२. तपाईं आखिरी दिनहरूमा फर्केका परमेश्‍वरलाई सर्वशक्तिमान् परमेश्‍वर भनिन्छ भनी गवाही दिनुहुन्छ। हामी विश्‍वास गर्छौं, “सर्वशक्तिमान् परमेश्‍वर” भन्‍ने नाउँले परमेश्‍वरको सर्वशक्तिसम्पन्नतालाई बुझाउँछ र यो परमेश्‍वरको नयाँ नाउँ होइन। तपाईं किन “सर्वशक्तिमान् परमेश्‍वर” परमेश्‍वरको नयाँ नाउँ हो भनी भन्नुहुन्छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“जो विजयी हुन्छ उसलाई मैले मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यसउप्रान्त बाहिर जानेछैन: र म उसमा मेरो परमेश्‍वरको नाउँ, र मेरो परमेश्‍वरको सहरको नाउँ लेख्‍नेछु, जुन स्वर्गबाट मेरो परमेश्‍वरबाट तल ओर्लने नयाँ यरूशलेम हो: र म उसमा मेरो नयाँ नाउँ लेख्‍नेछु” (प्रकाश ३:१२)।

“सर्वशक्तिमान परमप्रभुले भन्नुभयो, म अल्फा र ओमेगा, सुरु र अन्त हुँ, जो छ, जो थियो र जो हुन आउनेछ, सर्वशक्तिमान् हुँ” (प्रकाश १:८)।

“अनि तिनीहरूले परमेश्‍वरको सेवक मोशाको गीत, र थुमाको गीत गए, र भने, हे परमप्रभु परमेश्‍वर सर्वशक्तिमान्, तपाईंका कार्यहरू महान् र अचम्‍मका छन्; हे सन्तहरूका राजा, तपाईंका मार्गहरू न्यायसंगत र साँचा छन्। हे परमप्रभु, तपाईंको डर नमान्‍ने, र तपाईंको नाउँको महिमा नफैलाउने को छ र?” (प्रकाश १५:३-४)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

सियोनमा प्रशंसा आएको छ र परमेश्‍वरको वासस्थान देखा परेको छ। परमेश्‍वरका चुनिएका असङ्ख्य मानिस महिमित पवित्र नामको गुणगान गर्छन् र त्यो फैलिरहेको छ। ओह, सर्वशक्तिमान् परमेश्‍वर! ब्रह्माण्डका प्रमुख, आखिरी दिनहरूका ख्रीष्ट—उहाँ सारा ब्रह्माण्डभित्र, प्रतापी र भव्य सियोन पर्वतमाथि उदाउनुभएको चम्किलो सूर्य हुनुहुन्छ …

सर्वशक्तिमान् परमेश्‍वर! हामी हर्षोल्लासका साथ तपाईँलाई पुकार्छौँ; हामी नाच्छौँ र गाउँछौँ। तपाईँ साँच्चै हाम्रा उद्धारक हुनुहुन्छ, ब्रह्माण्डका महान् राजा! तपाईँले विजेताहरूको एउटा समूह बनाउनुभएको छ र परमेश्‍वरको व्यवस्थापनको योजना पूरा गर्नुभएको छ। परमेश्‍वरका चुनिएका असङ्ख्य मानिस यस पर्वतमा ओइरिएर आउनैपर्नेछ। तिनीहरूले सिंहासनसामु घुँडा टेक्नैपर्नेछ! तपाईँ एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ र तपाईँ महिमा र आदरको हकदार हुनुहुन्छ। सारा महिमा, प्रशंसा र अख्तियार सिंहासनलाई होस्! सिंहासनबाट जीवनको मुहान बग्दछ, त्यसले परमेश्‍वरका सबै मानिसलाई मलजल गर्छ र खुवाउँछ। हाम्रो जीवन प्रत्येक दिन परिवर्तन हुन्छ; नयाँ ज्योति र नयाँ प्रकाशले हामीलाई पछ्याउँछन्, र निरन्तर परमेश्‍वरबारे नयाँ अन्तर्ज्ञानहरू दिन्छन्। अनुभवहरूका बीचमा, हामी परमेश्‍वरबारे पूर्ण निश्‍चयतामा पुग्छौँ। उहाँका वचनहरू निरन्तर देखा पर्छन्, सच्चा मानिसहरूमा देखा पर्छन्। हामी वास्तवमै अत्यन्तै आशिषित छौँ! हामी प्रत्येक दिन परमेश्‍वरसित आमने-सामने हुन्छौँ, सबै कुरामा परमेश्‍वरसित सङ्गति गर्छौँ, र सबै कुरामाथि परमेश्‍वरलाई नियन्त्रण लिन दिन्छौँ। हामी होसियारीसाथ परमेश्‍वरको वचन मनन गर्छौँ, हाम्रो हृदय परमेश्‍वरमा शान्त भई विश्राम गर्छ, अनि यसरी हामी परमेश्‍वरसामु आउँछौँ, जहाँ हामी उहाँको ज्योति पाउँछौँ। हामी प्रत्येक दिन हाम्रा जीवन, कार्य, शब्द, सोच र विचारहरूमा परमेश्‍वरको वचनभित्र जिउँछौँ, र हामी हरसमय कामकुरा खुट्ट्याउन सक्छौँ। परमेश्‍वरको वचनले धागोलाई सियोको दुलोभित्र छिराउँछ; अप्रत्याशित रूपमा, हामीभित्र लुकेका कुराहरू एकपछि अर्को गर्दै ज्योतिमा आउँछन्। परमेश्‍वरसितको सङ्गतिले ढिलाइ सहन गर्दैन; हाम्रा सोच र विचारहरू परमेश्‍वरद्वारा उदाङ्गो पारिन्छन्। हामी प्रत्येक क्षण ख्रीष्टको आसनअघि जिइरहेका हुन्छौँ, जहाँ हामी न्याय भोग्छौँ। हाम्रो शरीरभित्रको प्रत्येक ठाउँ शैतानद्वारा अझै ओगटिएको छ। आज, परमेश्‍वरको राजकीय शासन पुनःस्थापित गर्नका निम्ति उहाँको मन्दिर शुद्ध पारिनैपर्छ। हामीले पूर्ण रूपमा परमेश्‍वरद्वारा ओगटिनका लागि जीवन र मृत्युको सङ्घर्ष पार गर्नैपर्छ। हाम्रो पुरानो स्वरूप क्रूसमा टाँगिएपछि मात्र ख्रीष्टको पुनरुत्थान भएको जीवनले सर्वोच्च रूपमा शासन गर्न सक्छ।

अब पवित्र आत्मा हामीलाई पुनः प्राप्त गर्नका निम्ति लडाइँ गर्न हाम्रो हरेक कुनामा आक्रमण गर्नुहुन्छ! यदि हामी आफैलाई इन्कार गर्न र परमेश्‍वरसित सहकार्य गर्न इच्छुक हुन्छौँ भने, परमेश्‍वरले निश्‍चय नै हरसमय हामीलाई भित्रैबाट ज्योति दिनुहुनेछ र शुद्ध पार्नुहुनेछ, अनि शैतानले कब्जा गरेको कुरा फेरि नयाँ गरी पुनः प्राप्त गर्नुहुनेछ, ताकि हामी चाँडोभन्दा चाँडो परमेश्‍वरद्वारा पूर्ण पारिन सकौँ। समय खेर नफाल—प्रत्येक क्षण परमेश्‍वरको वचनभित्र जिओ। सन्तहरूसितै स्थापित हुँदै जाऊ, राज्यभित्र लगिऊ, अनि परमेश्‍वरसँगै महिमामा प्रवेश गर।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १

राज्यका राजा, सर्वशक्तिमान् परमेश्‍वरको गवाही दिइएको समयदेखि परमेश्‍वरको व्यवस्थापनको क्षेत्र सारा ब्रह्माण्डमा त्यसको सम्पूर्णतामा खुलेको छ। परमेश्‍वरको देखा पराइको गवाही चीन देशमा मात्र दिइएको छैन, तर सर्वशक्तिमान् परमेश्‍वरको नाउँको गवाही सबै देश र सबै स्थानमा दिइएको छ। तिनीहरू सबैले यो पवित्र नाउँ पुकारिरहेका छन्, हर सम्‍भव उपायद्वारा परमेश्‍वरसित सङ्गति गर्न खोजिरहेका छन्, सर्वशक्तिमान्‌ परमेश्‍वरका अभिप्रायहरू बुझिरहेका र मण्डलीमा सामूहिक रूपमा उहाँको सेवा गरिरहेका छन्। यो पवित्र आत्माले काम गर्ने अचम्मको तरिका हो।

विभिन्न देशका भाषाहरू एक-अर्काभन्दा फरक छन्, तर आत्मा एउटै हुनुहुन्छ। यो आत्माले सारा ब्रह्माण्डका मण्डलीहरूलाई एकसाथ जोड्नुहुन्छ र परमेश्‍वरसित, अलिकति पनि भिन्नता बिना, बिलकुल एक हुनुहुन्छ। यो शङ्का गर्नै नसकिने कुरा हो। अब पवित्र आत्माले तिनीहरूलाई बोलाउनुहुन्छ, र उहाँको आवाजले तिनीहरूलाई सतर्क बनाइराख्नुहुन्छ। यो परमेश्‍वरको कृपाको आवाज हो। तिनीहरू सबैले सर्वशक्तिमान् परमेश्‍वरको पवित्र नाउँ पुकारिरहेका छन्! तिनीहरूले प्रशंसा चढाउँछन् र गाउँछन् पनि। पवित्र आत्माको काममा कहिल्यै कुनै विचलन हुन सक्दैन; यी मानिसहरू सही मार्गमा अगाडि बढ्नका लागि सके सम्म गर्छन्, तिनीहरू पछाडि फर्कँदैनन्, जुन अचम्ममाथि अचम्म छ। यो मानिसहरूले कल्पना गर्न कठिन र अनुमान गर्न असम्भव कुरा हो।

सर्वशक्तिमान् परमेश्‍वर ब्रह्माण्डमा भएको जीवनका राजा हुनुहुन्छ! उहाँ महिमित सिंहासनमा विराजमान हुनुहुन्छ र संसारको न्याय गर्नुहुन्छ, सबैमाथि सार्वभौमिकता राख्नुहुन्छ, र सबै देशहरूमाथि शासन गर्नुहुन्छ; सबै मानिसहरू उहाँको सामु घुँडा टेकेर उहाँलाई प्रार्थना गर्छन्, उहाँको नजिक हुन्छन् र उहाँसँग कुराकानी गर्छन्। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै समय भए पनि, तिमीहरूको हैसियत जति ठूलो वा तिमीहरूको वरिष्ठता जति महान् भए पनि, यदि तिमीहरू आफ्नो हृदयमा परमेश्‍वरको विरुद्ध जान्छौ भने, तिमीहरूको न्याय गरिनैपर्छ र तिमीहरू पीडादायी बिन्तीको आवाज निकाल्दै उहाँको अगाडि लम्पसार हुनैपर्छ; तिमीहरूका आफ्नै कार्यहरूको फल कटनी गर्नु भनेको वास्तवमा यही हो। यो विलापको आवाज आगो र गन्धकको कुण्डमा यातना पाएको आवाज हो, र यो परमेश्‍वरको फलामको लौरोद्वारा ताडना दिइएको चिच्याहट हो; यो ख्रीष्टको सिंहासनको सामुन्नेको न्याय हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ८

मलाई कुनै समय यहोवा भनेर बोलाइन्थ्यो, कुनै समय मानिसहरूले मलाई मसीह भनेर पनि चिन्थे, र कुनै समय मानिसहरूले मलाई प्रेम र आदरसाथ मुक्तिदाता येशू भनी बोलाउँथे। आज, म अब उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइनँ। बरु म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युग अन्त्य गर्ने परमेश्‍वर हुँ; म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो सम्पूर्ण स्वभावले भरिएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिस कहिल्यै मेरो सम्पर्कमा आएको छैन, उसले मलाई कहिल्यै चिनेको छैन, र ऊ सदैव मेरो स्वभावबारे अनभिज्ञ रहेको छ। संसारको सृष्टिदेखि अहिलेसम्म, एउटा व्यक्तिले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसकहाँ देखा पर्नुहुने तर ऊमाझ गुप्त रहनुहुने परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिसमाझ, साक्षात् र जीवित रूपमा, जलिरहेको सूर्य र दन्किरहेको ज्वालाजस्तै, शक्तिले भरिपूर्ण र अख्तियारले भरिएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एउटा पनि व्यक्ति वा वस्तु छैन, र आगोको प्रज्वलनद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा वस्तु छैन। अन्ततः, मेरा वचनहरूका कारण असङ्ख्य राष्ट्र आशिषित हुनेछन्, र मेरा वचनहरूका कारण टुक्रा-टुक्रा पनि पारिनेछन्। यसरी, आखिरी दिनहरूमा सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ, र म सर्वशक्तिमान् परमेश्‍वर हुँ, जसले सारा मानवजातिलाई विजय गर्नुहुन्छ भनी देख्नेछन्। अनि म एक पटक मानिसका निम्ति पापबलि थिएँ, तर आखिरी दिनहरूमा म यावत् थोकलाई जलाउने दन्किँदो सूर्यका ज्वालाहरू, साथै सबै थोकलाई प्रकाश गर्ने धार्मिकताको सूर्य पनि बनेको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूमा मेरो काम यही हो। म यो नाउँ धारण गर्छु र यो स्वभाव वहन गर्छु, ताकि सबै मानिसले म धर्मी परमेश्‍वर, जलिरहेको सूर्य, दन्किरहेको ज्वाला हुँ भन्‍ने देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो मुहार देख्न सकून्: म इस्राएलीहरूको परमेश्‍वर मात्र होइन, र म उद्धारकर्ता मात्र होइन; बरु म स्वर्गहरू, र पृथ्वी र समुद्रभरिका सबै सृजित प्राणीहरूको परमेश्‍वर हुँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

मैले इस्राएलमा मेरो काम गर्दा “यहोवा” नाउँ धारण गरेँ, र यसको अर्थ इस्राएलीहरूको (परमेश्‍वरका चुनिएका मानिसहरूको) परमेश्‍वर हो, जो मानिसलाई कृपा देखाउन, मानिसलाई श्राप दिन, र मानिसको जीवनलाई मार्गदर्शन गर्न सक्नुहुन्छ; ती परमेश्‍वर, जोसँग महान्‌ शक्ति छ र जो बुद्धिले भरिपूर्ण हुनुहुन्छ। “येशू” इम्मानुएल हुनुहुन्छ, जसको अर्थ प्रेमिलो दयालुपनले भरिपूर्ण, कृपाले भरिपूर्ण, र मानिसलाई छुटकारा दिने पापबलि हुन्छ। उहाँले अनुग्रहको युगको काम गर्नुभयो, र उहाँ अनुग्रहको युगको प्रतिनिधित्व गर्नुहुन्छ, र व्यवस्थापन योजनाको कामको एउटा पाटोको मात्र प्रतिनिधित्व गर्न सक्नुहुन्छ। यसको तात्पर्य, यहोवा मात्र इस्राएलका चुनिएका मानिसहरूको परमेश्‍वर, अब्राहामको परमेश्‍वर, इसहाकको परमेश्‍वर, याकूबको परमेश्‍वर, मोशाको परमेश्‍वर, र इस्राएलका सारा मानिसको परमेश्‍वर हुनुहुन्छ। त्यसैले, यहूदी मानिसहरू लगायत त्यसबेलाका सारा इस्राएली यहोवाको आराधना गर्थे। तिनीहरू उहाँका लागि वेदीमा बलि चढाउँथे र धर्मगुरुको पोसाक लगाएर मन्दिरमा उहाँको सेवा गर्थे। तिनीहरू यहोवाको पुनः देखा पराइको आशा गर्थे। येशू मात्र मानवजातिको उद्धारकर्ता हुनुहुन्छ, र उहाँ मानवजातिलाई पापबाट छुटकारा दिने पापबलि हुनुहुन्छ। भन्नुको अर्थ, येशूको नाउँ अनुग्रहको युगबाट आएको हो र अनुग्रहको युगमा छुटकाराको कामका कारण अस्तित्वमा आएको हो। येशूको नाउँ अनुग्रहको युगका मानिसहरूलाई पुनर्जन्म लिने र मुक्ति पाउने अनुमति दिन अस्तित्वमा आएको हो, र यो समग्र मानवजातिको छुटकाराका लागि एउटा विशेष नाउँ हो। तसर्थ, येशू नाउँले छुटकाराको कामको प्रतिनिधित्व गर्छ, र अनुग्रहको युगलाई जनाउँछ। यहोवा नाउँ व्यवस्थाअन्तर्गत जिएका इस्राएलका मानिसहरूका निम्ति एउटा विशेष नाउँ हो। हरेक युग र कामको हरेक चरणमा, मेरो नाउँ निराधार छैन, बरु यसले प्रतिनिधिमूलक महत्त्व राख्छ: हरेक नाउँले एउटा युगको प्रतिनिधित्व गर्छ। “यहोवा” ले व्यवस्थाको युगको प्रतिनिधित्व गर्छ, र यो इस्राएलका मानिसहरूले आराधना गर्ने परमेश्‍वरलाई बोलाउने आदरार्थी नाम हो। “येशू” ले अनुग्रहको युगको प्रतिनिधित्व गर्छ, र यो अनुग्रहको युगमा छुटकारा पाउने सबैको परमेश्‍वरको नाउँ हो। यदि मानिस अझै आखिरी दिनहरूमा मुक्तिदाता येशूको आगमनको तृष्णा गर्छ, र अझै उहाँले यहूदियामा वहन गर्नुभएको स्वरूपमा उहाँ आइपुग्ने अपेक्षा गर्छ भने, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापनको योजना छुटकाराको युगमा रोकिनेथ्यो, र अलिकता पनि अघि बढ्न सक्नेथिएन। यसको अलावा, आखिरी दिनहरू कहिल्यै आउने थिएनन्, र युगको अन्त्य कहिल्यै हुने थिएन। किनभने मुक्तिदाता येशू मानवजातिको छुटकारा र मुक्तिका निम्ति मात्र हुनुहुन्छ। मैले येशूको नाउँ केवल अनुग्रहको युगका सबै पापीका खातिर लिएँ, तर त्यो त्यस्तो नाउँ होइन जसद्वारा म समग्र मानवजातिलाई अन्त्य गर्नेछु। यहोवा, येशू, र मसीह सबैले मेरो आत्माको प्रतिनिधित्व गर्ने भए पनि, यी नाउँले मेरो व्यवस्थापनको योजनाका विभिन्न युगलाई मात्र जनाउँछन्, र समग्र रूपमा मेरो प्रतिनिधित्व गर्दैनन्। पृथ्वीका मानिसहरूले मलाई बोलाउने नाउँले मेरो सम्पूर्ण स्वभाव र म जे हुँ त्यो सबैलाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन्। ती केवल विभिन्न युगमा मलाई बोलाइने फरक-फरक नाउँ हुन्। त्यसैले जब अन्तिम युग—आखिरी युग—आउँछ, तब मेरो नाउँ फेरि बदलिनेछ। मलाई यहोवा वा येशू पनि भनिनेछैन, मसीह त झनै भनिनेछैन—मलाई शक्तिशाली र सर्वशक्तिमान् परमेश्‍वर स्वयम्‌ भनिनेछ, र म यही नाउँमा समग्र युगको अन्त्य गर्नेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

परमेश्‍वरलाई धेरै वटा नाउँले सम्बोधन गर्न सकिन्छ, परमेश्‍वरलाई समेट्ने नाउँ एउटै मात्र छैन, परमेश्‍वरलाई प्रतिनिधित्व गर्न एउटा मात्र नाउँ पनि छैन। यसैले, परमेश्‍वरका धेरै वटा नाउँहरू छन्, तर यी धेरै वटा नाउँले परमेश्‍वरको स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन्, किनकि परमेश्‍वरको स्वभाव यति समृद्ध छ कि त्यो मानिसको क्षमताले बुझ्न सक्नेभन्दा बढी छ। मानिसले मानव जातिको कुनै पनि भाषा प्रयोग गरेर परमेश्‍वरलाई पूर्णरूपमा समेट्ने कुनै तरिका छैन। मानव जातिले परमेश्‍वरको स्वभावको बारेमा जे जान्दछ ती सबैलाई समेट्न तिनीहरूसित सीमित शब्दावली मात्र छ: महान्, आदर्शमयी, अद्भुत, बुझ्न नसकिने, सर्वोच्च, पवित्र, धर्मी, बुद्धिमान, आदि। यो सीमित शब्दावलीले मानिसले परमेश्‍वरको स्वभावमा देखेको थोरै कुराको समेत वर्णन गर्न सक्दैन। समय बित्दै जाँदा, अरू धेरैले त्यस्ता शब्दहरू थपे जसले उनीहरूका हृदयको जोशको राम्ररी वर्णन गर्न सक्छ भन्‍ने तिनीहरूले ठानेका थिए: परमेश्‍वर अति महान् हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै पवित्र हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ! आज, यस्ता मानव भनाइहरू चरम सीमामा पुगेका छन्, तापनि मानिस अझै पनि आफैलाई व्यक्त गर्न असक्षम छ। त्यसैले, मानिसका नजरमा परमेश्‍वरका धेरै वटा नाउँ छन्, तापनि उहाँको नाउँ एउटै मात्र छैन, अनि परमेश्‍वरको सत्त्व प्रशस्त भएको तर मानिसको भाषा अति कमजोर भएको हुनाले यसो भएको हो। कुनै एउटा विशेष शब्द वा नाउँले परमेश्‍वरलाई उहाँको सम्पूर्णतामा प्रतिनिधित्व गर्नै सक्दैन, त्यसो भए के तँ उहाँको नाउँ निश्चित गर्न सकिन्छ भन्‍ने सोच्छस्? परमेश्‍वर अति महान् र अति पवित्र हुनुहुन्छ—के तँ उहाँलाई प्रत्येक युगमा उहाँको नाउँ परिवर्तन गर्ने अनुमति दिँदैनस्? त्यसकारण, परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुहुने प्रत्येक युगमा, उहाँले युग सुहाउँदो एउटा नाउँ प्रयोग गर्नुहुन्छ, जसले उहाँले गर्न चाहनुभएको कामलाई समेट्छ। उहाँ त्यस युगमा उहाँको स्वभावको प्रतिनिधित्व गर्न उक्त युगको महत्त्व बोकेको यो विशेष नाउँ प्रयोग गर्नुहुन्छ। यो आफ्नो स्वभाव व्यक्त गर्न परमेश्‍वरले मानव जातिको भाषा प्रयोग गर्नुभएको हो। त्यसरी नै, आत्मिक अनुभवहरू प्राप्त गर्ने र परमेश्‍वरलाई व्यक्तिगत रूपमा देख्ने धेरै मानिसहरूले यो एउटा विशेष नाउँ पूर्ण रूपमा परमेश्‍वरको प्रतिनिधित्व गर्न असमर्थ छ भन्‍ने महसुस गर्छन्—अहो, यसमा कुनै सहायता गर्न सकिँदैन—त्यसैले मानिसले अब परमेश्‍वरलाई कुनै नाउँबाट सम्बोधन गर्दैन, तर उहाँलाई “परमेश्‍वर” मात्र भन्छ। यस्तो लाग्छ, कि मानिसको हृदय प्रेमले भरिपूर्ण छ र अन्तर्विरोधहरूमा पनि परेको छ, किनकि मानिसले परमेश्‍वरको व्याख्या गर्न जान्दैन। परमेश्‍वर जे हुनुहुन्छ त्यो अति प्रशस्त छ, यसैले त्यसको वर्णन गर्ने कुनै तरिका नै छैन। परमेश्‍वरको स्वभावको सार बताउने कुनै एउटा शब्द छैन, अनि परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै वर्णन गर्ने शब्द एउटा पनि छैन। यदि कसैले मलाई, “वास्तवमा तपाईं कुन नाउँ प्रयोग गर्नुहुन्छ?” भनी सोध्छ भने, म तिनीहरूलाई भन्‍नेछु, “परमेश्‍वर, परमेश्‍वर हुनुहुन्छ!” के यो परमेश्‍वरका निम्ति सर्वोत्तम नाम होइन र? के यसमा परमेश्‍वरको स्वभावलाई सबैभन्दा राम्रोसँगले समेटिएको छैन र? त्यसो हो भने, परमेश्‍वरको नाउँ जाँचपड्ताल गर्न तिमीहरू किन त्यत्ति धेरै प्रयास गर्छौ? तिमीहरूलाई किन खाना र निन्द्रा नै त्यागेर एउटा नाउँका खातिर सधैँ टाउको दुखाउनु परेको? त्यो दिन आउनेछ, जब परमेश्‍वरलाई यहोवा, येशू वा मसीह भनिनेछैन—उहाँलाई सृष्टिकर्ता मात्र भनिनेछ। त्यस बेला उहाँले पृथ्वीमा धारण गर्नुभएका सबै नाउँहरू समाप्त हुनेछ, किनकि पृथ्वीमा उहाँको काम समाप्त भएको हुनेछ, त्यसपछि उहाँको कुनै नाउँ हुनेछैन। जब सबै थोक सृष्टिकर्ताको अधीनमा आउँदछन्, उहाँलाई अत्याधिक उपयुक्त तर अपूर्ण नाउँ किन चाहिन्छ र? के तँ अझै परमेश्‍वरको नाउँ जाँचपड्ताल गरिरहेको छस्? के तँ अझै पनि परमेश्‍वरलाई यहोवा मात्र भनिन्छ भन्‍ने हिम्मत गर्छस्? के तँ अझै पनि परमेश्‍वरलाई येशू मात्र भनिन्छ भन्‍ने हिम्मत गर्छस्? के तँ परमेश्‍वरको विरुद्धमा गरिने ईश्‍वर निन्दाको पाप सहन सक्छस्? सुरुमा परमेश्‍वरको कुनै नाउँ थिएन भन्‍ने तँलाई थाहा हुनुपर्छ। उहाँले केवल एउटा वा दुईवटा वा धेरै नाउँ लिनुभयो, किनकि उहाँले गर्नुपर्ने काम थियो र मानव जातिलाई व्यवस्थापन गर्नुपर्थ्यो। उहाँलाई जुनसुकै नाउँले बोलाए पनि—के उहाँले त्यो स्वतन्त्र रूपमा चुन्नुभएन र? के उहाँलाई त्यो निर्धारण गर्न तेरो—एक सृजित प्राणीको—आवश्यकता पर्छ? परमेश्‍वरलाई जुन नाउँले सम्बोधन गरिन्छ त्यो नाउँ मानिसले मानव जातिको भाषामा उहाँलाई बुझ्न सक्‍ने अनुसार छ, तर यो नाउँ मानिसले सोच्न सक्ने कुरै होइन! तैँले केवल स्वर्गमा परमेश्‍वर हुनुहुन्छ, उहाँलाई परमेश्‍वर भनिन्छ, उहाँ महान् शक्ति भएका महान् परमेश्‍वर हुनुहुन्छ, जो अति बुद्धिमान् हुनुहुन्छ, अति उच्च, अति अद्भुत, अति रहस्यमय र अति सर्वशक्तिमान् हुनुहुन्छ भनेर मात्र भन्न सक्छस्, अरू केही भन्न सक्दैनस्; तैँले जान्‍न सक्‍ने भनेकै यति थोरै मात्र हो। यस्तो भएकोले के येशूको नाउँले मात्र परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्न सक्छ? जब आखिरी दिनहरू आउँछन्, काम गर्न परमेश्‍वर उहाँ नै हुनुभए पनि उहाँको नाउँ परिवर्तन हुनुपर्दछ, किनकि यो एउटा फरक युग हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

अघिल्लो:  १. तपाईंले प्रभु येशू आखिरी दिनहरूमा फर्केर आउनुभएको छ र उहाँको नयाँ नाउँ सर्वशक्तिमान् परमेश्‍वर हो भनेर गवाही दिनुहुन्छ। यो कसरी सम्भव छ? बाइबलले स्पष्ट भन्छ, “न त अरू कुनैमा मुक्ति छ: किनभने मानिसहरूका बीचमा हामीले मुक्ति पाउनका लागि स्वर्गमुनि अरू कुनै नाउँ दिइएको छैन” (प्रेरित ४:१२)। “येशू ख्रीष्ट हिजो, र आज, अनि सधैँ उस्तै हुनुहुन्छ” (हिब्रू १३:८)। हामी विश्‍वास गर्छौं, प्रभु येशूको नाउँ कहिल्यै पनि परिवर्तन हुन सक्दैन, र उहाँ फर्केर आउनुहुँदा उहाँलाई अरू कुनै नाउँले बोलाउन सकिँदैन।

अर्को:  ३. तपाईं यहोवा, प्रभु येशू, र सर्वशक्तिमान् परमेश्‍वर सबै विभिन्न युगहरूमा परमेश्‍वरले लिनुभएका नाउँहरू हुन् भनी गवाही दिनुहुन्छ। म सोध्न चाहन्छु, परमेश्‍वरले किन विभिन्न युगहरूमा विभिन्न नाउँहरू अपनाउनुहुन्छ? यसको महत्त्व के हो?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger