३. मानिसहरूको देहको जीवन एकै क्षणमा, केही दशकमा समाप्त हुन्छ। पछाडि फर्केर हेर्दै, तिनीहरू आफ्नो जीवनलाई सम्झन्छन्: स्कूल गएको, काम गरेको, बिहे गरेको, छोराछोरी जन्माएको, मृत्यु पर्खेको, तिनीहरूको सम्पूर्ण जीवन परिवार, पैसा, हैसियत, सम्पत्ति र इज्जतको लागि व्यस्त बनेर यताउता दौडधूप गर्नुमा बितेको हुन्छ, मानव अस्तित्वको वास्तविक दिशा र उद्देश्यबाट पूर्ण रूपमा वञ्चित रहेको हुन्छ, र जीवित रहनुमा कुनै महत्त्व वा अर्थ पाउन सकेको हुँदैन। त्यसैले मानिसहरू एक पुस्तादेखि अर्को पुस्तासम्म यस्तो पीडादायक र खोक्रो तरिकाले जिउँछन्। किन मानिसहरूको जीवन यति पीडादायी र खोक्रो छ? र मानव अस्तित्वको पीडा र खोक्रोपनको समाधान कसरी गर्न सकिन्छ?
परमेश्वरका सान्दर्भिक वचनहरू:
मानिसहरूले आफ्नो जीवनभरको—जन्म, बुढ्यौली, रोग र मृत्युको—पीडा कहाँबाट आएका हुन् र किन मानिसले यी कुराहरू भोग्छ भनेर बुझ्नैपर्छ। परमेश्वरले सुरुमा मानिसलाई सृष्टि गर्दा, मानिस यी पीडाबाट मुक्त थिएन र? त्यसोभए मानिसले पछि भोग्न थालेका यी पीडाहरू कहाँबाट आए? यी शैतानबाट आए। यी पीडाहरू शैतानले मानिसलाई प्रलोभित र भ्रष्ट पारेर अनि तत्पश्चात् पतित बनाएपछि उत्पन्न भएका थिए। मानिसको देहका पीडाहरू, चिन्ताहरू र रित्तोपन, अनि मानिसको संसारमा भएका सबै दयनीय कुरा—ती सबै शैतानले मानिसलाई भ्रष्ट पारेपछि देखा परे। शैतानद्वारा भ्रष्ट पारिएपछि, मानिसमा शैतानी स्वभावहरू रहन थालेका छन्, अनि त्यसैले ऊ झन्-झन् पतित बन्छ, उसको रोग झन्-झन् गम्भीर बन्दै जान्छ, उसको पीडा झन्-झन् ठूलो बन्दै जान्छ र ऊभित्र यो संसार खाली र दयनीय छ, र यो संसारमा बाँच्न असम्भव छ र यो संसारमा बाँच्नु झन् निराशाजनक छ भन्ने भावना बढ्दै जान्छ। त्यसैले यी सबै पीडा शैतानले मानिसमाथि ल्याएको थियो, र मानिस शैतानद्वारा भ्रष्ट पारिएपछि र पतित भएपछि आएका थिए।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरले सांसारिक कष्ट चाख्नुको महत्त्व
सामाजिक विज्ञानहरूको प्रादुर्भाव भएदेखि, मानिसको हृदय विज्ञान र ज्ञानद्वारा ओगटिएको छ। विज्ञान र ज्ञान मानवजातिलाई शासन गर्नका लागि औजार बनेका छन्, जसले गर्दा मानिससँग परमेश्वरलाई आराधना गर्नका निम्ति पर्याप्त स्थान छैन, र परमेश्वरको आराधना गर्नका लागि त्यति धेरै अनुकूल परिस्थिति छैन। मानव हृदयमा परमेश्वरको स्थान सधैँ झन्झन् तल खस्केको छ। मानिसको हृदयमा परमेश्वरका लागि स्थान नहुँदा, उसको भित्री संसार अँध्यारो, आशाविहीन, र खाली छ। तत्पश्चात् मानवजातिको हृदय र मन भर्न परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो भन्ने सत्यताप्रति विरोधाभासी हुने सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरू व्यक्त गर्न धेरै सामाजिक वैज्ञानिक, इतिहासकार, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यसरी, परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो भनी विश्वास गर्नेहरू पहिलेभन्दा कम हुँदै गएका छन्, र विकासवादको सिद्धान्तमा विश्वास गर्नेहरूको सङ्ख्या पहिलेभन्दा बढ्दै गएको छ। पुरानो करारीय युगमा भएका परमेश्वरको काम र उहाँका वचनहरूका अभिलेखहरूलाई झन्-झन् धेरै मानिसले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिन्छन्। परमेश्वरको गरिमा र महान्ताप्रति मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्, अनि तिनीहरू परमेश्वरको अस्तित्व र यावत् थोकमाथि उहाँको प्रभुत्व छ भन्ने सिद्धान्तप्रति आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र जातिहरू र राज्यहरूको नियति तिनीहरूका लागि महत्त्वपूर्ण रहँदैनन्, र मानिस केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … आज परमेश्वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी, वा उहाँ कसरी मानिसको गन्तव्यमाथि सार्वभौमिकता राख्नुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोज्न केही मानिस मात्र अग्रसर हुन्छन्। अनि यसरी, मानवलाई थाहा नै नभई मानव सभ्यता मानवका चाहनालाई काट्न थोरै सक्षम हुन्छ, अनि यस किसिमको संसारमा जिउँदा त, पहिले नै बितेर गइसकेकाहरूभन्दा पनि कम खुशी छौं भन्ने अनुभूति गर्ने मानिसहरू समेत धेरै छन्। उच्च सभ्यता प्राप्त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्। किनभने परमेश्वरको मार्गदर्शनविना, शासक र समाजशास्त्रीहरूले मानव सभ्यता कायम राख्न आफ्नो दिमाग खियाए पनि, यसले कुनै फाइदा गर्दैन। मानिसको हृदयमा भएको खालीपनलाई कुनै व्यक्तिले पनि भर्न सक्दैन, किनकि कुनै पनि व्यक्ति मानिसको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानिसलाई खालीपनका समस्याहरूबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, आनन्द, र सहजताले मानिसलाई अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि, मानिसले अनिवार्य रूपमा पाप गर्छ र समाजको अन्यायबारे गुनासो गर्छ। यी कुराहरू हुनुले मानिसको अन्वेषण गर्ने तृष्णा र कामना रोक्न सक्दैन। यो हुनुको कारण चाहिँ के हो भने, मानिसलाई परमेश्वरले सृष्टि गर्नुभयो र उसका निरर्थक बलिदान र अन्वेषणहरूले झन्झन् ऊमाथि हैरानी ल्याउन मात्र सक्छन्, र मानिसलाई लगातार बेचैनीको अवस्थामा हुने तुल्याउँछन्, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्ने उसलाई थाहा हुँदैन, यहाँसम्म कि ऊ विज्ञान र ज्ञानसँग पनि डराउँछ, र ऊ खालीपनको अनुभूतिसँग झन् बढी डराउँछ। यस संसारमा, तँ चाहे स्वतन्त्र देशमा जिउने भए पनि वा मानवअधिकार नभएको देशमा जिउने भए पनि, मानवजातिको नियतिबाट उम्कन तँ पूर्ण रूपमा असक्षम हुन्छस्। तँ शासक वा शासित, जे भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो कामनाबाट उम्कन पूर्ण रूपमा असक्षम हुन्छस्, खालीपनको अवर्णनीय भावनाबाट उम्कन त झनै सक्षम हुँदैनस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई, समाजशास्त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तैपनि यस्ता समस्याहरू समाधान गर्न कुनै पनि महान् व्यक्ति अगाडि आउन सक्दैन। आखिर, मानिस मानिस नै हो, अनि परमेश्वरको हैसियत र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापित गर्न सक्दैन। मानवजातिलाई चाहिने भनेको सबैलाई राम्रोसँग खुवाइने, सबै समान र स्वतन्त्र हुने निष्पक्ष समाज मात्र होइन; मानवजातिलाई चाहिने त परमेश्वरको मुक्ति र मानवजातिका लागि उहाँको जीवनको आपूर्ति हो। मानिसले परमेश्वरको जीवनको आपूर्ति र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र उसका आवश्यकताहरू, उसको अन्वेषण गर्ने चाहना, र उसको हृदयको खालीपन समाधान हुन्छ। यदि एक देश वा जातिका मानिसहरूले परमेश्वरको मुक्ति र हेरचाह पाउन सक्दैनन् भने, त्यस्तो देश वा जाति पतन, अन्धकारतर्फ बढ्नेछ, र फलस्वरूप परमेश्वरद्वारा नष्ट गरिनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ
मानिसहरू यो जीवन गरिबी वा समृद्धिमा बिताउँछन् र लामो वा छोटो जीवन जिउँछन्। केही आम मानिस हुन्छन् भने अरू उच्च पदका अधिकृत र अभिजात वर्गका हुन्छन्। समाजमा हरेक तहका मानिसहरू हुन्छन्, तर तिनीहरू सबै मूलतः उही तरिकाले जिउँछन्: तिनीहरू आफ्ना चाहना, आकाङ्क्षा र शैतानी स्वभावअनुसार ख्याति र लाभका निम्ति प्रतिस्पर्धा गर्छन्, र यी लक्ष्यहरू हासिल नगरेसम्म व्यग्र नभई बस्दैनन्। मानिसहरूले यस्ता परिस्थितिहरू देख्दा, यसो सोच्लान्, “मानिसहरू किन यसरी जिउँछन्? के अर्को कुनै पनि मार्ग लिन मिल्दैन र? के मानिसहरू साँच्चै नमरुञ्जेल राम्ररी खान-पिउन मात्रै जिउँछन् त? तिनीहरू त्यसपछि कहाँ जान्छन्? मानिसका यति धेरै पुस्ता किन यसरी जिउँदै आएका छन्? यो सबैको जड के हो?” मानिसहरूलाई तिनीहरू कहाँबाट आएका हुन्, तिनीहरूको जीवनको मिसन के हो, वा रेखदेखकर्ता को हो र यो सबैमाथि कसले सार्वभौमिकता राख्छ भनेर थाहा हुँदैन। पुस्ताहरू एकपछि अर्को गर्दै आउँछन् अनि जान्छन्, र हरेक पुस्ता उही तरिकाले जिउँछ अनि मर्छ। तिनीहरू सबै उही तरिकाले आउँछन् अनि जान्छन्, र कसैले पनि वास्तविक जिउने विधि वा मार्ग भेट्टाउँदैन। कसैले पनि यसको सत्यता खोज्दैन। प्राचीन कालदेखि अहिलेसम्म, मानिसहरू उही तरिकाले जिउँदै आएका छन्। तिनीहरू सबै खोजिरहेका र पर्खिरहेका छन्, मानवता कस्तो हुनेछ भनेर हेर्ने आशा गरिरहेका छन्, तर कसैले पनि त्यो जानेको वा देख्न पाएको छैन। अन्त्यमा, मानिसहरूलाई यो सबमाथि शासन गर्ने र सार्वभौमिकता राख्ने को हुनुहुन्छ वा उहाँ हुनुहुन्छ कि हुनुहुन्न भन्ने पनि थाहा छैन। तिनीहरूलाई यसको उत्तर थाहा छैन, र तिनीहरू असहाय रूपमा, वर्षैपिच्छे तृष्णा गर्दै, दिन-दिनै सहँदै आजको दिनसम्म जिइरहन बाहेक केही गर्न सक्दैनन्। यदि मानिसहरूलाई यो सबै हुने कारण थाहा भएको भए, के यसले तिनीहरूलाई जीवन कसरी जिउनुपर्छ भनी पछ्याउनुपर्ने मार्ग दिनेथियो? के तिनीहरू त्यसपछि यो कष्टबाट उम्कन र उप्रान्त मानव इच्छा र आशाअनुसार जिउनु नपर्ने बन्न सक्नेथिए? जब मानिसहरूले तिनीहरू किन जिउँछन्, किन मर्छन्, र यो संसारको रेखदेखकर्ता को हो भनेर बुझ्छन्; जब तिनीहरूले सृष्टिकर्ताले नै सबथोकमाथि सार्वभौमिकता राख्नुहुन्छ बुझ्छन्, तब तिनीहरूसँग पछ्याउने मार्ग हुन्छ। तिनीहरूले अघि बढ्ने बाटो भेट्टाउन परमेश्वरका वचनमा सत्यता खोज्नुपर्छ र आफ्नै इच्छा र आशामा भर पर्दै यस्तो दुःखमा जिउनुपर्दैन भनेर थाहा पाउनेछन्। यदि मानिसहरूले तिनीहरू किन जिउँछन् र मर्छन् भन्ने प्रश्नको उत्तर पत्ता लगाए भने, के सबै मानव दुःख र कठिनाइहरूको समाधान हुँदैन र? के यसले मानिसहरूलाई छुटकारा दिँदैन र? मानिसहरूले साँच्चै छुटकारा पाएका हुनेछन्, र तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुनेछन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
“सबै थोकमाथि सार्वभौमिकता भएका परमेश्वर” भन्ने भजन सुनेपछि, तिमीहरूले हृदयमा के मनन गर्नुपर्छ? मानवजातिलाई तिनीहरू किन जिउँछन्, किन मर्छन्, र वास्तवमा, यो संसार र यावत थोकका सार्वभौम अनि सबथोकमाथि शासन गर्नुहुने को हुनुहुन्छ, र उहाँ ठ्याक्कै कहाँ हुनुहुन्छ, र उहाँले मानिसबाट के माग गर्नुहुन्छ भन्ने थाहा भएको भए—यदि मानवजातिले यी कुराहरू बुझ्न सक्ने भए, तिनीहरूलाई सृष्टिकर्ताप्रति कस्तो व्यवहार गर्ने, उहाँलाई कसरी आराधना गर्ने र उहाँमा कसरी समर्पित हुने भनेर थाहा हुनेथियो, तिनीहरूले हृदयमा साथ पाउनेथिए, तिनीहरू शान्त र खुसी हुनेथिए, र उप्रान्त यस्तो यातना र पीडामा जिउने थिएनन्। अन्तिम विश्लेषणमा, मानिसहरूले सत्यता बुझ्नैपर्छ। तिनीहरूले आफ्नो जीवनका लागि छनौट गर्ने मार्ग महत्त्वपूर्ण हुन्छ र तिनीहरूको जिउने तरिका पनि महत्त्वपूर्ण हुन्छ। व्यक्तिको जिउने तरिका र उसले हिँड्ने मार्गले उसको जीवन हर्षमय हुन्छ कि दुःखी भन्ने कुरा निर्धारण गर्छ। यो मानिसहरूले बुझ्नुपर्ने कुरा हो। मानिसहरूले यो भजन सुन्दा, हृदयमा यस्तो गहन अनुभूति गर्न सक्लान्: “समस्त मानवजातिको जीवनशैली यस्तै खालको हुन्छ; प्राचीन मानिसहरू पनि अपवाद थिएनन्, र आधुनिक मानिसहरू पुराना मानिसजस्तै छन्। आधुनिक मानिसहरूले यी शैली बदलेका छैनन्। त्यसोभए, के मानवजातिमाझ कोही सार्वभौम, सबथोकका रेखदेखकर्ता पौराणिक परमेश्वर हुनुहुन्छ त? यदि मानवजातिले सबथोकका रेखदेखकर्ता परमेश्वर भेट्टाउन सक्छ भने, के मानवजाति खुसी महसुस गर्न सक्षम हुनेछैन र? अब महत्त्वपूर्ण कुरा भनेको मानवजातिको जरा पत्ता लगाउनु हो। यो जरा कहाँ छ? यो जरा पत्ता लगाएपछि, मानवजाति अर्कै खालको क्षेत्रमा जिउन सक्छ। यदि मानवजाति यो पत्ता लगाउन असक्षम हुन्छ, र सधैँ जस्तो उही खालको जीवन जिइरहन्छ भने, के तिनीहरूले खुसी प्राप्त गर्न सक्नेछन्?” यदि मानिसहरू परमेश्वरमा विश्वास गर्दैनन् भने, तिनीहरूलाई मानवजाति गहन रूपमा भ्रष्ट छ भनी थाहा भए पनि, तिनीहरू के नै गर्न सक्छन्? के तिनीहरूले भ्रष्टताको वास्तविक समस्या समाधान गर्न सक्छन्? के तिनीहरूसँग मुक्तिको मार्ग हुन्छ? तैँले आफूलाई बदल्ने र मानव स्वरूप जिउने इच्छा राखे पनि, के तँ त्यसो गर्न सक्छस्? तँसँग त्यसो गर्ने मार्ग नै छैन! उदाहरणका लागि, तँ कतिपय मानिसहरू आफ्ना छोराछोरीहरूका लागि जिएको देख्छस्—तँलाई जिउने यो तरिका सही होइन भन्ने थाहा हुन्छ, तर के तँ आफ्ना छोराछोरीहरूका लागि जिउनबाट जोगिन सक्छस्? वा तँ कतिपय मानिस पैसा, ख्याति र प्राप्तिको खोजीमा दौडधुप गरेको र व्यस्त भएको देख्छस्—तेरो हृदयमा तँलाई यो मार्ग गलत हो भन्ने थाहा हुन्छ, तर के तँ तिनै कुराहरूका लागि दौडधुप गर्न र व्यस्त हुनबाट जोगिन सक्छस्? यदि तँ हिँडिरहेको मार्ग ख्याति र प्राप्ति पछ्याउने मार्ग नै हो, र तँलाई यो गलत मार्ग हो भन्ने थाहा छ, तैपनि तँ चाहेर पनि सत्यता पछ्याउने मार्गमा हिँड्न सक्दैनस् भने, यसको अर्थ तँ यस संसारमा कसरी जिउँछस् भन्ने कुरा तेरो नियन्त्रणमा छैन भन्ने हुन्छ! यसको जड के हो? त्यो के हो भने, मानिसहरूले परमेश्वरको काम स्वीकार गरेका छैनन् वा सत्यता प्राप्त गरेका छैनन्। मानिसहरूको आत्मिक सहारा के हो? तिनीहरू आत्मिक सहाराको खोजी कहाँ गर्छन्? आत्मिक सहाराका लागि, मानिसहरू परिवारको घनिष्ठता; विवाहको परमानन्द; भौतिक कुराहरूको मजा; धन, ख्याति, प्राप्ति, हैसियत, भावना र करियर; र अर्को पुस्ताको खुसीतर्फ हेर्छन्। के कसैले यी कुराहरूमा आत्मिक सहारा खोज्दैन र? छोराछोरी हुनेहरूले आफ्ना छोराछोरीहरूमा यो भेट्टाउँछन्; छोराछोरी नहुनेहरूले आफ्नो करियर, विवाह, सामाजिक हैसियत, र ख्याति र प्राप्तिमा यो भेट्टाउँछन्। त्यसकारण, यसरी उत्पन्न भएका जीवनका तरिकाहरू पनि सबै उस्तै हुन्छन्; शैतानको नियन्त्रण र शक्तिको अधीनमा रहेका, र आफ्नै इच्छाविपरीत, सबै मानिस हैसियत, ख्याति, प्राप्ति, आफ्नो करियर र भविष्य, आफ्नो विवाह, आफ्नो परिवार र आफ्ना छोराछोरीहरूको भविष्य, र दैहिक सुखका खातिर दौडधुप गर्छन् र व्यस्त हुन्छन्। के यो सही मार्ग हो? मानिसहरूले यस संसारमा जतिसुकै दौडधुप गरे पनि, तिनीहरू आफ्नो करियरमा जतिसुकै सफल भए पनि, तिनीहरूको परिवार जतिसुकै सुखी भए पनि, तिनीहरूको परिवार जतिसुकै ठूलो भए पनि, तिनीहरूको हैसियत जतिसुकै प्रतिष्ठित भए पनि—के तिनीहरू जीवनको सही मार्गमा लाग्न सक्षम हुन्छन्? ख्याति, र प्राप्ति अनि संसारको पछि लागेर, वा आफ्नो करियर पछ्याएर, के तिनीहरू परमेश्वरले यावत् थोक सृष्टि गर्नुभयो र उहाँ मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्य देख्न सक्छन्? यो सम्भव छैन। मानिसहरूले जे पछ्याए पनि वा तिनीहरू जुन मार्गमा हिँडिरहेका भए पनि, यदि तिनीहरूले परमेश्वर मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्य स्विकार्दैनन् भने, तिनीहरू हिँड्ने मार्ग गलत हुन्छ। त्यो सही मार्ग होइन, बरु टेढो, दुष्टताको मार्ग हो। तेरो आत्मिक साथको स्रोत पूरा भएको भए पनि वा नभएको भए पनि र त्यसका लागि तैँले जहाँ खोजे पनि, त्यो साँचो आस्था होइन, र यो जीवनको सही मार्ग होइन। साँचो आस्था के हो? यो त परमेश्वरको देखापराइ, काम र परमेश्वरले व्यक्त गर्नुभएका सबै सत्यता स्विकार्नु हो। यो सत्यता जीवनको सही मार्ग अनि मानिसहरूले पछ्याउनुपर्ने सत्यता र जीवन हो। जीवनमा सही मार्ग हिँड्नु भनेको परमेश्वरलाई पछ्याउनु र उहाँका वचनहरूको अगुवाइमा सत्यता बुझ्न, असल र खराब छुट्टयाउन, सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनी जान्न, र उहाँको सार्वभौमिकता र सर्वशक्तिमानता बुझ्न सक्नु हो। जब मानिसहरूले आफ्नो हृदयमा परमेश्वरले स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभएको मात्र होइन, तर उहाँ ब्रह्माण्ड र सबथोकमाथि सार्वभौम पनि हुनुहुन्छ भनेर साँच्चै बुझ्छन्, तब तिनीहरू उहाँका सबै योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन, उहाँका वचनहरूअनुसार जिउन, उहाँको डर मान्न र दुष्टताबाट अलग बस्न सक्नेछन्। यसको अर्थ मानिसहरूले जीवनको सही मार्गमा पाइला चालिसकेका छन् भन्ने हुनेछ। जब मानिसहरूले जीवनमा सही मार्ग लिन्छन्, तिनीहरूले मानिसहरू किन जिउँछन् र ज्योतिमा जिउन अनि परमेश्वरको आशिष् र अनुमोदन पाउन तिनीहरू कसरी जिउनुपर्छ भनेर बुझ्न सक्छन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
कतिपय मानिसहरूसँग “नियति भनेकै त्यही हो” भन्ने वाक्यको बारेमा उल्लेखनीय, गहन बुझाइ हुन्छ, तैपनि तिनीहरूले परमेश्वरको सार्वभौमिकतामा अलिकति पनि विश्वास गर्दैनन्; परमेश्वरले नै मानव नियतिलाई बन्दोबस्त र योजनाबद्ध गर्नुहुन्छ भन्नेमा तिनीहरू विश्वास गर्दैनन्, र तिनीहरू परमेश्वरको सार्वभौमिकतामा समर्पित हुन अनिच्छुक हुन्छन्। त्यस्ता मानिसहरूसित छालहरूसँगै यताउता हुत्तिँदै र बहावसँगै बहँदै समुद्रमा तैरिएझैँ, निष्क्रिय रूपले प्रतीक्षा गर्दै आफैलाई नियतिको हातमा समर्पित गर्नेबाहेक अन्य विकल्प हुँदैन। तैपनि तिनीहरू मानव नियति परमेश्वरको सार्वभौमिकताको अधीनमा छ भनी स्वीकार गर्दैनन्; तिनीहरूले आफै परमेश्वरको सार्वभौमिकता जान्न पहल गरेर परमेश्वरको अख्तियारको ज्ञान हासिल गर्न, परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन, नियतिको प्रतिरोध गर्न छोड्न, र परमेश्वरको हेरचाह, सुरक्षा र मार्गनिर्देशनमा जिउन सक्दैनन्। अर्को शब्दमा भन्दा, नियतिलाई स्वीकार गर्नु र सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुनु एउटै कुरा होइन; व्यक्तिले नियतिमा विश्वास गर्छ भन्दैमा उसले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार्छ, चिन्छ, र जान्दछ भन्ने हुँदैन; नियतिमा विश्वास गर्नु भनेको यसको सत्यता र यसको सतही प्रकटीकरणलाई पहिचान गर्नु मात्रै हो। यो कुरा सृष्टिकर्ताले मानवजातिको नियतिमाथि कसरी शासन गर्नुहुन्छ भन्ने कुरा जान्नुभन्दा फरक छ, सृष्टिकर्ता यावत् थोकको नियतिमाथिको प्रभुत्वको स्रोत हुनुहुन्छ भन्ने कुरा पहिचान गर्नुभन्दा फरक छ, र अवश्य नै मानवजातिको नियतिसम्बन्धी सृष्टिकर्ताको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनुभन्दा कोसौँ टाढा छ। मानौँ कुनै व्यक्तिले नियतिमा मात्रै विश्वास गर्छ, र ऊसँग त्यसबारे गहन बोधसमेत छ, तर ऊ यसरी मानवजातिको नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकता जान्न, मान्न, त्यसमा समर्पित हुन, वा त्यो स्वीकार गर्न सक्दैन। त्यस्तो अवस्थामा, उसको जीवन त्रासदी हुनेछ; ऊ अझै पनि यो जीवन व्यर्थमा जिउनेछ—त्यो सबै बेकार हुनेछ। ऊ सृष्टिकर्ताको प्रभुत्वमा आफूलाई समर्पण गर्न, शब्दको सच्चा अर्थमा सृजित मानव बन्न, अनि सृष्टिकर्ताको मान्यता प्राप्त गर्न असमर्थ रहिरहनेछ। सृष्टिकर्ताको सार्वभौमिकता साँचो रूपमा जान्ने र अनुभव गर्ने व्यक्ति सकारात्मक स्थितिमा हुनुपर्छ, नकारात्मक वा लत्तो छाड्ने स्थितिमा हुनु हुँदैन। बरु, सबै कुरा भाग्यमा लेखिएको हुन्छ भनेर उसले मान्दै गर्दा, उसको हृदयमा जीवन र नियतिको सही परिभाषा पनि हुन्छ: मानिसको सम्पूर्ण जीवन सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा हुन्छ। जब उसले आफू हिँडेको बाटोलाई फर्केर हेर्छ, जब उसले आफ्नो जीवनको हरेक चरणलाई सम्झन्छ, तब उसले आफ्नो यात्रा कठिन भए पनि वा सहज भए पनि—हरेक चरणमा—परमेश्वरले नै उसलाई मार्गनिर्देशन र उसका लागि प्रबन्ध गरिरहनुभएको थियो, उसले आफूलाई थाहै नपाई आजसम्म अगुवाइ गर्ने परमेश्वरको सूक्ष्म योजना, साथै उहाँको ध्यानपूर्ण प्रबन्ध नै थियो, जहाँ उसले सृष्टिकर्ताको सार्वभौमिकता र उहाँको मुक्ति स्वीकार गर्न सक्छ भन्ने कुरा बुझ्छ। यो व्यक्तिको जीवनको सबैभन्दा ठूलो आशिष् हो! यदि नियतिप्रति व्यक्तिको मनोवृत्ति नकारात्मक छ भने, ऊ परमेश्वरले उसका लागि बन्दोबस्त गर्नुभएका सबै कुराहरूको प्रतिरोध गरिरहेको छ र उसमा समर्पित मनोवृत्ति छैन भन्ने प्रमाणित गर्छ। यदि मानव नियतिमाथि परमेश्वरको सार्वभौमिकताप्रति कुनै व्यक्तिको मनोवृत्ति सकारात्मक छ भने, जब उसले आफूले हिँडेको मार्गलाई फर्केर हेर्छ, जब उसले परमेश्वरको सार्वभौमिकता साँच्चै अनुभव गर्छ, तब उसले परमेश्वरले बन्दोबस्त गरेका सबै कुरामा समर्पित हुने झन् सच्चा रूपमा इच्छा गर्नेछ, र ऊसँग परमेश्वरलाई आफ्नो नियति योजनाबद्ध गर्न दिन, परमेश्वरविरुद्ध विद्रोह गर्न छाड्न थप सङ्कल्प र आस्था हुनेछ। किनकि उसले के देख्छ भने जब मानिसहरूले भाग्य के हो भनेर जान्दैनन् वा परमेश्वरको सार्वभौमिकतालाई बुझ्दैनन्, तिनीहरू आफूखुसी सङ्घर्ष गरिरहेका र कुहिरोभित्र ठक्कर खाँदै अघि बढिरहेका हुन्छन्, र त्यो यात्रा अत्यन्तै कठिन हुन्छ, र यसले हृदयलाई ज्यादै चोट दिन्छ। त्यसकारण, जब मानिसहरूले मानवको भाग्यमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ भनेर थाहा पाउँछन्, तब चलाख मानिसहरू भाग्यविरुद्ध सङ्घर्ष गरिरहनु र आफ्ना तथाकथित जीवन लक्ष्यहरू आफ्नै तरिकाले पछ्याइरहनुभन्दा बरु परमेश्वरको सार्वभौमिकता थाहा पाउन र त्यसलाई स्वीकार गर्न, अनि “आफ्नै दुई हातद्वारा सुन्दर जीवन निर्माण गर्ने प्रयास गर्दाका” पीडादायी दिनहरूलाई बिदा गर्न रोज्छन्। जब कुनै व्यक्ति परमेश्वरविहीन हुन्छ, जब उसले उहाँलाई देख्न सक्दैन, जब उसले परमेश्वरको सार्वभौमिकतालाई साँचो र स्पष्ट रूपमा जान्न सक्दैन, तब हरेक दिन अर्थहीन, मूल्यहीन र अवर्णनीय रूपमा पीडादायी हुन्छ। कुनै व्यक्ति जहाँ भए पनि, र उसको जागिर जे भए पनि, उसका जीवन धान्ने उपायहरू र उसले पछ्याउने लक्ष्यहरूले उसलाई अनन्त मनोव्यथा र बिर्सन गाह्रो पीडाबाहेक केही दिँदैनन्, जुन उसले फर्केर हेर्नै नसक्ने अनुभवहरू हुन्। सृष्टिकर्ताको सार्वभौमिकतालाई स्विकारेर, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित भएर, अनि साँचो मानव जीवनको प्राप्तिलाई पछ्याएर मात्रै, व्यक्ति क्रमिक रूपमा सबै मनोव्यथा र पीडाबाट उम्कन सक्छ, र उसले बिस्तारै आफूलाई मानव जीवनका सबै खोक्रोपनबाट मुक्त गर्न सक्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३
मानिसहरूलाई परमेश्वरका योजनाबद्ध कार्यहरू र परमेश्वरको सार्वभौमिकता थाहा नहुने हुनाले, उनीहरू सधैँ अवज्ञाकारी मनस्थिति र विद्रोही मनोवृत्तिका साथ नियतिको सामना गर्छन्, र उनीहरू सधैँ परमेश्वरको अख्तियार र सार्वभौमिकता साथै नियतिमा रहेका कुराहरूबाट मुक्त हुन चाहन्छन्, र आफ्ना वर्तमान परिस्थितिहरू परिवर्तन गर्ने र आफ्नो नियति बदल्ने व्यर्थको आशा गर्छन्। तर उनीहरू कहिल्यै सफल हुन सक्दैनन् र हर मोडमा पछारिन्छन्। उनीहरूको आत्माको गहिराइमा हुने यस सङ्घर्षले उनीहरूलाई पीडा दिन्छ, र यो पीडा उनीहरूको हड्डीमै खोपिन्छ, र साथसाथै उनीहरूलाई आफ्नो जीवन खेर फाल्ने तुल्याउँछ। यो पीडाको कारण के हो त? के यसको कारण परमेश्वरको सार्वभौमिकता हो, वा खराब नियति हुनु हो? अवश्य नै, दुवै सत्य होइनन्। अन्तिम विश्लेषणमा, मानिसहरूले लिने मार्गहरू र उनीहरूले आफ्नो जीवन जिउन रोज्ने तरिकाहरूका कारण यस्तो हुन्छ। कतिपय मानिसले यी कुराहरू अनुभव नगरेका हुन सक्छन्। तर जब तँ मानव नियतिमाथि परमेश्वरले सार्वभौमिकता राख्नुहुन्छ भनेर साँच्चै जान्दछस् र मान्छस्, जब तँ परमेश्वरले सार्वभौमिकता राख्ने र तेरो लागि प्रबन्ध गर्ने सबै कुरा तेरो लागि अत्यन्तै फाइदाजनक र सुरक्षात्मक छ भनी साँच्चै बुझ्छस्, तब तैँले आफ्नो पीडा बिस्तारै हल्का भएको अनुभव गर्नेछस्, र तेरो सम्पूर्ण सत्त्व बिस्तारै सहज, स्वतन्त्र र आजाद बन्नेछ। अधिकांश मानिसको स्थितिलाई हेर्दा, तिनीहरूले व्यक्तिपरक स्तरमा पहिले जसरी नै जिउन नचाहे पनि र आफ्नो पीडाबाट मुक्ति पाउन चाहे पनि, वस्तुगत रूपमा तिनीहरू मानव नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको व्यावहारिक मूल्य र अर्थ साँचो रूपमा स्वीकार गर्न सक्दैनन्; वस्तुगत रूपमा, तिनीहरू सृष्टिकर्ताको सार्वभौमिकतालाई साँच्चै पहिचान गर्न र त्यसमा समर्पित हुन सक्दैनन्, र सृष्टिकर्ताका योजनाबद्ध कार्य र बन्दोबस्तहरू कसरी खोज्ने र स्वीकार गर्ने भन्ने त तिनीहरूलाई झनै थाहा हुँदैन। त्यसकारण, यदि मानिस सृष्टिकर्ताले उसको नियति र उसका सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्य साँच्चै जान्न सक्दैन, र ऊ सृष्टिकर्ताको प्रभुत्वअन्तर्गत साँच्चै समर्पित हुन सक्दैन भने, उसलाई मानिसको नियति आफ्नै हातमा हुन्छ भन्ने विचारद्वारा निर्देशित नहुन र नबाँधिन अत्यन्तै गाह्रो हुनेछ, र उसलाई नियति र सृष्टिकर्ताको अख्तियारविरुद्धको उसको तीव्र सङ्घर्षले ल्याएको पीडाबाट मुक्त हुन अत्यन्तै गाह्रो हुनेछ—अवश्य नै, उसलाई साँच्चै आजाद र स्वतन्त्र हुन, परमेश्वरलाई आराधना गर्ने जन बन्न पनि अत्यन्तै गाह्रो हुनेछ। यो स्थितिबाट आफूलाई उम्काउने सबैभन्दा सरल तरिका भनेको जीवन जिउने आफ्नो पुरानो तरिकालाई बिदा गर्नु हो; आफ्नो जीवनका पहिलेका लक्ष्यहरूलाई बिदा गर्नु हो; आफ्नो पहिलेको जिउने तरिका, जीवनसम्बन्धी दृष्टिकोण, पछ्याइ, चाहना, र आकाङ्क्षाहरूलाई सारांशीकृत र चिरफार गर्नु हो; त्यसपछि तिनलाई मानिसप्रति परमेश्वरका अभिप्राय र मागहरूसँग तुलना गरेर तीमध्ये कुनै परमेश्वरका अभिप्रायहरूसँग मिल्दो छन् कि छैनन्, तीमध्ये कुनै परमेश्वरका मागहरूअनुरूप छन् कि छैनन्, तीमध्ये कुनैले जीवनको सही मूल्य प्रदान गर्छन् कि गर्दैनन्, र तीमध्ये कुनैले व्यक्तिलाई सत्यताको झन्-झन् बढी बुझाइ, अनि मानवता र मानिसको रूपका साथ जिउन सक्षम बनाउँछन् कि बनाउँदैनन् भनेर हेर्नु हो। जब तैँले मानवजातिले जीवनमा पछ्याउने विभिन्न लक्ष्य र तिनीहरूका विभिन्न जिउने तरिकालाई बारम्बार अनुसन्धान र होसियारीपूर्वक चिरफार गर्छस्, तब तैँले तीमध्ये एउटै पनि मानवजातिलाई सृष्टि गर्दा सृष्टिकर्ताले राख्नुभएको प्रारम्भिक अभिप्रायअनुरूप नरहेको पाउनेछस्। ती सबैले मानिसहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता र हेरचाहबाट टाढा लैजान्छन्; ती सबै मानिसहरूलाई चरित्रभ्रष्ट तुल्याउने र नरकतर्फ डोर्याउने पासो हुन्। यो कुरा बुझेपछि, तैँले जीवनसम्बन्धी आफ्नो पुरानो दृष्टिकोणलाई छोड्नुपर्छ, विभिन्न पासोहरूबाट टाढा बस्नुपर्छ, र परमेश्वरलाई तेरो जीवन नियन्त्रण गर्न र तेरा लागि प्रबन्धहरू गर्न दिनुपर्छ, कुनै पनि व्यक्तिगत छनौट नगरी परमेश्वरका योजनाबद्ध कार्यहरू र मार्गदर्शनमा मात्रै समर्पित हुन खोज्नुपर्छ, र परमेश्वरलाई आराधना गर्ने व्यक्ति बन्नुपर्छ। यो सुन्दा सजिलो लाग्छ, तर गर्न गाह्रो कुरा हो। कतिपय मानिसले यसको पीडा सहन सक्छन्, अरूले सक्दैनन्। कतिपय पालन गर्न इच्छुक हुन्छन्, अरू अनिच्छुक हुन्छन्। अनिच्छुक हुनेहरूमा त्यसो गर्ने चाहना र सङ्कल्पको कमी हुन्छ; तिनीहरू परमेश्वरको सार्वभौमिकताबारे स्पष्ट रूपमा सचेत हुन्छन्, मानव नियतिको योजना बनाउने र बन्दोबस्त गर्ने परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा राम्रोसँग जान्दछन्, तैपनि तिनीहरू अझै पनि खुट्टा बजार्छन् र सङ्घर्ष गर्छन् र आफ्नो नियतिलाई परमेश्वरको हातमा सुम्पन र परमेश्वरको सार्वभौमिकतामा समर्पित हुन अनिच्छुक नै रहन्छन्; अझ भन्ने हो भने, तिनीहरू परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति रुष्ट हुन्छन्। त्यसैले कतिपय यस्ता मानिस सधैँ नै हुनेछन् जो आफू के गर्न सक्षम रहेको भनेर आफै हेर्न चाहन्छन्; परमेश्वरको अख्तियारको सीमा नाघ्न र परमेश्वरको सार्वभौमिकताभन्दा माथि उठ्न सकिन्छ कि सकिँदैन भनेर हेर्न, तिनीहरू आफ्नै दुई हातले आफ्नो नियति परिवर्तन गर्न, वा आफ्नै शक्तिले खुसी हासिल गर्न चाहन्छन्। मानिसको त्रासदी ऊ सुखी जीवन पछ्याउँछ भन्ने होइन, ऊ ख्याति र प्राप्ति पछ्याउँछ वा ऊ अस्पष्टताको बीचबाट आफ्नै नियतिविरुद्ध सङ्घर्ष गर्छ भन्ने होइन, बरु, सृष्टिकर्ताको अस्तित्व देखिसकेपछि, र सृष्टिकर्ताले मानव नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्य थाहा पाइसकेपछि पनि, ऊ गलत मार्गबाट फर्कन सक्दैन, हिलोबाट आफ्ना खुट्टा निकाल्न सक्दैन, बरु आफ्नो हृदयलाई कठोर बनाउँछ र आफ्ना गल्तीहरूमा हठपूर्वक लागिरहन्छ भन्ने हो। ऊ बरु अलिकति पनि पछुतोको मनोवृत्तिविना हिलोमै लडिबुडी गरिरहन, सृष्टिकर्ताको सार्वभौमिकताको विरुद्धमा हठपूर्वक लडिरहन, अन्त्यसम्मै यसको प्रतिरोध गरिरहन रुचाउँछ। जब ऊ क्षतविक्षत र रक्ताम्मे भएर लड्छ, तब मात्र उसले अन्ततः हार मान्ने र फर्कने निर्णय गर्छ। मानिसको साँचो त्रासदी यही हो। त्यसैले म भन्छु, समर्पित हुन छनौट गर्नेहरू बुद्धिमान् हुन्, जबकि मुक्त हुन छनौट गर्नेहरू मूर्ख र हठी हुन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३