३. यहूदी धर्म र इसाई धर्ममा धेरै मानिसहरू छन् जसले साँचो परमेश्‍वरमा विश्‍वास गर्छन्, जसले मन्दिरहरू र मण्डलीहरूमा परमेश्‍वरको आराधना गर्छन्, र जो सबैको अगाडि धेरै धर्मी देखिन्छन्। कसै-कसैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार नगरे पनि, तिनीहरूले स्पष्ट रूपमा परमेश्‍वरको विरोध वा निन्दा गर्ने केही पनि गरेका छैनन्। के परमेश्‍वरले तिनीहरू जस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“किनभने परमेश्‍वरले यसो भनेर आज्ञा दिनुभएको छ, आफ्‍नो बाबु र आमाको सम्मान गर: र, बाबु वा आमालाई जसले सराप्छ त्यो मारियोस्। तर तिमीहरू भन्छौ, जोसुकैले आफ्‍नो बाबु वा आमालाई यसो भन्‍नेछ, तपाईंले मबाट जे लाभ पाउन सक्‍नुहुन्थ्यो, त्यो उपहार हो; अनि उसले आफ्‍नो बाबु वा आमाको सम्मान गर्नु पर्दैन, ऊ स्वतन्त्र हुनेछ। यसरी तिमीहरूले आफ्‍नो परम्‍पराद्वारा परमेश्‍वरको आज्ञालाई व्यर्थ तुल्याइदिएका छौ। तिमीहरू ढोङ्गीहरू, यशैयाले यसो भनेर तिमीहरूको बारेमा ठीकै अगमवाणी गरेका थिए, यी मानिसहरू आफ्ना मुखहरूले मात्र मेरा नजिक आउँछन् र तिनीहरूका ओठहरूले मात्र मेरो सम्मान गर्छन्; तर तिनीहरूका हृदय मदेखि टाढा छ। तर तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्, मानिसहरूका आज्ञाहरूलाई सिद्धान्तको रूपमा सिकाउँछन्” (मत्ती १५:४-९)

“मलाई प्रभु, प्रभु भन्‍ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)

परमेश्वरका सान्दर्भिक वचनहरू:

मानवले अरू मानवको मूल्याङ्कन गर्ने मानक उनीहरूको व्यवहारमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू दुष्ट हुन्। परमेश्‍वरले मानवको मूल्याङ्कन गर्नुहुने मानकचाहिँ उनीहरूको सार उहाँमा समर्पित हुन्छ कि हुँदैन भन्‍ने कुरामा आधारित हुन्छ; परमेश्‍वरमा समर्पित हुने व्यक्ति धर्मी व्यक्ति हो, जबकि समर्पित नहुने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो, चाहे त्यो व्यक्तिको व्यवहार असल होस् वा खराब, र चाहे उसको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कार्यहरू प्रयोग गर्ने इच्छा गर्छन्, र केही मानिसहरूले असल गन्तव्य हासिल गर्न असल शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्‍वरले मानिसहरूका परिणामहरू उनीहरूको व्यवहार हेरेर वा उनीहरूको बोलीवचन सुनेर निर्धारण गर्नुहुन्छ भनी सबैले गलत विश्वास गर्छन्; यसकारण, धेरै मानिसहरूले परमेश्‍वरलाई छलेर उनीहरूलाई क्षणिक निगाह प्रदान गराउनका लागि यसको लाभ उठाउने इच्छा गर्छन्। भविष्यमा, विश्रामको स्थितिमा बाँच्ने मानिसहरू सबैले सङ्कष्टको दिन सहेका हुनेछन् र परमेश्‍वरको गवाही दिएका पनि हुनेछन्; उनीहरू सबै आफ्ना कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्‍वरमा समर्पित भएका मानिसहरू हुनेछन्। सेवा गर्ने अवसरलाई केवल सत्यता अभ्यास गर्नबाट पन्छिने अभिप्रायका साथ प्रयोग गर्ने इच्छा गर्नेहरूलाई रहन दिइनेछैन। हरेक व्यक्तिको परिणामको प्रबन्ध गर्न परमेश्‍वरसँग उपयुक्त मानकहरू छन्; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरणअनुरूप मात्र गर्नुहुन्न, न त कुनै व्यक्तिले एउटा समयावधिमा कस्तो कार्य गर्छ भन्‍ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ निश्‍चय नै उहाँका निम्ति विगतमा गरिएको सेवाका कारण कसैको दुष्ट आचरणप्रति उदार हुनुहुनेछैन, न त कसैले उहाँप्रति आफूलाई निश्चित समयसम्म समर्पित गरेको कारण नै कसैलाई मृत्युबाट जोगाउनुहुनेछ। आफ्नो दुष्टताको बदलाबाट कोही जोगिन सक्दैन, र कसैले पनि आफ्नो दुष्ट व्यवहार ढाक्न सक्दैन, र त्यसरी विनाशका कष्टहरूबाट जोगिन सक्दैन। यदि मानिसहरूले आफ्नो कर्तव्य साँचो रूपमा पूरा गर्न सक्छन् भने, यसको अर्थ उनीहरू परमेश्‍वरप्रति अनन्त रूपमा बफादार छन् र इनाम खोज्दैनन्, चाहे उनीहरूले आशिष्‌हरू प्राप्‍त गरून् वा विपत्ति भोगून्। यदि मानिसहरू आशिष्‌हरू देख्दा, परमेश्‍वरप्रति बफादार हुन्छन्, तर कुनै आशिष्‌हरू देख्न नसक्दा चाहिँ आफ्नो बफादारी गुमाउँछन् भने, र यदि यी मानिसहरू—जसले एक समय परमेश्‍वरका निम्ति बफादारीपूर्वक परिश्रम गरे—अन्त्यमा अझै गवाही दिन वा आफूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, यस्ता मानिसहरू अझै पनि विनाशका पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू अनन्तकालभरि बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

परमेश्‍वरलाई पछ्याउने कार्यमा प्रमुख महत्त्वको कुरा भनेको सबै कुरा परमेश्‍वरको आजको वचनअनुसार नै हुनुपर्छ भन्‍ने हो: तैँले जीवन प्रवेश वा परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्न खोजिरहेको भए तापनि, सबै कुरा परमेश्‍वरको आजको वचन वरिपरि नै केन्द्रित हुनुपर्छ। यदि तैँले जेबारे सङ्गति गर्छस् र जे कुरामा प्रवेश गर्न खोज्छस् ती परमेश्‍वरको आजको वचनवरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्‍वरका वचनहरूप्रति अपरिचित छस्, र तँमा पवित्र आत्‍माको कार्यको पूर्ण अभाव छ। परमेश्‍वरले चाहनुहुने भनेका उहाँका पाइलाहरूलाई पछ्याउने मानिसहरू नै हुन्। तैँले पहिले बुझेको कुरा जति सुन्दर र शुद्ध भए तापनि, परमेश्‍वरले त्यो चाहनुहुन्‍न, र तैँले यस्ता कुराहरूलाई पन्छाउन सक्दैनस् भने, यी कुराहरू भविष्यमा तेरो प्रवेशमा निकै ठूलो वाधा हुनेछन्। पवित्र आत्‍माको वर्तमान ज्योतिलाई पछ्याउन सक्‍नेहरू सबै आशिषित हुन्‍छन्। विगतका युगका मानिसहरूले पनि परमेश्‍वरका पाइलाहरूलाई पछ्याए, तैपनि तिनीहरूले आजको दिनसम्‍म पछ्याउन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष्‌ नै यही हो। पवित्र आत्‍माको वर्तमान कार्यलाई पछ्याउन सक्‍ने, र उहाँले तिनीहरूलाई जता डोर्‍याउनुभए पनि परमेश्‍वरलाई नै पछ्याउने गरी परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन सक्‍नेहरू—यिनीहरू परमेश्‍वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कार्यलाई नपछ्याउनेहरू परमेश्‍वरका वचनहरूको कार्यमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जति नै धेरै काम गरे तापनि, वा तिनीहरूको कष्ट भोगाइ जति नै ठूलो भए तापनि, वा तिनीहरूले जति नै धेरै दौडधूप गरे पनि, यीमध्ये कुनै पनि कुरा परमेश्‍वरको लागि कुनै अर्थको हुँदैन, र उहाँले तिनीहरूलाई अनुमोदन गर्नुहुनेछैन। आज, परमेश्‍वरको वर्तमान वचनहरूलाई पछ्याउनेहरू सबैजना पवित्र आत्माको प्रवाहमा हुन्छन्; परमेश्‍वरको आजको वचनप्रति अपरिचित रहनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर हुन्छन्, र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्न। पवित्र आत्माको वर्तमान वाणीहरूबाट अलग रहेको सेवा देहको, र धारणाहरूको सेवा हो, र यो परमेश्‍वरका अभिप्रायअनुसार हुनु असम्‍भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूमाझ जिउँछन् भने, तिनीहरूले परमेश्‍वरका अभिप्राय अनुसार केही पनि गर्न सक्दैनन्, र तिनीहरूले परमेश्‍वरको सेवा गरे तापनि, तिनीहरूले तिनीहरूका कल्‍पना र धारणाहरूमाझ सेवा गर्छन्, अनि परमेश्‍वरको अभिप्रायहरूअनुसार सेवा गर्न तिनीहरू पूर्ण रूपमा असमर्थ हुन्छन्। पवित्र आत्माको कामलाई पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरका अभिप्रायलाई बुझ्‍दैनन्, र परमेश्‍वरका अभिप्रायहरूलाई नबुझ्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्। परमेश्‍वर उहाँका आफ्‍नै अभिप्राय अनुसारको सेवा चाहनुहुन्छ; उहाँ धारणाहरू र देहको सेवा चाहनुहुन्‍न। यदि मानिसहरूले पवित्र आत्माको कार्यका चरणहरूलाई पछ्याउन सक्दैनन् भने, तिनीहरू धारणाहरूमाझ जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले अवरोध पुऱ्याउँछ र बाधा दिन्छ, अनि त्यस्तो सेवा परमेश्‍वरको विपरीत हुन्छ। त्यसकारण, परमेश्‍वरका पाइलाहरू पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्; परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन नसक्‍नेहरूले अवश्य नै परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू परमेश्‍वरको अनुरूप हुन सक्दैनन्। “पवित्र आत्माको कार्यलाई पछ्याउनु” को अर्थ परमेश्‍वरको आजका अभिप्रायहरूलाई बुझ्‍नु, परमेश्‍वरका वर्तमान मापदण्डहरूअनुसार काम गर्न सक्‍नु, आजको परमेश्‍वरमा समर्पित हुन र उहाँलाई पछ्याउन, र परमेश्‍वरका सबैभन्दा नयाँ वाणीहरूअनुसार प्रवेश गर्न सक्‍नु भन्‍ने हुन्छ। पवित्र आत्‍माको कार्यलाई पछ्याउने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति यही मात्रै हो। त्यस्ता मानिसहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न र परमेश्‍वरलाई देख्‍न सक्‍ने मात्रै होइनन्, तिनीहरूले त परमेश्‍वरको हालैको कामबाट परमेश्‍वरको स्वभावलाई पनि जान्‍न सक्छन्, र उहाँको हालैको कामबाट मानिसका धारणाहरू र विद्रोहीपनलाई, अनि मानिसको स्वभाव र सारलाई पनि जान्‍न सक्छन्; यसको साथै, तिनीहरूको सेवाको अवधिमा तिनीहरूले आफ्‍नो स्वभावमा क्रमिक रूपमा परिवर्तन हासिल गर्न पनि सक्छन्। यस्ता मानिसहरू मात्रै परमेश्‍वरलाई प्राप्त गर्न सक्‍ने, र यथार्थ रूपमा साँचो मार्ग भेट्टाउन सफल भएका मानिसहरू हुन्। पवित्र आत्‍माको कामद्वारा हटाइएकाहरू परमेश्‍वरको हालैको कामलाई पछ्याउन नसक्‍ने, र परमेश्‍वरको हालैको कामको विरुद्ध विद्रोह गर्ने मानिसहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरलाई खुल्‍लमखुल्‍ला विरोध गर्नुको कारण, परमेश्‍वरले नयाँ काम गर्नुभएकोले, र परमेश्‍वरको स्वरूप तिनीहरूको धारणामा भएको जस्तो नभएकोले गर्दा हो—यसको परिणामस्वरूप, तिनीहरूले खुल्‍लमखुल्‍ला परमेश्‍वरको विरोध गर्छन्, र परमेश्‍वरको आलोचना गर्छन्, जसले गर्दा परमेश्‍वरले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। परमेश्‍वरको हालैको कामको ज्ञान प्राप्त गर्नु त्यति सजिलो विषय होइन, तर यदि मानिसहरूमा परमेश्‍वरको काममा समर्पित हुने र परमेश्‍वरको कामको खोजी गर्ने मनमस्तिष्क छ भने, तिनीहरूले परमेश्‍वरलाई देख्‍ने मौका पाउनेछन्, र तिनीहरूले पवित्र आत्‍माको सबैभन्दा नयाँ अगुवाइ प्राप्त गर्ने मौका पाउनेछन्। परमेश्‍वरको कामलाई जानीजानी विरोध गर्नेहरूले पवित्र आत्‍माको अन्तर्दृष्टि वा परमेश्‍वरको अगुवाइ प्राप्त गर्न सक्दैनन्। त्यसकारण, मानिसहरूले परमेश्‍वरको हालैको काम प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा परमेश्‍वरको अनुग्रहमा निर्भर हुन्छ, यो तिनीहरूको खोजीमा निर्भर हुन्छ, र यो तिनीहरूका अभिप्रायहरूमा निर्भर हुन्छ।

पवित्र आत्माका वर्तमान वाणीहरूमा समर्पित हुन सक्‍नेहरू सबै आशिषितहरू हुन्। तिनीहरू पहिले जस्तो हुने गरेको भए तापनि, वा पवित्र आत्माले तिनीहरूमा जसरी काम गर्ने गर्नुभएको भए तापनि—परमेश्‍वरको हालैको कामलाई प्राप्त गर्नेहरू नै सबैभन्दा बढी आशिषित हुनेहरू हुन्, र आज हालैको कामलाई पछ्याउन नसक्‍नेहरूलाई हटाइन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ

परमेश्‍वरको कार्यको हरेक चरणमा मानिसलाई त्यहीअनुरूपका मागहरू दिइन्छ। पवित्र आत्‍माको प्रवाहभित्र हुनेहरू सबैले पवित्र आत्‍माको उपस्थिति र अनुशासनलाई प्राप्त गरेका हुन्छन् र पवित्र आत्‍माको प्रवाहमा नहुनेहरू शैतानको अधीनमा र पवित्र आत्‍माको कुनै पनि कार्यविहीन छन्। पवित्र आत्माको प्रवाहमा हुने मानिसहरू परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्नेहरू र परमेश्‍वरको नयाँ कार्यमा सहकार्य गर्नेहरू हुन्। यदि यो प्रवाहभित्र हुनेहरू सहकार्य गर्न असमर्थ छन् र यो समय अवधिमा परमेश्‍वरले माग गर्नुभएको सत्यतालाई अभ्यास गर्न असक्षम छन् भने, तिनीहरूलाई ताडना दिइनेछ र सबैभन्दा खराब कुरा त पवित्र आत्माले तिनीहरूलाई त्याग्‍नुहुनेछ। पवित्र आत्‍माको नयाँ कार्यलाई स्वीकार गर्नेहरू पवित्र आत्‍माको प्रवाहभित्र नै जिउनेछन् र तिनीहरूले पवित्र आत्‍माको वास्ता र सुरक्षालाई प्राप्त गर्नेछन्। सत्यतालाई अभ्यास गर्न इच्‍छुक हुनेहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ र सत्यतालाई अभ्यास गर्न इच्‍छुक नहुनेहरूलाई पवित्र आत्माले ताडना दिनुहुन्छ र दण्डसमेत दिन सक्‍नुहुन्छ। तिनीहरू जस्तोसुकै प्रकारको व्यक्ति भए तापनि, पवित्र आत्माको प्रवाहभित्र छन् भने, उहाँको नामको खातिर उहाँको नयाँ कामलाई स्वीकार गर्नेहरू सबैका लागि परमेश्‍वरले जिम्‍मेवारी लिनुहुनेछ। उहाँको नाम महिमित पार्ने र उहाँको वचन अभ्यास गर्न इच्‍छुक हुनेहरूले उहाँका आशिषहरू प्राप्त गर्नेछन्; उहाँविरुद्ध विद्रोह गर्नेहरू र उहाँको वचनलाई अभ्यास नगर्नेहरूले उहाँको दण्ड पाउनेछन्। पवित्र आत्माको प्रवाहमा हुनेहरू नयाँ कामलाई स्वीकार गर्नेहरू हुन् र तिनीहरूले नयाँ कार्यलाई स्वीकार गरेका हुनाले, तिनीहरूले उचित रूपमा परमेश्‍वरसँग सहकार्य गर्नुपर्छ र आफ्‍नो कर्तव्यलाई पूरा नगर्ने विद्रोहीहरूले जस्तो व्यवहार गर्नुहुँदैन। परमेश्‍वरले मानिसलाई दिनुभएको एउटै मात्र माग यही नै हो। नयाँ कार्यलाई स्वीकार नगर्नेहरूमा यस्तो हुँदैन: तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन् र पवित्र आत्माको ताडना र तिरस्कार तिनीहरूमा लागू हुँदैन। सारा दिन, यी मानिसहरू देहमा जिउँछन्, तिनीहरू आफ्‍नै मनभित्र जिउँछन् र आफ्‍नै मस्तिष्कको विश्‍लेषण र सर्वेक्षणद्वारा पैदा गरेको धर्मसिद्धान्तअनुसार गर्नेबाहेक तिनीहरूले केही पनि गर्दैनन्। पवित्र आत्माको नयाँ कार्यले यो माग गर्दैन, परमेश्‍वरसँगको सहकार्यमा यो माग गरिनु त परै जाओस्। परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्‍वरको उपस्थितिविहीन छन्, यसको साथै परमेश्‍वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्मबाहेक केही पनि होइन भन्‍ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्‍वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्‍न सकिन्छ र मण्डली भन्‍न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्‍माको उपस्थिति र काम छैन, पवित्र आत्‍माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधबारे कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मबारे कुनै ज्ञान छैन, परमेश्‍वरको सारा काम र परमेश्‍वरका वर्तमान अभिप्रायबारे तिनीहरूले जान्‍नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन् र तिनीहरू मैल हुन् जो विश्‍वासी भन्‍न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्‍वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्‍वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्‍लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्‍माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्‍माको नयाँ कामसँग कुनै सम्‍बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिस हुन् जोसँग सत्यताका लागि कुनै प्रेम छैन र जसलाई पवित्र आत्माले तिरस्कार गर्नुभएको छ। तिनीहरूलाई दुष्ट काम गर्नेहरू भनिन्छ किनभने तिनीहरू देहमा हिँड्छन् र परमेश्‍वरको नाम लिएर आफूलाई जे मन लाग्छ त्यही गर्छन्। जब परमेश्‍वर काम गर्नुहुन्छ, तिनीहरू जानी-जानी उहाँप्रति शत्रु बन्छन् र उहाँको विपरीत दिशातर्फ दौडन्छन्। मानिसले परमेश्‍वरसँग सहकार्य गर्न नसक्‍नु आफैमा अत्यन्तै विद्रोहीपूर्ण छ, त्यसकारण के जानी-जानी परमेश्‍वरको विपरीत दौडने मानिसहरूले निश्‍चित रूपमा नै आफ्‍ना उचित दण्ड पाउनेछैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

व्यवस्थाको युगका ती यहूदी फरिसी, प्रधान पुजारी, र शास्त्रीहरू परमेश्‍वरमा नाउँ मात्रको विश्‍वास गर्थे, तर तिनीहरूले उहाँको मार्गलाई पिठ्यूँ फर्काए, र देहधारी परमेश्‍वरलाई क्रूसमा समेत टाँगे। त्यसोभए, के तिनीहरूको विश्‍वासले परमेश्‍वरको अनुमोदन प्राप्त गरेको हुन सक्थ्यो र? (अहँ।) परमेश्‍वरले तिनीहरूलाई यहूदी आस्था बोकेका मानिस, एक धार्मिक समूहका सदस्य भनेर चित्रण गरिसक्‍नुभएको थियो। त्यसै गरी, परमेश्‍वर अहिले येशूमा विश्‍वास गर्नेहरूलाई कुनै धार्मिक समूहका सदस्यका रूपमा हेर्नुहुन्छ, किनकि उहाँ तिनीहरूलाई उहाँको मण्डलीका सदस्य वा उहाँका विश्‍वासीका रूपमा स्वीकार गर्नुहुन्‍न। किन परमेश्‍वर धार्मिक संसारलाई यस्तो निन्दा गर्नुहुन्छ? किनकि धार्मिक समूहहरूका सबै सदस्य, विशेष गरी विभिन्‍न सम्प्रदायका उच्च तहका अगुवाहरूको हृदयमा परमेश्‍वरको भय हुँदैन, न त तिनीहरू परमेश्‍वरको इच्छा पालन नै गर्छन्। तिनीहरू सबै अविश्‍वासी हुन्। तिनीहरू देहधारणमा विश्‍वास गर्दैनन्, झन् सत्यता स्विकार्नु त परको कुरा हो। तिनीहरू परमेश्‍वरका आखिरी दिनहरूको काम वा उहाँले व्यक्त गर्ने सत्यताहरू कहिल्यै खोज्दैनन्, त्यसको सोधीखोजी, जाँच गर्दैनन्, वा त्यो स्विकार्दैनन्, बरु सोझै परमेश्‍वरका आखिरी दिनहरूको देहधारणको कामलाई निन्दा र तिरस्कार गर्छन्। यसमा प्रस्टसित के देखिन्छ भने, तिनीहरू परमेश्‍वरमा नाउँ मात्रको विश्‍वास गर्लान्, तर परमेश्‍वर तिनीहरूलाई आफ्ना विश्‍वासीका रूपमा स्विकार्नुहुन्‍न; उहाँ तिनीहरूलाई दुष्कर्मी, तिनीहरूले गर्ने कुनै कुरा उहाँको मुक्तिको कामसँग अलिकति पनि सम्बन्धित छैन, तिनीहरू गैरविश्‍वासीहरू हुन् जो उहाँका वचनहरूभन्दा बाहिर छन् भनेर भन्‍नुहुन्छ। यदि तिमीहरू परमेश्‍वरलाई अहिले जसरी विश्‍वास गर्छौ, त्यसरी नै विश्‍वास गर्छौ भने, तिमीहरूलाई पनि धार्मिक अनुयायीमा झार्ने दिन आउनेछैन र? धर्मभित्र परमेश्‍वरमा विश्‍वास गरेर मुक्ति प्राप्त हुँदैन—खासमा यस्तो किन हुन्छ? यदि तिमीहरू यस्तो हुनुको कारण भन्‍न सक्दैनौ भने, यसले तिमीहरू अलिकति पनि सत्यता बुझ्दैनौ, न त परमेश्‍वरका अभिप्रायहरू नै बुझ्छौ भनेर देखाउँछ। परमेश्‍वरमा विश्‍वास गर्दा हुन सक्ने सबैभन्दा दुखद कुरा के हो भने, त्यो विश्‍वास झरेर धर्म बन्छ र त्यसलाई परमेश्‍वरले हटाउनुहुन्छ। यो मान्छेले कल्पना गर्नै नसक्ने कुरा हो, र सत्यता नबुझ्नेहरूले यस मामिलालाई स्पष्ट रूपमा कहिल्यै देख्न सक्दैनन्। ल भन् त, जब परमेश्‍वरका नजरमा कुनै मण्डली बिस्तारै धर्ममा परिणत भएको हुन्छ र यसको सुरुवातदेखि धेरै वर्षको दौरान कुनै सम्प्रदाय बनेको हुन्छ, तब के त्यसका मानिसहरू परमेश्‍वरको मुक्तिका पात्र हुन्छन्? के तिनीहरू उहाँको परिवारका सदस्य हुन्छन्? (अहँ।) तिनीहरू हुँदैनन्। साँचो परमेश्‍वरमा नाउँको मात्र विश्‍वास गर्ने, तर परमेश्‍वरले धार्मिक मानिस ठान्‍ने यी मानिसहरू हिँड्ने बाटो कुन हो? तिनीहरू हिँड्ने बाटो त्यो हो जसमा तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेको खोल ओढ्छन् तर उहाँको मार्ग कहिल्यै पछ्याउँदैनन्; त्यो बाटो हो जसमा तिनीहरू उहाँमा विश्‍वास गर्छन् तर उहाँको आराधना गर्दैनन्, बरु उहाँलाई त्याग्छन् समेत; त्यो बाटो हो जसमा तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेको दाबी गर्छन् तर उहाँको प्रतिरोध गर्छन्, परमेश्‍वरका नाममा, साँचो परमेश्‍वरमा नाउँको मात्र विश्‍वास गर्छन्, तर शैतान र दियाबलसहरूको आराधना गर्छन्, अनि मानव उद्यमहरूमा संलग्न हुन्छन्, र स्वतन्त्र मानव राज्य खडा गर्छन्। तिनीहरू हिँड्ने बाटो त्यही हो। तिनीहरू हिँड्ने बाटो हेर्दा के प्रस्ट हुन्छ भने, तिनीहरू अविश्‍वासीहरूको झुन्ड, ख्रीष्टविरोधीहरूको गिरोह, खुलेआम परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँको काम भङ्ग गर्ने शैतान र दियाबलसहरूको समूह हुन्। धर्मको संसारको सार यही हो। के मानिसहरूको यस्तो कुनै समूहको मान्छेको मुक्तिका लागि परमेश्‍वरको व्यवस्थापन योजनासँग कुनै सम्बन्ध छ? (छैन।) परमेश्‍वरका विश्‍वासीहरूको सङ्ख्या जति नै धेरै भए पनि, यदि तिनीहरूको विश्‍वासलाई परमेश्‍वरले कुनै धार्मिक समूहको विश्‍वासका रूपमा चित्रण गर्नुभएको छ भने, यी मानिसहरू परमेश्‍वरको काम र मुक्तिका निसाना होइनन्, र परमेश्‍वरले यसबारे निर्णय गरिसक्‍नुभएको हुन्छ—यी मानिसहरूलाई मुक्ति पाउन सकिँदैन। किन म यसो भनिरहेको छु? परमेश्‍वरको काम वा मार्गदर्शनविनाको कुनै समूह, जो उहाँप्रति समर्पित हुँदैन वा उहाँको आराधना बिलकुलै गर्दैन, त्यसले परमेश्‍वरमा नाउँको मात्र विश्‍वास गर्ला, तर तिनीहरू धर्मका पाष्टर र एल्डरहरूको पछि लाग्छन् र आज्ञापालन गर्छन्, र धर्मका पाष्टर र एल्डरहरू सारले नै शैतानी र पाखण्डी हुन्छन्। त्यसकारण, ती मानिसहरू शैतान र दियाबलसहरूलाई पछ्याउँछन्। तिनीहरू आफ्ना हृदयमा परमेश्‍वरप्रतिको विश्‍वास अभ्यास गरिरहेका छन्, तर खासमा, तिनीहरू मान्छेको चलाक प्रभावमा पर्दै छन्, मानवका योजनाबद्द कार्य र प्रभुत्वका पकडमा पर्छन्। त्यसैले, मूलभूत रूपमा भन्‍नुपर्दा, तिनीहरू शैतान र दियाबलसहरू, अनि परमेश्‍वरको प्रतिरोध गर्ने दुष्ट शक्तिहरू, अनि परमेश्‍वरका शत्रुहरूलाई पछ्याउँछन्। के परमेश्‍वरले यस्ता मानिसहरूको गिरोहलाई मुक्ति दिनुहुनेछ? (अहँ।) किन दिनुहुनेछैन? के यस्ता मानिसहरू पश्चात्ताप गर्न सक्छन्? सक्दैनन्; तिनीहरूले पश्चात्ताप गर्नेछैनन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेको नाममा मानव कार्य र व्यवसायहरूमा संलग्न हुन्छन्, मान्छेको मुक्तिका लागि परमेश्‍वरको व्यवस्थापन योजनाविपरीत जान्छन्, फलस्वरूप परमेश्‍वरले तिनीहरूलाई अन्तिम परिणामस्वरूप तिरस्कार गर्नुहुनेछ। परमेश्‍वरले यी मानिसहरूलाई मुक्ति दिनु असम्भव छ; तिनीहरू पश्चात्ताप गर्न सक्दैनन्, र तिनीहरूलाई शैतानले जितेको कारण परमेश्‍वरले तिनीहरू शैतानलाई नै जिम्मा लगाउनुहुन्छ। के परमेश्‍वरप्रतिको विश्‍वासले उहाँको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्‍ने कुरा त्यो विश्‍वास कति वर्षदेखिको हो भन्‍नेमा भर पर्छ? के त्यो व्यक्तिले मान्‍ने अनुष्ठान वा पालना गर्ने नियमहरूमा भर पर्छ? के परमेश्‍वर मानव अभ्यासहरूलाई हेर्नुहुन्छ? के उहाँ तिनीहरूको सङ्ख्या हेर्नुहुन्छ? (अहँ।) त्यसोभए, उहाँ के हेर्नुहुन्छ त? जब परमेश्‍वरले मानिसहरूको कुनै समूह छान्‍नुभएको हुन्छ, तब तिनीहरूलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन, उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछ कि दिनुहुनेछैन भनेर केको आधारमा मापन गर्नुहुन्छ? त्यो तिनीहरूले सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा आधारित हुन्छ; त्यो तिनीहरू हिँड्ने मार्गमा आधारित हुन्छ। परमेश्‍वरले मान्छेलाई अहिले जति धेरै सत्यता अनुग्रहका युगमा भन्‍नुभएको थिएन होला, र ती निर्दिष्ट थिएनन् होला, तैपनि उहाँले मान्छेलाई सिद्ध पार्न सक्नुभयो, अनि त्यतिबेला मुक्ति दिन सकिने मानिसहरू पनि थिए। त्यसोभए, यदि हालको युगका अत्यन्तै धेरै सत्यता सुनेका र परमेश्‍वरका अभिप्रायहरू बुझ्ने मानिसहरू उहाँको मार्ग पछ्याउन वा मुक्तिका मार्गमा हिँड्न सक्दैनन् भने, अन्त्यमा तिनीहरूको परिणाम के हुनेछ? तिनीहरूको अन्तिम परिणाम इसाई धर्म र यहूदी धर्मका विश्‍वासीहरूको जस्तै हुनेछ—उनीहरूले जस्तै तिनीहरूले पनि मुक्ति प्राप्त गर्न सक्नेछैनन्। यो परमेश्‍वरको धर्मी स्वभाव हो। तैँले जति नै प्रवचनहरू सुनेको भए पनि वा जति नै सत्यताहरू बुझेको भए पनि,—यदि तँ अझै पनि मान्छेलाई पछ्याउँछस्, शैतानलाई पछ्याउँछस्, र अन्त्यमा परमेश्‍वरको मार्ग पछ्याउन सक्दैनस्, न त उहाँको भय मान्‍न र दुष्टताबाट अलग रहन नै सक्छस् भने, परमेश्‍वर यस्तै मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। धर्मका मानिसहरू बाइबलको धेरै ज्ञान प्रचार गर्न सक्लान्, र तिनीहरूले केही आत्मिक धर्मसिद्धान्त बुझ्लान्, तर तिनीहरू परमेश्‍वरको काममा समर्पित हुन, वा उहाँका वचनहरू अभ्यास र अनुभव गर्न, वा उहाँलाई साँचो रूपमा आराधना गर्न सक्दैनन्, न त उहाँको भय मान्‍न र दुष्टताबाट अलग रहन नै सक्छन्। तिनीहरू सबै पाखण्डी हुन्, परमेश्‍वरप्रति साँच्चै समर्पित हुने मानिस होइनन्। परमेश्‍वरका नजरमा, यस्ता मानिसहरूलाई कुनै सम्प्रदाय, मानव समूह, मानव गुट, शैतानको वासस्थानका रूपमा परिभाषित गरिन्छ। समग्रमा, तिनीहरू शैतानको गिरोह, ख्रीष्टविरोधीहरूको राज्य हुन्, र परमेश्‍वर तिनीहरूलाई पूर्ण रूपले तिरस्कार गर्नुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भर नपरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको मार्गलाई स्वीकार नगर्नेहरू स्वैरकल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर भित्र जान सक्‍ने कोही पनि छैन। ख्रीष्‍टमार्फत बाहेक परमेश्‍वरद्वारा कोही पनि सिद्ध पारिँदैनन्। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, त्यसकारण उहाँका वचनहरू स्विकारेर उहाँको वचनप्रति समर्पित हुनैपर्छ। सत्यता र जीवनको आपूर्ति स्वीकार गर्न असमर्थ हुने, अनि आशिष्‌हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्ने नगर्। ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ, ताकि उहाँले उहाँमा इमानदारीसाथ विश्‍वास गर्नेहरू सबैलाई जीवन प्रदान गर्न सक्‍नुहोस्। यो काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नका खातिर अस्तित्वमा हुन्छ, र यो काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तँ ख्रीष्टलाई स्विकार्दैनस्, त्यसमाथि उहाँलाई दोषी ठहराउँछस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँलाई सताउँछस् भने, तँ अवश्यम्भावी रूपमा अनन्तकालसम्‍म जल्नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यस्तो किन हुन्छ भने, यी ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नका लागि परमेश्‍वरले कार्यभार दिनुभएको जन हुनुहुन्छ, त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुरालाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउनुपर्ने दण्ड सबैका लागि प्रष्टै छ। म तँलाई यो पनि भन्छु: यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको प्रतिरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टलाई इन्कार गरिस् भने, यसका लागि तेरो तर्फबाट कसैले पनि परिणामहरू भोग्न सक्नेछैन। यसको साथै, यस बिन्दुदेखि तैँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने अर्को मौका पाउनेछैनस्; यदि तैँले आफ्ना गल्ती सच्याउने इच्छा गरिस् भने पनि, तैँले फेरि परमेश्‍वरको मुहार देख्न सक्नेछैनस्। यस्तो किन हुन्छ भने, तैँले जसको प्रतिरोध गरिरहेको छस्, त्यो कुनै मानव होइन, तैँले जसलाई इन्कार गरिरहेको छस्, त्यो कुनै नगण्य व्यक्ति नभई ख्रीष्‍ट हुनुहुन्छ। के तँलाई यसका परिणामहरू के हुन्छन् भन्ने थाहा छ? तैँले सानो गल्ती गरिरहेको छैनस्, बरु जघन्य पाप गरिरहेको छस्। त्यसैले म हरेक व्यक्तिलाई सत्यताको अघि आफ्‍नो दारा नदेखाउन र आफ्ना नङ्ग्रा प्रदर्शन नगर्न वा स्वेच्छाचारी आलोचना नगर्न सल्लाह दिन्छु, किनकि सत्यताले मात्रै तँलाई जीवन दिन सक्छ, र सत्यताबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्‍म पाउन र फेरि परमेश्‍वरको मुहार देख्न सक्षम तुल्याउन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

अघिल्लो:  २. पहिले, ममा विवेकको कमी थियो। म सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामको विरोध र निन्दा गर्न पाष्टरहरू र एल्डरहरूको पछि लागेँ, र निन्दा गर्दै हिँड्न तिनीहरूको साथमा गएँ। के परमेश्‍वरले अझै पनि मलाई मुक्ति दिनुहुन्छ?

अर्को:  १. सारा संसारमा विपत्तिहरू बारम्बार आइरहेका छन्, र आकारमा ती वृद्धि भइरहेका छन्, यसरी आखिरी दिनहरूको आगमनको घोषणा गर्दैछन्। बाइबलले भन्छ, “सबै कुराको अन्त्य नजिकै छ” (१ पत्रुस ४:७)। हामीलाई थाहा छ, जब प्रभु आखिरी दिनहरूमा फर्केर आउनुहुन्छ उहाँले असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ र मानिसहरूको अन्त्य निर्धारण गर्नुहुनेछ। त्यसो भए उहाँले कसरी असललाई इनाम दिनुहुनेछ र दुष्टलाई दण्ड दिनुहुनेछ, र उहाँले मानिसहरूका अन्त्यहरू कसरी निर्धारण गर्नुहुनेछ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger