१. प्रभु येशूको आगमन हुनुभन्दा पहिले, फरिसीहरूले प्रायजसो सभाघरहरूमा धर्मशास्त्रको व्याख्या गर्थे र मानिसहरूको सामु प्रार्थना गर्थे। तिनीहरू धेरै धर्मी देखिन्थे, र मानिसहरूको नजरमा, तिनीहरूले धर्मशास्त्रको उल्लङ्घन हुने कुनै पनि कार्य गर्दैनन् जस्तो लाग्थ्यो। त्यसो भए फरिसीहरूलाई प्रभु येशूले किन श्राप दिनुभयो? तिनीहरूले कुन प्रकारले परमेश्‍वरको अपमान गरे, तिनीहरूले किन परमेश्‍वरको क्रोध भड्काए?

सन्दर्भका लागि बाइबलका पदहरू:

“तिमीहरूले पनि किन तिमीहरूका परम्‍पराद्वारा परमेश्‍वरको आज्ञा उल्‍लङ्घन गर्छौ? किनभने परमेश्‍वरले यसो भनेर आज्ञा दिनुभएको छ, आफ्‍नो बाबु र आमाको सम्मान गर: र, बाबु वा आमालाई जसले सराप्छ त्यो मारियोस्। तर तिमीहरू भन्छौ, जोसुकैले आफ्‍नो बाबु वा आमालाई यसो भन्‍नेछ, तपाईंले मबाट जे लाभ पाउन सक्‍नुहुन्थ्यो, त्यो उपहार हो; अनि उसले आफ्‍नो बाबु वा आमाको सम्मान गर्नु पर्दैन, ऊ स्वतन्त्र हुनेछ। यसरी तिमीहरूले आफ्‍नो परम्‍पराद्वारा परमेश्‍वरको आज्ञालाई व्यर्थ तुल्याइदिएका छौ। तिमीहरू ढोङ्गीहरू, यशैयाले यसो भनेर तिमीहरूको बारेमा ठीकै अगमवाणी गरेका थिए, यी मानिसहरू आफ्ना मुखहरूले मात्र मेरा नजिक आउँछन् र तिनीहरूका ओठहरूले मात्र मेरो सम्मान गर्छन्; तर तिनीहरूका हृदय मदेखि टाढा छ। तर तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्, मानिसहरूका आज्ञाहरूलाई सिद्धान्तको रूपमा सिकाउँछन्” (मत्ती १५:३-९)।

“शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै भित्र जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ। शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनकि तिमीहरू विधवाका घरहरू निल्छौ र लामा प्रार्थना गरेको स्वाँग पार्छौ: यसैले तिमीहरूले ठूलो दण्ड पाउनेछौ।

“शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ।

“धिक्‍कार, तिमीहरू अन्धा अगुवाहरू, तिमीहरू भन्छौ, जसले मन्दिरको शपथ खान्छ, त्यो केही पनि होइन; तर जसले मन्दिरको सुनको शपथ खान्छ, ऊचाहिँ ऋणी हो! तिमीहरू मूर्ख र अन्धाहरू हौ: किनभने कुनचाहिँ ठूलो हो, सुन कि सुनलाई शुद्ध पार्ने मन्दिर? अनि, जसले वेदीमा शपथ खान्छ, त्यो केही पनि होइन; तर जसले त्यसमा राखिएको उपहारको शपथ खान्छ, ऊ दोषी हो। तिमीहरू मूर्ख र अन्धाहरू हौ: किनभने कुनचाहिँ ठूलो हो, सुन कि सुनलाई शुद्ध पार्ने मन्दिर? त्यसकारण, वेदीको शपथ खानेले, त्यसको नाममा, र यसमा भएका सबै कुराको नाममा शपथ खान्छ। अनि मान्दिरको शपथ खानेले, त्यसको नाममा, र त्यहाँ वास बस्नुहुने उहाँको नाममा शपथ खान्छ। अनि स्वर्गको शपथ खानेले, परमेश्‍वरको सिंहासनको नाममा, र त्यहाँ बस्‍नुहुने उहाँको नाममा शपथ खान्छ।

“शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनकि तिमीहरू पुदिना, सुँप र जिराको दशांश दिन्छौ अनि न्याय, कृपा र विश्‍वासजस्ता व्यवस्थाका गहकिला विषयहरूलाई छोड्छौ: तिमीहरूले त ती गर्नुपर्थ्यो र अरू विषयलाई नगरी नछोड्नुपर्ने थियो। तिमीहरू दृष्टिविहिन अगुवा हौ, जसले भुसुना छान्छन् र उँटलाई चाहिँ निल्छन्।

“शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले कचौरा र थालको बाहिरपट्टि सफा गर्छौ, तर भित्रपट्टि ती लुटपाट र ज्यादतीले भरिएका छन्। अन्धा फरिसी हो, कचौरा र थालभित्र जे छ पहिले त्यसलाई सफा गर, ताकि तिनको बाहिरीपट्टि पनि सफा हुन सकोस्।

“शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरू त सेतो रङ्ग पोतिएका चिहानहरू जस्तै छौ, जो बाहिरी रूपमा वास्तवमै सुन्दर देखिन्छन्, तर भित्र भने मरेका मानिसहरूका हाडहरू, र सबै अशुद्धताहरूले भरिएका हुन्छन्। त्यसरी नै तिमीहरू पनि बाहिरी रूपमा मानिसहरूका अघि धर्मी देखिन्छौ, तर भित्री रूपमा तिमीहरू ढोङ्गीपन र अधर्मले भरिएका छौ।

“शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरू अगमवक्ताहरूका चिहान निर्माण गर्छौ र धर्मीहरूका चिहानघरहरू सिँगार्छौ, अनि भन्छौ, यदि हामी हाम्रा पिता-पुर्खाको पालामा भएको भए, हामी अगमवक्ताहरूको रगत बगाउने काममा तिनीहरूसँग लाग्नेथिएनौं। तिमीहरू अगमवक्ताहरूलाई मार्नेहरूका सन्तान हौ भनेर तिमीहरू आफैले गवाही दिन्छौ। त्यसो भए त तिमीहरू आफ्‍ना पितापुर्खा जस्तै बन। तिमीहरू सर्प हौ, तिमीहरू भाइपरका पुस्ता हौ, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कन सक्छौ? हेर, म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमानी मानिसहरू र शास्त्रीहरू पठाउँछु: र तिनीहरूमध्ये केहीलाई तिमीहरूले मार्नेछौ र क्रूसमा टाँग्‍नेछौ; र तीमध्ये केहीलाई तिमीहरूले तिमीहरूका सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर-सहरमा सताउनेछौ: धर्मी हाबिलको रगतदेखि बेरेक्‍याहका छोरा जकरिया, जसलाई तिमीहरूले मन्दिर र वेदीको बीचमा हत्या गर्‍यौ, उनको रगतसम्‍म पृथ्वीमा बगाइएको सबै धर्मी रगत तिमीहरूमा नै आइपर्नेछ। साँच्‍चै म तिमीहरूलाई भन्छु, यी सबै कुरा यही पुस्तामा आउनेछन्” (मत्ती २३:१३-३६)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्‍न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्‍न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्‍वरको आशिष्‌ प्राप्‍त गर्न सक्थे भन्ने लाग्छ? के तिनीहरूले मसीहलाई देख्‍न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव माध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्‍च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्‍वास वाहियात र हास्यास्पद छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ

भ्रष्टताबाट गुज्रेको मानिस शैतानको फन्दामा जिउँछ; ऊ देहमा जिउँछ, स्वार्थी इच्‍छाहरूमा जिउँछ, र तिनीहरूमाझ मेरो अनुकूल रहेको एक जना पनि छैन। मेरो अनुकूल छु भन्‍ने मानिसहरू छन्, तर त्यस्ता मानिसहरूले अज्ञात मूर्तिहरूको पूजा गर्छन्। मेरो नामलाई पवित्र भनी स्वीकार गरे तापनि, तिनीहरूले मेरो विपरीत दिशातर्फ बढ्ने मार्गमा पाइला चाल्छन्, र तिनीहरूका बोलीवचन अहङ्कार र आत्मविश्‍वासले भरिएका छन्। किनभने तिनीहरू अन्तर्निहित रूपमै मेरो विरुद्धमा छन् तर म सँग मिल्दो छैनन्। हरदिन, तिनीहरूले बाइबलमा मेरा निसानहरू खोज्छन् र हचुवाको भरमा “उपयुक्त” खण्डहरू भेट्छन् जसलाई तिनीहरूले निरन्तर पढ्छन् र धर्मशास्‍त्रका रूपमा पाठ गर्छन्। कसरी मेरो अनुकूल बन्‍ने भनेर तिनीहरूलाई थाहा छैन, न त मेरो विरुद्धमा खडा हुनु भनेको के हो भन्‍ने नै तिनीहरूलाई थाहा छ। तिनीहरू खालि अन्धाधुन्ध धर्मशास्‍त्रका खण्डहरू पढ्छन्। तिनीहरू आफूले नदेखेको अस्पष्ट परमेश्‍वरलाई सीमित पार्छन् र बाइबलको सीमाभित्र देख्न सक्दैनन् र फुर्सतमा हेर्न यसलाई बाहिर निकाल्छन्। तिनीहरूले बाइबलको दायराभित्र मात्रै मेरो अस्तित्वमा विश्‍वास गर्छन्, र तिनीहरूले मलाई बाइबलसँग समान मान्छन्; बाइबलविना म हुँदिनँ, र मविना बाइबल हुँदैन। मेरो अस्तित्व वा मेरा कार्यहरूलाई तिनीहरूले ध्यानै दिँदैनन्, बरु यसको साटो धर्मशास्‍त्रका एक-एक शब्‍दलाई अत्यधिक र विशेष ध्यान दिन्छन्। धर्मशास्‍त्रले भविष्यवाणी नगरेसम्म मैले चाहेअनुसार केही पनि गर्नु हुँदैन भनेरसमेत धेरैले विश्‍वास गर्छन्। तिनीहरूले धर्मशास्‍त्रलाई अत्याधिक महत्त्व दिन्छन्। के भन्‍न सकिन्छ भने तिनीहरूले शाब्दिक वचनलाई यति हदसम्‍म महत्त्वपूर्ण देख्छन् कि मैले बोल्‍ने हरेक शब्‍दलाई मापन गर्न र मलाई दोष दिन तिनीहरूले बाइबलका पदहरू प्रयोग गर्छन्। तिनीहरूले खोजी गर्ने कुरा भनेको मेरो अनुकूल हुने मार्ग वा सत्यतासँग अनुकूल हुने मार्ग होइन, बरु बाइबलका वचनहरूसँग अनुकूल हुने मार्ग हो, र तिनीहरूले बाइबलसँग नमिल्‍ने जुनसुकै कुरा निस्सन्देह मेरो काम होइन भन्‍ने विश्‍वास गर्छन्। के यस्ता मानिसहरू फरिसीहरूका कर्तव्यनिष्ठ सन्तान होइनन् र? यहूदी फरिसीहरूले येशूको भर्त्सना गर्न मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यस समयको येशूसँग अनुकूल हुने प्रयास गरेनन्, बरु तिनीहरूले व्यवस्थाको प्रत्येक लेखलाई यस्तो गम्भीरतासाथ लिए—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगिछोडे। तिनीहरूको सार के थियो? के त्यो तिनीहरूले सत्यतासित अनुकूल हुने मार्ग नखोज्नु नै थिएन र? तिनीहरूले धर्मशास्‍त्रको एक-एक शब्‍दलाई मात्र ध्यान दिए, तर तिनीहरूले न त मेरा अभिप्रायहरूलाई ध्यान दिए न त मेरो कामका पाइला र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन्, बरु शब्दहरूमा कठोरतासाथ टाँसिने मानिसहरू थिए; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू थिएनन्, बरु बाइबलमा विश्‍वास गर्ने मानिसहरू थिए। सारगत रूपमा, तिनीहरू बाइबलको रक्षा गर्ने कुकुरहरू थिए। बाइबलका हितहरूको सुरक्षा गर्न, बाइबलको इज्‍जतलाई कायम राख्‍न, र बाइबलको मर्यादाको संरक्षण गर्न, तिनीहरूले कृपालु येशूलाई क्रूसमा टाँग्‍ने हदसम्‍म गए। तिनीहरूले केवल बाइबलको प्रतिरक्षा गर्नको खातिर, र मानिसहरूका हृदयमा बाइबलका एक-एक शब्दको हैसियतलाई कायम गर्नको खातिर तिनीहरूले यसो गरे। त्यसकारण, तिनीहरूले धर्मशास्‍त्रको सिद्धान्तअनुरूप नरहनुभएका येशूलाई मृत्युदण्ड दिन आफ्‍नो भविष्य र पापबलि त्याग्‍न रुचाए। के तिनीहरू सबै नै धर्मशास्‍त्रका एक-एक वचनका दास थिएनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूलताको मार्ग खोजी गर्नुपर्छ

फरिसीहरूद्वारा येशूको आलोचना

मर्कूस ३:२१-२२  अनि जब उहाँका मित्रहरूले यो सुने, उहाँलाई समात्‍न तिनीहरू बाहिर निस्के: किनकि तिनीहरूले भने, उहाँ आफ्नो नियन्त्रणमा हुनुहुन्‍न। अनि येरूशलेमबाट आएका शास्त्रीहरूले भने, त्यससँग बालजिबुल छ, र त्यसले भूतहरूको राजकुमारद्वारा भूतहरूलाई निकाल्छ।

फरिसीहरूलाई येशूको हप्की

मत्ती १२:३१-३२  म किन तिमीहरूलाई भन्दछु, मानिसका सबै किसिमका पापहरू र ईश्‍वरनिन्दा क्षमा गरिनेछन्: तर मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्‍वरनिन्दा क्षमा गरिनेछैन। र जसले मानिसको पुत्रको विरुद्धमा वचन बोल्छ, उसलाई क्षमा दिइनेछ: तर जसले पवित्र आत्माको विरुद्धमा बोल्छ, उसलाई क्षमा गरिनेछैन, न त यस जीवनमा, न त आउँदो संसारमा।

…………

बाइबलमा, येशू स्‍वयम्‌ र उहाँले गर्नुभएका कामहरूका बारेमा फरिसीहरूको मूल्याङ्कन यस्तो थियो: “… तिनीहरूले भने, उहाँ आफ्नो नियन्त्रणमा हुनुहुन्‍न। … त्यससँग बालजिबुल छ, र त्यसले भूतहरूको राजकुमारद्वारा भूतहरूलाई निकाल्छ” (मर्कूस ३:२१-२२)। शास्त्री र फरिसीहरूले प्रभु येशूलाई गलत ठहराउनु अरू मानिसहरूका शब्दहरूको अनुकरण मात्र थिएन, न त त्यो आधारहीन अनुमान नै थियो—यो त तिनीहरूले प्रभु येशूका कार्यहरू देखेर र तीबारे सुनेर उहाँबारे निकालेको निष्कर्ष थियो। तिनीहरूको निष्कर्ष देखावटी रूपमा इन्साफ कायम राख्ने नाउँमा निकालिएको अनि मानिसको नजरमा त्यो आधारयुक्त भए जस्तो देखिएको भए पनि, तिनीहरूले जुन अहङ्कार र हैकमले प्रभु येशूलाई गलत ठहराए, त्यसलाई थाम्न तिनीहरूलाई समेत गाह्रो परिरहेको थियो। प्रभु येशूप्रतिको तिनीहरूको घृणाको उन्मत्त ऊर्जाले तिनीहरूको आफ्नै महत्त्वाकाङ्क्षाहरू र तिनीहरूका दुष्ट शैतानी मुहारहरू, साथै परमेश्‍वरको प्रतिरोध गर्ने तिनीहरूको दुर्भावपूर्ण प्रकृति खुलासा गर्‍यो। प्रभु येशूलाई गलत ठहराउँदा तिनीहरूले भनेका यी कुराहरू तिनीहरूका महत्त्वाकाङ्क्षा, ईर्ष्या, अनि परमेश्‍वर र सत्यताप्रतिको तिनीहरूको शत्रुताको कुरूप र दुर्भावपूर्ण प्रकृतिबाट प्रेरित थिए। तिनीहरूले प्रभु येशूका कार्यहरूको स्रोतबारे अनुसन्धान गरेनन्, न त उहाँले भन्नुभएको वा गर्नुभएको कुराको सारको नै अनुसन्धान गरे। बरु, तिनीहरूले उहाँले गरेको कामलाई अन्धाधुन्ध, अधीर रूपमा, पागलपूर्ण तरिकाले, जानीजानी र दुर्भावपूर्ण रूपमा आक्रमण र बदनाम गरे। तिनीहरूले उहाँको आत्मा, अर्थात्, पवित्र आत्मा, परमेश्‍वरको आत्मालाई निर्लज्ज रूपमा बदनाम गर्नेसम्मको हर्कत गरे। तिनीहरूले “उहाँ आफ्नो नियन्त्रणमा हुनुहुन्‍न,” “बालजिबुल” र “दियाबलसहरूको राजकुमार” भन्दा तिनीहरूको आशय यही थियो। भन्नुको मतलब, तिनीहरूले परमेश्‍वरको आत्मा भनेको बालजिबुल हो र दियाबलसहरूको राजकुमार हो भनेर भने। परमेश्‍वरको आत्माले धारण गर्नुभएको देहको कामलाई तिनीहरूले पागलपनको संज्ञा दिए। तिनीहरूले परमेश्‍वरका आत्मालाई बालजिबुल र दियाबलसहरूको राजकुमार भनेर ईशनिन्दा मात्र गरेनन्, परमेश्‍वरको कामलाई पनि दोषी ठहराए अनि प्रभु येशू ख्रीष्टलाई पनि दोषी ठहराए र निन्दा गरे। परमेश्‍वरप्रति तिनीहरूको प्रतिरोध र निन्दाको सार र शैतान तथा दुष्ट पिशाचहरूद्वारा परमेश्‍वरप्रति गरिएको प्रतिरोध र निन्दाको सार पूर्ण रूपमा उस्तै थिए। तिनीहरूले भ्रष्ट मानवहरूको मात्र प्रतिनिधित्व गरेनन्, अझ बढी त, ती शैतानको नै मूर्त रूप थिए। तिनीहरू मानवजातिको माझमा शैतानको माध्यम थिए, र तिनीहरू शैतानका मतियार र नोकर थिए। तिनीहरूले प्रभु येशू ख्रीष्टलाई निन्दा र बदनाम गर्नुको सार भनेको हैसियतका लागि परमेश्‍वरसित सङ्घर्ष गर्नु, परमेश्‍वरसित प्रतिस्पर्धा गर्नु, अनि परमेश्‍वरको अनन्त परीक्षा लिनु थियो। परमेश्‍वरप्रतिको तिनीहरूको प्रतिरोधको सार तथा उहाँप्रतिको तिनीहरूको शत्रुताको मनोवृत्ति, साथै तिनीहरूका शब्दहरू र तिनीहरूका सोचहरूले प्रत्यक्ष रूपमा परमेश्‍वरको आत्मालाई ईशनिन्दा गरेका र रिस उठाएका थिए। तसर्थ, तिनीहरूले भनेको र गरेको कुराका आधारमा परमेश्‍वरले एउटा उचित न्याय निर्धारित गर्नुभयो, अनि तिनीहरूका कार्यहरू पवित्र आत्माको विरुद्धमा ईशनिन्दा गरिएको पाप भएको ठहर गर्नुभयो। यो पाप यो जीवनमा र आउँदो संसारमा पनि अक्षम्य हुन्छ, जस्तो कि धर्मशास्त्रको निम्न खण्डमा पुष्टि गरिएको छ: “मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्‍वरनिन्दा क्षमा गरिनेछैन,” र, “जसले पवित्र आत्माको विरुद्धमा बोल्छ, उसलाई क्षमा गरिनेछैन, न त यो जुनीमा, न त आउनेवाला संसारमा।”

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

विगतमा, फरिसीहरू इस्राएलमा एक सम्मानित वर्ग थिए, त्यसोभए अहिले यो नाम किन बिल्ला बनेको छ? किनभने फरिसीहरू एक प्रकारको व्यक्तिका प्रतिनिधि बनेका छन्। यस प्रकारको व्यक्तिका विशेषताहरू के-के हुन्? तिनीहरू कुरा बनाउन, देखावटी रूप धारण गर्न, र ढोँग गर्न खप्पिस हुन्छन्; तिनीहरू विशेष रूपमा कुलीन, पवित्र, सत्यनिष्ठ, सिधा, खुला, र स्वीकार्य भएको ढोँग गर्छन्, र तिनीहरूले फलाक्ने नाराहरू राम्रा सुनिन्छन्, तर वास्तवमा तिनीहरू अलिकति पनि सत्यता अभ्यास नगर्ने रहेछन्। फरिसीहरूका के-कस्ता असल व्यवहारहरू थिए? तिनीहरू धर्मशास्त्रहरू पढ्थे र प्रचार गर्थे; तिनीहरू अरूलाई व्यवस्था र प्रावधानहरू पालन गर्न, र परमेश्‍वरको प्रतिरोध नगर्न सिकाउँथे। यी सबै असल व्यवहार थिए। तिनीहरूले भनेका सबै कुरा राम्रा सुनिन्थे, तर तिनीहरू गोप्य रूपमा भेटीहरू चोर्थे। प्रभु येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू भुसुना छान्छौ र उँटलाई चाहिँ निल्छौ” (मत्ती २३:२४)। यसको अर्थ तिनीहरूले गर्ने सबै कामकुरा बाहिरी रूपमा असल व्यवहार थिए; तिनीहरू आडम्बरी नाराहरू फलाक्थे र ठूला, उच्च सिद्धान्तहरू व्यक्त गर्थे, तिनीहरूका शब्दहरू सुन्नमा निकै प्रिय लाग्थे, तर तिनीहरू सत्यतालाई कुनै पनि हालतमा व्यवहारमा लागु गर्न सक्दैनथे। तिनीहरूले भनेका र गरेका सबै कुराको सत्यतासँग कुनै सम्बन्ध थिएन; ती सबै केवल पाखण्डी व्यवहार थिए, र मानिसहरूलाई धोका दिने र भ्रमित पार्ने कुरा थिए। हृदयमा, तिनीहरू सत्यता वा सकारात्मक कुराहरूलाई अलिकति पनि प्रेम गर्दैनथे, र यहाँसम्म कि तिनीहरू सत्यता र सकारात्मक कुराहरूप्रति समेत वितृष्ण थिए, र परमेश्‍वरबाट आउने सबै कुराप्रति वितृष्ण थिए। तिनीहरू केलाई प्रेम गर्थे? के तिनीहरू धार्मिकता र निष्पक्षतालाई प्रेम गर्थे? (गर्दैनथे।) तिनीहरू यी कुराहरूलाई प्रेम गर्दैनथे भनेर तँ कसरी भन्न सक्छस्? (प्रभु येशूले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्दा, तिनीहरूले यसलाई स्विकार्न नमानेको मात्र होइन, बरु उल्टै प्रभु येशूलाई दोषी ठहराए।) यदि तिनीहरूले प्रभु येशूलाई दोषी नठहराएका र प्रतिरोध नगरेका भए, के तिनीहरू सत्यतालाई प्रेम गर्दैनथे, र तिनीहरू धार्मिकता र निष्पक्षतालाई प्रेम गर्दैनथे भनेर भन्न सम्भव हुनेथियो र? हुनेथिएन। प्रभु येशूको देखापराइ र कामले फरिसीहरूलाई पूर्ण रूपमा प्रकट गरे; तिनीहरूले प्रभु येशूलाई दोषी ठहराएका र प्रतिरोध गरेका कारणले नै अरूले तिनीहरूको पाखण्ड देखे। यदि प्रभु येशू देखा नपर्नुभएको र उहाँले काम नगर्नुभएको भए, कसैले पनि फरिसीहरूलाई खुट्ट्याउन सक्नेथिएन, र यदि मानिसहरूले फरिसीहरूको बाहिरी व्यवहारलाई मात्रै हेरेका भए, तिनीहरूले भित्रभित्रै फरिसीहरूको निकै डाह समेत गर्नेथिए, र तिनीहरूलाई मान गर्नेथिए। फरिसीहरूले जालसाजीपूर्वक मानिसहरूको भरोसा प्राप्त गर्न यी झूटा असल व्यवहारहरू प्रयोग गरे—के यो कपटी र छली कुरा थिएन र? के यी छली मानिसहरू सत्यतालाई प्रेम गर्न सक्थे र? तिनीहरू कदापि सक्दैनथे। तिनीहरूले यी असल व्यवहारहरू प्रदर्शन गर्नुपछाडिको उद्देश्य के थियो? एउटा हिसाबमा, यो मानिसहरूलाई धोका दिनका लागि थियो। अर्को हिसाबमा, यो मानिसहरूलाई भ्रमित पार्न र तिनीहरूलाई आफ्नो पक्षमा ल्याउनका लागि थियो, ताकि मानिसहरूले तिनीहरूलाई उच्च ठानून् र तिनीहरूको आराधना गरून्, र अन्त्यमा, तिनीहरू इनाम पनि प्राप्त गर्न चाहन्थे। यो कतिसम्मको ठूलो धोकाधडी थियो! के यो एक चलाखीपूर्ण रणनीति थिएन र? के यी मानिसहरू निष्पक्षता र धार्मिकतालाई प्रेम गर्थे? तिनीहरू पक्कै पनि गर्दैनथे। तिनीहरू त हैसियत, ख्याति र प्राप्तिलाई प्रेम गर्थे, र तिनीहरू इनाम र मुकुट चाहन्थे। परमेश्‍वरले मानिसहरूलाई सिकाउनुभएका वचनहरू तिनीहरूले कहिल्यै अभ्यास गरेनन्, र तिनीहरू कहिल्यै पनि सत्यता वास्तविकताहरू अलिकति पनि जिएनन्। तिनीहरू असल व्यवहारहरू प्रयोग गरेर देखावटी रूप धारण गर्ने, र आफ्नै हैसियत र प्रतिष्ठा सुरक्षित गर्नका लागि मानिसहरूलाई धोका दिने र पाखण्डी तरिकाले तिनीहरूलाई आफ्नो पक्षमा ल्याउने काम मात्र गर्थे, जसलाई तिनीहरू त्यसपछि आफ्नै लागि पूँजी प्राप्त गर्न र जीविकोपार्जन गर्न प्रयोग गर्थे। के त्यो घृणास्पद होइन र? तिनीहरूका यी सबै व्यवहारबाट, तिनीहरूको सारमा, तिनीहरू सत्यतालाई प्रेम गर्दैनथे भन्‍ने कुरा देख्‍न सकिन्छ, किनकि तिनीहरू यसलाई कहिल्यै अभ्यास गर्दैनथे। तिनीहरू सत्यता अभ्यास गर्दैनथे भनेर देखाउने कुरा के हो? सबैभन्दा प्रस्ट कुरा यो हो: प्रभु येशू छुटकाराको काम गर्न आउनुभयो, र प्रभु येशूले बोल्नुभएका सबै वचन सत्यता थिए र तिनमा अख्तियार थियो—फरिसीहरूले यसलाई कसरी व्यवहार गरे? प्रभु येशूका वचनहरूमा अख्तियार र शक्ति छ भन्‍ने कुरा तिनीहरूले माने पनि, तिनीहरूले उहाँलाई स्वीकार नगरेको मात्र होइन, बरु उल्टै उहाँलाई दोषी ठहराए र ईश्‍वरनिन्दा समेत गरे। तिनीहरूले किन यसो गरे? किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनथे, र तिनीहरू हृदयमा सत्यताप्रति वितृष्ण समेत थिए र यसलाई घृणा गर्थे। प्रभु येशूले भन्नुभएका सबै कुरा सही छन्, तिनमा अख्तियार र शक्ति छ, र ती कुनै पनि हिसाबमा गलत छैनन् भन्‍ने कुरा तिनीहरूले माने, र तिनीहरूसँग उहाँका विरुद्धमा प्रयोग गर्न सकिने केही पनि थिएन। तर तिनीहरूले प्रभु येशूलाई दोषी ठहराउन जिद्दी गरे, र उहाँका विरुद्धमा षड्यन्त्र समेत रचे, र यसो भने, “उहाँलाई क्रूसमा टाँग। कि त उहाँ रहनुहुन्न कि हामी।” फरिसीहरूको त्यो समूहले यसरी नै प्रभु येशूका शत्रुका रूपमा काम गर्‍यो। त्यस समयमा कसैले पनि सत्यता बुझेको थिएन, र प्रभु येशू देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर कसैले पनि चिन्न सकेको थिएन। तर मानव दृष्टिकोणबाट हेर्दा, प्रभु येशूले धेरै वटा सत्यता व्यक्त गर्नुभयो, उहाँले मानिसहरूलाई पिशाचहरूबाट पनि मुक्त गर्नुभयो र बिरामीहरूलाई निको पार्नुभयो, धेरै चमत्कार गर्नुभयो, र पाँच वटा रोटी र दुई वटा माछाले ५,००० लाई खुवाउनुभयो—उहाँले असल कामकुराहरू धेरै गर्नुभयो, र मानिसहरूलाई यति धेरै अनुग्रह प्रदान गर्नुभयो, र यस्ता असल र धर्मी मानिसहरू अत्यन्तै थोरै छन्। त्यसोभए, फरिसीहरूले किन अझै पनि प्रभु येशूलाई दोषी ठहराए त? तिनीहरू उहाँलाई क्रूसमा टाँग्न किन यति धेरै कटिबद्ध थिए? तिनीहरू प्रभु येशूलाई भन्दा एउटा अपराधीलाई रिहा गर्न तयार थिए—यसले धार्मिक संसारका फरिसीहरू कति दुष्ट र दुर्भावपूर्ण थिए भन्‍ने कुरा देखाउँछ। तिनीहरू अत्यन्तै दुष्ट थिए! खुलासा भएका फरिसीहरूका दुष्ट मुहारहरू र तिनीहरूले ढोँग गरेको बाहिरी दयालुपनका बीचमा ठूलो भिन्‍नता थियो; धेरै मानिसले कुन साँचो हो र कुन झूटो हो भनेर खुट्ट्याउन सकेनन्। प्रभु येशूको देखापराइ र कामले यी फरिसीहरूलाई पूर्ण रूपमा प्रकट गरे। तिनीहरू अत्यन्तै राम्रो ढोँग गर्थे र सामान्य परिस्थितिहरूमा बाहिरी रूपमा यति भक्त देखिन्थे कि, तिनीहरूले प्रभु येशूलाई यस्तो क्रूर तरिकाले प्रतिरोध गर्न र सताउन सक्छन् भनेर कसैले कल्पना पनि गरेको हुनेथिएन। यदि फरिसीहरू तथ्यहरूद्वारा प्रकट नगरिएका भए, कसैले पनि तिनीहरूलाई छर्लङ्गै देख्‍न सक्नेथिएन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

फरिसीहरू ढोँगी र दुष्ट हुनुको कारण के हो भने तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् तर ज्ञानलाई प्रेम गर्छन्, त्यसकारण तिनीहरूले धर्मशास्त्रको अध्ययन गर्छन् र धर्मशास्त्रीय ज्ञान पछ्याउँछन् तैपनि सत्यता वा परमेश्‍वरका वचनहरूलाई कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दा उहाँलाई प्रार्थना गर्दैनन्, न त तिनीहरूले सत्यताको खोजी वा सङ्गति नै गर्छन्। बरु, तिनीहरूले परमेश्‍वरका वचनहरू अध्ययन गर्छन्, परमेश्‍वरले भन्‍नुभएको र गर्नुभएको कुरा अध्ययन गर्छन्, यसरी परमेश्‍वरका वचनहरूलाई सिद्धान्त, अरूलाई सिकाउने धर्मसिद्धान्तमा परिणत गर्छन्, जसलाई विद्वत्तापूर्ण अध्ययन भनिन्छ। तिनीहरू किन विद्वत्तापूर्ण अध्ययनमा संलग्‍न हुन्छन्? तिनीहरूले के अध्ययन गरिरहेका हुन्छन्? तिनीहरूको नजरमा, यो परमेश्‍वरका वचनहरू वा परमेश्‍वरको अभिव्यक्ति होइन, सत्यता हुनु त परको कुरा हो। बरु, यो एक प्रकारको विद्वत्ता हो, वा यसलाई धर्मशास्त्रीय ज्ञान समेत भन्‍न सकिन्छ। तिनीहरूको दृष्टिकोणमा, यो ज्ञान, यो विद्वत्ता प्रसार गर्नु भनेको परमेश्‍वरको मार्ग प्रसार गर्नु, सुसमाचार प्रसार गर्नु हो—तिनीहरूले यसैलाई प्रचार भन्छन्, तर तिनीहरूले प्रचार गर्ने सबै कुरा धर्मशास्त्रीय ज्ञान मात्रै हुन्छ।

… फरिसीहरूले आफूले बुझेका धर्मशास्त्रीय सिद्धान्तहरूलाई ज्ञान र मानिसहरूलाई मूल्याङ्कन गर्ने र दोष दिने औजारका रूपमा लिएका थिए, र यसलाई तिनीहरूले प्रभु येशूमाथि समेत प्रयोग गरे। प्रभु येशूलाई यसरी नै दोषी ठहराइएको थियो। तिनीहरूले कुनै व्यक्तिलाई मूल्याङ्कन गर्ने वा व्यवहार गर्ने तरिका कहिल्यै पनि न त व्यक्तिको सारमा, न व्यक्तिले प्रचार गरेको कुरा सत्यता हो कि होइन भन्‍ने कुरामा नै निर्भर हुन्थ्यो, व्यक्तिले बोलेका वचनहरूको स्रोतमा निर्भर हुनु त परको कुरा हो—फरिसीहरूले व्यक्तिलाई मूल्याङ्कन गर्ने वा दोष दिने तरिका तिनीहरूले बाइबलको पुरानो करारबाट बुझेका प्रावधान, वचन, र धर्मसिद्धान्तमा मात्रै निर्भर हुन्थ्यो। प्रभु येशूले भन्‍नुभएका र गर्नुभएका कुराहरू पाप वा व्यवस्था उल्लङ्घन होइनन् भन्‍ने कुरा फरिसीहरूलाई हृदयमा थाहा भए पनि, तिनीहरूले उहाँलाई दोषी ठहराए, किनभने उहाँले व्यक्त गर्नुभएका सत्यताहरू र उहाँले प्रदर्शन गर्नुभएका चिन्ह र चमत्कारहरूले गर्दा धेरै मानिसहरूले उहाँलाई पछ्याउन र प्रशंसा गर्न थालेका थिए। फरिसीहरूले उहाँलाई झन्-झन् घृणा गरिरहेका थिए, र उहाँलाई दृश्यबाट हटाउन समेत चाहन्थे। तिनीहरूले प्रभु येशू नै आउनेवाला मसीह हुनुहुन्छ भनेर पहिचान गरेनन्, न त तिनीहरूले उहाँका वचनहरूमा सत्यता छ भन्‍ने कुरालाई नै पहिचान गरे, उहाँको काम सत्यता अनुरूप छ भन्‍ने कुरालाई पहिचान गर्नु त परको कुरा हो। तिनीहरूले प्रभु येशूले अहङ्कारी वचनहरू बोलिरहनुभएको र भूतहरूका राजकुमार बालजिबुलमार्फत भूतहरू निकालिरहनुभएको भनेर आलोचना गरे। तिनीहरूले यी पापहरूको दोष प्रभु येशूलाई लगाए भन्‍ने कुराले तिनीहरूले उहाँलाई कति धेरै घृणा गर्थे भन्‍ने कुरा देखाउँछ। त्यसकारण, तिनीहरूले प्रभु येशूलाई परमेश्‍वरले पठाउनुभएको हो, र उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्छ, र उहाँ मसीह हुनुहुन्छ भन्‍ने कुरालाई इन्कार गर्न जोरदार रूपमा काम गरे। तिनीहरूको तात्पर्य के थियो भने, “के परमेश्‍वरले यस्तो तरिकाले काम गर्नुहुनेथियो? यदि परमेश्‍वर देहधारी हुनुभएको भए, उहाँ प्रतिष्ठित हैसियत भएको परिवारमा जन्‍मनुहुनेथियो। अनि उहाँले शास्त्रीहरू र फरिसीहरूको मार्गदर्शन स्वीकार गर्नुपर्ने हुन्थ्यो। उहाँले ‘देहधारी परमेश्‍वर’ को नाम धारण गर्न सक्नुभन्दा पहिले धर्मशास्त्रलाई व्यवस्थित रूपमा अध्ययन गर्नुपर्ने, धर्मशास्त्रको ज्ञान बुझ्नुपर्ने, र धर्मशास्त्रका सबै ज्ञानहरूले आफूलाई सुसज्‍जित गर्नुपर्ने हुन्थ्यो।” तर प्रभु येशू यो ज्ञानले सुसज्जित हुनुहुन्‍नथियो, त्यसकारण तिनीहरूले यसो भन्दै उहाँलाई दोष दिए, “सर्वप्रथम, तपाईंसँग त्यस्तो योग्यता छैन, तसर्थ तपाईं परमेश्‍वर हुन सक्‍नुहुन्‍न; दोस्रो कुरा, यो धर्मशास्त्रीय ज्ञानविना, तपाईंले परमेश्‍वरको कार्य गर्न सक्‍नुहुन्‍न, तपाईं परमेश्‍वर हुन सक्‍ने कुरा त परै जाओस्; तेस्रो, तपाईंले मन्दिरभन्दा बाहिर काम गर्न हुँदै हुँदैन—तपाईंले अहिले मन्दिरमा काम गरिरहनुभएको छैन, तर तपाईं सधैँ पापीहरूका बीचमा बस्‍नुहुन्छ, त्यसकारण तपाईंले गर्नुहुने काम धर्मशास्‍त्रको दायराभन्दा बाहिर छ, जसले तपाईं परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा झन् असम्भव तुल्याउँछ।” तिनीहरूको दोषारोपणको आधार कहाँबाट आयो त? धर्मशास्त्रबाट, मानिसको मन-मस्तिष्कबाट, र तिनीहरूले प्राप्त गरेको धर्मशास्‍त्रीय शिक्षाबाट। फरिसीहरू धारणा, कल्‍पना, र ज्ञानले फूलेका थिए, त्यसकारण तिनीहरूले यो ज्ञान सही हो, सत्यता हो, मान्य आधार हो, र कुनै पनि समयमा परमेश्‍वरले यी कुराहरूलाई उल्‍लङ्घन गर्न सक्‍नुहुन्‍न भन्‍ने विश्‍वास गर्थे। के तिनीहरूले सत्यताको खोजी गरे त? तिनीहरूले खोजी गरेनन्। तिनीहरूले के खोजी गरे? आत्मिक शरीरका रूपमा देखा परेका अलौकिक परमेश्‍वर। त्यसकारण, तिनीहरूले परमेश्‍वरको कामका रूपरेखा निर्धारित गरे, उहाँको कामलाई इन्कार गरे, र मानिसका धारणा, कल्पना, र ज्ञान अनुसार परमेश्‍वर सही हुनुहुन्छ कि गलत हुनुहुन्छ भनेर मूल्याङ्कन गरे। अनि यसको अन्तिम परिणाम के भयो? तिनीहरूले परमेश्‍वरको कामलाई निन्दा गरेका मात्र होइनन्, तिनीहरूले देहधारी परमेश्‍वरलाई क्रूसमा समेत टाँगे।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन)

अघिल्लो:  २. हामीले यसलाई बुझे अनुसार, धेरै प्रतिष्ठित अन्तर्राष्ट्रिय धार्मिक विज्ञहरू र शिक्षाविद्हरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई उदीयमान इसाई मण्डलीको रूपमा मान्यता दिएका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली र परम्परागत इसाई धर्मबीच के भिन्नता छ?

अर्को:  २. धार्मिक संसारका पाष्टरहरू र एल्डरहरू सबैले बाइबल राम्ररी जान्दछन् र प्रायजसो अरूलाई त्यसको व्याख्या गर्छन्, मानिसहरूलाई बाइबलको पालना गर्न लाउँछन्। यसो गर्दा, के तिनीहरूले प्रभुलाई उचाल्दैनन् र प्रभुको गवाही दिँदैनन् र? तिनीहरूले मानिसहरूलाई धोखा दिइरहेका छन्, तिनीहरू पाखण्डी फरिसीहरू हुन् भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger