१. सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर र सङ्गतिहरू सुनेर अनि दाजुभाइ-दिदीबहिनीहरूका गवाहीहरू सुनेर, म सर्वशक्तिमान् परमेश्वर पुनरागमन हुनुभएका प्रभु येशू हुनुहुन्छ भन्नेमा निश्चित भएको छु, र म अब सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्दछु। तर अहिले मेरो परिवारमा केही अप्रिय र विचलित बनाउने घटनाहरू घटेका छन्। त्यस्ता कुराहरू किन हुन्छन्, र मैले ती कुराहरू कसरी अनुभव गर्नुपर्छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“सचेत र सतर्क रहो; किनकि तिमीहरूको शत्रु दियाबलस कसलाई निलौँ भनेर गर्जने सिंहझैँ खोजी हिँड्छ” (१ पत्रुस ५:८)।
“अनि तेस्रो भागलाई आगो भएर ल्याउनेछु र तिनीहरूलाई चाँदीलाई झैँ शोधन गर्नेछु, अनि सुनलाई जाँचेझैँ तिनीहरूलाई जाँच्नेछु: तिनीहरूले मेरो नाउँ पुकार्नेछन् र म तिनीहरूलाई सुन्नेछु: म भन्नेछु, यो मेरो प्रजा हो: अनि तिनीहरूले भन्नेछन्, यहोवा मेरो परमेश्वर हुनुहुन्छ” (जकरिया १३:९)।
“अनि यहोवाले शैतानलाई भन्नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई नियालेको छस्? त्यो जस्तो सिद्ध र सोझो, परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने पृथ्वीमा कोही पनि छैन। त्यसपछि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, के अय्यूबले परमेश्वरको भय त्यत्तिकै मान्छ र? के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र? तपाईंले तिनको हातका कामहरूमा आशिष् दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै परित्याग गर्नेछन्। अनि यहोवाले शैतानलाई भन्नुभयो, हेर्, त्यससँग भएको सबै तेरो शक्तिमा छ; त्यसमाथि मात्रै तैँले तेरो हात नलगा। त्यसैले शैतान यहोवाको छेउबाट गयो” (अय्यूब १:८-१२)।
“त्यसपछि अय्यूब उठे, आफ्नो खास्टो च्याते, र आफ्नो कपाल खौरिए, र भुइँमा लम्पसार परे र आराधना गरे, अनि तिनले भने, म मेरी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्कनेछु: यहोवाले दिनुभयो, र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२०-२१)।
“तब तिनकी श्रीमतीले तिनलाई भनिन्, के तपाईँ अझै पनि आफ्नो निष्ठा कायम राख्नुहुन्छ? परमेश्वरलाई परित्याग गर्नुहोस् र मर्नुहोस्। तर तिनले उनलाई भने, तिमी मूर्ख स्त्रीले जस्तै कुरा गर्छौ। के? के हामीले परमेश्वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने, र प्रतिकूलताचाहिँ ग्रहण नगर्ने? यी सबै कुरामा अय्यूबले आफ्ना ओठहरूद्वारा पाप गरेनन्” (अय्यूब २:९-१०)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
जब परमेश्वरले काम गर्नुहुन्छ, कुनै व्यक्तिको हेरचाह गर्नुहुन्छ, र उसको छानबिन गर्नुहुन्छ, र जब उहाँले त्यो व्यक्तिलाई निगाह र अनुमोदन गर्नुहुन्छ, तब शैतान पछिपछि लाग्छ, र उक्त व्यक्तिलाई बहकाउने र गम्भीर रूपमा हानि गर्ने प्रयास गर्छ। परमेश्वरले त्यो व्यक्तिलाई प्राप्त गर्न चाहनुभयो भने, शैतानले परमेश्वरलाई अवरोध गर्न आफ्नो भएभरको शक्ति लगाउँछ, र प्रलोभनमा पार्न, बाधा दिन र परमेश्वरको कामलाई बिगार्न विभिन्न दुष्ट चालहरू प्रयोग गर्छ, र त्यसले आफ्नो गुप्त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्वरले कुनै पनि व्यक्तिलाई प्राप्त गर्नुभएको त्यसले चाहँदैन; परमेश्वरले चाहनुभएका सबैलाई त्यसले आफ्नो कब्जामा लिन चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्कर्म गर्नमा तिनीहरू त्यससँग हात मिलाऊन्, र परमेश्वरको विरोध गरून्। के यो शैतानको दुष्ट आशय होइन र? तिमीहरू प्रायजसो भन्छौ, शैतान अत्यन्त दुष्ट छ, अत्यन्त खराब छ, तर के तिमीहरूले त्यसलाई देखेका छौ? तिमीहरूले मानवजाति कति खराब छ भनेर देख्न सक्छौ; तर वास्तविक शैतान कति खराब छ भनी तिमीहरूले देखेका छैनौ। तर अय्यूबसँग सम्बन्धित मामलामा, तिमीहरूले शैतान कति दुष्ट छ भनेर देखेका छौ। यो मामलाले शैतानको घृणित मुहार र यसको सारलाई एकदमै स्पष्ट पारेको छ। परमेश्वरसँग युद्ध गर्ने क्रममा, र उहाँको पिछा गर्ने क्रममा, शैतानको उद्देश्य भनेको परमेश्वरले गर्न चाहनुभएको सबै कामलाई विनाश गर्नु, परमेश्वरले आफ्नो बनाउन चाहनुभएका मानिसहरूलाई कब्जा र नियन्त्रण गर्नु, र परमेश्वरले प्राप्त गर्न चाहनुभएकाहरूलाई पूर्ण रूपमा नष्ट गर्नु हो। यदि तिनीहरूलाई नष्ट गरिएन भने तिनीहरू शैतानको अधीनमा आउँछन्, शैतानद्वारा प्रयोग गरिन्छन्—त्यसको उद्देश्य यही हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ४
परमेश्वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र घट्ने सबै कुरा शैतानले परमेश्वरसँग थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतानले परमेश्वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ। … जब आत्मिक क्षेत्रमा परमेश्वर र शैतानबीच लडाइँ हुन्छ, तैँले परमेश्वरलाई कसरी सन्तुष्ट पार्नुपर्छ, र उहाँको गवाहीमा तँ कसरी दृढ रहनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो परीक्षा हो र परमेश्वरलाई तेरो गवाही चाहिने समय हो भन्ने तँलाई थाहा हुनुपर्छ। ती बाहिरबाट नगण्य देखिए पनि, जब यी कुराहरू हुन्छन्, तिनले तँ परमेश्वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्ने कुरा देखाउँछन्। यदि तँ उहाँलाई प्रेम गर्छस् भने, तँ उहाँको गवाहीमा दृढ रहन सक्नेछस्, र यदि तैँले उहाँप्रतिको प्रेमलाई अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्, तँ सत्यताविहीन छस्, र जीवनविहीन छस्, तँ भुस होस् भन्ने देखाउँछ! मानिसहरूलाई हुने सबै कुरामा, परमेश्वर उनीहरू उहाँको गवाहीमा दृढ रहून् भन्ने माग गर्नुहुन्छ। अहिले तँलाई कुनै उल्लेखनीय कुरा नभइरहेको भए पनि, र तैँले ठुलो गवाही नदिने भए पनि, तेरो दैनिक जीवनका सारा विवरणहरू नै परमेश्वरलाई दिइने गवाहीसँग सम्बन्धित हुन्छ। यदि तैँले तेरा दाजुभाइ र दिदीबहिनीहरू, तेरो परिवारका सदस्यहरू, र तेरो वरिपरि भएका सबैको सम्मान जित्न सक्छस्; यदि, कुनै दिन, गैरविश्वासीहरू आउँछन् र तैँले गर्ने सबै कुरालाई सम्मान गर्छन्, र परमेश्वरले गर्ने सबै कुरा अद्भुत छ भन्ने देख्छन् भने, तैँले गवाही दिएको हुनेछस्। तेरो बोधको दायरा फराकिलो नभए पनि र तेरो क्षमता कमजोर भए पनि, तँ परमेश्वरद्वारा सिद्ध पारिएर, उहाँलाई सन्तुष्ट पार्न र उहाँका अभिप्रायलाई ख्याल गर्न सक्षम हुन्छस्, अरूलाई उहाँले सबैभन्दा कमजोर क्षमता भएका मानिसहरूमा कति महान् काम गर्नुभएको छ भनी देखाउँछस्। जब मानिसहरू परमेश्वरलाई जान्न पुग्छन् र शैतानको अगाडि विजेता बन्छन्, धेरै हदसम्म परमेश्वरप्रति बफादार हुन्छन्, तब मानिसहरूको यो समूहभन्दा अरू कसैसँग पनि बढी मेरुदण्ड हुँदैन, र यो नै सबैभन्दा महान् गवाही हो। तँ महान् काम गर्न अक्षम भए पनि, तँ परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम छस्। अरूले उनीहरूका धारणाहरू पन्छाउन सक्दैनन्, तर तँ सक्छस्; अरूले उनीहरूका वास्तविक अनुभवको दौरान परमेश्वरको गवाही दिन सक्दैनन्, तर तँ परमेश्वरको प्रेम चुकाउनका निम्ति र उहाँको जोरदार गवाही दिनका निम्ति आफ्नो वास्तविक कद र कार्यहरू प्रयोग गर्न सक्छस्। यसलाई मात्रै परमेश्वरलाई वास्तवमा प्रेम गरेको रूपमा गणना गरिन्छ। यदि तँ यसो गर्न अक्षम छस् भने, तैँले तेरो परिवारका सदस्य, तेरा दाजुभाइ तथा दिदीबहिनीहरू वा संसारका मानिसहरूको माझमा साक्षी दिँदैनस्। यदि तैँले शैतानको सामु साक्षी दिन सक्दैनस् भने, शैतान तँप्रति हाँस्नेछ, त्यसले तँलाई मजाकको रूपमा व्यवहार गर्नेछ, खेलौनाको रूपमा, यसले तँलाई प्रायः मूर्ख र पागल बनाउनेछ। भविष्यमा, तँमाथि ठूला परीक्षाहरू आइपर्न सक्छ—तर आज, यदि तैँले परमेश्वरलाई साँचो हृदयले प्रेम गरिस् भने, र यदि, अगाडि आउने परीक्षाहरू जतिसुकै ठूला भए तापनि, तँलाई जेसुकै भए पनि, तँ आफ्नो गवाहीमा दृढ रहन र परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम भइस् भने, तेरो हृदयलाई सान्त्वना मिल्नेछ, र तैँले भविष्यमा जतिसुकै ठूलो परीक्षाको सामना गर्नुपरे पनि, तँ डराउने छैनस्। तिमीहरू भविष्यमा के हुनेछ भनेर बुझ्न सक्दैनौ, आजका परिस्थितिहरूमा तिमीहरूले परमेश्वरलाई सन्तुष्ट पार्न मात्रै सक्छौ। तिमीहरू कुनै पनि महान् कार्य गर्न सक्षम हुँदैनौ—तिमीहरूले वास्तविक जीवनमा परमेश्वरका वचनहरू अनुभव गर्दै परमेश्वरलाई सन्तुष्ट पार्नमा ध्यान दिनुपर्छ, र तिमीहरूले बलियो र जोरदार गवाही दिनुपर्छ र यसप्रकार शैतानलाई लज्जित पार्नुपर्छ। तेरो देह असन्तुष्ट नै रहने र त्यसले कष्ट भोगेको हुने भए पनि, तैँले परमेश्वरलाई सन्तुष्ट र शैतानलाई लज्जित पारेको हुनेछस्। तैँले सधैँ यसरी अभ्यास गरिस् भने, परमेश्वरले तेरो सामु मार्ग खोलिदिनु हुनेछ। जब, एक दिन, ठूलो परीक्षा आउँछ, अरू ढल्नेछन्, तर तँ अझै पनि दृढ रहन सक्षम हुनेछस्: तैँले चुकाएको मूल्यको कारण, परमेश्वरले तँलाई सुरक्षा दिनुहुनेछ ताकि तँ दृढ रहन सक् र नढल्। यदि, साधारण रूपमा, तँ सत्यता अभ्यास गर्न र परमेश्वरलाई प्रेम गर्ने साँचो हृदयका साथ उहाँलाई सन्तुष्ट पार्न सक्षम हुन्छस् भने, परमेश्वरले तँलाई भविष्यमा आउने परीक्षामा पक्कै सुरक्षा दिनुहुनेछ। तँ मूर्ख र सानो कदको र कमजोर क्षमताको भए तापनि, परमेश्वरले तँसँग पक्षपात गर्नुहुनेछैन। यो तेरो मनसायहरू सही छन् कि छैनन् भन्नेमा निर्भर रहन्छ। मानौँ आज, तँ परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम छस्, तँ सानोभन्दा सानो विवरणमा पनि ध्यान पुर्याउँछस्, र तैँले यावत् थोकमा परमेश्वरलाई सन्तुष्ट पार्छस्—तँमा परमेश्वरलाई प्रेम गर्ने साँचो हृदय छ, तँ तेरो साँचो हृदय परमेश्वरलाई दिन्छस्, र तैँले स्पष्टसँग बुझ्न नसक्ने केही कुरा भए पनि, तँ तेरा मनसायहरू सच्याउन र परमेश्वरका अभिप्रायहरूको खोजी गर्न परमेश्वरसामु आउन सक्छस्, र परमेश्वरलाई सन्तुष्ट पार्नका लागि सबै कुरा गर्छस्। अनि तेरा दाजुभाइ र दिदीबहिनीहरूले तँलाई इन्कार गर्न सक्ने भए पनि, तेरो हृदयले परमेश्वरलाई सन्तुष्ट पारिरहेको छ, र तैँले देहसुखको लालसा गरिरहेको छैनस्। यदि तैँले सधैँ यसरी नै अभ्यास गरिस् भने, तँमाथि ठूला परीक्षा आउँदा तँ सुरक्षित हुनेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो
यदि तेरा विचारहरूसँग नमिल्ने धेरै वटा कुराहरू तँमाथि आउँछन्, तापनि तँ ती सबलाई पन्साउन र ती कुराहरूबाट परमेश्वरका कार्यहरूको ज्ञान प्राप्त गर्न सक्छस् भने, यदि शोधन भइरहेको बेला परमेश्वरलाई प्रेम गर्ने तेरो हृदय प्रकट गर्छस् भने, त्यही नै साक्षीमा दृढ रहनु हो। यदि तेरो घर शान्तिमय छ, तैँले शरीरको सुख-सुविधाको आनन्द लिन्छस्, कसैले पनि तँलाई सताइरहेको छैन, र मण्डलीका भाइ-बहिनीहरूले तेरो आज्ञा पालन गर्दछन् भने, के तँ परमेश्वरलाई प्रेम गर्ने आफ्नो हृदय प्रकट गर्न सक्छस्? के यस्तो परिस्थितिले तँलाई शोधन गर्न सक्छ? शोधनद्वारा मात्र परमेश्वरप्रतिलाई प्रेम गर्ने तेरो हृदय देखाउन सकिन्छ, तेरा विचारहरूसँग नमिल्ने कुराहरूद्वारा मात्र तँ सिद्ध बनाइन सक्छस्। धेरै वटा विपरीत र नकारात्मक थोकहरूको सेवा र शैतानका सबै प्रकारका अभिव्यक्तिहरू प्रयोग गरेर—त्यसका कार्यहरू, त्यसले लगाउने दोषहरू, त्यसको बाधाहरू र बहकाइहरू—परमेश्वरले तँलाई शैतानको घृणित अनुहार स्पष्टसँग देखाउनुहुन्छ, र त्यसरी शैतानलाई चिन्ने तेरो क्षमतालाई पूर्ण बनाउनुहुन्छ, अनि तँ शैतानलाई घृणा गर्न र त्यसको विरुद्धमा विद्रोह गर्न सक्छस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ
परमेश्वरले गर्नुहुने सबै कुरा आवश्यक र असाधारण महत्त्वका छन्, किनकि उहाँले मानिसमा गर्नुहुने सबै काम उहाँको व्यवस्थापन र मानवजातिको मुक्तिसित सम्बन्धित छन्। स्वाभाविक रूपमा, अय्यूब परमेश्वरको नजरमा सिद्ध र इमानदार भएका भए पनि, उहाँले तिनमा गर्नुभएको काम अरूभन्दा फरक छैन। अर्को शब्दमा भन्दा, परमेश्वरले चाहे जे गर्नु भए पनि वा जुनसुकै साधनहरूद्वारा त्यो काम गर्नु भए पनि, मूल्य जति लागे पनि, उहाँको ध्येय जेसुकै नै भए पनि उहाँका कार्यहरूको उद्देश्य परिवर्तन हुँदैन। परमेश्वरको उद्देश्य मानिसभित्र परमेश्वरका वचनहरू काममा लगाउनु हो, साथै मानिसका निम्ति रहेका परमेश्वरका मापदण्ड र अभिप्रायहरूलाई पनि मानिसभित्र काममा लगाउनु हो; अर्को शब्दमा भन्दा, यो भनेको परमेश्वरले सकारात्मक भनी विश्वास गर्नुभएका सबैकुरा उहाँका चरणहरूअनुसार मानिसभित्र गराउनु हो, जसले मानिसलाई परमेश्वरको हृदय बुझ्न र परमेश्वरको सार बोध गर्न सक्षम बनाउँछ, र मानिसलाई परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन मद्दत गर्छ, र यसरी मानिसले परमेश्वरको भय मान्ने र दुष्टताबाट अलग बस्ने आचरण हासिल गर्न सक्छ—यो सबै कुरा परमेश्वरले गर्नुहुने हर कार्यमा रहेको उहाँको उद्देश्यको एक पक्ष हो। अर्को पक्ष के हो भने, शैतान परमेश्वरको काममा प्रतिभार र सेवा गर्ने पात्र भएकोले मानिसलाई प्रायः शैतानको हातमा नै सुम्पिइन्छ; मानिसहरूलाई शैतानका परीक्षा र आक्रमणहरूमा शैतानको दुष्टता, कुरूपता र घिनलाग्दो अवस्था देखाई, उहाँले मानिसलाई शैतानलाई घृणा गर्ने, र नकारात्मक कुरा चिन्न र बुझ्न सक्ने तुल्याउनुहुन्छ। यो प्रक्रियाले तिनीहरूलाई बिस्तारै शैतानका नियन्त्रण र आरोपहरू, बाधा र आक्रमणहरूबाट स्वतन्त्र हुन मदत गर्छ, र यो तबसम्म जारी रहन्छ जबसम्म परमेश्वरका वचनहरू, परमेश्वरको बारेमा तिनीहरूको ज्ञान, परमेश्वरप्रति तिनीहरूको समर्पण, परमेश्वरप्रतिको तिनीहरूको आस्था र डरका कारण तिनीहरूले शैतानका आक्रमण र आरोपहरूमाथि विजय हासिल गर्दैनन्; अनि मात्र तिनीहरूले शैतानको सत्ताबाट पूर्ण रूपमा छुटकारा पाउनेछन्। मानिसहरूको छुटकाराको अर्थ शैतान हारेको छ भन्ने हो, र यसको अर्थ तिनीहरू अबउप्रान्त शैतानको मुखभित्रको आहार हुँदैनन्—निल्नुको साटो शैतानले तिनीहरूलाई छोडिदिएको छ भन्ने हुन्छ। त्यस्ता मानिसहरू सोझा भएकाले, तिनीहरूसित परमेश्वरप्रतिको आस्था, समर्पण र भय भएकोले, र तिनीहरू पूर्ण रूपमा शैतानबाट अलग भएकोले त्यस्तो हुन्छ। तिनीहरूले शैतानलाई लज्जित बनाउँछन्, तिनीहरूले शैतानलाई कायर बनाउँछन्, र तिनीहरूले शैतानलाई पूर्ण रूपमा पराजित गर्छन्। परमेश्वरलाई पछ्याउने तिनीहरूको आस्था, र परमेश्वरप्रतिको समर्पण र डरले नै शैतानलाई पराजित गर्छ, र शैतानलाई पूर्ण रूपमा तिनीहरूलाई त्याग्ने बनाउँछ। यस्ता मानिसहरू मात्र वास्तवमा परमेश्वरद्वारा साँचो रूपमा प्राप्त गरिएका हुन्छन्, र परमेश्वरले मानिसलाई मुक्ति दिनुको अन्तिम उद्देश्य पनि यही हो। यदि परमेश्वरलाई पछ्याउनेहरू मुक्ति पाउन र परमेश्वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन चाहन्छन् भने, तिनीहरू सबैले शैतानबाट आउने ठूला र साना दुवै किसिमका प्रलोभन र आक्रमणहरूको सामना गर्नैपर्छ। जो यी प्रलोभन र आक्रमणहरू पार गरी बाहिर निस्कन्छन् र शैतानलाई पूर्ण रूपले पराजित गर्न सक्षम हुन्छन्, तिनीहरू नै परमेश्वरबाट मुक्ति पाएकाहरू हुन्। भन्नुको अर्थ, जसले परमेश्वरतर्फको मुक्ति पाएका हुन्छन् तिनीहरू परमेश्वरका जाँचहरूमार्फत गुज्रेका, र शैतानका अनगन्ती परीक्षा र आक्रमणमा परेकाहरू हुन्। परमेश्वरतर्फको मुक्ति पाएकाहरूले परमेश्वरका अभिप्राय र मापदण्डहरू बुझ्छन्, र तिनीहरू परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छन्, र शैतानका परीक्षाहरूको माझमा पनि तिनीहरूले परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग रहने मार्ग छोड्दैनन्। परमेश्वरतर्फको मुक्ति पाएकाहरूमा इमानदारिता हुन्छ, तिनीहरू दयालु हृदयका हुन्छन्, तिनीहरूले प्रेम र घृणाबीच भिन्नता छुट्याउँछन्, तिनीहरूसँग न्यायको चेतना हुन्छ र तिनीहरू तर्कसङ्गत हुन्छन्, र तिनीहरूले परमेश्वरलाई ख्याल गर्न र परमेश्वरका सबै थोकलाई मूल्यवान् सम्झेर राख्न सक्छन्। त्यस्ता मानिसहरू शैतानको बन्धन, जासुसी, आरोप वा दुर्व्यवहारमा पर्दैनन्; तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुन्छन्, तिनीहरूलाई पूर्ण रूपमा मुक्ति र छुटकारा दिइएको हुन्छ। अय्यूब त्यस्तै स्वतन्त्र मानिस थिए, र परमेश्वरले तिनलाई शैतानको हातमा सुम्पनुको अर्थ पनि ठीक यही थियो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
मानिसहरूका निम्ति परमेश्वरको अनन्त प्रबन्ध र सहयोगको कामको अवधिमा उहाँले मानिसलाई आफ्नो सम्पूर्ण अभिप्राय र आवश्यकताहरूको बारेमा बताउनुहुन्छ र उहाँको काम, स्वभाव अनि उहाँसित के छ र को हुनुहुन्छ भनी मानिसलाई देखाउनुहुन्छ। यसको उद्देश्य मानिसलाई कदले सुसज्जित पार्नु हो, र मानिस परमेश्वरको पछि लाग्दा उसलाई उहाँबाट विभिन्न सत्यताहरू प्राप्त गर्न दिनु हो—ती सत्यताहरू परमेश्वरले मानिसलाई शैतानसित लड्नका निम्ति दिनुभएका हतियारहरू हुन्। यसरी सुसज्जित भएपछि मानिसले परमेश्वरका परीक्षाहरूको सामना गर्नैपर्छ। परमेश्वरसित मानिसलाई परीक्षा गर्ने धेरै वटा साधन र उपायहरू छन्, तर ती सबैमा परमेश्वरको शत्रु शैतानको “सहकार्य” आवश्यक पर्छ। भन्नुको अर्थ, मानिसलाई शैतानसँग लड्ने हातहतियारहरू दिनुभएपछि परमेश्वरले उसलाई शैतानको हातमा सुम्पिनुहुन्छ र शैतानलाई मानिसको कद “जाँच्ने” अनुमति दिनुहुन्छ। यदि मानिस शैतानको युद्ध संरचनाबाट निस्कन सक्यो भने, यदि ऊ शैतानको घेराउबाट उम्केर अझै जीवित रहन सक्यो भने, मानिस त्यो जाँचमा सफल भएको हुनेछ। तर यदि मानिस शैतानको युद्ध संरचना छोड्न असफल हुन्छ र शैतानसामु झुक्छ भने, ऊ त्यो जाँचमा सफल भएको हुनेछैन। परमेश्वरले मानिसको जुनसुकै पक्षलाई जाँच्नु भए पनि, उहाँको मापदण्डचाहिँ शैतानले आक्रमण गर्दा मानिस आफ्नो गवाहीमा दृढ रूपमा खडा हुन्छ कि हुँदैन, र शैतानको पासोमा परेपछि उसले परमेश्वरलाई त्यागेर शैतानसामु झुकेको र आत्मसमर्पण गरेको छ छैन भन्ने नै हुन्छ। यो भन्न सकिन्छ कि मानिसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा उसले शैतानलाई जित्न र पराजित गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर गर्छ, र उसले स्वतन्त्रता हासिल गर्न सक्छ कि सक्दैन भन्ने कुरा शैतानसित लड्नका लागि परमेश्वरले उसलाई दिनुभएका हातहतियारहरू उसले आफ्नै बलबूताले उठाउन सक्छ कि सक्दैन र शैतानलाई पूर्ण रूपमा आशा मार्ने र उसलाई दुःख दिन छोड्ने बनाउन सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। यदि शैतानले आशा मारेर कसैलाई छोडेर जान्छ भने त्यसको अर्थ यही हुन्छ कि अब फेरि शैतानले त्यस व्यक्तिलाई परमेश्वरबाट खोस्ने कोसिस कहिल्यै गर्नेछैन, त्यस व्यक्तिलाई फेरि कहिल्यै पनि आरोप लगाउने र बाधा दिने गर्नेछैन, फेरि उसलाई कहिल्यै पनि कष्ट दिइरहन वा आक्रमण गरिरहन मात्र चाहँदैन; त्यस्तो व्यक्ति मात्र वास्तवमा परमेश्वरद्वारा प्राप्त गरिएको हुनेछ। परमेश्वरले मानिसहरूलाई प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया यही हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २