२. परमेश्वरलाई नदेखेका हुनाले, कतिपय मानिसहरू संसारमा परमेश्वर हुनुहुन्न भनी भन्छन्, जबकि अरूले परमेश्वरको अस्तित्वको गवाही दिन आफ्नो व्यक्तिगत अनुभवहरूको प्रयोग गर्छन्। परमेश्वर साँच्चै हुनुहुन्छ भन्ने कुरा हामीलाई थाहा छैन, तब कसरी परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा हामी निश्चय गर्न सक्छौं?
परमेश्वरका सान्दर्भिक वचनहरू:
परमेश्वरको अख्तियार, परमेश्वरको शक्ति, परमेश्वरको आफ्नै पहिचान, र परमेश्वरको सारको ज्ञान तेरो कल्पनामा भर परेर हासिल गर्न सकिँदैन। परमेश्वरको अख्तियारलाई जान्नको लागि तँ कल्पनामा भर पर्न नसक्ने हुँदा, तैँले कुन तरिकाले परमेश्वरको अख्तियारको साँचो ज्ञान हासिल गर्न सक्छस्? यसो गर्ने तरिका भनेको परमेश्वरका वचनहरू खाने र पिउने कार्यद्वारा, सङ्गतिद्वारा, र परमेश्वरका वचनहरूको अनुभवद्वारा हो। यसरी, तैँले परमेश्वरको अख्तियारको क्रमिक अनुभव र प्रमाणीकरण पाउनेछस् र यसको बारेमा क्रमिक बुझाइ र बढ्दो ज्ञान प्राप्त गर्नेछस्। परमेश्वरको अख्तियारको ज्ञान हासिल गर्ने एउटै मात्र तरिका यही नै हो; कुनै पनि छोटो बाटो छैन। तिमीहरूलाई कल्पना नगर भनेर अनुरोध गर्नु भनेको तिमीहरूलाई सर्वनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्न लगाउनु, वा तिमीहरूलाई कुनै कुरा गर्नबाट रोक्नु भन्ने होइन। विचार गर्न र कल्पना गर्नको लागि तिमीहरूले आफ्नो मस्तिष्कको प्रयोग नगर्नु भनेको अनुमान गर्न तर्कको प्रयोग नगर्नु, विश्लेषण गर्न ज्ञानको प्रयोग नगर्नु, विज्ञानलाई आधारको रूपमा प्रयोग नगर्नु तर यसको सट्टा, परमेश्वरका वचनहरूद्वारा, सत्यताद्वारा, तैँले जीवनमा भोग्ने सबै कुराद्वारा नै तैँले विश्वास गर्ने परमेश्वरसँग अख्तियार छ भन्ने कुरालाई बुझ्नु, पुष्टि गर्नु, र प्रमाणित गर्नु, तेरो भाग्यमाथि उहाँको सार्वभौमिकता छ, र सबै समयको उहाँको शक्तिले उहाँ साँचो परमेश्वर स्वयम् हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्छ भनी पुष्टि गर्नु हो। कुनै पनि व्यक्तिले परमेश्वरको बुझाइ हासिल गर्ने एक मात्र तरिका यही नै हो। कतिले यस उद्देश्यलाई हासिल गर्ने सरल तरिका भेट्टाउन चाहन्छ भनेर भन्छन्, तर के तिमीहरू त्यस्तो तरिकाको बारेमा विचार गर्न सक्छौ? म तँलाई भन्छु, विचार गर्नुपर्ने कुनै आवश्यकता छैन: अरू कुनै बाटो छैन! एउटै मात्र तरिका भनेको उहाँले व्यक्त गर्नुहुने हरेक वचन र उहाँले गर्नुहुने हरेक कार्यद्वारा परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई विवेकशील र स्थिरताको साथ जान्नु र प्रमाणित गर्नु हो। परमेश्वरलाई जान्ने एउटै मात्र तरिका यही नै हो। किनभने परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो, र परमेश्वरको सबै थोक खोक्रो र रित्तो होइन, तर व्यावहारिक हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
ब्रह्माण्ड र आकाश-मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र प्रजनन गर्छन्, जीवनको नियम अनन्त चक्रमा पालन गर्छन्, अनि अपरिवर्तनीय नियम पालन गर्छन्। मर्नेहरूले आफूसँग जिउँदाहरूका कथा लिएर जान्छन्, अनि जिउँदाहरूले मरेकाहरूका उही दुःखद इतिहासलाई दोहोऱ्याउँछन्। त्यसकारण, मानवजातिले यो प्रश्न नगरी बस्न सक्दैन: हामी किन जिउँछौँ? अनि हामी किन मर्नुपर्छ? कसले यो संसारमाथि शासन गर्छ? अनि कसले यस मानवजातिलाई सृष्टि गर्नुभयो? के मानवजातिलाई साँच्चै नै प्रकृतिले नै सृष्टि गरेको हो त? के मानवजातिले साँच्चै आफ्नै भाग्यलाई नियन्त्रण गर्न सक्छ? … मानवजातिले निरन्तर रूपमा हजारौँ वर्षदेखि सोध्दै आएका प्रश्नहरू यिनै हुन्। दुःखको कुरा, यी प्रश्नहरूले मानिस जति एकोहरो बनेको छ, उसमा विज्ञानको तृष्णा त्यति नै बढी जागेको छ। विज्ञानले देहका लागि क्षणिक सन्तुष्टि र अस्थायी आनन्द दिन्छ, तर मानिसलाई उसको प्राणभित्रको गहिराइमा रहेको एकान्तपन, एकलोपन, र त्यति लुक्न नसक्ने आतङ्क र असहायपनबाट स्वतन्त्र गर्नका लागि त्यो पटक्कै पर्याप्त छैन। मानवजातिले आफ्नो हृदयलाई लट्याउनका लागि आफ्नो नाङ्गो आँखाले देख्न सक्ने र उसको मस्तिष्कले बुझ्न सक्ने वैज्ञानिक ज्ञानलाई मात्रै प्रयोग गर्छ। तैपनि त्यस्तो वैज्ञानिक ज्ञान, रहस्यहरूको अन्वेषण गर्नबाट मानवजातिलाई रोक्न पर्याप्त छैन। मानवजातिलाई ब्रह्माण्ड र यावत् थोकका सार्वभौम को हुनुहुन्छ भन्ने थाहै छैन, झन् मानवजातिको सुरुवात र भविष्यबारे जान्ने कुरा त परै जाओस्। मानवजाति यो नियमबीच केवल विवश भएर जिउँछन्। यसबाट कोही पनि उम्कन सक्दैन र यसलाई कसैले परिवर्तन गर्न सक्दैन, किनभने यावत् थोकको बीचमा र स्वर्गहरूमा अनन्तदेखि अनन्तसम्म रहनुहुने एउटा मात्र जन हुनुहुन्छ, जसको सबै कुरामाथि सार्वभौमिकता छ। उहाँलाई कुनै पनि मानिसले कहिल्यै देखेको छैन, जसलाई मानवजातिले कहिल्यै चिनेको छैन, जसको अस्तित्वलाई मानिसले कहिल्यै विश्वास गरेको छैन—तैपनि मानवजातिका पुर्खाहरूमा सास फुकिदिने र मानवजातिलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। मानिसलाई अस्तित्वमा रहन दिँदै, उसको लागि आपूर्ति गर्ने र उसलाई पोषण दिने उहाँ नै हुनुहुन्छ; मानवजातिलाई आजको दिनसम्म डोऱ्याउने उहाँ नै हुनुहुन्छ। यसबाहेक, मानवजातिले बाँच्नका लागि भर पर्ने एकमात्र जन उहाँ नै हुनुहुन्छ। यावत् थोकमाथि र ब्रह्माण्डका सारा जीवित प्राणीमाथि उहाँले नै सार्वभौमिकता राख्नुहुन्छ। चार ऋतुमाथि उहाँकै शासन छ अनि बतास, तुसारो, हिउँ, र पानी ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई सूर्यको ज्योति दिने र रात ल्याउने उहाँ नै हुनुहुन्छ। मानिसलाई पहाड, ताल, नदी र तीभित्रका सबै प्राणी दिँदै, स्वर्ग र पृथ्वी पसार्ने उहाँ नै हुनुहुन्थ्यो। उहाँका कार्यहरू सर्वव्यापी छन्, उहाँको शक्ति सर्वव्यापी छ, उहाँको बुद्धि सर्वव्यापी छ, र उहाँको अख्तियार सर्वव्यापी छ। यी हरेक व्यवस्था र नियमहरू उहाँका कार्यहरूका मूर्तरूप हुन्, र उहाँको बुद्धि र अख्तियारको एउटा प्रकटीकरण हो। उहाँको सार्वभौमिकताबाट कसले आफूलाई उम्काउन सक्छ? उहाँका प्रबन्धबाट कसले आफूलाई छुटाउन सक्छ? यावत् थोक उहाँकै नजरमुनि अस्तित्वमा छन्, र यसबाहेक, सबै थोक उहाँकै सार्वभौमिकतामा जिउँछन्। उहाँका कार्यहरू र उहाँको शक्तिले मानवजातिलाई उहाँ वास्तवमा नै अस्तित्वमा हुनुहुन्छ र यावत् थोकमाथि उहाँको सार्वभौमिकता छ भन्ने तथ्यलाई स्वीकार गर्नेबाहेक कुनै विकल्प दिँदैनन्। उहाँबाहेक कुनै कुराले पनि ब्रह्माण्डमाथि शासन गर्न सक्दैन, झन् यो मानवजातिलाई अटुट रूपमा आपूर्ति गर्ने कुरा त परै जाओस्। तैँले परमेश्वरका कार्यहरूलाई पहिचान गर्न सके पनि वा नसके पनि, र तैँले परमेश्वरको अस्तित्वमा विश्वास गरे पनि वा नगरे पनि, तेरो भाग्य परमेश्वरद्वारा नियोजित हुन्छ भन्ने कुरामा कुनै शङ्का छैन, र यावत् थोकमाथि सधैँ परमेश्वर नै सार्वभौम हुनुहुनेछ भन्ने कुरामा पनि कुनै शङ्का छैन। मानवजातिले उहाँको अस्तित्व र अख्तियार पहिचान गर्छन् कि गर्दैनन् र बुझ्छन् कि बुझ्दैनन् भन्ने आधारमा ती अस्तित्व र अख्तियार निर्धारित हुँदैनन्। उहाँलाई मात्रै मानिसको विगत, वर्तमान, र भविष्य थाहा छ, र उहाँले मात्रै मानिसको भाग्य निर्धारित गर्न सक्नुहुन्छ। तैँले यो तथ्यलाई स्वीकार गर्न सके पनि वा नसके पनि, चाँडै नै सारा मानवजातिले आफ्नै आँखाले यी सबै देख्नेछन्, र परमेश्वरले चाँडै नै ल्याउनुहुने तथ्य यही नै हो। परमेश्वरकै नजर सामु मानवजाति जिउँछन् र मर्छन्। मानिस परमेश्वरको व्यवस्थापनका लागि जिउँछ, र जब उसले अन्तिम पटक आफ्ना आँखा चिम्लन्छ, ती यही व्यवस्थापनकै खातिर नै बन्द हुन्छन्। मानिस घरीघरी, आउँछ-जान्छ, आउँछ-जान्छ। कुनै अपवादबिना, यी सबै परमेश्वरको सार्वभौमिकता र उहाँको योजनाका भाग हुन्। परमेश्वरको व्यवस्थापन सदा अघि बढिरहेको छ; त्यो कहिल्यै रोकिएको छैन। उहाँले मानवजातिलाई उहाँको अस्तित्वप्रति सचेत रहने, उहाँको सार्वभौमिकतामा विश्वास गर्ने, उहाँका कार्यहरूलाई हेर्ने, र उहाँको राज्यमा फर्कने तुल्याउनुहुनेछ। यो उहाँको योजना हो, उहाँले हजारौँ वर्षदेखि व्यवस्थापन गर्दै आउनुभएको काम यही नै हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ
तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्वरको योजना र उहाँको नियोजनका खातिर तँ आफ्नो भूमिका खेल्छस् र तँ आफ्नो जीवन यात्रा सुरु गर्छस्। तेरो पृष्ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसुकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ। सुरुमा मानिस अस्तित्वमा आएदेखि नै, ब्रह्माण्डलाई व्यवस्थापन गर्दै, अनि यावत् थोक परिवर्तन हुने व्यवस्थाहरू र तिनीहरूका चालहरूको मार्गचित्रलाई निर्देशन गर्दै परमेश्वरले यसरी नै आफ्नो काम गर्दै आउनुभएको छ। यावत् थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्वरबाट आएको मिठास, झरी र शीतले गुपचुप र अनजानमै पोषण दिइरहन्छन्; यावत् थोकहरू जस्तै, मानिस अन्जानमै परमेश्वरको बाहुलीको योजनाबद्ध कार्यअन्तर्गत जिउँछ। मानिसको हृदय र आत्मा परमेश्वरको पकडभित्र हुन्छन्, र उसको जीवनको सबै थोकमा परमेश्वरले नजर राख्नुहुन्छ। तैँले यो सब कुरामा विश्वास गरे वा नगरे पनि, कुनै पनि थोक र यावत् थोक, चाहे त्यो सजीव वा निर्जीव होस्, परमेश्वरका विचारअनुसार सर्नेछ, परिवर्तन हुनेछ, नवीकरण हुनेछ र लोप हुनेछ। परमेश्वरले यसरी यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ
उहाँले यावत् थोकको सृष्टि गर्न सुरु गर्नुभएदेखि नै, परमेश्वरको शक्ति व्यक्त हुन र प्रकट हुन थाल्यो, किनभने परमेश्वरले यावत् थोक सृष्टि गर्न वचनको प्रयोग गर्नुभयो। उहाँले तिनीहरूलाई चाहे जुन ढङ्गले सृष्टि गर्नुभए तापनि, तिनीहरूलाई जुन कारणले सृष्टि गर्नुभए तापनि, यावत् थोक परमेश्वरकै वचनका कारण हुन आए र दृढ भई खडा भए र अस्तित्वमा रहे; सृष्टिकर्ताको अद्वितीय अख्तियार यही नै हो। संसारमा मानवजाति देखा पर्नुभन्दा पहिलेको समयमा, सृष्टिकर्ताले मानवजातिका लागि यावत् थोक सृष्टि गर्न आफ्नो शक्ति र अख्तियार प्रयोग गर्नुभयो, र मानवजातिको लागि जिउने उपयुक्त वातावरण तयार गर्नको लागि आफ्ना अद्वितीय विधिहरूको प्रयोग गर्नुभयो। उहाँले गर्नुभएका सबै कुरा मानवजातिको तयारीका लागि थियो, जसले चाँडै नै उहाँको सास प्राप्त गर्नलागेका थिए। भन्नुको अर्थ, मानवजातिको सृष्टि गरिनुभन्दा पहिलेको समयमा, मानवजातिभन्दा फरक सम्पूर्ण सृष्टिहरूमा, स्वर्ग, ज्योति, समुद्र र भूमिजस्ता ठूला कुराहरूमा, र पशु-प्राणी र चराचुरुङ्गी, साथै नाङ्गो आँखाले देख्न नसकिने विभिन्न प्रकारका ब्याक्टेरियालगायत कीरा-फट्याङ्ग्रा र सूक्ष्मजीवजस्ता साना कुरामा परमेश्वरको अख्तियार प्रदर्शन गरिएको थियो। हरेकलाई सृष्टिकर्ताको वचनले जीवन दिएको थियो, सृष्टिकर्ताकै वचनका कारण हरेकले प्रजनन गरे, र उहाँकै वचनका कारण सबै कुरा नै सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा जिए। तिनीहरूले सृष्टिकर्ताको सास प्राप्त नगरेका भए तापनि, आफ्ना विभिन्न रूप र संरचनाद्वारा नै सृष्टिकर्ताद्वारा तिनीहरूलाई दिइएको जीवन-शक्ति प्रदर्शन गरे; सृष्टिकर्ताले मानवजातिलाई दिनुभएको बोल्न सक्ने क्षमता तिनीहरूले प्राप्त नगरे तापनि, सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको जीवन व्यक्त गर्ने तरिका तिनीहरू सबैले प्राप्त गरे, जुन मानिसको भाषाभन्दा फरक थियो। सृष्टिकर्ताको अख्तियारले अचल देखिने भौतिक वस्तुलाई त्यो कहिल्यै हराएर नजाओस् भनेर जीवन-शक्ति मात्र दिँदैन, तर उहाँले हरेक जीवित प्राणीलाई प्रजनन गरेर वृद्धि हुने प्रवृत्ति पनि दिनुहुन्छ, ताकि तिनीहरू कहिल्यै हराएर नजाऊन्, ताकि सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएका बाँच्नेसम्बन्धी नियम र सिद्धान्तहरूलाई तिनीहरूले एकपछि अर्को पुस्ता गर्दै हस्तान्तरण गर्दै जाऊन्। सृष्टिकर्ताले आफ्नो अख्तियार जुन किसिमले प्रयोग गर्नुहुन्छ त्यसले बृहत् वा सूक्ष्म दृष्टिकोणलाई कठोरताको साथ पालना गर्दैन, र यो कुनै पनि रूपमा सीमित छैन; उहाँले ब्रह्माण्डको सञ्चालनको कमान सम्हाल्न र यावत् थोकको जीवन र मृत्युमाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ, यसका साथै, यावत् थोकले उहाँकै सेवा गरून् भनेर तिनलाई व्यवस्थित गर्न सक्नुहुन्छ; उहाँले पहाड-पर्वत, नदीनाला, र तालतलैयाको काम गर्ने तरिकालाई व्यवस्थापन गर्न, र तिनीहरूभित्र भएका यावत् थोकमाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ, त्यसबाहेक, उहाँ यावत् थोकलाई जे चाहिन्छ त्यो प्रदान गर्न सक्नुहुन्छ। मानवजातिबाहेक सबै थोकको बीचमा सृष्टिकर्ताको अद्वितीय अख्तियारको प्रकटीकरण यही नै हो। त्यस्तो प्रकटीकरण जीवनकालका लागि मात्रै होइन; यो कहिल्यै रोकिनेछैन, न त यसले विश्राम नै गर्नेछ, र यसलाई कुनै पनि व्यक्ति वा थोकले परिवर्तन गर्न वा क्षति पुऱ्याउन सक्दैन, न त कुनै पनि व्यक्ति वा थोकले यसलाई थप्न वा घटाउन नै सक्छ—किनभने कसैले पनि सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्दैन, त्यसकारण सृष्टिकर्ताको अख्तियारलाई सृष्टि गरिएको कुनै पनि प्राणीले प्रतिस्थापन गर्न सक्दैन; सृष्टि नगरिएको कुनै पनि प्राणीले यसलाई हासिल गर्न सक्दैन।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
यस मानवजाति अस्तित्वमा आउनुभन्दा पहिले नै, आकाशमण्डल—स्वर्गमा भएका सबै ग्रहहरू र ताराहरू—पहिले नै अस्तित्वमा थिए। बृहत् स्तरमा, यी स्वर्गीय पिण्डहरू परमेश्वरको नियन्त्रणमा रही आफ्ना अस्तित्वको लागि नियमित रूपमा परिक्रमा गरिरहन्छन्, चाहे त्यो जति नै वर्ष भइसकेको होस्। कुनै निश्चित समयमा कुन ग्रह कहाँ जान्छ; कुन ग्रहले कुन काम, र कहिले गर्छ; कुन ग्रहले कुन परिक्रमा पथमा चक्कर लगाउँछ, र कहिले यो हराउँछ वा प्रतिस्थापित हुन्छ—यी सबै कुराहरू सानोभन्दा सानो गल्तीविना नै अघि बढिरहन्छन्। ग्रहहरूको स्थान र तिनीहरूबीचको दूरीले निश्चित ढाँचालाई पछ्याउँछन्, र यी सबैलाई सटीक आँकडाद्वारा व्याख्या गर्न सकिन्छ; तिनीहरूले यात्रा गर्ने मार्ग, परिक्रमा पथको गति र ढाँचा, तिनीहरू विभिन्न स्थानमा रहने समय—यी सबैलाई विशेष नियमहरूद्वारा सटीक रूपमा गणना र व्याख्या गर्न सकिन्छ। युगौंदेखि ग्रहहरूले अलिकति दायाँ-बायाँ नगरिकन यी नियमहरू पालना गरेका छन्। तिनीहरूको परिक्रमा पथ वा तिनीहरूले पछ्याउने ढाँचालाई कुनै पनि शक्तिले परिवर्तन गर्न वा भङ्ग गर्न सक्दैन। तिनीहरूको चाल नियन्त्रण गर्ने विशेष नियमहरू र तिनीहरूलाई व्याख्या गर्ने सटीक आँकडा सृष्टिकर्ताको अख्तियारद्वारा पूर्वनिर्धारित गरिएका हुनाले, सृष्टिकर्ताको सार्वभौमिकता र नियन्त्रण अन्तर्गत तिनीहरूले आफ्नै तरिकाले यी नियमहरूको पालना गर्छन्। बृहत् स्तरमा, मानिसले केही ढाँचा, केही आँकडा, र केही अनौठा र व्याख्या गर्न नसकिने नियम वा प्रक्रियाहरूलाई पत्ता लगाउनु कठिन छैन। परमेश्वरको अस्तित्वलाई मानवजातिले मान्दैन न सृष्टिकर्ताले सबथोक बनाउनुभयो र तीमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने नै स्विकार्छ, साथै उसले सृष्टिकर्ताको अख्तियारको अस्तित्वलाई पहिचान गर्दैन, तथापि मानव वैज्ञानिक, खगोल र भौतिकशास्त्रीहरूले झन् झन् बढी पत्ता लगाइरहेका छन् कि, यावत् थोकको अस्तित्व र चाललाई निर्धारण गर्ने सिद्धान्त र ढाँचाहरूलाई व्यापक र गुप्त अँध्यारो ऊर्जाले शासन र नियन्त्रण गर्छ। यो तथ्यले मानिसलाई यी चालका ढाँचाहरूको बीचमा सबै कुरालाई योजनाबद्ध गर्नुहुने सर्वशक्तिमान् हुनुहुन्छ भन्ने कुराको सामना र स्वीकार गर्न बाध्य गर्छ। उहाँको शक्ति असाधारण छ, अनि उहाँको साँचो मुहारलाई कसैले देख्न नसके पनि, उहाँले हरेक क्षणमा हरेक कुरामाथि सार्वभौम शासन र नियन्त्रण गर्नुहुन्छ। उहाँको सार्वभौमिकतापार कुनै पनि मानिस वा शक्ति पुग्न सक्दैन। यो तथ्यलाई सामना गर्दा, यावत् थोकको अस्तित्व निर्देशन गर्ने व्यवस्थाहरूलाई मानिसले नियन्त्रण गर्न सक्दैन, कसैले पनि त्यसलाई परिवर्तन गर्न सक्दैन भन्ने कुरालाई मानिसले पहिचान गर्नुपर्छ; मानिसले यी नियमहरूलाई पूर्ण रूपमा बुझ्न सक्दैन, र ती प्राकृतिक रूपमा नै घटिरहेका हुँदैनन्, तर सार्वभौमबाट नियन्त्रित हुन्छन् भन्ने कुरालाई पनि उसले स्वीकार गर्नैपर्छ। यी सबै नै मानवजातिले बृहत् स्तरमा बुझ्न सक्ने परमेश्वरको अख्तियारका अभिव्यक्तिहरू हुन्।
सूक्ष्म स्तरमा, मानिसले पृथ्वीमा देख्न सक्ने सारा पहाड-पर्वत, नदी-नाला, ताल-तलैया, समुद्र अनि ठूला भूमिहरू, उसले अनुभव गर्ने सबै ऋतु, वनस्पति, पशु-प्राणी, सूक्ष्म जीव, र मानिस लगायत पृथ्वीमा बसोबास गर्ने सबै थोक परमेश्वरको सार्वभौमिकता र नियन्त्रणको अधीनमा छन्। परमेश्वरको सार्वभौमिकता र नियन्त्रणमा, उहाँकै सोचहरू अनुसार सबै थोक अस्तित्वमा आउँछन् वा हराउँछन्; तिनीहरूको अस्तित्वलाई शासन गर्ने नियमहरू उत्पन्न हुन्छन्, अनि त्यही नियमहरूलाई पालना गर्दै तिनीहरू बढ्छन् र फैलिन्छन्। कुनै पनि मानवजाति वा थोक यी नियमहरूभन्दा माथि छैन। किन यसो भयो? एउटै मात्र उत्तर यही हो: यो परमेश्वरको अख्तियारको कारणले गर्दा हो। अथवा, अर्को तरिकाले भन्दा, यो परमेश्वरको सोच र परमेश्वरका वचनहरूले गर्दा भएको हो; परमेश्वर स्वयम्को व्यक्तिगत कार्यहरूको कारणले गर्दा हो। यसको अर्थ के हो भने यी नियमहरूलाई उत्पन्न गर्ने परमेश्वरको अख्तियार र परमेश्वरको मन हुन्, जुन उहाँका सोचहरू अनुसार स्थानान्तरण र परिवर्तन हुन्छन्, अनि उहाँकै योजनाको खातिर स्थानान्तर र परिवर्तन हुन्छन् वा हराएर जान्छन्। उदाहरणको लागि, महामारीलाई लिऊँ। कुनै पनि चेतावनीविना नै ती फैलिन्छन्। तिनको उत्पत्ति कहाँ भयो वा त्यसो हुनुको कारण के हो सो कसैलाई थाहा हुँदैन, र जब महामारी कुनै निश्चित स्थानमा पुग्छ, अभिशप्त भइसकेकाहरू त्यो विपत्तिबाट उम्कन सक्दैनन्। महामारीहरू घातक वा हानिकारक जीवाणुहरूको फैलावटको कारण पैदा हुन्छन् भन्ने मानव विज्ञानले बुझ्छ, र तिनीहरूको गति, सर्ने क्षेत्र, र विधिलाई मानव विज्ञानले अनुमान वा नियन्त्रण गर्न सक्दैन। मानिसहरूले सम्भव भएको हरेक माध्यमद्वारा महामारीलाई रोक्ने भए तापनि, यो फैलिएपछि कुन-कुन मानिसहरू वा पशु-प्राणीलाई निश्चित रूपमा प्रभाव पार्छ भन्ने कुरालाई तिनीहरूले नियन्त्रण गर्न सक्दैनन्। मानिसहरूले गर्न सक्ने एउटै मात्र कुरा भनेको, त्यसको रोकथाम गर्ने, प्रतिरोध गर्ने र त्यसको अनुसन्धान गर्ने मात्रै हो। तर कुनै पनि व्यक्तिगत महामारीको सुरुवात वा अन्त्यको मूल कारण कसैलाई पनि थाहा हुँदैन, र कसैले पनि तिनलाई नियन्त्रण गर्न सक्दैन। महामारीको सुरुवात र फैलावटको सामना गर्न थालेपछि, मानिसहरूले अपनाउने सुरुवाती उपाय खोपको विकास गर्नु हो, तर खोप तयार हुनुभन्दा पहिले नै महामारी प्रायजसो आफै हराएर जान्छ। महामारीहरू किन आफै हराएर जान्छन्? कतिपयले किटाणुहरूलाई नियन्त्रणमा ल्याइयो भनेर भन्छन्, अरूले मौसम परिवर्तनको कारण ती मरेर जान्छन् भनेर भन्छन्…। यी अनेक किसिमका अनुमानहरू न्यायसङ्गत भए पनि नभए पनि, विज्ञानले कुनै व्याख्या दिन सक्दैन र कुनै सटीक उत्तर दिन सक्दैन। मानवजातिले यी अनुमानहरूलाई मात्रै होइन, तर महामारीहरू सम्बन्धी मानवजातिको बुझाइको कमी र डरलाई पनि महत्त्वपूर्ण ठान्नुपर्छ। अन्तिम विश्लेषणमा, किन महामारीहरू सुरु हुन्छन् वा ती किन अन्त्य हुन्छन् भन्ने कसैलाई थाहा हुँदैन। मानवजातिले विज्ञानमा मात्रै विश्वास गर्ने, यसमा मात्रै पूर्ण रूपमा भरोसा गर्ने, र सृष्टिकर्ताको अख्तियारलाई पहिचान नगर्ने वा उहाँको सार्वभौमिकतालाई स्वीकार नगर्ने भएकाले, तिनीहरूले कहिल्यै पनि कुनै उत्तर पाउने छैनन्।
परमेश्वरको सार्वभौमिकताअन्तर्गत, उहाँको अख्तियारका कारण, र उहाँको व्यवस्थापनका खातिर नै यावत् थोक जन्मिन्छन्, जिउँछन्, र नाश हुन्छन्। कतिपय थोकहरू चुपचाप आउँछन् र जान्छन्, अनि मानिसले ती कहाँबाट आए भनेर देख्न वा तिनले पछ्याउने पद्धतिहरू बुझ्न सक्दैन, ती आउनु र जानुका कारणहरू बुझ्न त झनै सक्दैन। यावत् थोकमाझ आइपर्ने सबथोक मानिसका आफ्नै आँखाले देख्न सकिने, र आफ्नै कानले सुन्न सकिने, वा मानिसद्वारा व्यक्तिगत रूपमा अनुभव गर्न सकिने भए पनि, यो मानिससँग सम्बन्धित भए पनि, र मानिसले विभिन्न घटनाहरूको असामान्यता, नियमितता वा अनौठोपनलाई समेत अवचेतन रूपमा अनुभव गर्न सक्ने भए पनि, यावत् थोकमाझ आइपर्ने सबथोकका पछाडि सृष्टिकर्ताका अभिप्राय र सोचहरूबारे उसलाई अझै केही पनि थाहा हुँदैन। त्यसमा धेरैवटा कथाहरू, धेरैवटा लुकेका सत्यताहरू हुन्छन्। मानिस सृष्टिकर्ताबाट बरालिएर धेरै टाढा गएको हुनाले र सृष्टिकर्ताको अख्तियारले यावत् थोकमाथि सार्वभौमिकता राख्छ भन्ने तथ्यलाई उसले स्वीकार नगर्ने हुनाले, सृष्टिकर्ताको अख्तियारको सार्वभौमिकताअन्तर्गत आइपर्ने सबै कुरालाई उसले कहिल्यै बुझ्न र बोध गर्न सक्दैन। सारांशमा भन्नुपर्दा, परमेश्वरको नियन्त्रण र सार्वभौमिकताले मानव कल्पना, मानव ज्ञान, मानव बुझाइ, अनि मानव विज्ञानले प्राप्त गर्न सक्ने कुराका परिधिहरूलाई उछिन्छ; ती कुराहरू सृजित मानवजातिको क्षमताभन्दा बाहिर हुन्छन्। कतिपय मानिसहरू भन्छन्, “तिमीले परमेश्वरको सार्वभौमिकता देखेका छैनौ—यो सबै उहाँकै अख्तियारको नतिजा हो भनेर तिमी कसरी विश्वास गर्न सक्छौ?” देख्नु भनेको विश्वास गर्नु, वा मान्नु र बुझ्नु नै भन्ने होइन। त्यसोभए, विश्वास गर्ने कुरा कहाँबाट आउँछ? म निश्चितताका साथ भन्न सक्छु कि विश्वास भनेको कामकुराका मूल कारणहरू र वास्तविकतासम्बन्धी मानिसहरूको बुझाइ र अनुभवको मात्रा र गहिराइबाट आउँछ। यदि तँ परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने विश्वास गर्छस्, तर तँ यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकता र परमेश्वरको नियन्त्रणको तथ्यलाई देख्नु त के, मान्न समेत सक्दैनस् भने, परमेश्वरमा यस प्रकारको अख्तियार छ र परमेश्वरको अख्तियार अद्वितीय छ भन्ने कुरालाई तैँले हृदयमा कहिल्यै मान्नेछैनस्, र सृष्टिकर्तालाई कहिल्यै साँचो रूपमा आफ्नो प्रभु र आफ्नो परमेश्वरका रूपमा स्विकार्नेछैनस्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३
मानिसहरू प्रायजसो परमेश्वरलाई चिन्नु त्यति सजिलो कुरा होइन भन्छन्। तैपनि, म भन्छु परमेश्वरलाई चिन्नु त्यति कठिन कुरा होइन, किनभने मानिसले देखोस् भनेर परमेश्वरले बारम्बार आफ्ना कार्यहरू देखाउनुहुन्छ। मानवजातिसँगको आफ्नो कुराकानीलाई उहाँले कहिल्यै पनि रोक्नुभएको छैन, अनि उहाँले आफूलाई मानिसबाट कहिल्यै पनि ढाकछोप गर्नुभएको छैन, न त उहाँले आफूलाई लुकाउनु नै भएको छ। उहाँका सोचाइ, विचार, वचन अनि कार्य सबै नै मानवजातिका निम्ति प्रकट गरिन्छन्। त्यसकारण, जबसम्म मानिसले परमेश्वरलाई चिन्ने चाहना गर्छ, उसले उहाँलाई सबै किसिमका माध्यम र तरिकाबाट बुझ्न र चिन्न सक्छ। मानिसले परमेश्वर जानी-जानी ऊबाट टाढा हुनुभएको छ, उहाँले जानी-जानी आफूलाई मानवजातिबाट लुकाउनुभएको छ, उहाँलाई बुझ्न र चिन्न मानिसलाई दिने कुनै अभिप्राय उहाँसँग छैन भनेर अन्धाधुन्ध विचार गर्नुको कारण के हो भने, परमेश्वर को हुनुहुन्छ भन्ने कुरा उसलाई थाहा छैन, न त उसले परमेश्वरलाई बुझ्ने इच्छा नै गर्छ। त्योभन्दा पनि बढी, मानिसले सृष्टिकर्ताका विचार, वचन वा कार्यप्रति चासो नै दिँदैन…। साँचो रूपमा भन्दा, सृष्टिकर्ताका वचन वा कार्यहरूलाई ध्यान दिन र बुझ्नको लागि यदि व्यक्तिले आफ्नो फुर्सतको समय मात्रै प्रयोग गर्छ भने पनि, र सृष्टिकर्ताका विचार र उहाँको हृदयको आवाजलाई तिनीहरूले थोरै मात्रै ध्यान दिन्छन् भने पनि, सृष्टिकर्ताका विचार, वचन र कार्य खुल्ला र पारदर्शी छन् भन्ने कुराको महसुस गर्न त्यो व्यक्तिलाई कठिनाइ हुनेछैन। त्यसरी नै, सृष्टिकर्ता सधैँ मानिसको बीचमा हुनुहुन्छ, उहाँ सधैँ मानिस र यावत् थोकसँग कुराकानी गर्नुहुन्छ, र उहाँले हरेक दिन नयाँ-नयाँ कार्यहरू गरिरहनुभएको छ भन्ने महसुस गर्न त्यति धेरै प्रयासको आवश्यकता पर्नेछैन। उहाँको सार र स्वभाव मानिससँगको उहाँको कुराकानीमा व्यक्त हुन्छन्; उहाँका सोचाइ र विचार पूर्ण रूपमा उहाँका कार्यहरूमा प्रकट हुन्छन्; उहाँले मानवजातिलाई सँधैभरि साथ दिनुहुन्छ र अवलोकन गर्नुहुन्छ। उहाँ यावत् थोक र मानवजातिलाई चुपचाप यसो भन्न आफ्ना मौन वचनहरू प्रयोग गर्नुहुन्छ: “म स्वर्गहरूमा छु, अनि म यावत् थोकका बीचमा छु। म कुरिरहेको छु; म पर्खिरहेको छु; म तेरो छेउमा छु…।” उहाँका हात न्यानो र दह्रिला छन्; उहाँका पाइलाहरू हल्का छन्; उहाँको आवाज कोमल र सुमधुर छ; उहाँको स्वरूप हजारौँ पटक आवत-जावत गर्दै सारा मानवजातिलाई घेरेर रहन्छ; उहाँको मुहार सुन्दर र कोमल छ। उहाँ कहिल्यै छोडेर जानुभएको छैन, कहिल्यै हराउनुभएको छैन। दिन-रात, उहाँ निरन्तर मानवजातिको साथमा रहनुहुन्छ, उनीहरूको छेउबाट कहिल्यै जानुहुन्न।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २
परमेश्वरको अख्तियारअन्तर्गत, हरेक व्यक्तिले सक्रिय वा निष्क्रिय रूपमा उहाँको सार्वभौमिकता र उहाँका प्रबन्धहरू स्वीकार गर्छ र उसले आफ्नो जीवनको दौरान जतिसुकै सङ्घर्ष गरे पनि, जतिसुकै कुटिल मार्गहरूमा हिँडे पनि, अन्त्यमा ऊ सृष्टिकर्ताले उसका लागि तय गरेको भवितव्यको कक्षमा नै फर्कनेछ। यो नै सृष्टिकर्ताको अख्तियारको उछिन्न नसकिने गुण र उहाँको अख्तियारले ब्रह्माण्डलाई नियन्त्रण र शासन गर्ने तरिका हो। यो उछिन्न नसकिने गुण, नियन्त्रण र शासनको यो रूप नै यावत् थोकको जीवनलाई निर्देशित गर्ने नियमहरूका लागि जिम्मेवार छ, त्यसले मानिसहरूलाई कुनै हस्तक्षेपविना बारम्बार पुनर्जन्म लिन दिन्छ, त्यसले संसारलाई दिन-प्रतिदिन, वर्षैपिच्छे नियमित रूपमा घुम्न र अगाडि बढ्न दिन्छ। तिमीहरूले यी सबै तथ्य देखेका छौ र तिमीहरू चाहे सतही रूपमा होस् वा गहन रूपमा, तिनलाई बुझ्छौ अनि तिमीहरूको बुझाइको गहिराइ सत्यताबारे तिमीहरूको अनुभव र ज्ञानमा अनि परमेश्वरबारे तिमीहरूको ज्ञानमा निर्भर हुन्छ। तँ सत्यता वास्तविकतालाई कति राम्ररी जान्दछस्, तैँले परमेश्वरका वचनहरू कति अनुभव गरेको छस्, तँ परमेश्वरको सार र स्वभावलाई कति राम्ररी जान्दछस्—यी सबैले परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूबारे तेरो बुझाइको गहिराइलाई प्रतिनिधित्व गर्छन्। के परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूको अस्तित्व मानवजाति तीप्रति समर्पित हुन्छन् कि हुँदैनन् भन्ने कुरामा निर्भर हुन्छ? के परमेश्वरसँग यो अख्तियार छ भन्ने तथ्य मानवजाति त्यसप्रति समर्पित हुन्छ कि हुँदैन भन्ने कुराद्वारा निर्धारित हुन्छ? परिस्थितिहरू जस्तोसुकै भए पनि परमेश्वरको अख्तियार अस्तित्वमा छ। सबै परिस्थितिमा, परमेश्वर आफ्ना सोच र आफ्ना चाहनाहरूअनुरूप सबैको भवितव्य र यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ र ती प्रबन्ध गर्नुहुन्छ। यो मानिसहरूमा हुने परिवर्तनहरूअनुरूप परिवर्तन हुनेछैन; यो मानिसको इच्छाबाट स्वतन्त्र छ अनि यसलाई समय, स्थान र भूगोलमा हुने कुनै पनि परिवर्तनहरूद्वारा बदल्न सकिँदैन, किनभने परमेश्वरको अख्तियार नै उहाँको सार हो। मानिसले परमेश्वरको सार्वभौमिकतालाई जान्न र स्वीकार गर्न सक्छ कि सक्दैन अनि मानिस त्यसप्रति समर्पित हुन सक्छ कि सक्दैन—यसमध्ये कुनै पनि कुराले मानव भवितव्यमाथिको परमेश्वरको सार्वभौमिकताको तथ्यलाई अलिकति पनि बदल्दैन। अर्थात्, मानिसले परमेश्वरको सार्वभौमिकताप्रति जस्तोसुकै मनोवृत्ति लिए पनि, यसले परमेश्वर मानव भवितव्य र यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्यलाई परिवर्तन गर्न नै सक्दैन। तँ परमेश्वरको सार्वभौमिकताप्रति आफूलाई समर्पित गर्दैनस् भने पनि, तेरो भवितव्य अझै पनि उहाँको सार्वभौमिकताअन्तर्गत नै हुन्छ; तैँले उहाँको सार्वभौमिकतालाई नजाने पनि, उहाँको अख्तियार अझै पनि अस्तित्वमा छ। परमेश्वरको अख्तियार र मानव भवितव्यमाथिको परमेश्वरको सार्वभौमिकताको तथ्य मानव इच्छाबाट स्वतन्त्र छन् अनि मानिसका रुचि र छनौटहरूअनुरूप परिवर्तन हुँदैनन्। परमेश्वरको अख्तियार चारैतिर, हरघडी, हरेक क्षणमा हुन्छ। स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर उहाँको अख्तियार कहिल्यै बितेर जानेछैन, किनभने उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ, उहाँसँग अद्वितीय अख्तियार छ र उहाँको अख्तियार मानिस, घटना वा कामकुराहरूद्वारा, स्थान वा भूगोलद्वारा प्रतिबन्धित वा सीमित छैन। हरसमय, परमेश्वर आफ्नो अख्तियार प्रयोग गर्नुहुन्छ, आफ्नो शक्ति प्रकट गर्नुहुन्छ र सदाझैँ आफ्नो व्यवस्थापनको काम जारी राख्नुहुन्छ; हरसमय, उहाँ यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ, यावत् थोकलाई भरणपोषण गर्नुहुन्छ र यावत् थोकलाई योजनाबद्ध गर्नुहुन्छ—ठिक त्यस्तै जस्तो उहाँ सधैँ गर्नुहुन्छ। कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। यो तथ्य हो; यो अनादिकालदेखि नै अपरिवर्तनीय सत्यता रहँदै आएको छ!
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३