१. प्रभु येशूले भन्नुभयो, “मेरा भेडाले मेरो आवाज सुन्छन्” (यूहन्ना १०:२७)। जब प्रभु फर्केर आउनुहुन्छ, उहाँले आफ्ना वाणीहरू बोल्नुहुनेछ र आफ्ना भेडाको खोजीमा जानुहुनेछ। प्रभुको पुनरागमनको प्रतीक्षा गर्नका लागि परमेश्वरको आवाजको खोजी गर्नु महत्त्वपूर्ण हुन्छ, तर हामी परमेश्वरको आवाज र मानिसको आवाज बीचको भेद छुट्ट्याउन असमर्थ छौं। कृपया यस विषयमा हामीसँग सङ्गति गर्नुहोस्।
सन्दर्भका लागि बाइबलका पदहरू:
“येशूले उसलाई भन्नुभयो, म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन” (यूहन्ना १४:६)।
“परमेश्वरको वचन शीघ्र र शक्तिशाली अनि दुई-धारे तरबारभन्दा पनि धारिलो छ, जसले प्राण र आत्मा अनि जोर्नी र मासीसम्म अलग हुने गरी छेड्छ र यसले हृदयका विचार र अभिप्रायहरू खुट्ट्याउँछ” (हिब्रू ४:१२)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
मानिसको संसारबाट सत्यता आउँछ, तैपनि मानिसहरूमाझ सत्यता ख्रीष्टले नै हस्तान्तरण गर्नुभएको हो। यो ख्रीष्टबाट, अर्थात् परमेश्वर स्वयम्बाट उत्पन्न हुन्छ, र यसको लागि मानिस सक्षम छैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ
सत्यता नै जीवनका सूत्रहरूमा सबैभन्दा व्यावहारिक हुन्छ, र सारा मानवजातिमाझ यस्ता सूत्रहरूमध्ये सर्वोच्च हुन्छ। यो परमेश्वरले मानिसबाट गर्नुभएको माग भएको हुनाले, र यो परमेश्वरद्वारा व्यक्तिगत रूपमा गरिएको कार्य भएको हुनाले, यसलाई “जीवनको सूत्र” भनिएको हो। यो सूत्र केही कुराबाट सारांश गरिएको होइन, न त यो कुनै महान् हस्तीबाट आएको प्रसिद्ध उद्धरण नै हो। यसको सट्टामा, यो त स्वर्ग र पृथ्वी र सबै थोकका सार्वभौमबाट मानवजातिका लागि आएको वाणी हो; यो मानिसद्वारा सारांश गरिएका केही शब्दहरू होइनन्, तर परमेश्वरको अन्तर्निहित जीवन हो। अनि त्यसैले यसलाई “सबै जीवनका सूत्रहरूमध्येको सर्वोच्च” भनी भनिएको हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्
परमेश्वरले बोल्नुभएका वचनहरू बाहिरी रूपमा सरल हुन् वा गहन हुन्, ती वचनहरू मानिसको जीवन प्रवेशको निम्ति सम्पूर्ण अपरिहार्य सत्यता हुन्; ती वचनहरू जीवित पानीका फोहरा हुन्, जसले मानिसलाई आत्मा र शरीर दुवैमा जीवित रहन सक्षम तुल्याउँछन्। ती वचनहरूले मानिसलाई जीवित रहन चाहिने खाँचोहरू आपूर्ति गर्छन्; उसको दैनिक जीवनको आत्म-आचरणका सिद्धान्तहरू र मान्यताहरू आपूर्ति गर्छन्; मुक्तिसम्म उसले लिनुपर्ने मार्ग, साथै मुक्ति प्राप्त गर्नका लागि चाहिने लक्ष्य र निर्देशन आपूर्ति गर्छन्; परमेश्वरसामु सृजित प्राणीका रूपमा उसमा हुनुपर्ने हरेक सत्यता आपूर्ति गर्छन्; र मानिस कसरी परमेश्वरप्रति समर्पित हुन्छ र उहाँको आराधना गर्छ भन्नेबारे हरेक सत्यता आपूर्ति गर्छन्। यी वचनहरू मानिसको अस्तित्व सुनिश्चित गर्ने प्रत्याभूति हुन्, मानिसको दैनिक भोजन हुन्, र तिनीहरू दह्रिलो टेवा पनि हुन् जसले मानिसलाई बलियो हुन र खडा हुन सक्षम तुल्याउँछन्। परमेश्वरका वचनहरू सत्यता वास्तविकतामा प्रचुर हुन्छन् जसद्वारा सृजित मानवजातिले सामान्य मानवता जिउँछ, मानिसलाई भ्रष्टताबाट उम्कने र शैतानका पासोबाट निस्किहिँड्ने तुल्याउने सत्यतामा ती प्रचुर हुन्छन्, सृष्टिकर्ताले सृजित मानवजातिलाई दिनुहुने निष्कपट र धैर्यवान् शिक्षण, अर्ती, उत्साह, र सान्त्वनाले ती भरिपूर्ण हुन्छन्। ती सङ्केत बत्ती हुन् जसले मानिसहरूलाई सबै सकारात्मक कुराहरू बुझ्न मार्गदर्शन र अन्तर्दृष्टि दिन्छन्, ती प्रत्याभूति हुन् जसले मानिसहरूले सबै न्यायोचित, सुन्दर र असल कुराहरू जिउनेछन् र मानिसहरूसँग ती कुरा हुनेछन् भन्ने सुनिश्चित गर्छन्, ती मापदण्डहरू हुन् जसद्वारा सबै मानिस, घटना, र कामकुराहरूलाई मापन गरिन्छन्, र तिनीहरू नौपरिवहन सङ्केत पनि हुन् जसले मानिसहरूलाई मुक्तिमा र ज्योतिको मार्गमा डोर्याउँछन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। प्रस्तावना
परमेश्वरको वचनलाई मानिसको वचन भन्न मिल्दैन, मानिसको शब्दलाई कसैले परमेश्वरको वचन भन्न त झनै मिल्दैन। परमेश्वरद्वारा प्रयोग गरिएको मानिस देहधारी परमेश्वर होइन, अनि देहधारी परमेश्वर परमेश्वरद्वारा प्रयोग गरिएको मानिस होइन। यसमा, एउटा सारगत भिन्नता हुन्छ। सायद, यी वचनहरू पढिसकेपछि तँ तिनलाई परमेश्वरका वचनहरू नभई, बरु मानिसले प्राप्त गरेको अन्तर्दृष्टि मात्र मान्छस् होला। त्यस अवस्थामा, तँ ज्यादै अज्ञानी छस्। परमेश्वरको वचन कसरी मानिसले प्राप्त गरेको अन्तर्दृष्टि जस्तो हुन सक्छ? देहधारी परमेश्वरका वचनहरूले एउटा नयाँ युग सुरु गर्दछन्, सारा मानवजातिलाई डोऱ्याउँछन्, रहस्यहरू प्रकट गर्दछन्, र मानिसले त्यो नयाँ युगमा लिनुपर्ने दिशा देखाउँछन्। मानिसले प्राप्त गर्ने अन्तर्दृष्टि भनेको केही सरल अभ्यास वा ज्ञान बाहेक केही होइन। यसले सम्पूर्ण मानवजातिलाई नयाँ युगमा मार्गदर्शन गर्न वा परमेश्वर स्वयम्का रहस्य प्रकट गर्न सक्दैन। आखिर, परमेश्वर परमेश्वर नै हुनुहुन्छ, र मानिस मानिस नै हो। परमेश्वरसित परमेश्वरको सार छ, र मानिससित मानिसको सार छ। यदि मानिसले परमेश्वरले बोल्नुभएका वचनहरूलाई पवित्र आत्माले दिनुभएको सरल अन्तर्दृष्टिका रूपमा हेर्छ भने र प्रेरितहरू र अगमवक्ताहरूले बोलेका शब्दलाई परमेश्वरले व्यक्तिगत रूपमा बोल्नुभएको वचनका रूपमा लिन्छ भने, त्यो मानिसको गल्ती हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
मानिसको सङ्गत परमेश्वरको वचनभन्दा फरक हुन्छ। मानिसले सङ्गति गर्ने कुराले तिनीहरूको व्यक्तिगत अन्तर्दृष्टि र अनुभवलाई बताउँछ, यस क्रममा तिनीहरूले परमेश्वरको कामको आधारमा आफ्ना अन्तर्दृष्टि र अनुभव व्यक्त गर्छन्। तिनीहरूको जिम्मेवारी परमेश्वरले काम गर्नुभएपछि वा बोल्नुभएपछि, त्यसमध्ये तिनीहरूले अभ्यास गर्नुपर्ने र प्रवेश गर्नुपर्ने कुरा के हो भनी पत्ता लगाउनु हो, त्यसपछि अनुयायीहरूलाई ती प्रदान गर्नु हो। त्यसकारण, मानिसको कामले उसको प्रवेश र अभ्यासलाई प्रतिनिधित्व गर्छ। निश्चय नै, यस किसिमको काममा मानिसका शिक्षाहरू र अनुभव वा केही मानवीय विचार मिश्रित हुन्छ। जे भए तापनि पवित्र आत्माले काम गर्नुहुन्छ, चाहे मानिसमा होस् वा देहधारी परमेश्वरमा होस्, कामदारहरूले ती के हुन् भनी सधैँ व्यक्त गर्छन्। काम गर्नुहुने पवित्र आत्मा नै हुनुभए तापनि, मानिस स्वाभाविक रूपमा जो हो, काम त्यसैमा आधारित भएको हुन्छ, किनकि पवित्र आत्माले जगविना काम गर्नुहुन्न। अर्को शब्दमा, काम शून्यताबाट आउँदैन, तर सधैँ यथार्थ परिस्थितिहरू र वास्तविक अवस्थाहरू अनुसार गरिएको हुन्छ। यसरी मात्र मानिसको स्वभाव रूपान्तरित हुन सक्छ र उसका पुराना धारणा र विचारहरू परिवर्तन हुन सक्छन्। मानिसले व्यक्त गर्ने कुरा उसले देख्ने, अनुभव गर्ने र कल्पना गर्न सक्ने कुरा नै हो, अनि मानिसको सोच-विचारले त्यसलाई हासिल गर्न सक्छ, चाहे त्यो सिद्धान्त होस् वा धारणाहरू होस्। मानिसको कामले मानिसको अनुभवको क्षेत्रलाई पार गर्न सक्दैन, काम जुनसुकै आकारको भए तापनि मानिसले देख्ने कुरा, मानिसले सोच्ने कुरा वा कल्पना गर्ने कुरालाई त्यसले पार गर्न सक्दैन। परमेश्वरले व्यक्त गर्नुहुने सबै कुरा उहाँ स्वयम् के हुनुहुन्छ भन्ने कुरा नै हो, र यो मानिसले प्राप्त गर्न सक्दैन—यो मानिसको सोचाइभन्दा बाहिर छ। उहाँले सबै मानिसहरूलाई अगुवाइ गर्ने आफ्नो काम व्यक्त गर्नुहुन्छ, र यो मानव अनुभवको विवरणहरूसँग सम्बन्धित छैन, बरु यसले उहाँको आफ्नो व्यवस्थापनसँग सरोकार राख्छ। मानिसले व्यक्त गर्ने कुराचाहिँ उसको अनुभव हो भने परमेश्वरले व्यक्त गर्नुहुने कुराचाहिँ उहाँको सत्त्व हो, जुन उहाँको अन्तर्निहित स्वभाव हो, यो मानिसको पहुँचभन्दा बाहिर छ। मानिसको अनुभव चाहिँ परमेश्वरले व्यक्त गर्नुभएको उहाँको सत्त्वका आधारमा हासिल गरिएको उसको अन्तर्दृष्टि र ज्ञान हो। यस किसिमको अन्तर्दृष्टि र ज्ञानलाई मानिसको सत्त्व भनिन्छ, र तिनीहरूको अभिव्यक्तिको आधारचाहिँ मानिसको अन्तर्निहित स्वभाव र क्षमता हो—यसैकारण तिनीहरूलाई पनि मानिसको सत्त्व भनिन्छ। मानिस उसले अनुभव गर्ने र देख्ने कुराको बारेमा सङ्गति गर्न सक्षम छ। आफूले अनुभव नगरेको, नदेखेको, वा तिनीहरूको सोचाइले भ्याउन नसक्ने, तिनीहरूभित्र नभएका कुराहरूको बारेमा कसैले पनि सङ्गति गर्न सक्दैन। यदि मानिसले व्यक्त गर्ने कुरा उसको अनुभवबाट आएको होइन भने त्यो उसको परिकल्पना वा सिद्धान्त हो। सरल भाषामा भन्नुपर्दा, उसको वचनमा कुनै वास्तविकता हुँदैन। यदि तँ कहिल्यै पनि समाजको सम्पर्कमा आएको थिइनस् भने तँ समाजको जटिल सम्बन्धहरूसँग स्पष्ट सङ्गत गर्न सक्षम हुने थिएनस्। यदि तेरो परिवार नभएको भए, परिवारका समस्याहरूको बारेमा कुरा गर्ने अरू थिए भने, तिनीहरूले भनेका अधिकांश कुरा तैँले बुझ्दैनथिस्। त्यसैले, मानिसले सङ्गत गर्ने र उसले गर्ने कामले उसको भित्री सारतत्त्वको प्रतिनिधित्व गर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको काम र मानिसको काम
परमेश्वरका वाणीहरूको बोलमा परमेश्वरको अख्तियार र पहिचान स्पष्ट रूपमा प्रकट गरिएको छ। उदाहरणको लागि, जब परमेश्वरले “मेरो करार तँसितै छ, र तँ … बन्नेछस् … मैले तँलाई … बनाएको छु … म तँलाई … बनाउनेछु…,” भनी भन्नुभयो, “तँ बन्नेछस्” र “म बनाउनेछु,” जस्ता परमेश्वरको पहिचान र अख्तियारको स्वीकारोक्ति दिने शब्दावलीहरू एक हिसाबमा, सृष्टिकर्ताको विश्वसनीयताको सूचक हो; अर्को हिसाबमा, ती परमेश्वरले प्रयोग गर्नुभएका सृष्टिकर्ताको पहिचान निहित विशेष वचनहरू हुन्—साथै ती परम्परागत शब्दभण्डारका भाग हुन्। यदि कसैले अर्को व्यक्ति अत्यन्तै फलवान् हुनेछ, तिनीहरूबाट राष्ट्रहरू खडा हुनेछन्, र तिनीहरूबाट राजाहरू आउनेछन् भन्ने आशा गरेको छु भनी भन्छ भने, त्यो अवश्य नै एक प्रकारको कामना हो, प्रतिज्ञा वा आशिष् होइन। त्यसकारण, मानिसहरूले “म तिमीलाई यस्तो र उस्तो बनाउनेछु, तिमीले यस्तो र उस्तो गर्नेछौ,” भन्ने आँट गर्दैनन्, किनभने तिनीहरूसँग त्यस्तो शक्ति छैन भन्ने तिनीहरूलाई थाहा हुन्छ; यो तिनीहरूको हातमा हुँदैन, र तिनीहरूले यस्ता कुराहरू भने तापनि, तिनीहरूका वचनहरू तिनीहरूका इच्छा र अभिलाषाद्वारा उत्प्रेरित निरर्थक शब्दहरू हुनेछन्। यदि कसैले आफ्ना कामनाहरू पूरा गर्न सक्दैनन् भन्ने लाग्यो भने के तिनीहरूले यस्तो महान् शैलीमा बोल्ने आँट गर्छन्? हरेकले आफ्ना सन्तानको लागि सबैले राम्रै होस् भन्ने कामना गर्छन्, र तिनीहरू अघि बढ्नेछन् र ठूलो सफलता प्राप्त गर्नेछन् भन्ने आशा गर्छन्। “तिनीहरूमध्ये एक जना सम्राट भयो भने यो कति ठूलो सौभाग्यको कुरा हुनेथियो! यदि एक जना गभर्नर बन्यो भने त्यो पनि राम्रै हुनेथियो—राम्रै हुनेथियो जबसम्म तिनीहरू कुनै महत्त्वपूर्ण व्यक्ति हुन्छन्!” यी सबै मानिसहरूका कामनाहरू हुन्, तर मानिसहरूले आफ्ना सन्तानको लागि आशिष्हरूको कामना मात्रै गर्न सक्छन्, तिनीहरूका कुनै पनि प्रतिज्ञालाई पूरा गर्ने वा त्यसलाई यथार्थ तुल्याउन सक्दैनन्। आफ्ना हृदयमा, हरेकलाई त्यस्ता कुराहरू हासिल गर्ने शक्ति आफूसँग छैन भन्ने थाहा हुन्छ, किनभने तिनीहरूसँग भएको सबै कुरा तिनीहरूको नियन्त्रणभन्दा बाहिर हुन्छ, अनि कसरी तिनीहरूले अरूको नियतिमाथि हुकुम चलाउन सक्छन् र? परमेश्वरले यस्ता वचनहरू भन्न सक्नुको कारण के हो भने परमेश्वरमा त्यस्तो अख्तियार छ, र उहाँमा उहाँले मानिससँग गर्नुहुने सबै प्रतिज्ञाहरूलाई पूरा गर्ने र यथार्थ तुल्याउने, र उहाँले मानिसलाई दिनुहुने सबै आशिष्हरू पूरा गर्ने क्षमता छ। मानिसलाई परमेश्वरले नै सृष्टि गर्नुभएको थियो, र परमेश्वरको लागि कसैलाई अत्यन्तै फलवान् बनाउनु भनेको बच्चाको खेल हुनेथियो; कसैको सन्तानलाई सम्पन्न तुल्याउनको लागि उहाँले एउटै शब्द मात्र बोल्नु आवश्यक पर्थ्यो। त्यस्तो कुराको लागि उहाँले कहिल्यै पसिना बगाउने गरी काम गर्नुपर्दैनथियो, वा यसको लागि आफ्नो मस्तिष्कको प्रयोग गर्नुपर्ने, वा आफैलाई त्यसमा बाँधेर गाँठो पार्ने गर्नुपर्दैनथियो; परमेश्वरको शक्ति, परमेश्वरको अख्तियार यही नै हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
मानिसको काममा मानिसको अनुभवका धेरै तत्वहरू हुन्छन्; मानिसले ऊ जे हो त्यही व्यक्त गर्छ। परमेश्वरको आफ्नै कामले पनि उहाँ जे हुनुहुन्छ त्यसलाई व्यक्त गर्छ, तर उहाँको सारत्व मानिसको भन्दा फरक छ। मानिसको सारत्वले मानिसको अनुभव र जीवनलाई (मानिसले आफ्नो जीवनमा जे अनुभव वा सामना गर्ने कुरा, वा उसमा भएका संसारसँग व्यवहार गर्ने दर्शनहरू) प्रतिनिधित्व गर्छ, र फरक-फरक वातावरणमा जिउने मानिसहरूले फरक-फरक सारत्वलाई व्यक्त गर्छन्। तँसँग समाजका अनुभवहरू छन् या छैनन् र तेरो परिवारमा वास्तवमा तँ के-कसरी बस्छस् र यसभित्र तैँले के-कस्तो अनुभव गर्छस्, यी सबै कुराहरू तैँले जे व्यक्त गर्छस् त्यसमा देख्न सकिन्छ, जबकि देहधारी परमेश्वरको काममा तैँले उहाँसँग सामाजिक अनुभवहरू छन् कि छैनन् भनेर देख्न सक्दैनस्। मानिसको सारको बारे उहाँलाई राम्ररी थाहा छ र उहाँले सबै प्रकारका मानिसहरूसँग सम्बन्धित सबै प्रकारका अभ्यासहरूलाई प्रकट गर्न सक्नुहुन्छ। मानिसका भ्रष्ट स्वभावहरू र विद्रोही बानीबेहोरालाई प्रकट गर्नमा उहाँ अझै सिपालु हुनुहुन्छ। उहाँ सांसारिक मानिसहरूका बीचमा जिउनुहुन्न, तर मरणशीलहरूको प्रकृति र सांसारिक मानिसहरूको सारा भ्रष्टताबारे उहाँलाई थाहा छ। उहाँको सारत्व यही नै हो। उहाँले संसारसँग व्यवहार गर्नुहुन्न, तैपनि संसारसँग व्यवहार गर्ने नियमहरू उहाँलाई थाहा छ, किनभने उहाँले मानव प्रकृतिलाई राम्ररी बुझ्नुहुन्छ। आज र विगत दुवैमा, मानिसको आँखाले देख्न नसक्ने र मानिसको कानले सुन्न नसक्ने पवित्र आत्माको काम उहाँलाई थाहा छ। यसमा त्यो ज्ञान-बुद्धि पर्छ जुन संसारसँग व्यवहार गर्ने दर्शन अनि मानिसहरूले बुझ्न नसक्ने आश्चर्य होइन। उहाँको सारत्व यही हो, जुन मानिसहरूको निम्ति खुला छ र मानिसहरूबाट लुकाइएको पनि छ। उहाँले जे व्यक्त गर्नुहुन्छ त्यो असाधारण व्यक्तिको सारत्व होइन, तर त्यो आत्माका अन्तर्निहित गुणहरू र सारत्व हो। उहाँले संसारको भ्रमण गर्नुहुन्न तर यसको सबै कुरा जान्नुहुन्छ। उहाँले “नर-वानरहरू” लाई सम्पर्क गर्नुहुन्छ जोसँग कुनै ज्ञान वा अन्तर्दृष्टि छैन, तर उहाँले ज्ञानभन्दा उच्च अनि महान् मानवहरूकाभन्दा माथिका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँ सुस्त र बोधो मानिसहरूका बीचमा बस्नुहुन्छ जो मानवता विहीन छन् र जसले मानवताको प्रचलन र जीवनलाई बुझ्दैनन्, तर उहाँले मानवजातिलाई मानवजातिको नीच र तुच्छ मानवतालाई प्रकट गर्दै सामान्य मानवतामा जिउन लगाउन सक्नुहुन्छ। यो सबै उहाँको सारत्व हो, र यो सारत्व कुनै पनि मासु र रगतले बनेको व्यक्तिको भन्दा उच्च छ। उहाँको लागि, उहाँले गर्नुपर्ने काम गर्नको लागि र भ्रष्ट मानवजातिको सारलाई पूर्णरूपमा प्रकट गर्नको लागि जटिल, कष्टकर, र घिनलाग्दो सामाजिक जीवनको अनुभव गर्नु जरुरी छैन। घिनलाग्दो सामाजिक जीवनले उहाँको देहलाई सुधार गर्दैन। उहाँको काम र वचनले मानिसको विद्रोहीपनलाई मात्रै प्रकट गर्छन् तर यिनले मानिसलाई संसारको सामना गर्नको लागि अनुभव र पाठहरू प्रदान गर्दैनन्। जब उहाँले मानिसलाई जीवन दिनुहुन्छ उहाँले समाज वा मानिसको परिवारको अनुसन्धान गर्नु जरुरी छैन। मानिसलाई उदाङ्गो पार्नु र न्याय गर्नु उहाँको देहका अनुभवहरूको अभिव्यक्ति होइन; यो त मानिसको विद्रोहीपनको बारेमा लामो समयको ज्ञान अनि मानिसको भ्रष्टताप्रतिको घृणापश्चात उहाँले मानिसको अधार्मिकता सम्बन्धमा गर्नुभएको प्रकाश हो। उहाँले गर्नुहुने सबै कामको उद्देश्य मानिसलाई उहाँको स्वभाव प्रकट गर्नु र उहाँको सारतत्वलाई व्यक्त गर्नु हो। उहाँले मात्रै यो काम गर्न सक्नुहुन्छ; यो मासु र रगतले बनेको व्यक्तिले हासिल गर्न सक्ने कुरा होइन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको काम र मानिसको काम