३. तपाईं यहोवा, प्रभु येशू, र सर्वशक्तिमान् परमेश्वर सबै विभिन्न युगहरूमा परमेश्वरले लिनुभएका नाउँहरू हुन् भनी गवाही दिनुहुन्छ। म सोध्न चाहन्छु, परमेश्वरले किन विभिन्न युगहरूमा विभिन्न नाउँहरू अपनाउनुहुन्छ? यसको महत्त्व के हो?
परमेश्वरका सान्दर्भिक वचनहरू:
प्रत्येक युगमा परमेश्वर स्वयम्ले गर्नुहुने काममा उहाँको वास्तविक स्वभावको अभिव्यक्ति समावेश हुन्छ, र उहाँको नाउँ र उहाँले गर्नुहुने काम, दुवै युगसँगै परिवर्तन हुँदछ—ती सबै नयाँ हुन्छन्। व्यवस्थाको युगको अवधिमा मानव जातिलाई डोऱ्याउने काम यहोवाको नाउँमा गरिएको थियो र पृथ्वीमा पहिलो चरणको काम सुरु भएको थियो। यस चरणमा काम भनेको मन्दिर र वेदी निर्माण गर्ने, व्यवस्था प्रयोग गरेर इस्राएलका मानिसहरूलाई मार्गदर्शन गर्ने, र इस्राएलका मानिसहरूमाझ काम गर्ने थियो। इस्राएलका मानिसहरूलाई मार्गदर्शन गरेर, उहाँले पृथ्वीमा आफ्नो कामका लागि एउटा आधार खडा गर्नुभयो। यही आधारबाट उहाँले आफ्नो काम इस्राएलभन्दा बाहिर फैलाउनुभयो, जसको अर्थ यो हो, कि इस्राएलबाट सुरु गरेर उहाँले आफ्नो कामलाई बाहिरतिर फैलाउनुभयो, जसले गर्दा पछि आउने पुस्ताहरूले यहोवा परमेश्वर हुनुहुन्छ, र यहोवाले नै स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो, र सबै सृजित प्राणी यहोवाले नै बनाउनुभएको हो भनी क्रमिक रूपमा थाहा पाए। उहाँले आफ्नो काम इस्राएलका मानिसहरूद्वारा तिनीहरूभन्दा पार बाहिरसम्म फैलाउनुभयो। इस्राएलको भूमि पृथ्वीमा यहोवाको काम भएको पहिलो पवित्र स्थल थियो, र इस्राएलको भूमिमा नै परमेश्वरले पृथ्वीमा पहिलो पटक काम गर्नुभयो। व्यवस्थाको युगको काम त्यही थियो। अनुग्रहको युगको अवधिमा येशू मानिसलाई मुक्ति दिने परमेश्वर हुनुहुन्थ्यो। उहाँसँग जे थियो र उहाँ जे हुनुहुन्थ्यो त्यो अनुग्रह, प्रेमपूर्ण दया, कृपा, सहनशीलता, धैर्य, नम्रता, प्रेम, र उदारता थियो, र उहाँले गर्नुभएका धेरै काम मानिसको छुटकाराका लागि थियो। उहाँको स्वभाव कृपा र प्रेमपूर्ण दयाको स्वभाव थियो, र उहाँ कृपालु र प्रेमिलो हुनुभएकाले, उहाँ मानिसका निम्ति क्रूसमा टाँगिनु पर्यो, ताकि परमेश्वर मानिसलाई आफूसमान प्रेम गर्नुहुन्छ, यहाँसम्म कि उहाँले आफैलाईले पूर्ण रूपमा अर्पण गर्नुभयो भन्ने कुरा देखाउन सकियोस्। अनुग्रहको युगमा, परमेश्वरको नाम येशू थियो, अर्थात्, परमेश्वर मानिसलाई मुक्ति दिने परमेश्वर हुनुहुन्थ्यो, र उहाँ एक कृपालु र प्रेमिलो परमेश्वर हुनुहुन्थ्यो। परमेश्वर मानिसको साथमा हुनुहुन्थ्यो। उहाँको प्रेम, उहाँको कृपा र उहाँको मुक्ति प्रत्येक व्यक्तिको साथमा थियो। येशूको नाउँ र उहाँको उपस्थितिलाई स्वीकार गरेर मात्र मानिसले शान्ति र आनन्द, अनि उहाँको आशिष्, उहाँको विशाल र असङ्ख्य अनुग्रहहरू, र उहाँको मुक्ति पाउन सक्थ्यो। येशूको क्रूसीकरणद्वारा उहाँलाई पछ्याउने सबैले मुक्ति पाए र तिनीहरूका पापहरू क्षमा भए। अनुग्रहको युगको अवधिमा, येशू परमेश्वरको नाउँ थियो। अर्को शब्दमा भन्नुपर्दा, अनुग्रहको युगको काम मुख्य रूपमा येशूको नाउँमा नै गरिएको थियो। अनुग्रहको युगको अवधिमा, परमेश्वरलाई येशू भनिन्थ्यो। उहाँले पुरानो करारभन्दा उताको नयाँ कामको चरण लिनुभयो, र उहाँको काम क्रूसीकरणसितै समाप्त भयो। यो उहाँको कामको सम्पूर्णता थियो। त्यसकारण, व्यवस्थाको युगको अवधिमा यहोवा परमेश्वरको नाउँ थियो, र अनुग्रहको युगमा येशूको नाउँले परमेश्वरको प्रतिनिधित्व गर्यो। आखिरी दिनहरूमा, उहाँको नाउँ सर्वशक्तिमान् परमेश्वर हो—त्यो सर्वशक्तिमान्, जो आफ्नो शक्ति प्रयोग गरेर मानिसलाई मार्गदर्शन गर्नुहुन्छ, मानिसलाई विजय गर्नुहुन्छ, र मानिसलाई प्राप्त गर्नुहुन्छ, र अन्त्यमा उक्त युगलाई अन्त्य गर्नुहुन्छ। प्रत्येक युगमा, उहाँको कामको हरेक चरणमा, परमेश्वरको स्वभाव स्पष्ट हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
मैले इस्राएलमा मेरो काम गर्दा “यहोवा” नाउँ धारण गरेँ, र यसको अर्थ इस्राएलीहरूको (परमेश्वरका चुनिएका मानिसहरूको) परमेश्वर हो, जो मानिसलाई कृपा देखाउन, मानिसलाई श्राप दिन, र मानिसको जीवनलाई मार्गदर्शन गर्न सक्नुहुन्छ; ती परमेश्वर, जोसँग महान् शक्ति छ र जो बुद्धिले भरिपूर्ण हुनुहुन्छ। “येशू” इम्मानुएल हुनुहुन्छ, जसको अर्थ प्रेमिलो दयालुपनले भरिपूर्ण, कृपाले भरिपूर्ण, र मानिसलाई छुटकारा दिने पापबलि हुन्छ। उहाँले अनुग्रहको युगको काम गर्नुभयो, र उहाँ अनुग्रहको युगको प्रतिनिधित्व गर्नुहुन्छ, र व्यवस्थापन योजनाको कामको एउटा पाटोको मात्र प्रतिनिधित्व गर्न सक्नुहुन्छ। यसको तात्पर्य, यहोवा मात्र इस्राएलका चुनिएका मानिसहरूको परमेश्वर, अब्राहामको परमेश्वर, इसहाकको परमेश्वर, याकूबको परमेश्वर, मोशाको परमेश्वर, र इस्राएलका सारा मानिसको परमेश्वर हुनुहुन्छ। त्यसैले, यहूदी मानिसहरू लगायत त्यसबेलाका सारा इस्राएली यहोवाको आराधना गर्थे। तिनीहरू उहाँका लागि वेदीमा बलि चढाउँथे र धर्मगुरुको पोसाक लगाएर मन्दिरमा उहाँको सेवा गर्थे। तिनीहरू यहोवाको पुनः देखा पराइको आशा गर्थे। येशू मात्र मानवजातिको उद्धारकर्ता हुनुहुन्छ, र उहाँ मानवजातिलाई पापबाट छुटकारा दिने पापबलि हुनुहुन्छ। भन्नुको अर्थ, येशूको नाउँ अनुग्रहको युगबाट आएको हो र अनुग्रहको युगमा छुटकाराको कामका कारण अस्तित्वमा आएको हो। येशूको नाउँ अनुग्रहको युगका मानिसहरूलाई पुनर्जन्म लिने र मुक्ति पाउने अनुमति दिन अस्तित्वमा आएको हो, र यो समग्र मानवजातिको छुटकाराका लागि एउटा विशेष नाउँ हो। तसर्थ, येशू नाउँले छुटकाराको कामको प्रतिनिधित्व गर्छ, र अनुग्रहको युगलाई जनाउँछ। यहोवा नाउँ व्यवस्थाअन्तर्गत जिएका इस्राएलका मानिसहरूका निम्ति एउटा विशेष नाउँ हो। हरेक युग र कामको हरेक चरणमा, मेरो नाउँ निराधार छैन, बरु यसले प्रतिनिधिमूलक महत्त्व राख्छ: हरेक नाउँले एउटा युगको प्रतिनिधित्व गर्छ। “यहोवा” ले व्यवस्थाको युगको प्रतिनिधित्व गर्छ, र यो इस्राएलका मानिसहरूले आराधना गर्ने परमेश्वरलाई बोलाउने आदरार्थी नाम हो। “येशू” ले अनुग्रहको युगको प्रतिनिधित्व गर्छ, र यो अनुग्रहको युगमा छुटकारा पाउने सबैको परमेश्वरको नाउँ हो। यदि मानिस अझै आखिरी दिनहरूमा मुक्तिदाता येशूको आगमनको तृष्णा गर्छ, र अझै उहाँले यहूदियामा वहन गर्नुभएको स्वरूपमा उहाँ आइपुग्ने अपेक्षा गर्छ भने, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापनको योजना छुटकाराको युगमा रोकिनेथ्यो, र अलिकता पनि अघि बढ्न सक्नेथिएन। यसको अलावा, आखिरी दिनहरू कहिल्यै आउने थिएनन्, र युगको अन्त्य कहिल्यै हुने थिएन। किनभने मुक्तिदाता येशू मानवजातिको छुटकारा र मुक्तिका निम्ति मात्र हुनुहुन्छ। मैले येशूको नाउँ केवल अनुग्रहको युगका सबै पापीका खातिर लिएँ, तर त्यो त्यस्तो नाउँ होइन जसद्वारा म समग्र मानवजातिलाई अन्त्य गर्नेछु। यहोवा, येशू, र मसीह सबैले मेरो आत्माको प्रतिनिधित्व गर्ने भए पनि, यी नाउँले मेरो व्यवस्थापनको योजनाका विभिन्न युगलाई मात्र जनाउँछन्, र समग्र रूपमा मेरो प्रतिनिधित्व गर्दैनन्। पृथ्वीका मानिसहरूले मलाई बोलाउने नाउँले मेरो सम्पूर्ण स्वभाव र म जे हुँ त्यो सबैलाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन्। ती केवल विभिन्न युगमा मलाई बोलाइने फरक-फरक नाउँ हुन्। त्यसैले जब अन्तिम युग—आखिरी युग—आउँछ, तब मेरो नाउँ फेरि बदलिनेछ। मलाई यहोवा वा येशू पनि भनिनेछैन, मसीह त झनै भनिनेछैन—मलाई शक्तिशाली र सर्वशक्तिमान् परमेश्वर स्वयम् भनिनेछ, र म यही नाउँमा समग्र युगको अन्त्य गर्नेछु। मलाई कुनै समय यहोवा भनेर बोलाइन्थ्यो, कुनै समय मानिसहरूले मलाई मसीह भनेर पनि चिन्थे, र कुनै समय मानिसहरूले मलाई प्रेम र आदरसाथ मुक्तिदाता येशू भनी बोलाउँथे। आज, म अब उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइनँ। बरु म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्वर, युग अन्त्य गर्ने परमेश्वर हुँ; म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो सम्पूर्ण स्वभावले भरिएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्वर स्वयम् हुँ। मानिस कहिल्यै मेरो सम्पर्कमा आएको छैन, उसले मलाई कहिल्यै चिनेको छैन, र ऊ सदैव मेरो स्वभावबारे अनभिज्ञ रहेको छ। संसारको सृष्टिदेखि अहिलेसम्म, एउटा व्यक्तिले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसकहाँ देखा पर्नुहुने तर ऊमाझ गुप्त रहनुहुने परमेश्वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिसमाझ, साक्षात् र जीवित रूपमा, जलिरहेको सूर्य र दन्किरहेको ज्वालाजस्तै, शक्तिले भरिपूर्ण र अख्तियारले भरिएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एउटा पनि व्यक्ति वा वस्तु छैन, र आगोको प्रज्वलनद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा वस्तु छैन। अन्ततः, मेरा वचनहरूका कारण असङ्ख्य राष्ट्र आशिषित हुनेछन्, र मेरा वचनहरूका कारण टुक्रा-टुक्रा पनि पारिनेछन्। यसरी, आखिरी दिनहरूमा सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ, र म सर्वशक्तिमान् परमेश्वर हुँ, जसले सारा मानवजातिलाई विजय गर्नुहुन्छ भनी देख्नेछन्। अनि म एक पटक मानिसका निम्ति पापबलि थिएँ, तर आखिरी दिनहरूमा म यावत् थोकलाई जलाउने दन्किँदो सूर्यका ज्वालाहरू, साथै सबै थोकलाई प्रकाश गर्ने धार्मिकताको सूर्य पनि बनेको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूमा मेरो काम यही हो। म यो नाउँ धारण गर्छु र यो स्वभाव वहन गर्छु, ताकि सबै मानिसले म धर्मी परमेश्वर, जलिरहेको सूर्य, दन्किरहेको ज्वाला हुँ भन्ने देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो मुहार देख्न सकून्: म इस्राएलीहरूको परमेश्वर मात्र होइन, र म उद्धारकर्ता मात्र होइन; बरु म स्वर्गहरू, र पृथ्वी र समुद्रभरिका सबै सृजित प्राणीहरूको परमेश्वर हुँ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ
अनुग्रहको युग येशूको नाउँबाट सुरु भयो। जब येशूले आफ्नो सेवकाइ गर्न थाल्नुभयो, पवित्र आत्माले येशूको नाउँको गवाही दिन थाल्नुभयो, र उप्रान्त यहोवाको नाउँको चर्चा हुन छाड्यो; बरु, पवित्र आत्माले मुख्य रूपमा येशूको नाउँमा नयाँ काम सुरु गर्नुभयो। उहाँमा विश्वास गर्नेहरूको गवाही येशू ख्रीष्टको लागि थियो र तिनीहरूले गरेका काम पनि येशू ख्रीष्टको लागि नै थियो। पुरानो करारको व्यवस्थाको युग अन्त्य हुनुको अर्थ मुख्य रूपमा यहोवाको नाउँमा सञ्चालन गरिएको काम समाप्त भयो भन्ने थियो। त्यहाँदेखि उता, परमेश्वरको नाउँ यहोवा थिएन; यसको साटो उहाँलाई येशू भनियो, र यहाँबाट उसो पवित्र आत्माले विशेष गरी येशूको नाउँमा काम सुरु गर्नुभयो। त्यसैले, आज तिमीहरू अझै पनि यहोवाका वचनहरू खाने र पिउने गर्छौ, र अझै पनि कामकुरामा व्यवस्थाको युगको काम लागु गर्छौ—के तिमीहरू प्रावधानहरू लागु गरिरहेका छैनौ र? के तिमीहरू विगतमा अड्किएका छैनौ र? अहिले तिमीहरूलाई थाहा छ, आखिरी दिनहरू आइसकेका छन्। के यो हुन सक्छ, कि जब येशू आउनुहुन्छ, उहाँलाई अझै पनि येशू नै भनिनेछ? यहोवाले इस्राएलका मानिसहरूलाई मसीह आउनुहुनेछ भनेर बताउनुभयो, तैपनि जब उहाँ आउनुभयो, उहाँलाई मसीह नभनेर येशू भनियो। येशूले उहाँ फेरि आउनुहुनेछ, र उहाँ जसरी जानुभयो त्यसरी आउनुहुनेछ भनी भन्नुभयो। यी येशूका वचनहरू थिए, तर येशू कसरी जानुभयो के तैँले देखिस्? येशू सेतो बादलमा सवार भएर जानुभयो, तर के यो हुन सक्छ कि उहाँ व्यक्तिगत रूपमा सेतो बादलमा सवार भएर मानिसमाझ आउनुहुनेछ? यदि त्यस्तो हो भने, के उहाँलाई अझै येशू भनिनेछैन? जब येशू फेरि आउनुहुन्छ, युगमा परिवर्तन भइसकेको हुनेछ, त्यसोभए के उहाँलाई अझै येशू भन्न सकिन्छ? के परमेश्वरलाई येशूको नाउँबाट मात्र चिन्न सकिन्छ? के उहाँलाई नयाँ युगमा नयाँ नाउँले बोलाउन सकिँदैन? के सारा अनन्तताभरि परमेश्वरलाई एक व्यक्तिको स्वरूप र एउटा विशेष नाउँले प्रतिनिधित्व गर्न सक्दछ? प्रत्येक युगमा, परमेश्वरले नयाँ काम गर्नुहुन्छ र उहाँलाई नयाँ नाउँले बोलाइनुहुन्छ; उहाँले कसरी विभिन्न युगहरूमा उही काम गर्न सक्नुहुन्छ? उहाँ कसरी पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? येशूको नाउँलाई छुटकाराको कामका लागि लिइएको थियो, तब के आखिरी दिनहरूमा उहाँ फर्कनुहुँदा पनि उहाँलाई अझै त्यही नाउँले बोलाइन्छ? के उहाँले अझै पनि छुटकाराको काम गरिरहनुभएको हुनेछ? यहोवा र येशू एक हुनुभए पनि किन विभिन्न युगमा उहाँहरूलाई विभिन्न नाउँले बोलाइन्छ? के यो उहाँहरूका कामको युग फरक-फरक भएकोले होइन र? के एउटै नाउँले परमेश्वरको सम्पूर्णता प्रतिनिधित्व गर्न सक्छ? यस्तो भएकोले, परमेश्वरलाई विभिन्न युगमा भिन्नाभिन्नै नाउँले बोलाउनुपर्छ, र उहाँले युगलाई परिवर्तन गर्न र युगको प्रतिनिधित्व गर्न नाउँ प्रयोग गर्नुपर्दछ। किनकि कुनै पनि नाउँले पूर्ण रूपमा परमेश्वर स्वयम्को प्रतिनिधित्व गर्न सक्दैन, र प्रत्येक नाउँले एउटा निश्चित युगमा परमेश्वरको स्वभावको विशेषताको मात्र प्रतिनिधित्व गर्न सक्छ; त्यसले केवल उहाँको कामको प्रतिनिधित्व गर्नुपर्छ। त्यसकारण, त्यो सम्पूर्ण युगमा प्रतिनिधित्व गर्न परमेश्वरले उहाँको स्वभाव सुहाउँदो नाउँ चुन्न सक्नुहुन्छ। चाहे त्यो यहोवाको युग होस् वा येशूको युग होस्, उहाँकै नाउँले प्रत्येक युगको प्रतिनिधित्व गर्दछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
केहीले भन्छन्, परमेश्वरको नाउँ परिवर्तन हुँदैन। त्यसो भए यहोवाको नाउँ किन येशू भयो त? मसीह आउनुहुनेछ भनी भविष्यवाणी गरिएको थियो, त्यसो भए किन येशू नाउँ गरिएको मानिस आउनुभयो त? परमेश्वरको नाउँ किन परिवर्तन भयो? के यस्तो काम धेरै पहिले गरिएको थिएन र? के परमेश्वरले आज अझ नयाँ काम गर्न सक्नुहुन्न? हिजो गरिएको कामलाई बदल्न सकिन्छ, र येशूको काम यहोवाको कामको निरन्तरता हुन सक्छ। त्यसो भए, के येशूको कामपछि अरू कामले उत्तराधिकार लिन सक्दैन र? यदि यहोवाको नाउँ येशूमा परिणत हुन्छ भने, येशूको नाउँ पनि परिवर्तन हुन सक्दैन र? यी कुनै पनि अनौठो कुरा होइनन्; यो के मात्रै हो भने मानिसहरू अत्यन्तै सरल विचार-धाराका छन्। परमेश्वर सदैव परमेश्वर नै हुनुहुनेछ। उहाँको काम चाहे जसरी परिवर्तन भए पनि, र उहाँको नाउँ चाहे जसरी परिवर्तन भए तापनि, उहाँको स्वभाव र बुद्धि कहिल्यै परिवर्तन हुँदैन। यदि तँ परमेश्वरलाई येशूको नाउँद्वारा मात्र पुकार्न सकिन्छ भनी विश्वास गर्छस् भने, तेरो ज्ञान अत्यन्त सीमित छ। के तँ परमेश्वरको नाउँ सदासर्वदा येशू नै रहनेछ र परमेश्वरलाई सदासर्वदा र सदैव येशूको नाउँले नै पुकारिन्छ, र यो कुरा कहिल्यै परिवर्तन हुनेछैन भनी दाबी गर्ने हिम्मत गर्छस्? येशूको नाउँले नै व्यवस्थाको युगको अन्त्य गर्यो र अन्तिम युगलाई पनि यही नाउँले नै अन्त गर्नेछ भनी के तँ निश्चयताका साथ पक्का गर्ने हिम्मत गर्छस्? येशूको अनुग्रहले नै युगलाई अन्ततिर ल्याउन सक्छ भनी कसले भन्न सक्छ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्वरलाई सीमित गरेकाहरूले उहाँको प्रकाश कसरी प्राप्त गर्न सक्छन्?
प्रत्येक युगमा परमेश्वरको काम सधैँ एक समान हुन्छ, उहाँ सधैँ एउटै नाउँद्वारा बोलाइनुहुन्छ भन्ने मानिलिँदा, मानिसहरूले उहाँलाई कसरी चिन्दछन्? परमेश्वरलाई यहोवा भन्नुपर्दछ, र परमेश्वरलाई यहोवा भन्नुबाहेक अरू अर्कै नाउँद्वारा बोलाइन्छ भने ऊ परमेश्वर होइन। वा अन्यथा परमेश्वर मात्र येशू हुन सक्नुहुन्छ, र येशूको नाउँबाहेक उहाँ अरू कुनै नाउँले बोलाइनु हुँदैन; येशूबाहेक, यहोवा परमेश्वर हुनुहुन्न, र सर्वशक्तिमान् परमेश्वर पनि परमेश्वर हुनुहुन्न। मानिस यस्तो विश्वास गर्छ: “परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छभन्ने कुरा साँचो हो, तर परमेश्वर यस्तो परमेश्वर हुनुहुन्छ जो मानिससँग हुनुहुन्छ। उहाँलाई येशू नै भनिनैपर्छ, किनकि परमेश्वर मानिससँग हुनुहुन्छ।” यस्तो विश्वास गर्नु भनेको प्रावधानहरू पालन गर्नु, र परमेश्वरलाई एउटा निश्चित क्षेत्रमा सीमित गर्नु हो। त्यसैले, प्रत्येक युगमा परमेश्वरले गर्नुहुने काम, उहाँलाई बोलाइने नाम, र उहाँले धारण गर्नुहुने स्वरूप—उहाँले आजको दिनसम्म प्रत्येक चरणमा गर्नुहुने काम—ले कुनै पनि प्रावधान पालन गर्दैनन्, र तिनको कुनै पनि प्रकारको सीमितता छैन। उहाँ यहोवा हुनुहुन्छ, तर उहाँ येशू, साथसाथै मसीह र सर्वशक्तिमान् परमेश्वर पनि हुनुहुन्छ। उहाँको नाउँ क्रमशः परिवर्तन हुँदै जाँदा उहाँको काम पनि बिस्तारै परिवर्तन हुन्छन्। कुनै एउटा नाउँले पूर्ण रूपले उहाँको प्रतिनिधित्व गर्न सक्दैन, तर उहाँलाई बोलाइने सबै नाउँले उहाँको प्रतिनिधित्व गर्न सक्छन्, र प्रत्येक युगमा उहाँले गर्नुहुने कामले उहाँको स्वभावको प्रतिनिधित्व गर्दछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
येशूले गर्नुभएको कामले येशूको नाउँलाई प्रतिनिधित्व गर्यो, र त्यसले अनुग्रहको युगलाई प्रतिनिधित्व गर्यो; यहोवाले गर्नुभएको कामको विषयमा भन्ने हो भने, त्यसले यहोवाको प्रतिनिधित्व गर्थ्यो र त्यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्थ्यो। उहाँहरूका काम दुई फरक युगहरूमा गरिएका एकै आत्माको काम थिए। येशूले गर्नुभएको कामले अनुग्रहको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो, र यहोवाले गर्नुभएको कामले पुरानो करारको व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो। यहोवाले इस्राएल र मिश्रका मानिसहरूलाई र इस्राएल बाहिरका सबै जातिहरूलाई मात्र डोऱ्याउनुभयो। जब परमेश्वरले नयाँ करारको अनुग्रहको युगमा काम गर्नुभयो, परमेश्वरले काम गर्न र त्यो युगलाई मार्गदर्शन गर्न येशूको नाउँ अँगाल्नुभयो। … उहाँहरूलाई दुई फरक नाउँले बोलाइएको भए पनि, दुवै चरणका कामहरू पूरा गर्ने एउटै आत्मा हुनुहुन्थ्यो, र गरिएको काम निरन्तर भइरहने काम थियो। जसरी नाउँ फरक थियो, र कामको विषय फरक थियो, त्यसरी नै युग पनि फरक थियो। जब यहोवा आउनुभयो, त्यो यहोवाको युग थियो, र जब येशू आउनुभयो, त्यो येशूको युग थियो। त्यसैले, हरेक आगमन सँगै, परमेश्वरलाई एउटा नाउँले बोलाइन्छ, र जसले एउटा युगलाई प्रतिनिधित्व गर्छ, अनि उहाँ एउटा नयाँ मार्ग खोल्नुहुन्छ; र हरेक नयाँ मार्गका लागि, उहाँ एउटा नयाँ नाउँ धारण गर्नुहुन्छ। यो सबैले परमेश्वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न, र उहाँको काम कहिल्यै अगाडि दिशातर्फ बढ्नबाट रोकिँदैन भन्ने देखाउँछ। इतिहास जहिल्यै पनि अगाडि बढिरहेको छ, र परमेश्वरको काम सधैँ अगाडि बढिरहेको छ। उहाँको छ हजार वर्षे व्यवस्थापन योजना लक्ष्यमा पुग्नका लागि, यो निरन्तर अगाडिको दिशामा अघि बढिरहनुपर्छ। हरेक दिन उहाँले नयाँ काम गर्नैपर्छ, हरेक वर्ष उहाँले नयाँ काम गर्नैपर्छ; उहाँले नयाँ मार्गहरू खोल्नैपर्छ, नयाँ युगहरू सुरु गर्नैपर्छ, र अझ नयाँ र महान् काम सुरु गर्नैपर्छ। यी सबैसँगै, उहाँ नयाँ नाउँहरू र नयाँ काम ल्याउनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
के येशूको “परमेश्वर हामीसँग” भन्ने नाउँले परमेश्वरको स्वभावलाई पूर्णरूपमा प्रतिनिधित्व गर्नसक्छ? के त्यसले पूर्ण रूपमा परमेश्वरलाई व्यक्त गर्न सक्छ? यदि मानिसले परमेश्वरलाई येशू मात्र भनी बोलाउन सकिन्छ र परमेश्वरको अर्को नाउँ हुन सक्दैन, किनकि परमेश्वरले आफ्नो स्वभाव परिवर्तन गर्न सक्नुहुन्न भनी भन्छ भने, यी शब्दहरू साँच्चै ईश्वरनिन्दा हुन्छ! के तँ येशू नाउँ, परमेश्वर हामीसँग हुनुहुन्छ भन्ने नाउँले मात्र पूर्ण रूपमा परमेश्वरको प्रतिनिधित्व गर्न सक्छ भनी विश्वास गर्छस्? परमेश्वरलाई धेरै वटा नाउँले सम्बोधन गर्न सकिन्छ, परमेश्वरलाई समेट्ने नाउँ एउटै मात्र छैन, परमेश्वरलाई प्रतिनिधित्व गर्न एउटा मात्र नाउँ पनि छैन। यसैले, परमेश्वरका धेरै वटा नाउँहरू छन्, तर यी धेरै वटा नाउँले परमेश्वरको स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन्, किनकि परमेश्वरको स्वभाव यति समृद्ध छ कि त्यो मानिसको क्षमताले बुझ्न सक्नेभन्दा बढी छ। मानिसले मानव जातिको कुनै पनि भाषा प्रयोग गरेर परमेश्वरलाई पूर्णरूपमा समेट्ने कुनै तरिका छैन। मानव जातिले परमेश्वरको स्वभावको बारेमा जे जान्दछ ती सबैलाई समेट्न तिनीहरूसित सीमित शब्दावली मात्र छ: महान्, आदर्शमयी, अद्भुत, बुझ्न नसकिने, सर्वोच्च, पवित्र, धर्मी, बुद्धिमान, आदि। यो सीमित शब्दावलीले मानिसले परमेश्वरको स्वभावमा देखेको थोरै कुराको समेत वर्णन गर्न सक्दैन। समय बित्दै जाँदा, अरू धेरैले त्यस्ता शब्दहरू थपे जसले उनीहरूका हृदयको जोशको राम्ररी वर्णन गर्न सक्छ भन्ने तिनीहरूले ठानेका थिए: परमेश्वर अति महान् हुनुहुन्छ! परमेश्वर अत्यन्तै पवित्र हुनुहुन्छ! परमेश्वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ! आज, यस्ता मानव भनाइहरू चरम सीमामा पुगेका छन्, तापनि मानिस अझै पनि आफैलाई व्यक्त गर्न असक्षम छ। त्यसैले, मानिसका नजरमा परमेश्वरका धेरै वटा नाउँ छन्, तापनि उहाँको नाउँ एउटै मात्र छैन, अनि परमेश्वरको सत्त्व प्रशस्त भएको तर मानिसको भाषा अति कमजोर भएको हुनाले यसो भएको हो। कुनै एउटा विशेष शब्द वा नाउँले परमेश्वरलाई उहाँको सम्पूर्णतामा प्रतिनिधित्व गर्नै सक्दैन, त्यसो भए के तँ उहाँको नाउँ निश्चित गर्न सकिन्छ भन्ने सोच्छस्? परमेश्वर अति महान् र अति पवित्र हुनुहुन्छ—के तँ उहाँलाई प्रत्येक युगमा उहाँको नाउँ परिवर्तन गर्ने अनुमति दिँदैनस्? त्यसकारण, परमेश्वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुहुने प्रत्येक युगमा, उहाँले युग सुहाउँदो एउटा नाउँ प्रयोग गर्नुहुन्छ, जसले उहाँले गर्न चाहनुभएको कामलाई समेट्छ। उहाँ त्यस युगमा उहाँको स्वभावको प्रतिनिधित्व गर्न उक्त युगको महत्त्व बोकेको यो विशेष नाउँ प्रयोग गर्नुहुन्छ। यो आफ्नो स्वभाव व्यक्त गर्न परमेश्वरले मानव जातिको भाषा प्रयोग गर्नुभएको हो। त्यसरी नै, आत्मिक अनुभवहरू प्राप्त गर्ने र परमेश्वरलाई व्यक्तिगत रूपमा देख्ने धेरै मानिसहरूले यो एउटा विशेष नाउँ पूर्ण रूपमा परमेश्वरको प्रतिनिधित्व गर्न असमर्थ छ भन्ने महसुस गर्छन्—अहो, यसमा कुनै सहायता गर्न सकिँदैन—त्यसैले मानिसले अब परमेश्वरलाई कुनै नाउँबाट सम्बोधन गर्दैन, तर उहाँलाई “परमेश्वर” मात्र भन्छ। यस्तो लाग्छ, कि मानिसको हृदय प्रेमले भरिपूर्ण छ र अन्तर्विरोधहरूमा पनि परेको छ, किनकि मानिसले परमेश्वरको व्याख्या गर्न जान्दैन। परमेश्वर जे हुनुहुन्छ त्यो अति प्रशस्त छ, यसैले त्यसको वर्णन गर्ने कुनै तरिका नै छैन। परमेश्वरको स्वभावको सार बताउने कुनै एउटा शब्द छैन, अनि परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै वर्णन गर्ने शब्द एउटा पनि छैन। यदि कसैले मलाई, “वास्तवमा तपाईं कुन नाउँ प्रयोग गर्नुहुन्छ?” भनी सोध्छ भने, म तिनीहरूलाई भन्नेछु, “परमेश्वर, परमेश्वर हुनुहुन्छ!” के यो परमेश्वरका निम्ति सर्वोत्तम नाम होइन र? के यसमा परमेश्वरको स्वभावलाई सबैभन्दा राम्रोसँगले समेटिएको छैन र? त्यसो हो भने, परमेश्वरको नाउँ जाँचपड्ताल गर्न तिमीहरू किन त्यत्ति धेरै प्रयास गर्छौ? तिमीहरूलाई किन खाना र निन्द्रा नै त्यागेर एउटा नाउँका खातिर सधैँ टाउको दुखाउनु परेको? त्यो दिन आउनेछ, जब परमेश्वरलाई यहोवा, येशू वा मसीह भनिनेछैन—उहाँलाई सृष्टिकर्ता मात्र भनिनेछ। त्यस बेला उहाँले पृथ्वीमा धारण गर्नुभएका सबै नाउँहरू समाप्त हुनेछ, किनकि पृथ्वीमा उहाँको काम समाप्त भएको हुनेछ, त्यसपछि उहाँको कुनै नाउँ हुनेछैन। जब सबै थोक सृष्टिकर्ताको अधीनमा आउँदछन्, उहाँलाई अत्याधिक उपयुक्त तर अपूर्ण नाउँ किन चाहिन्छ र? के तँ अझै परमेश्वरको नाउँ जाँचपड्ताल गरिरहेको छस्? के तँ अझै पनि परमेश्वरलाई यहोवा मात्र भनिन्छ भन्ने हिम्मत गर्छस्? के तँ अझै पनि परमेश्वरलाई येशू मात्र भनिन्छ भन्ने हिम्मत गर्छस्? के तँ परमेश्वरको विरुद्धमा गरिने ईश्वर निन्दाको पाप सहन सक्छस्? सुरुमा परमेश्वरको कुनै नाउँ थिएन भन्ने तँलाई थाहा हुनुपर्छ। उहाँले केवल एउटा वा दुईवटा वा धेरै नाउँ लिनुभयो, किनकि उहाँले गर्नुपर्ने काम थियो र मानव जातिलाई व्यवस्थापन गर्नुपर्थ्यो। उहाँलाई जुनसुकै नाउँले बोलाए पनि—के उहाँले त्यो स्वतन्त्र रूपमा चुन्नुभएन र? के उहाँलाई त्यो निर्धारण गर्न तेरो—एक सृजित प्राणीको—आवश्यकता पर्छ? परमेश्वरलाई जुन नाउँले सम्बोधन गरिन्छ त्यो नाउँ मानिसले मानव जातिको भाषामा उहाँलाई बुझ्न सक्ने अनुसार छ, तर यो नाउँ मानिसले सोच्न सक्ने कुरै होइन! तैँले केवल स्वर्गमा परमेश्वर हुनुहुन्छ, उहाँलाई परमेश्वर भनिन्छ, उहाँ महान् शक्ति भएका महान् परमेश्वर हुनुहुन्छ, जो अति बुद्धिमान् हुनुहुन्छ, अति उच्च, अति अद्भुत, अति रहस्यमय र अति सर्वशक्तिमान् हुनुहुन्छ भनेर मात्र भन्न सक्छस्, अरू केही भन्न सक्दैनस्; तैँले जान्न सक्ने भनेकै यति थोरै मात्र हो। यस्तो भएकोले के येशूको नाउँले मात्र परमेश्वर स्वयम्लाई प्रतिनिधित्व गर्न सक्छ? जब आखिरी दिनहरू आउँछन्, काम गर्न परमेश्वर उहाँ नै हुनुभए पनि उहाँको नाउँ परिवर्तन हुनुपर्दछ, किनकि यो एउटा फरक युग हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)