१. तपाईं भन्नुहुन्छ, परमेश्वरले आखिरी दिनहरूमा परमेश्वरको घरबाट सुरु गर्दै न्यायको काम गर्नुहुन्छ, प्रत्येकलाई त्यसको प्रकारअनुसार वर्गीकरण गर्दै असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुन्छ। त्यसो भए परमेश्वरले कस्तो प्रकारका मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र कस्तो प्रकारका मानिसहरूलाई नाश पार्नुहुन्छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्यस दिन मलाई धेरैले यसो भन्नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)।
“साँच्चै, म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ” (मत्ती १८:३)।
“जित्नेले सबै थोकको उत्तराधिकार पाउनेछ; र म उसको परमेश्वर हुनेछु, र ऊ मेरो छोरा हुनेछ। तर डरपोक, र अविश्वासी, अनि घृणितले, र हत्यारा, अनि व्यभिचारी, र जादूगर, अनि मूर्तिपूजक र झूट बोल्नेहरू सबैले आगो र गन्धक बल्ने कुण्डमा आफ्नो भाग पाउनेछन्: जुन दोस्रो मृत्यु हो” (प्रकाश २१:७-८)।
“आफ्ना वस्त्र धुनेहरू आशिषित् हुन्, तिनीहरूले जीवनको रुखको अधिकार पाउन सक्छन् र प्रवेशद्वार भएर सहरभित्र प्रवेश गर्न सक्छन्। किनभने बाहिरपट्टि कुकुरहरू, जादूगरहरू, व्यभिचारीहरू, हत्याराहरू, मूर्तिपूजकहरू अनि झूट मन पराउने र झूट बोल्नेहरू हुन्छन्” (प्रकाश २२:१४-१५)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
हिजोआज, खोज्ने र नखोज्नेहरू पूर्ण रूपमा फरक दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू पनि बिलकुलै फरक छन्। सत्यताको ज्ञान खोजी गर्नेहरू र सत्यता अभ्यास गर्नेहरू नै उनीहरू हुन् जसकहाँ परमेश्वरले मुक्ति ल्याउनुहुनेछ। सत्य मार्ग थाहा नपाउनेहरू भूतहरू र वैरीहरू हुन्; उनीहरू प्रधान दूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्वरका धर्मी विश्वासीहरू पनि, के उनीहरूचाहिँ भूतहरू होइनन्? असल विवेक भएकाहरू, तर सत्य मार्ग स्वीकार नगर्ने मानिसहरू भूतहरू हुन्; उनीहरूका सार परमेश्वरको प्रतिरोध मध्येको एक हो। सत्य मार्ग स्वीकार नगर्नेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कठिनाइहरू सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। उनीहरू जो संसारलाई त्याग्न अनिच्छुक हुन्छन्, जो उनीहरूका बाबुआमासँग अलग हुन सक्दैनन्, र जसले आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न रुचाउँदैनन् उनीहरू परमेश्वरविरुद्ध विद्रोही हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्वरमा विश्वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। विश्वास भएका तर सत्यता अभ्यास नगर्नेहरू, देहधारी परमेश्वरमा विश्वास नगर्नेहरू र परमेश्वरको अस्तित्वमा बिलकुलै विश्वास नगर्नेहरू पनि विनाशका पात्रहरू हुनेछन्। रहन दिइनेहरू सबै शोधनको कष्टहरू भएर गुज्रेका र दृढ खडा रहेकाहरू हुन्; यी साँचो रूपमा परीक्षाहरूलाई सहेका मानिसहरू हुन्। परमेश्वरलाई पहिचान नगर्ने जो-कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्वरलाई पहिचान नगर्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट विरोधी हो! यदि परमेश्वरमा विश्वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्वरविरुद्ध विद्रोह गर्ने मानिस नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्हरू मात्र प्राप्त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र तिनीहरूसँग विवेक र प्रेमले व्यवहार गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि मानिसहरू यो बिन्दुमा पुगेका छन् र अझै असल र खराबबीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्वरका अभिप्रायको खोजी गर्ने कुनै चाहनाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन् भने वा कुनै पनि किसिमले परमेश्वरका अभिप्रायहरूलाई उनीहरूको आफ्नै झैँ गरी लिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्वरलाई विश्वास नगर्ने जो कोही पनि परमेश्वरको शत्रु हो। यदि तैँले शत्रुलाई सम्मान र प्रेम गर्न सक्छस् भने, के तँमा न्याय बोधको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू वहन गर्छस् भने, तब के तँ विद्रोही होइनस् र? के तैँले जानी-जानी परमेश्वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित वास्तवमै सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्वरको कामलाई जानी-जानी अवरोध गरिरहेका हुँदैनन् र? ती मानिसहरू जसले येशूमा मात्र विश्वास गर्छन् र अन्तको दिनहरूको देहधारी परमेश्वरमा विश्वास गर्दैनन्, साथै उनीहरू जसले मौखिक रूपमा देहधारी परमेश्वरमा विश्वास गर्ने दाबी गर्छन् तर दुष्ट काम गर्छन्, उनीहरू सबै ख्रीष्ट—विरोधीहरू हुन्, परमेश्वरमा विश्वास नगर्नेहरूको त कुरै नगरौं। यी सबै मानिस विनाशका पात्र हुनेछन्। मानवले अरू मानवको मूल्याङ्कन गर्ने मानक उनीहरूको व्यवहारमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू दुष्ट हुन्। परमेश्वरले मानवको मूल्याङ्कन गर्नुहुने मानकचाहिँ उनीहरूको सार उहाँमा समर्पित हुन्छ कि हुँदैन भन्ने कुरामा आधारित हुन्छ; परमेश्वरमा समर्पित हुने व्यक्ति धर्मी व्यक्ति हो, जबकि समर्पित नहुने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो, चाहे त्यो व्यक्तिको व्यवहार असल होस् वा खराब, र चाहे उसको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कार्यहरू प्रयोग गर्ने इच्छा गर्छन्, र केही मानिसहरूले असल गन्तव्य हासिल गर्न असल शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्वरले मानिसहरूका परिणामहरू उनीहरूको व्यवहार हेरेर वा उनीहरूको बोलीवचन सुनेर निर्धारण गर्नुहुन्छ भनी सबैले गलत विश्वास गर्छन्; यसकारण, धेरै मानिसहरूले परमेश्वरलाई छलेर उनीहरूलाई क्षणिक निगाह प्रदान गराउनका लागि यसको लाभ उठाउने इच्छा गर्छन्। भविष्यमा, विश्रामको स्थितिमा बाँच्ने मानिसहरू सबैले सङ्कष्टको दिन सहेका हुनेछन् र परमेश्वरको गवाही दिएका पनि हुनेछन्; उनीहरू सबै आफ्ना कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्वरमा समर्पित भएका मानिसहरू हुनेछन्। सेवा गर्ने अवसरलाई केवल सत्यता अभ्यास गर्नबाट पन्छिने अभिप्रायका साथ प्रयोग गर्ने इच्छा गर्नेहरूलाई रहन दिइनेछैन। हरेक व्यक्तिको परिणामको प्रबन्ध गर्न परमेश्वरसँग उपयुक्त मानकहरू छन्; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरणअनुरूप मात्र गर्नुहुन्न, न त कुनै व्यक्तिले एउटा समयावधिमा कस्तो कार्य गर्छ भन्ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ निश्चय नै उहाँका निम्ति विगतमा गरिएको सेवाका कारण कसैको दुष्ट आचरणप्रति उदार हुनुहुनेछैन, न त कसैले उहाँप्रति आफूलाई निश्चित समयसम्म समर्पित गरेको कारण नै कसैलाई मृत्युबाट जोगाउनुहुनेछ। आफ्नो दुष्टताको बदलाबाट कोही जोगिन सक्दैन, र कसैले पनि आफ्नो दुष्ट व्यवहार ढाक्न सक्दैन, र त्यसरी विनाशका कष्टहरूबाट जोगिन सक्दैन। यदि मानिसहरूले आफ्नो कर्तव्य साँचो रूपमा पूरा गर्न सक्छन् भने, यसको अर्थ उनीहरू परमेश्वरप्रति अनन्त रूपमा बफादार छन् र इनाम खोज्दैनन्, चाहे उनीहरूले आशिष्हरू प्राप्त गरून् वा विपत्ति भोगून्। यदि मानिसहरू आशिष्हरू देख्दा, परमेश्वरप्रति बफादार हुन्छन्, तर कुनै आशिष्हरू देख्न नसक्दा चाहिँ आफ्नो बफादारी गुमाउँछन् भने, र यदि यी मानिसहरू—जसले एक समय परमेश्वरका निम्ति बफादारीपूर्वक परिश्रम गरे—अन्त्यमा अझै गवाही दिन वा आफूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, यस्ता मानिसहरू अझै पनि विनाशका पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू अनन्तकालभरि बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
जीवितहरू ती हुन् जसलाई परमेश्वरले मुक्ति दिनुभएको छ; तिनीहरू परमेश्वरद्वारा न्याय गरिएका र सजाय दिइएका हुन्छन्, तिनीहरू आफूलाई अर्पण गर्न इच्छुक हुन्छन् र परमेश्वरका लागि आफ्नो जीवन त्याग्न खुसी हुन्छन् र तिनीहरूले खुसीसाथ आफ्नो सम्पूर्ण जीवन परमेश्वरमा अर्पित गर्नेछन्। जब जीवितहरूले परमेश्वरको गवाही दिन्छन् तब मात्र शैतानलाई लज्जित बनाउन सकिन्छ; जीवितहरूले मात्र परमेश्वरको सुसमाचारको काम फैलाउन सक्छन्, जीवितहरू मात्र परमेश्वरका अभिप्राय अनुसारका हुन्छन्, र जीवितहरू मात्र वास्तविक मानिसहरू हुन्। मौलिक रूपमा परमेश्वरद्वारा सृजित मानिस जीवित थियो तर शैतानको भ्रष्टताको कारण मानिस मृत्युको बीचमा अनि शैतानको प्रभावमा रहेर जिउँछ, र त्यसैले यसप्रकार मानिसहरू आत्माविहीन मृतक बनेका छन्, तिनीहरू परमेश्वरको विरोध गर्ने शत्रुहरू बनेका छन्, तिनीहरू शैतानका औजारहरू बनेका छन् अनि तिनीहरू शैतानका बन्दीहरू बनेका छन्। परमेश्वरद्वारा सृजित सबै जीवित मानिसहरू मृत मानिसहरू बनेका छन् र त्यसरी परमेश्वरले उहाँको साक्षी गुमाउनुभएको छ र उहाँले उहाँद्वारा सृजित अनि उहाँको सास भएको एकमात्र वस्तु मानवजातिलाई गुमाउनुभएको छ। यदि परमेश्वरले उहाँको साक्षी फिर्ता लिनु परेमा र उहाँको आफ्नै हातद्वारा सृजित भएका तर शैतानद्वारा बन्दी बनाइएका व्यक्तिहरूलाई फिर्ता लिनु परेमा, उहाँले तिनीहरूलाई पुनर्जीवित गर्नुपर्छ ताकि तिनीहरू जीवित प्राणीहरू बनून् र उहाँले तिनीहरूलाई फिर्ता लिनैपर्छ ताकि तिनीहरू उहाँको ज्योतिमा बाँच्न सकून्। मृतकहरू ती हुन् जोसँग आत्मा हुँदैन, ती व्यक्तिहरू जो अत्याधिक रूपमा चेतनाशून्य छन् र जसले परमेश्वरको विरोध गर्छन्। तिनीहरू सबैभन्दा बढी परमेश्वरलाई नचिन्ने व्यक्तिहरू हुन्। यी मानिसहरूमा परमेश्वरमा समर्पित हुने रत्तीभर मनसाय हुँदैन; तिनीहरूले केवल उहाँको विरुद्ध विद्रोह गर्छन् र उहाँको विरोध गर्छन् अनि उनीहरूमा रत्तीभर पनि बफादारीता हुँदैन। जीवित व्यक्तिहरू ती व्यक्तिहरू हुन् जसका आत्माले पुनर्जन्म पाएका छन्, जसले परमेश्वरमा समर्पित हुन जान्दछन् र जो परमेश्वरप्रति बफादार छन्। तिनीहरू सत्यता र साक्षी युक्त हुन्छन् र ती व्यक्तिहरू मात्र परमेश्वरको लागि उहाँको घरमा प्यारा हुन्छन्। परमेश्वरले ती व्यक्तिहरूलाई बचाउनुहुन्छ जो जीवित हुन सक्छन्, जसले परमेश्वरको मुक्ति देख्न सक्छन्, जो परमेश्वरप्रति बफादार हुन सक्छन् र जो परमेश्वरको खोजी गर्न इच्छुक छन्। उहाँले ती व्यक्तिहरूलाई बचाउनुहुन्छ जो परमेश्वरको देहधारण अनि उहाँ देखा पर्नुभएको घटनामा विश्वास गर्छन्। केही मानिसहरू जीवित हुन सक्छन् र केही मानिसहरू सक्दैनन्; यो कुरा तिनीहरूको प्रकृति बचाउन सकिन्छ कि सकिँदैन भन्ने कुरामा भर पर्छ। धेरै मानिसहरूले परमेश्वरका धेरै वचनहरू सुनेका हुन्छन् तैपनि तिनीहरूले परमेश्वरका अभिप्रायहरू बुझ्न सक्दैनन् र अझै पनि तिनीहरूले तिनलाई अभ्यास गर्न सक्दैनन्। यस्ता मानिसहरू कुनै पनि सत्यतामा जिउन सक्षम हुँदैनन् र जानाजानी परमेश्वरको काममा बाधा पुऱ्याउँछन्। तिनीहरू परमेश्वरको लागि कुनै काम गर्न पनि सक्षम हुँदैनन्, तिनीहरूले उहाँप्रति कुनै कुरा पनि समर्पित गर्न सक्दैनन्, र तिनीहरूले गोप्य रूपमा मण्डलीको पैसा खर्च गर्छन् र परमेश्वरको घरमा सित्तैँमा खाना खान्छन्। यी व्यक्तिहरू मृत व्यक्तिहरू हुन् र यिनीहरूलाई बचाउन सकिँदैन। परमेश्वरले ती सबैलाई मुक्ति दिनुहुन्छ जो उहाँको कामको बीचमा छन्, तर त्यहाँ एक भाग मानिसहरू छन् जसले उहाँको मुक्ति प्राप्त गर्न सक्दैनन्; थोरै सङ्ख्याका मानिसहरूले मात्रै उहाँको मुक्ति प्राप्त गर्न सक्छन्। यो किन हुन्छ भने धेरैजसो मानिसहरू अति गहन रूपमा भ्रष्ट भइसकेका अनि मृत बनिसकेका छन्, र तिनीहरू मुक्तिभन्दा पर पुगिसकेका छन्; तिनीहरू पूर्ण रूपमा शैतानद्वारा शोषित भइसकेका छन्, र तिनीहरू तिनीहरूको प्रकृतिमा अति नै दुष्ट छन्। त्यस अल्पसंख्यक मानिसहरू पनि पूर्ण रूपमा परमेश्वरमा समर्पित हुन सक्छन्। तिनीहरू ती व्यक्तिहरू होइनन् जो सुरुदेखि नै परमेश्वरप्रति बफादार थिए वा जोसँग सुरुदेखि नै परमेश्वरप्रति अत्याधिक प्रेम थियो; बरु तिनीहरू उहाँको विजयको कामको कारण परमेश्वरप्रति समर्पित बनेका छन्, उहाँको सर्वोच्च प्रेमको कारण तिनीहरूले परमेश्वरलाई देख्छन्, परमेश्वरको धर्मी स्वभावको कारण तिनीहरूको स्वभावमा परिवर्तनहरू आएका छन्, र उहाँको त्यो काम जुन व्यावहारिक र सामान्य दुवै हो, त्यसको कारण तिनीहरूले परमेश्वरलाई चिन्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ जीवित भएको व्यक्ति होस्?
परमेश्वरले मानवजातिलाई दिनुभएको मुक्ति सत्यतालाई प्रेम गर्नेहरूको मुक्ति हो, इच्छा र सङ्कल्पसहितको तिनीहरूको एउटा भागको मुक्ति हो, र हृदयमा सत्यता र न्यायको तिर्सना गर्ने तिनीहरूको एउटा भागको मुक्ति हो। व्यक्तिको सङ्कल्प भनेको हृदयमा न्याय, भलाइ र सत्यताको तिर्सना गर्ने र विवेक धारण गरेको तिनीहरूको एउटा भाग हो। परमेश्वरले मानिसहरूको यस भागलाई मुक्ति दिनुहुन्छ, र यसमार्फत, उहाँले उनीहरूको भ्रष्ट स्वभावलाई परिवर्तन गर्नुहुन्छ, यसैले कि उनीहरूले सत्यतालाई बुझ्न र प्राप्त गर्न सकून्, यसैले कि उनीहरूको भ्रष्टता पखालिओस् र उनीहरूको जीवन स्वभाव रूपान्तरण होस्। यदि तँभित्र यी कुराहरू छैनन् भने, तैँले मुक्ति पाउन सक्दैनस्। यदि तँभित्र सत्यताप्रति कुनै प्रेम वा न्याय र ज्योतिप्रतिको कुनै आकांक्षा छैन भने; यदि तैँले दुष्ट कुराहरू सामना गर्नुपर्दा, तँमा ती कुराहरू त्याग्ने इच्छा पनि हुँदैन, र कठिनाइ सहने दृढसङ्कल्प पनि हुँदैन भने; यसबाहेक, यदि तेरो विवेक अचेत छ भने; यदि सत्यतालाई ग्रहण गर्ने तेरो प्राकृतिक क्षमता पनि अचेत छ, र तँ सत्यता र उत्पन्न हुने घटनाहरूप्रति ग्रहणशील छैनस् भने; र यदि तँ सबै कुरामा खुट्टयाउने गर्दैनस्, र कुनै परिस्थिति सामना गर्दा, तँ समस्या समाधान गर्नेहेतु सत्यता खोज्न सक्दैनस् र निरन्तर नकारात्मक बन्छस् भने, तैँले मुक्ति पाउने कुनै उपाय छैन। त्यस्ता व्यक्तिसँग सिफारिस गर्ने केही पनि हुँदैन, परमेश्वरले काम गर्न लायकको केही पनि हुँदैन। उनीहरूको अन्तस्करण मन्द हुन्छ, उनीहरूको दिमाग धमिलिएको हुन्छ, र उनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, न त उनीहरूले आफ्नो हृदयको गहिराइमा न्यायको तृष्णा नै गर्छन्, र परमेश्वरले जतिसुकै स्पष्ट वा पारदर्शी रूपमा सत्यता बोल्नुभए पनि, उनीहरूले अलिकति पनि प्रतिक्रिया दिँदैनन्, यस्तो लाग्छ मानौँ उनीहरूको हृदय पहिल्यै मरिसकेको छ। के उनीहरूका लागि काम-कुराहरू सकिएका हुँदैनन् र? थोरै सास बाँकी रहेको व्यक्तिलाई कृत्रिम श्वास-प्रस्वासद्वारा बचाउन सकिन्छ, तर यदि उनीहरू मरिसकेका छन् र उनीहरूका प्राण निस्केर गइसकेका छन् भने कृत्रिम श्वास-प्रस्वासले केही काम गर्दैन। यदि समस्या र कठिनाइहरू सामना गर्दा व्यक्ति पछि हट्छ र तीबाट पन्छिन्छ भने, उसले सत्यताको खोजी पटक्कै गर्दैन, र उसले आफ्नो काममा नकारात्मक र सुस्त बन्न रुचाउँछ, त्यसपछि उसको वास्तविक रूप खुलासा हुन्छ। त्यस्ता मानिसहरूसँग कुनै अनुभवात्मक गवाही हुँदै हुँदैन। तिनीहरू फाइदा लुट्ने, धर्तीको भार मात्र हुन्छन्, परमेश्वरको घरमा तिनीहरूको कुनै काम हुँदैन, र तिनीहरू पूर्णतया विनाशउन्मुख हुन्छन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
परमेश्वरले शैतानद्वारा भ्रष्ट तुल्याइएका र भ्रष्ट स्वभाव भएका मानिसहरूलाई मुक्ति दिनुहुन्छ, त्रुटिरहित सिद्ध मानिसहरू वा शून्यतामा जिउने मानिसहरूलाई होइन। केही मानिसहरू, थोरै भ्रष्टता प्रकट गर्दा पनि, यस्तो सोच्छन्, “मैले फेरि परमेश्वरको विरोध गरेँ। मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको छु तर अझै पनि परिवर्तित भएको छुइनँ। पक्कै पनि अब परमेश्वरले मलाई चाहनुहुन्न!” त्यसपछि तिनीहरू निराश हुन्छन् र सत्यता पछ्याउन अनिच्छुक हुन्छन्। तिमीहरूलाई यो मनोवृत्ति कस्तो लाग्छ? तिनीहरू आफैले सत्यता त्यागेका हुन्छन्, र उप्रान्त परमेश्वरले तिनीहरूलाई चाहनुहुन्न भनेर विश्वास गर्छन्। के यो परमेश्वरबारे गलतबुझाइ होइन? यस्तो नकारात्मकता शैतानद्वारा शोषित हुने सबैभन्दा सजिलो तरिका हो। शैतानले तिनीहरूको खिल्ली उडाउँदै भन्छ, “तँ मूर्ख! परमेश्वर तँलाई मुक्ति दिन चाहनुहुन्छ, तर तँ अझै यसरी कष्ट भोगिरहेको छस्! त्यसैले, बस हार मान्! यदि तैँले हार मानिस् भने, परमेश्वरले तँलाई हटाउनुहुनेछ्, र यो उहाँले तँलाई मेरो हातमा सुम्पिनुभएजस्तै हो। तँलाई त म पीडा दिएरै मार्नेछु!” एकपटक शैतान सफल भएपछि, परिणामहरू अकल्पनीय हुनेछन्। तसर्थ, व्यक्तिले जस्तोसुकै कठिनाइ वा नकारात्मकता सामना गरे पनि, हार मान्नै हुँदैन। उसले समाधान पाउन सत्यता खोज्नुपर्छ, र निष्क्रिय रूपमा पर्खर्नु हुँदैन। जीवन वृद्धिको प्रक्रिया र मानव मुक्तिको दौरान, मानिसहरूले कहिलेकाहीँ गलत मार्ग लिन, विचलित बन्न, वा कहिलेकाहीँ जीवनको अपरिपक्व स्थिति र व्यवहारहरू प्रदर्शन गर्न सक्छन्। तिनीहरू कहिलेकाहीँ कमजोर र नकारात्मक हुन सक्छन्, र कहिलेकाहीँ तिनीहरूले गलत कुराहरू बोल्न, ठोकर खान, वा असफलता भोग्न सक्छन्। यो सबै नै परमेश्वरको नजरमा सामान्य हुन्छ। यो कुराको कारण उहाँ तिनीहरूसँग द्वेष राख्नुहुन्न। केही मानिसहरू आफ्नो भ्रष्टता अति गहन छ, र आफूले परमेश्वरलाई कहिल्यै सन्तुष्ट गर्न सक्दिनँ भन्ने सोच्छन्, त्यसैले तिनीहरू दुःखी महसुस गर्छन् र आफैलाई घृणा गर्छन्। ठ्याक्कै यस्तो पश्चात्ताप गर्ने हृदय भएकाहरूलाई नै परमेश्वरले मुक्ति दिनुहुन्छ। अर्कोतर्फ, आफूलाई परमेश्वरको मुक्ति जरुरी छैन भनेर विश्वास गर्नेहरू, जो आफूलाई असल मानिस र आफूमा केही गल्ती छैन भन्ने सोच्छन्, तिनीहरूलाई सामान्यतया परमेश्वरले मुक्ति दिनुहुन्न। मैले यहाँ तिमीहरूलाई के कुरा बताइरहेको छु? जसले बुझ्छ, बोल। (हामी। आफ्नो भ्रष्टताका प्रकटीकरणहरूलाई उचित रूपमा सम्हाल्नुपर्छ र सत्यता अभ्यासमा ध्यान दिनुपर्छ, अनि त्यसपछि हामीले परमेश्वरको मुक्ति प्राप्त गर्नेछौ। यदि हामीले निरन्तर परमेश्वरलाई गलत बुझ्यौँ भने, हामी सजिलै निराश हुनेछौँ।) तँमा विश्वास हुनुपर्छ र तैँले यसो भन्नुपर्छ, “म अहिले कमजोर भए पनि, मैले ठेस खाए पनि र असफल भए पनि, म वृद्धि हुनेछु, र एकदिन सत्यता बुझ्नेछु, परमेश्वरलाई सन्तुष्ट पार्नेछु, र मुक्ति हासिल गर्नेछु।” तँसँग यस्तो सङ्कल्प हुनैपर्छ। तैँले जतिसुकै बाधा, कठिनाइ, असफलता, वा ठोकर सामना गर्नुपरे पनि तँ नकारात्मक हुनु हुँदैन। तँलाई परमेश्वरले कस्ता खालका मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनेर थाहा हुनुपर्छ। यसबाहेक, यदि तँ अझै पनि परमेश्वरबाट मुक्ति पाउन योग्य छैनस् भन्ने महसुस गर्छस् भने, वा यदि तँ परमेश्वरले घृणा गर्नुहुने वा उहाँ असन्तुष्ट हुनुहुने स्थितिमा हुन्छस् भने, वा कहिलेकाहीँ तैँले कुनै समयमा निकै खराब व्यवहार गरेको थिइस्, र परमेश्वरले तँलाई स्विकार्नुभएको थिएन, वा तँलाई तिरस्कार गर्नुभएको थियो भने, केही फरक पर्दैन। अब तँलाई थाहा छ, र धेरै ढिलो भएको छैन। जबसम्म तँ पश्चात्ताप गर्छस्, तबसम्म परमेश्वरले तँलाई अवसर दिनुहुनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो
धेरै मानिसहरू इमानदारीपूर्वक बोल्नु र कार्य गर्नुभन्दा बरु नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति मसँग अर्कै इलाज छ भन्ने कुरा त्यत्ति आश्चर्यजनक कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्ने कुरा मलाई राम्ररी थाहा छ। तिमीहरू सबै निकै “चलाख” भएकाले, आफ्नै तुच्छ मनस्थितिका आधारमा भद्र मानिसहरूको हृदय मापन गर्न एकदमै सिपालु भएकाले, यसले मेरो कामलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, ल त्यसोभए, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै प्रकोपमा पार्नेछु, ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्वासमा तिमीहरू दृढ हुन सक। अन्ततः, म तिमीहरूको मुखबाट “परमेश्वर विश्वासयोग्य परमेश्वर हुनुहुन्छ” भन्ने शब्दहरू निचोर्नेछु, जसपछि तिमीहरू आफ्ना छाती पिट्नेछौ, र “मानिसको हृदय अति छली हुन्छ!” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति के हुनेछ? निश्चय नै, तिमीहरू अहिलेको जति घमण्डले आविष्ट हुनेछैनौ! र अहिले भए जति “गहन र दुर्बोध” त झनै हुनेछैनौ। परमेश्वरको उपस्थितिमा, कतिपय मानिसहरू निकै अनुशासित हुन्छन्, र निकै “भद्र” हुन्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाह्राहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको श्रेणीमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तेरा शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने, म के भन्छु भने तँ सत्यता अभ्यास गर्न अत्यन्तै अनिच्छुक व्यक्ति होस्। यदि तँसँग भन्नै गाह्रो हुने धेरै निजी मामलाहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू, अर्थात् आफ्ना कठिनाइहरू, अरूसामु उदाङ्गो पार्न अत्यन्तै वितृष्ण छस् भने, म के भन्छु भने, तँ त्यस्तो व्यक्ति होस् जसलाई मुक्ति पाउन ठूलो कठिनाइ हुनेछ, र अँध्यारोबाट बाहिर आउन कठिनाइ हुनेछ। यदि तँलाई सत्यताको मार्ग खोजी गर्दा साँच्चै आनन्द लाग्छ भने, तँ सधैँ उज्यालोमा जिउने व्यक्ति होस्। यदि तँ परमेश्वरको घरमा सेवाकर्ता हुनमा निकै खुसी छस्, गुमनाम रही लगनशील र निष्ठावान् भई काम गर्छस्, सधैँ दिन्छस् र कहिल्यै लिँदैनस् भने म भन्छु, तँ बफादार सन्त होस् किनभने तँ कुनै इनाम खोज्दैनस्, तँ केवल इमानदार व्यक्ति भइरहेको छस्। यदि तँ खुलस्त हुन इच्छुक छस् भने, यदि तँ आफ्नो सबथोक समर्पित गर्न इच्छुक छस् भने, यदि तँ परमेश्वरका लागि आफ्नो जीवन बलिदान गर्न र आफ्नो गवाहीमा दृढ रहन सक्षम छस् भने, यदि तँ परमेश्वरलाई सन्तुष्ट पार्न मात्रै जान्ने तर आफूबारे नसोच्ने र आफ्ना लागि केही नलिने हदसम्मको इमानदार छस् भने, तब म भन्छु, त्यस्ता मानिसहरू ज्योतिमा पोषित हुनेहरू हुन् र तिनीहरू राज्यमा सदासर्वदा जिउनेछन्। तैँले तँमा साँचो विश्वास र साँचो बफादारीता छ कि छैन, तँमा परमेश्वरको लागि कष्ट भोगेको अभिलेख छ कि छैन र तँ सम्पूर्ण रूपले परमेश्वरप्रति समर्पण भएको छस् कि छैनस् भनेर थाहा पाउनुपर्छ। यदि तँसँग यी कुराहरूको कमी छ भने तँभित्र विद्रोहीपन, छल, लोभ र गुनासो छन्। तेरो हृदय इमानदारीदेखि दूर भएकोले तैँले परमेश्वरबाट कहिल्यै पनि मान्यता प्राप्त गरेको छैनस् र प्रकाशमा कहिल्यै पनि बसेको छैनस्। आखिरमा व्यक्तिको नियति कसरी तय हुन्छ भन्ने कुरा उनीहरूसँग इमानदार र रगत झैं रातो हृदय छ कि छैन र उनीहरूसँग विशुद्ध आत्मा छ कि छैन भन्ने कुरामा निर्भर रहन्छ। यदि तँ त्यस्तो व्यक्ति होस् जो एकदमै बेइमान छ, त्यस्तो व्यक्ति जोसँग कपटी हृदय छ, त्यस्तो व्यक्ति जोसँग अशुद्ध प्राण छ भने तँ त्यो ठाउँमा पुग्ने कुरा निश्चित छ जहाँ तेरो नियतिको विवरणमा लेखिए अनुरूप तँलाई दण्ड दिइन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू
दाजुभाइ-दिदीबहिनीहरूमाझ सधैँ आफ्नो नकारात्मकता पोखाउनेहरू शैतानका नोकर हुन्, र तिनीहरूले मण्डलीमा बाधा दिन्छन्। त्यस्ता व्यक्तिहरूलाई एक दिन निष्कासित गर्नुपर्छ र हटाइनुपर्छ। परमेश्वरमाथिको तिनीहरूको विश्वासमा यदि ती मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय छैन भने, यदि तिनीहरूसँग परमेश्वरमा समर्पित हुने हृदय छैन भने, तिनीहरू उहाँको निम्ति कुनै काम गर्न असमर्थ मात्र हुँदैनन्, तर त्यसको विपरीत तिनीहरू उहाँको काममा बाधा दिने र उहाँलाई प्रतिरोध गर्नेहरू बन्नेछन्। परमेश्वरमा विश्वास गर्नु तर उहाँप्रति समर्पित नहुनु वा उहाँको डर नमान्नु, बरु त्यसको साटो उहाँको विरोध गर्नु भनेको एक विश्वासीका निम्ति सबैभन्दा ठूलो बेइज्जती हो। यदि विश्वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा लापरवाह र अनियन्त्रित छन् र गैरविश्वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू गैरविश्वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्। जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अराजकता फैलाउँछन्, र भाइ-बहिनीहरूमाझ गुट पैदा गर्छन्—तिनीहरूलाई मण्डलीबाट निष्कासित गरिनुपर्छ। तापनि अहिले परमेश्वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभावहरू मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू खाँटी दियाबलस र शैतान हुन्। तिनीहरूको व्यवहारले परमेश्वरको काममा अवरोध र बाधा पुऱ्याउँछ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई बाधा दिन्छ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्याउँछ। ढिलो-चाँडो, भेडाहरूको खाल ओढ्ने यी ब्वाँसाहरूलाई सफाइ गर्नैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर मनोवृत्ति, इन्कार गर्ने मनोवृत्ति अपनाउनुपर्छ। परमेश्वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
प्रत्येक मण्डलीमा त्यस्ता व्यक्तिहरू हुन्छन् जसले मण्डलीमा बाधा उत्पन्न गर्छन् वा परमेश्वरको काममा अवरोध पुऱ्याउँछन्। तिनीहरू सबै शैतानहरू हुन् जो छली-भेसमा परमेश्वरको घरमा पसेका छन्। त्यस्ता व्यक्तिहरू अभिनय गर्न सिपालु हुन्छन्: तिनीहरू मेरो अगाडि ठूलो श्रद्धाका साथ आउँछन्, झुक्छन् र ढोग गर्छन्, लुतो लागेका कुकुरहरू जस्तो जिउँछन् र आफ्नै उद्देश्यहरू प्राप्त गर्न तिनीहरूका “सबै” समर्पण गर्छन्—तर दाजुभाइ तथा दिदी-बहिनीहरूको अगाडि तिनीहरू आफ्नो कुरूप पक्ष देखाउँछन्। जब उनीहरूले सत्यको अभ्यास गर्ने मानिसहरूलाई देख्छन्, तिनीहरूमाथि प्रहार गर्छन् र तिनीहरूलाई पन्छाउँछन्; जब उनीहरूले आफूभन्दा धेरै प्रभावशाली मानिसहरू देख्छन्, उनीहरू चिप्लो घस्ने र चापलुसी गर्ने गर्छन्। तिनीहरू मण्डलीमा जङ्गली बनेर दगुर्छन्। यो भन्न सकिन्छ कि त्यस्ता “स्थानीय बदमासहरू” त्यस्ता “पाल्तु कुकुरहरू” अधिकांश मण्डलीहरूमा हुन्छन्। तिनीहरू एकसाथ दियाबलसले जस्तो व्यवहार गर्छन् र एकअर्कालाई आँखा झिम्काउँछन् र गुप्त सङ्केतहरू पठाउँछन्, र तिनीहरूमध्ये कसैले पनि सत्यको अभ्यास गर्दैनन्। जोसँग सबैभन्दा बढी विष छ ऊ “प्रमुख भूत” हो र जोसँग सबैभन्दा उच्च प्रतिष्ठा हुन्छ, उनीहरूको झन्डा उचाल्दै तिनीहरूलाई त्यसैले अगुवाइ गर्छ। यस्ता मानिसहरू मण्डलीमा उन्मादपूर्ण रूपमा हुन्छन्, तिनीहरूले आफ्नो नकारात्मकता फैलाउँछन्, मृत्यु पोखाउँछन्, उनीहरूलाई जे मन लाग्छ त्यही गर्छन्, जे मन लाग्छ त्यही बोल्छन् र उनीहरूलाई रोक्ने हिम्मत कसैले पनि गर्दैन। तिनीहरू शैतानको स्वभावले भरिन्छन्। तिनीहरूले गडबडी गरेका लगत्तै मण्डलीमा मृत्युको हावा प्रवेश गरिहाल्छ। मण्डलीभित्र सत्यता अभ्यास गर्नेहरूलाई इन्कार गरिन्छ, र उनीहरू सबै कुरा दिन असमर्थ हुन्छन् भने मण्डलीमा बाधा दिने र मृत्यु फैलाउनेहरू जताततै दगुर्छन्—अनि, यति मात्र होइन, धेरैजसो मानिसहरूले उनीहरूलाई पछ्याउँछन्। त्यस्ता मण्डलीहरूमा शैतानले नै शासन गर्छ, जुन स्पष्ट र सरल कुरा हो; शैतान तिनीहरूको राजा हो। यदि त्यस्ता मण्डलीमा मानिसहरू खडा भएर प्रमुख भूतात्माहरूलाई इन्कार गर्दैनन् भने, तिनीहरू पनि ढिलो वा छिटो नाश हुनेछन्। अबदेखि उसो, त्यस्ता मण्डलीहरूको विरुद्धमा कारबाही गर्नुपर्छ। यदि थोरै सत्य अभ्यास गर्न सक्षम व्यक्तिहरूले खोजी गरेनन् भने त्यो मण्डलीलाई हटाइनेछ। यदि कुनै मण्डलीमा सत्यता अभ्यास गर्न इच्छुक हुने र परमेश्वरको गवाही दिनमा दृढ रहन सक्ने कोही छैन भने, त्यो मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्दछ, र अरू मण्डलीहरूसँग त्यसको सम्बन्ध विच्छेद गर्नुपर्दछ। यसलाई “मृत्युलाई गाड्नु” भनिन्छ; शैतानलाई इन्कार गर्नु भनेको यही हो। यदि एउटा मण्डलीमा धेरै जना स्थानीय बदमासहरू छन्, र तिनीहरूलाई “स-साना झिँगोहरू” ले पछ्याउँछन् जसमा पूर्ण रूपमा विवेकको कमी हुन्छ, र यदि त्यस्तो मण्डलीका मानिसहरूले सत्य देखेर पनि ती बदमासहरूका बन्धनहरू र चालबाजीहरू अस्वीकार गर्न सक्दैनन् भने, तब अन्त्यमा ती सबै मूर्खहरूलाई हटाइनेछ। यी साना झिँगोहरूले कुनै डरलाग्दो काम नगरेको हुन सक्छ, तर तिनीहरू अझ छली हुन्छन्, झन् धेरै चलाख हुन्छन्, र यस्तो सबैलाई हटाइनेछ। एउटै पनि बाँकी रहनेछैन! जो शैतानका हुन् उनीहरू शैतानकहाँ फर्किनेछन् भने जो परमेश्वरका हुन् उनीहरू निश्चय सत्यको खोजीमा लाग्नेछन्; उनीहरूका प्रकृतिद्वारा यसको निर्णय गरिन्छ। शैतानको पछि लाग्नेहरू सबै नष्ट होऊन्! त्यस्ता मानिसहरूलाई कुनै दया देखाइनेछैन। सत्यको खोजी गर्नेहरूका निम्ति प्रबन्ध गरिन्छ, र उनीहरूले आफ्नो हृदयको सन्तुष्टिका निम्ति परमेश्वरको वचनको आनन्द लिन सक्छन्। परमेश्वर धर्मी हुनुहुन्छ; उहाँले कसैलाई पक्षपात गर्नुहुन्न। यदि तँ दियाबलस हो भने तँ सत्य प्रयोग गर्न असमर्थ छस्; यदि तँ सत्यको खोजी गर्ने व्यक्ति होस् भने यो निश्चित छ कि तँ शैतानद्वारा बन्दी बनाइनेछैनस्। यस कुरामा कुनै शङ्का छैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
परमेश्वरमा साँचो रूपले विश्वास गर्ने मानिसहरू ती हुन् जो परमेश्वरको वचनलाई व्यवहारमा उतार्न र सत्यको अभ्यास गर्न इच्छुक हुन्छन्। जुन मानिसहरू साँच्चै परमेश्वर सम्बन्धी आफ्ना गवाहीमा अडिग हुन सक्छन् उनीहरू ती हुन् जो उहाँको वचनलाई व्यवहारमा उतार्न इच्छुक हुन्छन् र साँच्चै सत्यको पक्षमा खडा हुन सक्छन्। जो मानिस छल र अन्यायको सहारा लिन्छन् ती सबैमा सत्यको अभाव हुन्छ, र तिनीहरू सबैले परमेश्वरलाई लज्जित पार्छन्। जसले मण्डलीमा विवाद उत्पन्न गराउँछन् तिनीहरू शैतानका नोकर हुन्, तिनीहरू शैतानको मूर्त रूप हुन्। त्यस्ता व्यक्तिहरू धेरै द्वेषपूर्ण हुन्छन्। जोसँग कुनै विवेक हुँदैन र जो सत्यको पक्षमा खडा हुन सक्दैनन्, तिनीहरू सबैले खराब अभिप्रायहरू राख्छन् र सत्यलाई कलङ्कित बनाउँछन्। त्योभन्दा बढी, तिनीहरू शैतानका असली नमुनाहरू हुन्। तिनीहरू छुटकारा पाउनै नसक्ने हुन्छन्, र तिनीहरूलाई स्वाभाविक रूपमा हटाइनेछ। सत्यको अभ्यास नगर्नेहरूलाई परमेश्वरको परिवारले बाँकी रहन दिँदैन, न त यसले मण्डलीलाई जानाजानी भत्काउनेहरूलाई नै रहन दिन्छ। तर, निष्कासनको काम गर्ने समय अहिले होइन; त्यस्ता व्यक्तिहरूलाई आखिरमा केवल प्रकट गरिनेछ र हटाइनेछ। कुनै बेकार काम यी मानिसहरूमा खर्च गरिनेछैन; जो शैतानका हुन् उनीहरू सत्यको पक्षमा उभिन सक्दैनन्, तर सत्यको खोजी गर्नेहरू खडा हुन सक्छन्। सत्यको अभ्यास नगर्ने मानिसहरू सत्यको मार्ग सुन्न अयोग्य हुन्छन् र सत्यको साक्षी दिन अयोग्य हुन्छन्। सत्य उनीहरूको कानका निम्ति हुँदै-होइन; बरु, यो अभ्यास गर्नेहरूका निम्ति लक्षित हुन्छ। प्रत्येक व्यक्तिको अन्त्य प्रकट हुनुअघि, जसले मण्डलीलाई बाधा दिन्छन् र परमेश्वरको काममा अवरोध पुऱ्याउँछन्, तिनीहरूलाई पछि निराकरण गर्नको लागि अहिलेलाई पछाडि छोडिनेछ। काम पूरा भएपछि, यी व्यक्तिहरू प्रत्येकको पर्दाफास हुनेछ, र त्यसपछि उनीहरूलाई हटाइनेछ। सत्य प्रदान गरिरहँदा अहिलेका लागि, तिनीहरूलाई बेवास्ता गरिनेछ। जब मानवजातिलाई सम्पूर्ण सत्यता प्रकट गरिन्छ, ती मानिसहरूलाई हटाइनुपर्छ; सबै मानिसलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिने समय त्यही नै हुनेछ। समझ नभएकाहरूको स-साना चलाकीले गर्दा तिनीहरू दुष्टहरूको हातमा विनाश हुन पुग्छन्, तिनीहरू कहिल्यै नफर्कने गरी दुष्टहरूको प्रलोभनमा परेर जान्छन्। उनीहरू त्यस्तै व्यवहार गरिने योग्यका हुन्छन्, किनकि उनीहरू सत्यलाई प्रेम गर्दैनन्, किनकि तिनीहरू सत्यको पक्षमा खडा हुन असमर्थ हुन्छन्, किनकि तिनीहरूले दुष्ट मानिसहरूलाई पछ्याउँछन् र दुष्ट मानिसहरूका पक्षमा खडा हुन्छन्, र किनकि तिनीहरू दुष्ट मानिसहरूसँग षड्यन्त्र गर्छन् र परमेश्वरको प्रतिरोध गर्छन्। ती दुष्ट मानिसहरूले जे कुरा विकिरण गर्छन् त्यो खराब हो भनी उनीहरू राम्ररी जान्दछन्, तापनि उनीहरू आफ्नो हृदय कठोर बनाउँदछन् र तिनीहरूका पछि लाग्नलाई सत्यतर्फ आफ्नो पिठिउँ फर्काउँछन्। सत्यको अभ्यास नगर्ने तर विनाशकारी र घिनलाग्दा कामहरू गर्ने यी सबै मानिसहरूले के सबै खराबी गरिरहेका हुँदैनन्? तिनीहरूका माझमा कोही राजाजस्तो व्यवहार गर्ने र उनीहरूलाई पछ्याउनेहरू पनि हुन्छन्, तैपनि, के परमेश्वरको प्रतिरोध गर्ने तिनीहरूको प्रकृति त्यस्तै छैन र? परमेश्वरले उनीहरूलाई मुक्ति दिनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग के बहाना हुनसक्छ? परमेश्वर धर्मी हुनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग कुन बहाना हुनसक्छ? के उनीहरूका आफ्नै खराबीले उनीहरूलाई नष्ट पारिरहेको हुँदैन र? के उनीहरूका आफ्नै विद्रोहीपनले उनीहरूलाई नरकतिर तानिरहेको हुँदैन र? सत्यको अभ्यास गर्ने मानिसहरूले अन्त्यमा मुक्ति पाउनेछन् र सत्यको कारण तिनीहरू सिद्ध बनाइनेछन्। सत्यको अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यको कारण आफैमाथि विनाश ल्याउनेछन्। सत्यको अभ्यास गर्ने र नगर्नेहरूलाई यी अन्त्यहरूले पर्खेर बसेका छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
तिनीहरूलाई जसरी जाँचिए तापनि, आफ्नो हृदयमा परमेश्वर भएकाहरूको निष्ठा अपरिवर्तित नै रहन्छ; तर आफ्नो हृदयमा परमेश्वर नभएकाहरूका लागि, जब परमेश्वरको काम तिनीहरूको देहको लागि लाभदायक हुँदैन, तब तिनीहरूले परमेश्वरप्रतिको आफ्नो दृष्टिकोणलाई परिवर्तन गर्छन् र तिनीहरू परमेश्वरबाट अलगसमेत हुन्छन्। त्यस्ताहरू आखिरमा दह्रिलो गरी खडा हुनेछैनन्, तिनीहरूले परमेश्वरका आशिषहरूको मात्रै खोजी गर्छन् र तिनीहरूमा परमेश्वरको लागि आफैलाई खर्चिने र उहाँमा आफैलाई समर्पित गर्ने कुनै इच्छा हुँदैन। परमेश्वरको काम समाप्तिमा पुगेपछि त्यस्ता नीच मानिसहरूलाई निकालिनेछ र तिनीहरू कुनै पनि सहानुभूतिको योग्य छैनन्। मानवताविहीनहरू परमेश्वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र चिन्तामुक्त हुन्छ वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने “दयालु” व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्नो हितकारी व्यक्तिलाई कुनै पनि शब्द वा कारणविना नै आफ्नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्। यदि यी भूत आत्माहरू, आँखाको झिम्क्याइमै मार्ने यी भूतात्माहरूलाई निकालिएन भने, के तिनीहरू अदृश्य खतरा बन्नेछैनन् र? विजयको काम पूरा भएपछि मानिसलाई मुक्ति दिने कार्य हासिल हुँदैन। विजयको काम समाप्त भएको भए तापनि, मानिसलाई शुद्ध पार्ने काम समाप्त भएको छैन; मानिसलाई पूर्ण रूपमा शुद्ध पारिएपछि, परमेश्वरमा पूर्ण रूपमा समर्पित हुनेहरूलाई पूर्ण पारिएपछि, र आफ्नो हृदयमा परमेश्वरविहीन हुने ती देखावटी मानिसहरूलाई हटाइएपछि मात्रै त्यस्तो कार्य पूरा हुनेछ। उहाँको कामको अन्तिम चरणमा परमेश्वरलाई सन्तुष्ट नपार्नेहरूलाई पूर्ण रूपमा हटाइनेछ र हटाइएकाहरू दियाबलसहरूका हुन्। तिनीहरू परमेश्वरलाई सन्तुष्ट पार्न असमर्थ हुने हुँदा, तिनीहरू परमेश्वरको विरुद्धमा विद्रोही छन् र यी मानिसहरूले आज परमेश्वरलाई पछ्याए तापनि, यसले तिनीहरू अन्तिमसम्मै रहनेहरू हुन् भन्ने कुरालाई प्रमाणित गर्दैन। “अन्तिमसम्मै परमेश्वरलाई पछ्याउनेहरूले मुक्ति पाउनेछ” भन्ने वचनहरूमा, “पछ्याउनु” को अर्थ सङ्कष्टको बीचमा दह्रिलो गरी खडा हुनु भन्ने हुन्छ। आज, धेरैले परमेश्वरलाई पछ्याउनु सजिलो छ भन्ने विश्वास गर्छन् तर जब परमेश्वरको काम समाप्त हुनलागेको हुन्छ, तैँले “पछ्याउनु”-को साँचो अर्थलाई जान्नेछस्। तैँले विजय गरिएपछि आज अझै पनि परमेश्वरलाई पछ्याउन सक्छस् भन्दैमा, तँ सिद्ध पारिनेहरूमध्ये एक हुनेछस् भन्ने कुरालाई यसले प्रमाणित गर्दैन। परीक्षाहरूको सामना गर्न नसक्नेहरू, सङ्कष्टको बीचमा विजय बन्न नसक्नेहरू आखिरमा दृढ रूपमा खडा हुन असक्षम हुनेछन्, त्यसकारण परमेश्वरलाई अन्तिमसम्मै पछ्याउन असमर्थ हुनेछन्। परमेश्वरलाई साँचो रूपमा पछ्याउनेहरू आफ्नो कामको जाँचलाई सामना गर्न सक्नेहरू हुन्, जबकि परमेश्वरलाई साँचो रूपमा नपछ्याउनेहरू परमेश्वरको कुनै पनि परीक्षाहरूको सामना गर्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरूलाई निकालिनेछ, तर विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्वरलाई साँचो रूपले खोजी गर्छ कि गर्दैन भन्ने कुरालाई उसको कामको जाँचले अर्थात् परमेश्वरका परीक्षाहरूले निर्धारण गर्छन् र मानिस स्वयमले गर्ने निर्णयसँग यसको कुनै सम्बन्ध हुँदैन। परमेश्वरले कुनै पनि व्यक्तिलाई हल्का रूपमा इन्कार गर्नुहुन्न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन सक्छ। मानिसको लागि अदृश्य कुनै पनि कुरा वा मानिसलाई विश्वस्त तुल्याउन नसक्ने कुनै पनि काम उहाँले गर्नुहुन्न। मानिसको आस्था साँचो हो कि होइन भन्ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र मानिसद्वारा यसको निर्णय हुन सक्दैन। “गहुँलाई सामामा परिणत गर्न सकिँदैन र सामालाई गहुँमा परिणत गर्न सकिँदैन” भन्ने कुरामा कुनै शङ्का छैन। परमेश्वरलाई साँचो रूपमा प्रेम गर्नेहरू सबै आखिरमा राज्यमा नै रहनेछन् र उहाँलाई साँचो रूपमा प्रेम गर्ने कसैलाई पनि परमेश्वरले नराम्रो व्यवहार गर्नुहुन्न।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास
अब, तिमीहरूको खोजी प्रभावकारी भएको छ वा छैन त्यसको नाप तिमीहरूमा अहिले जे छ त्यसद्वारा गरिन्छ। तिमीहरूको परिणाम निर्धारण गर्न यही कुरा प्रयोग गरिन्छ; भन्नुको अर्थ तिमीहरूको परिणाम तिमीहरूले गरेका बलिदानहरूमा र तिमीहरूले गरेका कामहरूमा प्रकट गरिन्छ। तिमीहरूको नतिजा तिमीहरूको खोजी, तिमीहरूको विश्वास र तिमीहरूले जे गरेका छौ त्यसद्वारा प्रकट गराइनेछ। तिमीहरू सबैमध्ये धेरै जना यस्ता छन् जो पहिलेबाटै मुक्तिभन्दा धेरै पर छन्, किनकि आजको दिन मानिसका परिणामहरू प्रकट गर्ने दिन हो, र म मेरो काममा अस्तव्यस्त दिमाग भएको व्यक्ति हुनेछैन; मुक्तिबाट पूर्ण रूपमा पछि हुनेहरूलाई म अर्को युगमा डोऱ्याउनेछैनँ। एउटा यस्तो समय आउनेछ जब मेरो काम समाप्त हुन्छ। म ती दुर्गन्धित, आत्माविहीन लासहरूमा काम गर्नेछैनँ जसलाई पटक्कै मुक्ति दिन सकिँदैन। मानिसको मुक्तिका आखिरी दिनहरू अहिले नै हो, र म व्यर्थको काम गर्नेछैन। स्वर्ग र पृथ्वीको विरुद्ध निन्दा नगर—संसारको अन्त्य आउँदैछ। यो अपरिहार्य छ। स्थिति यस अवस्थामा आइपुगेको छ, र मानव जातिको रूपमा त्यसलाई रोक्नको लागि तैँले गर्न सक्ने कुनै कुरा छैन; तैँले आफ्नो इच्छाअनुसार स्थिति बदल्न सक्दैनस्। हिजो, तैँले सत्यको पछि लाग्न मूल्य चुकाएनस् र तँ बफादार थिएनस्; आज समय आएको छ, तँ मुक्तिभन्दा बाहिर छस्; अनि भोलि तँलाई हटाइनेछ, र तेरो मुक्तिको लागि कुनै उपमार्ग हुनेछैन। मेरो मुटु नरम छ र मैले तँलाई बचाउन यथासक्दो गर्दैछु तैपनि, यदि तैँले आफ्नो तर्फबाट कोसिस गर्दैनस् वा आफ्नै लागि केही विचार गर्दैनस् भने, त्योसँग मेरो के सरोकार हुन्छ र? जसले आफ्नो देहको बारेमा मात्र सोच्छ र आराम-सुविधा उपभोग गर्छ; जसले विश्वास गरेकोजस्तो देखिन्छ तर वास्तवमा विश्वास गरेका हुँदैनन्, जो खराब औषधी र मन्त्रतन्त्रमा लागेका हुन्छन्, जो लम्पट र विघटित छन्; जसले यहोवालाई चढाइएका बलिहरू र उहाँका सम्पत्तिहरू चोर्छन्, जसले घूसहरू मन पराउँछन्, जसले केही नगरिकन स्वर्गमा उक्लने सपना देख्छन्, जो घमण्डी र अहङ्कारी छन्, जसले व्यक्तिगत प्रसिद्धि र लाभ मात्र पाउने प्रयास गर्दछन्; जसले अशिष्ट वचनहरू फैलाउँछन्; जसले स्वयम् परमेश्वरको निन्दा गर्छन्, जसले केही गर्दैनन् तर स्वयम् परमेश्वरको विरुद्ध दोष लाउँछन् र उहाँको गिल्ला गर्छन्; जसले समूहहरू बनाउँछन् र स्वतन्त्रताको खोजी गर्छन्; जसले आफूलाई परमेश्वरभन्दा माथि उठाउँछन्; ती अगम्भीर युवाहरू, प्रौढहरू र वृद्ध-वृद्धा पुरुष र महिलाहरू, जो व्यभिचारमा फसेका छन्; ती पुरुष र स्त्रीहरू जो व्यक्तिगत प्रसिद्धि र लाभमा आनन्द लिन्छन् र अरूको बीचमा व्यक्तिगत प्रतिष्ठाको पछि लाग्छन्, ती अपश्चात्तापी मानिसहरू जो पापमा फसेका छन्—के तिनीहरू सबै मुक्ति पाउनदेखि बाहिर छैनन् र? व्यभिचार, पापी अवस्था, खराब औषधी, मन्त्रतन्त्र, अपवित्रता र अशिष्ट वचनहरू सबैले तिमीहरूको माझमा दङ्गा मच्चाउँछन्; र तिमीहरूको माझमा सत्यता र जीवनका वचनहरू कुल्चिइन्छ र तिमीहरूको माझमा पवित्र भाषालाई अशुद्ध पारिएको छ। तिमी अन्यजातिहरू, फोहोर र विद्रोहले फुलिएका छौ! तिमीहरूको अन्तिम परिणाम के हुनेछ? जसले देहलाई प्रेम गर्दछन्, जसले देहको मन्त्रतन्त्र गर्दछन् र जो व्यभिचारको पापमा फसेका छन् तिनीहरूसँग जीवित रहने साहस कसरी हुन सक्छ! के तिमीलाई थाहा छैन, कि तिमीहरूजस्ता मानिसहरू मुक्ति पाउनै नसक्ने कीराहरू हौ? तिमीहरूलाई यो र त्यो माग गर्ने अधिकार कुन कुराले दिन्छ? आजको मितिसम्म, सत्यलाई प्रेम नगर्नेहरू र केवल देहलाई प्रेम गर्नेहरूमा अलिकता पनि परिवर्तन आएको छैन—त्यस्ता मानिसहरूले कसरी मुक्ति पाउन सक्छन्? जसले जीवनको मार्गलाई प्रेम गर्दैनन्, जसले परमेश्वरलाई उच्च पार्दैनन् र उहाँको गवाही दिँदैनन्, जसले आफ्नै प्रतिष्ठाका लागि युक्ति रच्छन्, जसले आफ्नै गुणगान गर्दछन्—के तिनीहरू आज पनि त्यस्तै छैनन् र? तिनीहरूलाई मुक्ति दिनुको मूल्य के छ र? तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो वरिष्ठता कति ठूलो छ वा तैँले कति वर्षदेखि काम गर्दै आएको छस् भन्ने कुरामा निर्भर हुँदैन, र यो तैँले कति वटा योग्यता-प्रमाणहरू प्राप्त गरेको छस् भन्ने कुरामा त झनै निर्भर हुँदैन। बरु, यो त तेरो पछ्याइले फल फलाएको छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। तैँले यो जान्नु पर्दछ, जसलाई मुक्ति दिइएको छ तिनीहरू फल फलाउने “रूखहरू” हुन्, रमणीय पातहरू र प्रशस्त फूलहरू मात्र भएको तर फल नफल्ने रूखहरू होइनन्। यदि तैँले धेरै वर्ष गल्लीहरूमा घुमेर बिताएका छस् भने पनि, त्यसले के फरक पार्छ र? तेरो गवाही कहाँ छ? परमेश्वरको डर मान्ने तेरो हृदय आफैलाई र तेरा कामुक अभिलाषाहरूलाई प्रेम गर्ने तेरो हृदय भन्दा धेरै कम छ—के यस प्रकारको मानिस पतित होइन र? ऊ कसरी मुक्तिको नमुना र प्रारूप बन्न सक्छ? तेरो प्रकृति सुधार्न नसकिने छ, तँ अत्यन्तै विद्रोही छस्, तैँले मुक्ति पाउनै सक्दैनस्! के यस्ता मानिसहरू हटाइने मानिसहरू होइनन्? के मेरो काम समाप्त हुने समय तेरो अन्तिम दिन आउने समय होइन र? मैले तिमीहरूमाझ अत्यन्तै धेरै काम गरेको र अत्यन्तै धेरै वचनहरू बोलेको छु—त्यसमध्ये कति तिमीहरूका कानभित्र साँच्चै पसेको छ? त्यसमध्ये कतिप्रति तिमीहरू कहिल्यै समर्पित भएका छौ? जब मेरो काम समाप्त हुन्छ, त्यो तैँले मेरो विरोध गर्न छोड्ने, तँ मेरो विरुद्धमा खडा हुन छोड्ने समय हुनेछ। मैले काम गर्दै गर्दा, तिमीहरू निरन्तर मेरो विरुद्ध काम गर्दछौ; तिमीहरू कहिल्यै मेरा वचनहरू पालन गर्दैनौ। म मेरो काम गर्दछु, र तँ तेरो आफ्नै “काम” गर्छस्, र आफ्नै सानो राज्य बनाउँछस्। तिमीहरू स्यालहरू र कुकुरहरूको झुन्ड बाहेक अरू केही होइनौ, जसले सबै कुरा मेरो विरुद्धमा गर्दछ! तिमीहरूलाई आफ्नो अविभाजित प्रेम दिनेहरूलाई तिमीहरू आफ्नो अङ्गालोमा ल्याउने निरन्तर कोसिस गरिरहेका छौ—तिमीहरूको डर मान्ने हृदय कहाँ छ? तिमीहरूले गर्ने सबै कुरा छली हुन्छन्! तिमीहरूसँग कुनै समर्पणता वा डर छैन, र तिमीहरूले गर्ने सबै कुरा छल र ईश्वरनिन्दा हुन्! के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? यौन रूपमा अनैतिक र कामुक पुरुषहरू सधैँ उनीहरूका आफ्नै आनन्दका निम्ति उत्ताउली वेश्याहरूलाई आकर्षित गर्न चाहन्छन्। म त्यस्ता यौन अनैतिक भूतात्माहरूलाई पटक्कै मुक्ति दिनेछैनँ। म तिमी फोहोर भूतात्माहरूलाई घृणा गर्छु र तिमीहरूका कामुकता र उत्ताउलोपनले तिमीहरूलाई नरकमा डुबाउनेछ। तिमीहरूको आफ्नै बारेमा तिमीहरूको भनाइ के छ? तिमी फोहोर भूतात्माहरू र दुष्टात्माहरू घृणित छौ! तिमीहरू घिनलाग्दा छौ! यस्तो फोहोरलाई कसरी मुक्ति दिन सकिन्छ र? के पापमा फस्नेहरूलाई अझै मुक्ति दिन सकिन्छ? आज, यो सत्यताले, यो मार्गले र यो जीवनले तिमीहरूलाई आकर्षित गर्दैन; बरु, तिमीहरू पापीपन; पैसा, प्रतिष्ठा; ख्याति र लाभ; देहका मनोरञ्जन, पुरुषको सुन्दरता र स्त्रीको लावण्यतर्फ आकर्षित छौ। कुन कुराले तिमीहरूलाई मेरो राज्यमा प्रवेश गर्न योग्य बनाउँछ? तिमीहरूको छवि परमेश्वरको भन्दा अझ ठूलो छ, तिमीहरूको हैसियत परमेश्वरको भन्दा पनि उच्च छ, मानिसहरूमाझ तिमीहरूको इज्जतको त झन् कुरै नगरौँ—तिमीहरू मानिसहरूले पूजा गर्ने एउटा मूर्ति बनेका छौ। के तँ प्रधान स्वर्गदूत बनेको छैनस् र? जब मानिसहरूका परिणामहरू प्रकाश गरिन्छन्, जुन बेला मुक्तिको काम पनि त्यसको अन्त्य नजिकै आइपुगेको हुनेछ, तब तिमीहरूमध्ये धेरै जना मुक्ति पाउन नसक्ने लासहरू भइसकेका हुनेछौ र तिमीहरूलाई हटाउनैपर्ने हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (७)