१. तपाईं भन्नुहुन्छ, परमेश्‍वरले आखिरी दिनहरूमा परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्नुहुन्छ, प्रत्येकलाई त्यसको प्रकारअनुसार वर्गीकरण गर्दै असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुन्छ। त्यसो भए परमेश्‍वरले कस्तो प्रकारका मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र कस्तो प्रकारका मानिसहरूलाई नाश पार्नुहुन्छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“मलाई प्रभु, प्रभु भन्‍ने सबै नै स्वर्गको राज्यमा प्रवेश गर्नेछन् भन्ने होइन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)।

“साँच्‍चै, म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनौ” (मत्ती १८:३)।

“जित्‍नेले सबै थोकको उत्तराधिकार पाउनेछ; र म उसको परमेश्‍वर हुनेछु, र ऊ मेरो छोरा हुनेछ। तर डरपोक, र अविश्‍वासी, अनि घृणितले, र हत्यारा, अनि व्यभिचारी, र जादूगर, अनि मूर्तिपूजक र झूट बोल्‍नेहरू सबैले आगो र गन्धक बल्‍ने कुण्डमा आफ्नो भाग पाउनेछन्: जुन दोस्रो मृत्यु हो” (प्रकाश २१:७-८)।

“आफ्ना वस्त्र धुनेहरू आशिषित् हुन्, तिनीहरूले जीवनको रुखको अधिकार पाउन सक्छन् र प्रवेशद्वार भएर सहरभित्र प्रवेश गर्न सक्छन्। किनभने बाहिरपट्टि कुकुरहरू, जादूगरहरू, व्‍यभिचारीहरू, हत्‍याराहरू, मूर्तिपूजकहरू अनि झूट मन पराउने र झूट बोल्‍नेहरू हुन्छन्” (प्रकाश २२:१४-१५)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

हिजोआज, पछ्याउने र नपछ्याउनेहरू दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू फरक छन्। सत्यता जान्न र सत्यता अभ्यास गर्न पछ्याउनेहरू नै ती मानिस हुन्, जसकहाँ परमेश्‍वरले मुक्ति ल्याउनुहुनेछ। साँचो मार्ग थाहा नहुनेहरू पिशाच र शत्रु हुन्; उनीहरू प्रधान स्वर्गदूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्‍वरका भक्त विश्‍वासीहरू समेत—के उनीहरू पिशाच पनि होइनन् र? असल विवेक भएकाहरू, तर साँचो मार्ग स्वीकार नगर्ने मानिसहरू पिशाच हुन्; उनीहरूको सार भनेको परमेश्‍वरको प्रतिरोध गर्ने सार हो। साँचो मार्ग स्वीकार नगर्नेहरू परमेश्‍वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कष्ट सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। संसारलाई त्याग्न अनिच्छुक हुनेहरू, आफ्ना बाबुआमासँग अलग हुन नसक्नेहरू, र आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न नसक्नेहरू परमेश्‍वरविरुद्ध विद्रोही हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्‍वरमा विश्‍वास नगर्ने जोकोही पनि पिशाच हो, र, अझ भन्नुपर्दा, उसलाई नष्ट गरिनेछ। विश्‍वास गर्ने तर सत्यता अभ्यास नगर्नेहरू, परमेश्‍वरको देहधारणमा विश्‍वास नगर्नेहरू, र परमेश्‍वरको अस्तित्वमा बिलकुलै विश्‍वास नगर्नेहरू सबै विनाशका पात्रहरू हुनेछन्। रहन सक्नेहरू सबै शोधनको कष्ट भोगेका र दृढ रहेकाहरू हुन्; यिनीहरू साँचो रूपमा परीक्षाहरू भोगेका मानिस हुन्। परमेश्‍वरलाई नस्विकार्ने जोकोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्‍वरलाई नस्विकार्ने जोकोही—चाहे ऊ यस प्रवाहभित्रको होस् वा यस प्रवाह बाहिरको होस्—ऊ ख्रीष्टविरोधी हो! शैतान को हुन्, पिशाच को हुन्, र परमेश्‍वरका शत्रु को हुन्? के तिनीहरू परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् र? के तिनीहरू परमेश्‍वरविरुद्ध विद्रोही हुने मानिस होइनन् र? के तिनीहरू आस्था छ भनी दाबी गर्ने, तैपनि सत्यता नभएकाहरू होइनन् र? के तिनीहरू परमेश्‍वरको साक्षी दिन असक्षम हुने तर आशिष्‌हरू मात्र प्राप्त गर्न खोज्नेहरू होइनन् र? तँ आज पनि ती पिशाचहरूसँग घुलमिल हुन्छस् र तिनीहरूलाई विवेक र प्रेमका साथ व्यवहार गर्छस्, तर के यो शैतानप्रति दया देखाउनु सरह होइन र? के तँ पिशाचहरूसँग मिलेको छैनस् र? यदि मानिसहरू यस बिन्दुसम्म आइपुगेका छन् र अझै पनि असल र खराबबीचको भिन्‍नता छुट्याउन असक्षम छन्, र परमेश्‍वरको हृदय खोज्ने कुनै चाहना नराखी वा कुनै पनि तरिकाले परमेश्‍वरको हृदयलाई आफ्नै हृदयका रूपमा लिन असक्षम भई अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन् भने, तिनीहरूका परिणामहरू अझ बढी दयनीय हुनेछन्। देहमा हुनुहुने परमेश्‍वरमा विश्‍वास नगर्ने जोकोही पनि परमेश्‍वरको शत्रु हो। यदि तँ परमेश्‍वरका शत्रुहरूलाई विवेक र प्रेमका साथ व्यवहार गर्न सक्छस् भने, के तँ इन्साफको बोधरहित छैनस् र? यदि तँ मैले घृणा गर्ने र मैले विरोध गर्नेहरूसँग मिल्छस्, र अझै पनि तिनीहरूलाई प्रेमका साथ व्यवहार गर्छस् वा तिनीहरूप्रति व्यक्तिगत भावनाहरू देखाउँछस् भने, के तँ विद्रोही होइनस् र? के तँ जानी-जानी परमेश्‍वरको प्रतिरोध गरिरहेको छैनस् र? के त्यस्तो व्यक्तिसँग वास्तवमा सत्यता हुन्छ र? यदि मानिसहरू परमेश्‍वरका शत्रुहरूलाई विवेकका साथ, पिशाचहरूलाई प्रेमका साथ, र शैतानलाई कृपाका साथ व्यवहार गर्छन् भने, के तिनीहरू जानी-जानी परमेश्‍वरको काममा अवरोध गरिरहेका हुँदैनन् र? येशूमा मात्र विश्‍वास गर्ने र आखिरी दिनहरूमा देहधारी परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू, साथै मौखिक रूपमा देहधारी परमेश्‍वरमा विश्‍वास गरेको दाबी गर्ने तर दुष्टता गर्नेहरू सबै ख्रीष्टविरोधी हुन्, परमेश्‍वरमा विश्‍वास नगर्नेहरूको त कुरै नगरौँ। यी सबै मानिस नाश हुनेहरू हुनेछन्। मानवले अरू मानवको मूल्याङ्कन गर्ने मानक उनीहरूको व्यवहारमा आधारित हुन्छ; जसको व्यवहार असल छ उनीहरू धर्मी हुन्छन्, जबकि जसको व्यवहार घिनलाग्दो छ उनीहरू दुष्ट हुन्छन्। परमेश्‍वरले मानवको मूल्याङ्कन गर्नुहुने मानकचाहिँ उनीहरूको सार उहाँको अधीनमा हुन्छ कि हुँदैन भन्‍ने कुरामा आधारित हुन्छ; आफूलाई परमेश्‍वरको अधीनमा राख्ने व्यक्ति धर्मी व्यक्ति हो, जबकि त्यसो नगर्ने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो, चाहे त्यो व्यक्तिको व्यवहार असल होस् वा खराब, र चाहे उसको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कार्यहरू प्रयोग गर्ने इच्छा गर्छन्, र कतिपय मानिस असल गन्तव्य हासिल गर्न राम्रा शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्‍वरले मानिसहरूको परिणाम उनीहरूको व्यवहार वा बोलीवचनका आधारमा निर्धारण गर्नुहुन्छ भनी सबैले गलत विश्वास गर्छन्; यसकारण, धेरै मानिसहरू यसको फाइदा उठाएर बेइमानीपूर्वक आफ्ना लागि क्षणिक अनुग्रह प्राप्त गर्ने इच्छा गर्छन्। आउने विश्रामको समयमा बाँच्ने मानिसहरू सबैले दुःखको दिन सहेका र परमेश्‍वरको गवाही दिएका हुनेछन्; उनीहरू सबै आफ्ना कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्‍वरमा समर्पित भएका मानिसहरू हुनेछन्। जो सेवा गर्ने अवसरलाई केवल सत्यता अभ्यास गर्नबाट पन्छिनका लागि प्रयोग गर्ने इच्छा गर्छन् तिनीहरू रहनेछैनन्। हरेक व्यक्तिको परिणामको प्रबन्ध गर्न परमेश्‍वरसँग उपयुक्त मानकहरू छन्; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरणअनुरूप मात्र गर्नुहुन्न, न त कुनै व्यक्तिले एउटा समयावधिमा कस्तो कार्य गर्छ भन्‍ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ कसैले उहाँका निम्ति विगतमा गरेको सेवाका कारण उसका सारा दुष्ट कार्यप्रति कदापि उदार हुनुहुनेछैन, न त कसैले केही समयका लागि आफूलाई उहाँप्रति समर्पित गरेको कारण उहाँले उसलाई मृत्युबाट जोगाउनुहुनेछ। आफ्नो दुष्टताको बदलाबाट कोही जोगिन सक्दैन, र कोही पनि आफ्ना दुष्ट कार्यहरू ढाक्न र त्यसरी विनाशको दुःखबाट जोगिन सक्दैन। यदि मानिसहरूले आफ्ना कर्तव्यहरू साँच्चिकै पूरा गर्न सक्छन् भने, यसको अर्थ उनीहरू परमेश्‍वरप्रति अनन्त रूपमा बफादार छन् र इनाम खोज्दैनन्, चाहे उनीहरूले आशिष्‌हरू प्राप्‍त गरून् वा दुःखपिर भोगून्। यदि मानिसहरू आशिष्‌हरू देख्दा, परमेश्‍वरप्रति बफादार हुन्छन्, तर कुनै आशिष्‌हरू देख्न नसक्दा चाहिँ आफ्नो बफादारी गुमाउँछन् भने, र यदि यी मानिसहरू—जसले एक समय परमेश्‍वरका निम्ति बफादारीपूर्वक परिश्रम गरे—अन्त्यमा अझै गवाही दिन वा आफूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, यस्ता मानिसहरू अझै पनि विनाशका पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू सधैँभरि बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

जीवितहरू ती हुन्, जसलाई परमेश्‍वरले मुक्ति दिनुभएको हुन्छ; तिनीहरू परमेश्‍वरद्वारा न्याय गरिएका र सजाय दिइएका हुन्छन्, तिनीहरू आफूलाई अर्पण गर्न इच्छुक हुन्छन् र खुसीसाथ परमेश्‍वरका लागि आफ्नो जीवन त्याग्छन् र तिनीहरू हर्षसाथ आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरप्रति समर्पित गर्छन्। जब जीवितहरू परमेश्‍वरको गवाही दिन्छन्, तब मात्र शैतानलाई लज्जित पार्न सकिन्छ; जीवितहरूले मात्र परमेश्‍वरको सुसमाचारको काम फैलाउन सक्छन्, जीवितहरू मात्र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छन्, र जीवितहरू मात्र वास्तविक मानिस हुन्। सुरुमा परमेश्‍वरद्वारा सृजित मानिस जीवित थियो, तर शैतानको भ्रष्टताका कारण मानिस मृत्युबीच जिउँछ अनि शैतानको प्रभावमा जिउँछ, त्यसैले यसरी मानिसहरू आत्माविहीन मृतक बनेका छन्, तिनीहरू परमेश्‍वरको विरोध गर्ने शत्रु बनेका छन्, तिनीहरू शैतानको औजार बनेका छन् अनि तिनीहरू शैतानको बन्दी बनेका छन्। परमेश्‍वरद्वारा सृजित जीवित मानिसहरू मृत जन बनेका छन्, त्यसैले परमेश्‍वरले आफ्नो गवाही गुमाउनुभएको छ, र उहाँले उहाँद्वारा सृजित अनि उहाँको सास भएको एकमात्र वस्तु, मानवजातिलाई गुमाउनुभएको छ। यदि परमेश्‍वरले उहाँको गवाही फिर्ता लिने र उहाँको आफ्नै हातद्वारा सृजित गरिएका तर शैतानद्वारा बन्दी बनाइएकाहरूलाई फिर्ता लिने हो भने, तिनीहरूलाई पुनर्जीवित गर्नैपर्छ ताकि तिनीहरू जीवित प्राणी बनून्, र उहाँले तिनीहरू सबैलाई फिर्ता लिनैपर्छ ताकि तिनीहरू उहाँको ज्योतिमा जिऊन्। मृतकहरू ती हुन्, जोसँग आत्मा हुँदैन, जो चरम रूपमा भावशून्य हुन्छन्, र जो परमेश्‍वरको विरोध गर्छन्, त्यसभन्दा पनि बढी, जो परमेश्‍वरलाई चिन्दैनन्। यी मानिसहरूमा परमेश्‍वरप्रति समर्पित हुने रत्तीभर अभिप्राय हुँदैन; तिनीहरू केवल उहाँविरुद्ध विद्रोह गर्छन् र उहाँको विरोध गर्छन् अनि उनीहरूमा रत्तीभर बफादारी हुँदैन। जीवितहरू ती हुन्, जसको आत्मा पुनर्जीवित भएको हुन्छ, जो परमेश्‍वरमा समर्पित हुन जान्दछन्, जो परमेश्‍वरप्रति बफादार छन्, र जोसँग सत्यता र गवाही छ—यी मानिसहरू मात्र परमेश्‍वरका लागि उहाँको घरमा प्यारा हुन्छन्। परमेश्‍वर जीवित हुन सक्नेहरूलाई, परमेश्‍वरको मुक्तिको अनुग्रह देख्न सक्नेहरूलाई, परमेश्‍वरप्रति बफादार हुन सक्नेहरूलाई, परमेश्‍वरको खोजी गर्न इच्छुकहरूलाई, परमेश्‍वरको देहधारणमा विश्‍वास गर्नेहरूलाई अनि उहाँको देखापराइमा विश्‍वास गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। केही मानिस जीवित हुन सक्छन् र केही मानिस सक्दैनन्; यो तिनीहरूको प्रकृतिलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन भन्‍ने कुरामा निर्भर हुन्छ। धेरै मानिसले परमेश्‍वरका धेरै वचन सुनेका हुन्छन् तैपनि तिनीहरू परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्दैनन्, र अझै पनि ती अभ्यास गर्न सक्दैनन्। यस्ता मानिसहरू कुनै पनि सत्यता जिउन सक्षम हुँदैनन् र जानाजानी परमेश्‍वरको काममा बाधा पनि पुर्‍याउँछन्। तिनीहरू परमेश्‍वरका लागि कुनै पनि काम गर्न सक्षम हुँदैनन्, र तिनीहरू उहाँका लागि आफूलाई समर्पित गर्न सक्दैनन्—त्यसविपरीत, तिनीहरू गोप्य रूपमा मण्डलीको पैसा खर्च गर्छन् र परमेश्‍वरको घरमा सित्तैमा खाना खान्छन्। यिनीहरू मुक्ति दिन नसकिने मृत मानिस हुन्। परमेश्‍वर उहाँको कामका बीचमा रहेकाहरू सबैलाई मुक्ति दिनुहुन्छ, तर उहाँको मुक्तिको अनुग्रह प्राप्त गर्न नसक्ने केही मानिस छन्; थोरै सङ्ख्याका मानिसहरूले मात्रै उहाँको मुक्तिको अनुग्रह प्राप्त गर्न सक्छन्। किनभने धेरैजसो मानिस अति गहन रूपमा भ्रष्ट पारिएका अनि मृत जन बनेका छन्, र तिनीहरूले मुक्ति पाउन सक्दैनन्; तिनीहरू पूर्ण रूपमा शैतानद्वारा प्रयोग गरिएका छन्, र तिनीहरू आफ्नो प्रकृतिमा अत्यन्तै दुर्भावपूर्ण छन्। ती अल्पसङ्ख्यक मानिसहरू पनि पूर्ण रूपमा परमेश्‍वरमा समर्पित हुन सक्दैनन्। तिनीहरू सुरुदेखि नै परमेश्‍वरप्रति पूर्ण रूपमा बफादार रहेका, वा सुरुदेखि नै परमेश्‍वरप्रति अत्यधिक प्रेम भएकाहरू होइनन्; बरु तिनीहरू परमेश्‍वरको विजयको कामका कारण उहाँप्रति समर्पित बनेका छन्, तिनीहरू परमेश्‍वरलाई उहाँको सर्वोच्च प्रेमका कारण देख्छन्, तिनीहरू परमेश्‍वरको धर्मी स्वभावका कारण स्वभावगत परिवर्तन हासिल गर्छन्, र तिनीहरू परमेश्‍वरलाई उहाँको काम, व्यावहारिक र सामान्य दुवै रहेको कामका कारण चिन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ जीवित भएको व्यक्ति होस्?

परमेश्‍वरले मानवजातिलाई दिनुभएको मुक्ति सत्यतालाई प्रेम गर्नेहरूको मुक्ति हो, इच्छा र सङ्कल्पसहितको तिनीहरूको एउटा भागको मुक्ति हो, र हृदयमा सत्यता र इन्साफको तिर्सना गर्ने तिनीहरूको एउटा भागको मुक्ति हो। व्यक्तिको सङ्कल्प भनेको हृदयमा इन्साफ, भलाइ र सत्यताको तिर्सना गर्ने र विवेक धारण गरेको तिनीहरूको एउटा भाग हो। परमेश्‍वर यस भागलाई मुक्ति दिनुहुन्छ, र यसमार्फत, उहाँ उनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन गर्नुहुन्छ, यसैले कि उनीहरूले सत्यतालाई बुझ्न र प्राप्त गर्न सकून्, यसैले कि उनीहरूको भ्रष्टता पखालिओस् र उनीहरूको जीवन स्वभाव रूपान्तरण होस्। यदि तँभित्र यी कुराहरू छैनन् भने, तँलाई सुधार्नै सकिँदैन। यदि तँभित्र सत्यताप्रति कुनै प्रेम वा इन्साफ र ज्योतिप्रतिको कुनै आकाङ्क्षा छैन भने; यदि तैँले दुष्ट कुराहरू सामना गर्नुपर्दा, तँमा ती कुराहरूबाट मुक्त हुने इच्छा हुँदैन, न त कष्ट सहने दृढसङ्कल्प नै हुन्छ भने; यसबाहेक, यदि तेरो विवेक अचेत छ, यदि सत्यता ग्रहण गर्ने तेरो सामर्थ्य पनि अचेत छ, र तँ सत्यता र उत्पन्‍न हुने घटनाहरूप्रति ग्रहणशील छैनस् भने; र यदि तँ सबै कुरामा खुट्टयाउने गर्दैनस्, र कुनै परिस्थितिको सामना गर्दा, तँ समाधानहरूका लागि सत्यता खोज्न सक्दैनस् र निरन्तर नकारात्मक बन्छस् भने, तैँले मुक्ति पाउने कुनै उपाय छैन। त्यस्ता व्यक्तिसँग कुनै असल गुण हुँदैन, परमेश्‍वरले काम गर्न लायकको केही पनि हुँदैन। उनीहरूको अन्तस्करण मन्द हुन्छ, उनीहरूको मन धमिलिएको हुन्छ, र उनीहरू सत्यतालाई प्रेम गर्दैनन्, न त उनीहरू आफ्‍नो हृदयको गहिराइमा इन्साफको तृष्णा नै गर्छन्। परमेश्‍वरले जतिसुकै स्पष्ट वा प्रस्ट रूपमा सत्यता बुझाउनुभए पनि, उनीहरू अलिकति पनि प्रतिक्रिया दिँदैनन्, मानौँ उनीहरूको हृदय मरिसकेको छ। के उनीहरूका लागि काम-कुराहरू सकिएका हुँदैनन् र? यो त अन्तिम सास लिइरहेको व्यक्तिलाई उसको मुखमा मुख जोडेर सास फुकेर बचाउन सकिने, तर ऊ मरिसकेको छ र उसको प्राण निस्केर गइसकेको छ भने, त्यो कुनै काम नलाग्नु जस्तै हो। यदि समस्या र कठिनाइहरू सामना गर्दा व्यक्ति पछि हट्छ र तीबाट पन्छिन्छ, ऊ सत्यताको खोजी पटक्‍कै गर्दैन, र आफ्‍नो काममा नकारात्मक र सुस्त बन्‍न रोज्छ भने, त्यसपछि उसको वास्तविक रूप प्रकट हुन्छ। त्यस्ता मानिसहरूसँग कुनै अनुभवात्मक गवाही हुँदै हुँदैन। तिनीहरू फाइदा लुट्ने, रद्दी मात्र हुन्छन्, परमेश्‍वरको घरमा तिनीहरूको कुनै काम हुँदैन, र तिनीहरू पूर्णतया विनाशउन्मुख हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरले शैतानद्वारा भ्रष्ट तुल्याइएका र भ्रष्ट स्वभाव भएका मानिसहरूलाई मुक्ति दिनुहुन्छ, त्रुटिरहित सिद्ध मानिसहरू वा शून्यतामा जिउने मानिसहरूलाई होइन। केही मानिसहरू, थोरै भ्रष्टता प्रकट गर्दा पनि, यस्तो सोच्छन्, “मैले फेरि परमेश्‍वरको विरोध गरेँ। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छु तर अझै पनि परिवर्तित भएको छुइनँ। पक्कै पनि अब परमेश्‍वरले मलाई चाहनुहुन्न!” त्यसपछि तिनीहरू निराश हुन्छन् र सत्यतातर्फ प्रयत्न गर्न अनिच्छुक हुन्छन्। तिमीहरूलाई यो मनोवृत्ति कस्तो लाग्छ? तिनीहरू आफैले परमेश्‍वरका अभिप्रायहरूसमेत नखोजी सत्यता त्यागेका हुन्छन्, र पनि उप्रान्त परमेश्‍वर तिनीहरूलाई चाहनुहुन्न भनेर विश्‍वास गर्छन्। के यो परमेश्‍वरबारे गलतबुझाइ होइन? यस्तो नकारात्मकता शैतानद्वारा शोषित हुने सबैभन्दा सजिलो तरिका हो। शैतानले तिनीहरूको खिल्ली उडाउँदै भन्छ, “तँ मूर्ख होस्! परमेश्‍वर तँलाई मुक्ति दिँदै हुनुहुन्छ, तर तँ अझै यसरी कष्ट भोगिरहेको छस्! त्यसैले, बस हार मान्! यदि तैँले हार मानिस् भने, परमेश्‍वरले तँलाई हटाउनुहुनेछ, र यो उहाँले तँलाई मेरो हातमा सुम्पिनुभएजस्तै हो। तँलाई त म पीडा दिएरै मार्नेछु!” यदि शैतान सफल भयो भने, नतिजाहरू अकल्पनीय हुनेछन्। तसर्थ, व्यक्तिले जस्तोसुकै कठिनाइ वा नकारात्मकता सामना गरे पनि, हार मान्नै हुँदैन। उसले समाधान पाउन सत्यता खोज्नुपर्छ, र निष्क्रिय रूपमा पर्खनु हुँदैन। कुनै व्यक्तिले मुक्ति पाइरहेको अवधिमा, अर्थात्, उसको जीवन वृद्धि भइरहेको अवधिमा, उसले जीवनमा अपरिपक्वताका स्थिति र प्रकटीकरणहरू देखाउनेछ। कहिलेकाहीँ ऊ कमजोर वा नकारात्मक बन्न सक्छ, गलत कुरा बोल्न सक्छ, ठेस खान सक्छ, असफलता र रोकावटहरू सामना गर्न सक्छ, वा कहिलेकाहीँ बाटो बिराएर गलत मार्गमा लाग्न पनि सक्छ। यो सब परमेश्‍वरको नजरमा सामान्य हुन्छ। उहाँ त्यसलाई उसका विरुद्धमा राख्नुहुन्न। केही मानिसलाई आफ्नो भ्रष्टता अति गहन रहेको, र आफूले परमेश्‍वरलाई कहिल्यै सन्तुष्ट गर्न नसक्ने लाग्छ, त्यसैले तिनीहरू व्यथित महसुस गर्छन् र आफैलाई घृणा गर्छन्। ठ्याक्‍कै यस्तो पश्‍चात्ताप गर्ने हृदय भएकाहरूलाई नै परमेश्‍वरले मुक्ति दिनुहुन्छ। अर्कोतर्फ, आफूलाई परमेश्‍वरको मुक्ति जरुरी छैन भनेर विश्‍वास गर्नेहरू, जो आफूलाई असल मानिस र आफूमा केही गल्ती छैन भन्‍ने सोच्छन्, तिनीहरूलाई सामान्यतया परमेश्‍वरले मुक्ति दिनुहुन्न। मैले यहाँ तिमीहरूलाई के कुरा बताइरहेको छु? जसले बुझ्छ, बोल। (हामीले आफ्नो भ्रष्टताका प्रकटीकरणहरूलाई उचित रूपमा सम्हाल्नुपर्छ र सत्यता अभ्यासमा ध्यान दिनुपर्छ, अनि त्यसपछि हामीले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछौ। यदि हामीले निरन्तर परमेश्‍वरलाई गलत बुझ्यौँ र धारणाहरू पाल्यौँ भने, हामी सजिलै नकारात्मक बन्नेछौँ र आफूलाई निराशामा डुबाउनेछौँ।) तँमा विश्‍वास हुनुपर्छ र तैँले यसो भन्नुपर्छ, “म अहिले कमजोर भए पनि, मैले ठेस खाएको र म असफल भएको भए पनि, म वृद्धि हुनेछु, र एकदिन सत्यता बुझ्नेछु, परमेश्‍वरलाई सन्तुष्ट पार्नेछु, र मुक्ति प्राप्त गर्नेछु।” तँसँग यस्तो सङ्कल्प हुनैपर्छ। तैँले जतिसुकै बाधा, कठिनाइ, असफलता, वा पतन सामना गर्नुपरे पनि तँ नकारात्मक हुनु हुँदैन। तँलाई परमेश्‍वरले कस्ता खालका मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनेर थाहा हुनुपर्छ। यसबाहेक, यदि तँ अझै पनि परमेश्‍वरबाट मुक्ति पाउन योग्य छैनस् भन्‍ने महसुस गर्छस् भने, वा यदि तँ कहिलेकाहीँ परमेश्‍वरले घृणा गर्ने वा उहाँ असन्तुष्ट हुने स्थितिमा हुन्छस् भने, वा तैँले एक समयमा निकै खराब व्यवहार गरेको थिइस्, र परमेश्‍वरले तँलाई तिरस्कार गर्नुभएको थियो भने, केही फरक पर्दैन। अब तँलाई थाहा छ, र धेरै ढिलो भएको छैन। जबसम्म तँ पश्‍चात्ताप गर्छस्, तबसम्म परमेश्‍वरले तँलाई अवसर दिनुहुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो

धेरै मानिसहरू इमानदारीपूर्वक बोल्नु र कार्य गर्नुभन्दा बरु नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति मसँग अर्कै इलाज छ भन्‍ने कुरा त्यत्ति आश्‍चर्यजनक कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्‍ने कुरा मलाई राम्ररी थाहा छ। तिमीहरू सबै निकै “चलाख” भएकाले, आफ्नै तुच्छ मनस्थितिका आधारमा भद्र मानिसहरूको हृदय मापन गर्न एकदमै सिपालु भएकाले, यसले मेरो कामलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, ल त्यसोभए, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै प्रकोपमा पार्नेछु, ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्‍वासमा तिमीहरू दृढ हुन सक। अन्ततः, म तिमीहरूको मुखबाट “परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ” भन्‍ने शब्दहरू निचोर्नेछु, जसपछि तिमीहरू आफ्ना छाती पिट्नेछौ, र “मानिसको हृदय अति छली हुन्छ!” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति के हुनेछ? निश्चय नै, तिमीहरू अहिलेको जति घमण्डले आविष्ट हुनेछैनौ! र अहिले भए जति “गहन र दुर्बोध” त झनै हुनेछैनौ। परमेश्‍वरको उपस्थितिमा, कतिपय मानिसहरू निकै अनुशासित हुन्छन्, र निकै “भद्र” हुन्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाह्राहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको श्रेणीमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्‍वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तेरा शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने, म के भन्छु भने तँ सत्यता अभ्यास गर्न अत्यन्तै अनिच्छुक व्यक्ति होस्। यदि तँसँग भन्नै गाह्रो हुने धेरै निजी मामलाहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू, आफ्ना कठिनाइहरूबारे अरूसामु खुलेर कुरा गर्नदेखि अत्यन्तै वितृष्ण छस् भने, म के भन्छु भने, तँ त्यस्तो व्यक्ति होस् जसलाई मुक्ति पाउन ठूलो कठिनाइ हुनेछ, र अँध्यारोबाट बाहिर आउन कठिनाइ हुनेछ। यदि तँलाई सत्यताको मार्ग खोजी गर्दा साँच्चै आनन्द लाग्छ भने, तँ सधैँ उज्यालोमा जिउने व्यक्ति होस्। यदि तँ परमेश्‍वरको घरमा सेवाकर्ता हुनमा निकै खुसी छस्, गुमनाम रही लगनशील र निष्ठावान् भई काम गर्छस्, सधैँ दिन्छस् र कहिल्यै लिँदैनस् भने म भन्छु, तँ बफादार सन्त होस् किनभने तँ कुनै इनाम खोज्दैनस्, तँ केवल इमानदार व्यक्ति भइरहेको छस्। यदि तँ खुलस्त हुन इच्छुक छस् भने, यदि तँ आफ्नो सबथोक समर्पित गर्न इच्छुक छस् भने, यदि तँ परमेश्‍वरका लागि आफ्नो जीवन बलिदान गर्न र आफ्नो गवाहीमा दृढ रहन सक्षम छस् भने, यदि तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्रै जान्ने तर आफूबारे नसोच्ने र आफ्ना लागि केही नलिने हदसम्मको इमानदार छस् भने, तब म भन्छु, त्यस्ता मानिसहरू ज्योतिमा पोषित हुनेहरू हुन् र तिनीहरू राज्यमा सदासर्वदा जिउनेछन्। तँलाई तँभित्र साँचो आस्था र साँचो बफादारी छ कि छैन, तँसँग परमेश्‍वरका लागि कष्ट भोगेको अभिलेख छ कि छैन, र तँसँग परमेश्‍वरप्रतिको पूर्ण समर्पणता छ कि छैन भनेर थाहा हुनुपर्छ। यदि तँसँग यी कुराहरू छैनन् भने, तँभित्र विद्रोहीपन, छल, लोभ र गुनासो रहन्छन्। तेरो हृदय इमानदार नभएकाले, तैँले परमेश्‍वरबाट कहिल्यै सराहना प्राप्त गरेको छैनस् र तँ ज्योतिमा कहिल्यै जिएको छैनस्। आखिरमा व्यक्तिको नियति कस्तो हुनेछ भन्ने कुरा ऊसँग इमानदार र रगत झैँ रातो हृदय छ कि छैन, र ऊसँग विशुद्ध प्राण छ कि छैन भन्‍ने कुरामा निर्भर रहन्छ। यदि तँ त्यस्तो व्यक्ति होस् जो अत्यन्तै बेइमान छ, जोसँग अत्यन्तै दुर्भावपूर्ण हृदय छ, जोसँग अशुद्ध प्राण छ भने तेरो नियतिको अभिलेखमा लेखिए अनुरूप, तँ त्यो ठाउँमा पुग्ने निश्चित छ जहाँ मानिसलाई दण्ड दिइन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

दाजुभाइ-दिदीबहिनीहरूमाझ सधैँ आफ्नो नकारात्मकता पोखाउनेहरू शैतानका नोकर हुन्, र तिनीहरू मण्डलीमा बाधा दिनेहरू हुन्। त्यस्ता मानिसहरूलाई एक दिन निष्कासित गर्नैपर्छ र हटाइनैपर्छ। यदि मानिसहरूमा परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा परमेश्‍वरको डर मान्ने हृदय छैन भने, यदि तिनीहरूसँग परमेश्‍वरमा समर्पित हुने हृदय छैन भने, तिनीहरू उहाँका निम्ति कुनै काम गर्न असमर्थ मात्र हुँदैनन्, बरु त्यसको विपरीत, तिनीहरू उहाँको काममा बाधा दिने र उहाँको प्रतिरोध गर्नेहरू बन्नेछन्। परमेश्‍वरमा विश्‍वास गर्नु तर उहाँप्रति समर्पित नहुनु वा उहाँको डर नमान्नु, बरु उहाँको प्रतिरोध गर्नु भनेको एक विश्‍वासीका निम्ति सबैभन्दा ठूलो लज्जाको विषय हो। यदि विश्‍वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरविश्वासीहरू जतिकै लापरवाह र असंयमित छन् भने, तिनीहरू गैरविश्‍वासीहरूभन्दा पनि दुष्ट छन्; दुष्ट पिशाचका असली नमुना हुन्। जो मण्डलीमा आफ्ना विषाक्त, दुर्भावपूर्ण कुराहरू पोखाउँछन्, जो आधारहीन अफवाहहरू फैलाउँछन्, बेमेल खडा गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरूमाझ गुट पैदा गर्छन्—तिनीहरूलाई मण्डलीबाट निष्कासित गरिनुपर्थ्यो। तैपनि अहिले परमेश्‍वरको कामको फरक युग भएकाले, यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। तर, कतिपयमा भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू चाहिँ फरक हुन्छन्: उनीहरूमा शैतानी भ्रष्ट स्वभावहरू हुने मात्र होइन, तिनीहरूको प्रकृति पनि अत्यन्तै दुर्भावपूर्ण हुन्छ। यी मानिसहरूका बोलीवचन र व्यवहारहरू केवल शैतानी भ्रष्ट स्वभावहरूको प्रकटीकरणभन्दा बढी नै हुन्छन्; तिनीहरू खाँटी दियाबलस र शैतान हुन्। तिनीहरू परमेश्‍वरको काममा अवरोध र बाधा पुऱ्याउनु बाहेक केही गर्दैनन्, त्यसले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशलाई बाधा दिन्छ, र त्यसले सामान्य मण्डली जीवनलाई नोक्सान पुर्‍याउँछ। ढिलो-चाँडो, भेडाहरूको खाल ओढ्ने यी ब्वाँसाहरूलाई पखालिनेछ; शैतानका यी नोकरहरूप्रति कठोर मनोवृत्ति, इन्कार गर्ने मनोवृत्ति अपनाउनुपर्छ। परमेश्‍वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानसँगै हिलोमा लडीबुडी गर्दैछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

हरेक मण्डलीमा बाधा दिने वा परमेश्‍वरको काममा अवरोध पुऱ्याउने मानिसहरू हुन्छन्। तिनीहरू सबै भेष बदलेर परमेश्‍वरको घरमा घुसपैठ गरेका शैतान हुन्। त्यस्ता मानिसहरू अभिनय गर्नमा विशेष रूपले सिपालु हुन्छन्: तिनीहरू ठूलो श्रद्धाका साथ मेरो अघि आउँछन्, झुक्छन् र चिप्लो घस्छन्, तिनीहरू लुतो लागेका कुकुरहरूकै प्रतिरूप हुन् र आफ्ना उद्देश्यहरू हासिल गर्न आफ्नो “सबथोक” अर्पण गर्छन्—तर दाजुभाइ-दिदीबहिनीहरूसामु, तिनीहरू आफ्नो कुरूप पक्ष देखाउँछन्। जब तिनीहरू सत्यता अभ्यास गर्ने मानिसहरूलाई देख्छन्, तब तिनीहरू उनीहरूलाई प्रहार गर्छन् र पाखा लगाउँछन्; जब तिनीहरूले आफूभन्दा शक्तिशाली मानिसहरूलाई देख्छन्, तब तिनीहरू उनीहरूको चापलुसी र चाकरी गर्छन्। तिनीहरू मण्डलीमा मनपरी गर्छन्। त्यस्ता “स्थानीय गुन्डाहरू,” त्यस्ता “चाकरीबाजहरू” धेरैजसो मण्डलीमा हुन्छन् भनेर भन्न सकिन्छ। तिनीहरू एकसाथ गोप्य रूपमा काम गर्छन्, एकअर्कालाई आँखा झिम्काएर गोप्य सङ्केतहरू पठाउँछन् अनि तिनीहरूमध्ये कसैले पनि सत्यता अभ्यास गर्दैन। सबैभन्दा धेरै विष हुने जोकोही “मुख्य पिशाच” हो र सबैभन्दा उच्च प्रतिष्ठा हुने जोकोहीले तिनीहरूको झन्डा बोक्दै, तिनीहरूको अगुवाइ गर्छ। यी मानिसहरू मण्डलीमा उपद्रव मच्चाउँछन्, नकारात्मकता फैलाउँछन्, मृत्यु ओकल्छन्, आफूखुसी गर्छन्, आफूखुसी भन्छन् र कसैले पनि तिनीहरूलाई रोक्ने आँट गर्दैन। तिनीहरू शैतानी स्वभावहरूले भरिपूर्ण हुन्छन्। तिनीहरूले यसरी बाधा दिँदा, मण्डलीमा मृत्युको हावा प्रवेश गर्छ। मण्डलीभित्र सत्यता अभ्यास गर्नेहरूलाई इन्कार गरिन्छ, तिनीहरू आफूले सक्ने सबै कुरा गर्न असक्षम हुन्छन्, जबकि मण्डलीमा बाधा दिने र मृत्यु फैलाउनेहरू भित्रभित्र मनपरी गर्दै हिँड्छन्—र, त्यति मात्र होइन, धेरैजसो मानिस तिनीहरूलाई पछ्याउँछन्। त्यस्ता मण्डलीहरू वास्तवमा शैतानद्वारा शासित हुन्छ, दियाबलस तिनीहरूको राजा हुन्छ। यदि त्यस्ता मण्डलीहरूका मानिसहरू खडा हुँदैनन् र मुख्य पिशाचहरूलाई इन्कार गर्दैनन् भने, तिनीहरू पनि ढिलो-चाँडो विनाशमा पुग्नेछन्। अबदेखि, त्यस्ता मण्डलीहरूविरुद्ध कदमहरू चाल्नैपर्छ। यदि थोरै सत्यता अभ्यास गर्न सक्नेहरूले खोजी गर्दैनन् भने, त्यस मण्डलीलाई समाप्त गरिनेछ। यदि कुनै मण्डलीमा सत्यता अभ्यास गर्न इच्छुक कोही छैन र परमेश्‍वरप्रतिको आफ्नो गवाहीमा दृढ रहन सक्ने कोही छैन भने, त्यस मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्छ र अन्य मण्डलीहरूसँगको त्यसको सम्बन्ध काट्नुपर्छ। यसलाई “मृत्युलाई गाड्नु” भनिन्छ; शैतानलाई इन्कार गर्नुको अर्थ यही हो। यदि कुनै मण्डलीमा धेरै स्थानीय गुन्डा छन् र खुट्ट्याउने क्षमता पूर्ण रूपमा नभएका “साना झिँगाहरू” ले तिनीहरूलाई पछ्याउँछन् भने र यदि यस मण्डलीका मानिसहरू सत्यता देखिसकेपछि पनि, यी गुन्डाहरूको बन्धन र चालबाजीलाई इन्कार गर्न अझै असक्षम छन् भने, ती अन्योलमा परेकाहरू सबैलाई अन्त्यमा हटाइनेछ। यी साना झिँगाहरूले कुनै ठूलो दुष्टता नगरेका हुन सक्छन्, तर तिनीहरू अझ बढी छली, अझ बढी धूर्त हुन्छन् र यस्ता सबैलाई हटाइनेछ। एक जना पनि बाँकी रहनेछैन! शैतानकाहरूलाई शैतानकहाँ नै फर्काइनेछ, जबकि परमेश्‍वरद्वारा चुनिएकाहरूले निश्चय नै सत्यता खोज्नेछन्; यो तिनीहरूको प्रकृतिद्वारा निर्णय गरिन्छ। शैतानलाई पछ्याउनेहरू सबै नाश होऊन्! त्यस्ता मानिसहरूलाई कुनै दया देखाइनेछैन। सत्यता खोज्नेहरूलाई भरणपोषण गरियोस् र तिनीहरूले परमेश्‍वरको वचनमा आफ्नो हृदय सन्तुष्ट हुनेगरी आनन्द लिऊन्। परमेश्‍वर धर्मी हुनुहुन्छ; उहाँ कसैप्रति पक्षपात देखाउनुहुन्न। यदि तँ दियाबलस होस् भने, तँ सत्यता अभ्यास गर्न असक्षम हुन्छस्; यदि तँ सत्यता खोज्ने व्यक्ति होस् भने, तँलाई शैतानले कैदी बनाउनेछैन भन्‍ने कुरा निश्चित छ। यसमा कुनै शङ्का छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

परमेश्‍वरमा सच्चा रूपले विश्‍वास गर्ने मानिसहरू परमेश्‍वरको वचन अभ्यास गर्न इच्छुक हुने र सत्यता अभ्यास गर्न इच्छुक हुनेहरू हुन्। परमेश्‍वरप्रतिको आफ्नो गवाहीमा साँच्चै दृढ रहन सक्ने मानिसहरू पनि उहाँको वचन अभ्यास गर्न इच्छुक हुन सक्ने र सच्चा रूपमा सत्यताको पक्षमा उभिन सक्नेहरू हुन्। कुटिल र अधर्मी अभ्यासहरूमा संलग्न हुने मानिसहरू सबै सत्यताबाट वञ्चित हुन्छन् र तिनीहरू सबैले परमेश्‍वरलाई लज्जित पार्छन्। मण्डलीमा विवाद खडा गर्नेहरू शैतानको नोकर हुन्, तिनीहरू शैतानको मूर्तरूप हुन्। त्यस्ता मानिसहरू अत्यन्तै दुर्भावपूर्ण हुन्छन्। अझै पनि खुट्ट्याउने क्षमता नहुनेहरू सत्यताको पक्षमा उभिन असक्षम हुन्छन्, तिनीहरू सबै दुष्ट अभिप्रायहरू पाल्ने र सत्यतालाई कलङ्कित पार्ने मानिस हुन्। तिनीहरू शैतानको अझ खाँटी प्रतिनिधि हुन्। तिनीहरूको छुटकारा असम्भव छ र तिनीहरू स्वाभाविक रूपमा हटाइनेछन्। परमेश्‍वरको घरले सत्यता अभ्यास नगर्नेहरूलाई रहन दिँदैन, न त यसले जानाजानी मण्डली भत्काउनेहरूलाई नै रहन दिन्छ। तर, अहिले निष्कासनको काम गर्ने समय होइन; त्यस्ता मानिसहरूलाई अन्त्यमा केवल प्रकट गरिनेछ र हटाइनेछ। यी मानिसहरूमाथि अब कुनै व्यर्थको काम गरिनेछैन; जो शैतानहरू हुन् तिनीहरू सत्यताको पक्षमा उभिन सक्दैनन्, जबकि सत्यता खोज्नेहरू उभिन सक्छन्। सत्यता अभ्यास नगर्ने मानिसहरू सत्यताको मार्ग सुन्न र सत्यताको गवाही दिन अयोग्य हुन्छन्। सत्यता तिनीहरूले सुन्नका लागि नै होइन; बरु, यो सत्यता अभ्यास गर्नेहरूप्रति लक्षित हुन्छ। हरेक व्यक्तिको परिणाम प्रकट हुनुअघि, मण्डलीलाई बाधा दिने र काममा अवरोध पुऱ्याउनेहरूलाई पहिले पन्छाइनेछ अनि अहिलेका लागि एक्लै छोडिनेछ। काम पूरा भएपछि, यी मानिसहरू हरेकलाई प्रकट गरिनेछ र त्यसपछि तिनीहरूलाई हटाइनेछ। अहिलेका लागि, सत्यता प्रदान गरिँदै गर्दा, तिनीहरूलाई बेवास्ता गरिनेछ। जब सम्पूर्ण सत्यता मानवजातिलाई प्रकट गरिन्छ, तब मानिसहरूलाई हटाउन सुरु गरिनेछ; त्यो सबै मानिसलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिने समय हुनेछ। खुट्ट्याउने क्षमता नभएकाहरूका सानातिना चालहरूले तिनीहरूलाई दुष्टहरूको हातबाट विनाश हुन डोऱ्याउनेछन्, तिनीहरूलाई उनीहरूले लोभ्याउनेछन् र तिनीहरू कहिल्यै फर्कनेछैनन्। अनि तिनीहरू यस्तो व्यवहारका योग्य हुन्छन्, किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, किनभने तिनीहरू सत्यताको पक्षमा उभिन असक्षम हुन्छन् र किनभने तिनीहरू दुष्ट मानिसहरूलाई पछ्याउँछन्, दुष्ट मानिसहरूको पक्षमा उभिन्छन् अनि परमेश्‍वरको प्रतिरोध गर्न दुष्ट मानिसहरूसँग मिलेमतो गर्छन्। तिनीहरूलाई ती दुष्ट मानिसहरूले प्रकट गर्ने कुरा दुष्टता हो भन्‍ने राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू दुस्साहस गर्छन् र तिनीहरूलाई पछ्याउन सत्यतालाई पिठ्युँ फर्काउँछन्। के सत्यता अभ्यास नगर्ने तर विनाशकारी र घृणित कुराहरू गर्ने यी मानिसहरू सबैले दुष्टता गरिरहेका छैनन् र? तिनीहरूमध्ये “राजाहरू” का रूपमा कार्य गर्नेहरू र तिनीहरूलाई पछ्याउने अरूहरू भए पनि, के परमेश्‍वरको प्रतिरोध गर्ने तिनीहरूको प्रकृति उस्तै छैन र? परमेश्‍वर तिनीहरूलाई मुक्ति दिनुहुन्न भनी दाबी गर्न तिनीहरूसँग के बहाना हुन सक्छ? परमेश्‍वर धर्मी हुनुहुन्न भनी दाबी गर्न तिनीहरूसँग के बहाना हुन सक्छ? के तिनीहरूलाई तिनीहरूकै दुष्टताले नष्ट गरिहेको छैन र? के तिनीहरूलाई तिनीहरूको आफ्नै विद्रोहीपनले नरकमा तानिरहेको छैन र? सत्यता अभ्यास गर्ने मानिसहरूले अन्त्यमा सत्यताको कारण मुक्ति पाउनेछन् र तिनीहरू सिद्ध पारिनेछन्। सत्यता अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यताको कारण आफूमाथि विनाश ल्याउनेछन्। सत्यता अभ्यास गर्ने र अभ्यास नगर्नेहरूको पर्खाइमा हुने परिणामहरू यिनै हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

हृदयमा परमेश्‍वर हुनेहरूलाई जस्तोसुकै जाँच गरिए पनि, तिनीहरूको निष्ठा अपरिवर्तित रहन्छ; तर हृदयमा परमेश्‍वर नहुनेहरूका लागि, परमेश्‍वरको काम तिनीहरूको देहका लागि लाभदायक नहुनेबित्तिकै, तिनीहरूले परमेश्‍वरप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गर्छन्, र परमेश्‍वरबाट टाढा समेत जान्छन्। यिनीहरू नै अन्तमा दृढतापूर्वक खडा नहुनेहरू हुन्, जो केवल परमेश्‍वरका आशिष्‌हरू खोज्छन् र परमेश्‍वरका लागि आफूलाई समर्पित गर्ने र उहाँप्रति आफूलाई अर्पित गर्ने कुनै चाहना राख्दैनन्। यस्ता नीच मानिसहरू सबैलाई परमेश्‍वरको कामको अन्त्य भएपछि “खेदिनेछ,” र तिनीहरूलाई अलिकति पनि कृपा देखाइनेछैन। मानवता नभएकाहरूमा परमेश्‍वरप्रति साँचो प्रेम पटक्कै हुँदैन। जब वातावरण सहज हुन्छ, वा तिनीहरूले केही पाउन सक्छन्, तब तिनीहरू परमेश्‍वरप्रति पूर्ण रूपमा आज्ञाकारी हुन्छन्, तर जब तिनीहरूका चाहनाहरूमाथि खतरा उत्पन्न हुन्छ वा ती अन्ततः चकनाचुर हुन्छन्, तब तिनीहरू तुरुन्तै विद्रोहमा उत्रन्छन्। केवल एक रातको अन्तरालमा समेत, तिनीहरू मुस्कुराउने, “दयालु” व्यक्तिबाट जङ्गली देखिने जल्लादमा परिणत हुन्छन्, र कुनै तुक वा कारणविना, अप्रत्याशित रूपमा हिजोको आफ्नो हितकारीलाई आफ्नो घोर शत्रुका रूपमा व्यवहार गर्छन्। यदि आँखा झिमिक्क नगरी मार्ने यी दुष्ट पिशाचहरूलाई फालिएन भने, के तिनीहरू गम्भीर अन्तर्निहित खतरा बन्नेछैनन् र? विजयको काम समाप्त भएपछि, मानिसलाई मुक्ति दिने काम पूर्ण रूपमा सम्पन्न हुन्छ भन्‍ने होइन। विजयको काम अन्त्य भएको भए तापनि, मानिसलाई शुद्ध गर्ने काम अन्त्य भएको छैन; जब मानिसलाई पूर्ण रूपमा शुद्ध गरिन्छ, जब साँच्चै परमेश्‍वरमा समर्पित हुनेहरूलाई पूर्ण पारिन्छ, र जब आफ्नो हृदयमा परमेश्‍वर नभएका छद्मभेषीहरूलाई निकालिन्छ, तब मात्रै काम समाप्त हुनेछ। उहाँको कामको अन्तिम चरणमा परमेश्‍वरलाई सन्तुष्ट नपार्नेहरूलाई पूर्ण रूपमा हटाइनेछ र हटाइएकाहरू दियाबलसहरूका हुन्। तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न असमर्थ हुने हुँदा, तिनीहरू परमेश्‍वरको विरुद्धमा विद्रोही छन् र यी मानिसहरूले आज परमेश्‍वरलाई पछ्याए तापनि, यसले तिनीहरू अन्तिमसम्‍मै रहनेहरू हुन् भन्‍ने कुरालाई प्रमाणित गर्दैन। “अन्तिमसम्‍मै परमेश्‍वरलाई पछ्याउनेहरूले मुक्ति पाउनेछ” भन्‍ने वचनहरूमा, “पछ्याउनु” को अर्थ सङ्कष्टको बीचमा दह्रिलो गरी खडा हुनु भन्‍ने हुन्छ। आज, धेरैले परमेश्‍वरलाई पछ्याउनु सजिलो छ भन्‍ने विश्‍वास गर्छन् तर जब परमेश्‍वरको काम समाप्त हुनलागेको हुन्छ, तैँले “पछ्याउनु”-को साँचो अर्थलाई जान्‍नेछस्। तैँले विजय गरिएपछि आज अझै पनि परमेश्‍वरलाई पछ्याउन सक्छस् भन्दैमा, तँ सिद्ध पारिनेहरूमध्ये एक हुनेछस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। परीक्षाहरूको सामना गर्न नसक्‍नेहरू, सङ्कष्टको बीचमा विजय बन्‍न नसक्‍नेहरू आखिरमा दृढ रूपमा खडा हुन असक्षम हुनेछन्, त्यसकारण परमेश्‍वरलाई अन्तिमसम्‍मै पछ्याउन असमर्थ हुनेछन्। परमेश्‍वरलाई साँच्चै पछ्याउनेहरू आफ्‍नो कामको जाँच खप्न सक्‍नेहरू हुन्, जबकि परमेश्‍वरलाई साँच्चै नपछ्याउनेहरू परमेश्‍वरको कुनै पनि परीक्षाहरू खप्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरू निष्कासित हुनेछन्, जबकि विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्‍वरलाई साँच्चै खोजी गर्छ कि गर्दैन भन्‍ने कुरा उसको काम जाँचेर, अर्थात्, परमेश्‍वरका परीक्षाहरूद्वारा मात्रै निर्धारित हुन सक्छ, र मानिस स्वयमले निकाल्ने निष्कर्षसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले कुनै पनि व्यक्तिलाई हल्का रूपमा इन्कार गर्नुहुन्‍न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सक्छ। उहाँ मानिसलाई अदृश्य हुने कुनै पनि कुरा, वा मानिसलाई विश्‍वस्त तुल्याउन नसक्‍ने कुनै पनि काम गर्नुहुन्‍न। मानिसको आस्था साँचो हो कि होइन भन्‍ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र यो मानिसद्वारा निर्धारण गर्न सकिँदैन। “गहुँलाई सामामा परिणत गर्न सकिँदैन, र सामालाई गहुँमा परिणत गर्न सकिँदैन” भन्‍ने कुरामा कुनै शङ्‍का छैन। परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू सबै अन्ततः राज्यमा नै रहनेछन् र उहाँलाई साँच्चै प्रेम गर्ने कसैलाई पनि परमेश्‍वरले नराम्रो व्यवहार गर्नुहुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

अब, तिमीहरूको खोजी प्रभावकारी भएको छ वा छैन त्यसको नाप तिमीहरूमा अहिले जे छ त्यसद्वारा गरिन्छ। तिमीहरूको परिणाम निर्धारण गर्न यही कुरा प्रयोग गरिन्छ; भन्नुको अर्थ तिमीहरूको परिणाम तिमीहरूले गरेका बलिदानहरूमा र तिमीहरूले गरेका कामकुराहरूका आधारमा प्रकट गरिन्छ। तिमीहरूको परिणाम तिमीहरूको पछ्याइ, तिमीहरूको विश्‍वास र तिमीहरूले गरेका कामकुराद्वारा प्रकट गर्न सकिन्छ। तिमीहरू सबैमध्ये धेरै जना यस्ता छन् जो पहिलेबाटै मुक्तिभन्दा धेरै पर छन्, किनकि आजको दिन मानिसका परिणामहरू प्रकट गर्ने दिन हो, र म मेरो काममा अस्तव्यस्त दिमाग भएको व्यक्ति हुनेछैन; मुक्तिबाट पूर्ण रूपमा पछि हुनेहरूलाई म अर्को युगमा डोऱ्याउनेछैनँ। एउटा यस्तो समय आउनेछ जब मेरो काम समाप्त हुन्छ। म ती दुर्गन्धित, आत्माविहीन लासहरूमा काम गर्नेछैनँ जसलाई पटक्कै मुक्ति दिन सकिँदैन। मानिसको मुक्तिका आखिरी दिनहरू अहिले नै हो, र म व्यर्थको काम गर्नेछैन। स्वर्ग र पृथ्वीको विरुद्ध निन्दा नगर—संसारको अन्त्य हुँदैछ, यो अपरिहार्य छ। स्थिति यस अवस्थामा आइपुगेको छ, र मानव जातिको रूपमा त्यसलाई रोक्नको लागि तैँले गर्न सक्ने कुनै कुरा छैन; तैँले आफ्नो इच्छाअनुसार स्थिति बदल्‍न सक्दैनस्। हिजो, तैँले सत्यता पछ्याउन मूल्य चुकाइनस् र तँ अर्पित थिइनस्; आज समय आएको छ, तँ मुक्तिभन्दा बाहिर छस्; अनि भोलि तँलाई हटाइनेछ, र तेरो मुक्तिको लागि कुनै उपमार्ग हुनेछैन। म दयालु र नरम हृदयको छु र म तँलाई मुक्ति दिन आफ्नो सक्दो प्रयास गर्दैछु, तर यदि तँ आफ्‍नो तर्फबाट कोसिस गर्दैनस् वा आफैले केही सोच्दैनस् भने, त्योसँग मेरो के सरोकार हुन्छ र? जसले आफ्नो देहको बारेमा मात्र सोच्छ र आराम-सुविधा उपभोग गर्छ; जसले विश्‍वास गरेकोजस्तो देखिन्छ तर वास्तवमा विश्‍वास गरेका हुँदैनन्, जो खराब औषधी र मन्त्रतन्त्रमा लागेका हुन्छन्, जो लम्पट र विघटित छन्; जसले यहोवालाई चढाइएका बलिहरू र उहाँका सम्पत्तिहरू चोर्छन्, जसले घूसहरू मन पराउँछन्; जो केही नगरिकन स्वर्गमा उक्लने सपना देख्छन्; जो अहङ्कारी र अभिमानी छन्, जो व्यक्तिगत ख्याति र प्राप्तिका लागि मात्र प्रतिस्पर्धा गर्छन्; जो अशिष्ट वचनहरू फैलाउँछन्; जो परमेश्‍वरको स्वयम्को ईशनिन्दा गर्छन्; जो केही गर्दैनन् तर स्वयम् परमेश्‍वरको विरुद्ध दोष लाउँछन् र उहाँको गिल्‍ला गर्छन्; जो समूहहरू बनाउँछन् र स्वतन्त्रताको खोजी गर्छन्; जो परमेश्‍वरभन्दा आफूलाई उच्च पार्छन्; ती अगम्भीर युवाहरू, प्रौढहरू र वृद्ध-वृद्धा पुरुष र महिलाहरू, जो व्यभिचारमा फसेका छन्; व्यक्तिगत ख्याति र प्राप्तिको आनन्द लिने र अरूको बीचमा व्यक्तिगत हैसियत पछ्याउने ती पुरुष र महिलाहरू, पापमा फसेका ती अपश्‍चात्तापी मानिसहरू—के तिनीहरू सबै मुक्तिभन्दा बाहिर छैनन् र? व्यभिचार, पापी अवस्था, खराब औषधी, मन्त्रतन्त्र, ईशनिन्दात्मक शब्दहरू, र अशिष्ट शब्दहरू सबैले तिमीहरूमाझ दङ्गा मच्चाउँछन्; तिमीहरूमाझमा सत्यता र जीवनका वचनहरू कुल्चिइन्छन् र तिमीहरूमाझ पवित्र वचनहरू अशुद्ध पारिन्छन्। तिमी अन्यजातिहरू, फोहोर र विद्रोहले फुलिएका छौ! तिमीहरूको परिणाम के हुनेछ? जसले देहलाई प्रेम गर्दछन्, जसले देहको मन्त्रतन्त्र गर्दछन् र जो व्यभिचारको पापमा फसेका छन् तिनीहरूसँग जीवित रहने साहस कसरी हुन सक्छ! के तिमीलाई थाहा छैन, कि तिमीहरूजस्ता मानिसहरू मुक्ति पाउनै नसक्‍ने कीराहरू हौ? तिमीहरूलाई यो र त्यो माग गर्ने अधिकार कुन कुराले दिन्छ? आजको मितिसम्म, सत्यलाई प्रेम नगर्नेहरू र केवल देहलाई प्रेम गर्नेहरूमा अलिकता पनि परिवर्तन आएको छैन—त्यस्ता मानिसहरूले कसरी मुक्ति पाउन सक्छन्? जो जीवनको मार्गलाई प्रेम गर्दैनन्, जो परमेश्‍वरलाई उच्च पार्दैनन् र उहाँको साक्षी दिँदैनन्, जो आफ्नै हैसियतका खातिर युक्ति रच्छन्, जो आफैलाई उच्च पार्छन्—के तिनीहरू आज पनि त्यस्तै छैनन् र? तिनीहरूलाई मुक्ति दिनुको मूल्य के छ र? तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो वरिष्ठता कति ठूलो छ वा तैँले कति वर्षदेखि काम गर्दै आएको छस् भन्‍ने कुरामा निर्भर हुँदैन, र यो तैँले कति वटा योग्यता-प्रमाणहरू प्राप्त गरेको छस् भन्‍ने कुरामा त झनै निर्भर हुँदैन। बरु, यो त तेरो पछ्याइले फल फलाएको छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। तैँले यो जान्नु पर्दछ, जसलाई मुक्ति दिइएको छ तिनीहरू फल फलाउने “रूखहरू” हुन्, रमणीय पातहरू र प्रशस्त फूलहरू मात्र भएको तर फल नफल्ने रूखहरू होइनन्। यदि तैँले धेरै वर्ष गल्लीहरूमा घुमेर बिताएका छस् भने पनि, त्यसले के फरक पार्छ र? तेरो गवाही कहाँ छ? तँसँग आफैलाई प्रेम गर्ने र तेरा कामुक चाहनाहरूप्रति मोहित हुने हृदयभन्दा परमेश्‍वरको डर मान्ने हृदय धेरै कम छ—के यस प्रकारको व्यक्ति पतित होइन र? ऊ कसरी मुक्तिको नमुना र प्रारूप बन्न सक्छ? तेरो प्रकृति सुधार्न नसकिने छ, तँमा अति धेरै विद्रोहीपन छ, तैँले छुटकारा पाउनै सक्दैनस्! के यस्ता मानिसहरू हटाइने मानिसहरू होइनन्? के मेरो काम समाप्त हुने समय तेरो अन्तिम दिन आउने समय होइन र? मैले तिमीहरूमाझ अत्यन्तै धेरै काम गरेको र अत्यन्तै धेरै वचनहरू बोलेको छु—त्यसमध्ये कति साँच्चै तिमीहरूको कानमा पसेको छ? त्यसमध्ये कतिप्रति तिमीहरू कहिल्यै समर्पित भएका छौ? जब मेरो काम समाप्त हुन्छ, त्यो तैँले मेरो विरोध गर्न छोड्ने, तँ मेरो विरुद्धमा खडा हुन छोड्ने समय हुनेछ। मैले काम गर्दै गर्दा, तिमीहरू निरन्तर मेरो विरुद्ध काम गर्दछौ; तिमीहरू कहिल्यै मेरा वचनहरू पालन गर्दैनौ। म मेरो काम गर्दछु, र तँ तेरो आफ्नै “काम” गर्छस्, र आफ्नै सानो राज्य बनाउँछस्। तिमीहरू मविरुद्ध काम गर्नेबाहेक अरू केही नगर्ने स्याल र कुकुरहरूको बथान हौ! तिमीहरूलाई आफ्नो अविभाजित प्रेम दिनेहरूलाई तिमीहरू आफ्नो अङ्गालोमा ल्याउने निरन्तर कोसिस गरिरहेका छौ—तिमीहरूको डर मान्ने हृदय कहाँ छ? तिमीहरूले गर्ने सबै कुरा छली छन्! तिमीहरूसँग कुनै समर्पण वा डर छैन, र तिमीहरूले गर्ने सबै कुरा छली र ईशनिन्दात्मक छन्! के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? यौन रूपमा अनैतिक र कामुक पुरुषहरू सधैँ उनीहरूका आफ्नै आनन्दका निम्ति उत्ताउली वेश्याहरूलाई आकर्षित गर्न चाहन्छन्। म त्यस्ता यौन अनैतिक भूतात्माहरूलाई पटक्कै मुक्ति दिनेछैनँ। म तिमी फोहोर पिशाचहरूलाई पूर्ण रूपमा घृणा गर्छु, र तिमीहरूका कामुकता र उत्ताउलोपनले तिमीहरूलाई नरकमा डुबाउनेछन्। तिमीहरूको आफ्नै बारेमा तिमीहरूको भनाइ के छ? तिमी फोहोर पिशाच र दुष्टात्माहरू तिरस्कार्य छौ! तिमीहरू घिनलाग्दा छौ! यस्तो फोहोरलाई कसरी मुक्ति दिन सकिन्छ र? के पापमा फस्नेहरूलाई अझै मुक्ति दिन सकिन्छ? आज, तिमीहरूको हृदय यो सत्यता, यो मार्ग र यो जीवनप्रति आकर्षित छैन; बरु, त्यो त पापीपन, पैसा, हैसियत, ख्याति, प्राप्ति, देहको आनन्द, साथै पुरुषको सुन्दरता र महिलाको उत्ताउलोपनतर्फ आकर्षित छ। त्यसले तिमीहरूलाई कसरी मेरो राज्यमा प्रवेश गर्न योग्य बनाउँछ? तिमीहरूका छविहरू परमेश्‍वरको भन्दा पनि ठूला छन्, तिमीहरूको हैसियत परमेश्‍वरको भन्दा पनि उच्च छ, मानिसहरूमाझ तिमीहरूको इज्जतको त झन् कुरै नगरौँ—तिमीहरू वास्तवमा मानिसहरूले पूजा गर्ने मूर्ति बनेका छौ। के तिमीहरूमध्ये प्रत्येक नै प्रधान स्वर्गदूत बनेका छैनौ र? जब मानिसहरूका परिणामहरू प्रकाश गरिन्छन्, जुन बेला मुक्तिको काम पनि त्यसको अन्त्य नजिकै आइपुगेको हुनेछ, तब तिमीहरूमध्ये धेरै जना मुक्ति पाउन नसक्ने लासहरू भइसकेका हुनेछौ र तिमीहरूलाई हटाउनैपर्ने हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

अघिल्लो:  ७. कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको प्रत्येक आइतबार मण्डलीमा उपस्थित हुनु, दान दिनु र परोपकारी हुन, अनि मण्डलीका क्रियाकलापहरूमा नियमित उपस्थित हुनु हो भनी सोच्छन्। यस्ता कुराहरू गरेर तिनीहरूले मुक्ति पाउन सक्छन् भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। के त्यस्ता विचारहरू परमेश्‍वरको इच्छा अनुरूप छन्?

अर्को:  २. पहिले, ममा विवेकको कमी थियो। म सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामको विरोध र निन्दा गर्न पाष्टरहरू र एल्डरहरूको पछि लागेँ, र निन्दा गर्दै हिँड्न तिनीहरूको साथमा गएँ। के परमेश्‍वरले अझै पनि मलाई मुक्ति दिनुहुन्छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger