२. धार्मिक संसारका पाष्टरहरू र एल्डरहरू सबैले बाइबल राम्ररी जान्दछन् र प्रायजसो अरूलाई त्यसको व्याख्या गर्छन्, मानिसहरूलाई बाइबलको पालना गर्न लाउँछन्। यसो गर्दा, के तिनीहरूले प्रभुलाई उचाल्दैनन् र प्रभुको गवाही दिँदैनन् र? तिनीहरूले मानिसहरूलाई धोखा दिइरहेका छन्, तिनीहरू पाखण्डी फरिसीहरू हुन् भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ?
परमेश्वरका सान्दर्भिक वचनहरू:
हरेक धर्म र सम्प्रदायका अगुवाहरूलाई हेर्—ती सबै अहङ्कारी र आत्म-धर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा मार्गनिर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नका निम्ति वरदानहरू र ज्ञानमा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न बिलकुलै सक्थेनन् भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? आखिरमा, तिनीहरूसँग केही ज्ञान हुन्छ र तिनीहरूले केही धर्मसिद्धान्तहरू प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई छल्न र मानिसहरूलाई आफ्नो अगाडि ल्याउनका निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्वरमा नाम मात्रको विश्वास गर्छन्, तर वास्तवमा तिनीहरूले यी अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो मार्गको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये केहीले भन्छन्, “आस्थाका मामलामा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्वरमाथि विश्वास गर्ने र सत्यता स्वीकार गर्ने कुरा आउँदा मानिसहरूलाई कसरी अरूको सहमति र स्वीकृति आवश्यक पर्दो रहेछ, हेर्—के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो मार्ग स्वीकार गर्ने कार्यमा ठेस लाग्ने बाधाहरू बनेका छैनन् र?
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
परमेश्वरको कामको उद्देश्य नबुझ्ने जोकोही उहाँको प्रतिरोध गर्ने व्यक्ति हो, र परमेश्वरको कामको उद्देश्य बुझ्न पुगेको, तर अझै उहाँलाई सन्तुष्ट पार्न नखोज्ने व्यक्तिलाई झन् बढी परमेश्वरको प्रतिरोधी मानिनुपर्छ। भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन्, तैपनि उनीहरूमध्ये एक जनाले पनि परमेश्वरको कामको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्वरलाई चिन्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्वरका अभिप्रायअनुसारको हुन त झनै सक्दैन। उनीहरू सबैजना “परमेश्वर” लाई भाषण दिन उचाइमा उभिएका व्यर्थ, नीच मानिसहरू हुन्। उनीहरू परमेश्वरको ध्वजा बोके तापनि जानाजानी परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्, जसले मान्छेको मासु खाँदै र रगत पिउँदै गर्दा परमेश्वरमा विश्वास गरेको पर्चा बोक्छन्। त्यस्ता सबै मानिस मान्छेको प्राण निल्ने दुष्ट दियाबलसहरू हुन्, मानिसहरूको सही मार्गमा हिँड्ने थालनीलाई जानीजानी बाधा दिने पिशाचका प्रमुख हुन्, र मानिसहरूको परमेश्वरको खोजीमा अवरोध दिने बाधा-अड्चनहरू हुन्। उनीहरू “स्वस्थ शारीरिक गठन” भएका जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्वरको प्रतिरोध गर्न अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव प्राण निल्न प्रतिबद्ध जीवित दियाबलस हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? परमेश्वरको उपस्थितिमा आफूलाई उच्च सम्मानमा राख्ने व्यक्तिहरू नै सबैभन्दा नीच मानिस हुन्, जबकि आफूलाई सानो ठान्नेहरू सबैभन्दा सम्मानित व्यक्ति हुन्। अनि परमेश्वरको कामबारे जान्दछु भनी ठान्नेहरू र अझ त्यसमाथि, उहाँलाई सोझै हेर्दै गर्दा अरूहरूमाझ ठूलै तामझामको साथ परमेश्वरको कामबारे घोषणा गर्न सक्नेहरू सबैभन्दा अज्ञानी मान्छे हुन्। त्यस्ता मानिसहरू सबै परमेश्वरको गवाहीरहित हुन्छन्, उनीहरू सबै अहङ्कारी र घमण्डी हुन्छन्। परमेश्वरबारे वास्तविक अनुभव र व्यावहारिक ज्ञान हुँदाहुँदै पनि आफूसँग उहाँबारे एकदमै कम मात्र ज्ञान छ भनी विश्वास गर्नेहरू नै उहाँद्वारा सबैभन्दा बढी प्रेम गरिने व्यक्ति हुन्। त्यस्ता व्यक्तिहरूसँग मात्र वास्तवमै परमेश्वरको गवाही हुन्छ र उनीहरू मात्र वास्तवमै परमेश्वरद्वारा सिद्ध पार्न सकिने हुन्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्
तैँले परमेश्वरमाथि विश्वास गर्ने भएकोले तैँले परमेश्वरका सबै वचनहरू र उहाँका सबै कामहरूमा विश्वास गर्नुपर्छ। यसो भन्नुको मतलब, तैँले परमेश्वरमाथि विश्वास गर्ने भएकोले, तैँले उहाँप्रति समर्पित हुनुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् भने, तैँले परमेश्वरमाथि विश्वास गर्छस् कि गर्दैनस् त्यसले केही मतलब राख्दैन। यदि तैँले वर्षौंदेखि परमेश्वरमाथि विश्वास गरेको छस् तर पनि तँ कहिल्यै पनि उहाँप्रति समर्पित भएको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्वरका काम र वचनहरूप्रति समर्पणता देखाउन सक्छन् र? सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्वरको नयाँ कामको विरुद्ध शत्रुवत मनोवृत्ति हुन्छ; तिनीहरूमा कहिल्यै समर्पित हुनेबारे मनस्थिति अलिकति पनि हुँदैन, न त तिनीहरूले कहिल्यै खुसीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूसामु आफूलाई सबैभन्दा उच्च ठान्छन् र कसैको अगाडि आफूलाई कहिल्यै समर्पित गर्दैनन्। परमेश्वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “खजानाहरू” लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पारिवारिक विरासत हो भन्ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई भाषण दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकहरू” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचारलाई सर्वोच्च कर्तव्य मान्छन्। वर्षौँवर्ष, पुस्तौँपुस्ता तिनीहरू आफ्नो “पवित्र र अनुल्लङ्घनीय” कर्तव्यलाई जोसका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्वरको घरमा “राजाहरू” बन्छन् र एउटा युगदेखि अर्को युगसम्म अरूहरूलाई अत्याचार गर्दै तिनीहरू छाडा दौडिन्छन्। पिशाचहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी जीवित दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? अर्ध-समर्पितहरू समेत आखिरीसम्म अघि बढ्न सक्दैनन्, आफ्नो हृदयमा रत्तीभर समर्पणता नभएका यी निरङ्कुश व्यक्तिहरू आखिरीसम्म अघि बढ्न सक्ने कुरा त परै जाओस्! परमेश्वरको कामलाई मानिसले सजिलैसँग प्राप्त गर्न सक्दैन। मानिसहरूले तिनीहरूसँग भएको सबै तागत लगाएर पनि यसको एउटा सानो अंश मात्र प्राप्त गर्न सक्छन्, जसले आखिरमा तिनीहरूलाई सिद्ध तुल्याउने बाटो प्रदान गर्छ। त्यसो भए, प्रधान दूतका सन्तानलाई चाहिँ के हुन्छ, जसले परमेश्वरको कामलाई विनाश गर्न खोज्छन्? के तिनीहरूलाई परमेश्वरले प्राप्त गर्नुहुने सम्भावना झन् कम छैन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्वरले प्राप्त गर्नुहुनेछ
तैँले समुद्र किनारमा जत्ति धेरै बालुवाका कण छन्, त्यति नै धेरै ज्ञानका टुक्राहरूको कुरा बोल्न सक्छस् होला, तर तीमध्ये कुनैमा पनि वास्तविक मार्ग हुँदैन। के तैँले यसो गरेर मानिसहरूलाई मूर्ख बनाउने कोसिस गरिरहेको छैनस् र? के तैँले समर्थन गर्ने कुनै सार नभएको खोक्रो तमासा प्रदर्शन गरिरहेको छैनस् र? यस्ता सबै व्यवहार मानिसहरूका लागि हानिकारक हुन्छन्! सिद्धान्त जति उच्च हुन्छ र त्यो जति धेरै वास्तविकतारहित हुन्छ, त्यति नै धेरै यो मानिसहरूलाई वास्तविकताभित्र लैजान असक्षम हुन्छ। सिद्धान्त जति उच्च हुन्छ, त्यति नै बढी त्यसले तँलाई परमेश्वरको विरुद्धमा विद्रोह गर्ने र विरोध गर्ने बनाउँछ। आध्यात्मिक सिद्धान्तलाई शीरमा नचढाओ—यसको केही फाइदा छैन! कतिपय मानिसले दशकौँदेखि आध्यात्मिक सिद्धान्तबारे कुरा गरिरहेका छन्, र तिनीहरू महान् आत्मिक व्यक्तित्व बनेका छन्, तर आखिरमा तिनीहरू पनि सत्यता वास्तविकतामा प्रवेश गर्न असफल हुन्छन्। किनभने तिनीहरूले परमेश्वरका वचनहरू अभ्यास वा अनुभव गरेका छैनन्, तिनीहरूसित अभ्यासका सिद्धान्त वा मार्ग छैनन्। यस्ता मानिसहरूसित सत्यता वास्तविकता हुँदैन, अनि कसरी तिनीहरूले अरूलाई परमेश्वरप्रतिको विश्वासको सही मार्गमा ल्याउन सक्छन्? तिनीहरूले मानिसहरूलाई बहकाउन मात्र सक्छन्। के यो अरूलाई र आफैलाई हानि गर्नु होइन र? कम्तीमा पनि, तँ आफ्नो ठीक अगाडि भएका वास्तविक समस्या समाधन गर्न सक्षम हुनैपर्छ। भन्नुको अर्थ, तँ परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्न अनि सत्यतालाई व्यवहारमा उतार्न सक्षम हुनैपर्छ। यो मात्र परमेश्वरप्रतिको समर्पणता हो। तैँले जीवन प्रवेश प्राप्त गरेको छस् भने मात्र, परमेश्वरको लागि काम गर्न योग्य हुन्छस् र तँ इमानदारीसाथ परमेश्वरमा समर्पित हुँदा मात्र, तैँले परमेश्वरबाट अनुमोदन पाउन सक्छस्। सधैँभरि भव्य अभिव्यक्तिहरू नदे र ठूलो सिद्धान्तको कुरा नगर्; यो वास्तविक होइन। तैँले मानिसहरूलाई तेरो प्रशंसा गर्न लगाउनका लागि आध्यात्मिक सिद्धान्तबारे आडम्बरी कुरा गर्नु भनेको परमेश्वरको गवाही दिनु होइन, त्यो त आफ्नै प्रदर्शन गर्नु मात्र हो। यसले मानिसहरूलाई फिटिक्कै फाइदा पुर्याउँदैन र तिनीहरूमा कुनै सुधार ल्याउँदैन, अनि यसले तिनीहरूलाई सजिलैसित आध्यात्मिक सिद्धान्तको आराधना गर्ने र सत्यता अभ्यास गर्नमा ध्यान नदिने बनाउँछ—अनि के यो मानिसहरूलाई बहकाइरहेको कुरा होइन र? यसो गरिरहँदा, अनेकौँ खोक्रो सिद्धान्त र नियमहरू जन्मनेछन्, जसले मानिसहरूलाई विवश र फन्दामा पार्नेछन्; यो साँच्चै नै लज्जास्पद कुरा हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। वास्तविकतामा अझ बढी ध्यान देऊ
फरिसीहरू ढोँगी र दुष्ट हुनुको कारण के हो भने तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् तर ज्ञानलाई प्रेम गर्छन्, त्यसकारण तिनीहरूले धर्मशास्त्रको अध्ययन गर्छन् र धर्मशास्त्रीय ज्ञान पछ्याउँछन् तैपनि सत्यता वा परमेश्वरका वचनहरूलाई कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरूले परमेश्वरका वचनहरू पढ्दा उहाँलाई प्रार्थना गर्दैनन्, न त तिनीहरूले सत्यताको खोजी वा सङ्गति नै गर्छन्। बरु, तिनीहरूले परमेश्वरका वचनहरू अध्ययन गर्छन्, परमेश्वरले भन्नुभएको र गर्नुभएको कुरा अध्ययन गर्छन्, यसरी परमेश्वरका वचनहरूलाई सिद्धान्त, अरूलाई सिकाउने धर्मसिद्धान्तमा परिणत गर्छन्, जसलाई विद्वत्तापूर्ण अध्ययन भनिन्छ। तिनीहरू किन विद्वत्तापूर्ण अध्ययनमा संलग्न हुन्छन्? तिनीहरूले के अध्ययन गरिरहेका हुन्छन्? तिनीहरूको नजरमा, यो परमेश्वरका वचनहरू वा परमेश्वरको अभिव्यक्ति होइन, सत्यता हुनु त परको कुरा हो। बरु, यो एक प्रकारको विद्वत्ता हो, वा यसलाई धर्मशास्त्रीय ज्ञान समेत भन्न सकिन्छ। तिनीहरूको दृष्टिकोणमा, यो ज्ञान, यो विद्वत्ता प्रसार गर्नु भनेको परमेश्वरको मार्ग प्रसार गर्नु, सुसमाचार प्रसार गर्नु हो—तिनीहरूले यसैलाई प्रचार भन्छन्, तर तिनीहरूले प्रचार गर्ने सबै कुरा धर्मशास्त्रीय ज्ञान मात्रै हुन्छ।
… फरिसीहरूले आफूले बुझेका धर्मशास्त्रीय सिद्धान्तहरूलाई ज्ञान र मानिसहरूलाई मूल्याङ्कन गर्ने र दोष दिने औजारका रूपमा लिएका थिए, र यसलाई तिनीहरूले प्रभु येशूमाथि समेत प्रयोग गरे। प्रभु येशूलाई यसरी नै दोषी ठहराइएको थियो। तिनीहरूले कुनै व्यक्तिलाई मूल्याङ्कन गर्ने वा व्यवहार गर्ने तरिका कहिल्यै पनि न त व्यक्तिको सारमा, न व्यक्तिले प्रचार गरेको कुरा सत्यता हो कि होइन भन्ने कुरामा नै निर्भर हुन्थ्यो, व्यक्तिले बोलेका वचनहरूको स्रोतमा निर्भर हुनु त परको कुरा हो—फरिसीहरूले व्यक्तिलाई मूल्याङ्कन गर्ने वा दोष दिने तरिका तिनीहरूले बाइबलको पुरानो करारबाट बुझेका प्रावधान, वचन, र धर्मसिद्धान्तमा मात्रै निर्भर हुन्थ्यो। प्रभु येशूले भन्नुभएका र गर्नुभएका कुराहरू पाप वा व्यवस्था उल्लङ्घन होइनन् भन्ने कुरा फरिसीहरूलाई हृदयमा थाहा भए पनि, तिनीहरूले उहाँलाई दोषी ठहराए, किनभने उहाँले व्यक्त गर्नुभएका सत्यताहरू र उहाँले प्रदर्शन गर्नुभएका चिन्ह र चमत्कारहरूले गर्दा धेरै मानिसहरूले उहाँलाई पछ्याउन र प्रशंसा गर्न थालेका थिए। फरिसीहरूले उहाँलाई झन्-झन् घृणा गरिरहेका थिए, र उहाँलाई दृश्यबाट हटाउन समेत चाहन्थे। तिनीहरूले प्रभु येशू नै आउनेवाला मसीह हुनुहुन्छ भनेर पहिचान गरेनन्, न त तिनीहरूले उहाँका वचनहरूमा सत्यता छ भन्ने कुरालाई नै पहिचान गरे, उहाँको काम सत्यता अनुरूप छ भन्ने कुरालाई पहिचान गर्नु त परको कुरा हो। तिनीहरूले प्रभु येशूले अहङ्कारी वचनहरू बोलिरहनुभएको र भूतहरूका राजकुमार बालजिबुलमार्फत भूतहरू निकालिरहनुभएको भनेर आलोचना गरे। तिनीहरूले यी पापहरूको दोष प्रभु येशूलाई लगाए भन्ने कुराले तिनीहरूले उहाँलाई कति धेरै घृणा गर्थे भन्ने कुरा देखाउँछ। त्यसकारण, तिनीहरूले प्रभु येशूलाई परमेश्वरले पठाउनुभएको हो, र उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ, र उहाँ मसीह हुनुहुन्छ भन्ने कुरालाई इन्कार गर्न जोरदार रूपमा काम गरे। तिनीहरूको तात्पर्य के थियो भने, “के परमेश्वरले यस्तो तरिकाले काम गर्नुहुनेथियो? यदि परमेश्वर देहधारी हुनुभएको भए, उहाँ प्रतिष्ठित हैसियत भएको परिवारमा जन्मनुहुनेथियो। अनि उहाँले शास्त्रीहरू र फरिसीहरूको मार्गदर्शन स्वीकार गर्नुपर्ने हुन्थ्यो। उहाँले ‘देहधारी परमेश्वर’ को नाम धारण गर्न सक्नुभन्दा पहिले धर्मशास्त्रलाई व्यवस्थित रूपमा अध्ययन गर्नुपर्ने, धर्मशास्त्रको ज्ञान बुझ्नुपर्ने, र धर्मशास्त्रका सबै ज्ञानहरूले आफूलाई सुसज्जित गर्नुपर्ने हुन्थ्यो।” तर प्रभु येशू यो ज्ञानले सुसज्जित हुनुहुन्नथियो, त्यसकारण तिनीहरूले यसो भन्दै उहाँलाई दोष दिए, “सर्वप्रथम, तपाईंसँग त्यस्तो योग्यता छैन, तसर्थ तपाईं परमेश्वर हुन सक्नुहुन्न; दोस्रो कुरा, यो धर्मशास्त्रीय ज्ञानविना, तपाईंले परमेश्वरको कार्य गर्न सक्नुहुन्न, तपाईं परमेश्वर हुन सक्ने कुरा त परै जाओस्; तेस्रो, तपाईंले मन्दिरभन्दा बाहिर काम गर्न हुँदै हुँदैन—तपाईंले अहिले मन्दिरमा काम गरिरहनुभएको छैन, तर तपाईं सधैँ पापीहरूका बीचमा बस्नुहुन्छ, त्यसकारण तपाईंले गर्नुहुने काम धर्मशास्त्रको दायराभन्दा बाहिर छ, जसले तपाईं परमेश्वर हुनुहुन्छ भन्ने कुरा झन् असम्भव तुल्याउँछ।” तिनीहरूको दोषारोपणको आधार कहाँबाट आयो त? धर्मशास्त्रबाट, मानिसको मन-मस्तिष्कबाट, र तिनीहरूले प्राप्त गरेको धर्मशास्त्रीय शिक्षाबाट। फरिसीहरू धारणा, कल्पना, र ज्ञानले फूलेका थिए, त्यसकारण तिनीहरूले यो ज्ञान सही हो, सत्यता हो, मान्य आधार हो, र कुनै पनि समयमा परमेश्वरले यी कुराहरूलाई उल्लङ्घन गर्न सक्नुहुन्न भन्ने विश्वास गर्थे। के तिनीहरूले सत्यताको खोजी गरे त? तिनीहरूले खोजी गरेनन्। तिनीहरूले के खोजी गरे? आत्मिक शरीरका रूपमा देखा परेका अलौकिक परमेश्वर। त्यसकारण, तिनीहरूले परमेश्वरको कामका रूपरेखा निर्धारित गरे, उहाँको कामलाई इन्कार गरे, र मानिसका धारणा, कल्पना, र ज्ञान अनुसार परमेश्वर सही हुनुहुन्छ कि गलत हुनुहुन्छ भनेर मूल्याङ्कन गरे। अनि यसको अन्तिम परिणाम के भयो? तिनीहरूले परमेश्वरको कामलाई निन्दा गरेका मात्र होइनन्, तिनीहरूले देहधारी परमेश्वरलाई क्रूसमा समेत टाँगे।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन)
धेरै मानिसहरूले दिनहुँ परमेश्वरका वचनहरू पढ्नको लागि माथि उठाउँछन्, यहाँसम्म कि सबै पौराणिक वचनका खण्डहरूलाई तिनीहरूको सबैभन्दा बहुमूल्य सम्पत्तिको रूपमा लिँदै होसियारीसाथ कण्ठस्थ गर्छन्, अनि यस अलाबा परमेश्वरका वचनहरूलाई सबैतिर प्रचार गर्छन्, अरूहरूलाई परमेश्वरका वचनहरू उपलब्ध गराउँछन् र तिनीहरूलाई ती वचनहरूद्वारा सहयोग गर्छन्। तिनीहरूले ठान्छन् कि यसो गर्नु भनेको परमेश्वरको साक्षी बन्नु हो, उहाँका वचनहरूको साक्षी बन्नु हो, र यसो गर्नु भनेको परमेश्वरको मार्ग पछ्याउनु हो; तिनीहरूले ठान्छन् कि यसो गर्नु भनेको परमेश्वरका वचनहरूबमोजिम जिउनु हो, यसो गर्नु भनेको तिनीहरूको वास्तविक जीवनमा उहाँका वचनहरू ल्याउनु हो, तिनीहरूले ठान्छन् कि यस कार्यले तिनीहरूलाई परमेश्वरको प्रशंसा प्राप्त गर्न सक्षम तुल्याउनेछ, र तिनीहरूलाई उद्धार गर्नेछ र सिद्ध बनाउनेछ। तर तिनीहरूले परमेश्वरका वचनहरूलाई प्रचार गरे तापनि तिनीहरूले व्यवहारमा कहिल्यै पनि परमेश्वरका वचनहरूको पालना गर्दैनन्, वा परमेश्वरका वचनहरूमा जे कुरा प्रकाश गरिएको छ त्यससँग आफैलाई तुलना गर्ने प्रयास गर्दैनन्। बरु, तिनीहरूले चलाखी गरेर अरूबाट आदर र भरोसा प्राप्त गर्न, आफै व्यवस्थापनमा प्रवेश गर्न, र परमेश्वरको महिमा उपभोग गर्न र चोर्न परमेश्वरका वचनहरूलाई प्रयोग गर्छन्। तिनीहरूले आफूलाई प्रदान गरिएको अवसरलाई परमेश्वरको काम र उहाँको प्रशंसाको इनाम प्राप्त गर्नको लागि प्रयोग गर्दै परमेश्वरका वचनहरू प्रसार गर्ने व्यर्थै आशा गर्छन्। धेरै वर्ष बितिसकेका छन्, तर यी मानिसहरूले परमेश्वरका वचनहरू प्रचार गर्ने प्रक्रियामा परमेश्वरको प्रशंसा हासिल गर्न असक्षम बनेका छन्, तिनीहरू परमेश्वरका वचनहरूको साक्षी हुने प्रक्रियामा पछ्याउनुपर्ने मार्ग पत्ता लगाउन असक्षम भएका छन्, तिनीहरूले परमेश्वरका वचनहरू अरूलाई प्रदान गर्ने र ती वचनहरूद्वारा अरूलाई सहयोग गर्ने प्रक्रियामा ती वचनहरू आफैलाई प्रदान गर्ने र ती वचनहरूद्वारा आफैलाई सहयोग गर्ने गरेका छन्, तिनीहरूले यी सबै कुराहरू गर्ने प्रक्रियामा परमेश्वरलाई चिन्न, वा तिनीहरू आफैलाई परमेश्वरको साँचो डरमा जागरूक बनाउन असक्षम भएका छन्; तर यसको विपरीत, परमेश्वरका विषयमा तिनीहरूको गलत बुझाइ अझ वृद्धि हुँदै गइरहेको छ, उहाँमाथिको तिनीहरूको अविश्वास झन् चुलिँदै गइरहेको छ, र उहाँको बारेमा तिनीहरूको कल्पना झन् अतिरञ्जित हुँदै गइरहेको छ। परमेश्वरका वचनहरूको विषयमा तिनीहरूको आफ्नो सिद्धान्तहरूद्वारा परिपूर्ति र निर्देशित भएर, तिनीहरू पूर्ण रूपमा आफूलाई आनन्द लाग्ने अवस्थामा भएजस्तै गरी, आफ्ना सीपहरू सहजताका साथ प्रयोग गरेजस्तै गरी, तिनीहरूले जीवनमा आफ्नो उद्देश्य, आफ्नो मिसन पत्ता लगाएको जस्तै गरी, र तिनीहरूले नयाँ जीवन विजय गरेको र तिनीहरू उद्धार भएको जस्तै गरी, तिनीहरूको जिब्रोमा परमेश्वरका वचनहरू स्वतः उच्चारण भएजस्तै गरी, तिनीहरूले सत्यता प्राप्त गरेका छन्, परमेश्वरका अभिप्रायहरू बुझेका छन्, र परमेश्वरलाई चिन्ने मार्ग पत्ता लगाएका छन्, परमेश्वरका वचनहरू प्रचार गर्ने प्रक्रियामा भएजस्तै गरी, तिनीहरू प्रायजसो परमेश्वरको आमनेसामने आएका छन्। साथै, तिनीहरू प्राय “भावुक भई” रुने गर्छन्, र परमेश्वरका वचनहरूमा “परमेश्वर” द्वारा प्राय डोर्याइएका छन्, तिनीहरू उहाँको इमान्दारीपूर्ण सरोकार र कृपालु अभिप्रायलाई बेपरवाह रूपले उपयोग गरिरहेका देखिन्छन्, साथसाथै, मानिसको निम्ति परमेश्वरको मुक्ति र उहाँको व्यवस्थापनलाई उपयोग गरिरहेका देखिन्छन्, उहाँको सारलाई जानेका, र उहाँको धर्मी स्वभावलाई बुझेका जस्ता देखिन्छन्। यही जगको आधारमा, तिनीहरूले परमेश्वरको अस्तित्वमा अझ बलियो गरी विश्वास गरेको देखिन्छ, तिनीहरू उहाँको उच्च स्थितिलाई अझ बढी पहिचान गरेका, र उहाँको भव्यता वा महान्ता र उहाँको आत्मिक अस्तित्व अझ गहन रूपमा महसुस गरेका जस्ता देखिन्छन्। परमेश्वरका वचनहरूको सतही ज्ञानमा खडा भएर, तिनीहरूको विश्वास वृद्धि भएको जस्तो, दुःखकष्ट सहने तिनीहरूको क्षमता सबलीकरण भएजस्तो, र परमेश्वरसम्बन्धी तिनीहरूको ज्ञान गहिरिएको जस्तो देखिन्छ। तिनीहरूले परमेश्वरका वचनहरू साँच्चिकै अनुभव नगरेसम्म, परमेश्वरको विषयमा तिनीहरूको सम्पूर्ण ज्ञान र उहाँको विषयमा तिनीहरूको सोचविचार तिनीहरूकै चाहले भरिएका कल्पना र अनुमानहरूबाट आएका हुन्छन् भन्ने कुरा तिनीहरूलाई कमै मात्र थाहा छ। तिनीहरूको विश्वास परमेश्वरबाट आएको कुनै पनि जाँचको अगाडि खडा हुन सक्दैन, तिनीहरूको कथित आत्मिकता र कद परमेश्वरको परीक्षा वा निरीक्षणको अगाडि कुनै हालतमा खडा हुन सक्दैन, तिनीहरूको सङ्कल्प बालुवामा बनाएको महल जस्तै हुन्छ, परमेश्वरको विषयमा तिनीहरूको कथित ज्ञान तिनीहरूको कल्पनाको मनगढन्ते कुराभन्दा बढी केही पनि हुँदैन। वास्तवमा, यी मानिसहरूले परमेश्वरका वचनहरूमा ठूलो प्रयत्न लगाएका छन्, तैपनि साँचो विश्वास के हो, साँचो समर्पण के हो, साँचो वास्ता के हो, वा परमेश्वरको साँचो ज्ञान के हो भनी कहिल्यै महसुस गरेका छैनन्। तिनीहरूले सिद्धान्त, कल्पना, ज्ञान, वरदान, परम्परा, अन्धविश्वास, साथै मानवीय नैतिक मूल्य-मान्यतालाई लिन्छन्, र यी कुराहरूलाई परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने “पुँजी” र “हतियार” बनाउँछन्, र तिनलाई तिनीहरूको परमेश्वरमाथिको विश्वास र परमेश्वरलाई पछ्याउने कार्यको आधार बनाउँछन्। साथै, परमेश्वरको निरीक्षण, परीक्षा, सजाय र न्यायलाई सामना र निराकरण गर्नको लागि तिनीहरूले यो पुँजी र हतियार लिन्छन् र तिनलाई जादुमय तावीज बनाउँछन् जसमार्फत तिनीहरूले परमेश्वरलाई चिन्न सक्छन्। अन्त्यमा, तिनीहरूले जे प्राप्त गर्छन् त्यसमा परमेश्वरबारेका निष्कर्षहरूभन्दा अरू केही हुँदैनन्, जुन धार्मिक भाव, सामन्ती अन्धविश्वासमा आधारित हुन्छन्, र मनोरम, विचित्र र रहस्यमय सबै कुरामा आधारित हुन्छन्। परमेश्वरलाई चिन्ने र परमेश्वरको परिभाषा गर्ने तिनीहरूको तरिका भनेको माथिको स्वर्ग, वा आकाशमा भएको बूढो मान्छेमा विश्वास गर्ने मानिसहरूको विश्वास जस्तै छ, जबकि परमेश्वरको व्यावहारिकता, उहाँको सार, उहाँको स्वभाव, उहाँको सम्पत्ति र अस्तित्व, र अन्य कुराहरू—साँचो परमेश्वर स्वयम्सँग सम्बन्धित सबै कुराहरू—यिनीहरू ती कुराहरू हुन् जसलाई बुझ्न तिनीहरूको ज्ञान असमर्थ भएको छ, जसबाट तिनीहरूको ज्ञान पूर्णतया अलग र उत्तरी र दक्षिणी ध्रुबजतिकै टाढा छ। यसरी, यी मानिसहरू परमेश्वरका वचनहरूको प्रबन्ध र पोषणमा बाँचिरहेका भए तापनि, तिनीहरू परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा साँच्चिकै हिँड्न असक्षम भएका छन्। यसको साँचो कारण भनेको तिनीहरू कहिल्यै पनि परमेश्वरसँग परिचित नहुनु हो, उहाँसँग तिनीहरूको साँचो सञ्चार वा सङ्गति नहुनु हो, र त्यसैले तिनीहरू परमेश्वरसँगको पारस्परिक बुझाइमा आउन असम्भव भएको हो, वा तिनीहरूले आफूभित्र परमेश्वरप्रति साँचो विश्वास जगाउन वा उहाँलाई पछ्याउन वा उहाँको आराधना गर्न असम्भव भएको हो। परमेश्वरलाई यसरी लिनुपर्छ, परमेश्वरका वचनहरूलाई त्यसरी लिनुपर्छ भन्ने तिनीहरूको दृष्टिकोण र स्वभावको कारण तिनीहरूले तिनीहरूका प्रयत्नहरूबाट रित्तो हात फर्कन बाध्य भएका छन्, अनन्तसम्म पनि परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँड्न असक्षम हुन बाध्य भएका छन्। तिनीहरूले राखेको लक्ष्य र तिनीहरूले हिँड्न चुनेको मार्गले तिनीहरू अनन्तसम्म परमेश्वरका शत्रुहरू हुन् र तिनीहरूले अनन्तसम्म कहिल्यै पनि मुक्ति प्राप्त गर्न सक्नेछैनन् भन्ने दर्साउँछ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। प्रस्तावना