७. कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको प्रत्येक आइतबार मण्डलीमा उपस्थित हुनु, दान दिनु र परोपकारी हुन, अनि मण्डलीका क्रियाकलापहरूमा नियमित उपस्थित हुनु हो भनी सोच्छन्। यस्ता कुराहरू गरेर तिनीहरूले मुक्ति पाउन सक्छन् भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। के त्यस्ता विचारहरू परमेश्‍वरको इच्छा अनुरूप छन्?

सन्दर्भका लागि बाइबलका पदहरू:

“मलाई प्रभु, प्रभु भन्‍ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)

“स्वर्गको राज्यले हिंसा भोगेको छ, र यसलाई हिंस्रकहरूले बलजफती कब्जा गर्छन्” (मत्ती ११:१२)

“साँच्‍चै, म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनौ” (मत्ती १८:३)

परमेश्वरका सान्दर्भिक वचनहरू:

धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको आस्थाको अर्थ के हो, र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन तिनीहरूले ठ्याक्कै कस्तो व्यवहार गर्नुपर्छ भनी बुझ्दछन्। किनभने, मानिसहरूलाई “परमेश्‍वर” शब्द र “परमेश्‍वरको कार्य” जस्ता वाक्यांश थाहा भए पनि तिनीहरूले परमेश्‍वरलाई नचिन्नु, र अझ उहाँको कार्यको बारेमा त नजान्नु हो। त्यसैले, परमेश्‍वरलाई नचिन्नेहरू सबै उहाँमाथिको विश्‍वासमा अलमलिनु कुनै अचम्म मान्नुपर्ने कुरा होइन। मानिसहरूले परमेश्‍वरप्रतिको विश्‍वासलाई गम्भीर रूपमा लिँदैनन्, र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कार्य धेरै नै अपरिचित र अनौठो लागेको कारणले गर्दा नै पूर्ण रूपमा यसो भएको हुन्छ। यसरी, तिनीहरू परमेश्‍वरका मागहरू पूरा गर्नबाट धेरै टाढा हुन्छन्। अर्को शब्दमा भन्‍नुपर्दा, यदि मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन्, र उहाँको कार्यको बारेमा जान्दैनन् भने, तिनीहरू परमेश्‍वरको प्रयोगका लागि योग्य हुँदैनन्, तिनीहरूले उहाँका अभिप्रायहरू पूरा गर्ने कुरा त परै जाओस्। “परमेश्‍वरमाथिको विश्‍वास” भनेको परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धमा सबैभन्दा सरल अवधारणा यही हो। एक कदम अघि बढेर भन्नुपर्दा, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु भनेको परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्नु सरह होइन; बरु, यो बलियो धार्मिक धारणा सहितको साधारण विश्‍वास हो। परमेश्‍वरप्रतिको साँचो आस्थाको अर्थ निम्नानुसार हुन्छ: परमेश्‍वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने विश्‍वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावहरूलाई फाल्छ, परमेश्‍वर का अभिप्रायहरू पूरा गर्छ, र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र “परमेश्‍वरमाथिको आस्था” भन्न सकिन्छ। तापनि मानिसहरूले परमेश्‍वरमाथिको विश्‍वासलाई प्रायजसो एउटा निकै साधारण र सानोतिनो कुराको रूपमा हेर्छन्। जब मानिसहरूले यस तरिकाले परमेश्‍वरमा विश्‍वास गर्छन्, तब त्यसको अर्थ गुम्छ, र तिनीहरूले आखिरीसम्म विश्‍वास गरिरहे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरू गलत बाटोमा हिँड्छन्। जसले आजको दिनसम्म वचनहरूअनुसार परमेश्‍वरमा र खोक्रा धर्मसिद्धान्तमा विश्‍वास गर्छन् तिनीहरूलाई आफूमा परमेश्‍वरमाथिको विश्‍वासको सारको अभाव छ, र तिनीहरूले परमेश्‍वरको अनुमोदन पाउन सक्दैनन् भनेर थाहा हुँदैन। तैपनि तिनीहरू आफूलाई शान्ति र पर्याप्त अनुग्रहले आशिषित् गर्नुहोस् भनी परमेश्‍वरलाई प्रार्थना गर्छन्। हामी आफ्नो हृदयलाई शान्त पारौँ र कडा रूपले सोचौँ: के परमेश्‍वरमा विश्‍वास गर्नु पृथ्वीको सबैभन्दा सजिलो कुरा हुन सक्छ? के परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरबाट धेरै अनुग्रह पाउनु बाहेक अरू केही होइन भन्‍ने हुनसक्छ? के परमेश्‍वरलाई नचिनी उहाँमा विश्‍वास गर्ने वा परमेश्‍वरमा विश्‍वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँका अभिप्रायहरू पूरा गर्न सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

कतिपय मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्ने कुरालाई निकै सरल ढङ्गले हेर्छन्। तिनीहरू सोच्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नु भनेको भेलाहरूमा सहभागी हुनु, प्रार्थना गर्नु, प्रवचन सुन्नु, सङ्गति गर्नु, परमेश्‍वरको भजन र स्तुति गर्नु, अनि केही कर्तव्यपालन गर्नु हो। के परमेश्‍वरमा विश्‍वास भनेको यही नै होइन?” अहिले, तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति वर्ष भए तापनि, परमेश्‍वरमा विश्‍वास गर्नुको महत्त्वबारे अझै पूर्ण रूपमा बुझेका छैनौ। वास्तवमा, परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ यति गहन छ कि कुनै व्यक्तिको अनुभव एकदमै छिपछिपे छ भने, उसले यसलाई बोध गर्नै सक्दैन। जब उसले अन्तसम्म नै अनुभव गर्दछ, तब ऊभित्र रहेका सैतानको स्वभाव र सैतानी विषहरू धोइएर रूपान्तरण हुनुपर्छ। मानिसहरूले आफूलाई धेरै सत्यताहरूले सुसज्जित गर्नुपर्छ, मानिसबाट परमेश्‍वरले चाहनुभएका मापदण्डहरू पूरा गर्नुपर्छ र साँचो रूपमा परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्षम हुनुपर्छ। तब मात्र तिनीहरूले वास्तवमै मुक्ति पाउनेछन्। यदि तँ अझै पनि पहिले धर्मको हिस्सा हुँदाको जस्तै छस् भने, केही शब्द र धर्मसिद्धान्त पाठ गर्नु र केही नारा फलाक्नु, केही असल व्यवहार र काम गर्नु, र कम्तीमा स्पष्ट देखिने निश्चित पापपूर्ण कुराहरूबाट बच्नु मात्रले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ सही मार्ग प्रवेश गरेको छस् भनेर देखाउँदैन। प्रावधानहरू पछ्याउँदैमा तँ सही मार्गमा छस् भन्‍ने हुन्छ र? के यसको अर्थ तैँले सही छनोट गरिस् भन्‍ने हुन्छ र? यदि तेरो प्रकृतिभित्र भएका कुराहरू परिवर्तन हुँदैनन् भने, तैँलै अझै पनि परमेश्‍वरको प्रतिरोध गर्न र अन्तमा उहाँलाई चिढ्याउन सक्छस्। यो सबभन्दा ठुलो समस्या हो। यदि तैँले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा रहेको यो समस्या समाधान गर्दैनस् भने, के तैँले साँचो रूपमा मुक्ति पाएको छस् भनेर भन्न सकिन्छ? मैले यसबाट ठ्याक्कै के भन्न खोज्दै छु? म चाहन्छु कि तिमीहरूले हृदयबाटै के बुझ भने परमेश्‍वरमाथिको विश्‍वासलाई उहाँको वचनबाट अलग गर्न सकिँदैन, न त यसलाई परमेश्‍वर स्वयम् वा सत्यताबाट नै अलग गर्न सकिन्छ। तैँले सही मार्ग चुन्नुपर्छ, अनि सत्यता र परमेश्‍वरको वचनमा प्रयास लगाउनुपर्छ। तैँले आंशिक वा साधारण बुझाइ मात्र हासिल गरेर हुँदैन, र मुख्य कुरा यही हो। आफूलाई मूर्ख बनाउनुले तँलाई हानि मात्रै गर्नेछ। तेरो विश्‍वासलाई तेरो कल्पनामा आधारित गर्नु राम्रो होइन। यदि तँ अन्तसम्म विश्‍वास गर्छस्, तर परमेश्‍वर तेरो हृदयमा हुनुहुन्न भने, यदि तँ उहाँको वचनका पृष्ठहरू छिटो छिटो पल्टाउँछस्, तर त्यसलाई पछि सम्झन सक्दैनस् भने, र यदि तेरो हृदयमा परमेश्‍वरका लागि ठाउँ छैन भने, तँ सकिइस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सही मार्ग चुन्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो

अब मानिसहरूको आस्थाको अन्तिम अर्थ के हो त? सरल रूपमा भन्नुपर्दा, यो मुक्ति प्राप्त गर्नको निम्ति हो। अनि मुक्तिको महत्त्व के हो? म चाहन्छु कि तिमीहरू सबैले त्यसबारे सोच र वास्तवमा मुक्ति प्राप्त गर्नुको अर्थ के हो मलाई बताओ। (त्यसको अर्थ हामी शैतानको अँध्यारो प्रभावबाट मुक्त हुन, पूर्णतया परमेश्‍वरतर्फ फर्कन, र अन्ततः बाँच्न सक्छौँ भन्‍ने हो।) (शैतानको शक्तिमा जिउने मानिसहरू मृत्युको हकदार हुन्छन्, तर परमेश्‍वरको काम अनुभव गरेर मुक्ति प्राप्त गर्ने मानिसहरू मर्नेछैनन्।) तिमीहरू सबैले यो कुरा बुझ्छौ र त्यसलाई धर्मसिद्धान्तको स्तरमा व्याख्या गर्न सक्छौ, तर तिमीहरूलाई मुक्ति प्राप्त गर्नु भनेको वास्तवमा के हो भनेर थाहै छैन। के मुक्ति प्राप्त गर्नु तेरो भ्रष्ट स्वभाव हटाउनु हो र? के मुक्ति प्राप्त गर्नुले नढाँट्ने, इमानदार व्यक्ति बन्‍ने र परमेश्‍वरविरुद्ध विद्रोह गर्न छोड्ने अर्थ दिन्छ? मुक्ति पाइसकेपछि मानिसहरू कस्ता हुन्छन्? सामान्य भाषामा भन्नुपर्दा, मुक्ति प्राप्त गर्नुको अर्थ तँ जिइरहन सक्नेछस्, तँलाई जीवनमा फर्काइएको छ भन्‍ने हुन्छ। एक समय तँ पापमा जिइरहेको थिस्, र तेरो मृत्यु निश्चित थियो—र परमेश्‍वरको नजरमा तँ मृत व्यक्ति थिस्। यसो भन्नुको आधार के हो? मुक्ति पाउनुअघि मानिसहरू कसको सत्तअन्तर्गत जिउँछन्? (शैतानको सत्ताअन्तर्गत।) अनि शैतानको सत्ताअन्तर्गत जिउनका निम्ति मानिसहरू कुन कुरामा भर पर्छन् त? उनीहरू आफ्नो शैतानी प्रकृति र भ्रष्ट स्वभावमा भर पर्छन्। त्यसपछि उनीहरूको सम्पूर्ण अस्तित्व—उनीहरूको देह, उनीहरूको आत्मा र उनीहरूका सोचजस्ता अन्य सबै कुराहरू—जीवित हुन्छन् कि मृत हुन्छन्? परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, ती मृत हुन्छन्, तिनीहरू जिउँदो लाश हुन्। बाहिरी रूपमा, तैँले सास फेरिरहेको र सोचविचार गरिरहेको देखिन्छ, तर तैँले निरन्तर रूपमा सोच्ने सबथोक दुष्ट परमेश्‍वरलाई चुनौती दिने र परमेश्‍वरविरुद्ध विद्रोह गर्ने हुन्छन्, तेरा सबै सोचहरू परमेश्‍वरले घिनाउने, घृणा र निन्दा गर्ने कुरा हुन्। परमेश्‍वरको नजरमा, यी सबै थोकहरू देहका मात्र हुँदैनन्, बरु ती त पूर्ण रूपमा शैतान र दियाबलसका हुन्छन्। त्यसोभए, परमेश्‍वरको नजरमा, के भ्रष्ट मानवजाति मानवसमेत हुन्छ र? हुँदैन, तिनीहरू पशु, दियाबलस र शैतान हुन्; तिनीहरू जिउँदा शैतान हुन्! सबै मानिसहरू शैतानको प्रकृति र स्वभावअनुसार जिउँछन्, र परमेश्‍वरको नजरमा, तिनीहरू मानव देह धारण गरेका जिउँदा शैतान हुन्, मानवको खोल ओडेका दियाबलसहरू हुन्। परमेश्‍वर त्यस्ता मानिसहरूलाई जिउँदा लाश, अर्थात् मरेका मानिस भनेर चित्रण गर्नुहुन्छ। परमेश्‍वर अहिले मुक्तिको काम गर्दै हुनुहुन्छ, यसको मतलब उहाँले शैतानको भ्रष्ट स्वभाव र त्यसको भ्रष्ट सारअनुसार जिउने जिउँदा लाशहरूलाई—अर्थात् मरेका मानिसहरूलाई—लिनुहुन्छ र तिनीहरूलाई जिउँदा मानिसहरूमा परिणत गर्नुहुन्छ। मुक्ति प्राप्त गर्नुको अर्थ त्यही हो। व्यक्तिले मुक्ति प्राप्त गर्नको निम्ति परमेश्‍वरमा विश्‍वास गर्छ—मुक्ति पाउनु भनेको के हो? जब व्यक्तिले परमेश्‍वरबाट मुक्ति प्राप्त गर्छ, तब ऊ मृतकबाट जीवित बन्छ। कुनैबेला तिनीहरू शैतानका थिए र तिनीहरू मर्नु निश्‍चित थियो, तर अहिले तिनीहरूले परमेश्‍वरका मानिसहरूको रूपमा जीवन प्राप्त गरेका छन्। यदि परमेश्‍वरमा विश्‍वास गर्दा र उहाँलाई पछ्याउँदा, मानिसहरू परमेश्‍वरप्रति समर्पित हुन, उहाँलाई चिन्न, र आराधनामा उहाँसामु झुक्न सक्छन् भने, यदि तिनीहरूको हृदयमा परमेश्‍वरविरुद्ध प्रतिरोध र विद्रोह छैन, र तिनीहरूले अबउप्रान्त उहाँलाई प्रतिरोध वा आक्रमण गर्नेछैनन्, र तिनीहरू उहाँप्रति साँच्चै समर्पित हुन सक्छन् भने, परमेश्‍वरको नजरमा तिनीहरू साँचा जिउँदा मानिसहरू हुन्। के मुखले मात्र परमेश्‍वरलाई स्विकार्ने व्यक्ति जिउँदो व्यक्ति हो र? (होइन।) त्यसोभए, कस्तो खालको व्यक्तिचाहिँ जिउँदो व्यक्ति हो त? जिउँदो मानिसका वास्तविकताहरू के-के हुन्? जिउँदा मानिसहरूमा के-कस्ता गुणहरू हुनुपर्छ? तिमीहरूको राय मलाई सुनाओ त। (सत्यता स्विकार्न सक्ने मानिसहरू नै जिउँदा व्यक्तिहरू हुन्। मानिसहरूका वैचारिक दृष्टिकोणहरू र विभिन्‍न कुराहरूसम्बन्धी विचारहरू परिवर्तन भएर परमेश्‍वरका वचनहरूअनुरूप हुन्छन् भने तिनीहरू जिउँदा मानिसहरू हुन्।) (सत्यता बुझ्ने र अभ्यास गर्न सक्नेहरू नै जिउँदा मानिसहरू हुन्।) (अय्यूबजस्तो परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति नै जिउँदो व्यक्ति हो।) (परमेश्‍वरलाई चिन्ने मानिसहरू परमेश्‍वरका वचनहरूअनुसार जिउन सक्छन्, र तिनीहरू सत्यता वास्तविकतालाई जीवनमा उतार्छन्—तिनीहरू जिउँदा मानिसहरू हुन्।) तिमीहरू सबैले एकखाले प्रकटीकरणबारे बतायौ। व्यक्तिले अन्त्यमा मुक्ति प्राप्त गर्न र जिउँदो व्यक्ति बन्नको लागि, कम्तीमा पनि उसले परमेश्‍वरका वचनहरूलाई ध्यान दिन सक्नुपर्छ, उसले विवेक र समझका वचनहरू बोल्न सक्नुपर्छ, उसले सोच्न र खुट्ट्याउन सक्नैपर्छ, उसले सत्यता बुझ्न र अभ्यास गर्न सक्नुपर्छ, र उसले परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई आराधना गर्न सक्नुपर्छ। साँचो जिउँदो व्यक्ति त्यही हो। जिउँदा मानिसहरूले प्रायः के सोच्छन् र के गर्छन्? तिनीहरूले सामान्य मानिसहरूले गर्नुपर्ने केही कामहरू गर्न सक्छन्। मुख्य गरी, तिनीहरूले आफ्ना कर्तव्यहरू राम्ररी निभाउँछन्, र तिनीहरूले नियमित रूपले जे सोच्छन् र प्रकाश गर्छन्, जे भन्छन् र गर्छन् त्यसमा परमेश्‍वरको डर मान्छन् र दुष्टताबाट अलग बस्छन्। तिनीहरूले प्रायः जे सोच्छन् र गर्छन् त्यसको प्रकृति यही हो। अझै अलि प्रस्ट रूपमा भन्नुपर्दा, कम्तीमा पनि तिनीहरूले सामान्यतया गर्ने र भन्‍ने कुरा सत्यतासँग मिल्छ। त्यसलाई परमेश्‍वरले निन्दा वा तिरस्कार गर्नुहुन्‍न, बरु उहाँले मान्यता दिनुहुन्छ र अनुमोदन गर्नुहुन्छ। जिउँदा मानिसहरूले गर्ने कुरा यही हो, र तिनीहरूले गर्नुपर्ने कुरा पनि यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। साँचो समर्पणद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ

सामान्य आत्मिक जीवन प्रार्थना गर्ने, भजन गाउने, मण्डली जीवनमा भाग लिने, परमेश्‍वरका वचनहरू खाने र पिउने जस्ता अभ्यासहरूमा सीमित छैन। बरु, यसमा त एउटा नयाँ र जीवन्त आत्मिक जीवन जिउने कार्य समावेश हुन्छ। तैँले कसरी अभ्यास गर्छस् भन्‍ने होइन, बरु तेरो अभ्यासले कस्तो फल फलाउँछ भन्‍ने चाहिँ महत्त्वपूर्ण कुरा हो। धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने सामान्य आत्मिक जीवनमा प्रार्थना गर्नु, भजन गाउनु, परमेश्‍वरका वचनहरू खानु र पिउनु वा उहाँका वचनहरूलाई ध्यान दिनु जरुरी हुन्छ, चाहे त्यस्ता प्रचलनहरूले वास्तवमा कुनै असर पारोस् वा नपारोस् वा साँचो बुझाइमा डोर्‍याओस् वा नडोर्‍याओस्। यी मानिसहरूले नतिजाहरूलाई ध्यानै नदिई सतही प्रक्रियाहरूलाई पछ्याउने कार्यमा ध्यान दिन्छन्; तिनीहरू धार्मिक रीतिथितिमा जिउने मानिसहरू हुन्, मण्डलीभित्र जिउने मानिसहरू होइनन्, तिनीहरू राज्यका मानिसहरू हुने कुरा त परै जाओस्। तिनीहरूका प्रार्थना, भजन गाउने, र परमेश्‍वरका वचनहरू खाने र पिउने कार्य भनेका केवल नियमावलीहरू पालना गर्ने स्वरूप हुन् जुन बाध्यताको कारण र प्रचलनहरूलाई पूरा गर्नको लागि गरिएका हुन्, इच्छाले वा हृदयबाट गरिएका होइनन्। यी मानिसहरूले जति नै प्रार्थना गरे पनि वा गीत गाए पनि, तिनीहरूका प्रयासले कुनै फल फलाउनेछैन, किनभने तिनीहरूले अभ्यास गर्ने भनेका केवल धर्मका नियमावली र अनुष्ठानहरू मात्र हुन्; तिनीहरूले वास्तवमा परमेश्‍वरका वचनहरू अभ्यास गरिरहेका हुँदैनन्। तिनीहरूले कसरी अभ्यास गर्छन् भन्‍ने बारेमा हल्लीखल्ली गर्नमा मात्रै तिनीहरू ध्यान दिन्छन्, र उनीहरूले परमेश्‍वरका वचनहरूलाई पालन गर्नुपर्ने नियमावलीहरूका रूपमा लिन्छन्। त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरूलाई अभ्यास गरिरहेका हुँदैनन्; तिनीहरूले केवल देहलाई सन्तुष्ट पारिरहेका हुन्छन्, र अरू मानिसहरूलाई देखाउनका लागि कार्य गरिरहेका हुन्छन्। यी धार्मिक नियमावली र अनुष्ठानहरू सबै मानवबाट आएका हुन्; ती परमेश्‍वरबाट आएका होइनन्। परमेश्‍वर न त नियमावलीहरू पालना गर्नुहुन्छ, न उहाँ कुनै कानुनको अधीनमा हुनुहुन्छ। बरु उहाँले त व्यवहारिक कार्य पूरा गर्दै दिनहुँ नयाँ काम गर्नुहुन्छ। हरेक दिन बिहानको सेवाहरूमा भाग लिने, साँझको प्रार्थना र खानाको अगाडि कृतज्ञताको प्रार्थना गर्ने, र सबै कुरामा धन्यवाद दिनेजस्ता अभ्यासहरूमा आफैलाई सीमित राख्ने थ्री सेल्फ चर्चका मानिसहरूजस्तै—उनीहरूले जति नै यसो गरे पनि र जति धेरै समयसम्म तिनीहरूले त्यसो गरे पनि, तिनीहरूसँग पवित्र आत्माको काम हुनेछैन। जब मानिसहरू नियमावलीहरूमा बाँचिरहेका हुन्छन् र आफ्ना हृदयलाई अभ्यासका विधिहरूमा केन्द्रित गर्छन्, पवित्र आत्माले काम गर्न सक्‍नुहुन्‍न, किनकि उनीहरूको हृदय नियमावलीहरू र मानवीय धारणाहरूले ओगटेको हुन्छ। तसर्थ, परमेश्‍वर हस्तक्षेप गर्न र तिनीहरूमा काम गर्न असमर्थ हुनुहुन्छ, र तिनीहरू केवल व्यवस्थाको नियन्त्रणमा मात्र जिइरहन सक्छन्। यस्ता मानिसहरू परमेश्‍वरको प्रशंसा प्राप्त गर्न सदा असक्षम हुन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सामान्य आत्मिक जीवनको सम्‍बन्धमा

तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, तैँले उहाँका वचनहरू खानु र पिउनुपर्छ, उहाँका वचनहरू अनुभव गर्नुपर्छ, र उहाँका वचनहरूमा जिउनुपर्छ। केवल यसलाई मात्र परमेश्‍वरमा विश्‍वास गर्नु भनेर भन्न सकिन्छ! यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छु भनी भन्छस्, तर पनि उहाँका कुनै पनि वचनहरूलाई व्यवहारमा लागू गर्न वा कुनै वास्तविकता पैदा गर्न सक्दैनस् भने, यसलाई परमेश्‍वरमा विश्‍वास गर्नु भनिदैन। बरु, यो “पेट फुटुन्जेल रोटी खान खोज्नु” हो। वास्तविकताको सानो अंश समेत नजानी, नगण्य प्रमाणहरू, प्रयोगहीन कुराहरू, र सतही कुराहरूबारे मात्र बोल्‍नु: यिनीहरूले परमेश्‍वरमा विश्‍वास निर्माण गर्न सक्दैनन्, र तैँले परमेश्‍वरमा विश्‍वास गर्ने ठीक तरिकालाई बिलकुल बुझेको छैनस्। तैँले किन परमेश्‍वरका वचनहरू सम्‍भव भएसम्‍म धेरै खाने र पिउने गर्नुपर्छ? यदि तँ उहाँका वचनहरू खाने र पिउने गर्दैनस् तर स्वर्गमा चढ्न मात्र खोज्छस् भने, के त्यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? परमेश्‍वरमा विश्‍वास गर्नेले चाल्नु पर्ने पहिलो कदम के हो? कुन मार्गद्वारा परमेश्‍वरले मानिसलाई सिद्ध पार्नुहुन्छ? परमेश्‍वरका वचनहरू नखाई र नपिई तँलाई सिद्ध पारिन सकिन्छ? के तेरो वास्तविकताको रूपमा काम गर्ने परमेश्‍वरका वचनहरू विना तँलाई राज्यको व्यक्तिको रूपमा मान्‍न सकिन्छ? परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ यथार्थमा के हो? परमेश्‍वरमा विश्‍वास गर्नेहरू, कम्तीमा पनि, बाह्य रूपमा शिष्ट हुनुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरका वचनहरूले युक्त हुनुपर्छ। जे भए पनि, उहाँका वचनहरूबाट तँ फर्केर कहिल्यै टाढा जान सक्दैनस्। परमेश्‍वरलाई बुझ्ने र उहाँका अभिप्रायहरूलाई पूरा गर्ने सबै काम उहाँका वचनहरूद्वारा सफल हुन्छ। भविष्यमा, हरेक राष्ट्र, सम्प्रदाय, धर्म, र क्षेत्रलाई परमेश्‍वरका वचनहरूद्वारा विजय गरिनेछ। परमेश्‍वरले प्रत्यक्ष रूपमा बोल्नुहुनेछ, र सबै मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आफ्ना हातहरूमा पक्रनेछन्, र यो माध्यमद्वारा, मानवजाति सिद्ध हुनेछ। भित्र र बाहिर, परमेश्‍वरका वचनहरू सर्वत्र व्याप्त छन्: परमेश्‍वरका वचनहरूमा भित्र र बाहिर दुवै मग्न रहेर मानवजातिले आफ्ना मुखले परमेश्‍वरका वचनहरू बोल्नेछ, परमेश्‍वरका वचनहरू अनुसार अभ्यास गर्नेछ, र परमेश्‍वरका वचनहरूलाई आफूभित्र राख्नेछ। यसप्रकार मानवजाति सिद्ध हुनेछ। जसले परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्छन् र उहाँलाई साक्षी दिन सक्छन्, ती मानिसहरू आफ्नो वास्तविकताको रूपमा परमेश्‍वरका वचनहरूले भरिएका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

आज परमेश्‍वरमाथिको वास्तविक विश्‍वास भनेको के हो? यो परमेश्‍वरको वचनलाई तेरो जीवन वास्तविकताको रूपमा स्वीकार गर्नु र परमेश्‍वरप्रतिको साँचो प्रेम हासिल गर्न उहाँलाई उहाँकै वचनबाट चिन्‍नु हो। अझ स्पष्ट रूपमा भन्दा: परमेश्‍वरमा विश्‍वास गर्नु भनेको तैँले उहाँमा समर्पित हुनु, उहाँलाई प्रेम गर्नु र सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कर्तव्य पूरा गर्नको लागि हो। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य यही नै हो। तैँले परमेश्‍वरको प्रेमिलोपनको, उहाँ हाम्रो आदरको कति योग्य हुनुहुन्छ, र परमेश्‍वरले उहाँका सृष्टि गरिएका प्राणीहरूमा कसरी मुक्तिको काम गर्नुहुन्छ र तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ भन्‍ने ज्ञान प्राप्त गर्नैपर्छ—यी परमेश्‍वरमाथिको तेरो विश्‍वासका अत्यावश्यक तत्वहरू हुन्। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले देहको जीवनबाट परमेश्‍वरलाई प्रेम गर्ने जीवनमा सर्नु हो; भ्रष्टतामा जिउनुबाट परमेश्‍वरको वचन पालन गर्ने जीवनमा सर्नु हो; यो शैतानको सत्ताबाट बाहिर निस्केर परमेश्‍वरको वास्ता र सुरक्षामा जिउनु हो; यो परमेश्‍वरमा समर्पित हुन सक्नु र देहमा समर्पित नहुनु हो; यो परमेश्‍वरलाई तेरो सम्पूर्ण हृदय प्राप्त गर्न दिनु हो, जसद्वारा परमेश्‍वरलाई तँलाई सिद्ध बनाउन दिनु हो, र तैँले आफैलाई भ्रष्ट शैतानिक स्वभावबाट मुक्त गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको विशेष रूपले परमेश्‍वरको महान् शक्ति र महिमा तँमा प्रकट हुन दिनु हो, तैँले परमेश्‍वरको इच्छालाई पछ्याउनु र उहाँको योजना पूरा गर्नु हो, साथै शैतानको सामु परमेश्‍वरको साक्षी दिन सक्नु हो। परमेश्‍वरमाथिको विश्‍वास चिन्हहरू र अचम्‍मका कामहरू हेर्न चाहने तेरो इच्छामा केन्द्रित हुनुहुँदैन, न त त्यो तेरो व्यक्तिगत देहको निम्ति नै हुनुपर्छ। त्यो परमेश्‍वरलाई चिन्ने, र परमेश्‍वरप्रति समर्पित हुन सक्ने हुन, अनि पत्रुसले झैं मृत्युसम्म उहाँमा समर्पित हुने विषयमा हुनुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नुका मुख्य उद्देश्यहरू यिनै हुन्। व्यक्तिले परमेश्‍वरलाई चिन्न र उहाँलाई सन्तुष्ट पार्नका निम्ति परमेश्‍वरको वचन खान्छ र पिउँछ। परमेश्‍वरको वचन खाँदा र पिउँदा त्यसले तँलाई परमेश्‍वरको बारेमा महान् ज्ञान दिन्छ, त्यसपछि मात्र तँ उहाँमा समर्पित हुन सक्छस्। परमेश्‍वर सम्‍बन्धी ज्ञानद्वारा मात्रै तैँले उहाँलाई प्रेम गर्न सक्छस्, अनि परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा हुनुपर्ने उद्देश्य यही नै हो। यदि परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ सधैँ चिन्हहरू र अचम्‍मका कामहरू हेर्ने मात्र कोसिस गर्छस् भने, परमेश्‍वरमाथिको विश्‍वासको यो दृष्टिकोण गलत छ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले परमेश्‍वरको वचनलाई जीवन वास्तविकताको रूपमा ग्रहण गर्नु हो। परमेश्‍वरको मुखबाट निस्केको वचनलाई अभ्यास गरेर अनि तिनलाई तँ आफैमा लागू गरेर मात्र परमेश्‍वरको उद्देश्य पूरा हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्दा, मानिसले परमेश्‍वरद्वारा सिद्ध हुने, परमेश्‍वरमा समर्पित हुन सक्‍ने र परमेश्‍वरप्रति पूर्ण समर्पित हुने कार्यको खोजी गर्नुपर्छ। यदि तँ कुनै गुनासो नगरी परमेश्‍वरमा समर्पित हुन सक्छस्, परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्छस्, पत्रुसको कद हासिल गर्न सक्छस्, अनि परमेश्‍वरले भन्नुभएको जस्तो पत्रुसको शैली प्राप्त गर्न सक्छस् भने, तब तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता हासिल गरेको हुनेछस्, अनि त्यसले तँ परमेश्‍वरद्वारा प्राप्त गरिएको छस् भन्‍ने सूचित गर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ

मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, तिनीहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म खटेको हुन सक्‍ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहोरी छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुनेछ! संसारले जग बसालेदेखि अहिलेसम्‍म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तन खोज्‍ने, र परमेश्‍वरको गवाही वहन गर्न र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै आश गर्छस्, र आफ्‍नो जीवन स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

अघिल्लो:  ६. म परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छु, तर म अझै जवान छु, मैले मेरो परिवार र मेरो जीवनचर्याका लागि कडा मेहनत गर्नुपर्छ, र मैले गर्न चाहेका कुराहरू अझ पनि धेरै छन्। यदि बुढेसकालसम्म पर्खेँ र परमेश्‍वरमा विश्‍वास गर्ने समय पाएँ भने के अझै पनि म मुक्ति पाउनेछु?

अर्को:  १. तपाईं भन्नुहुन्छ, परमेश्‍वरले आखिरी दिनहरूमा परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्नुहुन्छ, प्रत्येकलाई त्यसको प्रकारअनुसार वर्गीकरण गर्दै असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुन्छ। त्यसो भए परमेश्‍वरले कस्तो प्रकारका मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र कस्तो प्रकारका मानिसहरूलाई नाश पार्नुहुन्छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger