, म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन” (यूहन्ना १४:६)।
“अझै पनि मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ: किनभने उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन; तर उहाँले जे सुन्नुहुन्छ उहाँले त्यही बोल्नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्ना १६:१२-१३)।
“परमेश्वरको वचन शीघ्र र शक्तिशाली अनि दुई-धारे तरबारभन्दा पनि धारिलो छ, जसले प्राण र आत्मा अनि जोर्नी र मासीसम्म अलग हुने गरी छेड्छ र यसले हृदयका विचार र अभिप्रायहरू खुट्ट्याउँछ” (हिब्रू ४:१२)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
जो देहधारी परमेश्वर हुनुहुन्छ, उहाँसँग परमेश्वरको सार हुनेछ, र जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँसँग परमेश्वरको अभिव्यक्ति हुनेछ। परमेश्वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको काम अघि ल्याउनुहुनेछ, र परमेश्वर देह बन्नुहुने हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि मार्ग औँल्याउन सक्नुहुनेछ। परमेश्वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्नुहुने वचनहरूबाट पुष्टि गर्नै पर्दछ। भन्नुको अर्थ, यो परमेश्वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो मार्ग हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारका आधारमा छुट्ट्याउनैपर्छ। त्यसैले, यो देहधारी परमेश्वरको शरीर हो कि होइन भनी निर्धारण गर्दा, मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र छानबिन गर्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अज्ञानी छ भन्ने देखाउँछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
देहधारी परमेश्वरका वचनहरूले एउटा नयाँ युग सुरु गर्दछन्, सारा मानवजातिलाई डोऱ्याउँछन्, रहस्यहरू प्रकट गर्दछन्, र मानिसले त्यो नयाँ युगमा लिनुपर्ने दिशा देखाउँछन्। मानिसले प्राप्त गर्ने अन्तर्दृष्टि भनेको केही सरल अभ्यास वा ज्ञान बाहेक केही होइन। यसले सम्पूर्ण मानवजातिलाई नयाँ युगमा मार्गदर्शन गर्न वा परमेश्वर स्वयम्का रहस्य प्रकट गर्न सक्दैन। आखिर, परमेश्वर परमेश्वर नै हुनुहुन्छ, र मानिस मानिस नै हो। परमेश्वरसित परमेश्वरको सार छ, र मानिससित मानिसको सार छ। यदि मानिसले परमेश्वरले बोल्नुभएका वचनहरूलाई पवित्र आत्माले दिनुभएको सरल अन्तर्दृष्टिका रूपमा हेर्छ भने र प्रेरितहरू र अगमवक्ताहरूले बोलेका शब्दलाई परमेश्वरले व्यक्तिगत रूपमा बोल्नुभएको वचनका रूपमा लिन्छ भने, त्यो मानिसको गल्ती हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
सत्यता नै जीवनका सूत्रहरूमा सबैभन्दा व्यावहारिक हुन्छ, र सारा मानवजातिमाझ यस्ता सूत्रहरूमध्ये सर्वोच्च हुन्छ। यो परमेश्वरले मानिसबाट गर्नुभएको माग भएको हुनाले, र यो परमेश्वरद्वारा व्यक्तिगत रूपमा गरिएको कार्य भएको हुनाले, यसलाई “जीवनको सूत्र” भनिएको हो। यो सूत्र केही कुराबाट सारांश गरिएको होइन, न त यो कुनै महान् हस्तीबाट आएको प्रसिद्ध उद्धरण नै हो। यसको सट्टामा, यो त स्वर्ग र पृथ्वी र सबै थोकका सार्वभौमबाट मानवजातिका लागि आएको वाणी हो; यो मानिसद्वारा सारांश गरिएका केही शब्दहरू होइनन्, तर परमेश्वरको अन्तर्निहित जीवन हो। अनि त्यसैले यसलाई “सबै जीवनका सूत्रहरूमध्येको सर्वोच्च” भनी भनिएको हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्
परमेश्वरले बोल्नुभएका वचनहरू बाहिरी रूपमा सरल हुन् वा गहन हुन्, ती वचनहरू मानिसको जीवन प्रवेशको निम्ति सम्पूर्ण अपरिहार्य सत्यता हुन्; ती वचनहरू जीवित पानीका फोहरा हुन्, जसले मानिसलाई आत्मा र शरीर दुवैमा जीवित रहन सक्षम तुल्याउँछन्। ती वचनहरूले मानिसलाई जीवित रहन चाहिने खाँचोहरू आपूर्ति गर्छन्; उसको दैनिक जीवनको आत्म-आचरणका सिद्धान्तहरू र मान्यताहरू आपूर्ति गर्छन्; मुक्तिसम्म उसले लिनुपर्ने मार्ग, साथै मुक्ति प्राप्त गर्नका लागि चाहिने लक्ष्य र निर्देशन आपूर्ति गर्छन्; परमेश्वरसामु सृजित प्राणीका रूपमा उसमा हुनुपर्ने हरेक सत्यता आपूर्ति गर्छन्; र मानिस कसरी परमेश्वरप्रति समर्पित हुन्छ र उहाँको आराधना गर्छ भन्नेबारे हरेक सत्यता आपूर्ति गर्छन्। यी वचनहरू मानिसको अस्तित्व सुनिश्चित गर्ने प्रत्याभूति हुन्, मानिसको दैनिक भोजन हुन्, र तिनीहरू दह्रिलो टेवा पनि हुन् जसले मानिसलाई बलियो हुन र खडा हुन सक्षम तुल्याउँछन्। परमेश्वरका वचनहरू सत्यता वास्तविकतामा प्रचुर हुन्छन् जसद्वारा सृजित मानवजातिले सामान्य मानवता जिउँछ, मानिसलाई भ्रष्टताबाट उम्कने र शैतानका पासोबाट निस्किहिँड्ने तुल्याउने सत्यतामा ती प्रचुर हुन्छन्, सृष्टिकर्ताले सृजित मानवजातिलाई दिनुहुने निष्कपट र धैर्यवान् शिक्षण, अर्ती, उत्साह, र सान्त्वनाले ती भरिपूर्ण हुन्छन्। ती सङ्केत बत्ती हुन् जसले मानिसहरूलाई सबै सकारात्मक कुराहरू बुझ्न मार्गदर्शन र अन्तर्दृष्टि दिन्छन्, ती प्रत्याभूति हुन् जसले मानिसहरूले सबै न्यायोचित, सुन्दर र असल कुराहरू जिउनेछन् र मानिसहरूसँग ती कुरा हुनेछन् भन्ने सुनिश्चित गर्छन्, ती मापदण्डहरू हुन् जसद्वारा सबै मानिस, घटना, र कामकुराहरूलाई मापन गरिन्छन्, र तिनीहरू नौपरिवहन सङ्केत पनि हुन् जसले मानिसहरूलाई मुक्तिमा र ज्योतिको मार्गमा डोर्याउँछन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। प्रस्तावना
परमेश्वरलाई परमेश्वरका वचनहरू पढेर, अनि परमेश्वरका वचनहरू अभ्यास र अनुभव गरेर, साथै धेरै परीक्षा, शोधन, र काटछाँटमार्फत नै चिन्नुपर्छ; यसरी मात्रै परमेश्वरको काम र स्वभावको बारेमा साँचो ज्ञान प्राप्त गर्न सम्भव हुन्छ। कसै-कसैले भन्छन्: “मैले देहधारी परमेश्वरलाई देखेको छैनँ, त्यसैले मैले कसरी परमेश्वरलाई चिन्नुपर्छ?” वास्तवमा, परमेश्वरका वचनहरू उहाँको स्वभावका अभिव्यक्ति हुन्। परमेश्वरका वचनहरूबाट, तैँले मानवजातिप्रतिको उहाँको प्रेम र मुक्ति, साथै तिनीहरूलाई मुक्ति दिने उहाँको तरिका देख्न सक्छस्…। किनकि वचनहरू परमेश्वर स्वयम्ले व्यक्त गर्नुभएको हो, मानिसद्वारा लेखिएको होइन। परमेश्वरले ती व्यक्तिगत रूपमा व्यक्त गर्नुभएको हो; परमेश्वर स्वयम्ले आफ्ना वचनहरू र आफ्नो हृदयको आवाज व्यक्त गरिरहनुभएको छ, जसलाई उहाँको हृदयका वचनहरू पनि भन्न सकिन्छ। तिनलाई किन उहाँको हृदयबाट निस्केका वचनहरू भनिन्छ? किनकि ती गहिराइबाट जारी गरिएका हुन्, र उहाँको स्वभाव, उहाँका अभिप्राय, उहाँका विचार र सोचहरू, मानवजातिप्रतिको उहाँको प्रेम, मानवजातिको निम्ति उहाँको मुक्ति र मानवजातिप्रतिको उहाँका अपेक्षाहरूलाई व्यक्त गर्दछन्…। परमेश्वरका वाणीहरूमा कठोर वचनहरू, र कोमल र विचारशील वचनहरू, साथै प्रकटीकरणका केही वचनहरू पनि समावेश छन्, जसले मानिसका भावनाहरूलाई ध्यानमा राख्दैनन्। यदि तैँले प्रकटीकरणका वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्वर त कठोर हुनुहुन्छ भन्ने लाग्न सक्छ। यदि तैँले कोमल वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्वर त्यत्ति धेरै अख्तियारपूर्ण हुनुहुन्न जस्तो लाग्छ। यसकारण तैँले ती वचनलाई सन्दर्भबाट बाहिर लैजानु हुँदैन; बरु, तिनलाई सबै कोणबाट हेर्नुपर्छ। कहिलेकहीँ परमेश्वर दयालु दृष्टिकोणबाट बोल्नुहुन्छ, अनि मानिसहरूले मानवजातिप्रतिको उहाँको प्रेमलाई देख्छन्; कहिलेकहीँ उहाँ एकदमै कठोर दृष्टिकोणबाट बोल्नुहुन्छ, र त्यसपछि मानिसहरूले उहाँको स्वभावले कुनै उल्लङ्घन सहँदैन, मानिस दुःखद रूपमा फोहोरी छन्, र परमेश्वरको अनुहार हेर्न वा उहाँको सामु आउन लायकको छैनन्, र तिनीहरूलाई अहिले शुद्ध रूपमा परमेश्वरको अनुग्रहको कारण मात्र उहाँको सामुन्ने आउन दिइएको छ भनेर देख्छन्। परमेश्वरको काम गर्ने तरिकाद्वारा अनि उहाँको कामको महत्त्वमा उहाँको बुद्धिलाई देख्न सकिन्छ। मानिसहरूले परमेश्वरसँगको कुनै प्रत्यक्ष सम्पर्कविना नै उहाँका वचनहरूमा यी कुरा देख्न सक्छन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
यसपालि, परमेश्वर आत्मिक शरीरमा नभई अति साधारण शरीरमा काम गर्नका लागि आउनुहुन्छ। त्यसमाथि, यो परमेश्वरको दोस्रो देहधारणको शरीर हो, र त्यो शरीर पनि हो जसमार्फत परमेश्वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। उहाँलाई हेर्दा, तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यो फगत नगण्य देह नै परमेश्वरका समस्त सत्यताका वचनको मूर्त रूप, आखिरी दिनहरूमा परमेश्वरका कामको वाहक, र मानिसले परमेश्वरको सम्पूर्ण स्वभाव बुझ्ने अभिव्यक्ति हो। के तँ स्वर्गमा हुनुहुने परमेश्वरलाई देख्ने चाहना बिछट्टै राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्वरलाई बुझ्ने चाहना बिछट्टै राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्ने चाहना बिछट्टै राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्यहरू—कुनै पनि मानिसले कहिल्यै तँलाई बताउन नसकेका रहस्यहरू—बताउनुहुनेछ र उहाँले तँलाई तैँले नबुझ्ने सत्यताहरू पनि बताउनुहुनेछ। उहाँ राज्यको तेरो प्रवेशद्वार र नयाँ युगमा प्रवेश गर्नका लागि तेरो मार्गदर्शक हुनुहुन्छ। यो साधारण देहसँग मानिसका निम्ति बुझ्न नसकिने धेरै रहस्य हुन्छन्। उहाँका कार्यहरू तेरा लागि दुर्बोध छन्, तर उहाँले गर्ने कामको सम्पूर्ण लक्ष्य नै तँलाई उहाँ मानिसहरूले विश्वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर देख्न सक्षम बनाउन पर्याप्त छ, किनकि उहाँ आखिरी दिनहरूमा परमेश्वरका अभिप्राय, र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्वरको हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको झैँ सुन्न नसके पनि, तैँले उहाँका आँखाहरू अग्निका ज्वालाहरूजस्ता देख्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट परमेश्वर क्रोधी भइरहनुभएको सुन्न सक्छस् र परमेश्वरले मानवजातिका लागि कृपा देखाइरहनुभएको थाहा पाउन सक्छस् र तैँले परमेश्वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस्, र त्यसभन्दा पनि बढी, सबै मानवजातिका लागि परमेश्वरको हेरविचार बोध गर्न सक्छस्। आखिरी दिनहरूमा परमेश्वरको काम मानिसलाई पृथ्वीमा मानिसहरूमाझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्वरलाई देख्ने तुल्याउनु हो, र परमेश्वरलाई जान्न, उहाँप्रति समर्पित हुन, उहाँको डर मान्न र उहाँलाई प्रेम गर्न सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ
जब परमेश्वर पृथ्वीमा आफ्नो काम गर्न आउनुहुन्छ, सबै मानिसहरूले अलौकिक घटनाहरू देख्छन्। उनीहरूले आफ्ना आँखाले जे देख्छन् र उनीहरूले आफ्नो कानले जे सुन्छन् ती सबै अलौकिक हुन्, किनकि उहाँको काम र उहाँका वचनहरू बुझ्न नसकिने र प्राप्त गर्न नसकिने कुरा हुन्। यदि स्वर्गको कुनै चीज पृथ्वीमा ल्याइयो भने त्यो अलौकिक नभएर अरू के हुन सक्छ र? जब स्वर्गको राज्यका रहस्यहरू पृथ्वीमा ल्याइन्छन्, रहस्यहरू जुन बुझ्न नसकिने र अज्ञात हुन्छन्, जुन आश्चर्यजनक र बुद्धिमान हुन्छन्—के ती सबै अलौकिक होइनन् र? … वर्तमान समयमा देहधारी परमेश्वरले गर्नुभएको कामलाई विचार गर्: यसको कुन पक्ष अलौकिक होइन? उहाँका वचनहरू तेरो निम्ति बुझ्न नसकिने र प्राप्त गर्न नसकिने छन्, र उहाँले गर्नुहुने काम कुनै मानिसले गर्न सक्दैन। उहाँले जे बुझ्नुहुन्छ त्यसलाई बुझ्न मानिसको निम्ति कुनै उपाय छैन, र उहाँको ज्ञानको विषयमा भन्दा, त्यो कहाँबाट आउँछ मानिसले जान्दैन। केही मानिसहरू भन्छन्, “म पनि तपाईंजस्तो नै सामान्य छु, तर तपाईंले जे जान्नुहुन्छ त्यो म जान्दिनँ, यो कसरी हुन सक्छ? म जेठो छु र अनुभवमा धनी छु, तर म जे जान्दिनँ त्यो तपाईंले कसरी जान्नुहुन्छ?” जहाँसम्म मानिसको कुरा छ, यी सबै यस्ता कुरा हुन् जुन मानिसले प्राप्त गर्न सक्दैन। त्यसपछि यस्ता मानिसहरू पनि छन्, जो भन्छन्, “इस्राएलमा गरिएको काम कसैले जान्दैन, र बाइबलका व्याख्याकारहरूले पनि कुनै स्पष्टीकरण दिन सक्दैनन्; तपाईंले कसरी ती जान्न सक्नुहुन्छ?” के यी सबै अलौकिक विषयहरू होइनन्? उहाँसँग आश्चर्यकर्मको कुनै अनुभव छैन, तापनि उहाँले सबै कुरा जान्नुहुन्छ; उहाँ बोल्नुहुन्छ र ठूलो सहजतासँग सत्य व्यक्त गर्नुहुन्छ। के यो अलौकिक होइन? उहाँको कामले देहले प्राप्त गर्न सक्ने चीजलाई पार गर्दछ। मासुको शरीर भएको कुनै पनि मानिसको विचारमा यो प्राप्त गर्न नसकिने र मानिसको मनको तर्कले बुझ्नै नसक्ने कुरा हो। उहाँले कहिल्यै बाइबल पढ्नुभएको थिएन, तापनि उहाँले इस्राएलमा परमेश्वरले गर्नुभएको कामलाई बुझ्नुहुन्छ। उहाँ यस पृथ्वीमा उभिएर बोल्नुहुन्छ, तापनि उहाँले तेस्रो स्वर्गका रहस्यहरूको कुरा बोल्नुहुन्छ। जब मानिसले यी वचनहरू पढ्छन्, यो भावनाले उसलाई जित्न सक्छ: “के यो तेस्रो स्वर्गको भाषा होइन?” के यी सबै मामिलाहरू सामान्य मानिसले हासिल गर्न सक्नेभन्दा बढी छैनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (१)
मानिसको काममा मानिसको अनुभवका धेरै तत्वहरू हुन्छन्; मानिसले ऊ जे हो त्यही व्यक्त गर्छ। परमेश्वरको आफ्नै कामले पनि उहाँ जे हुनुहुन्छ त्यसलाई व्यक्त गर्छ, तर उहाँको सारत्व मानिसको भन्दा फरक छ। मानिसको सारत्वले मानिसको अनुभव र जीवनलाई (मानिसले आफ्नो जीवनमा जे अनुभव वा सामना गर्ने कुरा, वा उसमा भएका संसारसँग व्यवहार गर्ने दर्शनहरू) प्रतिनिधित्व गर्छ, र फरक-फरक वातावरणमा जिउने मानिसहरूले फरक-फरक सारत्वलाई व्यक्त गर्छन्। तँसँग समाजका अनुभवहरू छन् या छैनन् र तेरो परिवारमा वास्तवमा तँ के-कसरी बस्छस् र यसभित्र तैँले के-कस्तो अनुभव गर्छस्, यी सबै कुराहरू तैँले जे व्यक्त गर्छस् त्यसमा देख्न सकिन्छ, जबकि देहधारी परमेश्वरको काममा तैँले उहाँसँग सामाजिक अनुभवहरू छन् कि छैनन् भनेर देख्न सक्दैनस्। मानिसको सारको बारे उहाँलाई राम्ररी थाहा छ र उहाँले सबै प्रकारका मानिसहरूसँग सम्बन्धित सबै प्रकारका अभ्यासहरूलाई प्रकट गर्न सक्नुहुन्छ। मानिसका भ्रष्ट स्वभावहरू र विद्रोही बानीबेहोरालाई प्रकट गर्नमा उहाँ अझै सिपालु हुनुहुन्छ। उहाँ सांसारिक मानिसहरूका बीचमा जिउनुहुन्न, तर मरणशीलहरूको प्रकृति र सांसारिक मानिसहरूको सारा भ्रष्टताबारे उहाँलाई थाहा छ। उहाँको सारत्व यही नै हो। उहाँले संसारसँग व्यवहार गर्नुहुन्न, तैपनि संसारसँग व्यवहार गर्ने नियमहरू उहाँलाई थाहा छ, किनभने उहाँले मानव प्रकृतिलाई राम्ररी बुझ्नुहुन्छ। आज र विगत दुवैमा, मानिसको आँखाले देख्न नसक्ने र मानिसको कानले सुन्न नसक्ने पवित्र आत्माको काम उहाँलाई थाहा छ। यसमा त्यो ज्ञान-बुद्धि पर्छ जुन संसारसँग व्यवहार गर्ने दर्शन अनि मानिसहरूले बुझ्न नसक्ने आश्चर्य होइन। उहाँको सारत्व यही हो, जुन मानिसहरूको निम्ति खुला छ र मानिसहरूबाट लुकाइएको पनि छ। उहाँले जे व्यक्त गर्नुहुन्छ त्यो असाधारण व्यक्तिको सारत्व होइन, तर त्यो आत्माका अन्तर्निहित गुणहरू र सारत्व हो। उहाँले संसारको भ्रमण गर्नुहुन्न तर यसको सबै कुरा जान्नुहुन्छ। उहाँले “नर-वानरहरू” लाई सम्पर्क गर्नुहुन्छ जोसँग कुनै ज्ञान वा अन्तर्दृष्टि छैन, तर उहाँले ज्ञानभन्दा उच्च अनि महान् मानवहरूकाभन्दा माथिका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँ सुस्त र बोधो मानिसहरूका बीचमा बस्नुहुन्छ जो मानवता विहीन छन् र जसले मानवताको प्रचलन र जीवनलाई बुझ्दैनन्, तर उहाँले मानवजातिलाई मानवजातिको नीच र तुच्छ मानवतालाई प्रकट गर्दै सामान्य मानवतामा जिउन लगाउन सक्नुहुन्छ। यो सबै उहाँको सारत्व हो, र यो सारत्व कुनै पनि मासु र रगतले बनेको व्यक्तिको भन्दा उच्च छ। उहाँको लागि, उहाँले गर्नुपर्ने काम गर्नको लागि र भ्रष्ट मानवजातिको सारलाई पूर्णरूपमा प्रकट गर्नको लागि जटिल, कष्टकर, र घिनलाग्दो सामाजिक जीवनको अनुभव गर्नु जरुरी छैन। घिनलाग्दो सामाजिक जीवनले उहाँको देहलाई सुधार गर्दैन। उहाँको काम र वचनले मानिसको विद्रोहीपनलाई मात्रै प्रकट गर्छन् तर यिनले मानिसलाई संसारको सामना गर्नको लागि अनुभव र पाठहरू प्रदान गर्दैनन्। जब उहाँले मानिसलाई जीवन दिनुहुन्छ उहाँले समाज वा मानिसको परिवारको अनुसन्धान गर्नु जरुरी छैन। मानिसलाई उदाङ्गो पार्नु र न्याय गर्नु उहाँको देहका अनुभवहरूको अभिव्यक्ति होइन; यो त मानिसको विद्रोहीपनको बारेमा लामो समयको ज्ञान अनि मानिसको भ्रष्टताप्रतिको घृणापश्चात उहाँले मानिसको अधार्मिकता सम्बन्धमा गर्नुभएको प्रकाश हो। उहाँले गर्नुहुने सबै कामको उद्देश्य मानिसलाई उहाँको स्वभाव प्रकट गर्नु र उहाँको सारतत्वलाई व्यक्त गर्नु हो। उहाँले मात्रै यो काम गर्न सक्नुहुन्छ; यो मासु र रगतले बनेको व्यक्तिले हासिल गर्न सक्ने कुरा होइन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको काम र मानिसको काम
मलाई कुनै समय यहोवा भनेर बोलाइन्थ्यो, कुनै समय मानिसहरूले मलाई मसीह भनेर पनि चिन्थे, र कुनै समय मानिसहरूले मलाई प्रेम र आदरसाथ मुक्तिदाता येशू भनी बोलाउँथे। आज, म अब उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइनँ। बरु म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्वर, युग अन्त्य गर्ने परमेश्वर हुँ; म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो सम्पूर्ण स्वभावले भरिएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्वर स्वयम् हुँ। मानिसहरू कहिल्यै मेरो सम्पर्कमा आएका छैनन्, तिनीहरूले मलाई कहिल्यै चिनेका छैनन्, र तिनीहरू सदैव मेरो स्वभावबारे अनभिज्ञ रहेका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म, एउटा व्यक्तिले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसहरूकहाँ देखा पर्नुहुने तर उनीहरूमाझ गुप्त रहनुहुने परमेश्वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिसहरूमाझ, साँचो र वास्तविक रूपमा, जलिरहेको सूर्य र दन्किरहेको ज्वालाजस्तै, शक्तिले भरिपूर्ण र अख्तियारले भरिएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा वस्तु छैन, र आगोको प्रज्वलनद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा वस्तु छैन। अन्ततः, मेरा वचनहरूका कारण असङ्ख्या देशहरू आशिषित हुनेछन्, र मेरा वचनहरूका कारण टुक्रा-टुक्रा पनि पारिनेछन्। यसरी, आखिरी दिनहरूमा सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ, र म सर्वशक्तिमान् परमेश्वर हुँ, जसले सारा मानवजातिलाई विजय गर्नुहुन्छ भनी देख्नेछन्। अनि म एक पटक मानिसका निम्ति पापबलि थिएँ, तर आखिरी दिनहरूमा म यावत् थोकलाई जलाउने दन्किँदो सूर्यका ज्वालाहरू, साथै सबै थोकलाई प्रकाश गर्ने धार्मिकताको सूर्य पनि बनेको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूमा मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र म आफूसँग यो स्वभाव बोक्छु, ताकि म धर्मी परमेश्वर, जलिरहेको सूर्य, दन्किरहेको ज्वाला हुँ भन्ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो मुहार देख्न सकून्: म इस्राएलीहरूको परमेश्वर मात्र होइन, र म उद्धारकर्ता मात्र होइन; बरु म स्वर्गहरू, र पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्वर हुँ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ
हामीले के गर्नुपर्छ भनी हामीलाई अर्ती दिन, साथसाथै, उहाँको हृदयको आवाज व्यक्त गर्दै परमेश्वरले विभिन्न विधि र धेरै दृष्टिकोणहरू प्रयोग गरेर आफ्ना वाणीहरूलाई निरन्तरता दिनुहुन्छ। उहाँका वचनहरूले जीवन शक्ति बोक्छन्, हामीले हिँड्नुपर्ने मार्ग हामीलाई प्रदान गर्छन्, र हामीलाई सत्यता ठ्याक्कै के हो भनी बोध गर्ने तुल्याउँछन्। हामी उहाँका वचनहरूद्वारा आकर्षित हुन थाल्छौँ, हामी उहाँको बोलाइको सुर र शैलीमा ध्यान केन्द्रित गर्न थाल्छौँ, र यस नगण्य व्यक्तिको हृदयको आवाजलाई अवचेतन रूपमा ध्यान दिन थाल्छौँ। उहाँ हाम्रा लागि हृदय लगाएर काम गर्नुहुन्छ, हाम्रा खातिर निद्रा र भोक गुमाउनुहुन्छ, हाम्रा निम्ति रुनुहुन्छ, हाम्रा निम्ति सुस्केरा हाल्नुहुन्छ, हाम्रा निम्ति बिमारीमा ऐया भन्नुहुन्छ; उहाँ हाम्रो गन्तव्य र मुक्तिका खातिर अपमान सहनुहुन्छ र हाम्रो संवेदनहीनता र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत बगाउँछन्। कुनै पनि साधारण व्यक्तिसँग उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती कुराहरू हुँदैन, र कुनै पनि भ्रष्ट मानिससँग ती हुन सक्दैन वा उसले त्यो हासिल गर्न सक्दैन। कुनै पनि साधारण व्यक्तिमा नभएको सहनशीलता र धैर्यता उहाँसँग छ, र उहाँसँग हुने प्रेम कुनै सृजित प्राणीसँग हुँदैन। उहाँ बाहेक अरू कसैले पनि हाम्रा सबै सोचहरू जान्न, वा आफ्नै हातको हत्केला जस्तै गरी हाम्रा प्रकृति र सारलाई जान्न, वा मानवजातिको विद्रोहीपन र भ्रष्टतालाई न्याय गर्न, वा स्वर्गका परमेश्वरका तर्फबाट यसरी हामीसँग बोल्न र हामीमा काम गर्न सक्दैन। उहाँबाहेक अरू कोहीसँग पनि परमेश्वरको अख्तियार, बुद्धि, र गरिमा छैन; परमेश्वरको स्वभाव र परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, ती सम्पूर्ण रूपमा उहाँमा व्यक्त हुन्छन्। उहाँबाहेक अरू कसैले पनि हामीलाई मार्ग देखाउन र हामीकहाँ ज्योति ल्याउन सक्दैन। सृष्टि भएदेखि आजसम्म पनि परमेश्वरले थाहा नदिनुभएका रहस्यलाई उहाँबाहेक अरू कसैले खुलासा गर्न सक्दैन। उहाँबाहेक अरू कसैले पनि हामीलाई शैतानको बन्धनबाट र हाम्रा आफ्नै भ्रष्ट स्वभावहरूबाट मुक्ति दिन सक्दैन। उहाँले परमेश्वरको प्रतिनिधित्व गर्नुहुन्छ; उहाँले परमेश्वरको हृदयको आवाज, परमेश्वरका अर्तीहरू, र सबै मानवजातिप्रति परमेश्वरका न्यायका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँले नयाँ युग, नयाँ कालखण्ड खोलिदिनुभएको छ, र नयाँ स्वर्ग र पृथ्वी र नयाँ काम प्रारम्भ गर्नुभएको छ, उहाँले हामीकहाँ आशा ल्याउनुभएको छ र हामीले अस्पष्ट स्थितिमा जिएको जीवनलाई अन्त्य गर्नुभएको छ, र उहाँले हाम्रो सम्पूर्ण सत्वलाई मुक्तिको मार्ग पूर्ण रूपमा देख्ने तुल्याउनुभएको छ। उहाँले हाम्रो सम्पूर्ण सत्वलाई विजय गर्नुभएको छ र हाम्रा हृदय प्राप्त गर्नुभएको छ। त्यस क्षणदेखि, हाम्रा हृदयले सचेतना प्राप्त गरेका छन्, र हाम्रा आत्मा पुनर्जीवित भएझैँ देखिन्छन्: यी साधारण, नगण्य व्यक्ति, यी व्यक्ति जो हाम्रा बीचमा जिउनुहुन्छ र लामो समयदेखि हामीद्वारा इन्कार गरिनुभएको छ—के उहाँ प्रभु येशू नै हुनुहुन्न, जो हामी बिउँझिँदा वा सपनामा हुँदा, जहिले पनि हाम्रा विचारमा हुनुहुन्छ, र जसको हामी रात-दिन तृष्णा गर्छौँ? यो उहाँ नै हुनुहुन्छ! यो साँच्चै उहाँ नै हुनुहुन्छ! उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ! उहाँ सत्य, मार्ग, र जीवन हुनुहुन्छ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्वरको न्याय र सजायमा उहाँको देखा पराइ हेर्नु