४. म स्वीकार गर्दछु, कि सर्वशक्तिमान् परमेश्वरद्वारा व्यक्त गरिएका वचनहरू सत्यता हुन्, तर मेरो परिवार चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक समुदायद्वारा फैलाइएका सबै झूट र गलत कुराहरूद्वारा धोखामा परेको छ। तिनीहरूले मलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामको अनुसन्धान गर्नबाट रोक्न आफूले सक्ने सबै कुरा गर्छन्। म सर्वशक्तिमान् परमेश्वरमाथिको मेरो विश्वासको कारण मेरो परिवारबाट अलग हुन चाहन्नँ, तर न त म सर्वशक्तिमान् परमेश्वरमाथिको मेरो विश्वासलाई त्यागेर परमेश्वरको मुक्ति पाउने मौका नै गुमाउन चाहन्छु। मैले गर्नुपर्ने सही कुरा के हो?
सन्दर्भका लागि बाइबलका पदहरू:
“मलाईभन्दा बढी आफ्ना बुबा वा आमालाई प्रेम गर्ने मेरो लायक हुँदैन: अनि मलाईभन्दा बढी छोरा वा छोरीलाई माया गर्ने मेरो लायक हुँदैन। र आफ्नो क्रूस बोकेर मेरो पछि नलाग्ने, मेरो योग्य हुँदैन” (मत्ती १०:३७-३८)।
“धार्मिकताको खातिर सताइनेहरू आशिषित् हुन्: किनकि स्वर्गको राज्य तिनीहरूकै हो” (मत्ती ५:१०)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटका लागि तिमीहरूलाई दोषी ठहराइनँ भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यतालाई त्याग्नेथियौ। तिमीहरूमध्ये अलिक राम्रा व्यक्तिहरू पैसा त्यागेर मन नलागी-नलागी सत्यता छनौट गर्छौ, जबकि दोधारेहरू एउटा हातले पैसा थुत्छन् र अर्को हातले सत्यता समात्छन्। के तिमीहरूको साँचो रूप त्यसपछि आफै प्रस्ट हुनेथिएन र? तिमीहरूले सत्यता र तिमीहरू बफादार भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही शैलीमा छनौट गर्नेथियौ र तिमीहरूको मनोवृत्ति उस्तै रहनेथियो। होइन र? तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरी हल्लेका छौ, छैनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्वर, छोराछोरी र परमेश्वर, सद्भाव र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरू आफूले गरेका छनौटका बारेमा अवश्य नै अनजान छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्यौ, यहाँसम्म कि किनारामा फर्किने दृढता समेत राखेनौ;[क] विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मबीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म त चकित नै परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले वर्षौँ खर्चेको रगत-पसिनाले, अनपेक्षित रूपमा, मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो पारिएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरू अझै पनि बदलामा मलाई निराशा र पीडादायी शोक दिनेछौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको एउटा टुक्रा मात्रै बाँकी रहनेछ? के तिमीहरू अझै पनि मेरो हृदयलाई सान्त्वना दिन के गर्नुपर्छ भन्नेबारे अनभिज्ञ हुनेछौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?
फूटनोटहरू:
क. किनारामा फर्किने: एक चिनियाँ उखान, जसको अर्थ “आफ्नै दुष्ट मार्गहरूबाट फर्कनु” भन्ने हुन्छ।
सायद तँ भन्लास्, तँसँग आस्था नभएको भए, तैँले यस प्रकारको सजाय वा यस प्रकारको न्याय भोग्नेथिइनस्। तर तैँले बुझ्नुपर्छ कि आस्थाबिना, तँ यस प्रकारको सजाय प्राप्त गर्न वा सर्वशक्तिमान्बाट यस प्रकारको हेरचाह प्राप्त गर्न असक्षम हुने मात्रै हुनेछैनस्, तैँले सृष्टिकर्तालाई भेट्ने अवसर पनि सधैँका लागि गुमाउनेछस्। तैँले मानवजातिको उत्पत्ति कहिल्यै थाहा पाउनेथिइनस् र मानव जीवनको महत्त्व कहिल्यै बुझ्नेथिइनस्। तेरो देह नष्ट भए पनि र तेरो प्राण बिदा भए पनि, तैँले अझै पनि सृष्टिकर्ताका सबै कार्य बुझ्नेथिइनस्, र सृष्टिकर्ताले मानवजातिलाई सृष्टि गर्नुभएपछि पृथ्वीमा यति ठूलो काम गर्नुभयो भन्ने कुरा त झनै जान्नेथिइनस्। उहाँले सृष्टि गर्नुभएको यस मानवजातिको एक सदस्यका रूपमा, के तँ यसरी अनजानमै अन्धकारमा पर्न, र अनन्त दण्ड भोग्न इच्छुक छस्? यदि तैँले आजको सजाय र न्यायबाट आफूलाई अलग गरिस् भने, तैँले केको सामना गर्नेछस्? के तँलाई वर्तमान न्यायबाट अलग भएपछि, तँ यो कष्टको जीवनबाट उम्कन सक्षम हुनेछस् भन्ने लाग्छ? यदि तैँले “यो ठाउँ” छोडिस् भने, तैँले दियाबलसहरूले दिने पीडादायी सास्ती वा पुर्याउने गम्भीर हानि सामना गर्नेछस् भन्ने कुरा साँचो होइन र? के तैँले सहन नसकिने दिन र रातहरू सामना गर्नुपर्ला? के तँलाई आज यस न्यायबाट उम्केर, तँ भविष्यको त्यो वेदनाबाट सधैँका लागि बच्न सक्छस् भन्ने लाग्छ? तेरो सामु के आउनेछ? के यो तैँले आशा गरेको शाङ्ग्रिला हुनेछ? के तँलाई अहिले जस्तै वास्तविकताबाट भागेर तँ भविष्यको त्यो अनन्त सजायबाट उम्कन सक्छस् भन्ने लाग्छ? आजपछि, के तैँले फेरि कहिल्यै यस प्रकारको अवसर र यस्तो प्रकारको आशिष् पाउन सक्नेछस्? के तैँले आफूमाथि प्रकोप आइपर्दा ती पाउन सक्नेछस्? के तैँले सम्पूर्ण मानवजाति विश्राममा प्रवेश गर्दा ती पाउन सक्नेछस्? तेरो वर्तमान सुखी जीवन र तेरो त्यो मिलेको सानो परिवार—के तिनले तेरो भविष्यको अनन्त गन्तव्यलाई प्रतिस्थापन गर्न सक्छन्? यदि तँसँग साँचो आस्था छ, र यदि तँ आफ्नो आस्थाका कारण धेरै कुरा प्राप्त गर्छस् भने, त्यो सबै तैँले—एक सृजित प्राणीले—प्राप्त गर्नुपर्ने कुरा हो र तँसँग सुरुदेखि नै हुनुपर्ने कुरा पनि हो। तेरो आस्था र जीवनका लागि यस्तो विजयभन्दा अरू कुनै कुरा लाभदायक हुँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)
तैँले सत्यताका लागि कष्ट भोग्नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी दुःख भोग्नैपर्छ। तैँले गर्नुपर्ने यही नै हो। पारिवारिक सामञ्जस्यतामा रमाउनका खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र अस्थायी आनन्दका खातिर तैँले जीवनभरको इज्जत र निष्ठा गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्य छैन भने, के यो तैँले आफ्नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्नुपर्छ, र थोरै आनन्दका खातिर सबै सत्यताहरूलाई फ्याँक्नु हुँदैन। यस्ता मानिसहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
परमेश्वरका वचनहरूमा मानिसहरूलाई कुन-कुन सिद्धान्तद्वारा एक-अर्कालाई व्यवहार गर्न भनिन्छ? परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू। मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो। परमेश्वरले सत्यता पछ्याउने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; हामीले पनि प्रेम गर्नुपर्ने मानिसहरू यिनै हुन्। परमेश्वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, र परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्वर घिन गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घिन गर्नुपर्छ। परमेश्वर मानिसबाट यही माग गर्नुहुन्छ। यदि तेरा आमाबाबुले परमेश्वरमा विश्वास गर्दैनन् भने, यदि तिनीहरूलाई परमेश्वरमा विश्वास गर्नु सही मार्ग हो र यसले मुक्तिको मार्गतर्फ डोर्याउँछ भन्ने राम्ररी थाहा छ, र तिनीहरू अग्रहणशील मात्र नभई परमेश्वरका विश्वासीहरूलाई दोषी ठहराउने र निन्दा गर्ने काम पनि गर्छन् भने, तिनीहरू निस्सन्देह सत्यताप्रति वितृष्णा राख्ने र त्यसलाई घृणा गर्ने मानिस हुन्, र तिनीहरू निस्सन्देह परमेश्वरको विरोध गर्ने र उहाँलाई घृणा गर्ने मानिस हुन्—र परमेश्वर अवश्यै उनीहरूलाई तिरस्कार र घृणा गर्नुहुन्छ। के तँ त्यस्ता आमाबाबुलाई तिरस्कार गर्न सक्छस्? उनीहरूले परमेश्वरको विरोध र निन्दा गर्छन्—र त्यो अवस्थामा, निश्चित रूपमा उनीहरू पिशाच र शैतान हुन्छन्। के तँ उनीहरूलाई घृणा गर्न र श्राप दिन सक्छस्? यी सबै व्यावहारिक सवालहरू हुन्। यदि तेरा आमाबाबुले तँलाई परमेश्वरमा विश्वास गर्नबाट रोके भने, तैँले उनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? तैँले परमेश्वरको मागलाई पालना गर्नुपर्छ: परमेश्वरले प्रेम गर्ने कुरालाई प्रेम गर्, परमेश्वरले घृणा गर्ने कुरालाई घृणा गर्। अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो: “मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?” “जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्छन्, उनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।” यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्वरका वचनहरू अझ स्पष्ट भएका छन्: “परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू।” यी वचनहरूले मुख्य बुँदालाई सिधै छुन्छन्, तर मानिसहरूले प्रायजसो तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ
अय्यूबले प्रेम र घृणालाई छुट्ट्याए
अय्यूबको मानवताको अर्को पक्षलाई तिनी र तिनकी पत्नीबीचको यो कुराकानीमा प्रस्तुत गरिएको छ: “तब तिनकी श्रीमतीले तिनलाई भनिन्, के तपाईँ अझै पनि आफ्नो निष्ठा कायम राख्नुहुन्छ? परमेश्वरलाई परित्याग गर्नुहोस् र मर्नुहोस्। तर तिनले उनलाई भने, तिमी मूर्ख स्त्रीले जस्तै कुरा गर्छौ। के? के हामीले परमेश्वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने, र प्रतिकूलताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:९-१०)। तिनले भोगिरहेको सास्ती देखेर, अय्यूबकी पत्नीले तिनलाई उक्त सास्तीबाट उम्कन मदत गर्नलाई सल्लाह दिन खोजिन्, तर उनका “असल अभिप्रायहरू” ले अय्यूबको अनुमोदन प्राप्त गरेनन्; बरु, ती कुराले तिनलाई रिस उठ्यो, किनकि उनले यहोवा परमेश्वरमाथिको तिनको विश्वास र उहाँप्रति तिनको समर्पणलाई नकारेकी थिइन्, साथै यहोवा परमेश्वरको अस्तित्वलाई पनि नकारेकी थिइन्। अय्यूबका लागि यो असहनीय थियो, किनकि तिनले कहिल्यै पनि परमेश्वरको विरोध हुने वा उहाँलाई चोट पुग्ने कुनै पनि काम, अरूलाई त कुरै छोडौँ, आफूलाई समेत गर्न दिएका थिएनन्। अरूले परमेश्वरको ईशनिन्दा र अपमान हुने शब्दहरू बोलेको देख्दा तिनी कसरी उदासीन रहन सक्थे र? तसर्थ तिनले आफ्नी पत्नीलाई “मूर्ख स्त्री” भने। आफ्नी पत्नीप्रति अय्यूबको मनोवृत्ति रिस र घृणाका साथै आलोचना र हप्कीले भरिएको थियो। अय्यूबको मानवताको स्वाभाविक प्रकाश ठ्याक्कै यही थियो—प्रेम र घृणाबीच भिन्नता छुट्ट्याउने—र यो तिनको सत्यनिष्ठ मानवताको साँचो प्रकटीकरण थियो। अय्यूबमा इन्साफको बोध थियो—जसले तिनलाई दुष्टताका प्रचलन र छालहरूलाई घृणा गर्ने, अनि भ्रम र विधर्म, हास्यास्पद बहसहरू र असङ्गत भनाइहरूलाई घृणा गर्ने, दोषी ठहराउने र अस्वीकार गर्ने बनायो, अनि तिनलाई भीडहरूले अस्वीकार गर्दा र नजिकका मानिसहरूले त्याग्दा पनि तिनलाई आफ्नै सही सिद्धान्तहरू र अडानप्रति सच्चा रहन सक्षम तुल्यायो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
तँभित्र मेरो साहस हुनुपर्छ, र गैरविश्वासी आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिसामु झुक्नु हुँदैन। सिद्ध मार्ग पछ्याउनका लागि तँ मेरो बुद्धिमा भर पर्नैपर्छ, र शैतानका कुनै पनि षड्यन्त्रहरूलाई सफल हुन दिनु हुँदैन। मेरो अगाडि तेरो हृदय राख्नका लागि आफूले सक्दो गर्, र म तँलाई सान्त्वना दिनेछु, र तेरा हृदयमा शान्ति र आनन्द ल्याइदिनेछु। अरू मानिसहरूको अगाडि तँ कस्तो देखिन्छस् भन्ने कुराको वास्ता नगर्; के मलाई सन्तुष्ट बनाउनुमा अझ बढी महत्त्व र वजन हुँदैन र? के यसले त्यसभन्दा पनि बढी तँलाई अनन्त र आजीवन हर्ष र शान्ति दिनेछैन र? तेरो अहिलेको दुःखले तेरो भविष्यको आशीर्वाद कति महान् हुनेछ भन्ने सङ्केत गर्छ; ती अवर्णनीय छन्। तैँले पाउन लागेको आशीर्वादको महान्ता तँलाई थाहा छैन; तैँले यसको बारेमा सपना पनि देख्न सक्दैनस्। आज यो वास्तविक भएको छ; एकदमै धेरै वास्तविक! यो धेरै पर छैन—के तँ यसलाई देख्न सक्छस्? यसको प्रत्येक अंश मभित्र छ; अगाडिको मार्ग कति उज्यालो छ! आफ्नो आँशु पुछ्, र थप पीडा वा संताप महसुस नगर्! सबै कुराहरू मेरा हातबाट मिलाइएका हुन्छन्, र मेरो लक्ष्य भनेको तिमीहरूलाई चाँडै विजेता बनाउनु हो र तिमीहरूलाई म सँगसँगै महिमामा ल्याउनु हो। तँमाथि आइपर्ने सबै कुराहरूका लागि, तँ तदनुरूप आभारी र प्रशंसाले भरिपूर्ण हुनुपर्छ; यसले मेरो लागि गहन सन्तुष्टि ल्याउनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०
विश्वासी पति र गैरविश्वासी पत्नीबीच वस्तुतः कुनै सम्बन्ध हुँदैन, अनि विश्वासी छोराछोरीहरू र गैरविश्वासी आमाबुबाबीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू मिल्दो हुँदैनन्। विश्राममा प्रवेश गर्नुअघि, मानिसहरूमा दैहिक, पारिवारिक स्नेह हुन्छ, तर तिनीहरू विश्राममा प्रवेश गरेपछि, त्यस उप्रान्त उल्लेख गर्न मिल्ने कुनै दैहिक, पारिवारिक स्नेह हुँदैन। आफ्नो कर्तव्य निर्वाह गर्नेहरू अन्तर्निहित रूपमै कर्तव्य निर्वाह नगर्नेहरूका शत्रु हुन्; परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँलाई घृणा गर्नेहरू स्वभावतः एक अर्काको विरुद्धमा हुन्छन्। विश्राममा प्रवेश गर्नेहरू र नष्ट पारिनेहरू दुई नमिल्ने किसिमका सृजित प्राणी हुन्। आफ्ना कर्तव्यहरू निर्वाह गर्ने सृजित प्राणीहरू बाँच्नेछन्, जबकि आफ्ना कर्तव्यहरू निर्वाह नगर्नेहरू विनाशका पात्र हुनेछन्; यसको अतिरिक्त, यो अनन्तसम्मै रहन्छ। के तँ सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नका निम्ति आफ्नो पतिलाई प्रेम गर्छेस्? के तँ सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नका निम्ति आफ्नी पत्नीलाई प्रेम गर्छस्? के तँ सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नका निम्ति आफ्ना गैरविश्वासी आमाबुबाप्रतिको धर्म निभाउँछस्? परमेश्वरप्रतिको विश्वासबारे मानिसहरूको दृष्टिकोण वास्तवमा सही छ कि गलत छ? तँ ठ्याक्कै केका लागि परमेश्वरमा विश्वास गर्छस्? तँ ठ्याक्कै के पाउन चाहन्छस्? तँ परमेश्वरलाई ठ्याक्कै कसरी प्रेम गर्छस्? सृजित प्राणीका रूपमा आफ्ना कर्तव्यहरू पूरा गर्न नसक्नेहरू र दिलोज्यानले प्रयास गर्न नसक्नेहरू विनाशका पात्र हुनेछन्। आजका मानिसहरूबीच दैहिक सम्बन्धहरूका साथै रगतका सम्बन्धहरू छन्, तर भविष्यमा यी सबै कुराहरू टुट्नेछन्। विश्वासी र गैरविश्वासीहरू अन्तर्निहित रूपमै मिल्दा छैनन्; बरु, उनीहरू एक अर्काको विरुद्धमा छन्। विश्राममा हुने मानिसहरू परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्ने र परमेश्वरप्रति समर्पित हुनेहरू सबै नै हुनेछन्, जबकि परमेश्वरविरुद्ध विद्रोह गर्नेहरू सबै नष्ट पारिनेछन्। यस उप्रान्त परिवारहरू पृथ्वीमा रहनेछैनन्; त्यहाँ आमाबुबा वा छोराछोरीहरू वा दाम्पत्य सम्बन्धहरू कसरी हुन सक्छन्? विश्वास र अविश्वासको असङ्गतताले नै यस्ता दैहिक सम्बन्धहरूलाई पूर्ण रूपमा टुटाएको हुनेछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्